पत्रकार आचार संहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको छ भनि पीडित पक्षलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चारमाध्यम बिरुद्ध प्रकाशन तथा प्रसारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा उजुरी दिई आफ्नो अधिकारको संरक्षण गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
सांसदहरु भन्छन् ः उत्कृष्ठ प्रदेश बन्छ
आईतवार सुरु भएको प्रदेश नं. ७ को पहिलो प्रदेश सभा बैठकमा सांसद्हरुले प्रदेशलाई देशकै उत्कृष्ठ बनाउन सकिने वताएका छन ।
संसदको पहिलो बैठकलाई सम्वोदन गर्दै सांसदहरुले कृषि, पर्यटन र जलस्रोतको माध्यमबाट प्रदेशलाई सम्पन्न बनाउन सकिने बिचार व्यक्त गरे । दिउसो एक बजे बस्ने गरि तय गरिएको बैठक सांसदहरु ढिलो गरि आएका कारण तोकिएको भन्दा करीव आधा घण्टापछि सुरु भएको थियो ।
बैठकमा नेकपा एमालेका सांसद प्रकाश शाहले सांसदहरु र सरकारले ईमानदारीका साथ काम गरे प्राकृतिक स्रोत साधनको धनी प्रदेश नं. ७ लाई देशकै नमुना प्रदेश बनाउन सकिने वताए । ‘प्रदेशको बिकास र समृद्धिका लागि हामी फुटेर होईन, जुटेर लाग्नु पर्छ’ सांसद शाहले भने ‘यो पाँच बर्षसम्म सत्तापक्ष र प्रतिपक्ष नभनि सवैले सकारात्मक भूमिका निर्वाह गर्नु पर्छ ।’ सांसद शाहले प्रादेशिक सरकारको नौलो अभ्यास भईरहेको हुँदा बिगतका कमीकमजोरीहरुको आत्मसमीक्षा गर्दै अगाडि बढ्नु पर्ने बताए ।
नेपाली कांग्रेसका सांसद भरतवहादुर खड्काले प्रदेश सरकारले सम्भाव्यता अध्ययन गरि ठोस् योजना बनाउनु पर्ने बताए । ‘हामी सधैं ट्रायल मुलुक हुनु हुँदैन, योजना बनाउने अनि परीक्षणको रुपमा कार्यान्वयनमा ल्याउने काम हुन हुँदैन’ सांसद खड्काले भने ‘अव पहिले गम्भिर रुपमा अध्ययन गरेर योजना बनाई लागु हुनु पर्छ ।’ उनले पश्चिम सेती परियोजना प्रान्तीय सरकारले आफ्नै लगानीमा बनाउनु पर्नेमा जोड दिए ।
नेकपा माओवादी कोन्द्रका सांसद त्रिलोचन भट्टले जल, जंगल, जमिन, जडिबुटी लगायतका प्राकृतिक स्रोत साधनहरुबाट प्रदेश नं. ७ लाई समृद्ध प्रदेश बनाउन सकिने वताए । उनले भने ‘जलश्रोतको मात्रै पनि हामीले सही उपयोग गर्ने हो भने धेरै हुन्छ, त्यसको साथसाथै पर्यटकीय क्षेत्रको पनि बिकास हुनु जरुरी छ ।’
राष्ट्रिय जनता पार्टीका सांसद मालमति राना थारुले भने संसदमा फरक कुरा राखिन् । उनले भनिन् ‘राना थारुले गरेको आन्दोलनमा धनगढी राजधानी माग गरिएको थिएन तर धनगढीलाई राजधानीको रुपमा अगाडि सारिएकोमा हाम्रो आपत्ति छ ।’ उनले प्रदेश नं. ७ का नौ वटै जिल्लाहरुलाई पायक पर्ने गरि राजधानी तोकिनु पर्ने माग राखिन् । ‘हामीले राजधानी मागेका होईनौं, हामीले कञ्चनपुरदेखि नवलपरासीसम्मको एक प्रदेश मागेका हौं’ सांसद् राना थारुले भनिन् ‘जनताको माग बिपरित राजधानी धनगढी बनाईएको हामीलाई आपत्ति छ ।’
सांसदहरुमध्ये जेष्ठ सदस्य ७४ बर्षीया दिव्यश्वरी शाहको अध्यक्षतामा बसेको पहिलो बैठकले संसद संचालनको अन्तरीम कार्यविधी पारित गरेको छ । यस्तै बैठकले सभामुख र उपसभामुखको चयन नभएसम्मका लागि प्रदेश सभाको बैठक सञ्चालन गर्न सांसदहरु माया भट्ट, देवराज पाठक, बिरमान चौधरी, पूर्णा जोशी र पूर्णबहादुर चौधरी रहेको पाँच सदस्यीय समिति चयन गरेको छ ।
प्रदेश सभाको अर्को बैठक माघ २९ गते बस्ने छ । बैठक कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको हाताभित्र रहेको प्रदेश सभा हलमा बसेको थियो ।
सम्पादकीय
कहाँ पुग्यो सिंहदरवारको अधिकार ?
नयाँ संबिधान जारी हुँदा र स्थानीय तहको पुनर्संरचना हुँदा नेताहरुले सिंहदरवारको अधिकार गाउँगाउँ पुग्यो भन्दै कुर्लिएका थिए । आफुहरुले अधिकार बिकेन्द्रिकरण गरेको, अव जनताले बिगत जस्तो स–सानो कामका लागि सिंहदरवार, जिल्ला सदर–मुकाम धाईरहनु नपर्ने अभिव्यक्ति दिएका थिए । जनताले पनि साँच्चै भई पो हाल्छ कि भनेर आश गरेका थिए । सिंहदरवार देख्न नपाएरै आफ्नो जीवन बिताउने थुप्रै नेपालीहरुले सिंहदरवारै देख्न नपाएपनि सिंहदरवारको अनुभुती गर्न पाईन्छ कि भन्ने आश लगाएका थिए ।
तर, आज ति सवै आशहरु निराशामा परिणत हुने अवस्था सृजना भएको छ । जनताले सरकारबाट पाउने सेवा सुबिधाका लागि फेरी पनि बिगतको भन्दा थप झण्झट बेहोर्नु परेको छ । कानुन बनाउँदैमा केही हुँदैन भन्ने कुरा स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले प्रमाणित गरिसकेको थियो । जुन कानुन स्थानीय तत्कालीन स्थानीय निकायलाई स्वायत्त बनाउनका लागि त बनाईयो तर स्थानीय निकाय कुनै कुरामा पनि स्वायत्त हुन सकेनन् । सरकारले तोकिदिएको क्षेत्रमा मात्रै कर उठाउन पाईने, सरकारले तोकिएदिएको क्षेत्रमा मात्रै बजेट बिनियोजन गर्नु पर्ने, सरकारले तोकिदिएको कर्मचारीहरुबाट मात्रै आर्थिक कारोवार सञ्चालन गर्नु पर्ने, सरकारले तोकिदिए अनुसारमा सेवा सुबिधा मात्रै प्रवाह गर्न पाउने गरि काम भयो । अन्ततः स्थानीय स्वायत्त शासन ऐन कार्यान्वयन नभई मृत्युवरण ग¥यो ।
यस्तै अवस्था फेरी आएको छ । स्थानीय तह संबैधानिक र अधिकार सम्पन्न भएका छन । संबिधानमै स्थानीय तहको अधिकार किटानी गरिएको छ तर के स्थानीय तह स्वायत्त छन त ? सरकारले पठाईदिएको कर्मचारी प्रशासकीय प्रमुख हुने, त्यो प्रशासकीय प्रमुख गाउँमा नबस्ने । सरकारले तोकेको बैङ्गबाट आर्थिक कारोवार सञ्चालन गर्नु पर्ने तर त्यो बैङ्ग गाउँमा नजाने । सरकारले बनाईदिएको नमुना कानुन अनुसार कानुन वनाउनु पर्ने, स्थानीय तहले आफ्नो आवश्यकता अनुसार काम गर्न नपाउने । गाउँपालिकाको पाश्र्वचित्र कस्तो बनाउने भन्नेमा पनि संघीय सरकारले भने अनुसार हुने ।
गाउँपालिकामा कर्मचारीहरु छैनन्, जनप्रतिनिधिहरुलाई कर्मचारी भर्ना गर्ने अधिकार छैन् । संबिधानले एउटा अधिकार दिन्छ, ऐनले अर्को अधिकार दिन्छ, ति सवै अधिकारहरु संघीय मन्त्रालयको एक परिपत्रले उल्टाई दिन्छ । अनि के पुगेकै हो त गाउँगाउँमा सिंहदरवार ?
नाम रामे, श्यामे, च्यामे राखेर केही फरक पर्दैन । फरक पार्नु पर्ने हाम्रो कार्यशैली हो । बिगतमा राजतन्त्र थियो, केन्द्रिकृत एकात्मक सत्ता थियो, त्यो सत्ताले जनताका आधारभुत आवश्यकताहरु परिपुर्ति गर्न सकेन, जनताले सास्ती खेप्नु प¥यो भनेर हामीले संघीय व्यवस्था सहितको गणतन्त्र ल्याएका होईनौं र ? अनि अहिले पनि जनप्रतिनिधिहरुलाई मुठ्ठी बाँधेर बसिराख्न भन्ने ? यो कसरी सम्भव हुन्छ ?
