Tuesday, June 26, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७५ साल असार १२ गते मंगलबार

‘अनलाइन उजूरी विधि अवलम्बन गरौं,
आफ्नो कुरा प्रष्ट पारौं ।’
विभिन्न सञ्चारमाध्यममा आएका समाचार
सामग्रीहरू पत्रकार आचारसंहिता प्रतिकूल
भएमा प्रेस काउन्सिल नेपालको वेवसाइट
www.presscouncilnepal.org
मा गई अनलाइन उजूरी गर्न सकिनेछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

पश्चिम सेती परियोजना गायत्री मन्त्र जस्तै

७ नं. प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलबिद्युत आयोजना “गायत्री मन्त्र” जस्तै भएको वताएका  छन । 
‘बर्षौं देखि पश्चिम सेती परियोजना चुनावी मुद्धा बन्दै आयो तर निर्माण हुन सकेन’ मुख्यमन्त्री भट्टले भने ‘अव यो मुद्धा गायत्री मन्त्र जस्तै भएको छ, न कसैले पश्चिम सेती परियोजनाको नाम लिन छोड्छ न कसैले बनाउन सक्छ ।’ सात सय ५० मेगावाटको पश्चिम सेती जलबिद्युत परियोजना नेपाल सरकारको बजेटमा समावेश भएकोले यो प्रदेश सरकार अधिकार क्षेत्रभित्र नपर्ने वताउँदै भट्टले भने ‘तर प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने योजनाहरुमा हामी अव दाता आउला वा लगानीकर्ता आउला र हाम्रो योजना बनाईदेला भनेर पर्कदैनौं ।’ 
उनले खोलाको क्षमताका आधारमा दुई÷चार मेगावाट बिद्युत निकाल्ने गरी प्रदेश    सरकारले तयारी गरिरहेको बताए । “पुँजी जम्मा गरुलाँ र एकैचोटी विकास गरुँला भन्ने सोचाईले काम चल्दैन’ उनले भने ‘आफुसंग जति पुँजी छ त्यतिबाटै लगानी गर्न सुरु गर्ने हो, बाँकी लगानीका लागि खोजी गर्दै जाने हो ।’ कुनै लगानीकर्ता आउला र योजना बनाउला भनेर लाग्ने हो भने पश्चिम सेती आयोजनाकै हालत हुने उनी बताउँछन् ।  
डोटीका दिपायल सिलगढी नगरपालिका र शिखर नगर–पालिकाका नगरसभाहरुको उद्घाटन गर्नका लागि आईतवार गृहजिल्ला डोटी पुगेका मुख्यमन्त्री भट्टले स्थानीय तहमा भईरहेको अनियमितताप्रति गम्भिर चिन्ता व्यक्त गरेका छन् । उनले भने ‘प्रत्येक राजनीतिकर्मीहरुको उद्देश्य जनताको सेवा गर्ने हुनुपर्छ, व्यक्तिगत स्वार्थ होईन ।’ सेवा गर्छु भनेर भोट माग्ने अनि यो वा त्यो बहाना बनाएर भ्रष्टाचार गर्ने व्यक्ति कदापी राजनीतिकर्मी हुन नसक्ने उनको भनाई छ । 
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले भ्रष्टाचारबिरुद्ध शुन्य सहनशिलताको नीति लिएको बताउँदै जनप्रतिनिधिहरुलाई आफ्नो स्थानीय तहमा कुनै पनि प्रकारको भ्रष्टाचार हुन नदिन आग्रह गरे । ‘जो भ्रष्टाचार गर्छ उसलाई कसैले पनि उम्काउन सक्दैन’ भट्टले भने ‘त्यसैले आफु पनि भ्रष्टाचार नगर्नुहोस्, अरुलाई पनि भ्रष्टाचार गर्न नदिनुहोस् ।’
उनले जनप्रतिनिधिहरुलाई विकास निर्माण र सेवा प्रवाहमा राजनीतिक पूर्वाग्रह नराख्न पनि आग्रह गरेका छन् । ‘हिजो चुनाव लड्दा हामी कुनै एक दलको टिकटबाट चुनाव लड्यौं, त्यो वेग्लै पाटो हो’ भट्टले भने ‘अव जनप्रतिनिधि भईसकेपछि हामी सवैको जनप्रतिनिधि हो, त्यसैले हामीलाइ भोट दिनेको वा आफु संलग्न पार्टीको मात्रै प्रतिनिधि हुँ भनेर सोच्नु हुँदैन ।’ राजनीतिक पूर्वाग्रह राखेर काम गर्नेहरुलाई जनप्रतिनिधि भएर बसिराख्ने नैतिकता नभएको उनको भनाई छ । 
एक अर्को प्रसङ्गमा मुख्यमन्त्री भट्टले डोटीको विकासका लागि आफु कहिल्ले पछि नहट्ने कुरा बताए । उनले भने ‘प्रदेश संसदमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट छलफलमा छ, त्यो वजेट स्वीकृत भएपछि डोटीको विकासका लागि के के काम हुँदैछ भन्ने कुरा जनताले आफै थाह पाउनेछन् ।’ उनले आफु कोरा भाषण मात्र गर्ने नभई जति काम गर्न सकिन्छ त्यति मात्र वोल्ने व्यक्ति भएको दावी गरे, भने ‘मैले समारोहमा ताली खानका लागि भाषण गर्नु जरुरी छैन र म चमत्कार गरिदिन्छु पनि भन्दैन मेरो क्षमताले जे   कुरा गर्न सक्छु, त्यति मात्र   बोल्छु ।’ 
राजधानी मेरो मात्रै वसको कुरा होईन 
मुख्यमन्त्री भट्टले प्रदेशको स्थायी राजधानी दिपायल हुनु पर्ने मेरो व्यक्तिगत धारणा हुँदाहुँदै पनि राजधानी दिपायल बनाउने कुरा आफ्नो मात्रै अधिनमा नरहेको बताए । 
‘यदि संबिधानमा प्रदेशको राजधानी सम्वन्धित प्रदेश सरकारको मन्त्री परिषद्ले निर्णय गरे वमोजिम हुने व्यवस्था भएको भए भोलीपल्ट मुख्यमन्त्री पदबाट राजीनामा दिनु पर्ने परिस्थिति आएपनि आफ्नो तरिकाले निर्णय गर्थें’ भट्टले भने ‘तर संबैधानिक व्यवस्था अनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले गर्ने निर्णय म एक्लैले गरेर हुँदैन ।’ 
उनले मुख्यमन्त्री भएदेखि आफुले पटक पटक राजधानीकै बिषयमा स्पष्टिकरण दिईरहनु  परेको वताए । उनले थपे ‘डोटेली जनताको माग जायज हो, ईतिहास मेटिन लागेकोप्रति चिन्ता हुनु स्वभाविक हो तर एकातिर संबैधानिक व्यवस्था यस्तो छ अर्कोतिर तत्कालीन सरकारले अस्थायी मुकाम धनगढी तोकेको छ, यस्तो अवस्थामा म एक्लैले दिपायल राजधानी बनाई दिन्छु भन्न सक्ने अवस्था छैन । 

सम्पादकीय 

फेरी उस्तै चलन हो ?

‘तिमीहरूको मद्दतको निमित्त खटिएका कर्मचारीहरूको रेखदेखमा नगरपालिकाको काम गर्न सक्ने तिमीहरूको प्रतीतको असल, लायक, अनुभवी, प्रतिनिधि छानी पठाउने काम गर ।’ २००४ साल जेठ ३ गते पहिलो पटक काठमाण्डौं नगरपालिकाको निर्वाचन हुँदा देशमा राणा शासन थियो । राणा प्रधानमन्त्री देवसमसेरले माथीको वाक्यमा जनतालाई मतदान गर्न जान आदेश गरेका रहेछन् । त्यतिवेला झण्डै ६५ प्रतिशत मत खसेको देखिन्छ । यद्यपी नेपालमा स्थानीय निकायको अभ्यास धेरै पहिले देखिनै भएको पाईन्छ तर निर्वाचन भने यो नै पहिलो हो । 
राणा शासन र सो भन्दा अघिका शासन व्यवस्थाहरुमा बिभिन्न नामले स्थानीय निकायको अभ्यास गरियो । काठमाण्डौं “म्युनिसिपालिटी” लाई २००७ सालको राजनीतिक परिवर्तनपछि नगरपालिका भन्न थालियो । २०१७ सालको राजनीतिक परिवर्तन पछि “पञ्चायत” शव्दलाई पवित्र मानियो । राष्ट्रिय पञ्चायत, जिल्ला पञ्चायत, नगर पञ्चायत, गाउँ पञ्चायत अर्थात त्यतिवेलाका स्थानीय निकायहरुलाई पञ्चायत भन्न थाल्यौं । 
२०४६ सालको राजनीति परिवर्तनपछि “पञ्चायत” शव्दलाई बिस्थापित गर्दै “विकास समिति” शव्द राखियो । त्यतिले मात्रै भएन २०७२ को संबिधानले स्थानीय निकायलाई स्थानीय तह भन्दै “पालिका” भन्ने शव्द ल्यायो । 
नाम जे सुकै राखेर पनि, कागजमा जे सुकै लेखेपनि केही नहुने रहेछ भन्ने कुरा अहिलेका राजनीतिकर्मीहरुको व्यवहारले प्रष्ट पारेका छन् । हाम्रा व्यवहार, वानी, शैली परम्परात हुने अनि हामीले शव्दको खेती मात्रै गरिरहनु पर्ने हो भने यसले हामीलाई कहीँ पु¥याउँदैन । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेका गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समितिका परिषद्हरु उद्घाटन गर्नका लागि नेताहरुबीचमा तछाड् मछाड् हुन्थ्यो । अझ २०५९ साल असार मसान्तमा स्थानीय निकायका जनप्रतिनिधिहरुको पदावधी सकिएपछि त कसले बत्ती बाल्ने भन्ने बिषयको बिवादले परिषद्नै तोकिएको समयमा नहुने, कार्यकर्ताहरुबीच कुटाकुट हुने अवस्था समेत सृजना भयो । 
यि सवै “लाज” हरु पचाउँदै राजनीतिकर्मीहरु फेरी पनि आफुलाइ चोख्याउन अरुको सत्तोसराप गर्दै आजको अवस्थासम्म आईपुगे तर आफ्नो वानी र व्यवहार संगै ल्याएर आएका रहेछन् । जवसम्म वानी र व्यवहार सच्चिन्न तवसम्म शव्दको खेल खेलेर मात्रै केही हुँदैन । 
अहिले देशमा तीन तहका सरकार छन भन्ने कुरा संबिधानमा प्रष्टै छ । तीन वटै तहमा व्यवस्थापिका, कार्यपालिका र न्याय निरुपणका संरचनाहरु छन् । स्थानीय तहले आफ्नो क्षेत्रभित्र पर्ने व्यवस्थापकीय, कार्यकारणी र न्यायिक अधिकार प्रयोग गर्न संबिधानले अधिकार दिएको छ । उक्त अधिकार लत्याउँदै हामी फेरी पानसमा बत्ती बाल्ने क्रियाकलापहरुलाई जोड दिईरहेका छौं । गाउँ/नगरसभाको बैठक बस्नु भनेको स्थानीय व्यवस्थापिकाको बैठक बस्नु हो । जसरी संघीय व्यवस्थापिकामा व्यवस्थापकीय अभ्यास हुन्छ, ठिक त्यसैगरी स्थानीय व्यवस्थापिकामा पनि व्यवस्थापकीय अभ्यास हुन्छ । जसरी संघीय व्यवस्थापिकाको बैठक सुरु गर्नका लागि कसैले पानसमा बत्ती बालिदिनु पर्ने आवश्यक छैन, त्यसरीनै स्थानीय व्यवस्थापिकामा पनि आवश्यक छैन, जसरी संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा सम्वन्धित व्यक्तिहरुको मात्रै उपस्थिति रहन्छ त्यसरीनै स्थानीय तहमा पनि हुनु पर्ने होईन र ? संघीय संसदमा गएर गैर सांसदहरुले बोल्न नपाउने तर स्थानीय तहमा ‘मैले बोल्न पाएन’ भनेर आक्रोस पोख्ने ? कहिलेसम्म रहन्छ यो चलन ?
त्यसैले व्यवस्थापकीय अभ्यास गरौं, कसैलाई खुशी पार्नका लागि पानसमा बत्ती बाल्न बोलाउन जरुरी छैन ।

थप समाचार 

कुन स्थानीय तहमा कति सहकारी

डिभिजन सहकारी कार्यालय, डोटीले डोटीमा रहेका सहकारी संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरेसंगै सहकारी संस्था व्यवस्थापन र नियमनको जिम्मेवारी स्थानीय तहमा सरेको छ । 
देश संघीय संरचनामा गएसंगै जिल्लामा रहेका बिषयगत कार्यालयहरु समेत स्थानीयतहमै समायोजन हुने प्रक्रियासंगै सहकारी संस्थाहरु पनि हस्तान्तरण भएका हुन ।
जिल्लामा रहेका जम्मा एक सय ७९ वटा सहकारी संस्थाहरु स्थानीय तहको जिम्मेवारीमा आएका छन । स्थानीय तहका आधारमा जिल्लम सवैभन्दा बढी सहकारी संस्था  रहेको स्थानीय तह शिखर नगरपालिका रहेको छ । यस नगरपालिकामा ३२ सहकारी संस्था  रहेका छन् । 
यस्तै सवैभन्दा कम सहकारी संस्थाहरु के आई सिंह गाउँपालिकामा रहेका छन् । यस गाउँपालिकामा १३ सहकारी संस्था छन् । 
दिपायल सिलगढी नगर–पालिकामा २१ सहकारी संस्थाहरु रहेका छन । यस्तै पूर्वीचौकीगाउँपालिकामा २६ वटा, आदर्श गाउँपालिकामा १५, सायल गाउँपालिकामा १६, बड्डीेदारमा १४, बोगटानमा १९ र जोरायलमा २३ सहकारी संस्थाहरु रहेका छन् । 
सहकारी संस्थाहरुमा ५५ प्रतिसतभन्दा बढी महिलाहरु आबद्ध रहेका सहकारी बिभागका नवराज साकोटाले बताए । बिशेषगरी सहकारी मार्फत गरिबले काम गर्नुपर्ने सापकोटाले बताए । अबदेखि सहकारीको सबै काम स्थानीय तहहरुबाटै हुने डिभिजन सहकारी कार्यालय डोटीका निमित्तप्रमुख जयराज भट्टले जानकारी दिए ।
जिल्लामा ठुलो संख्यामा सहकारी संस्थाहरु रहेपनि नियमित हुन सकेका छैनन् । बचत संकलन गर्ने र ऋण     परिचालन गर्ने वाहेक सहकारी संस्थाहरु उत्पादनमुखी हुन सकेका छैनन् । स्थानीय तहले अव कानुन बनाई सहकारी संस्थाको व्यवस्थापन गर्नेछन् ।

