Monday, November 11, 2019

बिम्ब साप्ताहिक, २०७६ साल कात्तिक २६ गते मंगलवार

सार्वजनिक निकायहरुले आफ्नो निकाय सम्वन्धि सूचनाहरु प्रत्येक तीन÷तीन महिनामा बिभिन्न राष्ट्रिय भाषामा प्रकाशित गर्नु पर्ने तथा आम सञ्चारमाध्यमको उपयोग गर्नु पर्ने कानुनी व्यवस्था छ । यसको पालना भए–नभएको नागरिकले चाँसो व्यक्त गर्नु पर्छ । 
प्रत्येक सार्वजनिक निकायले सूचनाको बर्गीकरण गर्नु पर्छ । ती निकायहरुले सूचनादाताको संरक्षण गर्नु पर्छ । कानुन बमोजिम क्षतिपूर्ति दिने गरी आयोगबाट निर्णय भएमा क्षतिपूर्ति रकम उपलव्ध गराउनु पर्नेछ ।
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सूचना तथा प्रसारण विभाग

मुख्य समाचार 

सहजपुर बोगटान सडक कालोपत्रे ः ईआईए नहुँदा ढिलाई

रामहरि ओझा
कात्तिक २४
“आज शिलान्यास भएको छ, भोली नै पिच हुन्छ भनेर नसोच्नु होला । भोलीदेखि धुलो उड्यो भने प्रधानमन्त्रीले शिलान्यास गरेको सडकमा धुलो उड्यो भनेर आलोचना नगर्नुहोला । ३० महिनाभित्र पिस भईसक्छ, अनि सररर गुड्छ गाडी । ३० महिना पर्खिनुहोला ।’ 
गएको फागुन ७ गते डोटीको बिपिनगरमा सहजपुर–बोगटान सडक कालोपत्रेको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषणको अंश हो यो । सडक काटिएको झण्डै ४० बर्षपछि कालोपत्रे हुन लागेको सहजपुर–बोगटान सडकको शिलान्यासका क्रममा ओलीले तोकिएको समयमै कालोपत्रे सम्पन्न हुने वताएका  थिए । तर, ठेक्का सम्झौता भएको करीव एक बर्ष पुग्न लाग्दा कालोपत्रेको काम भने ११.५ प्रतिशत मात्रै काम हुनुले प्रधानमन्त्रीको त्यो दावी कतै झुटो हुने पो हो कि भन्ने संका स्थानीयमा उम्जिएको छ । 
कहिले सडक कालोपत्रे होला र सुरक्षित यात्रा गर्न पाईएला भन्ने आशमा बसेका स्थानीयबासीहरु प्रधानमन्त्री स्वयंले कालोपत्रेको शिलान्यास गर्दा आशाबादी भएका थिए । तर वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) समयमै नहुँदा काम ढिलो हुन थालेपछि फेरी शसंकित भएका छन् । 
‘काम त भईरहेको छ तर जुन गतिमा हुनु पर्ने हो त्यसरी भएको छैन्’ कैलाली चुरे गाउँपालिका–२ का खेमवहादुर पातली भन्छन् ‘बन क्षेत्रमा रुख कटानी आदेश नपाईएका कारण ढिलो भयो भन्छन्, यो आदेश पाईने हो कि नपाईने पो हो ।’ कटानी आदेश नपाईए कालोपत्रे नहुने र फेरी आफुहरुले धुले सडकमै असुरक्षित यात्रा गर्नु पर्ने पो हो कि भन्ने चिन्ता छ पातलीलाई । 
यस्तै दुखेसो पोख्छन् चुरे गाउँपालिका–१ का रामवहादुर बिक । उनलाई काम किन ढिलो भईरहेको छ भन्ने बारे जानकारी छैन । तर, काम ढिलो भईरहेकोमा चिन्ता भने छ । सडक कालोपत्रे हुने भन्ने कुरा आठ/नौ बर्षअघिदेखिनै सुन्दै आएका बिक भन्छन् ‘फेरी यो काम बिचमै रोकिने पो हो कि !’ 
सडकको काम तोकिएकै समयमा हुनु पर्ने माग राख्छन् डोटी बडीकेदार गाउँपालिका–१ अर्जुन बहादुर । उनी भन्छन् ‘गाउँगाउँमा कुनै प्रक्रिया पुरा नगरि सडक काट्ने नाममा पुरै जंगल सखाप गर्दा समेत कसैलाई वास्ता हुँदैन, तर ४० बर्ष पहिले काटिएको सडकमा कालोपत्रे गर्नका लागि अनेक झमेला गर्न थाले ।’ उनी अनावश्यक बखेडा झिकेर सडकको काम हुन नदिने खेल पो हो कि भन्ने चिन्तामा छन् ।
ईआईए छिटै भए समयमै काम सक्ने निर्माण पक्षको दावी 
वातावरणीय प्रभाव मुल्याङ्ककनको काम नटुङ्गिदा काम गर्न ढिलाई भएको निर्माता कम्पनी पिआरएल–कुमार जेवीका आयोजना सम्पर्क प्रवन्धक ईश्वर बस्नेत वताउँछन् । ‘कालोपत्रे हुने ५० किलोमिटरमध्ये ४१ किलोमिटर बन क्षेत्रमा पर्छ’ बस्नेतले भने ‘ईआईएको प्रतिवेदन नआएसम्म कटानी आदेश आउँदैन, त्यसैले दु्रत गतिमा काम हुन सकिरहेको छैन ।’ उनले यस बिषयमा सरकारलाई पनि चाँसो नभएको वताए । 
आफुहरुले रुख छल्दै काम गर्दै गरिरहेको वताउँदै बस्नेत भन्छन् ‘यदि समयमै ईआईएको काम सकिने हो भने हामी तोकिएकै समयमा काम सम्पन्न गर्छौं ।’ उनले अर्को समस्या मुआव्जाको रहेको वताए । मुआव्जाको बिषयमा सम्झौतामा कुनै कुरा उल्लेख नभएको तर सडकमा पर्ने घर हटाउनु पर्ने अवस्था रहेको बस्नेत    वताउँछन् । ‘एक घर त पुरै भत्काउनु पर्छ, अन्य ६० घरहरुमा कसैको सिंडी, कसैको पाली, कसैको आँगन भत्काउनु पर्ने अवस्था छ’ बस्नेत भन्छन् ‘यस बिषयमा अहिलेसम्म केही भएको छैन, मुआव्जा कसले दिने हो भन्ने पनि जानकारी छैन ।’ 
यदि ईआईए र मुआव्जाको बिषय छिटो टुङ्गो लागे काम द्रुत गतिमा हुने उनी वताउँछन् । ‘हामीले १३ वटा मेसिन साईडमै राखेका छौं, दुई मेसिन फेरी आउँदैछन्’ उनले भने ‘तर मेसिन काम नपाएर थन्किएका छन् ।’ हाल तीन सय मजदुरले काम   गरिरहेको वताउँदै बस्नेतले चार सय मजदुर थप्ने तयारी  भईरहेको सुनाए । 
ईआईएको काम छिटै टुङ्गिने वताउँछिन् सडक सुधार तथा विकास आयोजना अन्तरगतको सहजपुर(बोगटान सडक आयोजना प्रमुख कल्पना अधिकारी । उनले भनिन् ‘ईआईएको काम अन्तिम चरणमा पुगिसकेको छ, अव एक÷दुई महिनाभित्रै अन्तिम प्रतिवेदन आईसक्छ ।’ मुआव्जाको बिषयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको बैठक बसेर टुंग्याउने अधिकारीले जानकारी दिईन् । 
कैलालीको सहजपुरदेखि डोटी बडीकेदारको गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रेका लागि ५ डिसिम्वर २०१८ मा पिएलआर–कुमार जेवीसंग सम्झौता भएको थियो । सम्झोता अनुसार १७ जुन सन २०२१ मा सात मिटर चौडा कालोपत्रे र कालोपत्रेको दाँया बाँया एक÷एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नु पर्नेछ । एक्जिम बैङ्क अफ ईन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रकम एक करोड, ९६ लाख, ९३    हजार, तीन सय १२ अमेरिकी डलर रहेको छ ।

