Tuesday, March 21, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७३ चैत्र ८ गते मंगलवार

गुणस्तरीय बस्तु वा सेवाको उपभोग गर्न पाउने उपभोक्ताको संबैधानिक हक तथा मानवअधिकारको सम्मान गरौं र गराऔं । 
— कसैले उपभोक्ता हितमा प्रतिकुल असर पर्ने काम कारवाही गरेको पाईएमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी वा आपुर्ति व्यवस्थान तथा उपभोक्ता हित संरक्षण बिभागमा उजुरी गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

अख्तियारको छानबिनले बिद्यालयको पढाई प्रभावित


पाँच जना सरकारी अनुदान र दुई जना स्थानीय स्रोतबाट गरि सात जना कार्यरत बिद्यालयमा हाल एक जना मात्रै शिक्षक रहेका छन । साबिकको गाउँ बिकास समितिबाट दिईएको अनुदानमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथी छानबिनको क्रममा बिद्यालयको पढाई प्रभावित भएको छ । 
डोटी दिपायल सिलगढी नगरपालिका–९ मछन्तोला (साबिकको बगलेक गाबिस–९) मा रहेको मष्टेश्वर आधारभुत बिद्यालयमा कक्षा ५ सम्म अध्ययन÷अध्यापन भईरहेको छ तर शिक्षक एक जना मात्रै छन । स्थायी शिक्षक एक, सट्टा एक, करार एक र राहात दुई गरि सरकारी अनुदानका पाँच जना शिक्षक रहेकामा अख्तियारले चार जनालाई निलम्वन गरेपछि हाल एक जना करार शिक्षक मात्रै कार्यरत छन । 
साबिकको बगलेक गाउँ बिकास समितिबाट २०६४÷०६५ देखि ०७०÷०७१ सम्म बिद्यालयको भौतिक पूर्वाधारका लागि बिनियोजन भएको चार लाख ५५ हजार रुपैयाँ हिनामिना भएको भन्दै परेको वेनामी उजुरीमा अख्तियारले छानमिन गर्ने क्रममा सो अवधीमा क्रमैसंग प्रधानाध्यापक बनेका शिक्षकहरु लक्ष्मण साफी, मुक्तीराज जोशी, सुनिता केसी र बिरवहादुर साउँदलाई गत फागुन १७ गते निलम्वन गरेपछि बिद्यालयमा एक जना करार शिक्षक नरवहादुर बोहरामात्रै कार्यरत छन । चार शिक्षकहरुसंगै बगलेकका प्राबिधिक धनवहादुर बिष्ट र सोही गाबिसका तत्कालीन सचिव भीमवहादुर धामी पनि अनुसन्धानमा रहेका छन । प्राबिधिक बिष्ट पनि निलम्वनमा छन । धामी सेवानिबृत्त भईसकेका छन । यस्तै बिद्यालय व्यवस्थापन समिति अध्यक्ष महा साउँद पनि अख्तियारको अनुसन्धानमा छन । 
२०७१ साल भाद्र ५ गते पहिलो पटक अख्तियारले बिद्यालयमा उजुरीका सम्वन्धमा पत्राचार गरेको थियो । त्यसबेला देखि भईरहेको अनुसन्धान अझै टुंगिएको छैन । उजुरी आएपछि शिक्षकहरुले आफुहरुले कुनै अनियमितता नगरेको जवाफ दिएका थिए । उक्त जवाफपछि कुरा मिलेको सोचेका शिक्षकहरुलाई करीव एक बर्षपछि अख्तियारको टोली बिद्यालयमा पुगेपछि मुद्धा जारी रहेछ भन्ने जानकारी भयो । 
‘५ कक्षासम्मको बिद्यालयमा म एक्लैले के गर्नु ?’ हाल कार्यरत शिक्षक बोहरा भन्छन् ‘त्यसैले बार्षिक परीक्षा चाँडै गरे ।’ सोमवार बार्षिक परीक्षा सकिएको बोहरा बताउँछन । शैक्षिक सत्र २०७२ सम्म कक्षा ८ सम्म पढाई भईरहेको बिद्यालय २०७३ को शैक्षिक सत्र देखि ५ सम्म झरेको बोहराले वताए । उनले भने ‘गाउँ बिकास समितिले पनि अनुदान दिन छोडेपछि नीजिस्रोतबाट राखेका दुई जना शिक्षकहरुलाई तलव खुवाउन स्रोत नभएपछि बिद्यालय तल झार्नु   परेको हो । 
एकातिर आर्थिक अनियमितता भएको भन्दै अख्यितारमा उजुरी प¥यो अर्कोतिर जिल्ला शिक्षा कार्यालय डोटीको अनुदानमा बनेको दुई कोठे भवनको छाना हावाले उडायो, बिद्यालयको पठनपाठनमा बिस्तारै समस्या हुँदै गयो । अन्ततः बिद्यालयनै बन्द हुने अवस्थामा पुग्यो ।  
शिक्षकहरुको आपसी बिवादका कारण तत्कालीन प्रधानाध्यापक लक्ष्मण साफीले २०६९ साल मंसिर २९ गते राजीनामा दिएपछि मुक्तीराज जोशी प्रधानाध्यापक भए । जोशीले ०७० पुष २ गते राजीनामा दिएपछि सुनितालाई प्रअ बनाईएकोमा सुनिताले पनि राजीनामा दिएपछि बिरवहादुर साउँदलाई प्रधानाध्यापक बनाईएको थियो । यि चारै जना शिक्षकहरु अहिले निलम्वनमा परेका छन । 
“बिद्यालयमा कुनै आर्थिक अनियमितता भएको छैन” निलम्वित शिक्षक जोशीले भने ‘बजेट अनुसार गर्नु पर्ने काम अभिभावकहरुले जनश्रमदानबाट भएको हो, उक्त रकम हामीहरुले बिद्यालयको खातामा राखेर नीजिश्रोतको शिक्षकहरुलाई तलव खुवाएका हौं ।’ आफुहरु माघ २, फागुन २६ र चैत्र ४ गरि तीन पटक बिशेष अदालतमा हाजिर भएको बताउँदै जोशीले बेनामी उजुरी गर्नेले आफुहरुलाई अनावश्यक दुःख दिन खोजेको वताए । 
बिद्यालयमा अध्ययनरत एक सय ९८ बालबालिकाहरुका अभिभावकहरुलाई आगामी शैक्षिक क्ष्ेत्रमा बिद्यालयको अवस्था के हुने भन्ने चिन्ता छ । एक स्थानीय अभिभावकले भने ‘यो कारवाही कहिलेसम्म हुने हो ? तवसम्म हाम्रा बालबालिकाहरुको जिम्मा को ले लिने हो ?’

सम्पादकीय 

उत्कृष्ठ संबिधानको प्रतिफल

२०७२ साल असोज ३ गते, संबिधान जारी भएको दिन । अधिकांश नेपालीहरुको मन मस्तिष्कमा एक प्रकारको उत्साह, उल्लाह र आशा थियो । दीपावली गरे, अधिकांशले खुशी मनाए, एकअर्कामा शुभकामना आदान–प्रदान गरे । संबिधानका हस्ताक्षरकर्ताहरुले यो संबिधान “बिश्वकै उत्कृष्ठ” संबिधान भएको वताए, कसैले बिगतका संबिधानभन्दा प्रगतिशील भएको टिप्पणी गरे, कसैले तुलनात्मक रुपमा राम्रो संबिधान पनि भने । केही व्यक्ति तथा समूहहरुले यो संबिधानको तिव्र आलोचना पनि गरे । कतिले संबिधान जलाए पनि, कतिले कार्यान्वयन हुन नदिने कसम खाए । यति हुँदाहुँदै पनि झण्डै ९१ प्रतिशत जनप्रतिनिधिहरुले यो संबिधानलाई पारित गरेका         कारण प्रजातान्त्रिक मुल्य र मान्यता अनुसार यो संबिधान उत्कृष्ठ मान्नु अन्यथा भने होईन । 
संबिधान जारी गर्ने तरखर भईरहेकै बेलादेखि तराई क्षेत्रमा केही आपराधिक मनस्थिति भएका व्यक्तिहरु मधेशी र पहाडेका नाममा नेपाली–नेपालीलाई लडाउन सफल भए । ठुलो जनधनको क्षति भयो, दक्षिणी छिमेकीले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालीलाई आतंकित वनाउने कार्य ग¥यो । तरपनि नेपाली नयाँ संबिधान जारी भएकोमा ठुलो उपलव्धीका रुपमा लिए नेताहरुले । 
तर, त्यो उपलव्धी यति धेरै ठुलो रहेछ कि सरकारको नेतृत्व गर्ने पार्टीले नेपाल बन्द गर्न पाईने, सरकारमा सहभागि दलहरुले निर्वाचन आयोग घेराउ गर्न पाईने, सरकारमै बसिराख्ने तर सरका–रले घोषणा गरेको चुनाव हुँदैन भनेर प्रचारबाजी गर्न पाईने, संबिधान गीता, बाईवल, कुरान वा यस्तै कुनै धर्मग्रन्थ हो, यसलाई कुनै हालतमा संसोधन गर्नु हुँदैन, संसोधनको बिषय आएमा संसद अबरुद्ध गर्न पाईने, एउटा राजनीतिक दललाई अर्को राजनीतिक दलले देशको कुनै निश्चित भु–भागमा आफ्ना क्रियाकलापहरु गर्न प्रतिवन्द लगाउन पाईने । यो भन्दा बढी उत्कृष्ठ अरु के हुन सक्ला र ? 
पहिलो कुरा, संबैधानिक प्राव्धाननै गलत ढंगले भईरहेको छ । संबिधानले एकातिर देश संघीयतामा गएको स्वीकार गर्ने अर्कोतिर सबै तहका निर्वाचनहरु संघीय सरकारले गर्नु पर्ने त्यो पनि दुई बर्षभित्रै ! यदि स्थानीय तहको सिमा, संख्या, निर्वाचन सबै संघीय सरकारले गर्ने हो भने प्रादेशिक सरकारको भूमिका के हुन्छ ? स्थानीय निकायहरु संघीय सरकारको अधिनस्थ हुन वा प्रादेशिक सरकारको अधिनस्थ हुन ? प्रादेशिक सरकारको अधिनस्थ हुन भने आफ्नो प्रान्तमा कति स्थानीय निकाय हुने, तिनिहरुको काम, कर्तव्य र अधिकार कति हुने, तिनीहरुको सिमाना कसरी निर्धारण गर्ने, तिनीहरुको आर्थिक प्रणाली कस्तो हुने भन्ने बिषयमा सम्वन्धित प्रदेश सरकारले तय गर्न पाउनु पर्छ कि पर्दैन ? 
दोश्रो कुरा संबिधानको कार्यान्वयन गलत ढंगले भईरहेको छ । ‘एकात्मक संघीयता’ को नयाँ अभ्यास हुन थालेको छ । संबिधानले स्थानीय निकायको चुनाव गर्न पाउने व्यवस्था गरेको छ तर नेताहरुलाई स्थानीय तहकै निर्वाचन गर्ने हतारो भयो । संख्या मिलेको छैन, सिमा मिलेको छैन, नयाँ संरचना अनुसार सेवा सञ्चानल गर्नका लागि जनशक्ति छैन, केन्द्र तोकिएको ठाउँमा भौतिक संरचना छैनन् तर चुनाव भने स्थानीय तहकै गर्नु पर्ने । स्थानीय तहको चुनाव भएमात्र संबिधान कार्यान्वयन भएको हुने तर स्थानीय निकायको चुनाव भए “पश्चगमन” हुने जुन मानसिकता बन्यो त्यसले गर्दा बैशाख ३१ गते हुने भनी घोषणा गरिएको चुनाव पनि ‘चु–नाप’ मात्रै होला भन्ने शंका उत्पन्न भएको छ । यो उत्कृष्ठ संबिधानले देशभित्र कसैले कसैको बिरोध गर्दा गोली हान्न आदेश दिने तर बिदेशीले हाम्रै    सरहदभित्र आएर गोली ठोक्दा पनि ‘चु’ सम्म बोल्न नसक्ने उत्कृष्ठ सरकार उत्पादन गर्न बाहेक अरु केही गर्न सकेको छैन भन्दा अनुपयुक्त हुँदैन । यही हो हामीले बनाएको उत्कृष्ठ संबिधानको प्रतिफल ।

थप समाचार 

जानकारी नदिएरै काम गर्छन् गैससहरु


‘कुन गैर सरकारी संस्थाले, कुन ठाउँमा, के बिषयमा काम गरिरहेको छ भन्ने कुरा नै जानकारी हुँदैन । बाहिरबाट काम गर्ने आउने गैरसरकारी संस्थाहरुले न त जिल्ला समन्वय समितिसंग सम्पर्क गर्छन, न जिल्ला प्रशासन कार्यालयसंग त सम्वन्धित बिषयगत कार्यालयहरुसंग ।’ 
डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले बाहिरवाट आएर डोटीलाई कार्यक्षेत्र बनाई काम गर्ने बिकासे संस्थाहरुले जिल्लामा कुनै समन्वय नगर्ने गरेको वताए । ‘रघु जीले यस बिषयमा केही प्रतिवद्धता गर्नुहुन्छ भन्ने लागेको थियो’ गैसस महासंघ डोटी शाखाका अध्यक्ष  रघु कठायतलाई सुनाउँदै शर्माले भने ‘उहाँले पनि केही कुरा भन्नु भएन ।’ 
स्थानीय शान्ति समिति डोटीद्वारा आयोजना गरिएको ‘अन्तरक्रिया तथा साविकका गाबिस स्तरीय शान्ति समितिमध्ये उत्कृष्ठ समितिलाई सम्मान गर्ने कार्यक्रम’ मा बोल्दै प्रजिअ शर्माले बिभिन्न गैससहरुले द्वन्द्व पिडीतहरुको फरक फरक तथ्याँक राखेकाले काम गर्न समस्या भएको वताए । उनले भने ‘स्थानीय शान्ति समिति द्वन्द्वको क्षेत्रमा काम गर्ने आधिकारिक सरकारी निकाय हो, त्यसैले द्वन्द्व पिडीतको क्षेत्रमा काम गर्ने जति पनि निकायहरु ति सवैले स्थानीय शान्ति समितिसंग समन्वय गरेर मात्रै काम गर्नु   पर्छ ।’ 
सरकारी क्षेत्रबाट आयोजना हुने ¥यालीहरुमा बालबालिकाको प्रयोग भईरहेको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले उठाएपछि शर्माले अव कुनै पनि ¥यालीमा बालबालिकाहरुको प्रयोग नहुने वताए । उनले भने ‘बिद्यालयलाई माथिल्लो कक्षाको बालबालिका पठाउनु भनेर खवर गरेपछि स–साना बालबालिका–हरुलाई पठाउने गर्छन, तर अव त्यसो हुँदैन । 
कार्यक्रममा स्थानीय बिकास अधिकारी कृष्णप्रसाद गौतमले स्थानीय शान्ति समितिले थोरै स्रोतमा धेरै काम गरेको वताए । उनले भने ‘बजेटको अपर्याप्तता हुँदाहुँदै पनि धेरै काम भएको छ, यसका लागि स्थानीय शान्ति समितिलाई धन्यवाद छ ।’ 
स्थानीय शान्ति समितिका सचिव सुरेन्द्र भट्टले डोटीमा २०६६ सालमा स्थानीय शान्ति समिति स्थापना भएदेखि हालसम्म भए गरेको क्रियाकलापहरुको प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीका क्रममा भट्टले डोटीमा साविकका ५० गाबिस र एक नगरपालिकामा शान्ति समिति गठन भई क्रियासिल रहेको जानकारी गराए । डोटीमा एक हजार दुई सय पाँच द्वन्द्व पिडीत रहेको सो क्रममा भट्टले जानकारी दिए । भट्टका अनुसार सशस्त्र द्वन्द्वका क्रममा मारिएका एक सय दुई, बिस्थापित भएका चार सय ७५ र भौतिक सम्पत्ति क्षेति भएका दुई सय ९६ रहेको वताए । यस्तै सशस्त्र द्वन्द्वका क्रममा ७४ सरकारी भौतिक संरचनाहरु ध्वस्त भएको भट्टको प्रतिवेदनमा उल्लेख छ । 
द्वन्द्वका क्रममा घाईत भएका एक सय ३७ जना, अङ्गभङ्ग भएका ७१ जना र अपहरणमा परेका २५ जना रहेका छन । कैद र हिरासतमा राखिएका १६ जना, बेपत्ता भएका ६ जना र टुहरा बालबालिकाहरु ७ जना रहेको भट्टले वताए । उनका अनुसार २०६२÷०६३ को जनआन्दोलनका डोटीमा ८ जना घाईते भएको शान्ति समितिमो अभिलेखमा छ । प्रतिवेदन प्रस्तुत गर्दै भट्टले भने ‘न्यून बजेट र जनशक्ति अभावका कारण स्थानीय शान्ति समितिले सोच जति उपलव्धी हासिल गर्न सकेको छैन ।’ समिति सक्रिय भएर काम गरिरहेको भट्ट बताउँछन ।
कार्यक्रमका सहभागिहरुले तथ्याँकहरु पुनःपरीक्षण गरिनु पर्ने, छुट तथ्याँकहरुलाई पुनःसंकलन गरिनु पर्ने, राहात र क्षतिपूर्ति पाएका पिडीतहरुको तथ्याँक अद्यावधिक गर्नु पर्ने लगायतका सुझावहरु दिएका थिए । 
सोही अवसरमा साविकका गाबिसस्तरीय शान्ति समितिहरु–मध्येबाट बनलेक र भुमिराज–माण्डौं गाबिसका शान्ति समितिलाई उत्कृष्ठ समितिका रुपमा पुरस्कृत गरिएको थियो । उत्कृष्ठ समितिहरुलाई १०÷१० हजार रुपैयाँ प्रदान गरिएको समितिका कार्यालय सहायक गौतम रोकायाले जानकारी दिए । 

चुहिने भवनमा बिद्यार्थीको पढाई


‘घाम लागेको दिन त ठिकै हुन्छ, पानी प¥यो भने बिद्यार्थीहरुलाई नचुहिएको ठाउँमा उभ्याएर पढाउनु पर्छ । अव त भित्ता पनि चर्किसकेको छ, कक्षाकोठामा जानै डर लाग्छ ।’ 
डोटी जिल्ला बडा केदार गाउँपालिका–२ बरउ (साबिकको बर्छैन गाबिस–२) मा रहेको शिशु दर्पण आधारभुत बिद्यालयका प्रधानाध्यापक बेचन चौधरीको दुखेसो हो यो । २०४६ सालमा स्थापना भएको उक्त बिद्यालयमा स्थापनाकालमै स्थानीय स्रोतवाट तयार गरिएको बिद्यालय भवन पूर्ण रुपमा जिर्ण भएपछि पठन पाठनमा बाधा भईरहेको प्रधानाध्यापक चौधरी वताउँछन । उनी भन्छन् ‘२०४६ सालमै बनेको भवन त्यसै पनि पुरानो भएको थियो, त्यसमैमा गत वर्ष रुख ढलेर छतमाथी परेपछि त पुरै चुहिने भएको छ ।’ 
कक्षा ५ सम्म पढाई हुने उक्त बिद्यालयमा ६४ बिद्यार्थी रहेका छन । भवन अभावका कारण बिद्यालयको पठन पाठनमा समस्या भएको चौधरी बताउँछन । ‘यसपाली त झन पानी बढी परिरहेको छ’ बार्षिक परीक्षाको तयारीमा रहेका चौधरी भन्छन् ‘कतै बार्षिक परीक्षाकै दिन पानी प¥यो भने फेरी परीक्षा पनि प्रभावित हुन सक्छ ।’ 
२०४६ साल चैत्रमा स्वीकृत पाएको बिद्यालयमा हालसम्म जिल्ला शिक्षा कार्यालयबाट दुई कोठे एक भवन मात्र निर्माण भएको चौधरीले वताए । उनले भने ‘प्रत्येक वर्ष मैले बिद्यालयको भवनका लागि स्रोतकेन्द्र मार्फत जिल्ला शिक्षा कार्यालयमा माग त गर्ने गरेको छु तर तर कार्यक्रम पर्दैन ।’ यस वर्ष पनि आफुले भवनको माग गरेको भएपनि जिल्ला शिक्षा कार्यालयबाट शौचालयको कार्यक्रम परेको उनले वताए । ‘शौचालय पनि आवश्यक हो हुन त’ चौधरी भन्छन् ‘तर भवनको अतिनै अभाव छ ।’ बिद्यालय व्यवस्थापन समिति पनि भरखर भरखरै गठन भएको वताउँदै चौधरीले भने ‘अव पुरानै भवन मर्मतका लागि भएपनि व्यवस्थापन समितिसंग छलफल गर्छु ।’ 
कक्षा कोठा अभावका कारण काठले बेरेर एउटा कोठा जोडिएको छ । बिद्यालयमा ६४ बिद्यार्थी अध्ययनरत रहेका छन । 
जिर्ण भवनमा अध्ययन÷ अध्यापन गराउनु जोखिपूर्ण रहेको सामाजिक कार्यकर्ता मुना मतेली वताउँछिन । उनी भन्छिन् ‘त्यो भवनमा जानै पनि डर लाग्छ भने कसरी बालबालिकाहरुलाई राखेर पढाउने ?’


