Tuesday, November 13, 2018

बिम्ब साप्ताहिक, २०७५ साल कात्तिक २७ गते मंगलवार

 सार्वजनिक निकायहरुले आफ्नो निकाय सम्वन्धि सूचनाहरु प्रत्येक तीन÷तीन महिनामा बिभिन्न राष्ट्रिय भाषामा प्रकाशित गर्नु पर्ने तथा आम सञ्चारमाध्यमको उपयोग गर्नु पर्ने कानुनी व्यवस्था छ । यसको पालना भए–नभएको नागरिकले चाँसो व्यक्त गर्नु पर्छ । 
 प्रत्येक सार्वजनिक निकायले सूचनाको बर्गीकरण गर्नु पर्छ । ती निकायहरुले सूचनादाताको संरक्षण गर्नु पर्छ । कानुन बमोजिम क्षतिपूर्ति दिने गरी आयोगबाट निर्णय भएमा क्षतिपूर्ति रकम उपलव्ध गराउनु पर्नेछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

द्वन्द्व पीडित सर्मिलाको संघर्षपूर्ण जीवन

१४ बर्षमा बिहे, १५ बर्षमा आमा, १६ बर्षमा बिधवा

रामहरी ओझा/डोटी
कार्तिक २६
कैलाली, घोडाघोडी नगरपालिका–८ दीपपुरकी सर्मिला थारु उमेरले ३३ बर्षकी भईन । सर्मिला आमाको गर्भमा हुँदै उनको बिहेको कुरा छिनिएको उनले १४ बर्षको उमेरमा थाह पाईन् । उनी गर्भमा छँदै तय भएको केटा जीतवहादुर थारुसंग २०५६ सालमा उनको बिहे भयो । ‘हाम्रो समुदायमा गर्भमै हुँदा छोराछोरीको बिहे तय भईसक्छ’ सर्मिलाले भनिन् ‘मेरो पनि त्यसैगरी बुवाले बिहे तय गरिदिनु भएको रहेछ, सोही अनुसार बिहे भयो ।’ बिहे भएको दुई बर्ष मात्रै उनले आफ्नो जीवन साथीसंग जीवन बिताउन पाईन । 
कक्षा ७ मा पढ्दै गर्दा बिहे भएकी सर्मिलाले आफ्नो पढाईमा पनि बिराम लगाउनु प¥यो । ‘म त पढ्न चाहान्थे, मेरो आमाले पनि स्कुल नछोड्नु भन्नु हुन्थ्यो’ सर्मिलाले भनिन् ‘तर सासु आमाले मान्नु भएन, अव पढाई हुँदैन, घरको काम गर्नु प¥यो भन्नु भयो, अनि मैले पढाई छोडेँ ।’ बिहे भएको एक बर्षमा सर्मिला आमा भईन । उनले एक छोरीलाई जन्म दिईन । सानै उमेरमा बिहे गरी आमा बनेकी सर्मिलालाई मातृत्वबारे पुरै ज्ञान हुन नपाउँदै उनका सासु ससुराले माईतबाट दाईजो नल्याएको भन्दै यातना दिन थाले । यातना सहन नसकेपछि उनी छोरी बोकेर माईत गईन । 
उनलाई माइतमा पनि सुख भएन । तत्कालीन शाही सेनाले माओवादीको आरोप लगाउँदै मानसिक यातना दिन थाल्यो । ‘२०५८ साल माघ १ गते हामी माघी मनाईरहेका थियौं, शाही सेना आएर आमा, म र मेरो नौ महिनाको छोरीलाई कुटपिट ग¥यो’ त्यो दिन सम्झँदै सर्मिला भन्छिन् ‘मेरो आङमा भएका लुगाहरु सवै च्यातचुत  गरे, मलाई मरणासन्न हुने गरी कुटे र मेरो नौ महिनाको छोरीलाई जमिनमा घिर्सादै भित्रबाट बाहिर फाले ।’ सेनाको कुटाईले अहिले पनि जीउ दुख्ने गरेको उनी बताउँछिन् । सोही दिन सर्मिलाका बुवा रामबकस चौधरीलाई सेनाले पक्राउ गरी शारीरिक तथा मानसिक यातना दिई तीन महिलापछि रिहा ग¥यो ।
सेनाको यातना र धम्कीपछि उनी आफन्तको घरमा लुकेर बस्न थालिन् । आफु लुकेर बसेकै अवस्थामा २०५८ साल फागुन १९ गते उनका श्रीमान् जीतवहादुरलाई सेनाले घरबाटै पक्राउ गरी क्रुर यातना दिएर हसुलियाको जंगलमा मा¥यो । ‘जंगलमा लगेर मारेको खवर सुनेँ तर हामीले लास समेत हेर्न पाएनौं’ उनी भन्छिन् ‘अन्तिम पटक मुख हेर्ने धोको समेत पुरा भएन ।’ हिन्दु संस्कार अनुसार दाह संस्कार गर्नका लागि जीतवहादुरको परिवारले लास समेत पाएन । 
