Monday, January 7, 2019

बिम्ब साप्ताहिक, २०७५ साल पुष २४ गते मंगलबार

लागूऔषध सेवनले मानिसको शारीरिक र मानसिक स्वास्थ्य बिग्रन्छ, धन सम्पतिको वर्वाद गर्दछ, यसको प्रयोगबाट आफु, परिवार, समाज र राष्ट्रलाई नै अपुरणीय
क्षति पुग्ने हुँदा यस्ता पदार्थ देखि टाढा     रहौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

सुदूरपश्चिमका ४६ स्थानीय तह अति दुर्गम

रामहरी ओझा/डोटी
पुष २३
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको बर्गीकरणमा सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ४६ स्थानीय तह “क” बर्गमा अर्थात् अति दुर्गम स्थानीय तहको सूचीमा परेका छन् । अति दुर्गममा पर्ने स्थानीय तहहरुमा आठ नगरपालिका समेत रहेका छन् ।
अछामका आठ, डोटीका सात र दार्चुकाका सात स्थानीय तह अति दुर्गम अर्थात “क” वर्गमा परेका छन् । यस्तै उक्त वर्गीकरण अनुसार बझाङ्गका ११, बाजुराका आठ र बैतडीका पाँच स्थानीय तह अति दुर्गमको सूचीमा परेका छन् । कैलाली, कञ्चनपुर र डडेल्धुराका कुनै पनि स्थानीय तह अति दुर्गमको सूचीमा परेका छैनन् ।
नगरपालिका पनि अति दुर्गम 
मन्त्रालयले गरेको   वर्गीकरण अनुसार सुदूरपश्चिम प्रदेशका आठ नगरपालिकाहरु पनि अति दुर्गमको सूचीमा रहेका छन् । बाजुराका चार नगरपालिकामध्ये बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिका अति दुर्गम अर्थात् “क” वर्गमा परेका छन् । अछामका चार नगरपालिकामध्ये कमलबजार र पञ्चदेवल बिनायक नगरपालिका “क” वर्गमा छन् । 
डोटीको शिखर नगरपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका र बझाङ्गको बुङ्गल नगरपालिका गरी आठ नगरपालिका अति दुर्गमको सूचीमा रहेका छन् । यस्तै अछामका ६, डोटीका ६, दार्चुलाका ६, बझाङ्गका १०, बाजुराका पाँच र बैतडीका पाँच गरी ३८ गाउँपालिका अति दुर्गमका छन् ।  
कञ्चनपुरको एक, डोटीको एक, डडेल्धुराका पाँच, दार्चुलाको एक, बाजुराको एक र बैतडीका चार गरी १३ स्थानीय तह दुर्गम अर्थात् “ख” वर्गमा परेका छन् । यस्तै बैतडीको एक, डोटीको एक, बझाङ्गको एक, दार्चुलाको एक, डडेल्धुराका दुई, कैलालीका १०, कञ्चनपुरका सात र अछामका दुई गरी २५ स्थानीय तह सुगम अर्थात् “ग” वर्गमा परेका छन् । 
“घ” बर्गमा चार मात्रै 
मन्त्रालयको उक्त  वर्गीकरण अनुसार यस प्रदेशमा चार स्थानीय तहहरु मात्रै अति सुगम अर्थात “घ” को सूचीमा परेका छन् । 
जिल्ला समन्वय समितिहरुले दिएको सूचनाका आधारमा गरिएको भनिएको वर्गीकरणमा प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिका “घ” बर्गमा परेको छ । यस्तै कैलालीका गोदावरी र टिकापुर नगरपालिका पनि सुगम नगरपालिका अर्थात् ‘घ’ मा राखिएका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका पनि सुगम नगरपालिकाको वर्गमा  परेको छ । 
स्थानीय तहको यातायतको सुविधा, प्रदेश राजधानीदेखिको दुरी र स्थानीय तहको जिल्ला सदरमुकामदेखिको दुरीलाई आधार वनाएर स्थानीय तहहरुको वर्गीकरण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै शिक्षा, स्वास्थ्य, दुरसञ्चार सेवा, बिद्युत, मानवविकास सूचकांक, भौगोलिक अवस्थितिलाई समेत ध्यानमा राखी उक्त वर्गीकरण   गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो वेवसाईट मार्फत सार्वजनिक गरेको उक्त वर्गीकरणमा सुधार गर्नु पर्ने भए सुझाव दिन समेत सवैलाई आग्रह गरेको छ ।  
मन्त्रालयका प्रवक्ता जीवनलाल भुषालले बिगतमा जिल्लाहरुलाई वर्गीकरण गरिए जस्तै यस पटक स्थानीय तहहरुलाई वर्गीकरण गरिएको वताए । “यो मन्त्रालयले तयार गरेको छ, यो अन्तिम होईन” भुषालले भने ‘हामीले सुझावका लागि आव्हान गरेका छौं, उपयुक्त सुझाव आएछ भने यसमा परिमार्जन हुन सक्छ ।’
जिल्ला समन्वय समितिमार्फत स्थानीय तहहरुले उपलव्ध गराएको विवरणको आधारमा वर्गीकरण गरिएको मन्त्रालयको पत्रमा उल्लेख छ । 
डोटीका सात स्थानीय तह ‘क’ मा
मन्त्रालयले गरेको वर्गीकरण अनुसार डोटीको शिखर नगरपालिका सहित सात स्थानीय तह अति दुर्गममा परेका छन् । 
पूर्वीचौकी, सायल, आदर्श, के आई सिंह, बोगटान र बडीकेदार गाउँपालिका ‘क’ बर्गको सूचीमा रहेका छन् । जोरायल गाउँपालिकालाई ‘ख’ वर्गमा राखिएको छ । 
जोरायल गाउँपालिका कुन आधारमा ‘ख’ वर्गमा राखियो भन्ने बिषयमा आधिकारिक कुरा वाहिर आएको छैन । मन्त्रालयका एक कर्मचारीका अनुसार विवरण उपलव्ध गराउन मन्त्रालयले पठाएको फाराम भर्नमा केही त्रुटी भएका कारण केही समस्या आएको हुन सक्छ । ‘यो सच्याउन सकिन्छ’ उनले भने ‘विवरण उपलव्ध गराउदा त्रुटी भएको भए सम्वन्धित स्थानीय तहले जानकारी गराउनु प¥यो ।
दिपायल सिलगढी नगरपालिका ‘ग’ वर्गमा छ ।

सम्पादकीय 

साझा बस चौखुट्टे–डडेल्धुरा चलाऔं

गत बर्ष दिपायल सिलगढी नगरपालिकाले आफ्नै लगानीमा नगर बस चलाउने निर्णय ग¥यो । जनसंख्या र भूगोलका हिसावले नगरका दुई मुख्य शहरहरु दिपायल र सिलगढीलाई लक्षित गरी गरिएको उक्त निर्णयको नगरवासीले स्वागत पनि गरे । नगरबस सञ्चालन भएपछि जनताले राम्रै सुविधा पनि पाईरहेका छन् । सस्तो, सुरक्षित, आरामदायी र सर्वसुलभ सेवा प्राप्त गर्नु सवै नागरिकको कर्तव्य हो । नगरपालिकाको उक्त कदमले थोरै भएपनि राहत महसुस भएको छ । 
आफ्नै लगानीमा नगरबस चलाउने सम्भवतः दिपायल सिलगढी नगरपालिका पहिलो हो र अहिलेसम्मको व्यवस्थापकीय पक्ष हेर्दा राम्रैसंग सञ्चालन पनि भएको छ । तर यसलाई टिकाई–राख्न भने चुनौतीनै हुन्छ । बिस्तारै बसहरु बिग्रेलान, प्रलोभनहरु बढ्लान, यस्ता यस्तै, यस्ता कुरामा सचेत हुनु जरुरी छ । दिपायल सिलगढी नगरपालिकाकै सिको गर्दै अन्य स्थानीय तहहरुले पनि आफ्नै लगानीमा बस सञ्चालन गर्ने दौड सुरु गरेका छन् । डोटीकै शिखर नगरपालिकाले दुई बस सञ्चालनमा ल्याईसकेको छ भने पूर्वीचौकी गाउँपालिकाले बस ल्याउने तयारी गरेको हल्ला छ । उता डडेल्धुराको अमरगढी नगरपालिकाले यस बिषयमा सोच बनाईरहेको जानकारी छ । यद्यपी यि दुई स्थानीय तहका बसहरु सडकमा गुडिसकेको अवस्था होईन । 
स्थानीय तहले बस सञ्चालन गर्नु आफैमा राम्रो पक्ष हो । जनताले सजिलो रुपमा सेवा पाउनका लागि र समयमै यात्रा गर्न पाउनका लागि पनि व्यवस्थित रुपमा बस सञ्चालन गर्नु राम्रै हो तर स्थानीय तहहरुले सञ्चालन गर्ने बस सेवाको उद्देश्य के हो ? दुई÷चार जना आफ्ना कार्यकर्ताहरुलाई जागिर दिने र मुनाफा कमाउने वा वास्तवमै जनतालाई सेवा दिने ? यदि जनतालाई सेवा दिने हो भने वहुसंख्यक जनताको पहुँच उक्त वसमा पुग्छ कि पुग्दैन ? गाउँमा सवै कच्ची बाटो हुने, सेवाग्राहीले स्थानीय तहको केन्द्रसम्म कि त पैदल कि त चर्को मुल्य तिरेर सार्वजनिक जीपमा असुरक्षित यात्रा गर्नु पर्ने तर नगरपालिकाले “जनताको सेवाका लागि नगर बस चलाएका छौं” भन्ने हो भने त्यो भन्दा हास्यास्पद् कुरा अरु केही हुन सक्दैन । बस सञ्चालनका लागि कति लगानी भयो र त्यो लगानीबाट कति जनताले लाभ लिन सके भन्ने कुराको हेक्का राख्नु जरुरी छ किनकी स्थानीय तह मुनाफा कमाउने व्यापारिक संस्था होईन, लोककल्याणकारी हुनु पर्छ । 
अव सडकमा आईसकेका बसहरु चलाउन हुन्न भन्ने कुरै भएन । चलाउनु पर्छ, चिल्लो सडकमै भएपनि व्यवस्थित रुपमा चलाउनु पर्छ । यात्रुलाई आउजाउ गर्न समस्या हुने ठाउँहरुको पहिचान गरि रुट तय गरिनु पर्छ । डोटीको चौखुट्टे देखि डडेल्धु–राको बागबजारसम्मको रुट निर्धारण गरिनु पर्छ । यसका लागि डडेल्धुराका अमरगढी नगरपालिका, गन्यापधुरा र नवदुर्गा गाउँपालिका र डोटीका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाबीच बृहत छलफल हुनु जरुरी छ । यात्रुहरुले स्थानीय तहैपिच्छे बस फेर्दै जानु पर्ने हो भने यो सेवा होईन उल्टो दुःख दिने काम हुन्छ । त्यसकारण चौखुट्टेबाट गाडीमा चढ्ने व्यक्तिले आफ्नो गन्तव्य सहजै भेटाउवस भन्ने हेतुले रुट तय गर्नु पर्छ । 
यो रुट करीव एक सय किलोमिटरको हुन्छ । यस रुटलाई कायम गर्ने हो भने १० वटा बस सहजै खप्न सक्छन् । त्यसैले समयमै सम्वन्धित स्थानीय तहहरुले यस बिषयमा ध्यान दिनु  जरुरी छ । जनतालाई झमेला होईन, सेवा दिने योजना बनाऔं । हरेक कुरामा तेरो–मेरो भनेर कित्ताकाट गर्ने बानीको अन्त्य गरौं ।

थप समाचार 

डोटीको सालय र बझाङ्गको थलारा गाउँपालिकाले गरे संयुक्त प्रतिवद्धता

दुई गाउँपालिकाको आपसी हित र विकासका लागि डोटीको सायल गाउँपालिका र बझाङ्गको थलारा गाउँपालिकाले नौ बुँदे संयुक्त प्रतिवद्धता गरेका छन । 
दुई गाउँपालिकाको सिमामा पर्ने मालिका बुराउसेमा भएको संयुक्त बैठकले नौ बुँदे प्रतिवद्धता गरेको सायल गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलले जानकारी  दिए । प्रतिवद्धता पत्रमा डोटीको दिपायल देखि सायल र थलारा गाउँपालिका हुँदै बझाङ्गको साईपाल हिमालसम्म जोड्ने सडक निर्माणलाई प्राथमिकता दिने, खप्तड पर्यटन बर्ष मनाउने, दुई गाउँपालिका सिमा क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रहरुको संयुक्त रुपमा प्रवद्र्धन गर्ने रहेको डुम्रेलले    वताए । 
यस्तै बिद्युतको राष्टिूय प्रसारण लाईन बिस्तारका लागि दुवै गाउँपालिकाले संयुक्त रुपमा पहल गर्ने, खप्तडको मुख्य प्रदेशद्वारा भिग्रानादेखि सायल गाउँपालिकाको साप्रा वेटारा हुँदै थलारा गाउँपालिकाको छान्ना क्षेत्रसम्म पर्यटकीय सडक निर्माण गर्ने, दुई गाउँपालिकाको सिमा सम्वन्धी सद्भाव कायम राख्ने र कृषि तथा गैर कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै स्थानीय स्तरमा      रोजगारी सृजना गर्ने प्रतिवद्धता दुई गाउँपालिकाले गरेका छन् । प्रतिवद्धतामा सायली गाड र थलारीगाडमा पक्की पुल निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारसंग संयुक्त रुपमा पलह गर्ने र सर्वसुलभव र गुणस्तरीय स्वास्थ्य तथा शिक्षा सेवा प्रदान गर्नका लागि दुवै गाउँपालिकाले सहकार्य गर्ने प्रतिवद्धता गरिएको सायल गाउँपालिकाका प्रवक्ता एवं वडा नंं. ३ का वडाध्यक्ष गोरखवहादुर सार्कीले जानकारी दिए । 
दुई गाउँपालिकाले संयुक्त रुपमा  गरेको प्रतिवद्धता कार्यान्वयनका लागि आफु ईमानदार भएर लाग्ने थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले जानकारी दिए । “दुई गाउँपालिकाको सिमा जोडिएका कारण हामीले कतिपय कामहरु मिलेर गर्नु पर्ने देखियो” अध्यक्ष उपाध्यायले भने ‘त्यसैले हामीले संयुक्त रुपमा बैठक बसी बृहत छलफल गरेर प्रतिवद्धता गरेका छौं, यो प्रतिवद्धता कार्यान्वयन हुन्छ ।’ 
सिमा जोडिएका स्थानीय तहहरुका सेवाग्राहीहरुको हितलाई ध्यानमा राख्दै यस्तो प्रतिवद्धता गरिएको बताउँछन् सायल गाउँपालिकाका अध्यक्ष डुम्रेल । उनले भने “शिक्षा, स्वास्थ्य जस्ता कतिपय सेवाहरु सायल गाउँपालिकाबासीहरुलाई थलारा गाउँपालिका क्षेत्रबाट लिन सजिलो हुन सक्छ, त्यसका लागि दुई गाउँपालिकाबिच आपसी सम्वन्ध हुनु जरुरी छ ।’ त्यसैकारण आफुहरु संयुक्त बैठक बसी यस्तो प्रतिवद्धता गरेको डुम्रेलको भनाई छ ।  
दुवै गाउँपालिकाबीच बिगत डेढ बर्षमा भएका कामहरुको बिषयमा समीक्षा सहित अनुभव आदान प्रदान समेत भएको सायल गाउँपालिकाका प्रवक्ता सार्कीले वताए । 
दुई गाउँपालिकाले आपसी हितका लागि सामुहिक प्रविद्धता जारी गरेको डोटी जिल्लाका लागि यो पहिलो हो ।

