Wednesday, May 29, 2019

बिम्ब साप्ताहिक, २०७६ जेठ १४ गते मंगलवार

गणतन्त्रको उपलव्धी संस्थागत गरौं 
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष साकार पारौं 
गणतन्त्र दिवस, २०७६ भव्य रुपमा मनऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

द्वन्द्व पीडितहरु भन्छन् ः चोटमाथी चोट थप्ने काम नहोस

रामहरी ओझा/डोटी
जेठ १३
“यो देशमा धेरै क्रान्ति भईसकेका छन्, धेरै सर्वसाधारणले ज्यान गुमाईसकेका छन्, धेरैले आफ्नो कोख रित्याईसकेका छन्, धेरैको सिउदो पुछिईसकेको छ । क्रान्तिका नामका अङ्गभङ्ग भएकाहरुले उपचार पाएका छैनन्, वेपत्ताहरुको कुनै सूचना छैन, अव फेरी के को क्रान्ति ?” 
आईतवार बिभिन्न ठाउँमा भएका बम बिस्फोटबाट चार जनाले ज्यान गुमाएको घटनाप्रति चिन्तित हुँदै अछाम चौरपाटी गाउँपालिका–२, सोकटका द्वन्द्व पीडित ध्रुव साउँद भन्छन् “अव देशमा क्रान्ति होईन, विकास चाहिएको छ ।” उनी सरकार र विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण बार्ताबाट समस्या समाधान गर्न आग्रह गर्छन । १० बर्ष सशस्त्र द्वन्द्वकै कारण आफुले बुवा गुमाएका उनी थप्छन् ‘पहिलेको द्वन्द्वले लागेको चोट भलाएको छैन, फेरी चोटमाथी चोट लगाउने काम नहोस ।’ 
बेद्कोट नगरपालिका–१०, कञ्चनपुरकी ४१ बर्षीया कमला राना अव द्वन्द्व भन्ने शव्द पनि सुन्न चाहाँदिनन् । २३ बर्षको कलिलै उमेरमा श्रीमान्को साथ गुमाउन बिवस भएकी कमला भन्छिन् ‘त्यो द्वन्द्वले जुन घाउ हामीलाई दिएको थियो, त्यसमा अहिलेसम्म पनि मल्हम लागेको छैन, फेरी अर्को द्वन्द्व गरेर कस्तो परिवर्तन चाहिएको हो ?’ 
जस्ले द्वन्द्व गरेपनि मर्ने सर्वसाधारणकै छोरा रहेको उनी वताउँछिन् । तत्कालीन राज्य पक्षले घरबाटै अपहरण गरी लगेका कमलाका श्रीमान् मिलापसिंको अवस्था अहिलेसम्म पनि अज्ञात छ । उनी थप्छिन् ‘त्यो घाउ कति दुखेको छ भन्ने कुरा मलाई थाह छ । म बिधवा हुँ कि सधवा हुँ भन्ने कुराको समेत मलाई जानकारी छैन ।’ उनी अव कुनै पनि वहानामा द्वन्द्व नगर्न सम्वन्धित पक्षलाई आग्रह   गर्छिन् । 
यस्तै बिन्ती छ कञ्चनपुरकी सिता बोहराको पनि । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रकी अध्यक्ष समेत  रहेकी सिता भन्छिन् ‘यही द्वन्द्वका कारण मैले आफ्नो सिउदो पुछे, मेरा छोराछोरीको टाउकोबाट छत हट्यो ।’ प्रहरी नायव निरीक्षक पदमा कार्यरत सिताका पति रघुविर बोहरालाई तत्कालीन माओवादीले २०५८ साल फागुन ११ गते अपहरण गरी हत्या गरेको थियो । 
‘सरकारले शहीद घोषणा त गरेको छ तर हामीसंग शहीद परिवारका हौं भन्ने कुनै पनि प्रमाण छैन’ सिता भन्छिन् ‘त्यतिवेलाका रगतका टाँटाहरु अहिलेसम्म पनि सुकेका छैनन्, हाम्रा आँखा ओभानिएका छैनन्, फेरी कस्को स्वार्थका लागि अर्को द्वन्द्व हुँदैछ ?’ उनी शान्तिपूर्ण तरिकाले जस्तोसुकै समस्या समाधान हुने हुँदा बम नपड्काउन आग्रह गर्छिन् । नेपालमा मान्छे मारेपछि मात्रै सत्तामा पुग्न सजिलो हुन्छ भन्ने मानसिकता पलाएको सिताको बुझाई छ । उनी अव क्रान्तिको नाममा कुनै पनि हिंसामा सहभागि नहुन सर्वसाधारणलाई समेत आग्रह गर्छिन् । ‘पीडा के हुन्छ मलाई सोध्नुहोस्, मजस्ता सिउदो पुछिएका थुप्रै दिदिबहिनीहरुलाई सोध्नुहोस्’ सिता भन्छिन् ‘तर हामीले के पायौं ?’ उनी सेना, प्रहरी, क्रान्तिकारी जो मरेपनि गरीवका छोराछोरी मात्रै मर्ने गरेको वताउँछिन् । 
बम बिस्फोटन भएको समाचार सुन्ने बित्तिकै मुटु भक्कानिएर आएको वताउँछिन् कैलाली गौरीगंगा नगरपालिका–९ की किर्ति चौधरी । १० बर्षे सशस्त्र संघर्षका क्रममा तत्कालीन माओवादीको भूमिगत कार्यकर्ता भएर काम गरेकी किर्तिले जनयुद्धकै नाममा आफ्नो जीवन साथी गुमाईन् । “बिस्फोटमा चारको ज्यान गयो भन्ने खवरले पुरानो घाउ चर्चरायो, द्वन्द्वकै कारण गुमाएका मेरा बुवा र मेरो जीवन साथी सम्झिएँ” किर्ति भन्छिन् ‘अव हिंसा होईन शान्ति हुनुपर्छ, अव देशले अर्को द्वन्द्व खेप्न सक्दिैन ।’ 
किर्ति थप्छिन् ‘देश रुपान्तरण  होला, सवै प्रकारका बिभेद्हरु अन्त्य होलान्, जनताले मुक्ती पाउँलान भनेर हामी लडेका थियौं, हामीले आफन्त गुमाउँदा पनि आँशु पिएर बाँचेका थियौं तर अहिले हेर्दा त्यो लडाई कुनै समूहलाई सत्तामा पु¥याउनका लागि मात्रै रहेछ भन्ने लाग्दैछ ।’ 
कैलालीकै अर्की द्वन्द्व पीडित सोनिया चौधरी भन्छिन् ‘त्यतिवेलाका द्वन्द्व पीडितका घाउँमा पट्टि लगाउनुको सट्टा अर्को द्वन्द्व सुरु गरेर हाम्रा घाउ कोट्याउने काम हुँदैछ ।’ व्यक्तिगत स्वार्थका लागि सर्वसाधारणको घाटी रेट्ने काम नगर्न आग्रह गर्छिन सोनिया । द्वन्द्व पीडित राष्ट्रिय सहज सञ्जालकी अध्यक्ष समेत रहेकी सोनिया थप्छिन् ‘सरकारले शान्तिपूर्ण तरिकाले माग सम्वोदन हुने वातावरण वनाउनु पर्छ ।’ 
डोटी बडीकेदार गाउँपालिका–२ का चक्र मटेली भन्छन् ‘मान्छेले मान्छे मार्ने काम फेरी सुरु हुने लक्षण देखियो ।’ खेतमा हलो जोतिरहेका बेला सेनाको गोलीले घाईते भएका मटेली थप्छन् ‘जंगलमा सिकारीले कतै बन्दुक पड्काएको आवास सुन्दा पनि सेनाकै गोली चल्यो, फेरी कतिको ज्यान गयो भन्ने लाग्छ ।’ उनी अव कसैले कसैको ज्यान नलिन आग्रह गर्छन् ।
संक्रमणकालीन न्यायलाई सही तरिकाले सम्पादन गर्न नसक्दा अर्को द्वन्द्व सुरु हुने परिस्थिति आएको देख्छन् द्वन्द्व पीडित साझा चौतारीका सुदूरपश्चि संयोजक गणेश वहादुर मल्ल । “हामी वास्तविक द्वन्द्व पीडितहरुले न्याय पाएका छैनौं, हाम्रा घटनाहरुमा सत्य निरुपण भएको छैन, हामीले द्वन्द्व पीडित भएको पहिचान समेत  राज्यबाट पाउन सकेका छैनौं” मल्ल भन्छन् ‘फेरी अर्को द्वन्द्व हुने हो भने हामीले चोटमाथी चोट पाईरहनु पर्ने भयो ।’ 
उहिले गणतन्त्र स्थापनाका लागि क्रान्ति भन्नेहरुले गणतन्त्र स्थापना भईसकेपछि फेरी के का लागि वम पड्काउन थालेका हुन भन्ने कुरा आफुले नबुझेको वताउँछन् मल्ल । उनी प्रतिवन्ध लगाईएको समूहलाई तत्काल फुकुवा गरी शान्तिपूर्ण राजनीतिमा आउने बातावरण वनाउन सरकारसंग माग गर्छन् । 

सम्पादकीय 

मोदीको बहुमत र नेपाल

अहिले व्यापक चर्चाको बिषय वनेको छ, भारतीय लोक सभा चुनावको नतिजा । भारतीय जनता पार्टी जितेको हो वा नरेन्द्र मोदी जितेका हुन् ? मोदीको चेहरा विकेको हो वा भारतीय जनता पार्टीको राजनीतिक बिचार ? मोदीले गत पाँच बर्षमा गरेको कामको लोकप्रियता हो वा प्रतिस्पर्धी दल नभएको अवस्था हो ? यस्तायस्तै प्रश्नमा नेपालका कुना कुनामा पनि चर्चाको बिषय वनेको छ । जे, जसरी जिते पनि भारतीय जनता पार्टी जितेको छ । सम्भवतः नरेन्द्र मोदी नै कार्यकारी प्रमुख भएर आगामी पाँच बर्ष भारतलाई हाँक्नेछन् । 
लोकसभाका पाँच सय ४३ सिटमध्ये भाजपा नेतृत्वको गठबन्धनका उम्मेदवार तीन सय ५२ स्थानमा विजयी भएको छ । मोदीकै कारण प्रचण्ड बहुमत आएका कारण मोदीनै आगामी प्रधानमन्त्री हुन भन्ने कुरामा करीव करीव निश्चित जस्तै छ । मोदी दोहोरिए भने भारतको नेपाललाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ भन्ने बिषय स्वभावैले बहसको बिषय हुन्छ । त्यसैमा गत कार्यकालमा उनले नेपालमा नाकावन्दी लगाएका थिए । चुनावी सफलतापछि उनी थप कठोर हुन्छन् वा फेरी नरमी से प्रस्तुत हुन्छन् अर्थात् सम्वन्ध सुधार गर्लान वा फेरी विगार्ने सोच्लान भन्ने बिषयमा स्वभावैले चाँसो रहन्छ । 
आफुलाई नसोधी संबिधान निर्माण गरेको मनसायले लगाईएको नाकावन्दीमा संविधान संशोधनको बिषय पनि जोडिएको थियो । संसोधनको बिषय अहिले पनि सकिएको छैन र मधेशी दलहरु अहिले पनि संसोधनको बिषय उठाईरहेका छन् । फेरी मधेशी दलहरुको बुई चढेर फेरी अर्को अवस्था आउँछ कि भन्ने बिषय उठ्छ नै । 
त्यसो त भारतीय राजनीतिमा फेरि पनि मोदीकै हालीमुहाली हुँदा नेपाल मामिलामा खासै फरक नपर्ने कूटनीतिक मामिलाका जानकारहरूको बुझाई छ । मोदीले अहिले लिइरहेको नीतिकै निरन्तरता हुने देखिन्छ । निर्वाचनपछि मोदी झनै शक्तिशाली देखिएका छन् । भारतको लोकसभा निर्वाचनमा इन्दिरा गान्धीपछि नरेन्द्र मोदी निरन्तर दुईपटकसम्म पूर्ण बहुमत प्राप्त गर्ने दोस्रा नेता बनेका छन् । जवाहरलाल नेहरूको युगपछि सन् १९७१ मा उनकी छोरी इन्दिरा गान्धीले दोस्रोपटक बहुमत प्राप्त गरेकी थिइन् । सन् १९७१ मा भएको पाँचौं लोकसभा निर्वाचनमा उनको नेतृत्वमा भारतीय राष्ट्रिय कंग्रेसले कुल पाँच सय १८ मध्ये तीन सय ५२ सिटमा जित हासिल गरेको थियो । त्यसअघि सन् १९६७ मा भएको चौथो लोकसभा निर्वाचनमा पनि गान्धीको दलले कुल पाँच सय २० मा दुई सय ८३ सिट जितेको थियो । 
अहिलेको निर्वाचनमा भाजपा एक्लैले तीन सय तीन स्थान हात पारेको छ । सन् २०१४ मा सम्पन्न लोकसभा निर्वाचनमा दुई सय ८२ सिटमा जित हासिल गरेको थियो भने भाजपा गठबन्धन ३ सय ३६ सिटमा विजयी भएको थियो । यसपटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धी भारतीय राष्ट्रिय कंग्रेस ५२ सिटमा सीमित भएको छ । अंक गणित हेर्दा सन २०१४ भन्दा यस पटक आठ सिट कांग्रेसलाई फाईदा भएको छ तर यसले सशक्त प्रतिपक्षको योग्यता पुग्दैन । 
विगतमा नेपाल नीतिलाई जसरी भारतको कर्मचारीतन्त्रको चस्माबाट हेर्ने गरिएको थियो, त्यसमा मोदी प्रधानमन्त्री भएपछि बदलाव आएकै हो । छिमेक नीतिलाई राजनीतिक नेतृत्वबाट हेर्ने प्रणाली विकास गर्नु नेपालका लागि राम्रो पक्ष मान्न सकिन्छ । भारतीय दृष्टिकोणमा आएको यो बदलावसँगै नेपालले पनि आफ्नो परराष्ट्र नीतिलाई राम्ररी परिभाषित गर्दै त्यसैअनुरूप व्यवहार प्रदर्शन गर्न सक्नुपर्छ । जोसँग पनि हुन्छ भन्ने तर कुनै पनि विषयमा अडान लिन नसक्ने विगतकै नीति नेपालले लिएको अवस्थामा मात्रै समस्या हुने हो । अव दुवै पक्षले सम्वन्ध सुधारका लागि पहल गर्नु जरुरी छ ।

