Tuesday, June 25, 2019

बिम्ब साप्ताहिक, २०७६ साल असार १० गते मंगलवार

बालबालिका हराएमा, बेवारिसे अवस्थामा फेला परेमा वा अपहरणमा परेमा बालबालिका खोजतलास समन्वय केन्द्रको पैसा नलाग्ने फोन ं. १०४ मा खवर गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

जथाभावी सडक काट्दा १६ परिवार बिस्थापित

बझाङ्गमा काटिएका ग्रामिण सडकका कारण १६ परिवार बिस्थापित भएको एक अध्ययनले देखाएको छ । खाद्य अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था फियान नेपालले गरेको अध्ययन अनुसार १६ परिवारका एक सय १४ जना बिस्थापित भएका छन् । 
अध्ययनको प्रारम्भिक प्रतिवेदनमा जयपृथ्बी राजमार्ग र त्यस भन्दा माथि बनेका सडकहरुले आठ घर परिवार बिस्थापित भएको देखाएको छ । उक्त क्षेत्रमा ७० परिवारको करिब एक सय रोपनी जति खेत पुरिएको छ । जमिन पुरिने काम निरन्तर भईरहेको समेत प्रतिवेदनमा उल्लेख छ । 
यस्तै जडारकोईरालकोट र जडारपौडी सडक काटिएका कारण ८ घरहरु भत्केको छन । “सडक कटानपछि निरन्तर पहिरो खसिरहेकोले थप २५ घर परिवार जोखिममा रहेका छन्” प्रारम्भिक अध्ययन प्रतिवेदनमा भनिएको छ ‘खनेपानी र सिंचाई आयोजना पूर्ण रुपमा ध्वस्त भएको छ, २० रोपनी खेतीयोग्य जमिन क्षति भएको छ ।’
जिल्लामा बिकासका लागि प्राप्त बजेटमध्ये झण्डै ६० प्रतिशत ग्रामिण सडकमा खर्च भएको प्रतिवेदनमा उल्लेख छ । सडक वनाउँदा मापदण्ड र ऐन कानुनको पालना कम भएको, जनताको जीबिकोपार्जन नका– रात्मक ढंगले प्रभाबित भएको, बाढी पहिरो लगायत प्रकोपका घटनाहरु उल्लेख्य रुपमा बढेका अध्ययनले देखाएको छ । ग्रामिण पूर्बाधारहरुको अवब्यस्थित निर्माण कार्यले जनताको खाद्य सुरक्षा तथा जीबिकोपार्जनलाई थप कष्टकर वनाएको अध्ययनले देखाएको छ ।
सडक निर्माणको सन्दर्भमा बिद्यमान नीति नियमहरुको पालना भए/नभएको, अव्यवस्थित ग्रामीण सड़क निर्माणको कारणले खाद्य सुरक्षा तथा जीविकोपार्जनमा पारेको प्रभाववारे अध्ययन र जोखिममा रहेका समुदायका समस्याहरु सम्बोधन गर्नको लागि केन्द्रीय, प्रान्तीय, र स्थानीय सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ गरिएको उक्त अध्ययनमा १२ ग्रामीण सडकहरुको अवस्था अध्ययन गरिएको थियो । सडक निर्माण गर्दा भएको क्षतिको किसिम र मात्राका अधारमा सडकहरुलाई अति, मध्यम र न्युन गरी तीन तहमा बिभाजन गरिएको थियो । 
जिल्लाका जम्मा १२ स्थानीय तहमा काटिएका एक सय १९ सडकमध्ये चार स्थानीय तहका १२ सडकको मात्र अध्ययन गरिएको प्रतिवेदनमा जनाइएको छ । सडक निर्माणले अध्ययन क्षेत्रका एक सय २६ घरधुरीलाई प्रभावित गरेको छ ।
सडक खन्दा सम्भाब्यता अध्ययन, वातावरणीय प्रभाव मुल्यांकन, माटो तथा भूगर्भीय परीक्षण बिना निर्माण  कार्य भएको, सडक काट्दा माटो तथा ढुङाको उचित ब्यवस्थापन नगरेको प्राविधिक परामर्श बिना स्थानीय राजनैतिक निर्णयको अधारमा डोजर सञ्चालकले सडक काट्ने गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ६७ प्रतिशत निर्माणका कार्यहरु उपभोक्ता समुह मार्फत भईरहेको र ३३ प्रतिशत कार्यहरु साना ठेकेदारबाट भएका अध्ययनले देखाएको छ । अध्ययन गरिएका १२ सडकहरुमध्ये ८८ प्रतिशत निर्माणाधीन र १२ प्रतिशत निर्माण सम्पन्न भैसकेका छन् । 
अध्ययन प्रतिवेदन अनुसार सडकबाट प्रभावित भएका एक सय २६ परिवारमध्ये उर्वरक जमिन खेत क्षति भएका २७ प्रतिशत रहेका छन् । यस्तै बारी ६१ प्रतिशत, दुबै  २० प्रतिशत रहेका छन । यस्तै ३१ पानीका मुहानहरुमा असर परेको, २३ खानेपानीका संरचना भत्केको, ६ सिचाईं संरचना भत्केको र पाँच सामुदायिक बनमा क्षति भएको छ । प्रतिवेदनमा उपयोगी गैरकाष्ठ बन पैदावार क्षति भएको, जलचरकोको क्षेत्रमा असर परेको र चरन क्षेत्रमा असर परेको देखाएका छ । 
सडक निर्माणका कारण क्षति व्यहोरेका परिवारमध्ये ८८ प्रतिशत परिवारले कुनै क्षतिपूर्ति प्राप्त नगरेको अध्ययनले देखाएको छ ।
अध्ययनले योजना तर्जुमा र प्राथमिकीकरण राजनैतिक प्रभावबाट हुने गरेको, मर्मत सम्हारको योजना नबनाई सडक काट्ने गरेको, प्राबिधिकको काम ठेकदार वा डोजर संचालकबाट भएको छ । अधिकांश ग्रामिण सडक निर्माणमा मझौला र ठुला उपकरण प्रयोग भएका छन । एक करोड भन्दा कम रकमका सडक योजनाहरुमा मेसिनको प्रयोग गर्न नपाउने नेपाल सरकारको नीति भएपनि त्यो लागु नभएको पाईएको प्रतिवेदनमा उल्लेख छ । 
“सडक निर्माण गर्दा सम्पतिको क्षतिपूर्ति र सामाजिक सुरक्षालाई ध्यान दिएको पाईदैन” प्रारम्भिक प्रतिवेदनमा भनिएको छ ‘गुणस्तर अनुगमन तथा मुल्यांकन गर्ने निकाय समेत एकिन हुन नसकेको र स्थानीय सरकारको जनशक्ति पनि सिमित भएको कारणले अनुगमन मुल्यांकन प्रभावकारी हुन सकेको छैन ।’ 
सडक निर्माण गरिने स्थानमा जैबिक ईन्जिनियरिङ्ग योजना संगसंगै गर्नुपर्ने, जन सहभागिता जुटाई जल, जमिन र जंगल संरक्षण सम्बन्धि काम गर्नुपर्ने लगायतका सुझावहरु प्रतिवेदनमा उल्लेख छ ।