प्रहरीद्वारा २५ रोपनी गाजा नष्ट

गणेश मौनी/डोटी
असार ११
जिल्ला प्रहरी कार्यालय डोटीले करीब २५ रोपनी क्षेत्रफल भित्र रहेको गाजा (भाङ) आज नष्ट गरेको छ ।  
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुर्ब बहादुर विष्टको नेतृत्वमा गएको टोलीले दिपायल सिलगढी नगरपालिका–७ अन्तर्गत बनखेतमा बाँझो जमिन र खेतबारीमा उम्रिएको करीब २५ रोपनी क्षेत्रफलभित्र रहेको गाजा (भाङ) नष्ट गरिएको हो । 
जिल्ला सदरमुकाम सिलगढी क्षेत्रबाट नजिकको क्षेत्र भित्र पर्ने हुँदा दिनानुदिन गाजा (भाङ) प्रयोगकर्ताहरुको संख्या बढिरहेकोले गाजा नष्ट गर्ने अभियान सञ्चालन गरिएको टोलीमा सहभागि सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार नरेन्द्र नाथले बताए ।  
प्रहरीले एक साता अगाडी डोटीको जोरायल क्षेत्रमा १५ रोपनी क्षेत्रफल भित्र रहेको गाजा नष्ट गरी सुरुवात गरेको अभियानलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । उनले भने “हाम्रो अभियान सुरुवात भएको छ अनवरत रुपमा अगाडी बढिर–हन्छ, जबसम्म अबैध रुपमा मदिराको विक्रि, सेवन बन्द हुँदैन, जुवातासको अन्त्य हुँदैन, बन्य जन्तु चोरी सिकार बन्द हँुदैन, कालो पदार्थको सेवन विक्री अन्य हुँदैन, गाडीहरुमा क्षमता भन्दा बढी यात्रुहरु बोक्न छुट्दैन तबसम्म अभियानले निरन्तरता पाउने छ ।” 
हाल प्रहरीले जनता र  प्रहरी विचको सम्बन्ध सुमधुर हो भन्ने उद्देश्यले जिल्ला विभिन्न स्थानमा टोल टोलमा प्रहरी अभियान पनि सञ्चालन गर्दै आईरहेको छ अभियान अन्तर्गत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै जाँड रक्सी, जुवा तास अबैध मदिरा र गाजा प्रयोगकर्ता, सिट क्षमता भन्दा यात्रु बोक्ने गाडीहरु र ब्यापारीलाई पनि विशेष निगरानी र कडाई गर्दै आईरहेको छ ।
बिपद् बिरुद्ध १२० स्वयंसेवक
नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यून गर्न एक सय २० जना स्वयंसेवकहरु तयार गरेको छ । 
प्राकृतिक प्रकोपको वारेमा समुदायमा चेतना फैलाउने, बिपद् पूर्व तयारीका बारेमा जानकारी गराउने र बिपद् भईहालेमा तत्काल उद्दारमा परिचालन गर्न स्वयंसेवकहरु तयार गरिएको रेडक्रस सोसाईटी डोटी शाखाका सभापति लक्षीराम कुँवरले जानकारी दिए । “सडक दुर्घटना बढी हुने ठाउँलाई मध्येनजर गर्दै हामीले राजमार्ग क्षेत्रमा बढी स्वयंसेवकहरु तयार गरेका छौं” सभापति कुँवरले भने ‘बाढी पहिरो, आगलागी जस्ता प्रकोपबाट हुन सक्ने घटना सम्वन्धी पनि स्वयंसेवकहरुलाई नमुना अभ्यास सहितको तालिम दिईएको छ ।’ 
शाखाले सञ्चालन गरेको ‘बिपद् प्रतिकार्यका लागि सामुदायिक पहल कार्यक्रम’को बार्षिक समिक्षा गोष्ठीमा संस्थाका कार्यक्रम संयोजक कर्णवहादुर साउँदले जिल्लामा रहेका रेडक्रसका २२ उपशाखाहरुमा स्वयंसेवकहरु परिचालन गरिएको बताए । उनले भने ‘जिल्लाका नौ स्थानीय तहहरुमध्ये आठ स्थानीय तहहरुमा उपशाखाहरु रहेका छन, बोगटान गाउँपालिकामा पनि उपशाखा गठनका लागि पहल गदैछौं ।’ उनले स्वयंसेवकहरुलाई प्रकोप पूर्व तयारी र प्रकोप पश्चात गर्नु पर्ने उद्दारका बिषयमा समेत जानकारी गराईएको बताए ।
कार्यक्रममा डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रेडक्रस बिपद्को साथी जस्तै भएको वताए । उनले भने ‘प्रकोप हुने बित्तिकै मान्छेले पहिले रेडक्रसलाई सम्झन्छ, त्यसैले रेडक्रस सधैं सक्रिय हुनु पर्छ ।’ उनले समय अनुसारको तयारी गर्नु पर्ने र सुरक्षाकर्मीहरुलाई समेत प्रारम्भिक उपचार सम्वन्धी तालिम सञ्चालन गर्नु पर्ने वताए । 

प्रतिपक्षीद्वारा संसद बैठक अवरुद्ध

आर्थिक बर्ष २०७५/०७६ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै ७ नं. प्रदेश सभामा प्रतिपक्षीहरुले अवरोध सृजना गरेका    छन् ।  
सरकारले ल्याएको वजेट वितरणमुखी भएको आरोप लगाउँदै संसदमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको बिरोध सोमबार पनि जारी रह्यो ।
आइतबारको संसद बैठकमा बजेटमाथिको छलफलमा भाग नलिएर ‘मौन विरोध’ गरेको प्रमुख प्रतिपक्षी काँग्रेसले सोमबार संसदमा अवरोध गरेको छ । संसदमा प्रतिपक्षको अवरोध पछि सोमबारको बैठक स्थगित भएको छ ।
सोमबारको संसद बैठक शुरु हुँदा साथ प्रमुख प्रतिपक्षी सासंदहरूले आ–आफ्नो स्थानबाट उठेर मौन बिरोध     गरेपछि सभामुख अर्जुनवहादुर थापाले प्रतिपक्षीलाई आफ्नो माग राख्न समय दिएका थिए । उक्त समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता रणवहादुर रावलले सरकारले प्रस्तुत गरेको बजेटमा विकास योजनाको प्राथिमिकीकरण तथा योजना छनौट प्रक्रिया गलत भएकाले सच्याउन माग गरे । नेता रावलले प्रदेश सरकार र आर्थिक मामिला तथा योजना मन्त्रीसित पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि संसदको कारबाही अवरुद्ध गर्नु परेको बताए ।
सरकारले बजेटमा विभिन्न शीर्षकमा डल्लो राखेर विनियोजन गरिएकोमा त्यस्तो बजेट स्पष्ट रूपमा उद्देश्य सहित टुक््रयाउन माग गरे । ‘यो बजेट गन्तव्यहीन यात्रा जस्तो देखिएको छ’ नेता रावलले भने ‘सरकारले प्रतिपक्षको सुझाव तथा आग्रहलाई बारम्बार नजरअन्दाज गरिरहेको छ ।’ 
बजेट वितरणमुखी र कार्यकर्ताहरु लाई पोस्ने खालको भएका कारण आफुहरुले आपत्ति गरेको उनले बताए । ‘डल्लो रकम राखेर संसदमा वजेट पेश गरिनु बजेट सिद्धान्त बिपरित हो’ नेता रावलले भने ‘यस्तो गर्न पाईदैन । उनले सरकारसित बहुमतको दम्भ रहेको आरोप लगाए ।
संसद बैठक स्थगित भएपछि संसद परिसरमा पत्रकारहरूसित कुरा गर्दै नेता रावलले बजेट नसच्याउँदासम्म संसदमा विरोध जारी रहने बताए । सरकारसँग बहुमत भएको र उसले चाहेको बजेट बिधिवत् रुपमा ल्याएर सहजै पारित गराउन सक्ने  बताउँदै रावलले थपे ‘तर हामी एक्लै भए पनि लडिरहनेछौं ।’
राष्ट्रिय जनता पार्टीका सांसद कृष्णबहादुर चौधरीले प्रतिपक्षको सुझावलाई सरकारले वेवास्ता गरेकाले प्रमुख प्रतिपक्षीसँगै आफूहरूले पनि संसदमा अवरोध गरेको बताए । उनले संसदमा आफ्नो पार्टीको तर्फबाट समेत बजेटमा संशोधनको माग सहित निरन्तर अवरोध रहने बताए ।
बजेट सच्याउन माग गर्दै प्रमुख प्रतिपक्ष दलले अवरोधपछि संसदबाट बाहिरिदै गरेका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सबैको चित्त बुझाउन नसकिएपनि बजेट राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता र बजेटको सिद्धान्तका आधारमा पेश भएकोले संसोधन नहुने बताए ।

छोटकरी समाचार 

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डडेल्धुरा आलिताल गाउँपालिका–६ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्य भएको छ ।  
सोमबार साँझ ७ बजे   बालुवा बोकेको से १ त ८४१० नम्बरको ट्याक्टर दुर्घटना भएको हुँदा आलिताल–६ का ११ बर्षीय भरत महरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी सात घाइते भएका छन् । ट्याक्टर सडक भन्दा ८४ मिटर तल खसेको घटनास्थल पुगेका प्रहरी हावल्दार मानवहादुर चन्दले बताए । घाइतेहरुलाई उपचारका लागि कैलाली पठाइएको छ ।

च्याम्वर उद्घाटन

उद्योगी व्यापारिहरुको संस्थाको रुपमा पहिचान बनाएको च्याम्वर अफ कमर्शको कार्यालय डोटीमा स्थापना भएको छ । 
डोटी जिल्लामा रहेका उद्योगपति, व्यापारी, व्यवसायीहरुको हकहित र उनीहरुको क्षेमता विकासमा टेवा पुर्याउदै निजि क्षेत्रबाट सामाजिक क्षेत्रमा क्रियाशिल रहने उदेश्यका साथ डोटी च्याम्वर अफ कमर्शको स्थापना गरिएको संस्थाका अध्यक्ष खगेन्द्र साँउद केविले बिम्ब साप्ताहिकलाई बताउनु भएको छ । 
केहि दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय डोटीमा संस्था दर्ता ऐन अन्तरगत दर्ता भई अस्तीत्वमा आएको संस्थाको उद्घाटन प्रदेश नम्वर सातका माननिय मुख्यमन्त्री त्रिलोचन भट्टले गत शनिवार गर्नु भएको संस्थाका सचिब तेज वहादुर डुम्रेलले बताउनु भएको छ ।

खेल समाचार 

आज को को भिड्दैछन् ?

नागरिक दैनिकबाट
रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा मंगलवार ४ खेलहरू हुँदैछन् । 
समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका अष्ट्रेलिया र पेरूले प्रतिस्पर्धा गर्दैछन् । खेल फिस्ट ओलम्पिक रंगशालम सोचीमा नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । 
पेरू प्रतियोगिताबाट बाहिरिसकेको भने अष्ट्रेलियको सम्भावना कामयै छ । फ्रान्स भने अन्तिम १६ मा स्थान बनाउन सफल भइसकेको छ । पेरू उद्घाटन खेलमा डेनमार्कसँग र दोस्रो खेलमा फ्रान्ससँग समान १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। यता अष्ट्रेलिया उद्घाटन खेलमा २–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा डेनमार्कसँग १–१ को बराबरीमा रोकेको थियो ।
अघिल्लो चरणको यात्रा तय गर्न अष्ट्रेलियालाई यो खेलमा जित्नैपर्ने दबाब छ । अघिल्लो चरणका लागि अष्ट्रेलियले जितेर मात्र पुग्दैन अन्य टोलीको खेलमा पनि भर पर्नुपर्नेछ । यदी फ्रान्सले बराबरी खेलको खण्डमा पनि अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने छ । अष्ट्रेलियाको १, फ्रान्सको ६ र डेनमार्कको ४ अंक छ । आजै हुने दोस्रो खेलमा बेलुका ७ः४५ मा समुह सी कै डेनमार्क र फ्रान्स भिड्ने छन् । सो खेल लुज्निकी रंगशाला मस्कोमा हुनेछ । यी दुई टोलीबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । 
त्यस्तै सेन्ट पिटर्सबर्ग रंगशालामा हुने अर्को खेलमा राती ११ः४५ मा समूह डी का अर्जे्न्टिना र नाइजेरिया आमने सामने हुनेछन् । अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३–० को लज्जास्पद हार ब्यहोर्न बाध्य भएको थियो । २०१४ को विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनालाई अन्तिम १६ मा प्रवेश गर्न यो खेलमा जित्नैपर्ने दबाब छ ।
अर्जेन्टिना अहिले गर या मर को अवस्थामा छ । त्यसैले अर्जेन्टिनाले जितेर मात्र पुग्दैन अन्य टोलीको खेलमा पनि निर्भर हुनुपर्नेछ । यो समूहमा क्रोएसियाको ६, नाइजेरियाको ३ तथा अर्जेन्टिना र आइसल्याण्डको समान १–१ अंक छ ।  यता ११ः४५ मै रोस्टोभ एरिना सामरा रंगशालामा हुने आजको अर्को खेलमा क्रोएसिया र आइसल्याण्ड खेल्दैछन् ।

चलचित्र/मनोरञ्जन 

‘नाई नभन्नु ल–५’ भाद्र ८ मा  

नेपाली फिल्म सिक्वलको ईतिहास कायम गरेको ड्रामा चलचित्र ‘नाईं नभन्नू ल’ को पाँचौं श्रृंखला भाद्र ८ मा प्रदर्शनमा आउने भएको छ । 
आईतवार सार्वजनिक गरिएको पहिलो पोस्टरमा भाद्र ८ गते चलचित्र प्रदर्शनमा आउने उल्लेख गरिएको छ । अभिनेता अभिषेक नेपाल र अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकामा देखिने उक्त चलचित्रमा बाल कलाकारहरु अनुभव रेग्मी र सेड्रिना शर्माको पनि महत्वपूर्ण भूमिका रहने छ ।
फिल्ममा थुप्रै सिनियर कलाकार भए पनि निर्माण टिमले पछिल्लो पुस्ताका कलाकारलाई सार्वजनिक गर्दै प्रचार प्रसार थालेको हो । निर्देशक विकास आचार्यले फिल्मको कथा अनुसार फिल्मको फस्ट लुक सार्वजनिक गरेको जानकारी दिए ।
आचार्यले बिगतका श्रृंखलाहरु झैं यो चलचित्र पनि पारिवारिक ड्रामामा आधारित भएको बताए । उनका अनुसार नेपालमा पछिल्लो समय पारिवारिक फिल्म निर्माण खास नभइरहेकोले आफ्नो फिल्मले दर्शकहरूको मन जित्नेर दाबी गरे । उनले आफ्ना अघिल्ला श्रृखंलाहरू प्रति दर्शकले देखाएको मायाले यसलाई पुष्टि गर्ने बताउँछन् ।
‘नाईं नभन्नूल ५ सदा झैं फेमली ड्रामा हो । तर यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं । पोस्टर यस्तै कथाको झझल्को हो’ आचार्यले भने ।

लेख 

हामीलाई चाहिएको “महिला अधिकार” गुणात्मक हो कि संख्यात्मक ?

