Tuesday, December 6, 2016

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल मंसिर २१ गते मंगलवार

राष्ट्रिय विद्युत समस्याको निराकरणका लागि, सरकारी कार्यालयहरुलेनै विद्युत खपतको लागि, मितव्ययिता गर्ने कदमहरु चालु राखी, सर्वसाधारणहरुलाई सुसूचित गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

सिङ्गै परिवार एचआईभी संक्रमित

रामबहादुर (नाम परिवर्तन) को उमेर ०५१ सालमा १८ बर्षको थियो ।  बिपन्न परिवारका राम काम खोज्ने सिलसिलामा स्थानीयको सहयोगमा मुम्बैमा पुगे । मुम्बैमा केही बर्ष काम  गरी डोटी फर्किएर घरजम गरे । उनी फेरी मुम्बै तिरै हानिए । बेला बेला घर फर्किए तर लामो समय उतै बसे ।
भरकरै बिहेवारी गरेका रामबहादुर घरको याद भुलाउने गतिलो ठाउँ देह व्यापार हुने ठाउँलाई बनाए । मुम्बैको ब्यस्त शहरमा अपरिचित नारीसंग शारीरिक सम्पर्क गर्दा कस्लाई के नै थाहा हुन्छ सम्झेका रामबहादुरले एचआईभी संक्रमित भएको पत्तै पाएनन् ।
मुम्बैमा संक्रमित भएका   रामबहादुर घर फर्किएपछि पत्नी सुस्मा (नाम परिवर्तन) पनि संक्रमित भैसकेकी रहेछन । गाउँमा हिँड्दैडुल्दै गरेकी सुस्माले आफु संक्रमित हुने कल्पना समेत गरिनन् । दुई बर्ष पहिला घर्किदो उमेर र बिग्रदो स्वाथ्यका बिच उपचार गराउन जिल्ला अस्पताल डोटीमा पुगेकी सुस्मा संक्रमित भएको स्वास्थ्यकर्मीले सुनाएपछि चकित भईन । सुस्माले रामबहादुर लाई पनि चेकजाँच गर्न सल्लाह दिएपछि कैलालीको सेती अञ्चल अस्पतालमा चेक जाँच गरे । चेक गर्दा रामबहादुर मात्र होईन २२ बर्षीया छोरा शुभम, ८ बर्षीय  छोरी रन्जितालाई पनि संक्रमण देखियो । 
रामबहादुरको पाँच सदस्यीय परिवारमा चार जना संक्रमित रहेपछि निराशा छायो । बाँकी घरमा रहेकी बुहारी लालीलाई जिल्ला अस्पतालमा चेक गर्दा लाली पनि संक्रमित भएपछि पुरै परिवार एचआईभी संक्रमित बन्यो ।
डोटी जिल्लामा एचआईभी संक्रमण बिशेष गरी कामको सिलसिलामा भारत जानेहरुमा बढी पाईएको र उनीहरु मार्फत बच्चा र श्रीमतिलाई समेत सर्ने गरेको पाईएको छ । त्यसरी सर्नेहरुमा ९० प्रतिशत भन्दा बढी रहेको पाइएको छ । सिंङ्गै परिवार संक्रमित भएको भएपनि एआरटी परामर्श केन्द्रको सम्पर्कमा हाल नरहेको जिल्ला स्वाथ्य कार्यालय डोटीका एआरटी परामर्शदाता केपी रेग्मीले बताए । रेग्मीले भने ‘डोटी जिल्लामा संक्रमित हुनेमा जोडीहरु नै बढी छन । कतिपयका छोरा÷छोरीमा पनि छ ।’
डोटीमा नौ सय पाँ जना एचआईभी÷एड्सबाट प्रभाबित  रहेका छन् भने एड्स रोगबाट मर्नेको संख्या एक सय एक जना पुगिसकेको छ । डोटीमा आर्थिक बर्ष २०७१÷०७२ मा आठ सय ४६ जना एचआईभी÷एड्सबाट प्रभाबित रहेका थिए । आर्थिक बर्ष २०७२÷०७३ को असार मसान्तसम्म ४८ नयाँ पत्ता लागेका थिए भने असारदेखि हालसम्म ११ जना नयाँ संक्रमित थपिएर जम्मा नौ सय पाँचमध्ये पुरुष चार सय ५१ जना र महिला चार सय ५४ जना रहेका छन् । त्यसैगरी संक्रमितहरु मध्य १४ बर्ष मूनिका ४५ जना बालबालिका रहेका छन् । डोटीमा एचआइभी÷ एड्सबाट बढी प्रभावित हुने १३ गाविस र एक नगरपालिका रहेका जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स सम्पर्क व्यक्ति रमेश मलासीले जानकारी दिए ।
पुरुषहरु लापरवाही गर्छन 
हालसम्म मृत्यु हने एक सय एक जनामा ६६ जना पुरुष र ३५ जना महिला रहेका छन । । पुरुषहरु संक्रमित भईसकेपछि उपचार गर्नमा लापरवाही गर्ने गरेकाले पुरुषहरुको मृत्यु दर बढेको   एआरटी परामर्शदाता रेग्मीले बताए । उनले भने ‘महिलाहरु समयमै उपचार गर्छन, त्यसैले मृत्युदर पनि कम छ तर पुरुषहरु खास वास्ता गर्दैनन् मृत्यु हुनेमा पनि पुरुषको संख्या नै धेरै छ ।’ 
स्वास्थ्यप्रति वेवास्ता गर्ने पुरुषहरु रोग प्रतिरक्षा प्रणाली अत्यन्त न्यून भएको अवस्थामा अस्पताल आउने गरेको रेग्मीको अनुभब छ । रेग्मीले भने ‘धेरैका श्रीमतिलाई समयमै संक्रमित भएको पत्ता लागेको हुन्छ, पुरुषलाई पनि चेक गर्न सल्लाह दिएका हुन्छौं तर मान्दैनन्, त्यही सल्लाह नमानेका कारण कयौंको ज्यान गएको छ ।’
डोटीका प्रभावित व्यक्तिहरु मध्य पाँच सय १२ जनाले एआरटी प्रयोग गरिरहेका छन । एचआईभी÷एड्स संक्रमित (प्रभावित) सुदूरपश्चिमका जिल्लाहरुमध्ये डोटी तेस्रो जिल्लामा रहेको पाईएको छ । सुदूरपश्चिमको सबै भन्दा प्रभावित भई एआरटी औषधि प्रयोग गर्ने जिल्लामा कैलाली  पर्दछ भने त्यसपछि अछाम जिल्ला पर्दछ ।
एचआईभी÷एड्सबाट प्रभाबित व्यक्तिहरुलाई अहिलेसम्म जिल्ला अस्पतालबाट मात्र   एआरटी सेवा प्रयोग गरिरहेका भएपनि आगामी दिनहरुबाट डोटीको सानागाउँ गाविसस्थित स्वास्थ्य चौकीबाट समेत एआरटी औषधि बितरण कार्य हुने भएको छ । छिट्टै नै सानागाउँ गाविसबाट समेत एआरटी औषधि बितरण गर्ने कार्य गरिने भएको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्ग अधिकृत रमेश मलासीले   जानकारी दिए ।

सम्पादकीय 

खुला दिसामुक्त जिल्ला

अहिले व्यापक रुपमा चर्चा चलेको छ डोटी जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने भनेर । अनुगमन, प्रचार प्रसार, अभियान, तयारी व्यापक रुपमा भईरहेको छ । स्वभाविक रुपमा यो तयारी हुनु पनि पर्छ । एक्काईसौं शताव्दीको यो बैज्ञानिक युगमा हामी अहिले पनि खाना खान अघि र पछि हात कसरी धुने, शौचालयमा दिसा किन गर्ने, दिसा गरिसकेपछि हात किन धुने भन्ने जस्ता बिषयहरुमा छलफल गर्दै आएका छौं । हामी बिश्व भन्दा धेरै पछाडी छौं भन्ने कुराको संकेत यसलाई मान्नु पर्छ । 
तर पनि हामी डोटी जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तम्तयारीमा रहेका छौं । यो अभियानलाई सफल वनाउनु पर्छ । हामी सवैको जिम्मेवारी पनि हो । त्यसै पनि हामी आफैले वनाएको योजना अनुसार एक वर्ष पछाडी भएका छौं । 
सन २०११ मा तयार गरिएको जिल्लास्तरीय खानेपानी, स्वास्थ्य तथा सरसफाई रणनीति २०११–२०१५ अनुसार जिल्लालाई २०१५ भित्रै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष राखिएको थियो । अव हामी त्यो कार्य २०१६ भित्र गरिसक्छौं भन्ने आश पलाएको छ । त्यसैले यो अभियान सफल होस भन्ने शुभकामना छ । 
खुला दिसामुक्त क्षेत्र घोषणा गरेर मात्रै केही हुँदैन भन्ने कुराको प्रमाण डोटी जिल्लाका धेरै गाबिसहरु भएका छन । यो कुराको ख्याल गर्नु पर्ने जरुरी छ । नेपाल सरकारले सन २०१० मा भएको सरसफाई सम्वन्धि अन्तराष्ट्रिय सम्मेलनमा देशलाई सन २०१७ सम्म खुला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता गरेको थियो । त्यो प्रतिवद्धता पुरा गर्नका लागि गाउँ÷नगर र जिल्लालाई हामीले खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै आएका छौं तर त्यसको स्तरमा हामीले कुनै ध्यान दिएका छैनौं । 
कुन गाबिसले अगाडी खुला दिसामुक्त क्षेत्र घोषणा गरिसक्ने भन्ने होडमा पनि हामीले धेरै गाबिसहरु न्यूनतम् शर्तहरु पनि पुरा नगरी खुला दिसामुक्त घोषणा ग¥यौं । हामीले छिटो गर्न जवरजस्ती ग¥यौं । खुला दिसामुक्त क्षेत्र घोषणा भईसकेपछि घोषित क्षेत्रको अनुगमन गर्नका लागि न त जिल्लास्तरीय खानेपानी, स्वास्थ्य तथा सरसफाई समन्वय समितिले आवश्यक ठान्यो त गाबिसस्तरीय समिति सक्रिय भयो । अहिले पनि हामीले घोषणा गरेका ठाउँहरुमा खुला दिसा रहेको छ । 
बनाईएका शौचालयहरु राम्रोसंग प्रयोग भईरहेका छैनन्, खानेपानीका योजनाहरु जीर्ण भईसकेका छन । खानेपानी नभएका कारण हामीले शौचालय प्रयोग गर्न सकेनौं भन्ने गुनासाहरु पटक पटक आउने गरेका छन । यि कुरालाई अनुगमन गर्ने, सम्वोदन गर्ने गरी हामीले योजना वनाउन सकेका छैनौं । यो हाम्रो कमजोरी हो । हामी अहिले पनि खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कुरामा पूर्ण तयार भईसकेका छैनौं जस्तो देखिएको छ । 
हुनु पर्ने के थियो भने जिल्लाको समग्र अवस्थाको अनुगमन पहिले गरिनु पथ्र्यो । समस्या भएका ठाउँमा सुधार गर्नका लागि पहल गर्नु पथ्र्यो । जसले जति तथ्याँक प्रस्तुत गरेपनि जिल्लाभरीको अनुपात निकाल्दा अहिले पनि करीव १५ प्रतिशत परिवारमा शौचालय नभएको अवस्था हो । ति परिवारहरुका लागि अहिले पनि शौचालय भनेको खुला चौर, खोलाखोल्सी, जंगलनै हो । यो सत्यता हो । एकातिर १५ प्रतिशत शौचालयनै छैनन् भने अर्कोतिर भएका शौचालयहरुको पनि प्रयोग नभएको अवस्था हो । तेश्रो मुख्य समस्या सार्वजनिक शौचालयको हो । सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालय नभएसम्म खुला दिसामुक्त क्षेत्र घोषणा गर्नु भनेको कल्पना मात्रै हो । 
त्यसैले पहिले राम्रोसंग अनुगमन गर्नु जरुरी छ । अनुगमनवाट पाईएका तथ्यहरुमा सुधार गर्नु जरुरी छ । त्यसपछि मात्रै खुला दिसामुक्त जिल्ला घोषणा गर्दा प्रभावकारी हुन्छ होला ।

