Monday, January 7, 2019

बिम्ब साप्ताहिक, २०७५ साल पुष २४ गते मंगलबार

लागूऔषध सेवनले मानिसको शारीरिक र मानसिक स्वास्थ्य बिग्रन्छ, धन सम्पतिको वर्वाद गर्दछ, यसको प्रयोगबाट आफु, परिवार, समाज र राष्ट्रलाई नै अपुरणीय
क्षति पुग्ने हुँदा यस्ता पदार्थ देखि टाढा     रहौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

सुदूरपश्चिमका ४६ स्थानीय तह अति दुर्गम

रामहरी ओझा/डोटी
पुष २३
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको बर्गीकरणमा सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ४६ स्थानीय तह “क” बर्गमा अर्थात् अति दुर्गम स्थानीय तहको सूचीमा परेका छन् । अति दुर्गममा पर्ने स्थानीय तहहरुमा आठ नगरपालिका समेत रहेका छन् ।
अछामका आठ, डोटीका सात र दार्चुकाका सात स्थानीय तह अति दुर्गम अर्थात “क” वर्गमा परेका छन् । यस्तै उक्त वर्गीकरण अनुसार बझाङ्गका ११, बाजुराका आठ र बैतडीका पाँच स्थानीय तह अति दुर्गमको सूचीमा परेका छन् । कैलाली, कञ्चनपुर र डडेल्धुराका कुनै पनि स्थानीय तह अति दुर्गमको सूचीमा परेका छैनन् ।
नगरपालिका पनि अति दुर्गम 
मन्त्रालयले गरेको   वर्गीकरण अनुसार सुदूरपश्चिम प्रदेशका आठ नगरपालिकाहरु पनि अति दुर्गमको सूचीमा रहेका छन् । बाजुराका चार नगरपालिकामध्ये बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिका अति दुर्गम अर्थात् “क” वर्गमा परेका छन् । अछामका चार नगरपालिकामध्ये कमलबजार र पञ्चदेवल बिनायक नगरपालिका “क” वर्गमा छन् । 
डोटीको शिखर नगरपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका र बझाङ्गको बुङ्गल नगरपालिका गरी आठ नगरपालिका अति दुर्गमको सूचीमा रहेका छन् । यस्तै अछामका ६, डोटीका ६, दार्चुलाका ६, बझाङ्गका १०, बाजुराका पाँच र बैतडीका पाँच गरी ३८ गाउँपालिका अति दुर्गमका छन् ।  
कञ्चनपुरको एक, डोटीको एक, डडेल्धुराका पाँच, दार्चुलाको एक, बाजुराको एक र बैतडीका चार गरी १३ स्थानीय तह दुर्गम अर्थात् “ख” वर्गमा परेका छन् । यस्तै बैतडीको एक, डोटीको एक, बझाङ्गको एक, दार्चुलाको एक, डडेल्धुराका दुई, कैलालीका १०, कञ्चनपुरका सात र अछामका दुई गरी २५ स्थानीय तह सुगम अर्थात् “ग” वर्गमा परेका छन् । 
“घ” बर्गमा चार मात्रै 
मन्त्रालयको उक्त  वर्गीकरण अनुसार यस प्रदेशमा चार स्थानीय तहहरु मात्रै अति सुगम अर्थात “घ” को सूचीमा परेका छन् । 
जिल्ला समन्वय समितिहरुले दिएको सूचनाका आधारमा गरिएको भनिएको वर्गीकरणमा प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिका “घ” बर्गमा परेको छ । यस्तै कैलालीका गोदावरी र टिकापुर नगरपालिका पनि सुगम नगरपालिका अर्थात् ‘घ’ मा राखिएका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका पनि सुगम नगरपालिकाको वर्गमा  परेको छ । 
स्थानीय तहको यातायतको सुविधा, प्रदेश राजधानीदेखिको दुरी र स्थानीय तहको जिल्ला सदरमुकामदेखिको दुरीलाई आधार वनाएर स्थानीय तहहरुको वर्गीकरण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै शिक्षा, स्वास्थ्य, दुरसञ्चार सेवा, बिद्युत, मानवविकास सूचकांक, भौगोलिक अवस्थितिलाई समेत ध्यानमा राखी उक्त वर्गीकरण   गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो वेवसाईट मार्फत सार्वजनिक गरेको उक्त वर्गीकरणमा सुधार गर्नु पर्ने भए सुझाव दिन समेत सवैलाई आग्रह गरेको छ ।  
मन्त्रालयका प्रवक्ता जीवनलाल भुषालले बिगतमा जिल्लाहरुलाई वर्गीकरण गरिए जस्तै यस पटक स्थानीय तहहरुलाई वर्गीकरण गरिएको वताए । “यो मन्त्रालयले तयार गरेको छ, यो अन्तिम होईन” भुषालले भने ‘हामीले सुझावका लागि आव्हान गरेका छौं, उपयुक्त सुझाव आएछ भने यसमा परिमार्जन हुन सक्छ ।’
जिल्ला समन्वय समितिमार्फत स्थानीय तहहरुले उपलव्ध गराएको विवरणको आधारमा वर्गीकरण गरिएको मन्त्रालयको पत्रमा उल्लेख छ । 
डोटीका सात स्थानीय तह ‘क’ मा
मन्त्रालयले गरेको वर्गीकरण अनुसार डोटीको शिखर नगरपालिका सहित सात स्थानीय तह अति दुर्गममा परेका छन् । 
पूर्वीचौकी, सायल, आदर्श, के आई सिंह, बोगटान र बडीकेदार गाउँपालिका ‘क’ बर्गको सूचीमा रहेका छन् । जोरायल गाउँपालिकालाई ‘ख’ वर्गमा राखिएको छ । 
जोरायल गाउँपालिका कुन आधारमा ‘ख’ वर्गमा राखियो भन्ने बिषयमा आधिकारिक कुरा वाहिर आएको छैन । मन्त्रालयका एक कर्मचारीका अनुसार विवरण उपलव्ध गराउन मन्त्रालयले पठाएको फाराम भर्नमा केही त्रुटी भएका कारण केही समस्या आएको हुन सक्छ । ‘यो सच्याउन सकिन्छ’ उनले भने ‘विवरण उपलव्ध गराउदा त्रुटी भएको भए सम्वन्धित स्थानीय तहले जानकारी गराउनु प¥यो ।
दिपायल सिलगढी नगरपालिका ‘ग’ वर्गमा छ ।