सुशासन नीति बनाउन ध्यानाकर्षण

जिल्लाका बिभिन्न गाउ तथा नगरपालिकाहरुमा भ्रष्टाचार तथा अनियमीतताका घटनाहरु सार्वजनिक भइरहेका बेला डोटी जिल्ला स्थित नागरिक समाजका प्रतिनिधिहरुले दिपायल सिलगढी नगरपालिकालाई सुशासनका नीति तथा कार्यबिधि बनाउनका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् ।
दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई नागरिक समाजका तर्फबाट गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायतले सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन । स्थानीय तहलाई सुशासनमैत्री, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउन डोटीका कुनै पनि स्थानीय तहहरुले सुशासनसंग सम्बन्धित नीति तथा कार्यबिधी नबनाएको भन्दै अनुरोध पत्र बुझाइएको गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायतले बताए ।
अनुरोध पत्र बुझाउन पत्रकार बिभिन्न संघसंस्थाका प्रतिनिधि, अगुवा तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । पत्र बुझ्दै नगरप्रमुख मलासीले नागरिक समाजको सजगताले आफुलाई थप गम्भिर बनाएको बताउदै नीति, निर्देशिका बनाउन आफु तयार रहेको वताईन । नगरप्रमुख मलासीले सेवालाई प्रभावकारी बनाउन तथा जनप्रतिनिधि र कर्मचारीहरुलाई जवाफदेहि बनाउन आफुले बिभिन्न पहल गरिरहेको जानकारी दिईन । 
सो क्रममा नगर उप प्रमुख शिवराज खड्काले नागरिक समाजले खेलेको भूमिकाको प्रशंसा गर्दै स्थानीय तहहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुझाव सल्लाह दिन समेत आग्रह गरे ।
बिकास र परिवर्तनका लागि लागि संचार (एफएमडिसी) ले डोटीमा संचालन गरिरहेको पारस्परिक जवाफदेहिता परियोजनाले स्थानीय तहहरुमा सुशासन नीति तथा सामाजिक जवाफदेहिताका औजारहरुको कार्यबिधी निर्माण गर्नु पर्ने भन्दै पैरबी गरिरहेको छ । सो परियोजनाले दिपायल सिलगढी नगरपालिका र केआईसिंह गाउपालिकामा सुशासनको अवस्थाबारे तयार पारेको अध्ययन प्रतिबेदन समेत ध्यानाकर्षण पत्र संगै  नगरप्रमुख मलासीलाई हस्तान्तरण गरेको छ ।
यस अघि केआईसिंह गाउपालिका अध्यक्ष लोकेन्द्र शाहीलाई समेत यसैगरी सुशासन नीति तथा कार्यबिधी बनाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको थियो । स्थानीय तहहरुलाई २०७४ कार्तिक २८ गतेको उप प्रधानमन्त्री स्तरको निर्णयबाट सुशासन प्रबर्धन रणनिती तथा कार्ययोजना २०७४ अनुसार स्थानीय तहको नीति तथा कार्यबिधी बनाउन परिपत्र गरिसकेको भएपनि अहिलेसम्म डोटीका कुनै पनि गाउपालिका तथा नगरपालिकाले बनाएका छैनन् ।

सुदूरपश्चिममा १७१ स्वास्थ्य चौकी भवन वन्ने

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश एक सय ७१ स्वास्थ्य चौकीका भवन बन्ने भएका छन् । 
स्थानीय तहको पुनर्संरचना गर्ने क्रममा साविकको गाउँ विकास समितिलाई बिभाजन गरी वनाईएका वडाहरुमा नयाँ स्वास्थ्य चौकी भवन बन्न लागेका हुन् । सरकारले देशभरी एक हजार दुई सय नयाँ स्वास्थ्यचौकी बनाउने घोषणा गरेसंगै सुदूरपश्चिम प्रदेशमा एक सय ७१ नयाँ स्वास्थ्य चौकी भवन बन्ने प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए ।
नयाँ भवन निर्माणको लागी तराईमा आठ कट्टा, पहाडमा पाँच रोपनी र हिमाली जिल्लामा चार रोपनी जमिन आवश्यक पर्ने वताउँदै निर्देशक डा अवस्थीले उक्त जमिन स्वास्थ्य चौकीको नाममा निशुल्क नामसारी गरेको हुनुपर्ने वताए ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले लामो समयदेखि अन्योलमा रहेका एक हजार दुई सय स्वास्थ्य संस्थाको निर्माण प्रक्रिया अगाडि बढाएको छ । ‘एक वडा, एक स्वास्थ्य संस्था’ को अवधारणा अनुसार दुई वर्षभित्र सबै वडामा स्वास्थ्य संस्था बनाइ सक्ने गरी यस वर्ष एक हजार दुई सय वडामा नयाँ स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको वताईएको छ । देशभरीमा स्वास्थ्य संस्था नभएका दुई हजार पाँच सय वडामध्ये, स्थानीय अग्रसरता, जनसंख्या, जग्गाको उपलब्धता र मानव विकास सूचकांकलाई आधार बनाएर यसवर्ष आधारभूत स्वास्थ्य केन्द्र बन्ने वडाहरूको छनोट गरिएको छ ।
निर्माण कार्यका लागि आवश्यक जग्गाको उपलब्धताका आधारमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारहरूले भवन बनाउनेछन् । आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न यसवर्ष चार अर्ब बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कुन जिल्लामा कति स्वास्थ्य चौकी बन्ने भनेर अहिल्लै टुङ्गो नलागेको डा अवस्थी वताउँछन् । 
भवन निर्माण गर्दा वडाको जनसंख्या कम्तीमा सात हजार भएको र १६ आनासम्म जमिन उपलब्ध भएमा प्रसूति सेवा सहितको भवन र जनसंख्या सात हजार भन्दा कम र नौ आनासम्म जमिन भए प्रसूति सेवा बाहेकका आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरिने छन् ।
प्रसूतिसेवासहितको स्वास्थ्यकेन्द्र टाइप १ र सात हजारभन्दा कम जनसंख्या भएका ठाउँमा टाइप २ भवन संरचना निर्माण गरिनेछन् । जसअनुसार पहिलो चरणमा बन्नेमध्ये एक सय ३७ वटा टाइप १ र एक हजार ६३ वटा टाइप २ स्वास्थ्य केन्द्र बन्नेछन् ।

किशोरीहरुको पीडा ः महिनाबारी भए बिद्यालय जाँदैनन्  

सायल गाउँपालिका–२ सिर्मामा  रहेको तामेश्वरी आधारभूत बिद्यालयमा बिद्यालयमा अध्ययन गर्ने दुई सय ६८ छात्राछात्रहरु अध्ययन गर्ने गर्छन । अध्ययनरत छात्रछात्राहरुमध्ये २९ महिनावारी हुने किशोरीहरु रहेका छन् । उनीहरु महिनावारी भएका बेला बिद्यालय आउँदैनन् ।
बिद्यालयकी प्रधानाध्यापक गोमा खातीले एक घटना सुनाईन “कक्षा ८ की छात्रा देवी ओली गत आईतबार बिचमै बिद्यालयबाट भागिन् । उनी चौथो दिन बुधवार मात्रै बिद्यालय आईन । मैले देवीसंग बिद्यालयबाट भाग्नुुको कारण सोध्दा उनले उत्तर दिईन ‘मेडम म छाउ (महिनाबारी) भएर कक्षाकोठाबाटै घर गएँ’ ।” 
प्रधानाध्यापक खातीले गएको साता भगु ओलीले पनि यस्तै गरेको सुनाईन । ‘बिद्यालयमै महिनावारी भएकी भगु पनि भागेर घर गईन र चौथो दिन मात्रै बिद्यालय आईन्’ खाती भन्छिन् । ‘स्कुलमै महिनावारी भएपछि कक्षाकोठाबाटै भागेर जान्छन्’ प्रधानाध्यापक खातीले भनिन् ‘त्यसपछि चार दिनसम्म बिद्यालय नै आउँदैनन् ।’ कसैकसैले त किताव समेत बिद्यालयमै छोडेर जाने गरेको समेत खातीले सुनाईन् । उनले महिनावारी भएको बेला कुनै पनि छात्रा बिद्यालय नआउने गरेको बताईन । 
किन आउँदैनन् त छात्राहरु महिनावारी हुँदा बिद्यालय ? कक्षा ७ मा अध्ययनरत एक छात्रा भन्छिन् ‘महिनावा–री हुँदा रगत निस्कन्छ र लुगामा लाग्छ, त्यसैले हामी आउँदैनौं ।’ यसरी लुगामा रगत लागेको देखेपछि केटाहरु जिस्काउने गरेका कारण आफु बिद्यालय नआउने गरेको उनको भनाई छ । “बेन्चमा बसेपछि बेन्चमा समेत रगत लाग्छ, कोठामा फोहोर हुन्छ’ ति छात्राले भनिन् ‘अनि कसरी बिद्यालयमा बस्नु ?’ 
बिद्यालयमा सेनिटरी प्याड वा रगत सोस्न प्रयोग गर्ने टालो फेर्ने व्यवस्था नभएका कारण आफुहरुलाई समस्या भएको छात्राहरु बताउँछन् । उनीहरु भन्छिन् ‘न टालो फर्ने ठाउँ छ न फेरेको फोहोर टालो फाल्ने उचित ठाउँ छ, बाहिर फालेको देखेपछि केटाहरुले तीन÷चार दिनसम्म जिस्काउँछन् ।’ यदि बिद्यालयमा सुरक्षित रुपमा टालो फेर्ने र फाल्ने ठाउँ भए आफुहरु नियमित रुपमा बिद्यालय आउने छात्राहरु भनाई छ । उनीहरु भन्छन् ‘नियमित बिद्यालय आउन त हामीलाई पनि रहर छ, तर के गर्नु बाध्यता छ ।’ महिनावारी भएको कुरा अरुलाई भन्न पनि लाज लाग्ने गरेकाले आफु कसैलाई नभनी भाग्ने गरेको कक्षा–८ मा पढ्ने एक अर्का छात्राले सुनाईन । उनी थप्छिन् ‘खै, किन हो, मानसिकतानै अर्कै भईहाल्छ, अनि कसैलाई केही नभनी भाग्छु ।’ 
छात्राहरुलाई सेनीटरी प्याड फेर्ने सुरक्षित कोठा र प्याड डिस्पोजल गर्ने खाल्डो निर्माण गरिदिन प्रधानाध्यापक खातीले सामुदायिक विकास केन्द्र नामक गैर सरकारी संस्थालाई आग्रह गरिन् । ‘बिद्यालयमा भूकम्प प्रतिरोधी भवन र शौचालय बनाई दिनु भयो, त्यसका लागि आभारी छौं’ वल्र्ड भिजन अन्तराष्ट्रिय नेपालसंगको साझेदारीमा बिद्यालयमा भूकम्प प्रतिरोधी शौचालय निर्माण गरिरहेको संस्थाका प्रतिनिधिहरुलाई खातीले भनिन् ‘अव छत्राहरुको समस्यालाई ध्यानमा राखेर यत्ति काम अझ गरिदिनु प¥यो ।’ 
छात्राहरु नियमित बिद्यालय नआएका कारण उनीहरुको पढाईको गुणस्तर पनि राम्रो नभएको खातीले बताईन् । सामुदायिक स्रोतबाट कक्षा ६÷७ को अध्यापन गराईरहेको बिद्यालयले शिक्षकहरुको तलव भत्ताका लागि रकम जुटाउन पनि समस्या भएको भन्दै खातीले थपिन् ‘निर्माणका कामहरु गर्नका लागि हामीहरुसंग स्रोत छैन ।’ 
२०३६ सालमा स्थापना भएको बिद्यालयमा २०३९ सालमा सेती परियोजनाबाट एक भवन निर्माण भएको थियो । २०५५ सालमा ठाउँसारी गर्दा उक्त भवन पनि भत्काउनु प¥यो । त्यसयता सरकारले कुनै पनि संरचना निर्माण   नगरिदिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसुवा ओली बताउँछन् । उनी भन्छन् ‘बिद्यालयमा भवन, शौचालय, फर्निचर सवै हामी अभिभावकहरुले श्रमदान गरेर वनाएका हौं । हाल बिद्यालयमा चारवटा मात्रै       दरवन्दी रहेको र बाँकी तीन जना शिक्षकहरुको तलव समते सामुदायिक स्रोतबाटै व्यहोर्नु परेको अध्यक्ष जसुवा वताउँछन् । उनी भन्छन् ‘बिद्यालय भवनको हामीलाई अहिले पनि अभाव छ, बिद्यालयको घेरवार छैन, फर्निचर पनि पर्याप्त छैन ।’ अध्यक्ष जसुवाले बिद्यालय बन्द गरे छोराछोरीको भविश्य बर्वाद हुने, बन्द नगरे आफुहरुले धान्न नसक्ने अवस्था आएको वताए ।
सामुदायिक विकास केन्द्र डोटीले “समुदाय र बिद्यालय बिपद् पूर्व तयारी तथा उत्थालशील परियोजना” अन्तरगत उक्त बिद्यालयमा ६० लाख २७ हजारको लागतमा तीन भूकम्प प्रतिरोधी भवन र छात्राछात्रका लागि छुट्टाछ्ट्टै शौचालय निर्माण गरेको छ । यस बिद्यालय जस्तै जिल्लाका अन्य नौ बिद्यालयहरुमा यस्तै भूकम्प प्रतिरोधी भवन र शौचालय निर्माण गरिएको परियोजनाका संयोजक प्रयाग कापडीले वताए । 

खेल समाचार 

खप्तड गोल्डकपको तयारी पुरा

ई–अनुमोदनबाट
सुदुरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ ।
सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष सुरेश हमालले यस प्रतियोगिता आयोजक क्लबको मात्र नभएर समग्र  सुदूरपश्चिमेली जनताको रहेको र यसलाई एक पर्वको रुपमा मनाइने अभिव्यक्ति दिए । ‘यो गोल्डकप हामी सबै सुदूरपश्चिमका जनताको हो । हामीले दशैं, माघीलगायत पर्व मनाएझैं यसलाई पनि एक पर्वको रुपमा लिनुपर्छ । सुदूरपश्चिमको फुटबलमा मात्र नभएर यस प्रतियोगिताले राष्ट्रव्यापी रुपमा नै हाम्रो फुटबललाई बेग्लै पहिचान दिएको छ,’ अध्यक्ष हमालले भने । हमालले प्रतियोगिताले पछिल्लो समय ठूलो स्वरुप लिंदै गएको र छोटो समयमै देशकै उत्कृष्ट प्रतियोगिताको रुपमा स्थापित गर्न सफल रहेको पनि बताए ।
पत्रकार सम्मेलनमा कैलाली खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले खेलस्थल धनगढी रंगशालाको    स्तरोन्नतिको कार्य अगाडी बढेको पनि जानकारी दिए । ‘खप्तड गोल्डकपक लागि हामी सबै सुदूरपश्चिमवासी एकसाथ बढ्नु जरुरि छ । हामीले संस्थागत र व्यक्तिगत रुपमा प्रतियोगितालाई भव्य बनाउन सक्दो प्रयास गरेका छौं’ उनले थपे ‘राखेपले रंगशाला स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया सुरु गरिसकेको छ । केहि दिनमा टेन्डर प्रक्रिया सकिएपछि निर्माणको कार्य चाडैं सुरु हुने विश्वास लिएका छौं ।’
कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक टोली सुदूरपश्चिम–११ र मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन् । उद्घाटन खेल २ः३० बजेसुरु हुनेछ । त्यसअघि मध्यान्ह १२ बजे चौराहाबाट झाँकीसहितको र्याली प्रतियोगिता स्थलसम्म पुगेर उद्घाटन समारोह सुरु हुने कार्यक्रम रहेको छ ।
मोफसलकै सर्वा्िधक धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात   पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५–१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।
यसअघि नै प्रतियोगिता संचालनका लागि आवश्यक उपसमितहरु गठन गरिएको छ । प्रायोजक उप समितिको संयोजक वावुराजा श्रेष्ठ, आर्थिक उपसमितीका संयोजक योगेन्द्र चन्द, टिकट उपसमितीका संयोजक धुव्र वराल, मिडिया संयोजक ओम चन्द, कार्यालय तथा सचिवलाय उप समितिका संयोजक देवेन्द्र जोशी र मैदान मर्मत उप समितीका संयोजक चक्र मल्ल रहेका छन् । होटेल व्यवस्थापन उपसमितीका संयोजक तेज खड्का, पार्किङ व्यवस्थापन उपसमितीका संयोजक खड्ग शाह र व्यानर व्यवस्थापन उपसमितीका संयोजक राजेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ ।

चलचित्र/मनोरञ्जन 

चलचित्र “हृदयभरी” निर्माण हुने

अभिनेतामा पल शाहको मुख्य भूमिका रहने गरी चलचित्र ‘हृदय भरी’  निर्माण हुने भएको छ । 
केही हप्ता अगाडि मुहूर्त गरिएको चलचित्रको सोमवार राजधानीमा एक कार्यक्रमका बीच ‘कास्ट एण्ड क्रियू’ मेम्बर सार्वजनिक गरिएको छ । लोभलाग्दो ‘फ्यान फलोइंग’ भएका पल शाहको मुख्य भूमिका रहने उक्त चलचित्र सफल हुने निर्माण पक्षको दावी छ । यो चलचित्रबाट श्रद्धा क्षेत्रीले डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धाले त्यहाँ मोडलिङ क्षेत्रमा राम्रो नाम कमाएकी छन् । सुरज सुब्बा ‘नाल्बो’ को एक्सन–कट रहने चलचित्रमा पलको अपोजिटमा अभिनेत्री रेखा लिम्बु पनि देखिनेछिन् । पलले पहिलो पटक फ्रेस अनुहारसँग स्क्रिन साझेदारी गर्दैछन् । 
नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, मनोज केसी, कविता रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मलाई निकेश लिम्बु, चन्दन शाह तथा दीपेन्द्र राईले निर्माण गर्दैछन् । फिल्मको कथाले युवापुस्ताको प्रेम झल्काउने लेखक तथा निर्देशक सुरजले बताए । 
नवअभिनेत्री श्रद्धाले सानैदेखि फिल्ममा अभिनय गर्ने इच्छा ‘हृदय भरी’ बाट पूरा हुन लागेकोमा खुसी व्यक्त      गरिन् । ‘फिल्ममा आउने इच्छा भएकै कारण मोडलिङमा आएँ र राम्रो टिम पाएकोले नेपाली फिल्ममा डेब्यु गर्दैछु’ श्रद्धा भन्छिन् ‘मलाई दर्शकले स्वीकार गर्नुहुन्छ भन्नेमा आशावादी छु ।’ 
चलचित्र ’शत्रु गते’ रिलिजको करीब ७ महिनापछि पलले ‘वीरविक्रम २’ भन्दा अगाडि साइन गरेको फिल्म हो यो । टिम र स्क्रिप्ट मन परेका कारण ‘हृदय भरी’ गर्न तयार भएको उनले बताए । यो चलचित्रले उनले २० लाख पारिश्रमिक बुझेका छन् । चलचित्रमा सलोन बस्नेतको पनि प्रमुख भूमिका रहनेछ । फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, केदार भुषालको लेखन, बिपिन मल्लको सम्पादन रहनेछ ।

लेख 

कहाँ छ माओवादी ? प्रचण्ड कहाँ छन् ?

