Tuesday, May 22, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७५ साल जेठ ८ गते मंगलबार


‘अनलाइन उजूरी विधि अवलम्बन गरौं,

आफ्नो कुरा प्रष्ट पारौं ।’
विभिन्न सञ्चारमाध्यममा आएका समाचार
सामग्रीहरू पत्रकार आचारसंहिता प्रतिकूल
भएमा प्रेस काउन्सिल नेपालको वेवसाइट
www.presscouncilnepal.org
मा गई अनलाइन उजूरी गर्न सकिनेछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

मुख्यमन्त्री भट्टको पद बहालका तीन महिना

रामहरी ओझा 
जेठ ७
७ नं. प्रदेश सरकार गठन भएको आईतवार तीन महिना  पुरा भयो । फागुन ६ गते तत्कालीन नेकपा एमालेका २५ र नेकपा माओवादी केन्द्रका १४ गरी ३९ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्री मण्डलका अन्य ६ सदस्यहरु सहित शपथ ग्रहण गरेका थिए । 
प्रदेश सभा निर्वाचनकै क्रममा भारतको चौकीदार भनेर प्रतिपक्षीको आरोपको सामना गरेका भट्ट मुख्यमन्त्री भएको तीन महिने अवधीलाई सकारात्मक रुपमा लिन्छन् । यो प्रारम्भिक अवधीमा त्यस्तो धेरै ठुलो काम नभएको भएपनि केही महत्वपूर्ण अभ्यासको सुरुवात भएको उनी बताउँछन् ।
तीन राम्रा अभ्यास 
६ महिनाको यो अवधीमा धेरै अनुभव बटुले मुख्यमन्त्री भट्टले । ‘यस अघि स्थानीय निकायहरु थिएँ, केन्द्रमा सरकार थियो प्रदेश सरकारको संरचना थिएन’ संघीयतामा गईसकेपछि प्रदेश सरकारको अभ्यास गर्दा धेरै कुरा अनुभव भएको छ ।’ यो तीन महिने अवधीमा १० पटक प्रदेश मन्त्रीपरिषद्को बैठक बसेको भट्ट बताउँछन् । ‘यो अवधीमा हामीले मन्त्रीपरिषद्बाट २३ वटा कानुनका मस्यौदा तयार गरेका छौं, त्यसमध्ये अर्थ बिधेयक त प्रदेश सभाबाट स्वीकृत पनि भईसकेको छ’ आफ्ना मुख्य तीन काम सम्झँदै भट्ट भन्छन् ‘प्रदेशका समस्याहरुको बिषयमा संघीय  सरकारका प्रधानमन्त्रीसंग बैठक भएको छ, यो दोश्रो महत्वपूर्ण उपलव्धी हो ।’ 
यस्तै प्रदेश सरकारले समयमै आशिंक नीति तथा कार्यक्रम र आशिंक बजेट ल्याएको उनी बताउँछन् । उनी भन्छन् ‘यो आशिंक नीति तथा कार्यक्रमले आगामी आर्थिक बर्षका लागि महत्वपूर्ण योगदान दिनेछ ।’
तीन आलोचना 
मुख्यमन्त्री भट्टले यस अवधीमा केही आलोचना पनि  खेपे । आफ्नो छोरी सामुदायिक बिद्यालयमा भर्ना गरेर चर्चा कमाएका भट्टलाई छोरा नीजि बिद्यालयमा पढाएको आरोप लाग्यो । ‘छोरो गत सालको एसइई परीक्षामा सामुदायिक बिद्यालयबाटै सहभागि भई उत्तीर्ण गरेर कम्प्युटर बिषय पढ्न खोज्यो, सामुदायिक बिद्यालयमा कम्प्युटर बिषय थिएन त्यसैले नीजिमा राख्नु परेको हो’ उनले भने ‘म मुख्यमन्त्री भएपछि मैले छोरोलाई नीजि बिद्यालयमा भर्ना गरेको होईन ।’ उनी थप्छन् ‘पदीय जिम्मेवारीमा पुगेपछि आलोचना त हुन्छन् नै, मैले यसलाई सामान्य रुपमा लिएको छु ।’ 
यस्तै बैशाख २५ खुल्ला दिँशामुक्त जिल्ला घोषणा गर्न दार्चुला पुगेका मुख्यमन्त्री भट्ट पूर्व राजाको शैलीमा रातो कार्पेटमा हिडेको आलोचना खेपे । ‘कार्यक्रम सवै तय भईसकेको रहेछ, कार्यक्रमस्थलमा पुग्दा मात्र रातो तुल बिछाईएको थाह भयो’ उनी भन्छन् ‘सहभागिहरु सवै आईसकेका थिए त्यतिवेला हटाउन लगाउँदा पनि उल्टो अर्थ लाग्छ कि भन्ने लाग्यो, त्यसैले हटाउन भनेन ।’ आफु सम्मान खोज्ने मान्छे नभएको बताउँदै उनी भन्छन् ‘अव आगामी दिनहरुमा यस्ता कुरामा पनि ध्यान दिनु पर्छ भन्ने कुराको सिकाई भयो ।’ 
मुख्यमन्त्री भट्टले तीन महिने अवधीमा खेपेको अर्को आलोचना जुनसुकै कार्यक्रममा पनि सहभागि भएको भन्ने छ । बिभिन्न सञ्चारमाध्यममा मुख्यमन्त्री भट्ट स–साना कार्यक्रमको उद्घाटन गर्न रमाउछन भन्ने आलोचना आउने गरेको छ । भट्ट भन्छन् ‘आउनै पर्छ भन्छन्, गएन भने पनि आलोचना गर्छन, गए पनि आलोचना गर्छन ।’ राजनीति गर्ने मान्छे भएकाले जनताको सहभागिता हुने कार्यक्रममा सहभागि हुनु अन्यथा नभएको भट्ट बताउँछन् । उनी थप्छन् ‘मैले कैलाली जिल्लामा हुने कामहरु भरसक कार्यालय समयभन्दा अगाडी वा पछाडी गर्ने गरेको छु । उनी यसलाई पनि सुधार गरेर लैजाने बताउँछन, भन्छन् ‘अव बिस्तारै कम गर्दै लैजान्छु ।’
तीन समस्या
मुख्यमन्त्रीको हैसियतले भट्टले यो अवधीमा भौतिक पूर्वाधारको चुनौती खेपे । ‘सरकारी संरचनाहरु एकातिर छन, अस्थायी राजधानी अर्कै ठाउँमा तोकिएको छ’ भट्ट भन्छन् ‘भौतिक संरचना अभावले धेरै समस्या भयो ।’ 
जनशक्ति अभाव पनि उनका लागि अर्को चुनौती भयो । संघीय सरकारले कर्मचारी नै पठाउन नसक्नु र पठाएका कर्मचारीहरु पनि प्रदेश मन्त्रालयमा हाजिर नहुनुले प्रदेश सरकारको काममा ढिलासुस्ती भएको उनी बताउँछन् । 
संबिधान अनुसार प्रदेश सरकारको कार्यसूची स्पष्ट भएपनि संघीय सरकारले बिधिवत् रुपमा प्रदेश सरकारलाई जिम्मेवारी नदिदा काम गर्न समस्या भएको भट्टको अनुभव छ । स्पट कानुन बन्यो भने काम गर्न सजिलो हुने उनी बताउँछन् । 
आगामी दिनका तीन महत्वपूर्ण काम 
‘अहिले हामी सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका छौं, पहिलो काम जनताको भावना अनुसारको बजेट ल्याउनु हुनेछ’ भट्ट भन्छन् ‘बजेटले कृषि, पर्यटन र जलश्रोतलाई बिशेष महत्व  दिनेछ ।’
प्रदेश सरकार सुशासन कायम गर्नका लागि सक्रिय रुपमा लाग्ने भट्ट बताउँछन् । उनी भन्छन् ‘प्रदेशमा कुनै पनि प्रकारको भ्रष्टाचार हुन नदिने गरी कानुन बनाउँछौं र सोही अनुसारको संयन्त्र निर्माण गर्छौं । 
प्रदेशको नामाकरण र स्थायी राजधानको बिषयलाई पनि अर्को तीन महिनाभित्र टुंग्याउने प्रयास गर्ने उनी बताउँछन । यस्तै प्रदेशस्तरका संरचनाहरु निर्माण गर्ने उनी बताउँछन् । 

सम्पादकीय

सडक काट्नु मात्रै विकास हो र ?

