Tuesday, December 11, 2018

बिम्ब साप्ताहिक, २०७५ साल मंसिर २५ गते मंगलवार

“खुलेर बोलौं, बिभेद राकौ”
‘महिला हिंसा बिरुद्ध शुन्य सहिष्णुता कायम गरौं, 
दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौं’ 
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

खुल्ला बहसमा यसरी पोखिए महिलाहरुका पीडा

रामहरी ओझा/डोटी
मंसिर २३
दिपायल सिलगढी नगरपालिका–७ की एक महिलाले आफुलाई श्रीमान्ले घरभित्र प्रवेश गर्न समेत नदिने गरेको बताईन् । करीव ६० बर्ष उमेरकी ति महिलाले भनिन् ‘मलाई देख्ने बित्तिकै कुट्न थाल्छन्, एक पटक प्रहरीमा उजुरी पनि गरेँ, प्रहरीले मिलापत्र गरेर पठायो तर फेरी उस्तै गर्दैछ ।’ उनले आफु अर्काको घरमा बस्न गएपछि उनलाई पनि श्रीमान्ले गाली गर्ने गरेको वताईन् । आफु रुखमुनी रात बिताउन वाध्य भएको उनले पीडा सुनाईन ।
जवाफमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिद्यानन्द माझीले ति महिलालाई प्रहरीमा उजुरी दिन आग्रह गरे । उनले भने ‘तपाई प्रहरीमा आएर उजुरी दिनुहोस्, हामी उनी बिरुद्ध मुद्धा    चलाउँछौं ।’
दिपायल सिलगढी नगरपालिका–८ कि ६१ बर्षीया बासु महराले प्रश्न गरिन् ‘मेरो श्रीमान्को उहिल्लै मृत्यु भयो, उहाँको पनि नागरिकता बनेको थिएन, मेरो न बिहे दर्ता छ न नागरिकता छ, न श्रीमान्को नागरिकता छ । नागरिकता बनाउन जाँदा हुँदैन भनेर फर्काई दिए । नागरिकता नभएका कारण मैले सरकारबाट पाउने भत्ता पनि पाएको छैन, अव मैले नागरिकता नपाउने हो त ?’ 
जवाफमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी भन्छन् ‘हरेक नेपाली नागरिकले नागरिकता पाउँछ, तपाईले पनि पाउनु हुन्छ । त्यसका लागि वडा कार्यालयमा जानुहोस्, यस्ता व्यक्तिहरुले कसरी नागरिकता पाउने भन्ने नीतिगत पाटो छ, तपाई नागरिकता पाउनु हुन्छ ।’
दिपायल सिलगढी नगरपालिका–४ कि सुनिता रिजालको गुनासो थियो ‘म एक वहालवाला सैनिक जवानसंग प्रेम विवाह  गरेर आएँ, तर उनको परिवारले अस्वीकार गरेपछि उनले पनि मलाई छोडिदिए । म गर्भवती छु भन्दा उल्टो अर्कोको पेट बोकेर मेरो पछि लागेकी भन्ने आरोप लगाए । मैले नाता कायमका लागि अदालतमा मुद्धा लडेँ, डिएनए परीक्षण भयो र सकारात्मक पनि देखियो । अदालतले नाता कायम भएको फैसला समेत ग¥यो, तर त्यो फैसला कार्यान्वयन भएको छैन । अव मैले कुन अग्नी परीक्षा दिनु पर्ने हो न्याय पाउनका लागि ?’ 
जवाफमा जिल्ला न्यायाधिवक्ता पूर्णवहादुर केसीले भने ‘यदि फैसला कार्यान्वयन भएको छैन भने अदालतमा तहसिल शाखा छ, त्यो शाखामा गएर तपाईले निवेदन दिनु होला, फैसला कार्यान्वयन हुन्छ । अदालतको फैसला कार्यान्वयन हुँदैन भन्ने छैन । 
सुरक्षित अल्पकालीन जिल्ला सेवा केन्द्रकी संयोजक देवकी बोहराले आफ्नो पीडा यसरी सुनाईन् ‘महिलामाथी हिंसा भएको भने पीडित महिलाले लिखत वा मौखिक रुपमा प्रहरी समक्ष उजुरी दिन सक्ने व्यवस्था छ, तर प्रहरीले पीडितलाई वकिलबाट लेखाएर ल्याउनु भन्दै थप पीडा दिईरहेको छ, यसमा सुधार कहिलेसम्म हुन्छ ? जवाफमा प्रहरी उपरीक्षक माझीले भने ‘पीडितले मौखिक रुपमै पनि उजुरी दिन सक्छन तर कहिलेकाँही प्रहरीमा भनेको कुरा अदालतमा गएर मैले भनेको होईन भन्ने गरेको पनि पाईएको हुँदा हामीले भरसक वकिलबाटै लेखाएर ल्याउनुहोस् भनेका हौं । हामी मौखिकै उजुरी पनि लिन्छौं, पीडितले दिन सक्छन् ।’ 
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा दिपायल सिलगढी नगरपालिकाद्वारा आयोजना गरिएको “महिला हिंसाका सवालमा खुला वहस” मा सहभागि महिलाहरुले सरोकारवाला व्यक्तिहरुलाई आफ्ना पीडा पोखेका छन् । पीडा पोख्ने महिलाहरु अधिकांशले आफ्नो समस्यासंगै रक्सीका   कारण आफुहरु घर परिवार र समाजमा असुरक्षित भएको सुनाईन । गाउँमा हुने विकास निर्माणका कामहरुमा महिलाहरुको न्यून सहभागिता  गराउने गरेको गुनासोको साथसाथै रक्सी वन्द गर्नु पर्ने माग राख्छिन् दिपायल सिलगढी नगरपालिका–५ कि सुनिता परियार । उनले प्रश्न गरिन् ‘रक्सी वन्द गर्नका लागि हामीले कुन बाटो जानु पर्छ ?’ 
सुनिताको जस्तै पीडा थियो वडा नं. १ कि बिष्ना साउँदको पनि । ‘मेलापात जान पनि डर लाग्छ, बाटोमा मदिरा सेवन गरेका मान्छे भेटिन्छन्, के पो गर्छन भन्ने डर लाग्छ । उनले रक्सी बन्द गर्नका लागि ठोस् पहल गर्न नगर प्रमुखलाई आग्रह समेत गरिन । 
जवाफमा नगर प्रमुख मञ्जु मलासीले महिलाहरुलाई एकजुट भएर मदिरा बिरोधी अभियानमा लाग्न आग्रह गरिन् । ‘मदिरा बेच्ने ईजाजत पत्र दिएर नगरपालिकाले धनी बन्नु छैन’ मलासीले भनिन् ‘म नगर प्रमुख भएदेखि नै मदिरा नियन्त्रणका लागि पहल गरिरहेकी छु, केही ठाउँमा सुधारमा पनि भएको छ ।’ उनले महिला दिदिवहिनीहरुलाई घरेलु हिंसाको प्रतिवाद गर्न समेत आग्रह गरिन् । उनले थपिन् ‘म पनि महिला हुँ, तपाईहरुले जिताउनु भयो र म आज नगर प्रमुख भएकी छु, तपाईहरु पनि म जस्तै साहस गर्नुहोस, म तपाईहरुको साथमा छु । 
दिपायल सिलगढी नगरपालिकाले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा बिविध कार्यक्रमहरु आयोजना गरेको छ । लैङ्गिक हिंसा    न्यूनिकरणका लागि बिभिन्न   सरोकारवाला निकायहरुसंग समन्वय बैठक, वडा–वडामा महिलाहरुसंग अन्तरक्रिया कार्यक्रम, बिद्यालयस्तरमा चेतनामुलक कार्यक्रम लगायतका कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गरेको नगरपालिकाकी महिला तथा बालबालिका ईकाई प्रमुख सोहना जोशीले जानकारी दिईन ।
अभियानका क्रममा बालविवाहका घटनाहरुमा बढ्दै गएको, महिलाहरुको सम्पत्तिमाथी पहुँच नभएको, उपभोक्ता समितिमा महिलाहरुलाई नाममात्रको सहभागिता गराउने गरेको महिलाहरुका गुनासा आएका छन् । 

सम्पादकीय 

कमजोर लोकतान्त्रिक अभ्यास

लामो समयसम्मको राजनीतिक अभ्यासपछि पनि नेपालका ठुला राजनीतिक दलहरुले बलियो लोकतान्त्रिक अभ्यास गर्न सकेका छैनन् । लोकतान्त्रिक मुलुकमा सत्ता पक्ष र प्रमुख विपक्ष दलको लोकतान्त्रिक अभ्यासले व्यवस्थालाई संस्थागत गर्छ । प्रतिपक्षको रचनात्मक आलोचनाले सत्तापक्षले कुनै गलत हर्कत गर्न पाउँदैन र प्रतिपक्षको रचनात्मक आलोचनालाई सत्तापक्षले आत्मसात     गर्छ । तर नेपालमा न त सत्ता पक्ष नै गतिलो भयो न प्रतिपक्ष नै रचनात्मक बन्न सक्यो । 
यो आजका सत्ता पक्ष र प्रतिपक्षको कुरा मात्रै होईन, २०४६ सालको राजनीतिक परिवर्तनपछि लोकतान्त्रिक वा प्रजातान्त्रिक भनिएका जति पनि सरकारहरु बने सवैको समस्या एउटै देखियो । प्रतिपक्षमा हुने बित्तिकै सत्तापक्षको खुट्टा तान्नु पर्ने बाहेक अर्को कुनै रचनात्मक काम प्रतिपक्षहरुले गरेनन् । सत्तापक्षले पनि प्रतिपक्षका आवाजहरु सुन्ने, सम्वोधन गर्ने वा सफाई दिने कुनै काम गरेन । सधैंभरी एकअर्काका बिरोधी मात्रै बनिरहे र अहिले पनि एकअर्काका बिरोधी नै छन् । 
अहिले सत्तारुढ दल नेकपाभित्रै सत्ता पक्ष र प्रतिपक्ष भएका छन्, पार्टीभित्रै बैठक बस्नै नसक्ने अवस्था देखिएको छ । लामो समयसम्म बैठक बस्न नसक्दा कतिपय राष्ट्रिय महत्वका विषयमा शीर्ष नेतृत्वको सल्लाह÷सुझाव पाउनबाट सरकारको नेतृत्व वञ्चित भएको देखिन्छ । उता प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई पनि सरकारका गतिबिधिहरुको सुक्ष्म अध्ययन गर्ने फुर्सद् छैन । आन्तरिक विवादले थलिएको कांग्रेसले न आफुलाई लोकतान्त्रिक बनाउन सक्यो, न आफु लोकतन्त्रको हिमायती हुँ भन्न नै छोड्यो । आफु सत्तामा हुँदै सधैं लोकतन्त्र दिगो देख्ने तर आन्तरिक विवादका कारण सत्ता गुमेको हिसाव किताव नगर्ने कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्छ भन्ने लाग्दैन । 
एकातिर दुईतिहाईको दम्व भएको सत्ता पक्षभित्रै अन्तरकलह बढ्नु, सरकारका कामकारवाहीप्रति सत्तापक्षबाटै आलोचना बर्षिनु, शिर्ष नेताहरुद्वारा पार्टीकै बैठक बहिस्कार हुनु अर्कोतर्फ गत आमनिर्वाचनमा सरकार बनाउन नसके पनि दह्रो प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले सरकारलाई सही बाटोमा हिँडाउन सक्ने अपेक्षा विपरीतको अवस्थामा देखिनुले देशमा लोकतन्त्रको सही अभ्यास हुन सकेन भन्ने कुरालाई पुष्टी गर्छ । कांग्रेसले आफूलाई सुधार्ने र सरकारलाई सही बाटो देखाउने ‘सुनौलो अवसर’ अहिले गुमाइरहेको देखिएको छ । एकोहोरो रुपमा आलोचना मात्रै गर्ने, सत्तापक्षका नेताहरुलाई कालो झण्डा देखाउने र सामाजिक सञ्जालमा सत्तोसराप गर्ने बाहेक नेपाली कांग्रेससंग अहिले कुनै ‘पोलिटिकल जव’ छैन । 
सरकारले एकपछि अर्को गल्ती गरिरहेको अवस्थामा प्रतिपक्षले रचनात्मक आलोचना मार्फत सरकारलाई खवरदारी गर्नु पर्ने हो । ‘छायाँ सरकार’ को अभ्यास गर्ने भन्दै बिभिन्न स्थानीय तहमा छाया सरकारको घोषणा समेत गरेको कांग्रेसले न त ति छाया  सरकारहरुको भुमिका स्पष्ट पार्न सक्यो, न स्वयंको भूमिका स्ष्ट गर्न सक्यो । स्थानीय सरकारका तमाम कमजोरी र संघीय तथा प्रदेश सरकारका कामबारे कांग्रेसले निकटबाट अनुगमन गरी सही दृष्टिकोण सार्वजनिक गर्न सकेको खण्डमा सर्वसाधारणले अर्को निर्वाचनका बेला कांग्रेसलाई मूल्यांकन गर्न सक्ने अवस्था आउन सक्थ्यो । कांग्रेससंग यो हिम्मत पनि देखिएन ।
वा भनौं, कांग्रेससंग अहिले कुनै राजनीतिक एजेण्डा छैन । प्रतिपक्षको अभ्यास कसरी गर्ने भन्ने बिषयमा नै कांग्रेस अल्मलिएको अवस्थामा देखिन्छ । जनता सरकारका काम कारवाहीप्रति सन्तुष्ट नहुनु र सत्तापक्ष स्वयंभित्र पानी बारावारको अवस्था सृजना हुनु नेपाली कांग्रेसका लागि ठुलो ‘पोलिटीकल अपर्चुनिटी’ हो तर के गर्नु ! ‘देशकै पुरानो लोकतान्त्रिक पार्टी हुँ’  भनेर दम्व गर्नु वाहेक लोकतान्त्रिक अनुभवै नभएपछि यस्तै हुने हो ।

थप समाचार 

८५ बर्षीया बिष्ना भन्छिन् ः महिलाण्हरु पृथ्वी हुन

“पृथ्वीमा हलो चलाईन्छ, ठुलठुला संरचनाहरु वनाईन्छ, सुरुङ्ग वनाईन्छ तर पनि पृथ्वीले हामी सवैलाई बाँच्ने आधार   दिन्छ । महिलाहरु पनि त्यस्तै हुन, महिलाहरुमाथी जति हिंसा गरेपनि उनीहरुसंग सहनशीलता छ, माया छ, त्यसैले हत्तै प्रतिवाद गर्दिनन् ।” 
दिपायल सिलगढी नगरपालिका–१ सिरखोली सैनकी बिष्नादेवी साउँद उमेरले ८५ बर्षकी भईन् । तर, उनी अहिले पनि सामाजिक क्रियाकलापमा सक्रिय छिन् । महिलाहरुलाई सफा सुग्घर हुने गर्ने, घर आँगन सफा राख्नु पर्ने, बारीमा तरकारी लगाउनु पर्ने चेतनामुलक सन्देशहरु उनी घरघरमा गएर दिन्छिन् । ‘छोराछोरीलाई बिद्यालय पठाउ, समाजमा झै–झगडा नगर, एकले अर्कोलाई सहयोग गर भन्छु, तिनिहरु मान्दैनन्’ बिष्ना भन्छिन् ‘पहिले भन्दा त अहिले धेरै सुधार भएको छ तर पनि अझैं धेरै सुधार गर्न बाँकी छ ।’ 
सामाजिक परिवर्तनका लागि सक्रिय बिष्ना महिलामाथी हुने हिंसाका थोरै घटना मात्रै बाहिर आउने गरेको बताउँछिन् । महिलाहरुमा भएको सहनशीलताका कारण नै अधिकांश घटनाहरु घरभित्रै रहने उनको भनाई छ । ‘महिलाहरु कमजोर भएर वा थाह नभएर घटनाको उजुरी नगर्ने होईनन्, अहिलेका महिलाहरुले धेरै कुरा बुझेका छन् र उजुरी गर्ने हिम्मत पनि राख्छन्’ बिष्ना भन्छिन् ‘तर महिलाहरु सहनशील छन् र उनीहरुलाई परिवार र समाजप्रतिको माया छ, त्यसैले बरु सहन्छन्, प्रतिवाद गर्दैनन् ।’ 
९ बर्ष अघि श्रीमान् दलुवा साउँदको निधन भएपछि एक्लै बनेकी बिष्नाले ५९ बर्षसम्म दाम्पात्य जीवन बिताईन । ‘झगडा त हामी दुईबीच पनि धेरै पटक भयो तर उहाँले मलाई कहिल्लै कुट्न् भएन, एकपटक भनाभन हुन्थ्यो फेरी एकछिनमै मिलचाल हुन्थ्यो’ १७ बर्षको उमेरमा एक अपरिचित पुरुषसंग बिवाह गरेकी बिष्ना महिलामाथी घरेलु हिंसा हुनुमा महिलाहरु स्वयंको पनि दोष देख्छन् ।’ उनी थप्छन् ‘एउटै अगेनोमा लाएका दाउरा त ठोसठास भईहाल्छ नि !’ केही महिलाहरुले आफ्नो श्रीमान्संग अनावश्यक कचकच गर्ने, संका गर्ने गरेका कारण पनि हिंसाका घटना हुने गरेका वताउँछिन् ।
पछिल्लो समय बढिरहेका सम्वन्ध बिच्छेद्का घटनाहरुप्रति बिष्ना निकै चिन्तित् छन् । ‘सानो कुरामा बिवाद सुरु हुँदै सम्वन्ध बिच्छेद्को तहसम्म पुग्न थालेको छ’ महिला हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा दिपायल सिलगढी नगरपालिकाले सिरखोली सैनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भेटिएकी बिष्ना भन्छिन् ‘सम्वन्ध बिच्छेद् गरेका महिला पुरुषले त अर्को बिहे गर्लान् तर तिनीहरुका सन्तानको अवस्था के हुने ? यसले परिवारमा कस्तो प्रभाव पर्छ भन्ने ख्याल गर्दैनन् ।’ उनी अचेल महिलाहरुले आफ्नो सहनशीलता गुमाएको आरोप लगाउँछिन् ।  
महिलाहरुमाथी हुने हिंसाका अधिकांश घटनाहरुको जरिया मदिरा हुने गरेको उनी बताउँछन्, भन्छिन् ‘श्रीमान् रक्सी खाएर घर आउँछ, दिनदिनै रक्सी खाएर आउने भन्दै श्रीमतीले कचकच गर्छन् अनि हिंसा सुरु हुन्छ ।’ उनी रक्सी बन्द गर्नु पर्ने बताउँछिन् । उनी थप्छिन् ‘रक्सी वन्द गर्नका लागि मैले धेरै पटक प्रयास गरेँ, केही समय बन्द पनि भयो तर फेरी सुरु भईहाल्यो ।’ 
पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोगले पनि महिला हिंसाका घटनाहरुमा बृद्धि भएको उनको बुझाई छ । ‘उमेर नपुगेका बालबालिकाहरु भागेर बिहे गर्न थाले, कसै कसैले त बहु बिहे पनि गर्न थाले’ बिष्ना भन्छिन् ‘फोनबाटै कुरा गर्छन्, कुरा गर्दागर्दै प्रेम बस्छ अनि एक(अर्काको देखभेटै नभई भागेर जान्छन्, उता जाँदा त थाह हुन्छ केटाले पहिले नै बिहे गरिसकेको रहेछ ।’ त्यसपछि महिलामाथी हिंसाको सुरुवात हुने गरेको बिष्नाको बुझाई छ । उनी थप्छिन् ‘मोवाईलको दुरुपयोग रोक्नका लागि बालबालिकाहरुलाई यस बारेमा ज्ञान दिनु जरुरी छ ।’ पछिल्लो समयमा अधिकांश घटनाहरु मोवाईलको माध्यमबाट हुने गरेको बिष्नाले बताईन ।   

