Tuesday, June 5, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७५ साल जेठ २२ गते मंगलबार

सार्वजनिक यातायतमा स्वच्छ प्रतिस्पर्धा कायम गरौं । आपसी सम्झौताका आधारमा आलो पालो प्रणाली (सिण्डिकेट) लगाई उपभोक्ताहरुलाई ठगी गर्ने काम बन्द गरौं र गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

प्रशासनिक संक्रमणकाल सुरु भयो ः भट्ट

रामहरी ओझा 
जेठ २०
७ नंं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिले देशमा प्रशासनिक संक्रमणकाल सुरु भएको बताएका छन । 
प्रेस चौतारी नेपाल डोटी र प्रेस सेण्टर डोटीद्वारा आईतवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन । ‘देशमा            राजनीतिक संक्रमणकाल अन्त्य भएको छ’ मुख्यमन्त्री भट्टले भने ‘तर प्रशासनिक संक्रमणकाल सुरु भएको छ ।’ उनले केही कर्मचा–रीहरुलाई संघीयता नपचेकाले उनीहरु जनप्रतिनिधिहरुलाई समेत अप्ठेरोमा पार्न खोजिरहेको वताए । ‘अधिकांश कर्मचारी साथीहरुले सहयोग गर्नु भएको छ, उहाँहरुलाई धन्यवाद पनि दिन चाहान्छु’ डोटी जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रमका लागि गृहजिल्ला डोटी पुगेका मुख्यमन्त्री भट्टले भने ‘केही यस्ता कर्मचारीहरु छन् जसले आफुलाई जनप्रतिनिधिहरु भन्दा माथी ठान्दैछन् र संघीयता असफल होस् भन्ने चाहान्छन् ।’ 
मुख्यमन्त्री भट्टले कर्मचा–रीहरुले आफ्नो भविश्यको सुनिश्चितता खोज्नु जायज भएको बताउँदै भने ‘तर आफ्नो सेवा सुविधा खोज्ने नाममा खटाएको ठाउँमा पनि जान्न भन्नु गलत हो ।’ कर्मचारीहरुलाई सेवा सुबिधा दिने कुरामा सरकार सकारात्मक रहेको भन्दै उनले कुनै पनि कर्मचारीहरुले संघीयता फेल होला र फेरी हाम्रो हालीमुहाली होला भनेर नसोच्न आग्रह गरे । 
प्रदेश सरकारका महत्वका चार क्षेत्र 
मुख्यमन्त्री भट्टले ७ नं. प्रदेशलाई समृद्ध प्रदेश बनाउनका लागि प्रदेश सरकारले चारवटा कुरालाई अगाडी बढाएको बताए । ‘कृषि, पर्यटन, जलस्रोत र जडीवुटी सरकारका चार प्राथमिकताका क्षेत्र हुन’ उनले भने ‘यिनै क्षेत्रको विकासको विकासबाट प्रदेश समृद्धि सम्भव छ ।’ मुख्यमन्त्री भट्टले कृषिलाई आधुनिकीकरण गर्ने, किसानलाई सहुलियत दिने, प्रत्येक जिल्लामा माटो परीक्षण गर्ने सरकारको मुख्य लक्ष रहेको वताए ।
‘प्रदेशभित्र जलबिद्युत उत्पादन सरकारको दोश्रो प्राथमिकतामा रहेको छ’ उनले भने ‘प्रदेशभित्र रहेका पानीका श्रोतहरुलाई खानेपानी, सिंचाई र उर्जाका लागि भरपुर रुपमा  कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा सरकारको ध्यान केन्द्रित भएको छ ।’ यस्तै पर्यटकीय क्षेत्रको प्रशद्र्धन, विकास र प्रचार तेश्रो र जडीबुटी संकलन र प्रसोधन चौथो प्राथमिकतामा रहेको उनले बताए । 
मुख्यमन्त्री भट्टले प्रदेशको संरचना नयाँ भएका कारण यसलाई विकासको क्षेत्रमा गति लिन सवैले सरकारलाई सहयोग गर्नु पर्ने वताए । उनले भने ‘म चमत्कार गर्छु भन्न त सक्दैन तर म सुरुवात गर्छु भनेर जिम्मेवारी लिएको हुँ र राम्रो कामको सुरुवात गर्छु ।’ 
भनसुनको आधारमा योजना पाउने जमाना गए 
मुख्यमन्त्री त्रिलोचन भट्टले बिगतका जस्तो भनसुनका आधारमा कुनै पनि योजना नवनाईने वताएका छन् । 
‘बिगतका दिनहरुमा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरु र कर्मचारीहरुलाई भनेपछि योजना पास हुने चलन थियो’ उनले भने ‘अव त्यस्तो हुँदैन, जनताको आवश्यकता र मागमा आधारित बास्तविक योजनाहरु मात्र सरकारले निर्माण गर्नेछ ।’  
उनले भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई सरकारले उन्मुक्ती नदिने वताउँदै बिगतका जस्तो कृत्रिम योजना बनाउने अनि केही मान्छे मिलेर भ्रष्टाचार गर्ने कुरा प्रदेश सरकारले नसहने वताए । ‘कुनै पनि प्रकारको भ्रष्टाचार भएको छ भने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा रहेको टोल फ्रि नं. १६६०(९१५२७२३ मा सिधै फोन गर्नुहोला’ उनले भने ‘हामी भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको सिद्धान्त अंगिकार गर्छौं ।’ उनले स्थानीय तहका जनप्रतिनिधिहरु पनि भ्रष्टाचारमा संलग्न भएको भन्ने गुनासाहरु सुनिन लागेकोप्रति दुःख व्यक्त गर्दै भने ‘जनताको सेवा गर्छौं भनेर जनतासंग भोट मागेर आएकाहरुले समेत भ्रष्टाचार गर्न थालेपछि यो देशको अवस्था के होला’

