Thursday, October 9, 2014

बिम्ब नेपाली साप्ताहिक, मिति २०७१ साल असोज २१ गते मंगलवार

गरिबी, अन्याय, अत्याचार, भ्रष्टाचार, अशिक्षा, जातीय भेदभाव हाम्रा शत्रु हुन् । यसका विरूद्ध सबै सचेत, सजग र क्रियाशील रहनु पर्दछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार 

डोटीको छतिवनमा यात्रुवहाक बस दुर्घटना
३० को मृत्यु ६७ घाईते मृतकको संख्या अझै बढ्न सक्ने अनुमान
डोटीको जोरायलवाट कैलालीको धनगढीतर्फ गईरहेको यात्रुवहाक बस डोटीको बुडर जोरायल सडक खण्डमा सोमवार भएको दुर्घटनामा मृत्युहरुमध्ये ३० जनाको सनाखत् भएको छ  । ६७ जना घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक उद्धवदेव भट्टका अनुसार करीव एक सय २० जना सवार रहेको उक्त बस दुर्घटनामा परी हालसम्म मृत्यु हुनेहरुमध्ये १४ पुरुष, १२ महिला र ४ बालिका गरी ३० जनाको सनाखत् भईसकेको छ । छतिवन गाबिस–५ कठ्पट्टेमा भएको उक्त दुर्घटनामा परी घाईते हुनेहरु कैलालीको अत्तरिया, धनगढी र भारतमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।  
मृत्यु हुनेहरुमध्ये डोटी सरस्वतीनगर गाबिस–४ का ५४ बर्षीय दानबहादुर साउँद, सोही गाबिस–५ का २८ बर्षीय          रेवन्तदिप खडायत, २९ बर्षीया पद्मा जोशी रहेका छन । यस्तै वडा–६ का ५० बर्षीय कृष्णराज भण्डारी, १६ बर्षीय भूमिराज भण्डारी, वडा–८ का ३० बर्षीय टेकराज भट्ट, २७ बर्षीय पशुपति भट्ट, १६ बर्षीय जानकी भट्ट र नेपाली सेनामा कार्यरत सोही वडाका ३२ वर्षीय नबराज भट्ट  रहेका छन । 
वडा–९ का ३५ वर्षीय हरि कठायत, वडा–२ का ५ बर्षीया बालिका बसन्ती ओझा, ३० बर्षीय चक्रबहादुर बिक, ३० बर्षीय पत्रकार कर्णबहादुर शाही, ६५ बर्षीय हरिना ओझा, डेढ बर्षीय बालक रोहित बोहरा, ४५ बर्षीय राजेन्द्र शाही र ४५ बर्षीय भागरथी ओझाको पनि दुर्घटनामा ज्यान गएको छ । त्यस्तै ज्यान गुमाउनेमा वडा–३ का ३० बर्षीया शान्ति मल्ल र वडा–१ का २० बर्षीया सकुन्तला मल्ल रहेका   छन ।
यसैगरी मृत्यु हसनेहरुमा लक्ष्मीनगर गाबिस–५ का ३० बर्षीय टेकेन्द्र गिरी, २८ बर्षीया ईन्द्रा गिरी, वडा–१ का ३४ बर्षीय ३४ बर्षीया शान्ति देबी कपड्याल, बर्छैन गाबिस–१ निवासी ३० बर्षीय लक्ष्मी कलेल छन । कैलाली जिल्ला उदासीपुर गाबिसका ३२ बर्षीय मुकेश सार्की, कैलाली चुवा गाबिस–४ की २६ वर्षीया भागरथी बडुवाल, ४ बर्षीय बालिका जिनिशा बडुवाल, डडेल्धुरा आलिताल गाबिस–१ का ९ बर्षीय बालिका दिपिसा बोहरा, अमरगढी नगरपालिका–४ निवासी ३५ बर्षीय लक्ष्मण ठकुराठी र १ बर्षीय बालिका सन्ध्या ठकुराठी   रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक उद्धबदेब भट्टले जानकारी दिए । 
उक्त बसमा करीव एक सय १० जना सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरुमध्ये पिडितको अनुरोधमा २ जनाको डडेल्धुरा र अन्यको घट्नास्थलमै पोष्टमार्टम भईरहेको डोटीका   प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए । 
 घाईतेहरु मध्ये १६ जनाको कैलालीको सुदूर पश्चिम सामुदायिक अस्पतालमा, ३१ जना पद्मा अस्पतालमा र कैलालीका बिभिन्न अस्पतालमा र २० जना घाईतेलाई थप उपचारको लागि भारत पठाईएको छ । बस सडक वाट करीव तीन सय मिटर तल खसेको थियो । घटनालगत्तै स्थानीयवासीहरुले घाईतेहरुको उद्दार कार्य सुरु गरेको स्थानीय लोकवहादुर थापाले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र     प्रहरी र नेपालीले सेनाले पनि उद्दारमा सहयोग गरेको थापाले वताए । 
घटना भिमदत्त राजमार्ग देखि करीव १३ किलोमिटर भित्र कच्ची सडकमा भएका कारण घाईतेहरुलाई समयमै उपचारका लागि पठाउन यातायतका साधनहरुको नपाईएको स्थानीय नरवहादुर कपड्यालले जानकारी दिएका थिए ।
घटनाको एकिन कारण थाह हुन नसकेपनि क्षमताभन्दा बढी यात्रुहरु भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीयवासीहरुको अनुमान छ । डोटीका प्रहरी उपरीक्षक शाहले कच्ची सडक र क्षमताभन्दा वढी यात्रु भएका कारणनै दुर्घटना भएको हुन सक्ने जानकारी दिए । 
बर्षाका कारण बन्द भएको उक्त कच्ची सडकमा सो बस पहिलो पटक गएको थियो । दशैं मनाएर आफ्नो गन्तव्यतिर फर्केका र दशमी पछि पनि आफन्तहरुकोमा गएर टिका टाला गर्नेहरु दुर्घटनामा परेका छन ।

सम्पादकीय 
भावपूर्ण श्रद्धाञ्जली 
हिन्दु धर्मावलम्वीहरुको महान चाँड दशैंको चहल पलह सेलाउन नपाउँदै डोटीमा भएको बस दुर्घटनावाट २९ जनाले अकालमै ज्यान गुमाउनु प¥यो । डोटी डडेल्धुरा र कैलालीका जनतालाई प्रत्येक्ष रुपमा प्रभावित पारेपनि सिंगो नेपाललाई यस घटनाले मर्माहित वनाएको छ । दुर्घटनामा परि मृत्युबरण गर्नुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै सोकाकुल परिवारजन हार्दिक समवेदना प्रकट गर्दछौं । 
दुर्घटनामा परी ६८ जना घाईते भएका छन । घाईतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ । घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाईतेहरुको उपचारमा गम्भिर हुन सरकारसंग जोडदार अनुरोध पनि छ । 
एक घटनाले थुप्रै समस्याहरुको जन्म दिएको छ । उमेरले ८० नाघेका, शरीर कोप्रो परेकाहरुले आफ्ना युवा छोरा गुमाएका छन । परिवारको आयश्रोत जुटाउने श्रमयोग्य जनशक्ति गुमाएका छन । बिवाह भएको ६ महिना पनि नपुग्दै श्रीमानले श्रीमति गुमाएका छन, श्रीमतिले श्रीमान गुमाएका छन । दुःख के हो र पिडा के हो भन्ने सम्म पनि अनुभव नभएका अवोध वालवालिकाहरुले आफ्ना आमा बुवा गुमाएका छन । आफन्त, साथी मित्र गुमाएका पनि छन । 
यो अवस्था निम्त्याउनको मुख्य दोषी को हो ? कस्का कारण यो समस्या आईलाग्यो खोजी हुनु जरुरी छ । जीप चलाउनका लागि वाटो वनाईएको छ, बस चलाईएको छ । सडक परमिट छैन तर बस व्यवसायी समितिले वस चलान गर्छ, काउण्टरवाट टिकट पनि काट्छ । कच्ची साँगुरो वाटोमा बस गईरहेको छ तर प्रहरीले देख्दैन । ४० जनाको मात्रै सिट क्षेमता भएको गाडीमा एक सय १५ जना यात्रुहरु वस्छन, यात्रुहरु स्वयंले पनि जोखिमको अनुमान गर्दैनन् । 
गाडी छुट्ने ठाउँमै ईलाका प्रहरी कार्यालय छ, यतिका यात्रु चढाउदा पनि उस्ले केही वोल्दैन । अव कस्लाई दोषी   भन्ने ? दोषी सवै छौं । सिट क्षेमताभन्दा वढी यात्रु वोक्नेहरु, सवार गर्नेहरु, भिडभाड भएको बसमा सवार गर्न पठाउने आफन्तहरु, सुरक्षाको जिम्मा लिएका निकायहरु, साँगुरो वाटोका लागि चलान काटेर बस पठाउने बस व्यवसायी समिति, गाडीको समेत माया मारेर क्षणिक पैसा मात्र हेर्ने बस मालिक, क्षमता भन्दा तेव्वर लोड भईसक्दा पनि वास्ता नगर्ने चालक, सवैको दोष छ । 
आफ्ना कमीकजोरी सवैले सच्याउनु जरुरी छ । यो दुर्घटनावाट सवैले पाठ सिक्नु जरुरी छ । अव बढी मान्छे वोक्दा दुई सय रुपैयाँ राजश्व लिएर छोड्ने होईन, यात्रुहरुलाई झार्न लगाईनु पर्छ अनि मात्र सवारी साधन पठाईनु पर्छ । यातायत सम्वन्धि कानुनमै सुधार ल्याउनु जरुरी छ । यातायत प्रहरीले चलान काट्ने भनेको अपराध गर्ने अनुमति दिने होईन ।      अपराध रोकेर अपराध गरे वाफतको सजाय स्वरुप जरिमाना लिने हो । 
त्यसैले कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ र कानुनमा परिमार्जन गर्नु पर्छ भने त्यसका लागि पनि तयार हुनु पर्छ । सरकारले दुर्घटना हुने बित्तिकै छानविन समिति गठन गर्ने तत्परता मात्रै देखाउने तर दुर्घटना रोक्नका लागि तत्परता नदेखाउने हो भने समस्या समाधान हुँदैन थपिन्छ मात्रै । त्यसैले यस घटनावाट सवैले पाठ सिक्नु जरुरी छ । 

