सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाको रक्षा गरौं, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
अचेल गाउँमा बम्बेका बिस्कुट आउन छाडे
रामहरी ओझा/डोटी
भाद्र १२
“घर आउँदा त्यताबाट धेरै सामान केही ल्याउनु पर्दैन, आफ्ना लगाउने लुगा मात्रै ल्याएर आउनु होला । यता सामान किन्न पाईहालिन्छ, त्यताबाट ल्याउँदा झन महङ्गो हुन्छ रे, रेलमा, बसमा, रिक्सामा किराया दिँदादिदै धेरै पैसा सकिन्छ रे । सिमानामा पुलिसले पनि खाने गरेका छन रे, त्यसैले केही सामान नल्याउनु होला । त्यताबाट सावुन, बिस्कुट, चकलेट बोकेर ल्याउनु जरुरी छैन ।”
श्रीमान् हर्कबहादुर दमाईले दशैंमा आफु घर आउने भन्दै बम्बेबाट फोन गरेपछि डोटी शिखर नगरपालिका–१० निवासी रम्भा दमाईले बाटोमा आउँदा सावधानीका साथ आउन आग्रह गरिन् । उनले बाटोमा लाग्ने खर्च बाहेक नगद पैसा बोकेर नल्याउन समेत श्रीमान्लाई आग्रह गरिन् । ‘बाटोमा लुटिन्छन् रे, त्यसैले नगद पैसा बोकेर आउन हुन्न भनेकी छु’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै रम्भाले भनिन् ‘मैले बैङ्कमा खाता खोलेकी छु, पैसा खातामै हालिदिनुहोला भनेकी छु ।’
रम्भा जस्तै शिखर नगरपालिका–१ कपल्लेकीकी लक्ष्मी कुमारी सिंह (मल्ल) ले पनि भारतको गुजरातमा रहेका श्रीमान् डवल मल्ललाई घर आउँदा नगद पैसा बोकेर नआउन आग्रह गरिन् । श्रीमान्ले टेलिफोनमा तिहारको बेला घर आउन सक्ने कुरा गरेपछि उनले आउँदा नगद पैसा नबोकेर आउन र अनावश्यक सामानको भारी पनि नबनाउन सचेत गराएकी छन । ‘धेरै चोरीका घटनाहरु भएको खवर सुनिन्छ बाटोमा, त्यसैले आउँदा अपरिचित व्यक्तिहरुसंग धेरै हिलमिल नगर्नु होला, अपरिचितले दिएको खाने कुरा पनि नखानु होला भनेकी छु’ लक्ष्मी भन्छिन् ‘अचेल त नेपालीहरुनै नेपालीलाई लुट्दैछन भन्ने सुनेकी छु ।’ उनले आफ्नो श्रीमान्लाई बाटोमा जाँडरक्सी पनि सेवन नगर्न आग्रह गरेको बताईन ।
कपल्लेकीकै कलावती नागरी पनि मुम्बईमा रहेका श्रीमान्लाई त्यसैगरी सम्झाएको बताउँछिन् । ‘मैले मालिका बिकास बैङ्गको दिपायल शाखामा खाता खोलेकी छु’ कलावती भन्छिन् ‘श्रीमान्ले मेरो खातामा पैसा जम्मा गरिदिनु हुन्छ ।’ उनी भन्छिन् ‘सामान पनि धेरै नबोक्नुहोला भनेकी छु ।’ उनी तीन बर्ष पहिले आफ्नै गाउँका जना भारतबाट आउँदा लुटिएको कुरा पटक पटक सम्झाउँछिन् श्रीमान्लाई ।
अचेल बम्बेका सावुन र बिष्कुट गाउँमा नआउने गरेको बताउँछिन् शिखर–१० बनलेककी जानकी बलायर । ‘पहिले पहिले देश (भारत) बाट आउनेहरुले सावुन र बिष्कुट पनि उतैबाट किनेर ल्याउने गर्थे’ जानकीले भनिन् ‘यताबाट हामीहरुले अनावश्यक भारी बनाएर नआउन आग्रह गरेपछि अचेल बिष्कुट र साबुन आउन छोडेका छन ।’ उनले भारतमा काम गर्न जानेहरुमा बिगतको भन्दा धेरै सुधार आएको बताईन ।
राष्ट्रिय बातावरण तथा सम बिकास समाज (निड्स) नामक गैर सरकारी संस्थाले एडव्ल्यु ईन्टरनेसनलको साझेदा–रीमा सञ्चालन गरिरहेको सुरक्षित आप्रबासन सम्वन्धि परियोजना–बाट बैदेशिक रोजगारका खतराको वारेमा जानकारी पाएपछि अचेल महिलाहरुले रोजगारीका लागि भारत तथा तेश्रो मुलुक जाने आफन्तहरुलाई टेलिफोन मार्फत जानकारी गराउने गरेका छन । आफुहरुले समूहमा छलफल गर्दा सिकेका कुराहरु फोनबाट भन्ने गरेको बताउँछिन कपल्लेकी कि मुनादेवी भट्ट । उनले भनिन् ‘गाउँमा हामीले सुरक्षित आप्रबासन समूह गठन गरेका छौं, त्यो समूहमा रोजगा–रीका लागि भारत तथा तेश्रो मुलुक जानेहरुलाई कसरी जोखिममुक्त बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्छौं ।’
परियोजना सञ्चालित क्षेत्रमा साथी शिक्षकमार्फत बैदेशिक रोजगार सम्वन्धि जानकारी दिने गरिएको निड्सका कार्यक्रम संयोजक प्रकाश मडै बताउँछन । उनी भन्छन् ‘कामका लागि भारत तथा तेश्रो मुलुक जानेहरुले दुःख गरेर कमाएको रकम बाटोमै नलुटियोस् भन्ने उद्देश्यका साथ चेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’
संस्थाको तथ्याँक अनुसार कञ्चनपुरको गड्डाचौकी नाकाबाट आउजाउ गर्नेहरुमध्ये दुई बर्षको अवधीमा ७१ जना लुटिएको संस्थाका सुपरभाईजर दिर्ख ओझाले जानकारी दिए ।
सम्पादकीय
अलमलमा जनप्रतिनिधिहरु
“गाउँ गाउँमा सिंह दरवार” आएपछि भएको स्थानीय तहको निर्वाचतबाट निर्वाचित जनप्रतिनिधिहरु सिंह दरवारमा बस्नेहरु जस्तै शक्तिशाली हुनु पर्ने हो । शासकीय अधिकार बिकेन्द्रीकरणको क्रममा संबैधानिक रुपमा प्रदान गरिएका अधिकारहरु उनीहरुले निर्वाध रुपमा प्रयोग गर्न पाउनु पर्ने हो र गर्नु पनि हो तर उनीहरु निरीह भएका छन, अलमलमा छन । स्थानीय तहमा बसेर कुन कानुनमा टेकेर काम गर्नु पर्ने हो भन्ने बिषयमा उनीहरुमा अहिलेसम्म पनि कुनै जानकारी छैन ।
‘सिंहदरवारको अधिकार गाउँ गाउँमा’ नारा त धेरै मिठो छ । धेरैले यो नारालाई राजनीतिक रुपमा भजाई पनि रहेका छन । तर, दुर्भाग्य के हो भने जसले यो नारा भजाईरहेका छन उनीहरुनै पनि सिंहदरवारको अधिकार जनतामा पुग्न सक्दैन भन्ने कुरामा ढुक्क छन र त्यो असम्भव हो भन्ने कुरामा पनि ढुक्क छन । यद्यपी कुनै अमुक पार्टीले वा अमुक व्यक्तिले सिंह दरवार उठाएर गाउँ गाउँमा पु¥याएको होईन । जनताद्वारा चुनिएका प्रतिनिधिहरुले जनपक्षीय संबिधान निर्माण गर्ने क्रममा छलफल गर्दै जाँदा स्थानीय निकायहरुको पहिचान, पुनर्संरचना र अधिकार प्रत्यायोजन गर्नु पर्ने आवश्यकता महसुस गर्दै गरेको संबैधानिक व्यवस्था हो । हनुमानले सुमेरु पर्बत उठाएर ल्याएजस्तै कसैले व्यक्तिले सिंहदरवार उठाएर गाउँमा ल्याएको होईन ।
अहिले पनि न संबैधानिक रुपमा न नीतिगत रुपमा कुनै पनि अवस्थामा सिंहदरवारको अधिकार गाउँ गाउँमा पुगेको अवस्था होईन । हो निश्चित रुपमा बिगतको भन्दा अहिले स्थानीय तहहरु धेरै शक्तिशाली भएका छन । स्थानीय तहहरुको संबैधानिक रुपमा पहिचान भएको छ । बिगतका स्थानीय निकायको काम, कर्तव्य र अधिकार भन्दा अहिलेका स्थानीय तहको काम, कर्तव्य र अधिकार बृद्धि भएको छ । तर, यसको अर्थ सिंह दरवार गाउँमा पुगेको छ भन्ने होईन ।
यही दुबिधामा फसेका छन जनप्रतिनिधिहरु । उनीहरुलाई एकातिर शक्तिशाली भनेर व्याख्या गरिएको छ । यसअर्थमा उनीहरुले आफ्नो सुबिधाका लागि गाडी किन्न पाउने, बजेटको पूर्ण रुपमा आफै बिनियोजन गर्न पाउने, आफ्नो सुबिधा आफै निर्धारण गर्न पाउने, सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न पाउने अधिकार राख्छन् । तर, संघीय सरकारले निर्धारण गरेर पठाएका कानुनहरुमा त्यो अधिकार छैन । अनि के को शक्तिशाली ?