कक्षा १० मा पढ्दै गरेका जीतवहादुरलाई तत्कालीन माओवादीको भातृ संगठन अनेरास्वबियु (क्रान्तिकारी) मा आवद्ध भएको भन्ने सेनाको आरोप थियो । श्रीमान्को मृत्युपछि पनि सेनाले उनलाई पटक पटक यातना दियो । सेनाले मात्रै होईन तत्कालीन बिद्रोही माओवादीले पनि उनलाई युद्धमा हिड्न दवाव दियो । 
एकातिर माओवादीको आफुसंगै हिड्नु पर्ने दवाव, अर्कोतिर सेनाको यातना, श्रीमान्को मृत्युको पीडासंगै आफु बाँच्नका लागि त्यतिवेला सहेको कष्ट सम्झिदै सर्मिलाका आँखा रसाउँछन् । ‘मैले श्रीमान्को मृत्युको बेला समेत आफ्नो पीडा पोख्न आफन्तलाई भेट्न पाईन’ सर्मिला भन्छिन् ‘छोरीको मायाले मलाई जीउन सिकायो ।’
द्वन्द्वको समाप्तीसंगै सर्मिलाले फेरी औपचारिक शिक्षा लिन सुरु गरिन् । ‘श्रीमान्को मृत्युपछि सासु, ससुरा र     छोरीलाई कसरी पाल्ने भन्ने चिन्ता लाग्यो’ उनी भन्छिन् ‘एसएलसी पास गरेपछि त कुनै न कुनै नौकरी पाईएला कि भन्ने सोचेर फेरी पढाई सुरु गरेँ ।’ उनको यो निर्णयमा भने उनकी सासु आमाले पनि साथ दिईन । उनी थप्छिन् ‘समस्याले सवै कुरा सिकाउँदो  रहेछ, मेरो पढाई गर्ने निर्णय पनि समस्याले सृजना गरेको बाध्यता थियो ।’ २०६४ सालमा कक्षा ८ मा भर्ना भएकी सर्मिला अहिले ग्रामिण विकास बिषयमा स्नातकोत्तर तह प्रथम बर्षमा अध्ययनरत छिन् । उनी स्थानीय एक नीजि बिद्यालयमा शिक्षण पेशामा संलग्न छिन् । 
सर्मिलाले अहिले छोरी सुजातालाई प्राबिधिक शिक्षा पढाउँदैछन् ।  
सर्मिलाले पाएको यातनाको कुनै क्षतिपूर्ति भएन । न त उनलाई त्यसरी यातना दिनेहरुलाई कुनै कारवाही भयो । मृतक श्रीमान्को नाममा आएको रकम पनि उनले एकमुण्ट पाईनन् । ‘पाउन त १० लाख पाईयो तर एकमुष्ट पाईएन, किस्ताबन्दीमा दिईयो’ सर्मिला भन्छिन् ‘यदि सवै रकम एकमुष्ट दिएको भए कुनै व्यापार व्यबसाय गर्न सकिन्थ्यो ।’ उनी उक्त रकम कहिले एक लाख, कहिले दुई लाख गरि आफुले पाएको बताउँछिन् । 
सर्मिला आफुमाथी भएको हिंसाको सत्य निरुपण चाहान्छिन् । उनी प्रश्न गर्छिन् ‘न म माओवादी थिएँ, न मेरो श्रीमान् वा परिवारका अन्य कुनै सदस्य माओवादी थिए, तर पनि किन मलाई यातना दिईयो, किन मेरो श्रीमान्को हत्या गरियो ?’ श्रीमान्संग अनेरास्वबियु (क्रान्तिकारी) को सदस्यता लिएको रसिद फेला पारेको भन्ने आरोप रहेको आफुले सुनेको उनी बताउँछिन्, भन्छिन् ‘माओवादीले जवरजस्ती सदस्यता काट्न लाउने अनि सेनाले माओवादी भन्दै यातना दिने काम ग¥यो ।’ उनी न्याय चाहिएको बताउँछिन् । 
न्यायका निम्ती उनले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी समेत दिएकी छिन् तर उनले त्यहाँबाट पनि न्याय पाउन सकेकी छैनन् । उनले न्याय पाउने आश भने मारिसकेकी छैनन् तर जति जति ढिला हुँदैछ, त्यति नै उनलाई संका भने बढ्दै गएको छ । उनी द्वन्द्व पीडितको नाममा नक्कली द्वन्द्व पीडितले फाईदा लिईरहेकोप्रति चिन्तित छन् । उनी भन्छिन् ‘कतै नक्कली द्वन्द्व पीडितहरुले फाईदा लिईरहँदा हामी बास्तविक द्वन्द्व पीडितहरुको पालो आउँदैन कि भन्ने चिन्ता छ ।’ उनी द्वन्द्व पीडितलाई सहयोग गर्ने नाममा बिभिन्न संघसंस्था र केही व्यक्तिहरुले पनि फाईदा लिईरहेको बताउँछिन् । 

सम्पादकीय 

प्रभावकारी होला त संसद विकास कोष वजेट ?