कानुन अनुसारै कारवाही भएको दावी


गत शनिबार जिल्ला प्रहरी कार्यालय डोटीको प्राङ्गणमा कुटिएका प्रहरी जवानमाथी कानुन अनुसारको कारवाही भएको डोटीका प्रहरी प्रमुख दिल्लीराज बिष्टले दावी गरेका छन । 
दार्चुला घर भई हाल डोटीमा  कार्यरत प्रहरी जवान सोवान साउँदलाई प्रहरी प्रमुख प्रहरी  उपरीक्षक बिष्टले खुला चौरमै मरणासन्न हुने गरि कुटपिट भएको खवर बाहिर आएपछि बिष्टले यस्तो प्रतिक्रिया दिएका हुन । बिम्ब साप्ताहिकसंग कुरा गर्दै बिष्टले भने ‘अनुशासन भन्दा वाहिर गएपछि दुईचार झापड  हान्नुलाई अन्यथा मान्नु हुँदैन । यसलाई ठुलो बिषय बनाईनु    हुँदैन ।’  
प्रमुख बिष्टले प्रहरी ऐन २०१२ अनुसार फोर्सको नियन्त्रण र अनुशासन कायम गर्नका लागि शारीरिक थकाई हुने सजाय दिन मिल्ने व्यवस्था रहेको वताए । उनले भने ‘यो सामान्य कुरालाई ठुलो वनाउन जरुरी छैन ।’ पटक पटक कारवाहीमा परेका ति जवानले मदिरा सेवन गरि आफुभन्दा माथिल्लो दर्जाका व्यक्तिमाथी हातपात गर्न खाजेकोले सम्झाउनका लागि दुई–चार झापड लाएको बिष्ट बताउँछन । 
‘स्थानीय निकायको निर्वाचन आउँदैछ, यति बेला शान्ति सुरक्षाको हिसावले  प्रहरीलाई थप सक्रिय वनाउनु छ’ बिष्टले प्रश्न गरे ‘यदि प्रहरीभित्रै अनुशासन रहेन भने वाहिर कसरी शान्ति सुरक्षा कायम हुन सक्छ ?’ ति जवानले ड्युटीमै भएका बेला अत्याधिक मदिरा सेवन गरेर लुगामै पिसाव गरेको समेत बिष्टले दावी गरे । 
‘प्रहरीले वाहिर मदिरा नियन्त्रण गर्नका लागि अभियान सञ्चालन गर्ने तर आफ्नै प्रहरी जवान मात्तिएर हिड्ने भएपछि जनताले कसरी बुझ्छ प्रहरीलाई ?’ बिष्टले प्रश्न गर्दै भने ‘तपाई पत्रकारहरुले पनि  राम्रो गरेकोलाई त राम्रो भनिदिनु प¥यो ।’ पत्रकारहरुले आफुले  राम्रो गरेको पनि बंग्याएर नराम्रो लेख्ने गरेको बिष्ट बताउँछन । उनले पत्रकारहरुले आफुलाई असहयोग गरेको पटक पटक दोहो¥याए ।
प्रहरी उपरीक्षक बिष्टले प्रहरी जवानमाथीको कारवाहीको विषयलाई भन्दा पनि आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी प्रहरी प्रशासनलाई चुस्त दुरुस्त राख्न अनुशासन र प्रहरी उत्तरदायित्वका लागि कडाई गरिएको बताए । उनले भने ‘स्थानीय तहको निर्वाचन आईसकेको छ, शान्ति सुव्यवस्था–का लागि प्रहरी जिम्मेवार भएर अनुशासनमा बस्नुपर्छ । 
दुर्गामाण्डौं प्रहरी चौकीमा कार्यरत जवान साउँदले केही दिन अगाडि क्षेत्रीय प्रशासक दुर्गामाण्डौंतिर गएका मदिरा सेवन गरेर अभद्र व्यवहार गरेका कारण उनलाई कारवाहीका लागि जिल्लामा झिकाईएको प्रहरी स्रोतको दावी छ । स्रोतले भन्यो ‘कारवाहीमै रहेका बेला फेरी मदिरा सेवन गरेर आफुभन्दा माथिल्लो दर्जाका कर्मचारीमाथी जाईलाग्न थालेपछि उनलाई नियन्त्रणमा ल्याउनका लागि कुटपिट गरिएको हो ।’ ति जवान पटक पटक कारवाहीमा परिसकेको स्रोतको दावी छ ।  प्रहरी प्रमुखले साउँदलाई मरणासन्न हुने गरि कुटेको समेत उक्त स्रोतले स्वीकार गरेको छ । साउँदसंगै एक अर्का प्रहरी जवानमाथी पनि कुटपिट भएको स्रोत बताउँछ । 
प्रहरी उपरीक्षक बिष्ट भन्छन् ‘अहिले प्रहरीको अन्तरिक कुरालाई लिएर मानवअधिकारको बिषय जोड्ने हो भने भोली कुनै सर्वसाधारणले मदिरा सेवन गरेर समस्या ग¥यो भने त्यतिवेला के गर्ने ? हामी त त्यतिबेला पनि मानवअधिकारको कुरा उठाउन बाध्य हुनेछौं ।’ डोटीको प्रहरी प्रमुख भएर आउँदा पत्रकार र प्रहरीको सम्वन्ध निकट वनाउने प्रतिवद्धता गरेका प्रहरी उपरीक्षक बिष्ट बिस्तारै पत्रकारहरुबाट टाढिदै गएका छन । सुरुका दिनहरुमा प्रहरीका गतिबिधिका बारेमा पत्रकारहरुलाई दैनिक जानकारी गराउने गरेका भएपनि  समयपछि उक्त कार्य रोकेका   थिए ।
बिष्टले सुदूरपश्चिमभरीमा कारवाहीमा परेका प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय डोटीमा पठाउने गरेको वताए । उनले यसरी कारवाहीमा परेर आएकाहरुलाई अनुशासनमा राख्नका लागि हल्का बल प्रयोग गर्नु वाध्यता रहेको वताए । 
प्रहरी उपरीक्षक बिष्ट स्वयंले लाठी प्रयोग गरि कुटिएका प्रहरी जवान साउँदमाथी प्रहरी पोशाँकमै मदिरा सेवन गरेर आङमै पिसाव फेरेको आरोप छ । नेपालको संबिधानको धारा २२ अनुसार जस्तो सुकै अपराधी भएपनि शारीरिक तथा मानसिक यातना दिन मिल्दैन । नेपाल पक्ष राष्ट्र भएका अन्तराष्ट्रिय महासन्धीहरु अनुसार पनि कुनै पनि व्यक्तिलाई शारीरिक, मानसिक वा अन्य कुनै पनि प्रकारको कारबाही गर्न नमिल्ने व्यवस्था छ तर प्रहरी उपरीक्षक बिष्ट भने ‘दुई चार झापड’ कानुन अनुसारनै भएको वताउँछन ।

बिपद् पूर्व तयारीका लागि आग्रह


डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले प्राकृतिक विपद् व्यवस्थापनका लागि पूर्व तयारीमा रहन सवैलाई आग्रह गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले बुधबार आयोजना गरेको क्याडे« दोश्रो चरणको अभिमूखिकरण कार्यक्रममा प्रजिअ शर्माले यस्तो आग्रह गरेका हुन् । विपद् व्यवस्थापनका लागि जिल्लाका सबै प्रहरी पोष्टहरुमा आधारभूत औजारहरु पठाई सकिएको प्रजिअ शर्माले बताए ।
‘जिल्लामा क्रियाशील सम्पूर्ण गैरसरकारी सँस्थाहरुलाई १५ हजारका दरले रकम जम्मा गर्न आग्रह गरिएको थियो’ प्रजिअ शर्माले भने ‘तर कुनै पनि संस्थाले जम्मा गरेका छैनन् ।’ उनले १५ हजारै नभएपनि सक्दो रकम जम्मा गरिदिन हुन आग्रह गरे । 
नेपाल रेडक्रस सोसाईटी डोटीले अमेरिकन रेडक्रस र युएसएआईडीको सहयोगमा डोटीका साविकका १० वटा गाउँ विकास समितिमा क्याडू« दोश्रो चरणको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । पोखरी, काँडामाण्डौ, गैरागाउँ, बग्लेक, महादेवस्थान, कालिकास्थान, दिपायल, मुड्भरा, सरस्वतीनगर र लानाकेदारेश्वरमा २०७३ कार्तिकबाट शुरु भएको कार्यक्रम आगामी २०७६ असोजसम्मका लागि सञ्चालन हुने बताईएको छ ।

निर्वाचन अवधीभर मदिरा बन्द हुने

भुमिराज जोशी÷सिलगढी 
     चैत्र ७
स्थानीय निर्वाचनको अबधीभर  मदिरा बिक्री बितरणमा कडाइ गरिने भएको छ ।
आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मदिरा बिक्री बितरणमा रोक लगाउने डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले बताए । जिल्लाका ग्रामीण क्षेत्रमा बिक्री बितरण हुने मदिरा बिगतदेखि नै बन्द गर्दै आएको बताउँदै प्रहरी उपरीक्षक बिष्टले भने ‘स्थानीय निर्वाचनमा जाँड खाएर जथाभाबी होहल्ला हुन सक्ने भएकाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न होस भन्नका लागि यस अभियानमा लागेका छौं  ।’ मदिरा बिक्री बितरण तथा सेबन गर्नेहरुलाई सचेत गराउन पनि आफूहरुले प्रचार गरेको उनले वताए ।
प्रहरी प्रमुख बिष्टले आफुहरुले अबैध मदिरा केही महिना अगाडि नै बन्द गरेका दावी गरे । उनले भने ‘अब इजाजत पत्र प्राप्त व्यापारीलाई पनि मदिरा बेचबिखन गर्न बन्द गर्ने भएका छौं ।’  नियम     बिपरित मदिरा बिक्री बितरण तथा सेबन गर्नेलाई नियम अनुसार कडा कारवाही गर्ने रणनीतिक योजना बनाएको प्रहरी कार्यालयले जनाको छ । 
‘मदिरा बिक्री बितरण गर्नेलाई बन्देज गर्नको लागि हामीले स्पेशल टोली  परिचालन गरसकेका छौं ।’ बिष्टले भने ‘पछिल्लो समयमा गाउँमा मदिरा नियन्त्रण गरेपछि झैझगडा होहल्ला पनि कम भएको छ ।’ निर्वाचन अवधिभर अनुमती प्राप्त गरेका ब्यक्तिहरुले पनि आफूसंग भएका हातहतियार पनि जिल्ला प्रहरी कार्यालय वा प्रहरी चौकीमा बुझाउन निर्देशन गरिसकेको बिष्टले बताए । ‘बिस्पोटक पदार्थ, ली, भाला, खुकुरी, बन्दुक, भाला लगायतका हतियारहरु लिएर हिडेको खण्डमा कानुन बमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

बालबिवाह रोक्न धामी झाँक्री


दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र हुने बालबिवाह रोक्नका लागि धामी झाँक्री, ज्योतिषी र पुजारी परिचालन गर्न थालेको छ । 
बालमैत्री स्थानीय शासन लागु गर्नमा बालबिवाह चुनौती देखिएपछि नगर–पालिकाले सो अभियान थालनी गरेको हो । युनिसेफ नेपालको सहयोगमा नगरपालिकाले धामी, झाँक्रि, ज्योतिषी र पुजारीहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरि उनीहरुलाई बालबिवाहबाट हुने खतराको बारेमा जानकारी गराएको छ । नगर क्षेत्रका ४० जना धामी झाक्री, ज्योतिष र पुजारीहरुको सहभागिता रहेको अभिमुखीक–रणमा सहभागिहरुले बालबिवाह रोक्ने प्रतिबद्धता जनाएका छन । 
कार्यक्रममा सहभागि दिपायल सिलगढी नगरपालिका–३ का १५ वर्षीय कर्ण साउँदले अव गाउँमा कसैको पनि बालबिवाह हुन नदिने वताए । ‘कानुनी रुपमा बालबिवाह अपराध हो भन्ने कुरा पनि हामीले जानकारी पाएका थिएनौं’ साउँदले भने ‘बालबिवाहबाट पर्ने असरका बारेमा पनि हामीलाई थाह थिएन ।’ अव बालबिवाह नगर्न सवैलाई सचेत गर्ने साउँद वताउँछन । 
यस्तै दिसिनपा–८ का नवराज बिक बालबिवाहका कारण धेरैले दुःख पाएको कुरा जानकारी भएको वताउँछन । लाटा कलारमाण्डौंका धामी उनी भन्छन् ‘अव गाउँमा मलाई कसैले बिहेको बारेमा सोध्यो भने सवै भन्दा पहिले केटा र केटीको उमेर सोध्छु, अनि मात्र सल्लाह दिन्छु ।’ आफु बालबिवाह रोक्नमा सक्रिय हुने बिकले प्रतिवद्धता जनाए । 
केटा र केटीको उमेर २० वर्ष नपुगेको भए आफु नजुराउने वताउँछन चिना जुराउने ज्योतिष रामचन्द्र भट्ट । उनी भन्छन् ‘अव मेरोमा ज्योतिषी हेराउन आउने सवैलाई २० बर्ष नपुगी केटा र केटीको बिहे गराउनु हुन्न भनेर सल्लाह दिन्छु ।’ 
नगरपालिकाका सामुदायिक बिकास अधिकृत रमेशचन्द्र जोशीले बालबिवाहका कारण नगरमा बालमैत्री स्थानीय शासन लागु गर्न समस्या भएकोले बालबिवाह रोक्ने अभियानमा लाग्न धामी झाँक्री, ज्योतिषी र पुजारीलाई आग्रह गरिएको वताए । उनीहरुको सक्रियतामा नगर क्षेत्रभित्र बालबिवाह रोकिनेमा कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्यको बिश्वास छ ।

२५ जनालाई बाख्रापालन तालिम

दिपायलमा २५ जनालाई स्थानीयलाई बाख्रापालन सम्बन्धि तालिम दिएको छ । 
युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको आयोजनामा गत बिहिबारदेखि शनिबारसम्म ३ दिने तालिम दिएको हो । कृषकहरुलाई ब्यवसायिक तरिकाले आयआर्जन गर्न सक्षम बनुुन भन्ने उद्देश्यले तालिम दिएको युवा तथा साना ब्यवसायी स्वरोजगार कोष डोटी जिल्ला कार्यक्रम संयोजक अमर बहादुर साउँदले जानकारी दिए ।
चौफाल बहुउदेश्यीय सहकारी संस्था पचनाली र जनकल्याण बहुउदेश्यीय  सहकारी संस्था सानागाउँसंग समन्वय गरी कृषकहरुलाई तालिम दिएको बताइएको छ । चौफाल सहकारी संस्थाबाट ३७ लाख र जनकल्याण सहकारी संस्थाबाट २५ लाख कर्जा समन्वय गरेको बताइएको छ । उक्त रकमको पहिलो र दोश्रो किस्ता निकासा भएर २५ जनालाई बाखा्रपालनमा गर्नका लागि ऋण दिएको साउँदले बताए । 
‘हामीले पशुपालन सम्बन्धि तालिम लिएका थिएनौं ।’ गर्न सक्यो भने त सजिलै रहेछ । तालिमका प्रशिक्षार्थी पूर्वीचौकी गाउँपालिकाका डम्मर बहादुर खड्काले भने, ‘बाख्रा पाल्ने तरिका सजिलै रहेछ । हामीले धेरै लामो समयसम्म घरमा पशु पाल्यौं तर ब्यवसायिक तरिकाले अगाडी बढ्न सकेनौं । अब त प्राप्त भएको सिकाइ अनुसार अगाडी बढ्छौं त्यसले पक्कै पनि फाइदाजनक हुने मेरो बिश्वास छ ।’

डडेल्धुरा–काठमाण्डौं अत्याधुनिक बस

बिस÷डडेल्धुरा
     चैत्र ६
यात्रुहरुलाई अत्याधुनिक सेवा दिने उद्देश्यका साथ उग्रतारा सार्वजनिक यातायात व्यवसायी समितिले डडेल्धुरादेखि काठमाण्डौंसम्म आधुनिक बस सञ्चालनमा गर्ने भएको छ । 
पर्सी १० गतेदेखि समितिले सेवालाई गुणस्तरीय बनाउन चैत महिनाको १० गतेबाट एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याउन लागेको हो । समितिका अनुसार नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइन लागेको उक्त सार्वजनिक यातायात सेवामा मिनी क्यान्टिन, ट्वाईलेट, वाईफाई, एलईडी टीभी, म्युजिक, रेडिङ्गलाईट, कम्फरटेबल सिट सेवाहरु उपलब्ध हुनेछन् । यस अघि कास्की पोखरा–काठमाण्डौँ रुटमा पोखराबाटै त्यस्तो सुविधाका बसहरु चलेको भएपनि ती बसहरु पर्यटक लक्षित मात्रै थिए । 
काठमाडौं–डडेल्धुरा तथा डडेल्धुरा–काठमाडौं रुटमा पहिलो पटक ६ बस सञ्चालनमा आउने समितिका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए । डडेल्धुराबाट काठमाण्डौंका लागि प्रत्येक दिन १२ बजेर ५ मिनेटमा र काठमाण्डौंबाट डडेल्धुराका लागि प्रत्येक दिन २ बजेर ५ मिनेटमा छुट्ने छुट्ने गरि समय मिलाईएको खड्काले वताए । यसअघि समितिले सञ्चालन गरेका एसी बसहरु बिस्थापित गर्दै “घटाल एयर सस्पेन्सन एसी बस” सञ्चालनमा ल्याउने भएको हो ।

छोटकरी समाचार 

बालमैत्री स्थानीय शासनमा सक्रियता

दिपायल सिलगढी नगर–पालिकाले नगरभित्र बालमैत्री स्थानीय शासन लागु गर्नका लागि सक्रियता देखाएको छ ।
नगरपालिकाले बालबालिकाहरुमार्फत परिवार र समाजमा बालमैत्री स्थानीय शासनका सूचकहरु पुरा गर्ने योजना अनुरुप बालबालिकाहरुको क्षमता अभिबृद्धि गरिरहेको नग–रपालिकाका सामुदायिक बिकास अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिए । 
जोशीका अनुसार बालमैत्री स्थानीय शासनका सूचकहरुलाई बिषयबस्तु बनाई त्यसमा बालक्लवहरुको भुमिका खोज्न बालबालिकाहरुको क्षमता बिकास गर्न लागिएको हो ।