सम्पादकीय 

सफल होस असार १०

आज असार १० गते । स्थानीय तहहरुको लागि महत्वपूर्ण दिन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ र अन्तर–सरकारी बित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ अनुसार स्थानीय तहले असार १० गतेभित्र वजेट ल्याईसक्नु पर्ने व्यवस्था छ । असार १० गतेभित्रै ल्याउनु पर्ने भन्ने व्यवस्था भएपनि करीव करीव ९०  प्रतिशत स्थानीय तहहरुले यस बर्ष पनि असार १० नै कुरेर बसेको देखियो । गत बर्षको अभ्यास हेर्दा असार १० गतेको मितिले साउनमा वजेट आएका पनि उदाहरणहरु रहेका छन् । 
नीति तथा कार्यक्रम र वजेट ल्याउनका लागि स्थानीय तहहरु जुन स्पिरिटमा निर्माणका लागि जुट्नु पर्ने थियो, त्यसरी जुटेका देखिएन । नीति तथा कार्यक्रमको बारेमा छलफल चलाउनु, स्थानीय आवश्यकताको पहिचान गर्नु, सम्भाव्यता पहिचान गर्नु, करका दर र दायराहरुको बिषयमा बहस चलाउनु पर्ने थियो त्यो त्यति धेरै भएको पाईदैन । यसले स्थानीय तहका जनप्रतिनिधिहरुले  स्थानीय व्यवस्थापिकाको महत्व बुझ्न सकेका छैनन् भन्ने देखिएको छ । 
अव जे, जसरी, जस्तो भएपनि आज वजेट आउने छ । आजका मितिदेखि स्थानीय व्यवस्थापिकामा घनिभूत रुपमा स्थानीय तहको नीति, कार्यत्रम र वजेटको बिषयमा छलफल हुनु जरुरी छ । नमिलेको कार्यक्रमलाई पुनरावलोकनका लागि कार्यपालिकामा पठाउनु जरुरी छ । त्यसै परे बिज्ञहरुसंग परामर्श समेत गरेर अगाडि जानु जरुरी छ । गत–विगतका बर्षहरुमा भएको अभ्यासको समीक्षा हुनु जरुरी छ । कस्ता प्रकारका कार्यक्रमहरु हामीले सञ्चालन गर्न सक्यौं र कस्ता कार्यक्रमहरुले जनतालाई प्रत्येक्ष फाईदा हुँदो रहेछ भन्ने कुरा दुई बर्षको कामको समीक्षा गरे जानकारी हुन्छ । त्यसबाट स्थानीय तहले के कुरालाई बढी ध्यान दिने भन्ने “रोड म्याप” तयार हुन्छ । पहिलो बर्ष चुनाव लड्दा जनतासंग गरिएका बाचा कसम पुरा गर्ने वहानामा बित्यो । दोश्रो बर्ष परीक्षणमै बित्यो । अव त तेश्रो बर्षको वजेट आउँदैछ । अव कुनै पनि वहाना चल्दैन होला । 
जनताका वास्तविक आवश्यकता, ईच्छा र चाहानाको बिषयमा नजिकको सरकार भनिएका स्थानीय तहहरु वेखवर जस्तै छन् । कसरी कार्यकर्ता पोस्ने र कसरी कमिसन उठाउने भन्नेमै अधिकांश स्थानीय तहहरुले दुई बर्ष बिताएका छन्् । जनताले सडक चाहेका छैनन्, किनभने सडक घरमै पुगेपनि गाडी चढेर जानलाई खल्तीमा पैसा छैन उनीहरुसंग । उनीहरुको आवश्यकता रोजगारी हो । स्थानीय तहले दैनिक ज्यालादारीमा मजदुरी बाहेक अहिले अर्को कुनै रोजगारी दिन सक्ने सम्भावना छैन । त्यो मजदुरी पनि सडक काट्नमा हो किनकी स्थानीय तहको बजेटको बढी हिस्सा सडक काट्नमै खर्च हुन्छ । तर नेताहरुको आदेशमा कार्यकर्ताहरुले ल्याउने डोजरले त्यो मजदुरी पनि समाप्त भएको छ । त्यसैले जनप्रतिनिधिहरु आफै अलमलमा छन अहिले । स्रोत थोरै छ, जनआकांक्षा धेरै छ ।
नीति तथा कार्यक्रमले के कुरालाई ‘हिट’ गर्ने भन्ने कुरा पनि अध्ययन हुनु जरुरी छ । जनप्रतिनिधिहरुले विकास भनेको सडक काट्नु, पुल बनाउनु, बिद्यालयका भवन बनाउनु जस्ता  कुरालाई मात्रै बुझेको देखियो, चेतनाको विकासमा कसैको ध्यान छैन । जवसम्म चेतनाको विकास हुँदैन तवसम्म भौतक विकास सम्भवै छैन । त्यसैले नागरिकमा चेतनाको विकास गर्ने खालका योजनाहरु आउनु जरुरी छ । सार्वजनिक सम्पत्तिमा अपनत्वमा भावना जगाउनु जरुरी छ । जव नागरिक सचेत हुन्छ अनि नागरिक निगरानी र नागरिक संलग्नता बढ्छ । त्यसपछि बन्ने भौतिक पूर्वाधारहरु गुणस्तरीय हुनेछन् । त्यसैले पहिलो कुरा नागरिक सचेतना जगाउने खालका अभियानहरु सञ्चालन गरिनु पर्छ । यस बिषयमा यो असार १० सफल होस् ।