दशैं र तिहारको रौनक सकिएसंगै तराईबासीहरुलाई छठको रौनक लागेको छ तर सांसदहरुलाई भने अर्कै चटारो छ । चाडपर्व विदामा बसेका सांसदहरु सरकारले बजेट भाषण मार्फत घोषणा गरेको “‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम” वितरणका लागि क्रियाशिल छन् । कतिपय सांसदलाई भने आफ्नो निर्वाचन क्षेत्रमा बजेट बाँड्न भ्याई नभ्याई भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असोज तेस्रो साता सबै स्थानीय तहलाई परिपत्र गरेर यही पुस मसान्तसम्म स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगतका सबै आयोजनाहरुको सम्झौता गरी विवरण पठाउन भनेको थियो ।
‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली ०७५’ मा आर्थिक वर्ष ०७५/०७६ को हकमा यही पुस मसान्तसम्म सम्झौता गरिसक्नुपर्ने उल्लेख छ ।
पुस मसान्तसम्म सम्झौता हुन नसकेको खण्डमा आगामी माघ १५ सम्मको समय स्वतः थपिनेछ । तर, थपिएको १५ दिनको अवधिमा पनि आयोजनाहरुको छनोट र सम्झौता हुन नसके उक्त बजेट फ्रिज हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
त्यसकारण माननीय सांसदहरु बजेट बाँडफाँडको चटारोमा छन् । उनीहरुलाई पार्टीका नेता कार्यकर्ताहरुको दवाव पनि उत्तिकै रहेको छ । संघीय प्रतिनिधिसभामा प्रत्येक्ष निर्वाचित सांसदले यस कार्यक्रम मार्फत चार करोड रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न सक्ने बजेट भाषणमार्फत व्यवस्था गरिएको थियो । यसअघि यस्तै कार्यक्रम ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का नाममा सञ्चालित थियो ।
बिगतमा योजनाहरु छनौट हुँदा कार्यकर्ताहरुलाई पाल्नका लागि छुट्याउने गरिएको कुरा कसैबाट लुकेको छैन । बिगतमा कुनै पनि यस्तो योजना वनेन जुन सांसद स्वयंले गर्व गर्न सकुन । यसपाली पनि उक्त बजेट बितरण हुँदैछ । योजना तर्जुमा प्रक्रियामा जनतालाई प्रत्येक्ष रुपमा संलग्न नगराई छनौट हुन लागेका यि योजनाहरु के प्रभावकारी होलान् वा फेरी विगतका जस्तै कार्यकर्ता मोटाउने कार्य मात्रै होला ? यसको सही उत्तर योजनाहरु कार्यान्वयन भएपछि आउला तर विगतको अभ्यास हेर्दा देशभरीमा एक सय ६५ सांसदहरुले बाँड्ने ६ अर्व ६० करोड रुपैयाँ वालुवाको पानी हुनेछ । हुन त नीति निर्माताहरुलाई बजेट बाँड्ने जिम्मा दिनु नै आफ्ना कार्यकर्ताहरुलाई पोस्न लगाउनु हो भन्ने कुरामै दुई मत छैन । योजना जनताको माग र आवश्यकता अनुसार बन्छन्, नेताको चाहाना अनुसार होईन । नेताको चाहाना अनुसार बाँड्न लगाउने योजनाले जनताको माग र आवश्यकता सम्वोधन गर्ला  त ? यस विषयमा पनि गम्भिर हुनु जरुरी छ । 
नेपालको संसदीय अभ्यासको ईतिहास हेर्दा सांसदहरुले पाउने सुबिधाको बिषयमा कुनै दलले विमति राख्दैनन् । देशको विकास गर्नु प¥यो भने बिमति हुन्छ । यस्तै भएको हो यसपालीको सांसदहरले बाँड्न पाउने गरी ल्याईएको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ पनि । कुनै दलले यसमा बिरोध गरेनन् । कुनै व्यक्तिले यसमा बिरोध गरेनन् । दलका पिछलग्गु नागरिक समाजले पनि चर्को आवाज उठाउन सकेन यस बिषयमा । 
अव यो बजेट सडक, खानेपानी, विद्युत, खेलकुद मैदान, स्वास्थ्य र शिक्षासँग लगायतका क्षेत्रका योजनाहरु बन्नेछन् । कति योजनाहरु कागजमै सिमित हुनेछन् । कति योजनाहरु बनाए जस्तो गर्नेछन् । कार्यकर्ता, प्राबिधिक, उपभोक्ता समितिका अध्यक्षहरु सवै मोटाउनेछन् तर कर तिरेर राज्यको ढुकुटीमा त्यो रकम जम्मा गर्ने जनता चिल्लै हुनेछन् । जनप्रतिनिधिले दिएको विकास कता हरायो भन्नु बाहेक अरु कुनै उपाय हुने छैन ।

