Tuesday, March 21, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७३ चैत्र ८ गते मंगलवार

गुणस्तरीय बस्तु वा सेवाको उपभोग गर्न पाउने उपभोक्ताको संबैधानिक हक तथा मानवअधिकारको सम्मान गरौं र गराऔं । 
— कसैले उपभोक्ता हितमा प्रतिकुल असर पर्ने काम कारवाही गरेको पाईएमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी वा आपुर्ति व्यवस्थान तथा उपभोक्ता हित संरक्षण बिभागमा उजुरी गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

अख्तियारको छानबिनले बिद्यालयको पढाई प्रभावित


पाँच जना सरकारी अनुदान र दुई जना स्थानीय स्रोतबाट गरि सात जना कार्यरत बिद्यालयमा हाल एक जना मात्रै शिक्षक रहेका छन । साबिकको गाउँ बिकास समितिबाट दिईएको अनुदानमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथी छानबिनको क्रममा बिद्यालयको पढाई प्रभावित भएको छ । 
डोटी दिपायल सिलगढी नगरपालिका–९ मछन्तोला (साबिकको बगलेक गाबिस–९) मा रहेको मष्टेश्वर आधारभुत बिद्यालयमा कक्षा ५ सम्म अध्ययन÷अध्यापन भईरहेको छ तर शिक्षक एक जना मात्रै छन । स्थायी शिक्षक एक, सट्टा एक, करार एक र राहात दुई गरि सरकारी अनुदानका पाँच जना शिक्षक रहेकामा अख्तियारले चार जनालाई निलम्वन गरेपछि हाल एक जना करार शिक्षक मात्रै कार्यरत छन । 
साबिकको बगलेक गाउँ बिकास समितिबाट २०६४÷०६५ देखि ०७०÷०७१ सम्म बिद्यालयको भौतिक पूर्वाधारका लागि बिनियोजन भएको चार लाख ५५ हजार रुपैयाँ हिनामिना भएको भन्दै परेको वेनामी उजुरीमा अख्तियारले छानमिन गर्ने क्रममा सो अवधीमा क्रमैसंग प्रधानाध्यापक बनेका शिक्षकहरु लक्ष्मण साफी, मुक्तीराज जोशी, सुनिता केसी र बिरवहादुर साउँदलाई गत फागुन १७ गते निलम्वन गरेपछि बिद्यालयमा एक जना करार शिक्षक नरवहादुर बोहरामात्रै कार्यरत छन । चार शिक्षकहरुसंगै बगलेकका प्राबिधिक धनवहादुर बिष्ट र सोही गाबिसका तत्कालीन सचिव भीमवहादुर धामी पनि अनुसन्धानमा रहेका छन । प्राबिधिक बिष्ट पनि निलम्वनमा छन । धामी सेवानिबृत्त भईसकेका छन । यस्तै बिद्यालय व्यवस्थापन समिति अध्यक्ष महा साउँद पनि अख्तियारको अनुसन्धानमा छन । 
२०७१ साल भाद्र ५ गते पहिलो पटक अख्तियारले बिद्यालयमा उजुरीका सम्वन्धमा पत्राचार गरेको थियो । त्यसबेला देखि भईरहेको अनुसन्धान अझै टुंगिएको छैन । उजुरी आएपछि शिक्षकहरुले आफुहरुले कुनै अनियमितता नगरेको जवाफ दिएका थिए । उक्त जवाफपछि कुरा मिलेको सोचेका शिक्षकहरुलाई करीव एक बर्षपछि अख्तियारको टोली बिद्यालयमा पुगेपछि मुद्धा जारी रहेछ भन्ने जानकारी भयो । 
‘५ कक्षासम्मको बिद्यालयमा म एक्लैले के गर्नु ?’ हाल कार्यरत शिक्षक बोहरा भन्छन् ‘त्यसैले बार्षिक परीक्षा चाँडै गरे ।’ सोमवार बार्षिक परीक्षा सकिएको बोहरा बताउँछन । शैक्षिक सत्र २०७२ सम्म कक्षा ८ सम्म पढाई भईरहेको बिद्यालय २०७३ को शैक्षिक सत्र देखि ५ सम्म झरेको बोहराले वताए । उनले भने ‘गाउँ बिकास समितिले पनि अनुदान दिन छोडेपछि नीजिस्रोतबाट राखेका दुई जना शिक्षकहरुलाई तलव खुवाउन स्रोत नभएपछि बिद्यालय तल झार्नु   परेको हो । 
एकातिर आर्थिक अनियमितता भएको भन्दै अख्यितारमा उजुरी प¥यो अर्कोतिर जिल्ला शिक्षा कार्यालय डोटीको अनुदानमा बनेको दुई कोठे भवनको छाना हावाले उडायो, बिद्यालयको पठनपाठनमा बिस्तारै समस्या हुँदै गयो । अन्ततः बिद्यालयनै बन्द हुने अवस्थामा पुग्यो ।  
शिक्षकहरुको आपसी बिवादका कारण तत्कालीन प्रधानाध्यापक लक्ष्मण साफीले २०६९ साल मंसिर २९ गते राजीनामा दिएपछि मुक्तीराज जोशी प्रधानाध्यापक भए । जोशीले ०७० पुष २ गते राजीनामा दिएपछि सुनितालाई प्रअ बनाईएकोमा सुनिताले पनि राजीनामा दिएपछि बिरवहादुर साउँदलाई प्रधानाध्यापक बनाईएको थियो । यि चारै जना शिक्षकहरु अहिले निलम्वनमा परेका छन । 
“बिद्यालयमा कुनै आर्थिक अनियमितता भएको छैन” निलम्वित शिक्षक जोशीले भने ‘बजेट अनुसार गर्नु पर्ने काम अभिभावकहरुले जनश्रमदानबाट भएको हो, उक्त रकम हामीहरुले बिद्यालयको खातामा राखेर नीजिश्रोतको शिक्षकहरुलाई तलव खुवाएका हौं ।’ आफुहरु माघ २, फागुन २६ र चैत्र ४ गरि तीन पटक बिशेष अदालतमा हाजिर भएको बताउँदै जोशीले बेनामी उजुरी गर्नेले आफुहरुलाई अनावश्यक दुःख दिन खोजेको वताए । 
बिद्यालयमा अध्ययनरत एक सय ९८ बालबालिकाहरुका अभिभावकहरुलाई आगामी शैक्षिक क्ष्ेत्रमा बिद्यालयको अवस्था के हुने भन्ने चिन्ता छ । एक स्थानीय अभिभावकले भने ‘यो कारवाही कहिलेसम्म हुने हो ? तवसम्म हाम्रा बालबालिकाहरुको जिम्मा को ले लिने हो ?’

सम्पादकीय 

उत्कृष्ठ संबिधानको प्रतिफल

२०७२ साल असोज ३ गते, संबिधान जारी भएको दिन । अधिकांश नेपालीहरुको मन मस्तिष्कमा एक प्रकारको उत्साह, उल्लाह र आशा थियो । दीपावली गरे, अधिकांशले खुशी मनाए, एकअर्कामा शुभकामना आदान–प्रदान गरे । संबिधानका हस्ताक्षरकर्ताहरुले यो संबिधान “बिश्वकै उत्कृष्ठ” संबिधान भएको वताए, कसैले बिगतका संबिधानभन्दा प्रगतिशील भएको टिप्पणी गरे, कसैले तुलनात्मक रुपमा राम्रो संबिधान पनि भने । केही व्यक्ति तथा समूहहरुले यो संबिधानको तिव्र आलोचना पनि गरे । कतिले संबिधान जलाए पनि, कतिले कार्यान्वयन हुन नदिने कसम खाए । यति हुँदाहुँदै पनि झण्डै ९१ प्रतिशत जनप्रतिनिधिहरुले यो संबिधानलाई पारित गरेका         कारण प्रजातान्त्रिक मुल्य र मान्यता अनुसार यो संबिधान उत्कृष्ठ मान्नु अन्यथा भने होईन । 
संबिधान जारी गर्ने तरखर भईरहेकै बेलादेखि तराई क्षेत्रमा केही आपराधिक मनस्थिति भएका व्यक्तिहरु मधेशी र पहाडेका नाममा नेपाली–नेपालीलाई लडाउन सफल भए । ठुलो जनधनको क्षति भयो, दक्षिणी छिमेकीले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालीलाई आतंकित वनाउने कार्य ग¥यो । तरपनि नेपाली नयाँ संबिधान जारी भएकोमा ठुलो उपलव्धीका रुपमा लिए नेताहरुले । 
तर, त्यो उपलव्धी यति धेरै ठुलो रहेछ कि सरकारको नेतृत्व गर्ने पार्टीले नेपाल बन्द गर्न पाईने, सरकारमा सहभागि दलहरुले निर्वाचन आयोग घेराउ गर्न पाईने, सरकारमै बसिराख्ने तर सरका–रले घोषणा गरेको चुनाव हुँदैन भनेर प्रचारबाजी गर्न पाईने, संबिधान गीता, बाईवल, कुरान वा यस्तै कुनै धर्मग्रन्थ हो, यसलाई कुनै हालतमा संसोधन गर्नु हुँदैन, संसोधनको बिषय आएमा संसद अबरुद्ध गर्न पाईने, एउटा राजनीतिक दललाई अर्को राजनीतिक दलले देशको कुनै निश्चित भु–भागमा आफ्ना क्रियाकलापहरु गर्न प्रतिवन्द लगाउन पाईने । यो भन्दा बढी उत्कृष्ठ अरु के हुन सक्ला र ? 
पहिलो कुरा, संबैधानिक प्राव्धाननै गलत ढंगले भईरहेको छ । संबिधानले एकातिर देश संघीयतामा गएको स्वीकार गर्ने अर्कोतिर सबै तहका निर्वाचनहरु संघीय सरकारले गर्नु पर्ने त्यो पनि दुई बर्षभित्रै ! यदि स्थानीय तहको सिमा, संख्या, निर्वाचन सबै संघीय सरकारले गर्ने हो भने प्रादेशिक सरकारको भूमिका के हुन्छ ? स्थानीय निकायहरु संघीय सरकारको अधिनस्थ हुन वा प्रादेशिक सरकारको अधिनस्थ हुन ? प्रादेशिक सरकारको अधिनस्थ हुन भने आफ्नो प्रान्तमा कति स्थानीय निकाय हुने, तिनिहरुको काम, कर्तव्य र अधिकार कति हुने, तिनीहरुको सिमाना कसरी निर्धारण गर्ने, तिनीहरुको आर्थिक प्रणाली कस्तो हुने भन्ने बिषयमा सम्वन्धित प्रदेश सरकारले तय गर्न पाउनु पर्छ कि पर्दैन ? 
दोश्रो कुरा संबिधानको कार्यान्वयन गलत ढंगले भईरहेको छ । ‘एकात्मक संघीयता’ को नयाँ अभ्यास हुन थालेको छ । संबिधानले स्थानीय निकायको चुनाव गर्न पाउने व्यवस्था गरेको छ तर नेताहरुलाई स्थानीय तहकै निर्वाचन गर्ने हतारो भयो । संख्या मिलेको छैन, सिमा मिलेको छैन, नयाँ संरचना अनुसार सेवा सञ्चानल गर्नका लागि जनशक्ति छैन, केन्द्र तोकिएको ठाउँमा भौतिक संरचना छैनन् तर चुनाव भने स्थानीय तहकै गर्नु पर्ने । स्थानीय तहको चुनाव भएमात्र संबिधान कार्यान्वयन भएको हुने तर स्थानीय निकायको चुनाव भए “पश्चगमन” हुने जुन मानसिकता बन्यो त्यसले गर्दा बैशाख ३१ गते हुने भनी घोषणा गरिएको चुनाव पनि ‘चु–नाप’ मात्रै होला भन्ने शंका उत्पन्न भएको छ । यो उत्कृष्ठ संबिधानले देशभित्र कसैले कसैको बिरोध गर्दा गोली हान्न आदेश दिने तर बिदेशीले हाम्रै    सरहदभित्र आएर गोली ठोक्दा पनि ‘चु’ सम्म बोल्न नसक्ने उत्कृष्ठ सरकार उत्पादन गर्न बाहेक अरु केही गर्न सकेको छैन भन्दा अनुपयुक्त हुँदैन । यही हो हामीले बनाएको उत्कृष्ठ संबिधानको प्रतिफल ।