सम्पादकीय 

आसंका हटाऊ सरकार

स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा, राष्ट्रिय सभा, राष्ट्रपति सवैका सवैमा नयाँ संबिधान अनुसारका जनप्रतिनिधिहरु आएका छन् । सरकार दुई तिहाई भन्दा बढी मतको शक्तिशाली छ । साँच्चै भन्ने हो भने अंकगणितीय हिसावले कमजोर प्रतिपक्ष छ । यद्यपी नेपाली राजनीतिको महत्वपूर्ण खेलाडी हो अहिलेको प्रमुख प्रतिपक्ष, त्यसकारण भूमिका त कमजोर नहोला तर संख्यात्मक हिसावमा प्रतिपक्ष कमजोर नै हो । बहुसंख्या स्थानीय तह, सात प्रदेशमध्ये ६ प्रदेशमा सरकार, केन्द्रमा सरकार, राष्ट्रप्रमुख समेत बिगतमा अहिलेका सरकारसंग सम्वन्धित पार्टीमा लामो समय र महत्वपूर्ण जिम्मेवारीमा बसिसकेका व्यक्ति, यस्तो अवस्थामा अव सरकारले कसैलाई दोष दिने ठाउँ छैन । 
बिगतका जस्तो अस्थिर सरकार, प्रतिपक्षले काम गर्न दिएन, अल्पमतको सरकार निर्णय गर्ने आधार भएन भन्ने कुनै ठाउँ छैन अव । अव जे गर्छ सरकारले गर्छ, जे हुन्छ सरकारको निर्णयले हुन्छ, जे हुँदैन त्यो पनि सरकारको निर्णयले हुँदैन । 
अहिले बिभिन्न आशंकाहरु उव्जिएका छन् । सरकारमा जाने बित्तिकै छानीछानी अपराधीहरुलाई आममाफी दिनु पनि एक आशंका हो । एक बर्ष अरु जेलमा बस्दैमा कोही समाप्तै भईहाल्ने थिएन । यद्यपी त्यो आममाफी दिने कुरा संबैधानिक होला तर सार्वभौम जनताको भावना पनि केही कुरा हो । यस्ता बिषय उठान गरेर अनाहकमा बिवादमा आउने कुरा राम्रो होईन । 
यस्तै सरकारले ल्याएको बजेटमा थुप्रै नयाँ आशंकाहरु रहेका छन् । हिजो तीनै तहको निर्वाचनमा भोट माग्दा उठान गरेको बिषयहरु कुन प्रकारले संबोधन भए भन्ने बिषयलाई पनि हामीले ध्यान दिनु जरुरी छ । चुनावी नारा एकातिर हुने, घोषणापत्र अर्कैतिर हुने र बजेट र नीति तथा कार्यक्रम अर्कैतिर हुने हो भने जनताले आशंका गर्नु स्वभाविकै हो । जनताले यो पाँच बर्षमा नेपाललाई स्वर्ग बनाउनु प¥यो भनेकै छैन । जनताले दैनिक उपभोग्य बस्तुहरुमो सर्वसुलभ उपलव्धता, दैनिक प्रशासनिक कार्यहरुमा चुस्तता र भ्रष्टाचार नियन्त्रण खोजेका हुन तत्काललाई । यसमा सरकारले देखिने गरी के काम ग¥यो भन्ने कुराको खोजी गर्न,   सरकारले गरेका काममा खवरदारी गर्न र निगरानी गर्ने अधिकार प्रत्येक नेपाली जनताले राख्छन् र बिरोधीहरुले पनि शान्तिपूर्ण रुपमा बिरोध गर्न पाउने अधिकार राख्छन् । 