थप समाचार 

१४ बर्षमा पनि नबनेको झोलुङ्गे पुल

एउटा झोलुङ्गे पुल निर्माण गर्नका लागि कति समय लाग्ला ? एक वर्ष, दुई वर्ष वा तिन वर्ष ! तर डोटी जिल्ला भएर वग्ने सेती नदीमा निर्माण गर्न लागिएको एक झोलुङ्गे पुल १४ वर्ष बितिसक्दा पनि पुरा भएको छैन । निर्माण कार्य पुरा नहुँदै पुल बाङ्गिएपछि आवत जावत गर्नमा समेत समस्या भएको छ । 
शिखर नगरपालिका–११ तल्लिसातमा “तल्लिसात झोलुङ्गे पुल” नामाकरण गरी २०६१ सालदेखि निर्माण गर्न लागिएको उक्त झोलुङ्गे पुल अहिलेसम्म पनि निर्माण कार्य पुरा भएको छैन । पुललाई मजबुत बनाउन साईडमा कस्नु पर्ने केवलहरु कसिएका छैनन् । केवल नकसिएपनि अर्को कुनै बिकल्प नभएका कारण स्थानीयहरु सोही पुलबाट आउजाउ गर्न बाध्य  छन् । पुल बांगिएको छ । मान्छे आउजाउ गर्दा हल्लिन्छ । 
पुललाई साईडवाट कसिएको पनि छैन जसका कारण पुल बाङ्गिएको शिखर नगरपालिका–११ का देवबहादुर किमाडी बताउँछन् । ‘यो पुल निर्माण कार्य सुरु हुँदा द्वन्द्वकाल थियो, अहिले देशमा गणतन्त्र आईसक्यो हाम्रो बारपाटा गाउँ विकास समिति नगरपालिकामा परिणत भईसक्यो’ उनी भन्छन् ‘यो १४ बर्षको अवधीमा धेरै विकास भयो तर हाम्रो पुल   बनेन ।’ आफुहरुले पटक पटक कुरा उठाउँदा पनि कसैले सुनुवाई नगरेको उनको गुनासो छ । 
स्थानीय तहको निर्वाचन र संघीय एवं प्रादेशिक संसदको निर्वाचनमा भोट माग्न आएका अधिकांश नेताहरु सोही पुलबाट ओहोरदोहोर गरेको तर पुल छिटो निर्माण गर्न कसैले पहल नगरेको स्थानीयको गुनासो छ । स्थानीय भन्छन् ‘मेयर साप त चुनाव जितेपछि पनि दुई÷तीन पटक यो पुलमा हिड्नु भएको छ तर पनि कुनै चाँसो राख्नु भएन ।’ 
एकसाथ चारजना मात्रै पनि हिड्दा अव खस्छ जस्तो गरी पुल हल्लिने गरेको स्थानीय कमल जोराईला बताउँछन् । जोराईलाले यो पुलवाट ओहोर–दोहोर गर्न जोखिमपूर्ण भएको वताए । ‘पुलको यो अवस्थामा वारेमा पटकपटक सरोकार–वालाहरुलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई भएन’ स्थानीय शेरवहादुर बोहरा भन्छन ‘कुन दिन पुल चुडिँन्छ र अर्को समस्या आउँछ ।’ 
साईड केबलहरु र अन्य सामानहरु पनि निर्माण स्थलमै छ । तर काम भने हुँदैन, न त काम कस्ले गर्ने हो भन्ने कुनै जानकारी छ । 
यस्तो छ पुलको कथा   
साविकको जिल्ला विकास समिति डोटीले पुल निर्माणका लागि २०६१ सालमा ठेक्का आव्हान ग¥यो । ठेक्का सम्झौता गर्ने निर्माण व्यवसायी दावा शेर्पा बिचमै काम छोडेर गए । लामो प्रक्रियापछि उनीसंगको ठेक्का रद्द भयो । 
फेरी अर्को ठेक्का सम्झौता भयो । अर्को ठेक्का सम्झौता गर्ने निर्माण व्यवसायी छत्रसिं कठायतले पनि तोकिएको समयमा काम पुरा गरेनन् । पुल निर्माण कार्य ढिलो हुन थालेपछि स्थानीयहरु साईडमा जाली समेत नलाएको पुलमा आउजाउ गर्न बाध्य भए । २०६८ सालमा पनि एक पटक पुल बांगियो । स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएपछि काम चलाउका रुपमा सोझ्याईयो तर निर्माण कार्य भने पुरा भएन । त्यसै बिचमा बजार भाउ बढेको भन्दै ठेक्का रकम बढाउने कसरत भयो ।
केही सयमसम्म केवल नपाईएको भनियो, केवल आयो तर त्यो छोटो भयो । त्यसपछि तन्काउने मेसिनको खोजी भयो । तन्काउने मेसिन आएपछि मजदुर नपाईएको बहाना बनाईयो । मजदुर पाईएपछि काम सुरु भयो तर केवल तन्काउने क्रममा काम गरिरहेका मदजुरहरुलाई  चोट लाग्यो । त्यसपछि पुल निर्माण कार्य पूर्ण रुपमा ठप्प भयो । उक्त अधुरो काम ठेकेदारले बनाउँछन कि वनाउँदैनन् भन्ने पनि जानकारी छैन स्थानीयलाई । ‘सुन्नमा आए अनुसार ठेकेदारले मैले मेरो काम पुरा गरिसकेँ भन्छन् रे’ एक स्थानीयले भने ‘अव बाँकी काम कसले गर्ने हो थाह भएन ।’ 
यस बिषयमा जानकारी लिनका लागि ठेकेदार छत्रसिं  कठायतसंग टेलिफोन सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन्  । 
किन आए त साईज भन्दा साना केवलहरु ? के ईष्टिमेट विनै वनेको हो त त्यो पुल ? १४ बर्षसम्म पनि किन बनेन झोलुङ्गे पुल ? यस्ता कतिपय प्रश्नहरु निरुत्तरितै रहेका छन त्यो    पुलमा । ठेकेदारको लापरवाही हो वा सम्वन्धित निकायका कर्मचारीहरुको ठेकेदारसंगको मिलेमोतो हो ? यस्को उत्तर को ले दिने ! ठेक्का सम्झौता दिने जिल्ला विकास समिति पनि खारेज भईसकेको अवस्थामा पुल निर्माण कार्य भने थप अन्यौल वनेको छ । 
राज्यको पुनर्संरचना भईसकेपछि आफ्नो क्षेत्रभित्रका सम्पूर्ण भौतिक पूर्वाधारको स्वामित्व स्थानीय तहमा     जान्छ । आर्थिक बर्ष २०७४/०७५ मा झण्डैं ४३  करोड र २०७५/०७६ मा झण्डै ३० करोड बजेट बिनियोजन   गरेको शिखर नगरपालिकाले न त यो पुलको स्वामित्व लिएको देखिन्छ न त यसको निर्माणका लागि योजना बनायो । 

