नेपालको संविधानमा अपाङ्गता भएकाहरुको लागि भएका व्यवस्थाहरुको कार्यान्वयन गरौं।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
‘अनौठो रेकर्ड’ १८ बर्षमा स्थायी बन्ध्याकरण
कर्ण चन्द
फागुन २१
तपाईलाई थाह छ ? महिलाले स्थायी बन्ध्याकरण प्राय कति बर्षमा गर्लान ? तपाईको उत्तर आउला २० बर्षमा बिहे गर्छन, छोराछोरी जन्माउँदा कम्तीमा २५ त कट्छ होला । तर तपाईको त्यो उत्तर गलत हुन जान्छ ।
एक महिलाले १८ बर्षको उमेरमै स्थायी बन्ध्याकरण गराएकी छन । डोटी बोगटान गाउँपालिका–१ सिमचौरकी मनिसा बोहराले १८ बर्षमा स्थायी बन्ध्याकरण गराएकी हुन । १८ बर्षको उमेर भए के भो र उनी दुई सन्तान की आमा हुन ।
जिल्ला अस्पताल डोटी मार्फत सिमचौर गाबिसमा सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिबिरमा बोहराले बध्याकरण गरेकी हुन ।
नेपालको कानुन अनुसार केटा र केटीको बिवाह गर्ने उमेर २० बर्ष हो । २० बर्ष उमेर नपुगी बिवाह गरे बालविबाह मानिन्छ । यस्तो विबाह बदर गरि केटा र केटीलाई छुट्याई दिनु पर्ने प्राव्धान कानुनमा छ । तर मनिसा बोहराले कानुनले तोकेको उमेर भन्दा पहिल्लै सन्तान जन्माएर समेत स्थायी बन्ध्याकरण गरिसकिन । १३ बर्षको उमेरमा बिवाह गरेकी बोहरा १४ बर्षमा पहिलो सन्तानकी आमा बनिन् र १७ बर्षको उमेरमा अर्को सन्तान पाईन । दुई सन्तानपछि बोहराले स्थायी बन्ध्याकरण राजेको बताईन । उनले भनिन् ‘दुई सन्तान भइसके त्यो भन्दा बढाउने चाहाना छैन, त्यसैले बन्ध्याकरण गर्ने निश्कर्षमा पुगेकी हुँ ।’
कलिलै उमेरमा बिवाह गरेको प्रसंगमा बोहराले भनिन् ‘त्यो बेला बिवाह गर्न हुन्न भन्ने बारे थाहा भएन, जब बिस्तारै बुझ्ने हुँदै थिएँ त्यति बेलामा आमा भईसकेकी थिएँ ।’ बोहराले थपिन ‘एक गल्ती त भयो तर अब अर्को गल्ती नहोस भनेर समयमै बन्ध्याकरणको सुबिधा लिएकी हुँ ।’
स्थायी बध्याकरणमा संलग्न स्वास्थ्यकर्मीहरु पनि १८ बर्षको उमेरमा बन्ध्याकरण गर्नु आएको देख्दा आफु अच्चम्मित भए । डोटी अस्पतालका डाक्टर गिरीस अवस्थीले भने ‘मैले उहाँ आफन्तको साथ आउनु भएको हो जस्तो लाग्यो, पछि उहाँले सबै कुुरा भन्नु भयो आफ्नो बाध्यता पनि सुनाउनु भयो ।’ आफ्नो जानकारीमा रहे अनुसार नेपालमा १८ बर्षमा पहिलो पटक बन्ध्याकरण गरेको गिरीसको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन ईकाईका सुपरभाईजर कपिलदेब जोशी पनि आजसम्म यति सानै उमेरमा स्थायी बध्याकरण गर्ने महिला नदेखेको बताउँछन ।
स्थायी बन्ध्याकरण गर्नेमा महिलाहरुको संख्या धेरै
डोटी जिल्लामा सञ्चालन गरेको बन्ध्याकरण शिबिरमा धेरै महिलाले सेवा लिएका छन ।
जिल्लाका १२ ठाउँमा सञ्चालन गरेको शिबिरमा एक सय ५९ जना महिलाले स्थायी बन्ध्याकरणको सुबिधा लिएका छन भने ६५ जना पुरुषले स्थायी बन्ध्याकरण गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन ईकाईका सुपरभाईजर जोशीले बताए ।
पुरुषहरु रोजगारीको शिलसिलामा भारतमा काम गर्न जाने भएका कारण बन्ध्याकरण अनईच्छा ब्यक्त गर्ने गरेको जोशीले बताए । उनले भने ‘शिबिरमा सोध्दा श्रीमान भारतमा काम गर्न जाने र बलियो काम गर्नु पर्ने भएका कारण वध्याकरण गर्न मान्नु हुन्न महिलाहरु स्वईच्छाका साथ बन्ध्याकरण गर्नका लागी अग्रसर भएर आउँछन ।’ बन्ध्याकरण गर्ने अधिकांस महिलाहरु ३०/३५ बर्ष उमेर समुहको रहको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
२० बर्ष मुनीका एक हजार गर्भवती
डोटी जिल्लामा आर्थिक बर्ष ०७३/०७४ मा एक हजार १६ जना २० बर्ष मुनीका महिला गर्भवती रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख सतिश बिष्टले बताए ।
बिष्टले भने ‘गत आर्थिक बर्षमा तीन हजार सात सय ३६ जना गर्भवती भएको मध्येमा २० बर्ष मुनीका एक हजार १६ जना महिलाले पहिलो गर्भ चेकजाँच गराएको देखिन्छ ।’
बाल बिवाह भएका महिलाका स्वास्थ्य अबस्था खराब हुने कार्यालय प्रमुख बिष्टले बताए । बिष्टले भने ‘वाल बिवाह हाम्रा लागी ठुलो चुनौती छ, त्यसको असर महिलाको स्वास्थ्यमा पर्न जान्छ बिभिन्न सामाजिक तथा बिभिन्न समस्या पनि आउने गरेका छन ।’ डोटी तथा सुदूरपश्चिममा बाल बिवाह गर्ने प्रचलन बृद्धि हुँदै गएको छ ।
अस्थायी साधन प्रयोग
२० बर्ष भन्दा कम उमेरका महिलाले लामो समयमा लागी अस्थायी साधनको प्रयोग गर्ने गरेका छन । डोटी जिल्लामा एक सय ३० जनाले डिपो, आयुसिडी र ईनपलान्ट लगायतका साधन प्रयोग गर्ने गरेका छन । सबै भन्दा बढी डिपो एक सय १७, आयुसिडी १२ र एक जना ईन्पलान्ट प्रयोग गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
सम्पादकीय
असुरक्षित भएको बहाना हो कि साँच्चै ?
नेपालको संबिधानको मोलिक हक अन्तर्गत धारा ३५ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भन्ने व्यवस्था उल्लेख गरेको छ । अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन ऐनले स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा मानेको छ । अत्यावश्यक भन्नाले नभई नहुने हुनु पर्ने हो ।
स्वास्थ्यसंग सम्वन्धित बिभिन्न कानुनहरुले पनि स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा भनेर व्याख्या गरेको छ तर संबिधानको मौलिक हक, अन्य सवै कानुनी प्राव्धान डोटेली जनताका लागि लागु नहुने पो रहेछन् । मौलिक हककै कुरा गर्ने हो भने ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।’ भन्ने छ, यसको अर्थ डोटेली जनता नागरिक होईनन् भन्ने बुझाई राख्दा अन्याय हुँदैन होला ।
एक जना चिकित्सक जो सरकारी सेवामा छ, तिनै जनताले तिरेको करवाट तलव भत्ता खान्छ र तिनै जनताको स्वास्थ्य जाँच गर्ने जिम्मेवारी पाएको छ, उसले सेवाग्राहीमाथी गरेको दुव्र्यवहारलाई कुनै पनि कानुनले छानविनको दायरामा ल्याउन आवश्यक ठान्दैन । बिरामीसंग दुव्र्यवहार गर्ने, बिरामीका आफन्तलाई हातपात गर्ने छुट कुनै कानुनले पनि कुनै चिकित्सकलाई दिँदैन । त्यसपछि उनीमाथी जो घटना भयो त्यो आपत्तिजनक, खेद्जनक र दण्डनीय हो । अस्पताल जस्तो ठाउँमा एक जना सरकारी सेवारत कर्मचारीलाई कार्यालयभित्रै गएर अंगभंग हुने गरी कुटपिट गर्ने घटना कुनै पनि प्रकारले क्षम्य हुँदैन । यो दण्डनीय अपराध नै हो ।
उक्त अपराधमा संलग्न भएको भन्दै प्रहरीले चारलाई समातेको छ, कानुन अनुसार मुद्धा दर्ता भएको छ, कानुनी उपचार भईरहेको छ । यति हुँदाहुँदै पनि आफु असुरक्षित भएको भन्दै जिल्लाबाट भाग्ने चिकित्सकहरुको नियतमाथी संका छ भन्दा अन्याय हुँदैन होला । डोटीबाट भाग्ने बहाना चाहिएको हो वा ‘हामी डाक्टरहरुले जे गरेपनि हुन्छ’ भन्ने मानसिकता हो स्पष्ट हुनु जरुरी छ । जनताले तिरेको करवाट सेवा सुबिधा उपभोग गर्ने चिकित्सकले खटाएको ठाउँमा गएर काम गर्नु पर्छ, शान्ति सुरक्षा दिने जिम्मा सरकारको हो । स्वास्थ्य मन्त्रालय जस्तो निकायले असुरक्षाको बहाना बनाई कुनै पनि हालतमा कुनै दुर्गममा कार्यरत चिकित्सकलाई सुगुममा पठाउनु हुँदैन ।
हुन त हाम्रो देशमा जे गरेपनि हुन्छ । सरकारी सेवामा लागेका चिकित्सकले बिदा लिएर सरकार बिरुद्ध अनसन बस्दा त कुनै कारवाही हुँदैन भने जिल्ला छोडेर जानेहरुलाई कारवाही होला भनेर आश गर्नु पनि मुर्खता नै होला तर पनि सम्वेदनशील पेशामा लागेकाहरुसंग मानवीय समवेदना पनि हुनु पर्छ भन्ने हो ।
निश्चित रुपमा चिकित्सकमाथी भएको कुटपिट निन्दनीय छ तर के चिकित्सकहरुले गरेको निर्णय खेदमुक्त छ त ? असुरक्षित महसुस भनेको के हो ? कमजोरलाई गालामा झापड् लाउदै जानुहुन्छ भने एक दिन तपाई भन्दा बलियोले तपाइको गालामा हिर्काउँदैमा असुरक्षित महसुस गर्ने ? कमजोरमाथी हात उठाउनु भन्दा पहिले पनि सोच्नु पर्ने होईन र ?