आशंकाहरु थुप्रै रहेका छन्, ति आशंकाहरु चिर्नु सरकारको कर्तव्य हो, जनतालाई चुनावको बेला मत माग्दा गरेका बाचाहरु पुरा गर्ने बाटोमा सरकार छ भन्ने कुराको बिश्वास दिलाउनु सरकारको काम हो । न की कुनै व्यक्तिले सरकारको बिरोध गर्दैमा प्रतिवाद गरिरहने कार्यकर्ताहरु मात्रै उत्पादन गर्नु हो । सरकारको आलोचना गर्नु, बिरोध गर्नु, खवरदारी गर्नु प्रतिपक्षहरुको धर्म हो, अहिले सत्तामा बसेकाहरुले पनि हिजो यस्तै गरेका हुन, स्वभाविकै पनि हो । बहुदलीय व्यवस्था भएको अविकसित देशहरुमा यस्ता कुराहरुलाई सामान्य रुपमा लिईन्छ । किनकी राजनीतिक नाफा घाटाको हिसाव गरेर यस्ता देशहरुमा सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत राख्दैनन् प्रतिपक्षीहरुले । उनीहरु सरकारको आलोचना गर्नु मात्रै आफ्नो राजनीतिक धर्म हो भन्ने सोच्छन् र सोही अनुसार आफ्ना कार्यकर्ताहरुलाई परिचालन गर्छन आफु पनि परिचालित हुन्छन् । सरकारको समर्थन गरे आफ्नो राजनीति समाप्त हुन्छ भन्ने डर हुन्छ उनीहरुलाई । 
त्यसकारण थुप्रै आशंकाहरु छन् सरकार । सरकारले गर्न खोजेका र गरेका धेरै बिषयमा जनता स्पष्ट हुन सकेको छैन । जनताले यो सरकारले आफ्ना मागहरु चाहानाहरु पुरा गर्छ भन्ने बिश्वास पाउन सकेका छैनन् । यस्ता कुराहरुलाई सरकारले समयमै चिर्नु जरुरी छ । भाषण गरेर, सामाजिक सञ्चालमा टिप्पण्ी गरेर जनता आश्वास्त हुने सम्भावना छैन , त्यसका लागि देखिने गरी सरकारले केही काम गर्नु जरुरी छ ।

थप समाचार 

डोटी पूर्ण खोपयुक्त जिल्ला घोषणा

डोटी जिल्लालाई ४४ औं जिल्लाको रुपमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । 
शनिवार एक समारोहका बीच ७ नं. प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । ‘म ७ नं. प्रदेश का माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यूलाई साँक्षी राख्दै डोटी जिल्ला आजदेखि पूर्ण खोपयुक्त जिल्ला भएको घोषणा गर्दछु’ जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख रामवहादुर ऐरले घोषणा गरे । 
२०७१ साल जेठ १६ गते साविकको भूमिराजमाण्डौं गाविस पहिलो पटक पूर्ण खोपयुक्त गाविस घोषणा भएदेखि गत बैशाख ३० गते दिपायल सिलगढी नगर–पालिका पूर्ण खोपयुक्त नगर घोषणा भएसंगै जिल्लाका नौ वटै स्थानीय तहहरु पूर्ण खोपयुक्त घोषणा भएका थिए । 
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा भुषण मिश्रले खोपको स्थिति प्रतिवेदन प्रस्तुत गर्दै विसिजी शत प्रतिशत बालबालिकाहरुले प्राप्त गरेको वताए । उनले डिपीटी ९४ प्रतिशत, पोलियो ९४ प्रतिशत पिसिभी ८१ प्रतिशत र दादुरा रुपेला ९४ प्रतिशत प्राप्त गरेको जानकारी दिए । 