थप समाचार 

संबिधान संसोधन हुँदै हुँदैन–रावल

एमाले डोटीको कार्यकर्ता भेला र प्रशिक्षण सम्पन्न

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीव रावलले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संबिधान संसोधन प्रस्ताव पारित नहुने वताएका छन । 
पार्टीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणका लागि डोटी पुगेका    रावलले उक्त कुरा वताएका हुन । उनले भने ‘जसलाई खुशी पार्नका लागि यो प्रस्तवा ल्याईएको हो उनीहरुले नै मान्दैन भनिसकेपछि यो संसोधनको कुनै औचित्य छैन ।’ प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकै शीर्ष नेताहरुले समेत यो संबिधान संसोधनको बिरोध गरेको वताउँदै रावलले भने ‘देशभरीमा बिरोध भईरहेका बेला छिमेकीको तर्फवाट संबिधान संसोधन प्रस्ताव दर्ता गराउनु राम्रो भनेर बिज्ञप्ती आउनुले यो संबिधान कसको चाहानामा संसोधन हुँदैछ भन्ने कुरा पुष्टी भएको छ ।’
प्रेस चौतारी नेपाल डोटी शाखाद्वारा शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले सरकारले प्रदेश नं. ५ लाई बिभाजन गर्ने प्रस्ताव ल्याएर प्रादेशिक सिमाङ्कनलाई  फेरी वल्झाउने काम गरेको    आरोप लगाए । ‘हिमाल, पहाड र तराईका जिल्लाहरुलाई टुक्राएर प्रदेशको सिमाङ्कन गर्न नहुने रावलको भनाई थियो । 
सञ्चारकर्मीहरुद्वारा सोधिएको एक प्रश्नको जवाफ दिँदै रावलले प्रदेशको राजधानीको बिषयमा सम्वन्धित प्रदेशसभाले निर्णय गर्ने भन्ने संबिधानमा व्यवस्था भएका कारण यस बिषयमा अहिलेनै बोल्न नमिल्ने वताए । उनले भने ‘जनसंख्या धेरै भएको ठाउँमा मात्रै प्रदेशको राजधानी हुन्छ भन्ने हुँदैन ।’ उनले राजधानी कायम गर्नका लागि सुरक्षाको अवस्था, भौगोलिक सुगमता, भौगोलिक दुरी जस्ता बिषयहरुमा समेत ध्यान दिईनु पर्ने वताए । 
एक अर्को प्रश्नमा रावलले राजनीतिक दल सधैं चुनावका लागि तयार रहने वताउँदै नेकपा एमाले तीनवटै निर्वाचनका लागि तयार रहेको दावी गरे । उनले भने ‘एमाले नेतृत्वका सरकारले यही मंसिरमा स्थानीय निकायको निर्वाचन गराउने योजना वनाएको थियो तर परिवर्तन भएपछि स्थानीय निकायको निर्वाचन ओझेलमा परेको हो ।’ उनले    सरकारले संबिधानको कार्यान्वयन गर्नतिर ध्यान दिन छोडेर उल्टो संसोधनको बहाना वनाएर संबिधानलाईनै संकटमा पार्ने योजना वनाएको वताए । 
यसैबीच एमाले उपाध्यक्ष रावलले पार्टीलाईलाई सक्रिय वनाउनका सवै कार्यकर्ता लाग्न निर्देशन दिएका छन । एमाले डोटीद्वारा आयोजित जिल्लास्त– रीय कार्यकर्ता भेलालाई सम्वोदन गर्दै उपाध्यक्ष रावलले पार्टीमा अव कुनै गुट उपगुट नभएको वताउँदै सवै कार्यकर्ताहरुलाई संगठन परिचालनमा लाग्न निर्देशन दिएका हुन । एमाले डोटीले सञ्चालन गर्न लागेको चार महिने अभियानलाई सफल वनाउन       रावलले आग्रह गरे ।

घर मर्मतपछि मुहारमा खुशी

आकाशमा बादल देखिँदा चिन्तित हुने शारदा अव भने ढुक्क छिन् । अव उनलाई घर चुहिने डर छैन । 
जिल्ला डोटी दिपायल सिललगढी नगरपालिका–१२ सिरखोली सैनकी ३२ शारदा दमाईलाई अव घर चुहिने चिन्ता छैन । एक छोरा र दुई छोरी सहित चार जनाको परिवार बसोबास गर्दै आएको उनको घरको छतमा राखिएको प्लाष्टिक समेत चुहिएको थियो । पानी पर्दा उनलाई निकै चिन्ता हुन्थ्यो उनलाई । श्रीमान्को मृत्युपछि परिवारको पालन पोषणको जिम्मेवारी व्यहोर्दै आएकी शारदा भन्छिन् ‘आकासमा बादल देखियो कि चिन्ता लाग्थ्यो, खाना खाने मन पनि लाग्थेन ।’ 
लुथ्रन बिश्व फेडरेसन नेपाल र राष्ट्रिय हलिया मुक्ती माहसघंको संयुक्त अनुगमनका क्रममा शारदाको घरको अवस्था जानकारी भएपछि उनको घर मर्मतका लागि ति दुई संस्थाहरुले सहयोग गरेका थिए । आर्थिक अवस्था कमजोर भएकी शारदालाई घर मर्मतका लागि चाहिने आवश्यक सामग्रीहरु प्राप्त भएपछि उनको घरको पक्की छाना वनेको छ । 
छानामाथी प्लाष्टिक भएका कारण एकातिर पानी र हावाहुरीको डर अर्कोतिर असुरक्षित पनि महसुस गर्दै आएपछि शारदा अहिले भने ढुक्क छिन । उनी घर मर्मतका लागि सहयोग गरिदिएकोमा लुथ्रन बिश्व फेडरेसन र राष्ट्रिय मुक्त हलिया समाजलाई धन्यवाद दिन्छिन् । उनी भन्छिन् ‘म जस्तै अन्य परिवारलाई पनि यस संस्थाले सहयोग गर्दै जावस भन्ने अनुरोध छ । 
सिरखोलीमा रहेको मुक्त हलियाको समूहमा आवद्ध शारदाको घर मर्मतमा उनको समूहका सदस्यहरुले पनि श्रमदान गरी सहयोग गरेको शारदा वताउँछिन । उनी थप्छिन् ‘सामग्री संस्थाले दियो र अन्य सहयोग हाम्रो समूहका सदस्यहरुले गरिदिनु भयो ।’

बिद्यालय आउँदैनन् बालबालिका

भुमिराज जोशी÷कलेना
     मंसिर २०
डोटी जिल्ला सदरमुकामसंगै जोडिएको कलेना गाबिस–३ की आठ बर्षीया लक्ष्मी बिक स्थानीय तेडी आधारभुत बिद्यालयमा भर्ना भएकी छिन । उनी महिनाभरीमा करीव १० दिन मात्रै बिद्यालय जान्छिन् । लक्ष्मी भन्छिन् ‘घरायसी काम गर्नु पर्छ त्यसैले बिद्यालय जान पाउँदिन ।’ 
लक्ष्मी बिक मात्रै होईन उनी जस्ता यो गाउँमा अन्य बालबालिकाहरु पनि घरायसी काम गर्नु पर्ने भएका कारण नियमित बिद्यालय जाँदैनन् । सोही बिद्यालयमा पढ्ने पुनी बिक भन्छिन् ‘आमाले खेतीपाती र मेलापात गर्नु पर्छ, त्यसैले मैले बाख्रा चराउन जानु पर्छ, बिद्यालय जाने फुर्सद नै हुँदैन ।’
बिद्यालयमा भर्ना भएका अधिकांश बिद्यार्थीहरुलाई बिद्यालयको नाम समेत जानकारी छैन । गाउँ नजिकै बिद्यालय भएपनि नियमित बिद्यालय आउने बालबालिकाहरुको संख्या भने न्यून रहेको देखिन्छ । किन यस्तो हुन्छ त ? स्थानीय अभिभावक काशीराम बिक आफुहरुले छोराछोरीहरुलाई नियमित रुपमा बिद्यालय पठाउने गरेको तर उनीहरु बिच बाटोवाटै भागेर आउने गरेको वताउँछन । उनलाई छोराछोरीहरु भागेर घर आएकोमा कुनै चिन्ता छैन । 
बिद्यालयका शिक्षक टेकवहादुर बिष्ट आफ्ना छोराछोरीहरुलाई बिद्यालय पठाउनका लागि अभिभावकहरुसंग पटक पटक आग्रह गर्दा पनि नमानेको वताउँछन । बिद्यालयमा भवन अभाव भएका कारण पठन पाठनमा समस्या आएको शिक्षक बिष्ट वताउँछन । उनी भन्छन् ‘यहाँको परिवेशनै यस्तै छ, जति सम्झाए पनि हुन्न, अभिभावकहरु वास्तानै गर्दैनन् ।’
चार सय ८८ बिद्यार्थी भर्ना भएको उक्त बिद्यालयमा कक्षा १ मा मात्रै एक सय ८० बिद्यार्थी भर्ना भएको बिद्यालयको अभिलेखले देखाउँछ । 
पुरुष अभिभावकहरु दिउसभरी जुवातास खेल्ने, मदिरा सेवन गर्ने काममा व्यस्त हुने र महिलाहरुले सम्पूर्ण घरायसी कामका साथसाथै मेलापात पनि गर्नु पर्ने भएका उनीहरुले आफ्ना छोराछोरीप्रति ध्यान दिन नसकेको एक अर्का शिक्षकले वताए । 
कलेना गाबिसमा चेतना अभिबृद्धि, आय आर्जन र भौतिक पूर्वाधार बिकासका लागि भन्दै दर्जनौं संघसंस्थाहरुले काम गरिसकेका छन र अहिले पनि थुप्रै संस्थाहरु आफ्ना गतिबिधिहरु सञ्चालन गरिरहेका छन । त्यसो त सरकारी क्षेत्रवाट पनि कलेना गाबिसमा धेरै लगानी भएको छ तर अवस्थामा भने कुनै सुधार आउन सकेको छैन । 