जे भएको छ त्यो राम्रो भएको छैन । यस बिषयमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तत्काल कदम उठाउनु पर्छ । आउने भए गएकाहरुलाई बोलाउनु पर्छ, यदि आउँदैनन् भने तिनिहरुलाई सरकारी सेवाबाट बर्खास्त हुने गरि कारवाही अगाडि बढाईनु पर्छ र डोटीमा तत्काल चिकित्सकहरु बोलाईनु पर्छ । अन्यथा भोली कुनै अर्को पेशाले असुरक्षित महसुस गर्दै जिल्ला छोड्दा, पर्सी अर्कोले अनि जिल्लाको अवस्था के हुन्छ ?
थप समाचार
डोटीमाथी अन्याय भयो—सिटौला
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम कैलाली तोकेर डोटी जिल्लामाथी अन्याय गरेको वताका छन ।
‘सवै कारणले प्रदेशको अस्थायी मुकाम डोटी नै तोकिनु पर्ने थियो’ सिटौलाले भने ‘यो निर्णयमा मेरो सहमति छैन ।’ उनले थपे ‘आफ्नै साथीभाईहरु भएको मन्त्रीपरिषद्ले गरेको निर्णय र त्यसमा पनि मन्त्री बिरबहादुर बलायर डोटीकै व्यक्रि भएको बेला भएको निर्णय भएकाले यसमा म धेरै टिप्पणी गर्न चाहान्न ।’ सिटौलाले अव डोटी जिल्लामा रहेका सरकारी कार्यालयहरुलाई नहटाउने गरि सरकारसंग छलफल गर्नु पर्ने वताए ।
सिटौलाले राजनीतिक दलहरुमा सामन्तीकरण र व्यापा–रीकरण रहेको बताए ।
‘दलहरुमा रहेको सामन्तीकरण र व्यापारीकरणबाट दलहरु मुक्त हुन सके मात्र देशमा आमुल परिबर्तन हुन सक्छ’ सिटौलाले भने ‘सामन्तीकरण र व्यापारी–करण सवै ठुला दलहरुमा रहेको छ ।’ संघीयताको बिषयमा बिभिन्न खालकाका प्रश्नहरु उठ्ने गरेको बताउँदै सिटौलाले यदि दलहरु ईमानदार हुने हो भने संघीयता दिगो हुन्छ ।’
बदलिदो राजनीतिक परिस्थितिका बारेमा नेपाली कांग्रेसका कार्यकर्ताहरुको धारणा बुझ्नका लागि प्रदेश नं. ७ को अनौपचारिक भ्रमण गर्ने क्रममा आईतवार डोटी पुगेका सिटौलाले नेपाली कांग्रेसले बर्तमान सरकारप्रति गुण र दोषको आधारमा व्यवहार गर्ने बताए । ‘अहिले नै सरकारको बिरोध गरिहाल्नु पर्ने जरुरी छैन’ सिटौलाले भने ‘एक सय दिनको त हानीमुन अवधीनै हुन्छ, त्यसपछि सरकार कसरी अगाडी बढ्छ, त्यसै आधारमा हाम्रो समर्थन वा बिरोध हुन्छ ।’
‘ओली जी र प्रचण्ड जीको हल गोरु छ, त्यो हल गोरुले हलो तान्छ कि जुवा भाँचेर दुईतिर हुन्छन, त्यो हेर्न बाँकी छ’ सिटौलाले भने ‘सरकारको बिषयमा अहिलेनै कुनै कुरा बोलिहाल्नु हतार हुन्छ ।’
उनले नेपाली कांग्रेस निर्वाचनमा पराजित हुनुको मुख्य कारण रणनीतिगत असफलता भएको वताए । ‘शक्ति संचयको दृष्टिले हामीहरुमा रणनीतिक कौशलता भएन’ सिटौलाले भने ‘कांग्रेस नयाँ परिस्थिति अनुसार बिचारले, नीतिले कार्यक्रमले अव परिवर्तन हुनु पर्छ ।’
‘हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौं, उनको छोरीलाई जितायौं र पनि उनलाई आफुसंगै राख्न सकेनौं, महन्त ठाकुरलाई सघायौं उनले हामीमाथीनै आक्रमण गरे’ व्यंग्यात्मक शैलीमा सिटौलाले भने ‘राजावादीलाई बोकेर मन्त्री बनायौं, उनीहरुले उल्टो मलाई नै हराई दिए ।’ यस्तै यस्तै कारणले कांग्रेस पराजित भएको उनको भनाई छ ।
नेपाल प्रेस युनियन डोटीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले भने ‘राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिन्छ । निर्विरोध त कहाँ हुन दिईन्छ र ?’
सिटौला व्यंग्यात्मक प्रश्न “प्रसाद हरायो ?”
