Monday, March 12, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७४ फागुन २९ गते

बिम्ब नेपाली साप्ताहिक आज १४ बर्ष पुरा गरि १५ औं बर्षमा प्रवेश 


पत्रकार आचार संहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको छ भन्ने पीडित पक्षलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चार माध्यम बिरुद्ध प्रकाशन तथा प्रसारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा उजुरी दिई आप्mनो अधिकारको संरक्षण गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

फेरिदैँ बालश्रमको स्वरुप, बढ्दै बालश्रमिक

रामहरी ओझा
फागुन २८
डोटी पूर्वीचौकी गाउँपालिका घर भएका महेश बोहरा (नाम परिवर्तन) आईतवार बिहानै पाँच वजेतिर जिल्ला सदरमुकाम सिलगढीको एक नीजि घर आँगनमा झाडु लगाउँदै गरेका देखिए । उमेरले १४ बर्ष मात्रै पुगेका उनी बत्तीको उज्यालोमा झाडु मार्दै थिए । एक बर्ष अगाडी देखि स्थानीय एक व्यापारीको घरमा काम गर्दै आएका उनको दिनचर्या प्रत्येक दिन बिहान पाँच वजे आँगन सफाईवाटै सुरु हुन्छ । झाडुसंगै पानी भर्ने, भाँडा धुने, लुगा धुने लगायतका कामहरु सकेर मात्रै उनी करीव १०.३० वजे स्थानीय पद्म पव्लिक मुक्तीनारायण माबिमा अध्ययन गर्न जान्छन् । बिद्यालय छुट्टि नहुँदै उनी फेरी घर फर्केर नियमित काममा लाग्छन् । गर्दागर्दै उनी १० वजे राती मात्रै सुत्न पाउँछन् । 
‘बिहानै उठ्न अल्छी लाग्छ, अलि ढिलो उठ्यो भने बाजेले (घर मालिक) गाली गर्नु हुन्छ’ महेश भन्छन् ‘दिउसभरी काम गर्दा राती थकाई लाग्छ ।’ घरायसी कामका कारण नियमित रुपमा गृहकार्य पनि गर्न नसक्ने अवस्था रहेको उनी बताउँछन् । ‘पढ्न त धेरै रहर लाग्छ तर के गर्नु समयनै हुँदैन’ आर्थिक अवस्था कमजोर भएका कारण काम गर्दै पढ्दै गर्ने सपना बोकेर जिल्ला सदरमुकाम आएका उनी भन्छन् ‘कहिलेकाँही राती निन्द्रा खुलेपछि उठेर गृहकार्य गर्छु ।’ आफुले कसैसंग यस्ता कुरा गरे साहुँले गाली गर्ने गरेको समेत उनको भनाई छ ।
यस्तै पिडा छ साविकको वगलेक गाबिसका अर्का १५ बर्षीय एक बालक अरुण (नाम परिवर्तन) को । करीव ८ महिना अगाडि घर छोडेर जिल्ला सदरमुकाममा एक पसल धनीको घरमा काम गर्दै आएका उनी भन्छन् ‘आण्टी (घरधनी) ले बिहानै उठ् भन्दा घरको याद आउँछ ।’ घरमा बिहान ७/८ वजेसम्म सुत्ने गरेको सम्झदैँ सिलगढी आएदेखि कुनै दिन पनि निन्द्रा नपुगेको उनी वताउँछन । 
महेश र अरुणको मात्रै   कुरा होईन, जिल्ला सदरकाममा यस्ता धेरै महेशहरु र अरुणहरु पढाई दिने वहानामा बालश्रमिक बस्न बाध्य छन् । नीजि घर र पसलमा काम गर्दै पढ्दै गरेका बालबालिकाहरुको अवस्था समान छ । सरकारी कर्मचारीहरु, सामाजिक संघसंस्थामा कार्यरत अधिकारकर्मीहरु र नागरिक समाजका अगुवाहरुले समेत घरघरमा बालश्रमिक राखेका छन तर यसको नियमन हुन सकेको छैन । 
बालश्रमिक राख्ने तरिका फेरिएको छ । बिगतको जस्तै सोझै श्रमिक भनेर नराख्ने भएपनि पढाई दिने बहानामा बाल श्रमिक राख्ने गरिएको छ । 
गैरसरकारी संस्था महासंघ डोटी शाखाका अध्यक्ष रघु कठायत भन्छन् ‘पढाई दिन्छौं भन्ने बहाना मात्रै हो तर यो बालश्रम नै हो ।’ आफुलाई सामाजिक कार्यकर्ता हौं भनेर चिनाउनेहरुले समेत बालश्रमिक राखेकोमा उनी दुःख व्यक्त   गर्छन । भन्छन् ‘मञ्चमा अधिकारका कुरा गरेर थाक्दैनन् तर घरमा बालश्रमिक राखेर श्रम शोषण गरिरहेका हुन्छन् । बालश्रम उन्मुलन गर्न नसक्नु सामाजिक संस्थाहरुको पनि कमजोरी रहेको स्वीकार गर्दै कठायत भन्छन् ‘सरकारले कडाईका साथ प्रस्तुत हुने हो भने गैरसरकारी संस्थाहरुको तर्फबाट हामी सहयोग गर्न तयार छौं ।’
तरिका फेरेर बालश्रमिक राख्ने गरेको स्वीकार गर्छिन निमित्त महिला विकास अधिकृत सबिना श्रेष्ठ । उनी भन्छिन् ‘कतिपय सरकारी कर्मचारीहरुले समेत यसरी बालश्रमिकहरु राखेको देखिएको छ ।’ पढाई दिने बहाना वनाएर कानुनलाई समेत छल्न खोजेको श्रेष्ठको बुझाई छ । ‘बालबालिकाहरुको बृत्ति र विकासमा बाधा पर्ने गरि काममा लगाईनु बालश्रम हो’ उनी भन्छिन् ‘यस्तो गर्नु अपराध हो ।’ कुल बालबालिका संख्याको करीव पाँच प्रतिशत बालबालिकाहरु श्रमिक भएर काम गरिरहनु परेको उनी बताउँछिन् ।
घर र पसलमा मात्रै होईन, होटेल, निर्माण र यातायातका साधनहरुमा समेत बालश्रमिकहरु छन् । बालश्रम (निशेष तथा नियमन गर्ने) ऐन, २०५६ अनुसार १४ बर्षमुनीका बालबालिकाहरुलाई कुनै पनि प्रकारको श्रममा लगाउन नपाईने व्यवस्था छ । यस्तै १४ बर्षमाथीका बालबालिकाहरुलाई दैनिक ६ घण्टा र साप्ताहिक ३६ घण्टाभन्दा बढी काममा लगाउन नपाईने व्यवस्था छ तर पढाई दिने बहानामा बिहान पाँच बजे देखि राती १० बजेसम्म बालबालिकाको श्रम शोषण भईरहँदा पनि सम्वन्धित निकाय मौन छ । 
जिल्ला बाल कल्याण समितिका अध्यक्ष समेत रहेका डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री बहाना बनाएर बालश्रमिकहरु राख्ने गरेको कुरा स्वीकार गर्छन । ‘यसलाई नियमन गर्नु पर्ने त हो तर कर्मचारीहरुलाई स्थानीय तहमा पठाउनु पर्दा जनशक्ति अभावका कारण अनुगमन प्रभावकारी हुन सकेको छैन’ प्रजिअ खत्री भन्छन् ‘अहिलेसम्म बालबालिका सम्वन्धी काम महिला तथा बालबालिका कार्यालयले गरिरहेको थियो, अव नयाँ संरचना अनुसार उक्त कार्यालय रहने वा नरहने भन्ने पनि स्पट भएको छैन ।’ 
जिल्लास्तरका सरकारी कार्यालयहरुले गर्ने काम स्थानीय तहमा गईसकेका कारण बालश्रम निशेष र नियमन गर्ने जिम्मेवारी स्थानीय तहको पनि भएको खत्रीको भनाई छ । 

सम्पादकीय 

आजबाट १५ औं बर्षमा

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल असोज १८ गते जननिर्वाचित सरकारलाई असक्षम घोषणा गरि देशको शासन व्यवस्था निरंकुश शैलीमा सञ्चालन गरिरहेका वेला २०६० साल फागुन २९ गते बिम्ब साप्ताहिक डोटीको नमुना अंक प्रकाशन भएको हो । यस साप्ताहिकले १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । 
दुर्गम क्षेत्रबाट प्रकाशन सुरु गरि १४ वर्षे यात्रा तय गर्न  सहयोग गर्ने आम पाठक वर्ग, नियमित रुपमा बिज्ञापन उपलव्ध गराई दिने बिज्ञापनदाता व्यक्ति, कार्यालय तथा संघसंस्थाहरु, लेखक, रचनाकार, बुद्धिजीजी सूचनादाता, सल्लाह÷सुझावदाता सवैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।    
यस साप्ताहिकको स्थापना भएको करीव एक वर्ष नपुग्दै फेरी ज्ञानेन्द्रले कडा निरंकुश शासन व्यवस्था लागु गरे । जसका कारण बिम्ब साप्ताहिकले लगातार दुई अंक आप्mनो प्रकासन पनि रोक्नु पर्ने अवस्था सृजना भयो । पत्रिका प्रकासनका लागि जिल्ला प्रशासन कार्यालयवाट सेन्सर गर्नु पर्ने अवस्था सृजना भयो । केही अंक सेन्सर गरेरै भएपनि प्रकासन गरी पत्रिका प्रकासनलाई निरन्तरता दिने काम भयो । 
निरंकुश शासनका बिरुद्ध पत्रिकाले नियमित रुपमा लेख रचना प्रकासन गर्ने काम जारी राख्यो । तत्कालीन शाही नेपाली सेनाले  गरेका गलत क्रियाकलापहरु, प्रहरी प्रशासनले गरेका गलत क्रियाकलापहरुको भण्डाफोर गर्ने काममा बिम्ब साप्ताहिक कहिले पनि पछि परेन । निरंकुश शाही शासनको बिरोध गरेका कारण यस पत्रिकाका तत्कालीन प्रधान सम्पादक रामवहादुर ऐरलाई घरमा सुतेका वेला प्रहरीले राती ११ वजे पक्राउ गरी थुनामा राख्यो । पत्रिकामा संलग्न अन्य व्यक्तिहरुलाई थुन्ने, धम्की दिने, पत्रिका खारेज गर्ने धम्की दिने र बिज्ञापन उपलव्ध नगराउने धम्की दिने काम समेत त्यसवेलाका केही सरकारी कर्मचारीहरुवाट भए । 
यति हुँदाहुँदै पनि बिम्ब साप्ताहिकले आप्mनो नियमित यात्रा जारी राख्यो । पाठक वर्गहरुको अपार माया, बिज्ञापनदाताहरुको नियमित सहयोग, लेखक रचनाकारहरुले उपलव्ध गराएको अमुल्य सामग्री र बौद्धिक वर्गहरुको अमुल्य सुझावका कारण बिम्ब साप्ताहिकले १४ वर्षको कठीन यात्रा पार गरेको छ । यस दौरानमा बिम्ब साप्ताहिक प्रेस काउन्सिल नेपालको बर्गीकरणमा घ, ग हुँदै २०६६ सालको बर्गीकरणदेखि निरन्तर “ख” वर्गमा वर्गकरण भएको छ । सुदूरपश्चिमका पहाडि जिल्लाहरुबाट प्रकासन हुने साप्ताहिक पत्रिकाहरुमा हालसम्म “ख” वर्गमा वर्गीकरण भएको बिम्ब साप्ताहिक मात्र हो । 
कठीन र जटिल यात्रालाई सवै क्षेत्रका व्यक्तित्वहरुको सहयोगमा यहाँसम्म पु¥याउन सहज भएको छ । आगामी दिनहरुका पनि यस यात्रालाई निरन्तरता दिने बिम्ब साप्ताहिक टिमको अठोट रहेको छ । यसका लागि बिगतका दिनहरु जस्तै आगामी दिनमा पनि यस साप्ताहिकलाई आम पाठक वर्ग, बिज्ञापनदाता व्यक्ति, कार्यालय तथा संघसंस्थाहरु, लेखक, रचनाकार, बुद्धिजीजी सूचनादाता सवैको अझ वढी सहयोग आवश्यक हुने महसुस भएको छ । पाठक वर्गको चाहना अनुसार बिम्ब साप्ताहिकलाई समयानुकुल परिमार्जित गर्दै लैजाने हाम्रो अठोट रहेको छ । यसका लागि सहयोग गर्न सवैमा हार्दिक अपील गर्दछौं । 
यस पत्रिकालाई निरन्तरता दिने क्रममा थुप्रै साथीहरु पत्रिकासंग जोडिएर महत्वपूर्ण योगदान दिएर अहिले अर्कै पेशामा संलग्न हुनु भएका पत्रिकाका संस्थापक प्रधान सम्पादक सहित सम्पूर्ण साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । उहाँहरु सवैको योगदानको पत्रिका  परिवार उच्च मुल्याङ्ककन गर्दछ । आगामी दिनहरुमा उहाँहरुको प्रत्येक्ष अप्रत्येक्ष सहयोग हाम्रा लागि अति आवश्यक छ ।

थप समाचार

राजधानी दिपायल नै उपयुक्त हो–मन्त्री शाह

प्रदेश नं. ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रादेशिक राजधानीका लागि दिपायल नै उपयुक्त भएको बताएका छन । 
मन्त्री भईसकेपछि पहिलो पटक गृहजिल्ला बाजुरा पुगि फर्कने क्रममा आईतवार अवेर डोटी पुगेका मन्त्री शाहले ऐतिहासिकताको हिसावले, भौगोलिक केन्द्रका हिसावले र संरचनाका हिसावले डोटीनै राजधानी उपयुक्त भएको वताए । उनले भने ‘पहिलेको सरकारले अस्थायी केन्द्र तोक्ने क्रममा धनगढी तोकेको छ, त्यसकारण अव डोटी नै राजधानी हुन्छ भन्न त गा¥हो छ तर मेरो जोड् डोटीमै हुनेछ ।’ उनले यदि राजधानी दिपायल भएन भने पनि एक/दुई मन्त्रालयहरु, बिभागहरु र महत्वपूर्ण परियोजनाका कार्यालयहरु दिपायलमै राख्ने  कुरामा आफु क्रियासिल रहने बताए । 
नेकपा एमाले डोटीद्वारा आयोजना गरिएको मन्त्रीको सम्मान कार्यक्रममा मन्त्री शाहले प्रदेश सरकारका थुप्रै सुरक्षा चुनौतीहरु रहेका बताए । ‘भन्सारमा हुने राजश्व छलि र खुला सिमानाका कारण हुने अपराधहरु रोक्नु पर्नेछ’ मन्त्री शाहले भने ‘लागु औषधको तस्करी, महिलामाथी हुने हिंसाहरु रोक्नु सरकारको प्रमुख काम हो ।’ 
प्राकृतिक स्रोतहरुको सही उपयोग गर्न सके प्रदेश नं. ७ समृद्ध प्रदेश बन्ने शाहको दावी छ । उनी भन्छन् ‘भारतको गौरीफण्टादेखि चिनको ताक्लाकोट जोड्ने सडक निर्माण गर्न सके यस क्षेत्रको धार्मिक पर्यटकीय बिकास हुन सक्छ ।’ उनले खुटिया–बिपिनगर–दिपायल फाष्ट ट्र्याक सरकारको प्राथमिकतमा रहेको बताए । 
एमाले केन्द्रीय बैकल्पिक सदस्य समेत रहेका शाहले कार्यकर्ताहरुलाई अपराधिक क्रियाकलापमा नलाग्न निर्देशन दिए । ‘मदिरा सेवन गरेर फरक पार्टीका कार्यकर्तालाई कुट्ने अनि छुटाउनका लागि प्रहरीलाई भनिदिनु प¥यो भनेर फोन गर्ने काम नगर्नु होला’ मन्त्री शाहले भने ‘यदि राम्रो काम छ भने म जतिबेला पनि सहयोग गर्न तयार छु ।’ उनले आफ्ना छोराछो– रीहरुलाई प्रतिस्पर्धी बनाउन कार्यकर्ताहरुलाई सुझाव दिए । उनले भने ‘अव थुप्रै अवसरहरु छन, ति अवसरहरुका लागि छोराछोरीहरुलाई तयार गर्नु पर्छ ।’

चार बुँदे सहमतिपछि अनसन तोडियो

स्थानीय प्रशासनसंग चार बुँदे सहमति भएपछि टीकापुर घटनामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका २४ जनाले अनशन स्थगित गरेका छन । कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले अनसनकारीहरुलाई जुस खुवाएर अनशन तोडाएका हुन ।
कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रेशमलाल चौधरीलाई शपथ ग्रहण गराईनु पर्ने, टीकापुर घटनाको आरोपमा थुनिएका सवैलाइ रिहा गरिनुपर्ने माग सहित फागुन २० गतेदेखि कैलाली कारागारमा २४ जना आमरण अनशन बस्दै आएका थिए । सांसद रेशम चौधरीको शपथका लागि सम्वन्धित निकायहरुमा जिल्ला प्रशासन कार्यालयले अविलम्व जानकारी गराउने, टीकापुर घटनामा थुनिएकालाई लगाइएका मुद्दा फिर्ता लिन र क्षतिपू्र्ति दिन १५ दिनभित्र सम्वोधन गरिनु पर्ने र यस बिषयमा भएका प्रयासका बिषयमा वन्दीहरुलाई जानकारी गराउने सहमतिपछि अनशनकारीहरु अनसन स्थगित गर्न तयार भएका हुन ।
सहमति अनुसार १५ दिनभित्र आफ्ना माग पुरा नभए फेरी आमरण अनशन सुरु गर्ने अनशनकारीहरुले चेतावनी दिएका छन । यस अघि कैलालीका सवै राजनैतिक दलले बिज्ञप्ती जारी गरि जीवन रक्षाका लागि माग गरेका थिए ।
कैलाली–कञ्चनपुरलाई थरुहट प्रदेशमा राखिनु पर्ने माग सहित भएको आन्दोलनका क्रममा २०७२ साल भाद्र ७ गते भएको घटनामा एक बालक र प्रहरी बरिष्ठ उपरीक्षक सहित आठ प्रहरीको ज्यान गएको थियो । उक्त घटनामा संगल्न भएको भन्दै थुनामा रहेका आरोपीहरुले आफुहरुलाई रिहा गर्नु पर्ने माग राख्दै आएका छन । 