होलीमा चन्दा

डोटी आदर्श गाउँपालिका–६ मा होली खेलेर एक लाख पच्चिस हजार रकम संकलन गरिएको छ । 
स्थानीय तपेन्द्र बोहराको नेतृत्वमा खेलिएको होलीबाट स्थानीय बिद्यालयको शैक्षिक बिकासका लागि आर्थिक संकलन गरिएको बताईएको छ । स्थानीय कबिलास आधारभूत बिद्यालयमा हालसम्म तीन जना शिक्षक र एकजना कार्यालय सहयोगीको  भरमा चलको छ । उक्त बिद्यालयमा अढाइसय बढी बिद्यार्थी अध्ययनरत छन ।’  बिद्यालयका प्रधानाध्यापक बल बहादुर बोहराले बिद्यालयमा पठनपाठन गराउन समस्य भएको हुँदा निजी श्रोतबाट भएपनि शिक्षक राख्नुपर्ने अवस्था आएकोले आफुहरुले होली खेलेर अर्थ संकलन गरेको बताए ।

खेल समाचार 

भलिबल टोली माल्दिभ्सतर्फ


माल्दिभ्सको मालेमा हुने सिनियर एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपमा सहभागी हुने नेपाली खेलाडी टोलीको आइतबार बिदाइ गरिएको छ । 
सेटर इम रानामगरको कप्तानीमा गएको नेपाली टोलीले च्याम्पियनसीपमा आयोजक माल्दिभ्ससहित तुर्कमेनिस्तान र किर्गिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । टोलीमा ओपन स्पाईकर खेलाडी मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा र दिल सुनार । यस्तै महेन्द्र श्रेष्ठ, भैरव बम र हरि अधिकारी क्विक स्पाइकर छन् । साइड स्पाइकरमा नरेन्द्र गिरी, राजकुमार निरौला छन् भने सेटरमा दुर्गाप्रसाद महतो र लिबेरोमा ईश्वर थापामगर छन् । टोलीमा चार नयाँ खेलाडीले अन्तराष्ट्रिय डेब्यु गर्दैछन् ।
नयाँ खेलाडीहरुमा ओपन स्पाईकर दिल सुनार, क्विक स्पाइकर हरि  अधिकारी, सेटर दुर्गाप्रसाद महतो र साइड स्पाइकर राजकुमार निरौला छन् । सुनार, अधिकारी र महतो नेपाल आर्मीका खेलाडी हुन् भने निरौला एपीएफसँग आबद्ध छन् । नेपाली टोलीको प्रशिक्षकमा विरेन्द्र चौधरी र सहायक प्रशिक्षकमा जगदिश भट्ट छन् ।
नेपाल भलिबल संघका सचिव डम्बरबहादुर नेपालीले टोलीको व्यवस्थापनको जिम्मेवारी लिएका छन । अन्तराष्ट्रिय रेफ्री क्यान्डिडेट चन्द्रा बदना राई पनि टोलीसंगै मालदिभ्स जाने भएकी छिन् । नेपाली टोलीले पहिलो खेल मार्च २३ मा तुर्कमेनिस्तानसँग खेल्नेछ । यस्तै मार्च २४ मा आयोजक माल्दिभ्स र मार्च २७ मा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

टेवल टेनिस टोली भारततर्फ

कान्तिपुर दैनिकबाट
आरएस एन्ड सीसी डायमण्ड जुब्ली आमन्त्रण अन्तराष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आइतबार भारतको सिलोङ प्रस्थान गरेको छ । चैत १० देखि १२ गतेसम्म हुने प्रतियोगतामा समान ५–५ पुरुषरमहिला खेलाडीले यू–२१ उमेर समूहमा सिंगल्स, डबल्स, मिक्स र टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषमा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, मणिकुमार लामा, रितिज जोशी, विपुल महर्जन र नारायण घिमिरे तथा महिलामा सोनु थापामगर, सिक्का सुवाल, गीता अर्याल, सुजाता दुवाल र मञ्जु सुवालले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सञ्जय अर्याल तथा टिम व्यवस्थापकमा शिव देउजा छन् ।

चलचित्र÷मनोरञ्जन 

नेपाली चलचित्रमा भारतीय मोडल


नेपाली चलचित्र ‘समर लभ’ मा  भारतीय मोडल रेवती क्षेत्रीले अभिनय गर्ने भएकी छिन् । 
सुविन भट्टराईले लेखेको चर्चित पुस्तक ‘समर लभ’ को कथाबस्तुका आधारमा बन्न लागेको उक्त चलचित्रमा रेवतीले अभिनय गर्ने भएकी हुन । मुस्कान ढकालले निर्देशन गर्न लागेको ‘समर लभ’ रेवतीले अभिनय गर्ने पक्का भएको बताईएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘समर लभ’ निर्माणको   औपचारिक घोषणा गरिएको छ । 
सन् २०१५ को फेमिना मिस इण्डियामा सहभागी मोडल रेवतीले यस अघि ‘ग्याङ् अफ नर्थ वेस्ट’नामक चलचित्रमा अभिनय गरेसकेकी छिन् । आसाममा जन्मिएकी उनले अभिनय गर्ने ‘समर लभ’ चलचित्रको औपचारिक कार्यक्रममा देखिएकी उनले आगामी दिनमा नेपाली चलचित्रमा काम गर्न सक्ने प्रतिक्रिया    दिइन् ।
‘नेपाल मेरो मामाघर हो’ रेवतीले भनिन् ‘मामाघरमा आएर चलचित्र खेल्न पाएकोमा उत्साहित छु ।’ समर लभ पुस्तक पहिला पढिसकेको हुँदा यसमाथि बन्न लागेको चलचित्रमा काम गर्न पाउँदा आफुलाई धेरै खुसी लागेको उनले वताईन । चलचित्रको मुख्य पात्र सायाको भूमिकामा उनी देखिने छिन् ।


म आफ्नै पौरखमा बिश्वास गर्छु–परियार

गायनमा अब्बल रुपमा चिनिन्छन् गायक शिब परियार । पारिवारिक बिरासतविनै गायनमा आएका परियार आफ्नै पौरखमा रमाउन सफल भएकोमा गर्व गर्छन् । पछिल्लो समय स्टेजमा ब्यस्त परियारलाई अनलाइनखबरले लगाएको पाँच आरोप ः
१. तपाइको गीत एउटै खालको भयो भन्ने गुनासो छ नि ?
— यो गुनासोसँग म सहमत छैन । जसले युट्युबमा गएर मेरो गीत हेरेको छैन, उसले यो आरोप लगाएको हुनसक्छ । ती साथीहरुलाई म एकपटक मेरो गीत सुन्न र हेर्न आग्रह गर्छु ।
२. घमण्डी हुनुहुन्छ भन्छन् नि ?
— म घमण्डी हैन आफ्नो पौरखमा गौरब गर्छु । कसैले कृपाले हैन, म आफ्नै क्षमताले यहाँ आएको हुँ । घमण्ड गर्ने मान्छे कुनै पनि क्षेत्रमा टिक्दैन । तर, १७ वर्षदेखि म यहि मुलुकमा गीत गाइरहेको छु । साच्चै मैले घमण्ड गरेको भए, अहिले म फर्केर सर्लाही गइसकेको हुन्थेँ । संगीतवाट टाढिएको हुन्थेँ । यति हो म आफ्नै स्वाभिमानमा बाँच्छु । मैले अहिलेसम्म कुनै साथीभाइको चित्त दुखाउने काम गरेको छैन । यदि त्यस्तो गरेको भए मलाई घमण्डी भन्न मिल्थ्यो ।
३. पैसाको पछाडि दौडनु हुन्छ भन्ने आरोप धेरैले लगाउछन, के भन्नुहुन्छ ?
— मैले गीत संगीतवाटै घर चलाउनुपर्छ । मैले कुनै ठाउँमा भ्रष्टाचार गरेको भए पैसाको पछि लागेको भन्न मिल्थ्यो । म त आफ्नै श्रृजनामा रमाएको छु । श्रृजनाको पारिश्रमिक लिनु स्वाभाविक हो ।
४. स्वदेशका भन्दा विदेशका कार्यक्रमलाई महत्व दिनुहुन्छ, किन पैसा धेरै आउने भएर हो ?
— स्वदेशी आयोजकहरु कुरा गर्नुहुन्छ तर, तत्कालै एग्रीमेन्ट गर्नुहुन्न । फेरि स्वदेशी आयोजकहरुलाई एउटाले नभए अर्कोले गाउछ भन्ने पनि छ । तर, विदेशी कार्यक्रम आयोजकहरु कुरा गरे लगत्तै एग्रीमेन्ट गर्नुहुन्छ । मेरो तीन महिनापछि हङकङमा शो छ तर आजै एग्रीमेन्ट हुँदैछ । विदेशमा एग्रीमेन्ट भैसकेको कार्यक्रम छोड्ने कुरा भएन । तर, स्वदेशको कार्यक्रमलाई पनि उत्तिकै महत्व दिएको छु ।
५. भिडियो बनाउदा निर्देशकलाई यस्तो बनाउ भनेर दबाब दिनुहुन्छ रे ?
हाहाहा, आजसम्म मैले भने जस्तो एउटै भिडियो बनेको छैन । सबै निर्देशककै निर्देशन अनुसार बनेको छ ।           — अनलाइन खवरबाट


लेख 

अख्तियारमा गर्नु पर्ने सुधार

जैनेन्द्र जीवन 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चर्चित पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र ‘फ्रिलान्स’ अनुसन्धाता तथा लेखक दीपेशकुमार घिमिरेको हालै प्रकाशित पुस्तक ‘समाज र भ्रष्टाचार’ सैद्धान्तिक र अनुभवजन्य ज्ञानयुक्त, सामयिक र रोचक समेत छ । तथापि लेखकद्वयका केही भनाइमा भने बहस हुनुपर्ने देखिन्छ । हो, प्रमुख आयुक्त बन्न योग्यतै नपुगेको भनी सर्वोच्च अदालतको आदेशबाट हालै बर्खास्त लोकमानसिंह कार्की अर्थात व्यक्तिका अयोग्यता र अचाक्लीलाई देखाएर संस्थाको अधिकार कटौती गर्नुहँुंदैन भन्ने उनीहरुको भनाइ बिल्कुल जायज छ । तर जसलाई जति बेला चाह्यो दुःख दिन सक्ने प्रकृतिको शक्तिशाली र संवेदनशील संवैधानिक संस्थालाई प्राप्त अधिकारको दुरुपयोग गरी एकजना व्यक्तिले समानान्तर सत्ता चलाउने हदसम्मको मनपरी गरिरहन पाउने अवस्था पनि त हुनु भएन नि । 
‘प्रक्रियागत कुराहरुमा कम्तीमा दुई आयुक्त र अभियोजनको सारभूत निर्णयमा सम्पूर्ण आयुक्तको बहुमतले नै निर्णय गर्नुपर्ने’ गरी अख्तियारले बनाएको (आन्तरिक) कार्यविधिले धेरै हदसम्म त्यसमा नियन्त्रण र छेकबारको काम गर्नसक्छ भन्छन् उनीहरु (परिच्छेद ५, अध्याय– लोकमान प्रकरणपछिको अख्तियार) । तर यस्तो कार्यविधिले न हिजो लोकमानलाई बाँध्न सक्यो न भोलि अर्को लोकमान निस्किए उसलाई बाँध्नेछ । किनकि देशको राजनीतिक–सामाजिक धरातलीय यथार्थ भिन्न छ । र, यस्ता प्राविधिक प्रबन्ध पर्याप्त र प्रभावकारी हुनसक्ने बेला देशमा आइसकेको छैन ।
अधिकार र जवाफदेही साथसाथ
यहाँ त नियन्त्रण र सन्तुलनका लागि अख्तियारबाहिरकै संस्था, संरचना र पद्धति चाहिन्छ, जुन क्रियाशील पनि होओस् । जननिर्वाचित र सार्वभौम संसद्ले लगाउने महाभियोग जस्तो शक्तिशाली, पारदर्शी, जनता र      नागरिक समाजको खबरदारीको राडारभित्र रहेको प्रबन्ध त क्रियाशील हुन सकेन । प्रमुख दल नमिली महाभियोग प्रस्ताव पारित हुन आवश्यक बहुमत पुग्नै सक्दैन र उनीहरू कहिल्यै त्यसरी मिल्दैनन् भन्ने बुझेरै लोकमान मात्तिएका थिए । कथं मिलिहाले तीमध्ये कसैलाई भ्रष्टाचारमा कारबाही गर्छु भन्ने त्रास देखाएर, कसैलाई नियुक्ति पाउँदा जस्तै ‘केही’ दिएर महाभियोग प्रस्ताव पारित गर्न चाहिने बहुमत पुग्न नदिने उनको रणनीति थियो । जुन रणनीतिले साढे तीन वर्षसम्मन काम गरेकै पनि हो । फेरि आयुक्तमध्ये एउटामात्र खराब र बाँकी असल हुने भए पो बहुमतबाट निर्णय गर्ने परिपाटीले ‘अटो करेक्सन’ को काम गर्छ त । एकछिनका लागि लोकमानको स्वेच्छाचारितामा साथ दिने राजनारायण पाठकमार्का आयुक्तका कुरा छाड्ने हो भने पनि अरु आयुक्तले चाहिँ के गरे त ? बदमासीमा साथ नदिए पनि लोकमानले मनपरी गरिरहँदा त्यसको विरोध त उनीहरूले पनि गरेनन् । आखिर समाज, संस्थाहरू, नियुक्ति दिने नेताहरू र नियुक्ति पाउने पूर्व ‘ब्युरोक्याट’ भोलि पनि तिनै हुन् जुन आज छन् । यस्तोमा कोही त नैतिकवान, विवेकी र हक्की व्यक्ति आयुक्त बन्ला र ऊ सम्मिलित निर्णय प्रक्रियाले स्वचालितरूपमा शुद्धीकरणको काम गर्ला भनेर आस गर्नु ब्यर्थ छ । 
‘निरंकुश शक्ति (अधिकार) ले मानिसलाई पूर्ण रूपमा भ्रष्ट बनाउँछ’– इतिहासकार ब्यारन जोन याक्टनको सय वर्षभन्दा पनि अगाडिको र संसारमै सबभन्दा बढी उद्धरण (कोट) भएका भनाइमध्येको यो आज पनि त्यत्तिकै सान्दर्भिक छ । दुव्र्यसनको कुलत लागेझैं शक्तिको पनि नशा लाग्छ भन्छन् मनोवैज्ञानिक पनि । यो नशाले सज्जनलाई पनि छाड्दैन । त्यसैले आयोगलाई अधिकार सम्पन्न राखिर–हनका साथै जवाफदेहीयुक्त पनि बनाउनुपर्छ । सकेसम्म त आयोगका पदाधिकारीमा योग्य, इमानदार र निष्पक्ष मान्छेमात्र छानिने, अक्षम, भ्रष्ट र पक्षपाती मान्छे छानिनै नसक्ने प्रबन्ध गर्नपर्छ । जुन प्रबन्ध अहिलेको जस्तो दलीय रराजनीतिक भागबन्डाका आधारमा गरिने नियुक्तिबाट हुनै सक्दैन । नागरिक परीक्षण समेत हुने निश्चित र  पारदर्शी मापदण्डहरूका आधारमा गरिने नियुक्तिबाट मात्र हुनसक्छ । त्यसैले, केही संरचनात्मक सुधार पनि गर्नुपर्छ । संवैधानिक परिषद्को हालको संरचनामा सुधार गर्नुपर्छ । संसदीय सुनवाइ समितिलाई अहिलेको जस्तो औपचारि–कतामा सीमित नराखी सार्थक बनाउनुपर्छ । आयोगका पदाधिकारी नियुक्तिपछि पनि नागरिक र निर्वाचित जनप्रतिनिधिको निकायको निरन्तर अनुगमनमा रहने व्यवस्था गर्नुपर्छ । अधिकारको दुरुपयोग गर्नासाथै तुरुन्त सतर्क गराउनेदेखि आवश्यक परे दण्डित गर्ने नीतिगत र संरचनात्मक सुधारहरू गर्नुपर्छ ।
दोषी राजनीतिक वर्ग
यस्तो सुधार सुरु र सुचारु गर्ने कुरामा नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ । राजनीतिक वर्ग त भ्रष्टाचार नियन्त्रण गर्नभन्दा त्यसलाई सार्वजनिक खपत र प्रचारको विषय बनाउन चाहन्छ । किनकि, बहुधा उनीहरूको खर्च भ्रष्टाचारजन्य कालो धनबाटै चलेको    हुन्छ । लोकमानलाई उनीहरूले त्यस्तै ‘चन्दा’ दिएका आधारमा र÷वा आफूहरूलाई कारबाही नगर्ने सर्तमा नियुक्ति दिलाएका थिए । पछि महाभियोग लगाउन खोजेका पनि ऊ भ्रष्टाचार नियन्त्रणमा सक्रिय भयो वा भएन भनेर होइन, आफूहरूलाई नै ब्ल्याकमेल गर्न थाल्यो भनेर हो । उनीहरू आयोगलाई जवाफदेही बनाउनचाहिँ किन खोज्दैनन् भने त्यसो गर्नासाथ आयोगलाई पंगु बनाउन खोज्यो भनेर आलोचना÷विरोध हुन्छ जुन राजनीतिक रूपले प्रत्युत्पादक हुन्छ । त्यसैले बरु निरंकुश भए भइरहोस् तर आफूहरूको पछि नलागोस् भन्ने दलहरूको रणनीति हुन्छ । यसै प्रयोजनका लागि आफ्नो खास मान्छेलाई आयोगको पदाधिकारी बनाउन खोज्छन् उनीहरू । सबै प्रमुख दलले त्यही चाहेपछि अर्थात दाबेदार धेरै भएपछि नियुक्ति हुन सक्दैन र वर्षौंवर्ष अख्तियार पदाधिकारीबिहीन भइरहन्छ । अन्त्यमा आयोगलाई त्यस अवस्थामा राखिरहन जब असम्भव हुन्छ तब भागबन्डाका आधारमा नियुक्ति गरिन्छ । यता धेरै समयदेखि भइरहेको यही हो । लोकमान त सबै दलको, हुँदाहुँदा दिल्लीको बाह्य गुप्तचर संस्था समेतका साझा प्रियपात्र, त्यसैले सर्वसम्मतै भए ।
निरंकुश अधिकार
आयोगको जवाफदेहीबिहीनताको एउटा उदाहरण हेरौं । धेरैलाई थाहा नहोला, तर उसले सिफारिश गरे अनुसार भए÷गरेको विभागीय कारबाहीको त न्यायिक परीक्षण हुने कानुनी व्यवस्थै छैन । तैपनि कसैले सर्वोच्च अदालत गुहारेर असाधारण अधिकार क्षेत्रको माध्यमबाट अथवा भ्रष्टाचारको मुद्दै चलाएकोमा न्यायिक सफाइ पाए नै पनि कुनै क्षतिपूर्ति भने पाउंँदैन । घुस वा प्रतिशोधको दुराशय राखेरै आफ्नो कुनै पदाधिकारी÷कर्मचारीले कसैलाई अनावश्यक दुःख दिएको रहेछ भने पनि अख्तियारले त्यसमा छानबिन गरेको वा उनीहरूलाई कारबाही गरेको आजसम्म कुनै रेकर्ड छैन । हो, आयोगका इमानदार पदाधिकारी, कर्मचारीको मनोबल उच्च राख्नुपर्छ तर बेइमानहरूलाई कारबाही गर्ने संस्थागत प्रबन्ध पनि त चाहिन्छ नि । इच्छाशक्ति हुने हो भने सामान्य लाग्ने केही दण्ड÷पुरस्कारको व्यवस्था गर्न सकिन्छ । जस्तो कि पुरस्कारतर्फ आयोगले दायर गरेको भ्रष्टाचारको मुद्दा सफल भएमा असुल भएको बिगोको केही अंश सम्बन्धित अनुसन्धान टिमलाई दिन सकिन्छ । दण्डतर्फ आरोपीले न्यायिक सफाइ पाएमा अनुसन्धान, अभियोजनमा संलग्न पदाधिकारी÷कर्मचारीको नामनामेसीसहितको विवरण आयोगको वार्षिक प्रतिवेदनमा पार्न सकिन्छ । र, सफाइ पाएको कुरा पनि वार्षिक प्रतिवेदनमै उल्लेख गरेर आरोपी लाई उचित रकम क्षतिपूर्ति दिने व्यवस्था गर्न सकिन्छ ।
अहिलेसम्मको प्रचलनमा, विभागीय कारबाही गर्न लेखी पठाएको वा मुद्दा चलाएको कुरालाई आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा विस्तारपूर्वक सार्वजनिक गर्छ । तर पछि न्यायिक सफाइ पाए त्यो कुरो कहीँ उल्लेख गर्दैन अर्थात आफ्नो असफलता लुकाउँछ । जसबाट पीडितको बेइज्जती भएको भयै हुन्छ । आयोगको प्रचलन र अधिकारका यिनै छिद्रमा खेलेरै आफ्नो लोभ, स्वार्थ र प्रतिशोधको अभिष्ट सिद्धि गरेका हुन् लोकमानले । उनी खराब त थिए नै, तर जवाफदेहीबिनाको निरंकुश अधिकारले उनलाई झन् खराब बनाएको थियो । यस्तो खराब बनाउने वा  खराबी बढाउने प्रबन्धमा सुधार अनिवार्य छ । अख्तियारका पदाधिकारी÷कर्मचारी भन्दैमा ती फरक ग्रहबाट आएका हुँंदैनन् । यहीँका, अझ खासगरी कार्यकारीको सेवामा वर्षौंं बिताएका मान्छे हुन्छन् । आयोगमा नियुक्ति वा सरुवा हुनेबित्तिकै मानिस रातारात लोभलालच र रीसरागबाट माथि उठ्ने होइन । वास्तवमा भ्रष्टाचार निवारण गर्ने निकायलाई संवैधानिक हैसियत र अधिकार सम्पन्न तुल्याइ यति शक्तिशाली बनाइएका देश विश्वमा कमै छन् । तर पनि नेपालमा भ्रष्टाचार नघटेको वा बर्षेनी बढ्दै गएका कारण अख्यितारलाई पर्याप्त अधिकार नभएर होेइन । प्राप्त अधिकारको विवेकपूर्ण, दक्षतापूर्ण, व्यवसायिक र निष्पक्ष प्रयोग नभएर हो, दुरुपयोग भएर हो ।
भ्रम र यथार्थ
फर्केर फेरि सूर्यनाथ, दीपेश लिखित पुस्तकमा आउँ । लोकमान नेतृत्वमा भएका अख्तियारका उद्दण्डपूर्ण कारबाहीले गर्दा नै वर्तमान संविधानमा ‘अनुचित कार्य’ गरेकामा विभागीय कारबाही गर्न लेखी पठाउन सक्ने अख्तियारको (साबिकको) अधिकार झिकियो भन्ने पनि उनीहरुको कथन छ (ऐ ऐ) । जो न पूर्ण मनासिब छ न पूर्ण सत्य नै । किनकि लोकमानको पालाभन्दा धेरैअघिदेखि नै त्यस अधिकारको औचित्यमाथि प्रश्नचिह्न लागिरहेको थियो । त्यसैले यो मुद्दामा पनि भ्रष्टाचार विरोधको भावनात्मक आवेगबाट बाहिर निस्केर गुण÷दोषमा   आधारित बहस हुनु जरुरी छ । स्क्यान्डिनेभियाली मुलुकहरूबाट आएको ‘ओम्बुड्स्म्यान’को अवधारणामा आधारित यो अधिकार र भ्रष्टाचार निरोधको अधिकार एउटै संस्थालाई नदिने प्रचलन धेरैतिर छ । किनकि एक त त्यसो गर्दा अत्यधिक शक्ति एक ठाउँमा केन्द्रित हुने हुन्छ । अर्को, कुशल अनुसन्धान र दक्ष अभियोजनका बलमा मात्र अदालतमा कसुर प्रमाणित हुने भ्रष्टाचारको केस बनाउन मेहनत गर्नु साटो अनुचित कारबाही भन्दै सजिलोसँग टुङ्ग्याइदिने प्रवृत्ति त्यसबाट बढ्छ । भ्रष्टाचार नियन्त्रणमा त्यस्तो संस्थाको फोकस हराउँछ । त्यसै पनि अनुचित कार्य र भ्रष्टाचार एउटै कसुर होइनन् । भ्रष्टाचार ठहरिन सार्वजनिक लाभको पदमा बसेका व्यक्तिले कुनै काम गरेर वा नगरेर राज्यलाई नोक्सानी र आफूलाई लाभ पु¥याएकै    हुनुपर्छ । कसैले लाभै केही लिएको छैन भने त्यो भ्रष्टाचार हँुंदैन । त्यस्तै, कुनै तवरबाट राज्यलाई नोक्सानी हुन गएको छ भने पनि असल नियतले गरेको काम भ्रष्टाचार ठहरिंँदैन । यो भ्रष्टाचारको विश्वव्यापी मान्यता र परिभाषा हो । 
भ्रष्टाचार नभएको तर काम गर्दा प्रक्रियागत वा अन्य त्रुटि भएको कुरामा अनुशासनात्मक कारबाही गर्ने÷गराउने नै अनुचित कार्यसम्बन्धी अधिकारको मर्म हो । अनुचित कार्य भन्दै मनोगत रूपमा जसलाई जेमा पनि कसुरबार ठह¥याउने यसको प्रयोजन होइन । लोकमानको पालामा चरमोत्कर्षमा पुगेको भएपनि त्योभन्दा धेरै अगाडिदेखि नै अख्तियारले यस्तो स्वविवेकीय अधिकारको अत्यधिक प्रयोग गर्ने गरेको थियो । जसबाट अनावश्यक रूपमा थुप्रै कर्मचारीको बढुवालगायतका वृत्ति विकास र सामाजिक मर्यादामा अपू–रणीय क्षति पुगेको थियो, छ । भ्रष्टाचार नदेखिएको केसमा पनि एउटा न एउटा मिनमेष निकाल्दै अनुचित कार्यमा कार–बाही गर्न लेख्ने, काम वा निर्णय नै हुन नपाउँदै फाइल खिचेर आतंकित पार्ने आयोगको ‘ओभर एक्टिभिज्म’ ले गरेरै विकास निर्माणका काम नभएको वा सुस्त भएको कुरा त सांसदलगायत थुप्रै विकासविद्ले पनि बारम्बार भन्ने गरेकै छन् । भ्रष्टाचार नियन्त्रणको पैरवी गर्ने राष्ट्रिय÷अन्तराष्ट्रिय गैरसरकारी संस्था आबद्ध र ‘भ्रष्टाचार विरोधी अभियन्ता’ भनिने एकथरी पनि अख्तियारलाई जिम्मेवार बनाउन खोजे अथवा अनुचित कार्यको अधिकार झिकिए अख्तियार कमजोर हुने, उसको मनोबल कम हुने, भ्रष्टाचार नियन्त्रणमा खुकुलोपन आउने तर्क गर्छन् । तर जवाफदेही हुनै नपर्ने व्यक्ति वा संस्था तानाशाहीमा मात्र हुन्छन्, लोकतन्त्रमा  हुंँदैनन् । देशको सर्वोच्च कार्यकारी र जननिर्वाचित प्रधानमन्त्रीका लागि चाहिँ चुनावका माध्यमबाट जनताप्रति, प्रत्यक्ष रूपमा जनताको प्रतिनिधि संस्था संसद्प्रति र अनेकन संवैधानिक संस्था÷आयोगप्रति जवाफदेही हुनुपर्नेे, अख्तियारका पदाधिका–रीलाई चाहिँ नियन्त्रण र सन्तुलनको व्यवस्था नचाहिने भन्ने कुरा हुँदैन ।
— नागरिक दैनिकबाट

