Wednesday, February 7, 2018

बिम्ब साप्ताहिक, २०७४ माघ २३ गते मंगलवार

पत्रकार आचार संहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको छ भनि पीडित पक्षलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चारमाध्यम बिरुद्ध प्रकाशन तथा प्रसारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा उजुरी दिई आफ्नो अधिकारको संरक्षण गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

सांसदहरु भन्छन् ः उत्कृष्ठ प्रदेश बन्छ

आईतवार सुरु भएको प्रदेश नं. ७ को पहिलो प्रदेश सभा बैठकमा सांसद्हरुले प्रदेशलाई देशकै उत्कृष्ठ बनाउन सकिने वताएका छन । 
संसदको पहिलो बैठकलाई सम्वोदन गर्दै सांसदहरुले कृषि, पर्यटन र जलस्रोतको माध्यमबाट प्रदेशलाई सम्पन्न बनाउन सकिने बिचार व्यक्त गरे । दिउसो एक बजे बस्ने गरि तय गरिएको बैठक सांसदहरु ढिलो गरि आएका कारण तोकिएको भन्दा करीव आधा घण्टापछि सुरु भएको थियो । 
बैठकमा नेकपा एमालेका सांसद प्रकाश शाहले सांसदहरु र सरकारले ईमानदारीका साथ काम गरे प्राकृतिक स्रोत साधनको धनी प्रदेश नं. ७ लाई देशकै नमुना प्रदेश बनाउन सकिने वताए । ‘प्रदेशको बिकास र समृद्धिका लागि हामी फुटेर होईन, जुटेर लाग्नु पर्छ’ सांसद शाहले भने ‘यो पाँच बर्षसम्म सत्तापक्ष र प्रतिपक्ष नभनि सवैले सकारात्मक भूमिका निर्वाह गर्नु पर्छ ।’ सांसद शाहले प्रादेशिक सरकारको नौलो अभ्यास भईरहेको हुँदा बिगतका कमीकमजोरीहरुको आत्मसमीक्षा गर्दै अगाडि बढ्नु पर्ने बताए । 
नेपाली कांग्रेसका सांसद भरतवहादुर खड्काले प्रदेश सरकारले सम्भाव्यता अध्ययन गरि ठोस् योजना बनाउनु पर्ने बताए । ‘हामी सधैं ट्रायल मुलुक हुनु हुँदैन, योजना बनाउने अनि परीक्षणको रुपमा कार्यान्वयनमा ल्याउने काम हुन हुँदैन’ सांसद खड्काले भने ‘अव पहिले गम्भिर रुपमा अध्ययन गरेर योजना बनाई लागु हुनु पर्छ ।’ उनले पश्चिम सेती परियोजना प्रान्तीय सरकारले आफ्नै लगानीमा बनाउनु पर्नेमा जोड दिए । 
नेकपा माओवादी कोन्द्रका सांसद त्रिलोचन भट्टले जल, जंगल, जमिन, जडिबुटी लगायतका प्राकृतिक स्रोत साधनहरुबाट प्रदेश नं. ७ लाई समृद्ध प्रदेश बनाउन सकिने  वताए । उनले भने ‘जलश्रोतको मात्रै पनि हामीले सही उपयोग गर्ने हो भने धेरै हुन्छ, त्यसको साथसाथै पर्यटकीय क्षेत्रको पनि बिकास हुनु जरुरी छ ।’ 
राष्ट्रिय जनता पार्टीका सांसद मालमति राना थारुले भने संसदमा फरक कुरा राखिन् । उनले भनिन् ‘राना थारुले गरेको आन्दोलनमा धनगढी राजधानी माग गरिएको थिएन तर धनगढीलाई राजधानीको रुपमा अगाडि सारिएकोमा हाम्रो आपत्ति छ ।’ उनले प्रदेश नं. ७ का नौ वटै जिल्लाहरुलाई पायक पर्ने गरि राजधानी तोकिनु पर्ने माग राखिन् । ‘हामीले राजधानी मागेका होईनौं, हामीले कञ्चनपुरदेखि नवलपरासीसम्मको एक प्रदेश मागेका हौं’ सांसद् राना थारुले भनिन् ‘जनताको माग बिपरित राजधानी धनगढी बनाईएको हामीलाई आपत्ति छ ।’ 
सांसदहरुमध्ये जेष्ठ सदस्य ७४ बर्षीया दिव्यश्वरी शाहको अध्यक्षतामा बसेको पहिलो बैठकले संसद संचालनको   अन्तरीम कार्यविधी पारित गरेको छ । यस्तै बैठकले सभामुख र उपसभामुखको चयन नभएसम्मका लागि प्रदेश सभाको बैठक सञ्चालन गर्न सांसदहरु माया भट्ट, देवराज पाठक, बिरमान चौधरी, पूर्णा जोशी र पूर्णबहादुर चौधरी रहेको पाँच सदस्यीय समिति चयन गरेको छ । 
प्रदेश सभाको अर्को बैठक माघ २९ गते बस्ने छ । बैठक कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको हाताभित्र रहेको प्रदेश सभा हलमा बसेको थियो । 

सम्पादकीय 

कहाँ पुग्यो सिंहदरवारको अधिकार ?

नयाँ संबिधान जारी हुँदा र स्थानीय तहको पुनर्संरचना हुँदा नेताहरुले सिंहदरवारको अधिकार गाउँगाउँ पुग्यो भन्दै कुर्लिएका थिए । आफुहरुले अधिकार बिकेन्द्रिकरण गरेको, अव जनताले बिगत जस्तो स–सानो कामका लागि सिंहदरवार, जिल्ला सदर–मुकाम धाईरहनु नपर्ने अभिव्यक्ति दिएका थिए । जनताले पनि साँच्चै भई पो हाल्छ कि भनेर आश गरेका थिए । सिंहदरवार देख्न नपाएरै आफ्नो जीवन बिताउने थुप्रै नेपालीहरुले सिंहदरवारै देख्न नपाएपनि सिंहदरवारको अनुभुती गर्न पाईन्छ कि भन्ने आश लगाएका थिए । 
तर, आज ति सवै आशहरु निराशामा परिणत हुने अवस्था सृजना भएको छ । जनताले सरकारबाट पाउने सेवा सुबिधाका लागि फेरी पनि बिगतको भन्दा थप झण्झट बेहोर्नु परेको छ । कानुन बनाउँदैमा केही हुँदैन भन्ने कुरा स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले प्रमाणित गरिसकेको थियो । जुन कानुन स्थानीय तत्कालीन स्थानीय निकायलाई स्वायत्त बनाउनका लागि त बनाईयो तर स्थानीय निकाय कुनै कुरामा पनि स्वायत्त हुन सकेनन् ।      सरकारले तोकिदिएको क्षेत्रमा मात्रै कर उठाउन पाईने, सरकारले तोकिएदिएको क्षेत्रमा मात्रै बजेट बिनियोजन गर्नु पर्ने, सरकारले तोकिदिएको कर्मचारीहरुबाट मात्रै आर्थिक कारोवार सञ्चालन गर्नु पर्ने, सरकारले तोकिदिए अनुसारमा सेवा सुबिधा मात्रै प्रवाह गर्न पाउने गरि काम भयो । अन्ततः स्थानीय स्वायत्त शासन ऐन कार्यान्वयन नभई मृत्युवरण ग¥यो । 
यस्तै अवस्था फेरी आएको छ । स्थानीय तह संबैधानिक र अधिकार सम्पन्न भएका छन । संबिधानमै स्थानीय तहको अधिकार किटानी गरिएको छ तर के स्थानीय तह स्वायत्त छन त ? सरकारले पठाईदिएको कर्मचारी प्रशासकीय प्रमुख हुने, त्यो प्रशासकीय प्रमुख गाउँमा नबस्ने । सरकारले तोकेको बैङ्गबाट आर्थिक कारोवार सञ्चालन गर्नु पर्ने तर त्यो बैङ्ग गाउँमा नजाने । सरकारले बनाईदिएको नमुना कानुन अनुसार कानुन वनाउनु पर्ने, स्थानीय तहले आफ्नो आवश्यकता अनुसार काम गर्न नपाउने । गाउँपालिकाको पाश्र्वचित्र कस्तो बनाउने भन्नेमा पनि संघीय  सरकारले भने अनुसार हुने । 
गाउँपालिकामा कर्मचारीहरु छैनन्, जनप्रतिनिधिहरुलाई कर्मचारी भर्ना गर्ने अधिकार छैन् । संबिधानले एउटा अधिकार दिन्छ, ऐनले अर्को अधिकार दिन्छ, ति सवै अधिकारहरु संघीय मन्त्रालयको एक परिपत्रले उल्टाई दिन्छ । अनि के पुगेकै हो त गाउँगाउँमा सिंहदरवार ? 
नाम रामे, श्यामे, च्यामे राखेर केही फरक पर्दैन । फरक पार्नु पर्ने हाम्रो कार्यशैली हो । बिगतमा राजतन्त्र थियो, केन्द्रिकृत एकात्मक सत्ता थियो, त्यो सत्ताले जनताका आधारभुत आवश्यकताहरु परिपुर्ति गर्न सकेन, जनताले सास्ती खेप्नु प¥यो भनेर हामीले संघीय व्यवस्था सहितको गणतन्त्र ल्याएका होईनौं र ? अनि अहिले पनि जनप्रतिनिधिहरुलाई मुठ्ठी बाँधेर बसिराख्न भन्ने ? यो  कसरी सम्भव हुन्छ ? 
गाउँमा जनताका काम गर्नका लागि कर्मचारी चाहिन्छन्, सरकारले सक्छ भने अहिले भएका कर्मचारीहरुलाई खटाउन सक्नु पर्छ र अटेरी गर्ने कर्मचारीलाई घर पठाउनु पर्छ । होईन भने आफ्ना कर्मचारी जसरी पाल्ने हो पालिराखोस्, स्थानीय तहलाई आवश्यकता अनुसार कर्मचारी भर्ना गर्न पाउने अधिकार तुरुन्तै प्रदान गर्नु पर्छ । यो वा त्यो कोणले जनतालाई दुःख दिने अनि ‘सिंहदरवारको अधिकार गाउँगाउँमा ल्यायौं’ भनेर फुर्ति लाउने काम तत्काल बन्द गरिनु पर्छ ।

थप समाचार 

माहुरीको घर

जंगलको बिचमा तिनतले घर, तलतिर रातो माटो र माथिमाथी कमेरो माटोले चिटिक्क पोतिएको छ । घरको चारैतिर माहुरीका घारहरु सजाएर राखिएका छन । माहुरी घर वरिवरी घुमिरहेका छन् । तर यो कुनै व्यवसायिक माहुरी पालक किसानको घर होईन, परम्परागत माहुरीका घार रहेको घर हो । 
डोटीको दुर्गम साविकको छपाली गाबिस–८ कुसिना (हालको आदर्श गाउँपालिका–१) का ५३ बर्षीय जंगबहादुर थापाको घर हो यो । उनको घर वरिपरी १५ घार छन माहुरी । माहुरीहरु चर्न जाने र फर्कने गर्दा नयाँ मान्छेलाई त महुरीले टोक्छन् कि भनेर उनको घर आँगनमा बस्नै समेत डर लाग्छ । 
थापाले आधुनिक तरिकाले व्यवसायिक माहुरी पालन पनि हुन्छ भन्ने जानेका छैनन् तर उनको घरमा सधैं माहुरी भईरहन्छन । ‘म सानै छँदाखेरी पनि हाम्रो घरमा १०/१२ घार माहुरी भईराख्थे’ थापा भन्छन् ‘उडेर जाने जात हो, कहिले बड्ने र कहिले घट्ने त भईहाल्छ ।’ उनले कहिलेकाँही २४/२५ घारसम्म पुग्ने गरेको वताए । माहुरी पालनको तालिम लिनु भएको छ भन्ने प्रश्न गर्दा उनी हास्दै भन्छन् ‘माहुरी पालनको पनि के तालिम लिनु ?’ 
कोत्तर लागेर ढलेका रुखबाट परम्परागत शैलीमा घार तयार गर्छन् थापाले । अनि माहुरी आउँछन, घारमा     बस्छन् । ‘कहिलेकाँही जंगलमा लगेर घार राखिदिन्छौं, अनि माहुरी बसेपछि घर ल्याएर आउँछौं’ थापाले भने ‘नत्र घरमै सजाएर राखेका घारमा पनि आईहाल्छन माहुरी ।’ काठको घारका साथसाथै घरको भित्तामा पनि माहुरीका घार (फाग) बनाएको उनी बताउँछन । 
१५ घार महुरी भएर पनि मह उत्पादन भने कमै हुने गरेको थापा बताउँछन । ‘२०/२२ किलो बार्षिक मह निस्कन्छ’ थापा भन्छन् ‘कहिले–काँही अलि कम बेसी हुन्छ ।’ उनले भने ‘कार्तिक र मंसिरमा हो मह हुने, अरु बेला त हुँदैन खासै ।’ कार्तिक मंसिरमा च्यूरी फुल्ने भएका कारण माहुरीका लागि चारो बढी पाईने उनको भनाई छ । 
थापाले गाउँमै प्रतिलिटर सात सय रुपैयाँका दरले मह बेच्ने गरेका छन । उनी भन्छन् ‘बजारतिर लगे त अझ दाम पाईन्थ्यो होला तर गएको छैन, गाउँमै आएकाहरुले माग्छन, कसै–कसैलाई त ६ सयमै पनि दिने गरेको छु ।’ धेरै हुने भए अन्त लैजानु हुन्थ्यो तर थोरै त गाउँमै बिक्रि भईहाल्ने भएका कारण किन दुःख गर्ने भन्ने उनको मानसिकता छ ।
मह निकाल्दा महुरीले टोक्ने डर रहेको थापा बताउँछन् । ‘टोक्ने त माहुरीको जातै हो, टोक्छन् नि’ उनी थप्छन् ‘आफुले बचेर काम गर्नु पर्छ, मह निकाल्ने समयको पनि ख्याल गर्नु पर्छ ।’

मुद्धा थपिदै, अन्यौलता बढ्दै  

रामहरी ओझा/डोटी
माघ २२
जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहरा आफ्नै कार्यकक्षमा बसेर मुलुकी ऐनको लेनदेन सम्वन्धि महल पढ्दै थिईन । २०५७ सालमा आफुसंग लिएको तीन हजार रुपैयाँ ऋणको साँवाव्याज अहिलेसम्म नबुझाएकोले अशुल गरि पाउँ भन्दै जोरायल गाउँपालिका–४ लक्ष्मीनगरका कामदेव बिकले सोही ठाउँका खड्क बोहरा बिरुद्ध गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि उक्त मुद्धामा छलफल टुङ्गोमा पु¥याउनु थियो बोहरालाई । 
अचेल उपाध्यक्ष बोहराको अधिकांश समय कानुनी कितावहरु अध्ययन गर्दैमा बित्ने गरेको छ । स्नातकसम्मको औपचारिक पढाई पुरा गरेकी बोहरालाई कानुनी ज्ञान भने यस अघि कमै थियो । न्यायिक समितिमा एक पछि अर्को मुद्धा आउन थालेपछि उनलाई कानुनी कितावहरु पढ्नु पर्ने वाध्यता आईलाग्यो । 
‘श्रावण यता १३ वटा  उजुरी आएका छन, ति मध्ये १० को मेलमिलाप गरेर पठाएँ’ संबिधान अनुसार स्थानीय तहमा गठन भएको न्यायिक समितिकी संयोजक समेत रहेकी उपाध्यक्ष बोहरा भन्छिन् ‘एक श्रीमान् श्रीमतिबिचको झगडा थियो, तीन पटक छलफल गर्दा समेत सहमतिमा ल्याउन सकिएन, उनीहरु सम्वन्ध बिच्छेद्को प्रक्रियामा अगाडि बढे । अर्को एक सामुदायिक बनको बिवादको थियो, त्यसमा पनि दुई पटक छलफल गरि फेरी अर्को पटकका लागि बोलाएका छौं ।’ 
संबिधानले स्थानीय तहमा न्यायिक समिति गठन गरेको भएपनि आफुहरुलाई कुनै तालिम नदिएका कारण समस्या भएको बताउँछिन् बोहरा । ‘युएमएन र सिड नेपालले केही कानुनी कितावहरु उपलव्ध गराई दिएको छ, तिनै कितावहरु अध्ययन गरेर दुई पक्षबिच छलफल गराउँदै आएकी छु’ अनलाईन खवरसंग कुरा गर्दै जमुनाले भनिन् ‘अहिलेसम्म न्यायिक समितिलाई कसैले तालिम दिएको छैन ।’
तालिम नपाएका कारण कुन मुद्धाको बिषयमा कसरी फैसला गर्ने भन्ने   जानकारी छैन उनलाई । उनी भन्छिन् ‘मिलापत्रमै टुंग्याउने प्रयास गर्दै आएकी छु ।’ हालसम्म मिलापत्र गरिएका उजुरीहरुमा मुद्धाका दुवै पक्षले चित्त बुझाएकोमा बोहरा निकै खुशी देखिन्छिन्, भन्छिन् ‘पारिवारिक तथा सामाजिक बिवादहरु यसरीनै मिलिदिए त राम्रै हुन्थ्यो ।’ मिलाउन नसकेका मुद्धामा भने उनलाई निकै पिडा हुने गरेको छ ।
आफ्नो कार्यकक्ष सानो भएपछि उनी मुद्धाका पक्ष र बिपक्षहरुसंग छलफल गर्न अन्य फाँटलाई गुहार्छिन् । ‘मेरो कोठा सानो छ, चार जना अट्न गारो हुन्छ, उजुरीकर्ताका पक्ष र बिपक्षमा अरु पनि आउँछन, बस्नै समस्या छ’ जमुना भन्छिन् ‘मुद्धाका कारण अन्य फाँटमा काम  गरिरहेकाहरुलाई पनि समस्या हुन्छ ।’ 
लामो समय सामाजिक कार्यकर्ताको रुपमा बिताएकी बोहराको उपाध्यक्षमा निर्वाचित भईसकेपछि व्यस्तता थपिएको छ । न्यायिक समिति, राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति र अनुगमन तथा सुपरीबेक्षण समितिको संयोजक छन उनी । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसारका अन्य काम पनि उनले गर्नै पर्ने ।  
बोहराको ईजलासमा आएका १३ मुद्धामध्ये गाली बेईज्जत तीन, अशंबण्डा दुई, श्रीमान–श्रीमतिबिच बिवाद दुई, लेनदेन एक, सामुदायिक बन एक, महिलामाथी हातपात एक, मन्जुरी बिना बिवाह एक, पढाई खर्च एक र बाली   भराई पाउन एक मुद्धा हुन । उनले मुद्धा दर्ताको छुट्टै रजिण्टर तयार गरेकी छन् । दर्ता रजिष्टर देखाउँदै उनी भन्छिन् ‘आएका मुद्धाहरु यसै रजिष्टरमा दर्ता   गरी छुट्टै फाईलिङ्ग गर्ने गरेकी छु ।’ 
मुद्धा किनारा लगाउन समितिका अन्य दुई सदस्य नन्दराज भट्ट र दिनेश मल्लले सघाईरहेको बोहराको भनाई छ । 

