Tuesday, December 3, 2019

बिम्ब साप्ताहिक, २०७६ साल मंसिर १७ गते मंगलवार

बाल यौन दुव्र्यवहार जो कसैबाट जहाँ पनि हुन सक्छ । त्यसैले सावधानी अपनाऔं, बालबालिकाका कुरा सनौं, बाल यौन दुव्र्यवहार अन्त्य गर्न सक्रिय वनौं ।
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सूचना तथा प्रसारण विभाग

मुख्य समाचार 

सुदूरपश्चिमको चुनावी नजिता ः नेकपा पाँच, काँग्रेस दुई

मिनि जनमत संग्रहका रुपमा हेरिएको उप निर्वाचनमा सुदूरका सात स्थानमध्ये नेकपाले पाँच र नेपाली कांग्रेसले दुई स्थानमा बिजयी हात पारेको छ । 
नेकपाले २०७४ सालमा जितेको एक वडा गुमाएको छ भने दुई वडा जोडेको छ । यस्तै नेपाली कांग्रेसले बिगतमा जितेका दुई वडा गुमाएको छ भने एक वडा जोडेको छ । 
अछामको मेल्लेख गाउँपालिका–५ बिन्देबासीनीको उपनिर्बाचमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार धनेशवहादुर खड्काले नेपाली कांग्रेसका उम्मेदवार वीर बहादुर बोहरालाई दुई सय १५ मत अन्तरले पराजित गर्दै वडाध्यक्ष भएका छन् । खड्काले सात सय ७८ मत प्राप्त गरे भने बोहराले पाँच सय ६३ मत पाए । २०७४ को स्थानीय निर्वाचनमा वडामा काँग्रेसका रामवहादुर बोहरा बिजयी भएका थिए । बोहराको २०७४ साल भाद्रमा बाजुराको प्रसिद्ध धार्मिक स्थल बडीमालिका दर्शन गरि फर्किने क्रममा निधन भएको थियो । 
बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका वडा अध्यक्ष मनराज बुढा (मिलन) बिजयी भएका छन् । बुढा नेपाली कांग्रेसका उम्मेद्वार खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै वडाध्यक्ष भएका छन् । बुढाले तीन सय ६७ मत पाए भने चदाराले तीन सय ४७ मत प्राप्त गरे । कांगे्रसबाट जितेका तत्कालिन वडाध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परि मृत्यु भएको थियो । 
मेल्लेक–५ र त्रिवेणी–१ नेपाली कांग्रेसबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले खोस्न सफल भएको छ । 
डोटीको आर्दश गाउँपालिका–२ मा नेकपाका राम बहादुर बोहरा १२ मतको झिनो अन्तरले नेपाली कांग्रेसका उम्मेद्वार महादेव साउँदलाई पछाडि पार्दै विजयी भएका छन् । बोहराले ६ सय ६८ ल्याएर विजयी भएका हुन । साउँदले ६ सय ५६ मत प्राप्त गरेका छन् । नेकपाबाट बिजयी तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको २०७५ जेठ १५ गते सवारी दुर्घटनामा परी मुत्यु भएपछि उक्त पद रिक्त रहेको थियो । 
वडाध्यक्ष फैरु तामाङ्ग जिल्ला समन्वय समितिको प्रमुख भएपछि रिक्त भएको कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका उम्मेद्वार कृष्ण बहादुर तामाङ दुई सय १८ मतको अन्तरले बिजयी भएका छन् । उनले पाँच सय २८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङ्गले तीन सय १० मत पाएका छन् । फैरु तामाङ्ग नेकपाबाटै जितेका थिए ।
उप निर्वाचन भएका बैतडीका तीन वडामध्ये दुई वडामा नेपाली कांग्रेसले बाजी मारेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ मा कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद भट्ट एक सय मत अन्तरले बिजयी भएका छन् । भट्टले पाँच सय ८४ मत प्राप्त गरेका भने उनका निकटतम् प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टले चार सय ८४ मत प्राप्त गरेका छन् । नेकपाबाट बिजयी तत्कालीन वडाध्यक्ष मानवहादुर बिष्टको हृदयघातका कारण मृत्यु भएपछि उक्त पद रिक्त रहेको थियो । यो वडा कांग्रेसले नेकपाबाट खोसेको छ ।
 बैतडीकै पुरचौंडी नगरपालिका-४ मा नेकपाबाट उम्मेदवार शैलेन्द्र धानुक एक सय पाँच मतको अन्तरले बिजयी भएका छन् । धानुकले ६ सय ६३ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दवहादुर धामीले पाँच सय ५८ मत पाएका छन् । नेकपाबाट बिजयी तत्कालीन वडाध्यक्ष गौतमप्रसाद भट्टको मोटरसाईकल दुर्घटनामा परि २०७६ साल असार पहिलो साता मृत्यु भएपछि उक्त पद रिक्त रहेको थियो । 
बैतडीकै सुर्नया गाउँपालिका-१ मा कांग्रेसका उम्मेदवार गजेन्द्र बहादुर चन्द चार मतको झिनो अन्तरले बिजयी भएका छन् । चन्दले दुई सय १९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका धन बहादुर चन्दले दुई सय १५ मत प्राप्त गरे । तत्कालीन वडाध्यक्ष कलसवहादुर चन्दको २०७६ साल साउन २ गते मोटरसाईकल दुर्घटनामा मृत्य भएको थियो ।
कहाँ कति मत खस्यो ?
शनिवार सम्पन्न उप निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ६८ प्रतिशत मतदान भएको छ । पाँच जिल्लाका सात वडाध्यक्षका लागि भएको मतदानमा कुल १० नौ सय ३७ मतदातामध्ये सात हजार चार सय ६३ जनाले मतदान गरेका छन् । 
बाजुराको त्रिवेणी नगरपालिका–१ को वडाध्यक्षका लागि भएको उप निर्वाचनमा नौ सय २४ मतदातामध्ये तीन सय ८३ महिला र तीन सय ४४ पुरुष गरि सात सय २७ ले अर्थात् करीव ७० प्रतिशतले मतदान   गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए । 
बैतडीमा तीन वडाध्यक्षका लागि भएको निर्वाचनमा ६६ प्रतिशत मत खसेको छ । सुर्नाया गाउँपालिका–१ को वडाध्यक्षका लागि भएको मतदानमा ६ सय १९ मतदातामध्ये चार सय ३८ मत खसेको छ । दोगडाकेदार गाउँपालिका–४ मा एक हजार आठ सय ९९ मध्ये एक हजार ९८ र पुरचौंडी नगरपालिका–१ मा एक हजार आठ सय आठ मतदातामध्ये एक हजार तीन सय ३० ले मतदान गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेले जानकारी दिए छन् । पौडेलका अनुसार ७० प्रतिशत महिला र ६१ प्रतिशत पुरुषले मतदान गरेका छन् ।  
डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्षका लागि भएको निर्वाचनमा कुल दुई हजार चार सय ५९ मतदातामध्ये एक हजार पाँच सय ९० मत खसेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले वताए । डोटीमा ६४.६६ प्रतिशत मत खसेको छ । 
कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा एक हजार एक सय ९९ मध्ये चार सय ७४ महिला र चार सय ५० पुरुष गरि नौ सय २४ मत खसेको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानका–री दिए । बैद्यले करीव ७७ प्रतिशत मत खसेको वताए । 
अछामको मेल्लेक–५ मा एक हजार नौ सय चार मतदातामध्ये एक हजार तीन सय ५६ ले मतदान गरेका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले वताए । 

सम्पादकीय 

सरकारको अलोकप्रियता

मंसिर १४ गते उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचनका परिणाम पनि सार्वजनिक भईसकेको छ । केही फाटफुट घटनाबाहेक उप निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ, यसलाई सरकारको सपलता मान्न सकिन्छ । निर्वाचन गराउने बिषय सामान्य होईन, जटिलनै हुन्छ । 
निर्वाचन परिणामले सिट संख्यामा यो सरकारलाई अर्थात सरकारको नेतृत्वकर्ता दल नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई खासै असर गरेको देखिदैन । एक–आध सिट तलमाथी हुने कुराले त्यति धेरै अंक गणित बिग्रदैन यो सरकारको । तर निर्वाचनमा व्यक्त भएको मतको अंक गणित हेर्दा सरकारको असफलता वा अलोकप्रियता प्रष्टै छ । २०७४ स्थानीय चुनावमा साविकको एमाले र साविकको माओवादी अलग अलग भिड्दा भारी मत अन्तरले जितेका ठाउँहरुमा पनि नेकपा भएका बेला हार्नु भनेको सरकारको अलोकप्रियतानै हो । भक्तपुर जस्तो ठाउँ गुमाउनु, धरान जस्तो किल्ला भत्किनुले यही संकेत गरेको छ । 
यसका पछाडिका कारणहरु धेरै छन्, खोजी गर्नु पर्ने जरुरी  छ । जनताले तत्काल राहत खोजेका छन्, तत्काल नजिता खोजेका छन्, सरकारले त्यो पुरा गर्न सकिरहेको छैन । सरकार जति कुरा उठान गर्छ असफलतातिर जाँदैछ । सरकारले गर्न खोजेको बिषय नराम्रो छैन, सरकारले लिएको लक्ष्य पनि नराम्रो होईन तर सरकारको कार्यशैली प्रभावकारी भएन । 
आम जनताले शान्ति सुरक्षा चाहन्छ, दैनिक जीवनमा उसलाई कुनै पनि प्रकारको त्रास नहोस् भन्ने चाहान्छ तर सरकारले अपराधीहरुलाई नियन्त्रणमा लिन सक्दैन् । अपराध हुन्छ नै, यो समाज विकासको नियम हो, तर त्यो अपराधको सही अनुसन्धान भयो कि भएन, न्याय निरपण सही तरिकाले भयो कि भएन भन्ने  कुराको खोजी हुनु जरुरी छ । 
अर्को कुरा भ्रष्टाचार नियन्त्रणको हो । जनता भ्रष्टाचार नियन्त्रण भएको, कालोवजारी अन्त्य भएको, महंगी नियन्त्रण भएको देख्न चाहन्छ । तर सरकार त्यसो गर्न सकिरहेको छैन, उल्टै सरकारकै मन्त्रीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु भ्रष्टाचारलाई बढावा दिन लागिपरेका छन् । जनताले दुई–तिहाईको सरकार बलियो होला, भ्रष्टाचारीलाई तह लगाउला भन्ने सोचेका थिए तर भ्रष्टाचारीहरुले नै उल्टो सरकारलाई तह लगाउने अवस्था आएको छ । 
तेश्रो कुरा, तत्काल फाईदा पुग्ने विकास जनताले खोजेका  छन् । जनताको अहिलेको आवश्यकता पानी जहाज होईन, जनताको अहिलेको आवश्यकता रेल होईन, जनताको अहिलेको आवश्यकता सडक हो, जहाँ बिरामी भएका बेला एम्वुलेन्स मगाउन सकियोस् । ति सडकहरु पनि व्यवस्थित हुन्, जोखिममुक्त हुन भन्ने जनताको चाहना हो । यो सरकारले त्यो चाहना पनि पुरा गर्न सकेन । 
अर्थात्, सरकारका नाराले आम जनतालाई छुन सकेको छैन । त्यसैले सरकारको अलोकप्रियता वढेको हो भन्ने देखिन्छ । अर्को कुरा बर्तमान नेकपाबाट जितेका प्रतिनिधिहरु र नेकपाका कार्यकर्ताहरुमा देखिएको दम्वले पनि सरकारको लोकप्रियता घटेको देखिन्छ । पार्टीभित्रै एक–अर्कालाई समाप्त गर्ने, गुटवन्दी गर्ने, अन्य पार्टीका कार्यकर्ताहरुसंग सत्रुवत् व्यवहार गर्ने कार्यकर्ताहरु र व्यक्तिगत स्वार्थका लागि मात्रै काम गर्ने जनप्रतिनिधिहरुले गर्दा पनि यो अवस्था आएको हो भन्दा फरक पर्दैन होला ।
यद्यपी कांग्रेस र अन्य दलहरुबाट निर्वाचन जितेका प्रतिनिधिहरुको प्रतिनिधिहरुको हविगत पनि यो भन्दा कम छैन । तर सरकारको नेतृत्व कसले गरिरहेको छ भन्ने बिषयले महत्व राख्छ । त्यसैले नेकपाले आत्म समीक्षा गर्नु जरुरी छ । आफ्नो साख जोगाउने हो भने अहिलेदेखिनै संगठन र सरकारलाई चुस्त वनाउनु जरुरी छ । अव आवधिक निर्वाचन आउन धेरै समय छैन, अहिले देखिनै आफ्नो साख जोगाउन सके राम्रो होला नत्र राम राम ।

थप समाचार 

श्रीमान् हराउनुको पीडा

डोटी, शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ बर्षीया महिसरा दडिमाना घरमा एक्लै  छन् । उनका १९ बर्षीया छोरा गोपाल रोजगारीको लागि भारतको जोधपुर गएपछि उनी नितान्त एक्ली छिन् । 
१५ बर्षको उमेरमा बैवाहिक जीवनमा बाँधिएकी महिसराले श्रीमान्को सुख त परै जावास् अनुहारसम्म हेर्न नपाएको २० बर्ष भयो । “म तीन महिनाकी गर्भवती थिएँ, त्यतिवेला उहाँ (श्रीमान्) घरबाट जानु भएको हो” महिसरा भन्छिन् ‘छोराको उमेर पनि १९ पुरा भई २० लागि सक्यो तर उहाँ आउनु भएन ।’ सानो छँदा छोराले ‘बाबा खोई ?’ भनी प्रश्न गर्दा उनी देश (भारत) गएको वताउँथिन् । साथीसंगीका बुवा देशबाट फर्कदाँ आफ्नो बुवा नफर्केपछि महिसराका छोरा गोपाल बाबा किन आएनन् भनेर सोध्थे । महिसरा उनलाई फेरी कुनै बहाना वनाएर चुप लाउँथिन् । तर, जव गोपाल अलि ठुला भए उनले भन्नै प¥यो सत्य कुरा । 
“यो २० बर्षसम्म न म बिधवा जस्ती भए न सधवा जस्ती” मलिन अनुहार वनाउँदै महिसरा भन्छिन् ‘श्रीमान् छन भन्ने कि छैनन् भन्ने दुविधा भएको छ ।’ सिउदोमा सिन्दुर त छ महिसराको तर त्यो सिन्दुर कहाँ छ भन्ने पत्तो छैन । बिवाह लगत्तै पनि महिसराका श्रीमान् टेकवहादुर घर छोडेर गएका थिए । चार बर्षसम्म कुनै पत्तो थिएन । पछि आफै घर आएका थिए । 
‘त्यतिवेलै मेरा सुसुराले अव तिमि पोईल (अर्को बिहे गर) जाउँ, त्यो (छोरा) कता पो हरायो भन्नु भएको थियो’ उहिलेको कुरा सम्झदै भन्छिन् ‘तर मैले कुरेरै बसेँ ।’ चार बर्षपछि टेकवहादुर आए । सानै उमेरदेखि रक्सीको नसामा रमाउने बानी परेका टेकवहादुर धेरै दिन बसेनन् घर । फेरी हिँडे घरबाट तर कहाँ गए भन्ने पत्तो छैन । अव त आश पनि मारिसकिन महिसराले । उनी भन्छन् ‘अव के आउलान् भन्ने सोच्छु ।’ 
बाख्रा पालेर, अर्काको मेलोपात गरेर साँझ विहानको छाक टारिन, जीउ ढाकिन् महिसराले । माईती, देवर, जेठाजूको सहयोगमा महिसराले छोरालाई हुर्काईन, कक्षा १२ सम्म पढाईन् पनि । ‘१२ को एक बिषय लागेको थियो, चानस (ग्रेड बृद्धि) दिन पाउने भन्नु भा थ्यो सरले, उ (छोरा) आएन’ असारमा रोजगारीका लागि भारत गएको छोराले परीक्षा छोडेकोमा निकै दुःखी छन् उनी, भन्छिन् ‘मैले दुःख गरेर हुर्काएँ, पढाएँ पनि, पढाईमा राम्रै थियो तर बिचमै पढाई छोडेर गयो ।’ 
उनी छोराको खुशीमा आफ्नो दुःख बिर्सन खोज्थिन् । त्यसैले उनले छोरालाई पढाएर नेपालमै कुनै रोजगारी गरोस् भन्ने चाहन्थिन । श्रीमान् भारतमै हराएको घटनाले पनि छोरा भारत नपसोस् भन्ने जोड् थियो उनको । तर उमेर बढ्दै जाँदा छोराले आमाको दुःख बुझ्यो होला, मुग्लान पस्यो । पेट पाल्नकै लागि मुग्लान पस्नु पर्ने लाखौं युवाहरुको पीडाले गोपाललाई पनि छोयो ।
महिसराको जस्तै अवस्था छ कृष्णा गिरीको पनि । १६ बर्षको उमेरमा बैवाहिक जीवनमा बाँधिएकी कृष्णा पनि बिगत १६ बर्षदेखि श्रीमान्को पर्खाईमा छिन् । निड्स नेपाल नामक गैरसरकारी संस्थाले आयोजना गरेको सुरक्षित आप्रवासन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा भेटिएकी कृष्णाले श्रीमान् नहुँदाको पीडा सुनाईन् । संकटकालको बेला थियो, असारको महिना, तर साल कनु हो कृष्णालाई थाह छैन । कृष्णाका श्रीमान् दिपक गिरी घरबाट केही नवोली चुपचाप निस्के । गाउँतिरै डुल्दै होलान् भन्ने सोचेकी थिईन् कृष्णाले, तर उनी साँझ घर आएनन् । 
दिन, महिना, बर्ष बित्दै जाँदा १६ बर्ष पुरा भएछ, तर दिपक आएनन् । दिपक घरबाट जाँदा गर्भमा रहेकी छोरी लक्ष्मीलाई पनि १५ बर्ष पुरा भईसकेछ । तर, दिपकको भने पत्तो छैन । ‘कतिसम्म त आउनु हुन्छ भन्ने सोच्थे, गाउँका अरु देशबाट आएपछि संगै आउँछन् कि, केही खवर ल्याउछन् कि भन्ने आश हुन्थ्यो’ आँखाभरी आँशु वनाउँदै कृष्णा भन्छिन् ‘अव त के आउनु होला र !’ 
बाख्रा पालेर आफु र छोराछोरीको छाक टार्दैछन् कृष्णा । 
महिसरा र कृष्णा मात्रै हैनन् गाउँमा थुप्रै महिलाहरुले यस्तो पीडा खेपिरहनु परेको वताउँछन् स्थानीय चम्पा पार्की । तीन बर्ष पहिले महिसरा र कृष्णाले श्रीमान्को खोजीका लागि प्रहरीमा निवेदन दिएको समेत चम्पाले बताईन् । 

