Tuesday, August 15, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ साउन ३१ गते मंगलवार

पत्रकार आचार संहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको छ भन्ने पीडित पक्षलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चार माध्यम बिरुद्ध प्रकाशन तथा प्रसारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा उजुरी दिई आफ्नाे अधिकारको संरक्षण गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मख्य समाचार 

तीन बर्ष देखिको मोवाईल पाउने आश

सिम पाईयो, सेट पाईएन


रामहरी ओझा/डोटी
साउन ३०
आदर्श गाउँपालिका–३ (साबिकको दलकालिकास्थान गाबिस–२ ऐली) कि हरिना बिक महिला स्वास्थ्य स्वयंसेबिका भएको १८ बर्ष भयो । हरिनाले तीन बर्ष पहिले दहकालिकास्थान उपस्वास्थ्य चौकीबाट नमस्तेको प्रिपेड सिम प्राप्त गरिन् । सिम बितरण गर्दा उनले बितरणकर्ता स्वास्थ्य संस्थाका व्यक्तिलाई “सिमले मात्रै के गर्ने, सेट छैन ।” भनेर सोधेकी थिईन । उनलाई अर्को बर्ष सेट पाईने भनिएको थियो । 
सेट पाउने आशामा हरिनाले सिम जतन गरेर राखिन् । तर, तीन बर्ष बितिसक्दा पनि उनले मोवाईल सेट     पाईनन् । उनले पाएको सिम पनि त्यतिकै रह्यो । ‘मोवाईल सेट पनि पाईन्छ भनेका थिए डाक्टर साहेवले’ त्यतिबेलाको कुरा सम्झदै उनी भन्छिन् ‘तीन बर्षसम्म पनि मोवाईल पाईएन ।’ अहिले पनि सिम जतन साथ राखेको उनी बताउँछिन् । गाउँमा स्वास्थ्यकर्मी–हरुलाई डाक्टर भन्ने चलन छ । 
हरिनाको जस्तै आदर्श गाउँपालिका–७ कि डमरी किमाडीले पनि स्थानीय स्वास्थ्य संस्थाबाट सिम पाईन । उनले पनि अर्को बर्ष मोवाईल सेट पाउने आश्वासन पाएकी थिइन । मोवाईल सेटमा पाउने आशमा उनले केही समय सिम थन्काएर राखिन् । सेट पाउने छाँट नदेखिएपछि उनले त्यो सिम आफ्नो छोरीलाई दिईन । ‘मोवाईल नपाएपछि मैले सिम छोरीलाई दिएँ, अहिले छोरीले चलाउँदैछे’ डमरी भन्छिन् ‘कहिलेकाँही अस्पताल (स्वास्थ्य चौकी) बाट फोन आयो भने छोरीले नै उठाउँछे अनि मलाइ खवर गरिदिन्छे ।’ 
आदर्श–३ कि कमला रोकायालाई त उनले पाएको सिम चल्छ कि बन्द भईसक्यो भन्ने पनि जानकारी छैन । उनी अहिलेसम्म पनि मोवाईल चलाउँदिनन् । भन्छिन् ‘मलाइ मोवाईल चलाउन आउँदैन त्यसैले किनेन, उताबाट पनि दिएन अनि कसरी सिम चलाउनु ?’ 
सरकारले स्वास्थ्य सम्वन्धि सूचनाहरु महिला स्वास्थ्य स्वयंसेबिका मार्फत समुदायमा पु¥याउन सजिलो होस् भन्नका लागि दिएका सिमहरु अधिकांस स्वास्थ्य स्वयंसेबिकाहरुले उपयोगमा ल्याएका छैनन् । कसैले प्रयोगै नगरि थन्काएका छन भने कसैले आफन्तलाई प्रयोग गर्न दिएका छन । तर सिम पाएको तीन बर्ष बित्दा समेत उनीहरुले मोबाईल सेट पाउने आश मारेका छैनन् । आदर्श गाउँपालिका–४ कि चन्द्रिका बिष्ट भन्छिन् ‘मैले त आफै सेट किनेर चलाउँदैछु, तर सरकारले दिन्छु भनेपछि दिनु पर्ने हो ।’ सवै स्वयंसेबिकाहरुसंग मोवाईल सेट किन्न सक्ने आर्थिक हैसियत नभएको उनी बताउँछिन् ।
वल्र्ड भिजन ईन्टरनेसनल नेपाल नामक संस्थाले आयोजना गरेको ‘महिला स्वास्थ्य स्वयंसेबिकाहरुका लागि तीन दिने सामाजिक परिचालन तथा परामर्श’ तालिमको छलफलका क्रममा सञ्चार सम्वन्धि कुरा उठ्दा उनीहरुले आफ्नो दुखेसो पोखे । 
मोवाईल दिने भन्ने कुरा नभएको बताउँछन जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख सतिश बिष्ट । ‘त्यो कसैले त्यत्तिकै भनेको होला’ बिष्ट भन्छन् ‘सिम मात्रै बितरण गरिएको हो, सेट दिने कुरा भएको होईन ।’ सुरुमा सेट सहित दिने भन्ने कुरा चलेको भएपनि बजेट धेरै लाग्ने भएर होला पछि सिम मात्रै बितरण  गरिएको उनले बताए । 
१० मिनेट कुरा ग¥यो भने संचित रकममा एक रुपैयाँ थप हुने सुबिधा सहितको सिम त्यतिबेला बितरण गरिएको बिष्ट बताउँछन । उनी भन्छन् ‘मन्त्रालय र नेपाल टेलिकमबीच भएको सहमतिका आधारमा यस्तो सुबिधा भएको सिम देशैभरीका महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई बितरण गरिएको थियो ।’ सिमको अहिलेको अवस्था कस्तो छ भन्ने बिषयमा जानकारी नभएको बिष्ट बताउँछन । सुरुमा सिम बितरण गर्दा एक सय रुपैयाँ संचित रकम सहित बितरण गरिएको उनले जानकारी दिए । 