मेखराज परियार  
माओवादीका ठूला नेता भारत भूमिमा नै बसेर जनयुद्ध हाँकिरहेको मात्रै थिएनन्, पीएलएका लागि हतियारसमेत उतैबाट ल्याइन्थ्यो । दोस्रो, संसदवादी दललाई यता राजाले पेलेरै अघि बढेका, जनताको साथ नपाएका र गाउँ–गाउँमा माओवादीकै कारण उनीहरुका कार्यकर्ता असुरक्षित अवस्थामा थिए । तसर्थ राजाको तानाशाही बहुदलीय लोकतन्त्र विरोधी शासन, महत्वकांक्षाको अन्त्य र दैनिकजसो मारिने कांग्रेस, एमालेका कार्यकर्ताको सुरक्षा निम्ति बाध्यतावश नै सही, दुई शक्तिवीच सम्झौता सम्भव हुन पुग्यो ।
संसदवादी शक्तिको नेतृत्व नेपाली कांग्रेस र यसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाले गरेका थिए भने विद्रोही शक्ति नेकपा माओवादी थियो र त्यसको नेतृत्व क. पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्थे । पछिल्लो चरणमा ठूलो पार्टी नेकपा एमाले र त्यसका नेता खड्गप्रसाद ओली त संसदवादी शक्तिका एक सहायक शक्ति र व्यक्तिमात्रै थिए ।
माओवादी विद्रोहको अवतरण, शान्ति, सम्झौता, माओवादीको मूल प्रवाहमा प्रवेश, गणतन्त्र, संविधानसभा, धर्म्निरपेक्षता सम्बन्ध निकै महत्वपूर्ण निर्णयमा गिरिजाप्रसाद कोइरालाको व्यक्तिगत निर्णयक्षमता स्मरणयोग्य थियो । त्यतिमात्रै होइन, युद्धको विश्राम, पीएलएको विघटन, संसदीय खेलमा हामफाल्ने हुँदाहुदै त्यस्तो क्रान्तिकारी माओवादी पार्टीलाई एमालेसँग विलय गर्न ‘बोल्ड डिसिजन’ गर्नेमा योद्धा क. प्रचण्डको महत्वपूर्ण भूमिकासमेत छ ।
एजेण्डा माओवादीको, नेतृत्व ओलीको !
वि. सं ००६ साल बैशाख १० गते पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठ मिलेर नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको थियो । ०२८ सालमा झापा विद्रोहको नाममा धर्मप्रसाद ढकालको हत्या ग¥यो, नेकपा मालेको एक समूहले । सीपी मैनाली, केपी ओली, आरके मैनालीलगायत त्यस विद्रोहका नेता थिए ।
पछि ०४६ सालको जनआन्दोलन सफल भएपश्चात ०४७ पुष २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) वीच एकता पुग्यो । एकतापछि नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी) अर्थात एमाले बन्यो । तत्कालीन पार्टीका नेता मदन भण्डारी पार्टी महासचिव र माक्र्सवादी नेता मनमोहन अधिकारी पार्टी अध्यक्ष बने ।
स्मरण रहोस् वि.सं ०४९ भदौ (१४–२०) काठमाडौंमा सम्पन्न एमालेका पाँचौं महाधिवेशनले मदन भण्डारीको “जनताको बहुदलीय जनवाद (जबज)” पारित भयो र उनलाई पार्टीको महासचिव पदमा पनि अत्याधिक मतले विजय गरायो । यसरी मदन भण्डारीको जबजलाई एमाले पार्टीले आरुनो मूल कार्यनीति, सिद्धान्त मान्दै आयो ।
उता ०४७ सालमा नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (मशाल), निर्मल लामा समूहको (चौम), रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारा श्रमिक संगठन, डा. बाबुराम भट्टराईको विद्रोही मसाल र रुपचन्द्र विष्ट ‘थाहा’ आन्दोलनवीच एकता गरी नेकपा (एकता केन्द्र) गठन गरियो । तथापि त्यो एकता लामो समय टिक्न सकेन । ०५१ जेठ (१६–२१) मा चितवनमा एकताकेन्द्रको सम्मेलनले बहुमतले अल्पमतमाथि कारवाही ग¥यो र नेकपा (माओवादी) पार्टीको विधिवत जन्म हुन पुग्यो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको महासचिव घोषणा गर्दै ‘जनयुद्ध’ को आधिकारिक लाइन पनि पारित ग¥यो । १० वर्षे जनयुद्धको वैधानिक शुरुवात यही सम्मेलन हुन पुग्यो । यद्यपि माओवादीको व्यक्तिहत्यासहितको जनक्रान्तिमा कांग्रेस, एमालेजस्ता बहुदलवादीका कार्यकर्ता मारिए पनि तत्कालीन दरबार (राजा) का मानिसलाई माओवादीले खासै दुःख नदिनुको के कारण थियो होला ? यो एक खोज र अनुसन्धानको विषय बन्न पुगेको छ ।
स्पष्ट नै छ, संविधानसभा, जननिर्वाचित प्रतिनिधिबाट देशको संविधान लेखिने एजेन्डा, गणतन्त्र, जनाधिकार, समावेशीकारण, समानताजस्ता महत्वपूर्ण मुद्दा माओवादी जनयुद्धले स्थापित भएका हुन् । सहिदको रगत, पसिना, बलिदानी, जनसमर्थन, त्यागको कारण देशमा यी सबै उपलब्धि सम्भव भएका हुन् । तथापि विस्तृत शान्ति सम्झौता भएकै १२ वर्ष पुग्नुअगावै त्यस्तो क्रान्तिकारी शक्ति समाप्त हुन पुग्यो । कहाँ छ,    माओवादी ? प्रचण्ड कहाँ छन् ? जवाफ कसले दिने ?
विप्लव नेकपा, वैद्य समूह या अन्य पनि आफूलाई आधिकारिक माओवादी भएको दावी गर्दछन् । तथापि जनतामा भ्रम, विवाद, अन्योलता छन् । माओवादी एजेन्डालाई प्रयोग गरेर केपी ओली र एमालेले फाइदा उठायो । निर्वाचनमा ठूलो पार्टी बन्यो र माओवादीलाई निल्यो । यो अतिवादी सोच तोड्न, सत्य हो ।
कसले संरक्षण गर्ने, उपलब्धी ?
गोरखाको क्षेत्र नं २ निर्वाचनताका निकै नै चर्चामा थियो । कारण हो–नयाँ शक्ति पार्टी संयोजक तथा माओवादीका चर्चित पूर्वनेता डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठवीचको चुनावी प्रतिस्पर्धा । त्यहाँ कस्तो गैरजिम्मेवारपना देखिन्थ्यो भने, जनयुद्धको ठूलो प्रभाव परेको जिल्ला भएको हुँदा शान्ति प्रकृयाका काम, जनयुद्धका घाइते, विस्तापितका विभिन्न समस्या कसले जिम्मेवारी लिने भन्ने सन्र्दभमा दुबै नेता जिम्मेवारी नलिने देखिए ।
बाबुरामको तर्क थियो, ‘मत जनयुद्धमात्रै होइन, कम्युनिष्ट आन्दोलन परित्याग गरी लोकतान्त्रिक शक्तिमा रुपान्तरण भैसके त्यसैले मैले जिम्मेवारी लिने कुरै भएन ।’ अर्का नेता श्रेष्ठले पनि आफू जनयुद्ध समापन भएपछि, शान्ति प्रकृयासँगै माओवादीमा प्रवेश गरेकाले जनयुद्धको जिम्मेवारी लिन नसकिने तर्क सुनिन्थ्यो ।
शान्ति प्रक्रिया टुंगिन बाँकी छ । वेपत्ता छानविन र मेलमिलाप आयोग त गठन भएका हुन् तथापि त्यसले काम गर्न सकेको छैन । कोही व्यक्ति जीवित छ, मृत्यु भयो या बेपत्ता छ, त्यसको छानविन, निक्र्योल गर्न जरुरी छ । त्यस्तै ती व्यक्तिहरुको परिवार, आफन्तबीच मेलमिलाप, राज्यद्वारा क्षतिपूर्ति, क्षमायाचना इत्यादि गरी टुंग्याउनुपर्छ । यस दिशामा राज्य, सरकार, संसद, लागिरहेको छैन । यो विडम्वना हो ।
माओवादी विद्रोह केवल जनक्रान्ति मात्रै थिएन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानता र समावेशीकरण, विधिको शासनजस्ता जनाधिकार एंव उपलब्धिहरु प्राप्त भए । त्यसमा १७ हजार जनताको बलिदानी, हजारौंको अंगभंग, लाखौंको परिवार र आफन्त गुमाएका र करोडौंको धन क्षति हुन पुग्यो । माओवादीको विद्रोहविना या यी उपलब्धि र परिवर्तन सम्भव थिएन ।
यद्यपि राज्य पुनसंरचना, पूर्णसमानुपातिक समावेशीकरणको संवैधानिक ग्यारेन्टी, जातीय, लैङ्गिक, क्षेत्रीय, धार्मिक, समुदायगत र वर्गीय मुक्तिको महत्वपूर्ण कार्यभार अझै अपूर्ण नै छ । त्यतिमात्रै होइन, राष्ट्रमा अझै विभिन्न किसिमका अतिवादी साम्प्रदायिक द्वन्द्व, सामाजिक विकृति, विभेद, अमानवता र असभ्यता जीवित नै छन् ।
वर्तमान सरकार, त्यसको नेतृत्व केपी ओली, नेकपा र यसका कार्यदिशा हेर्दा राष्ट्रमा रहेका यावत समस्याहरुको समाधान हल होला भन्ने लाग्दैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छेपारोको जस्तै रङ्ग बदलेर परिवर्तन, उपलब्धी    विरोधी शक्ति एमालेसँग एकता गर्नु दुःखद हो ।
किनभने, संघीयता, धर्मनिरपेक्षता र समावेशी मुद्दामा ओली व्यक्तिगतरुपमा र उनको पूर्वपार्टी एमाले सकारात्मक छैन । संघीयता र यसका यावत समस्याहरु सुल्झाउने, समाधान खोज्दै, समृद्धि खोज्ने भन्दा पनि संघीयता सिध्याउने र द्वन्द्वतर्फ अघि बढ्ने दुष्कार्यमा सरकारअघि बढ्दै छ । ०६२÷०६३ को जनआन्दोलनताका जनताले गणतन्त्रको नारा लगाउँदा ‘गोरु गाडा चढेर अमेरिका पुगिन्न’ भनी गणतन्त्र असम्भव देख्ने ओलीकै दुईतिहाईको सरकार निकम्मा देखिन्छ । काम गर्ने क्षमता नभए मार्ग प्रशस्त गर्नुपर्ने हुन्छ ।
स्मरण रहोस्, नेकपाकै एकताको सवालमा समेत विवादहरु धेरै छन् । दुई अध्यक्ष ओली र दाहालको पद र मत मिलेको देखिएता पनि अन्य पद र स्थानहरुमा समस्या छन् । माओवादी पार्टी कुन शक्तिको ‘ग्राण्ड डिजाइन’ मा निर्माण भयो र कुन शक्तिले सकायो, यो खोजको विषय हुन सक्छ । यद्यपि मुलुकले प्राप्त गरेका उपलब्धी र जनाधिकारको संरक्षण र सम्वद्र्धधन गर्नुपर्छ ।
— अनलाईन खवरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. सन २०१८ को बिश्वकप फुटबलको बिजेता राष्ट्र कुन हो ?  — फ्रान्स 
२. सन २०१८ का सम्पन्न एसियाली खेलकुद् प्रतियोगितामा नेपालले कुन खेलबाट रजत पदक पाएको थियो ?   — प्याराग्लाईडिङ्ग
३. सन २०१८ को मिस युनिभर्स बिजेता कुन देशको र को हुनुहुन्छ ? 
— फिलिपिन्सकी क्याटिओना ग्रे 
४. सन २०१८ मा सम्पन्न मिस वल्र्ड प्रतियोगिताको बिजेता को हुनु हुन्छ ? 
— मेक्सिकोका भनेसा पोन्स 
५. नेपालका बर्तमान प्रधान सेनापति को हुनुहुन्छ ? — पूर्णचन्द्र थापा 
६. संगीत प्रवीण भनेर नरराज ढकाललाई चिनिन्छ भने आयामेली कवी भनेर कसलाई चिनिन्छ ? 
— तिलकबिक्रम नेम्वाङ्ग 
७. सिंहदरवारमा कहिले आगलागी भएको थियो ?  — बि.सं. २०३०, असार २५ गते 
८. जैन धर्म अनुसार जम्मा कति तीर्थकरहरु भए ?  — २४ 
९. पशुपतिमा भगवान शिवलाई कसको मुकुट पहिराउने चलन छ ?  — बुद्ध 
१०. राष्ट्रिय सभाको बर्तमान अध्यक्षको हुनुहुन्छ ?  — गणेश तिमिल्सिना 
११. प्रकाशले एक सेकेण्डमा कति दुरी पार गर्छ ?  — करिव तीन लाख किलोमिटर 
१२. धान खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ? — पाँगो माटो 
१३. पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण गरिएको हो ?  — चीन 
१४. बालाजु औद्योगिक क्षेत्र कुन सरकारको सहयोगमा स्थापना भएको हो ?  — अमेरिका 
१५. “म नै राज्य हुँ” भन्ने फ्रान्सका राजा को थिए ?  – लुई चौधौं 
१६. नेपालीलाई सरकारी कामकाजको भाषा बनाउने निर्णय कहिले भएको थियो ? 
— २०२१ बैशाख २ गते
१७. जंगवहादुरपछि बेलायतको भ्रमण गर्ने राणा प्रधानमन्त्री को हुन ?  — चन्द्र शमशेर 
१८. तिव्वती पात्रो अनुसार ल्होसार भन्नाले कुन दिनलाई सम्झनु पर्छ ?  — नयाँ बर्ष 
१९. निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र कुन हो ?  — माईतीघर 
२०. बौद्धमार्गीको शास्तीय नृत्यलाई के भनिन्छ ?  — चर्या नृत्य 
२१. युनेस्कोको स्थापना कहिले भएको हो ?   – सन १९४६ 
२२. बिद्युतका पिता भन्नाले कसलाई बुझिन्छ ?  — माईकल फेराडे 
२३. बिहानको दुःख भनेर कुन नदीलाई चिनिन्छ ?  — कोशी नदी 
२४. अन्तरिक्षमा जाने पहिलो महिला को हुन ?  — भ्यालेन्तिना तेरेस्कोभा (रुस) 
२५. नेपालको लामो नदी कर्णालीको लम्वाई कति छ ?  — ५०७ किलोमिटर 
२६. ईन्द्रावती नदीको उद्गमस्थल कहाँ छ ?  — लामटाङ हिमाल 
२७. काँक्रे विहार कुन जिल्लामा पर्छ ?  — सुर्खेत 
२८. ईतिहासका पिता भनेर कसलाई चिनिन्छ ?  — हेरोडोट्स 
२९. मल्ल वंशका पहिला राजा को हुन ?  — अरी मल्ल 
३०. पाटनको श्रीकृष्ण मन्दिर कसले वनाएका हुन ?  — सिद्धिनरसिंह मल्ल 
३१. नेपालको संबिधानमा कति ओटा अनुसूचीहरु रहेका छन् ? नौ ओटा 
३२. नेपालको संबिधानमा महिलाको हक कुन धारामा उल्लेख गरिएको छ र उक्त धारामा के के व्यवस्था गरिएको छ ? — धारा ३८ 
(१) प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ । 
(२) प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ । 
(३) महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । 
(४) राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । 
(५) महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ । 
(६) सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ ।   
३३. नेपालको संबिधानमा अवशिष्ट अधिकार सम्वन्धी व्यवस्था कुन धारामा गरिएको छ ? — धारा ५८
अवशिष्ट अधिकार ः यस संविधान बमोजिम संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा यो संविधानमा कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा संघको अधिकार हुनेछ । 
३४. नेपालको संबिधानको धारा ६५ अनुसार राष्ट्रपतिको पद रिक्त कुन अवस्थामा हुन्छ ? 
निजले उपराष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, 
निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा, 
निजको पदावधि समाप्त भएमा, 
निजको मृत्यु भएमा ।