थप समाचार 
शिक्षकद्वारा क्लिनिक सञ्चालन
औषधी पसल वा क्लिनिक सञ्चालन गर्नका लागि स्वास्थ्य प्राबिधिक बिषय अध्ययन गरेको हुनुपर्छ । त्यतिले मात्र पुग्दैन औषधी व्यवस्था बिभागवाट ईजाजत पत्र पनि लिनु पर्ने हुन्छ । अनि मात्र योग्य व्यक्तिले औषधी पसल सञ्चालन गर्न पाउँछ । 
तर डोटीको एक गाउँमा एक जना स्थायी शिक्षकले बिना ईजाजत औषधी पसल सञ्चालनमा ल्याएका छन । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने डौड गाबिस–३ मा प्राथमिक तहका स्थायी शिक्षकले गाउमै औषधी पसल सञ्चालन गरी उपचार बिरामीको उपचार गरिरहेका छन । 
डौड गाबिस–३ घङारेको कालिका प्राथमिक बिद्यालयका प्रधानाध्यापक समेत रहेका शिक्षक रामदेव शाहले गाउमै औषधी पसल राखेर उपचार गराउने गरेको पाईएको हो । स्थानीय बासिन्दाहरुका अनुसार शिक्षक शाह बिगत ६÷७ बर्ष देखि गाउमा औषधी पसल सञ्चालन गर्दै आएका छन । औषधी बिक्री बितरण र उपचार सम्बन्धी सामान्य तालिम पनि नलिएका प्रधानाध्यापक शाहले नियमित उपचार गर्ने गरिरहेका छन । “तालिम लिएको नलिएको थाहा भएन” स्थानिय ३६ बर्षि कलसी बोगटीले भनिन् ‘औषधी पाईन्छ भन्ने सुनेपछि गाउमा कोही बिरामी भएपछि उपचारका लागि उक्त पसलमा जाने गरेका छौं ।’  
बिद्यालयका प्रधानाध्यापकनै पठनपाठनसंगै औषधी उपचारमा संलग्न भएपछि बिद्यालयको दैनिक कार्य सञ्चालनमा समेत बाधा पुगेको नाम उल्लेख नगर्ने शर्तमा बिद्यालयका एक शिक्षकले भने । ‘पढाईरहेको समयमा समेत बोलाएर लगेर औषधी उपचार गर्न लगाउछन् औषधीको मुल्य चर्को छ तर निको भएको सुनेको छैन’ ति शिक्षकले भने ‘उपचार गरिसकेपछि अन्यन्त्र प्रेषण गर्ने गरिएको छ ।’ 
जिल्लामा ग्रामिण स्वास्थ्य कार्यकर्ता तथा अनमीहरुले बिना ईजाजत जिल्लाका बिभिन्न स्थानमा औषधी पसल मार्फत उपचार गरिरहेको ब्यापक जनगुनासो आईरहेका बेला प्राथमिक तहका शिक्षकबाट निर्धक्क साथ मेडिकल सञ्चालन गरिरहेको कुराप्रति सम्वन्धित निकाय वेखवर हो वा खवर पाएर पनि मौन हो त्यो भने जानकारी हुन सकेन । 
यस बिषयमा बुझ्ने प्रयास गर्दा डोटी जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीसंग टेलिफोन सम्पर्क हुन सकेन । जिल्ला शिक्षा कार्यालय डोटीमा यस वारेमा कुनै जानकारी नभएको पाईयो । जिल्ला शिक्षा अधिकारी बसन्तबहादुर खत्रीले भने ‘जिल्ला शिक्षा कार्यालयमा कुनै जानकारी छैन’ जिशिअ खत्रीले भने ‘अहिले म जिल्ला वाहिर छु, फर्केर आएपछि बुझ्नु पर्छ ।’ जिशिअ खत्रीले जिल्ल शिक्षा अधिकारीको स्वीकृति भन्दा पनि निज शिक्षकले औषधी व्यवस्था बिभागवाट ईजाजत लिएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन वताए । 
शिक्षा नियमावलीको नियम १३३ को उपनियम १(ज) अनुसार सामुदायिक बिद्यालयका शिक्षकले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति नलिई आफु वहाल रहेको बिद्यालयवाहिर काम गर्न नहुने व्यववस्था गरेको छ । प्रधानाध्यापक शाहले औषधी बेच्ने गरेको स्वीकार गरिसकेका छन् । “सामान्य ज्वरो आउदा स्थानीयवासी म कहाँ उपचार गर्न आउछन्” शाहको भनाई थियो । 