गाउँमा जनताका काम गर्नका लागि कर्मचारी चाहिन्छन्, सरकारले सक्छ भने अहिले भएका कर्मचारीहरुलाई खटाउन सक्नु पर्छ र अटेरी गर्ने कर्मचारीलाई घर पठाउनु पर्छ । होईन भने आफ्ना कर्मचारी जसरी पाल्ने हो पालिराखोस्, स्थानीय तहलाई आवश्यकता अनुसार कर्मचारी भर्ना गर्न पाउने अधिकार तुरुन्तै प्रदान गर्नु पर्छ । यो वा त्यो कोणले जनतालाई दुःख दिने अनि ‘सिंहदरवारको अधिकार गाउँगाउँमा ल्यायौं’ भनेर फुर्ति लाउने काम तत्काल बन्द गरिनु पर्छ ।
थप समाचार
माहुरीको घर
जंगलको बिचमा तिनतले घर, तलतिर रातो माटो र माथिमाथी कमेरो माटोले चिटिक्क पोतिएको छ । घरको चारैतिर माहुरीका घारहरु सजाएर राखिएका छन । माहुरी घर वरिवरी घुमिरहेका छन् । तर यो कुनै व्यवसायिक माहुरी पालक किसानको घर होईन, परम्परागत माहुरीका घार रहेको घर हो ।
डोटीको दुर्गम साविकको छपाली गाबिस–८ कुसिना (हालको आदर्श गाउँपालिका–१) का ५३ बर्षीय जंगबहादुर थापाको घर हो यो । उनको घर वरिपरी १५ घार छन माहुरी । माहुरीहरु चर्न जाने र फर्कने गर्दा नयाँ मान्छेलाई त महुरीले टोक्छन् कि भनेर उनको घर आँगनमा बस्नै समेत डर लाग्छ ।
थापाले आधुनिक तरिकाले व्यवसायिक माहुरी पालन पनि हुन्छ भन्ने जानेका छैनन् तर उनको घरमा सधैं माहुरी भईरहन्छन । ‘म सानै छँदाखेरी पनि हाम्रो घरमा १०/१२ घार माहुरी भईराख्थे’ थापा भन्छन् ‘उडेर जाने जात हो, कहिले बड्ने र कहिले घट्ने त भईहाल्छ ।’ उनले कहिलेकाँही २४/२५ घारसम्म पुग्ने गरेको वताए । माहुरी पालनको तालिम लिनु भएको छ भन्ने प्रश्न गर्दा उनी हास्दै भन्छन् ‘माहुरी पालनको पनि के तालिम लिनु ?’
कोत्तर लागेर ढलेका रुखबाट परम्परागत शैलीमा घार तयार गर्छन् थापाले । अनि माहुरी आउँछन, घारमा बस्छन् । ‘कहिलेकाँही जंगलमा लगेर घार राखिदिन्छौं, अनि माहुरी बसेपछि घर ल्याएर आउँछौं’ थापाले भने ‘नत्र घरमै सजाएर राखेका घारमा पनि आईहाल्छन माहुरी ।’ काठको घारका साथसाथै घरको भित्तामा पनि माहुरीका घार (फाग) बनाएको उनी बताउँछन ।
१५ घार महुरी भएर पनि मह उत्पादन भने कमै हुने गरेको थापा बताउँछन । ‘२०/२२ किलो बार्षिक मह निस्कन्छ’ थापा भन्छन् ‘कहिले–काँही अलि कम बेसी हुन्छ ।’ उनले भने ‘कार्तिक र मंसिरमा हो मह हुने, अरु बेला त हुँदैन खासै ।’ कार्तिक मंसिरमा च्यूरी फुल्ने भएका कारण माहुरीका लागि चारो बढी पाईने उनको भनाई छ ।
थापाले गाउँमै प्रतिलिटर सात सय रुपैयाँका दरले मह बेच्ने गरेका छन । उनी भन्छन् ‘बजारतिर लगे त अझ दाम पाईन्थ्यो होला तर गएको छैन, गाउँमै आएकाहरुले माग्छन, कसै–कसैलाई त ६ सयमै पनि दिने गरेको छु ।’ धेरै हुने भए अन्त लैजानु हुन्थ्यो तर थोरै त गाउँमै बिक्रि भईहाल्ने भएका कारण किन दुःख गर्ने भन्ने उनको मानसिकता छ ।
मह निकाल्दा महुरीले टोक्ने डर रहेको थापा बताउँछन् । ‘टोक्ने त माहुरीको जातै हो, टोक्छन् नि’ उनी थप्छन् ‘आफुले बचेर काम गर्नु पर्छ, मह निकाल्ने समयको पनि ख्याल गर्नु पर्छ ।’
मुद्धा थपिदै, अन्यौलता बढ्दै
रामहरी ओझा/डोटी
माघ २२
जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहरा आफ्नै कार्यकक्षमा बसेर मुलुकी ऐनको लेनदेन सम्वन्धि महल पढ्दै थिईन । २०५७ सालमा आफुसंग लिएको तीन हजार रुपैयाँ ऋणको साँवाव्याज अहिलेसम्म नबुझाएकोले अशुल गरि पाउँ भन्दै जोरायल गाउँपालिका–४ लक्ष्मीनगरका कामदेव बिकले सोही ठाउँका खड्क बोहरा बिरुद्ध गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि उक्त मुद्धामा छलफल टुङ्गोमा पु¥याउनु थियो बोहरालाई ।
अचेल उपाध्यक्ष बोहराको अधिकांश समय कानुनी कितावहरु अध्ययन गर्दैमा बित्ने गरेको छ । स्नातकसम्मको औपचारिक पढाई पुरा गरेकी बोहरालाई कानुनी ज्ञान भने यस अघि कमै थियो । न्यायिक समितिमा एक पछि अर्को मुद्धा आउन थालेपछि उनलाई कानुनी कितावहरु पढ्नु पर्ने वाध्यता आईलाग्यो ।
‘श्रावण यता १३ वटा उजुरी आएका छन, ति मध्ये १० को मेलमिलाप गरेर पठाएँ’ संबिधान अनुसार स्थानीय तहमा गठन भएको न्यायिक समितिकी संयोजक समेत रहेकी उपाध्यक्ष बोहरा भन्छिन् ‘एक श्रीमान् श्रीमतिबिचको झगडा थियो, तीन पटक छलफल गर्दा समेत सहमतिमा ल्याउन सकिएन, उनीहरु सम्वन्ध बिच्छेद्को प्रक्रियामा अगाडि बढे । अर्को एक सामुदायिक बनको बिवादको थियो, त्यसमा पनि दुई पटक छलफल गरि फेरी अर्को पटकका लागि बोलाएका छौं ।’
संबिधानले स्थानीय तहमा न्यायिक समिति गठन गरेको भएपनि आफुहरुलाई कुनै तालिम नदिएका कारण समस्या भएको बताउँछिन् बोहरा । ‘युएमएन र सिड नेपालले केही कानुनी कितावहरु उपलव्ध गराई दिएको छ, तिनै कितावहरु अध्ययन गरेर दुई पक्षबिच छलफल गराउँदै आएकी छु’ अनलाईन खवरसंग कुरा गर्दै जमुनाले भनिन् ‘अहिलेसम्म न्यायिक समितिलाई कसैले तालिम दिएको छैन ।’
तालिम नपाएका कारण कुन मुद्धाको बिषयमा कसरी फैसला गर्ने भन्ने जानकारी छैन उनलाई । उनी भन्छिन् ‘मिलापत्रमै टुंग्याउने प्रयास गर्दै आएकी छु ।’ हालसम्म मिलापत्र गरिएका उजुरीहरुमा मुद्धाका दुवै पक्षले चित्त बुझाएकोमा बोहरा निकै खुशी देखिन्छिन्, भन्छिन् ‘पारिवारिक तथा सामाजिक बिवादहरु यसरीनै मिलिदिए त राम्रै हुन्थ्यो ।’ मिलाउन नसकेका मुद्धामा भने उनलाई निकै पिडा हुने गरेको छ ।
आफ्नो कार्यकक्ष सानो भएपछि उनी मुद्धाका पक्ष र बिपक्षहरुसंग छलफल गर्न अन्य फाँटलाई गुहार्छिन् । ‘मेरो कोठा सानो छ, चार जना अट्न गारो हुन्छ, उजुरीकर्ताका पक्ष र बिपक्षमा अरु पनि आउँछन, बस्नै समस्या छ’ जमुना भन्छिन् ‘मुद्धाका कारण अन्य फाँटमा काम गरिरहेकाहरुलाई पनि समस्या हुन्छ ।’
लामो समय सामाजिक कार्यकर्ताको रुपमा बिताएकी बोहराको उपाध्यक्षमा निर्वाचित भईसकेपछि व्यस्तता थपिएको छ । न्यायिक समिति, राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति र अनुगमन तथा सुपरीबेक्षण समितिको संयोजक छन उनी । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसारका अन्य काम पनि उनले गर्नै पर्ने ।