राजमोको सिमा बचाउ अभियान डोटी पुग्यो

राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको “कालापानी बचाउ अभियान” आईतवार डोटी पुगेको छ । 
राष्ट्रिय जनमोर्चाको सुदूरपश्चिम प्रदेश कमिटिले मंसिर ११ गते कैलालीको धनगढीबाट सुरु गरेको अभियान डडेल्धुरा, बैतडी, दार्चुला हुँदै डोटी पुगेको हो । मोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश ईचार्ज मनोज भट्टले नेतृत्व गरेको अभियान अन्तरगत कैलालीको अत्तरीया, डडेल्धुरा, बैतडीको खोड्पे, पाटन, गोठालापानी र सतबाँझ, दार्चुलाको गोकुले र खलङ्गामा सभाहरु गर्दै डोटी पुगेको मोर्चाका प्रदेश कमिटि कोषाध्यक्ष केशव नाथ योगीले जानकारी दिए । 
आईतवार डडेल्धुराबाट आएको मोटरसाईकल ¥याली पिपल्ला बजारमा सभामा परिणत भएको थियो । सभालाई सम्वोदन गर्दै केन्द्रीय सदस्य भट्टले सरकारले सिमा सुरक्षाका सवालमा   लापरवाही गरेको आरोप लगाए । उनले भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक समावेश भएको सार्वजनिक हुँदाहुँदै सरकारले भारतसंग ठोस् बार्ता नगरेको आरोप लगाए । 
“प्रधानमन्त्री केपी ओलीले बोलेको उप चुनावलाई लक्षित गरेर मात्रै हो, सिमा बचाउनका लागि होईन” भट्टले भने ‘बर्तमान सरकार सिमा सुरक्षाको बिषयमा गम्भिर छैन ।’ प्रधानमन्त्री आफु बिरामी भएर उपचारमा बढी समय बिताउनु परेको आफुहरुलाई पनि थाह भएको भन्दै भट्टले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना गरे । उनले भने ‘प्रधानमन्त्री त बिरामी हुनुहुन्छ तर पुरै सरकार र राज्यका संयन्त्रहरु त बिरामी छैनन् नि ! परराष्ट्र मन्त्री, कुटनीतिक नियोग, भारतका लागि नेपाली राजदुत, सरकारका अन्य मन्त्रीहरुले किन यो बिषयमा पहल गरिरहेका छैनन् भन्ने हाम्रो प्रश्न हो ।’ उनले सरकार भारतसंग कुरा गर्न डराएको समेत आरोप लगाए ।
केन्द्रीय सदस्य लालवहादुर जाग्री, सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट लगायतको टोली सहित डोटी पुगेका भट्टले सरकारलाई दवाव दिनका लागि आफुहरुले सिमा बचाउ अभियान थालेको वताए । उनले राष्ट्र, राष्ट्रियता र देशको सिमाको रक्षाका लागि सवै नेपालीहरु एकजुट भएर लाग्न समेत आग्रह गरे । 
अभियान अन्तरगत सोमवार डोटीको बुडर र कञ्चनपुरको गुलरीयामा सभा गर्ने कार्यक्रम रहेको छ । अभियानको राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री चित्रवहादुर केसीले मंगलवार कञ्चनपुरको महेन्द्रनगरमा समापन गर्ने केशव नाथ योगीले जानकारी दिए । 

नयाँ शिक्षकहरुको पीडा ः शिक्षाले पालिका पठाउँछ, पालिकाले शिक्षा

सर्लाहीको कबिलासी नगरपालिका–७ का उमेश राय कात्तिक २१ गते डोटी पुगे । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनौटको खुला प्रतिस्पर्धाबाट छनौट भएका राय स्थायी शिक्षक भएकोमा ज्यादै खुशी थिए । कति छिटो नियुक्ती लिएर आफ्नो जागिर सुरु गरुँ भन्ने हतारोमा रहेका रायका लागि जागिर सुरु गर्न त्यति सहज भएन । 
शिक्षा विकास तथा समन्य ईकाई, डोटीले २२ गते पालिका छनौटका लागि निवेदन दिनु पर्ने जानकारी उनलाई थियो । त्यसैले उनी २१ गते नै डोटी पुगे । २२ गते ईकाईले कुनै सूचना जारी गरेन्, २६ गते जारी गर्ने भन्यो, २६ गते पनि आएन, मंसिर २ गते सूचना गर्ने भन्ने ईकाईले जानकाकरी दियो । घरबाट यति टाढा आईसकेका रायले अव फेरी के घर गई   राख्नु भन्ने सोचेर यतै बसे । सूचना २ गतेको मितिमा ३ गते सार्वजनिक भयो । 
रायले पालिका छाने । आज–आज, भोली–भोली भन्दा भन्दै उनलाई ८ गते पूर्वीचौकी गाउँपालिकाका लागि नियुक्ती दिईयो । ९ गते उनी नियुक्ती बोकेर हस्याङ्गफस्याङ्ग गर्दै गाउँपालिकाको कार्यालय पुगे । उनलाई गाउँपालिकाले ११ गते आउन भन्यो । उनी ११ गते गए तर पदस्थापन भएन । गाउँपालिकाले बिद्यालयमा पदस्थापन गर्नु पर्ने थियो । 
शिक्षा ईकाईले पूर्वीचौकी २० जना पठाएकोमा गाउँपालिकाले १४ जना मात्रै पदस्थापन ग¥यो । रायसंगै डडेल्धुरा पर्शुरामका भीमवहादुर कामी, कञ्चनपुर बेलौरीका जयराम सुनार, सप्तरी बोदे बर्सैनका टेकनारायण शाह, कपिलबस्तु बिजयनगरका दिनेशकुमार चौधरी र    बिरेन्द्र यादव छन् । 
यस्तै समस्या झेलिरहेका छन् पर्सा कालिकामाई गाउँपालिकाका बिशालराज गिरी । ईकाईले उनलाई सायल गाउँपालिका पठाएको थियो । सायल गाउँपालिकाले पनि छपाली माविमा २०७४ सालमा नियुक्त गरेको करार शिक्षकलाई नहटाउने भन्दै उनलाई ईकाईमा फिर्ता पठाई दिएका छन् । 
किन फिर्ता भए गाउँपालिकाबाट ? 
नेपालको संबिधानले आधारभूत र माध्यामिक शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र राखेपछि पूर्वीचौकी गाउँपालिकाले २०७४ मा शिक्षा ऐन पास ग¥यो । ऐनमा गाउँपालिकाभित्रका बिद्यालयमा कुनै कारणले दरवन्दी रिक्त भएमा गाउँपालिकाले नै नियुक्त गर्ने प्राव्धान राख्यो । सोही अनुसार गाउँपालिकाले २०७४ र २०७५ मा शिक्षक भर्ना ग¥यो तर शिक्षा ईकाईले ति शिक्षकहरुको अभिलेख जनाउन मानेन । 
ईकाईको प्रतिनिधि, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र बिषय बिज्ञले परीक्षा लिएर नियुक्त     गरेका शिक्षकहरुलाई मान्यता दिनु पर्ने अडान गाउँपालिकाको छ । ‘हामीले संबैधानिक अधिकार क्षेत्रभित्र रहेर शिक्षा ऐन वनाएका छौं, सोही ऐन अनुसार शिक्षक नियुक्त गरेका हौं’ गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी भन्छन् ‘ईकाईले हामीलाई नटेर्दा यस्तो समस्या भएको हो ।’ उनले २०७५ साल चैत्र २२ गते जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, ईकाई प्रमुख लगायतको संयुक्त बैठकमा ति शिक्षकहरुको अभिलेख जनाउने निर्णय भएपनि इकाईले उक्त निर्णय लत्याएको बोगटी वताउँछन् । 
उनले भने ‘अरु ठाउँमा २०७६ साल असार १४ गते यता नियुक्ती पाएका करार शिक्षकहरु मात्रै अवकास हुने गरि खटाउने तर पूर्वीचौकीमा २०७४ मा नियुक्ती पाएको शिक्षकलाई पनि बिस्थापित गर्ने गरि गरिएको निर्णय हाम्रा लागि स्वीकार्य छैन ।’ 
उनले अन्य जिल्लाहरुमा बिद्यालय व्यवस्थापन समितिले आफै परीक्षा लिएर करार शिक्षक नियुक्त गर्ने गरेको तर डोटीमा शिक्षा ईकाईले करार शिक्षक नियुक्त गरि पठाउने गरेको समेत आरोप लगाए । उनी थप्छन् ‘करार शिक्षक नियुक्ती गर्दा पनि आर्थिक चलखेल हुन्छ भन्ने सुनेको छु, सत्य कति हो थाह भएन ।’ 
बोगटीले ईकाईले आफुले नियुक्त गरेका शिक्षकहरुलाई मान्यता दिनु पर्ने दावी गरे । उनले भने ‘यदि मिल्दै नमिल्ने हो भने हामीलाई किन पत्र लेखिएन ? किन दुई दुई बर्षसम्म बेवास्ता गरियो ?’ उनी यसको दोष इकाईलाई जाने वताउँछन् । 
यस्तै प्रत्रिक्रिया दिए सायल गाउँपालिकाका शिक्षा ईकाई प्रमुख पदमराज उपाध्यायले । उनले भने ‘गाउँपालिकाले नियुक्त गरेको शिक्षकको शिक्षा ईकाईबाटै म्याद थपिएको छ । आफैले म्याद थपेको शिक्षकको नियुक्ती मान्य हुँदैन भन्न मिल्छ र ?’ यदि नियुक्ती सदर नहुने हो भने म्याद थप किन गरेको भन्ने प्रश्न उपाध्यायको छ ।
शिक्षा इकाई भन्छ ः गाउँपालिकलाई फेरी पत्राचार गर्छौंंं
११ गते पूर्वीचौकी र सायल गाउँपालिकाले शिक्षकहरुलाई पदस्थापन गर्न नसकिने भन्दै ईकाईलाई लेखेको पत्र ईकाईले सोही दिन बिभागमा पठाएको थियो । तर बिभागबाट हालसम्म कुनै जानकारी आएको छैन । ईकाईले गाउँपालिकालाई फेरी पत्राचार गर्ने तयारी गरेको छ । 
सोमवार ईकाईका बिद्यालय निरीक्षक अम्वादत्त जोशीले फेरी गाउँपालिकालाई पत्राचार गर्ने वताए । उनले कुनै पनि कानूनले शिक्षक नियुक्त गर्ने अधिकार स्थानीय तहलाई नदिएको वताए । बिभागले गाउँपालिकाले नियुक्त गरेका शिक्षकहरु कार्यरत दरवन्दीलाई रिक्त मानी पदस्थापन गर्नु भन्ने पत्र पठाएकोले सोही अनुसार हुने उनी वताउँछन् । 
मारमा नव नियुक्त शिक्षकहरु 
‘शिक्षा ईकाईले गाउँपालिका जाउ भन्छ, गाउँपालिकाले शिक्षा ईकाई जाउ भन्छ, हामीले कहाँ जाने हो ?’ डडेल्धुराका भीमवहादुर कामी भन्छन् ‘हामीले शिक्षक सेवा आयोगले तोकेका सवै मापदण्डहरु पुरा गरेर आएका हौं, फेरी पनि यस्तो किन ?’ 
यस्तै दुखेसो छ पर्साका दिनेशराज गिरीको पनि । उनी भन्छन् ‘लामो समयदेखि घर छोडेर यहाँ बसेका छौं, बोकेको पैसा पनि सवै सकियो ।’ जागिर खान आएको मान्छे घरबाट पैसा मगाउन पनि अप्ठेरो लागेको उनी वताउँछन् । 
नियुक्ती पाई हाजिर गरेको मितिदेखि तलव पाउने कानूनी व्यवस्था छ तर शिक्षकहरुलाई हाजिर लाउने ठाउँ छैन । भिमवहादुर भन्छन् ‘हामीलाई हाजिर लाउने व्यवस्था त मिलाई दिनु प¥यो भनेर प्रमुख जिल्ला अधिकारी ज्यूलाई पनि आग्रह ग¥यौं तर केही सीप चलेन ।’ संगैका साथीहरु बिद्यालयमा पढाउन सुरु गरिसकेको उनी बताउँछन्, भन्छन् ‘भोली बढुवा, सरुवाको पनि कुरा हाजिर लाएको मितिबाट गणना हुन्छ ।’ 
यस्तै भईरहने हो भने आफुहरु बाध्य भएर न्यायालय गुहार्ने शिक्षकहरु बताउँछन् । स्थानीय तह र शिक्षा ईकाईको लडाईमा आफुहरु पीडित हुनु परेको शिक्षकहरु वताउँछन् । पूर्वीचौकी गाउँपालिकाले योग्यताक्रम सूची मिचेर पदस्थापन गरेको शिक्षकहरुको गुनासो छ । योग्यताक्रम भन्दा पनि स्थानीयलाई नियुक्ती दिएको जयराम सुनार वताउँछन् । 
तर गाउँपालिका भने मापदण्ड अनुसारनै पदस्थापन दिएको वताउँछ । 
ईकाई प्रमुखको पत्तो छैन 
कात्तिक २१ गते कार्यालयी कामले काठमाण्डौं जाने भन्दै हिडेका शिक्षा ईकाई प्रमुख अमरप्रसाद भट्ट कहाँ छन भन्ने जानकारी छैन कार्यालयलाई । बिद्यालय  निरीक्षक जोशी भन्छन् ‘कार्यालयकै कामले भनेर जानु भएको हो, यता लिखित कुनै पनि कागज छैन, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाह छैन ।’ 
आफुहरुलाई के काम हो भन्ने बारेमा केही नभनेको कार्यालयका कर्मचारीहरु बताउँछन् । ईकाई प्रमुख डोटी आएदेखि नै कार्यालयमा कम बस्ने बाहिर बढी घुम्ने गरेको कार्यालयका एक कर्मचारीले वताए । करार शिक्षकको सरुवा गर्ने, बिभागबाट सिफारिस भई आएका नयाँ शिक्षकहरुलाई नियुक्ती दिन ढिलाई गर्ने, राहत शिक्षकहरुलाई पनि सरुवाको सुविधा दिने भन्दै भट्टको आलोचना भईरहेको छ ।
आफुले गरेको फोन समेत नउठाउने गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले वताए । ‘उहाँको बिषयमा आएका गुनासोहरुका बारेमा बुझ्न फोन गरेको तर उहाँले फोनै उठाउनु भएन’ पौडेलले भने ‘अव शिक्षा बिभाग र गृहमन्त्रालयललाई पत्र लेखि पठाउनु पर्ने जस्तो देखिएको छ ।’ 
भाद्रमा सम्पन्न भएको जिल्ला सभाले शिक्षा विकास तथा समन्वय ईकाईलाई समन्वय नगर्ने कार्यालयको सूचीमा राखेको छ । 
शिक्षा ईकाई प्रमुख भट्टसंग टेफिफोनमा कुरा गर्न खोज्दा उनले बोकेको कार्यालयी नं. र उनको व्यक्तिगत नं. दुई अफ छन् । श्रोतका अनुसार भट्ट बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचारको मुद्धा छ । उनी त्यसै सिलसिलामा काठमाण्डौं गएका हुन् । “उहाँ एकदमै प्रेसरमा हुनुहुन्छ” श्रोत भन्छ ‘मुद्धा टुंग्याउन दोडधुपमा हुनुहुन्छ, त्यसैले होला फोन पनि उठाउनु हुन्न ।’ 