पूर्वाधार साझेदारी कार्यक्रमको ५६% सडकमा

अर्थमन्त्री डा. जगन्नाथ खातिवडाले बजेट भाषणमार्फत व्यवस्था गरेको स्थानीय पूर्वाधार विकास कार्यक्रमको डोटीमा ५६.२५ प्रतिशत रकम सडकमा बिनियोजन गरिएको छ । 
प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड रुपैयाँ बिनियोजन गरिएको उक्त कार्यक्रम अन्तरगत बिभिन्न १० सडक निर्माण गर्नका लागि दुई करोड २५ लाख रुपैयाँ अर्थात कुल बजेटको ५६.२५ प्रतिशत रकम बिनियोजन गरिएको छ । बिनियोजित रकम अनुसार जोरायल गाउँपालिका–६ को खसरे–वगेडा–निरौली सडक निर्माणमा ५० लाख र जोरायल–२ को रुपसकाँडा–छहरा–बाँजिलेख–सम्मेनी सडक निर्माणका लागि ५० लाख बिनियोजन गरिएको छ । यस्तै जोरायल–३ को गोगनीगाड पावर हाउसदेखि नौकुना सडकमा १० लाख, बोगटान गाउँपालिका–२ को छिडिखान–लयाडुम्री–भ्mयामतोला–केदारमाण्डौं–धारी सडकमा २० लाख र बोगटान गापा–५ को सातफरी–घटानीखोला–दुवातल–जोराघाट सडक १० लाख बिनियोजन गरिएको छ । 
जोरायल–४ को सिलङ्गीबाग–बिनौडा–गाँजरी–खैगाड सडक २० लाख, पूर्वीचौकी–५ को चौखुट्टे–रानढुङ्गा सडक २५ लाख, शिखर नपा–११ को पिड–किमडा सडक १० लाख, सायल गापा–६ को मेल्लेख–बिरलकाँडा सडकमा १० लाख र दिपायल सिलगढी नपा–६ को सिलगढी साँफे सडकदेखि सजना(पाकरी सडकमा २० लाख बिनियोजन गरिएको छ ।    
सडक निर्माणको सामान्य मापदण्ड समेत पुरा नगरी सडक निर्माण गरेको भन्दै स्थानीय तहहरुले आलोचना खेपिरहेका बेला स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट समेत सडकमै खर्च हुने भएको छ । 
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३७.५ प्रतिशत रकम जोरायल गाउँपालिकामा मात्र बिनियोजन भएको छ । यस गाउँपालिकामा उक्त वजेटबाट चार सडक, एक जलबिद्युत आयोजना र एक बिद्यालयको पूर्वाधार निर्माणका योजना परेका छन् । कार्यक्रममा सवैभन्दा कम वजेट सायल गाउँपालिकामा परेको छ । उक्त गाउँपालिका–६ को मेल्लख–बिरलकाँडा सडक निर्माणका लागि १० लाख रुपैयाँ बिनियोजन भएको छ । 
कुल २४ योजनाहरुमा सडकतर्फ दुई करोड २५ लाख, पदमार्गमा २० लाख, सहकारी संस्थाको क्षमता विकासमा ३१ लाख, बिद्युतमा २० लाख, सिंचाईमा ३७ लाख, मन्दिरमा १० लाख, तटबन्धनमा ११ लाख र बिद्यालयतर्फ ४२ लाख छुट्याईएको छ । कुल बजेटको एक प्रतिशत रकम जिल्ला समन्वय समिति कन्टेन्जेन्सीका लागि छुट्याईएको छ । 

गाउँमै डाक्टर आएपछि

मोहन शाही/दिपायल
मंसिर २४

स्वास्थ्य चौकीमा सधैं अहेवले मात्र सेवा दिन्थे । गम्भीर बिरामी पर्दा सदर–मुकाम वा महँगा अस्पतालमा कुदाउनु पथ्र्यो । महँगो त पथ्र्यो नै, समयमा उपचार पनि पाउँदैनथे केआई सिंह गाउँपालिका बासिन्दाले । 
‘यत्रा वर्षपछि गाउँमै डाक्टर आई पहिलोपल्ट उपचार गर्न पाइयो । साह्रै खुसी लाग्यो’ ८० वर्षीय इन्द्रसिंह खडका पुलकित भए । उनले रक्तचाप र छाती जाँच गराए । लगत्तै ७६ वर्षीय शेरबहादुर खडकाले पनि जाँच गराए । दुवैलाई उच्च रक्तचाप रहेको भन्दै खानपानमा ध्यान दिन सुझाए डाक्टरले ।
केआई सिंह गाउँपालिकाका ज्येष्ठ नागरिक मात्र होइन, महिला, बालबालिकाले पनि गाउँमै सेवा पाउन थालेका छन् । के आई सिंह गाउँपालिकाले दुर्गामाण्डौं स्वास्थ्य चौकीमा चिकित्सक राख्ने निर्णय गरेपछि स्थानीयबासी हर्षित छन् । 
यसअघि दुई वर्ष अछामको चौरमान्डु स्वास्थ्य केन्द्रमा सेवा गरेका डा. राजु गुरुङलाई गाउँपालिकाले सेवा सुबिधा दिने गरी नियुक्त गरेको छ । ‘आफ्नो लगानीमा एमबीबीएस डाक्टर भित्राउने केआई सिंह गाउँपालिका सुदूरपश्चिम प्रदेशमा पहिलो गाउँपालिका हो’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले भने ‘स्थानीय सरकार भनेकै यही हो । जनताले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान गर्न डाक्टर ल्याएका छौं ।’
डाक्टर गुरुङको स्वागत गर्दै गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले निर्वाचनअघि जनतासँग गरेको प्रतिबद्धता कार्यान्वयन गर्दै जाने बताए । उनले दुर्गामाण्डौ स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पताल बनाउन पहल गर्ने योजना रहेको सुनाए । ‘यसअघि ल्याब सेवा सुरु भइसकेको छ, यथाशीघ्र एक्सरे मेसिन र अन्य उपकरण थपी स्वास्थ्य समस्या हटाउँदै लगिनेछ’ शाहीले थपे ।
विगतमा अनमी तथा अहेव समेत नभएर उपचारका लागि घण्टौं हिँडेर  सदरमुकाम धाउन बाध्य केआई सिंह गाउँवासीले डाक्टर आएपछि आफूहरूले समस्या भोग्नु नपर्ने आशा पनि राखे । गाउँपालिका–४ का वडाध्यक्ष जयबहादुर धामीले डाक्टरलाई गाउँमै टिकाउन अन्य जनशक्ति र पूर्वाधारमा समेत ध्यान दिनु पर्ने बताए ।

जेष्ठ नागरिकलाई सम्मान गरियो

वारपाटा/शिखर नगरपालिका–११ को वडा कार्यालयले वडाभित्रका सात जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 
वडाध्यक्ष भिष्मवहादुर बलायरले दिएको जानकारी अनुसार चिसोको समयमा वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई न्यानो लुगा बितरण गरेर सम्मान गरेको हो । 
“चिसोको समयमा उनीहरुलाई  थोरै भएपनि राहत होस भन्ने उद्देश्यले हामीले लुगा बाड्ने निर्णय गरेका हौं’ वडाध्यक्ष बलायरले भने ‘सन्तानहरुलाई राम्रो बाटोमा लगाएर देशको कर्णाधार बनाउन योगदान दिने जेष्ठ नागरिकको सम्मान गर्नु हाम्रो कर्तव्य हो ।’
वडा कार्यालयले यसअघि पनि जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको वडाध्यक्ष बलायर बताउँछन् । उनले थपे ‘हामीले जेष्ठ नागरिकहरुको सम्मान स्वरुप नै सामाजिक सुरक्षा भत्ता पनि घरघरमै बितरण गर्ने गरेका छौं ।’ जेष्ठ नागरिकहरुलाई कुनै पनि प्रकारको समस्या नहोस् भन्ने तर्फ आफु प्रयत्नशील रहेको उनी वताउँछन् सामुदाय 

प्रहरी साझेदारी कार्यक्रम जोरायलमा बिस्तार

सामुदाय प्रहरी साझेदारी कार्यक्रम डोटीको जोरायल गाउँपालिकामा बिस्तार गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटी र जोरायल गाउँपालिकाको सहकार्यमा साझेदारी कार्यक्रम सुरु भएको हो ।
स्थानीय तह र प्रहरी प्रशासनको सहकार्य गरेर समाजमा हुने अपराध नियन्त्रणका लागी सामुदाय प्रहरी साझेदारीको सुरुवात गरिएको प्रहरी  उपरीक्षक बिद्यानन्द माझीले बताए । नागरिककोे सुरक्षासंग सम्वन्धित कुनै पनि समस्या भएमा नजिकको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जानकारी   गराउन उपरीक्षक माझीले आग्रह गरे । 
लैंगिक हिंसा सम्बन्धिका समस्यमामा चुप लागेर नबस्न पनि माझीले स्थानीय महिलाहरुलाई आग्रह गरे । सामुदाय र प्रहरी दुबै मिलेर मात्र अपराध नियन्त्रण गर्न सकिने डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए । समाजमा भएका बिद्यमान कुरिती, कुप्रथा अत्यन्त गर्नका लागी त्यस्को बिरुद्धमा जानका लागी जनप्रतिनिधीको प्रतिबद्धता आबश्यकता रहेको सुबेदीको भनाई छ ।
प्रहरी र स्थानीय तहका जनप्रतिनिधिलाई नागरिकले सहयोग गर्नु पर्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । प्रहरी र सामुदाय नङ र मासुको जस्तो सम्बन्ध हुनु पर्ने वताउँदै ओझाले भने ‘जनताको हित अनुकुलका काम गरे प्रहरीलाई सहयोग गर्न गाउँपालिका तयार छ ।’ 
बहु बिवाह तथा बाल बिवाह बढ्दै गएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताईन । पछिल्लो समयमा बिद्यालय छोड्ेर बाल बिवाह तथा बहु बिवाह गर्ने समस्या बढेको बोहरा बताउँछिन् । जोरायल गाउँपालिकाको कार्यालयमा औपचारिक कार्यक्रम गरेर प्रहरी साझेदारी कार्यक्रमको सुरुवात गरिएको हो । 
जोरायल गाउँपालिकामा सामुदाय प्रहरी साझेदारी समितिको अध्यक्षमा गाउँपालिकाका अध्यक्ष ओझा रहेका छन् भने वडा स्तरमा वडा अध्यक्षको नेतृत्वमा समिति गठन गर्ने, बिभिन्न क्षेत्रका सरोकारवाला निकाय, नजिकको प्रहरी कार्यालय सहतिको समिति गठन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

मन्दिरले गर्दा अध्यापनमा अड्चन

डोटीकै पुरानो बिद्यालय पद्म पव्लिक मुक्तीनारायण माबि जिल्ला सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध शैलेश्वरी मन्दिरसंगै जोडिएको छ । मन्दिरमा हुने धार्मिक कार्यहरुले बिद्यालयको पढाईमा प्रत्येक्ष असर पर्ने गरेको बिद्यालयको गुनासो छ । 
‘शैलेश्वरी मन्दिर नजिकै बिद्यालय भएर पनि समस्या भएको छ, मन्दिरमा कहिले यज्ञ, कहिले प्रवचन, कहिले बिहे भईरहन्छन्’ बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं अभिभावक सिद्धराज जोशी भन्छन् ‘त्यसको प्रत्येक्ष मारमा बिद्यालयको पढाई परेको छ ।’ आफु धार्मिक क्रियाकलापको बिरोधी नभएको बताउँदै उनी थप्छन् ‘तर बिद्यालयको पठनपाठनमा अप्ठेरो पर्ने गरि धार्मिक कार्य गरिनु भएन ।’ 
आफु अध्यक्ष हुँदा पनि आफुले बिद्यालय समयमा प्रवचन नराखौं भनेको तर पनि कसैले नमानेको उनी वताउँछन् । ‘धार्मिक कार्यहरु साँझ बिहान पनि हुन सक्छन्, दिउसै राख्नु पर्ने  जरुरी छैन’ उनी थप्छन् ‘तर यहाँ त खोजी खोजी दिउसै प्रवचन राख्ने गरिएको छ ।’ 
मन्दिरमा हुने गतिबिधिले बिद्यालयको सिकाई उपलव्धीमा समेत असर गरेको बिद्यालयकी प्राचार्य गीता जोशी     बताउँछिन् । उनी भन्छिन् ‘मायक लगाएर प्रवचन गरिन्छ, मायकको आवाज हाम्रो सवै कक्षा कोठामा सुनिन्छ ।’ उनी मायकको आवाजका कारण शिक्षकले पढाएको बिद्यार्थीहरुले राम्रोसंग नसुन्ने गरेको वताउँछिन् । बिद्यालयले आयोजना गरेको बार्षिक सामाजिक परीक्षण कार्यक्रममा अभिभावकहरुले राखेको जिज्ञासाको उत्तर दिँदै प्राचार्य जोशीले सो कुरा बताईन् । उनले थपिन् ‘परीक्षा सञ्चालन भईरहेका बेला समेत प्रवचन कार्यक्रम आयोजना  गर्छन ।’
मन्दिरमा हुने प्रवचनले मात्रै होईन, मन्दिरको दर्शन गर्न आउनेहरुले ल्याउने गाडीका  कारण पनि बिद्यालयको पढाईमा समस्या भएको बिद्यालयका शिक्षक तारा प्रसाद जोशी वताउँछन् । ‘बिद्यालयको कम्पाउण्डसंगै कक्षाकोठा जोडिएको छ, गाडी पार्किङ्ग गर्न पनि त्यतै ल्याएर आउँछन्’ जोशीले भने ‘हर्न लगाउँछन्, बिद्यार्थीहरु गाडी हेर्नतिर लाग्छन् ।’ गाडी अलै तलै पाकिङ्ग गर्ने व्यवस्था गरिदिएको भएपनि हुने उनको आग्रह छ ।
मंसिर ११ देखि शैलेश्वरी क्षेत्रमा सुरु भएको बिलक्षण प्रवचन कार्यक्रमले आफुहरुको पढाईमा बाधा पु¥याएको बिद्यार्थीहरु वताउँछन् । हल्ला बढी हुने भएका कारण सरहरुले पढाएको नबुझिने उनीहरुको गुनासो रहेको छ । 