सम्पादकीय 

पीडितका लागि राहात र उद्दारको सवाल

पूर्वी तराई जलमग्न भएको छ । पश्चिम तराईमा पनि बिस्तारैत्यो समस्या बढ्दै गएको छ । करीव एक सातादेखि आएको बाढीका कारण एक सय भन्दा बढीले ज्यान गुमाईसकेको अवस्था छ । गृहमन्त्रालयले स्वयं पनि ९१ जनाको ज्यान गएको पुष्टी गरेको छ । बाढीका कारण घरभित्र भएको अन्न उम्रिएको छ, । खानलाई पानी छैन, आङ ढाक्नलाई कपास छैन । 
एकातिर तराईमा बाढीले तहस नहस बनाएको अवस्था छ भने अर्कोतिर पहाडमा पहिरोले बिजोग बनाएको छ । तराईको बाढी पहाडको पहिरो दुवै संगसंगै आई लागेको छ । यसले गर्दा जनता आक्रान्त भएका छन । तर राज्य संयन्त्र हेलिकप्टरबाट आकाशमा उड्दै रमिता हेर्दै गरिरहेको अवस्था छ । 
देश डुवीरहेका बेला, जनता बगिरहेका बेला राज्य र शासकहरु नेपाली जनताको रगतमा पौडी खेलेर रमाईरहेका छन । जब जब राष्ट्रिय संकट आईलाग्छ तबतब सरकार पूर्ण रुपमा असक्षम हुन्छ जनतालाई सुरक्षा दिन । मानवअधिकारको अन्तराष्ट्रिय सिद्धान्त अनुसार प्रत्येक नागरिकको सुरक्षाको ग्यारेण्टी गर्नु, उनीहरुका     आधारभूत आवश्यकताको परिपुर्ति गर्नु राज्यको दायित्व हो । जनताले कर किन तिर्छ भने गाह्रो सारो परेका बेला राज्यले मलाई सहयोग गर्छ भन्ने आश राखेको हुन्छ । त्यसैले बिपत्तीमा द्रुतगतिमा सहयोग पाउनु खोज्नु उसको गल्ती होईन । 
तर राज्य संयन्त्र बिपत्ती परेका बेला सरकार कानुनका ढर्रा पल्टाएर बस्छ, राष्ट्रिय बिपत्ति आईलाग्छ र त्यसका लागि अहिलेदेखि नै द्रुत कानुन बनाउनु पर्छ भन्ने सोच छैन सरकारको दिमागमा, जव बिपत्ति आयो अनि ‘यो कानुनले यस्तो गर्न मिल्दैन, उ कानुनले उस्तो गर्न मिल्दैन’ भनेर सुगा रटान गर्छ । यो भन्दा ठूलो दुर्भाग्य अरु के हुन सक्छ र ? अनुगमनका नाममा आकाशमा मनमर्जी हेलिकप्टर उठाएर लाखौं खर्च गर्नका लागि कानुनी अड्चन छैन तर एक किलो चामल किन्नका लागि नियमले मिल्दैन रे । 
गैर सरकारी संस्थाहरु र नीजि क्षेत्रले पनि बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न चाहान्छ तर सरकार उनीहरुलाई पनि कानुन नभएको भन्दै अल्मलाईरहेको छ । यस्तो अवस्थामा सहयोगी हातहरु कसरी अगाडी बढ्छन त ? यो समस्या एक पटक मात्र आएर सधैका लागि बिदा हुने समस्या होईन, यो जति बेला पनि आई लाग्न सक्छ । त्यसैले बेलैमा होस पु¥याउने बानी कहिले बस्छ ? 
बरु, नेपालका बिद्यार्थी संगठनहरुलाई धन्यवाद दिनु पर्छ । जब जब राष्ट्रिय समस्या आईलाग्छ तब तब बिभिन्न राजनीतिक बिचारहरुमा छरिएर रहेका बिद्यार्थी संगठनहरु एकजुट हुन्छन् । उनीहरुले यसपटक पनि आफ्नो धर्म निभाएका छन । तर दुर्भाग्य, उनीहरुका माउ पार्टीहरु जहिले पनि कुकुरे लडाईमा लडिरहेका हुन्छन् ।  
अहिले सामाजिक सञ्जालहरुमा तराईको बिषयलाई लिएर पक्ष र बिपक्षमा तर्क र बितर्क भईरहेका छन । हुती मरेकाहरु, न आफू केही गर्न सक्छन् न अरुले गरिरहेको काम पचाउन सक्छन् । यो संकटको बेलामा खोलामा बगिरहेको मान्छेलाई छोप्न के कुनै दलको मात्रै जानु पर्छ ? वा छोप्नु भन्दा पहिले यो कुन दलको हो भनेर सोध्नु पर्छ ? 
त्यसैले यो फेसबुके बहसहरु बन्द गरौं, सकिन्छ भने आफै सहयोगमा जुटौं, त्यो सकिन्न भने सहयोग गरिरहेकाहरुलाई सहयोग गरौं, त्योपनि गर्न नसकिने ओ भने चुप लागेर बसौं । सहयोग गरिरहेकाहरुलाई आक्रान्त पार्ने गरि जथाभावी नकोलौं, नलेखौं । यदि यस्तो हो भने ति बाढीमा बगिरहेकाहरुसंगै तपाईको मानवता पनि बगेर गयो भन्दा अन्याय हुने छैन ।

थपसमाचार 

सवारी दुर्घटना नियन्त्रण गर्न ज्ञापन


डोटी जिल्लामा सवारी दुर्घटना बढ्दै गएकाले सवारी दुर्घटना नियन्त्रण गर्न पहल गरिदिन हुन युवाहरुले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई ज्ञापन पत्र बुझाएका छन । 
सडकको दुराबस्था र चालकको लापरवाहीका कारण भईरहेका सवारी दुर्घटनाबाट युवाहरुले बढी ज्यान गुमाउनु   परेको भन्दै दुर्घटना रोक्नका लागि माग गरिएको छ । जिल्ला युवा समिति डोटीका अध्यक्ष बम बहादुर बमले बुझाएको ज्ञापन पत्रमा भनिएको छ “गत तीन वर्षको तथ्याकं हेर्ने हो भने ९ वटा ग्राभेल तथा कच्चि सडकमा र १९ वटा कालो पत्रे सडकमा सवारी दुर्घटना भएका छन । तथ्याँक अनुसार घाइते हुनेहरुमध्ये ५४ प्रतिशत युवाहरु र मृत्यु हुनेमा पनि ५३ प्रतिशत युवाहरु नै पर्ने गरेका छन् ।”
श्रावण २० गते शुक्रबारका राती बोगटान गाउंपालिका–६ गगुडामा यात्रुवाहक जिप दुर्घटना हुँदा नौ जना नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएको घटना ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ‘सो घटना चालकले तिब्र गतिमा चलाउनु र सडकको अवस्था मुख्य कारण भएपनि नेपाल प्रहरीका अनुसार सो गाडीलाई दिपायल चेकपोस्टबाट चवराचौतारा नजान भन्दाभन्दै इन्ट्री नै नगरी गएको थियो’ ज्ञापन पत्रमा थप भनिएको छ ‘यो घटनामा स्थानीय प्रशासन र अन्य जिम्मेवार निकायको नियमन– कारी भूमिकामा कमजोरी रहेको देखाएको छ ।’
गत तीन वर्षसम्म भएका दुर्घटनाहरुमध्ये सात वटा सडकको अवस्थाका कारण, पाँच वटा गाडीको खराबीका कारण, चार वटा चालकको लापरवाही, तीन वटा क्षमता भन्दा वढी यात्रु र चार अन्य कारणले दुर्घटना भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस जिल्लामा कालोपत्रे, ग्राभेल र कच्ची सडक ४०९.४६ किलोमिटर सडक   रहेको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 
१८ औं अन्तराष्ट्रिय युवा दिवसको अबसर पारी डोटीका सम्पूर्ण युवाहरुको तर्फबाट उक्त ज्ञापन पत्र बुझाईएकको सामुदायिक बिकास केन्द्र डोटीका सतिश गुरुङ्गले जानकारी दिए । 
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले युवाहरुले उठान गरेका बिषयहरुमा आफ्नो समर्थन रहेको बताउँदै आफु तत्काल सरोकार–वालाहरुसंग छलफल गर्ने बताएको जिल्ला युवा समिति डोटीका अध्यक्ष बमबहादुर बमले बिम्ब साप्ताहिकलाई जानकारी दिए । 
जिल्ला युवा समितिले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा ¥याली, डोटी अस्पतालमा भएका बिरामीहरुलाई फलफुल बितरण र १६ देखि ४० बर्ष उमेर समूहका युवाहरुकाबीच खुला बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । 