लडागडा पूर्ण खोपयुक्त घोषणा

डोटीको लडागडा गाबिस पूर्ण खोपयूक्त गाबिस घोषणा भएको छ । 
शनिवार आयोजित एक समारोहकाबीच उक्त गाबिसलाई पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो । गाबिसका जन्मे देखि २३ महिना सम्मका बालबालिकाहरुले पाउनु पर्ने सम्पूर्ण खोप नियमित रुपमा पाउन थालेपछि पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो ।
समारोहका प्रमुख अतिथि एवं डोटीका स्थानीय बिकास अधिकारी कृष्ण प्रसाद गौतमले खोप अनिबार्य लगाए विभिन्न रोगहरुबाट बच्न सकिने बताए । उनले भने ‘यस्ता अभियानलाई निरन्तर रुपमा अगाढी लैजानु पर्छ ।’ 
सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले स्वस्थ्य मानिसको धन भएकाले सबैले आ–आफ्ना बच्चालाई  अनिवार्य नियमित रुपमा खोपहरु लगाउन अनुरोध गरे ।  उनले बालबालिकाहरुलाई नियमित रुपमा खोप लगाउने वातावरण वनाउन सवै सरोकारवालाहरुलाई आग्रह समेत गरे । 
समारोहमा पूर्ण खोपयुक्त गाबिस घोषणा गर्न सहयोग गर्ने ब्यक्ति, संस्थालार्ई प्रमाण पत्र, कदर र दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । यस्तै कार्यक्रममा बिभिन्न साँस्कृतिक भलकका साथै देउडा गायक हरी जैशी, लोक देउडा गाएक प्रेम नेपाली लगायतले आ–आफ्नो प्रस्तुति राखेका थिए ।

रक्तदाताहरुको संख्या बढ्दै

ललित वोहरा÷डडेल्धुरा
     मंसिर २०
डडेल्धुरा जिल्लामा पछिल्लो समय रक्तदान गर्नेको संख्यामा  बृद्धि भएको छ । सामान्यतया पुरुष बढी रक्तदान गर्ने भएतापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरामा यस महिना मात्रै रक्तदान गर्ने १५ जनामध्ये दुई जना महिला रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका मन्त्री डम्बर भण्डारीले बताएका छन । भण्डारीका अनुसार अन्य महिनाहरुमा महिलाहरुले खासै रक्तदान गर्न चासो नदेखाउने गरेको भएपनि यो महिनामा आइतबार मात्रै दुई जना महिलाले रक्तदान गरेका हुन । 
महिला रक्तदाताहरुमा ह्वाइट पार्क कलेज चिम्रिकोट डडेल्धुरामा अध्यनरत छात्रा कमला थापा र पद्मा साँउद रहेका छन । दुवै महिलाले आफ्नो जीवनको १८ बर्ष पुरा भएको अवसरमा रक्तदान गरेको बताएका छन । 
गत महिना रक्तसञ्चार केन्द्रमा १२ जना ब्यक्तिले स्वेच्छिक रुपमा रक्तदान   गरेका थिए । यसरी स्वेच्छिक र नियमित रक्तदान गर्ने रक्तदाताहरुलाई बिभिन्न कार्यक्रमहरुमा धन्यबाद दिने र सम्मान समेत गर्ने गरिएको मन्त्री भण्डारीको भनाई छ । अहिले डडेल्धुरा जिल्लामा मासिक रुपमा १४ प्रिन्ट रगत खपत हुने गरेको बताइएको छ । 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका प्राबिधिक गणेश ऐरले स्वयंसेवी रक्तदाताहरुको सहयोगले अहिले डडेल्धुरा जिल्लामा रगतको अभाव नभएको बताएका छन । रक्तदानको बारेमा बढ्दै गएको चेतना र ज्ञानका कारणले रक्तदान प्रति महिलाको चासो बढ्दै गएको ऐरले बताएका छन ।

माओवादी डोटीमा दुई समिति

सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र डोटीमा औपाचारिक रुपमै दुई समिति गठन भएका छन । 
बिभिन्न दलहरुको एकतापछि एककिृत नेकपा माओवादीबाट नेकपा माओवादी केन्द्र बनेको पार्टीको डोटीमा एकता भेलाकै दिनदेखि बिबाद थियो ।  साउन १९ गते भएको एकता भेलामा असन्तुष्ट पक्षहरुले बिभिन्न १८ बुँदै माग राख्दै उक्त मागलाई भेलाको छलफलको बिषय वनाईनु पर्ने वताएका थिए । संस्थापन पक्षले उक्त माग अस्वीकार गरेपछि असन्तुष्ट पक्षले भेला बहिस्कार गरेको  थियो । उक्त भेलाले जंग बिकको नेतृत्वमा दुई सय ११ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको थियो । 
असन्तुष्ट पक्षले भाद्र २४ गते भेला आयोजना गरी आफ्ना मागहरु पुनःस्मरण गराउँदै यदि मागहरुमाथी कुनै वास्ता भएन भने आफुहरु समानान्तर समिति गठन गर्न वाध्य हुने चेतावनी दिएको थियो । तर पनि कुनै सुनुवाई नभएपछि आफुहरुले वाध्य भएर नयाँ कमिटी गठन गर्नु परेको नयाँ समितिका संयोजक भरत वोहरा (योगेन्द्र) ले जानकारी गराए । 
गत मंगलवार सम्पन्न असन्तुष्ट पक्षको भेलाले बोहराको नेतृत्वमा दुई सय ११ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । साउन १९ गते गठन भएको जिल्ला सम्मेलन आयोजक समिति लोकतान्त्रिक तरीकाले गठन नभएको भन्दै जिल्ला सम्मेलनको समानान्तर आयोजक समिति गठन गरेका हुन । 
नयाँ समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै संयोजक वोहराले आफुहरुले उठाएका मागका     बारेमा पार्टीको प्रदेश कमिटी तथा केन्द्रले वेवास्ता गरेको भन्दै त्यसको बिरोध स्वरुप समिति गठन गरेको बताएका छन् । 
बोहराले यस अघि सात जनाको समुहले मात्र संयोजक र सदस्यहरु छानेको भन्दै उक्त समिति लोकतान्त्रिक नभएको दावी गरे । अहिले समितिमा बहुमत जिल्ला सदस्य भएकाले आफ्नो समिति पार्टीको जिल्ला सम्मेलनको आधिकारिक आयोजक समिति भएको बोहराको दावी छ । बिकको नेतृत्वमा गठन भएको भनिएको सम्मेलन आयोजक समितिका सदस्यहरु सवै आफ्नो समितिमा रहेको वोहराले वताए । 
संयोजक बिकले भने आफ्नो नेतृत्वको समिति बिरुद्ध समानान्तर समिति गठन भएको आफुलाई जानकारी नभएको वताएका छन । ‘गएको श्राबण १९ गते भएको पार्टीको जिल्ला भेलाले मलाई पार्टी जिल्ला अधिवेशन आयोजक समितिको संयोजक तोकेकाले म नै अहिले माओबादी पार्टीको संयोजक हुँ’ बिकले भने ।

धार्मिक महायज्ञको सिलसिला

डोटी लाटामाण्डौं गाबिस–८ मा रहेको राधाकृष्ण माध्यामिक बिद्यालय गोपघाटमा कार्तिक १८ गतेदेखि २५ गतेसम्म धार्मिक महायज्ञको आयोजना गरियो । बिद्यालयमा प्राबिधिक शिक्षाको अध्ययन÷अध्यापन सञ्चालन गर्ने योजनाका साथ उक्त महायज्ञ आयोजना गरियो । महायज्ञ सञ्चालनबाट आयोजकहरु धेरै उत्साहित भएका छन । महायज्ञवाट करीब ६० लाख रकम संकलन भएको आयोजकहरुको भनाई छ ।
डोटीकै चवाराचौतारा गाबिसमा रहेको खत्याडी माध्यामिक बिद्यालयमा आज २१ देखि २८ सम्म धार्मिक महायज्ञको आयोजना गरिएको छ । बिद्यालयको समग्र बिकास गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि भन्दै उक्त धार्मिक महायज्ञ आयोजना गरिएको स्थानीयवासी तथा नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मीन वमले   वताए । बिद्यालयको चौतर्फी बिकासका लागि अर्थ संकलन गर्ने आयोजकहरुको भनाई छ । 
यस्तै खिरसैन गाबिसमा रहेको सोजेन्द्रेश्वर माध्यामिक बिद्यालयमा प्राबिधिक शिक्षा सुरु गर्नका लागि अर्थ संकलन गर्ने उद्देश्यले आगामी चैत्रमा धार्मिक महायज्ञ आयोजना हुन लागेको    छ । उक्त धार्मिक महायज्ञका लागि बिद्यालयले असोदेखिनै तयारी सुरु गरेको छ । महायज्ञ सफल वनाउनका लागि रोजगारीको सिलसिलामा भारतमा रहेकाहरु सम्म समेत बिद्यालयको टोली पुगेको छ । 
यता डोटी बहुमुखी क्याम्पसले आयोजना गर्ने भनिएको महायज्ञ भने अहिलेसम्म सञ्चालन भएको छैन । गत भाद्र १२ गते क्याम्पसले एक भेलाको आयोजना गरी शैक्षिक बिकासका लागि डोटी क्याम्पसको स्तरोन्नति गर्ने उद्देश्यका साथ उक्त महायज्ञ आयोजना गर्ने जानकारी दिईएको थियो । सोही दिन दिपायल सिलगढी नगरपालिकाका पूर्व मेयर पूर्णराज जोशीको संयोजकत्वमा १५ सदस्यीय मुल आयोजक समिति समेत गठन भएको थियो । अन्तराष्ट्रिय भक्तियोग फाउण्डेसनसंगको साझेदारीमा आयोजना गरिने भनिएको उक्त महायज्ञको भने कुनै सुरसार देखिएको छैन । 
डोटीमा मात्रै होईन आसपासका जिल्लाहरुमा समेत अहिले बिद्यालयको स्तरोन्नति तथा प्राबिधिक शिक्षाका लागि महायज्ञ लगाउने फेसन चलेको छ । महायज्ञ आयोजक र समर्थकहरुले महायज्ञले सामाजिक कार्यका लागि अर्थ संकलन गर्नुका साथै नयाँ पुस्तामा आध्यात्म ज्ञान हस्तान्तरण गर्ने दावी गर्दै आएका छन । हिन्दु धर्ममाथी आक्रमण भईरहेका वेला सनातम धर्मको रक्षा गर्नका लागि यस्ता महायज्ञहरु आवश्यक रहेको उनीहरुको दावी रहेको छ । 
तर, आलोचकहरु भने यसलाई धार्मिक व्यापारको रुपमा लिने गरेका छन । आलोचकहरु धर्मका नाममा व्यापार गरिनु राम्रो नभएको वताउँछन । 