सम्पादकीय 

साझा बस चौखुट्टे–डडेल्धुरा चलाऔं

गत बर्ष दिपायल सिलगढी नगरपालिकाले आफ्नै लगानीमा नगर बस चलाउने निर्णय ग¥यो । जनसंख्या र भूगोलका हिसावले नगरका दुई मुख्य शहरहरु दिपायल र सिलगढीलाई लक्षित गरी गरिएको उक्त निर्णयको नगरवासीले स्वागत पनि गरे । नगरबस सञ्चालन भएपछि जनताले राम्रै सुविधा पनि पाईरहेका छन् । सस्तो, सुरक्षित, आरामदायी र सर्वसुलभ सेवा प्राप्त गर्नु सवै नागरिकको कर्तव्य हो । नगरपालिकाको उक्त कदमले थोरै भएपनि राहत महसुस भएको छ । 
आफ्नै लगानीमा नगरबस चलाउने सम्भवतः दिपायल सिलगढी नगरपालिका पहिलो हो र अहिलेसम्मको व्यवस्थापकीय पक्ष हेर्दा राम्रैसंग सञ्चालन पनि भएको छ । तर यसलाई टिकाई–राख्न भने चुनौतीनै हुन्छ । बिस्तारै बसहरु बिग्रेलान, प्रलोभनहरु बढ्लान, यस्ता यस्तै, यस्ता कुरामा सचेत हुनु जरुरी छ । दिपायल सिलगढी नगरपालिकाकै सिको गर्दै अन्य स्थानीय तहहरुले पनि आफ्नै लगानीमा बस सञ्चालन गर्ने दौड सुरु गरेका छन् । डोटीकै शिखर नगरपालिकाले दुई बस सञ्चालनमा ल्याईसकेको छ भने पूर्वीचौकी गाउँपालिकाले बस ल्याउने तयारी गरेको हल्ला छ । उता डडेल्धुराको अमरगढी नगरपालिकाले यस बिषयमा सोच बनाईरहेको जानकारी छ । यद्यपी यि दुई स्थानीय तहका बसहरु सडकमा गुडिसकेको अवस्था होईन । 
स्थानीय तहले बस सञ्चालन गर्नु आफैमा राम्रो पक्ष हो । जनताले सजिलो रुपमा सेवा पाउनका लागि र समयमै यात्रा गर्न पाउनका लागि पनि व्यवस्थित रुपमा बस सञ्चालन गर्नु राम्रै हो तर स्थानीय तहहरुले सञ्चालन गर्ने बस सेवाको उद्देश्य के हो ? दुई÷चार जना आफ्ना कार्यकर्ताहरुलाई जागिर दिने र मुनाफा कमाउने वा वास्तवमै जनतालाई सेवा दिने ? यदि जनतालाई सेवा दिने हो भने वहुसंख्यक जनताको पहुँच उक्त वसमा पुग्छ कि पुग्दैन ? गाउँमा सवै कच्ची बाटो हुने, सेवाग्राहीले स्थानीय तहको केन्द्रसम्म कि त पैदल कि त चर्को मुल्य तिरेर सार्वजनिक जीपमा असुरक्षित यात्रा गर्नु पर्ने तर नगरपालिकाले “जनताको सेवाका लागि नगर बस चलाएका छौं” भन्ने हो भने त्यो भन्दा हास्यास्पद् कुरा अरु केही हुन सक्दैन । बस सञ्चालनका लागि कति लगानी भयो र त्यो लगानीबाट कति जनताले लाभ लिन सके भन्ने कुराको हेक्का राख्नु जरुरी छ किनकी स्थानीय तह मुनाफा कमाउने व्यापारिक संस्था होईन, लोककल्याणकारी हुनु पर्छ । 
अव सडकमा आईसकेका बसहरु चलाउन हुन्न भन्ने कुरै भएन । चलाउनु पर्छ, चिल्लो सडकमै भएपनि व्यवस्थित रुपमा चलाउनु पर्छ । यात्रुलाई आउजाउ गर्न समस्या हुने ठाउँहरुको पहिचान गरि रुट तय गरिनु पर्छ । डोटीको चौखुट्टे देखि डडेल्धु–राको बागबजारसम्मको रुट निर्धारण गरिनु पर्छ । यसका लागि डडेल्धुराका अमरगढी नगरपालिका, गन्यापधुरा र नवदुर्गा गाउँपालिका र डोटीका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाबीच बृहत छलफल हुनु जरुरी छ । यात्रुहरुले स्थानीय तहैपिच्छे बस फेर्दै जानु पर्ने हो भने यो सेवा होईन उल्टो दुःख दिने काम हुन्छ । त्यसकारण चौखुट्टेबाट गाडीमा चढ्ने व्यक्तिले आफ्नो गन्तव्य सहजै भेटाउवस भन्ने हेतुले रुट तय गर्नु पर्छ । 
यो रुट करीव एक सय किलोमिटरको हुन्छ । यस रुटलाई कायम गर्ने हो भने १० वटा बस सहजै खप्न सक्छन् । त्यसैले समयमै सम्वन्धित स्थानीय तहहरुले यस बिषयमा ध्यान दिनु  जरुरी छ । जनतालाई झमेला होईन, सेवा दिने योजना बनाऔं । हरेक कुरामा तेरो–मेरो भनेर कित्ताकाट गर्ने बानीको अन्त्य गरौं ।

थप समाचार 

डोटीको सालय र बझाङ्गको थलारा गाउँपालिकाले गरे संयुक्त प्रतिवद्धता

दुई गाउँपालिकाको आपसी हित र विकासका लागि डोटीको सायल गाउँपालिका र बझाङ्गको थलारा गाउँपालिकाले नौ बुँदे संयुक्त प्रतिवद्धता गरेका छन । 
दुई गाउँपालिकाको सिमामा पर्ने मालिका बुराउसेमा भएको संयुक्त बैठकले नौ बुँदे प्रतिवद्धता गरेको सायल गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलले जानकारी  दिए । प्रतिवद्धता पत्रमा डोटीको दिपायल देखि सायल र थलारा गाउँपालिका हुँदै बझाङ्गको साईपाल हिमालसम्म जोड्ने सडक निर्माणलाई प्राथमिकता दिने, खप्तड पर्यटन बर्ष मनाउने, दुई गाउँपालिका सिमा क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रहरुको संयुक्त रुपमा प्रवद्र्धन गर्ने रहेको डुम्रेलले    वताए । 
यस्तै बिद्युतको राष्टिूय प्रसारण लाईन बिस्तारका लागि दुवै गाउँपालिकाले संयुक्त रुपमा पहल गर्ने, खप्तडको मुख्य प्रदेशद्वारा भिग्रानादेखि सायल गाउँपालिकाको साप्रा वेटारा हुँदै थलारा गाउँपालिकाको छान्ना क्षेत्रसम्म पर्यटकीय सडक निर्माण गर्ने, दुई गाउँपालिकाको सिमा सम्वन्धी सद्भाव कायम राख्ने र कृषि तथा गैर कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै स्थानीय स्तरमा      रोजगारी सृजना गर्ने प्रतिवद्धता दुई गाउँपालिकाले गरेका छन् । प्रतिवद्धतामा सायली गाड र थलारीगाडमा पक्की पुल निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारसंग संयुक्त रुपमा पलह गर्ने र सर्वसुलभव र गुणस्तरीय स्वास्थ्य तथा शिक्षा सेवा प्रदान गर्नका लागि दुवै गाउँपालिकाले सहकार्य गर्ने प्रतिवद्धता गरिएको सायल गाउँपालिकाका प्रवक्ता एवं वडा नंं. ३ का वडाध्यक्ष गोरखवहादुर सार्कीले जानकारी दिए । 
दुई गाउँपालिकाले संयुक्त रुपमा  गरेको प्रतिवद्धता कार्यान्वयनका लागि आफु ईमानदार भएर लाग्ने थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले जानकारी दिए । “दुई गाउँपालिकाको सिमा जोडिएका कारण हामीले कतिपय कामहरु मिलेर गर्नु पर्ने देखियो” अध्यक्ष उपाध्यायले भने ‘त्यसैले हामीले संयुक्त रुपमा बैठक बसी बृहत छलफल गरेर प्रतिवद्धता गरेका छौं, यो प्रतिवद्धता कार्यान्वयन हुन्छ ।’ 
सिमा जोडिएका स्थानीय तहहरुका सेवाग्राहीहरुको हितलाई ध्यानमा राख्दै यस्तो प्रतिवद्धता गरिएको बताउँछन् सायल गाउँपालिकाका अध्यक्ष डुम्रेल । उनले भने “शिक्षा, स्वास्थ्य जस्ता कतिपय सेवाहरु सायल गाउँपालिकाबासीहरुलाई थलारा गाउँपालिका क्षेत्रबाट लिन सजिलो हुन सक्छ, त्यसका लागि दुई गाउँपालिकाबिच आपसी सम्वन्ध हुनु जरुरी छ ।’ त्यसैकारण आफुहरु संयुक्त बैठक बसी यस्तो प्रतिवद्धता गरेको डुम्रेलको भनाई छ ।  
दुवै गाउँपालिकाबीच बिगत डेढ बर्षमा भएका कामहरुको बिषयमा समीक्षा सहित अनुभव आदान प्रदान समेत भएको सायल गाउँपालिकाका प्रवक्ता सार्कीले वताए । 
दुई गाउँपालिकाले आपसी हितका लागि सामुहिक प्रविद्धता जारी गरेको डोटी जिल्लाका लागि यो पहिलो हो ।