विकासले गति लिन केही समय लाग्ने

संघीय प्रतिनिधि सभाका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लेखराज भट्टले विकास प्रक्रियाले गति लिन केही समय लाग्ने वताएका छन् । 
नेता भट्टले हिजो भत्केको विकासको प्रक्रियाले गति लिन केही समय लाग्ने बताएका हुन । विगतमा भएको राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको वताउँदै भट्टले अव राजनीतिक स्थायित्वसंगै विकासले पनि गति लिने बिश्वास व्यक्त गरे । गोदावरी नगरपालिका–५ मा आईतवार आयोजना गरिएको वडास्तरीय भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफु चिन्तित रहेको वताए । ‘यस प्रदेशको विकासका लागि बजेट कसरी बढी ल्याउने भन्ने कुरामा मेरो ध्यान केन्द्रित भएको छ’  नेता भट्टले भने ‘त्यसका लागि मैले बिभिन्न पक्षसंग कुरा गरेको छु ।’
नेता भट्टले थपे “बजेट मात्रै ल्याएर नहुँदो रहेछ, आएको बजेट सदुपयोग गर्न पनि जनताले सतर्कता अपनाउनु पर्छ ।” कैलाली क्षेत्र नं. ४ बाट निर्वाचित सांसद  भट्टले कर जनताकै विकासमा खर्च हुने हुँदा स्थानीय सरकारले लगाएको करप्रति अप्ठ्यारो मान्न नहुने धारणा राखे ।
नेता भट्टले किसानका समस्या सामाधानको लागी सरकार गम्भिर रहेको वताए । ‘धानको न्युनतम मुल्य सरकारले निर्धारण गरिसकेकोले प्रदेश सरकारले समन्वय गरेर सरकारको निकायले तत्काल धान खरिद प्रकृया अगाढी बढाउँछ’ नेता भट्टले भने ‘अहिले ब्यापारीले सस्तोमा धान्न किनेर किसानको मजबुरीको फाईदा उठाई रहेका छन्, यसको अन्त्य हुनु पर्छ । उनले किसानहरुले आफ्नो पसिनाको उचित मुल्य पाउनु पर्ने विचार व्यक्त गरे । उनी भन्छन् ‘किसानले श्रमको उचित मुल्य पाउनु पर्छ । 
गोदावरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कर्ण बहादुर बोहराको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद कृष्णराज सुबेदी, चुनुकुमारी  चौधरी, गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको थियो ।  

साईपालमाथी सफल आरोहण

बझाङ्ग जिल्लामा पर्ने सात हजार ३१ मिटर उचाईको साईपाल हिमालमा सफल आरोहण भएको छ । 
“मिसन साईपाल” नाम दिईएको एक टोलीले  साईपाल हिमालमा सफल आरोहण गरेको हो । दक्षिणी मोहडाबाट साईपाल हिमाल आरोहण सफल भएको पहिलो पटक हो । दक्षिणी मोहडाबाट साईपाल हिमाल चढ्न यसअघि थुप्रै पटक भएका प्रयासहरु सफल हुन सकेका थिएनन् ।
अन्र्तराष्ट्रिय ख्याती प्राप्त पर्वतारोही डा. जर्ज ईचोएगा र मार्टिन  रामोश र चार जना सहयोगी भरियाहरुको टीमले कार्तिक १६ गते साईपाल हिमालको चुचुरोमा पाईला टेकेको मिसन साईपालका अगुवा भोजराज भाटले बताए । यद्दपि साईपालमा सहभागी चार बझाङी चेलीले भने साईपाल हिमाल चढ्न सकेनन ।
साईपाल हिमालको सफल आरो– हणपछि उनीहरु आईतवार साँझ सदर–मुकाम चैनपुर फर्केका छन् । 
संसारभरीका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल आरोहण गरिसकेका ख्यातीप्राप्त पर्वतारोही डा. जर्जले साईपाल हिमाल आरोहण गर्नु अत्यन्त जटिल भएपनि सफल भएकोमा खुशी व्यक्त गरे ।
अरु हिमालको आरोहण यति कठिन छैन । यति गाह्रो हिमाल अरु देखेन, डा. जर्जले भने, साईपाल चढ्ने हाम्रो मिसन पुरा भयो । तर नेपाली चेलीहरु चढ्न नपाउदा भने दुःखी छौं ।
साईपाल हिमाल चढ्नका लागि बेस क्याम्प नभएको ट्रयाकहरु नभएको, गाईडहरु पनि भएको जस्ता थुप्रै समस्याहरु रहेको आरोहीहरुको भनाई छ । पूर्वाधारहरु तयार भए साईपाल आरोहीहरुको संख्या बढ्ने उनीहरुको बिश्वास छ ।

