Monday, January 22, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल माघ ९ गते मंगलबार

नेपालको संबिधानमा अपाङ्गता भएकाहरुका लागि भएका व्यवस्था व्यवस्थाहरुको कार्यान्वयन गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

“बन्द” ले बनाईदिएको क्रिकेट मैदान

आईतवार बिहानै १०/१२ जना बालकहरुको एक हुल क्रिकेट खेल सामग्री बोक्दै निस्कियो । देख्नेहरुले अनुमान गरेका थिए उनीहरु कुनै मैदानमा गएर खेल्नेछन । तर त्यसो   भएन । १२/१५ उमेर समूहका ति बालकहरुले पिच सडकमै खेल सुरु गरे । खेलाडी बालकहरु चिच्याउँदै खेलमा रमाउन थाले । 
यो दृष्य डोटीको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारको सडकको हो । के आई सिंह राजमार्ग अन्तरगत पर्ने उक्त सडक खण्ड अचेल बालबालिकाहरुको खेल मैदान बनेको छ । डोटी, अछाम र  बाजुराका लागि दिनहुँ सयौं यातायातका साधनहरु चल्ने उक्त सडक प्रदेश नं. ७ को राजधानी दिपायल माग गर्दै जारी आन्दोलनको क्रममा गत बुधवारदेखि आईतवार साँझसम्म बन्द भएपछि सुनसान बन्यो । दिउसो प्रदर्शनकारीहरुले जुलुश निकाल्न, राती टायर बालेर प्रहरी र प्रदर्शनकारीहरुले संगै आगो सेक्न र साँझ बिहान बालबालिकाहरुले क्रिकेट खेल्नमा प्रयोग भयो  उक्त सडक । वन्दका कारण फुर्सदिला बनेका युवा व्यापारीहरुले पनि बालबालिकाहरुको खेललाई सघाईरहे बन्द अवधीभर । बालबालिकाहरुसंगै क्रिकेट खेल्दै रमाईरहे उनीहरु पनि । अन्य व्यापारिकहरु पनि खेल हेरेर आनन्द लिईरहे ।
पुष १२ गते देखि जारी आन्दोलनका क्रममा पुष १९ देखि २४ सम्मको डोटी बन्दमा पनि यस्तै अवस्था थियो । २५ गतेदेखि खुलेको बन्द सरकारले माघ ३ गते प्रदेश नं. ७ को मुकाम कैलाली तोकेपछि फेरी उग्र बन्यो आन्दोलन । पछिल्लो बन्दको आज पाँच दिनसम्म एम्वुलेन्स र सुरक्षा निकायका बाहनहरु बाहेक अरु साधन चलेनन् सडकमा । आकास्मिक सामाजिक घटनाहरु भएमा आन्दोलनकारीहरुको स्वीकृति लिएर फाट्टफुट्ट अन्य बाहनहरु चले । 
के आई सिंह राजमार्ग मात्रै होईन बन्दका कारण भिमदत्त राजमार्गको बुडर–स्याउले खण्ड र पहलवानसिंह स्वार राजमार्ग (सिलगढी–साँफेवगर) पनि मस्त निन्द्रामा सुते । 
बिद्याय बन्द, शिक्षक–बिद्यार्थी आन्दोलनमा 
बन्दका कारण जिल्लाका अधिकांश बिद्यालयहरु ठप्प भए । बन्दले बिद्यालय शिक्षा परीक्षा (एसईई) को तयारी गरिरहेका बिद्यार्थीहरु आफ्नो पढाई बिग्रेको भन्दै चिन्तित देखिन्थे भने स–सना बालबालिका बिद्यालय बन्दको फुर्सदमा रमाई–रहेका थिए । केही बालबालिका प्रदर्शनकारीहरुसंग आन्दोलनमा जिन्दाबाद, मुर्दाबाद भन्दै हिडे । प्रदर्शनका क्रममा प्रहरीलाई ढुङ्गा प्रहार गर्नेमा पनि बिद्यालय उमेरका बालबालिकाहरुको संख्या बढी देखियो ।
छात्राबासमै डेरा गरेर बस्ने बालबालिकाहरु पनि माघी मनाउन घर आएका बेला एकाएक भएको बन्दले बिद्यालय जान पाएनन् । एकातिर छात्राबासको शुल्क पुरै तिर्नु पर्ने अर्कोतिर पढाई पनि छुट्ने उनीहरुको चिन्ता बेग्लै थियो । 
त्यसो त माघी मनाउन  घर गएका अधिकांश शिक्षकहरु पनि बिद्यालयमा आउन सकेका थिएनन् । जागिर पहाडको बसाई तराईको भएका शिक्षकहरु बन्दले तराईमै रोकिए । तिमध्ये केही त सोमवार साँझ कार्यक्षेत्रमा पुगेका छन्, कोही बाटोमै छन् । कार्यक्षेत्रमै भएका शिक्षकहरु पनि घाम ताप्दै दिन कटाउन बाध्य भए । केही शिक्षकहरु डोटेली जनताले राजधानीको माग गर्दै गरिरहेको आन्दोलनमा सरिक हुने गरेका देखिन्थे । 
नेताहरु मौन, जनता दुःखी 
राजधानीको माग गर्दै झण्डै एक महिनासम्म आन्दोलन चलिरहँदा पनि सरकारले कुनै वास्ता गरेको छैन । न त जिल्लाका नेताहरुले नै आन्दोलनमा सहभागिता जनाएका छन । आन्दोलनका अनेक स्वरुप लिएर जनता सडकमा आईरहे र आईरहेका छन तर नेताहरु आफ्नै दुनो सोझ्यानमा व्यस्त छन । 
मन्त्रीपरिषद्मा डोटीकै नेता भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरवहादुर बलायर हुँदा पनि उनले कुनै चाँसो नदिएको आन्दोलनकारीहरुको आरोप छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन प्रचारको क्रममा मन्त्री बलायरले प्रदेश नं. ७ को राजधानी दिपायल बनाउन जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको बताएका थिए । चुनावमा पराजित भएपछि मन्त्री हुँदाहुँदै पनि उनले डोटीमाथी अपमान हुँदा समेत वास्ता नगरेको प्रदर्शनकारीहरुको आरोप छ । 
यस्तै बलायरलाई हराउँदै प्रतिनिधि सभा सदस्य बनेका एमाले नेता प्रेमबहादुर आलेमगरले पनि चुनावी भाषणमा यदि दिपायल राजधानी नभए आफु सांसद पद छोडेर सडकमा आउने कसम खाएका थिए । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर उनले शपथ नखाँदै सरकारले अस्थायी मुकाम धनगढी तोक्दा उनले आन्दोलनमा सहभागिता जनाएका छैनन् । काठमाण्डौंमा उनले दिपायल राजधानीका लागि शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने गरेका त छन् तर उनले पहिले प्रतिवद्धता गरे जस्तो राजीनामा दिएको घोषणा गरेका छैनन् । उनी मन्त्रीको दौडमा रहेको प्रदर्शनकारीहरुको आरोप छ । 
अन्य नेताहरुले पनि आफुहरुलाई साथ नदिएको प्रदर्शनकारीको आरोप छ । बलायर, आले लगायतका नेताहरुले आन्दोलनमा आफ्नो समर्थन रहेको सार्वजनिक अभिव्यक्ति दिईरहेपनि आन्दोलनमा प्रत्येक्ष सहभागिता जनाएको भने देखिदैन । 
उग्र बन्दै आन्दोलन 
आन्दोलन जति जति लम्बिदै छ त्यति त्यति उग्र बन्दै गएको छ । शनिवार राती मात्रै बुडरमा एक दर्शन यातायातका साधनमाथी तोड्फोड भयो । प्रदर्शनकारीहरुले सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय–हरुमा तोड्फोड् र आगजनी    गरे । लामो समयसम्म आन्दोलन हुँदा पनि सरकारको ध्यानाकर्षण नभएको भन्दै आन्दोलनकारीहरु उग्र बन्दै गए ।
मदिरा सेवन गरेर जुलुशमा सहभागि हुने, आन्दोलनकारीहरुलाई प्रहरीमाथी ढुङ्गा प्रहार गर्न जोस्याउने, अपशव्द प्रयोग गर्दै नारावाजी गर्ने जस्ता अराजक गतिबिधिमा केही व्यक्तिहरु लागे । यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा ल्याउन समेत समस्या भएको आन्दोलनका अगुवाहरुको दुखेसो थियो । ‘हामी त आन्दोलन शान्तिपूर्ण होस् भन्ने प्रयास गरिरहेका छौं’ आईतवार एक अगुवाले भनेका थिए ‘तर उल्टो हामीसंगै झगडा गर्छन, अव के गर्नु ?’