थप समाचार 

चार बालश्रमिकहरुको उद्दार

“बालश्रम मुक्त नगर” बनाउने अभियानमा लागेको दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाको वडा नं. ६ मा  रहेका चार बालश्रमिकहरुको उद्दार गरेको छ । 
नगर क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुका घरमा काम गरिरहेका चार बालकलाई उद्दार गरि दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको शहीद स्मृति आवाशीय बिद्यालयमा भर्ना गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिए । “क्याम्पसका प्राध्यापकहरु, राजनीतिक नेताहरु, सामाजिक कार्यकर्ताहरु, प्रतिष्ठित व्यापारीहरुले घरेलु बालश्रमिक राखेका छन्” जोशीले भने ‘त्यस्ता व्यक्तिहरुलाई बालश्रमिक नराख्नुहोस् भन्दा उल्टो धम्की दिन्छन् ।’ 
आईतवार जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले बालश्रमिक राख्ने मालिक र बालबालिकाहरुसंग लामो छलफल गरेपछि चार बालकहरुलाई श्रममुक्त गराउन सफल भएको जोशीले जानकारी दिए । उनले नगरपालिकाभित्र कुनै पनि व्यक्तिले बालश्रमिक राखेको पाईए कानुन बमोजिम कारवाही गर्ने तयारी भईरहेको समेत जानकारी दिए । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले अव कसैले पनि बालश्रमिक राखेको पाईएमा कानुन अनुसार थुनी कारवाही गर्ने चेतावनी दिएको जोशीले वताए । 
बिपन्न परिवारका चार बालकहरुलाई उद्दार गरी उनीहरुको पढाईलाई निरन्तरता दिन आवाशीय बिद्यालयमा भर्ना गरिएको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सन्तोष बोहरा वताउँछन् । उनले भने ‘पटक पटक बालश्रमिक  नराख्नु भन्दा पनि अटेरी गरिरहेका छन्, अव यस्तै हो भने बालश्रम निषेध ऐन अनुसार मुद्धा चलाउनु पर्ने अवस्था पनि आउन सक्छ ।’ चार बालकहरुको पठनपाठनमा हुने सबै खर्च नगरपालिकाले व्यहोर्ने गरी विद्यालय भर्ना गरिएको बोहराले बताए ।
उद्दार गरिएका बालबालिकाहरुमा सायल गाउँपालिका–५ का १६ बर्षीय धनवहादुर थापा, दिपायल सिलगढी नगरपालिका–९ मछन्तोलाका १२ बर्षीय सर्जन साउँद, १२ बर्षीय सिर्जन साउँद र १४ बर्षीय लहरी साउँद        रहेका वडा नं. ९ का वडाध्यक्ष धर्मसिंह साउँदले जानकारी दिए । उनले धनवहादुरलाई कक्षा ९ मा, लहरीलाइ कक्षा ७ मा, सर्जनलाई कक्षा ५ र सिर्जनलाई कक्षा ३ मा भर्ना गरिएको    वताए । 
नगरलाई बालमैत्री बनाउने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाभित्र रहेका श्रमिक बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाईने नगर प्रमुख मञ्जु मलासीले वताईन । ‘हामी अभिभावक बोलाएर आफ्ना छोराछोरी घर लैजान आग्रह गरिरहेका छौं’ मलासीले भनिन् ‘आर्थिक अवस्था ठिकै भएर पनि छोराछोरीलाई अर्काको घरमा काम गर्न पठाउने अभिभावकलाई पनि कारवाहीको दायरामा ल्याउने गरी हामी नीति वनाउँदैछौं ।’ उनले लामो समयको प्रयासपछि चार बालकहरुलाई श्रममुक्त गराउन सफल भएको वताईन । उनी भन्छिन् ‘हामी श्रमिक बालबालिकाका आमा–बुवाको आर्थिक अवस्थावारे अध्ययन गर्दैछौं, यदि साँच्चै उनीहरुको आर्थिक अवस्था कमजोर हो भने हामी उनीहरुलाई आय आर्जनका लागि सहयोग गर्छौं र उनीहरुका बालबालिका–लाई निशुल्क पढाउने जिम्मा लिन्छौं ।’ आर्थिक अवस्था ठिकै हुँदा पनि आफ्ना सन्तानहरुलाई श्रमिक वनाएर पठाउने बिरुद्धमा कानुनी कारवाही गर्ने उनको दावी छ । 
नगरपालिकाले बालश्रम उन्मुलन रणनीति समेत स्वीकृत गरी लागु गरेको छ । 

क्यान्सर पीडित रोशनको उपचारका लागि आग्रह

पिठ्यूमा झोला, झोलामा एक जोर आफ्नो र एक जोर बच्चाको लुगा सहित एक रेकर्ड फाईल छ, झोलाको खल्तीमा मिनरत वाटरको बोतलमा सादा पानी छ । काखीमा ६ बर्षीय बालक “रोशन” छ । 
दिपायल सिलगढी नगरपालिका–८ लडागडाका दिलवहादुर साउँद यस्तै अवस्थामा जिल्ला सदरमुकाममा भेटिए । रक्त क्यान्सरले थलिएका  ६ बर्षीय छोरा रोशनको उपचारका लागि सहयोग माग्दै उनी   घरी कार्यालय, घरी वजार धाउछन् । नाम रोशन भएका छोराले आफ्नो जीवनमा अन्धकार ल्याउँछ कि भन्ने पीरले उनी आत्तिएका छन् । 
छोरा रोशनलाई लगातार ज्वरो आउन थालेपछि दिलवहादुर गत बैशाख १३ गते उपचार गराउन उनी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पुगे । त्यहाँको औषधीले सन्चो नभएपछि उनी छोरो बोक्दै बैशाख २५ गते जिल्ला अस्पताल डोटी पुगे । जिल्ला अस्पतालको उपचारले पनि सन्चो भएन उनलाई । उनी छोरो बोक्दै काठमाण्डौंको सिभिल सर्भिस हस्पिटल पुगे । 
छोरा रोशनको रगत जाँच गराउँदा क्यान्सर भएको र उपचारमा आठ लाख रुपैयाँ लाग्ने भनेपछि दिल बहादुरलाई पैतलामूनीको जमिन भासिए जस्तै भयो । साँझ विहान छाक टार्न धौ धौ भएका दिलवहादुरले चिकित्सकले भनेको आठ लाख रुपैयाँ जम्मा गर्न त परैको कुरा सोच्न सक्ने अवस्था पनि भएन । उनी छोरा काखी च्याप्दै घर फर्किए । ‘शुरुमै आठ लाख रुपैयाँ जम्मा गर्नुपर्छ, अनि उपचार सुरु हुन्छ भन्यो, मैले मेरो घरखेत बेचेर पनि आठ लाख जम्मा गर्न सक्ने अवस्था छैन’ रोशनको अनुहारतिर हेरेर पुलुक्क आशुँ झार्दै दिलवहादुर भन्छन् ‘मैले फर्केर घर आउनु वाहेक अरु कुनै उपाय थिएन ।’ 
भारतको कर्नाटकमा होटल मजदुरको काम गर्ने दिलवहादुर छोरा बिरामी भएको खवर सुनेर घर आएका हुन् । छोरालाई अङ्गालोमा कस्दै उनी गुहार माग्छन् ‘मेरो रोशनलाई बचाईदिनु प¥यो ।’ सिभिल सर्भिस हस्पिटलको हेमाटोलोजी बिभागका डा.प्रेमराज श्रेष्ठले  रोशनको जेकजाँच गरेको रिपोर्ट उनले फायलमा बोकेका छन् । रिपोर्ट अनुसार रोशनको उपचार तुरुन्तै गराउनु पर्ने छ । गएको असार महिनामा बायाँ हात समेत भाँचिएको र अहिले क्यान्सर देखिएपछि रोशनका बुबा आत्तिएका छन् ।
स्थानीयस्तरमा ५० हजार आठ सय रुपैयाँ संकलन गरेर रोशनलाई उपचारका लागि भक्तपुरको क्यान्सर अस्पताल पठाईएको पत्रकार झलक पाली वताउँछन् । पत्रकार पालीका अनुसार साउँद समाज, डोटीले ३२ हजार एक सय ९५, जिल्ला युवा समितिका अध्यक्ष वमवहादुर बमले १० हजार एक सय पाँच, भरतवहादुर बोहराले पाँच   हजार, लक्ष्मण जोशीले दुई हजार र बिरवहादुर बिष्टले एक हजार पाँच सय सहयोग गरेका छन् । दिपायल सिलगढी नगरपालिकाको स्वास्थ्य ईकाईबाट उपचारमा सहयोग गरिदिन हुन सिफारिस सहित पठाईएको पत्रकार पालीले वताए । 
नेपालको संबिधानको धारा ३५ मा स्वास्थ्य सम्वन्धी हक अन्तरगत ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ छैन भन्ने व्यवस्था छ ।

विकास जादुको छडी हैन–मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास भन्ने कुरा जादुको छडी जस्तो नभएको वताएका छन् । 
“रातारात कायापलट हुन्छ भन्ने सोच्दैमा विकास हुँदैन” डोटी बहुमुखी क्याम्पसको ५९ औं बार्षिक उत्सव कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै मुख्यमन्त्री भट्टले भने ‘विकास कुनै जादुको छडी होईन, जो एकै पटक घुमाउदा स्वर्ग वनोस्, सवै समस्याहरुको हल होस् ।’ उनले विगतमा प्रक्रियाहरु विग्रेका कारण धेरै मिलाउनु पर्ने भएकाले विकासले गति लिन नसकेको वताए । प्रदेश सरकार गठन भएपछि गाउँगाउँमा विकास योजनाहरु पुगेको मुख्यमन्त्री भट्टको दावी छ । ‘प्रदेश सरकारको मुल्याँकन गर्ने वेला अहिले नै भईसकेको छैन’ मुख्यमन्त्री भट्टले भने ‘प्रदेशको संरचना विल्कुलै नयाँ भएका कारण करीव एक बर्षको दौरान संरचना र ऐन कानुनहरु वनाउने कुरामा बढी खर्च भएको छ ।’ सकारात्मक सोच र साझा धारणा नभएसम्म विकास सम्वभ नहुने वताउँदै उनले भने ‘राजनीतिक पूर्वाग्रहीका आधारमा कसैलाई धारे हात लाउँदैमा विकास सम्भव हुँदैन, विकासका लागि रचनात्मक सहयोग र निर्माणात्मक आलोचना आवश्यक पर्छ ।’ 
मुख्यमन्त्री भट्टले डोटी क्याम्पसमा कृषि विज्ञानमा स्नातक तहको अध्ययन/अध्यापन गराउनका लागि प्रदेश सरकार तयार भएको भट्टले वताए । 
कृषिलाई केन्द्रबिन्दुमा राखिने 
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले आगामी आर्थिक बर्षको वजेट निर्माण गर्दा कृषि क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर तयार गर्ने वताए । उनले एकिकृत कृषि कार्यक्रम सञ्चालन गर्ने वताए । 
‘एउटा गाउँमा रहेको कृषियोग्य जमिनमा पुरै सिचाईको व्यवस्था गरिदिने र अन्य आवश्यक कृषि उपकरणहरु उपलव्ध गराईदिने गरि योजना वनाउँदैछौं’ भट्टले भने ‘उत्पादन राम्रो भयो भने संकलन केन्द्र, कोल्डस्टोर, वाटो लगायतका सवै पूर्वाधारहरु सरकारले तयार गरिदिने गरि योजना वनाउँछ ।’ उनले यस बर्ष एक गाउँपालिकाबाट नमुनाको रुपमा यस्तो कार्यक्रम सञ्चालन हुने वताए । 
कृषि संगसंगै पर्यटक र जलश्रोत क्षेत्रलाई पनि प्रदेश सरकारले बिशेष प्राथमिकतामा राखेको मुख्यमन्त्री भट्टले वताए । उनले १० मेगावाटदेखि एक सय मेगावाटसम्मका जलबिद्युत आयोजना निर्माण गर्ने गरी प्रदेश सरकारले अध्ययन गरिरहेको जानकारी दिए ।
कार्यक्रममा डोटी बहुमुखी क्याम्पसका दुई पूर्व क्याम्पस प्रमुखलाई सम्मान गरिएको थियो । पूर्व क्याम्पस प्रमुख तथा संबिधान सभा सदस्य हर्कवहादुर सिंह र पूर्व क्याम्पस प्रमुख तथा त्रिभुवन बिश्वबिद्यालय शिक्षा शास्त्र संकायका पूर्व डिन डा. नारद अवस्थीलाई सम्मान गरिएको क्याम्पस प्रमुख कृष्णवहादुर कठायतले जानकारी दिए । 

समृद्ध डोटीका लागि सुझाव संकलन

मदन भण्डारी फाउण्डेसनले समृद्ध डोटीका लागि सुझाव संकलन गरेको छ । 
आईतबार “डोटीका लागी आगामी कार्ययोजना” बिषयक एक कार्यक्रम आयोजना गरी सुझाव संकलन गरिएको फाउण्डेसनका डोटी अध्यक्ष लक्ष्मण मलासीले जानकारी दिए ।
राजनीतिक दलका नेता कार्यकर्ताहरु, नागरिक समाज, उद्योगी, व्यापारी, व्यवसायी, समाजसेवी, शिक्षा प्रेमी, पत्रकार लगायतका व्यक्तिहरुको गोष्टीमा सहभागीतामा सम्पन्न कार्यक्रममा रचनात्मक सुझावहरु आएका अध्यक्ष मलासीले वताए । 
आएका सुझावहरुलाई डोटीका नौ वटै स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारलाई समेत जानकारी गराउने मलासीले वताए ।

फरक क्षमताका बिद्यार्थीलाई स्टेस्नरी

नेपाल प्रेस युनियन डोटी शाखाले आफ्नो २८ औं स्थापना दिवसका अवसरमा फरक क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
सोमबार विहान युनियनले डोटीको जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा अध्ययनरत नौ जना फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका हो ।
फरक क्षेमताका विद्यार्थीहरुको शैक्षिक स्तरमा सहयोग पुगोस् भन्दै युनियनले फरक क्षमताका भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको प्रेश युनियन डोटीका अध्यक्ष प्रकाश वमले जानकारी दिए ।

