Tuesday, August 6, 2019

बिम्ब साप्ताहिक, २०७६ साल श्रावण २१ गते मंगलवार

बाल यौन दुव्र्यवहार जो कसैबाट
जहाँ पनि हुन सक्छ, त्यसैले
सावधानी अपनाऔँ, बालबालिकाका
कुरा सुनौँ, बाल यौन दुव्र्यवहार
अन्त्य गर्न सक्रिय बनौँ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

कम रासन भत्ताका कारण डोटीमा बस्न मान्दैनन् प्रहरी कर्मचारीहरु

रामहरी ओझा/डोटी
     श्रावण २०
“एक त प्रहरी दरवन्दी नै कम छ, त्यसैमा प्रहरी      कर्मचारीहरु डोटी आउनै  मान्दैनन् । हामीसंग भएका कर्मचारीहरुलाई नै हामीले जिल्लाका सवै ठाउँमा परिचालन गर्नु पर्ने अवस्था रहेको छ ।” 
डोटी सायल गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलले डौड प्रहरी चौकीमा प्रहरी कर्मचारीको संख्या वढाउनु पर्ने माग राख्दा जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले प्रहरीहरु जिल्लामै कम भएका कारण पठाउन नसकिएको जानकारी दिए । ‘जिल्लामा जम्मा तीन सय ९६ जनाको दरवन्दी छ’ धामीले भने ‘त्यसमध्ये हाल कार्यरत दुई सय ९१ मात्रै छन् ।’ 
डोटीमा प्रहरी कर्मचारीहरु बस्न नचाहानुको मुख्य कारण न्यून रासन भत्ता भएको प्रहरी   कर्मचारीहरु वताउँछन् । “सुदूर–पश्चिम प्रदेशका सात पहाडी जिल्लामध्ये सवैभन्दा कम रासन भत्ता पाउने जिल्ला डोटी हो” एक प्रहरी कर्मचारीले भने ‘महंगी र अन्य हिसावले अरु जिल्ला र डोटीमा केही फरक छैन ।’ उनले प्रदेश राजधानी कैलालीबाट डोटीमा आउँदा बाटोमा पर्ने जिल्ला डडेल्धुराका प्रहरीले दैनिक दुई सय १८ रुपैयाँ पाउने गरेको तर डडेल्धुरा भन्दा ६५ किलोमिटर टाढा डोटीमा काम गर्नेले जम्मा एक सय ६६ रुपैयाँ मात्रै पाउने गरेको वताए । 
“डोटी, अछाम र बैतडीको प्रकृति एउटै भएपनि अछाममा दुई सय २५ र बैतडीमा दुई सय २८ रुपैयाँ दैनिक रासन भत्ता पाउने गरेका छन्” एक अर्का प्रहरी कर्मचारी प्रश्न गर्छन् ‘अनि को आउने डोटी ?’ उनले डोटीमा कार्यरत प्रहरीलाई रासन भत्ताले नपुग्ने र तलवबाट रासन खानु पर्ने अवस्था रहेको वताए । उनी थप्छन् ‘जिल्ला सदरमुकाममै बस्न सकिन्न यो भत्ताले, सायल, बोगटान घाङल जस्ता दुर्गम गाउँहरुमा कसरी पु¥याउनु खानलाई ?’  