साहित्य सृजना 

कविता 

जस्तै फूल फुल्छ आगनमा पनि भिरमा पनि 
त्यस्तै आगो जल्छ मसानमा पनि मन्दिरमा पनि
भेदभाव के हो कहिल्यै पनि जानेन उसले
आँसु झरिदिन्छन् खुशीमा पनि पिरमा पनि
आफ्नै जीवनको कट्घरामा उभिएछ कैदी 
स्वीकार्दैन गल्ती सुरुमा पनि आखिरमा पनि
ब्यर्थै किन हतियार मात्र उठाउँछन् यी हातहरु 
शक्ति हुन्छ हतियारमा पनि वाणीका तिरमा पनि
बाहिर हेर्दा जतिसुकै साहासी किन नहोस
डर त लुकेकै हुन्छ कायरमा पनि बिरमा पनि
खाली हात आएर पनि खाली हातभित्रको मर्म बुझ्छ
रमाउँछ फकिर खुला आकाशमा पनि जन्जिरमा पनि
आँखाका ती हेर्ने नजरहरु स्वच्छ भएछन् भने
सुन्दरता उत्तिकै हुन्छ पाउमा पनि शिरमा पनि
पुष्पा जोशी “काली”
धनगढी, कैलाली

सुरा (रक्सी) को महिमा 

सुरा तिमी कत्ति मायाकी खानी छ्यौ,
धनिलाई पनि त्यत्ति नै माया दिन सक्ने,
अनि गरीबलाई पनि त्यत्ति नै माया दिन सक्ने
अनि तिमी कत्ति चमत्कारी छ्यौ,
कहिले त्यहि मन मस्तिष्कलाई प्रगाढ माया र 
प्रेमले पगालि दिन्छ्यौ,
कहिले त्यसैलाई सहारा मरूभूमि झैं उजाडी दिन्छ्यौ
कहिले त्यहि मस्तिष्कलाई तिमी गायक बनाइदिन्छ्यौ ,
कहिले तिमी त्यसैलाई अधिनायक बनाई दिन्छ्यौ
अनि तिमी कत्ति शक्तिशाली छ्यौ,
हरिपलाई पनि अमीर बनाइदिन सक्छ्यौ,
तिमीले चाह्यौ भने अमीरलाई हरिप बनाइदिन सक्छ्यौ
तिमीले धेरै माया गर्दा,
सडकको पेटीपनि तातो सिरक र डसना बन्न सक्छ,
तिम्रो धेरै मायाँ पाउँदा, गन्हाउने ढल पनि मीठो बास्ना बन्न सक्छ
तिमीले चाह्यौ भने आफ्नी प्रिय पत्नीलाई 
गल्लीको कुकुर बनाइदिन सक्छ्यौ,
तिमीले सोच्यौ भने पेटीको कुत्तालाई आफ्नी प्रियसी बनाइदिन सक्छ्यौ
त्यसैले त सुरा तिम्रो महिमा, 
ईश्वरको लीला भन्दा पनि अपरम्पार छ,
आजभोली त साँच्चै तिम्रो, जताततै चमत्कारै चमत्कार छ,
आजभोली त तिम्रो माया नपाउँनेहरु साना र तुच्छ हुन्छन् रे,
आजभोली त तिम्रो छेउमा नजानेहरु गँवार र पाखे हुन्छन् रे
अनि तिमी कत्ति प्रभावशाली छ्यौ,
चिन्ताग्रस्त मनलाई चिन्तारहित बनाइदिन सक्छ्यौ रे,
अनि तिमी कत्ति शक्तिशाली छ्यौ,
पाषाण हृदयलाई पनि,
चैत बैशाखमा बिरह ब्यथा पोख्ने कोइली झैं 
भाव विह्वल बनाइदिन सक्छ्यौ रे
आजभोली त तिम्रो माया पाउने ठूला बडाहरु 
अझै बाठा र टाठा हुन्छन् रे,
तिम्रो माया पाएर अस्मिता लुटिएका,
विवशताभित्र बाँधिएका चेलीबेटी पनि पवित्र र चोखा नै हुन्छन् रे
त्यसैले त तिम्रो महिमा अपरम्पार छ,
आजभोली त साँच्चै तिम्रो जताततै चमत्कारै चमत्कार छ ।
द्रौपदा भट्टराई

सूचना सन्देश बिज्ञापन 

बडीकेदार गाउँपालिका 

गाउँ कार्यपालिकाको कार्यालय
खड्यौली, डोटी 

सुदूरपश्चिम प्रदेश

बाल पोषण अनुदान रकम बिस्तार गर्ने बारे अत्यन्त जरुरी सूचना 

नेपाल सरकारको सामाजिक सुरक्षा सम्बन्धी नीति अनुसार यस बडीकेदार गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ को अन्तिम चौमासिकबाट यस गाउँपालिका भित्रका ५ वर्ष मुनीका गैर दलित बालवालिकाहरुलाई समेत दलित बालबालिका झै मासिक रु चार सय बाल पोषण भक्ता अनुदान बितरण गर्ने भएकाले यस्ता बालवालिका अभिभावकहरुले तपशिलमा उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा यही मिति २०७५ साल माध मसान्तभित्र बाल पोषण अनुदान रकम प्राप्त गर्ने बालवालिकाको नाम दर्ता  गराउन हुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल 
— आमा बुवाको नागरिकताको प्रमाण पत्र, 
— बालवालिकाको जन्मदर्ताको प्रमाण पत्र २ प्रति, 
— वालवालिकाको फोटो सहितको निबेदन

सूचना ! सूचना !! सूचना !!!

क्षयरोग एक प्रकारको सरुवा रोग हो । यो रोग स्वास प्रस्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्दछ । यो रोगको समयमै पहिचान तथा उपचार नहुँदा बर्षेनी सयौं मानिसहरुको यो रोगका शिकार भईरहेका हुन्छन् । यो रोगको समयमै पहिचान गरी उपचार हुन सकेमा सजिलै निको हुन्छ । रोगको समयमै पहिचान तथा नियमित उपचारमा सहयोग पु¥याई क्षयरोगमुक्त नगरपालिका तथा देश निर्माणमा यहाँहरुको महत्वपूर्ण सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं । 
क्षयरोगका मुख्य लक्षणहरु निम्नानुसार रहेका छन् ः 
लगातार खोकी लागिरहनु,   खानाको रुचीमा कमी आउनु 
खकारमा रगत देखा पर्नु,    स्वास बढ्नु (दम लाग्नु) 
साँझपख पसिना सहित मसिनो ज्वरो आउनु, ड्डदुव्लाउँदै जानु, ड्डछाती दुख्नु 
तथा क्षयरोगले असर गरेको अङ्ग अनुसार अन्य लक्षणहरु समेत देखिने गर्दछन् । 
उपरोक्त लक्षणहरु देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच तथा खकार परीक्षण गराऔं । 
सायल गाउँपालिका 
स्वास्थ्य ईकाई, डोटी

झाडापखलाको ब्यवस्थापन 

झाडापखलाको कारण, लक्षण र उपचार बिधि 
झाडापखलाको परिभाषा ः
यदि कुनै मानिसले दिनमा धेरैपटक दिसा गर्छ र उसको दिसा पातलो छ भने उसलाई झाडापखला लागेको हुन्छ ।
२.झाडापखला खतरनाक छ ः
यसले साना बच्चाहरुलाई रगतमासी बनाएर मार्दछ, जब शरीरबाट  धेरै पानी फाल्छ वा शरीरको तौल घट्छ । 
झाडापखलाको उपचार नुन चिनि पानीको झोलवाट ।
१.झाडापखला लागेको बच्चा र त्यसलाई उपचार गर्ने आधारभूत नियमहरु यस प्रकार छ ः
प्रसस्त मात्रामा झोल पर्दाथ दिनुहोस । जस्तै सुरक्षित उमालेको पानी, नुन चिनी पानी, भातको माड वा फलफुलको रस ।
खानेकुरा दिने र पखला लागेको बच्चालाई स्तनपान गर्न नछुटाउनुहोस 
डाक्टरले सिफारीस नगर्दासम्म औषधी दिनु हुँदैन विषेश गरी एन्टिवाईटिक औषधीले विरामीको उपचार गर्दैन नत रिहाईडेट गर्छ ।
बडीकेदार गाउँपालिका
स्वास्थ्य ईकाई, डोटी

नेपाल पूर्व प्रहरी संगठन 
जिल्ला कार्यसमिति डोटीको अत्यन्त जरुरी सूचना

पूर्व प्रहरी वा निवृत्तिभरण लिईरहेका पूर्व प्रहरीहरुलाई निवृत्तिभरण (पेन्सेन पट्टा) राखी माछापुच्छ्रे बैक लिमिटेडबाट न्युनतम व्याजदरमा ३ लाख सम्म कर्जा पाईने सुविधा भएकोले नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति डोटीबाट आजीवन सदस्यता प्राप्त गरी कर्जा लिनका लागी २०७५ साल माघ मसान्तसम्म अनिवार्य रुपमा सदस्यता ग्रहण गरी सामुहिक तथा व्यक्तिगत कर्जाको लागी निम्न कागजात सहित सम्पर्क राख्न यसै सूचना मार्फत अनुरोध गरिन्छ । 
निम्न कागजात 
१. पेन्सेन पट्टाको फोटो कपी 
२. नागरिकताको प्रमाण पत्रको फोटोकपी
३. पासपोट साईजको फोटो ३ कपी 
४. आजीवन सदस्यको प्रमाणपत्र फोटो कपी 
सम्पर्क स्थान 
नेपाल पूर्व प्रहरी संगठन 
जिल्ला कार्यसमितिको कार्यालय डोटी 
अध्यक्ष पदम प्रसाद क्षेत्री 
सम्पर्क ः ९७५९००२९५२

हार्दिक समवेदना


यस सायल गाउपालिका, गाउँ कार्यपालिकाको कार्यालयका नासु श्री लाल वहादुर वोगटीकी ममतामयी आमा दुर्गादेवी बोगटीको यही मिति २०७५ साल पुष १९ गते ८८ वर्षको उमेरमा निधन भएको खवरले मर्माहित वनाएको छ । दुःखको यस घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
तेजवहादुर डुम्रेल 
अध्यक्ष 
तथा सायल गाउँपालिका डोटी परिवार


Thursday, January 3, 2019

बिम्ब साप्ताहिक, २०७५ साल पुष १७ गते

“हाम्रो चाहाना, लागु औषध रहित स्वस्थ र सुखी जीवनको कामना ।” 
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

अझै सुरु भएन सातनाली पुल निर्माण कार्य

रामहरी ओझा/डोटी
पुष १६
तिहार लगत्तै निर्माण कार्य सुरु हुने भनिएको सातनाली सडक पुल तिहार सकिएको दुई महिना बित्दा पनि सुरु भएको छैन । 
सातनाली–मेल्लेक–बझाङ्ग सडकलाई के आई सिंह राज मार्गसंग जोड्न शिखर नगरपालिका–१० बान्डुंग्रीसैननिर सेती नदीमा पुल निर्माण गर्न २०७१ साल असार २९ गते सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार २०७४ साल असार २९ गतेभित्र पुल निर्माण भईसक्नु पर्ने थियो । तर पुलको निर्माण १० प्रतिशत पनि भएको छैन । यस अघि पनि सुस्त गतिमा भएको निर्माण कार्य लामो समयदेखि पूर्ण रुपमा रोकिएको छ । 
मुल्य अभिबृद्धि कर (भ्याट) सहित २६ करोड २० लाखको लागतमा निर्माण हुने  करीव चार सय मिटर लम्वाईको उक्त आरसिसी पुल डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसंग सम्झौता गरी निर्माण कार्य सुरु गरिएको थियो ।
पुल निर्माण हुने समयावधी समाप्त भएर थप एक बर्ष ६ महिना बितिसक्दा पुलका दायाँ र बाँया पिल्लर समेत बनेका छैनन् । उक्त पुल समयमै नवन्दा शिखर नगरपालिकाको वडा नं. ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण कार्य सुरु भएको सातनाली–मेल्लेक–बझाङ्ग सडक अलपत्र परेको छ । 
फाउन्डेसनमा समस्या 
गत कात्तिकमा पुल निर्माणमा ढिलाई हुनुको कारण सोध्दा पुलको फाउण्डेसनमा समस्या भएको पुलको साईड हेर्ने डिभिजन सडक कार्यालयका ईन्जिनियर बसन्त कुमार गायी जानकारी दिएका थिए । उनले पिल्लरको फाउण्डेसनमा रक भेटिएपछि डिएमसी मेसिनले काम नगरेको र बोर पाईलिङ्ग मेसिन ल्याउनु पर्ने भएका     कारण ढिलाई भएको जानकारी दिएका थिए । त्यतिबेला ईन्जिनियर गायीले निर्माता कम्पनीले मेसिन कञचनपुरको महेन्द्रनगर पुगेको जानकारी दिएको र अव तिहार सकिएलगत्तै काम सुरु हुने दावी गरेका थिए ।  
तिहार सकिएको पनि दुई महिना बित्न लाग्दा समेत पुल  निर्माण कार्य सुरु हुने कुनै सुरसार छैन । 
छिटो काम थाल्न पत्राचार
डिभिजन सडक कार्यालय डोटीले १० दिनभित्र काम सुरु गर्न निर्माण व्यवसायी कम्पनीलाई पत्राचार गरिसकेको ईन्जिनियर गायी वताउँछन् । उनी भन्छन् ‘१० दिनभित्र काम सुरु गर्न चेतावनी सहित हामीले निर्माता कम्पनीलाई पत्राचार गरिसकेका छौं, यदि तोकिएको अवधीका काम सुरु भएन भने आर्थिक कारवाही हुन्छ ।’ यो बिचमा डिभिजन सडक कार्यालयमा कार्यालय प्रमुख नहुँदा पत्राचार गर्न ढिलाई भएको ईन्जिनियर गायी वताउँछन् । 
लामो समयदेखि रोकिएको काम आफु साईड ईन्चार्ज भएपछि गत बर्ष सुरु गराएको ईन्जिनियर गायी गर्ने ईन्जिनियर गायी यस पटक भने पुलको काम नियमित गराउन असफल भएका छन् । उनी निर्माता कम्पनीले लापरवाही गरिरहेको स्वीकार गर्छन् ।
सधैं झुटको खेती 
कात्तिकमा बिम्ब साप्ताहिकसंग कुरा गर्दै निर्माता कम्पनी पुष्प राजेन्द्र जेभीका ईन्जिनियर राजेन्द्र साउँदले तिहारलगत्तै काम सुरु हुने दावी गरेका थिए । उनले मेसिन आईसकेको तर तिहारको समयमा कामदारहरु नपाईने भएका कारण मेसिन महेन्द्रनगरमै रहेको वताएका थिए । कामदारहरु भारतबाट ल्याउनु पर्ने भएका कारण तिहारसम्म कुर्नु पर्ने अवस्था रहेको उनले भनेका  थिए । तर तिहार सकिएको दुई महिना पुग्दा समेत न त साउँद आफु निर्माणस्थलमा पुगेका छन् न उनले भनेका कामदार र नयाँ बोर पाईलिङ्ग मेसिन पुगेको छ ।
त्यतिबेला ईन्जिनियर साउँदले भरसक आगामी असार मसान्तभित्र गाडी नै गुडाउने नत्र अधिकांश काम सम्पन्न गरिसक्ने गरी काम गरिने बताएका थिए । फाउण्डेसनको काम मात्रै समस्या भएको र फाउण्डेसनको काम सकियो भने त सजिलै अरु काम हुने उनको दावी थियो । 
तर, सोमवार चार पटक फोन गर्दा समेत उनले फोन उठाएनन् । स्थानीयका अनुसार उनी आफु त्यस क्षेत्रमा आएका पनि छैनन् । 
बहानामाथी बहाना थप्दै निर्माण व्यवसायी कम्पनी 
सुरुमा पुलको अलाईनमेण्ट नमिलेकोले ढिलो भयो भन्दै आएको निर्माण व्यवसायी कम्पनीले पुल निर्माण कार्यमा ढिलो हुँदै गर्दा नयाँ नयाँ बहाना खोज्न थालेको छ ।
फाउण्डेसनमा रक भेटिएको र उक्त रक डिएमसी मेसिनले काट्न नसकेपछि बोर पाईलिङ्ग मेसिन ल्याउनु पर्ने भन्दै केही समय लम्व्यायो । बोरपाईलिङ्ग मेसिन नेपालमा नपाईने भएकाले बिदेशबाट ल्याउनु पर्ने भन्दै थप केही समय लम्व्यायो । पछिल्लो पटक बोर पाईलिङ्ग मेसिन नेपाल आईसकेको तर मेसिन ठुलो भएका कारण निर्माण स्थलसम्म ल्याउन समस्या भईरहेको बहाना आएको छ । ‘मेसिन ठुलो भएका कारण ठुलो ट्रेलर खोज्नु पर्ने भएको छ’ निर्माण व्यवसायी कम्पनीका कर्मचारी शेरवहादुर चन्दले भने ‘अव एक साताभित्रै मेसिन यहाँ पु¥याएर हामी काम थाल्छौं ।’ उनी भन्छन् ‘एक साताभित्र काम सुरु हुन्छ, काम सुरु भएपछि म तपाईलाई फोन गर्छु ।’ 
बिश्वस्त छैनन् स्थानीयबासी 
तिहार लगत्तै काम सुरु गर्ने दावी गरेको निर्मण व्यवसायी कम्पनीले अवको एक सातमा काम सुरु गर्ने कुरामा स्थानीयबासीहरु बिश्वस्त हुन सकेका छैनन् । ‘कहिले केही भन्छन् कहिले केही भन्छन्, यिनीहरुका वहाना मात्रै हुन’ शिखर नपा–१० का ईन्द्रवहादुर बलायर भन्छन् ‘काम सुरु भएपछि मात्रै बिश्वास लाग्छ । ’
यस्तै आशंका व्यक्त गर्छन् शिखर नपा–११ का शेरवहादुर बोहरा । उनी भन्छन् ‘यो सव बहाना मात्रै हो ।’ 
‘लगत्तै काम सुरु हुन्छ भन्ने त धेरै पटक सुनेका छौं हामीले तर काम सुरु कहिल्लै हुँदैन’ स्थानीयबासीहरु भन्छन् ‘काम सुरु भएपनि दुई चार दिन हुन्छ फेरी बन्द हुन्छ ।’ चैत्रदेखि नदीमा पानीको सतह बढ्ने र काम गर्न नसकिने स्थानीयको भनाई छ ।
किन हुँदैन निर्माण व्यवसायी कम्पनीलाई कारवाही ?
२०७४ साल असार २९ गते सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो । पहिलो पटकको सम्झौता ठेक्का सम्झौता अवधी सकिएर २०७५ साल पुष मसान्तसम्मका लागि म्याद थप गरिएको थियो ।  थपिएको म्याद सकिन अव जम्मा १५ दिन बाँकी छ तर काम १० प्रतिशत पनि नभएको डिभिजन सडक कार्यालयको भनाई छ । 
यति हुँदा पनि निर्माण व्यवसायी कम्पनीलाई कारवाही भने हुँदैन । निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भिमबहादुर साउँद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख हुन । यही कारण सम्वन्धित निकायले कानमा तेल हालेको स्थानीयको आरोप छ । सातनाली पुल जस्तै सुदूरपश्चिमका अन्य जिल्लाहरुमा पनि उक्त कम्पनीले निर्माण गर्न लागेका योजनाहरु अल्पत्र परेको समाचारहरु पटक पटक आएका छन् । तर उनलाई कुनै कारवाही भएको छैन । 

