Tuesday, August 6, 2019

बिम्ब साप्ताहिक, २०७६ साल श्रावण २१ गते मंगलवार

बाल यौन दुव्र्यवहार जो कसैबाट
जहाँ पनि हुन सक्छ, त्यसैले
सावधानी अपनाऔँ, बालबालिकाका
कुरा सुनौँ, बाल यौन दुव्र्यवहार
अन्त्य गर्न सक्रिय बनौँ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

कम रासन भत्ताका कारण डोटीमा बस्न मान्दैनन् प्रहरी कर्मचारीहरु

रामहरी ओझा/डोटी
     श्रावण २०
“एक त प्रहरी दरवन्दी नै कम छ, त्यसैमा प्रहरी      कर्मचारीहरु डोटी आउनै  मान्दैनन् । हामीसंग भएका कर्मचारीहरुलाई नै हामीले जिल्लाका सवै ठाउँमा परिचालन गर्नु पर्ने अवस्था रहेको छ ।” 
डोटी सायल गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलले डौड प्रहरी चौकीमा प्रहरी कर्मचारीको संख्या वढाउनु पर्ने माग राख्दा जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले प्रहरीहरु जिल्लामै कम भएका कारण पठाउन नसकिएको जानकारी दिए । ‘जिल्लामा जम्मा तीन सय ९६ जनाको दरवन्दी छ’ धामीले भने ‘त्यसमध्ये हाल कार्यरत दुई सय ९१ मात्रै छन् ।’ 
डोटीमा प्रहरी कर्मचारीहरु बस्न नचाहानुको मुख्य कारण न्यून रासन भत्ता भएको प्रहरी   कर्मचारीहरु वताउँछन् । “सुदूर–पश्चिम प्रदेशका सात पहाडी जिल्लामध्ये सवैभन्दा कम रासन भत्ता पाउने जिल्ला डोटी हो” एक प्रहरी कर्मचारीले भने ‘महंगी र अन्य हिसावले अरु जिल्ला र डोटीमा केही फरक छैन ।’ उनले प्रदेश राजधानी कैलालीबाट डोटीमा आउँदा बाटोमा पर्ने जिल्ला डडेल्धुराका प्रहरीले दैनिक दुई सय १८ रुपैयाँ पाउने गरेको तर डडेल्धुरा भन्दा ६५ किलोमिटर टाढा डोटीमा काम गर्नेले जम्मा एक सय ६६ रुपैयाँ मात्रै पाउने गरेको वताए । 
“डोटी, अछाम र बैतडीको प्रकृति एउटै भएपनि अछाममा दुई सय २५ र बैतडीमा दुई सय २८ रुपैयाँ दैनिक रासन भत्ता पाउने गरेका छन्” एक अर्का प्रहरी कर्मचारी प्रश्न गर्छन् ‘अनि को आउने डोटी ?’ उनले डोटीमा कार्यरत प्रहरीलाई रासन भत्ताले नपुग्ने र तलवबाट रासन खानु पर्ने अवस्था रहेको वताए । उनी थप्छन् ‘जिल्ला सदरमुकाममै बस्न सकिन्न यो भत्ताले, सायल, बोगटान घाङल जस्ता दुर्गम गाउँहरुमा कसरी पु¥याउनु खानलाई ?’  
रासन कम भएका कारण डोटी सरुवा भएका प्रहरी  कर्मचारीहरु पनि काज मिलाएर अन्यत्र जाने गरेको वताउँछन् जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धामी । ‘डोटीमा काजमा आउन कसैले चाँहदैनन् तर डोटीबाट अन्यत्र काजमा जानेहरुले भनसुन समेत गर्न लाउँछन्’ धामीले भने ‘डोटीमा काजमा आउने भनेको घर पायक खोज्नका लागि आउनेहरु मात्रै हुन्छन् ।’ उनले डोटी सरुवा हुने बित्तिकै प्रहरी कर्मचारीमा सिथिलता आउने वताए । उनी थप्छन् ‘उत्प्रेरित हुनका लागि केही देखिदैन ।’ 
कुल दरवन्दी संख्या तीन सय ९६ मध्ये हाल २८ जना बिदामा रहेका छन् भने ७७ दरवन्दी खाली छन् । भएका प्रहरी जनशक्तिमध्ये कारागार सुरक्षा, उच्च अदालत, जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला अस्पताल, बाल सुधार गृह, क्षेत्रीय प्रशासन लगायतका निकायहरुको सुरक्षामा ५५ जना खटिएका छन् । जिल्लाको शान्ति सुरक्षाको लागि दुई सय ३६ जना प्रहरी मात्रै रहेको जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्कले देखाउँछ । जिल्लामा रहेका जिल्ला प्रहरी कार्यालय, ६ ईलाका प्रहरी कार्यालय, सात प्रहरी चौकी र चार अस्थायी प्रहरी पोष्टमा दरवन्दी भन्दा कम प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक धामीले वताए । 
२०६८ सालको जनगणना अनुसार डोटी जिल्लाको कुल जनसंख्या दुई लाख ११ हजार सात सय ४६ रहेको छ । यस आधारमा डोटीमा एक प्रहरी कर्मचारीले आठ सय ९७ सर्वसाधारणको सुरक्षा गर्नु पर्ने अवस्था छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार एक प्रहरी कर्मचारीले करीव तीन सय सर्वसाधारणलाई सुरक्षा दिनु पर्ने व्यवस्था छ । 
कुन जिल्लामा कति रासन भत्ता 
सुदूरपश्चिम प्रदेश अन्तरगतका नौ जिल्लामध्ये बझाङ्ग जिल्लामा सवैभन्दा बढी रासन भत्ता छ । 
बझाङ्ग (ख) मा दैनिक चार सय तीन रुपैयाँ पाउँछन् । यस्तै दार्चुला (क) दुई ६५, (ख) तीन सय १७, बाजुरा दुई सय ४७ कञ्चनपुर एक सय ६६ र कैलाली एक सय ५८ रुपैयाँ दैनिक रासन भत्ता पाउँछन् । डोटी एक सय ६६, डडेल्धुरा दुई सय १८, बैतडी दुई सय २८ र अछाम दुई सय २५ रुपैयाँ प्रहरीले रासन भत्ता पाउने व्यवस्था छ ।

सम्पादकीय 

आफ्नो गाउँ आफै वनाउँ !

“आफ्नो गाउँ, आफै वनाउँ”,  ०५१ सालमा बनेको तत्कालिन नेकपा एमालेको अल्पमतको सरकारले ल्याएको नारा हो यो । प्रत्येक तत्कालिन स्थानीय निकायहरुमा बजेट दिने र नि निकायहरुले आफ्नो आवश्यकताका आधारमा उक्त वजेट बिभिन्न क्षेत्रमा बिनियोजन गरि आफ्नो गाउँको विकास आफै गर्ने भन्ने लक्ष थियो यस नाराको । सुरुमा तीन लाख रुपैयाँ प्रत्येक गाउँ विकास समितिलाई बिनियोजन गर्दा नेपालका केही अर्थविद्हरुले ‘वजेट कनिका छरे झैं भयो’ , ‘कम्युनिष्ट सरकारले देशको ढ्कुटी रित्याउने भयो’, ‘सस्तो लोकप्रियताका लागि यस्तो कार्यक्रम ल्यायो’ जस्ता आरोप लगाएका थिए । यद्यपी तिनै आलोचना गर्ने अर्थबिद्हरुमध्ये केहीले पछि आफ्नो पालामा यो कार्यक्रमलाई निरन्तरता दिए ।  
त्यतिवेला अहिलेका जस्तो भ्रष्टाचार चरमचुलीमा पुगेको थिएन । कम्तीमा नागरिकहरु ईमानदार थिए, राजनीतिक दलका कार्यकर्ताहरु यति बिधि बिग्रिसकेका थिएनन् । स्थानीय निकायका जनप्रतिनिधिहरुलाई भ्रष्टाचार गर्ने मेसो थाह भईसकेको थिएन । देशमा भरखर “प्रजातन्त्र” आएकाले निरंकुश पञ्चायती शैलीको कर्मचारीतन्त्र पनि दोधार–दोधारमै थियो । त्यसैले वातावरण सहज थियो । बजेट अनुसारको काम भएको थियो, भएको काम गुणस्तरीय पनि थियो । जनताले विकासमा अपनत्व ग्रहण गर्ने चलन थियो । देशभरि विकासका केही राम्रा अभ्यासहरु भए, जनतामा थोरै भएपनि सन्तुष्टि थियो । यही नाराले “विकासवादी” कहलिएको तत्कालीन एमालेले लामो समयसम्म उक्त नाराको व्याज खायो, अझै पनि त्यो नाराको थोरवहुत व्याज आउँदैछ । 
बिस्तारै जनप्रतिनिधिहरुले भ्रष्टाचारको स्वाद् चाख्दै गए,  कर्मचारीहरुले भ्रष्टाचारको बाटो देखाउँदै गए, नेताहरु भ्रष्टाचारको बाटो फराकिलो पार्दै गए, कार्यकर्ताहरु त्यो बाटो पहिल्याउँदै गए । अन्ततः जनता पनि त्यो स्वाद् चाख्न पल्के । आज अवस्था यस्तो आईहाल्यो कि, अव भ्रष्टाचार गर्ने होईन, नगर्ने अपराधी हुन्छ । नेता होस् कि कर्मचारी, उपभोक्ता होस कि सर्वसाधारण जसलाई पनि भ्रष्ट वन्ने रहर जागेको छ । सम्पत्ति चाहिन्छ, सम्पत्ति विना केही पनि हुँदैन, सम्पत्तिका लागि “जे पनि” गर्नु पर्छ भन्ने मानसिकता पलाएको छ । 
अहिले वर्षेनी करोडौं रूपयाँ गाउँगाउँमा जाँदैछ । विकास गर्न चाहने हो भने यो वजेट धेरै छ । धेरै कुरा गर्न सकिन्छ । साँच्चै आफ्नो गाउँ आफै वनाउन नागरिकले मात्रै सोच्ने हो भने गुणस्तरीय काम हुन्छ । एउटै वाटोमा पटक पटक वजेट हाल्ने, पटक पटक कागजात मिलाउने गर्नु पर्दैन । त्यसका लागि अव मागमा आधारित होइन, आवश्यकतामा आधारित विकास आवश्यक छ । माग सडक आउँछ, किनकी माग गर्ने सर्वसाधारण होईनन्, सर्वसाधारणको पहुँच र आवाज माग गर्ने निकायमा पुग्दै पुग्दैन । माग गर्नेहरु व्यापारी र विचौलिया छन् । उनीहरुले आफ्नो स्वार्थका लागि योजना माग गर्छन् । तर त्यो वास्तविक आवश्यकता होईन । यही कारण जनताले विकासमा अपनत्व ग्रहण गर्न सकेका छैनन् । यही कारण भ्रष्टाचार बढ्छ । सर्वसाधारणले पनि त्यो योजना आफ्ना लागि आवश्यक नदेखेपछि त्यसबाट तत्काल कसरी फाईदा लिने भन्ने सोच्छ । त्यसपछि एक दिन काम गरेर चार दिनको हाजिर लगाउन खोज्छ वा एक दुई घण्टा काम गरेर दिनभरीको मजुरी लिन खोज्छ । उपभोक्ता समितिले ठेकेदारसंग कमिसनको “वार्गेनिङ्ग” गर्छ । कर्मचारीले उपभोक्ता समितिसंग कमिसनका लागि वार्गेनिङ्ग गर्छ । जनप्रतिनिधिले कमिसन नपाएसम्म अनुगमन प्रतिवेदन दिन मान्दैन । बिचौलियाहरुले चारैतिर हात पर्साछन् । 
अनि विकास हुँदैन, विनास हुन्छ । चारैतिर डाँडा भत्किन्छन्, सडक वन्दैन्, जंगल सखाप हुन्छ, बाढी पहिरोको जोखिम बढ्छ, वजेट सकिन्छ, पुल वन्दैन्, कुलो वन्छ पानी चढ्दैन । अनि कसरी वन्छ त आफ्नो गाउँ आफै ।