सम्पादकीय 

एकता कि बिभाजन

साविकको सुदूरपश्चिम विकास क्षेत्रको एक प्रदेश भएपछि साविककै सदरमुकाम रहेको ठाउँमा प्रदेशको राजधानी हुनु पर्ने माग नाजायज हैन । पहिले विकास क्षेत्रको केन्द्र बनाउँदा पनि केही आधारहरु तय गरेर नै वनाएको हुँदो हो । विकास क्षेत्रको केन्द्र भएपछि बिभिन्न संरचनाहरु निर्माण भएका छन । ईतिहास निर्माण भएको छ । सरकारी तथा नीजि क्षेत्रबाट प्रसस्तै लगानी भएको   छ । त्यसकारण अहिले बनेको प्रदेश नं. ७ को प्रशासनिक केन्द्र अर्थात राजधानी दिपायलमै हुनु पर्छ भन्नु यहाँका जनताको अधिकार हो र त्यो अधिकार जनताले पाउनु पर्छ । त्यो अधिकारका लागि शान्तिपूर्ण लडाई लड्नु पनि अधिकार हो । 
त्यसै अधिकारको उपभोग गर्दै डोटेली जनताले गत पुष १२ गते देखि आन्दोलन गरिरहेका छन । आन्दोलनकारीहरुले कहिले आफ्नो अधिकार मात्रै उपभोग गरिरहेका छन भने कहिले अरुको अधिकारको पनि हनन् गरिरहेका छन । यस बिचमा दुई पटक पूर्व रुपमा जिल्ला ठप्प भएको छ । केही दिन त सुदूरपश्चिमका सात जिल्लाकै यातायात ठप्प भयो । 
आईतवार बसेको आन्दोलन संयोजन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आन्दोलनलाई खुकुलो बनाउने निर्णय गरेसंगै यातायातका साधनहरु चल्न थाले, वजार व्यवसाय खुला भयो । लामो समयदेखि बन्द शिक्षण संस्थाहरु खुले तर सरकारी कार्यालयहरु र गैरसरकारी संस्थाका कार्यालयहरु अहिले पनि खुल्न सकेका छैनन् । सरकारी कार्यालयहरु नै बन्द  गरेपछि राज्यलाई दवाव पर्छ भन्ने मान्यताका साथ यि कार्यालयहरु नखुलेका हुन सक्छन् । 
आन्दोलनकै क्रममा आन्दोलनकारीहरुका बिचमा बिभिन्न मतभेद्हरु देखिए । आन्दोलन शान्तिपूर्ण गर्ने वा उग्र बनाउने, आन्दोलन शिष्ट, मर्यादित बनाउने वा आन्दोलनलाई तोड्फोड्को अवस्थामा पु¥याउने, बन्द, चक्काजाम, टायर बाल्ने काम गर्ने वा नैतिक दवाव पर्ने खालका कार्यक्रमहरु गर्ने भन्ने बिषयमा आन्दोलनको उठान देखिनै फरक मत देखिदै आएको थियो । आन्दोलनलाई शान्तिपूर्ण तवरले लैजानु पर्छ भन्ने नेतृत्वकर्ताको सोच हुँदाहुँदै पनि प्रहरीमाथी आन्दोलनकारीको तर्फबाट ढुङ्गा प्रहार भए, प्रहरीले अन्धाधुन्द लाठी चार्ज र अश्रुग्याँस प्रहार ग¥यो ।  प्रदर्शनकारीतर्फ पनि र सुरक्षाकर्मी तर्फ पनि घाईते भए । 
धेरै सरकारी कार्यालयहरुमा तोड्फोड् भयो । यातायातका साधनहरुमाथी तोड्फोड् हुनुका साथै आगजनी समेत भयो । आन्दोलनका क्रममा ढुङ्गा प्रहार, लाठी चार्ज, तोड्फोडलाई सामान्य रुपमा लिईएला तर कस्ता कस्ता प्रकृतिका घटनाहरु भए र ति घटनाहरुको सम्वन्ध हाम्रो मागसंग छ कि छैन भन्ने कुरा बुझ्नु जरुरी छ । हाम्रो आन्दोलनलाई फाईदा पुग्ने गरि ति घटनाहरु भए वा घाटा हुने गरि ? यसको पनि समीक्षा हुनु जरुरी छ । 
यस्तो अवस्था आन्दोलनकारीहरुबिच भएको मतभेद्का    कारण आएको हो भन्दा अन्याय हुँदैन होला । यस्तै सोमवार पनि भएको छ । एकपक्षले सरकारी कार्यालयहरु बन्द भएका कारण  सरकारी गाडीहरु पनि चल्न नदिने भन्दै बिज्ञप्ती जारी गरेको छ भने अर्कोतिर अर्को पक्षले सरकारी गाडी चल्न दिनु पर्ने बताएको छ । सरकारी गाडी बन्द गर्नेहरुको दावी वन्दका बेला सरकारी गाडीहरु व्यक्तिगत प्रयोजनका लागि प्रयोग भए भन्ने छ भने अर्को पक्षको तर्क राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरेर बन्द खुकुलो गरिएको हुँदा नेताहरु, मतदाताहरु सरकारी गाडीमा पनि आउन सक्ने भएकाले सरकारी गाडी खोल्नु पर्ने दावी छ । 
आन्दोलनकारीहरुको यो बिवादमा सञ्चारकर्मीहरुलाई सकस भएको छ । अव कस्तो समाचार सम्प्रेषण गर्ने ? सरकारी गाडी बन्द छन भन्ने वा खुला छन भन्ने ? आन्दोलनको नेतृत्वकर्ताहरुले यस बिषयमा समयमै सामाधान दिनु जरुरी छ ।

थप समाचार 

आरजुलाई उम्मेदवार बनाउन माग

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहाहदुर देउवापत्नि आरजु राणा देउवालाई माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनाउन महिला सांसदहरुले दवाव दिएका छन । 
नेपाली कांग्रेसको तर्फबाट ७ नं. प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले राणालाई राष्ट्रिय सभा सांसद बनाउनु पर्ने माग गरेका छन । ७ नं. प्रदेशको अस्थायी मुकाम धनगढीमा आईतवार प्रदेश सभा सदस्यको शपथ ग्रहण गरेपछि महिला सांसदहरुले सोमवार एक बिज्ञप्ती जारी गर्दै उक्त माग राखेका छन । 
मंसिर २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणा कैलाली क्षेत्र–५ बाट बाम गठबन्धनका उम्मेद्वार नारदमुनी रानासंग पराजित भएकी थिईन । महिला सांसदहरुले राणा एक बौद्धिक महिला भएका कारण उनलाई राष्ट्रिय सभामा लैजाँदा सवै महिलाहरुप्रति न्याय हुने बताएका छन । 
‘यस प्रदेशकी सामाजिक आन्दोलनकी अभियन्ता तथा महिला सशक्तिकरण आन्दोलनकी अगुवा नेतृ डा आरजु राणा देउवालाई आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वार बनाउन हामी जोड्दार माग गर्दछौं’ बिज्ञप्तीमा भनिएको छ ‘उहाँको राष्ट्रिय सभामा हुने उपस्थितिले यस प्रदेशका महिलाहरुको संबैधानिक हक र अधिकारहरुलाई स्थापित गर्न थप बल पुग्नेछ ।’
महिला सांसदहरु दिश्वश्वरी शाह, उमादेबी वादी, नन्दा बम र अम्विका कुमारी थापाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा आफुहरुको उक्त मागमा सहयोग गरिदिन पार्टी नेतृत्व, प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरु, पार्टी जिल्ला सभापतिहरु र महिला संघसंस्थाहरुलाई अपील गरिएको छ ।
यता पुतला जल्दै, उता शपथ ग्रहण गर्दै
प्रदेश नं. ७ को प्रदेश सभाका लागि डोटी प्रदेश सभा क्षेत्र ‘ख’ बाट निर्वाचित सांसद त्रिलोचन भट्ट पद तथा गोपनीयताको शपथ ग्रहण गर्न जिल्ला समन्वय समिति कैलालीको सभाहलमा पुगिसकेका थिए । आईतवार बिहान १० बजे हुने भनेको शपथ ग्रहण प्रदेश प्रमुख मोहनराज मल्ल आउन ढिलो भएपछि दिउसो २ बजेका लागि सारिएका कारण उनी पनि ढिलो गरिनै गएको थिए । उनी देश र जनताको नाममा कसम खाईरहँदा डोटीमा भने उनको पुतला जलिसकेको थियो ।  
माघ ३ गते सरकारले प्रदेश नं. ७ को राजधानी कैलाली कायम गरेको बिरुद्धमा आक्रोसित डोटीबासीहरुले डोटी जिल्ला प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद भरत बहादुर खड्का र प्रदेश सभा ‘ख’ बाट निर्वाचित त्रिलोचन भट्टको पुतला जलाएका छ । 
चुनावी अभियानका क्रममा प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनतासंग भोट मागेर बिजयी भएका जनप्रतिनिधिहरुले आन्दोलन चलिरहँदा समेत कुनै चाँसो नदेखाएको भन्दै आन्दोलनकारीहरुले पुतला जलाएका हुन । मतदाता राजधानी माग्दै सडकमा आन्दोलित भएका बेला नेताहरु शपथ ग्रहण गर्ने दौडमा लागेकोप्रति आन्दोलनकारीहरु थप आक्रोसित भएका छन । 
खड्का र भट्टसंगै आन्दोलनकारीहरुले बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायर र प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आलेमगरको पुतला दहन गरेका छन । आलेमगरले चुनावी अभियानमा प्रदेश नं. ७ को राजधानी दिपायल नभए आफु पदबाट राजीनामा गरेर सडकमा आउने वताएका थिए । यस्तै बहालवाला मन्त्री बलायर डोटी जिल्लाकै भएर पनि राजधानी कैलाली हुँदा समेत मौन रहेको प्रदर्शनकारीहरुको आरोप छ ।
पारिवारिक काममा व्यस्त भएका कारण खड्काले भने आईतवार शपथ लिन पाएनन् ।