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

डोटी जिल्लामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 
सोमवार डोटीको दिपायल सिलगढी नगरपालिका–५ बषपार्क नजिक भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 
से १ ख १२१५ नं. को टिपर दुर्घटनामा परि दिसिनपा–५ निवासी गाडीधनी एवं चालक देउमनी भनिने अन्दाजी ४० बर्षीय नरबहादुर मलासीको मृत्यु भएको हो । दुर्घटनामा प्रहरी जवान अन्दाजी २५ बर्षीय शंकर मलासी गम्भिर घाईते भएका छन । प्रत्यक्षदर्शीका अनुसार माथी आउदै गरेको गाडी अनियन्त्रित भई तल खसेको थियो । चालक तथा गाडीधनी नरबहादुरका भतिजा शंकर प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत छन । उनी बिदामा घर आएका थिए । 
दुर्घटनामा घाईते भएका चालक नरवहादुरको उपचारका लागि जिल्ला अस्पताल डोटी लैजाँदालैजादै मृत्यु भएको अस्पतालका डा. गिरीश अवस्थीले जानकारी दिए । घाईतेको डोटीमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको डा अवस्थीले वताए । घाईते शंकरलाई दुर्घटनाग्रस्त गाडीमा चापिएका बेला नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीहरुले उद्दार गरेका थिए । 
गाडी सडकबाट करीव ५० मिटर तल खसेको प्रहरी नायव निरीक्षक सुरतबहादुर खड्काले जानकारी दिए । उनले दुर्घटनाको कारण बारे जानकारी नभएको वताए । 
यस्तै आईतवार दिपायल सिलगढी नगरपालिका–४ मा भएको सडक दुर्घटनामा एक बालकको मृत्यु भएको छ । 
आईतवार दिउसो करीव ४.३० वजे सडकमा खेलिरहेका तीन बर्षीय बालक बिश्वास खातीलाई से १ त ९०८ नं. को ट्र्याक्टरले कुल्चेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार शिखर नगरपालिका–१ कपल्लेकी खातीगाउँ घर भई हाल राजपुरमा व्यापार गर्दै आएका सिद्धराज खातीका छोरा बिश्वास सडकमा खेलिरहेका बेला दिपायल देखि राजपुर जाँदै गरेको ट्र्याक्टरले स्थानीय पञ्चेश्वर मन्दिर नजिक कुल्चेको थियो । ट्र्याक्टरले बिश्वासको टाउको किचेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । 
घटनापछि ट्र्याक्टर चालक बालकृष्ण रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
आठ लाखमा कुरो मिल्यो 
क्षतिपुर्ति स्वरुप आठ लाख रुपैयाँ दिने सहमति भएपछि आईतवार भएको सडक दुर्घटनाको मुद्धा सल्टिएको छ । 
घटनापछि चक्काजाम सहित आन्दोलनमा उत्रेका मृतका आफन्तहरुले सोमबार दिउसो साढे १२ बजेबाट मृतक बालकको सब उठाउनुका साथै अवरुद्ध सडक खोलेका छन् । डा. केआईसिंह राजमार्गको दिपायल सिलगढी नगरपालिका– ४ कुलपाते स्थित सडकखण्ड अवरुद्ध पारेका थिए । 
आइतबार साझ साढे चार बजे ट्याक्टरको पछिल्लो चक्काले च्यापिएर शिखर नगरपालिका– १ खातीगाउँका ३ बर्षीय बिश्वास खातीको मृत्यू भएको थियो । मृतकका आफन्तले क्षतिपुर्तिको माग राख्दै आएकोमा प्रहरीले राती छिनोफानो नहुँदै शव उठाउन लागेको भन्दै आक्रोस पोखेका थिए । 
सडकको बिपरित दिशातर्फ रोकेर मर्मत गरिरहेको मिनि ट्रकलाई साइड दिने क्रममा पछाडीको टायरमा च्यापिएर बालकको मृत्यु भएको ईलाका प्रहरी दिपायलका इन्चार्ज दिल बहादुर कुँवरले जानकारी दिए । मृतक बालकका बुवा सिद्धराज खातीको राजपुरमा पसल छ । सडक छेउमा रहेको पसलमा खेल्ने क्रममा बालकको मृत्यु भएको हो । 

महिला हिंसा रोक्न एक रुपैयाँ

आशिष मल्ल/डडेल्धुरा
फागुन २८
डडेल्धुरामा मानव बेचविखन र यौन शोषण न्युनिकरण गर्ने उद्देश्यले ‘एक रुपैयाँ अभियान’ सञ्चालन गरिने भएको छ । महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दे आइरहेको गैरसरकारी संस्था समाज सेवा र मानव अधिकार महिला युवा सशक्तिक–रणले अभियान सञ्चालन गर्न लागेको  हो ।
‘एक लाखको खुशी एक रुपैयाँमा छ किनकि तपाईंको एक रुपैयाँले लाखौं मानिसको जीवन परिवर्तन गर्न सक्छ र उनीहरुलाई मद्दत गर्न सक्छ भन्ने मूल भावनाले अभियान सुरु गर्न लागिएको अधिकारकर्मी भावना ऐरले बताइन् ।
आगामी वर्षको बैशाखदेखि सञ्चालन हुने अभियानको नेतृत्व दलित महिला संघले लिनेछ । यस्तै अन्य        सरोकारवाला निकाय, युवा समिति, युवासञ्जाल, महिलाअधिकारकर्मी तथा सामाजिक अभियान्ताहरुको संयुक्त समन्वय हुनेछ । 
अभियानवाट संकलित रकमले हिंसा न्युनिकरणका लागि बालबालिका, किशोरकिशोरी, महिला सञ्जाल, आमासमूहहरुलाई जागरुक गराउन विभिन्न कार्यक्रम गर्ने योजना रहेको ऐरले   जानकारी दिइन् ।

चमेलियाको उत्पादन ६ घण्टा मात्रै

चमेलिया जलविद्युत आयोजनाले दैनिक ६ घण्टा मात्रै विद्युत उत्पादन गरिरहेको छ । 
बिहान ६ देखि ९ बजेसम्म र बेलुकी ६ देखि ९ बजेसम्म मात्रै विद्युत उत्पादन भइरहेको आयोजना प्रमुख अजयकुमार दाहालले बताए । नेपाल विद्युत प्राधिक– रण अन्तर्गतको भारप्रेषण केन्द्रको प्रत्येक्ष निगरानीमा विद्युत उत्पादन कार्य भइरहेको दाहालले जानकारी दिए । 
चमेलिया नदीको पूरै पानी जम्मा गरेर विद्युत उत्पादन भइरहेको छ । विद्युत उत्पादन हुने समयबाहेक अन्य समय नदीमा पानी छोडिएको छैन । बिटुलेस्थित बाँधस्थलमा पानी जम्मा गरी आवश्यक परेको बेला विद्युत उत्पादन भइरहेको छ ।
सुख्खायाम भएकाले नदीमा पानीको सतह निकै कम छ । चमेलियामा अहिले बगिरहेको पानीबाट बढीमा ६–७ मेगावाट मात्र विद्युत उत्पादन हुन सक्छ । तर नदीको पानी बाँधस्थलमा जम्मा गरी आवश्यक भएको बेला पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
हालसम्म प्रदेश नं. ७ मा निर्माण भएको जलबिद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो चमेलिया जलविद्युत आयोजनाले उत्पादन दिन सुरु गरेको भएपनि निर्माण कम्पनीले हस्तान्तरण   गरेको छैन । जलविद्युत आयोजना निर्माणमा संलग्न चिनियाँ र कोरियाली कम्पनीले आयोजना हस्तान्तरण गर्न बाँकी छ । आयोजनामा सिभिल निर्माणमा संलग्न चीनको सीजीजीसी कम्पनी र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यमा संलग्न कोरियाको केएनएचपी कम्पनीले हस्तान्तरण गर्न बाँकी रहेको हो । नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्व रहेको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि दुवै कम्पनीले हस्तान्तरण गर्नुपर्नेछ ।
आधारभूत कार्यहरु सकिएपछि तत्काल विद्युत उत्पादन सुरु गरिएको आयोजना प्रमुख दाहालले बताए ।

डोटेली भाषा हराउँदै गएकोमा चिन्ता

डोटेली भाषा हराउँदै भएकोप्रति शिक्षा क्षेत्रका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन । 
डोटीको सिलगढीमा बिहिवार आयोजना गरिएको एक कार्यक्रममा स्थानीय भाषाबिद् तथा शिक्षाकर्मीहरुले उक्त चिन्ता व्यक्त गरेका हुन । 
डोटी भाषाका शोधकर्ता एवं शिक्षक केशवराज ओझा डोटेली भाषा शुद्धसंग बोल्नेहरुको संख्या घट्दै गएको बताउँछन् । ‘मैले आठ बर्ष पहिले डोटेली भाषामा शोधपत्र तयार गर्दा जुन अवस्था भेटेको थिएँ अहिले त्यो अवस्था पनि रहेन’ ओझाले भने ‘अहिले गाउँतिर शुद्धसंग डोटेलीमा एक वाक्य बोल्न सक्ने मान्छे भेटाउन गा¥हो छ ।’ 
पछिल्लो समयमा शहरमा बस्ने र शिक्षित व्यक्तिहरुले आफ्ना छोराछारी डोटेली भाषा बोलुन भन्ने चाहेको तर गाउँमा बस्ने र निरक्षर तथा सामान्य साक्षरहरुले छोराछोरी नेपाली बोलुन भन्ने चाहेको बताउँछिन् शिक्षिका गिता जोशी । उनी थप्छिन् ‘यदि डोटेली भाषाको संरक्षण नहुने हो भने यो बिस्तारै लोप भएर जान्छ ।’ धेरै शव्दहरुको अर्थनै थाह नहुने अवस्था भईसकेको जोशीको भनाई छ । 
डोटेली भाषा भाषा कि भाषिका भन्ने बिषयमा पनि अहिलेसम्म मतऐक्यता हुन नसकेको बताउछन डोटेली साहित्यमा बिद्यावारीधी गरेका डा. बद्रीप्रसाद बिनाडी । उनी भन्छन् ‘डोटेली एक भाषा हो र यसभित्र थुप्रै उपभाषिकाहरु पनि   रहेका छन । उनले भाषा हुनका लागि व्याकरण र शव्दकोष हुनु पर्ने वताए । 
डोटेली भाषा भाषा मात्रै नभएर संस्कृति पनि भएको बताउँछन डोटी क्याम्पसका सहप्राध्यापक तिर्थराज जोशी । उनी भन्छन् ‘यदि डोटेली भाषा हराउने हो भने डोटेली संस्कृति पनि हराउँदै जाने खतरा हुन्छ, त्यसैले डोटेली भाषाको संरक्षण गर्नु पर्छ ।’ 
शैक्षिक तालिम केन्द्र दिपायलका प्रशिक्षक लालबहादुर कठायतले स्थानीय बस्तुहरु लोप हुन थालेपछि डोटेली भाषाका शव्दहरु पनि बिस्तारै लोप हुँदै गएको बिचार व्यक्ति गरे । उनले भने ‘डोटेली भाषा मुख्यतया स्थानीयस्तरमा तयार गरिने बस्तुहरुसंग सम्वन्धित भएकाले ति बस्तुहरुको उत्पादन रोकिदा डोटेली भाषाका शव्दहरुले हराउन थालेका छन ।’
बिश्व शिक्षा नेपाल र सामुदायिक विकास केन्द्र डोटीले डोटेली भाषामा बालमैत्री पाठ्य सामग्री निर्माण गर्ने बिषयमा छलफल गर्न आयोजना गरेको कार्यक्रमका अधिकांश बक्ताहरुले डोटेली भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त व्यक्त गरेका छन । डोटी क्याम्पसका उपप्राध्यापक होमनाथ जोशीले डोटेली भाषा र उपभाषिकाहरुको क्षेत्रमा खोज अनुसन्धान हुनु पर्ने माग गरे । 
प्रदेश नं. ७ का बहुसंख्यकहरुको मातृभाषा डोटेली भएपनि तिव्र बसाईसराईका कारण उक्त भाषा हराउँदै गएको छ । प्रदेश नं. ७ का सात पहाडि जिल्लाहरुमा डोटेली भाषा अन्तरगतका बिभिन्न उपभाषिकाहरु बोल्ने गरिन्छ । 
नेपाली भाषाको कम ज्ञान भएका पूर्व प्राथमिक तहका बालवालिकाहरुलाई डोटेली भाषामार्फत शिक्षा दिने उद्देश्यका लागि उक्त पाठ्य सामग्री बनाउन थालिएको सामुदायिक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले जानकारी दिए । कार्यक्रममा डोटेली भाषा अन्तरगतका उपभाषिकाहरु, यस क्षेत्रमा बोलिने अन्य भाषाहरुको बिषयमा छलफल भएको    थियो । 
डोटेली भाषाका करीव दुई सय प्रकारका पाठ्य सामग्रीहरु तयार गरि वेवसाईटमा राखिने बिश्व शिक्षा नेपाल पठन सीप विकास प्रवन्धक सिमा आचार्यले जानकारी गराईन । उनले भनिन् ‘देशभरीमा ७ वटा भाषामा नयाँ पाठ्य सामग्रीहरु तयार गर्ने योजना रहेको छ । 

दुई बिद्यालय गाभ्ने तयारी

डोटी शिखर नगरपालिका–३ मा सञ्चालित दुई सामुदायिक बिद्यालयहरु गाभ्ने प्रक्रिया अगाडि बढेको छ ।
अमरज्योति अधारभुत बिद्यालय आली र डाँडावाग आधारभुत बिद्यालय खुनखुडालाई गाभेर एक गर्ने तयार भईरहेको हो । कार्तिक महिनादेखि छलफल सुरु हुँदै बिद्यालय गाभ्ने बिषय अव सहमति नजिक पुगेको डाँडाबाग आधारभुत बिद्यालयका प्रधानाध्यापक अमरराज जोशीले जानकारी दिए । ‘दुवै बिद्यालयका व्यवस्थापन समितिले बिद्यालय गाभ्ने भनी संयुक्त रुपमा निर्णय गर्ने र पछि संयुक्त भेलाले बिद्यालय गाभेको निर्णय गर्दै शिखर नगरपालिकामा फायल पेश गर्ने सहमति भएको छ’ प्रधानाध्यापक जोशीले भने ‘जनप्रतिनिधि, जिल्ला शिक्षा अधिकारी र स्रोतव्यक्ति समेतको उपस्थितिमा प्रारम्भिक चरणको भेला समेत भएको छ ।’
वडा कार्यालयबाट दुई बिद्यालय गाभ्नका लागि प्रस्ताव आएपछि छलफल अगाडि बढाईएको बताउँछन अमरज्योति आधारभुत बिद्यालय आलीका प्रधानाध्यापक ध्रुवराज फुलारा । ‘बिद्यालय गाभ्ने बिषयमा दुवै बिद्यालयका व्यवस्थापन समिति सहमत छन’ प्रअ फुलाराले भने ‘दुवै बिद्यालयले आधिकारिक निर्णय गर्न मात्रै बाँकी छ ।’
२०५४ सालमा स्थापना भएको डाँडाबाग आधारभुत बिद्यालय हाल ३१ जना बिद्यार्थी रहेका छन । कक्षा ५ सम्म पढाई हुने उक्त बिद्यालयमा राहात कोटाका दुई शिक्षक कार्यरत छन । यस्तै कक्षा ३ सम्मको पढाई भईरहेको अमरज्योति आधारभुत बिद्यालयमा ३३ जना बिद्यार्थी रहेका छन । उक्त बिद्यालयमा सरकारी अनुदानबाट सेवा सुबिधा पाउने बाल बिकास सहायक कार्यकर्ता छन भने दुई शिक्षकहरु स्थानीय श्रोतबाट सेवा सुबिधा लिँदै आएका छन । अमरज्योति आधारभुत बिद्यालय २०६५ सालमा स्थापना भएको हो । 
दुवै बिद्यालय गाभिएमा हाल अमरज्योति आधारभुत बिद्यालय सञ्चालन भएको स्थानमा बिद्यालय कायम हुने प्रारम्भिक सहमति भएको प्रअ फुलाराले वताए । 
दुई बिद्यालय गाभ्ने प्रक्रिया अगाडी बढेको जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले जानकारी दिएका छन । डोटीमा केही बिद्यालयहरुलाई गाभ्नु पर्ने देखिएको बताउँदै उनले बिद्यालय गाभ्ने प्रक्रिया शिखर नगरपालिकाबाटै सुरु भएको समेत वताए । 

छोटकरी 

दुर्घटनामा एकको मृत्यु

कैलालीको गोदावरी नगरपालिकामा आइतबार सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
पूर्वदेखि पश्चिमतर्फ जादै गरेको से १ त ३१४२ नम्बरको ट्याक्टरले साइकललाई ठक्कर दिँदा गोदावरी नगरपालिका वडा नम्बर १, वसन्तपुरका २२ वर्षीय सुनील ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्षेत्रीय प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा साइकलमा सवार गोदावरी नगरपालिका वनखेतका २१ वर्षीय सुरज कडारु, तथा ट्याक्टरमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर ३, भन्सार रोडका १७ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय कालु चौधरी घाइते भएका छन् ।

नगर प्रमुखमाथी गोली प्रहार

कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख  ममताप्रसाद चौधरीमथी गोली प्रहार भएको छ । 
घरमै बसिरहेका बेला सोमबार साँझ चौधरीमाथी आक्रमण भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको  छ । उनको खुट्टामा गोली लागेको बताइएको छ । घाइते चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । आफूमाथि पेस्तोल प्रहार भएको उनले बताएका छन् ।  
गत बुधवार बोक्सीको  आरोपमा एक महिलामाथी भएको कुटपिटपछि चौधरी आलोचित थिए ।

खेल समाचार 

नेपालले हरायो हङ्कङलाई

नागरिक दैनिकबाट
आइसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि जित निकालेको छ ।
जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा १५४ रनको विजय लक्ष्य पछ्याएको नेपालले हङकङविरुद्ध ५ विकेटले विजयी भएको हो ।
खेलमा टस जितेर पहिले व्याटिङ गरेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनायो । १५४ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिङ गरेको नेपालले ४०.४ ओभरमा १५५ रन बनाउँदै पुरा ग¥यो । 
खेलमा नेपालको सुरुवात खराब रहेपछि रोहित पौडेल र सोमपाल कामीले अन्तिमसम्म टिकेर खेले । पौडेलले ८७ बलमा ५ चौकासहित सर्वाधिक ४८       रनमा अविजित रहे । त्यस्तै, ४० बल खेलेका सोमपाल ५ चौकासहित ३७ रनमा अविजित रहे ।
दिपेन्द्र ऐरी १२ रन, पारस खड्का ११ रनमा, ज्ञानेन्द्र मल्ल १२, अनिल शाह २६ रनमा समेटिँदा आरिफ शेख २ रनमा आउट भए ।