एक योद्धा, जसको एक शव्दले मुक्त भए १८ हजार हलिया

 रामहरि ओझा
मंसिर १६
खैरो रङ्गको कोट, कोटभित्र पनि त्यस्तै रङ्गको स्वीटर, घाटीमा गलवन्दी, आँखामा कालो फ्रेमको मोटो सिसा सहितको चस्मा, टाउकोमा ढाका टोपी । डडेल्धुरा जिल्ला सदरमुकाममा आयोजित एक गोष्ठीमा भेटिएका उनी सामान्य व्यक्ति होईनन् । १८ हजार ५९ हलियाहरुलाई मुक्त गराउने एक योद्धा हुन् । 
दार्चुलाको साविकको उखु गाउँ विकास समिति (हालको मालिकार्जुन गाउँपालिका) का ६१ बर्षीय दानीराम तिरुवाले १२ बर्षको उमेर देखि हलो जोत्न सुरु गरे । उनले लगातार ३६ बर्ष हलो जोते । एउटै मालिकको घरमा उनले १७ बर्ष हलो जोते । उनले मालिकबाट लिएको नौ हजार रुपैयाँ ऋण १७ बर्षसम्म पनि चुक्ता भएन् । साँवा पैसा बाँकी रहने व्याज वाफत हलो जोत्नु पर्ने शर्त थियो । 
‘बिहान ६ वजे जान्थेँ, साँझ ६ वजे घर फर्किन्थ्ये’ दानीराम भन्छन् ‘दिनभरी काम गरेपछि साँझ मालिकले चार माना अन्न दिनुहुन्थ्यो, त्यसैले परिवारको चुलो बल्थ्यो ।’ 
दानीराम मात्रै होईनन् सुदूरपश्चिम तथा मध्यपश्चिमका १२ जिल्लाका हजारौं दानीरामहरु यस्तै समस्या झेल्दै थिए । तर, यो समस्या सवाल हो भन्ने कसैले पनि ठम्याएका थिएनन् । साहुँबाट सानोतिनो ऋण लिएर पुस्तौंसम्म व्याजवाफत हलो जोत्दै आएका हलियाहरुलाई पीडा त थियो तर उनीहरु आफ्नो मजबुरी सम्झन्थे । 
कसरी भयो सवालको सुरुवात ?
२०५९ साल कार्तिको महिना थियो, दानीराम मालिकको खेत जोतेर लखतरान बाटोमा बसेका थिए । त्यसै क्रममा दुई जना गैससकर्मीहरु जातीय छुवाछुत बिरुद्धको अभियान चलाउने भन्दै दानीरामसंग गफ गर्न सुरु गरे । एक त दिउसभरी हलो जोतेर थाकेको शरीर, त्यसैमा बर्षौ देखि सुन्दै आएको जातीय छुवाछुतको नारा, उनलाई सुन्न मन थिएन । आगन्तुकहरुले एकोहोरो कुरा सुनाउदै गरेपछि आक्रामक भए दानीराम ।  
उनको सवाल ‘हलिया’  थियो । उनी आफु र आफु जस्तै गाउँका अन्य दाजुभाईहरुलाई हलिया श्रमबाट मुक्त गर्न चाहान्थे । आक्रोस पोख्दै उनले भनेछन् ‘म करीव चार दशकदेखि हलो जोत्दैछु, मेरा बुवाले हलो जोतेको मैले देखेको छु, मेरा बाजे पनि हलो जोत्थे रे ।’ उनले थपेछन् ‘बुवाले लिएको ऋणमा मैले समेत हलो जोते, त्यति गरेर पनि चुक्ता भएन, अर्को मालिकबाट ऋण लिएर बुवाले लिएको ऋण तिरे, मैले फेरी अर्को मालिककोमा काम गरेँ ।’ 
उनले पछिल्लो पटक आफुले नौ हजार रुपैयाँ ऋणको व्याजमा १७ बर्ष एउटै व्यक्तिकोमा काम गरिरहेको सुनाएपछि गैससकर्मीहरुलाई पनि यस बिषयम चाँसो बढेछ । दोश्रो दिन आयोजना गरिएको गाविसस्तरीय जातीय छुवाछुत सम्वन्धि अभिमूखीकरण गोष्ठीमा औपचारिक रुपमा दानीरामको सवालले प्रवेश पायो । 
त्यसपछि दानीराम हलिया मुक्तीको अभियानमा लागे ।
पहिले आफु मुक्त भए दानीराम  
त्यो गोष्ठीले दानीराममा आफ्नो सवाल उठान गर्ने हिम्मत जुटायो । उनले आफ्ना मालिकलाई सवालको बिषयमा भन्दै आफु अवदेखि ऋणको व्याजमा हलो नजोत्ने वताए । 
उनका मालिकले उनको कुरालाई सहज रुपमा लिँदै उनले लिएको ऋण मिनाह गरिदिए । त्यसपछि उनी हलिया मुक्तीको अभियानमा लागे । हलियाहरुलाई उस्काएको भन्दै उनलाई अरु हलियाका मालिकहरुले धम्की पनि दिए । द्वन्द्वको समयमा उनलाई माओवादीको आरोप लगाईयो । स्थानीयले उनलाई माओवादी र उनका मालिकलाई माओवादीलाई सहयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा उजुरी दिए । 
“माओवादी भनेर आरोप लागेपछि म भागेर भारतको दिल्ली गएँ’ त्यतिवेलाको घटना सम्झँदै उनी अहिले पनि झसंग हुन्छन्, भन्छन् ‘घरमा श्रीमती बिरामी थिईन्, एक छोरा अपाङ्ग थियो, सवै छोडेर ज्यान वचाउन भागे ।’ उनलाई साथ दिए उनका मालिकले । तत्कालीन शाही नेपाली सेनामा कार्यरत उनका मालिकले दानीराम माओवादी नभएको र उनले कुनै चन्दा नउठाएको भन्दै प्रशासनमा वयान दिए । त्यसपछि उनको नेपाल फर्किने बाटो खुल्यो । उनी हलिया मुक्ती आन्दोलनमा अझ सशक्त भएर लागे ।
आफ्नो सवालप्रति अडिक बुढो शरीरलाई साथ दिए बैतडीका जोसिला युवा राजु भुलले । सानै उमेरदेखि हलो जोत्दै आए राजुको जोश र दानीरामको दृढताले सुदूरपश्चिमका सवै जिल्लामा अभियान सञ्चालन भयो । उनीहरुको त्यो अधिकारमूखि केही संघसंस्थाहरुले पनि साथ दिए । 
हलो बुझाउने देखि सर्वोच्चसम्म
२०६२ साल असारमा महिना, एकातिर खेतीपाती लाउने चटारो, अर्कोतिर देश चरम द्वन्द्वमा । दानीरामले आँट गरे सरकारलाई हलो बुझाउने । तत्कालीन मन्त्रीपरिषद्का अध्यक्ष किर्तिनिधि बिष्टलाई हलो बुझाउने भन्दै ८० जना हलियाहरुको टोली काठमाण्डौंका लागि हिड्यो । नेतृत्वकर्ता तिनै दानीराम थिएँ, हलो काँधमा बोक्दै अगाडि लागेका दानीरामलाई पछाउँदै थिए अर्को हलो बोक्दै राजु । 
“सेनाले चेक गर्ने ठाउँमा बसबाट टाढै उत्रेर हिड्नु पथ्र्यो, मैले बसबाट उत्रिदा हलो समेत बोकेर जान्थे” दानीराम भन्छन् ‘धेरै समस्या भयो बाटोमा जाँदा तर लक्ष्य लिएपछि पुरा हुने रहेछ ।’ उनी सिंहदरवार पुगेर किर्तिनिधि बिष्टलाई हलो बुझाउन सफल भएको वताउँछन् । हलोसंगै मुक्त हलियाहरुले एक सय ५० मिटरको कपडामा हलिया मुक्ती आन्दोलनको पक्षमा गरिएको हस्ताक्षर पनि बुझाए ।
त्यतिले मात्रै पुगेन । दानीरामले हलियाहरु मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा समेत मुद्धा दायर गरे । उनको मुद्धामा सर्वोच्चले हलिया मुक्त गर्नु भन्दै सरकारका नाममा आदेश जारी ग¥यो । 
सर्वोच्चको आदेश र हलियाहरुको निरन्तर आन्दोलनले सरकार २०६५ साल भाद्र २१ गते न्यायिक पुनस्थापनाको ग्यारेण्टी सहित हलिया मुक्तको घोषणा गर्न वाध्य भयो । तव भए सुदूरपश्चिम र मध्यपश्चिमका १८ हजार ६९ हलियाहरु मुक्त भए । 
प्रमाण पत्र पाएको दिन धेरै खुशी भएँ
दार्चुलाको उखु गाविसदेखि काठमाण्डौं माईतीघर मण्डलासम्म ६ बर्ष लगातार आन्दोलन गरेका दानीरामलाई सरकारले मुक्तीको घोषणा गर्दा समेत बिश्वास थिएन । 
आन्दोलनका क्रममा सरकारबाट पटक पटक आश्वासन पाएर पनि कुनै परिवर्तन भएको नदेखेका उनी सरकारले मुक्तीको घोषणा गरेर आन्दोलन तुहाउन खोजेको संका गर्दै थिए । जव मुक्त हलियाहरुको तथ्याङ्क संकलन हुन थाल्यो तव दानीरामलाई आश पलायो । ‘तथ्याङ्क लिन गाउँगाउँमा मान्छे आएपछि अव केही हुन्छ कि भन्ने लागेको थियो’ दानीराम भन्छन् ‘जुन दिन परिचय पत्र बितरण भयो त्यो दिन मेरा लागि जीवनको सवैभन्दा खुशीको दिन थियो ।’ 
आफुले उठान गरेको सवाललाई बिश्वास गरेर साथ दिने मुक्त हलियाहरुले केही नभएपनि पहिचान त पाए भन्ने सोचेर खुशी भएका थिए उनी । ‘क’ वर्गको (घर जग्गा केही नभएको) परिचय पत्र पाएका उनी सम्झन्छन् ‘त्यो दिन म धेरै आँशु वगाएँ तर त्यो खुशीको आँशु थियो ।’
खुशी छैनन् दानिराम 
दानीरामले भनेको जस्तो हलिया मुक्तीको घोषणा पनि भईसकेको छ । मुक्त हलियाहरुले परिचय पत्र पाई पुनस्थापनाको प्याकेज समेत पाएका छन् । तर, परिचय पत्र पाएको दिन जीवनकै सवै भन्दा खुशीको दिन मान्ने दानीराम अचेल भने खुशी देखिन्नन् । 
उनलाई आएको श्रोत दुरुपयोग भएको जस्तो लाग्छ । पुनस्थापनाका लागि रकम लैजाने तर आफैले बस्ने घर “घर” जस्तो नवनाएर “खोर” जस्तो वनाएको देख्दा उनको मन रुन्छ । उनी भन्छन् ‘हामीले यति ठुलो लडाई लडेर मुक्तीपछि पुनस्थापनाको चरणमा पुगिसकेका बेला यस्ता समाचार आउनुले म आफैलाई कता कता आफुले गरेको आन्दोलनप्रति अविश्वास लागिरहेको छ । 
उनी तथ्याङ्क लिन छुटेका मुक्त हलियाहरुको तथ्याङ्क लिन सरकारले आनाकानी गरेकोप्रति पनि चिन्तित छन् । भन्छन् ‘गैर हलियाहरुले पनि क वर्गको परिचय पत्र पाएको सुनिन्छि तर जो वास्तविक हलिया हुन उनीहरुको तथ्याङ्क छैन ।’ उनी परिचय पत्रको बिषयमा छानविन हुनु पर्ने माग राख्छन् । 
हलिया मुक्ती आन्दोलनका अगुवाहरु आपसमै लडेकोप्रति पनि उनी दुःखी छन् । ‘सुरुमा हामीले क्षेत्रीय हलिया मुक्ती समाज भनेर गठन गरेका थियौं, त्यसको संयोजक म नै थिएँ’ उनी भन्छन् ‘पछि हामीले जिल्ला जिल्लामा संस्था वनाउने र १२ वटै जिल्लामा हलिया मुक्ती समाज महासंघ वनाउने निधो. ग¥यौं र सोही अनुसार अभियान अगाडि वढायौं ।’ तर, अहिले व्यक्तिगत स्वार्थका लागि नयाँ नयाँ संगठनहरु खुल्दैछन् भन्ने सुन्छन् उनले । 
मुक्त हलिया आन्दोलनमा बाकी कार्यहरु सम्पन्न गर्नका लागि एक ठाउँमा बसेर छलफल गर्न नसक्नु अगुवाहरुको मुर्खता भएको उनी वताउँछन् । उनी छुट मुक्त हलियाको तथ्याङ्क संकलनका लागि फेरी सशक्त आन्दोलन आवश्यक भएको ठान्छन् । 

खेल समाचार 

सुदूरपश्चिम स्पोट्स अवार्ड हुने

खेलकुद पत्रकार मञ्च, कैलालीको आयोजनामा धनगढीमा प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड हुने भएको छ । 
खेलकुदको विकास, विस्तार र सम्भावनाको खोजीसँगै खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरुको काममा उत्साह थप्नका लागि प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड गर्न लागिएको हो । मञ्चले सोमवार पत्रकार सम्मेलन गर्दै स्पोर्टस अवार्ड गर्ने घोषणा गरेको हो ।
पौष १५ गते हुने अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरुमा देशको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने मञ्चका अध्यक्ष सीताराम ओझाले वताए । उनले भने ‘सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएर पदक जित्न सफल खेलाडी, प्रशिक्षक र खेलकुद क्षेत्रमा लागेकाहरुको योगदानलाई उचित कदर गर्ने पनि स्पोटस अवार्डको लक्ष्य छ ।’
अवार्ड विभिन्न ६ विधामा दिईने ओझा वताउँछन् । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने उनले  बताए । अवार्डमा चारवटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान  गरिनेछ । साथै स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान  गरिने,  बर्ष पुरुष खेलाडी र बर्ष महिला खेलाडीलाई मोटरसाईकल प्रदान गर्ने योजना समेत रहेको खेलकुद पत्रकार मञ्चले जनाएको छ । विभागीय टीमबाट खेल्ने यस क्षेत्रका खेलाडीहरुलाई भने अवार्डमा समावेश गरिने छैन् ।

चलचित्र/मनोरञ्जन 

“साङ्लो” को गित चल्यो

फिल्मी खवर  
अहिले मेकरमा गीतसंगीत राम्रो बनाए फिल्मले हलमा दर्शक तान्छ भन्ने सोचाई छ । केही फिल्मको हकमा यो नदेखिएको होइन । ‘नाईं नभन्नू ल’, ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘ए मेरो हजुर’ सिरिजको इनिसियल व्यापारमा गीतसंगीतको ठूलो योगदान छ । तर, गीत राम्रो हुँदैमा फिल्म चल्ने कदापी होइन । त्यसका लागि फिल्म आफैंमा बलियो हुनुपर्छ । गीतले युट्युबमा करोडौं भ्यूज बटुलेर पनि फिल्म बक्सअफिसमा पत्तासाफ भएका उदाहरण यहाँ अनगिन्ती छन् । 
 तात्तातो उदाहरण हो, फिल्म ‘घामड शेरे’ । यो फिल्मको ‘साली मन प¥यो...’ बोलको गीतले इन्टरनेट रिलिजको छोटो समयमै करोड भ्यूज बटुल्यो । निर्माण टिम गीतको सफलताले फिल्मको व्यापारमा फाइदा हुनेमा विश्वस्त थियो । तर, युट्युबमा पटक पटक गीत हेरेका दर्शक नै फिल्म हेर्न हलमा पुगेनन् । अन्ततः फिल्मले बक्सअफिसमा घुँडा टेक्यो । कन्टेन्टभन्दा गीतमा मेहनत गर्दा धेरै फिल्मले ‘घामड शेरे’ को जस्तै नियति भोग्नु परेको छ । 
फिल्म ‘छक्का पञ्जा’ को ‘पूर्व पश्चिम रेल’ गीतपछि नेपाली फिल्ममा लोक शैलीको गीत राख्ने लहड नै चलेको छ । अहिले निर्मातारनिर्देशकले कथाको माग नै नभए पनि फिल्ममा जबरजस्ती रुपमा लोक गीत घुसाउन थालेका छन् । फिल्मको महत्त्वपूर्ण सिनमा खर्च गर्न कञ्जुसाई गर्ने निर्माता गीत खिच्नका लागि लाखौं खर्च गर्न बैंक ब्यालेन्स रित्याउँछन् । जसले गर्दा गीतले युट्युबमा करोडौं भ्यूअर्स बटुले पनि फिल्मले हलबाट पोस्टरको समेत पैसा उठाउँदैन । 
 ‘एक्सन स्टार’ विराज भट्टले पनि आफ्नो निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ को ‘चरीले काफल’ बोलको गीत खिच्नका लागि मोटो रकम खर्चिएका छन् । उनले एक अन्तर्वार्तामा यो गीत खिच्न २५ लाख लागेको बताएका छन् । गएको बिहीबार सार्वजनिक भएको गीतले अहिलेसम्म युट्युबमा साढे ८ लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ । भने, पाँच हजार बढी कमेन्टमा अधिकांशले गीतको मुक्तकण्ठले प्रशंसा गरेका छन् । गीतलाई ४९ हजार लाइक्स मिलेको छ ।
 सफलताको मानक मानिने युट्युबको १७ औं ट्रेन्डिङमा रहेको ‘साङ्लो’ को गीतमा अभिनेता विराजले पूर्व मिस नेपाल तथा यस फिल्मकी लिड अभिनेत्री निकिता चाण्डकसँग ठुम्का लगाएका छन् । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । भने, उनलाई गायनमा मिलन नेवारले साथ दिएकी छन् । गीतमा कविराज   गहतराजको कोरियोग्राफी छ । ‘चरीले काफल’ गीतको अडियो र भिडियोलाई उत्कृष्ट बनाउन निर्माण टिमले निकै मेहनत गरेको छ । 
 गीतले लोकप्रियता हासिल गर्दैगर्दा अब प्रश्न यो उठ्छ कि गीतजस्तै के फिल्मको कन्टेन्ट पनि बलियो छ ? वा, अरु मेकरझैँ अभिनेता विराजले पनि कथामा भन्दा गीतमा बढी मेहनत गरेका छन् ? दशक अगाडिसम्म विराजको अनुहार पोस्टरमा राखेको भरमा निर्माता मालामाल हुन्थे । तर, अहिले नेपाली फिल्मको सिनारियो परिवर्तन भएको छ । अहिले फिल्म स्टारले होइन, कन्टेन्टले चल्छ । विराजले यो वास्तविकता त पक्कै आत्मसात् गरेका होलान् !
 पूर्व मिस नेपाल निकिताको अभिनयमा डेब्यू र विराजको डेब्यू निर्देशित फिल्म भएका कारण ‘साङ्लो’ कस्तो होला भन्ने कौतुहलता दर्शकमा छ । माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । मानकृष्ण महर्जनले खिचेको फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व छ ।