माेफसल पत्रकारिता

पत्रकारहरूकाे शुद्धिकरण अभियान चलाईनु पर्छ


बिनोद सिं बिष्ट (प्रतिनिधि) 
राष्ट्रिय समाचार समिति बैतडी
तपार्इंको परिचय पाउँ न ? 
— मेरो नाम विनोद सिंह विष्ट हो । धेरैले मलाई विनोद बाबु भनेर चिन्छन् । मेरो घर बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोट हो । हाल म विगत २ बर्षदेखि बैतडी समाचारदाताको रुपमा राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत रहेको छु । यसका साथै बैतडीमा रहेको रेडियो निङ्गगलाशैनी एफ.एम र सिधारेखा डटकमको समाचार संयोजक भएर पनि काम गर्दै आईरहेको छु । 
कति समय भयो यस पेशामा लागेको ?
— पत्रकारिता पेसा मैले वि स २०६६ सालदेखि कञ्चनपुरवाट सुरु गरेको हुँ । पेसामा लागेको झण्डै झण्डै ८ बर्ष पुग्यो । हाल बैतडीलाई कार्यथलो बनाएको छु ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— मेरो अभिरुचि भनेको समसामयिक विषयवस्तुहरुमा हो । पत्रकारिताका शुरुवातका दिनहरुमा मैले खेल क्षेत्रमा बढी कलम चलाएपनि अहिले  काम गर्दा यहि क्षेत्रमा मात्रै काम गर्छु भन्ने अवस्था नभएकोले सबै क्षेत्रमा कलम चलाईरहको छु । रुचिकै कुरा गर्ने हो भने मलाई सबैभन्दा बढी खेल क्षेत्रको पत्रकारिता गर्न मन पर्छ । यसका साथसाथै सामाजिक, खोजमुलक, कलाकारिता तथा मनोरञ्जन क्षेत्रमा पत्रकारिता गर्न मन पर्दछ । 
पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— मानिस जन्मने बित्तिकै समस्यामा परिसकेको हुन्छ, किनभने एक दिन मर्नु पर्नेछ  भनेर । त्यसपपछि पत्रकारिता जोखिमपुर्ण र चुनौतीपूर्ण पेशा हो । साथै अवसर पनि भन्नुपर्छ । हामी आफंैमा देखिने सबैभन्दा ठूलो चुनौति भनेको हरदम नयाँ सूचना र जानकारीसँग अपडेट रहिरहन पर्ने हुन्छ । समय परिस्थिति र स्थानहरु अनुरुप फरक फरक खालका चुनौतिहरुको सामना गरिराख्नुपर्छ ।
समस्यै समस्या भएको पेशा किन रोज्नु भयो त ? 
— समस्या हरेक पेशामा छ । मेरो सानैदेखिको रुचि सञ्चार क्षेत्रतिर थियो रुचि र रहर अनुसार नै पेसा रोजेको हुँ । अहिले पुर्ण रुपमा यो पेसामा लागेको भएपनि पत्रकारिता विषय भने पढेको होईन । तर पनि यो पेशाले समाजका सकारात्मक र नकारात्मक सबै पक्षलाई छर्लङ्ग पार्दै समाज विकासमा महत्वपुर्ण भुमिका खेल्छ । 
मोफसलको पत्रकारितामा त झन समस्यानै समस्याको चाङ छ भन्ने गरिन्छ, के लाग्छ तपाइलाई ? 
— एकदमै सही हो मोफसलमा बसेर पत्रकारिता गर्न धेरै गाह्रो छ । दिनौ लगाएर सयौ खर्च गरेर लेखेको समाचारले पनि स्थान पाउदैन । साथै मोफसल पत्रकारितामा पैसा पनि त्यति देख्दैन त्यसैले पत्रकारिता पेसामा धेरै लामो समयसम्म लागेर छोडेको पनि देखियो । समाचार विवादमा आयो भने कहिलेकाँही धम्की समेत आउने गर्दछन ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— सबैभन्दा पहिले त पत्रकारिता पेसा प्रत्यक्ष रुपमा समाज रुपान्तरण गर्न मद्दत गर्ने पेशा हो भनेर बुभm्न जरुरी छ । राष्ट्रको चौथो अंगका रुपमा राखेर मात्रै हुदैन ।  मोफसलबाट गरिने पत्रकारिता मार्फत पनि देशको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्न सकिन्छ भन्ने कुरालाई सरकारले बुझ्नुपर्छ । सञ्चारकर्मी र सञ्चारमाध्यमको  सुरक्षाको ग्यारेण्टीका साथै दक्षता अभिवृद्धिका लागि पनि ठोस योजनाका साथ कार्यक्रम ल्याउनु पर्दछ । 
मोफसलका पत्रकारहरुको समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कस्तो भूमिका खेलेको पाउनु भएको छ ? 
— महासंघमा सबैभन्दा पहिला त क्रियाशिल नेतृत्व आउन जरुरी छ । क्रियाशिल नेतृत्वले मात्र पत्रकारितालाई व्यवसायिक बनाउन पहल गर्नेछ । तर बैतडीमा भने भुमिकाविहीन जस्तै छ ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— बैचारिक संगठनहरुले आफ्नो  संगठनको समस्या त समाधान गर्न सक्दैन अरुको त कुरै छोडौं । संगठन पार्टीको भातृ संगठन जस्तै लाग्छन । 
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता एक समाज रुपान्तरण गर्ने पेसा हो । पत्रकारिता गर्ने व्यक्तिले जे देख्यो त्यही सत्य तथ्य घटनामा आधारित भएर समाचार वा सूचना निष्पक्ष रुपमा लेख्न र भन्नु पर्छ जसले समाजमा रहेका अन्य व्यक्तिहरुमा चेतना जगाउन सकोस । आधुनिक सभ्यताको प्रमुख व्यवसायका साथै समाजको दर्पणका रुपमा पनि रहेको छ ।
कति कमाउनु भयो पत्रकारितामा लागेर ? 
— पत्रकारिताबाटै म धनसम्पत्ति जोडौंला भनेर लागेको होईन, तापनि पैसाकै कुरा गर्नुहुन्छ भने अहिलेसम्म साँझ बिहान खानबस्न सम्म पुगेकै छ । हातमुख जोड्नु कसैसंग हात थाप्नु परेको छैन । 
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, तपाइलाइ के लाग्छ ? 
— सबै एउटै किसिमको पत्रकारिता गरिरहेका हुन्छन भन्ने पनि हँुदैन तर पेसाप्रति बद्नामी गर्ने पत्रकारको महासंघले सदस्यता खारेजसम्म गर्नसक्नु पर्दछ । पत्रकार शुद्घिकरण अभियान चलाएर यो समस्या समाधान गर्नुपर्छ । सम्बन्धित निकायले पत्रकारको समस्या समाधानतर्फ ध्यान नदिदा यो समस्या आएको हो जस्तो लाग्छ यसको समाधानतिर लाग्नुपर्दछ । 
तपाई त लाग्नु भा छैन होला नि यस्ता कुरामा ?
— छैन । यस्ता कुराहरुबाट म टाढै छु र कुनै खालको संलग्नता रहने गरेको छैन ।  जरुरी पनि देख्दैन । 
थोरै प्रसंग बदलौं, स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने कुरामा कत्तिको बिश्वास गर्नु हुन्छ तपाई ?  
— सरकारले गर्नुपर्छ भनेर बैशाख ३१ मा मिति तोकेको छ र हुनु पनि पर्छ झण्डै दुई दशकदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायले प्रतिनिधि पाउने छ । आशा गरौं । 
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— पत्रकाारिता एक सम्मानित पेसा हो यसले समाज रुपान्तरणमा अहम् भुमिका राखेको छ । त्यसैले पत्रकारिता पेसालाई पार्टीमुखी नबनाएर समाजमुखी बनाउन आग्रह गर्दछु । 
समय र बिचारका लागि धन्यबाद । 
— तपाईको पत्रिकामार्फत आफ्ना कुरा राख्ने अवसर दिनु भएकोमा तपाई लगायत बिम्ब पत्रिका परिवारलाई धन्यवाद सहित सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. बेलायतमा जनमत संग्रह ः २३ जुन २०१६
२. मेसिद्वारा सन्यासको घोषणा ः २७ जुन २०१६
३. मदर टेरेसालाई सन्त घोषणा ः २ सेप्टेम्बर २०१६
४. टेरिजा मे प्रधानमन्त्री ः १३ जुलाई २०१६
५. जुनो यान वृहस्पतिमा पठाएको ः जुलाई ४
६. बुज अल्ड्रील नेपाल आएका ः ५ सेप्टेम्वर (२० भाद्र)
७. भ्एन् को बैठक ः जुलाई ४–५, २०१६
८. युरोकप सञ्चालन ः जून १० देखि जुलाई १० सम्म । युरोकप बिजेता, २०१६ पोर्चुगल
९. कोपा अमेरिकिकप फुटबल २०१६ बिजेता राष्ट्र चिलि बन्यो ।
१०. अफगानिस्तानमा १४ को घटना जुन २०, २०१६ (२०७३÷३÷६)
११. अफगानिस्तान ध्त्इ को सदस्य ः जुलाई २९
१२. टर्किमा असफल कु ः जुलाई १५, २०१६
१३. ११ औं G-20 सम्मेलन चिनमा ः सेप्टेम्बर ४–५
१४. पानामा पेपर्स ः अप्रिल ४
१५. ८८ औं ओस्कार अवार्ड स्पटलाइट
१६. असङ्लग्ना १७ औं शिखर सम्मेलन भेनेजुयलामा सेप्टेम्बर १७–१८ भएको छ । नेपालबाट उपराष्ट्रपति नन्दबहादुर पुन सहभागि हुनु भयो ।
१७. आशियानको २९ औं शिखर सम्मेलन २०१६ सेप्टेम्बेर ६–८ लाओसमा भयो ।
१८. १४४ औं एल साल्भाडोर देश सङ कुटनैतिक सम्बन्ध स्थापित ः सन २०१६ सेप्टेम्बर २१
१९. मङ्गल ग्रहमा ९.८ किमि ब्यास भएको खाल्डोको नाम लाङटाङ राखिएको छ । (२०१६ जुन १४)
२०. पहिलो उपमहासचिव लुई फ्रेच्टो (क्यानडा) नियुक्ति १९९८ फेब्रअरी १२–२००६ सम्म ।
२१. विश्वकै लामो समय अवधिसम्म राजा भएका थाइल्यान्डका राजा भुमिबोल अदुल्यादेजको निधन सन २०१६ अक्टोबर १३ मा भयो ।
२२. BRICS को ८ औं सम्मेलन अक्टोबर १५ र १६ देखि गोवामा भारत भयो ।
२३. विश्व भोकमरी सुचचाङ्क–२०१६ अनुसार नेपाल ७२ औं स्थानमा परेको छ ।
२४. UNO को ९ औं महासचिवमा सन २०१६ अक्टोबर ६ मा UNO को महासभाले पोर्चुगलका एन्टोनिया गुटेरेजलाई नियुक्त गर्ने निर्णय ग¥यो । पद तथा गोपनियताको सपथ १२ डिसेम्बरमा लिएका हुन । (कार्यकाल १ जनवरीबाट सुरु)
२५. महिला पहिलो सगरमाथा आरोही जुन्के ताइवाको मृत्यु २२ अक्टोबर २०१६ मा भयो । (आरोहण १९७५ मे १६ (बि.स. २०३२÷२÷२)
२६. भारतमा रु. ५०० र रु.१०० को नोट बन्द (economic surgical trick) ९ नोभेम्बर २०१६ देखि भयो ।
२७. क्युबाका पुर्बराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन, २०१६ नोभेम्बर २५ मा भयो ।
२८. ब्राजिलको ब् डिभिजन फुटबल खेलाडी रहेको विमान कोलम्बियामा दुर्घटना २९ नोभेम्बर २०१६ मा भयो ।
३०. २०१६ को २९ औं विश्व एड्स दिवसको नारा “हामी सबैको काम, HIV को रोकथाम” हो । यो दिवश सन १९८८ देखि मनाउन थालेको हो ।
३१. तमिलनाडुकी मुख्यमन्त्री जयललिताको मृत्यु ५ डिसेम्बर २०१६
३२. पाकिस्तानमा हवाई जहाज दुर्घटना ७ डिसेम्बर २०१६
३३. “टाइम पर्सन ओफ द इयर २०१६” अमेरिकि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ।
३४. १३ औं साग सन् २०१९ मा हुने भएको छ ।
३५. आसियानको १९औं शिखर सम्मेलन लाओसमा सम्पन्न भयो ।
३६. बेलायतका विश्व प्रसिद्ध गायक जर्ज माइकलको मृत्यु २५ डिसेम्बरमा भयो ।
३७.Miss world-2016 हुने युवती स्टेफनी डेल (प्युट्रोरिको)
३८. टर्किका लागि रुसि राजदुतको हत्या डिसेम्बर १९, २०१६ मा भयो । 
३९. महेन्द्र सिंह धोनीले वान डे कप्तानीबाट सन्यास, ४ जनवरी २०१६
४०.  FIFA बर्ष खेलाडी २०१६ कृष्टिना रोनाल्डो
४१. FIFA ले विश्वकपमा सन २०१६ देखि ४८ देशलाई ८० ओटा खेल खेलाउने नियम पारित जनवरी १० मा ग¥यो ।
४२. अमेरिकी राष्ट्रपति वाराक ओबामाको कार्यकालको अन्तिम सम्बोधन १० जनवरी ।
४३. चन्द्रमामा पुग्ने अन्तिम अन्तरीक्ष यात्री (अपोलो–१७ मार्फत) युजन सर्जनको ८२ वर्षको उमेरमा निधन जनवरी १८ । उनले १९९९ मा “æThe last man of the moon" आत्मावृतान्त लेखेका थिए ।