सम्पादकीय 

अव टुंग्याउनै पर्छ ।

पछिल्लो चरणमा सिमा बिवादको बिषयले चर्चा पाएको छ । भारतले एकतर्फी रुपमा सार्वजनिक गरेको आफ्नो देशको नयाँ नक्सामा नेपाली भु–भाग लिपुलेक पनि समावेश भएको भन्दै नेपालमा भारतबिरुद्ध तरंग सिर्जना भएको छ । देशव्यापी रुपमा प्रदर्शन भएको छ । हिमाल, पहाड, तराई सवैतिर नेपाली भूमिको रक्षाका लागि दवावमूलक कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । यसले नेपाली भूमिप्रतिको नेपाली जनताको अपनत्व प्रदर्शन गर्दैछ ।
नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहँदै आएको नेपाली कांग्रेसले ईतिहासमै पहिलो पटक भारतलाई ‘बिस्तारबादी’ भन्दै सडकमा  नारा लगाएको छ । यसले पनि अव सिमा सुरक्षाको सवालमा राष्ट्रिय राजनीतिमा एकताको माहोल सिर्जना गरेको छ । राजाबादीको रुपमा पहिचान वनाएका दलहरुले पनि भारतले गरेको सिमा अतिक्रमणमा जोर सोरका साथ आवाज उठाउँदै आएका छन् । सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताहरु समेत सडकमा छन् । अन्य प्रजातान्त्रिक तथा कम्युनिष्ट घटकहरुले पनि सिमा अतिक्रमणको बिरोध गरेका छन् । प्रतिवन्धित राजनीतिक समूह बिप्लव नेतृत्वको नेकपाले पनि भारत बिरुद्ध आन्दोलन गर्ने घोषणा  गरेको छ । नागरिक समाज संस्थाहरु पनि भारत बिरुद्ध मुख खोल्दैछन् । 
यसको संकेत हो सिमा सुरक्षाको बिषयमा भारतसंग आरपारको लडाई गर्न माहोल तयार भएको छ । अव सरकार पछाडि हट्नु हुँदैन जुनसुकै अवस्थामा भारतले गरेको हेपाह प्रबृत्ति, बिस्तारवादी शैलीको मुखतोड जवाफ दिनका लागि सरकार तयार हुनु जरुरी छ । यो राजनीतिक स्वार्थको बिषय होईन, यो राष्ट्रिय स्वाभिमानसंग जोडिएको बिषय हो । 
अव लिपुलेक, लिम्पियाधुरा, कालापानीको बिषय मात्रै होईन्, सुस्ता, महेशपूर, लक्ष्मणपुर, गड्डाचौकी, पुनर्बास, जहाँ जहाँ सिमा बिवाद छ, ति सवै ठाउँको बिषयमा प्याकेजमा छलफल हुनु जरुरी छ । बिगतको जस्तो ‘जि हुजुर’ ले अव काम चल्दैन । अव सिमा  सुरक्षाका सवालमा “शुन्य सहनशिलता” को बिकास गर्नु जरुरी छ । देशभित्रको टुँडिखेलको बिषयमा फेरी पनि कुरा उठाउँदा हुन्छ, यो हाम्रो आन्तरिक मामिला हो । स्वास्थ्य क्षेत्रको बिषयमा फेरी पनि  कुरा गरौंला, यो हाम्रो नीतिगत सुधारको बिषय हो । तर, सिमाको बिषय अन्तराष्ट्रिय सवाल हो, देशको स्वाधिनतासंग सम्वन्धित सवाल हो, देशको सार्वभौमिकताको सवाल हो । त्यसैले हामीले सिमाका सवालमा गम्भिर हुनु जरुरी छ । 
निश्चित रुपमा टुँडिखेल पनि महत्वपूर्ण सवाल हो । हाम्रो सार्वजनिक सम्पत्ति, ऐतिहासिक महत्वको बिषय, यसरी दिनप्रतिदिन मिचिनु राम्रो कुरा होईन । तर टुँडिखेल मिच्नेहरु नेपाली हुन्, नेपालीहरु नेपालमै छन् । उनीहरुलाई पछि पनि समात्न सकिन्छ । नभए सरकारले मेसिन प्रयोग गरेर टुँडिखेल खाली गर्न सक्छ । त्यसका लागि छुट्टै दवाव सिर्जना गरौंला । अहिले टुँडिखेलको बिषय उठान गरेर सिमा समस्याको मुख्य बिषयलाई ओझेलमा पार्ने कामतिर नलागौं । 
यस्तै बिषय स्वास्थ्य क्षेत्रमा सुधारको पनि हो । डा गोविन्द केसी १७ पटकसम्म शिक्षा क्षेत्रकै सुधारका लागि अनसन बसेका  छन् । न यो सरकारले न यस अघिका सरकारले गोवन्द केसीको मुद्धालाई सम्वोदन गर्न सकेको अवस्था छ । यो बिषय पनि आन्तरिक बिषय हो, डा केसीको बिषयलाई उचालेर अहिले सडकमा टायर बाल्नेहरुले भारत बिरुद्ध प्रदर्शन गरौं, सिमा समस्या समाधानका लागि अन्तराष्ट्रियस्तरमा कुरा उठाउन हामी सरकारलाई दवाव दिऔं । 
एक हुल टुँडिखेलको पछि लागेर सरकारबिरुद्ध प्रदर्शन गर्ने, अर्को हुल डा केसीको पछि लागेर सरकार बिरुद्ध प्रदर्शन गर्ने जुन वातावरण वनेको छ, यसले कतै नियोजित रुपमा सिमा सुरक्षाको मुद्धा ओझेलमा पार्न खोजिएको त होईन भन्ने संका उत्पन्न गरेको  छ । त्यसैले सिमा सुरक्षामा सवैको ध्यान जानु जरुरी छ । 

थप समाचार 

स्वास्थ्य संस्थामा दरवन्दी छन्, स्वास्थ्यकर्मी छैनन्

कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश स्वास्थ्यकर्मीहरुको अभाव रहेको छ । 
सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार सुदूरपश्चिममा एक सय चार चिकित्सकको अभाव छ । समायोजनामा अधिकांश चिकित्सकहरुले संघ रोजेपछि स्वास्थ्य संस्थामा चिकित्सकको अभाव देखिएको हो । 
डोटी जिल्ला अस्पतालमा लामो समयदेखि मेडिकल सुपरिटेण्डेण्ट पद रिक्त छ । यस्तै तीन मेडिकल अधिकृतको दरबन्दी रहेपनि दुई जना मात्र कार्यरत छन् । नवौँ र दशौँ तहका चिकित्सकको दरबन्दी खाली रहेको जिल्ला अस्पतालले  जनाएको छ । पच्चिस शैयाको अस्पतालमा दुई चिकित्सक, एक स्वास्थ्य सहायक, दुई अहेव, एक स्टाफ नर्स तथा दुई अनमीको दरबन्दी रिक्त छ ।
यस्तै बोगटान फुड्सिल गाउँपालिकास्थित केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा डेढ वर्षदेखि चिकित्सक अभाव छ । जोरायल प्राथमिक स्वास्थ्य केन्द्रमा पनि लामो समयदेखि चिकित्सकको अभाव छ । यहाँ स्वास्थ्य सहायकका भरमा बिरामीको उपचार भइरहेको छ । 
संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालमा १९ चिकित्सकको  दरबन्दी रिक्त छ । डडेल्धुरा अस्पतालमा सरकारले एक सय नौ जना स्वास्थ्यकर्मीको दरबन्दी रहने गरी स्वीकृति दिएको छ । स्वीकृत दरबन्दीमध्ये ३७ जनाको मात्रै पदपूर्ति भएको छ । 
स्थानीय सरकार मातहत रहेका डडेलधुराको जोगबुडा अस्पतालमा पाँच चिकित्सकको दरबन्दी रहेकामा सबै      दरबन्दी रिक्त छ ।  
प्रदेश सरकारको मातहत रहेका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा छन् । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी स्थानीय तह मातहत गएपछि हरेक स्वास्थ्य संस्थामा सरकारी दरबन्दीका चिकित्सकदेखि अनमी, अहेबसम्मका स्वास्थ्यकर्मीको अभाव रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । 
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत सेती प्राविधिक अस्पताल साविकको (सेती अञ्चल अस्पताल) कैलाली, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, तथा पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा र अछामका जिल्ला अस्पताल र कैलालीको टीकापुर अस्पताल  छन् ।
यस्तै अछाम जिल्ला अस्पतालमा दुई चिकित्सकको स्थायी दरबन्दी रहे पनि लामो समयदेखि दुई करारका चिकित्सकले सेवा दिइरहेका छन् ।
चौरपाटी गाउँपालिकाको चौरमाडौँ प्राथमिक स्वास्थ केन्द्र र कमलबजार नगरपालिकाको प्राथमिक स्वास्थ केन्द्रमा दुई चिकित्सकको दरबन्दी रिक्त छ ।