‘नेपाली कांग्रेसका प्रभावाशाली नेता कृष्ण सिटौलालाई प्रमुख अतिथिको आशन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु ।’ पत्रकार सम्मेलनका सञ्चालक प्रेस युनियन डोटीका सचिव खगेन्द्रवहादुर सिंहले यो वाक्य भन्दा मन नलाई नलाई आशन ग्रहण गर्दै सिटौलाले सिंहतिर हेरेर प्रश्न गरे ‘मेरो “प्रसाद” हरायो ?’ सिटौलाको यो प्रश्नमा सिंहले भने ‘हराएको हैन, समय अभावका कारण हतारमा कार्यक्रम चलाउँदा यस्तो भयो ।’ पत्रकार सिंहको वाक्य पुरा नहुँदै सिटौलाले व्यंग्य गरे ‘ए ए फाष्ट ट्र्याकमा गएर पो हो ।’ सिटौलाको संकेत सञ्चालकले छुटाएको आफ्नो नामको बिचको शव्द ‘प्रसाद’ तिर थियो । यो सम्वादले हलमा उपस्थित सञ्चारकर्मीहरु र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुमा खित्का छुट्यो ।
प्रदेश ७ का तीन शक्तिशाली महिलाहरु
प्रदेश नम्बर ७ मा रहेका १८ जना महिला सांसदमध्ये तीन जनाले महत्वपूर्ण पद र जिम्मेवारी प्राप्त गरेका छन् ।
प्रदेश सभाको उप–सभामुखमा महिला छन । यस्तै सात सदस्यीय मन्त्रीपरिषद्मा दुई महिला महिला अटाएका छन् । एकिकृत नेकपा माओवादी केन्द्रको कोटामा दार्चुलाबाट सांसद बनेकी निर्मला बडाल (जोशी) ले उपसभामुखको जिम्मेवारी सम्हालेकी छन् । कक्षा १० मा पढ्दै गर्दा २०५८ सालमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र बिद्रोहमा सहभागि भएकी जोशी अहिले प्रदेश नं. ७ कै पहिलो मर्यादामा पर्ने महिला बनेकी छन ।
एमालेको कोटामा बैतडीबाट समानुपातिक सांसद बनेकी माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री बनेकी छन । २०४६ सालदेखि सक्रिय राजनीतिमा लागेकी भट्टले कक्षा ८ सम्मको औपचारिक शिक्षा पुरा गरेकी छन । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला बिकास समिति सदस्य भएकी भट्ट जिल्ला विकास समिति महाहसंघको केन्द्रीय सदस्य समेत भएकी थिईन । २०६४ सालको संबिधानसभा निर्वाचनमा बैतडी निर्वाचन क्षेत्र–२ मा प्रत्येक्ष चुनाव लडेकी भट्ट एमाले प्रदेश कमिटी सदस्य हुन । उनी पनि प्रदेश नंं ७ को शक्तिशाली महिला बनेकी छन ।
प्रदेश नं. ७ को मन्त्रीमण्डलका सात सदस्यमध्ये सवैभन्दा कान्छि मन्त्री बिनिता चौधरी भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री बनेकी छन् । २०४२ सालमा जन्मिएकी बिनिताले ३२ बर्षकै उमेरमा मन्त्री जस्तो शक्तिशाली पदमा पुग्ने अवसर पाएकी छन ।
प्रवेशिका तहको औपचारिक शिक्षा लिएकी बिनिता २०५७ सालदेखिनै माओवादी पार्टी गतिबिधिमा जोडिएकी थिईन । पार्टीका बिभिन्न तहमा काम गर्दै उनी हाल माओवादीको केन्द्रीय अधिवेशन आयोजक समिति सदस्य छन । उनी समानुपातिक कोटाबाट सांसद बनेकी हुन । २०६२ सालमा सुरक्षाकर्मीले पक्राउ गरि यातना दिएकी बिनिता अव तिनै सुरक्षाकर्मीले ‘स्यालुट’ गर्नु पर्ने ठाउँमा पुगेकी छन ।
यस्तै प्रत्यक्षतर्फ माओवादी केन्द्रबाट बझाङ्की देवकी मल्लले मात्रै चुनाव जितेकी भएपनि प्रदेश सभामा १८ महिला सांसद रहेका छन । एमालेबाट आठ, माओवादी केन्द्रबाट चार, नेपाली काङ्ग्रेसबाट चार र राष्ट्रिय जनता पार्टीबाट एक जना गरि १७ महिला समानुपातिकतर्फबाट प्रदेश सांसदमा निर्वाचित हुनु भएका हुन ।
प्रदेश सभा बैठकबाट दुई समिति गठन
प्रदेश नं. ७ प्रदेश प्रदेश सभाको चौथो बैठकले प्रदेश कार्य ब्यबस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ ।
आईतवार सम्पन्न बैठकले अन्तरिक कार्यविधी, २०७४ को दफा १५ बमोजिम ८ सदस्यीय कार्य ब्यबस्था परामर्श समिति गठन गरेको हो । प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापाले परामर्श समितिका सदस्यहरुको नामावली प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई प्रदेश सभाको बहुमतले पारित गरेको छ ।
कार्य ब्यवस्था परामर्श समितिको संयोजकमा सांसद तारा लामा तामाङ्ग रहेका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण राज सुवेदी, अर्चना गहतराज, अक्कल बहादुर रावल, बिरमान चौधरी, भारत बहादुर खड्का, रण बहादुर रावल र मालमती कुमारी राना रहेका छन् ।
बैठकले प्रदेशसभा नियमावली मस्यौदा समिति गठनको निर्णय सर्वसम्मतिका साथ पास गरेको छ । सांसद तारा लामा तामाङ्गले नेपालको संविधान धारा १९४ बमोजिम नियमावली मस्यौदा समिति गठन गरियोस भनी राखेको प्रस्ताव सर्वसम्मत पारित भएको होे । उक्त प्रस्तावको सर्मथन प्रदेश सांसद टेक बहादुर रैका आउजीले गरेका थिए । समितिमा सांसदहरु लिलाधर भट्ट, पूर्णा जोशी, महेशदत्त जोशी, टेक बहादुर रैका आउजी र कृष्ण बहादुर चौधरी रहेका छन् ।
आईतवारको प्रदेशसभा बैठकमा बिशेष समय लिएर आठ जना सांसदहरुले बिचार राखेका थिए । बिशेष समयमा बोल्ने सांसदहरुमा लालबहादुर खड्का, देवकी मल्ल, भरत बहादुर खड्का, नेपालु चौधरी, मान बहादुर धामी, रणबहादुर रावल, दुर्गा कुमारी कामी र कृष्णराज चौधरी रहेका थिए ।
बैठकमा सभामुख अर्जुन बहादुर थापाले राष्ट्रिपतिको निर्वाचनबारे नेपाल सरकारको सचिवालयबाट आएको पत्र पढेर सुनाएका थिए । प्रदेश सभाको अर्को बैठक सोमबार दिउसो २ बजे बस्नेछ ।
रेशम चौधरीलाई प्रमाण पत्र दिन प्रदेश सभाले पहल गर्नु पर्ने माग
बैठकमा सांसद कृष्णराज चौधरीले कैलाली क्षेत्र–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई प्रमाणपत्र दिनका लागि प्रदेश संसद र सरकारले पहल गर्नु पर्ने माग राखे ।
संसदमा बिशेष समय लिएर बोल्दै सांसद चौधरीले यस बिषयमा प्रदेश सभा र प्रदेश सरकारले चाँडो निर्णय नलिएमा अगामी बैठक चल्न नदिने चेतावनी समेत दिए ।
२०७२ साल भाद्र ७ गते कैलालीको टिकापुरमा प्रहरी बरिष्ठ उपरीक्षक सहित नौ जनाको ज्यान जाने गरि भएको घटनाका मुख्य योजनाकार रहेको आरोप खेपिरहेका प्रतिनिधि सभा सदस्य चौधरी अहिले पूर्पक्षका लागि थुनामा छन् । प्रहरीको फरार सूचीमा रहेका चौधरी निर्वाचन जितेपछि अदालतमा आत्मसमर्पण गरेका हुन ।
उता प्रतिनिधि सभा सदस्य चौधरीले कैलाली कारागारभित्रै अनसन सुरु गरेका छन । आफुले शपथ ग्रहण गर्न पाउनु पर्ने र उक्त घटनाका आरोपी–लाई क्षतिपूर्ति सहित छोडिनु पर्ने माग सहित उनले अनसन सुरु गरेका हुन ।
मुख्यमन्त्री भट्टले आज बिश्वासको मत लिने
प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार विश्वासको मत लिने भएका छन् ।
नेपालको संबिधानको धारा १६८(४) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सहमतिमा नियुक्त भएका मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट बिश्वासको मत लिनु पर्ने व्यवस्था छ । गत फागुन ३ गते मुख्यमन्त्री पदमा नियुक्त भएका भट्टले प्रदेश सभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सुविधाजनक बहुमत भएकाले तोकिएको समयसीमा अगावै विश्वासको मत लिने भएका छन् ।
एमाले पोलिट व्यूरो सदस्य समेत रहेका भट्ट एमाले–माओवादीको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा एमालेका २५ र माओवादीका १४ गरि ३९ सांसद रहेका छन् ।
सरकारी स्वास्थ्य संस्थामा १४ दिनदेखि सेवा अवरुद्ध
रामहरी ओझा/डोटी
फागुन २१
डोटीका सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकहरुले आफुहरु असुरक्षित भएको भन्दै फागुन ९ गतेदेखि जिल्ला छोडेपछि स्वास्य सेवा अवरुद्ध भएको छ ।