साहित्य÷सृजना 

मुक्तक

चारै तिर रङ्गी चङ्गी, होली आयो होली आयो
बसन्तको बहारसंगै, सौन्दर्यता घोली आयो ।

जताततै गाउँ बस्ती, घर आगन खुसीयाली
सद्भाब भाइचाराको, ढोका खोली आयो ।।
भूमिराज जोशी 
कालुखेती–८ बझाङ्ग

गजल

तिमी र म मायाको संसारमा हुनु पर्छ 
मायाको यो सागरलाई संगसंगै तर्नु पर्छ ।

तिमी आउनु त्यताबाट म आउछु यताबाट 
तिमी र म मन्दिर गई बाचा कसम खानु पर्छ ।

कस्तो हुन्छ माया भनी संसारलाई देखाई दिउँला
बाचा खाने देउरालीमा हात समाई जानु पर्छ ।

पाउनु मात्र माया होइन गुमाउनु पनि माया हो 
माया पाउन तिमी र म संग संगै लड्नु पर्छ ।

तिमी र म जीवन काट्दा मायाका कुरा गरौं 
जुनी जुनी तिमी र म संगसंगै जिउनु पर्छ ।।
            मनोज बम
       सात्फरी –९ बल्लेकाडाँ
      हालः प.प.मु.ना.उ.मा.बि. 
          सिलगढी,डोटी

गजल

मलाई माया नगर्ने भा, अन्तै मया सारे हुन्छ 
मलाई दुख प¥यो भने, आसु तिम्ले नझारे हुन्छ ।

साथी धेरै आउछन यहाँ, सधैं साथ दिन्छु भन्ने 
खोला किनारमा छाड्ने भए, खोला नतारे हुन्छ ।

लाग्छ धेरै बाँच्दिन म, बाँच्ने कुनै आधार छैन
हिड्दा हिड्दै मरे भने, तिमले नुन नबारे हुन्छ ।

सपना देखाई नाना थरी, माया अनि पिरतीका 
धोका दिने भए तिम्ले, भरोसामा नपारे हुन्छ ।

चोखो माया भन्नै गाह्रो, भन्छन सबै जना यहाँ
तिम्ले भुल्न सक्छौ भने, मेरो माया मारे हुन्छ ।।
     डम्मर जोशी (बिबस)
माझिगाउँ–७ नेटाकाटियाँ बझाङ्ग
       हालः मलेसिया

Monday, March 13, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७३ साल चैत्र १ गते मंगलबार

१३ अाैं बार्षिक उत्सवकाे अबसरमा अादरणीय पाठक बर्ग, लेखक, रचनाकार, ग्रहाक बर्ग, सूचना बिज्ञापनदाता, सहयाेगी, शुभचिन्तकमा हार्दिक कृतज्ञता व्यक्त गर्दछाैं ।


सम्वन्धित निकायमा दर्ता गरेर मात्र वस्तु वा सेवाको उत्पादन र बिक्री बितरण सम्वन्धि कारोबार गरौं । 
जाँच नगराएको वा रोगी, मरेको पशुपंक्षिको मासु तथा मिसावट गरेको मासु बिक्री नगरौं र नगराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

प्रदेश नं. ७ मा नेपाल पत्रकार महासंघ

जिल्ला अध्यक्षहरुमा चौतारी अगाडि, केन्द्रीय सभासद्मा युनियन




फागुन २२ गते भएको नेपाल पत्रकार महासंघको अधिवेशनमा सुदूरपश्चिममा मिश्रित परिणाम देखिएको छ । जिल्ला अध्यक्षहरुमा प्रेस चौतारी अगाडि रहेको छ भने केन्द्रीय सभासद्हरुमा युनियनको अग्रता देखिन्छ । 
प्रदेश नं. ७ का आठ जिल्लामा सम्पन्न अधिवेशनको परिणाम अनुसार चार जिल्ला अध्यक्षहरु प्रेस चौतारी निटक चयन भएका छन । तीन जिल्लामा प्रेस युनियन अगाडि देखिएको छ भने एक जिल्लामा प्रेस सेण्टरले बाजी मारेको छ । जिल्ला अध्यक्षहरुमा बाजुरा प्रकाशवहादुर सिंह, बैतडी प्रेमसिं भाट,   डडेल्धुरा मानवहादुर साउँद र दार्चुलामा शंकर धामी चयन भएका छन । यि चारै जिल्ला अध्यक्षहरु प्रेस चौतारी निकट रहेका छन । 
यस्तै बझाङ्गमा जगदिश रोकाया, डोटीमा योगेन्द्र बलायर र कैलालीमा जगत साउँद चयन भएका छन । रोकाया, बलायर र साउँद युनियन निकट हुन । कञ्चनपुरमा प्रेस सेण्टर निकट बिष्णु अवस्थी बिजयी भएका छन । 
यस्तै कुल ८६ केन्द्रीय सभासद्हरुमा ३७ जना युनियन निटक रहेका छन । दार्चुला एक, कैलाली १०, बैतडी तीन, कञ्चनपुर १४, डोटी पाँच, बाजुरा १, बझाङ्ग दुई र डडेल्धुरा एक युनियन निकट चयन भएका छन । यस्तै दार्चुला चार, कैलाली सात, बैतडी पाँच, कञ्चनपुर तीन, डोटी एक, बाजु–रा पाँच र डडेल्धुरा चार गरि २९ जना चौतारी निकटका केन्द्रीय सभासद्हरु चयन भएका छन । बझाङ्ग जिल्लाबाट चौतारी निकट कुनै पनि पार्षद चयन भएन ।
कञ्चनपुर सात, कैलाली तीन, दार्चुला एक, बैतडी एक, बझाङ्ग दुई र डडेल्धुरा एक गरि १५ केन्द्रीय सभासद् प्रेस सेण्टर निकट रहेका छन । यस्तै अन्य संगठनहरु निकट पाँच जना केन्द्रीय सभासद्हरु चयन भएका छन । 
अधिवेशन सम्पन्न भएका आठ जिल्लाहरुमध्ये कैलाली र कञ्चनपुरमा निर्वाचन भएको थियो भने अन्य जिल्लाहरुमा सहमतिका आधार चयन गरिएको छ । डोटीमा प्रेस सेण्टर र बझाङ्गमा प्रेस चौतारी बाहिर छन । अधिवेशन भएका अन्य जिल्लाहरुमा भने कुनै न कुनै ठाउँमा तीन मुख्य संगठनहरु युनियन, चौतारी र सेण्टर समावेश भएका छन । 
नयाँ सदस्य बिवादका   कारण अछाममा अधिवेशन हुन सकेको छैन । 

सम्पादकीय 

हार्दिक कृतज्ञता ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल असोज १८ गते जननिर्वाचित सरकारलाई असक्षम घोषणा गरि देशको शासन व्यवस्था निरंकुश शैलीमा सञ्चालन गरिरहेका वेला २०६० साल फागुन २९ गते बिम्ब साप्ताहिक डोटीको नमुना अंक प्रकाशन भएको हो । यस साप्ताहिकले १३ वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । 
दुर्गम क्षेत्रबाट प्रकाशन सुरु गरि १३ वर्षे यात्रा तय गर्न  सहयोग गर्ने आम पाठक वर्ग, नियमित रुपमा बिज्ञापन उपलव्ध गराई दिने बिज्ञापनदाता व्यक्ति, कार्यालय तथा संघसंस्थाहरु, लेखक, रचनाकार, बुद्धिजीजी सूचनादाता, सल्लाह÷सुझावदाता सवैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।    
यस साप्ताहिकको स्थापना भएको करीव एक वर्ष नपुग्दै फेरी ज्ञानेन्द्रले कडा निरंकुश शासन व्यवस्था लागु गरे । जसका  कारण बिम्ब साप्ताहिकले लगातार दुई अंक आप्mनो प्रकासन पनि रोक्नु पर्ने अवस्था सृजना भयो । पत्रिका प्रकासनका लागि जिल्ला प्रशासन कार्यालयवाट सेन्सर गर्नु पर्ने अवस्था सृजना भयो । केही अंक सेन्सर गरेरै भएपनि प्रकासन गरी पत्रिका प्रकासनलाई निरन्तरता दिने काम भयो । 
निरंकुश शासनका बिरुद्ध पत्रिकाले नियमित रुपमा लेख रचना प्रकासन गर्ने काम जारी राख्यो । तत्कालीन शाही नेपाली सेनाले  गरेका गलत क्रियाकलापहरु, प्रहरी प्रशासनले गरेका गलत क्रियाकलापहरुको भण्डाफोर गर्ने काममा बिम्ब साप्ताहिक कहिले पनि पछि परेन । निरंकुश शाही शासनको बिरोध गरेका कारण यस पत्रिकाका तत्कालीन प्रधान सम्पादक रामवहादुर ऐरलाई घरमा सुतेका वेला प्रहरीले राती ११ वजे पक्राउ गरी थुनामा राख्यो । पत्रिकामा संलग्न अन्य व्यक्तिहरुलाई थुन्ने, धम्की दिने, पत्रिका खारेज गर्ने धम्की दिने र बिज्ञापन उपलव्ध नगराउने धम्की दिने काम समेत त्यसवेलाका केही सरकारी कर्मचारीहरुवाट भए । 
यति हुँदाहुँदै पनि बिम्ब साप्ताहिकले आप्mनो नियमित यात्रा जारी राख्यो । पाठक वर्गहरुको अपार माया, बिज्ञापनदाताहरुको नियमित सहयोग, लेखक रचनाकारहरुले उपलव्ध गराएको अमुल्य सामग्री र बौद्धिक वर्गहरुको अमुल्य सुझावका कारण बिम्ब साप्ताहिकले १३ वर्षको कठीन यात्रा पार गरेको छ । यस दौरानमा बिम्ब साप्ताहिक प्रेस काउन्सिल नेपालको बर्गीकरणमा घ, ग हुँदै २०६६ सालको बर्गीकरणदेखि निरन्तर “ख” वर्गमा वर्गकरण भएको छ । सुदूरपश्चिमका पहाडि जिल्लाहरुबाट प्रकासन हुने साप्ताहिक पत्रिकाहरुमा हालसम्म “ख” वर्गमा वर्गीकरण भएको बिम्ब साप्ताहिक मात्र हो । 
कठीन र जटिल यात्रालाई सवै क्षेत्रका व्यक्तित्वहरुको सहयोगमा यहाँसम्म पु¥याउन सहज भएको छ । आगामी दिनहरुका पनि यस यात्रालाई निरन्तरता दिने बिम्ब साप्ताहिक टिमको अठोट रहेको छ । यसका लागि बिगतका दिनहरु जस्तै आगामी दिनमा पनि यस साप्ताहिकलाई आम पाठक वर्ग, बिज्ञापनदाता व्यक्ति, कार्यालय तथा संघसंस्थाहरु, लेखक, रचनाकार, बुद्धिजीजी सूचनादाता सवैको अझ वढी सहयोग आवश्यक हुने महसुस भएको छ । पाठक वर्गको चाहना अनुसार बिम्ब साप्ताहिकलाई समयानुकुल परिमार्जित गर्दै लैजाने हाम्रो अठोट रहेको छ । यसका लागि सहयोग गर्न सवैमा हार्दिक अपील गर्दछौं । 
यस पत्रिकालाई निरन्तरता दिने क्रममा थुप्रै साथीहरु पत्रिकासंग जोडिएर महत्वपूर्ण योगदान दिएर अहिले अर्कै पेशामा संलग्न हुनु भएका पत्रिकाका संस्थापक प्रधान सम्पादक सहित सम्पूर्ण साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । उहाँहरु सवैको योगदानको पत्रिका  परिवार उच्च मुल्याङ्ककन गर्दछ । आगामी दिनहरुमा उहाँहरुको प्रत्येक्ष अप्रत्येक्ष सहयोग हाम्रा लागि अति आवश्यक छ । 
१३ वर्ष पुरा गरेको अवसरमा एक पटक पुनः सवै क्षेत्र र वर्गका व्यक्तिहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । साथै निरन्तर सहयोगका लागि पुनः अपील पनि छ ।

थप समाचार 

जिबिस बन्यो “जिल्ला समन्वय समिति”

आठ स्थानीय तहमा कार्यकारी अधिकृत तोकिए


२०४६ सालको राजनीतिक परिवर्तनपछि जिल्ला पञ्चायतबाट नामाकरण गरिएको जिल्ला बिकास समिति अव जिल्ला समन्वय समितिमा परिणत भएका छन । नयाँ संरचना अनुसार कार्यकारी अधिकृत समेत तोकिएका छन । 
नेपाल सरकारले नयाँ संरचना अनुसारका स्थानीय तहको कार्यान्वयन गर्न फागुन २७ गते राजपत्रमा सूचना प्रकाशन गरेपछि डोटी जिल्ला बिकास समितिमा जिल्ला समन्वय समितिको साईनबोर्ड झुण्डिएको हो ।
यस्तै जिल्ला समन्वय समिति डोटीले जिल्लाका आठ स्थानीय निकायहरुमा नयाँ कार्यकारी अधिकृत तोकेको छ । स्थानीय तहको शासन सञ्चालन सम्वन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार साबिकका गाउँ बिकास समिति सचिवहरुमध्येबाट बरिष्ठतम्का आधारमा कार्यकारी अधिकृत तोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । 
कार्यकारी अधिकृतको जिम्मेवारी पाउनेहरुमा शिखर नगरपालिकामा कर्णवहादुर धामीलाई कार्यकारी अधिकृत  तोकिएको छ । राजपत्र अनअंकित प्रथम श्रेणीका धामी यसअघि बनलेक गाबिसका सचिव हुन । 
यस्तै आदर्श गाउँपालिकामा डवलवहादुर भाट, पूर्विचौकी गाउँपालिकामा दिपक नगरकोटी, सायल गाउँपालिकामा लालवहादुर बोगटी, बोगटान गाउँपालिकामा दिलिपसिं साउँद, जोरायल गाउँपालिकामा शेरवहादुर बिष्ट र बडाकेदार गाउँपालिकामा  भरत नेपालीलाई कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको छ । 
साविकको दिपायल सिलगढी नगरपालिकामा भने यसअघिनै अधिकृतस्तरका कार्यकारी अधिकृत रहेका छन । 
नयाँ संरचना अनुसार डोटी जिल्लामा दुई नगरपालिका र ७ गाउँपालिका कायम गरिएको छ । यसअघि यस जिल्लामा ५० गाउँ बिकास समिति र एक  नगरपालिका रहेका थिए । 
यसैबीच गाउँपालिका तथा नगरपालिका कार्यकारी अधिकृत चयन गर्ने क्रममा बरिष्ठतम् भन्दा कनिष्ठलाई तोकिएको, सम्वन्धि गाउँपालिकाभित्रका साबिकका गाबिसहरुमा बरिष्ठतम् हुँदाहुँदै पनि अन्य गाबिसबाट लाएको  आरोप साबिकका गाबिस सचिवहरुले लाउन थालेका छन ।
‘स्थानीय तहको शासन सञ्चालन सम्वन्धमा जारी गरिएको आदेश अनुसार सम्वन्धित गाउँपालिकाभित्रका साबिकका गाबिसहरुमा कार्यरत सचिवहरुमध्ये बरिष्ठतम्लाई कार्यकारी अधिकृत तोक्ने भनेको छ’ एक कर्मचारीले भने ‘तर दरवन्दी अन्तै भएका र थप जिम्मेवारी सम्हालिरहेकाहरुलाई जिम्मेवारी दिइएको छ ।’ केही कर्मचारीहरुको भनसुनका आधारमा यस्तो गरिएको ति कर्मचारीले गुनासो गरेका छन ।

पत्रिकामा केही हुँदैन अनि के पढ्नु ?