खेल समाचार 

सन्दिप अस्ट्रेलिया प्रस्थान

आगामी पुस ४ गतेदेखि अष्ट्रेलियामा हुने बिग ब्यास लिग खेल्न नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आईतबार राति अष्ट्रेलिया गएका छन् ।
इपिएलमा सुरूवाती दुई खेल खेलेर सन्दिप आइतबार साँझ अष्ट्रेलिया जान लागेका हुन् । उनले इपिएलमा २ खेलमा ५ विकेट लिएका थिए । पहिलो खेलमा हार ब्यहोरेपनि चार ओभरमा दुई विकेट लिएका सन्दिपले दोस्रो खेलमा चार ओभरमा २६ रन दिदै तीन विकेट लिँदै इपिएलको यात्रा ट्रंग्याएका थिए ।
सबैभन्दा ब्यस्त नेपाली क्रिकेटर सन्दिपले बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्नेछन् । एकपछि अर्को अन्तराष्ट्रिय प्रतियोगितामा ब्यस्त भइर–हेका सन्दिपले बिग ब्यासमा आफूले सकेको प्रदर्शन गर्ने बताए । बिग ब्यास लिग जस्तो प्रतियोगितामा नेपाली खेलाडीले खेल्न पाउनुनै सबैभन्दा गर्वको विषय भएको भन्दै उनले आफूले क्षमता अनुसार प्रदर्शन बताए ।
उनले बिग ब्यासमा पनि ५–६  वटा खेल खेलेर बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् । पहिलेको सहमति अनुसार नै उनी अष्ट्रेलियाबाट बंगलादेश जाने भएका हुन् । आगामी वर्षको ५ जनवरीदेखि शुरु हुन गईरहेको बंगलादेश प्रिमियर लिगमा सन्दिपले सिल्हेट सिक्सर्सको प्रतिनिधित्व गर्नेछन्। सिल्हेटको प्रशिक्षकमा पाकिस्तानका लिजेण्डरी बलर वकार युनिस छन् । बंगलादेश प्रिमियर लिगको पुरा सिजन खेलेपछि सन्दिप फेरि अष्ट्रेलिया फर्किने छन् ।
सन्दिपको टोली मेलबर्न स्टारबाट ग्लेन म्याक्स्वेल, मार्कस स्टोइनिस, पिटर ह्यान्डसकम्ब, एडम जाम्पा, केभिन पिटरसन् जस्ता स्टार खेलाडीले खेलिसकेका छन् । स्टार्सले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन । बिग ब्यास लिग खेल्ने पहिलो एसोसिएट खेलाडीसमेत बनेका सन्दिपलाई यी दुई फ्रेन्चाईजले सन्दिपलाई कति रकममा किनेको हो त्यो भने खुलाइएको छैन ।
सन्दिपले गत वर्ष सम्पन्न विश्व चर्चित इण्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेविल्सबाट खेल्दै ३ खेलमा ५ विकेट समेत लिएका थिए । त्यसपछि उनले ग्लोबल टि–२० क्यानडा, क्यारिबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, टी टेन लिगमा समेत आफ्नो प्रदर्शन देखाइसकेका छन् । अब उनी पाकिस्तान सुपर लिगमा समेत खेल्ने भएका छन् ।
फ्रेन्चाइज लिगमा इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग र बिग बास सबैभन्दा ठूला प्रतियोगिता हुन् ।

यसरी हुँदैछ डिपिएलको तयारी

धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको लागि मैदान निर्माणको कार्य सुरु भएको छ । 
माघ १९ देखि फागुन चार गतेसम्म हुने प्रतियोगिताको लागि अढाई महिना अगाडिदेखि नै मैदान निर्माणको कार्य थालिएको हो । यसवर्ष पिच तथा मैदान निर्माणको लागि टीयु क्रिकेट मैदानका क्युरेटर विशन मण्डल सहित भारतको अनुभवी क्युरेटरहरु खटेका छन् । प्रतियोगिता सुरु हुनुभन्दा १०÷१५ दिन अगाडि नै मैदान तयार गर्ने गरी काम भइरहेको क्युरेटर मण्डलले बताए । ‘पिचबाहेक आउट फिल्डको सबै कम प्रतियोगिता भन्दा करिब आधा महिना अगावै सम्पन्न गर्ने लक्ष्य छ’ उनले भने । 
पिच निर्माणमा जाली सामुदायिक वनमा रहेको माटो प्रयोग गरिदैंछ । उक्त माटो निकै राम्रो रहेको क्युरेटरले बताएका छन् । दुई प्रकारको माटो मिसाएर पिच निर्माण भइरहेको छ । यहाँको स्थानीयस्तरमा पाउने माटो पिचका लागि उत्तम  रहेको भारतीय क्युरेटर शेखले बताए ।  
‘पिचको लागि माटो एकदमै राम्रो छ’, उनले भने–‘दुई प्रकारको माटो मिश्रित गरेर बनाइएको पिच सुकेपछि धेरै साह्रो हुनेछ ।’ 
इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) को अवधारणा अनुसार पिच र मैदान निर्माणको काम भइरहेको छ । १०/१० फिटको दूरीमा पाँच विकेट  हुनेछ । यसअघि, यहाँ भएको खेलमा दुई विकेटमात्रै बनाइएको थियो । मैदानको दूरी ६५ यार्डको रहने जनाइएको छ ।

चलचित्र/मनोरञ्जन 

“मारुनी” बनाउँदै पुस्कल साम्राज्ञी

फिल्मी खवर
राम्रो फेस भ्यालु र उच्च माग भएकी अभिनेत्री साम्राज्ञी आरएल शाहले १५ लाख पारिश्रमिक बुझेको नयाँ फिल्मको नाम ‘मारुनी’ जुराइएको छ । 
‘अझै पनि’ फेम्ड निर्मात्री पुनम गौतमले निर्माण तथा ‘मंगलम’ निर्देशक नवल नेपालले यो फिल्म निर्देशन    गर्दैछन् । यस फिल्ममा अभिनेत्री साम्राज्ञीको अपोजिटमा अभिनेता पुष्पल खड्का देखिँदैछन् । 
माघ अन्तिम साताबाट फ्लोरमा निस्कने तयारी भइरहेको फिल्ममा रेबिका गुरुङ पनि लिड रोलमा रहनेछिन् । ‘मारुनी’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ । अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहने फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । मगर भाषामा गुन्ह्युचोली लगाएर नाच्ने पुरुषलाई मारुनी भन्ने प्रचलन छ । 
फिल्म मारुनी नाचमा आधारित त होइन ? निर्देशक नेपालले फिल्मीखबरसँग कुराकानी गर्दै फिल्म नाचसँग सम्बन्धित नभएको बताएका छन् । उनले भने ‘राम्री यूवतीलाई पनि मारुनी भन्ने गरिन्छ । दुई राम्री युवतीलाई फिल्ममा मारुनीको रुपमा ब्याख्या गर्न खोजेका छौं ।’ यसमा पुष्पलले साम्राज्ञी र रेबिकासँग रोमान्स गर्नेछन् । 
यसअघि फिल्म ‘मंगलम’ मा अभिनेत्री शाहले निर्देशक नेपालको एक्सन कटमा काम गरेकी थिइन् । पारिवारिक फिल्म बनाउन माहिर मानिने निर्देशक नेपाल ‘मारुनी’ पारिवारिक भए पनि आधुनिकिकरणतर्फ जोड दिएको बताउँछन् । यसअघि उनले ‘लज्जा’, ‘भाग् सानी भाग्’, ‘तश्विर’, ‘महशुस’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् । 
बाँके लगायतका स्थानमा छायांकन गरिने फिल्ममा पुष्पल, साम्राज्ञी र रेबिका बाहेक अरु कलाकार फाइनल नभएको निर्देशक नेपालले जानकारी दिए । उनका अनुसार, अहिले दुई जना क्यारेक्टर आर्टिस्टको खोजी भइरहेको छ । केही दिनमा फिल्मको औपचारिक घोषणा हुँदैछ ।

महिलाले गीतमार्फत न्याय मागिन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा तनहुँका महिलाहरुले गीतमार्फत न्याय मागेकी छन् । 
तनहुँको देवघाटमा आयोजित लैङ्गिक हिंसा विरुद्धको लोकगित प्रतियोगितामा सहभागी महिलाहरुले बोक्सी, दाइजोजस्ता कुप्रथा र कुसंस्कारका बारेमा  प्रतियोगितामा सहभागी भएका समूहले आवाज उठाएका थिए । जनज्योति आमा समूहले प्रस्तुत गरेको गीतमा छोरी जन्मिदा गर्भदेखि नै विभेद गर्ने प्रचलनको विरोध गरिएको थियो ।
प्रतियोगितामा सहभागिहरुले महिलाहरुले कहिलेसम्म हिंसा सहिबस्नु पर्ने भन्दै न्याय दिन माग गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले महिला पुरुषको समान अधिकार अहिले पनि नारामा मात्र सिमित रहेको बताईन् । ‘वर्तमान समयमा पनि महिलाका जीवनमा परिवर्तन आउन सकिरहेको छैन,’ उनले भनिन्, ‘अधिकारका निम्ती लड्दै गर्दा आफैं माथि पनि हिंसा हुने गरेपनि हिंसाविरुद्ध आवाज उठाउनुपर्छ ।   त्यसकारण हिंसाविरुद्धको जारी रहन्छ ।’

लेख 

यदि म स्थानीय तहको प्रमुख भएको भए...........

आईतवार भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस थियो । “भ्रष्टाचारलाई नाई भनौं, हरेक नाईको मुल्य हुन्छ ९क्बथ लय तय अयचचगउतष्यल, भखभचथ लय अयगलतक०” भन्ने मुल नाराका साथ बिश्वका १६८ भन्दा बढी देशहरुले यो दिवस बिभिन्न कार्यक्रम गरी मनाएका छन् । नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री समेत सरिक भए । संयुक्त राष्ट्र संघको महासभाले ३१ अक्टोवर सन २००३ मा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय महासन्धी पारित गर्दै प्रत्येक बर्ष ९  सेम्वरलाई भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो । नेपालले १० डिसिम्वर सन २००३ मा हस्ताक्षर गरेको उक्त महासन्धीलाई २३ फेव्रअरी सन २०११ मा अनुमोदन ग¥यो । 
कुनै देशको प्रतिनिधिले हस्ताक्षर गरेको अन्तराष्ट्रिय सन्धी महासन्धी वा निर्णयलाई सम्वन्धित देशको व्यवस्थापिका संसदले अनुमोदन गरेपछि उक्त देशमा उक्त सन्धी, महासन्धी वा निर्णय लागु भएको मानिन्छ । नेपालको संन्धी ऐन, २०४७ को दफा ९ अनुसार नेपालले अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गरेको सन्धी, महासन्धी वा निर्णय नेपाल कानुन सरह लागु हुने प्राव्धान रहेको छ । यो व्यवस्था अनुसार भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय महासन्धीमा भएका प्राव्धानहरु नेपालको कानुन सरह लागु भएका छन् । नेपालले पनि उक्त महासन्धी आएको दिनको जस्न मनाईरहेको छ । तर, के नेपालले महासन्धीका प्राव्धानहरुको परिपालना गर्न सकेको छ त ? सोधी खोजी हुनु पर्ने बिषय छ । 
ट्रान्सपेरेन्सी ईन्टरनेसनलको सर्वेक्षण अनुसार नेपाल बढी भ्रष्टाचार हुने देशहरुको सूचीमा छ । सन २०१७ मा उक्त संस्थाले १८० देशहरुमा गरेको सर्वेक्षणमा नेपाल १२२ औं स्थानमा रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७४/०७५ मा १९ हजार चार सय ८८ अख्तियार दुरुपयोग गरेका उजुरीहरु दर्ता भएका छन् । तिमध्ये १२ हजार चार सय त आयोगले फछ्र्यौट नै गरिसकेको रहेछ । अख्तियारको दुरुपयोग गरेको भनी परेका उजुरीहरुमा सवैभन्दा बढी शिक्षा क्षेत्रका छन् भने दोश्रो स्थानमा स्थानीय तहसंग सम्वन्धित रहेका छन् । तीन हजार पाँच सय ११ उजुरी स्थानीय तहसंग सम्वन्धित  रहेका छन् । 
नेपालको प्रचलित कानुन अनुसार घुस लिनु दिनु मात्रै भ्रष्टाचार होईन । आफुलाई प्राप्त अख्तियारको दुरुपयोग गर्नु, अनुचित लाभ लिनु, सरकारी वा सार्वजनिक सम्पत्तिको गैरकानुनी रुपमा प्रयोग गर्नु पनि भ्रष्टाचार हो । माल सामानको खरीद गर्दा गुणस्तरहीन सामान खरीद गर्नु, प्रक्रिया मिचेर काम गर्नु, कसैलाई गैरकानुनी रुपमा दवाव दिनु पनि भ्रष्टाचार हो । यदि यो परिभाषालाई मान्ने हो भने स्थानीय तहमा उजुरी धेरै थोरै परेका छन् । अझै धेरै अनियमितताहरु गुपचुपमै छन् । 
अहिले स्थानीय तहहरुमा भ्रष्टाचारको जालो छ । कुनै पनि स्थानीय तह भ्रष्टाचार मुक्त हुन सक्ने त कुरै भएन, भ्रष्टाचार न्यूनिकरण गर्न सक्ने तहमा पनि पुग्न सकेका छैनन् । स्थानीय तहहरुमा भ्रष्टाचार संस्थागत र संरचनागत दुवै छ । जसले गर्दा न त सेवा प्रवाह नै गुणस्तरीय हुन सकेको छ न विकासले नै गति लिन सकेको छ । स्रोत छ, धेरै छ । यो स्रोतको सही सदुपयोग हुने हो भने थप स्रोतका लागि भिख माग्नु पर्ने जरुरी  छैन । गाउँ/नगरस्तरीय विकास निर्माणका योजनाहरु सजिलैसंग बनाउन सकिन्छ । पूर्वाधार विकास, सेवा प्रवाह र चेतनाको विकास गर्नका लागि पर्याप्त वजेट आएको छ । तर, हामीले त्यसको सही सदुपयोग गर्न जानेनौं वा फेरी गर्न चाहेनौं । हामी लोभी भयौं, हामीले आफुले आफैलाई कमजोर देख्यौं । हामीलाई दुई पैसा आउने ठाउँ चाहियो, हामीलाई आफ्ना मान्छेलाई काम दिनु पर्ने वाध्यता आईलाग्यो, हामीसंग कुनै अनुभव भएन र हामीले अध्ययन पनि गर्न चाहेनौं । त्यसकारण स्थानीय तह सवैभन्दा बढी भ्रष्टाचार हुने निकाय वन्न पुगेका छन् ।
यदि म स्थानीय तहको प्रमुख भईदिएको भए मैले मेरो स्थानीय तहलाई “शुन्य भ्रष्टाचार” हुने स्थानीय तह बनाउने थिएँ । सुशासनको क्षेत्रमा अन्य स्थानीय तहहरुले अध्ययन भ्रमण गर्न आउने स्थानीय तह बनाउने थिएँ । त्यसका लागि मसंग भिजन छ र योजना पनि छ । सवैभन्दा ठुलो त के भने मसंग भ्रष्टाचार नियन्त्रण गर्ने ईच्छाशक्ति छ । 
भ्रष्टाचार रोक्नका लागि सवैभन्दा पहिले स्थानीय तह प्रमुख, उपप्रमुख र अन्य जनप्रतिनिधिहरुको प्रतिवद्धता आउनु जरुरी छ । त्यसका लागि उनीहरु आफुले लोभ त्याग्न सक्नु पर्छ, म त्यो गर्थे । त्यसपछि आफु संलग्न पार्टीका नेता कार्यकर्ताहरुको आदेश मान्ने बिषयमा सोचेर सम्झेर मात्रै मान्नु पर्छ । नेता र कार्यकर्ताको आदेशमा यदि योजना छनौट गरिने हो, बजेट विनियोजन गरिने हो र उनीहरुको ईच्छा अनुसारको उपभोक्ता समिति गठन गरिने हो भने त्यहाँ भ्रष्टाचार हुन्छ हुन्छ । त्यो अनुचित दवावमा हुने कार्य हो । यसलाई रोक्नु जरुरी छ र म त्यो रोक्थे । किनकी मैले कसैलाई भ्रष्टाचार गर्ने छुट दिएर, जनताले तिरेको करबाट मोजमस्ती गर्न दिएर कसैको प्यारो हुन जरुरी छैन । सकेसम्म राम्रो गर्ने हो, राम्रो गर्दागर्दै पनि कसैले काममा व्यवधान खडा गर्छ भने कानुनी कारवाही गर्ने हिम्मत गर्ने हो । जनताले राम्रो गर्नलाई आफ्नो प्रतिनिधि वनाएर पठाएको हो । सके राम्रो गर्ने नसके ठाउँ खाली गर्ने हिम्मत पनि मैले   राख्छु । 
तेश्रो कुरा, योजनाहरुको प्राथमिकीकरणका ध्यान दिनु जरुरी छ । योजना छनौटकै बेलादेखि भ्रष्टाचार सुरु हुन्छ । बिगतमा जस्तो अव मागमा आधारित योजना बनाउनु हुँदैन । आवश्यकतामा आधारित योजना बनाउनु पर्छ । ‘मागमा आधारित’ भनेर स्थानीय तहले बजेटको अर्थपूर्ण हिस्सा मन्दिरमा, गेटमा, अध्ययन भ्रमणमा, सडकमा खर्चेको छ । भविश्यमा के हुन्छ भन्ने कुनै सोचै नराखी ठुला मेसिनरी उपकरण खरीद भएका छन् । मनपरी तरिकाले योजना छनौट गरिन्छ । योजना छनौट गर्दा कुनै प्राथमिकता निर्धारण गरिएको हुँदैन । यदि म भएको भए योजनाको प्राथमिकीकरणका सूचकहरु निर्धारण गरिन्थ्यो, त्यो सूचकका आधारमा जुन योजना अगाडी आउँछ, त्यसैले प्राथमिकता दिईन्थ्यो । कसैको भनसुनका आधारमा योजनाहरु वनाईने थिएन । 
चौथो कुरा, म स्थानीय तह प्रमुख भईदिएको भए काम अनुसारको मात्रै रकम भुक्तानी हुने थियो । डर, धम्की, लोभ, प्रलोभ बिना प्राविधिकले कामको मुल्याङ्कन गथ्र्यो, सो मुल्याङ्कनका आधारमा हुन आउने रकम मात्रै भुक्तानी हुने थियो । यस्तोमा यदि कहीँ कतै जनप्रतिनिधिहरु, प्राविधिक वा अन्य कुनै पनि संलग्न व्यक्तिले बद्मासी गरेको पाईएमा तत्काल कारवाही हुन्थ्यो । कामै नगरी भुक्तानी लिन खोज्ने उपभोक्ता समितिका प्रतिनिधिहरु वा निर्माण व्यवसायी, कामै नगरी दुई पैसा कमिसन आउने लोभमा क्वाण्टिटी बढाएर मुल्याङ्कन गर्ने प्राविधिक र भुक्तानीका लागि सिफारिस गर्ने जनप्रतिनिधिहरुलाई निगरानीमा राख्ने काम हुन्थ्यो । पटक पटक यस्ता हर्कत दोहोरिए खुईल्याउने काम पनि हुन्थ्यो ।
पाँचौं कुरा, सुशासनका औजारहरुको नियमित रुपमा प्रयोग गरिन्थ्यो । प्रत्येक वडा कार्यालयमा अनिवार्य रुपमा चौमासिक रुपमा सार्वजनिक सुनुवाई हुने थियो, प्रत्येक योजनामा सार्वजनिक परीक्षण हुने थियो र प्रत्येक बर्ष स्थानीय तहले सामाजिक परीक्षण गर्ने थियो । प्रत्येक तीन महिनामा सूचनाहरुको सार्वजनिकीकरण हुन्थ्यो । योजनाहरु छनौट भएपछि प्रत्येक वडा कार्यालय र सार्वजनिक स्थानहरुमा सम्वन्धित वडाका योजनाहरुको रकम सहितको सूची टाँस गरिन्थ्यो । यसरी योजनाहरुको सूची टाँस भएमा कुन योजनामा कति रकम आएको छ भन्ने कुरा सवैले जानकारी पाउँथे । उपभोक्ता समिति गठन गर्दा सार्वजनिक सूचना जारी गरेर आम भेला बोलाएर गरिन्थ्यो । उपभोक्ता समितिमा ‘हाम्रो मान्छे’ होईन ‘राम्रो मान्छे’ को खोजी गरिन्थ्यो । 
छैटौं कुरा, विकास निर्माणका कामहरुमा मेसिनरी उपकरणहरुको प्रयोगलाई न्यूनिकरण गर्ने काम हुन्थ्यो । यदि प्रयोग गर्नै पर्ने अवस्था आएमा टेण्डर प्रक्रियाबाट घटाघटमा काम गराउने परिपाटीको विकास गरिन्थ्यो । आफु निकटका व्यक्तिका मेसिनहरुलाई काम दिने र कमिसन खाने खल अन्त्य गरिन्थ्यो । कामको गुणस्तर नविग्रिने     गरी सस्तोमा काम गर्ने व्यक्तिलाई योजना दिईन्थ्यो । स्थानीय तह आफैले कुनै उपकरण खरीद गर्दा उक्त उपकरणले स्थानीय तहलाई कत्तिको फाईदा पुग्छ, खरीद गर्दा फाईदा हुन्छ वा भाडामै लिएर पनि काम चलाउन सकिन्छ भन्ने कुराको पूर्ण रुपमा अध्ययन गरि खरीद गरिन्थ्यो । मोटो कमिसन आउने लोभमा मनलागी खरीद् गर्ने परिपाटी पूर्ण रुपमा अन्त्य भएको हुन्थ्यो । 
सातौं कुरा, स्थानीय तहका सवारी साधनहरुको दुरुपयोगमा पूर्ण रुपमा रोक लगाईन्थ्यो । स्थानीय तहसंग ‘गोरु बेचे जत्तिको’ पनि साईनो नभएका, चालक अनुमति पत्र नभएका, हेल्मेट लगाउन लाज मान्ने व्यक्तिलाई सरकारी स्वामित्मका साधनहरु चलाउन दिईने थिएन । आफ्नो अधिकार भन्दैमा ट्वाईलेट जाँदा पनि गाडी लैजाने परिपाटीको अन्त्य गरिन्थ्यो । आवश्यकता अनुसार मात्रै यातायतका साधनहरु खरीद गरिन्थ्यो, ति साधनहरुलाई व्यवस्थित गर्नका लागि छुट्टै कार्यबिधि बनाईन्थ्यो । कहाँ जाने, किन जाने भन्ने कुराको कारण खुलाएर मात्रै प्रयोग गर्ने व्यवस्था मिलाईन्थ्यो ।
कुनै पनि स्थानीय तहले आफुलाई अछुतो राख्न सकेनन् । जनताको आवश्यकता अनुसार नभई सिमित व्यक्तिहरुको चाहना अनुसार स्थानीय तहहरु सञ्चालन भए । यसले जनतामा नैराश्यता फैलियो भने भ्रष्टाचार बृद्धि भयो । न जनप्रतिनिधि–जनप्रतिनिधिका बिचमा, न जनप्रतिनिधि र कर्मचारीका बिचमा र न कर्मचारी–कर्मचारीबिच, कसैको कसैसंग राम्रो सम्वन्ध छैन । ‘ईलेक्टेड’ हरुले आफु ठुलो भन्ने ‘सेलेक्टेड’ हरुले आफु ठुलो भन्ने तर व्यक्तिगत लाभको बिषयमा ईलेक्टेड–सेलेक्टेड–नोमिनेटेड सवै एक हुने अवस्था देखिएको छ स्थानीय तहहरुमा । यसको समाधान समयमै खोज्नु जरुरी छ । अन्यथा यो स्थानीय तहप्रति जनताको बितृस्णा जाग्नेछ । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली मन्त्रीपरिषद्बाट कहिले पारित भएको हो ? 
— बि.सं. २०७५ कार्तिक २५ 
२. प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुबिधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सम्वन्धी व्यवस्था बर्तमान संबिधानको कुन धारामा रहेको छ ?  — धारा ३४
३. नेपालमै पहिलो पटक ह्याकरहरुको अन्तराष्ट्रिय सम्मेलन कहिले आयोजना गरियो ? 
— बि.सं. २०७५ मंसिर ६ र ७ गते 
४. महिला साफ च्याम्पिएनसीप फुटवल प्रतियोगिता २०१९ को आयोजक राष्ट्र कुन हो ? — नेपाल 
५. संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रम अन्तरगत एसिया–ईन्भाईरोमेण्टल अवार्ड २०१८ बाट पुरस्कृत नेपालको सरकारी निकाय कुन हो ?  — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो 
६. संयुक्त राष्ट्रसंघअन्तरगतको थिङ्क ट्याङ्कको सचिवालय कहाँ छ ?  — मंगोलिया 
७. युरोपेली संघ (इयु) बाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) सम्झौता ईयुद्वारा कहिले अनुमोदन       गरियो ?   — सन् २०१८ नोभेम्वर २५ 
८. बि.सं. २०७४ फागुन मसान्तसम्म नियमित प्रसारणमा रहेका एफएम रेडियो प्रसारण केन्द्र कति छन् ? — ६२७ (प्रसारण ईजाजतपत्र प्राप्त एफएम रेडियो ८७२) 
९. हरेक दिन रेडियो नेपालले आफ्नो प्रसारण सेवा कति अवधीसम्म सञ्चालन गर्छ ? 
— चौविसै घण्टा 
१०. एसईई (क्भ्भ्) को पुरा रुप के हो ?  
— सेकेण्डरी एजुकेसन एक्जाम (क्भअयलमबचथ भ्मगअबतष्यल भ्हबm) 
११. राष्ट्रिय गौरवको आयोजना चमेलिया जलबिद्युत् आयोजनाको औपचारिक उद्घाटन कहिले भएको हो ?   — बि.सं. २०७४ माघ २७ गते 
१२. नेपालको पहिलो बिद्यार्थी आन्दोलनको सम्झना स्वरुप जयतु संस्कृतम् दिवस कहिले मनाईयो ? 
— बि.सं. २०७४ असार १ गते 
१३. सन् २०१८ मा वेष्ट इन्डिजमा सम्पन्न आईसीसी टि–ट्वान्टी महिला बिश्वकप क्रिकेटको उपाधी कसले जित्यो ?    — अस्ट्रेलिया (उपविजेता, ईङ्ल्याण्ड) 
१४. बिबिसीद्वारा सन् २०१८ नोभेम्वरमा सार्वजनिक प्रतिवेदन अनुसार बिश्वका प्रभावशाली महिलाको सूचीमा पर्न सफल नेपाली महिला को हुन् ?   — उमा बादी 
१५. नेपालमा पहिलोपल्ट आधिकारिक ट्रेड युनियनको निर्वाचन कहिले भएको हो ? 
— वि.सं. २०७३ जेठ १९ 
१६. अन्तराष्ट्रिय अभियानको रुपमा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान कहिले मनाउने गरिन्छ ? 
— नोभेम्वर २५–डिसेम्वर १० 
१७. “सफल वन्नका लागि होईन, बरु मुल्यवान वन्नका लागि संघर्ष गर ।” भन्ने भनाई कसको हो ? 
— अल्वर्ट आईन्सटाईन 
१८. मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ कहिले जारी भएको    हो ?   — वि.सं. २०७३ मंसिर १६ 
१९. हाल नेपालमा कति जिल्ला सदरमुकाममा बाटोको पहुँच पुगेको छ ?  
— ७६ (हुम्ला जिल्लामा पुग्न बाँकी) 
२०. नेपाल बैङ्क लिमिटेडको स्थापना कहिले भएको हो ?  — बि.सं. १९९४ कात्तिक ३०

