Tuesday, December 18, 2018

बिम्ब साप्ताहिक, २०७५ साल पुष ३ गते

“खुलेर बोलौं, बिभेद राकौ”
‘महिला हिंसा बिरुद्ध शुन्य सहिष्णुता कायम गरौं, 
दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौं’ 
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

भूमीहिन जंगेलाई “घ” बर्गको परिचय पत्र

रामहरी ओझा/डोटी
पुष २
परबाजे (बुवाका बाजे) देव भुल, बाजे मन्धिरे भुल, बुवा गोरे भुल र आफु गरी चार पुस्तासम्म लगातार हलो जोत्यो जंगे भुलको परिवारले । न उनीसंग जमिन छ, न आयको कुनै स्रोत छ । एकातिर भत्किएको, घरको छाना भएको स्थानीय लाटा देवताको देउघरमा बस्दै आएका छन् उनी । तर सरकारले दिने मुक्त हलिया   परिचय पत्र भने उनलाई “घ” वर्गको अर्थात ‘घर जग्गा दुवै भएको मुक्त हलिया’ भनी परिचय पत्र दिईएको छ । 
पुस्तौंदेखि हलिया बस्दै आएका डोटी जिल्ला सायल गाउँपालिका–१, छपाली बिनेवाडाका ५६ बर्षीय जंगे भुल २०६५ सालमा हलिया मुक्तीको घोषणा भएपछि खुशी भएका  थिए । उनले सरकारबाट केही  राहात पाउने आश गरेका थिए, रोजगारीको पनि आश गरेका थिए तर उनका लागि त्यो मुक्ती  ‘कागलाई बेल पाग्यो हर्ष न बिस्मात्’ जस्तै भएको छ । 
पुस्तौंदेखि हलो जोत्दा समेत उनको ऋण मिनाह नभएपछि उनले एक पटक त साविकको छपाली गाउँ विकास समितिमा आफ्ना मालिकको बिरुद्ध उजुरी समेत गरेका    थिए । २०६५ साल भाद्र २१ गते सरकारले ऋण मिनाह सहितको हलिया मुक्तीको घोषणा गर्दा उनले मालिकको ऋण तिर्नु परेन । तर, उनलाई ऋण तिर्न दवाव भने पछिसम्म पनि आयो । 
पुस्तौंदेखि भूमिहिन जंगेको परिवारले यस पटक मुक्त हलिया पुनस्र्थापनाको सरकारी कार्यक्रमबाट घर मर्मतका लागि भन्दै एक लाख २५ हजार सहयोग पाउने भएका छन् तर जंगे जस्तै भूमिहिन मुक्त हलियाहरुले भने जग्गा खरीद र घर निर्माणका लागि भन्दै पाँच लाख २५ हजार रुपैयाँ पाउदै छन् ।
कसरी भयो यस्तो ? 
‘गाउँमा नयाँ मान्छे आएका थिए, यो घर कस्को हो भनेर सोधे मैले मेरो हो भनेको हुँ’ जंगे भन्छन् ‘उनीहरुले मेरै घर सोचेर “घ” बर्गको परिचय पत्र वनाएछन् ।’ आफुलाई धेरै कुरा जानकारी नभएको उनी  बताउँछन् । उनी थप्छन् ‘घर जग्गा दुवै भएका व्यक्तिहरुले भूमिहिन भन्दै “क” बर्गको परिचय पत्र पाएको छ भन्ने सुनेको छु, मेरा त बोलिदिने कोही भएन, अनि यसो भयो ।’ उनी एउटै घरमा दुई÷तीन जनाले समेत “क” वर्गको परिचय पत्र पाएको आफुले सुनेको बताउँछन् ।
जंगेको कहालीलाग्दो जीवन
जंगेकी जीवन साथी हिरा भुलको निधन भएको करीव १२ बर्ष भयो । उनका जेठा छोरा ईन्द्र तीन बर्षदेखि सम्पर्कमा छैनन् । उनी कता छन्, छन कि छैनन्, यस बारेमा जंगेलाई जानकारी छैन । 
२२ बर्षीया छोरी भानुमति  आँखा देख्दिनन् । आँखा नदेख्ने भएकै कारण उनको बिहे पनि हुन सकेको छैन । भानुमति मात्रै होईन जंगेका कान्छा छोरा १८ बर्षीय भक्त भुल पनि आँखा देख्दैनन् । जन्मजात अपाङ्गता भएका दुवै छोराछोरीको स्याहारको जिम्मा जंगेको काँधमा छ ।
आफु र छोराछोरीको छाक टार्नका लागि जंगे अचेल गाउँमा साँझ विहान पानी खोल्ने बन्द गर्ने काम गर्छन । करीव एक सय ५० दलित परिवार रहेको बिनेवाडा गाउँको खानेपानी खोले बाफत उनले बर्षको दुई पटक अन्न पाउने गर्छन । ‘जेठ र कात्तिकमा गरी दुई पटक प्रति परिवार तीन माना अन्न दिन्छन्’ स्थानीय धनवहादुर नेपालीले भने ‘यसैबाट उनको गुजरा चलेको छ ।’ उनलाई छोराछोरी पाल्न सजिलो होस् भनेर नै यो निर्णय गरेको नेपाली बताउँछन् ।  
जंगेका भाई ४९ बर्षीय लाले पनि अविवाहित छन् । उनको पालन पोषणको जिम्मा पनि जंगेकै भागमा छ । 

सम्पादकीय

सुदूरपश्चिम प्रादेशिक महोत्सव सफल होस

डोटी चेम्वर अफ कमर्सले डोटीको दिपायलमा सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना गर्ने भएको छ । पर्यटन, व्यापार, उद्योगको विकासका साथै कला संस्कृतिको संरक्षणका लागि भन्दै आयोजना गर्न लागिएको उक्त महोत्सवको सफलताको शुभकामना छ । 
डोटीमा महोत्सव नौलो कुरा होईन । बिगतका बर्षहरुमा पनि महोत्सव भएका हुन । “डोटी महोत्सव” नामाकरणबाट सुरु भएको यो अभियान सुदूरपश्चिम क्षेत्रीय महोत्सव हुँदै प्रादेशिक महोत्सवमा यस अघिनै पुगेको कुरा सवैलाई जानकारी नै छ । त्यसैको निरन्तरता यो महोत्वस पनि हो । भलै आयोजना संस्था यसपाली फेरिएको छ, विगतमा डोटी उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्ने गरेको थियो, यस बर्ष डोटी चेम्वर अफ कमर्सले यो महोत्सवको आयोजना गर्ने तयारी गर्दैछ । बिगतका महोत्सवहरु असफल भएर यस पाली नयाँ संस्थाले महोत्सवको आयोजना गर्न लागेको भने पक्कै पनि होईन होला । बिगतका महोत्सवहरुमा पनि दर्शकहरुको राम्रो उपस्थिति थियो, आकर्षक साँस्कृतिक प्रस्तुतिहरु थिए, राष्ट्रिय कलाकारहरुको उपस्थिति थियो, स्टलहरुको संख्या पनि राम्रै थियो । आयोजक संस्थाको आँकडा अनुसार व्यापार व्यवसाय पनि राम्रै भएको थियो । व्यापार व्यवसायको विकास र कला संस्कृतिको संरक्षणका हिसावले राम्रै भएको थियो । 
तर, के बिगतका महोत्सवहरु प्रादेशिक हुन सके त ? के दार्चुलाको उत्पादनले महोत्सवमा बजार पायो त ? के बाजुराको उत्पादनले बजार पायो त ? के कैलालीको संस्कृतिको संरक्षण महोत्सवले गर्न सक्यो त ? पक्कै पनि सकेन । कला संस्कृतिको नाममा छाडा प्रस्तुतीहरु भए, स्थानीय उत्पादनका नाममा भारत र चिनमा बनेका सामग्रीहरुले बजार पायो । अहिलेको आयोजकले पनि प्रादेशिक महोत्सव भन्दैछ । माथीका यि कुराहरु पुरा हुन्छन् त ? नौ वटै जिल्लाको सांस्कृतिक प्रस्तुती दर्शकहरुले महोत्सवमा देख्न पाउँछन् त ? नौ जिल्लाका स्थानीय उत्पादनहरु, स्थानीय परिकारहरु, स्थानीय भेषभुषाहरु के प्रदर्शन हुन सक्छन् त ? बिषय यसमा छ । 
त्यसकारण आयोजक संस्थाले यि सवै बिषयहरुमा बिचार पु¥याउन जरुरी छ । बिगतको आयोजकले यस बिषयमा धेरै अनुभवहरु संगालेको छ, काम गर्ने क्रममा कहाँ के कस्ता समस्याहरु आए, के के कमजोरी भए भन्ने कुराको भोगाई त्यो संस्थासंग छ । यदि त्यो संस्थालाई पनि आयोजक वनाएर जान सकियो भने यसले नयाँ प्रभाव पर्नेछ । व्यापारिक प्रवद्र्धनका लागि क्रियासिल दुवै संस्थाले आयोजक वन्दा यसको प्रभावकारिता बढ्छ । यदि आयोजकै वनाउन नसकिने हो भने पनि त्यो संस्थासंग छलफल गर्नु जरुरी छ । उनीहरुबाट सुझावहरु लिनु जरुरी छ । उनीहरुसंग भएका अनुभव र सम्वन्धहरुको पनि उचित रुपमा प्रयोग गर्न सक्नु पर्छ अहिलेको आयोजकले । जिल्लाको विकासका लागि दुवै व्यापारिक संस्थाहरु संगसंगै छन भन्ने सन्देश पनि दिनु जरुरी छ । 
फेरी पनि डोटी चेम्वर अफ कमर्सले आयोजना गर्न लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवले यस क्षेत्रको पर्यटकीय विकास, संस्कृतिको जगेर्ना, व्यापार व्यवसायमा तरक्की गर्नुका साथै समगू क्षेत्रको विकासका लागि नयाँ गोरेटो पहिल्याउने काम गरोस्, नयाँ नयाँ सम्वन्धको खोजी होस्, चार दिन डिजे वजाएर उफ्रिने महोत्सवमा मात्रै सिमित नहोस् भन्ने कामना छ । महोत्सवले लुकेको संस्कृति र लुकेको क्षेत्र खोज्न सकोस् शुभकामना ।