रासन कम भएका कारण डोटी सरुवा भएका प्रहरी  कर्मचारीहरु पनि काज मिलाएर अन्यत्र जाने गरेको वताउँछन् जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धामी । ‘डोटीमा काजमा आउन कसैले चाँहदैनन् तर डोटीबाट अन्यत्र काजमा जानेहरुले भनसुन समेत गर्न लाउँछन्’ धामीले भने ‘डोटीमा काजमा आउने भनेको घर पायक खोज्नका लागि आउनेहरु मात्रै हुन्छन् ।’ उनले डोटी सरुवा हुने बित्तिकै प्रहरी कर्मचारीमा सिथिलता आउने वताए । उनी थप्छन् ‘उत्प्रेरित हुनका लागि केही देखिदैन ।’ 
कुल दरवन्दी संख्या तीन सय ९६ मध्ये हाल २८ जना बिदामा रहेका छन् भने ७७ दरवन्दी खाली छन् । भएका प्रहरी जनशक्तिमध्ये कारागार सुरक्षा, उच्च अदालत, जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला अस्पताल, बाल सुधार गृह, क्षेत्रीय प्रशासन लगायतका निकायहरुको सुरक्षामा ५५ जना खटिएका छन् । जिल्लाको शान्ति सुरक्षाको लागि दुई सय ३६ जना प्रहरी मात्रै रहेको जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्कले देखाउँछ । जिल्लामा रहेका जिल्ला प्रहरी कार्यालय, ६ ईलाका प्रहरी कार्यालय, सात प्रहरी चौकी र चार अस्थायी प्रहरी पोष्टमा दरवन्दी भन्दा कम प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक धामीले वताए । 
२०६८ सालको जनगणना अनुसार डोटी जिल्लाको कुल जनसंख्या दुई लाख ११ हजार सात सय ४६ रहेको छ । यस आधारमा डोटीमा एक प्रहरी कर्मचारीले आठ सय ९७ सर्वसाधारणको सुरक्षा गर्नु पर्ने अवस्था छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार एक प्रहरी कर्मचारीले करीव तीन सय सर्वसाधारणलाई सुरक्षा दिनु पर्ने व्यवस्था छ । 
कुन जिल्लामा कति रासन भत्ता 
सुदूरपश्चिम प्रदेश अन्तरगतका नौ जिल्लामध्ये बझाङ्ग जिल्लामा सवैभन्दा बढी रासन भत्ता छ । 
बझाङ्ग (ख) मा दैनिक चार सय तीन रुपैयाँ पाउँछन् । यस्तै दार्चुला (क) दुई ६५, (ख) तीन सय १७, बाजुरा दुई सय ४७ कञ्चनपुर एक सय ६६ र कैलाली एक सय ५८ रुपैयाँ दैनिक रासन भत्ता पाउँछन् । डोटी एक सय ६६, डडेल्धुरा दुई सय १८, बैतडी दुई सय २८ र अछाम दुई सय २५ रुपैयाँ प्रहरीले रासन भत्ता पाउने व्यवस्था छ ।