श्रमिक बालबालिकाले धानेको बिद्यालय

भूमिराज जोशी/दिपायल
माघ २१
बिहान ठिक १० बजेको थियो बिद्यालय परिसरमा पुग्दा । बिद्यायलको आँगनमा ४ वटा कुर्सी, २ जना बालबालिका र एक जना कार्यालय सहयोगी मात्र थिए । ती दुई बालबालिकाहरु खेलिरहेका थिए । भने कार्यालय सहयोगी बिद्यालयको छेउमा फोन गरिरहेका थिए । वरिपरी पुरै शान्त बाताबरण थियो । बिस्तारै शिक्षक शिक्षिकाहरु पनि पुगे । सबा दश बजिसकेको थियो । बिद्यार्थीहरु पुगेका छैनन भन्दै लाइन बस्ने घण्टी बजेको थिएन । एक जना शिक्षक भन्दै थिए, ‘आज बालबालिकाहरु उपस्थित भएका छैनन, भोली शुक्रबार सबै बिद्यार्थीहरु आउँछन, हामी पनि सबैलाई पोषाक लगाएर आउ भन्छौं, त्यसपछि बिद्यार्थीको फोटो सहित लिएर जानुहोला । सही रिपोर्ट पनि जान्छ ।’ काँटछाँट नगरी उनले भनेको वाक्य । त्यत्तिकैमा साढे १० बज्यो । कार्यालय सहयोगीले घण्टी बजाए । बिद्यार्थीहरु लाइन लागे १६ जना मात्र । लाइनमा ब्यायाम, राष्टय गान सकेर आ आफ्नो कोठामा बसे ।
बिहीबार बिम्बकर्मी समाचार संकलनमा जाँदा देखिएको यथार्थ दृश्य थियो त्यो । जिल्ला सदरमुकाम सिलगढीमा रहेको शैलेश्वरी आधारभूत बिद्यालयमा कक्षा १ देखि ५ सम्म पढाइ हुन्छ । बि.सं. २०१७ सालमा स्थापना भएको उक्त बिद्यालयमा हाल ४ जना शिक्षकको दरबन्दी रहेको छ भने एक जना बालबिकास सहजकर्ता छन । बिद्यालयमा यसै बर्ष भर्ना भएका बिद्यार्थीहरुको नाम भने ५४ जनाको छ रजिस्टरमा । दैनिक पढ्न आउने बालबालिका भने करिब १५ देखि ३० जनामा मात्र उपस्थित हुने  गर्छन । ती सबै निरन्तर भने हुँदैनन्, रजिस्टरमा नाम भएका मध्ये एकएक दिन (पालो) लगाएजस्तै आउने गर्छन ।
जिल्ला सदरमुकाम सिलगढीका अधिकाशं स्थायी बासीन्दाले आफ्नो घरमा श्रमिक बालबालिका राख्ने गरेका छन । कानुनले तोकेभन्दा कम उमेरका बालबालिकाहरुलाई श्रममा लगाएका पनि ब्याप्त छन जो १४ बर्षभन्दा कम   उमेरका । १४ बर्षदेखि १६ बर्षसम्मको बालबालिकालाई कसैको घरमा काम गर्नको लागि श्रम कार्यालयले अनुमती दिएको हुनुपर्ने कानुनी प्राब्धान छ ।  (त्यसमा पनि दिनको तीन घण्टा भन्दा बढी काममा नलगाउने गरी) । १४ बर्ष भन्दा कम उमेरको बालबालिकालाई कुनै पनि कानुनी प्राब्धान छैन श्रममा लगाउनलाई । 
‘कसैले पनि बालकलाई ललाई, फकाई वा झुक्याएर वा कुनै प्रलोभनमा वा डर, त्रास वा दवाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकको रुपमा काममा लगाउनु हुँदैन भन्ने बाल श्रम (निषेध र नियमित गर्ने ऐन, २०५६ परिच्छेद (२)को दुई नं बुदाँले बताउँछ तर, जिल्ला सदरमुकाम भित्रै बालबालिकालाई श्रमिकको रुपमा राख्ने धेरै छन ।
दिपायल सिलगढी नगरपालिका ९ मसुन्तोलाका अधिकाशं परिवारका बालबालिका सिलगढीका बढीजसो स्थानीयको घरमा काम गर्छन । ती घरमा काम गर्ने बालबालिकाहरु १० बजेसम्म घरमा काम गरेर सिलगढीका बिद्यालयमा जाने पढ्ने  गर्छन । कतिपय आधारभूत बिद्यालयमा त कतिपय माध्यमिक बिद्यालयमा । 
शैलेश्वरी आधारभूत बिद्यालयमा निरन्तर बिद्यालयमा उपस्थित हुने बालबालिका ८ जना छन । ती बालबालिका सबै श्रमिक हुन । तिनीहरुले नै बिद्यालय धानेको छ । स्थानीयका प्राय त्यो बिद्यालयमा पढ्दैनन् । मन्टेश्वरी र निजी बिद्यालयमा धाउँछन । अभिभावकहरुले पनि बढी बालबालिका हुनेले मात्र त्यो बिद्यालयमा पठाउँछन । अन्य सबैले निजी बिद्यालयको शिक्षा दिने गर्छन ।
५४ जनामा ४५ जना दलित समुदायका बालबालिका 
बिद्यालयमा भर्ना भएका ५४ जना बालबालिका मध्ये ४५ जना दलित समुदायका बालबालिका छन । गैर दलित भनेका पनि ८ जना श्रमिक बालबालिका र १ जना स्थानीय बालिका गरी ५४ जना छन । दलित समुदायमा बढी बालबालिका भएकाहरुले मात्र उक्त बिद्यालयमा पठाउने गरेका छन । कतिपयले बार्षिक भत्ता पाउनका लागि पठाएका छन । दिनभर मजदुरी गर्ने र बेलुका जाँडरक्सी खाइ होहल्ला गर्नेहरुका बालबालिकाहरु बढी भएका कारण शैलेश्वरी बिद्यालयमा पठाउने गरेको प्रधानाध्यापक बिना श्रेष्ठले बताइन ।
मजदुरी गर्दै डोटी आएका मजदुरका बालबालिकाहरु पनि त्यो बिद्यालयमा भर्ना भएका छन । भर्ना भएका बेला सिलगढीमा हुने र बाँकी समय जता आमाबुवा जाने त्यतै बालबालिका जाने गरेका गर्छन । ती पनि अति न्युन रुपमा बिद्यालयमा उपस्थित हुने गरेका छन । जताततै नीजि बिद्यालय सञ्चालन गर्नाले उक्त बिद्यालयमा बालबालिका नआएको प्रधानाध्यापक श्रेष्ठले बताइन । उनले भनिन, ‘अरु बिद्यालयमा यतिका लगानी गरेको छ, हाम्रो बिद्यालयमा बालबालिकालाई पौष्टिक आहारबाट दिइने (लिटो) नास्ताको ब्यवस्था पनि गरेको छैन । सरकारबाट पाउने सेवा सुबिधा कुनै पनि नआउँदा बालबालिका घटेका हुन ।’
सिलगढी मै ५ मिनेटको अन्तरमा पद्यम पब्लिक माध्यमिक बिद्यालय छ, ५/६ मिनेटकै अन्तरमा पाँच सामुदायिक आधारभूत बिद्यालयहरु छन । ती बिद्यालयमा गाभ्ने हो भने पनि सजिलो हुने स्थानीयहरु बताउँछन ।
नीजि बिद्यालय संचालन हुँदा सामुदायिक बिद्यालयमा बालबालिका घटेको भन्नु बाहाना मात्र भएको दिपायलका (नाम नखुलाउने सर्तमा) एकजना शिक्षकले बताए । जिल्लाका उत्कृष्ठ सामुदायिक बिद्यालयहरु पनि छन । सीताराम माबि, भगवती माबि, राधाकृष्ण माबि लगायतका बिद्यालयहरुमा नीजि बिद्यालय छोडेर पनि ती सामुदायिक बिद्यालयमा जान्छन । त्यो शिक्षण सिकाई र ब्यवस्थापनको हातको काम रहेका उनले जिकिर गरे ।
यो समस्या शैलेश्वरी आधारभूत बिद्यालयमा मात्र होइन, जिल्ला सदरमुकाममा ७ बिद्यालयमा नै यस्तै छ । बिद्यार्थीहरु नहुँदा बिद्यालय नामका मात्र भएका छन । पहाडी जिल्लाहरुमा एक जना शिक्षकले ४५ जना बिद्यार्थीहरुलाई पठनपाठन गर्नुपर्ने भएपनि डोटीका कतिपय सामुदायिक बिद्यालयमा २ जना शिक्षकले १० जनालाई मात्र पढाउनु पर्ने ब्यवस्था रहेको छ ।

डोटीमा ४१ दिन देखि आन्दोलन जारी

प्रदेश राजधानीको माग गर्दै डोटीमा ४१ दिन देखी आन्दोलन जारी   रहेको छ ।  ७ नम्बर प्रदेशको राजधानी दिपायल हुन पर्ने माग गर्र्दै सुरु भएको आन्दोलन निरन्तर छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर नेतृत्वको सरकारले अस्थायी राजधानी कैलाली तोकेपछि डोटी आन्दोलित बनेको थियो । राजधानीका लागी सुरु भएको आन्दोलन सरकारी कार्यालयमा तोडफोड हुनुका साथै दर्जनौं आन्दोलनकारी घाईते भएका थिए ।
राष्ट्रिय सभाको निर्वाचन डोटीमा सम्पन्न हुने भएपछि जनप्रर्दशन तथा आमहड्तालका कार्यक्रम फिर्ता लिएर घर्नाको कार्यक्रम जारी रहेको छ । सहिले आन्दोलनकारीले क्षेत्रिय प्रशासन कार्यालय राजपुर र जिल्ला प्रशासन कार्यालय सिलगढीमा धर्ना दिने काम भैरहेको छ । संर्घष समितिका संयोजक नरेन्द्र खड्काले भने ‘डोटीमा राजधानी नहुँदा पनि राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्ने अबसर पाउनु हाम्रा लागी सुखल कुरा हो,  निर्वाचनलाई मध्यनजर गर्दै  आम हड्ताल फिर्ता लिएका छौं, त्यसैले डोटीमा आउने माननिय तथा स्थानीय तहका प्रमुख तथा उप प्रमुखलाई स्वागत गर्ने छौं ।’
डोटीमा राजधानी बन्नु पर्ने बिषयमा आफ्नो धारणा स्पस्ट रहेको  प्रदेश सभाका सांसद त्रिलोचन भट्टले बताए । भट्टले भने ‘हामी हिजो, आज र भोली सधैँ दिपायलका पक्षमा हुँन्छौं । राजधानी दिपायल हुन पर्नेमा हामी स्पस्ट छौं ।’
भूगोलका सबै जनतालाई न्याय हुनेगरी राजधानी  केन्द्रीय भूभागमा तोक्नु पर्ने नेकपा एमालेका अध्यक्ष चक्र मल्लले बताए । मल्लले भने ‘राजधानी नहुन्जेल हाम्रो आन्दोलन जारी रहन्छ, स्वरुप परिर्बतन हुँन्छ तर माग कायमै रहन्छ ।

स्थानीय तहमा बैंक नहुँदा सास्ती

खगेन्द्र सिंह/डोटी
माघ २२
स्थानीय तहहरुमा बैंक स्थापना नहुँदा उपभोक्ताहरुलाई दोहोरो झण्झट भईरहेको छ । सरकारी सेवा सुबिधाहरु स्थानीय तहमै सञ्चालन भईरहे पनि बैंक नहुँदा झण्झट व्यहोर्नु परेको हो । बैंक नहुँदा कार्यालय सञ्चालनमा समेत समस्या देखिएको छ ।
सानादेखि ठुला योजना सञ्चालन गर्दा बैंक खाता खोल्नु पर्ने बाध्यता रहेको छ । ‘योजनाहरु सम्झौता गर्दा गाउँपालिकामा जानु पर्दछ’, जोरायल गाउँपालिका–१ घण्टेश्वरका सोपानसिं ओलीले भने ‘सम्झौता पश्चात बैंक खाता खोल्न फेरी जिल्ला सदरमुकाम जानु पर्ने बाध्यता रहेको छ ।’ गोगनपानी साकिनडाँडा सडक योजनाका अध्यक्ष समेत रहेका ओलीले भने ‘गाउँपालिका र सदर–मुकाम दुबै ठाउँ जानुपर्ने भएकाले समय पनि खेर जाने र खर्च पनि दोहोरो हुन्छ ।’
‘सिंहदरबार गाउँमै आयो भन्थे तर अहिले झन सास्तीव्यहोर्नु परिरहेको छ’, बोगटान गाउँपालिका–१ सिमचौर स्थित छिडीदान मेलखाली काँट्े सडक निर्माण आयोजनाका अध्यक्ष कृष्ण बोहराले भने, ‘पहिले भन्दा अहिले झनै झण्झट भईरहेको छ ।’ ‘सम्झौता देखि बैंकको खातापाताको काम सबै पहिले सदरमुकाम एकै ठाउँमा हुन्थ्यो’, बोहराले भने, ‘अहिले एउटा काम गाउँपालिका अर्को काम   सदरमुकाममा गर्नुपर्ने बाध्यता भएको छ ।’
स्थानीय तहमा बैंक स्थापना नहुँदा वडा सचिबशरुलाई समेत समस्या  भईरहेको छ । ‘बैंक नहुँदा सामाजिक     सुरक्षा भत्ताको लागि छुट्याइएको लाखौंको रकम सदरमुकामबाट एक्लैले बोकेर लैजानुपर्ने बाध्यता रहेको छ’, जोरायल गाउँपालिका वडा नम्बर एक घण्टेश्वरका सचिब तारा प्रसाद अधिकारीले भने, ‘सुरक्षाको दृष्टिकोणले हामीहरुलाई साह्रै गाह्रो भईरहेको छ ।’ ‘सानोदेखि ठुलो चेक साँट्न पनि सदरमुकाम धाउनु पर्छ’, बोगटान गाउँपालिका–१ सिमचौरका सचिब चत्र बहादुर थापाले भने ‘स्थानीय तहमा बैंक नआएर सबैलाई गाह्रो भईरहेको छ ।’
दिपायल सिलगढी नगरपालिका बाहेक अन्य स्थानीय तहहरुमा अझै बैंक स्थापना हुन सकेका छैनन् । शिखर     नगरपालिकामा बैंक स्थापना भइसकेको भएपनि आफ्ना सेवाहरु भने अझै सुचारु गर्न सकेको छैन ।
स्थानीय तहहरुमा भवन अभाव र सुरक्षाको कारणले बैंकहरु स्थापना हुन नसकेका भन्ने गुनासो आईरहेको भएपनि डोटीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री सो कुरासंग सहमत छैनन् । ‘सुरक्षा दिने जिम्मेवारी हाम्रो हो, हामी सुरक्षा दिन तयार छौं’ खत्रीले भने, ‘सरकारले निजी क्षेत्रका बैंकहरुलाई स्थानीय तहहरुमा सेवा सुचारु गर्न भनेको भएपनि उनीहरुले मानिरहेका छैनन् ।’
‘निजी क्षेत्रका बैंकहरु नाफामूखि मात्र काम गरिहेका हुन्छन्’, प्रजिअ खत्रीले भने, ‘स्थानीय तहहरुमा धेरै नाफा नदेखेर नआएका हुन सक्छन् ।’‘उनीहरुलाई नियमन गर्ने जिम्मेवारी राष्ट्र बैंकको भएपनि अहिले सम्म हुन सकेको छैन’, खत्रीले भने, ‘भवन अभाव सुरक्षाको समस्या कुनैपनि रहेको छैन ।’
कार्यालय संचालनमा समेत समस्या
स्थानीय तहमा बैंक नहुँदा कार्यालयको नियमित काम काजमा समेत समस्या आईरहेको छ । ‘बैंक नआउँदा हामीहरुलाई कामकाजमा समेत समस्या आईरहेको छ’ सायल गाउँपालिकाका अध्यक्ष तेज डुम्रेलले भने ‘कार्यालय सञ्चालन गर्दा एक्कासी कुनै कुराको आवश्यकता पर्दछ, त्यसबेला नगद पैंसा हुँदैन, चेक काट्दा बैंक नजीक छैन, त्यसैले समस्या आईरहेको छ ।’
‘बैंक नहुँदा बिशेषगरी उपभोक्तालाई समस्या भईरहेको छ’, केआईसिं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, कर्मचारी तथा जनप्रतिनिधिहरुले समेत बैंक नहुँदा समस्या व्यहोर्नु परिरहेको छ ।’ ‘टाढाका वडाहरुबाट कामको लागि उपभोक्ताहरु आउँछन तर बैंक नहुँदा फेरी सदरमुकाम जानुपर्ने बाध्यता रहेको छ’ शाहीले बताए ।