मल्लको राजनीतिक यात्रा 

प्रधानपञ्चदेखि प्रदेश प्रमुखसम्म

रामहरी ओझा/डोटी 
माघ ८
२०२८ सालमा कैलालीको तत्कालीन पण्डौन गाउँ पञ्चयतको प्रधानपञ्चमा निर्वाचित भएका मोहनराज मल्ल बुधवार प्रदेश ७ को प्रमुखमा नियुक्त भएका छन ।
पुख्यौली घर डोटीको बोगटान क्षेत्रमा भएपनि मल्ल कैलालीमै जन्मे । २००७ सालमा बुवा दिलिपसिं मल्ल र आमा जगत  कुमारी मल्लको छोराका रुपमा जन्मेका मल्ल नैतिकवान र इमान्दार व्यक्तिको रुपमा चिनिन्छन् । बिद्यालय शिक्षा देखि स्नातक तहसम्मको औपचारिक पढाई  भारतको लखनउबाट प्राप्त गरेका मल्लले त्रिभुवन बिश्वबिद्यालयबाट स्नातकोत्तर तहको उपाधी हासिल गरेका छन । उनी महेन्द्र बिद्या भुषणबाट सम्मानित पनि भएका थिए । 
गाउँ पञ्चायत प्रधान देखि राष्ट्रिय पञ्चायल सदस्यसम्म जनमतले जितेका मल्ललाई प्रदेश प्रमुख हुन सजिलै भयो । पञ्चायतको राजनितिबाट प्रभावित मल्ल २०७० सालमा भएको संबिधान सभाको दोश्रो निर्वाचनका क्रममा नेपाली कांग्रेसमा आवद्ध थिए । कैलालीको भजनी नगरपालिका–१, मा बसोवास गर्दै आएका मल्ल हाल काँग्रेसको महासमिति सदस्य हुन् ।
२०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति बनेका मल्ल २०३७ देखि २०४६ सालसम्म राष्ट्रिय पञ्चायत सदस्य रहेका थिए । पञ्चायती शासनमा उनी २०३२ सालमा सुदूरपश्चिमाञ्चल धान चामल कम्पनीको अध्यक्ष र २०४५ मा टीकापुर विकास समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका व्यक्ति हुन । २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहकार तथा त्रिभुवन विश्व विद्यालयको सभासद भएर काम गरेका थिए ।
पञ्चायती राजनीतिमा शक्तिशाली देखिएका मल्ललाई २०४६ सालपछिको राजनीति भने त्यति फापेन । २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा राप्रपाको तर्फबाट चुनाव लडेका मल्लले पराजय मात्रै भोग्नु प¥यो । २०६२/०६३ को राजनीतिक परिवर्तनपछि पनि मल्ल सक्रिय राजनीतिमा कमव्याक हुन    सकेनन् । २०६४ को संबिधानसभा निर्वाचनमा पनि राप्रपाबाटै चुनाव लडेका मल्ल फेरी हारे । 
मल्लले अमेरिका, चीन, बेलायत, जर्मन, जापान, सिंगापुर लगायत झण्डै दुई दर्जन मुलुकको भ्रमण गरेका छन् ।

सांसद खड्का बिरुद्ध उजुरी

माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदाता नामावलीमा नाम समावेश भएका सांसद भरतवबहादुर खड्का बिरुद्ध उजुरी परेको छ । 
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको बिवरण अनुसार आईतवार प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण समारोहमा सांसद खड्का अनुपस्थित भई शपथ ग्रहण नगरेका कारण उनी मतदाता नभएको दावी गरिएको छ । मतदाता बिष्ना सिंहले दिएको उजुरीमा शपथ ग्रहण नगरेको व्यक्ति मतदान गर्न योग्य नभएको हुँदा सांसद खड्काको नाम मतदाता नामावलीबाट हटाईपाउन माग गरिएको छ । 
निर्वाचन अधिकृतको कार्यालयले सोमवार उजुरीको सूची प्रकाशित गर्दै मंगलबार दिउसो ३ वजेभित्र उक्त उजुरीको खण्डनका लागि आवश्यक प्रमाणहरु पेश गर्न सूचना जारी गरेपछि सांसद खड्काले आफु बिरामी भएको र छोरीको बिवाह भएका कारण शपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेको प्रतिक्रिया दिएको निर्वाचन अधिकृत डोटी जिल्ला न्यायाधिश जयानन्द पनेरुले जानकारी दिएका छन । ‘उहाँको प्रतिक्रिया आईसकेको छ’ पनेरुले भने ‘उहाँले मतदान अघि शपथ ग्रहण गर्ने भन्नु भएको छ ।’ 
निर्वाचन अधिकृत पनेरुका अनुसार शपथ ग्रहण नगरेको व्यक्ति मतदाता हुन पाउने वा नपाउने भन्ने बिषयमा कानुनमा प्रष्ट व्यवस्था नभएका कारण निर्वाचन आयोगमा पठाईएको छ । ‘हाम्रो जस्तै समस्या पोखरामा पनि भएको रहेछ’ अनलाईन खवरसंग कुरा गर्दै पनेरुले भने ‘अव आयोगले के निर्देशन गर्छ, सोही अनुसार हुन्छ ।’
सांसद खड्का नेपाली कांग्रेसको तर्फवाट डोटी जिल्ला प्रदेश सभा ‘क’ मा प्रत्येक्ष निर्वाचित भएका हुन । 

सरकारी गाडी चल्नमा रोक

प्रदेश नं. ७ को राजधानी माग गर्दै पुष १२ देखि जारी आन्दोलनका क्रममा माघ ३ गतेदेखि भएको बन्द आईतवार खुलेपनि सरकारी गाडी चल्नमा रोक लगाइएको छ । 
आन्दोलन संघर्ष समितिले सोमवार एक बिज्ञप्ती जारी गर्दै सरकारी गाडीहरु व्यक्तिगत प्रयोजनका लागि प्रयोग भईरहेकाले चल्नमा रोक लगाउने जानका–री गराएको छ । आन्दोलनका क्रममा सरकारी कार्यालयहरु बन्द रहेका र सरकारी गाडीहरु कर्मचारीहरुले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेकाले सम्पत्तिको दुरुपयोग भएको भन्दै गाडी चल्न रोक लगाईएको हो । 
राष्ट्रिय सभाको निर्वाचन सफल पार्न र उक्त निर्वाचनको अवसरमा डोटी आउने प्रदेश सभा सदस्य र अन्य नेताहरुसंग राजधानीको बिषयमा लविङ्ग गर्ने उद्देश्यका साथ बन्द खुकुलो बनाईएको भएपनि पूर्ण रुपमा बन्द फिर्ता नभएको बिज्ञप्तीमा जनाईएको छ । निर्वाचन अधिकृतको कार्यालय र सोसंग सम्वन्धित सरकारी कार्यालय बाहेक अन्य सवै सरकारी र गैरसरकारी संस्थाका कार्यालयहरु बन्द राख्ने निर्णय आईतवार संघर्ष समितिले गरेको थियो । 
सोमवार जारी बिज्ञप्तीमा भनिएको छ ‘सरकारी कामकाजको प्रयोजनको लागि भएका सरकारी गाडीहरु कार्यालय बन्द र जनताका कामकाज ठप्प रहेका बेला पनि कर्मचारीहरुको व्यक्तिगत प्रयोजन र सयलका लागि आन्दोलनको मर्म र भावना बिपरित प्रयोग भईरहेकाले सो नगर्न नगराउन सम्वन्धित पक्षलाई जानकारी गराउदछौं ।’ यदि आग्रह गर्दागर्दै पनि सरकारी गाडीहरु चलाईएको पाईएमा सम्वन्धित पक्ष जिम्मेवार हुने बताईएको छ ।