बिम्ब साप्ताहिकको १३ बार्षिक उत्सव कार्यक्रम सम्पन्न


‘अन्यथा नमान्नुहोला साथीहरु, तपाईहरु स्थानीय पत्रिका पढ्नु प¥यो त भन्नु हुन्छ तर के पढ्नु त्यसमा पढ्ने लायकको सामग्री केही हुँदैन ’ 
बिम्ब नेपाली साप्ताहिकको १३ औं बार्षिक उत्सवको अबसरमा आयोजना गरिएको एक कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रशाद शर्माले पत्रकारहरुले खोजमुलक समाचार सामग्रीहरु प्रकाशन गर्नु पर्ने     कुरामा जोड् दिदै माथीको कुरा     भने । उनले समाचारहरु सत्यमा आधारित र मानिसको जीवन जिबिकासंग जोड्ने खालका हुनु पर्नेमा जोड् दिए । 
बिम्ब साप्ताहिकलाई शुभकामना दिदै शर्माले भने ‘सत्य–तथ्य घटना, सन्तुलित समाचार भन्ने पत्रिकाको नारा छ त्यसै अनुसार तपाईहरु आफ्ना गतिबिधिहरु सञ्चालन गरिरहनु भएकोमा बधाई पनि दिन  चाहान्छु ।’ शर्माले सरकारी कार्यालयहरुले सबै सञ्चारमाध्यमहरुलाई समानुपातिक रुपमा बिज्ञापन बितरण गर्नु पर्ने कुरामा जोड दिए । उनले आफुले सवै कार्यालय प्रमुखहरुलाई बिज्ञापन दिँदा सबै पत्रपत्रिकाहरुलाई पालो लगाएर दिन भनेको पनि वताए । 
जिल्ला प्रशासन कार्यालयलेनै स्थानीय पत्रिका   खरिद नगर्ने गरेको गुनासोपछि प्रजिअ शर्माले जिल्ला प्रशासन कार्यालयमा पत्रपत्रिकाका लागि बजेट नभएको वताए । उनले भने ‘मैले सरकारी कार्यालयहरुलाई स्थानीय पत्रपत्रिकामा समान रुपमा बिज्ञापन दिन निर्देशन दिईसकेको छु ।’ उनले स्थानीयस्तरको स्रोत साधनलाई समान रुपमा पाउनु पर्छ भन्नेमा आफु प्रयासरत रहेको वताए । 

‘यदि तपाईहरुसंग सत्थ–तथ्य समाचार छ र प्रमाण छ भने तपाईहरुले डराउनु पर्ने कुनै कारण छैन’ समाचार सम्प्रेसणपछि आउने धम्कीको बारेमा चर्चा गर्दै शर्माले भने ‘यदि तपाईहरुले तथ्यपरक समाचार लेख्नु भएको छ भने धम्की दिनेहरुलाई प्रशासनले कानुन बमोजिम कारबाही गर्छ ।’ बिम्ब साप्ताहिकले भ्रष्टाचार बिरोधी समाचारहरु अभियानकै रुपमा सञ्चालन गरेकोमा प्रसंसा गर्दै शर्माले आफुले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार गर्नेलाई नछोड्ने प्रतिवद्धता व्यक्त गरे । ‘बिम्बले केही खोजमुलक र सकारात्मक समाचार पनि प्रकाशन गरेको पाईएको छ’ शर्माले भने ‘यस अभियानलाई निरन्तरता दिनु होला ।’
देशमा चलिरहेको चरम द्वन्द्वका क्रममा २०६० सालफागुन २९ गते देखि आफ्नो प्रकाशन सुरु गरेको बिम्बले प्रत्येक वर्ष आफ्नो बार्षिक उत्सव कार्यक्रम बिबिध कार्यक्रम गरि मनाउँदै आएको छ । यस वर्ष फागुन २९ गते होली पर्व परेका  कारण बार्षिक उत्सवको कार्यक्रम शुक्रबार (फागुन २७) मा राखिएको सम्पादक रामहरी ओझाले जानकारी दिए । 
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, गैससका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुले बिम्ब साप्ताहिकले स्थानीय, खोजमुलक र समावेशी खालका समाचारहरु प्रकाशनमा थप जोड दिनु पर्ने वताएका थिए । 
बिम्ब साप्ताहिकले प्रत्येक वर्ष गर्दै आएको सम्मान अनुसार यस वर्ष पनि दुई जनालाई सम्मान गरेको छ । बिम्ब साप्ताहिकबाटै पत्रकारिता सुरु गर्दै हाल मुलधारको पत्रकारितामा क्रियासिल साबिक डोटी गैरागाउँ गाबिस–९ का चन्द्र धामीलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । यस्तै डोटी जिल्लाका सामुदायिक बिद्यालयहरुबाट प्रवेशिका परीक्षामा सहभागि भएका छात्राहरुमध्ये सवैभन्दा बढी अंक ल्याउने साबिक बारपाटा गाबिस–६ निवासी पुजा बलायरलाई सम्मान गरिएको छ । 
सो अवसरमा सम्पादक रामहरी ओझाले बिम्बको स्थापना देखि हालसम्ममा गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए । सो अवसरमा सम्पादक ओझाले १३ वर्षसम्म बिम्बलाई सहयोग गर्नु हुने, सल्लाह दिनु हुने र हौसला दिनु हुने सवैलाई धन्यवाद समेत दिए । 

कसले कति खर्च गर्न पाउने

बैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको मापदण्ड तय भएको छ ।
निर्वाचन आयोगले तय गरेको मापदण्ड अनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखले सात लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन । महानग–रपालिकामा बडा अध्यक्ष र सदस्यका लागि चुनाव लड्ने उम्मेदवारहरुले तीन लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । 
यस्तै उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले पाँच लाख ५० हजार र बडाध्यक्ष तथा सदस्यहरुले दुई लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । नगरपालिकाका प्रमुख र उपप्रमुखले चार लाख ५० हजार र बडाध्यक्ष तथा सदस्यहरुले दुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । 
गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुले तीन लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यहरुले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन । जिल्ला समन्वय समितिका दुई लाख ५० हजार र सदस्यहरुले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरि आयोगले मापदण्ड निर्धारण गरेको छ । 
तोकिएको मापदण्ड अनुसार उम्मेदवारहरुले मतदाता नामावली खरिद्, सवारी साधन÷घोडा, सवारी ईन्धन÷दाना, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी÷कार्यकर्ता परिचालन, अन्य प्रचार÷प्रसार (छापा एवं बिद्युतीय माध्यम), प्रतिनिधि परिचालन र बिविध शिर्षक   अन्तरगत सो रकम खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगका प्रवक्ता भरतराज शर्माले जानकारी दिएका छन ।

महिला हिंसा रोक्न देउडा प्रतियोगिता

“मासका चिफली दाल बास्मतीका धान, जाँडरक्सी नखाउ दाइभाइ लिन्छ यसले ज्यान” ‘मालु पात.... जोरायल जन्मसात’ भन्ने यो डोटेली भाषामा आधारित मार्मिक सन्देशले मञ्च नै सबैको ध्यान केन्द्रीत बनेको थियो ।
शनिबार डोटीको दक्षिणी क्षेत्र जोरायलमा लैङ्गिक हिंसा चेतनामुलक अभियान सम्पन्न भएको छ ।  
महिला तथा बालबालिका सेवा केन्द्र डोटी र जिल्ला प्रहरी कार्यालय डोटीको संयुक्त आयोजनामा जोरायलमा लैङ्गिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम समुदायस्तर र बिद्यालयस्तरमा भन्ने दुइवटै ब्यानर भएको कार्यक्रम रत्न आधारभूत 
कार्यक्रममा स्थानीय महिलाहरुले लैङ्गिक हिंसा रोक्ने खालका नाराहरु बनाएर ¥याली निकाल्दै मञ्चमा पुगेका थिए । महिलाहरुले देउडा प्रस्तुत गरेका थिए । ‘उदासी चैतको मैना फुलन्लागे आरु, ओ हाम्रा सरकारी मान्छे जन ख्वाया दारु’ भन्ने हरफ प्रस्तुत भएपछि मञ्चमा बस्नेहरुले मुखामुख गरे । 
लैङ्गिक हिंसा रोक्नका लागि यसरी एकजुट भएर सबैलाई चेतना फैलायो भने पक्की पनि हिंसा रोकिने घण्टेश्वर बहुमुखी क्याम्पस जोरायलका क्याम्पस प्रमुख सुनलाल थापाले बताए । थापाले भने, ‘पछिल्लो समयमा जोरायल क्षेत्रका महिलाहरु क्रियाशिल भएर केही हदसम्म हिंसा रोक्न सफल भएका छन ।’ जुन घरमा शिक्षाको अभाब छ त्यो घरमा लैङ्गिक हिंसा बढी थापाले बताए ।  
हिंसा रोक्नमा मद्दत पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमहरु आयोजना गरिएको महिला तथा बालबालिका सेवा केन्द्र डोटीकी अध्यक्ष शशी सोबले बताइन । अध्यक्ष सोबले भनिन् ‘हामीले यस्ता कार्यक्रमहरु बिद्यालय तथा समुदायहरुमा गर्ने गरेका छौं ।’ 
हिंसा घर परिवारबाट नै हुन्छ, बिभेद् हुनु पनि हिंसा भएका कारण केही बर्ष अगाडीसम्म पनि छोरालाई खसी र   छोरीलाई फर्सी भन्ने उखान चल्दै आएको थियो यस्तै कुराहरुलाई अन्त गर्नका लागि हामीले यस्ता कार्यक्रम गर्दै आएको सोबले बताइन । 

सूचना दिएन जिल्ला समन्वय समितिले

पत्रकार शंकर थापा र लोकेश अधिकारीले लिखित रुपमा सूचना माग गर्दा पनि जिल्ला समन्वय समितिले सूचना  दिएन । 
पत्रकारद्वयले सूचनाको हक अन्तरगत सूचना माग गरेपछि स्थानीय बिकास अधिकारी गौतमले सूचना दिन नमिल्ने भन्दै सूचना दिएनन् । स्थानीय निकाय पुनसं–  रचना जिल्ला प्राबिधिक समिति डोटीलाई सो कार्यका लागि कति बजेट आएको थियो र सो रकम कुन क्रियाकलापमा खर्च भएको थियो सोको प्रमाणित सूचना र तत्कालिन पोखरी र जिजौडामाण्डौं गाबिसका सचिब ईश्वरबहादुर सिंहलाई सरकारी रकम हिनामिना गरेको सम्बन्धमा के कारवाही भयो ? हाल कारवाहीको प्रकृया कहां पुग्यो भनेर उनीहरुले समाचार प्रयोजनको लागि सूचना माग गरेका     थिए । 
जिल्ला समन्वय समितिका सूचना अधिकारी टेकबहादुर खड्का र सहायक सूचना अधिकारी कृष्णबहादुर खड्का कार्यालयमा नभएपछि स्थानीय बिकास अधिकारी गौतमको कार्यकक्षमा पुगेका सूचना मागकर्ताहरुलाई माग गरिएको सूचना दिन नमिल्ने भन्दै निबेदन बुझ्न अस्वीकार गरेका थिए । स्थानीय बिकास अधिकारी गौतमले सूचना अधिकारी कहां गएको भन्ने आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिएको पत्रकार लोकश अधिकारी वताउँछन । 
सूचना मागकर्ताहरुले स्थानीय बिकास अधिकारी जस्तो जिम्मेवार पदाधिकारीहरुले गैरजिम्मेवार कुरा गर्न नमिल्ने भनेपछि सूचना फांट तोक लगाएर जसले सूचना दिन्छ उसैकहां जानुस भनेर झर्किएका थिए । त्यस पछि सूचना मागकर्ताहरु सूचना दर्ता गराएर फर्किएका थिए । 
सूचनाको हक सम्बन्धि ऐन २०६४ तथा सूचनाको हक कार्यान्वयन निर्देशिका अनुसार कुनै सार्बजनिक निकायमा सूचना अधिकारी नतोकिएको वा सूचना अधिकारीको जिम्मेवारी लिएको ब्यक्ति अन्यत्र सरुवा भई वा लामो बिदामा गएमा सूचना अधिकारीलाई सम्बोधन गरिएको निबेदन माथी कारवाही गर्ने काम सम्बन्धित निकायका प्रमुख वा निजले तोकेको ब्यक्तिले गर्नु पर्छ । कुनै पनि सार्बजनिक निकायलाई सूचना अधिकारीको अनुपस्थितिमा सूचना प्रवाह हिनताको अवस्थामा राख्नु हुदैन भन्ने स्पष्ट रुपमा उल्लेख गरिएको छ । 
सूचनाको हक सम्बन्धि ऐन २०६४ को  परिच्छेद २ को दफा ७ अनुसार सूचना मागको निबेदन प्राप्त भएपछि सूचना अधिकारीले तत्काल उपलब्ध गराउन सकिने सूचना भए तत्काल र तत्काल उपलब्ध गराउन नसकिने सुचना भए निबेदन प्राप्त भएको मितिले १५ दिन भित्र निबेदकलाई सूचना उपलब्ध गराउनु पर्ने कानूनी ब्यवस्था रहेको छ । 

छोटकरी समाचार 

कार्यशाला सम्पन्न

एक्सनएड नेपालको सहयोगमा सम विकास केन्द्र  नेपाल डोटीद्वारा सञ्चालित प्रगतिशिल स्थानीय स्रोत परिचालन परियोजना अन्र्तगत पाँच गाबिस र दिपायल सिलगढी नग–रपालिका गरि २० वटा विद्यालयमा विद्यालयका ६० जना शिक्षकलाई बालकेन्द्रित सिकाई प्रक्रियाबारे जानकारी गराउन कार्यशाला सम्पन्न भएको छ । 
शिक्षकको शिक्षण सिकाई र बालवालिकाहरुको सिकाई उपलब्धिमा सुधार ल्याउने उद्देश्य अनुरुप शिक्षकहरुलाई गत वर्ष दिईएको १० दिने तालिम पश्चात आएको परिवर्तनका बारेमा छलफल गर्न उक्त कार्यशाला आयोजना गरिएको सम बिकास केन्द्रका कार्यक्रम संयोजक   अधिराज बिसीले जानकारी दिए ।  
कार्यशालाले शिक्षकहरुको सिकाई समीक्षा गरि आई परेका समस्या र चुनौतिका विषयमा थप प्रष्ट पार्ने काम भएको बिसीले वताए । तालिमले अध्यापनमा सहज भएको सहभागि शिक्षकहरुले वताए ।

खेल समाचार 
नेपालद्वारा केन्या पराजित


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भईरहेको विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालद्वारा केन्या ७ विकेटले पराजित भएको छ । 
केन्याविरुद्ध आज भएको दोस्रो खेलमा केन्याले दिएको एक सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा ग¥यो । सुनिल धमला एक तथा सागर पुन ५ रनमा आउट भएपछि नेपाली पारी धरमराएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच बलियो साझेदारी भएपछि नेपालले केन्या विरुद्ध सहज जित हात पारेको हो । दुवै खेलाडीबीच एक सय ११ रनको साझेदारी भएको थियो ।
नेपालले तीन दशमलव चार ओभरमा दुई विकेटको क्षतिमा मात्र १४ रन बनाएको अवस्थामा कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन १७ वर्षीय युवा खेलाडी दीपेन्द्रसिंह ऐरी मैदानमा आएका थिए । उनले विष्फोटक व्याटिङ गर्दै ६६ बलमा ६२ रन बनाए । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसीप अन्तर्गत केन्या विरुद्धको शनिबार पहिलो खेलमा डेब्यु गरेका ऐरीले दोस्रो खेलमा एक छक्का तथा आठ चौका हान्दै उत्कृष्ट खेल प्रदर्शन गरे ।
यस्तै कप्तान पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले अविजित ६४ रनको योगदान दिए । यस क्रममा उनले एक छक्का तथा आठ चौका प्रहार गरे । यस्तै ऐरी आउट भएपछि खेल्न आएका शरद भेषवाकरले ३० दशमलव दुई ओभरको स्थितिमा छक्का हान्दै नेपाललाई जित दिलाए । उनले ११ बलमा एक छक्का र चार चौकासहित अविजित २४ रन बनाए ।
बलिङतर्फ केन्याका इ ओटिनोले दुई तथा कोलिन्स ओबुयाले एक विकेट लिए । यस अघि टस हारेर व्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ५५ रन बनायो । केन्याका लागि कोलिन्स ओबुयाले ७८ बल खेल्दै सात चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए । यस्तै इरफान करिमले ३८ रन बनाए । उनले ७७ बल खेल्ने क्रममा तीन चौका प्रहार गरे । कप्तान आरआर पटेलले २१, एनएन ओढियम्बोले १५ तथा करन कौलले १४ रन बनाए ।
केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका शरद भेषवाकरले महत्वपूर्ण चार विकेट लिए । उनले सात दशमलव एक ओभर बलिङ गर्दै २८ रन खर्चे । यस्तै मेहबुब आलम र वसन्त रेग्मीले दुई÷दुई विकेट लिए । आलमले सात ओभर बलिङ गर्दै पाँच मेडन राखेर ११ रनमात्र खर्चेर दुई विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चे । सागर पुन र सन्दीप लामिछानेले एक÷एक विकेट   लिए ।
शनिबार पहिलो खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको थियो । केन्या विरुद्धको दोस्रो खेलमा जित हासिल गरेसँगै नेपालले विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालले अब प्रतियोगितामा हङकङ र युएईसँग खेल्न बाँकी छ । नौ खेलको समाप्तिसँगै नेपाल आठ अङ्कका साथ छैटाँै तथा केन्या १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।

चलचित्र÷मनोरञ्जन 

छक्कापञजा—२ निर्माण हुने

चर्चित हास्यव्यङ्ग्य चलचित्र ‘छक्का पञ्जा’ को अपार सफलतापछि ‘छक्कापञ्जा–२’ निर्माण हुने भएको छ । 
आमा सरस्वती मुभिजको व्यानरमा बन्ने यो चलचित्रलाई छक्कापञ्जाकी निर्देशिका दीपाश्री निरौलाले नै निर्देशन गर्ने भएकी छिन । नेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै कमाई गर्न सफल ब्लकबस्टर चलचित्र ‘छक्का पन्जा’को पछाडि २ राखेर नयाँ चलचित्रको घोषणा गरिएको छ । फागू पूणिर्माको अवसर    पारेर उक्त चलचित्र निर्माण हुने घोषणा गरिएको हो । 
अहिले चलचित्र कथावस्तुमा काम भैरहेको बताईएको छ । ‘छक्का पन्जा’ का मुख्य कलाकार दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत चलचित्र ‘छक्का पन्जा–२’ का लागि कलाकारका रुपमा फाइनल भैसकेका छन् । चलचित्रका लागि एक नायक र एक नायिका फाइनल गर्न बाँकी छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले नायक र नायिका चलेकै हुने बताए । 
यो चलचित्र छक्कापञ्जाको निरन्त–रता नभएको निर्माता दीपकराज गिरीले वताए । उनले भने ‘छक्का पन्जा जहाँबाट सकियो, त्यहीबाट ‘छक्का पन्जा—२’ सुरु हुन्छ भन्ने होइन । तर, दर्शकले चलचित्र हेर्दै जाँदा ‘छक्का पन्जा’को पनि याद गर्नुहुनेछ । साथै, ताजा कथामा चलचित्र हेर्न पाउनुहुनेछ ।’ गिरीका अनुसार, चलचित्रले नयाँ र पुराना जेनेरेशनको प्रतिनिधित्व गर्नेछ । साथै, ‘तितो सत्य’ र ‘छक्का पन्जा’ चलचित्रका फ्यानले ‘छक्का पन्जा—२’ लाई अझ मन पराउने उनको विश्वास छ ।
उनका अनुसार चलचित्रको छायांकन जेठ १० गतेबाट सुरु गरिनेछ । किरण कँडेलले एउटा गीतमा अहिले संगीत भरिरहेको दीपकले बताए ।

फिल्मकर्मी र पत्रकार सम्मानित

फिल्मी खवरबाट
नेपाल चलचित्र कलाकार संघले आफ्नो १५ औं साधारणसभा सम्पन्न गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच संघले आफ्नो बार्षिक प्रगती विवरण सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
चलचित्र र चलचित्रसँग जोडिएका कलाकर्मीको पक्षमा आफ्नो कार्यकालमा भएका प्रगतीहरू सार्वजनिक गर्दै उनले कार्यकाल अवधिभर नै संघको आफ्नै भवन बनाई छाड्ने प्रतिवद्धता दोहोर्याए ।
यस्तै कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान दिँदै आएका विभिन्न चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरिएको छ । चलचित्र कलाकार संघ पुरस्कार २०७३ बाट उपाध्यक्ष समेत रहेकी विशिष्ट अभिनेत्री लक्ष्मी गिरी सम्मानित भईन भने शान्ति मास्के पुरस्कारबाट अभिनेता पुरन थापाले सम्मान पाए । यस्तै चलचित्र कलाकार संघ विशेष सम्मानबाट हाँस्य अभिनेता सिताराम कट्टेल धुर्मुस र अभिनेत्री कुञ्जना घिमिरे सम्मानित भए । यस्तै सोहि सम्मान विश्वका कान्छा निर्देशक सौगात विष्टलाई पनि प्रदान गरियो ।
कलाकार संघ पत्रकारिता सम्मानबाट प्रकाश सुवेदी, अशोकप्यासी राई र विष्णु सुवेदी सम्मानित भए भने चलचित्र कलाकार संघ सेवा सम्मानबाट संघका उपाध्यक्ष सानुकुमार ताम्राकार र सह कोषाध्यक्ष सुनिल कटुवाल सम्मानित हुँदा नव प्रतिभा प्रोत्साहन सम्मान अभिनेत्री वर्षा राउतलाई प्रदान गरियो ।

लेख 

अव गर्भपतन गर्दिन !