थप समाचार 

अस्पताल सरकारी, डाक्टर गैरसरकारी

दशौं तहको एक मेडिकल सुपरिटेण्डेण्ट सहित चार जना चिकित्सकको दरवन्दी रहेको डोटी जिल्ला अस्पतालमा हाल आठौं तहका एक जना चिकित्सक मात्रै दरवन्दीमा कार्यरत छन् । 
“एक जना मेसु सहित दशौं र नवौं तहका दुईजनाको दरवन्दी त छ तर पदपुर्ति कहिल्लै भएको छैन’ हाल दरवन्दीमा कार्यरत डा. भुषण मिश्रले भने ‘अहिलेसम्म आएका आठौं तहका मात्रै हुन् ।’ हाल सरकारी दरवन्दीमा आफु एक जना मात्रै रहेको डा मिश्र वताउँछन् । ‘मेरो पनि समायोजन मा स्थानीय तहमा परेको छ, चिठ्ठी आएपछि मैले पनि जानु पर्छ होला, त्यसपछि के हुने हो थाह छैन’ डा. मिश्रले भने ‘समायोजनमा प्रदेशमा जम्मा दुई जना मात्रै चिकित्सक परेका छन् ।’ जिल्ला अस्पतालहरु प्रदेशको मातहतमा छन् । सुदूरपश्चिम प्रदेशका नौ जिल्ला जिल्लामा जिल्ला अस्पतालहरु रहेका छन्, प्रदेशमा समायोजन भएका दुई चिकित्सकहरु कुन कुन जिल्लामा पर्ने हुन, थाह छैन । मिश्र निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन् ।
सरकारी चिकित्सक नआउने समस्या भएपछि २०६९ सालदेखि डोटी अस्पताल गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा सञ्चालन भईरहेको छ । अस्पताल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जनादर्शन जोशीको पहलमा निक साइमन्स इन्टरनेशनल नामक गैरसरकारी संस्थाले दुई जना चिकित्सक पठाएको थियो । सेवा सुविधाहरु निक साईमन्सले नै व्यहोर्ने गरि पठाईएका चिकित्सकहरुमा एक एमडीजीपी  र एक एमविबिएस रहेका छन् । हाल निक साईमन्सको तर्फबाट एमडिजिपी डा. गिरीश अवस्थी र एमबीबीएस डा. खुसिद आलम खान कार्यरत छन् । 
अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. मिश्रले बताए । जनशक्ति अभावका    कारण स्वास्थ्य सेवा विस्तारमा समस्या आएको उनी वताउँछन् । 
निक साईमन्सले खटाएका एमडिजिपीकै भरमा जिल्ला अस्पतालमा जटिल प्रसुति सेवा लगायतका शल्यक्रिया सेवाहरु उपलव्ध भईरहेका छन् । अर्को कुनै बिपल्प नभई निक साईमन्सले एमडिजीपी खटाउन छोड्ने हो भने अस्पतालबाट उपलव्ध हुँदै आएका सेवाहरु पनि वन्द हुने अवस्था रहेको छ । 
अस्पताललाई ५० शैैयामा स्तरोन्नति गर्न भौतिक पूर्वाधारहरु पर्याप्त मात्रामा निर्माण भएका भएपनि अस्पतालमा अहिलेसम्म जम्मा १५ सय्या मात्रै स्वीकृत छ । सरकारले ५० सैयाका अस्पताल बनाउने निर्णय समेत गरेको छ तर कार्यान्वयन हुन सकेको छैन् । ५० शैयाको अस्पतालको माग सहितको फाइल स्वास्थ्य मन्त्रालय पुगेको वर्षाैं भईसकेको भएपनि हालसम्म कुनै तयारी छैन । भौतिक पूर्वाधार तयार भएको रिपोर्ट सहितको प्रतिवेदन गईसक्दा समेत माथिल्लो निकायबाट कुनै आदेश आएको छैन । माथीको आदेश नभएकै कारण ५० सैयाको अस्पताल बनाउन नसकिएको अस्पताल प्रशासनको दाबी छ ।

बडीमालिकाका लागि पेटारो प्रस्थान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली प्रस्थान गरेको छ । 
शुक्रवार डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बिशेष पुजाआजा गरि टोलीलाई बिदाई गरेका हुन । सरकारी पुजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएको थियो । पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट निस्केको सरकारी पुजा सामग्री सहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पुजा गरि बडीमालिकातिर लागेको हो । राणाकालदेखि डोटी गौंणाबाट पेटारो जाने चलन रहि आएको छ । 
जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पुजाआजा हुने प्रचलन छ । औपचारिक रुपमा पुजाआजा गर्नुपर्ने परम्परा अनुसार अछाम, डोटी, जुम्ला र कालिकोटको सरकारी पुजा टोली बडिमालिका जाने गर्दछ । यसअघि अनौपचारिक रुपमा बाजुराबाट पनि पुजा जाने भएको पनि २०७२ सालदेखि औपचारिक रुपमै जिल्लाबाट सरकारी पुजा जाने चलन चलाईएको छ । 
शुक्रवार हिडेको सरकारी टोली साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौट, शनिवार पूर्वीचौकी–५ मा रहेको धानुकाँडा बास बसेको छ । यस्तै अछामको मार्कु, प्रसिद्ध धार्मिक स्थल बैद्यनाथ हुँदै बडिमालिका पुग्ने चलन छ । पुजा सामग्रीमा डोटी दिपायलको भुरुरी (धानको पात) र बैद्यनाथको अक्ष्ता समावेश गरिएको हुन्छ । 
बडीमालिकाको सुदूर क्षेत्रकै सबैभन्दा सुन्दर पर्यटकिय क्षेत्र समेत हो । १४ हजार फिट उचाईमा रहेको भूमिमा २२ वटा समथर फाँटहरु, ती फाँटमाथी फुलेका रङ्गीचङ्गी फुलहरु, त्रिवेणी, बिष्णुपानी, खेतीवेती, लौरी बिनायक, धर्मद्धार बडीमालिका क्षेत्रका मुख्य मनमोहक स्थलहरु हुन । खेतीबेतीमा परापुर्वकालदेखि खेत रोपिएको, धान रोप्नका तयार गरिएका गह्राहरु, त्यस बीचमा फालिएका बीउँका मुठाहरु जस्ताका तस्तै रहेको अनौठो दृष्य छन् । हिउ पर्ने बेला त्रिवेणी पाटनमा हिउचिप्लेटी (आइस स्केटिङ) को सम्भावना छ । यो क्षेत्र जैविक विविधतामा समेत अत्यधिक धनी मानिन्छ । सयौं प्रजातिका जडीबुटी यहाँ पाइने बन प्राविधिकहरु बताउँछन् । दुर्लभ बन्यजन्तुको बासस्थल समेत बडीमालिका क्षेत्र हो ।

मृग तर्साउन चलाएको गोली लागेर मृत्यु

खेती नास्न आएका मृग सम्झी तर्साउनका लागि चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । 
डोटी आदर्श गाउँपालिका–५, भाडीसैन निवासी ५० बर्षीय हरी भुलले शनिवार राती करीव १०.४० मा जंगली जनावर भगाउनका लागि खेतमा रहेका बेला स्थानीय गगन भाट र उरै भाटको खेत नजिकै जंगली जनावर जस्तो देखे । जंगली जनावर दुम्सी भएको आसंकामा उनले आफुले बोकेको एकनाले भरुवा बन्दुक चलाउँदा स्थानीय अन्दाजी १९ बर्षीय तपेश लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले जानकारी दिए । 
धामीका अनुसार बन्दुक र बन्दुक चलाउने भुल प्रहरीले नियन्त्रणमा लिईसकेको छ । ‘हामील हतियार र आरोपीलाई नियन्त्रणमा लिईसकेका छौं’ धामीले भने ‘घटनाको थप अनुसंधानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णवहादुर बोहराको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थलतिर गएको छ ।’ प्रारम्भिक जानकारी अनुसार जंगली जनावर तर्साउनका लागि चलाएको गोली लागेर मृत्यु भएको धामीले वताए ।
मृतक लुहार स्थानीय घट्टेडी देवताका धामी हुन । उनले यसै बर्ष बिद्यालय शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए । उनी राती किन जंगलमा गएका थिए भन्ने कुरा खुल्न सकेको छैन । उनको टाउकोमा गाली लागी घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ । 
जिल्लाका बिभिन्न स्थानहरुमा पछिल्लो समयमा जंगली जनावरहरुले बाली नष्ट गरेका घटनाहरु आईरहेका छन् । 
बाटोबाट लडेर मृत्यु
डोटीको बोगटान गाउँपालिका–५ धिर्कामाण्डौंमा बाटोबाटै लडेर एक व्यक्तिको ज्यान गएको छ ।
शनिबार राती करिब पौने दश बजेको समयमा वर्ष ५० का गोरे बराल (सुनार) को गणेशकाँडाको जंगलमा बाटोबाटै अन्दाजी १५ मिटर तल लडेर ज्यान गएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
मृतक सुनार के.आई.सिंह गाउँपालिका–५ बाट घर फर्किरहेको र बाटोमा लडेर मृत्यु भएको उनकी श्रीमती जमुना बरालले चवराचौतारा प्रहरी चौकीलाई आइतबार बिहान खबर गरेकी थिइन् ।

शान्ति सुरक्षामा प्रहरीको अहम भुमिका–पौडेल

गणेश मौनी/डोटी
श्रावण २०
डोटी जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्न नेपाल प्रहरीले अहम भूमिका निर्वाह गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बतायका छन् । 
सोमबार जिल्ला प्रहरी कार्यालय डोटीको अनुगमन गदै प्रजिअ पौडेलले सो कुरा बताएका हुन । उनले भने ‘जनताको सुरक्षामा खटिने नेपाल प्रहरी कर्मचारीहरुको सुत्ने भवन राम्रो छैन, प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक र अधिकृतहरु सुत्नाको लागि आफ्नो भवन छैन, पर्याप्त मात्रामा कर्मचारी दरबन्दी छैन तर पनि यस्ता समस्याका बाबजुत प्रहरीले डोटीको शान्ति सुरक्षा कायम गर्नुका साथै सामाजिक विकृती बिसंगतिका विरुद्धमा महत्वपूर्ण भूमिका निवार्ह गरेको बताए ।  
अनुगमन पश्चात प्रजिअ पौडेलले नेपाल प्रहरीले गरेको राम्रो कामको प्रसंशा गर्दै जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा कायम गर्ने जिम्मेवार निकाय प्रहरी प्रशासन भएको हुदाँ हाम्रो आफ्नो गतिलो भवन र आवश्यकता अनुसार जनशक्ति नभए सेवा प्रवाहका साथै बिपतका घटना, आपतकालिन घटनाहरुमा पनि छीटो छरीतो रुपमा सेवा प्रबाहमा कठीनाई हुन सक्ने भएपनि अहिले सम्म त्यस्तो कुनै समस्या नभएको बताए । 
डोटी जिल्लाका ग्रामिण क्षेत्रका प्रहरी चौकीका भवनहरु सुधार भएपनि जिल्ला प्रहरी कार्यालय भनव तथा व्यारेक को अवस्था भने सुधार हुन सकेन । हाल डोटीमा जिल्ला प्रहरी कार्यालय मातहत रहेका अपरपोष्ठ, प्रहरी चौकी, इलाका प्रहरी चौकी गरि १० वटा स्थानमा आफ्ना कार्यालय भवन भएपनि आठ स्थानमा आफ्ना भवन छैनन् । भौतिक संरचना मात्र नभई कर्मचारीको अभाव पनि त्यस्तै छ । 
अबको केही समयपछि जिल्ला प्रहरी कार्यालयको भवन निर्माणको लागि टेण्डर प्रक्रिया अघाडी बढ्ने हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यदि समयमै जिल्लाको भवन निर्माण हुन सके केही समस्याहरु समाधान हुने प्रहरी अधिकारी हरु बताउँछन् । 
प्रजिअ पौडेलले अनुगमन पश्चात बिहानको खाना प्रहरी जवाहरुको मेसमा संगै बसेर खाएका थिए ।  

पशुपंक्षी बिमा प्रभावकारी भएन

डोटीमा सञ्चालन भएको पशुपंक्षी विमा गर्ने कार्यक्रम प्रभावकारी हुन सकेको छैन । 
सरकारले २०६९ साल माघदेखि बाली तथा पशुपंक्षी बिमा कार्यक्रम शुरु गरेको थियो । डोटीमा रहेका विभिन्न बिमा कम्पनीहरूले अझैं पनि जिल्लाका ग्रामीण क्षेत्रमा कार्यक्रम पु¥याउन सकेका छैनन् । 
जिल्लाका अधिकांस ग्रामीण वस्तीका किसानहरु पशुपंक्षीको बिमाबारे जानकारी नभएको बताउँछन् । डोटीको सायल गाउपालिका–२ तोलनीका रामबहादुर वली सदरमुकाम तिर बाख्राको बिमा गरेको भन्ने सुनिएको तर आफुहरुलाई सो वारेमा जानकारी नभएको वताउँछन् । 
जिल्लाका केही स्थानीय तहले समेत किसानहरूका लागि ब्यवसायिक पशुपालन तथा कृषि कार्यमा विभिन्न किसिमका अनुदान कार्यक्रम सञ्चालन गरे पनि पशुपंक्षी बिमा कार्यक्रममा प्रेरित गर्न सकेका छैनन् ।
सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले पशुपालन गरिरहेका कृषकहरूवाट बिमा कार्यक्रममा सहभागी बन्नका लागि माग नआएका कारण बाली तथा पशुपंक्षी बिमा बारे गाउँपालिकाको ध्यान नगएको बताए । “विमा कम्पनीहरूले पनि आफ्नो कार्यक्षेत्र ग्रामीण क्षेत्रसम्म बिस्तार गर्न अग्रसर हुनुपर्दछ” उनले भने ‘राज्यको पनि विमा कम्पनीहरूलाई अनिवार्य रुपमा ग्रामिण क्षेत्र जान निर्देशन दिनु पर्छ ।’
नेपालमा बिभिन्न १७ बिमा कम्पनीहरूलाई कृषि तथा पशुपंक्षी बिमा अनुमती प्रदान गरिएको छ । कृषि तथा पशुपंक्षी ब्यवसायलाई प्रवद्र्धनका लागि बिमा समितीद्वारा प्रत्येक कम्पनीलाई तीनदेखि पाँच जिल्ला कार्यक्षेत्र तोकिएको छ ।