रित्तो फर्कियो सेनाको हेलिकप्टर

डडेल्धुरा छोड्न मानेनन् डा केसीले

अनसनरत डा गोविन्द केसीले काठमाण्डौं जान नमानेपछि उनलाई लिन डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकप्टर रित्तो फर्किएको छ । 
आठ दिनदेखि डडेल्धुरामा अनसनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको र यता उपचार सम्भव नभएको भन्दै आईतवार डडेल्धुरा अस्पतालले बिज्ञप्ती जारी गरेपछि उनलाई काठमाण्डौं लैजान सेनाको हेलिकप्टर डडेल्धुराको दह व्यारेक पुगेको थियो । तर, डा केसीले आफ्नो स्वास्थ्यमा कुनै समस्या नआएको र आफु काठमाण्डौं नजाने भनेपछि हेलिकप्टर फिर्ता गएको हो । 
‘डा केसीको स्वास्थ्य अवस्था बिग्रेको भन्दै हिजो अस्पतालको बिज्ञप्ती पनि आयो र हामीलाई पनि अस्पतालले जानकारी गरायो’ डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भने ‘मैले सोही अवस्थाको जानकारी मन्त्रालयमा गराएपछि मन्त्रालयले पहल गरेर उहाँलाई लिन भनी सेनाको हेलिकप्टर पठाएको हो । तर उहाँले म जाँदैन भन्नु भयो ।’ 
डा केसीले जाँदैन भनेपछि उनका समर्थकहरुले उनको ईच्छा विपरित जवरजस्ती लैजान नमिल्ने भन्दै बिरोध जनाए । स्थानीयको बिरोधपछि प्रमुख जिल्ला अधिकारीले तत्काल सर्वपक्षीय बैठक आयोजना बोलाएका थिए । बैठकमा समेत जवरजस्ती गर्न नहुने राय आएपछि डा केसीलाई नगलि हेलिकप्टर फिर्ता भयो । ‘बिवाद सुरु भएपछि मैले तत्काल सर्वपक्षीय बैठक बोलाएर छलफल गरेँ’ प्रजिअ पौडेलले भने ‘बैठकबाट बिवाद गरेर जवरजस्ती लैजानु भन्दा सहमतिकै प्रयास गरौं भन्ने राय आयो, त्यसैले पठाउन सकिएन ।’ डा केसीलाई उपचार हुन सक्ने ठाउँ लैजानका लागि फेरी सर्वपक्षीय छलफल गर्ने पौडेलले वताए । 
अस्पतालले आफुलाई नसोधेरै बिज्ञप्ती प्रकाशन गरेकोप्रति डा केसीले आपत्ति जनाएका छन् । उनले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा जितेन्द्र कँडेलसंग असन्तुष्टि पोख्दै भने ‘म यहाँबाट जादै जान्न । म आफ्नो उपचारको लागि आएको होइन, जनताको अधिकारको लागि अनसन बसेको हुँ, जनताको अधिकार सुनिश्चित नभएसम्म जाँदैन ।’ डा केसीले आक्रोसित हुँदै ओलीको गुण्डागर्दी नचल्ने वताए । उनले प्रहरी जनताको सेवक हुनु पर्नेमा ओलीको सेवक भएको समेत आरोप लगाए । 
आईतवार बोल्न नसक्ने भन्दै भेट्न आएका सञ्चारकर्मीहरुसंग प्रतिक्रिया दिन नमानेका डा केसीले काठमाण्डौं लैजाने बिषयमा सोमवार भने आक्रामक प्रतिक्रिया दिईरहेका थिए । उनले जवरजस्ती गर्न नपाईने भन्दै गुण्डागर्दी बन्द गर्न सरकारलाई आग्रह गरे । उनले भने ‘मैले राखेका मागहरु पुरा गरोस न सरकारले, म अनसन तोडेर आफै काठमाण्डौं जान्छु, मलाई कसैले लैजानै पर्दैन ।’ 

२२ सय मिटरको उचाईमा डिप बोरिङ्ग ः खुशी छन् स्थानीयबासी

“ग्यालेनलाई डोकोमा राख्थ्यौं अनि नाम्लो लाएर पिठ्यूमा बोक्थ्यौं । उकालोमा पिठ्यूमा पानीको भारी बोकेर आउन आधा घण्टा त लागिहाल्थ्यो । अचेल भने सजिलो भएको छ, पानी बोक्नु पर्दैन ।’ 
बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौलीमा होटेल व्यवसायी गर्दै आएका खडक वहादुर मन्नी घरमै पानीको धारा पाएपछि खुशी भएका छन् । बर्षैदेखि पानी बोक्दै होटेल चलाउँदै आएका उनी अचेल थोर बहुत तरकारी समेत लगाउने गर्छन् । ‘धेरै दुःख गरियो, बिहानै उठेर खाली ग्यालेन डोकोमा बोक्दै धारामा पुग्नु पर्ने, उता पनि पालो कुर्नु पर्ने अनि उकालोमा बोकेर आउनु पर्ने’ पुराना दिन सम्झदै उनी भन्छन् ‘अव अलि सुख्ख भएको छ ।’ 
उनको जस्तै भोगाई छ स्थानीयबासी प्रेमवहादुर घर्तिमगरको । ‘पानी बोकेर, लुगाफाटो धुनु पर्ने, शौचालयका लागि, बस्तुभाउका लागि सधैं पानी बोकेरै पु¥याउनु पर्ने अवस्था थियो’ घर्तिमगर भन्छन् ‘गाउँपालिकाले जमिनबाट पानी निकालेदेखि त्यो समस्या छैन ।’ 
मन्नी र घर्तिमगर मात्रै होईन, खानेपानीमा सहज पहुँच भएपछि स्थानीयहरु खुशी भएका छन् । पानीकै कारण टाढाको धारामा पालो कुर्दाकुर्दै झगडा समेत हुने गरेको सम्झिन्छिन् एक स्थानीय महिला । उनी भन्छिन् ‘मेरो पालो मेरो पालो भन्दै धारामै झगडा हुन्थ्यो, कति दिन त कुटाकुटै हुने अवस्था आयो ।’ उकालोमा डोकोमा ग्यालेन र ग्यालेनमाथी बच्चा समेत बोकेर ल्याएको उनी सम्झिन्छिन्, भन्छिन् ‘वाध्यता भएपछि सवै काम गर्न सकिने रहेछ ।’ उनी ति दिन फेरी फर्केर नआउन भन्ने चाहन्छिन् । त्यसैले गाउँपालिकालाई आग्रह गर्छिन् ‘दुईचार दिनका लागि मात्रै होईन, योजना सधैंभरी चल्ने वनाउनुहोस् ।’
गाउँपालिका केन्द्रमै पानीको समस्या भएपछि गाउँपालिकाले समाधानको बाटो खोज्न थाल्यो । न त वरपर कतै मुहान छ, दुई हजार दुई सय मिटरको उचाईमा न त कतैबाट पानी ल्याउन नै सकिन्छ । ‘पानीको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने बिषयमा हामीले धेरै अध्ययन ग¥यौं’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद पाण्डेय भन्छन् ‘अन्तमा जमिनभित्रबाट पानी तान्न सकिने प्रबिधिको बिषयमा सोधी खोजी ग¥यौं ।’ 
गाउँपालिकाले एलबी ड्रिलिङ्ग कम्पनीसंग सम्झौता गरेर पानी निकाल्न जिम्मा दियो । एलबी कम्पनीले दुई सय आठ मिटर ड्रिल गरेर पानी निकाल्यो । जमिनभित्रबाट पानी निकाल्ने भन्दा हासोको पात्र भएको थियो गाउँपालिका । तराईमा हेण्ड पम्प देखेका स्थानीयहरु यति उचाईमा जमिनमूनिबाट पानी आउँछ भन्ने बिश्वासै गर्दैनथे । तर, पानी आएपछि उनीहरु खुशी भए ।
‘बोरिङ्गका लागि ३७ लाख खर्च भएको छ’ प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भने ‘मोटर, सौर्य उर्जा पाईप, प्लाष्टिक टंकी आदिमा थप १० लाख गरि करीव ४७ लाखमा योजना वनेको छ ।’ 
पानी निकाल्ने काम उपभोक्ता समितिमार्फत गराउनु पर्ने भन्दै स्थानीयबाट दवाव आएको भएपनि गाउँपालिकाले ठेक्कामै दिने निर्णय ग¥यो । ‘उपभोक्ता समितिलाई दिएको भए यही काम ७०/८० लाखको हुन्थ्यो’ पाण्डेयले भने ‘त्यसैमा पनि गुणस्तरीय काम हुन्छ भन्ने ग्यारेण्टी थिएन ।’ अहिलेको काम गुणस्तरीय भएको उनको दावी छ । 
‘हामीलाई आवश्यकता भन्दा बढी पानी आईरहेको छ’ पाण्डेयले भने ‘अव ५० हजार लिटरको टंकी वनाउने र गाउँपालिका सदरमुकामका साथसाथै पानीको समस्या भएका बर्छैन, पाल्च्यूरी, चिन्ने र काउले गाउँहरुमा पनि यसै योजनाबाट पानी बितरण गर्छौं ।’ पानीको प्रयोगशाला परीक्षण गर्दा गुणस्तर राम्रो पाईएको उनी वताउँछन् । 
पाण्डेयलाई यो योजनाको आयु कति हुन्छ भन्ने जानकारी छैन । तर, उनले सुनेका छन् यो योजना करीव १५÷२० बर्षसम्म चल्छ । हाल नेपाल प्रहरीको खड्यौली अस्थायी पोष्टलाई पानीको व्यवस्थापनको जिम्मा दिईएको पाण्डेयले वताए । 
उक्त योजनाबाट प्रति सेकेण्ड तीन लिटरसम्म पानी तान्न सकिने निर्माता कम्पनी एलबी ड्रिलिङ्गका प्रतिनिधि दिनेश भट्ट वताउँछन् ।’ उनी भन्छन् ‘हामीले भू–गर्भबिद्हरुले गरेको अध्ययनका आधारमा ड्रिलिङ्ग गर्ने हो, उहाँहरुको प्रतिवेदनले त्यही कुरा देखाउँछ ।’ डिटिएच प्रविधिको प्रयोग गरि उक्त योजना निर्माण गरिएको भट्टले भने । तराईका जिल्लाहरुमा यो योजनाको आयू ५० बर्षसम्म पनि रहेको पाईएको तर पहाडमा कति हुन्छ भन्ने कुरा थाह नभएको भट्ट वताउँछन् ।