निमित्तको भरमा स्थानीय सरकार

कर्ण चन्द/डोटी
माघ २२
डोटीको पुरानो नगरपालिका दिपायल सिलगढी नगरपालिका गत भाद्र देखि निमित्त कार्यालय प्रमुखले सञ्चालन गरिरहेका छन । तत्कालीन कार्यकारी अधिकृत तुल्सीप्रशाद आर्चाय भाद्र महिनामा सरुवा भए देखि भोजराज शर्माले निमित्त प्रमुखको जिम्मेवारीमा सम्हालेका छन । शर्मा जिल्ला बन कार्यालयका सहायक बन अधिकृत हुन ।
डोटीको शिखर नगरपालिकामा पनि कृषि शाखाका कृष्णदत्त पाण्डे निमित्त प्रशासकीय प्रमुखको भूमिकामा छन् । उनी कृषि प्राबिधिक हुन । सायल गाउँपालिमामा पनि नायब सुब्बा लालबहादुर बोगटी  प्रशासकीय प्रमुखको जिम्मेवारीमा छन । पुर्बिचौकी गाउँपालिको प्रमुख पनि निमित्तको भरमा सञ्चालन भइरहेको छ । 
यस्तै जोरायल गाउँपालिकामा तेजबहादुर खत्री निमित्त प्रशासकीय प्रमुख छन । उनी गाउँपालिकाको शिक्षा ईकाईका प्रमुख हुन । जिल्लाका ९ स्थानीय तहमध्ये  ६ निमित्त प्रशासकीय प्रमुखको भरमा सञ्चालन भइरहेका छन । स्थानीय सरकारका रुपमा अधिकार प्राप्त स्थानीय तह निमित्तको भरमा सञ्चालन हुँदा सेवा प्रवाह प्रभाकारी हुन नसकेको गुनासो गरेका छन ।
गाउँपालिकामा शाखा अधिकृतका कार्यकारी खटाईए पनि स्थानीय तहमा नबस्दा निमित्तको भरमा स्थानीय सरकार सञ्चालन भइरहेको छ ।  जनप्रतिनिधिले नीतिगत निर्णय गर्ने भएपनि कार्यान्वयन गर्ने जिम्मा कर्मचारीको भएका कारण योजनाको प्रभाबकारी कार्यान्वय हुन नसकेको पुर्बीचौकी गाउँपालिका अध्यक्ष दिर्घ बोगटीले बताए । बोगटीले भने ‘हामी कहाँ दरबन्दी अनुसारका कर्मचारी छैनन्, त्यसमाथीमा प्रशासकीय प्रमुख नै हुनुहुन्न निमित्त कर्मचारीले काम सञ्चालन गरिरहेका छौं ।’
प्रशासकीय प्रमुख र मातहतका कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या भएको सायल गाउँपालिकाका निमित्त कार्यकारी लालबहादुर बोगटीले बताए । बोगटीले भने ‘म एक जना कर्मचारी निमित्त कार्यकारी, सायल गाउँपालिकाको वडा नं. ४ र ६ को वडा सचिब पनि छु, यति  धेरै जिम्मेवारी कसरी सम्हाल्न सकिन्छ ।’ बोगटीले थपे ‘कार्यालय समय त भयो नै बिहान, राती र बिदाको दिनमा पनि काम गर्नु पर्ने अबस्था छ ।’ कार्यालय प्रमुख मात्र होईन अन्य बिभिन्न पदका जनशक्ती अभाब रहेको छ । 
दोहरो जिम्मेवारीमा कर्मचारी  
गाउँपलिकाका कर्मचारी दोहरो जिम्मेवारीमा भएका कारण काममा ढिला सुस्ती भएको पुर्बीचौकीका अध्यक्ष     दिर्घराज बोगटीले बताए । बोगटीले भने ‘निमित्त कार्यकारीले आफ्नो जिम्मेवारीको पनि काम गर्नु प¥र्यो र निमित्त कार्यकारी दुबै तर्फको जिम्मेवारी सम्हाल्दा काममा ढिला सुस्ती हुन्छ, कर्मचारी दोहरो जिम्मेवारीमा पनि छन ।’ 
स्थानीय तहका बारेमा अनुभब प्राप्त जनशक्ती नहुँदा कार्यक्रम कार्यान्वयन समस्या भएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।  गडसिलाले भने ‘हाम्रा लागी पनि यो नयाँ अनुभब छ, कर्मचारीका लागी पनि नयाँ गर्दै सिक्नु पर्ने र सबै ऐन, कानुन, नियमावली अध्ययन गर्दै जाँदै छौैँ ।’ स्थानीय तह नयाँ संरचना भएका कारण काम गर्दै सिक्दै जानु पर्ने सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । 
स्थानीय तहमा कर्मचारी ब्यबस्थान गर्ने क्रममा रहेका कारण केही समय निमित्तले सञ्चालन गरिरहेको गृह मन्त्रालयका सहसचिब आनन्दराज ढकालले बताए । ढकालले भने ‘अव चाँडै  स्थानीय तहमा जनशक्ती पुर्ति हुनेछ ।’

छोटकरी समाचार 

गौरीशंकरलाई उमाबि बनाउन पहल

डोटी जोरायल गाउँपालिका–१ गैरामा रहेको  गौरीशंकर गौरीशंकर माबिलाई कक्षा १२ सम्मको पढाई हुने गरि पहल सुरु भएको छ । 
शनिवार सम्पन्न अभिभावक भेलाले हाल कक्षा १० सम्मको अध्ययन/अध्यापन   भईरहेको बिद्यालयलाई कक्षा १२ सम्म लैजाने निर्णय गरेको छ । भेलाले स्थानीय शोपानसिंह ओलीको संयोजकत्वमा १३ सदस्यीय कार्यदल समेत गठन गरेको छ । समितिमा स्थानीय जनप्रतिनिधिहरुलाई पनि राखिएको छ ।

प्रेस चौतारीको स्थापना दिवस मनाईयो

प्रेस चौतारी नेपालको २० स्थापना दिवस डोटीमा पनि मनाइएको छ । 
क्रियासिल पत्रकारहरुको पेशासगत संगठन प्रेस चौतारी नेपाल डोटी शाखाले स्थापना दिवसको अवसरमा स्थानीय तहका जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरि मनाएको हो । डोटीको पत्रकारिताका सवाल बिषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले पूर्ण प्रेस स्वतन्त्रताका लागि आफुहरुले पु¥याउनु पर्ने योगदानका लागि तयार रहेको प्रतिवद्धता जनाएका छन । 
प्रेस चौतारी डोटीका अध्यक्ष झलक पालीको अध्यक्षता र नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुले स्थानीय सञ्चारमाध्यमको बिकासका लागि स्थानीय तहले सहयोग गर्ने पर्ने माग गरेका थिए ।

खेल समाचार 

उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने

अनलाइनखबरबाट

शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यू डायमण्ड र र एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोमबार भएको खेलको पहिलो सेमिफाईनल खेलमा शिवम् न्यू डायमण्डले पोखराको टप्सउपाबीलाई ३–१ को सेटमा हरायो । दोश्रो सेमिफाईनल खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउदै फाइनलमा स्थान बनायो । नयाँ बसपार्क स्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा आयोजक टोली शिवम् न्यू डायमण्ड एकेडेमीले टप्सउपाबीलाई २५–९, २२–२५, २५–१८ र २५–१५ को सेटमा हरायो । शिवम् न्यू डायमण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेकी दोश्रो रोजाईकी ओपन स्पाईकर पनमिका राई वुमन अफ दी म्याच चुनिईन् ।
शिवम् सिमेन्टको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको दोश्रो सेमिफाईनल खेलमा वुमन अफ दी म्याच चुनिएकी क्विक स्पाईकर हिरा केसीको महत्वपूर्ण योगदानमा एपीएफले बिभागीय प्रतिद्वन्द्वी आर्मीलाई २५–१५, २५–१७ र २५–६ कोसेटमा हरायो ।
प्रतियोगितामा वुमन अफ दी म्याच चुनिएका खेलाडीहरुलाई स्पोर्टस् पोशाक उत्पादन कम्पिनी साहास स्पोर्टस्का प्रमुख जनक न्यौपानेले प्रायोजन गरेका छन् । साहास स्पोर्टस्ले प्रतियोगिताका वुमन अफ दी म्याचका सम्पूर्ण खेलाडीहरुलाई आफ्नो ब्रान्टको ट्रायक–सुट उपलब्ध गराएको छ ।
आज प्रतियोगिताको फाइनल खेल आयोजक टोली र एपीएफबीच हुनेछ । त्यस्तै टप्स स्कुल र आर्मीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तीन दिने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने भनिए पनि नेपाल पुलिस र श्रीगाउँ खेलकुद बिकास समिति दाङको टोलीले सहभागिता नजनाएपछि चार टोलीबीच मात्र प्रतिस्पर्धा गराइएको हो । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, उपबिजेताले १ लाख १ हजार तथा तेस्रो र चौथो हुनेले क्रमसः ५१ र २१ हजार पुरस्कार पाउनेछन् ।

चलचित्र/मनोरञ्जन 

यसकारण दर्शकले ‘भद्रगोल’ हेर्न नपाउने

चर्चित हाँस्यटेलिश्रृखला ‘भद्रगोल’ अब दर्शकले हेर्न नपाउने भएका छन् । नेपाल टेलिभिजनबाट हरेक साता      प्रसारण हँुदै आएको यो श्रृखला यो साताबाट प्रसारण नहुने भएको छ । 
‘भद्रगोल’ बन्द भएको जानकारी श्रृखलाका निर्देशक मध्यका एक अर्जुन घिमिरे ‘पाँडे’ले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । घिमिरेले श्रृखला सम्बन्धी एक लामो स्टाटस पोष्ट गर्दै दर्शकले अब ‘भद्रगोल’ हेर्न नपाउने जनाएका हुन् ।
आजसम्म ‘भद्रगोल’लाई साथ दिने मिडिया हब, दर्शक प्रति आभार व्यक्त गर्दै घिमिरेले आर्थिक समस्याका कारण श्रृंखला बन्द गर्नु परेको उल्लेख समेत गरेका छन् । 
कार्यक्रमको सम्झौता अनुसार कहिले पनि रकम भुक्तानी भएन । केही कथित ब्यक्तिहरुको मनोमानीले गर्दा कार्यक्रम उत्पादनमा निकै समस्या परेको घिमिरेले बताए । ‘मिडिया हबको कर्मचारी भद्रगोलको निर्देशक भन्दा माथी देखिए ,’ घिमिरेले अगाडि लेखेका छन् ‘केही ब्यक्तिको स्वार्थले कार्यक्रम मनोमानी ढंगले बिगारेर प्रशारण गराइयो ।’
मिडिया हबको ब्यापारलाई उच्च मुल्यांकन गरी दर्शकले चाहे अनुसारको श्रृंखला निर्देशक गरेको समेत उनले दाबी गरेका छन् । 
छोटो समयमै दर्शकको मन जितेर चर्चित बनेको ‘भद्रगोल’ केहि अघि पनि आर्थिक तथा आन्तरिक विवादका कारण बन्द भएको थियो । ‘भद्रगोल‘ करिब ३ वर्षदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । श्रृखलामा घिमिरेको अलवा कुमार कट्टेल ‘जिग्री’, रक्षा श्रेष्ठ लगायतको अभिनय रहँदै आएको थियो ।

लेख 

आयूष्मानको भविश्य पोषणले गर्नेे ।

चाणक्य अधिकारी
 बहुक्षेत्रीय पोषण योजना 
जिल्ला संयोजक , डोटी
यहि समयमा पु¥याइने  हेरविचारले उनीहरुको भविश्य निर्धारण गर्छ भन्ने थाहा पाएपछि अम्वरराज जोशी आफ्नो वच्चाको स्याहारमा तल्लीन भएर लागेका  छन । 
२०७३ चैत्रको २८ मा वहुक्षेत्रीय पोषण योजनाको गोष्ठी हुँदा उनकी श्रीमती कल्पना जोशीले वच्चा जन्माएको भरखर  पाँच महिना ८ दिन  पुगेकोे रहेछ । ‘सुनौला हजार दिनको महत्व अगाडी थाहा पाउन पाएको भए गर्भवती समयमा पनि धेरै ध्यान दिन्थे पछि मात्र थाहा पाइयो, हजार दिनमा मात्र वुवा आमा र अभिभावकले वढि ध्यान दिन सके उसको जीवन राम्रो हुन्छ भने यो समयको ख्याल गर्नु पर्छ भनेर हामी दुवै जना समय मिलाएर वच्चाको स्याहारमा लागेका  छौं ।’ गोष्ठीको कुरा स्मरण गर्दै अम्वरराजले भने ।
पौषको जाडो महिना, घाम पश्चिमतीर ढल्किदै गरेको समयमा घरको पिँढीमा वसेर उनको कुरा सुन्दा मज्जा आइरहेको थियो । वच्चा र आमालाई ‘हरेक वार खाना चारमा’ कमी हुन दिएको छैन । वहुक्षेत्रीय पोषण योजना अन्र्तगत जिल्ला पशु सेवा  कार्यलयले दिएको कुखुराको चल्लाले अण्डा दिने भएपछि घरमै अण्डा पुगेको छ । पहिले दिपायलवाट क्यारेटमा नै अण्डा  ल्याउथे । शुरुमा कुखुरा पालन गर्दा जजमानी गर्ने वाहुनले कुखुरा पालन गर्न लाग्यो भनेर खिस्सी गरे । मैले वच्चाको लागी अण्डा ख्वाउन सरकारले दिएको हो भने पछि उनी पनि अण्डाको महत्व वुझ्न थालेका छन । चल्ला पाउन साथ वाथ रुममा राखे । पाँच  चल्लामा २ वटा  घरकै विरालोले खाइदियो त्यसैले जाली खोर वनाएर छुट्टै पाल्न थालेको छु ।
भाले ३ किलो भएपछि काटेर खाइयो । दुइ पोथीवाट २ वटा ताजा अण्डा आमा र वच्चालाई पुगेको छ । जाडोमा अण्डा नदेलान भनेर कुखुरालाई तातो पानी र दानाको जोहो गरेको छु । यी कुखुरा साह्ै राम्रा रहेछन, यीनको अण्डावाट चल्ला निकाल्न सकिन्छ सर ? उनले गरेको कौतुहलपूर्ण प्रश्नले दिइएका कुखुराहरु अण्डामात्र पार्नेे हुन मात्र वुझिन्थ्यो । कुराकानीकै सन्दर्भमा मैले  भाले लागेपछिका अण्डाहरु लोकल कुखुरालाई कोरल्न दिए चल्ला निस्किन्छ भने । अव केही अण्डा सरले भने जस्तै गरी कोरल्न  दिएर चल्ला वनाउनु प¥यो ।  अहिले त छिमेकी विष्णु शर्माले पनि कुखुरा पालन गर्न थालेका  छन । उनले गाउघरमा कुखुरा पालन गर्न वातावरण वनेकोले कुखुरा वढाउने योजना वनाए जस्तो उनको आभाष झल्किन्थ्यो । 
गाउघरमा फलफूल किन्न पाइदैन, दिपायलवाटै अनार र स्याउ जिपमा मगाएर खुवाउने गरको छु । अनार, अम्वा, आरु र केरा लगाएको छु, आउदो वर्ष देखि केही फलफूल त घरमै पनि हुन्छ होला, केही त किन्नै पर्ला । मेरो आँखा उनको घर वरीपरीको वारीका सुर्काहरुमा दौडिए । उनको घर आँगनमै अनारको वोट हुर्केको थियो । पालुङ्ग, मेथी, रायोको साग र मूला २ वटा सुर्काहरुमा हर्लक्क भएका थिए, बारीको भित्तामा गोलभेडा लटरम्मै फलेका थिए । वारीको छेउछाउमा अम्वा, केरा र आरु थिए । वीचवीचमा  प्याजको वोट हर्लक्क वढेका थिए । ‘कृषिवाट तालिम नलिएपनि देखेरै तरकारी खेती गर्न सिकेको छु । प्याजको वीउ आफै वनाउछु । अव यो वारीमा तरकारी मात्र लगाउछु । यसपछि काक्रो र फर्सी अनि वैमौसमी तरकारी लगाउनु पर्ला । फर्सीको डल्ला र मुन्टा खान हुन्छ, हरियो पुगिहाल्ला । आलु लगाउन ठाउ नै पुग्दैन, यो ठाउ मातेमा (वन्धकी) लिने विचार गरेको छु’ उनले आफ्नो घर छेउको वारी देखाउदै भने ।
तपाइले धेरै राम्रो ब्यवस्था गर्नुु भएको छ, यो सवै गर्न पानी पुग्दैन होलानी ? मैले तरकारीवारीको सिंचाइ व्यवस्थापनमा सन्देह राखेर प्रश्न गरे उनले वाथरुम र जुठेल्नोवाट खेर गएको पानी वारीमा पु¥याएको पाइप देखाउदै वारीमा लगे । मैले उनको र तरकारी वारीको दृश्य क्यामरामा कैद गरे आमा घरमा नभएर होला त्यतिवेला पनि उनले छोरालाई अँगालोमै राखेका थिए ।
वच्चाको औधि स्याहार गर्ने वावुको यो व्यवहार देखेर  वच्चालाई आमाको दुध कतिखेर खुवाउनु हुन्छ ? भनि सोधे । उनले गाईको र आमाको दुध गरि दिनमा ६, ७ पटक खुवाउने र अण्डा र सागपात सहितको लिटो खुवाउने गरेको वताए । घरमा दुध नभएपछि गाउवाट १ लिटर दुध दैनिक किन्ने व्यवस्था मिलाएका रहेछन ।
साझ पख लसुनवारीवाट उनकी श्रीमती पनि आई पुगिन । उनले ‘वच्चाको आमा उनै हुन’ भनेपछि मैले अभिवादन गरे । ‘उहाँ हाम्रो पोषणको सर’ उनले मेरो छोटो परिचय गराई दिए । हात गोडा धोएपछि उनले वच्चालाई काखमा लिइन र दुध खुवाइन । अम्वरराजले तरकारीवारीवाट सागसव्जि टिपेर ल्याए । केहि छिनमै खाना तयार भयो । ‘हात धुनुस सर, खाना खाउ’, उनले घर आगन छेवैमा रहेको हात धुने ठाउमा सावुन पानी देखाउदै संकेत गरे । 
खाना पछिको केही भलाकुसारीपछि सुत्नको लागी तैयारी गर्दै थियौं, एक्कासी विरालो भित्र पस्यो र भित्तामा रहेको सुकुटी मासुको सिलहरुलाई लक्षित गरी कराउन लाग्यो । ‘के को मासु हो अम्वर सर ?’ मैले सोधे । ‘के गर्ने गाउमा दिनदिनै मासु पाइदैन, वच्चालाई खुवाउन लोकल कुखुराको सुकुटी वनाएर राखेको । यो सुकुटीको एक टुक्रा उमालेर त्यसको रस प्रत्ेयक दिन खुवाउछौं । वच्चाको लागी यति नगरे गाउमा कसरी मासु जुटाउन सकिन्छ र ?’ पशुजन्य प्रोटीनको मात्रा जुटाउने उनको यो कार्य उदाहरणीय लाग्यो ।
उनको यो वच्चाप्रतिको लगाव साह्ै मन प¥यो । सवै सुनौला हजार दिनका वुवाआमाले यसरी नै सोच्ने र व्यवहार अपनाउने हो भने राज्यले सोचेको पुड्कोपन घटाउने र मानव पूँजीको विकास गर्ने दीर्घकालीन लक्ष्य पुरा गर्न धेरै दिन पर्खन पर्ने छैन । 
विहानै अम्वरराज सर म वसेको  कोठामा आउनु भयो, हिचकिचावट भावमा ‘सरलाई कोदेको रोटी कतिको मन पर्छ ? चिया रोटी  ल्याउकी ? हामी त जाडोमा यस्तै खाजा  खान्छौ ।’ भन्दै सोध्नु भयो । म पनि यस्तै खाएर हुर्केको, मलाई धेरै मन पर्छ भने पछि उहाले रोटी चिया ल्याई दिनु भयो । मैले खाएको देखेर मुसुक्क हास्दै भन्नु भयो ‘सरलाई पनि कोदेको रोटी मन पर्ने रहेछ ।’ अम्वरराज दम्पत्तिको यो सौहार्दता र ब्यवहारले मेरो मन छोयो । मैले उहाँको परिवार सहितको फोटो यात्रा संस्मरणमा राख्न मन लाग्यो र उहाँहरुलाई फोटोको एक पोज दिनको लागी अनुरोध गरे । दुवै दम्पती र वच्चाको फोटो लिदै गर्दा ‘छोराको नाम के हो ?’ भनी सोधे । दुवैको एकै स्वर सुनियो ‘आयुष्मान’ । वाहुनले राखिदिएको नाम त अर्कै हो यो उनकै फूपुले राखी दिएको । उनले परम्परागत तरिकाले राख्ने नाम भन्दा यो अलिक सान्र्दभिक र राम्रो नाम भन्नेमा गर्व गरेको महशुस उनको भावमा झल्किन्थ्यो । ‘तपाईहरुको अथक स्याहार र ममताले आयुष्मानको भविष्य राम्रो हुन्छ ।’ मैले उहाँहरुको वच्चाप्रतिको स्याहार सुसार र ममतालाई सम्मान जनाए । अम्वरराज सरले भने ‘सवै खोप दिई सक्यांै एउटा मात्र वाँकी छ, अहिले ८ केजी तौल पुगेको छ । राम्रो पालनपोषणले गर्दा अहिलेसम्म केही रोग लागेकोे छैन, पोषण राम्रो भए भविष्य राम्रो हुन्छ भन्ने विश्वास गरेका छौं ।’