सुशासन नीति बनाउन ध्यानाकर्षण

जिल्लाका बिभिन्न गाउ तथा नगरपालिकाहरुमा भ्रष्टाचार तथा अनियमीतताका घटनाहरु सार्वजनिक भइरहेका बेला डोटी जिल्ला स्थित नागरिक समाजका प्रतिनिधिहरुले दिपायल सिलगढी नगरपालिकालाई सुशासनका नीति तथा कार्यबिधि बनाउनका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् ।
दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई नागरिक समाजका तर्फबाट गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायतले सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन । स्थानीय तहलाई सुशासनमैत्री, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउन डोटीका कुनै पनि स्थानीय तहहरुले सुशासनसंग सम्बन्धित नीति तथा कार्यबिधी नबनाएको भन्दै अनुरोध पत्र बुझाइएको गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायतले बताए ।
अनुरोध पत्र बुझाउन पत्रकार बिभिन्न संघसंस्थाका प्रतिनिधि, अगुवा तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । पत्र बुझ्दै नगरप्रमुख मलासीले नागरिक समाजको सजगताले आफुलाई थप गम्भिर बनाएको बताउदै नीति, निर्देशिका बनाउन आफु तयार रहेको वताईन । नगरप्रमुख मलासीले सेवालाई प्रभावकारी बनाउन तथा जनप्रतिनिधि र कर्मचारीहरुलाई जवाफदेहि बनाउन आफुले बिभिन्न पहल गरिरहेको जानकारी दिईन । 
सो क्रममा नगर उप प्रमुख शिवराज खड्काले नागरिक समाजले खेलेको भूमिकाको प्रशंसा गर्दै स्थानीय तहहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुझाव सल्लाह दिन समेत आग्रह गरे ।
बिकास र परिवर्तनका लागि लागि संचार (एफएमडिसी) ले डोटीमा संचालन गरिरहेको पारस्परिक जवाफदेहिता परियोजनाले स्थानीय तहहरुमा सुशासन नीति तथा सामाजिक जवाफदेहिताका औजारहरुको कार्यबिधी निर्माण गर्नु पर्ने भन्दै पैरबी गरिरहेको छ । सो परियोजनाले दिपायल सिलगढी नगरपालिका र केआईसिंह गाउपालिकामा सुशासनको अवस्थाबारे तयार पारेको अध्ययन प्रतिबेदन समेत ध्यानाकर्षण पत्र संगै  नगरप्रमुख मलासीलाई हस्तान्तरण गरेको छ ।
यस अघि केआईसिंह गाउपालिका अध्यक्ष लोकेन्द्र शाहीलाई समेत यसैगरी सुशासन नीति तथा कार्यबिधी बनाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको थियो । स्थानीय तहहरुलाई २०७४ कार्तिक २८ गतेको उप प्रधानमन्त्री स्तरको निर्णयबाट सुशासन प्रबर्धन रणनिती तथा कार्ययोजना २०७४ अनुसार स्थानीय तहको नीति तथा कार्यबिधी बनाउन परिपत्र गरिसकेको भएपनि अहिलेसम्म डोटीका कुनै पनि गाउपालिका तथा नगरपालिकाले बनाएका छैनन् ।

सुदूरपश्चिममा १७१ स्वास्थ्य चौकी भवन वन्ने

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश एक सय ७१ स्वास्थ्य चौकीका भवन बन्ने भएका छन् । 
स्थानीय तहको पुनर्संरचना गर्ने क्रममा साविकको गाउँ विकास समितिलाई बिभाजन गरी वनाईएका वडाहरुमा नयाँ स्वास्थ्य चौकी भवन बन्न लागेका हुन् । सरकारले देशभरी एक हजार दुई सय नयाँ स्वास्थ्यचौकी बनाउने घोषणा गरेसंगै सुदूरपश्चिम प्रदेशमा एक सय ७१ नयाँ स्वास्थ्य चौकी भवन बन्ने प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए ।
नयाँ भवन निर्माणको लागी तराईमा आठ कट्टा, पहाडमा पाँच रोपनी र हिमाली जिल्लामा चार रोपनी जमिन आवश्यक पर्ने वताउँदै निर्देशक डा अवस्थीले उक्त जमिन स्वास्थ्य चौकीको नाममा निशुल्क नामसारी गरेको हुनुपर्ने वताए ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले लामो समयदेखि अन्योलमा रहेका एक हजार दुई सय स्वास्थ्य संस्थाको निर्माण प्रक्रिया अगाडि बढाएको छ । ‘एक वडा, एक स्वास्थ्य संस्था’ को अवधारणा अनुसार दुई वर्षभित्र सबै वडामा स्वास्थ्य संस्था बनाइ सक्ने गरी यस वर्ष एक हजार दुई सय वडामा नयाँ स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको वताईएको छ । देशभरीमा स्वास्थ्य संस्था नभएका दुई हजार पाँच सय वडामध्ये, स्थानीय अग्रसरता, जनसंख्या, जग्गाको उपलब्धता र मानव विकास सूचकांकलाई आधार बनाएर यसवर्ष आधारभूत स्वास्थ्य केन्द्र बन्ने वडाहरूको छनोट गरिएको छ ।
निर्माण कार्यका लागि आवश्यक जग्गाको उपलब्धताका आधारमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारहरूले भवन बनाउनेछन् । आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न यसवर्ष चार अर्ब बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कुन जिल्लामा कति स्वास्थ्य चौकी बन्ने भनेर अहिल्लै टुङ्गो नलागेको डा अवस्थी वताउँछन् । 
भवन निर्माण गर्दा वडाको जनसंख्या कम्तीमा सात हजार भएको र १६ आनासम्म जमिन उपलब्ध भएमा प्रसूति सेवा सहितको भवन र जनसंख्या सात हजार भन्दा कम र नौ आनासम्म जमिन भए प्रसूति सेवा बाहेकका आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरिने छन् ।
प्रसूतिसेवासहितको स्वास्थ्यकेन्द्र टाइप १ र सात हजारभन्दा कम जनसंख्या भएका ठाउँमा टाइप २ भवन संरचना निर्माण गरिनेछन् । जसअनुसार पहिलो चरणमा बन्नेमध्ये एक सय ३७ वटा टाइप १ र एक हजार ६३ वटा टाइप २ स्वास्थ्य केन्द्र बन्नेछन् ।