पशु बिमाबाट कृषकहरु लाभान्वित

गत साउन देखि के आई सिं गाउँपालिका–४ मा पशु विमा कार्यक्रम सञ्चालन भएपछि यहाँका किसानहरु लाभान्वित भएका छन । 
स्थानीय ३० जना किसानहरुका ९४  वाख्रा, १२ भैंसी र एक राँगा गरी जम्मा १०७ पशु चौपायाको विमा गरिएको हो । विमा गरेका पशु चौपायामध्ये ६ वाख्रा मरेका छन । ति मरेका बाख्राहरुको विमा रकम पाउनका लागि सवै प्रक्रियाहरु अगाडी बढाईएको छ । बिमा रकम प्राप्त भएपछि किसानहरु यस कार्यक्रम प्रति आकर्षित हुने दिगो जीविकोपार्जन प्रवद्र्धन कार्यक्रमका संयोजक रमेश भुल  बताउछन । डान चर्च एडको सहयोगमा सम विकास केन्द्रद्वारा सञ्चालित दिगो जीविकोपार्जन प्रवद्र्धन कार्यक्रमले वितरण गरेका पशु चौपायाको विमा रकम यस बर्षका लागि परियोजनाले नै तिरेको कार्यक्रम संयोजक भुल बताउँछन । 
प्रत्यक बर्ष नविकरण गर्नु पर्ने पशु विमा अर्काे बर्ष देखि समूहमा रहेका किसानहरुको वडा कार्यालय र कृषक समुह भन्दा वाहिरका किसानहरुको पशु चौपायाहरुको विमा रकम किसानहरुलेनै ब्यहोर्नु पर्ने परियोजनाका सामाजिक परिचालक वोहरा बताउँछन् । 
यस वडामा पशु विमा कार्यक्रम लागु हँुदा किसानहरुलाई राहत मिलेको वडा अध्यक्ष जय बहादुर धामी बताउछन । उनका अनुसार यो कार्यक्रमले गरिव किसानहरुलाई राहत मिलेको छ यसलाई पुरै वडा भरी नै विस्तार गर्ने सोच बनाएका छौं । किसानहरुले पशु विमागरी लाभ प्राप्त गरुन भन्ने उद्देश्यका साथ नेपाल सरकारले २०६९साल माघ देखि पशु बिमा कार्यक्रमको सुरुवात गरेको थियो । बिमा ऐन, २०४९ को प्राव्धान अनुसार ईजाजत लिएका बिमा कम्पनीहरुले बिमा गराउने व्यवस्था  रहेको छ ।

कर्मचारी समायोजनको अध्यादेशमा के छ ?

अनलाईन खवर
सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याउने तयारी गरेको छ । सरकारले यसअघि ल्याएको ‘कर्मचारी समायोजन ऐन–२०७४’ लाई खारेज गर्दै अध्यादेश ल्याउन लागेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तीन तहमा कर्मचारी समायोजन गर्नका लागि अध्यादेश ल्याउने प्रक्रिया शुरु गरिएको जानकारी गराए । ‘सङ्घीय संरचना अनुसार केन्द्रमा रहेका कर्मचारी तीनै तहमा समायोजन गर्नुपर्दछ’, उनले भने ‘कर्मचारी समायोजन गर्नका लागि अध्यादेश ल्याउन लागिएको हो ।’
मन्त्री पण्डितले अध्यादेशको प्रक्रिया शुरु गरिएकाले परामर्शका लागि लोक सेवा आयोगलाई समेत जानकारी पठाइएको बताए । सरकारले लोकसेवा आयोगको परामर्श लिएपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाउनेछ ।
मन्त्री पण्डितले पुस मसान्तभित्र तीनै तहका कर्मचारी समायोजन गर्ने जानकारी गराए । सरकारले अहिले भएका एक लाख १७ हजार कर्मचारीमध्ये केन्द्रमा करीब ४५ हजार, प्रदेशमा २१ र स्थानीय तहमा ५७ हजार कर्मचारी समायोजन गर्ने तयारी गरेको छ ।
यसअघि ल्याइएको ऐनमा मातहतमा कर्मचारी समायोजन हुन नमानेपछि समायोजन भएर प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई एक तहमाथिको सेवा सुविधा दिने गरी कर्मचारीलाई आकर्षण बनाएर अध्यादेशमार्फत समायोजन गर्न थालेको हो ।
त्यस्तै श्रेणीविहीनलाई श्रेणी दिइनेछ भने चार वर्षभन्दा कम सेवा अवधिका खरिदारलाई चौथो, चारदेखि सात वर्षसम्म सेवा गरेका र न्यूनतम शैक्षिक योग्यता नभएका खरिदारलाई वरिष्ठ चौथो, शैक्षिक योग्यता भएका र सात वर्षसम्म काम गरेका खरिदारलाई पाँचौँ, १० वर्ष र न्यूनतम शैक्षिक योग्यता पुगेका नायब सुब्बालाई छैटौँ  तह दिइने अध्यादेशमा उल्लेख गरिएको छ ।
त्यस्तै पाँच वर्षभन्दा कम सेवा अवधि पुगेका शाखा अधिकृतलाई सातौं, पाँचदेखि १० वर्षसम्म शाखा अधिकृत भएकालाई आठौँ, १० वर्ष पुगेका र न्यूनतम शैक्षिक योग्यता पुगेका शाखा अधिकृतलाई नवौं, पाँचदेखि १० वर्षसम्मका उपसचिवलाई १० औँ, १० वर्ष काम गरेका र न्यूनतम योग्यता पुगेको उपसचिवलाई ११ औं तह दिइने अध्यादेशमा उल्लेख गरिएको छ ।
अध्यादेशमा अन्तर सेवा प्रतिस्पर्धाको व्यवस्था गरिएको छ । प्रदेशमा समायोजन भएका कर्मचारी स्थानीय तहको एक तहमाथि र स्थानीय तहमा समायोजन भएको कर्मचारी प्रदेश तहको एक तहमाथि प्रतिस्पर्धा गर्न पाउँछन् ।
कार्यरत पदको ज्येष्ठता, कर्मचारी हाल कार्यरत रहेको प्रदेश वा स्थानीय तह, भौगोलिक क्षेत्रमा काम गरेबापत प्राप्त गरेको अङ्क, हालको स्थायी बसोबास ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगाना सम्भव भएसम्म पति र पत्नीलाई एकै स्थानमा पर्ने गरी समायोजन गर्ने र उमेरको कारण अनिवार्य अवकाश हुन दुई वर्षभन्दा कम अवधि   रहेकालाई प्रदेश वा स्थानीय तहमा सामान्यतया समायोजन नगर्ने उल्लेख   गरिएको छ ।
स्थानीय तहमा स्थायी नियुक्ति पाएका कर्मचारीको विवरण अध्यादेश   जारी भएपछि एक महीनाभित्रमा जिल्ला समन्वय समिति (जिसस) ले मन्त्रालयमा पठाउनुपर्ने अध्यादेशमा उल्लेख गरिएको छ ।
अध्यादेशमा प्रदेशबाट प्रदेशमा, प्रदेशबाट स्थानीय तह, स्थानीय तहबाट प्रदेशमा कर्मचारी सरुवा गर्ने, खुला प्रतिस्पर्धाबाट समायोजनमा गएका कर्मचारीलाई पुनः सङ्घमा आउने सक्ने समेत व्यवस्था गरिएको छ ।
मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले अध्यादेशमार्फत कर्मचारीलाई थप सेवासुविधा हुने गरी समायोजन गर्न थालिएकाले सरकारले पठाएको ठाउँमा कर्मचारी जाने बताए । ‘पहिलेको ऐनभन्दा अध्यादेशले कर्मचारीलाई केही सुविधा थप गरेको छ’, उनले भने, ‘थप गरिएको सेवा सुविधाअनुसार कर्मचारी समायोजन   हुन्छन् ।’ कर्मचारी समायोजन नहुँदा प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव रहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक सुरु

