प्रमुख समाचार
एक्ज्याभेटरको २५ लाख भाडा असुल हुन वाँकी
२०६३ सालदेखिको बेरुज असुल हुन सकेन, एक लाख ७४ हजार अरु पनि वाँकी
जिल्ला बिकास समिति डोटीले सञ्चालन गरिरहेको मेसिन (एक्ज्याभेटर) को करीव २५ लाख भाडा असुल हुन सकेको छैन । ठेकेदारहरुले २०६३ सालदेखिको भाडा बुझाएका छैनन् ।जिबिस डोटीको राजश्व शाखाले दिएको जानकारी अनुसार एक्ज्याभेटर प्रयोग गरेको बेरुजको हिसाव २४ लाख ८६ हजार नौ सय एक रुपैयाँ ३३ पैसा रहेको छ । २०६३ साल देखि यता एक्ज्याभेटर भाडामा प्रयोग गर्ने निर्माण व्यवसायीहरुले हालसम्म पनि भाडा नवुझाएको शाखाको तथ्याँकमा उल्लेख छ ।
तथ्याँक अनुसार सवैभन्दा बढी ठेकेदार कृष्णवहादुर खड्काको नाममा रहेको के एस पी कन्ट्रक्सन भुक्तानी गर्नु पर्ने वाँकी छ । उक्त कन्ट्रक्सनले २०६७ सालमा एक्ज्याभेटर भाडा प्रयोग गरे वाफतको रकम ६ लाख ४७ हजार दुई सय ८३ रुपैयाँ ३३ पैसा जिबिलाई भुक्तानी गर्न वाँकी रहेको छ । यस्तै प्रेमशंकर भट्टको नाममा रहेको चर्चित पि एस कन्ट्रक्सनले पाँच लाख, ६८ हजार, दुई सय २५ भक्तानी गर्न वाँकी छ । पि एसले २०६३ सालमा एक्ज्याभेटर प्रयोग गरेको थियो ।
यसैगरी सोहना जोशीको नाममा रहेको बिभोर निर्माण सेवाले २०६९ साल अर्थात गत आर्थिक वर्षमा एक्ज्याभेटर प्रयोग गरेवाफतको चार लाख ९९ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गर्न वाँकी देखिएको छ । जिबिस श्रोतका अनुसार बिभोर निर्माण सेवा जिबिसकै प्राबिधिक राजीव जोशीकी श्रीमति हुन ।
यस्तै निर्माण व्यवसायी संघ डोटीका पूर्व अध्यक्ष महेन्द्र वहादुर खड्काको नाममा रहेको एमएम कन्ट्रक्सनले २०६५ सालको चार लाख २८ हजार सात सय भुक्तानी वाँकी छ । सो कम्पनीले २०६५ सालमा एक्ज्याभेटर प्रयोग गरेको थियो । रामवहादुर बुढा प्रतिनिधि भनि रेकर्डमा उल्लेख भएको गिताञ्जली गजुरमुखी जेभीले २०६३ र २०६४ सालमा एक्ज्याभेटर प्रयोग गरे वाफतको एक लाख ९९ हजार पाँच सय ३३ रुपैयाँ भुक्तानी गरेको छैन । ठेकेदार दिलवहादुर वमको नाममा रहेको कालिका कन्ट्रक्सनले पनि एक लाख २७ हजार चार सय ५० रुपैयाँ भुक्तानी गर्न वाँकी छ ।
निर्माण व्यवसायी संघ डोटीका वहालवाला उपाध्यक्ष वमवहादुर खड्काको नाममा रहेको भवानी निर्माण सेवाले २०६५ सालको १६ हजार दुई सय ६० रुपैयाँ जिबिसलाई भुक्तानी दिन वाँकी छ ।
२०६२ सालमा जापान सरकारले वस्तुगत सहयोग अन्तरगत जिविसलाई उक्त एक्ज्याभेटर प्रदान गरेको थियो । एक्ज्याभेटर प्रयोग गर्दा ठेकेदारहरुसंग पहिलेनै सम्झौता हुने र सम्झौता अनुसारको धरौटी बैङ्कमा जम्मा गर्नु पर्ने नीतिगत व्यवस्था हुँदाहुँदै पनि ठुलो रकम वेरुज देखिएको छ ।
एक्ज्याभेटरको मात्र होईन राजश्व शाखाको तथ्याँकमा अन्य पनि वेरुज देखिएको छ । २०६३ सालको गिट्टी वालुवा निकासी करको रकम एक लाख पाँच हजार पाँच सय रुपैयाँ दिलिपकुमार श्रेष्ठले भुक्तानी गर्न वाँकी रहेको छ । यसैगरी २०६८ सालको जडिवुटी निकासी कर वाफतको रकम ५५ हजार ५० रुपैयाँ देभेन्द्र खड्काले बुझाएका छैनन् भने जिबिसको क्यान्टिनको २०६६ सालको भाडा १३ हजार आठ सय ६० रुपैयाँ तत्कालीन क्याष्टिन सञ्चालक कमलादवी हमालको नाममा रहेको छ ।
जिबिस राजश्व शाखाका प्रमुख शंकर वोगटीले पटक–पटक पत्रचार गरेर ताकेता गर्दा समेत वेरुज असुल हुन नसकेको वताए । “पछिल्लो पटक हामीले माघ १२ गते पत्राचार गरेका छौं” वोगटीले भने ‘तर अहिलेसम्म पनि कोही आएका छैनन् रकम भुक्तान गर्न ।’ अव रकम असुल गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने तयारी भईरहेको वोगटीको भनाई छ ।
निर्माण व्यवसायीको क्षेत्रमा ख्याती कमाएका ठेकेदारहरुले लामो समयदेखि सरकारी वाँकी भुक्तानी नगरिदिँदा जिल्लाको बिकासमा त वाँधा परेको छ नै, स्वयं ठेकेदारहरुको व्यक्तिगत मान प्रतिस्ठामा पनि आँच आउन थालेको छ । २५ लाख रकम डोटी जस्तो कम आयश्रोत भएको जिल्लाका लागि सानो रकम होईन । सवैले वेलैमा होस पु¥याउन जरुरी छ ।
सम्पादकीय
अव खुल्यो वाटो
लगातार दुई साताको अन्यौलतापछि अन्तत आईतवार गृहमन्त्रीको टुङ्गो लागेको छ । एमालेले पहिलेनै प्रस्ताव गरेको व्यक्ति नेपालका गृहमन्त्री हुने भएपछि सरकार गठनको वाटो खुलेको छ । यदि कुनै अर्को चमत्कार भएनछ भने आजै (मंगलवार) नयाँ मन्त्री महोदयहरुले शपथ ग्रहण गर्नेछन । कोईराला महोदयको वालुवाटार फलिफाप हुनेछ ।वाहीरी आवरणमा गृहको बिवादका कारण मन्त्रीमण्डल गठन हुन नसकेको भन्ने आएपछि एउटै कारण गृहमात्रै अहिलेसम्मको दोषी थिएन । सरकारमा कुन पक्षका कति मन्त्री पठाउने भन्ने वारेमा नेपाली कांग्रेसभित्रको बिवाद, नयाँ समिकरणले नेकपा एमालेमा उव्जाएको असंकाका कारण बढी जसो उथलपुथल भएको हो । यद्यपी गृह मन्त्रालयको बिषयले यि कुराहरु वहसका बिषय बन्न सकेनन् तर पनि अन्ततः सहमति भएको छ । अव यो सहमति दुई दलका बीचमा मात्र रहनु हुँदैन । कोईरालाको वालुवाटार प्रवेशका बैशाखी वनेका अन्य दलहरु र आफ्नो उपस्थिति देखाउनकै लागी भएपछि प्रतिपक्षको अभिनयमा रहेका अन्य दलहरुसंग पनि सहकार्य गर्नु पर्छ । जसले गर्दा सरकारको आयु अलि लामो हुन सक्छ । होईन भने यो सरकारले उल्टो गिन्ती सुरु गरे हुन्छ ।
सरकारमा को को व्यक्ति आए र कस्को अनुहार कस्तो भन्ने खोजी गर्दै जाँदा सायद कुनै पनि व्यक्ति अछुतो रहने छैन । सवैका अनुहारमा कालो पोतिएको पाईनेछ तर दुर्भाग्य के मात्रै हो भने हाम्रो देशको कानुनले अहिले मन्त्रीका लागि नाम चर्चामा रहेका कुनै पनि व्यक्तिलाई अपराधी प्रमाणित गरेको छैन । त्यसकारण सवै शुद्ध हुन, जनताप्रति ईमानदार हुन, लगनशील हुन, यिनीहरुले कुनै भ्रष्टाचार गर्ने छैनन्, नैतिकता गुमाउने छैनन् भन्ने बिश्वास गर्नु वाहेक अरु हामीसंग कुनै बिकल्प छैन ।
संबिधानसभाको निर्वाचन भएको तीन महिना १० दिनपछि सरकारले अर्धपूर्णता पाउने भएको छ, अझैं पूर्णता पाउन वाँकीनै छ । सरकारै नहुनु भन्दा यत्तिकै सरकार भएपनि कम्तीमा दैनिक प्रशासनिक कार्यहरु गर्न सजिलो हुन्छ भन्ने लाग्दछ । अव संबिधान सभालाई नयाँ संबिधान निर्माणका लागि सरकारले भरपुर सहयोग गर्नेछ भन्ने बिश्वास लाग्छ तर यो सवै त्यति सहज भने छैन ।
मन्त्रीहरु आएका छन, अव सवैभन्दा पहिले राजनीतिक नियुक्तीको काम सुरु हुनेछ । त्यसका लागि कुन कुन मन्त्रालयका कुन समितिमा कुन कुन व्यक्तिहरु छन भन्ने कुराको खोजी सुरु हुनेछ । आफ्ना भाई भतिजा, नाता गोता, चुनावमा धेरै पैसा सहयोग गरेका, सवैभन्दा बढी धाँधली गरेका यस्ता मान्छे नेताहरुका आफ्ना मान्छे हुनेछन । तिनै मान्छे योग्य हुनेछन । ईमानदार व्यक्तिहरु सवैलाई बिदा दिईनेछ । मन्त्रीहरुको पहिलो काम यतैवाट सुरु हुनेछ ।
गृहमन्त्रीको भागवण्डाकै वेला नेपाल सरकारको बिशिष्ठ श्रेणीको पद गृह सचिवमा को मान्छे राख्ने भन्ने बिषयमा छलफल हुने हाम्रो देशमा अव जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारी, स्थानीय बिकास अधिकारी, अड्डाका हाकिम सावहरु सवैको कुर्ची तान्ने प्रयास हुनेछ । सवैलाई चलाईनेछ । एउटा योजना वनाएर वसेको कर्मचारीलाई एकाएक सरुवा गर्दा उस्को काम गर्ने मनस्थिति कस्तो होला ? त्यो त मन्त्रीहरुले कल्पनै गर्दैनन् किनभने उनीहरुको जाँगिर पनि कतिवेला जाने हो भन्ने उनीहरुलाईनै थाह हुन्न ।