सेनाको हेलिकप्टर आकस्मिक अवतरण


नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन् ।
डडेल्धुराबाट घाइते प्रहरी जवान बोकेर नेपालगञ्जका लागि उडेको ०४५ इक्विरेल हेलिकप्टर डोटीको शिखर नगरपालिका–४ मुडभाराको मरकट्टेस्थित गहुँखेतमा अवतरण गरिएको हो । उड्नासाथ हेलिकप्टरमा समस्या देखिएपछि चालक प्रमुख सेनानी कुशलकुमार गुरुङ र कोपाइलट क्याप्टेन राकेश खड्काले आकस्मिक र अवतरण गराउनुभएको हो ।
आइतबार साँझ दार्चुलामा भीरबाट लडेर घाइते भएका प्रहरी जवान शेरबहादुर महतारालाई उपक्षेत्रीय अस्पताल डडेल्धुराले थप उपचारका लागि काठमाडौँ सिफारिश गरेको थियो । त्यसपछि प्रहरीले सेनासँग समन्वय गरेर नेपालगञ्जसम्मका लागि सो हेलिकोप्टरको व्यवस्था मिलाएको थियो ।समस्या समाधानका लागि इन्जिनीयरबाट जाँचबुझ भई आवश्यक मर्मत गरेर मात्रै उडान भर्ने जनाइएको छ । उता घाइते प्रहरी जवान महताराको अवस्था भने गम्भीर छ ।

छोटकरी समाचार 

२२९ मतदाता

माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश नं. ७ मा दुई सय २९ मतदाता रहेका छन । निर्वाचनको प्रक्रिया प्रक्रिया सुरु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले आईतबार प्रकाशन गरेको मतदाता नामावली अनुसार यस प्रदेशमा दुई सय २९ मतदाता रहेका छन । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था    छ । 
८८ स्थानीय तह रहेको यस प्रदेशमा प्रमुख उपप्रमुख गरि एक सय ७६ र प्रदेश सभाका ५३ सदस्यको मतदाता नामावलीमा नाम समावेश गरिएको छ । 
खुलातर्फ तीन, महिलातर्फ तीन, दलित एक र अपाङ्ग वा अल्पसंख्यक एक गरि जम्मा आठ सिटका लागि हुने निर्वाचनमातालिका निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ । निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायाधिश जयानन्द पनेरुले दिएको जानकारी अनुसार आईतवार प्रकाशन भएको मतदाता नामावलीमा सोही दिन दावी बिरोध गर्ने समय राखिएको थियो । दाविबिरोधको छानबिनपछि आज मंगलबार कार्यालयले मतदाताहरुको अन्तिम नामावली प्रकाशन   गर्नेछ । 
बुधबार उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न हुने बातावरण बनाउन निर्वाचन अधिकृत पनेरुले सवैलाई आग्रह गरेका छन ।

खेल समाचार 

विशाल राई र रुविना क्षेत्रीलाई ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड पाएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गरेको ‘झापा स्पोर्ट्स अवार्ड २०७४’ मा उत्कृष्ट खेलाडी घोषित भएसँगै उनीहरुले १५ हजार रुपैयाँ        पुरस्कार समेत हात पारे ।
युवा वर्ष खेलाडीको पुरस्कार डिफेन्डर देवेन्द्र तामाङ र पिपुल च्वाइजतर्फ उत्कृष्ट टीम रमपम झापा ११ घोषित भयो । देवेन्द्रले फुटबलकै पूजन उपरकोटी र क्रिकेटकी सवनम राईलाई उछिन्दै उत्कृष्ट पुरस्कार जितेका हुन ।
पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल वर्ष उत्कृष्ट प्रशिक्षक बने ।
उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, एन्फाका केन्द्रीय सदस्य पंकज विक्रम नेम्वाङ, एन्फा पूर्वाञ्चल संयोजक जलकुमार गुरुङ, एन्फा झापाका अध्यक्ष भगिरथ आले मामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले १५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्रदान गरे ।
नगद पुरस्कार एन्फाका केन्द्रीय सदस्य नेम्वाङले दिवंगत भाइ तथा फुटबलर आशिष विक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका थिए ।

खुकुरी टी–ट्वान्टी क्रिकेट माघ १० देखि

खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ ।
यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष विनय विक्रम थापाले जानकारी दिए ।
इएनटीद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार कीर्तिपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न २० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
सहभागी टोलीले सन् २०१५ देखि राष्ट्रिय टोलीमा आबद्व चार खेलाडी राख्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । तर खेलका दौरानमा भने तीन खेलाडी मात्र खेल्न पाउनेछन् ।
प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख हात पार्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु २० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट बलर तथा ब्याट्सम्यानले जनही रु दश हजार पाउनेछन् ।
रासस

चलचित्र/मनोरञ्जन 

‘मिस नेपाल २०१८’ को आवेदन खुला

‘मिस नेपाल २०१८’ को आवेदन खुला भएको छ । ‘द हिडेन ट्रेजर’ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २३ औं संस्करणको आवेदन खुला भएको जानकारी दिएको छ ।
सन् १९९४ देखि सुरू भएको मिस नेपालमा १९ वर्षदेखि २५ वर्षसम्मका युवतीहरू सहभागी हुन सक्नेछन् । मिस नेपाल प्रतियोगितामा सहभागी हुन ५.४ इन्चभन्दा बढी उचाइ भएका, अविवाहित तथा नेपाली नागरिकता र पासपोर्ट भएका महिलाहरू हुनुपर्ने आयोजकले मापदण्ड तोकेको छ ।
आयोजकका अनुसार ८ प्रमुख  सहरहरू वीरगञ्ज, धनगढी, विर्तामोड, धरान, चितवन, पोखरा, बुटवल र नेपालगञ्जबाट अडिशन गरि प्रतियोगी हरूको छनोट हुनेछ । फेब्रअरी ४ देखि १० सम्म उम्मेदवारहरूको छनोट गरिने र फेब्रअरी १७ मा काठमाडौंमा अन्तिम छनोट हुनेछ ।
अन्तिम प्रतियोगीलाई काठमाडौंमा ७ हप्तासम्मको प्रशिक्षण दिइने छ । प्रतियोगिताको ग्रान्ड फिनाले ११ अप्रिलमा सम्पन्न गर्ने आयोजकको तयारी छ । 

दीपाको रुपमा लोभिए हरिबंश

प्रदीप भट्टराई निर्देशित चलचित्र ‘शत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’लाई दर्शकले रुचाएका छन् । केही साता अगाडि सार्वजनिक यो गीतलाई अहिले सम्म ५ पचास लाख बढीले हेरेका छन् ।
गीतको भिडियोमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । राम्रा कलाकारको अभिनय  रहेकोले पनि गीत दर्शकको रोजाइमा पर्न सफल भएको हो ।
गीतमा शब्द लोकराज अधिकारी र संगीत टंक बुढाथोकीको रहेको छ । गीतलाई टंकले मीना निरौलासँग संयुक्त रुपमा गाएका छन् भने कोरियोग्राफी   कविराज गहतराजको रहेको छ । 
तराई र काठमाडौंमा छायाँकन  गरिएको चलचित्र दर्शकले ९ चैत्रमा हेर्न पाउँनेछन् । चलचित्रले तराइको बिषयबस्तु उठाएको छ । मह सञ्चारले निर्माण गरेको यो चलचित्रका प्रस्तुतकर्ता हाँस्यकलाकार किरण केसी हुन् ।

लेख 

डाक्टर साहेव, कुन कानुनले दिन्छ अनशन बस्ने बिदा ?