वडीकेदार–५ का सवै योजना सम्पन्न

डोटीको बडीकेदार गाउँपालिकाको वडा नं. ५ ले आर्थिक बर्ष २०७५/०७६ मा निर्माण गर्नु पर्ने सवै योजनाको निर्माण कार्य सम्पन्न गरेको छ । 
वडा अन्तरगत ३४ वटा योजनाका लागि कुल ५२ लाख रुपैयाँमा रकम बिनियोजन भएकोमा सवै योजनाहरुको काम सम्पन्न भईसकेको वडाध्यक्ष बुद्धिसागर बिनाडीले जानकारी दिए । 
“३४ वटा योजनाहरु सवैको काम सम्पन्न भईसकेको छ” बिनाडीले बिम्बलाई भने ‘अधिकांश योजनाहरुको सार्वजनिक परीक्षण समेत सम्पन्न भभईसकेको छ र केही योजनाहरुको अन्तिम किस्ता भुक्तानी पनि भईसकेको छ ।’ उनले अहिले सवै योजनाहरुको गाउँपालिकाबाट अनुगमन गर्ने कार्य भईरहेको समेत जानकारी दिए ।

खेल समाचार 

महिला गोल्डकप फुटवल हुने

आगामी मंसिर ५ गतेदेखि कैलालीको धनगढीमा महिला गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।
शैलेश्वरी स्पोर्ट क्वल धनगढीले आयोजना गर्ने प्रतियोगिता धनगढीस्थित रंगशालामा हुनेछ । “अपी–सैपाल महिला गोल्डकप, प्रथम संस्करण” नाम दिईएको उक्त प्रतियोगिता मंसिर ५ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । 
सोमवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सो प्रतियोगितामा सात प्रदेशका सात र तीन वटा विभागीय टीमको सहभागिता हुनेछ । क्वलका अध्यक्ष घनश्याम भट्टका अनुसार प्रतियोगिताको विजेता टीमलाई पाँच लाख एक हजार, उपविजेतालाई दुई लाख ५१ हजार पुरस्कार प्रदानगरिने छ । यस्तै हरेक विधाका उत्कृष्टहरुलाई १०/१० हजार र प्रत्येक खेलका म्यानअफ द म्याचलाई ५÷५ हजार पुरस्कार दिइने छ ।
अध्यक्ष भट्टले प्रतियोगिता सञ्चालन गर्नका लागि प्रदेश सरकार, सुदूरपश्चिम प्रदेशका ८८ वटै तह र व्यवसायिक घरनासंग आर्थिक सहयोग माग्ने वताए । सो अवसरमा प्रदेश सभा सदस्यहरु  डिल्लीराज पन्त, अमर साउद, पूर्णा जोशी र गौरीगंगा नगरपालिकाका प्रमुख भीम देउवाको पनि उपस्थिति रहेको थियो ।
खेलकूदको विकास नै सुखी नेपाली समृद्ध नेपाल निर्माणको प्रमुख आधार भन्ने उद्धघोषका साथ आयोजना गरिने सो प्रतियोगितामा सहभागी हुने सक्षम खेलाडी उत्पादन गर्नका लागि चार महिना विशेष प्रशिक्षण आयोजना गरिने बताइएको छ ।

जेठ २० मा दोश्रो अन्नपूर्ण म्याराथन

दौडिने भन्दा अघिल्लो दिन खेलाडीको स्वास्थ्य परीक्षण गरिन्छ । स्वास्थ्य परीक्षण सकिएपछि भोलिपल्टै बिहान अन्नपूर्ण आधार शिविरबाट दौड सुरु हुन्छ । मेडिकल अफिसरले परीक्षण गरेको रिपोर्टअनुसार धावकहरू दौडमा सहभागिता जनाउन पाउनेछन् । दौड कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पुगेर टुंगिनेछ ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाउने गरिएको छ । ५० धावकले आफ्नो उपस्थिति जनाउन नाम दर्ता गरिसकेका छन् । गत वर्ष ६३ धावकले प्रतिस्पर्धा गरेको म्याराथनमा नेपाल आर्मीका हरिकुमार रिमालले ४ घण्टा १७ मिनेटमा निर्धारित दूरी पार गरी म्याराथनको उपाधि चुमेका थिए । अन्नपूर्ण म्याराथनमा यस वर्षदेखि विदेशी धावक पनि सहभागी हुने आयोजक संस्था अन्नपूर्ण सन्चेरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए । अन्नपूर्ण बेसक्यापबाट आरम्भ हुने ४२.१९ किलोमिटर दूरीको म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा समापन हुने म्याराथनक प्राविधिक निर्देशक भूतपूर्व खेलाडी मञ्च नेपालका सल्लाहकार खड्कबहादुर रानाभाटले बताए । 
खेलकुदको माध्यमबाट साहसिक पर्यटन प्रवद्र्धनको अभियान छ । दौडमा सहभागी हुने धावकलाई एक रात बासको व्यवस्था गर्नु पर्नेछ । बासकै व्यवस्था गर्न अहिले आधार शिविरका होटल मर्मत सम्भार गरिँदै छ । हिमपातले तहसनहस बनेको छ अन्नपूर्ण आधार शिविर । मर्मतसम्भारको चटारो छ । 

चलचित्र/मनोरञ्जन 

करिस्माले छोडिन् बाबुरामको पार्टी

केही समय अगाडी तामझाम साथ पूर्व प्रधामन्त्री डा. बाबुराम भट्टराईको पार्टी प्रवेश गरेकी नायिक करिस्मा मानन्धरले उक्त पार्टी परित्याग गरेकी छिन् । 
पार्टी प्रवेशसंगै पार्टीको विकास र प्रचारका लागि गाउँगाउँ पुगेकी करिस्माले अन्ततः उक्त पार्टीबाट बिदा लिएकी   छिन् । नेपालको राजनीति एकदमै बुझ्न नसकिने रहेको भन्दै आफूलाई एकदमै गाह्रो भएको भन्दै उनले राजनीतिमा पोजिसन विना आइडिया शेयर गर्न पनि नसकिने वताईन् । पदका लागि हुने द्वन्द्व आफ्ना लागि नसुहाउने उनको बुझाई छ । 
उनले, नयाँ शक्ति पार्टी र फोरमको एकीकरण हुनुलाई राम्रो भन्दै यो नयाँ पार्टीमा आफू सामेल हुनैपर्छ भन्ने नरहेको पनि बताएकी छिन् । उनको यो कुराले पनि उनले अब राजनीतिलाई नयाँ चिराबाट अगाडि बढाउन चाहेको बुझ्न सकिन्छ ।

लेख 

राजधानी आन्दोलन ः कालो झण्डादेखि कालो झण्डासम्म

रामहरी ओझा
अगाडी र पछाडी नेपाल प्रहरीको स्कटिङ्ग सहित बिचको कालो रङ्गको झण्डाबाल गाडीबाट क्याम्पसको गेटमा उत्रिए सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट । क्याम्पसको मेगाहलमा प्रवेश गर्नका लागि उनी सिँढी चढ्दै तलामा पुगे । आयोजकले मुख्यमन्त्रीको स्वागतको तयारी गर्दै के थिए उताबाट ‘यस्तो सरकार चाँहिदैन’ को आवाज आयो । त्यो आवाजसंगै कालो कपडा (झण्डा) सहितको एक हात उठ्यो । संगै उभिएका सुरक्षाकर्मीले तुरुन्तै उक्त कालो कपडा र कालो झण्डा देखाउने नेपाल बिद्यार्थी संघ डोटीका सभापति गणेश खड्कालाई नियन्त्रणमा लिए । 
मुख्यमन्त्रीलाई देखाउने उद्देश्यका साथ निकालिएको कालो झण्डा मुख्यमन्त्रीले भने हेर्न पाएनन् । प्रहरीले डोटी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनका पूर्व सभापति समेत रहेका खड्कालाई क्याम्पस हाताभित्रबाट बाहिर पु¥यायो । 
त्रिभुवन बिश्वबिद्यालयको सुदूरपश्चिमकै पहिलो आंगिक क्याम्पसका रुपमा २०१७ सालमा स्थापना भएको डोटी क्याम्पसको ५९ औं बार्षिक उत्सवको उद्घाटन गर्नका लागि गृहजिल्ला पुगेका मुख्यमन्त्री भट्ट प्रमुख अतिथि भएको कार्यक्रम बिथोल्ने योजनावारे स्थानीय प्रशासन पहिले नै जानकार थियो । “जिल्लामा फैलिएको हल्ला सुन्दा बुधबार तनावग्रस्त हुने अवस्थाको पूर्वानुमान गर्न सकिन्छ” एक सञ्चारकर्मीले सामाजिक सञ्जालमा पोष्ट गरेको यो हरफले पनि कार्यक्रम बिथोल्ने योजना वनेको संकेत गर्छ । त्यसकारण बाटोबाटोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लै उपस्थिति थियो । कार्यक्रम स्थलमा पनि उल्लेख सुरक्षाकर्मीहरु थिए । कार्यक्रमका सहभागि प्रत्येक व्यक्तिको शरीर छामछुम गरेर मात्रै भित्र पठाईयो । अतिथि, सञ्चारकर्मी, युवा–बृद्ध, महिला–पुरुष कसैलाई पनि प्रहरीले छामछुम नगरी भित्र जान दिएको थिएन । खल्तीमा भएको रुमाल समेत निकाल्न लगाउने गरि चेकजाँच हुँदा समेत कालो झण्डा कसरी भित्र पुग्यो भन्ने प्रश्न उव्जाएको छ । 
कसरी भयो कालो झण्डाको सुरुवात 
कालोझण्डा देखाउने घटना डोटीका लागि नौलो भने होईन । प्रदेश राजधानी र नामको टुङ्गो लगाउन २०७५ साउन १४ गते प्रदेश सभा सदस्य तारा लामा तामाङ्गको संयोजकत्वमा गठन भएको संसदीय बिशेष समितिले असोज ९ गते प्रदेश राजधानी कैलालीको गोदावरी प्रस्ताव गर्दै संसदमा पेश गरेको प्रतिवेदन बिरुद्ध असोज १० गते दिपायलबासीहरुले घरघरमा कालो झण्डा झुण्ड्याएर प्रदर्शन गरेका थिए । लामो समयदेखि प्रदेश राजधानी दिपायल हुनु पर्ने माग सहित निरन्तर आन्दोलनमा रहेका डोटीबासीहरुको आवाजै नसुनि एकलौटी रुपमा प्रतिवेदन आएकोप्रति डोटीबासीहरुले आक्रोस पोख्दै कालो व्यानर सहितको प्रदर्शन गरेका थिए । सो दिन संसदीय समितिको प्रतिवेदनको प्रतिलिपी समेत जलाईएको थियो । 
त्यसपछि कालोझण्डा देखाउने श्रृंखला सुरु भएको छ । असोज १२ गते प्रदेश सभाको दुई तिहाई वहुमतले प्रदेशको नाम “सुदूरपश्चिम” र राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरेपछि पहिलो पटक प्रदेश सभा सदस्य अर्चना गहतराजलाई असोज ३० गते कालो झण्डा देखाईयो । नेकपाको तर्फबाट समानुपातिक सांसद गहतराजलाई गोदावरीको पक्षमा मतदान गरेको भन्दै नेपाल बिद्यार्थी संघनिकट बिद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । नेपाल चेम्वर अफ कमर्स, डोटीले दशैं तिहारको शुभकामना आदान प्रदान गर्न आयोजना       गरेको कार्यक्रमका प्रमुख अतिथि गहतराजलाई कार्यक्रमस्थलमै कालो झण्डा देखाईएको थियो । 
कार्तिक २७ गते प्रतिनिधि सभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य प्रेमवहादुर आलेमगरलाई कालो झण्डा देखाउने प्रयास भयो । चुनावको समयमा राजधानी डोटी वनाउने भन्दै भोट मागेको तर राजधानी कैलाली हुँदा पनि कुनै प्रतिक्रिया नजनाएको आरोपमा उनलाई कालो झण्डा देखाउने प्रयास गरियो । जिल्ला समन्वय समितिले आयोजना गरेको बैठकमा सहभागि हुन गएका आलेमगरलाई टाढैबाट कालो झण्डा देखाईएको थियो । यस्तै मंसिर २३ गते प्रतिनिधि सभा सदस्य एवं नेकपाका प्रभावशाली नेता लेखराज भट्टलाई डोटीको राजपुरमा टाढैबाट कालो झण्डा देखाईएको थियो । शहीद स्मृति आवाशीय बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भट्टलाई कोठाभित्र बैठक सञ्चालन भईरहेका बेला टाढैैबाट कालो झण्डा देखाईएर रित पुरा गरियो । भट्टले राजधानीका लागि डोटीमा पूर्वाधार नभएको अभिव्यक्ति दिएको भन्दै कालो झण्डा देखाईएको थियो । 
फागुन १७ गते प्रदेश उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री माया भट्टलाई पनि दिपायलमा कालो झण्डा देखाईयो । डोटी चेम्वर अफ कमर्सले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटनका लागि डोटी मुगेकी मन्त्री भट्टलाई मञ्चमै कालो झण्डा देखाईएको थियो । गृह जिल्ला बैतडी भएकी नेकपा नेता भट्टलाई पनि गोदावरीको पक्षमा मतदान गरेको आरोपमा कालो झण्डा देखाईएको हो । 
माघ ३ लाई कालो दिवस 
२०६९ सालमा सुदूरपश्चिमका नौवटै जिल्लाको एक प्रदेश हुनु पर्ने माग सहित एक महिनासम्म आन्दोलन चलेको थियो । उक्त आन्दोलनको दवाव स्वरुप साविकको सुदूरपश्चिम एक प्रदेश भयो । सुदूरपश्चिम एक प्रदेश हुने बित्तिकै डोटीबासीहरुले ईतिहास, भूगोल, सरकारी भौतिक संरचना, सामरिक महत्व, बातावरण लगायतका दृष्टिकोणले साविकको क्षेत्रीय सदरमुकाम दिपायल नै राजधानीका लागि उपयुक्त हुने भन्दै पटक पटक दवावमूलक आन्दोलन गर्दै आएका थिए । 
डोटेली जनता आन्दोलनमै रहेका बेला २०७४ साल माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले संबिधानको धारा २८८ (३) वमोजिम प्रदेशका अस्थायी मुकाम तोक्ने क्रममा सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी तोकेको भन्दै गएको माघ ३ गतेलाई कालो दिवसका रुपमा मनाएका छन् ।
कालो कपडामा “डोटीको ६ सय बर्ष पुरानो ईतिहास मेटिएको कालो दिन” लेखिएको व्यानर र कालै कपडाको झण्डा सहित स्थानीयले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा प्रदर्शन गरेका थिए । स्थानीयले अस्थायी मुकाम तोक्ने देउवा सरकार र राजधानी तोक्ने प्रदेश सभाको आलोचना गरेका थिए । नेताहरुले डोटेली जनतालाई धोका दिएको आरोप प्रदर्शनकारीहरुको थियो । 
राजधानी र कांग्रेस पार्टी 
२०७४ साल माघ ३ गते तत्कालीन सरकारले अस्थायी मुकाम तोक्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिरवहादुर बलायर भौतिक पूर्वाधार तथा यातायत मन्त्री थिए । गृहजिल्ला डोटी भएका बलाएरले अस्थायी मुकाम डोटीनै तोकिने भन्दै आश्वासन पनि दिएका थिए । 
“म डोटीको छोरो हुँ, म त्यहाँ भएर अस्थायी राजधानी अन्त कसरी तोकिन्छ ?” उनले एक कार्यक्रममै भनेका थिए । तर, उनले सकेनन्, प्रदेशको अस्थायी मुकाम कैलालीको धनगढी तोकियो । मन्त्री पद सकिएर डोटी आएपछि आफुले अस्थायी मुकाम डोटी हुनु पर्ने भन्दै पटक पटक मन्त्रीपरिषद् बैठक अवरुद्ध गरेको तर नसकेको वताएका थिए ।
डोटी प्रदेश सभा क्षेत्र “क” बाट प्रदेश सभा सदस्य भरत खड्काको डोटीनै राजधानी हुनु पर्ने माग  रहेको कांग्रेस नेता÷कार्यकर्ताहरुको दावी छ । उनी स्वयं पनि आफुले दिपायल राजधानीका लागि संसदमा प्रस्ताव दर्ता गराउन खोजेको तर प्रस्तावक र समर्थक नपाएको दावी गर्दै आएका छन् । तर उनको उक्त दावीको डोटीका अन्य सांसदहरु खण्डन गर्छन् । खड्काले राजधानी दिपायल हुनु पर्ने भन्ने प्रस्ताव दर्ता गराउन कुनै दिन आफुहरुसंग सल्लाह नगरेको अन्य सांसदहरुको दावी छ । उनले संसदमा राजधानी डोटी हुनु पर्ने भनी बोलेको रेकर्ड पनि छैन । कांग्रेसले राजधानी र नामाकरण हुने दिन संसद बहिस्कार गरेको थियो । 
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा आजको मितिसम्म पनि राजधानी कैलालीको धनगढीमै हुनु पर्ने दावी गर्दै आएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र) बाट उम्मेदवार बनेकी देउवा पत्नी आर्जु राणा (देउवा) ले प्रदेश राजधानी धनगढीमै हुने दावी गरेकी थिईन । सोही आधारमा देउवा सवै प्रकारले प्रदेश राजधानी धनगढी नै उपयुक्त देख्छन् । 
कांग्रेस नेताहरु रमेश लेखक र एनपी साउँदले डोटीमै आएर प्रदेश राजधानी तराईमा हुनु पर्ने अभिव्यक्ति दिएर गएका थिए । तर नेपाली कांग्रेसनिकट नेबिसंघले कालोझण्डाका भागिदार नेकपाका नेताहरुलाई मात्रै देख्छ ।
राजधानी डोटी बनाउनु मेरो बसको मात्रै कुरा थिएन–मुख्यमन्त्री भट्ट 
“मैले पटक पटक भन्दै आएको छु, राजधानी मैले चाहेर मात्रै हुने वाला थिएन, मैले राजधानी डोटीका लागि म लाग्छु भनेकै हुँ र मैले मेरो तर्फबाट गर्ने प्रयास पनि गरेँ” मुख्यमन्त्री भट्ट भन्छन् ‘तर मेरो मात्रै प्रयासले त्यो सम्भव थिएन ।’ 
उनले राजधानी अन्त गएपनि डोटीमा रहेका सरकारी संरचनाहरुलाई कसरी उपयोगमा ल्याउने भन्ने बिषयमा आफु चिन्तित् रहेको वताए । उनले प्रदेश मन्त्रालय मातहतका संरचनाहरु डोटीमा स्थापना गर्ने, ईन्जिनियरिङ्ग कलेजको स्थापना गर्ने, अन्य विकासे संस्थाहरु पनि डोटीमा राख्ने र अन्य सम्भावनाहरु पनि खोज्ने गरी आफुले प्रयास गरिरहेको वताए । 
उनी राजधानीको बिषयलाई लिएर अनावश्यक आलोचना गर्नु भन्दा रचनात्मक सुझाव दिएर डोटीलाई कसरी समृद्ध वनाउन सकिन्छ भन्ने कुरा सोच्नु पर्ने वताउँछन् । 
ठुला दलको सहमतिमै गोदावरी 
कैलाली राजधानी वनाउनेमा ठुला दलहरुबीच सहमति भएको नेकपाका नेताहरुको दावी छ । कैलाली राजधानीको बिषयमा शेरवहादुर देउवा, भीम रावल र लेखराज भट्टबीच सहमति भएरै कैलाली भएको दावी गर्छन नेकपाका एक नेता । ‘अस्थायी मुकाम तोक्नु पूर्व नै राजधानीको बिषयमा सुदूरपश्चिमका तीन नेताहरुबीच सहमति भईसकेको थियो’ नाम उल्लेख नगर्ने शर्तमा नेकपाका एक नेताले भने ‘अहिले कालो झण्डा देखाएर केही हुँदैन । उनले थपे ‘कांग्रेसको पछिल्लो असहमति धनगढी हुनु पर्छ भन्ने हो, डोटी हुनु पर्छ भन्ने होईन ।’
यस्तै दावी छ मुख्यमन्त्रीका स्वकीय सचिव एवं नेकपा नेता शिवसिंह ओलीको पनि । उनले एक रेडियो अन्तरवार्तामा भनेका छन् ‘तीन दलको बिचमा सहमति भएरै अस्थायी मुकाम तोकिएको हो । बर्तमान सरकारले वा मुख्यमन्त्रीले मात्रै डोटीबाट राजधानी खोसेर अन्त लगेको होईन ।’