खैर, दुई हप्तासम्मको एक युद्धको अन्त्य भएको छ । यसवाट सरकारले पूर्णता पाउने भएको छ । अव कम्तीमा सरकार त छ भन्ने आश पलाएको छ । यसका लागि सुशील कोईरालालाई बधाई पनि छ उनको नेतृत्वमा रहेको मन्त्रीमण्डल देशमा सुशासन कायम गर्न सफल होस भन्ने कामना पनि छ ।
थप समाचार
गिट्टी कुट्दै ७३ वर्षीय बृद्ध
“छोरा भन्ने त नाता मात्र हो, छोराको माया आमा वुवालाई मात्र लाग्छ तर छोराहरुलाई आमावुवाको माया लाग्दैन ।”उमेरले ७३ वसन्त पार गरेका, सेताम्य फुलेको कपाल, कुम्रिएको कम्मर, ठेउला उठेका हात र फुटेका खुट्टा तर पनि जीवन निर्वाहका लागि दिनभरी गिट्टी कुट्न वाध्य छन डम्मर सिं बिष्ट । वगलेख गाबिस–५ वाडी घर भएका बिष्टका दुई छोरा, दुई वुहारी र पाँच नातीनतिना छन । उनी भने कम्मर कुप्रिएकी आफ्नी जीवन संगिनीसंग एक्लै वसिरहेका छन । ‘कुनै दिन त तीन कट्टासम्म पनि गिट्टी कुटे’ डम्मरले चिसोका कारण बिहानै काम गर्न नसकिने भएकाले अचेल दुई कट्टा मात्र कुट्न सकिने वताए । प्रतिकट्टा ५० रुपैयाँका दरले गिट्टी बिक्री हुने गरेको वताउँने डम्मर लगातार काम नपाईने भएकाले पनि चिन्तित देखिन्छन । केएर नेपाल र नेपाल रेडक्रस सोसाईटी डोटीको साझेदारीमा निर्माण भईरहेको कृषि संकलन केन्द्रको भवनका लागि गिट्टी कुटिरहेका उनी भन्छन ‘भवनको काम सकिन लाग्यो, अव काम पाईन्छ पाईन्न् थाह छैन ।’
उमेरले ढुङ्गा वोक्ने, माटो फाल्ने, काठ वोक्ने जस्ता काम गर्न नसक्ने भएका डम्मर पेट पाल्नका लागि बसीबसी गिट्टी कुट्न वाध्य छन । कसरी सक्नुहुन्छ यो उमेरमा पनि गिट्टी कुट्न ? बिम्ब साप्ताहिकको प्रश्नको जवाफमा डम्मरले भने ‘सकेर होईन, वाध्यताले हो ।’ पेट पाल्ने वाध्यताले हरेक कामलाई सम्भव वनाई दिएको डम्मरको बुझाई छ । छोराहरुले पनि ज्यालादारी गरेर पैसा कमाईरहेको वताउँदै डम्मरले भने ‘हामी बुढाबुढीलाई केही दिन्नन्, वरु वुहारीहरुले दाउरा चोरेको आरोप लगाउँछन ।’
“उमेर हुँदा छोराछोरीलाई पाल्न र पढाउनमा समय बिताएँ, न त छोराहरुले राम्रोसंग पढिदिए न मैले बुढेसकालका लागि केही गर्न सकेँ” आफ्नो बिगतलाई सम्झँदै लामो सुस्केरापछि डम्मरले भने “मैले वनाएको घर पनि छोराहरुले भक्ताएर अर्को ठाउँ लगे, म अहिले पुरानै ठाउँमा छाप्रो वनाएर वसेको छु ।’ छोराहरुकै आवश्यकता पुर्तिका लागि लामो समय भारतमा वस्न वाध्य भएको वताउने डम्मरले अव बुढ्यौली लागेर भारत पनि जान नसक्ने वताए ।
जति दुःख भएपनि वाँच्ने रहर भने मारेका छैनन् डम्मरले । दुहुनो गाई र वारीमा तरकारी अलि अलि भएपनि लाएका छन उनले । कति वाँच्ने रहर गर्नु भएको छ ? डम्मरले भने ‘८० सम्म त पुग्ला नि ! अव सातै वर्ष त छ वाँकी ।’
जिल्लामा गठन भएको जेष्ठ नागरिक मञ्चको वारेमा उनलाई थाह छैन । उनी प्रश्न गर्छन, त्यो भनेको के हो ? आफुलाई नपालेपनि छोराहरुले आफुले त राम्रोसंग कमाएर खाउन भन्ने चाहना राख्छन डम्मर । उनलाई छोराहरुले मदिरा सेवन नगरिदिए हुन्थ्यो भन्ने पनि लाग्छ ।
मनै त हो, छोराहरुले दुःख दिएको भएपनि छोराहरुको भलो चिताउने यि वुवा जस्तै सायद छोराहरुले पनि सोचेको भए यो उमेरमा पेट पाल्नकै लागि दिनभरी हातका औला फुट्ने गरी गिट्टी कुट्नु पर्ने अवस्था आउने थिएन ।
“माथिल्लो गराको पानी तल्लो गरामा झर्छ तर तल्लो गराको पानी माथिल्लो गरामा उक्लँदैन भने जस्तै छोराहरुको पनि माया उनीहरुका श्रीमति, उनीहरुकै छोराछोरीतिर वग्छ होला । माथिल्लो गरामा उनीहरुको माया उक्लन गा¥हो हुन सक्छ ।”
महान हास्य कलाकार हरिवंश आचार्यले आफ्नो जीवनमा आधारित “चिना हराएको मान्छे” पुस्तकको पृष्ठ २८८ मा माथीका हरफहरु त्यसै लेखेका रहेनछन ।
अनलाईनवाटै वजेट मागिने
आगामी वर्षको वजेट अनलाईनवाटै माग्ने गरी अर्थ मन्त्रालयले तयारी गरिरहेको छ । सो को लागि मन्त्रालयले अन्य मन्त्रालयहरुसंग छलफल समेत प्रारम्भ गरेको छ ।मन्त्रालयका सहसचिव राजन खनालले वजेट माग अनलाईनवाटै लिने गरी तयारी भईरहेको वताउँदै भने ‘यो सेवा लागु भएपछि बिचमा वजेट थप गर्न मिल्दैन ।’ मन्त्रालयले अनलाईन वजेटिङ्ग पद्धति सुरु भए तोकिएको काम समयमै हुने बिश्वास लिएको छ । यस्तै अहिलेका जसरी बिभिन्न मन्त्रालयका कर्मचारीहरुले वजेट निकासाका लागि फाईल वोकेर अर्थ मन्त्रालय धाईरहनु नपर्ने समेत जनाएको छ । अहिले वजेटको घोषणा भएपनि समय समयमा थपघट भईरहने भएका कारण काम गर्न ढिलाई भईरहेको वताउँदै सहसचिव खनालले अनलाईन वजेटिङ्ग सिस्टम लागु भए कर्मचारीहरुले मन्त्रालय धाईरहनु नपर्ने वताए । ‘सिलिङ्ग भन्दा वढी वजेट माग गरेको भए आफै अस्वीकृत हुन्छ’ खनालले भने ‘यसले काम गर्न पनि सहज हुनेछ ।’
अनलाईन वजेट माग गर्ने व्यवस्थाका लागि मन्त्रालयले आईतवार र सोमवार वाणिज्य तथा आपुर्ति मन्त्रालयसंग छलफल गरिसकेको छ । मन्त्रालयका अनुसार सूचना प्रबिधिको प्रयोग वढिरहेकाले त्यसको अवधारणा मन्त्रालयमा आएको हो । सवै मन्त्रालयको वजेट अनलाईनवाटै माग गर्ने पद्धतिको बिकास भए एक रुपता काम गर्न सकिने समेत मन्त्रालयको ठहर छ । कामकाज छिटो छरितो पनि हुने र कागजमा लाग्ने अनावश्यक खर्च पनि कम हुने सोचाई मन्त्रालयले राखेको छ ।
मन्त्रीहरुले आज शपथ ग्रहण गर्ने
प्रधानमन्त्री भएको करीव दुई सातासम्मको अथक प्रयासपछि अन्नतः सुशील कोईराला एमालेलाई सरकारमा सहभागि गराउन सफल भएका छन । कांग्रेस–एमालेका मन्त्रीहरुको शपथ मंगलबार बिहान हुने भएको छ ।गृहमन्त्रालयको बिषयमा दुई दलहरुकाबीच आ–आफ्नै अडान कायम रहँदा दुई साता अघि नै तय भएको मन्त्रीपरिषद् बिस्तारको कार्यक्रम सर्दै आएको थियो । अन्ततः गृहमन्त्रालय एमालेलाई दिनेमा कांग्रेस सहमत भएपछि सोमवार मन्त्रीको भागवण्डामा सहमति भएको हो ।
मंगलवार शपथ खाने मन्त्रीहरुको बिषयमा कांग्रेसले टुङ्गो लगाईसकेको जानकारी आएको छ भने एमालेले मंगलवार विहानै पार्टीको तर्फवाट सरकारमा सहभागि हुने मन्त्रीको नाम दिने जनाएको छ । एमालेको तर्फवाट मन्त्रीहरुको नेतृत्व उपाध्यक्ष वामदेव गौतमले पाएका छन ।
कांग्रेस संस्थापन समूहबाट महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, नारायण खड्का, पद्मनारायण चौधरी तथा देउवा पक्षबाट विमलेन्द्र निधि, चित्रलेखा यादव, एनपी साउद र टेकबहादुर गुरुङको नाममा सहमति जुटेको कांग्रेसले जानकारी दिएको छ । महतले यसअघि नै बिनाविभागीय मन्त्रीको शपथ लिइसकेका छन ।
स्रोतका अनुसार महामन्त्री सिंह उपप्रधान र स्थानीय विकास मन्त्री हुने सम्भावना बढी छ । सिंहले रक्षा मन्त्रालय सम्हाल्ने स्थिति भए महत बाहिरिनेछन । अन्यथा महतले रक्षा सम्हाल्ने तयारी छ ।
महेश आचार्यले अर्थ, नरहरि आचार्यले सञ्चार, खड्काले कानुन, चौधरीले श्रम, साउदले शिक्षा र विमलेन्द्रले भौतिक योजना मन्त्रालयको जिम्मेवारी पाउने निश्चितप्रायः रहेको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले मन्त्रालयको जिम्मेवारीमा सहमति जुटाएको हो । नेता शेरबहादुर देउवा समूहले आफ्नो भागमा परेका चार मन्त्रीको सिफारिस सोमबार बिहानै गरेको थियो ।
लसुनबाट डेढ लाख आम्दानी