अव मालिकलाई पनि कारवाही हुने

चालक अनुमति पत्र बिनाको व्यक्तिलाई गाडी चलाउन दिने मालिकहरुमाथी पनि कारवाही हुने भएको छ । 
डोटी जिल्लामा एकपछि अर्को गरी ठुला सवारी दुर्घटना हुन थालेपछि दुर्घटना रोक्नका लागि आईतवार स्थानीय तहका प्रमुखहरु सहित सरोकारवालाहरुबीच बैठक सम्पन्न भएको छ । बैठकका सहभागिहरुले चालक अनुमति पत्र नभएकालाई गाडी दिए गाडीधनीलाई पनि कारवाही गर्नु पर्ने सुझाव दिएपछि स्थानीय प्रशासनले सो कदम चाल्ने भएको छ । चालक अनुमति पत्र नभएका व्यक्तिहरुले गाडी हाँक्ने गरेको पाईएकाले यस्तो निर्णय गर्नु परेको वताईएको छ । 
बैठकमा सवारी दुर्घटना न्यून गर्नका लागि सडकको स्तरोन्नती गर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । सडकको दुरावस्थाका कारण पनि ग्रामिण सडकहरुमा दुर्घटना बढेको हुँदा सडकको स्तरोन्नती हुनु पर्नेमा यातायात व्यवसायीहरुले जोड दिएका थिए । 
यस्तै चालकहरुले मदिरा सेवन गरी सवारी चलाउने गरेको भन्दै मादक पदार्थ सेवन गरे नगरेको कडाईका साथ चेकजाँच गर्नु पर्ने बैठकको निश्कर्ष छ । ‘यातायात प्रहरीले चालकले मदिरा सेवन गरे नगरेको, चालक अनुमति पत्र भए नभएको र गाडीका कागजातहरु चुस्त भए नभएको कडाईका साथ चेकजाँच गर्ने निर्णय भएको छ’ जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत लोकराज बोहराले भने ‘यातायात प्रहरीको उक्त कार्यमा सवैले सहयोग गर्ने प्रतिवद्धता  गरेका छन ।’ उनले क्षमता भन्दा बढी यात्रुहरु बोक्ने सवारीलाई पनि कारवाही हुने बताए । 
जिल्लामा यातायात प्रहरीको संख्या ज्यादै न्यून भएका कारण जनशक्ति थप गर्नका लागि सवैले सम्वन्धित निकायमा दवाव दिने निर्णय समेत उक्त बैठकले गरेको छ । 
जिल्लामै छैन ब्रेथलाईजर 
डोटी जिल्लामा मादक पदार्थ सेवन गरेको बारेमा जाँच गर्ने मेसिन (ब्रेथलाईजर) नभएको यातायात प्रहरीले जनाएको छैन । 
बैठकमा यातायात प्रहरीले जिल्लामा रहेको एकमात्र बे्रथलाईजर बिग्रेका कारण अहिले उक्त मेसिन नभएको जानकारी गराएको छ । ‘एउटा मात्रै मेसिन थियो, त्यो पनि बिग्रेको छ’ जिल्ला यातायात प्रहरी कार्यालय, डोटीका प्रमुख प्रहरी नायव निरीक्षक रुपसिंह थापाले भने ‘मेसिन मर्मतका लागि पठाईएको छ ।’ 
उनले अहिले मादक पदार्थ सेवन गरेको छ छैन भन्नका लागि मदिराको गन्धले, आँखाबाट र शारीरिक अवस्थाबाट पत्ता लगाउनु पर्ने अवस्था रहेको बताए । ‘अलि धेरै खाएको छ भने आँखा राता भएका हुन्छ, शरीर झुल्न थालेको हुन्छ’ उनले भने ‘हामी नखाएको मान्छेलाई खाएको मान्छेसामु जाँदा गन्ध पनि आईहाल्छ ।’ 
बैठकमा ब्रेथलाईजर स्थानीय तहले किनेर यातायात प्रहरीलाई दिने भन्ने बिषयमा छलफल भएको भएपनि निर्णय भने भएको छैन ।  