सिमा सुरक्षा गर्न प्रदेश सरकारको आग्रह

सुदूरपश्चिम प्रदेश सरकारले कालापानी सहित भारतसंग सीमा जोडिएका क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न अनुरोध गरेको छ । 
प्रदेशको मन्त्रीपरिषद् बैठकले भारतले जारी गरेको नक्सामा दार्चुलाको कालापानी, लिपुलेक र लिम्पिया धुरा समावेश गरिएपछि उत्पन्न विवाद कुटनितिक माध्यमबाट सुल्झाउदै सीमा सीमा प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले कालापानी सहित प्रदेशका सीमा नाकामा आवश्यकता अनुसार बिओपीको समेत व्यवस्था गरी  प्रभावकारी सुरक्षा व्यवस्थाका लागि नेपाल सरकारस समक्ष अनुरोध गर्ने निर्णय भएको जनाए ।

१० वडा स्वास्थ्य चौकीबिहिन

डोटीका पाँच स्थानीय तहका १० वडाहरु स्वास्थ्य संस्था विहिन रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
नेपाल सरकारको मापदण्ड अनुसार प्रत्येक वडामा एक आधारभूत स्वास्थ्य केन्द्र हुनु पर्ने व्यवस्था रहेको छ । तर जिल्लाका १० वडाहरुमा स्वास्थ्य चौकी छैनन् । जिल्लाका नौ स्थानीय तहमा कूल ६५ वडा रहेका छन् । ति वडाहरुमध्ये ५५ वडाहरुमा मात्रै मापदण्ड अनुसारका स्वास्थ्य संस्था  रहेका छन् । 
बडिकेदार गाउँपालिकाको वडा नं. २, दिपायल सिलगढी नगरपालिकाको वडा नं. ३, ४ र ७, आदर्श गाउँपालिकाको वडा नं. ३, सायल गाउँपालिकाको वडा नं. २, ५ र ६ र शिखर नगरपालिकाको वडा नं. ३ र ८ मा स्वास्थ्य चौकी नरहेको स्वास्थ्य कार्यालय डोटीका सूचना     अधिकारी महेश बोहराले जानकारी दिए ।  स्वास्थ्य चौकी नभएका वडाहरुमा स्थानीय तहहरुले आफ्नै पहलमा सामुदायिक स्वास्थ्य ईकाई, नगर स्वास्थ्य ईकाई र शहरी स्वास्थ्य ईकाई स्थापना गरेको भएपनि स्वीकृत मापदण्ड अनुसारका स्वास्थ्य संस्थाहरु नरहेको बोहरा बताउँछन् । 
स्थानीय तहहरुले न्यूनतम् स्वास्थ्य सेवामा जनताको सहज पहुँचका लागि जिल्लाभरीमा ३१ वडा स्वास्थ्य ईकाईहरु स्थापना गरेका छन् । बोगटान फुड्सिल गाउँपालिकामा पाँच, जोरायलमा ६, सायलमा दुई, आदर्शमा ६ र बडीकेदार गाउँपालिकामा पाँच स्वास्थ्य ईकाईहरु स्थापना भएका छन् । यस्तै दिपाल सिलगढी नगरपालिकामा चार र शिखर नगरपालिकामा तीन शहरी स्वास्थ्य क्लिनिकहरु स्थापना भएको सूचना अधिकारी बोरा वताउँछन् । 
स्वास्थ्य संस्थाबिहिन वडाहरुमा नयाँ स्वास्थ्य चौकी स्थापना गर्ने पहल भईरहेको वताउँछन् स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी । ‘हामीले स्वास्थ्य चौकी नभएका स्थानीय तहहरुलाई कार्यपालिकाबाट स्वास्थ्य चौकी माग गर्ने निर्णय गरि पठाउन जानकारी गराईसकेका छौं’ मलासीले भने ‘उहाँहरुले पठाउनु भएपछि हामी स्वास्थ्य कार्यालयको तर्फबाट सिफारिस गरेर केन्द्रमा पठाउँछौं, अनि प्रक्रियामा जान्छ ।’ 
तर, हालसम्म कुनै पनि स्थानीय तहहरुबाट त्यस्तो माग आई नसकेको मलासीले जानकारी दिए । उनले भने ‘यदि उहाँहरुले चाँडो पठाउनु भयो भने यसै आर्थिक बर्षमा स्थापना हुने गरि पनि पहल चाल्न सकिने हुने थियो ।’ 
स्थानीय तहहरुले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग गरिरहेको मलासी वताउँछन् । उनले भने ‘स्वास्थ्य संस्थामा कर्मचारीहरुको अभाव छ, यदि स्थानीय तहहरुले करारमा स्वास्थ्यकर्मी राखेर काम नगरिदिएको भए अझै समस्या हुने थियो ।’ 

भारत बिरुद्ध डोटीमा प्रदर्शन

भारतले सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्साप्रति डोटी जिल्लामा पनि विरोध भएको छ । राष्ट्रिय जनमोर्चाले शुक्रबार दिपायलमा कोणसभाको आयोजना गर्दै विरोध जनाएको हो ।
‘लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा राखेर भारतले नेपालको अपमान गरेको छ,’ कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटि कोषाध्यक्ष केशवनाथ योगीले भने,‘यसको हामी घोर निन्दा र भत्सर्ना गर्दछौ ।’ भारत नेपाली भूमिलाई अतिक्रमण गरेर पटक–पटक नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि हस्तक्षेपको प्रयत्न गरिरहेको उनले बताए । ‘हरेक देशलाई आफ्नो सीमाना र माटो प्रिय हुन्छ । त्यसमाथिको आक्रमण सह्य हुदैन्,’ उनले भने ।
भारतले जम्मु, कस्मिर र लद्दाखलाई केन्द्र सरकारको मातहतमा ल्याएसंगै केहीदिन अघि आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । जसमा नेपालको पश्चिमी सीमाना दार्चुलामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा देखाएपछि नेपालमा तीब्र आक्रोश उठिरहेको छ । जसको देशव्यापी बिरोध भईरहेको छ ।
यस्तै सम्पूर्ण डोटेलीहरुको तर्फबाट जिल्ला सदरमुकाम सिलगढीमा पनि भारत बिरुद्ध प्रदर्शन भएको छ ।
युवा बिद्यार्थीहरुको सहभागितामा भारतले गरेको हस्तक्षेपका बिरुद्धमा नाराबाजी गर्दै आफ्नो सिमाको सुरक्षा गर्न सरकारलाई खवरदारी समेत गरिएको युवाहरु वताउँछन् ।  

खेल समाचार 

सागका लागि खेलाडी छनौट

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलका लागि यु–२३ राष्ट्रिय टिम घोषणा गरिएको छ ।
प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले २० सदस्यीय टिम घोषणा गरेका हुन् । आगामी मंसिर १५ देखि हुने सागको पुरुष फुटबलको खेल दशरथ रंगशालामा हुने कार्यक्रम छ ।
यु–२३ टिममा ३ जना सिनियर खेलाडी राख्न पाइने प्रावधान अनुसार गोलकिपर विकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई पनि समेटिएको छ ।
‘हामीले लामो समयदेखि तयारी    गरिरहेका छौ ं। टिममा अनुभवी र क्षमतावान खेलाडी छन्,’ महर्जनले भने ।
छनौट भएको टिममा गोलकिपर  विकेश कुथु, अर्पण कार्की र दीप कार्की रहेका छन् । यस्तै डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ र छिरिङ गुरुङ रहेका छन् 
मिडफिल्डरमा सुजल श्रेष्ठ, सुनील बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आम्दाम्बे र तेज तामाङ रहेका छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा र अन्जन विष्ट रहेको महर्जनले जानकारी दिए ।

महिला भलिवलमा नेपालको तेश्रो जित

एजेन्सी

बंगलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ ।
नेपालले सोमबार भएको खेलमा किर्गिस्तानलाई ३–० को सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५–१५ ले जित्यो । दोस्रो सेटमा २५–१९ ले विजयी भएको नेपालले तेस्रो सेटमा २५–२० को जितको जित निकाल्यो ।  
यसअघि नेपालले आइतबार भएको खेलमा अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको थियो ।
प्रतियोगितामा नेपालसहित घरेलु टोली बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।
राउण्ड रोविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले अरुणा शाहीको कप्तानीमा खेलिरहेको छ ।