प्रदेश नं. ७ ः जिल्ला समन्वय समिति ः कांग्रेसले उछिन्यो एमालेलाई


प्रदेश नं ७ का नौ वटै जिल्लामा जिल्ला समन्वय समिति गठन भएको छन । जिल्ला समन्वय समितिमा एमालेलाई पछि पार्दै कांग्रेस पहिलो पार्टी भएको छ । 
नौ जिल्लामध्ये ५ मा नेपाली कांग्रेसले बाजी मारेको छ । स्थानीय तहको संख्या हेर्दा एमाले पहिलो पार्टी भएपनि जिल्ला समन्वय समितिका हिसावले भने कांग्रेस पहिलो पार्टी भएको छ । 
कांग्रेसले डडेल्धुरा र बाजुरामा एकलौटी समन्वय समिति बनाएको छ । डडेल्धुराका सात स्थानीय तहमध्ये कांग्रेसले चार एकलौटी र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । 
यस्तै बाजुरामा पनि कांग्रेसले एकलौटी समन्वय समिति बनाएको छ । नौ स्थानीय तहहरुमा कांग्रेसले ६ स्थानमा प्रमुख र पाँच स्थानमा उपप्रमुख जितेको थियो । 
अछाममा संख्याका हिसावले कांग्रेसले एकलौटी समन्वय समिति बनाउने आधार हुँदाहुँदै पनि नेकपा माओवादी केन्द्रलाई समन्वय समितिमा सहभागि गराएको छ । नौ सदस्यीय समन्वय समितिमा दुई सदस्य माओवादी केन्द्रले प्राप्त गरेको छ । स्थानीय निर्वाचनका क्रममा भएको चुनावी तालमेलका आधारमा माओवादी केन्द्रलाई पनि समितिमा ल्याईएको हो । यस जिल्लाका १० स्थानीय तहहरुमध्ये कांग्रेसले पाँच तहमा प्रमुख उपप्रमुख दुवै र एक तहमा उपप्रमुख जितेको थियो । 
यस्तै बैतडीमा पनि जिल्ला समन्वय समितिको नेतृत्व कांग्रेसले गर्न पाएको छ । यस जिल्लामा कांग्रेस(माओवादीको संयुक्त समन्वय समिति गठन भएको छ । कांग्रेसले संयोजक सहित ६ सदस्य र माओवादी केन्द्रले उपसंयोजक सहित एक सदस्यमा भागबण्डा मिलाएका छन । १० स्थानीय तहमध्ये कांग्रेसले ६ स्थानीय तहमा प्रमुख र चार स्थानीय तहमा उपप्रमुख गरि १० मत सुरक्षित गरेको थियो । समन्वय समिति बनाउन एक मत चाहिने भएपछि माओवादी केन्द्रलाई साथमा लिएको थियो । 
दार्चुलामा पनि स्पष्ट बहुमत कुनै दलको नपुगेपछि समन्वय समितिका लागि कांग्रेस(माओवादी गठबन्धन बनेको छ । सात सदस्यीय समन्वय समितिमा कांग्रेसले प्रमुख सहित तीन र माओवादी केन्द्रले उपप्रमुख सहित चार स्थान लिएका छन । नौ स्थानीय तह रहेको यस जिल्लामा कांग्रेसले पाँच प्रमुख र चार उपप्रमुख जितेको जितेको थियो । 
प्रदेश नं. ७ का सात पहाडी जिल्लामध्ये सबै भन्दा बढी १२ स्थानीय तह रहेको बझाङ्ग जिल्लामा एमालेको एकलौटी जिल्ला समन्वय समिति बनाएको छ । एमालेले आठ स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै र एक तहमा उपप्रमुख जितेको थियो । 
यस्तै डोटीमा पनि एमालेले एकलौटी समन्वय समिति बनाएको छ । नौ स्थानीय तहमध्ये पाँचमा प्रमुख उपप्रमुख दुबै र एकमा उपप्रमुख जितेर एमालेले आफुलाई जिससमा सुरक्षित गरेको थियो । 
यस्तै कञ्चरपुरमा पनि एमालेले एकलौटी बहुमत पु¥याएपछि जिल्ला समन्वय समितिमा पनि एकलौटी पसेको छ । नौ स्थानीय तहमध्ये एमालेले पाँचमा प्रमुख उपप्रमुख दुबै र एकमा उपप्रमुख गरि ११ मत सुरक्षित गरेको थियो । 
प्रदेश नं. ७ कै सबैभन्दा बढी स्थानीय तह र मतदाता संख्या रहेको कैलालीमा एमाले(नेपाल लोकतान्त्रिक फोरम गठवन्धनले समन्वय समिति वनाएको छ । ७ नगरपालिका र ६ गाउँपालिका गरि १३ स्थानीय तह रहेको कैलालीमा एमालेले ६ स्थानीय तहमा एकलौटी र एक स्थानीय तहमा उपप्रमुख हात पारेको थियो । समन्वय समिति बनाउन एक मत अपुग भएपछि एमालेले फोरमलाई मिसाएको हो । एमालेले प्रमुख उपप्रमुख सहित ६ र फोरमले तीन सदस्यमा भागबण्डा मिलाएर समन्वय समिति गठन गरेका छन ।  
८८ स्थानीय तह रहेको यस प्रदेशमा एमालेले ३९, कांग्रेसले ३८, माओवादी केन्द्रले १० र फोरमले एक स्थानीय तह हात पारेका थिए ।  

प्रचार प्रसारको अभाबमा डोटीको मालिका मन्दिर


भूमिराज जोशी/डोटी
साउन ३०
डोटी तथा बझाङ्ग जिल्लाको सिमानामा पर्ने सायल गाउँपालिको  ताँमागिरी डाँडामा अबस्थित मालिका मन्दिर पनि भूस्वर्गको उपमा दिनु भन्दा फरक छैन । बिभिन्न रमणीय ठाउँ मध्येकै एउटा सायल गाउपालिकाको मालिका मन्दिर पनि एक हो ।
चारैतिरबाट हेर्दा अग्लो डाडाँ । सबैलाई महसुुस हुन्छ की यो ठाउँमा पुगेमा स्वर्ग पुगे जस्तो अनुभूति हुन्थ्यो भनेर । त्यो ठाउँमा जान कठिन पनि छैन । दुइ हजार सात मिटर अग्लो ताँमागिरी डाँडाँमा पहिलो पटक पाइला टेक्दा स्वर्गमै पाइला टेके झैं अनुभूति हुन्छ ।
रमाइला फाँटहरु, चारैतिरबाटको सिरसिर बतास । रताम्ये फूलहरु । समथर र भिराला पाटनहरु । चाइनिज दुबो झैं मसिनो घाँस । त्यसैमा रङ्गी बिरङ्गी चराहरुले आफ्नै वरिपरी आउँदा जीवनभरीको दुख एक पलमै बिर्सन सक्ने बाताबरण ।
बाजुरा जिल्लाको मालिका मन्दिर जस्तै सायल गाउँपालिकाको मालिका  मन्दिरमा पनि श्रावण शुक्ल चर्तुदशीको दिन ठूलो मेला लाग्ने गर्छ । त्यो संगै बडा दशैं र चैते दशैंको बेला अष्टमीको दिन पनि स्थानीयहरु पुजाआजा गर्ने गर्छन ।
दुई जिल्लाको सिमाना पर्ने हुनाले स्थानीयहरुको मित्रवतको पनि घनिष्टता बढ्ने गर्छ । आफन्त तथा इष्टमित्रहरुको भेटघाट पनि यसै मेला र दशैंको पुजामा हुन्छ । बिशेषतः दुई जिल्लाकै पुजारीहरु छन यो मालिका मन्दिरमा । पुजारीहरु मिलेकै कारण दुई जिल्लाका स्थानीयहरुको सद्भाब बाताबरण बढेको छ । कुनै मन्दिरमा पुजारीकै कारण लडाँइ भएर मेला नै भङ्ग हुदैन । 
सबैको आस्थाको केन्द्र मन्दिर भएकोले यो मन्दिरमा चाहेको कुरा दर्शन गरेपछि सजिलै प्राप्त हुन्छ भन्ने धार्मिक आस्था रहेको छ । ‘सडक पुगेको ठाउँबाट पैदल धेरै हिड्नुपर्ने हुँदा यो क्षेत्र चर्चामा आउन सकेको थिएन ।’ होटल ब्यवसायी संघ डोटीका अध्यक्ष दीपक बहादुर खड्काले भने, ‘अब त यातायातको सुबिधा पनि भैसक्यो ।’ मालिका मन्दिरमा दर्शन गर्न जाने तीर्थालुहरुलाई पनि कुनै असुबिधा नहुने उनले बताए ।
दिपायल—सायल सडक बनेपछि सबैलाई तीर्थालुहरुलाई सहज भएको छ । मालिका मन्दिर प्रचारमा नआउँदा स्थानीय बाहेक अरु कसैलाई यो बारेमा जानकारी छैन । जति खप्तडको महत्व छ त्यति नै सायल क्षेत्रमा पर्ने मालिकाको रहेको उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र बहादुर खड्काले बताए ।
तामागिरी मालिका डाँडामा डोटी र बझाङका धार्मिक धर्मावलम्बीले पुजा आजा गर्ने गर्दछन । तामागिरी मन्दिरका पुजारी दुईटै जिल्लाका छन । जो मिलेर पुजाआजा गर्छन । त्यसले गर्दा डोटी र बझाङको मित्रताको साइनो पनि बलियो बनेको छ । यसलाई पर्यटकीय क्षेत्र बनाइ प्रचार प्रसार गर्नुपर्ने गैर सरकारी महासंघ डोटीका अध्यक्ष रघु कठायत बताए ।
उनले भने, तामागिरीको मालिका मन्दिर जस्तै दर्जनौं तीर्थस्थलहरु ओझेलमा परेका छन । संरक्षणको अभाबमा परेका छन । सरोकारवालाहरुको नजर भन्दा बाहिर छन । यस्ता धार्मिक सम्पदाहरुलाई पर्यटकीय क्षेत्रमा ल्याउन सके स्थानीयको आयश्रोत बढ्ने थियो । त्यसको लागि आफू र आफ्नो संगठन सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
मालिका स्थानमा पुग्न धेरै कठिनाई भएपनि उक्त मन्दिरको दर्शनपछि निसन्तानको सन्तान हुने, रोगहरु निको हुने र मागेको पूरा केही समयमै पुरा हुने धार्मिक जन बिश्वासका कारण धेरै जसो ब्यक्तिहरु ताँमागिरीमा जाने गरेको स्थानीयहरु बताउँछन । मालिका मन्दिरको प्रचार प्रसार र संरक्षण आ आफ्नो क्षेत्रबाट सबैले गर्नु जरुरी रहेको गैर सरकारी संस्थाका अध्यक्ष कठायतले  बताए ।