बडाध्यक्षले नै आगो लगाए–बिप्लव

सरकारद्वारा प्रतिवन्धित नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले डोटीमा वडा कार्यालयहरुमा भएको आगजनीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ । 
सो पार्टीको डोटी जिल्ला समितिले एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरु स्वयंको संलग्नामा आगो लगाईएको दावी गरेको छ । शिखर नगरपालिका–७ को वडा कार्यालयमा वडाध्यक्ष नर बहादुर बलायरले आगो लगाउन लगाएको आरोप बिज्ञप्ती मार्फत लगाईएको छ । नेकपा डोटीका इन्चार्ज दौलत र सेक्रेटरी कालु पाण्डेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा आफ्नो कालो कर्तुतमाथि पर्दा हाल्न वडाध्यक्ष बलाएरको निर्देशनमा स्थानीयरुरु आगो लगाएको पार्टीको अनुसन्धानले देखाएको उल्लेख छ । 
‘आफ्ना कर्मचारीले गरेको कमजोरी र भ्रष्टाचार ढाकछोप गर्न जनताले उठाएका सवालहरुको जवाफ दिन नसकेपछि त्यहि कुरालाई अन्तै मोड्न आगजनी गरेको बुझिएको छ ।ु विज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टीका नेता दिर्घ सिंह कुँवरको नाम जोडेर गरिएको प्रचार निराधार हो ।’ कुँवर पार्टी कामको सिलसिलामा चार महिनादेखि जिल्ला बाहिर रहेको समेत बिज्ञप्तीमार्फत दावी गरिएको छ । पार्टीका नेता कार्यकर्ता र पार्टीकै बदनाम गराउने उद्देश्यले वडाध्यक्षले यस्तो षडयन्त्र रचेको विज्ञप्तीमा उल्लेख छ । 
साउन ११ गते राती करीव ११ वजे उक्त वडा कार्यालयमा आगजनी भएको थियो । आगजनी भएको भोलीपल्ट वडाध्यक्ष बलायरले आगजनीमा बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दिर्घसिं कुँवरको संलग्नता रहेको प्रहरीलाई जानकारी दिएका थिए । 
यस्तै साउन ७ गते जोरायल गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीमा पनि पार्टीको कुनै संलग्ना नभएको बिज्ञप्ती मार्फत दावी गरिएको छ । बिज्ञप्तीमा शिखर नगरपालिका–७ को वडा कार्यालयमा भएको घटना जस्तै जोरालयको पनि भएको उल्लेख गरिएको छ । बिज्ञप्तीमा जनप्रतिनिधिले गरेको आगजनीको बिषयलाई लिएर प्रहरीले गाउँ गाउँ पुगेर जनताको घरमा छापा मारिरहेको भन्दै बिरोध जनाएको छ । 
प्रहरी परिचालन गरेर जनतालाई दुःख दिने कार्य तत्काल रोक्नसमेत सो समूहले माग गरेको छ । बिभिन्न बहानामा जनतालाई दुल्ख दिने काम नरोकिए आफूहरु प्रतिरोध गर्न बाध्य हुने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।
डोटीका प्रहरी प्रमुख बिद्यानन्द माझीले यि दुवै घटनामा बिप्लव नेतृत्वको नेकपामा संलग्नता रहेको वताएका थिए । उनले जोरायल र शिखरमा नेकपाकै कार्यकर्ताहरु ले आगो लगाएको दावी गरेका थिए ।  
यसअघि जेठ १४ गते बडीकेदार गाउँपालिका–४ को कार्यालयमा गरिएको आगजनीमा पनि आफुहरुको कुनै संलग्नता नरहेको बिप्लव नेतृत्वको नेकपाका एक जिल्ला नेताले जानकारी दिए । उक्त घटनामा कसको संलग्नता रहेको थियो भन्ने कुरामा हालसम्म प्रहरी पनि अनबिज्ञ छ ।  
एनसेल जलाउने बिप्लव समूह 
वडा कार्यालयहरुमा आगजनी आफुहरुले नगरेको वताउने बिप्लव नेतृत्वको नेकपाले डोटीको एनसेलका दुई टावरमा गरिएको आगजनी भने स्वीकार गरेको छ । 
‘जोरायल गाउँपालिका–१ घण्टेश्वरमा रहेको टावरमा पार्टीको डडेल्धुरा कमिटीले गरेको हो’ उक्त समूहका एक नेताले भने ‘शिखर नगरपालिका–१ मा       रहेको टावरमा डोटी पार्टीले आगजनी     गरेको हो ।’ 

सूचना/सन्देश/बिज्ञापन 

बोगटान फुड्सिल गाउँपालिका

                           गाउँ कार्यपालिकाको कार्यालय                                                               

चवराचौतारा,डोटी
सुदूुरपश्चिम प्रदेश, नेपाल
सूचना नं. ०१÷२०७६÷०७७
प्रथम पटक प्रकाशित मिति ः– २०७६।०४।२०

सिलवन्दी कोटेशन आह्वान  सम्वन्धी सूचना

उपरोक्त सम्वन्धमा यस बोगटान फुड्सिल गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय रग्रामिण जलस्रोत व्यवस्थापन परियोजना डोटी अन्तर्गत संचालन हुने जिविकोर्पाजन कार्यक्रमका लागि सूचनामा संलग्न सूची बमोजिमका विउविजन, कृषि औजार, विषादी, मल तथा अन्य आवश्यक सामाग्रीहरु खरिद गर्नु पर्ने भएकोले यस आ.व २०७६/०७७ का लागि उपलब्ध गराउन सकिने इकाई दर भाउ यस कार्यालयबाट उपलब्ध हुने दरभाउ पत्रमा उल्लेख गरि आवश्यक कागजातहरु (ऐग्रोभेट दर्ताको प्रमाण पत्रको प्रतिलिपी, कर दर्ता तथा कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी, बिषादी खुद्रा विक्रेता दर्ता प्रमाण पत्रको प्रतिलिपी, प्राइभेट फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी) सहित मिति २०७६ भाद्र २ गते कार्यालय समय भित्र यस कार्यालयमा आइपुग्ने गरि सिलबन्दी कोटेशन पेश गर्न हुन सूचित गरिन्छ । सिलबन्दी कोटेशन पेश गर्ने अन्तिम दिन विदा परेमा त्यसको भोलि पल्ट कार्यालय समयभित्र यस कार्यालयमा आइपुग्ने गरि शिलबन्दी कोटेशन पेश गर्न हुन समेत सूचित गरिन्छ । दरभाउपत्र यस कार्यालयको ग्लोबल आइएमई वैक लि. बोगटान शाखामा रहेको बैंक खाता नम्वर ः ७०४०१००००००१ मा रु.१५००। (अक्षेरुपी एकहजार पाँच सय मात्र) जम्मा गरेको भौचर गाउँपालिका कार्यालयमा पेश गरि प्राप्त गर्न सकिने छ ।
नोट ः आवश्यक कागजात र प्रक्रिया नपुगेको कोटेशनलाई मान्यता दिइने छैन ।
प्रमुख प्रशासकीय अधिकृत

                

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०४÷१७ 
उपरोक्त सम्बन्धमा दिपायल सिलगढी नगरपालिका–६ सिलगढी डोटीमा रहेको यस श्री पद्म पव्लिक मुक्ती नारायण माध्यमिक बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिमको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७६÷०७७,   पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः मा. बि. तृतीय,  बिषय ः गणित 
किसिम ः राहत करार (खुला) 
शैक्षिक योग्यता ः गणित मुल बिषय लिइ स्नातक तह वा सो सरह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०४÷३१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०४÷३२ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः शिक्षक सेवा आयोग नियमावली २०५९ को नियम २४ को उप नियम ३ र ४ बमोजिमका उम्मेदवारहरुलाई मेरिटका आधारमा शिक्षा नियमावली २०५९ को नियम ९७ बमोजिम नियुक्त गरिनेछ । शिक्षक सेवा आयोगबाट प्रकाशित सूचीका उम्मेदवारहरु उपलव्ध हुन नसकेमा मात्र शिक्षा नियमावली २०५९ को नियम ९७ को उप नियम ३ पछिका उपनियमका आधारमा नियुक्त गरिनेछ ।


Tuesday, July 30, 2019

बिम्ब साप्ताहिक, डाेटी २०७६ साल साउन १४ गते मंगलवार

अनलाइन उजूरी विधि अवलम्बन गरौं,
आफ्नो कुरा प्रष्ट पारौं ।’
विभिन्न सञ्चारमाध्यममा आएका समाचार
सामग्रीहरू पत्रकार आचारसंहिता प्रतिकूल
भएमा प्रेस काउन्सिल नेपालको वेवसाइट
www.presscouncilnepal.org
मा गई अनलाइन उजूरी गर्न सकिनेछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

स्थानीय तहका दुई बर्र्ष ः प्रशंसा थोरै आलोचना धेरै

रामहरी ओझा/डोटी
     श्रावण १३
स्थानीय तहहरुमा नयाँ जनप्रतिनिधिहरु आएको दुई बर्ष पुरा भएको छ । दुई बर्षको कार्यकालमा स्थानीय तहका काम कारवाहीहरुको भने प्रसंसा भन्दा आलोचना बढी हुने गरेको छ । 
दुई बर्षे कार्यकालमा जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार  काम गर्न नसकेको सरोकारवालाहरुको गुनासो छ । नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवा भन्छन् ‘जसरी सिंह दरवार गाउँगाउँमा पुग्यो भनेर चर्चा गरिएको छ, त्यसरी नै भ्रष्टाचार पनि गाउँ गाउँ पुगेको छ ।’ बिगतको सर्वदलीय संयन्त्रको जस्तै अहिलेका जनप्रतिनिधिहरु पनि विकासलाई भागवण्डा गर्ने गरेको देउवाको भनाई छ । 
उनी भन्छन् ‘जनप्रतिनिधि–हरु आएर पनि कुनै नयाँपन देखिएन ।’ पार्टीको नीति, पद्दति अनुसार जनप्रतिनिधिहरु नचलेको र आफ्नो मनोमानी गरिरहेको वताउँदै सभापति देउवा भन्छन् “जनप्रतिनिधिहरुमा व्यक्तिवाद हावी भएको देखिन्छ ।” योजनामा वार्गेनिङ्ग हुन थालेको, उपभोक्ता समिति वनाउँदा आफ्ना मान्छेहरु वनाउने गरेको भन्दै यसले बिकृति ल्याएको देउवा वताउँछन् । केही स्थानीय तहहरुको राम्रो काम पनि भएको देउवाको भनाई छ । 
सामाजिक कार्यकर्ता शेरवहादुर मल्ल भन्छन् ‘स्थानीय तहमा केही नीतिहरु वनेका छन्, त्यो सकारात्मक हो तर ति नीतिहरुको कार्यान्वयन हुँदैन ।’ योजना छनौटको प्रक्रिया पुरा  नगरी जनप्रतिनिधिहरुले मर्जीले योजना छान्ने, योजनासंग पार्टीको सदस्यता साट्ने गरेको मल्लको आरोप छ । “केही राम्रा अभ्यासहरु पनि भएका छन् कुनै कुनै ठाउँमा” तत्कालीन नेकपा एमालेको तर्फबाट शिखर नगरपालिकाको प्रमुखका उम्मेदवार समेत रहेका मल्ल भन्छन् ‘केही स्थानीय तहहरुले आवधिक योजना, गुरुयोजनाहरु निर्माण गरेका छन्, यसलाई सकारात्मक मान्न  सकिन्छ ।’ मल्लले थपे ‘तर कानून एकातिर कार्यक्रम अर्कोतिर, समस्या एकातिर वजेट अर्कोतिर भएको छ, यो दुःखद् छ ।’ मल्लका अनुसार जनप्रतिनिधिहरुमा  सिर्जनशीलता देखिएन, नक्कल गर्ने बानी देखियो । ‘एक स्थानीय तहले जे ग¥यो, अर्कोले पनि त्यसैको नक्कल गर्छन्, आफ्नो स्थानीय तहमा त्यो आवश्यक हो कि हैन भन्ने कुराको कुनै खोजी गर्दैनन्’ उनले भने ‘जनता खुशी पार्न तिर होईन, कसरी कमाउने भन्नेमा बढी ध्यान छ ।’ 
स्थानीय तहका जनप्रतिनिधिहरुमा काम गर्ने तौर तरिकानै नभएको वताउँछन्गै र सरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायत । उनी भन्छन् “जनप्रतिनिधिहरुको क्षमता भन्दा बढी काम दिईएको छ र आवश्यकता भन्दा बढी वजेट दिईएको छ, जसले गर्दा उनीहरु अलमलमा परेका छन् ।’ उनले स्थानीय तहलाई आवश्यकता भन्दा बढी अधिकार दिएको समेत वताए । यस आधारमा कुनै पनि उपलव्धी नदेखिने कठायतको भनाई छ ।
पत्रकार मोहन शाहीको बुझाई पनि यस्तै छ । उनी भन्छन् ‘स्थानीय तहहरुले कानून त निर्माण गरेका छन् तर त्यसको व्यवहारिक कार्यान्वयन गर्न सकेका छैनन् ।’ ठोस् र दिर्घकालीन योजना वनाउनुको सट्टा परम्परागत योजनामै अल्झिएका शाहीको बुझाई छ । उनले थपे ‘जनप्रतिनिधिहरुको स्वेच्छाचारिता पनि बढेको छ, जनअपेक्षा अनुसार काम हुन सकेको छैन ।’ यस पाली गत बर्षको भन्दा केही सुधार भएको शाही वताउँछन, भन्छन् ‘सायद उहाँहरुलाई गत बर्षको सिकाई भएको हुनु पर्छ ।’ जनप्रतिनिधिहरुमा आफ्नो जिम्मेवारीका बारेमा अझै अन्यौलता रहेको शाहीको भनाई छ । 
दुई बर्षको कामको मुल्याङ्कन गर्दा शुन्य उपलव्धी देख्छन् अधिवक्ता शंकरदीप मडै । ‘उहाँहरुको स्टाटिङ्गनै परम्परागत छ’ मडै भन्छन् ‘उहाँहरुले चुनावमा गरेका प्रतिवद्धताहरु र अहिलेका क्रियाकलापहरुमा कुनै तालमेल देखिदैन ।’ केही स्थानीय तहहरुले राम्रा अभ्यासहरु गरेको भएपनि समग्रमा हेर्दा शुन्य उपलव्धी नै  रहेको मडैको भनाई छ । उनी भन्छन् ‘जनप्रतिनिधिहरुलाई जनता, पार्टी वा पार्टी कार्यकर्ता भन्दा पनि चुनावमा आफुलाई जिताउन सहयोग गर्ने समूहको चिन्ता छ, उनीहरुलाई लक्षित  गरेर योजना वनाईरहेका छन् ।’ 
अधिवक्ता तथा महिलाअधिकारकर्मी मेरिना श्रेष्ठ भन्छिन् ‘स्थानीय तहहरुले कतिपय सुधारात्मक कामहरु गरेका छन्, जनतालाई नजिकको सरकार भएको अनुभूति दिलाएका छन् ।’ उनले लक्षित बर्गका लागि पनि स्थानीय तहहरुले केही कार्यक्रम सञ्चालन गरेको  वताईन । उनी भन्छिन् ‘तर आर्थिक अनियमितता बिगतको भन्दा पनि बढेको छ, अनियमितता रोक्न स्थानीय सरकारहरु असफल भएको देखियो ।’

सम्पादकीय 

फेरी पनि उस्तै गुनासा !