डडेल्धुरा जिल्लाको गाङखेत गाविसका एक कृषकले लसुनबाट मात्रै बार्षिक एक लाख ५० हजार आम्दानी गर्ने गरेका छन । तीन बर्ष देखि ब्यवसायिक रुपमा तरकारी खेती अङगालेका गाङखेत गाबिस–१ काफलीका २८ बर्षीय युवा कृषक लक्षमण थापाले यो बर्ष लसुनबाट मात्रै डेढ लाखको आम्दानी गरेको वताएका छन ।युवा उर्जावान कृषक थापालाई जिल्ला कृषि बिकास कार्यालय डडेल्धुराले समेत सहयोग गर्दै आएको छ । गरिवि निवारण कोषको कार्यक्रम लागु भएपछि कृषि पेशा गर्न प्रेरित भएका थापाले आफ्नो मुख्य आयश्रोतको रुपमा समेत तरकारी खेतीलाई लिएका छन । अहिलेसम्म मौसम अनुसारको तरकारी खेती मात्रै गर्दै आईरहेको थापा निकट भविश्यमै बेमौसमी तरकारी खेती गर्ने योजना बनाईरहेका छन ।
थापा मात्र होईन यस क्षेत्रका अन्य किसानहरु समेत तरकारी खेतीप्रति आकर्षित हुँदै गएका छन । परम्परागत अन्न वालीवाट खासै फाईदा नहुने देखेपछि कृषकहरु तरकारी वालीतिर आकर्षित भएका हुन । तरकारी उत्पादनका लागि उर्वरक मानिने यस क्षेत्रमा यातायतको सुबिधा नहुँदा भने कृषकहरुले समस्या झेल्नु परेको छ । यातायत समस्याकै कारण कृषकहरु आफ्नो उत्पादन डोकोमा वोकेर लैजान वाध्य छन ।
सफा गर्ने भन्दै सुन लुटेर फरार
दार्चुलाको खार र सिप्टि गाविसमा गहना सफा गरि चम्काई दिने वहानामा आएका केही अज्ञात व्यक्तिहरु सुन लुटेर फरार भएका छन ।गत बिहीबार र शुक्रबार तीन जना सिप्टि र दुई जना खारमा गरी दुुई अलग अलग समूहमा आएका लुटेराहरुले आफुहरुलाई नेपाल सरकारले गहना सफा गर्ने भनि पठाएको वताएका थिए । स्थानीयवासीहरुका अनुसार लुटेराहरुले गहना सफा गरी दिने भन्दै केही महिलाको सुन लुटेर फरार भएका छन । ती व्यक्तिहरु महिला भएका ठाउँमा मात्र जाने र गहना सफा गर्ने भन्दै सुन लुटेर लैजाने गरेको खार ५ जामिरकी रुक्मणी ठगुन्नाले बताईन । शुक्रबार आफुुले पनि ती व्यक्तिहरुबाट गहना सफा गराएको ठगुुन्नाको भनाई छ ।
गाउँमा अज्ञात व्यक्तिहरुले गहना सफा गर्ने नाउँमा सुन काटेर लग्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन । घटनाका बारेमा प्रहरीलाई खबर गरे पनि अहिलेसम्म भने लुटेराहरुको वारेमा कुनै जानकारी हासिल हुन सकेको छैन छ ।
शिक्षालयको बिकासका लागि बहस सुरु
सुदुरपश्चिमकै पुरानो तथा सरकारी लगानीवाट सञ्चालन आएको सेती प्राबिधिक शिक्षालयको बिषयमा वहस प्रारम्भ भएको छ ।क्षेत्रीय सदरमुकाममा अवस्थित भएर पनि हालसम्म उपेक्षित वन्दै गएको शिक्षालयका समस्या समाधानका लागि पहल गर्नु पर्ने सरोकारवालाहरुले वताउन थालेका छन । बिगतका दिनहरुमा बिभिन्न वहानामा तालावन्दी हुँदै आएको शिक्षालयको गुणस्तर सुधारका लागि पहल गर्ने समेत सरोकारवालाहरुले जनाएका छन ।
सोमवार आयोजना गरिएको शिक्षालयको २४ औं वार्षिक उत्सवको अवसरमा सहभागीहरुले सो कुरा व्यक्त गरेका हुन । कार्यक्रमका प्मुख अतिथि डोटीका निमित्त प्रमुुख जिल्ला अधिकारी आनन्द पौडेलले शिक्षालयको समग्र बिकासका लागि योजना वनाउनु पर्ने वताए । ‘शिक्षालयको बिकास र गुणस्तरीय शिक्षा हुनु जरुरी छ’ पौडेलले भने ‘सवै वसरेर छलफल गरौं, नयाँ योजना वनाऔं ।’
कार्यक्रमका बिशिष्ठ अतिथि स्थानीय बिकास अधिकारी शिवकुमार कार्कीले जिल्लामा श्रोत थोरै भएपनि शिक्षाको ठोस योजना आयोग भने यसलाई सम्वोदन गर्ने प्रयास गरिने वताए । कार्कीले योजना वनाउनका लागि पहल गर्न शिक्षालय परिवारलाई आग्रह समेत दिए ।
कार्यक्रममा रानीतिक दलका प्रतिनिधिहरुले आफुहरुले शिक्षालयको बिकासका लागि सहयोग गर्ने वताए । आशन ग्रहणको क्रममा पद्धति नमिलेको भन्दै दलका नेताहरुले गुनासो गरेका थिए ।
कार्यक्रममा बिद्यार्थीहरुले शिक्षालयमा होस्टेलको समस्या रहेको, खानाको गुणस्तर कमसल भएको, बिद्यार्थीहरुले माग राख्दा प्रशासनले सुनुवाई नगरेको, बिद्यार्थीहरुले आन्दोलन गर्दा समेत डोटीका सञ्चारकर्मीहरुको ध्यान नगएको जस्ता आरोप लगाएका थिए । बिद्यार्थीहरुले २९ महिने ए एन एमको कोर्षलाई १८ महिने वनाउनु पर्ने माग समेत राखेका थिए ।
बिद्यार्थी भर्नाका वेला प्रत्येक वर्ष बिवाद हुने गरेको शिक्षालयमा सरोकारवालाहरुले अन्य समयमा चाँसो नदेखाउने गरेको शिक्षलयका प्रिन्सिपल सुशिल श्रेष्ठको भनाई छ । बिद्यार्थी भर्नाका वेला मात्र राजनीतिक दलहरुले अन्य व्यक्तिहरुले फोन गर्ने गरेको उनको गुनासो छ ।
नियमित सार्वजनिक परीक्षण हुने
‘बिगतका वर्षहरुमा जे जे भयो भयो, अव चाँहि त्यसो हुँदैन, अनिवार्य रुपमा योजनाको सार्वजनिक परीक्षण गर्नु पर्छ अनिमात्र भुक्तानी दिईनेछ ।’वगलेख गाबिसका सचिव भीमवहादुर धामीले उपभोक्ता समितिका पदाधिकारीहरुसंग अनिवार्य रुपमा सार्वजनिक परीक्षण गर्न आग्रह गर्दै बिगतका दिनहरुमा कागज मिलाएर ल्याउने गरेको अनुभव सुनाउँदै अव भने आफै पनि हरेक योजनाका सार्वजनिक परीक्षणमा पुग्ने वताए ।
केएर नेपाल र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाद्वारा सञ्चालन भईरहेको समुदाय सहयोग कार्यक्रम अन्तरगत वडा नागरिक मञ्चका प्रतिनिधिहरुका लागि आयोजना गरिएको दुई दिने आन्तरिक जवाफदेहिता र सार्वजनिक परीक्षण तालिमको समापनका क्रममा सचिव धामीले प्रत्येक योजनामा लागत वोर्ड राख्ने अभ्यास गाउँ बिकास समितिले गर्ने वताए । यस गाबिसमा कार्यरत केही गैर सरकारी संस्थाहरुले लागत वोर्ड राख्न सुरु गरेकोमा धन्यवाद दिँदै धामीले सवै संघसंस्थाहरुले अनिवार्य रुपमा लागत वोर्ड राख्नु पर्ने समेत वताए । तालिममा सहभागि वडा नागरिक मञ्चका प्रतिनिधिहरुले आफुहरुले सार्वजनिक परीक्षणको वारेमा खासै जानकारी नपाएको भन्दै यो तालिमले सहयोग पु¥याएको वताए । ‘अव हामी पनि हरेक योजनामा सार्वजनिक परीक्षण गराउने प्रयास गर्छौं’ वगलेख–२ कि सुनिता ठकुन्नाले भनिन् “योजनाको पारदर्शीताका लागि र समुदायको अपनत्वका लागि पनि सार्वजनिक परीक्षण अनिवार्य रहेछ ।”
तालिम पश्चात नमुना सार्वजनिक परीक्षणको रुपमा केएर र रेडक्रसले निर्माण गर्न लागेको कृषि संकलन केन्द्र भवनको सार्वजनिक परीक्षण समेत गरिएको थियो ।
छोटकरी समाचार
कलावतीको काठमाण्डौंमा उपचार हुँदै
तीन साता पहिले उद्दार गरी जिल्ला सदरमुकाम ल्याईएकी कलावतीको काठमाण्डौंमा स्वास्थ्य उपचार भईरहेको छ ।मानसिक सन्तुलन गुमाएकी गिरिचौका गाबिस–७ कि कलापती अधिकारीको जिल्ला सदरमुकाममा उपचार हुन नसक्ने भएपछि स्वास्थ्यकर्मीहरुको सल्लाह र बिभिन्न संघसंस्थाको आर्थिक सहयोगमा काठमाण्डौं लगिएको थियो । कलावतीसंगै उनकी तीन वर्षीया छोरीलाई पनि उपचारका लागि काठमाण्डौं लगिएको छ ।
पायल्स र कुपोषणवाट ग्रस्त तीन वर्षीया वालिकालाई पोषण पुनःस्थापना केन्द्र ललितपुरमा राखिएको छ । आमा कलावतीलाई सेतु नेपालको सहयोगवाट कोशिस नामक संस्थाको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटी अन्तरगत रहेको महिला तथा वालवालिका सेवा केन्द्रका प्रमुख लवदेव भट्टले जानकारी दिए ।
ति आमाछोरीलाई करीव एक साता अघि काठमाण्डौं लगिएको थियो ।
खेल तथा पर्यटन समाचार
धार्मकि महोत्सवको तयारी अन्तिम चरणमा