बोहराको ईजलासमा आएका १३ मुद्धामध्ये गाली बेईज्जत तीन, अशंबण्डा दुई, श्रीमान–श्रीमतिबिच बिवाद दुई, लेनदेन एक, सामुदायिक बन एक, महिलामाथी हातपात एक, मन्जुरी बिना बिवाह एक, पढाई खर्च एक र बाली भराई पाउन एक मुद्धा हुन । उनले मुद्धा दर्ताको छुट्टै रजिण्टर तयार गरेकी छन् । दर्ता रजिष्टर देखाउँदै उनी भन्छिन् ‘आएका मुद्धाहरु यसै रजिष्टरमा दर्ता गरी छुट्टै फाईलिङ्ग गर्ने गरेकी छु ।’
मुद्धा किनारा लगाउन समितिका अन्य दुई सदस्य नन्दराज भट्ट र दिनेश मल्लले सघाईरहेको बोहराको भनाई छ ।
श्रमिक बालबालिकाले धानेको बिद्यालय
भूमिराज जोशी/दिपायल
माघ २१
बिहान ठिक १० बजेको थियो बिद्यालय परिसरमा पुग्दा । बिद्यायलको आँगनमा ४ वटा कुर्सी, २ जना बालबालिका र एक जना कार्यालय सहयोगी मात्र थिए । ती दुई बालबालिकाहरु खेलिरहेका थिए । भने कार्यालय सहयोगी बिद्यालयको छेउमा फोन गरिरहेका थिए । वरिपरी पुरै शान्त बाताबरण थियो । बिस्तारै शिक्षक शिक्षिकाहरु पनि पुगे । सबा दश बजिसकेको थियो । बिद्यार्थीहरु पुगेका छैनन भन्दै लाइन बस्ने घण्टी बजेको थिएन । एक जना शिक्षक भन्दै थिए, ‘आज बालबालिकाहरु उपस्थित भएका छैनन, भोली शुक्रबार सबै बिद्यार्थीहरु आउँछन, हामी पनि सबैलाई पोषाक लगाएर आउ भन्छौं, त्यसपछि बिद्यार्थीको फोटो सहित लिएर जानुहोला । सही रिपोर्ट पनि जान्छ ।’ काँटछाँट नगरी उनले भनेको वाक्य । त्यत्तिकैमा साढे १० बज्यो । कार्यालय सहयोगीले घण्टी बजाए । बिद्यार्थीहरु लाइन लागे १६ जना मात्र । लाइनमा ब्यायाम, राष्टय गान सकेर आ आफ्नो कोठामा बसे ।
बिहीबार बिम्बकर्मी समाचार संकलनमा जाँदा देखिएको यथार्थ दृश्य थियो त्यो । जिल्ला सदरमुकाम सिलगढीमा रहेको शैलेश्वरी आधारभूत बिद्यालयमा कक्षा १ देखि ५ सम्म पढाइ हुन्छ । बि.सं. २०१७ सालमा स्थापना भएको उक्त बिद्यालयमा हाल ४ जना शिक्षकको दरबन्दी रहेको छ भने एक जना बालबिकास सहजकर्ता छन । बिद्यालयमा यसै बर्ष भर्ना भएका बिद्यार्थीहरुको नाम भने ५४ जनाको छ रजिस्टरमा । दैनिक पढ्न आउने बालबालिका भने करिब १५ देखि ३० जनामा मात्र उपस्थित हुने गर्छन । ती सबै निरन्तर भने हुँदैनन्, रजिस्टरमा नाम भएका मध्ये एकएक दिन (पालो) लगाएजस्तै आउने गर्छन ।
जिल्ला सदरमुकाम सिलगढीका अधिकाशं स्थायी बासीन्दाले आफ्नो घरमा श्रमिक बालबालिका राख्ने गरेका छन । कानुनले तोकेभन्दा कम उमेरका बालबालिकाहरुलाई श्रममा लगाएका पनि ब्याप्त छन जो १४ बर्षभन्दा कम उमेरका । १४ बर्षदेखि १६ बर्षसम्मको बालबालिकालाई कसैको घरमा काम गर्नको लागि श्रम कार्यालयले अनुमती दिएको हुनुपर्ने कानुनी प्राब्धान छ । (त्यसमा पनि दिनको तीन घण्टा भन्दा बढी काममा नलगाउने गरी) । १४ बर्ष भन्दा कम उमेरको बालबालिकालाई कुनै पनि कानुनी प्राब्धान छैन श्रममा लगाउनलाई ।
‘कसैले पनि बालकलाई ललाई, फकाई वा झुक्याएर वा कुनै प्रलोभनमा वा डर, त्रास वा दवाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकको रुपमा काममा लगाउनु हुँदैन भन्ने बाल श्रम (निषेध र नियमित गर्ने ऐन, २०५६ परिच्छेद (२)को दुई नं बुदाँले बताउँछ तर, जिल्ला सदरमुकाम भित्रै बालबालिकालाई श्रमिकको रुपमा राख्ने धेरै छन ।
दिपायल सिलगढी नगरपालिका ९ मसुन्तोलाका अधिकाशं परिवारका बालबालिका सिलगढीका बढीजसो स्थानीयको घरमा काम गर्छन । ती घरमा काम गर्ने बालबालिकाहरु १० बजेसम्म घरमा काम गरेर सिलगढीका बिद्यालयमा जाने पढ्ने गर्छन । कतिपय आधारभूत बिद्यालयमा त कतिपय माध्यमिक बिद्यालयमा ।
शैलेश्वरी आधारभूत बिद्यालयमा निरन्तर बिद्यालयमा उपस्थित हुने बालबालिका ८ जना छन । ती बालबालिका सबै श्रमिक हुन । तिनीहरुले नै बिद्यालय धानेको छ । स्थानीयका प्राय त्यो बिद्यालयमा पढ्दैनन् । मन्टेश्वरी र निजी बिद्यालयमा धाउँछन । अभिभावकहरुले पनि बढी बालबालिका हुनेले मात्र त्यो बिद्यालयमा पठाउँछन । अन्य सबैले निजी बिद्यालयको शिक्षा दिने गर्छन ।
५४ जनामा ४५ जना दलित समुदायका बालबालिका
बिद्यालयमा भर्ना भएका ५४ जना बालबालिका मध्ये ४५ जना दलित समुदायका बालबालिका छन । गैर दलित भनेका पनि ८ जना श्रमिक बालबालिका र १ जना स्थानीय बालिका गरी ५४ जना छन । दलित समुदायमा बढी बालबालिका भएकाहरुले मात्र उक्त बिद्यालयमा पठाउने गरेका छन । कतिपयले बार्षिक भत्ता पाउनका लागि पठाएका छन । दिनभर मजदुरी गर्ने र बेलुका जाँडरक्सी खाइ होहल्ला गर्नेहरुका बालबालिकाहरु बढी भएका कारण शैलेश्वरी बिद्यालयमा पठाउने गरेको प्रधानाध्यापक बिना श्रेष्ठले बताइन ।
मजदुरी गर्दै डोटी आएका मजदुरका बालबालिकाहरु पनि त्यो बिद्यालयमा भर्ना भएका छन । भर्ना भएका बेला सिलगढीमा हुने र बाँकी समय जता आमाबुवा जाने त्यतै बालबालिका जाने गरेका गर्छन । ती पनि अति न्युन रुपमा बिद्यालयमा उपस्थित हुने गरेका छन । जताततै नीजि बिद्यालय सञ्चालन गर्नाले उक्त बिद्यालयमा बालबालिका नआएको प्रधानाध्यापक श्रेष्ठले बताइन । उनले भनिन, ‘अरु बिद्यालयमा यतिका लगानी गरेको छ, हाम्रो बिद्यालयमा बालबालिकालाई पौष्टिक आहारबाट दिइने (लिटो) नास्ताको ब्यवस्था पनि गरेको छैन । सरकारबाट पाउने सेवा सुबिधा कुनै पनि नआउँदा बालबालिका घटेका हुन ।’
सिलगढी मै ५ मिनेटको अन्तरमा पद्यम पब्लिक माध्यमिक बिद्यालय छ, ५/६ मिनेटकै अन्तरमा पाँच सामुदायिक आधारभूत बिद्यालयहरु छन । ती बिद्यालयमा गाभ्ने हो भने पनि सजिलो हुने स्थानीयहरु बताउँछन ।
नीजि बिद्यालय संचालन हुँदा सामुदायिक बिद्यालयमा बालबालिका घटेको भन्नु बाहाना मात्र भएको दिपायलका (नाम नखुलाउने सर्तमा) एकजना शिक्षकले बताए । जिल्लाका उत्कृष्ठ सामुदायिक बिद्यालयहरु पनि छन । सीताराम माबि, भगवती माबि, राधाकृष्ण माबि लगायतका बिद्यालयहरुमा नीजि बिद्यालय छोडेर पनि ती सामुदायिक बिद्यालयमा जान्छन । त्यो शिक्षण सिकाई र ब्यवस्थापनको हातको काम रहेका उनले जिकिर गरे ।
यो समस्या शैलेश्वरी आधारभूत बिद्यालयमा मात्र होइन, जिल्ला सदरमुकाममा ७ बिद्यालयमा नै यस्तै छ । बिद्यार्थीहरु नहुँदा बिद्यालय नामका मात्र भएका छन । पहाडी जिल्लाहरुमा एक जना शिक्षकले ४५ जना बिद्यार्थीहरुलाई पठनपाठन गर्नुपर्ने भएपनि डोटीका कतिपय सामुदायिक बिद्यालयमा २ जना शिक्षकले १० जनालाई मात्र पढाउनु पर्ने ब्यवस्था रहेको छ ।