बालिका सम्मेलन सम्पन्न

डोटी जिल्लामा प्रथम बालिका सम्मेलन बिबिध कार्यक्रम गरी सम्पन्न भएको छ । 
डोटी जिल्ला अदालतका न्यायाधिश नरनारायण पौडेलद्वारा शुक्रवार उद्घाटन गरिएको उक्त सम्मेलन आईतवारसम्म चलेको थियो । सम्मेलनको अवधिमा बिबिध कार्यक्रम गरिएको महिला तथा बालबालिका कार्यालय डोटीका प्रमुख निर्मला दाहालले जानकारी गराईन । बालिकामाथी हुने हिंसा कम गर्न बिशेषतः बालबिबाह रोक्न जनचेतना फैलाउने उद्देश्यका साथ उक्त सम्मेलन गरिएको दाहालले  वताईन । 
सम्मेलनको उद्घाटन सत्रमा बोल्दै युवालय नामक संस्थाका अध्यक्ष सञ्जोक ठकुरीले  नेपालमा हुने कुल बिवाह मध्य ४० प्रतिशत बाल बिवाह हुने गरेको बताए । बालबिवाह हुनेमा ७५ प्रतिशतबाल बालीका १७÷१८ बर्षका रहेको अध्यक्ष ठकुरीले २०७२ सालमा २३ ओटा बालबिवाह बिरुद्धको मुद्धा दर्ता भएको जानकारी गराए । 
जिल्लाका ११ ईलाकाबाट सम्मेलनमा प्रत्येक ईलाकाबाट दुई वालिका र एक अभिभावकका दरले तीन जनाको सहभागिता गराईएको सामुदायिक बिकास केन्द्र डोटीका महासचिव लक्ष्मण कठायतले जानकारी दिए । 
जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्ती नारायण माध्यामिक बिद्यालयमा सञ्चालन भएको उक्त सम्मेलनमा बालिकाहरुलाई चेतनामुलक कार्यक्रमहरु, बिभिन्न खेल प्रतियोगिताहरु, अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरिएको आयोजकहरुले जानकारी दिएका छन । सम्मेलनमा डोटी जिल्लाका सरकारी कार्यालयका प्रमुख, गैर सरकारी संस्थाका प्रमुख, बालबालिका र  सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

सडक दुर्घटनामा एकको मृत्यु

डोटी लाटामाण्डौं गाबिस–८ गोपघाटमा भएको सडक दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । 
आईतवार भएको उक्त दुर्घटनामा परी लाटामाण्डौ–८ की सिता बलायरकी नौ बर्षीया छोरी निशा बलायरको आईतबार मृत्यू भएको हो । प्रहरीका  अनुसार से १ ज ६१६ नम्बरको जीपले निशालाई ठक्कर दिएको  थियो । 
उपचारका लागि दिपायल शैलेश्वरी अस्पतालमा पु¥याएकी निशाको थप उपचारका लागि कैलालीतिर लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

महोत्सवको तयारी पुरा

मंसिर २२ गते सुरु हुने ११ औं सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ ।  
पुष २ गतेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ । संघले सोमवार पत्रकार सम्मेलन गरी महोत्सवको करीब ९० प्रतिशत तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन गरिने महोत्सवमा करीब पाँच लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महोत्सव मुल आयोजक समितिका संयोजक शंकर बोगटीले वताए ।
यस वर्षको महोत्सवमा कृषि, पर्यटन, भौतिक पूर्वाधार बिकास र लगानी आकर्षणतिर केन्द्रित गरिने बोगटीले वताए ।

खेल समाचार 

ननिताले दिलाईन अभुतपूर्व सफलता

नेपाली महिला बडी–बिल्डर ननिता महर्जनले नेपाललाई अभुतपूर्व सफलता दिलाएकी छन् । 
अन्तराष्ट्रिय बडी–बिल्डिङ्ग प्रतियोगितामा उनले थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप’ मा कास्य पदक जितेकी हुन । ननिताले महिला ‘एथलेटिक फिजिक’ को एक सय ६५ सेन्टीमिटर उचाइमा सहभागीता जनाएकी थिइन् ।
३१ वर्षीय ननिताले आफ्नो पहिलो अन्तराष्ट्रिय प्रतियोगितामै नेपाललाई पदक दिलाएकी हुन् । आफ्ना परिवारसहित थाइल्याण्डको पटायास्थित अम्बास्डर सिटी होटलको कन्भेन्सनल हलमा आयोजना   भइरहेको यो प्रतियोगिता खेल्न यसै साता नेपालबाट गएकी ननिताले आफ्नो सफलता प्रति खुसी व्यक्त गरिन् । उनले आफ्नो सफलता घर परिवारको सहयोग र प्रशिक्षकको मेहनतले सम्भव भएको   बताएकी छिन् ।
‘यो सफलताको खुसियाली म देशबासी, विशेषगरी सबै महिला दिदी–बहिनीमा समर्पण गर्छु ।’ ननिताले भनिन् । सात वर्षको छोराकी आमा समेत रहेकी ननिताले दुई महिनाअघि काठमाण्डौंमा अयोजना भएको महिला बडी–बिल्डिङ्गको उपाधि जितेकी थिइन् । यो प्रतियोगिताका लागि उनले कडा मेहनत गरेकी थिइन् । उनले फाइनलमा चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पराजित गर्दै कास्य पदक हात पारेकी  हुन् । पाँच महिला बडी–बिल्डर समावेश स्पर्धा मंगोलियाकी गाम्बागा उगल्सेबेगले जितेकी थिइन् । 

आहा रारा गोल्डकप माघमा

आहा रारा गोल्डकपको १५ औं संस्करण आगामी माघ ४ गतेदेखि १५ गतेसम्म आयोजना हुने भएको छ ।
मोफसलमा आयोजना हुने पुरानो मध्येको एक उक्त प्रतियोगिता हुने मिति अखिल नेपाल फुटवल संघ एन्फाको समन्वयमा प्रतियोगिताको मिति तय गरिएको हो । प्रतियोगिता आयोजक सहारा क्लवकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी थालिएको जानकारी दिएको छ ।
सहारा क्लवका अध्यक्ष बीरभद्र आचार्यले “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने साविकको नारा अनुरुप प्राप्त समय तालिका अनुसार  प्रतियोगिताको तयारी सुरु गरेको जानकारी दिए ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्त–राष्ट्रिय गरी १२ टिमको सहभागिता रहने आयोजकहरुले जानकारी दिएका छन । प्रतियोगितामा राष्ट्रियस्तरका ५, ३ विदेशी, ३ विभागीय र एक आयोजक टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख एक हजार, उपविजेताले दुई लाख ५१ हजार नगद पुरस्कार पाउनेछ भने उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पुरस्कार पाउनेछन् ।
एक करोड सात लाख ८२ हजार आम्दानी गर्ने लक्ष्य राखिएको प्रतियोगितामा ८२ लाख ९२ हजार तीन सय रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लवका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक केशबबहादुर थापाले जानकारी दिए ।