ब्यवस्थित बन्दै ‘काँडी स्याउले’ बजार


केही बर्ष यता आदर्श गाउँपालिका डोटीका स्थानीयहरु नुन, चिनी तेल लगायतका सामानहरु किन्न दिपायलको पिपल्ला बजारमा पुग्थे । खान र बस्न करिब किनेको सामानको मुल्य बराबर खर्च हुन्थ्यो । केही बर्ष यता काँडी स्याउलेमा बजार लागेपछि महादेबस्थान, दहकालिकास्थान, गिरीचौका लगायतका स्थानीयहरुलाई सहज भएको छ । 
‘हामीलाई तीन÷चार दिनको पैदल बाटो हिंडेर सामान ल्याउन जानु पथ्र्यो । बाटोमै खर्च दोब्बर पुथ्यो । पछिल्लो समयमा गाउँमा बजार लागेपछि सबैलाई सुबिधा भएको छ । दोब्बर खर्च बेहोर्नु परेको छैन ।’ दहकालिकास्थान ऐलीका स्थानीय रामप्रसाद पाठकले भने, ‘हामी भन्दा पनि बुढापाकाहरुले भारतको टनकपुर, झुलाघाटबाट सामान ल्याउनु पथ्र्यो जो महिना दिन समय नै लाग्थो । त्यो समस्या अब सधैका लागि अन्त्य भएको छ ।’
काँडी स्याउलेमा दुई÷तीन बर्ष यता बजार मै बस्नको लागि अभाब नै हुन्थ्यो । कतिपय होटलहरुमा खानाको ब्यवस्था मात्र लेखेका होटलहरु थिए भने केही बर्ष यता काँडी स्याउलेमा खान बस्नका लागि केही समस्या हुदैन ।
काँडी स्याउले बजारका ब्यापारी लाल बहादुर रोकायाले भने, ‘हामीलाई बजार बिस्तार गर्न निकै समय लाग्यो । काँडी स्याउलेका पहिलो पटक यातायातका साधन पुग्दा सबैले आफ्नो गाउँमा पनि लैजानु पर्ने भन्दै लामो समयसम्म बिरोध जनाए ।’ रोकायाले भने, पहिलो पटक गाउँमा ब्यापारी केन्द्र (बजार) लाग्दा स्थानीयहरुले आ आफनो गाउँमा पु¥याउनका लागि बिरोध जनाउनु स्वभाबिक हो । किनकी त्यो हौसलाको बिरोध थियो ।’ उनले भने, पहिलो पटक गाउँमा सबारी साधन तथा बजार नै आउँदा स्थानीयहरु खुसी साँटासाँट गर्दै उत्साहित भएका थिए । त्यो उत्साह अहिले पनि कायम छ ।’
आदर्श गाउँपालिका ६ साबिकको गिरीचौका गाबिसका स्थानीय ६९ बर्षिय भीम बहादुर नेपालीले आफ्नो अनुभब बारे भने, ‘मैले ३ पटक नुन ल्याउनका २१ दिनको बाटो हिडेर अहिलेको भारतको टनकपुरमा गएर ल्याएको हुँ । अहिले त गाउँमै गाडी आएर नसोचेकै  पुरा भएको छ ।’ 
नेपालीले भने, मैले त सोचेको पनि थिइन मेरो क्षेत्रमा पनि यसरी यातायात पुग्नेछ भनेर । तर मैले आफैंले गाउँघरमै गाडी मोटर देख्दैछु । काँडी स्याउलेमा जीप आएको दिनमा जीबनको सबैभन्दा खुसी भए । पुरानो टनकपुर यात्राको दुख सम्झिदै रोए । अबको पिंढीले त पहिलेको जस्तो दुख गर्नु नपर्ने नेपालीले बताए । उनले भने कतिपय त भारी बोकेर खान नसकेर भारतमै गएर नोकरी गर्ने उतै बस्ने पनि भए । 
पछिल्लो पिंढीलाई भने खासै कुनै महसुस भएको छैन गाउँघरमा हाटबजार भएकोमा । दहकालिकास्थानका खेमराज पाठकले भने, गाउँमा बजार भएकोमा खुसी नहुने त कुरै भएन । तर पनि पछिल्लो समयका युवाहरु भने टाढाबाट सामान बोकेको अनुभब नहुनाले खासै चाँसो दिदैनन । 
काँडी स्याउले बजारमा होटल तथा पसलहरु थपिदै छन । ब्यवस्थीत रुपमा ब्यापारी हरुले पनि आफ्ना ब्यापार ब्यवसायहरुलाई तीब्र रुपमा अगाडी बढीरहेका छन ।