एन्फाको सुधारका लागि उम्मेदवारी

चैत्र १४ मा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) कार्य समिति निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दिएका कर्माछिरिङ शेर्पाले एन्फालाई सुधार गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । 
शेर्पाले हुकुमी शासन अन्त्यका लागि आफ्नो उम्मेदवारी अनिवार्य भएको   बताए । ‘एन्फामा चलिआएको हुकुमी शासन र व्यवस्थापन सुधार्नका लागि पनि मैले उम्मेदवारी दिएको हुँ’ उनले भने ।
शेर्पाले आफ्नो समूह विजयी भए एन्फाको कार्यशैली नै परिवर्तन हुने दाबी गरेका छन् । शेर्पाले आफ्नो समूहले विशेषगरी आर्थिक पारदर्शिता अपनाउने बताए । ‘हामी परिवर्तनको चाहनासहित चुनावी मैदानमा उत्रेका छौँ, हामी एन्फामा नेतृत्वसँगै कार्यशैली, नीति र पारदर्शितामा जोड दिन्छौँ’ उनले भने, ‘नेपाली फुुटबलमा भएका विकृति–विसंगतिलाई अन्त्य गरी अघि बढ्ने योजना बनाएका छौँ ।’ हाल एन्फा विधि र विधानअनुसार नचलेको र आर्थिक नियमावलीसमेत नरहेको आरोप उनले लगाएका छन् ।
शेर्पाले लामो समयदेखि रोकिएको राष्ट्रिय लिगलाई सञ्चालनमा ल्याउने बताए । ‘अहिले राष्ट्रिय लिग रोकिएको छ, हामी नेतृत्वमा आएसँगै कमीकमजो–रीलाई सुधार गरी अघि बढ्छौँ’ उनको भनाइ थियो । शेर्पाले ६ महिना लिग चलाउने बताए । शुक्रबार, शनिबार र बिदाका दिन मात्र लिगका खेलहरू सञ्चालन गरी ६ महिनासम्म चलाउने योजना उनले सुनाए ।
एन्फा निर्वाचनमा ७३ मत छ । निर्वाचनमा जिल्ला, क्लब र संघ गरी ७३ मतदाता छन् । तीमध्ये आफ्नो पक्षमा ५४ मत रहेको उनको दाबी छ । २७ जिल्ला, २५ क्लब र २ एसोसिएट आफ्नो समूहमा रहेको उनले बताए ।

चलिचत्र/मनाेरञ्जन 

“तिमी संग” चैत्र २३ मा आउने

पटक पटक प्रदर्शन मिति सर्दै आएको नेपाली चलचित्र ‘तिमी सँग’ चैत्र २३ गते प्रदर्शन हुने करीव पक्कापक्की भएको छ । 
आईतवार काठमाण्डौंमा निर्माण पक्षले ‘तिमी संग’ को ट्रेलर सार्वजनिक गर्दै चैत्र २३ गते चलचित्र सार्वजनिक हुने जानकारी गराएका छन । शिशिर राणाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् । चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ । सुनिल बी.के यो चलचित्रबाट रजतपटमा प्रवेश गर्दैछन् ।
शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा रहेको चलचित्रको छायाङ्कन सुशिल उप्रेतीले गरेका छन । चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी छ । शिशिर राणाले नै चलचित्रको कथा लेखेका हुन् ।
तीन अपरिचित पात्रको भेट, प्रेम, विछोड, आकर्षणको कथालाई चलचित्रको ट्रेलरमा देखाईएको छ । विदेशबाट नेपाल आएकी एक यूवतीको भेट दुई यूवासंग भएपछि भएको रोमान्चक प्रेमकथालाई चलचित्रले प्रस्तुत गरेको ट्रेलरबाट वुझ्न सकिन्छ । चलचित्रमा आकाश रोमान्टिक र गम्भिर भूमिकामा देखिएका छन् भने नाजिर केहि कमेडी स्वभावको देखिएका छन् ।

‘पञ्चायत’ हेरे लोकतान्त्रिक नेताहरुले

पञ्चायती शासनका बिरुद्धमा आफ्नो जीवनको उर्वरक समय बिताएका नेताहरु चलचित्र ‘पञ्चायत’ हेर्न भने उत्साहित भएका छन । पञ्चायती शासन व्यवस्थाले जनताको शोषण गरेको भन्दै उक्त शासन व्यवस्था फाल्नका लागि प्राणको वाजी लगाएर क्रान्तिमा होमिएका नेताहरुले ‘पञ्चायत’ भिआईपी प्रिमियम सो हेरेका हुन । 
आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चायत’ को भिआईपी प्रिमियम सो हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल, पूर्व सभामुख ओनसरी घर्तीमगर, पूर्व सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजाल लगायतका नेताहरु पुगेका थिए ।
२०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा संस्कृतिसँग जोडेर निर्माण गरिएको चलचित्र हेरेपछि नेताले चलचित्र र कलाकारको प्रशंसा गरेका छन । 
माओवादी अध्यक्ष प्रचण्डले फिल्मको कथा र नाममा अन्तरविरोध देखिएपनि कलाकारको अभिनय राम्रो रहेको टिप्पणी गरे । ‘फिल्मले तत्कालीन समाज र संस्कृतिको यथार्थ चित्रण गरेको पाएँ, कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ । तर नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखियो’ दाहालले भने ।
चलचित्रले यथार्थ, रोचक र मार्मिक भएको एमाले नेता खनालको भनाई छ । उनले चलचित्रले समाजको यथार्थ प्रतिबिम्ब प्रस्तुत गरिएको बताए । 
पूर्व अर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनले पुरानो इतिहास र समाज चित्रण गरेको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठूलो कुरा भएको जनाए ।
शुक्रवारदेखि प्रदर्शनमा आउने चलचित्र ‘पञ्चायत’ अहिले चर्चामा छ ।

लेख 

के यही हो त मौलिक हक ?

रामहरी ओझा
प्रदेश नं. ७ को प्रादेशिक महोत्सव डोटीको दिपायलमा चलिरहेको थियो । पेशागत जिम्मेवारी र मनोरञ्जन दुवै कारणले हामी सञ्चारकर्मीहरु महोत्सव—तिरै थियौं । उभिएरै गफ गरिरहेका बेला एक जना मित्रको फोन आयो । ‘डाक्टरहरुले त जिल्ला छोडेछन् नि, थाह पाउनु भयो ?’ यताबाट हलो भन्न नपाउँदै एकोहोरा वाक्य आयो । त्यसपछि शव्द संकलनको क्रममा लागियो । बुझ्दै जाँदा आफु त गए नै, नीजि क्लिनिकहरुमा काम गर्ने डाक्टरहरुलाई पनि जिल्ला छोड्न दवाव दिएर गएछन् । 
फागुन ६ गते डोटी जिल्ला अस्पतालमा आएका एक महिलासंग भएको सामान्य भनाभन्ले डाक्टरहरुले आफ्नो पेशागत मर्यादा समेत बिर्सेर जिल्लै छोड्नु पर्ने अवस्था आयो । भिडियो एक्स–रे गर्न आएकी महिलालाई लुगा अलि तल गर्नु प¥यो भन्नेबाट बिवाद सुरु भयो रे । डाक्टर र बिरामीको भनाभन् भएपछि डाक्टरले अन्तै गएर भिडियो एक्स–रे गर्नु भन्दै महिलालाई बाहिर पठाए । स्वभाविक रुपमा भिडियो एक्स–रे गर्दा लुगा तलमाथी मिलाउनु पर्ने हुन्छ, ति महिलाले त्यो कुरा मानिनन् तर करीव ५०/५२ बर्षको महिलालाई राम्रोसंग सम्झाउनुको सट्टा “तेरो एक्स–रे गर्दिनँ” भनेर बाहिर पठाउनुले ति सेवाप्रदायकको सेवाग्राहीप्रति गर्ने व्यवहार प्रष्टै पारेको छ । 
ति महिलाले आफन्तलाई फोन गरिन् । आफन्तले गएर डाक्टरसंग कुरा सोध्दा विवाद भयो, विबादै बिवादमा हात हालाहाल भयो । डाक्टरले ति महिलाका आफन्तलाई झापड हिर्काए, उनको नाकबाट रगत वग्यो । घटना यतिमा मात्र सिमिति भएन । डाक्टरको झापड खानेले पनि बदला लिने योजना वनाए । आफन्तहरुलाई फोन गरेर बोलाए । आफन्तहरु आए, डाक्टरको दाँत झर्ने गरी कुटपिट गरे । 
तत्काल घटनास्थलमा प्रहरी पुग्यो । डाक्टरमाथी कुटपिट गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लियो, थुनामा राख्यो । भोलीपल्टै मुद्धा दर्ता भयो, अभियुक्तहरु थुनामै छन । प्रहरीले अनुसन्धान गरिरहेको छ । 
घटनाका दोषीहरु समातिसकेपछि, मुद्धा दर्ता भईसकेपछि फागुन ९ गते सरकारी सेवाका डाक्टर साहेवहरुले आफुलाई असुरक्षित भएको महसुस गरेछन्, स्वास्थ्य जस्तो अत्यावश्यक सेवा अवरुद्ध पार्दै एकाएक जिल्ला छोडेको भन्दै गएछन् । आफ्ना पेशागत संगठनहरुले जिल्लामा नबस्न भनेको भन्दै वहाना वनाउँदै हिड्छन् । नेपाली जनताले तिरेको करबाट सेवा सुविधा पाउने ति डाक्टर साहेवहरु अहिलेसम्म पनि जिल्ला फर्केका छैनन् । 
नेपालको संबिधानको धारा ३५ अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक छ । कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने मौलिक हकमा व्यवस्था छ । अझै प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था गरिएको छ ।
संबिधान प्रदत्त मौलिक हक उपभोग गर्न आवश्यक प्रवन्ध मिलाउने दायित्व राज्यको हो । यद्यपी हाम्रो देशको संबिधानको धारा ४७ अनुसार मौलिक हकहरूको कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानूनी व्यवस्था गर्ने बताईएको छ अर्थात आज टाउको दुखेको बिरामीलाई तीन बर्षपछि सिटामोल उपलव्ध हुने गरी राज्यले कानुन वनाउन मिल्ने छुट दिएको छ तर स्वास्थ्य उपचार सेवा अत्यावश्यक सेवाका रुपमा लिईन्छ । त्यसकारण तत्काल स्वास्थ्य उपचार सेवा पाउनु प्रत्येक नागरिकको अधिकार हो र  राज्यको दायित्व हो । 
यही विडम्वना छ हाम्रो देशको । मानवअधिकार सम्वन्धी अन्तराष्ट्रिय सन्धी/महासन्धीको पक्ष राष्ट्र बन्ने, राष्ट्रिय कानुनहरु निर्माण गर्ने, अधिकारहरु बाँड्दै हिड्नेमा नेपाल सायद दक्षिण एसियामै अव्वल होला तर कार्यान्वयनमा पछाडिबाट पहिलो हुने कुरामा संका छैन ।  
“राज्यका सबै तहमा स्वास्थ्य सेवाको पूर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा समृद्धि एवं दिगो विकासको आधार” भन्ने मुल नाराका साथ फागुन १५ गते देशले स्वास्थ्य सेवा दिवस मनाईरहँदा डोटी जिल्ला अस्पतालमा आएका बिरामीहरु भने डाक्टर साहेवहरु आउने आशमा रोग पाल्दै वसेका थिए । नेपालमा स्वास्थ्य सेवा ऐन आएको दिन (फागुन १५) लाई स्वास्थ्य सेवा दिवसको रुपमा मनाइने गरिन्छ । त्यो नाराले भनेको जस्तो गुणस्तरीय स्वास्थ्य सेवा पाए त नागरिकले ? 
प्रश्न त जनतासंग छ तर सोध्ने कसलाई भन्ने मेसो छैन । ति डाक्टरहरुलाई सोध्ने जो आफै बिरामीसंग दुव्र्यवहार गर्छन अनि आफै असुरक्षित भएको बहानामा सुबिधा सम्पन्न ठाउँमा गएर काजमा बस्छन्, नीजि क्लिनिकमा गएर पैसा सोहर्छन वा फेरी ति आरोपीहरुलाई सोध्ने जो मुर्खे बल देखाएर कानुन आफ्नो हातमा लिन्छन् अनि जिल्लाबासीको बेईज्जत हुने गरी बहादुरी देखाउँछन वा फेरी त्यो राज्यलाई जो कानुन बनाउनमा खप्पिस् छ तर कार्यान्वयन गर्ने वेला निरिहपना देखाउँछ, कसलाई सोध्ने ? 
स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवा बन्द गर्ने कार्य प्रचलित नेपालको संविधानको धारा ३५ द्वारा प्रदत्त मौलिक हक तथा उपभोक्ताको हक सम्बन्धी सर्वमान्य सिद्धान्त र प्रचलित कानून विपरीत छ । यस्ता कार्यबाट आम नागरिकको स्वास्थ्य सम्वन्धी अधिकार कुण्ठित भएको छ । तर स्वास्थ्य मन्त्रालयलाई त्यस्तो कुनै अनुभुति भएको छैन । 
मन्त्रालयले असुरक्षाको कारण देखाउँदै डाक्टर साहेवहरुलाई काठमाण्डौं बोलायो । यसले फेरी दुई प्रश्न उव्जाएको छ । एक, मन्त्रालय डाक्टरहरुको मात्रै हो वा जनताको पनि हो ? नहुनु पर्ने घटना भयो, घटना खेद्जन्य छ । नेपालको कानुन अनुसार जस्तो सुकै अपराधीलाई शारीरिक वा मानसिक यातना दिन मिल्दैन । सेवाग्राहीप्रति दुव्र्यवहार यदि गरेकै हुन भने त्यसको कानुनी उपचार खोजिनु पर्ने थियो, आपराधिक अभ्यास भयो त्यो गलत थियो । तर घटनाका आरोपीहरु मुद्धा खेपीरहेकाछन्,  यति हुँदाहुँदै पनि चार जनाले गरेको गल्तीका कारण दुई लाख डोटेली जनतालाई अन्याय हुने गरी कुनै बिकल्प बिना डाक्टरलाई काजमा राख्ने अधिकार कुन कानुनले दिन्छ मन्त्रालयलाई ? अधिकार छ भन्दैमा जे मन लाग्यो त्यो गर्न कसले छुट दिन्छ ? 
दोश्रो कुरा, डाक्टरमाथी कुटपिट भएको घटना पहिलो होईन नेपालमा । देशका अन्य जिल्लामा पनि यस्ता घटनाहरु पटक पटक भएका छन । काठमाण्डौंमा पनि बर्षेनी स्वास्थ्यकर्मीमाथी कुटपिट भएका समाचारहरु आउँछन् । तर स्वास्थ्य सेवा ठप्प पारेर डाक्टरलाई काठमाण्डौं काजमा राखिदैन । डोटीमा कुटपिट भयो, असुरक्षित भएको भन्दै डोटीका डाक्टर साहेवहरु काठमाण्डौं बोलाईयो, काठमाण्डौंमा घटना भयो भने के दिल्ली वा अमेरिका पठाईने हो त ? कुन आधारमा स्वास्थ्य जस्तो अत्यावश्यक सेवामा लापरवाही गरेको हो मन्त्रालयले ? 
यदि ति डाक्टर साहेवहरुलाई साँच्चै डोटीमा असुरक्षा भएको महसुस भएको छ भने रोल्पा, हुम्ला, दार्चुला तिर पठाईदिए हुन्छ नि ! त्यहाँ पनि अभाव छ स्वास्थ्यकर्मीहरुको । वा फेरी दार्चुलामा भएका डाक्टरहरुलाई डोटी पठाएर तिनिहरुलाई किन दार्चुला नपठाउने ? प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरु, जिल्लाका जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी सवैले गरेको आग्रह समेत अस्वीकार गरेर अटेरी गर्नेहरुलाई सुगुम ठाउँमा राखेर पुरस्कृत गर्न थालियो भने भोली जवरजस्ती बहाना बनाउने ‘टूण्ड’ बस्दैन भन्ने के ग्यारेण्टी हो ? हुन त हाम्रो देशमा जे गरे पनि छुट हुन्छ । स्वास्थ्य क्षेत्रका भिष्म पितामह सम्झनेले त घर बिदा लिएर सरकार बिरुद्ध अनसन बस्न पाईन्छ भने सुरक्षाको कारण देखाएर काजमा बस्न किन नपाईने भन्ने तर्क पनि आउन सक्छ । तर सवैले आफ्नो   जिम्मेवारी र मर्यादा बिर्सनु हुँदैन ।  
स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्दका कारणले लाखौं मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ सचेत हुनुको सट्टा कुनै बहाना बनाएर स्वास्थ्यकर्मीहरुलाई काजमा राखिन्छ, कस्तो दुर्भाग्य !
२२/२३ दिन भईसक्यो सरकारी संस्थाका स्वास्थ्य संस्थाहरुमा सेवा अवरुद्ध हुन्छ, निक साईमन नामक गैरसरकारी संस्थाले पठाएका चिकित्सक फर्केर सेवामा प्रवाह गर्न लागिसकेका छन तर सरकारी डाक्टर साहेवहरुलाई मन्त्रालयले ‘ज्वाई’ पालेझैं मन्त्रालयमै पालेर राखेको छ । जुन दिन घटना भयो त्यो दिनसम्म निक साईमनबाट खटाईएका डाक्टर पनि काममै थिए । पेशागत संगठन र सरकारी डाक्टरहरुको संगतमा जिल्ला छोडेका उनी फेरी फर्केर सेवा प्रवाह गर्न थालिसकेका छन, उनका लागि कुनै सुरक्षा चुनौती भएन । उनलाई सवैले धन्यवाद दिएका छन । 
तर जनताको सेवाका लागि सधैं तत्पर रहनेछु भन्ने शपथ खाएर आएका तिनै जनताले तिरेको करबाट सेवा सुबिधा लिने डाक्टर साहेवहरु भने आउन मान्दैनन् ।  