फागुन ६ गते जिल्ला अस्पताल डोटीमा काजमा कार्यरत चिकित्सक डा जितेन्द्र सिंहमाथी कुटपिट भएपछि सुरक्षाको कारण देखाउँदै अस्पताल र जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकहरु गिरीस अवस्थी, विबस पराजुली, जितेन्द्र सिंह र राजकुमार बिश्वकर्माले जिल्ला छोडेका थिए । आफुहरुलाई असुरक्षा भएको भन्दै जिल्ला छोडेका चिकित्सकहरुले फर्कन मानेका छैनन् । जिल्ला छोड्ने चिकित्सकहरुमा डा अवस्थी निक साईमन नामक गैरस– रकारी संस्थावाट नियुक्त चिकित्सक हुन भने अन्य सरकारी सेवाका हुन ।
एक महिलाको भिडियो एक्स–रे गर्ने क्रममा डा जितेन्द्र सिंहले दुव्र्यवहार गरेको भन्दै बिवाद उत्पन्न भएपछि डा जितेन्द्रले महिलाका आफन्त एक युवकलाई झापड लगाएका थिए । ‘डाक्टरले भिडियो एक्स–रे नगरि मलाई वाहिर पठाए’ ति महिला भन्छिन् ‘डाक्टरले ममाथी अभद्र व्यवहार गरे ।’ दुव्र्यवहार पनि गरेको र भिडियो एक्स–रे पनि नगरिदिएकाले आफुले आफन्तलाई खवर गरेको ति महिला बताउँछिन् ।
सिंहको उक्त व्यवहारवाट आक्रोसित महिलाका आफन्तहरुले सिंहको दाँत समेत भाँचिने गरि कुटपिट गरेका थिए । उक्त घटनापछि नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ (गोडान) ले बिज्ञप्ती जारी गर्दै जिल्लाका सरकारी तथा नीजि स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुलाई जिल्ला छोड्न आग्रह गरेपछि सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले जिल्ला छोडेका थिए ।
डा जितेन्द्र भने आफुले त्यस्तो कुनै दुव्र्यवहार नगरेको दावी गर्दै आएका छन् ।
प्रहरीले चिकित्सकलाई कुटपिट गरेको भन्दै चार जना बिरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता गरि अनुसन्धानको क्रममा रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार डोटी दिसिनपा–७ का हिम्कत सिंह बिष्ट, बिजय बिष्ट, टेकबहादुर विष्ट र सोही नपा–६ का अरुण महतलाई घटना भएकै दिन नियन्त्रण लिई थुनामा राखिएको छ । थप अनुसन्धानका लागि आईतवार सात दिनको म्याद थप गरि थुनामा राखिएको छ ।
कुटपिटमा संलग्न व्यक्तिहरुलाई थुनी कारवाही भईरहेको भएपनि चिकित्सकहरुले घटनालाई बहाना बनाएर जिल्ला छोडेको स्थानीयले आरोप लगाउन थालेका छन । ‘जसले कुट्यो ति जेलमा छन् अनि के को असुरक्षा ?’ अस्पतालमा उपचारका लागि आएका एक व्यक्तिले भने ‘पहिले गल्ती आफै गर्ने अनि एक दुई जनाका कारण सिङ्गै जिल्लाबासीलाई दुःख दिने कहाँको नियम हो ?’ उनले अस्पतालमा तत्काल चिकित्सक आउनु पर्ने माग गरे ।
चिकित्सक नभएका कारण दिनहुँ बिरामीहरु फर्केर जाने गरेको अस्पतालका एक स्वास्थ्यकर्मीले वताए । उनले भने ‘डाक्टर नभएपछि भिडियो एक्स–रे, ल्याव, पोपिडीमा आएका बिरामीहरुलाई फर्काउनु पर्ने अवस्था छ ।’
चिकित्सक छिटो पठाउनु पर्ने भन्दै आफुले स्वास्थ्य मन्त्रालयका सचिवसंग कुरा गरेको बताउँछन डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री । खत्री भन्छन् ‘चिकित्सक छिटो पठाउनुहोस् भनेको छु, सायद छिट्टै आउँछन् होला ।’ उनले आफुले यस बारेमा प्रदेश नं. ७ का मुख्यमन्त्रीसंग पनि कुरा भईरहेको बताएका छन ।
आफुहरुले आरोपीलाई थुनामा राखेर मुद्धा दर्ता गरि अनुसन्धान गरिरहँदा पनि चिकित्सकहरुले असुरक्षित भएको भन्नु गलत भएको प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंह बताउँछन । उनी भन्छन् ‘स्वास्थ्य संस्थामा अन्यत्र पनि घटनाहरु हुने गरेका छन, सवैले जिल्ला छोड्दै हिड्ने हो भने के होला ?’ चिकित्सकहरुलाई कुनै पनि प्रकारको असुरक्षा नभएको सिंहको दावी छ ।
नेपाल भारत सुरक्षा अधिकारीहरुको बैठक सुरु
टेकेन्द्र देउवा/कैलाली
फागुन २१
पिथौरागढमा नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा सुरक्षा समन्वय बैठक सोमबार शुरु भएको छ ।
बैठकमा नेपाल भारतका सुरक्षा अधिकारीहरुले साझा एजेण्डाको रुपमा सीमा अपराध प्राथमिकतामा राखेर छलफल गरिरहेका छन । भारतीय पक्षको आग्रह अनुसार बैठक बसेको हो ।
पिथौरागढदेखि दार्चुलाको व्यास तिंकरसम्म र भारतको झुलाघाटमा नेपाल भारत सीमा क्षेत्र जोडिएको छ । भारतीय पक्षले सीमा क्षेत्रमा आइएसको गतिविधि हुन सक्ने भन्दै यसको नियन्त्रणमा नेपाली पक्षसंग छलफल गरिरहेको छ । यस्तै नक्कली मुद्राको काराबोर तथा नेपालको क्षेत्रमा सुरक्षा गस्ती थप गर्नुपर्ने लगायतको विषयमा छलफल भइरहेको हो ।
नेपाल भारतको समन्वय बैठकमा भारतले नेपाली पक्ष सामु यसअघि नौ वटा एजेण्डामा छलफल गरिने प्रस्ताव तयार गरेको थियो । नेपाली पक्षले भने बैठकमा ११ वटा विषय वस्तुमाथी छलफल गर्ने गरि एजेण्डा तयार गरेको थियो । मानव वेचबिखन, सीमा अपराध, अवैध वन्यजन्तुको ओसार पसार तथा चोरी निकासी, लगायतका विषयवस्तु दुवै देशको साझा एजेण्डा छन् । यसैगरी नेपाली पक्षले महाकाली नदीमा लगाइने झोलुंगे पूल, बंगाबगर खोतिला पहिरो, लागू पदार्थ ओसार पसार नियन्त्रण, विपद तथा खोज उद्दारमा सहकार्य, सीमा क्षेत्रमा निर्माण कार्यले हुने क्षति बारे एजेण्डा तयार गरेको थियो । केहि दिन अघि भारतीय पक्षले महाकालीमा चार वटा झोलुंगे पूल निर्माण प्रस्ताव गरेलगत्तै एकतर्फी रुपमा पूल निर्माण गरेपछि सो विषयमा समेत छलफल हुने अपेक्षा गरीएको छ ।
नेपालतिर सीमा सशस्त्र प्रहरी बल सदरमुकाम खलंगामा मात्रै केन्द्रित छ । दार्चुलाबासीले सीमा सशस्त्र प्रहरी वललाई तिंकरमा राख्न पटक पटक माग गरेपनि नेपाल सरकारले यसबारे निर्णय लिएको छैन । बैठकमा दार्चुलाको तर्फबाट प्रमुख जिल्ला अधिकारी जनार्दन गौमतको नेतृत्वमा सुरक्षा निकाय प्रमुखहरु लगायतको सहभागिता रहेको छ ।
पर्यटक भित्र्याउन ‘होमेस्टे सञ्चालन’
भूमिराज जोशी/डोटी
फागुन २१
भू–स्वर्गको उपमाले चिनिने खप्तड राष्ट्रिय निकुञ्ज बिकासका लागि बिगतका बर्षहरुमा पनि बिभिन्न खाले बहस चल्दै आएको हो । बहुसरोकारवाला निकायहरुले आ–आफ्ना धारणा राख्दै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ बनाएका गुरुयोजनाहरु पनि सेलाउदै गएका थिए ।
खप्तड पर्यटन क्षेत्र बिकास समितिमा राजनीतिक नियुक्ति हुँदा खप्तड बिकासमा बाधा अड्चन हुँदै आएको थियो । आफ्नो पार्टीको सरकार आएपछि आफ्नै पार्टीका कार्यकर्ताहरु पाल्ने भाँडो बन्दै आएको पर्यटन बिकास समिति आम जनताको तेश्रो निशानामा पर्दै आएको छ ।
खप्तड बिकासमा पर्यटन क्षेत्र बिकास समितिकै आसमा बस्ने जनताले पछिल्लो समयमा भू–स्वर्गको बिकासमा सरकार पक्षको बेवास्ता गर्दै स्थानीय तहबाट नै काम थालनी गर्नुपर्छ भन्दै लागि परेका छन ।
डोटी जिल्लाबाट खप्तड प्रबेश गर्ने प्रबेशद्धारमै रहेको पूर्वीचौकी गाउँपालिका २ बगलेगमा होमेस्टे सञ्चालन गर्नको लागि स्थानीयहरु, स्थानीय तहहरु र होटल ब्यवसायी संघहरु लागि परेका छन । शनिबार बग्लेकमा सर्बदलीय बैठक बसी १० वटा होमेस्टेहरु सञ्चालन गर्ने निर्णय गरेको हो । होमेस्टे सञ्चालन गर्नको लागि पूर्वीचौकी गाउँपालिकाको कार्यपालिकाबाट तीन लाख र पूर्वीचौकी गाउँपालिका २ बग्लेकको वडा कार्यालयबाट तीन लाख रकम परिषदबाट छुट्याइएको वडाध्यक्ष योगेन्द्र ठकुल्लाले जानकारी दिए ।