सम्पादकीय 

आफ्नो गाउँ आफै वनाउँ !

“आफ्नो गाउँ, आफै वनाउँ”,  ०५१ सालमा बनेको तत्कालिन नेकपा एमालेको अल्पमतको सरकारले ल्याएको नारा हो यो । प्रत्येक तत्कालिन स्थानीय निकायहरुमा बजेट दिने र नि निकायहरुले आफ्नो आवश्यकताका आधारमा उक्त वजेट बिभिन्न क्षेत्रमा बिनियोजन गरि आफ्नो गाउँको विकास आफै गर्ने भन्ने लक्ष थियो यस नाराको । सुरुमा तीन लाख रुपैयाँ प्रत्येक गाउँ विकास समितिलाई बिनियोजन गर्दा नेपालका केही अर्थविद्हरुले ‘वजेट कनिका छरे झैं भयो’ , ‘कम्युनिष्ट सरकारले देशको ढ्कुटी रित्याउने भयो’, ‘सस्तो लोकप्रियताका लागि यस्तो कार्यक्रम ल्यायो’ जस्ता आरोप लगाएका थिए । यद्यपी तिनै आलोचना गर्ने अर्थबिद्हरुमध्ये केहीले पछि आफ्नो पालामा यो कार्यक्रमलाई निरन्तरता दिए ।  
त्यतिवेला अहिलेका जस्तो भ्रष्टाचार चरमचुलीमा पुगेको थिएन । कम्तीमा नागरिकहरु ईमानदार थिए, राजनीतिक दलका कार्यकर्ताहरु यति बिधि बिग्रिसकेका थिएनन् । स्थानीय निकायका जनप्रतिनिधिहरुलाई भ्रष्टाचार गर्ने मेसो थाह भईसकेको थिएन । देशमा भरखर “प्रजातन्त्र” आएकाले निरंकुश पञ्चायती शैलीको कर्मचारीतन्त्र पनि दोधार–दोधारमै थियो । त्यसैले वातावरण सहज थियो । बजेट अनुसारको काम भएको थियो, भएको काम गुणस्तरीय पनि थियो । जनताले विकासमा अपनत्व ग्रहण गर्ने चलन थियो । देशभरि विकासका केही राम्रा अभ्यासहरु भए, जनतामा थोरै भएपनि सन्तुष्टि थियो । यही नाराले “विकासवादी” कहलिएको तत्कालीन एमालेले लामो समयसम्म उक्त नाराको व्याज खायो, अझै पनि त्यो नाराको थोरवहुत व्याज आउँदैछ । 
बिस्तारै जनप्रतिनिधिहरुले भ्रष्टाचारको स्वाद् चाख्दै गए,  कर्मचारीहरुले भ्रष्टाचारको बाटो देखाउँदै गए, नेताहरु भ्रष्टाचारको बाटो फराकिलो पार्दै गए, कार्यकर्ताहरु त्यो बाटो पहिल्याउँदै गए । अन्ततः जनता पनि त्यो स्वाद् चाख्न पल्के । आज अवस्था यस्तो आईहाल्यो कि, अव भ्रष्टाचार गर्ने होईन, नगर्ने अपराधी हुन्छ । नेता होस् कि कर्मचारी, उपभोक्ता होस कि सर्वसाधारण जसलाई पनि भ्रष्ट वन्ने रहर जागेको छ । सम्पत्ति चाहिन्छ, सम्पत्ति विना केही पनि हुँदैन, सम्पत्तिका लागि “जे पनि” गर्नु पर्छ भन्ने मानसिकता पलाएको छ । 
अहिले वर्षेनी करोडौं रूपयाँ गाउँगाउँमा जाँदैछ । विकास गर्न चाहने हो भने यो वजेट धेरै छ । धेरै कुरा गर्न सकिन्छ । साँच्चै आफ्नो गाउँ आफै वनाउन नागरिकले मात्रै सोच्ने हो भने गुणस्तरीय काम हुन्छ । एउटै वाटोमा पटक पटक वजेट हाल्ने, पटक पटक कागजात मिलाउने गर्नु पर्दैन । त्यसका लागि अव मागमा आधारित होइन, आवश्यकतामा आधारित विकास आवश्यक छ । माग सडक आउँछ, किनकी माग गर्ने सर्वसाधारण होईनन्, सर्वसाधारणको पहुँच र आवाज माग गर्ने निकायमा पुग्दै पुग्दैन । माग गर्नेहरु व्यापारी र विचौलिया छन् । उनीहरुले आफ्नो स्वार्थका लागि योजना माग गर्छन् । तर त्यो वास्तविक आवश्यकता होईन । यही कारण जनताले विकासमा अपनत्व ग्रहण गर्न सकेका छैनन् । यही कारण भ्रष्टाचार बढ्छ । सर्वसाधारणले पनि त्यो योजना आफ्ना लागि आवश्यक नदेखेपछि त्यसबाट तत्काल कसरी फाईदा लिने भन्ने सोच्छ । त्यसपछि एक दिन काम गरेर चार दिनको हाजिर लगाउन खोज्छ वा एक दुई घण्टा काम गरेर दिनभरीको मजुरी लिन खोज्छ । उपभोक्ता समितिले ठेकेदारसंग कमिसनको “वार्गेनिङ्ग” गर्छ । कर्मचारीले उपभोक्ता समितिसंग कमिसनका लागि वार्गेनिङ्ग गर्छ । जनप्रतिनिधिले कमिसन नपाएसम्म अनुगमन प्रतिवेदन दिन मान्दैन । बिचौलियाहरुले चारैतिर हात पर्साछन् । 
अनि विकास हुँदैन, विनास हुन्छ । चारैतिर डाँडा भत्किन्छन्, सडक वन्दैन्, जंगल सखाप हुन्छ, बाढी पहिरोको जोखिम बढ्छ, वजेट सकिन्छ, पुल वन्दैन्, कुलो वन्छ पानी चढ्दैन । अनि कसरी वन्छ त आफ्नो गाउँ आफै ।