किशोरीहरुको पीडा ः महिनाबारी भए बिद्यालय जाँदैनन्  

सायल गाउँपालिका–२ सिर्मामा  रहेको तामेश्वरी आधारभूत बिद्यालयमा बिद्यालयमा अध्ययन गर्ने दुई सय ६८ छात्राछात्रहरु अध्ययन गर्ने गर्छन । अध्ययनरत छात्रछात्राहरुमध्ये २९ महिनावारी हुने किशोरीहरु रहेका छन् । उनीहरु महिनावारी भएका बेला बिद्यालय आउँदैनन् ।
बिद्यालयकी प्रधानाध्यापक गोमा खातीले एक घटना सुनाईन “कक्षा ८ की छात्रा देवी ओली गत आईतबार बिचमै बिद्यालयबाट भागिन् । उनी चौथो दिन बुधवार मात्रै बिद्यालय आईन । मैले देवीसंग बिद्यालयबाट भाग्नुुको कारण सोध्दा उनले उत्तर दिईन ‘मेडम म छाउ (महिनाबारी) भएर कक्षाकोठाबाटै घर गएँ’ ।” 
प्रधानाध्यापक खातीले गएको साता भगु ओलीले पनि यस्तै गरेको सुनाईन । ‘बिद्यालयमै महिनावारी भएकी भगु पनि भागेर घर गईन र चौथो दिन मात्रै बिद्यालय आईन्’ खाती भन्छिन् । ‘स्कुलमै महिनावारी भएपछि कक्षाकोठाबाटै भागेर जान्छन्’ प्रधानाध्यापक खातीले भनिन् ‘त्यसपछि चार दिनसम्म बिद्यालय नै आउँदैनन् ।’ कसैकसैले त किताव समेत बिद्यालयमै छोडेर जाने गरेको समेत खातीले सुनाईन् । उनले महिनावारी भएको बेला कुनै पनि छात्रा बिद्यालय नआउने गरेको बताईन । 
किन आउँदैनन् त छात्राहरु महिनावारी हुँदा बिद्यालय ? कक्षा ७ मा अध्ययनरत एक छात्रा भन्छिन् ‘महिनावा–री हुँदा रगत निस्कन्छ र लुगामा लाग्छ, त्यसैले हामी आउँदैनौं ।’ यसरी लुगामा रगत लागेको देखेपछि केटाहरु जिस्काउने गरेका कारण आफु बिद्यालय नआउने गरेको उनको भनाई छ । “बेन्चमा बसेपछि बेन्चमा समेत रगत लाग्छ, कोठामा फोहोर हुन्छ’ ति छात्राले भनिन् ‘अनि कसरी बिद्यालयमा बस्नु ?’ 
बिद्यालयमा सेनिटरी प्याड वा रगत सोस्न प्रयोग गर्ने टालो फेर्ने व्यवस्था नभएका कारण आफुहरुलाई समस्या भएको छात्राहरु बताउँछन् । उनीहरु भन्छिन् ‘न टालो फर्ने ठाउँ छ न फेरेको फोहोर टालो फाल्ने उचित ठाउँ छ, बाहिर फालेको देखेपछि केटाहरुले तीन÷चार दिनसम्म जिस्काउँछन् ।’ यदि बिद्यालयमा सुरक्षित रुपमा टालो फेर्ने र फाल्ने ठाउँ भए आफुहरु नियमित रुपमा बिद्यालय आउने छात्राहरु भनाई छ । उनीहरु भन्छन् ‘नियमित बिद्यालय आउन त हामीलाई पनि रहर छ, तर के गर्नु बाध्यता छ ।’ महिनावारी भएको कुरा अरुलाई भन्न पनि लाज लाग्ने गरेकाले आफु कसैलाई नभनी भाग्ने गरेको कक्षा–८ मा पढ्ने एक अर्का छात्राले सुनाईन । उनी थप्छिन् ‘खै, किन हो, मानसिकतानै अर्कै भईहाल्छ, अनि कसैलाई केही नभनी भाग्छु ।’ 
छात्राहरुलाई सेनीटरी प्याड फेर्ने सुरक्षित कोठा र प्याड डिस्पोजल गर्ने खाल्डो निर्माण गरिदिन प्रधानाध्यापक खातीले सामुदायिक विकास केन्द्र नामक गैर सरकारी संस्थालाई आग्रह गरिन् । ‘बिद्यालयमा भूकम्प प्रतिरोधी भवन र शौचालय बनाई दिनु भयो, त्यसका लागि आभारी छौं’ वल्र्ड भिजन अन्तराष्ट्रिय नेपालसंगको साझेदारीमा बिद्यालयमा भूकम्प प्रतिरोधी शौचालय निर्माण गरिरहेको संस्थाका प्रतिनिधिहरुलाई खातीले भनिन् ‘अव छत्राहरुको समस्यालाई ध्यानमा राखेर यत्ति काम अझ गरिदिनु प¥यो ।’ 
छात्राहरु नियमित बिद्यालय नआएका कारण उनीहरुको पढाईको गुणस्तर पनि राम्रो नभएको खातीले बताईन् । सामुदायिक स्रोतबाट कक्षा ६÷७ को अध्यापन गराईरहेको बिद्यालयले शिक्षकहरुको तलव भत्ताका लागि रकम जुटाउन पनि समस्या भएको भन्दै खातीले थपिन् ‘निर्माणका कामहरु गर्नका लागि हामीहरुसंग स्रोत छैन ।’ 
२०३६ सालमा स्थापना भएको बिद्यालयमा २०३९ सालमा सेती परियोजनाबाट एक भवन निर्माण भएको थियो । २०५५ सालमा ठाउँसारी गर्दा उक्त भवन पनि भत्काउनु प¥यो । त्यसयता सरकारले कुनै पनि संरचना निर्माण   नगरिदिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसुवा ओली बताउँछन् । उनी भन्छन् ‘बिद्यालयमा भवन, शौचालय, फर्निचर सवै हामी अभिभावकहरुले श्रमदान गरेर वनाएका हौं । हाल बिद्यालयमा चारवटा मात्रै       दरवन्दी रहेको र बाँकी तीन जना शिक्षकहरुको तलव समते सामुदायिक स्रोतबाटै व्यहोर्नु परेको अध्यक्ष जसुवा वताउँछन् । उनी भन्छन् ‘बिद्यालय भवनको हामीलाई अहिले पनि अभाव छ, बिद्यालयको घेरवार छैन, फर्निचर पनि पर्याप्त छैन ।’ अध्यक्ष जसुवाले बिद्यालय बन्द गरे छोराछोरीको भविश्य बर्वाद हुने, बन्द नगरे आफुहरुले धान्न नसक्ने अवस्था आएको वताए ।
सामुदायिक विकास केन्द्र डोटीले “समुदाय र बिद्यालय बिपद् पूर्व तयारी तथा उत्थालशील परियोजना” अन्तरगत उक्त बिद्यालयमा ६० लाख २७ हजारको लागतमा तीन भूकम्प प्रतिरोधी भवन र छात्राछात्रका लागि छुट्टाछ्ट्टै शौचालय निर्माण गरेको छ । यस बिद्यालय जस्तै जिल्लाका अन्य नौ बिद्यालयहरुमा यस्तै भूकम्प प्रतिरोधी भवन र शौचालय निर्माण गरिएको परियोजनाका संयोजक प्रयाग कापडीले वताए । 