लेख 

रेड एरियामा कांग्रेसले जितेको होईन, कम्युनिष्टले हारेको

चेतनाको स्तर पनि जनतामा बढेछ । जनता कुनै पार्टीका दास होइनन् । आज एउटा विचार छ, परिस्थिति अनुसार भोलि अर्को विचार हुन सक्छ भन्ने कुरा पनि यसले अभिव्यक्त ग¥यो ।
— डा. टंकप्रसाद न्यौपानेसंगको कुराकानीमा आधारित
धरान नेपालकै वामपन्थीहरुको गढ मानिने ठाउँ  हो । यो रेड एरिया हुनुका पछाडि केही कारणहरु थिए ।  र, केही कारणहरु अहिले पनि छन् ।
विसं. २०१६ मंसिर ७ गतेको पहिलो नगरपालिका चुनावमा केदारनाथ खनाल पनि वामपन्थीबाटै जितेका हुन् । त्यसपछि पञ्चायतकालमा सूर्यप्रसाद उपाध्याय नगर प्रमुख भए, उनको पृष्ठभूमि पनि वामपन्थी नै हो । के देखिएको थियो भने, वामपन्थीले समर्थन नगरेमा नजित्ने । वामपन्थीको मौन समर्थन भए पनि आवश्यक पर्ने । यही कारणले धरान वामपन्थीको पकड भएको    एरिया नै हो ।
लेफ्टहरु सामान्यतया भारतविरोधी छन् । त्यो भारतविरोधी धारणा धरानमा पहिलेदेखि नै बन्दै आयो । मनमोहन अधिकारी पनि यहाँ आएर धेरै वर्ष बसे । उनले संगठन पनि गरे । महेन्द्र क्याम्पस धरानमा पनि अधिकतम मानिसहरु वामपन्थी थिए । डेमोक्रेट्सहरु, कांग्रेसहरुले पढ्न पनि सक्दैनथे । पढ्नु प¥यो भने बिराटनगर जानु पथ्र्यो  ।
अहिलेको चुनावले चाहिँ वामपन्थीको पकडलाई तोडिदियो । यो नेपाली कांग्रेसका लागि एकदम उत्साहजनक र ऐतिहासिक विजय हो । कांग्रेसको यो विजयबाट कम्युनिस्ट अचम्ममा परेका छन् । धेरैजसो वडाहरु उनीहरुको पकडमा थिए । उनीहरुले यसअघि २० मध्ये १५ वडाहरुमा चुनाव जितेका थिए । यसपालि ४÷५ वटामा झर्नु भनेको त ठूलो धक्का हो । यो धक्का वामपन्थीहरुलाई कसरी लाग्यो ? मैले पनि पत्याएको थिइनँ यस्तो होला भनेर ।
तर, म चुनावअघि जति वडाहरुमा गएँ, सर्वसाधारण मजदुरहरुले समेत यसचोटि कांग्रेसलाई दिने भनेको सुनियो । रुखमा, रुखमा भनेको सुनियो । उपचुनाव भैसकेपछि मैले ४/५ वटा कुराहरु सोचें ।
पहिलो कुरो ः वामपन्थीहरु, कम्युनिस्टहरु हार्नुका पछाडि यो २० वर्षको अवधिमा धरान नगरपालिकामा जुन संयन्त्र बन्यो, त्यसमा कर्मचारीतन्त्र अत्यन्त हावी भयो । जनताले काम गर्न जानु प¥यो भने, एउटा सिफारिस लिन जानु प¥यो भने पनि अनेक बाहनामा काम नगरिदिने । विशेष गरी निम्न वर्गका मान्छेहरुको काम नगर्दिने । त्यो प्रवृत्ति देखियो ।
नगरपालिकाका ती कर्मचारी भनेका वामपन्थीको पकडका हुन् । एउटा हैन, सबै त्यहाँ वामपन्थीहरु मात्र छन् । तिनै कर्मचारीले दुःख दिएका छन् । उपमेयरले भनेको पनि टेर्दैनन् । उपमेयर आफैं पनि काम गर्न सक्दिनन् । आलाकाँची विचरी हुन् । त्यसकारण यो पहिलो प्रहार नगरपालिकाको कर्मचारी तन्त्रमाथि हो । र, त्यसलाई ठीक गर्न नसक्ने जनप्रतिनिधिहरुको विरुद्ध हो जनमत ।
नम्बर दुई ः धरानमा नेकपाको जुन नगर कमिटी छ, त्यो नगर कमिटीको नेतृत्व असक्षम छ । यहाँ जाति, जनजाति, ब्राह्मण सबैलाई मिलाएर लानुपर्ने हो । तर, त्यो किसिमको देखिएको छैन । कम्युनिस्ट वृत्तबाट पनि के प्रतिक्रिया आएको छ भने यहाँको नेकपा नेतृत्वले, शायद सुनसरीको नेतृत्वले आफ्नो पकेटका मान्छे छान्यो । लोकप्रिय मान्छेहरुलाई नगर कमिटीमा ल्याएन । यसले गर्दा नगर कमिटीले सबै वडामा ध्यान पु¥याउन सकेन । यसवापत वामपन्थीहरुले नै नेकपा उम्मेदवारलाई जानीजानी भोट नहालेका हुन् चेतावनी दिनका लागि ।
नम्बर तीन ः चार/पाँच वर्षअघि नेकपा माओवादीले सुकुम्बासी एरियामा जग्गाधनी लालपूर्जा बाँडेको थियो । अहिलेका सुकुम्बासीहरु पढेलेखेका, शिक्षित छन् । यो लालपूर्जा नक्कली हो भन्ने कुरा उनीहरुले थाहा पाइहाले । भोलि वामपन्थीले नै जित्यो भने के गर्छ त ? त्यही नक्कली लालपूर्जा बाँड्ने ? जनतालाई ठग्ने हो ? उनीहरुलाई यस्तो आशंका लाग्यो । यसबाट पनि नेकपाका मतदाताहरु असन्तुष्ट भए ।
वामपन्थीहरुको धेरै पकड भएको क्षेत्र भनेको सुकुम्बासी एरिया हो । १३, १५, १६ र १७ नम्बर वडा   हो । यी वडाहरुबाट नै वामपन्थीलाई भोट आएन । किनभने, सुकुम्बासीहरु भोट दिनै आएनन् । जब मान्छे भोट दिन आएनन् र भोट कम खसिरहेको छ भनेपछि नेकपाका केही मानिसहरु तिनलाई लिन गए । केही मान्छेहरु आए पनि, तर उनीहरु गेटबाट भित्र छिरेनन् । यो उनीहरुले नेकपालाई च्यालेञ्ज गरेका हुन् ।
चौथो कुरा चाहिँ के हो भने चेतनाको स्तर पनि जनतामा अब बढेछ भन्ने बुझ्नु प¥यो । जनता कुनै पार्टीका दास होइनन् । आज एउटा विचार छ, परिस्थिति अनुसार भोलि अर्को विचार हुन सक्छ भन्ने कुरा पनि यसले अभिव्यक्त ग¥यो ।
र, पाँचौं कुरा चाहिँ उम्मेदवारको सवालमा छ । हुन त बहुदलीय प्रतिस्पर्धामा उम्मेदवार महत्वपूर्ण होइन म अहिले पनि भन्छु । लोकतान्त्रिक व्यवस्थामा व्यक्तिभन्दा पार्टी ठूलो हुन्छ । पार्टीलाई गाली गरेर लोकतन्त्र चल्दैन । पार्टी नै सर्वेसर्वा हो । तर, जनताले उम्मेदवारको लोकप्रियता पनि हेर्छन् ।
धरानमा यसपालि वामपन्थीले उठाएका प्रकाश राई शालीन र भद्र व्यक्तित्व हुन्, पार्टीमा अत्यन्त खटेका हुन् । तर, जनताले को कति वर्ष जेल प¥यो, कसले पार्टीमा कति योगदान ग¥यो भनेर हेर्दैनन् । जनताले त आफूसँग सम्पर्क भएको व्यक्ति को छ, त्यो हेर्छन् ।
कांग्रेसका जो तिलक राई हुन्, उनीचाहिँ यातायात व्यवसायी पनि हुन् । यसबाट मजदुर क्षेत्रमा उनको राम्रो सम्पर्क पुग्यो । किरात राई या योख्खाका केन्द्रीय अध्यक्ष पनि भए । यसबाट पनि उनको आफ्नो जनजाति समाजमा राम्रो पहुँच पुग्यो । र, अलिकति पढेका वौद्धिक व्यक्तित्व पनि हुन् र सक्रिय व्यक्ति पनि हुन् । नगरपालिकामा पनि केही समय संयन्त्रमा बसेर उनले काम गरे ।
हुन त दुबै उम्मेदवारहरु भद्र छन् । तर, तुलना गर्दाखेरि प्रकाश राईभन्दा तिलक राई अलि उत्तम भनेर जनताले मूल्यांकन गरे । यसैले गर्दा धरान नगरपालिकामा ऐतिहासिक रुपमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको  हो ।
म त नेपाली कांग्रेसले विजय प्राप्त गरेको भन्दिनँ, यो त कम्युनिस्टहरुमाथिको ठूलो प्रहार हो । अब उनीहरु सच्चिए भने अर्को चुनाव जित्छन्, होइन भने फेरि       हार्छन् ।
नेकपाले यति लामो समय काम गर्दा एउटा पनि काम गरेको देखिएको छैन । एउटै ठाउँमा बसपार्क तीनपटक, चारपटकसम्म शिलान्यासमात्रै गरिरहन्छन्, बसपार्क बनाउन सक्दैनन् । यसैले गर्दा उनीहरु पराजित बनेको अनुभव भएको छ ।  — अनलाईन खवरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

अवैध मुद्रा निर्मलीकरण भनेको के  हो ? नेपालले यस सम्बन्धमा गरेका व्यवस्था उल्लेख गर्नुहोस् । 
अवैध सम्पत्तिलाई वैध गराउने गैरकानुनी अपराध नै अवैध मुद्रा निर्मलीकरण हो । यसलाई सम्पत्ति शुद्धीकरण तथा मुद्रा निर्मलीकरणजस्ता नामले बुझिन्छ । यो मुद्राको अवैध स्रोतलाई लुकाउने, छिपाउने वा आधिकारिक स्रोतका रूपमा परिणत गर्ने संगठित अपराधको स्वरूप हो ।
राजस्व छली, संगठित अपराध, आतंकवादी क्रियाकलापमा लगानी, हातहतियार, खरखजाना, अवैध विदेशी विनियम, लागूऔषध व्यापार, प्राचीन स्मारक बेचबिखनजस्ता कार्य गरी आर्जित सम्पत्तिलाई वैध बनाउने प्रयास मुद्रा निर्मलीकरण हो । प्रचलित कानुनविपरीतको कसुर गरी सम्पत्ति लुकाउने, छिपाउने, लगानी गर्ने वा हस्तान्तरण गर्ने कार्यलाई नेपालमा अवैध मुद्रा निर्मलीकरण मानिन्छ ।
सम्पत्ति शुद्धीकरणमा विभिन्न जटिल तथा बहुचक्रीय प्रक्रियामार्फत राज्य संयन्त्रको दुरुपयोग गरेको पाइन्छ । निश्चित क्षेत्र, वर्ग वा देशमा मात्र सीमित नरहने यस्ता अपराधले राज्यको समग्र कानुनी वित्तीय र सुरक्षा प्रणालीलाई नै कमजोर बनाएको हुन्छ । यसबाट अपराधीलाई नै थप शक्तिशाली बन्न मद्दत पुग्छ ।
अवैध मुद्रा निर्मलीकरणका सम्बन्धमा नेपालले गरेका व्यवस्था
संवैधानिक व्यवस्था
ड्डप्रस्तावनामा कानुनी राज्यको अवधारणा उल्लेख भएको,
ड्डदिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा रहेको,
ड्डराज्यको नीतिमा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको व्यवस्था भएको,
ड्डन्याय र दण्ड व्यवस्थासम्बन्धी नीतिको व्यवस्था रहेको,
ड्डसंसद्मा अन्तराष्ट्रिय सम्बन्ध सम्बन्धी नीति रहेको,
कानुनी व्यवस्था
ड्डसम्पत्ति शुद्धीकरण ऐन ०६४ र नियमावली ०६६ जारी,
ड्डसरकारी मुद्रासम्बन्धी ऐन ०४९ र नियमावली०५५ रहेको,
ड्डसहकारी ऐन ०७४ तथा नियमावली ०७५ जारी,
ड्डसम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संस्थालाई निर्देशन ०७४,
ड्डसम्पत्ति शुद्धीकरण रणनीति तथा कार्ययोजना ०६८ जारी 
ड्डसंस्थागत व्यवस्था
ड्डसम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग,
ड्डअर्थसचिवको संयोजकत्वमा एन्टी मनी लाउन्डरिङ समन्वय समिति,
ड्डडेपुटी गभर्नरको संयोजकत्वमा कार्यान्वयन समिति,
ड्डनेपाल राष्ट्रबैंकमा वित्तीय जानकारी एकाई,
ड्डसहकारी विभागमा सम्पत्ति शुद्धीकरण एकाई गठन,
ड्डप्राविधिक उपसमिति गठन आदि,
यसरी सम्पत्ति शुद्धीकरण वा अवैध मुद्रा निर्मलीकरण कार्यले मुलुकको वित्तीय प्रणालीको स्वरूप, अस्तित्व तथा विकासमा नकारात्मक असर पु¥याउँछ । यसको प्रभावकारी नियन्त्रणमार्फत मुलुकमा स्थिरता, स्थायित्व र समुन्नति कायम गर्नु आजको आवश्यकता हो । यो राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय चासो र महत्वको विषयसमेत हो ।
नेपालको पर्यटन क्षेत्रको विकासका लागि चालिनुपर्ने कदम के–के हुन सक्छन् ? 
पर्यटनका लागि सँगसँगै घुमफिर, मनोरञ्जन तथा अन्य प्रयोजनार्थ आउने स्वदेशी तथा विदेशी पाहुना वा पर्यटकलाई यथोचित बसोबास, खानपानलगायत अन्य कुराको व्यवस्थापन गर्ने कार्यलाई पर्यटन भनिन्छ । पर्यटन एक व्यवसाय, उद्योग र आर्थिक क्रियाकलाप पनि हो । अतुलनीय प्राकृतिक र सांस्कृतिक अनुपमताले युक्त नेपालमा पर्यटनलाई तुलनात्मक लाभको क्षेत्रका रूपमा लिइएको भए पनि यसबाट अपेक्षित लाभ लिन भने नसकेको अवस्था छ ।
नेपालको पर्यटन क्षेत्रको विकासका लागि चालिनुपर्ने कदम,
ड्डपर्यटकीय सुरक्षा र संकट व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्ने,
ड्डनियमित र भरपर्दो राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सेवा सञ्जालको विकासको व्यवस्था गर्ने,
ड्डपर्यटन क्षेत्रको विकासमा सरकारी तथा निजी क्षेत्रको भूमिकालाई सबलीकरण गर्ने,
ड्डदक्ष, सक्षम मानव संशाधनको विकास गर्ने,
ड्डनियमित र भरपर्दो ऊर्जा आपूर्तिको 
ड्डव्यवस्था गर्ने,
ड्डनयाँ पर्यटकीय स्थलको पहिचान र विकास गर्ने,
ड्डपर्यटकीय वस्तुको विविधीकरण र व्यावसायिकीकरणमा जोड दिने,
ड्डपर्यटकलाई सहुलियत सुविधा र प्याकेजको विस्तार गर्ने,
ड्डआन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने,
ड्डकानुनी, प्रशासनिक, संस्थागत तथा व्यवस्थापकीय सुधारमा जोड दिने,
ड्डसूचना प्रविधि तथा तथ्यांकहरूको प्रयोग र पूर्वाधार बढाउने,
ड्डसमन्वय, अनुगमन र मूल्यांकनमा जोड दिने,
ड्डअन्तराष्ट्रिय जगत्मा नेपालको ब्रान्डिङ गर्ने

साहित्य/सिर्जना 

पद्य कविता 

जोडमा तोडमा भिड्छन् व्यर्थैमा जोडतोडले
के हुन्छ जोड्नमा लाभ के हुन्छ हानि तोडले ।
जोडेर लेखिए एक नजोड्दा भिन्न अर्थ छ
पुर्खाको योग्यता जाँच्ने अबको तर्क व्यर्थ छ ।।

पुर्खाले जे दिए त्यो नै हाम्रा लागि छ वैभव
भ्रमको खेती गर्नेका नलागौं मित्र हो अब ।
किमार्थ गल्ती देखिन्न जोडेर लेखियो भने
यद्यपि अर्थमा भेद देखिन्छ तोडियो भने ।।

जोड्दा अर्थ हुने भिन्न तोडमा भिन्न अर्थ छ
तोडमा नगरौं जोड अब त्यो तर्क व्यर्थ छ ।
देखिएलान् कतै गल्ती पल्टाए इतिहासमा
मुखले छैन भन्दैमा जाडो हुन्न र माघमा ।।

कता के कसले जोड्यो त्यो छाडौं जे भयो भयो
करोडौं जनको बानी अब जोड्नतिरै गयो ।
बनेको जे छ त्यो भन्दा लागौं निर्माणमा अब
बिब्ल्याँटो मार्ग रोजेर कहाँ पाइन्छ वैभव ।।

नगरौं तोड्नमा धन्दा आजैबाट घरी घरी
पृथ्वीले देश जोडेको तोड्ने काम भए सरि ।
पुर्खाको जे छ निर्माण भाँच्नमा किन चम्कनु
अगाडि बढ्न छाडेर पछाडि किन लम्कनु ।।

पहिराइदिए माला दुष्ट सज्जन बन्छ र
भएको जे छ निर्माण तोड्दैमा अब बन्छ र ।
मानें लौ ध्वंशमै युक्ति गरेछौ रे निरन्तर
फेरि निर्माण गर्दैमा धरारा उही बन्छ र ।।

बनाए अघि पुर्खाले श्रमस्वेद छरी छरी
सम्मान तिनमा छैन तिम्रो सोच कठैबरी ।
तोड्ने छुट्ट्याउने भाँच्ने कामले शैल छुन्छ र
करोडौं जनको आस्था भाँचेर अब हुन्छ र ।।

भत्किएको कुरा हेर्दै भन्नु के हाय हे हरि
अहिले साँधमा हाम्रो बैरी भित्र पसे सरि ।
जोडिएको कुरा भाँच्न यत्न गर्छौ मरी मरी
बाख्राको खोरमा मानौं होला बाघ पसे सरि ।।

एकता हो महाशक्ति आत्मविश्वासको बल
जहाँ त्यो एकता हुन्न त्यहाँ भो वैरीको छल ।
हिजोका दिनको हाम्रो हिज्जे नै आजको भयो
हज्जारौं जनको आस्था यसैमा अब देखियो ।।

हज्जारौं जनको आस्था फोरेर एक हुन्छ र
आरा लाएर काटेको धुलोले रुख बन्छ र ।
हिज्जे नै मान हो हाम्रो भाषालेखनको धन
सनम्र गर्छ यो मान्छे नित्य नम्र निवेदन ।।
होम सुवेदी

ढोका छाडी झ्यालबाट चियाउने

ढोका छाडी झ्यालबाट चिहाउने, कस्ता छिमेकी तिमी ?
अरुको सम्पदामा र्रुयाल चुहाउने, कस्ता छिमेकी तिमी ?

कपडा त कपडा नै हो, कमर बेरे ’नि, शिर ढाके ’नि
फोहरीको लगौटीझै गन्हाउने, कस्ता छिमेकी तिमी ?

धर्म संस्कृति र छोरी(बेटीको सम्बन्धको ’नि कुरा गर्ने
अप्ठ्यारोमा पारी, धाँटी समाउने, कस्ता छिमेकी तिमी ?
— यज्ञप्रसाद गिरी

सूचना/सन्देश/बिज्ञापन 

स्वास्थ्य कार्यालय, डोटी

क्षयरोग नियन्त्रण कार्यक्रम 
क्षयरोग भनेको के हो ? 
ड्डक्षयरोग संक्रामक सरुवा रोग हो । 
ड्डयो आँखाले देख्न नसकिने माईक्रोवेक्टरियम ट्युवरक्लोसिस नामक किटाणुबाट हुन्छ । 
ड्डक्षयरोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्यु गर्दा हावाको माध्यमबाट सर्दछ । 
ड्डक्षयरोग उपचार गरेमा निको हुन्छ साथै अरुलाई पनि सर्दैन । 
ड्डक्षयरोगको औषधी प्रत्येक स्वास्थ्य संस्थामा निशुल्क पाईन्छ । 
ड्डउपचार नगरि रोग लुकाएर बसेमा समुदायका अरु स्वस्थ मानिसलाई पनि सर्दछ । 
ड्डउपचार पुरा नगरि बिचैमा औषधी खान छोडेमा (म्च्त्द्य) दीर्घ क्षयरोग विकसित हुन्छ । 
ड्डसामान्यतया क्षयरोगको उपचार अवधी ६ महिनाको हुन्छ । 
क्षयरोगको प्रकार ः 
ड्डफोक्सोको क्षयरोग (८०%) । ड्डफोक्सो बाहेक अन्य अंगको क्षयरोग (२०%) । 
ड्ड फोक्सोको क्षयरोगका लक्षण तथा चिन्हहरु 
ड्डदुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु । 
ड्डछाती दुख्नु, स्वास फेर्न गा¥हो हुनु ।
ड्डखान मन नलाग्नु । 
ड्डसाँझपख हल्का जरो आउनु र पसिना आउनु । 
ड्डतौल घट्दै जानु र थकाई लाग्नु ।
ड्डखकारमा रगत देखिनु । 
माथीका कुनै पनि लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरि खकार जाँच गराउनु पर्दछ ।

युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धि परियोजना” अन्तरगत जानकारीमूलक सन्देश ।