थप समाचार 

निबृत्तिभरणको रकमले अक्षयकोष स्थापना

गणेश मौनी/डोटी
पुष २
दिपायल सिलगढी नगर–पालिका–६ धनकुमारी जोशीले आफ्ना स्वर्गीय पति गोपालप्रसाद जोशीको स्मृतिमा डोटी बहुमुखी क्याम्पसमा एक लाख २५ हजार रुपयाँको अक्षयकोष स्थापना    गरेकी छन् ।
२०५८ सालमा डोटी बहुमुखी क्याम्पसबाट सेवा निबृत्त भएका स्वः जोशीको २०६३ सालमा देवसान भएको थियो । अक्षयकोषको व्याजबाट आउने रकमबाट स्नातक तहको अनिवार्य नेपाली विषयमा सर्वाेत्कृष्ट अङ्क ल्याउने एक छात्रा र एक  छात्रलाई प्रत्येक वर्ष ‘गोपालप्रसाद स्मृति पुरस्कार’ प्रदान गरिने जोशीले बताईन् ।
उनले भनिन् ‘आफुले त्रिभुवन विश्व विद्यालयबाट पाएको पेन्सनबाट केही रकम बचत गरी शिक्षा क्षेत्रमा समर्पित नेपाली भाषा र साहित्यको उन्नयन चाहने आफ्ना पतिको इच्छा    पूरा गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरेकी छु, यो रकमबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुगोस ।’
२०२० सालदेखि लगभग ४ दशकसम्म अनवरत प्राध्यापन सेवा गरेका गुरुको ज्ञान गरिमाले सिञ्चित दक्ष जनशक्ति आज देशका विभिन्न क्षेत्रमा स्थापित भएका भन्दै स्व गुरुजीको विचार र भावनाको कदर गरेर क्याम्पसले उनीलाई प्रेरणा स्रोतका रूपमा सदैव स्मरण गरिरहने डोटी बहुमखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णबहादुर कठायतले बताए ।
स्व गुरुजीको सादा जीवन र सरल व्यवहारबाट आफु प्रभावित भएको उल्लेख गर्दै गुरुजी मात्र नभएर शिक्षामा महत्वपुर्ण योगदान पु¥याउने र समाजलाई बाटो देखाउने अभिभावक भएको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले बताइन् ।
डोटी क्याम्पसको स्थापना कालमा उनको योगदान महत्वपूर्ण रहेको पाईन्छ उनी स्वार्गारोहण भएको एक दशक भएपनि उनी एक उज्जल नक्षत्र, संस्कृत भाषाका ज्ञाता सधैं अध्ययन र अनुशीलनमा तल्लीन रहने उनको व्यक्तित्व सदैव स्मरणीय र उदाहरणीय रहेको डोटी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन कुमार देउवाले बताए । डोटी क्याम्पसले आयोजना गरेको एक समारोहमा धनकुमारी जोशीद्वारा क्याम्पस प्रमुख कृष्णबहादुर कठायतलाई अक्षयकोषको रकम हस्तान्तरण गरिएको थियो ।

मिलन केन्द्रमा फेरी पौडेल आए

कर्मचारी मिलन केन्द्र डोटीको अध्यक्षमा पुनः शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अनन्तकुमार पौड्याल सर्व सम्मत रुपमा चयन भएका   छन् ।
तेस्रो साधारण सभाबाट नयाँ कार्य समितिमा उपाध्यक्ष भु तथा जलाधार संरक्षण अधिकृत हरिवंश आचार्य, सचिव डिभिजन वन कार्यालय डोटीका रेन्जर सुरेश रोकाया, सह सचिव जिल्ला सरकारी वकिल कार्यालय डोटीका जिल्ला न्यायधिबक्ता पूर्णबहादुर केसी र कोषाध्यक्षमा कृषि विकास बैङ्क डोटीका शाखा प्रबन्धक दीर्घ बहादुर शाह रहेका छन् ।
यसै गरी अन्य सदस्यहरूमा क्रमशः सेती प्राविधिक कार्यालय दिपायलका प्रमुख शालिग्राम डाँगी, सशस्त्र प्रहरी बल दिपायलका नायव उपरीक्षक देवराज जोशी, बडिकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज पाण्डेय, जिल्ला प्रशासन कार्यालय डोटीका कम्प्युटर अपरेटर बिद्या तामाङ, जिल्ला स्वास्थ्य कार्यालय डोटीका सिअहेब उत्तम राज उपाध्याय र शिखर नगरपालिकाका आन्तरिक लेखा परीक्षक अमरबहादुर खड्का चयन भएको नव निर्वाचित सचिव सुरेश रोकायाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पौड्यालले विगतका वर्षमा कर्मचारी मिलन केन्द्रले केही कामै गर्न नसकेको नभई सङ्घीयता कार्यान्वयनको  चरणमा कर्मचारी व्यवस्थापनमा भएको व्यस्तता, फेरबदलले गर्दा सोच अनुसारको काम हुन नसकेको भए पनि आगामी दिनमा जिल्लाको समग्र क्षेत्रको विकासमा टेवा पुग्ने काम गर्ने बताए ।
उनले सबै कार्यालयहरूको सहभागिता रहने गरी घुम्ती शिविर सञ्चालन गर्ने, स्मारिका प्रशासन गर्ने लगायत रचनात्मक काममा निरन्तरता दिनेसमेत बताए ।
कार्यक्रमको उद्घाटन गर्दै कर्मचारी मिलन केन्द्र डोटीका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले    कर्मचारी मिलन केन्द्र डोटीलाई आम कर्मचारीहरूको साझा चौतारीको रूपमा विकास गर्दै रचनात्मक काम गर्नु गर्ने कुरामा जोड दिए । उनले भने– कर्मचारी भनेका जनताका सेवक हौँ, हामीले सेवा प्रवाहलाई छिटो छरितो, चुस्त दुरुस्त बनाउन हरपल प्रयास गर्नुपर्छ ।
सेवा प्रवाहमा प्रभावकारिता आउन सके जनताले विकासको अनुभूति गर्ने समेत प्रजिअ सुवेदीले बताए ।
कार्यक्रममा जिल्ला स्थित सरकारी, संस्थान कार्यालयका कर्मचारी–हरूको सहभागिता रहेको थियो ।

सुदूरुपश्चिम प्रादेशिक महोत्सव हुने

डोटीको दिपायलमा फागुन १७ देखि २७ सम्म सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना हुने भएको छ । 
आयोजक संस्था डोटी चेम्वर अफ कमर्सले सुदूरपश्चिम प्रादेशिक महोत्सव गर्ने जानकारी दिएको छ । सोमवार आयोजना गरिएको ‘प्रादेशिक महोत्वस सम्पन्न गर्न राजनीतिक दलहरुको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा आयोजक संस्थाले सो जानकारी दिएको हो । सुदूरपश्चिमको कला र्सस्कृतिको संरक्षण गर्नका साथै यस क्षेत्रको पर्यटकीय विकासमा समेत सहयोग पु¥याउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको डोटी चेम्वर अफ कमर्सका अध्यक्ष खगेन्द्र वहादुर साउँदले जानकारी दिए । उनले भने ‘प्रदेशका नौ वटै जिल्लाहरुको स्टल राख्ने, सुदूरपश्चिमको साँस्कृतिहरु झल्काउने प्रस्तुतिहरु गर्ने र यहाँको व्यापार व्यवसाय बढाउने हाम्रो लक्ष छ ।’ 
महोत्सवमा करीव एक करोड १६ लाख खर्च हुने र उक्त महोत्सवका क्रममा करीव तीन करोडको व्यापार व्यवसाय हुने कर्मसका महासचिव केशर कठायतले जानकारी दिए । सो अवसरमा दलहरुले महोत्सव सफल पार्न आफुहरु प्रतिवद्ध   रहेको वताए । 
बिगतका बर्षहरुमा डोटी उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको महोत्सव यस बर्ष चेम्वर अफ कमर्सले आयोजना गर्ने भएको छ । डोटी उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने नगर्ने बिषयमा हालसम्म कुनै सूचना सार्वजनिक गरेको छैन । 