खेल समाचार 

खप्तड गोल्डकपको तयारी पुरा

ई–अनुमोदनबाट
सुदुरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ ।
सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष सुरेश हमालले यस प्रतियोगिता आयोजक क्लबको मात्र नभएर समग्र  सुदूरपश्चिमेली जनताको रहेको र यसलाई एक पर्वको रुपमा मनाइने अभिव्यक्ति दिए । ‘यो गोल्डकप हामी सबै सुदूरपश्चिमका जनताको हो । हामीले दशैं, माघीलगायत पर्व मनाएझैं यसलाई पनि एक पर्वको रुपमा लिनुपर्छ । सुदूरपश्चिमको फुटबलमा मात्र नभएर यस प्रतियोगिताले राष्ट्रव्यापी रुपमा नै हाम्रो फुटबललाई बेग्लै पहिचान दिएको छ,’ अध्यक्ष हमालले भने । हमालले प्रतियोगिताले पछिल्लो समय ठूलो स्वरुप लिंदै गएको र छोटो समयमै देशकै उत्कृष्ट प्रतियोगिताको रुपमा स्थापित गर्न सफल रहेको पनि बताए ।
पत्रकार सम्मेलनमा कैलाली खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले खेलस्थल धनगढी रंगशालाको    स्तरोन्नतिको कार्य अगाडी बढेको पनि जानकारी दिए । ‘खप्तड गोल्डकपक लागि हामी सबै सुदूरपश्चिमवासी एकसाथ बढ्नु जरुरि छ । हामीले संस्थागत र व्यक्तिगत रुपमा प्रतियोगितालाई भव्य बनाउन सक्दो प्रयास गरेका छौं’ उनले थपे ‘राखेपले रंगशाला स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया सुरु गरिसकेको छ । केहि दिनमा टेन्डर प्रक्रिया सकिएपछि निर्माणको कार्य चाडैं सुरु हुने विश्वास लिएका छौं ।’
कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक टोली सुदूरपश्चिम–११ र मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन् । उद्घाटन खेल २ः३० बजेसुरु हुनेछ । त्यसअघि मध्यान्ह १२ बजे चौराहाबाट झाँकीसहितको र्याली प्रतियोगिता स्थलसम्म पुगेर उद्घाटन समारोह सुरु हुने कार्यक्रम रहेको छ ।
मोफसलकै सर्वा्िधक धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात   पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५–१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।
यसअघि नै प्रतियोगिता संचालनका लागि आवश्यक उपसमितहरु गठन गरिएको छ । प्रायोजक उप समितिको संयोजक वावुराजा श्रेष्ठ, आर्थिक उपसमितीका संयोजक योगेन्द्र चन्द, टिकट उपसमितीका संयोजक धुव्र वराल, मिडिया संयोजक ओम चन्द, कार्यालय तथा सचिवलाय उप समितिका संयोजक देवेन्द्र जोशी र मैदान मर्मत उप समितीका संयोजक चक्र मल्ल रहेका छन् । होटेल व्यवस्थापन उपसमितीका संयोजक तेज खड्का, पार्किङ व्यवस्थापन उपसमितीका संयोजक खड्ग शाह र व्यानर व्यवस्थापन उपसमितीका संयोजक राजेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ ।

चलचित्र/मनोरञ्जन 

चलचित्र “हृदयभरी” निर्माण हुने

अभिनेतामा पल शाहको मुख्य भूमिका रहने गरी चलचित्र ‘हृदय भरी’  निर्माण हुने भएको छ । 
केही हप्ता अगाडि मुहूर्त गरिएको चलचित्रको सोमवार राजधानीमा एक कार्यक्रमका बीच ‘कास्ट एण्ड क्रियू’ मेम्बर सार्वजनिक गरिएको छ । लोभलाग्दो ‘फ्यान फलोइंग’ भएका पल शाहको मुख्य भूमिका रहने उक्त चलचित्र सफल हुने निर्माण पक्षको दावी छ । यो चलचित्रबाट श्रद्धा क्षेत्रीले डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धाले त्यहाँ मोडलिङ क्षेत्रमा राम्रो नाम कमाएकी छन् । सुरज सुब्बा ‘नाल्बो’ को एक्सन–कट रहने चलचित्रमा पलको अपोजिटमा अभिनेत्री रेखा लिम्बु पनि देखिनेछिन् । पलले पहिलो पटक फ्रेस अनुहारसँग स्क्रिन साझेदारी गर्दैछन् । 
नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, मनोज केसी, कविता रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मलाई निकेश लिम्बु, चन्दन शाह तथा दीपेन्द्र राईले निर्माण गर्दैछन् । फिल्मको कथाले युवापुस्ताको प्रेम झल्काउने लेखक तथा निर्देशक सुरजले बताए । 
नवअभिनेत्री श्रद्धाले सानैदेखि फिल्ममा अभिनय गर्ने इच्छा ‘हृदय भरी’ बाट पूरा हुन लागेकोमा खुसी व्यक्त      गरिन् । ‘फिल्ममा आउने इच्छा भएकै कारण मोडलिङमा आएँ र राम्रो टिम पाएकोले नेपाली फिल्ममा डेब्यु गर्दैछु’ श्रद्धा भन्छिन् ‘मलाई दर्शकले स्वीकार गर्नुहुन्छ भन्नेमा आशावादी छु ।’ 
चलचित्र ’शत्रु गते’ रिलिजको करीब ७ महिनापछि पलले ‘वीरविक्रम २’ भन्दा अगाडि साइन गरेको फिल्म हो यो । टिम र स्क्रिप्ट मन परेका कारण ‘हृदय भरी’ गर्न तयार भएको उनले बताए । यो चलचित्रले उनले २० लाख पारिश्रमिक बुझेका छन् । चलचित्रमा सलोन बस्नेतको पनि प्रमुख भूमिका रहनेछ । फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, केदार भुषालको लेखन, बिपिन मल्लको सम्पादन रहनेछ ।

लेख 

कहाँ छ माओवादी ? प्रचण्ड कहाँ छन् ?