एकातिर नीतिगत रुपमा यस्तो खालको समस्या छ भने अर्कोतिर जनप्रतिनिधिहरुलाई कसरी काम गर्ने हो भन्ने कुराको पनि हेक्का छैन । न भौतिक पूर्वाधारहरुको व्यवस्था गरिएको छ, न जनप्रतिनिधिहरुलाई कानुनी कुराको ज्ञान छ । मन्त्रालयले आफ्नो वेवसाईटमा राखेका नमुना कानुनहरुलाई हुबहु पारित गरेर कार्यान्वयन गर्नु पर्ने अवस्थामा उनीहरु रहेका छन । के काम गर्नु पर्ने हो, के काम नगर्नु पर्ने हो भन्ने कुरा पनि जानकारी छैन उनीहरुलाई । कर्मचारीले गर्नु पर्ने काम जनप्रतिनिधिहरुले जनप्रतिनिधिहरुले गर्नु पर्ने काम कर्मचारीहरुले गर्नु पर्ने अवस्था छ ।
कतिपय जनप्रतिनिधिहरु आफुलाई नीतिगत व्यवस्थाको जानकारी नभएका कारण कर्मचारीहरुले जसरी जता घुमायो उतै घुम्नु पर्ने अवस्था छ । त्यसकारण उनीहरु यति अलमलमा रहेका छन कि कसरी सेवा प्रवाह गर्ने हो ? नयाँ संरचना अनुसारका कर्मचारीहरु व्यवस्थापन गर्नु कम्ती समस्याको बिषय छैन उनीहरुका लागि, त्यसैमा भौतिक पूर्वाधार नभएका कारण सडकमा बस्नु पर्ने अवस्था छ ।
यो अवस्थाले नारामा भनिए जस्तो सिंहदरवारको अधिकार गाउँगाउँमा जान सक्ला त ? गाउँका जनताले जनप्रतिनिधिहरुबाट गरेको आशा अपेक्षा पुरा होला त भन्ने बिषयमा चर्चा परिचर्चा हुनु अन्यथा होईन ।
थप समाचार
सीप हराउने चिन्तामा कालुराम
डोटी शिखर नगरपालिका–१ मा रहेको केदारेश्वर मन्दिरमा प्रयोग हुने काठमा बुट्टा कोर्दै गरेका ७० बर्षीय कालुराम लुहारलाई आफ्नो मृत्युसंगै यो सीप लोप हुने चिन्ता छ । बुवाबाट परम्परागत रुपमा पेशा सिकेका उनी छोराहरुले उक्त सीप नसिक्दा चिन्तित् छन् ।
मेलौली नगरपालिका–२ दुर्गास्थान घर भएका लुहार गत फागुन देखि मन्दिरको काठमा बुट्टा कोर्दैछन । १२/१३ बर्षकै उमेरमा बुवासंगै काम गर्ने क्रममा यो सीप सिकेका लुहारले बिस्तारै काम गर्दै सिक्दै गरेको वताए । ‘यो हाम्रो पुख्र्यौली पेशा हो, बुवा बाजेहरुले यही पेशा सिके’ लुहारले भने ‘मैले पनि बुवासंगै जाँदा सिके ।’
सन १९६८ सालमा भारतीय सेनामा भर्ना भएका लुहारले ६ बर्षमै उक्त जागिर छोडे । ‘हुन त सरकारी जागिर हो, अहिले बुढेशकालमा मैले दुःख नगरि पेन्सन खान्थे’ लुहार भन्छन् ‘तर के गर्नु अर्काको देशमा, घरपरिवार छोडेर एक्लै बस्नु भन्दा नौकरीनै छोड्नु राम्रो लाग्यो, भागेर घर आएँ अनि गईन ।’ उनी ठट्याउली पारामा भन्छन् ‘कागजमा त म अहिले पनि भारतीय आर्मी हुँ ।’
फुल बुट्टा, बेल बुट्टा, पातको बिचमा फुल, उनले कोर्दै गरेका बुट्टा हेर्दा हातले कुदिएका नभएर मेसिनको प्रयोग भएजस्तै देखिन्छ । उनी भन्छन् ‘यस्तै बनाउनु प¥यो भन्दिए भईहाल्छ म सोही अनुसार तयार गरिदिन्छु ।’ यो उमेरमा पनि उनी ढुक्कसंग आफ्नो काममा व्यस्त छन । भन्छन् ‘अव अलि दम लाग्न थाल्यो, त्यसैले काम गर्न गा¥हो भयो ।’
तीन छोराका धनी लुहारले आफ्ना छोराहरुलाई यो पेशामा लाग्न आग्रह गर्दा पनि कसैले काम गर्न मानेनन् । “छोराहरु आरनको काममा लागेका छन तर काठमा बुट्टा कोर्ने काममा लाग्दैनन्’ उनले भने ‘मेरो सीप मसंगै जान्छ कि भन्ने चिन्ता लागेको छ ।’ जेठो छोराले अलिअलि सिकेकाले उसले यो पेशा समात्छ कि भन्ने आश थियो उनलाई तर जेठो छोराले पनि त्यो काम गर्दैन भनेपछि उनी हरेस भए ।
लुहारले आफुसंग काम गर्ने केही व्यक्तिहरुलाई यो सीप सिकाए तर उनीहरुले पनि पेशागत रुपमा यो काम गरेनन् ।
काम राम्रो छ, सम्मान पनि छ, धेरै मेहनत पनि गर्नु पर्दैन तर पनि यो पेशामा कोही आउन चाहाँदैनन् भन्छन उनी । आफुले दैनिक एक हजार पाँच सय ज्याला खाईरहेको बताउँने लुहारले सीप र कलाको महत्व नबुझेका कारण यो पेशा बिस्तारै लोप हुँदै गएको बताए । कसैले सिक्न चाहे आफु निशुल्कै सिकाई दिने उनी बताउछन ।
५० प्रतिशत बिद्यालयमा खानेपानी अभाव
डोटी जिल्लाका ५० प्रतिशत सामुदायिक बिद्यालयहरुमा खानेपानीको अभाव रहेको जिल्ला शिक्षा कार्यालय डोटीले जानकारी दिएको छ ।
आधारभुत तहका तीन सय १३ र माध्यामिक तहका ७५ गरि तीन सय ८८ सामुदायिक बिद्यालय रहेको जिल्लामा हालसम्म एक सय ९६ बिद्यालयहरुमा मात्र खानेपानीको धारा निर्माण भएको जिल्ला शिक्षा कार्यालय अन्तरगतको दिपायल श्रोतकेन्द्रका स्रोतव्यक्ति लक्ष्मीराज ओझाले जानकारी दिए । “बिद्यालयमा खानेपानी अभाव भएका कारण शौचालयको प्रयोगमा समेत समस्या आएको छ” ओझाले भने ‘अझै पानी शुद्धिकरण गरेर खाने बिद्यालयको संख्या त जम्मा १२ प्रतिशत मात्रै रहेको छ ।’ जम्मा १६ बिद्यालयमा मात्रै बालबालिकाहरुले शुद्धिकरण गरेको पानी खान पाएको ओझाले बताए ।
जिल्ला शिक्षा कार्यालय डोटी र सिडिएम नेपाल नामक गैरसरकारी संस्थाले संयुक्त रुपमा आयोजना गरेको “जिल्लाका बिद्यालयहरुको खानेपानी, सर–सफाई तथा स्वच्छताको अवस्था” बिषयक छलफल कार्यक्रममा छात्राहरुले महिनाबारी भएका बेला प्रयोग गर्ने सेनीटरी प्याड फाल्ने व्यवस्था भएका जम्मा १७ बटा बिद्यालयहरु मात्रै रहेको ओझाले जानकारी दिए । ‘बिद्यालयमा छात्र भन्दा छात्राहरुको संख्या बढी छ’ ओझाले भने ‘छात्राहरुका लागि चाहिने आधारभुत कुराहरु पनि पुरा गर्न सकिएको छैन ।’ उनले जिल्लाका कुल ७१ हजार तीन सय ७३ बिद्यार्थीहरुमध्ये ३६ हजार ८८ छात्रा रहेको बताए ।
डोटी जिल्ला खुल्ला दिशाँमुक्त क्षेत्र घोषणा भईसकेको भएपनि अझै पाँच बिद्यालयमा शौचालय नभएको उक्त कार्यक्रममा जानकारी गराईयो । ७८ प्रतिशत बिद्यालयहरुमा पानीको स्रोत पहिचान भएको भएपनि योजना निर्माण गर्न नसकिएको ओझाले बताए । उनले भने ‘९२ प्रतिशत बिद्यालयहरुमा मात्रै छात्राहरुका लागि शौचालयको छुट्टै व्यवस्था गर्न सकिएको छ ।
कार्यक्रममा डोटीका जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौड्यालले जनचेतनाको अभावका कारण बिद्यालयमा सरसफाईको व्यवस्था मिलाउन समस्या भएको बताए । ‘शौचालय बनाईएका छन तर शौचालय भन्दा बाहिर दिशाँ पिसाव गरेको भेटिन्छ’ पौड्यालले भने ‘सामान्य मर्मतका कामहरुमा पनि अभिभावकहरुले चाँसो नदेखाउँदा धेरै बिद्यालयहरुमा खानेपानीको समस्या रहेको छ ।’ उनले भने ‘अभिभावकहरुमा बिद्यालयप्रतिको अपनत्व देखिदैन, जसका कारण संरक्षणमा समस्या भएको छ ।’ उनले बिद्यालयमा पानीको बैकल्पिक व्यवस्था मिलाउनु पर्ने धारणा राखे ।
कार्यक्रममा सिडिएमका कार्यक्रम संयोजक कुवेर खड्काले बिद्यालयको सरसफाईका लागि आफुहरु क्रियासिल रहेको वताए ।