लोकसेवा तयारीका लागि उपयोगी 

शिक्षक सेवा आयोगले सार्वजनिक गरेको प्राथमिक तहको खुल्ला प्रतियोगिताका लागि लिईने लिखित परीक्षाको पाठ्यक्रम 
शिक्षासम्बन्धी आधारभूत ज्ञान 
१. नेपालको संविधान र शिक्षा सम्बन्धी ऐन नियमहरू 
१.१ नेपालको संविधान ः भाग ३ देखि ५ सम्म 
१.२ शिक्षा ऐन (संशोधनसहित), २०२८ र शिक्षा नियमावली (संशोधनसहित), २०५९ 
१.३  शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७ 
२ शिक्षा सम्बन्धी सामान्य जानकारी 
२.१ नेपालको शैक्षिक इतिहास (राणाकालदेखि हालसम्मको) २.२ नेपालको शिक्षाको तहगत संरचना २.३ शिक्षाका राष्ट्रिय उद्देश्यहरु,   २.४ प्राथमिक तहका तहगत उद्देश्य÷सक्षमताहरू 
२.५ शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयको संगठन,  संरचना र कार्यहरु,  
२.६ नेपालको शैक्षिक तथ्याङ्क सम्बन्धी सामान्य जानकारी ३ शिक्षा सम्बन्धी नीतिहरू 
३.१ शिक्षा नीति र यसको आवश्यकता,  ३.२ शिक्षक सक्षमताको प्रारुप २०७२   
३.३ खुला तथा दुर शिक्षा नीति,  ३.४ अनौपचारिक शिक्षा नीति 
४ शिक्षासम्बन्धी विभिन्न आयोग तथा समितिका प्रतिवेदनहरू 
४.१ राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८–२०३२,  ४.२ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ 
५ शिक्षासम्बन्धी योजना तथा कार्यव्रmमहरु 
५.१ सबैका लागि शिक्षा सम्बन्धी राष्ट्रिय कार्ययोजना (सन् २००१–२०१५) उद्देश्य तथा उपलब्धि 
५.२ विद्यालय क्षेत्र विकास योजना (२०७३–२०७९) ः लक्ष्य, उद्देश्य र कार्यहरु 
५.३ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यव्रmम ९ल्भ्न्च्ए० 
६. शैक्षिक र शैक्षणिक योजनाहरु निर्माण र कार्यान्वयन 
६.१ शैक्षिक क्यालेण्डर विद्यालय, वार्षिक कार्ययोजना  
६.२ वार्षिक, एकाइ र दैनिक शैक्षणिक योजना  
६.३ गाउँ÷नगरस्तरीय शिक्षा योजना निर्माण र प्रयोगको अवस्था 
६.४ विद्यालय सुधार योजना,   ६.५ विद्यालय विकासमा स्थानीय सरकार÷निकाय, गैरसरकारी र समुदायमा आधारित संस्थाहरुसँगको सम्बन्ध र समन्वय 
७. विद्यालय तहको पाठ्यव्रmम र मूल्याङ्कन 
७.१ पाठ्यव्रmमकोे परिचय, निर्माण प्रव्रिmया र  पाठ्यव्रmम निर्माणमा प्रभाव पार्ने तत्त्वहरू 
७.२ विद्यालय तहको पाठ्यव्रmम ढाँचा 
७.३ राष्ट्रिय पाठ्यव्रmमको प्रारूप (परिमार्जनसहित), २०६३ 
७.४ स्थानीय पाठ्यव्रmम प्रारुप, २०७१, निर्माण र प्रयोगको अवस्था 
७.५ प्राथमिक तहको पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरूको विकास तथा प्रयोग 
७.६ शिक्षण सिकाइमा निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन 
७.७  निरन्तर मूल्याङ्कन प्रणाली र अक्षराङ्कन पद्धति 
७.८ मातृभाषामा आधारित बहुभाषिक शिक्षा 
८ बाल मनोविज्ञान र सिकाइ  
८.१ बाल मनोविज्ञानको अवधारणा ,बाल वृद्धि र विकास 
८.२ पूर्व बाल्यावस्था र उत्तर बाल्यावस्थाको परिचय, विकासात्मक पक्षहरू र सिकाइसंँग सम्बन्धित विशेषताहरू 
८.३ सिकाइमा प्रभाव पार्ने तत्त्वहरू 
८.४ उत्प्रेरणाका सिद्धान्तहरू र विद्यार्थीहरूमा उत्प्रेरणा जगाउने उपायहरू 
९ विद्यालय सुशासन र शैक्षिक व्यवस्थापन 
९.१ विद्यालय सुशासन (कअजयय िनयखभचलबलअभ) र सामाजिक परीक्षण (कयअष्ब िबगमष्त) 
९.२ शैक्षिक व्यवस्थापनको परिचय र सिद्धान्त       
९.३ विद्यालय व्यवस्थापनमा उत्तरदायित्व, जवाफदेहिता र सहभागिता       
९.४ स्व–व्यवस्थापन, समय व्यवस्थापन  र विपद् व्यवस्थापन  
९.५ कक्षा कोठा व्यवस्थापनको अवधारणा र आधुनिक कक्षाकोठा व्यवस्थापन       
९.६ उपचारात्मक शिक्षण पद्धति        
९.७ विद्यार्थीमा निहित विविधता व्यवस्थापन ः भाषिक, सामाजिक, सिकाइ क्षमता, बौद्धिकता, शारीरिक तथा मानसिक अवस्था       
९.८ शैक्षणिक सङ्गठन ः कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण र बहुकक्षा बहुस्तर ९ःन्ःी० शिक्षण 
९.९ शिक्षण सिकाइमा परियोजना कार्य, कार्यमूलक अनुसन्धान र घटना÷मामला अध्ययन 
१० शिक्षाका नवीनतम् चिन्तन 
१०.१ अधिकारमा आधारित शिक्षा,   १०.२ बालमैत्री विद्यालय ः अवधारणा, मापदण्ड र सूचकहरू १०.३ विद्यालय शान्ति क्षेत्र,   १०.४ समाहित शिक्षा र शिक्षामा समावेशीकरण 
१०.५ शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि 
१०.६ साधारण तथा प्राविधिक सिप ९कयात बलम जबचम कपष्िि० र जीवनोपयोगी सिप ९षिभ यिलन भिबचलष्लन बलम षिभ कपष्िि० 
१०.७ शिक्षक शिक्षा र तालिम,  १०.८ अभिभावक शिक्षा

साहित्य सिर्जना 

हुन्छ यहाँ 

निर्दोष राख्ने जेल हुन्छ यहाँ
अपराधी बचाउने खेल हुन्छ यहाँ
विकासका नाममा अबरोध गर्ने खेल हुन्छ यहाँ
जड्याहा जुवाडी एक ठाउँ बसी मेल हुन्छ यहाँ
जहाँ मुहान नै छैन त्यहाँ कुलो झिक्ने खेल हुन्छ यहाँ
जहाँ पढेका छैनन् साक्षर घोषणा हुन्छ यहाँ
जहाँ नीति नियम उलंघन हुन्छ यहाँ
उनै मानिसबाट गाउँ फुटाउने काम भएको हुन्छ यहाँ
जहाँ नचाहिदो गफ दिई भाई फुटाउने कार्य हुन्छ यहाँ
त्यस्तै ब्यक्तीबाट देश लुटाउने कार्य हुन्छ यहाँ
हे सरकार यस्तै यस्तै शिक्षा दिएका हौ त यहाँ
बल पौरख अहिले गएका छन कहाँ
पढाइ प्रयोगात्मक नभई के शिक्षा दियौ यहाँ
जग्गा बाँझो राख्ने कृषकलाई अनुदान दियौ यहाँ
के बन जंगल जल छैनन् त यहाँ
नदी नाला कतीमा बेच्यो र कहाँ
जता त्यतै काम गर्दा पैँसा किन चाहिन्छ यहाँ
जनमुखी प्रशासन नभै हाकीमूखि प्रशासन यहाँ 
तेज खड्का

गजल 

मन मिल्यो थर मिलेन कसरी 
दुबैलाई दवाब डर मिलेन कसरी 
सबैले खोस्न खोजे मबाट उस्लाई 
खोसी पनि हाले कर मिलेन कसरी 
सबैले रुप छैन रंग छैन भन्छन 
दुबै देखिन्छन सुन्दर मिलेन कसरी 
यहाँ ढुङ्गालाई फलाम देखिन्छ भने 
डोजरलाई ट्याक्टर भन्न मिलेन कसरी
टाउको छिनालेर परीक्षण गरी
पुनः जोड्दा खप्पर मिलेन कसरी 
संघर्ष साया