कहिले बन्लान सडक पुलहरु

तीन बर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७१ साल असार २९ गते सम्झौता भएको सातनाली सडक पुलको हालसम्म १० प्रतिशत मात्रै काम भएको छ । 
पहिलो पटक भएको तीन बर्षे सम्झौताको मिति ०७४ साल असार २९ गते सम्पन्न भएपछि न त अर्को सम्झौता भएको छ, न सम्वन्धित निकायले सम्झौता रद्द गरेको छ । मुल्य अभिबृद्धि कर (भ्याट) सहित २६ करोड २० लाखको लागतमा निर्माण हुने करीव चार सय मिटर लम्वाईको उक्त आरसिसी पुल डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प राजेन्द्र जेभी निर्माण कम्पनीसंग सम्झौता गरी निर्माण कार्य सुरु गरिएको थियो ।
पुल निर्माण हुने समयावधी समाप्त भएर पनि एक बर्ष करीव बितिसक्दा पुलका दायाँ र बाँया पिल्लर समेत बनेका छैनन् । पुल निर्माणको कार्य सुरु भएपछि आफुहरु पनि सडक सञ्जालमा जोडिने आश लगाएर बसेका स्थानीयहरु फेरी निराश हुन थालेका छन् । सेती नदीमा पुल नहुँदा शिखर नगरपालिकाको वडा नं. ११ सडक सञ्जालमा जोडिन सकेको छैन । 
पुल निर्माण कार्यमा ढिलाई हुनुको मुख्य कारण निर्माण व्यवसायीको लापरवाही भएको पुलको साईड हेर्ने डिभिजन सडक कार्यालयका ईन्जिनियर बसन्त कुमार गायी बताउँछन् । ‘पिल्लरको फाउण्डेसनमा रक भेटियो, डिएमसी मेसिनले काम गरेन’ ईन्जिनियर गायी भन्छन् ‘अर्को मेसिन ल्याउनु पर्ने तर आईपुेको छैन ।’ उनले करीव १० प्रतिशत मात्रै काम भएको बताए । निर्माणका कम्पनीका सञ्चालक डडेल्धुरा जिल्लाको पर्शुराम नगर–पालिकाका प्रमुख हुन ।
यस्तै दुई बर्षमा बनेर सञ्चालनमा आउनु पर्ने अर्को सडक पुल ६ बर्ष पुग्दा समेत सञ्चालनमा आएको छैन जोरायल गाउँपालिकाको कुम्रेली गाड (खोला) मा निर्माणाधीन पुल दुई बर्षमा सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय कुलपाते, डोटी र एस.बि.ए., चन्द्र एण्ड बसन्त र आई.एस.जे.भि. निर्माण कम्पनीहरुले २०६८ असार २३ गते पहिलो सम्झौता गरी काम सुरु भएको थियो ।
कुल लागत दुई करोड ५८ लाख ७२ हजार नौ सय १७ मा निर्माण भईरहेको उक्त पुल निर्माणको समय २०७० साउन ४ गतेसम्म मात्र रहेको थियो । ५० मिटर लम्बाई रहेको उक्त पुल निर्माण सम्झौता तेस्रो पटकसम्म थप भइसक्दा समेत अझै निर्माण कार्य पुरा हुन नसकेको हो ।
‘ठेकेदारको लापर्वाहीका कारण योजना समयमा सम्पन्न हुन नसकेको हो’ उक्त योजनाको साइड हेर्ने सडक डिभिजन कार्यालयका ईन्जिनियर महानन्द जोशीले भने ‘सम्झौता भएको समयमा निर्माण कार्य सम्पन्न नभएका कारण १० प्रतिशत हर्जना लिन्छौं ।’ निर्माण कम्पनीले योजना सम्पन्न पनि गर्नु पर्ने र ढिलो भएमा  हर्जना तिर्नु पर्ने बताउँदै जोशीले भने ‘यदि पुल सम्पन्न नगरेरै छोड्छन भने कम्पनीलाई कालो सूचीमा राख्छौं, अब हामी कारवाहीको प्रक्रियामा छौं, तीन वटै निर्माण कम्पनीहरुलाई कारवाही हुन्छ ।’
तेस्रो पटक २०७२ माघ २९ गतेदेखि २०७३ भदौ १४ गतेसम्मको लागि पुल निर्माणको सम्झौताको म्याद थप गरिएको थियो । निर्माण कार्य अझै बाँकी रहेको भएपनि २०७३ भदौ १४ गतेदेखि भने हालसम्म सम्झौताको म्याद थप गरिएको छैन । 