रामपुर उच्च माबि, संरचना बढ्दै, गुणस्तर घट्दै
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गवाट जम्माजम्मी तीन सय मिटरको दुरीमा रहेको डोटी जिल्ला छतिवन गाबिस–४ को   रामपुर उच्च माबि संरचनागत रुपमा जति सुन्दर देखिएको छ, नतिजा भने घट्दै छ । 
५० रोपनी जमिनमा फैलिएको बिद्यालयको क्षेत्रफललाई चारैतिरवाट घेरवार गरिएको बिद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन भईरहेको छ । १८ भवन निर्माण भएका छन, ८ शौचालय छन, खेल मैदान, खेल सामग्री र शैक्षिक सामग्री यथेष्ठ मात्रामा छ । यति हुँदाहुँदै पनि बिद्यालयले प्रवेशिका परीक्षाको नतिजामा सुधार ल्याउन सकेको छैन ।  
“प्रत्येक वर्ष नतिजा घट्दै गईरहेको छ, संरचना मात्रै निर्माण भईरहेका छन, जव वालवालिका–हरुको पढाई नै राम्रो हुँदैन भने किन भवन मात्रै चाहियो ?” स्थानीय अभिभावक उद्धव नेपालीको भने । उनी बिद्यालयमा प्रशासन नभएको वताउँछन । बिद्यालयमा पढाई नहुने गरेको भन्दै छोराले बिद्यालय जान पनि नमानेको अर्का अभिभावक शारदादेवी बिकले वताईन । स्थानीय समाजसेवी कृष्ण दर्लामी शिक्षकहरुबीचको मनमुटावका कारण बिद्यालयको पढाईमा वाधा परिरहेको आरोप लगाउँछन । 
त्यसो त गत वर्ष बिद्यालयले आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा डोटीका तत्कालीन जिल्ला शिक्षा अधिकारी गणेशवहादुर सिंहले बिद्यालयमा शिक्षकहरुका तीन छुट्टाछुट्टै गुट रहेका सार्वजनिक रुपमै वोलेका थिए । सिंहले शिक्षकहरुका गुटलाई अभिभावक–हरुले ठेगान लगाउनु पर्ने समेत सुझाव दिएका थिए । 
तत्कालीन जिशिअ सिंहको भनाईप्रति कडा आपत्ति व्यक्ति गर्छन शिक्षक टेकराज भण्डारी । उनी भन्छन “कुन आधारमा जिशिअले यस्तो कुरा गर्नु भयो मलाई पनि थाह भएन तर हामी शिक्षकहरुकाबीचमा कुनै त्यस्तो मनमुटाव छैन ।” 
युनाईटेड मिसन टु नेपाल (युएमएन) डोटी क्लष्टरको सहयोगमा बिद्यालयमा कक्षा ६ सम्म वालमैत्री शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन भएको छ । बिद्यालयको भौतिक पुर्वाधार निर्माणमा युएमएनले राम्रो सहयोग गरेकोमा उक्त संस्थालाई धन्यवाद दिन्छन नेपाली कांग्रेस छतिवनका प्रतिनिधि रमेश पाठक । पाठकले युएमएनले जसरी बिद्यालयको भौतिक बिकासमा सहयोग गरेको छ, त्यो हिसावमा शैक्षिक प्रगति हुन नसकेको वताए । 
“हराभरा बिद्यालय, रंगीचंगी कक्षाकोठा र सृजनशिल सिकाईको अवधारणा अनुसार आफुहरु अगाढी बढिरहेको वताउँछन बिद्यालयका प्राचार्य टेकवहादुर वोगटी । वोगटीले बिद्यालयले प्रत्येक बर्ष शैक्षिक गुणस्तरमा सुधार गर्दै आएको दावी गरे । उनले भने “हामीले प्रत्येक वर्ष बिधिवत् रुपमा सामाजिक परीक्षण गर्ने गरेका छौं, सो सामाजिक परीक्षणमा हामीले प्रस्तुत गरेको प्रतिवेदनलाई अध्ययन गर्नु हुन्छ भने हाम्रो सिकाई उपलव्धी बढ्दै गएको छ ।” शिक्षकहरुका बिचमा कुनै पनि प्रकारको मनमुटाव नरहेको र बिद्यालयको प्रशासन राम्रोसंग चलिरहेको वताउँछन प्राचार्य वोगटी । 
बिद्यालय प्रशासनले आफुले भनेको सुझाव कार्यान्वयन नगरेको कारण सिकाई उपलव्धी हासिल गर्न नसकेको वताउँछन बिद्यालयका शिक्षक एवं पूर्व प्रधानाध्यापक पदमराज भट्ट । 
२०१८ सालमा प्राथमिक तह स्थापना भई निमाबि, माबि हुँदै २०६४ सालमा उच्च माबिमा पुगेको यस बिद्यालयमा बिशेष शिक्षा अन्तरगत सुस्त श्रवणका वालवालिकाहरुका लागि १ देखि ८ सम्म बिशेष कक्षाहरु समेत सञ्चालनमा रहेका छन । हाल बिद्यालयमा सात सय १५ बिद्यार्थीहरु अध्ययन गरिरहेका छन भने शिक्षक कर्मचारीहरु गरी २१ जनाले प्रत्येक्ष रोजगारी पाएका छन । 
लोभलाग्दो रमणीय वातावरण भएको बिद्यालय हाताभित्र प्रवेश गर्दा कसैलाई पनि फर्कने मन लाग्दैन । कक्षा शिक्षकहरुले बालमैत्री शिक्षण सिकाई क्रियाकलाप गरेको देख्दा झनै रमाईलो लाग्छ । 
२०७० सालको प्रवेशिका परीक्षामा ७१ बिद्यार्थीमध्ये जम्मा पाँच जनामात्र उत्तीर्ण भएपछि बिद्यालयको आलोचना हुन थालेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरीलाल बिष्ट वताउँछन । उनी भन्छन ‘कारणवस यस वर्षको एसएलसीको नतिजा राम्रो आउन सकेको छैन, यसको अर्थ बिद्यालयको शैक्षिक गुणस्तर खस्केको भनेर पुरै नकारात्मक हुनु पर्ने वेला छैन ।’ अभिभावकहरुले पनि आफ्ना छोराछोरीको पढाईप्रति चाँसो राख्नु पर्ने बिष्टको सुझाव छ । 
युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरका बरिष्ठ संस्थागत बिकास अधिकृत नवराज जोशी बिद्यालयको शैक्षिक र भौतिक अवस्थामा क्रमिक सुधार आएको वताउँछन । ‘बिस्तारै प्रगति गर्दै गईरहेको छ, पूर्ण रुपमा सन्तुष्टि हुने ठाउँ त छैन तर पनि वाहिर हल्ला भए जस्तो खतमै पनि होईन’ जोशीले भने ।
प्रवेशिका नतिजा खस्कनुमा बिद्यालय प्रशासनको मात्र नभएर अभिभावकको पनि दोष देख्छन बिद्यालयका सल्लाहकार एवं राजनीतिज्ञ डिल्लीराज भट्ट । अभिभावकहरुले पनि आफ्ना छोराछोरीको पढाईप्रति चासो राख्नु पर्ने र समय समयमा बिद्यालयमा आएर पनि बिद्यालयलाई सल्लाह सुझाव दिनु पर्ने उनको भनाई छ ।

सडकका लागि ४१ लाख चन्दा संकलन
सरकारी वजेट नपाएपछि स्थानीयवासीहरु सडक निर्माणका लागि चन्दा संकलन गर्न थालेका छन । 
पटक पटक सम्बन्धित निकायलाई गुहार्दा समेत कसैले चासो नदेखाएको भन्दै बैतडी र डडेल्धुराका स्थानीयले अनारखोली देवलदिव्यपुर सडक खण्डका लागि ४१ लाख चन्दा दिने भएका छन । डडेल्धुरा र बैतडीका सीमानामा पर्ने अनारखोली देखि जिल्लाको कैलपाल, सकार हुदै डडेल्धुराको देवलदिव्यपुर गाविसलाई जोड्ने दुई किलोमिटर सडकका लागि कुनै पनि निकायवाट वजेट नपाईने भएपछि स्थानीयहरु चन्दा संकलनमा जुटेका हुन । 
स्थानीय जागरुक भएपछि ठुलो मात्रामा चन्दा संकलन हुन थालेको हो । डडेल्धुराका पाँच र बैतडीका चार वटा गाविसका करीब ६५ हजार  जनसंख्या प्रत्येक्ष लाभाम्बित हुने उक्त सडकका लगि अहिले १६ लाख रुपैयाँ चन्दा संकलन भईसकेको र अझै चन्दा संकलन गर्ने कार्य पनि जारी रहेको सडक निर्माण समितिका अध्यक्ष दौलत सिह ठगुन्नाले बताए ।