रामहरी ओझा
न्यायालयको अवहेलना गरेको भन्दै पुष २४ गते डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतको आदेशमा पक्राउ प्रहरीले ग¥यो । अदालतको अवहेलना सम्वन्धि मुद्धामा पुष २६ गते डा. केसीका पक्ष र बिपक्षमा सर्वोच्च अदालतको ईजलासमा बहस भयो । कालो टोपी, कालै ज्याकेट, खैरो पाईण्ट, खैरै जुत्ता लगाएर न्यायालयमा उपस्थित भएका डा. केसीले आफ्नो मुद्धामा आफै पनि बहस गरे । उनी साधारण तारेखमा रिहा पनि भएका छन् ।
उनले अदालतको अवहेलना गरे वा गरेनन् भन्ने एउटा बिषय होला । बर्तमान कानुन अनुसार न्यायालयमा बिचाराधीन मुद्धाको फैसला प्रभावित हुने गरि अनुचित कार्य गरेमा वा मुद्धाको फैसला मान्दैन भनेमा न्यायालयको मानहानी हुन्छ । सामान्य रुपमा हेर्दा यो मुद्धामा केसीका लागि दुवै कण्डिसन देखिदैनन् किनकी फैसला भईसकेको छ र फैसला मान्छु भन्ने वा मान्दैन भन्ने कुरा मुद्धाका पक्ष र बिपक्षसंग सम्वन्धित कुरा हो, डा. केसी न पक्ष हुन न बिपक्ष । तर पनि यो मुद्धा न्यायालयमा छ, यस बिषयमा धेरै बहस गर्नु जरुरी छैन । फेरी अर्को अवहेलनाको कुरा आउला ।
यहाँ उठान गर्न खोजेको बिषय डा. केसीले ईजलाससमक्ष दिएको बयानको हो । अदालतको अपहेलना सम्वन्धि मुद्धाको पक्षमा वकालत गरेका वरिष्ठ अधिवक्ता डा. श्याम खरेलले पटक पटक अनसन बस्ने गरेका डा. केसी सरकारी जागिरे भएका र सरकारी जागिरेले अनसन बस्दा बिदा लिनु पर्छ कि पर्दैन भन्ने प्रश्न उठाएका  थिए । उनले उठान गरेको बिषय नै कति जायज हो भन्ने पनि बहसको बिषय हुन सक्छ । जवाफमा डा.केसीले आफु अनसन बस्दा बिदा स्वीकृत गराएर मात्रै बस्ने गरेको दावी गरे । होला पनि उनले आफु बिदा लिएरै अनसन बसेका होलान तर नेपालको कुनै पनि कानुनले अनसन बस्ने बिदा दिदैन । 
निजामति सेवा नियमावलीको परिच्छेद् ९ अनुसार निजामति कर्मचारीले भैपरी आउने बिदा, घर बिदा, बिरामी बिदा, प्रसुति बिदा, प्रसुति स्याहार बिदा, किरिया बिदा, अध्ययन बिदा, असाधारण बिदा र वेतलवी बिदा लिन पाउने प्राव्धान छ । नियमावलीको नियम ६४ अनुसार निजामती कर्मचारीले आफूलाई चाहिएको विदाको अवधि, कारण र विदेश जानु पर्ने भए सो समेत खोली नियमावलीको अनुसूची–१३ को ढाँचामा आफ्नो कार्यालय मार्फत विदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्ने र विदा दिने अधिकारीले पनि विदा स्वीकृत वा अस्वीकृत भएको सूचना सो कर्मचारीलाई दिनु पर्ने व्यवस्था गरेको छ ।
अव ः पहिलो प्रश्न डा. केसीले अनसन बस्नका लागि बिदा माग्दा कुन बिदा माग्ने गरेका छन ? घर बिदा, बिरामी बिदा, अध्ययन बिदा वा अन्य कुनै बिदा ? उनले पक्कै पनि कुनै न कुनै बिदा त निवेदनमा जाहेर गर्नु पर्ने होला । यदि उनले घर बिदा लिएर वा अध्ययन बिदा लिएर अनसन गर्नु हुन्छ भने यसले कानुन मिचिन्छ कि मिचिदैन ? 
दोश्रो प्रश्न, नियमावलीले बिदाको अवधी र कारण खोल्नु पर्ने भन्छ । आफ्नो माग पुरा नभएसम्म अन्दोलनमा बसिरहने डा. केसीले कति दिनको बिदा माग गर्छन निवेदन मार्फत र कारण के उल्लेख गर्छन ? ईजलाससमक्ष आफ्नो मुद्धामा बहस गर्न सक्छु भन्ने दावी गर्ने व्यक्ति आफु जुन कानुनबाट निर्देशित छन त्यो कानुनको वारेमा अनबिज्ञ छन भन्ने त नहोला । त्यसै पनि कानुनको अनबिज्ञता क्षम्य हुँदैन अर्थात मैले कानुनमा यस्तो व्यवस्था छ भन्ने थाह पाएको थिएन, त्यसैले यसो गरेको हुँ भन्न मिल्दैन भन्ने हामीले पढेका छौं । कुन कारण देखाएर डा.केसीले बिदा लिएर १३ पटक अनसन बसे ? एक जना कार्यालय सहयोगीले एक दिन बिना कारण कार्यालयमा हाजिर नभए हप्तौं गाली खान्छ तर १३/१३ पटक बिना कारण बिदा माग्दै अनसन बस्नेलाई कारवारी गर्ने कुनै कानुन छैन ? 
तेश्रो प्रश्न, यदि उनले अनसन बस्छु भन्ने कारण खुलाई कुनै प्रकारको बिदा लिएका हुन भने त्यस्तो बिदा कुन अधिकारीले स्वीकृत गरेछन् । एक सरकारी कर्मचारीलाई सरकारकै बिरुद्ध अनसन बस्न बिदा स्वीकृत गर्ने अधिकारीलाई पनि कारवाही हुने वा नहुने ? आज अनसन बस्नका लागि माग गरिएको बिदा स्वीकृत भयो, भोली सडकमा टायर बाल्नका लागि बिदा माग गरे स्वीकृत हुने कि नहुने ? पर्सी कसैले म आत्महत्याको प्रयास गर्छु, मलाई बिदा चाहियो भने के हुने ? 
मानवअधिकारको बिश्वव्यापी घोषणा पत्र, नेपाल पक्ष राष्टू भईसकेको नागरिक तथा राजनीतिक अधिकार सम्वन्धि अन्तराष्ट्रिय प्रतिज्ञा पत्र र नेपालको संबिधानले पनि बिना हात हतियार शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, बिरोध गर्न पाउने अधिकार सुरक्षित गरेको छ । एक सर्वसाधारण नागरिकको हैसियतले शान्तिपूर्ण बिरोध स्वरुप अनसन बस्न पाउनु डा. केसीको अधिकार होला तर बिदा लिँदैमा सरकारी कर्मचारी सर्वसाधारण नागरिक भईहाल्छ त ? ईजलाससमक्ष दिएको आफ्नो वयानमा डा. केसीले ‘म सधैं अनसन बस्नुअघि बिदा लिन्छु । बिदा लिएपछि म यो देशको स्वतन्त्र नागरिक हुँ, मैले के गर्छु त्यो नीजि ईच्छाको कुरा हो ।’ भनेका छन । कुन कानुनले सरकारी कर्मचारीले बिदामा बस्दा स्वतन्त्र   नागरिक हुन्छ भन्ने उल्लेख गरेको छ ? केसीकै बयानलाई समात्ने हो भने ‘मैले जे गर्छु त्यो नीजि ईच्छाको कुरा हो’ यसको अर्थ उनी अनसनमा बस्ने अनि उनको समर्थनमा स्वास्थ्य सेवाहरु अवरुद्ध गर्दै अन्य स्वास्थ्यकर्मीहरु पनि आन्दोलनमा जाने र सर्वसाधारणले सास्ती खेप्नु पर्ने उनको नीजि ईच्छा हो त ? केसीको बयानले उव्जाएको यो चौथो प्रश्न हो । 
पाँचौ प्रश्न, निजामति सेवा नियमावलीको नियम नियम ७१ मा बिदा ‘बिदा अधिकारको कुरा होईन, सहुलियत मात्रै हो’ भन्ने कुरा उल्लेख गरेको छ । यसको अर्थ हो यदि राज्यलाई आवश्यक भयो भने बिदामा बसेका कर्मचारीहरुलाई पनि तत्काल काममा बोलाउन सक्छ । अनि बिदा लिएर अनसन बस्ने डा. साहेवलाई बिदाको बिचमै तत्काल आफ्नो जिम्मेवारीमा फर्कन सरकारले आदेश गर्न पाउने कि नपाउने ? सरकारले आदेश गरेको बेला डा. केसीले अनसन तोडेर जाने कि नजाने ? 
मानवअधिकारको बिश्वव्यापी घोषणा पत्रको धारा २९ अनुसार कुनै पनि व्यक्तिले आफ्नो अधिकारको उपभोग गर्दा अरुको अधिकारको ख्याल गर्नु पर्छ । डा. केसीको अनसन बस्ने अधिकार सुरक्षित होला तर उनी एक   सरकारी कर्मचारी हुन । उनको तलव ति सर्वसाधारणले तिरेको करबाट आउँछ । त्यो कर तिर्नका लागि सर्वसाधा–रणले परिश्रम गर्दा बिरामी हुन सक्छ, चोट पटक लाग्न सक्छ । त्यो बेलामा उसले उपचार पाउनु उसको अधिकार हो कि होईन ? आफु अनसन बस्ने अनि अनसनलाई समर्थन गरेको नाममा अरुलाई सेवा अपरुद्ध गरेर आन्दोलनमा पठाउने केसीले अरुको अधिकार के हो भन्ने बिषय बुझेका छन कि छैनन् ?
उनले नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्ने कुरा संबिधानमै उल्लेख भएको तर प्रधानन्यायाधिश गोपाल पराजुलीले गरेका निर्णयले स्वास्थ्य शिक्षाको गुणस्तरमा ह«ास आएको ईजलाससमक्ष दिएको बयानमा बताएका छन । त्यो कुरा पनि सत्य होला । एक ‘पव्लिक फिगर’ ले त्यसै बोलेका होईनन् होला । जीवन स्वास्थ्य क्षेत्रमा बिताएका छन, त्यस क्षेत्रमा राम्रो के र नराम्रो के भन्ने कुरा उनले भलिभाँती जानेका होलान् । तर, उनी आफैले अनसन बस्दा र उनका समर्थकहरुले स्वास्थय सेवा बन्द गर्दा सर्वसाधारणले पाउने स्वास्थ्यको गुणस्तरको अवस्था के भयो होला ? चर्को मुल्य तिरेर नीजि स्वास्थ्य संस्थामा जान सक्नेहरुलाई भन्दा ति दिनभरी गिट्टी कुटेर साँझ जहान केटाकेटीको मुखमा चारो हाल्नेहरुलाई सोध्ने हो कि एक पटक ?  
आफुले गरेको सवै कुरा जनताका लागि हुने, कानुनसम्मत हुने अनि आफु बिरुद्ध बोल्ने सवै भ्रष्ट हुने कस्तो खालको स्कुलिङ्ग हो उनको ? उनको बिरुद्धमा कसैले केही कुरा बोल्नै नहुने तर उनले सवैका बिरुद्धमा खुल्याम रुपमा बोल्न मिल्ने हो र ? 
हो, उनले स्वास्थ्य क्षेत्रमा केही राम्रा कदमहरु चालेका छन । त्यो कुरा सवैले स्वीकार गर्नु पर्छ तर त्यसको साथसाथै एकोहोरो रुपमा बिरोध मात्रै गर्नु, सवै कुरा नकारात्मक मात्रै देख्नु, आफु बिरुद्ध कसैले केही बोल्यो भने चेले–चपाटेहरुद्वारा हुर्मत गराउन लगाउनु, यो पनि बिधिसम्मतै हो त ?