छोटकरी समाचार 

स्काभेटरले ज्यान लियो

डोटीको सायल गाउँपालिकामा स्काभेटरमा च्यापिएर एक जनाको मृत्यु भएको छ । 
सायल गाउँपालिका वडा नं  १ छपाली कौराडीका ६२ बर्षिय बिक्रम थापा स्काभेटरमा च्यापिएर मृत्यु भएको सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेलले जानकारी दिनु भएको छ ।
सायलको वडा नं १ छपालीबाट बाटो सफा गरी सदरमुकाम सिलगढी फर्कदै गरेको स्काभेटरमा च्याप्पिएर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । डोटी जिल्लामा दिनहुँ जस्तो सवारी दुर्घटनाका घटनाहरु दिन प्रतिदिन बढ्दै गई रहेको छ । केहि दिन पहिला मात्र दुई छुट्टा छुट्टै दुई सवारी दुर्घटनामा परि ८ जनाले ज्यान गुमाएको थिए । स्काभेटरले ज्यान लिएको सम्भवत डोटीका लागी यो पहिलो घटना हो ।

गृहमन्त्रीलाई ज्ञापन पत्र

डोटी जिल्लामा क्रियाशिल केहि राजनितिक दल र अधिकारको क्षेत्रमा कार्यरत सामाजिक संघ संस्थाहरुले संघिय सरकारका गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । 
जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा भएकोे १३ औ वर्षमा प्रबेश गरि रहदा समेत मुलुक बाट जातीयछुवाछुत पुर्ण रुपमा उन्मुलन नभएको भन्दै पिढीत आम समुदायको अधिकार रक्षाका गर्नका लागी सरकारको ध्यान पुगोस् भन्दै जिल्ला प्रशासन मार्फत ज्ञापन पत्र बुझाईएको अधिकारकर्मि अधिराज विसीले जानकारी दिनु भयो ।  

चलचित्र÷मनोरञ्जन 

हट’ बेनिशा हिट’ कहिले 

चलचित्र ‘ब्लाइन्ड रक्स’का लागि शरीर घटाउने क्रममा ‘फिटनेस फ्रिक’  बनेकी नायिका बेनिशा हमाल त्यसपछि आफूलाई मेन्टेन गर्दै आएकी छिन् ।
आफूलाई निकै केयर गर्न थालेकी बेनिशाको फिगर आकर्षक बनेको छ । ‘ब्लाइन्ड रक्स’मा गरेको अभिनयले पहिलोपटक सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड भएकी बेनिशाले हलमा दर्शक तान्न भने सकिनन् । बेनिशाले यसअघि अभिनय गरेका फिल्महरु पनि बक्स अफिसमा कमजोर नै थिए ।
इन्टाग्रामका तस्बिर हेर्दा बेनिशा बदलिएको सहजै वुझ्न सकिन्छ । बेनिशा अहिले मस्ती मुडमा छिन् । 
अष्ट्रेलियापछि थाइल्याण्ड पुगेर नेपाल फर्किएकी यी सुन्दरीका तस्बिरहरु बोल्ड देखिन थालेका छन् । उनले थाइल्याण्डमा खिचाएको एक स्विमसुट तस्वीरले त चलचित्र ‘रेस—२’ की दीपिका पादुकोणको शैलीको झझल्को दिन्छ ।
बेनिशाका लागि गत वर्ष राम्रै रह्यो । उनले अभिनय गरेका दुई चलचित्र ब्लाइन्ड रक्स र झ्यानाकुटी रिलिज भए । तर यो बर्ष अहिलेसम्म उनको हातमा चलचित्र छैन । बेनिशाको अनुहारले दर्शक तान्न नसकेपछि निर्माताहरु उनलाई लिन खासै उत्साहित छैनन् ।
पहिरनको मामालामा हट बनेकी बेनिशा हिट भने कहिले बन्ने हुन् प्रतिक्षाको विषय बनेको छ । किनकी हट मात्र बनेर चलचित्र क्षेत्रमा लामो यात्रा गर्न गाह्रो छ ।