चलचित्र/मनोरञ्जन

“च च हुई” मंसिर ६ मा

चलचित्र “च च हुई” मंसिर ६ गतेबाट प्रदर्शनमा आउँने भएको छ । 
अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले अनस्क्रिन रोमान्स गरेको यो चलचित्र प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार–प्रचारलाई तिव्रता दिन थालेको छ । प्रचार–प्रसारकै क्रममा चलचित्रको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।  
आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर र माओत्से गुरुङ फिचर्ड पोष्टर सार्वजनिक भएको हो । क्यारेक्टर पोस्टरमा चारै जना कलाकारलाई कमेडी अन्दाजमा देख्न सकिन्छ । दुई बेकामी युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा फिल्म केन्द्रित छ । 
जीवनको पिङमा मच्चिन खोज्दा आउने परिस्थितिलाई फिल्ममा देखाइएको हो । फिल्ममा आर्यन र भोलाले हङकङ   रिर्टन्स युवकको भूमिका निभाएका छन् । भने, मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । फिल्ममा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको पनि अभिनय छ । 
 रोमान्टिक–कमेडी जनरामा तयार भएको यो फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा सिजन दाहाल र सन्देश अर्याल पटकथा छ । फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । ‘च च हुई’ मा श्री श्रेष्ठको द्वन्द र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

“मिस्टर नेपाली” शुक्रवारबाट

फिल्मी खवर
देव भुषालको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिस्टर नेपाली’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 
फिल्ममा अभिनेता भुवन केसीले दोहोरो भूमिका निभाएका छन् । उनले निभाएको एउटा चरित्र नकारात्मक छ । यो फिल्मबाट दुई कलाकारले फिल्म क्षेत्रमा पाइला राख्दैछन् ।  नायकको रुपमा साहिल श्रेष्ठ र नायिकाको रुपमा कुसुम राउतले अभिनयमा डेब्यू गर्दैछन् । तर, फिल्ममा भुवनको अभिनय रहेका कारण उनीहरुको पर्याप्त चर्चा हुन सकेको छैन । यद्यपि, फिल्मको कथा भने दुईको वरिपरि घुमेको निर्माण टिमले बताएको छ । नयाँ कलाकारलाई डेब्यू फिल्म हिट हुन आवश्यक हुन्छ । 
साहिल र कुसुम पनि यो फिल्मबाट दर्शकमाझ चिनिनेमा विश्वस्त छन् । फिल्ममा साहिलले अमेरिकाबाट फर्किएको एक युवकको भूमिका निभाएका छन् । फिल्ममा भुवनसँग उनको टकराव देख्न पाइनेछ । ‘मिस्टर नेपाली’ सफल भएको खण्डमा साहिल र कुसुमको आगामी यात्रा सहज हुनेमा दुईमत छैन । 
फिल्मले विदेशमा रहेपनि नेपाली मन फेरिँदैन भन्ने कथालाई उठान गरेको छ । राष्ट्रियताको कथाको साथमा कमेडी, प्रेम समेत समावेश भएकाले दर्शकका लागि एउटा पूर्ण प्याकेज फिल्म भएको निर्देशक भुषाल बताउँछन् । प्रेमराज दाहालले फिल्मको निर्माण गरेका हुन् ।

लेख 

कांग्रेसलाई कसले खुवायो राष्ट्रबादको बुटी ?

बिमल पोखरेल
भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रलाई समेटेर जाली नक्सा प्रकाशित गरेपछि नेपालमा व्यापक विरोध भएको छ । वामपन्थी शक्तिहरुले भारतीय हस्तक्षेपको इतिहासदेखि नै विरोध गर्दै आएका थिए । मूलतः नदीनालाको किनबेच, सीमा अतिक्रमण, तराई क्षेत्रको डुवान, राजनीतिक हस्तक्षेप, नाकाबन्दीजस्ता भारतीय अत्याचार र अपराधका विरुद्ध वामपन्थी शक्तिहरुले निरन्तर विरोध गर्दै आएको पाइन्छ । भारतले नेपाली भूमिसमेत सामेल गरेर जाली नक्सा प्रकाशन गरेपछि यसपटक नेपाली कांग्रेस पनि तरंगित भएको छ ।
कांग्रेस भारतविरुद्ध पहिलोपटक तरंगित भएपनि भारतले नेपालमाथि अतिक्रमण गरेको यो पहिलो पटक होइन । हस्तक्षेपका सयौं उदाहरणहरु छन् । नक्सा मात्रै पहिलो पटक प्रकाशित गरेको हो ।
नेपालको परराष्ट्र मन्त्रालयले भारतीय नक्सा प्रकाशित भएका समाचारहरुको बारेमा ध्यानाकर्षण भएको र कालापानी क्षेत्र नेपालको भएको वक्तव्य निकालेको छ । यस हिसावले झिनो स्वरमा भए पनि औपचारिक रुपमा नेपालले आफ्नो धारणा राखेको छ । सरकारले त्यसको सकारात्मक प्रतिक्रिया पाएको छ । आगामी दिनमा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।
राष्ट्रवादी देखिने होडबाजी