कैलालीको अत्तरियामा स्नातकोत्तर तह संचालनका लागि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले आयोजना गर्न लागेको अत्तरिया धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।फाल्गुण १७ गतेदेखि संचालन हुने महोत्सवका लागि यतिबेला प्रचार प्रसार, आथिक संकलन तथा गेट निर्माण र महोत्सव ब्यबस्थापनको तयारी अन्तिम चरणमा पुगेको क्याम्पसका प्रमुख गिरिराज कडायतले जानकारी दिए । स्नातकोत्तर तह संचालन र अहिले निर्माणाधिन रहेको क्याम्पस भवनको कार्य पुरा गर्न आर्थिक संकलन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको क्याम्पस प्रमुख कडायतले बताए ।
महोत्सवमा ४० वटा गेट निर्माण गरिनुका साथै गोवीन्द शरण महाराजा र मीरादेवीले प्रवचन गर्ने भएका छन । महोत्सवमा सवैभन्दा आर्कषकका रुपमा अछाममा मात्र पाईने नौमुठे गाई प्रर्दशनमा राखिने भएको छ । अहिलेसम्म कलश काट्ने काम समेत अन्तिम चरणमा पुगेको छ । अहिले महोत्सवमा भण्डारा लागिरहेको र त्यसका लागि स्थानीयबासीहरुले सहयोग गरिरहेको क्याम्पसका क्याम्पस प्रमुख कडायतले जानकारी दिए ।
उमेश र सुनिता उत्कृष्ट घोषित
नेपाल प्रहरीका उमेश मगर र काठमाडौंकी सुनिता मगर पाँचौ अम्बिका स्मृती राष्ट्रब्यापी खुला तौल जुडो प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन ।नेपाल जुडो संघको आयोजना तथा जुडो संघका पूर्व उपाध्यक्ष स्वर्गीय अम्बिका बहादुर क्षेत्रीको परिवारको आर्थिक सहयोगमा संचालित प्रतियोगिताको पुरुष ५० देखि ७३ केजी मुनीको तौल समूहमा काठमाडौंका मोहन सुनिवारले काठमाण्डौकै सरोज महर्जनलाई पराजित गर्दै स्वर्ण पदक पाए । सेनाका जङ्गबहादुर सारु र पवन कुमार श्रेष्ठले कास्य पदक पाए ।
यस्तै ७३ केजी देखि माथी १०० केजी सम्मको तौल समुहमा सेनाका शिबबहादुर बरामले सेनाकै कालुमान तामाङलाई हराउंदै पहिलो स्थान पाए । नेपाल प्रहरीका सन्जीव डङ्गोल र काठमाण्डौका राजन जोशी संयुक्त तेश्रो भए ।
खुसीबुस्थित बहुउद्देशीय हलमा आयोजित प्रतियोगिताको महिला ४० देखि ५७ केजी मुनिको प्रतिस्पर्धामा नेपाल प्रहरीकी सरिता चौधरीले स्वर्ण जितिन । उनले नुवाकोटकी सुस्मीता लावतलाई फाइनलमा पराजित गरिन । सेनाकी कविता पुन र काठमाण्डौकी मनिषा महर्जनले कास्य पाए ।
एक दिने प्रतियोगिताको ५७ देखि ७८ केजी तर्फको प्रतिस्पर्धामा काठमाण्डौंकी सुनिता मगरले बाजी मारिन । उनले फाइनलमा सुशिला अधिकारीलाई रजतमा चित्त बुझाउन बाध्य पारिन । तेश्रो स्थानमा काठमाण्डौंकी फुपुलामु खत्री र प्रहरीकी ईन्दिरा राई रहे । प्रतियोगितामा पुरुषतर्फ ३६ र महिलातर्फ ३८ खेलाडीको सहभागित रहेको थियो ।
चलचित्र मनोरञ्जन
चलचित्र नाईकेको सुटिङ्ग सुरु
नेपाली फिल्म “नाईके” ले पोखराको विन्दबासिनी मन्दिरमा शुभ मुर्हत गर्दै आईतबारदेखि नै सुटिङ शुरुवात गरेको छ । ब्ल्याक स्याडो प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुभमुर्हतमा पोखराका व्यवसायी, फिल्मकर्मी, संचारकर्मी र कलाकारहरुको उपस्थिति रहेको थियो ।निर्देशक नेत्र गुरुङको निर्देशनमा बन्न लागेको फिल्मको एक महिनाभित्र सुटिङ सकिने सो अवसरमा जानकारी गराईयो । विन्दबासिनी मन्दिर परिसरमा भएको शुभमुर्हत कार्यक्रममा कलाकार आर्यन सिग्देल, रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की लगायतले सट दिएका थिए । फिल्मका अन्य कलाकारहरुमा सारिका केसी, विजयराज सेन्चुरी, विकास बाँस्तोला, कृष्ण उदासी लगाएत छन ।
फिल्म ग्याङस्टारहरुको कथामा बन्न लागेको यो फिल्मबाट आर्यन सिग्देल भिन्न रुपमा प्रस्तुत हुँदैछन । फिल्म ५० लाख रुपैँयाको लागतमा बन्न लागेको फिल्मको कार्यकारी निर्माताको रुपमा विष्णु हमाल रहेका छन । त्यस्तै निर्माताहरुमा जगदिश खनाल, आनन्द क्षेत्री, नारायण खनाल, संगीता पराजुली र रेशा गुरुङ रहेका छन ।
पोखरा र आसपासका क्षेत्रमा छायाँकन हुने फिल्म “नाईके” लाई अर्जुन तिवारीले खिच्दैछन । फिल्ममा द्वन्द्व निर्देशकको रुपमा सानुकुमार महर्जन रहेका छन् भने संगीतकारहरुमा ताराप्रकाश लिम्बु, रमण गायक र योगेश काजी बिसी रहेका छन ।
माधुरी अव शिक्षिकाको रुपमा देखिने
वलिवुडकी चर्चित अभिनेत्री माधुरी दीक्षित को नयाँ पेशा सुरु हुने भएको छ । त्यो पेशा उनले अंगाल्ने साच्चिकै पेशा नभएर अभिनय मात्र हो ।हिन्दी चलचित्रमा बिभिन्न भुमिकामा दर्शकसामु प्रस्तुत भईसकेकी अभिनेत्री माधुरी आफ्नो अव आउने चलचित्र “गुलाब गैंग्” महिला सशक्तीकरण र न्यायका लागि लड़ाईबारे वसह गर्दै देखिनेछन । अभिनेत्री माधुरी भारतमा महिलाहरुलाई शिक्षित वनाउने योजना समेत वनाईरहेकी छन ।
अभिनेत्री माधुरीले महिलाहरुलाई शिक्षित गर्ने योजना आफुसंग भएको भएपनि अहिलेनै कार्यान्वयन नगरेको वताउँदै योजना कार्यान्वयनको तयारीमा रहेको वताईन । माधुरी भन्छिन–जब हामी महिलाहरुलाई शिक्षित गर्ने योजना सुरु गर्ने छौं, औपचारिक घोषणा गरेरै गर्नेछौं । उनले आफुले केही हिंसा आप्mनो अनलाईट डान्स एकेडेमीमा सुरु गरिसकेको समेत वताईन ।
माधुरी ‘गुलाब गैंग’ मा रज्जो को भूमिका निभाउँदैछन छन । उनी समाजमा भईरहेको गलत कुराको बिरोध गर्दै सही कुरालाई स्थापित गर्न चाहान्छन ।
४६ वर्षीया माधुरीले आफु यस चलचित्रमा महिलाहरुको साक्षर र सशक्त वनाउने एक योद्धाको रुपमा काम गरिरहेको वताईन । ‘महिलाहरु शिक्षित हुनु जरुरी छ’ माधुरीले भनिन् ‘पुरुषहरुलाई पनि महिलाप्रति सम्मान गर्ने शिक्षा मिल्नु पर्छ ।’ उनले निरक्षर भएकै कारण महिलाहरुलाई एक निर्जिव वस्तु जस्तै व्यवहार हुने गरेको वताईन । सौमिक सेन निर्देशित उक्त चलचित्रमा माधुरीका साथसाथै जूही चावला पनि महत्वपूर्ण भूमिकामा देखिने छन ।
लेख
नेपाली कम्युनिष्टहरुः शुन्य नैतिकतामा कहिलेसम्मरु
जीवन खत्रीप्रसंग १. केही दिनअघिको कुरा हो, गृहयुद्धले आक्रान्त मध्य अफ्रिकी गणतन्त्रकी राष्ट्रपतिले एउटा कार्यक्रमलाई सम्बोधन गरेर बाहिरिएलगत्तै सरकारी सेनाका व्यक्तिले भीडको एक जना मानिसलाई युद्धरत विद्रोही पक्षको मानिस भएको आरोप लगाएर हजारौं मानिसका अगाडि छुरा रोपेर भुइँमा लडाए । लगातार छुरा हान्दै र फूटबल खेल्दै त्यो मानिस मरिसकेपछि पनि कैयौंचोटि छुरा हाने र क्षतविक्षत शरीरलाई सडकमा घिसारे । सभाका हजारौं मानिसमध्ये कोही भागाभाग गरे भने धेरै त तमाशे बनेर हेरिरहे ।
प्रसंग २. रुसको सोची शहरमा हिउँदे ओलम्पिकका लागि भौतिक पूवार्धार बनाउने क्रममा त्यहाँ सडक छेउका घरहरु बुल्डोजरले ध्वस्त पारे । ती पीडितहरुलाई क्षतिपुर्ति दिने भनेर छुट््याइएको रकम कता पुग्यो कसैलाई थाहा छैन । तर थातवास गुमाएर अधिकारीहरु र अदालत गुहार्दै गरेका सर्वसाधारणलाई जवाफ दिइयोः बस्नु छ भने बस सोचीमा नत्र जाऊ अन्तै, कसैले रोकेको छैन ।
प्रसंग ३. वामदेव गौतमको पलटफेरले एमालेको आन्तरिक सत्ता पल्टेको अर्काे दिनको कुरा हो, डेढ महिना अघि हराएको ल्यापटप फिर्ता पाउने अवस्थामा रहेका साथीको फोन आयो र एउटा निराशाजनक कहानी सुन्नुपर्यो । ल्यापटप चोर पक्राउ परेको थियो र उसबाट झण्डै छ लाख मूल्यका अरु मानिसहरुबाट चोरिएका कम्प्युटरहरु फेला नै परेका थिए, उसले बेचिसकेका त कति थिए तिनको पत्तै थिएन । तर त्यो दिन त्यो चोर पचास हजार मात्र धरौटी तिरेर अदालतको आदेशमा स–सम्मान छुटेको थियो ।