सीता भुसाल 

बुटवलबाट प्रकाशित एक पत्रिकामा हिजो एउटा समाचार पढेँ । इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी  रहिछौ । हर्षले मन थाम्न सकिनँ । आँखाबाट हर्षका आँशु बगे । गुल्मीको दुर्गम गाउँमा हामीले सँगै बिताएका बाल अनुभवहरु एकाएक गर्दै आँखा वरिपरी घुम्न थाले । भर्खर भर्खर बल्लबल्ल छोरीलाई स्कुल पठाउन थालेका अभिभावकका छोरीहरु हामी अलिकति डर, धेरै उत्साह र मनभरी हिम्मत बोकेर स्कुल जाने गथ्र्यौँ । छोरीले असल बुहारी हुनका लगि गर्नुपर्ने सम्पूर्ण दैनिक अभ्यासहरु समय मिलाएर सिक्ने गर्दथ्यौं । स्कुलका गृहकार्य जस्तै महत्वपूर्ण थिए हाम्रा लागि दैलो, कुँचो, टपरी गाँस्ने, बत्ति काट्ने जस्ता सीपहरु सिक्न । तिम्रो प्रशासनिक काममा तिनको प्रयोग कत्तिकोे भएको छ म जान्दिन तर मेरो दैनिकी तिनैको वरीपरी बितेका छ ।
एसएलसीसम्मको पढाई कक्षामा पहिलो दोस्रो भएर तिमीले र मैले संगै ग¥यौं । नजिक कलेज नभएकाले उच्च शिक्षा अध्ययनको लागि दाजु बिनयसँगै तिमी राजधानी गयौँ भने मेरो १६ वर्षमै विवाह भयो । अचेल सुन्दै छु त्यो त बाल विवाह पो रहेछ । बुबाको रोजाइँमा घरका अन्य पुँजा जस्तै गरेर गरिएको बिवाहको विषयमा मलाई धेरै थाहा नै थिएन । बिवाह र जीवनसाथीको महत्व बल्ल पो बुझदै छुँ । बिवाह पश्चात असल बुहारी हुने अभ्यासमा मेरा दैनिकीहरु यति व्यस्त भएकी तिम्रो र सिंगो समाजको विषयमा सोँच्ने मलाई फूर्सदै मिलेन । हाम्रो भेट नभएको पनि वर्षौं भएछ । 
हिजो फेसबुकका भित्ताहरुमा भाइरल बनेको तिम्रो फोटो छोरी अपेक्षाले देखाउँदा पो म दंग  परे । तिमी त उस्तै पो रहिछौ । तर मलाई चिन्न तिमिलाई पक्कै गाह्रो पर्नेछ । १७ वर्षमा पहिलो पटक म छोरीको आमा बने । त्यसपछि त मेरो दिनचर्या असल आमा, असल पत्नी र असल बुहारी हुँदैमा व्यस्त भयो । म र मेरो नीजि जीवन भन्ने नै मैले बिर्सिए । अझ लगातार ३ वटी छोरीको आमा बन्दा त म भर्खर ३५ वर्ष पुग्दा पनि बुढ्यौलीको अनुभव गर्न थालेकी छु । तीनैवटी छोरीकी आमा भइसक्दा पनि एउटा छोरा जन्माउने इच्छा राखेर तडपिरहेकी छुँ । आफनो शरीरलाई छियाछिया  पारीसकेकी छु । एक   छोरा जसले भविश्यमा मेरो कुलको इज्जत राखोस् भन्ने चाहना मनमा अझै अधुरै छ । त्यसैले त मैले मंगलबारको ब्रत पनि राखेकी छु । जुन ब्रत गर्दा छोरा नै जन्मिन्छ भन्ने विश्वास मेरो मनभित्र ज्यूँदैछ । के गरु म बाध्य छु । एउटा कुल धान्ने छोरा नजन्माउने हो भने मेरो वंश नास हुने भो भनेर श्रीमानको ‘कचकच’ सुन्दा म दिक्क छु । 
छोरी जन्माउनेको सन्तान भनेर दिनहुँजसो झगडा गर्ने सासुको वचन सुन्न बाध्य छु । टोल छरछिमेकको कानेखुशी सुन्दा र देउरानी जेठानीहरुले छोराको ‘धाकधक्कु’ लगाउदा मेरो मन पनि यति दुखेको छैन । दुखेको मनमा मलमपट्टी लगाउने ठाउँ कतै भेटेकी छैन । तीनवटी छोरीकी आमा हुँदा र लगातारको गर्भपतनले गर्दा म पँचास वर्ष नाघेकी महिलाहरु भन्दा पनि बुढि देखिन्छु । छोरी जन्माउने बुहारीले मिठोचोखो खान हुँदैन भनेर    सुत्केरीमा पनि मैले मीठो खाने र आराम गर्ने प्रशस्त अवसर पाएकी हैन् । त्यसैले होला आजभोली म अनेक स्वास्थ्य समस्याबाट पीडित छु । छाला चाउरी परिसकेको छ । बिहान चार बजेदेखि साँझ दश बजेसम्म सजिलैसँग श्वास फेर्ने समेत फुर्सद छैन मलाई । यही बेफुर्सदीले मलाई समाजको परिवर्तनलाई जान्ने र बुझने अवसर पो कहाँ मिलेको छ र ? घरको काम सकेर फुर्सद पो कहिले छ र ? देश दुनियाँको यात्रा मेरो गोरखपुरसम्म मात्र सिमित छ । त्यही पनि हरेकपटक आश बोकेर जान्छु, पिडा र निराश बोकेर फर्कन्छु । प्रत्येक पटकको यात्रामा मेरो मुटुको गति बढेको हुन्छ । कानहरु लालायित हुन्छन् शुभ समाचार सुन्नलाई । तर म बिवश छु मेरो कमजोरी स्वीकार्न ।
मेरो गिर्दो स्वास्थ्य देखेर डाक्टरहरु भन्ने गर्छन, धेरै पटक गर्भपतन स्वास्थ्यका लागि हानिकारका हुन्छ भनेर । तर मलाई त्यसको कुनै परवाह छैन किनकी मलाई वंश धान्ने छोरा जन्माउनु नै छ । ती–तीनवटी छोरीमाथी सौता बेर्होनु पनि कम पिडादायक क्षण होला त मेरा  लागि ? म आफैसँग प्रश्न गर्नेगर्छु । उत्तरमा मेरो मन अत्तालिन्छ र भन्ने गर्छ सौताको जिन्दगीभरको पीडा खेप्नु भन्दा केहि क्षणको शारीरिक पीडा खेपेर भएपनि छोरा जन्माउनु नै ठीक छ । त्यसैले म हारेकी छैन । हार्नु त हुँदै भएन नी । माइतमा बाबु आमाको इज्जतको सवाल पनि छ । फलानाको नाति छैन भनेर गाउलेहरुले गफ गर्दा मेरा माइती गाउमा पनि इज्जत जाने भयो । के गरु म दोधारमा छु । बाबु आमा, सासुससुरा, श्रीमान र आफन्तहरुको दबाबले मलाई पनि छोरा भनेको त ‘कुल धान्ने व्यक्ति हो’ भन्ने अनुभूति गराएको हो वा ती सबैको खुशीका लागि मेरो स्वास्थ्य बिगारेर केवल छोरा जन्माउने कोशिस गर्दैछु ।
छोराकी आमा हुन नसकेकाले घर माइत जताकतैबाट आउने दवाव झेल्न नसकेर अचेल म मानसिक रोगी बन्दै गएकी छु । श्रीमान् सासुससुराको कचकचले म भित्रको आत्मविश्वास बिस्तारै घटदै गएको छ । तिमिलाई के थाहा वंश धान्ने छोराको आसमा ४ पटक त मैले लुकिछिपि गर्भपतन गरिसकेकी छु । म ठुलो आशा बोकेर डक्टर कहा पुग्छु तर प्रत्येक पटक निराश छु मेरो गर्भको भु्रण छोरी हुँदा । हुन त गर्भपतन मेरो रुचिको विषय कहाँ हो र ? प्रकृतिको कस्तो अनुपम उपहार । गर्भको बच्चासँग कति छिटो आमाको सामिप्यता जोडिएको हो । प्रत्येक पटक गर्भपतन गर्नुपर्दा एकपटक मृत्युको अनुभुति गर्नुपर्ने मानसिक रुपमा । सायद सबै आमाहरुलाई त्यस्तै अनुभुति हुन्छ की वा मलाई मात्रै हो ? आमा हुनुको अनुभव बिल्कुल फरक हुँदोरहेछ । नियम कानुन भन्दा पनि माथिको भिन्न सम्बन्ध हुँदोरहेछ सन्तानसँग । मन पनि कस्तो अचम्मलाग्दो गर्भमा बच्चा आउने बित्तिकै एकै पटक कति धेरै कल्पना मनभित्र आउने । मनलाई तुरुन्त संवेदनशिल बनाउने । यही फरक होला आमा र बाबुको बीचमा । प्रकृतिको बिडम्वना नै भन्नुपर्छ त्यस्तो अनुभुति कहिल्यै बाबु बन्नेले गरेको भेटिन । उनका आँखामा त्यो पीडा कहिल्यै देखिन । उनका आँखामा सँधै एउटा दम्भ र छोराप्रतिको अभिलाषा मात्र देखिरहे । जबरजस्त हास्न खोज्दा रसाएका मेरा आँखाको भाषा उनले बुझ्नै सकेनन् । यही त फरक होला महिला र पुरुषको भोगाई, फरक वरदान प्रकृतिको हामी छोरीहरुलाई ।
आजभोली त म रेडियोबाट सुन्ने गरेकी छुँ । छोरा वा छोरी जसलाई जन्माउन पनि महिलाको (मेरो) हात हुँदैन । त्यसपछि त धेरै ढुक्क भएकी छु । छोरीहरुको मात्र आमा हुनुमा मेरो कुनै दोष रहेनछ । यी सबै महिलाहरुलाई दबाउन बनाईएका झुट्ठा विवरण मात्र रहेछन् । गर्भपतनले कानुनी मान्यता पायो भनेर संचारमाध्यममा सुन्दा र पढ्दा म धेरै खुसी भएकी थिए । धेरै आमाहरुले समाजले ‘नाजायज’ नाम दिएको बच्चा बोकेर अव हिड्नु पर्ने भएन भनेर । हरेक सम्बन्धहरुलाई परिभाषा गर्ने जिम्मा आखिर समाजलाई त दिएको छ । सम्बन्धको सामाजिक परिभाषा खोज्दा त महिलाहरु ज्यूँदै जलाईएका छन । बैवाहिक बलत्कार भोगि–रहेका छन । आत्महत्या गर्न विवश छन् । महिला र पुरुषको समान सहभागीतामा रहने सम्बन्धहरुमा पनि दोष महिलाको टाउकोमा जाने नियति हामीले भोगेकै त छौँ है ? समाजले सभ्य भनेको तर २१ औँ शताब्दीमा पटक्कै नसुहाउने असभ्य अभ्यास ।
इन्दिरा तिमीलाई थाहा छैन । मत आठौँपटक फेरी गर्भवती भएकी छु । मन डराएको छ । मुटुको धडकन फेरी बढेको छ । विश्वास छ यसपटक मेरो गर्भमा पक्कै छोरा होला भनेर । म पुनः जाँदैछु गोरखपुरसम्मको   यात्रामा । मसँग मेरा श्रीमान् पनि निकै उत्साही हुनुहुन्छ छोराको बाबु बन्ने अभिलाशा बोकेर । थाहा छैन मेरो यात्रा कस्तो हुने हो ?
तर, विडम्वना गोरखपुरमा चेकअपपछि थाहा लाग्यो आठौँपटक पनि मेरो पेटमा छोरी रहेछ । यो सुनेर मेरा श्रीमान् छाँगाबाट खसेजस्तै भए र मलाई गाली गर्न   थाले । छोरा जन्माउन नसक्नेको सन्तानमा परिएछ भनेर मसँग रिसपोख्न थाले । तर म यसपटक पटक्कै निराश छैन । उहाँको गालीलाई प्रतिवाद गर्ने क्षमता ममा जागेको छ । मेरो मन दरिलो भएको छ । विश्वास बढेको छ । तिमीलाई देखेर तिम्रो सफलता र विश्वासलाई आत्मसात गरेर । मैले सुनेकी छु धेरै महिलाहरु पुरुष सरह अगाडि बढेका छन रे हाम्रो देशमा पनि । तर ती सबै भन्दा भिन्न तरिकाले आफ्नै सर्घषशील यात्राबाट अगाडि बढेकी मेरै उमेरकी तिमीलाई देखेर ममा धेरै हिम्मत पलाएको छ । यसवर्ष सायद मैले पनि तिमीजस्तै हिम्मत र आत्मविश्वास भएकी छोरी जन्माउने प्रवल इच्छा राखेकी छुँ ।
हाम्रा गाउँघरका थुप्रै नालायक छोराहरु भन्दा योग्य छोरी जसले घरको मात्र होइन देशको वंश थामोस् । त्यही छोरीको सिघ्र प्रतिक्षामा छु । त्यसैले मलाई मेरा श्रीमान्, सासु—ससुरा, छरछिमेक कसैको पनि गाली गलोजले प्रभाव पारेको छैन । म खुशीसाथ योग्य छोरी जन्माउने तयारीमा छु । नालायक छोराको के काम जसले देश र जनताको लागि केहि गर्न सक्दैन । कुलतमा फसेर हिड्छ । बाबु आमाको साहारा बन्नु त कता हो कता बुढेसकालमा पीडा थपिदिन्छ । त्यस्तो नालायक छोरो जन्माउने तयारीमा म छैन । अन्तिम पटक मेरो गर्भवाट योग्य, लायक छोरी जन्माउने विश्वासका साथ तयारीमा जुटेकी छु । जसले म, मेरो परिवार र देशको इज्जत थामोस् । महिला सशसक्तिकरणको अभियानमा एउटा इट्टा थप्ने प्रयासको सानो थालनी होस् ।
(लेखक ः गुल्मी तम्घास निवासी हुनुुहुन्छ ।)
— दैनिक नेपाल अनलाईनबाट

सन्दर्भ ः बिम्ब साप्ताहिकको १३ औं बार्षिक उत्सवको 

हामीले के ग¥यौं भन्ने कुरा पनि हेर्नु पर्छ


हामीले धेरै कुराहरु उठायौं सरकारी कार्यालयले यो ग¥यो त्यो गरेन, गैससले यो ग¥यो त्यो गरेन भनेर तर हामीले के ग¥यौं भन्ने कुरा बुझ्नु जरुरी छ ।  हामी पत्रकारिता पेशामा काम गर्ने साथीहरुले पनि पाठकको मन जित्न सक्नु पर्छ भन्ने लाग्छ मलाई । कुरा उठ्यो यहाँ पत्रिका किन्ने बानी छैन भनेर । हामीले पत्रिका किन्ने कति जनालाई सम्मान ग¥यौं त ? यदि हामीलाई कसैले बिज्ञापन दियो भने त्यसलाई हौसला पनि दिएनौं की । हौसला स्वरुप सम्मान गर्नुपर्छ जस्तो लाग्छ मलाई ।
 बिम्बले यो क्षेत्र तिर पनि बढी ध्यान दिनु पर्छ  । यसरी अरु मिडियाले पनि बिभिन्न सबालहरु उठायो भने  पत्रकारिता क्षेत्र पक्कै पनि बिकास हुन्छ । बिम्बले १३ बर्ष पुरा गरेकोमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
यकराज बडु 
सामुदायिक बिकास केन्द्र डोटी, परियोजना अधिकृत

पिछडिएका बर्गको लागि पनि स्तम्भ थप्नु प¥यो


बिम्बले सबैको बर्ग सबै समुदाय, सबै जातीका आवाजहरुलाई समेट्दै आएको छ । त्यो प्रसंसनीय छ । सिमान्तकृत बर्गका सवालहरु जुन सामाजिक सवालहरु छन ती सबै समट्ने प्रयास गरेको छ । त्यसले जिल्लामा तरङ्ग फैलाएको हामीले महशुस गरेका छौं । डोटीको पत्रकारितामा हेर्दा पत्रिका पढ्नेहरुका तह त्यसका इच्छुक एक तह हुन्छन भने अर्कातिर जो निमुखाहरु, सर्बसाधारण पिछडिएकाहरु हुन्छन जो पहुँचमा पुगेका हुदैनन् तिनीहरुका लागि देशमा के भइरहेछ जिल्लामा के भइरहेछ भन्ने कुराहरु कसरी हेर्न सक्छन बुझ्न सक्छन भन्ने तिर अब सबै मिडियाहरुले जानुपर्छ की भन्ने लाग्छ । बिभिन्न स्तम्भहरु प्रकाशन गरेको छ बिम्बले, यो राम्रो पाटो हो । सकिन्छ भने दलित, पिछडिएका बर्गको पनि एउटा स्तम्भ प्रकाशन गर्दा त्यसले पनि पत्रकारिता बिकास गर्नमा सहयोग पु¥याउछ ।
केशब परियार (अध्यक्ष) 
सम बिकास केन्द्र नेपाल

बिम्ब ऐतिहासिक पत्रिका हो


बिम्ब १४ बर्षमा प्रबेश गरिसकेको छ । यो समयमा बर्षभरी ५२ अंक प्रकाशन गरेर जनताका आवाजलाई उठाएको छ । यो आफैंमा चुनौतीपूर्ण हो । जिल्लामा २५ पत्रिका दर्ता भएका छन । अधिकांश बन्द भएका छन र हुने क्रममा छन । बिम्ब बिभिन्न समस्याका बाबजुत पनि निरन्तर प्रकाशन रहेको छ, म यसलाई डोटी जिल्लाको ऐतिहासिक पत्रिकाको रुपमा लिने गर्दछु । २०६२÷०६३ सालको जनआन्दोलनमा हामी ४÷५ जना मिलेर बिम्बलाई तात्तातो खबर भनेर पनि निकाल्यौं । त्यो समयमा पनि निकै चुनौती थियो । खास गरेर पत्रकारिता पेशामा लागेपछि अरु कुनै पेशा नअँगालेपछि मात्र नियमित हुन्छ । बिम्ब साप्ताहिकको १३ बर्ष पुरा भएको उपलक्ष्यमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
योगेन्द्र बलायर
अध्यक्ष नेपाल पत्रकार महासंघ डोटी