मोफसल पत्रकारिता 

पत्रकारिताले समाजलाई सभ्य बनाउन मद्दत गर्छ ।

सिपि लोहिया (संबाददाता)
रेडियो नेपाल, बैतडी
तपार्इंको पुरा परिचय पाउँ न ? 
मेरो नाम सिपि लोहिया ! पुरा नाम चन्द्र प्रकाश लोहिया हो । म रेडियो नेपाल तथा राजधानी दैनिकका लागि बैतडी जिल्लाबाट संबाददाताको रुपमा कार्यरत छु, साथै रेडियो निङ्गलाशैनीमा बित्तिय व्यवस्थापकको रुपमा कार्यरत छु । मेरो घर बैतडी  दशरथ चन्द नगरपालिका ४ मा पर्छ ।
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
मैले पत्रकारिता रोज्नुको धेरै ठूलो कारण छैन् । म रेडियोमा राम्रो सांगितीक कार्यक्रम संचालन गरेर आफू चर्चा कमाउन चाहन्थेँ । २०६७ सालमा म काठ्माण्डौँको पाटन बहुमुखी क्याम्पसमा पढ्दा ६५ दिनको तालिम लिएर मैले रेडियोमा बोल्न सुरु गरेको हुँ । त्यसपछि बैतडीको सौगात एफएममा सांगितिक कार्यक्रम सञ्चालन गर्दै जनतामा परिचित हुँदै गए । त्यसैमा समाचार संकलन, लेखन कार्य सुरु गरे । सुरुमै समाजमा भएका आवाज बिहीनहरुको आवाजलाई सम्बन्धित निकायमा पुर्याउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो, त्यसै अनुरुप मैले पत्रकारिता पेशा अँगालेको हुँ ।
कति समय भयो यस पेशामा लागेको ?
मेरो मिडियासंग मेरो साइनो जोडिएको ७ बर्ष पुरा हुदैँछ । म २०६७ सालमा मिडियामा आएको हुँ, तरपनि मेरो पेशा पत्रकारिता नै हो भन्ने आजभोलि लाग्दैछ । मैले रेडियोमा काम गर्दैगर्दा सबै कामहरु गरेको छु । सांगितिक कार्यक्रम संचालनदेखि, राजनीतिक बहस, समाचार लेखन तथा बाचन, प्राबिधिक तथा प्रोडक्सनको काम तथा ब्यवस्थापकको भूमिका पनि निभाएको छु ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
म समाजका हरेक कुराहरु सञ्चार माध्यममा झल्कियोस भन्ने मान्यता राख्दछु । त्यसैले समाजको बिकृत पक्षलाई बाहिर ल्याई यसको समाधान तर्फ सरोकारवालालाई त्यँहा डो¥याउन पहल थाल्नु पत्रकारको जिम्मेवारी हो । जब समाजमा बिकृति हुदैनन् समाजलाई सबै तरहले सभ्य बनाउनु पत्रकारको जिम्मेवारी हो जस्तो लाग्छ । म मानव अधिकार को बिषयमा लेख्न र बोल्न रुचाउँछु ।  साथै राजनीतिक बिटमा कलम चलाउन पनि मन पर्छ । नेपालको राजनीतिक प्रणाली सुधार हुनुपर्छ भन्ने मेरो चाहाना छ ।
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ?
पत्रकारितामा समस्या भनेको लामो समय जोगिन गाह्रो छ भन्ने म पनि सुन्छु । सायद मेरो बिचारमा यहि होला समस्या भनेको तर, त्यसको लागि मेहेनत गर्नुपर्छ, अहिले पत्रकारले लेखेका कुराहरु जता पनि बिक्छन्, तर आफ्नो लेखन शैली र त्यस्को व्यापार कँहा कसरी गर्ने भन्ने कुरा मात्रै महत्वपूर्ण हो । अर्को कुरा बिभिन्न पेशागत जोखिम पनि छन् । ती जोखिम भनेका लेखेकै आधारमा धम्कीहरु आउने गर्दछन् । तर त्यस्को सामना पनि समय परिवेश अनुसार गर्नुपर्दछ र एक पक्षीय र अर्थहिन, पुर्वाग्रही भएर लेख्ने बदमासी कहिले गर्नुहुदैँन् । यसो गर्दा जोखिममा साथ दिने    हजारौ हातहरु पाइन्छ र पेशा बिवन्त बन्दछ, जस्तो लाग्छ । 
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
सुरु सुरुमा काम गर्दा, पेशागत दक्षता नभएका कारण समस्याहरु आउँछन्, काम गर्दै जाँदा सिकाई हुन्छ र हरेक समस्याको समाधान गर्न पनि सिकिन्छ । 
मोफसलै भएपनि बैतडी जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको    छ ? र यस जिल्लामा अरु जिल्लाको भन्दा बढी समस्याहरु के कस्ता छन ?  
बैतडी पत्रकारितामा धेरै नभएपनि पछिल्लो समय बिकसित भैरहेकोछ । यँहा २०६७ साल यता रेडियोहरु खुलेका हुन् भने यसअघि बिभिन्न पत्रपत्रिका सञ्चालनमा थिए, अहिले पनि ४ वटा एफएम रेडियो र ७ पत्रिका सञ्चालनमा छन् । पत्रकारहरुको संख्या बढ्दैछ भने, पत्रकारहरुले सामाजिक बिषयमा कलम चलाउन थालेका छन् बिभिन्न राष्टिय पत्रिकाहरुमा काम गर्नेहरुका समाचार पछिल्लो समाचारले राम्रो स्थान पाउन थालेका छन । मोफसल पत्रकारितामा समस्या छ र रमाइलो पनि छ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
सरकारले पत्रकारको पेशागत सुरक्षाको जिम्मा लिनुपर्छ । बिभिन्न ठाँउका पत्रकारहरु लेखेकै कारण मारिनुपर्ने, अर्थात बेलाबेलामा दुव्र्यहार तथा धम्की आइरहेको हुन्छ यी कुराहरुलाई समाधान गर्न सरकार प्रतिबद्ध रह्यो भने मात्रै पत्रकारको पेशागत सुरक्षा हुन्छ । नत्र कतिपय अवस्थामा पत्रकारले डराएर काम गर्नुपर्ने हुन्छ  अर्थात जनता माझ ल्याउनुपर्ने कुरा लुकाउने बाध्यता आउँछ ।
तपाई आफै पनि पत्रकारिता पेशामा धेरै समयदेखि काम गर्दै हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
हाम्रो जिल्लाको हकमा पत्रकार माथि दुव्र्यहारका ठूला घटना भएका छैनन् , तरपनि लेखेको भरमा धम्कीहरु धेरैजसो पत्रकारले भोग्नु परिरहन्छ र यसको समाधानको लागि नेपाल पत्रकार महासंघको भूमिका सक्रिय नै छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
यी संगठनहरुले पछिल्लो समयमा आफ्नो सक्रियता देखाएका छन् । कुनै पनि संगठनसंग आवद्ध पत्रकारलाई समस्या पर्दा एकजुट भएको पाइन्छ । कामहरु गरिरहेकै छन् तरसंगठनले निर्वाह गर्नुपर्ने सबै भूमिका निभाएको पाइदैन् ।
तपाँइको विचारमा पत्रकारिता के हो ?
पत्रकारितालाई बिद्धानहरुले समाजको ऐना भन्दछन् । र म पनि त्यहि भन्छु ऐना अगाडि जे राखिन्छ त्यहि देखिन्छ । ऐनामा र हाम्रा सञ्चार माध्यमहरुले व्यक्ति तथा समाजको चरित्र देखाउन खोज्दछन् । त्यहि नै पत्रकारिता हो र देखेका कुरा बंग्याएर देखाउन खोजिन्छ भने राम्रो देखिदैन् । 
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ? 
मैले मान्छे कमाएको हो, साथीभाई, समाज कमाएको छु । म बिगत ७ बर्षदेखि पत्रकारिता गरिरहदा केही नागरिकले बिश्वास गर्ने मान्छे बने हुँला, यहि कुराहरु कमाएको छु । र पैसाको कुरा गर्दा दैनिक घरखर्च चलाउन र राम्ररी गुजारा गर्न पत्रकारिताबाट पुग्छ । तर ठूला महल बनाउन सकिदैन् ।   
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ र तपाँईको क्षेत्रतिर कस्तो छ ?
पत्रकार हुँ भनेर मान्छे दादागिरी गर्न तर्फ कोही कोही लाग्ने गर्दछन् । उनीहरु आफ्नो भविश्य आफंै बर्वाद गर्न तर्फ लाग्दछन् र लामो समय यो पेशामा टेक्दैनन् पनि । हाम्रो क्षेत्रतिर पनि धेरै नभनु सामान्य बदमासी । भैरहन्छ पत्रकारिता पूर्ण रुपमा पेशा नै त्यागेकाहरुबाट । 
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा ! 
ति कुराहरु मेरो हातबाट सम्भव छैनन् । अर्थात म र हामी जस्तासम्म केही लोभका अफरहरु आउदैनन् किनकी हामी त्यहि गल्तिका प्रमाण जुटाउन काम गरिरहेका छौँ । पत्रकारिता पेशा र आफू बदनाम हुन् चाहन्न् । यदि गल्ति गर्न तर्फ लागे भने बर्षौ लगाएर कमाएको समाजसंगको साइनो टुट्ने छ ।
यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ? 
पत्रकारले आफ्नो पेशामा इमान्दारिता देखाउनुपर्छ ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ? 
पत्रकारको गल्तिमा दण्डित गर्नुपर्छ भने राम्रो काममा पुरुष्कृत गर्नुपर्छ । बल्ल पत्रकारिता बाँच्छ ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
पत्रकारिताको धर्म कुनैपनि पत्रकारले भुल्नु हुदैन् यहि भन्छु । 
समय र बिचारका लागि धन्यबाद । 
धन्यवाद, मेरा बिचार आम पाठकसामु पु¥याउने मौका दिनु भएकोमा बिम्ब नेपाली साप्ताहिकलाई पनि धेरै धेरै धन्यबाद ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