कांग्रेसका नेताहरुमा एकाएक राष्ट्रवादी देखिने होडबाजी नै चलिरहेको छ । कुरा कतिसम्म भने कांग्रेसका चन्द्र भण्डारी, धनराज गुरुङहरु त केपी शर्मा ओलीभन्दा पनि राष्ट्रवादी देखिने प्रयासमा लागेका छन् । सभापति शेरबहादुर देउवाले भारतीय राजदूतलाई फोनै गरेर कालापानी क्षेत्र नेपालको भएको प्रतिक्रिया दिएका छन्, जुन राजनीतिक रुपमा सही प्रतिक्रिया हो ।
कैयौं पटक सायद कांग्रेसहरुको छोटो बुद्धिका  कारण हुन सक्छ, नेकपाले नाकाबन्दीको विरोध गरेर दुई तिहाई ल्यायो, हामीले पनि कालापानी क्षेत्रमाथि भारतीय हस्तक्षेपको विरोध गर्ने हो भने जनताको मन र मत जित्न सकिन्छ भन्ने मानसिकता कांग्रेसमा पलाएको जस्तो  देखिन्छ । यदि त्यही मनस्थितिले कांग्रेसमा काम गरेको हो भने कांग्रेसको अहिलेको प्रतिक्रियाले दीर्घकालीन महत्व राख्न सक्ने देखिँदैन । तर, तत्कालीन रुपमा नेपालमा सकारात्मक सञ्चार भने अवश्य पैदा भएको छ ।
तर, मौसमी तरिकाले राष्ट्रवादी देखिने होडबाजीले समस्याको समाधान हुन नसक्ने कुरा पनि प्रष्ट छ ।           राष्ट्रवादी देखिनका लागि देखिने कुरा होइन, यो व्यवहारबाट प्रमाणित गर्ने कुरा हो ।
भारतीय विस्तारवाद मुर्दावादको नारा
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्ना व्यानरहरुमा इतिहासमै पहिलो पटक हुनुपर्छ, भारतीय विस्तारवाद भनेर लेखेको छ । विद्यार्थी नेताहरुले पनि भारतीय विस्तारवाद मुर्दावाद भनेर नारा लगाएका छन् । विद्यार्थी नेताहरुलाई यति भन्न कांग्रेसका नेताहरुले अनुमति दिएका छन् कि छैनन् भन्ने खुलेको छैन । तर, केही नेताहरुले हरियो बत्ती बालेकै हुनुपर्छ भनेर आँकलन गर्न सकिन्छ ।
२०६२ सालको आन्दोलनमा कांग्रेसका विद्यार्थीहरुले पनि कम्युनिष्टका विद्यार्थीहरुसँग मिसिएर गणतन्त्रको     नारा लगाएका थिए । कांग्रेसले निर्णय गरिसकेको थिएन । अब कांग्रेसको दिमागमा भारतीय विस्तारवाद पसिसकेको देखिन्छ । कांग्रेसको दिमागमा भारतीय विस्तारवाद पस्नु ढिलै भएपनि सकारात्मक कुरा हो ।
भारतले नेपालको हजारौं हेक्टर भूमि अतिक्रमण गरेको छ । सीमानाका नेपालीहरुलाई दुःख दिइरहेको छ । यस हिसावले कांग्रेस भारतीय हस्तक्षेपको विरोधमा उत्रिनु देशको हित हुने कुरा हो ।
सञ्जीवनी बुटीको खोजी
नेपाली कांग्रेस अहिले निरन्तर छटपटाइरहेको छ । संसद्मा दरिलो प्रतिपक्षको भूमिका खेल्न नसकेको नेपाली कांग्रेसले देशको राजनीतिमा सञ्जीवनी बुटीको खोजी गरिरहेको छ । तर कांग्रेसले खोजेको सञ्जीवनी बुटी भेटाएको छैन । देशको राजनीतिमा कांग्रेसले खोजेको सञ्जीवनी बुटी तत्काल भेटिने कुनै सम्भावना पनि छैन । कांग्रेसले आजसम्म गरेको भनेको सत्तास्वार्थको राजनीति हो । दुई दशकभन्दा बढी सत्तास्वार्थ र लुटको धन्दा जनताकै नाममा चलाएको थियो । अहिले सरकार भन्दा बाहिर रहेका कारण कांग्रेसले उठाइरहेका सरकार विरोधी गतिविधिहरुलाई जनताले पत्याएका छैनन् ।
भारतीय नक्सा कांग्रेसको लागि सञ्जीवनी बुटी होइन । किनभने कांग्रेसले यति लामो समयपछि बल्ल कालापानीबारे आफ्नो मुख खोलेको छ । कैयौं पटक भारतीय डिजाइनमा सत्ता फेरबदल र आफ्नो स्वार्थसिद्धिमा लागेको कांग्रेसले राष्ट्रियताको पक्षमा कहिल्यै बोलेको थिएन । देशको राष्ट्रियता, मिचिएको सीमा, तराईको डुवान, विदेशीहरुलाई नागिकता वितरण जस्ता मुद्दाहरुमा कांग्रेसले नेपाली जनता सामु कैयौं कठिन परीक्षा दिनुपर्ने हुन्छ ।
भारतले जति पनि हस्तक्षेपहरु गर्दै आएको थियो, ती कुनै पनि हस्तक्षेपका विरुद्ध कांग्रेसले कहिल्यै पनि बोल्न सकेको थिएन । दशकौं बोल्दै नबोलेको कांग्रेसले कालापानीको विषयमा विद्यार्थीलाई सडकमा पठाउँदैमा, भारतीय राजदूतलाई फोन गर्दैमा वा युवा नेताहरुलाई ट्वीट गर्न लगाउँदैमा जनताले पत्याइ हाल्ने अवस्था छैन । यो कांग्रेसको प्रारम्भिक परीक्षा मात्रै हो ।
कांग्रेसको भारतप्रति समर्पणको नीति
नेपाली कांग्रेसले भारतप्रति इतिहासदेखि नै समर्पणको नीति लिंदै आएको हो । उसले कैयौं पटक भारतकै सहयोगमा सत्तारोहण गरेको छ । नेपाली जनताको भोट प्राप्त गरेर भारतीय स्वार्थमा सत्ता सञ्चालन कांग्रेसको इतिहासदेखिकै बदमासी हो । नेपाली कांग्रेसले भारतप्रति सधैंभरी समर्पणको नीति लिंदै आएको हो । कांग्रेसको भारतप्रतिको समर्पणको नीति कहिले खुला र भद्दा प्रकारले हुने गरेको थियो भने कहिले देखिनु पर्दैन थियो ।
भारतले तराईको डुवानमा, सीमा अतिक्रमण, सीमा क्षेत्रका जनतामाथि भारतीय प्रहरीको हस्तक्षेप जस्ता विषयमा कांग्रेसले कहिल्यै पनि औपचारिक रुपमा बोलेन । भारतले जतिसुकै हस्तक्षेप गरेपनि सहेरै बस्नुपर्छ भन्ने दब्बु नीतिको कारण भारतीयहरुले नेपालमाथिको हस्तक्षेपलाई निरन्तर बढाएर लगे । यदि कांग्रेस पनि  भारतीय हस्तक्षेपको विरुद्धमा बोल्दै आएको भए भारतको हस्तक्षेप यो तहसम्म बढेर जाने थिएन ।
दब्बु राजनीति र लुलो कुटनीति
नेपालका नेताहरुले भारतप्रति दब्बु राजनीति गर्दै आएका छन् । सन् १९५० को नेपाल भारत मैत्री सन्धि पुनरावलोकन गर्नको लागि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले भारतीय पक्षसँग कुरा राखेको भनिए पनि त्यो नेपाली राजनीतिमा प्रचार गरेर राष्ट्रवादी देखिनका लागि थियो भन्ने कुरा त्यसपछि कुनै ठोस पहल नगरिनुले प्रष्ट पारेको छ । कांग्रेस, एमाले वा माओवादीका कुनै पनि प्रधानमन्त्रीहरुले भारतसँग सार्वभौमिकताको होइन कि दब्बु राजनीतिक सम्बन्ध राख्दै आएको कुरा घामजत्तिकै छर्लङ्ग छ । भारतको हेपाहा प्रवृत्ति र नेपाली नेताहरुको दब्बु राजनीतिक सम्बन्धका कारण नेपालले ठूल्ठूला क्षतिहरु बेहोर्नुपरेको छ ।
राजनीतिमा मात्रै होइन, नेपालले  भारतसित सधैंभरि लुलो कुटनीति अपनाउँदै आएको थियो । लुलो कुटनीतिले नेपालमाथिको दबाब वा हस्तक्षेप थेग्न सकिँदैन । भारतले बारम्बार गर्दै आएका हस्तक्षेपलाई सहने तर समाधानका लागि कुनै दह्रो कूटनीतिक पहल नगर्ने पुरानो र जिर्ण भएको रोग नेपालमा व्याप्त छ । त्यसका धेरै कारणमध्ये दब्बु राजनीति र लुलो कुटनीति प्रमुख हुन् ।
प्रधानमन्त्री वा प्रमुख दलका नेताहरुले नै भारतप्रति दब्बु राजनीति अंगालेपछि भारतीय संस्थापन पक्षले नेपालप्रति जहिल्यैसुकै हेपाहा प्रवृत्ति अंगाल्दै आएको छ । २०७२ सालको संविधान घोषणा गर्दाखेरिको नाकाबन्दी र अहिले प्रकाशित जाली नक्सा त्यसैको निरन्तरताका घटनाहरु हुन् ।
अब राष्ट्रिय एकता
ढिलै भए पनि भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय एकता देखिँदैछ । प्रधानमन्त्रीले सबै दलहरुको धारणालाई एकीकृत गर्ने जुन प्रयत्न गरेका छन्, त्यो सही छ । तर, त्यो प्रयत्न केवल प्रयत्नमा मात्रै सीमित रहनु हुँदैन । राजनीतिक र कुटनीतिक तहमा भारतसँग छलफल चलाउनुपर्छ । ६० वर्षदेखि कालापानीमा बसिरहेका भारतीय सेना फिर्ता हुुनुपर्छ र भारतीय नक्सा सच्याइनुपर्छ । त्यसबाहेक अर्काे कुनै पनि विकल्प छैन ।
भारतीय नक्साको विरुद्धमा देशमा ठूलो जनसमर्थन प्राप्त भएको छ । सरकारले भारतसँग राजनीतिक कुटनीतिक पहल गर्ने वातावरण यस भन्दा अगाडि कहिल्यै थिएन । राजनीतिक दल र जनता एक ठाउँ छन् । सरकारी पहलबाट कालापानीको बारेमा मात्रै होइन, भारतले अतिक्रमण गरेको सम्पूर्ण भूमि फिर्ता ल्याउन कदम चाल्नुपर्छ र ठोस परिणाम निकालिनुपर्छ । अब कहिल्यै कालापानी र नेपाली भूमि भारतले मिच्यो भनेर सडकमा आउन नपरोस् ।     — अनलाईन खवरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. छोरीलाई दाईजोको रुपमा चिउरीको बोट दिने चलन कुन जातीमा रहेको छ ? —चेपाङ 
(चिउरीको बियाँ पेलेर घिउ निकाल्न सकिने र चिउरीको बियाँ माछा मार्नमा पनि काम लाग्ने भएको हुँदा छोरीले जीवनभरी माछामासु र घिउ खान पाउछे भन्ने बिश्वासका साथ छोरीलाई चिउरीको बोट दाईजो दिने चलन छ ।)
२.‘कुनै गतिशील बस्तुमा उत्पन्न हुने प्रवेग त्यस वस्तुमा लगाईएको बलसंग समानुपातिक हुन्छ भने पिण्डसंग व्युत्क्रमानुपातिक हुन्छ ।’ यसले न्युटनको गति सम्वन्धी कुन नियमलाई बुझाउँछ ? 
— दोश्रो नियम 
३. ‘घडीलाई नहेर, यसले जे गर्छ त्यही गर । निरन्तर अघि बढ ।’ भन्ने भनाई कसको हो ? 
— साम लेभेन्सन, हास्य अभिनेता 
४. बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्वारा वि.सं. २०७५ कात्तिकमा प्रदान गरिएको सुप्रबिध स्मृति नवीकर–णीय उर्जा पुरस्कारबाट सम्मानित हुने संस्था कुन कुन हुन ? 
— ललितपुरको नेपाल यन्त्रशाला ईनर्जी, स्याङ्जाको खिलुङ कालिका एग्रो फर्म र नवलप–रासीको एमके पेपर मिल्स प्रा.लि. 
५. सन २०१८ मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता हुन सफल नेपाली कलाकारद्वारा गाईएको गीत कुन बिषयसंग सम्वन्धित छ ? — वातावरण संरक्षण÷प्रवद्र्धन 
(उक्त गीत राष्ट्रकवि माधव धिमिरे र अन्य प्रतिस्ठित कलाकारको स्वरमा रेकर्ड भएको हो) 
६. नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानदेखि हवलदारसम्मले पाखुरामा लगाउदै आएको दज्र्यानी चिन्ह सम्वन्धमा के व्यवस्था गरिएको छ ?  — काँधमा लगाउने 
(पाखुरामा लगाउँदै आएको दज्र्यानी चिन्ह भिडभाडमा खस्न सक्ने र चिन्ह अड्काउन प्रयोग गरिने पिनले घाउ चोट हुन सक्ने भएकाले अन्य प्रहरी अधिकृत सरह हवलदार र जवालनले पनि काँधमा चिन्ह लगाउने व्यवस्था गरिएको छ) 
७. सरकारले २०७५ साल कात्तिकमा कति ओटा नयाँ पर्यटकीय गन्तव्य छनौट गरी सार्वजनिक गरेको    छ ?   — एक सय 
८. मानवअधिकारबादी एवं स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन कहिले भयो ? 
— २०७५ साल कात्तिक १८ गते 
९. वातावरणीय स्वच्छता सूचकाङ्क–२०१८ मा पहिलो पाँच स्थानमा रहन सफल राष्ट्र कुन कुन हुन ? 
– क्रमशः स्वीट्जरल्याण्ड, फ्रान्स, डेनमार्क, माल्टा र स्वीडेन 
(१८० राष्ट्रको अध्ययन गरी तयार पारिएको सो प्रतिवेदन अनुसार नेपाल १७६ औं, भारत १७७ औं कङ्गो १७८ औं, बंगलादेश १७९ औं र बुरुण्डी १८० औं स्थानमा रहेका छन्) 
१०. अमेरिकी अन्यरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्ययनका लागि पठाईएको अन्तरिक्ष यान कुन हो ?  — क्यासिनी
११. नेपालमा सर्वप्रथम टेलिप्रम्टर प्रबिधिको प्रयोग कहिले गरियो ?  — बि.सं. २०७५ जेठ १६ गते 
१२. नेपालमा नयाँ बर्षको पहिलो सातालाई ‘बन्यजन्तु सप्ताह’ को रुपमा कहिलेदेखि मनाउँदै आईएको    छ ?   — वि.सं. २०५३ 
१३. सार्क क्षेत्रको सवैभन्दा ठुलो ताल कुन हो ?   —चिल्का ताल, भारत 
(१४. कुनै बस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनको कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ? 
स्थिति शक्ति (तन्किएको रवरमा जम्मा भएको शिक्त, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दवाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात पोटेन्सियल पावरका उदाहरण हुन् ।)
१५. नेटुवा जातिको बसोबास कहाँ रहेको छ ?    — कपिलबस्तुको शुद्धोधन 
(२०६८ को जनगणना अनुसार कपिलबस्तुमा ३०० को हाराहारीमा नेटुवा जातिको बसोबास रहेको    छ, यो जातिका मानिसले आफुलाई अल्पसंख्यक जातिको सूचीमा राख्न सरकारसंग माग गर्दै आएका छन् ।)
१६. पहिलो पुरुष अन्तरिक्ष पर्यटक डेनिस टिटो हुन भने पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन ? 
— अनुसेह अन्सारी 
१७. उत्तर कोरियाले जापानको आकाशमाथी व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ? 
— सन २०१७ सेप्टेम्वर १५ 
१८. पहिलो बिश्व संस्कृत सम्मेलन कहिले र कहाँ भएको हो ?  
— सन १९७२ मार्च २६–३१, नयाँ दिल्ली 
१९. बिश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?  — रुस 
२०. सार्कको अठारौं शिखर सम्मेलनमा सवै आठ सदस्य राष्ट्रले औपचारिक सम्झौता गरी सहमति गरेको बिषय कुन हो ?   — जलबिद्युत उर्जा  
२१. नेपालको ईतिहासमै पहिलो पटक प्याराग्लाईडिङ एक्युरेसी बल्र्डकफ प्रतियोगिता २०१८ कहाँ सम्पन्न भयो ?    — स्याङ्जा, २०७५ कात्तिक १५–१८
(बि.सं. २०७५ कात्तिक १५–१८ सम्म चलेको प्रतियोगितामा दक्षिण कोरिया पहिलो स्थानमा रहन सफल भएको छ । दक्षिण कोरियाले एकल पुरुष, महिला तथा समूहगत प्रतियोगितामा बाजी मारेको छ । प्रतियोगितामा नेपाल, स्लोभानिया, चीन, क्यानडा, नेदरल्याण्डस्, भारत, ईन्डोनेसिया, साउदी अरेविया, सिंगापुरका ५३ पुरुष र १७ महिला गरी ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।)