साहित्य सिर्जना 

पुस्पा

उस्ले पुस्पालाई भन्यो
पुस्पा तिमिले, हिजोआज आफ्नो बगैचामा
पुस्पहरुलाई फुलाउनै छोड्यौ
पुस्पा भएर पनि तिमी
पुस्पबिहिन देखिन थालेकी छ्यौ
पुस्पाले भनी,
पुस्पाले न त हिजो नै
पुस्पहरुलाई फुल्न रोकेकी थिई
आज पनि छैन र
भोलि पनि रोक्दिन 
तर,कसैले आएर अचानक
भर्खरै फुल्न सुरु गरेका कोपिला नै तोडिदिन्छन
कोपिलालाइ फुल्नै दिदैनन् त म के गरु ?
मेरो आवाज कसैले सुने पो ?
यहाँ मान्छेकै आवाज, मान्छेमाझ पुग्दैन,
म त पुस्पा न हुँ
कस्ले सुन्ने मेरो पुकार ?
मैले पुस्पहरुलाई आफ्नो बगैचामा
बाँस पो गर्न दिएकी हुँ
तपाईले पनि त आफ्नो ठाउँबाट सहयोग गर्न सक्नुहुन्थ्यो नि ?
पुस्पहरुको सुगन्धको आनन्द त तपाईं पनि लिनुहुन्थ्यो नि ?
ती फुलेका पुस्पहरुको माला उनेर,
आफ्नो गलामा सजाएर, 
आफुलाई गर्बित महसुस त तपाईं पनि गर्नुहुन्थ्यो नि ?
ती पुस्पहरुलाई ईश्वरसामु चढाई
आफ्नो लागि बिन्तिपत्र पेश त तपाईं पनि गर्नुहुन्थ्यो नि ?
खै त आज तिनै पुस्पहरुलाई सम्झेको तपाइले ?
के पुस्पहरुको सुरक्षा गर्नु,
रेखदेख गर्नु
तपाइहरुको कर्तब्य होइन र ?
काम लाग्दा टिप्यो
नलाग्दा फ्याक्यो
यो तपाई यो अवसरवादी प्रवृत्ति होइन र ?
उल्टो पुस्पाको प्रश्नले
उ लज्जित भयो
सायद उस्लाई आफ्नो भुल 
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

इच्छा

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे–जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।
‘यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐश्वर्यको’
यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ
साक्षी शङ्कर छन् शमसानपछिका आशा रहेका जहाँ ।२।
बज्ला मन्दिरमा ‘तथास्तु’ जब यो घण्टा दिदै उत्तर
हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरुँ ।
मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३।
नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ,
पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँ
मानेपालीहरु छन् मरीकन सबै जन्मिरहेका जहाँ ।४।
बालकृष्ण सम

सूचना/सन्देश/बिज्ञापन 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/८/२५          
जिल्ला डोटी दिपायल सिलगढी नगरपालीका वडा नंं.६ साविक दिपायल सिलगढी नगरपालिका वडा नंं.३ स्थित कि.नं.९५१ को जग्गा दिपायल सिलगढी नगरपालिका वडा नंं.६ बस्ने दुर्गादेवी जोशी र लाल वहादुर जोशीको नाउँमा नापनक्सा भई संयुक्त श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि लाल वहादुर जोशीको मिति ः २०६९÷९÷२७ मा अविवाहित अवस्थामा मृत्यु भई अपुताली परेकोले मृतक जग्गाधनि लाल वहादुर जोशीको शेषपछिको हकदार एकमात्र भाउजु नाता पर्ने दुर्गादेवि जोशी मात्र भएको हुदा मृतक लाल वहादुर जोशीको उल्लेखित पुरै अंश भाग मेरो नाउँमा एकलौटी नामसारी गरिपाउँ भनी डोटी दि.सि.न.पा.६ नं.वडा कार्यालय डोटीको च.नं.३४४ मिति ः २०७५/८/२३ को किटानी सिफारीस पत्र, मृतक समेतको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी दिपायल सिलगढी नगरपालिका वडा नंं.६ बस्ने दुर्गादेवी जोशीले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५/८/२३ मा निवेदन दिनुभएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक लाल वहादुर जोशीको अपुताली नपरेको भए, अन्य कोही हकदार भए वा निज निवेदकको मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ । 

पोशाँक खरिदको लागि
सिलगन्दी दरभाउ आह्वानको सूचना 

प्रथम पटक प्रकाशित मिति ः २०७५/०८/२३ 
श्री सहिद स्मृति आ.वा.बि., दि.सि.न.पा. –४, डोटीमा अध्ययनरत २४० जना आवाशीय बिद्यार्थीहरुका लागि आ.व. २०७५/०७६ मा पोशाँक (स्पोर्ट जुत्ता, ट्रयाकसुट, टिसर्ट, टोपी, भित्री कपडा, सिरक, डस्ना, सिरकको खोल, सिरानी, सिरानीको खोल, तन्ना, कराते ड्रेस) सिलवन्दी पत्रको माध्यमबाट खरिद गर्नु पर्ने भएकोले ईजाजत प्राप्त ईच्छुक फर्म, कम्पनी, एजेण्ट, सप्लायर्स र निर्माता कम्पनीका अधिकृत बिक्रेताहरुबाट के कति दरमा आपुर्ति गर्न सकिन्छ, सम्पूर्ण व्यहोरा खोली तपशिलका शर्तहरुको अधिनमा रही रितपूर्वकको गोप्य सिलगन्दी यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १६ औं दिनको १२.०० बजेभित्र श्री सहिद स्मृति आ.मा.बि. डोटीमा आईपुग्ने गरी पेश गर्न यो सिलवन्दी    दरभाउपत्र आव्हान गरिएको छ । 

तपशिल 

१. यो सिलवन्दीको सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म सामान आपुर्ति सम्वन्धी सिलवन्दी दरभाउपत्र फराम वाफत रु. १०००/– (फिर्ता नहुने गरी) यस बिद्यालयको राष्ट्रिय वाणिज्य बैङ्क शाखा दिपायलको चल्ती खाता नं. ४३००००१०५९०१ मा बुझाएको सक्कल भौचर सहित साथमा राखी  खरिद माग गरिएको निवेदनमा रु.१० को हुलाक टिकट टाँस गरि सिलवन्दी दरभाउ फाराम प्राप्त गर्न सकिनेछ । सिलवन्दी दरभाउ पत्र खरिद गर्न आउदा फर्म वा कम्पनीको ईजाजत पत्र, स्थायी लेखा नं., मुल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र, आ.व. २०७४/०७५ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी साथमा लिई आउनु पर्नेछ । 
२. सिलवन्दी दरभाउ पत्र फाराम खरिद गर्न सिलवन्दी दरभाउपत्रदाता स्वयं उपस्थित हुन नसकेमा मञ्जुरीनामाबाट पनि खरिद गर्न सकिनेछ । तर त्यस्तो मञ्जुरीनामा (निवेदन) एक फर्म एक व्यक्तिलाई मात्र मान्य हुनेछ । 
३. खरिद् गरिएको सिलवन्दी दरभाउपत्रका महलहरु भरी प्रत्येक पानामा सहीछाप गरी १६ औं दिनको १२.०० बजेभित्र वा सो दिन विदा पर्न गएमा त्यसको भोलीपल्ट अर्थात् कार्यालय खुलेको दिनको १२ बजेभित्र यस बिद्यालयको लेखा शाखामा आई सिलवन्दी पत्र दर्ता गराउन सकिनेछ । यसरी दर्ता हुन आएको सिलवन्दीहरु सोही दिन, दिनको २.०० बजे बिद्यालयमा सिलवन्दीपत्रदाता वा निजका प्रतिनिधिहरुको रोहवारमा खोलिनेछ । सिलवन्दीपत्रदाता वा प्रतिनिधिहरु उक्त दिन र समयमा उपस्थित नभएमा पनि सिलवन्दी पत्र खोल्न कुनै बाधा पर्ने छैन । 
४. सिलवन्दी दरभाउपत्र पेश गर्दा कवोल अङ्कको २.५ प्रतिशतले हुन आउने जमानत वाफतको रकम श्री सहिद स्मृति आवाशीय माध्यामिक बिद्यालय डोटीको राष्ट्रिय बाणिज्य बैङ्क दिपायल शाखामा प्रकरण १ मा उल्लेख भएको खाता नम्वरमा जम्मा गरी सक्कलै भौचर सिलवन्दीपत्रका साथ पेश गर्नु पर्नेछ अथवा उक्त रकम स्वीकृत प्राप्त वाणिज्य बैङ्गबाट कम्तीमा १२० दिन म्याद भएको शर्त रहित बैङ्क जमानी पत्र (विड वन्ड) को सक्कल प्रति पेश गर्नु पर्नेछ । 
५. दर्ता गर्न ल्याउदा सिलवन्दी दरभाउ पत्रको खामको शीरमा ‘सिलवन्दीपत्र पेश गर्न चाहेको सामानको नामको सिलवन्दीपत्र’ भनी लेखी सिलवन्दीपत्रदाताको नाम, ठेगाना र फोन नं. समेत प्रष्टसंग लेखी छापबाट सिलवन्दी गरी बिद्यालयमा बुझाउनु पर्नेछ । 
६. सिलवन्दी दरभाउपत्रदाताले आफुले कबुल गरेको दररेट अंक र अक्षरमा केरमेट नगरी प्रष्टसंग लेखेको हुनु पर्नेछ । अंक र अक्षरमा फरक परे अक्षरलाई मान्यता दिईनेछ । 
७. नेपाल सरकारलाई तिर्नु पर्ने सवै प्रकारका कर सिलवन्दीपत्रदाता स्वयंले तिर्नु पर्नेछ । 
८. सिलवन्दीपत्र सम्वन्धी अन्य शर्त तथा विवरणहरु सिलवन्दीपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ । 
९. आपुर्ति गर्ने सामान गुणस्तरयुक्त भए÷नभएको सम्वन्धमा आवश्यक जाँचबुझ गराईनेछ । 
१०. सिलवन्दीप पेश कुनै एक सामानको वा आफुले चाहेको एक भन्दा बढी सामानको पनि पेश गर्न सकिनेछ । 
११. सिलवन्दीपत्र पेश गर्ने कम्पनी, फर्म वा एजेण्टले आफुले आपुर्ति गर्नु पर्ने सामान श्री सहिद स्मृति आवाशीय माध्यामिक बिद्यालय, ०४ डोटीमा नै आपुर्ति गर्नु पर्नेछ । 
१२. सिलवन्दी दरभाउपत्र फाराममा उल्लेख गरिएको दररेट ख्ब्त् समावेश भए÷नभएको स्पष्ट उल्लेख गरिएको हुनु पर्नेछ ।  
१३. सिलवन्दी दरभाउपत्र फाराममा उल्लेखित परिमाणमा १५ प्रतिशतसम्म थपघट हुन सक्नेछ ।
१४. यस सूचनामा उल्लेख हुन वाँकीको हकमा प्रचलित कानुन वमोजिम हुनेछ । 
१५. प्राप्त सिलवन्दी दरभाउपत्र पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार यस बिद्यालयमा सुरक्षित रहनेछ । 
१६. रीत नपुगको, म्याद नाघी आएको र शर्त राखिएका सिलवन्दी दरभाउपत्र उपर कुनै कारवाही    गरिने छैन । 
यस सम्वन्धी अन्य कुनै जानकारी चाहिएमा कार्यालय समयभित्र श्री सहित स्मृति आवाशीय माध्यामिक बिद्यालय डोटीको फोन ं. ०९४–४४०२३० वा ईमेल ः mmचकमयतष्२नmबष्।िअयm मा सम्पर्क राख्न सकिनेछ ।