डोटीमा ४१ दिन देखि आन्दोलन जारी
प्रदेश राजधानीको माग गर्दै डोटीमा ४१ दिन देखी आन्दोलन जारी रहेको छ । ७ नम्बर प्रदेशको राजधानी दिपायल हुन पर्ने माग गर्र्दै सुरु भएको आन्दोलन निरन्तर छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर नेतृत्वको सरकारले अस्थायी राजधानी कैलाली तोकेपछि डोटी आन्दोलित बनेको थियो । राजधानीका लागी सुरु भएको आन्दोलन सरकारी कार्यालयमा तोडफोड हुनुका साथै दर्जनौं आन्दोलनकारी घाईते भएका थिए ।
राष्ट्रिय सभाको निर्वाचन डोटीमा सम्पन्न हुने भएपछि जनप्रर्दशन तथा आमहड्तालका कार्यक्रम फिर्ता लिएर घर्नाको कार्यक्रम जारी रहेको छ । सहिले आन्दोलनकारीले क्षेत्रिय प्रशासन कार्यालय राजपुर र जिल्ला प्रशासन कार्यालय सिलगढीमा धर्ना दिने काम भैरहेको छ । संर्घष समितिका संयोजक नरेन्द्र खड्काले भने ‘डोटीमा राजधानी नहुँदा पनि राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्ने अबसर पाउनु हाम्रा लागी सुखल कुरा हो, निर्वाचनलाई मध्यनजर गर्दै आम हड्ताल फिर्ता लिएका छौं, त्यसैले डोटीमा आउने माननिय तथा स्थानीय तहका प्रमुख तथा उप प्रमुखलाई स्वागत गर्ने छौं ।’
डोटीमा राजधानी बन्नु पर्ने बिषयमा आफ्नो धारणा स्पस्ट रहेको प्रदेश सभाका सांसद त्रिलोचन भट्टले बताए । भट्टले भने ‘हामी हिजो, आज र भोली सधैँ दिपायलका पक्षमा हुँन्छौं । राजधानी दिपायल हुन पर्नेमा हामी स्पस्ट छौं ।’
भूगोलका सबै जनतालाई न्याय हुनेगरी राजधानी केन्द्रीय भूभागमा तोक्नु पर्ने नेकपा एमालेका अध्यक्ष चक्र मल्लले बताए । मल्लले भने ‘राजधानी नहुन्जेल हाम्रो आन्दोलन जारी रहन्छ, स्वरुप परिर्बतन हुँन्छ तर माग कायमै रहन्छ ।
स्थानीय तहमा बैंक नहुँदा सास्ती
खगेन्द्र सिंह/डोटी
माघ २२
स्थानीय तहहरुमा बैंक स्थापना नहुँदा उपभोक्ताहरुलाई दोहोरो झण्झट भईरहेको छ । सरकारी सेवा सुबिधाहरु स्थानीय तहमै सञ्चालन भईरहे पनि बैंक नहुँदा झण्झट व्यहोर्नु परेको हो । बैंक नहुँदा कार्यालय सञ्चालनमा समेत समस्या देखिएको छ ।
सानादेखि ठुला योजना सञ्चालन गर्दा बैंक खाता खोल्नु पर्ने बाध्यता रहेको छ । ‘योजनाहरु सम्झौता गर्दा गाउँपालिकामा जानु पर्दछ’, जोरायल गाउँपालिका–१ घण्टेश्वरका सोपानसिं ओलीले भने ‘सम्झौता पश्चात बैंक खाता खोल्न फेरी जिल्ला सदरमुकाम जानु पर्ने बाध्यता रहेको छ ।’ गोगनपानी साकिनडाँडा सडक योजनाका अध्यक्ष समेत रहेका ओलीले भने ‘गाउँपालिका र सदर–मुकाम दुबै ठाउँ जानुपर्ने भएकाले समय पनि खेर जाने र खर्च पनि दोहोरो हुन्छ ।’
‘सिंहदरबार गाउँमै आयो भन्थे तर अहिले झन सास्तीव्यहोर्नु परिरहेको छ’, बोगटान गाउँपालिका–१ सिमचौर स्थित छिडीदान मेलखाली काँट्े सडक निर्माण आयोजनाका अध्यक्ष कृष्ण बोहराले भने, ‘पहिले भन्दा अहिले झनै झण्झट भईरहेको छ ।’ ‘सम्झौता देखि बैंकको खातापाताको काम सबै पहिले सदरमुकाम एकै ठाउँमा हुन्थ्यो’, बोहराले भने, ‘अहिले एउटा काम गाउँपालिका अर्को काम सदरमुकाममा गर्नुपर्ने बाध्यता भएको छ ।’
स्थानीय तहमा बैंक स्थापना नहुँदा वडा सचिबशरुलाई समेत समस्या भईरहेको छ । ‘बैंक नहुँदा सामाजिक सुरक्षा भत्ताको लागि छुट्याइएको लाखौंको रकम सदरमुकामबाट एक्लैले बोकेर लैजानुपर्ने बाध्यता रहेको छ’, जोरायल गाउँपालिका वडा नम्बर एक घण्टेश्वरका सचिब तारा प्रसाद अधिकारीले भने, ‘सुरक्षाको दृष्टिकोणले हामीहरुलाई साह्रै गाह्रो भईरहेको छ ।’ ‘सानोदेखि ठुलो चेक साँट्न पनि सदरमुकाम धाउनु पर्छ’, बोगटान गाउँपालिका–१ सिमचौरका सचिब चत्र बहादुर थापाले भने ‘स्थानीय तहमा बैंक नआएर सबैलाई गाह्रो भईरहेको छ ।’
दिपायल सिलगढी नगरपालिका बाहेक अन्य स्थानीय तहहरुमा अझै बैंक स्थापना हुन सकेका छैनन् । शिखर नगरपालिकामा बैंक स्थापना भइसकेको भएपनि आफ्ना सेवाहरु भने अझै सुचारु गर्न सकेको छैन ।
स्थानीय तहहरुमा भवन अभाव र सुरक्षाको कारणले बैंकहरु स्थापना हुन नसकेका भन्ने गुनासो आईरहेको भएपनि डोटीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री सो कुरासंग सहमत छैनन् । ‘सुरक्षा दिने जिम्मेवारी हाम्रो हो, हामी सुरक्षा दिन तयार छौं’ खत्रीले भने, ‘सरकारले निजी क्षेत्रका बैंकहरुलाई स्थानीय तहहरुमा सेवा सुचारु गर्न भनेको भएपनि उनीहरुले मानिरहेका छैनन् ।’
‘निजी क्षेत्रका बैंकहरु नाफामूखि मात्र काम गरिहेका हुन्छन्’, प्रजिअ खत्रीले भने, ‘स्थानीय तहहरुमा धेरै नाफा नदेखेर नआएका हुन सक्छन् ।’‘उनीहरुलाई नियमन गर्ने जिम्मेवारी राष्ट्र बैंकको भएपनि अहिले सम्म हुन सकेको छैन’, खत्रीले भने, ‘भवन अभाव सुरक्षाको समस्या कुनैपनि रहेको छैन ।’
कार्यालय संचालनमा समेत समस्या
स्थानीय तहमा बैंक नहुँदा कार्यालयको नियमित काम काजमा समेत समस्या आईरहेको छ । ‘बैंक नआउँदा हामीहरुलाई कामकाजमा समेत समस्या आईरहेको छ’ सायल गाउँपालिकाका अध्यक्ष तेज डुम्रेलले भने ‘कार्यालय सञ्चालन गर्दा एक्कासी कुनै कुराको आवश्यकता पर्दछ, त्यसबेला नगद पैंसा हुँदैन, चेक काट्दा बैंक नजीक छैन, त्यसैले समस्या आईरहेको छ ।’
‘बैंक नहुँदा बिशेषगरी उपभोक्तालाई समस्या भईरहेको छ’, केआईसिं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, कर्मचारी तथा जनप्रतिनिधिहरुले समेत बैंक नहुँदा समस्या व्यहोर्नु परिरहेको छ ।’ ‘टाढाका वडाहरुबाट कामको लागि उपभोक्ताहरु आउँछन तर बैंक नहुँदा फेरी सदरमुकाम जानुपर्ने बाध्यता रहेको छ’ शाहीले बताए ।
निमित्तको भरमा स्थानीय सरकार
कर्ण चन्द/डोटी
माघ २२
डोटीको पुरानो नगरपालिका दिपायल सिलगढी नगरपालिका गत भाद्र देखि निमित्त कार्यालय प्रमुखले सञ्चालन गरिरहेका छन । तत्कालीन कार्यकारी अधिकृत तुल्सीप्रशाद आर्चाय भाद्र महिनामा सरुवा भए देखि भोजराज शर्माले निमित्त प्रमुखको जिम्मेवारीमा सम्हालेका छन । शर्मा जिल्ला बन कार्यालयका सहायक बन अधिकृत हुन ।
डोटीको शिखर नगरपालिकामा पनि कृषि शाखाका कृष्णदत्त पाण्डे निमित्त प्रशासकीय प्रमुखको भूमिकामा छन् । उनी कृषि प्राबिधिक हुन । सायल गाउँपालिमामा पनि नायब सुब्बा लालबहादुर बोगटी प्रशासकीय प्रमुखको जिम्मेवारीमा छन । पुर्बिचौकी गाउँपालिको प्रमुख पनि निमित्तको भरमा सञ्चालन भइरहेको छ ।