डोटीको बडीकेदार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सडक काट्नका लागि नयाँ स्काई भेटर (चैनवाला मेसिन) ल्याएको छ । तर, उक्त गाउँपालिकाभित्र कुनै पनि सडक निर्माणका लागि प्रक्रिया पुरा गरेको छैन । यस्तै डोटी के आई सिंह गाउँपालिकाले व्याकल (चक्कावाला मेसिन) ल्याएको छ, त्यस गाउँपालिकामा पनि कुनै सडकको प्रक्रिया पुगेको छैन । सायल गाउँपालिकाले भरखरै मात्रै स्काई भेटर भित्राएको छ, उक्त गाउँपालिकामा पनि कुनै सडक प्रक्रिया पुरा भएर निर्माण भईरहेका छैनन् । 
दिपायल सिलगढी नगरपालिकासंग आफ्नै व्याकल छ, सडक निर्माण गर्ने नाममा डाँडा र वन जंगल विनाश गर्नमा दिपायल सिलगढी नगरपालिका पनि कम छैन । नगरभित्रै निर्माण भईरहेका कुनै पनि सडकको प्रक्रिया पुरा भएको छैन । 
शिखर नगरपालिकाले आफ्नै मेसिन त भित्राएको छैन तर सडक निर्माण गर्ने नाममा वन जंगल मास्ने दौडमा भने अग्रपंक्तिमै देखिएको छ । 
जिल्लाका नौवटै स्थानीय तहहरु अहिले सडक निर्माणको होडमा लागेका छन् । शिखर नगरपालिका–४ देखि तेले शिखरसम्म जाने सडक करीव १० किलोमिटर काटिएको छ । उक्त सडक काट्ने क्रममा हजारौं रुखहरु बिनाश गरिएका छन् । प्राकृतिक श्रोतको धनी तेले क्षेत्रमा सडक पु¥याउने मात्रै मिसन छ नगर–पालिकाको तर त्यो सडकले कति बिनाश गर्दैछ भन्ने बिषयमा वास्ता छैन । शिखरको मात्रै कुरा हैन सवै स्थानीय तहहरुले सडक निर्माणलाई मात्रै विकास मानेको देखिएको छ । 
स्थानीय तहहरु मात्रै होईन, जिल्ला समन्वय समितिले पनि सडक निर्माण गर्नुनै विकासको मुख्य आधार ठानेको छ । जिल्ला समन्वय समिति प्रमुखले तेले लेकमा सडक पु¥याउने र सडक काट्नका लागि आफुले गर्नु पर्ने सवै सहयोग गर्ने प्रतिवद्धता जनाएबाट पनि यो कुरा पुष्टी हुन्छ । सडक काट्न उस्काईर–हेकाहरु र सडक काट्न सक्रिय रहेकाहरुको व्यक्तिगत स्वास्र्थ त पुर्ति होला तर प्रक्रिया पुरा नगरी काटिएका यस्ता सडकहरु ज्यान लेवा बन्दै गएको र बिनाशकारी बन्दै गएको कुरा बिगतका कयौं घटनाहरुले पुष्ठी गरेको छ । 
कुनै पनि विकास निर्माणको योजना बनाउँदा त्यसको वातावरणीय प्रभाव मुल्याङ्कन हुनु पर्ने नीतिगत व्यवस्था छ । वातावरणीय प्रभाव मुल्याङ्गकन नगरी बनाईएको योजना गैरकानुनी हो । “जनताका प्रतिनिधि हौं” भन्नेहरुलाई कानुन बिपरित काम गर्ने र जनताको ज्यान लिने कुनै अधिकार छैन । यस्ता कार्यहरु तत्काल रोक्न जरुरी छ । दुई पैसा कमाउने नाममा वा सस्तो लोकप्रियता कमाउने नाममा हत्यारा बन्नु हुँदैन कसैले पनि । भरखरै निर्माण हुँदै गरेको एक सडकमा पाँच जनाको ज्यान गयो, यदि सडकको स्तर राम्रो हुन्थ्यो भने सायद त्यो दुःखद् घटना हुने थिएन । 
मस्त निन्द्रामा सुतेको जिल्ला बन कार्यालयले पनि आफ्नो भूमिका देखाउने हिम्मत गर्नु पर्छ । सडक काट्ने नाममा वन जंगल फडानी हुँदै जाने वन कार्यालय मुकदर्शक मात्रै हुने हो भने यस्तो वन कार्यालय, वन बिभाग र वन मन्त्रालयको कुनै आवश्यकता छैन । भ्रष्टहरुलाई साथ दिने जति सवै भ्रष्टाचारी हुन । भ्रष्टाचार घुस खानु मात्रै होईन, नियम विपरित काम गर्नु पनि हो । 
त्यसैले बिनाशकारी सडक काट्ने कार्य तत्काल रोकिनु पर्छ । प्रक्रिया पु¥याएर नियमानुसार सडक निर्माण गरिनु पर्छ । मन मर्जीले चल्ने परिपाटी अन्त्य हुनु जरुरी छ ।

थप समाचार 

पाँच बालबालिकाको अभिभावकत्व ग्रहण


देशभरीमा जनप्रतिनिधिहरुलेबालबालिकाहरुको अभिभावकत्व लिने होड चलिरहेका बेला डोटीका एक व्यापारीले पाँच बालबालिकाको अभिभावकत्व ग्रहण गरेका     छन । 
लामो समयदेखि डोटीको मुख्य शहर पिपल्लामा केवी ग्रुपको नामबाट विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका खगेन्द्र साउँद ‘केवी’ ले बिभिन्न विद्यालयमा अध्ययनरत पाँच बालबालिकाको अविभावकत्व लिएका छन् । नीजि क्षेत्रबाट एउटै व्यक्तिले पाँच बालबालिकाको अविभावकत्व ग्रहण गरेको सम्भवत यो पहिलो घटना हो । 
आईतवार बिपन्न परिवारका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै पाँचै बालबालिकाहरुको कक्षा १० सम्मको सम्पूर्ण अध्ययन खर्च आफुले व्यहोर्ने साउँदले वताए । सरस्वति माविमा कक्षा ८ मा अध्ययनरत असिना आउजी, महाकाल आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत श्याम वहादुर साउद, भागेश्वर आधारभुत विद्यालय कक्षा २ मा अध्ययनरत रविन्द्र साउँद, दिल्पेश्वर मावि कक्षा १० मा अध्ययनरत सुधा माझी र सोही विद्यालय कक्षा ९ मा अध्ययनरत रन्जिता साउँदको अविभावक बनेको साउँदले बताए । 
अविभावकत्व लिन आयोजना गरिएको एक कार्यक्रममा साउँदले भागेश्वर आधारभुत विद्यालयमा अध्ययन गर्ने एक सय २० छात्राछात्रहरुलाई विद्यालय झोला समेत वितरण गरेका   छन ।
केवीले यसअघि पनि बिभिन्न सामाजिक कार्य गर्दै आएका छन ।     नगरपालिकाभित्र सञ्चालित सामुदायिक बिद्यालयहरुलाई एक लाख रुपैयाँका दरले आर्थिक सहयोग, बिगत पाँच बर्षदेखि जेष्ठ नागरिकहरुलाई न्यानो कपडा   बितरण गर्ने जस्ता सामाजिक कार्य उनले गरेका छन् । 
समाज सेवा गर्दा आफुलाई सन्तुष्टी मिल्ने गरेको बताउने साउँदले नगरको फोहर व्यवस्थापनका लागि पनि बिभिन्न स्थानमा डष्टबिनहरु राख्दै आएका छन । 