एक सय ४१ महिला जनप्रतिनिधि
असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट डोटीमा एक सय ४१ महिला जनप्रतिनिधिहरु निर्वाचित भएका छन ।
नौ स्थानीय तहका लागि भएको निर्वाचनबाट एक तहको प्रमुखमा मात्र महिला निर्वाचित भएकी छन । दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा एमालेका तर्फवाट मञ्जु मलासी प्रमुखमा बिजयी भएकी छन । प्रमुख पदमा महिला उम्मेद्वारी जम्मा दुई जनाले मात्रै दर्ता गराएका थिए । मलासीका अतिरिक्त पुर्वीचौकी गाउँपालिकामा नयाँ शक्ति नेपाल पार्टीको तर्फवाट जगुदेवी थापाले प्रमुखका लागि उम्मेदवारी दिएकी थिईन ।
अन्य आठ स्थानीय तहमा महिलाहरु उपप्रमुखमा निर्वाचित भएका छन । प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला हुनु पर्ने कानुनी व्यवस्था अनुसार आठ स्थानीय तहको उपप्रमुखमा महिला चयन भएका छन । उपप्रमुख पदका लागि नौ स्थानीय तहमा ३२ जना महिलाले उम्मेद्वारी दिएका थिए ।
खुल्ला सदस्यहरुमा न्यून संख्यामा महिला जनप्रतिनिधि चयन भएका छन । खुल्ला सदस्यका लागि पुरुषहरुसंग प्रतिस्पर्धा गर्ने १३ महिलामध्ये जम्मा दुई जनाले मात्रै बिजयी प्राप्त गरिन् । दिपायल सिलगढी नगरपालिका वडा नं. १ र ६ बाट दुई जना महिला खुल्ला सदस्यमा निर्वाचित भएका छन । यस्तै वडाध्यक्षका लागि उम्मेदवारी दिने ६ महिलामध्ये कुनैले पनि बाजी मार्न सकेनन् ।
संबैधानिक व्यवस्था अनुसार प्रत्येक वडामा अनिवार्य एक जना महिला हुनु पर्ने व्यवस्था अनुसार ६५ वडामा ६५ महिला जनप्रतिनिधिहरु निर्वाचित भएका छन । उक्त पदका लागि दुई सय ६ जना महिलाहरुले उम्मेदवारी दिएका थिए । यस्तै प्रत्येक वडामा एक जना दलित महिला सदस्य हुनु पर्ने व्यवस्था अनुसार ६५ जना दलित महिला चयन भएका छन । दलित महिला सदस्यमा दुई सय १० जनाले उम्मेदवारी दिएका थिए ।
निर्वाचनमा चार सय ५६ जना महिलाहरुले उम्मेदवारी दिएका थिए । यस अघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा ७४ महिला मात्र जनप्रतिनिधिका रुपमा निर्वाचित भएका थिए ।
छोटकरी समाचार
फेरी खुलादिसा
गत असार २८ गते नेपालकै ४० औं जिल्लाको रुपमा डोटी जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरियो ।
बिभिन्न र्याली, झाँकी र बाजागाजाका साथ जिल्ला सदरमुकाम सिलगढीको इन्द्रचौकदेखि जिल्ला समन्वय समितिको कार्यालयको ¥यालीका साथ घोषणा गरेको खुला दिसा मुक्त क्षेत्र फेरी पुरानै अवस्थामा फर्किएको छ ।
जिल्ला सदरमुकामकै गल्ली गल्लीमा जताततै खुला दिसा । सडकको छेउछाउमा खुला दिसा । ‘समुदायमा स्वास्थ्य सरसफाईबारे जनचेतनाको कमी रहनु, महिनावारीको बेला शौचालयको प्रयोग कम हुनु, बस्तु भाउको मलमुत्रको व्यवस्थापन नहुनु, बजार क्षेत्रको फोहोर मैलाको व्यवस्थापन नहुनुलाई सरसफाई क्षेत्रको मुख्य चुनौती हो । एक जना स्थानीय शंकर आउजीले भने ।
चेतनाकै कमीले गर्दा दिनानुदिन खुला दिसा बढ्दै गएको छ । त्यति मात्र होइन । नगरपालिका कार्यालयको बिरुद्धमा नै टोलटोलमा फोहोर बढेको पनि पाइन्छ । नगरपालिकाले खुला दिसा मुक्त नहुदै घोषणा ग¥यो भन्दै स्थानीयहरुले बढी लापरबाही गर्ने गरेका छन ।
भएका शौचालय पनि प्रयोगमा नै नआइ भत्किनु र कतिपय ठाउँमा पानीको अभावले शौचालय छाउगोठमा परिणत हुनु जस्ता समस्याले खुला दिसा मुक्त घोषणा कागजमा मात्र सीमित भएको आम डोटेली जनताले औल्याएका छन ।
खेल समाचार
दूधे गोल्डकप असोज पहिलो सातादेखि
झापाको शिवसताक्षी नगरपालिकामा आगामी असोज ४ गतेदेखि प्रथम दूधे गोल्डकप फुटबल हुने भएको छ ।
आयोजक दूधे युथ क्लबले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता हुने जनाएको हो ।
स्थानीय दूधे खेल मैदानमा हुने प्रतियोगितामा दुई विभागितसहित ८ वटा टोलीले सहभागिता जनाउनेछन् ।
आयोजक दूधे युथ क्लबका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार प्रतियोगितामा नेपाल आर्मी, एपीएफ, रुपन्देही(११, चर्च ब्वाइज युनाइटेड, मोरङ(११, हिमालयन शेर्पा क्लब, रमपम झापा(११ र आयोजक मैदानमा उत्रनेछन् ।
प्रतियोगिताको उपाधि विजेताले ३ लाख १ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउनेछन् भने उपविजेताले १ लाख ५१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण(पत्र पाउने आर्थिक विभाग प्रमुख यामनाथ काफ्ले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
किन हार्यो भारतसंग नेपाल ?
आइतबार काठमाण्डौंमा सम्पन्न साफ यु–१५ फुटबल प्रतियोगिताको फाइनलमा आयोजक नेपाललाई २–१ ले हराउँदै भारतले ट्रफि उचालेको हो ।
खेलमा पेनाल्टी मार्फत सुरुआती अग्रता लिएपनि नेपालले जित हात पार्न सकेन । सुरुवाती अग्रता लिएको नेपालले किन हार व्यहोर्नु प¥यो ? भन्ने बिषयमा अहिले चर्चा हुन थालेको छ । नेपाल हार्नुका अनेक कारण हुने अड्कल लगाईएको छ ।
नेपालले खेलमा ४१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता ग¥यो तर, गोल गरे लगत्तै डिफेन्सिभ मुडमा देखियो । नेपालले आफ्नो पोस्टको सुरक्षामा जोड दियो, आक्रामक खेल खेल्ने कुरामा चुक्यो । यस्तै नेपाल फिनिसिङमा चुक्यो । फस्ट हाफमा पाएका केही अवसर गोलमा बदल्न सकेन । दोश्रो हाफमा काउन्टर एट्याकको रणनीति बनाएको नेपालले पाएका अवसर सुदपयोग गर्न सकेन । नेपालका प्रशिक्षकले पनि डिफेन्सिभ गेम र काउन्टर अट्याकको रणनीति बनाए। जुन गलत सावित हुन पुग्थ्यो । नेपाल आफ्नो एरियामा आएको बल क्लियर गर्नमै समय गुमाउन पुग्यो ।
नेपाली टोलीको बल पास एक्युरेसी देखिएन । नेपाली प्रशिक्षक सुनिलकुमार श्रेष्ठले सर्ट पास खेल्ने बताएका थिए । तर, खेलाडीहरुको मुड त्यस अनुसार देखिएन । भारतको खेल आफैँमा चुस्त थियो । समूह चरणमा कुनै खेल नखेलेको भारत बलियो थियो ।
यता नेपाल भने मनोवैज्ञानिक रुपमै कमजोर देखियो । समूह चरणमा पनि भारतसँग हारेको नेपाल यसपटक पनि मनोवैज्ञानिक प्रेसरमा देखियो। नेपाली खेलाडीहरु भारतीय खेलाडीहरुसँगको प्रतिष्पर्धामा सुरुवात देखिनै दबाबमा देखिए । समर्थकको उत्साहका बीच पनि भारतसँग नेपाल पराजित भयो । यि र यस्तै कारणले नेपालले भारतसंग पराजय भोग्नु पर्यो ।
चलचित्र/मनोरञ्जन
किन विषालु बन्यो रामकृष्णको ‘जजमेन्ट’ ?