मोफसल पत्रकारिता 

महासंघले श्रमजिवि पत्रकारलाई भजाएर खाइरहेको छ

दिपक शर्मा (कोषाध्यक्ष) 
नेपाल पत्रकार महासंघ, बर्दिया

तपार्इंको परिचय पाउँ न ?
— म दिपक शर्मा, म अहिले बर्दियाको फूलवारी एफएमको सञ्चालकको रुपमा काम गरिरहेको छु । साथै एविसी टेलिभिजनका लागी बर्दियाबाट रिपोटिङ गर्छु । अहिले म नेपाल पत्रकार महासंघ बर्दियाको कोषाध्यक्ष पनि छु ।
त्यस्तो के कुरा थियो जसले गर्दा तपाइलाई पत्रकार हुन आकर्षित ग¥यो ? 
— पत्रकारिता पेशा पहिले रहर थियो तर पछिल्लो पटक यो पेशा मेरो लागी बाध्यता भयो, एउटा नसा जस्तै भएको छ छोड्न सक्दिनँ । अव अझ पत्रकारिताको गहिराई सम्म पुग्न मन छ । पहिले रेडियो नेपालमा समाचार सुन्दा कार्यक्रम सुन्दा लाग्थ्यो म पनि यस्तै वोल्न पाए हुन्थ्यो भन्ने रहर थियो । अध्ययनकै क्रममा पत्रकारिता पेशामा लागीयो सुरुमा रहर जाग्यो । त्यो रहर पछि गएर दुवो सरी मेरो मन मष्तिश्कमा पत्रकारिताको नसा नै भरिएको छ । 
कति समय भयो यस पेशामा लागेको ?
— पत्रकारिता सुरु गरेको २०५६ साल बाट हो ।  आइए प्रथम वर्ष अध्ययनकै क्रममा सुरु गरिएको पत्रकारिता हो । नेपालगञ्जबाट प्रकाशित हुने नया संरचना दैनिकमा हकरको रुपमा काम सुरु गरे । त्यसपछि यसैमा लागियो । 
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— मेरो रुचि भनेको खेलकुद विट हो तर मलाइ विशेष गरी राजनीतिक विट अलि बढि प्राथमिकता दिए जस्तो लाग्छ र दिन्छु पनि । यो संगसंगै पर्यटन क्षेत्रलाई पनि स्थान दिएर काम गरिरहेको छु । यी दुइवटै विटमा रहेर काम गर्दा मलाई निकै आनन्द आउछ । 
पत्रकारिता पेशामा त समस्यै समस्याको चाङ छ भन्ने गरिन्छ नि ! 
— हो, पत्रकारिता पेशा नै एक किसीमको चुनौति हो, तर आजभोली बिगतको भन्दा अलि सहज भएको छ । द्वन्द्वको समयमा होस् वा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ताहातमा लिएको बेला पत्रकारिता पेशा एक किसीमले संकटमा परेको अवस्था थियो । त्यसबेला पत्रकारिता गरिरहेका हामिहरु दोहोरो चेपुवामा परेका थियौं । अव भने पत्रकारको दुस्मन भनेकै पत्रकार हो किनकि उसले उसकै सहयात्रीसंग प्रतिस्पर्धा गर्दैछ । यस अर्थमा अव पत्रकारलाई कसैबाट असुरक्षा छ भने त्यो पत्रकारबाटै छ । 
मोफसलमा काम गर्नेका समस्या त्यो त्यो भन्दा पनि धेरै छन् भन्ने छ नि, कस्तो पाउनु भयो ?  
— मोफसलमा पत्रकारीता गर्नेहरुले सवै विट हेर्नु पर्ने भएका कारण उनको क्षमतामा विकास नहुँदा अगाडि बढ्न नसकेको अवस्था छ । आर्थिक अवस्था कमजोर छ । त्यसैमा केही साथीहरु जिते नेता हारे पत्रकार भनेर पनि स्थानीय निर्वाचनमा उत्रिए । त्यस्ता साथीहरुका कारणले गर्दा पत्रकारिता पेशा झन असुरक्षित भएको छ । यो ठुलो भाइरसलाई नेपाल पत्रकार महासंघले बेलैमा सोचेर अगाडि नबढे समस्या झन जटिल हुने देखिन्छ । 
कसरी मुल्याङ्कन गर्नु भएको छ बर्दियाको पत्रकारितालई ?
— बर्दियामा अहिले पनि ७ वटा रेडियो प्रसारणमा रहेका छन, ४ वटा दैनिक पत्रिका प्रकाशन हुन्छन, एक दर्जन जति साप्ताहिक पत्रिका प्रकाशन हुन्छन तर यिनीहरु नियमित छैनन, कारण बजार छैन । अनि स्थानीय पत्रपत्रिकाको पहँुच ग्रामिण भेगमा छैन यसले गर्दा केहि पत्रिका मौसम अनुसार प्रकाशन हुने गरेका छन । यसले हाम्रो पत्रकारिता कता गइरहेको छ भन्ने कुरा देखाउछ । बर्दिया जिल्ला तराइको जिल्ला हो तराइलाई हामी सुगम जिल्ला भन्ने गर्छौं तर तराइको यो जिल्ला सुगम होइन दुर्गम  हो । यहाँका विकास निर्माण कार्य, यहाँको सहरका भवनहरु हेर्नु भयो भने भने अचम्म लाग्छ । यिनै भुमरीमा बर्दियाको पत्रकारिता पनि पुर्वको बाँके नेपागलगञ्ज र पश्चिमको कैलालीले सधै ओझेलमा पारेको छ । भारतसंग खुला सिमाना क्षेत्रबाट हुने अपराधिक घटनाले गर्दा पनि बर्दियामा पत्रकारितामा पेशा निकै चुनौती छ । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— नेपाल सरकारले पहिले नै एक जिल्लामा एउटा वा दुइवटा सम्म एफएम रेडियो सञ्चालनको लागी स्वीकृति दिनु पर्ने हो, सञ्चालनमा रहेका सन्चारमाध्यमहरुलाई कसरी बलियो र व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा चासो दिनु पर्ने हो यो भयो भने गुणस्तरीय पनि हुने संगसंगै न्युनतम पारिश्रमिक उपलव्ध गराउन पनि सजिलो हुन्थो । विग मिडिया हाउसलाई न्युनतम पारिश्रमकि कार्यान्वयनका लागी पहिलो दवाव दिनु जरुरी छ । त्यसपछि पत्रकारको क्षमता विकासका लागी गरिने कार्यक्रममा दोस्रो स्थानमा आउछ । 
मोफसल पत्रकारका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भूमिका कस्तो पाउनु भयो ? 
— नेपाल पत्रकार महासंघ तपाई हामी सवैको साझा संगठन भनिरहँदा त्यो संगठन अझै साझा बन्न सकेको छैन । म नेपाल पत्रकार महासंघ बर्दियाको कोषाध्यक्ष हुँदा हुदै पनि यो किन भनिरहेको छुु भने नेपाल पत्रकार महासंघले श्रमजिवि पत्रकारलाई भजाएर खाइरहेको छ । त्यसको उदाहरण हो न्युनतम पारिश्रमिक निर्धारण समिति, यो समितिले अहिलेसम्म करोडौं रकम खर्च गरिसक्यो उपलव्धि के भयो त । त्यसकारण नेपाल पत्रकार महासंघ साझा बन्न जरुरी छ, नेतागिरी मात्र होइन पत्रकारका समस्या र स्थानीय मिडिया हाउसको विषयमा पनि ध्यान दिन जरुरी छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— यो त झन भागबन्डा गर्ने स्थान हो, पत्रकारिताको “प” समेत नजानेकाहरुले महासंघको सदस्यता पाउने गर्दछन यी संगठनको सिफारिसमा । त्यसैले प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले योग्य र पत्रकारिता पेशामा लागेकालाई मात्रै स्थान दिन जरुरी छ । यि सवै संगठनलाई मिलाउन सकेपछि नै महासंघ साझा बन्ने हो नि । मोफसलमा यि संगठनले निष्पक्ष रुपमा भूमिका खेलेको देखिदैन । 
तपाईको बिचारमा पत्रकारिता के हो ? 
— पत्रकारिता समाजको ऐना हो, समाजमा देखिएका भएका राम्रा नराम्रा घटनालाई जस्ताको त्यस्तै पाठक, श्रोताका माझ ल्याउनु धर्म हो । पत्रकारको कुनै जात, लिङ्ग, धर्म हुनु हुँदैन । अनि मात्र त्यसले समाजलाई परिवर्तनको अनुभुति दिलाउन सक्छ । 
कत्तिको कमाउनु भयो त पत्रकारितामा लागेर ? 
— हाहाहा, कति कमाउनु भयो भनेर सोध्नु भन्दा पनि कति गुमाउनु भयो भनेर सोध्दा अझै राम्रो हुने थियो । धन सम्पत्ति कमाउन सकिएन जे जति कमाइएको छ नाम मात्रै कमाइएको छ । सायद मलामी पनि कमाइयो होला, घाट जाँदा थाहा होला, मैले कमाएको भनेको नाम र मलामी हो, अरु केही छैन । 
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ ?
— हो, मैले अघि पनि भने पत्रकारिता पेशा पछिल्लो पटक बदनाम भैरहको छ ,कारण शिक्षक छ पत्रकार पनि छ , ठेकेदार छ पत्रकार पनि छ , कुनै संघसंस्थामा काम गर्छ पत्रकार पनि छ, व्यापार गर्छ पत्रकार पनि छ, यस्ताले समस्या ल्याईरहेका छन । पत्रकारको आडमा गैरकानुनी धन्दा गर्नेहरुलाइ प्रहरीको सरक्षण भईरहेको समेत पाइएको छ । अव यसमा के भन्ने ? भन्न पनि लाज लाग्छ । हिजो सामान्य अवस्थाबाट पत्रकारिता गरेकाहरुले ६÷६ महिनामा मोटरसाइकिल फेर्ने हिम्मत राख्छन् । ठुल्ठुला महल ठड्याउँदैछन्, कहाँबाट आउछ पैसा ? धेरै साथीहरु छन जो पत्रकारको खोल आडेर कमाउ धन्दामा लागेका छन ।
तपाई कत्तिको लाग्नु भा छ त यस्ता कुरामा ?
— मैले तपाइलाई अघि भने मैले कमाएको भनेको मलामी र नाम मात्रै हो । यस्ता गतिविधिमा लाग्ने सोच नै पलाएन । पत्रकारका नेता हौं भन्नेहरुसंग चाकडि गरिएन, त्यसकारण त्यो माहोलमा पस्न मलाई अनुमति भएन र म तपाइले भने जस्तो कार्यमा संलग्न हुन सकिनँ । 
समय र बिचारका लागि धन्यवाद ।
— तपाइलाई पनि धन्यवाद, मलाई सम्झिनु भयो, मेरो विचार राख्ने मौका दिनु भयो । पत्रकारका समस्या एउटा वास्तविक पत्रकारले मात्रै बुझ्छ, धन्यवाद ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी

१. सरकारद्वारा २०७३ सालमा प्रदान गरिएको महाकबि लक्ष्मीप्रसाद देवकोटा पुरस्कारबाट सम्मानित हुने बिभिन्न पाँच विधाका स्रष्टा को को हुन ? 
— निवन्ध समालोचना ः हेमराज पौडेल (ते¥हथुँम), कविता ः मेघराज मञ्जुल (भोजपुर), गद्याख्यान नाकट ः माया ठकुरी (काठमाण्डौं), बाल÷लोक साहित्य ः हंसपुरे सुवेदी (कास्की) र भाषा साहित्य ः गोपाल अश्क (पर्सा) 
२. बिश्व कीर्तिमान कायम गर्ने गरी काठमाण्डौंको टुँडिखेलमा हजारौं मासिन भेला भई गौतम बुद्धको बचन ‘धम्मपद’ को बाचन कहिले गरियो ?      — २०७४ साल फागुन १९ गते 
३. नेपाल भारत सम्वन्ध सुदृढ गर्ने उद्देश्यका साथ गठित प्रबुद्ध समूहको पहिलो बैठक कहिले र कहाँ सम्पन्न भयो ?    — २०७३ साल असार २० र २१ गते 
४. बिद्यावारिधि गर्ने पहिलो नेपाली दृष्टिबिहीन को हुन ?     — कमल लामिछाने 
५. मारवर्ग भाईरस नामक रोग पहिलो पल्ट कहाँ पत्ता लागेको हो ?   — युगाण्डाको केबिन राज्यमा (चमेरोबाट मानिसमा सर्ने यो रोग सन २०१७ अक्टोवर १९ मा पत्ता लागेको हो । मानिसको थुक, ¥याल, पसिना र स्पर्शको माध्यमवाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने यो रोगमा ईबोलामा जस्तै क्रेनिक हेमोरहेजिक ज्वरो आउने, मांसपेशी दुख्ने र शरीरमा पीडा हुने गर्छ । यो रोग लागेपछि वान्तामा रगत देखिने, नाक, मुख, गिँजाबाट रगत वग्ने, स्नायु प्रणालीमा समस्या उत्पन्न भई व्यक्तिमा चिड्चिडाहट हुने, दिग्भ्रमित हुनेहुन्छ । फिलोभाईरल प्रजातिको भाईरसबाट लाग्ने यस रोगमा मुत्युदर उच्च रहेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।) 
६. संघीय संसदको पहिलो ऐतिहासिक बैठक कहिले बसेको हो ?  २०७४ फागुन २१ गते 
दोश्रो संबिधानसभाबाट निर्मित नयाँ संबिधान बमोजिम सम्पन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशन अन्तरर्ग अलग–अलग बैठक अन्तरािष्ट्रय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सञ्चालन भएको थियो । 
७. सोमेश्वर जैविक मार्ग चितवनमा रहेको छ भने ब्रम्हदेव जैविक मार्ग कहाँ रहेको छ ? — कञ्चनपुर 
त्यस्तै वरण्डाभार जैविक मार्ग ः चितवन कम्दी जैविक मार्ग ः बाँके, कर्णाली जैविक मार्ग र खाता जैविक मार्ग बर्दिया, वसन्ता जैविक मार्ग ः कैलाली र लालझाडी जैविक मार्ग कञ्चनपुरमा रहेको छ । 
८. सर्वप्रथम सहकारीको अवधारणा ल्याउने देश कुन हो ?   — बेलायत 
९. ‘नरोउ किनभने त्यो बितिसक्यो, हाँस किनभने यो भईरहेको छ’ भन्ने बिचारक को हुन ? 
— डा. सेउस 
१०. संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्मा नेपाल कहिले निर्वाचित भएको हो ? 
— सन २०१७ अक्टोवर १६ 
एसिया–प्रसान्त क्षेत्रबाट नेपालसहित पाकिस्तान, अफगानिस्तान र कतार निर्वाचित भएका हुन् ।      परिषद्मा रही नेपालले सन २०१८ जनवरी १ देखि जिम्मेवारी बहन गरेको । 
१२. छैटौं संस्करणको नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजना कहाँ गरिएको हो ?   — भृकुटीमण्डप, काठमाण्डौं (बि.स.२०७४ फागुन २३–२६) 
१३. ‘मान्छेलाई उसको उत्तरले भन्दा उसको प्रश्नले मुल्याङ्कन गर्ने गर’ भन्ने बिचारक को हुन ? 
— भोल्तेयर, फ्रान्सेली लेखक तथा दार्शनिक 
१४. नेपाली कांग्रेसका संसदीय दलको नेतामा को चयन भएका छन ?   — शेरबहादुर देउवा 
१५. नेपाल खानेपानी संस्थान कहिले स्थापना भएको हो ?    — २०४६ साल फागुन १५ 
१६. वल्र्ड लाईफ ईन्टरनेसनल नामक संस्थाद्वारा प्रदान गरिएको सन २०१८ को नेचर्स हिरो अवार्डबाट सम्मानित हुने नेपाली को हुन ?   — धनवहादुर (डिवी) चौधरी
१७. अमेरिकास्थित थिङ्क ट्याङ्क र हेरिटेज फाउन्डेसनद्वारा सार्वजनिक आर्थिक स्वतनत्रता सूचकाङ्क(२०१८ अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ ?  — १३३ औं 
(सो प्रतिवेदनमा नेपाल ५४.१ अंकसहित १३३ औं स्थानमा रहेको छ । प्रतिबेदन अनुसार हङ्कङ् बिश्वमै सवैभन्दा धेरे आर्थिक स्वतन्त्रता भएको राष्ट्रमा परेको छ । सिंगापुर, न्युजिल्याण्ड, स्विज–      रल्याण्ड र अस्ट्रेलिया धेरै आर्थिक स्वतन्त्रता रहेका देशको सूचीमा क्रमशः दोश्रोदेखि पाँचौं स्थानमा  पर्न सफल भएका छन । प्रतिवेदनमा आर्थिक स्वतन्त्रता खराव रहेका ईराक, लिविया, लिचेस्टाईन, सोमालिया, सिरिया र यमनलाई “नट ¥यांङ्क्ड” शिर्षमा वर्गीकरण गरिको छ । ईरिट्रिया, कंगो, क्युवा, भेनेजुयला र उत्तर कोरिया सूचीको अन्तिम पाँचमा रहेका छन । 
१८. आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगवबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँड सम्वन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ? 
— सन २०१० अक्टोवर २९ (जापानको नायोगामा)
(नायोगमा अभिसन्धि सन् २०१४ अक्टोवर १२ देखि कार्यान्वयनमा आएको । यो सन्धिलाई नेपालले सन् २०१७ सेप्टेम्वर ४ मा अनुमोदन गरेको । सन्धि अनुमोदन गर्ने नेपाल १०१औं राष्ट्र हो । 
१९. चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार २०७४ बाट सम्मानित कलाकार को हुन ? 
— महजोडी अर्थात हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य 
(नेपाल चलचित्र कलाकार संघको १६ औं बार्षिक साधारण सभाका अवसरमा २०७४ पागुन १९ गते राजधानीमा सम्पन्न कार्यक्रममा महजोडीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद तथा ताम्रपत्र सहित सम्मान गरिएको थियो ।