यस्तै जोरायल गाउँपालिकामा तेजबहादुर खत्री निमित्त प्रशासकीय प्रमुख छन । उनी गाउँपालिकाको शिक्षा ईकाईका प्रमुख हुन । जिल्लाका ९ स्थानीय तहमध्ये ६ निमित्त प्रशासकीय प्रमुखको भरमा सञ्चालन भइरहेका छन । स्थानीय सरकारका रुपमा अधिकार प्राप्त स्थानीय तह निमित्तको भरमा सञ्चालन हुँदा सेवा प्रवाह प्रभाकारी हुन नसकेको गुनासो गरेका छन ।
गाउँपालिकामा शाखा अधिकृतका कार्यकारी खटाईए पनि स्थानीय तहमा नबस्दा निमित्तको भरमा स्थानीय सरकार सञ्चालन भइरहेको छ । जनप्रतिनिधिले नीतिगत निर्णय गर्ने भएपनि कार्यान्वयन गर्ने जिम्मा कर्मचारीको भएका कारण योजनाको प्रभाबकारी कार्यान्वय हुन नसकेको पुर्बीचौकी गाउँपालिका अध्यक्ष दिर्घ बोगटीले बताए । बोगटीले भने ‘हामी कहाँ दरबन्दी अनुसारका कर्मचारी छैनन्, त्यसमाथीमा प्रशासकीय प्रमुख नै हुनुहुन्न निमित्त कर्मचारीले काम सञ्चालन गरिरहेका छौं ।’
प्रशासकीय प्रमुख र मातहतका कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या भएको सायल गाउँपालिकाका निमित्त कार्यकारी लालबहादुर बोगटीले बताए । बोगटीले भने ‘म एक जना कर्मचारी निमित्त कार्यकारी, सायल गाउँपालिकाको वडा नं. ४ र ६ को वडा सचिब पनि छु, यति धेरै जिम्मेवारी कसरी सम्हाल्न सकिन्छ ।’ बोगटीले थपे ‘कार्यालय समय त भयो नै बिहान, राती र बिदाको दिनमा पनि काम गर्नु पर्ने अबस्था छ ।’ कार्यालय प्रमुख मात्र होईन अन्य बिभिन्न पदका जनशक्ती अभाब रहेको छ ।
दोहरो जिम्मेवारीमा कर्मचारी
गाउँपलिकाका कर्मचारी दोहरो जिम्मेवारीमा भएका कारण काममा ढिला सुस्ती भएको पुर्बीचौकीका अध्यक्ष दिर्घराज बोगटीले बताए । बोगटीले भने ‘निमित्त कार्यकारीले आफ्नो जिम्मेवारीको पनि काम गर्नु प¥र्यो र निमित्त कार्यकारी दुबै तर्फको जिम्मेवारी सम्हाल्दा काममा ढिला सुस्ती हुन्छ, कर्मचारी दोहरो जिम्मेवारीमा पनि छन ।’
स्थानीय तहका बारेमा अनुभब प्राप्त जनशक्ती नहुँदा कार्यक्रम कार्यान्वयन समस्या भएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । गडसिलाले भने ‘हाम्रा लागी पनि यो नयाँ अनुभब छ, कर्मचारीका लागी पनि नयाँ गर्दै सिक्नु पर्ने र सबै ऐन, कानुन, नियमावली अध्ययन गर्दै जाँदै छौैँ ।’ स्थानीय तह नयाँ संरचना भएका कारण काम गर्दै सिक्दै जानु पर्ने सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।
स्थानीय तहमा कर्मचारी ब्यबस्थान गर्ने क्रममा रहेका कारण केही समय निमित्तले सञ्चालन गरिरहेको गृह मन्त्रालयका सहसचिब आनन्दराज ढकालले बताए । ढकालले भने ‘अव चाँडै स्थानीय तहमा जनशक्ती पुर्ति हुनेछ ।’
छोटकरी समाचार
गौरीशंकरलाई उमाबि बनाउन पहल
डोटी जोरायल गाउँपालिका–१ गैरामा रहेको गौरीशंकर गौरीशंकर माबिलाई कक्षा १२ सम्मको पढाई हुने गरि पहल सुरु भएको छ ।
शनिवार सम्पन्न अभिभावक भेलाले हाल कक्षा १० सम्मको अध्ययन/अध्यापन भईरहेको बिद्यालयलाई कक्षा १२ सम्म लैजाने निर्णय गरेको छ । भेलाले स्थानीय शोपानसिंह ओलीको संयोजकत्वमा १३ सदस्यीय कार्यदल समेत गठन गरेको छ । समितिमा स्थानीय जनप्रतिनिधिहरुलाई पनि राखिएको छ ।
प्रेस चौतारीको स्थापना दिवस मनाईयो
प्रेस चौतारी नेपालको २० स्थापना दिवस डोटीमा पनि मनाइएको छ ।
क्रियासिल पत्रकारहरुको पेशासगत संगठन प्रेस चौतारी नेपाल डोटी शाखाले स्थापना दिवसको अवसरमा स्थानीय तहका जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरि मनाएको हो । डोटीको पत्रकारिताका सवाल बिषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले पूर्ण प्रेस स्वतन्त्रताका लागि आफुहरुले पु¥याउनु पर्ने योगदानका लागि तयार रहेको प्रतिवद्धता जनाएका छन ।
प्रेस चौतारी डोटीका अध्यक्ष झलक पालीको अध्यक्षता र नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुले स्थानीय सञ्चारमाध्यमको बिकासका लागि स्थानीय तहले सहयोग गर्ने पर्ने माग गरेका थिए ।
खेल समाचार
उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने
अनलाइनखबरबाट
शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यू डायमण्ड र र एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोमबार भएको खेलको पहिलो सेमिफाईनल खेलमा शिवम् न्यू डायमण्डले पोखराको टप्सउपाबीलाई ३–१ को सेटमा हरायो । दोश्रो सेमिफाईनल खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउदै फाइनलमा स्थान बनायो । नयाँ बसपार्क स्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा आयोजक टोली शिवम् न्यू डायमण्ड एकेडेमीले टप्सउपाबीलाई २५–९, २२–२५, २५–१८ र २५–१५ को सेटमा हरायो । शिवम् न्यू डायमण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेकी दोश्रो रोजाईकी ओपन स्पाईकर पनमिका राई वुमन अफ दी म्याच चुनिईन् ।
शिवम् सिमेन्टको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको दोश्रो सेमिफाईनल खेलमा वुमन अफ दी म्याच चुनिएकी क्विक स्पाईकर हिरा केसीको महत्वपूर्ण योगदानमा एपीएफले बिभागीय प्रतिद्वन्द्वी आर्मीलाई २५–१५, २५–१७ र २५–६ कोसेटमा हरायो ।
प्रतियोगितामा वुमन अफ दी म्याच चुनिएका खेलाडीहरुलाई स्पोर्टस् पोशाक उत्पादन कम्पिनी साहास स्पोर्टस्का प्रमुख जनक न्यौपानेले प्रायोजन गरेका छन् । साहास स्पोर्टस्ले प्रतियोगिताका वुमन अफ दी म्याचका सम्पूर्ण खेलाडीहरुलाई आफ्नो ब्रान्टको ट्रायक–सुट उपलब्ध गराएको छ ।
आज प्रतियोगिताको फाइनल खेल आयोजक टोली र एपीएफबीच हुनेछ । त्यस्तै टप्स स्कुल र आर्मीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तीन दिने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने भनिए पनि नेपाल पुलिस र श्रीगाउँ खेलकुद बिकास समिति दाङको टोलीले सहभागिता नजनाएपछि चार टोलीबीच मात्र प्रतिस्पर्धा गराइएको हो । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, उपबिजेताले १ लाख १ हजार तथा तेस्रो र चौथो हुनेले क्रमसः ५१ र २१ हजार पुरस्कार पाउनेछन् ।