शिक्षक सेवा आयोगको तयारीका लागि उपयोगी 

शिक्षक सेवा आयोगद्वारा लिईने निम्न माध्यामिक तह, नेपाली बिषयको खुला प्रतियोगिता, लिखित परीक्षाको नयाँ पाठ्यक्रम  
१. भाषा र नेपाली भाषाको अध्ययन  
१.१ भाषाको परिचय र भाषाका विशेषता 
१.२ भाषिक परिवारको सङ्क्षिप्त चिनारी 
१.३ नेपाली भाषाको उत्पत्ति सम्बन्धी मतमतान्तरहरू 
१.४ नेपाली भाषाका भाषिकाहरूको चिनारी १.५ नेपालमा बोलिने प्रमुख भाषाहरू 
१.६ नेपालका संविधानहरूमा नेपाली भाषा 
१.७ नेपाली भाषाको स्तरीकरणका लागि भएका प्रयासहरू 
२. पहिलो तथा दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षणको चिनारी  
२.१ नेपाली भाषा शिक्षणको आवश्यकता 
२.२ पहिलो र दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षण 
२.३ द्विभाषिक तथा बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण 
२.४ भाषा शिक्षणका सिद्धान्तहरूको परिचय ः निगमन, आगमन, व्याकरण अनुवाद, प्रत्यक्ष, श्रुतिभाषिक, संज्ञान, सम्प्रेषण, सहभागितामूलक  
२.५  दोस्रो भाषाका रूपमा नेपाली शिक्षणका समस्या र समाधानका उपाय 
३.साहित्य विधा सिद्धान्त     
३.१ कविताको परिचय, तत्व र आधुनिक नेपाली कविताका समसामयिक प्रवृत्तिहरू        
३.२ कथाको परिचय, तत्व र आधुनिक नेपाली कथाका समसामयिक प्रवृत्तिहरू 
३.३ नाटकको परिचय, तत्व र आधुनिक नेपाली नाटकको समसामयिक प्रवृत्तिहरू 
३.४ निबन्धको परिचय, तत्त्व र आधुनिक नेपाली निबन्धका समसामयिक प्रवृत्तिहरू 
३.५ नेपाली बाल साहित्यको परिचय र बाल साहित्यका मुख्य प्रवृत्तिहरू 
४.साहित्य शास्त्र र नेपाली समालोचना  
४.१ शब्द शक्ति ः अभिधा, लक्षणा र व्यञ्जनाको परिचय 
४.२ छन्दको परिचय र प्रकार  
४.३ रसको परिचय र प्रकार  
४.४ अलङ्कारको परिचय र प्रकार  
४.५ समालोचनाको सैद्धान्तिक परिचय 
४.६ नेपाली समालोचनामा रामकृष्ण शर्मा, बाबुराम आचार्य, यदुनाथ खनाल, इन्द्रबहादृुर राईको      परिचय र मुख्य प्रवृत्ति  
५.नेपाली व्याकरण      
५.१ भाषा तत्व÷व्याकरणको परिचय  
५.२ व्याकरण शिक्षणको परिचय र आवश्यकता 
५.३ कार्यमूलक व्याकरण र व्याकरण शिक्षणका नवीनतम अवधारणा 
५.४ व्याकरण शिक्षणका कार्यकलापहरू 
५.५ पाठ्यव्रmले तोकेका व्याकरण÷भाषा तत्वका विषय क्षेत्रहरू   
५.६ शब्दवर्ग ः नाम, सर्वनाम, विशेषण, व्रिmयापद, नामयोगी, व्रिmयायोगी, संयोजक, विश्मयादिबोधक र निपात 
५.७ पदसङ्गति ः लिङ्ग, वचन, पुरुष र आदर 
५.८ काल, पक्ष र भाव (अर्थ) 
५.९ वाच्य  
५.१० वाक्य ः परिचय, संरचना, प्रकार, वाक्यान्तरण, वाक्य संश्लेषण र विश्लेषण  
५.११ कारक र विभक्ति 
५.१२ शब्द भण्डारको परिचय र प्रकार 
५.१३ उखान र टुक्का 
५.१४ शब्द निर्माण प्रव्रिmया ः व्युत्पादन र रूपायन प्रव्रिmया 
५.१५ धातु  
५.१६ लेख्य चिन्ह 
५.१७ वर्ण विन्यास  
६ व्यावहारिक रचना÷सिर्जनात्मक रचना  
६.१ पत्र रचना (निवेदन÷चिठी) 
६.२ निमन्त्रणा पत्र र शुभकामना पत्र लेखन 
६.३ संवाद र वादविवाद लेखन 
६.४ दैनिकी लेखन 
६.५ सारांश लेखन 
६.६ अनुच्छेद रचना 
६.७ प्रतिवेदन लेखन 
६.८ कथा लेखन 
६.९ निबन्ध लेखन 
६.१० जीवनी लेखन