प्रजातान्त्रिक व्यवस्थामा आस्था भएका दलहरुमा जुन धेरथोर नैतिकता हुन्छ, त्यसलाई बुर्जुवा नैतिकता भनेर अपहेलना गर्छन कम्युनिष्टहरु किनकि उनीहरुको विश्वास क्रान्तिकारी नैतिकतामा हुन्छ । संसदलाई खसीको मासु भनेर कुकुरको मासु बेच्ने थलो भनेर त लेनिनको पालादेखि भनिंदै आएको हो । तर गत शताब्दीमा जति पनि कम्युनिष्ट नाम वा चरित्रका पार्टीहरु पुँजीवादी व्यवस्थातिर संक्रमण गरे अथवा तत्कालीन र रणनीतिक रुपमा भनेर पुँजीवादी व्यवस्था स्वीकारे, तिनीहरुमध्ये कसैले पनि त्यो संक्रमणकाल भनिएको अवस्थाका लागि व्यक्तिको जीवनमा कुन नैतिकता लागू हुनुपर्ने भनेर स्पष्ट भएको पाइँदैन ।
त्यो विशिष्ट अवस्थामा न त क्रान्ति वा विद्रोहको बेलाको क्रान्तिकारी नैतिकता लागू हुन्छ, न त पुँजीवादी दलहरुमा झैं बुर्जुवा नैतिकता नै । त्यो अवस्थाले एकतिर नेतृत्वले व्यक्तिगत व्यवहारमा नैतिकता पूरै बिर्सेर जुन हदसम्म पनि गिर्दै स्वार्थ प्राप्त गर्ने अवस्था आउँछ भने राज्यको स्तरमा दुवै नैतिकताले छोडेको खाली ठाउँ भर्न हालको रुसमा झैं उग्र र पुरातन राष्ट्रवादको अथवा चीनमा झैं कन्फ्युसियनिज्म जस्तो कुनै ऐतिहासिक दर्शनको वैशाखी प्रयोग गर्ने गरेको पाइन्छ ।
अब कुरा आयो नेपालको । समाजवादको सैद्धान्तिक नारा र पुँजीवादको लोभलाग्दो व्यक्तिगत उन्नतिको अवसरको अक्करमा परेका नेपालका कम्युनिष्टहरु दुई नैतिकताबीचको यस्तो अवस्थामा छन जहाँ नैतिकता एउटा कमजोरी र ढोंग मात्र लाग्छ । अझै पनि बीपी कोइरालाको समाजवाद भनेर अमुर्त नारा रटिरहने तर व्यवहारमा पूरापुर पुँजीवाद अँगालेको काँग्रेसमा पनि केही हदसम्म यो कुरा लागू हुन्छ ।
यस बाहेक नेपालीलगायतका समाजहरुमा व्यवहारिक रुपमा देखिने टड्कारो तथ्य के हो भने, पुँजीवादी समाज व्यवस्थामा विधिको शासन भनेर विधिका रुपमा नियम र कानुन बनाएर लागू गरिने भए पनि व्यवहारिक र कार्यान्वयनको तहमा तलदेखि माथिसम्मका मानिसहरुको नैतिकता र जिम्मेवारीबोधको ठूलो भुमिका हुन्छ । पालना गर्नुपर्ने खास गरी उच्च तहका मानिसहरु कानुनको अवज्ञा गर्न वा त्यसलाई निस्तेज पार्ने बाटो खोज्न माहिर भएसम्म जतिसुकै कडा कानुनहरु पनि निरर्थक बन्न पुग्छन । कतिसम्म भने सामन्तवादी र अधिनायकवादी व्यवस्थाको अझै पनि उपादेयता छ भन्ने मानिसहरुले त ठिक त्यही नैतिकता र जिम्मेवारीबोध मानिसहरुमा नआइसकेकाले अझै पनि नेपालजस्तो देशहरु प्रजातान्त्रिक र पुँजीवादी व्यवस्थाका लागि परिपक्व भएका छैनन् भनेर तर्क गर्ने गर्छन् ।
नेपालमा ठिक यही अवस्थाका उपज हुन् भ्रष्ट आचारका लागि कुख्यात कम्युनिष्ट र गैर–कम्युनिष्ट नेताहरु । राष्ट्रिय राजनीतिमा प्रत्यक्ष असर पार्ने नेताहरुमध्ये एमालेका के पी ओली र अहिले चर्चामा रहेका बामदेव गौतम, माओवादीका पुष्पकमल दाहाल र हिसिला यमी, क्रान्तिकारी र बुर्जुवा नैतिकताको अक्करमा परेर शुन्य नैतिकताबाट गुज्रिरहेका मानिसका राम्रा उदाहरणहरु हुन् । केही हप्ता अगाडि मात्र गत चुनावमा भएको हारको नैतिक जिम्मेवारी लिंदै पार्टी नेतृत्व छोड्नुपर्ने भन्ने कुरा उठ्दा दाहालले खुलेरै भनेका थिएः बुर्जुवा नैतिकता मानिन्न ।
संयोगले अहिले दाहाल–यमीको राजनीतिक भाग्य निरन्तर ओरालो लागिरहेको छ भने ओली–गौतमको त्यसको ठिक उल्टो । सत्ता र शक्तिमा पहुँचको मात्रा घटबढ भए पनि नेपालको बाम नेतृत्वको सदावहार चरित्रको प्रतिनिधित्व चारै जनाले गर्छन् ।
उसो त जुन नियम कानुन पालना गराउन भनेर पदमा पुगिन्छ, त्यहाँ पुगेपछि त्यही कानुनभन्दामाथि आफूलाई राखेर अरुलाई मात्र कानुन पालना गर भन्नु नेपालमा सामान्य भैसकेको छ । माथि उल्लिखित प्रसंगमध्ये नेपालसम्बन्धी तेस्रो प्रसंगमा चोर छुट्नुमा गज्जबको संयोग परेको थियो । त्यो के भने, चोरको बाउ दोलखा जिल्लाको कुनै गाविसको पूर्व अध्यक्ष रहेछ, एमालेको । उसले आफ्ना सभासदहरुमार्फत नव निर्मित ओली–गौतम गठबन्धनसम्म भनसुन गरेपछि कम्तीमा विगोबराबरको छ लाख जति जरिवाना र शायद छ वर्ष जति जेल बस्नुपर्ने मानिस करीब एक महिनापछि पचास हजार तिरेर उम्केछ । चोरीको धनले पुलिसदेखि अदालतका कारिन्दा र न्यायधीशसम्म कतिको हात चिसो भयो, त्यसको कुनै लेखाजोखा छैन ।
माथि उल्लिखत प्रसंगहरुमध्ये अफ्रिकाको प्रसंग कम्युनिष्टहरुसँग सम्बन्धित छैन, तर त्यसले के देखाउँछ भने सरकार र सेनालगायतका शक्तिशाली संस्थाहरु कसैप्रति पनि उत्तरदायी नभएको अवस्थामा जुन स्तरको अराजकता पनि कायम रहन सक्छ । छुरा हानेर रक्ताम्य बनाएर सडकमा घिसारिइरहेको मानिस हेर्दा समेत वरपरका कतिपय सामान्य मानिसहरु उत्साहपूर्वक पछि पछि कुदेर हेर्न जानु र त्यो घटनाबाट कत्ति विचलित नहुनुले युद्धको समयमा कसरी आम मानिसले मानवीय संवेदना गुमाउँछन् भन्ने देखाउँछ । तर युद्ध नभएकै अवस्थामा पनि विधिको सट्टा बाहुबलको शासन लामो समयसम्म रह्यो भने पूरा समाज नै तलदेखि माथिसम्म त्यसमा अभ्यस्त हुने र अराजकतालाई सामान्य रुपमा हेर्ने सम्भावना रहन्छ ।
रुसको प्रसंगलेचाहिं के देखाउँछ भने मानिसलाई सताउन वा घरवारविहीन बनाउन राज्यले पुलिसका लाठी वा अश्रुग्याँस र गोली नै प्रयोग गर्नुपर्दैन, राज्यको तर्फबाट सामान्य उत्तरदायित्व ननिभाइदिए पुग्छ । बीबीसी लगायतका संचार माध्यममा सोचीबाट विस्थापित महिलाको समाचार आएपछि त झन करोडौं रुबल खर्च गरिएको ओलम्पिकका स्थानीय आयोजकले तिनलाई न्याय दिने हैन बरु आफ्नो प्रतिष्ठाको विषय बनाएर तिनलाई लखेटेरै छाड्ने सम्भावना धेरै छ ।
नेपालका कुरा गर्नुपर्दा, यहाँ बुर्जुवा नैतिकतामा विश्वास गर्ने काँग्रेसलगायतका दलहरु व्यवहारिक रुपमा नैतिकताले ओतप्रोत छन भन्नु काल्पनिक कुरा हुन पुग्छ । त्यसो त नेपालमा राजनीतिको कित्ता छाडेरै कोभन्दा को धेरै अनैतिक र धनी बन्ने भन्ने अघोषित प्रतिष्पर्धा नै छ । तर गैर कम्युनिष्टहरुमा कम से कम नैतिकतामा विश्वास गर्ने हो भने कुनचाहिं नैतिकतामा भन्ने विवाद र विरोधाभासचाहिं छैन ।
यो अवस्थामा काँग्रेसका केही नेताहरुको लहैलहैमा लागेर माओवादीको वाइसिएल वा एमालेको युथ फोर्सजस्तै काँग्रेसको समानान्तर संगठन खोलेर देशलाई थप अराजकतातिर धकेल्न स्पष्ट अस्वीकार गर्ने सुशील कोइराला प्रधानमन्त्री बनेर आउनु विधिको शासनमा विश्वास गर्ने मानिसहरुका लागि खुशीको कुरा हो । तर कोइरालाको कार्यकालमा नेपालमा विधिको शासन कति स्थापित हुन्छ भन्नेचाहिं काँग्रेसले पनि अघोषित रुपमा प्रयोग गर्दै आएका गुण्डा वा डनहरुलाई उनले कति प्रश्रय दिन्छन् अनि उनको मन्त्रीमण्डलमा आउने डनप्रिय मन्त्रीहरुको गतिविधि कत्तिको नियन्त्रण गर्छन् भन्ने कुराले देखाउनेछ ।
के पी ओलीलाई संसदीय दलको नेता बनाएर काँग्रेससित सत्ता साझेदार बन्न लागेको एमाले र चुनावमा लज्जास्पद हारपछि प्रतिपक्षमा रहने निर्णय लिएको माओवादीसामू पनि अहिले दीर्घकालीन महत्वका केही प्रश्नहरु खडा छन् । दुबै दल इतिहासको कुनै चरणमा सर्वहारा अधिनायकवादको वकालत गर्थे र कालान्तरमा बहुदलीय प्रतिस्पर्धामार्फत पुँजीवादी व्यवस्थामा समाहित हुन पुगेका छन् ।
लथालिंग अवस्थाको अहिलेको माओवादी एमालेभन्दा मुख्यतः कुन अर्थमा फरक छ भने बहुदलीय प्रतिस्पर्धामा आएसँगै एमालेले बुर्जुवा लोकतान्त्रिक पद्धति सफलतापूर्वक पार्टीभित्र छिराएर संस्थागत ग¥यो भने माओवादीचाहिं अझै पनि बिरालो बाँधेर श्राद्ध गर्ने बाहुन झैं स्टालिन र माओकालीन राजनैतिक संरचना कायम राखेको छ ।