चलचित्र÷मनोरञ्जन 

ज्ञानु र मिरालाई पुरस्कृत गरियो

स्वर सम्राट नारायण गोपालको २६ औं स्मृति दिवसको अवसरमा संगित कोषले गायिक ज्ञानु राणा र मिरा राणालाई पुरस्कृत गरिएको छ । 
महाराजगन्जस्थित कोषको कार्यालयमा आयोजित एक कार्यक्रममा  वरिष्ठ गायिकाद्वयलाई पुरस्कृत गरिएको हो । नारायणगोपालसँग युगल गाएकी अर्की गायिका दिलमाया खातीले सम्मानित दुवैलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्र थमाएकी थिइन् । 
पुरस्कृत भएपछि गायिका मिराले नारायणगोपालका नाममा पुरस्कार पाउँदा गौरवान्वित महसुस गरेको वताईन । उनले भनिन् ‘कुनै बेला हामीले सँगै गीत गाएका थियौं । अहिले उहाँकै नामको पुरस्कार    पाएँ ।’ 
कार्यक्रममा नारायण गोपालको सम्झना गर्दै गायिका ज्ञानुले ‘मान्छेको माया यहाँ...’ र मीराले ‘तिमी देऊ या नदेऊ...’ गीत सुनाएका थिए । राणाद्वयबाहेक किरण कँडेल, मदन गोपाल, धर्म मानन्धर, अजर जंगम, उत्सव नेपाल संगीता शाक्य, शृंखला जोशी लगायतले पनि नारायणगोपाललाई उनकै गीत गाएर सम्झिए ।
ज्योती भन्छिन् ‘मन नपरे नहेर्नुहोस’
सधै नै चर्चा र विवादमा रहन्छिन्, गायिका ज्योती मगर । गायनको अतिरिक्त मोडलिङमा समेत सक्रिय ज्योतीलाई अश्लिलता फैलाएको आरोप पटक–पटक लाग्ने  गरेको छ । तर उनी यस्तो आरोप पटक्कै स्वीकार्दिनन् । बरु आफूलाई ‘बोल्ड वुमन’ भन्न रुचाउँछिन् । प्राय म्युजिक भिडियोमा छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योतिलाई अनलाइनखबरले लगाएका पाँच आरोप ः
जवानी देखाएकै भरमा करिअर टिकाउनु भएको छ हैन ?
— यो बेकारको आरोप हो । मलाई नबुझ्नेहरुले पहिला पनि यसो भन्थे अहिले पनि भन्छन् । छोटो लुगा लगाउँदैमा जवानी देखिने र लामो लुगा लगाउँदैमा जवानी छोपिने हैन । तपाईले देख्नु भएको होला नि सारीमा पनि महिलाको जवानी छताछुल्ल भएको ।
स्टेज कार्यक्रममा भल्गर रुपमा प्रस्तुत हुनुहुन्छ, स्वरका भरमा स्टेजमा अफर पाउनुहुन्न हो ?
— स्टेज भनेको कानमा एअरफोन लगाएर गीत गाउने ठाउँ होइन । म जाने कार्यक्रममा आउने दर्शकहरु मलाई सुन्न मात्रै हैनन् हेर्न पनि आएका हुन् भन्नेमा म सचेत छु । जब कोही दर्शक टिकट काटेर मेरो गीत सुन्न र मलाई हेर्न आउँछ भने उसलाई मैले प्रफुल्लित बनाएर पठाउनु पर्छ । जहाँसम्म भल्गरको कुरा छ, नबुझ्नेहरुले मात्रै भनेका हुन् । म भल्गर हैन ग्ल्यामरस हुन्छु । मेरो त्यहि ग्ल्यामर दर्शकले मन पराउने गरेका छन् ।
गीतका शब्दमा पटक्कै मिहिनेत गर्नुहुन्न ? केवल ड्रेसअपमा ध्यान दिएर चलिन्छ त ?
— म आफैंले गाएका पछिल्ला कतिपय गीत मलाई नै चित्त बुझेको छैन । यो साँचो हो । तर, फेरि म आफैं गीतकार हैन । मलाइ जस्तो गीत दिन्छन् त्यस्तै गाउने हो । अर्को कुरा, खै किन हो कुन्नी मैले गाउने भनेपछि गीतकारले पनि रोमान्टिक गीत नै लेख्छन् ।
कला क्षेत्रमा विकृति फैलाउदै हुनुहुन्छ । तपाईंको सिको गरेर अरुले पनि छोटो लाउन थालेका छन् ? तपाइले गर्दा लोकगीतमा विकृती नै आयो नी ?
— आम्मामा । यो कुरा त कसरी पत्याउनु । ज्योती मगर यो उद्योगमा आउनु भन्दा पहिला नै, छोटा लुगा लगाउने केटीहरु धेरै थिए काठमाण्डौंमा । अहिले न्युरोड लगायत स्थानका सपिङ मलमा जानुस् त म भन्दा छोटो लुगा लगाएर हिंड्नेहरु कति छन्क ति । यो चाँहि पक्का हो, छोटो लगाउने मन भएका तर, हिम्मत नभएकाहरुलाई मैले बाटो बनाइदिएको छु ।
ज्योतीको गीत आउँदा टीभी नै बन्द गर्नुपर्ने स्थिती छ, के तपाई परिवारसँग बसेर हेर्न मिल्ने गीत बनाउन सक्नुहुन्न ?
— यो त झन् म मान्दै मान्दिन । आजसम्म टीभी नै बन्द गर्नुपर्ने गीत न मैले गाएकी छु न त मोडलिङ नै गरेको छु । तपाईहरुलाई साह्रै गा¥हो भयो भने नहेर्नुस् । हेर्नैपर्छ भन्ने छैन । तर, मैले तिम्रो गीत आउँदा टीभी बन्द गरे भन्ने मान्छे आजसम्म भेटेको छैन ।

लेख 

मधेशी मोर्चा ! निकाश दिन अगाडी बढ

राजेश मिश्र
तत्कालिन अवस्थामा संविधानसभाभित्रको ठूलो दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको विवाद समाधान उपसमितिले संविधान ल्याउन अन्य विभिन्न विषयसँगै ११ प्रदेशमा सहमति जुटाएको थियो । त्यसमा पर्सादेखि सप्तरीसम्म, नवलपरासीदेखि बर्दियासम्म र झापा, सुनसरी र मोरङ मात्र रहेको अर्को छुट्टै तराईका जिल्ला मात्र रहने गरी ३ प्रदेश बनाएको थियो । मध्य तराईको चितवन काठमाडौंसँगको तथा कैलाली र कञ्चनपुरलाई सुदुरपश्चिमका पहाडी जिल्लासँगको प्रदेशमा गाभिएको थियो । त्यतिखेर सरकारमै रहेका मधेसी नेताले संविधान जारी हुनलाई आफू बाधक नहुने तर समर्थन पनि गर्न नसक्ने हिसाबले उक्त प्रस्ताव लिएर बढ्न तीन दललाई संकेत दिएका थिए । त्यस्तो संकेत दिने नेतामा मुख्य रूपमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार थिए । त्यतिखेर बाबुराम भट्टराई नेतृत्वको सरकारमा नरहेका उपेन्द्र यादबले उक्त प्रस्तावको समर्थन गर्ने त कुरा थिएन नै, सत्तामै सहभागी सदभावना अध्यक्ष राजेन्द्र महताले पनि मधेसका जिल्लालाई ५ वटा प्रदेशमा बाँडेको भन्दै महन्थ ठाकुर र विजय गच्छदारलाई गद्दार भन्दै भाषण गर्न भ्याए । पछि माओवादी समेत उक्त प्रस्तावबाट पछि हटेपछि त्यतिखेरको सहमति तुहियो । संविधानसभा पनि विघटन भयो । 
दोस्रो संविधानसभाभित्रको ठूला दुई दल कांग्रेस र एमालेले ०७१ कात्तिक १७ मा संवैधानिक राजनीतिक सम्वाद समितिमा ७ प्रदेशको खाकासहित ९ बुँदे सहमतिको प्रस्ताव पेस गरे । उक्त प्रस्तावमा तराईमा पर्सादेखि सप्तरी र नवलपरासीदेखि बर्दियासम्मको तराईका जिल्लामात्र रहेको दुई प्रदेश मात्र थियो । यसअघि छुट्टै प्रदेश बनाइएको पूर्वी तराईका तीन जिल्लालाई पहाडसँगको प्रदेशमा गाभियो । दुई वर्षको अन्तरालमा फेरिएको          राजनीतिक शक्ति सन्तुलनले मधेसमा प्रस्तावित ३ प्रदेशलाई २ मा झा¥यो । त्यतिमात्र होइन नवलपरासीलाई टुक्र्याइयो पनि । चिवतन, कैलाली र कञ्चनपुरलाई विगत झै पहाडसँग जोडियो । उक्त प्रस्तावमा तात्कालिन कांग्रेस सभापति एंव प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीको हस्ताक्षर थियो । एमाओवादी र मधेसी मोर्चासहितको गठबन्धनले आफूहरूलाई ‘बाईपास’ गरेर कांग्रेस एमालेले बहुमतको बलमा संविधान ल्याउन लागेको भन्दै उक्त प्रस्तावलाई छलफलको विषयवस्तु नै बन्न दिएनन् । त्यसविरुद्ध एक मधेस एक प्रदेशको कुरा उचाले । तर, दुभाग्र्य ! मधेसी मोर्चाले माओवादीको पनि साथ गुमाए । कांग्रेस–एमालेको गठबन्धनमा जोडिन पुग्यो, माओवादी । कांग्रेस–एमालेको प्रस्ताव अस्विकार गरेको मोर्चालाई थप झट्का यतिखेर लाग्यो जब माओवादी समेत सामेल भएर ल्याएको ७ प्रदेशमा मधेसमा एउटा मात्र २ नम्बर प्रदेश प¥यो । 