मेखराज परियार  
माओवादीका ठूला नेता भारत भूमिमा नै बसेर जनयुद्ध हाँकिरहेको मात्रै थिएनन्, पीएलएका लागि हतियारसमेत उतैबाट ल्याइन्थ्यो । दोस्रो, संसदवादी दललाई यता राजाले पेलेरै अघि बढेका, जनताको साथ नपाएका र गाउँ–गाउँमा माओवादीकै कारण उनीहरुका कार्यकर्ता असुरक्षित अवस्थामा थिए । तसर्थ राजाको तानाशाही बहुदलीय लोकतन्त्र विरोधी शासन, महत्वकांक्षाको अन्त्य र दैनिकजसो मारिने कांग्रेस, एमालेका कार्यकर्ताको सुरक्षा निम्ति बाध्यतावश नै सही, दुई शक्तिवीच सम्झौता सम्भव हुन पुग्यो ।
संसदवादी शक्तिको नेतृत्व नेपाली कांग्रेस र यसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाले गरेका थिए भने विद्रोही शक्ति नेकपा माओवादी थियो र त्यसको नेतृत्व क. पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्थे । पछिल्लो चरणमा ठूलो पार्टी नेकपा एमाले र त्यसका नेता खड्गप्रसाद ओली त संसदवादी शक्तिका एक सहायक शक्ति र व्यक्तिमात्रै थिए ।
माओवादी विद्रोहको अवतरण, शान्ति, सम्झौता, माओवादीको मूल प्रवाहमा प्रवेश, गणतन्त्र, संविधानसभा, धर्म्निरपेक्षता सम्बन्ध निकै महत्वपूर्ण निर्णयमा गिरिजाप्रसाद कोइरालाको व्यक्तिगत निर्णयक्षमता स्मरणयोग्य थियो । त्यतिमात्रै होइन, युद्धको विश्राम, पीएलएको विघटन, संसदीय खेलमा हामफाल्ने हुँदाहुदै त्यस्तो क्रान्तिकारी माओवादी पार्टीलाई एमालेसँग विलय गर्न ‘बोल्ड डिसिजन’ गर्नेमा योद्धा क. प्रचण्डको महत्वपूर्ण भूमिकासमेत छ ।
एजेण्डा माओवादीको, नेतृत्व ओलीको !
वि. सं ००६ साल बैशाख १० गते पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठ मिलेर नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको थियो । ०२८ सालमा झापा विद्रोहको नाममा धर्मप्रसाद ढकालको हत्या ग¥यो, नेकपा मालेको एक समूहले । सीपी मैनाली, केपी ओली, आरके मैनालीलगायत त्यस विद्रोहका नेता थिए ।
पछि ०४६ सालको जनआन्दोलन सफल भएपश्चात ०४७ पुष २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) वीच एकता पुग्यो । एकतापछि नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी) अर्थात एमाले बन्यो । तत्कालीन पार्टीका नेता मदन भण्डारी पार्टी महासचिव र माक्र्सवादी नेता मनमोहन अधिकारी पार्टी अध्यक्ष बने ।
स्मरण रहोस् वि.सं ०४९ भदौ (१४–२०) काठमाडौंमा सम्पन्न एमालेका पाँचौं महाधिवेशनले मदन भण्डारीको “जनताको बहुदलीय जनवाद (जबज)” पारित भयो र उनलाई पार्टीको महासचिव पदमा पनि अत्याधिक मतले विजय गरायो । यसरी मदन भण्डारीको जबजलाई एमाले पार्टीले आरुनो मूल कार्यनीति, सिद्धान्त मान्दै आयो ।
उता ०४७ सालमा नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (मशाल), निर्मल लामा समूहको (चौम), रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारा श्रमिक संगठन, डा. बाबुराम भट्टराईको विद्रोही मसाल र रुपचन्द्र विष्ट ‘थाहा’ आन्दोलनवीच एकता गरी नेकपा (एकता केन्द्र) गठन गरियो । तथापि त्यो एकता लामो समय टिक्न सकेन । ०५१ जेठ (१६–२१) मा चितवनमा एकताकेन्द्रको सम्मेलनले बहुमतले अल्पमतमाथि कारवाही ग¥यो र नेकपा (माओवादी) पार्टीको विधिवत जन्म हुन पुग्यो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको महासचिव घोषणा गर्दै ‘जनयुद्ध’ को आधिकारिक लाइन पनि पारित ग¥यो । १० वर्षे जनयुद्धको वैधानिक शुरुवात यही सम्मेलन हुन पुग्यो । यद्यपि माओवादीको व्यक्तिहत्यासहितको जनक्रान्तिमा कांग्रेस, एमालेजस्ता बहुदलवादीका कार्यकर्ता मारिए पनि तत्कालीन दरबार (राजा) का मानिसलाई माओवादीले खासै दुःख नदिनुको के कारण थियो होला ? यो एक खोज र अनुसन्धानको विषय बन्न पुगेको छ ।
स्पष्ट नै छ, संविधानसभा, जननिर्वाचित प्रतिनिधिबाट देशको संविधान लेखिने एजेन्डा, गणतन्त्र, जनाधिकार, समावेशीकारण, समानताजस्ता महत्वपूर्ण मुद्दा माओवादी जनयुद्धले स्थापित भएका हुन् । सहिदको रगत, पसिना, बलिदानी, जनसमर्थन, त्यागको कारण देशमा यी सबै उपलब्धि सम्भव भएका हुन् । तथापि विस्तृत शान्ति सम्झौता भएकै १२ वर्ष पुग्नुअगावै त्यस्तो क्रान्तिकारी शक्ति समाप्त हुन पुग्यो । कहाँ छ,    माओवादी ? प्रचण्ड कहाँ छन् ? जवाफ कसले दिने ?
विप्लव नेकपा, वैद्य समूह या अन्य पनि आफूलाई आधिकारिक माओवादी भएको दावी गर्दछन् । तथापि जनतामा भ्रम, विवाद, अन्योलता छन् । माओवादी एजेन्डालाई प्रयोग गरेर केपी ओली र एमालेले फाइदा उठायो । निर्वाचनमा ठूलो पार्टी बन्यो र माओवादीलाई निल्यो । यो अतिवादी सोच तोड्न, सत्य हो ।
कसले संरक्षण गर्ने, उपलब्धी ?
गोरखाको क्षेत्र नं २ निर्वाचनताका निकै नै चर्चामा थियो । कारण हो–नयाँ शक्ति पार्टी संयोजक तथा माओवादीका चर्चित पूर्वनेता डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठवीचको चुनावी प्रतिस्पर्धा । त्यहाँ कस्तो गैरजिम्मेवारपना देखिन्थ्यो भने, जनयुद्धको ठूलो प्रभाव परेको जिल्ला भएको हुँदा शान्ति प्रकृयाका काम, जनयुद्धका घाइते, विस्तापितका विभिन्न समस्या कसले जिम्मेवारी लिने भन्ने सन्र्दभमा दुबै नेता जिम्मेवारी नलिने देखिए ।
बाबुरामको तर्क थियो, ‘मत जनयुद्धमात्रै होइन, कम्युनिष्ट आन्दोलन परित्याग गरी लोकतान्त्रिक शक्तिमा रुपान्तरण भैसके त्यसैले मैले जिम्मेवारी लिने कुरै भएन ।’ अर्का नेता श्रेष्ठले पनि आफू जनयुद्ध समापन भएपछि, शान्ति प्रकृयासँगै माओवादीमा प्रवेश गरेकाले जनयुद्धको जिम्मेवारी लिन नसकिने तर्क सुनिन्थ्यो ।
शान्ति प्रक्रिया टुंगिन बाँकी छ । वेपत्ता छानविन र मेलमिलाप आयोग त गठन भएका हुन् तथापि त्यसले काम गर्न सकेको छैन । कोही व्यक्ति जीवित छ, मृत्यु भयो या बेपत्ता छ, त्यसको छानविन, निक्र्योल गर्न जरुरी छ । त्यस्तै ती व्यक्तिहरुको परिवार, आफन्तबीच मेलमिलाप, राज्यद्वारा क्षतिपूर्ति, क्षमायाचना इत्यादि गरी टुंग्याउनुपर्छ । यस दिशामा राज्य, सरकार, संसद, लागिरहेको छैन । यो विडम्वना हो ।