जसले उसको एउटा खुट्टा २१ औं शताब्दीको बहुदलीय व्यवस्थामा छ भने अर्काे खुट्टा बीसौं शताब्दीको सांस्कृतिक क्रान्तिकालीन ऐतिहासिक रुपमा असफल र प्रत्युत्पादक नेतृत्व पद्धतिमा छ । यस हिसाबले प्रचण्ड कहिलेसम्म ओरालो लागिरहने हुन र ओली कहिलेसम्म उकालो लाग्नेहुन भन्न गाह्रो छ तर दुवैमा बुर्जुवा नैतिकताप्रति अहिलेझैं अविश्वास कायमै रहने कुराचाहिं स्पष्ट छ ।
व्यक्तिगत र निकृष्ट दलीय स्वार्थबाट अलिकति पनि पर हटेर हेर्ने हो भने, अहिलेको अर्थिक, राजनीतिक र सामाजिक परिवेशमा ओलीदेखि दाहालसम्मका नेताहरुले कुनै न कुनै रुपमा बुर्जुवा नैतिकतालाई अँगालेर अघि बढ्नु जरुरी देखिन्छ । नेपालका बाम दलहरुको साझा समस्या के छ भने, देशको तत्कालीन अवस्थामा बुर्जुवा नैतिकतामा विश्वास राखेर त्यसअनुरुपको इमान्दारी आफूले देखाउने कि त्यसलाई विगतमा झैं ढोंग र पाखण्ड भनिरहने भन्ने कुरामा यी दलहरुको नेतृत्व पंक्ति नै आफैंमा विश्वस्त छैन ।
आफू नै विश्वस्त नभएको कुरामा दलभित्रका अन्य नेतादेखि कार्यकर्तासम्मलाई त्यसतर्फ लाग्न प्रेरित गर्ने सम्भावना ज्यादै न्यून हुन्छ । त्यस्तो बुर्जुवा नैतिकताको रुपबाट मोहित भएर त्यसलाई पूरा अँगालेझैं देखाउन खोजेका माओवादी नेता बाबुराम भट्टराइको प्रयोग त्यस्तो नैतिकताको सारमा पुग्नै नपाइ असफलतामा टुंगिएपछि त सानोतिनो प्रयासबाट सैंद्धान्तिक रुपमा अझै पनि बुर्जुवा नैतिकतालाई ढोंग भन्दै आएका यी दलहरुको व्यवहारमा त्यस्तो नैतिकता अँगाल्नु अल्पकालमा समेत ज्यादै कठिन छ भन्ने देखाउँछ ।
एमाओवादीभित्र हिसिला यमीलगायतका सर्वरुपी भ्रष्ट व्यवहारहरु तथा डन र माफियाहरुसित वर्षमान पुनजस्ता जनयुद्धबाट खारिएर आएका नेताहरुको निकटतादेखि लिएर एमालेमा कानुनभन्दा माथि भएझैं मारधाड र लुटपाटमा खुलेआम संलग्न देशको कालो वा अनौपचारिक अर्थतन्त्रका धनाढ््यहरुलाई धाप मार्दै यी पो एमाले भनेर के पी ओलीले गरेको हुंकारसम्मले के देखाउँछन भने नेपालका बाम नेताहरु बुर्जुवा नैतिकतालाई मान्ने कष्ट गर्ने पक्षमा छैनन्, भलै त्यसले देशलाई आर्थिक अवनति र पूरै अराजकतातिर किन नधकेलोस् ।
उसो त बुर्जुवा नैतिकतालाई मान्नुमा त्यत्रो विरोधाभास नभए पनि काँग्रेसमा समेत कुनै पनि नैतिकतालाई लत्याएर हिंड्ने मानिसहरु नै माथि पुग्ने अवस्था विद्यमान छ । तर संसद मात्र हुँदा एउटा चोर छुटाउन प्रहरी प्रशासनदेखि अदालतसम्मलाई प्रत्यक्ष वा परोक्ष रुपमा प्रभावित पार्ने व्यक्ति यो देशको गृहमन्त्री भएर आए भने यो देशमा के होला लाग्छ, माथि उल्लिखित मध्य अमेरिकी गणतन्त्रको अराजकता र संवेदनहीनता पनि दण्डहीनताका यस्तै श्रृंखलाहरु हुँदै अघि बढेर त्यो स्थितिमा पुगेको होला ।
– सेतोपाटी अनलाईन पत्रिकावाट
मोफसल पत्रकारिता
कसैकसैको देखाउने पेशा पत्रकारिता भयो
एकिन्द्र तिमिल्सिना (सचिव)नेपाल पत्रकार महासंघ, कैलाली
तपाईको पूरा परिचय पाउ न ?
म एकिन्द्र तिमिल्सिना । अछाम घर हो । २०५८ सालदेखि कैलालीमा पत्रकारिता गरिरहेको छु । २०६४ सालदेखि सामुदायिक रेडियो टीकापुर एफएममा स्टेशन मेनेजरको रुपमा कार्यरत छु । अहिले नेपाल पत्रकार महासंघ कैलालीको सचिव पनि छु ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
म सामाजिक र विकासका मुद्दामा रिपोर्टिङ्ग गर्न मन पराउछु । तर त्यसो भनेर मिल्दैन । जिल्लाभित्रका मिडियामा काम गर्दा सबै विषय समेटनै पर्छ । २०६२ देखि २०६७ सम्म नेपाल समाचारपत्रको समाचारदाता रहँदा पनि यस्तै भयो । मोफसलका पत्रकारहरु अलिअलि सबै जान्ने, राम्ररी केही नजान्ने जस्ता भएको महसुस गर्दछु । यो हाम्रो वाध्यता पनि हो ।
एक पत्रकार भएर आइपर्ने समस्या हरु के के देख्नु भएको छ ?
समग्रमा भन्नु पर्दा नेपालमा अझ हाम्रो ठाउँमा स्वतन्त्र र व्यवसायिक पत्रकारिताको शुरुवात हुन सकिरहेको छैन । एउटा पत्रकारले चाहेर पनि यस्तो वातावरण पाउन सकिरहेको छैन । व्यवसायिकता त त्यसपछिको कुरा भो । आवश्यक परेको बेला र मुख्याञ्जी मिडियाको गुणगान गाउने, उपभोग भैसकेपछि र चित्त नबुझेपछि सत्तोसराप गर्ने परिपाटी छ । यसमा केही हामी पत्रकार र मिडिया संचालकका पनि कमजोरी छन् । त्यो भनेको मिडिया र समुदायको बीचको दूरी कायम नहुनु हो । हामी पनि चित्त बुझेको बेला जोसुकैसंग साख्खै हुन्छौ । अलि चित्त नबुझेपछि सम्वन्धै विच्छेद । मिडिया र समुदायको अन्योन्याश्रित सम्वन्ध छ तर समदूरी कायम हुन जरुरी छ । यस्तो अभ्यास केही वर्ष गरेपछि समुदायले मिडिया र पत्रकारिता बुझ्थ्यो होला र एउटा पत्रकारलाई पेशा गरेर बस्न पनि सजिलो हुन्थ्यो होला । यो सबै मिडियाको आफ्नो सम्पादकीय नीति नभएर हो ।
मोफसलबाट प्रसारण हुने सामुदायिक रेडियो टीकापुरका लागि काम गर्दै हुनुहुन्छ, मोफसल पत्रकारिताका चुनौतिहरु के के हुन जस्तो लाग्छ ?
स्थानीय मिडिया संचालकहरुले दीर्घकालिन योजना नबनाई, आवश्यक पूँजी र जनशक्तिको व्यवस्था नगरी लहडमा मिडिया खोल्ने र केन्द्रीय माध्यमहरुले पनि सस्तैमा रिपोर्टर पाइहालिन्छ भन्ने मानसिकताले पत्रकारलाई काममा लगाउनु अहिलेको चुनौति हो । बाँकी समस्या त्यसपछि शुरु हुन्छन् । तेल, मोविल बिनाको इन्जिन कति दिन चल्छ ? सिज भएपछि कम्पनीलाई दोष दिएजस्तो भो । दक्ष जनशक्ति मिडियामा नटिक्ने र सधै सिकारुले मात्रै चलाउनु पर्ने स्थिति छ । कतै काम नलागेको वा रोजीरोटी अन्तै चलाउने सौखका लागि पत्रकारिता गरेको देखाउनेहरुको पेशा पनि पत्रकारिता भयो । हुँदाहुँदा नयाँ पैसाले पुराना पैसा हराउछ भन्ने जस्तो पत्रकारिताको मापदण्ड नै गलत भएको छ । जसले गर्दा पत्रकार र सबै समाचारको समुदायले विश्वास गर्न छोडेका छन् । आफू जसका लागि जे गर्छौं त्यसमा विश्वास नहुनु भनेको सबैभन्दा ठूलो चुनौति हो जस्तो लाग्छ ।
मोफसलको पत्रकारिता समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
सरकारले गर्ने कामका विषयमा मेरो मत अलि कठोर छ । सबैभन्दा पहिले पर्याप्त पूँजी नभएका आवश्यक मात्रामा जनशक्ति राख्ने योजना नभएका मिडिया खोल्न नै रोक्नुपर्छ । दुर्गम, पहाडी जिल्लालाई अहिले अपवादको रुपमा छोडने हो भने कैलालीमा डेढ दर्जन रेडियो र डेढ दर्जन दैनिक पत्रिका आवश्यक हुन कि हैनन् ? एक दिन म एउटा बैंकमा गएको थिएँ । दिउसो ३ बजेतिर भुई तलामा राखिएको साइकलको टोकरी भरी पत्रिका देखे । अनि त्यहाको गार्डलाई यी पत्रिका यसरी किन थुपारेको भनी सोधे । गार्डले उत्तर दियो–ल्याउछन राख्छन, हाकिम सापले राष्ट्रिय पत्रिका लिएर माथि पढ्नु हुन्छ । यी पत्रिका साझतिर पसलेले लैजान्छ । यो सुनेर मलाई दुःख लाग्यो । एफएमहरुको अवस्था पनि यस्तै छ । सरकारले जथाभावी अनुमति दिँदा र लहडमा मिडिया खोल्दा यस्तो भएको हो । यसमा मापदण्ड तोक्नुपर्छ । खुलेका मिडियालाई बाच्ने वातावरण दिनुपर्छ । मोफसलका मिडियालाई कर छुट, पत्रकारको लागत र श्रम अनुसारको पारिश्रमिक र स्थानीय स्तरका विज्ञापन सजिलै उपलब्ध गराउने व्यवस्था हुनुपर्दछ ।
तपाई त नेपाल पत्रकार महासंघ कैलाली शाखाको सचिव पनि हुनुहुन्छ । मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि महासंघको भूमिका कस्तो पाउनु भएको छ ?
मेरो बिचारमा मोफसलमा कार्यरत पत्रकारहरुका समस्या यस्ता जटिल छन जुन महासंघले समाधान गर्न सक्तैन । उदाहरणको लागि राम्ररी रिपोर्टिङ्ग नगर्दै सम्पादक बन्छन् । मिडिया खोल्यो संचालन गर्ने बजेट छैन । काम गर्न मान्छे राख्छन तलव दिदैनन् । तलव किन नदिएको भन्यो ? विज्ञापन आउदैन । यस्ता अनौठा समस्या छन् । महासंघले कसरी पूरा गर्ने ? तर पनि देश अनुसारको भेष गर्नु पर्ने रहेछ । महासंघले केन्द्र र जिल्लामा केही न केही गर्ने प्रयास पनि भएका छन् । पत्रकारका लागि तालिम, बिमा, समस्या परेकालाई सहयोग भैरहेको छ ।
मोफसलका संचारमाध्यम र संचारकर्मीको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भूमिका कस्तो पाउनु भएको छ ?
पत्रकारहरु बैचारिक रुपमा यो हो भन्ने सार्वजनिक हुने बित्तिकै विश्वासनीयता खस्किहाल्छ । यहीँबाट समस्या शुरु भएको छ । कहिलेकाही भूमिका देखिन्छ पनि । तर कस्तो भने पहिलो हामी बिचारमै बिभाजित हुने समस्या परेका बेला एक भएको देखाउने पनि छ । मिडियाका मालिक इमान्दार र पत्रकार पत्रकार मात्र हुने हो भने कसैको भूमिका चाहिँदैन । सबै कुरा आफै मिल्छ । पत्रकार महासंघको सदस्यता बनाउने र राजनीतिक नियुक्ति पाउन भने बैचारिक संगठन चाहिन्छ । किनकी त्यहाँ हुनु पर्नेलाई रोक्ने र नहुनेलाई पनि पदमा पु¥याउन यी संगठनको भूमिका चाहिन्छ । कहिलेकाहीँ जुन पार्टीको सरकार छ त्यसबेलाका मन्त्रीलाई रिझाउन त्यही पार्टीको संगठनले लविङ्ग गर्न सजिलो हुन्छ भन्ने पनि गरिन्छ । बैचारिक संगठनको भूमिका संचारकर्मी भन्दा पनि पार्टीका एजेण्डाका बारेमा प्रचारप्रसार गराउन आवश्यक हुन्छ ।
पत्रकार महासंघको अधिवेशन नजिकिदैछ, तपाई पनि कैलाली शाखाको अध्यक्षका लागि तयारी गर्दै हुनुहुन्छ रे, हो ?
म हाल सचिव भएका नाताले अध्यक्षको दावेदार स्वभाविक रुपमा हुँ । डेढ सय भन्दा बढी सदस्य भएको कैलाली शाखामा बिचारको आधारमा भन्दा पनि व्यवसायिक नेतृत्व चाहिन्छ भन्ने मनोभावनाले नेतृत्व छानिन्छ । म यसैको पक्षमा छु । यसका पक्षधरले वा यो समूहले जे भन्छ त्यही गर्छु ।
अहिले पत्रकारिता क्षेत्र बदनाम हुदैछ । पत्रकारिता क्षेत्रमा लागेकाहरुले दिउसै जाँड खाएर हल्ला गर्ने, आफूलाई छुट्टै दुनियाको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाइ गर्ने जस्ता प्रवृति पनि देखिएका छन् भन्ने आरोप लाग्ने गरेको छ, कैलालीको अवस्था कस्तो पाउनु भएको छ ?
तपाईले सोधेका कुरा नेपालको पत्रकार आचार संहिता र पत्रकारिताको मर्यादा भन्दा परका कुरा हुन् । म त यस्तो कल्पना पनि गर्न सक्तैन । अरुका कमी कमजोरी औल्याउने जिम्मेवारी लिएर बसेको पत्रकार आफै त्यसो गर्दछ भने त्यसको पत्रकारिता मरिहाल्छ । मरेको पत्रकारिताले जति ठूला अक्षरमा जे लेखे पनि कसैले पत्याउदैन, सक्किहाल्यो । समाचारको मोलमोलाई त मेरो विचारमा पेशा प्रतिको बेइमानी हो । नागरिकको सुसूचित हुन पाउने अधिकारको विरुद्धमा हो । अख्तियारको दुरुपयोग हो । अपराध पनि भो । यो सरकारी निकायको अनुसन्धानको विषय पनि हो । देशको संक्रमणकाल सकियो र राजनीतिले सही मोड लिएमा यस्ता विषयहरु छानविनका विषय बन्न सक्छन् ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
मैले भनि सके यो मेरो कल्पना भन्दा पनि परको कुरा हो । पत्रकारको पूरा जीवन सार्वजनिक हुन्छ । म विहान छ बजेदेखि राती १० बजेसम्म ड्यूटीमा हुन्छु । यो सबै समय सार्वजनिक हो । म के गर्छु साथीहरुले देखि रहेकै छन नि । हो, साथीहरु वा कसैले केही खाइरहँदा मैले छोडेर हिड्न मिल्दैन किनकी यसो गरे मै पनि साथीविहीन हुने डर छ । यसको दोष चैं नलागोस है ।
मोफसलको पत्रकारिता क्षेत्र सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
पत्रकारिता क्षेत्रमा त हामीले मिडियामैत्री कानूनको मात्र आश गरेका हौं । यो सुधार्न यसमा संलग्न मिडिया संचालक, पत्रकार सुध्रिन जरुरी छ । यसका साथै पत्रकारिताभित्र कुनै गलत काम वा समस्या देख्नु भएको छ भने त्यसको खबरदारी गर्नु, सच्याउन पे्ररित गर्नु आम नागरिक (पाठक, श्रोता, दर्शक) को पनि दायित्व हो । चौथो अंग मान्ने यसलाई समाजले छाडा छोड्न र बेवास्ता गर्न पनि हुदैन ।
अब बन्ने संविधानमा पनि ‘पूर्ण पे्रस स्वतन्त्रता’ चाहिन्छ । बाँकी त लोकल्याणकारी राज्यले के गर्नु पर्दछ उसैले जानोस ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
मेरा बिचार राख्ने अवसर दिनुभयो, बिम्ब साप्ताहिक र तपाई सम्पादक ज्यूलाई धन्यवाद दिन चाहान्छु । मैले पत्रकार र पत्रकारिताको मर्यादालाई केन्द्रमा राखेर बिचार दिएको हुँ । यी बहसका विषय हुन सक्छन् तर व्यक्तिगत रुपमा कसैप्रतिको गुनासो होइन भन्ने पनि स्पष्ट पार्न चाहान्छु ।
महत्वपूर्ण जानकारी
—काठमाण्डौंमा “मन्टेश्वरी पूर्व प्राथमिक बिद्यालय”को स्थापना बि.सं. २००५ साल भाद्रमा भएको थियो ।—नेपालमा “कृषि बिद्यालय”को स्थापना बि.सं. १९८९ सालमा जुद्ध शमसेरको पालामा भएको थियो ।
—उपत्यका बाहिर पहिलो “एसएलसी परीक्षा” केन्द्र बिरगञ्जको त्रिजुद्ध हाईस्कुल हो ।
—काठमाण्डौंको ढोकाटोलमा “कन्या पाठशाला”को स्थापना बि.सं. १९८० साल असार २० गते चन्द्र शमसेरको पालामा भएको हो ।
—बि.संं. २००४ सालमा काठमाण्डौंमा “पद्मकन्या बिद्याश्रम” खुलेको हो ।
—भाषा पाठशालाहरुको निरिक्षणका लागि “पाठशाला बन्दोवस्त ईन्स्पेक्टरी अफिस”को स्थापना बि.सं. १९७६ मा भएको थियो ।
—“भाषा अनुबाद परिषद्”को स्थापना बि.सं. १९७६ असोज १८ गते भएको हो ।
—चक्रवाणी चालिसेद्वारा रचित “राष्ट्रिय गान”लाई बि.सं. १९८२ साल जेठ १८ गते स्वीकृति दिईएको थियो ।
—त्रिभुवन चन्द्र कलेजमा “बिज्ञान बिषय”को पढाई बि.सं. १९७७ मा सुरु भएको थियोे ।
— “सैनिक कलेज”को स्थापना जुद्ध शमसेरको पालामा भएको हो ।
—नेपालमा एसएलसीको “पुरक परीक्षा” बि.सं. २००३ देखि सुरु भएको हो ।
—नेपालमा “बिद्यालय निरिक्षण”को सुरुवात बि.सं. १९९८ देखि भएको हो ।
— नेपालको शैक्षिक ईतिहासमा “दोश्रो गौतम बुद्ध” भनि चिनिने व्यक्ति जयपृथ्वीवहादुर सिंह हुन ।
—“संस्कृत शिक्षाका प्रथम डाईरेक्टर” हेमराज पाण्डे हुन ।
संयुक्त राष्ट्र संघका हालसम्मका महासचिवहरुको नाम र पदावधी ः–
१. दिग्वेली (नर्वे) सन १९४६ — सन १९५३
२. ड्याग ह्यामर सोल्ड (स्वीडेन)
सन १९५३—सन १९६१
३. उ थान्त (म्यान्मार) सन १९६१ — सन १९७१
४. कुर्त वाईल्ड हाईम (अस्ट्रिया)
सन १९७२ — सन १९८१
५. हाभियर पेरेज द कोय्यार (पेरु)
सन १९८२ — सन १९९१
६. डा. बुत्रोस बुत्रोस घाली (ईजिप्ट)
सन १९९२ — सन १९९६
७. कोपी अन्नान (घाना) सन १९९७ — सन २००६
८. बान कि मुन (दक्षिण कोरिया)
सन २००७ — देखि हालसम्म
२. राष्ट्रिय जनगणना २०५८ सालको संक्षिप्त बिवरण
कुल जनसंख्या ः २३१५१४२३
पुरुष ः ११५६३९२१ (४९.९६ प्रतिसत)
महिला ः ११५८७५०२ (५०.०४ प्रतिसत)
जनसंख्या बृद्धिदर ः २.२५ प्रतिसत
कुल प्रजनन् दर ः ४.१
कोरा जन्मदर (प्रतिहजार) ः ३३.१
कोरा मृत्युदर (प्रतिहजार) ः ९.६
शिशु मृत्युदर (प्रतिहजार) ः ६४
बाल मृत्युदर (प्रतिहजार) ः ६१
सहरी जनसंख्या ः ३२२७८७९ (१४.२० प्रतिसत)
ग्रामिण जनसंख्या ः १९३२३५४४ (८५.८० प्रतिसत)
साक्षरता ः ५३.७४ प्रतिसत
जनघनत्व ः १५७
कुल घरधुरी संख्या ः ४२५३२२०
परिवार नियोजन साधन प्रयोगकर्ता ः ३९ प्रतिसत
लिङ्गीय अनुपात ः ०.९९८
साहित्य सिर्जना
कान्छु, के छ तिम्रो खबर,तिमी छौ र, म छु ।
म पनि कस्तो पागल,
थाहा हुदा हुदै पनि, फेरी सोध्छु ।
अँ, तिमी त, रिसाको रे, म संग
तिमी सोध्छौ र, म भन्छु
अँ, म त एक्ले बस्ने मान्छे
साच्चै, होली पनि आयो कान्छु
भोली त, होली खेल्छौ होला नी
सप्तरंगी रंगहरु सँगै,
भोली तिमी भुल्छौ होला नी ।
रोहित जोशी
सिलगढी– २, बिचबजार
चाहना फरक भई दिन्छ
सोचेको वाटो वदलीन सक्छ ।
समाजमा कुहिरो लाग्दा
जीवन पनि विछोड हुन सक्छ ।।
नसोध मेरो घरको ठेगाना
झोपडी–झोपडीले भरिएको छ ।
नसोध मेरो दिलको व्यथा
आँशु–आशुले भरिएको छ ।।
हृदय सवैको हुन्छ
धोका पाएपछि जो पनि रुन्छ ।
साथीले मात्र बुभ्mछ
साथीको मोल कति हुन्छ ।।
स्वार्थी दुनियाँलाई के थाह
आँशु लुकाई हासेको ।
पत्थरको भगवानलाई के थाह
मुटुभरी वेदना वोकी वाँचेको ।।
दिन पो के सक्थे र म
केवल सम्झना र स्मृति छ ।
तिम्रो भविश्य उज्ज्वल रहोस
यहीनै मेरो शुभकामना छ ।।
धर्म साउँद
सिलगढी, डोटी
आखिर तिमीनै ....
नवुझे झैं गरिरहनेबुझेर पनि बुझ पचाउने तिमी कस्ती
नदेखे झैं गरिरहने
नवन है अव यो भन्दा सस्ती
चाहना के हो
खुलेर भन तिमी
यस्तो मौका कमै मात्र
आउँछ भनि ठान तिमी
जिन्दगीको गोरेटोमा
प्रष्टसंग वोल भनि
अग्रगामी पाईलाहरु
अघि वढ्छन यहाँ अनि
गणेशवहादुर ऐर
खातिवाडा गाबिस–३, डोटी
बिज्ञापन
नेपाल सरकार
भूमिसुधार तथा व्यवस्था मन्त्रालय
भूमिसुधार तथा व्यवस्थापन बिभाग
मालपोत कार्यालय
(मुक्त हलिया पुनःस्थापन तथा अनुगमन कार्यदल)
डोटी
मिति ः–२०७०÷११÷०६
सूचना । सूचना ।। सूचना ।।।
यस कार्यदलबाट परिचय–पत्र प्राप्त हलियाहरुको लागि हलियाको सीप वृत्ति विकास कार्यक्रम अन्तरगत निम्न तालिम संचालन हुने भएको हुदाँ उक्त तालिम लिन चाहने तल उल्लेख भए बमोजिम ईच्छुक हलियाहरुले यहि मिति २०७०।११।२० गते भित्र आवश्यक प्रमाणहरु सहित यस कार्यदलको कार्यालयमा रितपुर्वकको निवेदन पेश गर्न हुन सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गरिन्छ ।
तालिमको नाम ः– विद्युत जडान
प्रशिक्षार्थी आवश्यक संख्या ः– १५
तालिम अवधि ः– ३ महिना
निवेदन साथ संलग्न गर्नु पर्ने प्रमाणहरु ः–
१) हलिया परिचय पत्रको प्रतिलिपि १ प्रति ।
२) नेपाली नागरिकताको प्रमाण–पत्र प्रतिलिपि १ प्रति ।
शैक्षिक योग्यता ः– साधारण लेखपढ ।
आवेदन दाताको छनौट विधि ः– निवेदन माथि छानविन र आवश्यकता अनुसार अन्य विधि ।
सुविधा ः– छनौट भएका प्रशिक्षार्थीले मासिक भत्ता रु. ३०००÷– (तीन हजार) मात्र पाउने छन र उक्त पाउने भत्तामा नेपाल सरकारको आर्थिक ऐन नियम बमोजिमको कर लाग्ने छ ।
अन्य ः– परिचय पत्र प्राप्त मुक्त हलियामध्ये परिचय पत्रको वर्गको वर्गिकरण बमोजिम क र ख वर्ग, महिला र अपाङ्गलाई विशेष ग्राह्यता दिईने छ । हलिया परिचय पत्र प्राप्त हलियाले मात्र आवेदन गर्न सक्ने छन र छनौट हुने दिन आफुले पेश गरेको प्रमाणहरुको सक्कल प्रमाण–पत्र सहित उपस्थित हुनु पर्ने छ ।
नोट ः– रितपुर्वक निवेदन पेश नभएको तथा प्रमाण नपुगेको निवेदन उपर कुनै कारवाही हुने छैन । साथै यस भन्दा पूर्व यस कार्यदलबाट सञ्चालित तालिम÷कार्यक्रममा सहभागिहरुलाई यो तालिम÷कार्यक्रममा समावेश गरिने छैन । र छनौट भएका प्रशिक्षार्थीले खाने र वस्ने व्यवस्था आफैले गर्नु पर्ने छ ।
विस्तृत जानकारीको लागि कार्यालयको फोन नं. ०९४–४२०१०१ मा सम्पर्क राख्नु होला ।
आराम विक्रम शाह, मा. पो.अ.(सदस्य सचिब)
सूचना ! सूचना !! सूचना !!!
प्रथम पटक प्रकाशित मिति ः २०७०÷११÷०९ गतेसफल ९क्ब्ँब्ी ल्भउब(िक्गकतबष्लबदभि ब्अअभकक तय ँष्लबलअभ बलम ीष्खभष्जिययम ष्ल ल्भउब िएचयवभअत० परियोजनाले हिमाली तथा पहाडी क्षेत्रहरुको जिबिकोपार्जन र आर्थिक क्रियाकलापलाई टेवा पु¥याउने उद्देश्यले वित्तीय सेवा तथा जीविकोपार्जनमा दीगो पहुँच कार्यक्रम अघि सारेको छ । स्थानीय स्तरमा कार्यरत सहकारी संस्था, समूह तथा तिनका सदस्यहरुको वित्तीय आवश्यकता पहिचान गरी वित्तीय सेवा प्रदायकहरुलाई (बैंक, बिकास बैंक, फाईनान्स, सहकारी तथा अन्य वित्तीय कारोबार गर्ने संघ संस्था) समुदायको वित्तीय आवश्यकता परिपूर्ति गर्न सहज वातावरण बनाई दिनु परियोजनाको मुख्य उद्देश्य रहेको छ ।
सफल परियोजनाले स्थानीय स्तरमा कार्यरत सहकारी संस्था र समूहका सदस्यहरुको माग बमोजिम जिबिकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले तल उल्लेख भएका बिषयबस्तुहरुमा तालीम दिनको लागी सम्बन्धित बिषयका स्थानीय स्रोत ब्यक्तिहरुको पहिचान गर्नु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको छ । सम्बन्धित बिषयगत तालीममा अनुभब भएका दक्ष प्रशिक्षकको रुपमा काम गर्न ईच्छुक स्थानीय स्रोत ब्यक्ति ९च्भकयगचअभ उभचकयलक० हरुले आफ्नो ब्यक्तिगत बिबरण सहित आफुले तालीम दिन सक्ने बिषय खुलाएर यो सूचना प्रकाशन भएको ७ दिन भित्र आफ्नो ब्यक्तिगत बिबरण ९द्यष्य(म्बतब० र अनुभबको प्रमाण पत्र सहित निबेदन दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
प्राथमिकताका आधारमा निम्न तालीमहरु प्रदान गरीने छ ः
अलैची खेती, बेमौसमी तरकारी खेती, सुगुर तथा बंगुर पालन, गाई÷भैसी पालन, बाख्रा पालन, अदुवा खेती, बेसार खेती, डेरी व्यावस्थापन, अकबरे खुर्सानी खेती, चिया खेती, जडिबुटि खेती तथा प्रशोधन, प्राङ्गारिकमल उत्पादन तथा प्रशोधन, कुखुरा पालन, पशुपंक्षीको खोर व्यावस्थापन, माहुरी पालन, करेसावारी तरकारी खेती, आलु खेती ।
सम्र्पक ठेगाना
समाज सेवा डोटी
सफल परियोजनाको कार्यालय, डोटी
सम्र्पक व्यक्ति ः माधब चौरेल
सम्र्पक नं ः ९८५१०१०७१९, ०९४–४२०५२३
सुरक्षित मातृत्व कार्यक्रम सम्वन्धि जानकारी
ड्डसुरक्षित मातृत्व कार्यक्रम अन्तरगत जिल्ला स्वास्थ्य कार्यालय डोटीवाट निम्नानुसारका सेवाहरु नियमित रुपमा प्रदान गरिन्छ ।ड्डआमा सुरक्षा कार्यक्रम अन्तरगत जिल्ला अस्पताल तथा अन्य सूचिकृत प्रसुति केन्द्रहरुवाट २४ घण्टा निशुल्क प्रसुति सेवा उपलव्ध गराईन्छ ।
ड्डगर्भवति, प्रसुति र सुत्केरी सम्वन्धि सवै सेवाहरु स्वास्थ्य संस्थामा निशुल्क दिईन्छ ।
ड्डप्रसुति केन्द्रमा प्रसुति सेवा लिन आएमा सेवाग्राही महिलाहरुले यातायत खर्च वाफत रु. १००० (एकहजार) तुरुन्त दिने प्राव्धान छ ।
ड्डगर्भवति महिलाहरुले नियमानुसार चार पटक स्वास्थ्य संस्थामा जाँच गरी स्वास्थ्य संस्थामानै प्रसुति सेवा लिन आएमा प्रोत्साहन भत्ता वाफत थप ४०० (चार सय) दिने व्यवस्था छ ।
ड्डजिल्ला अस्पताल डोटीमा जटिल अवस्थाको प्रसुतिका लागि निशुल्क सल्यक्रियाको सेवा समेत व्यवस्था छ ।
नियमानुसार चारपटक गर्भ जाँच गराऔं, स्वास्थ्य संस्थामानै प्रसुति गराऔं ।
पहिलो पटक चौथो महिना
दोश्रो पटक छैटौं महिना
तेश्रो पटक आठौं महिना
चौथो पटक नवौं महिना
जिल्ला स्वास्थ्य कार्यालय, डोटी
साधारणसभा सम्वन्धि सूचना
सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको दोश्रो साधारणसभा तपसिलको मिति, समय र स्थानमा हुने भएकोले सो साधारणसभामा उपस्थित भई दिन हुन सम्वन्धित सवैं ग्रहाक वर्गहरुमा अनुरोध गरिन्छ । साथै पानीको विल भुक्तान गर्न वाँकी रहेका ग्रहाकहरुले सो साधारणसभा अगावै भुक्तानी गरिदिन हुन समेत अनुरोध गरिन्छ । बिल वक्यौता रहेकाले साधारणसभामा सहभागी हुन पाईनेछैन ।मिति २०७०÷११÷२५ गते
स्थान ः दि.सि.न.पा. सेती सभाहल
समय बिहान ११ वजे