सन्दर्भ अनुसार समाचार सम्प्रेषण गर्नु होला

बिम्बको बिषय बस्तुको स्तरीयता भाषाशैली राम्रो छ । फेरी पनि बिम्ब लगायत जिल्ला स्थित सबै मिडियाका साथीहरुले सुधार्नु होला । समय सन्दर्भ अनुसारका समाचारहरु सम्प्रेषण गर्नु होला । पत्रकारका लागि त्यो नै हुन्छ मुख्य सबाल । यस्तै पत्रकारले समाचार सम्प्रेषण गरेकै आधारमा धाक धम्कीहरु आउनु स्वभाबिक हो । 
कसैको बिरुद्धमा कलम चल्दा उसलाई त तनाब हुने नै भयो । अनि उसले धम्की दिनु स्वभाबिक हो । एकजनाले धम्की दिंदा पनि आफ्नो पक्षमा त हजारौं जनाले समर्थन पनि गरेका हुन्छन । एकजनाको धम्कीलाई हजारौं जनाको समर्थन भएपछि के को तनाब लिनु प¥यो ? सत्य तथ्य कुरामा अडिक रहेर समाचार प्रकाशन तथा प्रसारण गर्नुहोला । पीत पत्रकारिता नगर्नुहोला । यो मेरो बिम्ब परिवार र अरु मिडियाका बन्धुहरुलाई सुझाब छ । साथै बिम्ब साप्ताहिकले १३ बर्ष पुरा गरेको उपलक्ष्यमा हार्दिक बधाइ तथा शुभकामना छ ।
चक्र मल्ल (अध्यक्ष) नेकपा एमाले, डोटी 

जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मात्र प्रेस स्वतन्त्रता लुकेको हुन्छ । हामीले विश्वका जुन सुकै मुलकमा हेर्ने हो भनेपनि लोकतान्त्रिक पद्धतिमा मात्र प्रेस स्वतन्त्रता लुकेको हुन्छ । तर बिडम्बना राजनीतिदलले राजनीतिको बारेमा बुझ्दैनौ, पत्रकारले पत्रकारको भूमिका बुझ्दैनौं, कर्मकारीले कर्मचारीको भूमिका बिर्सन्छौं, सुरक्षाकर्मीले सुरक्षा गर्न जान्दैनौं । यो कारणले हामी सबै पछाडि परेको हौं । त्यसैले हामी जे गर्दा अगाडी बढ्न सक्छौं त्यो बाटोतिर लाग्नु जरुरी हुन्छ । जसरी बिम्ब एकबद्ध तरिकाले बिगत १३ बर्षदेखि निरन्तर रुपमा जनताका आवाजलाई बुलन्द तरिकाले उठाइरहेको छ, त्यसरी नै सबैले आ आफ्नो क्षेत्रबाट पिछडिएका दुःखी पीडितहरुका आवाजलाई उठाउन सके डोटी पत्रकारिताको पनि बिकास हुन्थ्यो । सबै सहयोगी निकायहरु पनि यो पेशालाई सहयोग गर्छन यदि एकजुट भएर जनताका आवाजलाई बाहिर ल्यायो भने । पत्रकारहरु पनि एक आपसमा मिलेर अगाडी बढ्यो भने पत्रकारितामा कुनै कुराको कमी हुँदैन । बिम्बलाई १३ बर्ष पुरा भएको अवसरमा बधाइ तथा शुभकामना ।
नारायण जोशी (सचिब), नेपाली काँग्रेस जिल्ला कार्य समिति डोटी

महिलाहरुको पनि नियमित स्तम्भ राख्नु प¥यो

बिम्ब साप्ताहिकको १३ बार्षिक उत्सवको अवसरमा पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । बिभिन्न स्तम्भहरु सञ्चालन गरेको रहेछ बिम्बले तर महिलाहरुको लागि कुनै स्तम्भ सञ्चालन गरेको पाईएन । 
महिलाहरुका बिचारहरु, भावनाहरु, समस्याहरु यदि नियमित रुपमा प्रकाशन हुने भए उनीहरुले पनि आफ्नोपन महसुस गर्ने थिए । महिलाहरुका लागि छुट्टै स्तम्भ सञ्चालन गर्न हुन म सुझाव दिन चाहान्छु । बिम्ब साप्ताहिकका साथसाथै अन्य सञ्चारकर्मीहरुले पनि आ–आफ्नो सञ्चारमाध्यममा महिलाको क्षमता बिकास सम्वन्धि सामग्रीलाई स्थान दिनु पर्छ ।
निर्मला दाहाल 
महिला बिकास अधिकृत 
महिला तथा बालबालिका कार्यालय, डोटी

प्रेस स्वतन्त्रताका लागि लोकतन्त्र जरुरी


पत्रकार राजनीतिबाट टाढै बस्नु पर्छ भन्छन म त्यो कुरालाई सत्य मान्ने पक्षमा छैन । जहाँ लोकतन्त्र हुँदैन त्यहाँ राजनीति हुँदैन । जहाँ लोकतान्त्रिक राजनीति हुँदैन त्यहाँ प्रेस स्वतन्त्रता हुँदैन र जहाँ प्रेस स्वतन्त्रता हुदैन त्यहाँ लोकतन्त्र हुनै सक्दैन र राजनीतिक पार्टीहरु हुँदैन । यदि हामी लोकतन्त्रलाई अघि बढाउछौं भने            राजनीतिबाट पत्रकार टाढा रहनु पर्छ भन्ने मान्यतामा छैन । लोकतन्त्रमा सबैलाई एक अर्काप्रति आस्था हुन्छ । आस्था बोक्यो भन्दैमा कुनै पार्टीको भातृ संस्था हुने होइन । २०६० सालदेखि निरन्तर रुपमा डोटीका सक्रिय पत्रकारहरु मिलेर बिम्ब साप्ताहिक सञ्चालन गरेका थियौं । आज १३ बर्ष पुरा भएर १४ बर्षमा सुरु भइसकेको छ । बिम्बको फेरी पनि उत्तरोत्तर प्रगतिको शुभकामना ।
मिन बम (निबर्तमान अध्यक्ष)
नेपाल पत्रकार महासंघ डोटी

बिम्ब साप्ताहिकले पाठकको मन जितेको छ

समय सन्दर्भ अनुसार तितो सत्य कुरा हुन्छ नै । समाजमा भइरहेका बिकृति बिसङ्गतिहरुलाई कसरी मिडियाले समात्न सक्यो भन्ने कुरा बढी समाजका लागि लाभदायक हुन्छ । बिम्बले खेलेको भूमिका निकै गहिरो छ । जिल्लामा भइरहेका सबै घटनाहरुलाई समाबेश गर्ने गरेको छ । एउटा साप्ताहिक पत्रिका भएपनि पाठकहरु कति बेला प्रकाशन हुन्छ भनेर आतुर भएका हुन्छन, त्यो हामी सबैलाई अबगत नै भएको कुरा हो । बिम्ब नेपाली साप्ताहिकले १३ बर्ष पुरा गरेको उपलक्ष्यमा बिम्ब परिवारलाई हार्दिक धन्यबाद दिन चाहान्छु फेरी पनि समाजको प्रतिबिम्ब भएर बाँचिरहोस शुभकामना ।
बिबेक कुमाल, संयोजक नेपाल कम्युनिष्ट पार्टी डोटी

पत्रिका किनेर पढ्ने बानी छैन

बिम्ब साप्ताहिकले बिभिन्न चुनौतिहरुका बाबजुद् आफ्नो १३ वर्षीय यात्रा पुरा गरेको छ । यस अवसरमा बिम्ब साप्ताहिक परिवारलाई बधाईका साथै शुभकामना दिन चाहान्छु । डोटी जस्तो जिल्लामा जहाँ पत्रिका किनेर पढ्ने बानी छैन, यहाँ स्थानीय पत्रिका नियमित सञ्चालन गर्न निकै चुनौतिपूर्ण छ । जिल्ला प्रशासन कार्यालय स्वयं पनि स्थानीय पत्रिकाको ग्रहाक बन्दैन । अन्य सरकारी कार्यालयहरु पनि मुलधारका पत्रिकाका ग्रहाक बन्छन तर स्थानीय पत्रिकाको बन्दैनन् । बिज्ञापन जति मुलधारका पत्रिकामा पठाउने चलन छ । यतै दिईने बिज्ञापन समेत पहुँचका आधारमा बाँड्ने चलन छ । यसमा सुधार हुनु जरुरी छ । स्थानीयस्तरमा सञ्चालनमा रहेका सवै सञ्चारमाध्यमले समान ढंगले बिज्ञापन पाउनु पर्छ । यसमा प्रमुख जिल्ला अधिकारी ज्यूले पहल गर्नु हुनेछ भन्ने आशा छ । 
मोहन शाही 
कान्तिपुर दैनिक

लोकसेवा तयारीका लागि उपयोगी 

कसरी पास गर्ने लोक सेवा परीक्षा ?

सफलताका लागि टिप्स
— अध्ययन सामग्रीको खोजबिन गर्ने,
— पाठ्यक्रम अनुरूप र सोसँग सम्बन्धित अध्ययन सामग्री जुटाउने,
— राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, विभिन्न संसदीय समितिका प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न थाल्ने,
— बिबिसी नेपाली सेवालगायतका राष्ट्रिय, अन्तराष्ट्रिय समाचार च्यानल सुन्ने, हेर्ने । महत्वपूर्ण घटनाक्रमको टिपोट गर्ने ।
— सम्बन्धित विषयका विद्वानहरूको लेख तथा अन्तर्वार्ता पढ्ने, टिपोट गर्ने,
— अगाडिका परीक्षामा उत्तीर्ण भएकासँग छलफल गर्ने ।
— परीक्षा हुनुभन्दा कम्तीमा ६ महिना अघिदेखि नियमित तयारी गर्ने,
— पत्रपत्रिकाहरूमा प्रकाशित सम्बन्धित विषयको टिपोट गर्ने,
— इन्टरनेटमा पाठ्यक्रम अनुसारको विषयको अध्ययन गर्ने, टिपोट गर्ने ।
— पाठ्यक्रम अनुसारको नोटकापी बनाएर अलग–अलग विषय संग्रह गर्ने बानी बसाल्ने,
— उत्प्रेरित हुने, मनोबल कम गराउने गरी नसोच्ने, सकारात्मक सोच राख्ने,
— बिहान दुई घन्टा (४–६ बजेसम्म) दिनहुँ पढ्ने । त्यस्तै साँझ पनि दुई घन्टा पढ्ने ।
— एक घन्टा दैनिक रूपमा पढेका कुराहरू लेख्ने र सम्झन कोसिस गर्ने,
— कुर्सीमा बसेर टेबुलमा पढ्ने बानी बसाल्ने,
— एकाग्रताको विकास गर्ने,
— पढ्दाखेरि प्रत्येक एक घन्टामा १० मिनेट जति ब्रेक लिने
— दैनिक पढ्दा एउटै विषय मात्रै नपढी २–३ वटा क्षेत्र तथा विषय पढ्ने,
— ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्ने,
— ठूलो नोट, मझौला नोट र संक्षिप्त नोट बनाउने,
लेख्दै पढ्ने,
— मिल्ने, खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने
— शुद्ध र राम्रा अक्षरमा छोटो वाक्यमा लेख्ने,
— अवधारणा, सिद्धान्त, अभ्यासजस्ता विषयमा जानकारी राख्ने,
— प्रश्नले सोधेको मात्र उत्तर राख्ने,
— सम्बन्धित विषयवस्तुप्रति निश्चित अवधारणा राख्ने,
— दैनिक शान्त जीवन, निश्चित आम्दानीबाट चल्ने प्रबन्ध गर्ने,
— मैत्रीपूर्ण र हर्षपूर्ण पारिवारिक वातावरण बनाउने,
— सीप सिक्ने चाँजोपाँजो मिलाउने,
— धैर्य राख्ने, निरन्तर लगाब राख्ने,
— आत्मविश्वास कायम गर्ने,
— स्मरण शक्तिलाई तेज बनाउने उपायहरू अवलम्बन गर्ने,
— लेख्दा तथा अन्तर्वार्ता दिँदा ओजपूर्ण शब्द चयन गर्ने,
— समसामयिक उदाहरणसहित सटीक जवाफ दिने,
— मस्तसँग निदाउने बानी बसाई फ्रेस हुन प्रयास गर्ने ।
अन्तर्वार्ता फेस गर्दा
— अन्तर्वार्तामा पेस हुँदा मिलेको ड्रेस लगाई भलाद्मी र चम्किलो अनुहारसहित पेस हुने,
— इक्वायल आई कन्ट्याक्ट गर्ने,
— शिष्टतापूर्वक जवाफ दिने,
— विश्लेषणयुक्त पुष्टि र एकरूपतालाई ध्यान दिने,
— अवस्था र परिस्थिति अनुसार जवाफ दिने,
— प्रश्नलाई आफूले जानेको क्षेत्रमा लैजान प्रयत्न गर्ने,
— जानकारी भएपनि व्याख्यात्मकभन्दा छोटो, पुग्ने र सकारात्मक दिशातर्फ मोड्ने,
— अन्तर्वार्ता फेस गर्दा हात नहल्लाउने, खुट्टा नहल्लाउने र प्रस्टसँग बोल्ने,
— मध्यम आवाज र सिर्जनात्मक उत्तर दिने,
— नआत्तिने, शान्तपूर्वक स्पष्ट जवाफ दिन प्रयत्न गर्ने ।
किरणराज शर्मा सहसचिव, वन तथा भूसंरक्षण मन्त्रालय

साहित्य÷सृजना 

आमा

हे आमा
तिमी बिना
डर लाग्छ मलाई किन ?
भीडसँग डराउँछु म
शून्यतामा हराउँछु म 
अन्धकारमा बाटो बिराउँछु म
जब यहाँ म
तिम्रो काखमा हुन्थे
निर्धक्क भएको हुन्थे
फूलहरुमा रमाउँथे म
हरियालीमा मग्न हुन्थे म
उज्यालोपथमा लम्कन्थे म
आज तिम्रो अभावमा 
अश्रुधारा बगाउँछु म
आफैँबाट हराउँछु म
बेदनाले छटपटाउछु म
जब एकान्तमा 
बसेको हुन्छु म
तिम्रै सम्झनामा टोलाउछु म
तिम्रै ममता सम्झन्छु म
तिम्रै मायामा रुचाउँछु म
आमा तिमी छैनौ
म सित
तैपनि बाँचेकै छु म
अझ दृढ बनेको छु म
तिम्रै सपना पुरा गर्दछु ।
अरुण नदी खत्री
सामाखुशी मार्ग, काठमाडौं (नेपाल)

गजल 

सोचे जस्तो हुन्न रैछ विदेशमा !
कहाँ आयो दशैँ तिहार विदेशमा !!
घर आउन सोचेको थिए अहिले दशैँमा !
सोचे जस्तो हुन्न रैछ पापी विदेशमा !!
छोराछोरी सम्झीसम्झी कल्पिन्छ सधै मन !
निष्ठुरी मन भई बस्नु पर्ने बाध्य रैछ विदेशमा !!
तड्पिएर एक्लै बस्छु मिलन हाम्रो कहिले !
सम्झिएर फेरी रुन्छु एक्लै विदेशमा !!
निसा कटुवाल

सूचना÷सन्देश÷बिज्ञापन 

जिल्ला स्वास्थ्य कार्यालय डोटीको अनुरोध

मिति २०७२ चैत्र ५, ६ र ७ गते का दिन तालीम प्राप्त स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेविका तथा स्वयं सेवकहरु हात्तिपाईले (फाईलेरिया) रोगको उपचार तथा सो रोग हुनबाट बच्न र बचाउने औषधी चक्की खुवाउन तपाईहरुको घर दैलोमा आउँदै  हुनुहुन्छ । उक्त दिन हात्तिपाईले (फाईलेरिया) रोग हुनबाट बच्ने र बचाउने औषधी चक्की सेवन गरौं र आउने सन्ततिहरुलाई सो रोग हुनबाट 
सुरक्षित पारौं । यस हात्तिपाईले रोग (फाईलेरिया) निवारण कार्यक्रमबारे अरु परिवार तथा छिमेकीहरुलाई पनि जानकारी गराईदिन हुन अनुरोध गरिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय, डोटी

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷११÷२४          
     जिल्ला डोटी खातीवाडा गा.वि.स.वडा नं.७ स्थित कि.नं.५१, ६९, ७९, १०९, १७६, १७८, ५३५ र ५५० को जग्गा सोही गा.वि.स.वडा नं.७ बस्ने चनुवाको बुहारी कल्याणको पत्नि काली देविको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि काली देविको मिति ः २०६८÷६÷१३ मा र निजको पति कल्याणको मिति ः २०२०३२÷१÷१५ मा मुत्यु भईसकेकोले निजबाट सन्तान छोरा छोरी कोही केही नभई अपुताली परेकोले हुँदा निजको शेषपछिको नजिकको हकदार जगुवा साउँदको बुहारी बहादुर साउँदको पत्नि हासुलीदेवी साउँद मात्र भएको हुँदा मृतकको नाउँमा रहेको डोटी खातीवाडा गा.वि.स. स्थित उल्लेखित पुरै घर जग्गा मेरो नाउँमा एकलौटी नामसारी गरी पाउँ भनी डोटी खातीवाडा गा.वि.स. कार्यालय डोटीको च.नं.१९८ मिति ः २०७३÷११÷२२ को किटानी सिफारिस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र नाता प्रमाणित आदि प्रमाणहरु साथै राखी जि.डोटी खातीवाडा गा.वि.स.वडा नं.७ बस्ने हासुलीदेवी साउँदले यस मालपोत कार्यालय, डोटीमा मिति २०७३÷११÷२३ मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, काली देविको नजिकको हकदार अन्य कोही भए वा निज निवेदिकाको  मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला । अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ । 

सूचना ! सूचना !!  सूचना !!!

मिति २०७२ चैत्र ५, ६ र ७ गते का दिन तालीम प्राप्त स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेविका तथा स्वयं सेवकहरु हात्तिपाईले (फाईलेरिया) रोगको उपचार तथा सो रोग हुनबाट बच्न र बचाउने औषधी चक्की खुवाउन तपाईहरुको घर दैलोमा आउँदै  हुनुहुन्छ । उक्त दिन हात्तिपाईले (फाईलेरिया) रोग हुनबाट बच्ने र बचाउने औषधी चक्की सेवन गरौं र आउने सन्ततिहरुलाई सो रोग हुनबाट 
सुरक्षित पारौं । यस हात्तिपाईले रोग (फाईलेरिया) निवारण कार्यक्रमबारे अरु परिवार तथा छिमेकीहरुलाई पनि जानकारी गराईदिन हुन 
अनुरोध गरिन्छ ।
सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय 
राजपुर, डोटी  

सूचना ! सूचना !! सूचना !!!

यस अघी वेपत्ता पारिएका ब्यक्तिहरुको छानविन आयोगले उजुरी दिन आह्वान गरिएको समयमा उजुरी दिन छुटेका पीडितहरुको उजुरी दिन पाउनु पर्ने भनी अनुरोध समेत भई आएकोले २०७३ साल चैत्र १५ गतेसम्म ७५ जिल्लाका स्थानीय शान्ति समिति र वेपत्ता पारिएका ब्यक्तिहरुको छानवीन आयोगको कार्यालयमा उजुरी दिन सकिने भनी वेपत्ता पारिएका ब्यक्तिहरुको छानविन आयोगले सूचना प्रकाशन गरेकोले सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिको छ ।
स्थानीय शान्ति समिति, डाेटी
सम्पर्क नं. ०९४–४१११७६

दिपायल सिलगढी नगरपालिकाको कार्यालय
सिलगढी, डोटी 

नगरबासीको जानकारीका लागि जारी गरिएको सूचना 


उपर्युक्त सम्वन्धमा नेपाल सरकारबाट हालै जारी गरिएको स्थानीय तहको शासन सञ्चालन सम्वन्धी निर्देशिका वमोजिम यस नगरपालिका क्षेत्रभित्रका साविकका वडाहरु हाल निम्न वडा कायम भएका र उक्त वडामा काम गर्ने वडा सचिब समेत निम्न वमोजिम तोकिएकोले सम्वन्धित सवैको जानकारीको लागि सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गरिन्छ ।