२५ बर्षीय गुरुयोजना वनाउँदै दिपायल सिलगढी नगरपालिका

डोटीको दिपायल सिलगढी नगरपालिकाले २५ बर्षीय गुरु योजना निर्माण गर्न थालेको ।
आगामी २५ बर्षसम्मको परिकल्पना सहित नगरपालिकाले गुरुयोजना निर्माण गर्न थालेको हो । गुरु योजना निर्माणका क्रममा नगरपालिकाले वडास्तरीय अन्तरक्रियाबाट सुझाव संकलन समेत गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं विज्ञ प्राध्यापक डा. चन्द्रमणी  अधिकारी नेतृत्वको टोलीले वडास्तरीय सरोकारवालाहरुसंग सुझाव संकलन     गरेको छ । 
नगरपालिकाका सबै वडाहरुमा गएर सरोकारवालाका सुझाव संकलन  गरिएको गुरु योजना निर्माण सम्बन्धि सहयोगी संस्था सामुदायिक विकासका लागि सहकार्य नेपालका अध्यक्ष रामबाबु अधिकारीले बताए । उनले भने ‘यसरी संकलन गरिएका सुझाव, नगरपालिकाको संवैधानिक अधिकार, राष्ट्रिय र स्थानीय तथ्यांकहरुका आधारमा गुरुयोजना तयार गरिने छ ।’
सुझाव संकलनका क्रममा धेरै महत्वपूर्ण सुझावहरु आएका नगर प्रमुख मञ्जु मलासीले वताईन । ‘जिल्ला अस्पतालको स्तरोन्नति, प्रसिद्ध धार्मिक क्षेत्र शैलेश्वरी यथोचित विकास र प्रचारप्रसार, डोटी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षाको शुरुवात र सिलगढीमा रहेका पूराना मोडेलका घरमा होम स्टे संचालन जस्ता सुझावहरु आएका छन्’ नगर प्रमुख मलासीले भनिन् ‘यस्ता सुझावहरुलाई समावेश गरि गुरु योजना वन्नेछ ।’ 
गुरुयोजना मात्रै नभएर तत्कालीक योजना, अल्पकालीन योजना, मध्येकालिन योजना र दीर्घकालीन योजना बनाउन आबश्यक रहेको स्थानीयबासीहरुको भनाई  छ ।

तीन सय ६३ गैसस खारेजीमा

संस्था दर्ता ऐन, २०३४ अन्तरगत डोटी जिल्लामा दर्ता भएका तीन सय ६३ गैरसरकारी संस्था खारेज भएका छन् । 
जिल्ला प्रशासन कार्यालय डोटीमा दर्ता भई लगातार तीन वर्षसम्म नविकरण नभएका संस्थाहरु खारेज भएका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले जानकारी दिए । ‘संस्था दर्ता ऐन अन्तरगत दर्ता भई कामकाज गरेका तर तगातार तीन वर्ष नविकरण नगरेका संस्थाहरु तोकिएको समयमा नविकरण गर्न नआएपछि दर्ता खारेज गरिएको छ’ प्रजिअ सुवेदीले भने ‘नविकरणका लागि जारी गरिएको ३५ दिने सुचनाको म्याद समाप्तीपछि ति संस्थाहरुको दर्ता खारेजीमा परेको हो ।’ दर्ता खारेज हुने संस्थाहरुमा साबिकको जिल्ला विकास समिति अन्तरगत सञ्चालित उपभोक्ता समिति, मठ मन्दिर निमार्ण समिति, जल उपभोक्ता समितिहरु समेत रहेका प्रजिअ सुबेदीले बताए । 
डोटी जिल्लामा दर्ता भएका ६ सय १० गैरसरकारी संस्थामध्ये २०५५ सालदेखि २०७२ सालसम्म नविकरण नगरेका संस्थाहरु खारेजमा परेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष शर्माले बताए । शर्माका अनुसार जिल्लामा संस्था दर्ता ऐन अन्तरगत २०४४ साल देखि संस्था दर्ता गर्ने कार्य सुरु भएदेखि ६ सय १० गैरसरकारी संस्था दर्ता भएका थिए । जसमा पटक पटक गरि चार सय २३ संस्थाको दर्ता खारेज भईसकेको छ । अब जिल्लामा एक् सय ८७ वटा गैरसरकारी संस्था दर्ता रहेका छन् ।
नियमित रुपमा संस्थाले परिपालन गर्नुपर्ने नियमहरु पालना गर्न नसक्दा संस्थाहरु दर्ता खारेमा परेका गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु बहादुर कठायतले बताए ।

छोटकरी समाचार 

चेतनामुलक कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय दलित कल्याण संघ डोटी को आयोजनामा नागरिता अपांग परिचयपत्र सम्बन्धि चेतनामुलक कार्यक्रम सिलगढिमा सम्पन्न भएको छ  । 
नेपाली नागरिकताको प्रमाण पत्र र अपाङ्गता परिचय पत्र पाउनका लागि अपनाउनु पर्ने प्रक्रियाका वारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका केन्द्रीय कार्यक्रम  प्रवन्धक तारक टमटाले जानकारी दिए । दुर्गम गरिब बिपन्न पछाडि परेका अपांग ब्यक्तीलाइ नागरिता र परिचय पत्र सहज होस् भनेर उक्त कार्यक्रम आयोजना गरिएको टमटाले वताए ।

बाली शिविर भयो

डोटी केआई सिंह गाउँपालिका–२ तिखात्तरमा एक दिने बाली शिविर सम्पन्न भएको छ । 
सामुदायिक विकास केन्द्र डोटीद्वारा सञ्चालित पहल परियोजना अन्तरगत उक्त शिविर सञ्चालन भएको हो । शिविरम के आई सिंह र बोगटान गाउँपालिकाका करीव एक सय ३० जना कृषकहरुले बालीमा लाग्ने रोग किरा र त्यसको उपचार बिधिको वारमा   जानकारी पाएको परियोजनाका कृषि प्राबिधिक जयवहादुर शाहीले जानकारी दिए ।
सो बाली शिविरको सहजीकरण के आई सिंह गाउँपालिकाका कृषि प्राबिधिक र परियोजनाका प्राबिधिकहरुले गरेका थिए ।

खेल समाचार 

फुटवल सुटआउट पेनाल्टी खेल हुने


कैलारी गाउँपालिकामा फुटवल पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ ।
‘हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान’ भन्ने नाराका साथ माघी पर्वको अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो । फुटवल प्रतियोगितासंगै थारू सांस्कृतिक प्रदर्शनी हुने भएको छ ।
फुटवल प्रतियोगिता तथा थारु सांस्कृतिक प्रदर्शनी मेला आयोजक समितिले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । 
आयोजक समितिका संयोजक पञ्चराम चौधरीले थारूले संंस्कृतिको    संरक्षण तथा प्रवद्र्धन र स्थानीय स्तरमा  रहेका खेलप्रेमी तथा खेलाडीहरूको पहिचान गर्न सो प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने ‘यो मेलाले स्थानीय व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नेछ ।’ फुटबल सुटआउट प्रतियोगितामा ३० बर्षभन्दा माथीका खेलाडीहरुलाई मात्रै सहभागि गराईने आयोजक समितिले जनाएको छ । पुस ३० गते आयोजना हुने प्रतियोगितामा ४० टीमको सहभागिता  रहने जनाइएको छ । 
संयोजक चौधरीका अनुसार प्रतियोगितामा प्रत्येक टिमबाट ६ जना खेलाडीले भाग लिन पाउने छन् । जसमा एक जना गोल किपर र पाँच जनाले मात्र पेनाल्टी सुटआउट हान्न पाउने छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई एक लाख एक हजार एक सय ११ र दोस्रो हुने टिमलाई ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, वेष्ट किपर र वेष्ट स्कोररलाई जनही पाँचरपाँच हजार नगद पुरस्कार प्रदान गरिने छ । खेल फिफाको नियमानुसार खेलाइने छ । प्रतियोगितामा प्रवेश शुल्क पाँच हजार तोकिएको आयोजकले जनाएको छ ।