सम्पादकीय 

स्थानीय तहले अवशिष्ट अधिकार पाएकै हुन त ?

स्थानीय तह, स्थानीय सरकार जे भने पनि अहिलेका अधिकार सम्पन्न स्थानीय ईकाईहरु गाउँपालिका÷नगरपालिका भएका छन् । संबैधानिक अधिकार प्राप्त यि ईकाईहरुले आफ्नो मर्जीमा जे गरे पनि बैध हुन्छ र भईरहेको पनि छ । मन लागेको दिन विदा दिन सक्ने, मन लागेको दिन कर्मचारी सरुवा गर्न सक्ने, मन लागेको दिन कार्यालय खोल्न सक्ने, मन लागेको दिन अध्ययन भ्रमण गर्न पाउने, मन लागेको दिन सरकारी पैसाले ओम शान्तिमा जान पाउने, आफ्नो व्यक्तिगत गाडी मनग्य भाडामा आफैले प्रयोग गर्ने गरी लिन पाउने, यस्ता थुप्रै “अवशिष्ट” अधिकारहरु स्थानीय तहहरुले पाएका छन् । जनताको जनताको वास्तविक आवश्यकताको कुनै परवाह हुँदैन, मात्र शासकको ईच्छा भए पुग्छ । आफुले गरेको कामले आफ्नो स्थानीय तहका कति प्रतिशत जनताले लाभ लिन्छन् भन्ने कुराको कुनै मतलव हुँदैन, मतलव हुन्छ त केवल यसबाट आफुलाई कमिसन कति आउँछ भन्ने कुराको । 
नेपालको संबिधानको धारा ५८ मा अवशिष्ट अधिकारको व्यवस्था गरिएको छ, भनिएको छ ‘यस संविधान बमोजिम संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा यो संविधानमा कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा संघको अधिकार हुनेछ ।’ यस्तै अवशिष्ट अधिकार अहिले स्थानीय सरकारहरुले प्रयोग गरिरहेका छन् । मनपरी निर्णय छ । 
गाउँसभा÷नगरसभा स्थानीय तहहरुको आन्तरिक अभ्यासको थलो हो । स्थानीय तहको कानुन निर्माण गर्ने, कानुन कार्यान्वयनका लागि योजना र बजेट तर्जुमा गर्ने र बिगतका कामहरुको समीक्ष गर्ने काम सभाहरुको हो तर गाउँसभा÷नगरसभामा गैर सभासद्हरुको बाहुल्यता देखिन्छ । व्यवस्थापकीय अभ्यास हुँदैन, बत्ति बाल्ने र ताली पिट्ने अभ्यास मात्रै हुन्छ । कुन कानुन अन्तरगत गाउँसभाहरु यसरी हुँदैछन् त ? यो अवशिष्ट अधिकार हो । यद्यपी अबशिष्ट अधिकारको अपव्याख्या होला तर कानुनमा हुँदै नभएको कुरा गरेर स्थानीय तहहरुले के वहादुरी गर्न खोजेका हुन, थाह भएन । 
कर्मचारी छनौटका निश्चित बिधि र प्रक्रिया हुन्छन् । आफ्ना कार्यकताहरु पाल्नका लागि बिधि प्रक्रिया सवै मिचेर मनलाग्दी कर्मचारी भर्ना गर्ने अनि बचाउ गर्न ‘दैनिक ज्यालादारीमा राखेका हौं’ भन्दै हिड्नेहरुले जनताको प्रतिनिधित्व गर्न सक्दैनन् । स्थानीय तहको आफ्नो व्यवस्थित कानुनी प्रक्रिया छ । संबिधानले, स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका अधिकारहरु स्पष्ट रुपमा तोकिदिएको छ, त्यो भन्दा बढी गर्न खोज्नु कानुन विपरित हो । जनताका आधारभूत आवश्यकतासंग जोडिएका स–साना कुराहरुमा ध्यान दिन छोडेर मोटो कमिसनको लोभमा महंगा योजनाहरुमा लाग्नु जनताका लागि दुर्भाग्य हुन्छ । पैदल हिड्ने बाटो नभएका ठाउँमा बाटो निर्माण गर्न बजेट छुट्याउन नसक्ने तर कमिसनको लोभमा बस चलाउन सजिलो मान्ने हो भने यसले स्थानीय तहप्रति जनताको बितृष्णा मात्रै जाग्नेछ । 
त्यसैले आदरणीय जनप्रतिनिधिहरुले बेलैमा ध्यान दिनु जरुरी छ । आफुले शासन सत्ता सम्हालेको यो अवधीका जनपक्षीय कति काम गर्न सकियो ? व्यक्तिगत स्वार्थका लागि कति योजनाहरु बनाईयो ? एक पटक आत्मसमीक्षा गर्नु जरुरी छ । जनताले भोट दिएर जिताएका हुन, यसको अर्थ आफुले तिरेको करमा मौजमस्ती गर भनेका होईनन् । “हामीले तिरेको करबाट, हामीलाई सरल   तरिकाले सेवा सुबिधा प्रधान गर” भन्ने जनताको चाहाना हो । जताको चाहना विपरित हुने कुनै पनि कार्यले तपाईको भबिश्य सुखमय हुने छैन, क्षणिक आनन्द लिनु सामान्य बिषय हो । 

थप समाचार 

नमुना नगर बनाउने नगर प्रमुखको घोषणा

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले नगरपालिकालाई नमुना वनाउने बताएकी छिन् । 
सोमवार चौथो नगरसभाको उद्घाटन सत्रमा उनले सो कुरा वताएकी हुन । मलासीले आफ्नो कार्यकालमा नमूना काम गरेर देखाउने बताईन । उनले भनिन् ‘मैले चुनावी घोषणा पत्रमै नमुना काम गरेर देखाउने उल्लेख गरेकी थिएँ, सोही अनुसार काम पनि गर्छु ।’ उनले त्यसका लागि आफुले कसैसंग भिख माग्नु परे पनि तयार भएको वताईन । 
‘नगरपालिकाका भित्रका हरेक सम्भावनाहरुलाई अवसरका रुपमा लिएर अगाडी बढ्छौं’ उनले भनिन् ‘नगरपालिकाको विकासका लागि भौतिक निर्माणका साथै अन्य विकासका कामलाई जनभावना अनुरुप सञ्चालन गर्छौं ।’ नगर प्रमुख मलासीले नगर क्षेत्रभित्रको प्राकृतिक स्रोत साधनहरुको उच्चतम् प्रयोग गरी नगरपालिकालाई समृद्ध वनाउन सकिने वताईन । नगरपालिका भित्रका अतिक्रमित सार्वजनिक जग्गा जमिन नगरको स्वामित्वमा लिने, शैक्षिक गुणस्तर सुधार र प्राबिधिक शिक्षामा जोड् दिने, नगर क्षेत्रभित्रका सडकहरुलाई व्यवस्थित गर्ने, बसपार्क, उद्यान निर्माण, नगरभित्रका ऐतिहासिक धार्मिक साँस्कृतिक पर्यटकीय क्षेत्रको संरक्षण संवद्र्धन गर्ने, वडा वडामा खेल मैदान निर्माण गर्ने, सडक, बत्ती, खानेपानी सबै बस्तीमा विस्तार गर्ने, स्वास्थ्य र सररफाईमा जोड दिने, कृषिका सम्भावनाहरुलाई पकेट क्षेत्रका रुपमा विस्तार गर्दै लैजाने लगाएतका कुरालाई प्राथमिकता साथ अगाडी बढाउने उनले बताइन् ।
 नगर सभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका प्रमुख राम वहादुर ऐरले दिपायल सिलगढी नगरपालिकाले गरेका कामहरुको प्रसंसा गरे । उनले डोटी अन्य स्थानीय तहहरुले दिपायल सिलगढी नगरपालिकाबाट सिक्नु पर्ने समेत बिचार राखे । उनले नगरपालिकालाई समृद्ध वनाउने तर्फ जनप्रतिनिधिहरु सवै क्रियासिल हुनु पर्ने वताए ।
डोटीका प्रमूख जिल्ला अधिकारी यादव सुवेदीले अहिलेका स्थानीय तहलाई निति, नियम निर्माण, जनभावना अनुरुप तिव्र रुपमा काम सम्पन्न गर्नुपर्ने र भ्रष्टाचार मुक्त बनाउनुपर्ने तीन वटा चुनौति रहेको र सोहि अनुसार काम गर्न आग्रह गरे ।

भूकम्प प्रतिरोधी भवन वन्दै

कर्ण चन्द/डोटी
पुष १६
डोटीमा पहिलो पटक प्रबलिकरण बिधिबाट बिद्यालयका भबन निमार्ण कार्य सुरु गरिएको छ । 
माटोको गारो लगाएर निर्माण    गरिएका पुनर्निर्माण हुन सक्ने बिद्यालयका भबनलाई प्रबलिकरण (रेक्टो फिटिङ्ग) बिधिबाट सायल, आर्दश गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका बिभिन्न वडाका नौ बिद्यालयका २० वटा भबनलाई प्रबलिकरण बिधिबाट निर्माण गरिएको   हो ।
भूकम्पको जोखिमबाट बच्न पुर्ब तयारी स्वरुप जापानी प्रबिधिबाट भबनको निमार्ण भएको हो । ७ रेक्टर स्केलसम्मको भूकम्प आउँदा लचकिने लचकदार उक्त भबन त्यो भन्दा माथी आएमा एकै पटक नभत्किने गरेर ग्याबीन जालीको प्रयोग गरेर न्यून जोखिम भएको भबन निर्माण गरिएको हो ।
वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको सहयोगमा सामुदायिक बिकास केन्द्र  (सिडिसी) द्वारा सञ्चालित सामुदाय तथा बिद्यालय बिपद् पुर्ब तयारी तथा उत्थानशिलता परियोजना अन्तरगत तीन करोड ७९ लाख २८ हजार ६ सय ८९   रकमको लागतमा २० वटा भबन निर्माण गरिएको सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक प्रयागराज कापडीले बताए । उनले भने ‘बिद्यालय सुरक्षा ढाँचालाई कार्यान्वयन गर्दै बिद्यालय सुरक्षित तथा प्रबलिकरण प्रर्बद्धन गर्नु कार्यक्रमको उदेश्य हो ।’
प्राय जीर्ण भबन रहेका बिद्यालयमा उक्त परियोजना संचालन गरिएको हो । भूकम्पीय रुपमा बिद्यालयको सम्पूर्ण भबन जोखिममा रहेको बेला रेक्टो फिटिङ्ग बिधि मार्फत भबन निर्माण भएपछि निकै राहतको अनुभुति भएको आर्दश गाउँपालिका वडा नं. ५ पीडमा रहेको सरस्वती आधारभुत बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दलबहादुर धामीले बताए । बिद्यालयका भबन निर्माण भएपछि अबिभावकमा पनि खुशी छाएको आदर्श गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नरेन्द्र रोकायाले बताए । उने भने ‘बैशाख १२ गते भूकम्प गएपछि केही समय यस्तो बिद्यालयमा छोराछोरी पठाउन साह्रै चिन्ता लाग्थो, अब नयाँ प्रबिधिको प्रयोग गरेर हामी नानीबाबुलाई बिद्यालय पठाउँदा कुनै चिन्ता हुँदैन ।’
प्रबलीकरण बिधिमा ज्याकेट प्रबिधि प्रयोगमा ल्याएकाले भबनबाट हुने क्षेती न्यून हुने ईन्जिनियर हरी बुढाले बताए । बुढाले भने ‘भित्र पर्खाल हुन्छ, बाहिर ग्याबिन तारले बनेको हुन्छ त्यस बाहिर प्लस्टर गरिएको हुन्छ ।’ बुढाले थपे ‘पहिलो कुरा यो खस्दैन, खसेमा पनि टुक्रा टुक्रा भएर खस्छ, भत्किने बेलासम्म नानीबाबु बाहिर खुला चौरमा पुग्न   सक्छन ।’
सामुदायिक बिकास केन्द्र डोटीले अबलम्बन गरेको भूकम्प प्रतिरोधी घर निर्माणका लागी प्रबलिकरण बिधि गाउँपालिकाले पनि अबलम्बन गर्ने आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले बताए । अध्यक्ष रोकायाले भने ‘हामीले सकेसम्म भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने प्रयास गर्ने छौंै ।’ बिद्यालयमा संरचना निर्माण गर्नुका साथै सामुदायका ब्यक्तिलाई पनि भूकम्पको जोखिमबाट बच्नका लागी जनचेतना दिने गरिएको सामाजिक परिचालक जमुना कुँवरले बताईन ।