साहित्य/सृजना 

कालो छाँया

छाँया 
हैन हैन
कालो छाँया 
छाँया कस्को हुन्छ ?
हरेक आकृतिको हुन्छ
कतिबेला देखिन्छ ?
दिउँसो 
अनि राती ?
कस्तो बच्चा जस्तो प्रश्न !
कहिँ त राती पनि छाँया देखिन्छ !
राती त छाँया बिलुप्त हुन्छ नि !
ओहो ! हामी साँच्चिकै कति बुद्दु छौं हगि !
सोच्छौँ राती छाँया हराउँछ 
दिउसै तेस्तो उज्यालोमा पनि जस्ले आफ्नो कालो स्वरुप देखाउछ भने राती झन के गर्ला !
राती हराउने होइन 
राति त झन कालो छाँयाले आफ्नो साम्राज्य जमाउने राम्रो मौका पाउछ, 
रात पनि कालो,
छाँया पनि कालो,
दुइटै मिल्दा कालो शक्ति दुगुना हुन्छ
कालोले कालो सङ्ग मितेरी गाँसेको भएर
हाम्रा आँखाले कालो छाँयालाई नदेखेको मात्र हो
कालो छाँयाले कस्लाई आक्रमण गरिरहेको छ ?
हरेक आकृतिलाई
हैन हैन तिमी झुट बोल्दैछौ
कसरी ?
बोक्सी भनेर कुटपिट को माथी हुन्छ ?
महिला
किन हुन्छ ?
मैले बच्चैदेखि भुतिनी, डङ्किनि, कप्टिनी र बोक्सिका कथा सुनेको छु नि त !
पति मर्दा सति को गएका थिए ?
महिला
किन जानु पर्दो रहेछ ?
मैले बच्चैदेखि सति साबित्रीका कथा सुनेको छु नि त !
चरित्रको प्रमाणपत्र पेश गर्न अग्निकुण्डमा कस्ले होमिनु पर्छ ?
महिला
किन होमिनु पर्छ ?
मैले बच्चैदेखि रामायणका पात्र मर्यादा पुरुषोत्तम रामको महिमा सुनेको छु नि त !
भारी सभामा कस्लाइ नङ्गाइन्छ ?
महिला
किन त्यस्तो कुकृत्य गरिछ ?
मैले बच्चैदेखि महाभारतका पात्र धर्मराज युधिस्ठिरको न्यायको महिमा सुनेको छु नि त !
दाइजोको नाममा कस्लाई जिउदै जलाएको खबर सुनिन्छ देखिन्छ ?
महिला
किन त ?
मैले बच्चै देखि स्वास्नी भित्राउनु भनेको घरमा सम्पत्ति भित्राउनु हो भन्ने सस्कार पाएको छु नि त !
छाउ भएको बेला छाउगोठमा कस्लाई सुताइन्छ ?
महिला
किन घर भन्दा बाहिर गोठमा राखिन्छ ?
मैले बच्चै देखि आमालाई छाउगोठमा सुतेको देखेको छु नि त !
बलात्कारको सिकार को हुन्छन ?
पुष्पा जोशी ‘काली’

Tuesday, March 6, 2018

बिम्ब नेपाली साप्ताहिक, मिति २०७४ साल फागुन २२ मंगलवार

नेपालको संविधानमा अपाङ्गता भएकाहरुको लागि भएका व्यवस्थाहरुको कार्यान्वयन गरौं।       
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

‘अनौठो रेकर्ड’ १८ बर्षमा स्थायी बन्ध्याकरण

कर्ण चन्द
फागुन २१
तपाईलाई थाह छ ? महिलाले स्थायी बन्ध्याकरण प्राय कति बर्षमा गर्लान ? तपाईको उत्तर आउला २० बर्षमा बिहे गर्छन, छोराछोरी जन्माउँदा कम्तीमा २५ त कट्छ होला । तर तपाईको त्यो उत्तर गलत हुन जान्छ । 
एक महिलाले १८ बर्षको उमेरमै स्थायी बन्ध्याकरण गराएकी छन । डोटी बोगटान गाउँपालिका–१ सिमचौरकी मनिसा बोहराले १८ बर्षमा स्थायी बन्ध्याकरण गराएकी हुन । १८ बर्षको उमेर भए के भो र उनी दुई सन्तान की आमा हुन ।
जिल्ला अस्पताल  डोटी मार्फत सिमचौर गाबिसमा  सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिबिरमा बोहराले बध्याकरण गरेकी हुन । 
नेपालको कानुन अनुसार केटा र केटीको बिवाह गर्ने उमेर २० बर्ष हो । २० बर्ष उमेर नपुगी बिवाह गरे बालविबाह मानिन्छ । यस्तो विबाह बदर गरि केटा र केटीलाई छुट्याई दिनु पर्ने प्राव्धान कानुनमा छ । तर मनिसा बोहराले  कानुनले तोकेको उमेर भन्दा पहिल्लै सन्तान जन्माएर समेत स्थायी बन्ध्याकरण गरिसकिन । १३ बर्षको उमेरमा बिवाह गरेकी बोहरा १४ बर्षमा पहिलो सन्तानकी आमा बनिन् र १७ बर्षको उमेरमा अर्को सन्तान पाईन । दुई सन्तानपछि बोहराले स्थायी बन्ध्याकरण राजेको बताईन ।  उनले भनिन् ‘दुई सन्तान भइसके त्यो भन्दा बढाउने चाहाना छैन, त्यसैले बन्ध्याकरण गर्ने निश्कर्षमा पुगेकी  हुँ ।’ 
कलिलै उमेरमा बिवाह  गरेको प्रसंगमा बोहराले भनिन् ‘त्यो बेला बिवाह गर्न हुन्न भन्ने बारे थाहा भएन, जब बिस्तारै बुझ्ने हुँदै थिएँ त्यति बेलामा आमा भईसकेकी थिएँ ।’ बोहराले थपिन ‘एक गल्ती त भयो तर अब अर्को गल्ती नहोस भनेर समयमै बन्ध्याकरणको सुबिधा लिएकी हुँ ।’
स्थायी बध्याकरणमा संलग्न स्वास्थ्यकर्मीहरु पनि १८ बर्षको उमेरमा बन्ध्याकरण गर्नु आएको देख्दा आफु अच्चम्मित भए । डोटी अस्पतालका डाक्टर गिरीस अवस्थीले भने ‘मैले उहाँ आफन्तको साथ आउनु भएको हो जस्तो लाग्यो, पछि उहाँले सबै कुुरा भन्नु भयो आफ्नो बाध्यता पनि सुनाउनु भयो ।’ आफ्नो जानकारीमा रहे अनुसार  नेपालमा १८ बर्षमा पहिलो पटक बन्ध्याकरण गरेको गिरीसको भनाई छ । 
जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन ईकाईका सुपरभाईजर कपिलदेब जोशी पनि आजसम्म यति सानै उमेरमा स्थायी बध्याकरण गर्ने महिला नदेखेको बताउँछन । 
स्थायी बन्ध्याकरण गर्नेमा महिलाहरुको संख्या धेरै 
डोटी जिल्लामा सञ्चालन गरेको बन्ध्याकरण शिबिरमा धेरै महिलाले सेवा लिएका छन ।
जिल्लाका १२ ठाउँमा सञ्चालन गरेको शिबिरमा एक सय ५९ जना महिलाले स्थायी बन्ध्याकरणको सुबिधा लिएका छन भने ६५ जना पुरुषले स्थायी बन्ध्याकरण गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन ईकाईका सुपरभाईजर जोशीले बताए  । 
पुरुषहरु रोजगारीको शिलसिलामा भारतमा काम गर्न जाने भएका कारण बन्ध्याकरण अनईच्छा ब्यक्त गर्ने गरेको जोशीले बताए । उनले भने ‘शिबिरमा सोध्दा श्रीमान भारतमा काम गर्न जाने र बलियो काम गर्नु पर्ने भएका कारण वध्याकरण गर्न मान्नु हुन्न महिलाहरु स्वईच्छाका साथ बन्ध्याकरण गर्नका लागी अग्रसर भएर आउँछन ।’ बन्ध्याकरण गर्ने अधिकांस महिलाहरु ३०/३५ बर्ष उमेर समुहको रहको जिल्ला स्वास्थ्य कार्यालय डोटीले   जानकारी दिएको छ ।
२० बर्ष मुनीका एक हजार गर्भवती 
डोटी जिल्लामा आर्थिक बर्ष ०७३/०७४ मा एक हजार १६ जना २० बर्ष मुनीका महिला गर्भवती रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख सतिश बिष्टले बताए । 
बिष्टले भने ‘गत आर्थिक बर्षमा तीन हजार सात सय ३६ जना गर्भवती भएको मध्येमा २० बर्ष मुनीका एक हजार १६ जना महिलाले पहिलो गर्भ चेकजाँच गराएको देखिन्छ ।’
बाल बिवाह भएका महिलाका स्वास्थ्य अबस्था खराब हुने कार्यालय प्रमुख बिष्टले बताए । बिष्टले भने ‘वाल बिवाह हाम्रा लागी ठुलो चुनौती छ, त्यसको असर महिलाको स्वास्थ्यमा पर्न जान्छ बिभिन्न सामाजिक तथा बिभिन्न समस्या पनि आउने गरेका छन ।’  डोटी तथा सुदूरपश्चिममा बाल बिवाह गर्ने प्रचलन बृद्धि हुँदै गएको  छ । 
अस्थायी साधन प्रयोग 
२० बर्ष  भन्दा कम उमेरका महिलाले लामो समयमा लागी अस्थायी साधनको प्रयोग गर्ने   गरेका छन । डोटी जिल्लामा एक सय ३० जनाले डिपो, आयुसिडी र ईनपलान्ट लगायतका साधन प्रयोग गर्ने गरेका छन । सबै भन्दा बढी डिपो एक सय १७, आयुसिडी १२ र एक जना ईन्पलान्ट प्रयोग गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

सम्पादकीय 

असुरक्षित भएको बहाना हो कि साँच्चै ?

नेपालको संबिधानको मोलिक हक अन्तर्गत धारा ३५ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भन्ने व्यवस्था उल्लेख गरेको छ । अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन ऐनले स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा मानेको छ । अत्यावश्यक भन्नाले नभई नहुने हुनु पर्ने हो ।
स्वास्थ्यसंग सम्वन्धित बिभिन्न कानुनहरुले पनि स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा भनेर व्याख्या गरेको छ तर संबिधानको मौलिक हक, अन्य सवै कानुनी प्राव्धान डोटेली जनताका लागि लागु नहुने पो रहेछन् । मौलिक हककै कुरा गर्ने हो भने ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।’ भन्ने छ, यसको अर्थ डोटेली जनता नागरिक होईनन् भन्ने बुझाई राख्दा अन्याय हुँदैन होला । 
एक जना चिकित्सक जो सरकारी सेवामा छ, तिनै जनताले तिरेको करवाट तलव भत्ता खान्छ र तिनै जनताको स्वास्थ्य जाँच गर्ने जिम्मेवारी पाएको छ, उसले सेवाग्राहीमाथी गरेको दुव्र्यवहारलाई कुनै पनि कानुनले छानविनको दायरामा ल्याउन आवश्यक ठान्दैन । बिरामीसंग दुव्र्यवहार गर्ने, बिरामीका आफन्तलाई हातपात गर्ने छुट कुनै कानुनले पनि कुनै चिकित्सकलाई दिँदैन । त्यसपछि उनीमाथी जो घटना भयो त्यो आपत्तिजनक, खेद्जनक र दण्डनीय हो । अस्पताल जस्तो ठाउँमा एक जना सरकारी सेवारत कर्मचारीलाई कार्यालयभित्रै गएर अंगभंग हुने गरी कुटपिट गर्ने घटना कुनै पनि प्रकारले क्षम्य हुँदैन । यो दण्डनीय अपराध नै हो । 
उक्त अपराधमा संलग्न भएको भन्दै प्रहरीले चारलाई समातेको छ, कानुन अनुसार मुद्धा दर्ता भएको छ, कानुनी उपचार भईरहेको छ । यति हुँदाहुँदै पनि आफु असुरक्षित भएको भन्दै जिल्लाबाट भाग्ने चिकित्सकहरुको नियतमाथी संका छ भन्दा अन्याय हुँदैन होला । डोटीबाट भाग्ने बहाना चाहिएको हो वा ‘हामी डाक्टरहरुले जे गरेपनि हुन्छ’ भन्ने मानसिकता हो स्पष्ट हुनु जरुरी छ । जनताले तिरेको करवाट सेवा सुबिधा उपभोग गर्ने चिकित्सकले खटाएको ठाउँमा गएर काम गर्नु पर्छ, शान्ति सुरक्षा दिने जिम्मा सरकारको हो । स्वास्थ्य मन्त्रालय जस्तो निकायले असुरक्षाको बहाना बनाई कुनै पनि हालतमा कुनै दुर्गममा कार्यरत चिकित्सकलाई सुगुममा पठाउनु हुँदैन । 
हुन त हाम्रो देशमा जे गरेपनि हुन्छ । सरकारी सेवामा लागेका चिकित्सकले बिदा लिएर सरकार बिरुद्ध अनसन बस्दा त कुनै कारवाही हुँदैन भने जिल्ला छोडेर जानेहरुलाई कारवाही होला भनेर आश गर्नु पनि मुर्खता नै होला तर पनि सम्वेदनशील पेशामा लागेकाहरुसंग मानवीय समवेदना पनि हुनु पर्छ भन्ने हो । 
निश्चित रुपमा चिकित्सकमाथी भएको कुटपिट निन्दनीय छ तर के चिकित्सकहरुले गरेको निर्णय खेदमुक्त छ त ? असुरक्षित महसुस भनेको के हो ? कमजोरलाई गालामा झापड् लाउदै जानुहुन्छ भने एक दिन तपाई भन्दा बलियोले तपाइको गालामा हिर्काउँदैमा असुरक्षित महसुस गर्ने ? कमजोरमाथी हात उठाउनु भन्दा पहिले पनि सोच्नु पर्ने होईन र ? 
जे भएको छ त्यो राम्रो भएको छैन । यस बिषयमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तत्काल कदम उठाउनु पर्छ । आउने भए गएकाहरुलाई बोलाउनु पर्छ, यदि आउँदैनन् भने तिनिहरुलाई सरकारी सेवाबाट बर्खास्त हुने गरि कारवाही अगाडि बढाईनु पर्छ र डोटीमा तत्काल चिकित्सकहरु बोलाईनु पर्छ । अन्यथा भोली कुनै अर्को पेशाले असुरक्षित महसुस गर्दै जिल्ला छोड्दा, पर्सी अर्कोले अनि जिल्लाको अवस्था के हुन्छ ?  

थप समाचार 

डोटीमाथी अन्याय भयो—सिटौला

नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम कैलाली तोकेर डोटी जिल्लामाथी अन्याय गरेको वताका छन । 
‘सवै कारणले प्रदेशको अस्थायी मुकाम डोटी नै तोकिनु पर्ने थियो’ सिटौलाले भने ‘यो निर्णयमा मेरो सहमति छैन ।’ उनले थपे ‘आफ्नै साथीभाईहरु भएको मन्त्रीपरिषद्ले गरेको निर्णय र त्यसमा पनि मन्त्री बिरबहादुर बलायर डोटीकै व्यक्रि भएको बेला भएको निर्णय भएकाले यसमा म धेरै टिप्पणी गर्न चाहान्न ।’ सिटौलाले अव डोटी जिल्लामा रहेका सरकारी कार्यालयहरुलाई नहटाउने गरि सरकारसंग छलफल गर्नु पर्ने वताए ।  
सिटौलाले राजनीतिक दलहरुमा सामन्तीकरण र व्यापा–रीकरण रहेको बताए । 
‘दलहरुमा रहेको सामन्तीकरण र व्यापारीकरणबाट दलहरु मुक्त हुन सके मात्र देशमा आमुल परिबर्तन हुन सक्छ’ सिटौलाले भने ‘सामन्तीकरण र व्यापारी–करण सवै ठुला दलहरुमा रहेको छ ।’ संघीयताको बिषयमा बिभिन्न खालकाका प्रश्नहरु उठ्ने गरेको बताउँदै सिटौलाले यदि दलहरु ईमानदार हुने हो भने संघीयता दिगो हुन्छ ।’ 
बदलिदो राजनीतिक परिस्थितिका बारेमा नेपाली कांग्रेसका कार्यकर्ताहरुको धारणा बुझ्नका लागि प्रदेश नं. ७ को अनौपचारिक भ्रमण गर्ने क्रममा आईतवार डोटी पुगेका सिटौलाले नेपाली कांग्रेसले बर्तमान सरकारप्रति गुण र दोषको आधारमा व्यवहार गर्ने बताए । ‘अहिले नै सरकारको बिरोध गरिहाल्नु पर्ने जरुरी छैन’ सिटौलाले भने ‘एक सय दिनको त हानीमुन अवधीनै हुन्छ, त्यसपछि सरकार कसरी अगाडी बढ्छ, त्यसै आधारमा हाम्रो समर्थन वा बिरोध हुन्छ ।’ 
‘ओली जी र प्रचण्ड जीको हल गोरु छ, त्यो हल गोरुले हलो तान्छ कि जुवा भाँचेर दुईतिर हुन्छन, त्यो हेर्न बाँकी छ’ सिटौलाले भने ‘सरकारको बिषयमा अहिलेनै कुनै कुरा बोलिहाल्नु हतार हुन्छ ।’ 
उनले नेपाली कांग्रेस निर्वाचनमा पराजित हुनुको मुख्य कारण रणनीतिगत असफलता भएको वताए । ‘शक्ति संचयको दृष्टिले हामीहरुमा रणनीतिक कौशलता भएन’ सिटौलाले भने ‘कांग्रेस नयाँ परिस्थिति अनुसार बिचारले, नीतिले कार्यक्रमले अव परिवर्तन हुनु पर्छ ।’ 
‘हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौं, उनको छोरीलाई जितायौं र पनि उनलाई आफुसंगै राख्न सकेनौं, महन्त ठाकुरलाई सघायौं उनले हामीमाथीनै आक्रमण गरे’ व्यंग्यात्मक शैलीमा सिटौलाले भने ‘राजावादीलाई बोकेर मन्त्री बनायौं, उनीहरुले उल्टो मलाई नै हराई दिए ।’ यस्तै यस्तै कारणले कांग्रेस पराजित भएको उनको भनाई छ । 
नेपाल प्रेस युनियन डोटीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले भने ‘राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिन्छ । निर्विरोध त कहाँ हुन दिईन्छ र ?’ 
सिटौला व्यंग्यात्मक प्रश्न “प्रसाद हरायो ?” 
‘नेपाली कांग्रेसका प्रभावाशाली नेता कृष्ण सिटौलालाई प्रमुख अतिथिको आशन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु ।’ पत्रकार सम्मेलनका सञ्चालक प्रेस युनियन डोटीका सचिव खगेन्द्रवहादुर सिंहले यो वाक्य भन्दा मन नलाई नलाई आशन ग्रहण गर्दै सिटौलाले सिंहतिर हेरेर प्रश्न गरे ‘मेरो “प्रसाद” हरायो ?’ सिटौलाको यो प्रश्नमा सिंहले भने ‘हराएको हैन, समय अभावका कारण हतारमा कार्यक्रम चलाउँदा यस्तो भयो ।’ पत्रकार सिंहको वाक्य पुरा नहुँदै सिटौलाले व्यंग्य गरे ‘ए ए फाष्ट ट्र्याकमा गएर पो हो ।’ सिटौलाको संकेत सञ्चालकले छुटाएको आफ्नो नामको बिचको शव्द ‘प्रसाद’ तिर थियो । यो सम्वादले हलमा उपस्थित सञ्चारकर्मीहरु र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुमा खित्का छुट्यो । 