मालपोत कार्यालय डोटीबाट  जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/८/२५          
जिल्ला डोटी जोरायल गाउँपालिका वडा नंं.४ साविक लक्ष्मिनगर गा.वि.स.वडा नंं.४ स्थित कि.नं.४४३, ५५६, ऐ.वडा नं.५ स्थित कि.नं.६०३, ५५२, ८७१, ८७४, ८८६ को जग्गा जोरायल गाउँपालीका वडा नंं.४ बस्ने देवि साहुको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि देवि साहुको मिति ः २०४५/२/२१ मा निजको पति सकराम साहुको मिति ः २०४३/९/२७ मा मृत्यु भएको । मृतकको शेषपछिको हकदार गोपाल साहु, हिरालाल साहु, भिम वहादुर साहु, भोज वहादुर साहु, जानकीदेवि साहु, कमल साहु मात्र भएकोमा गोेपाल साहुको मिति ः २०४५/११/१५ मा अविवाहीत अवस्थामा मृत्यु भएको हुदा मृतक देवि साहुको उल्लेखित पुरै जग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरिपाउँ भनि डोटी जोरायल गा.पा.४ नं.वडा कार्यालय डोटीको च.नं.२४१ मिति ः २०७५/८/२३ को किटानी सिफारीस पत्र, मृतक देवि साहुको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी जोरायल गाउँपालीका वडा नंं.४ साविक लक्ष्मिनगर वडा नं.५ बस्ने हिरालाल साहु, भिम वहादुर साहु, भोज वहादुर साहु, जानकीदेवि साहु, कमल साहुले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५/८/२४ मा निवेदन दिनुभएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक गोपाल सिं साहुको अपुताली नपरेको भए, अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावि वमोजिम  नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ । 

मालपोत कार्यालय डोटीबाट  जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/८/२५          
        जिल्ला डोटी जोरायल गाउँपालिका वडा नंं.४ साविक लक्ष्मिनगर गा.वि.स.वडा नंं.५ स्थित कि.नं.२०१, ६८० को जग्गा जोरायल गाउँपालिका वडा नंं.४ बस्ने गोपाल सिं साहुको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि गोपाल सिं साहुको मिति ः २०४५/११/१४ मा अविवाहित अवस्थामा मृत्यु भई अपुताली परेकोले मृतक जग्गाधनि गोपाल सिं साहुको शेषपछिकको हकदार हिरालाल साहु, भिम वहादुर साहु, भोज वहादुर साहु, जानकीदेवि साहु, कमल साहु मात्र भएको हुदा मृतक गोपाल सिं साहुको उल्लेखित पुरै जग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरिपाउँ भनी डोटी जोरायल गा.पा.४ नं.वडा कार्यालय डोटीको च.नं.२४१ मिति ः २०७५/८/२३ को किटानी सिफारीस पत्र, मृतक गोपाल सिं साहुको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी जोरायल गाउँपालिका वडा नंं.४ साविक लक्ष्मिनगर वडा नं.५ बस्ने हिरालाल साहु, भिम वहादुर साहु, भोज वहादुर साहु, जानकीदेवि साहु, कमल साहुले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५/८/२४ मा निवेदन दिनुभएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक गोपाल सिं साहुको अपुताली नपरेको भए, अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ । 

Tuesday, December 4, 2018

बिम्ब साप्ताहिक, २०७५ साल मंसिर १८ गते मंगलवार

शित–लहरको समयमा चिसोका कारण मानिसको मृत्यु हुन सक्छ, त्यसैले 
न्यानो कपडाको जोहो समयमै गरौं । ड्डशित–लहरको समयमा घरबाहिर खुलास्थानमा धेरै समय नविताऔं । घर बाहिर निस्कनु परेमा वा धेरै समय बिताउनु पर्ने भएमा न्यानो कपडा लगाऔं । 
रातको समयमा सिरक कम्वल जसता न्यानो ओढ्न गरौं । घरभित्र राती सुत्दा शरीरको साथै अनिवार्य रुपमा छाती तथा टाउको ढाक्ने प्रवन्ध मिलऔं । 
शित–लहर चलेको समयमा आगो तापेर शरीरलाई न्यानो राख्ने  गारौं, छाती र टाउकोलाई चिसोबाट जोगाउने कार्य गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

एचआईभीको संक्रमणले महिलालाई दिएको पीडा

रामहरी ओझा/डोटी
मंसिर १७
डोटीको दिपायल सिलगढी नगरपालिकी पार्वती (नाम परिवर्तन) लाई एचआईभी संक्रमण भएको ७ बर्ष भयो । तिन सन्तानकी आमा बिष्ट परिवार पाल्नकै लागी सदरमुकाम सिलगढीमा दैनिक ज्यालादारीमा  जोखिमपुर्ण काम गर्दैछिन् ।
पूर्वीचौकी गाउँपालिकाकी मन्सरी (नाम परिवर्तन) को अवस्था पन िउस्तै छ । श्रीमान्नले भारतमा गएर कमानु हुन्थ्यो, घर परिवार राम्रै चलेको थियो । एचआईभी संक्रमणका कारण श्रीमान्को त मृत्यु भयो नै, साथै उनले मन्सरीलाई पनि एचआईभी सराएर गए । श्रीमान्को मृत्युपछि चार छोरा छोरीको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आयो । आफ्ना छोरा छोरी कसरी पाल्ने भन्ने चिन्ता मन्सरीको छ । 
मन्सरी र पार्वती मात्रै होईनन् जिल्लामा यस्ता धेरै एचआईभी संक्रमित एकल महिलाहरुलाई आफु र बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ताले  पिरोलेको छ । “एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था वारे थाह पाउँ” भन्ने मुल नाराका साथ बिश्वभरी एड्स दिवस तामझा गरी मनाईरहँदा सुदूरपश्चिम क्षेत्रका संक्रमित महिलाहरुलाई भने साँझ विहान हातमुख जोड्न धौ धौ छ । 
सुदूरपश्चिम क्षेत्रका अधिकांश पुरुषहरु काका लागि भारतका बिभिन्न शहरहरुमा जाने गर्दछन् । भारतमा काम गरेर घर परिवार पाल्ने धेरै छन् । बिभिन्न संघसंस्थाहरुले गरेको अध्ययन अनुसार यस क्षेत्रका संक्रमितहरुमध्ये अधिकांश भारतवाट काम गरेर फर्कनेहरु छन् । एचआईभी संक्रमित भई घरमा कमाउने श्रीमान्को मृत्यु भएपछि एकल हुन पुगेका महिलाहरु एचआईभीको संक्रमणको समस्याका साथै घर परिवारको समेत जिम्मेवारी सम्हाल्नु परेपछि आर्थिक समस्याका कारण थप पिडामा छन् । 
पुरुषहरु सकेसम्म एचआईभीको जाँच गराउन मान्दैनन् । अन्तिम अवस्थामा जचाउन आउने गरेका कारण मृत्यु हुने र परिवारमा समेत एचआईभी संक्रमणको खतरा हुने उपचारमा संलग्न स्वाथ्यकर्मीहरु वताउछन् । कामका लागी भारत गएका श्रीमान्ले आफुलाई पनि एचाईभीको संक्रमणमा पारेपछि एचआईभी संक्रमित भन्दै महिलाहरुले परिवार र समाजको समेत भेदभावको सामना गर्नु परिरहेको छ । 
एचआईभी संक्रमित भई भारतवाट घर फर्केहरु समेत उपचारपछि पुनः काम गर्न   भारत जाने क्रम समेत बढेको छ । केहि एचआईभी संक्रमित एकल महिलाहरु बिभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमवाट तालिम लिएर आय आर्जनमा सक्रिय हुन थालेका  छन् । 
सुदूरपश्चिम प्रदेशमा ६ हजार सात सय २४ जना एचआईभी संक्रमित रहेको सुदूरपश्चि प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए । मसालीका अनुसार तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् । ‘आर्थिक बर्ष २०७४/०७५ सम्मको तथ्याङ्क हेर्दा यस प्रदेशमा ६ सय ७६ जनाले एचआईभी÷ एड्सका कारण ज्यान गुमाएका छन’ मलासीले भने ‘गत आर्थिक बर्षमा मात्रै दुई सय ४७ जना नयाँ संक्रमित देखिएका छन् ।’ 
मलासीका अनुसार एचआइभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा स्थापना भएका छन् । एआरटी सेवन गर्नेहरुले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको उनले बताए । 
जिल्ला अस्पताल डोटीका एआरटी सेन्टरले दिएको जानकारी अनुसार  जिल्लामा एचआईभीहरुको संख्या नौ सय ५८ रहेको छ । उक्त संख्यामा महिलाहरुको संख्या पाँच सय ४८ रहेको छ । यस आधारमा संक्रमितहरुमा महिलाहरुको संख्या बढी रहेको देखिन्छ । 

सम्पादकीय 

आन्तरिक बिवादले थलिने बेला भयो सरकारको

संसदमा अत्याधिक बहुमत भएको पार्टीको नेतृत्वमा दुईतिहाई सांसदको समर्थनमा बनेको सरकार, प्रतिपक्ष आफै अलमत परेको अवस्था, बिगतको नौ महिने शासनकालमा जनतालाई देखाएका सपना, यि सवै कुराले बर्तमान सरकारसंग नेपाली जनताले धेरै आशा गरेका थिए, अपेक्षा राखेका थिए । अव देशमा विकासले गति लिन्छ, भ्रष्टाचार नियन्त्रण हुन्छ, नेपाल समृद्ध हुन्छ भन्ने आश थियो जनतामा । तर, त्यो कुनै पनि कुरा पुरा हुन सकेन ।
भ्रष्टचार बढ्दै गएको छ, महंगीले आकाश छुन थालेको   छ । कालो बजारी उस्तै छ, अपराधको कुरा गरेर पनि साध्य  छैन, अभावहरु बढ्दै छ तर सरकार पोलमा चढ्न थालेको छ । यद्यपी जनताले अहिल्ले नै सरकारप्रति आक्रोस पोखिसकेका छैनन् । अहिलेपनि जनताको आश छ, आज नभए भोली देखि सरकारले केही सुधारमा काम गर्ला भन्ने आशा जनताले मारिसकेका छैनन् । तर पनि निराशा तह भने बढ्दै गईरहेको छ । सरकारले त्यसतर्फ कुनै पनि कदम चालेको छैन भनिन्छ दिनको वारेमा बिहानीले बताउँछ, त्यस्तै सरकारको कार्यशैली  प्रारम्भिक अवस्थाले नै बताई हाल्नु पर्ने हो तर त्यो हुन सकेन ।
प्रतिपक्षी दल आफै कागको कुहिरो भएको छ । सरकारको बिरुद्धमा जाने राजनीतिक एजेण्डा केही भेटाउन सकेको छैन प्रमुख प्रतिपक्षी दलले । त्यसकारण उसले केहिले गोविन्द केसी र कहिले निर्मला पन्तको बैशाखी टेक्नु पर्ने अवस्था छ । द¥हो प्रतिपक्ष नभएपछि सरकारलाई खवरदारी गर्ने कोही हुँदैन भनेको यही हो । 
तर, अहिले प्रतिपक्षीले खवरदारी गरिराख्नु पर्ने अवस्था पनि छैन सरकारको, किनभने प्रतिपक्षीको काम सत्तापक्षकै नेताहरुले गरिरहेका छन् । पार्टीभित्रको गुटवन्दीको शिकार हुँदैछ बर्तमान सरकार । अव यो सरकार आफ्नै पार्टीका कारण थलाँ पर्ने अवस्थामा पुगेको छ । पार्टी संगठन सञ्चालन शैली चित्त नबुझेका भनौं वा पार्टीको मेनस्ट्रिमबाट पाखा लगाईएका केही नेताहरुले सरकारमाथी प्रहार गर्न थालेका छन् । पार्टी नेतृत्वमाथी प्रहार गर्दा अहिल्ले नै केही हुँदैन भन्ने बुझेका छन् उनीहरुले । किन की पार्टी पूर्ण रुपमा एकिकरण भईसकेको अवस्था पनि छैन । तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्रको संगठनात्मक संक्रमणकाल कारण पार्टी नेतृत्वको आलोचना गर्दा केही हुँदैन भन्ने राम्रोसंग बुझेका फरक धारका नेताहरुले सरकारको आलोचना गर्दै चित्त बुझाईरहेका छन् । 
पार्टीभित्रैबाट सरकार र सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी ओलीको आलोचना चुलिन थालिएको छ । अनावश्यक विवादमा ओली पर्न थालेको, सरकारले मर्यादाविपरित काम गर्न थालेको जस्ता आरोपहरु लाग्न थालेका छन् । यि विवादहरुले सरकार थलिएको छ । यो थलिएको सरकारको उपचार गर्नका लागि स्वयं सरकार अगाडी आउनु पर्ने देखिन्छ । अरु कसैले उपचार गरेर सम्भव छैन । 
त्यसकारण सरकारले आफुले आफ्नो आत्मसमीक्षा गर्नु पर्ने जरुरी छ । प्रतिपक्षले गरेको आलोचना त प्रतिपक्षी भएर गरेको हो भन्ने होला तर स्वयं सत्तापक्षले गरेको सत्तोसरापलाई हामीले कसरी पन्छ्याउने ? पार्टीभित्रैबाट विवाद हुँदा गिरीजाप्रसाद कोईराला ढले, आत्तरिक विवादकै कारण कृष्णप्रसाद भट्टराई ढले र आन्तरिक विवादकै कारण शेरवहादुर देउवाले २०५९ सालमा संसद विघटन गर्न खोज्दा तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्र नै अपदस्त गर्दै शेरवहादुर देउवालाई असक्षम बनाए । यि सवै आन्तरिक विवादका उपज हुन । यदि आन्तरिक विवाद समयमै समाधान गर्न सकिएन भने बर्तमान सरकारको पनि यहि नियति नहोला भन्न सकिन्न, चेतना भया ।

थप समाचार 

औषधी खानै मान्दैनन् संक्रमितहरु

डोटी पूर्वीचौकीकी सुनिता (नाम परिवर्तन) २०६३ सालदेखि एचआईभी संक्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर बिगत केही महिनादेखि उनी औषधी सेवन गरिरहेकी छैनन् । उनी आफुलाई बिराम निको भईसकेकोले अव सधैं औषधी खाईरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दि गर्छिन् । एआरटी सेवन गर्न छोडेपछि उनलाई अन्य रोगहरुले संक्रमण गर्न थालेको छ । 
सुनिता जस्तै अन्य संक्रमितहरुले पनि औषधी सेवन गर्न आनाकानी गर्ने गर्छन । ‘स्वास्थ्य संस्थाबाट औषधी लगेर जान्छन् तर घरमा लगेर थन्काईदिन्छन्’ संक्रमित कमला मल्ल भन्छिन् ‘एक महिलाले २४ महिनासम्मको औषधी घरमै थन्काएको पाईयो ।’ औषधी सेवन नगरेकै कारण ति महिलाको छिट्टै मृत्यु भएको कमलाको दावी छ । २०६२ सालमा पहिलो पटक आफु एचआईभी संक्रमित भएको भन्दै खुलेकी कमलाले भनिन् ‘कयौं संक्रमितहरुको औषधी सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधी खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधी सेवन गर्दैनन् ।’ 
पछिल्लो समयमा यस्तो समस्या देखिएको जिल्ला अस्पताल डोटीका डा गिरीस अवस्थी बताउँछन् । “लगातार औषधी खाएपछि कमजोर भईन्छ भन्ने मानसिकता रहेको पाईयो” डा अवस्थीले भने ‘लगातार औषधीको सेवन गर्न झण्झट मान्ने रहेछन् ।’ 
जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिडेण्टेण्ट डा. भुषण मिश्रले संक्रमितहरुलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बिचमै सेवन गर्न छोड्ने बताए । “लगातार औषधी साईड ईफेक्ट हुन्छ भन्ने बुझाई रहेको छ” डा मिश्र भन्छन् ‘तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।’
डोटी जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ जना सम्पर्कबिहिन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मीले  जानकारी दिए । बिश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा एआरटी सेवन गरिरहेका कुल सात सय ६४ संक्रमितमध्ये एक सय ५१ को मृत्यु भईसकेको समेत रेग्मीले वताए । उनका अनुसार ६० जनालाई जिल्ला बाहिर रिफर गरिएको छ । 
‘एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाह पाउँ’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमका सहभागिमध्ये आठ जनाको एचआईभी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये कसैलाई पनि एचआईभीको संक्रमण नदेखिएको डा मिश्रले बताए । 