रासस
नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा स्थानीय  जात्राको रौनक शुरु भएको छ । 
बैतडीसहित दार्चुला, डडेल्धुरा, बाजुरा, डोटी लगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै जात्राको रौनक शुरु भएको हो । कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । कात्तिक शुक्ल पक्ष शुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिर, बाह्र ज्योतीर्लिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती  मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुचौर्डी्स्थित त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ । 
दार्चुलामा रहेको नेपालकै सातौँ धामको रूपमा रहेको मालिकार्जुन धाम, लटिनाथलगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ । डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्लपक्षमै मेला लाग्ने गर्दछ । त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ भने मेलौली भगवती, भवानी मन्दिर, उग्रतारा लगायतका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कात्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ । परापूर्वकाल देखि नै कात्तिक शुक्ल पक्षमा देवीदेवताको पूजाआजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडका विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको आचार्य लेखकको भनाइ छ । 
डोटीको दिलिपेश्वरमा कात्तिक शुक्ल  चतुदर्शीका दिन मेला लाग्ने गरेको छ । डोटीको शैलेश्वरी र डडेल्धुराको    उग्रतारामा पूर्णिमाको दिन मेला लाग्ने गरेको छ । यस्तै डोटीको देहिमाण्डौं लगायतका क्षेत्रमा साही दिन जात्रा      हुन्छ । 
यो समयमा लाग्ने जात्रामा टाढाटाढाका श्रद्धालुहरुसमेत आउने गरेको गङ्गासागर जोशीले बताए । भाइटीकाको दिनदेखि शुरु भई करीब १५ दिनसम्म विभिन्न ठाउँमा रहेका देवस्थलमा लाग्ने जात्राको ऐतिहासिक एवं धार्मिक महत्वका साथै यसपर्वलाई आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिन्छ । 
देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रीको बेला मन्दिरमा पूजाआजा हुने भए पनि कात्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन् । स्थानीय भाषामा गुटे नवरात्र भनेर कात्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिनुभयो । जिल्लामा रहेका विभिन्न मन्दिरमा रात्री जात्रा शुरु भएसँगै जिल्लाका ग्रामीण बस्ती दमाहा बाजाँले गुञ्जिएका छन् । सबै उमेर समूहका मानिसले विभिन्न तरिकाले दमाहा बजाउँदै नाँच्ने गर्दछन् । तर पछिल्लो समय जात्रामा विकृतिसमेत भित्रिएका छन् ।

नेपाली सेनाले निर्माण ग¥यो शौचालय र खानेपानी

गणेश मौनी/डोटी
कार्तिक २६
नेपाली सेनाले निःशुल्क रुपमा खानेपानी र शौचालय निमार्ण गरेको छ ।
डोटी स्थित सिलगढीमा तैनाथ रहेको श्री रुद्रध्वज गणले शिखर नगरपालीका वडा नम्बर २ स्थित सालमुनी देबी मन्दिर परिसरमा रहेको खानेपानी ट्याङ्की मर्मत रंग रोगन, परिसर संभार एवं रंग रोगन गर्नुका साथै करीब २ लाख बराबरको २ कोठे शौचालय समेत निःशुल्क रुपमा निमार्ण गरिएको रुद्रध्वज गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले बताए । उनले भने, ‘हामीले नितान्त रुपमा भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गरेर केही सहयोग पुयोग, केही सेवामुलक कार्य गर्न सकिन्छ की भन्ने उद्देश्यले निमार्ण गरेका हौँ ।’
डोटी जिल्लाको एक प्रसिद्ध धार्मिक स्थलको रुपमा चिर परिचित रहेको सालमुनी थानमा सिजनमा दैनिक १५२० वटा र अरु समयमा प्रायः दैनिक १०,१२ वटा बोकाको बलि दिईने गरिन्छ । नेपाली सेनाले मन्दिर वरपरको संरचना, खानेपानी र शौचालय निमार्णले भक्तजनहरुको पुजाआजामा सहयोग पुगेको सालमुनी क्षेत्र विकास समितिले जनाएको छ ।
यस अघि नेपाली सेनाले खानेपानी, बाटोनिमार्ण, मन्दिर परिसर सरसफाई, बजारक्षेत्र सरसफाई लगायतका सामाजिक कार्य गदै आएको छ ।