मोबाईल फोनको इतिहासः 
१. विश्वमा मोबाइलको शुरूवात .    अमेरिकाबाट
२. मोबाइलका पिता      मार्टिन कुपर
३. मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी .  मोटोरोला
४. पहिलो मोबाइल उत्पादन .   सन् १९७३ मा
५. सन् १९०८ मा केन्टकीमा पहिलो ः बिनातारको टेलीफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको ।
६. शुरुका मोबाइल फोनहरुलाई 0G-Zero Generation_ मोबाइल फोन भनिन्थ्यो ।
७. सन् १९८३ मा मोटोरालाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको ।
८. सन् १९८५ मा बेलायतमा पहिलोपटक मोबाइलमा कुराकानी भएको ।
९. सन् १९८७ मा बेलायतमा मोबाइल फोन बिक्री शुरु ।
१०. सन् १९८६ मा पहिलोपल्ट मोबाइल फोनमा Voice mail को सुविधा थपिएको ।
११. सन् १९९२. विश्वको पहिलो Hand-set मोबाइल फोन आएको । मोटोरोला कम्पनीको थियो ।
१२. सन् १९९३ मा IBM को “साईमन“ सार्वजनिक । विश्वको पहिलो Smart Phone थियो ।
१३. Camera युक्त मोबाइल फोन बनाउने पहिलो व्यक्ति फिलिप्पे काह्नन, फ्रान्स, सन् १९९७
१४. पहिलो News Mobile = Finland, सन् २००० मा ।
१५. MMS सेवा शुरूवात ः सन् २००१ बाट
१६. ज्ञन् को पुर्ण रुपमा स्वचालित सेलुलर नेटवर्क शुरु. सन् १९८० को मध्यतिर
१७. 1G मोबाइलको शुरूवात . सन् १९९३,  फिनल्यान्डबाट
१८. मोबाइलमा Text message and Data Service शुरु. सन् १९९३, फिनल्यान्ड
१९. 3G मोबाइल फोनको शुरूवात . सन् २००१
२०. 4G मोबाइल फोनको आरम्भ . सन् २०१२ को उत्तरार्ध, बेलायतबाट
नेपालमा मोबाइल फोनः  
२१. नेपालमा GSM मोबाइल फोनको परीक्षण . वि सं २०५६ बैशाख ०१
२२. GSM मोबाइल फोन बितरण प्रारम्भ . २०५६ बैशाख ३०
२३. नेपालमा त्यसबेला भित्र्याईएको मोबाइल फोन. नर्टेल कम्पनीको, 1G (प्रथम पुस्ता) को फोन
२४. नेपाल दुरसञ्चार संस्थान नेपाल टेलिकममा परिवर्तन . वि सं २०६१ साल
२५. नेपाल दुरसञ्चार संस्थानलाई GSM मोबाइल सेवा सञ्चालनको लागि औपचारिक अनुमति प्रदान. २०५६ बैशाख २९
२६. वि सं २०६० अघिसम्म. एयकत(उबष्म मोबाइल फोन सेवा मात्र प्रदान गरिएको थियो ।
२७. २०६० भदौ ०६. Post-paid मोबाइल सेवा बितरण शुरु ।
२८. २०६२ जेठ २३. मोबाइल फोनमा क्ष्लअयmष्लन अबिि निशुल्क गरियो ।
२९. २०६१ कार्तिक ०१. Nepal Telecom ले  CDMA प्रविधिको मोबाइल सञ्चालनमा  ल्यायो ।
३०. २०६२ साल. निजी क्षेत्रको कम्पनी Spice Nepal (हालको Ncell) ले GSM Mobile फोन बितरणको लागि स्वीकृती पाएको ।
३१. GSM Mobile को नम्बर ०९ अंकको बाट १० अंकको बनाइएको . २०६१ बैशाख ०१
३२. वि सं २०६५. ७५ वटै जिल्लामा मोबाइलको कभरेज पुगेको ।
३३. नेपाल टेलिकमले 3G सेवा परीक्षण सञ्चालनमा ल्याएको . २०६४ जेठ ०३
बिभिन्न स्थानमा रहेका केन्द्रहरु
१.मृग अध्ययन केन्द्र ः गोदावरी, ललितपुर
२. गोही प्रजनन केन्द्रः  चितवन र बर्दिया रा. निकुञ्ज
३. जैबिक विविधता सूचना केन्द्रः  टिकौली, चितवन
४. जटायु रेष्टुरेन्ट ः कावासोती र पिठौली, नवलपरासी
५. चमेरा सरक्षण क्षेत्रः देवानगढिया, कपिलवस्तु
६.सर्प सग्राहालय ः दमक, झापा
७. अन्तरास्ट्रिय पर्वतीय उधानः ककनी, नुवाकोट
८.गिद्ध प्रजनन केन्द्र ः कसरा, चितवन
९.हात्ती प्रजनन केन्द्र ः मेघौली, चितवन
१०.जिन बैंक ः खुमलटार, ललितपुर
नेपालले OBORमा हस्ताक्षर                 ०७४ मे २३ र मे १२ २०१७
नेपाल भ्रमण बर्षको मिति परिवर्तनः            ०७४।४।२९
नेपालले पेरिस सम्झौता अनुमोदन                 ०७३।६।१८
नेपाल अष्ट्रिया आर्थिक मन्चको गठनः  ०७४।७।१४
जैविक हतियार निषेध सम्बन्धि महासन्धिमा नेपालले अनुमोदन    ०७३।७।१९
नेपाल प्रहरी अस्पताल सर्वसाधारण सर्वसाधारणका लागि खुला     ०७४।७।२६

साहित्य/सृजना 

म मरेपछी

म मरेपछी
बिलिनेछन मेरा गजलका टुक्राहरु
हावा आफ्नै सुरमा सुस्ताइरहने छ
उसै गरी चम्कने छन ताराहरु,
घाम्का झिल्काले त्यस्सै गरी पोल्छन होला
सेतो कात्रोमा बेरिएको मेरो शरीर
बास्को चितामा तेर्सिने छ
लाम लागेका मलामीसंगै
सुस्त सुस्त घाट तर्फ
छुट्टै पहिचान लिएर
पुग्छ होला मेरो शरीर
म मरेपछी ।।
पोलिनेछु आगोको झिल्काहरुले
खरानी हुनेछन मेरा नसा नसा
अनी मकिनेछन मेरा हडिहरु,
बिस्तार बिस्तारै ध्वस्त हुनेछ मेरो शरीर
खरानी भएर बिलिनेछ माटोसंगै
त्यहीबाट अन्त्य हुनेछ मेरो जीन्दगी
म मरिपछी ।।
उमा गौतम