सुशासनको अवधारणा
भ्रष्टाचार, अनुत्तरदायी सरकार र मानव अधिकारको सम्मानको कमी जस्ता विशेषता भएको खराब शासन प्रणालीले गर्दा विकास र प्रगति ठप्प भई भयावय स्थितिको सृजना भएकोले सन् १९९० को दशक देखिनै दिगो विकास र गरिवी न्युनिकरणका लागि अनिवार्य आवश्यकताका रुपमा सुशासनको अवधारणा अगाडि सारेको पाइन्छ । यो अवधारणा पश्चिमी देश तथा वैदेशिक सहायता प्रदान गर्ने संस्थाहरुद्वारा विकासशील देशहरुको शासन व्यवस्थामा सुधार ल्याइ विकास निमार्णको प्रक्रियामा गतिशिलता प्रदान गर्ने प्रयोजनको लागि विकास गरिएको हो । 
सन् १९९५ को “सामाजिक विकास सम्वन्धी विश्व सम्मेलन” ले “समाजका सबै क्षेत्रमा प्रजातान्त्रिक, पारदर्शी, उत्तरदायीपूर्ण शासन प्रणाली सामाजिक र मानव केन्द्रित दिगो विकासका अभिन्न आधारशिलाहरु हुन्” भनेर उदघोष गरेपछि सुशासन तर्फ सारा विश्वकै ध्यानाकर्षण भएको हो । यसको मुख्य उद्देश्य जनतालाई उपलव्ध गराउने सेवा प्रवाहमा गुणस्तरीयता र प्रभावकारीता बढाउनु हो । नागरिकहरुको क्षमता तथा सवलताका मार्गहरु प्रशस्त गर्ने तर्फ शासकीय अधिकारको प्रयोग गर्नुपर्ने कुराहरुमा सुशासनले जोड दिन्छ ।
जनसहभागिता पूर्वानुमानीयता, जवाफदेहिता र पारदर्शीता सुशासनका चार आधार स्तम्भ हुन् । यसको प्रमुख पूर्वाधारका रुपमा जनसहभागितालाई लिइन्छ । वास्तवमा सुशासन जनताको लागि नै भएको हुँदा शासन व्यवस्थामा जनताको व्यापक सहभागिता हुनपर्दछ जसबाट जनआकांक्षा अनुरुप सरकारी क्रियाकलाप अघि बढ्न सकुन् र प्रत्येक नागरिक एवम् सर्वसाधारण जनता सवैले आफ्नो योग्यता र प्रतिभा अनुरुप राष्ट्र निमार्णमा सहभागी भई योगदान दिन सकोस भन्ने यसको मुल मान्यता हो । यसबाट शासन व्यवस्थामा जनताको अपनत्व कायम हुन्छ ।
सुशासन लोकतान्त्रिक सरकारको एउटा आधार स्तम्भ हो । यसले सार्वजनिक पदमा बस्ने व्यक्तिलाई आफ्नो कामप्रति जवाफदेही बनाउछ । त्यसैगरी पारदर्शीता र पूर्वानुमानीयतालाई पनि सुशासन कायम गर्ने आधारभूत पक्ष मानिन्छ । पारदर्शीता र जबाफदेहीताले सरकारमा हुने खुल्लापन र मूल्यको त्यस्तो प्रणालीलाई बुझाउँछ जसले सरोकारवालाहरुको बीच सूचना र दायित्वका बाँडफाँडलाई प्रवद्र्धन गर्दछ ।
सुशासनका चुनौतीहरु
कुनै पनि राज्यकालागि सुशासनलाई प्रभावकारी ढंगमा जनतासामु प्रत्याभूत दिलाउन कठिन पर्ने गर्छ किनकी सुशासन कायम गर्नु आफैमा एउटा चुनौतीको विषय हो । राज्यका सबै अंगबीच सन्तुलन कायम गर्न जति कठिन पर्छ लोकतान्त्रिक संस्कारको विकास गर्न पनि सुशासनका लागि उत्तिकै चुनौतीको विषय हो । निजी क्षेत्र गैर सरकारी संस्थादेखि लिएर नागरिक समाजसँग साझेदारी कायम गर्नु सुशासनका लागि एउटा चुनौतीको विषय हो भने प्रशासनिक क्षेत्रको सुधार गर्नु यसका लागि अर्को चुनौतीको विषय छ ।
त्यसैगरी विकासका लागि अनूकुल वातावरणको सृजना गर्नु, मानव अधिकारको संरक्षण गर्नु, द्वन्द्व समाधान गर्नु, शान्ति स्थापना गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु पनि सुशासनका लागि अन्य चुनौतीका विषयहरु हुन् ।
सुशासन नभए के हुन्छ ?
सुशासन नभएमा कुनै पनि मुलुकको सकारात्मक परिवर्तन गर्न प्राय असम्भव नै हुन्छ किनकी सुशासन नभएमा मुलुकमा सामाजिक द्वन्द्व र अराजकता बढ्न   सक्छ । त्यसैगरि सुशासन नहुदा सामाजिक तथा आर्थिक न्यायको उपहास हुन्छ । असन्तुलित विकासले प्रशय पाउछ भने विकासमा साझेदारीको समस्या देखापर्दछ । कानुनको उल्लंघन भई सत्ताको लुछाचुडि हुन सक्छ । त्यसैले राज्यको सर्वाङ्गीण विकासका लागि आजको युगमा सुशासनको निकै महत्व भएको पाइन्छ ।

Tuesday, November 19, 2019

बिम्ब साप्ताहिक २०७६ साल मंसिर ३ गते मंगलवार

२०७५ साल भदौ १ गते लागू भएको देवानी तथा फौजदारी संहितामा रहेका मुख्य व्यवस्थाहरु
¨ अपराध अनुसन्धान तथा अदालती काम कारबाहीमा कुनै व्यक्ति वा साक्षीलाई बुझ्न
¨ श्रव्य दृश्य सम्वाद (भिडियो कन्फरेन्स) को प्रयोग गर्न सकिने,
¨ समाचार पत्र वा विद्युतीय माध्यमबाट म्याद तामेल गर्न सकिने,
¨ अठार वर्ष उमेर नपुगेको बालबालिकालाई नाबालिग मानिने,
¨ झुट्टा उजुरी दिएमा सजाय हुने तथा क्षतिपूर्ति तिर्नु पर्ने 
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सूचना तथा प्रसारण विभाग

मुख्य समाचार

सडकले बिगारेको सडक ः टेर्दैनन् स्थानीय तह

रामहरि ओझा
मंसिर २
डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका–२ का टेकवहादुर मल्ललाई आफ्नै जमिनबाट कटिङ्ग भईरहेको रडुवा–कलारैमाण्डौं–वडाल सडकको बिषयमा जानकारी छैन । नेपाल प्रहरीको भुतपूर्व प्रहरी सहायक निरीक्षक समेत रहेका उनी सडक कसले काट्दैछ, कसको लगानी हो भन्ने बिषयमा कुनै जानकारी नभएको वताउँछन् । ‘सडकले  मेरो जमिन मास्दैछ तर मलाई कुनै जानकारी छैन’ उनी भन्छन् ‘यदि मेरो जमिन मासिएर भएपनि दुरदराजमा गाडी पुग्छ भने ठिकैछ भनेर चुप लागेँ ।’ प्रदेश सरकारको बजेटबाट ठेक्कामा काम भईरहेको उनले सुनेका    छन् र कतिको ठेक्का हो भन्ने थाह छैन उनलाई । उनी सडकले स्थानीयलाई भने फाईदा भएको वताउँछन् ।
गाउँमा सडक लैजाने नाममा मुख्य सडक बिग्रेकोप्रति भने उनी चिन्तित् छन् । उनी भन्छन् ‘गाउँतिर सडक जानु त ठिकै हो तर माटो मुख्य सडकमा फालेर मुख्य सडक बिग्रिरहेको छ, माथीबाट पहिलो आएर सडक वन्द हुने अवस्थामा छ । 
सडकको जिरो प्वाईण्टमा के आई सिंह राजमार्गलाई साँगुरो पार्ने गरि माटो थुपारिएको छ, नाली बन्द भएको छ ।
गन्यापधुराकै वडा नं. ३ को गुयलीखेल–हल्देगर्खा–डिले–वडाल सडकको अवस्था पनि उस्तै छ । बर्खामा कच्ची सडकबाट माटो वगेर मुख्य सडकमा जम्मा भएपछि सडकको पिच उप्किएको छ, नाली वन्द छ, माटोले अहिले पनि सडक साँघुरो वनाएको छ । स्थानीय अमरवहादुर साउँद भन्छन् ‘एक पटक त गाउँपालिकाको डोजरले सफा गरेको थियो फेरी माथीबाट माटो आईहाल्यो, गाउँपालिकाको आफ्नै डोजर छ, अझ सफा गर्लान नि !’ उनलाई पनि यो सडक कसले काट्दैछ, कति रकम हो  भन्ने थाह छैन, भन्छन् ‘गाउँपालिकाको पैसाले हो भन्ने सुनेको छु ।’ 
डोटी शिखर नगरपालिका–६ मा अड्यौलबाट सुर्खाल जोड्ने सडक काटिएको डेढ बर्ष भयो । गाडी चल्ने खालको सडक होईन त्यो र गाडी चल्दैनन् पनि । एक स्थानीयबासी भन्छन् ‘डोजरले सडक काट्दाखेरी एक जनाले मोटरसाईकल लगेको याद छ, त्यसपछि गाडी गएको मैले    देखेन ।’ 
तर, त्यो शाखा सडकले मुख्य सडक के आई सिंह राजमार्ग भने बिगारेको छ । सडक काट्दा फालिएको माटो बगेर मुख्य सडकमा आएपछि नाली र हमपाईप दुवैमा बुझो लाग्यो । सडक काटिएपछि बर्षाको समयमा माथीबाट ढुङ्गा खस्ने   गरेको एक अर्का स्थानीयले   वताए । 
डडेल्धुरा गन्यापधुरा वडा नं. २ को रडुवादेखि डोटी शिखर नगरपालिका वडा नं. १ समुहगाडसम्म करीव ४५ किलोमिटरको दुरीमा २० शाखा सडकहरु काटिएका छन् । सडक काट्ने नाममा मेसिनले नभन्किाईएको कुनै डाँडो बाँकी छैन । 
‘०४६ सालको राजनीतिक परिवर्तनले गाउँगाउँमा बिद्यालय खोल्ने होड् चल्यो, अहिलेका स्थानीय सरकारहरुले सडक काट्नेमा प्रतिस्पर्धा गरिरहेका छन्’ गन्यापधुरा–३ का बासुदेव अवस्थी भन्छन् ‘त्यो बिद्यालय खोल्ने होड पनि बिना योजनाको थियो, यो सडक काट्ने प्रतिस्पर्धा पनि बिना योजनाको छ ।’ उनले त्यतिवेला देखासिखीमा खोलिएका बिद्यालयहरु नामका मात्रै रहेको वताए । ‘ति बिद्यालयहरुमा न भौतिक पूर्वाधार राम्रो छ, न बिद्यार्थी संख्या छ, न गुणस्तरीय शिक्षा छ’ लामो समय शिक्षण पेशामा रही सेवा निबृत्त भएका अवस्थी भन्छन् ‘बन्द गर्न खोज्यो राजनीतिक मुद्धा हुन्छ, चलाउन सकिदैन ।’ त्यस्तै अवस्था यि सडकहरुको हुने उनी वताउँछन् । कमिसनको लोभमा मेसिनले सडक काट्ने गरेको वताउँदै उनले थपे ‘भोली न त यि सडकहरुको मर्मत सम्हार हुनेछ, न स्तरोन्नति, प्रकोप जोखिम मात्रै बढेको छ ।’  
शाखा सडकले मुख्य सडक बिगारेको वताउँछन् डिभिजन सडक कार्यालय डोटीका प्रमुख बलीराज मल्ल । ‘उहाँहरुले (स्थानीय र प्रदेश सरकार) सडक काट्नु हुन्छ, माटो मुख्य सडकमा थुपारिदिनुहुन्छ, नाली वन्द हुन्छ, अनि पानी सडकमा वगेर पिच उप्किन्छ’ मल्ल भन्छन् ‘हामीसंग मर्मतका लागि रकम पनि थोरै हुन्छ, मर्मत गर्नै सकिँदैन ।’  उनले शाखा सडक काट्ने क्रममा डिभिजन कार्यालयसंग कुनै समन्वय नहुने गरेको वताए । 
‘हामीले यस बिषयमा डोटी र डडेल्धुराका स्थानीय तहहरुलाई पत्राचार समेत गरिसकेका छौं, तर पनि रोकिएको छैन’ मल्लले भने ‘मैले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री ज्यूलाई पनि यो समस्याका बिषयमा जानकारी गराएको छु, उहाँले म बुझ्छु भन्नु भएको छ ।’ आफुले डोटी र डडेल्धुराका प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी  गराएको उनले वताए । जथाभावी शाखा सडक काट्नाले आफुहरुलाई निकै समस्या भएको उनी वताउँछन् ।
जंगलबाट सडक काट्दा वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) गर्नु पर्ने कानूनी व्यवस्था हुँदाहुँदै पनि स्थानीय र प्रदेश सरकारले ईआईए नगरेरै सडक काट्ने गरेको वताउँछन् डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारी । ‘मैले जिल्ला समन्वय समितिको समीक्षा कार्यक्रममा स्थानीय तहका प्रमुखहरुलाई जथाभावी सडक नकाट्न अनुरोध पनि गरेको थिएँ, तर उहाँहरु उल्टो थर्काउनु हुन्छ’ तिवारी भन्छन् ‘हामी स्थानीय सरकार हो हामीले सडक काट्न पाउनु पर्छ भन्छन्,  अनि हामी के गर्न सक्छौं ।’ 
यस बर्षदेखि कडाई गर्ने तिवारी वताउँछन् । नयाँ काट्ने सडकहरुको ईआइए गर्नका लागि सवै स्थानीय तहहरुलाई सचेत  गराई सकेको उनी वताउँछन् । उनले भने ‘हामीले पटक पटक सचेत गराएका छौं तर कानूनी प्रक्रियामा भने यो बिषय लगेका छैनौं ।’   
डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले शाखा सडक निर्माण गर्दा मुख्य सडकलाई क्षति नहुने गरि गर्न सम्वन्धित स्थानीय तहहरुलाई पत्राचार गरएको जानकारी दिए । ‘सडक कार्यालयबाट स्थानीय तहलाई पत्राचार गरेको बोदार्थ मलाई आएको थियो’ पौडेलले भने ‘मैले कार्यालयबाट सोही अनुसारको पत्राचार गरेको छु ।’ शखा सडक काट्दा मुख्य सडकलाई क्षति भएको पौडेल पनि वताउँछन् । 

सम्पादकीय

सांसद आलमबिरुद्ध अर्को मुद्धा चल्दैन ?

“वो एसपी ने मेरे साथ गलत किया, उसका भी बुरा होगा ।” नेपालको सवैभन्दा माथिल्लो जनप्रतिनिधि निकाय संघीय प्रतिनिधि सभाका सदस्य मोहम्मद् अफताव आलमले लेखेको हरफ हो यो । उनले “वो” भनेर सम्वोधन गरेका प्रहरी उपरीक्षक (एसपी) हुन रौतहटका प्रहरी प्रमुख भुपेन्द्र खत्री । 
जीउदै मान्छेलाई ईट्टाभट्टामा हालेर जलाउने अनि चुनाव जितेर मन्त्री बन्ने सौभाग्य पाएका वहालवाला प्रतिनिधिसभा सदस्य आलम कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका छन् । कांग्रेसभित्र प्रकावशाली नेताका रुपमा परिचित आलम जेल सरुवको चक्करमा छन् । उनी फेरी रौतहट कारागार जान खोज्दैछन् । सुरक्षाको कारण देखाउँदै अदालतले उनलाई अन्यत्र लैजान आदेश दिएको थियो । उनी आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै कारागार प्रशासनलाई माग पत्र लेख्दैछन् । त्यो मागपत्रमा समेत उनले            रौतहटका प्रहरी प्रमुखलाई धम्की दिएका छन् । हिन्दीमा पत्र लेखे उनले त्यसैमा धम्की पनि दिए । त्यो पत्र कारागार प्रशासनले के   गरेको होला ? 
आलमलाई भेट्न आईतवार दिउसो नख्खु कारागार पुगेका कांग्रेस नेता रामचन्द्र गिरीसंग कारागार स्थानान्तरणको चाँजोपाजो गर्न भन्दैछन् । गिरीसंगको भेटपछि हिन्दीमा लेखेको मागपत्र कारागार प्रशासनलाई बुझाएका छन् । उक्त मागपत्र कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पठाएको खवर आएको  छ । जनताको प्रतिनिधि, देशको कानून वनाउने संस्थाको सदस्य, ज्यान मारेको आरोपमा आफैले वनाएको कानून अनुसार कारागारमा छन् । अनि तिनले वनाएको कानून कार्यान्वयन गर्ने प्रहरीलाई उनले धम्की दिदैछन् कि “उसका भी बुरा होगा” । 
सरकारी कार्यालयमा दिएको पत्रमा धम्कीको भाषा प्रयोग भएको छ, त्यो अनुसार आलमलाई कारवाही हुन्छ कि हुँदैन ? उनलाई धम्की दिएको आरोपमा अर्को मुद्धा चल्ने कि नचल्ने ? भन्ने प्रश्न उव्जाएको छ । उनले त्यो पत्र सरकारी कार्यालयमा दिएका हुन । नख्वु कारागार शाखाले उक्त पत्र कारागार व्यवस्थापन विभागमा पठाएको छ रे । अव त्यो पत्रमा कस्तो किसिमको कारवाही होला वा कारागार शाखाले वा कारागार व्यवस्थापन विभागले धम्की सहितको पत्र दर्ता गरेको होला कि नहोला भन्ने पनि प्रश्न आउँछ । 
नख्खु कारागार आफ्ना लागि सहज नभएको आलमको भनाई छ । अभियुक्त वा अपराधीलाई कुन कारागारमा राख्ने भन्ने बिषय नितान्त कारागार व्यवस्थापन बिभागकले तय गर्ने होला । सुरक्षा सम्वेदनशीलताको कुरालाई पनि ध्यान दिईने होला । हो, आरोपी वा अपराधीले कारागारमा पाउनु पर्ने सेवा सुविधा पाएको छ कि छैन भन्ने बिषयमा आवाज उठाउन पाउनु कैदीबन्दीहरुको अधिकारको बिषय हो । आफुलाई सहज ठाउँमा लगिदिन माग राख्नु पनि गलत होईन तर प्रहरी कर्मचारीलाई धम्की दिँदै कारागार सरुवाको माग गर्नु कत्तिको जायज हो ? 
कारागारमा आफन्त र नातेदारबाहेक अरूलाई भेट्न नदिइएकोप्रति उनी आक्रामक छन् रे । ‘मेरा सारा दोस्त मेरा रिस्तेदार है ।’ उनले पत्रमा लेखेका छन् रे । कारागारमा अपराधको अनुसन्धानका क्रममा पुर्पक्षका लागि थुनामा रहेका आरोपीहरु हुन्छन्, वा कैद भुक्तान गरिरहेका अपराधी हुन्छन्, त्यहाँ नेता कार्यकर्ता वा मन्त्री सांसद हुँदैनन् । कारागारको आफ्नो नियम हुन्छ त्यो नियम अनुसार भेट्न पाउँछन् । सारा दोस्त, सारा कार्यकर्ता, सारा नेता बोलाएर आमसभा गर्ने ठाउँ होईन होला नि कारागार ! 
त्यसैले के आलममाथी अर्को मुद्धा चल्ला ?