“हलो सिएम” कार्यक्रम सुरु


प्रदेश सरकारलाई जनताप्रति उत्तरदायी बनाउने र जनतालाई प्रदेश सरकारको अनुभूति दिलाउने उद्देश्यले ७ नं. प्रदेशमा “हेलो सिएम” कार्यक्रम सुरु गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सोमवार मुख्यमन्त्री तथा प्रदेश मन्त्रीप–रिषद्को कार्यालयमा एक कार्यालयका बिच ‘हलो सिएम’ कार्यक्रम उद्घाटन गरेका हुन ।
हेलो सिएम कार्यत्रमका माध्यमबाट सिधै जनताका गुनासाहरु सुनी समस्याको समाधान गर्नका लागि यो कार्यक्रको शुरुवात गरिएको मुख्यमन्त्री भट्टले बताए । ‘जनताले आफ्ना समस्या र गुनासाहरु सोझै जन प्रतिनिधिहरुलाई सुनाउन पाउनु पर्छ’ भट्टले भने ‘हेलो सिएम कार्यक्रमका माध्यमबाट जनताका गुनासा सुन्ने प्रयासको थालनी गरिएको गरिएको छ ।’ 
हेलो सिएम कार्यक्रममा मुख्यमन्त्री भट्टको गृह जिल्ला डोटीबाट पहिलो गुनासो आएको छ । डोटीको शिखर नगर–पालिका–२ का करणजंग शाहीले हलो सिएम कार्यक्रम सुरु भएकोमा खुशी व्यक्त गर्दै धनगढी महेन्द्रनगर लगायतका बजार क्षेत्रमा हुने गरेको ट्राफिक समस्या समाधान गरिदिन आग्रह गरेका छन् । 
टोल फ्रि नं. १६६०९१५२७२३ मा सिधै फोन गरी हलो सिएम कार्यक्रममा जुनसुकै नागरिकले पनि आफ्ना जिज्ञासा, गुनासा र सुझावहरु राख्न सकिने प्रदेश नं. ७ का मुख्य सचिव लक्ष्मीराम पौडेलले   बताए ।

गाउँमा सडक पुगेपछि रसाएका आँखा

दिपायल सिलगढी नगरपालिका–७ कुन्जेडीका ७४ बर्षीय राईभान कुन्जेडा हातमा लौरो टेक्दै आए । आँगनमै गाडी पुगेपछि आफ्नो गाउँमा गाडी आउने सपना समेत नदेखेका राईभानका आँखा रसाए । ‘कैलालीको धनगढीबाट नुन बोकेर खाएको थिएँ मैले’ राईभान भन्छन् ‘गाउँमा गाडी आउला भन्ने त सोचेको पनि थिएन, तर आयो ।’ दमका रोगी राईभान भन्छन् ‘गाउँमै गाडी आएको देखेर मर्नु भन्ने लेखेको रहेछ भगवानले, त्यसैले म रोगी बुढो आजसम्म बाँचेको रहेछु ।’ 
वल्लो पाकरीको डाँडामा गाडी गुडेको धेरै भयो, पल्लो लडागडाको डाँडामा पनि गाडी गुडेको धेरै भयो तर वल्ला(पल्लो डाँडामा गाडी गुडेको हेर्दै पसिना पुछ्दै उकालो चढेर जिल्ला सदरमुकाम पुग्ने कुन्जेडीबासीहरुका गाउँमा गाडी पुग्दा हर्षले आँखा रसाए । ‘तिम्रो माईत त कहिल्लै गाडी पुग्दैन भनेर हाम्रा छोरीवेटीहरुलाई समेत जिस्काउने गर्थे तर अव त गाडी पुग्यो’ स्थानीय कालीदेवी कुन्जेडा भन्छिन् ‘त्यस्तो भन्नेहरुलाई जवाफ दिन पनि सजिलो भयो हामीलाई ।’ 
दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको पाकरी–कुन्जेडी सडकको बिहिवार नगरप्रमुख मञ्जु मलासीले उद्घाटन गरेपछि कुन्जेडी गाउँमा सडक पुगेको छ । करीव १८ लाख रुपैयाँको लागतमा निर्माण भएको सडकको लम्वाई चार किलोमिटर रहेको दिसिनपा(७ का वडाध्यक्ष कर्ण बिष्ट बताउँछन् । 
सडक पुगेपछि आफुहरुलाई नगरपालिकाको कार्यालयसम्म आउजाउँ गर्न सहज हुने बताउँछन स्थानीय प्रेमसिंह कुन्जेडा । उनी भन्छन् ‘गाउँमा कोही बिरामी हुँदा स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल पु¥याउनु पर्ने बाध्यता थियो, तर अव एक्वुलेन्स मगाएर लैजान सकिन्छ ।’ बिरामी बोकेर लैजाने क्रममा बाटोमै मृत्यु भएका आफन्तहरु सम्झदै प्रेम भन्छन् ‘अव कम्तीमा समयमै अस्पताल पु¥याउन सकिनेछ ।’
बाचा पुरा गरे बाटो बिर्सेका उपप्रमुखले 
गत असारमा भोट माग्न कुन्जेडी जाने क्रममा बाटो बिर्सेका उपप्रमुखका उम्मेदवार शिवराज खड्काले आफु चुनाव जित्यो भने पहिलो काम यस गाउँमा सडक पु¥याउने सोच बनाएका थिए । ‘गाउँ गाउँ हिड्दै गर्दा राती भईसकेको थियो, अप्ठेरो बाटो थियो, बिर्सेर हामीहरु जंगलतिर लागेका रहेछौं’ उपप्रमुख खड्का भन्छन् ‘मैले त्यसैदिन गाउँमा अव अर्को पल्ट म आउँदा गाडी चढेर मात्रै आउँछु भनेको थिएँ, आज गाडी चढेरै आएँ ।’ 
उनी केही ढिलो भएकोप्रति क्षमा माग्दै स्थानीयलाई भन्दैथिएँ ‘अलि ढिलो भएपनि मैले मेरो बाचा पुरा गरे ।’ उनी त्यो बाटो सम्झदै भन्छन् ‘यस्तो बाटोमा यस गाउँमा मान्छेहरु कसरी हिड्छन् होला भन्ने लागेको थियो, त्यो यो गाउँ बिर्सेको थिएन ।’ 
उपप्रमुखका उम्मेदवारले यस्तो बाचा गर्दा स्थानीयले चुनावी बाचा भन्दै अविश्वास गरेका थिए तर गाउँमै गाडी पुगेपछि उनीहरु हर्षित भए । ‘उहाँले बोलेको कुरा पुरा गर्नु भएको छ’ स्थानीय दिलवहादुर कुन्जेडा भन्छन् ‘नेतामा हुनु पर्ने गुण उहाँमा रहेछ ।’ 
स्थानीयद्वारा सम्मान 
गाउँमा सडक पुगेपछि सडक उद्घाटन गर्न पुगेको नगरप्रमुख मलासी सहितको टोलीलाई स्थानीबासीले फुलमाला र दोसल्ला ओडाएर सम्मान गरेका छन् । 
जनप्रतिनिधि भईसकेपछि आफ्ना पिरमार्का बुझि काम गरेको भन्दै नगरपालिकाको टोलीलाई सम्मान गरिएको हो । नगरप्रमुख मलासी, उपप्रमुख खड्का, प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्मा र ईन्जिनियर डम्मर जोशीलाई दोसल्ला ओडाएर सम्मान गर्दै स्थानीय तेडी आधा–रभुत बिद्यालयका प्रधानाध्यापक दिलबहादुर कुन्जेडाले भने ‘जनताको आवश्यकता अनुसार काम गर्दै जानु होला भन्ने अुनरोध छ ।’
अवको लक्ष खानेपानी 
‘सडक त पुग्यो नेता ज्यू, खानेपानीका धेरै दुःख छन्, अव खानेपानी पनि बनाई दिनु प¥यो’ स्थानीय एक महिलाले नगरप्रमुख मलासीलाई बिन्ती गरिन् । स्थानीय भाषा प्रयोग गर्दै उनले थपिन् ‘तपाई पनि महिला हुनुहुन्छ, महिलाहरुका दुःख बुझ्नु भएको छ, हामीलाई एक गाग्री पानी ल्याउन एक घण्टा लाग्छ ।’ 
९५ परिवार रहेको कुन्जेडी गाउँमा खानेपानीको समस्या भएका कारण स्थानीय बिद्यालयमा समेत सरसफाई हुन नसकेको प्रधानाध्यापक कुन्जेडाले वताए । 
स्थानीयको आग्रहपछि नगरप्रमुख मलासीले भनिन् ‘आज म सडकको उद्घाटन गर्न आएँ, अर्को पल्ट खानेपानीको उद्घाटन गर्न आउँछु ।’ आफु झुटा आश्वासन दिने भन्दा पनि काममा बिश्वास गर्ने बताउँदै उनले भनिन् ‘यो गाउँमा खानेपानीका लागि सम्भाव्यता अध्ययन म आजैदेखि सरोकारवालाहरुसंग छलफल चलाउँछु ।’  