मुक्तक 

हिडेकी थिएँ माया नै माया भेटाउन
पुगे आफ्नै गाला हतियार रेटाउन 
झोलले पनि तनाब दुर गर्छ कति कति बेला
पिउ पिउ साथी पिउनु पर्छ याद मेटाउन  
पबित्रा थापा मगर “साया” 

गजल 

असल गरेका हुन कोदालाहरुले खाल्डो खनेर
कम्तिमा प्यासीले त पिउँछ मलाई इनार सम्झेर
पछुतो भयो आमालाई छोरो जन्माएकोमा
जब बाउ आयो हत्केलामा छोराको लास बोकेर
झुपडीमा आगो लगाइ दम्कल बोलाउनु हुन्छ
सर्पले कहिल्यै डस्दैन कसैलाई दुलाभित्र बसेर
प्रकृतिले नै दिएको स्वभाव हो पोखिनदिनुस
थाप्नलाई फैलाइरहनु पर्दैन च्यादर प्रेम पोखेर
आखिर आयौ खाली हात थुपार्दै जिन्दगी बितायौ
कति खित्खिताउदो हो चिता यि मान्छे सोचेर
पुष्पा जोशी ‘काली’ 
धनगढी ,कैलाली

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६/०२/१२ 
उपरोक्त सम्बन्धमा शिखर नगरपालिका–११ तल्लीसात डोटीमा रहेको यस श्री भूवनेश्वरी आधार बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. २÷०७५÷०७६ 
पद ः शिक्षक,    संख्या ः १ जना
तह ः प्रा. बि. तृतीय,    
किसिम ः अस्थायी करार   
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः २०००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०२÷२६ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०२÷२७ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८४८४७६४५४, ९८४०३९३०५२ मा सम्पर्क गर्नु होला ।

Tuesday, May 21, 2019

बिम्ब साप्ताहिक, २०७६ साल जेठ ७ गते मंगलबार

सार्वजनिक सम्पत्तिमा प्रत्येक नागरिकको हक हो, त्यसको दुरुपयोग दण्डनीय अपराध हो ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

गाउँगाउँमा सिंहदरवार होईन, “स्याल दरवार”

रामहरी ओझा/डोटी
जेठ ६
“गाउँ गाउँमा सिंहदरवारभन्ने नारा कागजमै सिमित भएको छ । नाम मात्रका सिंहदरवार हुन, के को सिंह दरवार ? हामीलाई न अधिकार दिने न कर्मचारी दिने, अनि कसरी समृद्ध नेपाल हुन्छ, कसरी जनताले सेवा पाउँछन्, कसरी विकास हुन्छ, कसरी सुशासन कायम हुन्छ ?’
डोटी, जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा संघ र प्रदेश सरकारले स्थानीय तह भन्दा पनि सांसदलाई बलियो वनाउने काम गरेको  आरोप लगाए । ‘स्थानीय तह सिंहदरवार होईन, स्याल दरवार जस्ता भएका छन्’ ओझाले थपे ‘तर पनि विकासका लागि, समृद्धिका लागि, सुशासनका लागि हामीले सकेसम्म आफ्नो क्षेत्रबाट प्रयास गरिरहेका छौं ।’ ओझाले गाउँपालिकामा कर्मचारी अभावका कारण समस्या भएको दुःखेसो गरे ।  
सायल गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलले गाउँपालिकामा जम्मा एक जना मात्रै कर्मचारी भएको वताए । “हाम्रो गाउँपालिकामा ६ वडा छन् । ६ वटै वडा सचिवको काम गर्ने, गाउँ कार्यपालिकाको कार्यालयमा प्रशासनिक काम गर्ने, अन्य फाँटका काम गर्ने जम्मा एक जना मात्रै कर्मचारी छन्’ डुम्रेल भन्छन् ‘अनि हामीले काम गर्ने कसरी  हो ?’ उनले आफुले चाहेर पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको वताए । 
के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र वहादुर शाहीको दुखेसो पनि उस्तै छ । “हामीले ऐन, नियम, कार्यबिधि वनाएका छौं तर त्यसको कार्यान्वयनका लागि जनशक्ति छैन” शाहीले भने ‘सुरुदेखि नै हामीले कर्मचारी अभाव झेल्दै आयौं, समायोजनपछि त कर्मचारी सवै खाली हुने अवस्था छ ।’ आफु संघ, प्रदेशमा समायोजन भएको भन्दै कर्मचारीहरुले कामै गर्न नमानिरहेको उनको भनाई छ । उनी थप्छन् ‘न कर्मचारीहरु छन्, न प्राविधिकहरु छन्, अनि जनप्रतिनिधिले मात्रै चाहेर सुशासन कायम हुन सक्ने अवस्था छैन ।’ 
दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी जनप्रतिनिधिहरु जसरी खटिएका छन्, कर्मचारीहरु त्यसरी नखटेको दुखेसो गर्छिन् । ‘कर्मचारीहरुले असहयोग गरेका छन् त म भन्दिनँ, सहयोगै गरेका छन्’ मलासीले भनिन् ‘तर जुन स्पिडका साथ हामी जनप्रतिनिधिहरु हिड्न खोज्छौं, त्यो कर्मचारीहरुले गर्न सकेका छैनन् ।’ उनले सुशासन कायम गर्नका लागि आफुले अनुगमनलाई बढी जोड् दिएको वताईन । 
स्थानीय सरकारलाई बलियो वनाउने गरी संघ र प्रदेशले अधिकार दिनु पर्ने वताउँछन् पूर्वीचौकी गाउँपालिका का अध्यक्ष दिर्घराज बोगटी । ‘जनताका लागि केन्द्र सरकार सुनिने सरकार हो र प्रदेश सरकार देखिने सरकार हो’ बोगटीले भने ‘तर स्थानीय सरकार जनताले नियाल्ने सरकार हो ।’ स्थानीय तहमा सुशासन कायम नभएसम्म देशमा सुशासन कायम हुन नसक्ने भन्दै बोगटीले स्थानीय तहमा तत्काल कर्मचारीको व्यवस्था हुनु पर्ने वताए । 
कर्मचारी अभावकै कारण निर्वाचनका बेला जुन सोच लिएका थियौं, दुई बर्ष पुरा हुँदा पनि त्यो सोच अनुसार अगाडी बढ्न नसकेको वताउँछन् बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला ‘एनान’ । उनी थप्छन् ‘कर्मचारी छैन भन्दाभन्दै दुई बर्ष बितेछ ।’ कर्मचारीहरु आउँदै नआउने, आएका कर्मचारीहरु पनि दुर्गममा बस्नै नमान्ने जस्ता समस्याहरु आफुले झेलेको उनी वताउँछन् । ‘हामीले आवश्यक ऐन कानुनहरु त वनाएका छौ’ एनान भन्छन् ‘कानुन वनाएर मात्रै सुशासन कायम हुँदैन, जनशक्ति चाहिन्छ, त्यो हामीसंग छैन ।’ 
‘आज प्रमुख प्रशासकीय अधिकृत छैन, भोली लेखापाल छैन, पर्सी फाँटको कर्मचारी छैन भन्दा भन्दै दुई बर्ष बितायौं’ आदर्श गाउँपालिकाका अध्यक्ष टेकवहादुर रोकाया भन्छन् ‘तर पनि हामी जनतालाई सुशासनको प्रत्याभूति गराउने प्रयासमै छौं ।’ कर्मचारी अभावले जनप्रतिनिधिहरुले आफ्नो भिजन अनुसारको काम गर्न नसकेको उनी वताउँछन् ।

सम्पादकीय 

फेरी उस्तै हो त तरिका ?

अहिले सुदूरपश्चिम प्रदेश सरकारको बिषयमा सञ्चारमाध्यममा व्यापक समाचार आईरहेको छ । प्रदेश सरकारले छनौट गरेका योजनाहरुमा स्थानीय तहलाई कुनै जानकारी नगराई कार्यान्वन गरेको, राजनीतिक दलका नेताहरु, मन्त्री–सांसदका आफन्तहरु, मुख्यमन्त्रीका स्वकीय सचिवका आफन्तहरुलाई उपभोक्ता समितिको अध्यक्ष वनाईएको, योजनामा ३० प्रतिशतसम्म कमिसन माग्ने  गरेको, एउटै ठाउँमा एउटै योजनाका दुई नाम दिएर दोहोरो वजेट बिनियोजन गरिएको जस्ता बिषयहरुले व्यापकता पाएको छ । जति पनि बिषयहरु उठान भएका छन्, सवै सत्य नहोलान् तर सवै असत्य हुन भन्ने कुनै आधार छैन । यसका लागि सम्वन्धित निकायले जति प्रतिवाद गरेपनि त्यो अपुरो हुनेछ । 
योजना कहाँ, कति र कसरी छनौट भए भन्ने बिषयलाई पहिले चर्चाको बिषय वनाईनु जरुरी छ । प्रदेश सरकार र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यहरुले सोझै बाँड्न पाउने रकमले छानिने योजनाहरुको आधार के हो ? नेता, कार्यकर्ता, मन्त्री सांसद, पिएले जहाँ भन्यो त्यतै योजना हाल्ने हो वा जनताको आवश्यकता अनुसार योजना हाल्ने हो ? जहाँ योजना निर्माण हुने हो, त्यो क्षेत्रका वास्तविक उपभोक्ताहरुलाई योजनाको वारेमा जानकारी नहुने हो भने नागरिक संलग्नता कसरी हुन्छ ? कसरी योजनामा नागरिक निगरानी हुन्छ ? जुन स्थानीय तह अन्तरगत प्रदेश सरकारले योजना निर्माण गर्दैछ, त्यो बिषयमा त्यो स्थानीय तहलाई जानकारी नहुने हो भने त्यसको स्वामित्व कसरी त्यो स्थानीय तहले लिने हो ? स्थानीय तहले योजना छनौट गर्दा सात चरण पार गर्नु पर्ने तर प्रदेश सरकारले र माननीयहरुले मनपरी गर्न पाईने हो र ? 
हो, निश्चित रुपमा बिगतदेखि नै चल्दै आएको चलन के हो भने जो शक्तिमा हुन्छ उसले आफुलाई फाईदा हुने गरी स्रोतको उपभोग र बितरण गर्ने गरेको छ । त्यो नियति अहिले पनि  दोहोरियो, हामी लोकतान्त्रिक व्यवस्थामा छौं तर व्यक्तिगत रुपमा आफुलाई लोकतान्त्रिकीकरण गर्न सकेका छैनौं । त्यसैले यो समस्या छ । कुनै ठाउँमा बढी योजना परे, कुनै ठाउँमा कम योजना परे भन्ने कुराको बिषयमा धेरै विवाद नगरौंला तर योजनाको अनुगमन र योजनाको स्वामित्व लिने गरी त योजना छनौट हुनु प¥यो । त्यो पनि हुन सकेको देखिदैन । 
दोश्रो एवं महत्वपूर्ण बिषय हो योजनामा कमिसन माग  गरिएको कुरा । आफुलाई कम्युनिष्ट भन्ने पार्टी नेतृत्वको  सरकारले योजनालाई कमिसनको खेल वनाउँछ भने त्यो भन्दा लाजमर्दो बिषय सायदै अरु केही होला । त्यसैले यो बिषयमा छानविन हुनु जरुरी छ । यदि यस्तो कुकर्म कसैले गरेका छन् भने तुरुन्तै कारवाहीको दायरामा ल्याउनु पर्छ । यदि हल्लैहल्ला हो भने हल्ला फिजाउनेलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्छ । 
यो त गत बर्षको कुरा भयो, अव के यो बर्ष पनि यस्तै हो त अवस्था ? के योजना कुनै नेता, मन्त्री, सांसद, पिएकै कृपामा हो त जनताले पाउनु पर्ने ? विकास जनताको अधिकार हो, जनताले विकास पाउनु पर्छ र त्यसका लागि प्रक्रिया वनाउनु पर्छ । स्थानीय तहले आफ्नो आफ्नो क्षेत्रभित्र कस्तो योजना वनाउने भन्ने अधिकार राख्छ । त्यसैले स्थानीय तहलाई बाईपास गरेर न कुनै योजना छनौट हुने र न कुनै उपभोक्ता समिति गठन हुने ग्यारेण्टी सहितको कार्यबिधि वनाउनु जरुरी छ । 
“बिगतमा यस्तै हुन्थ्यो र अहिले पनि यस्तै चलिरहन्छ” भन्ने मानसिकता अहिलेका शासकहरुमा पलाएको हो भने, हेक्का  राख्नुहोस् पूर्ण बहुमत हुँदाहुँदै पनि २०५१ सालमा गिरिजाको, २०५७ सालमा भट्टराईको र २०५९ सालमा देउवाको सरकार ढल्नमा प्रतिपक्षको कुनै भूमिका छैन । सत्तापक्ष नै प्रतिपक्ष भएको थियो । अहिले दुई तिहाईको दम्व देखाएर मनपरी गर्नेहरुलाई थलाँ परेको प्रतिपक्षले केही गर्न नसक्ला तर सत्तापक्षबाटै प्रतिपक्ष जन्मिन वेर लाग्ने छैन । चेतना भया ।

थप समाचार 

आठ सय ९५ जनाले नागरिकता लिए

गणेश मौनी/डोटी
जेठ ६
डोटीको बडीकेदार गाउँपालिकामा संचालन गरिएको एकिकृत घुम्ती सेवा शिबिरबाट आठ सय ९५ जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् ।  
बडीकेदार गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा बुधबार देखि संचालन गरिएको एकिकृत घुम्ती शिबिरमा ठुलो परिणाममा नेपाली  नागरिकताको प्रमाण पत्र     वितरण गर्नुका साथै अन्य सेवाहरु पनि उपलब्ध गरिएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक पाण्डेयले बताएका छन् ।
शिबिरमा  पँच सय नौ जना महिला, तीन सय ८६ जना पुरुष गरि आठ सय ९५ जनाले नागरिकता लिएका हुन् । त्यसै गरि शिविरमै सात सय ८५ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 
त्यस्तै स्वास्थ्य उपचार तथा चेकजाँच, पशु सेवा, कृर्षि सेवा, सम्बन्धी परामर्श लिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । 
जनताको घरदैलोमा सरकारको उपस्थिती गराई जनतालाई सर्व सुलभ र सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ जेठ १, २ र ३ गतेका लागी आयोजना गरिएको शिबिरमा ठुलो परिणाममा सेवाग्राहीहरुले सेवा लिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए । उनले भने “ग्रामिण क्षेत्रमा सेवा शिविर संचालन गर्दा सेवा ग्राहीहरुलाई प्रत्येक्ष रुपमा लाभ प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार पछिल्लो समयमा ग्रामीण भेगमा संचालन गरिएका ५ वटा शिबिरहरुमध्ये सबै भन्दा बढी नागरिकता बितरण भई हजारौं सर्व साधारणलाई राहात पुगेको पौडेलले बताए । 
डोटीको बोगटान फुड्सिल गाउँपालिकाबाट सुरु गरेको शिविर सायल गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श  गाउँपालिकामा  पछिको बडीकेदार गाउँपालिकामा संचालन भएको पाचौ शिविर हो । अन्य स्थानीय  तहसंगको समन्वयमा पनि जिल्लाका अन्य स्थानहरुमा शिविर संचालन गर्न सकिने समेत संयोजक पौडेले बताए । 