थप समाचार 

जानकारी नदिएरै काम गर्छन् गैससहरु


‘कुन गैर सरकारी संस्थाले, कुन ठाउँमा, के बिषयमा काम गरिरहेको छ भन्ने कुरा नै जानकारी हुँदैन । बाहिरबाट काम गर्ने आउने गैरसरकारी संस्थाहरुले न त जिल्ला समन्वय समितिसंग सम्पर्क गर्छन, न जिल्ला प्रशासन कार्यालयसंग त सम्वन्धित बिषयगत कार्यालयहरुसंग ।’ 
डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले बाहिरवाट आएर डोटीलाई कार्यक्षेत्र बनाई काम गर्ने बिकासे संस्थाहरुले जिल्लामा कुनै समन्वय नगर्ने गरेको वताए । ‘रघु जीले यस बिषयमा केही प्रतिवद्धता गर्नुहुन्छ भन्ने लागेको थियो’ गैसस महासंघ डोटी शाखाका अध्यक्ष  रघु कठायतलाई सुनाउँदै शर्माले भने ‘उहाँले पनि केही कुरा भन्नु भएन ।’ 
स्थानीय शान्ति समिति डोटीद्वारा आयोजना गरिएको ‘अन्तरक्रिया तथा साविकका गाबिस स्तरीय शान्ति समितिमध्ये उत्कृष्ठ समितिलाई सम्मान गर्ने कार्यक्रम’ मा बोल्दै प्रजिअ शर्माले बिभिन्न गैससहरुले द्वन्द्व पिडीतहरुको फरक फरक तथ्याँक राखेकाले काम गर्न समस्या भएको वताए । उनले भने ‘स्थानीय शान्ति समिति द्वन्द्वको क्षेत्रमा काम गर्ने आधिकारिक सरकारी निकाय हो, त्यसैले द्वन्द्व पिडीतको क्षेत्रमा काम गर्ने जति पनि निकायहरु ति सवैले स्थानीय शान्ति समितिसंग समन्वय गरेर मात्रै काम गर्नु   पर्छ ।’ 
सरकारी क्षेत्रबाट आयोजना हुने ¥यालीहरुमा बालबालिकाको प्रयोग भईरहेको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले उठाएपछि शर्माले अव कुनै पनि ¥यालीमा बालबालिकाहरुको प्रयोग नहुने वताए । उनले भने ‘बिद्यालयलाई माथिल्लो कक्षाको बालबालिका पठाउनु भनेर खवर गरेपछि स–साना बालबालिका–हरुलाई पठाउने गर्छन, तर अव त्यसो हुँदैन । 
कार्यक्रममा स्थानीय बिकास अधिकारी कृष्णप्रसाद गौतमले स्थानीय शान्ति समितिले थोरै स्रोतमा धेरै काम गरेको वताए । उनले भने ‘बजेटको अपर्याप्तता हुँदाहुँदै पनि धेरै काम भएको छ, यसका लागि स्थानीय शान्ति समितिलाई धन्यवाद छ ।’ 
स्थानीय शान्ति समितिका सचिव सुरेन्द्र भट्टले डोटीमा २०६६ सालमा स्थानीय शान्ति समिति स्थापना भएदेखि हालसम्म भए गरेको क्रियाकलापहरुको प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीका क्रममा भट्टले डोटीमा साविकका ५० गाबिस र एक नगरपालिकामा शान्ति समिति गठन भई क्रियासिल रहेको जानकारी गराए । डोटीमा एक हजार दुई सय पाँच द्वन्द्व पिडीत रहेको सो क्रममा भट्टले जानकारी दिए । भट्टका अनुसार सशस्त्र द्वन्द्वका क्रममा मारिएका एक सय दुई, बिस्थापित भएका चार सय ७५ र भौतिक सम्पत्ति क्षेति भएका दुई सय ९६ रहेको वताए । यस्तै सशस्त्र द्वन्द्वका क्रममा ७४ सरकारी भौतिक संरचनाहरु ध्वस्त भएको भट्टको प्रतिवेदनमा उल्लेख छ । 
द्वन्द्वका क्रममा घाईत भएका एक सय ३७ जना, अङ्गभङ्ग भएका ७१ जना र अपहरणमा परेका २५ जना रहेका छन । कैद र हिरासतमा राखिएका १६ जना, बेपत्ता भएका ६ जना र टुहरा बालबालिकाहरु ७ जना रहेको भट्टले वताए । उनका अनुसार २०६२÷०६३ को जनआन्दोलनका डोटीमा ८ जना घाईते भएको शान्ति समितिमो अभिलेखमा छ । प्रतिवेदन प्रस्तुत गर्दै भट्टले भने ‘न्यून बजेट र जनशक्ति अभावका कारण स्थानीय शान्ति समितिले सोच जति उपलव्धी हासिल गर्न सकेको छैन ।’ समिति सक्रिय भएर काम गरिरहेको भट्ट बताउँछन ।
कार्यक्रमका सहभागिहरुले तथ्याँकहरु पुनःपरीक्षण गरिनु पर्ने, छुट तथ्याँकहरुलाई पुनःसंकलन गरिनु पर्ने, राहात र क्षतिपूर्ति पाएका पिडीतहरुको तथ्याँक अद्यावधिक गर्नु पर्ने लगायतका सुझावहरु दिएका थिए । 
सोही अवसरमा साविकका गाबिसस्तरीय शान्ति समितिहरु–मध्येबाट बनलेक र भुमिराज–माण्डौं गाबिसका शान्ति समितिलाई उत्कृष्ठ समितिका रुपमा पुरस्कृत गरिएको थियो । उत्कृष्ठ समितिहरुलाई १०÷१० हजार रुपैयाँ प्रदान गरिएको समितिका कार्यालय सहायक गौतम रोकायाले जानकारी दिए । 

चुहिने भवनमा बिद्यार्थीको पढाई


‘घाम लागेको दिन त ठिकै हुन्छ, पानी प¥यो भने बिद्यार्थीहरुलाई नचुहिएको ठाउँमा उभ्याएर पढाउनु पर्छ । अव त भित्ता पनि चर्किसकेको छ, कक्षाकोठामा जानै डर लाग्छ ।’ 
डोटी जिल्ला बडा केदार गाउँपालिका–२ बरउ (साबिकको बर्छैन गाबिस–२) मा रहेको शिशु दर्पण आधारभुत बिद्यालयका प्रधानाध्यापक बेचन चौधरीको दुखेसो हो यो । २०४६ सालमा स्थापना भएको उक्त बिद्यालयमा स्थापनाकालमै स्थानीय स्रोतवाट तयार गरिएको बिद्यालय भवन पूर्ण रुपमा जिर्ण भएपछि पठन पाठनमा बाधा भईरहेको प्रधानाध्यापक चौधरी वताउँछन । उनी भन्छन् ‘२०४६ सालमै बनेको भवन त्यसै पनि पुरानो भएको थियो, त्यसमैमा गत वर्ष रुख ढलेर छतमाथी परेपछि त पुरै चुहिने भएको छ ।’ 
कक्षा ५ सम्म पढाई हुने उक्त बिद्यालयमा ६४ बिद्यार्थी रहेका छन । भवन अभावका कारण बिद्यालयको पठन पाठनमा समस्या भएको चौधरी बताउँछन । ‘यसपाली त झन पानी बढी परिरहेको छ’ बार्षिक परीक्षाको तयारीमा रहेका चौधरी भन्छन् ‘कतै बार्षिक परीक्षाकै दिन पानी प¥यो भने फेरी परीक्षा पनि प्रभावित हुन सक्छ ।’ 
२०४६ साल चैत्रमा स्वीकृत पाएको बिद्यालयमा हालसम्म जिल्ला शिक्षा कार्यालयबाट दुई कोठे एक भवन मात्र निर्माण भएको चौधरीले वताए । उनले भने ‘प्रत्येक वर्ष मैले बिद्यालयको भवनका लागि स्रोतकेन्द्र मार्फत जिल्ला शिक्षा कार्यालयमा माग त गर्ने गरेको छु तर तर कार्यक्रम पर्दैन ।’ यस वर्ष पनि आफुले भवनको माग गरेको भएपनि जिल्ला शिक्षा कार्यालयबाट शौचालयको कार्यक्रम परेको उनले वताए । ‘शौचालय पनि आवश्यक हो हुन त’ चौधरी भन्छन् ‘तर भवनको अतिनै अभाव छ ।’ बिद्यालय व्यवस्थापन समिति पनि भरखर भरखरै गठन भएको वताउँदै चौधरीले भने ‘अव पुरानै भवन मर्मतका लागि भएपनि व्यवस्थापन समितिसंग छलफल गर्छु ।’ 
कक्षा कोठा अभावका कारण काठले बेरेर एउटा कोठा जोडिएको छ । बिद्यालयमा ६४ बिद्यार्थी अध्ययनरत रहेका छन । 
जिर्ण भवनमा अध्ययन÷ अध्यापन गराउनु जोखिपूर्ण रहेको सामाजिक कार्यकर्ता मुना मतेली वताउँछिन । उनी भन्छिन् ‘त्यो भवनमा जानै पनि डर लाग्छ भने कसरी बालबालिकाहरुलाई राखेर पढाउने ?’