साहिन्य/सिर्जना 

नेपाली हुनै सकेनौं

आमाले भनिन्
छोरा तिमि कार्गिलमा लड्यौ, अर्कैका लागि
फकल्यान्डमा लड्यौ, अर्कैका लागि
गोरखा रेजिमेन्टमा गयौ, अर्कैका लागि
भिसि थाप्यौ, अर्कैका लागि
परमविर चक्र पायौ, अर्कैका लागि
गोर्खाली प्रशिद्धि कमायौ, अर्कैका लागि
वीर भयौ, अर्कैका लागि
बहादुरीको पगरी गुथ्यौ अर्कैको लागि
तिम्रो रगत बग्यो अर्कैको लागि
तिम्रो पसिना चुह्यो अर्कैको लागि
तिमिले कतारलाइ हराभरा बनायौ
तिमिले मलेसियालाई रङ्गीन बनायौ
तिमिले कुवेतलाई खुबसुरत बनायौ
तिमिले कोरिया सजायौ, अरब सिंगारेउ
तर, तिम्रो आफ्नै
जुम्ला, बाजुरा, दार्चुला
मुस्ताङ, रोल्पा, दैलेख
इलाम, ताप्लेजुङ, पाँचथर
खालि खालि भइरहे, रित्ता रित्ता भइरहे
शून्य शुन्य भइरहे
यता पराशन, कञ्चनपुरको पीडा
उता सुस्ता महेशपुरको ब्यथा
बोलिदिने कोहि भएन, सुनिदिने कोहि भएन
तिनको आर्तनाद सुनिदिने कोहि भएन
झन् यता मलाई हेर त छोरा
म कालापानी
म लिपुलेक
म लिम्पियाधुरा
विगत ५७ वर्षदेखि
बिदेशी बुटमुनि पिल्सिदैछु
मेरा छाती माथि तिनको परेड चल्दैछ
तिनका कुन्दाले मेरो शरीर छियाछिया हुँदैछ
मेरो आँशु पुछ्न आउँछौ कि भनी
तिमिलाई पर्खिरैछु,पर्खिरैछु
तिमि त आउँदै आएनांै
तिमि त आउँदै आएनौ
तिमि त कांग्रेस भइरह्यौ
तिमि त कम्युनिस्ट भइरह्यौ
एक आपसमै लडिरह्यौ
एक आपसमै अल्झिरह्यौ
जनजाति भयौ, आदिवासी भयौ
पहाडी भयौ, मधेसी भयौ
बाहुन भयौ, क्षेत्री भयौ
महिला भयौ, पुरूष भयौ
तर, नेपाली हुनै सकेनौ
नेपाली हुनै सकेनौ ।
गड्सेरी माईला

सूचना/सन्देश/बिज्ञापन 

युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धि परियोजना” अन्तरगत जानकारीमूलक सन्देश ।