बालविबाहको डरलाग्दो अवस्था

कर्ण चन्द/सिलगढी
जेठ ६
२४ बर्षीया मन्नी कोली  दिपायल सिलगढी नगरपालिका–७, उडीतोलामा बस्छिन् । उमेरले उनी २४ मात्रै भएपनि उनका तीन सन्तान छन् । जेठी छोरीको उमेर पाँच नाँघेको छ । 
कलिलै उमेरमा बिहे भएकी उनी हेर्दा एक उमेर छिपिएकी जस्ती लाग्छिन् । ‘हामी आठ भाइबहिनी थियौं, परिवारको आर्थिक अवस्था कमजोर थियो’ मन्नीले भनिन् ‘महिनावा–री भएपछि छोरीलाई विवाहका लागि तयारी भइहाल्छ, आमाबुवाको विपद् देखेपछि बिहे गर्नुपर्ने छोरीमान्छेको नैतिकता नै भइहाल्छ ।’ 
मुक्त हलिया परिवारकी मुन्नी हाल मुक्त हलिया पुनस्र्थापना कार्यक्रम अन्तरगत पाएको वजेटले सानो घर वनाई बसेकी छिन् । मुन्नीका श्रीमान् परिवार पाल्नका लागि मुग्लान पसेका छन् । 
रूपा कोलीको अवस्था पनि उस्तै हो । झट्ट हेर्दा पाको उमेरकी देखिने उनी चैतमा मात्र २० वर्षकी भईन् । खस्रो गाला र दुब्लो ज्यानकी उनी दिपायल सिलगढी नगरपालिक–७ उडीतोलास्थित घरमा बस्छिन् । आफूहरूको समुदायमा बालविवाहका कारण परेका असरहरूबारे जानकारी भएपनि त्यसलाई सहेर जीवन यापन गर्नु उनी आफ्नो कर्तव्य सम्झन्छिन् । छेउमै दुई वर्षको छोरा खेलिरहेका थिए । 
कलिलै उमेरमा दुई सन्तानकी आमा भएकी रूपालाई बालविवाहले हाँस्ने, खेल्ने उमेर सकिएको पत्तै मिलेको छैन । ‘आमाबुवाले सानैमा बिहे गरिदिए, उहाँहरूको बोझ बनेर माइत बस्नु छोरीको धर्म होइन’ छोरासँगै छोरीलाई काखीमा च्यापेर उनले भनिन्, ‘हाम्रातिर मेरो मात्र होइन, सबैको यही उमेरमा बिहे हुने भएकाले कुनै अनौठो लाग्दैन ।’
मन्नी र रुपा जस्तै जिल्लाका बिभिन्न क्षेत्रमा बालबिवाह गर्नेको संख्या धेरै छ ।
तीन बर्षमा १६३ बालविवाह 
दिपायल सिलगढी नगरपालिका–८ मा गरिएको एक सर्वेक्षण अनुसार बिगत तीन बर्षमा एक सय ६३ जनाको बालविवाह भएको छ । 
सामुदायिक विकास केन्द्र नामक गैरसरकारी संस्थाको सहयोगमा दिपायल सिलगढी नगरपालिका–८ का जनप्रतिनिधि–हरूले गरेको सर्वेक्षणबाट  यस्तो तथ्याँक आएको वडाध्यक्ष राम बहादुर खड्काले वताए । उनका अनुसार बालविवाह घट्नुको साटो बढ्दै गएको तथ्यांक फेला परेको छ । तीन बर्षको तथ्याँक हेर्दा उक्त बालविवाहको दर बढ्दै गएको देखिएको छ । 
सर्वेक्षण अनुसार ०७३ मा ३८, ०७४ मा ५६ र ०७५ मा ६९ जनाको बालविवाह भएको छ । बालविवाह हुनेमध्ये एक सय ३३ जना बालिका र २७ जना बालक रहेका छन् । ‘विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन’ सर्वेक्षणमा सहयोग गरिरहेको संस्था सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक भन्छन् ‘बालविवाह पारिवारिक परिस्थिति, सामाजिक संजाल तथा सूचना प्रविधिहरूको दुरुपयोग मुख्य रहेको सर्भेक्षणमा देखिएको छ ।’ 
वडाध्यक्ष खड्काले चार वर्षभित्र बालविवाहलाई निरुत्साहित हुने गरी प्रभावकारी योजना ल्याउने बताए । 
यस्तो बालविवाहले आमा तथा सन्तानहरूको शारीरिक अवस्था कमजोर बनाउने गरेको छ । बढी सन्तान जन्माउँदा पाठेघर खस्ने, बिभिन्न रोगहरूले संक्रमण हुने, शरीर कमजोर हुने गरेका छन् । 
बालविवाहले धेरै सन्तान 
नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले नगरको वडा नम्बर ९ मा सय जना जति बालबालिकामा गरेको अर्को एक सर्वेक्षणमा २० प्रतिशत अभिभावकहरूका सात सन्तान रहेको भेटिएको वताए ।
उनले ५० प्रतिशत दम्पतीको चार देखि ६ जना र ३० प्रतिशतको तीन जनासम्म सन्तान रहेको तथ्यांक फेला    परेको जानकारी दिए ।  बालविवाह गर्ने दम्पतीका बढी सन्तान जन्मिने गरेको    जानकारी दिए ।

राज्यलाई बलियो वनाउन सञ्चारकर्मी पनि लाग्नु पर्छ ः मन्त्री शाह

आशिष प्रताप मल्ल/डडेल्धुरा
जेठ ६
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले राज्यलाई बलियो बनाउने अभियानमा पत्रकार पनि लाग्नुपर्ने बताएका छन् ।
आइतबार डडेल्धुरा सदरमुकाममा आयोजित पत्रकारिता प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री शाहले सो कुरा बताएका हुन् । पत्रकार राज्यको चौथो अंग भएको उल्लेख गर्दै मन्त्री शाहले राज्यले पत्रकारहरुमाथि लगानी गरेकाले एकजुट भएर राज्यलाई बलियो बनाउने अभियानमा लाग्नुपर्ने समेत बताएका छन् । संचार क्षेत्रको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री शाहले पत्रकारहरुले निमुखाहरुको आवाज भन्न सक्नुपर्ने बताएका छन् । पत्रकारले समाजको सद्भावलाई अगाडि बढाउन सक्नुपर्ने बताउँदै उनले सार्वभौमसत्ता, स्वतन्त्रता खुम्चाउने प्रयत्न भयो भने त्यसका विरुद्ध खबरदारी गर्ने बताएका छन् । पत्रकारले आफूभन्दा माथि उठेर समाज र राष्ट्रको अधीनमा बस्न सक्ने प्रण गरे मात्रै समाजको कायापलट गर्ने सकिने उनको भनाइ थियो । 
उनले पत्रकार र राजनीतिकर्मी वा सरकार सञ्चालनमा रहेका व्यक्तिहरु एकअर्काका प्रतिस्प्रर्धी नभएको बताएका छन् । संचारकर्मी र राजनीतिकर्मीको सहकार्यले यो समाजलाई बदल्न सकिनेसमेत उनले बताए । सञ्चार क्षेत्र, राजनीति क्षेत्र, प्रशासनिक क्षेत्र एकअर्काका परिपूरक भएको उनको भनाइ थियो । 
उनले नेपालमा पत्रकारिता क्षेत्रले ठूलो फड्को मारेको उल्लेख गर्दै उनले आम सञ्चारकर्मीहरुलाई संवेदनशिल भएर कलम चलाउन आग्रह समेत गरेका छन् । पत्रकारहरुले दिने समाचार, सूचनाले समाजमा एकता कायम हुने र विभाजन समेत हुने भएकाले सचेत भएर कलम चलाउन आग्रह गरेका हुन् । 
पत्रकारिता क्षेत्रलाई अझै व्यापक बनाएर आगाडि बढाउनुपर्ने उनको भनाइ थियो । ‘पत्रकार र राजनीतिकर्मी एकअर्काका परिपूरक हुन्’, उनले भने, ‘हामीले एकअर्का लाई सहयोग गरेर अगाडि बढ्नुपर्छ ।’ देशमा रहेको गरिबी, अशिक्षा हटाउनतिर पनि मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।
उनले एकअर्कामा विश्वास गरेर वा सहयोग गरेर अघि बढेमा भने समाजमा परिवर्तन आउने र जनताका अपेक्षालाई पूरा गर्न सक्ने बताएका छन् । पत्रकारहरूले दिएका सुझाव समेटेर प्रदेशको कानुन निर्माण गर्ने उनको भनाइ थियो । प्रदेश सरकार आम सञ्चार नीति बनाउने क्रममा रहेको उनले जानकारी समेत दिएका छन् । उनले संचार ऐन ल्याउने तयारी भइरहेको उनले बताएका छन् । यहाँका सञ्चार गृहहरुलाई सहयोग गर्ने गरी बजेट पनि ल्याइने उनले जानकारी दिएका छन् । 
यस प्रदेशमा रहेका स्रोत साधनको सदुपयोग गरी समृद्ध प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागिरहेको समेत उनले बताएका छन् । पत्रकारिता क्षेत्रलाई जनताले विश्वास गरेको उल्लेख गर्दै मन्त्री शाहले जनताका अधिकारका निम्ति आफ्नो पेसागत मर्यादा र अधिकारका लागि अघि बढ्न संचारकर्मीहरुलाई अनुरोध समेत गरेका छन् ।

३३ जनालाई अपाङ्गता परिचय पत्र वितरण

डोटी, जोरायल गाउँपालिकाले ३३ जना अपाङ्गता भएको व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ । 
पहिलो पटक अपाङ्गता परिचय पत्र वितरण गर्न सुरु गरेको गाउँपालिकाले वडा नं. ५ र ६ मा गरी ३३ जना अपाङ्गता भएका मानिसहरुलाई अपाङ्गता परिचय पत्र वितरण गरेको अपाङ्गता समन्वय समिति संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले वताईन् । जेठ ३ गते वडा नं. ६ निरौलीमा १२ जनालाई र जेठ ५ गते वडा नं. ५ गड्सेरामा २१ जनालाई परिचय पत्र दिईएको हो । ‘क’ वर्गका दुई, ‘ख’ वर्गका तीन, ‘ग’ वर्गका पाँच र ‘घ’ वर्गका २३ परिचय पत्र वितरण भएको बोहराले जानकारी दिइन् ।
अपाङ्गता भएका व्यक्तिहरुलाई आउजाउ गर्न कठिन हुने भएका कारण वडामै पुगेर अपाङ्गता परिचय पत्र     वितरण गर्न सुरु गरिएको उपाध्यक्ष बोहराको भनाई छ । अन्य वडाहरुमा पनि अपाङ्गता परिचय पत्र वितरण गरिने उनले जानकारी दिइन् ।
शिविर पनि सञ्चालन
जोरायल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको वडा नं. ५ गड्सेरामा शनिबार स्वास्थ्य शिविर सञ्चालन भएको छ । 
गाउँपालिकाको स्वास्थ्य इकाईको आयोजना र वडा कार्यालयको समन्वयमा सञ्चालन भएको उक्त शिविरको गाउँपालिकाका उपाध्यक्ष बोहराले उद्घाटन गरेकी थिईन । प्राथमिक स्वास्थ्य केन्द्र सरस्वतीनगरका प्रमुख डा ज्योति पाण्डेको नेतृत्वको स्वास्थ्य टोलीले महिलाहरुको पाठेघर खस्ने लगायतका समस्याहरु उपचार गरेको थियो । 
शिविरमा तीन सय ११ जना मानिसले स्वास्थ्य सेवा लिएको गाउँपालिका का उपाध्यक्ष जमुना बोहराले बिम्ब साप्ताहिकलाई जानकारी दिईन् ।

बिप्लव कार्यकर्तामाथी सार्वजनिक मुद्धा

प्रहरीले पक्राउ गरेका विप्लप नेतृत्वको नेकपाका कार्यकर्तामाथि सार्वजनिक मुद्धा लगाईएको छ । 
बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकेर बसेका बेला पक्राउ परेका नेकपा जिल्ला कमिटी सचिवालय सदस्य प्रकाशवहादुर थापामाथि सार्वजनिक अपराधमा मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी  उपरीक्षक बिद्यानन्द माझीले जानकारी दिए । उनीसंगको आवश्यक सोधपुछ र बयानपछि सार्वजनिक हित विपरितका गतिबिधिहरु सञ्चालन गरेको भन्दै उनी बिरुद्ध सार्वजनिक मुद्धा चलाईएको हो । 
बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा बैशाख २३ गते राती अज्ञात समुहले आगजनी गरेको थियो । प्रहरीले उक्त आगजनीमा बिप्लव समूहको हात रहेको आसंका गरेको छ । तर, बिप्लव समूहले भने उक्त घटनामा आफुहरुको कुनै संलग्नता नरहेको वताउँदै आएको छ । आगजनीका संलग्नहरु अझै पत्ता लागेको छैनन् । 
सरकारले बिप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि देशभरीबाट पार्टीका नेता कार्यकर्ता पक्राउ भईरहेका छन् । डोटीमा पक्राउ पर्नेमा थापा पहिलो हुन् । उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको छ । 
केही समयअघि मात्रै बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौलीमा राखिएको अस्थायी प्रहरी चौकी हटाउन नेकपाले माग गरेको थियो । उक्त चौकी नहटाए परिणाम नराम्रो हुने चेतावनी समेत उक्त समूहले दिएको थियो । 