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

चलचित्र सम्बन्धी जानकारी
१. नेपाली भाषाको पहिलो चलचित्र             – सत्य हरिश्चन्द्र
२. नेपालमा बनेको पहिलो चलचित्र             – आमा(२०२२)
३. पहिलो रगिँन नेपाली चलचित्र                –  कुमारी
४. निजिक्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र       – माईतीघर
५. नेवारी भाषाको पहिलो चलचित्र                 – शिलु
६. लिम्बु भाषाको पहिलो चलचित्र            – खाप्पुना मरङ्ना
७. पहिलो नेपाली अभिनेता              – शिवशंकर मानन्धर (आमा)
८. पहिलो नेपाली नायिका              – भुवन थापा (चन्द), आमा चलचित्र
९. चलचित्र संस्थानद्धारा निर्मीत पहिलो चलचित्र       – मनको बाँध
१०. ओस्कार अवार्डका लागि नोमिनेटेड              – क्याराभान
११. पहिलो महिला निर्देशक                 – सुचित्रा श्रेष्ठ
१२. नेपालको पहिलो सिनेमा हल                      – जनसेवा सिनेमा हल
१३. नेपाल टेलिभिजनद्दारा प्रशारित पहिलो टेलिचलचित्र                 – पृथ्वीनारायण शाह
१४. नेपाल टेलिभिजनद्दारा प्रशारित प्रथम संस्कृत भाषाको टेलिचलचित्र       – गुरु दक्षिणा
१५. नेपालको पहिलो सिनेमास्कोप चलचित्र                      – राँको
१६. नेपाल चलचित्र संस्थानको स्थापना                    – २०२८ कार्तिकमा
१७. सर्वप्रथम रजत जयन्ती मनाउने नेपाली चलचित्र                – कुसुमे रुमाल
१८. धिमाल भाषाको पहिलो चलचित्र                      – उनी
१९. राई भाषाको प्रथम चलचित्र                     – साईबुङ (कुटुम्ब)
२०. नेपालको पहिलो गिती चलचित्र                        – गौँथली
२१. इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र                   – बादलपारी
२२. समुद्र पारी छायांकन गरिएको पहिलो                     – कस्तुरी
२३. नेपालमा बनेको पहिलो घम् चलचित्र                     –  भिजिलान्ते
केही समसामायिक जानकारीः
१. सरकारले दुई वर्षे तत्कालीन सुधार कार्ययोजना २०७२ कहिले पारित गर्यो ? 
                               –  वि सं २०७२ मङ्सिर २४
२. ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले ‘राष्ट्रिय सदाचार सम्मान’ कसलाई प्रदान गर्यो ?
                       – त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोबिन्द केसी
३. ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म ब्यापार विस्तार’ भन्ने नाराका साथ  वि.सं २०७२ पौष ८ देखि २१ गतेसम्म बुटबलमा आयोजना हुने मेला कुन हो ?
                                    – अन्तराष्ट्रिय लुम्बिनी एक्स्पो २०७२
४. भक्तपुर २० औं पूर्ण साक्षर जिल्लाका रुपमा कहिले घोषित भयो ? – वि.सं. २०७२ मङ्सिर २७
५. पाँच लाख रुपियाँ राशिको ‘प्रेस काउन्सिल सानिमा बैंक पत्रकारिता पुरस्कार’ कति बर्षमा प्रदान  गरिने छ ?                                  – प्रत्येक बर्ष
६. शिक्षा मन्त्रालयले २०७१ सालदेखि एसएलसी परीक्षालाई कति तहमा लेटर ग्रेडिङका आधारमा मूल्याङ्कन गर्ने भएको छ ?                                     – ९ तह
७. न्यायपरिषद्को २०७२ मङ्सिर २२ मा बसेको बैठकद्वारा संवैधानिक इजलासको न्यायाधिशका लागि सिफारिस भएका चार जना न्यायाधिस को को हुन् ?
                – गिरीशचन्द्र लाल, सुशीला कार्की, धैध्यनाथ उपाध्याय र गोपाल पराजुली
८. संवैधानिक परिषद्को २०७२ मङ्सिर २२ को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कसलाई नियुक्त गर्न सिफारिस गर्यो ?                         – डा. अयोधीप्रसाद यादव
९. संयुक्त राष्ट्रसंघको ७० औं महासभा २०१५ को नारा के हो ?
       – राष्ट्रसंघका ७० बर्षः शान्ति सुरक्षा र मानव अधिकारका निम्ति भावी मार्ग
१०. नेपालमै पहिलो पटक सरकाले सम्मानार्थ पत्रकार परिचय पत्र कसलाई प्रदान गर्यो ?
                                       – नारायण प्रसाद शर्मा (दाङ)
११. विश्वप्रसिद्ध टाइम पत्रिकाले सन् २०१५ को बर्ष व्यक्ति कसलाई घोषणा गर्यो ?
– जर्मन चान्सलर एन्जेला मर्केल (दोस्रोमा आतंकबादी समूह आईएसका नेता अबु बकर अल बग्दादी)
१२. नेपालको इभेन्ट आयोजक संस्था ई प्लानेटले भारतको नयाँ दिल्लीमा आयोजना गरेको मिस हेरिटेज इन्टरनेशनल २०१५ को उपाधि कसले जित्यो ? 
         – भियतनामकी युवती भिक्टोरिया फाम (थर्ड रनरअपमा नेपालकी निशा पाठक)
१३. नेपाल सरकारले हेलो स्वास्थ्य कार्यक्रम कहिले सुरु गरेको हो ?– वि.सं. २०६९ कात्तिक २९
१४. सन् २०१५ नोभेम्बर ३० देखि डिसेम्बर ११ मा सम्पन्न राष्ट्रसंघीय जलबायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–२१) कहाँ सम्पन्न भयो ?                            – पेरिस, फ्रान्स

साहित्य/सृजना 

दुई मुक्तक

मेरो माया तिम्रो लागि नाटक बनी दियो 
बिश्वास बनी भर पर घात बनी दियो
दुबैआत्मा जोगाउने कथाबस्तु छिचोलेर 
सिर्जित शब्द भावनाको बाधक बनी दियो ।।

तिम्रो मेरो सम्बन्धको हल्ला चल्यो दुनियाँमा 
थाहै नदिइ बिश्वासको कोटी जल्यो दुनियाँमा 
साना तिना जीन्दगीका उतारचढाब झेल्दा झेल्दै
आत्माले नै आज आफ्नो भाग्य छल्यो दुनियाँमा ।।
प्रभुराज खत्री

खप्तड छान्ना गाउँपालिका ५ बझाङ्ग
भगवान् कसम, सीमा मिचिएको बेला
झुक्नै सक्दैन, मन थिचिएको बेला
आत्मा भक्कानिँदा, थाम्न खोज्छु
तर सक्दैन, दार्चुला किचिएको बेला
पुष्पराज जोशी “पुकार’

गजल

एकाएकौँ बर्षपछि पुरानो त्यो माल देखेँ,
मोबाईलभित्र फेसबुकमा उनको नामको वालदेखेँ ।
गाह्रोथेन चिन्ह मलाई कति सुन्दर चिनार उनका,
टल्किरने दाँतसंगैँ ढल्किएका बाल देखेँ ।
अक्षरबाटै भएपनि दुईचारवटा कुरा गर्दा,
मुटुभित्र सजिएको आफ्नै माया जाल देखेँ ।
सारै दुख परेछरे बसाँई पनि सरेछरे,
अरु बाँच्ने दुनियाँमा उनको फरक चाल देखेँ ।
केछतनि खबर भनि एकएक गरी सोध्दै जाँदा,
चलचित्रको कथा जस्तो दुखदायी हाल देखेँ ।।
जयलक्ष्मी जोशी 
धनगढी ,कैलाली

सूचना/सन्देश/बिज्ञापन 

डोटी उद्योग बाषिज्य संघ डोटी

प्रदेश नं. ७ प्रादेशिक महोत्सव 
२०७४ साल माघ २८ गतेदेखि फागुन ९ गतेसम्म 
कलाकारहरुको सूची


सायल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय डोटी  प्रदेश नं. ७

गाउँ बस्तुगत बिवरण (profile) तयारीका लागि प्रस्तावना आव्हान ।

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१०/२३ गते 
गाउँ/नगर बस्तुगत बिवरण तयारी कार्यबिधि, २०७४ अनुसार यस सायल गाउँपालिकाको बस्तुगत बिवरण (Profile) तयार गर्नु पर्ने भएको हुँदा बस्तुगत बिवरण तयारीका लागि नेपालको प्रचलित कानुन अनुसार दर्ता सक्रिय रुपमा कार्यरत ईच्छुक एवं अनुभवी गैरसरकारी संस्था/कम्पनी/फर्मबाट तपशिलका शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रस्तावना आव्हान गरिएको छ । 
शर्तहरु 
१. बस्तुगत बिवरण चालु आर्थिक बर्षभित्र तयार गरि सक्नु पर्ने छ । छिटो सम्पन्न हुने गरि कार्ययोजना सहित आएको प्रस्तावनालाई प्राथमिकता दिईनेछ । 
२. प्रस्तावनामा प्राबिधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै तयार गरिएको हुनु पर्नेछ ।  
३. प्राबिधिक प्रस्तावमा बिस्तृत कार्ययोजना सहितका बस्तुगत बिवरण तयारीका   चरणहरु समावेश भएको हुनु पर्नेछ । 
४. आर्थिक प्रस्तावमा अनुमानित बजेटको बिस्तृत बिवरण (breakedown) समेत संलग्न गरिएको हुनु पर्नेछ ।  
प्रस्तावनासंग पेश गरिनु पर्ने कागजातहरु 
१. संस्था/कम्पनी/फर्म दर्ता प्रमाण पत्र 
२. चालु आर्थिक बर्षका लागि नविकरण गरिएको प्रमाण 
३. आर्थिक बर्ष २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन 
४. स्थायी लेखा नं. (PAN) मा दर्ता भएको प्रमाण पत्र 
५. आर्थिक बर्ष २०७३/०७४ को आय व्यय बिवरण पेश गरेको प्रमाण पत्र ।
६. सम्वन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्र (अनिवार्य)
७. संस्था/कम्पनी/फर्मको सामान्य जानकारी (बढीमा दुई पृष्ठ)
८. बस्तुगत बिवरण तयारीका क्रममा संलग्न हुने अनुभवी जनशक्तिको व्यक्तिगत बिवरण (कम्तीमा दुई जनाको)  

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः २०७४/१०/१५          
        जिल्ला डोटी पुर्वीचौकी गाउँपालिका वडा नं.१ साविक खिरसैन गा.वि.स.वडा नं.४ स्थित कि.नं. १६७ ऐ. वडा नं.५ स्थित कि.नं. ६१७, ६२३, ६२९, ६८४ ऐ. वडा नं.७ स्थित कि.नं. २२५, ६४०, ७९५ ऐ. वडा नं.८ स्थित कि.नं. २३६, २६५, २७४, २७५, २८४ र ऐ. वडा नं.९ स्थित कि.नं. ९४ को जग्गा सोही गा.वि.स.वडा नं. ५ रनसिं खड्काको नाती भिम वहादुर खड्काको छोरा विरु खड्काको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनी विरु खड्काको मिति ः २०५५÷१०÷१६ मा, निजको पत्नि कलुदेवि खड्काको मिति ः २०७१/१२/१४ मा मृत्यु भएको । निज मृतकवाट दुई जना छोरी भएकोमा छोरीहरु विवाह गरि गईसकेको र छोरा नभएकोले अपुताली परेको हुँदा मृतकको शेषपछिको हकदार आमा भेकुडी देवि खड्का र भाई खड्क वहादुर खड्का मात्र भएकामा आमा भेकुडीदेवि खड्काले आप्mनो वृध्द अवस्थाको कारण जनाई आप्mनो पुरै हकभोग छोरा खड्क वहादुर खड्कालाई छोडिदिएकी हुदां मृतक विरु खड्काको नाउँमा रहेको डोटी खिरसैन गा.वि.स.स्थित उल्लेखित पुरै कित्ता घर जग्गाहरु मेरो नाउँमा एकलौटी नामसारी गरी पाउँ भनी पुर्वीचौकी गाउँपालिका १ नं.वडा कार्यालय डोटीको च.नं.२२४ मिति ः २०७४÷१०÷१४ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनी प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र नाता प्रमाणित आदी प्रमाणहरु साथै राखी पुर्वीचौकी गाउँपालिका वडा नं.१ खिरसैन बस्ने खड्क वहादुर खड्काले यस मालपोत कार्यालय, डोटीमा मिति २०७४÷१०÷१४ मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, विरु खड्काको अपुताली नपरेको भए वा अन्य हकदार भए वा निज निवेदकको मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१०/१७ 
उपरोक्त सम्बन्धमा पूर्बीचौकी गाउँपालिका ७ डोटीमा रहेको यस श्री मष्टामाण्डौं माध्यामिक बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा पदपूर्ती गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
पद संख्या ः १ जना
तह ः निमाबि. तृतीय 
बिषयः गणित, बिज्ञान
किसिमः करार (अस्थायी)
तलब स्केल ः नेपाल सरकारले तोके अनुसार 
शैक्षिक योग्यता ः आईएस्सी वा सो सरह उत्र्तीण गरी १० महिने तालिम प्राप्त
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७४÷११÷०२ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७४÷११÷०३ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
स्थानीय अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति 
सम्पर्क फोन ः  ९८४८४८७७७९, ०९१६९८२८७
नोट ः महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएको उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१०/१७ 
उपरोक्त सम्बन्धमा यस मष्टेश्वर आधारभूत बिद्यालय दिपायल सिलगढी नगरपालिका ९ मछेन्तोला डोटीमा बाल बिकास सहजकर्ताको पद रिक्त रहेकाले मिति २०७४ माघ १७ को बिद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार उक्त पदपूर्ती गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकले निम्न सर्तको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवश्यक कागजात सहित आबेदन दिन हुन सबैलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. २०७४÷०७५
पद संख्या ः १ जना (महिला),  पदः बालबिकास सहजकर्ता
स्केल ः नेपाल सरकारले तोके अनुसार 
शैक्षिक योग्यता ः एस.एल.सी वा सो भन्दा माथि
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
दरखास्त दिने अन्तिम मिति ः २०७४÷११÷०२ गते कार्यालय सयमभित्र
परीक्षा दस्तुर ः १०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
सम्पर्क मिति ः२०७४÷११÷०५
दरखास्त बुझाउने स्थान ः श्री मष्टेश्वर आ.बि. दिसिनपा ९ मछेन्तोला डोटी
पेश गर्नु पर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्र (एसएलसी सर्टिफिकेट, मार्गसिट र प्रबेशिका     
   परीक्षा) को प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
 पासपोर्ट साइजको फोटो २ प्रति 
सम्पर्क फोन ः (प्रधानाध्यापक) नर बहादुर बोहरा ९८६८४३८५३३, ९८१०६७०६९०
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुने छैन  