अनलाइन खबर
यतिबेला आफैंले गाएको गीतझैं ‘बोल्नै नहुने’ भएको छ, रामकृष्ण ढकाल लाई । नेपाली आइडलमा ‘गेस्ट जज’को रुपमा निम्त्याइएका उनले आफूलाई प्रतियोगी निशान भट्टराईको गायकी मनपर्ने बताए । यही उनको भूल भयो ।
अतिथि निर्णायकको कुर्सीमा बसेका ढकालको भनाइको सार यस्तो थियो, ‘टप फाइभमा आउनु भनेकै गायकी राम्रो हुनु हो । तपाईंहरु त्यसै यहाँसम्म आइपुग्नुभएको छैन । मैले भन्नुपर्दा, मलाई मनपर्ने गायकी भनेको निशान भट्टराईको हो र प्रताप दासको पनि । दुई जना मलाई एकदमै मनपर्छ । तपाईंहरु जस्तो प्रतियोगी डेन्जर जोनमा पर्दा दुःख लाग्छ । र, अर्कोकुरा हाम्रोलाई भन्दा राम्रोलाई भोट गरौं भन्ने मलाई लाग्छ ।’
रामकृष्णले भने, ‘खासमा मैले नराम्रो आशयले भनेकै होइन । मेरो आत्माले जे भन्यो, त्यही बोलें । मलाई बडो कूटनीतिक भएर बोल्न आउँदैन । र, सबैलाई उत्तिकै राम्रो लाग्छ भनेर झुटो बोल्न पनि सक्तिनँ ।’
जब टेलिभिजनबाट नेपाली आइडलको उक्त शृंखला प्रसारण भयो, रामकृष्ण विवादको भूमरीमा फसे । उनीमाथि नानाथरी गाली बर्साउन थालियो । फोन गरेर चिनेजानेकाहरुले त्यही कुरामा केराकार गर्न थाले । फेसबुकभरी उनीमाथि भद्दा र चर्को आलोचना पोखियो । ‘अहिले त फोनको घण्टी बज्दासमेत आतंकित हुन थालेको छु,’ रामकृष्णले भने, ‘फेसबुक हेर्नै डर लाग्न थालेको छ ।’
तीव्र र छुद्र आलोचना पचाउन नसकेका ढकालले केही रेकर्डिङको काम समेत गर्न सकेनन् । र, अर्को दिनका लागि थाती राखे । उनी यतिबेला तनाव बीच घेरिएका छन् । अहिले उनलाई खेद्नेहरुको लर्को छ । सामाजिक सञ्जालमा उनको चर्को विरोध र आलोचना भइरहेको छ । उनीमाथि ‘जातिवादी’ ट्याग भिराइएको छ । ‘पक्षपाती’को बिल्ला झुण्ड्याइएको छ । ‘बाहुनवादी’को हिलो लेपिएको छ ।
दर्शकलाई लाग्यो, क्षत्री बाहुनलाई च्यापेर ढकालले जनजातिलाई पाखा लगाए । ढकाललाई ‘बाहुनवादी’को हिलो लेपियो । उनी जनजाति प्रतियोगीप्रति अनुदार रहेको जिकिर गरियो । अक्सर रियलिटी सोमा निर्णयकको भूमिकामा रहेकाहरुलाई सोधिन्छ, तपाईंलाई कसको परफमेन्स मनपर्रुयो ? राम कृष्ण ढकाललाई ‘ब्याकस्टेज’मा पनि यही सोधिएको रहेछ । कार्यक्रम होस्टले सोधेका थिए रे, ‘व्यक्तिगत हिसाबमा कुन प्रतियोगी मनपर्छ ?’
मञ्चमा पनि उनले त्यही धारणा दोहोर्याए । उनले भने, ‘निशान भट्टराईको गायकी मन पर्छ ।’ प्रताप दासप्रति पनि उनको झुकाव रह्यो ।
अर्का दुई प्रतियोगी बुद्ध लामा र सागर आलेलाई उनले ‘पक्षपात’ गरे । दर्शकले यस्तै ठम्याए । दर्शकलाई लाग्यो, क्षेत्री बाहुनलाई च्यापेर ढकालले जन जातिलाई पाखा लगाए । उनीहरु वाकयुद्धमा उत्रिहाले । ढकाललाई ‘बाहुनवादी’को हिलो लेपियो । उनी जनजाति प्रतियोगीप्रति अनुदार रहेको जिकिर गरियो । यसले एउटा खेमा खासगरी जनजाति दर्शक, जो बुद्ध लामा र सागर आलेका पक्षधर थिए, उनीहरु नराम्ररी बिच्किए ।
ढकालको प्रष्टिकरण
नेपाली आइडलको शृंखला नियमित हेर्दै आएको बताए । उनले के पनि बताए भने, ‘म हरेक सो हेर्दा मनमनै उनीहरुको गायकी पनि मूल्यांकन गरिरहेको हुन्थें ।’ ढकाल आफैंमा संगीत साधक हुन् । स्वाभाविक रुपले अर्काको गायकीको मूल्यांकन गर्न उनलाई कर र मन लाग्छ । यो आम प्रवृत्ति पनि हो ।
उनले नेपाल आइडल हेर्न थाले यता भट्टराईको प्रस्तुती मन परेको रहेछ । तर, अहिलेको जमाना गायकीले मात्र होइन, परफमेन्सले पनि धान्ने हो । त्यस हिसाबले उनको रोजाइमा रहेछन, प्रताप दास । प्रतापको प्रस्तुतीकरण पनि राम्रो रहेछ ।
बुद्ध लामाको गायकीले पनि ढकालको मन पगालेकै रहेछ । अलि फरक स्टाइलले गाउने लामाको स्वरमा बेग्लै मिठास पाएका छन, उनले । ‘बुद्ध क्युट पनि लाग्छ,’ ढकाल यसै भन्छन् । सागर आलेको गायन पनि अब्बल रहेको उनको मूल्यांकन छ ।
तीतो सत्य
अक्सर रियालिटी सोमा निम्त्याइएका कुनै पनि निर्णायकलाई सोधिन्छ, ‘तपाईंलाई कसको परफमेन्स कस्तो लाग्यो ?’ यसमा निर्णायकले ‘ठीकै लाग्यो, राम्रो लाग्यो’ भनेर मात्र पुग्दैन । र, त्यस्तो अपेक्षा पनि गरिँदैन । साथै, निर्णायकको यस्तो फितलो जवाफले कार्यक्रममा तोड पनि आउँदैन ।
लेख
सुदूरमा गौरा र गरिमा
टेकेन्द्र देउवा
सुदूरपश्चिम लगायत कर्णाली क्षेत्र अहिले गौरामय भएको छ । महान पर्व गौरामा गाईने यस्तै फाग र रागहरुले त झन् यहाँका गाउँ बस्तीको रौनक नै फेरिदिएको छ । घर चिटिक्क पोतिएका छन् । बाटोघाटो पानी पधेराहरु सफा छन् । गौरा पर्व माईती पोईल आउने जानेहरुको पनि चहल पहल बढाएको छ । गौरा मनाउन परदेशीएकाहरु समेत भित्रीन थालेका छन् ।
यसको धार्मिक, संस्कृतीक महत्व निकै रहेको छ । गौरा पर्वको प्रचार प्रसार गर्न र यसको प्रवद्र्धनमा राज्यले साथ नदिएको गुनासो यस क्षेत्रका बासिन्दाहरु गर्दछन् । तर सबै दोष राज्यलाई दिएर मात्रै उम्कीने समय भने यो कदापी होईन ।
दशैं तिहार भन्दा महत्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयाँमा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाए खेलाउन पाउने चलन यहाँ रहेको छ । भाद्र शुक्ल पञ्चमीको दिन बिरुडा भिजाएर गौराको शुभारम्भ भएको मानिन्छ भने सप्तमीको दिन गौरा भित्र्याउने चलन रहेको छ । सुदूरपश्चिमेली र कर्णालीबासीहरुको मौलिक पर्व गौरा एक सातासम्म खेल्ने चलन रहेको छ । कुश, धान, साउँ, अपामार्ग, तिल लगायत विभिन्न ९ बोटबिरुवाबाट तयार गरिने गौरा पञ्चकन्या तथा ब्रतालुहरुले विभिन्न बाजागाजा र फाग (मांगलिक गित) गाएर टाउकोमा राखेर नचाउँदै गौरा घरमा भित्र्याउने चलन छ । गौरा घर बेहुली जस्तै सजाइन्छ । गौरा भित्र्याउदा बजागाजाका साथ भित्र्याइन्छ । गौरा भित्र्याउदाको समय निकै रमाईलो हुन्छ ।
सप्तसती देवीले दक्षको अग्नी कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह विसर्जन गरेकोले हरियो घाँसमा सतिदेवीको वास हुन्छ भन्ने मान्यता अनुसार घाँसको समष्टिगत रुप बनाई पूजा गर्ने परम्परा छ । गौरा पर्ब धार्मिक भावनाबाट मात्र प्रेरित नभई आपसी सद्भाव सहअस्तित्वको विकास गरी सामाजिक जीवन जीउन सिकाउने पाठशाला समेत बनेको छ ।
गौरा भित्र्याएको दोश्रो दिन महेश्वरसंग धुमधामसंग बिवाह गरिन्छ । गौराको ब्रत बस्ने महिलाहरुले प्रसादको रुपमा घाँटीमा दुवाधागो (मन्त्रेको धागो) बाध्ने गर्दछन् । अन्यलाई प्रसादको रुपमा विरुडा दिने गर्दछन् । यस पर्वको प्रमुख प्रसाद विरुडा (क्वाँटी) हो । पञ्चमीका दिन विरुडा भिजाइन्छ षष्टिका दिन बिरुडा धुने र गोराको समयमा खाने गरिन्छ र घर बाहिर बसेका सदस्यलाई समेत पठाउने चलन छ ।