खेल समाचार 

गोदावरी राजधानी कप फुटवल हुने

पिएफए अत्तरियाको आयोजनामा कैलालीको अत्तरियामा “गोदावरी राजधानी कप फुटवल” प्रतियोगिता आयोजना हुने भएको छ ।
जेठ १८ गतेदेखि सञ्चालन हुने प्रतियोगिता देशभरका १६ टीमको सहभागिता रहने आयोजक संस्थाले पत्रकार सम्मेलन गरी जानकारी दिएका छ । आयोक संस्थाका अध्यक्ष योगेश भट्टले प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताए । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले १५÷१५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगीताका प्रत्येक खेलको म्यान अफ द म्याचले तीन हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालनमा ३८ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।

लेख

नेकपाको जवज ः ‘कलियुगको धर्म’

अरूण बराल
यस आलेखमा चर्चा गर्न खोजिएको मुख्य विषय हो– मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद अर्थात जबजको सार । र, सहायक विषय हो– मदन भण्डारीद्वारा प्रतिपादित जबज र हाल नेकपाको संस्थापन पक्षले प्रयोग गँर्दै आएको ‘जबज’वीचको  विरोधाभाष ।
पूर्वीय शास्त्रमा ‘धर्म’ र ‘कलिधर्म’ वीच जुन प्रकारको सारभूत भिन्नता छ, मदन भण्डारीको जबज र वर्तमान नेकपा नेताहरुले व्यवहारमा प्रयोग गरिरहेको जबजमा पनि ठीक त्यही प्रकारको भिन्नता देखिन्छ ।
सारलाई छाड्नु अनि रुप पक्षलाई मात्रै अँठ्याएर बस्नु ‘कलियुगको धर्म’ हो । यतिबेला जबजको वकालत गरिरहेका नेकपाका नेताहरुले मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्तको मर्म र भावना अर्थात सार पक्षलाई छाडेर जबजको नाममात्रै जप्ने काम गरिरहेका छन् ‘कलियुगका पण्डित’ ले झैं । अहिलेका नेताहरुले जबजको ‘धर्म’ छाडेका छन् । र, जबजनामी ‘बर्को’ मात्रै ओढेका छन् । बीसौं शताब्दीका विश्वप्रशिद्ध साहित्यकार लियो टाल्सटायले ठीकै लेखेका रहेछन् ः पहिले सुनका पुजारी हुन्थे, उनीहरुले काठको कमण्डलु बोक्थे । अहिले पुजारीहरुले सुनको कमण्डलु बोक्न थालेका छन्, तर उनीहरु काठमा परिणत भएका छन् ।
मदन भण्डारीद्वारा प्रतिपादित जबजबारे चर्चा गर्नुपूर्व कलियुगको धर्मबारे चर्चा गरौं–
कलियुगको धर्म
पूर्वीय शास्त्रमा ‘कलियुग’ एउटा त्यस्तो भाष्य हो, जसभित्र दुईवटा अर्थ निहीत छन् ः एक–धर्मका नाममा हुने पाखण्ड । दुई–शासकहरुमा देखापर्ने जनविरोधी एवं भ्रष्ट चरित्र । जब मानिसले धर्मको सारलाई भुल्छ र रुप पक्षलाई मात्रै अंगाल्छ, त्यसैलाई पूर्वीय दर्शनमा ‘कलि धर्म’ भनिन्छ । श्रीमद्भागवतको द्वितीय अध्यायमा ‘कलियुगको धर्म’ बारे व्याख्या गर्दै भनिएको छ– ‘पाखण्डप्रचुरे धर्मे दस्युप्रायेषु राजसु । चौर्यानृतवृथाहिंसानानावृत्तिषु वै नृषु ।। (१३) अर्थात्– धर्ममा पाखण्डको प्रधानता हुनेछ । राजा–महाराजा डाका–लुटेरा समान हुनेछन् । मनुष्यले चोरी, झूठ तथा निरपराध हत्या आदि नाना प्रकारका कुकर्मबाट जिविका चलाउन थाल्नेछन् । श्रीमद्भागवतको यही अध्यायमा कलियुगका शासकको चरित्र चित्रण गर्दै भनिएको छ–त्यस समयको नीच राजा अत्यन्त निर्दयी एवं क्रुर हुन्छ, लोभी त यति हुन्छ कि उसमा र लुटेरामा कुनै अन्तर गर्न सकिँदैन ।
कलियुगमा हुने पाखण्डीपनको व्याख्या गर्दै शास्त्रमा थप भनिएको छ–‘कलियुगमा जसका साथमा धन हुन्छ, उही मानिसलाई कुलीन, सदाचारी र सदगुणी मानिन्छ । जसका हातमा शक्ति हुन्छ, उसैले धर्म र न्याय व्यवस्थालाई आफ्नो अनुकूल बनाउन सक्छ । ‘जो घुस दिन वा धन खर्च गर्न असमर्थ हुन्छ, उसलाई अदालतबाट सही न्याय मिल्दैन ।‘असाधु (इमान्दार) नहुनु तथा दोषी हुनुको एक मात्र पहिचान रहन्छ–गरीब हुनु ।
व्यहारको निपूर्णता सच्चाइ र इमान्दारितामा रहँदैन, जसले जति छलकपट गर्न सक्छ, उसलाई यति नै व्यवहारकुशल मानिन्छ । ‘बाहुनको पहिचान उसको गुण र स्वाभावबाट हैन, जनैबाट मात्रै हुन्छ । बस्त्र, कमण्डलुबाट मात्रै सन्यासीको पहिचान हुन्छ । जो बोलचालमा जति चलाख हुन्छ, उति नै ठूलो पण्डित मानिन्छ । जसले जति धेरै दम्भ–पाखण्ड गर्न सक्छ, उसलाई त्यति नै ठूलो साधु ठानिन्छ । वानप्रस्थी सन्यासी आदि विरक्त आश्रमवालाहरु पनि घर गृहस्थी जुटाएर व्यापार गर्न थाल्छन् ।’
कलियुगको शासक रजोगुण र तमोगुणबाट अन्धो बन्छ । उसले लुट खसोट गरेर आफ्ना प्रजाहरुको खून चुस्छ ।.सुकदेवजी भन्छन्–समय बडो बलवान छ । जब जब घोर कलियुग आउँछ, तब तब उत्तरोत्तर धर्म, सत्य, पवित्रता, क्षमा, दया, आयु, बल र स्मरण शक्ति लोप हुन्छ । धर्मका नाममा हुने पाखण्डबारे चर्चापछि अब मदन भण्डारीद्वारा प्रतिपादित जबजबारे चर्चा गरौं ।
जबजको सार र मदन भण्डारीको आशय
मदन भण्डारीले कम्युनिष्ट पार्टीलाई लोकतान्त्रीकरण गर्ने असल नियतले नै जबजको प्रस्तावना अगाडि सारेका थिए । तर, उग्रपन्थी झापा आन्दोलनको जगमा निर्मित उनको पार्टीका नेताहरुको धमनीमा राम्रोसँग लोकतान्त्रिक रक्तसञ्चार भइनसक्दै भण्डारीको निधन भयो । फलस्वरुप, अहिले सो पार्टीका नेताहरुले जबजको नामसम्म त जपिरहेका छन्, तर त्यसको सारलाई व्यवहारमा आत्मसात गर्न सकिरहेका छैनन् । आफूलाई र देशलाई लोकतान्त्रीकरण गर्नुपर्नेमा त्यसको उल्टो केपी ओली लगायतका नेताहरु तानाशाहीकरण गर्ने बाटोतिर अग्रसर देखिएका छन् ।
तत्कालीन एमाले महासचिव मदन भण्डारीले ०४९ सालको पाँचौं महाधिवेशनमा अगाडि सारेको ‘जनताको बहुदलीय जनवाद’ का मुख्य सार दुईवटा थिएः एक– जबज समाजवादमा जानुअघिको क्रान्तिको कार्यक्रमको नाम थियो । र, दोस्रो–कस्तो समाज व्यवस्था वा कस्तो पार्टी–पद्दति, विचार पद्दति अपनाउने भन्ने दर्शनशास्त्रीय मान्यता पनि थियो जबज । मदन भण्डारीले अगाडि सारेका यी दुईवटै पक्षलाई समग्रतामा नहेरिकन ‘क्रान्तिको न्यूनतम कार्यक्रम’ का रुपमा मात्रै जबजको व्याख्या गर्नु भनेको जबजको सारलाई छाड्नु हो ।
मदन भण्डारीले अगाडि सारेको जबजको कार्यक्रमिक पाटोलाई मात्रै हेर्ने हो भने ‘क्रान्तिको न्यूनतम कार्यभार’ सकिएर गणतन्त्र आइसकेको वर्तमान अवस्थामा जबजको औचित्य सकिएको निश्कर्ष निकाल्न सकिन्छ । र, यो पाटोबाट मात्रै हेर्दाखेरि जबजको च्याप्टर क्लोज भइसकेको स्पष्ट हुन्छ । तर, भण्डारीले अगाडि सारेको जबजको अर्को पाटो पनि छ, जसलाई अहिले नेकपाका नेताहरुले चटक्कै भुलेका छन् । मदन भण्डारीले अगाडि सारेको जबजका १४ वटा विशेषताहरु छन् । यी १४ विशेषतामध्ये क्रान्तिको न्यूनतम कार्यक्रमको जबज हुनेछ भन्ने बुँदा चाहिँ १४ औं नम्बरको प्राथमिकतामा राखिएको थियो, जसलाई अहिले नेकपाका नेताहरुले पहिलो नम्बरको जस्तै ठानेर स्यालहुइँया मच्चाइरहेका छन् ।
मदन भण्डारीले अघि सारेको जबजका १४ वटा विशेषता यी हुन् ः
संविधानको सर्वोच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथक्कीकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पुँजी र प्रविधि, क्षतिपूर्ति (जमिन्दारलाई), विदेश नीति ( देशको लाभ–हानीमा आधारित), नेतृत्व र अधिनायकत्व (सर्वहारा अधिनायकत्वको ठाउँमा जनताको अधिनायकत्व) र अन्त्यमा–जनताको बहुदलीय जनवाद (क्रान्तिको कार्यक्रम) । भण्डारीले अगाडि सारेका यी १४ वटा विशेषताहरु नै जबजको ‘धर्म’ अर्थात सारभूत मान्यता हो । क्रान्तिको कार्यक्रमका रुपमा मात्रै जबजलाई बुझ्नु भनेको गेरु बस्त्र लाउँदैमा त्यसलाई साधु ठान्नु जस्तो मात्रै हो ।
सरकार र पार्टीको विरोधमा बोल्न पाउनुपर्छ ः मदन भण्डारीले जबजको दोस्रो विशेषतामा बहुलवादी खुल्ला समाजको चर्चा गर्दै यसो भनेका थिए– ‘प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने र बोल्ने तथा आफ्ना अनुभूतिहरु व्यक्त गर्ने स्वतन्त्रता हुनुपर्छ । यो स्वाभाविक र प्रकृतिसंगत कुरा हो । त्यसको उल्टो केवल शासक वर्ग र पार्टीको प्रशंसामा मात्र बोल्न पाइने र  विरोधमा मुख खोल्न नपाइने व्यवस्था अरु पक्षमा जतिसुकै राम्रो भए पनि टिकाऊ हुन सक्दैन ।’
सोही बुँदामा भण्डारीले अगाडि लेखेका छन्, ‘प्रत्येक व्यक्तिलाई सरकार, राजनीतिक पार्टीहरु, सामाजिक संस्थाहरु र अधिकारहिरुका बारेमा आफूलाई लागेका कुराहरु स्वतन्त्र रुपमा बोल्न दिनुपर्छ । मुलुकको कानून र संविधानको आधारमा प्रेस र पर्यटनको स्वतन्त्रता हुनुपर्छ ।’ भण्डारीले पाँचौं महाधिवेशनको दस्तावेजमा लेखेका थिए, ‘कम्युनिष्ट पार्टीले शासन चलाएका कतिपय देशमा बहुलवाद र खुलापन रहेन र त्यसको परिणाम पनि राम्रो भएन । हामी बहुलवाद र खुला समाजको पक्षमा छौं ।’
अधिकार केन्द्रीकरण गर्नुहुँदैन ः प्रधानमन्त्री बन्नासाथ केपी शर्मा ओलीले अधिकार केन्द्रीकरण गर्ने नीति लिएको हामी सबैले देखेका छौं । तर, मदन भण्डारीको जबजले अधिकार केन्द्रीकरण गरिनुहुँदैन भन्छ । मदन भण्डारीले बहुदलीय जनवादको तेस्रो विशेषतामा स्पष्टसँग लेखेका छन्,‘व्यक्तिको हातमा मात्र होइन, कुनै एउटा संस्थाको हातमा पनि अति केन्द्रीकरण हुनुहुँदैन । राज्यका विभिन्न अधिकारहरुलाई प्रयोग गर्ने केन्द्रमा पृथक निकायहरु हुनुपर्छ अझ राज्यको अधिकार शासक पार्टीले प्रयोग गर्ने र राज्य तथा पार्टीवीचको भिन्नतालाई समाप्त गर्ने काम गर्नुहुँदैन । राज्य र पार्टीवीचको भिन्नता र अन्तरसम्बन्धलाई ठीक ढंगले सञ्चालन गरिनुपर्छ ।’
त्यसैगरी सरकारका कामकाजविरुद्ध आलोचनात्मक दृष्टिकोण राख्न पाउनुपर्छ भन्दै मदन भण्डारीले यसलाई बहुदलीय व्यवस्थाको मूलतत्व बताएका छन् । भण्डारीले जबजको सातौं विशेषतामा लेखेका छन्, बहुदलीय पद्दतिको एउटा मूलतत्व संगठित प्रतिस्पर्धा हो भने अर्को मूलतत्व बहुमतको सरकार, अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारका कामकाजहरुप्रति आलोचनात्मक दृष्टिकोण राख्ने र गलत कुराहरुको      विरोध गर्ने संवैधानिक व्यवस्था हो ।’
जबजको बर्को ओढेर अधिनायकपथको यात्रा
मदन भण्डारीले पार्टी र राज्यको लोकतान्त्रीकरणलाई महत्व दिएका थिए । तर, के नेकपाका वर्तमान नेता र उनीहरुबाट सञ्चालित सरकारले भण्डारीले भनेजस्तै लोकतान्त्रिक वा जनवादी अभ्यास गरिरहेका छन् त ? यसमा नेकपाका नेताहरुले गम्भीर विमर्ष गर्नुपर्ने देखिन्छ ।
अहिले मदन भण्डारी र जबजको वकालत गर्ने नेताहरुमै आलोचना नसहने, विपक्षीप्रति असहिष्णु बन्ने, सञ्चार माध्यमलाई कालो कानून ल्याएर नियन्त्रण गर्न खोज्ने, सामाजिक सञ्जालमा नागरिकहरुको मुख थुन्न खोज्ने जस्ता जबजविरोधी रुझान प्रष्टसँग देखिन थालेको छ ।
पार्टीमा मात्र होइन, सरकारमा पनि मदन भण्डारीले भनेको भन्दा ठीक उल्टो ढंगबाट यात्रा सुरु गरिएको छ । सम्पूर्ण अधिकार एकजना व्यक्तिमाथि अतिकेन्द्रीकरण गर्दै लगिएको छ । पार्टीभित्रबाट सरकारको आलोचना गर्न नदिने, नेताको भजन नगाउनेहरुलाई पाखा लगाउने र भक्तजनहरुलाई काखी च्याप्ने स्टालिनवादी रुझान नेकपामा देखा परेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग असहमत हुने नेतालाई कुनै जिम्मेवारी नदिने जबजविरोधी हर्कत देखा परेको छ । यो हर्कत मदन भण्डारीको जबजको धर्म र मर्म   विपरीत छ कि छैन ? नेकपाका नेता कार्यकर्ताहरु, अझ जबजका बाचकी, उपवाचकीहरुले जान्ने कुरा हो ।
कलियुगमा धर्म छाडेर पाखण्डको यात्रा कतिसम्म हुन्छ भन्ने कुरा त श्रीमद्भागवतको प्रशंग माथि नै चर्चा गरिसकियो । सिद्धान्तलाई जडसूत्र वा मन्त्रका रुपमा घोक्नुमात्र होइन, मन्त्र खोक्दै बर्को ओढेर सिद्धान्तकै विपरीत काम गर्नु कलियुगको धर्म हो ।
उदाहरण खोज्न धेरै टाढा जानु  पर्दैन । मदन भण्डारीका उत्तराधिकारीले अहिले दुईवटा पसल थापेका छन्, एउटा– महंगो निजी कलेज र दोस्रो– ‘मदन भण्डारी फाउन्डेसन’ का नाममा एनजीओ ।
हे भगवन् ! के समाजवादी नेता मदन भण्डारीले यसैगरी आफ्ना सन्ततिले शिक्षालाई व्यापारीकरण गरुन् र आफ्नो नाममा एउटा एनजीओरुपी गुठी चलोस् भन्ने सपना देखेका थिए होला त ? कि यो ‘कलिधर्म’ हो ?
पूर्वीय सभ्यताको दुःखान्त !
हाम्रो पूर्वीय ‘सिभिलाइजेन’ को एउटा दुःखान्त छ । गौतम बुद्धले मूर्तिपूजा र ईश्वरवादको आलोचना गरे, अहिले उनकै मूर्तिपूजा हुन्छ । ओशोले धार्मिक पाखण्ड–पनको विरोध गरे, उनकै नाममा सम्प्रदाय जन्मिएको छ । मदन भण्डारीले जे गर्नुहुँदैन भने, अहिले उनका अनुयायीहरु जबजले नगर्नु भनेकै काम गरिरहेका छन् ।
हामी भन्ने गर्छौं कि हाम्रा वेद, पुराण वा शास्त्रहरुमा विज्ञानको भण्डार छ । उपनिषदभित्रै क्वाटम थ्यौरी छ । गीताभित्र संसारको सबैभन्दा सर्वश्रेष्ठ ज्ञान–विज्ञान र चेतना छ । रावणकै पालामा पूर्वमा पुष्पक विमान बनेको थियो, पश्चिामाले बनाएको त धेरै पछिमात्रै हो आदि इत्यादि । तर, खोई त हामीले त्यो ज्ञानको भण्डारलाई व्यवहारमा उतारेर मानव समाजको सेवा गर्न सकेको ? हामीले केवल शास्त्रमा छ भन्यौं । तर, विज्ञानमा पश्चिमकै भर पर्दै यहाँसम्म आयौं । आखिर यस्तो किन भयो ? यसको एउटै कारण हो–हामीले विज्ञानलाई सूत्रका रुपमा, मन्त्रका रुपमा जप्यौं । त्यसलाई व्यवहारमा लागू गरेनौं । हामीले हाम्रो दर्शनशास्त्रलाई धर्मशास्त्रबाट अलग गर्न कहिल्यै सकेनौं ।
अहिले नेकपाका नेताहरुमा यही पूर्वीय रुढीवादको सीमा देखिइरहेको छ । मदन भण्डारीको जबजबारे धुमधामसँग भजन कीर्तन भइरहेको छ । रत्यौली चलिरहेको छ । तर, व्यवहारमा चाहिँ ‘पाखण्ड प्रचुरे धर्मे’ भनेजस्तै भइरहेको छ । एकपटक फेरि नेकपाका नेता–कार्यकर्ताले अरिंगाल बन्न छाडेर मदन भण्डारीको जबजको सार राम्रोसित अध्ययन गर्ने पो हो कि ? जहाँ भनिएको छ–जडसूत्रवाद मूर्दावाद ! अधिनायकवाद मूर्दावाद ! प्रत्येक व्यक्तिलाई बोल्न   दिनुपर्छ !
—अनलाईन खवर डटकमबाट