तेले संरक्षण गुरु योजना बन्ने

डोटीको शिखर नगरपालिकाले तेले लेक संरक्षणका लागि गुरु योजना बनाउने तयारी गरिरहेको छ । 
शिखर नगरकार्यापालिकाको शनिवार तेले लेकमा बसेको बैठकले तेले क्षेत्रको संरक्षण र बिकासका लागि गुरुयोजना तयार गर्ने निर्णय गरेको हो । बैठकको योजना सार्वजनिक गर्दै नगर–पालिकाका प्रमुख सिताराम जोशीले तेले लेकमा पर्यटन प्रवद्र्धन गर्नका लागि बिभिन्न पूर्वाधारहरु तयार गर्न तेलेलेक संरक्षण गुरुयोजना बनाईने जानकारी दिए । ‘प्राकृतिक सम्पदाको अथाह भण्डार रहेको यस तेले क्षेत्रमा पर्यटकहरु भित्राउन सके नगरपालिकाको समग्र बिकासमा टेवा पुग्नेछ’ जोशीले भने ‘पर्यटकहरु आकर्षित गर्नका लागि पूर्वाधारहरुको विकास गर्नु जरुरी छ । ’
उनले देउतालमा बाँध निर्माण    गरी कृतिम ताल निर्माण गर्ने गरी स्टिमेट भईसकेको वताए । ‘तेले क्षेत्रमा सडक निर्माण र देउतालमा बाँध निर्माण पहिलो प्राथमिकतामा छन्’ उनले भने ‘अन्य गतिबिधिहरु गुरुयोजना निर्माण भईसकेपछि बनाईनेछ ।’ 
बैठक स्थल पुगेको जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐरले तेलेको विकासका लागि सवै भन्दा पहिले सडक आवश्यक भएको वताए । ‘सडक नै पहिलो आधार हो, सडक पुगेपछि अन्य विकास गर्न सजिलो हुन्छ’ प्रमुख ऐरले भने ‘सडकलाई प्राथमिकता दिनु पर्छ ।’ उनले तेले लेक संरक्षणको लागि जिल्ला समन्वय समिति र आफु आवद्ध नेकपा एमालेको पूर्ण सहयोग हुने समेत बताए । ‘मेयर सावले राम्रो काम गर्दै हुनुहुन्छ, म जहिले पनि उहाँको साथमा छु’ ऐरले भने ‘म नेकपा एमालेको नेता भएका कारण एमालेको र जिल्ला समन्व्य समितिको प्रमुख भएका कारण जिल्ला समन्वय समितिको उहाँलाई पूर्ण सहयोग हुन्छ ।’ 
कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले तेले क्षेत्रमा पूर्वाधार विकास गर्दा बातावरणीय प्रभाव मुल्याङ्कन गर्नु पर्ने कुरामा जोड दिए । ‘घना जंगलमा सडक लैजानु उपयुक्त हुँदैन, मैले यस्तो घना जंगल बिनास गरेर सडक लगेको धेरै कम देखेको छु’ प्रजिअ यादवले भने ‘कुनै पनि निर्माण गर्दा त्यसको प्रभावलाई ध्यान दिनु जरुरी हुन्छ ।’ 
पर्यटकहरु कृतिम बस्तु भन्दा पनि प्राकृतिक बस्तुहरु हेर्न ईच्छुक हुने बताउँदै सडक निर्माणका नाममा घना जंगल फडानी भएपनि यहाँ प्राकृतिक बस्तुहरु नरहने उनले वताए ।

छोटकरी समाचार

बिद्यालयमा प्रारम्भिक पढाई कार्यक्रम सुरु

विद्यालयमा भर्ना भएका कक्षा ३ सम्म अध्ययन गर्ने बालबालिका र शिक्षकहरुलाई लक्षित गर्दै बालबालिकाहरुको शैक्षिक स्तरमा सुधार ल्याउने उद्देश्यका साथ डोटीका एक सय ७३ विद्यालयमा प्रारम्भिक पढाई शिक्षा कार्यक्रम लागु हुने भएको छ ।
बालवालिका विद्यालय प्रवेश पश्चात गुणस्तरीय सिकाई र बिद्यालयमा टिकाउन कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याउने जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अनन्त कुमार पौडेलले बताए ।
बालवालिका विद्यालयमा प्रवेश पश्चात गुणस्तरीय सिकाई हुन आवश्यक रहेको हुदा यो कार्यक्रमलाई जिल्लाब्यापी बनाई सबै गाउँपालिका, नगरपालिका र वडाहरुले पनि सहयोग गनुपर्ने पौडेलको भनाई छ ।
सामुदायिक विकास केन्द्र डोटी को आयोजनामा परियोजनाको बारेमा सरोकार–वालहरु संगको अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न एक सय ७३ विद्यालयहरुमा   परियोजना संचालन हुने  जानकारी दिईयो । परियोजना संयोजक सतिश गुरुङ्गले शिक्षकहरूलाई तालिम,  शिक्षकहरूको घुम्ती बैठक, जनचेतना मुलक अभियान, शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रमहरु परियोजना अन्तरगत रहेका बताए । कार्यक्रममा गाँउपालिका र   नगरपालिकाका जनप्रतिनिधीहरु सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

खेल समाचार

आईपिएलमा चम्किए सन्दिप

एजेन्सी


भर्खरै बामे हिँड्न थालेको नेपाली क्रिकेट खेलाडीका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्नु सपना जस्तै हो तर सन्दीपका लागि त्यो सपना साकार भयो । दिल्ली डेयर डेभिल्सले उनलाई २० लाख भारतीय रुपैयाँमा आईपिएलका लागि अक्सनको सूचीमा राख्यो । 
सन्दीपका लागि आफूलाई प्रमाणित गर्ने यो अर्को स्वर्णिम मौका प्राप्त भयो ।  उनले खेलेका तीन खेलमा आफ्नो टिमलाई ८२ रन दिएर पाँच विकेट लिए । सबै खेलमा महत्वपूर्ण विकेट लिए । यसअघि जसरी उनले पाएका मौकालाई सदुपयोग गरेका थिए, आइपिएलमा पनि सन्दीप चुकेनन् ।
‘यति सानो उमेरमा आइपिएल खेल्न पाउनु उनको कडा परिश्रम लगाबका साथै भाग्यले पनि साथ दियो’ सन्दीपका बुबा चन्द्रनारायण लामिछानेले भने ‘काठमाडौंमा नामिबिया र केन्याविरुद्धको खेल हेर्दा यसले बलिङमा राम्रो गर्छ भन्ने अनुमान गरेको थिएँ, राम्रो पनि ग¥यो ।’ 
नेपाली छोरा सन्दीप आईपिएलमा चम्किएका छन् । पहिलो पटक यु–१९ को क्याम्पमा बस्दा हो या सिनियर टोलीमा खेल्दा उनी आशलाग्दा खेलाडीका रुपमा देखिएका थिए । आइपिएलमै पनि उनले आफूलाई प्रमाणित गरेका छन् । 
तर, उनले नेपाली क्रिकेटमा कति लामो समय खेल्छन् भन्ने सबैभन्दा महत्वपूर्ण बिषय हो । जसरी शक्ति गौचनले १७÷१८ वर्ष नेपाली क्रिकेटलाई दिए । त्यसरी उनले खेल्न सक्छन कि सक्दैनन् । सानै उमेरमा उनले ठूला उपलब्धि पाइसकेका छन् । अब त्यसलाई कायम  राख्दै लामो समय खेल्नु उनका लागि अबको चुनौती हो ।’उनले खेलमा स्थान बनाइराख्नु नै ठूलो कुरा हो ।