अर्थात मोर्चाले जति पटक हठ ग¥यो, त्यति नै पटक राजनीतिक उपलब्धीमा घाटा लागेको छ । 
गत वर्षको लामो मधेस आन्दोलन, नाकावन्दी र ५० जनाभन्दा बढीको शाहदतपछि प्रदेश सिमांकनको विवाद अहिले घुमिफिरी फेरि ०६९ जेठ २ र ०७१ कात्र्तिक १७ कै वरिपरी आइपुगेको छ । तर, राजनीतिले कोल्टो फेरेको अवस्था छ । त्यतिखेरका प्रस्तावकमध्येकै एक दल एमालेले त्यसविरुद्ध सडक तताउन थालेको छ । जेठ २, कात्तिक १७ वा अन्य कुनै तिथीमा आएका प्रस्वाव होस् वा सहमति तुहिनुमा मधेसी मोर्चा पनि एक जिम्मेवार पक्ष  हो । करीब करीब त्यस्तै दृश्य रह्यो, गतवर्ष पनि । मधेसको आन्दोलन उत्कर्षमा थियो । संविधान जारी गरेकोमा प्रमुख तीन दल रक्षात्मक अवस्थामा पुगेका थिए । संविधान जारी भएको दुई साताभित्रै सरकारले संशोधन प्रस्ताव दर्ता गराउनु परेको थियो । सिमांकन सहितको विषयमा फेरबदल गर्न तयार देखिएका थिए । त्यसका लागि संविधानसभाभित्रै तीनै दलका शीर्ष नेताको प्रतिवद्धता आएको थियो । पछि केपी ओली नेतृत्वको सरकारले त मन्त्रिपरिषदबाटै त्यस्तो प्रतिवद्धता पारित गरेका थिए । तर, आन्दोलनको उन्मादमा रहेका मधेसी नेता काठमाण्डौंमा सम्वादमा रहेका मोर्चाका आफ्नै सहयात्री नेतालाई ‘गद्दार’कै रूपमा प्रचारित गर्न थाले । मोर्चाभित्र सबैभन्दा क्रान्तिकारी ‘मै हुँ’ भन्ने होड चलिरहेको थियो । ‘अभि नही तो कभी नही’ भन्दै आफूले उठाएका सबै मुद्धाको एकै पटक सम्बोधन हुनुपर्ने भन्दै चर्का नारामा    रमाइरहे । नेतृत्वले उपयुक्त समयमा लिन सक्नु पर्ने सही निर्णय लिन सकेन । आन्दोलनकै क्रममा प्रधानमन्त्री निर्वाचनमा सुशील कोइरालालाई मतदान गर्न पुगेको मोर्चा संविधान संशोधन विधेयकमाथिको छलफल वा मतदानमा सहभागी हुन उपयुक्त ठानेन । आन्दोलनकै कारण भएको संशोधनको स्वामित्व समेत उनीहरूले लिएनन् । लम्बिदो आन्दोलनले जनताको साथ छुट्दै गएकै थियो भने मोर्चाभित्रको आन्तरिक कलह पनि बाहिर आउन थाल्यो जसको फलस्वरूप आन्दोलन फिर्ताको औपचारिक घोषणा नहुँदै नाकावन्दी तुहिन पुग्यो ।
माथिको राजनीतिक घटनाक्रमले कतिपय कुरा एकैसाथ दर्शाउँछ । समयमा उपयुक्त निर्णय लिन नसक्नु, दुरदृष्टि नराख्नु, प्राप्त हुन खोजेको उपलब्धीलाई संस्थागत गर्न नखोज्नु, एउटै क्षेत्रका प्रतिस्पर्धीले अर्कोलाई खराब देखाएर आफु ठूलो क्रान्तिकारी बन्न खोज्नु जस्ता कमजो–रीहरू मोर्चाका नेताहरूमा देखिएका छन् । एकपटक फेरि त्यस्तै अवसर मोर्चासामु आएको छ । विगत झै त्यसलाई गुमाएर जाने कि संस्थागत प्रयास गर्ने मोर्चाका नेताहरूको हातमा छ । यस पटक पनि पहिलेकै जस्तो प्रवृति देखिएको छ । मोर्चाको निरन्तर दवाब र अनौपचारिक सरसल्लाहमै आएको भनिएको चार बुँदे संविधान संशोधन प्रस्तावलाई सबैभन्दा पहिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कडा शब्दमा निन्दा गर्दै स्विकार्नै नसकिने वक्तव्य निकालेर अरूलाई उछिन्न सफल भए । मोर्चाभित्रको सबैभन्दा ठूलो दलको नेता र संघीय गठबन्धनको संयोजक समेत रहेका यादवले मोर्चा वा गठबन्धनको बैठक कुर्न उचित ठानेनन् । बरु, सबैलाई उछिन्ने दाउमा लागे । 
त्यसपछि बसेको मोर्चा र गठबन्धन बैठकले पनि यथास्थितिमा संशोधन प्रस्ताव स्विकार्न नसकिने निर्णय लियो । दुवै बैठकमा उपस्थित उपेन्द्रले आफूले पहिले निकालेको विज्ञप्तीलाई सहयोग पुग्ने गरी निर्णय गराउनु थियो । भाषा त्यस्तै नभएपनि करीब करीब सफल पनि भए । मधेसी मोर्चामा ७ दल आवद्ध छन् । राजनीतिक गतिरोधलाई निकास दिनुपर्ने भन्दै त्यसमध्येका कतिपय दलका अध्यक्षले संशोधनको पक्षमा उभिनुपर्ने राय   दिइरहेका छन् । तर, बिरोध गर्ने ठूलो क्रान्तिकारी बन्ने र आफू मधेसको राजनीतिमा बढारिने डरले आफ्नो स्वरलाई शक्ति दिन डराएका छन् । दुईवटा संविधानसभा भित्रको रस्साकस्सी र एकवर्ष यताको आन्दोलनले प्रदेशको सवालमा विगतमा प्राप्त हुन खोजेको उपलब्धीभन्दा बढ्ने संकेत दिएको छैन । बरु, केही हस नै आएको छ । र, राजनीतिक शक्ति सन्तुलन हेर्दा तत्कालै अहिलेको भन्दा धेरै थप उपलब्धीको सम्भावना पनि देखिन्न । 
यस्तो बेलामा मोर्चाले बिवेकपूर्ण र दुरदृष्टी राखेर निर्णय दिनसक्नु पर्छ । सरकारले ल्याएको संशोधनको प्रस्ताव वरिपरी सहमति खोज्न ढिला गर्नुहुन्न । सत्तारुढ कांग्रेस, एमाले, राप्रपा र मोर्चाले अधिकत्तम लचक भएर सहमतिमा पुग्नुपर्छ । उपयुक्त र स्वीकार्य प्रस्ताव राखी संशोधनलाई आवश्यक परिमार्जन गरेर सरकार र मोर्चाको साझा बनाएर जान सक्नुपर्छ । त्यसका लागि सबभन्दा पहिले मोर्चा एकतावद्ध हुन जरुरी छ । मुलुकलाई राजनीतिक निकास दिनुपर्छ भन्ने उद्देश्यले लचिलो हुने विषयमा एकमत हुनुपर्छ । प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, थपका लागि जनता माझ जाने, निर्वाचनबाट शक्ति संचय गर्ने दिशामा मोर्चाका नेताहरूको सामान धारणा बन्न सकेमात्र त्यो सम्भव हुन सक्छ । एकीकृत राजनीतिक शक्ति रहेको मोर्चाप्रति मात्र मधेसी जनताको विश्वास   छ । मोर्चाबाट बाहिरिएका दल एक्लिएको उदाहरण यहीँ छ । त्यही विश्वास नै प्रमुख आधार हो जसले गत वर्ष मोर्चाले समेत आश नगरेको जनसहभागिता आन्दोलनमा देखिन पुगेको थियो । अहिले पनि मोर्चाको एक आह्वानमा आन्दोलन सुरु हुने सम्भावना जिवित छ । तर, मोर्चाले जनताको त्यस विश्वास र भरोसालाई फेरि आन्दोलनमा धकेल्नुभन्दा निकास दिने विकल्प रोज्ने दिशामा अग्रसरता देखाउनुपर्छ । 
मोर्चा संशोधन प्रस्तावको विपक्षमा उभिएकै कारण उक्त प्रस्ताव नरुचाएका प्रतिपक्षी एमाले र सत्तारुढ दलभित्रकै नेताहरूले बल पाएका छन् । मोर्चा संशोधनको पक्षमा उभिए राजनीतिक माहौल नै फेरिन सक्छ । त्यसले एमालेलाई दवाब र सत्तारुढ दलभित्रका नेताहरूको मुख बन्द हुनेछ । तर, त्यस विपरीत मोर्चाको अडान कस्सिदै गए कांग्रेस माओवादी पनि टाडिने सम्भावना रहन्छ । सिंगो मुलुकले राजनीतिक गतिरोधबाट निकास खोजेको छ । त्यसका लागि संविधान कार्यान्वयनको गति बढाउन र निर्वाचनमा जान आवश्यक छ । त्यसका लागि मोर्चाको निकासप्रदक लचिलो निर्णय र एमालेको जिम्मेवारीबोधपूर्ण कदमको पर्खाइ गर्नुवाहेक अर्काे विकल्प छैन । 
— कान्तिपुर दैनिकबाट