खप्तड पर्यटन बिकासका गतिबिधि बढाउनका लागि प्रबेशद्धार बग्लेकमा होमेस्टे सञ्चालन गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खप्तडको मनोरम दृश्य अबलोकन गर्न सहज हुने पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घ बोगटीले बताए । उनले भने, ‘मैले गाउँपालिकाको चुनाब जित्दा पनि खप्तड बिकासमा होमेस्टे सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख गरेको थिए । त्यसैलाई अगाडी बढाउन यो कार्यको थालनी गरेका हौं ।’
भू–स्वर्गको प्रबेशद्धारमा तत्कालै ठूला ठूला होटलहरु सञ्चालन गर्न नसकेपनि होमेस्टे मार्फत पर्यटकलाई सुबिधा दिन सक्ने होटल ब्यवसायी संघ डोटीका अध्यक्ष दीपक बहादुर खड्काले बताए । उनले भने ‘जसरी खप्तडको बिकासको लक्ष्य राखेको थियो त्यसरी १० प्रतिशत पनि काम नहुँदा अब सरकारी पक्षको आशा मारेर नै हामीहरुले नै होमेस्टे बनाउने योजना बनाएका हौं ।’
छोटकरी समाचार
चमेलिया दुर्घटनामा एकको मृत्यु
दार्चुला र बैतडीको सीमा चौलानी (चमेलिया) नदीमा जीप खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुने मार्मा गाउँपालिका लटिनाथका कृष्णसिह विष्ट रहेको प्रहरी जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार मार्मा गाउँपालिकाको लटिनाथबाट सदरमुकाम खलंगा आउँदै गरेको म१प २३३ नम्बरको जीप बैतडीको डिलाशैनी गाउँपालिकाको छोला झोलुङ्गे पुल नजिक चमेलिया नदीमा खसेको जनाएको छ ।
चैत ४ देखि महायज्ञ
प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरमा यही चैत्र ४ गतेदेखि शैलेश्वरी धार्मिक महोत्सव ज्ञान–महायज्ञ सञ्चालन हुने भएको छ ।
डोटी क्याम्पसको प्राबिधिक शिक्षा लगायत क्याम्पसको सर्वाङ्गिण बिकासका लागि अर्थ संकलन गर्ने उद्देश्यका साथ उक्त महायज्ञ आयोजना गर्न लागिएको डोटी क्याम्पसका प्रमुख कृष्णबहादुर कठायतले जानकारी दिए ।
साताव्यापी रुपमा चल्ने श्रीमद्भागवत् महापुराण ज्ञान महायत्र सञ्चालन हुने छ । महायज्ञमा सुकदेव भागवत् आश्रम गैडाकोट नवलपरासीकी बिदुषी यशोदादेवी कौण्डिन्यले प्रवचन गर्ने क्याम्पस प्रमुख कठायतले वताए । महायज्ञमा योग बिज्ञान शिविर, शालिग्राम पुजन, दैनिक पुजा, रुद्री, भागवत पाठ लगायतका धार्मिक क्रियाकलापहरु हुनेछन ।
खेल समाचार
थ्रि–स्टारले लियो बदला
ई–कान्तिपुरबाट
थ्रीस्टार क्लबले विभागीय टोली एपीएफसँग तीन दिनभित्रै बदला लिएको छ । थ्रीस्टारले चितवनको विकास रनिङ सिल्ड फाइनलमा शनिबार बेहोरेको हारको बदला झापा गोल्डकपमा लिएको हो ।
थ्रीस्टारले डोमालाल राजवंशी रंगशालामा सोमबार १–० ले विजयी हुँदै सेमिफाइनल पुगेको हो । थ्रीस्टारको जितमा विदेशी खेलाडी अजायी मार्टिन नायक बनेरु। उनले दोस्रो हाफको ११ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । सुनील बलको क्रसमा मार्टिनले गोल गर्दा रंगशालाका करिब तीन हजारमध्ये आधाभन्दा बढी दर्शकलाई खुसी तुल्यायो ।
रोमाञ्चक खेलको पहिलो हाफभर थ्रीस्टार हाबी देखिन्थ्यो । पाँचौं मिनेटमा थ्रीस्टारका सुनील बलले गरेको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले बिफल पारे । त्यसअघि अनन्त तामाङको प्रहार पोस्टबाहिर गएको थियो । २० औं मिनेटमा सुनीलकै पासमा मार्टिनले पाएको वन भर्सेज वन बल दायाँ बार हुँदै बाहिरियो ।
एपीएफका हरि कार्कीले २४ औं मिनेटमा राम्रो मौका गुमाएरु। उनको प्रहार गोलरक्षक एलन न्यौपानेले रोकेरु। थ्रीस्टारका नीराजन खड्काले २६ औं मिनेटमा दीपक राईको पासमा पाएको खुला अवसर सदुपयोग गरेनन् । फ्रि–किक अवसरमा थ्रीस्टारकै डिफेन्डर रजिन धिमालले गोल असफल भए । उनको प्रहार पोस्ट माथिबाट बाहिर गयो । ४१ औं मिनेटमा बुद्ध चेम्जोङको प्रहार गोलरक्षक एलनले पन्च गरे । रिबाउन्ड हुँदा मार्टिनले प्राप्त मौका गुमाएका थिए ।
पहिलो हाफभर थ्रीस्टारको दबाब झेलेको एपीएफले दोस्रो हाफपछि केही सुधारोन्मुख खेल देखायो । तर, अन्तिम समयसम्म गोल भने गर्न सकेन । ११ औं मिनेटमा थ्रीस्टारले गोल गरेलगत्तै एपीएफले पनि गोल फर्काउने मौका प्रशस्त पायो । तर थ्रीस्टारका बलिया डिफेन्डर रजिन धिमाल र अनन्त तामाङले कुनै मौका नै दिएनन् ।
दोस्रो हाफपछि पनि मार्टिनले प्रशस्त अवसर पाए । एउटा अवसर गोलरक्षकले कठिनसँग रोकेरु। दोस्रो प्रहार बार बाहिर गयो । उता एपीएफका आशीष लामाले निकालेको पासमा नवीन लामाले गोलरक्षक बिट हुँदाको अवस्थामा पनि गोल गर्न नसक्नु एपीएफको दुर्भाग्य बन्यो । अन्तिम समयमा एपीएफले विपक्षी डिफेन्डर अनन्तको सानो गल्तीको फाइदा उठाउन सक्थ्यो, तर सकेन ।
एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले निरन्तर खेल खेल्नुपरेका कारण खेलाडीले आराम नपाउँदा पराजय बेहोर्नु परेको बताए । दुई दिनअघि मात्र चितवनमा खेलेर झापा आएको बताउँदै उनले मैदानबारे जानकारी नभएकाले खेल्न सहज नभएको बताए ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले स्कोर गर्न नसक्दा सोचे अनुसार नतिजा निस्कन नसकेको बताए । उनले ६०–४० खेलको अवस्थामा हुँदा समेत एकमात्र गोल भएको बताएरु। एक गोल हुँदा खेल प्रतिस्पर्धात्मक भएजस्तो देखिएको उनको भनाइ थियो ।
म्यान अफ द म्याच थ्रीस्टारका अजायी मार्टिन भए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
चलचित्र/मनोरञ्जन
“हुर्रे” ले कति तान्ला दर्शकलाई ?
अनलाईन खवरबाट
नेपालमा कमेडी चलचित्रले राम्रै व्यापार गरिरहेका छन् । दर्शकले, कमेडी कथालाई पस्किएका चलचित्रलाई रुचाएको पाइन्छ । दर्शक हलमा पुगेर पूर्ण मनोर–ञ्जन लिन चाहन्छन् । यसैले, पनि मेकरहरु चलचित्रमा कमेडी कथा पस्कन लालयित छन् ।
शुक्रबारदेखि यस्तै रमाइलो कथा बोकेको चलचित्र ‘हुर्रे’ रिलिज हुँदैछ । यम थापाले निर्देशन गरेको यो चलचित्रमा नायिका केकी अधिकारीदेखि हाँस्य कलाकार राजाराम पौडेलसम्म छन् । यस्तै, नायक अनुप विक्रम शाही, अंकित खड्का, संगिता नापित लगायतका कलाकारलाई पनि दर्शकले पर्दामा देख्न पाउनेछन् ।
चलचित्रको ‘ठेकीमा दहि’ बोलको गीत चर्चामा छ । चलचित्रमा नायिका केकी अधिकारी केटा फसाउने यूवतीको भूमिकामा देखिएकी छिन् । केकी चलचित्र उत्कृष्ट बनेकाले आफू उत्साहित भएको बताउँछिन् ।
चलचित्र ‘राज्जा रानी’को असफलताका कारण पनि केकीका लागि यो चलचित्र चल्न आवश्यक छ । पशुपति क्षेत्रमा खिचिएको चलचित्रलाई लिएर यसको मेकर उत्साहित छन् ।
सनीले जन्माईन जुम्ल्याह सन्तान
एजेन्सी
बलिउड अभिनेत्री सनी लियोनीले जुम्ल्याहा बच्चा जन्माएकी छन ।
पोर्न स्टार हुँदै बलिउडमा आएकी सनीले गत बर्ष एक बच्चा पालन पोषणको जिम्मा लिएकी थिइन् । तर अहिले उनले फेसबुकमा एउटा फोटो अपलोड गरि आफुले जुम्ल्याह बच्चा जन्माएको सार्वजनिक गरेकी छन । फोटोमा उनका श्रीमान् उनले पालेको बच्चाका अलावा साथमा अरु दुई साना बच्चा पनि छन् ।
उनले उक्त फोटो पोस्ट गर्दै ‘यो इश्वरको कृपा हो २१ जुन २०१७ त्यो दिन थियो जब मलाई र मेरो श्रीमानलाई यो अनुमान भइसकेको थियो की केही समयमै हाम्रा तीन बच्चा हुनेछन् ।’ हामीले परिवार बढाउने योजना बनायौं र धेरै वर्ष पछि अशर सिंह वेबर, नोहा सिंह वेबर र निशा कौर वेबरको साथमा यो परिवार पूर्ण भएको छ ।
उनले भनिन् ‘हाम्रा बच्चाको जन्म केही दिन पहिले भएको हो तर हाम्रो मनमा यो योजना धेरै पहिलेदेखि थियो । हामी तीन सुन्दर बच्चाका बुवा आमा हांै । यो हाम्रो लागि गर्वको कुरा हो ।
लेख
ओली कमरेड, सुखानी घटनाले पोल्छ कि !