चलचित्र/मनोरञ्जन

सन्देशमुलक गीत सार्वजनिक


बन जंगल संरक्षण सम्वन्धि जनचेतनामुलक गीत आईतवार सार्वजनिक गरिएको छ । 
डोटीका युवा कलाकारहरुद्वारा तयार गरिएको उक्त गीत एक कार्यक्रमका बिच दिपायल सिलगढी नगरप्रमुख मञ्जु मलासीले सार्वजनिक गरिन् । दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा तयार गरिएको उक्त गीतमा पत्रकार तथा कलाकार झलक पाली, कलाकार प्रेम नेपाली र कलाकार यमुना दर्लामी मगरको स्वर रहेको छ । कलाकार पालीको शव्द संगित रहेको उक्त गीत सुर ताल डिजिटल रेकर्डिङ्ग स्टुडियो, काठमाण्डौंमा रेकर्ड गरिएको पालीले  बताए । 
गीतले हाल भईरहेको बन जंगल फडानी रोक्न चेतना फैलाउन महत्वपूर्ण योदान दिने नगरप्रमुख मलासीले बिश्वास गरिन् । उनले यस्ता सन्देशमुलक कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिका सधैं क्रियासिल रहेको समेत बताईन । 
कार्यक्रममा नगर उपप्रमुख शिवराज खड्का, प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्मा लगायतका व्यक्तिहरुले गीतको सफलताको शुभकामना व्यक्त गरेका थिए । 

चलचित्र ‘माछा माछा’ निर्माण हुने

चलचित्र ‘माछा माछा’ निर्माण हुने भएको छ । सुनिल गुरुङको निर्देशनमा बन्न लागेको यो चलचित्रले तीन जना गाउँले यूवाहरुले आफूलाई शहरमा स्थापित गर्नका लागि गरेको संघर्षको कथालाई उठान गर्नेछ ।
चलचित्रको मुख्य तिन पात्रमा नायक सौगात मल्ल, विजय बराल र अनोज पाण्डे देखिदैछन् । साथमा यो चलचित्रमा प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणी नेपाल, पुस्कर लगायतको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन काठमाण्डांै, भक्तपुर र ललितपुरमा गरिनेछ ।
सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचन्द्र रौनियारले निर्माण गर्दैछन् । १ महिनामा चलचित्रको छायांकन सक्ने योजना निर्माणपक्षको छ ।
आजबाट काठमाण्डौको गौरी घाटलाई लोकेशन बनाउँदै यसको छायांकन सुरु गरिएको छ । पछिल्लो समय कमेडी जनराका चलचित्रको बाढी नै लागेको समयमा ‘माछा माछा’ पनि थपिएको छ ।

लेख 

समाजबादउन्मुख कि समाजबादको हुर्मत ?