शक्तिले लिए क्रिकेट यात्रावाट बिदाई

रासस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् ।
नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् ।
त्यतिबेला गौचनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका थिए । सोहीअनुरुप यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजबाट शनिबार चितवन टाइगर्स्विरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका हुन् । इपिएल क्रिकेटमा पोखरा राइनोजबाट खेलेका शक्तिले चितवनविरुद्ध अन्तिम खेल खेलेका हुन् ।
बिदाइ हुँदै गर्दा शक्ति निकै भावुक देखिएका थिए । उनले पत्रकारसँग कुरा गर्दै अब आफ्नो सक्रियता क्रिकेटको विकास र प्रशिक्षणमा रहने बताए ।
‘टी–२० विश्वकपदेखि एकदिवसीयसम्म हरेक ठूला प्रतियोगिता सधैँ मेरो स्मरणमा रहिरहने छ । हरेक समय हामीले एकअर्कालाई सहयोग गरेर राम्रो क्रिकेट खेल्ने प्रयास गरिरहृयौं । ती हरेक कुराहरु मलाई याद आइरहने छन’ शक्तिले भने । सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्ति नेपाली क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ, त्यसका अभिन्न अङ्ंग हुन् उनी । नेपालले हात पारेका हरेक उपाधिमा शक्तिले आफ्नो उपस्थिति बलियो देखाएका छन् । सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा शक्तिले गरेको प्रदर्शनलाई लिएर उनले शक्ति ‘द पावर’ को उपमा पाएका थिए ।
सन् २०१० को एसियन गेम्सदेखि करिब डेढ वर्ष टोलीमा नपरेका शक्तिले त्यसपछि अझ सशक्त पुनरागमन गरेका थिए । उनले सन् २०१२ मा भएको आइसिसी टी–२० विश्वकपको विश्वस्तरको छनोटमा १६ विकेट लिएर प्रतियोगिताकै सर्वा्धिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका थिए । उनले डेनमार्कविरुद्धको खेलमा ह्याट्रिक समेत गरेका थिए । अन्तराष्ट्रिय क्रिकेट ह्याट्रिक गर्ने उनीमात्र एकजना नेपाली खेलाडी हुन् ।
सोही वर्ष भएको एसिसी ट्रफीमा उनले १५ विकेट लिए भने डिभिजन चारमा १० विकेट हात पारे । डिभिजन चारअन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा उनले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए ।
सन् २००१ मा यू–१७ राष्ट्रिय टोलीमा समावेश हुँदै अन्तरा्िष्ट्रय प्रतियोगिता खेल्न थालेका शक्तिसँग यू–१९ स्तरको विश्वकप समेत खेलेको अनुभव छ । उनी अन्तराष्ट्रिय क्रिकेटमा १० पटक प्लेयर अफ दि म्याच घोषित भएका छन् । सिनियर अन्तराष्ट्रिय किकेटमा शतक प्रहार गर्ने थोरै नेपाली खेलाडीको सूचिमा शक्तिको पनि नाम छ । भैरहवाका लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए । मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यू–१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए ।
शक्तिले भैरहवामा क्रिकेट एकेडेमी चलाएका छन् । शक्ति प्रायः अरुका नकारात्मक कुरा कोट्याउँदैनन् । ‘शक्ति एकदमै उत्कृष्ट खेलाडी हुन्’ राष्ट्रिय टोलीका कप्ता पारस खड्काले भने, ’उनी सिनियर क्रिकेटर हुन् । शक्तिले धेरै उदाहरणीय कामहरु गरेका छन् । मैले चिनेका क्रिकेटरहरुमा शक्ति जति मेहनती कोही देखेको छैन ।’

चलचित्र/मनोरञ्जन 

‘ए मेरो हजुर ३’ मा सुहाना

फिल्मी खवर
अभिनेता अनमोल केसी र निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ मा पहिलो पटक स्क्रिन साझेदारी गरेका छन् । चैत २९ मा प्रदर्शनमा आउने तय भएको फिल्मको अहिले धमाधम छायांकन भइरहेको छ । केही दिन अगाडि ’कामना अवार्ड’ मा अनमोलले अवार्ड चुमेको दृश्य खिचिएको थियो । 
हालै मनाङमा फिल्मको दुई गीत खिचेर निर्माण टिम काठमाडौं ‘ब्याक’ भएको हो । प्रतिक अधिकारी र आशिष अविरलको स्वर तथा राहुल शाहको कोरियोग्राफी रहेको गीतमा अनमोल र सुहाना फिचर्ड छन् । गीत छायांकनका केही अचल तश्बिरहरु निर्माण टिमले रिभिल गरेको छ । तश्बिरमा दुईको केमेस्ट्री कमालको देखिएको छ । 
रोमान्टिक अनमोलसँग सुहाना निकै बोल्ड देखिएकी छन् । सार्वजनिक सात तश्बिरले दर्शकमा फिल्मप्रति अझ उत्सुकता बढाउने देखिएको छ । मनाङमा सुहानाको एक सोलो गीत पनि खिचिएको छ । फिल्ममा अनमोल एक सेलिब्रेटी र सुहाना एक फ्यानको भूमिकामा छन् । यसलाई म्यूजिकल लभस्टोरी बताइएको छ । उक्त फिल्मलाई निर्देशक झरना थापाले निर्देशन गरेकी छन् । 
सुनिल कुमार थापाले यसलाई निर्माण गरेका छन् । फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ । 

“शुभ लभ’ चैत्र १५ मा आउने

फिल्म ‘शुभ लभ’ चैत्र १५ गते सार्वजनिक हुने भएको छ । 
पुराना निर्माता तथा निर्देशक सन्तोसबाबु लोहनीको निर्देशनमा निर्माण भईरहेको ‘शुभ लभ’ को आईतवार फस्ट लुक सार्वजनिक गरिएको छ । हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा सम्वादमा निर्माण हुन लागेको उक्त फिल्ममा अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन र रोशनविक्रम भट्टराईको द्वन्द्व रहेको छ  । फिल्मको बनिष शाह र भुपेन्द्र      अधिकारीले सम्पादन छ । 
आईतवार सार्वजनिक फिल्मको फस्टलुकमा फिल्मका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेललाई प्रस्तुत गरिएको छ । फस्टलुकमा हरिहर र कृष्टिनको रोमान्टिक अवतारलाई प्रस्तुत गरिएको छ । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् । 
फिल्ममा हरिहर र कृष्टिनका अलावा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा लगायतका कलाकार छन् ।

लेख 

हामी कम्युनिष्टले राजनीतिलाई कस्तो बनायौं ?

धनश्याम भुषाल
एउटा क्याम्पसमा स्ववियू सभापति भइसकेका मेरा एक साथी अहिले व्यापारमा छन् । केही दिनअघि एक÷दुई पेग ह्विस्की लिएपछि उनले मलाई सोधे– भुसालजी, जुन वर्गका लागि हामी राजनीतिमा लागेका थियौं । पार्टीमा त त्यो वर्ग नै छैन । कहाँ गयो त्यो वर्ग ? मलाई उनको त्यो प्रश्नले अहिले पनि रन्थनाइरहन्छ । ती साथी व्यापार गर्छन्, एक हिसाबले भन्दा दलाल पुँजीको फन्दामा छन् । तर उनले मलाई सोधेको प्रश्न ‘मिलियन डलर’ को थियो ।
जुन वर्गका लागि संघर्ष गरेको त्यो वर्ग नै छैन भन्नुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा एउटा नयाँ वर्ग सिर्जना भएको बुझाउँछ । यो यस्तो वर्ग हो जो दलाल पुँजीवादको जुत्ता र समाजवादको टोपी लगाउँछ । समाजवादको टोपी लगाएर हुने फाइदा लिन्छ । तर दलाल पुँजीवादले जता लैजान्छ त्यतैको बाटो हिँड्छ ।
हिजो तल परेकाका माथिल्लो वर्गसँग द्वन्द्व थियो । हिजो तल परेका मानिसहरू आज माथिल्लो वर्गमा आएका छन् । अनि उनीहरूको द्वन्द्व तल्लो वर्गसँग छ । पार्टीमा जब शोषण, दमनको विरोध र अलिक समाजवादीकरण गर्ने कुरा आयो कि त्यो वर्गले यस्ता नारा, कार्यक्रम र प्रयत्नलाई निष्क्रिय पारिदिन्छ । यही खतरनाक खालको वर्ग अहिले उत्पन्न भएको छ ।