प्रदेश ७ का तीन शक्तिशाली महिलाहरु

प्रदेश नम्बर ७ मा रहेका १८ जना महिला सांसदमध्ये तीन जनाले महत्वपूर्ण पद र जिम्मेवारी प्राप्त गरेका छन् ।
प्रदेश सभाको उप–सभामुखमा महिला छन । यस्तै सात सदस्यीय मन्त्रीपरिषद्मा दुई महिला महिला अटाएका छन् । एकिकृत नेकपा माओवादी केन्द्रको कोटामा दार्चुलाबाट सांसद बनेकी निर्मला बडाल (जोशी) ले उपसभामुखको जिम्मेवारी सम्हालेकी छन् । कक्षा १० मा पढ्दै गर्दा २०५८ सालमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र बिद्रोहमा सहभागि भएकी जोशी अहिले प्रदेश नं. ७ कै पहिलो मर्यादामा पर्ने महिला बनेकी छन । 
एमालेको कोटामा बैतडीबाट समानुपातिक सांसद बनेकी माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री बनेकी छन । २०४६ सालदेखि सक्रिय राजनीतिमा लागेकी भट्टले कक्षा ८ सम्मको औपचारिक शिक्षा  पुरा गरेकी छन । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला बिकास समिति सदस्य भएकी भट्ट जिल्ला विकास समिति महाहसंघको केन्द्रीय सदस्य समेत भएकी थिईन । २०६४ सालको संबिधानसभा निर्वाचनमा बैतडी निर्वाचन क्षेत्र–२ मा प्रत्येक्ष चुनाव लडेकी भट्ट एमाले प्रदेश कमिटी सदस्य हुन । उनी पनि प्रदेश नंं ७ को शक्तिशाली महिला बनेकी छन । 
प्रदेश नं. ७ को मन्त्रीमण्डलका सात सदस्यमध्ये सवैभन्दा कान्छि मन्त्री बिनिता चौधरी भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री बनेकी  छन् । २०४२ सालमा जन्मिएकी बिनिताले ३२ बर्षकै उमेरमा मन्त्री जस्तो शक्तिशाली पदमा पुग्ने अवसर पाएकी छन । 
प्रवेशिका तहको औपचारिक शिक्षा लिएकी बिनिता २०५७ सालदेखिनै माओवादी पार्टी गतिबिधिमा जोडिएकी थिईन । पार्टीका बिभिन्न तहमा काम गर्दै उनी हाल माओवादीको केन्द्रीय अधिवेशन आयोजक समिति सदस्य छन । उनी समानुपातिक कोटाबाट सांसद बनेकी हुन । २०६२ सालमा सुरक्षाकर्मीले पक्राउ गरि यातना दिएकी बिनिता अव तिनै सुरक्षाकर्मीले ‘स्यालुट’ गर्नु पर्ने ठाउँमा पुगेकी छन । 
यस्तै प्रत्यक्षतर्फ माओवादी केन्द्रबाट बझाङ्की देवकी मल्लले मात्रै चुनाव जितेकी भएपनि प्रदेश सभामा १८ महिला सांसद रहेका छन । एमालेबाट आठ, माओवादी केन्द्रबाट चार, नेपाली काङ्ग्रेसबाट चार र राष्ट्रिय जनता पार्टीबाट एक जना गरि १७ महिला समानुपातिकतर्फबाट प्रदेश सांसदमा निर्वाचित हुनु भएका हुन । 

प्रदेश सभा बैठकबाट दुई समिति गठन

प्रदेश नं. ७ प्रदेश प्रदेश सभाको चौथो बैठकले प्रदेश कार्य ब्यबस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ ।
आईतवार सम्पन्न बैठकले अन्तरिक कार्यविधी, २०७४ को दफा १५ बमोजिम ८ सदस्यीय कार्य ब्यबस्था     परामर्श समिति गठन गरेको हो । प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापाले परामर्श समितिका सदस्यहरुको नामावली प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई प्रदेश सभाको बहुमतले पारित गरेको     छ । 
कार्य ब्यवस्था परामर्श समितिको संयोजकमा सांसद तारा लामा तामाङ्ग रहेका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण राज सुवेदी, अर्चना गहतराज, अक्कल बहादुर रावल, बिरमान चौधरी, भारत बहादुर खड्का, रण बहादुर रावल र मालमती कुमारी राना रहेका छन् ।
बैठकले प्रदेशसभा नियमावली मस्यौदा समिति गठनको निर्णय सर्वसम्मतिका साथ पास गरेको छ । सांसद तारा लामा तामाङ्गले नेपालको संविधान धारा १९४ बमोजिम नियमावली मस्यौदा समिति गठन गरियोस भनी राखेको प्रस्ताव सर्वसम्मत पारित भएको होे । उक्त प्रस्तावको सर्मथन प्रदेश सांसद टेक बहादुर रैका आउजीले गरेका थिए । समितिमा सांसदहरु लिलाधर भट्ट, पूर्णा जोशी, महेशदत्त जोशी, टेक बहादुर रैका आउजी र कृष्ण बहादुर चौधरी रहेका छन् ।
आईतवारको प्रदेशसभा बैठकमा बिशेष समय लिएर आठ जना सांसदहरुले बिचार राखेका थिए । बिशेष समयमा बोल्ने सांसदहरुमा लालबहादुर खड्का, देवकी मल्ल, भरत बहादुर खड्का, नेपालु चौधरी, मान बहादुर धामी, रणबहादुर रावल, दुर्गा कुमारी कामी र कृष्णराज चौधरी रहेका थिए । 
बैठकमा सभामुख अर्जुन बहादुर थापाले राष्ट्रिपतिको निर्वाचनबारे नेपाल सरकारको सचिवालयबाट आएको पत्र पढेर सुनाएका थिए । प्रदेश सभाको अर्को बैठक सोमबार दिउसो २ बजे बस्नेछ ।
रेशम चौधरीलाई प्रमाण पत्र दिन प्रदेश सभाले पहल गर्नु पर्ने माग
बैठकमा सांसद कृष्णराज चौधरीले कैलाली क्षेत्र–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई प्रमाणपत्र दिनका लागि प्रदेश संसद र सरकारले पहल गर्नु पर्ने माग राखे । 
संसदमा बिशेष समय लिएर बोल्दै सांसद चौधरीले यस बिषयमा प्रदेश सभा र प्रदेश सरकारले चाँडो निर्णय नलिएमा अगामी बैठक चल्न नदिने चेतावनी समेत दिए । 
२०७२ साल भाद्र ७ गते कैलालीको टिकापुरमा प्रहरी बरिष्ठ उपरीक्षक सहित नौ जनाको ज्यान जाने गरि भएको घटनाका मुख्य योजनाकार रहेको आरोप खेपिरहेका प्रतिनिधि सभा सदस्य चौधरी अहिले पूर्पक्षका लागि थुनामा छन् । प्रहरीको फरार सूचीमा रहेका चौधरी निर्वाचन जितेपछि अदालतमा आत्मसमर्पण गरेका हुन । 
उता प्रतिनिधि सभा सदस्य चौधरीले कैलाली कारागारभित्रै अनसन सुरु गरेका छन । आफुले शपथ ग्रहण गर्न पाउनु पर्ने र उक्त घटनाका आरोपी–लाई क्षतिपूर्ति सहित छोडिनु पर्ने माग सहित उनले अनसन सुरु गरेका हुन ।

मुख्यमन्त्री भट्टले आज बिश्वासको मत लिने

प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार विश्वासको मत लिने भएका छन् ।
नेपालको संबिधानको धारा १६८(४) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सहमतिमा नियुक्त भएका मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट बिश्वासको मत लिनु पर्ने व्यवस्था छ । गत फागुन ३ गते मुख्यमन्त्री पदमा नियुक्त भएका भट्टले प्रदेश सभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सुविधाजनक बहुमत भएकाले तोकिएको समयसीमा अगावै विश्वासको मत लिने भएका छन् ।
एमाले पोलिट व्यूरो सदस्य समेत रहेका भट्ट एमाले–माओवादीको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा एमालेका २५ र माओवादीका १४ गरि ३९ सांसद रहेका छन् ।

सरकारी स्वास्थ्य संस्थामा १४ दिनदेखि सेवा अवरुद्ध

रामहरी ओझा/डोटी
फागुन २१
डोटीका सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकहरुले आफुहरु असुरक्षित भएको भन्दै फागुन ९ गतेदेखि जिल्ला छोडेपछि स्वास्य सेवा अवरुद्ध भएको छ ।
फागुन ६ गते जिल्ला अस्पताल डोटीमा काजमा कार्यरत चिकित्सक डा जितेन्द्र सिंहमाथी कुटपिट भएपछि सुरक्षाको कारण देखाउँदै अस्पताल र जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकहरु गिरीस अवस्थी, विबस पराजुली, जितेन्द्र सिंह र राजकुमार बिश्वकर्माले जिल्ला छोडेका थिए । आफुहरुलाई असुरक्षा भएको भन्दै जिल्ला छोडेका चिकित्सकहरुले फर्कन मानेका छैनन् । जिल्ला छोड्ने चिकित्सकहरुमा डा अवस्थी निक साईमन नामक गैरस– रकारी संस्थावाट नियुक्त चिकित्सक हुन भने अन्य सरकारी सेवाका हुन । 
एक महिलाको भिडियो एक्स–रे गर्ने क्रममा डा जितेन्द्र सिंहले दुव्र्यवहार गरेको भन्दै बिवाद उत्पन्न भएपछि डा जितेन्द्रले महिलाका आफन्त एक युवकलाई झापड लगाएका थिए । ‘डाक्टरले भिडियो एक्स–रे नगरि मलाई वाहिर पठाए’ ति महिला भन्छिन् ‘डाक्टरले ममाथी अभद्र व्यवहार गरे ।’ दुव्र्यवहार पनि गरेको र भिडियो एक्स–रे पनि नगरिदिएकाले आफुले आफन्तलाई खवर गरेको ति महिला बताउँछिन् ।
सिंहको उक्त व्यवहारवाट आक्रोसित महिलाका आफन्तहरुले सिंहको दाँत समेत भाँचिने गरि कुटपिट गरेका थिए । उक्त घटनापछि नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ (गोडान) ले बिज्ञप्ती जारी गर्दै जिल्लाका सरकारी तथा नीजि स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुलाई जिल्ला छोड्न आग्रह गरेपछि सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले जिल्ला छोडेका थिए । 
डा जितेन्द्र भने आफुले त्यस्तो कुनै दुव्र्यवहार नगरेको दावी गर्दै आएका छन् । 
प्रहरीले चिकित्सकलाई कुटपिट गरेको भन्दै चार जना बिरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता गरि अनुसन्धानको क्रममा रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार डोटी दिसिनपा–७ का हिम्कत सिंह बिष्ट, बिजय बिष्ट, टेकबहादुर विष्ट र सोही नपा–६ का अरुण महतलाई घटना भएकै दिन नियन्त्रण लिई थुनामा राखिएको छ । थप अनुसन्धानका लागि आईतवार सात दिनको म्याद थप गरि थुनामा राखिएको छ ।  
कुटपिटमा संलग्न व्यक्तिहरुलाई थुनी कारवाही भईरहेको भएपनि चिकित्सकहरुले घटनालाई बहाना बनाएर जिल्ला छोडेको स्थानीयले आरोप लगाउन थालेका छन । ‘जसले कुट्यो ति जेलमा छन् अनि के को असुरक्षा ?’ अस्पतालमा उपचारका लागि आएका एक व्यक्तिले भने ‘पहिले गल्ती आफै गर्ने अनि एक दुई जनाका कारण सिङ्गै जिल्लाबासीलाई दुःख दिने कहाँको नियम हो ?’ उनले अस्पतालमा तत्काल चिकित्सक आउनु पर्ने माग गरे । 
चिकित्सक नभएका कारण दिनहुँ बिरामीहरु फर्केर जाने गरेको अस्पतालका एक स्वास्थ्यकर्मीले वताए । उनले भने ‘डाक्टर नभएपछि भिडियो एक्स–रे, ल्याव, पोपिडीमा आएका बिरामीहरुलाई फर्काउनु पर्ने अवस्था छ ।’
चिकित्सक छिटो पठाउनु पर्ने भन्दै आफुले स्वास्थ्य मन्त्रालयका सचिवसंग  कुरा गरेको बताउँछन डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री । खत्री भन्छन् ‘चिकित्सक छिटो पठाउनुहोस् भनेको छु, सायद छिट्टै आउँछन् होला ।’ उनले आफुले यस बारेमा प्रदेश नं. ७ का मुख्यमन्त्रीसंग पनि कुरा भईरहेको बताएका छन । 
आफुहरुले आरोपीलाई थुनामा राखेर मुद्धा दर्ता गरि अनुसन्धान गरिरहँदा पनि चिकित्सकहरुले असुरक्षित भएको भन्नु गलत भएको प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंह बताउँछन । उनी भन्छन् ‘स्वास्थ्य संस्थामा अन्यत्र पनि घटनाहरु हुने गरेका छन, सवैले जिल्ला छोड्दै हिड्ने हो भने के होला ?’ चिकित्सकहरुलाई कुनै पनि प्रकारको  असुरक्षा नभएको सिंहको दावी छ । 

नेपाल भारत सुरक्षा अधिकारीहरुको बैठक सुरु

टेकेन्द्र देउवा/कैलाली
फागुन २१
पिथौरागढमा नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा सुरक्षा समन्वय बैठक सोमबार शुरु भएको छ । 
बैठकमा नेपाल भारतका सुरक्षा अधिकारीहरुले साझा एजेण्डाको रुपमा सीमा अपराध प्राथमिकतामा राखेर छलफल गरिरहेका छन । भारतीय पक्षको आग्रह अनुसार बैठक बसेको हो ।
पिथौरागढदेखि दार्चुलाको व्यास तिंकरसम्म र भारतको झुलाघाटमा नेपाल भारत सीमा क्षेत्र जोडिएको छ । भारतीय पक्षले सीमा क्षेत्रमा आइएसको गतिविधि हुन सक्ने भन्दै यसको नियन्त्रणमा नेपाली पक्षसंग छलफल गरिरहेको छ । यस्तै नक्कली मुद्राको काराबोर तथा नेपालको क्षेत्रमा सुरक्षा गस्ती थप गर्नुपर्ने लगायतको विषयमा छलफल भइरहेको हो ।
नेपाल भारतको समन्वय बैठकमा भारतले नेपाली पक्ष सामु यसअघि नौ वटा एजेण्डामा छलफल गरिने प्रस्ताव तयार गरेको थियो । नेपाली पक्षले भने बैठकमा ११ वटा विषय वस्तुमाथी छलफल गर्ने गरि एजेण्डा तयार गरेको थियो । मानव वेचबिखन, सीमा अपराध, अवैध वन्यजन्तुको ओसार पसार तथा चोरी निकासी, लगायतका विषयवस्तु दुवै देशको साझा एजेण्डा छन् । यसैगरी नेपाली पक्षले महाकाली नदीमा लगाइने झोलुंगे पूल, बंगाबगर खोतिला पहिरो, लागू पदार्थ ओसार पसार नियन्त्रण, विपद तथा खोज उद्दारमा सहकार्य, सीमा क्षेत्रमा निर्माण कार्यले हुने क्षति बारे एजेण्डा तयार गरेको थियो । केहि दिन अघि भारतीय पक्षले महाकालीमा चार वटा झोलुंगे पूल निर्माण प्रस्ताव गरेलगत्तै एकतर्फी रुपमा पूल निर्माण गरेपछि सो विषयमा समेत छलफल हुने अपेक्षा गरीएको छ ।
नेपालतिर सीमा सशस्त्र प्रहरी बल सदरमुकाम खलंगामा मात्रै केन्द्रित छ । दार्चुलाबासीले सीमा सशस्त्र प्रहरी वललाई तिंकरमा राख्न पटक पटक माग गरेपनि नेपाल सरकारले यसबारे निर्णय लिएको छैन । बैठकमा दार्चुलाको तर्फबाट प्रमुख जिल्ला अधिकारी जनार्दन गौमतको नेतृत्वमा सुरक्षा निकाय प्रमुखहरु लगायतको सहभागिता रहेको छ ।

पर्यटक भित्र्याउन ‘होमेस्टे सञ्चालन’

भूमिराज जोशी/डोटी
फागुन २१
भू–स्वर्गको उपमाले चिनिने खप्तड राष्ट्रिय निकुञ्ज बिकासका लागि बिगतका बर्षहरुमा पनि बिभिन्न खाले बहस चल्दै आएको हो । बहुसरोकारवाला निकायहरुले आ–आफ्ना धारणा राख्दै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ बनाएका गुरुयोजनाहरु पनि सेलाउदै गएका थिए । 
खप्तड पर्यटन क्षेत्र बिकास समितिमा राजनीतिक नियुक्ति हुँदा खप्तड बिकासमा बाधा अड्चन हुँदै आएको   थियो । आफ्नो पार्टीको सरकार आएपछि आफ्नै पार्टीका कार्यकर्ताहरु पाल्ने भाँडो बन्दै आएको पर्यटन बिकास समिति आम जनताको तेश्रो निशानामा पर्दै आएको  छ ।
खप्तड बिकासमा पर्यटन क्षेत्र बिकास समितिकै आसमा बस्ने जनताले पछिल्लो समयमा भू–स्वर्गको बिकासमा सरकार पक्षको बेवास्ता गर्दै स्थानीय तहबाट नै काम थालनी गर्नुपर्छ भन्दै लागि परेका छन ।
डोटी जिल्लाबाट खप्तड प्रबेश गर्ने प्रबेशद्धारमै रहेको पूर्वीचौकी गाउँपालिका २ बगलेगमा होमेस्टे सञ्चालन गर्नको लागि स्थानीयहरु, स्थानीय तहहरु र होटल ब्यवसायी संघहरु लागि परेका छन । शनिबार बग्लेकमा सर्बदलीय बैठक बसी १० वटा होमेस्टेहरु सञ्चालन गर्ने निर्णय गरेको हो । होमेस्टे सञ्चालन गर्नको लागि पूर्वीचौकी गाउँपालिकाको कार्यपालिकाबाट तीन लाख र पूर्वीचौकी गाउँपालिका २ बग्लेकको वडा कार्यालयबाट तीन लाख रकम परिषदबाट छुट्याइएको वडाध्यक्ष योगेन्द्र ठकुल्लाले जानकारी दिए ।
खप्तड पर्यटन बिकासका गतिबिधि बढाउनका लागि प्रबेशद्धार बग्लेकमा होमेस्टे सञ्चालन गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खप्तडको मनोरम दृश्य अबलोकन गर्न सहज हुने पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घ बोगटीले बताए । उनले भने, ‘मैले गाउँपालिकाको चुनाब जित्दा पनि खप्तड बिकासमा होमेस्टे सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख गरेको थिए । त्यसैलाई अगाडी बढाउन यो कार्यको थालनी गरेका हौं ।’
भू–स्वर्गको प्रबेशद्धारमा तत्कालै ठूला ठूला होटलहरु सञ्चालन गर्न नसकेपनि होमेस्टे मार्फत पर्यटकलाई सुबिधा दिन सक्ने होटल ब्यवसायी संघ डोटीका अध्यक्ष दीपक बहादुर खड्काले बताए । उनले भने ‘जसरी खप्तडको बिकासको लक्ष्य राखेको थियो त्यसरी १० प्रतिशत पनि काम नहुँदा अब सरकारी पक्षको आशा मारेर नै हामीहरुले नै होमेस्टे बनाउने योजना बनाएका हौं ।’