डोटी जिल्ला समन्वय समितिमा एमाले एकलौटी 


डोटीको राजनीतिक ईतिहासमा पहिलो पटक नेकपा एमाले जिल्ला समन्वय समितिमा एकलौटी प्रवेश गर्न पाएको छ । जिल्ला समन्वय समितिमा एमाले नेतृत्वको पुरै टिम निर्बिरोध चयन भएको छ । नयाँ टिमले आईतवार पदभार ग्रहण गरेको छ । 
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार गत २५ गते जिल्ला समन्वय समितिका लागि उम्मेदवारी दर्ता गर्नु पर्ने थियो । सो दिन एमाले नेतृत्वको टिमले मात्रै उम्मेदवारी दर्ता गरेकोले आज आईतवार निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालतका न्यायाधिश नरनारायण पौडेलले जानकारी दिए । 
पौलेडका अनुसार प्रमुखमा रामबहादुर ऐर चयन भएका छन । ऐर एमाले डोटीका सचिव हुन । यस्तै उपप्रमुखमा सशी सोव चयन भएकी छन । सोव पार्टी जिल्ला सचिवायल सदस्य हुन । सदस्यहरुमा धनश्याम जोशी, गोबिन्द खड्का, डम्मर ओली, सगराम नेपाली, लक्ष्मी मल्ल, तुलक्षा साउँद र मिना बोहरा रहेका छन । 
नव निर्वाचित जिल्ला समन्वय समितिलाई आईतबारै शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र समेत दिईएको पौडेलले जानकारी दिए । 
नव निर्वाचित जिल्ला समन्वय समितिले आईतबारै पदभार समेत ग्रहण गरेको छ । 
पहिलो बैठमका पाँच निर्णय 
आईतवार बसेको जिल्ला समन्वय  समितिको पहिलो बैठकले बिभिन्न पाँच निर्णय गरेको छ । 
निर्णयहरुमा जिल्ला समन्वय समितिमा निर्वाचित प्रतिनिधीहरुको सूचि सबै सरोकारवाला निकायलाई पठाउने, जिल्लामा आम नागरिकको सार्वजनिक सूचनामा पहुँच पु¥याउन सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्ने र त्यसका लागि सरकारी र गैर सरकारी निकायसँग समन्वयमा जोड दिने र जिल्ला समन्वय समिति गठन गर्न सघाउने मूख्य निर्वाचन अधिकृतको कार्यालय, राजनीतिक दल, जिल्ला निर्वाचन कार्यालय र सबै सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्ने रहेका छन । 
यस्तै जल्लामा रहेका विभिन्न राजनीतिक दल, सरकारी तथा गैर सरकारी निकाय लगायत सम्पूर्ण सरोकार–वालाबिच मंगलबार परिचयात्मक कार्यक्रम आयोजना गर्ने र जिल्लामा रहेका बिग्रे, भत्केका ग्रामीण कच्चि सडकहरु निरन्तर सूचारु गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समितिको कार्यालयले जानकारी दिएको छ ।

छोटकरी समाचार 

अरिङ्गालले टोकेर एक महिलाको मृत्यु

अरिङ्गालले टोकेर डोटीमा एक जना महिलाको मृत्यु भएको छ ।
अरिङ्गालले टोकेर दिपायल सिलगढी नगरपालिका– १ घटालीगाउँका २० वर्षीया पद्मादेवी जोशीको मृत्यु भएको हो । उनको उपचारका क्रममा राजपुर स्थित सुजङ अस्पतालमा मृत्यु भएका हो । सुजङ्ग अस्पतालका सूचना अधिकारी अर्जुन बलायरले भने, ‘अरिङ्गगालले टोकेर कटाली गाउँकै  १३ वर्षीया सीता कुमारी जोशी गम्भीर घाइते भएकी छन् । उनको सुजङ अस्पतालमै उपचार भइरहेको छ ।

दादुरा फैलिदै

डोेटीको सायल गाउँपालिका ६ दल्लेखका दलित परिवारका केही बालबालिकाहरु दादुरा रोग ग्रसित छन । साबिकको खातीवडा गाबिसको दल्लेख गाउँका चार जना बालबालिकाहरुलाई दादुरा रोग भएको र अरु बालबालिकाहरुलाई पनि लक्षण देखिन थालेको स्थानीय गंगाराम साउँदले बताए ।
बालबालिकालाई सुरुमा सामान्य ज्वरो आउने त्यसपछि बढ्दै जाँदा अत्याधिक मात्रामा ज्वरो बढ्दै जाने र पुरै शरीरमा पानीका फोकाहरु आएजस्तो साना साना बिबिराहरु आउने गरेको साबिकको खातीवडा गाबिसका सामाजिक परिचालक मोहन बिकले जानकारी दिए ।
सामाजिक परिचालक बिकले भने, ‘दल्लेख गाउँमा शुरुमा एकजना अपाङ्गता भएको ८ बर्षिय बालक बाजी लुहारको छोरा राजेश लुहारलाई दादुरा भएको थाहा भएसंगै स्थानीय अन्य तीन जना बालबालिकालाई पनि देखा परेको छ ।’