Monday, January 22, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल माघ ९ गते मंगलबार

नेपालको संबिधानमा अपाङ्गता भएकाहरुका लागि भएका व्यवस्था व्यवस्थाहरुको कार्यान्वयन गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

“बन्द” ले बनाईदिएको क्रिकेट मैदान

आईतवार बिहानै १०/१२ जना बालकहरुको एक हुल क्रिकेट खेल सामग्री बोक्दै निस्कियो । देख्नेहरुले अनुमान गरेका थिए उनीहरु कुनै मैदानमा गएर खेल्नेछन । तर त्यसो   भएन । १२/१५ उमेर समूहका ति बालकहरुले पिच सडकमै खेल सुरु गरे । खेलाडी बालकहरु चिच्याउँदै खेलमा रमाउन थाले । 
यो दृष्य डोटीको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारको सडकको हो । के आई सिंह राजमार्ग अन्तरगत पर्ने उक्त सडक खण्ड अचेल बालबालिकाहरुको खेल मैदान बनेको छ । डोटी, अछाम र  बाजुराका लागि दिनहुँ सयौं यातायातका साधनहरु चल्ने उक्त सडक प्रदेश नं. ७ को राजधानी दिपायल माग गर्दै जारी आन्दोलनको क्रममा गत बुधवारदेखि आईतवार साँझसम्म बन्द भएपछि सुनसान बन्यो । दिउसो प्रदर्शनकारीहरुले जुलुश निकाल्न, राती टायर बालेर प्रहरी र प्रदर्शनकारीहरुले संगै आगो सेक्न र साँझ बिहान बालबालिकाहरुले क्रिकेट खेल्नमा प्रयोग भयो  उक्त सडक । वन्दका कारण फुर्सदिला बनेका युवा व्यापारीहरुले पनि बालबालिकाहरुको खेललाई सघाईरहे बन्द अवधीभर । बालबालिकाहरुसंगै क्रिकेट खेल्दै रमाईरहे उनीहरु पनि । अन्य व्यापारिकहरु पनि खेल हेरेर आनन्द लिईरहे ।
पुष १२ गते देखि जारी आन्दोलनका क्रममा पुष १९ देखि २४ सम्मको डोटी बन्दमा पनि यस्तै अवस्था थियो । २५ गतेदेखि खुलेको बन्द सरकारले माघ ३ गते प्रदेश नं. ७ को मुकाम कैलाली तोकेपछि फेरी उग्र बन्यो आन्दोलन । पछिल्लो बन्दको आज पाँच दिनसम्म एम्वुलेन्स र सुरक्षा निकायका बाहनहरु बाहेक अरु साधन चलेनन् सडकमा । आकास्मिक सामाजिक घटनाहरु भएमा आन्दोलनकारीहरुको स्वीकृति लिएर फाट्टफुट्ट अन्य बाहनहरु चले । 
के आई सिंह राजमार्ग मात्रै होईन बन्दका कारण भिमदत्त राजमार्गको बुडर–स्याउले खण्ड र पहलवानसिंह स्वार राजमार्ग (सिलगढी–साँफेवगर) पनि मस्त निन्द्रामा सुते । 
बिद्याय बन्द, शिक्षक–बिद्यार्थी आन्दोलनमा 
बन्दका कारण जिल्लाका अधिकांश बिद्यालयहरु ठप्प भए । बन्दले बिद्यालय शिक्षा परीक्षा (एसईई) को तयारी गरिरहेका बिद्यार्थीहरु आफ्नो पढाई बिग्रेको भन्दै चिन्तित देखिन्थे भने स–सना बालबालिका बिद्यालय बन्दको फुर्सदमा रमाई–रहेका थिए । केही बालबालिका प्रदर्शनकारीहरुसंग आन्दोलनमा जिन्दाबाद, मुर्दाबाद भन्दै हिडे । प्रदर्शनका क्रममा प्रहरीलाई ढुङ्गा प्रहार गर्नेमा पनि बिद्यालय उमेरका बालबालिकाहरुको संख्या बढी देखियो ।
छात्राबासमै डेरा गरेर बस्ने बालबालिकाहरु पनि माघी मनाउन घर आएका बेला एकाएक भएको बन्दले बिद्यालय जान पाएनन् । एकातिर छात्राबासको शुल्क पुरै तिर्नु पर्ने अर्कोतिर पढाई पनि छुट्ने उनीहरुको चिन्ता बेग्लै थियो । 
त्यसो त माघी मनाउन  घर गएका अधिकांश शिक्षकहरु पनि बिद्यालयमा आउन सकेका थिएनन् । जागिर पहाडको बसाई तराईको भएका शिक्षकहरु बन्दले तराईमै रोकिए । तिमध्ये केही त सोमवार साँझ कार्यक्षेत्रमा पुगेका छन्, कोही बाटोमै छन् । कार्यक्षेत्रमै भएका शिक्षकहरु पनि घाम ताप्दै दिन कटाउन बाध्य भए । केही शिक्षकहरु डोटेली जनताले राजधानीको माग गर्दै गरिरहेको आन्दोलनमा सरिक हुने गरेका देखिन्थे । 
नेताहरु मौन, जनता दुःखी 
राजधानीको माग गर्दै झण्डै एक महिनासम्म आन्दोलन चलिरहँदा पनि सरकारले कुनै वास्ता गरेको छैन । न त जिल्लाका नेताहरुले नै आन्दोलनमा सहभागिता जनाएका छन । आन्दोलनका अनेक स्वरुप लिएर जनता सडकमा आईरहे र आईरहेका छन तर नेताहरु आफ्नै दुनो सोझ्यानमा व्यस्त छन । 
मन्त्रीपरिषद्मा डोटीकै नेता भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरवहादुर बलायर हुँदा पनि उनले कुनै चाँसो नदिएको आन्दोलनकारीहरुको आरोप छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन प्रचारको क्रममा मन्त्री बलायरले प्रदेश नं. ७ को राजधानी दिपायल बनाउन जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको बताएका थिए । चुनावमा पराजित भएपछि मन्त्री हुँदाहुँदै पनि उनले डोटीमाथी अपमान हुँदा समेत वास्ता नगरेको प्रदर्शनकारीहरुको आरोप छ । 
यस्तै बलायरलाई हराउँदै प्रतिनिधि सभा सदस्य बनेका एमाले नेता प्रेमबहादुर आलेमगरले पनि चुनावी भाषणमा यदि दिपायल राजधानी नभए आफु सांसद पद छोडेर सडकमा आउने कसम खाएका थिए । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर उनले शपथ नखाँदै सरकारले अस्थायी मुकाम धनगढी तोक्दा उनले आन्दोलनमा सहभागिता जनाएका छैनन् । काठमाण्डौंमा उनले दिपायल राजधानीका लागि शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने गरेका त छन् तर उनले पहिले प्रतिवद्धता गरे जस्तो राजीनामा दिएको घोषणा गरेका छैनन् । उनी मन्त्रीको दौडमा रहेको प्रदर्शनकारीहरुको आरोप छ । 
अन्य नेताहरुले पनि आफुहरुलाई साथ नदिएको प्रदर्शनकारीको आरोप छ । बलायर, आले लगायतका नेताहरुले आन्दोलनमा आफ्नो समर्थन रहेको सार्वजनिक अभिव्यक्ति दिईरहेपनि आन्दोलनमा प्रत्येक्ष सहभागिता जनाएको भने देखिदैन । 
उग्र बन्दै आन्दोलन 
आन्दोलन जति जति लम्बिदै छ त्यति त्यति उग्र बन्दै गएको छ । शनिवार राती मात्रै बुडरमा एक दर्शन यातायातका साधनमाथी तोड्फोड भयो । प्रदर्शनकारीहरुले सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय–हरुमा तोड्फोड् र आगजनी    गरे । लामो समयसम्म आन्दोलन हुँदा पनि सरकारको ध्यानाकर्षण नभएको भन्दै आन्दोलनकारीहरु उग्र बन्दै गए ।
मदिरा सेवन गरेर जुलुशमा सहभागि हुने, आन्दोलनकारीहरुलाई प्रहरीमाथी ढुङ्गा प्रहार गर्न जोस्याउने, अपशव्द प्रयोग गर्दै नारावाजी गर्ने जस्ता अराजक गतिबिधिमा केही व्यक्तिहरु लागे । यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा ल्याउन समेत समस्या भएको आन्दोलनका अगुवाहरुको दुखेसो थियो । ‘हामी त आन्दोलन शान्तिपूर्ण होस् भन्ने प्रयास गरिरहेका छौं’ आईतवार एक अगुवाले भनेका थिए ‘तर उल्टो हामीसंगै झगडा गर्छन, अव के गर्नु ?’

सम्पादकीय 

एकता कि बिभाजन

साविकको सुदूरपश्चिम विकास क्षेत्रको एक प्रदेश भएपछि साविककै सदरमुकाम रहेको ठाउँमा प्रदेशको राजधानी हुनु पर्ने माग नाजायज हैन । पहिले विकास क्षेत्रको केन्द्र बनाउँदा पनि केही आधारहरु तय गरेर नै वनाएको हुँदो हो । विकास क्षेत्रको केन्द्र भएपछि बिभिन्न संरचनाहरु निर्माण भएका छन । ईतिहास निर्माण भएको छ । सरकारी तथा नीजि क्षेत्रबाट प्रसस्तै लगानी भएको   छ । त्यसकारण अहिले बनेको प्रदेश नं. ७ को प्रशासनिक केन्द्र अर्थात राजधानी दिपायलमै हुनु पर्छ भन्नु यहाँका जनताको अधिकार हो र त्यो अधिकार जनताले पाउनु पर्छ । त्यो अधिकारका लागि शान्तिपूर्ण लडाई लड्नु पनि अधिकार हो । 
त्यसै अधिकारको उपभोग गर्दै डोटेली जनताले गत पुष १२ गते देखि आन्दोलन गरिरहेका छन । आन्दोलनकारीहरुले कहिले आफ्नो अधिकार मात्रै उपभोग गरिरहेका छन भने कहिले अरुको अधिकारको पनि हनन् गरिरहेका छन । यस बिचमा दुई पटक पूर्व रुपमा जिल्ला ठप्प भएको छ । केही दिन त सुदूरपश्चिमका सात जिल्लाकै यातायात ठप्प भयो । 
आईतवार बसेको आन्दोलन संयोजन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आन्दोलनलाई खुकुलो बनाउने निर्णय गरेसंगै यातायातका साधनहरु चल्न थाले, वजार व्यवसाय खुला भयो । लामो समयदेखि बन्द शिक्षण संस्थाहरु खुले तर सरकारी कार्यालयहरु र गैरसरकारी संस्थाका कार्यालयहरु अहिले पनि खुल्न सकेका छैनन् । सरकारी कार्यालयहरु नै बन्द  गरेपछि राज्यलाई दवाव पर्छ भन्ने मान्यताका साथ यि कार्यालयहरु नखुलेका हुन सक्छन् । 
आन्दोलनकै क्रममा आन्दोलनकारीहरुका बिचमा बिभिन्न मतभेद्हरु देखिए । आन्दोलन शान्तिपूर्ण गर्ने वा उग्र बनाउने, आन्दोलन शिष्ट, मर्यादित बनाउने वा आन्दोलनलाई तोड्फोड्को अवस्थामा पु¥याउने, बन्द, चक्काजाम, टायर बाल्ने काम गर्ने वा नैतिक दवाव पर्ने खालका कार्यक्रमहरु गर्ने भन्ने बिषयमा आन्दोलनको उठान देखिनै फरक मत देखिदै आएको थियो । आन्दोलनलाई शान्तिपूर्ण तवरले लैजानु पर्छ भन्ने नेतृत्वकर्ताको सोच हुँदाहुँदै पनि प्रहरीमाथी आन्दोलनकारीको तर्फबाट ढुङ्गा प्रहार भए, प्रहरीले अन्धाधुन्द लाठी चार्ज र अश्रुग्याँस प्रहार ग¥यो ।  प्रदर्शनकारीतर्फ पनि र सुरक्षाकर्मी तर्फ पनि घाईते भए । 
धेरै सरकारी कार्यालयहरुमा तोड्फोड् भयो । यातायातका साधनहरुमाथी तोड्फोड् हुनुका साथै आगजनी समेत भयो । आन्दोलनका क्रममा ढुङ्गा प्रहार, लाठी चार्ज, तोड्फोडलाई सामान्य रुपमा लिईएला तर कस्ता कस्ता प्रकृतिका घटनाहरु भए र ति घटनाहरुको सम्वन्ध हाम्रो मागसंग छ कि छैन भन्ने कुरा बुझ्नु जरुरी छ । हाम्रो आन्दोलनलाई फाईदा पुग्ने गरि ति घटनाहरु भए वा घाटा हुने गरि ? यसको पनि समीक्षा हुनु जरुरी छ । 
यस्तो अवस्था आन्दोलनकारीहरुबिच भएको मतभेद्का    कारण आएको हो भन्दा अन्याय हुँदैन होला । यस्तै सोमवार पनि भएको छ । एकपक्षले सरकारी कार्यालयहरु बन्द भएका कारण  सरकारी गाडीहरु पनि चल्न नदिने भन्दै बिज्ञप्ती जारी गरेको छ भने अर्कोतिर अर्को पक्षले सरकारी गाडी चल्न दिनु पर्ने बताएको छ । सरकारी गाडी बन्द गर्नेहरुको दावी वन्दका बेला सरकारी गाडीहरु व्यक्तिगत प्रयोजनका लागि प्रयोग भए भन्ने छ भने अर्को पक्षको तर्क राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरेर बन्द खुकुलो गरिएको हुँदा नेताहरु, मतदाताहरु सरकारी गाडीमा पनि आउन सक्ने भएकाले सरकारी गाडी खोल्नु पर्ने दावी छ । 
आन्दोलनकारीहरुको यो बिवादमा सञ्चारकर्मीहरुलाई सकस भएको छ । अव कस्तो समाचार सम्प्रेषण गर्ने ? सरकारी गाडी बन्द छन भन्ने वा खुला छन भन्ने ? आन्दोलनको नेतृत्वकर्ताहरुले यस बिषयमा समयमै सामाधान दिनु जरुरी छ ।

थप समाचार 

आरजुलाई उम्मेदवार बनाउन माग

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहाहदुर देउवापत्नि आरजु राणा देउवालाई माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनाउन महिला सांसदहरुले दवाव दिएका छन । 
नेपाली कांग्रेसको तर्फबाट ७ नं. प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले राणालाई राष्ट्रिय सभा सांसद बनाउनु पर्ने माग गरेका छन । ७ नं. प्रदेशको अस्थायी मुकाम धनगढीमा आईतवार प्रदेश सभा सदस्यको शपथ ग्रहण गरेपछि महिला सांसदहरुले सोमवार एक बिज्ञप्ती जारी गर्दै उक्त माग राखेका छन । 
मंसिर २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणा कैलाली क्षेत्र–५ बाट बाम गठबन्धनका उम्मेद्वार नारदमुनी रानासंग पराजित भएकी थिईन । महिला सांसदहरुले राणा एक बौद्धिक महिला भएका कारण उनलाई राष्ट्रिय सभामा लैजाँदा सवै महिलाहरुप्रति न्याय हुने बताएका छन । 
‘यस प्रदेशकी सामाजिक आन्दोलनकी अभियन्ता तथा महिला सशक्तिकरण आन्दोलनकी अगुवा नेतृ डा आरजु राणा देउवालाई आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वार बनाउन हामी जोड्दार माग गर्दछौं’ बिज्ञप्तीमा भनिएको छ ‘उहाँको राष्ट्रिय सभामा हुने उपस्थितिले यस प्रदेशका महिलाहरुको संबैधानिक हक र अधिकारहरुलाई स्थापित गर्न थप बल पुग्नेछ ।’
महिला सांसदहरु दिश्वश्वरी शाह, उमादेबी वादी, नन्दा बम र अम्विका कुमारी थापाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा आफुहरुको उक्त मागमा सहयोग गरिदिन पार्टी नेतृत्व, प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरु, पार्टी जिल्ला सभापतिहरु र महिला संघसंस्थाहरुलाई अपील गरिएको छ ।
यता पुतला जल्दै, उता शपथ ग्रहण गर्दै
प्रदेश नं. ७ को प्रदेश सभाका लागि डोटी प्रदेश सभा क्षेत्र ‘ख’ बाट निर्वाचित सांसद त्रिलोचन भट्ट पद तथा गोपनीयताको शपथ ग्रहण गर्न जिल्ला समन्वय समिति कैलालीको सभाहलमा पुगिसकेका थिए । आईतवार बिहान १० बजे हुने भनेको शपथ ग्रहण प्रदेश प्रमुख मोहनराज मल्ल आउन ढिलो भएपछि दिउसो २ बजेका लागि सारिएका कारण उनी पनि ढिलो गरिनै गएको थिए । उनी देश र जनताको नाममा कसम खाईरहँदा डोटीमा भने उनको पुतला जलिसकेको थियो ।  
माघ ३ गते सरकारले प्रदेश नं. ७ को राजधानी कैलाली कायम गरेको बिरुद्धमा आक्रोसित डोटीबासीहरुले डोटी जिल्ला प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद भरत बहादुर खड्का र प्रदेश सभा ‘ख’ बाट निर्वाचित त्रिलोचन भट्टको पुतला जलाएका छ । 
चुनावी अभियानका क्रममा प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनतासंग भोट मागेर बिजयी भएका जनप्रतिनिधिहरुले आन्दोलन चलिरहँदा समेत कुनै चाँसो नदेखाएको भन्दै आन्दोलनकारीहरुले पुतला जलाएका हुन । मतदाता राजधानी माग्दै सडकमा आन्दोलित भएका बेला नेताहरु शपथ ग्रहण गर्ने दौडमा लागेकोप्रति आन्दोलनकारीहरु थप आक्रोसित भएका छन । 
खड्का र भट्टसंगै आन्दोलनकारीहरुले बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायर र प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आलेमगरको पुतला दहन गरेका छन । आलेमगरले चुनावी अभियानमा प्रदेश नं. ७ को राजधानी दिपायल नभए आफु पदबाट राजीनामा गरेर सडकमा आउने वताएका थिए । यस्तै बहालवाला मन्त्री बलायर डोटी जिल्लाकै भएर पनि राजधानी कैलाली हुँदा समेत मौन रहेको प्रदर्शनकारीहरुको आरोप छ ।
पारिवारिक काममा व्यस्त भएका कारण खड्काले भने आईतवार शपथ लिन पाएनन् ।