नयाँ संरचना अनुसार स्थापना भएका स्थानीय तहहरुमा जनप्रतिनिधिले शासन गरेको दुई आर्थिक बर्ष पार भएको छ । केन्द्रिकृत एकात्मक सत्ताको लामो समयसम्म अभ्यास रहेको हाम्रो जस्तो मुलुकमा अधिकार बिकेन्द्रीकरण सहित संघात्मक शासन व्यवस्था सञ्चालन गर्ने अभ्यास अन्तरगत स्थानीय तहलाई पनि शासकीय अधिकार दिएपछिको यो दुई बर्षे शासन अवधी पुरा भएको छ । 
स्थानीय तहलाई शासकीय अधिकार दिएपछि जनताले नजिकमा सरकार आएको महशुस गर्नेछन्, जनताका आशा अपेक्षाहरु पुरा हुनेछन् भन्ने बिश्वास गरिएको थियो तर त्यो अनुसार काम हुन सकेको देखिदैन । आवश्यकता अनुसारका योजना निर्माण र ति योजनाहरुमा जनताको प्रत्येक्ष संलग्नता हुनु पर्ने थियो त्यो भएको जस्तो देखिदैन । जसरी विगतका बर्षहरुमा योजनता तर्जुमा प्रक्रियामा सिमित व्यक्तिहरुको बोलवाला हुने र उनीहरुले आफु अनुकुल योजनाहरु छनौट गर्ने परिपाटी थियो, जनताका गुनासाहरु सुन्दा अहिले पनि यस्तै अवस्था रहेको देखिन्छ । जनताको आवश्यकता अनुसार भन्दा पनि बिचौलियाहरुको चाहना अनुसार योजना छनौट हुने, योजनामा मेसिनको प्रयोग गर्ने, कमिसनको खेल चल्ने जस्ता क्रियाकलापहरु भएका छन् । 
केन्द्रिकृत एकात्मक शासन व्यवस्थाका क्रममा तल्लो तहमा रहेका प्रशासकीय संरचनाहरुले गरेका क्रियाकलापहरुमा पनि यस्तै गुनासाहरु आएका थिए । जनताको आवश्यकता अनुसार विकास हुन सकेन, जनताको चाहना अनुसार सेवा प्रवाह भएन, जनताको माग सम्वोदन भएन, भ्रष्टाचार वढ्यो भन्ने गुनासाहरु बिगतमा पनि आईरहेका थिए र अहिले पनि त्यस्ता गुनासाहरु आईरहेका छन् । हिजोका दिनहरुमा प्राबिधिकहरुले कमिसन खाएको कुरा आईरहेको थियो, अहिले पनि त्यस्तै कुरा आईरहेको छ । प्राबिधिकहरुले दुःख दिएको कुरा उहिले पनि आईरहेको थियो, अहिले पनि त्यस्तै कुरा आईरहेको छ । 
यसले व्यवस्था परिवर्तन हुँदैमा केही हुने रहेनछ भन्ने कुरा प्रष्ट भएको छ, अवस्था उस्तै रहने तर व्यवस्था मात्रै परिवर्तन गर्दै जाने हो भने यसले जनताको समस्या समाधान गर्न सक्दैन र आवश्यकता पनि पुरा हुन सक्दैनन् । व्यवहारहरु उस्तै हुने तर नीतिगत व्यवस्था मात्रै परिवर्तन गर्ने कुराले नीतिगत भ्रष्टाचार मात्रै बढ्ने हो । जसरी देशमा भ्रष्टाचार संस्थागत र संरचनागत भएको छ, यो रोग नयाँ बनेका स्थानीय तहहरुमा समेत स्थापित भयो । यो दुःखदायी कुरा हो । 
हाँकाहाँकी कमिसनको खेल चलिरहेको छ, राज्य लोककल्याणका–री हुनुको सट्टा जनताको ढाड सेक्ने गरी कर असुल गर्दैछ । मनपरी ढंगले कर तोक्ने काम भईरहेको छ तर जनताले तिरेको  करको सदुपयोग हुन्छ भन्ने कुनै ग्यारेण्टी छैन । नजिकको सरकारले यस्ता बिषयमा ध्यान दिनु जरुरी छ । 
देशमा स्थापित सरकार होला, जनताका चहाना, आवश्यकताहरु पुरा होलान्, राज्य लोककल्याणकारी होला भन्ने सोचका साथनै नेपाली जनताले पटक पटक राजनीतिक आन्दोलन गरेका हुन । राजनीतिक अधिकारको आन्दोलन एक हदसम्म उचाईमा पनि पुगेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, शासकीय अधिकार सहितका स्थानीय तहहरु, शासकीय अधिकार सहितकै प्रदेश तह स्थापना भएका छन् । तर, फेरी पनि जनताले बिगतमा भोगेका समस्याहरु भोग्नु पर्ने हो, बिगतको जस्तै आफुले काम गरेको पैसा लिनका लागि प्राबिधिकलाई घुस खुवाउनु पर्ने हो, गाउँमा बनिरहेको योजनाको बारेमा आफुलाई जानकारी नहुने हो भने यस्तो कुराले कुनै पनि अर्थ राख्दैन । त्यसैले व्यवस्था मात्रै होईन अव अवस्था पनि  परिवर्तन हुनु पर्छ । अन्यथा यो राजनीतिक परिवर्तनमा जनताले अपनत्व लिन सक्ने कुनै ठाउँ छैन ।

थप समाचार 

सुरक्षित गर्भपतन गराउने बढे

डोटी जिल्लामा सुरक्षित गर्भ पतन गराउने महिलाहरुको संख्या बढेको छ । 
आर्थिक बर्ष २०७५÷०७६ मा जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाबाट एक हजार एक सय ६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । 
जिल्लामा रहेका सरकारी सस्वास्थ्य संस्था १९, नेपाल     परिवार नियोजन संघ र शैलेश्व–री अस्पतालले सुरक्षित गर्भपतन सेवा दिने ईजाजत प्राप्त गरेकोमा सरकारी स्वास्थ्य संस्थाहरुबाट मात्रै उक्त संख्यामा सेवा लिएका हुन । “यसमा नेपाल परिवार नियोजन संघको डोटी शाखा र शैलेश्वरी अस्पतालबाट सेवा लिनेहरुको संख्या जोडिएको छैन” डोटी जिल्ला अस्पतालका कार्यरत स्वास्थ्यकर्मी मिना वमले भनिन् ‘सरकारी स्वास्थ्य संस्थाहरुबाट सेवा लिनेहरुको मात्रै तथ्याङ्क हो ।’ उनले डोटी जिल्ला अस्पतालबाट मात्रै गत आर्थिक बर्षमा तीन सय तीन जनाले सेवा लिएको वताईन । 
डोटी जिल्ला अस्पतालले १८ हप्तासम्मको गर्भ र अन्य स्वास्थ्य संस्थाहरुले नौ हप्तासम्मको गर्भपतन गराउन पाउने ईजाजत पाएका छन् । गत बर्ष यस जिल्लाका गर्भपतन गराउनेको संख्या एक हजार ८२ रहेको थियो । 
सुरक्षित गर्भ पतन भन्दा पनि गर्भ पतन गर्नै नपर्ने गरी जनचेतना जगाउनु पर्ने वताउँछन् डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल । ‘गर्भ पतन गराउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो कुरा होईन’ प्रजिअ पौडेलले भने ‘बरु परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग  गरौं भन्ने कुरामा जोड दिनु जरुरी छ  ।’ 
१८ बर्षमूनिका पनि गर्भपतन गराउँछन् 
सुरक्षित गर्भपतन सेवा लिनेहरुका १८ बर्षमूनिका किशोरीहरु पनि रहेको     सुरक्षित गर्भ पतनको क्षेत्रमा कार्यरत गैर सरकारी संस्था सामुदायिक विकास मञ्चका कार्यक्रम संयोजक दिपिका सिंहले वताईन् । उनले भनिन् ‘१५/१६ बर्षकै   उमेरमा पनि गर्भ पतन गराउन आएको देखिन्छ । यो सेवा लिनेहरुमा ४५ बर्ष पुगेका महिलाहरु पनि रहेका छन् ।’ 
मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार १८ बर्षमूनिका किशोरीसंग उसको मञ्जुरी लिई वा नलिई यौन सम्पर्क गरे जवरजस्ती करणी भएको मानिने व्यवस्था रहेकोले १८ बर्षमूनिका किशोरीहरु गर्भ पतन गर्न आउँदा कानूनी दायरामा ल्याउनु पर्ने वताउँछन् डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिद्यानन्द माझी । उनले भने ‘किशोरीहरुबाट लिएको मञ्जुरीलाई मञ्जुरी मानिदैन्, त्यसैले यो क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले कानूनी कुराहरु पनि जानकारी गराउनु जरुरी छ । 
असुरक्षित गर्भ पतन पनि हुन्छ 
सुरक्षित गर्भ पतनका साथसाथै असुरक्षित गर्भ पतन पनि हउने गरेको वताउँछिन् जिल्ला समन्वय समिति डोटीका उपप्रमुख सशी सोव । ‘सुरक्षित गर्भ पतन गराउनेको संख्या धेरै छ’ सोवले भनिन् ‘तर त्यो गैर कानूनी भएका कारण गणनामा आउँदैन् ।’ 
औषधी पसलहरु सञ्चालकले अहिले पनि असुरक्षित गर्भ पतन गराउने गरेको उल्लेख गर्दै उनले थपिन् ‘एक पटक औषधी व्यवसायी पसलेहरुसंग समन्वय गर्नु जरुरी छ ।’ परम्परागत हानिकारक अभ्यासहरुबाट पनि असुरक्षित गर्भ पतन गर्ने चलन अझै कायम रहेको सोवको भनाई छ । 
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार गर्भवती महिलाकेका मञ्जुरीमा १२ हप्तासम्मको, गर्भ पतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतार हुन सक्ने वा विकलाङ्ग बच्चा जन्मने भनी ईजाजत प्राप्त चिकित्सकको रायमा अठ्ठाइस हप्तासम्म, जवरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ भए अठ्ठाइस हप्तासम्म, रोग प्रतिरोध क्षमता उन्मुक्ति गर्ने जीवाणुु (एआईभी) वा त्यस्ते प्रकृतिको अन्य निको नहुने रोग लागेको अवस्थामा र भ्रुणमा कमीकमजोरी भएका कारण गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने   गरी गर्भको भ्रुणमा खरावी रहेको, वंशाणुगत खरावी वा अन्य कुनै करणले भ्रुणमा अशक्तता हुने अवस्था स्वास्थ्यकर्मीको  रायमा अठ्ठाईस हप्तासम्मको गर्भ पतन गर्न पाउने भन्ने व्यवस्था रहेको छ । 

बालश्रम बिरुद्ध दलहरुको प्रतिवद्धता

डोटीको दिपायल सिलगढी नगरपालिकाले सञ्चालन गरेको “बालश्रममुक्त नगरपालिका” वनाउने अभियानलाई डोटीका राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । 
नगरपालिकाले बालश्रम बिरुद्ध सहकार्य गर्न दलहरुसंग आग्रह गरेपछि दलहरुले उक्त प्रतिवद्धता जनाएका हुन । बालश्रम बिरुद्ध लड्न प्रशासन, जनप्रतिनिधिहरु, नागरिक समाज र सञ्चारकर्मीहरुसंग नगरपालिकाले आव्हान गरेको छ । राजनीतिक दलका प्रतिनिधिहरुले बालश्रम बिरुद्ध चलाईएको अभियानमा असहयोग गर्नेलाई कानूनी प्रक्रियामा गई कारवाही गर्नु पर्ने सुझाव दिएका छन् ।
प्रतिष्ठित तथा राजनीतिक पहुँच भएका ब्यक्तिहरुले नै पढाई लेखाई दिने, जागिर लगाई दिने लगायतका प्रलोभन देखाउदै आफ्नो घरमा बालश्रमिक राख्ने गरेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिए । ठूला बडाले नै बालश्रम गरेको पाएपछि नगर एक्लैले अभियान अघि बढाउन कठिनाई भएको जोशीको भनाई छ ।
यस अघि नगरपालिकाले बालश्रम बिरुद्ध चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, श्रमिक बालबालिकाहरुसंग भेटघाट गर्ने, श्रमिक बालबालिकाका अभिभावक र बालश्रमिक राख्ने व्यक्तिहरुबीच अन्तरक्रिया गर्ने, नगरका बालश्रमिक नभएका घरमा हरियो झण्डा गाड्ने लगायतका क्रियाकलापहरु सम्पन्न गरेको जोशीले जानकारी दिए । 
नगरपालिकाले हालसम्म ६२ बालबालिकाहरुलाई श्रममुक्त गरेको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिईन् । उनले श्रममुक्त गरिएका बालबालिकाहरुमध्ये परिवारको आर्थिक अवस्था अति कमजोर भएका २४ बालबालिकाको पढाईको सम्पूर्ण जिम्मा नगरपालिकाले लिएको समेत वताईन । “बाँकी ३८ बालबालिकाहरुलाई उनीको एक बर्षसम्म शैक्षिक सामग्रीमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने गरि घर पठाएका छौं” मलासीले भनिन् ‘उनीहरुका अभिभावकलाई आय आर्जनका लागि सहयोग गर्ने गरि योजना वनेको छ ।’ 
नगरपालिकाले पटक पटक प्रयास गर्दा पनि केही मालिकहरुले अटेरी गर्न थालेपछि राजनीतिक दलहरु, प्रशासन, नागरिक समाज र सञ्चारकर्मीलाई आग्रह गरिएकोमा सवैले सहयोग गर्ने प्रतिवद्धता जनाएको मलासीले वताईन् । “प्रशासन, सञ्चारकर्मी र नागरिक समाजसंग त यस अघि नै सहकार्य भईरहेको थियो” मलासीले भनिन् ‘दलहरुसंग पनि छलफल भयो र उहाँहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।’ दलहरुको प्रतिवद्धतापछि अव बालश्रम मुक्त नगरपालिका वनाउने आफुहरुको अभियान पूर्ण सफल हुने मलासीले वताईन् । 
नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकले श्रावण मसान्तभित्र पनि बालश्रमिक नहटाउने परिवारलाई कानून अनुसार कडा कदम चाल्ने निर्णय गरेको छ । एक हप्ताभित्र बालश्रमिकहरुको अद्यावधिक तथ्याङ्क सहितको प्रतिबेदन तयार गरी पुनः समिक्षा बैठक बस्ने, त्यसको एकहप्ता भित्र बालश्रमिक राख्ने परिवारलाई कार्वाहीबारे जानकारी सहित पत्राचार गर्ने, संचारमाध्यममा नाम सार्वजनिक गर्ने योजना छ । त्यति गर्दा पनि अटेर गरेमा नगरपालिकाबाट उपलब्ध गराइने सेवा सुबिधाबाट बञ्चित गराउने निर्णय भएको नगरपालिकाका सामाजिक बिकास अधिकृत जोशीले जानकारी दिए ।

वडा कार्यालयमा आगजनी 

को होलान आगो लगाउनेहरु ?