रोजगारीका लागि बिदेश जाने बाध्यता

सिर्जना आचार्य 
हाल नेपालमा कतिपय भाइबहिनीलाई ‘तँ ठूलो भएर के बन्छस्’ भनी सोध्यो भने–ठूलो भएर अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युकेतिर जाने भन्छन् । जीवनमा सफल हुनु भनेको विकसित देशमा ‘माइग्रेट’ हुनु हो भन्ने कुरा यिनीहरूको मस्तिष्कमा गढेको देखिन्छ । के बन्ने भन्दा पनि कहाँ जाने र आप्रवासन गर्ने भन्ने कुरा यिनीहरूको प्राथमिकतामा छ । कुनै विकसित देशको भिसामात्र लागेमा पनि जीवनमा ठूलो सफलता हासिल गरेझैं केही दिनसम्म अविर दल्ने गरेको हामीले देखे—भोगेका छौं । देश विकासमा संलग्न हुनुपर्ने महत्वपूर्ण उमेरमा देशका कर्णधार युवा विदेशमा अदक्ष काम गर्न वा अन्य कुनै पनि बहानामा विस्थापित हुनु देशका लागि विडम्बना हो ।
कलेज भर्नाताक धेरै विद्यार्थीमा कुन विषय र कहाँ पढ्ने अन्योल रहेको पाइन्छ । विद्यार्थीहरू ठूला नाम चलेका कलेजमा बढी शुल्क तिरेर भर्ना लिन इच्छुक देखिन्छन् । कतिपय विद्यार्थीका अभिभावकले घरजग्गा धितो राखेर वा बेचेरसमेत कलेजको चर्को शुल्क तिर्ने गरेको पाइन्छ । तथापि कुन कलेजमा कुन विषयमा भर्ना लिँदा राम्रो जागिर पक्का हुन्छ भन्ने अन्योलले गर्दा विद्यार्थीहरू आफ्नो भविष्य अनिश्चिततातिर धकेल्न पुग्छन् । 
वास्तवमा कुनै पनि देशको सरकार देशका सम्पूर्ण युवालाई स्वदेशमा नै पूर्ण रोजगारी प्रदान गर्न जिम्मेवार हुनुपर्छ । यो सरकारको दायित्व हो । हुनत नेपालमा पूर्ण  रोजगारीको परिभाषा फरक छ । धेरैजसोले सरकारी जागिरलाई मात्र पूर्ण रोजगारी मान्छन् भने कतिपयले कुनै पनि नाम चलेको संस्थाको फुलटाइम जागिरलाई पूर्ण रोजगारी मान्छन् । रोजगारीका हिसाबले कतिपय यस्ता विषयजसले स्नातकपछि रोजगारीको न्युनतम पनि सुनिश्चितता दिँदैन वा आफैं उद्यमी बनाउन सिकाउँदैन भने त्यस्ता विषयमा भर्ना नलिनु नै वेश हुन्छ । नेपालमा धेरै सजिलो मानिने शिक्षण पेसा कोरिया, जापान लगायत अन्य विकसित मुलुकमा चुनौतीपूर्ण र अपनाउन सबैभन्दा गाह्रो पेसामध्ये एक हो । नेपालमा ‘केही नभए पढाए पनि हुनेनि कतै, त्यत्रा स्कुल—कलेज छन्’ र कतिले त अझ‘खै जागिर नपाएर टिचरमा झुन्डिएकी छ’ जस्ता कुरासमेत गर्छन् । ‘केही काम नपाएर मैले कलेजमा पढाइराखेको छु’ भन्नेहरूका लागि शिक्षण पेसा नभई बाध्यता हो । जसलाई आफूले अपनाएको पेसा बाध्यता हो भन्ने लाग्छ, उसले उक्त पेसामा दत्तचित्त भएर मिहेनत गरी काम गर्छ भन्ने कुरामा शंका रहन्छ ।
सामान्यतया हाइस्कुल अर्थात १२ कक्षासम्म कुन विषय छान्ने भन्ने कुरा, १२ कक्षा पढेपछि कुन विषय पढ्ने भन्ने कुराको लागि हो । तर अधिकांशका लागि स्नातक र स्नातकोत्तर कुन विषय र कुन कलेज छान्ने भन्ने कुराचाहिँ कुन विषय पढेमा सजिलै जागिर पाउन सकिन्छ वा स्वउद्यमी बन्न सकिन्छ भन्ने कुरामा भर   पर्छ । राम्रा कलेज वा विश्वविद्यालयमा पढेकाले स्नातक भएको दिन जागिर खान जाने हो, जागिर खोज्न सुरु गर्ने होइन । जागिर खोज्ने काम स्नातक हुनु अघि नै थाल्ने   हो । यस कुरामा कलेज वा विश्वविद्यालय साथै विद्यार्थी पनि स्पष्ट हुनुपर्छ । प्रायःजसो सबै देशमा यस्तै प्रक्रिया हुन्छ । स्नातक भएपछि जागिर खोज्नेहरूलाई राम्रा कम्पनीले किन अहिलेसम्म जागिर नपाएको होला भनी शंकाको दृष्टिले हेर्ने समेत विकसित मुलुकमा चलन छ । विकसित मुलुकमा कतिपय ठूला कम्पनीले स्नातक भएको केही समयपछि ‘इन्ट्री लेबल’ को जागिरको लागि निवेदन नै नलिने पनि गर्छन् । 
जबसम्मकतिजनाले त्यस कलेज वा विश्वविद्यालयबाट पढे र कतिले पढेको विषयमा जागिर पाए मूल्यांकनको अंग हुनसक्तैन, तबसम्म कलेज वा विश्वविद्यालयको गुणस्तर महंँगो ट्युसन फि वा इन्ट्रान्समा कति प्रतिशत पास हुन्छन् वा कोही नाम चलेका व्यक्ति त्यस कलेज वा विश्वविद्यालयमा काम गर्छन्, गर्दैनन् आदि—इत्यादिले निर्धारण गरिरहन्छ र हामी बेरोजगार उत्पादन गरिरहन्छौं । के हामीले विद्यार्थीको भविष्यमाथि खेलवाड त गरिरहेका छैनौं भन्ने कुरा विद्यार्थीको भविष्यप्रति उत्तरदायी छौं भन्ने कुनैपनि कलेज वा विश्वविद्यालयले मनन् गर्न अति जरुरी छ ।
हाम्रो कलेजमा पढेका यतिजना विदेश गएका छन् भन्ने कुराले त्यो कलेजको गुणस्तर बताउँदैन । बरु त्यो कलेजमा पढेका कतिजना शतप्रतिशत छात्रवृत्तिमा विदेश गएका छन् भन्ने मापदण्डचाहिँ केही हदसम्म जायज हुनसक्छ । हाम्रो कलेजका विद्यार्थीहरू ठूला कम्पनीमा काम गरिरहेकाहरू हुन् र यहाँ पार्टटाइम पढ्न आउँछन् भन्ने पनि गुणस्तर नाप्ने मापदण्ड हुनसक्दैन । म कलेजमा पढाउन चाहन्न भन्ने नाम चलेको क्याम्पसबाट एकदमै  राम्रो नम्बर ल्याएर प्रथम श्रेणीमा एमबीएस गरेको मेरो एकजना भाइ दुई वर्षसम्म बेरोजगार थियो । उसले काठमाण्डांैको अति राम्रो भन्ने एक निजी स्कुलबाट नर्सरी देखि १२ कक्षासम्म पास गरेको हो । उसको दैनिकी नै काम खोज्ने थियो । हालै पनि मेरा चिनजानका बहिनीहरू बेरोजगार छन् । हामीले आफ्ना युवा बेरोजगार हुनुमा उनीहरूको मात्रै दोष देख्नु अलि अमिल्दो कुरा हो, किनकि हामीले पाएको शिक्षा नै स्वरोजगार हुनसक्ने वा जागिरका लागि आत्मविश्वास पैदा गर्नसक्ने लेबलको प्रायः छैन भन्दा पनि हुन्छ ।
नेपालमा धेरै विश्वविद्यालय खुले पनि प्रायः धेरैजसो कलेजले एकैजसो विश्वविद्यालयको पाठ्यक्रम पढाउने भएको हुनाले जुनसुकै कलेजमा पढे पनि खासै फरक हुने अवस्था छैन । जबसम्म विकसित देशहरूको जस्तो एक विश्वविद्यालय र त्यसको एक क्याम्पस पद्धति नभएसम्म कुन कलेजको पढाइ राम्रो भन्ने कुरा अन्योलनै रहने प्रायः निश्चित छ । धेरै विश्वविद्यालय भएमा र विश्वविद्यालयको पाठ्यक्रम पढाउने प्रशिक्षक, प्रशिक्षकहरूको अनुसन्धान, विद्यार्थी र प्रशिक्षकको अनुपात, वैदेशिक विद्यार्थीको अनुपात, विदेशी प्रशिक्षकको अनुपात, विद्यार्थी चयनका मापदण्ड आदि कुराले विश्वविद्यालयहरूको स्तर निर्धारण गर्न सहयोग गर्छ । 
एकजना विदेशी विश्वविद्यालयका प्राध्यापकले मेरै सामुन्ने त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग संकायका एकजना प्राध्यापकलाई सोधेका थिए, ‘म नेपाल भ्रमणमा जाँदा नेपाली सफ्टवेयर कम्पनीहरू धेरै कम देखेँ, तर त्यहाँ वार्षिक ४ देखि ६ हजारसम्म सफ्टवेयर इन्जिनिय– रहरू स्नातक हुन्छन् । तपाईंहरूलाई तपाईंका स्नातकका बारेमा सोध्यो भने हाम्रा विद्यार्थी स्नातक भएपछि विदेश गएका छन् भनी गर्वसाथ भन्नुहुन्छ । वास्तवमा यसले तपाईंहरूलाई सफल भएको मान्न सकिँदैन । तपाईंका स्नातकहरू स्वदेशमा भनेको जस्तो काम वा काम गर्ने वातावरण नपाएर नै विदेश गएको हुनुपर्छ । तपाईंहरू किन सफ्टवेयर उद्योगलाई विकास गर्नुहुँदैन ? जुन विधामा तपाईंहरू विद्यार्थी उत्पादन गर्नुहुन्छ, त्यो विधालाई विकास गर्नु वा सरकार वा निजीक्षेत्रलाई गर्न लगाउनु तपाईंहरूको जागिरको एक हिस्साका साथै सामाजिक उत्तरदायित्व नै हो । जबसम्म तपाईंहरू सफ्टवेयर उद्योगलाई विकास गर्नुहुँदैन, तबसम्म तपाईंहरू उद्योगलाई चाहिने जस्तै विद्यार्थीहरू उत्पादन गर्नुहुन्छ भन्नेकुरामा आशंका रहिरहन्छ र तपाईंहरू विद्यार्थीहरूप्रति उत्तरदायी हुनुहुन्छ भन्ने कुरामा समेत शंका गर्ने ठाउँ रहन्छ ।’ प्रत्युत्तरमा उहाँले ‘तपाईंले भन्नुभएको कुरा सही हो र हामी यसमा काम गरिरहेका छौं’ भन्ने जवाफचाहिँ फर्काउनु भएको थियो । 
कुनै पनि कलेज वा विश्वविद्यालयको गुणस्तरको मापदण्ड त्यति सजिलै नाप्न सम्भव छैन, तर स्नातक र स्नातकोत्तर गरिसकेपछि रोजगारी अत्यन्त जरुरी विषय भएकोले यसलाई आधार मानी कलेज छान्ने मापदण्ड बनाउनु अहिलेको समयमा बुद्धिमत्ता मान्न सकिन्छ । वास्तवमा नेपाली युवा विद्यार्थीहरूलाई विदेश मोह भएको कारण, अध्ययनपछिको स्वदेशमै सन्तोषजनक रोजगारी प्रतिभा पलायन रोक्ने पहिलो र प्रमुख रणनीति हुनसक्छ । हामी कमसेकम पढेलेखेका अभिभावकले नेपालमा कलेज वा विश्वविद्यालयहरूलाई तपाईंको स्नातकहरूमध्ये कति प्रतिशत नेपालमा रोजगार वा स्वउद्यमी छन् भन्नेकुरा सोध्न सुरुवात गरौं । 
— कान्तिपुर दैनिकबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