माओवादी विद्रोह केवल जनक्रान्ति मात्रै थिएन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानता र समावेशीकरण, विधिको शासनजस्ता जनाधिकार एंव उपलब्धिहरु प्राप्त भए । त्यसमा १७ हजार जनताको बलिदानी, हजारौंको अंगभंग, लाखौंको परिवार र आफन्त गुमाएका र करोडौंको धन क्षति हुन पुग्यो । माओवादीको विद्रोहविना या यी उपलब्धि र परिवर्तन सम्भव थिएन ।
यद्यपि राज्य पुनसंरचना, पूर्णसमानुपातिक समावेशीकरणको संवैधानिक ग्यारेन्टी, जातीय, लैङ्गिक, क्षेत्रीय, धार्मिक, समुदायगत र वर्गीय मुक्तिको महत्वपूर्ण कार्यभार अझै अपूर्ण नै छ । त्यतिमात्रै होइन, राष्ट्रमा अझै विभिन्न किसिमका अतिवादी साम्प्रदायिक द्वन्द्व, सामाजिक विकृति, विभेद, अमानवता र असभ्यता जीवित नै छन् ।
वर्तमान सरकार, त्यसको नेतृत्व केपी ओली, नेकपा र यसका कार्यदिशा हेर्दा राष्ट्रमा रहेका यावत समस्याहरुको समाधान हल होला भन्ने लाग्दैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छेपारोको जस्तै रङ्ग बदलेर परिवर्तन, उपलब्धी    विरोधी शक्ति एमालेसँग एकता गर्नु दुःखद हो ।
किनभने, संघीयता, धर्मनिरपेक्षता र समावेशी मुद्दामा ओली व्यक्तिगतरुपमा र उनको पूर्वपार्टी एमाले सकारात्मक छैन । संघीयता र यसका यावत समस्याहरु सुल्झाउने, समाधान खोज्दै, समृद्धि खोज्ने भन्दा पनि संघीयता सिध्याउने र द्वन्द्वतर्फ अघि बढ्ने दुष्कार्यमा सरकारअघि बढ्दै छ । ०६२÷०६३ को जनआन्दोलनताका जनताले गणतन्त्रको नारा लगाउँदा ‘गोरु गाडा चढेर अमेरिका पुगिन्न’ भनी गणतन्त्र असम्भव देख्ने ओलीकै दुईतिहाईको सरकार निकम्मा देखिन्छ । काम गर्ने क्षमता नभए मार्ग प्रशस्त गर्नुपर्ने हुन्छ ।
स्मरण रहोस्, नेकपाकै एकताको सवालमा समेत विवादहरु धेरै छन् । दुई अध्यक्ष ओली र दाहालको पद र मत मिलेको देखिएता पनि अन्य पद र स्थानहरुमा समस्या छन् । माओवादी पार्टी कुन शक्तिको ‘ग्राण्ड डिजाइन’ मा निर्माण भयो र कुन शक्तिले सकायो, यो खोजको विषय हुन सक्छ । यद्यपि मुलुकले प्राप्त गरेका उपलब्धी र जनाधिकारको संरक्षण र सम्वद्र्धधन गर्नुपर्छ ।
— अनलाईन खवरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. सन २०१८ को बिश्वकप फुटबलको बिजेता राष्ट्र कुन हो ?  — फ्रान्स 
२. सन २०१८ का सम्पन्न एसियाली खेलकुद् प्रतियोगितामा नेपालले कुन खेलबाट रजत पदक पाएको थियो ?   — प्याराग्लाईडिङ्ग
३. सन २०१८ को मिस युनिभर्स बिजेता कुन देशको र को हुनुहुन्छ ? 
— फिलिपिन्सकी क्याटिओना ग्रे 
४. सन २०१८ मा सम्पन्न मिस वल्र्ड प्रतियोगिताको बिजेता को हुनु हुन्छ ? 
— मेक्सिकोका भनेसा पोन्स 
५. नेपालका बर्तमान प्रधान सेनापति को हुनुहुन्छ ? — पूर्णचन्द्र थापा 
६. संगीत प्रवीण भनेर नरराज ढकाललाई चिनिन्छ भने आयामेली कवी भनेर कसलाई चिनिन्छ ? 
— तिलकबिक्रम नेम्वाङ्ग 
७. सिंहदरवारमा कहिले आगलागी भएको थियो ?  — बि.सं. २०३०, असार २५ गते 
८. जैन धर्म अनुसार जम्मा कति तीर्थकरहरु भए ?  — २४ 
९. पशुपतिमा भगवान शिवलाई कसको मुकुट पहिराउने चलन छ ?  — बुद्ध 
१०. राष्ट्रिय सभाको बर्तमान अध्यक्षको हुनुहुन्छ ?  — गणेश तिमिल्सिना 
११. प्रकाशले एक सेकेण्डमा कति दुरी पार गर्छ ?  — करिव तीन लाख किलोमिटर 
१२. धान खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ? — पाँगो माटो 
१३. पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण गरिएको हो ?  — चीन 
१४. बालाजु औद्योगिक क्षेत्र कुन सरकारको सहयोगमा स्थापना भएको हो ?  — अमेरिका 
१५. “म नै राज्य हुँ” भन्ने फ्रान्सका राजा को थिए ?  – लुई चौधौं 
१६. नेपालीलाई सरकारी कामकाजको भाषा बनाउने निर्णय कहिले भएको थियो ? 
— २०२१ बैशाख २ गते
१७. जंगवहादुरपछि बेलायतको भ्रमण गर्ने राणा प्रधानमन्त्री को हुन ?  — चन्द्र शमशेर 
१८. तिव्वती पात्रो अनुसार ल्होसार भन्नाले कुन दिनलाई सम्झनु पर्छ ?  — नयाँ बर्ष 
१९. निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र कुन हो ?  — माईतीघर 
२०. बौद्धमार्गीको शास्तीय नृत्यलाई के भनिन्छ ?  — चर्या नृत्य 
२१. युनेस्कोको स्थापना कहिले भएको हो ?   – सन १९४६ 
२२. बिद्युतका पिता भन्नाले कसलाई बुझिन्छ ?  — माईकल फेराडे 
२३. बिहानको दुःख भनेर कुन नदीलाई चिनिन्छ ?  — कोशी नदी 
२४. अन्तरिक्षमा जाने पहिलो महिला को हुन ?  — भ्यालेन्तिना तेरेस्कोभा (रुस) 
२५. नेपालको लामो नदी कर्णालीको लम्वाई कति छ ?  — ५०७ किलोमिटर 
२६. ईन्द्रावती नदीको उद्गमस्थल कहाँ छ ?  — लामटाङ हिमाल 
२७. काँक्रे विहार कुन जिल्लामा पर्छ ?  — सुर्खेत 
२८. ईतिहासका पिता भनेर कसलाई चिनिन्छ ?  — हेरोडोट्स 
२९. मल्ल वंशका पहिला राजा को हुन ?  — अरी मल्ल 
३०. पाटनको श्रीकृष्ण मन्दिर कसले वनाएका हुन ?  — सिद्धिनरसिंह मल्ल 
३१. नेपालको संबिधानमा कति ओटा अनुसूचीहरु रहेका छन् ? नौ ओटा 
३२. नेपालको संबिधानमा महिलाको हक कुन धारामा उल्लेख गरिएको छ र उक्त धारामा के के व्यवस्था गरिएको छ ? — धारा ३८ 
(१) प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ । 
(२) प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ । 
(३) महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । 
(४) राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । 
(५) महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ । 
(६) सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ ।   
३३. नेपालको संबिधानमा अवशिष्ट अधिकार सम्वन्धी व्यवस्था कुन धारामा गरिएको छ ? — धारा ५८
अवशिष्ट अधिकार ः यस संविधान बमोजिम संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा यो संविधानमा कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा संघको अधिकार हुनेछ । 
३४. नेपालको संबिधानको धारा ६५ अनुसार राष्ट्रपतिको पद रिक्त कुन अवस्थामा हुन्छ ? 
निजले उपराष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, 
निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा, 
निजको पदावधि समाप्त भएमा, 
निजको मृत्यु भएमा ।