लोकसेवा तयारीका लागि उपयोगी 

ड्डदेशको कुल भुभागको करिब ६८% भुभाग यस क्षेत्रमा रहेको 
ड्डसुहाउँदो हावापानी 
ड्ड बाहुन, क्षेत्री, तामाङ्ग जस्ता जाति र हिन्दू धर्म मान्नेहरूको बाहुल्य भएको । 
२. तराई क्षेत्रका विशेषताहरू 
ड्डदेशको कुल भू–भागको करिब १७% भूभाग यस क्षेत्रमा रहेको 
ड्डअन्न भण्डारले परिचित 
ड्डयातायात, सञ्चार, शिक्षा र स्वास्थ्यको पर्याप्त सुविधा भएको 
ड्डकृषि, पशुपालन, उद्योग, व्यापार, नोकरी आदि पेसा अँगालिएको 
ड्डहिमाली र पहाडी क्षेत्रका तुलनामा बेरोजगार संख्या कम 
३. नेपालको निजामती सेवामा प्रवेश गरेका नयाँ विषयहरू 
ड्डसुशासन 
ड्डलैङ्गिक समता, समानता र मूलप्रवाहिकरण 
ड्डसमावेशीकरण 
ड्डउपभोक्ता हक हितको संरक्षण 
ड्डनयाँ सार्वजनिक व्यवस्थापन 
ड्डसक्षम सरकारः सक्षम प्रशासन 
४. निजामती सेवाका विशेषताहरू 
क) राज्य व्यवस्थाको अभिन्न अंग र सरकारको संस्थागत संयन्त्र 
ख) स्वतन्त्र निकायद्वरा कर्मचारीको छनौट 
ग) स्थायी कार्यकाल, निश्चित पदावधि र उमेरको हद 
घ) नियम कानुनमा आधारित 
ङ) योग्यता प्रणालीमा आधारित 
च) पद सोपानको सिद्धान्तमा आधारित प्रशासनिक संरचना 
छ) लिखित अभिलेखको व्यवस्था 
ज) दोहोरो उत्तरदायित्व 
झ) वृत्ति विकासका अवसरहरूको सुनिश्चितता 
ञ) गैर सैनिक चरित्र 
ट) राजनीतिक रूपमा तटस्थ 
ठ) तोकिएको सेवाको सर्त सुविधा  
५. लेखा भन्नाले के बुझिन्छ ? 
ड्डलेखा परीक्षण ऐन, २०४८ अनुसार  लेखा भन्नाले कारोबार भएको बेहोरा देखिने गरि प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउँदछ ।  
ड्डसाधारण अर्थमा लेखा भन्नाले प्रचलित कानुन, ऐन नियम, नीति, कार्यक्रम तथा निर्णय, आदेश तथा मापदण्ड समेतलाई आधार मानी कारोबारको यथार्थ विवरण देखिने गरि राखिने अभिलेख वा खाता भन्ने बुझिन्छ । 
६.लेखा प्रणाली भन्नाले के बुझिन्छ ? 
ड्डआर्थिक कारोबारको लेखापरीक्षण गर्ने, अभिलेख राख्ने र त्यसको नतिजा एवं यथार्थ आर्थिक स्थिति देखाउन अपनाइने व्यवस्थित कार्यविधिलाई लेखा प्रणाली वा स्रेस्ता प्रणाली भनिन्छ ।
ड्डलेखाका विभिन्न प्रतिवेदनहरू तयार गर्न आवश्यक पर्ने अभिलेखा सम्बन्धी क्रियाकलाप नै लेखा प्रणाली हो ।
७. राजनैतिक विभाजनका महत्वहरू उल्लेख गर्नुहोस् । 
ड्डविकास निर्माण कार्यमा सहजता ल्याउने 
ड्डविकेन्द्रीकरणको प्रवद्र्धन गर्ने 
ड्डजनताको पहुँचमा सेवा सुविधा पु¥याउने 
ड्डराज्यका हरेक क्षेत्रमा समता मूलक पहुँच पु¥याउने 
ड्डक्षेत्रीय सन्तुलन कायम गर्ने 
ड्डआर्थिक, सामाजिक असमानता हटाउने 
ड्डस्रोतको प्रतिफलको न्यायोचित वितरण गर्ने, सदुपयोग गर्ने 
ड्डप्रशासनिक कार्यमा सघाउ पु¥याउने, जटिलता न्यून गर्ने 
ड्डराज्यको उपस्थिति जनाउने 
८. जैविक विविधता भन्नाले के बुझिन्छ ? 
ड्डसंसारको जल, स्थल, समुन्द्र तथा सिमसार सबै क्षेत्रमा रहेका जीवित प्राणी तथा वनस्पतिहरूबीच पाइने भिन्नतालाई नै जैविक विविधता भनिन्छ । 
ड्डवातावरण संरक्षण ऐन, २०५३ अनुसार जैविक विविधता अन्तर्गत ३ प्रकारका चरण बद्ध श्रेणीहरू पर्छन्  ः पारिस्थितिकीय प्रणाली, प्रजाति विविधता, आनुवंशिक विविधता÷वंशाणु गत विविधता 
ड्डजैविक विविधताको सम्पन्नताको दृष्टिकोणले नेपाल विश्वमा २५औँ र महाद्विपीय मानचित्रमा ११औँ स्थानमा पर्छ । 

साहित्य/सिर्जना 

गन्तव्यबिहिन योद्धा 

रुदैछ उ भक्कानिएर आज यहाँ 
आँशु बिनाको पीडा कसले देख्छ र 
टुट्दा आशा अपेक्षाहरू संघर्षका 
बलिदानको ईतिहास कसले लेख्छ र
अभावमा हिजो सृजित गरेका 
परिवर्तनका कल्पना र सपनाहरू 
सम्पन्नतामा योद्धाले नै बिर्सिदिए
क्रान्तिको पूर्णता कसरी हुन्छ र ?
आफ्नो लागि सजाउदा महल यहाँ 
बुकुरो देख्ने साहश कसमा हुन्छ र 
मझ्धारमा सामाजिक सपनाहरू 
खोई कहिले कसरी पुरा हुन्छ र ?
नदि किनारको अविचलित ढुंगा पनि 
आफ्नै काखको जलले छियाछिया 
बिलिन उ आफै एक दिन हुन्छ र
बिर्सेर सिद्धान्त, गन्तव्यबिहिन यात्री तिमी 
योद्धा बिना क्रान्ति, सफल कसरी हुन्छ र
सफल कसरी हुन्छ र ? 
सूर्य बस्याल 
बङ्नासकालि–६ गुगाँ रेले पाल्पा 
हाल र दिल्ली भारत प्रवास

परदेशी पो भैसकेछु

नखोज्नु है मलाई बसन्तको हरियालीमा
म त उजाड मरुभूमिमा हराई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभूमिमा पुगीसकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारिन पो पुगीसकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभूमिमा पो मडारिन पुगीसकेछु
नखोज्नु है मलाई जन्मभूमिको कुनाकुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनिसकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
सागर बोहरा

गजल 

छन त छ बाआमाको लगानी हजुरको पनि मेरो पनि 
तर हुदैन बराबर आम्दानी हजुरको पनि मेरो पनि
आहा ! र ऐया ! दुइटै पुकारेका छन् यि ओठहरुले
प्यारो उत्तिकै छ जिन्दगानी हजुरको पनि मेरो पनि
धुलो माटोको गन्ध ताजको चमक फरक यत्ति न हो
शीरमा हुन्छ शिरानी हजुरको पनि मेरो पनि
प्रिय कतिन्जेल गर्नुहुन्छ यो मांसपिण्डको तारिफ
सधैभरी रहदैन जवानी हजुरको पनि मेरो पनि
लेखिने पात्र बन्छ लेख्ने पात्रता कमाउँछ
कागजमा छापिन्छ कहानी हजुरको पनि मेरो पनि
पुष्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

बोगटान फुड्सिल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय,

 चवाराचौतारा, डोटी
सुदूरपश्चिम प्रदेश, नेपाल

सूचना !   सूचना !!   सूचना !!!

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६/०२/०५
प्रस्तुत विषय सम्वन्धमा यस गाउँपालिका अन्तर्गत रहेका सामुदायिक बिद्यालयहरुको आ.व. २०७४÷०७५ सम्मको लेखापरीक्षण कार्य सम्पन्न गर्न आवश्यक लेखापरीक्षक सूचिकृत गर्नु पर्ने भएकोले नेपाल     सरकारद्वारा मान्यता प्राप्त ईच्छुक लेखापरीक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र यस गाउँपालिकामा रु. ५००।– को नगदी रसीद र तपशिल बमोजिका कागजात सहित आवेदनका लागि यो सूचना प्रकाशित गरिएको छ । 
आवश्यक कागजातहरु ः 
१. नेपाली नागरिकताको प्रतिलिपी १ थान 
२. लेखा व्यवसायी संस्था नविकरण निस्सा १ थान 
३. लेखा व्यवसायी फर्म दर्ता प्रमाण पत्र १ थान 
४. सदस्यता प्रमाण पत्र 
५. कर चुक्ता प्रमाण पत्र 
६. स्थायी लेखा नं. प्रमाण पत्र