हरी रोका

संघीय सरकारले संविधानमा प्रावधान गरिए बमोजिम जेठ १५, २०७५ मा पहिलो बजेट प्रस्तुत गर्नेछ । घोषित रूपमा कम्युनिस्ट पार्टीको सहज बहुमत भएको सरकार संघ र सातमध्ये ६ प्रदेशमा शासन सञ्चालनमा छ ।
प्रदेश र संघको निर्वाचनको समयमा प्रस्तुत घोषणा पत्रलाई आधार बनाएर कार्यान्वयनमा लैजान सरकारमाथि कुनै कानुनी तथा व्यावहारिक व्यवधान छैन । संविधानमा व्यवस्था भए बमोजिम एक साताको मार्जिन राखेर ७ जेठमा नीति तथा कार्यक्रम र १५ मा बजेट प्रस्तुत गरिने जनाइएको छ ।
समाजवादउन्मुख सामाजिक संरचना
आमगरिबी तथा बेरोजगारी, क्षेत्रगत असन्तुलन, खिइँदै गएको उत्पादकत्व र उत्पादनशीलता, दु्रतगतिमा बढ्दो व्यापारघाटा अहिलेको नेपाली अर्थ–राजनीतिको यथार्थ हो । जसलाई अर्थमन्त्रीले १६ चैतमा श्वेतपत्रमार्फत संघीय संसद्मा औँल्याएका थिए । यसैबीच कामरेड केपी ओलीको सरकारको सय दिन समापन भएको छ । अहिले एकीकृत पार्टी बनाएका हिजोका दुई वाम दलले गत वर्षको १७ असोजदेखि थालेको एकता र मेलमिलाप सम्बन्धी कामकारबाही जेठ पहिलो सातामा आइपुग्दा एकीकरण गरेर सम्पन्न भएको छ । यससँगै ‘समृद्धि’ र ‘विकास’ का निमित्त आर्थिक–सामाजिक अवस्थाको केस्रा–केस्रा केलाएर ‘समाजवादउन्मुख समाज निर्माण’को खाका तयार पारिएको अनुमान लगाउन सकिन्छ ।
यसपालि राज्यले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटमा खाका अनुरूप अधिकतम तथा न्यूनतम कार्यक्रम प्रतिबिम्बित हुने जनअपेक्षा रहनु पनि अस्वाभाविक हुँदैन ।
अर्थमन्त्रीले संघीय संसद्मा पेश गरेको विनियोजन विधेयक, सिद्धान्त र प्राथमिकतामार्फत ‘नेपालको संविधानले परिकल्पना गरेको समाजवादउन्मुख आर्थिक प्रणालीको निर्माण गरी परनिर्भरताको अन्त्य गर्ने र नेपाली जनताले चाहेको उन्नत तथा न्यायपूर्ण समाज निर्माण गर्ने कार्यदिशामा आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटले विश्वसनीय आधारशिला तय गर्नेछ’ भन्ने आश्वासन पस्किएका छ ।
उनले त्यस दस्ताबेजमा संविधानमा उल्लेख गरिएको नागरिकका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई मार्गदर्शक मान्दै, चुनावी घोषणापत्रलाई विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताको आधारका रूपमा लिएको बताएका छ । तर, ३२ बुँदामा समेटिएको १३ पृष्ठ लामो उक्त विधेयकमा प्रस्तुत गरिएको ‘सिद्धान्त’ र ‘प्राथमिकता’ ले ठोस आकारमा लय पक्रिएको भने देखिँदैन ।
‘आमगरिबी, बेरोजगारी तथा असमानता’ ‘क्षेत्रगत विकास असन्तुलन’ ‘खिइँदै गएको उत्पादकत्व र उत्पादनशीलता’, ‘दु्रतगतिमा बढ्दो व्यापारघाटा’ नेपालका मुख्य समस्या हुन् । यी समस्या समाधानकै लागि विगतमा युद्ध र आन्दोलन भए । समाधानार्थ संविधानसभामार्फत संविधान जारी भएको छ ।
वर्तमान संविधानमा ‘समाजवादउन्मुखता’ आम गरिबी, बेरोजगारी र असमानता हटाउनकै लागि लेखिएको हो । क्षेत्रगत विकास असन्तुलनलाई सम्बोधन गर्न मुलुकले संघीय प्रणाली रोजेको होरु। खिइँदै गएको ‘उत्पादकत्व र उत्पादनशीलता’ को समस्या राज्यको वर्तमान आर्थिक तथा सामाजिक ढाँचामा समायोजन खोजेर होइन,        संरचनागत परिवर्तन गरेर मात्र समाधान गर्न सकिन्छ भन्ने प्रगतशील फाँटका विदेशी विज्ञको बुझाई छ ।
आर्थिक संरचनामा आमूल परिवर्तन, विद्यमान पुराना संस्थालाई नवीन आवश्यकता अनुसार परिवर्तन, नयाँ संरचनाको विकास, व्यापार सन्तुलन कायम गर्नु समाजवादी सिद्धान्तको जगमा सम्पन्न गरिने विषय हुन् । यति भन्न धेरै सुपारी चपाइरहन आवश्यक पर्दैन । त्यसैले सबैभन्दा प्रस्ट हुनुपर्ने विषय भनेको वर्तमान सत्तारूढ दल ‘राज्यको वर्तमान संरचनालाई’ ‘समाजवादउन्मुख सामाजिक संरचनामा’ बदल्न चाहन्छ कि चाहँदैन भन्ने हो ।
संविधानमा समाजवादउन्मुखता किन भनियो ?
पहिलो जनआन्दोलनअघि राजतन्त्रको नेतृत्वमा निरंकुश तानाशाही पञ्चायती व्यवस्था विद्यमान थियो । त्यो आर्थिक, राजनीतिक तथा सामाजिक संरचनामा जनताका अधिकार कुण्ठित थिए । २०४६ सालपछि स्थापित संवैधानिक राजतन्त्र तथा बहुदलीय–संसदीय व्यवस्थामार्फत सम्पन्न आमनिर्वाचनपछि बनेको कांग्रेसको बहुमतको सरकारले तत्कालीन आर्थिक–सामाजिक ढाँचाभित्रै रहेर नवउदारवादी बजार अर्थतन्त्र अपनायो ।
उदारीकरण, भूमण्डलीकरण र निजीकरणका मन्त्र अनुसार गरिएको रूपान्तरण प्रक्रियाका कारण शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रसमेत अलगानी (डाइभेस्टमेन्ट) को सिकार बन्न पुगे । त्यस्तै, कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि दिइँदै आएका प्रत्यक्ष–अप्रत्यक्ष राहत र सहुलियत कटौती हुन पुगे भने सहयोग गर्ने सार्वजनिक संस्थाको निजीकरण गरियो । उदारीकरणको नीतिका कारण निजीकरण नगरिएका, तर आयात प्रतिस्थापन गर्ने सार्वजनिक उद्योग र संस्थाहरू एकातर्फको डाइभेस्टमेन्ट र अर्कातर्फ वैदेशिक उद्यमसँग प्रतिस्पर्धा गर्न नसकेर कतिपय टाट पल्टिए, कतिपय निजीकरणमा धकेलिए ।
यो नीतिगत फेरबदलले व्यापारमा नाफा आर्जन गर्न सजिलो देखेर विगतका उद्योगी घरानियाँहरूसमेत उद्योग छाडेर व्यापारमा छिरे । नवधनाढ्य राजनीतिज्ञ तथा तिनका सहयोगी शिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा आर्जन गर्ने उद्यमका रूपमा विकास गर्न कम्मर कसेर लागे । सन् १९९०–१९९६ को अवधिमा कथित आर्थिक वृद्धि र समग्र विकासको नारा घन्काइयो । त्यसको अनुपातमा बढेको मुद्रास्फीति, डलर सटही विनिमय दर आकाश छुने गरी बढेको विषय, खाद्यान्न, लत्ताकपडा, शिक्षा र स्वास्थ्य खर्चमा गुणात्मक महँगीबारे चर्चा–  परिचर्चासम्म भएन ।
सन् १९९२–९६ भित्र वृद्धि हुन पुगेको विकराल असमानताको दर (जिनी कोफिसियन्ट) बारे मूलधारका अर्थशास्त्री तथा नीति निर्माताबीच बहसको विषय नै बनेन । त्यो बीचमा वामपन्थीहरू पनि अल्पमत तथा सहकार्य गर्ने गरी सरकारमा आए । उनीहरूले संरचनागत रूपान्तरणभन्दा पनि लोक कल्याणका केही लोकप्रिय कार्यक्रम मात्र अगाडि सारेको देखियो ।
आज देखिएको विशाल व्यापारघाटा हिजो–अस्तिको राति वा दिउँसोको क्रियाकलापको मात्र उपज होइन । यो त्यतिवेला अर्थात् सन् १९८६ सुरु भएर १९९२ देखि तीव्र गति लिएको सैद्धान्तिक, संरचनागत, नीतिगत तथा संस्थागत क्रियाकलापको उपज हो । ३२ वर्षदेखि नवउदा–रवादी बजार अर्थतन्त्रले एक खालको उत्पादन पद्धति (मोड अफ प्रोडक्सन) को विकास हुन पुग्यो । यो उत्पादन पद्धतिमा आमरूपमा गरिबी, बेरोजगारी, असमानता, क्षेत्रगत विकास असन्तुलन, उत्पादकत्व र उत्पादनशीलतामा ह्रास तथा तीव्र गतिमा व्यापारघाटा हुन पुग्यो ।
कृषि क्षेत्रको व्यवस्थापन, रूपान्तरण र हस्तान्तरण
बजार अर्थतन्त्रका पक्षपातीहरू समष्टिगत अर्थतन्त्रमा कृषिको योगदान ३१ प्रतिशतबाट २८ मा झरेकोमा खुसी छन् । अझ यो १० प्रतिशतमा झार्नु पर्छ भन्ने आवाज पनि चर्को रूपमा सुनिने गरेको छ । तर, यो पंक्तिकारको बुझाइ भने अलिक फरक छ । कृषिको योगदान त्यतिवेलासम्म घट्नु हुँदैन जबसम्म कृषिमा आश्रित परिवार वा जनसंख्या घट्दैन ।
कृषिमा आश्रित जनसंख्या आफसेआफ त्यतिवेला घट्छ जब कृषिको आधुनिकीकरण र कृषि क्षेत्रको मूल्य अभिवृद्धि हुने गरी देशव्यापी औद्योगिकीकरण हुन्छ । समष्टिगत अर्थतन्त्रमा कृषिको योगदान घट्नु, तर श्रम र आश्रित जनशक्ति नघट्नुको अर्थ गैरकृषि क्षेत्र र कृषि क्षेत्रमा संलग्न घरपरिवारबीच असाधारण रूपमा असमानता बढ्नु हो । यस्तो असमानताको परिणाम के हुन सक्छ भन्ने दशकअघि विकसित र विस्तारित गृहयुद्धजन्य राजनीतिक घटनाक्रमले प्रस्ट पार्छ ।
यतिवेला अर्को एउटा समस्या झन् विकराल रूपमा देखिएको छ । गल्फ शान्त छैन, जहाँ हाम्रा ३० लाखभन्दा बढी युवायुवती रोजगारीका लागि त्यहाँका दर्जन मुलुकमा छरिएर रहेका छन् । इरान र साउदी अरेबिया, इरान र इजरायल, साउदी र यमन, साउदी र कतार, इजिप्ट र टर्कीबीच अत्यन्त तीव्र धु्रवीकरण बढिरहेको छ ।
नेपथ्यमा रहेका अमेरिका, रुस र चीनबीच भयानक शीतयुद्धले यो धु्रवीकरणलाई अझ तीव्र पारिदिएको छ । कथंकदाचित् युद्धको आगो सल्कियो भने लिफ्टका लागि मोदीसँग हारगुहार त मागौँला, तर फर्केर आउने युवा जनशक्तिलाई तत्कालका लागि अटाउने ठाउँ भनेको त फेरि त्यही कृषि नै हो ।
यस हिसाबले संकटग्रस्त बन्न पुगेको कृषिमा संघीय राज्यले खेल्नुपर्ने भूमिका संरचनागत, संस्थागत, नीतिगत तथा लगानीगत हिसाबले के ? प्रदेश र स्थानीय तहमा गरिनुपर्ने संस्थागत समन्वय कसरी गर्ने भन्ने विषय बुँदागत रूपमा आउनुपर्ने होइन र ? समाजवादउन्मुख अर्थतन्त्र भनेको ‘व्यक्तिवादलाई प्रश्रय दिने बजार अर्थतन्त्र होइन’ । न त वैदेशिक लगानीका नाममा जथाभावी नाफा कमाएर–कुम्ल्याएर भाग्ने कथित उद्यम र व्यवसायले समाजवाद–उन्मुखतालाई टेवा दिन्छन् ।
भुइँचालोबाट निम्तिएको अव्यवस्थाको सम्बोधन
०७२ को भुइँचालोबाट नेपालको मध्य तथा पूर्व क्षेत्रका झन्डै ३२ जिल्ला प्रभावित र आठ लाख घर ध्वस्त भए । अर्बाैं रुपैयाँ बराबरको सम्पत्ति नोक्सान हुन पुग्यो । आठ हजारभन्दा बढी मानिस मारिए । त्यसको क्षति व्यहोर्न वा परिपूर्ति गर्न खर्बौं रुपैयाँ लाग्ने र सहयोग र सद्भावका लागि अन्तराष्ट्रिय दाता सम्मेलन पनि सम्पन्न भयो । भूकम्पपछि एकीकृत बस्ती, आवास लगायत यावत् पूर्वाधार निर्माणमा चाहिने आवश्यक सामग्री, जनशक्ति कति आवश्यक, कति उपलब्ध, कति तयार पार्नुपर्ने हो भन्ने विषय सम्बोधन भएन ।
जनसंख्या बिववरण र बसाईसराई
०४६/४७ को राजनीतिक परिवर्तन लगत्तै शिक्षा, स्वास्थ्य र रोजगारीको प्रवृत्तिमा बृहत् परिवर्तन हुन पुग्यो । जनसंख्याको पुनःउत्पादन प्रक्रियामा आएको व्यापक परिवर्तनले नेपाली कृषि, उद्योग, पर्यटन आदि क्षेत्रमा के कस्तो सकारात्मक र नकारात्मक प्रभाव परेको होला ? खासगरी बाह्य जिल्लामा बसाइँसराइ कसरी भइरहेको छ ?
हिमाल र पहाडबाट तराई र राजधानी लगायत सहरमा जनसंख्या स्थानान्तरण कसरी भइरहेको छ ? र, सडक तथा अन्य पूर्वाधार तयार भइरहँदा पूर्वाधार, बजार र सहर निर्माण कसरी भइरहेको छ ? त्यसले समग्र विकासमा के प्रभाव परेको छ ? नीतिगत, योजनागत रूपले यसलाई सम्बोधन गर्नु पर्दैन ?
नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने विषय
१. राज्यको भूमिका 
संघको भूमिका उत्पादक, सहजकर्ता, सेवाप्रदायक कुन क्षेत्रमा के–के हुने ? बजारमा के छाड्ने ? नियमन कसले गर्ने ? योजनाबद्ध ढंगले प्रदेश र गाउँ–नगर सरकारबीच समन्वय–सहकार्य कसरी गर्ने ? वर्तमान वास्तविकतामा आधारित मौलिक अधिकारका (राइटबेस्ड एप्रोच) कसरी स्थापित गर्ने ? स्कुले शिक्षा, स्वास्थ्य, आधारभूत पूर्वाधार (पानी, बिजुली, स्यानिटेसन, सार्वजनिक यातायात, आवास व्यवस्थापन, आधारभूत रोजगारीमा कसको कस्तो जिम्मेवारी ? कसले कस्तो दायित्व बोक्ने भन्नेमा प्रस्ट नीति आउन आवश्यक छ ।
२. निजी क्षेत्रको भूमिका
सन् १९९५/९६ मा औद्योगिक उत्पादनमा लगानी किन हुन सकेन ? जमिन, श्रम, बिजुली, टेक्नोलोजी, यातायात, पुँजीको मूल्य, ब्याजदर र अन्य धेरै फ्याक्टरमा को, कसरी जिम्मेवार हुने ? एउटै फर्म वा परिवारले उद्योग, बिमा र बैंक सञ्चालन गर्नु ठीक हो, होइन ? रणनीतिक उद्योग, आधारभूत उद्योग तथा राष्ट्रिय पुँजी र तिनलाई कुन क्षेत्रमा कसरी संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ ? बाह्य लगानी, बाह्य प्रतिस्पर्धा, बाह्य नाफा र नाफाको पुनर्लगानी कसरी व्यवस्थित गर्दा स्वाधीन अर्थतन्त्र व्यवस्थित हुन्छ ? प्रस्ट नीति, कार्यक्रम र बजेट कसरी प्रस्तुत हुन्छ ?
३. पुँजी निर्माण
कुल गार्हस्थ उत्पादनमा सार्वजनिक तथा निजी क्षेत्रबाट हुने कुल गार्हस्थ पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) ४.७ प्रतिशत र १८.३ प्रतिशत रहेको  छ । यति सानो स्केलमा भइरहेको पुँजी निर्माणले आवश्यकता अनुसार रोजगारी, आवश्यकता अनुसार उत्पादन सम्भव   हुन्न । जुन तहमा उपभोग बढी रहेको छ र जुन रूपमा प्रतिव्यक्ति बचत कमजोर हुँदै छ, त्यसले उपभोगमा आधारित कर पनि कमजोर बन्दै गएको छरु। यसको अर्थ स्रोतमा कमी हुन्छ, यसलाई परिपूर्ति गर्ने योजना के हुन सक्छ ? आयात वृद्धि, निर्यात कमजोर बन्दै जाँदा उत्पन्न हुने बेरोजगारी तथा आर्थिक उत्पादन अवरुद्धता (स्ट्यागल्फयासन) लाई कसरी सम्बोधन गर्ने ?
४. सहकारी क्षेत्र
सहकारी क्षेत्र कमजोर मात्र छैन, विश्वव्यापी मान्यताभन्दा भिन्न ढंगले सञ्चालनमा आएका छन्रु। सहकारी नेपाली अर्थतन्त्रको तीन खम्बामध्ये एउटा खम्बा हो । तर, यो साधारण जनता र गरिब जनताको पक्षमा हुन सकिरहेको देखिन्न । उत्पादनमा, मजदुरीमा, सामाजिक स्वामित्वमा र नयाँ ढंगको सामाजिक उत्पादन पद्धतिमा सहकारी कसरी अगाडि बढ्छ ? यससम्बन्धी योजना, कार्यक्रम र बजेटले कसरी सम्बोधन गर्छ ?
५. नवउदारवादको विकल्प
गोलमटोल समाजवाद होइन । नवउदारवादको ढाँचा र कार्यक्रममा टेकेर समाजवादमा पुग्न सकिन्नरु। नवउदारवादी मानसिकता, बजारवादी नाफामूलक व्यवस्थापन, नवउदारवादी व्यवस्थापनमा आधारित समाजवादको निब बस्न सक्दैनरु।
यस अर्थमा आर्थिक प्रजातन्त्र, आर्थिक न्याय, दिगो वातावरणीय दिगोपन, मानवीय ऐक्यबद्धता र आर्थिक समुन्नतिका लागि कार्यक्षमता (इकोनोमिक इफिसियन्सी) बनाउने विषयका निमित्त कस्तो राजनीतिक निर्णय गर्ने ? दीर्घकालका लागि इम्पेरेटिभ प्लान कसरी कुन संस्थागत आधारमा तय गर्न सकिन्छ ।
— नयाँ पत्रिकाबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी

१. हरेक बर्ष प्रदान गरिने एक लाख रुपैयाँ राशिको ईच्छु स्मृत पुरस्कारबाट बि.संं २०७५ मा सम्मानित हुने स्रष्टा को हुन ?    — बिनोद बिक्रम केसी र मोदनाथ मरहठ्ठा (संयुक्त रुपमा) 
२. साहित्यतर्फको ईच्छुक प्रतिभा पुरस्कार २०७५ बाट पुरस्कृत को हुन ?  — कवि शोभा दुलाल 
३. कलातर्फको ईच्छुक प्रतिभा पुरस्कार २०७५ बाट पुरस्कृत को हुन ?  
— फुलमाया दर्जी र प्रगति हिङमाङ 
४. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले कहिलेसम्ममा मङ्गलग्रहमा हेलिकप्टर पठाउने भएको छ ? 
— सन २०२० 
(रिमोटबाट चल्ने हेलिकोप्टरलाई मङ्गलग्रहको पातलो वायुमण्डलमा उडान गर्न सक्ने गरी डिजाईन गरिएको छ । यो हेलिकोप्टरको पङ्खा प्रतिमिनेट तीन हजार पटक घुम्नेछ, जुन पृथ्वीमा उडान भर्ने साधारण हेलिकोप्टरको तुलनामा १० गुना बढी रहेको बताईएको छ । 
५. बि.सं. २०७५ मा प्रदान गरिएको दुई लाख रुपैयाँ राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन ?      — डा. महेन्द्र बिष्ट, र डा. राजेश झा ‘अहिराज’ 
६. “त्यो समय’ नामक संस्मरणात्मक पुस्तकका लेखक को हुन ?   — शारदा शर्मा 
७. बि.सं. २०७५ बैशाखमा सम्पन्न मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी कसले जित्यो ?  — प्रदेश नं. ७ (उपबिजेता प्रदेश नं. २) 
८. “हाँसो एउटा त्यस्तो सूर्य हो, जसले मानव मुहारबाट हिउँद भगाईदिन्छ ।” भन्ने बिचारक को हुन् ? 
— भिक्टर ह्युगो, फ्रान्सेली लेखक 
९. बिश्वमा पहिलो पटक मोवाईल फोनको प्रयोग कहिले गरिएको हो ?   — सन १९७३ मा, 
(मोवाईल फोनका अविस्कारक मार्टिन कपुरले पहिलो पल्ट मोवाईलबाट फोन सम्पर्क स्थापित गरका हुन ।) 
१०. मलेसियामा सन् २०१८ मे मा सम्पन्न निर्वाचनमा प्रधानमन्त्रीमा निर्वाचित हुन सफल व्यक्ति को हुन ?      — महाथिर मोहम्मद् 
(आधुनिक मलेसियाका जन्मदाताको रुपमा चिनिने महाथिर ९२ बर्षको उमेरमा पुनः प्रधानमन्त्री बने । सुधारबादी नेताको छवि बनाएका महाथिरको पुनरागमनले अन्य कुराका साथसाथै मलेसियाको               रोजगारीमा देखिएका समस्या समाधानमा कदम चालिने विश्वास गरिएको छ ।) 
११. हुम्के विमानस्थल कुन जिल्लामा रहेको छ ?   — मनाङ, 
(आठ बर्षअघि नै स्तरोन्नती र कालोपत्रे गरी बा¥है महिना जहाज अवतरण गर्न सकिने हुम्के बिमानस्थलमा हाल सरकारी तवरबाट वा व्यवसायिक हिसवाले कुनै पनि जहाज अवतरण भएको छैन ।)
१२. पछिल्लो पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको दुई दिने भ्रमण कहिले भएको    थियो ?  — बि.सं. २०७५ बैशाख २८ देखि २९ सम्म 
(मोदीले भारतीय प्रधानमन्त्रीको हैसियतले तेश्रो पटक नेपाल भ्रमण गरेका हुन ।)
१३. लण्डन ईन्स्टिच्युट अफ बैङ्किङ एण्ड फाईनान्स र युके फाईनान्सद्वारा प्रदान गरिएको ‘फाईनान्सियल ईन्नोभेसन अवार्ड–२०१७’ बाट सम्मानित नेपाली युवा को हुन ?  — प्रकाश कोईराला 
(फिनलिट नेपाल नामक संस्था स्थापना गरी बित्तीय साक्षरता अभियानमा सक्रिय रहनु भएका             कोईरालाको संस्था सर्वसाधारणलाई बैङ्क तथा बित्तीय संस्थाको सहयोगमा साना तथा मझौला व्यवसायमा सहयोग पु¥याउँदै आएको छ । कोईरालाले ग्रामिण क्षेत्रमा पैसाको महत्व बुझाउने बिभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै हुनुहुन्छ । विजयी घोषित भएपश्चात् उहाँले ट्रफी र करिव साँढे तीन लाख रुपैयाँ सहितको पुरस्कार थाप्नु भयो ।) 
१४. दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गर्ने चिनियाँ पर्वतारोही को हुन ? 
— ७० बर्षीया जिया वोयु (सन् २०१८ मे १४) 
१५. बि.संं. २०७५, बैशाखमा मनाईएको तेश्रो राष्ट्रिय पत्रकारिता दिवसको नारा के हो ?
— समृद्धि र सुशासन, आमसञ्चारको अभियान 
१६. बिश्व भोकमरी सूचकाङ्क २०१७ मा नेपाल कुन स्थानमा रहेको छ ?    — ७२ औं 
१७. मेगा बैङ्क नेपाल टुरिज्म डेभेलपमेण्ट बैङ्ग गाभिई एकीकृत कारोवारको शुरुवात कहिले देखि भएको हो ?    — २०७५ साल बैशाख ३० गते देखि 
१८. मणिबिक्रम शाह कुन खेलसंग सम्वन्धित हुन ?  — फुटवल 
१९. प्राचिन कालमा चोभारलाई कच्छपाल गिरी भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?  — दोलाद्री गिरी 
२०. बिश्वको चर्चित आर्थिक पत्रिका फोव्र्सद्वारा सन् २०१८ मे मा सार्वजनिक प्रतिवेदन अनुसार बिश्वको सवैभन्दा शक्तिशाली व्यक्ति को बनेका छन् ?   — चिनियाँ राष्ट्रपति सि जिन पिङ 
२१. ग्रेट ओक नामक उड्न नसक्ने प्रजातिको पंक्षी पृथ्वीबाट कहिले लोप भएको अनुमान छ ? 
— सन १८५० (यो पंक्षी अन्तिम पटक सन् १८५० मा देखिएको भनिन्छ ।) 
२२. सन् २०१७ को ‘टाईम पर्सन अफ दि ईयर’ कसलाई घोष्णा गरियो ?  — द साईलेन्स ब्रेकर 
(यौनजन्य दुव्यवहार तथा शोषणलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा खुलासा गर्ने अभियान ‘ह्यासमिटु’ सञ्चालक तथा संस्थापक ‘द साईलेन्स ब्रेकर्स’ यो बर्षको टाईम अखवारको ‘पर्सन अफ द ईयर’ मा चयन भएको हो ।) 
२३. नेपालका दुई ठुला बाम दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कहिले पार्टी एकता भएको हो ?   — बि.संं. २०७५ साल जेठ ३ गते (दुई पार्टीबिच एकीकरण भई ‘नेपाल कम्युनिष्ट पार्टी’ भएको छ । 