ज्योति देवकोटा
जुम्ला सदरमुकाम खलंगा ओर्लिन साढे एक दिन लाग्ने चुत्रमा हाम्री मितिनी भाउजु थिइन् । वर्षमा मुश्किलले दुई पटक सदरमुकाम झर्थिन् । बासँग भारत पुगेर फर्केको दशैंमा मितिनी भाउजु खाद्य संस्थानमा ५ किलो चामल लिन सदरमुकाम आएकी थिइन् । हाम्रै घरमा बास बसिन् ।
सानो उमेरमै भारत पुगेर आएको मेरो प्रसंग जोड्दै उनले भनेकी थिइन्, ‘यति नाना मान्ठ, काँ काँ पुगी आइग्या । हाम्मी छोरी न खलंगा जाउँ भुन्नी छु । लाज मान्नि छ । जान्न भुन्नि छ । पढ्न त पुडो बाइ जाओस् ।’ यिनै भाउजुसँग गएको माघमा फेरि भेट  भयो । लगभग २१ वर्षपछि ।
‘भाउ आया र छन् । थाहा पाई भया छोरी न भेटिल्नु भुन्या थियाँ ।’
मैले बुझिनँ ।
भाउजुले अथ्र्याइन् ।
‘छोरी नर्स भएइ छ । त्यही नेपालगुन्जौं नो काम गद्दि छ ।’
दाउराको धूँवाले कालो भएर मुझा परेका भाउजुका गालामा खुसी चम्कियो । आफूलाई अक्षर चिन्ने मन भए पनि स्कूल नभएकोले अक्षर नचिनेको भाउजुको सधैँ गुनासो हुन्थ्यो ।
उनले त्यो अवसरबाट छोरीलाई बञ्चित गराउन चाहिनन् । एसएलसीको रिजल्ट निस्केको साँझ छोरीले मितिनी भाउजुलाई आफ्नो जीवनको फैसला सुनाइन् रे ।
‘आमै मुँ नर्स पढ्न्याउ ।’
‘मान्ठ देख्दा डर मान्या’ त्यो जुगलाई चिर्दै भाउजुले छोरीलाई नर्स बनाइन् । नेपालगञ्जमा नर्सको काम गर्ने छोरीले आफ्नो जीवनका अधिकांश फैसला अहिले आफैं गर्न सक्छिन् । एउटा सन्तानकी आमा मितीनी भाउजु अहिले गर्वले शीर ठाडो गर्दै भनिरहन्छिन् ‘छा–छोरी ज्या जुन्म्यानी केही चाट्न्या र’न छुन् । पढाइदिया मात्तै उम्तो हुन्या र’छ । अरू केही गन्नु पड्न्या र’नछ ।’
अक्षर नचिनेकी भाउजुले छोराछोरी बराबर हुन भन्ने मात्र होइन ‘सन्तानलाई पढाइ दिए मात्र प्रशस्त हुने र छ’, भन्ने कुरा उहिल्यै बुझिसकेकी रै’छिन् ।
दुई दशकअघि दुर्गम गाउँका अक्षर नचिनेका हाम्रा आमामा ‘छोरीलाई पनि पढाउन पर्छ’ भनेर जागेको यो असामान्य चेतना हो ।
*****
मेरो कान्छा बा छन् जुम्लामा । उनकी पहिलो छोरी जन्मिइन् । आफैं सरकारी कर्मचारी भए पनि   छोरीलाई पढाउन जरूरी ठानेनन् । ३५ वर्ष अगाडि ‘छोरीलाई पढाउनुपर्छ’, भन्ने हावाको झोकमा दुर्गम गाउँ ठाउँमा पुगेको थिएन शायद ।
अहिले जस्तो महिलाका धेरै अधिकार स्थापित भएका पनि थिएनन् । त्यसैले बाआमाको चेतनास्तर ‘छोरालाई जस्तै छोरीलाई पनि पढाइदिए मात्र पुग्छ’, भन्ने स्तरको थिएन । २१ वर्षअघि पाँचौ सन्तानका रूपमा कान्छा बा की अर्की छोरी जन्मिइन् ।
कान्छी छोरीले जेठी छोरीले जस्तो शिक्षाबाट बञ्चित हुनु परेन । गएको वर्ष छोरीले २६ हजार आवेदकलाई उछिन्दै खुला प्रतिस्पर्धामार्फत्  लोकसेवामा नाम निकालिन् । म जुम्ला पुगेका बेला कान्छा बाले खुसीको अविर निधारमा घस्दै आँखा टिलपिल पारे र भने ‘ठूली छोरीलाई पनि पढाएको भए यो खुसी मैले १० वर्ष अगाडि बाँढ्ने मौका पाउँथे ।’
****
मैले जानेका यी दुवै घरका मुलीले छोरीलाई पढाउन सक्यो भने उनीहरूका बाँकी अधिकारका लागि राज्यसँग लडिरहन पर्दैन भन्ने बुझेका छन् । शिक्षाको सट्टा महिलालाई ३३ प्रतिशत आरक्षण दियो भने अब जन्मिने हाम्रा छोरीहरू ‘जन्मदै सक्षम हुन्छन्’ भन्ने भ्रमबाट मुक्त छन् ।
मितिनी भाउजुकी नर्स छोरीले ‘आमै, महिनावारी हुने भनेको प्राकृतिक कुरा हो । यो बार्नुपर्ने कुरा होइन । बरू प्याड लाउन सिक्नू,’ भनेर बुझाउन थालिसकिन् । भाउजु भन्छिन् ‘प्याड÷स्याड नलाया पुनि छुइचोखो मान्न छोडिल्याँ’ भाउजुले नछुने भएको बेला बार्न छोडिछन् ।
बरू सहरमा महिला अधिकारका पम्प्लेट बोक्ने सासुहरूले महिनावारी भएका बेला बुहारीलाई भान्छा पस्न दिँदैनन् । गाउँमा पढेलेखेका छोरीहरूका आमाहरूले समेत आजकल महिनावारी भएका बेला गोठमा बस्न छाडिसके । यो परिवर्तन आरक्षणले सम्भव भएको होइन । शिक्षाले सम्भव भएको हो ।
कान्छा बा आजकल रिटायर्ट भएपछिको खाली समय वरिपरिका छोरीहरूलाई मात्र जम्मा गरेर ‘क, ख, ग...’ सिकाएर बस्छन् । उनले छोरीलाई पढाएकै भएर यो सम्भव भएको हो । कान्छा बा आफैं पढेलेखेको भएर यो सम्भव भएको होइन । आरक्षणले कान्छा बामा यो परिवर्तन ल्याएको होइन ।
त्यसो भए आरक्षण गलत हो ?
होइन ।
आरक्षणको समय र सीमा हुन्छ । आरक्षणको समय सीमा तोकौं । बाँकी समय, बहस र लगानी छोरीका लागि शिक्षामा गरौं । अर्को दुई दशकपछि   छोरीका लागि आरक्षण माग्नै पर्दैन । पढेलेखेका छोरीहरू आफैं ‘एक से एक’ प्रतस्पर्धी भएर निस्कन्छन् ।
राज्यले गएको एक महिनाअघि भर्ना अभियान थालेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले करिब ६० हजार विद्यार्थी स्कूल बाहिर रहेको तथ्यांक सार्वजनिक गरे ।
पक्कै यसमा छोरीहरूकै संख्या बढी छ । आर्थिक विपन्नता, भौगोलिक समस्या, सांस्कृतिक र सामाजिक समस्याकै कारण छोरीहरू स्कूल जान नसकेका हुन् । छोरीहरूको दिगो विकासमा प्रत्यक्ष प्रभाव पार्ने यो विषयका लागि हामीले कति समय छुट्टायौं ? कति बहस ग¥यौं ?  राज्यलाई कति दबाब दियौं ? वा ‘यस्तो हावा अभियान’ भनेर खिल्ली उडाएर बस्यौं ?
‘महिला आरक्षण’ को बहसलाई चुल्याएर टुप्पोमा पु¥याएका महिलाले एकचोटी आत्ममूल्यांकन गरौं– एक महिनायता बढी समय बहस र आरक्षणमाथि ग¥यौं कि छोरीहरू र महिलाहरूको शिक्षामाथि ? सबै छोरीलाई स्कूल पठाउनुपर्छ भन्ने अभियान चलायौं कि चलाएनौं ?
आरक्षणभन्दा छोरीका लागि शिक्षाको महत्व बोकेको गाडीको स्पिड दोब्बर हुनुपर्छ । बढी बहस छोरीका लागि शिक्षामै केन्द्रीत हुनुपर्छ । शिक्षाले मात्र महिलाको दिगो विकास गर्ने हो । आरक्षणले हाम्रा छोरीको÷महिलाको दिगो विकास हुँदैन । हुँदै हुँदैन । 
जग बलियो भयो भने घर बलियो हुन्छ । टेकोले घरलाई सधैँ थामेर बसिरहन सक्दैन । हाम्रो पुरूष प्रधान समाज हो । यो ‘पुरुषत्व’ ले छोरीलाई शिक्षित बनाएर प्रतिस्पर्धी गराउनु भन्दा आरक्षणमै अल्झाइरहन चाहन्छ । यसले पुरूषलाई नै शासन सत्ता चलाइरहन मद्दत पुग्छ ।
महिला आरक्षण ५० प्रतिशत पु¥याए पनि ‘तिमिहरूले पढेका छैनौं । केही थाहा छैन’ भन्दै शिक्षाको महत्वमाथि टेकेर पुरूष आफैं शक्तिशाली भइरहन    चाहन्छ । अहिले हाम्रा पढेका छोरीहरू यही स्थापित मान्यतालाई थप बल पु¥याइरहेका छन् ।
‘आरक्षण’ ले महिलालाई होइन, पुरूषलाई नै बलियो बनाइरहने हो । साक्षरताबिना महिलाको संख्यात्मक उपस्थिति ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पु¥याए पनि निर्णयात्मक प्रभाव पार्ने होइन । छोरीलाई÷महिलालाई जति शिक्षित बनाउन थाल्छौं त्यति गुणात्मक परिणाम देखिने हो । निर्णयात्मक प्रभाव पर्ने हो ।
सन् १९८२ यता अमेरिकामा हरेक वर्ष पुरूषभन्दा बढी महिलाहरू ‘स्नातक’ पास हुने गरेका छन् । यति मात्र होइन सन् २००५ मा विद्यावारिधि (पीएचडी) गर्नेको संख्यामा पुरूषभन्दा महिला अगाडि देखिए । यति हुँदा पनि अमेरिकाको सिनेटमा महिला प्रतिनिधिको संख्या जम्मा २२ प्रतिशत छ । तल्लो सदनमा महिलाको उपस्थिति १९ प्रतिशत मै सिमित छ । तर महिलाहरू शिक्षित भएका कारण उनीहरूको गुणात्मक उपस्थिति देखिन्छ ।
कार्यकारी पद ओगट्ने महिलाको संख्या ४३ प्रतिशत छ अमेरिकामा । यो गुणात्मक उपस्थित हो । यो शिक्षाकै कारण सम्भव भएको हो ।
हाम्रा छोरीहरूका लागि चाहिएको मुख्य अधिकार २०४७ साल फागुन १४ मा गठन भएको शिक्षा आयोगले नै ‘शिक्षा व्यक्तिको अधिकार’ का रूपमा स्थापित गरिसकेको थियो । हामीले त्यसपछि पनि यो विषयलाई महत्व  दिएनौं र अहिले २८ वर्षपछि पनि यही गल्ती दोहो¥याउँदैछौं ।
छोरी/महिलाहरूका अधिकारलाई स्थापित गर्न राज्यका मुख्य अंग वा मुख्य पदमा महिलाहरू पुग्नुपर्छ भन्ने भ्रमबाट हामी कहिले मुक्त हुने ? ३३ प्रतिशत आरक्षण गरियो भने वा आरक्षणलाई बढाएर ५० प्रतिशत पु¥याइयो भने महिला अधिकार स्थापित हुन्छन् भन्ने भम्रबाट हामी बाहिर कहिले निस्कने ?
अहिले गुगल गरेर हेरौं 
महिला राष्ट्र प्रमुख भएका मुलुकको सूचीमा नेपाल १ नम्बरमा आउँछ । महिला अधिकार स्थापित नभएका मुलुकको सूचीमा नेपाल एकैचोटी सय स्थान पछि झर्छ । राज्यको मुख्य अंगमा महिला पुगेपछि मात्र महिलाका अधिकार स्थापित हुने होइनन् । यस्तो हुने थियो भने सन् २०१५ को अक्टोबरदेखि सन् २०१७ को जुनसम्मको समय नेपाली महिलाका लागि सुनौलो समय हुनुपर्ने थियो। राज्यका प्रमुख तीनै अंगहरू राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखमा महिला थिए ।
तीनै वटा सर्वोच्च पदमा महिला भएका बेला हाम्रा छोरी/महिलाका लागि के कस्ता उल्लेख्य उपलब्धि भए ? जसलाई हामीले सुनौला अक्षरमा सम्झिरहन सकौं ! ‘तीन वटै सर्वोच्च पदमा महिलाहरू’ भन्ने इतिहास रच्नुबाहेक साढे एक करोड महिलाका लागि के कस्ता अधिकार स्थापित गरिए ?
हामीले कल्पना गरेको समाज नबन्नुको प्रमुख कारण अशिक्षा हो । सबैभन्दा पहिला शिक्षालाई सहज, सर्वसुलभ र अनिवार्य गरौं । हामीले महिलाका लागि भनेर ’सफ्टवेयर’ मा जति बल गरेका छौं त्यति ’हार्डवयर’ मा गरेकै छैनौं ।
हाम्रा छोरी/महिलाका लागि ’हार्डवयर’ को विकास भनेको अनिवार्य शिक्षा हो । त्यसमा हामीले जोड दिएकै छैनौं । जग बलियो बनाऔं, घर बलियो हुन्छ ।
विक्रम सम्वत् २००४ सालमा प्रधानमन्त्री पद्मशम्शेरले छोरीका लागि भनेर शिक्षा मात्र होइन, अंग्रेजी शिक्षाको समेत थालनी गरिसकेका थिए । त्यो भन्दा अगाडि विक्रम सम्वत् १९९८ मा देवशम्शेरले कन्या पाठशाला खोलेर छोरीहरूलाई पढाउनु पर्छ भन्ने क्रान्तिको बिउ रोपिसकेका थिए । अबको २३ वर्षपछि महिला शिक्षाका लागि थालेको अभियान सय वर्ष पुग्नेछ । के हामी १ सय वर्षपछि पनि आरक्षणमै अल्झिरहने हो ?
पद्मशम्शेरले स्थापना गरेका मोहन कन्या, कन्या मन्दिर, शान्ति निकुञ्ज र विराटनगरको आदर्श माविबाट निस्किएका छोरीले नै आज ७० वर्षपछि पनि ‘छोरीका लागि शिक्षा’ त्यति महत्वपूर्ण ठानेका छैनन् । जति ३३ प्रतिशत महिलाको आरक्षणलाई ‘मियो’ ठानेका छन् ।
नेपालमा महिला सशक्तिकरणका अधिकांश भाषणमा मैले नर्वेको नाम सुन्ने गरेको छु। नर्वेमा महिला अधिकार र सहभागिताको सफलता गर्व लाग्दो छ । यो सफलताको चुरो कुरोलाई भाषणको अन्तिमतिर तोडमोड गरिन्छ र फेरी महिला आरक्षणकै विषयमा ल्याएर टुंग्याइन्छ ।
नर्वे शतप्रतिशत साक्षरता भएको र संसारमै सबैभन्दा बढी महिला समावेशीता भएको मुलुक हो । ‘छोरीका लागि अनिवार्य शिक्षा’ थालेको २६ वर्षपछि सन १९९५ मा यहाँ भएको स्थानीय चुनावमा बिना आरक्षण ४३ प्रतिशत महिला प्रतिनिधि छानिए ।
हामीले छोरीहरूका लागि ‘अनिवार्य शिक्षा’ अभियान थालेको २८ वर्षपछि आरक्षणलाई मुख्य एजेण्डा बनाइरहेका छौं भने शिक्षालाई गौण । हामी र नर्वेबीचको फरक यही हो ।
नर्वेमा छोरीका लागि शिक्षा अनिवार्य गर्ने बेला हाम्रो नेपालले छोरीका लागि भनेर अंग्रेजी शिक्षासमेत पढाउन थालिसकेको थियो । महिला शिक्षाको त्यो रफ्तारलाई हामीले नछोडेको भए अहिले हामीले नर्वेको उदाहरणमा लागिराख्नुपर्ने थिएन । हामीले फगत विद्यालय स्थापना ग¥यौं, अनिवार्य उपस्थितिलाई महत्वपूर्ण ठानेनौं । न सरकारले ल्याएका योजनालाई सहयोग ग¥यौं न छोरीलाई पढाउनै पर्छ भन्ने अभियानलाई एजेण्डा बनायौं ।....
— सेतोपाटी अनलाईनबाट 