थप समाचार 

अस्पताल सरकारी, डाक्टर गैरसरकारी

दशौं तहको एक मेडिकल सुपरिटेण्डेण्ट सहित चार जना चिकित्सकको दरवन्दी रहेको डोटी जिल्ला अस्पतालमा हाल आठौं तहका एक जना चिकित्सक मात्रै दरवन्दीमा कार्यरत छन् । 
“एक जना मेसु सहित दशौं र नवौं तहका दुईजनाको दरवन्दी त छ तर पदपुर्ति कहिल्लै भएको छैन’ हाल दरवन्दीमा कार्यरत डा. भुषण मिश्रले भने ‘अहिलेसम्म आएका आठौं तहका मात्रै हुन् ।’ हाल सरकारी दरवन्दीमा आफु एक जना मात्रै रहेको डा मिश्र वताउँछन् । ‘मेरो पनि समायोजन मा स्थानीय तहमा परेको छ, चिठ्ठी आएपछि मैले पनि जानु पर्छ होला, त्यसपछि के हुने हो थाह छैन’ डा. मिश्रले भने ‘समायोजनमा प्रदेशमा जम्मा दुई जना मात्रै चिकित्सक परेका छन् ।’ जिल्ला अस्पतालहरु प्रदेशको मातहतमा छन् । सुदूरपश्चिम प्रदेशका नौ जिल्ला जिल्लामा जिल्ला अस्पतालहरु रहेका छन्, प्रदेशमा समायोजन भएका दुई चिकित्सकहरु कुन कुन जिल्लामा पर्ने हुन, थाह छैन । मिश्र निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन् ।
सरकारी चिकित्सक नआउने समस्या भएपछि २०६९ सालदेखि डोटी अस्पताल गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा सञ्चालन भईरहेको छ । अस्पताल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जनादर्शन जोशीको पहलमा निक साइमन्स इन्टरनेशनल नामक गैरसरकारी संस्थाले दुई जना चिकित्सक पठाएको थियो । सेवा सुविधाहरु निक साईमन्सले नै व्यहोर्ने गरि पठाईएका चिकित्सकहरुमा एक एमडीजीपी  र एक एमविबिएस रहेका छन् । हाल निक साईमन्सको तर्फबाट एमडिजिपी डा. गिरीश अवस्थी र एमबीबीएस डा. खुसिद आलम खान कार्यरत छन् । 
अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. मिश्रले बताए । जनशक्ति अभावका    कारण स्वास्थ्य सेवा विस्तारमा समस्या आएको उनी वताउँछन् । 
निक साईमन्सले खटाएका एमडिजिपीकै भरमा जिल्ला अस्पतालमा जटिल प्रसुति सेवा लगायतका शल्यक्रिया सेवाहरु उपलव्ध भईरहेका छन् । अर्को कुनै बिपल्प नभई निक साईमन्सले एमडिजीपी खटाउन छोड्ने हो भने अस्पतालबाट उपलव्ध हुँदै आएका सेवाहरु पनि वन्द हुने अवस्था रहेको छ । 
अस्पताललाई ५० शैैयामा स्तरोन्नति गर्न भौतिक पूर्वाधारहरु पर्याप्त मात्रामा निर्माण भएका भएपनि अस्पतालमा अहिलेसम्म जम्मा १५ सय्या मात्रै स्वीकृत छ । सरकारले ५० सैयाका अस्पताल बनाउने निर्णय समेत गरेको छ तर कार्यान्वयन हुन सकेको छैन् । ५० शैयाको अस्पतालको माग सहितको फाइल स्वास्थ्य मन्त्रालय पुगेको वर्षाैं भईसकेको भएपनि हालसम्म कुनै तयारी छैन । भौतिक पूर्वाधार तयार भएको रिपोर्ट सहितको प्रतिवेदन गईसक्दा समेत माथिल्लो निकायबाट कुनै आदेश आएको छैन । माथीको आदेश नभएकै कारण ५० सैयाको अस्पताल बनाउन नसकिएको अस्पताल प्रशासनको दाबी छ ।