थप समाचार 

विकासमा डोजर कल्चर आयो ः मन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले पूर्वाधार विकासका नाममा डोजर कल्चरको विकास भएको वताएका छन् । 
“सडक खन्ने नाममा डोजरले डाँडा भत्काउने काम भईरहेको छ, यसले एकातिर भू–क्षय भईरहेको छ भने अर्कोतिर उर्वरक भूमिहरुको विनास भएको छ” मन्त्री शाहले भने ‘यसले पनि सर्वसाधारणको खाद्य अधिकारको हनन् भएको छ ।’  
‘यो डोजर व्यवसाय उपभोक्ता समिति र ठेकेदारको धन्दा जस्तो भएको छ’ मन्त्री शाहले भने ‘यसलाई निरुत्साहित गर्नका लागि सवैको भूमिका आवश्यक छ ।’ उनले दिगो विकासका लागि सत्ता पक्ष र प्रतिपक्ष सवैले सहयोग गर्न आग्रह गरे । 
सञ्चारकर्मीहरु सूचनाका सम्वाहक मात्रै नभएर जागरणका सम्वाहक पनि भएकाले समाज विकासका लागि जागरकको भूमिका खेल्नु मन्त्री शाहको भनाई छ । “हामी कृषि प्रधान देश भन्छौं तर खेतीयोग्य जमिन बाँझो छ” शाहले भने ‘कृषकहरु खुशी नभएसम्म उत्पादनमा बृद्धि हुन सक्दैन र कृषि उत्पादन बृद्धि नभएसम्म खाद्य अधिकार संरक्षण हुन सक्दैन, त्यसैले कृषकहरुको सम्मान हुने गरि तपाईहरुका कलम चल्नु प¥यो ।’ 
मन्त्री शाहले आयात प्रतिस्थापित गरि निर्यात प्रवद्र्धन गर्ने तर्फ प्रदेश सरकार केन्द्रित हुने वताए । स्वस्थ शरीर र स्वस्थ मनस्थितिका लागि स्वस्थ आहार आवश्यक भएकोले बिषादीको प्रयोगलाई निरुत्साहित गर्ने गरी सञ्चारकर्मीले भूमिका हुनु पर्ने वताए । उनले असार १ गते प्रदेश सरकारले ल्याएको वजेटले कृषिलाई प्रमुख प्राथमिकतामा रहेको शाहले दावी गरे ।
मिडिया काउन्सिल बिधेयक फिर्ता लिन माग
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश साधारण सभाले मिडिया काउन्सिल बिधेयक फिर्ता लिन नेपाल     सरकारसंग माग गरेको छ । 
कैलालीको धनगढीमा सम्पन्न प्रथम साधारण सभाले मिडिया काउन्सिल विधेयक अविलम्ब फिर्ता गर्न नेपाल    सरकारसंग आफ्नो जोडदार माग गरेको छ । 
१० बुँदे कैलाली घोषणा पत्र जारी गर्दै सम्पन्न साधारण सभाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न माग गरेको छ । संविधानको मर्म र भावना विपरित प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्ने गरी कुनै कानून नवनाउन साधारणसभाले चेतावनी दिएको छ । 
सभाले सरोकारवालाहरु–संगको व्यापक छलफल सहित प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्ने गरी छिटोभन्दा छिटो समय सापेक्ष नयां राष्ट्रिय सञ्चार नीति ल्याउन माग गरेको छ । सुदूर–पश्चिमको पत्रकारिताको समानुपातिक तथा समावेशी विस्तार र विकासलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित प्रदेश तथा स्थानीय सञ्चार नीति अविलम्ब ल्याउन माग गरेको छ । 
प्रेस काउन्सिल, सूचना आयोग, सूचना विभाग लगायतका संरचनाहरु प्रदेशस्तरमा पनि स्थापना गर्नु पर्ने, समानुपालिका विज्ञापन प्रणाली लागु गर्नु पर्ने, विगतमा उपेक्षा गरिएको सुदूरपश्चिमका नागरिकलाई संविधानप्रदत्त अधिकार प्राप्त भएको अनुभूति गराउनु पर्ने, सुदूरपश्चिमका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि वजेट बिनियोजन गर्नु पर्ने लगायतका मागहरु राखेको छ । 
यस्तै साधारण सभाले पत्रकार आचार संहिताको पूर्ण रुपमा पालन गर्न सवै सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ । मुलुक संघीय संरचनामा गएसंगै श्रमजिवी पत्रकारहरुको छाता संगठनका नेपाल पत्रकार महासंघ समेत संघीय ढांचामा प्रवेश गरेपछि पहिलो पटक प्रादेशिक साधारण सभा भएको छ । साधारण सभामा सुदूरपश्चिम प्रदेशका प्रदेश पार्षदहरु, जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो । 
सुदूरपश्चिम प्रमुख मोहन राज मल्लले उद्घाटन गरेको प्रथम साधारण सभामा महासंघका केन्द्रीय महासचिव रमेश बिष्ट, केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, महासंघको सुदूरपश्चिम प्रदेशवाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, महासंघका पूर्व पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । 
दुई पत्रकार सम्मानित
नेपाल पत्रकार महासंघको पूथम सुदूरपश्चिम साधारण सभाले प्रदेशका दुई पुराना पत्रकारहरुलाई सम्मान गरेको  छ  ।
सम्मानित हुनेहरुमा कैलालीका धनवहादुर शाह र कञ्चनपुरका कर्णदेव भट्ट रहेका छन् । 
शाह कैलालीको धनगढीमा २०३७ सालदेखि पत्रकारिता गर्दै आएका छन् । उनले सुरुमा परिचर्चा र पछि सेती समाचार प्रकाशन गरेका थिए । यस्तै भट्टले पनि लामो समयदेखि कञ्चनपुरमा रहेर पत्रकारिता गर्दै आएका छन् । सुदूरपश्चिमको पत्रकारिता विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार द्वयलाई सम्मान गरिएको हो ।