लेख 

डोटीमा शास्त्रीय संगीतको एक संस्मरण


स्व. गोपालप्रसाद जोशी 
डोटी राज्यमा गोर्खालीको प्रवेशपछि सिलगढी पश्चिमाञ्चलको सदरमुकामका रूपमा देखा प¥यो । सिलगढीको बजार वसाल्ने काम, पानी कुलोको व्यवस्था, पौवापाटी धाराहरुको व्यवस्था शाहवंशका चौतरिया कृष्णध्वज शाह, पुष्कर शाह, ववर जंग शाह आदिले गरे । उनीहरुकै साथमा डोटीको वजार व्यवस्था मिलाउन र पल्टनको रसद पानीको व्यवस्था गर्न नेवार श्रेष्ठ जातीका महाजनहरु पनि आएका थिए । ती मध्ये रूपनारायण श्रेष्ठ, प्रतापनारायण वाँका, कृष्ण (वाँका) आदिको नाम उल्लेख्य छ । यिनकै जमानामा इन्द्रचौकमा श्रीकृष्ण मन्दिरको स्थापना भएको हो । यही मन्दिर डोटीको शास्त्रीय संगीतको सूत्रपात माने हुन्छ । त्यस मन्दिरमा वसन्त पंचमी, रामनवमी, फागुपुर्णिमा, कृष्णजन्माष्टमी, एकादशीहरुमा भजन कीर्तन हुने गर्दथ्यो । त्यो परम्परा वर्तमानसम्म पनि जाग्रत छ । पुरानो मन्दिर जीर्ण हुँदा नयाँमन्दिर ०१७ सालमा निर्माण गरियो ।
यो संगीत परम्परा कतावाट आयो भन्ने कुरा अवश्य स्मरणीय छ । यो परम्परा साहुजीहरुले काठमाण्डौं, रिडि आदि ठाउँवाट ल्याएका थिएनन् । यहाँका वुढापाका मानिसहरुलाई सोध्दा यो परम्परा कुमाउँ तिरवाट तीर्थयात्रा आदिको प्रसंगमा आउने घुमन्ते वावाहरुवाट नै आएको थियो भन्ने वुझिन्छ । ८५–८६ सालमा वस्ताद वुलाकी    राम र सुकवाषी चन्द यहाँ आए ।
त्यस वेलाका वाद्य सामग्रीहरु सितार, एकतारे,  तानपुरा, तवला, मृदङ्ग, ढोलक, मजीरा आदि थिए । त्यो परम्परा निर्वाध रूपले अघि वढ्दै गयो । सिलगढी शास्त्रीय संगीतको गढ नै बन्यो । त्यसपछिको पिढीमा विष्णुभक्त श्रेष्ठ, खड्गबहादुर चन्द, गोपाल चन्द, उद्धव केसी, गरुडध्वज अग्रवाल आदिले डोटीको संगीतलाई उजागर गरे । तत्पश्चात् सितारवादक मु. मानबहादुर श्रेष्ठ, सनतबहादुर श्रेष्ठ, सनतबहादुर थापा, तवलावादक मेहरमान (पाल्पाली), दीर्घमान श्रेष्ठ, कासीमान श्रेष्ठ आदिले सिलगढीको संगीत परम्परालाई उत्कर्षमा पु¥याए । १९.... सालमा मानवहादुर श्रेष्ठले सिलगढीमा हारमोनियम ल्याए ।
डोटी गौंडाका वडाहाकिम जर्नेल वहादुर सम्सेरले आफ्नो साथमा संगीतशास्त्रका वस्ताज महावीर मिश्रलाई डोटीमा ल्याए । महावीर मिश्रवाट तालिम पाएका केदारप्रसाद श्रेष्ठ, हिक्मतबहादुर जोशी, प्रेममोहन श्रेष्ठ, कृष्णमोहन श्रेष्ठ आदि प्रमुख थिए । वहाँहरु सितार, तानपुरा, हार्माेनियम, तवला आदि वाद्यमा शास्त्रीय रागहरु नियमानुसार बजाउन, गाउन पूर्णतया प्रवीण हुनुहुन्थ्यो ।
यस समयका संगीत वैठकमा गाइने रागका प्रकारहरु थिए ः राग केदार, बसन्ततिलकामोद, रागदुर्गा, रागहिन्डोल, बसन्तवहार, मालश्री, दर्वारी कानडा, विहाग विलावल, रागवागेश्वरी आदि । तवलाका तालहरुमा    दादरा, एकताल, त्रिताल, चौताल, कहरवा, रूपक, आडाचौताल, झपताल आदि थिए भने गाइने पदहरु ः सूरदास, तुलसीदास, कवीरदास, मिरावाई र व्रह्मानन्द भजनमालाका थिए । ००७ सालको क्रान्ति पछि नेपालीमा निवद्ध गीतहरु वा नेपालीमा अनुदित हिन्दी गीतहरु चले । १५÷२० साल उप्रान्त विशेष आफैले रचना गरेका गीतहरु कलाकारहरुले गाउन थाले । वर्तमान कालमा हिन्दी पदहरु गाउने परम्परा एकदम कम भैसक्यो ।
डोटीको होरी ज्यादै व्यवस्थित र सुन्दर हुन्थ्यो । तल्लोबजारका कलाकारहरु मल्लोबजार र मल्लोबजारका कलाकारहरु तल्लोबजारमा गएर पालैपालोसंग होरी मनाईन्थ्यो । होरीका ८ दिन हार्माेनियम, तवला, झाँझ, करतालहरुको धुनले गुञ्जायमान भएर वित्दथे । पुर्णिमाको दिन सरस्वती स्थानमा होरी मनाईन्थ्यो । त्यो दिन ज्यादै उत्सवपूर्ण हुन्थ्यो । जसमा बजारका संगीत कलाकारका साथै अड्डाखानाका कर्मचारीहरु पनि सरीक हुन्थे । होरी गाउनमा मस्त रहन्थे । महोत्सव हुन्थ्यो ।
मल्लोवजारमा १९९८ सालमा कृष्णमन्दिरको स्थापना भयो । त्यस मन्दिरको स्थापनाले सिलगढीको संगीतप्रियतालाई झन ज्यादा उजागर ग¥यो । आज पनि त्यस मन्दिरमा रामनवमी, श्रीकृष्ण जन्माष्टमीमा हरे राम महामन्त्रको २४ घण्टका अखण्ड कीर्तन हुन्छ । अन्य अर्वपर्व र एकादशीहरुमा भजन कीर्तन, हवन आदि निर्वाध रूपले चलिरहेको छ । 
शैलेश्वरी मन्दिरमा ७÷८ साल देखिनै हालसम्म प्रातःकाल नित्य संकीर्तन हुन्छ र प्रतिदिन सायंकालमा संकीर्तन र आरती अद्यापि चलेकै छ ।..............
(नोटः यो व्यवस्थित किसिमले लेखिएको लेख होईन । यो अध्ययनका लागि तयार पारिएको टिपोट जस्तो देखिन्छ । स्व. जोशी यस विषयमा अध्ययन गर्ने तयारीमा हुनुहुँदो रहेछ भन्ने देखिन्छ । यद्यपी यो अध्ययन पुरा गर्न नपाउदै उहाँको देहावसान भयो । उहाँका पाण्डुलीपीहरु व्यवस्थित रुपमा संरक्षण गर्न सकिएका छैनन् । यो टिपोट पनि प्राप्त दुई पाना मात्र हो । यसको अन्तिम अनुच्छेद अधुरो भएकोले यहाँ उल्लेख गरिएन । यो टिपोट यस विषयमा अध्ययन गर्न चाहनेहरुलाई उपयोगी होस् भन्ने उद्देश्यले मात्र प्रकासित गरिएको हो । तथ्य, तथ्याङ्क, नाम, मिति आदिमा देखिन सक्ने फरकलाई विद्वान पाठकहरुले आफै सच्याई पढ्नु हुनेछ ।)