थप समाचार

१६ बर्षदेखिको बिजुली देख्ने सपना अधुरै 

डोटी, आदर्श गाउँपालिका–५ लामिखालकी सिता नागरी उमेरले ६१ बर्षकी भईन् । उनी गाउँमै बस्छिन्, त्यसैले बिद्युतको बिषयमा खासै जानकारी छैन उनलाई । 
१६ बर्षअघि अर्थात् २०६२ सालमा गाउँमा बिद्युतका पोल गाड्न सुरु हुँदा उनलाई घरमा बिजुली बलेको हेर्ने चाँसो बढ्यो । एक दुई पटक मात्रै बिद्युत भएका शहरसम्म आउजाउ गरेकी उनलाई आफ्नो गाउँ पनि झिलिमिली भएको हेर्ने रहर    थियो ।
पोल गाडेको १६ बर्ष पुरा भयो । सिताको सपना अझै पुरा भएको छैन । अव त उनले आश पनि मारिसकेकी छिन् । भन्छिन् ‘घरमा बत्ति बलेको, गाउँ झिलिमिलि भएको अर्को जुनीमा मात्रै देख्न पाईने हो कि !’
आर्थिक बर्ष २०६२÷०६३ र को वजेटबाट साविकको लामिखाल गाउँ विकास समितिले बिद्युतीकरणका लागि १४ लाख रुपैयाँ बिनियोजन ग¥यो । उक्त रकमबाट पोल खरीद भए र ठाउँ ठाउँमा पोल गाडिए पनि । ०६४÷०६५ बाट लामिखालको बिद्युतीकरण केन्द्रीय योजनामा समाबेश भयो । प्रत्येक बर्ष वजेट आयो पनि, तर काम भएन । प्रत्येक बर्ष ठेक्का हुने, ठेकेदारले सडक पहुँच भएका ठाउँहरुमा मात्रै काम गर्ने लामिखालमा वास्तै नगर्ने गरे । लामिखालबासीहरुको बत्ति बाल्ने सपना सधैं अधुरै रह्यो । 
‘गत बर्ष मात्रै ६५ लाख रकम बिनियोजन भएको थियो रे’ स्थानीय बिरवहादुर रोकाया भन्छन् ‘त्यो रकम कहाँ गयो, कति काम भयो कति फ्रिज भयो हामीलाई केही थाह छैन ।’ उनले बिद्युत प्राधिकरणमा कामै नगरि बिल मिलाएर खान्छन् कि भन्ने आफुलाई संका लागेको वताए । 
१६ बर्षको यो अवधीमा आफुहरुले पटक पटक ठेकेदारहरुसंग आग्रह गरेको, पटक पटक बिद्युत प्राधिकरणको दिपायल कार्यालय धाएको सम्झँदै रोकायाले थपे ‘हाम्रो आवाज सुन्दैनन् कसैले । उनले पत्रकारहरुले पनि आफ्नो पीडा नबुझेको गुनासो गरे । 
स्थानीय नरवहादुर रोकायाको पनि यस्तै गुनासो छ । आदर्श गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले गाउँपालिकाका अध्यक्षलाई प्रश्न गरे ‘हामी कहिलेसम्म बत्ति बाल्न पाउँछौं ?’ जवाफमा गाउँपालिका अध्यक्ष टेकवहादुर रोकायाले भने ‘मैले बिद्युत कार्यालयसंग पनि समन्वय गरेको छु, यस आर्थिक बर्षभित्रै लामिखालमा बत्ति बल्छ ।’ 
आफुहरु कात्तिक २४ गते बिद्युत प्राधिकरणको दिपायलस्थित कार्यालयमा गएर पुनः स्मरण गराएको बताउँछन् स्थानीय धर्म रोकाया । उनले भने ‘हामीले छिटो बत्ति बाल्नु प¥यो भनेर अनुरोध     गरेका छौं, हाकिम सावले पनि आश्वासन दिनु भएको छ ।’ यदि फेरी पनि बिगत जस्तै लम्व्याउने काम भयो भने बाध्य भएर आन्दोलन गर्ने उनले वताए । 
चैत्रभित्रै बत्ति बाल्ने गरि काम भईरहेको वताउँछन बिद्युत प्राधिकरण दिपायलमा प्रमुख कपिलदेव जोशी । ‘बिगतमा गोपघाटबाट लाईन तान्ने गरि सर्वे भएको रहेछ’ जोशीले भने ‘जंगल विबादका कारण उताबाट लाईन तान्ने नसकिएको भन्ने मैले जानकारी पाएको छु ।’ आफु यता आएको करीव ६ महिना मात्रै भएको बताउँदै जोशीले थपे ‘बिगतमा कहिले ठेकेदारको लापरवाही, कहिले वजेटको कमी, कहिले सामग्रीको कमीले गर्दा समस्या भएको हो भन्ने रिपोटिङ्ग मैले पाएको छु ।’
जोशीले भरसक चैत्रभित्रै नभए नयाँ बर्षमा झिलिमिली गर्ने गरि काम  भईरहेको वताए । उनले भने ‘अव धेरै ढिलो हुँदैन, समयमै बत्ति बल्छ ।  

४५ प्रतिशत बालबालिकामा दातको समस्या 

डोटी जिल्लाका बिद्यालयका उमेरका बालबालिकाहरुमध्ये ४५ प्रतिशतमा दातको समस्या रहेको पाईएको छ । 
स्वास्थ्य कार्यालय डोटीले डोटीका तीन सामुदायिक बिद्यालयहरुमा सञ्चालन गरेको दात, कान र आँखाको स्क्रिनिङ्ग शिविरमा दाँत जचाउने आठ सय ८३ बालबालिकाहरुमध्ये चार सय एक जनामा अर्थात करीव ४५ प्रतिशतमा समस्या देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यक्रम संयोजक सुर्य बिष्टले जानकारी दिए । शिविर पूर्वीचौकी गाउँपालिका–४ को सरस्वती माबि, दिपायल सिलगढी नगरपालिका–८ को सुनादेवी माबि र शिखर नगरपालिका–१० सिद्धेश्वर माविमा सञ्चालन भएको बिष्टले वताए । ‘चार सय एक जनाको दाँत किराले खाएको पाईयो’ बिष्टले भने ‘२६ जना बालबालिकाहरुको त दाँत झिक्नु प¥यो ।’ 
यस्तै कानको जाँच गराउने आठ सय ७५ जनामध्ये एक सय ७३ जनामा अर्थात करीव २० प्रतिशतमा कानको संक्रमण देखिएको बिष्टले जानकारी दिए । बिष्टका अनुसार शिविरमा आँखा जचाउने आठ सय ४४ मध्ये सात जनाको दृष्टि कमजोर भएको र उनीहरुलाई निशुल्क चस्मा बितरण गरिएको छ । दाँत, कानको सफाई र औषधी निशुल्क उपलव्ध गराईएको समेत बिष्टले वताए ।
विद्यार्थीहको स्वास्थ्यमा दातँ, कान र आँखाको प्राय बढी समस्या हुने गरेको गुनासो आएपछि आफुहरुले तीन सामुदायिक बिद्यालयमा शिविर सञ्चालन गरेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी वताउँछन् । ‘बालवालिकाहरुमा दाँत, कान, आँखाबारे ज्ञान पनि छैन’ मलासीले भने ‘शिविरको उद्देश्य जनचेतना अभिबृद्धि गर्नु पनि हो ।’ जिल्लाका बाँकी ६ स्थानीय तहमा पनि शिविर सञ्चालन गरिने मलासीले जानकारी दिए । अन्यत्र पनि यस्तो समस्या छ भन्ने अनुमान गर्न सकिने मलासी वताउँछन् । उनले पहिलो चरणको शिविर तीन बिद्यालयमा भएको र दोश्रो चरणको अभियानका लागि छिट्टै मिति तोकिने पनि जानकारी दिए । 
दात, कान र आखाँमा समस्या देखिएका बालवालिकाहलाई फलोअपको लागि जिल्ला अस्पताल डोटीमा आउन जानकारी गरिएको कार्यक्रम संयोजक बिस्टले बताए । 
स्क्रीनिङ्ग शिविरमा हिमाल डेन्टल अस्पताल घनगढीका दन्त रोग विशेषज्ञ डा.रमेश भण्डारी, जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत खुर्सिद आलम खान, आँखा उपचार केन्द्र डोटीका नेत्र सहायक सुजर बल्दार लगायतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । 

सुदूरपश्चिमको पर्यटन विकासका लागि झण्डै पाँच करोड बिनियोजन 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सरकारले  भ्रमण बर्षलाई सफल पार्न नेपाल सरकारले सुदूरपश्चिममा चार करोड ८० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो रकम स्थानीय तहमार्फत खर्च गर्ने गरि बिनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशका १७ स्थानीय तहहरुलाई उक्त रकम बिनियोजन गरिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । 
तामामङका अनुसार डडेल्धुराको अमरगढी नगरपालिकालाई ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । यस्तै कञ्चनपुरको महाकाली नगरपालिकाका र कैलालीको टिकापुर नगरपालिकाकालाई ४० चालिस लाख रुपैयाँ विनियोजन भएको छ । 
बैतडीको पाटन नगपालिका, दशरथचन्द नगरपालिका, यस्तै बझाङको दुर्गाथली गाउँपालिका र सुर्मा गाँउपालिकाको पर्यटन विकासका लागि २५ लाख रुपैयाँ बिनियोजन भएको छ । डोटीको बोगटान फड्शिल गाँउपालिका, दिपायल सिलगढी नगरपालिका, कैलालीको   बर्दगोरिया गाँउपालिका, घोडाघोडी नगरपालिका र बाजुराको बुढीनन्दा नगरपालिकालाई पनि २५ लाख बिनियोजन गरिएको छ । 
पर्यटन विकासका लागि मन्त्रालयबाट २५ लाख पाउने स्थानीय तहहरुमा कञ्चनपुरको बेलौरी नगरपालिका, भीमदत्त नगरपालिका, अछामको मंगलशेन नगरपालिका,  रामारोशन गाँउपालिका र दार्चुलाको मालिकाअर्जुन गाँउपालिका रहेका छन् ।
गत आर्थिक बर्षमा सरकारले एक सय वटा नयाँ पर्यटकीय गन्तव्य र एक सय वटा स्थापित तर प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य छानेको थियो । ति एक सय गन्तव्यमा सुदूरपश्चिमका १० वटा पर्यटकीय क्षेत्र परेका छन् । प्रत्येकका लागि ५० लाखका दरले मन्त्रालयले यसअघिनै  रकम बिनियोजन गरिसकेको छ ।
बजेट विनियोजन गरेर कार्यक्रम कार्यान्वयन गर्नका लागि सम्बन्धित स्थानीय तहलाई मार्ग निर्देशनको खाका समेत पठाइसकेको प्रवक्ता तामाङले जानकारी दिए । धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक विकासको शिर्षकमा बजेट विनियोजन भएको तामाङ वताउँछन् । 

सुदूरपश्चिमका पहाडी जिल्लाबाट १० पत्रिकामात्रै वर्गीकरणमा

प्रेस काउन्सिल नेपालले कात्तिक २८ गते सार्वजनिक गरेको वर्गीकरण नतिजा अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका १० पत्रिकाहरु वर्गीकरण हुन सफल भएका छन् । 
आर्थिक बर्ष २०७४÷०७५ लागि आवदेशन दिने सञ्चारमाध्यमहरुमध्ये पहाडी जिल्लाबाट १० पत्रिका परेका     छन् । डोटी जिल्लाबाट नियमित रुपमा प्रकाशन भईरहेको बिम्ब साप्ताहिक प्रादेशिक “ख” वर्गमा परेको छ । डोटीबाट वर्गीकरणमा पर्ने पत्रिका बिम्ब साप्ताहिक मात्रै हो । बैतडीको जनसरोकार पोष्ट दैनिक पनि प्रादेशिक “ख” छ । 
यस्तै डडेल्धुराका हिल टाईम्स दैनिक र रंगुन दर्पण साप्ताहिक प्रादेशिक “ग” मा परेका छन् । अछामको खप्तड न्यूज दैनिक, डडेल्धुराको हिन्दकुश साप्ताहिक र दार्चुलाको दार्चुला सन्देश साप्ताहिक स्थानीय “ख” वगएमा परेको छन् । दार्चुलाको मानसरोवर दैनिक, कालापानी पोष्ट साप्ताहिक र बाजुराको बाजुरा अपडेट साप्ताहिक स्थानीय “ग” वर्गमा परेका छन् । डडेल्धुराको डडेल्धुरा पोष्ट दैनिकलाई “०” वर्गमा राखिएको छ । प्रेस काउन्सिलको वर्गीकरण मापदण्ड अनुसार राष्ट्रिय, प्रादेशिक र स्थानीय तहमा वर्गीकरणका लागि सम्वन्धित पत्रिकाले आवेदन दिनु पर्ने हुन्छ । तीनवटै तहमा क, ख, ग र घ गरि चार वर्गमा पत्रिकाहरु समावेश हुने प्राव्धान रहेको छ । 
प्रेस काउन्सिल नेपालले आर्थिक बर्ष २०७४÷०७५ मा प्रकाशन भएका पत्रिकाहरुले वर्गीकरणमा समावेश हुन दिएको आवेदनका आधारमा वर्गीकरण    गरेको हो । 
सुदूरका ३७ पत्रिका वर्गीकरण 
प्रेस काउन्सिलको वर्गीकरणमा    सुदूरपश्चिमबाट ३७ पत्रिका बिभिन्न वर्गमा परेका छन् । देशभरीका नौ सय १२ पत्रिका वर्गीकरणमा परेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट प्रकाशन हुने कुनै पनि पत्रिका राष्ट्रियस्तरको वर्गमा परेको छैन । प्रदेशस्तरीय “क” वर्गमा कैलालीको पश्चिम टुडे, अनुमोदन दैनिक र कञ्चनपुरको गुगुल्डी परेका छन् । 
यस्तै प्रादेशिक “ख” मा ६ पत्रिका रहेका छन् । प्रादेशिक “ग” ६ र “घ” मा एक पत्रिका वर्गीकरण भएका छन् । स्थानीय “क” मा एक, “ख” नौ, “ग” मा आठ र “घ” मा तीन पत्रिका समावेश भएका  छन् । 
कञ्चनपुरको अभियान नेपाली दैनिक, फार वेष्ट दैनिक, कैलालीको धनगढी पोष्ट दैनिक, युग सरोकार साप्ताहिक र टिकापुर एक्सप्रेस साप्ताहिकको नतिजा स्थगन गरिएको प्रेस काउन्सिलले जानकारी दिएको छ । कुनै कागजात अपुग भएमा नतिजा स्थगित गर्ने प्राव्धान छ ।
कैलालीको घोडाघोडी साप्ताहिक र समाधान न्यूज दैनिक हुबहुमा परेका छन् । पत्रिकाले प्रकाशन गरेको सामग्रीहरु अन्य पत्रिकाले प्रकाशन गरेको सामग्रीसंग जस्ताको त्यस्तै मेल खान गएमा त्यसलाई हुवहु भन्ने गरिन्छ ।   

पत्रकार तेजुको सामग्री भेटियो 

करीव १४ महिनाअघि बाजुराको बुढीनन्दा दर्शन गरि फर्कने क्रममा बेपत्ता भएका पत्रकार तेजु खड्काले प्रयोग गर्ने सामग्री भेटिएको छ । 
२०७५ साल भदौ ९ देखि बेपत्ता खड्काको १४ महिनापछि पर्स, झोला लगायतका सामान भेटिएको स्थानीयले बताएका छन् । बाजुराको लौरी विनायक भन्ने स्थानमा सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई   जानकारी गराएका हुन । भेटिएको पर्समा तेजु खड्काको परिचयपत्र, लाइसेन्स पनि भेटिएको स्थानीयबासीहरुले जानकारी दिएका छन् ।
खड्काको पर्स र झोला भएको ठाउँमा मानव कंकाल भेटिएकाले स्थानीयले प्रहरीलाई जानकारी गराएका छन् । सामग्री र कंकालको आधारमा खड्काको मृत्यु भएको आशंका गरिएको स्थानीय पदम   रोकायाले बताए ।
कंकालको पहिचान गर्नका लागि पत्रकार र केही स्थानीय सहितको प्रहरी टोली सोमबारनै त्यसतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायब निरीक्षक रुद्रसिंह धामीले बताए । प्रहरी टोलीले घटना स्थलमा भेटिएको प्रमाणहरुको मुचुल्का गर्ने र अवस्थाको अध्यन गर्ने उनले जानकारी दिए ।
खड्का बेपत्ता भएदेखिनै खोजी कार्य जारी थियो ।

बन्यजन्तु पिडित परिवारलाई राहत

कर्ण चन्द/डोटी
     मंसिर १
खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्रका बन्यजन्तु पिडित परिवारलाई राहत बितरण गरिएको छ । 
निकुञ्जभित्र रहेका बन्यजन्तुले मध्यवर्ति क्षेत्रमा आएर सात परिवारमा क्षति पु¥याएको थियो ।  राहत प्राप्त गर्ने मध्य पाँच जना चितुवा र दुई जना भालुको कारणबाट क्षति भएको खप्तड राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख राजु घिमिरेले जानकारी दिए । राहत पाउनेहरूमा पूर्बीचौकी गाउँपालिका–५ काँडामाण्डौका भाने साउद, ददि धानुक र  चेतबहादुर धानुक रहेका छन् । यस्तै सोही गाउपालिकाका–३, गैरागाउँका पदमे ठकुल्ला सायल गाउँपालिका–४ डौडका मान बहादुर बोगटी, अछाम साफेबगर नगरपालिका–१४ का नबराज खडका, बझाङ खप्तड छान्ना गाउँपालिकाका दान बहादुर चौहान लाइ राहत बितरण गरिएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए । 
पिडित परिवारलाई खप्तड राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख र मध्यवर्ति क्षेत्र विकास समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले राहत रकम हस्तान्तरण गरेका हुन । निकुञ्ज आसपास मध्यवर्ति क्षेत्रका नागरिक प्रत्येक बन्यजन्तुको प्रत्येक बर्ष आक्रमणमा पर्ने गरेका छन ।  ०७६ श्राबण १६ गते देखि असोज १ गतेसम्म आक्रमणमा परेका ब्यक्तिलाई राहत तथा उपचार स्वरुप रकम प्रदान गरिएको हो ।
राहत प्राप्त भएपछि थोरै भएपनि सहयोग महशुस भएको पिडित परिवारले बताएका छन ।