बिचल्लीमा परेका पाँच बालबालिकाको जिम्मा नगरपालिकाले लियो

बुवाले आमाको हत्या गरेपछि बिचल्लीमा परेका दिपायल सिलगढी नगरपालिका–३ का पाँच जना बालबालिकाको पठनपाठनको जिम्मा दिपायल सिलगढी नगरपालिकाले लिएको छ ।
असार २ गते राति घरायसी विवादपछि ४५ वर्षीय श्रीमान कृष्ण नेपालीले आफ्नै श्रीमती ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैंची प्रहार गरी विभत्स हत्या गरेका थिए ।
श्रीमतीको हत्या अभियोगमा कृष्ण पक्राउ परेपछि उनीहरूका छोराछोरी बिचल्लीमा परेका हुन् । 
पाँच छोराछोरीमध्ये जेठो छोरी सृजना कक्षा ११ मा पढ्दैछन् । २० वर्षीया सृजनालाई तत्काल कुनै रोजगारीमा जोड्नका लागि पहल गर्ने दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले बताइन् ।
आमा मीनाको काज किरीया गरिरहेका १६ वर्षीय   छोरा अंकित कक्षा ८ मा पढ्दैछन् । १२ वर्षीया छोरी सन्ध्या कक्षा ४ मा, ८ वर्षीया छोरी सोनीया कक्षा २ मा र पाँच बर्षीय कान्छो छोरा विनायक एल.के.जी.मा पढिरहेका छन् ।
विपन्न दलित परिवारमा जन्मिएका ती बालबालिका विचल्लीमा परेपछि स्थानीय सरकारको अनुभूति दिलाउने गरी उनिहरुलाई पठनपाठनको जिम्मा आफुले लिएको नगरप्रमूख मलासीले बताइन् । मलासीले घरमै पुगेर नगरपालिकाले उनीहरुको पठनपाठनको जिम्मा लिने बताएका हुन । अभिभावकबिहिन कुनै पनि बालबालिकाहरु आफुलाई बेसहारा ठान्ने  बातावरण आए उनीहरुको बृद्धि र विकासमा समेत असर पर्ने भन्दै मलासीले तीन बालबालिकाहरुको जिम्मा नगरपालिकाले लिएको वताईन 
आगामी शैक्षिक वर्षमा ति बालबालिकाहरुलाई आवासीय विद्यालयमा पठनपाठनको व्यवस्थाका लागि पनि नगरपालिकाले पहल गर्ने उनले बताइन् । 
मीनाको किरीया खर्चका लागि पनि नगरपालिकाबाट सहयोग प्रदान गर्ने नगर प्रमूख मलासीले बताएको दिपायल सिलगढी नगरपालिका वडा नं ३ का वडाध्यक्ष चक्रबहादुर माझीले जानकारी दिए ।
श्रीमतीको हत्या आरोपमा पक्राउ परेका कृष्णलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डोटीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

खेल समाचार 

क्रिकेट संघ डोटीमा फेरी सिंह

डोटी जिल्ला क्रिकेट संघको तेस्रो साधारणसभाबाट दिनेश सिंह पुनहः अध्यक्ष चयन भएका छन् ।
आईतवार डोटीको सदमुकाम सिलगढीमा सम्पन्न साधारणसभाले सिंहको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजु घले, सचिवमा पुर्ण शाहु र कोषाध्यक्षमा शर्मिला राईमाझी चयन भएका छन् । यस्तै सदस्यमा ज्ञानेन्द्र केसी, डिल ऐर, रमेश चन्द रहेका छन् । त्यस्तै क्लव प्रतिनिधिवाट सदस्यहरुमा पुस्कर  द्वारीया, सुरज श्रेष्ठ, योगेश जोशी र श्याम नेगी रहेका नव निर्वाचित अध्यक्ष सिंहले जानकारी दिए ।
केन्द्रीय प्रतिनिधिमा दिनेश सिंह चयन भएका छन् । प्रदेश प्रतिनिधिमा राजु घले, पुर्ण शाहु , पुष्कर द्वारीया र दिनेश सिंह सर्वसम्मत चयन भएका  छन् । 
जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष देवकी वोहराको प्रमुख आतिथ्य र नेपाल वार एसोसियसनका पूर्व केन्द्रीय उपाध्यक्ष रण वहादुर सिंह विशिष्ट आतिथ्यमा सम्पन्न साधारणसभाले डोटी जिल्लामा क्रिकेटको विकासका लागि सक्रिय भएर काम गर्न नयाँ कार्यसमितिलाई निर्देशन दिएको छ ।
क्रिकेट संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद पोखरेल र शिशिरलाल अमात्यको परिवेक्षणमा अधिबेशन सम्पन्न भएको नव निर्वाचित अध्यक्ष सिंहले जानकारी दिए ।

चलचित्र/मनोरञ्जन 

“मालिका” का निर्माता पक्राउ

नेपाली चलचित्र ‘मालिका’ का निर्माता तथा कलाकार नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
अभिनेत्री रेखा थापा निर्दे्शित तथा अभिनीत ‘मालिका’ का निर्माता कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाण्डौं प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई सोमबार साँझ बालुवाटारबाट पक्राउ गरिएको हो । 
सरकारले गएको फागुन २८ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । त्यसयता कार्कीले सामाजिक सञ्जालमा सरकार र प्रहरीलाई लक्षित गरेर फेसबुकमा आक्रोशपूर्ण ‘स्टाटस’ लेख्दै आएका थिए । प्रहरीले अनुसन्धानका लागि कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनी विरुद्ध कुन मुद्धा चलाउने भन्ने प्रहरीले निधो गरिसकेको छ । 
 पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक मध्येका एक हुन् । उनी गएको वर्ष एक भव्य कार्यक्रमका बीच विप्लव समूहमा प्रवेश गरेका थिए ।

पलेँटीमा “मुनामदन” गुन्जन

नागरिक दैनिकबाट
यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’मा संगीतकार शान्ति ठटालले धुन भरेको ‘मुनामदन’ प्रस्तुत हुने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’मा शान्ति ठटालले सन् ७० ताका संगीत भरेकी थिइन् । संगीतकार ठटालकै अगुवाइमा सन् १९७७ मा गान्तोकमा यसको प्रदर्शन गरिएको थियो । गीति–नाटककै स्वरूपमा प्रदर्शित यो कृतिका धुन भने बिस्तारै विस्मृतिमा गएका थिए ।
पलेँटीका अनुसार गतवर्ष पलेँटीमा सहभागिता जनाउन आएकी शान्तिबाटै कृतिका धुन विस्मृतिमा गएको जानकारी पाएपछि पलेँटीले उनलाई आफ्ना पुराना धुन सम्झन अनुरोध गरेको थियो। पलेँटीको अनुरोधलाई स्वीकार्दै उनले सिक्किमको एकान्त बासमा पुगेर सम्झने काम गरेकी थिइन् । त्यसकै परिणाम स्वरूप संगीतकार ठटालले सिर्जना गरेका ‘मुनामदन’का धुन पलेँटीको अभिलेखालयमा अंकित हुने भएका छन् । गत महिनाको पलेँटीमा नयाँ पुराना संगीत प्रस्तुत गरेकी ठटालले त्यसयता ‘मुनामदन’को संगीत संयोजनमा क्रियाशील ठटाल काठमाडौंमै रहेर आफ्ना धुनहरूलाई परिमार्जन गरिरहेकी छन् ।
नेपाली गीति साहित्यमा लोकप्रिय ‘मुनामदन’ले नेपालीभाषीहरूको ठूलो परिवेशलाई प्रभावित गरेको झलक यसपटकको पलेँटीमा स्पष्ट देखिने भएको छ । यो पलेँटीमा दार्जि्लिङमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी संगीतकार ठटालसँगै मिरिकमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी विमला सेन्चुरी प्रधान र मनिपुरमा जन्मेकी गायिका मिना निरौला ‘मुनामदन’का हरफमा सुनिनेछन् ।
‘मैले उहिल्यै धुन भरेको मुनामदन झण्डै झण्डै भूली सकेकी थिएँ । पलेँटीको अनुरोधले सम्झने प्रयत्न गरेकी छु । यसको रङ भने लोकले गाउँदै आएको मुनामदनकै मौलिक धुनमा आधारित छ’ शान्तिले भनिन् ‘सन् ७७ ताका गान्तोकमा कार्यरत हुँदा यसको प्रस्तुती भएको थियो । त्यतिबेला मुनामदन गीतिनाटकको निर्देशक मै    थिएँ ।’ ‘मुनामदन’को यो प्रस्तुतिमा दुई महिना पहिलेको पलेँटीमा छन्द कविताहरूको प्रस्तुति गरेर प्रशंसा बटुलेकी भूषिता वशिष्ठ सूत्रधारको रूपमा प्रस्तुत हुनेछिन् । 
यो पलेँटीमार्फत् काठमाडौंले सिक्किम, दार्जिलिङ र मनिपुरका चेलीहरूको संगम गराउने भएको छ । ‘मुनामदन’मा पलेँटीका संयोजक आभासलगायत बाँसुरीवादक बलराम समालको स्वर पनि सुन्न पाइने छ । नेपालयको ‘आर’शालामा अभ्यासरत शान्ति र उनको समूहलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन् ।