शिक्षक सेवा आयोगको तयारीका लागि उपयोगी 

१. वर्तमान शिक्षाका राष्ट्रिय उद्देश्यहरु कतिवटा छन् ?  – ७
२. विद्यालय शिक्षाको विद्यमान संरचना कस्तो रहेको छ ?  — १—८, ९—१२ 
(कक्षा १ देखि ८ सम्मलाई आधारभुत तह र ९ देखि १२ सम्मलाई माध्यामिक बिद्यालय भन्ने गरिन्छ । नेपालको संबिधानको अनुसूची ८ बमोजिम माध्यामिक तहसम्मको शिक्षाको व्यवस्थापन स्थानीय तहले गर्ने व्यवस्था छ ।) 
३. प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ अनुसार सामाजिक अध्ययन, सिर्जनात्मक कला र शारीरिक शिक्षा विषयको जम्मा पाठ्यभारको कति प्रतिशत पाठ्यक्रम र पाठ्यसामग्री विद्यालय आपैmले निर्माण गर्नुपर्ने प्रावधान राखिएको छ ।   — २० प्रतिशत                      
४. वर्तमान व्यवस्था अनुसार कस्ता बालबालिकालाई पूर्वप्राथमिक शिक्षा प्रदान गर्न सकिने प्रावधान    रहेको छ ?   — चार वर्ष उमेर पूरा भएका बालबालिकालाई एक वर्षको शिक्षा
५. संयुक्त राष्ट्र सङ्घले बालअधिकार महासन्धि कहिले पारित गरेको हो ?  — २० नोभेम्वर सन् १९८९       
६. सबैका लागि शिक्षा कार्यक्रमले कहिलेसम्म सबैका लागि शिक्षाको लक्ष्य पूरा गर्ने उल्लेख गरेको     थियो ?  — सन् २०१५
७. पाठ योजनाको मेरुदण्ड कुनलाई मानिन्छ ?   — उद्देश्य                          
८. विद्यालयस्तरीय योजना कसले स्वीकृत गर्दछ ?   — विद्यालय व्यवस्थापन समिति 
९. प्राथमिक तहका शिक्षण विधिमध्ये प्रभावकारीताका दृष्टिले कमजोर विधि कुन हो ? 
— व्याख्यान विधि
१०. विषय शिक्षण भन्नाले के बुझिन्छ ? 
—एक शिक्षकबाट सबै कक्षाका कुनै एक विषयको अध्यापन
११. विद्यार्थी मूल्याङ्कन किन आवश्यक हुन्छ ?   — विद्यार्थीको कमजोरी पत्ता लगाइ सुधार गर्न
१२. बालबालिकामा रहेको भावनात्मक पक्ष रिस, डर, माया, प्रेम आदि बालविकासको कुन पक्षसंग सम्बन्धित छ ?   — संवेगात्मक विकास                 
१३. नेपालको संविधान, २०७२ ले कुन मौलिक हक अन्तर्गत  “नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ”  भन्ने कुरा उल्लेख गरेको छ ? 
— शिक्षा सम्वन्धी हक  (धारा ३१ को उपधारा ५)
१४. शिक्षा ऐन, २०२८ सर्वप्रथम कुन कुन जिल्लामा लागू भएको हो ?  — चितवन र कास्की
१५. नेपालको संविधान, २०७२ ले बालबालिकाको हक अन्तर्गत कस्तो हक प्रदान गरेको छ ?
  (१) आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक 
  (२) परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा     सर्वांगीण व्यक्तित्व विकासको हक 
  (३) प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक 
  (४) कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने 
  (५) बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने 
  (६) सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा     कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै     प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने  
  (७) घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको      यातना दिन नपाइने 
(८) बाल अनुकूल न्यायको हक 
(९) असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई      राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक 
१६. शिक्षक पदको स्थायी नियुक्ति बुझेको कतिदिनभित्र विद्यालयमा हाजिर हुन जानुपर्छ ? — १५ दिन                        १७. शिक्षक सेवा आयोगको अध्यक्ष हुन तलकामध्ये कुन योग्यता आवश्यक पर्दछ ?
— नेपाल सरकारको विशिष्ट श्रेणीमा कम्तिमा ५ वर्ष सेवा गरेको (दिईएका मध्ये)
१८. शिक्षा नियमावली, २०५९ अनुसार प्राथमिक विद्यालयमा कतिजनासम्म शिक्षक दरबन्दी भएमा कम्तिमा एकजना महिला शिक्षकको पद रहने व्यवस्था छ ?   — तीन
१९. सामुदायिक विद्यालयका शिक्षकले सेवा अवधिभर कति अध्ययन विदा पाउँछ ? 
— एक पटकमा एक वर्षमा नबढाइ तमाम नोकरी अवधिमा बढीमा ३ वष
२०. दरबार स्कूल कहाँ स्थापना गरिएको थियो ?  — रानीपोखरी काठमाडौं                                        
२१. शिक्षा ऐन, २०२८ अनुसार प्रश्नपत्रको गोपनीयताभंग गरेमा कस्तो सजाय गरिन्छ ?
— कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
२२. जिल्ला शिक्षा कोषको लेखा परीक्षण कसबाट हुने शिक्षा ऐनमा व्यवस्था छ ?
— महालेखा परीक्षकको विभागबाट
२३. शिक्षा ऐन, २०२८ अनुसार ग्रामीण शिक्षा विकास कोषको अध्यक्ष को रहन्छ ?
— शिक्षा तथा खेलकुद मन्त्रालयको सचिव
२४. माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति विघटन गर्न सक्ने अधिकार शिक्षा ऐन, २०२८ अनुसार कसलाई छ ?    — क्षेत्रीय शिक्षा निर्देशक

साहित्य/सिर्जना 

पनि 

जस्तै फूल फुल्छ आगनमा पनि भीरमा पनि 
त्यसै आगो जल्छ मसानमा पनि मन्दिरमा पनि
भेदभाव के हो कहिल्यै पनि जानेन उसले
आँसु झरिदिन्छन् खुसीमा पनि पिरमा पनि
अफ्नै जीवनको कठ्घरामा उभिएछ कैदी
स्वीकार्दैन गल्ती सुरुमा पनि आखिरमा पनि
ब्यर्थै किन हतियार मात्र उठाउछ्न यी हातहरु
शक्ति हुन्छ हतियारमा पनि बाणीका तीरमा पनि
बाहिर हेर्दा जतिसुकै साहसी किन नहोस 
डर त लुकेकै हुन्छ कायरमा पनि वीरमा पनि
खाली हात आएपनि खाली हात भित्रको मर्म बुझ्छ
रमाउछ फकिर खुला आकाशमा पनि जन्जिरमा पनि
आँखाका ती हेर्ने नजरहरु स्वच्छ भएछन् भने 
सुन्दर्ता उत्तिकै हुन्छ पाउमा पनि शिरमा पनि
पुष्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

घाइते मेरी आमा

रगत बगेको छ यहाँ
एक नेपाली ढलेको छ
दुईछाक टार्न ५० लाखको सपना देखाएको छ
हेर्दाहेर्दै देशमा
अधिकारको भेषमा
रक्तपिपासु पसेको छ
सोझा किसानको मेषमा
अधिकारलाई बन्द हड्ताल नाम दिएर
डलरको खेल खेल्नेहरु
रगत पिउदै डलर खेलाउदै
हामीलाई फुटबल बनाइ रहदा
हामी चुपचाप चुपचाप
बिचरा हामी अधिकारको नशा पिएर
नशामा लठ्ठ हुँदा
धन्य लाग्छ छातीमा गोली थाप्दा
धन्यका वास्तविक पात्र
चार तलाको झ्यालबाट चियाउदै
गोल भन्दै ताली बजाउदैछन
छोडौं अर्काका लागि गोल गर्न
आफ्नै लागि खुट्टा बजारौं
खेल आफ्नै पक्षमा पारौ
त्यतिबेला हुनेछिन खुशी मेरी आमा
र शैयाबाट सकिनसकी अंकमाल गर्नेछिन्
मनिषा अवस्थी

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०३/०७ 
उपरोक्त सम्बन्धमा दिपायल सिलगढी नगरपालिका–८ गोदडा डोटीमा रहेको यस श्री सरस्वती आधारभुत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. १/०७४/०७५ 
पद ः शिक्षक,    संख्या ः १ जना
तह ः प्रा.बि. तृतीय,    किसिम ः करार (अस्थायी)  महिला 
तलब स्केल ः नेपाल सरकारको नियमानुुसार  
शैक्षिक योग्यता ः मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो  सरह उत्र्तीण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५÷०३÷२१ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷०३÷२२ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ । थप जानकारीका लागि मोवाईल नं. ९८१४६९२५४९, ९८४८४७८९६१ मा सम्पर्क गर्नु होला ।

पूर्वीचौकी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
डोटी 


 प्रदेश नं. ७
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५।०३।११

सूचना !  सूचना !!  सूचना !!!

यस पूर्वीचौकी गाउँपालिकालाई आफ्नो भौतिक संरचना निर्माण गर्न पूर्वीचौकी गा.पा. कार्यालय रहेकोे वडा नं. ४, सानागाउँभित्र निम्नानुसारको चारकिल्ला तोकिएको जग्गा आवश्यक भएकोले इच्छुक जग्गाधनीहरुले उल्लेखित विवरण अनुसार यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रितपूर्वक यस पूर्वीचौकी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा निवदेन दिन हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
क) जग्गाको चारकिल्ला ः सानागाउँ प्रहरी चौकीदेखि पश्चिमतिर, पुरानो स्वास्थ्य चौकीको भवनबाट पूर्वतिर, सानागाउँ देवलगडाबाट दक्षिणतिर गिरी टोलदेखि उत्तरतिर रहेको जग्गा र पहलमान सिंह स्वार राजमार्गले छोएको जग्गालाई पहिलो प्राथमिकता दिईनेछ ।
ख) तोकिएको चारकिल्लाभित्र निशुल्क जग्गा प्रदान गर्ने दातालाई पहिलो प्राथमिकतामा राखी जग्गा प्राप्तीको कारवाही  चलाईने छ । त्यस्ता दातालाई गाउँपालिकाबाट उचित सम्मान दिईने छ ।
ग) जग्गाको क्षेत्रफल कम्तिमा १५ रोपनी एकमुस्ट मिलेको हुनु पर्नेछ ।
घ) नेपाल सरकारले मुल्यांकन गरेको दर भाउँमा नै जग्गाको मुआब्जा   दिईनेछ ।
ङ) बाटो नभएको जग्गा खरिद गरिने छैन ।
च) राजमार्गले नछोएको तर नक्सामा बाटो भएको जग्गाका जग्गाधनीले पनि आवेदन गर्न सक्नेछन् । 
छ) चारकिल्ला तोकिएकै स्थानभित्र नेपाल सरकारले तोकेको दर भाउ भन्दा घटी गरि जग्गा दिन कबुल गर्नेलाई प्राथमिकता दिई जग्गा खरिद गरिनेछ ।
ज) रित नपुगेको निवदेन दर्ता भएमा सो निवदेनमाथी कार्यवाही हुने छैन ।
झ) घर, टहरा वनाएको जग्गा खरिद गरिने छैन ।
ञ) जग्गा बिक्री गर्न चाहाने जग्गाधनीले निवदेन गाउँकार्यपालिकामा निवेदन दिँदा आफुले बिक्री गर्न चाहेको जग्गाको चार किल्ला, क्षेत्रफल, बिक्री मुल्य, जग्गा रहेको स्थानको नाम सहित खुलेको हस्तलिखित निवदेनका साथ  जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपि र मालपोत कर तिरेको रसिदको प्रतिलिपी संलग्न राखी निवदेन दस्तुर बाफत रु. २०५ रुपैया सहित निवदेन दिनु पर्नेछ  । 
नोट ः
१. माथि उल्लेखित चारकिल्ला तोकिएको ठाउँ भन्दा बाहिरको जग्गाको निवदेन आएमा निवदेन लिइने छैन, रित नपुगी आएको र म्याद नाँघी आएको निवदेन लिईने छैन ।
२. जग्गा खरीद सम्बन्धी कार्यवाही पूर्वीचौकी गाउँपालिकाको जग्गा खरिद तथा प्राप्ती सम्बन्धी कार्यबिधि, २०७५ बमोजिम हुनेछ्र ।
३. कुनै जग्गा रोक्का गरिएको भएपनि निवेदन लिन बाधा पर्ने छैन तर जग्गा खरीद सम्वन्धी थप प्रक्रिया अगाडी बढाउन अगावै सो जग्गा फुकुवा भएको प्रमाण पेश गर्नु पर्ने छ ।










Monday, June 11, 2018

बिम्ब साप्ताहिक, मिति २०७५ साल जेठ २९ गते अाइतवार

      पत्रकार आचार संहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको छ भन्ने पिडित पक्षलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चार माध्यम बिरुद्ध प्रकासन तथा प्रसारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा उजुरी दिई आप्mनो अधिकारको संरक्षण गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग


मुख्य समाचार 

जनप्रतिनिधिको तलवमा मात्रै ५२ करोड

रामहरी ओझा 
जेठ २८
७ नं. प्रदेश स्थानीय तहका जनप्रतिनिधिहरूको पा–रिश्रमिकका लागि वार्षिक ५२ करोड रुपैयाँभन्दा बढी खर्च हुने भएको छ ।
प्रदेश सभाले पारित गरेको जनप्रतिनिधिको सेवा सुविधा व्यवस्था गर्ने सम्बन्धी ऐन अनुसार प्रदेशमा रहेका सबै ८८ स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरूको पारिश्रमिकमा मात्रै वार्षिक ५२ करोड ४२ लाख ७८ हजार रुपैयाँ खर्च हुने भएको छ ।  प्रदेशका सबै ८८ वटा स्थानीय तहमा जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु समेत गरी चार हजार ५६ जनप्रतिनिधि रहेका छन् । 
नौ जिल्ला, एक उपमहानगरपालिका, ३३ नगर–पालिका र ५४ गाउँपालिकाका जनप्रतिनिधिहरुले अन्य कर्मचा–रीहरुले पाउने सरह दशैं खर्च समेत पाए उक्त रकम खर्च  हुनेछ । प्रदेश सभाले स्वीकृत गरेको ऐन अनुसार जिल्ला समन्वय समितिका प्रमुखहरुले मासिक ४० हजार पाँच सय रुपैयाँ पाउनेछन । नौ जिल्लाका प्रमुखहरुको तलवमा मात्रै बार्षिक ४७ लाख ३८ हजार आठ सय पचास रुपैयाँ खर्च हुने भएको  छ । यस्तै ३५ हजार पाँच सयका दरले पाउने उपप्रमुखहरुको तलवमा ४१ लाख ५३ हजार पाँच सय खर्च हुनेछ । जिल्ला समस्य समिति सदस्यहरुको तलवमा बार्षिक ६ लाख ९३ हजार खर्च हुनेछ । सदस्यहरुले मासिक ११ हजार तलव पाउनेछन् ।
यस्तै धनगढी उपमहानगरपालिकाका प्रमुखले मासिक ४० हजार रुपैयाँका दरले बर्षको पाँच लाख २० हजार, उप्रमुखले ३५ हजारका दरले बार्षिक चार लाख ५५ हजार र १९ वडाका वडाध्यक्षहरुले मासिक २४ हजारका दरले तलव पाउनेछन् । वडाध्यक्षहरुको तलवमा ५९ लाख २८ हजार खर्च हुनेछ । उपमहानगर कार्यपालिकाका बाँकी आठ सदस्यहरुको मासिक १० हजारका दरले हिसाव गर्दा बार्षिक १० लाख ४० हजार खर्च हुनेछ । उपमहानगर सभाका बाँकी ७१ सदस्यको तलवमा बार्षिक ६४ लाख ६१ हजार रुपैयाँ खर्च हुनेछ । ऐन अनुसार उपमहागर सभा सदस्यले मासिक सात हजार तलव पाउनेछन् । 
यस्तै ३३ नगरपालिका रहेको यस प्रदेशमा नगर प्रमुखहरुको तलवमा मात्रै बार्षिक एक करोड ५० लाख १५ हजार रुपैयाँ खर्च हुनेछ । नगरप्रमुखहरु मासिक ३५ हजार रुपैयाँ तलव पाउनेछन् । यस्तै उपप्रमुखहरुको तलवमा मासिक ३० हजारका दरले बार्षिक एक करोड २८ लाख ७० हजार रुपैयाँ खर्च   हुनेछ । 
नगरपालिका वडाध्यक्षहरुले मासिक २२ हजार रुपैयाँ तलव पाउनेछन् । ३३  नगरपालिकामा जम्मा तीन सय ५२ वडा छन् । वडाध्यक्षहरुको तलवमा १० करोड ६ लाख ७२ हजार रुपैयाँ खर्च हुनेछ । नगर कार्यपालिकाका अन्य दुई सय ६४ सदस्यको तलवमा बार्षिक तीन करोड आठ लाख ८८ हजार खर्च हुनेछ । उनीहरुले मासिक नौ हजार पाउनेछन् । नगरपालिकाका वडा सदस्यहरुको तलवमा बार्षिक नौ करोड ६७ लाख ९८ हजार खर्च हुने भएको छ । नगरपालिकाका वडा सदस्यहरुबाट नगर कार्यपालिका र जिल्ला समन्वय समितिमा गएका ३५ सदस्यहरु घटाई बाँकी एक हजार दुई सय ४१ सदस्यले मासिक ६ हजार पारिश्रमिक पाउनेछन् । 
यस्तै गाउँपालिकाका अध्यक्षहरुको तलवमा बार्षिक दुई करोड १० लाख सात हजार रुपैयाँ खर्च हुने भएको छ । ५४ गाउँपालिकाका अध्यक्षहरुले मासिक ३० हजार रुपैयाँ तलव पाउनेछन् । उपाध्यक्षहरुले मासिक २५ हजार बुझ्दा बर्षमा एक करोड ७५ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ । 
५४ गाउँपालिकाभित्रका तीन सय ६३ वडाध्यक्षहरुले मासिक २० हजार रुपैयाँ तलव पाउनेछन । उनीहरुको तलवमा बार्षिक नौ करोड ४३ लाख ८० हजार रुपैयाँ खर्च हुनेछ । गाउँकार्यपालिकाका सदस्यहरुको तलवमा तीन करोड ३६ लाख ९६ हजार रुपैयाँ खर्च हुनेछ । तीन सय २४ गाउँकार्यपालिका सदस्यहरुले मासिक आठ हजार रुपैयाँ पाउनेछन् ।
यस्तै जिल्ला समन्वय समिति र गाउँकार्यपालिकामा गएका वाहेक एक हजार एक सय ९० वडा सदस्यहरुले मासिक पाँच हजारका दरले पारिश्रमिक पाउने भएका छन् । उनीहरुको तलवमा बार्षिक सात करोड ७३ लाख ५० हजार खर्च हुने भएको छ । 
स्थानीय तहका जनप्रतिनिधिले मासिक पारिश्रमिकका अतिरिक्त बैठक भत्ता, सञ्चार सेवा, इन्धन, घरभाडा लगायतका सुविधा पाउनेछन् । उक्त रकम जोड्दा प्रदेशले करीव पौने अर्व स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुबिधामा मात्रै खर्च गर्नु पर्ने देखिन्छ । 
डोटीमा बार्षिक चार करोड लाग्ने
डोटी जिल्लामा जनप्रतिनिधिहरुको तलवका लागि मात्रै बार्षिक तीन करोड ५८ लाख २५ हजार रुपैयाँ खर्च हुने भएको छ । 
दुई नगरपालिका र सात गाउँपालिका सहित नौ स्थानीय तह रहेको जिल्लामा जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुले पाउने पारिश्रमिक समेत गरी उक्त रकम खर्च हुने भएको छ । जिल्ला समन्वय समितिका प्रमुखको पारिश्रमिकमा मासिक ४० हजार पाँच सयका दरले बार्षिक पाँच लाख २६ हजार पाँच सय र उपप्रमुको मासिक ३५ हजार पाँच सयका दरले बार्षिक चार लाख ६१ हजार पाँच सय खर्च हुनेछ । यस्तै सदस्यहरुको जनही मासिक ११ हजार रुपैयाँका दरले बार्षिक १० लाख एक हजार बार्षिक खर्च हुनेछ । समन्वय समितिमा सात जना सदस्य छन् । 
यस्तै नगरपालिकाका प्रमुखहरुको तलवमा बार्षिक नौ लाख १० हजार रुपैयाँ र उपप्रमुखमा सात लाख ८० हजार रुपैयाँ खर्च हुनेछ । नगर प्रमुखले मासिक ३५ हजार र उपप्रमुखले ३० हजार रुपैयाँ पाउनेछन् । यस्तै नगर–पालिकाका वडाध्यक्षहरुको पारिश्रमिकका पाँच लाख ७२ हजार खर्च हुनेछ । दुवै नगरपालिका गरी २० वडा रहेका छन् । वडाध्यक्षहरुले मासिक २२ हजार पाउनेछन् । नगर कार्यपालिकाका सदस्यहरुको मासिक नौ हजार रुपैयाँका दरले बार्षिक १८ लाख ७२ हजार रुपैयाँ खर्च हुनेछ । 
सात गाउँपालिका रहेको जिल्लामा गाउँपालिकाका अध्यक्षहरुको पारिश्रमिकमा बार्षिक २७ लाख ३० हजार र उपाध्यक्षहरुको पारिश्रमिकमा २२ लाख ७५ हजार रुपैयाँ खर्च हुनेछ । उपाध्यक्षले मासिक २५ हजार पाउने छन् । 
मासिक २० हजारका दरले गाउँपालिकाका वडाध्यक्षहरुको पारि–श्रमिकमा बार्षिक एक करोड १७ लाख रुपैयाँ जानेछ । गाउँपालिकाहरुका ४५ वडाध्यक्ष रहेका छन् । गाउँ कार्यपालिकाका सदस्यहरुको पारिश्रमिकमा बार्षिक ४३ लाख ७८ हजार रुपैयाँ खर्च हुनेछ । उनीहरुले मासिक आठ हजार पाउनेछन । यस्तै वडाध्यक्षहरुको पारिश्रमिकमा ९५ लाख ५५ हजार रुपैयाँ खर्च हुनेछ । 

सम्पादकीय 

सुशासनमा जोड दिऔं

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार स्थानीय तहले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, बजेट  असार १० गतेभित्रै सम्वन्धित स्थानीय सभामा पेश गर्नु पर्ने व्यवस्था छ । यसका लागि अहिले स्थानीय तहहरु कार्यक्रम तयार गर्नमा जुटेका छन् । यद्यपी जुन ईच्छाशक्तिका साथ स्थानीय तहहरु जुट्नु पर्ने थियो त्यसरी जुटेका देखिदैनन् । नीति तथा कार्यक्रमको बारेमा छलफल चलाउनु, स्थानीय आवश्यकताको पहिचान गर्नु, सम्भाव्यता पहिचान गर्नुको सट्टा जिल्ला सदरमुकाम र जिल्ला वाहिर हुने गोष्ठी सेमिनारहरुमा जनप्रतिनिधिहरुको चाँसो र सहभागिता बढी छ । यति बेला गोष्ठी सेमिनार राख्नेहरु आयोजकहरुको मुर्खपन त हो नै साथै स्थानीय तहका जनप्रतिनिधिहरुको गैरजिम्मेवारीपन पनि हो । 
अव थोरै दिन मात्रै बाँकी छ । वजेट तयार गरेर स्थानीय संसद (सभा) मा पेश गर्नु पर्नेछ । हचुवा वा हावाका भरमा बजेट ल्याउने हो भने त रातारात पनि तयार गर्न सकिएला तर स्थानीय तहको योजना तथा वजेट तर्जुमा दिग्दर्शन, समावेशी एवं सहभागितामुलक विकासको अर्थ र मर्म, संबिधानले दिएको अधिकारसूची अनुसार बजेट तयारी गर्ने हो भने ढिलो भईसकेको छ । यसका लागि थोरभौत तयारी हुनु जरुरी छ । 
अहिलेको बहस स्थानीय तहले के कुरालाई बढी ध्यान दिने भन्नेमा केन्द्रित छ । एकातिर चुनाव लड्दा गरिएको बाचा कसम छन् अर्कोतिर, संबिधानको अनुसूची ८ अनुसारको अधिकार सूची छ । त्यसैमा आफु संलग्न दलको केन्द्रीय घोषणा पत्र छ र नेताहरुको ठाडो आदेश र व्यक्तिगत स्वार्थ पुरा गर्न कार्यकर्ताहरुको तिव्र दवाव छ । यि सवैका सवै भन्दा फरक छन जनताका वास्तविक आवश्यकता, ईच्छा र चाहाना । जनताले सडक चाहेका छैनन्, किनभने सडक घरमै पुगेपनि गाडी चढेर जानलाई खल्तीमा पैसा छैन उनीहरुसंग । उनीहरुको आवश्यकता रोजगारी हो तर नेताहरुको आदेशमा कार्यकर्ताहरुले ल्याउने डोजरले जनताले मजदुरी पनि गर्न पाएका छैनन् । त्यसैले जनप्रतिनिधिहरु आफै अलमलमा छन अहिले । 
जनप्रतिनिधिहरुले अहिले गर्नै पर्ने मुख्य काम हो सुशासन । हिजो प्राबिधिकले एमवि उठाउन पैसा माग्यो, हाकिमले हस्ताक्षर गर्न पैसा माग्यो वा लेखापालले चेक काट्न पैसा माग्यो भन्ने गुनासाहरु थुप्रै आउँथे र ति गुनासाहरुमा ९० प्रतिशत भन्दा बढी सत्य पनि थिए । मागेकै हो कर्मचारीहरुले घुस, नत्र भने चौथो, पाँचौ तहको जागिर खाएको दुई बर्षमै ठुल्ठुला शहरमा चिल्ला घर बन्दैनन् । सरकारी जागिरको तलवले के गर्न सकिन्छ के गर्न सकिदैन भन्ने कुरा सवैलाई थाह भएकै कुरा हो । अहिले फेरी त्यही कुरा दोहोरिएको छ । अहिले पनि प्राबिधिकहरु र सम्वन्धित फाँटका कर्मचारीहरुले हिजो जनप्रतिनिधिहरु नहुँदा जस्तो गर्दैथे त्यस्तै गर्दैछन् भन्ने कुरा आएको छ । अझ लाजमर्दो कुरा त के छ भने जनप्रतिनिधिहरु स्वयंको पनि त्यसमा संलग्नता छ भन्ने हल्ला व्यापक छ । यस्ता जनप्रतिनिधिहरुले बाँचेर के होला ? 
त्यसैले सुशासनको क्षेत्रमा प्रमुख भूमिका खेल्नु जरुरी छ । जनप्रतिनिधिहरु आएपछि जनताले छिटो छरितो सेवा पाउनु पर्छ । जति काम भएको छ, त्यो अनुसारको भुक्तानी पाउने कुराको ग्यारेण्टी गरिनु पर्छ, थोरै काम भएको छ भन्ने नाममा कमिसनको खेल हुने कुराको अन्त्य हुनु जरुरी छ । त्यसका लागि नागरिक सचेतना र नागरिक निगरानीका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउनु जरुरी छ । यदि नागरिक निगरानी बढ्यो भने पक्कै पनि सेवा प्रवाह र विकास निर्माणका कामहरु प्रभावकारी हुनेछन् र जनप्रतिनिधि भएको आभास गर्नेछन् जनताले । तर, यदि फेरी पुरानै ढिलासुस्ती र कमिसनको खेल मात्रै हुने हो भने त केही पनि अर्थ राख्दैन ।

थप समाचार

उद्यम तर्फ युवाको आकर्षण

कर्ण चन्द/डोटी
जेठ २८

कृषि तथा पशु सेवा तर्फ युवाको आकर्षण बढ्न थालेको छ । युवाको रोजाईमा बिदेश र सरकारी जागीर मात्र होईन आफ्नै उद्यम गरेपनि राम्रो मुनाफा लिन सकिने युवामा बिश्वास बढ्न थालेको छ । 
डोटीको शिखर नगर–पालिका–५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामुहिक रुपमा बाख्रापालन व्यवसाय शुरु गरेका हुन् ।
डोटी बहुमूखी क्याम्पसबाट पोलिटिकल साईन्स (राजनीति शास्त्र) विषयमा ‘डिग्री’ पढेका बोहराले आयआर्जन गर्न बाख्रापालन व्यवसाय रोजेका   हुन् । विद्यार्थी राजनीतिज्ञ समेत रहेका बोहरा अनेरास्ववियु डोटीका अध्यक्ष पनि हुन् ।
नेपाल सरकारले राष्ट्रिय युवा परिषद अन्तरगत सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिना ब्याज ऋण लिएर बोहराले बाख्रापालन गरेका हुन् ।
जिल्ला युवा समिति डोटी मार्फत काफली बचत तथा ऋण सहकारी संस्था लिमिटेड डोटी र प्रगतिशील कृषक समूहबिच सहकार्य गरेर बोहराले ब्यबसाय सुरु गरेका हुन । २० वटा बाख्रा खरिद गरेर व्यवसाय शुरु गरेका बोहराका बाख्रा ब्याएर अहिले २९ वटा पुगेका छन् ।
जमुनापारी क्रस र खरी जातका बाख्रापालन गरिरहेका प्रगतिशील कृषक समूहका उपाध्यक्ष समेत रहेका बोहरा बाख्रापालन व्यवसाय शुरु गर्न पाएकोमा खुशी छन् । त्यस्तै सोहि कृषक समूहका दल बहादुर बोहराले पनि बाख्रापालन गरिरहेका छन् ।
१० वटा बाख्रा बाट सुरु गरेका दलबहादुरले ७५ हजार आम्दानी गरेको उनले बताए ।

छाउ गोठमा सर्पले टोकेर मृत्यु

महिनावारी (छाउ) भएका बेला छाउपडी गोठमा सुतेकी एक किशोरीको सर्पको टोकाईका कारण मृत्यु भएको छ । 
अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको हो ।
छाउगोठमा सुतेका बेला राती पार्वतीलाई सर्पले टोकेको थियो । उनको दायाँ हातको औलामा सर्पले डसेको हो । पार्वती घरबाट तल बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी थिइन । साथी राधिका बुढासंगै गोठमा सुतिरहेको बेला छाना माथी रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी दिइन् । परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर बाहिर आउँदा उपचारको अभावमा उनको ज्यान गएको हो ।
पार्वतीले यसैवर्ष विश्वज्योती माविबाट एसइइ दिएकी थिइन् । उनीसंगै रहेकी दिदी प्रेमकला बुढाका अनुसार पार्वतीको महिनावारी शनिबार चार दिन भएको थियो । तुर्माखाँद–४ का वडाअध्यक्ष कविराम बुढाले भने पार्वती छाउगोठमा नभई भाइबहिनीसंग सुतेको बताए ।
छानामा सुतेका बेला सर्पले टोकेको भन्ने मात्र खबर आफू कहाँ आएको बुढाले बताए । तुर्माखाँद गाउँपालिकाकी उपप्रमुख अमृता बुढाले आफू काठमाण्डौं रहेको र यो घटनाबारे आफूलाई धेरै जानकारी नभएको बताइन् ।
गत पुसमा मात्र सोही गाउँपालिका ३ भैरवस्थानको लकाद्रा की २२ वर्षकी गौरी बुढाको पनि छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको थियो । छाउपडी गोठमा सुतेको अवस्थामा २०६३ साल यता अछाम जिल्लामा मात्रै १३ जना किशोरी तथा महिलाले ज्यान गुमाईसकेका छन् । तर छाउपडी रोक्नका लागि ठोस पहल हुन सकेको भने देखिएको छैन ।