कानुन अनुसारै कारवाही भएको दावी


गत शनिबार जिल्ला प्रहरी कार्यालय डोटीको प्राङ्गणमा कुटिएका प्रहरी जवानमाथी कानुन अनुसारको कारवाही भएको डोटीका प्रहरी प्रमुख दिल्लीराज बिष्टले दावी गरेका छन । 
दार्चुला घर भई हाल डोटीमा  कार्यरत प्रहरी जवान सोवान साउँदलाई प्रहरी प्रमुख प्रहरी  उपरीक्षक बिष्टले खुला चौरमै मरणासन्न हुने गरि कुटपिट भएको खवर बाहिर आएपछि बिष्टले यस्तो प्रतिक्रिया दिएका हुन । बिम्ब साप्ताहिकसंग कुरा गर्दै बिष्टले भने ‘अनुशासन भन्दा वाहिर गएपछि दुईचार झापड  हान्नुलाई अन्यथा मान्नु हुँदैन । यसलाई ठुलो बिषय बनाईनु    हुँदैन ।’  
प्रमुख बिष्टले प्रहरी ऐन २०१२ अनुसार फोर्सको नियन्त्रण र अनुशासन कायम गर्नका लागि शारीरिक थकाई हुने सजाय दिन मिल्ने व्यवस्था रहेको वताए । उनले भने ‘यो सामान्य कुरालाई ठुलो वनाउन जरुरी छैन ।’ पटक पटक कारवाहीमा परेका ति जवानले मदिरा सेवन गरि आफुभन्दा माथिल्लो दर्जाका व्यक्तिमाथी हातपात गर्न खाजेकोले सम्झाउनका लागि दुई–चार झापड लाएको बिष्ट बताउँछन । 
‘स्थानीय निकायको निर्वाचन आउँदैछ, यति बेला शान्ति सुरक्षाको हिसावले  प्रहरीलाई थप सक्रिय वनाउनु छ’ बिष्टले प्रश्न गरे ‘यदि प्रहरीभित्रै अनुशासन रहेन भने वाहिर कसरी शान्ति सुरक्षा कायम हुन सक्छ ?’ ति जवानले ड्युटीमै भएका बेला अत्याधिक मदिरा सेवन गरेर लुगामै पिसाव गरेको समेत बिष्टले दावी गरे । 
‘प्रहरीले वाहिर मदिरा नियन्त्रण गर्नका लागि अभियान सञ्चालन गर्ने तर आफ्नै प्रहरी जवान मात्तिएर हिड्ने भएपछि जनताले कसरी बुझ्छ प्रहरीलाई ?’ बिष्टले प्रश्न गर्दै भने ‘तपाई पत्रकारहरुले पनि  राम्रो गरेकोलाई त राम्रो भनिदिनु प¥यो ।’ पत्रकारहरुले आफुले  राम्रो गरेको पनि बंग्याएर नराम्रो लेख्ने गरेको बिष्ट बताउँछन । उनले पत्रकारहरुले आफुलाई असहयोग गरेको पटक पटक दोहो¥याए ।
प्रहरी उपरीक्षक बिष्टले प्रहरी जवानमाथीको कारवाहीको विषयलाई भन्दा पनि आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी प्रहरी प्रशासनलाई चुस्त दुरुस्त राख्न अनुशासन र प्रहरी उत्तरदायित्वका लागि कडाई गरिएको बताए । उनले भने ‘स्थानीय तहको निर्वाचन आईसकेको छ, शान्ति सुव्यवस्था–का लागि प्रहरी जिम्मेवार भएर अनुशासनमा बस्नुपर्छ । 
दुर्गामाण्डौं प्रहरी चौकीमा कार्यरत जवान साउँदले केही दिन अगाडि क्षेत्रीय प्रशासक दुर्गामाण्डौंतिर गएका मदिरा सेवन गरेर अभद्र व्यवहार गरेका कारण उनलाई कारवाहीका लागि जिल्लामा झिकाईएको प्रहरी स्रोतको दावी छ । स्रोतले भन्यो ‘कारवाहीमै रहेका बेला फेरी मदिरा सेवन गरेर आफुभन्दा माथिल्लो दर्जाका कर्मचारीमाथी जाईलाग्न थालेपछि उनलाई नियन्त्रणमा ल्याउनका लागि कुटपिट गरिएको हो ।’ ति जवान पटक पटक कारवाहीमा परिसकेको स्रोतको दावी छ ।  प्रहरी प्रमुखले साउँदलाई मरणासन्न हुने गरि कुटेको समेत उक्त स्रोतले स्वीकार गरेको छ । साउँदसंगै एक अर्का प्रहरी जवानमाथी पनि कुटपिट भएको स्रोत बताउँछ । 
प्रहरी उपरीक्षक बिष्ट भन्छन् ‘अहिले प्रहरीको अन्तरिक कुरालाई लिएर मानवअधिकारको बिषय जोड्ने हो भने भोली कुनै सर्वसाधारणले मदिरा सेवन गरेर समस्या ग¥यो भने त्यतिवेला के गर्ने ? हामी त त्यतिबेला पनि मानवअधिकारको कुरा उठाउन बाध्य हुनेछौं ।’ डोटीको प्रहरी प्रमुख भएर आउँदा पत्रकार र प्रहरीको सम्वन्ध निकट वनाउने प्रतिवद्धता गरेका प्रहरी उपरीक्षक बिष्ट बिस्तारै पत्रकारहरुबाट टाढिदै गएका छन । सुरुका दिनहरुमा प्रहरीका गतिबिधिका बारेमा पत्रकारहरुलाई दैनिक जानकारी गराउने गरेका भएपनि  समयपछि उक्त कार्य रोकेका   थिए ।
बिष्टले सुदूरपश्चिमभरीमा कारवाहीमा परेका प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय डोटीमा पठाउने गरेको वताए । उनले यसरी कारवाहीमा परेर आएकाहरुलाई अनुशासनमा राख्नका लागि हल्का बल प्रयोग गर्नु वाध्यता रहेको वताए । 
प्रहरी उपरीक्षक बिष्ट स्वयंले लाठी प्रयोग गरि कुटिएका प्रहरी जवान साउँदमाथी प्रहरी पोशाँकमै मदिरा सेवन गरेर आङमै पिसाव फेरेको आरोप छ । नेपालको संबिधानको धारा २२ अनुसार जस्तो सुकै अपराधी भएपनि शारीरिक तथा मानसिक यातना दिन मिल्दैन । नेपाल पक्ष राष्ट्र भएका अन्तराष्ट्रिय महासन्धीहरु अनुसार पनि कुनै पनि व्यक्तिलाई शारीरिक, मानसिक वा अन्य कुनै पनि प्रकारको कारबाही गर्न नमिल्ने व्यवस्था छ तर प्रहरी उपरीक्षक बिष्ट भने ‘दुई चार झापड’ कानुन अनुसारनै भएको वताउँछन ।

बिपद् पूर्व तयारीका लागि आग्रह


डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले प्राकृतिक विपद् व्यवस्थापनका लागि पूर्व तयारीमा रहन सवैलाई आग्रह गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले बुधबार आयोजना गरेको क्याडे« दोश्रो चरणको अभिमूखिकरण कार्यक्रममा प्रजिअ शर्माले यस्तो आग्रह गरेका हुन् । विपद् व्यवस्थापनका लागि जिल्लाका सबै प्रहरी पोष्टहरुमा आधारभूत औजारहरु पठाई सकिएको प्रजिअ शर्माले बताए ।
‘जिल्लामा क्रियाशील सम्पूर्ण गैरसरकारी सँस्थाहरुलाई १५ हजारका दरले रकम जम्मा गर्न आग्रह गरिएको थियो’ प्रजिअ शर्माले भने ‘तर कुनै पनि संस्थाले जम्मा गरेका छैनन् ।’ उनले १५ हजारै नभएपनि सक्दो रकम जम्मा गरिदिन हुन आग्रह गरे । 
नेपाल रेडक्रस सोसाईटी डोटीले अमेरिकन रेडक्रस र युएसएआईडीको सहयोगमा डोटीका साविकका १० वटा गाउँ विकास समितिमा क्याडू« दोश्रो चरणको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । पोखरी, काँडामाण्डौ, गैरागाउँ, बग्लेक, महादेवस्थान, कालिकास्थान, दिपायल, मुड्भरा, सरस्वतीनगर र लानाकेदारेश्वरमा २०७३ कार्तिकबाट शुरु भएको कार्यक्रम आगामी २०७६ असोजसम्मका लागि सञ्चालन हुने बताईएको छ ।

निर्वाचन अवधीभर मदिरा बन्द हुने

भुमिराज जोशी÷सिलगढी 
     चैत्र ७
स्थानीय निर्वाचनको अबधीभर  मदिरा बिक्री बितरणमा कडाइ गरिने भएको छ ।
आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मदिरा बिक्री बितरणमा रोक लगाउने डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले बताए । जिल्लाका ग्रामीण क्षेत्रमा बिक्री बितरण हुने मदिरा बिगतदेखि नै बन्द गर्दै आएको बताउँदै प्रहरी उपरीक्षक बिष्टले भने ‘स्थानीय निर्वाचनमा जाँड खाएर जथाभाबी होहल्ला हुन सक्ने भएकाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न होस भन्नका लागि यस अभियानमा लागेका छौं  ।’ मदिरा बिक्री बितरण तथा सेबन गर्नेहरुलाई सचेत गराउन पनि आफूहरुले प्रचार गरेको उनले वताए ।
प्रहरी प्रमुख बिष्टले आफुहरुले अबैध मदिरा केही महिना अगाडि नै बन्द गरेका दावी गरे । उनले भने ‘अब इजाजत पत्र प्राप्त व्यापारीलाई पनि मदिरा बेचबिखन गर्न बन्द गर्ने भएका छौं ।’  नियम     बिपरित मदिरा बिक्री बितरण तथा सेबन गर्नेलाई नियम अनुसार कडा कारवाही गर्ने रणनीतिक योजना बनाएको प्रहरी कार्यालयले जनाको छ । 
‘मदिरा बिक्री बितरण गर्नेलाई बन्देज गर्नको लागि हामीले स्पेशल टोली  परिचालन गरसकेका छौं ।’ बिष्टले भने ‘पछिल्लो समयमा गाउँमा मदिरा नियन्त्रण गरेपछि झैझगडा होहल्ला पनि कम भएको छ ।’ निर्वाचन अवधिभर अनुमती प्राप्त गरेका ब्यक्तिहरुले पनि आफूसंग भएका हातहतियार पनि जिल्ला प्रहरी कार्यालय वा प्रहरी चौकीमा बुझाउन निर्देशन गरिसकेको बिष्टले बताए । ‘बिस्पोटक पदार्थ, ली, भाला, खुकुरी, बन्दुक, भाला लगायतका हतियारहरु लिएर हिडेको खण्डमा कानुन बमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