छोटकरी समाचार 

चमेलिया दुर्घटनामा एकको मृत्यु

दार्चुला र बैतडीको सीमा चौलानी (चमेलिया) नदीमा जीप खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 
दुर्घटनामा मृत्यु हुने मार्मा गाउँपालिका लटिनाथका कृष्णसिह विष्ट रहेको प्रहरी जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार मार्मा गाउँपालिकाको लटिनाथबाट सदरमुकाम खलंगा आउँदै गरेको म१प २३३ नम्बरको जीप बैतडीको डिलाशैनी गाउँपालिकाको छोला झोलुङ्गे पुल नजिक चमेलिया नदीमा खसेको जनाएको छ ।

चैत ४ देखि महायज्ञ

प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरमा यही चैत्र ४ गतेदेखि शैलेश्वरी धार्मिक महोत्सव ज्ञान–महायज्ञ सञ्चालन हुने भएको छ । 
डोटी क्याम्पसको प्राबिधिक शिक्षा लगायत क्याम्पसको सर्वाङ्गिण बिकासका लागि अर्थ संकलन गर्ने उद्देश्यका साथ उक्त महायज्ञ आयोजना गर्न लागिएको डोटी क्याम्पसका प्रमुख कृष्णबहादुर कठायतले    जानकारी दिए । 
साताव्यापी रुपमा चल्ने श्रीमद्भागवत् महापुराण ज्ञान महायत्र सञ्चालन हुने छ । महायज्ञमा सुकदेव भागवत् आश्रम गैडाकोट नवलपरासीकी बिदुषी यशोदादेवी कौण्डिन्यले प्रवचन गर्ने क्याम्पस प्रमुख कठायतले वताए । महायज्ञमा योग बिज्ञान शिविर, शालिग्राम पुजन, दैनिक पुजा, रुद्री, भागवत पाठ लगायतका धार्मिक क्रियाकलापहरु हुनेछन ।

खेल समाचार 

थ्रि–स्टारले लियो बदला

ई–कान्तिपुरबाट
थ्रीस्टार क्लबले विभागीय टोली एपीएफसँग तीन दिनभित्रै बदला लिएको छ । थ्रीस्टारले चितवनको विकास रनिङ सिल्ड फाइनलमा शनिबार बेहोरेको हारको बदला झापा गोल्डकपमा लिएको हो ।
थ्रीस्टारले डोमालाल राजवंशी रंगशालामा सोमबार १–० ले विजयी हुँदै सेमिफाइनल पुगेको हो । थ्रीस्टारको जितमा विदेशी खेलाडी अजायी मार्टिन नायक बनेरु। उनले दोस्रो हाफको ११ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । सुनील बलको क्रसमा मार्टिनले गोल गर्दा रंगशालाका करिब तीन हजारमध्ये आधाभन्दा बढी दर्शकलाई खुसी तुल्यायो ।
रोमाञ्चक खेलको पहिलो हाफभर थ्रीस्टार हाबी देखिन्थ्यो । पाँचौं मिनेटमा थ्रीस्टारका सुनील बलले गरेको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले बिफल पारे । त्यसअघि अनन्त तामाङको प्रहार पोस्टबाहिर गएको थियो । २० औं मिनेटमा सुनीलकै पासमा मार्टिनले पाएको वन भर्सेज वन बल दायाँ बार हुँदै बाहिरियो ।
एपीएफका हरि कार्कीले २४ औं मिनेटमा राम्रो मौका गुमाएरु। उनको प्रहार गोलरक्षक एलन न्यौपानेले रोकेरु। थ्रीस्टारका नीराजन खड्काले २६ औं मिनेटमा दीपक राईको पासमा पाएको खुला अवसर सदुपयोग गरेनन् । फ्रि–किक अवसरमा थ्रीस्टारकै डिफेन्डर रजिन धिमालले गोल असफल भए । उनको प्रहार पोस्ट माथिबाट बाहिर गयो । ४१ औं मिनेटमा बुद्ध चेम्जोङको प्रहार गोलरक्षक एलनले पन्च गरे । रिबाउन्ड हुँदा मार्टिनले प्राप्त मौका गुमाएका थिए ।
पहिलो हाफभर थ्रीस्टारको दबाब झेलेको एपीएफले दोस्रो हाफपछि केही सुधारोन्मुख खेल देखायो । तर, अन्तिम समयसम्म गोल भने गर्न सकेन । ११ औं मिनेटमा थ्रीस्टारले गोल गरेलगत्तै एपीएफले पनि गोल फर्काउने मौका प्रशस्त पायो । तर थ्रीस्टारका बलिया डिफेन्डर रजिन धिमाल र अनन्त तामाङले कुनै मौका नै दिएनन् ।
दोस्रो हाफपछि पनि मार्टिनले प्रशस्त अवसर पाए । एउटा अवसर गोलरक्षकले कठिनसँग रोकेरु। दोस्रो प्रहार बार बाहिर गयो । उता एपीएफका आशीष लामाले निकालेको पासमा नवीन लामाले गोलरक्षक बिट हुँदाको अवस्थामा पनि गोल गर्न नसक्नु एपीएफको दुर्भाग्य बन्यो । अन्तिम समयमा एपीएफले विपक्षी डिफेन्डर अनन्तको सानो गल्तीको फाइदा उठाउन सक्थ्यो, तर सकेन ।
एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले निरन्तर खेल खेल्नुपरेका कारण खेलाडीले आराम नपाउँदा पराजय बेहोर्नु परेको बताए । दुई दिनअघि मात्र चितवनमा खेलेर झापा आएको बताउँदै उनले मैदानबारे जानकारी नभएकाले खेल्न सहज नभएको बताए ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले स्कोर गर्न नसक्दा सोचे अनुसार नतिजा निस्कन नसकेको बताए । उनले ६०–४० खेलको अवस्थामा हुँदा समेत एकमात्र गोल भएको बताएरु। एक गोल हुँदा खेल प्रतिस्पर्धात्मक भएजस्तो देखिएको उनको भनाइ थियो ।
म्यान अफ द म्याच थ्रीस्टारका अजायी मार्टिन भए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

चलचित्र/मनोरञ्जन 

“हुर्रे” ले कति तान्ला दर्शकलाई ?

अनलाईन खवरबाट

नेपालमा कमेडी चलचित्रले राम्रै व्यापार गरिरहेका छन् । दर्शकले, कमेडी कथालाई पस्किएका चलचित्रलाई रुचाएको पाइन्छ । दर्शक हलमा पुगेर पूर्ण मनोर–ञ्जन लिन चाहन्छन् । यसैले, पनि मेकरहरु चलचित्रमा कमेडी कथा पस्कन लालयित छन् ।
शुक्रबारदेखि यस्तै रमाइलो कथा बोकेको चलचित्र ‘हुर्रे’ रिलिज हुँदैछ । यम थापाले निर्देशन गरेको यो चलचित्रमा नायिका केकी अधिकारीदेखि हाँस्य कलाकार राजाराम पौडेलसम्म छन् । यस्तै, नायक अनुप विक्रम शाही, अंकित खड्का, संगिता नापित लगायतका कलाकारलाई पनि दर्शकले पर्दामा देख्न पाउनेछन् ।
चलचित्रको ‘ठेकीमा दहि’ बोलको गीत चर्चामा छ । चलचित्रमा नायिका केकी अधिकारी केटा फसाउने यूवतीको भूमिकामा देखिएकी छिन् । केकी चलचित्र उत्कृष्ट बनेकाले आफू उत्साहित भएको बताउँछिन् ।
चलचित्र ‘राज्जा रानी’को असफलताका कारण पनि केकीका लागि यो चलचित्र चल्न आवश्यक छ । पशुपति क्षेत्रमा खिचिएको चलचित्रलाई लिएर यसको मेकर उत्साहित छन् ।

सनीले जन्माईन जुम्ल्याह सन्तान

एजेन्सी
बलिउड अभिनेत्री सनी लियोनीले  जुम्ल्याहा बच्चा जन्माएकी छन । 
पोर्न स्टार हुँदै बलिउडमा आएकी सनीले गत बर्ष एक बच्चा पालन पोषणको जिम्मा लिएकी थिइन् । तर अहिले उनले फेसबुकमा एउटा फोटो अपलोड गरि आफुले जुम्ल्याह बच्चा जन्माएको सार्वजनिक गरेकी छन । फोटोमा उनका श्रीमान् उनले पालेको बच्चाका अलावा साथमा अरु दुई साना बच्चा पनि छन् ।
उनले उक्त फोटो पोस्ट गर्दै ‘यो इश्वरको कृपा हो २१ जुन २०१७ त्यो दिन थियो जब मलाई र मेरो श्रीमानलाई यो अनुमान भइसकेको थियो की केही समयमै हाम्रा तीन बच्चा हुनेछन् ।’ हामीले परिवार बढाउने योजना बनायौं र धेरै वर्ष पछि अशर सिंह वेबर, नोहा सिंह वेबर र  निशा कौर वेबरको साथमा यो परिवार पूर्ण भएको छ ।
उनले भनिन् ‘हाम्रा बच्चाको जन्म केही दिन पहिले भएको हो तर हाम्रो मनमा यो योजना धेरै पहिलेदेखि थियो । हामी तीन सुन्दर बच्चाका बुवा आमा हांै । यो हाम्रो लागि गर्वको कुरा हो ।

लेख 

ओली कमरेड, सुखानी घटनाले पोल्छ कि !