यतिबेला वाम समस्या (यसमा नेकपा भनौं) र समाधान शीर्षकमा दिनदिनै कार्यक्रम हुनु पर्ने हो । किनभने वामआन्दोलनमा हामीले कैयौं चुनौती देख्न थालेका छौं, जसमा बहस आवश्यकता छ । एक लाइनमा भन्दा त्यो चुनौती हो– लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी ।
यसभित्रको लोकतान्त्रिक स्थिरता राजनीतिक पाटो हो । कार्यक्रमको पाटो भने राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी हो । यतिबेला हामी विकासको कुरा गरेर लोकतन्त्रको कुरा छाड्न सक्दैनौँ । अनि लोकतन्त्रको कुरा गरेर स्थिरताको कुरा छाड्यौं वा लोकतान्त्रिक स्थिरता र विकासको कुरा गरेर समाजवादको विषय छाड्यौं भने आजको कार्यभार अपूरो हुन्छ । त्यसैले एकसाथ लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्नुपर्छ । मुलुकमा परिवर्तन आएको बखतमा समेत हामीले संरचनात्मक हिसाबले राज्य नयाँ बनाउन सकेनौं । राजा दलाल पुँजीवादको नेता भनिसकेपछि पनि हामी त्यही जुत्ता लगाएर टोपी फेर्दै हिँडिराखेका छौं ।
दलाल पुँजीवादको जुत्ता !
राजाको जुत्ता कहिले कांग्रेसले लगायो । कहिले कम्युनिष्टले लगायो । तर हिँड्ने बाटो एउटै भयो । हामीले अहिले फेर्नु पर्ने नै यही कुरा हो । यो फेर्नु र लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्नु चुनौती हो । यसैका आधारमा हामीले समाधानको उपाय खोज्नुपर्छ ।
नेकपाभित्रै पनि अहिले वामपन्थ विकसित नभई नहुने भएको छ । किनभने पार्टीमा वामपन्थ बाँच्दैन कि भन्ने चिन्ता छ । साहित्यमा बाँच्ला । नाटकमा बाँच्ला । समीक्षामा बाँच्ला । तर सडकमा, खेत खलियानमा,        राज्यमा, स्थानीय तहमा, हाम्रो विदेश नीतिमा बाँच्दैन । अहिले नेकपाका लागि ऐतिहासिक अवसर छन् ।
पहिलो, निरन्तर विस्तारित वामजनमत ।
किन वामजनमत विस्तारित भएको छ भन्ने अर्थ राजनीति र भूराजनीतिक पाटोमा पछि बहस गरौंला ।  पटक पटक विभाजित भएर पनि जनमत यसका वरिपरि छ । तथ्य के हो भने यो निरन्तर विस्तारित   भैराखेको छ । 
दोश्रो, संसदीय राजनीतिमा पार्टीले प्राप्त गरेको भोट र राजनीतिक मत । संसदमा दुई तिहाइ उपस्थिति । ६ प्रदेशमा सरकार । यो नेकपाका लागि अवसर हो ।
तेश्रो, राष्ट्रिय संगठन । यतिबेला संगठनका हिसाबले नेकपामा ठूलो जालो छ । पार्टीका जरा सामाजिक जीवनमा छन् । वन उपभोक्ता समिति, कुलो पानी उपभोक्ता समिति, वस्ती, टोल, छिमेकदेखि कर्मचारीसम्मका सामाजिक जीवनका तमाम क्षेत्रमा विस्तार भएको छ ।
चौंथो, शान्तिपूर्ण आन्दोलनको प्रक्रियाबाट साथसाथै विद्रोहबाट आएका, उथलपुलथ गराएका, नेता कार्यकर्ताको ठूलो पंक्ति नेकपासँग छ । दुई वटै आन्दोलन पार गरेका हजारौं मान्छेको अनुभवबीच फैलिनु अर्को अवसर हो ।
पाँचौं, अहिलेको संविधान । लोकतान्त्रिक स्थिर–ताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारीका लागि धेरै ठूलो अवसर संविधानले जुटाएको  छ । त्यसले घोषणा नै गरेको छ–देश समृद्ध हुन्छ र समाजवाद उन्मुख हुन्छ । अझ संविधानमा राखिएका मौलिक हकमार्फत् समाजलाई, राजनीतिलाई समाजवादीकरण गर्ने अवसर संविधानले दिएको छ ।
यद्यपी संविधानवादका हिसाबले यो समाजवादी हो कि गैरसमाजवादी भन्ने बहस गर्ने ठाउँ भने प्रशस्त छ । तर, समाजवाद निर्माण गर्छौं भन्ने पार्टीका लागि संविधान ठूलो अवसर हो । 
छैठौं, भूराजनीति यतिबेला हाम्रालागि डरलाग्दो चुनौती भैराखेको छ। तर अर्को अर्थमा मैले यसलाई अवसर देख्छु । यदि स्थिर लोकतान्त्रिक वामपन्थी सरकार हुने र भित्र त्यस्तै संगठन निर्माण हुने हो भने त्यो अवसर बन्न सक्छ । अझ संगठन एकतावद्ध बनाउने हो भने यसले भूराजनीतिक अवस्थितिलाई सामना गर्छ ।
सातौं, नेकपाले यतिबेला सैद्धान्तिक रूपमा लोकतान्त्रिक बाटोबाट जान स्वीकार गरेको छ। कार्यक्रमका हिसाबले राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने विषयलाई स्वीकारेको छ । यसमा विवाद  छैन । हाम्रो भूराजनीति अवस्थितिबीच यत्रो ठूलो नेकपाभित्र कार्यदिशामा सैद्धान्तिक सहमति हुनै नै पनि ठूलो विषय हो ।
अब नेकपाका आन्तरिक चुनौती हेरौं ।
नेकपा मूलतः दुई पार्टी (एमाले र माओवादी) मिलेर बनेको छ । तर यो पार्टीमा लामो समयदेखि सैद्धान्तिक विषयले महत्वपूर्ण स्थान पाएन ।
खासगरी २०५१ मा सरकारमा गएपछि तत्कालिन नेकपा एमाले सत्ता राजनीतिको फन्दामा फस्दै गयो । एकपछि अर्को  गरी फसिरह्यो । त्यहाँ जनताको बहुदलीय जनवाद (जबज) बारे पनि यथेष्ठ छलफल भएन ।
जबज कसरी आयो ? विकासका आधार के थिए ? ऐतिहासिकता के थियो ? कुन बिन्दुमा आएपछि  बहुदलीय जनवादलाई सिद्धान्त र कार्यक्रमका रूपमा स्वीकार गर्नुप¥यो ? यसको विकास अब कसरी अगाडि बढ्छ ? जस्ता प्रश्नमा छलफलै भएन । ’हाम्रै राजा ठूला छन्, हाम्रै देश विशाल’ भनेर बच्चामा नारा लगाउन लगाए जस्तो भयो ।
हामी बहुदलीय जनवादको अन्तर्यमा कहिल्यै  गएनौं । जनताको बहुदलीय जनवाद सत्तामा जान हाम्रा लागि सजिलो भ¥याङ बन्यो । जबज देखाउने, लोकतन्त्रको कुरा गर्ने र सरकारमा जाने बाटो एमालेले बनायो । अब हिजोको माओवादीमा हेरौं । नेपालमा हाम्रै आँखाअगाडि लोकतान्त्रिक विकास भैसकेपछि माओवादीले जनयुद्ध सुरू ग¥यो । अन्ततः लोकतान्त्रिक प्रक्रियामा आयो । यसरी ठूलो गोलचक्कर लगाएर त्यही ठाउँमा आउँदा ऊ पटकपटक बदलियो । यसबाट ऊभित्रको सैद्धान्तिक  अस्थिरता देखिन्छ ।
१५ वर्षको गोलचक्करबाट ऊ लोकतान्त्रिक अभ्यासमै आइपुग्यो । ‘यो साना दुःखले फक्र्याको होइन, ठूलै दुःखले फक्र्याको हो ।’ यस दौरान माओवादी धेरै पटक परिवर्तन भयो । स्थिरता भएन । अथवा सापेक्षित स्थिरता नहुनु नै उसको चरित्र बन्यो । माओवादी के हो भन्दा पनि के हुँदैछ माओवादी भन्ने प्रमुख प्रश्न भयो । किनभने माओवादी यो हो भनेर मानिसले चिन्ने बेला ऊ अर्को थोक भइसकेको हुन्थ्यो । सैद्धान्तिक रूपले      अस्थिर ।
यसरी हेर्दा दुबै पार्टी आन्तरिक रूप, धरातल र प्रशिक्षणमा अन्त्यन्त कमजोर छन् । माओवादको जनयुद्धमा औचित्य के रह्यो भन्यो भने अहिले सबैभन्दा गाह्रो प्रश्न बन्न पुग्छ । एमाले सरकारमा सहभागी हुन थालेको २८ वर्ष भयो । हाम्रा नेताहरू मन्त्रिपरिषद्को बैठकमा गएका २८ वर्ष भए तर देशको राजनीतिक संस्कृतिमा हामीले गरेको योगदान के हो भनेर सोध्यो भने ती नेताहरूले त बताउलान्, तर हामीलाई गाह्रो हुन्छ । त्यसरी हेर्दा सैद्धान्तिक मामिलामा वाम आन्दोलन कमजोर भयो । गुट विकास भयो । जसले अहिले नश्लिय रूप धारण  गरेको छ ।  पार्टीभित्र आफ्नो गुटको हो कि होइन भनेर खकार, रगत टेस्ट गर्ने अवस्था भयो । धेरै टेस्ट पूरा  गरेपछि सर्वांग गुटले ओतप्रोत भएपछि मात्र कम्युनिष्ट पार्टीमा लाग्न योग्य बन्ने अवस्था भयो ।
अहिले पार्टी सदस्यको मूल्यांकन पार्टीले गर्दैन । गुटका साना गिरोहले गर्छन् । गुटका मठाधिशले गर्छन् । यो अचानक भएको होइन । आमाको कोखबाट जन्मदै कोही अलोकतान्त्रिक हुन जन्मिएका होइनन् । तर यो असैद्धान्तिक हुने प्रक्रियामा गुट बलिया बन्दै गए ।