बालमैत्री वडा घोषणा गर्ने तयारी 

डोटी, पूर्र्वीचौकी गाउँपालिकाको वडा नं. १ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी भईरहेको छ । 
बालमैत्री वडा घोषणाका लागि आचार संहिता निर्माण गरिएको बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास केन्द्रले जानकारी दिएको छ । ‘बिद्यालय, सरकारी निकायहरु, अभिभावक, समुदाय सवैले पालना गर्ने गरि आचार संहिचा तयार भएको छ’ संस्थाको बालस्पोन्सरसीप परियोजनाका टिम लिडर सुनिल जोशीले भने ‘उक्त आचार संहितालाई प्रिण्ट गरि ठाउँठाउँमा टाँस गर्ने तयारीमा छौं ।’  सवै सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा आचार संहिता तयार भएको उनले वताए ।
सामुदायिक विकास केन्द्रले स्थानीय तहहरुसंगको सहकार्यमा आदर्श गाउँपालिका–७ र पूवीचौकी गाउँपालिका–१ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिरहेको छ ।

खप्तडको प्रबेशद्धारमा कैलाश पर्बत र मानसरोबर

सुदूरपश्चिमको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको पुर्बीचौकी गाउँपालिका वडा नं. २ बलगेकमा कैलाश पर्बत र मानसरोबर बनाउने छलफल भएको छ । पुर्बिचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाले संयुक्त लगानी तथा पर्यटन मन्त्रालालयको सहयोगमा कैलाश पर्बत र मानसरोबर बनाउने बिषयमा सकरात्मक छलफल भएको पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिनु भएको छ । 
जगत गुरु बालशंन्त महाराज मोहनशरण देवाचार्यको उपस्थितीमा दुई स्थानीय तहका प्रमुख र स्थानीय सरोकारवालाहरुको उपस्थितीमा उक्त छलफल गरिएको हो ।  खप्तडको प्रबेशद्धारमा रहेको बगलेकमा पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै कैलाश पर्बत र मानसरोबर बनाउन सुरु गर्नेगरी तयारी भएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताईन । मलासीले भनिन् ‘ हामीले २०२० मा भित्रिएका पर्यटकको संख्या निरन्तर रुपमा बृद्धी गर्नका लागी पनि उक्त योजना प्रभाबकारी हुन्छ ।’
उक्त कैलाश पर्बत र मानसरोबर निर्माण कार्यमा आफ्नो धार्मिक क्षेत्रबाट भरपुर सहयोग गर्ने जगत गुरु बालशंन्त महाराज मोहनशरण देवाचार्यले बताएका छन । कैलास पर्बत मानरोवर जाने तिर्थयात्रुलाई यहीँबाटो भएर लैजान सके धार्मिक पर्यटनको बिकास हुन सक्ने स्थानीयहरुको बिश्वास रहेको छ । 

खेल समाचार 

अपी–शैपाल गोल्डकप पुसमा 

अपी–शैपाल महिला गोल्डकप पुस २१ गतेबाट सुरु हुने भएको छ । 
प्रतियोगिता आयोजना गर्न अखिल नेपाल फुटबल संघ एन्फाले आईतवार स्वीकृति प्रदान गरेसंगै प्रतियोगिता हुने पक्का भएको हो । कैलालीको धनगढीमा सञ्चालन हुने प्रथम महिला गोल्डकप शैलेश्वरी स्पोर्टस क्लवले आयोजना गर्दैछ । 
प्रतियोगिताका लागि कैलाली जिल्ला फुटबल संघको सिफारिसमा स्वीकृति प्रदान गरिएको एन्फाले जनाएको छ । प्रतियोगिताले नेपाली महिला फुटबलको विकासमा ठूलो योगदान पुग्ने विश्वास पनि एन्फाले लिएको छ । उक्त प्रतियोगिताको खेल तालिका र प्रतियोगिता नियमावली प्रतियोगिता सञ्चालन हुनुभन्दा दुई हप्ता अगावै संघमा पठाई दिन पनि एन्फाले आयोजकलाई आग्रह गरेको छ । 
धनगढी रंगशालामा हुने प्रतियोगितामा तीन विभागिय र सात प्रदेशका गरी १० वटा टिमले सहभागिता जनाउने क्लवका अध्यक्ष धनश्याम भट्टले जानकारी दिए ।
प्रतियोगितामा प्रथक हुने टिमलाई नगद पाँच लाख एक हजार पुरस्कार रहेको छ । यस्तै द्वितीय हुने टिमले दुई लाख ५१ हजार पाउने छ । प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

सागमा पाँच सय स्वयंसेवक

सेतोपाटी अनलाईन
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो ।
सागमा खटिने स्वयंसेवकको जिम्मेवारी बारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समितिका सचिव प्रेम मल्लले जानकारी गराए ।
काठमाडौंमा हुने विभिन्न खेलका लागि ५ सय स्वयंसेवक परिचालन हुँदै छन्। उनीहरुलाई सुरक्षा, अतिथि सत्कार, सागमा सहभागी हुने विभिन्न महानुभावहरुले प्रयोग गर्ने एक्रिडेसन कार्ड, अनुशासन, नियम, कानूनलगायतका विषयमा जानकारी गराएको थियो ।
रमेश खनाल, डा. प्रकाश प्रधान, रुकेश तण्डुकार, चतुरानन्द राजवैद्य, दीपक राई र अर्जुन विकले प्रशिक्षण दिएका  थिए ।
तीनदिनसम्म चल्ने प्रशिक्षणको पहिलो दिन २ सय १५ जना सहभागी थिए । बाँकीलाई मंगलबार र बुधबार प्रशिक्षण दिइने छ। त्यस्तै पोखरा र जनकपुरमा हुने खेलका लागि खटिने स्वयंसेवकलाई पनि यस्तै तालिम दिइने सचिव मल्लले जनाएका छन् ।
पोखरामा मंसिर ५ र ६ तथा जनकपुरमा मंसिर ७ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ । प्रशिक्षणको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।

चलचित्ररमनोरञजन

“दि कर्मा” माघमा आउने 

फिल्मी खवर
परमिता आरएल राणा अभिनित नेपाली फिल्म ‘दि कर्मा’ आगामी माघ १७ गते रिलिज हुने भएको छ । यस फिल्मको रिलिज मिति तोक्दै अफिसियल पोस्टर रिलिज भएको छ । प्रचार प्रसारको पहिलो सामग्री स्वरुप पोस्टर रिलिज गरिएको निर्माता जय राज रायले बताए ।
देव कुमार श्रेष्ठले निर्देशित फिल्म नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको बताईएको छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।
भारतीय कलाकारको अभिनयका  कारण पनि यो फिल्मलाई चासोको रुपमा लिईएको छ । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो फिल्ममा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो ।
नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि यो फिल्म रिलीज हुने बताईएको छ । हिमालयन बिजनेस ग्रुपले अष्ट्रेलियामा रिलिज गर्ने बताईएको छ भने एभरेष्ट बिजनेश ग्रुपले दक्षिण कोरियामा रिलिज गर्नेछ । त्यसैगरी जापान, हङकङ, थाईल्याण्ड, म्यानमार, मलेशिया, विभिन्न खाडी मुलुकहरुमा रिलिजपछि अमेरिका, बेलायत तथा युरोपमा विभिन्न मुलुकहरुमा प्रदर्शन गरिने निर्माता श्रीदेवले बताए ।

“दि भ्वाईस” मा आर्यनको टोली

सार्वनजिक हुने तयारीमा रहेको नेपाली चलचित्र “च च हुई” को प्रचारका लागि नायक आर्यन सिग्देल ‘दि भ्वाइस अफ नेपाल–सिजन २’ मा पुगेका छन् । 
दि भ्वाईसको लोकप्रियतासँगै यो शोमा पुगेर चलचित्रको प्रमोशन गर्ने क्रम बढीरहेको बेला आर्यन पनि आफ्नो टोली सहित पुगेका हुन् । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको यो रियालिटी शो अहिले लाइभ  राउण्डमा पुगेको छ ।
आफ्ना सहकर्मी कलाकारहरु सहित शोमा पुगेका आर्यन भने ‘तपाईहरु जो–जो यहाँसम्म आइपुग्नु भएको छ, तपाईहरु विजयी भइसक्नु भएको छ । यहाँहरुलाई आगामी दिनको लागि शुभकामना भन्न चाहन्छु ।’ २८ औं एपिसोडको सुरुवात चलचित्र ‘च च हुई’मा समावेश ‘सिल्की सिल्की बाल’ बोलको गीतबाट सुरु भएको थियो । संजय, विकास र शसिकाले उक्त गीत गाएका थिए । प्रतियोगीहरुले यो गीत गाउँदा आर्यन र भोला झुमिरहेका थिए ।
साम्तेन भुटियाको निर्देशनमा बनेको यो चलचित्रमा मिरुना मगर, माओत्से गुरुङ लगायतको मुख्य भूमिका छ । अमित गुरुङले निर्माण गरेको यो चलचित्र मंसिर ६ गते रिलिज हुँदैछ ।

लेख 

‘भारतले सुगौली सन्धि र कुमाउ–गढवालमध्ये एउटा रोजोस्

ऋषिराज लुम्साली
टनकपुर र महाकालीको सन्धिको विषयमा विवाद उब्जिएपछि २०५५ सालमा पद्मरत्न तुलाधरको संयोजकत्वमा समिति गठन भएको थियो । त्यो समितिमा म पनि थिएँ ।
समितिमा बस्नुभन्दा अगाडिदेखि नै नेपालको सिमानाको विषयलाई नजिकबाट अध्ययन गरेको हुँ । म नेकपा (माले) मा हुँदा मार्च लिएर पश्चिमी सिमाना गयौं । हालका पर्यटनमन्त्री योगेश भट्टराईको टीम हामीभन्दा चार दिनपछि पुगेका हुन् । ‘महाकाली साझा हो, पानी आधा–आधा हो’ भन्ने नारा खुब लगाइयो ।
जन्मस्थल महाकाली नै भएकाले पनि मलाई त्यस विषयमा अलि बढी जानकारी छ ।
नेपालको पानी निःशुल्क प्रयोग गर्ने नियत र तिब्बतसम्म पुग्ने सबैभन्दा छोटो र सजिलो बाटो भएकाले भारतले आँखा गाडेको हुनसक्छ । भारतमात्रै होइन, रणनीतिक हिसाबले चीनका लागि पनि सजिलो बाटो हो । भारतलाई मानसरोवर जाने बाटो पनि त्यहीँ पर्छ । उसले पर्यटकीय फाइदा पनि हेरेको होला । सन् १९६१ मा तिब्बत जान सजिलो हुन्छ भनेर भारतले कालापानीमा अस्थायी फौज राख्यो । यो कुरा त्यतिखेर परराष्ट्रमन्त्री ऋषिकेश शाह र पश्चिम कमाण्ड क्षेत्रका जर्नेलले पनि राजा महेन्द्रलाई खबर गरेका रहेछन् ।
तर राजाले ‘अस्थायी रुपमा बसे बसून् न त’ भनेका रहेछन् । भन्न त राजा महेन्द्रलाई राष्ट्रवादी भन्छन् । तर, राजाले पनि वास्ता नगरेकाले भारतीयहरूले त्यहाँ बस्ने ठाउँ पाएका हुन् । गल्ती त्यहीँबाट शुरु भएको हो । पछि नेताहरूले पनि भारतसँग कति झगडा गरिराख्ने भनेर छोडिदिए । मनमोहन अधिकारीले प्रधानमन्त्रीको रुपमा भारत भ्रमणका बेलामा कालापानीको कुरा उठाएका थिए । सुशील कोइरालाले चाहिँ नेपालभित्र यो कुरा      उठाए ।
म जिल्ला विकास समिति सभापति भएका बेला योगी नरहरिनाथसँग यो कुरा सोधेको थिएँ । योगी नरहरिको जवाफ थियो, ‘मैले त छाताको वजन थाम्न सक्नेले मात्रै छाता ओढ्नुपर्छ भनेर राजालाई भनेको थिएँ । यसको अर्थ राष्ट्रको रक्षा गर्न नसक्ने मान्छे राजा हुनुको कुनै अर्थ छैन भन्ने हो ।’
त्यतिबेला परराष्ट्रमन्त्री वा सेनाको जर्नेलले मात्रै चाहेर केही हुनेवाला थिएन । राजाकै पहलकदमी आवश्यक थियो । भारतले पञ्चायतको विरोध नगरोस् भनेर अस्थायी क्याम्प राख्न दिइयो । महेन्द्रले राख्न दिएको त्यही अस्थायी क्याम्पलाई भारतले विस्तारै–विस्तारै स्थायी बनाउँदै लगेको हो ।
सुगौली सन्धि वा कुमाउ–गढवालमध्ये रोजाउँ
सन् १८१६ भन्दा पहिला कुमाउ–गढवाल पनि नेपालकै थियो । सुगौली सन्धिमा नेपालका राजाले काली  (महाकाली) देखि पश्चिमको भूभागमा दाबी गर्ने छैनन् भनिएको छ । त्यसअनुसार काली नदीको पश्चिममा       परेका कुमाउ–गढवाल भारतमा पर्न गयो । सन्धिपछि महाकाली पूर्वको भूभाग मात्रै नेपालको भयो । मुख्य मतभेद भएको महाकाली नदीको मुहान कुन हो भन्नेमा हो ।
भारतले कि त सुगौली सन्धि मान्दिन भन्नुपर्रुयो । त्यो सन्धि नमान्नुको अर्थ कुमाउ, गढवाल नेपाललाई फिर्ता गर्नु हो । मान्छु भन्ने हो भने काली नदी भन्दा पूर्वको भाग नेपालको हो, त्यसमा कुनै विवाद गरिरहनु जरुरी छैन ।
लिम्पियाधुराबाट आएको नदी नै काली नदी हो । उनीहरूले कालापानी कब्जा गर्न जेलाई काली भनिरहेका छन्, त्यो कुनै नदी नै होइन । त्यो तुरतुरे पानी मात्रै हो । त्यही तुरतुरे पानीलाई देखाएर भारतले त्यस क्षेत्रमा ३७२ वर्ग किलोमिटर क्षेत्रफलमा कब्जा जमाएको छ ।
गुन्जी दोभानमा काली नदी र लिपुलेक खोला जोडिन्छ । गुन्जी पश्चिमका सबै नेपालकै हो । पुराना नक्सा, तथ्य र प्रमाणहरूले पनि त्यही भन्छ । नदीको नाम निर्धारण गर्ने आधारअनुसार महाकाली नदीको मुहान लिम्पियाधुरा हो । सुगौली सन्धि पनि अर्को प्रमाण हो । २०१८ सालमा गुन्जी, कुती, नाबी गब्र्याङ, छाङ्ग्रु, टिंकर लगायतमा नेपालले नै जनगणना गरेको थियो । गुन्जीका गुरुङहरूले राष्ट्रिय पञ्चायतको चुनाव जितेर शासन पनि गरे ।
बैतडीमा भेटिएको प्रमाण
कुमाउ अल्मोडाको गर्भनरहरूले पनि महाकाली पूर्वका गुन्जी, कुती, गब्र्याङका जनतालाई चिठी लेखेका छन् । चिठीमा भनिएको छ, ‘सुगौली सन्धिअनुसार तिमीहरू नेपाली हौ, त्यो क्षेत्र हाम्रो होइन, त्यसैले नेपालमै गएर कर तिर ।’ २०१९ सालभन्दा पहिला दार्चुला–बैतडी एउटा र डोटी–डडेलधुरा अर्को जिल्ला थियो । उनीहरूले नेपालमै तिरो तिर्नु भनेर लेखको प्रमाण मैले बैतडीको माल अड्डाबाट प्राप्त गरें । त्यो प्रमाण मैले समितिलाई बुझाएको छु । त्यो प्रमाणको आधारमा समितिले मुद्दा हाल्ने भनेको थियो । तर हालेन ।
नक्सा चाहिँ बुद्धिनारायण श्रेष्ठले बेलायतबाट किनेर ल्याउनु भएको थियो । त्यो बेलामा एक पेजको नक्सा ६२–६३ हजार रुपैयाँमा किन्नुभएको हो । यतिका प्रमाणले नेपाल नै हो भनिसकेको भूभाग जवरजस्ती फौज राख्दैमा कसरी भारतको हुन्छ ? कतिपयले किन अहिले आएर मात्रै कुरा उठाइयो भन्छन् । यो सही होइन हामीले शुरुदेखि नै विरोध गर्दै आएका छौं । अहिले नक्सामा राखेको मात्रै होइन, हाम्रो भूमीमा डोजर लगाएर बाटो खनिरहेको छ ।
भारत र चीन दुबैसँग वार्ता गर्नुपर्छ
राजा महेन्द्र र चीनका राष्ट्रपति ली साओकीबीच १९६१ मा नेपाल र चीनबीच सिमा सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । त्यतिखेर सम्झौतामा लिपु भन्ने ठाउँलाई एक नम्बर पिल्लर मानिएको छ । अन्तराष्ट्रिय मान्यता के हो भने जिरो पिल्लर नभई सिमाना छुट्टिदैन । शुरुवात यो ठाउँबाट हो भन्ने त हुनु प¥यो नि ।
लिपुलेकको विषयमा भारतसँग मात्रै होइन, चीनसँग पनि वार्ता गर्नुपर्छ । हाम्रो भूमिको विषयमा तिमीहरूले कसरी निर्णय गर्रुयौं ? भन्न सक्नुपर्छ । १९९५ सम्म त चिनियाँ राजदुतले लिपुलेकको विषयमा भारतसँग चाँडो वार्ता गर्नुस्, अनि त्रिविन्दु निर्धारण गरौं भनिरहेका थिए ।
त्यतिबेला भारतले कन्फर्म नगरेकाले त्रिविन्दु तोक्न सकिएन । अहिले भारतले नक्सा निकालेर जिस्काउने काम गरेको छ । उनीहरूसँग त वार्ता गर्नैपर्रुयो । हाम्रो भूमिमा उनीहरूले सेना राखेका छन् । चीनले पनि भारतको सेना बसेकै आधारमा त्यो भागलाई भारत मान्छ भने नेपालले यो विषयमा उत्तरी छिमेकीसँग पनि वार्ता गर्नुपर्ने हुन्छ । आखिर यिनीहरू दुई वटा मिलेर लिपुलेकलाई बाटो बनाउने सम्झौता पनि गरेका छन् ।
भर्खरै संविधानको धारा ३७० खारेज गरेर जम्मु काश्मीरको अधिकार खोसेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ नक्सा सार्वजनिक गरेर नेपालको नाडी छामेको मात्रै हो । काश्मीर खाँदा त केही भएन भनेर उसले नक्सामा यस्तो राखेको हो । भारतीय दूतावासले पहिलाकै नक्सालाई निरन्तरता दिएको हो भनेको छ । यसको अर्थ पहिला कब्जा गरिएको नक्सा छाप्यौं, त्यसैलाई वैधानिकता दिउँ भनिएको हो ।
तर हामीले कुती, नाबीको मात्रै कुरा होइन, गुन्जी दोभान भन्दामाथिको ३७२ वर्ग किलोमिटर नै खाली गर भन्नुपर्छ । मिडियाले पनि लिपुलेक–कालापानी, लिपुलेक–कालापानी मात्रै भनिरहेको छ । यो कुरा मलाई पटक्कै चित्त बुझेको छैन । किनभने गुन्जी दोभान भन्दामाथिको त सर्लक्कै हाम्रो हो नि ।
अहिले दुई तिहाईको सरकार छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि साथ दिएको छ । साना दलहरू पनि यो मुद्दामा सरकारकै पक्षमा छ । यस्तो बेलामा नापीको अमिन राखेर सीमाको कुरा गरेर बस्ने होइन । ऐतिहासिक प्रमाणको आधारमा राजनीतिक समाधान खोजिनुपर्छ । हाम्रा देशका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री बसेर छलफल नगरी हुँदैन । 
(२०५५ सालमा गठित सीमा अतिक्रमण प्रतिरोध समितिका सदस्य ऋषिराज लुम्सालीसँगको कुराकानीमा आधारित)                  — अनलाईखवरबाट