बावा–आमा मामाघर जानु भएको छ
“आमा मामाघर जानुभएको छ । चाँडै आउनुहुन्छ ।” पाँच वर्षीया वालिका अंकिताले अस्पतालको शैयावाट आमाको प्रतिक्षा गर्दै भनिन् । अंकिता र उनका दाई नौ वर्षीय अमृत आमालाई कुरिरहेका तर  उनीहरुकी आमा शान्ति मल्ल अब कहिल्यै फकिर्ने छैनन् ।
डोटीको छतिवन गाविसमा सोमबार भएको सडक दुर्घटनामा घाइते भएर कैलालीको सेवा नर्सिङ अस्पतालमा उपचार गराइरहेका अमृत र अंकितालाई आफ्नी आमाले सदाका लागि छोडेर गइन् भन्ने थाहा छैन । न घटना बुझ्न सक्ने परिपक्वता उनीहरुसंग छ, न त उनीहरुका आफन्तले नै उनीहरुलाई घटनाको वास्तविकता भन्न सकेका छन् ।
अस्पतालको शैयाबाट यी अबोध बालबालिका भनिरहेका छन् “हाम्री आमा चाँडै आउनुहुन्छ ।”
दशैं मनाउन आमासंगै मामाघर जाँदै गर्दा चढेको बस तीन सय मिटर तल खसेपछि दुवै दाजुबहिनी बेहोस भए । जब होस् आयो दुवै अस्पतालमा थिए । आमा आउँछिन् भन्नेमा उनीहरु ढुक्क देखिन्छन् ।
‘बसमा आमाले हामीलाई हातले समातिरहनु भएको थियो’ ९ वर्षीय अमृतले सम्झिए ‘त्यसपछि थाहा भएन ।’
उनीहरुका बाबु ज्ञान मल्ल बस चालक हुन् । दैनिक गाडी चलाएर गुजारा गर्नुपर्ने उनी काम छोडेर छोराछोरीको हेरचाहका लागि अस्पताल आइपुगेका छन् ।  
अमृत र अंकितामात्र हैन, काठमाडौंको भिएस निकेतनमा एलकेजी अध्ययनरत अस्मिता गिरी (७) ले यो भयानक दुर्घटनामा बाबुआमा दुवै गुमाएकी छन् । डोटी जोरायल घर भएका इन्द्रा मल्ल (गिरी) र टेकेन्द्र गिरी छोरी च्यापेर आमाको हातको टिका थाप्न जाँदै थिए । दुर्घटनामा उनीहरु दुवैको ज्यान गयो तर उनीहरुकी छोरी अस्मिता टुहुरी बनिन् ।
टाउको र मुखमा चोट लागेकी अस्मिताको स्थानीय पद्मा अस्पतालमा उपचार भइरहेको छ । आमाबुवा दुवैजना गुमाएपछि उनको उपचार र रेखदेख आफन्तहरुले गरिरहेका छन् । उनी पनि आफ्ना निधन भएको घटनाप्रति वेखवर छिन । मलिन अनुहार लगाउँदै उनले भनिन्, ‘आमाबुवा आउँदै हुनुहुन्छ ।’
२९ जनाको ज्यान जाने गरी भएको भयानक दुर्घटनामा बावुआमा र आफन्त गुमाएकाहरुप्रति सहानुभूति दिनेको अस्पातालमा भीड लागेको छ । 
अमृत, अंकिता र अस्मिताजस्तै आफन्त गुमाएका वालवालिकाहरु आफुन्त फर्किने आशमै वसेका छन । तर उनीहरुका आफन्तहरु भने कहिल्लै नफर्किने गरी दुनियाँवाट बिदा भएका छन । उनीहरु उक्त अकल्पनीय दुर्घटनावारे वेखवर छन । चालकको लापरवाहीका कारण भएको उक्त दुर्घटनामा चार वालवालिकाहरुले त ज्यानै गुमाउनु परेको छ ।

उच्चस्तरीय समिति गठन
२९ जनाको ज्यान जाने गरी डोटीको छतिवनमा भएको सडक दुर्घटना छानविन गर्न सरकारले एक उच्चस्तरीय छानविन समिति गठन गरेको छ । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रवीन्द्र श्रेष्ठको संयोजकत्वमा ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघका प्रतिनिधि रहेको समिति गठन गरेको छ । सरकारका तर्फबाट भौतिक पूर्वाधार मन्त्रालयले समिति गठन गरेको हो ।
समितिलाई डोटीमा भएको जस्तो बस दुर्घटना मुलुकभर कहीँ पनि दोहोरिन नदिन सरकारले चाल्नुपर्ने कदमका बारेमा सुझाव प्रतिवेदन दिन समेत अख्तियारी दिइएको छ । समितिले काम सुरु गरेको १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनु पर्नेछ । मन्त्रालयले सरकारको तर्फवाट बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । 
यसैबीच डोटीमा क्रियासिल राजनीतिक दलहरुले पनि बिज्ञप्ती प्रकाशन गर्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त  गरेका छन । बिम्ब साप्ताहिकलाई जानकारी भए अनुसार नेपाली कांग्रेस, एकिकृत नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाले बिज्ञप्ती जारी गर्दै मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । दलहरुले घटनाको निश्पक्ष छानविन गरी यस्ता घटना नदोहोरिन दिन कडा कदम चाल्नु पर्ने समेत बिज्ञप्ती मार्फत सुझाव दिएका छन ।

नगर विकास गुरु योजना अलपत्र
सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रको क्षेत्रीय सदरमुकामलाई व्यवस्थित गर्न बनाइएको दिपायल सिलगढी नगर विकास समितिको गुरु योजना कार्यान्वयनमा नहुँदा अलपत्र परेको छ ।
गुरु योजना अलपत्र भएसँगै क्षेत्रीय कार्यालयहरुका लागि नगर विकासले अधिकरण गरेको सयौं रोपनी जमिन उपयोग बिहिन छ । व्यक्तिका नाममा रहेको सयौं रोपनी जमिन अधिकरण गरेर वि.स. २०४२ सालमा दिपायल सिलगढी नगर विकासले गुरु योजना बनाएको थियो । गुरु योजना अलपत्र हुँदा सुदूरपश्चिमको सदरमुकाम देशकै पिछडिएको सदरमुकामका रुपमा चिनिँदै आएको छ । 
राजनीतिक दल र स्थानीय बासिन्दाको चाँसो र सक्रियता नहुँदा करीव ३० वर्ष अघि बनेको नगर विकासको गुरु योजना अलपत्रमा परेको हो । सयौँ रोपनी जमिन ओगटेर बसेका क्षेत्रीय कार्यालयहरुको कामकाज कैलालीको धनगढी तथा महेन्द्रनगरबाट हुँदै आएका छन् । नगर विकासको जमिन ओगटेर बसेका ३० क्षेत्रीय तथा डिभिजन कार्यालयमध्ये १६ वटा कार्यालयले मात्र भवन बनाएर सेवा दिइरहेका छन् । बाँकी १४ कार्यालयमध्य कसैले जमिन मात्र ओगटेका छन् भने कसैले भवन समेत अलपत्रमा छाडेका छन् ।

मदिराको नसामा मात्तिने महिला पनि
पुरुषले मात्रै मदिरा सेवन गरेर होहल्ला गर्छन भन्ने उहिलेको मान्यता पुरानो भएको छ । मदिरा सेवन गरी हिड्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरी   कारवाही गरेको छ । 
अत्याधिक मदिरा सेवन गरी अबेर रातीसम्म् होहल्ला गर्दै हिड्ने महिलाहरु लाई कारवाही समेत भएको छ । अबेर रातीसम्म् होहल्ला गर्दै हिड्ने ति महिलाहरु लाई वडा प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएकोमा उनीहरुलाई जनही पाँच सय जरीवाना गरी छोडिएको छ । जिल्ला सुरक्षा समितिले मदिरा सेवन गरी होहल्ला गर्ने जो कोहीलाई पनि एक सय देखि एक हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । नियन्त्रणमा लिईएका महिलाहरुलाई जरिवाना गरी छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीको मुद्धा फाँटले जनाएको छ ।

छोटकरी समाचार 
छातीमा जमरा
डोटीको खातिवाडा गाबिस–६ का नरवहादुर खड्काले दशैंमा आफ्नै छातीमा उमारेको जमरा लगाए । देश धर्मनिरपेक्ष भएको बिरोधमा उनले आफ्नो छातीमा जमरा उम्राएका हुन । 
नवरात्राको पहिलो दिन आफ्नै घरको माथिल्लो तलामा पूर्वतिर सिरानी गरी उत्तानो पल्टिएर छातीमा माटो राखी उनले जमरा राखेका थिए । जमरा राखेको दिनदेखि नरवहादुरले पानी समेत नखाई मौन ब्रत बसेका स्थानीय जगन्नाथ दाहालले वताए । दाहालका अनुसार नरवहादुरले जमरा राख्नु भन्दा पहिलेनै देशमा शान्ति स्थापना हुन नसकेको, हाम्रो हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष वनाईएको प्रति चिन्ता व्यक्त गर्दै देशलाई फेरी हिन्दु राष्ट्र कायम गर्ने शक्ति प्रदान गर्न माता भगवतीसंग प्रार्थना गर्नका लागि छातीमा जमरा राख्ने वताएका थिए । 
“नरवहादुर त्यसैपनि धार्मिक कार्यमा धेरै रुची राख्ने व्यक्ति हुन” दाहालले भने “क्षेत्रि भएर पनि उनले घरमै पुजा कोठा वनाएर साँझबिहान नियमित पुजापाठ गर्ने गरेका छन ।” ६२ वर्षीय नरवहादुरले जनताले एक पटक चुनेको संबिधानसभावाट नयाँ संबिधान निर्माण हुन नसकेको र दोश्रो पटकको संबिधानसभाले पनि नयाँ संबिधान जारी गर्ने संकेत नदेखिएकोप्रति पनि चिन्ता व्यक्त गरेका थिए । 
“नवरात्राभरीनै नरवहादुरले पानी समेत खाएनन् । उनी सो अवधीमा कसैसंग वोलेनन् पनि । नरवहादुरको छातीमा राखिएको जमराको नियमित रुपमा पुजापाठ गरिरहेका दाहालले नरवहादुरको लक्ष पुरा हुने बिश्वास गरे । 