डा. आर.डि. प्रभात चटौत ‘प्रभात’को बृहत डोट्याली शब्दकोषमा उल्लेख भए अनुसार हिमालय राज कि छोरी पार्वती बिबाह योग्य भएपछि छोरीको लागि बर खोज्दै हिडे । छोरीको बिबाह सुर्यसंग गर्दा जलेर मर्ने, चन्द्रमासंग बिवाह गर्दा आयु छोटो, ब्राह्मणसंग बिहे गर्दा ब्राह्ण पुजापाठमा ब्यस्त हुने र छोरी भोकले मर्ने, मेहश्वरसंंग बिबाह गर्दा भाड, धतुरो खाने भनेर अलमलमा परे त्यसपछि छोरीको सल्लाह अनुसार महेश्वरसंग नै बिबाह गर्ने निर्णय भयो र यही बिबाहको लगनको रुपमा गौरालाई लिइन्छ । यस पर्बमा चैत्, ढुस्का, धुमारी, तुलसीका गीत तथा बिभिन्न डेउडा गीत गाएर खेल खेलिन्छ ।
भारत उत्तराञ्चलको पिथौरागढ, गढवालमा पनि गौरा खेलिन्छ । अचेल सुदूरपश्चिम पहाडी जिल्लाबाट बसाई सारेर कैलाली कञ्चनपुरमा बसाई सारेका समुदायले समेत साताभरि नै गौरा खेल्ने गर्दछन् । गौराको समयमा कामका लागि बाहिर गएका घर फर्किने र औकात अनुसारको मिठो मसिनो खाने र राम्रो नयाँ लुगा लगाउने गर्दछन् । गौराको अन्तिम दिन दुलहीलाई विवाह गरेर अन्माए झै गरी बाजा गाजा र फाग गाउँदै निश्चित ठाउँमा विसर्जन गर्ने गरिन्छ ।
हराउदै मौलिकताः
गौरा पर्वको आफ्नै गरिमा र महिमा रहेको छ । यो डोटेली भाषीको मौलीक पर्व पनि हो । डोटेली भाषीको पहिचान र इतिहाससंग जोडिएकाले पनि यसले बढी महत्व रहेको छ । गौरा पर्वमा गाईने गायनहरुमा चैत, ढुस्का र धुमारीहरुमा बिर बिरंगनाहरुका योगदानको चर्चा गरिएको हुन्छ । खास गरेर डोटी राज्यताका राज्य सञ्चालनमा महत्वपूर्ण भूमिका निभाएका ब्यक्तिहरुका जीवन कथा गीतका माध्यमबाट बर्णन गर्ने गरिन्छ । त्यसैगरी यस क्षेत्रका महत्वपूर्ण देबी देबताका कथा उीनहरुको शक्तिको पनि गौरामा बर्णन गरिन्छ । अजयमेरु कोट र त्यससंग सम्बन्धित राज रजौटाका कथा समेत गौरामा लयका माध्यमबाट सुन्न पाईन्छ । त्यस ताकाको राजनीतिलाई पनि गौरामा गीतका माध्यमबाट सुनाउने गरिन्छ ।
गौरामा गौरा भित्र्याउदाको सगुन गीत, गौरा नचाउँदाको सगुन गीत र बिसर्जन गर्दाको सगुन गीत समेत लय हालेर गाउने गरिन्छ । त्यसैगरी महाभारतमा कृष्ण र अर्जुनको भूमिका, कौरव पाण्डवको युद्ध र राम बनबास जानुका कारण समेत लयमा गायन गरिन्छ । तुलसीको पुजन प्रकृया र कहिले देखि पुजा गर्ने गरियो भन्ने कुराको सन्देश समेत गौराका गीतमा सुनिन्थ्यो । खासमा गौरामा गाईने चैत, ढुस्का, धुमारी गीतहरुमा अजयमेरु कोटका लोकप्रीय राजा नागि मल्ल, कटारी मल्ल, लाल देउवा, करन देउवा, भागेश्वर देवता, मष्ट देवता, तेडी देवता लगायतका बिषयमा शक्ति र बहादुरीका गाथा समेटिएको पाईन्छ ।
तर अहिले गौरापर्वको मौलिकता हराउदै गएको छ । खास गरेर गौरामा चैत, ढुस्का, धुमारी, तुलसी गाथा, राम लिला र श्री कृष्ण लिला गायन गरिने भएपनि अहिले गौरा रमाईलो पर्वको रुपमा मात्रै सिमित भएको छ । गौरा पर्वमा देउडा खेल्ने र ¥याप र पप गीतमा रमाउनेहरु बढी छन् । गौरामा गाईने गीतहरुको आफ्नै भाव रहेको छ ।
गौरा पर्व कि देउडा पर्वः
गौरा पर्व भन्दै देउडामा कुम जोड्नेहरुको भिड नै हुन्छ । गौरा पर्व सुदूरपश्चिममा मात्रै नभएर यहाँबाट बसाई सारेर अन्यत्र गएका डोटेली भाषीहरुले समेत मनाउने गरेका छन् । देश परदेशमा समेत डोटेली भाषीले गौरा खेल्ने गरेका छन् । भनौ पर्वलाई महत्वका साथ लिने गरेका छन् । गौरालाई देउडा खेल्ने पर्वको रुपमा मात्रै बुझिदिदा समस्या भएको छ । गौरामा गाईने गीत देउडा हुन सक्दैनन् । यो नितान्त फरम बिधा र गायन हो । गौरा पर्वलाई देउडा पर्बमा बुझ्यौं भने यसको महत्व नै रहदैन । महत्व देउडा वा गौरा दुबैको छ तर खेल्ने समय र परिवेश फरक फरक हुन्छ । त्यसैले पनि गौरा पर्वको मौलिकतालाई हामीले बचाएर राख्ने हो भने सबैभन्दा पहिले गौरापर्वको बिषयमा बुढ्न जरुरी छ । होईन भने गौरा पर्व देउडा पर्वमा रुपान्तरण हुने छ । गौरामा खेलिने, गाईने भाका र लय हराउने छन् । यति मात्रै होईन त्यसले डोटेली भाषीको पहिचान, संस्कार र संस्कृति समेत हराउने छ । अहिले आएर गौरा पर्व देउडा बर्षको रुपमा सिमित हुन जानुमा पुरानो र नयाँ पुस्ता त्यत्तिकै दोषी छन् ।
पुरानो पुस्ताले गौरा पर्वको महत्व, महिमा र गरिमा यो हो भनेर नयाँ पुस्तालाई भन्न चुकेका छन् । बर्तमान सधै बर्तमान हुदैन त्यो भोली इतिहास नै हुन्छ । त्यसकारण आफुसंग भएका सीप, आफ्नो संस्कार संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी हुन्छ । अग्रजहरुले यदि असल चाल चलन, संस्कार संस्कृति र प्राप्तीहरुलाई हस्तान्तरण गर्न सकेन भने त्यो पुस्ता आफैमा सिमित हुन्छ । त्यस कारण आफुसंग भएका ज्ञान ध्यानका कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्नु जरुरी छ । होईन भने मौलिकता हराउनुको दोष अग्रजलाई नै लाग्ने छ । नयाँ पिढी पनि आफ्नो संस्कृति ग्रहण गर्न चाहिरहेका छैनन् । उनीहरुको बुझाईमा संस्कार संस्कृति र परम्परानै पछौटेपनको कारण हो भन्ने छ । अरुको संस्कृति अपनाए वा अरु भन्दा फरक देखिए आधुनिक भईन्छ, भन्ने गतल बुझाईमा नयाँ पिढी रहेको छ । त्यसैले उसले आफ्नो भाषालाई भुल्न खोज्छ, पहिरन बदल्छ । जो गौरामा पनि देखिएको छ । गौरा पर्व के हो ? यसको महत्व के हो ? के कस्ता गीत कस्तो लयमा गाईन्छन् वा नाचिन्छन् भन्ने कुराको अहिलेको नयाँ पिढीले बास्तासम्म गर्दैन । पुरानो पिढीले आफुसंग भएका ज्ञानका कुरा आफ्ना सन्ततीहरुमा हस्तान्तरण गर्नु जरुरी रहेको छ । नयाँ पिढीले पनि यो बुझ्नु जरुरी छ कि कुनै पनि ब्यक्तिलाई उसको संस्कृतिले पछाडी पार्दैन । बरु संस्कृति उसको पहिचानसंग जोडिन्छ । परिचयसंग जोडिन्छ । नयाँ पिढीले पनि गौरा पर्वलाई गर्वको रुपमा लिन सक्नु पर्छ ।
त्यस कारण पनि धार्मिक, संस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गौरा पर्वको सम्वद्र्धन र प्रवद्र्धन गर्नु आवश्यक रहेको छ । गौरा पर्वको प्रचार प्रसारमा ब्यापकता दिनु पर्छ । औपचारिकता वा देखासिखीको पर्वको रुपमा मात्रै सिमित नराखेर गौरा पर्वसंग महत्व राख्ने कुराको दस्तावेजीकरण गर्न अग्रसर हुनुपर्छ । होईन भने अहिले गौरा पर्व आफ्नै देउडामा रुपान्तरण भएको छ । एक दिन गौरा पर्व ¥याप र पप गितमा नाच्ने पर्व नहोला भन्न सकिदैन ।
मोफसल पत्रकारिता
पत्रकारिता एक स्वतन्त्र पेशा हो ।
लक्ष्मण रसाइली (सह सम्पादक)
भेरी खबर डटकम, लुक नेपाल डटकम, जाजरकोट
तपाईंको पुरा परिचय पाउँ न ?