साहित्य सृजना 

कविता 

जस्तै फूल फुल्छ आगनमा पनि भिरमा पनि 
त्यस्तै आगो जल्छ मसानमा पनि मन्दिरमा पनि
भेदभाव के हो कहिल्यै पनि जानेन उसले
आँसु झरिदिन्छन् खुशीमा पनि पिरमा पनि
आफ्नै जीवनको कट्घरामा उभिएछ कैदी 
स्वीकार्दैन गल्ती सुरुमा पनि आखिरमा पनि
ब्यर्थै किन हतियार मात्र उठाउँछन् यी हातहरु 
शक्ति हुन्छ हतियारमा पनि वाणीका तिरमा पनि
बाहिर हेर्दा जतिसुकै साहासी किन नहोस
डर त लुकेकै हुन्छ कायरमा पनि बिरमा पनि
खाली हात आएर पनि खाली हातभित्रको मर्म बुझ्छ
रमाउँछ फकिर खुला आकाशमा पनि जन्जिरमा पनि
आँखाका ती हेर्ने नजरहरु स्वच्छ भएछन् भने
सुन्दरता उत्तिकै हुन्छ पाउमा पनि शिरमा पनि
पुष्पा जोशी “काली”
धनगढी, कैलाली

सुरा (रक्सी) को महिमा 

सुरा तिमी कत्ति मायाकी खानी छ्यौ,
धनिलाई पनि त्यत्ति नै माया दिन सक्ने,
अनि गरीबलाई पनि त्यत्ति नै माया दिन सक्ने
अनि तिमी कत्ति चमत्कारी छ्यौ,
कहिले त्यहि मन मस्तिष्कलाई प्रगाढ माया र 
प्रेमले पगालि दिन्छ्यौ,
कहिले त्यसैलाई सहारा मरूभूमि झैं उजाडी दिन्छ्यौ
कहिले त्यहि मस्तिष्कलाई तिमी गायक बनाइदिन्छ्यौ ,
कहिले तिमी त्यसैलाई अधिनायक बनाई दिन्छ्यौ
अनि तिमी कत्ति शक्तिशाली छ्यौ,
हरिपलाई पनि अमीर बनाइदिन सक्छ्यौ,
तिमीले चाह्यौ भने अमीरलाई हरिप बनाइदिन सक्छ्यौ
तिमीले धेरै माया गर्दा,
सडकको पेटीपनि तातो सिरक र डसना बन्न सक्छ,
तिम्रो धेरै मायाँ पाउँदा, गन्हाउने ढल पनि मीठो बास्ना बन्न सक्छ
तिमीले चाह्यौ भने आफ्नी प्रिय पत्नीलाई 
गल्लीको कुकुर बनाइदिन सक्छ्यौ,
तिमीले सोच्यौ भने पेटीको कुत्तालाई आफ्नी प्रियसी बनाइदिन सक्छ्यौ
त्यसैले त सुरा तिम्रो महिमा, 
ईश्वरको लीला भन्दा पनि अपरम्पार छ,
आजभोली त साँच्चै तिम्रो, जताततै चमत्कारै चमत्कार छ,
आजभोली त तिम्रो माया नपाउँनेहरु साना र तुच्छ हुन्छन् रे,
आजभोली त तिम्रो छेउमा नजानेहरु गँवार र पाखे हुन्छन् रे
अनि तिमी कत्ति प्रभावशाली छ्यौ,
चिन्ताग्रस्त मनलाई चिन्तारहित बनाइदिन सक्छ्यौ रे,
अनि तिमी कत्ति शक्तिशाली छ्यौ,
पाषाण हृदयलाई पनि,
चैत बैशाखमा बिरह ब्यथा पोख्ने कोइली झैं 
भाव विह्वल बनाइदिन सक्छ्यौ रे
आजभोली त तिम्रो माया पाउने ठूला बडाहरु 
अझै बाठा र टाठा हुन्छन् रे,
तिम्रो माया पाएर अस्मिता लुटिएका,
विवशताभित्र बाँधिएका चेलीबेटी पनि पवित्र र चोखा नै हुन्छन् रे
त्यसैले त तिम्रो महिमा अपरम्पार छ,
आजभोली त साँच्चै तिम्रो जताततै चमत्कारै चमत्कार छ ।
द्रौपदा भट्टराई

सूचना सन्देश बिज्ञापन 

बडीकेदार गाउँपालिका 

गाउँ कार्यपालिकाको कार्यालय
खड्यौली, डोटी 

सुदूरपश्चिम प्रदेश

बाल पोषण अनुदान रकम बिस्तार गर्ने बारे अत्यन्त जरुरी सूचना 

नेपाल सरकारको सामाजिक सुरक्षा सम्बन्धी नीति अनुसार यस बडीकेदार गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ को अन्तिम चौमासिकबाट यस गाउँपालिका भित्रका ५ वर्ष मुनीका गैर दलित बालवालिकाहरुलाई समेत दलित बालबालिका झै मासिक रु चार सय बाल पोषण भक्ता अनुदान बितरण गर्ने भएकाले यस्ता बालवालिका अभिभावकहरुले तपशिलमा उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा यही मिति २०७५ साल माध मसान्तभित्र बाल पोषण अनुदान रकम प्राप्त गर्ने बालवालिकाको नाम दर्ता  गराउन हुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल 
— आमा बुवाको नागरिकताको प्रमाण पत्र, 
— बालवालिकाको जन्मदर्ताको प्रमाण पत्र २ प्रति, 
— वालवालिकाको फोटो सहितको निबेदन

सूचना ! सूचना !! सूचना !!!

क्षयरोग एक प्रकारको सरुवा रोग हो । यो रोग स्वास प्रस्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्दछ । यो रोगको समयमै पहिचान तथा उपचार नहुँदा बर्षेनी सयौं मानिसहरुको यो रोगका शिकार भईरहेका हुन्छन् । यो रोगको समयमै पहिचान गरी उपचार हुन सकेमा सजिलै निको हुन्छ । रोगको समयमै पहिचान तथा नियमित उपचारमा सहयोग पु¥याई क्षयरोगमुक्त नगरपालिका तथा देश निर्माणमा यहाँहरुको महत्वपूर्ण सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं । 
क्षयरोगका मुख्य लक्षणहरु निम्नानुसार रहेका छन् ः 
लगातार खोकी लागिरहनु,   खानाको रुचीमा कमी आउनु 
खकारमा रगत देखा पर्नु,    स्वास बढ्नु (दम लाग्नु) 
साँझपख पसिना सहित मसिनो ज्वरो आउनु, ड्डदुव्लाउँदै जानु, ड्डछाती दुख्नु 
तथा क्षयरोगले असर गरेको अङ्ग अनुसार अन्य लक्षणहरु समेत देखिने गर्दछन् । 
उपरोक्त लक्षणहरु देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच तथा खकार परीक्षण गराऔं । 
सायल गाउँपालिका 
स्वास्थ्य ईकाई, डोटी

झाडापखलाको ब्यवस्थापन 

झाडापखलाको कारण, लक्षण र उपचार बिधि 
झाडापखलाको परिभाषा ः
यदि कुनै मानिसले दिनमा धेरैपटक दिसा गर्छ र उसको दिसा पातलो छ भने उसलाई झाडापखला लागेको हुन्छ ।
२.झाडापखला खतरनाक छ ः
यसले साना बच्चाहरुलाई रगतमासी बनाएर मार्दछ, जब शरीरबाट  धेरै पानी फाल्छ वा शरीरको तौल घट्छ । 
झाडापखलाको उपचार नुन चिनि पानीको झोलवाट ।
१.झाडापखला लागेको बच्चा र त्यसलाई उपचार गर्ने आधारभूत नियमहरु यस प्रकार छ ः
प्रसस्त मात्रामा झोल पर्दाथ दिनुहोस । जस्तै सुरक्षित उमालेको पानी, नुन चिनी पानी, भातको माड वा फलफुलको रस ।
खानेकुरा दिने र पखला लागेको बच्चालाई स्तनपान गर्न नछुटाउनुहोस 
डाक्टरले सिफारीस नगर्दासम्म औषधी दिनु हुँदैन विषेश गरी एन्टिवाईटिक औषधीले विरामीको उपचार गर्दैन नत रिहाईडेट गर्छ ।
बडीकेदार गाउँपालिका
स्वास्थ्य ईकाई, डोटी

नेपाल पूर्व प्रहरी संगठन 
जिल्ला कार्यसमिति डोटीको अत्यन्त जरुरी सूचना

पूर्व प्रहरी वा निवृत्तिभरण लिईरहेका पूर्व प्रहरीहरुलाई निवृत्तिभरण (पेन्सेन पट्टा) राखी माछापुच्छ्रे बैक लिमिटेडबाट न्युनतम व्याजदरमा ३ लाख सम्म कर्जा पाईने सुविधा भएकोले नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति डोटीबाट आजीवन सदस्यता प्राप्त गरी कर्जा लिनका लागी २०७५ साल माघ मसान्तसम्म अनिवार्य रुपमा सदस्यता ग्रहण गरी सामुहिक तथा व्यक्तिगत कर्जाको लागी निम्न कागजात सहित सम्पर्क राख्न यसै सूचना मार्फत अनुरोध गरिन्छ । 
निम्न कागजात 
१. पेन्सेन पट्टाको फोटो कपी 
२. नागरिकताको प्रमाण पत्रको फोटोकपी
३. पासपोट साईजको फोटो ३ कपी 
४. आजीवन सदस्यको प्रमाणपत्र फोटो कपी 
सम्पर्क स्थान 
नेपाल पूर्व प्रहरी संगठन 
जिल्ला कार्यसमितिको कार्यालय डोटी 
अध्यक्ष पदम प्रसाद क्षेत्री 
सम्पर्क ः ९७५९००२९५२

हार्दिक समवेदना


यस सायल गाउपालिका, गाउँ कार्यपालिकाको कार्यालयका नासु श्री लाल वहादुर वोगटीकी ममतामयी आमा दुर्गादेवी बोगटीको यही मिति २०७५ साल पुष १९ गते ८८ वर्षको उमेरमा निधन भएको खवरले मर्माहित वनाएको छ । दुःखको यस घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
तेजवहादुर डुम्रेल 
अध्यक्ष 
तथा सायल गाउँपालिका डोटी परिवार


No comments:

Post a Comment