खेल समाचार 
पदकसंगै स्वदेश फर्किन बिमला
दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकूद प्रतियोगितामा कास्य पदक विजेता विमला तामाङ् आइतवार राती स्वदेश फर्किएकी छन् । नेपालको लागि विमलाले मात्रै पदक जितेकी हुन् ।
हालै सम्पन्न एसियाली खेलकुद प्रतियोगिताको एक मात्र पदक विजेता विमला तमाङ स्वदेश फर्किएकी छिन् । १७ औं एशियाडमा पदकविहिन बनेको नेपाललाई उनले कराँते विधामा कास्य पदक दिलाएकी हुन् ।
एक मात्र भएपनि मुलुकका लागि पदक दिलाउन सफल भएकोमा विमला निकै खुशी देखिएकी छन् । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पदक जित्न सफल भएकोमा खुशी लागेको बताइन् ।
एसियाडको १६ वर्र्षपछि विमलाले कराँतेमा नेपाललाई कास्य पदक दिलाएकी हुन् । नेपाललाई एक मात्र पदक दिलाएकी विमलाको स्वागतमा खेलकूद परिषद्का पदाधिकारीहरुको भने अनुपस्थिति रहेको थियो ।

खेलाडी छनौट प्रक्रिया सुरु
राष्ट्रिय फुटवल खेलमा भाग लिनका लागि कैलाली जिल्लाको फुटबल टिम निर्माण गर्न खेलाडी छनौट प्रक्रिया सुरु भएको छ ।
देशभरिका ‘ए’ डिभिजनका नौ जिल्लाले भाग लिने राष्ट्रिय लिगका लागि कैलालीले पनि आफ्नो उपस्थिति जनाउन राष्ट्रिय टिम निर्माणको कार्य थालेको हो ।
कार्तिक २१ गतेदेखि धनगढीको क्षेत्रीय रंगशालामा तय गरिएको लिग आयोजनामा ५८ लाख रकम खर्च लाग्ने छ । रकम संकलनका लागि जिल्ला फुटबल संघ जोडतोडका साथ लागेको संघका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
खेलाडीहरुको छनोट कार्य आउँदो असोज २५ गते धनगढीको क्षेत्रीय रंगशालामा हुने छ ।
१५ वर्ष पुरा भएका खेलाडीहरुले छनोटमा भाग लिन पाउने संघका महासचिव अनिल मल्लले जानकारी दिए । छनोट प्रतियोगितामा भाग लिन पनि कैलालीका सम्पूर्ण खेलाडीलाई संघले आग्रह गरेको छ ।

पौडीवाज माईकल फ्लेप्स निलम्वित
ओलम्पिकका सर्वाधिक स्वर्ण पदक विजेता पौडीबाज माइकल फ्लेप्स ६ महिना निलम्बनमा परेका छन् ।
अमेरिकी पौडी संघले उनलाई ६ महिनासम्म कुनै पनि पौडी प्रतियोगितामा भाग लिन रोक लगाएको हो ।
नशामा गाडी चलाएको अभियोगमा उनीमाथि उक्त कारबाही भएको हो ।  फ्लेप्सले संगठनको आचार संहिता उल्लंघन गरेको संघले बताएको छ ।
फ्लेप्स ३० सेप्टेम्बरमा बाल्टीमोरमा १३५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा गाडी चलाउँदा पक्राउ परेका थिए ।
यसअघि २००४ मा पनि नशामा गाडी चलाउँदा उनीमाथि १८ महिनासम्म सवारी चलाउन प्रतिवन्ध लागेको थियो ।
२९ वर्षका फ्लेप्स केही समयका लागि पौडीबाट अवकास लिएका छन् । उनले २०१५ मा रुपमा हुने विश्व च्याम्पियनसीपमा भाग लिने छैनन् ।
माइकल फ्लेप्सले २००४ देखि २०१२ सम्मको ओलम्पिकमा १८ स्वर्णसहित २२ पदक जितेर किर्तिमान बनाएका छन ।
लण्डन ओलम्पिकपछि उनले सन्यासको घोषणा गरेका थिए । तर, अप्रिलमा फेरि पुनरागमनको घोषणा गरे ।

निर्माता संघवाट रेखा  निष्काशित
नियम विपरित ‘हिम्मतावली’ फिल्म प्रर्दशन गरेका कारण नेपाल चलचित्र निर्माता संघले अभिनेत्री तथा निर्माता रेखा थापालाई साधारण सदस्य समेत नरहने गरी संघबाट हटाएको छ । 
संघको हित र नीति विपरित कार्य गरेको भन्दै संघले प्रेस रिलिज गरी रेखालाई संघबाट निष्काशित गरेको हो । चलचित्र संघ र निर्माता संघ बीच २०६० साल साउन २३ गते भएको १९ बुँदे सहमति अनुसार शुक्रवार वाहेक अन्य दिनमा स्वदेशी नयाँ फिल्मको प्रर्दशन काठमाण्डौं उपत्यकामा गर्न नपाईने ब्यवस्था थियो । रेखाले सो सहमति पालना नगरी ‘हिम्मतवाली’ फूलपातीको दिन प्रर्दशन    गरेपछि संघले रेखा माथि कारवाही गरेको हो ।
यसैगरी “हिम्मतवाली” प्रदर्शनका लागि चलचित्र संघले १९ बुँदे सम्झौतालाई तोडेको ठहर गर्दै निर्माता संघले चलचित्र संघप्रति खेद प्रकट गरेको छ । निर्माताहरु को हकहित विपरित कार्य गरेको भन्दै दशैं सकिएलगत्तै निर्माता संघले बिशेष भेलाको आयोजना समेत गर्ने निर्णय गरेको छ । 
सञ्चार मन्त्रायलको निर्देशनलाई कार्यान्वयन गर्दै चलचित्र बिकास बोर्डले काठमाण्डौका सम्पूर्ण हललाई फूलपातीका दिनदेखि “हिम्मतवाली” रिलिज नगर्न पत्र काटेको थियो । रेखा र हल सञ्चालकले सरकारी निर्णयलाई नै अटेर गरी फूलपातीकै दिन “हिम्मतवाली” रिलिज   गरेका हुन् । बुझिए अनुसार सरकारी कार्यालय खुलेपछि रेखा र हलवालामाथि सरकारी कारवाही हुने भएको छ ।  

शिल्पालाई छवीको दशैं टिका
दशैंको अन्तिम दिन अर्थात पूर्णिमाको दिनमा निर्माता छवि ओझाले अभिनेत्री शिल्पा पोखरेललाई दशैं टीका लगाईदिए । छबिको हातको टिका थाप्न शिल्पा सोमबार बिराटनगरबाट काठमाण्डौ आएकी हुन् ।
विगतका दशैंमा अभिनेत्री रेखा थापालाई टिका लगाएर नेपालको नम्बर वान अभिनेत्री बन्नु भन्ने आशिष दिने छबिले यसपाली भने “लज्जा” अभिनेत्री शिल्पालाई दिए । पहिलो फिल्मनै छबि व्यानरको गरेकी शिल्पाले आफूले पाएको आशिर्वाद कर्म गरेरै पाउने आश गरिन् ।   
शिल्पालाई डेब्यू गराउँदै छविले बनाएको पछिल्लो फिल्म “लज्जा” आउँदो कार्तिक ७ देखि प्रदर्शन हुँदैछ । रेखा थापासंग सम्बन्ध सकिएपछि छविले शिल्पालाई नम्बर वान अभिनेत्री भन्न थालिसकेका छन् ।
 यता शिल्पाले यसपालीको दशैं “लज्जा” मय बनेको बताईन् । फिल्मीखबरसंग कुरा गर्दै शिल्पाले भनिन्, “लज्जा सफल होस् भनेर दशैंको आशिर्वाद आफैले मागें ।” गाउँघर जताततै “लज्जा” कै चर्चा गरेर दशैं मनाएको शिल्पाले बताईन् । उनी दशैं मनाउन जन्मथलो     बिराटनगर पुगेकी थिईन् । 
नवल नेपालले निर्देशन गरेको नारी प्रधान फिल्म “लज्जा” मा शिल्पा केन्द्रीय भूमिकामा छिन् । यो फिल्ममा शिल्पालाई अभिनेता आर्यन सिग्देलले साथ दिएका   छन् ।