पूर्व मन्त्री बलायर भन्छन् ः मैले बोल्दै नबोलेको कुरा समाचार बनाईयो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बिरवहादुर बलायरले डडेल्धुरा बस दुर्घटनाका घाइतेहरुको सम्वन्धमा आफुले बोल्दै नबोलेको कुरा बिभिन्न सञ्चारमाध्यममा आएको भन्दै दुःख व्यक्त गरेका छन् । 
मंसिर ७ गते भएको डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–११ रडुवामा भएको उक्त दुर्घटनामा परि गम्भिर घाईते भएका व्यक्तिहरुलाई राष्ट्रिय ट्रमा सेण्टर काठमाण्डौंमा भेट्ने क्रममा नेता बलायरले “घाईतेहरुको उपचारको सम्पूर्ण खर्च आफुले व्यक्तिगत रुपमा व्यहोर्ने बताएको” भन्दै बिभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएको थियो । “मैले त्यस्तो कुरा बोलेकै छैन, बोल्दै नबोलेको कुराको कसरी समाचार बन्यो ?’ अनलाईन खवरसंग कुरा गर्दै नेता बलायरले भने ‘मैले उपचारमा गर्नु पर्ने सहयोग गर्छु भनेको हुँ ।’ उनले भने ‘मैले त्यस्तो भनेको कुराको कँही रेकर्ड छ भने भन्नु प¥यो ।’
राज्यले घाईतेहरुको उपचारको जिम्मा लिन नसकिरहेका बेला एक जना व्यक्तिले त्यस्तो जिम्मा लिन नसक्ने उनको भनाई छ । उनी थप्छन् ‘म एक जना व्यक्ति एक्लैले त्यो खर्च व्यहोर्न सक्ने कुरा पनि हुँदैन ।’ उनले यस्ता समाचारले आफुलाई दुःखी बनाएको बताए । ‘मैले उपचारका क्रममा सहजीकरण गर्छु भनेको हुँ, त्यो मैले गरिरहेको  छु ।’ उनले थपे ‘मैले व्यक्तिगत रुपमा जिम्मा लिने कुरै भएन तर मैले उपचारमा कुनै समस्या हुन नदिनका लागि मैले प्रयत्न गरिरहेको छु, त्यो कुरा घाईतेहरु र उनका आफन्तहरुलाई राम्रोसंग थाह छ ।’ 
आफुले कुनै पनि बिरामीलाई आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुने परिस्थिति आउन नदिएको उनले बताए । उनले भने ‘मैले मानवीय धर्म सोचेर रातदिन खटेको छु तर मैले म सवैको ठेक्का लिन्छु भनेकै छैन ।’ उनले थपे ‘मैले अन्य साथीहरुलाई पनि सहयोग गर्न लगाए, रगत अभाव हुन सक्छ भनेर मैले रक्तदाताको समेत पूर्व तयारी गरेको छु ।’ समाचार लेख्दा एक पटक सम्वन्धित व्यक्तिलाई बुझेर लेख्नु पर्ने बलायरको भनाई छ ।
डोटी शिखर नगरपालिका–१० मा रहेको पिसजोन स्कुलको से १ क २९३ नं. को बस दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए भने २७ जना घाईते भएका थिए । घाईतेमध्ये सात जनालाई थप उपचारका लागि ट्रमा सेण्टर लगिएको थियो । 

रिपोटिङ्गसँगै बिरामीको उद्दारमा पत्रकार सिंह

एक साता पहिले बाजुरा, जगन्नाथ गाँउपालिका–३ महतिका करन नेपालीको सिंचाई कुलो मर्मत गर्दा लडेर खुट्टा भाँचियो । उनलाई उनका आफन्तले बोकेर कोल्टि ल्याए । आर्थिक अबस्था कमजोर रहेका करनले उपचारका लागि सयकडा तीन रुपैयाँ मासिकका दरले बाट २० हजार ब्याजमा ऋण लिए । 
ऋण लिएको पैसा सकिएपछि उनलाई बजारमा राख्न सम्भाबना नभएपछि उनकी श्रीमती पशु नेपालीले आफै बोकेर आफन्तको घरमा लैजाँदै गर्दा नेपाल पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले करनलाई मोटरसाईकलमा आफन्तको घर सम्म पु¥याई दिए । रातीको समयमा उज्यालो समेत नभएकी पशुले श्रीमान् बोकेर हतार हतार हिडिरहेको फोटो खिच्दाखिच्दै प्रकाशले मन थाम्न सकेनन् । ‘उहाँहरुको समस्या बुझ्दा निकै मन छोयो’ उनी भन्छन् ‘त्यसैले घरसम्म पु¥याई दिएँ ।’ 
‘मैले श्रीमान्लाई बोकेर ल्याउँदै थिएँ, उहाँ मोटरसाईकलमा आउनु भयो’ पशु नेपालीले भनिन् ‘उहाँले म पु¥याईदिन्छु भन्नु भयो, पहिले त डर लाग्यो तर उहाँले सवै कुरा भनेपछि बिश्वास गरेँ ।’ सडकबाट अलि पर रहेको आफन्तको घरसम्म पत्रकार सिंहले आफैले बोकेर पु¥याई दिएको उनी पशु बताउँछिन् । उनी थप्छिन् ‘पहिले त मैले श्रीमान् बोकेको देखेर कोही जिस्काउने लफङ्गा होला सोचेँ तर उहाँ त हाम्रा लागि भगवान हुनु भयो ।’  
पत्रकार सिंहले पशुले श्रीमान् बोक्दै गरेको फोटो सहित उनीहरुको समस्या सामाजिक सञ्जाल फेसवुकमा पोष्ट     गरे । सिंहको उक्त पोष्टपछि काठमाण्डौंबाट फिल्म निर्माता तथा कलाकार अमित ढुङ्गानाले पशुले साहुँवाट लिएको ऋण तिर्न २० हजार सहयोग  गरेका छन् । त्यस्तै बगमाया लिमिटेड इगल्यान्डले चार हजार नौ सय समेत सहयोग गरे । “फेसबुक मार्फत करनको बारेमा जानकारी गरेपछि अमित ढुङ्गानाले पैशा पठाईदिनु भयो” सिंहले भने ‘मैले उक्त रकम करनलाई हस्तान्तरण गरे ।’ 
यो त एउटा उदाहरण हो, करीव एक दशकदेखि बाजुरामा पत्रकारिता गरिरहेका सिंहले थुप्रै गरिब, असाहयको उद्दार गर्दै आएका छन् । केही दिन अघि मात्र असाहय पाँच जना भाइबहिनि भिडियो र समचार भाइरल बनेको थियो । हाल ति पाँच जना भाइबहिनि एसओएस वालग्राम काठमाण्डौंमा छन् । त्यस्तै गौमुल–५ कोटमा रहेका देशी बुढाको परिवारको सहयोग लागि रकम संकलन भइरहेको छ भने उसको दुई बच्चाका लागि पनि पठनपाठनका लागि पहल भइरहेको छ ।
पेशाले पत्रकार भएपनि शैक्षिक पृष्ठभूमि स्वास्थ्य क्षेत्र भएका सिंह रिपोटिङका लागि दुर्गम गाँउतिर जाँदा समान्य उपचार सामग्रीहरु पनि संगै बोकेर जान्छन् । पत्रकार महासंघ बाजुराको अध्यक्ष भइसकेपछि उनी सरकारी तथा गैरसरकारी कार्यलयको कार्यक्रम गोष्ठिमा गए बाफतको भत्ता पनि असाहयलाइ  हस्तान्तरण गदै आएका छन् । उनी आफुलाई सञ्चारकर्मीको साथसाथै समाज सेवीका रुपमा चिनाउँदै आएका छन् । 

तीन बालबालिका नगरले पढाउने

कर्ण चन्द/दिपायल
मंसिर १६
मंसिर ६ गते डडेल्धुराको रडुवामा भएको से १ क २९३ नंं. को बस दुर्घटनामा परी ज्यान गुमाएकी दिपायल सिलगढी नगरपालिका–४ शशी विकका तीन छोराछोरीलाई दिपायल सिलगढी नगरपालिकाले पढाउने भएको छ । 
दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले दुःखद् दुर्घटनामा परी आमाको निधन भएपछि सानै उमेरमा सहाराबिहिन भएका बालबालिकाको भविष्य नबिग्रियोस भनेर नगरपालिकाले पठन पाठनको सम्पूर्ण खर्च व्यहोर्ने बताईन । उनले यसका लागि बिभिन्न बिद्यालयहरुसंग समन्वय गर्ने समेत बताईन । 
दुर्घटनामा ज्यान गुमाएकी सशीका दुई छोरी र एक छोरा गरि तीन सन्तान छन् । डडेल्धुराको प्रसिद्ध उग्रतारा मेलाबाट फर्कने क्रममा दुर्घटनामा परी सशीले ज्यान गुमाईन भने उनकी ११ वर्षीया छोरी दीपा र ८ वर्षीय छोरा नविन घाइते भए । 
घाईते छोराछोरीको सहयोगका लागि नगरपालिकाले २० हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम दिन वडा नं. ४ का वडाध्यक्ष सहित सशीको घर पुगेकी मलासीले शशीकी शाशु गंगा र छोरी दीपालाई सहयोग रकमको चेक हस्तान्तरण गरेकी थिइन । मृतक सशीकी छोरी दीपाको हात भाँचिएर धनगढीमा उपचारपछि अहिले घरमा छन् भने छोरा  नविनको टाउकोमा गम्भीर चोट लागेकाले काठमाण्डौंमा उपचार भईरहेको छ । सशीको श्रीमान् नारद कामी करीब ८ वर्ष पहिलेबाट सम्पर्कबिहिन छन् ।

लैङ्गिक हिंसा बिरुद्धको अभियानमा ईडिसी

लैंङ्गि हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सम विकास केन्द्र (ईडिसी) जिल्लाका बिभिन्न स्थानहरुको सचेतनामुलक कार्यक्रमहरु सञ्चालन    गरिहेको छ । 
संस्थाका अध्यक्ष अधिराज बिसीले दिएको जानकारी अनुसार संस्थाले २५ नोभेम्वरदेखि लागातार रुपमा जिल्लाका बिभिन्न स्थानहरुमा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको हो । यस क्रममा दिपायल सिलगढी नगपालिका–७ पाकरी नगर उपप्रमुख शिवराज खड्काको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको अध्यक्ष बिसीले बताए । सो क्रममा उपप्रमुख खड्काले महिलाहरुका लागि कानुनी व्यवस्थाको बिषयमा जानकारी गराएका थिए ।
 यस्तै के आई सिंह गाउँपालिका– ४, ६ र ७ मा पनि महिलाहरुका लागि कानुनी सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको छ । ति कार्यक्रमहरुमा गाउँपालिकाकी उपाध्यक्ष मिना विष्टले महिला अधिकार मञ्चका ६० जना महिलाहरुलाई नीतिगत व्यवस्थाका बिषयमा जानकारी गराएकी थिईन । 
संस्थाले शिखर नगरपालिका–२ मा नगर उपप्रमुख धौलीदेवी रावलको उपस्थितिमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । यस्तै बिभिन्न बिद्यालय र किशोरी समूहहरुमा पनि लैङ्गिक हिंसा बिरुद्ध सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भईरहेका अध्यक्षले बिसीले वताए । बिसीका अनुसार अभियानको अन्मित दिन १० डिसिम्वरमा जिल्लास्तरीय सरोकारवालाहरुसंग रेडियो वहस कार्यक्रम सञ्चालन गरिनेछ । 
एक्शनएड नेपालको सहयोगमा संचालित स्थानिय अधिकार कार्यक्रम तथा महिला नेटवर्क परियोजना र स्थानिय तहको समन्वयमा उक्त कार्यक्रमहरु ईडीसी डोटीद्धारा संचालन गरिएको हो ।

एक सय ३२ विवादहरु समाधान

पारिवारिक मनमुटाव, बेमेल, लेनदेन, जालसाँची, साझा स्रोत, पानी, कुलो बाटो, जङ्गल सम्बन्धिका एक सय ३२ विवादहरु समाधान गरिएका छन् । 
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डोटीले सामुदायिक मेलमिलापद्वारा महिला तथा सिमान्तकृत समुदायको न्यायमा पहुँच कार्यक्रम अन्र्तगत शिखर नगरपालिका र जोरायल गाउँपालिका भित्रका ११ वडाहरुमा रहेका सामूहिक बिवादहरु समाधान गर्नमा सहयोग गरेको हो । 
आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक, पारिवारिक, लैङ्गिक आदि   कारणले न्यायमा पहुँच नपुगेका ब्यक्ति, परिवार र समुदायहरुलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरेको रुडुक डोटीकी जिल्ला संयोजक खेमा जोशीले बताईन् । 
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर महिलाहरुलाई न्यायमा पहुँच पु¥याउन सहयोग पुगोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको रुडुक डोटीकी फोकल पर्सन लक्ष्मी देउवा बमले बताईन् ।
रुडुक डोटीले आयोजना गरेको   परियोजना बर्हिगमन तथा सामाजिक   परीक्षण कार्यक्रमको अध्यक्षता संस्थाका जिल्ला अध्यक्ष जित बहादुर खड्काले गरेका थिए भने कार्यक्रममा शिखर नगरपालीका र जोरायल गाउँपालिकाका जनप्रतिनिधी, जिल्लाका सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । 

सरकार विरुद्ध तरुण दलको बिरोध जुलुस

डोटी/नेपाल तरुण दल डोटीले नाराबाजी गर्दै सरकार विरुद्ध विरोध जुलुस सहित प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
जुलुस सहित जिल्ला प्रशासन कार्यालय डोटीमा पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको हो ।
जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै अधिकांस तरुण नेताहरुले भष्ट्राचार रोक्नु पर्ने, कञ्चनपुरकी निर्मला प्रकरणका दोषीलाई कारवाही गर्नु पर्ने, डडेल्धुरा दुर्घटनाका घाईतेहरुको उपचारमा सरकारले चासो देखाउनु पर्ने लगाएका कुराहरुमा जोड दिएका थिए । 
बर्तमान सरकारले देशमा बढ्दै गएको अराजकता,अन्याय,भ्रष्टाचार, मुल्य वृद्धि एंव नेपाल वायु सेवा निगम वाइड बडी जहाज खरीदमा भएको अकुत भ्रष्टाचार, राष्ट्रपतिद्वारा देशको विकासमा बाधा पुग्ने गरी १८ करोडको महंगो गाडी खरिद र निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई समेत कारवाहीको दायरामा नल्याएको भन्दै ज्ञापन पत्र बुझाएको तरुण दल डोटीका अध्यक्ष  नारायण बलायरले बताताए ।
तरुण दल केन्द्रले तय गरेको कार्यक्रम अनुसार सोमबार देशका ७७ जिल्लामा सरकारको बिरुद्ध बिरोधसभा र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम भएको छ । 

बडीकेदारमा पढाई मेला हुने

डोटी/डोटीमा पहिलो पटक जिल्लास्तरीय पढाई मेला हुने भएको छ । 
जिल्लाकै दुर्गम मानिने बडीकेदार गाँउपालिकाको केन्द्र खड्यौलीमा उक्त भेला सञ्चालन हुने छ । विश्व खाद्यकार्यक्रम को आर्थिक सहयोग र विश्व शिक्षाको प्राबिधिक सहयोगमा र सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले आयोजना गर्न लागेको उक्त मेला आयोजना हुन लागेको सिडिसीका कार्यक्रम संयोजक सतिश गुरुङ्गले जानकारी दिए । 
पढाई मेलाबारे जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा पढाई मेलावारे जानकारी दिँदै कार्यक्रम संयोजक गुरुङ्गले भने ‘मेलामा नौ वटै स्थानीय तहबाट शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहने छ ।’ उनले प्रत्येक स्थानीय तहबाट एक बिद्यालयको मेलामा प्रतिनिधित्व रहने वताए । गुरुङ्गका अनुसार बडीकेदार गाउँपालिकाबाट भने अधिकांश बिद्यालयको सहभागिता रहनेछ ।  
प्रारम्भिक तहका बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त मेला मंसिर २४ सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । संस्थाले शिक्षक तथा विद्यार्थिहरुको शैक्षिक स्तरमा सुधार ल्याउने उदेश्यका साथ डोटीका एक सय ७३ बिद्यालयहरुमा काम गर्दै आएको छ । 

