Tuesday, November 13, 2018

बिम्ब साप्ताहिक, २०७५ साल कात्तिक २७ गते मंगलवार

 सार्वजनिक निकायहरुले आफ्नो निकाय सम्वन्धि सूचनाहरु प्रत्येक तीन÷तीन महिनामा बिभिन्न राष्ट्रिय भाषामा प्रकाशित गर्नु पर्ने तथा आम सञ्चारमाध्यमको उपयोग गर्नु पर्ने कानुनी व्यवस्था छ । यसको पालना भए–नभएको नागरिकले चाँसो व्यक्त गर्नु पर्छ । 
 प्रत्येक सार्वजनिक निकायले सूचनाको बर्गीकरण गर्नु पर्छ । ती निकायहरुले सूचनादाताको संरक्षण गर्नु पर्छ । कानुन बमोजिम क्षतिपूर्ति दिने गरी आयोगबाट निर्णय भएमा क्षतिपूर्ति रकम उपलव्ध गराउनु पर्नेछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

द्वन्द्व पीडित सर्मिलाको संघर्षपूर्ण जीवन

१४ बर्षमा बिहे, १५ बर्षमा आमा, १६ बर्षमा बिधवा

रामहरी ओझा/डोटी
कार्तिक २६
कैलाली, घोडाघोडी नगरपालिका–८ दीपपुरकी सर्मिला थारु उमेरले ३३ बर्षकी भईन । सर्मिला आमाको गर्भमा हुँदै उनको बिहेको कुरा छिनिएको उनले १४ बर्षको उमेरमा थाह पाईन् । उनी गर्भमा छँदै तय भएको केटा जीतवहादुर थारुसंग २०५६ सालमा उनको बिहे भयो । ‘हाम्रो समुदायमा गर्भमै हुँदा छोराछोरीको बिहे तय भईसक्छ’ सर्मिलाले भनिन् ‘मेरो पनि त्यसैगरी बुवाले बिहे तय गरिदिनु भएको रहेछ, सोही अनुसार बिहे भयो ।’ बिहे भएको दुई बर्ष मात्रै उनले आफ्नो जीवन साथीसंग जीवन बिताउन पाईन । 
कक्षा ७ मा पढ्दै गर्दा बिहे भएकी सर्मिलाले आफ्नो पढाईमा पनि बिराम लगाउनु प¥यो । ‘म त पढ्न चाहान्थे, मेरो आमाले पनि स्कुल नछोड्नु भन्नु हुन्थ्यो’ सर्मिलाले भनिन् ‘तर सासु आमाले मान्नु भएन, अव पढाई हुँदैन, घरको काम गर्नु प¥यो भन्नु भयो, अनि मैले पढाई छोडेँ ।’ बिहे भएको एक बर्षमा सर्मिला आमा भईन । उनले एक छोरीलाई जन्म दिईन । सानै उमेरमा बिहे गरी आमा बनेकी सर्मिलालाई मातृत्वबारे पुरै ज्ञान हुन नपाउँदै उनका सासु ससुराले माईतबाट दाईजो नल्याएको भन्दै यातना दिन थाले । यातना सहन नसकेपछि उनी छोरी बोकेर माईत गईन । 
उनलाई माइतमा पनि सुख भएन । तत्कालीन शाही सेनाले माओवादीको आरोप लगाउँदै मानसिक यातना दिन थाल्यो । ‘२०५८ साल माघ १ गते हामी माघी मनाईरहेका थियौं, शाही सेना आएर आमा, म र मेरो नौ महिनाको छोरीलाई कुटपिट ग¥यो’ त्यो दिन सम्झँदै सर्मिला भन्छिन् ‘मेरो आङमा भएका लुगाहरु सवै च्यातचुत  गरे, मलाई मरणासन्न हुने गरी कुटे र मेरो नौ महिनाको छोरीलाई जमिनमा घिर्सादै भित्रबाट बाहिर फाले ।’ सेनाको कुटाईले अहिले पनि जीउ दुख्ने गरेको उनी बताउँछिन् । सोही दिन सर्मिलाका बुवा रामबकस चौधरीलाई सेनाले पक्राउ गरी शारीरिक तथा मानसिक यातना दिई तीन महिलापछि रिहा ग¥यो ।
सेनाको यातना र धम्कीपछि उनी आफन्तको घरमा लुकेर बस्न थालिन् । आफु लुकेर बसेकै अवस्थामा २०५८ साल फागुन १९ गते उनका श्रीमान् जीतवहादुरलाई सेनाले घरबाटै पक्राउ गरी क्रुर यातना दिएर हसुलियाको जंगलमा मा¥यो । ‘जंगलमा लगेर मारेको खवर सुनेँ तर हामीले लास समेत हेर्न पाएनौं’ उनी भन्छिन् ‘अन्तिम पटक मुख हेर्ने धोको समेत पुरा भएन ।’ हिन्दु संस्कार अनुसार दाह संस्कार गर्नका लागि जीतवहादुरको परिवारले लास समेत पाएन । 
कक्षा १० मा पढ्दै गरेका जीतवहादुरलाई तत्कालीन माओवादीको भातृ संगठन अनेरास्वबियु (क्रान्तिकारी) मा आवद्ध भएको भन्ने सेनाको आरोप थियो । श्रीमान्को मृत्युपछि पनि सेनाले उनलाई पटक पटक यातना दियो । सेनाले मात्रै होईन तत्कालीन बिद्रोही माओवादीले पनि उनलाई युद्धमा हिड्न दवाव दियो । 
एकातिर माओवादीको आफुसंगै हिड्नु पर्ने दवाव, अर्कोतिर सेनाको यातना, श्रीमान्को मृत्युको पीडासंगै आफु बाँच्नका लागि त्यतिवेला सहेको कष्ट सम्झिदै सर्मिलाका आँखा रसाउँछन् । ‘मैले श्रीमान्को मृत्युको बेला समेत आफ्नो पीडा पोख्न आफन्तलाई भेट्न पाईन’ सर्मिला भन्छिन् ‘छोरीको मायाले मलाई जीउन सिकायो ।’
द्वन्द्वको समाप्तीसंगै सर्मिलाले फेरी औपचारिक शिक्षा लिन सुरु गरिन् । ‘श्रीमान्को मृत्युपछि सासु, ससुरा र     छोरीलाई कसरी पाल्ने भन्ने चिन्ता लाग्यो’ उनी भन्छिन् ‘एसएलसी पास गरेपछि त कुनै न कुनै नौकरी पाईएला कि भन्ने सोचेर फेरी पढाई सुरु गरेँ ।’ उनको यो निर्णयमा भने उनकी सासु आमाले पनि साथ दिईन । उनी थप्छिन् ‘समस्याले सवै कुरा सिकाउँदो  रहेछ, मेरो पढाई गर्ने निर्णय पनि समस्याले सृजना गरेको बाध्यता थियो ।’ २०६४ सालमा कक्षा ८ मा भर्ना भएकी सर्मिला अहिले ग्रामिण विकास बिषयमा स्नातकोत्तर तह प्रथम बर्षमा अध्ययनरत छिन् । उनी स्थानीय एक नीजि बिद्यालयमा शिक्षण पेशामा संलग्न छिन् । 
सर्मिलाले अहिले छोरी सुजातालाई प्राबिधिक शिक्षा पढाउँदैछन् ।  
सर्मिलाले पाएको यातनाको कुनै क्षतिपूर्ति भएन । न त उनलाई त्यसरी यातना दिनेहरुलाई कुनै कारवाही भयो । मृतक श्रीमान्को नाममा आएको रकम पनि उनले एकमुण्ट पाईनन् । ‘पाउन त १० लाख पाईयो तर एकमुष्ट पाईएन, किस्ताबन्दीमा दिईयो’ सर्मिला भन्छिन् ‘यदि सवै रकम एकमुष्ट दिएको भए कुनै व्यापार व्यबसाय गर्न सकिन्थ्यो ।’ उनी उक्त रकम कहिले एक लाख, कहिले दुई लाख गरि आफुले पाएको बताउँछिन् । 
सर्मिला आफुमाथी भएको हिंसाको सत्य निरुपण चाहान्छिन् । उनी प्रश्न गर्छिन् ‘न म माओवादी थिएँ, न मेरो श्रीमान् वा परिवारका अन्य कुनै सदस्य माओवादी थिए, तर पनि किन मलाई यातना दिईयो, किन मेरो श्रीमान्को हत्या गरियो ?’ श्रीमान्संग अनेरास्वबियु (क्रान्तिकारी) को सदस्यता लिएको रसिद फेला पारेको भन्ने आरोप रहेको आफुले सुनेको उनी बताउँछिन्, भन्छिन् ‘माओवादीले जवरजस्ती सदस्यता काट्न लाउने अनि सेनाले माओवादी भन्दै यातना दिने काम ग¥यो ।’ उनी न्याय चाहिएको बताउँछिन् । 
न्यायका निम्ती उनले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी समेत दिएकी छिन् तर उनले त्यहाँबाट पनि न्याय पाउन सकेकी छैनन् । उनले न्याय पाउने आश भने मारिसकेकी छैनन् तर जति जति ढिला हुँदैछ, त्यति नै उनलाई संका भने बढ्दै गएको छ । उनी द्वन्द्व पीडितको नाममा नक्कली द्वन्द्व पीडितले फाईदा लिईरहेकोप्रति चिन्तित छन् । उनी भन्छिन् ‘कतै नक्कली द्वन्द्व पीडितहरुले फाईदा लिईरहँदा हामी बास्तविक द्वन्द्व पीडितहरुको पालो आउँदैन कि भन्ने चिन्ता छ ।’ उनी द्वन्द्व पीडितलाई सहयोग गर्ने नाममा बिभिन्न संघसंस्था र केही व्यक्तिहरुले पनि फाईदा लिईरहेको बताउँछिन् । 

सम्पादकीय 

प्रभावकारी होला त संसद विकास कोष वजेट ?

दशैं र तिहारको रौनक सकिएसंगै तराईबासीहरुलाई छठको रौनक लागेको छ तर सांसदहरुलाई भने अर्कै चटारो छ । चाडपर्व विदामा बसेका सांसदहरु सरकारले बजेट भाषण मार्फत घोषणा गरेको “‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम” वितरणका लागि क्रियाशिल छन् । कतिपय सांसदलाई भने आफ्नो निर्वाचन क्षेत्रमा बजेट बाँड्न भ्याई नभ्याई भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असोज तेस्रो साता सबै स्थानीय तहलाई परिपत्र गरेर यही पुस मसान्तसम्म स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगतका सबै आयोजनाहरुको सम्झौता गरी विवरण पठाउन भनेको थियो ।
‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली ०७५’ मा आर्थिक वर्ष ०७५/०७६ को हकमा यही पुस मसान्तसम्म सम्झौता गरिसक्नुपर्ने उल्लेख छ ।
पुस मसान्तसम्म सम्झौता हुन नसकेको खण्डमा आगामी माघ १५ सम्मको समय स्वतः थपिनेछ । तर, थपिएको १५ दिनको अवधिमा पनि आयोजनाहरुको छनोट र सम्झौता हुन नसके उक्त बजेट फ्रिज हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
त्यसकारण माननीय सांसदहरु बजेट बाँडफाँडको चटारोमा छन् । उनीहरुलाई पार्टीका नेता कार्यकर्ताहरुको दवाव पनि उत्तिकै रहेको छ । संघीय प्रतिनिधिसभामा प्रत्येक्ष निर्वाचित सांसदले यस कार्यक्रम मार्फत चार करोड रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न सक्ने बजेट भाषणमार्फत व्यवस्था गरिएको थियो । यसअघि यस्तै कार्यक्रम ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का नाममा सञ्चालित थियो ।
बिगतमा योजनाहरु छनौट हुँदा कार्यकर्ताहरुलाई पाल्नका लागि छुट्याउने गरिएको कुरा कसैबाट लुकेको छैन । बिगतमा कुनै पनि यस्तो योजना वनेन जुन सांसद स्वयंले गर्व गर्न सकुन । यसपाली पनि उक्त बजेट बितरण हुँदैछ । योजना तर्जुमा प्रक्रियामा जनतालाई प्रत्येक्ष रुपमा संलग्न नगराई छनौट हुन लागेका यि योजनाहरु के प्रभावकारी होलान् वा फेरी विगतका जस्तै कार्यकर्ता मोटाउने कार्य मात्रै होला ? यसको सही उत्तर योजनाहरु कार्यान्वयन भएपछि आउला तर विगतको अभ्यास हेर्दा देशभरीमा एक सय ६५ सांसदहरुले बाँड्ने ६ अर्व ६० करोड रुपैयाँ वालुवाको पानी हुनेछ । हुन त नीति निर्माताहरुलाई बजेट बाँड्ने जिम्मा दिनु नै आफ्ना कार्यकर्ताहरुलाई पोस्न लगाउनु हो भन्ने कुरामै दुई मत छैन । योजना जनताको माग र आवश्यकता अनुसार बन्छन्, नेताको चाहाना अनुसार होईन । नेताको चाहाना अनुसार बाँड्न लगाउने योजनाले जनताको माग र आवश्यकता सम्वोधन गर्ला  त ? यस विषयमा पनि गम्भिर हुनु जरुरी छ । 
नेपालको संसदीय अभ्यासको ईतिहास हेर्दा सांसदहरुले पाउने सुबिधाको बिषयमा कुनै दलले विमति राख्दैनन् । देशको विकास गर्नु प¥यो भने बिमति हुन्छ । यस्तै भएको हो यसपालीको सांसदहरले बाँड्न पाउने गरी ल्याईएको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ पनि । कुनै दलले यसमा बिरोध गरेनन् । कुनै व्यक्तिले यसमा बिरोध गरेनन् । दलका पिछलग्गु नागरिक समाजले पनि चर्को आवाज उठाउन सकेन यस बिषयमा । 
अव यो बजेट सडक, खानेपानी, विद्युत, खेलकुद मैदान, स्वास्थ्य र शिक्षासँग लगायतका क्षेत्रका योजनाहरु बन्नेछन् । कति योजनाहरु कागजमै सिमित हुनेछन् । कति योजनाहरु बनाए जस्तो गर्नेछन् । कार्यकर्ता, प्राबिधिक, उपभोक्ता समितिका अध्यक्षहरु सवै मोटाउनेछन् तर कर तिरेर राज्यको ढुकुटीमा त्यो रकम जम्मा गर्ने जनता चिल्लै हुनेछन् । जनप्रतिनिधिले दिएको विकास कता हरायो भन्नु बाहेक अरु कुनै उपाय हुने छैन ।

थप समाचार 

१४ बर्षमा पनि नबनेको झोलुङ्गे पुल

एउटा झोलुङ्गे पुल निर्माण गर्नका लागि कति समय लाग्ला ? एक वर्ष, दुई वर्ष वा तिन वर्ष ! तर डोटी जिल्ला भएर वग्ने सेती नदीमा निर्माण गर्न लागिएको एक झोलुङ्गे पुल १४ वर्ष बितिसक्दा पनि पुरा भएको छैन । निर्माण कार्य पुरा नहुँदै पुल बाङ्गिएपछि आवत जावत गर्नमा समेत समस्या भएको छ । 
शिखर नगरपालिका–११ तल्लिसातमा “तल्लिसात झोलुङ्गे पुल” नामाकरण गरी २०६१ सालदेखि निर्माण गर्न लागिएको उक्त झोलुङ्गे पुल अहिलेसम्म पनि निर्माण कार्य पुरा भएको छैन । पुललाई मजबुत बनाउन साईडमा कस्नु पर्ने केवलहरु कसिएका छैनन् । केवल नकसिएपनि अर्को कुनै बिकल्प नभएका कारण स्थानीयहरु सोही पुलबाट आउजाउ गर्न बाध्य  छन् । पुल बांगिएको छ । मान्छे आउजाउ गर्दा हल्लिन्छ । 
पुललाई साईडवाट कसिएको पनि छैन जसका कारण पुल बाङ्गिएको शिखर नगरपालिका–११ का देवबहादुर किमाडी बताउँछन् । ‘यो पुल निर्माण कार्य सुरु हुँदा द्वन्द्वकाल थियो, अहिले देशमा गणतन्त्र आईसक्यो हाम्रो बारपाटा गाउँ विकास समिति नगरपालिकामा परिणत भईसक्यो’ उनी भन्छन् ‘यो १४ बर्षको अवधीमा धेरै विकास भयो तर हाम्रो पुल   बनेन ।’ आफुहरुले पटक पटक कुरा उठाउँदा पनि कसैले सुनुवाई नगरेको उनको गुनासो छ । 
स्थानीय तहको निर्वाचन र संघीय एवं प्रादेशिक संसदको निर्वाचनमा भोट माग्न आएका अधिकांश नेताहरु सोही पुलबाट ओहोरदोहोर गरेको तर पुल छिटो निर्माण गर्न कसैले पहल नगरेको स्थानीयको गुनासो छ । स्थानीय भन्छन् ‘मेयर साप त चुनाव जितेपछि पनि दुई÷तीन पटक यो पुलमा हिड्नु भएको छ तर पनि कुनै चाँसो राख्नु भएन ।’ 
एकसाथ चारजना मात्रै पनि हिड्दा अव खस्छ जस्तो गरी पुल हल्लिने गरेको स्थानीय कमल जोराईला बताउँछन् । जोराईलाले यो पुलवाट ओहोर–दोहोर गर्न जोखिमपूर्ण भएको वताए । ‘पुलको यो अवस्थामा वारेमा पटकपटक सरोकार–वालाहरुलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई भएन’ स्थानीय शेरवहादुर बोहरा भन्छन ‘कुन दिन पुल चुडिँन्छ र अर्को समस्या आउँछ ।’ 
साईड केबलहरु र अन्य सामानहरु पनि निर्माण स्थलमै छ । तर काम भने हुँदैन, न त काम कस्ले गर्ने हो भन्ने कुनै जानकारी छ । 
यस्तो छ पुलको कथा   
साविकको जिल्ला विकास समिति डोटीले पुल निर्माणका लागि २०६१ सालमा ठेक्का आव्हान ग¥यो । ठेक्का सम्झौता गर्ने निर्माण व्यवसायी दावा शेर्पा बिचमै काम छोडेर गए । लामो प्रक्रियापछि उनीसंगको ठेक्का रद्द भयो । 
फेरी अर्को ठेक्का सम्झौता भयो । अर्को ठेक्का सम्झौता गर्ने निर्माण व्यवसायी छत्रसिं कठायतले पनि तोकिएको समयमा काम पुरा गरेनन् । पुल निर्माण कार्य ढिलो हुन थालेपछि स्थानीयहरु साईडमा जाली समेत नलाएको पुलमा आउजाउ गर्न बाध्य भए । २०६८ सालमा पनि एक पटक पुल बांगियो । स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएपछि काम चलाउका रुपमा सोझ्याईयो तर निर्माण कार्य भने पुरा भएन । त्यसै बिचमा बजार भाउ बढेको भन्दै ठेक्का रकम बढाउने कसरत भयो ।
केही सयमसम्म केवल नपाईएको भनियो, केवल आयो तर त्यो छोटो भयो । त्यसपछि तन्काउने मेसिनको खोजी भयो । तन्काउने मेसिन आएपछि मजदुर नपाईएको बहाना बनाईयो । मजदुर पाईएपछि काम सुरु भयो तर केवल तन्काउने क्रममा काम गरिरहेका मदजुरहरुलाई  चोट लाग्यो । त्यसपछि पुल निर्माण कार्य पूर्ण रुपमा ठप्प भयो । उक्त अधुरो काम ठेकेदारले बनाउँछन कि वनाउँदैनन् भन्ने पनि जानकारी छैन स्थानीयलाई । ‘सुन्नमा आए अनुसार ठेकेदारले मैले मेरो काम पुरा गरिसकेँ भन्छन् रे’ एक स्थानीयले भने ‘अव बाँकी काम कसले गर्ने हो थाह भएन ।’ 
यस बिषयमा जानकारी लिनका लागि ठेकेदार छत्रसिं  कठायतसंग टेलिफोन सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन्  । 
किन आए त साईज भन्दा साना केवलहरु ? के ईष्टिमेट विनै वनेको हो त त्यो पुल ? १४ बर्षसम्म पनि किन बनेन झोलुङ्गे पुल ? यस्ता कतिपय प्रश्नहरु निरुत्तरितै रहेका छन त्यो    पुलमा । ठेकेदारको लापरवाही हो वा सम्वन्धित निकायका कर्मचारीहरुको ठेकेदारसंगको मिलेमोतो हो ? यस्को उत्तर को ले दिने ! ठेक्का सम्झौता दिने जिल्ला विकास समिति पनि खारेज भईसकेको अवस्थामा पुल निर्माण कार्य भने थप अन्यौल वनेको छ । 
राज्यको पुनर्संरचना भईसकेपछि आफ्नो क्षेत्रभित्रका सम्पूर्ण भौतिक पूर्वाधारको स्वामित्व स्थानीय तहमा     जान्छ । आर्थिक बर्ष २०७४/०७५ मा झण्डैं ४३  करोड र २०७५/०७६ मा झण्डै ३० करोड बजेट बिनियोजन   गरेको शिखर नगरपालिकाले न त यो पुलको स्वामित्व लिएको देखिन्छ न त यसको निर्माणका लागि योजना बनायो । 

विकासले गति लिन केही समय लाग्ने

संघीय प्रतिनिधि सभाका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लेखराज भट्टले विकास प्रक्रियाले गति लिन केही समय लाग्ने वताएका छन् । 
नेता भट्टले हिजो भत्केको विकासको प्रक्रियाले गति लिन केही समय लाग्ने बताएका हुन । विगतमा भएको राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको वताउँदै भट्टले अव राजनीतिक स्थायित्वसंगै विकासले पनि गति लिने बिश्वास व्यक्त गरे । गोदावरी नगरपालिका–५ मा आईतवार आयोजना गरिएको वडास्तरीय भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफु चिन्तित रहेको वताए । ‘यस प्रदेशको विकासका लागि बजेट कसरी बढी ल्याउने भन्ने कुरामा मेरो ध्यान केन्द्रित भएको छ’  नेता भट्टले भने ‘त्यसका लागि मैले बिभिन्न पक्षसंग कुरा गरेको छु ।’
नेता भट्टले थपे “बजेट मात्रै ल्याएर नहुँदो रहेछ, आएको बजेट सदुपयोग गर्न पनि जनताले सतर्कता अपनाउनु पर्छ ।” कैलाली क्षेत्र नं. ४ बाट निर्वाचित सांसद  भट्टले कर जनताकै विकासमा खर्च हुने हुँदा स्थानीय सरकारले लगाएको करप्रति अप्ठ्यारो मान्न नहुने धारणा राखे ।
नेता भट्टले किसानका समस्या सामाधानको लागी सरकार गम्भिर रहेको वताए । ‘धानको न्युनतम मुल्य सरकारले निर्धारण गरिसकेकोले प्रदेश सरकारले समन्वय गरेर सरकारको निकायले तत्काल धान खरिद प्रकृया अगाढी बढाउँछ’ नेता भट्टले भने ‘अहिले ब्यापारीले सस्तोमा धान्न किनेर किसानको मजबुरीको फाईदा उठाई रहेका छन्, यसको अन्त्य हुनु पर्छ । उनले किसानहरुले आफ्नो पसिनाको उचित मुल्य पाउनु पर्ने विचार व्यक्त गरे । उनी भन्छन् ‘किसानले श्रमको उचित मुल्य पाउनु पर्छ । 
गोदावरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कर्ण बहादुर बोहराको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद कृष्णराज सुबेदी, चुनुकुमारी  चौधरी, गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको थियो ।  

साईपालमाथी सफल आरोहण

बझाङ्ग जिल्लामा पर्ने सात हजार ३१ मिटर उचाईको साईपाल हिमालमा सफल आरोहण भएको छ । 
“मिसन साईपाल” नाम दिईएको एक टोलीले  साईपाल हिमालमा सफल आरोहण गरेको हो । दक्षिणी मोहडाबाट साईपाल हिमाल आरोहण सफल भएको पहिलो पटक हो । दक्षिणी मोहडाबाट साईपाल हिमाल चढ्न यसअघि थुप्रै पटक भएका प्रयासहरु सफल हुन सकेका थिएनन् ।
अन्र्तराष्ट्रिय ख्याती प्राप्त पर्वतारोही डा. जर्ज ईचोएगा र मार्टिन  रामोश र चार जना सहयोगी भरियाहरुको टीमले कार्तिक १६ गते साईपाल हिमालको चुचुरोमा पाईला टेकेको मिसन साईपालका अगुवा भोजराज भाटले बताए । यद्दपि साईपालमा सहभागी चार बझाङी चेलीले भने साईपाल हिमाल चढ्न सकेनन ।
साईपाल हिमालको सफल आरो– हणपछि उनीहरु आईतवार साँझ सदर–मुकाम चैनपुर फर्केका छन् । 
संसारभरीका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल आरोहण गरिसकेका ख्यातीप्राप्त पर्वतारोही डा. जर्जले साईपाल हिमाल आरोहण गर्नु अत्यन्त जटिल भएपनि सफल भएकोमा खुशी व्यक्त गरे ।
अरु हिमालको आरोहण यति कठिन छैन । यति गाह्रो हिमाल अरु देखेन, डा. जर्जले भने, साईपाल चढ्ने हाम्रो मिसन पुरा भयो । तर नेपाली चेलीहरु चढ्न नपाउदा भने दुःखी छौं ।
साईपाल हिमाल चढ्नका लागि बेस क्याम्प नभएको ट्रयाकहरु नभएको, गाईडहरु पनि भएको जस्ता थुप्रै समस्याहरु रहेको आरोहीहरुको भनाई छ । पूर्वाधारहरु तयार भए साईपाल आरोहीहरुको संख्या बढ्ने उनीहरुको बिश्वास छ ।

पशु बिमाबाट कृषकहरु लाभान्वित

गत साउन देखि के आई सिं गाउँपालिका–४ मा पशु विमा कार्यक्रम सञ्चालन भएपछि यहाँका किसानहरु लाभान्वित भएका छन । 
स्थानीय ३० जना किसानहरुका ९४  वाख्रा, १२ भैंसी र एक राँगा गरी जम्मा १०७ पशु चौपायाको विमा गरिएको हो । विमा गरेका पशु चौपायामध्ये ६ वाख्रा मरेका छन । ति मरेका बाख्राहरुको विमा रकम पाउनका लागि सवै प्रक्रियाहरु अगाडी बढाईएको छ । बिमा रकम प्राप्त भएपछि किसानहरु यस कार्यक्रम प्रति आकर्षित हुने दिगो जीविकोपार्जन प्रवद्र्धन कार्यक्रमका संयोजक रमेश भुल  बताउछन । डान चर्च एडको सहयोगमा सम विकास केन्द्रद्वारा सञ्चालित दिगो जीविकोपार्जन प्रवद्र्धन कार्यक्रमले वितरण गरेका पशु चौपायाको विमा रकम यस बर्षका लागि परियोजनाले नै तिरेको कार्यक्रम संयोजक भुल बताउँछन । 
प्रत्यक बर्ष नविकरण गर्नु पर्ने पशु विमा अर्काे बर्ष देखि समूहमा रहेका किसानहरुको वडा कार्यालय र कृषक समुह भन्दा वाहिरका किसानहरुको पशु चौपायाहरुको विमा रकम किसानहरुलेनै ब्यहोर्नु पर्ने परियोजनाका सामाजिक परिचालक वोहरा बताउँछन् । 
यस वडामा पशु विमा कार्यक्रम लागु हँुदा किसानहरुलाई राहत मिलेको वडा अध्यक्ष जय बहादुर धामी बताउछन । उनका अनुसार यो कार्यक्रमले गरिव किसानहरुलाई राहत मिलेको छ यसलाई पुरै वडा भरी नै विस्तार गर्ने सोच बनाएका छौं । किसानहरुले पशु विमागरी लाभ प्राप्त गरुन भन्ने उद्देश्यका साथ नेपाल सरकारले २०६९साल माघ देखि पशु बिमा कार्यक्रमको सुरुवात गरेको थियो । बिमा ऐन, २०४९ को प्राव्धान अनुसार ईजाजत लिएका बिमा कम्पनीहरुले बिमा गराउने व्यवस्था  रहेको छ ।

कर्मचारी समायोजनको अध्यादेशमा के छ ?

अनलाईन खवर
सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याउने तयारी गरेको छ । सरकारले यसअघि ल्याएको ‘कर्मचारी समायोजन ऐन–२०७४’ लाई खारेज गर्दै अध्यादेश ल्याउन लागेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तीन तहमा कर्मचारी समायोजन गर्नका लागि अध्यादेश ल्याउने प्रक्रिया शुरु गरिएको जानकारी गराए । ‘सङ्घीय संरचना अनुसार केन्द्रमा रहेका कर्मचारी तीनै तहमा समायोजन गर्नुपर्दछ’, उनले भने ‘कर्मचारी समायोजन गर्नका लागि अध्यादेश ल्याउन लागिएको हो ।’
मन्त्री पण्डितले अध्यादेशको प्रक्रिया शुरु गरिएकाले परामर्शका लागि लोक सेवा आयोगलाई समेत जानकारी पठाइएको बताए । सरकारले लोकसेवा आयोगको परामर्श लिएपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाउनेछ ।
मन्त्री पण्डितले पुस मसान्तभित्र तीनै तहका कर्मचारी समायोजन गर्ने जानकारी गराए । सरकारले अहिले भएका एक लाख १७ हजार कर्मचारीमध्ये केन्द्रमा करीब ४५ हजार, प्रदेशमा २१ र स्थानीय तहमा ५७ हजार कर्मचारी समायोजन गर्ने तयारी गरेको छ ।
यसअघि ल्याइएको ऐनमा मातहतमा कर्मचारी समायोजन हुन नमानेपछि समायोजन भएर प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई एक तहमाथिको सेवा सुविधा दिने गरी कर्मचारीलाई आकर्षण बनाएर अध्यादेशमार्फत समायोजन गर्न थालेको हो ।
त्यस्तै श्रेणीविहीनलाई श्रेणी दिइनेछ भने चार वर्षभन्दा कम सेवा अवधिका खरिदारलाई चौथो, चारदेखि सात वर्षसम्म सेवा गरेका र न्यूनतम शैक्षिक योग्यता नभएका खरिदारलाई वरिष्ठ चौथो, शैक्षिक योग्यता भएका र सात वर्षसम्म काम गरेका खरिदारलाई पाँचौँ, १० वर्ष र न्यूनतम शैक्षिक योग्यता पुगेका नायब सुब्बालाई छैटौँ  तह दिइने अध्यादेशमा उल्लेख गरिएको छ ।
त्यस्तै पाँच वर्षभन्दा कम सेवा अवधि पुगेका शाखा अधिकृतलाई सातौं, पाँचदेखि १० वर्षसम्म शाखा अधिकृत भएकालाई आठौँ, १० वर्ष पुगेका र न्यूनतम शैक्षिक योग्यता पुगेका शाखा अधिकृतलाई नवौं, पाँचदेखि १० वर्षसम्मका उपसचिवलाई १० औँ, १० वर्ष काम गरेका र न्यूनतम योग्यता पुगेको उपसचिवलाई ११ औं तह दिइने अध्यादेशमा उल्लेख गरिएको छ ।
अध्यादेशमा अन्तर सेवा प्रतिस्पर्धाको व्यवस्था गरिएको छ । प्रदेशमा समायोजन भएका कर्मचारी स्थानीय तहको एक तहमाथि र स्थानीय तहमा समायोजन भएको कर्मचारी प्रदेश तहको एक तहमाथि प्रतिस्पर्धा गर्न पाउँछन् ।
कार्यरत पदको ज्येष्ठता, कर्मचारी हाल कार्यरत रहेको प्रदेश वा स्थानीय तह, भौगोलिक क्षेत्रमा काम गरेबापत प्राप्त गरेको अङ्क, हालको स्थायी बसोबास ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगाना सम्भव भएसम्म पति र पत्नीलाई एकै स्थानमा पर्ने गरी समायोजन गर्ने र उमेरको कारण अनिवार्य अवकाश हुन दुई वर्षभन्दा कम अवधि   रहेकालाई प्रदेश वा स्थानीय तहमा सामान्यतया समायोजन नगर्ने उल्लेख   गरिएको छ ।
स्थानीय तहमा स्थायी नियुक्ति पाएका कर्मचारीको विवरण अध्यादेश   जारी भएपछि एक महीनाभित्रमा जिल्ला समन्वय समिति (जिसस) ले मन्त्रालयमा पठाउनुपर्ने अध्यादेशमा उल्लेख गरिएको छ ।
अध्यादेशमा प्रदेशबाट प्रदेशमा, प्रदेशबाट स्थानीय तह, स्थानीय तहबाट प्रदेशमा कर्मचारी सरुवा गर्ने, खुला प्रतिस्पर्धाबाट समायोजनमा गएका कर्मचारीलाई पुनः सङ्घमा आउने सक्ने समेत व्यवस्था गरिएको छ ।
मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले अध्यादेशमार्फत कर्मचारीलाई थप सेवासुविधा हुने गरी समायोजन गर्न थालिएकाले सरकारले पठाएको ठाउँमा कर्मचारी जाने बताए । ‘पहिलेको ऐनभन्दा अध्यादेशले कर्मचारीलाई केही सुविधा थप गरेको छ’, उनले भने, ‘थप गरिएको सेवा सुविधाअनुसार कर्मचारी समायोजन   हुन्छन् ।’ कर्मचारी समायोजन नहुँदा प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव रहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक सुरु

रासस
नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा स्थानीय  जात्राको रौनक शुरु भएको छ । 
बैतडीसहित दार्चुला, डडेल्धुरा, बाजुरा, डोटी लगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै जात्राको रौनक शुरु भएको हो । कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । कात्तिक शुक्ल पक्ष शुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिर, बाह्र ज्योतीर्लिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती  मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुचौर्डी्स्थित त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ । 
दार्चुलामा रहेको नेपालकै सातौँ धामको रूपमा रहेको मालिकार्जुन धाम, लटिनाथलगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ । डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्लपक्षमै मेला लाग्ने गर्दछ । त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ भने मेलौली भगवती, भवानी मन्दिर, उग्रतारा लगायतका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कात्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ । परापूर्वकाल देखि नै कात्तिक शुक्ल पक्षमा देवीदेवताको पूजाआजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडका विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको आचार्य लेखकको भनाइ छ । 
डोटीको दिलिपेश्वरमा कात्तिक शुक्ल  चतुदर्शीका दिन मेला लाग्ने गरेको छ । डोटीको शैलेश्वरी र डडेल्धुराको    उग्रतारामा पूर्णिमाको दिन मेला लाग्ने गरेको छ । यस्तै डोटीको देहिमाण्डौं लगायतका क्षेत्रमा साही दिन जात्रा      हुन्छ । 
यो समयमा लाग्ने जात्रामा टाढाटाढाका श्रद्धालुहरुसमेत आउने गरेको गङ्गासागर जोशीले बताए । भाइटीकाको दिनदेखि शुरु भई करीब १५ दिनसम्म विभिन्न ठाउँमा रहेका देवस्थलमा लाग्ने जात्राको ऐतिहासिक एवं धार्मिक महत्वका साथै यसपर्वलाई आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिन्छ । 
देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रीको बेला मन्दिरमा पूजाआजा हुने भए पनि कात्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन् । स्थानीय भाषामा गुटे नवरात्र भनेर कात्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिनुभयो । जिल्लामा रहेका विभिन्न मन्दिरमा रात्री जात्रा शुरु भएसँगै जिल्लाका ग्रामीण बस्ती दमाहा बाजाँले गुञ्जिएका छन् । सबै उमेर समूहका मानिसले विभिन्न तरिकाले दमाहा बजाउँदै नाँच्ने गर्दछन् । तर पछिल्लो समय जात्रामा विकृतिसमेत भित्रिएका छन् ।

नेपाली सेनाले निर्माण ग¥यो शौचालय र खानेपानी

गणेश मौनी/डोटी
कार्तिक २६
नेपाली सेनाले निःशुल्क रुपमा खानेपानी र शौचालय निमार्ण गरेको छ ।
डोटी स्थित सिलगढीमा तैनाथ रहेको श्री रुद्रध्वज गणले शिखर नगरपालीका वडा नम्बर २ स्थित सालमुनी देबी मन्दिर परिसरमा रहेको खानेपानी ट्याङ्की मर्मत रंग रोगन, परिसर संभार एवं रंग रोगन गर्नुका साथै करीब २ लाख बराबरको २ कोठे शौचालय समेत निःशुल्क रुपमा निमार्ण गरिएको रुद्रध्वज गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले बताए । उनले भने, ‘हामीले नितान्त रुपमा भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गरेर केही सहयोग पुयोग, केही सेवामुलक कार्य गर्न सकिन्छ की भन्ने उद्देश्यले निमार्ण गरेका हौँ ।’
डोटी जिल्लाको एक प्रसिद्ध धार्मिक स्थलको रुपमा चिर परिचित रहेको सालमुनी थानमा सिजनमा दैनिक १५२० वटा र अरु समयमा प्रायः दैनिक १०,१२ वटा बोकाको बलि दिईने गरिन्छ । नेपाली सेनाले मन्दिर वरपरको संरचना, खानेपानी र शौचालय निमार्णले भक्तजनहरुको पुजाआजामा सहयोग पुगेको सालमुनी क्षेत्र विकास समितिले जनाएको छ ।
यस अघि नेपाली सेनाले खानेपानी, बाटोनिमार्ण, मन्दिर परिसर सरसफाई, बजारक्षेत्र सरसफाई लगायतका सामाजिक कार्य गदै आएको छ ।

छोटो समाचार 

एमआरपीमा पाईदैन रिचार्ज

डोटीका ग्रामिण भेगहरुमा नेपाल टेलिकम र एनसेलका प्रिपेड रिर्चाज कार्डहरुको अधिकतम खुद्रा मूल्यमा  भन्दा पनि मनपरि रकम लिने गरेको पाइएको छ ।
जिल्ला सदरमुकामभन्दा बाहिर रहेका सबैजसो ग्रामिण भेगहरुमा व्यापारीहरुले अधिकतम खुद्रा मूल्यभन्दा १० देखि २० रुपैयाँसम्म बढी लिने गरेको प्रयोगकताहरुको गुनासो छ । बोगटान, जोरायल, पूर्वीचौकी, सायल, आदर्श बडीकेदार, शिखर लगायतका सडक यातायातको सुविधा पुगेका क्षेत्रहरुमा पनि अधिकतम खुद्रा मूल्य भन्दा बढी रुपैयाँ लिने    गरेका छन् ।
रिर्चाज कार्डहरुमा अधिकतम खुद्रा मूल्य प्रष्ट उल्लेख गरेको भएपनि व्यापारीहरुले नियम विपरित ग्राहकसँग बढी रकम असुल्ने  गरेका छन् । कुनै पनि सामानमा तोकिएको खुद्रा मूल्यमा उपभोक्ताले उपभोग गरुन्जेल–सम्मको लाग्ने सम्पूर्ण शुल्क समावेश गरिएको हुने भएपनि व्यापारीहरुले त्यस विपरीत कार्य गर्दा पनि यहाँको स्थानीय प्रशासनका तर्फबाट कुनै पहल नभएको जोरायलका स्थानीय दिपक कामीले बताए । 
स्थानीय प्रशासनले भने रिचार्ज कार्डमा तोकिएको अधिकतम् मुल्य भन्दा बढी मूल्य लिएको विषयमा अहिलेसम्म कसैले पनि उजुरी नगरेका कारण आफूहरुले केही गर्न नसकेको जनाएको छ ।  

खेल समाचार 

पुरुष भलिवल प्रतियोगिता पोखरामा

राष्ट्रिय पुरुष क्लब लिग भलिवल प्रतियोगिता पोखरामा हुने भएको छ । 
नेपाल भलिबल संघको आयोजनामा पुस १ देखि ७ गतेसम्म प्रतियोगिता हुने भएको छ । आइतबार भलिबल संघले पत्रकार सम्मेलन गरेर पहिलो पटक काठमाडौंबाहिर प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गरायो । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । 
गत वर्षको फागुनमा भएको एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागिता जनाएका १२ टिममध्ये शीर्ष ८ मा पर्न सफल टिमले उक्त लिगमा भाग     लिनेछन् । यो प्रतियोगिता गत जेठमा नै गर्ने संघले बताए पनि सो बेला एसियाडको बन्द प्रशिक्षणका कारण स्थगित भएको थियो ।
संघको वार्षिक कार्यक्रममध्ये क्लब लिगलाई पहिलो पटक काठमाडौंबाहिर गर्न लागेको हो । प्रतियोगितामा हरेक टिमले तीन जना विदेशी खेलाडीलाई खेलाउन पाउने नियम बनाएको छ । प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउने छन् । यस्तै चौथो हुनेले २५ हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीलाई ५/५ हजार रुपैयाँ नगद      पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा नयाँ बजार सामाजिक युथ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब (बुटवल), जावालाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ ।

पिसिएल ड्राफ्टमा सन्दिप–सोमपाल

 एजेन्सी
नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछाने र अलराउण्डर सोमपाल कामी पाकिस्तान सुपर लिग पीसीएल क्रिकेटको ड्राप्टमा परेका छन् । 
पीसीएलको अन्तिम ड्राफ्ट नोभेम्बर २० मा हुनेछ । ईस्लामाबादमा हिजो सार्बजनिक गरिएको सूचीमा सन्दिप गोल्ड र सोमपाल सिल्भर क्याटागोरीमा परेका हुन् । गोल्ड क्याटागोरीमा रहेका खेलाडीको न्युनतम पारिश्रमिक ५० हजार अमेरिकी डलर रहेको छ । सिल्भरमा रहने खेलाडीले भने न्युनतम २२ हजार अमेरिकी डलर पाउनेछन् ।
६ टोलीले प्रतिस्पर्धा गर्ने चौथो संस्करणको पाकिस्तान सुपर लिग आगामी फेब्रवरी १७ देखि मार्च १७ सम्म हुनेछ । हरेक टोलीले ३ प्लाटिनम, ३ डायमण्ड, ३ गोल्ड, ५ सिल्भर, २ ईमर्जिङ र मार्की गरी टोलीमा २० जनासम्म खेलाडी राख्न पाउनेछन् । ड्राफ्टमा एक टोलीले अधिकतम १२ लाख अमेरिकी डलर खर्च गर्न पाउने प्राबधान रहेको छ ।

चलचित्र/मनोरञ्जन 

‘तक्लु ब्युटी कन्टेस्ट’ आयोजना हुने

नेपाली चलचित्र ‘प्रेमलिला’ निर्माण पक्षले ‘तक्लु व्यूटी कन्टेष्ट’ आयोजना गर्ने भएको छ । 
माघ २५ प्रदर्शन मिति तय चलचित्र ‘प्रेमलीला’ को प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार फिल्म निर्माण युनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजना गर्न लागेको हो । नायिका तथा निर्माता दीपशिखा खड्काले बाहिरीभन्दा पनि भित्री सौन्दर्यलाई प्रोत्साहित गर्ने उद्देश्यले ब्युटी कन्टेस्टको आयोजना     गरेको बताइन् । ‘सुन्दरता आँखाको भ्रम हो, मानिसलाई उसको बाहिरी रुप हेरेर होइन मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ’ खड्काले भनिन् ‘महिलाका लागि कपाल हुँदा र नहुँदा उसको बाहिरी    सुन्दरतामा धेरै असर पर्छ, मैले पनि कपाल काट्दा मानिसले हेर्ने फरक नजरको महसुस गरेकी छु ।’ 
चलचित्रमा तक्लु बनेकी खड्काले थपिन् ‘मैले कपाल काट्दा महसुस गरेको अनुभव सबैसंग साट्नका लागि ‘तक्लु ब्युटी कन्टेस्ट’ आयोजना गर्न लागेको हौं ।’ प्रतियोगितामा महिलाहरू मात्र सहभागी हुन सक्ने खड्काले बताईन् । 
सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेजमा कपालबिनाको फोटो पोस्ट गर्न सकिन्छ ।  प्राप्त फोटोलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५० हजार  दोस्रो हुनेलाई रु २५, हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने  खड्काले जानकारी दिईन ।

मह जोडी सम्मानित

वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित भएका छन् । 
उपराष्ट्रपति नन्द बहादुर पुनले सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसरमा कलाकारद्वयलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको हो । “मह जोडी” को नामले चर्चित हाँस्य कलाकारद्वय श्रेष्ठ र आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका दिएका थिए ।
उपराष्ट्रपति पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उनीहरूले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएका योगदानको खुलेर प्रशंसा गरे । उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रूपमा चित्रण पनि गरे ।
२०४६ सालको संयुक्त जनआन्दोलनको नेतृत्व गणेशमान सिंहले गरेका थिए । २००७ सालको राजनीतिक परिवर्तनदेखि २०४६ सालको आन्दोलनसम्मको राजनीतिक लडाईमा निरन्तर लागेका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पु¥याएका योगदानको स्मरण गर्दै हरेक वर्ष उनको स्मृति दिवस मनाईन्छ ।

लेख 

ज्यान लेवा सडक ः दोषी को ?

रामहरी ओझा

हिन्दुहरुको दोश्रो ठुलो महान चाँडको रौनक सुरु भईसकेपछि कात्तिक १९ गते डोल्पा जिल्लाको सदरमुकाम दुनैबाट त्रिपुराकोट जादै गरेको भे १ च १६१० नं. को जीप दुर्घटना हुँदा १० जनाले अकालमै ज्यान गुमाउनु प¥यो । ६२ बर्षीय नरसिं कठायत देखि १२ बर्षीय याम रोकायाको एक चिहान भयो । ज्यान गुमाउनेहरुमा ६ जना २५ बर्षभन्दा मुनीका छन् । कलकलाउदो उमेरले धेरै सपना देखेको हुँदो हो तर ति सपनाहरु सवै कच्ची सडकमा आफ्नै चित्कारसंगै बिलिन भए । भरखरै ट्रयाक खोलेको उक्त बाटोमा भएको दुर्घटनाले जिल्लालाई सोकमग्न वनायो । मृत्यु हुनेमा तिहारका लागि सरसामान खरीद गर्ने र तिहारमा आफ्नो घर जानेहरु परे । 
त्यसै पनि दुर्घटना कति पीडादायी हुन्छ, त्यसको व्याख्या गर्न सकिदैन । त्यसैमा देश दिपावली मनाउने तयारी गरिरहेका बेला भएको दुर्घटनाले परिवार र आफन्तलाई कति पीडा दियो होला ! कामको सिलसिलामा बाहिर रहेका परिवारको सदस्य ‘दिपावली मनाउन घर आउँदैछ’ भनेर कुरी बसेका आफन्तहरुले अस्पतालमा गएर लास बुझ्नु प¥यो भने, दिपावलीमा घर झिलिमिली गर्न शहरबाट ‘लाईट’ ल्याएर आउन गएको छोरोको ‘संसारै अध्याँरो भयो’ भन्ने खवर सुनेपछि त्यो परिवारको अवस्था के होला ! अनुमान गर्न गा¥हो छ ।
यो घटनाले चार बर्ष पहिले डोटीको जोरायल गाउँपालिका–२ कठ्पत्तेमा भएको दुर्घटनामा परी मेरुदण्ड पक्षघात भएकी कल्पना बिष्ट र कृष्णा शाहीको याद आयो । केही दिन अघि मात्रै कल्पनासंग फोनमा कुराकानी भएको थियो । दशैंको भोलीपल्ट कच्ची सडकमा क्षमता भन्दा बढी यात्रु बोकेको बस दुर्घटना हुँदा २९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए । घाईते कल्पनाले आफ्नो श्रीमान् र तीन बर्षीया छोरी गुमाईन त्यो घटनामा । अनि, आफु कहिल्लै आफ्नो खुट्टामा उभिन नसक्ने गरी घाईते भईन । त्यतिबेला २५ बर्षको उमेर मात्रै थियो कल्पनाको जति बेला उनले चालकको सानो गल्ती र बस मालिकको लोभले आफ्नो सिन्दुर, मातृत्वको र सपाङ्गता गुमाईन । माईतीमा दशैंको टिका लगाएर आफ्नो घरमा टिका थाप्ने साईतमा थिईन  उनी । त्यही बेला यस्तो दुर्घटना भयो । 
यस्तै पीडामा छिन् उक्त दुर्घटनामा घाईते भएकी अर्की महिला कृष्णा शाही । छोराछोरीलाई तराईमै छोडेर दशैं मनाउन श्रीमान्संगै जोरायल आएकी कृष्णाले श्रीमान् त कहिल्लै नफर्किने गरी बाटोमै छोड्नु प¥यो, साथसाथै उनी पनि कल्पना जस्तै मेरुदण्ड पक्षघातले आफ्नो स्याहार आफै गर्न नसक्ने भईन । उनलाई बाँकी जीवन जीउनका लागि सहारा चाहिने भयो । 
कल्पना र कृष्णा त उदाहरण मात्रै हुन, सवारी दुर्घटनामा परी अंगभंग भएका व्यक्तिहरुको लेखा जोखा सायद राज्यसंग पनि छैन् होला । ज्यान गुमाउनेहरुका परिवारले अभिभावक गुमाउँछ, श्रीमती बिधवा हुन्छिन्, श्रीमान् बिदुर हुन्छन्, छोराछोरीहरु टुहुरा हुन्छन्, आमाको काख रित्तिन्छ । बिस्तार बिर्सिने प्रयास गर्छन आफन्त गुमाउनेहरु, नबिर्सेर सुख पनि छैन । तर, अंगभंग भएर अर्काको सहारामा बाँच्नु पर्नेहरुले न त आफन्तलाई बिर्सिन सक्छन् न आफ्नो पीडालाई । जीवनभरी त्यो पीडामा छट्पटिरहनु बाहेक अर्को कुनै विकल्प हुँदैन उनीहरुका लागि । हो, यस्तै पीडा दिईरहेको छ सवारी दुर्घटनाले जनतालाई ।  
पुरै देश सडकमय हुँदै गर्दा दुर्घटनाहरु पनि त्यति नै बढ्दै गएका छन् । सडक दुर्घटना नभएको कुनै दिन छैन । पक्की सडकमा भन्दा कच्ची सडकमा बढी दुर्घटना भईरहेका छन् । कच्ची बाटो, चर्को भाडा दर, क्षमता भन्दा बढी यात्रुहरु, त्यसमाथी सामान गर्दा गर्दै जनताले दिनहुँ जसो जोखिमपूर्ण यात्रा त गरिरहेका छन नै, पटक पटक हुने यस्ता दुर्घटनामा अनाहकमा ज्यान गुमाईर–हेका छन र अंगभंग भईरहेका छन । पिडामाथी पिडा थपिदै गईरहेको छ । यस्ता दुर्घटनाका जिम्मेवार को हुन भनेर प्रश्न गर्दा कसैले पनि उत्तर दिँदैन । 
सडक निर्माण गर्नु आफैमा राम्रो पक्ष हो । अन्य पूर्वाधार निर्माणको मुख्य आधार र ‘ह्युमन मोविलिटी’ को प्रमुख माध्यम सडक यातायत हो । त्यसकारण सडक निर्माण हुनु पर्छ, त्यसमा कुनै विबाद नहोला । तर, जनताले तिरेको कर तिनै जनताको ज्यान लिने गरि सडक निर्माणका लगाईएको छ । जसको मन जहाँ लाग्छ, उसले उतै डाँडो भत्काउँछ सडक बनाउने नाममा । कसैलाई परवाह छैन भू–क्षय होस् कि, वातावरणीय सन्तुलन बिग्रियोस् कि, सडक दुर्घटना भएर मानवीय क्षति होस् कि, जे पो होस्, निर्वाध रुपमा निरन्तर सडक बनाउने नाममा डाँडा भत्काउने क्रम जारी छ, मेसिनको प्रयोग गरि कमिसन कुम्ल्याउने क्रम जारी छ । 
यसको दोषी को हो ? पहिलो दोषी बिना कुनै योजना सडकमा बजेट बिनियोजन गर्ने सरकारी संयन्त्र हो । ‘जनताको माग’ भन्दै आफु र आफ्ना कार्यकर्ताहरु मोटाउने गरी कानुन बिपरित बजेट बिनियोजन गर्नु मुख्य अपराध हो । सडक निर्माणका लागि निश्चित प्रक्रिया छ, बिधि छ र मापदण्ड छ । सस्तो लोकप्रियता कमाउनका लागि वा आफ्नो भोट सुरक्षित गर्नका लागि बिगतमा सर्वदलीय संयन्त्रका नाममा बजेटको ठुलो हिस्सा सडकमा हाल्न लगाईयो । आफ्ना कार्यकर्ताहरुलाई उपभोक्ता समितिको अध्यक्ष बनाईयो, कमिसनको खेल चलाईयो । सडक काट्नका लागि नियम बिपरित मेसिनको प्रयोग गरियो । मेसिन चालकले जता जता सजिलो देख्यो उतै उतै सडक काट्दै गयो र सडकको अवस्था यस्तो भयो । त्यही सिको अहिलेका जनप्रतिनिधिहरुले पनि गर्दैछन् । सडक काट्ने नाममा हिजो ‘माण’ चाखेकाहरुमध्येका अधिकांश राजनीतिज्ञ आज जनप्रतिनिधि भएका छन् । उनीहरुलाई कसरी कमिसन आउँछ भन्ने जानकारी छ, जानकारी नभएकाहरुलाई सिकाउने उनीहरुका “माऊ” नेताहरु छन् ।
सडकका लागि सम्भाव्यता अध्ययन गरिएन, बातावरणीय प्रभाव मुल्याङ्कन गरिएन । न त्यो सडकको भबिश्यका बारेमा सोचियो । सोचियो त केवल त्यो सडकबाट कति कमिसन आउँदा, कार्यकर्ताहरुलाई कति फाईदा हुन्छ ? 
दोश्रो दोषी प्राबिधिक संयन्त्र हो । त्यो सडक कत्तिको दिगो हुन सक्छ, प्राबिधिक रुपमा त्यो सडक गाडी गुडाउन उपयुक्त हुन्छ कि हुँदैन, त्यो सडकमा बनाईएका मोडहरु उपयुक्त छन कि छैनन् भन्ने बिषयमा प्राबिधिकले हेर्नु पर्छ कि पर्दैन ? प्रत्येक योजनामा कमिसन खाने अनि गुणस्तरको वास्ता नगरि योजना पास गर्ने प्राबिधिकहरु अपराधी हुन कि होइनन्, यिनीहरुमाथी ज्यान सम्वन्धि मुद्धा चलाउन पाईन्छ कि पाईदैन ? कमिसनबाट आएको रकमले आलिसान महलको सपना देखेर जनताको ज्यान जाने गरि यस्ता योजना पास गर्ने प्राविधिकलाई अपराधी भन्ने कि नभन्ने ? यस्ता सडकहरु पास गर्न दवाव दिने नेताहरुले पनि छन् । ति नेताहरुलाई कारवाही हुने कि नहुने ? यिनिहरुमाथी मुद्धा चलाउन पाईने कि नपाईने ? 
तेश्रो दोषी स्थानीय प्रशासन हो । मापदण्ड नपुगेको सडकमा, अनुमति नदिइएका सडकमा क्षमता भन्दा बढी यात्रुहरु बोकेर जाने ईजाजत कसले दिएको हो ? स्थानीय प्रशासनले नियन्त्रण गर्नु पर्छ कि पर्दैन ? एउटा जीपको पाँच सिट स्वीकृत छ भन्ने थाह हुँदाहुँदै १४ जना बोक्ने बैधानिकता कसले दिएको हो ? तिनलाई दोषी मान्ने कि नमान्ने ? तिनीहरु उपर छानबिन गरेर कारवाहीको दायरामा ल्याउने कि नल्याउने ? 
दुर्घटना भईसकेपछि त्यसको सम्पूर्ण दोषी चालकलाई मानिन्छ । निश्चित रुपमा चालक दोषी हो तर चालकलाई मात्रै दोष दिएर उम्कने हो भने के चालक आफैले हो त सडक काटेको ? या गाडी धनी आफैले हो सडक काटेको ? यस बिषयमा खोजी हुनु जरुरी छ । यस्ता सडक दुर्घटनाको छानबिन गर्नु जरुरी छ, जीप खसेको ठाउँ फित्ताले नापेर मात्रै छानविन हुँदैन, अनुसन्धान हुँदैन । सडकमा बजेट छुट्याउदा त्यसको वातावरणीय प्रभाव मुल्याङ्कन भएको छ कि छैन, ‘डेटियल ईस्टिमेट’ बनेको छ कि छैन भन्ने कुरादेखि छानविन सुरु हुनु पर्छ । सडक बनाईसकेपछि प्राबिधिक रुपमा त्यो सडक उपयुक्त छ कि छैन भन्ने कुराको पनि छानविन हुनु जरुरी छ । यदि प्राविधिक रुपमा त्यो सडक मिलेको छैन भने कुन प्राविधिकले हो त्यो सडक पास गरेको ? त्यसमाथी कारवाही हुनु पर्छ । छानबिनका क्रममा सडकका लागि बजेट छुट्याउने देखि गाडी चलाउने अनुमति दिने सवैको खोजी गरिनु पर्छ । ति दोषीहरुबाट दुर्घटनामा परि ज्यान गुमाउनेहरु र घाईतेहरुलाई क्षतिपूर्ति भर्न लगाउनु     पर्छ । 
गुणस्तरहिन विकास र भ्रष्टाचारमा बढी हात प्राविधिक क्षेत्रको छ । त्यसकारण प्राविधिक फाँटलाई नीजि क्षेत्रको जिम्मा लगाईनु पर्छ । कुनै पनि सरकारी कार्यालयमा प्राविधिक बस्न नपाईने व्यवस्था गरिनु पर्छ ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. छोरीलाई दाईजोको रुपमा चिउरीको बोट दिने चलन कुन जातीमा रहेको छ ? —चेपाङ 
(चिउरीको बियाँ पेलेर घिउ निकाल्न सकिने र चिउरीको बियाँ माछा मार्नमा पनि काम लाग्ने भएको हुँदा छोरीले जीवनभरी माछामासु र घिउ खान पाउछे भन्ने बिश्वासका साथ छोरीलाई चिउरीको बोट दाईजो दिने चलन छ ।)
२.‘कुनै गतिशील बस्तुमा उत्पन्न हुने प्रवेग त्यस वस्तुमा लगाईएको बलसंग समानुपातिक हुन्छ भने पिण्डसंग व्युत्क्रमानुपातिक हुन्छ ।’ यसले न्युटनको गति सम्वन्धी कुन नियमलाई बुझाउँछ ? 
— दोश्रो नियम 
३. ‘घडीलाई नहेर, यसले जे गर्छ त्यही गर । निरन्तर अघि बढ ।’ भन्ने भनाई कसको हो ? 
— साम लेभेन्सन, हास्य अभिनेता 
४. बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्वारा वि.सं. २०७५ कात्तिकमा प्रदान गरिएको सुप्रबिध स्मृति नवीकर–णीय उर्जा पुरस्कारबाट सम्मानित हुने संस्था कुन कुन हुन ? 
— ललितपुरको नेपाल यन्त्रशाला ईनर्जी, स्याङ्जाको खिलुङ कालिका एग्रो फर्म र नवलप–रासीको एमके पेपर मिल्स प्रा.लि. 
५. सन २०१८ मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता हुन सफल नेपाली कलाकारद्वारा गाईएको गीत कुन बिषयसंग सम्वन्धित छ ? — वातावरण संरक्षण÷प्रवद्र्धन 
(उक्त गीत राष्ट्रकवि माधव धिमिरे र अन्य प्रतिस्ठित कलाकारको स्वरमा रेकर्ड भएको हो) 
६. नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानदेखि हवलदारसम्मले पाखुरामा लगाउदै आएको दज्र्यानी चिन्ह सम्वन्धमा के व्यवस्था गरिएको छ ?  — काँधमा लगाउने 
(पाखुरामा लगाउँदै आएको दज्र्यानी चिन्ह भिडभाडमा खस्न सक्ने र चिन्ह अड्काउन प्रयोग गरिने पिनले घाउ चोट हुन सक्ने भएकाले अन्य प्रहरी अधिकृत सरह हवलदार र जवालनले पनि काँधमा चिन्ह लगाउने व्यवस्था गरिएको छ) 
७. सरकारले २०७५ साल कात्तिकमा कति ओटा नयाँ पर्यटकीय गन्तव्य छनौट गरी सार्वजनिक गरेको छ ?   — एक सय 
८. मानवअधिकारबादी एवं स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन कहिले भयो ? 
— २०७५ साल कात्तिक १८ गते 
९. वातावरणीय स्वच्छता सूचकाङ्क–२०१८ मा पहिलो पाँच स्थानमा रहन सफल राष्ट्र कुन कुन हुन ? 
– क्रमशः स्वीट्जरल्याण्ड, फ्रान्स, डेनमार्क, माल्टा र स्वीडेन 
(१८० राष्ट्रको अध्ययन गरी तयार पारिएको सो प्रतिवेदन अनुसार नेपाल १७६ औं, भारत १७७ औं कङ्गो १७८ औं, बंगलादेश १७९ औं र बुरुण्डी १८० औं स्थानमा रहेका छन्) 
१०. अमेरिकी अन्यरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्ययनका लागि पठाईएको अन्तरिक्ष यान कुन हो ?  — क्यासिनी
११. नेपालमा सर्वप्रथम टेलिप्रम्टर प्रबिधिको प्रयोग कहिले गरियो ?  — बि.सं. २०७५ जेठ १६ गते 
१२. नेपालमा नयाँ बर्षको पहिलो सातालाई ‘बन्यजन्तु सप्ताह’ को रुपमा कहिलेदेखि मनाउँदै आईएको छ ?   — वि.सं. २०५३ 
१३. सार्क क्षेत्रको सवैभन्दा ठुलो ताल कुन हो ?   —चिल्का ताल, भारत 
(१४. कुनै बस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनको कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ? 
स्थिति शक्ति (तन्किएको रवरमा जम्मा भएको शिक्त, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दवाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात पोटेन्सियल पावरका उदाहरण हुन् ।)
१५. नेटुवा जातिको बसोबास कहाँ रहेको छ ?    — कपिलबस्तुको शुद्धोधन 
(२०६८ को जनगणना अनुसार कपिलबस्तुमा ३०० को हाराहारीमा नेटुवा जातिको बसोबास रहेको    छ, यो जातिका मानिसले आफुलाई अल्पसंख्यक जातिको सूचीमा राख्न सरकारसंग माग गर्दै आएका छन् ।)
१६. पहिलो पुरुष अन्तरिक्ष पर्यटक डेनिस टिटो हुन भने पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन ? 
— अनुसेह अन्सारी 
१७. उत्तर कोरियाले जापानको आकाशमाथी व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ? 
— सन २०१७ सेप्टेम्वर १५ 
१८. पहिलो बिश्व संस्कृत सम्मेलन कहिले र कहाँ भएको हो ?  
— सन १९७२ मार्च २६–३१, नयाँ दिल्ली 
१९. बिश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?  — रुस 
२०. सार्कको अठारौं शिखर सम्मेलनमा सवै आठ सदस्य राष्ट्रले औपचारिक सम्झौता गरी सहमति   गरेको बिषय कुन हो ?   — जलबिद्युत उर्जा  
२१. नेपालको ईतिहासमै पहिलो पटक प्याराग्लाईडिङ एक्युरेसी बल्र्डकफ प्रतियोगिता २०१८ कहाँ सम्पन्न भयो ?    — स्याङ्जा, २०७५ कात्तिक १५–१८
(बि.सं. २०७५ कात्तिक १५–१८ सम्म चलेको प्रतियोगितामा दक्षिण कोरिया पहिलो स्थानमा रहन सफल भएको छ । दक्षिण कोरियाले एकल पुरुष, महिला तथा समूहगत प्रतियोगितामा बाजी मारेको छ । प्रतियोगितामा नेपाल, स्लोभानिया, चीन, क्यानडा, नेदरल्याण्डस्, भारत, ईन्डोनेसिया, साउदी अरेविया, सिंगापुरका ५३ पुरुष र १७ महिला गरी ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।)

साहित्य/सिर्जना 

मान्छेदेखि सावधान 

विश्व मानचित्रमा
एउटा यस्तो देश छ ।
जहाँ कुकुरहरु टोक्दैनन्
अकारण

बरु मान्छेहरुले मान्छेलाई
टोलटोलमा चोकचोकमा
ल्याएर टोक्छन् पालैपालो
अनि तमासा फैलाउछन्
सारा जग लोकलोकमा

यो देखेर कुकुरहरु बेखुशी छन्
भुक्दै छन् मान्छेहरुको खिलाफमा
आज उनीहरुले
एउटा साइनबोर्ड लेखेर
झुण्डाएका छन्
जसमा लेखिएको छ
“मान्छे देखि सावधान”
– जनक कार्की

एउटा गाईने 

उ हिड्छ शब्दहरुमा
फुकाउँछ परदेशीएकाहरु माझ ।
भक्कानिएर आउँछ आफ्नै देश,
चाहरी हिड्छ पाखापखेरा ।
डुली हिड्छ गाउँबेसी सुन्दै–सुनाउँदै
सुख–दुःखका गीतहरु ।
एउटा गाइने........

देश दुख्दा छट्पटिन्छ उ,
मल्हम लगाउँदै हिड्छ घाउहरुमा ।
मान्छेहरु अन्धकारमा रुमल्लिँदा,
उजेली छर्दै हिड्छ गाउँहरुमा ।
एउटा समर यात्री
यो देशको, यो देशको
अखण्डताको लागी
एउटा सच्चा सपूत,
यो देश को
एउटा गाइने..........

एउटा गाइने हिड्छ देशको गीत,
संगाली हिड्छ सारा देश आफ्नो छातीमा ।
उसका छिमेक परदेशमा रमाउँदै गर्दा
उ छिमेककै गाउँमा पुछ्दै हिड्छ आँशुहरु,
बुढ्यौलीका योद्धाहरुका
उ हिड्छ शब्दहरुमा ।।
– बिष्णु कुमार बस्नेत

गजल 

लु खेलु यता आउ चरी कति राम्री
चिटिक्क अहो सुन्दरी कति राम्री
ति रङ्गिन मोहक सबैतिर झलझल
सजाइ पखेटा भरी कति राम्री
कुरा अति प्यारो सुनाइन चिरबिर
छ गुञ्जन नानाथरी कति राम्री
फुरुक्क हुदै फुर्र फुर्र उडेको
बतास चलाइ सरसरी कति राम्री
बसेछ नि हातमा मुलायम कस्तो
खुशी कि तिमी हौ परी कति राम्री
ई. राकेश कार्की 

Tuesday, November 6, 2018

बिम्ब साप्ताहिक, २०७५ साल कात्तिक २० गते मंगलबार

सूचनाको हक प्रयोग गरी सम्वन्धित र सार्वजनिक सरोकारका सूचना मागौं । 
सूचनाको हक नागरिकको मौलिक अधिकार हो । 
प्रत्येक नागरिकलाई सार्वजनिक निकायको सूचना माग्ने र पाउने अधिकार छ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

द्वन्द्व पीडितहरु भन्छन् ः हामीले कहिले न्याय पाउने ?

रामहरी ओझा/डोटी
कार्तिक १८
कैलाली सुख्खड्की सर्मिला थारुका श्रीमान् जीतवबहादुर थारुको २०५८ साल फागुन १९ गते सुरक्षाकर्मीले माओवादी भएको आरोपमा हत्या गरे । १६ बर्षको उमेरमै जीवन साथी गुमाउन पुगेकी सर्मिला आफ्नो श्रीमान्का हत्यारालाई सजाय होस् भन्ने चाहान्छिन् । तर अहिलेसम्म न्याय पाएकी छैनन् । 
कञ्चनपुर बागफाटाकी चन्द्रा खडायतको सिन्दुर १९ बर्षको उमेरमै पुछियो । उनका श्रीमान् खगेन्द्र खडायतलाई तत्कालीन नेकपा माओवादीले २०५८ साल माघ १५ गते  मा¥यो । सुराकीको आरोपमा घरबाटै अपहरण गरी अलि पर लगेर उनको गोली हानी हत्या गरियो । उनी पनि राज्यसंग न्यायको भिख माग्दै छिन्, तर पाईएकी छैनन् । 
सर्मिला र चन्द्रा जस्तै कञ्चनपुरकी सिता बोहरा, डोटीकी नारुली केसी, डडेल्धुराकी गिता सार्कीले पनि द्वन्द्वमा आफन्त गुमाइन । उनीहरुले न्याय पाउनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको पनि एक बर्षभन्दा माथी भयो तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन । 
सुदूरपश्चिम प्रदेशका द्वन्द्व पीडित महिलाहरुले आफुहरुलाई छिटो न्याय चाहिएको बताए । “न्यायको पर्खाई, कहिलेसम्म ?” भन्ने प्रश्न सहित नागरिक आवाज नामक एक संस्थाले डोटीको दिपायलमा आयोजना गरेको प्रदेशस्तरीय महिला शान्ति सम्वाद कार्यक्रममा सहभागि द्वन्द्व पीडित महिलाहरुले सो कुरा बताएका हुन् । कञ्चनपुरकी सिता बोहरा भन्छिन् ‘हामीले कलिलै उमेरमा अभिभावक गुमाएर जीउदो शहिद जस्तै बाँचिरहेका छौं, राज्यले हामीलाई सहयोग गर्नुको सट्टा उल्टो खिल्ली उडाउने काम गरेको छ ।’ 
कैलालीकी कृति चौधरी भन्छिन् ‘द्वन्द्वबाट सवैभन्दा बढी महिलाहरु पीडित भएका छन् तर ति महिलाहरुको आवाज सरकारले सुन्दैन् ।’ उनले द्वन्द्वका बेला ज्यान गुमाएका व्यक्तिहरुलाई शहिद घोषणा गर्नु पर्ने माग      राखिन् । उनी भन्छिन् ‘यौन हिंसामा परेका महिलाहरुका आफ्नै समस्या छन् तर ति समस्या भन्नका लागि राज्यको बिश्वासिलो निकायनै छैन ।’ 
मृतकका दुई बालबालिका–लाई मात्रै सरकारले छात्रबृत्ति दिने गरेको प्रति आपत्ति जनाउँदै द्वन्द्व पीडित राष्ट्रिय सञ्जालकी अध्यक्ष सोनिया चौधरी भन्छिन् ‘अरु बच्चाहरु के हामीले खोलामा लगेर बगाईदिनु पर्ने हो ?’       परिवारको अभिभावकको मृत्यु भईसकेपछि १८ बर्षसम्म मात्रै पढाउँछु, दुई बच्चालाई मात्रै पढ्न सहयोग गर्छु भन्नुले आफुहरुमाथी थप अन्याय भएको उनको भनाई छ । उनी थप्छिन् ‘कि त सरकारले पहिले नै दुई सन्तान मात्रै जन्माउन पाउने  गरी कानुन वनाएको भए हुन्थ्यो, कि त दुई बच्चा मात्रै पढाउ अरु नपढाउ भनेर हामीलाई भनिदिएको भए हुन्थ्यो ।’ 
द्वन्द्व पीडित परिवारलाई निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउनु पर्ने, कर छुटको व्यवस्था गर्नु पर्ने, सवै निकायमा मान्य हुने परिचय पत्र प्रदान गर्नु पर्ने, द्वन्द्वका क्रममा मृत्यु भएकाहरुलाई शहिद् घोषणा गर्नु पर्ने, अङ्गभङ्ग भएकाहरुको आजीवन गास, बास कपासको व्यवस्था गर्नु पर्ने, बेपत्ता व्यक्तिहरुको तत्काल खोजी गर्नु पर्ने, राज्यका हरेक तहमा आरक्षणको व्यवस्था गर्नु पर्ने माग द्वन्द्व पीडितहरुको रहेको छ । यस्तै द्वन्द्व पीडितहरुले सरकारले छात्रबृत्तिमा लाएको उमेरको हद् तत्काल हटाउनु पर्ने र मृतकका सवै बालबालिकाहरुलाई पढाउने व्यवस्था गर्नु पर्ने माग राखे । 
उनीहरुले सत्य निरुपण तथा मेल मिलाप आयोगले पनि केही काम नगरेको आरोप लगाएका छन् । “आयोग पनि  राजनीतिक दलका कार्यकर्ता पाल्ने ठाउँ मात्रै बनेको छ’ द्वन्द्व पीडित राष्ट्रिय सञ्जालकी अध्यक्ष सोनीया चौधरी भन्छिन् ‘हामीलाई छिटो छरितो न्याय चाहिएको हो तर त्यो आयोगले न्याय दिन ढिलो गर्दै झन अन्याय गरिरहेको छ ।’ 
आफुहरु राज्यबाट पनि र समाजबाट पनि अपहेलित भईरहरेको द्वन्द्व पीडित महिलाहरुको गुनासो रहेको छ । उनीहरु भन्छन् ‘हाम्रो पीडाको खिल्ली उडाउने काम मात्रै भएको छ, आश्वासन बाहेक अरु केही पनि हामीलाई पाईएको छैन ।’
आयोग भन्छ ः काम भईरहेको छ
द्वन्द्व पीडित महिलाहरुले न्यायको माग गर्दा सत्य निरुपण तथा मेलमिलाप आयोगका प्रतिनिधिहरुले भने आयोगले आफ्नो काम गरिहेको जानकारी दिए । 
‘डोटी जिल्लामा परेका एक हजार उजुरीहरुमध्ये हामीले अहिलेसम्म करीव चार सय छानविन गरिसकेका छौं’ आयोगका बिज्ञ सदस्य मेरिना श्रेष्ठले भनिन् ‘घटनाको प्रकृति अनुसार उजुरीहरुको प्राथमिकता निर्धारण गरि छानविन भईरहेको छ ।’ उनले थपिन् ‘सुरुका दिनहरुमा कर्मचारीहरु नै नभएका कारण समस्या भयो, चिठ्ठी पत्र दर्ता चलानी गर्ने काम समेत हामी बिज्ञहरु आफैले गर्नु प¥यो ।’ अझै कर्मचारीहरु आवश्यक मात्रामा नभएको उनको भनाई छ । 
आयोगका अर्का बिज्ञ सदस्य शंकरदीप मडै भन्छन् ‘वास्तविक द्वन्द्व पीडितहरु राज्यबाट न्याय पाउने कुरामा बिश्वस्त हुन सकेका छैनन् ।’ आयोगमा परेका उजुरीहरुमा चाहिने सूचनाहरु उजुरीकर्ताले उल्लेख गर्न नसकेको बताउँदै मडैले त्यस्ता व्यक्तिहरुलाई फेरी बोलाएर उनीहरुको बयानका आधारमा उजुरीको छानविन गर्नु पर्ने अवस्था रहेको बताए । ‘आयोगले त आफ्नो काम गरिरहेको छ तर राज्यका अन्य निकायहरुले आयोगलाई टेरेको छैन’ मडै भन्छन् ‘आयोगले सिफारिस गरेका उजुरीहरुमा किन राज्यले छिट्टै कारवाही गर्दैन ?’ उनले स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरि द्वन्द्व पीडितलाई स्थानीय तहबाटै न्याय दिलाउनु पर्ने बिचार व्यक्त गरे । अव सधैंभरी केन्द्र सरकारकाको मुख ताकेर मात्रै बस्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने मडैको भनाई छ ।   

सम्पादकीय 

ज्यान लेवा सडक निर्माणका दोषी को हुन ?

डोटीका कच्ची सडकहरु जनताका ज्यान लिईरहेका छन । कच्ची बाटो, चर्को भाडा दर, क्षमता भन्दा बढी यात्रुहरु, त्यसमाथी सामान गर्दा गर्दै जनताले दिनहुँ जसो जोखिमपूर्ण यात्रा त गरिरहेका छन नै, पटक पटक हुने दुर्घटनामा अनाहकमा ज्यान गुमाईरहेका छन र अंगभंग भईरहेका छन । पिडामाथी पिडा थपिदै गईरहेको छ । यस्ता दुर्घटनाका जिम्मेवार को हुन भनेर प्रश्न गर्दा कसैले पनि उत्तर दिँदैन । 
जनताले तिरेको कर तिनै जनताको ज्यान लिने गरि सडक निर्माणका लगाईएको छ । को हो दोषी ? पहिलो दोषी बिना कुनै योजना सडकमा बजेट बिनियोजन गर्ने सरकारी संयन्त्र हो । राजनीतिक नेताहरुको दवावमा यसरी कानुन बिपरित बजेट बिनियोजन गर्नु मुख्य अपराध हो । सडक निर्माणका लागि निश्चित प्रक्रिया छ, बिधि छ र मापदण्ड छ । सस्तो लोकप्रियता कमाउनका लागि वा आफ्नो भोट सुरक्षित गर्नका लागि बिगतमा सर्वदलीय संयन्त्रका नाममा बजेटको ठुलो हिस्सा सडकमा हाल्न लगाईयो । आफ्ना कार्यकर्ताहरुलाई उपभोक्ता समितिको अध्यक्ष बनाईयो, कमिसनको खेल चलाईयो । सडक काट्नका लागि नियम बिपरित मेसिनको प्रयोग गरियो । मेसिन चालकले जता जता सजिलो देख्यो उतै उतै सडक काट्दै गयो र सडकको अवस्था यस्तो   भयो । 
सडकका लागि सम्भाव्यता अध्ययन गरिएन, बातावरणीय प्रभाव मुल्याङ्कन गरिएन । न त्यो सडकको भबिश्यका बारेमा सोचियो । सोचियो त केवल त्यो सडकबाट कति कमिसन आउँदा, कार्यकर्ताहरुलाई कति फाईदा हुन्छ । 
दोश्रो दोषी प्राबिधिक संयन्त्र हो । त्यो सडक कत्तिको दिगो हुन सक्छ, प्राबिधिक रुपमा त्यो सडक गाडी गुडाउन उपयुक्त हुन्छ कि हुँदैन, त्यो सडकमा बनाईएका मोडहरु उपयुक्त छन कि छैनन् भन्ने बिषयमा प्राबिधिकले हेर्नु पर्छ कि पर्दैन ? प्रत्येक योजनामा कमिसन खाने अनि गुणस्तरको वास्ता नगरि योजना पास गर्ने प्राबिधिकहरु अपराधी हुन कि होइनन्, यिनीहरुमाथी ज्यान सम्वन्धि मुद्धा चलाउन पाईन्छ कि पाईदैन ? आलिसान महलको सपनामा जनताको ज्यान जाने गरि यस्ता योजना पास गर्ने दवाव पनि यिनै नेताहरुले दिन्छन् । ति नेताहरुलाई कारवाही हुने कि नहुने ? यिनिहरुमाथी मुद्धा चलाउन पाईने कि नपाईने ? 
तेश्रो दोषी स्थानीय प्रशासन हो । मापदण्ड नपुगेको सडकमा, अनुमति नदिइएका सडकमा अनुमति भन्दा बढी यात्रुहरु बोकेर जाने ईजाजत कसले दिएको हो ? स्थानीय प्रशासनले नियन्त्रण गर्नु पर्छ कि पर्दैन ? पाँच सिट स्वीकृत छ भन्ने थाह हुँदाहुँदै १४ जना बोक्ने बैधानिकता कसले दिएको हो ? तिनलाई दोषी मान्ने कि नमान्ने ? तिनीहरु उपर छानबिन गरेर कारवाहीको दायरामा ल्याउने कि नल्याउने ? 
सवै कुरा चालकलाई मात्रै दोष दिएर उम्कने हो भने के चालक आफैले हो त सडक काटेको ? या गाडी धनी आफैले हो सडक काटेको ? यदि हिम्मत भए यस बिषयमा खोजी हुनु जरुरी छ । भरखरै बासुदेवीमा चार जनाको ज्यान जाने गरि भएको सडक दुर्घटनाको छानबिन गर्नु जरुरी छ । छानबिनका क्रममा सडकका लागि बजेट छुट्याउने देखि गाडी चलाउने अनुमति दिने सवैको खोजी गरिनु पर्छ । ति दोषीहरुबाट दुर्घटनामा परि ज्यान गुमाउनेहरु र घाईतेहरुलाई क्षतिपूर्ति भर्न लगाउनु पर्छ । 
यस्ता सडकहरुको स्तरोन्नति नभएसम्म ग्रामिण कच्ची सडकमा गाडी चलाउन तत्काल बन्द गरियोस । सवै दोषीहरुमाथी कारवाही गरियोस् । अन्यथा यस्ता घटनाहरु फेरी पनि नहोला भन्न सकिने अवस्था छैन । सवैलाई चेतना भया ।  

पश्चिम सेती परियोजनाले दिएको पीडा ः
जमिनको भाडा पनि पाएनन् स्थानीयले

डोटी आदर्श गाउँपालिका–५ का कर्णवहादुर सिंहले बहुचर्चित पश्चिम सेती परियोजनाका लागि एक रोपनी जमिन लिजमा दिए । परियोजना निर्माण भई पो हाल्छ कि भन्ने आशमा उनले बार्षिक १८ हजार रुपैयाँ मात्रै भाडा लिने गरि आफ्नो उत्पादनमूलक जमिन लिजमा दिएका थिए । उनले लिजमा दिएको जमिनमा परियोजनाका कर्मचारीहरु बस्ने संरचना पनि बने । तर, ति संरचनाहरु उपयोगमा छन्, न कर्णबहादुरले सम्झौता अनुसार आफ्नो जमिनको भाडा नै पाउन सके । 
कर्णवहादुर मात्रै हैनन्, उनी जस्तै अन्य पाँच जनाले पनि आफुले लिजमा दिएको जमिनको भाडा पाएका छैनन् । २०७२ साल असोज २८ गते जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारीको रोहवरमा चिनियाँ कम्पनी थ्री गर्जेज र स्थानीय बीच जग्गा लिजमा लिने सम्वन्धी तीन बर्षे सम्झौता भयो । सम्झौता अनुसार स्थानीयले दुई बर्षको भाडा पनि पाए । तर, सम्झौता अनुसारको एक बर्षको रकम उनीहरुले पाउन बाँकी छ । सम्झौताको म्याद गत जेठमै सम्पन्न भईसक्यो । अहिलेसम्म न त म्याद थप भएको छ न उनीहरुको जमिन खाली गरियो । 
लिजमा लिईएको जमिनमा कम्पनीले कर्मचारीको आवास गृह, कार्यालय र स्टोर लगायतको प्रयोजनका लागि २२ वटा भवन निर्माण गरेको छ । निर्माण गरिएका संरचनाहरु पनि हाल संरक्षण अभावमा जीर्ण बन्दै गएको स्थानीयहरु बताउँछन् । आफुले निर्माण गरेका संरचनाहरुको सुरक्षाका लागि समेत कम्पनीले मान्छे राखेको छैन । 
भाडाको एक लाख ४४ हजार रुपैयाँ असुल गरिदिन भन्दै जग्गाधनीहरुले जिल्ला प्रशासन कार्यालय डोटीमा संयुक्त निवेदन दिएका छन् । आफ्नो जमिन भत्कन लागेको, नासिएको र उवड खावड भएकोले अमिन ल्याएर नाप जाँच गरि आफ्नो जमिन फेरी खेतीयोग्य बनाईदिनु पर्ने माग जग्गाधनीहरुको छ । निवेदनमा भनिएको छ ‘उक्त कम्पनीले बाँकी भाडा नतिरी सम्झौता बमोजिम काम कुरा पुरा नगरिदिएमा जमिन एरिया भित्र रहेका कुनै पनि सरसामान र भौतिक संरचना उठाउन दिईने छैन ।’
भाडा असुल गराइदिन भनेर दिएको निवेदनमाथी अध्ययन गरी लगानी बोर्ड र उर्जा मन्त्रालयलाई पत्राचार गरिएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल बताउँछन् । उनी भन्छन् ‘उहाँहरुले निवेदन दिनु भएको छ, हामी त्यो फायल अध्ययन ग¥यौं तर फायलमा सम्वन्धित निकाय कुन हो भन्ने केही  खुल्दैन ।’ 
२०७१ सालदेखि निर्माण कार्य सुरु गर्ने गरी ०६८ सालमा उर्जा मन्त्रालयसंग प्रारम्भिक सम्झौता गरेको थ्री गर्जेजले सात बर्षपछि परियोजना निर्माण गर्न नसकिने प्रतिक्रिया दिएको छ । 
ठेकेदारले पनि पाएन भुक्तानी 
थ्री गर्जेजले लिजमा लिएको जमिनमा संरचना निर्माण गर्ने जिम्मा पाएको पिएस कन्स्टूक्सनले पनि सम्झौता अनुसारको भुक्तानी पाएको छैन । 
“मैले करीव ४० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ” पिएस कन्स्ट्रक्सन का सञ्चालक प्रेमशंकर भट्ट भन्छन् “अहिले त्यो कम्पनीको कुनै पनि व्यक्ति सम्पर्कमा छैन ।” उनले कम्पनीका भवन र बाँध निर्माण हुने भनिएका ठाउँसम्म जाने सडक पनि आफुले निर्माण गरेको बताए । उनी थप्छन् ‘अव आफ्नो रकम पाउन प्रशासन कार्यालयमा उजुरी दिन्छु ।’

विकास र सुशासनका लागि प्रतिवद्धता

जिल्लाको विकास र सुशासनका लागि सवै दलहरु एक भएर अगाडी बढ्ने डोटीका राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । 
दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेस डोटीले शुत्रवार आयोजना गरेको चियापान कार्यक्रममा दलका का प्रतिनिधिहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन । ‘दलगत बिचार आफ्ना ठाउँमा छ, राजनीतिकर्मीहरुका लागि त्यो आवश्यक पनि छ’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष चक्र मल्लले भने ‘तर जिल्लाको समग्र विकास र सुशासन कायम गर्नका लागि हामी सबै दलहरु एक ठाउँमा आउनु पर्छ ।’ डोटी जिल्लाको हकमा आफु त्यसका लागि प्रतिवद्ध रहेको उनले बताए । मल्लले स्थानीय तहका जनप्रतिनिधिहरुलाई दलगत संकीर्णता भन्दा माथी उठेर जनताको हितका लागि काम गर्न आग्रह समेत गरे । 
यस्तै नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवाले जिल्लाको रचनात्मक विकासका लागि सत्तापक्ष(प्रतिपक्ष नभनी सहकार्य गर्न कांग्रेस तयार रहेको बताए । ‘बिगतका दिनहरुमा पनि डोटीमा दलहरुबीच खासै मत भिन्नता थिएन’ सभापति देउवाले भने ‘यदि हामी दलहरु प्रतिवद्ध हुने हो भने आगामी दिनहरुमा भ्रष्टाचार नियन्त्रण र सामाजिक बिकृतिहरुको अन्त्य गर्न   सक्छौं ।’ उनले यसका लागि कांग्रेस प्रतिवद्ध रहेको समेत बताए । 
राष्ट्रिय जनमोर्चा डोटीका सचिव केशवनाथ योगीले जिल्लामा भ्रष्टाचार मौलाएकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोक्नु पर्ने बताए । ‘दलहरुले एकतावद्ध भएर भ्रष्टाचार न्यून गर्नका लागि अभियान चलाउनु पर्छ’ योगीले भने ‘यदि दलहरु तेरो मेरो भन्दै बस्ने हो भने जिल्लाको विकास पनि हुन सक्दैन र भ्रष्टाचार नियन्त्रण पनि हुन सक्दैन् ।’ उनले प्रदेश संरचना आवश्यक नभएकोले यसलाई तत्काल खारेज गर्न सवैले दवाव दिनु पर्ने वताए ।
यस्तै राष्टिूय प्रजातन्त्र पार्टी (राष्टूबादी) का जिल्ला अध्यक्ष बहादुरसिं खड्काले पनि जिल्लाको समग्र विकासका लागि डोटीका दलहरु एक हुनु पर्ने बताए । ‘डोटीमा राजनीतिक दल छैनन् कि भन्ने अनुभूति भएको छ’ खड्काले भने ‘त्यसकारण जिल्लाको हितका लागि हामी एक हुनु जरुरी छ ।’ 
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले सामाजिक बिकृतिमा संलग्न नहुन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिन सवै दलहरुलाई आग्रह गरिन् । उनले थपिन् ‘जुवातास, मदिरा जस्ता बिकृतिहरुमा दलकै कार्यकर्ताहरुको संलग्नता रहेको देखिन्छ, यसलाई अन्त्य गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिनु प¥यो ।’ 
उपभोक्ता समिति गठनमै जनप्रतिनिधिको हस्तक्षेप भयो 
कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख रामवहादुर ऐरले स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्दै भने ‘तपाईहरु विकासमा राजनीतिक नगर्नुहोस् ।’ उनले स्थानीय तहका जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन गर्दा समेत आफ्नो पार्टीको मान्छे उपभोक्ता बनाउन हस्तक्षेप गर्ने गरेको आरोप लगाए । 
‘आफ्नो मान्छेलाई उपभोक्ता समितिको अध्यक्ष बनाउनु पर्ने कहाँ छ, त्यही ठाउँमा योजना हाल्ने अनि जवरजस्ती उपभोक्ता समिति गठन गर्ने काम हुँदैछ’ ऐरले भने ‘जनप्रतिनिधि भईसकेपछि साझा हुन सक्नु पर्छ, कमिसनको खेलमा योजना बाँड्दै हिड्ने होईन ।’ उनले जनताका वास्तविक समस्याहरु समाधान गर्ने गरी योजना निर्माण गर्न समेत आग्रह गरे । 
उनले थपे ‘दुई चार जना खुशी पार्नका लागि जनताले तिरेको करमा  मनपरी नगर्नुहोस् ।’ उपभोक्ता समिति गठनमै हस्तक्षेप भएको भन्दै जिल्ला समन्वय समितिमा समेत गुनासो आउने गरेको ऐर बताउँछन् । उनले जनप्रतिनिधिहरुलाई निश्पक्ष भएर विकास निर्माणमा लाग्न निर्देशन दिन समेत दलहरुलाई आग्रह गरे ।

संस्कृति जोगाउन रावलको आग्रह

नेकपाका नेता तथा पुर्व उपप्रधान मन्त्री भिम रावलले कला संस्कृतिको संरक्षण गर्न आग्रह गरेका छन् । 
उनले आफ्नो संस्कृतिको जगेर्ना गर्न हामी नेपालीको पहिलो धर्म भएको  बताए । नेकपा डोटीले दशैं, तिहार तथा छड्को अबसरमा आज जिल्ला सदरमुकाम सिलगढीमा चियापान कार्यक्रममा नेता रावलले त्यस्तो बताएका हुन । नेता रावलले चियापान कार्यक्रमलाई सम्वोधन गर्दै सुदूरबासीको मौलिक पहिचान देउडा भएका कारण आफु सधैं देउडामा नै रम्ने गरेको बताए । 
सुदूरको संस्कृति जगेर्नाका लागी सबै लाग्नु पर्ने नेता रावलको धारणा थियो । अर्को प्रसंगमा नेता रावलले फाष्टट्र्याक चाडो नै निर्माण हुने, डोटीमा रहेका सरकारी कार्यालयहरु खाली नभई सरकारी कामकाजमा नै प्रयोग गरिने बताए । कार्यक्रम नेता रावलको प्रमुख आतिथ्यता, डोटीका नेता चक्र मल्लको सभाध्यक्षतामा दिपायल सिलगढी नगरपालिकाको हलमा अहिले पनि चलि रहेको पाटीले जानकारी गराएको छ । 
कार्यक्रममा प्रदेश सभा सदस्य अर्चना गहतराज, जिल्ला समन्वय समिति डोटीका प्रमुख रामवहादुर ऐर, स्थानीय तहका जनप्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

जनप्रतिनिधी लोकतन्त्रका सम्वाहक

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले जनप्रतिनिधी– हरु नै लोकतन्त्रका सम्वाहक भएको बताएका छन् ।
सोमबार धनगढी उपमहानगरपालीकाका जनप्रतिनिधी, बिषयगत शाखाका कर्मचारी, वडा सचिवहरुसंगको सूचनाको हक, सुशासन र भष्ट्राचार नियन्त्रण सम्वन्धी अभिमूखिकरण कार्यक्रममा बोल्दै प्रमुख सूचना आयुक्त बास्कोटाले यस्तो धारणा राखेका हुन । उनले जनप्रतिनिधीहरुले चाहेमा लोकतन्त्र बलियो हुने बताए ।
उनले संघ सरकार अहिले पनि स्थानीय सरकारको अधिकार खुम्च्याउन लागिपरेको बताए । स्थानीय सरकारको अधिकार खोस्नु हुदैन भन्ने पक्षमा आफु निरन्तर उभिरहेको बताए ।
धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले धनगढी उपमहानगरपालीका आफुलाई सूचनाको हक मैत्री बनाउदै लगिरहेको बताए । ‘उपमहानगरपालीकाले गरेका निर्णय २४ घण्टाभित्रै नागरिकले थाहा पाउने ब्यबस्था गरिएको छ’ नगरप्रमुख वडले भने ‘त्यसका लागि उपमहानगरपालीकामा भएको सूचना केन्द्रलाई समुदायसंग जोड्ने काम भएको छ ।’ यसका साथै कार्यालयमा सूचना अधिकारी मार्फत सूचना दिने काम समेत गरिएको नगरप्रमुख वडले बताए ।
धनगढी उपमहानगरपालीकाका उपप्रमुख सुशिला मिश्र भट्टले नागरिकले सूचनाको हकको कार्यान्वयन नगरेसम्म सुशासन प्रवद्र्धन नहुने बताईन । उनले भनिन् ‘पहिलो कुरो भनेको नै सार्वजनिक निकायबाट सम्पादन हुने कामका बारेमा जनताले जान्न पाउनु पर्छ, त्यसले भ्रष्टाचार न्यूनिकरण हुन्छ ।

यो सरकार पाँचबर्ष टिक्दैन ः बलायर

टेकेन्द्र देउवा/कैलाली
कार्तिक १९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिरबहादुर बलायरले कम्युनिष्टहरुको सरकार पाँच बर्ष नटिक्ने बताएका छन् ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ ले दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व मन्त्री समेत रहेका बलायरले यस्तो ठोकुवा गरेका हुन । उनले दुई तिहाईको सरकारका गतिविधीका कारण जनता सडकमा आएर सरकार ढल्ने बताए । कांग्रेस केन्द्रीय सदस्य बलायरले नेकपाका जनप्रतिनिधीहरु भ्रष्टाचारबाट मुक्त हुन नसकेको बताए । उनले भने ‘नेकपाले चलाएका स्थानीय तहमा अहिले संस्थागत भ्रष्टाचार भैरहेको छ ।’
निर्मला पन्तका हत्यारा केपी ओलीको कार्यकर्ता भएकाले आरोप पनि कांग्रेस केन्द्रीय सदस्य बलायरले लगाए । उनले भने ‘हत्यारा पत्ता लगाउन १२ बर्ष पनि लाग्न सक्छ भन्नुको आसय भनेकै यही हो ।’ सुदूरपश्चिम प्रदेश सरकार निर्मला पन्तको हत्यारा पत्ता लगाउने बिषयमा गम्भीर नभएको बताए । उनले थपे ‘एउटा छोरीको बलात्कारपछि हत्या हुन्छ सरकार अपराधी पक्राउ गर्नुको साटो संरक्षण गर्न जुट्छ ।’ कम्युनिष्टहरुको सरकार आएपछि देश महंगीमा डुबेको नेता बलायरले बताए । यस पटक बस ब्यवसायीले होईन सरकारले दशैंको मुखमा भाडा बढायो । 
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहले अहिलेको अबस्थामा नेपाली कांग्रेस एकजुट भएर अगाडी बढ्नु पर्ने बताए । ‘सरकार अधिनायकवादको बाटोमा अगाडी बढेको छ’ सभापति शाहले भने ‘लोकतन्त्रको रक्षाका लागि खवरदारी आवश्यक छ ।’
नेपाली कांग्रेसका महासमिति सदस्य नारायण भट्टले नेपाली कांग्रेस विधी पद्धति र सिद्धान्तबाट चल्ने पार्टी भएको बताए । उनले भने ‘बिदेशी दर्शनलाई अंगालेका पार्टी र नेपाली कांग्रेस बिचको भिन्नता यही हो ।’ नेता कार्यकर्ताले भला कुसारी गर्ने नेपाली कांग्रेसको परम्परा भएको नेता भट्टले बताए । कार्यक्रम नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ का सभापति हरिष खड्काको सभापतित्वमा भएको थियो ।

मेहनत गरे माटोमै मोहर फल्छ

पूर्विचौकी गाउँपालिका–४ बाहुनगाउँमा रहेको भगवति कृषक समूहमा आवद्ध अगुवा किसान  मथुरा शर्मा जोशी तरकारी खेतीका लागि आफ्नो वारीमा सिचाई गरिरहेकी छिन्  । उनी यसपाली करीव तीन रोपनीमा तरकारी खेती गर्ने तयारीमा छिन् । गत वर्ष तरकारी खेतीबाट आम्दानी हुने देखेपछि यस पाली उनी थप उत्साहित भएकी छिन । 
गत बर्ष उनले आलु, प्याज, बन्दा, काउली लगायतका तरकारी आफुले उपभोग गरेर २० हजार जतिको बिक्री गरेको बताईन । ‘मैले यस बर्ष थप डेढ  रोपनी जमिनमा आलु खेती गर्ने विचारगरेकी छु’ उनले भनिन् ‘तरकारी खेतीबाट  राम्रै आम्दानी हुँदो रहेछ ।’ 
जोशीका अनुसार अन्य खेतीको भन्दा तरकारी खेतीमा अली बढी मेहनत लाग्ने भएपनि फाईदा बढी हुन्छ । डान चर्च एडको साझेदारीमा सम विकास केन्द्रले सञ्चालन गरिरहेको दिगो जिविकोपार्जन प्रवद्र्धन परियोजनाबाट आलुको विउ, काउली, टमाटर तगायतका तरकारीको विउ सहयोग पाएपछि तरकारी खेती गर्न आफु हौसिएको उनको भनाई छ ।
अर्का अगुवा किसान कमला जोशी आफुले करिव ५ रोपनी जमिनमा तरकारी खेती गरिरहेको बताउछिन । उनले भनिन् ‘रोग लागेको बेलामा स्थानीय स्तरमा पाईने जैविक जडीवुटीको औषधी बनाएर प्रयोग गर्ने गरेकी छु ।’ आफुले पहिले देखिनै तरकारी खेती गर्दै       आईरहेको बताउने कमला थप्छिन् ‘आज–भोली संस्थाहरुले पनि सहयोग गर्ने गरेका छन, यसले थप उर्जा मिलेको छ ।
यस्तै संगिता खडका पिपल चौतारी कृषक समूहका अगुवा कृषक हुन  । तरकारी खेतीबाट आफुले राम्रै आम्दानी गरेको उनी बताउँछिन् । ईडिसिले आफुलाई आलु, काउली, बन्दा, प्याज लगायतका तरकारीका विउहरु सहयोग गर्दै आएको बताईन उनले बताईन ।
बसमा छैन बजार भाउ
मेहनत गरेर प्राप्त भएको परिणाम खेर गएपछि कस्को मन नदुख्ला र, त्यस्तै समस्या कमला जोशी र मथुरा शर्मा जोशीलाई परेको रहेछ । 
गत बर्ष आफुले फलाएको टमाटर त्यसै खेर गएकोमा खिन्न हुदै मथुरा भन्छिन ‘बजारभाउ पनि नपाउने र फलेको फसल पनि कुहाउनु पर्ने समस्याबाट छुटकारा पाउने उपाय अपनाई दिए हामी सवै कृषकहरुलाई राहत हुने थियो ।’ संस्थाहरुले बाहिरवाट विउ खरिद गरेर हामीलाई वितरण गर्नु भन्दा हामीबाटै विउका लागि फसल खरिद गरिदिए राम्रो हुने सुझाव दिईन । 
बिनीगडाका किसान धनादेवी खडका तरकारीबाट केही आम्दानी गर्न सक्नेमा ढुक्क थिईन । तर उनलाई पनि बजारभाउ नपाउने होकी भन्ने चिन्ता छ । समूहमा आवद्ध अधिकांश कृषकहरुले तरकारी खेती गरेको खड्का बताउँछिन् । 
किसानले आफुलाई चिन्न सक्नुपर्छ
‘किसानहरुले आफुलाई चिन्न सक्नु पर्छ, मेहनत गरे हामी आफैले आफ्नै ठाउमा केही गर्न सक्छौं’ हराभरा कृषक समूहका अगुवा किसान हरीसिं खडका किसानहरुले हेपिएको महसुस गर्न नहुने वताउँछन् । एक पोली हाउसवाट ८ क्विन्टल टमाटर फलाएको अनुभव सुनाउदै हरी थप्छन् ‘मेहनत ग¥यो भने अर्काको देशमा गएर नौकर बन्नु पर्ने अवस्था आउँदैन ।’
हरियोवाली समुहका अगुवा किसान भिम खडका आफुले खाएर केही   तरकारी विक्रि गरी आम्दानी भएको  बताउँछन् । अर्का किसान रामचन्द्र खडका आफुले तरकारी खेती शुरु गरेपछि आफुले खाएर केही आम्दानी हने गरको बताए । गत बर्ष आफुले १२ हजारको टमाटर फलाएको उनी बताउछन । पोलिहाउसमा टमाटर राम्रो फल्ने र टमाटर पछि काक्रा पनि फलाउन सकिने भएकाले यसबाट वढी आम्दानी उनको भनाई छ । 
सिचाई प्रमुख समस्या
सिचाईको प्रमुख समस्या हुँदाहुदै पनि आफुले ५० केजी आलुवाट २०० केजी आलु फलाउन सफल भएको कृषक उपकार समुहका टेक बहादुर विक बताउछन । ‘थोपा सिचाई भईदिएको भए तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सक्थेँ’ उनी भन्छन् ‘तरकारी खेतीबाट आफुले उपभोग गरेर २५ हजार आम्दानी गरेँ, अव पुरै ३ रोपनी तरकारी खेती गर्छु ।’ 
फुलपाती कृषक समुहकी अगुवा कृषक कमला खडकापनि थोपा सिचाईका लागि सामान दिएको भए केही राहत हुने बताउछन । पिपल चौतारी कृषक समुहका अगुवा कृषक संगिता खडकाको पोलीहाउस जिर्ण भएकाले आफुलाई फलामको पोलिहाउस निर्माण गरिदिए दिगो रुपमा तरकारी खेती गर्नसक्ने बताउदै आफुले तरकारी खेती गरेपछि अरुले त्यसको सिको गरेको उनले बताईन । यहा प्रमुख समस्या सिचाईको हो थोपा सिचाई भईदिए हुन्थ्यो उनी बताउछिन । 
दुम्सीले वितण्डा मच्चाउछ
कृषक उपकार समुहका टेक बहादुर विक जंगली जनावर (दुम्सी) ले तरकारी नोक्सान गरेर हैरान गरेको छ । 
यस्तै हरीयो वाली कृषक समुहका अर्का किसान रामचन्द्र खडका आफुले तरकारी खेती शुरु गरेपछि आफुले खाएर केही आम्दानी हने गरको बताउछन । गत बर्ष आफुले १२ हजारको टमाटर फलाएको बताउछन । जंगली जनावरले नोक्सान गर्ने भएकाले धाटा हुने गरेको बताउछन ।
२०७४ सालमा आफुले ई.डि.सी. मार्फत ३३ केजी आलु पाएको र त्यतीनै आफुले थपेर लगाउदा सवै दुम्सीले नोक्सान ग¥यो अगुवा किसान रामचन्द्र खडका बताउछन । अनुगमनको क्रममा प्राय सवै किसानहरुले दुम्सी वादर तथा बदेलले आफ्नो वाली नष्ट गर्ने गरेको बताएका थिए ।

संघीयता राजनीति क्षेत्रमा मात्रै आएको छ ः मन्त्री शाह

सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले राजनितिक क्षेत्रमा मात्रै संघीयता आएको बताएका छन् । 
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आईतवार डोटीमा आयोजना गरेको द्वन्द्व ब्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री शाहले सो कुरा बताएका हुन् । ‘देशका बिभिन्न कालखण्डमा भएका राजनीतिक द्वन्द्वहरुले देशमा ठुलो राजनीतिक परिवर्तन भई संघीय शासन व्यवस्था आएको छ’ मन्त्री शाहले भने ‘तर प्रशासनमा, बित्तीय क्षेत्रमा, कानुनी क्षेत्रमा संघीयता आउन बाँकी नै छ ।’ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागी नयाँ व्यवस्था भएको हुँदा नयाँ व्यवस्थामा हिड्दा केही समस्याहरु हुने गरेको बताए । 
संघीयता व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले भने “प्रदेश सरकारले आवश्यक सबै कानुन छिट्टै निर्माण गर्न प्रयास गरिरहेको छ ।’ स्थानीय तह, प्रदेश र केन्द्रबाट प्रदान गर्ने सेवा सुविधाले जनतालाई सरकारको अनुभुति गराएको छ । देशमा शान्ति, अमन चैन र विकासको अनुभुति श्रृजना गर्न संघीयता कार्यान्वयनमा हामीले खलनायक नभई नायकको भूमिका निर्बाह गर्नु पर्ने मन्त्री शाहको भनाई छ । 
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले संघ, प्रदेश र स्थानीय तहबीच द्वन्द्व बढ्ने खतरा रहेको उल्लेख गर्दै प्रदेश सरकारले कानुन निर्माण गर्दा बिचार पु¥याउनु पर्ने वताएका थिए । ‘प्रदेशले कानुनहरु नवनाएकाले हामीले अहिलेसम्म कानुन वनाउन सकेका छैनौं’ दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले भनिन् ‘प्रदेशको कानुन नआई हामीले कानुन बनायौं भने फेरी बाँझ्न सक्द र बिवाद हुन्छ भन्ने सोचेर हामीले कानुन वनाएका छैनौं ।’ प्रदेश   सरकारले छिटो कानुन ल्याउनु पर्ने जनप्रतिनिधिहरुको माग छ । 
परिवर्तित र रुपान्तरित समाजको लागि द्वन्द्व आवश्यक रहेको डोटीका निमिक्त प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए । उनले भने “दुई पक्ष, दुई समुह, दुई विचारविच द्वन्द्व हुन आवश्यक छ तर त्यो द्वन्द्वको परिणाम सकारात्मक हुनु पर्छ ।’ 
कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा प्रदेश सभा सदस्य अर्चना गहतराज र पूर्व संबिधान सभा सदस्य गौरी ओली लगायतले द्वन्द्व व्यवस्थापनका लागि सवैले समयमै पहल गर्नु पर्ने बिचार व्यक्त     गरेका छन् । 
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव निलम कुमार न्यौपानेले सेवाग्राही र सेवा प्रदायकबीचमा हुने द्वन्द्व व्यवस्थापन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यालय थपियो 
डोटीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको स्थापना भएको छ । 
संघीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागको मातहतमा रहने गरी स्थापना भएको सो कार्यालयको आईतवार आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले साईनबोर्ड अनावरण गर्दै स्थापना भएको जानकारी गराएका हुन । सो अवसरमा मन्त्री शाहले जुन उद्देश्यका साथ कार्यालय स्थापना भएको हो सो अनुसार प्रभावकारी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । 
उक्त कार्यालयले डोटी, अछाम र बाजुरा गरी तीन जिल्ला हेर्ने कार्यालयका निमित्त प्रमुख नारायण सिंह रावतले जानकारी दिए । कार्यालय साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा स्थापना भएको छ ।

सुपथ मुल्य पसल सञ्चालनमा

तिहारको अवसरमा गाउँपालिकाबासीलाई सस्तो मुल्यमा चिनी र नुन उपलव्ध गराउने उद्देश्यका साथ के आई सिंह गाउँपालिकाले सुपथ मुल्य पसल सञ्चालन गरेको छ । 
गाउँपालिकाका पाँच स्थानमा सञ्चालन भएका सुपथ मुख्य पसलहरुबाट प्रति परिवार पाँच किलो चिनी र तीन किलो नुन सुपथ मुख्यमा उपलव्ध गराईने भएको छ । चिनी प्रति किलो ६० रुपैयाँ र नुन प्रति किलो आठ रुपैयाँमा गाउँपालिकाबासीहरुलाई उपलव्ध गराउने गरी पसलहरु स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘चाँड पर्वको समयमा सर्वसाधारणले सस्तो मुख्यमा उपभोग्य बस्तु पाउन भन्नका लागि हामीले सुपथ मुख्य पसल सञ्चालन गरेका हौं’ सोमवार वडा नं. ४ मा स्थापना भएको सुपथ मुख्य पसलको उद्घाटन गर्दै शाहीले भने ‘यि पसलहरु कात्तिक २७ गतेसम्म सञ्चालन हुनेछन् ।’ 
गाउँपालिकाले सुपथ मुख्य पसलका लागि सात लाख रुपैयाँ बिनियोजन गरेको शाहीले जानकारी दिए । गाउँपालिकाभित्र रहेका करीव चार हजार तीन सय परिवारलाई लक्षित गरि पसलहरु सञ्चालनमा ल्याईएका छन् । पसलहरु सञ्चालन गर्नका लागि स्थानीय सहकारी संस्थाहरुलाई जिम्मा दिएको शाही बताउँछन् । वडा नं. १ र २ का लागि तिखात्तर, वडा नं. ३ का लागि बासुदेवी, वडा नं. ४ का लागि वायल, वडा नं. ५ का लागि रानागाउँ र वडा नं. ६ र ७ का लागि भूमिराजमाण्डौंमा पसल स्थापना गरिएको शाहीले जानकारी दिए । शाहीका अनुसार तिखात्तरमा सन्तोषी बचत तथा ऋण सहकारी संस्था, बासुदेवीमा गोदावरी बचत तथा ऋण सहकारी संस्था, दुर्गामाण्डौं महिला ऋण तथा बचत  सहकारी संस्था, रानागाउँमा ईनोभेटिभ बचत तथा सहकारी संस्था र भूमिराजमाण्डौंमा नव बिहानी बचत तथा ऋण सहकारी संस्थाले पसल सञ्चालनको जिम्मेवारी पाएका छन् । 
गाउँपालिकाले दुई सय १५ टन चिनी र एक सय २९ टन नुन खरीद   गरी सहकारी संस्थाहरुलाई उपलव्ध      गराएको छ ।

खेल समाचार 

जिल्लास्तरीय भलिवल प्रतियोगिता हुने

डोटीमा कार्तिक जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको      छ  । 
के आई सिँह युवा सञ्जाल डोटीको आयोजनामा कात्तिक २७ सुरु हुने उक्त प्रतियोगिता ३० गतेसम्म चल्ने छ । 
आयोजक संस्था के आई सिंह युवा सञ्जालले आईतवार डोटीको दिपायलमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगिता के आई सिंह गाउपालिका–४ वायलमा सञ्चालन हुने भएको छ ।
स्थानीयस्तरका खेलाडीहरुलाई राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले भलिवलको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले एक लाख एक हजार एक सय एघार रुपैया तथा उपविजेताले ६० हजार पुरस्कार पाउने छ ।
तेस्रो हुने टोलीले ३० हजार र सान्त्वनाले १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने के आई सिँह युवा सञ्जाल डोटीका अध्यक्ष जितेन्द्र बहादुर रावलले    जानकारी दिए ।
प्रतियोगितामा डोटी जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीलाई मात्र सहभागी गराईने आयोजकले जनाएको    छ । टिम दर्ताका लागि पाँच हजार लाग्ने र खाना वस्नको व्यवस्था आफै गर्नु पर्ने अध्यक्ष रावले बताए ।

सुदूरपश्चिम—११ को सचिवालय उद्घाटन

सुदूरपश्चिम–११ स्पोटर्स क्लवको सचिवालय स्थापना भएको छ ।  
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले सचिवालयको उद्घाटन गरेका छन् । सचिवालय उद्घाटनका त्रममा मन्त्री सोडारीले क्लवले आयोजना गर्ने खप्तड गोल्ड कपका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
“सुदूरपश्चिम गोल्डकप आयोजना हुनु खुसीको कुरा हो” मन्त्री सोडारीले भने ‘यो प्रतियोगिता निरन्तरताका लागि सबैको पहल आवश्यक छ ।’
तिहार र छठ पर्वका सवैलाई शुभकामना दिँदै मन्त्री सोराडीले खेलको क्षेत्रबाट सुदूरपश्चिम प्रदेशलाई चिनाउन सुदूरपश्चिम–११ ले ठुलो भूमिका खेलेको बताए । 
सो अवसरमा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले नगरपालिकाले हरेक खेलकूद प्रतियोगितामा सहयोग गर्दै आएको बताउँदै गोल्डकपका लागि पनि सहयोग गर्ने बताए ।
क्लवले विगत तीन वर्षदेखि खप्तड गोल्डकप आयोजना गर्दै आएको छ ।

चलचित्र/मनोरञ्जन 

साहिलले ल्याए “रक्सीको तौलमा”

तिहारको समयमा सवैलाई नाँच्न र झुम्न मिल्ने भन्दै गायक साहिल खड्काले नयाँ गीत “रक्सीको तौलमा” सार्वजनिक गरेका छन् । 
गायक खड्काले आफ्नै शब्द÷ संगीतमा ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । उदयराज पौडेलको म्यूजिक एरेन्ज रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन् ।
गीतको भिडियोमा स्ट्रकपप डान्स क्रुको गज्जब नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि सोही डान्स समुहले गरेको हो । यो डान्स समुह के–पप वल्र्ड फेस्टिभलको विजेता समेत हो ।
‘प्रियसी’ एल्बमबाट आफ्नो औपचारिक संगीत यात्रा थालेका साहिलको ‘त्यो मनमा’, ‘के यो माया हो’ लगायत गीत सार्वजनिक भइसकेको छ । पपगायनमा रुची राख्ने साहिल पछिल्लो गीतबाट पनि निकै आशावादी छन् । ‘तिहारमा नाच्न र झुम्न मिल्ने गीत ल्याएको छु, आशा छ दर्शकले मन पराउनुहुन्छ’ उनले भने ।

कामना फिल्म अवार्ड मंसिर १५ मा

२०७१ सालदेखि सुरु भएको कामना फिल्म अवार्डको चौथो संस्करण आगामी मंसिर  १५  गते हुने भएको छ । 
कामना सिने मासिक ३४ वर्ष पार गरी ३५ वर्ष पुगेको अवसरमा प्रकाशन सुरु भएकै दिन पारेर मंसिरमा अवार्ड वितरण गर्न लागिएको हो । प्रतिस्पर्धी र अप्रतिस्पर्धीसहित कुल ३२ विधामा प्रदान गरिने चौथो संस्करणको फिल्म अवार्डमा ‘लक्स स्टार अफ द इयर’ विधामा पनि अवार्ड प्रदान गरिनेछ । यो विधामा प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा      राउत, स्वस्तीमा खड्का र आना शर्मा  मनोनयनमा छन् । यो विधामा एसएमएस भोटिङका आधारमा विजेता चयन गरिने आयोजक पब्लिकेसन्सले जनाएको छ ।
मनोयनमा सूचिमा ‘छक्का पञ्जा २’ सर्वाधिक धेरै १४ विधाको मनोनयनमा परेको छ । ‘छक्का पञ्जा २’ लाई पछयाउँदै ‘कृ’ १३ र ‘ए मेरो हजुर २’ ११ विधाको मनोयनमा परेका छन् । त्यसैगरी लिलीबिली १० विधाको मनोनयमा परेको छ । शत्रु गते र मंगलम ९/९ विधाको लागि मनोनयनमा परेका छन् ।
यस वर्षको अवार्ड अन्र्तगत सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री विधामा तीव्र प्रतिस्पर्धाका कारण उत्कृष्ट ६ को नाम अगाडि आएको छ भने सारा सिर्पाली ‘रुद्र’बाट नव अभिनेत्री र ‘पिंजडा ब्याक अगेन’बाट अभिनेत्रीको प्रतिस्पर्धामा    छिन् ।
त्यसैगरी कोरियोग्राफर कविराज गहतराज ४ फिल्मबाट उत्कृष्ट ५ को मनोनयमा परेका छन । 
अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा एक लाख रुपयाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान अर्पण गरिनेछ । संगीत, फेसन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।

लेख 

ओली नेतृत्व फेर्नु पर्ने कारण

मेघराज परिवार

दसैँले बिदा लिइसकेको भए तापनि त्यसबारे चर्चा÷परिचर्चा भने सेलाइसकेको छैन । दसैँ मनाउने, बहिष्कार गर्ने, दसैँ यो समुदायको पर्व हो, त्यो समुदायको होइन, इत्यादि बहस घनीभूतरूपमा नै भए यसपालि  । फेसबुकमा नै  भए पनि बहस चल्नु स्वाभाविकै हो । तथापि लोकतन्त्रमा पनि बहसलाई निषेध गर्न, अंकुश लगाउन, अतिवादतर्फ मोड्न खोज्नु दुःखद हो । दसैँको विरोध गर्नेबित्तिकै ‘तिमी इसाई हौ’ भन्ने आरोप लगाउँदा ठीक भएन । अचम्मचाहिँ के भने दसैँ र हिन्दु परम्परा मान्न हुन्न भन्ने समुदायबाट झन् बढी शुभकामना आदान–प्रदान र टीकाको तडक–भडक यसपटक पनि देखियो ।
२०६० सालतिर तत्कालीन प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवाकहाँ दलित अधिकारवादीहरू जाँदा उनले झर्किएर भनेका थिए ‘दलित सबै माओवादी हुन्...। मैले दलित आयोग, दलित विकास समिति बनाएँ, दलित हितमा काम गरेँ तर खै मलाई साथ दिएको ?’ आखिर सबै दलित माओवादी त थिएनन् । हो, जुन दलित समुदाय, आदिवासी जनजाति, उत्पीडित वर्ग–समुदाय शासक वर्ग र पार्टी सरकार प्रमुखसँग अधिकार माग गर्न आउँछन्, तिनलाई माओवादीको आरोप तत्कालीन समयमा लगाइन्थ्यो । हाल, हिन्दुका गलत संस्कार, विभेद, अमानवीयताको विरोध र बहस उठाउँदा इसाई भएको आरोप लाग्ने गर्छ । यो राष्ट्रका निम्ति घातक छ ।
यहाँ यी प्रसंग किन ल्याइएको हो भने एकातर्फ समाजमा जातीय, धार्मिक, साम्प्रदायिक, क्षेत्रीय, भाषिक, सांस्कृतिक द्वन्द्व चर्किदै र जटिल बन्दैछ । विप्लवका कार्यकर्ता ‘दलाल संसदीय पुँजीवाद’ को अन्त्य भन्दैछ भने मधेसमा सिके राउतका नाममा राष्ट्रिय विखण्डनवादको आगो बाल्दैछ । यता देशकै ठूलो नेकपा सरकारको नेतृत्व गरिरहेका केपी ओली अनि पुष्पकमल दाहाल भने विकल्पहीन र किंकर्तव्यविमुढ देखिन्छन् ।   राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, संघीयता, विधिको शासन, संविधानको पूर्ण कार्यान्वयन र समयसापेक्ष संशोधन, समानता र समावेशीकरण, विकास,समृद्धि कसरी प्राप्त गर्ने या सफल हुने भन्नेबारे संकट देखा परेको छ । राष्ट्रहित, समृद्धि र शान्ति चाहने हो भने ओली–दाहालले निकास दिनैपर्छ । के हुन सक्छन् त ती विकल्प ? यहाँ चर्चा गरिनेछ ।
सरकारको नेतृत्व परिवर्तन
ओली सरकार गठन भएको आठ महिना भएको छ । यो समय सरकारको मूल्याङ्कन गर्ने, सफल वा असफल घोषणा गर्ने त निश्चय पनि होइन । दुईतिहाई बहुमत प्राप्त सरकारको पूरा ५ वर्षे कार्यकाल हुनुपर्छ । तथापि सरकार आफैँले घोषणा गरेको मूल नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ पूरा गर्न कस्तो रणनीति र कार्ययोजना  तयार पारेको छ ? राष्ट्रमा देखिएका विद्रोही, विपक्षी, संविधान विपरीतका शक्तिका क्रियाकलाप र गतिविधिको नियन्त्रण गर्ने, सत्ताधारी पार्टीकै कतिपय नेता, समूहका असन्तुष्टि समाधान गर्ने, राष्ट्रिय विकास, दायित्व, स्थायी शान्ति, समृद्धि, विकास, जनजीविकाका महत्वपूर्ण सवालमा अघि बढ्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी, असमानताको अन्त्य गर्न योजना बनाउने कार्यमा सरकार बेखबर देखिन्छ । त्यतिमात्र होइन, मुलुकमा दैनिक भइरहेका हत्या, बलात्कार, अन्याय, अत्याचार र गैरन्यायिक क्रियाकलाप नियन्त्रणमा समेत असफल भएको छ । नागरिकले शान्ति र सुखीसाथ जीउन पाउने हकसमेत सरकारले प्रदान गर्न सकेको छैन । संविधानले व्यवस्था गरेका महत्वपूर्ण हकमा त प्रवेश गर्ने कहिले हो थाहा छैन ।
संघीय सरकार र प्रदेशबीच समस्या देखिन थालेका छन् । संघीय सरकार र संसद्ले कानुन निर्माण गरी प्रदेशलाई काम गर्न सहज बनाउनुपर्ने, कर्मचारी पठाउनु पर्ने जस्ता जिम्मेवारीबाट सरकार च्युत हुँदैछ । रहर, बाध्यता या आवश्यकता जेसुकै कारणले भए पनि मुलुक संघीयतामा गइसकेको छ । त्यसलाई कार्यान्वयन गरी सबै क्षेत्र, समुदायको हितमा प्रयोग गर्नु नै उत्तम हो । सञ्चारमन्त्रीले मिडियालाई तथानाम गाली गर्दै हिँड्दा समेत ओलीले कुनै प्रश्न उठाएनन् । मन्त्रीहरूका   भ्रष्टाचार, अनियमितता र अन्य विवादका सवाल आम रूपमा उठ्दा पनि चूपचाप बस्नु निकम्मापन मात्रै होइन, गैरजिम्मेवार बन्नु पनि हो ।
कतिपय विश्लेषक या व्यक्ति जनमत केपी ओलीको नाममा प्राप्त भएको र सरकार बदल्न नहुने तर्क राख्छन् । यो कुतर्कमात्रै हो । तत्कालीन समयमा राष्ट्रियता, स्थायित्व, स्थिरता, विकास र समृद्धिका चमत्कारिक भाषण र घोषणामार्फत स्थापित भएका ओली नेतृत्व दुई कारणले फेर्नु पर्ने देखिन्छ । एक, उनले जनमत प्राप्त गरी बलियो सरकार निर्माण गरिदिएका छन् । अब अघि बढाउने दायित्व अरुको हो । किनकि कुनै व्यक्ति जनमत सिर्जना गर्न सफल हुन्छ भन्दैमा  सरकार सञ्चालनमा पनि सफल हुन्छ भन्ने छैन । दोस्रो, उनको ठूला–ठूला आयोजना, सपना, उखानटुक्का, तीतो बोलीदेखि मानिसमा वितृष्णा पैदा भएको छ । उदाहरणका निम्ति ओलीले गर्ने भाषणमा जनताले भविष्य देख्न छाडेका छन् । बरु उनलाई जोकरका रूपमा बुझ्न थालेका छन् जनता ।
एउटा महत्वपूर्ण प्रश्न– ओलीको विकल्प को ? दाहाल, नेपाल, गौतम...? हुँदै होइन । सबैभन्दा उत्तम विकल्प हो– सुवाश नेम्वाङ ।  एक, नेम्वाङलाई सरकारको नेतृत्व या प्रधानमन्त्री बनाउँदा ‘सधैँ पहाडे बाहुनमात्रै’ भन्ने जटिल सवाल समाप्त हुन्छ । खस–आर्यले मात्रै प्रधानमन्त्री बन्नुपर्छ भन्ने पनि छैन । दोस्रो, उनको स्वभाव नै समन्वयकारी र सालीन भएको हुँदा सफल हुने सम्भावना रहन्छ । द्वन्द्व व्यवस्थापन, विपक्षीसँग सहयोग, सहकार्यमा नेम्वाङ उपयुक्त पात्र हुन् । तथापि वर्तमान बाहुन नेतृत्व यति त्याग गर्न सक्दैन भने ओलीकै  विश्वासपात्र विष्णु पौडेललाई प्रधानमन्त्री बनाउँदा पनि हुन्छ । सक्षम, योग्य, स्वस्थ व्यक्तिलाई सरकारको नेतृत्व सुम्पिँदै ओली र दाहालचाहिँ पार्टी, भविष्यका कार्ययोजना, नेतृत्व विकास र हस्तान्तणमा लाग्नुका साथै विस्तारै विश्रामको बाटो रोज्न सके मुलुकै तरक्की हुने उत्तम बाटो बन्न सक्छ । सरकारको नेतृत्व परिवर्तन गर्ने उपयुक्त समय यही हो ।
भद्रगोल नेकपाको भविष्य
दुनियाँलाई राम्रोसँग थाहा छ, नेकपा कम्युनिस्ट पार्टी होइन, रहेन । ओली, दाहाल, माधव नेपाल कोही पनि कम्युनिस्ट होइनन् । त्यस्तो भए किन पार्टीको नाम कम्युनिस्ट भनिँदैछ? जातिवादी, धार्मिक, संस्कारवादी, जनैवादी, हिन्दु, गैरहिन्दु, सबै मान्ने कम्युनिस्ट हुन्नन् । तर भनिन्छ, किन ? हाम्रो समाजमा एउटा यस्तो बौद्धिक वर्ग रहेछ जसलाई कामसँग कुनै सरोकार छैन । पार्टीको नाम नेकपा भएपछि पुग्यो । त्यस्तो वर्गमा प्रा.डा., शिक्षक, कानुन व्यवसायी, शुभचिन्तक सबै छन् । नाम कम्युनिस्ट पार्टी भए पुग्ने वर्गका लागिमात्रै पार्टीहरू कम्युनिस्ट नाम राख्न बाध्य छन् । नत्र भोट पाइन्न ।
उतिबेलै तत्कालीन महासचिव मदन भण्डारीले यही कुरा बुझेर नै ‘जनताको बहुदलीय जनवाद (जवज)’ घोषणा गरेका रहेछन् ।बहुदलीय पनि कम्युनिस्ट हुन्छ? नेकपाको एकता टुंगिएको छैन । विगतमा थुप्रै विडम्बना देखिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसी काण्डमा राजीनामा दिए । तर उनले के बिर्से भने पार्टी एकता घोषणा गर्दा लेखिएको सम्झौतामा ‘पार्टी जनवादी केन्द्रीयता’ मा सञ्चालित हुनेछ । जनवादी केन्द्रीयतामा प्रमुख दुई नेता (ओली–दाहाल) मात्रै हुन् । उनीहरूको आदेशबिना लोकतन्त्र भन्न पाइन्न भन्ने चेतना त पक्के हुनुपर्ने हो नारायणकाजीलाई । जे होस्, पछि उनी त्यही पदमा अडिए ।
सबैभन्दा महत्वपूर्ण प्रसंग हो– बामदेव गौतमको उपचुनाव लडेर भएपनि सांसद बन्ने महत्वाकांक्षा । त्यो ‘किन?’ को जवाफ हो– प्रधानमन्त्री बन्न । यसका लागि सांसद् रामवीर मानन्धरको राजनीतिक भविष्य नै सकाउने गरी प्रोपोगन्डा गरिनु दुःखद हो । ‘एक अर्ब भए चुनाव जितिन्न ?’ भन्ने सोचका कारण उनी पक्कै हार्थे । खसीको टाउको देखाएर, कुकुरको मासु बेच्ने ठाउँ भनिने संसद् पुगेर कुकुरको मासु बेच्न कति हतार भएको हो      उनलाई ?
संसद् र नेकपाभित्र माधव नेपालमात्रै होइन, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त जस्ता गैरओली खेमाका नेताको भूमिकाबिहीनता र सरकारप्रतिका आक्रोशले के संकेत गर्छ ? भौतिक रूपमा दुवै पार्टीबीच एकता भए तापनि मन र मत मिल्न कठिन देखिन्छ । त्यसो त एकता तलैसम्म मिलिसकेको पनि छैन । नेकपाका दुई अध्यक्ष ओली र दाहाल आफ्नो पार्टीको एकता, स्थिरता र मुलुकको भविष्यकै निम्ति गम्भीर बन्नुपर्छ । मुलुकको इतिहासमा नै प्रथम पटक कथित कम्युनिस्ट पार्टीको बहुमतको सरकार छ । ओलीले प्रधानमन्त्री पद त्याग्नु नै उत्तम विकल्प हो । बहुजाति, बहुभाषी, बहुक्षेत्रीय, बहुविचार भएको मुलुकमा एउटै जाति, धर्म, लिङ्ग र क्षेत्रका व्यक्तिले नेतृत्व गरिरहनु दीर्घकालीन द्वन्द्वको प्रमुख कारण बन्छ । किनकि यो राष्ट्र कसैको पुर्खाको बिर्ता होइन ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. हाल बिश्वको कुल जनसंख्याको कति प्रतिशत हिस्सा सहरी क्षेत्रमा बसोबास गरेको पाईन्छ ? 
— ४३ प्रतिशत 
२. दिगोम विकासका लागि नेपालमा सर्वप्रथम लागु भएको रणनीति कुन हो ? 
— राष्ट्रिय संरक्षण रणनीति 
३. जैविक विविधताको हिसावले बिश्वको सवैभन्दा धनी मुलुक कुन हो ?    — इण्डोनेसिया 
४. नेपालको लालीगुराँसको राजधानी भनेर कुन ठाउँलाई चिनिन्छ ? 
— तिनकुने–मिल्के–जलजले, तेह«थुम
५. नेपालमा कति प्रकारका पारिस्थितिक प्रणालीहरु पाईन्छन् ? — ११८ प्रकारका 
६. नेपाल जीन बैङ्कको स्थापना कहिले भएको हो ?  — वि.सं. २०६७ असोज २१ 
७. नेपालको सेनारहित एक मात्र संरक्षण क्षेत्र कुन हो ? — मकालु बरुण संरक्षण क्षेत्र 
८. शुक्लफाँटा घासे मैदान कति क्षेत्रफलमा फैलिएको छ ?  — ५४ वर्ग किमि 
९. नेपालमा सवैभन्दा बढी हाब्रो अर्थात् रेडपाण्डा एको जिल्ला कुन को ? — ताप्लेजुङ्ग 
१०. ओजोन तह कसले पत्ता लगाएका हुन ?   — जे.सि. फारम्यान 
११. जलप्रकोपका कारण हुने क्षतिमा नेपाल बिश्वको कतिऔं स्थानमा रहेको छ ?  — ३० औं 
१२ं रुखको पात हल्लिँदा कति डेसिबल ध्वनी निस्कन्छ ?  — १० डेसिबल  
१३. क्याटो घोषणा पत्रमा कति धारा रहेका छन् ?  — २७ धारा 
१४. बिश्व बाघ दिवस कहिले मनाईन्छ ?   — जुलाई २९ 
१५. एज् को पुरा रुप के हो ?  — एयतभलतष्ब िया ज्थमचयनभल
१६. काठमाण्डौं महानगरपालिकालाई कहिले प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरिएको हो ? 
— २०७२ असार १ 
१७. नेपालमा कुन दिनलाई बनस्पति दिवसको रुपमा मनाईन्छ ?  — चैत्र २९ 
१८. नेपालमा पहिलो पटक कुन बिरुवाको म्ल्ब् परीक्षण गरिएको हो ? — चिराईतो 
१९. नेपालमा वातावरण संरक्षण नियमावली कुन बर्षदेखि लागु भयो ?  — बि.सं. २०५४ 
२०. ‘नर्मदा बचाउ’ अभियान कुन व्यक्तिसंग सम्वन्धित छ ?   — मेघा पाटेकर 
२१. हुयगो कार्ययोजना केसंग सम्वन्धित छ ?  — प्राकृतिक प्रकोप व्यवस्थापन 
२२. वातावरण परिवारको अध्यक्ष को हुन्छ ? — प्रधानमन्त्री 
२३. बहुचर्चित “चिपको आन्दोलन” का अगुवा को हुन् ?  — सुन्दरलाल बहुगुणा 
२४. क्याटो सम्मेदन कहिले भएको हो ?   — सन १९९७
२५. सौर्य किरणबाट उपचार गर्ने विधिलाई के भनिन्छ ?  — हेलियोथेरापी 
२६. हरियो ग्रहको नामले कुन ग्रहलाई चिनिन्छ ?   — अरुण 
२७. नेपालको दोश्रो तथा बिश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंगा हिमालको उचाई कति छ ? 
— ८५८६ मिटर 
२८. म्याग्नाकार्टाको परिणाम स्वरुप प्रचलनमा आएको रिट कुन हो ?  — बन्दी प्रत्येक्षीकरण 
२९. द्रव्य शाहले गोर्खा जित्नु अगाडि त्यहाँ कुन जातका राजा थिए ?  — खड्का 
३०. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?   — सुवानन्द दास 
३१. विकासका दृष्टिकोषले नेपाललाई कस्तो मुलुकका रुपमा चिनिन्छ ?  — अल्प विकसित 
३२. बिद्युतका पिता भनेर कसलाई भनिन्छ ?   — माईकल फराडे 
३३. धरानलाई कुन सिटीको नामले समेत विकसित गरिएको छ ?  — साईकल 
३४. बि.सं. २००७ को राजनीतिक परिवर्तन हुनु अगाडि नेपालको कति वटा राष्ट्रसंग दौत्य सम्वन्ध कायम रहेको थियो ?   — ४ (बेलायत, अमेरिका, भारत र चिन) 
३५. अंशको पर्यायबाजी शव्द भाग हुन्छ भने विपरीतार्थी शव्द के हुन्छ ? — पूर्णता 
३६. १, ४, ९, १६, २५ र ३६ पछि के राख्दा उपयुक्त हुन्छ ? — ४९ 
३७. विषमताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?   — एसिया 
३८. गुरुत्वाकर्षण पत्ता लगाउने बैज्ञानिक को हुन ?  — सर आई ज्याक न्यूटन 
३९. बिश्वको पहिलो बोल्ने रोवोट अन्तरिक्ष यात्री कुन हो ?   — किरोवा 
४०. नेपाल आउने चिनियाँ नागरिकका लागि प्रवेसाज्ञा (भिसा) शुल्क नलाग्ने व्यवस्था सम्वन्धि निर्णय नेपाल सरकारले कहिले ग¥यो ?    — बि.सं. २०७२ पुष १० गते 
४१. भारतवाट प्रदान गरिने प्रतिष्ठित पुरस्कार डा. अम्वेडकर कलाश्री राष्ट्रिय पुरस्कार २०१५ बाट सम्मानित हुने नेपाली कलाकार को हुन ?    — अरुण हिङमाङ 
४२. खानेपानी तथा सरसफाई मन्त्रालयको स्थापना कहिले भएको हो ? 
— बि.सं. २०७२ साल पुष ९ गते
४३. बायु प्रदुषण उच्च भएर बेईजिङ्गमा कहिले बिद्यालयहरु बन्द भए ?  — ७ डिसिम्वर २०१५ 
४४. नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट भयो ? 
— २०७२ मंसिर १६ गते 
४५. नेपाल विकास सहायता नीति कहिले जारी भयो ?  — २०७२ साल जेठ ३ गते 
४६. युवा तथा खेलकुद् मन्त्रालयका अनुसार हाल नेपालमा स्नातक युवा बेरोजगारी कति रहेको छ ? 
— २६.१५ प्रतिशत 
४७. रुसी विमान ईजिप्टमा कहिले क्ष्क्क्ष्क् ले खसाल्ता २२४ यात्रीको ज्यान गयो ? 
— ३१ अक्टोवर, २०१५

साहित्य सिर्जना 

जुवाडेहरुले 
जुवाडेहरु दाउमा लगाउछन् 
उसको स्वाभिमानलाई
सके जित्छ्न
नसके हार्छ्न
जित्यो भने
आफ्नो अहम्को उत्सव मनाउछ्न
हा¥यो भने पनि 
हरूवा हुनु पर्दैन
फेरि अर्को
नयाँ सामान हाजिर जो छ 
दाउमा राख्न
न्यायका तराजुले बजार भाउमा तौलिन्छ्न 
उसका अङ्ग अङ्गहरुलाई
वजन भारी भए 
प्रसस्तै नाफा आर्जन गर्छन् 
वजन कम भएपनि
नोक्सानी बेहोर्नु पर्दैन
जुकाले झैं चुसेर
आफै असुली गर्छन्
धर्मका ठेकेदारहरुले होमिदिन्छन् हवनकुण्डमा
उसभित्रका इच्छा, आकांक्षाहरुलाई
जलेर खाग भए
भस्म बनाई 
निधारमा घस्छ्न
नजले मिल्काई दिन्छन् 
यज्ञमा मन्तहरु निकै शक्तिशाली भएर होला
कतै पनि सुनिदैनन उसका चित्कारहरु
अग्निमै स्वाहा हुन्छन्
धार्मिक ग्रन्थहरुमा कुदिएका स्वर्णिम अक्षरहरुले समेत
उपहास मातै गर्छन् 
अब
कोरा कागजमा
स्वयं उसैले लेख्नु पर्छ
आफ्नो नाम
नारी हँु म
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

जिन्दगीको अनौठो खेल 

सपना सुन्दर जिन्दगीका घुमिरहन्छन् वरिपरि
कर्तव्य र जिम्मेवारीहरू झक्झक्याउँछन् सधैँभरि
इच्छा र आशाहरू उब्जन्छन् मनमा सदासदा
सपना र कर्तव्यबीचको जिन्दगीको अनौठो खेल ।
इच्छासँग अघि बढ्दा कर्तव्य नै छाडिन्छ कि,
सपनामै डुबिरहँदा यथार्थ नै भुलिन्छ कि,
सपना र कर्तव्यलाई एकैसाथ लान खोज्दा
परिवार र आफ्नाबाटै टाढिन्छ कि,
एकको पक्ष लिँदा यहाँ अर्को रिसाइदिन्छ
अर्कोको पक्ष लिँदा तेस्रो शत्रु भइदिन्छ
सबैलाई रिझाएर राख्न गाह्रो जिन्दगीमा
कसैको भावना नतोडी हिँड्न गाह्रो यहाँ ।
स्वार्थी भए सबै यहाँ विरोधी भइदिन्छन्
उदारवादी भए यहाँ आफैँलाई कुल्चिदिन्छन्
जिन्दगीको साह्रै अनौठो यो चाल
हुन्छ जीवन त्यसै नै बेहाल ।
सुमित्रा काफ्ले 
भक्तपुर