बडीमालिकाका लागि पेटारो प्रस्थान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली प्रस्थान गरेको छ । 
शुक्रवार डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बिशेष पुजाआजा गरि टोलीलाई बिदाई गरेका हुन । सरकारी पुजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएको थियो । पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट निस्केको सरकारी पुजा सामग्री सहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पुजा गरि बडीमालिकातिर लागेको हो । राणाकालदेखि डोटी गौंणाबाट पेटारो जाने चलन रहि आएको छ । 
जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पुजाआजा हुने प्रचलन छ । औपचारिक रुपमा पुजाआजा गर्नुपर्ने परम्परा अनुसार अछाम, डोटी, जुम्ला र कालिकोटको सरकारी पुजा टोली बडिमालिका जाने गर्दछ । यसअघि अनौपचारिक रुपमा बाजुराबाट पनि पुजा जाने भएको पनि २०७२ सालदेखि औपचारिक रुपमै जिल्लाबाट सरकारी पुजा जाने चलन चलाईएको छ । 
शुक्रवार हिडेको सरकारी टोली साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौट, शनिवार पूर्वीचौकी–५ मा रहेको धानुकाँडा बास बसेको छ । यस्तै अछामको मार्कु, प्रसिद्ध धार्मिक स्थल बैद्यनाथ हुँदै बडिमालिका पुग्ने चलन छ । पुजा सामग्रीमा डोटी दिपायलको भुरुरी (धानको पात) र बैद्यनाथको अक्ष्ता समावेश गरिएको हुन्छ । 
बडीमालिकाको सुदूर क्षेत्रकै सबैभन्दा सुन्दर पर्यटकिय क्षेत्र समेत हो । १४ हजार फिट उचाईमा रहेको भूमिमा २२ वटा समथर फाँटहरु, ती फाँटमाथी फुलेका रङ्गीचङ्गी फुलहरु, त्रिवेणी, बिष्णुपानी, खेतीवेती, लौरी बिनायक, धर्मद्धार बडीमालिका क्षेत्रका मुख्य मनमोहक स्थलहरु हुन । खेतीबेतीमा परापुर्वकालदेखि खेत रोपिएको, धान रोप्नका तयार गरिएका गह्राहरु, त्यस बीचमा फालिएका बीउँका मुठाहरु जस्ताका तस्तै रहेको अनौठो दृष्य छन् । हिउ पर्ने बेला त्रिवेणी पाटनमा हिउचिप्लेटी (आइस स्केटिङ) को सम्भावना छ । यो क्षेत्र जैविक विविधतामा समेत अत्यधिक धनी मानिन्छ । सयौं प्रजातिका जडीबुटी यहाँ पाइने बन प्राविधिकहरु बताउँछन् । दुर्लभ बन्यजन्तुको बासस्थल समेत बडीमालिका क्षेत्र हो ।

मृग तर्साउन चलाएको गोली लागेर मृत्यु

खेती नास्न आएका मृग सम्झी तर्साउनका लागि चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । 
डोटी आदर्श गाउँपालिका–५, भाडीसैन निवासी ५० बर्षीय हरी भुलले शनिवार राती करीव १०.४० मा जंगली जनावर भगाउनका लागि खेतमा रहेका बेला स्थानीय गगन भाट र उरै भाटको खेत नजिकै जंगली जनावर जस्तो देखे । जंगली जनावर दुम्सी भएको आसंकामा उनले आफुले बोकेको एकनाले भरुवा बन्दुक चलाउँदा स्थानीय अन्दाजी १९ बर्षीय तपेश लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले जानकारी दिए । 
धामीका अनुसार बन्दुक र बन्दुक चलाउने भुल प्रहरीले नियन्त्रणमा लिईसकेको छ । ‘हामील हतियार र आरोपीलाई नियन्त्रणमा लिईसकेका छौं’ धामीले भने ‘घटनाको थप अनुसंधानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णवहादुर बोहराको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थलतिर गएको छ ।’ प्रारम्भिक जानकारी अनुसार जंगली जनावर तर्साउनका लागि चलाएको गोली लागेर मृत्यु भएको धामीले वताए ।
मृतक लुहार स्थानीय घट्टेडी देवताका धामी हुन । उनले यसै बर्ष बिद्यालय शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए । उनी राती किन जंगलमा गएका थिए भन्ने कुरा खुल्न सकेको छैन । उनको टाउकोमा गाली लागी घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ । 
जिल्लाका बिभिन्न स्थानहरुमा पछिल्लो समयमा जंगली जनावरहरुले बाली नष्ट गरेका घटनाहरु आईरहेका छन् । 
बाटोबाट लडेर मृत्यु
डोटीको बोगटान गाउँपालिका–५ धिर्कामाण्डौंमा बाटोबाटै लडेर एक व्यक्तिको ज्यान गएको छ ।
शनिबार राती करिब पौने दश बजेको समयमा वर्ष ५० का गोरे बराल (सुनार) को गणेशकाँडाको जंगलमा बाटोबाटै अन्दाजी १५ मिटर तल लडेर ज्यान गएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
मृतक सुनार के.आई.सिंह गाउँपालिका–५ बाट घर फर्किरहेको र बाटोमा लडेर मृत्यु भएको उनकी श्रीमती जमुना बरालले चवराचौतारा प्रहरी चौकीलाई आइतबार बिहान खबर गरेकी थिइन् ।