लेख 
साक्षरता अभियान र प्रभावकारिता  
–ईश्वर भट्टराई
‘शिक्षा एउटा यस्तो चाबी हो जसले स्वतन्त्रतताको सुनौलो ढोका खोल्न सक्छ ।’
—जर्ज वासिङटन कारभेर
‘यदी कोही नराम्रो बाटोमा हिड्दैछ भने उसलाई सुमार्गमा ल्याउन उत्प्रेरणा होइन, शिक्षा दिनुपर्दछ । शिक्षाबाट नै उसले राय फेर्न सक्छ ।’
—जीम रोहन
कारभेर र रोहनले भनेझैं परिवर्तनको ढोका खोल्नका लागि शिक्षा नै प्रमुख आधार हो । बाल्मिकी ऋषिले पनि भनेका थिए ‘शिक्षा विनाको मानिस बाँदर जस्तै हुन्छ ।’ हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक लगायतका पक्षको पहिलो र महत्वपूर्ण आधारशिला शिक्षा नै हो । समुन्नत समाज एवम् स्वाबलम्बी र आत्मनिर्भर बन्न शिक्षा नै अपरिहार्य हुन्छ ।
सेप्टेम्बर आठ अर्थात राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवस यस वर्ष पनि विभिन्न नारा घन्काएर मनाइएको छ । २१ औं शताब्दीको यो पछिल्लो युगमा यो दिवस मनाइराख्दा हामी भने निरक्षरता उन्मूलनका लागि प्रयासरत छौं । यो युगमा आएर अक्षर चिन्न र छिचोल्न सिकाउने अभियान आफैंमा विडम्बना र लाजमर्दो विषय हो । हामीकहाँ शिक्षा दिवस वि.सं. २०३१ सालबाट मनाउन शुरु गरिएको हो । तत्कालीन राजा वीरेन्द्रले ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित नहुन्’ भन्ने उद्घोषका साथ दिवसको थालनी  गरेका थिए । तर, चार दशक बित्दापनि हामी अझैं पनि निरक्षरता उन्मूलन अभियानमा नै छौं । शिक्षाको कुरा गर्दा विश्वले व्यवहारिक तथा प्रविधियुक्त शिक्षामा फड्को मारिसक्दा हामी भने उही परम्परगत शिक्षण प्रणालीमा रुमलिइरहेका छौं ।
विडम्बना नै मान्नुपर्छ, हामीमा समुन्नत र व्यवहारिक शिक्षाको नारा दशकौंदेखि घन्किएपनि व्यवहारमा आउन सकेको छैन । यहाँ केबल शिक्षामा व्यापारिक प्रतिस्पर्धा मात्र फष्टाएको छ । व्यापारिक हिसाबले शिक्षाको जालो फैलिएपनि त्यो केही सीमित वर्ग, क्षेत्रमा मात्र सीमित छ । ग्रामीण बस्ती तथा गरीबका झुपडीसम्म शिक्षा पुग्न सकेको छैन । २१ औं शताब्दीमा पनि यस्तो अवस्थामा गुज्रनु भनेको नेपाल र नेपालीका लागि हदैसम्मको दुर्भाग्य हो ।
सरकारी तथ्याङक अनुसार हाल ३४ प्रतिशत नेपाली निरक्षर छन् । १५ देखि ६० वर्ष उमेर समूहका साढे ३१ लाख जनसंख्या निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्रको तथ्याङक छ । नेपालमा हाल १५ वर्षमाथिका करीब ४० लाख नागरिक निरक्षर रहेको जनगणना २०६८ तथा विभिन्न सर्वेक्षणले देखाएको छ । यी तथ्यांकलाई केलाउँदा हामीकहाँ कस्लाई निरक्षर मान्ने र कस्ता किसिमका       निरक्षर छन् भन्ने स्पष्ट आधार पनि छैन । सर्वप्रथम निरक्षरको अवस्थालाई वर्गीकरण गरी तल्लो वर्गमा रहेकालाई आधार मानेर अभियान सञ्चालन गर्न सके अपेक्षित लक्ष्यमा पुग्न सकिने थियो कि ? यद्यपि सरकार भने अन्तराष्ट्रिय स्तरमा आफूले गरेको प्रतिबद्धता पूरा गराउन दु्रत गतिमा अभियान सञ्चालनमा छ । सरकारले सन् २०१५ सम्ममा सबैलाई शिक्षा पु¥याउने प्रतिबद्धता गरेको हो । यसैअनुरुप चालू आर्थिक वर्षभित्र देशका १५ देखि ६० वर्ष उमेर समूहका सम्पूर्ण नागरिकलाई साक्षर बनाउने गरी निरक्षरता उन्मूलन वर्षका रुपमा घोषणा गरिसकेको छ ।
सरकारले आर्थिक वर्ष २०६५÷०६६ बाट साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म सरकारले अभियानका लागि ६ अर्ब १४ करोड ८९ लाख २५ हजार रुपैयाँ खर्च गरिसकेको छ । साक्षरता अभियानलाई पूरा गर्न सरकारले करोडांै रुपैयाँ लगानी गरेपनि त्यो ‘बालुवामा पानी हालेसरह’ भएको विज्ञहरुको ठहर छ । तर, सरकार भने विगतको तथ्यांकलाई गौरव गर्दै हाल दु्रत गतिमा अभियान सञ्चालनमा छ । जसले गर्दा कतै कागजी रुपमा पूर्ण साक्षर देश घोषणा हुने त होइन भन्ने आशंका पैदा गराएको छ । साक्षर अभियान सकारात्मक भएपनि यति छोटो समयमा यसरी महत्वकांक्षी अपेक्षा राख्नु भने ठीक होइन । यति छोटो समयमा महत्वकांक्षी अपेक्षा     राखेर यतिका बजेट खन्याउनु पर्ने औचित्य नै थिएन ।
गत संविधासभाको निर्वाचनमा भएको मतदाता शिक्षालाई नै आधार मान्दा यो सरकारी अभियान पनि कागजी हुने देखिन्छ । सामान्य रहेको मतदाता शिक्षामा दुई छुट्टाछुट्टै मतपत्रमा १÷१ पटक कोठाभित्र स्वस्तिक चिन्ह लगाएर स्वस्तिक छाप नपोतिने तरिकाले पट्याएर मतपेटिकामा खसाल्न सिकाइएको थियो । यद्यपि मत बदर भने अत्याधिक रह्यो । मतदाता शिक्षाका लागि   सरकारले करोडौं रुपैयाँ खन्याएपनि त्यो ‘बालुवामा पानी हाले सरह’ बन्यो । सामान्य रहेको मतदाता शिक्षालाई पनि नजरअन्दाज गर्दा हामीकहाँ कस्ता कस्ता निरक्षर नागरिक छन् भन्ने निक्र्यौल गर्न सकिन्छ ।
 त्यसैले यी नागरिकसमक्ष प्रभावकारी रुपमा साक्षरता अभियान पु¥याउन नसके कतै साक्षरता अभियान पनि मतदाता शिक्षा जस्तै होला भन्ने नकार्न सकिन्न । सर्वप्रथम साक्षर बन्नकालागि आफैबाट पनि साक्षर बन्ने जनइच्छा जाहेर हुनुपर्ने हुन्छ । आफूभित्र साक्षर बन्ने इच्छा नै छैन भने अभियान सञ्चालनको कुनै औचित्य नै छैन । जनइच्छाको कुरा गर्दा हामीकहाँ २५.२ जनता अझैं गरीबीको रेखामुनी छन् । उनीहरुलाई साँझ बिहान हातमुख जोर्न समेत धौधौ पर्ने गर्दछ । यस्तो अवस्थामा सरकारले साक्षरता अभियान अन्तरगत साक्षरता कक्षामा कसरी सहभागी हुन्छन् ? सरकारले साक्षरता कक्षामा सहभागी रहेकामध्येबाट छनोटमा परेको गरीब, दलित, जनजाति, अल्पसंख्यक, द्वन्द्वपीडित महिलाका लागि आयआर्जनका लागि विभिन्न सीपमूलक तालिम दिने पनि भनेको छ ।
यद्यपि, ग्रामीण तथा दुर्गम भेगका बस्ती तथा झुपडीमा अझैं पनि अभियान गुमनाम नै छ । यो क्षेत्रमा अभियान पुग्छ पुग्दैन बाँकी समय कुर्नै पर्छ । दोश्रो अभियानको प्रभावकारिता । अन्तराष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गर्न उक्सिने सरकार अभियान सञ्चालनको दु्रत गतिमा छ । जसले गर्दा अभियानको प्रभावकारीतामा प्रश्न उब्जिएको छ । ‘राजाको काम कहिले जाला घाम’ भनेझैं हामीकहाँ टालटुले काम गरेर सिद्याउने संस्कार नै बनिसकेको छ । त्यसैले विगतमा सञ्चालित अभियानले कतै यो पनि औपचारिकतामा मात्र सीमित हुने त होइन भन्ने प्रश्न पेचिलो बनेको छ ।
 साक्षर अभियानकै कुरा गर्दा सरकारले घर–घरमा रहेका निरक्षर बालबालिकालाई साक्षर बनाउन वर्षेनी विद्यालय भर्ना अभियान सञ्चालन गर्दै आएको छ । शैक्षिक सत्र शुरु हुने बेलामा हरेक वर्ष भर्ना अभियानलाई सरकारले प्राथमिकतामा राखेपनि दुर्गम तथा ग्रामीण भेगका बस्तीका बालबालिकाको स्कुले साइत भने अझैं जुर्न सकेको छैन । यस्तै, गरिबी तथा विद्यालयमा हुने भेद्भावपूर्ण वातावरणले दलित तथा अन्य पिछडिएका समूदायका बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नै छन् । यस्तै, सरकारसँग विद्यालय गएका बालबालिकालाई पनि टिकाइराख्ने कुनै ठोस् प्याकेज छैन ।
यसले गर्दा भर्ना अभियानमार्फत आएका विद्यार्थी पनि विद्यालय छाड्ने गरेका छन् । ५ देखि १५ सम्मका बालबालिकाका लागि भर्ना अभियान प्रभावकारी बनाउन नसक्ने सरकारको १५ देखि माथिका नागरिकलाई साक्षरता कक्षामा पु¥याउनु फलामको चिउरा चपाए झैं छ । उता, २०६५ सालयता साक्षरता अभियान सञ्चालन भएपनि प्रभावकारिता नभएको र औपचारितामा मात्र सीमित भएको विश्लेषकको ठहर छ । आर्थिक वर्ष २०६५÷०६६ देखि २०६९÷७० सम्ममा ४८ लाख २४ हजार १ सय ६३ जना साक्षर भएको औपचारिक केन्द्रको तथ्यांकमा छ ।
यसरी साक्षरता अभियानलाई सरकारले प्राथमिकतामा राखेपनि यसको प्रभावकारितामा भने प्रश्न उठ्दै आएको छ । होला सरकारले केही निरक्षरलाई साक्षर बनाउला । जसले गर्दा केही साक्षर बनेर ल्याप्चे  नगलाउलान् । तर, यतिलाई मात्रै गर्व गरेर पनि हुँदैन । केही दिनको कक्षामा अक्षर चनाएर सबै नागरिक सधैं साक्षर रहन पनि सक्दैनन् । सबै नागरिकलाई साक्षर बनाइराख्न सरकारले सर्वप्रथम जगदेखि नै व्यवहारिक र परिणाममुखी शिक्षामा जोड दिनुपर्दछ ।