लेख 

उधुम गर्मी र पार्टी प्यालेसमा सिमित कांग्रेसको जागरण

रविनचन्द्र कोईराला
सात दशक पूरा गर्ने क्रममा अनेक ऐतिहासिक जिम्मेवारी निर्वाह गरेको नेपाली कांग्रेसले पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समापन पश्चात लामो सास फेरेको छ । कांग्रेसले स्थापनाकालदेखि नै अवलम्बन गर्दै आएको मूल आदर्श राष्ट्रियता, मूल सिद्वान्त लोकतन्त्र र समाजबादका बाटोमा आम जनता र कार्यकर्तालाई अभिपे्ररित गर्न आवश्यक नै थियो । पछिल्लो महासमितिबाट पारित भएका नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहका कार्यकर्ता एवं शुभचिन्तकलाई जानकारी गराउनु जरुरी थियो ।
पार्टीमा नवीन ढंगको एकता, समन्वय, हार्दिकता वृद्धि गर्ने, पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै देशव्यापीरूपमा जागरण गर्ने कार्यमा पार्टीले आफ्नो ऊर्जा खर्चिनु अत्यावश्क थियोरु। यस गरिमामय पार्टीको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका काम नागरिक तहमा पुर्रुयाउने र वर्तमान सरकारका भ्रष्टाचार लगायत कैयौं जनविरोधी क्रियाकलापबारे जनस्तरमा लान पनि कांग्रेस गाउँसम्म पुग्नुपर्ने अवस्था थियो । तर, नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान सुविधा सम्पन्न शहरहरुमा पार्टी प्यालेसमा सीमित रहृयो भने गाउँघर, विषेश गरी तराई मधेसका जिललामा प्रचुर गर्मीको कारणले न्यून कार्यक्रम र न्यून अपस्थिति रहृयो ।
अधिकांश केन्द्रीय नेताले जागरण अभियानको औचित्य बारे प्रश्न उठाए भने कार्यकर्ता माझमा जागरण नेताका लागि कि कार्यकर्तालाई आवश्यक भन्ने विषयले व्यापकता पायो । यस्ता कारणले राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम लक्ष्य अनुसार प्रभावकारी हुन सकेन ।
धेरै जिल्लामा त केन्द्रबाट खटिएका प्रतिनिधिहरुलाई गुट र उपगुटका कारण विभाजित नेता तथा कार्यकर्तालाई एकै ठाउँमा राखी विवाद मिलाउननै हम्मे–हम्मे प¥यो । केही जिल्लामा त जागरण अभियान नभएर गुटको कार्यक्रम जसरी अभियान सन्पन्न भयो । आन्तरिक द्वन्द्व मिलाउन र सबैलाई खुशी पार्नुपर्ने बाध्यताले गर्दा पनि केन्द्रीय निर्देशनबमोजिम तोकिएको ढाँचा र वक्ताको मात्र संबोधन गर्ने गरी अभियान सञ्चालन गर्न सम्भव भएन ।
पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नु पर्ने बेलामा केन्द्रबाट पनि वक्ता र आसन ग्रहणसमेत तोकिएकाले कतिपय जिल्लामा पूर्व सभापति र पूर्व केन्द्रिय सदस्यले समेत मञ्चासन नपाइएको अवस्था देखियो ।
साथै खटिएका अधिकांश केन्द्रीय प्रतिनिधिहरू पनि निर्देशन बमोजिम पूरै समय जिल्लामा नबसी समुदघाटन, जिल्ला समिति बैठक र समापनमा उपस्थित भएर निर्देशन दिएकाले पनि स्थानीय तहसम्म अभियानलाई प्रभावकारी रुपले सञ्चालन गर्न नसकिएको हो । जागरण अभियानको दौरान पनि तीन तहको निर्वाचनमा भएको घात अन्तरघातको तुसले अझैसम्म पनि कांग्रेसजनलाई नछाडेको देखियो भने कतै कतै त बादविवाद र गुटबीच मुठभेडसम्म भयो ।
सकारात्मक सन्देश दिन शुरुवात गरिएको उक्त अभियानमा यस्ता घटनाले कार्यकर्ताको मनोबल बढाउन सकेन । मध्ये गर्मीमा आयोजित अभियान अधिकांश जिल्ला सभापति र केन्द्रीय प्रतिनिधिहरुलाई फलामको चिउरा नै बन्न पुग्यो । जनताको मनमनमा पुग्ने लक्ष्यले अभिप्रेरित राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम सोचे अनुसार सफल भने हुन सकेकोे देखिएन ।
मुलुक संघीयतामा गइसकेको र संघीय प्रणाली अनुसार तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ । तर, संघीय संरचना अनुसार पार्टी संरचना बनाउन नसक्दा पूरानै अवस्थामा पार्टी संगठन रहेकाले पनि कायकर्ताहरुमा निराशा देखिन्छ ।
यसले गर्दा पनि राष्ट्रिय जागरण अभियान लक्षित वर्गसम्म पुग्न सकेन । महासमितिको निर्णयलाई आत्मसाथ गरी, केन्द्रीय कार्यसमिति बैठकबाट विधिसम्मत ढंगले अनुमोदन गरेर अभियान सञ्चालन गरेको भए जागरण अभियान अझै सफल हुनेमा दुइ मत थिएन ।
प्रथम चरणको राष्ट्रिय जागरण अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने केन्द्रीय प्रतिनिधिहरू तथा जिल्ला सभापतिहरुको प्रशंसा गर्न पनि पार्टी नेतृत्व पछि हट्नुहुन्न भने अभियान राम्रोसँग नभएका जिल्लाहरुलाई स्पष्टीकरण पनि सोधिनुपर्छ ।
पहिलो चरणको जागरण अभियानको वीचमै आएको आर्थिक बर्ष ०७६÷७७ को बजेटमा प्रदेशलाई ६ र स्थानीय सरकारलाई १४ प्रतिशत बजेट छुट्टयाइनुले पनि बर्तमान सरकार संघीयताप्रति इमान्दार नभएको पुष्टि गर्छ । नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गरेको यो सरकार संसदमा दुइतिहाई मत हासिल गर्न सफल भएपनि समग्रमा संघीयता र गणतन्त्रप्रति प्रतिबद्व भने देखिएको छैन । यस्तो अवस्थामा कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यक्ता छ ।
नेपाली कांग्रेसलाई गतिशील बनाउन र आगामी निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि ९ महिनाभित्र १४ औं महाधिवेशनको जरुरी छ । ४ वर्षको कार्यकालमा तीन वर्ष तीन महिना समाप्त भइसकेको छ । महाधिवेशनको समयमै गरेर त्यसपछि हुने निर्वाचनका लागि चुनावी रणनीतिका दृष्टिले पनि पार्टीको कार्यकाल थप्नु औचित्यपूर्ण देखिँदैनरु। तीन वर्षमा गाउँ÷नगर–पालिकाको निर्वाचन आउन भएकाले आउनुभन्दा एक वर्षअघिदेखि पार्टी चुनावको तयारीमा जुट्नुपर्छ ।
पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अघि केन्द्रीय कार्यसमितिमा पहिलो चरणको राष्ट्रिय   जागरण अभियानको सफलता र त्रुटीको घनिभुतरुपमा छलफल गर्नुपर्छ । अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको आन्दोलन मिति तोकी अघि बढेमा कांग्रेसले गति लिन्छ, यदि यो भएन भने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान कर्मकाण्डमा मात्र सीमित रहन्छ ।
— अनलाईन खवर डटकमबाट