शनिवार राती करीव ११ वजे डोटीको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी भयो । आगजनीबाट वडा कार्यालयको भवन सहित सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भयो । 
घटनाको खवर पाए लगत्तै स्थानीय प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय डोटीको टोली घटनास्थल पुग्यो । घटनास्थल प्रकृति मुचुल्का तयार ग¥यो, केही व्यक्तिहरुलाई केरकार ग¥यो, सोधपुछ ग¥यो फर्कियो । 
आगलागीबाट वडाका सम्पूर्ण कागजातहरु, फर्निचर, भवन सवै ध्वस्त भएको वडाध्यक्ष नरवहादुर बलायर वताउँछन् । उनले सामाजिक सुरक्षा सम्वन्धी, पञ्जीकरण सम्वन्धी र उनले आगो लगाउनेमा स्थानीय दिर्घवहादुर कुँवर हुन सक्ने संका गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय डोटीमा समेत कुँवरप्रति संका  रहेको जाहेरी दिएका छन् । कुँवर सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन । 
गत ७ गते डोटीकै जोरायल गाउँपालिका–४ को वडा कार्यालयमा आगजनी भयो । आगजनीबाट वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा रहेका सम्पूर्ण कागजातहरु, फर्निचर लगायतका सामग्री जलेर नष्ट भए । प्रहरीको टोली घटनास्तल पुग्यो, मुचुल्का वनायो । 
घटनास्थलबाट एक मोवाईल सेट बरामद् भयो । उक्त मोवाइल सेटको आधारमा प्रहरीले एक जना नियन्त्रणमा पनि लिएको छ । तर अहिले अनुसन्धानकै क्रममा भएका कारण सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामी वताउँछन् । 
कार्यालयमा आगजनीपछि गाउँपालिकाको कार्यालयमा भएका कागजातहरुको आधारमा काम गरिरहेको वताउँछन् वडाध्यक्ष नन्दलाल भट्ट । उनले विप्लव समूहका स्थानीय एक कार्यकर्ताको संलग्नता भएको हुन सक्ने आसंका व्यक्त गरे । ‘पार्टीकै नीति अनुसार आगो लगाए होलान् भन्ने त मलाई लाग्दैन’ वडाध्यक्ष भट्टले भने ‘तर केही दिन यताका ति व्यक्तिका गतिविधि हेर्दा तिनको संलग्ना छ भन्ने लाग्छ ।’
गएको जेठ १४ गते राती बडीकेदार गाएँपालिका–४, मान्नाकापडीको वडा कार्यालयमा आगजनी भएको थियो । वडा कार्यालय पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष बिरेन्द्र केसी वताउँछन् । ‘गाउँपालिकामा रहेको अभिलेख ल्याएर हामीले हाम गरिरहेका छौं’ वडाध्यक्ष केसीले भने ‘केही अभिलेखहरु अहिलेसम्म पनि जुटाउन सकेका छैनौं ।’ 
दुई महिना अगाडी भएको उक्त आगजनीमा कसको संलग्नता छ भन्ने जानकारी भएको छैन । वडाध्यक्ष केसी भन्छन् ‘प्रहरीले अनुसन्धान गरिरहेको छ, अहिलेसम्म केही थाह छैन ।’ 
एकपछि अर्को गरी वडा कार्यालयमा आगो लागेपछि जनप्रतिनिधिहरु त्रसित वनेका छन् । ‘तीन कार्यालयमा आगो लागिसक्यो, कुनै कारवाही भएको देखिदैन’ एक वडाध्यक्षले भने ‘यस्तै हो भने त अपराधीको मनोवल बढ्न सक्छ ।’ प्रहरीको अनुसन्धान फितलो भएको आरोप ति वडाध्यक्ष लगाउँछन् । उनले थपे ‘यस्तै हो भने कुन दिन हाम्रो पालो आउँछ भन्ने डर लागिरहन्छ ।’ 
तिनवटै घटनाको अनुसन्धान भईरहेको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक  बिद्यानन्द माझी वताउँछन् । ‘शिखर र जोरायलको घटनामा बिप्लव समूहको संलग्नता देखिएको छ’ माझीले भने ‘जोरायलको घटनामा त हामीले एक जना नियन्त्रणमा समेत लिएका छौं ।’ उनले बढी केदारको घटना अझै कुनै सुराक नभेटिएको वताए । 
जिल्लाको सुरक्षा व्यवस्था कमजोर नभएको वताउँछन् डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल । उनले भने ‘आगजनीका घटनाहरुको अनुसन्धान भईरहेको छ, अपराधी कानूनी दायरामा आउँछ । उनले त्रसिद नहुन सवैलाई आग्रह समेत गरेका छन् ।

तल्लो चमेलियामा प्रदेशको चाँसो

तल्लो चमेलिया जलबिद्युत आयोजना सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले चासो देखाएको छ । 
प्रदेश मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले तल्लो चमेलिया आयोजना सञ्चालनका लागि संघीय सरकारसंग अनुमति माग गर्ने निर्णय गरेको छ । 
केन्द्र सरकारले सम्भाव्यता अध्ययन गरिसकेको उक्त आयोजना सञ्चालनका लागि अनुमति माग गर्ने प्रदेश सरकारले जनाएको छ । ‘संघले अनुमति दिए प्रदेश सरकारले १८ देखि २० मेगावाट जलविद्युत उत्पादन क्षमतामा आयोजनाको काम यसै वर्षबाट अगाडि बढाउँछ’ प्रदेश भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले भने ‘अनुमति प्राप्त भएमा यसै वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार   गरिनेछ ।’ उनले नीजि क्षेत्र तथा स्थानीय तह समेतको साझेदारीमा जलविद्युत आयोजना अगाडि बढाइने वताए । 
उक्त आयोजनाका लागि प्रदेश     सरकारले चालू आर्थिक वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गरेको छ । 
५९ प्रतिशत बजेट मात्रै खर्च 
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५/०७६ को चालु तथा पुँजीगत खर्च ५९.५५ प्रतिशत मात्रै खर्च भएको देखाएको छ । 
सोमवार गरेको प्रगति समीक्षा समीक्षामा प्रदेश सरकार गत आर्थिक वर्षमा गरेको काम, बजेट खर्च लगायतको      बारेमा समीक्षा गरेको हो । 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समीक्षा बैठकले प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा मन्त्रालयगत भएको खर्च प्रगतिको विवरण पनि सार्वजनिक गरेको छ । 
अख्तियारी प्राप्त कुल २३ अर्ब ७९ करोड ३९ लाख ८९ हजार रुपैयाँ बजेटमध्ये १४ अर्ब १६ करोड ७७ लाख ४३ हजार रुपैया बजेट खर्च गरेको प्रदेश सरकारले जनाएको छ । पूँजीगततर्फ बिनियोजित ११ अर्ब ७२ करोड ५५ लाख ८६ हजार रुपैयाँमध्ये सात अर्ब २३ करोड ४७ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ । 
यस्तै चालूतर्फ १२ अर्व ६ करोड ७७ लाख बिनियोजन गरिएकोमा ६ अर्ब ९३ करोड २९ लाख ४५ हजार रुपैया खर्च भएको छ ।

अमरगढी किल्लाको ताला खोलियो

डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको अमरगढी किल्लामा गरिएको तालाबन्दी खोलिएको छ । 
किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिले लगाएको ताला अमरगढी नगरपालिका र क्षेत्र विकास समितिबीच सहमति भएपछि खुलेको हो ।
अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रविन जैरुले सहमति भएकाले ताला खोलिएको बताए । आइतबार अमरगढी नगरपालिकामा जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रमुख सेनानी, क्षेत्र विकास समितिका पदाधिकारी तथा सरोकारवालाहरुको छलफलपछि ताल्चा खोल्ने निर्णय गरिएको थियो ।
अमरगढी किल्लामा भइरहेको कामको मुल्याङ्कन गरी रकम निकासा दिने, किल्लामा आउने पर्यटकबाट उठ्ने प्रवेश शुल्क क्षेत्र विकास समितिको कोषमा जम्मा गर्ने र अमरगढी किल्लाको विकासका लागि विशेष पहलकदमी गर्ने सहमति भएको समितिका अध्यक्ष जैरुले जानकारी दिए ।

सुरजको सुसाईड नोट ः शिक्षक बिरुद्ध जाहेरी

कञ्चनपुर, भीमदत्त नगरपालिकाको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत भीमदत्त नगरपालिका–३, भाँसीका १६ वर्षीय सुरज लेखक आत्महत्या गर्नु अघि लेखेको सुसाईड नोटको आधारमा सो बिद्यालयका शिक्षक बिरुद्ध किटानी जाहेरी परेको छ । 
आत्महत्या अघि सुरजले लेखेको सुसाईड नोटमा बिद्यालयका प्लस टु कोअर्डिनेटर हरिलाल जोशी मर्नुको कारण भनेर उल्लेख गरेका थिए । सामाजिक सञ्जाल फेसवुकमा समेत ‘आइ क्वाइट’ लेखेर सुरजले शनिबार आफ्नै घरको कोठमा झुण्डिएर आत्महत्या गरेका थिए । 
लिटिल बुद्ध ऐकेडेमी प्लस टुका संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा आफ्ना साथीसंग चुरोट खाइरहेको देखेपछि सुरजसहित उनका साथी आशिस चन्द र मनिस बिष्टलाई विद्यालयमा बोलाएर सम्झाइबुझाई गरेको बताइएको छ । 
विद्यालयकै अर्का शिक्षक दुर्गादत्त अवस्थीले तीनै जनालाई दुई÷दुई थप्पड हानेको बताउँदै तीनै जना विद्यार्थीबाट कागज बनाएको बताए । तीनै जना विद्यार्थीले एलबीएका संयोजकलाई सम्बोधन गरेर कलेज नआएको बारे निवेदनसहित औठाँछाप समेत लगाएका छन् । 
कागजमा उनीहरुले अबदेखि यस्तो गल्ती नगर्ने र विद्यालयमा अनुपस्थित नहुने भनेर उल्लेख गरेका छन् । जोशीले मृतक लेखक बाहेकका दुई जनालाई तत्कालै अभिभावकको जिम्मा लगाईए पनि लेखकको घरमा फोन नउठेको बताए । 
सुरजका बुबा गणेश लेखकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशी विरुद्ध ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी किटानी दिएका छन् । बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहेका गणेशले छोरालाई विद्यालयबाट तनाव दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै शिक्षक जोशी विरुद्ध किटानी दिएको बताए ।

सलेनामा आधारभुत स्वास्थ्य केन्द्र

डोटी/के आई सिंह गाउपालिका–७ सलेनामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना भएको छ । 
सोमवार गाउपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले स्वास्थ्य केन्द्रको औपचारिक कार्यक्रमका बिच उद्घाटन  गरेका हुन् । लामो समयको पहलपछि गाउपालिकाले उक्त आधारभुत स्वास्थ्य केन्द्र स्थापना भएको अध्यक्ष शाहीले बताए । 
वडा नं. ७ का वडाध्यक्ष हर्क बहादुर बिष्टले आधारभुत स्वास्थ्य केन्द्रलाई व्यवस्थित र उपकरण तथा साधनस्रोत सम्पन्न बनाउने आफ्नो सपना रहेको बताए । 
स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले निशुल्क उपलब्ध गराउदै आएको औषधीहरु, बिभिन्न खालका रोगहरुको प्राथमिक उपचार हुने भएकाले स्थानीयलाई सक्दो सेवाका लागि आफु तयार रहेको आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख अर्जुन बलायरले प्रतिबद्धता गरेका छन् । 
उद्घाटन कार्यक्रममा स्थानीयबासीको तर्फबाट नव बिहानी बहुउदेश्यीय सहकारीका ब्यवस्थापक लोक बहादुर बलायरले स्वास्थ्य केन्द्र स्थापना हुनु आफुहरुका लागि खुशीको कुरा रहेको बताए । स्थानीयको स्वास्थ्यमा सुधार आउने आशा रहेको उनले जानकारी दिए । 