साहित्य/सिर्जना

गजल

कुरो गरे पो कुरो बुझिन्छ
नत्र कसरी कुरोको चुरो बुझिन्छ
गुरु कुन कुन भेषमा छन के थाहा 
अभावले नै आखिर साघुरो बुझिन्छ
शीरमा केशहरुले बास गरेपछि पो
कपालले बनाएको जुरो बुझिन्छ
दिउँसो सबै कुरा कहाँ देखिन्छ र
रात परेपछि नै मधुरो बुझिन्छ
पुस्पा जोशी “काली“ 
धनगढी ,कैलाली

बन जंगल जोगाऔं

घाँस पात काठ दाउरा, सिमित गरौं दोहन 
कटानी फडानी रोकौं, रोकौं अति चरण 
वन जंङ्ग खरानी हुन्छ, डढेलो लगाउँदा 
सजिव प्राणी सवलाई चाहिने जोगाउँ वन सम्पदा 
      सवै मिलि वन जंगल जोगाउँ 
       जथाभावी डडेलो नलगाउँ 
ताल तलैया नदीनाला सुक्दैछन् मुहान 
रुखले दिने प्राण वायु, घट्यो अक्सिजन 
बिश्वव्यापी तापक्रम, बढ्दै छ दिनदिन 
जसले अझै मानव जीवन, बन्दैछ कठिन 
      वनले दिन्छ अक्सिजन पानी 
      रोक्नु पर्छ वन जंगल फडानी 
प्राकृतिक वन सम्पदा, सदुपयोग गरौं 
नीति नियम पालन गरौं, सवलाई सन्देश छरौं 
भोली भोली भन्ने होईन, आजैदेखि उठौं 
उपभोक्ता सचेत बनौं, वन जोगाउन जुटौं 
      वन सम्पदा होहलाई रोकौं 
      एउटा काटे दश वटा रुपख रोपौं 
जडिवुटी जिवजन्तु, भैसके दुर्लभ 
प्रकृतिका उपहार, बचाउनुछ अव 
ठाउँ ठाउँमा बाढी पहिरो, बस्ती डुव्न थाले 
मान्छे आफै संकटमा छ, जंगल मासिनाले 
      आफु बाँचन वन जंगल बचाउँ 
      पुस्तौं पुस्ता सन्ततीलाई साँचौं ।
झलक पाली 
कलाकार/पत्रकार

पल पल

पल पल मर्ने गर्छु, बर्षांै बाँच नभन
थोपा थोपामा प्यास मेटछु सागरको कुरा नगर
संघर्षमै जीवन बित्यो प्रगति के भो नसोध
एकान्तमा एक्लै रुन्छु, सुखको कुरा नगर
पश्चातापमा जलिरहेछु गल्ति के भो नसोध
आजित छु दुनियाँ देखि मानवताको कुरा नगर
मजबुरीको दास हँु म सम्झौता के हो नसोध
संवेदना सारा हराइसक्यो स्नेहको कुरा नगर
पसिना र आँसु मात्र हाल के छ नसोध
रोम रोममा पिडा हुन्छ दुखाई के हो नभन
हिड्दा हिडदै थाकिसके गन्तब्य कहाँ छ नसोध
आँखा भएर नि अन्धो भए ज्योति को कुरा नगर
पाइलापिच्छे असफलता सफलता के हो नसोध
आधार नै भत्किसक्यो छानो हाल्ने कुरा नगर
जानुथ्यो पूर्व पुगेछु पश्चिम लक्ष्य के थियो नसोध
सुरु नभई अन्त्य हुने कथाको कुरा नगर
शब्द छैन चोट पोख्न्ने बेदेना के हो नसोध
दुख्ने घाउ भयो जिबन नुनचुक नछर्क !!
बिष्णु सिलवाल क्षेत्री

सूचना/सन्देश/बिज्ञापन 














No comments:

Post a Comment