प्रदेश राजधानी तोक्न माग

७ नं. प्रदेशको नाम र राजधानी तोक्न प्रमुख प्रतिपक्षले दल नेपाली कांग्रेसले प्रदेश सभा सचिवायलयमा प्रस्ताव दर्ता गराएको छ । 
डोटी जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र–१ बाट निर्वाचि प्रदेश सभा सदस्य भरतवहादुर खड्काले आईतवार संसद सचिवालयमा दर्ता गराएको प्रस्तावमा नाम तथा स्थानीय राजधानी ऐतिहासिक, दिर्घकालीन र सामरिक महत्वका आधारमा तोकिनु पर्ने उल्लेख गरिएको छ । 
प्रदेश सभा सचिवालयका अनुसार प्रस्तावमा औचित्यका आधारमा नाम तथा राजधानी तोकियोस भन्ने प्रस्ताव गरिएको भएपनि नाम र राजधानीका लागि स्थान प्रस्ताव गरिएको छैन । प्रस्तावमा भनिएको छ ‘नेपालको संबिधानको धारा २८८ को उपधारा (२) बमोजिम यस प्रदेश नं. ७ को प्रदेशको नामाकरण तथा स्थायी राजधानी तोक्नु पर्ने आवश्यक भएकोले उक्त राजधानी ऐतिहासिक, दिर्घकालिन महत्व, सन्तुलित विकास, भौगोलिक र सामरिक दृष्टिकोणका साथै औचित्यको आधारमा तोकियोस भनी यो प्रस्ताव पेश गर्दछु ।’
खड्काको उक्त प्रस्ताव पत्रमा प्रदेश सभा सदस्यद्व कर्णवहादुर मल्ल र डिल्लीराज पन्तले समर्थन जनाएका     छन । सांसद खड्काले लैजाने प्रस्तावमा साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको र भौतिक संरचनाहरु पनि यथेष्ट भएको दिपायलको नामै उल्लेख भएर जाने आश गरिएको थियो तर त्यसो भने देखिएन ।
प्रदेश राजधानी डोटीमै हुनु पर्ने भनी आन्दोलन चलिरहेका बेला तत्कालीन सरकारले गत माघ ३ गते प्रदेशको अस्थायी मुकाम कैलालीको धनगढी तोकेको थियो । अस्थायी मुकाम धनगढी तोकेपछि आक्रामक बनेका स्थानीय प्रदेश सभाले स्थायी राजधानी डोटी तोक्ने झिनो आश लगाएर बसेका छन् । तर प्रतिपक्षले दर्ता गराएको प्रस्तावमा समेत दिपायलको नाम उल्लेख हुन नसक्नुले थप अन्यौलता बढेको छ । 
प्रतिपक्षले दर्ता गराएको प्रस्तावमाथी कसरी प्रदेश सभाको बैठकमा छलफल चलाउने भन्ने बिषय परामर्श भईरहेको संसद सचिवालयले जानकारी दिएको छ ।   

छोटकरी समाचार 

संसद्मा चर्काचर्की 

७ नं. प्रदेश सरकारको तर्फवाट प्रदेश प्रमुख मोहन मल्लले प्रदेश सभामा पेश गरेको प्रदेश सरकारको आव २०७५÷०७६ को नीति तथा कार्यक्रमको पक्ष र विपक्षमा संसदमा चर्चाचर्की भईरहेको  छ । 
नीति तथा कार्यक्रममाथी आफ्नो धारणा राख्ने प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रममा प्रदेशको समृद्धिका लागि ठोस कार्यक्रमहरु नआएको, प्रदेशका महत्वपूर्ण योजनाहरु समावेश नभएको भनेर आलोचना गरिरहेकाछन । मंगलबार बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको बिषयमा सांसदहरुले आफ्नो धारणा राख्ने छन् । मंगलबारको छलफलपछि सम्भवत् नीति तथा कार्यक्रम पारित हुनेछ ।  

कैदीलाई सामग्री

जिल्ला कारागार डोटीका कैदीबन्दीलाई बोगटान गाउँपालिकाले  आठ थान कुर्ची र कपडा सहयोग गरेको छ । 
महिला कैदीबन्दीले सिलाई कटाईको तालिम गरिरहेकाले सिक्नका लागी कपडा अभाब रहेको भन्दै बोगटान गाउँपालिकासंग माग गरेपछि गाउँपालिकाले थान कपडा हस्तान्तरण गरेको छ । 
बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले कुर्ची र कपडा बन्दीहरुलाई हस्तान्तरण गरेका हुन । कैदीबन्दीका लागी खेल सामाग्री, पुस्तकालय, फर्निचर र जिर्ण भवन भएका कैदीहरुले माग गरपछि आफुहरुले सक्दो सहयोग गरेको अध्यक्ष गड्सिलाले  वताए ।

खेल समाचार 

बिश्वकपमा होहल्ला गर्न नपाईने

फुटबलको महासंग्राम विश्वकप २०१८ नजिकिँदै गर्दा नेपालमा पनि रौनक छाएको छ । विश्वकप यही जेठ ३१ बाट रुसमा सुरु हुन लाग्दा नेपालीहरु भिन्नभिन्न टिममा विभाजित छन् । नेपालको टिम नभएपनि दर्शकहरु विश्वकप हेर्न विभिन्न तयारी गरिरहेका छन् । 
यसैक्रममा जिल्ला प्रशासन कार्यालयले काठमाण्डौंका दर्शकलाई मर्यादित र संयमित बनाउन १० बुँदे आचारसंहिता जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार सार्वजनिक सूचनामार्फत काठमाडौंका दर्शकका लागि १० बुँदे आचारसंहिता सार्वजनिक गरेका हुन् । ‘विश्वकपका खेलहरु क्लब, संघसंस्था, तथा नीजि व्यवसायीले आफ्नो परिसर, प्रतिष्ठानमा मनोरञ्जनका लागि प्रदर्शन गर्ने सन्दर्भमा निम्न लिखित शर्तहरुको अधिनमा रहेर मात्र गर्न पाउनेछन’,   घिमिरेले भनेका छन् ।
आचार संहितामा खेलहरुको प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने, प्रदर्शन स्थलमा कुने प्रकारको शुल्क लगाउन नपाइने, खेलको हारजित लगायत विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन नपाइने, मादक पदार्थ खरिद विक्री, ओसार पसार तथा सेवन गर्न गराउन नपाइने, असुरक्षा नियन्त्रण गर्न आवश्यक जनशक्ति को व्यवस्था गर्नु पर्ने उल्लेख छ ।

चलचित्र/मनोरञ्जन 

‘सयकडा दश’ को छायाङ्कन सम्पन्न

मंसिरभित्र प्रदर्शनमा ल्याउने लक्षका साथ निर्माण हुन लागेको नेपाली चलचित्र ‘सय कडा दश’को छायांकन सकिएको  छ । 
हास्य कलाकार मनोज गजुरेल मुख्य भुमिकामा रहेको यो चलचित्रको शनिवार मात्रै छायाङ्कन सकिएको हो । चलचित्रमा अन्य कलाकारहरु अमृत ढुंगाना र करुणा श्रेष्ठलाई पनि चलचित्रमा देख्न सकिन्छ । चलचित्रको छायाङ्कन काठमाण्डौ, पोखरा, सिन्धुली, पाँचथरमा गरिएको छ ।
प्रदर्शन हुनुअघि चलचित्रको त्यसअघि च्यारिटी हुनेछ । भ्रष्टाचारविरुद्ध सदाचार समाजको निर्माणका लागि एक पात्रले गरेको संघर्षको कथामा यो चलचित्र बनेको छ ।
रामशरण पाठकले निर्देशन गरेको चलचित्रमा राजाराम पौडेल, रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला कलाकारको मुख्य भूमिका छ । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्ककन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगित छ ।
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् ।