दलाल पुँजीवादले गर्दा यो बीचमा सरकारमा जाने र आउने, जाने र आउने अनि जान चाहिरहने क्रममा पार्टी्भित्र नयाँ वर्ग जन्मिएको छ । यतिबेला राष्ट्रपति कम्युनिष्ट हुनुहुन्छ । मेरो भनाइको मतलब उहाँले कम्युनिष्टको जातै फेरेको होइन होला भन्ने हो । तर कम्युनिष्ट राष्ट्रपति बन्दा कसैलाई घुँडा टेकाउन हुन्छ कि हुन्न ? के गर्नुपर्छ, के गर्न हुन्न ? हाम्रा ठूला नेताको बोली हेरौं ।
अहिले पार्टी कमिटीले श्रद्धाञ्जली दिँदा ’बैकुण्ठ बास होस्’ भन्ने शब्द छुट्दैनन् । झट्ट हेर्दा यो सामान्य कुरा हो । गैरवामपन्थीका लागि त अति नै सामान्य   कुरा हो । किनभने चलनचल्तीको कुरा  हो । तर यहाँबाट विषय प्रवेश हुन्छ । नेकपाका कमिटीले अहिले क्रान्तिका कति काम गर्छन् अनि ‘स्वस्थानी’ का कति काम गर्छन् ? वास्तवमा स्वस्थानीको काम बढ्ता गर्छन् । सँधै स्वस्थानी, सधैँ स्वस्थानी, मन्दिर र भोट गर्दा तिनीहरू वैचारिक रूपमा विचलनमा गएका छन् ।
वास्तवमा विचारको परिभाषा तपाईं कतापट्टि उभिनुहुन्छ भन्ने प्रश्नबाट हुन्छ । हेर्दा यो सामान्य कुरा हो । एउटा गरिब छ, एउटा धनी छ । तपाईं कता उभिनुहुन्छ ? एउटा दलित छ, एउटा गैरदलित छ । सामान्य अवस्थामा तपाईं कता उभिनुहुन्छ ? एउटा जनजाति छ, अर्को गैरजनजाति छ । तपाईं कता उभिनुहुन्छ ? महिला छिन्, पुरुष छ, आजको समाज छ । ठ्याक्कै तपाईं कता उभिनुहुन्छ ? केहीले सजिलो जवाफ दिन सक्छन् – मान्छेको ठाउँमा उभिन्छु ।
तर प्रश्न त आजको महिलाको पक्षमा उभिनुहुन्छ कि पुरुषकोमा भन्ने  हो । दलितको पक्षमा उभिनुहुन्छ कि गैरदलितकोमा भन्ने हो । अहिले नेकपामा मान्छे द्विविधामा छन् – कता उभिने, कता उभिने !
अनि जता फाइदा हुन्छ, त्यतै उभिने खालको अवस्था छ । यो वैचारिक अस्पष्टता डरलाग्दो छ । कता उभिने– घुँडा टेक्नेतिर कि टेकाउनेतिर ? (मैले घुँडा टेक्ने भनेर सांकेतिक भनेको हुँ । व्यक्तिगत होइन ।) दुनियाँले बुझ्ने भएकाले उदाहरण दिएको हुँ ।
हाम्रो बोलीवचनमा अहंकार हुर्कँदै गएको छ । यी सबै कुरा थाम्न नेतृत्व दिनप्रतिदिन अलोकतान्त्रिक हुँदै गएको छ । माथि बस्ने र माथि जो पुग्यो त्यसले निर्णय गर्ने पद्दति बनेको छ । तल कमिटी, छलफल र प्रजातान्त्रिक अभ्यासको कुरै हुन छाडेको छ । यस्ता विषय छलफलसमेत हराउँदै गएको छ ।
गुटबन्दीतर्फ विषयहरू अगाडि बढेका छन् । दलाल पुँजीवादतर्फ अगाडि जाँदै गरेको छ । नयाँ वर्ग निक्लँदै गरेको र असैद्धान्तिक हुँदै गरेको छरपस्ट अवस्था छ । यस्तोमा पार्टीलाई केवल तानाशाहीले अलोकतान्त्रिक लाठीडण्डाले मात्र चलाउन सक्छ । किनभने हामी तर्कसंगत ढंग, विचार र सिद्धान्तमा चल्न छाडिसकेका हुन्छौं । पार्टी अनुशासनले पनि चल्दैन । किनभने अनुशासन त खास उद्देश्य प्राप्तिका लागि बनाइएको विधिगत व्यवस्था हो । जब खास उद्देश्यलाइ नै कमजोर पारिन्छ, त्यहाँ कस्तो अनुशासन खोज्ने ?
नेकपा अहिले लठिभद्र भएको छ । कमजोरी यहाँनेर छ ।
चुनौती सामना गर्ने कसरी ?
पहिलो, वैचारिक रूपमा पार्टी स्पष्ट हुनुपर्छ । माथि उठाइएका प्रश्नमा पार्टीले कहाँ उभिने भन्ने टुंगो गर्नुपर्छ । जुन अहिले टुंगो भएको छैन । यसमा नेतृत्वले बोल्नुपर्छ । आजका वैचारिक प्रश्न के–के हुन् ? हामीले प्रष्ट पार्नुपर्छ ।
सामान्यतः विधिले काम गर्न छाडेपछि चाकरीले काम गर्छ । विचार भनेको चाकरी हुन्छ । यस्ता विषयबाट मुक्त हुने हो भने हामी वैचारिक रूपमा कहाँ उभिने प्रष्ट हुनुपर्छ । यसलाई खगेन्द्र प्रसाईंले ‘लेफ्टाइजिङ द लेफ्ट’ भन्नु भएको छ । अर्थात् वामपन्थको वामपन्थीकरण आवश्यक छ । किनभने मान्छे हामीले समाजवाद ल्याउँछौं भनेर साथ लागेका छन् । त्यसैले हामीले यो पल्टनलाई ‘वामपन्थीकरण’ गर्नुपर्छ ।
कहाँ उभिने भन्ने प्रश्नमा नेताहरूले जवाफ दिनुपर्छ । यो लामो कुरा पनि होइन । यस्ता सात/दश वटा प्रश्नमा जवाफ मात्र दिए पनि ‘नयाँ क्रान्ति’ सुरू हुन्छ । त्यसो गर्न नेतृत्व स्वयं तयार हुनु पर्छ । अहंकार र सत्ताको मोजमस्तीबाट ऊ निक्लनु पर्छ । सम्पूर्ण सत्तालाई क्रान्तिका लागि अवसरका रूपमा लिनु पर्छ । यो मेरा लागि खाने अवसर हो भन्नुहुन्न । मैले भन्ने गरेको छु– कांग्रेसको पालो थियो कांग्रेसले खायो । राजाको पालामा राजाले खाए । तिनकै ठाउँमा म आएपछि भौकै बस्छु ? भन्ने अहंकारले हुन्न । 
त्यसैले वैचारिक रूपमा वामपन्थीकरण हुनु वाञ्छनीय छ । अर्कोतर्फ राष्ट्रिय पुँजीको निर्माण कसरी हुन्छ भन्ने विषयमा तल्ला कमिटीमा समेत छलफल गर्ने लोकतान्त्रिक परिपाटी हुनुपर्छ । पार्टी कमिटीका साथीहरू सोध्छन् – कसरी सैद्धान्तिक बनाउने हो ? मैले जवाफ दिने गरेको छु– बैठकको अजेण्डा सैद्धान्तिक बनाए त पुगिहाल्यो नि ।
हाम्रा अहिलेका बैठकमा टिकट दिने, ठेक्कापट्टा कसलाई दिने र आफूभन्दा तल्ला कमिटीलाई गुटकरण कसरी गर्ने भन्नेबाहेकका अजेण्डामा छलफल भएका छैनन् । कहिल्यै हाम्रो शिक्षा कस्तो हुन्छ, स्वास्थ्यको नीति कस्तो हुन्छ, कसरी गरिबी हटाउँछौं, कसरी रोजगारी श्रृजना गर्छौं, कसरी महिला र पुरुष समान हुन्छन्, कसरी विभेद अन्त्य गरिन्छ भन्ने विषयमा छलफल गरेनौं ।
दलित÷गैरदलित, जाति÷जनजाति÷मधेसी÷पहाडी एकतालाई समानताका आधारमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने हरेक कमिटीको अजेण्डा हुनुपर्छ । हाम्रो विदेश सम्बन्ध कस्तो भयो भने रोजगारी श्रृजना हुन्छ भन्ने अजेण्डा कमिटीमा हुनुपर्छ । त्यसलेमात्र सैद्धान्तिक पार्टी बन्ने प्रक्रिया सुरू हुन्छ । त्यसले मात्र राजनीतिक र कार्यक्रमिक क्षेत्रमा सरकारलाई लोकप्रिय बनाउन सक्छ । सबै जनताले यो सरकारका वरिपरि ¥याली गर्ने कुरा राजनीतिक र सांगठनिक रूपमा चुनौती हो । लोकतान्त्रिक स्थिरताका प्रश्नमा कहीँ न कहीँ कांग्रेससँग पनि स्पेश बाँकी राख्नुपर्छ । यो सरकारलाई सबैको सरकार हो भन्ने हिसाबले राजनीतिक रूपमा अगाडि बढाउनु पर्छ । 
कार्यक्रमिक हिसाबले यो सरकारले बनाएको बजेट, नीति तथा कार्यक्रम, राज्यले खर्च गर्ने पैसाले, विदेश सम्बन्धले र आन्तरिक नीतिले राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ । साथै यी कार्यक्रमले  समाजवादको तयारी गर्नेछ भन्ने ग्यारेन्टी गर्नुपर्छ । बजेट यी छलफलका आधारमा राष्ट्रिय पुँजी निर्माणका लागि बन्नु पर्दछ । सबै मन्त्रालय त्यस दिशामा जानुपर्छ । अहिले हरेक मन्त्री राष्ट्रिय पुँजी निर्माणमा कति लागेका छन् ? समाजवादको तयारीमा कतिको लागेका छन् ? यसमा मानक बनाएर गयौं भने मात्रै हामी अगाडि बढ्न सक्छौं ।
अन्त्यमा, संगठनका हिसाबले राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने लोकतान्त्रिक संगठन पनि चाहिन्छ । यस्तो संगठनमा हरेक मान्छे कमाएर खाने र राज्यलाई कर तिर्ने हुनुपर्छ । जनता करप्रति जागरूक र सजग रहन्छन् । जब मैले तिरेको कर समाजवाद निर्माणमा गयो कि गएन भन्ने हेर्छन् । राष्ट्रिय पुँजी निर्माणमा गएको छ कि छैन भन्नेमा हरबखत सचेत हुन्छन् । तबमात्र सशक्त र लोकतान्त्रिक संगठन निर्माण हुन्छ । माथिबाट थोपरेर हुँदैन ।
आफ्नो विषयमा निर्णय गर्न हरेक कमिटीले पर्याप्त स्वतन्त्रता र लोकतान्त्रिक स्पेश प्राप्त गर्नुपर्छ । यस्तो अवस्थामा मात्रै हामी अगाडि बढ्न सक्छौं ।
(नेकपा स्थायी समिति सदस्य भुसालले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा राखेको धारणाको सम्पादित अंश)
— सेतोपाटी अनलाईनबाट


लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. ‘हामी जे बन्न सक्थ्यौं त्यो वन्नका लागि अझैं कत्ति पनि ढिला भएको छैन ।” भन्ने बिचारक को    हुन् ? — जर्ज ईलियट 
२. अन्तराष्ट्रिय श्रम संगठन (International Labour Organization-ILO) को प्रधान कार्यालय कहाँ छ ?  — जेनेभा
३. राष्ट्रपति बिद्यादेवी भण्डारी पोल्याण्डमा आयोजित जलबायु परिवर्तनसम्वन्धी नेसनल फ्रेमवर्क कन्भेन्सन (कोप–२४) सन् २०१८ डिसेम्वर २–१४) मा सहभागी हुने सन्दर्भमा कहिले जानु भयो ? 
— बि.सं. २०७५ मंसिर १५ (मंसिर २० गते फर्किनु भएको) 
४. नेपाल र कम्वोडियाबीच द्विपक्षीय हवाई सम्झौता कहिले भयो ? 
— बि.सं. २०७५ मंसिर १३ (सन् २०१८ नोभेम्वर २९) 
५. महिला साफ च्याम्पिएनसीप फुटवल प्रतियोगिताको पाँचौं संस्करण कहिले र कहाँ हुने भएको छ ? 
— बि.सं. २०७५ फागुन २८–चैत्र ८ (सन् २०१९ मार्च १२–२२, बिराटनगर (नेपाल) 
६. जर्जियामा सन् २०१८ नोभेम्वरमा सम्पन्न निर्वाचनमा त्यहाँको पहिलो महिला राष्ट्रपतिका रुपमा चयन हुन सफल महिला नेतृ को हुन् ?  — सालोम जुरा बिशभिली 
७. “राजनीति एउटा बिज्ञान हो, जसको उपयोग मानिसको कल्याणका लागि हुनुपर्छ ।” भन्ने बिचारक को हुन ?   — अरस्तु 
८. सरकारले सवै क्षेत्रका श्रमिकलाई लागु हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना कहिलेदेखि सुरु गरेको हो ?   — बि.सं. २०७५ मंसिर ११ 
९. पेट्रोलियम निकासीकर्ता मुलुकको संगठन (ओपेक) बाट अलग हुने घोषणा गरेको राष्ट्र कुन हो ? 
— कतार 
१०. बि.सं. २०७५ मंसिर १७ देखि पौष १५ सम्म ललितपुरमा आयोजति पारा राष्ट्रिय खेलकुद् च्याम्पियनसीपमा कति खेल समावेश छन् ?  — १८ 
११. बिश्व एड्स दिवस कहिले मनाईन्छ ?    — डिसेम्वर १
१२. मंगलग्रहको भित्री बनोटवारे अध्ययन गर्ने योजनाका साथ सन् २०१८ मे मा प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष यान ईन साईट मंगलग्रहको सतहमा कहिले अवतरण भयो ? 
— सन् २०१८ नोभेम्वर २७ 
१३. अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डव्लु वुसको निधन कहिले भएको हो ? 
— सन् २०१८ नोभेम्वर ३० 
१४. नेपालमा हाल एचआईभी÷एड्स संक्रमितको संख्या कति रहेको अनुमान छ ? — ३१ हजार 
१५. ९०–९०–९० रणनीति केसंग सम्वन्धित छ ?  — एड्स रोग 
(युएन एड्स लगायत बिभिन्न संस्थाले एड्सबिरुद्ध सो रणनीति सञ्चालन गरेका, जसअनुसार सन् २०२० सम्ममा एचआईभी संक्रमितमध्ये ९० प्रतिशतले आफ्नो अवस्थाबारे थाह पाउने, तीमध्ये ९० प्रतिशतलाई औषधी उपचारको वारेमा पहुँच हुने र औषधी उपचारमा पहुँच हुनेमध्ये ९० प्रतिशतको शरीरमा संक्रमण नियन्त्रण गर्ने लक्ष निर्धारण गरिएको ।)
१६. सरकारले नेपाल खाद्य संस्थानमा कुन संस्था समेटी राष्ट्रिय आपुर्ति कम्पनी वनाउने निर्णय गरेको   हो ?  — नेसनल ट्रेडिङ लिमिटेड 
१७. ‘समृद्ध नेपाल ः सुखी नेपाली’ नाराका साथ सरकारले आ.व. २०७५÷०७६ को नीति तथा कार्यक्रम कहिले सार्वजनिक गरेको हो ?  — बि.सं. २०७५ जेठ ७ 
१८. नेपाली भाषामा निर्मित पहिलो चलचित्र ‘सत्य हरिशचन्द्र’ हो भने नेपालमा वनेको पहिलो चलचित्र कुन हो ?   — आमा 
१९. अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस कहिले मनाईन्छ ?   — डिसिम्वर ७ 
२०. राष्ट्रिय जलवायु सम्मेलन् २०७५ कहाँ आयोजना गरिने भएको छ ? 
— सिन्धुपाल्चोकको गुफाडाडाँ (बि.सं. २०७५, पुष १६–१८) 
२१. मिस वल्र्डको उपाधी जित्ने सुन्दरी को हुन् ?   — भेनेसा पोन्स डी लियोन (मेक्सिको) 
२२. नेपालको कुन गाउँलाई किवी गाउँका रुपमा घोषणा गरिएको छ ?  
— थुलुङ, दुघकोशी गाउँपालिका 
२३. मानव बेचविखन तथा ओसार पसार बिरुद्धको राष्ट्रिय दिवस कहिले मनाईन्छ ?   — भाद्र २० 
२४. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तर्जुमा गरेको दीर्घकालीन आधारपत्रको नारा के हो ? 
— “समृद्ध मुलुकका लागि स्वस्थ नागरिक”
२५. कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति बिद्यादेवी भडारीद्वारा कहिले प्रमाणिकरण भयो ? 
— बि.सं. २०७५ मंसिर २३ 
२६. शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले कति बर्षे शिक्षा रणनीति तयार गरेको छ ? — २५ बर्षे 
२७. बिश्व बैङ्कद्वारा सन २०१८ डिसेम्वरमा सार्वजनिक प्रतिवेदन अनुसार बिदेशबाट आफ्नो देशमा पैसा पठाउने मामिलामा सवैभन्दा अग्रस्थानमा रहेको राष्ट्र कुन हो ?  — भारत 
२८. डा. अम्वेडकर अन्तराष्ट्रिय अवार्ड २०१८ बाट सम्मानित हुने नेपाली राजनीतिज्ञ को हुन् ? 
— युवा तथा खेलकुद् मन्त्री जगतवहादुर बिश्वकर्मा 
२९. परेवालाई शान्तिको प्रतिक मानिन्छ भने हाँसलाई के को प्रतिक मानिन्छ ?
— न्याय (ढुकुरलाई प्रेमको प्रतिक मानिन्छ) 
३०. हाल बिम्स्टेकको महासचिव रहेका सहिदुल ईस्लाम कुन देशका नागरिक हुन ? — वंगलादेशका