चलचित्र/मनोरञ्जन
यसकारण दर्शकले ‘भद्रगोल’ हेर्न नपाउने
चर्चित हाँस्यटेलिश्रृखला ‘भद्रगोल’ अब दर्शकले हेर्न नपाउने भएका छन् । नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हँुदै आएको यो श्रृखला यो साताबाट प्रसारण नहुने भएको छ ।
‘भद्रगोल’ बन्द भएको जानकारी श्रृखलाका निर्देशक मध्यका एक अर्जुन घिमिरे ‘पाँडे’ले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । घिमिरेले श्रृखला सम्बन्धी एक लामो स्टाटस पोष्ट गर्दै दर्शकले अब ‘भद्रगोल’ हेर्न नपाउने जनाएका हुन् ।
आजसम्म ‘भद्रगोल’लाई साथ दिने मिडिया हब, दर्शक प्रति आभार व्यक्त गर्दै घिमिरेले आर्थिक समस्याका कारण श्रृंखला बन्द गर्नु परेको उल्लेख समेत गरेका छन् ।
कार्यक्रमको सम्झौता अनुसार कहिले पनि रकम भुक्तानी भएन । केही कथित ब्यक्तिहरुको मनोमानीले गर्दा कार्यक्रम उत्पादनमा निकै समस्या परेको घिमिरेले बताए । ‘मिडिया हबको कर्मचारी भद्रगोलको निर्देशक भन्दा माथी देखिए ,’ घिमिरेले अगाडि लेखेका छन् ‘केही ब्यक्तिको स्वार्थले कार्यक्रम मनोमानी ढंगले बिगारेर प्रशारण गराइयो ।’
मिडिया हबको ब्यापारलाई उच्च मुल्यांकन गरी दर्शकले चाहे अनुसारको श्रृंखला निर्देशक गरेको समेत उनले दाबी गरेका छन् ।
छोटो समयमै दर्शकको मन जितेर चर्चित बनेको ‘भद्रगोल’ केहि अघि पनि आर्थिक तथा आन्तरिक विवादका कारण बन्द भएको थियो । ‘भद्रगोल‘ करिब ३ वर्षदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । श्रृखलामा घिमिरेको अलवा कुमार कट्टेल ‘जिग्री’, रक्षा श्रेष्ठ लगायतको अभिनय रहँदै आएको थियो ।
लेख
आयूष्मानको भविश्य पोषणले गर्नेे ।
चाणक्य अधिकारी
बहुक्षेत्रीय पोषण योजना
जिल्ला संयोजक , डोटी
यहि समयमा पु¥याइने हेरविचारले उनीहरुको भविश्य निर्धारण गर्छ भन्ने थाहा पाएपछि अम्वरराज जोशी आफ्नो वच्चाको स्याहारमा तल्लीन भएर लागेका छन ।
२०७३ चैत्रको २८ मा वहुक्षेत्रीय पोषण योजनाको गोष्ठी हुँदा उनकी श्रीमती कल्पना जोशीले वच्चा जन्माएको भरखर पाँच महिना ८ दिन पुगेकोे रहेछ । ‘सुनौला हजार दिनको महत्व अगाडी थाहा पाउन पाएको भए गर्भवती समयमा पनि धेरै ध्यान दिन्थे पछि मात्र थाहा पाइयो, हजार दिनमा मात्र वुवा आमा र अभिभावकले वढि ध्यान दिन सके उसको जीवन राम्रो हुन्छ भने यो समयको ख्याल गर्नु पर्छ भनेर हामी दुवै जना समय मिलाएर वच्चाको स्याहारमा लागेका छौं ।’ गोष्ठीको कुरा स्मरण गर्दै अम्वरराजले भने ।
पौषको जाडो महिना, घाम पश्चिमतीर ढल्किदै गरेको समयमा घरको पिँढीमा वसेर उनको कुरा सुन्दा मज्जा आइरहेको थियो । वच्चा र आमालाई ‘हरेक वार खाना चारमा’ कमी हुन दिएको छैन । वहुक्षेत्रीय पोषण योजना अन्र्तगत जिल्ला पशु सेवा कार्यलयले दिएको कुखुराको चल्लाले अण्डा दिने भएपछि घरमै अण्डा पुगेको छ । पहिले दिपायलवाट क्यारेटमा नै अण्डा ल्याउथे । शुरुमा कुखुरा पालन गर्दा जजमानी गर्ने वाहुनले कुखुरा पालन गर्न लाग्यो भनेर खिस्सी गरे । मैले वच्चाको लागी अण्डा ख्वाउन सरकारले दिएको हो भने पछि उनी पनि अण्डाको महत्व वुझ्न थालेका छन । चल्ला पाउन साथ वाथ रुममा राखे । पाँच चल्लामा २ वटा घरकै विरालोले खाइदियो त्यसैले जाली खोर वनाएर छुट्टै पाल्न थालेको छु ।
भाले ३ किलो भएपछि काटेर खाइयो । दुइ पोथीवाट २ वटा ताजा अण्डा आमा र वच्चालाई पुगेको छ । जाडोमा अण्डा नदेलान भनेर कुखुरालाई तातो पानी र दानाको जोहो गरेको छु । यी कुखुरा साह्ै राम्रा रहेछन, यीनको अण्डावाट चल्ला निकाल्न सकिन्छ सर ? उनले गरेको कौतुहलपूर्ण प्रश्नले दिइएका कुखुराहरु अण्डामात्र पार्नेे हुन मात्र वुझिन्थ्यो । कुराकानीकै सन्दर्भमा मैले भाले लागेपछिका अण्डाहरु लोकल कुखुरालाई कोरल्न दिए चल्ला निस्किन्छ भने । अव केही अण्डा सरले भने जस्तै गरी कोरल्न दिएर चल्ला वनाउनु प¥यो । अहिले त छिमेकी विष्णु शर्माले पनि कुखुरा पालन गर्न थालेका छन । उनले गाउघरमा कुखुरा पालन गर्न वातावरण वनेकोले कुखुरा वढाउने योजना वनाए जस्तो उनको आभाष झल्किन्थ्यो ।
गाउघरमा फलफूल किन्न पाइदैन, दिपायलवाटै अनार र स्याउ जिपमा मगाएर खुवाउने गरको छु । अनार, अम्वा, आरु र केरा लगाएको छु, आउदो वर्ष देखि केही फलफूल त घरमै पनि हुन्छ होला, केही त किन्नै पर्ला । मेरो आँखा उनको घर वरीपरीको वारीका सुर्काहरुमा दौडिए । उनको घर आँगनमै अनारको वोट हुर्केको थियो । पालुङ्ग, मेथी, रायोको साग र मूला २ वटा सुर्काहरुमा हर्लक्क भएका थिए, बारीको भित्तामा गोलभेडा लटरम्मै फलेका थिए । वारीको छेउछाउमा अम्वा, केरा र आरु थिए । वीचवीचमा प्याजको वोट हर्लक्क वढेका थिए । ‘कृषिवाट तालिम नलिएपनि देखेरै तरकारी खेती गर्न सिकेको छु । प्याजको वीउ आफै वनाउछु । अव यो वारीमा तरकारी मात्र लगाउछु । यसपछि काक्रो र फर्सी अनि वैमौसमी तरकारी लगाउनु पर्ला । फर्सीको डल्ला र मुन्टा खान हुन्छ, हरियो पुगिहाल्ला । आलु लगाउन ठाउ नै पुग्दैन, यो ठाउ मातेमा (वन्धकी) लिने विचार गरेको छु’ उनले आफ्नो घर छेउको वारी देखाउदै भने ।
तपाइले धेरै राम्रो ब्यवस्था गर्नुु भएको छ, यो सवै गर्न पानी पुग्दैन होलानी ? मैले तरकारीवारीको सिंचाइ व्यवस्थापनमा सन्देह राखेर प्रश्न गरे उनले वाथरुम र जुठेल्नोवाट खेर गएको पानी वारीमा पु¥याएको पाइप देखाउदै वारीमा लगे । मैले उनको र तरकारी वारीको दृश्य क्यामरामा कैद गरे आमा घरमा नभएर होला त्यतिवेला पनि उनले छोरालाई अँगालोमै राखेका थिए ।
वच्चाको औधि स्याहार गर्ने वावुको यो व्यवहार देखेर वच्चालाई आमाको दुध कतिखेर खुवाउनु हुन्छ ? भनि सोधे । उनले गाईको र आमाको दुध गरि दिनमा ६, ७ पटक खुवाउने र अण्डा र सागपात सहितको लिटो खुवाउने गरेको वताए । घरमा दुध नभएपछि गाउवाट १ लिटर दुध दैनिक किन्ने व्यवस्था मिलाएका रहेछन ।
साझ पख लसुनवारीवाट उनकी श्रीमती पनि आई पुगिन । उनले ‘वच्चाको आमा उनै हुन’ भनेपछि मैले अभिवादन गरे । ‘उहाँ हाम्रो पोषणको सर’ उनले मेरो छोटो परिचय गराई दिए । हात गोडा धोएपछि उनले वच्चालाई काखमा लिइन र दुध खुवाइन । अम्वरराजले तरकारीवारीवाट सागसव्जि टिपेर ल्याए । केहि छिनमै खाना तयार भयो । ‘हात धुनुस सर, खाना खाउ’, उनले घर आगन छेवैमा रहेको हात धुने ठाउमा सावुन पानी देखाउदै संकेत गरे ।