लेख 

चालीस कटेसी रमाउँला

कुसुम भट्टराई
बाबु–आमाले छोराको आश नगरेर छोरीमै चित्त बुझाएको भए साइँलीको जन्म नै हुँदैनथ्यो । छोराकै आशमा चार छोरी जन्मिए ।
यदि साइँलीका बा–आमाले उनी र उनका दिदी–बहिनीको साटो छोराहरु मात्र पाएको भए पनि के नै हुन्थ्यो र ? ति छोराले अरु कसैको कोखबाट जन्मिएकी साइँलीसँग प्रीत लाउँथे । बैंसमै रमाउन देश, काल, परिस्थितिले नदिएपछि साइँलीलाई धुरुधुरु रुवाउँदै विदेशीन बाध्य हुन्थे । अनि फकाउन यसो भन्थे,
‘सुन साइँली परदेशबाट म आउँला
चालीस कटेसी रमाउँला ।’
विचरा, उसले चालीस कटेसी कसरी रमाओस् ? त्यतिबेला न त जोश बाँकी रहन्छ, न जाँगर । मानिसको मनोशरीरको आफ्नै प्रकृति हुन्छ, जुन उमेरसँगै बदलिँदै जान्छ । मन मस्तिष्कमा सपना, चाहना र विषय बासनाका तमाम पत्रहरु जमिरहन्छन्, उमेरले नेटो काटिसक्छ ।
बीस कटेसी रमाउँ
मानिस जब सत्र–अठार वर्षको हुन्छ, तब उसमा विपरीत लिङ्गीप्रतिको आकर्षण बढ्न थाल्छ । सत्र वर्षदेखि पच्चिस÷तीस वर्षसम्मको उमेरमा मानिसमा यौन चाहना तीव्र हुन्छ । तर, विडम्बना हाम्रो सामाजिक मूल्य, मान्यता, सँस्कार र शिक्षाले यही उमेरमा केटा र केटीलाई आपसमा मिल्नै दिँदैन । अनि देशको आर्थिक अवस्थाले यो उमेरमा उसलाई एकछिन रमाउने फुर्सद पनि दिँदैन, कठोर श्रमको भारी बोकाउँछ ।
विवाहअघिको यौनलाई समाज छाडापन मान्छ । लज, रिसोर्ट या पार्कतिर कसैले देखिहाल्ला कि भन्दै लुकीछिपी यौन प्यास मेटाउनेहरु पनि कुनबेला प्रहरीले छापा मार्ला भनेर भयग्रस्त मानसिकता पालिरहेका हुन्छन् । प्रेम र यौन घटित हुने पलमा भयको प्रवेश हुँदा के मजा भयो ? त्यो ‘चिज’को के स्वाद रह्यो ?
स्कुल र कलेजमा केटा र केटीका अलग-अलग होस्टल हुन्छन् । केटा र केटीलाई नजिक हुन नदिने अनेक प्रपञ्च समाजमा रचिएका छन् । जुन उमेरमा यौन चाहना तीव्र हुन्छ, त्यही उमेरमा उनीहरु कुण्ठित हुन्छन् । यौन कुण्ठा दबाएपछि उनीहरुको ध्यान न त पढाइतिर हुन्छ, न जीवन सफल पार्ने सोच पलाउँछ ।
मनले खोजिरहेको हुन्छ, मोज । तर, उनीहरुको थाप्लोमा हुन्छ, आधुनिक जटिल शिक्षाको बोझ । शिक्षा पूरा गर्न नपाउँदै अर्को चुनौती आइपर्छ, जागिरको खोज । एसएलसी भन्यो, प्लस टु भन्यो, डिप्लोमा अनि डिग्री भन्यो । मेडिकल पढ्नेका लागि पोष्ट ग्राजुयट भन्यो । पीएचडी भन्यो । कमिलाभन्दा साना अक्षर छापिएका मोटा–मोटा पुस्तक अहोरात्र पढ्यो ।
पढाइ पूरा गरेपछि पनि जागिर पाइँदैन । करिअर र सुखद भविश्यको यस्तै–यस्तै घनचक्करमा फँस्दाफँस्दै मानिस तीस वर्षको भइसक्छ । यत्तिकैमा साइँली, माइली, कान्छी, नेप्टी, चेप्टी, डल्ली, काली, गोरी सबैलाई रुवाएर केटो विदेश जानुपर्ने हुन्छ । केटीचाहिँ अरुको घरमा कामकाज सघाउन भित्रिनुपर्ने हुन्छ ।
केटोले विदेशबाट टन्नै रकम कमाएर ल्याउला । तर, त्यो पैसाले उ कसरी रमाउला ? त्यसबेलासम्म न त बैंस रहन्छ, न उत्साह । जीवन संघर्षको भट्टीमा सेकिएर थिलोथिलो भएको शरीर बोकेर स्वदेश फर्केको युवाले ‘चालीस कटेसी’ साइँलीसँग कसरी रमाउन सक्ला ? जिन्दगी खोज्दाखोज्दै जिन्दगी नै रित्तिदै जान्छ ।
भन्न त भनिन्छ नी, रातो राम्रो गुलियो मिठो, बैंस छँदाखेरि । तर, बैंस नै ढल्किएपछि के रातो, के सेतो ? के कमलो ? के साह्रो ? ती सबमा रमाउने उत्साह पनि ओह्रालो लागिसकेको हुन्छ । जीवनको उर्बरकालमा उसले रमाउन पाउँदैन । उमेरमा लालमोहन खान मन लाग्छ, तर पैसा हुँदैन । उमेर ढल्किएपछि पैसा त हुन्छ, तर मधुमेहका कारण लालमोहन खानै हुँदैन ।
चालीस कटेसी मानव शरीरको कोषको क्षयीकरण शुरु हुन्छ । शरीरका अंगहरु शिथिल हुन थाल्छन् । उमेरको यही घुम्ती पार गरेपछि मानिसलाई हृदयाघात, मधुमेह, रक्तचापलगायतका अनेक नसर्ने रोगहरुको जोखिम शुरु हुन्छ । हाम्रो नेपाली समाजमा रमाउने अर्थात मोज गर्ने भनेको मिठो खाने राम्रो लाउने, सुन्दर ठाउँमा घुम्ने र प्यारो मान्छेसँग माया साट्ने न हो । चालीस कट्दासम्मको कठोर श्रम र भागदौडका कारण चालीस कटेसी शरीरले ‘हर्कत’ देखाउन थाल्छ ।
भो, चालीस कटेसी रमाउने सोच त्याग । बीस कटेसी रमाउन पाउनुपर्छ ।  यसका लागि अनुकुल अवस्था मुलुकमा सिर्जना हुनुपर्छ । केटा र केटीलाई बैंसमै रमाउन नदिने खालका कडा नियम कानून खारेज गरी आधुनिक युग सुहाउँदो उदार नियम कानून हुनुपर्छ । सामाजिक सोच र संस्कारमा बदलाव आउनुपर्छ ।
काठमाडौंका पूर्वमेयर केशव स्थापितले भने झैं शहरमा केटा र केटीले प्रेम गर्ने ठाउँ हुनुपर्छ । नागार्जुन डाँडालाई लभर्स पार्क बनाउनुपर्छ । आकाशे पुलहरुलाई डेटिङ स्पट बनाउनुपर्छ । कसैले कसैलाई ‘किस’ गर्नु कुनै अश्लिल या भद्दा हर्कत होइन । सहमतीमा यौन सम्पर्क हुनुलाई पनि अब नाजायज ठान्नु हुँदैन । प्रेमले यौनसम्म पु¥याउँछ, अनि यौनले मानिसलाई प्रेमतिर ढल्काउँछ ।
प्रेम र यौनको अभावमै समाजमा हत्या, बलात्कार, भ्रष्टाचार र अनेक अपराधहरु हुने गरेका हुन् । अतः सरकारले केही प्रहरी अधिकारी, नेता या दलालले अनुचित लाभ पाउने गरी चलिरहेका गैरकानूनी यौन अखाडाहरुलाई बन्द गराओस् र यौन व्यवसायलाई कानूनी मान्यता दिएर व्यवस्थित गरोस् । शहरमा रेड लाइट एरिया पनि खुलोस् । पर्यटनसँग यौनलाई पनि जोड्ने काम होस् ।
रमाउने त स्वदेशमै हो
आफ्नै देश, आफ्नै परिवेशमा रमाउन नपाउँदा मानिसले आफूलाई अपूर्ण महसुस गर्छ । मातृभूमिको माटोको सुगन्ध सामु विदेशको शान, ठाँटबाँठ, सुख, सुविधा र सम्पन्नता के हो र ? अनि विदेश जाँदैमा सबैले सुख पाउने पनि होइन ।
विदेशमा सुखको आसमा एक शहरबाट अर्को शहर भौंतारिएका, गाडीको स्टलमेन्ट तिर्न त्यहीँको दलदलमा भासिएका र विषय बासनाको तीव्र लालसामा रनभुल्लमा परेका लाखौं भेटिन्छन् । रुप, आकार, प्रकाश र रंगको तिलस्मी दुनियाको भूलभूलैयामा जतिसुकै भूले पनि अभ्यन्तरले टिमुर हालेको गोलभेंडाको अचारसँग कोदोको रोटी खाएको भूल्ला र ?
समुद्री टापुहरुमा अर्धनग्न लम्पसार परी सूर्य स्नान गरिरहेका मान्छेलाई देखेर केहीबेर रमाएपनि सेता कञ्चन हिमालमुनी नागबेली परेर बगेका नदीनाला अनि लालुपाते र लालीगुराँसले राताम्य पहाडहरुको सौन्दर्यले      पछ्याइरहन्छ । गाउँमा टिनको टहरो ढुकेर बसेका वृद्ध बाबु–आमा उनीहरुका दृष्टिमा ‘पाखे’ होलान्, तैपनि उनीहरुको बोली र मोहले भरिएको असीम अनुरागको झल्कोले विदेशिएकाहरुको मनमा चिमोटिरहनेछ ।
हो त, संसारका सारा वैभव आफूमाथि वर्सियोस्, सारा धन आफ्नो कन्तुरमा खप्टियोस्, अनि सारा भौतिक सुख सुविधाले जीवन भरीपूर्ण किन नहोस्, तर मातृभूमिमा बाँच्न नपाउनु मानिसको सबैभन्दा ठूलो अभाव हो । जन्मेको ठाउँमा मर्न नपाउनु उसको सबैभन्दा ठूलो अपूर्णता हो । आफ्नो भूमिमा रमाउन नपाउनु उसको सबैभन्दा ठूलो रिक्तता हो ।
‘चालीस कटेसी रमाउँला’ भन्दै विदेशिए पनि मानिसको मन भने स्वदेशमै हुन्छ । स्वदेशमै श्रमको उचित मूल्य, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता भएको भए को नै विदेशिन्थ्यो र ? जल, जंगल, जडीबुटी, जमीन र जोशीला पाखुराले भरिएको नेपालले अपार सम्पदा भएर पनि समृद्धिको उचाइ चुम्न सकेन । देश गरिब भयो, देश गरिब भएपछि साइँली र उसको प्रेमी पनि गरिब भए ।
बैंसमै प्रीत लाउने रहर कसको नहोला र ? तर गरिबीले ‘भिलेन’ खेलिदियो । अब यो भिलेनलाई तह लगाउन मुलुक समृद्ध हुनुपर्छ । र, मुलुक समृद्ध बनाउने हो भने परदेशिएकाहरु चालीस कटेसी हैन, तत्काल फर्किइहाल्नुपर्छ । करिब पचास लाख बलिया पाखुराहरु स्वदेश फर्किएर पौरख गर्ने हो भने यो देशको कायापलट हुनेछ । यही भएर सरकारले पनि परदेशिएकालाई स्वदेश फर्काउन यसपालि बजेटमा विशेष कार्यक्रम ल्याएको   छ ।
‘बोल माया’ हैन, फर्क माया
गत वर्ष गायक सुरज थापाले ‘हे बरै आमाले सोध्लिन् नी !’ गाउँदा नेपाल आइडलका सबै निर्णायक जुरुक्क उठेर ताली बजाएका थिए । झलकमान गन्धर्वले धेरै वर्ष पहिले गाएको यो कालजयी गीत अहिले सुन्दा पनि नवीन लाग्छ र यो आज पनि उत्तिकै सान्दर्भिक छ । गरिबी, अभाव, शोषण, अन्याय र अनेक बेथितीले भरिएको नेपाली समाजको यथार्थ आज पनि उस्तै छ । पहिला गोर्खा पल्टनमा भर्ती हुनेहरुको ताँती लाग्थ्यो । भारतमा कुल्ली र दरबान बन्न जानेहरुको घुइँचो लाग्थ्यो । अचेल जहाज चढेर ‘लाहुरे’ हुनेहरुको ताँती लाग्छ ।
झलकमानको ठेट नेपाली गाइने भाकामा गुञ्जिएको यो गीतले त्यसबेला सिंगो मुलुक हल्लाएको थियो । पहिलो र दोश्रो विश्वयुद्धमा लाखौं नेपाली युवाले ज्यान गुमाए । विदेशमा अरुका लागि लड्दालड्दै ज्यान गुमाउन बाध्य ती युवा भन्नलाई ‘रण जित्दैछ भन्दिनु’  भनिरहेका थिए, तर उनीहरु हारिरहेका थिए । उनीहरुका लागि आफ्नै देश, समाज र परिवेश पनि कुनै रणभूमिभन्दा कम थिएन । लाहुरेहरुको वेदना बोकेको यो गीतले नेपाली समाजमा एकखालको जागरण पनि ल्यायो । जेजस्तो भए पनि स्वदेशमै पौरख गर्नतर्फ नेपालीलाई प्रेरित ग¥यो ।
पञ्चायतकालमै धर्मराज थापाको स्वरमा रहेको गीत ‘नेपालीले माया मा¥यो बरीलै’ ले पनि जन्मेको देश र नेपाली भेषलाई माया नमार्न एकखालको जागरण ल्याएको थियो । ‘नजाउ छोडि विदेश, आमालाई रुवाएर’ जस्ता गीतहरु पहिला पनि गाइन्थे । सत्यकला राइले गाएको ‘तिमीलाई हङकङ पु¥यायो आइडी काडैैले’ बोलको गीतमा पनि परदेश जानेहरुको वेदना छ ।
अब यस्ता गीत सुन्ने मात्र हैन, फर्कनुपर्छ । र, फर्काउने राष्ट्रिय जागरण अभियान नै सुरु गर्नुर्पर्छ । धन्यवाद छ पशुपति शर्मालाई, जसले केही वर्ष पहिले गाए ‘मलाई अमेरिका यही, जापान पनि यही ।’ यो गीत हिट हुनुको कारण के हो ? कारण हो, सबैको मनमा स्वदेशमै रमाउनुपर्छ भन्ने कुरा गडेको छ । अमेरिका र जापानमा भन्दा नेपालमै रमाउनुपर्छ भन्ने चाहना सबैको छ । र, यही कारण हेमन्त रानाको ‘सुन साइँली’ पनि सुपर हिट भयो । किनकी, साइँलीलाई छाडेर परदेशीनु सुखद हैन, वियोगान्त घटना हो भन्ने यसले झल्काएको छ । ‘चालीस कटेसी रमाउँला’ भनेर साइँलीको प्रेमीले रुँदै पो भनेको छ त । यसले यही सन्देश दिन्छ कि अब यसरी रुँदै विदेश जाने हैन, स्वदेशमै केही गर्नुपर्छ ।
र, यही मेसोमा हालै एउटा मर्मस्पर्शी गीत आयो ‘बोल माया ।’ प्रकाश सपुत र शान्ति परियारले रुँदै गाएको यो गीत र भिडियो उत्कृष्ट छ । र, यसले पनि यही सन्देश दिन्छ कि ‘जाँदाखेरि आकाशैमा, आउँदा बाकसैमा’को नियतीलाई अब बदल्नुपर्छ । अब कुनै पनि नेपालीको शव कफिनमा फर्केर नआओस् । हिरो बन्ने सपना चकनाचुर पारेर विदेश गएको छोरोको शव कफिनमा फर्केको देखेर कुनै आमा–बाबुले रातभर भक्कानिएर बस्न नपरोस् । श्रीमती विधवा हुनु नपरोस् ।
‘बोल माया’को सफलताले विदेशमा बस्ने नेपालीको संवेदना बोकेर बनेका गीत हिट हुन थालेको देखाउँछ । यही कारण कलाकार यस्ता भाव बोकेका गीत बनाउँदैछन् । ‘मलाई अमेरिका यही’ पछि यसखालका थुप्रै गीत आए । ‘सुन साइँली’ पछि त्यसको फिमेल भर्सन पनि आयो । अब ‘बोल माया’ को भाग दुई पनि आउँदैछ भन्ने सुनिन्छ ।
यो जागरण हो । यस्ता गीत हिट हुनुले विदेशको बसाई सुखद छैन र अब स्वदेश फर्कनुपर्छ भन्ने चेतना मानिसहरुमा विस्तारै पलाउँदै गएको देखिन्छ । विदेशिएका नेपालीलाई धमाधम स्वदेश फर्काउन कलाकारले यस्ता गीतमार्फत साँस्कृतिक अभियान चलाउन सक्छन् । र अब प्रकाश सपुत र शान्ति परियारहरुले ‘बोल माया’ मात्र हैन, ‘फर्क माया’ पनि गाउनुपर्छ । किनकी, अब कफीनमा शव हैन, जिउँदो मान्छे स्वदेशमै केही गर्ने सपना बोकेर फर्कनुपर्छ ।                                                                                              — अनलाईन खवरबाट

दिपायल सिलगढी नगरपालिका वडा नं. १, ६ र ८ मा सञ्चालित बहुउद्देश्यीय पोषण कार्यक्रम अन्तरगत दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको निवन्ध प्रतियोगितामा पवित्र आवाशीय मावि सिलगढी डोटीका छात्रा बिषाखा बिसीले प्रथम स्थान हासिल गर्न सफल भएको निवन्ध ः

पोषणको महत्व

जिवित प्राणीको मुख्य आवश्यकता वायु र जल पछि तेश्रो महत्वपूर्ण आवश्यकता खाना हो । मानिस खाना विना धेरै समय बाँच्न सक्दैन  । जसरी यान्त्रिक साधन वा वहानहरु ः बस ट्रक, ट्रेन मोटर आदि चल्न ईन्धन चाहिन्छ त्यसैगरी मानिसको अंग प्रत्याङ्ग समुचित रुपले चल्न र बाँच्नलाई खाना चाहिन्छ । खाना भनेर जस्तो पायो उस्तै खाने होईन । पोषणयुक्त खानाको उपभोग गर्नुपर्छ । पोषण भन्नाले खाद्य पदार्थमा रहेका ति तत्वको बोध गराउँछ, जसको पाचनपछि शरीरले यान्त्रिक तथा रसायनिक प्रक्रियाको परिणाम स्वरुप शरीरको बृद्धि विकास र सुरक्षा अनि आवश्यक पौष्टिक तत्व प्राप्त गर्दछ । 
पोषणका ६ वटा तत्व हुन्छन्, ती हुन ः कार्वोहाईड्रेड, भिटामिन, प्रोटिन, चिल्लो पदार्थ, खनिज र पानी । यिनिहरुको आ–आफ्नो ठाउँमा बिशेष योगदान रहन्छ । कार्वोहाईड्रेडले शरीरलाई शक्ति र बल प्रदान गर्ने काम गर्दछ । यसका श्रोतहरु चामल, गहुँ, धान, मकै, कोदो, आदि हुन । प्रोटिनले बालबालिकाको बृद्धि र विकासमा मद्दत पु¥याउँछ । यसका श्रोतहरु गेडागुडी, माछामासु दुःख आदि हुन । बसो वा चिल्लो पदार्थले शरीरको तापक्रम स्थिर बनाई राख्न र छालालाई चम्किलो बनाउन सहयोग पु¥याउँछ । यसका श्रोतहरु दुःख दही, घिउ पनिर आदि हुन । खनिजले शरीरलाई रोगबाट बचाउन मद्दत गर्छ र शरीरलाई स्वस्थ  राख्छ । यसका श्रोतहरु आयोडिन क्याल्सियम, सोडियम आदि हुन । पानीले रगत बग्न मद्दत गर्नका साथै खाएको खानालाई पचाउनमा मद्दत गर्छ । यि सवै पौष्टिक तत्व सन्तुलित रुपमा हुनु पर्छ । कार्वोहाईड्रेड शरीरलाई सवैभन्दा बढी आवश्यक पर्छ । क्रमसः भिटामिन, प्रोटिन, चिल्लो पदार्थ, खनिज र पानी चाहिन्छ । यो सवै सन्तिुलित रुपमा मानिसले उपभोग ग¥यो भने स्वस्थ भएर बाँच्न सकिन्छ । 
पोषणले शरीरको शारीरिक मानसिक र सम्वेगात्मक बिकास गर्न मद्दत पु¥याउँछ । उपयुक्त पोषणको उपयोग   गरियो भने बिभिन्न रोगबाट बच्न  सकिन्छ । हामी एक स्वस्थ र सुखी जीवन निर्वाह गर्न सक्छौं । हाम्रो सारा शरीर पोषण तत्वबाट नै काम गरिरहेको हुन्छ । पोषण पाईने खानाहरु आवश्यक रुपमा खानु पर्छ । सन्तुतिल रुपमा उपभोग गर्नु पर्छ । यसको कमी वा बढी भयो भने कुपोषण हुने डर हुन्छ । बिभिन्न खालका रोगहरु जस्तै ः रक्तचाप, सुकेनास, फुकेनास, मुटुको रोग आदि संक्रमण हुन सक्छन । त्यसैले खाना सन्तुलित हुनु    जरुरी छ । त्यसपछि मात्र हामी सुखी र स्वस्थ जीवन निर्वाह गर्न सक्षम हुन्छौं । हामीले आफ्नो स्वास्थ्यको ख्याल राख्न पौष्टिक तत्वले भरीपूर्ण खाना खानु पर्दछ । पोषणयुक्त खानाले शरीरलाई नयाँ उर्जा र शक्ति दिन्छ । सवै उमेरका मानिसले पौष्टिक आहारको सेवन उमेर र काम अनुसार गर्नु पर्छ । शिसु र सुत्केरी महिलालाई पोषणयुक्त खानामा ध्यान दिनु पर्छ । धेरै काम गर्ने अर्थात बल प्रयोग हुने काम गर्ने मान्छेले बढी क्यालोरी भएको खाना खानु पर्छ । कुन खाद्य पदार्थ कसरी खाने भन्ने बारेमा पनि ज्ञान लिन आवश्यक छ । हरिया साग सव्जी तथा तरकारीलाई धेरै पकाउनु हुँदैन र माछा मासु जस्ता खाद्य पदार्थलाई बढी समयसम्म पकाएर खानु पर्छ । बजारका गल्लीमा पाईने अखाद्य पदार्थहरु जस्तै चाउचाउ, बिस्कुट, चुरोट, रक्सीको सेवन गर्नु हुँदैन । स्वादलाई नखोजी पौष्टिक कुराम ध्यान दिनु पर्छ । आजभोलीका बालबालिकाहरु अखाद्य पदार्थतिर बढी आकर्षित छन् । उनीहरु चाउचाउ बिस्कुट खान पाए अरु खान मन पराउँदैनन् । फलस्वरुप बच्चाहरुको स्वास्थ्य राम्रो   हुँदैन । 
नेपालको सन्दर्भमा भन्ने हो भने हामी स्वास्थ्यको तुलनामा अरु देशभन्दा निकै पछाडी छौं । कुनै न कुनै रोगबाट संक्रमित भईरहेका हुन्छौं । त्यसको मुख्य कारण खानपिन नै हो । हामी खाना पेट भर्नलाई मात्र खान्छौं तर खानाले पेट भर्ने मात्र हैन शरीरलाई शक्ति दिने काम गर्छ भन्ने कुरा हामीलाई थाह छैन । बजारमा पाईने महंगा खाद्य पदार्थमा बढी पौष्टिक हुन्छ भन्ने गलत धारणा राख्छौं । त्यो अत्यन्तै गलत हो । हामी गाउँका मानिसहरु आफ्नो वारीमा उव्जेका सागसव्जी फलफलु बजारमा लगेर बेच्छौं र चाउचाउ बिस्कुट, चकलेट जस्ता अखाद्य पदार्थ किनेर खान्छौं । हामीलाई यो थाह छैन कि घरको खाद्य पदार्थमा यि अखाद्य पदार्थ भन्दा बढी पोषण हुन्छ भन्ने कुरामा । यसको मुख्य कारण अशिक्षा, जनचेतनाको कमी र गरीवी हो । हामीलाई पोषणयुक्त खानाको पहिचान छैन भने कसरी स्वस्थ र बलिया हुन सक्छौं ? व्यापार र पैसाको लोभले खाद्य पदार्थमा बिषादी मिलाउने तथा दुःखमा पानी हाल्न पछि पर्दैनौं । खाद्य सामग्रीको मिसावट र बिषादी छरेको कालीमाटीको सागसव्जी, तरकारी खेर गए । यि सवैलाई रोक्न संस्थाहरु खडा त भए तर यस्तो प्रबृत्तिको अन्त्य भएको छैन । 
निश्कर्षतः हामीले हाम्रो स्वास्थ्यमा ध्यान राख्न आवश्यक छ । पौष्टिक खाना सन्तुलित रुपमा खानु पर्छ । बजारीया खाद्य पदार्थ भन्दा आफ्नै घरमा उव्जिएको खानमा बढी प्राथमिकता दिनु पर्छ । गर्भवति महिला र शिसुको स्वास्थ्यमा ध्यान राख्न जरुरी छ । पौष्टिक खाना सेवन गर्ने बारे जनचेतना जगाएर भोकमरी उन्मुलन गर्नु पर्छ । मिसावट र बिषादी प्रयोग गर्ने मानिसलाई कडा भन्दा कडा सजाय दिनु पर्छ । पोषणयुक्त खानाको बारेमा सवैलाई जानकारी दिन आवश्यक छ । 
‘पोषण हाम्रो स्वास्थ्य हो र स्वास्थ्य हाम्रो बाँच्ने आधार हो । बरु धन नकमाउनु होस केही फरक पर्दैन तर स्वस्थ नभई बाँच्न सकिदैन । स्वास्थ्य नै धन हो । 