मोफसल पत्रकारिता 

पत्रकारितालाई बौद्धिक पेशाको रुपमा लिइन्छ ।


राधिका भुसाल (कार्यकारी सम्पादक) 
हाम्रो एकता राष्ट्रिय साप्ताहिक, प्यूठान 

तपार्इंको पुरा परिचय पाउँ न ?
— म राधिका भुसाल । प्यूठान नगरपालिका ५ जुम्रीकांढा स्थायी घर हो । जिल्लाबाट प्रकाशन हुदै आएको हाम्रो एकता साप्ताहिक र रातो पाटी अनलाईनमा आवद्ध छु । 
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— मेरो सानै देखिको रुचि वा लगाव कलाकारितामा थियो । तर, जागिर खाने शिलशिलामा पत्रिकामा जोडिन आएकी हुं । काम गर्न थालेको ४ महिनाको अवधिमै पत्रकार महासंघ प्यूठान शाखाको सदस्यमा नाम सिफारिस भइएछ । ६ महिना पछि महासंघको अधिवेशन भयो । छोटो समयमै कार्यसमितिमा जाने सुनौलो अवसर मिल्यो । तर, मलाई पत्रकार महासंघको सदस्यता, कार्यसमिति सदस्यको जिम्मेवारीबारे खासै थाहा थिएन । अग्रजहरुले जुन कामको जिम्मेवारी दिन्थे, त्यसलाई मैले पुरा गरेरै छाड्थे । मेरो कामको परिणाम त धेरैले चिन्न थाले सम्मान पनि दाम पनि यसरी नै पत्रकारिता यात्रा सुरु भएको थियो । 
कति समय भयो यस पेशामा लागेको ?
— जोडिएको त भर्खरै साउन १ गते ४ बर्ष पुग्यो तर पत्रकार नै बन्छु भनेर समाचार लेख्न थालेको करिब अढाई वर्ष जति भए होला । 
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— मोफसल क्षेत्रको एउटै विधामा रहेर पत्रकारिता गरेको त्यती पाइदैन । मैले पनि ठ्याक्कै कुनै विट समातेर पत्रकारिता गरेको त छैन । जिल्लाको अवस्था अनुसार हरेक घटना क्रमका विषय बस्तु उठान गर्नुपर्ने हुन्छ तर, मलाई महिला, बालबालिका र शिक्षा क्षेत्रमा कलम चलाउने रुचि छ । रुचि अनुसार नै यि विषयमा बढी कलम चलाउने    गरेको छु ।  
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ? 
— निसन्देह, पत्रकारितामा थुप्रै समस्याहरु छन् । पहिले त हामी जुन मिडिया हाउसमा काम गर्छौ त्यो मिडिया नै दीर्घकालिन रुपमा चल्ने हो या होइन गम्भिर शंका हुन्छ । झन हाम्रो प्यूठानमा त व्यक्ति पिच्छेका पत्रकारहरु सम्पादक अनि झोले पत्रपत्रिका त्यसले नयाँ आगन्तुक पत्रकार वा पत्रकारिता क्षेत्रमा रुचि राख्ने प्रतिभाहरुले विश्वास गर्ने ठाउँ नै हुदैंन । त्यस्तै अर्को तर्फ श्रमजीवि पत्रकारका उचित भनौ या के भनौ न्युनतम पारिश्रमिक पनि हुदैन । हामी जस्ता महिलाहरुको सवालमा त हेर्ने दृष्टिकोण नै फरक हुन्छ । यि यस्ता समस्याहरु थुप्रै छन् । वर्तमान सञ्चार प्रविधिको युगमा पत्रकारिता क्षेत्र चुम्बकीय आर्कषणको रुपमा हुँदाहुंदै पनि मिडिया हाउसको कमजोर व्यवस्थापन पद्धतीले  दिगो रुपमा पत्रकारिता गर्ने वातावरण सृजना हुन नसकेको देखिन्छ । 
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
— मोफसलमा धेरै समस्या छन् । आवश्यकता अनुसारको मिडिया त सञ्चालन भएका छन् नै । तर, सबभन्दा विषाक्त संस्कृति भनेको देखासिकी र प्रतिशोधको पत्रकारिता नै बढी हावी देखिन्छ । त्यसले गर्दा लगानी व्यवस्थापन, कर्मचारी व्यवस्थापन, भाषा शैली, आचरण व्यवहार, आचारसंहिता जस्ता पक्षहरु गम्भिर बन्दै गएका  छन् । यि यस्ता समस्याहरु मोफसलको समस्या त हो नै मुलधारमा काम गर्ने साथीहरुमा पनि देखिन थालेको छ ।
मोफसलै भएपनि प्युठान जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको छ ? र यस जिल्लामा अरु जिल्लाको भन्दा बढी समस्याहरु के कस्ता छन ?  
— तुलनात्मक रुपमा प्यूठान राजनैतिक सचेतनाका हिसावले सचेत भएता पनि यहाँको सञ्चार माध्यमको विकास भने सन्तोषजनक छैन । यहाँको सञ्चारको विकास संख्यामा देखिन्छ तर, गुणमा छैन । संख्यात्मक रुपले रेडियोको संख्या ७ वटा पुगिसकेको छ । यद्यपी केही रेडियोहरु भने सञ्चालनमा छैनन् । त्यस्तै प्रेस काउन्सिलको मापदण्डमा   परेका पत्रपत्रिकाहरु नियमित नै छन् तर, सिको गर्दै कतिपय पत्रपत्रिकाहरु पनि पर्व, नयाँवर्ष र असार मसान्तलाई लक्षित गरी प्रकाशन भएकै छन् । पत्रकारिताको बाटो देखाउने अग्रजहरु अहिले पेशाबाट पलायन छन् । त्यस्को उदाहरण दैनिक पत्रिका सञ्चालन गर्दै आएका सञ्चालकहरु अहिले पत्रकार महासंघको सम्पर्कमा समेत आउन चाहेको देखिन्न । यो नै लाजमर्दो समस्या हो ।  
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— नेपाल सरकारले स्थानीय मिडियाहरुको नियमन गर्दै मिडिया व्यवस्थापनमा ख्याल गर्नुपर्छ । स्थानीय पत्रपत्रिकाहरुलाई  विज्ञापन उपलब्ध गराउनु पर्छ । यहाँ त विदेशमा हुने भ्रमण, गोष्ठी तथा अन्य विशेष तालिमका सुविधाहरु राजधानीमा बस्नेहरुकै पहँुचमा छ, यो परम्परा तोडिनु पर्छ । मोफसलका क्रियाशिल पत्रकारहरुलाई क्षमता विकासको अवसर दिनुपर्छ । श्रमजीवि ऐन कार्यान्वयन को पूर्ण पालना हुनुपर्छ । साथै पेशागत तथा भौतिक सुरक्षा जस्ता पक्षमा ध्यान दिनुपर्छ ।
तपाँई आफै पनि पत्रकारिता पेशामा धेरै समयदेखि काम गर्दै हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— नेपाल पत्रकार महासंघ वास्तवमा पत्रकारहरुको पेशागत संगठन हो । तर, यसले पेशागत मुद्धामा केन्द्रीत हुने भन्दापनि नेतागिरी गर्ने थलो मात्र बनेको छ । अवसर आउँछ ठूलाका लागि । वर्षेनी विदेशमा सयौंको संख्यामा पत्रकारहरुको विदेश भ्रमण हुन्छ तर मोफसलका पत्रकारहरुको पहुँच नै हुंदैन । महासंघले हाम्रो क्षमता विकास, सशक्तीकरण गर्ने र स्थानीय मिडियालाई सवलीकरण गर्न ध्यान दिएको पाइदैन । अब यस तर्फ महासंघले ध्यान दिनु पर्छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भूमिका खेलेको पाउनुहुन्छ ?
— राम्रो कुरा सोध्नु भो । पत्रकार महासंघको अधिवेशनको समयमा यिनीहरुको पदीय हानथापको दौडधुप निकै देखिन्छ अनि कतिपय कार्यक्रममा पनि ठूल्ठूला भाषण हुन्छ । सदस्यता सिफारिस गर्ने बेला तछाड मछाड । अहिलेसम्म मैले यी संगठनबाट पाएको अनुभव यहि नै हो ।
तपाँइको विचारमा पत्रकारिता के हो ?
— वास्तवमा पत्रकारिता  बौद्धिक पेशा हो । आम जनसमुदायलाई सु—सुचित गर्ने पत्रकारितालाई राज्यले चौथो अंगको रुपमा लिएपनि मैले समाजको आँखाको रुपमा बुझ्ने गरेको छु । 
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ? 
— पत्रकारिता धन कमाउने उद्देश्यले अंगालेकी त होइन । तथापी धन आवश्यकता पुरा गर्ने महत्वपूर्ण स्रोत हो । अहिलेसम्म मैले सहज रुपमा जीवन यापन र पत्रकारिताका लागि आवश्यक पर्ने सञ्चार उपकरण ख्भअजष्अभि जस्ता अत्यावश्यकीय साधनहरु जुटाएर पत्रकारिता गर्न सकेकी छु । यो नै मेरो गर्वको विषय हो । 
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ र तपाँईको क्षेत्रतिर कस्तो छ ?
— पत्रकारितालाई बौद्धिक पेशाको रुपमा लिइन्छ तर, पछिल्लो समय अत्यन्तै बदनामी हुंदै गएको छ । यसका पछाडी थुप्रै कारण छन् । पहिलो कुरा पत्रकारको आचरण तथा सांस्कृतिक पक्ष कमजोर, ठगी धन्दा गर्ने प्रवृति मौलाउनु, पत्रिका दर्ता ग¥यो १÷२ अंक निकाल्यो अनि वर्षौसम्म बन्द हुनु, म फलानो पत्रिकाको सम्पादक भनेर हवाला दिनु लगायतका समस्या छन्  । साथै पत्रकारको लाइसेन्स दिने निकाय पनि दोषी छ । वर्षमा मुस्किलले एउटा समाचार पनि नलेख्ने व्यक्तिहरुलाई राजनैतिक भोट बैंकका लागि सदस्यता दिने परिपाटी निकै गलत छ । पत्रकारिता नै नगर्ने जो सुकैको गोजीमा पनि सूचना विभागको कार्ड समेत देखिन थालेका छन् । यसले गर्दा योग्यता दक्षताको कुरा भएन । एक जना विद्धान थोरोले एक ठाउँमा व्यङ्गय गर्दै भनेका छन्, ‘काम नलाग्ने मान्छेको अन्तिम सहारा पत्रकारिता हो ।’ कति विडम्बना छ यस्तै पत्रकार छन् हामी कहाँ । पत्रकार हुन परीक्षा दिनु नपर्ने, लोकसेवा लड्न नपर्ने परिपाटीले जो पनि पत्रकार बन्ने अवसर सृजना भएको छ । यस्तो परिपाटीले कसैलाई कायम पारेर विज्ञापनको खेती गर्ने र स्वरोजगार सृजना गर्न यो पेशा देखिन थालेको छ । यी यस्ता कारणले तपाँईले भने जस्तै पत्रकारिता पेशा बदनामी हुन थालेको छ । यो नेपालको सबै ठाउँमा देखिएको आम समस्या हो ।  
यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ?
— यसका लागि पत्रकारिताको गरिमा र महत्वलाई बुझ्न सक्नु पर्छ । योग्यता, दक्षता, सांस्कृतिक रुपमा रुपान्तरण र आचार संहिताको पालना गर्न सकेमा पत्रकारिता पेशा मर्यादित बन्न सक्ने छ । 
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा ! 
— यदि म यस्ता कार्यमा लाग्थे भने सायद आज यो स्थान आउने थिएन होला । जुन हिसावले जिल्लाको सरकारी, गैर सरकारी लगायत आम नागरिक समाजबाट मैले न्यानो स्नेह पाएकी छु । त्यसैको प्रेरणाले क्रमश पुरस्कृत पनि हुदै आएकी छु । 
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ? 
— वास्तवमा मोफसलको पत्रकारिता चुनौतीपूर्ण छ । यहाँ रहेका मिडियाहरुको दिगो व्यवस्थापन हुन सकिरहेको छैन । यसो हुनुको पछाडी सरकारी पत्रपत्रिका र अन्य सञ्चारमाध्यम दर्ता गर्न सक्रियता देखाइन्छ तर, मौलिक हक र प्रेस स्वतन्त्रताका नाममा कुन ठाउँमा कति मिडिया आवश्यक पर्छ भन्ने स्पष्ट व्याख्या गर्न सक्दैन । त्यसैले गर्दा कैयौं मिडियाहरु धरापमा छन् । स्थानीय लोक कल्याणकारी विज्ञापन कार्यान्वयन हुन सकेको छैन । पेशागत तथा भौतिक सुरक्षा छैन त्यसैले गर्दा पत्रकारिताबाट पलायन हुने समस्या पनि उत्तिकै छ ।  त्यसमाथि पत्रकार महिलाको त झन कुरै छोड्नु । यि यस्ता समस्याले घेरिएको पत्रकारिता पेशामा सरकारले विशेष ध्यान पु¥याउनु आजको आवश्यकता हो । 
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— त्यस्तो त खासै छैन् । जुन हिसावले अहिले सञ्चार क्षेत्रको विकास भएको छ । त्यस अनुसार नै पत्रकारहरुले आफ्नो क्षमता र गुणस्तरमा विकास गर्नु पर्छ । मौसमी पत्रकारिता र पत्रपत्रिका भन्दा पनि पाठकहरुको चाहाना र जनताको आवश्कतालाई केन्द्र विन्दुमा राखेर कलम चलाउने पत्रकारहरुको मात्र यस क्षेत्रमा राम्रो भविश्य छ ।
समय र बिचारका लागि धन्यबाद ।
— धन्यवाद, बिम्ब नेपाली साप्ताहिकको टिमलाई मेरो विचार पस्कने स्थान दिनु भएकोमा ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. कुन पर्यटकीय स्थलको पुरानो नाम मन्डपगिरी हो ?                  — नगरकोट
२. देउपोखरी र इन्द्रपोखरी कुन जिल्लामा पर्दछ ?                 — लमजुङ्
३. सत्यवाहीनी कुन नदिको पौराणीक नाम हो ?                      — इन्द्रावती
४. तिरुपती बालाजी कुन भगवानको अर्को नाम हो ?           — बिष्णु
५. सगरमाथाको उचाइ कति फिट रहेको छ ?                     — २९०२८ फिट 
६. फ्रान्सको राज्यक्रान्तिलाई कुन क्रान्ति भनिन्छ ?               —बौद्धिक क्रान्ति
७. सतार जातिमा मृतकको दाहसंस्कार गर्दा अनिवार्य के चाहिन्छ ?      — डोरीको खाट
८. सिरुवा पर्व कुन जातिले मनाउँछन ?                      — राजबंशी
९. इद कुन समुदायको महान चाँड हो ?                          — मुस्लिम समुदाय
१०. मगरहरुको कर्मकाण्ड गर्ने पुरोहितलाई के भनिन्छ ?            — भुसाल
११. राउटेले बोलिने भाषालाई के भनिन्छ ?                     —खाम्ची
१२. राईहरुको प्रमुख नाच कुन हो ?                           — चण्डी
१३. मेचे जातिले कुल देवताको रुपमा कसलाई पुजा गर्दछन ?        — सिउँडीको रुख
१४. लिम्बु जातिको प्रचलित नाच कुन हो ?                       —धान नाच