रामहरी ओझा
हिजो फागुन २१ गते, त्यसो त प्रत्येक महिना २१ गते आउँछ नै तर फागुन २१ को वेग्लै ईतिहास छ । फागुन २१ गते आउने बित्तिकै हरेक वर्ष कम्युनिष्ट आस्थावानहरुले २०२९ सालको फागुन २१ गते सम्झन्छन् । वर्गीय मुक्तीका लागि हासीहासी आफ्नो प्राण उत्सर्ग गर्ने योद्धाहरुको सम्मानमा शीर झुकाउँछन्, बिद्रोह सम्झन्छन्, माक्र्सबाद–लेनीनबाद सम्झन्छन् ।
४५ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँच जनाले शाहदत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ । २०२८ सालमा सुरु भएको झापा बिद्रोहले नेपाली कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याएको हो भन्ने कुरामा सायद कसैको फरक मत होला । यद्यपी आन्दोलनका केही पाटा पक्षहरुमा केही कमजोरी रहेको थियो होला तर सामन्तबाद–दलाल– नौकरशाही–पुँजीवादको अन्त्य गर्दै वर्गीय मुक्तीको सपना बोकेर उठान भएको झापा विद्रोहले नेपाली कम्युनिष्ट आन्दोलनलाई उर्जावान वनाएकाको सत्य हो । उक्त बिद्रोहसंगै ढलेका तिनै शहीदहरु अव हाम्रा बिचमा शालिकमा मात्रै सिमित छन् । भावपूर्ण श्रद्धाञ्जली ।
कम्युनिष्टहरुले यि शहीदहरुलाई आफ्नै तरिकाले सम्झने गरेको भएपनि राज्यको तर्फवाट ति योद्धाहरुको कुनै गन्ती भएन । प्रजातन्त्र, लोकतन्त्र जे आएपनि उनीहरु ओझेलमै रहे । २०७१ सालमा बल्ल पूर्णकदको शालिकमा उभिन पाए उनीहरुले । जाँड खाँदाखादै ढलेकाहरुलाई पनि, कुनै आपराधिक क्रियाकलापमा संलग्न भई मृत्यु भएकाहरुलाई पनि र कालगतिले मृत्युवरण गरेकाहरुलाई पनि शहीद घोषणा गर्ने चलन रहेको हाम्रो देशमा ति योद्धाहरुलाई शहीदको सूचीमा दर्ज हुन ४३ बर्ष लाग्यो अर्थात २०७२ सालबाट उनीहरुले शहीदको मान्यता पाए ।
तत्कालिन भूमिगत कम्युनिष्ट पार्टीको मेची–कोशी को–अर्डिनेसन कमिटी झापाले २०२८ सालमा सुरु गरेको झापा विद्रोहका क्रममा वर्गशत्रु खतम अभियान र पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको थियो । उक्त अभियानमा संलग्न रहेको आरोपमा पक्राउ परि जेल हालिएका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।
नेत्र घिमिरे, कृष्ण कुईकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा फागुन २१ गतेकै दिन सरकारले गोली हानी हत्या गरेको थियो । घिमिरे, कुईकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए ।
पाँच जना योद्धाहरुको हत्या गरिएको स्थललाई शहीद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । हत्या गरिएकै ठाउँमा अहिले शहीदकै संख्याका पाँच रुख छन् । सुखानी दानाबारी इलाम र झापाको सिमानामा पर्छ । २०७१ मा झापाको तत्कालीन शनि–अर्जुन नगर–पालिका क्षेत्रभित्र सालघारीमा शहीद पार्कको निर्माण गरिएको छ । पाँचै शहीदको पूर्ण कदको शालिक उभ्याइएको छ ।
सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले झापाको शनिश्चरे स्थित नमूना सामुदायिक वन क्षेत्रभित्र प्रतिष्ठानले पाँच जना शहीदको पूर्ण कदको सालिकको उभ्याएपछि सम्झनाको रुप केही हदसम्म भएपनि फेरिएको छ ।
आज भन्दा ४६ बर्ष पहिले सुरु भएको झापा बिद्रोहका एक योद्धा खडक प्रसाद ओली आज देशको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री छन् । त्यो झापा बिद्रोह के उद्देश्यका लागि गरिएको थियो र बिद्रोह सफल भएपछिको नेपाली समाज कस्तो हुन्छ भन्ने परि–कल्पना गरिएको थियो भन्ने कुरामा जीउँदा सहयोद्धालाई भलिभाँती थाह छ । त्यो सपना पुरा गर्नका लागि अव कमरेड ओलीसंग शक्ति, स्रोतसाधन र समर्थन पनि छ ।
नेपालको संबिधान २०७२ कार्यान्वयनमा आएपछि कमरेड ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान कार्यान्वयन तथा संगठन सुद्रिढीक–रण कार्यक्रम अभियान अन्र्तगत पहिलो पटक ७५ वटै जिल्लाका एमाले पार्टी अध्यक्षहरुलाई मेची अञ्चल भ्रमण गराएको थियो । २०७२ फागुन २८ गते ऐतिहासिक स्थान सुखानीबाट शुरु भएको अभियान चमैतास्थित रत्न सुरुङ्ग हुँदै जनताको बहुदलीय जनवादका सुत्राधार मदन भण्डारीको ताप्लेजुङ्गस्थित घर ढुङ्गे साँघुमा पुगेर समापन भएको समाचारहरु आएका थिए । त्यो अभियानका क्रममा तिनै खड्क ओली प्रधानमन्त्रीको हैसियतले सुखानीमा उपस्थित भएका थिए ।
करीव सात महिनाको प्रधानमन्त्री कालमा जनतामा केही उत्साह र आशा जगाउन सफल भएका ओलीले अव आवधिक सरकारको नेतृत्व गर्ने म्याण्डेट पाएका छन जनताबाट । एमालेका लागि झापा बिद्रोह, मदन भण्डारी र २०५१ सालको मनमोहन अधिकारी सरकारको कुशलताको व्याज हो भने खड्क ओलीका लागि मात्र भन्दा २०७२ सालको सात महिने सरकारको व्याज हो अहिलेको जनमत । यद्यपी जुझारु संगठन, लगनशील कार्यकर्ता र सहयोगी दलको भूमिकालाई पनि एमालेले नजरअन्दाज गर्न मिल्दैन । त्यसैले यो जनमत अनुसार कमरेड ओलीले त्यो कलिलो अवस्थामा देखेको आमुल परिवर्तनको समाजको सपना पुरा गर्न सक्छन् वा सत्तामोहले उनका सवै सपना र जनताका आशा अपेक्षाहरु भताभङ्ग गर्नेछ भन्ने कुरा अहिलेको प्रश्न हो ।
निश्चित रुपमा नेपालको राजनीतिक मुलधारमा रहेका कम्युनिष्ट पार्टीहरुमा अव कम्युनिष्टपन छैन । नाम “कम्युनिष्ट” पार्टी राखेर वा सिद्धान्तमा ‘माक्र्सवाद–लेनीनबाद’ राखेर गैर कम्युनिष्ट पार्टीहरुलाई ‘कम्युनिष्टहरु अधिनायकबादी हुन’ भनेर संका गर्ने ठाउँ दिनु बाहेक अव यि पार्टीहरुमा कम्युनिष्टपना रहेन भन्ने कुरा व्यवहारबाट प्रष्ट देखिएको छ । फलामे अनुशासन, सांगठनिक प्रतिवद्धता र बैचारिक क्षमता नभएका कार्यकर्ताहरुको झुण्ड बोकेर गुटवन्दीमा प्रतिस्पर्धा गरिरहेकाहरुले अव साम्यवादी लक्ष सहितको बैचारिक(सैद्धान्तिक लडाई लड्लान भन्ने आश गर्नु मुर्खता होला जस्तो छ ।
‘कम्युनिष्ट पार्टीहरु लोकतान्त्रिक होईनन्’ भन्ने कुरा गलत हो किनभने लोकतन्त्र शासन पद्धति मात्रै होईन त्यो जीवनशैली पनि हो । यस आधारमा कतिपय आफुलाई खाटी लोकतन्त्रवादी भन्ने गैर कम्युनिष्टहरु भन्दा केही कम्युनिष्टहरुनै लोकतान्त्रिक जीवन शैली बिताईरहेका छन । तर, कम्युनिष्ट पार्टीहरु अधिनायकबादी हुन भन्ने कुरा त सत्य हो नि ! त्यो अधिनायकत्व स्थापना गर्ने हिम्मत छ त अव यि नामधारी कम्युनिष्टहरुमा ? निश्चित रुपमा छैन ।