शिक्षक सेवा आयोगको तयारीका लागि उपयोगी 

एक्सन रिसर्च के हो ? — रमेशप्रसाद लामिछाने
सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयंमा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ । विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नु परेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा
हामी शिक्षण पेशाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो ।
एक्सन रिसर्च के हो ?
एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट
परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्षक÷विद्यार्थी दुबै
पक्ष लाभान्वित गरिने क्रियाकलाप एक्सन रिसर्च हो । यो नामैले अर्थ र काम स्वयं बोलिरहेको छ । मुख्यतः एक्सन रिसर्च सारमा कार्यमूलक विज्ञान नै हो । सयौं विद्वान एवं शिक्षाविदहरुले एक्सन रिसर्चलाई परिभाषित गर्दै व्याख्या गर्नु भएको छ । लरेन्स स्टेनहाउसका अनुसार शिक्षक आफैंमा एक अनुसन्धानकर्ता हो । अनि वास्तविक कक्षाकोठाहरु नै प्रयोगशाला हुन् र ति शिक्षकबाटै निर्देशित हुन्छन्, न कि अनुसन्धानकर्ताहरुबाट । शिक्षक मात्र त्यस्ता व्यक्ति हुन्, जसले विद्यालयलाई बुझेर परिवर्तन गर्न सक्छन् । एक्सन रिसर्च शिक्षकको पेशागत कामसँग प्रत्यक्ष जोडिएको छ । एक्सन रिसर्चलाई निचोडमा बुझ्ने हो भने एउटा शिक्षकले आफ्नो स्कुलमा प्रतिदिन सामना गर्नु परेका समस्याहरु जुन स्वयं शिक्षकले
अनुसन्धानमार्फत् समाधान गर्न सक्ने खालकालाई हल गर्ने विधि हो । निम्न उद्देश्यहरुबाट एक्सन रिसर्चलाई बुझ्न थप मद्दत गर्ने विश्वास गर्न सकिन्छ ।
एक्सन रिसर्चका उद्देश्यहरुः
१. पाठ्यक्रम कार्यान्वयनमा सुधार गर्नु
२. कक्षाकोठाका समस्याहरु समाधान गर्नु
३. स्थानीय समस्या स्थानीय तहमै समाधान गर्नु
४. समस्या समाधान गर्न वैज्ञानिक चिन्तनको विकास गर्नु
५. विद्यालय प्रणालीलाई प्रभावकारी बनाउनु
६. सिकारुहरुको शैक्षिक उपलब्धीस्तर उकास्नु
७. शिक्षण विधि र शैक्षिक सामग्रमा सुधार गर्नु
८. प्रजातान्त्रिक मूल्य, मान्यता र प्रवृत्तिको विकास गर्नु
एक्सन रिसर्चका महत्वहरुः
१. वैज्ञानिक चिन्तको विकास
२. अनुसन्धान, पाठ्यक्रम कार्यान्वयन र विषय क्षेत्र सम्बन्धी समस्या समाधान
३. विद्यार्थी उपलब्धीको स्तर वृद्धि
४. पाठ्यक्रम विकासमा सहयोग
५. प्रजातान्त्रिक मूल्य, मान्यता र प्रवृत्तिको विकास तथा संरक्षण
६. शिक्षण सिकाइ सम्बन्धी त्रुटीमा सुधार
७. सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्न सहयोग
८. शिक्षक÷विद्यार्थी बीचमा सामाजिक कारणले आएको भिन्नता न्यूनीकरणमा सहयोग
एक्सन रिसर्चका विशेषताहरु ः
१. स्थानीय चासोका समस्याहरुको तत्काल खोजी गर्न सहयोग गर्ने
२. यो अनुसन्धान शिक्षकले गर्दछन्
३. व्यवहारिक र कार्यमूलक हुन्छ
४. विद्यालय एवम् कक्षाकोठामा प्रयोग हुन्छ
५. पाठ्यक्रमका समस्याहरुलाई वैज्ञानिक प्रक्रियो समाधान गर्छ
६. विकासात्मक ढाँचाको अनुसन्धान परियोजना
७. शैक्षिक क्षेत्र सुधार गर्ने विधि
८. निष्कर्षहरु तत्काल प्रयोग हुने
एक्सन रिसर्चका प्रकारहरु ः
१.एक शिक्षकबाट गरिने
२. समूहद्वारा गरिने
३. विद्यालयतहमा गरिने
४. जिल्लास्तरमा गरिने
५. राष्ट्रियस्तरमा गरिने
एक्सन रिसर्चको खाका ः
यसका मुख्य चार अङ्ग हुन्छन् । (क) प्लान (ख) एक्सन (ग) अब्जर्भेसन (घ) रिफ्लेक्सन । 
यी ४ पक्षहरुको चक्र नै कार्यमूलक अनुसन्धान हो । 

साहित्य/सिर्जना 

पानी 

मन, मुटु होस त
पानी जस्तै
कतै पनि आफुभित्र
कसैका लागि पनि
कुण्ठा बाँधेर 
राख्न जानेको छैन
न कुनै रिस
न कुनै राग
न कुनै बैराग
निरन्तर बगिरहन्छ
बस, बगिरहन्छ ।
गन्तव्य होस त
पानी जस्तै
कुनै पनि हालतमा
आफुलाई रोक्दैन
चट्टान फुटाएर भएपनि
आफ्नो गन्तव्य पुगेरै छोड्छ
न कुनै थकावट
न कुनै बिश्राम
न कुनै निराशा 
निरन्तर बगिरहन्छ
बस, बगिरहन्छ ।
मित्रता होस त
पानी जस्तै
कसैसंग बैर छैन
सबैको रङ्गमा रङ्गिदिन्छ
सबैको ढङ्गमा रमाइदिन्छ
न कुनै ठूलो
न कुनै सानो
न कुनै नजिक
न कुनै टाढा
सबै सङ्ग हात मिलाइदिन्छ
निरन्तर बगिरहन्छ
बस, बगिरहन्छ ।
समानता होस त
पानी जस्तै
हरेक ब्यक्ति 
हरेक बस्तु
हरेक ठाउँ 
समान छन
न कुनै महिला
न कुनै पुरुष 
न कुनै मन्दिर
न कुनै मसान
कुनै पनि भिन्न छैन 
निरन्तर बगिरहन्छ
बस, बगिरहन्छ ।
धैर्यता होस त
पानी जस्तै
एउटा पोखरी भएर पनि
बसिदिन्छ
न कुनै बिरोध
न कुनै सवाल
न कुनै जवाफ 
न कुनै सिकायत
न कुनै पछुतो 
निरन्तर बगिरहन्छ
बस, बगिरहन्छ ।
पुष्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

        प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५÷२÷२२
    जिल्ला डोटी पुर्विचौकी गाउँपालीका वडा नं.६ साविक गाजरी गा.वि.स.वडा नं. ६ कि.नं.२२, ५४, २२१, ५४९ ऐ.वडा नं.७ कि.नं.१३ को जग्गाधनी थापाको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनी धनि थापाको मिति ः २०६२÷९÷१३ मा मृत्यु भएकोले मृतकको शेषपछिको हकदार एकमात्र पत्नि लालमति थापाको मिति ः २०६३÷४÷११ मा मृत्यु भएको । जग्गाधनी परी विष्टको सन्तान छोरा नभै अपुताली परेकोले मृतक जग्गाधनीको शेषपछिको हकदार एकमात्र छोरी चन्द्रादेवी विष्ट मात्र भएको हुँदा मृतक जग्गाधनी धनि थापाको नाउँको माथी उल्लेखित पुरै कि.नं.को जग्गाहरु मेरो नाउँमा एकलौटी नामसारी गरि पाउँ भनी पुर्विचौकी गाउँपालिका ६ नं. वडा कार्यालय डोटीको च.नं.१९० मितिः २०७५÷२÷२० को किटानी सिफारिस पत्र, गाजरी गा.वि.स.स्थित धनि थापाको नाउँको जग्गाधनी प्र्रमाण पुर्जा, मालपोत बुझाएको रसिद, मृत्युदर्ता प्रमाण पत्र, नाता प्रमाणित, नेपाली ना.प्र.प, आदी प्रमाणहरु साथै    राखी जि.डोटी पुर्वीचौकी गाउँपालिका वडा नं.६ बस्ने सनेनी थापाको नातीनी प्रेम वहादुर विष्टको पत्नि धन वहादुर थापाको छोरी चन्द्रादेवि विष्टले मालपोत कार्यालय, डोटीमा मिति २०७५÷२÷२१ मा निवेदन दिनु भएको हुँदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए वा अन्य हकदार भए वा मृतक धनि थापाको अपुताली  नपरेको भए वा निज निवेदकको मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफुसँग भएको सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैको उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना    द्वारा जानकारी गराईन्छ ।

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

        प्रथम पटक सूचना प्रकाशित मितिः २०७५÷२÷२८
            जिल्ला डोटी जोरायल गाउँपालिका वडा नं.३ साविक सरस्वती नगर गा.वि.स.वडा नं.९ कि.नं.४७, ८१, १२५, १३१, २१४, २२०, २२६, २२८, २३९, २४३, २८६, २९२, ३०३, ३१८, ३३८, ३४३, ३६४, ३७४, ४४४, ४७९, ५२३, ५२९, ५३६, ५४८, ५५२, ५५३, ५६४, ५८९, ५९०, ५९२, ६३०, ६३९, ६५६, ६७९ ऐ. लक्ष्मिनगर गा.वि.स. वडा नं.२ कि.नं.३७९, ३८६, ३८८ को जग्गा सर्वजित कठायतको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि सर्वजित कठायतको मिति ः २०६०÷११÷२३ मा मृत्यु भएकोले मृतकको शेषपछिको हकदार दुईजना पत्नि गोमतिदेवि कठायत र भागीरथीदेवि कठायत मात्र भएकोमा गोमतिदेवि कठायतको मिति ः २०५९÷६÷२ मा मृत्यु भएको र हकदार कान्छी पत्नि भागीरथीदेवि कठायत मात्र रहेको भनि जोरायल गाउँपालीका ३ नं.वडा कार्यालय डोटीवाट लेखि आएकोले । जग्गाधनि सर्वजित कठायतको हकदार जेठी पत्नि गोमतिदेवि कठायतको अपुताली परेको देखिदा मृतक जग्गाधनिको शेषपछिको हकदार एकमात्र पत्नि भागीरथीदेवि कठायत मात्र भएकोले मृतक जग्गाधनि सर्वजित कठायतको नाउँको माथी उल्लेखित पुरै कि.नं.को जग्गाहरु मेरो नाउँमा एकलौटी नामसारी गरि पाउँ भनि जोरायल गाउँपालीका ३ नं.वडा कार्यालय डोटीको च.नं.४१३ मिति ः २०७५÷२÷२२ को किटानी सिफारिस पत्र, सरस्वतीनगर र लक्ष्मिनगर गा.वि.स. स्थित सर्वजित कठायतको नाउँको जग्गाधनि प्र्रमाण पुर्जा, मालपोत बुझाएको रसिद, मृत्युदर्ता प्रमाण पत्र, नाता प्रमाणित, नेपाली ना.प्र.प, आदी प्रमाणहरु साथै राखी जि.डोटी जोरायल गाउँपालिका वडा नं.३ बस्ने रामसिं कठायतको बुहारी सर्वजित कठायतको पत्नि भागीरथीदेवि कठायतले मालपोत कार्यालय, डोटीमा मिति २०७५÷२÷२३ मा निवेदन दिनुभएको हुँदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए वा अन्य हकदार भए वा मृतक सर्वजित कठायतको पत्नि स्व.गोमतिदेवि कठायतको अपुताली नपरेको भए, वा निज निवेदकको मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएको सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैको उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी    गराईन्छ ।