प्राबिधिक जनशक्ति रोक्न नसक्नु दुर्भाग्य

गणेश मौनी/डोटी
मंसिर १७
प्राबिधिक जनशक्ति नेपालमा रोक्न नसक्नु राज्यको लागि दुभाग्र्य भएको त्रिभुवन विश्व विद्यालय उपकुलपति प्राध्यापक डाक्टर तिर्थराज खनियाले बताएका छन् । 
डोटी बहुमुखी क्याम्पस डोटीले सोमबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उपकुलपति खनियाले सो कुरामा जोड दिएका हुन । 
‘राज्यले आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गरेको छैन भन्ने होईन ठुलो परिणाममा जनशक्ति उत्पादन गरेको छ’ खनियाले भने ‘तर उत्पादित प्राविधिक जनशक्ति राज्यले रोक्न नसक्नु दुभाग्य हो ।’ दक्ष जनशक्ति अन्य देशको लागि उत्पादन गरे जस्तो भईरहेकोले राज्यले यस विषयमा गहन अध्ययन गरि नयाँ नीति लिनु पर्ने उनले बताए । उनले भने “सिमित स्रोत साधनकाविच हामीहरुले पनि समय सापेक्ष शिक्षा दिन सकेका छैनौं, उच्च शिक्षा र प्राविधिक शिक्षाको सवालमा स्पष्ट नीति नियम बनाउन नसक्दा उच्च शिक्षाका विषयमा केही समस्या देखिएको छ समस्याको समाधानको उपायमा खोजिरहेका छौं ।” 
डोटी बहुमुखी क्याम्पस डोटीमा कृषि बिज्ञानको संकायमा स्नातक तह सञ्चालन गर्न स्थानीय तह, जिल्लाका सरोकारवाला निकायहरुले स्रोत साधन जुटाई आफ्नै अनुदानमा संचालन गर्न तयार भए अस्थायी सम्बन्धन दिन आफु जतिवेला पनि तयार रहेको समेत उपकुलपति खनियाले बताए ।  
भेटघाट कार्यक्रममा सहभागिहरुले बोल्दै सहभागिहरुले त्रिभुवन विश्व विद्यालयले वार्षिक कार्यतालिका अनुसार परिक्षा संचालन लगायतका कार्यक्रम गर्न नसक्नु, कर्मचारीहरुको ब्यवस्थापन गर्न नसक्नु, समय सापेक्ष प्राबिधिक शिक्षातिर अग्रसर नहुनु, जन चासो अनुसारको शिक्षा दिन नसक्नु, प्रश्न पत्रमा त्रुटी हुनु लगायतका बिषय औंलाएको थिए । 
डोटी बहुमुखी क्याम्पसको स्थापना कालदेखि हालसम्म क्याम्पस अबलोकन गर्न डोटी पुग्ने खनिया दोस्रो उपकुलपति हुन । पहिलो पटक २०३१ सालमा क्याम्पसको भवन उद्घाटन गर्न उपकुलपति सुर्यमान साक्य डोटी पुगेका थिए ।

छोटकरी समाचार 

प्याव्सनद्वारा सहयोग

डोटी शिखर नगरपालिका–१० मा रहेको पिसजोन बिद्या निकेतनलाई नीजि बिद्यालयहरुको छात्रा संगठन प्याव्सन डोटीले सहयोग जुटाउन थालेको छ । 
मंसिर ६ गते उक्त बिद्यालयको से १ क २९३ नं. को बस दुर्घटना हुँदा सञ्चालक भीमवहादुर बलायर र केही बिद्यार्थीहरु पनि घाईते भएपछि केही राहात पुगोस् भन्नका लागि सहयोग संकलन गरिएको प्याव्सनका डोटी अध्यक्ष भुपेन्द्र वमले जानकारी दिए । 
बमका अनुसार हालसम्म संकलन भएको ५० हजार रुपैयाँ सोमवार हस्तान्तरण गरिएको छ । अझ संकलन हुने क्रम जारी रहेको उनी बताउँछन् । यस्तै आदर्श गाउँपालिका–१ मा रहेको भैरव एकेडेमीले पनि १५ हजार ६ सय ६ रुपैयाँ संकलन गरेको सञ्चालक तिलख खड्काले जानकारी दिए ।

अपाङ्ग बालबालिकालाई न्यानो लुगा

२७औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा डोटीमा पाँच जना बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।
दिपायल सिलगढी नगरपालिका र युएमएनको सहयोगमा अपाङ्ग सेवा संघ डोटीले पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा अपाङ्गता भएका बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो । सुनिता मलासी, लक्ष्मी बिस्ट, आरती जोशी, बलबहादुर बलायर र शंकर थापालाई जिल्ला समन्वय समिति डोटीका प्रमुख राम ऐर र दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले उनीहरुलाई न्यानो लुगा  हस्तान्तरण गरेको अपाङ्ग सेवा संघले जानकारी दिएको छ ।

चलचित्र/मनोरञ्जन 

सलिनको दौडधुप के का लागि ?

फिल्मी खवर
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा अभिनेता सलिनमान बनियाँको उदय भयो । उनलाई अहिले नेपाली फिल्म क्षेत्रमा उदाउँदो नक्षेत्रको रुपमा हेरिएको छ । डेब्यु फिल्मबाट कामको वाहवाही नभए पनि फरक लुक्सले भने उनीतर्फ दर्शकसँगै चलचित्रकर्मीको पनि ध्यान खिच्यो । 
डेब्यु फिल्मबाट लोभलाग्दो फ्यान फलोइंग बनाएका उनी यस वर्ष नयाँ फिल्म ‘यात्रा’ मार्फत पर्दामा फर्किएका छन् । यसमा उनी एक भ्लगरको भूमिकामा   छन् । चैत २९ गते अभिनेता अनमोल केसी स्टारर तथा उनको डेब्यु फिल्मको तेस्रो सिरिज ‘ए मेरो हजुर ३’ सँगै उक्त फिल्म जुध्दैछ । सलिनमान ‘यात्रा’ लाई लिएर निकै उत्साहित देखिएका छन् । 
कोरियन लुक्स, फरक हेयर स्टाइल र पहिरनका कारण मिडियाको लाइमलाइटमा पर्ने गरेका उनी खासै सार्वजनक कार्यक्रममा देखिँदैनन् । उनलाई भेट्न फिल्मको कार्यक्रमभन्दा अरु बेला असम्भव नै छ । फिल्म ‘यात्रा’ को घोषणाको लगभग ७ महिनापछि उनी शनिबार राजधानीमा भएको कामना अवार्डमा झुल्किए । 
उनी अवार्ड समारोहमा उपस्थित हुन्छन् भन्ने अवार्ड आयोजक टिमलाई नै विश्वास थिएन । तर, उनी आफ्नै स्टाइलमा मन्द मुस्कानमा ढल्किँदै देखिए । धेरैपछि सार्वजनिक कार्यक्रममा देखिएका उनलाई आफ्नो क्यामेरामा कैद गर्न फोटोग्राफरवीच तँछाड–मछाड नै  भयो । उनले पनि आफ्नो विन्दास अन्दाजमा पोज दिए । 
उनले मिडियासँग पनि केही कुरा गर्न भ्याए । सलिनले ‘ए मेरो हजुर २’ मा पाएको माया ’यात्रा’ मा फेरि पाउने विश्वास व्यक्त गरे । फिल्मको छायांकन लामो समय चले पनि राम्रो भएको उनी बताउँछन् । ‘यात्रा’, ‘ए मेरो हजुर ३’ सँग भिड्दैछ, के भन्नुहुन्छ ? पत्रकारको प्रश्नमा मुसुक्क हाँस्दै उनले छोटो बोले ‘राम्रै हो ।’ 
पहिलो पटक अवार्ड कार्यक्रममा उनी उपस्थित हुनु अवार्डको लोभले थियो वा फिल्म ’यात्रा’ को प्रचारका लागि ? यो त उनी नै जान्दछन् । जे भए पनि धेरैपछि दर्शक र मिडियाले उनीसँग साक्षात्कार गर्न पाए । सलिनमान ’कामना अवार्ड’ मा ‘ए मेरो हजुर २’ बाट नवनायकको विधामा मनोनित थिए । तर, अवार्ड –ग्यांगस्टार ब्लूज’ बाट आशिरमान देशराजले चुमे ।

‘समरलभ’ को ‘साया’ सार्वजनिक

सुविन भट्टराइको चर्चित उपन्यास ‘सभर लभ’मा आधारित रहेर यो चलचित्र तयार पारिएको नेपाली चलचित्र ‘सभर लभ’ को गीत ‘साया’ सार्वजनिक भएको छ । 
चलचित्रको पहिलो गीतको रुपमा ‘साया’ बोलको उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ । सार्वजनिक रोमान्टिक गीतमा आशिष र रेवतीको रोमान्टिक अवतार देख्न सकिन्छ । कविराज गहतराजको कोरियो–ग्राफी रहेको चलचित्रको यो गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर, पुष्पनकै शब्द तथा संगीत छ । यो चलचित्र प्रेमदिवसको अवसर पारेर माघ २५ गतेबाट रिलिज हुँदैछ ।
मुस्कान ढकालको निर्देशनमा तयार भएको चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटाको पनि मुख्य भूमिका छ । सुनिको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा ढालेका छन् भने संवादमा सामिप्य र सुविनले नै काम गरेका छन् । नाइटिङ्गेल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ भने यसका कार्यकारी निर्माता विनोद अधिकारी हुन् ।