साहित्य/सृजना 

नेपाल आमा


हिजो राती सपनीमा 
नेपाल आमाको तस्वीर देखे
ठिङ्ग उभिएको शरीर
हाड मात्र बाकिरहे जस्तो,
जिङ्ररीङ्ग परेका केश
कैयौं दिनसम्म नकोरे जस्तो,
झोक्राएको अनुहार
कैयौं दिनसम्म भोकी प्यासी जस्तो,
मलिन आँखा
पिडा लुकेको जस्तो,
आमाको यो अवस्था देख्दा
कताकता,
आफैलाइ धिक्कार्न मन लाग्यो
जोड जोडले कराउन मन लाग्यो
त्यई पनि,
बिस्तारै आमालाई निर्लज्ज जस्तै
सोध्ने हिम्मत गरे,
आमा, तपाइँको यस्तो दुर्दसाँ ?
अनि आमाले, गिज्याउदै, हास्दै भनिन्
र उल्टो प्रश्न गरिन्
बल्ल याद आयो बाबु तिमिलाई
तिम्री आमाको ?
सुन्न सक्छौ तिमी ?
मेरो यो अवस्थाको कारण को हो ?
ल सुन ! मेरो यो अबस्थाको कारण होउ
तिमी र तिम्रै दाजुभाई
कहिले मन्त्रीका लागि एक आपसमा लडाइँ गर्छौ
कहिले संविधानका लाकी एक आपसमा लडाइँ गर्छौ
कहिले संविधान संसोधनका लागि एक आपसमा लडाइँ गर्छौ
कहिले मन्त्रालय बाँडफाँडका लागि एक आपसमा लडाइँ गर्छौ
यसरी तिमी भाइ–भाइ कुर्सीकै लागि लडाइँ गरेर
मलाइ न राम्ररी बस्न दिएका छौ
न राम्ररी खान दिएका छौ
न राम्ररी सुत्न दिएका छौ
आफ्नै सन्तानको झगडाले
थकित परिसक्यो बाबु मलाइ !
आमाको यो बेदनाले सपनीबाट
झल्यास्स बिउझाइ दियो मलाइ
पुष्पा जोशी
धनगढी कैलाली

यात्रा 


बालुवाझैं कुरा चाल्नेहरू भेटिदा
खोलो तरि लौरा फाल्नेहरू भेटिदा
धमिल्याई पानी जाल हान्नेहरू भेटिदा
किन भेटिदैनन् समाजमा
सुन्दरता सजाऊनेहरू
किन भेटिदैनन् जिऊदै 
बैतर्नी तराऊनेहरू
किन भेटिदैनन् जीवनभर
साथ निभाऊनेहरू
जलाऊ भो अब त आफै एक द्विप
एकताको, परिपक्वताको
र सुन्दरताको
बिशाल हृदय लिएर
सभ्य समाज बनाऊन
सबै घर सजाऊन
मित्रताको दियो जलाऊन 
मित्रताको दियो जलाऊन !
सूर्य बस्याल
दिल्ली प्रवास

सूचना/सन्देश/बिज्ञापन 





No comments:

Post a Comment