मल्लको राजनीतिक यात्रा 

प्रधानपञ्चदेखि प्रदेश प्रमुखसम्म

रामहरी ओझा/डोटी 
माघ ८
२०२८ सालमा कैलालीको तत्कालीन पण्डौन गाउँ पञ्चयतको प्रधानपञ्चमा निर्वाचित भएका मोहनराज मल्ल बुधवार प्रदेश ७ को प्रमुखमा नियुक्त भएका छन ।
पुख्यौली घर डोटीको बोगटान क्षेत्रमा भएपनि मल्ल कैलालीमै जन्मे । २००७ सालमा बुवा दिलिपसिं मल्ल र आमा जगत  कुमारी मल्लको छोराका रुपमा जन्मेका मल्ल नैतिकवान र इमान्दार व्यक्तिको रुपमा चिनिन्छन् । बिद्यालय शिक्षा देखि स्नातक तहसम्मको औपचारिक पढाई  भारतको लखनउबाट प्राप्त गरेका मल्लले त्रिभुवन बिश्वबिद्यालयबाट स्नातकोत्तर तहको उपाधी हासिल गरेका छन । उनी महेन्द्र बिद्या भुषणबाट सम्मानित पनि भएका थिए । 
गाउँ पञ्चायत प्रधान देखि राष्ट्रिय पञ्चायल सदस्यसम्म जनमतले जितेका मल्ललाई प्रदेश प्रमुख हुन सजिलै भयो । पञ्चायतको राजनितिबाट प्रभावित मल्ल २०७० सालमा भएको संबिधान सभाको दोश्रो निर्वाचनका क्रममा नेपाली कांग्रेसमा आवद्ध थिए । कैलालीको भजनी नगरपालिका–१, मा बसोवास गर्दै आएका मल्ल हाल काँग्रेसको महासमिति सदस्य हुन् ।
२०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति बनेका मल्ल २०३७ देखि २०४६ सालसम्म राष्ट्रिय पञ्चायत सदस्य रहेका थिए । पञ्चायती शासनमा उनी २०३२ सालमा सुदूरपश्चिमाञ्चल धान चामल कम्पनीको अध्यक्ष र २०४५ मा टीकापुर विकास समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका व्यक्ति हुन । २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहकार तथा त्रिभुवन विश्व विद्यालयको सभासद भएर काम गरेका थिए ।
पञ्चायती राजनीतिमा शक्तिशाली देखिएका मल्ललाई २०४६ सालपछिको राजनीति भने त्यति फापेन । २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा राप्रपाको तर्फबाट चुनाव लडेका मल्लले पराजय मात्रै भोग्नु प¥यो । २०६२/०६३ को राजनीतिक परिवर्तनपछि पनि मल्ल सक्रिय राजनीतिमा कमव्याक हुन    सकेनन् । २०६४ को संबिधानसभा निर्वाचनमा पनि राप्रपाबाटै चुनाव लडेका मल्ल फेरी हारे । 
मल्लले अमेरिका, चीन, बेलायत, जर्मन, जापान, सिंगापुर लगायत झण्डै दुई दर्जन मुलुकको भ्रमण गरेका छन् ।

सांसद खड्का बिरुद्ध उजुरी

माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदाता नामावलीमा नाम समावेश भएका सांसद भरतवबहादुर खड्का बिरुद्ध उजुरी परेको छ । 
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको बिवरण अनुसार आईतवार प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण समारोहमा सांसद खड्का अनुपस्थित भई शपथ ग्रहण नगरेका कारण उनी मतदाता नभएको दावी गरिएको छ । मतदाता बिष्ना सिंहले दिएको उजुरीमा शपथ ग्रहण नगरेको व्यक्ति मतदान गर्न योग्य नभएको हुँदा सांसद खड्काको नाम मतदाता नामावलीबाट हटाईपाउन माग गरिएको छ । 
निर्वाचन अधिकृतको कार्यालयले सोमवार उजुरीको सूची प्रकाशित गर्दै मंगलबार दिउसो ३ वजेभित्र उक्त उजुरीको खण्डनका लागि आवश्यक प्रमाणहरु पेश गर्न सूचना जारी गरेपछि सांसद खड्काले आफु बिरामी भएको र छोरीको बिवाह भएका कारण शपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेको प्रतिक्रिया दिएको निर्वाचन अधिकृत डोटी जिल्ला न्यायाधिश जयानन्द पनेरुले जानकारी दिएका छन । ‘उहाँको प्रतिक्रिया आईसकेको छ’ पनेरुले भने ‘उहाँले मतदान अघि शपथ ग्रहण गर्ने भन्नु भएको छ ।’ 
निर्वाचन अधिकृत पनेरुका अनुसार शपथ ग्रहण नगरेको व्यक्ति मतदाता हुन पाउने वा नपाउने भन्ने बिषयमा कानुनमा प्रष्ट व्यवस्था नभएका कारण निर्वाचन आयोगमा पठाईएको छ । ‘हाम्रो जस्तै समस्या पोखरामा पनि भएको रहेछ’ अनलाईन खवरसंग कुरा गर्दै पनेरुले भने ‘अव आयोगले के निर्देशन गर्छ, सोही अनुसार हुन्छ ।’
सांसद खड्का नेपाली कांग्रेसको तर्फवाट डोटी जिल्ला प्रदेश सभा ‘क’ मा प्रत्येक्ष निर्वाचित भएका हुन । 

सरकारी गाडी चल्नमा रोक

प्रदेश नं. ७ को राजधानी माग गर्दै पुष १२ देखि जारी आन्दोलनका क्रममा माघ ३ गतेदेखि भएको बन्द आईतवार खुलेपनि सरकारी गाडी चल्नमा रोक लगाइएको छ । 
आन्दोलन संघर्ष समितिले सोमवार एक बिज्ञप्ती जारी गर्दै सरकारी गाडीहरु व्यक्तिगत प्रयोजनका लागि प्रयोग भईरहेकाले चल्नमा रोक लगाउने जानका–री गराएको छ । आन्दोलनका क्रममा सरकारी कार्यालयहरु बन्द रहेका र सरकारी गाडीहरु कर्मचारीहरुले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेकाले सम्पत्तिको दुरुपयोग भएको भन्दै गाडी चल्न रोक लगाईएको हो । 
राष्ट्रिय सभाको निर्वाचन सफल पार्न र उक्त निर्वाचनको अवसरमा डोटी आउने प्रदेश सभा सदस्य र अन्य नेताहरुसंग राजधानीको बिषयमा लविङ्ग गर्ने उद्देश्यका साथ बन्द खुकुलो बनाईएको भएपनि पूर्ण रुपमा बन्द फिर्ता नभएको बिज्ञप्तीमा जनाईएको छ । निर्वाचन अधिकृतको कार्यालय र सोसंग सम्वन्धित सरकारी कार्यालय बाहेक अन्य सवै सरकारी र गैरसरकारी संस्थाका कार्यालयहरु बन्द राख्ने निर्णय आईतवार संघर्ष समितिले गरेको थियो । 
सोमवार जारी बिज्ञप्तीमा भनिएको छ ‘सरकारी कामकाजको प्रयोजनको लागि भएका सरकारी गाडीहरु कार्यालय बन्द र जनताका कामकाज ठप्प रहेका बेला पनि कर्मचारीहरुको व्यक्तिगत प्रयोजन र सयलका लागि आन्दोलनको मर्म र भावना बिपरित प्रयोग भईरहेकाले सो नगर्न नगराउन सम्वन्धित पक्षलाई जानकारी गराउदछौं ।’ यदि आग्रह गर्दागर्दै पनि सरकारी गाडीहरु चलाईएको पाईएमा सम्वन्धित पक्ष जिम्मेवार हुने बताईएको छ ।

सेनाको हेलिकप्टर आकस्मिक अवतरण


नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन् ।
डडेल्धुराबाट घाइते प्रहरी जवान बोकेर नेपालगञ्जका लागि उडेको ०४५ इक्विरेल हेलिकप्टर डोटीको शिखर नगरपालिका–४ मुडभाराको मरकट्टेस्थित गहुँखेतमा अवतरण गरिएको हो । उड्नासाथ हेलिकप्टरमा समस्या देखिएपछि चालक प्रमुख सेनानी कुशलकुमार गुरुङ र कोपाइलट क्याप्टेन राकेश खड्काले आकस्मिक र अवतरण गराउनुभएको हो ।
आइतबार साँझ दार्चुलामा भीरबाट लडेर घाइते भएका प्रहरी जवान शेरबहादुर महतारालाई उपक्षेत्रीय अस्पताल डडेल्धुराले थप उपचारका लागि काठमाडौँ सिफारिश गरेको थियो । त्यसपछि प्रहरीले सेनासँग समन्वय गरेर नेपालगञ्जसम्मका लागि सो हेलिकोप्टरको व्यवस्था मिलाएको थियो ।समस्या समाधानका लागि इन्जिनीयरबाट जाँचबुझ भई आवश्यक मर्मत गरेर मात्रै उडान भर्ने जनाइएको छ । उता घाइते प्रहरी जवान महताराको अवस्था भने गम्भीर छ ।

छोटकरी समाचार 

२२९ मतदाता

माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश नं. ७ मा दुई सय २९ मतदाता रहेका छन । निर्वाचनको प्रक्रिया प्रक्रिया सुरु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले आईतबार प्रकाशन गरेको मतदाता नामावली अनुसार यस प्रदेशमा दुई सय २९ मतदाता रहेका छन । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था    छ । 
८८ स्थानीय तह रहेको यस प्रदेशमा प्रमुख उपप्रमुख गरि एक सय ७६ र प्रदेश सभाका ५३ सदस्यको मतदाता नामावलीमा नाम समावेश गरिएको छ । 
खुलातर्फ तीन, महिलातर्फ तीन, दलित एक र अपाङ्ग वा अल्पसंख्यक एक गरि जम्मा आठ सिटका लागि हुने निर्वाचनमातालिका निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ । निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायाधिश जयानन्द पनेरुले दिएको जानकारी अनुसार आईतवार प्रकाशन भएको मतदाता नामावलीमा सोही दिन दावी बिरोध गर्ने समय राखिएको थियो । दाविबिरोधको छानबिनपछि आज मंगलबार कार्यालयले मतदाताहरुको अन्तिम नामावली प्रकाशन   गर्नेछ । 
बुधबार उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न हुने बातावरण बनाउन निर्वाचन अधिकृत पनेरुले सवैलाई आग्रह गरेका छन ।

खेल समाचार 

विशाल राई र रुविना क्षेत्रीलाई ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड पाएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गरेको ‘झापा स्पोर्ट्स अवार्ड २०७४’ मा उत्कृष्ट खेलाडी घोषित भएसँगै उनीहरुले १५ हजार रुपैयाँ        पुरस्कार समेत हात पारे ।
युवा वर्ष खेलाडीको पुरस्कार डिफेन्डर देवेन्द्र तामाङ र पिपुल च्वाइजतर्फ उत्कृष्ट टीम रमपम झापा ११ घोषित भयो । देवेन्द्रले फुटबलकै पूजन उपरकोटी र क्रिकेटकी सवनम राईलाई उछिन्दै उत्कृष्ट पुरस्कार जितेका हुन ।
पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल वर्ष उत्कृष्ट प्रशिक्षक बने ।
उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, एन्फाका केन्द्रीय सदस्य पंकज विक्रम नेम्वाङ, एन्फा पूर्वाञ्चल संयोजक जलकुमार गुरुङ, एन्फा झापाका अध्यक्ष भगिरथ आले मामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले १५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्रदान गरे ।
नगद पुरस्कार एन्फाका केन्द्रीय सदस्य नेम्वाङले दिवंगत भाइ तथा फुटबलर आशिष विक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका थिए ।

खुकुरी टी–ट्वान्टी क्रिकेट माघ १० देखि

खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ ।
यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष विनय विक्रम थापाले जानकारी दिए ।
इएनटीद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार कीर्तिपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न २० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
सहभागी टोलीले सन् २०१५ देखि राष्ट्रिय टोलीमा आबद्व चार खेलाडी राख्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । तर खेलका दौरानमा भने तीन खेलाडी मात्र खेल्न पाउनेछन् ।
प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख हात पार्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु २० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट बलर तथा ब्याट्सम्यानले जनही रु दश हजार पाउनेछन् ।
रासस

चलचित्र/मनोरञ्जन 

‘मिस नेपाल २०१८’ को आवेदन खुला

‘मिस नेपाल २०१८’ को आवेदन खुला भएको छ । ‘द हिडेन ट्रेजर’ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २३ औं संस्करणको आवेदन खुला भएको जानकारी दिएको छ ।
सन् १९९४ देखि सुरू भएको मिस नेपालमा १९ वर्षदेखि २५ वर्षसम्मका युवतीहरू सहभागी हुन सक्नेछन् । मिस नेपाल प्रतियोगितामा सहभागी हुन ५.४ इन्चभन्दा बढी उचाइ भएका, अविवाहित तथा नेपाली नागरिकता र पासपोर्ट भएका महिलाहरू हुनुपर्ने आयोजकले मापदण्ड तोकेको छ ।
आयोजकका अनुसार ८ प्रमुख  सहरहरू वीरगञ्ज, धनगढी, विर्तामोड, धरान, चितवन, पोखरा, बुटवल र नेपालगञ्जबाट अडिशन गरि प्रतियोगी हरूको छनोट हुनेछ । फेब्रअरी ४ देखि १० सम्म उम्मेदवारहरूको छनोट गरिने र फेब्रअरी १७ मा काठमाडौंमा अन्तिम छनोट हुनेछ ।
अन्तिम प्रतियोगीलाई काठमाडौंमा ७ हप्तासम्मको प्रशिक्षण दिइने छ । प्रतियोगिताको ग्रान्ड फिनाले ११ अप्रिलमा सम्पन्न गर्ने आयोजकको तयारी छ । 

दीपाको रुपमा लोभिए हरिबंश

प्रदीप भट्टराई निर्देशित चलचित्र ‘शत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’लाई दर्शकले रुचाएका छन् । केही साता अगाडि सार्वजनिक यो गीतलाई अहिले सम्म ५ पचास लाख बढीले हेरेका छन् ।
गीतको भिडियोमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । राम्रा कलाकारको अभिनय  रहेकोले पनि गीत दर्शकको रोजाइमा पर्न सफल भएको हो ।
गीतमा शब्द लोकराज अधिकारी र संगीत टंक बुढाथोकीको रहेको छ । गीतलाई टंकले मीना निरौलासँग संयुक्त रुपमा गाएका छन् भने कोरियोग्राफी   कविराज गहतराजको रहेको छ । 
तराई र काठमाडौंमा छायाँकन  गरिएको चलचित्र दर्शकले ९ चैत्रमा हेर्न पाउँनेछन् । चलचित्रले तराइको बिषयबस्तु उठाएको छ । मह सञ्चारले निर्माण गरेको यो चलचित्रका प्रस्तुतकर्ता हाँस्यकलाकार किरण केसी हुन् ।

लेख 

डाक्टर साहेव, कुन कानुनले दिन्छ अनशन बस्ने बिदा ?