घर भत्कदाँ तीन परिवारको बिचल्ली

डोटी/सायल गाउँपालिका–६, रोकाया नारामा एक घर भत्किदाँ तीन परिवारको बिचल्ली भएको छ । 
आईतवार बिहान करीव चार बजेतिर घर भत्कँदा तीन दाजुभाई दिलवहादुर पार्की, धौले पाकी र बले पार्कीको परिवार बिस्थापित भएको स्थानीयले जानकारी दिएका छन् । आर्थिक अवस्था कमजोर भएका तीन परिवार एउटै घरमा बस्दै गुजारा गरिरहेका थिए । बिहान करीव चार बजे छतको स्लेट खस्न थालेपछि परिवारका सवै सदस्यहरु घर बाहिर निस्केर बाँच्न सफल भएका थिए । 
घर भत्कदाँ करीव तीन लाख रुपैयाँको धनमालको क्षति भएको बाले पार्कीले  वताए । उनले एक पशु समेत मरेको वताए ।

बाल संरक्षण तालिम सम्पन्न

डोटी/वडास्तरीय बाल संरक्षण तथा सम्वद्र्धन समितिका पदाधिकारीहरुका लागि तीन दिने बाल संरक्षण सम्वन्धी तालिम सम्पन्न भएको छ । 
वल्र्ड भिजन ईन्टरनेसनल नेपालको साझेदारीमा सामुदायिक विकास केन्द्र डोटीले आयोजना गरेको उक्त तालिममा डोटीका चार स्थानीय तहका २२ जनाको सहभागिता रहेको थियो । बाल संरक्षणका लागि स्थानीय तहमा रहेका संयन्त्रहरुलाई थप जिम्मेवार वनाउनका लागि उक्त तालिमको आयोजना गरिएको वल्र्ड भिजनका गांगी बलाएरले वताए । 
तालिममा पूर्वाीचौकी, सायल, आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिका अन्तरगतका १४ वडाका वडास्तरीय बालसंरक्षण समितिका प्रतिनिधिहरुको सहभागिता रहेको सामुदायिक विकास केन्द्र             डोटीद्वार सञ्चालित बाल स्पोन्सरसीप कार्यक्रमका टिम लिडर शुनिल जोशीले वताए ।

सुरक्षित मातृत्व सम्वन्धी समिक्षा सम्पन्न

डोटी/आई पास नेपाल नामक गैर सरकारी संस्थाको सहयोगमा सामुदायिक विकास मञ्ज डोटीले सञ्चालन गरिरहेको सुरक्षित मातृत्व सेवा सम्वन्धी जिल्लास्तरीय समिक्षा कार्यक्रम सोमवार सम्पन्न भएको छ । 
नेपालको कानून अनुसार सुरक्षित गर्भपतन गराउने अवस्थाको बिषयमा जानकारी गराउने र असुरक्षित गर्भपतनलाई न्यून गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको उक्त परियोजना अन्तरगत भएका क्रियाकलापहरुको वारेमा सरोकारवाला निकायलाई जानकारी गराउन र आगामी दिनका लागि सुझाव संकलन गर्न समीक्षा कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । समिक्षा गोष्ठीमा परियोजना अन्तरगत जिल्लास्तरीय अभिमूखीकरण, स्थानीय तहमा अभिमूखीकरण, आमा समूहसंग छलफल, सरोकारवाला निकायहरुसंग छलफल, बिद्यालयस्तरीय कार्यक्रम, धामी झाक्रिहरुसंग अन्तरक्रिया, सडक नाटक लगायतका क्रियाकलापहरु भएको परियोजना संयोजक दिपिका सिंहले जानकारी दिईन । 
कार्यक्रमका सहभागिहरुले गर्भ पतनल गराउनु स्वास्थ्यका लागि जोखिमपूर्ण भएकोले गर्भ पतनल गराउने अवस्था नै नआउन दिने गरी चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने, गैर कानूनी रुपमा   भईरहेको गर्भ पतनलाई रोक्नु पर्ने लगायतका सुझाव दिएका थिए ।

खेल समाचार 

बर्षालाई जापानमा कास्य

एजेन्सी
जापानको तोयोका सहरमा सम्पन्न सितोरियो कोफुकान इन्टरनेशनल च्याम्पियनसीप २०१९ मा वर्षा साउँदले नेपालका लागि कास्य पदक जितेकी     छिन् । 
उनले ५५ किलोमुनिको तौल समूहमा मुलुकका लागि कास्य पदक हात परेकी हुन । सिनियर व्यक्तिगत कातामा उत्कृष्ट प्रदर्शन गरेकी उनी पाँचौं राउण्डमा स्वीडेनका खेलाडीसंग पराजित भएकी  थिइन् ।
उनी सुदूरपश्चिमबाट काता र ४५ किलो कुमिते च्याम्पियन खेलाडी हुन । आठौं बृहत राष्ट्रिय खेलकुदमा वर्षाले कास्य पदक जितेकी थिइन् । बर्षा सुदूरपश्चिमकी  हुन ।
यसैगरी, अर्का प्रतिस्पर्धी अशोक शाह ६७ किलो तौल समूहमा पराजित भएका छन् । उनलाई दोस्रो राउण्डमा डेनमार्कका खेलाडीले पराजित गरेका हुन । दुवै जना खेलाडीले आगामी अगस्ट ३ देखि हिमेजीमा हुने केयुकाई अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने बताइएको छ ।

मुस्किल छ मुलपानी मैदान

काठमाण्डौंमा हुने १३ औं साग चेम्पियनसीप प्रतियोगिताका लागि मूलपानी क्रिकेट मैदान तयार हुन नसक्ने देखिएको छ । 
सरकारले कराडौं खर्चिएर मूलपानीमा दुई वटा मैदान बनाएको छ तर दुबै पूर्ण भएका छैनन् । पिच तयार नभएका कारण पछिल्लो पटक प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट मूलपानीको तल्लो मैदानमा म्याटमा खेलाइएको थियो ।
प्रधानमन्त्री कपका बेला बनाएको पिच काम नलाग्ने भइसक्यो । मैदानको बीच भागमै रहेको घर समेत हटाइएको छैन । मिडिया सेन्टर, खेलाडी बक्सदेखि अन्य भौतिक संरचना पनि छैन ।
माथिल्लो मैदानमा भौतिक पूर्वाधार छ । तर पिच र आउट फिल्डका काम गर्नुपर्छ । क्यानका पूर्व अध्यक्ष पाण्डे भन्छन्, ‘मूलपानी मैदान पनि तयार गर्नै नसकिने होइन । किनकी हामीसँग अझै चार महिना समय छ । तर त्यसका लागि भोलिबाटै निकै मेहनतका साथ काम गर्नुपर्ने हुन्छ ।’
अधिकारीहरुका अनुसार मूलपानीमै मात्र कम्तिमा पनि ३०÷४० लाख खर्चिनु पर्ने हुन्छ । उसो त भक्तपुरस्थित सैनिक महाविद्यालय र पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको मैदान पनि छ । तर दुबै मैदान पनि मर्मत नगरी हुन्न ।
राखेपको साग सचिवालयका प्रमुख कमल खनाल भने त्रिविसँगै मूलपानी क्रिकेट मैदान सागका लागि दाबी गर्छन् । ‘मैदान निर्माण सम्पन्न नभए हामीले खेल खेलाउनै सक्दैनौं । त्यसैले सम्पन्न हुन्छ, ढुक्क हुनुहोस्’ उनले भनेका छन् ।
मैदान तयार गर्नका लागि राखेपले निर्देशन दिइसकेको सुनाउँदै उनले अघि भने, ‘हामीले ठेकेदारसँग बसेर कुराकानी गरेका छौं । काम सुरु गर्नुस् भनेका छौं । पिच बनाउनेदेखि अन्य सबै काम सुरु भइसकेको छ । शंका गर्नु पर्ने ठाउँ छैन ।’

चलचित्र/मनोरञ्जन 

“लक्का जवान” दिव्या नखेल्ने

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले नेपाली चलचित्र “लक्का जवान” नखेल्ने भएकी छन् । 
केही समयदेखि आफ्नो पिताको बिँडो थाम्न दिव्या चलचित्र क्षेत्रमा प्रवेश गर्न लागेको चर्चा चलेपनि आफ्नो अध्ययनका कारण उनी चर्चा चले जस्तो लक्का जवानमा नदेखिने भएकी छिन् ।
कुनै समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता रायमाझीकी छोरी केही बर्षयता अमेरिकामा अध्ययन गर्दैछिन् । उनको अध्ययन पुरा हुन अझै एक बर्ष लाग्ने भएका कारण लक्का जवानमा उनी देखिने छैनन् । 
हास्यकलाकार शिवहरी पौडेलले फिचर फिल्म निर्देशनमा हात हाल्न लागेको ‘लक्का जवान’ बाट उनलाई डेब्यू गराउने तयारी चलेको थियो । 
दीलिप रायमाझी र किरण केसी सह–निर्माता रहेको फिल्ममा दिव्यालाई लिन आफूले पहल गरेता पनि अध्ययन पूरा नभएका कारण सम्भव नभएको शिवहरीले बताएका छन् । उनले भने ‘हामीले दिव्यालाई फिल्ममा डेब्यू गराउन खोजेका थियौं, तरउनको अध्ययन पूरा हुन अझै एक वर्ष लाग्ने रहेछ ।’ 
 फिल्ममा डेब्यू नगर्दै उनको     सुन्दरताको फिल्म क्षेत्रमा चर्चा सुरु भएको छ । उनका क्यूट तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै छाएका छन् ।
‘कबड्डी कबड्डी कबड्डी’ असोजमा आउने
भाद्र १३ गते रिलिज हुने भनिएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ अव असोज ३ गते मात्रै आउने भएको छ । 
निर्माण पक्षले ‘कबड्डी कबड्डी कबड्डी’ आफ्नो रिलिज मिति परिवर्तन गरि दुई साता पछाडी धकेलेको छ । 
यो चलचित्रको प्राविधिक काम नसकिएला केही सातापछि सारिएको निर्देशक रामबाबु गुरुङले बताएका छन् । चलचित्रका वितरक मनोज राठीले आफुलाई निर्देशक गुरुङ्गले फोन गरेर चलचित्रको प्राबिधिक काम नभ्याउने  जानकारी गराएको वताए । राठीले रिलिज मिति असोज ३ का लागि सारेको जानकारी पाएको वताए । 
अब भदौ १३ गते नेपाली चलचित्र ‘मारूनी’ र प्रभास स्टारर साउथ इन्डियन चलचित्र ‘साहो’ रिलिज हुदैँ थियो । यो मितिमा ‘कबड्डी कबड्डी कबड्डी’को साथमा अहिलेसम्म ‘लभ डायरिज’ रिलिज हुनेछ । यो चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विजय बराल, बुद्दि तमाङ लगायतको मुख्य भूमिका छ ।
असोज ३ गते चलचित्र ‘छ माया छपक्कै’लाई ल्याउनका लागि यो मितिमा रिलिज हुने भनिएको चलचित्र ‘घामट  शेरे’ तिहारमा सारिएको थियो

लेख 

“बिग्रेकी आईमाई”