— म लक्ष्मण रसाइली । मेरो घर त्रिबेणी नलगाड नगरपालिका ३ जाजरकोट र म अहिले भेरी खबर डटकम अनलाइन डिजिटल पत्रिका र लुक नेपाल डटकमको सह सम्पादकको रुपमा कार्यरत छु ।
तपाँईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— म जब निमाबिमै पढ्थे । त्यही समय जब रेडियो सुन्ने गर्थे त्यही समय त्यस्तै सत्य घटना र सत्य समाचारहरु सुन्थे तर त्यही हाम्रो बिकट ठाँउहरुका घटना, परिस्थिति सञ्चार माध्यमसम्म कहिले पुग्दैनथे । समाजको यथार्थ सामाजिक कुप्रथा, भ्रष्टाचार, समाजमा हुने गतिविधि कहिले पनि सम्बन्धित निकायमा पुग्दैनथे । र अर्को कुरा समाज परिवर्तनमा सञ्चारको भूमिकाको बारेमा अध्ययन गर्दै गए अनि हो रहेछ समाज परिवर्तन देश परिबर्तन गर्नुमा सञ्चारमाध्यम अनि सञ्चारकर्मीको नै मूख्य भूमिका देखे तसर्थ मैले यो पेशा नै रोजेको हुँ ।
कति समय भयो यस पेशामा लागेको ?
— म पत्रकारितामा लागेको त धेरै भएको छैन । तर काम चाहिँ जब १३ बर्ष को थिए त्यतिबेलादेखि नै सञ्चारमाध्यमसंग नजिक र आधारभूत पत्रकारिताको थालनी गरेको हुँ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— म राजनीतिक बिट बाहेक अरु सबै पत्रकारिता गर्छु । हुन राजनीतिक बिटमा आबद्ध त हुनै पर्छ कहिले । लेख्नु नि पर्छ पर्छ त, तर म बाल र सामाजिक पत्रकारितानै गर्छु । समाजको यथार्थता र वास्तविक परिस्थितिसंग खेल्ने गर्छु । त्यस्तै बालबालिकाहरुको हकहित र अधिकारमा पनि सदैब साथ समर्थन र सहयोगमा आफै प्रत्येक्ष खटेर समेत बाल अधिकार र न्याय काम गर्दछु । त्यसैले मैले सामाजिक र बाल पत्रकारिता नै रुचाउँछु ।
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ?
— हो, समस्या त निकै छन पत्रकारितामा । अनेकौं संघर्ष, मेहनत कष्ट त गर्नुपर्छ नै तर केही कुरा दुख कष्ट मात्रै नभइ नसोचेको ढंगबाट कलमको टुप्पा घुमाउनु पर्छ ।
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
— हो, मोफसलमा काम गर्नको लागि निकै समस्या छन । जुन समयमा पत्रकारिता लिपिबद्ध गरिन्थ्यो तर अहिले मोफसलमा पत्रकारिता गर्न निकै कठिन छ । बिशेष त देशका सबै ठाँउमा सञ्चारका उपकरण नै प्रयोग गर्न नै समस्या छ त केही ठाँउमा उपकरण उपलब्ध भएपनि त्यहाँको विभिन्न प्राबिधिक समस्याले अबरोध गरेको हुन्छ । तसर्थ, अन्य भन्दा मोफसलमा काम गर्ने पत्रकारहरुलाई निकै समस्या आएको देखिन्छ ।
मोफसलै भएपनि जाजरकोट जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको छ ? र यस जिल्लामा अरु जिल्लाको भन्दा बढी समस्याहरु के कस्ता छन ?
— पहिले भन्दा अहिले निकै बिकास भएको देखिन्छ । जब गाउँ गाउँमा सञ्चारको महत्व बुझ्न थालियो तबदेखि नै जिल्लाको पत्रकारिताको बिकासक्रम जोडिएको देखिन्छ । र हाम्रो जिल्लामा बिशेष त अन्य जिल्लाको तुलनामा धेरै समस्याहरु छन । बिशेष त आबश्यक बिद्युत सेवा परिपुर्ति, सञ्चार नेटवर्क नहुनु र आबश्यक उपकरण सबै ठाउँमा काम नगर्नु यहाँका मुख्य समस्याहरु हुन ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
— मोफसल पत्रकारितामा बिशेष त नेपाल सरकार तथा नेपाल सरकारको मातहातमा चल्ने तल्लो स्तरका निकायले ध्यान दिन जरुरी देखिन्छ । राष्टको चौथो बिधामा राखिएको छ तर यसलाई प्रत्येक ठाँउका समस्याहरुलाई ध्यान दिई पत्रकारिता बिकास क्रमलाई ध्यान दिन आबश्यक देखिन्छ । र राष्टिय स्तरबाट स्थानीय स्तरसम्म पत्रकारिता बिकास र बहसका कार्यक्रम ल्याउनु पर्छ ।
तपाई आफै पनि पत्रकारिता पेशामा धेरै समयदेखि काम गर्दै हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भूमिका खेलेको पाउनु भएको छ ?
— पत्रकार हरुको छाता संगठन पत्रकार महासंघले हामी मोफसलमा पत्रकारिता गर्ने सम्पूर्ण पत्रकारहरुका समस्यालाई मध्यनजर गरि सही कार्ययोजना र पत्रकारिता बिकासक्रमलाई जोड दिन आबश्यक देखिन्छ । पत्रकार महासंघले मोफसलमा काम गर्ने पत्रकार तथा मोफसल पत्रकारिताका समस्याहरु माथिल्लो निकाय अथवा नेपाल सरकारसम्म पु¥याइयो भने ति समस्याहरुको समाधान हुन सक्छन । भने त्यस्तै पत्रकार महासंघले अहिलेसम्म आफ्नो सक्दो समस्याहरूको समाधान गरेकै छ ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भूमिका खेलेको पाउनुहुन्छ ?
— खेल्न त खेलेकै हुन्छनु तरपनि अलि कति कुरा के भने जुनसुकै संगठन भएपनि राजनीतिक फन्दामा देखिन्छ । तर मोफसल पत्रकारितामा आएका समस्याहरुलाई बिशेष ध्यान दिइयो भने राजनैतिक सिद्धान्तलाई अलिकती मौन राखेर मोफसललाई ध्यान दिइयो भने बैचारिक सबै संगठनहरु अमूल्य योगदान रहने देखिन्छ ।
तपाइको विचारमा पत्रकारिता के हो ?
मेरो बिचारमा पत्रकारिता एक स्वतन्त्र पेशा हो, जो पत्रकारितामा पेशामा आबद्ध हुनुहुन्छ उहाँ नै पत्रकार हो ।
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ?
— मैले पत्रकारिता गरेर कमाएको भनेको स्वदेश तथा बिदेशमा रहेका स्रोतासंग नजिक बिश्वासनीय पात्र बनेको छु । त्यही नै हो अहिलेसम्मको कमाई । बाबाले बनाएको सानो घर बाहेक अरु केही छैन ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ र तपाँईको क्षेत्रतिर कस्तो छ ?