मैले विश्वास गरेँ घात दियौ किन
मैले फूल चढाएँ लात दियौ किन
कुन मोडमा पुग्यौ मै गलत किन
मेरो पाइला रोकी सातो लियौ किन
मैले देवी ठानेँ प्रेत भन्यौ किन
मैले मुटु मागेँ छुरा धस्यौ किन
मैले हात फैलाएँ विष दियौ किन
म आउन चाहेँ पथ छेक्यौ किन
म बाँच्न चाहेँ जिउँदै मारेऊ किन
म हाँस्न चाहेँ दियौ आँशु किन
माया गर्न चाहेँ दियौ घृणा किन
दिलमा बस्न चाहेँ दियौ पीडा किन
दाहालका मीठा कविता
फेसबुकबाट

स्वार्थी छ है बाबू दुनियाँ भन्नुहुन्छ आमा
ख्याल राखेस् नि सहरमा भन्नुहुन्छ आमा
बाध्यताले  प्रदेशीनु परे नि आँखामा देश,
मनमा राख्नु सगरमाथा भन्नुहुन्छ आमा 
पीर दुख जति आएनि बढाउनु हिम्मत 
नरोक्नु संघर्षका पाइला भन्नुहुन्छ आमा
ठुलो स्वर गरी मन न दुखाउनु कहिल्यै नि
देवताकै स्वरूप बुढापाका भन्नुहुन्छ आमा
परिस्थिति जस्तोसुकै आएनि पुरा गर्नु 
नमार्नु चेलीबेटीको आशा भन्नुहुन्छ आमा
आर.डि. निश्चल 
बागचौर ३, सल्यान 
हाल कीर्तिपुर

शक्ति फलाममा हुन्छ कि खियामा हुन्छ
भन्छन् त मायामा भन्दा रुपियाँमा हुन्छ
आखिर लत नै हो जो जसरी बुझोस्
कसैको रक्सीमा,कसैको चियामा हुन्छ
बाले मरुन्जेल छोरो कुटेको देख्छु
रिस निर्धामा हुन्छ कि बलियामा हुन्छ?
उदिन घोटिन्छ फगत सकिएरै जान्छ
धार भने कर्दमा हुन्छ, हँसियामा हुन्छ
म समाज हेरेर सत्य बोलिदिएँ भने
छोरीको जीवन यद्यपि अधियामा हुन्छ
सरु सुधा
 तम्घास गुल्मी

कति दुख्न आउछौ सानु, समझनामा घरिघरी
लाग्छ तिमी लुकामारी खेल्छौ कतै वरिपरी
नजिक भए नडराउन बोल्दा हुन्छ मन्द मन्द
तिमी मेरी म तिम्रो हुन्छौ सानु सरिबरी
डराउनु के नै छर साचो माया गर्ने हामीले
भनेकै छु जीवन दिन्छु तिमीलाई म मरिपरी
हाम्रो जस्तो माया हेर संसारमा छैन होला
बाधा आए नि जिन्दगी छुट्ने छैनौ सधैभरी
तिमी नै हौ मेरो जीवन तिमीले छोड्दा हेर
हुन्छ होला मेरो जीवन सधै मरी तुल्य सरी

बिरही मोहन ठकुरी
बोगटान गापा ४
 डोटी

सूचना/सन्देश/बिज्ञापन 

बोगटान गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
चवाराचौतारा, डोटी 
प्रदेश नं. ७

IT Officer भर्ना सम्वन्धि बोगटान गाउँपालिकाको सूचना । 

प्रथम पटक सूचना प्रकाशित मिति २०७४/१०/०३ गते 
संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम (LGCDP) कार्यक्रम समन्वय ईकाई, सिंहदरवार काठमाण्डौंको प.स. ०७४/०७५, मिति २०७४/०७/१७ गतेको सूचना प्रबिधि अधिकृत करार सेवा सम्वन्धको पत्रानुसार यस गाउँपालिकाको लागि देहाय बमोजिमको शर्तहरुको अधिनमा रही सूचना प्रबिधि अधिकृत (IT officer) सेवा करारमा नियुक्ती गर्नु पर्ने भएकोले ईच्छुक उम्मेदवारले यस गाउँपालिकाको कार्यालयमा रितपूर्वक दरखास्त दिनु हुन यो सूचना प्रकाशन गरिएको छ । 
तपशिल 
१. पद सूचना प्रविधि अधिकृत 
२. आवश्यक संख्या ः १ (एक) 
३. पारिश्रमिक ः मासिक रु. ४००००/- 
३. शैक्षिक योग्यता ः कम्प्युटर ईन्जिनियरिगंमा स्नातक वा ईलेक्ट्रोनिक ईन्जिनियरिङ्गमा स्नातक वा ईलेक्ट्रिकल र ईलेक्ट्रोनिक ईन्जिनियरिगंमा स्नातक वा ईलेक्ट्रोनिक र कम्युनिकेसन ईन्जिनियरिङ्गमा स्नातक गरेको, मान्यता प्राप्त शिक्षण संस्थावाट Computer वा Information and Communications Technologies वा सो सरहको विषयहरु मध्ये कूनै एक विषय लिई स्नातक (BIT, BIM, BBIS, VCA, BCIS, DEIT, DSc, IT, CSIT) गरेको उपाधीलाई गरेको । 
४. कार्यबिवरण (TOR) ः स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम (LGCDP) को वेवसाईट lgcdp.gov.np को गृह पृष्ठमा उल्लेख भएको सूचना बमोजिम हुने । 
५. संलग्न गर्नु पर्ने कागजातहरु ः व्यक्तिगत बिवरण, नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्रहरु, नेपाल बाहिरबाट शिक्षा हासिल गरेकाहरुको हकमा सो प्रमाण पत्रहरुको नेपालको बिश्वबिद्यालयबाट Equivalance गरिएको प्रमाण पत्र, कार्य अनुभव भए कार्य अनुभवका प्रमाण पत्रहरु तथा अन्य कागजातहरु । 
६. आवेदन दिने तरिका ः बुँदा नं. ५ मा उल्लेख भएका कागजातहरु एवं बुँदा नं. ७ मा तोकिएको शुल्क राष्ट्रिय बाणिज्य बैङ्क, सिलगढी शाखास्थित यस कार्यालयको नाममा रहेको संचित कोष खाता नं. ४१००३०४०१८१०७ मा जम्मा गरि जम्मा गरेको सक्कल भौचर संलग्न राखि हुलाक, ईमेल वा स्वयं उपस्थित भई आवेदन दिने । 
७. आवेदन दस्तुर ः १०००/- (एक हजार रुपैयाँ मात्र) 
८. उम्मेदवार छनौटका आधारहरु देहाय बमोजिम हुनेछन् ः 
क्र.स.                सूचकहरु                                      पूर्णाङ्क 
१.      शैक्षिक योग्यता  ३०
२.      कार्य अनुभव (सूचना अनुसार न्यूनतम शैक्षिक योग्यता हासिल गरेको पश्चात    ४०
३.      उम्मेदवारको स्थायी ठेगाना                                                 २०
४.      २ बर्ष भन्दा माथी स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रममा क्ष्त्ऋ    १०
        ख्यगिलतभच वा भ्हउभचत वा अन्य कुनै सामुदायिक बिकास कार्यक्रममा 
        सूचना प्रबिधि अधिकृतको रुपमा कार्य गरेको 

९. तलव स्केल ः स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम (LGCDP) ले तोके बमोजिम मासिक रु. ४००००/- र भत्ता रु. ५०००/- गरि ४५०००/- (अक्षेरुपी रु. पैतालिस हजार मात्र) 
१०. करार अवधी ः २०७५ असार मसान्तसम्म । 
११. थप जानकारीको लागि ः सम्पर्क नं. 
१२. सूचनामा उल्लेखित भए बाहेकका अन्य कुराहरु प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको उम्मेदवार छनौट तथा सिफारिस समितिले निर्धारण गरे वमोजिम हुनेछ ।

हार्दिक कृतज्ञता

जन्म : १९८७                                                                                    मृत्यु : २०७४/१०/२
हाम्री ममतामयी आमा कमला जोशीको यही मिति २०७४ माघ २ गते ८७ बर्षको उमेरमा असामयिक निधन भएकोमा मृत आत्माको चीर शान्तिको कामना छ । साथै यस दुःखद घडीमा हामीप्रति समवेदना÷सहानुभुति प्रकट गर्नु हुने सम्पूर्ण महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
छोरा/बुहारीहरु 
कृष्ण जोशी/बिजयालक्ष्मी जोशी 
रमेश जोशी/राधिका जोशी 
नाती/नातिनीहरु 
नविन, प्रविन, चित्र, दिपा 
लक्ष्मी जाशी
एवं समस्त जोशी परिवार
शिखर नगरपालिका–६ रिठाभुवा, डोटी  

No comments:

Post a Comment