शान्ति सुरक्षामा प्रहरीको अहम भुमिका–पौडेल

गणेश मौनी/डोटी
श्रावण २०
डोटी जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्न नेपाल प्रहरीले अहम भूमिका निर्वाह गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बतायका छन् । 
सोमबार जिल्ला प्रहरी कार्यालय डोटीको अनुगमन गदै प्रजिअ पौडेलले सो कुरा बताएका हुन । उनले भने ‘जनताको सुरक्षामा खटिने नेपाल प्रहरी कर्मचारीहरुको सुत्ने भवन राम्रो छैन, प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक र अधिकृतहरु सुत्नाको लागि आफ्नो भवन छैन, पर्याप्त मात्रामा कर्मचारी दरबन्दी छैन तर पनि यस्ता समस्याका बाबजुत प्रहरीले डोटीको शान्ति सुरक्षा कायम गर्नुका साथै सामाजिक विकृती बिसंगतिका विरुद्धमा महत्वपूर्ण भूमिका निवार्ह गरेको बताए ।  
अनुगमन पश्चात प्रजिअ पौडेलले नेपाल प्रहरीले गरेको राम्रो कामको प्रसंशा गर्दै जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा कायम गर्ने जिम्मेवार निकाय प्रहरी प्रशासन भएको हुदाँ हाम्रो आफ्नो गतिलो भवन र आवश्यकता अनुसार जनशक्ति नभए सेवा प्रवाहका साथै बिपतका घटना, आपतकालिन घटनाहरुमा पनि छीटो छरीतो रुपमा सेवा प्रबाहमा कठीनाई हुन सक्ने भएपनि अहिले सम्म त्यस्तो कुनै समस्या नभएको बताए । 
डोटी जिल्लाका ग्रामिण क्षेत्रका प्रहरी चौकीका भवनहरु सुधार भएपनि जिल्ला प्रहरी कार्यालय भनव तथा व्यारेक को अवस्था भने सुधार हुन सकेन । हाल डोटीमा जिल्ला प्रहरी कार्यालय मातहत रहेका अपरपोष्ठ, प्रहरी चौकी, इलाका प्रहरी चौकी गरि १० वटा स्थानमा आफ्ना कार्यालय भवन भएपनि आठ स्थानमा आफ्ना भवन छैनन् । भौतिक संरचना मात्र नभई कर्मचारीको अभाव पनि त्यस्तै छ । 
अबको केही समयपछि जिल्ला प्रहरी कार्यालयको भवन निर्माणको लागि टेण्डर प्रक्रिया अघाडी बढ्ने हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यदि समयमै जिल्लाको भवन निर्माण हुन सके केही समस्याहरु समाधान हुने प्रहरी अधिकारी हरु बताउँछन् । 
प्रजिअ पौडेलले अनुगमन पश्चात बिहानको खाना प्रहरी जवाहरुको मेसमा संगै बसेर खाएका थिए ।  

पशुपंक्षी बिमा प्रभावकारी भएन

डोटीमा सञ्चालन भएको पशुपंक्षी विमा गर्ने कार्यक्रम प्रभावकारी हुन सकेको छैन । 
सरकारले २०६९ साल माघदेखि बाली तथा पशुपंक्षी बिमा कार्यक्रम शुरु गरेको थियो । डोटीमा रहेका विभिन्न बिमा कम्पनीहरूले अझैं पनि जिल्लाका ग्रामीण क्षेत्रमा कार्यक्रम पु¥याउन सकेका छैनन् । 
जिल्लाका अधिकांस ग्रामीण वस्तीका किसानहरु पशुपंक्षीको बिमाबारे जानकारी नभएको बताउँछन् । डोटीको सायल गाउपालिका–२ तोलनीका रामबहादुर वली सदरमुकाम तिर बाख्राको बिमा गरेको भन्ने सुनिएको तर आफुहरुलाई सो वारेमा जानकारी नभएको वताउँछन् । 
जिल्लाका केही स्थानीय तहले समेत किसानहरूका लागि ब्यवसायिक पशुपालन तथा कृषि कार्यमा विभिन्न किसिमका अनुदान कार्यक्रम सञ्चालन गरे पनि पशुपंक्षी बिमा कार्यक्रममा प्रेरित गर्न सकेका छैनन् ।
सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले पशुपालन गरिरहेका कृषकहरूवाट बिमा कार्यक्रममा सहभागी बन्नका लागि माग नआएका कारण बाली तथा पशुपंक्षी बिमा बारे गाउँपालिकाको ध्यान नगएको बताए । “विमा कम्पनीहरूले पनि आफ्नो कार्यक्षेत्र ग्रामीण क्षेत्रसम्म बिस्तार गर्न अग्रसर हुनुपर्दछ” उनले भने ‘राज्यको पनि विमा कम्पनीहरूलाई अनिवार्य रुपमा ग्रामिण क्षेत्र जान निर्देशन दिनु पर्छ ।’
नेपालमा बिभिन्न १७ बिमा कम्पनीहरूलाई कृषि तथा पशुपंक्षी बिमा अनुमती प्रदान गरिएको छ । कृषि तथा पशुपंक्षी ब्यवसायलाई प्रवद्र्धनका लागि बिमा समितीद्वारा प्रत्येक कम्पनीलाई तीनदेखि पाँच जिल्ला कार्यक्षेत्र तोकिएको छ ।