— हो, राम्रो चिजको बिचमा पनि खराब मिसिएकै हुन्छ । कोही त्यस्ता पनि छन कि आफ्नो जिम्मेवारी के हो भनेर नचिन्ने । पत्रकारको नाममा पत्रकारितालाई बदनामित गैर कानुनी क्रियाकलाप गर्दै हिडनु हुन्छ । उहाँहरुकै कारणले आम सञ्चारकर्मीको बदनाम भएको हो । मेरो जिल्ला ठाँउको कुरा गर्नुहुन्छ भने एकदमै कर्मठ, निस्वार्थ, जुझारु, कृयाशिल नै छन र पाठक, स्रोताप्रति बिश्वासनीय पात्र नि बन्दै आएका छन ।
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा !
— यस्ता क्रियाकलापमा लाग्ने त के मेरो दिमागमा कुनै कल्पना नै आउदैन कि मैले गैर कानुनी कार्य गर्छु भनेर । मैले स्वतन्त्रता र निस्वार्थ बन्नु पर्छ । म सबैको बिश्वानीय पात्र बन्नु पर्छ ।
यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ?
— स्वतन्त्रता पेशा भनेकै पत्रकारिता हो । पत्रकारितामा निश्वार्थ लाग्न आबश्यक देखिन्छ । कलम चलाउन पर्ने ठाँउमा स्वतन्त्रतापूर्वक कलम चलाइयो भने पक्कै सुधार हुने देखिन्छ । राजनीतिलाई लिएर यो हाम्रो त्यो अर्काको भन्न थालियो भने पत्रकारितामा सुधार सम्भब छैन । त्यसैले सामाजिक, धार्मिक, विभिन्न बिषयमा स्वतन्त्रता अङाल्न जरुरी देखिन्छ ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
— मोफसल पत्रकारिता सुधारको लागि मोफसलमा पत्रकारिता गर्ने पत्रकारहरुका समस्या र चुनौतीको समाधान र मोफसल पत्रकारितालाई सही कार्ययोजना तयार गरी पत्रकारिताको बिकासक्रम कार्यन्वयन गर्नुपर्छ । अनि देशका विभिन्न बिकट क्षेत्रमा पनि सञ्चारमाध्यममा मोफसल पत्रकारितालाई जोडदार साथ नेपाल सरकारबाट ध्यानाकर्षण हुनुपर्छ ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?
— खासै भन्नै पर्ने, गर्नैपर्ने कार्य, उद्देश्य, पत्रकारिताका सैद्धान्तिक आधारहरु, मोफसल तथा अन्य पत्रकारिताका हक अधिकारका बारे हामी पत्रकार प्रष्ट हुनु पर्छ । र देश जनताको लागि कर्मठ, कृयाशिल भइ आफ्नो स्वतन्त्र कलम चलाउनु पर्छ ।
समय र बिचारका लागि धन्यबाद ।
— धन्यबाद भूमिराज सर तपाई र बिम्ब नेपाली साप्ताहिक परिवारलाई ।
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१. दरवार स्कुलका सुपरीवेक्षक को हुन ? मिष्टर रोश
२. चिफ ईन्स्पेक्टर अफ स्कुल अ. को स्थापना कहिले भयो ? वि.सं. १९९८
३. ईन्स्पेक्टर अफ स्कुल अ. का ईन्सपेक्टर को हुन ? सुर्य प्र. उपाध्याय
४. डेपुटी ईन्सपेक्टर स्कुल अ. को स्थापना कहिले भयो ? वि. सं. २००४
५. पहिलो विद्यालय निरीक्षक को हुन ? सुर्य प्रसाद ढुङ्गेल
६. देशव्यापी निरीक्षण पद्धतिको स्थापना कहिले भयो ? वि.सं. २०१०
७. प्रअ, निरीक्षकको राष्ट्रिय सम्मेलन कहिले भयो ? वि.सं. २०१७ कार्तिक १५
८. ७५ वटै जिल्लामा जिशिनिका स्थापना कहिले भयो ? वि.सं. २०१८
९. प्रावि, मावि र विनि पदलाई एउटै पद कायम कायम वि.सं. २०५०
१०. निमावि, विनि हटाई मावि र प्रावि विनि कायम वि.सं. २०३०
११. शिक्षक तालिमको सुरुवात कहिले भयो ? वि. सं. २००४
१२. आधार शिक्षक शिक्षण केन्द्र संचालन वि.सं. २०११ भाद्र, १४
१३. उपत्यका बाहिरको पहिलो तालिम केन्द्र धरानमा खुलेको
१४. शिक्षक लाइसेन्सको सुरू वि.सं. २०२३ (२० जिल्ला)
१५. लाइसेन्सको प्रकार ३(आपत्कालीन, नियमित, आजीवन)
१६. रेडियो शिक्षा शिक्षक तालिम सुरू वि.सं २०३८
१७. २१ दिने प्राथमिक शिक्षक तालिम सेती परियोजनाले (२०३९)
१८. १५० घण्टे आधारभूत शिक्षक तालिम क्षेशिनि (२०४४)
१९. शिक्षक सक्षमताहरू ८ वटा (शिसप्रा २०७२)
२०. त्एम् तालिम सुरु आ.व. २०६६ र ०६७
२१. त्एम् को अन्त्यमा तालिम प्राप्त शिक्षक ९८.२५
२२. त्एम् प्रारूप २०७२ अनुसार प्रमाणिकरण तालिम ३० दिन
२३. प्रमाणिकरण तालिमको चरण २ चरण
२४. नदी नभएको एसियाली देश कुन हो ? साउदी अरब
२५. ’प्रयोगशाला’ नामक कृतिका लेखक को हुन ? सुधीर शर्मा
२६. मेसोपोटामियाको सभ्यताको समाप्तिपछि कुन सभ्यताको थालनी भएको थियो ? बेविलोनिया
२७. गाईजात्राको चलन चलाउने व्यक्ति को हुन् ? प्रताप मल्ल
२८. मुस्लिम समुदायको वैवाहिक परम्परा वा रितिरिवाजलाई के भनिन्छ ? निकाह
२९. बौद्ध धर्मग्रन्थ अन्तर्गत गौतम बुद्धका उपदेशहरु कुन पिटकमा रहेका छ्न ? सुक्तिपिटिक
३०. शिख धर्मको पुजास्थललाई के भनिन्छ ? गुरुद्वार
३१. बौद्ध भिक्षुहरुको संघलाई के भनिन्छ ? काय
३२. भगवान बुद्धलाई मार्न खोज्ने भिक्षु को हुन् ? देवदत्त
३३. पुराणमा मुगालाई ’प्रवलमणी’ भनिन्छ भने हिरालाई के भनिन्छ ? बज्रमणी
३४. भगवान रामकी बहिनी को नाम के थियोे ? शान्ति
३५. विष्णुको धनुषलाई के भनिन्छ ? सारङ्ग
३६. जिरेल जातिको पुरोहितलाई के भनिन्छ ? नाक्सो
३७. शिया, सुन्नी कुन धर्मका सम्प्रदाय हुन ? इस्लाम
३८. शिख धर्मका प्रवर्तक को हुन् ? गुरु नानक
३९. विश्व शान्ति स्तुप कहाँ रहेको छ ? लुम्बिनी(नेपाल)
४०. छुचुन्द्रोको औषत आयु ३ बर्ष हुन्छ भने बिरालोको औषत आयु कति हुन्छ ? १२ बर्ष
४१. खरायोको गर्भधारण अवधि ३१ दिन हुन्छ भने लोखर्केको गर्भधारण अवधि कति दिनको हुन्छ ?
४४ दिन
४२. नेपालको अन्तरिम संबिधान २०६३ को धारा १४९ मा के सम्बन्धि ब्यबस्था छ ? संबैधानिक परिषद
४३. ह्वाङ्हो नदि कुन महादेशमा पर्दछ ? एसिया
४४. नेपालकै एकमात्र मानव अंग प्रत्यारोपण केन्द्र कहाँ रहेको छ ? भक्तपुर
४५. नेपाल सरकारले कहिले सम्म नेपाललाई खुला दिशा मुक्त बनाउने लक्ष्य लिएको छ ? सन २०१७
४६. ग्रिन गोल्ड के संग सम्बन्धित छ ? चिया
४७. विश्वकै सबैभन्दा ठूलो जलासय युक्त चीनको थ्री गर्जेज जलविद्युत आयोजना कति मेघावाटको आयोजना हो ? २२५०० मेघावाट
४८. आवाज बिनाको चट्याङलाई के भनिन्छ ? उष्ण बिजुली
४९. विश्वका कतिवटा देशमा संवैधानिक अदालतको व्यवस्था गरिएको छ ? ५७ देश
५०. ईटालिको शहर ’भेनिस’ को एकमात्र सवारीसाधन कुन हो ? डुङ्गा
५१. प्रमाणिकरण तालिमको प्रतिवेदन पेस गर्नुपर्ने ४५ दिन भित्र
५२. क्क्च्ए का अनुसार शिक्षकका श्रेणी ४ वटा
५३. ल्ऋभ्म् बाट शिक्षक तालिम नीति स्वीकृत वि.सं २०६२ जेठ, २४
५४. भ्क् २०७१ अनुसार आधारभूत तहमा तालिम प्राप्त शिक्षक ९६.४५
५५. क्क्म्ए मन्त्रिपरिषद बाट स्वीकृत वि.सं. २०७३ कार्तिक, ०८
साहित्य/सृजना
जति सक्छौ खाउ
खाउ न खाउ, टाउकेहरु
बेसरी खाउ, दबाएर खाउ
डकार मारेर खाउ, धित मारेर खाउ
खानलाई नि के को लाज
आखिर खाने मौका त मिलेको छ
खान पाएको मौका नि कसैले छोड्छ र भन्या ?