बालबिवाह रोक्न धामी झाँक्री


दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र हुने बालबिवाह रोक्नका लागि धामी झाँक्री, ज्योतिषी र पुजारी परिचालन गर्न थालेको छ । 
बालमैत्री स्थानीय शासन लागु गर्नमा बालबिवाह चुनौती देखिएपछि नगर–पालिकाले सो अभियान थालनी गरेको हो । युनिसेफ नेपालको सहयोगमा नगरपालिकाले धामी, झाँक्रि, ज्योतिषी र पुजारीहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरि उनीहरुलाई बालबिवाहबाट हुने खतराको बारेमा जानकारी गराएको छ । नगर क्षेत्रका ४० जना धामी झाक्री, ज्योतिष र पुजारीहरुको सहभागिता रहेको अभिमुखीक–रणमा सहभागिहरुले बालबिवाह रोक्ने प्रतिबद्धता जनाएका छन । 
कार्यक्रममा सहभागि दिपायल सिलगढी नगरपालिका–३ का १५ वर्षीय कर्ण साउँदले अव गाउँमा कसैको पनि बालबिवाह हुन नदिने वताए । ‘कानुनी रुपमा बालबिवाह अपराध हो भन्ने कुरा पनि हामीले जानकारी पाएका थिएनौं’ साउँदले भने ‘बालबिवाहबाट पर्ने असरका बारेमा पनि हामीलाई थाह थिएन ।’ अव बालबिवाह नगर्न सवैलाई सचेत गर्ने साउँद वताउँछन । 
यस्तै दिसिनपा–८ का नवराज बिक बालबिवाहका कारण धेरैले दुःख पाएको कुरा जानकारी भएको वताउँछन । लाटा कलारमाण्डौंका धामी उनी भन्छन् ‘अव गाउँमा मलाई कसैले बिहेको बारेमा सोध्यो भने सवै भन्दा पहिले केटा र केटीको उमेर सोध्छु, अनि मात्र सल्लाह दिन्छु ।’ आफु बालबिवाह रोक्नमा सक्रिय हुने बिकले प्रतिवद्धता जनाए । 
केटा र केटीको उमेर २० वर्ष नपुगेको भए आफु नजुराउने वताउँछन चिना जुराउने ज्योतिष रामचन्द्र भट्ट । उनी भन्छन् ‘अव मेरोमा ज्योतिषी हेराउन आउने सवैलाई २० बर्ष नपुगी केटा र केटीको बिहे गराउनु हुन्न भनेर सल्लाह दिन्छु ।’ 
नगरपालिकाका सामुदायिक बिकास अधिकृत रमेशचन्द्र जोशीले बालबिवाहका कारण नगरमा बालमैत्री स्थानीय शासन लागु गर्न समस्या भएकोले बालबिवाह रोक्ने अभियानमा लाग्न धामी झाँक्री, ज्योतिषी र पुजारीलाई आग्रह गरिएको वताए । उनीहरुको सक्रियतामा नगर क्षेत्रभित्र बालबिवाह रोकिनेमा कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्यको बिश्वास छ ।

२५ जनालाई बाख्रापालन तालिम

दिपायलमा २५ जनालाई स्थानीयलाई बाख्रापालन सम्बन्धि तालिम दिएको छ । 
युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको आयोजनामा गत बिहिबारदेखि शनिबारसम्म ३ दिने तालिम दिएको हो । कृषकहरुलाई ब्यवसायिक तरिकाले आयआर्जन गर्न सक्षम बनुुन भन्ने उद्देश्यले तालिम दिएको युवा तथा साना ब्यवसायी स्वरोजगार कोष डोटी जिल्ला कार्यक्रम संयोजक अमर बहादुर साउँदले जानकारी दिए ।
चौफाल बहुउदेश्यीय सहकारी संस्था पचनाली र जनकल्याण बहुउदेश्यीय  सहकारी संस्था सानागाउँसंग समन्वय गरी कृषकहरुलाई तालिम दिएको बताइएको छ । चौफाल सहकारी संस्थाबाट ३७ लाख र जनकल्याण सहकारी संस्थाबाट २५ लाख कर्जा समन्वय गरेको बताइएको छ । उक्त रकमको पहिलो र दोश्रो किस्ता निकासा भएर २५ जनालाई बाखा्रपालनमा गर्नका लागि ऋण दिएको साउँदले बताए । 
‘हामीले पशुपालन सम्बन्धि तालिम लिएका थिएनौं ।’ गर्न सक्यो भने त सजिलै रहेछ । तालिमका प्रशिक्षार्थी पूर्वीचौकी गाउँपालिकाका डम्मर बहादुर खड्काले भने, ‘बाख्रा पाल्ने तरिका सजिलै रहेछ । हामीले धेरै लामो समयसम्म घरमा पशु पाल्यौं तर ब्यवसायिक तरिकाले अगाडी बढ्न सकेनौं । अब त प्राप्त भएको सिकाइ अनुसार अगाडी बढ्छौं त्यसले पक्कै पनि फाइदाजनक हुने मेरो बिश्वास छ ।’

डडेल्धुरा–काठमाण्डौं अत्याधुनिक बस

बिस÷डडेल्धुरा
     चैत्र ६
यात्रुहरुलाई अत्याधुनिक सेवा दिने उद्देश्यका साथ उग्रतारा सार्वजनिक यातायात व्यवसायी समितिले डडेल्धुरादेखि काठमाण्डौंसम्म आधुनिक बस सञ्चालनमा गर्ने भएको छ । 
पर्सी १० गतेदेखि समितिले सेवालाई गुणस्तरीय बनाउन चैत महिनाको १० गतेबाट एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याउन लागेको हो । समितिका अनुसार नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइन लागेको उक्त सार्वजनिक यातायात सेवामा मिनी क्यान्टिन, ट्वाईलेट, वाईफाई, एलईडी टीभी, म्युजिक, रेडिङ्गलाईट, कम्फरटेबल सिट सेवाहरु उपलब्ध हुनेछन् । यस अघि कास्की पोखरा–काठमाण्डौँ रुटमा पोखराबाटै त्यस्तो सुविधाका बसहरु चलेको भएपनि ती बसहरु पर्यटक लक्षित मात्रै थिए । 
काठमाडौं–डडेल्धुरा तथा डडेल्धुरा–काठमाडौं रुटमा पहिलो पटक ६ बस सञ्चालनमा आउने समितिका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए । डडेल्धुराबाट काठमाण्डौंका लागि प्रत्येक दिन १२ बजेर ५ मिनेटमा र काठमाण्डौंबाट डडेल्धुराका लागि प्रत्येक दिन २ बजेर ५ मिनेटमा छुट्ने छुट्ने गरि समय मिलाईएको खड्काले वताए । यसअघि समितिले सञ्चालन गरेका एसी बसहरु बिस्थापित गर्दै “घटाल एयर सस्पेन्सन एसी बस” सञ्चालनमा ल्याउने भएको हो ।

छोटकरी समाचार 

बालमैत्री स्थानीय शासनमा सक्रियता

दिपायल सिलगढी नगर–पालिकाले नगरभित्र बालमैत्री स्थानीय शासन लागु गर्नका लागि सक्रियता देखाएको छ ।
नगरपालिकाले बालबालिकाहरुमार्फत परिवार र समाजमा बालमैत्री स्थानीय शासनका सूचकहरु पुरा गर्ने योजना अनुरुप बालबालिकाहरुको क्षमता अभिबृद्धि गरिरहेको नग–रपालिकाका सामुदायिक बिकास अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिए । 
जोशीका अनुसार बालमैत्री स्थानीय शासनका सूचकहरुलाई बिषयबस्तु बनाई त्यसमा बालक्लवहरुको भुमिका खोज्न बालबालिकाहरुको क्षमता बिकास गर्न लागिएको हो ।

होलीमा चन्दा

डोटी आदर्श गाउँपालिका–६ मा होली खेलेर एक लाख पच्चिस हजार रकम संकलन गरिएको छ । 
स्थानीय तपेन्द्र बोहराको नेतृत्वमा खेलिएको होलीबाट स्थानीय बिद्यालयको शैक्षिक बिकासका लागि आर्थिक संकलन गरिएको बताईएको छ । स्थानीय कबिलास आधारभूत बिद्यालयमा हालसम्म तीन जना शिक्षक र एकजना कार्यालय सहयोगीको  भरमा चलको छ । उक्त बिद्यालयमा अढाइसय बढी बिद्यार्थी अध्ययनरत छन ।’  बिद्यालयका प्रधानाध्यापक बल बहादुर बोहराले बिद्यालयमा पठनपाठन गराउन समस्य भएको हुँदा निजी श्रोतबाट भएपनि शिक्षक राख्नुपर्ने अवस्था आएकोले आफुहरुले होली खेलेर अर्थ संकलन गरेको बताए ।

खेल समाचार 

भलिबल टोली माल्दिभ्सतर्फ


माल्दिभ्सको मालेमा हुने सिनियर एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपमा सहभागी हुने नेपाली खेलाडी टोलीको आइतबार बिदाइ गरिएको छ । 
सेटर इम रानामगरको कप्तानीमा गएको नेपाली टोलीले च्याम्पियनसीपमा आयोजक माल्दिभ्ससहित तुर्कमेनिस्तान र किर्गिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । टोलीमा ओपन स्पाईकर खेलाडी मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा र दिल सुनार । यस्तै महेन्द्र श्रेष्ठ, भैरव बम र हरि अधिकारी क्विक स्पाइकर छन् । साइड स्पाइकरमा नरेन्द्र गिरी, राजकुमार निरौला छन् भने सेटरमा दुर्गाप्रसाद महतो र लिबेरोमा ईश्वर थापामगर छन् । टोलीमा चार नयाँ खेलाडीले अन्तराष्ट्रिय डेब्यु गर्दैछन् ।
नयाँ खेलाडीहरुमा ओपन स्पाईकर दिल सुनार, क्विक स्पाइकर हरि  अधिकारी, सेटर दुर्गाप्रसाद महतो र साइड स्पाइकर राजकुमार निरौला छन् । सुनार, अधिकारी र महतो नेपाल आर्मीका खेलाडी हुन् भने निरौला एपीएफसँग आबद्ध छन् । नेपाली टोलीको प्रशिक्षकमा विरेन्द्र चौधरी र सहायक प्रशिक्षकमा जगदिश भट्ट छन् ।
नेपाल भलिबल संघका सचिव डम्बरबहादुर नेपालीले टोलीको व्यवस्थापनको जिम्मेवारी लिएका छन । अन्तराष्ट्रिय रेफ्री क्यान्डिडेट चन्द्रा बदना राई पनि टोलीसंगै मालदिभ्स जाने भएकी छिन् । नेपाली टोलीले पहिलो खेल मार्च २३ मा तुर्कमेनिस्तानसँग खेल्नेछ । यस्तै मार्च २४ मा आयोजक माल्दिभ्स र मार्च २७ मा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