योग+ध्यान=स्वस्थ जीवन

डा. नम्रता पाण्डे
‘जहाँ शरीर, मन, आत्मा र   पर्यावरणबीच सद्भाव रहन्छ, त्यो नै स्वास्थ्य सन्तुलनको स्थिति हो’–यसै भन्छ, आयुर्वेद । जस अनुसार यो सद्भाव (स्वास्थ्य) उचित आहार, व्यायाम, जीवनशैलीको चालचलन, ध्यानको अभ्यास एवं मनोवैज्ञानिक कल्याणको निरीक्षणका माध्यमबाट हासिल हुन्छ । योग शब्द र शारीरिक क्रियालाई मात्र महत्व दिएर योगको मर्म पूरा हुँदैन । योग र ध्यानलाई सँगसँगै जीवनशैलीको आधार बनाउन सकेमात्र परिणाम हात लाग्छ । त्यसको मापन नै स्वस्थ जीवनशैली हो, किनभने यसमाध्यमबाटै आत्मस्वीकृति र प्रेमसाथ जीवन चल्छ ।
योगसँगै आयुर्वेद शिक्षा पनि जोडिएर आएको हुन्छ । नेपाल र भारतीय महाद्वीपबाट अदिकालमा सुरु आयुर्वेद शिक्षाले शारीरिक स्वास्थ्य मात्र होइन, सांसारिक सुखबाट आत्मिक शान्ति र मोक्ष प्राप्त हुनेसम्मको स्थितिलाई स्वस्थ जीवनशैली अपनाउने अभ्यासमा जोड दिएको छ । जीवनका प्रतिकूल परिस्थिति र विचलनमा अनुकूलता दिने कोसिस नै स्वस्थ जीवन जिउने आधार हो । शारीरिक तथा पाचन प्रक्रिया सन्तुलनमा रहनु, सबै अंगले सही सलामत काम गर्नु, खानपान सात्विक र सन्तुलित अनि नियमित हुनु, सबै इन्द्रियले सन्तुलित रूपमा काम गर्नु र मानसिक रूपमा आनन्दित रहनु स्वस्थ मानिसका लक्षण हुन् । त्यसैले स्वस्थ हुनु भनेको बिरामी नहुनु मात्र होइन, जीवनका सबै आयाममा सन्तुलन र सकारात्मक भएर जिउन सक्नु हो । सांसारिक र आध्यात्मिक सुखका लागि पनि स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ । यसका लागि योग र ध्यान संँगसँगै गर्नु अपरिहार्य छ ।
मानिस एक बिरामी प्राणीका रूपमा चिनिन थालेको छ । रोग मानिसमा आउने मात्र होइन, मानिस आफैँं पो बिरामी छ त ! यो बिरामीपन मानिसको दिक्दारी, खुबी, सौभाग्य र दुर्भाग्य बनेर रहेका  हुन्छन् । मानिस जति चिन्तित र दुःखी छ त्यति पीडित प्राणी पृथ्वीमा अरू भेटिँदैनन् । सबै  रोग मानिसलाई नै लाग्छन्, किनकि यसको कारण हो– हामीसँग जे छन्, त्यसमा खुसी छैनौँ । पशुपन्छीलाई पागल बनाउन जंगलबाट चिडियाखाना वा सर्कसमा लैजानुपर्छ । जंगलमा पशु विक्षिप्त हुँदैन तर मानिस आफ्नै घरमा किन विक्षिप्त रहन्छ ? पशुले आत्महत्या गर्दैन तर मानिसले किन गर्छ ? रोग निवारणका दुईथरी उपाय हुन्छन् एउटा–मेडिकल औषधि र अर्को–ध्यान । औषधिशास्त्रले मानिसका रोगलाई एक÷एक गरी छुट्याएर अलग–अलग उपचार गर्छ भने ध्यानले मानिसको व्यक्तित्वमा रोग देख्छ र आफूलाई उपचार गर्ने कला सिकाउँछ । क्यान्सर, दम, बाथ, टिबी रोगबाट बिरामी हुनेभन्दा धेरै मनो–  रोगबाट पीडित मानिस भेटिन्छन् ।
धन, पद, मानसम्मान र यश सबैले कमाउँछन् तर जसले स्वस्थ जीवन बाँच्न जानेको छ, त्यो हो–वास्तविक कमाई । त्यसैले होला, भन्ने गरिन्छ–‘स्वास्थ्य नै धन हो ।’ तर आजका मानिस शक्ति हुँदासम्म धन आर्जनका लागि स्वास्थ्य गुमाउँछन् र जीवनको उत्तराद्र्धमा त्यही स्वास्थ्य प्राप्तिका लागि धन खर्च गर्छन् । जति–जति हामी आधुनिक, सभ्य अनि सम्पन्न बन्दै गएका छौँ त्यति–त्यति हामी अस्वस्थ र रोगी पनि बन्दै गएको वास्तविकतालाई नकार्न सकिन्न । हामीलाई यति धेरै सुख सुविधा उपलब्ध भए कि स्वस्थ र प्राकृतिक प्राणी हामी मानिस अप्राकृतिक र अस्वस्थ बन्दै गएका छौँ, दिनप्रतिदिन । विज्ञानले गरेको प्रगतिसँगै हामीमा रोग पनि बढ्दै गएका छन् । नामै नसुनेका र कल्पनै नगरेका रोगले शरीर र मनमा आक्रमण गर्दै जानुमा हाम्रा खानपान, आचरण, व्यवहार र विचारमा समेत प्रदूषण मिसिएकाले हो भन्दा अत्युक्ति नहोला ।
हाम्रो जीवनमा यदि समस्या छन् भने ती सबको कारण हो–योग र ध्यान नगर्नु । यसका लागि समय नछुट्याउनु । ध्यानदेखि समाधिसम्म जाने ४ आयाम र कला हुन्छन्– ‘निराकारप्रति जाग्नु ध्यान हो । आफ्नो चिन्मय आत्मा एवं संसारप्रति जाग्नु साक्षी हो । अन्तर्काशमा लीन हुनु समाधि हो र आत्मा एवं परमात्माप्रति जाग्नु सुमिरन हो ।’ अति भोजन, आडम्बरपूर्ण अभ्यास, कडा नियम बनाउनु, शारीरिक र मानसिक चञ्चलता ध्यान र योगाभ्यासका बाधक तत्व हुन् । योगका विभिन्न आयाम संक्षिप्तमा यसरी उल्लेख गरिएको हुन्छ ।
राजयोगः पतञ्जलीका अनुसार यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि राजयोगका आठ अंग हुन् । यसलाई अष्टांगयोग पनि  भनिन्छ ।
लययोगः यम, नियम, स्थूल क्रिया, प्रत्याहार, धारणा, ध्यान र समाधि लययोगका अंग हुन् ।