साहित्य/सिर्जना 

भित्ते पात्रो

कसले भन्छ हँ 
निर्जिवमा प्राण हुँदैन भनेर ?
सबैलाई तिथि मिति याद गराउने
एउटा निर्जिव भवनको
निर्जिव भित्तामा 
फाँसी पाएर
घाँटी लट्िकरहेको 
भित्ते पात्रोलाई 
जब म
भित्री कुना
अनि बाहिर आँगनदेखि 
नियाल्छु उसलाई 
लाग्छ मेरो पात्रताको
प्रत्येक पत्र पत्रहरुको
हिसाब किताब गरिरहेछ
पुष्पा जोशी “काली”
धनगढी, कैलाली

स्वतन्त्रता

मैले मेरा आँखालाई छलेर
सुटुक्क अर्कातिर नियाँले
कानले नसुन्ने गरी
साउती गरेर भने
हेर आज म
कति स्वतन्त्र छु
यी दुवै आँखाले
मलाई सताउनसम्म
सताएका थिए
उनीहरुले डो¥याएको दृश्यमात्र
हेर्न विवश थिएँ
उनीहरुले मन पराएकालाई
राम्रो भन्नु पथ्र्यो
रमेको अभिनय गर्नु पथ्र्यो ।
यी कानले कैदी बनाएका थिए
मसम्म आउन नदिई
भँगालो फटाएर आवाजहरुलाई अर्कैतिर
मोडिदिएका थिए
विना रोकटोक आवाजलाई
मेरो मष्तिष्कसम्म पुग्न
कहिलै दिएनन्
सोच्न र स्वरको रश्वादन गर्न
अँह कहिलै पाइन ।
मन पर्ने धुनमा रमेर
कहिलै आनन्दित बन्न पाइन
तर आज बल्ल
यिनीहरुलाई छक्याएर
रमणीय दृष्यको
बे रोकठोक अवलोकन गर्दै छु ।
खुल्ला आकाशमा
स्वतन्त्र उड्ने चरी झैं
वादलका थुँगाहरुमा
कावा खाँदै
आफैं हराउँदै र
भेटिंदै गर्ने रहरहरु
पूरा भएका छन्
मेरा अझै बाँच्ने जीजिबिषाहरु
बढेका छन् ।
सुरेन उप्रेती

सूचना/सन्देश/बिज्ञापन 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५÷८÷२५          
        जिल्ला डोटी दिपायल सिलगढी नगरपालीका वडा नंं.५ स्थित कि.नं.१३१० को जग्गा दिपायल सिलगढी नगरपालीका वडा नंं.५ बस्ने शालीभान कसाईको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि शालीभान कसाईको मितिः(२०४५ सालमा अविवाहीत अवस्थामा मृत्यु भई अपुताली परेकोले मृतक जग्गाधनि शालीभान कसाईको शेषपछिकको हकदार एकमात्र कान्छा बुबा नाता पर्ने गंगा वहादुर कसाई मात्र भएको हुदा मृतक शालीभान कसाईको उल्लेखित पुरै जग्गा मेरो नाउँमा एकलौटी नामसारी गरिपाउँ भनि डोटी दि.सि.न.पा.८ नं.वडा कार्यालय डोटीको च.नं.१६४ मिति ः २०७५÷८÷१६ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी दिपायल सिलगढी नगरपालीका वडा नंं.८ बस्ने गंगा वहादुर कसाईले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५÷८÷२४ मा निवेदन दिनुभएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक शालीभान कसाईको अपुताली नपरेको भए, अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ । 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५÷८÷२५          
        जिल्ला डोटी शिखर नगरपालीका वडा नंं.९ साविक जिजौडामाण्डौ गा.वि.स.वडा नंं.६ स्थित कि.नं.९, १७, ८२, ८५, ९१, १९८, २०७, २२०, २२८, ४२६, ४२८, ४५२, ५२३ र ऐ.वडा नं.७ स्थित कि.नं.४६९ को जग्गा शिखर नगरपालीका वडा नंं.९ बस्ने नन्दराम रास्याराको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि नन्दराम रास्याराको मिति ः २०५१÷५÷१५ मा र निजको हकदार पत्नि नन्दादेवि रोस्याराको मिति ः २०५०÷६÷१९ मा निःसन्तान मृत्यु भई अपुताली परेकोले मृतक जग्गाधनि नन्दराम रास्याराको शेषपछिकको हकदार भाई हरी रोस्याराको मिति ः २०६२÷४÷२७ मा मृत्यु भईसकेकोले मृतक जग्गाधनिको शेषपछिको हकदार धर्मादेवि रोस्यारा, चन्द्रादेवि रोस्यारा, कामदेव रोस्यारा, रैभान रोस्यारा, देवदत्त रोस्यारा मात्र भएको हुदा मृतक नन्दराम रास्याराको उल्लेखित पुरै जग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरिपाउँ भनि डोटी शिखर न.पा.९ नं.वडा कार्यालय डोटीको च.नं.६४ मिति ः २०७५÷८÷१० को किटानी सिफारीस पत्र, मृतक समेतको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण, पत्र नाता प्रमाणीत आदी प्रमाणहरु साथै राखी जि.डोटी शिखर नगरपालीका वडा नंं.९ साविक जिजौडामाण्डौ वडा नं.६ बस्ने धर्मादेवि रोस्यारा, चन्द्रादेवि रोस्यारा, कामदेव रोस्यारा, रैभान रोस्यारा, देवदत्त रोस्याराले यस मालपोत कार्यालय, डोटीमा मिति ः २०७५÷८÷२४ मा निवेदन दिनुभएको हुदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, मृतक नन्दराम रास्याराको अपुताली नपरेको भए, अन्य कोही हकदार भए वा निज निवेदकको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना   द्वारा जानकारी गराईन्छ । 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५÷९÷१
            जिल्ला डोटी दिपायल सिलगढी नगरपालीका साविक वडा नं.३ स्थित कि.नं.४०० को जग्गा सेतुमानको नाती गंगारामको छोरा रतन वहादुर सोबको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि रतन वहादुर सोबको मिति ः २०६४÷२÷२३ मा र निजको हकदार एकमात्र पत्नि गौरीदेवि सोबको मिति ः २०७०÷९÷१ मा मृत्यु भएकोले शेषपछिको हकदार दुईजना छोरा विनोद सोब र   नरेश सोब मात्र भएको मा नरेश सोबले मालपोत कार्यालय डोटीमा स्वयं उपस्थित भई आप्mनो पुरै हकभोग विनोद सोबको नाउँमा छोडीदिएको हुदा मृतकको नाउँको उल्लेखित दि.सि.न.पा.वडा नं.३ स्थित कि.नं.४०० को पुरै जग्गा मेरो नाउँमा एकलौटी नामसारी गरिपाउँ साथै हकदार छोरा विनोद सोबको नेपाली ना.प्र.प.मा बाबुको नाम पतिराम सोब भएको र मृतक जग्गाधनिको नाउँको जग्गाधनि प्रमाण पत्रमा जग्गाधनिको नाउँ रतन वहादुर सोब हुन गई मृतक बाबुको नाम फरक परेको भएता पनि पतिराम सोब र रतन वहादुर सोब नाम गरेको व्यक्ति फरक फरक व्यक्ति नभई एउटै व्यक्ति भएकोे भनि मृतकको नाउँको जग्गाधनि प्रमाण पुर्जा, हकदार नरेश सोबले गरिदिएको मन्जुरीनामा, दिपायल सिलगढी नगरपालीका ६ नं.वडा कार्यालयको च.नं.२६९ मिति ः २०७५÷७÷१३ को किटानी सिफारीस पत्र, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणीत, नेपाली ना.प्र.प., मालपोत बुझाएको रसिद, आदी प्रमाणहरु साथै      राखी विनोद सोवले मालपोत कार्यालय, डोटीमा मिति २०७५÷५÷२७ मा निवेदन दिनुभएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए वा निजको मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए वा अन्य हकदार भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएको सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी  गराईन्छ ।

No comments:

Post a Comment