संगठित हुँदै बिदेशबाट फर्केकाहरु

रोजगारीको लागि तेश्रो मुलुक गई फर्केका नेपालीहरु संगठित हुन थालेका छन् । 
बिदेशमा रहेर आफुहरुले सिकेको सीप र आर्जन गरेको रकमलाई देश निर्माण लगाउने र अव बैदेशिक रोजगारमा जानु नपर्ने गरी आफ्नै देशमा उत्पादनमुलक काममा लाग्ने उद्देश्यका साथ बैदेशिक   रोगजारबाट फर्केकाहरु संगठित हुन थालेका हुन । ‘रिटर्नी माईग्रेंट नेपाल’ नामक गैरसरकारी संस्था स्थापना गर्दै देशव्यापी रुपमा आफुहरु संगठित भईरहेको संस्थाका केन्द्रीय सल्लाहकार राजेन्द्र देवकोटाले जानकारी दिए । 
रिटर्नी माईग्रेंट नेपाल, डोटीको पहिलो जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा भाग लिन डोटी पुगेका केन्द्रीय सल्लाहकार देवकोटाले आफुहरुले बिदेशमा बसेर तीन कुराको महत्व बुझेको र ती तीन कुरा देश निर्माणमा लगाउन ईच्छुक रहेको वताए । ‘हामीले बिदेशमा बसेर समय, परिश्रम र पैसाको महत्व राम्रोसंग बुझेका छौं’ देवकोटाले भने ‘त्यसकारण हामी देशमै श्रम गर्न चाहान्छौं ।’ उनले बिदेशमा गएर आफुहरुले भोग्नु परेको पीडा अव अरु कसैले पनि भोग्नु नपरोस भन्ने आफ्नो चाहना रहेको वताए । 
‘बिदेशमा काम गर्न जाने नेपालीले जोखिमपूर्ण र निकृष्ट प्रकारको काम गर्नु पर्ने बाध्यता छ’ देवकोटाले भने ‘तर हामीहरु घर भन्दा राम्रै छ भन्छौं, ठुला ठुला बिल्डिङ्गका अगाडी गएर फोटो खिचाएर फेसबुकमा राख्छौं, अनि अरु युवाहरुलाई पनि बिदेश जान लोभ्याई रहेका हुन्छौं ।’ उनले बिदेशमा हामीले सोचे जस्तो नभएको वताए । 
नेपालमा श्रमको सम्मान नभएका कारण कयौं युवाहरु अनेकौं सपना बोकेर बिदेश जाने गरेको र आफुले सोचे जस्तो नभएपछि डिप्रेसन समेत हुने गरेको उनी देवकोटाले वताए । ‘त्यसैले हामीले बिदेशबाट फर्केर आएका व्यक्तिहरुलाई नेपालमै अवसर सृजना दिनका लागि यो संस्था स्थापना गरेका हौं’ देवकोटाले भने ‘हामीले सिकेको सीप हामी अव नेपालमै लगाउँछौं ।’ 
संस्थाले गठन गरेको लगानी बोर्डका सदस्य समेत रहेका देवकोटाले आफुहरुको सवालमा नेपाल सरकार सकारात्मक रहेको वताए । उनले थपे ‘हामी अव उत्पादनमुखी कार्यमा जोडिनु पर्छ र देशलाई समृद्धिको बाटोमा लैजानु पर्छ ।’ 
कार्यक्रममा संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक चेतन थापाले देशको अर्थतन्त्रको ठुलो हिस्सा रेमिटेन्सबाट चलेको बताउँदै तर राज्यले आफुहरुलाई वेवास्ता गरेको वताए । 
जिल्ला सम्मेलनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख रामवहादुर ऐरले बिदेशमा सिकेको सीपलाई देश निर्माणमा लगाउन बैदेशिक रोजगारबाट फर्केकाहरुलाई आग्रह गरे । ‘तपाईहरुले बिदेशमा बसेर समयको महत्व बुझ्नु भएको छ’ ऐरले भने ‘त्यसैले तपाईहरुले समाजमा उदाहरणको रुपमा काम गर्नुहोस् ।’
प्रथम जिल्ला सम्मेलनले कर्णवहादुर बोहराको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पुस्कर साउँद, सचिवमा शंकर साउँद, सहसचिव कृष्ण साउँद र कोषाध्यक्ष नारद बिष्ट रहेका छन् । यस्तै सदस्यहरुमा कर्णवहादुर साउँद, पदम धामी, ईन्द्रवहादुर बोहरा, भिमवहादुर बोहरा र लोकवहादुर कुमाल रहेको संस्थाका सुदूरपश्चिम समिति सदस्य भिमवहादुर साउँदले जानकारी दिए । 

धनगढीमै घर भएका सांसदहरुले भाडा रकम फिर्ता गर्नु पर्ने

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले राजधानी धनगढीमै घर भएर पनि घर भाडा लिने प्रदेश सभा सदस्यहरुले उक्त रकम फिर्ता गर्नु पर्ने बताएका छन् । 
‘धनगढीमा घर हुने सांसद्हरुका लागि यस्तो व्यवस्था ऐनमा पनि छैन, जो जोले लिनु भएको छ उहाँहरुले फिर्ता गर्नु पर्दछ’ प्रदेश सरकारका प्रवक्ता समेत     रहेका मन्त्री शाहले भने ‘हामी आफै कानुन निर्माण गर्ने अनि आफैले वनाएको कानुनको उलंघन गर्ने हो भने राम्रो हुँदैन ।’ 
धनगढीमा आफ्नै घर भए पनि नेकपा, नेपाली काँग्रेस र राजपाका गरी ११ जना सांसदले आवास खर्च वाफत घर भाडा रकम प्रदेश सभा सचिवालयबाट बुझेका छन् । 
मन्त्री शाहले प्रदेश सरकारका मन्त्रीहरुले दोहोरो नभइ कानूनले व्यवस्था गरे बमोजिम इन्धन लिइरहेको दावी      गरे । ‘असोज १७ गते प्रदेश सभाबाट पारित भएको प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा सम्बन्धीको विधेयकमा मुख्यमन्त्रीले आवश्यकतानुसार र मन्त्रीहरुले मासिक दुई सय ५० लिटर ईन्धन पाउने व्यवस्था गरिएको छ’ उनले भने ‘हामीले कार्तिक, मंसिरको मात्रै त्यो सुविधा पाएका छौं ।’
मन्त्रीहरुले अझै एक हजार दुई सय ५० लिटर इन्धन लिनै बाँकी रहेको उल्लेख गर्दै उनले थपे ‘सरकारलाई धेरै आर्थिक भारमा किन पार्ने भनेर हामीले लिन बाँकी इन्धन लिएका छैनौं ।’ उनले मन्त्रालयको स्वीकृत कार्यक्रममा जाँदा इन्धन सुविधा लिने गरेको बताए । 
प्रदेश योजना आयोग गठनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानूनी स्वीकृति दिइसकेको मन्त्री शाहले जनाए । उनले सञ्चार ऐन बनाउनका लागि सरोकारवालासंग छलफल गरेर अगाडि बढ्ने बताए । 
मन्त्रालयहरुमा पर्याप्त कर्मचारी नहुँदा ऐन, कानून बनाउनमा ढिलासुस्ती भएको भन्दै मन्त्री शाहले अब कानून तर्जुमा मस्यौदा समिति छिट्टै गठन गर्ने बताए । समिति गठनपछि कानून निर्माणले तिव्रता पाउने अपेक्षा गरेको उनले  वताए । 
मन्त्री शाहले हिउँदे अधिवेशन पुष तेस्रो साताबाट सुरु हुने बताए । यसैगरी, दुई जना सांसद्लाई उपचार खर्च दिने क्याबिनेटले निर्णयको बचाउ गर्दै मन्त्री शाहले भने ‘प्रदेश सरकारले केहि राहत दिनु पर्दछ भन्ने हेतुले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा उपचार खर्च दिने मन्त्रिपरिषदले निर्णय गरेको थियो ।’ 
मन्त्रिपरिषद् बैठकले दुर्घटनामा परेका नेकपाका सचेतक तारा लामा तामाङलाई ६ लाख र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद् नन्दाकुमारी बमलाई एक लाख रुपयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तै, बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका  परिवारलाई न्याय र दोषीलाई कारबाही गर्नका लागि प्रदेश सरकार इमानदारीका साथ प्रयास गरिरहेको बताउँदै मन्त्री शाहले भने ‘अहिलेसम्म उपलब्धी भएको छैन, सत्य कुरो यहि हो ।’  
यसैबीच, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट हालसम्म ३४ वटा विधेयकलाई सैद्धान्तिक सहमति दिएको मन्त्री शाहले जानकारी दिए । जसमध्ये १७ वटा विधेयक प्रदेश सभाबाट पारित र प्रमाणिकरण भइसकेका छन् । बाँकी १७ वटा फिर्ता आएको छ । सो मन्त्रालयले हालसम्म चार नियमावली, १० कार्यविधि, दुई निर्देशिका र एक गठनादेशलाई सैद्धान्तिक सहमति प्रदान गरेको जनाएको छ । सोही मन्त्रालयबाटै दुई कार्यविधि र चार नियमावली अगाडि सारिएको जनाइएको छ । मन्त्री शाहले प्रदेश सरकारले आफ्नो गति लिन थालेको पनि जानकारी दिए ।

बेसहाराको सहारा बन्दै दृष्टि फाउण्डेसन

करीव तीन महिना अघि सेती अञ्चल अस्पताल धनगढीको धनगढीको आकास्मिक कक्ष बाहिर करीव ६५ बर्षीया एक महिला भेटिईन । उनी २१ दिनदेखि त्यतैतिर भेटिदै आएकी थिईन । मानसिक स्वास्थ्य समस्या भएकी ति महिलालाई कसैले पनि खोजी गरेन । 
ति महिलावारे प्रहरीले दृष्टि फाउण्डेसन नामक संस्थालाई जानकारी दियो । नाम, ठेगान केही नखुलेकी ति महिलालाई दुई महिनासम्म फाउण्डेसनले उनको स्याहार ग¥यो । उनको उपचार सम्भव हुन सकेन । उनको मृत्यु भयो । एक वेवारिसे व्यक्तिको मृत्यु भएमा शव ठेगान लगाउने जिम्मा नगरपालिकाको हुन्छ तर ति महिलाको अन्तिम संस्कारको जिम्मा पनि दृष्टि फाउण्डेसन स्वयंले लियो । हिन्दु बैदिक बिधि अनुसार उनको अन्तिम संस्कार गरियो । 
“हामीले उहाँको बिषयमा जानकारी पाएपछि उद्दार गरेर संस्थामा लग्यौं’ दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले भनिन् ‘जव उहाँको मृत्यु भयो हामीले आफैले दाह संस्कार ग¥यौं ।’ उनले ति महिलाको चितालाई आफैले दागवत्ती दिएको वताईन । शरीरमा पुरै घाउ भएको र फोक्सोमा पानी जमेको अवस्थामा भेटिएकी ति महिलालाई बचाउन नसकेको मा दुःखी छिन् अध्यक्ष कल्पना । तर उनले उनको शवलाई भने बेवारिसे हुन दिईनन् । भन्छिन् ‘हामीसंग दुई महिना बस्नु भयो, माया लाग्छ, त्यसैले हामीले बैदिक बिधि अनुसार उहाँको अन्तिम संस्कार ग¥यौं ।’ संस्थाका सवै सदस्य उनको मलामी भएर गएका थिए ।
ति महिला जस्तै सहाराबिहिन व्यक्तिहरुको सहारा बन्दैछ दृष्टि फाउण्डेसन । बेवारिसे व्यक्तिहरु, मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई संस्थाले स्याहार गर्ने गरेको अध्यक्ष भट्ट वताउँछिन् । ‘अहिले हाम्रो स्याहार केन्द्रमा १६ जना व्यक्तिहरु रहेका छन्’ भट्टले भनिन् ‘पाँच जनालाई हामीले आफन्तहरुको जिम्मा लगाईसकेका छौं ।’ 
कुनै पनि व्यक्तिले सहारा नभएकै कारण सडक पेटीमा, गल्लीमा जंगलमा बास बस्न नपरोस र बेवारिसे भएर मर्न नपरोस भन्नका लागि आफुहरुले दृष्टि फाउण्डेसन स्थापना गरेको भट्टले बताईन । उनले भनिन् ‘बिशेषगरी बृद्धबद्धाहरु हाम्रो संस्थामा छन् ।’

शिखरमा पनि नगर बस

डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर बस सञ्चालन गरेको एक बर्ष पुग्नै लाग्दा शिखर नगरपालिकाले पनि नगर बस सुरु गरेको छ । 
शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले आईतवार नगर वस सेवा उद्घाटन गरेका छन् । नगर क्षेत्रभित्र संचालन हुने बस सेवा नगरपालिकाले आफ्नै स्रोतमा संचालन गर्न लागेको हो । नगर बसहरु डोटीको दिपायल देखि डडेल्धुराको रडुवा खोलासम्म सञ्चालन हुने नगरपालिकाका प्रेस सल्लाहकार योगेन्द्र बलायरले जानकारी दिए । नगरपालिकाले दुई बस संचालनमा ल्याएको हो ।
नगरबासीहरुलाई आउजाउँ गर्न समस्या भएको र अहिलेको आवश्यकता पनि भएको हुँदा नगर बस सेवा सुरु  गरिएको शिखर नगरपालिकाका प्रमुख जोशीले बताए । उनले भने ‘यहाँका नगर क्षेत्रका जनतालाई स्थानीय यातायातको निकै समस्या थियो, त्यसैले यो निर्णय   ग¥यौं ।’ उनले नगर क्षेत्रको यातायातका लागी नगरबासीलाई सुबिधा हुने बिश्वास समेत व्यक्त गरे । ५६ लाख ६० हजारको लागतमा बस खरिद गरिएको शिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत  धर्मराज बिनाडीले जानकारी दिए । 
स्थानीय तहहरुले बस सेवा सञ्चालन गर्दा बिगत लामो समयदेखि सेवा दिदै आएका जीपहरु भने बिस्थापन हुने अवस्थामा पुगेका छन् ।

छोटकरी समाचार 

के आई सिंहमा अडियो नोटिस बोर्ड

डोटीको के आई सिंह गाउँपालिकाले जनतालाई सरल तरिकाबाट सुचना प्रदान गर्ने उद्देश्यका साथ अडियो नोटिस बोर्ड सेवा सुरु गरेको छ ।
गाँउपालिकाका कुनै पनि सूचना आबश्यक परेमा सेवाग्राहीहरुले १६१८०–७०७०९४०१ नम्वरमा फोन  गरेर आफुलाई चाहिएको सूचना प्राप्त गर्न सक्ने बताईएको छ ।
उक्त नम्वरमा फोन गर्दा कुनै पनि पैसा समेत नलाग्ने गाउपालिकाले जनाएको छ । गाँउपालिकाले अडियो बोर्ड सूचना प्रणाली सुरु गरेसंगै स्थानीयले घरमा बसीबसी सूचना प्राप्त गर्न सक्ने गाउँपालिकाले जानकारी दिएको छ ।

दुई गाउँपालिकालाई एम्वुलेन्स हस्तान्तरण

डोटीको जोरायल र बडीकेदार गाउँपालिकालाई  एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
एम्बुलेन्स नहुँदा स्थानीयवासीलाई छिटो, छरितो स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा डोटी जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी आनन्द विष्टको पहलमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
एक गाउँपालिकामा रु ११ लाख गरी दुई गाउँपालिकाको लागि कुल रु २२ लाखको लगानीमा आफूले पहल गरी एम्बुलेन्स सहयोग हस्तान्तरण गरेको विष्टले जानकारी दिए ।
विष्ट अमेरिकामा बस्दै आएका छन् ।