लोकसेवा आयागको तयारीका लागि उपयोगी 

१. अमेरिकामा माथिल्लो सदन सिनेछ र तल्लो सदन हाउस अफ रिप्रिजेन्टिेटिभका लागि पछिल्लो पटक मध्यावधि निर्वाचन कहिले सम्पन्न भयो ?  — सन २०१८ नोभेम्वर ६ 
(तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सम्पूर्ण ४३५ सिट, एक सय सदस्य रहेको माथिल्लो सदन सिनेटको ३५ सिट र ५० राज्यमध्ये ३६ राज्यका गभर्नरका लागि निर्वाचन भएको । अमेरिकामा राष्ट्रपतिको चार बर्षे कार्यकालको ठीक आधा अवधी समाप्त भएपछि मध्यावधि निर्वाचन हुने व्यवस्था रहेको छ । मध्यावधि निर्वाचनमा रिपव्लिकनले बहुमत गुमाएमा ट्रम्पका विवादित नीति र घोषणा कार्यान्वयनमा अंकुश लाग्न सक्ने ।)
२. बित्तीय क्षेत्रमा आउन सक्ने जोखिमको पूर्वानुमान गरी मुलुकलाई सम्भावित बित्तीय संकटबाट जोगाउने उद्देश्यले राष्ट्रिय योजना आयोगद्वारा सुरुवात गर्न थालिएको पद्धतिलाई के भनी चिनिन्छ ? 
— ईकोनोमिक अर्लिकार्निङ सिस्टम 
(राष्ट्रिय योजना आयोग मातहत रहने यो प्रणालीले समष्टिगत अर्थतन्त्रका सूचकमा भईरहने उतार चढाव र त्यसले नेपालमा पार्न सक्ने अल्पकालीन तथा दीर्घकालीन प्रभाव र जोगिन अपनाउनु पर्ने उपायहरु सरकारलाई सिmारिस गर्ने । यो प्रणाली मार्फत गर्न सकिने, यसले समेट्ने क्षेत्रहरु र अन्तराष्ट्रिय अभ्यासबारे बिभिन्न देशका अर्थशास्त्री एवं योजनाविद्संग छलफल गरी आठ महिनामा मस्यौदा तयार गरिने र सो पश्चात उक्त प्रणालीलाई हाम्रो सिस्टममा नै समावेश गरिने बताईएको छ । आर्थिक पूर्व सूचना प्रणालीवारेमा एसियाली विकास बैङ्कका बिज्ञहरुको सहभागितामा २०७५ कात्तिकमा प्रारम्भिक छलफल भएको आयोगले जनाएको ।) 
३. नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई बिदेशी मुद्रामा ऋण ल्याउदा प्राथमिक पूँजी कति प्रतिशतसम्म ल्याउन पाउने व्यवस्था गरेको छ ?   — ५० प्रतिशतसम्म (२०७५ कात्तिक २१) 
(राष्ट्र बैङ्कले यस अघि (२०७४ चैत्र २०) वाणिज्य बैङ्कलाई प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा वाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो । बिदेशी मुद्रामा ऋण लिने सन्दर्भमा नेपाली बैङ्कको सञ्चालक समितिले निर्णय गरेको हुनु पर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसरी ऋण ल्याउने क्रमको जमानत वा धितो भने राख्न नपाईने व्यवस्था गरिएको केन्द्रीय बैङ्कले जनाएको छ । 
४. सन २०१९ को महिला बिश्वकप फुटबल प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?  — फ्रान्स 
५. आईसिसी महिला टी–ट्वान्टी बिश्वकप क्रिकेट २०१८ को आयोजना कहाँ गरिएको हो ? 
— वेष्ट ईन्डिस (सन २०१८ नोभेम्वर)
६. प्रथम विश्वयुद्ध कहिले अन्त्य भएको थियो ?  — सन १९१८ नोभेम्वर ११ 
(मानव सभ्यतामाथी चुनौती दिदै विश्वभर विध्वंश मच्चाएको पहिलो विश्वयुद्ध सन १९१४ जुलाई २८ सुरु भएको थियो । प्रथम बिश्वयुद्ध अन्त्यको सय बर्ष पुरा भएको सन्दर्भमा सन २०१८ नोभेम्वर ११ मा फ्रान्सको पेरिसमा एक समारोहको आयोजना गरिएको जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुतिन, जर्मन चान्सलर एन्जेला मर्केलसहित विश्वका करीव ७० देशका नेता उपस्थित भएका थिए । विश्वमा राष्ट्रबाद र कुटनीतिक तनावको पृष्ठभूमिमा यो समारोहको आयोजना गरिएको थियो । पहिलो विश्वयुद्धमा करीव ९७ लाख सैनिक र एक करोड गैरसैनिक नागरिक मारिएको ईतिहासमा उल्लेख छ ।) 
७. स्वीट क्रिम, कोटेड रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फुलका प्रकार हुन ? — सयपत्री 
८. “आधुनिक शिक्षकको जिम्मेवारी जंगल काट्नु होईन, मरभूमिमा सिंचाई गर्नु हो ।” भन्ने विद्वान को हुन ?  — सिएस लेविस, व्रिटिस उपन्यासकार 
९. ‘मैले जीवनमा कठोर परिश्रम गरेर परिश्रमको मुल्यबारे सिँके ।’ भन्ने भनाई कसको हो ? 
— मार्गरिट मेड, अमेरिकी समाजशास्त्री 
१०. बि.सं. २०७५ कात्तिकमा सम्पन्न प्रथम संस्करणको पोखरा प्रिमियर लिग (पीपिएल) को उपाधि कसले जित्यो ?   — घरेलु टोली पोखरा 
(पारस खड्का कप्तान रहेको चितवन राईनोजलाई ३ विकेटले पराजित गर्दै शरद भेषवाकर कप्तान    रहेको घरेलु टोली पोखराले पहिलो संस्करणको पीपिएलको उपाधी जितेको हो ।)
११. अमलेखगञ्जको पुरानो नाम भिच्छाखोरी हो भने वाल्मीकिनगरको पुरानो नाम के हो ? 
— भैसालोछन 
१२. नेपाल र चीनबीच नियमन सूचना आदानप्रदान (क्गउभचखष्कष्यलबचथ ष्लायचmबतष्यल भ्हअजबलनभ) सम्वन्धी सम्झौता कहिले भएको हो ?   — सन २०१६ मार्च २१ 
१३. मोवाईलमा चौथो पुस्ताको ईन्टरनेटको रुपमा परिचित फोरजी सेवा नेपालमा कहिलेदेखि सुरु गरिएको हो ?      — बि.सं. २०७३ पुष १७ 
(फोरजी सेवा सुरु गरेको श्रय पाएको सरकारी लगानीको नेपाल टेलिकमका ग्रहाक ६ लाख ३५ हजार पुगेका छन । २०७४ जेठ १८ देखि फोरजी सेवा सुरु गरेको एनसेलका ग्रहाक १२ लाख ४४ हजार (२०७५ भदौं मसान्तसम्म) पुगेका छन । नेपाल टेलिकमका थ्रीजी ईन्टरनेट प्रयोगकर्ताको संख्या भने एनसेलको तुलनामा केही बढी रहेका छन् । नेपाल दुर सञ्चार प्राधिकरणका अनुसार टेलिकमका थ्रीजी प्रयोगकर्ता ५१ लाख १३ हजार तथा एनसेलका ४८ लाख ५५ हजार रहेका छन् । हाल नेपालमा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलले मोवाईलमा फोरजी सेवा उपलव्ध गराउँदै आएका छन् । २०७४ कात्तिक १४ देखि  फोरजी प्रयोगकर्ता ४८ हजार ३६९ पुगेका छन् । प्राधिकरणका अनुसार मोवाईलसहित अन्य विभिन्न प्रबिधिका ईन्टरनेट प्रयोग गर्नेको संख्या एक करोड ५५ लाख (५३.१२%) नाघेका छन् ।) 
१४. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?   — चितवन राष्ट्रिय निकुञ्ज 

साहित्य/र्सिजना 

नेपाली र भविश्य 
तोड बेतोडको जमाना
जोड घटाउको अर्थ
घात प्रतिघातका शब्दहरु
विश्वास अविश्वासका छापहरु
जन्म मृत्युको दोसाँध
एउटा मूर्त एउटा अमूर्त
उस्तै चेतन र अवचेतन
आफै अर्को द्वन्द्व
कल्पित संसारमा
गगनचुम्बी दरबारहरु
आँधी बेहरीसँगै उजाडिएका छन्
प्रकृतिका मनोरम छटाहरु
परेलीबाट रित्ति सकेका छन्
यो कटुता हो
कसरी स्वीकारौं ?

हराएको छु म
आफै वेहोसी
चिच्याएको छु म
आफै बौलाही
दौडिएको छु किन वेचाल
किन दुख्छ
किन हुन्छु पल्थर
जब ढल्छ कोही
झनै दुख्छ घाउँ
बगेको छ रगत
उफ हाम्रो लागि
कि ढल्छ ऊ ?

पानी विनाको झर्ना
हिउँ विनाको हिमाल
हरियाली विनाको पहाड
मरुभूमि झैं तराई
कस्तो बैराज्ञमा सोचिएला !
तर विडम्बना
अब के नै बाँकी छ र ?
मान्छेमा मानवता हराएपछि
कस्तो शक्ति सञ्चित होला
सबै टुक्रिएपछि ।

परिश्रमका ठाउँमा लाचार
विम्वका ठाउँमा प्रतिविम्ब
यथार्थका विरुद्ध वेहोसी
झनै विरक्तिन्छ आत्मा
हेर्छु अन्धो नयनले माटो
यो कस्तो दुर्दशा लागेको दिन
छट्पटाउँछ धुँवाहरु
बारुदहरु
मेरो गौरव र अतीतहरु
मेरो जन्म भूमि र वर्तमानहरु
हामी नेपाली र भविष्यहरु ।
देवी वहादुर श्रेष्ठ
तुङ्गेछा १, भोजपुर

सूचना/सन्देश/सबिज्ञापन

युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धि परियोजना” अन्तरगत जानकारीमूलक सन्देश ।

स्थानीय तहहरुले योजना बनाउँदा प्राथमिकता दिनु पर्ने बिषयहरु 
(क) आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने,
(ख) उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने,
(ग) जनताको जीवनस्तर, आम्दानी र रोजगार बढ्ने,
(घ) स्थानीय बासिन्दाहरूको सहभागिता जुट्ने, स्वयं सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने,
(ङ) स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने,
(च) महिला, बालबालिका तथा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने,
(छ) लैङ्किक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने,
(ज) दीगो विकास, वातावरणीय संरक्षण तथा सम्बद्र्धन गर्न सघाउ पु¥याउने,
(झ) भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने ।
¨ स्थानीय तहहरुले योजना बनाउँदा मध्यम तथा दीर्घकालीन प्रकृतिका आयोजनाहरूको सूची समेत तयार गर्नु पर्नेछ ।
¨ स्थानीय तहहरुले योजना तर्जुमा तथा कार्यान्वयन गर्दा स्थानीय बुद्धिजीवि, विषय विज्ञ, अनुभवी, पेशाविद्, सीमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, दलित, युवा, अल्पसङ्ख्यक, अपागंता भएका व्यक्ति, जेष्ठ नागरिक लगायतका सरोकारवालाहरूको अधिकतम सहभागितामा गर्नु पर्नेछ ।
¨ स्थानीय तहहरुले योजना तर्जुमा गर्दा योजनाको सम्भाव्यता अध्ययनको आधारमा स्रोत साधनको पूर्वानुमान, आयोजनाको प्राथमिकीकरण, योजना कार्यान्वयन तालिका र अनुगमन तथा मूल्याङ्कन योजना समेत तयार गर्नु पर्नेछ ।
¨ नेपाल सरकार तथा प्रदेश सरकारले विशेष कार्यक्रमका लागि अनुदान प्रदान गरी सो कार्यान्वयन गर्न प्रक्रिया निर्धारण गरेकोमा स्थानीय तहहरुले सोही प्रक्रिया बमोजिम सो कार्यक्रम कार्यान्वयन गर्नु पर्नेछ ।
¨ स्थानीय तहहरुले नेपाल सरकार वा प्रदेश सरकारसँगको संयुक्त लगानी वा सार्वजनिक निजी साझेदारीमा कुनै योजना सञ्चालन तथा व्यवस्थापन गर्न सक्नेछ ।
¨ स्थानीय तहहरुले सङ्घीय र प्रदेशस्तरको आयोजना कार्यान्वयनमा समन्वय, सहजीक–रण र सहयोग गर्नु पर्नेछ ।
¨ स्थानीय तहहरुले स्थानीयस्तरका विकास आयोजनाको आवश्यक अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कनको कार्य गर्न सक्नेछ ।
¨ योजना तर्जुमा गर्दा स्थानीय तहहरुले गैरसरकारी संघसंस्था, उपभोक्ता समिति, सहकारी संस्था लगायतका सामाजिक तथा सामुदायिक संघसंस्थाले स्थानीय तहसँगको समन्वयमा रही कार्य गर्नु पर्नेछ ।
¨ कुनै अन्तराष्ट्रिय गैरसरकारी सघंसंस्थाले स्थानीय तहसँग समन्वयमा काम गर्दा त्यस्तो कामको लागि नेपाल सरकारको पूर्व स्वीकृति लिएको हुनु पर्नेछ ।
¨ यसरी स्थानीय तहसँग समन्वय गर्दा 
— स्थानीय तहसंग भएको सम्झौताका आधारमा कुनै अध्ययन, सर्वेक्षण वा कार्यक्रम सञ्चालन गर्ने,
— आफ्नो वार्षिक योजना, कार्यक्रम तथा बजेट स्थानीय तहको वार्षिक योजना, कार्यक्रम तथा बजेटमा समावेश गराउने, 
— स्थानीय तहले तोकेको संयुक्त अनुगमन तथा प्रगति प्रतिवेदन प्रणाली अपनाउने ।
— यस दफाको विपरीत कुनै सङ्घ संस्थाले काम गरेमा स्थानीय तहले त्यस्तो काम    कारबाहीको कार्यान्वयन गर्न रोक लगाउन सक्नेछ ।
¨ स्थानीय तहहरुले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको लागि बिभिन्न विषयमा अन्य स्थानीय तहहरुसँग साझेदारी, सम्झौता वा संयुक्त व्यवस्थापन गर्न सक्नेछ ।

शिक्षक आवश्यकता सम्वन्धी सूचना 

प्रथम पटक प्रकाशित मिति ः २०७६/०७/२८ 
उपर्युक्त बिषय सम्वन्धमा शिखर नगरपालिका–६, तलकोट डोटीमा रहेको यस हरिहर माध्यामिक बिद्यालयको नि.मा.बि. तह (आ.बि. तह कक्ष ६–८) को गणित÷बिज्ञान बिषयको स्थायी दरवन्दीमा शिक्षक पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आव्हान गरिन्छ । 
तपशित 
बिज्ञापन नं. ०१/२०७६/०७७,  
तह ः नि.मा.बि., माग ः १ बिषय ः गणित बिज्ञान, किसिम ः कारार/अनुदान 
तलव स्केल ः नेपाल सरकारको नियमानुसार, आवेदन दस्तुर ः २५००।–
शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट बिज्ञान बिषयमा प्रविणता प्रमाण पत्र तह (क्ष्।क्अ।) उत्तीर्ण गरि स्थायी अध्यापन अनुमति पत्र प्राप्त 
उमेरको हद ः १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको 
आवेदन दिने अन्तिम मिति ः २०७६/०८/१२
परीक्षाको किसिम ः शिक्षक सेवा आयोग नियमावली २०५७ मा उल्लेखित भए बमोजिम 
सम्पर्क मिति ः २०७६/०८/१३ गते 
आवश्यक कागजातहरु 
— शैक्षिक योग्यता प्रमाण पत्रहरुको प्रतिलिपी १ प्रति 
— नेपाली नागरिकताको प्रतिलिपी १ प्रति 
— स्थायी अध्ययान अनुमति पत्रको प्रतिलिपी १ प्रति
— फोटो १ प्रति 
नोट ः शिक्षक सेवा आयोगको करार सिफारिस सूचीका उम्मेदवार साथै महिला, दलित, अपाङ्ग र स्थानीय उम्मेदवारलाई पहिलो प्राथमिकता दिईनेछ । 
थप जानकारीका लागि फोन नं. ९८६८४४९४०४

स्वास्थ्य कार्यालय, डोटी
क्षयरोग नियन्त्रण कार्यक्रम 
क्षयरोग भनेको के हो ? 

¨ क्षयरोग संक्रामक सरुवा रोग हो । 
¨ यो आँखाले देख्न नसकिने माईक्रोवेक्टरियम ट्युवरक्लोसिस नामक किटाणुबाट हुन्छ । 
¨ क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्यु गर्दा हावाको माध्यमबाट सर्दछ । 
¨ क्षयरोग उपचार गरेमा निको हुन्छ साथै अरुलाई पनि सर्दैन । 
¨ क्षयरोगको औषधी प्रत्येक स्वास्थ्य संस्थामा निशुल्क पाईन्छ । 
¨ उपचार नगरि रोग लुकाएर बसेमा समुदायका अरु स्वस्थ मानिसलाई पनि सर्दछ । 
¨ उपचार पुरा नगरि बिचैमा औषधी खान छोडेमा (म्च् त्द्य) दीर्घ क्षयरोग विकसित हुन्छ । 
¨ सामान्यतया क्षयरोगको उपचार अवधी ६ महिनाको हुन्छ । 
क्षयरोगको प्रकार ः 
¨ फोक्सोको क्षयरोग (८०%) । 
¨ फोक्सो बाहेक अन्य अंगको क्षयरोग (२०%) । 
¨ फोक्सोको क्षयरोगका लक्षण तथा चिन्हहरु 
¨ दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु । 
¨ छाती दुख्नु, स्वास फेर्न गा¥हो हुनु ।
¨ खान मन नलाग्नु । 
¨ साँझपख हल्का जरो आउनु र पसिना आउनु । 
¨ तौल घट्दै जानु र थकाई लाग्नु ।
¨ खकारमा रगत देखिनु । 
माथीका कुनै पनि लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरि खकार जाँच गराउनु पर्दछ ।