ज्ञानयोगः साक्षीभावद्वारा विशुद्ध आत्मज्ञान प्राप्त गर्नु नै ज्ञानयोग हो। यही ध्यानयोग पनि हो ।
कर्मयोगः कर्म गर्नु नै कर्मयोग हो । कर्ममा कुशलता ल्याउनु कर्मयोगको उद्देश्य हो । यही सहजयोग पनि हो ।
भक्तियोगः भक्त श्रवण, कीर्तन, स्मरण, पादसेवन, अर्चन, वन्दन, दास्य, सख्य र आत्मनिवेदन रूप– यी नौ अंगलाई नवधा भक्ति भनिन्छ । भक्तियोग अनुसार व्यक्तिले सालोक्य, सामीप्य, सारूप तथा सायुज्य मुक्ति प्राप्त गर्छ, यसलाई क्रमबद्ध मुक्ति भनेर उल्लेख गरिन्छ योग विज्ञानमा ।
कुण्डलिनी योगः कुण्डलिनी शक्ति सुषुम्ना नाडीमा नाभिको तल्लो भागमा निष्क्रिय अवस्थामा हुन्छ जुन ध्यानलाई गहि¥याउँदै गएपछि सबै चक्रबाट गुज्रिँदै सहस्रार चक्रसम्म पुग्छ । यी चक्र ७ वटा हुन्छन्ः मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा र सहस्रार । ७२ हजार नाडीमध्ये प्रमुख नाडी तीन छन्–इडा, पिंगला र सुषुम्ना । इडा र पिंगला नासिकाका दुवै छिद्रसँग जोडिएका हुन्छन् भने सुषुम्ना भृकुटीको बीचमा हुन्छ ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. संविधान भनेको के हो ? 
ड्डसंविधान देशको मूल कानुन हो । यसलाई सबै कानुनको जननी भनिन्छ । योसँग बाझिएका कानुनहरू बाँझिएको हदसम्म अमान्य हुन्छन् । 
ड्डसंविधान राजनैतिक एवं कानुनी दस्तावेज हो । 
ड्डराजनीतिक दस्तावेज हुनुको कारण ः देशको राजनीतिक परिस्थितिका आधारमा संविधान बन्दछ र भविष्यका शासन व्यवस्थाको समग्र पद्धति स्थापित गर्दछ । 
ड्डकानुनी दस्तावेज हुनुको कारण ः संविधानले मानक र मापदण्डहरूको निर्धारण गर्दछ । यो नियमहरूको सँगालो हो । 
ड्डसंविधानलाई न्याय समानता र स्वतन्त्रताको आधारशिला मानिन्छ । 
ड्डराज्यका अंगहरूको सिर्जना गरी शक्तिको बाँड फाँड गर्ने काम यसले गर्दछ । शासन व्यवस्था सञ्चालनको खाका यसले नै कोर्दछ । 
ड्डसंविधानका प्रमुख ४ कामहरू 
ड्डसंविधानले राज्यका प्रमुख अंगहरूको संगठन, संरचना निर्माण गर्दछ । (इचनबलष्शष्लन) 
ड्डती संरचनाले गर्न काम, कर्तव्य र अधिकारको बाँड फाँड गर्दछ । (म्ष्कतचष्दगतष्लन) 
ड्डती निकायहरू बीच एक आपसमा नियन्त्रणको प्रबन्ध गर्दछ । (च्भनगबितष्लन) 
ड्डती निकायहरूको अधिकारमा सीमाङ्कन गर्दछ । (ीष्mष्तष्लन) 
ड्डप्रथम लिखित संविधान संयुक्त राज्य अमेरिकामा सन् १७८९ बाट सुरु भएको हो । 
२. संविधान किन आवश्यक छ ? 
ड्डस्वेच्छाचारी शासनमा सिमा लगाउन, 
ड्डनिरंकुशतालाई अस्वीकार गर्न, 
ड्डकानुन प्रति उत्तरदायी बनाउन, 
ड्डसरकारलाई नियन्त्रण गर्न, 
ड्डकानुन÷विधिको शासनको स्थापना गर्न 
ड्डआमजनतालाई लाभान्वित तुल्याउन 
ड्डमानवअधिकारको सम्मान गर्न । 
३. संविधानका विशेषताहरू लेख्नुहोस् । 
ड्डसंविधानको सर्वोच्चता हुन्छ । 
ड्डसंविधानले शासकीय शक्तिमा सीमा लगाउँदछ । 
ड्डनागरिक अधिकार प्रति सम्मान प्रकट गर्दछ । 
ड्डशक्तिको दुरुपयोगलाई अस्वीकार गर्दछ । 
ड्डसरकारलाई जनता प्रति उत्तरदायी बनाउँदछ । 
ड्डयसले सुशासनको प्रत्याभूति गर्दछ । 
४. राजनैतिक विभाजनका आधारहरू लेख्नुहोस् । 
ड्डभौगोलिक र जनसंख्याको स्थिति 
ड्डप्रादेशिक एकता र जातीय एकता 
ड्डधर्म, रीतिरिवाज तथा संस्कृति 
ड्डविकासका पूर्वाधारहरू 
ड्डप्राकृतिक स्रोत, साधनहरूको उपलब्धता 
ड्डसामाजिक बनोट
५. विश्वर मानचित्रमा नेपालको अवस्थितिबारे लेख्न्नुहोस । 
ड्डनेपाल पृथ्वीको उत्तरी गोलाद्र्धमा पर्ने एसिया महादेशको मध्यभागमा रहेको छ । 
ड्डनेपाल २६’ड्ढ २२’ देखी ३०’ड्ढ २७’ उत्तरी अक्षांशसम्म र ८०’ड्ढ ४’ देखि ८८’ड्ढ १२’ पूर्वी देशान्तरसम्म फैलिएको छ । 
ड्डनेपालको क्षेत्रफल १४७१८१ वर्ग कि. मि. रहेको छ । 
ड्डयसले विश्वको ०.०३५ र एसिया महादेशको ०.३५ भूभाग ओगटेको छ । 
ड्डक्षेत्रफलको हिसाबमा नेपाल विश्वका १९२ राष्ट्रमध्ये ९०औँ ठूलो देश हो । 
नेपालको प्रामाणिक समयको निर्धारण 
ड्डनेपालको प्रामाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६’१५ को पूर्वी देशान्तर रेखालाई आधार मानिएको छ । 
ड्डग्रीनविच मिन टाइम (न्ःत्)भन्दा ५ घन्टा ४५ मिनेट छिटो छ । 
ड्डयो प्रामाणिक समयको निर्धारण वि सं २०४२ वैशाख १ देखि गरिएको हो । 
हिमाली क्षेत्रका विशेषताहरू 
ड्डदेशको कुल भुभागको करिब १५% भुभाग यस क्षेत्रमा रहेको 
ड्डविभिन्न हिमनदी र नदीहरूको उद्गम स्थल 
ड्डबौद्ध धर्मावलम्बीहरूको बसोबास भएको 
ड्डयातायात, सञ्चार, शिक्षा र स्वास्थ्यको अपर्याप्त सुविधा, 
ड्डपशुपालन, फलफूल, जडीबुटी मुख्य व्यवसाय । 