टेवल टेनिस टोली भारततर्फ

कान्तिपुर दैनिकबाट
आरएस एन्ड सीसी डायमण्ड जुब्ली आमन्त्रण अन्तराष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आइतबार भारतको सिलोङ प्रस्थान गरेको छ । चैत १० देखि १२ गतेसम्म हुने प्रतियोगतामा समान ५–५ पुरुषरमहिला खेलाडीले यू–२१ उमेर समूहमा सिंगल्स, डबल्स, मिक्स र टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषमा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, मणिकुमार लामा, रितिज जोशी, विपुल महर्जन र नारायण घिमिरे तथा महिलामा सोनु थापामगर, सिक्का सुवाल, गीता अर्याल, सुजाता दुवाल र मञ्जु सुवालले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सञ्जय अर्याल तथा टिम व्यवस्थापकमा शिव देउजा छन् ।

चलचित्र÷मनोरञ्जन 

नेपाली चलचित्रमा भारतीय मोडल


नेपाली चलचित्र ‘समर लभ’ मा  भारतीय मोडल रेवती क्षेत्रीले अभिनय गर्ने भएकी छिन् । 
सुविन भट्टराईले लेखेको चर्चित पुस्तक ‘समर लभ’ को कथाबस्तुका आधारमा बन्न लागेको उक्त चलचित्रमा रेवतीले अभिनय गर्ने भएकी हुन । मुस्कान ढकालले निर्देशन गर्न लागेको ‘समर लभ’ रेवतीले अभिनय गर्ने पक्का भएको बताईएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘समर लभ’ निर्माणको   औपचारिक घोषणा गरिएको छ । 
सन् २०१५ को फेमिना मिस इण्डियामा सहभागी मोडल रेवतीले यस अघि ‘ग्याङ् अफ नर्थ वेस्ट’नामक चलचित्रमा अभिनय गरेसकेकी छिन् । आसाममा जन्मिएकी उनले अभिनय गर्ने ‘समर लभ’ चलचित्रको औपचारिक कार्यक्रममा देखिएकी उनले आगामी दिनमा नेपाली चलचित्रमा काम गर्न सक्ने प्रतिक्रिया    दिइन् ।
‘नेपाल मेरो मामाघर हो’ रेवतीले भनिन् ‘मामाघरमा आएर चलचित्र खेल्न पाएकोमा उत्साहित छु ।’ समर लभ पुस्तक पहिला पढिसकेको हुँदा यसमाथि बन्न लागेको चलचित्रमा काम गर्न पाउँदा आफुलाई धेरै खुसी लागेको उनले वताईन । चलचित्रको मुख्य पात्र सायाको भूमिकामा उनी देखिने छिन् ।


म आफ्नै पौरखमा बिश्वास गर्छु–परियार

गायनमा अब्बल रुपमा चिनिन्छन् गायक शिब परियार । पारिवारिक बिरासतविनै गायनमा आएका परियार आफ्नै पौरखमा रमाउन सफल भएकोमा गर्व गर्छन् । पछिल्लो समय स्टेजमा ब्यस्त परियारलाई अनलाइनखबरले लगाएको पाँच आरोप ः
१. तपाइको गीत एउटै खालको भयो भन्ने गुनासो छ नि ?
— यो गुनासोसँग म सहमत छैन । जसले युट्युबमा गएर मेरो गीत हेरेको छैन, उसले यो आरोप लगाएको हुनसक्छ । ती साथीहरुलाई म एकपटक मेरो गीत सुन्न र हेर्न आग्रह गर्छु ।
२. घमण्डी हुनुहुन्छ भन्छन् नि ?
— म घमण्डी हैन आफ्नो पौरखमा गौरब गर्छु । कसैले कृपाले हैन, म आफ्नै क्षमताले यहाँ आएको हुँ । घमण्ड गर्ने मान्छे कुनै पनि क्षेत्रमा टिक्दैन । तर, १७ वर्षदेखि म यहि मुलुकमा गीत गाइरहेको छु । साच्चै मैले घमण्ड गरेको भए, अहिले म फर्केर सर्लाही गइसकेको हुन्थेँ । संगीतवाट टाढिएको हुन्थेँ । यति हो म आफ्नै स्वाभिमानमा बाँच्छु । मैले अहिलेसम्म कुनै साथीभाइको चित्त दुखाउने काम गरेको छैन । यदि त्यस्तो गरेको भए मलाई घमण्डी भन्न मिल्थ्यो ।
३. पैसाको पछाडि दौडनु हुन्छ भन्ने आरोप धेरैले लगाउछन, के भन्नुहुन्छ ?
— मैले गीत संगीतवाटै घर चलाउनुपर्छ । मैले कुनै ठाउँमा भ्रष्टाचार गरेको भए पैसाको पछि लागेको भन्न मिल्थ्यो । म त आफ्नै श्रृजनामा रमाएको छु । श्रृजनाको पारिश्रमिक लिनु स्वाभाविक हो ।
४. स्वदेशका भन्दा विदेशका कार्यक्रमलाई महत्व दिनुहुन्छ, किन पैसा धेरै आउने भएर हो ?
— स्वदेशी आयोजकहरु कुरा गर्नुहुन्छ तर, तत्कालै एग्रीमेन्ट गर्नुहुन्न । फेरि स्वदेशी आयोजकहरुलाई एउटाले नभए अर्कोले गाउछ भन्ने पनि छ । तर, विदेशी कार्यक्रम आयोजकहरु कुरा गरे लगत्तै एग्रीमेन्ट गर्नुहुन्छ । मेरो तीन महिनापछि हङकङमा शो छ तर आजै एग्रीमेन्ट हुँदैछ । विदेशमा एग्रीमेन्ट भैसकेको कार्यक्रम छोड्ने कुरा भएन । तर, स्वदेशको कार्यक्रमलाई पनि उत्तिकै महत्व दिएको छु ।
५. भिडियो बनाउदा निर्देशकलाई यस्तो बनाउ भनेर दबाब दिनुहुन्छ रे ?
हाहाहा, आजसम्म मैले भने जस्तो एउटै भिडियो बनेको छैन । सबै निर्देशककै निर्देशन अनुसार बनेको छ ।           — अनलाइन खवरबाट