रामहरी ओझा
न्यायालयको अवहेलना गरेको भन्दै पुष २४ गते डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतको आदेशमा पक्राउ प्रहरीले ग¥यो । अदालतको अवहेलना सम्वन्धि मुद्धामा पुष २६ गते डा. केसीका पक्ष र बिपक्षमा सर्वोच्च अदालतको ईजलासमा बहस भयो । कालो टोपी, कालै ज्याकेट, खैरो पाईण्ट, खैरै जुत्ता लगाएर न्यायालयमा उपस्थित भएका डा. केसीले आफ्नो मुद्धामा आफै पनि बहस गरे । उनी साधारण तारेखमा रिहा पनि भएका छन् ।
उनले अदालतको अवहेलना गरे वा गरेनन् भन्ने एउटा बिषय होला । बर्तमान कानुन अनुसार न्यायालयमा बिचाराधीन मुद्धाको फैसला प्रभावित हुने गरि अनुचित कार्य गरेमा वा मुद्धाको फैसला मान्दैन भनेमा न्यायालयको मानहानी हुन्छ । सामान्य रुपमा हेर्दा यो मुद्धामा केसीका लागि दुवै कण्डिसन देखिदैनन् किनकी फैसला भईसकेको छ र फैसला मान्छु भन्ने वा मान्दैन भन्ने कुरा मुद्धाका पक्ष र बिपक्षसंग सम्वन्धित कुरा हो, डा. केसी न पक्ष हुन न बिपक्ष । तर पनि यो मुद्धा न्यायालयमा छ, यस बिषयमा धेरै बहस गर्नु जरुरी छैन । फेरी अर्को अवहेलनाको कुरा आउला ।
यहाँ उठान गर्न खोजेको बिषय डा. केसीले ईजलाससमक्ष दिएको बयानको हो । अदालतको अपहेलना सम्वन्धि मुद्धाको पक्षमा वकालत गरेका वरिष्ठ अधिवक्ता डा. श्याम खरेलले पटक पटक अनसन बस्ने गरेका डा. केसी सरकारी जागिरे भएका र सरकारी जागिरेले अनसन बस्दा बिदा लिनु पर्छ कि पर्दैन भन्ने प्रश्न उठाएका  थिए । उनले उठान गरेको बिषय नै कति जायज हो भन्ने पनि बहसको बिषय हुन सक्छ । जवाफमा डा.केसीले आफु अनसन बस्दा बिदा स्वीकृत गराएर मात्रै बस्ने गरेको दावी गरे । होला पनि उनले आफु बिदा लिएरै अनसन बसेका होलान तर नेपालको कुनै पनि कानुनले अनसन बस्ने बिदा दिदैन । 
निजामति सेवा नियमावलीको परिच्छेद् ९ अनुसार निजामति कर्मचारीले भैपरी आउने बिदा, घर बिदा, बिरामी बिदा, प्रसुति बिदा, प्रसुति स्याहार बिदा, किरिया बिदा, अध्ययन बिदा, असाधारण बिदा र वेतलवी बिदा लिन पाउने प्राव्धान छ । नियमावलीको नियम ६४ अनुसार निजामती कर्मचारीले आफूलाई चाहिएको विदाको अवधि, कारण र विदेश जानु पर्ने भए सो समेत खोली नियमावलीको अनुसूची–१३ को ढाँचामा आफ्नो कार्यालय मार्फत विदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्ने र विदा दिने अधिकारीले पनि विदा स्वीकृत वा अस्वीकृत भएको सूचना सो कर्मचारीलाई दिनु पर्ने व्यवस्था गरेको छ ।
अव ः पहिलो प्रश्न डा. केसीले अनसन बस्नका लागि बिदा माग्दा कुन बिदा माग्ने गरेका छन ? घर बिदा, बिरामी बिदा, अध्ययन बिदा वा अन्य कुनै बिदा ? उनले पक्कै पनि कुनै न कुनै बिदा त निवेदनमा जाहेर गर्नु पर्ने होला । यदि उनले घर बिदा लिएर वा अध्ययन बिदा लिएर अनसन गर्नु हुन्छ भने यसले कानुन मिचिन्छ कि मिचिदैन ? 
दोश्रो प्रश्न, नियमावलीले बिदाको अवधी र कारण खोल्नु पर्ने भन्छ । आफ्नो माग पुरा नभएसम्म अन्दोलनमा बसिरहने डा. केसीले कति दिनको बिदा माग गर्छन निवेदन मार्फत र कारण के उल्लेख गर्छन ? ईजलाससमक्ष आफ्नो मुद्धामा बहस गर्न सक्छु भन्ने दावी गर्ने व्यक्ति आफु जुन कानुनबाट निर्देशित छन त्यो कानुनको वारेमा अनबिज्ञ छन भन्ने त नहोला । त्यसै पनि कानुनको अनबिज्ञता क्षम्य हुँदैन अर्थात मैले कानुनमा यस्तो व्यवस्था छ भन्ने थाह पाएको थिएन, त्यसैले यसो गरेको हुँ भन्न मिल्दैन भन्ने हामीले पढेका छौं । कुन कारण देखाएर डा.केसीले बिदा लिएर १३ पटक अनसन बसे ? एक जना कार्यालय सहयोगीले एक दिन बिना कारण कार्यालयमा हाजिर नभए हप्तौं गाली खान्छ तर १३/१३ पटक बिना कारण बिदा माग्दै अनसन बस्नेलाई कारवारी गर्ने कुनै कानुन छैन ? 
तेश्रो प्रश्न, यदि उनले अनसन बस्छु भन्ने कारण खुलाई कुनै प्रकारको बिदा लिएका हुन भने त्यस्तो बिदा कुन अधिकारीले स्वीकृत गरेछन् । एक सरकारी कर्मचारीलाई सरकारकै बिरुद्ध अनसन बस्न बिदा स्वीकृत गर्ने अधिकारीलाई पनि कारवाही हुने वा नहुने ? आज अनसन बस्नका लागि माग गरिएको बिदा स्वीकृत भयो, भोली सडकमा टायर बाल्नका लागि बिदा माग गरे स्वीकृत हुने कि नहुने ? पर्सी कसैले म आत्महत्याको प्रयास गर्छु, मलाई बिदा चाहियो भने के हुने ? 
मानवअधिकारको बिश्वव्यापी घोषणा पत्र, नेपाल पक्ष राष्टू भईसकेको नागरिक तथा राजनीतिक अधिकार सम्वन्धि अन्तराष्ट्रिय प्रतिज्ञा पत्र र नेपालको संबिधानले पनि बिना हात हतियार शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, बिरोध गर्न पाउने अधिकार सुरक्षित गरेको छ । एक सर्वसाधारण नागरिकको हैसियतले शान्तिपूर्ण बिरोध स्वरुप अनसन बस्न पाउनु डा. केसीको अधिकार होला तर बिदा लिँदैमा सरकारी कर्मचारी सर्वसाधारण नागरिक भईहाल्छ त ? ईजलाससमक्ष दिएको आफ्नो वयानमा डा. केसीले ‘म सधैं अनसन बस्नुअघि बिदा लिन्छु । बिदा लिएपछि म यो देशको स्वतन्त्र नागरिक हुँ, मैले के गर्छु त्यो नीजि ईच्छाको कुरा हो ।’ भनेका छन । कुन कानुनले सरकारी कर्मचारीले बिदामा बस्दा स्वतन्त्र   नागरिक हुन्छ भन्ने उल्लेख गरेको छ ? केसीकै बयानलाई समात्ने हो भने ‘मैले जे गर्छु त्यो नीजि ईच्छाको कुरा हो’ यसको अर्थ उनी अनसनमा बस्ने अनि उनको समर्थनमा स्वास्थ्य सेवाहरु अवरुद्ध गर्दै अन्य स्वास्थ्यकर्मीहरु पनि आन्दोलनमा जाने र सर्वसाधारणले सास्ती खेप्नु पर्ने उनको नीजि ईच्छा हो त ? केसीको बयानले उव्जाएको यो चौथो प्रश्न हो । 
पाँचौ प्रश्न, निजामति सेवा नियमावलीको नियम नियम ७१ मा बिदा ‘बिदा अधिकारको कुरा होईन, सहुलियत मात्रै हो’ भन्ने कुरा उल्लेख गरेको छ । यसको अर्थ हो यदि राज्यलाई आवश्यक भयो भने बिदामा बसेका कर्मचारीहरुलाई पनि तत्काल काममा बोलाउन सक्छ । अनि बिदा लिएर अनसन बस्ने डा. साहेवलाई बिदाको बिचमै तत्काल आफ्नो जिम्मेवारीमा फर्कन सरकारले आदेश गर्न पाउने कि नपाउने ? सरकारले आदेश गरेको बेला डा. केसीले अनसन तोडेर जाने कि नजाने ? 
मानवअधिकारको बिश्वव्यापी घोषणा पत्रको धारा २९ अनुसार कुनै पनि व्यक्तिले आफ्नो अधिकारको उपभोग गर्दा अरुको अधिकारको ख्याल गर्नु पर्छ । डा. केसीको अनसन बस्ने अधिकार सुरक्षित होला तर उनी एक   सरकारी कर्मचारी हुन । उनको तलव ति सर्वसाधारणले तिरेको करबाट आउँछ । त्यो कर तिर्नका लागि सर्वसाधा–रणले परिश्रम गर्दा बिरामी हुन सक्छ, चोट पटक लाग्न सक्छ । त्यो बेलामा उसले उपचार पाउनु उसको अधिकार हो कि होईन ? आफु अनसन बस्ने अनि अनसनलाई समर्थन गरेको नाममा अरुलाई सेवा अपरुद्ध गरेर आन्दोलनमा पठाउने केसीले अरुको अधिकार के हो भन्ने बिषय बुझेका छन कि छैनन् ?
उनले नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्ने कुरा संबिधानमै उल्लेख भएको तर प्रधानन्यायाधिश गोपाल पराजुलीले गरेका निर्णयले स्वास्थ्य शिक्षाको गुणस्तरमा ह«ास आएको ईजलाससमक्ष दिएको बयानमा बताएका छन । त्यो कुरा पनि सत्य होला । एक ‘पव्लिक फिगर’ ले त्यसै बोलेका होईनन् होला । जीवन स्वास्थ्य क्षेत्रमा बिताएका छन, त्यस क्षेत्रमा राम्रो के र नराम्रो के भन्ने कुरा उनले भलिभाँती जानेका होलान् । तर, उनी आफैले अनसन बस्दा र उनका समर्थकहरुले स्वास्थय सेवा बन्द गर्दा सर्वसाधारणले पाउने स्वास्थ्यको गुणस्तरको अवस्था के भयो होला ? चर्को मुल्य तिरेर नीजि स्वास्थ्य संस्थामा जान सक्नेहरुलाई भन्दा ति दिनभरी गिट्टी कुटेर साँझ जहान केटाकेटीको मुखमा चारो हाल्नेहरुलाई सोध्ने हो कि एक पटक ?  
आफुले गरेको सवै कुरा जनताका लागि हुने, कानुनसम्मत हुने अनि आफु बिरुद्ध बोल्ने सवै भ्रष्ट हुने कस्तो खालको स्कुलिङ्ग हो उनको ? उनको बिरुद्धमा कसैले केही कुरा बोल्नै नहुने तर उनले सवैका बिरुद्धमा खुल्याम रुपमा बोल्न मिल्ने हो र ? 
हो, उनले स्वास्थ्य क्षेत्रमा केही राम्रा कदमहरु चालेका छन । त्यो कुरा सवैले स्वीकार गर्नु पर्छ तर त्यसको साथसाथै एकोहोरो रुपमा बिरोध मात्रै गर्नु, सवै कुरा नकारात्मक मात्रै देख्नु, आफु बिरुद्ध कसैले केही बोल्यो भने चेले–चपाटेहरुद्वारा हुर्मत गराउन लगाउनु, यो पनि बिधिसम्मतै हो त ?

मोफसल पत्रकारिता 

पत्रकारिताले समाजलाई सभ्य बनाउन मद्दत गर्छ ।

सिपि लोहिया (संबाददाता)
रेडियो नेपाल, बैतडी
तपार्इंको पुरा परिचय पाउँ न ? 
मेरो नाम सिपि लोहिया ! पुरा नाम चन्द्र प्रकाश लोहिया हो । म रेडियो नेपाल तथा राजधानी दैनिकका लागि बैतडी जिल्लाबाट संबाददाताको रुपमा कार्यरत छु, साथै रेडियो निङ्गलाशैनीमा बित्तिय व्यवस्थापकको रुपमा कार्यरत छु । मेरो घर बैतडी  दशरथ चन्द नगरपालिका ४ मा पर्छ ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
मैले पत्रकारिता रोज्नुको धेरै ठूलो कारण छैन् । म रेडियोमा राम्रो सांगितीक कार्यक्रम संचालन गरेर आफू चर्चा कमाउन चाहन्थेँ । २०६७ सालमा म काठ्माण्डौँको पाटन बहुमुखी क्याम्पसमा पढ्दा ६५ दिनको तालिम लिएर मैले रेडियोमा बोल्न सुरु गरेको हुँ । त्यसपछि बैतडीको सौगात एफएममा सांगितिक कार्यक्रम सञ्चालन गर्दै जनतामा परिचित हुँदै गए । त्यसैमा समाचार संकलन, लेखन कार्य सुरु गरे । सुरुमै समाजमा भएका आवाज बिहीनहरुको आवाजलाई सम्बन्धित निकायमा पुर्याउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो, त्यसै अनुरुप मैले पत्रकारिता पेशा अँगालेको हुँ ।
कति समय भयो यस पेशामा लागेको ?
मेरो मिडियासंग मेरो साइनो जोडिएको ७ बर्ष पुरा हुदैँछ । म २०६७ सालमा मिडियामा आएको हुँ, तरपनि मेरो पेशा पत्रकारिता नै हो भन्ने आजभोलि लाग्दैछ । मैले रेडियोमा काम गर्दैगर्दा सबै कामहरु गरेको छु । सांगितिक कार्यक्रम संचालनदेखि, राजनीतिक बहस, समाचार लेखन तथा बाचन, प्राबिधिक तथा प्रोडक्सनको काम तथा ब्यवस्थापकको भूमिका पनि निभाएको छु ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
म समाजका हरेक कुराहरु सञ्चार माध्यममा झल्कियोस भन्ने मान्यता राख्दछु । त्यसैले समाजको बिकृत पक्षलाई बाहिर ल्याई यसको समाधान तर्फ सरोकारवालालाई त्यँहा डो¥याउन पहल थाल्नु पत्रकारको जिम्मेवारी हो । जब समाजमा बिकृति हुदैनन् समाजलाई सबै तरहले सभ्य बनाउनु पत्रकारको जिम्मेवारी हो जस्तो लाग्छ । म मानव अधिकार को बिषयमा लेख्न र बोल्न रुचाउँछु ।  साथै राजनीतिक बिटमा कलम चलाउन पनि मन पर्छ । नेपालको राजनीतिक प्रणाली सुधार हुनुपर्छ भन्ने मेरो चाहाना छ ।
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ?
पत्रकारितामा समस्या भनेको लामो समय जोगिन गाह्रो छ भन्ने म पनि सुन्छु । सायद मेरो बिचारमा यहि होला समस्या भनेको तर, त्यसको लागि मेहेनत गर्नुपर्छ, अहिले पत्रकारले लेखेका कुराहरु जता पनि बिक्छन्, तर आफ्नो लेखन शैली र त्यस्को व्यापार कँहा कसरी गर्ने भन्ने कुरा मात्रै महत्वपूर्ण हो । अर्को कुरा बिभिन्न पेशागत जोखिम पनि छन् । ती जोखिम भनेका लेखेकै आधारमा धम्कीहरु आउने गर्दछन् । तर त्यस्को सामना पनि समय परिवेश अनुसार गर्नुपर्दछ र एक पक्षीय र अर्थहिन, पुर्वाग्रही भएर लेख्ने बदमासी कहिले गर्नुहुदैँन् । यसो गर्दा जोखिममा साथ दिने    हजारौ हातहरु पाइन्छ र पेशा बिवन्त बन्दछ, जस्तो लाग्छ । 
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
सुरु सुरुमा काम गर्दा, पेशागत दक्षता नभएका कारण समस्याहरु आउँछन्, काम गर्दै जाँदा सिकाई हुन्छ र हरेक समस्याको समाधान गर्न पनि सिकिन्छ । 
मोफसलै भएपनि बैतडी जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको    छ ? र यस जिल्लामा अरु जिल्लाको भन्दा बढी समस्याहरु के कस्ता छन ?  
बैतडी पत्रकारितामा धेरै नभएपनि पछिल्लो समय बिकसित भैरहेकोछ । यँहा २०६७ साल यता रेडियोहरु खुलेका हुन् भने यसअघि बिभिन्न पत्रपत्रिका सञ्चालनमा थिए, अहिले पनि ४ वटा एफएम रेडियो र ७ पत्रिका सञ्चालनमा छन् । पत्रकारहरुको संख्या बढ्दैछ भने, पत्रकारहरुले सामाजिक बिषयमा कलम चलाउन थालेका छन् बिभिन्न राष्टिय पत्रिकाहरुमा काम गर्नेहरुका समाचार पछिल्लो समाचारले राम्रो स्थान पाउन थालेका छन । मोफसल पत्रकारितामा समस्या छ र रमाइलो पनि छ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
सरकारले पत्रकारको पेशागत सुरक्षाको जिम्मा लिनुपर्छ । बिभिन्न ठाँउका पत्रकारहरु लेखेकै कारण मारिनुपर्ने, अर्थात बेलाबेलामा दुव्र्यहार तथा धम्की आइरहेको हुन्छ यी कुराहरुलाई समाधान गर्न सरकार प्रतिबद्ध रह्यो भने मात्रै पत्रकारको पेशागत सुरक्षा हुन्छ । नत्र कतिपय अवस्थामा पत्रकारले डराएर काम गर्नुपर्ने हुन्छ  अर्थात जनता माझ ल्याउनुपर्ने कुरा लुकाउने बाध्यता आउँछ ।
तपाई आफै पनि पत्रकारिता पेशामा धेरै समयदेखि काम गर्दै हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
हाम्रो जिल्लाको हकमा पत्रकार माथि दुव्र्यहारका ठूला घटना भएका छैनन् , तरपनि लेखेको भरमा धम्कीहरु धेरैजसो पत्रकारले भोग्नु परिरहन्छ र यसको समाधानको लागि नेपाल पत्रकार महासंघको भूमिका सक्रिय नै छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
यी संगठनहरुले पछिल्लो समयमा आफ्नो सक्रियता देखाएका छन् । कुनै पनि संगठनसंग आवद्ध पत्रकारलाई समस्या पर्दा एकजुट भएको पाइन्छ । कामहरु गरिरहेकै छन् तरसंगठनले निर्वाह गर्नुपर्ने सबै भूमिका निभाएको पाइदैन् ।
तपाँइको विचारमा पत्रकारिता के हो ?
पत्रकारितालाई बिद्धानहरुले समाजको ऐना भन्दछन् । र म पनि त्यहि भन्छु ऐना अगाडि जे राखिन्छ त्यहि देखिन्छ । ऐनामा र हाम्रा सञ्चार माध्यमहरुले व्यक्ति तथा समाजको चरित्र देखाउन खोज्दछन् । त्यहि नै पत्रकारिता हो र देखेका कुरा बंग्याएर देखाउन खोजिन्छ भने राम्रो देखिदैन् । 
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ? 
मैले मान्छे कमाएको हो, साथीभाई, समाज कमाएको छु । म बिगत ७ बर्षदेखि पत्रकारिता गरिरहदा केही नागरिकले बिश्वास गर्ने मान्छे बने हुँला, यहि कुराहरु कमाएको छु । र पैसाको कुरा गर्दा दैनिक घरखर्च चलाउन र राम्ररी गुजारा गर्न पत्रकारिताबाट पुग्छ । तर ठूला महल बनाउन सकिदैन् ।   
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ र तपाँईको क्षेत्रतिर कस्तो छ ?
पत्रकार हुँ भनेर मान्छे दादागिरी गर्न तर्फ कोही कोही लाग्ने गर्दछन् । उनीहरु आफ्नो भविश्य आफंै बर्वाद गर्न तर्फ लाग्दछन् र लामो समय यो पेशामा टेक्दैनन् पनि । हाम्रो क्षेत्रतिर पनि धेरै नभनु सामान्य बदमासी । भैरहन्छ पत्रकारिता पूर्ण रुपमा पेशा नै त्यागेकाहरुबाट । 
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा ! 
ति कुराहरु मेरो हातबाट सम्भव छैनन् । अर्थात म र हामी जस्तासम्म केही लोभका अफरहरु आउदैनन् किनकी हामी त्यहि गल्तिका प्रमाण जुटाउन काम गरिरहेका छौँ । पत्रकारिता पेशा र आफू बदनाम हुन् चाहन्न् । यदि गल्ति गर्न तर्फ लागे भने बर्षौ लगाएर कमाएको समाजसंगको साइनो टुट्ने छ ।
यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ? 
पत्रकारले आफ्नो पेशामा इमान्दारिता देखाउनुपर्छ ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ? 
पत्रकारको गल्तिमा दण्डित गर्नुपर्छ भने राम्रो काममा पुरुष्कृत गर्नुपर्छ । बल्ल पत्रकारिता बाँच्छ ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
पत्रकारिताको धर्म कुनैपनि पत्रकारले भुल्नु हुदैन् यहि भन्छु । 
समय र बिचारका लागि धन्यबाद । 
धन्यवाद, मेरा बिचार आम पाठकसामु पु¥याउने मौका दिनु भएकोमा बिम्ब नेपाली साप्ताहिकलाई पनि धेरै धेरै धन्यबाद ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