रामहरी ओझा 
साँझ करीव ६ बजे । व्यस्त बजारको एक सेकुवा कर्नरबाट एक महिला निस्किइन् । उमेरले करीव ३० टेकेकी, गोरो अनुहार, आँखामा हल्का कालो फ्रेमको चश्मा, चुज पाइन्ट र कुर्तामा सजिएकी ती महिलासंगै दुई पुरुषहरु पनि निस्किए ।
एकले पाइन्ट र कुनै गैर सरकारी संस्थाको प्रायोजनवाला टि–सर्ट लगाएका थिए । उनको हल्का फ्रेन्च कटको दारी र अलि लामो कपाल थियो । अर्काले हाफ सर्ट र पाइन्ट लगाएका थिए । आँखामा चस्मा ।
सेकुवा कर्नर बाहिर तिनै जनाका आ–आफ्नै      सवारी साधन छन्, पुरुषहरु छुट्टाछुट्टै मोटरसाइकल, महिलाको बैजनी रङ्गको स्कुटी पार्किङ गरिएर राखेका थिए । बाहिर निस्कँदै तीनैजनाले एकापसमा बिदाइको अभिवादन गरे र आ–आफ्नो सवारी साधनसँगै बाटो लागे ।
“हेर न यो बिग्रेकी आईमाई, अर्काका लोग्नेसँग होटेल होटेल धाउँछे’ सेकुवा कर्नरको बाहिर ठेलामा तरकारी बेच्दै गरेकी एक अधवंैशे महिलाले स्कुटी स्टार्ट गरेर हल्का धुँवा उडाउँदै हुइँकिएकी महिलालाई लक्षित गर्दै भनिन् ।
उनीसंगै अर्को ठेलामा फलफूल बेच्दै गरेकी अर्की एक महिलाले थपिन् ‘अँ भन्या, कस्ती नकच्चरी होली । यस्तैले त अन्य महिलाहरुको पनि बदनाम हुन्छ ।’
सेकुवा कर्नरबाट बाहिर निस्किएकी ती महिलाबाट उठेको प्रसंगमा दुवै महिलाहरुले लामै गफ गरे । ती महिला सँगसँगै अन्य तीन जना महिलाहरु पनि गफका पात्र बने । परपुरुषसँग होटेलमा गएर नास्ता खाने, खाना खाने वा बास बस्ने महिलाहरु ती दुवै महिलाहरुको बुझाईमा ‘बिग्रेकी आईमाई’ भएको गफको निश्कर्ष थियो । भलै उनीहरुले ती महिलालाई चिनेकै थिएनन् ।
बुझ्दै जाँदा ती महिला कुनै वित्तीय संस्थामा काम गर्छिन् । उनी यसरी नै कहिलेकाँही आफ्ना पुरुष सहकर्मीहरुसँग नास्ता खानका लागि आउने गर्छिन् । तर, नियमित उनी त्यो कर्नरमा आउँदिनन् । कार्यव्यस्तताकै कारण हुन सक्छ, कुनै दिन उनको टोली अलि अबेर नास्ता खान आउँछ । त्यो दिन पनि अलि अबेरै भइसकेको थियो ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भू–परिवहनको मुख्य केन्द्र कैलालीको अत्तरिया बजार अति व्यस्त वजार हो । पहाडी सात जिल्ला होस् कि तराईका दुई जिल्ला, सुदूरपश्चिमबाट देशका अन्य ६ वटै प्रदेशका लागि सडक यातायत गर्नु परे अत्तरिया नपुगी सुखै छैन । त्यसैमाथि सुदूरपश्चिम प्रदेश सभाले संविधानको धारा २८८(३) अनुसार प्रदेश राजधानी पनि अत्तरियाकै क्षेत्रमा गोदावरी राख्ने निर्णय गरेपछि अत्तरियामा घरजग्गामा लगानी गर्नेको संख्या पनि तिब्र भएको छ ।
यद्यपि प्रदेश सभाले गत असोज १२ गते राजधानी बनाउने प्रस्ताव पारित गरेको भए पनि प्रदेश सरकारले राजधानी वनाउनेतर्फ अहिलेसम्म सिन्कोसमेत भाँचेको देखिँदैन । प्रदेश सभाले गरेको संबैधानिक निर्णय कार्यान्वयनमा जान नसक्नुमा कुनै बाध्यता हो वा गैर जिम्मेवारीपन भन्ने हो, थाहा छैन । 
त्यही राजधानी शहर अत्तरियाको कुनै सेकुवा कर्नरमा भएको कुराकानी हो त्यो । 
रोजगारीका लागि बाक्लो संख्यामा घरबाहिर निस्कन थालेसँगै महिलाहरुको तीब्र आलोचना पनि सुरु भएको  छ । महिलाहरुलाई चार दिवारीभित्र सीमित राख्नुपर्छ भन्ने मान्यताको समाज अहिले खुकुलो हुँदै जाँदा महिलाहरु राजनीतिक नेतृत्व तहमा पुग्न सफल भएका छन् । साथसाथै आयआर्जनसंग प्रत्यक्ष जोडिएर आत्मनिर्भर पनि भएका छन् । तर, महिलाप्रतिको हाम्रो पितृप्रधान सोच अहिले पनि जस्ताको त्यस्तै रहेको देखिन्छ । माथिको प्रसंगले पनि यस्तै संकेत गर्छ ।
यसअघि पनि अत्तरिया बजारसँग महिलाहरुलाई जोडेर समाचार बनिसकेका छन् । तर, प्रश्न उठ्छ ः के साँच्चै महिलाहरु ‘बिग्रेकै’ हुन् त ? कामका लागि घर बाहिर निस्कनु र सहकर्मीहरुसँग बसेर नास्ता खानु के बिग्रेकै लक्षण हो त ?
हाम्रो समाजले महिला बिग्रेको लक्षण उनीहरु घरबाहिर जानु, परपुरुषसँग बोल्नु, उनीहरुसँगै बसेर चिया खाजा खानु, अलि अबेर घर आउनुलाई लिने गरेको देखिन्छ । यस्तै लक्षणका आधारमा ती दुई महिलाहरुले एक अपरिचित महिलालाई ‘बिग्रेकी महिला’ बनाए ।
नारीवादी लेखिका तसलिमा नसरिनले बाख्रोलाई डोरीले बाँधेर राखेजसरी छोरीहरुलाई खुल्ला आकाशमुनि बाँधेर राखिएको महिला स्वतन्त्रता लेखेकी छन् । उनको तर्क छ ‘स्वतन्त्रताको नाममा खुल्ला आकाशमुनि, खुल्ला चौरमा त ऊ छ । तर, पुग्न त्यहाँसम्म मात्र पाउँछ, जहाँसम्म डोरीले भ्याउँछ ।’
हाम्रो महिला मुक्ति यस्तै भएको देखिन्छ । त्यही प्रकारको स्वतन्त्रताको डोरीमा अल्झिएको छ नेपाली महिलाहरुको जीवन । त्यो डोरीले उनीहरुलाई प्रतिरक्षा गर्नबाट रोकेको छ । गुहार पाउनबाट रोकेको छ । र, त्यही डोरीले कतिको जीवन निलिदिएको छ ।
सहकर्मीसँग बसेर एक चिया खाँदा “बिग्रेकी” देख्ने यो समाजले मदिराको मातमा मध्यरातमा घर पुग्ने पुरुषलाई “बिग्रेको” देख्दैन । अझ उसलाई ‘बहादुर’ देख्छ । साँझ अलि ढिलो घर आउने महिलालाई ‘बिग्रेकी’ देख्नेमा पुरुषहरु मात्रै छैनन्, महिलाहरु पनि धेरै छन् । तर, तिनै महिलाहरु जसले महिलालाई ‘बिग्रेकी’ भनिरहेका छन्, पुरुषलाई ‘बिग्रेका’ भन्दैनन् ।
एकछिनलाई साँझ परपुरुषसंग होटेलमा बसेर खाजा खाने महिला ‘बिग्रेकी’ हुन मानौं, दुई पैसा कमाएर         परिवार पाल्नका लागि डान्स बारमा नाँच्ने महिलाहरु बिग्रेकी हुन मानौं, तर ति महिलासंग बसेर खाजा खाने पुरुषहरु को हुन ? ति महिलाले नाचेको हेर्न डान्स वार धाउने र एकै रातमा हजारौं रुपयाँ मदिरामा उडाउने पुरुष को हुन ? के उनीहरुलाई ‘बिग्रेका’ भन्न नमिल्ने हो ? वा उनीहरु बिग्रेकै होइनन् ?
हो, केही महिलाहरु हाम्रो सामाजिक मापदण्ड अनुसार बिग्रेका छन् । बाध्यतामा वा लहैलहैमा वा रहरमा वा बिलासिताका लागि वा आफ्नो जैविक आवश्यकता पुरा गर्नका लागि परपुरुषसंग सम्वन्ध राखेका छन् । घरमा दुधे बालक छोडेर होटेलमा रात बिताउँछन् । श्रीमानले ४५ डिग्रीको तापमानमा आफ्नो शरीर गलाएर चुहाएको पसिना धुँवामा उडाएका छन् । श्रीमान्संग पतिब्रताको नाटक गर्दै नयाँ नयाँ पुरुषहरु फेर्दै हिड्ने महिलाहरु पनि छन् । छोराछोरीको बिचल्ली वनाउँदै अर्को बिहे गरेर गएका घटनाहरु पनि थुप्रै आईरहेका छन् । यसमा दुई मत छैन ।
तर, ति ‘बिग्रेकी आइमाइ’संग यौन सम्वन्ध राख्ने पुरुषहरु के बिग्रेका होईनन् ? के महिलाको मात्रै जैविक आवश्यकता हुन्छ ? के महिलाको मात्रै बिलासिता हुन्छ ? महिलाहरुले फेर्दै हिडेका ति पुरुषहरु त्यस्ता हैनन् त ? महिलाहरु मात्रै बिग्रेका हुँदैनन् होला, समाजमा हुने अपराधिक क्रियाकलापहरुमा महिला मात्रै दोषी हुँदैनन् होला नि !
बलात्कारका घटना आउँदा महिला सम्मान, अपराधीलाई सजाय आदिका कुरालाई लिएर कुर्लिने समाज महिलाको आत्मसम्मानको बारेमा चाहिं किन सोच्दैन ? महिलाको आत्मसम्मानमा प्रहार हुने शब्दहरु र व्यवहारले महिलानै दोषी हो, पुरुषको कुनै दोष छैन भन्ने झल्काउँछ । महिलामाथि प्रहार गर्न जसरी शब्द प्रहार हुन्छन् त्यसरी पुरुषमाथि शव्दहरुको प्रहार हुँदैन ।
महिला यौनको प्रतिक हो, पुरुषको दास हो भन्ने मानसिकताले काम गरेको बाहेक अरु केही पनि देखिदैन् । नेपालको प्रचलित कानून बिपरीत प्रहरीले होटेलका बन्द कोठामा छापा मारेर जोडीलाई  समात्छ । त्यसमा समातिने पुरुष भन्दा पनि महिलाको बढी खोजनीति हुन्छ । प्रहरी स्वयं पनि पुरुषलाई भन्दा बढी महिलालाई केरकार गर्छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा जवर्जस्ती करणी गरेको मानिने भन्ने व्यवस्था छ । यसको अर्थ उमेर पुगेका महिला पुरुषहरुले स्व–ईच्छाले यौन सम्वन्ध राख्न चाहेमा राख्न पाउँछन् । अनि यसरी स्व–ईच्छाले कुनै महिला र पुरुषका बीचमा यौन सम्वन्ध राख्यो भने पुरुष सभ्य हुने तर महिला “बिग्रेकी” हुने हो र ? यो सबै कुराको पछाडिको कारण के हो भन्ने कुराको खोजी हुनु जरुरी छ । पुरुष प्रधान समाजमा महिलाहरु सधैंभरि पुरुषका बिलासिताका बस्तुहरु मात्रै भए, घरभित्रको काम गर्ने नौकर मात्रै भए र सन्तान उत्पादन गर्ने मेसिन मात्रै भए ।
त्यसकारण पुरुषहरुले महिलालाई आफ्नो मातहतको “निजी सम्पत्ति” मात्रै हो सम्झेका छन् । अहिलेको कानूनी परिवर्तन उनीहरु पचाउन सकिरहेका छैनन् । तिनै पुरुषहरुले कामका लागि र अधिकारका लागि घर बाहिर निस्कने महिलाहरुलाई “बिग्रेकी महिला” देख्दैछन् र उनीहरुको त्यो नजरको प्रभाव केही महिलाहरुमा पनि परेको छ ।