मोफसल पत्रकारिता 
काम अनुसारको पारिश्रमिक हुँदैन
भावनीसिंह ऐर (केन्द्रीय सदस्य)
नेपाल पत्रकार महासंघ
तपार्इंको पुरा परिचय पाउँ न ? 
— भवानीसिंह ऐर । समैजी गाविस–४ सिलंगी, डडेल्धुरा । २०५६ देखि पत्रकारिता सुरु (प्रशिक्षार्थीको रुपमा) जनादेश सप्ताहिकमा, देशमा चलेको जनयुद्धलाई सघाउन २०६० वाट पत्रकारिता क्षेत्रसंगै भुमिगत, शान्ति सम्झौतापछि २०६३ देखि गोरखापत्रमा डडेल्धुरावाट रिर्पोटर, नेपाल पत्रकार महासंघको हालै सम्पन्न २४ औं महाधिवेशनवाट सबभन्दा बढी मतको अन्तरले केन्द्रीय सदस्य निर्वाचित । गोरखापत्रमा कार्यरत हाल कैलालीवाट ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ? 
— समाजसंग सिक्न र समुदायलाई सक्दो सूचित गराउन पत्रकारिता पेशा सबभन्दा उत्तम लागेर नै हो तर, हाम्रो समाजमा यो पेशामा टिकिरहन अलि गाह्रोनै रहेछ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— सामाजसंग जोडिएका सबैजसो विषयमा 
एक पत्रकार भएर आईपर्ने समस्याहरु के के देख्नु भएको छ ? 
— पत्रकारिता पेशानै एक चुनौतीपूर्ण पेशा भएकोले पत्रकारले स–सानो कुरामा पनि निकै सजकता अपनाउनु पर्ने हुन्छ । सत्य, तथ्य र निस्पक्ष भएर विषयबस्तु उठाउदा पनि कुनै न कुनै पक्षवाट पत्रकारप्रति औला ठड्याइन्छ । यसका अलावा आर्थिक अभावमा जीवन धान्न समस्या भैरहन्छ ।
तपाई झन शारीरिक रुपमा असक्त मान्छे, कस्ता समस्या झेल्नु पर्दोरहेछ ? 
— हो, अहिले शारीरिक अशक्तताको अवस्थामा मैले पनि हाम्रो समाजका अन्य शारीरिक अशक्तहरुझंै समस्या भोग्दैछु । जसकारण दैनिक कामकाज देखि सबै स्थलगत रिपोटिङमा जान समस्या छ ।
धेरै जस्ता संचारमाध्यममा काम अनुसारको पारिश्रमिक दिन्नन् भन्ने गुनासो सुन्न पाईन्छ, तपाई काम गर्ने सञ्चारमाध्यममा कस्तो छ ? 
— काम अनुसारको पारिश्रमिक नहुने हाम्रो परिवेश जस्ताको त्यस्तै छ । एउटा स्मरणवाट स्पष्ट गराउँ सात वर्षअघि गोरखापत्र जस्तो सरकारी सञ्चारमाध्यमलाई समाचार संकलन गर्न डडेल्धुराको भित्री मधेश गएको थिएँ । जिल्ला सदरमुकामवाट भर्खर यातायातले छोएको जोगबुढा हुँदै घट्नास्थल पुग्दा र समाचार संकलन गरी फर्किदा पकेटको चार हजार खर्च भयो, तर समाचार छापिए वाफत गोरखापत्रले दुई सय पचास दिन्छ । त्यसमा पनि सेवा दिए वफत १० प्रतिशत कर काट्छ । अन्य नेपाली मिडिया हाउस नि यस्तै छन, मान्नुस नमान्नुस पत्रकारको आर्थिक अवस्था यस्तै छ ।
शारीरिक असक्तता भएका ब्यक्तिलाई पत्रकारीता क्षेत्रमा हेर्ने दृष्टि कस्तो पाउनु भयो ? 
— हाम्रो समाज उही त हो कतै न काँही भेदभाव गरिन्छ,  तर मेरो विचारमा हिड्न र बोल्न सक्नेलाई मात्रै पत्रकार भनिदैन, आफ्नो आत्मवल बढाएर पेशालाई निरन्तरता दिइरहेकोले फरक महसुस गरेको छैन ।
गोरखापत्रमा काम गर्दै हुनुहुन्छ कस्तो महसुस गर्नु भएको छ ? 
— यो पेशामा चुनौती छ भनेर जान्दाजान्दै रहरले लागिएको हो । नेपाली सप्ताहिक, मासिक पत्रिकावाट सुरु गरेको पत्रकारिता विगत सात वर्षदेखि गोरखापत्र राष्ट्रिय दैनिकमा काम गर्दैछु । मैले पत्रकारिता गरिरहेको अहिले बिशिष्ठ परिस्थितिमा पनि गत वर्ष कैलाली हसुलियाका दृष्टीविहिनले विद्यालय पढ्न पाएनन् भन्ने मेरो रिर्पोट प्रकाशितपछि काठमाण्डौंको एक स्कुलले दुईजनालाई उतै लगेर पढाईरहेको छ । त्यस्तै आमाबाबुले छोडेका धनगढीका तीन असाहय दलित बालबालिकाको दर्दनाक रिर्पोट प्रकाशितपछि काठमाण्डौंको एक म्यानपावर कम्पनीका मालिकले ती असाहयलाई १५ हजार नगद दियो, जिल्ला प्रशासन र उनीहरु अध्यनरत विद्यालयपनि विभिन्न रहात दिन बाध्य भयो । यसरी कलमको माध्यमवाट बास्तविकता प्रष्टाउदा समाजमा सकारात्मक विकास भएका छन् खुशी महसुस गरेको छु । जसले पत्रकारिताको क्षेत्रवाट मलाई देश विदेशमा चिनायो । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— सरकारले आफ्नो पपुलारीटी बढाउन मात्र सञ्चार जगतलाई चौथो अंग भन्ने गर्छ तर व्यबहारतः त्यस्तो मानेको देखिदैन । तपाईले झन राजधानी बाहिरको पत्रकारिता (मोफसल) का बारेमा सोध्नुभयो, जुन जीउनु न मर्नुको दोसाँधमा रहेका   छन् । सरकारले मोफसल पत्रकारिताका यावत समस्य समाधान गर्न बतावरण मिलाई दिनुपर्छ । 
मोफसलमा कार्यरत पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघको भुमिका कस्तो पाउनु भएको छ  ? 
— नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारको साझा संस्था भएको नाताले सरकार लगायतका सम्बन्धित निकायलाई समस्या समाधानका लागि घच्घच्याउने, कानूनी दायरामा ल्याउने जस्ता पहल कदमी गर्दै आएको छ । पत्रकारिता पेशालाई व्यबसायिक बनाउदै ट्रेड युनियन बनाउने की भन्ने बारेमा छलफल बहस चलाएको छ ।
मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक हितका लागि पत्रकारहरुका बैचारिक संगठनहरुको भुमिका कस्तो पाउनु भएको छ ? 
—पत्रकारका बैचारिक संघ संगठनहरुले पेशागत भन्दापनि राजनीतिक भुमिका महत्वपूर्ण मान्दछन् । विचार र आस्थाका कारण कहिलेकाँही मोफसलका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई ओझेलमा पार्ने गरेका छन । 
तपाइको विचारमा पत्रकारिता के हो ? 
— पत्रकारिता समाजसंग जोडिएको हुनुपर्छ । जसले लुकेका, संभावित र हुनुपर्ने विषयबस्तुको गहिराईमा गएर सत्य, तथ्य र निश्पक्ष रुपमा जनसमुदायलाई यथार्थ सूचित गर्न सकोस् र समाज परिर्वतनमा सकारात्मक विकास गर्न प्रेरित गर्नुनै पत्रकारिता हो । जसले दुनियाँका खवर स्थानीय समुदायमा र समुदायका गतिविधि दुनियाँसामु पु¥याउछ ।
अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, आफुलाई छुट्टै दुनियाँको मान्छे ठान्ने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप लाग्ने गरेको छ, तपाईलाई के लाग्छ ? 
— पत्रकार पनि यसै समाजका उपज भएकाले यस्ता प्रवृति देखिएका छन । अर्कोतिर पत्रकारको निश्चित मुल्यमान्यताको मापदण्ड ठीकसंग कार्यान्वयन गर्न नसक्दा पछिल्लो समयमा यस्ता प्रवृति बढी देखिएका छन । अव अन्यत्र नअल्मलिई पत्रकारको सुद्धिकरण गर्नुपर्ने बेला आएको छ ।
तपाई कत्तिको लाग्नु भा छ यस्ता कुराहरुमा ? 
— शारीरिक असक्ततापछि म त अफिसभित्रको पत्रकार भएको छु ।  चल्ताफिर्ताले गर्न सक्ने यस्ता व्यबहार म कसरी गर्न सकुला र ?
मोफसल पत्रकारितामा सुधारका लागि नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ? 
— राजधानी केन्द्रित पत्रकारिता भन्दापनि ग्रामिण बस्ती र जनसमुदायसंग प्रत्येक्ष जोडिएको मोफसल पत्रकारितालाई सुधार गर्नु सबभन्दा महत्पूर्ण दायित्व नै सरकारको हो । मोफसलमा जिनतिन चलिरहेका र सञ्चालनमा समस्य आइरहेकालाई सरकारले लिने विभिन्न खाले कर, महसुल लगायतमा कटौती गरी प्रयोग हुने साधन, उपकरणमा सहुलियत दिन र विज्ञापन नीतीमा सुधार ल्याउन सुझाव दिन चहान्छु ।
अन्त्यमा केही भन्न मन लागेको छ ? 
— नागरिक समाजभित्रको पत्रकार समाजको ऐना हो । ऐना अगाडी तपाई जसरी प्रस्तुत हुनुहुन्छ ऐनाले त्यस्तै देखाउने भएकाले पत्रकारको सानो लापरवाहीले समाजमा ठूलो असर पर्नसक्छ, त्यसैले हरवखत सजकता अपनाउन आग्रह गर्दछु । 
— पुनः प्रकाशन