बर्तमान राष्ट्रिय/अन्तराष्ट्रिय परिस्थिति, सांगठनिक अस्तव्यस्तता, सहकर्मी दलहरुको अवस्था र अन्य थुप्रै कुराहरुले झापा बिद्रोहका क्रममा कमरेड ओलीले गरेको वर्गबिहिन समाजको परिकल्पना उनी आफु सत्तामा पुग्दा पनि लागु गर्न सक्ने अवस्था अहिले नहोला तर त्यो सपना साकार बनाउनका लागि आधार तयार हुन सक्छ । लोककल्याणकारी राज्यको स्थापना गरेर जनतालाई खुशी राख्न सक्ने अवस्था भने पक्कै छ ।
त्यो कलिलो उमेर, त्यो बेलाको जोस, बिद्रोहमा सहयोद्धा गुमाउँदाको पीडाको बिषयमा भलिभाँती बुझेका होलान् उनले । आफ्ना सवै सपनाहरु १४ बर्षसम्म जेलमा थन्काउनु पर्दाको छटपटी पनि बिर्सेका छैनन् होला । अव उनीसंग ति सहयोद्धा शहीदहरुका सपना साकार पार्ने, ति आफ्ना सपना साकार पार्ने र उनी आफैले जनतालाई बाँडेका सपना पुरा गर्ने महान जिम्मेवारी छ, त्यो जिम्मेवारीसंगै उनीसंग अवसर पनि छ, साथ सहयोग पनि छ । यदि उनी ईमानदार भएर लाग्ने हुन भने, उनीभित्रको राजनीतिक कार्यकर्ता मरेको छैन् भने उनी पक्कै सफल पनि हुनेछन् ।
फेरी अर्को कुनै समूह बिद्रोहमा नजावस्, फेरी उनी नेतृत्वको सरकारले २०२९ सालको सरकारले झै कुनै कम्युनिष्ट कार्यकर्ताहरुमाथी वर्वरता प्रकट गर्नु नपरोस, फेरी कुनै समूहले हतियार उठान गरेर हजारौं नेपालीहरुको ज्यान लिने वातावरण नबनोस भन्ने कुरामा सचेत होलान ओली कमरेड ! फेरी पनि कुनै अर्को पक्षले हतियार उठाउने योजना बनाउँदैछ, फेरी पनि बिद्रोह हुने संकेत देखिदैछ । एक कम्युनिष्ट पृष्ठभूमिबाट आएको नेता देशकै कार्यकारी प्रमुख भएका वेला अर्को कुनै कम्युनिष्ट समूहले उनी बिरुद्ध हतियार उठान गर्ने अवस्था आयो भने त्यो देशका लागि त दुर्भाग्य हुन्छ नै, उनका लागि पनि दुर्भाग्य हुन्छ ।
यस्ता कुराहरुलाई समयमै समाधान गर्नु ओलीको जिम्मेवारी हो । दमनबाट न हिजोको झापा बिद्रोह समाप्त भयो, न लोकतान्त्रिक वा प्रजातान्त्रिक नाम दिईएका आन्दोलनहरु समाप्त भए, न १० बर्षे माओवादी सशस्त्र बिद्रोह दवाउन सकियो र न अवका कुनै राजनीतिक बिद्रोहहरु दवाउन सकिने अवस्था हुन्छ ।
देशको प्रमुख कार्यकारणी पदमा पहिलो पटक बिराजमान हुँदा पक्कै पनि उनलाई ति सहयोद्धाहरुको याद आयो होला । फेरी दोश्रो पटक पनि उनी त्यही ओहोदामा पुगेका छन । निश्चित रुपमा पनि उनलाई सुखानी घटनाले घच्घचाईरहेको हुनु पर्छ, उत्साह भरिरहेको हुनुपर्छ । पञ्चायत, संबैधानिक राजतन्त्र, लोकतान्त्रिक गणतन्त्रको लामो अनुभव बोकेका छन, भोगेका छन्, देखेका छन र अध्ययन पनि गरेका छन उनले । अव संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफलतापूर्वक हाँक्नेछन् भन्ने आशा गरौं ।
यस्तायस्तै कतिपय कुराहरु छन् ओली कमरेडका लागि । कम्युनिष्ट राजनीतिक यात्रा सुरु गरेको एक युवाले १४ बर्ष जेल जीवन बिताउनु सामान्य कुरा होईन । त्यो योगदानको प्रतिफल उनले आज पाएका छन । तर त्यो प्रतिफल कसरी व्यवहारमा प्रयोग गर्न सक्छन भन्ने कुराको परीक्षा हुँदैछ ।
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१. ईटिग्रिटी आईडल–२०१७ अवार्डवाट सम्मानित हुने व्यक्तित्व को हुन ?
— मोरङ्गका सहायक जिल्ला अधिकारी शेषनारायण पौडेल
(पौडेल सहित अकाउन्टेविलीटी ल्याव नेपालले यस बर्ष उत्कृष्ट पाँच सकारी कर्मचारी सम्मानित गरेको)
२. बिश्व पर्यटन संघ (World Tourism Organization) को छोटकरी नाम परिवर्तन गरि के बनाइएको छ ? — UNWTO
३. लेगाटम प्रोस्परिटी ईन्डेक्स— २०१७ अनुसार बिश्व समृद्धि सूचकाङ्कमा नेपाल कतिऔं स्थानमा रहेको छ ? — ८९ औं
— प्रत्येक बर्ष सार्वजनिक गरिने लेगाटम समृद्धि सूचकाङ्कमा चीन ९० औं तथा भारत एक सयौं स्थानमा रहेको
— देशको आर्थिक गुणस्तर, व्यवसायिक, वातावरण, सुशासन, शिक्षा, स्वास्थ्य, सुरक्षा, व्यक्तिगत स्वतन्त्रता, सामाजिक पुँजी र प्राकृतिक वातावरणका आधारमा तय गरिने यस सूचकाङ्कमध्ये नेपालको सवैभन्दा राम्रो व्यक्तिगत स्वतन्त्रता (३९ औं) देखिएको ।
— एक सय ४९ राष्ट्र समेटी तयार पारिएको सो प्रतिवेदनमा श्रीलंका ५३ औं, बंगलादेश एक सय एकौं तथा पाकिस्तान एक सय ३७ औं स्थानमा रहेको
— सो सूची अनुसार पहिलो दश स्थानमा रहेका राष्ट्र नर्वे, न्युजिल्याण्ड, फिनल्याण्ड, स्वीजरल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, क्यानाडा, अस्ट्रेलिया र बेलायत हुन ।
— यस्तै सूचीको अन्तिममा रहेका राष्ट्र यमन (१४९ औं), सेन्ट्रल अफ्रिकन रिपव्लिक (१४८ औं) सुडान (१४७औं), अफगानिस्थान (१४६औं) चाड (१४५औं) मौरिटानिया (१४४औं) कंगो (१४३औं) ईराक (१४२औं) अंगोला (१४१औं) तथा बुरुण्डी १४०औं) हुन ।
४. काठमाण्डौं अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा नेपाल पानोरामा अन्तरगत ‘अडियन्स अवार्ड’ र ‘स्पेसल जुरी मेन्सन अवार्ड’ जित्ने नेपाली बृत्तचित्र कुन हो ? — द लास्ट हनी हन्टर
(बि.सं. २०७४ मंसिर २८ देखि पुष ३ सम्म सञ्चालित)
५. नेपालमा सर्वप्रथम पात्रो प्रकाशन कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ? — रणोद्दिप सिंह
६. लिच्छवी कालमा राजश्व संकलन, जग्गा खरिद बिक्री तथा भूमि सम्वन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ? — कुथेर अधिकरण
७. चिलीमा हालै (सन २०१७) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन ?
— सेवास्टियन पिन्येरा
८. गिनिज बुक अफ वल्र्ड रेकर्डस्को प्रकाशनको सुरुवात कहिले देखि भएको हो ?
— सन १९५५ अगस्त २७
(बिश्वमा भएका बिविध किर्तिमान उल्लेख गरी प्रत्येक बर्ष प्रकाशन हुने गिनिज बुक अफ वल्र्ड रेकर्डस्को पहिलो प्रकाशन सन १९५५ अगस्त २७ मा बेलायतको लण्डनमा भएको)
९. नेपालको मरुभूमि भन्नाले मुस्ताङलाई चिनिन्छ भने नेपालको श्रीलंका भनेर कुन ठाउँलाई चिनिन्छ ?
— कोसी टापु
१०. नेपाली साहित्यमा त्रिमुर्ति भनेर चिनिने महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौडेल र नाट्यसम्राट बालकृष्ण समको सालिक कहिले र कहाँ अनावरण गरियो ?