लेख 

अख्तियारमा गर्नु पर्ने सुधार

जैनेन्द्र जीवन 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चर्चित पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र ‘फ्रिलान्स’ अनुसन्धाता तथा लेखक दीपेशकुमार घिमिरेको हालै प्रकाशित पुस्तक ‘समाज र भ्रष्टाचार’ सैद्धान्तिक र अनुभवजन्य ज्ञानयुक्त, सामयिक र रोचक समेत छ । तथापि लेखकद्वयका केही भनाइमा भने बहस हुनुपर्ने देखिन्छ । हो, प्रमुख आयुक्त बन्न योग्यतै नपुगेको भनी सर्वोच्च अदालतको आदेशबाट हालै बर्खास्त लोकमानसिंह कार्की अर्थात व्यक्तिका अयोग्यता र अचाक्लीलाई देखाएर संस्थाको अधिकार कटौती गर्नुहँुंदैन भन्ने उनीहरुको भनाइ बिल्कुल जायज छ । तर जसलाई जति बेला चाह्यो दुःख दिन सक्ने प्रकृतिको शक्तिशाली र संवेदनशील संवैधानिक संस्थालाई प्राप्त अधिकारको दुरुपयोग गरी एकजना व्यक्तिले समानान्तर सत्ता चलाउने हदसम्मको मनपरी गरिरहन पाउने अवस्था पनि त हुनु भएन नि । 
‘प्रक्रियागत कुराहरुमा कम्तीमा दुई आयुक्त र अभियोजनको सारभूत निर्णयमा सम्पूर्ण आयुक्तको बहुमतले नै निर्णय गर्नुपर्ने’ गरी अख्तियारले बनाएको (आन्तरिक) कार्यविधिले धेरै हदसम्म त्यसमा नियन्त्रण र छेकबारको काम गर्नसक्छ भन्छन् उनीहरु (परिच्छेद ५, अध्याय– लोकमान प्रकरणपछिको अख्तियार) । तर यस्तो कार्यविधिले न हिजो लोकमानलाई बाँध्न सक्यो न भोलि अर्को लोकमान निस्किए उसलाई बाँध्नेछ । किनकि देशको राजनीतिक–सामाजिक धरातलीय यथार्थ भिन्न छ । र, यस्ता प्राविधिक प्रबन्ध पर्याप्त र प्रभावकारी हुनसक्ने बेला देशमा आइसकेको छैन ।
अधिकार र जवाफदेही साथसाथ
यहाँ त नियन्त्रण र सन्तुलनका लागि अख्तियारबाहिरकै संस्था, संरचना र पद्धति चाहिन्छ, जुन क्रियाशील पनि होओस् । जननिर्वाचित र सार्वभौम संसद्ले लगाउने महाभियोग जस्तो शक्तिशाली, पारदर्शी, जनता र      नागरिक समाजको खबरदारीको राडारभित्र रहेको प्रबन्ध त क्रियाशील हुन सकेन । प्रमुख दल नमिली महाभियोग प्रस्ताव पारित हुन आवश्यक बहुमत पुग्नै सक्दैन र उनीहरू कहिल्यै त्यसरी मिल्दैनन् भन्ने बुझेरै लोकमान मात्तिएका थिए । कथं मिलिहाले तीमध्ये कसैलाई भ्रष्टाचारमा कारबाही गर्छु भन्ने त्रास देखाएर, कसैलाई नियुक्ति पाउँदा जस्तै ‘केही’ दिएर महाभियोग प्रस्ताव पारित गर्न चाहिने बहुमत पुग्न नदिने उनको रणनीति थियो । जुन रणनीतिले साढे तीन वर्षसम्मन काम गरेकै पनि हो । फेरि आयुक्तमध्ये एउटामात्र खराब र बाँकी असल हुने भए पो बहुमतबाट निर्णय गर्ने परिपाटीले ‘अटो करेक्सन’ को काम गर्छ त । एकछिनका लागि लोकमानको स्वेच्छाचारितामा साथ दिने राजनारायण पाठकमार्का आयुक्तका कुरा छाड्ने हो भने पनि अरु आयुक्तले चाहिँ के गरे त ? बदमासीमा साथ नदिए पनि लोकमानले मनपरी गरिरहँदा त्यसको विरोध त उनीहरूले पनि गरेनन् । आखिर समाज, संस्थाहरू, नियुक्ति दिने नेताहरू र नियुक्ति पाउने पूर्व ‘ब्युरोक्याट’ भोलि पनि तिनै हुन् जुन आज छन् । यस्तोमा कोही त नैतिकवान, विवेकी र हक्की व्यक्ति आयुक्त बन्ला र ऊ सम्मिलित निर्णय प्रक्रियाले स्वचालितरूपमा शुद्धीकरणको काम गर्ला भनेर आस गर्नु ब्यर्थ छ । 
‘निरंकुश शक्ति (अधिकार) ले मानिसलाई पूर्ण रूपमा भ्रष्ट बनाउँछ’– इतिहासकार ब्यारन जोन याक्टनको सय वर्षभन्दा पनि अगाडिको र संसारमै सबभन्दा बढी उद्धरण (कोट) भएका भनाइमध्येको यो आज पनि त्यत्तिकै सान्दर्भिक छ । दुव्र्यसनको कुलत लागेझैं शक्तिको पनि नशा लाग्छ भन्छन् मनोवैज्ञानिक पनि । यो नशाले सज्जनलाई पनि छाड्दैन । त्यसैले आयोगलाई अधिकार सम्पन्न राखिर–हनका साथै जवाफदेहीयुक्त पनि बनाउनुपर्छ । सकेसम्म त आयोगका पदाधिकारीमा योग्य, इमानदार र निष्पक्ष मान्छेमात्र छानिने, अक्षम, भ्रष्ट र पक्षपाती मान्छे छानिनै नसक्ने प्रबन्ध गर्नपर्छ । जुन प्रबन्ध अहिलेको जस्तो दलीय रराजनीतिक भागबन्डाका आधारमा गरिने नियुक्तिबाट हुनै सक्दैन । नागरिक परीक्षण समेत हुने निश्चित र  पारदर्शी मापदण्डहरूका आधारमा गरिने नियुक्तिबाट मात्र हुनसक्छ । त्यसैले, केही संरचनात्मक सुधार पनि गर्नुपर्छ । संवैधानिक परिषद्को हालको संरचनामा सुधार गर्नुपर्छ । संसदीय सुनवाइ समितिलाई अहिलेको जस्तो औपचारि–कतामा सीमित नराखी सार्थक बनाउनुपर्छ । आयोगका पदाधिकारी नियुक्तिपछि पनि नागरिक र निर्वाचित जनप्रतिनिधिको निकायको निरन्तर अनुगमनमा रहने व्यवस्था गर्नुपर्छ । अधिकारको दुरुपयोग गर्नासाथै तुरुन्त सतर्क गराउनेदेखि आवश्यक परे दण्डित गर्ने नीतिगत र संरचनात्मक सुधारहरू गर्नुपर्छ ।
दोषी राजनीतिक वर्ग
यस्तो सुधार सुरु र सुचारु गर्ने कुरामा नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ । राजनीतिक वर्ग त भ्रष्टाचार नियन्त्रण गर्नभन्दा त्यसलाई सार्वजनिक खपत र प्रचारको विषय बनाउन चाहन्छ । किनकि, बहुधा उनीहरूको खर्च भ्रष्टाचारजन्य कालो धनबाटै चलेको    हुन्छ । लोकमानलाई उनीहरूले त्यस्तै ‘चन्दा’ दिएका आधारमा र÷वा आफूहरूलाई कारबाही नगर्ने सर्तमा नियुक्ति दिलाएका थिए । पछि महाभियोग लगाउन खोजेका पनि ऊ भ्रष्टाचार नियन्त्रणमा सक्रिय भयो वा भएन भनेर होइन, आफूहरूलाई नै ब्ल्याकमेल गर्न थाल्यो भनेर हो । उनीहरू आयोगलाई जवाफदेही बनाउनचाहिँ किन खोज्दैनन् भने त्यसो गर्नासाथ आयोगलाई पंगु बनाउन खोज्यो भनेर आलोचना÷विरोध हुन्छ जुन राजनीतिक रूपले प्रत्युत्पादक हुन्छ । त्यसैले बरु निरंकुश भए भइरहोस् तर आफूहरूको पछि नलागोस् भन्ने दलहरूको रणनीति हुन्छ । यसै प्रयोजनका लागि आफ्नो खास मान्छेलाई आयोगको पदाधिकारी बनाउन खोज्छन् उनीहरू । सबै प्रमुख दलले त्यही चाहेपछि अर्थात दाबेदार धेरै भएपछि नियुक्ति हुन सक्दैन र वर्षौंवर्ष अख्तियार पदाधिकारीबिहीन भइरहन्छ । अन्त्यमा आयोगलाई त्यस अवस्थामा राखिरहन जब असम्भव हुन्छ तब भागबन्डाका आधारमा नियुक्ति गरिन्छ । यता धेरै समयदेखि भइरहेको यही हो । लोकमान त सबै दलको, हुँदाहुँदा दिल्लीको बाह्य गुप्तचर संस्था समेतका साझा प्रियपात्र, त्यसैले सर्वसम्मतै भए ।
निरंकुश अधिकार