खाना पछिको केही भलाकुसारीपछि सुत्नको लागी तैयारी गर्दै थियौं, एक्कासी विरालो भित्र पस्यो र भित्तामा रहेको सुकुटी मासुको सिलहरुलाई लक्षित गरी कराउन लाग्यो । ‘के को मासु हो अम्वर सर ?’ मैले सोधे । ‘के गर्ने गाउमा दिनदिनै मासु पाइदैन, वच्चालाई खुवाउन लोकल कुखुराको सुकुटी वनाएर राखेको । यो सुकुटीको एक टुक्रा उमालेर त्यसको रस प्रत्ेयक दिन खुवाउछौं । वच्चाको लागी यति नगरे गाउमा कसरी मासु जुटाउन सकिन्छ र ?’ पशुजन्य प्रोटीनको मात्रा जुटाउने उनको यो कार्य उदाहरणीय लाग्यो ।
उनको यो वच्चाप्रतिको लगाव साह्ै मन प¥यो । सवै सुनौला हजार दिनका वुवाआमाले यसरी नै सोच्ने र व्यवहार अपनाउने हो भने राज्यले सोचेको पुड्कोपन घटाउने र मानव पूँजीको विकास गर्ने दीर्घकालीन लक्ष्य पुरा गर्न धेरै दिन पर्खन पर्ने छैन ।
विहानै अम्वरराज सर म वसेको कोठामा आउनु भयो, हिचकिचावट भावमा ‘सरलाई कोदेको रोटी कतिको मन पर्छ ? चिया रोटी ल्याउकी ? हामी त जाडोमा यस्तै खाजा खान्छौ ।’ भन्दै सोध्नु भयो । म पनि यस्तै खाएर हुर्केको, मलाई धेरै मन पर्छ भने पछि उहाले रोटी चिया ल्याई दिनु भयो । मैले खाएको देखेर मुसुक्क हास्दै भन्नु भयो ‘सरलाई पनि कोदेको रोटी मन पर्ने रहेछ ।’ अम्वरराज दम्पत्तिको यो सौहार्दता र ब्यवहारले मेरो मन छोयो । मैले उहाँको परिवार सहितको फोटो यात्रा संस्मरणमा राख्न मन लाग्यो र उहाँहरुलाई फोटोको एक पोज दिनको लागी अनुरोध गरे । दुवै दम्पती र वच्चाको फोटो लिदै गर्दा ‘छोराको नाम के हो ?’ भनी सोधे । दुवैको एकै स्वर सुनियो ‘आयुष्मान’ । वाहुनले राखिदिएको नाम त अर्कै हो यो उनकै फूपुले राखी दिएको । उनले परम्परागत तरिकाले राख्ने नाम भन्दा यो अलिक सान्र्दभिक र राम्रो नाम भन्नेमा गर्व गरेको महशुस उनको भावमा झल्किन्थ्यो । ‘तपाईहरुको अथक स्याहार र ममताले आयुष्मानको भविष्य राम्रो हुन्छ ।’ मैले उहाँहरुको वच्चाप्रतिको स्याहार सुसार र ममतालाई सम्मान जनाए । अम्वरराज सरले भने ‘सवै खोप दिई सक्यांै एउटा मात्र वाँकी छ, अहिले ८ केजी तौल पुगेको छ । राम्रो पालनपोषणले गर्दा अहिलेसम्म केही रोग लागेकोे छैन, पोषण राम्रो भए भविष्य राम्रो हुन्छ भन्ने विश्वास गरेका छौं ।’
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
चलचित्र सम्बन्धी जानकारी
१. नेपाली भाषाको पहिलो चलचित्र – सत्य हरिश्चन्द्र
२. नेपालमा बनेको पहिलो चलचित्र – आमा(२०२२)
३. पहिलो रगिँन नेपाली चलचित्र – कुमारी
४. निजिक्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र – माईतीघर
५. नेवारी भाषाको पहिलो चलचित्र – शिलु
६. लिम्बु भाषाको पहिलो चलचित्र – खाप्पुना मरङ्ना
७. पहिलो नेपाली अभिनेता – शिवशंकर मानन्धर (आमा)
८. पहिलो नेपाली नायिका – भुवन थापा (चन्द), आमा चलचित्र
९. चलचित्र संस्थानद्धारा निर्मीत पहिलो चलचित्र – मनको बाँध
१०. ओस्कार अवार्डका लागि नोमिनेटेड – क्याराभान
११. पहिलो महिला निर्देशक – सुचित्रा श्रेष्ठ
१२. नेपालको पहिलो सिनेमा हल – जनसेवा सिनेमा हल
१३. नेपाल टेलिभिजनद्दारा प्रशारित पहिलो टेलिचलचित्र – पृथ्वीनारायण शाह
१४. नेपाल टेलिभिजनद्दारा प्रशारित प्रथम संस्कृत भाषाको टेलिचलचित्र – गुरु दक्षिणा
१५. नेपालको पहिलो सिनेमास्कोप चलचित्र – राँको
१६. नेपाल चलचित्र संस्थानको स्थापना – २०२८ कार्तिकमा
१७. सर्वप्रथम रजत जयन्ती मनाउने नेपाली चलचित्र – कुसुमे रुमाल
१८. धिमाल भाषाको पहिलो चलचित्र – उनी
१९. राई भाषाको प्रथम चलचित्र – साईबुङ (कुटुम्ब)
२०. नेपालको पहिलो गिती चलचित्र – गौँथली
२१. इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र – बादलपारी
२२. समुद्र पारी छायांकन गरिएको पहिलो – कस्तुरी
२३. नेपालमा बनेको पहिलो घम् चलचित्र – भिजिलान्ते
केही समसामायिक जानकारीः
१. सरकारले दुई वर्षे तत्कालीन सुधार कार्ययोजना २०७२ कहिले पारित गर्यो ?
– वि सं २०७२ मङ्सिर २४
२. ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले ‘राष्ट्रिय सदाचार सम्मान’ कसलाई प्रदान गर्यो ?
– त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोबिन्द केसी
३. ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म ब्यापार विस्तार’ भन्ने नाराका साथ वि.सं २०७२ पौष ८ देखि २१ गतेसम्म बुटबलमा आयोजना हुने मेला कुन हो ?
– अन्तराष्ट्रिय लुम्बिनी एक्स्पो २०७२
४. भक्तपुर २० औं पूर्ण साक्षर जिल्लाका रुपमा कहिले घोषित भयो ? – वि.सं. २०७२ मङ्सिर २७
५. पाँच लाख रुपियाँ राशिको ‘प्रेस काउन्सिल सानिमा बैंक पत्रकारिता पुरस्कार’ कति बर्षमा प्रदान गरिने छ ? – प्रत्येक बर्ष
६. शिक्षा मन्त्रालयले २०७१ सालदेखि एसएलसी परीक्षालाई कति तहमा लेटर ग्रेडिङका आधारमा मूल्याङ्कन गर्ने भएको छ ? – ९ तह
७. न्यायपरिषद्को २०७२ मङ्सिर २२ मा बसेको बैठकद्वारा संवैधानिक इजलासको न्यायाधिशका लागि सिफारिस भएका चार जना न्यायाधिस को को हुन् ?
– गिरीशचन्द्र लाल, सुशीला कार्की, धैध्यनाथ उपाध्याय र गोपाल पराजुली
८. संवैधानिक परिषद्को २०७२ मङ्सिर २२ को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कसलाई नियुक्त गर्न सिफारिस गर्यो ? – डा. अयोधीप्रसाद यादव
९. संयुक्त राष्ट्रसंघको ७० औं महासभा २०१५ को नारा के हो ?
– राष्ट्रसंघका ७० बर्षः शान्ति सुरक्षा र मानव अधिकारका निम्ति भावी मार्ग
१०. नेपालमै पहिलो पटक सरकाले सम्मानार्थ पत्रकार परिचय पत्र कसलाई प्रदान गर्यो ?
– नारायण प्रसाद शर्मा (दाङ)
११. विश्वप्रसिद्ध टाइम पत्रिकाले सन् २०१५ को बर्ष व्यक्ति कसलाई घोषणा गर्यो ?
– जर्मन चान्सलर एन्जेला मर्केल (दोस्रोमा आतंकबादी समूह आईएसका नेता अबु बकर अल बग्दादी)
१२. नेपालको इभेन्ट आयोजक संस्था ई प्लानेटले भारतको नयाँ दिल्लीमा आयोजना गरेको मिस हेरिटेज इन्टरनेशनल २०१५ को उपाधि कसले जित्यो ?
– भियतनामकी युवती भिक्टोरिया फाम (थर्ड रनरअपमा नेपालकी निशा पाठक)
१३. नेपाल सरकारले हेलो स्वास्थ्य कार्यक्रम कहिले सुरु गरेको हो ?– वि.सं. २०६९ कात्तिक २९
१४. सन् २०१५ नोभेम्बर ३० देखि डिसेम्बर ११ मा सम्पन्न राष्ट्रसंघीय जलबायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–२१) कहाँ सम्पन्न भयो ? – पेरिस, फ्रान्स
साहित्य/सृजना
दुई मुक्तक
मेरो माया तिम्रो लागि नाटक बनी दियो
बिश्वास बनी भर पर घात बनी दियो
दुबैआत्मा जोगाउने कथाबस्तु छिचोलेर
सिर्जित शब्द भावनाको बाधक बनी दियो ।।
तिम्रो मेरो सम्बन्धको हल्ला चल्यो दुनियाँमा
थाहै नदिइ बिश्वासको कोटी जल्यो दुनियाँमा
साना तिना जीन्दगीका उतारचढाब झेल्दा झेल्दै
आत्माले नै आज आफ्नो भाग्य छल्यो दुनियाँमा ।।
प्रभुराज खत्री
खप्तड छान्ना गाउँपालिका ५ बझाङ्ग
भगवान् कसम, सीमा मिचिएको बेला
झुक्नै सक्दैन, मन थिचिएको बेला
आत्मा भक्कानिँदा, थाम्न खोज्छु
तर सक्दैन, दार्चुला किचिएको बेला
पुष्पराज जोशी “पुकार’
गजल
एकाएकौँ बर्षपछि पुरानो त्यो माल देखेँ,
मोबाईलभित्र फेसबुकमा उनको नामको वालदेखेँ ।
गाह्रोथेन चिन्ह मलाई कति सुन्दर चिनार उनका,
टल्किरने दाँतसंगैँ ढल्किएका बाल देखेँ ।
अक्षरबाटै भएपनि दुईचारवटा कुरा गर्दा,
मुटुभित्र सजिएको आफ्नै माया जाल देखेँ ।
सारै दुख परेछरे बसाँई पनि सरेछरे,
अरु बाँच्ने दुनियाँमा उनको फरक चाल देखेँ ।
केछतनि खबर भनि एकएक गरी सोध्दै जाँदा,
चलचित्रको कथा जस्तो दुखदायी हाल देखेँ ।।
जयलक्ष्मी जोशी
धनगढी ,कैलाली
सूचना/सन्देश/बिज्ञापन
डोटी उद्योग बाषिज्य संघ डोटी
प्रदेश नं. ७ प्रादेशिक महोत्सव
२०७४ साल माघ २८ गतेदेखि फागुन ९ गतेसम्म
कलाकारहरुको सूची
सायल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय डोटी प्रदेश नं. ७
गाउँ बस्तुगत बिवरण (profile) तयारीका लागि प्रस्तावना आव्हान ।
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१०/२३ गते
गाउँ/नगर बस्तुगत बिवरण तयारी कार्यबिधि, २०७४ अनुसार यस सायल गाउँपालिकाको बस्तुगत बिवरण (Profile) तयार गर्नु पर्ने भएको हुँदा बस्तुगत बिवरण तयारीका लागि नेपालको प्रचलित कानुन अनुसार दर्ता सक्रिय रुपमा कार्यरत ईच्छुक एवं अनुभवी गैरसरकारी संस्था/कम्पनी/फर्मबाट तपशिलका शर्तहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रस्तावना आव्हान गरिएको छ ।
शर्तहरु
१. बस्तुगत बिवरण चालु आर्थिक बर्षभित्र तयार गरि सक्नु पर्ने छ । छिटो सम्पन्न हुने गरि कार्ययोजना सहित आएको प्रस्तावनालाई प्राथमिकता दिईनेछ ।
२. प्रस्तावनामा प्राबिधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै तयार गरिएको हुनु पर्नेछ ।
३. प्राबिधिक प्रस्तावमा बिस्तृत कार्ययोजना सहितका बस्तुगत बिवरण तयारीका चरणहरु समावेश भएको हुनु पर्नेछ ।
४. आर्थिक प्रस्तावमा अनुमानित बजेटको बिस्तृत बिवरण (breakedown) समेत संलग्न गरिएको हुनु पर्नेछ ।
प्रस्तावनासंग पेश गरिनु पर्ने कागजातहरु
१. संस्था/कम्पनी/फर्म दर्ता प्रमाण पत्र
२. चालु आर्थिक बर्षका लागि नविकरण गरिएको प्रमाण
३. आर्थिक बर्ष २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन
४. स्थायी लेखा नं. (PAN) मा दर्ता भएको प्रमाण पत्र
५. आर्थिक बर्ष २०७३/०७४ को आय व्यय बिवरण पेश गरेको प्रमाण पत्र ।
६. सम्वन्धित क्षेत्रमा काम गरेको खुल्ने अनुभव पत्र (अनिवार्य)
७. संस्था/कम्पनी/फर्मको सामान्य जानकारी (बढीमा दुई पृष्ठ)
८. बस्तुगत बिवरण तयारीका क्रममा संलग्न हुने अनुभवी जनशक्तिको व्यक्तिगत बिवरण (कम्तीमा दुई जनाको)
मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना
प्रथम पटक सूचना प्रकाशित मितिः २०७४/१०/१५
जिल्ला डोटी पुर्वीचौकी गाउँपालिका वडा नं.१ साविक खिरसैन गा.वि.स.वडा नं.४ स्थित कि.नं. १६७ ऐ. वडा नं.५ स्थित कि.नं. ६१७, ६२३, ६२९, ६८४ ऐ. वडा नं.७ स्थित कि.नं. २२५, ६४०, ७९५ ऐ. वडा नं.८ स्थित कि.नं. २३६, २६५, २७४, २७५, २८४ र ऐ. वडा नं.९ स्थित कि.नं. ९४ को जग्गा सोही गा.वि.स.वडा नं. ५ रनसिं खड्काको नाती भिम वहादुर खड्काको छोरा विरु खड्काको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनी विरु खड्काको मिति ः २०५५÷१०÷१६ मा, निजको पत्नि कलुदेवि खड्काको मिति ः २०७१/१२/१४ मा मृत्यु भएको । निज मृतकवाट दुई जना छोरी भएकोमा छोरीहरु विवाह गरि गईसकेको र छोरा नभएकोले अपुताली परेको हुँदा मृतकको शेषपछिको हकदार आमा भेकुडी देवि खड्का र भाई खड्क वहादुर खड्का मात्र भएकामा आमा भेकुडीदेवि खड्काले आप्mनो वृध्द अवस्थाको कारण जनाई आप्mनो पुरै हकभोग छोरा खड्क वहादुर खड्कालाई छोडिदिएकी हुदां मृतक विरु खड्काको नाउँमा रहेको डोटी खिरसैन गा.वि.स.स्थित उल्लेखित पुरै कित्ता घर जग्गाहरु मेरो नाउँमा एकलौटी नामसारी गरी पाउँ भनी पुर्वीचौकी गाउँपालिका १ नं.वडा कार्यालय डोटीको च.नं.२२४ मिति ः २०७४÷१०÷१४ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनी प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र नाता प्रमाणित आदी प्रमाणहरु साथै राखी पुर्वीचौकी गाउँपालिका वडा नं.१ खिरसैन बस्ने खड्क वहादुर खड्काले यस मालपोत कार्यालय, डोटीमा मिति २०७४÷१०÷१४ मा निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, विरु खड्काको अपुताली नपरेको भए वा अन्य हकदार भए वा निज निवेदकको मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचना द्वारा जानकारी गराईन्छ ।
शिक्षक आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१०/१७
उपरोक्त सम्बन्धमा पूर्बीचौकी गाउँपालिका ७ डोटीमा रहेको यस श्री मष्टामाण्डौं माध्यामिक बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा पदपूर्ती गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
पद संख्या ः १ जना
तह ः निमाबि. तृतीय
बिषयः गणित, बिज्ञान
किसिमः करार (अस्थायी)
तलब स्केल ः नेपाल सरकारले तोके अनुसार
शैक्षिक योग्यता ः आईएस्सी वा सो सरह उत्र्तीण गरी १० महिने तालिम प्राप्त
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
आबेदन दस्तुर ः ३०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता
दरखास्त दिने अन्तिम मिति ः २०७४÷११÷०२ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७४÷११÷०३ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ ।
पेश गर्नु पर्ने कागजातहरु
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति
स्थानीय अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति
सम्पर्क फोन ः ९८४८४८७७७९, ०९१६९८२८७
नोट ः महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएको उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
शिक्षक आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४/१०/१७
उपरोक्त सम्बन्धमा यस मष्टेश्वर आधारभूत बिद्यालय दिपायल सिलगढी नगरपालिका ९ मछेन्तोला डोटीमा बाल बिकास सहजकर्ताको पद रिक्त रहेकाले मिति २०७४ माघ १७ को बिद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार उक्त पदपूर्ती गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकले निम्न सर्तको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवश्यक कागजात सहित आबेदन दिन हुन सबैलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
बिज्ञापन नं. २०७४÷०७५
पद संख्या ः १ जना (महिला), पदः बालबिकास सहजकर्ता
स्केल ः नेपाल सरकारले तोके अनुसार
शैक्षिक योग्यता ः एस.एल.सी वा सो भन्दा माथि
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
दरखास्त दिने अन्तिम मिति ः २०७४÷११÷०२ गते कार्यालय सयमभित्र
परीक्षा दस्तुर ः १०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता
सम्पर्क मिति ः२०७४÷११÷०५
दरखास्त बुझाउने स्थान ः श्री मष्टेश्वर आ.बि. दिसिनपा ९ मछेन्तोला डोटी
पेश गर्नु पर्ने कागजातहरु
शैक्षिक योग्यताका प्रमाण पत्र (एसएलसी सर्टिफिकेट, मार्गसिट र प्रबेशिका
परीक्षा) को प्रतिलिपी २ प्रति
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति
पासपोर्ट साइजको फोटो २ प्रति
सम्पर्क फोन ः (प्रधानाध्यापक) नर बहादुर बोहरा ९८६८४३८५३३, ९८१०६७०६९०
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुने छैन
No comments:
Post a Comment