रामहरी ओझा
हिजो फागुन २१ गते, त्यसो त प्रत्येक महिना २१ गते आउँछ नै तर फागुन २१ को वेग्लै ईतिहास छ । फागुन २१ गते आउने बित्तिकै हरेक वर्ष कम्युनिष्ट आस्थावानहरुले २०२९ सालको फागुन २१ गते सम्झन्छन् । वर्गीय मुक्तीका लागि हासीहासी आफ्नो प्राण उत्सर्ग गर्ने योद्धाहरुको सम्मानमा शीर झुकाउँछन्, बिद्रोह सम्झन्छन्, माक्र्सबाद–लेनीनबाद सम्झन्छन् । 
४५ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँच जनाले शाहदत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ । २०२८ सालमा सुरु भएको झापा बिद्रोहले नेपाली कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याएको हो भन्ने कुरामा सायद कसैको फरक मत होला । यद्यपी आन्दोलनका केही पाटा पक्षहरुमा केही कमजोरी रहेको थियो होला तर सामन्तबाद–दलाल– नौकरशाही–पुँजीवादको अन्त्य गर्दै वर्गीय मुक्तीको सपना बोकेर उठान भएको झापा विद्रोहले नेपाली कम्युनिष्ट आन्दोलनलाई उर्जावान वनाएकाको सत्य हो । उक्त बिद्रोहसंगै ढलेका तिनै शहीदहरु अव हाम्रा बिचमा शालिकमा मात्रै सिमित छन् । भावपूर्ण श्रद्धाञ्जली । 
कम्युनिष्टहरुले यि शहीदहरुलाई आफ्नै तरिकाले सम्झने गरेको भएपनि राज्यको तर्फवाट ति योद्धाहरुको कुनै गन्ती भएन । प्रजातन्त्र, लोकतन्त्र जे आएपनि उनीहरु ओझेलमै रहे । २०७१ सालमा बल्ल पूर्णकदको शालिकमा उभिन पाए उनीहरुले । जाँड खाँदाखादै ढलेकाहरुलाई पनि, कुनै आपराधिक क्रियाकलापमा संलग्न भई मृत्यु भएकाहरुलाई पनि र कालगतिले मृत्युवरण  गरेकाहरुलाई पनि शहीद घोषणा गर्ने चलन रहेको हाम्रो देशमा ति योद्धाहरुलाई शहीदको सूचीमा दर्ज हुन ४३ बर्ष लाग्यो अर्थात २०७२ सालबाट उनीहरुले शहीदको मान्यता पाए । 
तत्कालिन भूमिगत कम्युनिष्ट पार्टीको मेची–कोशी को–अर्डिनेसन कमिटी झापाले २०२८ सालमा सुरु गरेको झापा विद्रोहका क्रममा वर्गशत्रु खतम अभियान र पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको थियो । उक्त अभियानमा संलग्न रहेको आरोपमा पक्राउ परि जेल हालिएका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।
नेत्र घिमिरे, कृष्ण कुईकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा फागुन २१ गतेकै दिन सरकारले गोली हानी हत्या गरेको थियो । घिमिरे, कुईकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए । 
पाँच जना योद्धाहरुको हत्या गरिएको स्थललाई शहीद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । हत्या गरिएकै ठाउँमा अहिले शहीदकै संख्याका पाँच रुख छन् । सुखानी दानाबारी इलाम र झापाको सिमानामा पर्छ । २०७१ मा झापाको तत्कालीन शनि–अर्जुन नगर–पालिका क्षेत्रभित्र सालघारीमा शहीद पार्कको निर्माण     गरिएको छ । पाँचै शहीदको पूर्ण कदको शालिक उभ्याइएको छ । 
सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले झापाको शनिश्चरे स्थित नमूना सामुदायिक वन क्षेत्रभित्र प्रतिष्ठानले पाँच जना शहीदको पूर्ण कदको सालिकको उभ्याएपछि सम्झनाको रुप केही हदसम्म भएपनि फेरिएको छ । 
आज भन्दा ४६ बर्ष पहिले सुरु भएको झापा बिद्रोहका एक योद्धा खडक प्रसाद ओली आज देशको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री छन् । त्यो झापा बिद्रोह के उद्देश्यका लागि गरिएको थियो र बिद्रोह सफल भएपछिको नेपाली समाज कस्तो हुन्छ भन्ने परि–कल्पना गरिएको थियो भन्ने कुरामा जीउँदा सहयोद्धालाई भलिभाँती थाह छ । त्यो सपना पुरा गर्नका लागि अव कमरेड ओलीसंग शक्ति, स्रोतसाधन र समर्थन पनि छ । 
नेपालको संबिधान २०७२ कार्यान्वयनमा आएपछि कमरेड ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी         (एमाले) ले संविधान कार्यान्वयन तथा संगठन सुद्रिढीक–रण कार्यक्रम अभियान अन्र्तगत पहिलो पटक ७५ वटै जिल्लाका एमाले पार्टी अध्यक्षहरुलाई मेची अञ्चल भ्रमण गराएको थियो । २०७२ फागुन २८ गते ऐतिहासिक स्थान सुखानीबाट शुरु भएको अभियान चमैतास्थित रत्न सुरुङ्ग हुँदै जनताको बहुदलीय जनवादका सुत्राधार मदन भण्डारीको ताप्लेजुङ्गस्थित घर ढुङ्गे साँघुमा पुगेर समापन भएको समाचारहरु आएका थिए । त्यो अभियानका क्रममा तिनै खड्क ओली प्रधानमन्त्रीको हैसियतले सुखानीमा उपस्थित भएका थिए । 
करीव सात महिनाको प्रधानमन्त्री कालमा जनतामा केही उत्साह र आशा जगाउन सफल भएका ओलीले अव आवधिक सरकारको नेतृत्व गर्ने म्याण्डेट पाएका छन जनताबाट । एमालेका लागि झापा बिद्रोह, मदन भण्डारी र २०५१ सालको मनमोहन अधिकारी सरकारको कुशलताको व्याज हो भने खड्क ओलीका लागि मात्र भन्दा २०७२ सालको सात महिने सरकारको व्याज हो अहिलेको जनमत । यद्यपी जुझारु संगठन, लगनशील कार्यकर्ता र सहयोगी दलको भूमिकालाई पनि एमालेले नजरअन्दाज गर्न मिल्दैन । त्यसैले यो जनमत अनुसार कमरेड ओलीले त्यो कलिलो अवस्थामा देखेको आमुल परिवर्तनको समाजको सपना पुरा गर्न सक्छन् वा सत्तामोहले उनका सवै सपना र जनताका आशा अपेक्षाहरु भताभङ्ग गर्नेछ भन्ने कुरा अहिलेको प्रश्न हो । 
निश्चित रुपमा नेपालको राजनीतिक मुलधारमा रहेका कम्युनिष्ट पार्टीहरुमा अव कम्युनिष्टपन छैन । नाम “कम्युनिष्ट” पार्टी राखेर वा सिद्धान्तमा ‘माक्र्सवाद–लेनीनबाद’ राखेर गैर कम्युनिष्ट पार्टीहरुलाई ‘कम्युनिष्टहरु अधिनायकबादी हुन’ भनेर संका गर्ने ठाउँ दिनु बाहेक अव यि पार्टीहरुमा कम्युनिष्टपना रहेन भन्ने कुरा व्यवहारबाट प्रष्ट देखिएको छ । फलामे अनुशासन, सांगठनिक प्रतिवद्धता र बैचारिक क्षमता नभएका कार्यकर्ताहरुको झुण्ड बोकेर गुटवन्दीमा प्रतिस्पर्धा गरिरहेकाहरुले अव साम्यवादी लक्ष सहितको बैचारिक(सैद्धान्तिक लडाई लड्लान भन्ने आश गर्नु मुर्खता होला जस्तो छ । 
‘कम्युनिष्ट पार्टीहरु लोकतान्त्रिक होईनन्’ भन्ने कुरा गलत हो किनभने लोकतन्त्र शासन पद्धति मात्रै होईन त्यो जीवनशैली पनि हो । यस आधारमा कतिपय आफुलाई खाटी लोकतन्त्रवादी भन्ने गैर कम्युनिष्टहरु भन्दा केही कम्युनिष्टहरुनै लोकतान्त्रिक जीवन शैली बिताईरहेका छन । तर, कम्युनिष्ट पार्टीहरु अधिनायकबादी हुन भन्ने कुरा त सत्य हो नि ! त्यो अधिनायकत्व स्थापना गर्ने हिम्मत छ त अव यि नामधारी कम्युनिष्टहरुमा ? निश्चित रुपमा छैन । 
बर्तमान राष्ट्रिय/अन्तराष्ट्रिय परिस्थिति, सांगठनिक अस्तव्यस्तता, सहकर्मी दलहरुको अवस्था र अन्य थुप्रै कुराहरुले झापा बिद्रोहका क्रममा कमरेड ओलीले गरेको वर्गबिहिन समाजको परिकल्पना उनी आफु सत्तामा पुग्दा पनि लागु गर्न सक्ने अवस्था अहिले नहोला तर त्यो सपना साकार बनाउनका लागि आधार तयार हुन सक्छ । लोककल्याणकारी राज्यको स्थापना गरेर जनतालाई खुशी राख्न सक्ने अवस्था भने पक्कै   छ । 
त्यो कलिलो उमेर, त्यो बेलाको जोस, बिद्रोहमा सहयोद्धा गुमाउँदाको पीडाको बिषयमा भलिभाँती बुझेका होलान् उनले । आफ्ना सवै सपनाहरु १४ बर्षसम्म जेलमा थन्काउनु पर्दाको छटपटी पनि बिर्सेका छैनन् होला । अव उनीसंग ति सहयोद्धा शहीदहरुका सपना साकार पार्ने, ति आफ्ना सपना साकार पार्ने र उनी आफैले जनतालाई बाँडेका सपना पुरा गर्ने महान जिम्मेवारी छ, त्यो जिम्मेवारीसंगै उनीसंग अवसर पनि छ, साथ सहयोग पनि छ । यदि उनी ईमानदार भएर लाग्ने हुन भने, उनीभित्रको राजनीतिक कार्यकर्ता मरेको छैन् भने उनी पक्कै सफल पनि हुनेछन् ।
फेरी अर्को कुनै समूह बिद्रोहमा नजावस्, फेरी उनी नेतृत्वको सरकारले २०२९ सालको सरकारले झै कुनै कम्युनिष्ट कार्यकर्ताहरुमाथी वर्वरता प्रकट गर्नु नपरोस, फेरी कुनै समूहले हतियार उठान गरेर हजारौं नेपालीहरुको ज्यान लिने वातावरण नबनोस भन्ने कुरामा सचेत होलान ओली कमरेड ! फेरी पनि कुनै अर्को पक्षले हतियार उठाउने योजना बनाउँदैछ, फेरी पनि बिद्रोह हुने संकेत देखिदैछ । एक कम्युनिष्ट पृष्ठभूमिबाट आएको नेता देशकै कार्यकारी प्रमुख भएका वेला अर्को कुनै कम्युनिष्ट समूहले उनी बिरुद्ध हतियार उठान गर्ने अवस्था आयो भने त्यो देशका लागि त दुर्भाग्य हुन्छ नै, उनका लागि पनि दुर्भाग्य हुन्छ । 
यस्ता कुराहरुलाई समयमै समाधान गर्नु ओलीको जिम्मेवारी हो । दमनबाट न हिजोको झापा बिद्रोह समाप्त भयो, न लोकतान्त्रिक वा प्रजातान्त्रिक नाम दिईएका आन्दोलनहरु समाप्त भए, न १० बर्षे माओवादी सशस्त्र बिद्रोह दवाउन सकियो र न अवका कुनै राजनीतिक बिद्रोहहरु दवाउन सकिने अवस्था हुन्छ । 
देशको प्रमुख कार्यकारणी पदमा पहिलो पटक बिराजमान हुँदा पक्कै पनि उनलाई ति सहयोद्धाहरुको याद आयो होला । फेरी दोश्रो पटक पनि उनी त्यही ओहोदामा पुगेका छन । निश्चित रुपमा पनि उनलाई सुखानी घटनाले घच्घचाईरहेको हुनु पर्छ, उत्साह भरिरहेको हुनुपर्छ । पञ्चायत, संबैधानिक राजतन्त्र, लोकतान्त्रिक गणतन्त्रको लामो अनुभव बोकेका छन, भोगेका छन्, देखेका छन र अध्ययन पनि गरेका छन उनले । अव संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफलतापूर्वक हाँक्नेछन् भन्ने आशा गरौं ।  
यस्तायस्तै कतिपय कुराहरु छन् ओली कमरेडका लागि । कम्युनिष्ट राजनीतिक यात्रा सुरु गरेको एक युवाले १४ बर्ष जेल जीवन बिताउनु सामान्य कुरा होईन । त्यो योगदानको प्रतिफल उनले आज पाएका छन । तर त्यो प्रतिफल कसरी व्यवहारमा प्रयोग गर्न सक्छन भन्ने कुराको परीक्षा हुँदैछ । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. ईटिग्रिटी आईडल–२०१७ अवार्डवाट सम्मानित हुने व्यक्तित्व को हुन ? 
— मोरङ्गका सहायक जिल्ला अधिकारी शेषनारायण पौडेल 
(पौडेल सहित अकाउन्टेविलीटी ल्याव नेपालले यस बर्ष उत्कृष्ट पाँच सकारी कर्मचारी सम्मानित     गरेको) 
२. बिश्व पर्यटन संघ (World Tourism Organization) को छोटकरी नाम परिवर्तन गरि के बनाइएको छ ?  — UNWTO
३. लेगाटम प्रोस्परिटी ईन्डेक्स— २०१७ अनुसार बिश्व समृद्धि सूचकाङ्कमा नेपाल कतिऔं स्थानमा रहेको छ ?      — ८९ औं 
— प्रत्येक बर्ष सार्वजनिक गरिने लेगाटम समृद्धि सूचकाङ्कमा चीन ९० औं तथा भारत एक सयौं स्थानमा रहेको 
— देशको आर्थिक गुणस्तर, व्यवसायिक, वातावरण, सुशासन, शिक्षा, स्वास्थ्य, सुरक्षा, व्यक्तिगत स्वतन्त्रता, सामाजिक पुँजी र प्राकृतिक वातावरणका आधारमा तय गरिने यस सूचकाङ्कमध्ये नेपालको सवैभन्दा राम्रो व्यक्तिगत स्वतन्त्रता (३९ औं) देखिएको ।
— एक सय ४९ राष्ट्र समेटी तयार पारिएको सो प्रतिवेदनमा श्रीलंका ५३ औं, बंगलादेश एक सय एकौं तथा पाकिस्तान एक सय ३७ औं स्थानमा रहेको
— सो सूची अनुसार पहिलो दश स्थानमा रहेका राष्ट्र नर्वे, न्युजिल्याण्ड, फिनल्याण्ड, स्वीजरल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, क्यानाडा, अस्ट्रेलिया र बेलायत हुन । 
— यस्तै सूचीको अन्तिममा रहेका राष्ट्र यमन (१४९ औं), सेन्ट्रल अफ्रिकन रिपव्लिक (१४८ औं) सुडान (१४७औं), अफगानिस्थान (१४६औं) चाड (१४५औं) मौरिटानिया (१४४औं) कंगो (१४३औं) ईराक      (१४२औं) अंगोला (१४१औं) तथा बुरुण्डी १४०औं) हुन ।
४. काठमाण्डौं अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा नेपाल पानोरामा अन्तरगत ‘अडियन्स अवार्ड’ र ‘स्पेसल जुरी मेन्सन अवार्ड’ जित्ने नेपाली बृत्तचित्र कुन हो ?    — द लास्ट हनी हन्टर 
(बि.सं. २०७४ मंसिर २८ देखि पुष ३ सम्म सञ्चालित)
५. नेपालमा सर्वप्रथम पात्रो प्रकाशन कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ?  — रणोद्दिप सिंह 
६. लिच्छवी कालमा राजश्व संकलन, जग्गा खरिद बिक्री तथा भूमि सम्वन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?      — कुथेर अधिकरण 
७. चिलीमा हालै (सन २०१७) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन ? 
— सेवास्टियन पिन्येरा 
८. गिनिज बुक अफ वल्र्ड रेकर्डस्को प्रकाशनको सुरुवात कहिले देखि भएको हो ? 
— सन १९५५ अगस्त २७ 
(बिश्वमा भएका बिविध किर्तिमान उल्लेख गरी प्रत्येक बर्ष प्रकाशन हुने गिनिज बुक अफ वल्र्ड रेकर्डस्को पहिलो प्रकाशन सन १९५५ अगस्त २७ मा बेलायतको लण्डनमा भएको) 
९. नेपालको मरुभूमि भन्नाले मुस्ताङलाई चिनिन्छ भने नेपालको श्रीलंका भनेर कुन ठाउँलाई चिनिन्छ ? 
— कोसी टापु 
१०. नेपाली साहित्यमा त्रिमुर्ति भनेर चिनिने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौडेल र नाट्यसम्राट बालकृष्ण समको सालिक कहिले र कहाँ अनावरण गरियो ? 
— बि.सं. २०६१ भाद्र, ११ सिनामंगलस्थित सञ्चारग्राममा 
११. काठमाण्डौंलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ?   — २०५२ मंसिर २९ 
१२. नेपालमा सवैभन्दा पहिल स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?   — बालाजु औद्योगिक क्षेत्र 
१३. सात कुण्डको जिल्ला भनी रसुवालाई, सात तालको जिल्ला भनी कास्कीलाई चिनिन्छ भने सात पोखरीको जिल्ला भनी कुनलाई चिनिन्छ ?    — काठमाण्डौं 
१४. ‘कुनै पनि सपना जादु गरेजस्तो यथार्थमा बदलिदैन, यसका लागि प्रसस्त पसिना र दृढताको खाँचो पर्दछ ।’ भन्ने बिचारक को हुन ?    — कोलिन पावेल, अमेरिकी पूर्व सेनापति 
१५. नेपालको संबिधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि                  पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?   — धारा १८(४)
नेपाल सरकारे लिएका केही लक्ष्यहरु 
१. पूर्ण सरसफाई युक्त देश बनाउने, खुलादिशामुक्त घोषणा गर्ने, धुवामुक्त घोषणा गर्ने ः २०१७ सम्म 
२. नेपाल भ्रमण बर्ष, बालविबाह अन्त्य गर्ने, हात्तिपाईले जिवाणुमुक्त बनाउने ः २०२० सम्म
३. बाघको संख्या दोव्वर गर्ने, बिकासशील राष्ट्रमा स्तरोन्नती गर्ने, नेपालको जन्मदरलाई बिस्थापन दरमा पु¥याउने ः २०२२ सम्म 
४. औलोमुक्त गर्ने, भोकमरी अन्त्य गर्ने ः २०२५ सम्म 
५. जलबिद्युतमा आन्मनिर्भर बनाउने ः २०२७ सम्म 
६. मध्यम आय भएको देशमा स्तरोन्नती गर्ने ः २०३० सम्म 
७. बन दशक ः बि.सं. २०७१–२०८० सम्म  
८. २० बर्षे कृषि विकास रणनीति ः २०१५–२०३५ सम्म
९. फलफुल दशक ः बि.सं. २०७३/०७४—२०८२/०८३ सम्म

साहित्य/सृजना 

परेला

ओठको मुस्कान भन्दा पनि
आँखाका भिजेका परेलाहरु
कति न्यायपूर्ण लाग्छन
सुख मात्र आफ्नो
खुशी मात्र आफ्नो
हासो मात्र आफ्नो
कहिल्यै ठान्दैनन्
दुःख चाहिँ अरुको
पीडा चाहिँ अरुको
बेचैन चाहिँ अरुको
कहिल्यै मान्दैनन्
ओठको मुस्कान भन्दा पनि 
आँखाका भिजेका परेलाहरु 
बास्तबमा मित्र झैँ लाग्छन
सुख, दुःख
हासो, आँसु
सबैलाइ अगालिदिन्छन
दुःखको बखतमा,
दुखी भएर परेला रसाइदिन्छन
सुखको बखतमा,
खुशी भएर परेला रसाइदिन्छन
बिछोडको क्षणमा,
बिछोडको पिडाले परेला रसाइदिन्छन
मिलनको क्षणमा, 
मिलनको खुशीले परेला रसाइदिन्छन
किन किन यी परेलाहरु
हर पल रसाइदिन्छन
पुस्पा जोशी “काली” 
धनगढी, कैलाली

मेरो प्यारो देश नेपाल

मेचीकली फैलिएको छ ...
हिमाल, पहाड, तराई मिली
छरिएको लेक बेशी
आफ्नै रीति तिथि
संस्कृतिमा सजिएको
मेरो प्यारो देश नेपाल
कला, साहित्य, पुरातत्व
आफ्नै
किसिमकिसिमका थरीथरी
संस्कार छन यहाँ
मिलाएर सेता दन्त लहर
पूर्वदेखि पश्चिमसम्म
उत्तरमा हिमाल हाँस्दै छन
छहरा र पहरासँग लडिबुडी गर्दै
डाफे मुनाल रमाइरहेछन
हरेक बस्ती बस्तीमा
मानव यहाँ रमाइरहेछन ...
आफ्नै आफ्नै संस्कारमा
आहा कति राम्रो
सौन्द्र्यले झकी झकाउ
मेरो सुन्दर नगरी नेपाल
हो सच्चै मेरो प्यारो भूमि नेपाल
सुन्दर आहा कति रमाइलो
मनै हरर 
मेरो प्यारो देश नेपाल
मुटुभन्दा नि प्यारो छ
करण बिश्वास

सूचना/सन्देश/बिज्ञापन 

लेखापाल पदको आवश्यकता सम्बन्धी सूचना 

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१०/२० गते
उपरोक्त सम्बन्धमा यस अपाङ्ग सेवा संघ, डोटी र यू.एम.एन. डोटी क्लष्टरको साझेदारीमाा सञ्चालित “समुदायमा आधारित बाल्य अवस्था अपाङ्गताको एकिकृत व्यवस्थापन” र (CBR) परियोजना अन्तर्गत एक जना लेखापालको आवश्यकता परेको हुँदा तपसिलको योग्यता पुगेका ईच्छुक ब्यक्तिहरुबाट प्रथम पटक सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र आफ्नो ब्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी सहित दरखास्तका लागि आह्वान गरिएको छ ।
तपसिल ः
पद ः लेखापाल
आवश्यक संख्या ः १ (एक) जना
कार्यक्षेत्र ः  कार्यालय
योग्यता तथा अनुभव ः 
मान्यता प्राप्त शिक्षण संस्थाबाट बाणिज्य बिषयमा प्रमाण पत्र तह ।
लेखापाल क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य अनुभव भएको ।
आधारभूत कम्प्यूटर, ईमेल, ईन्टरनेट सम्बन्धी ज्ञान (अनिवार्य)
मासिक त्रैमासिक रुपमा प्रतिबेदन तयार गर्न सक्ने 
समुदाय तथा अन्य सरोकारवालासंग समन्वय गर्न सक्ने ।
न्युनतम उमेर १८ वर्ष पूरा भएको ।
तलब सुविधा ः संस्थाको नियम अनुसार
परीक्षाको किसिम ः लिखित, अन्तर्वार्ता 
पदको अवधि ः असार मसान्तसम्म (पछि पदावधि थप गर्न सकिने)
पुनश्च ः 
१. छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र परीक्षामा समावेश गराईनेछ ।
२. अपाङ्गता क्षेत्रमा काम गरेको र स्थानीय, दलित तथा महिलाहरुलाई विषेश प्राथमिकता दिईनेछ ।
३. छनोट सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहीत रहनेछ ।
पदपूर्ति समिति

के आई सिंह गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
डोटी 

 प्रदेश नं. ७
गाउँ बस्तुगत बिवरण (Profile) तयारीका लागि प्रस्तावना आव्हान ।

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/११/२० गते 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको गाउँ/नगर बस्तुगत बिवरण तयारी कार्यबिधि, २०७४ ले तोकेको मापदण्ड अनुसार यस के आई सिंह गाउँपालिकाको बस्तुगत बिवरण (Profile) तयार गर्नु पर्ने भएको हुँदा नेपालको प्रचलित कानुन अनुसार सम्वन्धित निकायमा दर्ता भई सक्रिय रुपमा कार्यरत ईच्छुक एवं अनुभवी गैरसरकारी संस्था÷कम्पनी÷फर्मबाट तपशिलका शर्तहरुको अधिनमा   रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बस्तुगत बिवरण तयारीका लागि प्रस्तावना आव्हान गरिएको छ । 
शर्तहरु 
१. बस्तुगत बिवरण चालु आर्थिक बर्षभित्र तयार गरि सक्नु पर्ने छ । छिटो सम्पन्न हुने गरि कार्ययोजना सहित आएको प्रस्तावनालाई प्राथमिकता दिईनेछ । 
२. प्रस्तावनामा प्राबिधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै तयार गरिएको हुनु पर्नेछ ।  
३. प्राबिधिक प्रस्तावमा बिस्तृत कार्ययोजना सहितका कार्यबिधि अनुसार बस्तुगत बिवरण तयारीका चरणहरु समावेश भएको हुनु पर्नेछ । 
४. आर्थिक प्रस्तावमा अनुमानित बजेटको बिस्तृत बिवरण (दचभबपभमयधल) समेत संलग्न गरिएको हुनु पर्नेछ ।
५. यस गाउँपालिकाले तयार गरेको प्रस्तावना छनौट मापदण्ड अनुसार अधिकतम् अंक ल्याउने प्रस्तावनालाई छनौट गरिनेछ । 
प्रस्तावनासंग पेश गरिनु पर्ने कागजातहरु 
१. संस्था/कम्पनी/फर्म दर्ता प्रमाण पत्र 
२. चालु आर्थिक बर्षका लागि नविकरण गरिएको प्रमाण 
३. आर्थिक बर्ष २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन 
४. स्थायी लेखा नं. (एब्ल्) मा दर्ता भएको प्रमाण पत्र 
५. आर्थिक बर्ष २०७३÷०७४ को आय व्यय बिवरण पेश गरेको प्रमाण पत्र ।
६. सम्वन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्र (अनिवार्य)
७. संस्था/कम्पनी/फर्मको सामान्य जानकारी 
८. बस्तुगत बिवरण तयारीका क्रममा संलग्न हुने अनुभवी जनशक्तिको व्यक्तिगत बिवरण (कम्तीमा दुई जनाको) 
यस बिषयमा थप जानकारी चाहिएमा के आई सिंह गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, वायल डोटीमा बुझ्न सकिनेछ ।