आयोगको जवाफदेहीबिहीनताको एउटा उदाहरण हेरौं । धेरैलाई थाहा नहोला, तर उसले सिफारिश गरे अनुसार भए÷गरेको विभागीय कारबाहीको त न्यायिक परीक्षण हुने कानुनी व्यवस्थै छैन । तैपनि कसैले सर्वोच्च अदालत गुहारेर असाधारण अधिकार क्षेत्रको माध्यमबाट अथवा भ्रष्टाचारको मुद्दै चलाएकोमा न्यायिक सफाइ पाए नै पनि कुनै क्षतिपूर्ति भने पाउंँदैन । घुस वा प्रतिशोधको दुराशय राखेरै आफ्नो कुनै पदाधिकारी÷कर्मचारीले कसैलाई अनावश्यक दुःख दिएको रहेछ भने पनि अख्तियारले त्यसमा छानबिन गरेको वा उनीहरूलाई कारबाही गरेको आजसम्म कुनै रेकर्ड छैन । हो, आयोगका इमानदार पदाधिकारी, कर्मचारीको मनोबल उच्च राख्नुपर्छ तर बेइमानहरूलाई कारबाही गर्ने संस्थागत प्रबन्ध पनि त चाहिन्छ नि । इच्छाशक्ति हुने हो भने सामान्य लाग्ने केही दण्ड÷पुरस्कारको व्यवस्था गर्न सकिन्छ । जस्तो कि पुरस्कारतर्फ आयोगले दायर गरेको भ्रष्टाचारको मुद्दा सफल भएमा असुल भएको बिगोको केही अंश सम्बन्धित अनुसन्धान टिमलाई दिन सकिन्छ । दण्डतर्फ आरोपीले न्यायिक सफाइ पाएमा अनुसन्धान, अभियोजनमा संलग्न पदाधिकारी÷कर्मचारीको नामनामेसीसहितको विवरण आयोगको वार्षिक प्रतिवेदनमा पार्न सकिन्छ । र, सफाइ पाएको कुरा पनि वार्षिक प्रतिवेदनमै उल्लेख गरेर आरोपी लाई उचित रकम क्षतिपूर्ति दिने व्यवस्था गर्न सकिन्छ ।
अहिलेसम्मको प्रचलनमा, विभागीय कारबाही गर्न लेखी पठाएको वा मुद्दा चलाएको कुरालाई आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा विस्तारपूर्वक सार्वजनिक गर्छ । तर पछि न्यायिक सफाइ पाए त्यो कुरो कहीँ उल्लेख गर्दैन अर्थात आफ्नो असफलता लुकाउँछ । जसबाट पीडितको बेइज्जती भएको भयै हुन्छ । आयोगको प्रचलन र अधिकारका यिनै छिद्रमा खेलेरै आफ्नो लोभ, स्वार्थ र प्रतिशोधको अभिष्ट सिद्धि गरेका हुन् लोकमानले । उनी खराब त थिए नै, तर जवाफदेहीबिनाको निरंकुश अधिकारले उनलाई झन् खराब बनाएको थियो । यस्तो खराब बनाउने वा  खराबी बढाउने प्रबन्धमा सुधार अनिवार्य छ । अख्तियारका पदाधिकारी÷कर्मचारी भन्दैमा ती फरक ग्रहबाट आएका हुँंदैनन् । यहीँका, अझ खासगरी कार्यकारीको सेवामा वर्षौंं बिताएका मान्छे हुन्छन् । आयोगमा नियुक्ति वा सरुवा हुनेबित्तिकै मानिस रातारात लोभलालच र रीसरागबाट माथि उठ्ने होइन । वास्तवमा भ्रष्टाचार निवारण गर्ने निकायलाई संवैधानिक हैसियत र अधिकार सम्पन्न तुल्याइ यति शक्तिशाली बनाइएका देश विश्वमा कमै छन् । तर पनि नेपालमा भ्रष्टाचार नघटेको वा बर्षेनी बढ्दै गएका कारण अख्यितारलाई पर्याप्त अधिकार नभएर होेइन । प्राप्त अधिकारको विवेकपूर्ण, दक्षतापूर्ण, व्यवसायिक र निष्पक्ष प्रयोग नभएर हो, दुरुपयोग भएर हो ।
भ्रम र यथार्थ
फर्केर फेरि सूर्यनाथ, दीपेश लिखित पुस्तकमा आउँ । लोकमान नेतृत्वमा भएका अख्तियारका उद्दण्डपूर्ण कारबाहीले गर्दा नै वर्तमान संविधानमा ‘अनुचित कार्य’ गरेकामा विभागीय कारबाही गर्न लेखी पठाउन सक्ने अख्तियारको (साबिकको) अधिकार झिकियो भन्ने पनि उनीहरुको कथन छ (ऐ ऐ) । जो न पूर्ण मनासिब छ न पूर्ण सत्य नै । किनकि लोकमानको पालाभन्दा धेरैअघिदेखि नै त्यस अधिकारको औचित्यमाथि प्रश्नचिह्न लागिरहेको थियो । त्यसैले यो मुद्दामा पनि भ्रष्टाचार विरोधको भावनात्मक आवेगबाट बाहिर निस्केर गुण÷दोषमा   आधारित बहस हुनु जरुरी छ । स्क्यान्डिनेभियाली मुलुकहरूबाट आएको ‘ओम्बुड्स्म्यान’को अवधारणामा आधारित यो अधिकार र भ्रष्टाचार निरोधको अधिकार एउटै संस्थालाई नदिने प्रचलन धेरैतिर छ । किनकि एक त त्यसो गर्दा अत्यधिक शक्ति एक ठाउँमा केन्द्रित हुने हुन्छ । अर्को, कुशल अनुसन्धान र दक्ष अभियोजनका बलमा मात्र अदालतमा कसुर प्रमाणित हुने भ्रष्टाचारको केस बनाउन मेहनत गर्नु साटो अनुचित कारबाही भन्दै सजिलोसँग टुङ्ग्याइदिने प्रवृत्ति त्यसबाट बढ्छ । भ्रष्टाचार नियन्त्रणमा त्यस्तो संस्थाको फोकस हराउँछ । त्यसै पनि अनुचित कार्य र भ्रष्टाचार एउटै कसुर होइनन् । भ्रष्टाचार ठहरिन सार्वजनिक लाभको पदमा बसेका व्यक्तिले कुनै काम गरेर वा नगरेर राज्यलाई नोक्सानी र आफूलाई लाभ पु¥याएकै    हुनुपर्छ । कसैले लाभै केही लिएको छैन भने त्यो भ्रष्टाचार हँुंदैन । त्यस्तै, कुनै तवरबाट राज्यलाई नोक्सानी हुन गएको छ भने पनि असल नियतले गरेको काम भ्रष्टाचार ठहरिंँदैन । यो भ्रष्टाचारको विश्वव्यापी मान्यता र परिभाषा हो । 
भ्रष्टाचार नभएको तर काम गर्दा प्रक्रियागत वा अन्य त्रुटि भएको कुरामा अनुशासनात्मक कारबाही गर्ने÷गराउने नै अनुचित कार्यसम्बन्धी अधिकारको मर्म हो । अनुचित कार्य भन्दै मनोगत रूपमा जसलाई जेमा पनि कसुरबार ठह¥याउने यसको प्रयोजन होइन । लोकमानको पालामा चरमोत्कर्षमा पुगेको भएपनि त्योभन्दा धेरै अगाडिदेखि नै अख्तियारले यस्तो स्वविवेकीय अधिकारको अत्यधिक प्रयोग गर्ने गरेको थियो । जसबाट अनावश्यक रूपमा थुप्रै कर्मचारीको बढुवालगायतका वृत्ति विकास र सामाजिक मर्यादामा अपू–रणीय क्षति पुगेको थियो, छ । भ्रष्टाचार नदेखिएको केसमा पनि एउटा न एउटा मिनमेष निकाल्दै अनुचित कार्यमा कार–बाही गर्न लेख्ने, काम वा निर्णय नै हुन नपाउँदै फाइल खिचेर आतंकित पार्ने आयोगको ‘ओभर एक्टिभिज्म’ ले गरेरै विकास निर्माणका काम नभएको वा सुस्त भएको कुरा त सांसदलगायत थुप्रै विकासविद्ले पनि बारम्बार भन्ने गरेकै छन् । भ्रष्टाचार नियन्त्रणको पैरवी गर्ने राष्ट्रिय÷अन्तराष्ट्रिय गैरसरकारी संस्था आबद्ध र ‘भ्रष्टाचार विरोधी अभियन्ता’ भनिने एकथरी पनि अख्तियारलाई जिम्मेवार बनाउन खोजे अथवा अनुचित कार्यको अधिकार झिकिए अख्तियार कमजोर हुने, उसको मनोबल कम हुने, भ्रष्टाचार नियन्त्रणमा खुकुलोपन आउने तर्क गर्छन् । तर जवाफदेही हुनै नपर्ने व्यक्ति वा संस्था तानाशाहीमा मात्र हुन्छन्, लोकतन्त्रमा  हुंँदैनन् । देशको सर्वोच्च कार्यकारी र जननिर्वाचित प्रधानमन्त्रीका लागि चाहिँ चुनावका माध्यमबाट जनताप्रति, प्रत्यक्ष रूपमा जनताको प्रतिनिधि संस्था संसद्प्रति र अनेकन संवैधानिक संस्था÷आयोगप्रति जवाफदेही हुनुपर्नेे, अख्तियारका पदाधिका–रीलाई चाहिँ नियन्त्रण र सन्तुलनको व्यवस्था नचाहिने भन्ने कुरा हुँदैन ।
— नागरिक दैनिकबाट