खेल समाचार 

खप्तड गोल्डकपमा आर्मीलाई निषेध

नेपाल आईस तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकप त्रिभुवन आर्मी क्लवले खेल्न नपाउने भएको छ । 
‘ए’ डिभिजन लिग खेलिरहेको त्रिभुवन आर्मी क्लबलाई अनुशासनको कारवाही भन्दै खप्तड गोल्डकपमा सहभागि नगराउने आयोजकले बताएको छ । मुख्य प्रायोजन सम्झौता गर्ने कार्यक्रममा संचारकर्मीहरुसंग कुरा गर्दै  आयोजक सुदूरपश्चिम–११ क्लवका अध्यक्ष सुरेश हमालले आर्मीलाई सहभागी      नगराउने निर्णय लिएको बताए । 
गत वर्ष सर्लाहीमा भएको राजश्री गोल्डकपको खेलका क्रममा मैदानमै आर्मीका खेलाडीले सुदूरपश्चिमका खेलाडीमाथी हातपात गरेका थिए । उक्त घटनाको कारवाही स्वरुप यो प्रतियोगितामा सहभागिता नगराइएको अध्यक्ष हमालले बताए । पछिल्ला वर्षमा आयोजना भईरहेका विभिन्न खेलहरुमा आर्मी क्लवको  अनुशासन राम्रो नदेखिएको बताउँदै अध्यक्ष हमालले भने ‘आफु जित्दा राम्रो हुने, हार्न लाग्दा कुटपिटमा उत्रने आर्मीको व्यवहार मन नपरेकै कारण यो प्रतियोगितामा सहभागिता नगराउने निर्णय भएको हो ।’ 
मोफसल क्षेत्रको सर्वाधिक पुरस्कार रासी भएको प्रतियोगिता पुष २३ गतेदेखि सुरु हुँदैछ । करीब एक करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगतामा विजेताले २१ लाख एक रुपैयाँ तथा उपविजेताले १० लाख एक रुपैयाँ प्राप्त गर्नेछन् । 

रुस्लान डिपिएल एक हप्तापछि स¥यो

माघ १९ गते देखि सुरु हुने भनिएको रुस्लान डिपिएल क्रिकेट प्रतियोगिता एक हप्ता पछाडी परेको छ । 
नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट (वान डे) तथा टि–२० खेलका कारण रुस्लान डिपिएल सञ्चालनको मितिमा परिवर्तन गरिएको आयोजक पक्षले जानकारी दिएको छ । 
डिसिएद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा रुस्लान डिपिएल सञ्चालन हुने समयमा नै नेपाल र युएईबीच एक दिवसीय तथा टि–२० खेलहरू हुने भएकाले डिपिएल एक सातापछि सारिएको उल्लेख छ ।
डिसिएका अध्यक्ष सुवास शाहीद्वारा जारी विज्ञप्तिमा खल सरेको जानकारी गराईएको छ । अब यस पटकको रुस्लान डिपिएल माघ २६ गतेदेखि फागुन ११ गतेसम्म चल्ने जनाइएको छ । भने अनलाइन फार्म भर्ने समय पनि एक हप्ताका लागि बढाएर पुस १७ गतेसम्म थपिएको छ । पुस १२ गते गर्ने भनिएको खेलाडी छनोट (अक्सन) अब पुस १९ गते गरिने विज्ञप्तिमा उल्लेख छ ।

चलचित्र/मनोरञ्जन 

“टुल्की” मा बेनिशा हमाल

भर्सटायल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गर्ने दौडमा रहेकी अभिनेत्री बेनिशा हमाल अव चलचित्र “टुल्की” मा देखिने भएकी छिन् । 
बहुपति प्रथामा आधारित “टुल्की” मा बेनिशाको भूमिका करीव करीव महाभारत कथाकी द्रोपदीको जस्तो छ । उनी पाँच पतिकी पत्नी हुनेपछिन् । 
लक्ष्मण सुनारले निर्देशन गर्ने उक्त चलचित्रमा बहुपति प्रथालाई प्रष्ट्याईने छ । एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ । हिमाली जिल्ला मुस्ताङमा अझै बहुपति प्रथा कायम छ । निर्देशक सुनारले फिल्ममा बेनिशा नै फिट हुने भएकाले अनुबन्ध गरेको बताए । उक्त चलचित्रको छाँयांकलन माघ १५ बाट हुने सुनारले बताए । 
अभिनेत्री बेनिशा हमालको हातमा करीब ६ महिनादेखि कुनै प्रोजेक्ट छैन । गत वर्ष उनका दुई फिल्म रिलिज भएका थिए ‘झ्यानाकुटी’ र ‘ब्ल्याइन्ड रक्स’ । दुबै फिल्म बक्सअफिसमा असफल भएका थिए । 
‘झ्यानाकुटी’ मा गाउँकी एक विवाहित महिलाको भूमिका निर्वाहा  गरेकी उनले ‘ब्ल्याइन्ड रक्स’ मा दृष्टिबिहीन सृष्टि केसीको भूमिका निभाएकी थिइन् । दुई फिल्ममा उनको कामको प्रशंसा भएको थयो । ‘ब्ल्याइन्ड  रक्स’ बाट यस वर्ष उनले केही फिल्म अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी छन् । 
निर्देशक सुनारकै कथा रहेको फिल्म द पाल्मा ग्रुप र काफिया मिडियाको  ब्यानरमा बन्न लागेको हो । शेखर लामा र हरिकुमार श्रेष्ठले फिल्मलाई संयूक्त रुपमा निर्माण गर्नेछन् । डोल्पामा छायांकन हुने फिल्मलाई रोहित विक्रम कार्कीले खिच्नेछन् । बाँकी कलाकार भने चाँडै छनोट गरिने निर्देशकले बताए । 

पुजा बनिन् “मिस पूर्वाञ्चल”

‘मिस पूर्वाञ्चल २०१८’को उपाधि पुजा श्रेष्ठले जितेकी छिन् । उपाधीको ताजसंगै पूजाले स्कुटी र हङकङ भ्रमणको मौका पाएकी छिन् । 
सुनसरीको धरानमा आयोजित मोफसलको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीतामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्ट रनरअप भएकी छिन् । उनले नगद एक लाख सहित अन्य विभिन्न पुरस्कार प्राप्त गरेकी छिन् । 
इटहरीकी तपस्या रणपहेली सेकेन्ड रनरअप बन्न सफल भएकी छिन् । उनले नगद ५० हजार र विभिन्न पुरस्कार प्राप्त गरिन् । यस्तै, बेष्टवाक र मिस ट्यालेन्टको उपाधि सोनेता दाहाल, मिस पब्लिक च्वाइस र मिस इन्टिलेक्चुअलको उपाधि रुसाली केसीलाई प्रदान गरियो । मिस फ्रेन्डसिप सलिना राजवंशी घोषित हुँदा फेस अफ डिभाइन आकृती आचार्य र मिस फिटनेश स्वस्तिका विसुंखे हुन सफल भइन् । 
सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको यो प्रतियोगीताको विजेताले ‘मिस नेपाल’मा सिधै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