मध्यरातमा युवतीको कोठामा आउन खोज्ने ति सर

राधा ढुङ्गाना 
दिनभरि अफिसको कामले थकित थिएँ । गाउँकै एउटी साथी काठमाडौँ आउँदा मेरै कोठामा बस्थिन् । उनको काठमाडौँ आउने–जाने काम परिरहन्थ्यो । गाउँमा सानैदेखि सँगै हुर्के बढेकी साथी काठमाडौँ आउँदा, सँगै बस्दा पनि रमाइलो लाग्दोरहेछ । त्यस दिन पनि उनी   मेरो कोठामा आइन् । खाना खाएर गफ गर्दै सुत्यौँ ।
राति करिव १० बजेको थियो । पानी परिरहेको थियो । साथीसँग गफ गर्दागर्दै झपक्क निदाउन लागेकी थिएँ । साथीको मोबाइलको घण्टी बज्यो । निदाइसकेकी साथी जुरुक्क उठेर फोन उठाइन् । राति फोन आएपछि म पनि झस्किएँ ।
फोन उठाउँदै उनी केहीबेर आरामले बोलिन् ।   कुराकानी खासै विशेष नलागेपछि केही तेज भएको मेरो मुटुको धड्कन पनि सामान्य बन्यो । फोनको कुराकानी सकिएपछि मैले साथीलाई मैले सोधें, ‘कसको फोन यति  राति ?’ उनको जवाफ थियो, ‘एकजना सर हो, अँ..साँच्ची अस्ति तिमीसँग पनि भेटेका थिए नि तिनै सर क्या ।’ भ्याली बाहिर गएका रहेछन् आउँदैछन् र । आइपुग्न निकै राति हुने भयो भन्दै छन् ।’
मैले भने, ‘उनको घर यतै काठमाडौंतिरै होइन र ?’ साथीको जवाफ ‘अँ हो, यतै हो ।’
यति बोलेपछि हाम्रो कुरा सकियो । लामो यात्राबाट आएकी उनी निदाइहालिन् । म भने निदाउनै सकिनँ । केही दिनदेखि बिरामी भएर ज्वरोले लखतरान परेकी थिएँ । एन्टिवायोटिक औषधी पनि खाइरहेकी थिए ।
अलिबेरपछि झपक्क निन्द्रामा रहेंछु । साथीको फोनको घण्टी फेरि बज्यो । यति राति कसको फोन ? भन्दै अलिअलि रिसको भाव देखाउँदै छेउकी साथीलाई बोलाएँ र भनें ‘तपाईको फोन आइरहेको छ, को हो नि यति राति फोन गर्ने ? किन गर्छन् कुन्नि ?’
सिरानीको छेउको टी–टेवलमा रहेको फोन लिँदै साथीले भनिन्, उही के त अघि फोन गर्ने सर’ यति भन्दै फोन उठाइन् र कुरा गर्न थालिन् । यसो घडी हेरेको दुई बजेको रहेछ । मेरो त होस हवासै उड्ला जस्तो भयो । किन फोन गर्छन् यति राति ? अनि उठाउने मान्छेलाई पनि झर्काे नलागेको । मनमनै सोच्न थालेँ ।
फोनमा एकतर्फी मात्र कुरा सुनिरहेकी थिएँ । साथीले भनिरहेकी थिईन, ‘यति राति भैसक्यो तपाई त्यतै कतै बस्नु ।’ केहीबेरपछि फोनको कुरा सकियो । मैले सोधें, ‘यति राति चै किन फोन गरेछन् ?’ उनले भनिन, ‘अघि फोन गर्ने सर क्या, समस्यामा परँे भन्दै छन् । बल्ल कोटेश्वर आइपुगें, विचल्ली भएँ रे ।’
साथीले फोनमा कुरा गर्दै गर्दा मैले सोच्न भ्याइसकेकी थिएँ त्यो मान्छे त अस्ति भर्खर भेटेको, एक हप्ता पनि भएको छैन । उसले मेरो फोन नम्बर पनि लिन भ्याएको थियो । हाम्रो भेटपछि उसले २ पटक फोन पनि गरेको थियो । उसले फोन गरेर बोलेको सुन्दा लाग्थ्यो, मलाई आफ्नै बहिनी सोचेर बोलिरहेको छ । अनि अर्को अचम्मको कुरा त के छ भने, दोस्रो पटकको फोनमा उसले मसँग भनेको थियो, ‘तपाई जत्तिको मान्छेले अब मिडियामा मात्रै सीमित हुनुहुँदैन, अब तपाई हामी मिलेर एउटा काम गर्नुपर्छ ।
उसले यो भन्दै गर्दा मलाई लागेको थियो, खुबै     राम्रो कुरा गरिररहेको छ । मानौं मेरो परिवारको कुनै अभिभावक हो । मेरो भविष्यको पनि चिन्ता गर्ने !
तर, छेउमा सुतीरहेकी साथीसँग उनले गरेको फोनको कुराकानीले एकैछिनमा उनको हर्कत कस्तो हो भन्ने प्रष्टै पारिदियो । म झसङ्ग झस्किएँ ।
साथीले फोन राखिसकेपछि मलाई सुनाइन्, त्यो सर त समस्यामा परेँ भन्दै हाम्रो कोठामा आउने कुरा गर्दै हुनुहुन्छ । यतै नजिकै चोकमा हुनुहुन्छ रे ।
उफ, अब म फसादमा परेँ । मनमनै दिक्क मानेँ । साथीलाई पाहुनाको रुपमा राख्नु नै पो गल्ती गरेंछु कि भन्ने लाग्यो ।
मैले सोधेँ, ‘अँ के समस्या परेछ ?’
उनले भनिन्, ‘यति राति जिल्ला बाहिरबाट आइपुग्नुभएछ, आजको रात बास दिनुपर्ने भयो ।’
मेरो रीसले सीमा नाघ्यो । काठमाडौँ मै घर भएका व्यक्तिलाई कसरी समस्या हुन्छ र ? त्यसमा पनि उसका लागि काठमाडाँैका यति धेरै रेष्टुरेन्ट आज सबै भरिएछन् ? साथीलाई भनें, ‘आफ्नो व्यवस्था आफै मिलाउनु भन्दिनुस् उहाँलाई ।’
खै ? उनले के सोचेकी थिइन्, त्यो उनै जानुन् ‘उनी पनि ती व्यक्तिलाई मेरो कोठामा ल्याउने कुरामा केही हदसम्म सहमत भएको उनको बोलीबाट मलाई प्रष्ट बनायो ।
त्यसपछि साथीले फेरि ती व्यक्तिलाई फोन गरेर भनिन्, यहाँ नमिल्ने भयो, सरी है सर । तपाई आफ्नो व्यवस्था गर्नुस्, भोलि कुरा गरौँला ।
एक पटक भेटेको मान्छे, त्यसमा पनि छोरी मान्छेको कोठामा राति दुई बजे आउँछु भन्नु कत्तिको उपयुक्त   कुरा हो ? त्यो व्यक्तिको मनमा कस्तो कालो स्वार्थ थियो भन्ने प्रष्टै बुझिन्थ्यो ।
अफिसियल कामको शिलशिलामा भेटिएको व्यक्ति, देख्दा निकै खानदानी र भलाद्मी लाग्थ्यो । तर, आज अचानक राति फोन गरेर किन मेरो कोठामा आउँछु भन्दैछ ? अचम्मको कुरा त के छ भने, त्यत्तिका राति ती व्यक्तिले छोरी मान्छे, त्यो पनि अविवाहित युवतीको कोठामा आउने आँट कसरी गरे होलान् ?
अर्काे कुरा, यस्ता कालो स्वार्थले भरिएका ब्वाँसाहरुलाई थप हौंस्याउन हामी महिलाहरुको पनि निक्कै ठूलो दोष भएको मैले पाएँ ।
यो एउटा घटनाले मेरो मनमा त्रासले बास गरेको छ । आफ्नै देशमा असुरक्षित छुु भन्ने डरले घरीघरी सताउन थालेको छ । महिला हिंसाविरुद्ध खरो रुपमा प्रस्तुत हुने हामी जस्ता महिला पत्रकारमाथि त अप्रत्यक्ष रुपमा यस्ता घटना हुने गर्छन् भने आफूमाथि भएको हिंसाको खुलेर प्रतिवाद गर्न नसक्ने र २÷४ जना व्यक्तिका अगाडि आफ्नो नाम समेत भन्न नसक्ने महिलाहरुको अवस्था कस्तो होला ?
शिक्षित, प्रतिष्ठित भनिने व्यक्तिबाट अप्रत्यक्ष रुपमा हुने यस्ता हर्कतबाट नेपाली चेलीहरु अझै पीडित छन् । नेपाली महिलाहरु अहिले राज्यको प्रमुख अंगमा ३३ प्रतिशत अनिवार्य सहभागितालाई संविधानमा उल्लेख गराउन सफल भएका छन् । तर, अझै पनि व्यवहारिकरुपमा भने आफ्नो अधिकार स्थापित गराउन र हिंसाबाट बच्न भने असफल नै बनिरहेका छन् ।
— अनलाईन खवरबाट

शिक्षक सेवा आयोगको तयारीका लागि उपयोगी 

१. शिक्षक सेवा आयोग नियमावली २०५७ मा शिक्षकलाई वढुवाको लागि सिफारिश गर्दा नोकरीको जेष्ठता बापत कति अङ्क दिइने व्यवस्था गरिएको छ ?  — ३५
२. सामुदायिक विद्यालयको नाममा रहेका सम्पत्ति व्यवस्थापन र संरक्षण गर्ने समितिको अध्यक्ष हुने व्यवस्था छ ? — प्रमुख जिल्ला अधिकारी
३. नेपालको संविधान २०७२ अनुसार अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कति तहसम्म निःशुल्क शिक्षा पाउने हकको व्यवस्था गरिएको ?  — उच्च शिक्षा
४. नेपालको संविधान २०७२ अनुसार मातृभाषामा शिक्षा पाउने हक कुन धारामा उल्लेख गरिएको छ ?
— धारा ३१
५.बालकले सामाजिक अभिरुचि केमा ल्याउँछ ?   — किशोरावस्थ
६.परिपक्कतासंगै अङ्ग–प्रत्यङ्गहरुमा काम गर्ने क्षमता र मातामा आउने परिवर्तनलाई के भनिन्छ ?
— गुणात्मक परिवर्तन
७.समस्यामा आधारित सिकाइले नसमेट्ने पक्ष कुन हो ?    — समस्या निर्धारण
८.घटना अध्ययन सम्बन्धी सामग्रीको प्रयोग सर्वप्रथम कसले गरेका थिए ?   — पी भी युङ्
९.भावनात्मक भन्दा ज्ञानात्मक तथा सीपमूलक क्षेत्रलाई बढी जोड् दिने शिक्षण विधि कुन हो ?
— विद्यार्थी केन्द्रित शिक्षण विधि
१०.कमजोर सिकाइ उपलब्धि भएका सिकार लागि समन्वित कुन शिक्षण विधिको प्रयोग गरिएको    हुन्छ ?  — उपचारात्मक
११.शैक्षणिक क्रियाकलाप अन्तर्गतको सहकार्यमा समूह भूमिका निर्वाह गर्ने तीन व्यक्तीको हुन् ?
— समन्वयकर्ता प्रस्तुतकर्ता टिप्पणीकर्ता
१२.कुडर रिचार्ड्सन विधि प्रयोग गरेर के पत्ता लगाउन सकिन्छ ?  — विश्वसनीयता
१३.“पाठ्यक्रम शैक्षिक कार्यको योजना हो” यो भनाई कसको हो ?   — हिल्डा टावा
१४.उच्च शिक्षा नीति, २०७२ को मुख्य उद्देश्य कुन हो ? 
—योग्य दक्ष अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संसाधन विकास गर्ने
१५.विद्यालय जान नपाउने र बीचैमा विद्यालय छोड्नेहरुलाई विद्यालय शिक्षाको अवसर के ले सुनिश्चित गर्दछ ?  — अनौपचारिक शिक्षा नीति, २०६३
१६.सक्रिय सुनाई दोहोरो सञ्चार बोधगम्य भाषाको प्रयोग गर्ने विषय कस्तो शिक्षक सक्षमतासँग सम्बन्धित छ ?    — सीपमा आधारित
१७.विद्यालयलाई बालमैत्री बनाउन विद्यालयमा शिक्षकको हाजिर न्यूनतम कति प्रतिशत हुनुपर्ने सूचक निर्धारण गरिएको छ ?   — न्यूनतम ९२ अपेक्षित १००
१८.विद्यालय क्षेत्र विकास योजनाको दूरदृष्टि कुन हो ?  — सामाजिक आर्थिक रुपान्तरणको लागि स्वलम्बी प्रतिस्पर्धी प्रवर्तनात्मक मूल्य उन्मुख नागरिक विकास गर्नु
१९.उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०५५ को प्रतिवेदनले प्रविणता प्रमाणपत्र तहलाई विश्वविद्यालयबाट कहिलेसम्म बिस्तापन गर्नुपर्ने सुझाव दिएको थियो ?   — २०६०
२०.विश्वविद्यालय अनुदान आयोगको स्थापना गर्ने सुझाव कसले दिएको थियो ?
— राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९
२१.शिक्षण अध्यापन अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने सिफारिस शिक्षासम्बन्धी कसको प्रतिवेदनले गरेको थियो ?  — २०५८
२२.तालिम नीति, २०६२ अनुसार परीक्षार्थीले हासिल गरेको उपलब्धि को मूल्यांकनको लागि कस्तो प्रणाली अवलम्बन गर्नुपर्ने उल्लेख छ ?  — निरन्तर मूल्यांकन
२३.शिक्षासम्बन्धी नीति निर्धारण गर्ने विषयमा नेपाल सरकारलाई सल्लाह सुझाव दिने राष्ट्रिय शिक्षा परिषद्को सदस्य सचिवको हुने व्यवस्था छ ? 
— शिक्षा मन्त्रालयको योजना महाशाखाका सहसचिव
२४.नेपालमा प्राथमिक शिक्षा निशुल्क घोषणा कहिले भयो ?  — २०३१ फागुन १२
२५.मानवीय मूल्य मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवद्र्धनको लागि सचेत नागरिकको जिम्मेवारी वहन सम्बन्धी सक्षमता कुन तहको लागि निर्धारण गरिएको छ ?
— माध्यमिक तह
२६.श्रमप्रति श्रेय कर्मठता इमान्दारिता विनम्र परिश्रमी र सादा जीवनका लागि प्रस्थान गर्नु कुन देशको प्राथमिक शिक्षाको उद्देश्य हो ?  — जापान
२७.छिमेकी राष्ट्र भारतको शिक्षाको संरचना कस्तो छ ?  
— प्राथमिक, माध्यमिक, उच्च माध्यमिक, उच्च तह
२८.राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले निर्धारण गरेको पढाई सीपको क्रम कुन हो ?
— ध्वनि सचेतीकरण लेख्य वर्ण पठन परवाह शब्दभण्डारमा बोध र लेखाई
२९.आर्थिक वर्ष २०७४÷७५ देखि प्राविधिक विषयमा कति तह पूरा गरेका युवाहरूलाई राष्ट्रिय स्वयंसेवकको रुपमा पाइने व्यवस्था छ ?   — स्नातक तह उत्तीर्ण
३०.माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा अक्षराङ्क पद्धतिलाई कति भागमा वर्गिकरण गरेको छ ? — ९
३१.शिक्षा क्षेत्रमा पाठ्यक्रम परिमार्जनको प्रमुख आवश्यकता के ले निर्धारण गर्दछ ?
— नयाँ ज्ञानको छनोट र समावेश गर्नु पर्ने कारण
३२.दैनिक पाठ्योजना मुख्य अङ्ग कुन हो ? — उद्देश्य

साहित्य/सिर्जना 

आँखामा फुलेको जीवन 

धानखेतमा
शिला खोज्दै,
उकालो लागेका,
झुमा र मारुनीहरु
सुनकोशीमा रोप्छन
बैशका रङहरु ।

फुङ्ग उडेको,
कुपोषित अनुहार
पारिजात जस्तै,
हतासमा झरेका
उत्कण्ठा,
सम्हाल्न खोजेर
बिहानमा,
छरपष्ट छन्
सुकोमल मनहरु ।

अपरिपक्व ड्याङमा,
जबरजस्त रोपिएका,
बालीहरु टिप्दै,
ऊ जिवनको
ब्याख्या गर्छे ।
सम्झन्छे,
ऊ पनि त्यही माटो हो
जहा बिना अर्थ,
एउटा जीवन सेलाईएको छ ।
सावित्रा काफ्ले

थप्पडले पनि नझक्काउने गाला भयो 

गर्छन् भनि जिताउदा गलामा माला भयो
सिद्धान्तको कुरा गर्नेको पछि अर्कै चाला भयो
नेताज्यू, अध्यक्षज्यू हजुरहरूको
खान पाए अनुसारको छाला भयो

रातोपिरो चिल्लो पुक्क बाक्लो
थप्पडले पनि नझस्काउने गाला भयो
हजुरहरुसंग मात्र ढुकुटीको साँचो
राष्ट्रको लागि बन्द ताला भयो

मुख भएपनि बोल्न नपाउनेको
बोलीदिने हजुरको साला भयो
योजना कमिसन हजुरहरु मात्र ओढ्ने
बिचरा नाङ्गा जनतासंग टाला भयो

करोडौँको महलमा करोडौँको चर्पी
नारायणहिटीको पर्खालमा नाला भयो
घरधन्दामा पहिले पट्पट् फुटेका हातमा
अहिले श्रीमतीज्यूलाई सुनको बाला भयो

हजुरको मुटुमा फुल्दो हो रङ्गीचङ्गी फूल
गरिबको मुटुमा अभावको भाला भयो
ईन्जिनियर राकेश कार्की