साहित्य÷सृजना 
किन तड्पायौ प्रिय ?
आउँछु भनेर विश्वास दियौ
तिमीले मलाई
उषाकालदेखि तिमी आउने
बाटो हेरिरहे ।

घरका सबैलाई अन्तै पठाएर
एक्लै तिम्रै प्रतीक्षामा
म खाटमा पल्टिरहे ।

घरको मूलढोका बाहिर
तिमी आयौ कि भनेर
हेर्न निस्के म
अहँ तिमीलाई देखिन मैले
मेरो विश्वासको
सीमारेखा बिलाएर गयो
तिमीले मलाई
आउँदिन भनेको भए
नयन बाटोमा ओछ्याउने थिइन 
माया लाउदिन भनेको भए
मनले पर्खने नै थिएन ।

विश्वासमा पारेर तिमीले
मेरो मन किन रुवायौ प्रिय ?
मैले कुनै गल्ति गरेको थिइन
किन तड्पायौ प्रिय ?
— अरुणबहादुर खत्री “नदी”

नारी 
नारी रत्न आभुषण तिमि, समाजकी पद्मिनी 
सृष्टिकी जननी तिमि सदा, ममतामयी कामिनी 
ब्रह्माण्डका रचयिता तिमि हौं, ऐश्वर्यका दामिनि 
गंगाझैं अविरल बगी रहने, पवित्र नदी पावनी 

सितल मन्द मुस्कानका धनि तिमि, राम्री शसी सालिनि 
वात्सल्यका अगाध भण्डार तिमि हौं, पृथ्वी सदा पालिनि 
वन जंगल पहरा तथा धरतीको, रक्षक होउ मालिनि 
दुष्टको बिनास गरी बिजय गर्ने, संहारकी काखिनि 

यस्ती नारी सहृदय हुन, पाप छैन कत्ति रति 
नारीको वर्णन जति गरेपनि, हुँदैन कत्ति अति 
नारीको पुजन गरे भने अनि, स्वर्गै छ पृथ्वी पनि 
आउ नारी उज्यालो पार धरती बैभवका हौ धनि ।
गोबिन्द प्रसाद श्रेष्ठ 
जेष्ठ नागरिक जिल्ला संघ, डोटी

कविता
हाँसिराख्न सिके मैले जिते पनि हारेपनि 
जालभित्र जेलभित्र मलाई जति पारेपनि 
बाँच्नु परे सवैसित, मर्नु परे म मात्र छु 
खुशी छु म अव मलाई जतिसुकै मारेपनि 
चाहना छ तिम्रो ठुलो भनेदेखि हुन्छ अव 
आफ्नो ईच्छा संगसंगै मुटुलाई तारेपनि 
रोजीराख्छु तिमिलाई डाँडाकाँडा जताततै 
प्रतिक्षाले मेरो कर्म जतिसुकै टारेपनि 
मेरो हाँसो झुटो होला आँशु भने चोखो नै छ 
बिरहको आगो वाली जिन्दगीले खारेपनि 
तिमिलाई कुर्छु म त जीवन भरी यै घाटमा 
म वाहेक सारालाई सवैलाई तारे पनि
सन्ध्या




No comments:

Post a Comment