लेख 

नेपालको राजनीतिमा निम्न पूँजीपति चरित्र

समिर सिंह
नेपालको सामाजिक, राजनीति तथा त्यसको अर्थनीतिका बारेमा निकै चर्चा हुने गरेको छ । तर, यसको दार्शनिक पक्षको पनि चर्चा गरिनुपर्छ । किनभने यी सबै अन्तरसम्बन्धित विषयहरु हुन् ।
दर्शनशास्त्र वृहत विषय हो । तर यहाँ चर्चा, दर्शन शास्त्रको क्षेत्रमा एउटा भड्कावको रुपमा देखा पर्ने निम्न पुँजीवादी चरित्रका बारेमा गर्न खोजिएको छ । यसप्रकारको चरित्रले एउटा नेता, पार्टी, सरकार, समाज आदिलाई कसरी प्रभावित गर्छ ? यसको प्रभावका कारण कुनै पनि व्यक्ति, पार्टी तथा मुलुकको किन प्रगति हुन सकिरहेको हुँदैन ? यस लेखमा यिनै प्रश्नहरुमा चर्चा गरिने छ ।
निम्न पुँजीवादी चरित्रलाई दुई प्रकारले व्याख्या गर्न सकिन्छः एउटा  आत्मगत र अर्को वस्तुगत । दार्शनिक रुपमा भन्नुपर्दा आफूलाई प्राथमिकता दिएर गरिने निर्णय एकप्रकारको निम्न पुँजीवादी हो । कुनै पनि घटना तथा गतिविधिले आफूलाई प्रभाव पार्छ कि पार्दैन ? त्यो घटनाले हाम्रो सोचाइ तथा महात्वाकांक्षासित मेल खान्छ कि खाँदैन ? यदि प्रभाव पार्छ अथवा महात्वाकांक्षासित मेल खान्छ भने त्यो ठीक, अन्यथा गलत । यदि यसप्रकारको दृष्टिकोण निर्माण भयो भने यसलाई एकप्रकारको निम्न पुँजीवादी चरित्र भन्ने  गरिन्छ ।
राजनीतिक तथा सामाजिक क्षेत्रमा यसप्रकारका थुप्रै दृष्टिकोणहरु हावि हुने गरेको पाइन्छ । कुनै चिज वा घटनाका बारेमा हाम्रो उपरी प्रकारको सोचाइ हुने गर्छ । त्यो आधारमा मात्र निष्कर्षमा पुग्ने तरिका पनि निम्न पुँजीवादी चरित्र नै हो । यो अवस्थामा हामी चिज तथा घटनाहरुको तार्किक, वैज्ञानिक तथा वस्तुगत विश्लेषणको बिषयलाई उपेक्षाको विषय बनाउछौं । जस्तो ः कुनै अमूक व्यक्तिका बारेमा हाम्रो नकारात्मक तथा        सकारात्मक सोचाइ रहँदै आएको हुन्छ । अन्य व्यक्तिहरुबाट पनि त्यही कुराहरु सुन्दै आइरहेका हुन्छौं । त्यस आधारमा नै हामी अमूक व्यक्तिको मूल्यांकन गर्दछौं भने यसप्रकारको मनोगत विश्लेषण पनि एकप्रकारको निम्न पूँजीवादी चरित्र नै हो ।
यो अवस्था हामी वास्तवमा त्यो अमूक व्यक्तिको चरित्र तथा पृष्ठभूमि के हो भन्नेबारे त्यसको तार्किक तथा वस्तुगत विश्लेषणको विषयलाई त्यति ध्यान दिन सकिरहेका हुँदैनौं ।
दर्शनशास्त्र, विश्वलाई हेर्ने एकप्रकारको चश्मा हो पनि भन्न सकिन्छ । जस्तै ः यदि कालो चश्मा लगाइयो भने सिंगो संसार नै कालो हो कि भन्ने आभास हुन्छ । पहेंलो चश्मा लगाएर हेरियो भने संसार नै पहेलो हो कि भन्ने आभास हुन्छ । अध्यात्मवादको चश्मा लगाएर हेर्ने हो भने सर्वत्र ईश्वर भएको अनुभुति हुन्छ । त्यसको विपरीत, भौतिकवादी दृष्टिबाट संसारलाई हेर्दा हरेक चिज परिवर्तनशील भएको अनुभूति हुन्छ ।
एवं प्रकारले निम्न पुँजीवादी दृष्टिकोणबाट हरेक पक्षहरु यसकै मूल्य मान्यता अनुरुप भएको अनुभुति हुने नै भयो । जर्मन दार्शनिक इमाइल कान्टले भनेका छन ‘संसारको कुनै एउटा कुनाबाट  हेर्दा एकप्रकारको अनुभुति हुन्छ, जबकि अर्को कुनाबाट हेर्दा बेग्लै प्रकारको अनुभुुति हुन्छ ।’
उत्तर आधुनिक दृष्टिकोणबाट विश्लेषण गर्दा यसप्रकारका सापेक्षिक घटना तथा अनुभूतिलाई नै सत्य मान्ने गरिन्छ । तर, यी दुई बेग्लाबेग्लै अनुभुतिहरुको अन्तरविरोधबाट सही सोच तथा दृष्टिकोणको निर्माण हुन्छ भन्नु नै द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण हो ।
निम्न पुँजीवाद चरित्रको आत्मगत पक्षमाथि निकै चर्चा हुने गरेको छ । यसको विपक्षमा तथा सर्वहारा विश्व दृष्टिकोणका पक्षमा निम्न तर्कहरु गरिन्छ ः
आफूलाई प्राथमिकतामा राखेर मात्र कुनै निर्णय गरिनु हुँदैन । पद, प्रतिष्ठा, व्यक्तिगत महात्वाकांक्षा जस्ता विषयभन्दा पनि समग्र समाज, राष्ट्र, पार्टी तथा श्रमजीवी जनताका मुक्ति जस्ता विषयमाथि केन्द्रित हुँदै कुनै पनि चिजको निर्णय गरिनुपर्छ आदि । आत्मगत पक्षको चर्चाका साथै यसका वस्तुगत पक्षमाथि पनि केही चर्चा गरिनुपर्छ ।
कसरी उत्पन्न हुन्छ त यसप्रकारको चरित्र ? कुन सामाजिक, राजनीतिक तथा आर्थिक पक्षहरुले यसप्रकारको दृष्टिकोण निर्माणका लागि आधार तयार पारिरहेको हुन्छ ? यी लगायतका विषयहरुको समेत चर्चा गर्दा विषयवस्तुलाई थप प्रष्ट पार्न सहज हुनेछ ।
राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिका बीचबाट नै निम्न पुँजीवादी चरित्रको निर्माण हुने गर्छ । अझ विशेष गरेर उत्पादनको तरिका तथा पद्दतिहरुका बीचबाट नै यसप्रकारको चरित्रको उदय हुने गर्दछ । उत्पादनको दौरानमा अन्तरविरोध घनिभूत रुपले अगाडि बढ्दा वर्गसंघर्ष तथा जनआन्दोलनले उचाई प्राप्त       गरेको हुन्छ । त्यो अवस्थामा निम्न पुँजीवादी चरित्रले त्यति अनुकुल वातावरण पाइरहेको हुँदैन । त्यसको      विपरीत अवस्थामा भने यसको हालीमुहाली बढ्ने गर्छ ।
जब समाज, सामन्तवादबाट पुँजीवादतर्फ अग्रसर भैरहेको हुन्छ, मानिसको उत्पादन गर्ने पद्दतिमा पनि  परिवर्तन हुँदै गैरहेको हुन्छ । पुँजीवादी संस्कारले मानिसमा व्यक्तिवादी प्रवृति हावी हुँदै गैरहेको हुन्छ । यो अवस्थामा मानिसले यो हेर्दैन कि के गर्दा समाज तथा राष्ट्रलाई फाइदा हुन्छ ? व्यक्तिगत नाफाका लागि उ आफ्नै       परिवाका विरुद्ध पनि जान सक्छ । समाज तथा राष्ट्रका विरुद्ध पनि क्रियाशील हुन सक्छ । जहाँ नाफा तथा व्यक्तिगत स्वार्थ पूरा हुन्छ, त्यतैतीर मानिसको प्रेम तथा लगाव हुन्छ । यदि त्यसो भएन भने उ त्यसका विरुद्ध जान सक्छ । यसरी व्यक्तिवादी तथा उपभोक्तावादी प्रवृत्तिको विकास हुँदै जानु नै पुँजीवादी संरचनानको चरित्र हो ।
कार्ल माक्र्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेख्नु भन्दा पहिले सन् १८४३ मा फिलोसोफिकल एण्ड इकोनोमिकल मेनुस्क्रिप्ट लेख्नुभयो । यूरोपियन समाज जब सामन्तवादबाट पुँजीवादतर्फ संक्रमण हुँदै गैरहेको थियो । त्यसले आम मानिसको चिन्तन तथा स्वभावमा हुने परिवर्तनका बारेमा वहाँले सो पुस्तकमा चर्चा गर्नुभएको छ ।
पुँजीवादको उद्देश्य जसरी पनि नाफा कमाउने हुन्छ, अतः यो संरचना अन्तरगत रहेर व्यक्ति नाफा कमाउन, देशको विरुद्ध पनि जान सक्छ, समाजको विरुद्ध पनि जान सक्छ । यहाँसम्मकि आफ्नै परिवार तथा आफ्नै विरुद्ध पनि जान सक्छ । यसलाई थ्योरी अफ एलिनेशन पनि भन्ने गरिन्छ ।
यसो कसरी सम्भव हुन्छ त ? कार्ल माक्र्सका अनुसार मानिसको उत्पादन गर्ने तरिकाले पनि मानिसको स्वाभाव, व्यक्तिवादी प्रकारको हुँदै गैरहेको हुन्छ । सामन्तवादमा एउटा कामदारले सामन्तका लागि सामान उत्पादन गरिरहेको हुन्छ । यो अवस्थामा सामन्तहरुको हित तथा खुशीका लागि कार्य गरिएको हुन्छ । यो समयमा कस्तो सामान बनाउने, उसलाई जानकारी हुन्छ ।
तर, पुँजीवादमा प्रवेश गर्दा विभिन्न प्रकारका कामदारहरुले विभिन्न प्रकारका सामानहरु उत्पादन    गरिरहेका हुन्छन् । उनीहरुलाई यो पनि जानकारी हुदैन कि त्यो सामान किन र कुन उदेश्यको लागि उत्पादन गर्ने हो ।
जस्तै–बजारमा एउटा साइकलको आवश्यकता छ भने टायर एक ठाउँमा बन्छ, टायरमा प्रयोग हुने तेल अर्कै ठाउँमा बन्छ । हेन्डल अर्कै ठाउँमा बन्छ भने साइकलको गद्दी अर्कै ठाउँमा बन्छ । यी सबै सामान बनाउन पुँजीपतिले बेग्लाबेग्लै मजदुरहरुको प्रयोग गरेको हुन्छ । यसप्रकारको उत्पादन पद्दतिका कारण पनि आम मानिसको स्वाभाव व्यक्तिवादी प्रकारको हुन जान्छ । व्यक्तिवादी भन्नुको अर्थ के भने मानिसले हरेक कुराहरुको विश्लेषण आफ्नो स्वार्थमाथि केन्द्रित हुँदै     गरिरहेको हुन्छ ।
एउटा गाउँ र शहरको तुलना गर्ने हो भने पनि हामी पाउँछौ कि गाउँको तुलनामा शहरमा पुँजीवादको मात्रा अलिकति बढी हुन्छ । यसप्रकारको फरक मात्राका कारण नै शहरिया मानिसहरुमा अलि स्वार्थी भावनाको विकास भैरहेको हुन्छ । किनभने उनीहरुको दिनचर्या नै त्यसैप्रकारको हुन्छ । बिहानै उठ्यो अफिस गयो, बेलुका अबेरसम्म काम ग¥यो । फेरि अर्को दिन आउँछ उही कुरा दोहो¥यायो । उनीहरुलाई न त कुनै छिमेकीसित सम्बन्ध बनाउन आवश्यक हुन्छ । कुनै सामाजिक, राजनीतिक काम गर्न पनि आवश्यक ठानिँदैन । मात्र एउटा मालिकको कामदारको रुपमा उ सीमित भएको हुन्छ । यसरी उनीहरुभित्र व्यक्तिवादी स्वभाव नै हावी हुँदै गैरहेको हुन्छ ।
निम्न पुँजीवादी चरित्र निर्माण, उत्पादन प्रणालीसित अन्तरसम्बन्धित हुने प्रष्ट नै छ । मूलतः नेपाली समाज, अर्ध सामन्ती तथा अर्धऔपनेवेशिक अवस्थामा नै छ । कार्ल माक्र्सका अनुसार यसलाई आधार भन्न सकिन्छ । तर उपरीसंरचना अर्थात संस्कृति, मूल्य, मान्यता, चालचलन आदिको आधारसित तालमेल मिलिरहेको हुँदैन । विशेष गरेर नेपालीको अर्थ राजनीतिमा दलाल पुँ्जीवाद हावी हुँदै जाँदा अर्थात आफंै उत्पादन नगर्ने अरुले बनाइदिएको सामानमा रमाउने प्रवृत्ति हावी हुँदै जाँदा समाजको संरचना पनि त्यही रुपमा ढल्दै गैरहेको छ ।
नेपाली किसानले उत्पादन गरेको आलु, प्याज, लसुन आदिको स्थान विदेशी आलु, प्याज, लसुनले ओगट्दै जानु त्यस्तै विद्युत, जडीबुटी आदिमा विदेशी सामानले स्थान लिँदै जाँदा पनि दलाल पुँजीवाद हावी हुँदै गएको प्रष्ट हुन्छ ।
दलाल पुँजीवादको चरित्र नै यस्तो हुन्छ कि यसले उत्पादन तथा पुनःउत्पादन गर्दैन । देशको कच्चा पदार्थ निकासी गर्ने र विदेशीले बनाईदिएको सामान आयात गर्ने । राज्य संरचना नै यसरी तयार भएको हुन्छ कि त्यसले विदेशी सामान बिक्रीका लागि उपयुक्त वातावरण बनाइदिएको  हुन्छ ।
त्यसो हुँदा देशको अर्थतन्त्र नै खोक्रो हुँदै जाने भयो । नेपाली समाज तथा राजनीतिको वस्तुगत यथार्थ नै यही हो । यसप्रकारको वस्तुगत परिस्थितिका कारण मानिसको सोचाइ, दृष्टिकोण तथा क्रियाशीलता पनि त्यही अनुरुप ढल्दै जाने भयो । यो अवस्थामा एउटा किसानले खेतमा काम गरेर आफ्नो कुनै भविष्य नै  देखिरहेको हुँदैन । 
राज्यले पनि नाफा तथा उत्पादनमुखी कृषिका लागि अध्ययन् तथा अनुसन्धानलाई महत्व दिइरहेको हुँदैन । यो अवस्थामा किसानहरुको ध्यान पनि खेतको प्लटिङ गरेर बेच्ने, शहरमा एउटा घडेरी किन्ने, सबै परिवार शहरतिर बस्ने अनि परिवारको जिविकोपार्जनका लागि भारत, मलेसिया र दुबईतिर पलायन हुने ।  एउटा व्यक्ति, परिवार, समाज, पार्टी, राजनीति तथा राष्ट्रले प्रगति गर्न नसक्नुमा यसप्रकारको वस्तुगत पक्षले धेरै हदसम्म भूमिका खेलिरहेको हुन्छ ।
समाज तथा राजनीतिमा थुप्रै विकृति तथा विसंगतिहरुका बारेमा हामी चर्चा गरिरहेका हुन्छौं । राजनीति गर्ने नेताहरुको थुप्रै कमीकमजोरीहरुका बारेमा चर्चा गरिरहेका हुन्छौं । तर, यसप्रकारका विकृति विसंगतिहरु निर्माण हुनुमा परिवर्तित उत्पादन प्रणालीले पनि धेरै हदसम्म प्रभाव पारिरहेको हुन्छ । यो अवस्थामा सामुहिकता तथा राष्ट्रियताको भावना मर्दै गैरहेको हुन्छ । त्यसको विपरीत आफूलाई प्राथमिकतालाई राखेर गरिने निम्न पुँजीवादी सोचाइको विकास हुँदै गैरहेको हुन्छ ।
जनआन्दोलन तथा वर्गसंघर्षको उठान नै निम्न पुँजीवादी चरित्रको वस्तुगत समाधान हो । जनआन्दोलन भनेको कुनै पार्टी तथा नेताले चाहेर मात्रै हुने कुरा होइन । यसका लागि समाज तथा राजनीतिभित्रका वास्तविक अन्तर विरोधहरुको पहिचान गर्न सक्नुपर्छ ।
अन्तरविरोधहरुको वस्तुगत तथा आत्मगत पक्षहरुको विश्लेषण गर्दै त्यही अन्तरविरोधहरुको बीचबाट वर्ग संघर्षलाई चर्काउने कोसिस गर्नुपर्छ । कुनै पनि समाज तथा व्यवस्थाका लागि अन्तरविरोधको सार्वभौम अस्तित्व रहन्छ भने त्यसको पहिचान नै मूलभूत विषय हो । र त्यसप्रकारको पहिचानका साथै आत्मगत पक्षलाई अझ सशक्त पार्दै लग्नुपर्दछ । यसप्रकारको निरन्तरताले नै जनआन्दोलन अझ सुदृढ हुँदै जाने । जसको फलस्वरुप निम्न पुँजीवादी चरित्र पनि कमजोर हुँदै जाने छ । अतः आत्मगत तथा वस्तुगत दुवै पक्षबाट निम्न पुँजीवादी चरित्रका विरुद्ध सचेत अभियान चलाउनु नै सही पद्दति हो ।
— अनलाईन खवरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. कर्मचारी समायोजन भन्नाले के बुझिन्छ ? 
— कर्मचारी समायोजन भन्नाले “समायोजन” भन्नाले कर्मचारीलाई कर्मचारी समायोजन अध्यादेश, २०७५ बमोजिम संघ, प्रदेश वा स्थानीय तहको सेवाको पदमा पदस्थापन गर्ने कार्य सम्झनु पर्छ । 
२. समायोजन कसरी गरिन्छ ? 
— कर्मचारी समायोजन अध्यादेश, २०७५ बमोजिम कर्मचारी समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको सफ्टवेयर प्रणालीमार्फत कर्मचारीले संघ, प्रदेश वा स्थानीय तहमा समायोजन हुन अनलाईन आवेदन गर्ने व्यवस्था मिलाईएको छ । कर्मचारी समायोजन अध्यादेशमा उल्लेखित कर्मचारी समायोजनका आधारहरु बमोजिम कर्मचारीले प्राथमिकताक्रममा छनौट गरेका संघ, प्रदेश र स्थानीय तहहरुमध्येमा समायोजन गरिनेछ । 
३. समायोजनका आधारहरु के के हुने ? 
क) प्रदेश निजामती सेवा र स्थानीय सेवाको पदमा कर्मचारी समायोजनका आधारहरु निम्नानुसार हुनेछन् ः 
ड्डकार्यरत पदको जेष्ठता, 
ड्डकार्यरत पद भन्दा तल्लो श्रेणी वा तहको पदको जेष्ठता 
ड्डकर्मचारी हाल कार्यरत रहेको प्रदेश वा स्थानीय तह 
ड्डहालको स्थायी बसोबासको ठेगाना 
ड्डनागरिकताको प्रमाणपत्रमा उल्लेखित ठेगाना 
ड्डउमेरको जेष्ठता 
ख) संघीय निजामती सेवाको पदमा कर्मचारी समायोजनका आधारहरु निम्नानुसार हुनेछन ः 
ड्डकार्यरत पदको जेष्ठता 
ड्डकार्यरत पद भन्दा तल्लो श्रेणी वा पदको जेष्ठता
ड्डउमेरको जेष्ठता 
४. श्रीमान् श्रीमतीले एकै स्थानमा पर्ने गरी समायोजन हुन सक्छन् ? 
— समायोजन हुँदा श्रीमान् श्रीमतीले एकै जिल्लाका स्थानीय तह तथा एकै प्रदेशमा जान आवेदन गर्न सक्नेछन् । तर समायोजनका आधारहरु बमोजिम सम्भव भएसम्म मात्र एकै जिल्लाभित्रका स्थानीय तहहरु वा एकै प्रदेशमा समायोजन हुन सक्नेछन् ? 
५. समायोजन प्रकृयामा सहभागि नभए के हुन्छ ? 
— सरकारी सेवा र अन्य सेवाका सम्पूर्ण कर्मचारीहरुका लागि समायोजन प्रक्रियामा सहभागि हुनु अनिवार्य छ । तर, साविक स्थानीय निकायबाट स्थायी नियुक्ती पाई हाल स्थानीय तहमा कार्यरत   कर्मचारीहरुको हकमा तत् तत् तहबाट नै समायोजन गर्न पत्राचार गरि सकिएकको छ । तत् पश्चात अन्य सेवाका अन्य कर्मचारीहरुलाई समायोजन गरी बाँकी रहेका पदहरुमा सरकारी सेवाका कर्मचारीलाई समायोजन गरिनेछ । समायोजनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको सूचना बमोजिम समायोजन प्रक्रियामा सहभागि नभएका राष्ट्रिय कितावखानामा रहेको कर्मचारीको विवरणको आधारमा सेवा सञ्चालन गर्ने निकायले संघ, प्रदश वा स्थानीय तहमा समायोजन गर्न सक्नेछ । 
६. “सरकारी सेवाका कर्मचारी” भन्नाले कसलाई बुझिन्छ ? 
— “सरकारी सेवाका कर्मचारी” भन्नाले निजामती सेवा ऐन, २०४९, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र व्यवस्थापिका–संसद सचिवालय सम्वन्धी ऐन, २०६४ बमोजि गठन भएका सेवाका कर्मचारी सम्झनु पर्छ । 
७ “अन्य सेवाका कर्मचारी” भन्नाले कसलाई बुझिन्छ ? 
— “अन्य सेवाका कर्मचारी” भन्नाले साविकका स्थानीय निकायबाट स्थायी नियुक्ती पाई हाल स्थानीय तहमा कार्यरत कर्मचारी वा प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका वा खारेजीमा परेका समिति, आयोग, प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारी सम्झनु पर्छ । 
८. समायोजनका फाईदाहरु के के हुन ? 
ड्डकर्मचारी समायोजनका आधारहरु बमोजिम रोजेको संघ, प्रदेश वा स्थानीय तहमा समायोजन हुन सक्ने । 
ड्डप्रदेश वा स्थानीय तहमा समायोजन हुँदा अध्यादेशमा भएको व्यवस्था बमोजिम दुई ग्रेड थप वा एक तह बृद्धि पाउने  ।
ड्डनेपाल सरकारले गरेको भौगोलिक वर्गीकरणको आधारमा दुर्गम स्थानमा समायोजन भई जाने कर्मचारीले थप प्रोत्साहन सुबिधा पाउने ।
ड्डसमायोजन भएको तहको सेवाको पदमा बढुवा तथा सरुवा हुन पाउने 
ड्डअन्तर सेवा प्रतिस्पर्धामार्फत सम्वन्धित कानुनमा व्यवस्था भए बमोजिम अर्को तहको सेवाको पदमा बढुवा हुने अवसर प्राप्त हुने ।
ड्डसरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन हुने कर्मचारीहरुको सेवा निबृत्ति सुबिधा नेपाल सरकारले व्यहोर्ने ।

साहित्य/सृजना 

घुम्ने मेचमाथी अन्धो मान्छे 

दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथी
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझैँ
आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,
घाउहरु कोट्ट्याएर,
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर,
दिनभरि
पाते च्याउझैँ
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफूलाइ ढाकेर,
साँझमा जब नेपाल खुम्चिएर काठमाण्डौं
काठमाण्डांै डल्लिएर नयाँ सडक
नयाँ सडक असंख्य मानिसका पाउमुनि कुल्चिएर, टुक्रिएर,
अखबार चिया र पान को पसल बन्छ,
किसिम किसिमका पोशाकमा
ओहोर दोहोर गर्छन् ? थरिथरिका हल्लाहरु,
फुल पारेको कुखुराझैँ कराउदै
हिँड्छन अखबारहरु
ठाउँ ठाउँमा अन्धकार पेटिमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तर्सेर,
अनि असंख्य मौरीको भुनभुन र डदाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैँ
नपाएर बिस्मृतिको ‘लेथे’ नदी,
रक्सीको गिलासमा हाम फाल्छु
बिर्सन्छु आफ्नो पूर्व कथालाई
पूर्व जुनी र मृत्युलाई
यसरी नै सधैँ
चियाको किटलिबाट एउटा सूर्य उदाउँछ
सधै रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी —पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि,
दृश्यहरुदेखि,
रमाइलोदेखि,
प्रदर्शनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै ।           
भूपी शेरचन

गजल 

कुरा ठुला–ठुला तर झर्केर जान्छन् 
किन आफ्नै छाया देखि तर्केर जान्छन्
शिर जति ठाडो पार्नु छ पार्नु होला
हिड्न नजाने खुट्टाहरु मर्केर जान्छन्
टाढाको मात्रै दुरि नाप्छ यन्त्र पनि 
कोहि अल्लि वर सर्केर जान्छन्
बाटाहरु सङ्ग त्यसै भयभीत छ यात्री 
आउनेहरु नै त यहाँ फर्केर जान्छन्
पुष्पा जोशी “काली” 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

बडीकेदार गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
खड्यौली, डोटी 
सुदूरपश्चिम प्रदेश 

बाल पोषण अनुदान रकम बिस्तार गर्ने बारे अत्यन्त जरुरी सूचना 

नेपाल सरकारको सामाजिक सुरक्षा सम्बन्धी नीति अनुसार यस बडीकेदार गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ को अन्तिम चौमासिकबाट यस गाउँपालिका भित्रका ५ वर्ष मुनीका गैर दलित बालवालिकाहरुलाई समेत दलित बालबालिका झै मासिक रु चार सय बाल पोषण भक्ता अनुदान बितरण गर्ने भएकाले यस्ता बालवालिका अभिभावकहरुले तपशिलमा उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा यही मिति २०७५ साल माध मसान्तभित्र बाल पोषण अनुदान रकम प्राप्त गर्ने बालवालिकाको नाम दर्ता  गराउन हुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल 
— आमा बुवाको नागरिकताको प्रमाण पत्र, 
— बालवालिकाको जन्मदर्ताको प्रमाण पत्र २ प्रति, 
— वालवालिकाको फोटो सहितको निबेदन