मोबाईल फोनको इतिहासः 
१. विश्वमा मोबाइलको शुरूवात .    अमेरिकाबाट
२. मोबाइलका पिता      मार्टिन कुपर
३. मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी .  मोटोरोला
४. पहिलो मोबाइल उत्पादन .   सन् १९७३ मा
५. सन् १९०८ मा केन्टकीमा पहिलो ः बिनातारको टेलीफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको ।
६. शुरुका मोबाइल फोनहरुलाई 0G-Zero Generation_ मोबाइल फोन भनिन्थ्यो ।
७. सन् १९८३ मा मोटोरालाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको ।
८. सन् १९८५ मा बेलायतमा पहिलोपटक मोबाइलमा कुराकानी भएको ।
९. सन् १९८७ मा बेलायतमा मोबाइल फोन बिक्री शुरु ।
१०. सन् १९८६ मा पहिलोपल्ट मोबाइल फोनमा Voice mail को सुविधा थपिएको ।
११. सन् १९९२. विश्वको पहिलो Hand-set मोबाइल फोन आएको । मोटोरोला कम्पनीको थियो ।
१२. सन् १९९३ मा IBM को “साईमन“ सार्वजनिक । विश्वको पहिलो Smart Phone थियो ।
१३. Camera युक्त मोबाइल फोन बनाउने पहिलो व्यक्ति फिलिप्पे काह्नन, फ्रान्स, सन् १९९७
१४. पहिलो News Mobile = Finland, सन् २००० मा ।
१५. MMS सेवा शुरूवात ः सन् २००१ बाट
१६. ज्ञन् को पुर्ण रुपमा स्वचालित सेलुलर नेटवर्क शुरु. सन् १९८० को मध्यतिर
१७. 1G मोबाइलको शुरूवात . सन् १९९३,  फिनल्यान्डबाट
१८. मोबाइलमा Text message and Data Service शुरु. सन् १९९३, फिनल्यान्ड
१९. 3G मोबाइल फोनको शुरूवात . सन् २००१
२०. 4G मोबाइल फोनको आरम्भ . सन् २०१२ को उत्तरार्ध, बेलायतबाट
नेपालमा मोबाइल फोनः  
२१. नेपालमा GSM मोबाइल फोनको परीक्षण . वि सं २०५६ बैशाख ०१
२२. GSM मोबाइल फोन बितरण प्रारम्भ . २०५६ बैशाख ३०
२३. नेपालमा त्यसबेला भित्र्याईएको मोबाइल फोन. नर्टेल कम्पनीको, 1G (प्रथम पुस्ता) को फोन
२४. नेपाल दुरसञ्चार संस्थान नेपाल टेलिकममा परिवर्तन . वि सं २०६१ साल
२५. नेपाल दुरसञ्चार संस्थानलाई GSM मोबाइल सेवा सञ्चालनको लागि औपचारिक अनुमति प्रदान. २०५६ बैशाख २९
२६. वि सं २०६० अघिसम्म. एयकत(उबष्म मोबाइल फोन सेवा मात्र प्रदान गरिएको थियो ।
२७. २०६० भदौ ०६. Post-paid मोबाइल सेवा बितरण शुरु ।
२८. २०६२ जेठ २३. मोबाइल फोनमा क्ष्लअयmष्लन अबिि निशुल्क गरियो ।
२९. २०६१ कार्तिक ०१. Nepal Telecom ले  CDMA प्रविधिको मोबाइल सञ्चालनमा  ल्यायो ।
३०. २०६२ साल. निजी क्षेत्रको कम्पनी Spice Nepal (हालको Ncell) ले GSM Mobile फोन बितरणको लागि स्वीकृती पाएको ।
३१. GSM Mobile को नम्बर ०९ अंकको बाट १० अंकको बनाइएको . २०६१ बैशाख ०१
३२. वि सं २०६५. ७५ वटै जिल्लामा मोबाइलको कभरेज पुगेको ।
३३. नेपाल टेलिकमले 3G सेवा परीक्षण सञ्चालनमा ल्याएको . २०६४ जेठ ०३
बिभिन्न स्थानमा रहेका केन्द्रहरु
१.मृग अध्ययन केन्द्र ः गोदावरी, ललितपुर
२. गोही प्रजनन केन्द्रः  चितवन र बर्दिया रा. निकुञ्ज
३. जैबिक विविधता सूचना केन्द्रः  टिकौली, चितवन
४. जटायु रेष्टुरेन्ट ः कावासोती र पिठौली, नवलपरासी
५. चमेरा सरक्षण क्षेत्रः देवानगढिया, कपिलवस्तु
६.सर्प सग्राहालय ः दमक, झापा
७. अन्तरास्ट्रिय पर्वतीय उधानः ककनी, नुवाकोट
८.गिद्ध प्रजनन केन्द्र ः कसरा, चितवन
९.हात्ती प्रजनन केन्द्र ः मेघौली, चितवन
१०.जिन बैंक ः खुमलटार, ललितपुर
नेपालले OBORमा हस्ताक्षर                 ०७४ मे २३ र मे १२ २०१७
नेपाल भ्रमण बर्षको मिति परिवर्तनः            ०७४।४।२९
नेपालले पेरिस सम्झौता अनुमोदन                 ०७३।६।१८
नेपाल अष्ट्रिया आर्थिक मन्चको गठनः  ०७४।७।१४
जैविक हतियार निषेध सम्बन्धि महासन्धिमा नेपालले अनुमोदन    ०७३।७।१९
नेपाल प्रहरी अस्पताल सर्वसाधारण सर्वसाधारणका लागि खुला     ०७४।७।२६

साहित्य/सृजना 

म मरेपछी

म मरेपछी
बिलिनेछन मेरा गजलका टुक्राहरु
हावा आफ्नै सुरमा सुस्ताइरहने छ
उसै गरी चम्कने छन ताराहरु,
घाम्का झिल्काले त्यस्सै गरी पोल्छन होला
सेतो कात्रोमा बेरिएको मेरो शरीर
बास्को चितामा तेर्सिने छ
लाम लागेका मलामीसंगै
सुस्त सुस्त घाट तर्फ
छुट्टै पहिचान लिएर
पुग्छ होला मेरो शरीर
म मरेपछी ।।
पोलिनेछु आगोको झिल्काहरुले
खरानी हुनेछन मेरा नसा नसा
अनी मकिनेछन मेरा हडिहरु,
बिस्तार बिस्तारै ध्वस्त हुनेछ मेरो शरीर
खरानी भएर बिलिनेछ माटोसंगै
त्यहीबाट अन्त्य हुनेछ मेरो जीन्दगी
म मरिपछी ।।
उमा गौतम

मैले विश्वास गरेँ घात दियौ किन
मैले फूल चढाएँ लात दियौ किन
कुन मोडमा पुग्यौ मै गलत किन
मेरो पाइला रोकी सातो लियौ किन
मैले देवी ठानेँ प्रेत भन्यौ किन
मैले मुटु मागेँ छुरा धस्यौ किन
मैले हात फैलाएँ विष दियौ किन
म आउन चाहेँ पथ छेक्यौ किन
म बाँच्न चाहेँ जिउँदै मारेऊ किन
म हाँस्न चाहेँ दियौ आँशु किन
माया गर्न चाहेँ दियौ घृणा किन
दिलमा बस्न चाहेँ दियौ पीडा किन
दाहालका मीठा कविता
फेसबुकबाट

स्वार्थी छ है बाबू दुनियाँ भन्नुहुन्छ आमा
ख्याल राखेस् नि सहरमा भन्नुहुन्छ आमा
बाध्यताले  प्रदेशीनु परे नि आँखामा देश,
मनमा राख्नु सगरमाथा भन्नुहुन्छ आमा 
पीर दुख जति आएनि बढाउनु हिम्मत 
नरोक्नु संघर्षका पाइला भन्नुहुन्छ आमा
ठुलो स्वर गरी मन न दुखाउनु कहिल्यै नि
देवताकै स्वरूप बुढापाका भन्नुहुन्छ आमा
परिस्थिति जस्तोसुकै आएनि पुरा गर्नु 
नमार्नु चेलीबेटीको आशा भन्नुहुन्छ आमा
आर.डि. निश्चल 
बागचौर ३, सल्यान 
हाल कीर्तिपुर

शक्ति फलाममा हुन्छ कि खियामा हुन्छ
भन्छन् त मायामा भन्दा रुपियाँमा हुन्छ
आखिर लत नै हो जो जसरी बुझोस्
कसैको रक्सीमा,कसैको चियामा हुन्छ
बाले मरुन्जेल छोरो कुटेको देख्छु
रिस निर्धामा हुन्छ कि बलियामा हुन्छ?
उदिन घोटिन्छ फगत सकिएरै जान्छ
धार भने कर्दमा हुन्छ, हँसियामा हुन्छ
म समाज हेरेर सत्य बोलिदिएँ भने
छोरीको जीवन यद्यपि अधियामा हुन्छ
सरु सुधा
 तम्घास गुल्मी

कति दुख्न आउछौ सानु, समझनामा घरिघरी
लाग्छ तिमी लुकामारी खेल्छौ कतै वरिपरी
नजिक भए नडराउन बोल्दा हुन्छ मन्द मन्द
तिमी मेरी म तिम्रो हुन्छौ सानु सरिबरी
डराउनु के नै छर साचो माया गर्ने हामीले
भनेकै छु जीवन दिन्छु तिमीलाई म मरिपरी
हाम्रो जस्तो माया हेर संसारमा छैन होला
बाधा आए नि जिन्दगी छुट्ने छैनौ सधैभरी
तिमी नै हौ मेरो जीवन तिमीले छोड्दा हेर
हुन्छ होला मेरो जीवन सधै मरी तुल्य सरी

बिरही मोहन ठकुरी
बोगटान गापा ४
 डोटी

सूचना/सन्देश/बिज्ञापन 

बोगटान गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
चवाराचौतारा, डोटी 
प्रदेश नं. ७

IT Officer भर्ना सम्वन्धि बोगटान गाउँपालिकाको सूचना । 

प्रथम पटक सूचना प्रकाशित मिति २०७४/१०/०३ गते 
संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम (LGCDP) कार्यक्रम समन्वय ईकाई, सिंहदरवार काठमाण्डौंको प.स. ०७४/०७५, मिति २०७४/०७/१७ गतेको सूचना प्रबिधि अधिकृत करार सेवा सम्वन्धको पत्रानुसार यस गाउँपालिकाको लागि देहाय बमोजिमको शर्तहरुको अधिनमा रही सूचना प्रबिधि अधिकृत (IT officer) सेवा करारमा नियुक्ती गर्नु पर्ने भएकोले ईच्छुक उम्मेदवारले यस गाउँपालिकाको कार्यालयमा रितपूर्वक दरखास्त दिनु हुन यो सूचना प्रकाशन गरिएको छ । 
तपशिल 
१. पद सूचना प्रविधि अधिकृत 
२. आवश्यक संख्या ः १ (एक) 
३. पारिश्रमिक ः मासिक रु. ४००००/- 
३. शैक्षिक योग्यता ः कम्प्युटर ईन्जिनियरिगंमा स्नातक वा ईलेक्ट्रोनिक ईन्जिनियरिङ्गमा स्नातक वा ईलेक्ट्रिकल र ईलेक्ट्रोनिक ईन्जिनियरिगंमा स्नातक वा ईलेक्ट्रोनिक र कम्युनिकेसन ईन्जिनियरिङ्गमा स्नातक गरेको, मान्यता प्राप्त शिक्षण संस्थावाट Computer वा Information and Communications Technologies वा सो सरहको विषयहरु मध्ये कूनै एक विषय लिई स्नातक (BIT, BIM, BBIS, VCA, BCIS, DEIT, DSc, IT, CSIT) गरेको उपाधीलाई गरेको । 
४. कार्यबिवरण (TOR) ः स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम (LGCDP) को वेवसाईट lgcdp.gov.np को गृह पृष्ठमा उल्लेख भएको सूचना बमोजिम हुने । 
५. संलग्न गर्नु पर्ने कागजातहरु ः व्यक्तिगत बिवरण, नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्रहरु, नेपाल बाहिरबाट शिक्षा हासिल गरेकाहरुको हकमा सो प्रमाण पत्रहरुको नेपालको बिश्वबिद्यालयबाट Equivalance गरिएको प्रमाण पत्र, कार्य अनुभव भए कार्य अनुभवका प्रमाण पत्रहरु तथा अन्य कागजातहरु । 
६. आवेदन दिने तरिका ः बुँदा नं. ५ मा उल्लेख भएका कागजातहरु एवं बुँदा नं. ७ मा तोकिएको शुल्क राष्ट्रिय बाणिज्य बैङ्क, सिलगढी शाखास्थित यस कार्यालयको नाममा रहेको संचित कोष खाता नं. ४१००३०४०१८१०७ मा जम्मा गरि जम्मा गरेको सक्कल भौचर संलग्न राखि हुलाक, ईमेल वा स्वयं उपस्थित भई आवेदन दिने । 
७. आवेदन दस्तुर ः १०००/- (एक हजार रुपैयाँ मात्र) 
८. उम्मेदवार छनौटका आधारहरु देहाय बमोजिम हुनेछन् ः 
क्र.स.                सूचकहरु                                      पूर्णाङ्क 
१.      शैक्षिक योग्यता  ३०
२.      कार्य अनुभव (सूचना अनुसार न्यूनतम शैक्षिक योग्यता हासिल गरेको पश्चात    ४०
३.      उम्मेदवारको स्थायी ठेगाना                                                 २०
४.      २ बर्ष भन्दा माथी स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रममा क्ष्त्ऋ    १०
        ख्यगिलतभच वा भ्हउभचत वा अन्य कुनै सामुदायिक बिकास कार्यक्रममा 
        सूचना प्रबिधि अधिकृतको रुपमा कार्य गरेको 

९. तलव स्केल ः स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम (LGCDP) ले तोके बमोजिम मासिक रु. ४००००/- र भत्ता रु. ५०००/- गरि ४५०००/- (अक्षेरुपी रु. पैतालिस हजार मात्र) 
१०. करार अवधी ः २०७५ असार मसान्तसम्म । 
११. थप जानकारीको लागि ः सम्पर्क नं. 
१२. सूचनामा उल्लेखित भए बाहेकका अन्य कुराहरु प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको उम्मेदवार छनौट तथा सिफारिस समितिले निर्धारण गरे वमोजिम हुनेछ ।

हार्दिक कृतज्ञता

जन्म : १९८७                                                                                    मृत्यु : २०७४/१०/२
हाम्री ममतामयी आमा कमला जोशीको यही मिति २०७४ माघ २ गते ८७ बर्षको उमेरमा असामयिक निधन भएकोमा मृत आत्माको चीर शान्तिको कामना छ । साथै यस दुःखद घडीमा हामीप्रति समवेदना÷सहानुभुति प्रकट गर्नु हुने सम्पूर्ण महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
छोरा/बुहारीहरु 
कृष्ण जोशी/बिजयालक्ष्मी जोशी 
रमेश जोशी/राधिका जोशी 
नाती/नातिनीहरु 
नविन, प्रविन, चित्र, दिपा 
लक्ष्मी जाशी
एवं समस्त जोशी परिवार
शिखर नगरपालिका–६ रिठाभुवा, डोटी