स्थानीय तहहरुले योजना बनाउँदा प्राथमिकता दिनु पर्ने बिषयहरु 
(क) आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने,
(ख) उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने,
(ग) जनताको जीवनस्तर, आम्दानी र रोजगार बढ्ने,
(घ) स्थानीय बासिन्दाहरूको सहभागिता जुट्ने, स्वयं सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने,
(ङ) स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने,
(च) महिला, बालबालिका तथा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने,
(छ) लैङ्किक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने,
(ज) दीगो विकास, वातावरणीय संरक्षण तथा सम्बद्र्धन गर्न सघाउ पु¥याउने,
(झ) भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने ।
स्थानीय तहहरुले योजना बनाउँदा मध्यम तथा दीर्घकालीन प्रकृतिका आयोजनाहरूको सूची समेत तयार गर्नु पर्नेछ ।
स्थानीय तहहरुले योजना तर्जुमा तथा कार्यान्वयन गर्दा स्थानीय बुद्धिजीवि, विषय विज्ञ, अनुभवी, पेशाविद्, सीमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, दलित, युवा, अल्पसङ्ख्यक, अपागंता भएका व्यक्ति, जेष्ठ नागरिक लगायतका सरोकारवालाहरूको अधिकतम सहभागितामा गर्नु पर्नेछ ।
स्थानीय तहहरुले योजना तर्जुमा गर्दा योजनाको सम्भाव्यता अध्ययनको आधारमा स्रोत साधनको पूर्वानुमान, आयोजनाको प्राथमिकीकरण, योजना कार्यान्वयन तालिका र अनुगमन तथा मूल्याङ्कन योजना समेत तयार गर्नु पर्नेछ ।
नेपाल सरकार तथा प्रदेश सरकारले विशेष कार्यक्रमका लागि अनुदान प्रदान गरी सो कार्यान्वयन गर्न प्रक्रिया निर्धारण गरेकोमा स्थानीय तहहरुले सोही प्रक्रिया बमोजिम सो कार्यक्रम कार्यान्वयन गर्नु पर्नेछ ।
स्थानीय तहहरुले नेपाल सरकार वा प्रदेश सरकारसँगको संयुक्त लगानी वा सार्वजनिक निजी साझेदारीमा कुनै योजना सञ्चालन तथा व्यवस्थापन गर्न सक्नेछ ।
स्थानीय तहहरुले सङ्घीय र प्रदेशस्तरको आयोजना कार्यान्वयनमा समन्वय, सहजीक–रण र सहयोग गर्नु पर्नेछ ।
स्थानीय तहहरुले स्थानीयस्तरका विकास आयोजनाको आवश्यक अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कनको कार्य गर्न सक्नेछ ।
योजना तर्जुमा गर्दा स्थानीय तहहरुले गैरसरकारी संघसंस्था, उपभोक्ता समिति, सहकारी संस्था लगायतका सामाजिक तथा सामुदायिक संघसंस्थाले स्थानीय तहसँगको समन्वयमा रही कार्य गर्नु पर्नेछ ।
कुनै अन्तराष्ट्रिय गैरसरकारी सघंसंस्थाले स्थानीय तहसँग समन्वयमा काम गर्दा त्यस्तो कामको लागि नेपाल सरकारको पूर्व स्वीकृति लिएको हुनु पर्नेछ ।
यसरी स्थानीय तहसँग समन्वय गर्दा 
— स्थानीय तहसंग भएको सम्झौताका आधारमा कुनै अध्ययन, सर्वेक्षण वा कार्यक्रम सञ्चालन गर्ने,
— आफ्नो वार्षिक योजना, कार्यक्रम तथा बजेट स्थानीय तहको वार्षिक योजना, कार्यक्रम तथा बजेटमा समावेश गराउने, 
— स्थानीय तहले तोकेको संयुक्त अनुगमन तथा प्रगति प्रतिवेदन प्रणाली अपनाउने ।
— यस दफाको विपरीत कुनै सङ्घ संस्थाले काम गरेमा स्थानीय तहले त्यस्तो काम    कारबाहीको कार्यान्वयन गर्न रोक लगाउन सक्नेछ ।
स्थानीय तहहरुले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको लागि बिभिन्न विषयमा अन्य स्थानीय तहहरुसँग साझेदारी, सम्झौता वा संयुक्त व्यवस्थापन गर्न सक्नेछ ।

शिक्षक आवश्यकता सम्वन्धी सूचना 

सूचना प्रकाशित मिति ः २०७६/०७/२१
उपर्युक्त बिषय सम्वन्धमा पूर्वीचौकी गाउँपालिका–१,खिरसैन डोटीमा रहेको यस शाजेन्द्रेश्वर माध्यामिक बिद्यालयको नि.मा.बि. तह (आ.बि. तह कक्ष ६–८) को अंग्रेजी बिषयको स्थायी दरवन्दीमा शिक्षक पदपूर्तिका लागि यस अघि नै १५ दिने सूचना प्रकाशित हुँदा कुनै पनि उम्मेदवारको दरखास्त पर्न नगएकोले शिक्षा विकास तथा समन्वय ईकाई डोटीको मिति २०७६/०७/२१ को च. नं. ३८५ को परिपत्र अनुसार शिक्षक पदपूर्ति लागि पुनः ७ दिने यो सूचना प्रकाशित गरिएको छ । 
आवश्यक कागजातहरु 
१. सम्वन्धित बिष्मा क्ष्। भम। वा सो सरह उत्तीर्ण प्रमाण पत्र 
२. शिक्षक अध्यापन अनुमित पत्र 
३. १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको 
४.नेपाली नागरिकको प्रमाण पत्र 
५. आवेदन आई पुग्नु पर्ने अन्तिमि मिति ः २०७६/०७/२७
६. आवेदन दस्तुर ः रु.२५००।–
७. सेवाको किसिम ः अस्थायी करार 
८. सुविधा ः नेपाल सरकारको नियम बमोजिम 
९. परीक्षाको किसिम ः लिखित र मौखिक 
थप जानकारीका लागि सम्पर्क नं. ९८४८४३४६७२

शिक्षक आवश्यकता सम्वन्धी सूचना 

सूचना प्रकाशित मिति ः २०७६/०७/०७१
उपर्युक्त बिषय सम्वन्धमा पूर्वीचौकी गाउँपालिका–१, खिरसैन फुलौट डोटीमा रहेको यस शाजेन्द्रेश्वर माध्यामिक बिद्यालयको मा.बि. तह (कक्ष ९–१०) को राहत दरवन्दीको अंग्रेजी र गणित/बिज्ञान बिषयको शिक्षक पद रिक्त रहन गएकाले शिक्षा विकास तथा समन्वय ईकाई डोटीको मिति २०७६/०७/२१ को च. नं. ३८४ को परिपत्र अनुसार शिक्षक सेवा आयोगले प्रकाशित गरेको करार सूचीमा सूचिकृत उक्त तह र बिषयमा योग्यता पुगेका उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस बिद्यालयमा दरखास्त पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । 
आवश्यक कागजातहरु 
१. सूचना प्रकाशित मिति ः २०७६/०७/२१
२. अन्तिम मिति ः २०७६०८/०५
३. आवेदन दस्तुर ः रु ३०००
थप जानकारीको लागि ९८४८४३४६७२ मा सम्पर्क गर्न सकिने जानकारी गराईन्छ । 
अवश्यक शिक्षक संख्या 
— अंग्रेजी मा.बि. (९–१०) ः १ जना 
— गणित/बिज्ञान मा.बि. (९–१०) ः १ जना

स्वास्थ्य कार्यालय, डोटी
कुष्ठरोग नियन्त्रण कार्यक्रम 

कुष्ठरोग भनेको के हो ? 
 कुण्ठरोग मानिस मात्र लाई लाग्ने अति प्राचिन सरुवा रोग हो । 
 यो आँखाले देख्न नसकिने माईक्रोवेक्टरियम लेप्रे नामक किटाणुबाट हुन्छ । 
 उपचार नलिएको कुष्ठरोगीबाट स्वस्थ मानिसमा हावाको माध्यमबाट सर्दछ । 
 यो वंशाणुगत रोग होईन तथा दैवीय श्राप तथा पापको कारणबाट लाग्दैन । 
 यो रोग नियमित तथा पुरा अवधि उपचार गरेमा पूर्ण रुपले निको हुन्छ । 
 रोग लुकाएर बसेमा अंगभंग भई अपाङ्गता हुन सक्छ । 
 कुष्ठरोगको उपचार प्रत्येक स्वास्थ्य संस्थामा निशुल्क उपलव्ध छ । 
कुष्ठरोगका चिन्ह तथा लक्षणहरु ः 
 शरीरमा नचिलाउने रातो तथा फुश्रो दागहरु देखा परेमा । 
 हात खुट्टा झमझमाएमा वा स्पर्श शक्ति हराएमा । 
 हात खुट्टा तथा आँखाको मांसपेशीहरु कमजोर हुँदै गएमा । 
 स्नायुहरु सुन्निएमा वा पीडा भएमा तथा जोर्नीहरु दुखेमा ।
 कानको लोती बाक्लो भएमा 
 अनुहारको छाला रातो, बाक्लो र चिल्लो भएमा । 
 यदि कुनै व्यक्तिलाई माथी उल्लेखितमध्ये एक वा सो भन्दा बढी लक्षण तथा चिन्ह देखा परेमा नजिकको स्वास्थ्य संस्थामा गई शारीरिक परीक्षण गराउनु पर्दछ । 
कुष्ठरोगको निदान गर्ने मुख्य चिन्हहरु 
 छाला फुश्रो वा रातो र निश्चित रुपमा स्पर्श शक्ति हराएका दागहरु ।
 सतही नशाहरु सुन्निएमा, दुखेमा वा स्नायुबाट सञ्चालित भागहरुमा स्पर्श शक्ति हराएमा वा मांशपेशी कमजोर भएमा । 
 छालाको तन्तुरस जाँच गर्दा कुष्ठरोगको किटाणु देखा परेमा ।  

No comments:

Post a Comment