साहित्य/सिर्जना 

कविता 

साढेले बिर्यको खेल खेलिरह्यो
उन्मात्त साँढेहरुको बिर्यको खेलमा
घसिटिन पुगेकी आमाको पेटिकोटमा लागेका 
दागहरु मेटिन नपाउदै
दिदिबहिनीहरुको पछ्यौरी तानियो
पछ्यौरी समेटिन नपाउदै
नानीहरुका भर्खरै पलाउदै गरेका
अङ्गहरु च्यात्तिए
कहिल्यै मेटिएनन् 
आमाका पेटिकोटका दागहरु 
साबुनले खित्का छोडिरह्यो
कहिल्यै समेटिएनन् 
दिदिबहिनीका पछ्यौरीहरु
हावाले उडाइरह्यो
कहिल्यै सिलाइएनन् 
नानिका अङ्गहरु
औजारले छेद पारिरह्यो
साँढेले बिर्यको खेल खेलिरह्यो
पुष्पा जोशी ‘काली शर्वरी’ 
धनगढी, कैलाली

गजल 

मातिदैछ्न नेता, ती प्यारा भोट ले हुनु पर्छ ।
कुरा मै सिमित ती, झुठा अठोट ले हुनु पर्छ ।
किन रुदैछन यी आँखा सिरानी भिजाएर ।
सम्हाल्नै नसक्ने ति, गहिरा चोट ले हुनु पर्छ ।
लाग्यो परदेश उ एका बिहानै झोला बोकेर ।
अभाबै अभाब का ति काला नोट ले हुनु पर्छ ।
बिचरा लड्यो माथि बाट भन्नै पाएन ऐया ।
पैसा फल्ने अप्ठेरा ती बोट ले हुनु पर्छ ।
मदनकृष्ण चम्लागाँई 
अर्जुनधारा झापा

गजल

धेरै सपना बुने पछि दुखि हुन्छ मान्छे 
दुख आफै चुने पछि दुखि हुन्छ मान्छे
सपनाको पछि मात्र सधै दौडने गर्दा 
झिरमा आफुलाई उनेपछि दुखि हुन्छ मान्छे
आफु भने केहि प्रयास गर्दैन कहिले पनि 
अरुको प्रगति सुनेपछि दुखि हुन्छ मान्छे
उमेरको घोडा दौडी काटी सक्दा नेटो 
हिसाब किताब गुनेपछि दुखि हुन्छ मान्छे
ईश्वरी ’बर्षा’

सूचना/सून्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०३÷०५ 
उपरोक्त सम्बन्धमा सायल गाउँपालिका–३, पानीखाल डोटीमा रहेको यस श्री भवानी एक्वायर आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६,   
पद ः शिक्षक,    
संख्या ः १ जना, 
तह ः प्रा. बि. तृतीय,  
किसिम ः राहात करार (महिला), 
योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  
आबेदन दस्तुर ः २०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०३÷१९ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०३÷२० गते,  
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
थप जानकारीका लागि मोवाईल नं. ९८४८६५५५७१, ९८६५७५४३७१ मा सम्पर्क गर्नु होला ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०३÷०३ 
उपरोक्त सम्बन्धमा सायल गाउँपालिका–३, पानीखाल डोटीमा रहेको यस श्री खप्तड आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७५÷०७६,   
पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः प्रा. बि. तृतीय,  किसिम ः राहात करार (खुला), 
योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,  आबेदन दस्तुर ः २०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०३÷१७ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०३÷१८ गते,  
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
थप जानकारीका लागि मोवाईल नं. ९८६८५४१८१८ मा सम्पर्क गर्नु होला ।

No comments:

Post a Comment