खाएर बरु पचोस नपचोस
तर खान चाहिँ नछोड
नखाएरै बाचिन्छ र भन्या ?
खाएर टाउके पनि त बन्नु छ
तेसै टाउके भइन्छ सोच्या छौ ?
खाउ न खाउ
ठालुहरु, पलेटि कसेर खाउ
घुडा धसेर खाउ, ओठ मुख चाटेर खाउ
भुडी फुटुन्जेल खाउ
खानलाई नि के को सरम
आखिर खाने साइत जुर्या छ
खान जुर्या साइत नि कसैले छोडछ र भन्या ?
खाएरै बरु भुडी सिलाउनु किन नपरोस
तर खान चाहिँ पछि नपर
नखाएरै भुडी लाग्छ र भन्या ?
खाएर ठालु पनि त बन्नु छ
तेसै ठालु भइन्छ सोच्या छौ ?
खाउ न खाउ, भलाद्मीहरु
चिन्ता नमानेर खाउ, संकोच नमानेर खाउ
डर नमानेर खाउ, धक नमानेर खाउ
खानलाई नि के को अप्ठ्यारो
आखिर खाने ठाउ मिल्या छ
खान पाएको ठाउलाइ नि त्याग्न मिल्छ र भन्या ?
खएरै बरु सेलटिनु नै किन नपरोस
तर खानाको अपमान चाहिँ नगर
नखाएरै पेट भरिन्छ र भन्या ?
खाएर भलाद्मी पनि त बन्नु छ
तेसै भलाद्मी भइन्छ सोच्या छौ ?
पुष्पा जोशी
धनगढी कैलाली
प्रतिक्षा
एका बिहानै
दुध ल्याउंछु भनेर हिडेको छोरा
सूर्यास्त हुदा पनि फर्किएनछ !
आमाले हेरि रहेकी त्यो बाटो
नटुङ्गिने लामो
छोराको दुध किनाई सकिएनछ ?
उ कहाँ गयो ?
खोजीको निबेदन
आउँछ–आउँछ मै
पर्ख पर्ख मै थन्किएछ
ब्यथाहरुमा
पीडाहरुमा पर्खिरहेकी छ आमा
तर
जाँचबुझ
खोजतलास आयोग
जन्मिँदै मरि सकेछ
छोरा
आउने आशामा
आँशु आखा
निरन्तर बाटोमा
दौडी रहेछ दौडी रहेछ ।
.कोमल श्रेष्ठ मल्ल
सूचना/सन्देश/बिज्ञापन
युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।
सुशासन के हो ?
राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।
सुशासन एउटा यस्तो व्यवस्था हो, जहाँः
» कानुनको पुर्ण परिपालना हुन्छ,
» दण्डहीनताको अन्त्य हुन्छ,
» जनमुखी एवं पारदर्शी सरकार हुन्छ,
» भ्रष्टाचार रहित समाजको निर्माण हुन्छ,
» विकासले गति लिएको हुन्छ,
» अनुशासनको पुर्ण पालना हुन्छ ।
यी र यस्तै कार्य हुँदै जाँदा राजनीतिक र प्रशासनिक विकृति विनाको शासन कायम भई शासन व्यवस्था सुव्यवस्थित हुन्छ ।
नेपालमा सुशासन कायम हुन नसक्नुको मुल कारण अस्थिर राजनीतिका साथसाथै थप कारणहरू यसप्रकार छन् ः
» सुशासन सम्बन्धि स्पष्ट ऐन कानुन नहुनु तथा भएको ऐन नियमको पुर्ण पालना नहुनु
» सुशासन कायम गर्ने संस्थाहरू सवल सक्षम तथा जनमुखी हुन नसक्नु तथा ती संस्थाहरू बीच कार्यगत समन्वय नहुनु ।
» विकेन्द्रीकरण कार्य प्रभावकारी हुन नसक्नु
» भ्रष्टाचार एवं अनियमित कार्यमा कमी नआउनु तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा संलग्न निकायहरू थप प्रभावकारी हुन नसक्नु
» नागरिक समाजका कार्य प्रभावकारी बन्न नसक्नु
» साधन स्रोतको अभाव तथा उपलब्ध साधन स्रोतको उचित प्रयोग र परिचालन हुन नसक्नु
» निजी क्षेत्र सबल सक्षम एवं उत्तरदायी हुन नसक्नु
» सेवाग्राही नागरिकमा चेतनाको अभाव हुनु
» अनुगमन कार्य प्रभावकारी हुन नसक्नु, आदी ।
माथि उल्लेखित विद्यामन कारणहरूले गर्दा नेपालमा सुशासन कायम हुन सकेको छैन । तसर्थ नेपालमा सुशासन कायम गर्नका लागि निम्न उपयाहरू अपानउन सकिन्छः
» सुशासन सम्बन्धि स्पष्ट ऐन नियम बनाई त्यसको पुर्ण लागु तथा परिपालना गर्ने गराउने » सुशासन कायम गर्ने संस्थाहरूबीच कार्यगत समन्वय गरि सबल सक्षम र जनमुखी बनाउने
» विकेन्द्रीकरणलाई प्रभावकारी बनाउने
» भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरू सशक्त रुपमा प्रस्तुत भई भ्रष्टाचारलाई निराकरण गरि सदाचार कायम गर्ने
» नागरिक समाजको कार्यलाई प्रभावकारी बनाउने
» उपलब्ध साधन स्रोतको उचित परिचालन र प्रयोग गर्ने
» नीजि क्षेत्र सबल सक्षम एवं उत्तरदायी बन्ने
» नागरिक संलग्नता र नागरिक निगरानीलाई प्रभावकारी बनाउने
» भ्रष्टाचार र अनियमितता बिरुद्ध शुन्य सहनशीलताको बिकास गर्ने
» नीतिगत भ्रष्टाचारलाई निरुत्साहित गर्ने लैजाने
» पारदर्शीता र जवाफदेहीतालाई सशक्त बनाउने
» सेवाग्राही नागरिकलाई चेतना जगाउने, आदी ।
पुस्तकालयका लागी आवश्यक पुस्तक तथा फर्निचर आपुर्ति सम्वन्धि शिलवन्दी बोलपत्र आह्वान
प्रथम पटक सूचना प्रकाशित मितिः २०७४।०५।१२ गते)
एक्सनएड नेपालको साझेदारीमा सम बिकास केन्द्र (EDC) नेपाल, डोटीद्वारा संचालित गुणस्तरीय शिक्षा परियोजना अन्र्तगत सामुदायिक अध्ययन केन्द्र तथा पुस्तकालयका लागि तपसिल बमोजिमका पुस्तक र फर्निचर लगायतका सामाग्रीहरु शिलवन्दी बोलपत्रद्वारा खरिद गर्नुपर्ने भएकोले सम्बन्धित निकायमा दर्ता भएका इच्छुक फर्म वा कम्पनीहरुलाई शिलवन्दी बोलपत्र पेश गर्न आह््वान गरिएको छ ।
तपशिलः
१. फर्निचर
अन्य विबरणः
१. बिस्तृत बिवरण सहितको बोलपत्र फाराम सम विकास केन्द्र (EDC) नेपाल, डोटीबाट प्राप्त गर्न सकिने छ । अथवा सूचना बमोजिमको सामग्रीहरुको सम्पूर्ण बिवरण र दररेट खुलाईएको निवेदन पेश गर्न पनि सकिनेछ ।
२. बोलपत्र पेश गर्ने मिति ः १२ देखि १८ भाद्र, २०७४ सम्म कार्यालय समयभित्र पेश गर्न सकिने छ ।
३. शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन र खोलिने दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट निर्धारित समयमा पेश गर्नु पर्ने/खोलिने छ ।
४. शिलबन्दी बोलपत्र पुरै वा आंशिक रुपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार ईडिसि, डोटीमा रहने छ ।
५. इच्छुक बोलपत्रदाताले अद्यावधिक दर्ता प्रमाणपत्र, मुल्य अभिबृद्ध कर दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र प्रतिलिपीहरु संलग्न गर्नु पर्नेछ ।
६. आफुले पेश गर्ने शिलबन्दी खाम वाहिर नै के का लागी शिलबन्दी पेश गरेको हो खुलाउनु पर्नेछ ।
७. माथि उल्लेखित सामग्रीहरु सम विकास केन्द्र (EDC) नेपाल, डोटीको कार्यालयमा ढुवानी गर्नु पर्नेछ ।
८. बोलपत्र मिति २०७४ भाद्र १९ गते दिउँसो ३.०० वजे सम विकास केन्द्र (EDC) नेपाल, डोटीको कार्यालयमा दरभाउपत्रदाताहरुको उपस्थित प्रतिनिधिहरुको रोहवरमा खोलिने छ । दरभाउपत्रदाताहरुको उपस्थिति नभएमा पनि दरभाउपत्र खोल्ने कार्य रोकिने छैन ।