के हो आरक्षण (सकारात्मक बिभेद) ?
— समाजमा विविध कारणले पछि परेको र अधिकारबाट वञ्चित समुदाय, वर्ग, जातजाति, लिङ्ग तथा क्षेत्रका समूहलाई विशेष गरी रोजगारी र शैक्षिक क्षेत्रमा निश्चित कोटा छुट्याई त्यसमा उनीहरूलाई मात्र सहभागी गराउने प्रक्रिया वा व्यवस्था नै आरक्षण हो । पछि परेको वर्ग, समुदाय, लिंगको उत्थान गर्दै उनीहरूको नीति निर्माण तहसम्म सहभागिता सुनिश्चित गर्नु, समतामूलक समाज निर्माण गर्नु, सबै क्षेत्रमा सबैको प्रतिनिधित्व गराउनु र राज्यमा सबै नागरिकको समान पहुँच कायम गर्ने अवधारणा अनुरूप आरक्षणको व्यवस्था भएको हो । यसले लोकतन्त्र बलियो बनाउँदै समुन्नत राष्ट्र निर्माणमा ठूलो सहयोग पु¥याउँछ । विश्व बैंकका अनुसार आरक्षणको प्रयोग सर्वप्रथम सन् १९६४ मा अमेरिकामा भएको हो । नेपालमा पहिलोपटक संवैधानिकरूपमा ‘नेपालको अन्तरिम संविधान २०६३’ मा सकारात्मक विभेदको उल्लेख गरिएको छ ।
आर्थिक असमनाता (Economic disparity) भनेको के हो ?
— नेपालमा ब्यापक आर्थिक असमानता छ । धनी दिनदिनै धनी हुँदै जाने । गरिब दिन प्रतिदिन गरिबीको खाडलमा भासिँदै जाने क्रम बढ्दो छ । तल्लो २० प्रतिशत गरिब जनसंख्याको उपभोग ६.२ प्रतिशत रहेको छ भने माथिल्लो २० प्रतिशत धनी जनसंख्याको उपभोग ५३.३ प्रतिशत रहेको छ । ४५ प्रतिशत साना किसानले ०.५ हेक्टरभन्दा कम भूमिमा खेति गर्ने गर्दछन् । ८ प्रतिशत किसानले २.५ हेक्टरभन्दा बढी भूमिमा खेति गर्दछन् ।
आदिवाशी जनजातिको बर्गीकरण बारे लेख्नुहोस् ।
नेपाल सरकारले देशभरका आदिवासी जनजातिको निम्नानुसार बर्गीकरण गरेको छ ।
१. लोपुन्मुख समुह (Endangered Group) ः यो समुहमा कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुशवाडिया गरि १० जनजातिलाई राखिएको छ ।
२. अति सिमान्तकृत समुह (Highly Marginalized Group) ः (यो समुहमा माझि, सियार, ल्होमी, थुदाम, धानुक, चेपाङ, सतार, झाँगड, थामी, बोटे, दनुवार र बरामो गरि १२ जनजातिलाई राखिएको छ ।
३. सिमान्तकृत समुह (Marginalized Group) ः (यो समुहमा सुनुवार, थारु, तामाङ, भुजेल, कुमाल, कोचे (राजवंशी), गन्गाई, धिमाल, भोटे, दराई, ताजपुरिया, पहरी, तोप्केगोला, डोल्फो, फ्रि, मुगाली, लार्के, ल्होपा, दुरा र वालुङ गरी २० जनजाति राखिएको छ ।
४. सुविधा वञ्चित (Disadvantaged Group) ः (यो समुहमा गुरुङ, मगर, राई, लिम्बु, छैरोतन, ताङ्वे, तीनगाँउले, बा¥हगाउँले, मार्फाली, शेर्पा, याक्खा, छन्त्याल, जिरेल, व्यासी र ल्होमो गरी १५ जनजाति रहेका छन् ।
५. उन्नत समुह (Advanced Group) ः यो समुहमा नेवार र थकाली गरि २ जनजाति रहेका छन् ।
नागरिक समाज भनेको के हो ? 
– प्रत्येक्ष रुपमा शासनमा सहभागी हुने राजनैतिक दलहरु, सरकारी कर्मचारीहरु र उद्योग व्यवसायीहरु भन्दा छुट्टै पहिचान भएको स्वतन्त्र बृद्धिजिवीहरु, स्थानीय समाजसेवीहरु, सेवामा समर्पित संघ–संस्थाहरु, स्थानीयस्तरमा गठन भएका उपभोक्ता समितिहरु आदिको समूह नै नागरिक समाज हो । वास्तविक रुपमा भन्नु पर्दा नागरिक समाज भनेको प्रजातन्त्रप्रति प्रतिवद्ध, मानव अधिकारका हिमायती, राजनीतिक प्रत्यक्ष संलग्नता नभएको अग्रगामी सुधारको पक्षपाती, राजनीतिक पार्टी, सरकार र संस्थाहरुलाई सहि बाटोमा मार्गदर्शन गर्न अग्रसर आफैमा सचेत र निष्ठावान समूह हो । नागरिक समाजलाई सभ्य समाज पनि भनिन्छ 
नागरिक समाजका विशेषताहरु लेख्नुहोस् ।
— नागरिक समाज आफैमा सचेत र सरकारलाई खवरदारी गर्ने स्वतन्त्र अस्तित्व भएको व्यक्तिहरुको समूह हो । यसका केही विशेषताहरु यस प्रकार छन् ।
ड्डसरकारलाई सही बाटोमा हिडाउन दबाबमूलक काम कारवाहीको गर्ने ।
ड्डआत्म अनुशासित हुँदै समाज, राष्ट्रलाई सकारात्मक कामकारवाहीको लागि घचघचाउने व्यक्ति, समूह
ड्डसरकारभन्दा पृथक हुँदै सरकारका नीति, निर्णय र कार्यान्वयनको लागि सदैव दबाब सिर्जना गर्ने संयन्त्र,
ड्डसमाजको आवाजविहिन, पिछडिएका वर्ग, समुदायको आवाज बुलन्द गर्दै सरकारलाई सहि बाटोमा ल्याउन दबाबमूलक काम गर्ने संयन्त्र । ड्डराजनीतिकबाट टाढा रहेर सामाजिक जागरण ल्याउँदै समाज र समूहलाई समेत माथि उठाउने, जागरण गराउन सक्रिय समूह
ड्डसरकारलाई जहिले पनि कानून बनाउन, भएका कानून कार्यान्वयन नभएको अवस्था रहे कानून कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने व्यक्ति–समूह, 
ड्डनागरिक चेतना प्रदायक गैरनाफामूलक व्यक्ति–समूह
नागरिक समाजका उद्देश्यहरु लेख्नुहोस् ।
— नागरिक समाज गैरनाफामूलक ठंगले कार्यरत जागरुक अनुशासित ढंगले काम गर्ने व्यक्तिरसमुहको नाम हो । नागरिक समाजले नागरिकहरुमा शिक्षा प्रदान गर्ने, समाज–समूदायलाई समेत रुपमा अघि बढन् प्रेरित गर्छ । समाजका पिछडिएका जाति, समुदाय, सम्प्रदायलाई मूल धारमा ल्याउँदै उनीहरुका हक, अधिकार दिलाउनमा सरकारलाई खबदारी गर्नु पनि नागरिक समाजको काम हो । मूलतः नागरिक समाजका केही उद्देश्यहरु यस प्रकार छन् ।
ड्डसहभागितामूलक पद्धतिको विकास र विस्तार गर्नु, विचार, अभिव्यक्तिको आदान–प्रदानमार्फत समाजलाई एकीकृत रुपमा अघि बढ्न प्रेरित गर्नु ।
ड्डसामूहिक भावनको विकास गर्दै विभिन्न ढंगको संजालमार्फत सरकारलाई सहि मार्गदर्शन गर्नु ।
ड्डराज्यको मूल धारामा आउन कठिन भइरहेको वर्ग, क्षेत्र, लिङ्ग, समूदाय र सम्प्रदायलाई नागरिक शिक्षा प्रदान गर्दै उनीहरुको हक, अधिकार प्राप्तिमा समेत बनाउनु
ड्डसुरक्षालाई नीति, कानून परिपालना गराउन दबाबमूलक ढंगले बाध्य बनाउनु ।

साहित्य सृजना 

कहिलेसम्म ? 
म पूजा गर्दै थिएँ,
भलादमी मान्छे पप्पीसँगै मन्दिर पस्यो
निर्माणकर्ता शिल्पकार ढोका बाहिरै घचेटियो
यो अपमान कहिलेसम्म ?
म खेत खन्दै थिएँ
तथानाम गर्दै ठालुले बाली उठायो
किसान दाइ जुवामा नारिइरहेका थिए
यो थिचाइ कहिलेसम्म ?
म पाइला चाल्दै थिएँ,
सम्य पुरुष पजेरोमा हुइँहुइँ बतासियो
‘कु’ को निशानी, प्लाष्ट्रिक बटुल्दै थियो
यो अन्याय कहिलेसम्म ?
म शहर घुम्दै थिएँ,
धुर्त केटो मिठा भाषण बाँड्दै थियो,
गाउँले साथी पार्सपोर्ट र भिसा मिलाउँदै थिए
यो असमानता कहिलेसम्म ?
म काली मन्दिर गएको थिएँ
भक्तहरुले न्यायको माला जप्दै बली चढाए
घरकी देवी दमनले उग्राउँदै थिइ
यो देखावटी कहिलेसम्म ?
म आवेदन दिदैं थिएँ,
भुडे नेताले विकासे प्रतिवेदन सुनाएर
परर्र ताली बज्दा, जनता भोकै मर्दै थिए
यस्तो झुट कहिलेसम्म ?
यो ..............कहिलेसम्म ? ? ?
विद्या सापकोटा ‘निर्जला‘

आखिर के त ?

तिमी, भुत लाई बिर्सने प्रायस गर्योउ भने,
बर्तमान बिश बनेर मेरा अगाडी आउन सक्छ ।
भविश्य को कल्पना गर्न नपाउदै’
तिम्रा ममता का बिन्दु–बिन्दु हरु मा
मेरा माया का कण्–कण हरु मा
फेरी तुसारो छाउन सक्छ,
यदि, तिम्रो मन निस्चल छ भने,
हराउने छैनन, तिमी प्रती का दुई थोपा बिश्वासहरु
हराउने छैनन्, समर्पित बाचाहरु
हराउने छैनन् लर्खराएका मेरा पाइलाहरु 
तिमी मा थोरै माया छ भने,
आउ मलाई बिश्वाश दिलाउ 
किन कि तिमीलाई पाउन का निम्ती 
सुरु गरेका मेरा अन्त्यहिन मेरा यात्राहरुमा
अबिरल लम्बिने डोरेटो अनि घोरेटाहरुमा
तिम्रो आकिर्ती कती खोजे होला ?
आफ्नै मन लाई सोध
आखिर, तिमी पनि त म जस्तै मान्छे होउ 
रक्त संचार गर अनि आफैले आफैलाई शोध
मुटु मा प्रेम कहाँ नेर हुन्छ चिरेर खोज 
घुम्ति–घुम्ती हरु मा ठक्कर खाएर हेर 
अनन्त यात्रा धाएर हेर 
फेरी गुमेको चिज पाएर हेर
सक्छौ भने, हजार टाला ले टालिएको मन 
दोबाटो मा उभिएको यात्री सग सम्झ्यौता गर 
थकाइ को बहना मा बिस्राम नलिने बचा गर
ठेस लागेर पल्ट्ने बाहाना नहोस 
यात्रा सुरु गरौला, आखिर जिबन के हो र ? बगी जाने खोला 
लुँखु देउरालीबाट

सूचना÷सन्देश÷बिज्ञापन 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धी ३५ दिने सार्वजनिक सूचना 

प्रथम पटक सूचना मिति ः २०७३।०८।१९ गते
जिल्ला डोटी भुमिराजमाण्डौं गाविस वडा नं. ८ स्थित कि.नं. ५१, ५२, २०९, २७७, २७८, ७१६, ७२८ र ८०३ को जग्गा सोही गाविस वडा नं. ८ बस्ने नन्दरामको नाती नन्दलाल भट्टको छोरा खगेन्द्रराज भट्टको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि खगेन्द्रराज भट्टको मिति २०६९।११।१४ मा र निजको एकमात्र पत्नी विष्नादेवी भट्टको मिति ः २०३८।०३।१५ मा मृत्यु भएको र निजद्वयबाट सन्तान छोराछोरी कोहीकेही नभई अपुताली परेकोले मृतकको शेषपछिको हकदार भाईहरु रघुनाथ भट्ट, रनजित भट्ट, प्रेमपति भट्ट र टिकाराम भट्ट मात्र भएको हुदां मृतक खगेन्द्रराज भट्टको नाउँमा रहेको डोटी भुमिराजमाण्डौं गाविसस्थित मृतकको पुरै घर जग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरि पाउँ भनी डोटी भूमिराजमाण्डौं गाविस कार्यालय डोटीको च.नं. १५७ र १५९ मिति ः २०७३।०८।१४ को किटानी सिफारीस पत्र, मृतकको नाउँको जग्गाधनि प्रमाण पुर्जा, नेपाली ना.प्र.प., चालु आ.व. को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित आदि प्रमाणहरु साथै राखी जि.डोटी भूमिराजमाण्डौं गाविस वडा नं. ८ बस्ने रघुनाथ भट्ट, रनजित भट्ट, प्रेमपति भट्ट र टिकाराम भट्टले यस मालपोत काार्यालय डोटीमा मिति ः २०७३।०८।१४ मा संयुक्त निवेदन दिनुभएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, निज निवेदकको मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाको म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफुसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैको उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।   

हार्दिक बधाई

यस संस्थाका साधारण सदस्य श्री रुपक के.सी. लोकसेवा आयोगद्वारा लिईएको परीक्षावाट निजामति सेवा अन्तरगत राजपत्र अनअंकित प्रथम श्रेणी (नासु) पदमा सिफारिस हुनु भएकोमा उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक बधाई छ ।
नविन श्रेष्ठ (अध्यक्ष) 
समाज सेवा डोटी परिवार

No comments:

Post a Comment