बडाध्यक्षले नै आगो लगाए–बिप्लव

सरकारद्वारा प्रतिवन्धित नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले डोटीमा वडा कार्यालयहरुमा भएको आगजनीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ । 
सो पार्टीको डोटी जिल्ला समितिले एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरु स्वयंको संलग्नामा आगो लगाईएको दावी गरेको छ । शिखर नगरपालिका–७ को वडा कार्यालयमा वडाध्यक्ष नर बहादुर बलायरले आगो लगाउन लगाएको आरोप बिज्ञप्ती मार्फत लगाईएको छ । नेकपा डोटीका इन्चार्ज दौलत र सेक्रेटरी कालु पाण्डेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा आफ्नो कालो कर्तुतमाथि पर्दा हाल्न वडाध्यक्ष बलाएरको निर्देशनमा स्थानीयरुरु आगो लगाएको पार्टीको अनुसन्धानले देखाएको उल्लेख छ । 
‘आफ्ना कर्मचारीले गरेको कमजोरी र भ्रष्टाचार ढाकछोप गर्न जनताले उठाएका सवालहरुको जवाफ दिन नसकेपछि त्यहि कुरालाई अन्तै मोड्न आगजनी गरेको बुझिएको छ ।ु विज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टीका नेता दिर्घ सिंह कुँवरको नाम जोडेर गरिएको प्रचार निराधार हो ।’ कुँवर पार्टी कामको सिलसिलामा चार महिनादेखि जिल्ला बाहिर रहेको समेत बिज्ञप्तीमार्फत दावी गरिएको छ । पार्टीका नेता कार्यकर्ता र पार्टीकै बदनाम गराउने उद्देश्यले वडाध्यक्षले यस्तो षडयन्त्र रचेको विज्ञप्तीमा उल्लेख छ । 
साउन ११ गते राती करीव ११ वजे उक्त वडा कार्यालयमा आगजनी भएको थियो । आगजनी भएको भोलीपल्ट वडाध्यक्ष बलायरले आगजनीमा बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दिर्घसिं कुँवरको संलग्नता रहेको प्रहरीलाई जानकारी दिएका थिए । 
यस्तै साउन ७ गते जोरायल गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीमा पनि पार्टीको कुनै संलग्ना नभएको बिज्ञप्ती मार्फत दावी गरिएको छ । बिज्ञप्तीमा शिखर नगरपालिका–७ को वडा कार्यालयमा भएको घटना जस्तै जोरालयको पनि भएको उल्लेख गरिएको छ । बिज्ञप्तीमा जनप्रतिनिधिले गरेको आगजनीको बिषयलाई लिएर प्रहरीले गाउँ गाउँ पुगेर जनताको घरमा छापा मारिरहेको भन्दै बिरोध जनाएको छ । 
प्रहरी परिचालन गरेर जनतालाई दुःख दिने कार्य तत्काल रोक्नसमेत सो समूहले माग गरेको छ । बिभिन्न बहानामा जनतालाई दुल्ख दिने काम नरोकिए आफूहरु प्रतिरोध गर्न बाध्य हुने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।
डोटीका प्रहरी प्रमुख बिद्यानन्द माझीले यि दुवै घटनामा बिप्लव नेतृत्वको नेकपामा संलग्नता रहेको वताएका थिए । उनले जोरायल र शिखरमा नेकपाकै कार्यकर्ताहरु ले आगो लगाएको दावी गरेका थिए ।  
यसअघि जेठ १४ गते बडीकेदार गाउँपालिका–४ को कार्यालयमा गरिएको आगजनीमा पनि आफुहरुको कुनै संलग्नता नरहेको बिप्लव नेतृत्वको नेकपाका एक जिल्ला नेताले जानकारी दिए । उक्त घटनामा कसको संलग्नता रहेको थियो भन्ने कुरामा हालसम्म प्रहरी पनि अनबिज्ञ छ ।  
एनसेल जलाउने बिप्लव समूह 
वडा कार्यालयहरुमा आगजनी आफुहरुले नगरेको वताउने बिप्लव नेतृत्वको नेकपाले डोटीको एनसेलका दुई टावरमा गरिएको आगजनी भने स्वीकार गरेको छ । 
‘जोरायल गाउँपालिका–१ घण्टेश्वरमा रहेको टावरमा पार्टीको डडेल्धुरा कमिटीले गरेको हो’ उक्त समूहका एक नेताले भने ‘शिखर नगरपालिका–१ मा       रहेको टावरमा डोटी पार्टीले आगजनी     गरेको हो ।’ 