साहित्य÷सिर्जना 

बस यात्रा करुण

चढ्नुछ गाडी तिर्नु छ भाडा सय हैन हजारमा ।
पुग्नुछ छिटो जानुछ टाढा गाउँ शहर बजारमा ।।
सामानका बोरा गाडीमा धेरै बोका छन् गनाउने ।
साँगुरा सिट गाडीमा धेरै घुँडा छन् ठोक्काउने ।।

हिँडदैन गाडी रोकेको रोकै कोच्दछ मान्छे धेर ।
सुन्दैन पीडा समयको ढिलो रोक्दछ अझै बेर ।।
खाल्डा छन् कति उकालो धेरै सडक छ भत्केको ।
मान्छे छन् उति झुण्डेका धेरै गाडी छ ढल्केको ।।

उफ्रिन्छ गाडी ठोक्किन्छ टाउको उठ्दछ टुटुल्को ।
नचढी हुन्न जानूछ टाढा नरक छ झझल्को ।।
थुनिन्छ भित्र झ्याल पंखा छैन गुम्सिने बाफले ।
रोकिन्छ सास धुलो र धुवाँ मोबिलको खारले ।।

रुँदाछन् बच्चा फकाउँछन् आमा लोहोरी गाएर ।
बुढा छन् पाका कराउँछन् आइया मारो नि भनेर ।।
ठेल्दछ मान्छे पछाडि भन्दै अश्लिल बोलेर ।
कोच्दछ मान्छे सिट छ भन्दै हुल्दछ तानेर ।।

लगाउँछ ब्रेक घच्याक्क रोक्छ छ धुलो बेस्सरी ।
मर्किन्छ ढाड दुख्दछ जीऊ पुग्ने हो कसोरी ।।
हुइक्याउँछन् झ्वाट्ट दोडिन्छ वेगले साँगुरो घुम्ती छ ।
खाइदिन्छन् झोल झोकिन्छन् चालक धमिलो बत्ती छ ।।

वमिट गर्छन् गनाउने कुरा लाग्दोछ जीउभरी ।
पग्लेर बग्छन् गनाउने घिऊ फैलिन्छ भुईँभरि ।।
यस्तो छ व्यथा पहाडी यात्रा जनता बिचरा ।
दुख छ यता गाउँघरको यात्रा खतरै खतरा ।।

उस्तै छ उता शहरको जात्रा मोटरै मोटर ।
जाम र काम मिल्दैन समय हतारै हतार ।।
सास्ती भो अति सपना खेती गाउँ शहर विकास ।
पार्टी भए कति सोचेनन् कति दुखको निकास ।

दिनहुँ मर्छन् भिरबाट खसी गाडी भए धराप ।।
गाडी छन् थोत्रा हल्लाउने कोक्रा चालकलाई सराप ।
यस्तै हो भने नगरौ हल्ला न तडक भडक ।
गरौँ न सल्लाह सुधारौँ स्तर मोटर र सडक ।।

लगाऊ पर्खाल सडक किनारा पन्छाऊ पहरा भिर ।
बनाऊ नाली तर्काऊ भल जोगाऊ खतरा शिर ।।
गर्ने हो भने सुनौ है कुरा गाउँले जनताका ।
सुधार बाटो पठाऊ मोटर सिट भाका फराक ।।

नहुन टुहुरा न हुन कोइ अनाथ बाटोका कारणले ।
नहुन विधवा न रित्तियोस काख यात्राकै मरणले ।।
सरर गुडने सोझा र चिल्ला पिच सडक बनाइदेऊ । 
मजबुत र सहज खुकुलो हुने बस टडक चलाइदेऊ ।।
अनन्त कुमार पौड्याल 
हाल डोटी ।

सूचना, सन्देश, बिज्ञापन 







+




+++






No comments:

Post a Comment