माेफसल पत्रकारिता

पत्रकारहरूकाे शुद्धिकरण अभियान चलाईनु पर्छ


बिनोद सिं बिष्ट (प्रतिनिधि) 
राष्ट्रिय समाचार समिति बैतडी
तपार्इंको परिचय पाउँ न ? 
— मेरो नाम विनोद सिंह विष्ट हो । धेरैले मलाई विनोद बाबु भनेर चिन्छन् । मेरो घर बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोट हो । हाल म विगत २ बर्षदेखि बैतडी समाचारदाताको रुपमा राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत रहेको छु । यसका साथै बैतडीमा रहेको रेडियो निङ्गगलाशैनी एफ.एम र सिधारेखा डटकमको समाचार संयोजक भएर पनि काम गर्दै आईरहेको छु । 
कति समय भयो यस पेशामा लागेको ?
— पत्रकारिता पेसा मैले वि स २०६६ सालदेखि कञ्चनपुरवाट सुरु गरेको हुँ । पेसामा लागेको झण्डै झण्डै ८ बर्ष पुग्यो । हाल बैतडीलाई कार्यथलो बनाएको छु ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— मेरो अभिरुचि भनेको समसामयिक विषयवस्तुहरुमा हो । पत्रकारिताका शुरुवातका दिनहरुमा मैले खेल क्षेत्रमा बढी कलम चलाएपनि अहिले  काम गर्दा यहि क्षेत्रमा मात्रै काम गर्छु भन्ने अवस्था नभएकोले सबै क्षेत्रमा कलम चलाईरहको छु । रुचिकै कुरा गर्ने हो भने मलाई सबैभन्दा बढी खेल क्षेत्रको पत्रकारिता गर्न मन पर्छ । यसका साथसाथै सामाजिक, खोजमुलक, कलाकारिता तथा मनोरञ्जन क्षेत्रमा पत्रकारिता गर्न मन पर्दछ । 
पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— मानिस जन्मने बित्तिकै समस्यामा परिसकेको हुन्छ, किनभने एक दिन मर्नु पर्नेछ  भनेर । त्यसपपछि पत्रकारिता जोखिमपुर्ण र चुनौतीपूर्ण पेशा हो । साथै अवसर पनि भन्नुपर्छ । हामी आफंैमा देखिने सबैभन्दा ठूलो चुनौति भनेको हरदम नयाँ सूचना र जानकारीसँग अपडेट रहिरहन पर्ने हुन्छ । समय परिस्थिति र स्थानहरु अनुरुप फरक फरक खालका चुनौतिहरुको सामना गरिराख्नुपर्छ ।
समस्यै समस्या भएको पेशा किन रोज्नु भयो त ? 
— समस्या हरेक पेशामा छ । मेरो सानैदेखिको रुचि सञ्चार क्षेत्रतिर थियो रुचि र रहर अनुसार नै पेसा रोजेको हुँ । अहिले पुर्ण रुपमा यो पेसामा लागेको भएपनि पत्रकारिता विषय भने पढेको होईन । तर पनि यो पेशाले समाजका सकारात्मक र नकारात्मक सबै पक्षलाई छर्लङ्ग पार्दै समाज विकासमा महत्वपुर्ण भुमिका खेल्छ । 
मोफसलको पत्रकारितामा त झन समस्यानै समस्याको चाङ छ भन्ने गरिन्छ, के लाग्छ तपाइलाई ? 
— एकदमै सही हो मोफसलमा बसेर पत्रकारिता गर्न धेरै गाह्रो छ । दिनौ लगाएर सयौ खर्च गरेर लेखेको समाचारले पनि स्थान पाउदैन । साथै मोफसल पत्रकारितामा पैसा पनि त्यति देख्दैन त्यसैले पत्रकारिता पेसामा धेरै लामो समयसम्म लागेर छोडेको पनि देखियो । समाचार विवादमा आयो भने कहिलेकाँही धम्की समेत आउने गर्दछन ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— सबैभन्दा पहिले त पत्रकारिता पेसा प्रत्यक्ष रुपमा समाज रुपान्तरण गर्न मद्दत गर्ने पेशा हो भनेर बुभm्न जरुरी छ । राष्ट्रको चौथो अंगका रुपमा राखेर मात्रै हुदैन ।  मोफसलबाट गरिने पत्रकारिता मार्फत पनि देशको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्न सकिन्छ भन्ने कुरालाई सरकारले बुझ्नुपर्छ । सञ्चारकर्मी र सञ्चारमाध्यमको  सुरक्षाको ग्यारेण्टीका साथै दक्षता अभिवृद्धिका लागि पनि ठोस योजनाका साथ कार्यक्रम ल्याउनु पर्दछ । 
मोफसलका पत्रकारहरुको समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कस्तो भूमिका खेलेको पाउनु भएको छ ? 
— महासंघमा सबैभन्दा पहिला त क्रियाशिल नेतृत्व आउन जरुरी छ । क्रियाशिल नेतृत्वले मात्र पत्रकारितालाई व्यवसायिक बनाउन पहल गर्नेछ । तर बैतडीमा भने भुमिकाविहीन जस्तै छ ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— बैचारिक संगठनहरुले आफ्नो  संगठनको समस्या त समाधान गर्न सक्दैन अरुको त कुरै छोडौं । संगठन पार्टीको भातृ संगठन जस्तै लाग्छन । 
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता एक समाज रुपान्तरण गर्ने पेसा हो । पत्रकारिता गर्ने व्यक्तिले जे देख्यो त्यही सत्य तथ्य घटनामा आधारित भएर समाचार वा सूचना निष्पक्ष रुपमा लेख्न र भन्नु पर्छ जसले समाजमा रहेका अन्य व्यक्तिहरुमा चेतना जगाउन सकोस । आधुनिक सभ्यताको प्रमुख व्यवसायका साथै समाजको दर्पणका रुपमा पनि रहेको छ ।
कति कमाउनु भयो पत्रकारितामा लागेर ? 
— पत्रकारिताबाटै म धनसम्पत्ति जोडौंला भनेर लागेको होईन, तापनि पैसाकै कुरा गर्नुहुन्छ भने अहिलेसम्म साँझ बिहान खानबस्न सम्म पुगेकै छ । हातमुख जोड्नु कसैसंग हात थाप्नु परेको छैन । 
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, तपाइलाइ के लाग्छ ? 
— सबै एउटै किसिमको पत्रकारिता गरिरहेका हुन्छन भन्ने पनि हँुदैन तर पेसाप्रति बद्नामी गर्ने पत्रकारको महासंघले सदस्यता खारेजसम्म गर्नसक्नु पर्दछ । पत्रकार शुद्घिकरण अभियान चलाएर यो समस्या समाधान गर्नुपर्छ । सम्बन्धित निकायले पत्रकारको समस्या समाधानतर्फ ध्यान नदिदा यो समस्या आएको हो जस्तो लाग्छ यसको समाधानतिर लाग्नुपर्दछ । 
तपाई त लाग्नु भा छैन होला नि यस्ता कुरामा ?
— छैन । यस्ता कुराहरुबाट म टाढै छु र कुनै खालको संलग्नता रहने गरेको छैन ।  जरुरी पनि देख्दैन । 
थोरै प्रसंग बदलौं, स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने कुरामा कत्तिको बिश्वास गर्नु हुन्छ तपाई ?  
— सरकारले गर्नुपर्छ भनेर बैशाख ३१ मा मिति तोकेको छ र हुनु पनि पर्छ झण्डै दुई दशकदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायले प्रतिनिधि पाउने छ । आशा गरौं । 
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— पत्रकाारिता एक सम्मानित पेसा हो यसले समाज रुपान्तरणमा अहम् भुमिका राखेको छ । त्यसैले पत्रकारिता पेसालाई पार्टीमुखी नबनाएर समाजमुखी बनाउन आग्रह गर्दछु । 
समय र बिचारका लागि धन्यबाद । 
— तपाईको पत्रिकामार्फत आफ्ना कुरा राख्ने अवसर दिनु भएकोमा तपाई लगायत बिम्ब पत्रिका परिवारलाई धन्यवाद सहित सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. बेलायतमा जनमत संग्रह ः २३ जुन २०१६
२. मेसिद्वारा सन्यासको घोषणा ः २७ जुन २०१६
३. मदर टेरेसालाई सन्त घोषणा ः २ सेप्टेम्बर २०१६
४. टेरिजा मे प्रधानमन्त्री ः १३ जुलाई २०१६
५. जुनो यान वृहस्पतिमा पठाएको ः जुलाई ४
६. बुज अल्ड्रील नेपाल आएका ः ५ सेप्टेम्वर (२० भाद्र)
७. भ्एन् को बैठक ः जुलाई ४–५, २०१६
८. युरोकप सञ्चालन ः जून १० देखि जुलाई १० सम्म । युरोकप बिजेता, २०१६ पोर्चुगल
९. कोपा अमेरिकिकप फुटबल २०१६ बिजेता राष्ट्र चिलि बन्यो ।
१०. अफगानिस्तानमा १४ को घटना जुन २०, २०१६ (२०७३÷३÷६)
११. अफगानिस्तान ध्त्इ को सदस्य ः जुलाई २९
१२. टर्किमा असफल कु ः जुलाई १५, २०१६
१३. ११ औं G-20 सम्मेलन चिनमा ः सेप्टेम्बर ४–५
१४. पानामा पेपर्स ः अप्रिल ४
१५. ८८ औं ओस्कार अवार्ड स्पटलाइट
१६. असङ्लग्ना १७ औं शिखर सम्मेलन भेनेजुयलामा सेप्टेम्बर १७–१८ भएको छ । नेपालबाट उपराष्ट्रपति नन्दबहादुर पुन सहभागि हुनु भयो ।
१७. आशियानको २९ औं शिखर सम्मेलन २०१६ सेप्टेम्बेर ६–८ लाओसमा भयो ।
१८. १४४ औं एल साल्भाडोर देश सङ कुटनैतिक सम्बन्ध स्थापित ः सन २०१६ सेप्टेम्बर २१
१९. मङ्गल ग्रहमा ९.८ किमि ब्यास भएको खाल्डोको नाम लाङटाङ राखिएको छ । (२०१६ जुन १४)
२०. पहिलो उपमहासचिव लुई फ्रेच्टो (क्यानडा) नियुक्ति १९९८ फेब्रअरी १२–२००६ सम्म ।
२१. विश्वकै लामो समय अवधिसम्म राजा भएका थाइल्यान्डका राजा भुमिबोल अदुल्यादेजको निधन सन २०१६ अक्टोबर १३ मा भयो ।
२२. BRICS को ८ औं सम्मेलन अक्टोबर १५ र १६ देखि गोवामा भारत भयो ।
२३. विश्व भोकमरी सुचचाङ्क–२०१६ अनुसार नेपाल ७२ औं स्थानमा परेको छ ।
२४. UNO को ९ औं महासचिवमा सन २०१६ अक्टोबर ६ मा UNO को महासभाले पोर्चुगलका एन्टोनिया गुटेरेजलाई नियुक्त गर्ने निर्णय ग¥यो । पद तथा गोपनियताको सपथ १२ डिसेम्बरमा लिएका हुन । (कार्यकाल १ जनवरीबाट सुरु)
२५. महिला पहिलो सगरमाथा आरोही जुन्के ताइवाको मृत्यु २२ अक्टोबर २०१६ मा भयो । (आरोहण १९७५ मे १६ (बि.स. २०३२÷२÷२)
२६. भारतमा रु. ५०० र रु.१०० को नोट बन्द (economic surgical trick) ९ नोभेम्बर २०१६ देखि भयो ।
२७. क्युबाका पुर्बराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन, २०१६ नोभेम्बर २५ मा भयो ।
२८. ब्राजिलको ब् डिभिजन फुटबल खेलाडी रहेको विमान कोलम्बियामा दुर्घटना २९ नोभेम्बर २०१६ मा भयो ।
३०. २०१६ को २९ औं विश्व एड्स दिवसको नारा “हामी सबैको काम, HIV को रोकथाम” हो । यो दिवश सन १९८८ देखि मनाउन थालेको हो ।
३१. तमिलनाडुकी मुख्यमन्त्री जयललिताको मृत्यु ५ डिसेम्बर २०१६
३२. पाकिस्तानमा हवाई जहाज दुर्घटना ७ डिसेम्बर २०१६
३३. “टाइम पर्सन ओफ द इयर २०१६” अमेरिकि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ।
३४. १३ औं साग सन् २०१९ मा हुने भएको छ ।
३५. आसियानको १९औं शिखर सम्मेलन लाओसमा सम्पन्न भयो ।
३६. बेलायतका विश्व प्रसिद्ध गायक जर्ज माइकलको मृत्यु २५ डिसेम्बरमा भयो ।
३७.Miss world-2016 हुने युवती स्टेफनी डेल (प्युट्रोरिको)
३८. टर्किका लागि रुसि राजदुतको हत्या डिसेम्बर १९, २०१६ मा भयो । 
३९. महेन्द्र सिंह धोनीले वान डे कप्तानीबाट सन्यास, ४ जनवरी २०१६
४०.  FIFA बर्ष खेलाडी २०१६ कृष्टिना रोनाल्डो
४१. FIFA ले विश्वकपमा सन २०१६ देखि ४८ देशलाई ८० ओटा खेल खेलाउने नियम पारित जनवरी १० मा ग¥यो ।
४२. अमेरिकी राष्ट्रपति वाराक ओबामाको कार्यकालको अन्तिम सम्बोधन १० जनवरी ।
४३. चन्द्रमामा पुग्ने अन्तिम अन्तरीक्ष यात्री (अपोलो–१७ मार्फत) युजन सर्जनको ८२ वर्षको उमेरमा निधन जनवरी १८ । उनले १९९९ मा “æThe last man of the moon" आत्मावृतान्त लेखेका थिए ।

साहित्य÷सृजना 

मुक्तक

चारै तिर रङ्गी चङ्गी, होली आयो होली आयो
बसन्तको बहारसंगै, सौन्दर्यता घोली आयो ।

जताततै गाउँ बस्ती, घर आगन खुसीयाली
सद्भाब भाइचाराको, ढोका खोली आयो ।।
भूमिराज जोशी 
कालुखेती–८ बझाङ्ग

गजल

तिमी र म मायाको संसारमा हुनु पर्छ 
मायाको यो सागरलाई संगसंगै तर्नु पर्छ ।

तिमी आउनु त्यताबाट म आउछु यताबाट 
तिमी र म मन्दिर गई बाचा कसम खानु पर्छ ।

कस्तो हुन्छ माया भनी संसारलाई देखाई दिउँला
बाचा खाने देउरालीमा हात समाई जानु पर्छ ।

पाउनु मात्र माया होइन गुमाउनु पनि माया हो 
माया पाउन तिमी र म संग संगै लड्नु पर्छ ।

तिमी र म जीवन काट्दा मायाका कुरा गरौं 
जुनी जुनी तिमी र म संगसंगै जिउनु पर्छ ।।
            मनोज बम
       सात्फरी –९ बल्लेकाडाँ
      हालः प.प.मु.ना.उ.मा.बि. 
          सिलगढी,डोटी

गजल

मलाई माया नगर्ने भा, अन्तै मया सारे हुन्छ 
मलाई दुख प¥यो भने, आसु तिम्ले नझारे हुन्छ ।

साथी धेरै आउछन यहाँ, सधैं साथ दिन्छु भन्ने 
खोला किनारमा छाड्ने भए, खोला नतारे हुन्छ ।

लाग्छ धेरै बाँच्दिन म, बाँच्ने कुनै आधार छैन
हिड्दा हिड्दै मरे भने, तिमले नुन नबारे हुन्छ ।

सपना देखाई नाना थरी, माया अनि पिरतीका 
धोका दिने भए तिम्ले, भरोसामा नपारे हुन्छ ।

चोखो माया भन्नै गाह्रो, भन्छन सबै जना यहाँ
तिम्ले भुल्न सक्छौ भने, मेरो माया मारे हुन्छ ।।
     डम्मर जोशी (बिबस)
माझिगाउँ–७ नेटाकाटियाँ बझाङ्ग
       हालः मलेसिया

No comments:

Post a Comment