सूचना/सन्देश/बिज्ञापन 

बोगटान फुड्सिल गाउँपालिका

                           गाउँ कार्यपालिकाको कार्यालय                                                               

चवराचौतारा,डोटी
सुदूुरपश्चिम प्रदेश, नेपाल
सूचना नं. ०१÷२०७६÷०७७
प्रथम पटक प्रकाशित मिति ः– २०७६।०४।२०

सिलवन्दी कोटेशन आह्वान  सम्वन्धी सूचना

उपरोक्त सम्वन्धमा यस बोगटान फुड्सिल गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय रग्रामिण जलस्रोत व्यवस्थापन परियोजना डोटी अन्तर्गत संचालन हुने जिविकोर्पाजन कार्यक्रमका लागि सूचनामा संलग्न सूची बमोजिमका विउविजन, कृषि औजार, विषादी, मल तथा अन्य आवश्यक सामाग्रीहरु खरिद गर्नु पर्ने भएकोले यस आ.व २०७६/०७७ का लागि उपलब्ध गराउन सकिने इकाई दर भाउ यस कार्यालयबाट उपलब्ध हुने दरभाउ पत्रमा उल्लेख गरि आवश्यक कागजातहरु (ऐग्रोभेट दर्ताको प्रमाण पत्रको प्रतिलिपी, कर दर्ता तथा कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी, बिषादी खुद्रा विक्रेता दर्ता प्रमाण पत्रको प्रतिलिपी, प्राइभेट फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी) सहित मिति २०७६ भाद्र २ गते कार्यालय समय भित्र यस कार्यालयमा आइपुग्ने गरि सिलबन्दी कोटेशन पेश गर्न हुन सूचित गरिन्छ । सिलबन्दी कोटेशन पेश गर्ने अन्तिम दिन विदा परेमा त्यसको भोलि पल्ट कार्यालय समयभित्र यस कार्यालयमा आइपुग्ने गरि शिलबन्दी कोटेशन पेश गर्न हुन समेत सूचित गरिन्छ । दरभाउपत्र यस कार्यालयको ग्लोबल आइएमई वैक लि. बोगटान शाखामा रहेको बैंक खाता नम्वर ः ७०४०१००००००१ मा रु.१५००। (अक्षेरुपी एकहजार पाँच सय मात्र) जम्मा गरेको भौचर गाउँपालिका कार्यालयमा पेश गरि प्राप्त गर्न सकिने छ ।
नोट ः आवश्यक कागजात र प्रक्रिया नपुगेको कोटेशनलाई मान्यता दिइने छैन ।
प्रमुख प्रशासकीय अधिकृत

                

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०४÷१७ 
उपरोक्त सम्बन्धमा दिपायल सिलगढी नगरपालिका–६ सिलगढी डोटीमा रहेको यस श्री पद्म पव्लिक मुक्ती नारायण माध्यमिक बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिमको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७६÷०७७,   पद ः शिक्षक,    संख्या ः १ जना, 
तह ः मा. बि. तृतीय,  बिषय ः गणित 
किसिम ः राहत करार (खुला) 
शैक्षिक योग्यता ः गणित मुल बिषय लिइ स्नातक तह वा सो सरह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०४÷३१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०४÷३२ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः शिक्षक सेवा आयोग नियमावली २०५९ को नियम २४ को उप नियम ३ र ४ बमोजिमका उम्मेदवारहरुलाई मेरिटका आधारमा शिक्षा नियमावली २०५९ को नियम ९७ बमोजिम नियुक्त गरिनेछ । शिक्षक सेवा आयोगबाट प्रकाशित सूचीका उम्मेदवारहरु उपलव्ध हुन नसकेमा मात्र शिक्षा नियमावली २०५९ को नियम ९७ को उप नियम ३ पछिका उपनियमका आधारमा नियुक्त गरिनेछ ।


No comments:

Post a Comment