लेख 

“समाजबाद उन्मुख” र बर्तमान “कम्युनिष्ट” सरकार

रामहरी ओझा
तत्कालीन संबिधान सभाले २०७२ साल असोज ३ गते पारित गरेको नेपाललको संविधानको  भाग १ को धारा ४ मा “नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।” भनिएको छ । समाजबाद उन्मुख हुनु भनेको ‘भविश्यमा पूर्ण समाजबादी राज्य व्यवस्था स्थापना हुन गरी अहिले समाजबादको बाटोमा हिडिरहेको छ’ भन्ने हो । यो संबिधानले तत्कालीन संबिधानसभामा रहेका शक्तिहरु मुलुक समाजबादमा जानु पर्छ भन्नेमा सहमत छन् भन्ने कुराको पुष्ठी गर्दछ । यद्यपी समाजबादको परिभाषा दलहरुले आ(आफ्नै तरिकाले गर्लान तर पनि ‘समाजवाद’ शव्दको स्वीकारोक्ती यस संबिधानले गरेको छ । 
देश “समाजबाद उन्मुख” हुने भनेपछि समाजबाद के हो भन्ने बिषयमा छलफल हुनु जरुरी छ । वैज्ञानिक समाजवादका पर्वर्तक कार्लमाक्र्स र उनका सहयात्री  फेडरिक एेंगल्सले सन् १८४८ मा प्रकाशित गरेको कम्युनिष्ट घोषणापत्रमा पहिलो पटक समाजवादलाई परिभाषित गरेको पाईन्छ । माक्र्स र ऐंगेल्सका अनुसार समजबाद पुँजीबादको विकसित रुप हो । समाजबादमा कामदार बर्गको शासन हुन्छ र राज्यलाई सत्रुबाट संरक्षण गर्ने साधनका रुपमा लिईन्छ । प्रारम्भिक रुपमा समाजबादमा पुँजीबादका तत्वहरुलाई पूर्ण रुपमा हटाउन सकिदैन । समाजबादमा उत्पादनका साधनहरुमाथी सामाजिक स्वामित्व हुन्छ, उत्पादन सम्वन्ध मैत्रीपूर्ण हुन्छ, प्रत्येक व्यक्ति ज्यालादारी श्रमिक हुन्छ, न्यायपूर्ण बितरण प्रणाली हुन्छ र राज्यले निशुल्क सामग्री तथा सेवा प्रदान गर्छ । 
अर्को अर्थमा समाजवाद भनेको राज्यद्वारा  नागरिकहरुका आधारभूत आवश्यकताहरु जस्तै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा, मनोरञ्जन आदि समान ढंगले वितरण गरिने र प्रत्याभूत गराइने राजनीतिक तथा आर्थिक प्रणाली हो । समाजवादमा समाजका सबै नागरिकले उत्पादनका साधनहरुको समान ढंगले उपभोग गर्ने सुनिश्चितता हुन्छ । समाजवादी अर्थव्यवस्थामा उत्पादनका साधनहरु श्रम, उद्यमशीलता, वस्तुगत पँुजी र प्राकृतिक संसाधनहरु हुन्छन् । समाजवादी अर्थ व्यवस्थामा श्रमलाई महत्व दिइन्छ भने पुँजीवादी अर्थव्यावस्थामा पुँजी लगानीकर्ताको महत्व हुन्छ । प्रत्येक नागरिकले आफ्नो क्षमता अनुसारको योगदान गर्नु   पर्दछ । समाजका सबै नागरिकले आफ्नो योगदान अनुसारको हिस्सा प्राप्त गर्ने अधिकार राख्दछन् ।
काम अनुसारको माम र दाम पाइने ग्यारेन्टी गरिएको हुनाले नै नागरिकहरु लामो समयसम्म राज्यले र्अहाएको काममा खटिन तयार हुन्छन् । यस्तो अर्थव्यवस्थामा मालिक र नोकरको सम्बन्ध हुँदैन । समाजवादी आर्थिक प्रणालीको आधारभूत विशेषता हाम्रो अर्थमा सहकारीको जस्तै हुन्छ । जसरी सहकारीमा सदस्यहरु मलिक हुन्छन् र शेयरको भागिदार हुन्छन् त्यसैगरी समाजवादमा नागरिक मालिक हुन्छन् र राज्यको साधनको शेयरका भागिदार हुन्छन् ।
समाजबादमा भेदभावरहित राजनीतिक तथा आर्थिक प्रणाली हुन्छ । समानता र न्यायपूर्ण प्रणाली, सहभागितामुलक र सहकारिताको भावना समेटिएको, गरिबीको अन्त्य गरिएको, उत्पादनका साधनहरुको समान वितरण, ‘एकले सबैको लागि र सबैले एकको लागि’ काम गर्ने अवस्था गरिएको हुन्छ । समाजवादी व्यवस्थामा व्यक्तिगत महत्वकांक्षालाई निषेध गरिएको हुन्छ । प्राकृतिक स्रोत साधनको समुचित उपयोग र राष्ट्रिय पँुजीको विकास गरिएको हुन्छ । कमजोरहरुलाई न्याय र समानता प्रदान गरिएको हुन्छ र राज्यबाट आधारभूत कुराको सुनिश्चितता गरिएको हुन्छ । नाफाखोरहरुलाई राज्यद्वारा नियन्त्रण गरिएको हुन्छ । 
हाल संसारका अति कम देशहरुमा मात्रै समाजवादी आर्थिक प्रणालीको लागु गरिएको उदाहरण पाइन्छ । क्युबा, भेनेजुयला, चीन, भियतनाम, रसिया, उत्तर कोरिया र दक्षिण अमेरिकी कतिपय मुलुकहरुमा समाजबादी आर्थिक व्यावस्था भएपनि विश्वव्यापी पुँजीवाद र खुला बजार अर्थतन्त्रको प्रभावले सम्पत्तिमाथि व्यक्तिको स्वामित्वलाई खुला गरेको पाइन्छ । युरोपियन मुलुकहरु नर्वे, स्विडेन र डेनमार्क यस्ता देशहरु हुन् जहाँ समाजवादी अर्थव्यवस्था लागु गरिएको छ तर त्यहाँ पनि पँुजीवादी अर्थव्यवस्थाले अवलम्बन गरेको सम्पत्ति माथि व्यक्तिको अधिकार खुला गरिएको छ ।
पुँजीवादी अन्यायपूर्ण अर्थव्यवस्थाको विकल्पको रुपमा समाजवादी न्यायपूर्ण अर्थव्यवस्थाको प्रादुर्भाव भएको हो । यद्यपी समाजवादी अर्थ व्यवस्थाका आलोचकहरुले यो व्यवस्थाले व्यक्तिगत सम्पत्तिको नियन्त्रण गर्ने भएकाले पुँजीको विकासलाई महत्व नदिएको, निजी उद्योग र कम्पनी निर्माणमा रोक लगाउँदा मुनाफालाई महत्व नदिइएको, धन सम्पत्ति कमाउन र व्यक्तिगत सम्पत्ति कमाउनमा रोक लगाउँदा मानवअधिकारको कटौती गरिएको, निजीकरणमा रोक लगाएको जस्ता आलोचनाहरु पनि गरेका छन् तर पनि समाजवादी आर्थिक प्रणाली सहितको राज्य व्यवस्था लोककल्याणकारी हुन्छ भन्ने बुझाई छ ।
हाम्रो संबिधानले गरेको व्यवस्था अनुसार हाम्रो देश के साँच्चै समाजवाद उन्मुख हो त ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । अहिलेसम्म समाजबादको परिभाषा अनुसार के के कामहरु भए जसका कारण हामीले हाम्रो देशलाई समाजवाद उन्मुख देख्यौं ? वा फेरी समाजबादी अर्थ व्यवस्था अनुसार समाजबाद उन्मुख हुने गरी के के काम गर्दैछ त बर्तमान “कम्युनिष्ट” सरकारले ? “श्री ५ बहामहाराजधिराज सरकारको जय !” भन्दै तत्कालीन  राजाहरुको फोटो ठाउँ ठाउँमा टाँसे जस्तै गरी पोल पोलमा बर्तमान शासकको फोटो टाँस्नुलाई समाजबाद उन्मुख भएको मान्न सकिन्छ वा फेरी अमुक धर्मको प्रचारमा ति शासकहरुले खर्चिएका शव्दहरुलाई समाजवाद उन्मुख राज्य व्यवस्था मान्न सकिन्छ ? बैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्सले धर्मलाई ‘अफिमको नशा’ भनेका छन् । तर तिनै माक्र्सले परिकल्पना गरेको समाजवादी व्यवस्था स्थापना गर्नका लागि लडेका भन्नेहरु ‘फलानो धर्म उत्कृष्ठ’ भन्दै हिडेका छन् । त्यसो भए माक्र्सको धर्मप्रतिको व्याख्या गलत हो त ? वा फेरी यसमा पनि सापेक्षित बुझाई बनाउनु पर्छ ? 
न्याय माग्न जाँदा थुन्ने सरकार भएको देश कसरी समाजबाद उन्मुख हुन्छ ? माक्र्सका अनुसार समाजबादमा सर्वहारा बर्गको अधिनायकत्व हुन्छ तर यहाँ त सत्तामा, पार्टीमा, उत्पादनका साधनहरुमा, उत्पादनका सम्वन्धहरुमा कुलिन बर्गको मात्रै अधिनायकत्व रहेको देखिन्छ । समाजवादमा सम्पत्ति राज्यको नियन्त्रणमा हुन्छ तर यहाँ तिनै समाजवादीहरु अकुत सम्पत्ति आर्जन गर्नका लागि भ्रष्टाचार गर्दैछन् । भाषणमा जति समाजबाद देखिएपनि व्यवहारमा बर्तमान राजनीतिक व्यवस्था वा शासन व्यवस्था सामन्ती चरित्र भन्दा माथी उठ्न सकेको छैन । 
कसैको नाम राम हुँदैमा उ पौराणिक रामायणमा व्याख्या गरे अनुसारको आयोध्याको राजा हुन सक्दैन ।  ‘रामराज्य’ अर्थात् सवैलाई समान न्याय भएको देश चलाउने ‘राम’ बन्न सक्छ भन्ने जरुरी छैन । कसैको नाम कुवेर हुँदैमा धनी हुन्छ भन्ने ग्यारेण्टी छैन । त्यो नाम मात्रै हो । यस्तै अवस्था भएको छ बर्तमान “कम्युनिष्ट” सरकारको । नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्दैमा प्रगतिशील हुन्छ भन्ने हुँदैन । कम्युनिष्ट भन्ने बित्तिमै प्रगतिशील, जनवादी, बिज्ञानसम्मत भन्ने बुझाई आम बुझाई भएको छ, कुनै धर्मको प्रचार गर्ने होईन । तर अहिलेको सरकारले के कुरामा आफुलाई प्रगतिशील देखाउन सक्यो त ? सपनामा ? कोरा भाषणमा ? त्यो देखि बाहेक कुनै पनि कुराम ाआफुलाई प्रगतिशील देखाउन सकेको छैन । दुःखका साथ भन्नु पर्छ, यो भन्दा प्रगतिशील राजा महेन्द्र थिए । उनले देशको विकासका लागि प्रशासकीय संरचनामा परिवर्तन त ल्याए, भ्रष्टाचार  निवारण गर्नका लागि ऐन त ल्याए, बिभिन्न बिभेद्हरुको अन्त्य गर्नका लागि ऐन त ल्याए, विकास क्षेत्रको     अवधारणा त ल्याए । 
संघदेखि स्थानीय तहसम्म करीव करी एकलौटी भएको र प्रगतिशील भनिएको बर्तमान सरकारले के प्रगतिशील कार्यक्रम ल्यायो त ? एउटा सामाजिक अनुदान कार्यक्रम ल्याउँदैमा पोलमा चढिहाल्नु पर्ने अवस्था भईसकेको हो र ? सरकारको कुन कार्यक्रम प्रगतिशील छ, कुन कार्यक्रमले न्यायपूर्ण प्रणालीको सुरुवात गर्छ, कुन कार्यक्रमले ‘कम्युनिष्ट’ कार्यकर्ताहरुको महत्वाकाँक्षालाई नियन्त्रण गर्छ त ? 
कम्युनिष्ट सरकार जनबादी हुन्छ भन्ने गरिन्छ । ‘जनबाद’ मा शासनमाथी जनताको सहज पहुँच र नियन्त्रण हुन्छ । समाजवादी बिचारले जनबादलाई शासन गर्ने साधनका रुपमा लिन्छ । जनवादमा कुनै समस्या आईपर्दा पक्ष÷बिपक्ष, तर्क÷बितर्क, बादविवाद गर्न पाउने, शासकहरुको आलोचना गर्न पाउने अधिकार हुन्छ । आफ्ना बिचारहरु स्वतन्त्रतापूर्वक राख्न पाउने र अरुका बिचारहरुको कदर गर्ने धैर्यता हुन्छ । तर यहाँ सरकारको बिरोध गर्न नपाईने, सरकारका गलत कामहरुको आलोचना गर्न नपाईने, स्वतन्त्र रुपमा सञ्चारमाध्यममा लेख्न नपाईने, बिना हातहतियार शान्तिपूर्ण प्रदर्शन गर्न नपाईने अवस्था भएको छ । कम्युनिष्ट पार्टीहरुको त संगठनात्मक तरिका नै ‘जनवादी केन्द्रीयता’ हो । जनवादी केन्द्रीयता भन्नाले छलफल र निर्णय प्रक्रियामा जनबाद हो र कार्यान्वयन प्रक्रियामा केन्द्रीयता हो । निर्णय गर्दा व्यापक रुपमा छलफल हुन्छ, तर्क बितर्क हुन्छ, आलोचना आत्मालोचना हुन्छ, त्यसै परे आन्तरिक निर्वाचन पनि हुन्छ, यो जनवाद हो । निर्णय भईसकेपछि त्यो सवैको साझा निर्णय हुन्छ र त्यसलाई कार्यान्वयन गराउनका लागि केन्द्रीयता लागु हुन्छ । त्यस्तो अवस्थामा पनि अल्पमतमा परेको बिचारको संरक्षण हुन्छ र कदर पनि   गरिन्छ । तर बर्तमन ‘नेकपा’ भित्र के जनवादी केन्द्रीयता छ त ? 
झोलामा पार्टीको माईनुट बोकेर घर घरमा गई हस्ताक्षर गराउने परिपाटीको थालनी भएको छ, बैठकमा आफ्ना गुटका लाई मात्रै जानकारी गराएर बैठक बसेको, जिम्मेवारी दिँदा आफ्ना गुटका लााई मात्रै दिएको, सक्षम व्यक्तिहरुलाई पाखा लगाएको, अराजक–हरुको हातमा कमिटीको नेतृत्व दिएको भन्ने गुनासाहरु केन्द्रदेखि स्थानीय तहसम्म छताछुल्ल छन् । बरु फरक बिचार राख्नेहरुसंग आत्मीयता होला र आफ्नै पार्टीहरुसंग बोलचालको अवस्था छैन । एउटा समूहले अर्को समूहलाई समाप्त गर्नका लागि हदैसम्मको निकृष्ठ व्यवहार प्रदर्शन हुँदैछ । अनुशासन, आलोचना÷आत्मालोचना, स्कुलिङ्ग सवै मृत्यु शैयामा पुगिसकेको अवस्था छ । संगठन निर्माण हुँदैन, गुट निर्माण हुन्छ । यही हो त जनवादी केन्द्रीयता ? वा फेरी केन्द्रीयता मात्रै बाँकी रह्यो जनवाद उछिट्टियो ? पार्टीभित्रै जनवादको प्रयोग गर्न नपाएका बेला कसरी जनताले जनवादको महसुस गर्न पाउँछन् ? 
त्यसैले न हाम्रो देश समाजबाद उन्मुख छ, न बर्तमान ‘कम्युनिष्ट’ पार्टीको सरकार समाजवाद उन्मुख छ, न त जनताले समाजवाद उन्मुख राज्यको अनुभूति गर्न पाएका छन् । यदि साँच्चै देशलाई समाजवाद उन्मुख बनाउने हो भने सरकारले तत्काल आफ्ना काम कारवाहीहरुमा जनवादीपन ल्याउनु जरुरी छ । भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षा कायम सरकारको पहिलो काम हुन सक्नु पर्छ । यदि यि दुई कुरा भए भने जनताले सरकार भएको प्रत्याभूत गर्ने छन् । नत्र त “समाजबाद उन्मुख” भन्ने शव्द नारामा मात्रै सिमित रहला जस्तो छ । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. डट्पेनको अविष्कार कसले गरेका हुन् ?    — जोन जे. लाउड
२. नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?— वि.सं. २०६४ असार २३
३. चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?    — टेनिस
४. खुट्टामा जिव्रो हुने जीव कुन हो ?     — पुतली
५. मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?    — आँखा झिम्काउनु
६. जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?      — तीतो
७. मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?   — १३ प्रकारका
८. संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?      — रुघा
९. भुटानको राष्ट्रिय एयरलायन्सको नाम के हो ?     — डुक एयर
१०. याहुका संस्थापक को को हुन् ?      — डेविड फिलो र जेरी याङ्ग
११. सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?   — स्पेन
१२. असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ?  — भेनेजुयलामा 
१३. अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?     — ४ डलर
१४. सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?  — प्रसिद्धजङ्ग राणा
१५. विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?    — गुल्मी
१६. नेपालमा गद्य कविताको शुरुवात गर्ने साहित्यकार को हुन् ?  — गोपाल प्रसाद रिमाल
१७. विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?    — जापान
१८. भगवान गौतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?   
— मूल सर्वास्ति विनय
१९. लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?    — ईश्वरको पार्टी
२०. अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ ?   — नेपालको चितवनमा
२१. संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? 
— माइक्रोसफ्ट कर्पोरेशन
२२. सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ ?    
— सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
२३. लोटस–१२३ केसँग सम्बन्धित छ ?   — कम्प्युटर
२४. अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो ?  — इजरायल
२५. प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रमाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?  
— चाल्र्स डार्बिन

साहित्य/सिर्जना 

शहर

कति पट्यार लाग्दो छ यो शहर
कैयौंका आशा, भरोसा जति सबैलाई
बिस्कुनमा सुकाई
आफू महलमात्र ठड्याइरहेको छ ।
कति डरलाग्दो छ यो शहर
कुनै मसान भन्दा कम छैन
जहाँ,
हजारौंका चिताहरु जलिरहेका छन्
जलेका चिताहरु पनि शान्त छैनन्
उडिरहेका छन धुँवा बनी
यताउती साउती गर्दै
त्यही धँुवाले कालो रुप लिई
घेरिरहेको छ शहरलाई ।
कति अपत्यारिलो छ यो शहर
न त दिनको पत्तो हुन्छ
न रात्रीको नै
हेर्दा हेर्दै
आँखाको सामुन्ने
मान्छेहरुलाई नाङ्गेझार पारिन्छ
युवतीहरु लुटिन्छन
कतिका गला रेटिन्छन
तर पनि
यो शहर
मुर्ती झैं स्थिर भैदिन्छ
मानौं उ प्राणहिन छ
कति निस्टुर छ यो शहर
कति बालबालिका सडकका किनारमा बास बसिरहेका छन्
सडकमा भिख मागिरहेका छन
कापी, कलम बोक्ने हातमा
सडकमा फ्यकिएका फोहोरका थैली छन ।
कति कुरुप छ यो शहर
मौलिकताको नाम निसाना देख्न पाइदैन
सब एक अर्काको देखासिखिमा मस्त छन
सबैमा अरुको रङ्ग हाबी भएको छ
आफ्नो रङ्ग मेटिएको छ
आफुलाइ, आफू भन्दा बढी
अरु जस्तो देखाउने कोशिसको होडबाजी नै चलेको छ ।
यस्तै छ यो शहर ।
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

मुक्तक 

हिमालझैँ हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ
सजाई राख्नु सँधै शिरमा स्वाभिमान सुहाउँछ
मरेर लानु के नै छ र यो एकबारको जिन्दगीमा,
बेचेर कहिल्यै नखानु मान्छेलाई ईमान सुहाउँछ ।
लैजाऊ स्वप्निल सगरको चन्द्रमा तिमीलाई भो
मेरो हृदय मञ्जिल भरको उपमा तिमीलाई भो
स्निग्ध जूनेली स्पर्श लिएर रात मुस्कुराउँदा
झिलमिल प्रेमिल शहरको लालिमा तिमीलाई भो
आमा एकभारी घाँस लिएर आउनुहुन्थ्यो
हातभरी लाली गुराँस लिएर आउनुहुन्थ्यो
म बिरही भएर कोक्रोमा हल्लिरहेको बेला,
अंगालो भरी मधुमास लिएर आउनुहुन्थ्यो !
झुल्किएर डुबी जाने घाम जिन्दगी
संघर्षको अर्को एउटा नाम जिन्दगी
सुख दुःख समयको खेल सम्झिएर,
मै पनि त बाँचुला नी आम जिन्दगी ।
नैना निर्झरा 
धाँदिङ, नेपाल

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०८/१६
उपरोक्त सम्बन्धमा शिखर नगरपालिका–११, तल्लीसा डोटीमा रहेको यस श्री भुवनेश्वरी आधारभूत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नु पर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन आव्हान गरिन्छ ।
तपशिल 
बिज्ञापन नं. १/०७५/०७६ 
पद ः शिक्षक,    संख्या ः १ जना
तह ः प्रा.बि. तृतीय,    किसिम ः करार (महिला)  
तलब स्केल ः प्रचलित नेपाल सरकारको नियमानुसार अनुसार  
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्र्तीण (अध्यापन अनुमति पत्र प्राप्त) 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः २०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५÷०९÷०१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷०९÷०२ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
हस्त लिखित निवेदन 
नोट ः स्थानीय, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८४८४७७४५४ मा सम्पर्क गर्नु होला ।

नेपाल सरकार
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
भूमिव्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय

(मुक्त हलिया पुनःस्थापना जिल्ला समिति)
डोटी


प्रथम पटक प्रकाशित मिति ः २०७५/८/१२

सूचना  !   सूचना !!    सूचना !!!

मुक्त हलिया पुनःस्थापना समस्या समाधान समिति गठन (तेश्रो संसोधन) आदेश २०७५ को मुल आदेशको दफा (१०) को (च) र (२) को उपखण्ड (१) बमोजिम सम्पर्कमा नआउने पुनःस्थापनाको लगतमा रहेका मुक्त हलियाहरुको विवरण छानविन गरि लगतवाट हटाउने उल्लेख भए बमोजिम श्री भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको च.नं. ५० मिति ः २०७५÷६÷७ को पत्रवाट समेत उल्लेखित संसोधित गठन आदेश वमोजिम केन्द्रीय लगतवाट प्राप्त भएका मुक्त हलियाहरुको नामावलीमा उल्लेखित परिचय पत्र प्राप्त गर्न बाँकी रहेकाहरुको लागी परिचय पत्र प्राप्त गर्न सम्पूर्ण प्रक्रिया पुरा गरि ३५ दिनको अवधि तोकी सूचना प्रकासन गर्ने र उक्त अवधिभित्र सम्पर्कमा नआउने हलियाहरुको विवरण छानविन गरि लगतवाट हटाउने भनी लेखि आएकोे हुँदा मुक्त हलिया पुनःस्थापना समस्या समाधान जिल्ला कार्य समिति डोटीको मिति ः २०७५÷७÷९ मा बसेको बैठकको निर्णयानुसार डोटी जिल्ला स्थित मुक्त हलीयाको लगतमा रहेको परिचय पत्र लिन बाकीं रहेको मुक्त हलीयाहरु लाई सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र आफूसँग भएका तपसिल वमोजिमको प्रमाण साथ निवेदन पेश गर्न आउनु होला । सूचनाको अन्तिम दिन बिदा पर्न गएमा सोको भोली पल्ट कार्यालय खुलेका दिन निवेदन दिन सकिने छ । म्यादभित्र निवेदन पेश नगरे वा रितपुर्वक नभएको निवेदन उपर कुनै कार्यवाही गरिने छैन । म्यादभित्र निवेदन पेश नगर्ने हलियाहरुको केन्द्रिय लगत वाट प्राप्त विवरण छानविन गरि हलिया विवरण वाट नाम हटाईने व्यहोरा समेत यसै सूचना द्वारा जानकारी गराईन्छ । विस्तृत जानकारीको लागी कार्यालयको सम्पर्क फो. नं. ०९४–४२०१०१ मा सम्पर्क राख्नु होला ।
परिचय पत्र प्राप्त गर्न आवश्यक प्रमाणहरु
१. निबेदन 
२. नागरीकता प्रमाण पत्रको प्रतिलिपि — १                                  
३. गा.पा.वडा कार्यालयको सिफारीस 
४. पासपोर्ट साईजको फोटो — ३ प्रति    
५. वालवालीकाको जन्म दर्ता प्रमाणहरु
६. वडा मुचुल्का 
७. अन्य आवश्यक प्रमाणहरु

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक स्रचना प्रकाशित मितिः २०७५÷८÷१७         
       जिल्ला डोटी दिपालय सिलगढी नगरपालिका वडा नंं.७ साविक भवरँडाडाँ गा.वि.स.वडा नं. १ स्थित कि.नं. २७२, ६२४ ऐ.वडा नं. २ स्थित कि.नं. ९, ३२, २३७, २५०, २६९, २७३ को जग्गा दि.सि.न.पा.वडा नं. ७ साविक भवँरडाँडा वडा नं. २ बस्ने जोगीको नाती लालविरको छोरा ढोणे पार्कीको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि ढोणे पार्कीको मिति ः २०३१÷२÷३० मा र निजको हकदार पत्नि किडि पार्कीको मिति ः २०३२÷३÷२० मृत्यु भएकोले मृतकद्वयवाट सन्तान छोराछोरी कोही केही नभई अपुताली परेको हुँदा मृतकको शेषपछिकको हकदार लालविरको नाती प्रेम पार्कीको छोरा गणेश पार्की मात्र भएकोले मृतक ढोणे पार्कीको नाउँको उल्लेखित भवरँडाडाँ गा.वि.स. वडा नं. १ स्थित कि.नं. २७२, ६२४ ऐ.वडा नं. २ स्थित कि.नं. ९, ३२, २३७, २५०, २६९, २७३ को पुरै घरजग्गाहरु मेरो नाउँमा एकलौटी नामसारी गरिपाउँ भनी डोटी दिपायल सिलगढी नगरपालिका वडा नं. ७ नं. वडा कार्यालय डोटीको च.नं. १९९ मिति ः २०७५÷ ८÷१० को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको   रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणित आदी प्रमाणहरु साथै  राखी जि.डोटी दि.सि.न.पा.वडा नं. ७ बस्ने गणेश पार्कीले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५÷८÷१० मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक ढोणे पार्कीको अपुताली नपरेको भए, अन्य अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ ।