Monday, October 13, 2014

बिम्ब नेपाली साप्ताहिक, मिति २०७१ साल असोज २८ गते मंगलवार

कुनै पनि व्यक्तिले जात, जाति र अन्तरजातीय विवाहका आधारमा परिवारका सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने, गाउँ निकाला गर्ने, त्यस्ताबाट जन्मिएका सन्तानको न्वारान नगर्ने जस्ता भेदभावपूर्ण कार्य गर्नु, गराउनु हुँदैन । त्यस्तो कार्य गर्ने व्यक्तिलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ बमोजिम तीन महिना देखि तीन वर्षसम्म कैद वा एक हजार देखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
यसरी भयो दर्दनाक छतिवन बस दुर्घटना
घरमा मान्यजनवाट टिका र जमरा थापेपछि माईती, मावली र अन्य आफन्तकोमा जमरा थाप्दै आशिर्वाद लिने हतरो थियो सवैलाई । बसभित्र र छतमा वसेकाहरु सवै एकआपसमा गफ गर्दै रमाईरहेका थिए । क्यावेनमा मात्रै १५ जना जति यात्रुहरु थिए । एक–अर्काको घरवाट आएको रोटी, फलफुल वाँड्दै खाँदै थिए । कसैले कल्पनासम्म पनि गरेका थिएनन् यति छिटो दुर्घटना होला भनेर ।
असोज २० गते डोटीको जोरायलवाट कैलालीको धनगढीका लागि हिडेको ना ३ ख ५७०७ नम्वरको बस सरस्वतीनगर गाबिसको चनकट्टेवाट हिड्यो । राउतकट्टेमा आउँदासम्म गाडीको क्षमताले भ्याउने जति यात्रुहरु  भरिए । लक्ष्मीनगरको सिलिमवाट फेरी यात्रुहरु थपिए । बस जति जति अगाडी बढ्दै गयो, यात्रुहरु पनि थप हुँदै गए । जोरायल उपत्यका कट्दासम्म बसभित्र र छतमा गरी करीव एक सय १० जना पुगे ।
जोरायल र बाझिलेकको बिचमा पर्ने उकालोमा बसको मुख्य पट्टा टुट्यो । बसका कर्मचारीहरुले पट्टामा डवल रिकाप लगाए । बस फेरी धुले सडकमा गुड्यो । बाँझीलेक कट्यो छतिवन गाबिसको क्षेत्र सुरु भयो । बस गुड्दै जाँदा अचानक अर्को पट्टा पनि टुट्यो । यात्रुहरु आत्तिए ।
चालकलाई क्यावेनमा बसेका यात्रुहरुले आग्रह गरे ‘बरु हाम्रो भाडा पनि फिर्ता नगर्नुहोस, हामीलाई झारिदिनुहोस, हामी हिडेर जान्छौं ।’ तर चालकले केही हुँदैन भन्दै नआत्तिन सुझाव दिए । यस्तो कुरा भएको पाँच मिनेट मात्रै भएको थियो बस चालकको नियन्त्रण भन्दा वाहिर गयो  ।
‘आ–आफ्नो घरवाट ल्याएका काँक्रा, केरा र अन्य फलफुल वाँडेर खाँदै थियौं, दशैंको दिनको अनुभव सवैले एक–आपसमा वाँडिरहेका थियौं’ वसको क्यावेनमा बसेर यात्रा गरिरहेकी लक्ष्मीनगरकी गीता बिष्ट (खत्री) ले भनिन् ‘बस एकातर्फ निकै झुक्यो, हामी आत्तियौं ।’ चालकले बस  आफ्नो नियन्त्रण भन्दा वाहिर गएको भनेपछि यात्रुहरुको अनुहार मलिन भयो । “बाँच्ने आश गुमाईसकेका थियौं, रुवाबासी पनि सुरु भयो” गीताले भनिन् “चालकले ‘मलाई माफ गर्नु होला मैले तपाईहरुलाई बचाउन सकिन, सवैले बसको कुनै न कुनै भाग राम्रोसंग समात्नुहोला’ भन्यो ।” आङ सिरिङ्ग पार्दै गीताले भनिन् ‘चालकको सिट समातेर वसेको थियो, धन्न वाँचिएछ ।’ आफ्नो अर्को जुनि भएको बताउँछिन गीता । गीता अहिले कैलाली अत्तरियाको पद्मा अस्पतालमा उपचार गराईरहेकी छन ।
बसको छतमा बसेर यात्रा गरिरहेका छवी खत्री भन्छन ‘वसले सडक छोडेपछि हाम फालेर बचियो । पद्मा अस्पतालमै उपचार गराईरहेका उनी भन्छन ‘भित्र कति जना थिए भन्ने त थाह भएन तर भित्र खुट्टा राख्ने ठाउँसम्म पनि नभएपछि म छतमा गए ।’ छतमा ४० भन्दा वढी यात्रु रहेको उनको भनाई छ । ‘दशैं कसरी मनाईयो भनेर एक–आपसमा गफ गर्दै आईरहेका थियौं, यस्तो घटना भयो’ उनले उक्त घटनाको वारेमा कुरा गर्न पनि डर लागेको वताए ।
आमावुवाको आशिर्वाद लिएर श्रीमतिसंगै कञ्चनपुर ससुराली जान लागेका तेज खत्री पनि छतमा बसेर यात्रा गर्दै थिए । श्रीमति गिता बसभित्र थिईन । ‘बसले सडक छोडेपछि हाम फाल्नुको बिकल्प रहेन, धन्न आमाबुवाको आशिर्वादले वचियो’ खत्री भन्छन “हामीले वाटोमै भनेका थियौं बसको पट्टा टुट्यो बरु हामी हिडेर जान्छौं तर चालकले मानेन ।”
दुर्घटनावाट २९ जनाले ज्यान गुमाए, ६८ जना घाईते भए । घाईतेहरुको कैलाली र भारततिर उपचार भईरहेको छ । शुक्रवारमात्रै पाँच जनालाई थप उपचारका लागि भारतको हल्द्वानी रिफर गरिएको छ । बर्षाका कारण अवरुद्ध भएको कच्ची सडकमा बर्षापछि को पहिलो बसका रुपमा उक्त बस १९ गते जोरायल पुगेको थियो । जिपका लागि वनाईएको वाटोमा बस सञ्चालन गर्न सुदूरपश्चिम बस व्यवसायी समितिले काउण्टरवाटै टिकट काट्ने र बसलाई बिधिवत रुपमा चलान गर्ने गरेको छ । उक्त वसमा एक सय नौ जनाले टिकटै काटेको र बसका कर्मचारीहरु समेत गरी एक सय १० भन्दा पनि बढी मान्छेहरु सवार भएका घाईते तेज खत्री वताउँछन । तर, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक उद्धवदेव भट्ट भने करीव एक सय जना मात्रै यात्रु रहेको अनुमान गर्छन । बिभिन्न सञ्चारमाध्यममा फरक–फरक संख्या आईरहेको वताउँदै प्रहरी निरीक्षक भट्टले एक सयसम्म भएको अनुमान गरे ।
सम्पादकीय
साँच्चै हो त गोप्य सूचना ?
छिमेकी राष्ट्र भारतले नेपाल सरकारलाई गोप्य सूचना पठायो रे । गोप्य सूचनामा नेपालका शिर्ष राजनीतिक नेताहरुको हत्या हुन सक्ने कुराको जानकारी छ रे । नेपालका नेताहरुमात्रै होईन नेपालमा कार्यरत भारतीय कुटनीतिक निकायका उच्च अधिकृतहरुको ज्यान पनि खतरामा छ रे । त्यसैले सुरक्षा शतर्कता अपनाउनु प¥यो रे ।
निश्चित रुपमा कुनै देशको राजनीतिक नेतृत्वमा वा सर्वसाधारणमाथी हमला हुने योजना कतै वन्दैछ भने त्यसको सूचना सम्वन्धित राष्ट्रलाई समयमै दिनु एक अशल छिमेकीको कर्तव्य हो । भारत नेपालको अशल छिमेकी हो वा होईन भन्ने कुरा बिश्लेषकहरुले बिश्लेषण गर्ने पाटो होला तर यो नेपाली नेताहरु मार्ने षड्यन्त्र यदि साँचो हो भने यसमा भारतले आफ्नो अशलपना देखाएकै हो मान्नु पर्छ ।
खैर, भारतले नेपाली नेताहरुको ज्यान खतरामा छ भन्ने कुराको जानकारी दियो । अन्तराष्ट्रिय ईस्लामिक आतंकवादी संगठनहरु अलकायदा र इन्डियन मुजाहिद्दिनबाट सो खतरा रहेको पनि जानकारी दियो तर त्यो योजना कहाँ बसेर वनाईदैछ भन्ने कुरा खासै खुलाउन सकेको छैन । भारतले नेपाललाई लेखेको पत्रको आसय अनुसार उक्त योजना काठमाण्डौं र आसपासका क्षेत्रहरुमा बन्दैछ    रे । त्यसो हो भने त्यो कुराको जानकारी नेपालका सुरक्षा निकायहरुलाई किन हुन सकेन ? कुनै बिदेशी व्यक्तिहरुको समूह त्यो पनि          अन्तराष्ट्रियस्तरमा आतंकवादीको पहिचान वनाईसकेको समूहका व्यक्तिहरु नेपालभित्र प्रवेश गरेर नेपाली नेताहरुकै हत्या गर्ने,    सर्वसाधारणको अपहरण गर्ने, बिमानस्थलवाट बिमान अपहरण गर्ने र नेपालमै रहेका भारतीय कुटनीतिक नियोगका व्यक्तिहरुको हत्या गर्ने योजना नेपालमै त्यो पनि काठमाण्डौंको आसपासमा बसेर वनाईरहँदा नेपालका सुरक्षाकर्मीहरुले सुईकोसम्म पनि नपाउनु यस देशका सुरक्षा निकायको वहादुरी भन्नु वा लाजमर्दो अवस्था !
दिल्लीवाट आफ्ना गुप्तचरहरु परिचालन गरेर नेपालमा के हुने सम्भावना रहेको छ भन्ने कुराको जानकारी नेपाललाई दिने तर नेपाली सुरक्षाकर्मीहरु, गुप्तचरहरु सुईको समेत नपाउने हो भने यो देशको बिडम्वना अरु के हुन सक्छ र ! हुन त सडकमा गुडेको गाडीको डरले आत्तिएर भागिरहेको भैंसीको सिङ्ग गाडीमा ठोक्किदा बिपन्न समुदायका व्यक्तिलाई जवरजस्ती प्रहरी चौकी पु¥याएर आठ हजार रुपैयाँ असुल गर्ने व्यक्तिहरु जिल्ला सुरक्षा समितिका प्रमुख हुने देश हो हाम्रो । यस्ता प्रमुखहरुले सञ्चालन गरेको सुरक्षा संयन्त्रवाट हामीले धेरै आश पनि गर्नु व्यर्थ हो । तर पनि राज्य छ, त्यसकारण हामी सुरक्षित छौं भन्ने आश पनि जनतामा कताकता  छ । त्यसैले जनताको त्यो आशा मर्न नदिनका लागि पनि हामीले ध्यान दिनु जरुरी छ ।
यसअघि पनि नेपालको अन्तराष्ट्रिय बिमानस्थलवाट बिमान अपहरण भएको छ, आतंककारीहरुलेनै राजनीतिक नेताहरुको हत्या पनि गरेका छन । अन्य सामाजिक क्षेत्रमा लागेका व्यक्तिहरुको हत्या समेत भएको छ आतंककारी संगठनहरुवाट । त्यसकारण भारत   सरकारले दिएको सूचना असत्य हो भनेर दावी गर्न सक्ने अवस्था पनि छैन नेपालका सुरक्षाकर्मीहरुका लागि । यो अवस्थामा आफ्ना संयन्त्रहरुलाई सक्रिय रुपमा परिचालन गर्नुनै बुद्धिमानी होला सरकारका लागि ।
हुन त हाम्रो देशको अर्को पनि बिडम्वना छ । जनताको व्यक्तिगत सुरक्षासंग प्रत्येक्ष रुपमा जोडिएको जनपद् प्रहरीको संख्यानै पर्याप्त छैन । जनपद् प्रहरी भन्दा झण्डै दुईगुणा बढी सुरक्षा निकायको नाममा बसिखाने संयन्त्रको संख्या छ । अनि हामी कसरी सुरक्षित महसुस गर्छौं त आफुलाई !
त्यसैले भारतले दिएको सूचनामा सम्वेदनशील वन्नु जरुरी  छ । होईन भने बिगतका जस्ता घटनाहरु दोहोरिन सक्छन, मानवीय तथा भौतिक क्षेति हुन सक्छ ।
थप समाचार
अस्पतालवाटै घाईतेको सुन हरायो
असोज २० गते छतिवन बस दुर्घटनामा परी घाईते भएका लक्ष्मीनगरका तेजवहादुर खत्रीको उपचारकै क्रममा दुई तोला सुन हराएको छ ।
श्रीमतिसंगै दुर्घटनामा परेका खत्रीको कैलाली अत्तरियाको पद्मा अस्पतालमा उपचार भईरहेको छ । सरकारले गठन गरेको दुर्घटना छानविन समितिका पदाधिकारीहरु अस्पतालमा पुगेपछि घाईतेहरुसंग छलफल गर्ने क्रममा आफु  समितिकै पदाधिकारीहरुसं एकछिन वाहिर आएको वताउँदै खत्रीले सोही मौकामा आफ्नो झोलामा रहेको दुई तोला सुनको गहना हराएको वताए ।
‘केही गहना घटनास्थलमै हराईसकेका थिए, बसेको सुन पनि अस्पतालवाटै हरायो’ खत्रीले भने ‘सिसि क्यामेरामा हेर्दा हामी वाहिर भएका वेला केही व्यक्तिहरु हाम्रो वेड नजिक आएको देखिएको छ तर अस्पताल प्रशासनले यस वारेमा कुनै चाँसो देखाएको छैन ।’ आफुले चोरी भएको खवर प्रहरीलाई समेत जानकारी गराईसकेको खत्रीको भनाई छ ।
ईलाका प्रहरी कार्यालय अत्तरियाका ईन्चार्ज प्रहरी निरीक्षक कुलदिप चन्दले घटनाको वारेमा छानविन गरिरहेको वताए । ‘मैले सिसि क्यामेराका फुटेजहरु हेरे, केही असामान्य व्यक्तिहरु भित्र गएका देखिएका छन’ निरीक्षक चन्दले भने ‘हामी यसवारेमा छानविन गरिरहेका छौं ।
श्रोतका अनुसार अस्पताल प्रशासनले उक्त घटनामा कुनै चाँसो देखाएको छैन । अस्पतालम उपचारका लागि गएका बिरामीहरुको सामान चोरी हुँदा समेत अस्पतालले वास्ता नगर्नुले अस्पतालको जिम्मेवारीप्रति पनि संका उठ्न थालेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र चन्दले घटनाको वारेमा आफुहरु सक्रियताका साथ लागिरहेको वताएका छन । ‘हामीले तत्काल प्रहरीलाई खवर गरेर सिसि क्यामेरावाट फुटेजहरु हेर्न लगाएका छौं’ केही संकास्पद व्यक्तिहरु देखिएका छन’ अध्यक्ष चन्दले भने ‘हामीले कुनै लापरवाही गरेका छैनौं । उसै त दुर्घटनामा परेर पिडित खत्रीलाई झन पिडा थपियो ।

घाईते भेट्न सभासद आले भारत पुगे
असोज २० गते डोटीको छतिवन गाबिस–५ मा भएको सडक दुर्घटनामा गम्भिर घाईते भई उपचारको क्रममा बिभिन्न अस्पतालमा रहेका बिरामीहरु भेट्न सभासद प्रेमवहादुर आले भारतको हल्द्वानी शहरसम्म पुगेका छन ।
दुर्घटनापछि गत बिहिवार आले लगायत डोटीका पाँचै जना सभासदहरुले डोटी बस दुर्घटनाको छानविन हुनु पर्ने कुरा व्यवस्थापिका संसदमा उठाएका थिए । सो क्रममा सभासद आलेले सरकारले घाईतेहरुको उपचारमा गम्भिर ध्यान नदिएको प्रति आक्रोस व्यक्त गरेका थिए । संसदमा कुरा उठाईसकेपछि सभासद् आले घाईतेहरुलाई भेट्न र उनीहरुको अवस्था बुझ्न कैलालीको अत्तरियास्थित पद्मा अस्पताल र भारतको हल्द्वानी समेत पुगेका थिए । आलेले घाईतेहरुलाई स्वान्वता दिँदै सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।
सभासद् आलेले दुर्घटनामा ज्यान गुमाएका आफन्तहरुको घरघरमा पुगी समवेदना समेत प्रकट गरेका छन । मृतकका आफन्तहरुलाई राज्यको तर्फवाट राहत उपलव्ध गराउनु पर्ने र घाईतेहरुको यथासिघ्र उपचार गराउनु पर्ने माग आफुले संसदमा उठाएको र फेरी पनि आफु उक्त कुरालाई प्राथमिकताका साथ उठान गर्ने आश्वासन उनले मृतकका आफन्तहरु र घाईतेहरुलाई दिएका छन ।
दुर्घटना क्षेत्रकै स्थानीयवासिन्दा आलेले उक्त घटनावटा आफु स्तव्ध भएको वताएका छन । उक्त दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन भने ६८ जना घाईते भई बिभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार गराईरहेका छन ।
छाउपडी गोठ भत्काएर चर्पी
जिल्लाको अन्य ठाँउ भन्दा छाउपडी प्रथापडी रहेको छान्ना ईलाकामा अहिले छाउपडी गोठहरु भत्काउने अभियान चलेको छ । महिलाहरु आफै सक्रिय भएर भत्काएका परम्परगत छाउगोठहरुलाई चर्पीमा उपयोग गरिएका छन्  ।
छान्ना ईलाकामा ६ वटा गाविस रहेपनि माझिगाँउ गाविस र गडराय गाविसमा छाउगोठ भत्काएका छन् । छाउगोठ भत्काएपछि सोही स्थानमा कतिपयले चर्पी बनाएका छन् भने चर्पी बनाएका घरपरिवारले यसलाई सुधारगरी गेष्टरोम बनाएका छन् । माझिगाविस लाई महिला हिंसा मुक्त गाविस बनाउने स्थानिय निकायको निर्णय अनुसार यहाँका महिला पुरुषहरुले पहिलो चरणमा छाउगोठ भत्काउने अभियान चलाएका हुन  ।
  छाउगोठ भत्काउने सुरु गरेपछि पाँच महिना यता ५० वटा गोठहरु भत्काएका माझिगाँउ गाविस महिला अधिकार मञ्चकी अगुवा गोमती रोकायाले वताईन् । उनले भनिन् ‘गाविस भरी छाउपडी गोठको संख्या हेर्दा दुई यस भन्दा बढी छन्, यिनिहरु पनि अव भत्काउने छांै ।’ खरले छाएका दुई जना देखी पाँचजना  महिला बस्ने सम्मका यि छाउगोठ घर  भत्काएपछि यसमा उपयोग भएका काठ ढुङ्गलाई चर्पीमा उपयोग गरिदैछ । माझिगाँउलाई खुला दिशामुक्त गाविस पनि गर्न बाँकी भएकाले महिलाहरुले छाउगोठ भत्काएर चर्पी बनाउ भन्ने नारानै बनाएका छन् ।
दिशा पिसाव गर्न खोला जानु पर्छ  स्थानीय उत्तम रोकायाले भने ‘तर घर नजिकै सानो छाउखुल्लो छ यसलाई सुधार गरेपछि छाउपडी पर्था पनि हट्यो र घरमा चर्पी पनि बन्यो ।’ महिलाहरुले एक चरणमा गाविसका नौवटै वडामा घरदैलो अभियान गरेपनि कसैले भत्काएका र कसैले देवीदेवता रिसाउने डरले अझै भत्काउन बाँकी रहेका छन् । घरमा रहेका छाउगोठ भत्काएर चर्पी नबनाएमा गाविसवाट दिईने सेवा सुविधावाट समेत बन्चित गराएको गाविसका कर्मचारी शैलेन्द्र रोकाया भने  ।
  छिमेकी गडराय गाविसमा पनि यहाँका स्थानिय महिलाहरुका समुहले छाउगोठ भत्काउने योजनानै बनाएकी छन् । गोरखालीवाट सुरु गरेको छाउपडी गोठ भत्काउने अभियान यहाँ पनि नौवटै वडामा पुगेको छ । यस गाविसमा रहेका एक सय ५० वटा छाउपडी गोठमध्ये २० भन्दाबढी भत्काएका अगुवा महिला सुनकेशा सिंहले वताईन् । उनले भनिन् ‘यहाँ स्वावलम्वन विकास कार्यक्रम लागु भएपछि संस्थाले तालीम दिदाँ महिला सशक्तिकरण भएर आफु बस्ने छाउपडी गोठ आफै भत्काउन लागेकी छौं । देवी देवता रिसाउने डरले घरभन्दा अलि टाढा बनाएका छाउपडी गोठमा महिलाहरु महिनावारी हुँदा पाँच दिनसम्म बस्ने गर्दछन् भने पहिलो पटक महिनाबारी भएकी युवतीहरु १४ दिन सम्म परसर्ने यहाँ प्रचलन हरेको छ । परम्परागत सामाजिक विकृतिका रुपमा  रहेको छाउपडी प्रथालाई सुधार गर्न माझिगाउमा युनाईटेड मिसन टु नेपाल र गडरायमा ग्रामिण स्वालम्वन विकास केन्द्रले महिला सशक्तिकरण र सामाजिक रुपान्तरणका कार्यक्रम गर्दै आएको छ । छान्नाका दुई गाविसमा गरिएको छाउपडी गोठ भत्काएर चर्पी बनाउने अभियान जिल्लाका अन्य ठाँउका लागी पनि सकारात्मक सन्देश गएको छ ।

तिन दशकसम्म सडक अधुरै
डोटीको दक्षिणी क्षेत्रलाई यातायतका साधनसंग जोड्ने उद्देश्यका साथ तीन दशक अघिदेखि निर्माण कार्यको थालनी भएको बिपिनगर–बोगटान–दिपायल सडकले अझै पूर्णता पाउन सकेको छैन ।
कैलालीका दुई र डोटीका १७ गाविसलाई जोडेर क्षेत्रीय सदरमुकाम दिपायल नजिक्याउने वोगटान सडकको सडकको अहिलेसम्म ४५ किलोमिटर ट्रयाकमात्र खोलिएको छ । यो २०४० साल देखि निर्माण कार्य थालिएको सडक हो । सुरुमा राष्ट्रिय योजनामा परेर काम थालेको भएपनि अहिले प्राथमिकताबाट हटाईएपछि सडक निर्माणले कछुवा गति लिएको हो ।
“जंगल क्षेत्रमा बतावरण प्रभाव अध्ययन नगरी बाटो नखोल्न जिल्ला बन कार्यालयले पत्राचार गर्दा गत दुई वटा आर्थिक बर्षको बजेट फ्रिज गयो” डिभिजन सडक कार्यालय कुलपाते दिपायलका प्रमुख बिजय कुमार महतोले भने “यस पटक बतावरणीय प्रभाव अध्ययन भै सकेको छ ।” यो सडकले गति नलिनुमा बजेट घटेर आउनु र प्राथमिकताको योजना बाट हटाउनु नै प्रमुख कारण भएको पनि महतोले बताए ।
यो सडक निर्माणमा अहिले सम्म ८ करोडको हाराहारीमा खर्च भैसकेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ । बोगटान सडक जिल्लाकै सबैभन्दा पुरानो सडक हो । सडक अलपत्र पर्दा यहाँको जीवनस्तर समेत माथि उठ्न सकेको छैन ।
डोटीको मध्य क्षेत्रवाट निर्माणाधिन यो सडक निर्माण कार्य अनिश्चित भएपछि स्थानियवासी निरास भएका छन् । कैलालीको पहाडी गाविस सहजपुर देखि डोटीको मान्नाकापडीको वागछेडासम्म मात्र सडक पुगेको छ । एक सय आठ किलोमिटर लामो बन्नुपर्ने सडकको अहिलेसम्म ४५ किलोमिटर मात्र निर्माण गरिएको छ ।
सडक डिभिजन कार्यालयले निर्माण गरिरहेको सडक तत्कालिन समयमा कृषि सडकका रुपमा नामाकरण गरेर डोटीका १७ गाविसका कृषकहरुलाई लाभ पु¥याउने उद्देश्यका साथ निर्माण शुरु भएको थियो । वोगटान क्षेत्रमा सडक जाने भएपछि कृषि क्षेत्रमा विकास हुने आशा राखेका कृषकहरु लामो समयसम्म पनि सडक निर्माण नहुँदा हैरान भएका छन ।
“बनाएको ४५ किलोमिटर सडक पनि नियमित रुपमा बाह्रै महिना चल्ने भएपनि राहत हुन्थ्यो” स्थानीय राजनीतकि कार्यकर्ता रघुराजा बमले भने ‘यहाँ त ६ महिना पनि गाडि चल्दैनन् ।” अदुवा, सुन्तला, केरा, तरकारी, घ्यू, मह, चुक, खसी बोका, कुखुरा र जडीवुटीको भण्डार मानिने यस क्षेत्रका वासिन्दाहरुले यातायत अभावकै कारण आफ्नो कृषि उत्पादनको उचित मुल्य पाएका छैनन् । निर्माण गरिएको सडकमा पनि वर्षात समयमा सवारी साधन चल्दैनन् । यहाँको सवैभन्दा दुर्गम मानिने गाविसमा चर्को ढुवानी मुल्य तिरेर अतिआवश्यक खाद्यान्न सामग्री पनि खरिद गनुपर्ने अवस्था छ ।
डोटीका गाउँगाउँमा सडक पु¥याउने नाममा अव्यवस्थित रुपमा ट्रयाक खोल्ने काम तिव्र गतिमा भईरहेको भएपनि सडकको स्तरोन्नति गर्नका लागि अहिलेसम्म पनि कसैले पहल गरेका छैनन् । अधिकांस सडकहरुमा यातायतका साधनका नाममा ट्रयाक्टर र केहीमा मात्रै जीपसम्म सञ्चालन हुने गरेका छन तर बर्षातको सयममा यि सडकहरु यातायतका साधन शुन्य हुने गरेका छन । यातायत सञ्चालन भएका वेला पनि यात्रुहरुले प्रति किलोमिटर झण्डै २० रुपैयाँ भाडा तिर्नु पर्ने वाध्यता रहेको छ । क्षेत्रीय सदरमुकाम समेत रहेको डोटीका ५० गाबिसहरुमध्ये नौ गाविसलाई मात्रै पिच सडकले छोएको छ ।

जिर्ण सडकले दुर्घटना बढायो
सडकहरुको अबस्था जिर्ण हँुदा सुदूरपश्चिममा महिनै पिच्छे सवारी दुर्घटना बढ्न थालेका छन् ।
दुर्घटनाको मुख्य कारण जिर्ण सडक नै भएको तथ्य बाहिर आएपनि सुधारतर्फ कसैको ध्यान जान सकेको छैन । सुदूरपश्चिमका मुख्य सडक तथा ग्रामिण सडकहरुको अबस्था बर्षौं देखि उस्तै छ । २०६९ साल पुस २९ गते डोटी छतिवनको रुपसकाँडामा ३१ जनाको ज्यान जाने गरी दुर्घटना भए पश्चत गठित छानविन समितिले दुर्घटनाको मुख्य कारण जिर्ण सडक र बढी यात्रु सवारलाई देखाएको थियो ।
छतिवन गाबिस–५ मा गत २० गते २९ जनाको ज्यान जाने गरी दुर्घटना हुनुको कारण पनि जिर्ण सडक र क्षमता भन्दा बढी यात्रु नै भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपि उपाध्याय जिर्ण सडकमा क्षमता भन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको बताउँछन । ‘यात्रुहरुमा पनि चेतना छैन’ क्षेत्रीय प्रमुख उपाध्यायले भने ‘चालकहरुको पनि लापरवाही देखिन्छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथाँक अनुसार यस आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा ३७ वटा सवारी दुर्घटना भएका छन् भने ४८ जनाको ज्यान गईसकेको छ ।
आर्थिक बर्ष ०६९÷७० मा एक सय ३८ जनाको ज्यान ज्यान गएको थियो भने आर्थिक बर्ष ०७०÷०७१ मा एक सय ७० जनाको ज्यान गएको थियो । सुदूरपश्चिमका सडकहरु बर्षेनी जिर्ण र कमजोर बन्दै गएका छन् । पक्की सडकमा खाल्टाखुल्टी परेका छन् भने बर्षातमा आउने पहिलो समेत सबैठाउँमा पन्छाउन सकिएको छैन । मर्मत कार्यले कहिल्यै पूर्णता नपाउने कच्ची सडकहरु बर्षातमा हिलाम्य भएका छन् भने अन्य बेला धुलाम्य भएका हुन्छन् ।
सुदूरपश्चिम डिभिजन सडक कार्यालय कुलपातेका इन्जीनियर सुनिलबाबु पन्तले समयमा बजेट नआउदा र ढिलो गरी काम थाल्दा बर्षेनी बजेट फ्रिज जाने गरेको बताएका छन् । गएको आर्थिक बर्षमा दुर्घटना भएको बुडर जोरायल सडक र सहजपुर बोगटान सडकको बजेट ठेकेदारको लापरवाहीले फ्रिज गएको देखिन्छ । न्यून दररेटमा ठेक्का लिएर काम नगर्ने ठेकेदारको प्रबृतिले सडकको निर्माण तथा मर्मतको कार्य पुरा हुन नसकिरहेको पनि ईन्जीनियर पन्तले बताए ।
अझै भेटिएनन् चमेलियामा वगेका बृद्ध
भैसीलाई पानि खुवाएर फर्काउने क्रममा आईतबार बिहान बैतडी र दार्चुलाको सिमा क्षेत्रमा पर्ने चमेलीया नदीमा बगेका एक बृद्ध अझै भेटिएका छैनन् ।
चमेलिया नदी छेउमै घर भएका दार्चुलाको देथला गाबिस–८ लुईटे निवासी ७० वर्षीया दलबहादुर चन्द नदीमा भैँसीसंगै लुगा धुन गएको र भैँसीलाई फर्काउने क्रममा चिप्लेर चमेलिया नदीमा खसेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जानकारी दिएको छ । सोमवार बिहान १० बजेतिर चमेलियामा बगेर बेपत्ता भएका चन्दको घटना घटेलगत्तै खोजिकार्य थालिएपनि पानीको तिब्र बहावका कारण अझैसम्म पत्तो नलागेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए ।
उनीसंगै रहेका स्थानीय कृष्णबहादुर चन्दका अनुसार दलबहादुर भैसिलाई पानि खुवाएर फर्काउने चिप्लिएका थिए ।
आतंककारीवाट नेताको ज्यान खतरामा
आतंककारीद्वारा नेपालका ठुला नेताको हत्या हुन सक्ने सूचना भारत सरकारले नेपाल सरकारलाई दिएको छ ।
भारतीय दूतावासले सरकारलाई दिएको यो सूचनामा नेपाली नेताहरुको हत्या हुन सक्ने वताईएको छ । नेपाली नेताहरुसंगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुन सक्ने कुरा उल्लेख छ ।
भारतले नेपाललाई २४ सेप्टेम्बर, २०१४ मा गोप्य तथा औपचारिक पत्रमार्फत नेपाली नेताहरु तथा भारतीय कूटनीतिक अधिकृतहरुको सुरक्षासंग सम्बन्धित अति संवेदनशील सूचना दिएको हो । भारतले यस्तो सूचना आफूले अत्यन्त भरपर्दो र विश्वासिलो श्रोतबाट पाएको पनि पत्रमा उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत नेपाल  सरकारलाई लेखिएको पत्रमा नेताको हत्या र कूटनीतिक अधिकृतको अपहरणको खतरा के कारणले हुनसक्ने हो भन्ने कुरा भने खुलाइएको छैन ।
उक्त खतरा अन्तराष्ट्रिय आतंकवादी संगठनहरु अलकायदा र इन्डियन मुजाहिद्दिनबाट हुने सम्म्भावना रहेको उल्लेख गरिएको छ । सूचनामा अत्यन्तै सुरक्षा खतरा भएका नेता को को हुन् भन्ने उल्लेख नगरी केवल “प्रोमिनेन्ट नेपाली पोलिटिसियन्स” भन्ने मात्रै उल्लेख गरिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विमान अपहरण हुन सक्ने कुरा समेत सो सूचनामा उल्लेख गरिएकोले थप सुरक्षा संवेदनशीलता बढाइएको सुरक्षा श्रोतले बताएको छ । सूचनामा इन्डियन मुजाहिद्दिन र अलकायदाका सदस्यहरुले काठमाडौं विमानस्थलबाट नेपाली वा भारतीय विमान अपहरण गर्ने योजना बनाइरहेको उल्लेख गरिएको छ । भारतले राजधानी र वरिपरिका केही स्थानहरु तोकेरै तिनमा आतंककारीहरु बसेको हुन सक्ने सूचना पनि दिएको छ ।
परराष्ट्र श्रोतले भन्यो, “नेपालमा ठूला नेता र भारतीय दूतावासका अधिकृतहरुलाई अपहरण गर्ने योजना सहितको खतरनाक गिरोह सक्रिय रहेको बारे लिखित र मौखिक जानकारी आएको छ र यसबारे प्रहरी तथा सुरक्षा निकायलाई पनि जानकारी गराइ सकिएको छ ।” श्रोतले दूतावासबाट आएको सो पत्र नेपाल प्रहरीका महनिरीक्षक उपेन्द्रकान्त आर्याललाई समेत बोधार्थ दिइएको वताएको छ ।
हमलाकर्ता आतंकवादीहरुले विशालु ग्यासको प्रयोग गरी सर्वसाधारण जनताको समेत अपहरण गर्न सक्ने कुरा सो सूचनामा उल्लेख गरिएको छ । दक्षिण एसियाली सहयोग संगनठ (सार्क) सम्मेलनको तयारी तिब्र भइरहेका बेला भारतबाटै त्यस्ता आपराधिक गिरोहको नेपाल प्रवेश भएको जानकारी आएको हो ।
आतंकवादी संगठनहरु अलकायदा र इन्डियन मुजाहिद्दिन जस्ता अन्तराष्ट्रिय संगठनका सदस्यहरु नेपाल पनि सक्रिय रुपमा काम गर्न थालेको सूचना कुनै हल्लाका रुपमा मात्र आएको हो कि वास्तविक हो भन्नेमा सुरक्षा निकायहरुले छलफल थालेका छन् । सुरक्षा श्रोतका अनुसार औपचारिक पत्रै लेखेर यस्तो सूचना आएपछि संवेदनशील हुनुपर्ने तर्फ सबैको ध्यानाकर्षण भएको छ ।
राजधानी काठमाण्डौं र वरिपरिका केही स्थानहरु तोकेरै त्यस क्षेत्रमा आतंककारीहरु बसेको हुनसक्ने सूचना भारतले दिएको छ । काठमाडौं र बाहिरका आफ्ना विभिन्न कूटनीतिक कार्यालय तथा अधिकृतहरुको निवासमा समेत सुरक्षा गस्ती बढाई सुरक्षा व्यवस्था मिलाउन समेत भारत सरकारले नेपाल  सरकारलाई आग्रह गरेको छ । उक्त सूचनाले अहिले नेपाली सुरक्षा क्षेत्रमा हल्लाखल्ली भएको छ ।
नाका छलेर निषेधीत मदिराको तस्करी
जिल्लामा निषेधित गुणस्तरहीन मदिरा ‘ठेउका’ मुख्य राजमार्गका नाका छलेर गाउँगाउँमा तस्करी हुन थालेको छ ।
सुदूरपश्चिममै पहिलोपटक डोटी जिल्लामा उक्त गुणस्तरहीन मदिरा निषेध गरिएको भएपनि तस्करहरुको संगठित सञ्जालका कारण प्रभावकारी हुन सकेको छैन । मुख्य राजमार्गसंग जोडिएका बजारहरुबाट प्रतिबन्धित मदिरा खरिद बिक्रि गर्न नपाएपछि गाउँमा रहेका मदिरा व्यवसायीहरुले तस्करहरु मार्फत ल्याइएका गुणस्तरहीन मदिरा चर्को मुल्यमा बेच्न थालेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान क्षेत्रका लागि अछामको चौखुट्टे–सुकोट हुँदै डोटीको तिखात्तर गाबिसको नारी दाङ्गबाट निकासी गर्ने नाका तस्करहरुले बनाएका छन् । दैनिक लाखौं मुल्य बराबरको मदिरा तस्करहरुले बेच्ने गर्छन । अछामको चौखुट्टेवाट जिल्लामा भित्रिने मदिरा काडामाण्डौं, गैरागाउ गाबिस हुँदै पश्चिम चौकीका केही गाबिसहरुसम्म भित्रिने गरेको छ । यि नाकाहरुका बिचमा सुरक्षा निकाय नहँुदा तस्बरी मौलाएको हो ।
२०७० श्रावण देखि डोटी उद्योग बाणिज्य संघले गुणस्तरहीन मदिरा निषेध गरेको हो । पछिल्लो समय अछाम उद्योग बाणिज्य संघले पनि नियन्त्रणका लागि निर्णय गरेको भएपनि कडाई गर्न सकेको छैन ।
डोटी उद्योग बाणिज्य संघका महासचिव नरेन्द्र खड्काले अछामवाट भएर गुणस्तरहीन मदिराको तस्करी भएको बताए । ‘रातारात भरिया लगाएर तस्करी हुन्छ’ महासचिव खड्काले भने ‘अछाम र डोटीका मदिरा ब्यवसायी गुपचुपमा यो कारोबार गरिरहेको खबर आएको छ ।’
तस्करीको रुपमा भरियाहरु प्रयोग भइरहेका छन् । ‘एजेन्ट मार्फत पैसा पहिला अछाममा पठाएमा, एजेन्टले भरियामार्फत मदिरा पसलमै पु¥याउने काम  गरिदिन्छ’ तिखात्तरका एक ब्यवासयीले जानकारी दिए ।
सस्तो मुल्यमा पाइने गुणस्तरहीन मदिरा प्लाष्टिकको बोत्तलमा प्याक भएर आउँछ । कर्णाली, सोफी लगायत बिभिन्न नाममा यि मदिरा बजारमा पाइन्छन् । तस्करीका कारण यसको मुल्यमा पनि बृद्धि भएको छ । सामान्य अवस्थामा २५÷३० रुपैयाँमा बिक्री हुने प्रति प्याक ६० देखि ७० रुपैयाँसम्म हालेर पिउने गरेका छन् । ‘गाउँमा खुलेर बेचिने गरिएको छ’, तिखात्तर डुम्राकोटका बिष्णु शाहीले भने ‘संघले रोक लगाउदा उल्टो महङ्गो भएर आयो ।’ उनले तस्करले प्रयोग गरेका नाकाहरुमा कडाई भएमात्र सकरात्मक सुधार देखिने बताए ।
मदिराको तस्करीमा संलग्न लडागडा गाबिसका एक ब्यापारीलाई उद्योग बाणिज्य संघले पक्राउ गरिएको थियो । ३० हजार जरिवाना तिराएर उनलाई नेताहरुको दबाबमा छोडिएको थियो । यद्यपी गुणस्तरहीन मदिरा नियन्त्रणका कारण खुला रुपमा मदिरा पिउने, होहल्ला गर्ने प्रबृतिमा भने सुधार हुँदै गएको पाईन्छ ।
सामाजिक अभियान अन्तरगत उद्योग बाणिज्य संघले सुर्तीजन्य पदार्थ तथा गुट्काको बिक्री बितरणमा रोक तथा रक्सीका खाली सिसी र बोत्तलहरु कम्पनीले फिर्ता लैजानुपर्ने निर्णय गरेको भएपनि कार्यान्वयन गर्न सकेको छैन ।
छतिवन बस दुर्घटनाको छानविन सुरु
डोटीको छतिवन बस दुर्घटनाको छानबिनका लागि गठित उच्च स्तरीय छानबिन समितिले शनिबारबाट दुर्घटना छानबिन सुरु गरेको छ ।
घटनाको छानबिनका लागि आएको टोलीले सर्वप्रथम अत्तरियास्थित पद्मा अस्पतालका घाइतेहरुसंग सोधपुछ गरेको छ ।
घाइतेहरुसंग सोधपुछपछि छानबिन टोली शनिबारनै दुर्घटनास्थल  पुगेको थियो । टोलीले घटनास्लमा पुगेर अध्ययन गरी १५ दिनभित्रै प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।
छानबिन टोली संयोजक  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रवीन्द्रनाथ श्रेष्ठले घटनास्थलको अध्ययन गर्नुका साथै घटनाका प्रत्यक्षदर्शीसंग भेटघाट गरेको जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार सडकको अवस्था, गाडीको अवस्था र गाडीमा सिट क्षमताभन्दा कति बढी यात्रु थिए भन्ने विषयमा अध्ययन भईरहेको वताए । छानबिन टोलीमा ट्राफिक  प्रहरी महाशाखा, सडक विभाग, यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघका प्रतिनिधि रहेका छन् ।
बस दुर्घटनामा परि घाइते भएकाहरुले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका   छन् । घाइतेलाई भेट्न अस्पताल पुगेको छानबिन टोलीका सद्स्यसंग  उनीहरुले सो माग गरेका हुन ।

छोटकरी समाचार
शैलेश्वरीमा प्रवचन
नेपाल मानब धर्म सेवा समिति अञ्चलासंघ अत्तरियाको आयोजनामा डोटीको शैलेश्वरी प्राङ्गणमा ‘महान सन्त समागम सतसंग तथा धार्मिक प्रबचन र हवन’ कार्यक्रम भएको छ ।
धार्मिक, सामाजिक, चारित्रिक एवं नैतिक उत्थान गर्ने उद्देश्यका साथ सो धार्मिक प्रबचन आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । मानव जीवनलाई शान्तिको बाटोमा डो¥याउने उद्देश्यका साथ शनिवार शुरु भएको धार्मिक प्रबचन तीन दिनसम्म सञ्चालन भएको थियो । कार्यक्रममा नेपाल मानब धर्म सेवा समिति अञ्चलासंघ अत्तरियाका सुवर्ण वाई, त्रिगुणा वाई लगायतका व्यक्तिहरुले धार्मिक प्रबचन तथा भजनकृतन गरेका थिए ।
यसैबीच सो संस्थाले सोमवार डोटी अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत बितरण गरेको संस्थाका दिपक धितालले  जानकारी दिए ।

असिनाले वाली नष्ट
लामो समयको खरेडीपछि गत साता परेको असिनाले जिल्लाका बिभिन्न ठाउँमा खाद्य बाली नष्ट गरेको खवर छ ।
यस वर्ष नियमित रुपमा पानी नपर्दा किसानहरुले समयमै खेती लगाउन सकेका थिएनन् । ढिलो गरी लगाईएको वाली पाक्ने वेलामा फेरी असिनाले नष्ट गरेपछि कृषकहरु मार्कामा परेका छन ।
डोटीको तिजाली, मुडभरा, दुर्गामाण्डौं, मुडेगाउँ लगायतका क्षेत्रमा असिना परेको स्थानीय कृषकहरुले जानकारी गराएका छन ।

खेल समाचार
थापालाई कारवाही गर्न निर्देशन
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई तीन दिनभित्र निलम्बन गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको सोमबारको बैठकले आर्थिक अनियमितता गरेको भन्दै थापालाई निलम्बन गरेर उनको ठाउँमा अर्को व्यक्तिलाई ल्याउन खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई निर्देशन दिएको हो ।
एन्फाको आर्थिक अनियमितता सम्बन्धी उजुरीको छानबिन भइरहेकाले छानविन अवधिभर थापासहित अनियमिततामा संलग्न भनिएका अन्य चार पदाधिकारीलाई निलम्वन गर्न समितिले निर्देशन दिएको समितिका सदस्य रामहरी खतिवडाले जानकारी दिए ।
यसअघि नै समितिले गणेश थापाको अध्यक्ष पद स्थगनमा राख्न निर्देशन दिए पनि थापाले पद छाड्न अस्वीकार गरेका थिए । आफूलाई निलम्बन गरिए नेपाली फुटवल अन्तराष्ट्रिय प्रतिबन्धमा पर्ने थापाले चेतावनी दिएका छन् ।
राप्रपा नेपालका सभासद समेत रहेका थापाले अनलाइनखबरसंग कुरा गर्दै आफूमाथि गलत नियतका साथ आरोप लगाइएको भन्दै कसैले उजुरी गरेका भरमा समितिले कारवाहीको सिफारिस गर्न नपाउने बताए ।
थापाले लेखा समितिमा धेरै निकायको छानविन भइरहे पनि कसैलाई निलम्बन सिफारिस नगरिएको भन्दै आफूमाथि समितिकै केही सभासदले पुर्वाग्रही भएर गलत नियतले कारवाहीको सिफारिस गरेको बताए ।
सभासद थापाले भने–छानविनबाट दोाषी देखिए कारवाही भोग्न तयार छु, तर एकैसाथ कतिवटा निकायले छानविन गर्न पाउने हो ? मलाई निलम्बन गरिए फिफाले नेपाली फुटवलमाथि प्रतिबन्ध लगाउने भनिसकेको छ ।
थापाले एन्फा आफ्नो विधान र फिफाको अन्तराष्टियि विधान अनुसार चल्ने भन्दै फिफाको विधान विपरीत कारवाही भए नेपाली फुटबल प्रतिबन्धमा पर्ने उनले चेतावनी दिए ।
तर, लेखा समितिका सभापति जनार्दन शर्माले भ्रष्टाचारको विषयमा अनुसन्धान गर्न थापालाई निलम्बन गर्दा अन्तराष्ट्रिय प्रतिबन्ध नहुने दाबी गरे ।
समितिको निर्णय सुनाउँदै शर्माले भने–अनियमितामा संलग्न देखिएका अध्यक्ष, कोषाध्यक्ष, महासचिव र निर्माण सम्बन्धी जिम्मा लिएका व्यक्तिलाई मात्रै निलम्बन गर्न भनिएको हो, एन्फालाई होइन ।

नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान
आईसीसी विश्व क्रिकेट लिग डिभिजन—३ को थप तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आइतबार श्रीलंका प्रस्थान भएको छ ।
मलेसियामा कार्तिक ६ देखि सुरु हुने प्रतियोगिताको तयारीमा व्यस्त नेपाली टिमले श्रीलंकामा प्रशिक्षण गर्नुका साथै स्थानीय टिमसंग तीन अभ्यास खेलमा सहभागिता जनाउनेछ । एसियाली क्रिकेट काउन्सिलले डिभिजन ३ को तयारीका लागि २५ हजार डलर उपलब्ध गराएकाले नेपाली टिम श्रीलंका गएको हो । नेपाली टिम श्रीलंकाबाटनै मलेसियातर्फ लाग्नेछ ।
नेपालले डिभिजन—३ मा पहिलो खेल कार्तिक ६ मा युगान्डाविरुद्ध खेल्नेछ । प्रतियोगितामा नेपाल, युगान्डा, अमेरिका, बर्मुडा, मलेसिया र सिंगापुर सामेल छन् । डिभिजन—३ को समाप्ति पनि नोभेम्बरमा हङकङविरुद्धको तीन अन्तराष्ट्रिय ट्वान्टी ट्वान्टी खेलका लागि पनि नेपाली टिम श्रीलंका जानेछ ।

चलचित्र समाचार
एफएमद्वारा म्युजिक अवार्ड बितरण
चितवनमा स्थानीय रेडियो कालिका एफएमले दुई दर्जन बढी विधामा म्युजिक अवार्ड वितरण गरेको छ ।
म्युजिक अवार्ड वितरण कार्यक्रममा यसवर्ष वरिष्ठ चलचित्रकर्मी यादव खरेललाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । यस्तै सवारी दुर्घटनामा निधन भएकी गायिका मञ्जु महतलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।
एफएमले आफ्नो १२ औं बार्षिकोत्सवका अवसरमा दशौं म्युजिक अवार्डमा दुई दर्जन बढी कलाकारलाई अवार्ड दिएर सम्मान गरेको हो । एफएमका अध्यक्ष तथा संविधानसभाका सदस्य विक्रम पाण्डेले खरेललाई दोसल्ला ओढाएर लाईफटाईम एचिभमेन्ट अवार्ड वितरण गरे । खरेलले १७ वटा गीती एल्वम निकालेका र करिव दर्जन नेपाली चलचित्रमा निर्देशन गरेका छन् । उनी चलचित्र निर्माता संघका संस्थापक समेत हुन् ।
कार्यक्रममा खरेलले कला क्षेत्रको विकासका लागि अवार्डले हौसला प्रदान गर्ने बताए । सो क्रममा एफएमका अध्यक्ष तथा सभासद पाण्डेले अझै समाज सेवामा सक्रिय हुने प्रतिवद्धता जनाए ।
चितवनको नारायणी कलामन्दिरमा भएको कार्यक्रममा लोकदोहोरीमा तिर्थ सापकोटा, स्थानीय कलाकारमा भूवन  प्यासी, लोक दोहोरी शव्दतर्फ शिरिष देवकोटा ,संगितमा रामजी खाँड ,महिला गायनमा मञ्जु पौडेल, पूरुषमा पशुपति शर्माले अवार्ड पाए ।
आधुनीकतर्फ संगितमा राजकुमार बगर, गायन महिलामा माण्डवी त्रिपाठी, पूरुषमा प्रमोद खरेल, गजलमा आनन्द कार्कीले अवार्ड हात पारेका थिए ।
पपतर्फ गायिका सन्जना श्रेष्ठ, गायकमा कमल खत्री, संगितमा लोकेश गुरुङले अवार्ड पाए । चलचित्रको शव्दमा डा कृष्णहरी बराल, संगितमा बसन्त सापकोटा, गायिकामा मिलन अमात्य, गायकमा शिव परियारले तथा युगल गीतमा रजिना रिमाल र युवराज चौलागाई लगायतले अवार्ड प्राप्त गरेका छन् ।

के चाहान्छन अमिर खान
चर्चित बलिउड अभिनेता आमिर खान गत साता नेपालको सञ्चारमाध्यममा छाए । संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफको प्रवन्धमा वालवालिका सम्वन्धि नेपाली दक्षिण एसियाली दुत वनेर नेपाल आएपछि उनलाई नेपाली सञ्चारमाध्यमहरुले महत्वपूर्ण स्थान दियो ।
हिन्दी चलचित्र क्षेत्रमा फरक प्रस्तुति पस्कदै आएका खान सामाजिक क्षेत्रमा पनि क्रियासिल रहदै आएका छन । बलिउड क्षेत्रमा आफ्नो सशक्त अभिनयका लागि मात्र बलिउडमा चर्चित छैनन्, सामाजिक सेवाको क्षेत्रमा पनि उनले चर्चा कमाएका छन । उनले आफ्नो सिनेमाको प्रचारका लागि अपनाउने गरेको अनौठो प्रचारशैलीका लागि पनि उत्तिकै चर्चित छन ।
बलिउडमा उनी र शाहरुख खानबीचको द्वन्द्व खासै नयाँ कुरा हैन । यस वर्षको सुरुवातमा जब आमिर खानले आफ्नो सिनेमा ‘पिके’को ‘फस्ट लुक पोस्टर’ शाहरुख खानको यसै वर्ष रिलिज हुन लागेको ‘ह्यापी न्यू इयर’ सिनेमाको प्रचार थालेकै दिन सार्वजनिक गरेपछि बलिउडका यी दुई हस्तीवीचको द्वन्द्व फेरी एकपटक सतहमा आयो ।
यो सिलसिला अझै जारी छ । प्राप्त खबर अनुसार अब आमिर खानले आफ्नो सिनेमाको ट्रेलर आगामी दिपावली (अक्टुबर २४)मा शाहरुख खानको फिल्म ‘ह्यापी न्यू इयर’ रिलिज गरेकै दिन गर्ने भएका छन । उनले सोही दिन एक कार्यक्रमकावीच ‘पिके’को ट्रेलर रिलिज गर्ने बताइएको छ ।
सो दिन सार्वजनिक हुने ट्रेलरले ‘पिके’ कस्तो सिनेमा हो भन्ने झलक दिनेछ । त्यसैगरी सोही सिन शाहरुखको सिनेमासंगै अर्का बलिउड अभिनेता अजय देवगनको ‘एक्शन ज्याक्शन’को ट्रेलर पनि सिनेमा हलमा देखाइने छ ।
यस अवस्थामा आमिरको ‘पिके’को यो प्रचारशैलीले शाहरुखको सिनेमालाई केही छायाँमा पार्ने अनुमान गरिएको छ ।   त्यसैगरी यी दुई खानको भिडन्तमा अजयको आगमनले दर्शकहरुले यी तीनजनाको होडबाजीलाई कसरी लेलान भन्ने कुरा धेरैको चासोको विषय बनेको छ ।

लेख
ढोगाउनुहोस श्रीमतिलाई खुट्टा
सञ्जीव पोखरेल
आजभोलि समसामयिक घटना र त्यसमा हुने बहसमा सहभागि हुन मन लाग्दैन । जीवन र जगतलाई हेर्ने मेरा दृष्टिकोण फरक छन् । धेरैलाई यो मन पर्दैन भन्ने बुझेको छु । अलि पर बसेर मानिसका टिप्पणी र जवाफ सुन्न मात्र मन लाग्छ । तर, कुनै अनलाइन समाचारमा प्रकाशित श्रीमानले श्रीमतिका खुट्टा ढोगाएको तस्वीरका विषयमा भइरहेका टिप्पणी हेरेर यो संयम कÞायम राख्न सकिन । कर्तव्यका रुपमा भएपनि केही लेख्न मन लाग्यो ।
प्रसङ्ग यस्तो छ –कोही सज्जनले दशैंमा आफ्नी  श्रीमतिलाई खुट्टा ढोगाए । त्यसको तस्वीर उनले फेसबुक मार्फत् सार्वजनिक गरे । एक अनलाइन समाचारको पोर्टलले त्यो तस्वीरलाई मुद्धा बनाएर फोटो प्रकाशित ग¥यो । सोसल मिडियामा यसका पक्ष–विपक्षमा भव्य बहस भयो । फेसबुकका तस्वीर समाचार पोर्टलमा आउनुहुन्छ कि हुन्न भन्ने अलग विषय होला जसमा म जान चाहान्न । यसको व्याख्या सोसल मिडियाका धुरन्धर विज्ञले गर्लान् । त्यसैले, तस्वीरले जन्माएको बहस र यसक्रममा देखिएका केही टिप्पणीमा मात्र लेखाइलाई सीमित गर्न चाहान्छु ।
बहसका क्रममा “खुट्टा ढोगाउनु स्वभाविक हो” भन्नेहरुले प्रस्तुत गरेका तर्कलाई प्रश्न र मेरो बुझाइलाई जवाफका रुपमा प्रस्तुत गरेको छु ।
१. घरभित्रको मामिलामा मिडिया र अरुलाई के चासो ?
मानिसले मानिसलाई गर्ने अधिकांश दुव्र्यवहार र थिचोमिचो घरभित्र नै हुन्छन् । घरेलु हिंसा घरभित्र हुने भएर नै ‘घरेलु’ भनिएको हो । महिला, बालबालिका र बृद्धबृद्धाप्रति हुने गरेका प्रतिकात्मक (कथmदयष्अि), मनोवैज्ञानिक (उकथअजययिनष्अब)ि र भौतिक (उजथकष्अब)ि हिंसा सामान्य अवस्थामा बाहिरका अरु मानिसलाई थाहा हुँदैन तर यो हरेक समाज र विशेषगरी हाम्रो जस्तो समाजको गहिरो र ष्लतचबअतबदभि समस्या हो । एक अर्थमा लज्जा हो । तसर्थ ‘घरभित्र जे गर्न पनि छुट हुनुपर्छ’ भन्ने तर्कलाई म ‘लण्ठू कुरा’ मात्र भन्न सक्छु । कुनै पनि राज्य वा समाजको कानुन र मान्यताले घरभित्र हुने कुरालाई नछोऊ, नचलाऊ भनेर छुट दिँदैन ।
तसर्थ, घरभित्र के हुन्छ भन्ने कुरा आम चाँसोको विषय हो  र हुनुपर्छ ।
२. श्रीमानले श्रीमतिलाई खुट्टा ढोगाउनु कसरी हिंसा हुन सक्छ ?
खुट्टा ढोगाउने कर्म आफैँमा हिंसा होइन तर श्रीमान र श्रीमतिको सम्बन्धभित्र रहेको विभेद र हिंसाको च्भाभिअतष्यल (परावर्तन) भने अवश्य हो । आफ्नी श्रीमतिलाई खुट्टा ढोगाएको तस्वीर फेसबुक र ट्वीटरमा राख्ने र “राख्नु ठीक हो” भन्नेहरुले आफ्नी श्रीमतिका खुट्टा ढोगेको तस्वीर त्यसैगरी राख्न सक्लान् ? यदि सक्दैनन् र यस्तो प्रस्ताव नै अनौठो सुनिन्छ भने महिला र पुरुषबीचको सम्बन्धमा कतै न कतै केही न केही अन्तविरोध रहेछ भन्ने त बुझ्नु प¥यो ।
 श्रीमतिलाई गोडा ढोगाउने पुरुषलाई प्रहरीले थुन्दैन । समाजले पनि सामान्य मान्ला । तर, कानुनले दण्डनीय नठानेको र समाजले पनि गलत नठानेका धेरै विकृति हामीकहाँ छन् । यो प्रश्न कानुनको होइन, महिलाको आत्मसम्मान र समाजमा उनीहरुको स्तरको हो । महिलालाई हेर्ने पुरुषको दृष्टिकोणको हो ।
३. श्रीमतिलाई आपत्ति छैन भने अरुलाई के चासो ?
मैले यसअघि केही पटक भनिसकेको छु, अधिकांश विभेदका संरचनामा विभेद खप्ने व्यक्ति र समुदायको पनि अयmउष्बिलअभ (स्वीकृति र सम्मति) हुन्छ । विभेदमा अभ्यस्त समाजमा विभेदलाई सामान्य ठानिन्छ । धेरै महिलाले महिला विरु हुने विभेदलाई सही वा सामान्य ठान्छन् । दक्षिण अङ्गिकारको बउबचतजभष्म (रङ्गभेद) मा समेत यसलाई स्वभाविक मान्ने काला जातिका मानिसहरु थिए । विभेद खेपेकाहरुले विभेदलाई सही ठानेका छन् भनेर “विभेद ठीकै हो” भन्ने तर्क गर्नु आफ्नो बेबकुफी प्रदर्शन गर्नु मात्र हो ।
४. माया र सम्मानले ढोग्ने कुराको किन विरोध ?
उक्त तस्वीरमा श्रीमानको खुट्टा ढोग्ने श्रीमतिले माया रसम्मानले नै ढोगेको हुनसक्छ । हाम्रो समाजमा छोराले बाबुआमाको वा अरुले छोरीको खुट्टा ढोग्ने परम्परा छ । तर, यी प्रत्येक सम्बन्ध र खुट्टा ढोगाइका पृथक अर्थ छन् । श्रीमतिले श्रीमानको खुट्टा ढोग्ने प्रवृतिको विशेष अर्थ छ जुन माया र सम्मानबाट मात्र आउँदैन। यसको उपस्थिति र निरन्तरतालाई नारी र पुरुषबीचको असमान शक्ति वितरण, सम्पत्तिमाथिको पहुँचमा विद्यमान असमानता र सांस्कृतिक मूल्यमान्यतामा रहेको विभेदका आधारमा पनि बुझ्ने प्रयास गर्नुपर्छ ।
कतिपय मैले चिनेका वा आफन्त महिलाहरुले आफूमाथि सधैं दुव्र्यवहार गर्ने आफ्ना लोग्नेको खुट्टा ढोगेको देखेको छु । आफ्नै श्रीमानप्रति सम्मान र श्रद्धा नहुने महिलालाई पनि “लोग्नेका खुट्टा ढोग्ने” बाध्यताबाट उन्मुक्ति छैन । अधिकांश परिस्थितिमा महिलालाई आफ्ना श्रीमानको खुट्टा नढोग्ने छुट हुन्न । यो वाध्यतालाई सम्मान भनेर  परिभाषित गर्ने प्रवृत्ति गलत छ । माया र सम्मान श्रीमतिले श्रीमानलाई मात्र होइन, श्रीमानले श्रीमतिलाई पनि गर्नु पर्छ । यसको प्रमाण खुट्टा ढोगाइमा खोज्नु मुर्खता हो ।
५. यो हाम्रो परम्परा हो नि !
आजभोलि हिन्दु उच्चजातका खस भनिने समुदायमाथि चौतर्फी आलोचना भइरहँदा यस समुदायका मानिसले आफ्नो परम्परा र पहिचानको बचाउ गर्नु स्वभाविक होला । खुट्टा ढोगाइको प्रसङ्गमा ट्वीटरका धेरै पढेलेखेका, सचेत र व्यवसायिक रुपमा सफल मानिसले पनि दिल खोलेर यो परम्पराको बचाउ गर्नुको अर्थ सम्भवत पहिचान रक्षाको प्रयत्न होला ।
यद्यपि, समाज र संस्कृति तथा यससंग जोडिएको पहिचान बलियो हुने आफूभित्र भएका गलत प्रवृत्तिको ढाकछोप वा बचाउ गरेर होइन, तिनमा सुधार गरेर हो । श्रीमानलाई श्रीमतिको अभिभावक ठान्ने हाम्रो मान्यता र सोच गलत छ र यो सोचले महिला र पुरुषबिचको विभेदलाई समाजमा स्वीकृत गर्न सहयोग गरेको छ । महिला र पुरुषको समान अधिकार र सम्मान हुने समाज मात्र अरुको प्रशंसाको लायक हुन्छ । आज हामीले विकसित र समृद्ध भनेर मानेका मुलुकमा श्रीमान र श्रीमतिबीचको सम्बन्ध हाम्रो जस्तो विभेद र श्रेणीमा आधारित छैन । धेरै हदसम्म समतामूलक छ ।
अन्त्यमा,
दुःखको कुरा हाम्रो देशमा शिक्षित र सचेत मानिसहरुमा पनि एकैछिन आफ्नो बुझाई र मान्यताबाट माथि उठेर कुनै विषयलाई पृथक दृष्टिकोणबाट हेर्ने कुरामा चाँसो देखिँदैन। आफ्नो मान्यता र परम्परालाई नै महान, आदर्श र पूर्ण ठान्ने र यसको बचाउमा घुँडा धसेर ठसठस कन्दै आलुपाँडे तर्क गर्ने प्रवृत्ति नै बढी छ । महिलाको यथोचित सम्मान र सशक्तिकरण भएको समाज नै उन्नत समाज हो भन्ने मान्यता पढेलेखेका र जान्नेसुन्नेहरुमा पनि छैन ।
देशको विकास भएन भनेर रोइकराइ गर्ने, ठूला बाटा, रेलवे र रोपवेको सपना देख्ने अनि आफ्नो समाज वा घरभित्रका विभेद, कुरिती र थिचोमिचोलाई भने “सही र उचित” भनेर लंगौटी कसेर समर्थन गर्ने प्रवृत्तिलाई म आडम्बर मात्र भन्न सक्छु ।
म आफ्नी श्रीमतिलाई खुट्टा ढोगाउने कुराको कल्पना पनि गर्न सक्दिन किनकि म उनको साथी हो । कसैले श्रीमतिलाई खुट्टा ढोगाएर आफू उनको अभिभावक वा उनिभन्दा उच्चस्तरको महान मानिस भएको प्रमाणित गर्न चाहान्छ भने मेरो भन्नु केही छैन । सबै मुर्खता कानुनबाट दण्डनीय हुँदैनन् न त मैले समाजलाई राम्रो बनाउने ठेक्का नै लिएको छु ।
माथि उल्लेखित सबै तर्क मेरा बुझाई वा धारणामात्र हुन् ।     —सेतोपाटी अनलाईन  पत्रिकावाट

आर्थिक संकट खेपिरहनु परेको छ
असोक पाण्डे (सम्पादक)
भिमनगर साप्ताहिक, कञ्चनपुर
तपार्इंको पुरा परिचय पाउँ न ?
— म असोक पाण्डे, कञ्चनपुरवाट प्रकाशन हुने भिमनगर साप्ताहिकको सम्पादक भएर काम गर्दैछु ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— एउटा प्रतिस्ठित पत्रकार वन्नका लागि मैले पत्रकारिता पेशा रोजेको छ, जहाँ पत्रकार भएर सम्मान पाईयोस ।
कति समय भयो यस पेशामा लागेको ?
— मैले २०४२ साल देखि पत्रकारिता पेशा सुरु गरेको यस हिसावले करीव करव २९ वर्ष भयो ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— मोपलसल क्षेत्रमा बसेर एउटै बिटमा बसेर मात्रै पत्रकारिता गर्न सक्ने वातावरण त हुँदैन तर पनि म सामाजिक क्षेत्र र मानवअधिकारको बिषयमा पत्रकारिता गर्न बढी रुची राख्दछु । तर अहिले सवै क्षेत्रका समाचारहरु सम्प्रेषण गर्नु पर्ने अवस्था छ ।
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ?
— पत्रकारितामा क्षेत्रमा श्रोतसाधनको धेरै कमी छ । जोखिमपूर्ण पेशा भएर पनि बिमाको व्यवस्था गरिएको छैन । सूचना उपलव्ध हुँदैन । बिज्ञापन बितरण प्रणाली परम्परागत  छ । पेशागत र व्यक्तिगत सुरक्षाको समस्या छ ।
मोफसलै भएपनि तराईको जिल्ला कञ्चनपुरमा बसेर पत्रकारिता गरिरहनु भएको छ, राम्रै होला नि !
— ठिकै छ भन्नु प¥यो, म सन्तुष्ट नै छु ।
तपाईले सञ्चालन गरिरहेको “भिमनगर साप्ताहिक” कस्तो चलिरहेको छ ?
—राम्रै छ, पाठक वर्ग र आम जनताको बिचमा एउटा नियमित पत्रिकारको रुपमा राम्रो प्रतिष्ठा कमाएको छ ।
कञ्चनपुर जिल्लाको पत्रकारितालाई कसरी मुल्याँकन गर्नु भएको छ ?
— जनताले स्थानीय, राष्ट्रिय सञ्चारमाध्यमप्रति लगाव वढाईरहेका छन । बिगतको भन्दा अचेल पत्रकारिताप्रति स्थानीयवासीहरुको रुची पनि बढ्न थालेको छ । पत्रिका पढ्ने, सुन्नेहरुको संख्या बढ्दै गएको छ । पत्रकारिता पेशा राम्रो हो तर कस्तो व्यक्ति पत्रकार हुने भन्ने कुनै मापदण्ड वनाईएको छैन । बहुसंख्यक पत्रकारहरु पत्रकारिता क्षेत्रको शैक्षिक पृष्ठभूमी नभएका व्यक्तिहरु छन । यस जिल्लाको पत्रकारिता प्रयोगात्मक नभएर साभार गर्ने चलन बढी छ । आफ्नो प्रयास÷अभ्यास गर्नु भन्दा पनि राष्ट्रियस्तरका समाचार पत्र र अनलाईन पत्रिकाहरुवाट समाचार संकलन गर्ने अनि त्यसैलाई सामान्य सम्पादन गरेर प्रकाशन गर्ने गरेको पाईन्छ । पत्रकारहरुले आफ्नै मौलिकता प्रयोग गरेर पत्रकारिता सञ्चालन गरेका छैनन् ।  
मोफसलमा वसेर पत्रिका सञ्चालन गर्दै हुनुहुन्छ, चुनौतीहरु के के हुन जस्तो लाग्छ मोफसल पत्रकारिताका ?
— पहिलो चुनौती भ्रष्टाचार भएको, कतै अनियमितता भएको वा अन्य यस्तै प्रकारको समाचार प्रकाशन भईसकेपछि त्यो समाचारको सामना गर्नु हो । समाचारलाई लिएर पत्रकारको ज्यान मार्ने धम्की समेत आउने गरेका छन । यो पत्रकारिता पेशा जोखिमपूर्ण छ । दोश्रो, बिज्ञापनको दायरा सिमित छ, अन्य आर्थिक आधारहरु पनि केही छैनन् त्यसकारण सञ्चारमाध्यमहरुले र सञ्चारकर्मीहरुले आर्थिक संकट खेपिरहनु परेको छ । तेश्रो कुरा के छ भने सञ्चार क्षेत्र पनि बिभिन्न राजनीतिक बिचारको बन्दनमा परेको छ, जसका कारण पत्रकारहरुका भिन्न भिन्न राजनीतिक संगठनहरु निर्माण भएका छन । त्यसकारणले पनि सञ्चारकर्मीहरुका बिचमा अस्वच्छ प्रकारको प्रतिस्पर्धा सुरु भएको छ । यो पनि एक प्रकारको चुनौती हो ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— सरकारले मोफसल पत्रकारिताको बिकासका लागि सहुलियत प्रदान गर्नुपर्छ र केन्द्रीय सञ्चारमाध्यमका लागि वनाईएको नीति भन्दा फरक नीति मोफसल पत्रकारिताका लागि ल्याउनु पर्छ किनभने केन्द्रीय र मोफसल पत्रकारिताका लागि एउटै नीति प्रभावकारी हुँदैन । राज्यले ठुला बिज्ञापनहरु राष्ट्रिय सञ्चारमाध्यमवाट प्रकाशन गर्ने गरेको छ तर म के बिश्वास गर्छु भने राष्ट्रिय सञ्चारमाध्यमभन्दा बढी मोफसलका सञ्चारमाध्यममा आम मान्छेको पहुँच रहेको छ । सवै मान्छेले राष्ट्रियस्तरको पत्रिका पढ्न सक्ने सम्भावना छैन । त्यसैले बिज्ञापनहरु स्थानीय पत्रपत्रिकामा प्रकाशन भएकालाई पनि स्वीकार गर्नुपर्छ । त्यस्तै छापा सञ्चारमाध्यमको बिकासका लागि राज्यले थप सहयोगको नीति ल्याउनु पर्छ ।
मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ?
— महासंघको भुमिका पनि खासै महत्वको देखिएको छैन ।
मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ?
— यि संगठनहरुले फरक–फरक राजनीतिक दलका बिचारहरुको अनुसरण गरिरहेका छन जसका कारण पत्रकारहरुमा बिवाद सृजना गरेको छ । मैले माथीनै भनिसके यि संगठनहरुका कारण पत्रकारहरुकाबीच अस्वच्छ प्रतिस्पर्धा सुरु भएको छ । यो वाहेक अरु केही पनि भएको छैन ।
तपाइकंो विचारमा पत्रकारिता के हो ?
— सूचनाको पारदर्शीता, सूचना आदानप्रसाद र समाज कल्याण नै पत्रकारिता हो जस्तो मलाई लाग्छ ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ, तराईतिरको अवस्था कस्तो पाउनु भएको छ ?
— यस वारेमा मलाई कुनै जानकारी छैन ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ?
— म यस्ता खालका अभ्यासमा लागेको पनि छैन र लाग्ने मान्छे होईन ।
अन्त्यमा केही भन्न मन लागेको छ ?
— पत्रकारिता पेशा राजनीतिवाट टाढैं रहनुपर्छ र सत्यतथ्य समाचार मात्रै प्रकाशन तथा प्रसारण गर्नु पर्छ ।

लोकसेवाको तयारीको लागि उपयोगी
सम्भावित बिषयगत पश्नहरु ः
१. सार्क राष्ट्रका राष्ट्रिय दिवसहरु उल्लेख गर्नुहोस ।
—सार्क राष्ट्रका राष्ट्रिय दिवसहरु निम्न अनुसार रहेका छन ः
नेपाल — जेष्ठ १५ गते, गणतन्त्र दिवस
भारत — जनवरी २६, गणतन्त्र दिवस
पाकिस्तान — जनवरी २३, गणतन्त्र दिवस
बंगलादेश — डिसेम्वर २६, बिजय दिवस
भुटान — डिसेम्वर १७, राष्ट्रिय दिवस
श्रीलङ्का — फेव्रुअरी ४, स्वतन्त्रता दिवस
माल्दिभ्स — जुलाई २६, स्वतन्त्रता दिवस
अफ्गानिस्तान — अगस्ट १९, स्वतन्त्रता दिवस
२. बिश्वको पहिलो कानुन म्याग्नाकार्टा वारे उल्लेख गर्नुहोस ।
— म्याग्नाकार्टालाई वेलायती जनताको स्वतन्त्रताको प्रथम महाधिकार पत्र मानिन्छ । यसमा हस्ताक्षर जुन १५ सन १२१५ मा भएको थियो । म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा जोन हुन भने हस्ताक्षर गर्न वाध्य पार्ने व्यक्ति ईङ्गलिस वार्नोस हुन । सन १२२५ मा संसोधनपछि जारी गरिएको फाईनल म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा भने हेनरी तृतीय हुन । यो बिश्व ईतिहासमा मानवअधिकार सम्वन्धि पहिलो लिखित दस्तावेज हो । म्याग्नाकार्टाको दफा ३८, ३९ र ४० मा व्यक्तिगत स्वतन्त्रता र अधिकारको वर्णन गरिएको छ ।
३. बिश्व मानचित्रमा नेपालको अवस्थिति वताउनुहोस ।
— नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग किलोमिटर रहेको छ । नेपालले बिश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिसत भु–भाग र एसियाको ०.३ प्रतिसत भु–भाग ओगटेको छ । नेपाल ८० डिग्री ४ मिनेट पुर्वी देशान्तर देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म तथा २६ डिग्री २२ मिनेट उत्तरी अक्षांस देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांसबीच अवस्थित छ । नेपालको औषत लम्वाई ८ सय ८५ किलोमिटर र औषत चौडाई एक सय ९३ किलोमिटर रहेको छ । यसको सवभन्दा बढी चौडाई दुई सय ४१ किलोमिटर तथा सवभन्दा कम चौडाई एक सय ४५ किलोमिटर रहेको छ । नेपालको प्रमाणिक समय  गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ । यो प्रमाणिक समय अन्तराष्ट्रिय तिथि रेखा ग्रिनवीचको समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय बिक्रम सम्वत् २०४२ साल बैशाख १ गतेदेखि लागु गरिएको हो ।
४. “आईरन डोम” भनेको के हो ?
— बिरोधीवाट प्रहार भएको रकेट भूईमा खस्न नभ्याउँदै आकाशमै निस्तेज (म्ष्कउयकभ) पारिदिने शक्तिशाली यन्त्रलाई आईरन डोम भनिन्छ । हाल यो शक्तिशाली यन्त्र ईजरायलले प्रयोग गरिरहेको छ । ईजरायली सेनाले यस्तो रकेट यदि मानिसको वस्ती नभएको क्षेत्रमा खस्दैछ भने खस्न दिने तथा वस्ती वा मानवीय चहलपहल भएको क्षेत्रमा खसिरहेको अवस्थामा आकाशमै ध्वस्त पारिदिने गरिरहेको छ ।
५. अस्ट्रेलियाको बिजनेस रिभ्यु बिक्लीका अनुसार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अस्ट्रेलियाका हाल कतिऔं धनि व्यक्ति हुन ?
— केही समय अघि अष्ट्रेलियाको बिजनेस रिभ्यु बिक्लीका अनुसार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले हाल एक सय ५० औं धनि व्यक्तिका रुपमा रहेका छन । गत वर्ष (सन २०१३) भन्दा ३० स्थान माथी उक्लेका घलेको सम्पत्ति सात करोड अष्ट्रेलियन डलर रहेको छ । सन १९९० मा नेपालको लमजुङ जिल्लावाट बिद्यार्थीको रुपमा अष्ट्रेलिया गएका घलेले आफ्नै मिहिनेत र लगनवाट यो स्थान वनाएका हुन ।
६. गोताखोर भनेको के हो ?
— पानीभित्र दुर्घटना हुँदा उद्दारका लागि खटिने प्राबिधिक जनशक्तिलाई गोताखोर भनिन्छ । केही समय अघिसम्म नेपालमा गोताखोर नभएको हुँदा पानीमुनी दुर्घटना हुँदा बिदेशवाट यस्तो शक्ति ल्याउनु पथ्र्यो तर अहिले नेपालमा पहिलो पटक बंगलादेशवाट तालिम लिएका २५ जनाको जनशक्ति तयारी अवस्थामा सशस्त्र प्रहरी वल बिपद् व्यवस्थापन शाखामा रहेको छ । नेपालको गोताखोर मध्यम खालको भएको र यसले पानीमुनी एक सय ९० फिटको गहिराईसम्म गएर उद्दार गर्न सक्छ ।
७. कागजी शेयर प्रमाणपत्रलाई डिजिटलाईज्ड गरी अनलाईन कारोवार गर्न नेपाल स्टक एक्सचेन्जले स्थापना गरेको सहायक कम्पनी कुन हो ?
— काजगी शेयर प्रमाण पत्रलाई डिजिटलाईज्ड अनलाईन कारोवार गर्न नेपाल स्टक एक्सचेन्जले स्थापना गरेको सहायक कम्पनीको नाम सिडिएस क्लियरिङ्ग हो । स्टक एक्सचेन्जले बिक्रम् सम्वत् २०६८ सालमा शेयर कारोवारलाई आधुनिक वनाउन यो कम्पनी स्थापना गरेको हो ।

साहित्य÷सृजना
मोवाईललाई सलाम
मोवाईललाई मेरो सलाम छ
मलाई भन्दा झन मिठो लाग्ने माईतीघर त्यागी पछाडी लाग्ने
जीवन साथी जुटाई दिने रातदिन वोल्दा कहिल्लै नथाक्ने
मोवाईललाई मेरो सलाम छ
पैशा हाले सरसरती वोल्ने भित्री मनको वह तुरुन्त पोख्ने
काली गोरी केही नभन्ने मायाको लागि जीवनै धोक्ने
मोवाईललाई मेरो सलाम छ
दुःख सुखको बिचारै नगर्ने जाती पाती केही नभन्ने
उसैको लागि मरी मेट्ने काली पाउन संसारै ढोग्ने
मोवाईललाई मेरो सलाम छ
बिश्व ब्रह्माण्ड त्यसैमा अट्छ वोल्दै गए पैशा घट्छ
मायाप्रिति दिनदिनै बढ्छ मोवाईलमा वोल्न रातदिन खस्छ
मोवाईललाई मेरो सलाम छ ।
गोबिन्दप्रसाद श्रेष्ठ
सिलगढी, डोटी

खै फुर्सद ?    
आफ्नै मात्र छ पीर ताप मनमा आफ्नै समस्याहरू
अल्झे भैmँ मनमा छ नित्य किन खै ! देखित्र केही अरू ।
आफ्नै भैmँ गहिरो चसक्क अरूको पीडा कहाँ दुख्छ र ?
सन्चो छैन कि ए !  भनेर अहिले सोध्ने कहाँ फुर्सद ?
व्यस्तै–व्यस्त सबै हतार छ सधैँ एक्लो छ मान्छे यहाँ
चारैतर्पm छ भीडभाड सजिलै सक्थ्यो छिचोल्नै कहाँ ?
बढ्दैछन् बलिया फटाफट यहाँ, निर्धाहरू सोतर
बाटोमा निहुरी उठाउन अहो ! को झिक्छ खै फुर्सद ?
विद्वान् ट्युसनमा, सधैं क्लिनिकमै छन् व्यस्त रे डाक्टर
साच्चैँ फुङ्ग छ अस्पताल, अलिनो लाग्दैछ शिक्षालय ।
पैसा फल्छ लदाबदी अब जता मान्छे उतै व्यस्त छ
सेवा, सत्य, इमानका पछि त्यसै लाग्ने कहाँ फुर्सद ?
पाए जो पनि बत्रसक्छ बलियो झण्डा र डण्डा यहाँ
आउत्रन् अब क्वै सम्हाल्न जनता छोडेर इन्द्रासन ।
सत्ता–सख्खरमा चपक्क कमिला बत्रे भए शासक
धीमान् मै अब राजनीति गहिरो बुझ्ने कहाँ फुर्सद ?
खुल्दैछन् अब बेहिसाब यसरी साहित्य संस्थाहरू
आपैmँ मात्र दुरुस्त, सुन्दर, सफा, बेठीक लाग्छन् अरू ।
खेदो खत्र र एक–आपस सधैँ लड्नै यहाँ ठिक्क छ
यो कोलाहल भित्र आज कविता पढ्ने कहाँ फुर्सद ?
प्रभा भट्टराई आचार्य
सरित संगमवाट

गजल
गालीभित्र प्रसंसाको खोजी गर्न थालौं साथी
निराशाको पर्खाल तोड्न पाईला अघि चालौं साथी
बुझ्न सके यही जीवन रंगीचंगी हराभरा
अपुग, भत्कोष, असन्तुष्टि आजैवाट फालौं साथी
सहयात्रा संगै गरे हामी सवै जित्न सक्छौं
असमानता, बिभेद फल्ने बृक्षहरु ढालौं साथी
अन्धकार रहदैन दृष्टि हाम्रो सही भए
चेतनाले भरीपूर्ण बल्वहरु वालौं साथी
गणेश जोशी

सूचना÷बिज्ञापन
सामुदायिक विकास केन्द्र डोटी
कर्मचारी आवश्यकता सम्बन्धी सुचना
     प्रथम पटक सूचना प्रकासित मिति ः २०७१÷६÷२६ गते
वल्र्ड भिजन ईन्टरन नेसनल ९ध्यचमि ख्ष्कष्यल क्ष्लतभचलबतष्यलब०ि नेपालको सहयोग तथा  जिल्ला  शिक्षा कार्यालय डोटीको समन्वयमा सामुदायिक विकास केन्द्र ९ऋयmmगलष्तथ म्भखभयिऊभलत ऋभलतचभ०, डोटी को संयुक्त साझेदारीमा डौड, तोलेनी, खातिवडा, कलेना, बगलेक, खिर्सैन र गैरागाउँ गा.वि.स.मा सञ्चालन हुन गईरहेको  म्यतष्, भ्बकत भ्मगअबतष्यल एचयवभअत मा तपशिल बमोजिम     कर्मचारी आवश्यकता परेको हुदाँ आवश्यक योग्यता पुगेका इच्छुक उमेदबारहरुबाट सूचना प्रकाशित मितिले ७ दिनभित्र आफ्नो ब्यक्तिगत बिवरण ९द्यष्य(मबतब० मा २ जनाको च्भाभचभलअभक, सहित निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाण पत्र र अनुभवको प्रमाणको प्रतिलिपी १÷१ प्रति  संस्थाको ठेगाना सिलगढीमा कार्यालय समय भित्र आईपुग्ने गरि पठाउनु पर्ने छ ।  
आवश्यक संख्या ः २ जना (१ जना महिला)  
पद ः परियोजना सहायक
कार्यअवधि ः सेप्टेम्बर २०१५ सम्म
सेवा÷सुविधा ः संस्थाको नियमानुसार
न्यूनतम शैक्षिक योग्यता तथा कार्यअनुभव ः
ड्डमान्यता प्राप्त  शिक्षण संस्थाबाट शिक्षा बिषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको,
ड्डसमाज परिचालन तथा बाल बालिकाको क्षेत्रमा १ बर्ष कार्यअनुभव प्राप्त गरेको,
ड्डसमुदाय तथा अन्य सरोकारवालाहरुसंग समन्वय गर्न सक्ने,
ड्डअसल अन्तरब्यक्ति सम्बन्ध र प्रभावकारी सञ्चार सीप भएको,
ड्डग्रामिण समुदायमा उदाहरणीय ब्यक्तिको रुपमा प्रस्तुत हुन सक्ने,
ड्डअंग्रेजी भाषामा राम्रो  ज्ञान भएको (बोल्न र लेख्न जान्ने),
ड्डकार्यावधिभर सामुदायिक विकास केन्द्र, डोटीसँग आबद्ध भई ग्रामीण समुदायमा नै रहि काम गर्ने प्रतिवद्धता भएकोे,
ड्डआधारभुत कम्प्युटर तालिम प्राप्त गरि सो अनुसार कार्य गर्न सक्ने,
दरखास्त बुझाउने  अन्तिम मिति ः २०७१÷०७÷०२ गते कार्यालय समय भित्र
परीक्षाको किसिम ः छोटो सूचि, लिखित, मौखिक, प्रयोगात्म तथा समुह छलफल (छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र परीक्षामा समावेश गरिने छ, परीक्षा मिति ः २०७१÷०७÷०३ गते बिहान १०.०० देखि सञ्चालन गरिने छ ।  
पदपुर्ति समिति
सामुदायिक विकास केन्द्र डोटी
 सम्पर्क फोन न. ०९४–४११०८१
नोट ः  कसैको भनसुन आएमा निजको दरखास्त रद्द गरिनेछ ।


No comments:

Post a Comment