— बि.सं. २०६१ भाद्र, ११ सिनामंगलस्थित सञ्चारग्राममा
११. काठमाण्डौंलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ? — २०५२ मंसिर २९
१२. नेपालमा सवैभन्दा पहिल स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ? — बालाजु औद्योगिक क्षेत्र
१३. सात कुण्डको जिल्ला भनी रसुवालाई, सात तालको जिल्ला भनी कास्कीलाई चिनिन्छ भने सात पोखरीको जिल्ला भनी कुनलाई चिनिन्छ ? — काठमाण्डौं
१४. ‘कुनै पनि सपना जादु गरेजस्तो यथार्थमा बदलिदैन, यसका लागि प्रसस्त पसिना र दृढताको खाँचो पर्दछ ।’ भन्ने बिचारक को हुन ? — कोलिन पावेल, अमेरिकी पूर्व सेनापति
१५. नेपालको संबिधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ? — धारा १८(४)
नेपाल सरकारे लिएका केही लक्ष्यहरु
१. पूर्ण सरसफाई युक्त देश बनाउने, खुलादिशामुक्त घोषणा गर्ने, धुवामुक्त घोषणा गर्ने ः २०१७ सम्म
२. नेपाल भ्रमण बर्ष, बालविबाह अन्त्य गर्ने, हात्तिपाईले जिवाणुमुक्त बनाउने ः २०२० सम्म
३. बाघको संख्या दोव्वर गर्ने, बिकासशील राष्ट्रमा स्तरोन्नती गर्ने, नेपालको जन्मदरलाई बिस्थापन दरमा पु¥याउने ः २०२२ सम्म
४. औलोमुक्त गर्ने, भोकमरी अन्त्य गर्ने ः २०२५ सम्म
५. जलबिद्युतमा आन्मनिर्भर बनाउने ः २०२७ सम्म
६. मध्यम आय भएको देशमा स्तरोन्नती गर्ने ः २०३० सम्म
७. बन दशक ः बि.सं. २०७१–२०८० सम्म
८. २० बर्षे कृषि विकास रणनीति ः २०१५–२०३५ सम्म
९. फलफुल दशक ः बि.सं. २०७३/०७४—२०८२/०८३ सम्म
साहित्य/सृजना
परेला
ओठको मुस्कान भन्दा पनि
आँखाका भिजेका परेलाहरु
कति न्यायपूर्ण लाग्छन
सुख मात्र आफ्नो
खुशी मात्र आफ्नो
हासो मात्र आफ्नो
कहिल्यै ठान्दैनन्
दुःख चाहिँ अरुको
पीडा चाहिँ अरुको
बेचैन चाहिँ अरुको
कहिल्यै मान्दैनन्
ओठको मुस्कान भन्दा पनि
आँखाका भिजेका परेलाहरु
बास्तबमा मित्र झैँ लाग्छन
सुख, दुःख
हासो, आँसु
सबैलाइ अगालिदिन्छन
दुःखको बखतमा,
दुखी भएर परेला रसाइदिन्छन
सुखको बखतमा,
खुशी भएर परेला रसाइदिन्छन
बिछोडको क्षणमा,
बिछोडको पिडाले परेला रसाइदिन्छन
मिलनको क्षणमा,
मिलनको खुशीले परेला रसाइदिन्छन
किन किन यी परेलाहरु
हर पल रसाइदिन्छन
पुस्पा जोशी “काली”
धनगढी, कैलाली
मेरो प्यारो देश नेपाल
मेचीकली फैलिएको छ ...
हिमाल, पहाड, तराई मिली
छरिएको लेक बेशी
आफ्नै रीति तिथि
संस्कृतिमा सजिएको
मेरो प्यारो देश नेपाल
कला, साहित्य, पुरातत्व
आफ्नै
किसिमकिसिमका थरीथरी
संस्कार छन यहाँ
मिलाएर सेता दन्त लहर
पूर्वदेखि पश्चिमसम्म
उत्तरमा हिमाल हाँस्दै छन
छहरा र पहरासँग लडिबुडी गर्दै
डाफे मुनाल रमाइरहेछन
हरेक बस्ती बस्तीमा
मानव यहाँ रमाइरहेछन ...
आफ्नै आफ्नै संस्कारमा
आहा कति राम्रो
सौन्द्र्यले झकी झकाउ
मेरो सुन्दर नगरी नेपाल
हो सच्चै मेरो प्यारो भूमि नेपाल
सुन्दर आहा कति रमाइलो
मनै हरर
मेरो प्यारो देश नेपाल
मुटुभन्दा नि प्यारो छ
करण बिश्वास
सूचना/सन्देश/बिज्ञापन
लेखापाल पदको आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१०/२० गते
उपरोक्त सम्बन्धमा यस अपाङ्ग सेवा संघ, डोटी र यू.एम.एन. डोटी क्लष्टरको साझेदारीमाा सञ्चालित “समुदायमा आधारित बाल्य अवस्था अपाङ्गताको एकिकृत व्यवस्थापन” र (CBR) परियोजना अन्तर्गत एक जना लेखापालको आवश्यकता परेको हुँदा तपसिलको योग्यता पुगेका ईच्छुक ब्यक्तिहरुबाट प्रथम पटक सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र आफ्नो ब्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी सहित दरखास्तका लागि आह्वान गरिएको छ ।
तपसिल ः
पद ः लेखापाल
आवश्यक संख्या ः १ (एक) जना
कार्यक्षेत्र ः कार्यालय
योग्यता तथा अनुभव ः
मान्यता प्राप्त शिक्षण संस्थाबाट बाणिज्य बिषयमा प्रमाण पत्र तह ।
लेखापाल क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य अनुभव भएको ।
आधारभूत कम्प्यूटर, ईमेल, ईन्टरनेट सम्बन्धी ज्ञान (अनिवार्य)
मासिक त्रैमासिक रुपमा प्रतिबेदन तयार गर्न सक्ने
समुदाय तथा अन्य सरोकारवालासंग समन्वय गर्न सक्ने ।
न्युनतम उमेर १८ वर्ष पूरा भएको ।
तलब सुविधा ः संस्थाको नियम अनुसार
परीक्षाको किसिम ः लिखित, अन्तर्वार्ता
पदको अवधि ः असार मसान्तसम्म (पछि पदावधि थप गर्न सकिने)
पुनश्च ः
१. छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र परीक्षामा समावेश गराईनेछ ।
२. अपाङ्गता क्षेत्रमा काम गरेको र स्थानीय, दलित तथा महिलाहरुलाई विषेश प्राथमिकता दिईनेछ ।
३. छनोट सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहीत रहनेछ ।
पदपूर्ति समिति
के आई सिंह गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
डोटी
प्रदेश नं. ७
गाउँ बस्तुगत बिवरण (Profile) तयारीका लागि प्रस्तावना आव्हान ।
गाउँ बस्तुगत बिवरण (Profile) तयारीका लागि प्रस्तावना आव्हान ।
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/११/२० गते
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको गाउँ/नगर बस्तुगत बिवरण तयारी कार्यबिधि, २०७४ ले तोकेको मापदण्ड अनुसार यस के आई सिंह गाउँपालिकाको बस्तुगत बिवरण (Profile) तयार गर्नु पर्ने भएको हुँदा नेपालको प्रचलित कानुन अनुसार सम्वन्धित निकायमा दर्ता भई सक्रिय रुपमा कार्यरत ईच्छुक एवं अनुभवी गैरसरकारी संस्था÷कम्पनी÷फर्मबाट तपशिलका शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बस्तुगत बिवरण तयारीका लागि प्रस्तावना आव्हान गरिएको छ ।
शर्तहरु
१. बस्तुगत बिवरण चालु आर्थिक बर्षभित्र तयार गरि सक्नु पर्ने छ । छिटो सम्पन्न हुने गरि कार्ययोजना सहित आएको प्रस्तावनालाई प्राथमिकता दिईनेछ ।
२. प्रस्तावनामा प्राबिधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै तयार गरिएको हुनु पर्नेछ ।
३. प्राबिधिक प्रस्तावमा बिस्तृत कार्ययोजना सहितका कार्यबिधि अनुसार बस्तुगत बिवरण तयारीका चरणहरु समावेश भएको हुनु पर्नेछ ।
४. आर्थिक प्रस्तावमा अनुमानित बजेटको बिस्तृत बिवरण (दचभबपभमयधल) समेत संलग्न गरिएको हुनु पर्नेछ ।
५. यस गाउँपालिकाले तयार गरेको प्रस्तावना छनौट मापदण्ड अनुसार अधिकतम् अंक ल्याउने प्रस्तावनालाई छनौट गरिनेछ ।
प्रस्तावनासंग पेश गरिनु पर्ने कागजातहरु
१. संस्था/कम्पनी/फर्म दर्ता प्रमाण पत्र
२. चालु आर्थिक बर्षका लागि नविकरण गरिएको प्रमाण
३. आर्थिक बर्ष २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन
४. स्थायी लेखा नं. (एब्ल्) मा दर्ता भएको प्रमाण पत्र
५. आर्थिक बर्ष २०७३÷०७४ को आय व्यय बिवरण पेश गरेको प्रमाण पत्र ।
६. सम्वन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्र (अनिवार्य)
७. संस्था/कम्पनी/फर्मको सामान्य जानकारी
८. बस्तुगत बिवरण तयारीका क्रममा संलग्न हुने अनुभवी जनशक्तिको व्यक्तिगत बिवरण (कम्तीमा दुई जनाको)
यस बिषयमा थप जानकारी चाहिएमा के आई सिंह गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, वायल डोटीमा बुझ्न सकिनेछ ।
No comments:
Post a Comment