छोटो समाचार 

एमआरपीमा पाईदैन रिचार्ज

डोटीका ग्रामिण भेगहरुमा नेपाल टेलिकम र एनसेलका प्रिपेड रिर्चाज कार्डहरुको अधिकतम खुद्रा मूल्यमा  भन्दा पनि मनपरि रकम लिने गरेको पाइएको छ ।
जिल्ला सदरमुकामभन्दा बाहिर रहेका सबैजसो ग्रामिण भेगहरुमा व्यापारीहरुले अधिकतम खुद्रा मूल्यभन्दा १० देखि २० रुपैयाँसम्म बढी लिने गरेको प्रयोगकताहरुको गुनासो छ । बोगटान, जोरायल, पूर्वीचौकी, सायल, आदर्श बडीकेदार, शिखर लगायतका सडक यातायातको सुविधा पुगेका क्षेत्रहरुमा पनि अधिकतम खुद्रा मूल्य भन्दा बढी रुपैयाँ लिने    गरेका छन् ।
रिर्चाज कार्डहरुमा अधिकतम खुद्रा मूल्य प्रष्ट उल्लेख गरेको भएपनि व्यापारीहरुले नियम विपरित ग्राहकसँग बढी रकम असुल्ने  गरेका छन् । कुनै पनि सामानमा तोकिएको खुद्रा मूल्यमा उपभोक्ताले उपभोग गरुन्जेल–सम्मको लाग्ने सम्पूर्ण शुल्क समावेश गरिएको हुने भएपनि व्यापारीहरुले त्यस विपरीत कार्य गर्दा पनि यहाँको स्थानीय प्रशासनका तर्फबाट कुनै पहल नभएको जोरायलका स्थानीय दिपक कामीले बताए । 
स्थानीय प्रशासनले भने रिचार्ज कार्डमा तोकिएको अधिकतम् मुल्य भन्दा बढी मूल्य लिएको विषयमा अहिलेसम्म कसैले पनि उजुरी नगरेका कारण आफूहरुले केही गर्न नसकेको जनाएको छ ।  

खेल समाचार 

पुरुष भलिवल प्रतियोगिता पोखरामा

राष्ट्रिय पुरुष क्लब लिग भलिवल प्रतियोगिता पोखरामा हुने भएको छ । 
नेपाल भलिबल संघको आयोजनामा पुस १ देखि ७ गतेसम्म प्रतियोगिता हुने भएको छ । आइतबार भलिबल संघले पत्रकार सम्मेलन गरेर पहिलो पटक काठमाडौंबाहिर प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गरायो । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । 
गत वर्षको फागुनमा भएको एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागिता जनाएका १२ टिममध्ये शीर्ष ८ मा पर्न सफल टिमले उक्त लिगमा भाग     लिनेछन् । यो प्रतियोगिता गत जेठमा नै गर्ने संघले बताए पनि सो बेला एसियाडको बन्द प्रशिक्षणका कारण स्थगित भएको थियो ।
संघको वार्षिक कार्यक्रममध्ये क्लब लिगलाई पहिलो पटक काठमाडौंबाहिर गर्न लागेको हो । प्रतियोगितामा हरेक टिमले तीन जना विदेशी खेलाडीलाई खेलाउन पाउने नियम बनाएको छ । प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउने छन् । यस्तै चौथो हुनेले २५ हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीलाई ५/५ हजार रुपैयाँ नगद      पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा नयाँ बजार सामाजिक युथ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब (बुटवल), जावालाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ ।

पिसिएल ड्राफ्टमा सन्दिप–सोमपाल

 एजेन्सी
नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछाने र अलराउण्डर सोमपाल कामी पाकिस्तान सुपर लिग पीसीएल क्रिकेटको ड्राप्टमा परेका छन् । 
पीसीएलको अन्तिम ड्राफ्ट नोभेम्बर २० मा हुनेछ । ईस्लामाबादमा हिजो सार्बजनिक गरिएको सूचीमा सन्दिप गोल्ड र सोमपाल सिल्भर क्याटागोरीमा परेका हुन् । गोल्ड क्याटागोरीमा रहेका खेलाडीको न्युनतम पारिश्रमिक ५० हजार अमेरिकी डलर रहेको छ । सिल्भरमा रहने खेलाडीले भने न्युनतम २२ हजार अमेरिकी डलर पाउनेछन् ।
६ टोलीले प्रतिस्पर्धा गर्ने चौथो संस्करणको पाकिस्तान सुपर लिग आगामी फेब्रवरी १७ देखि मार्च १७ सम्म हुनेछ । हरेक टोलीले ३ प्लाटिनम, ३ डायमण्ड, ३ गोल्ड, ५ सिल्भर, २ ईमर्जिङ र मार्की गरी टोलीमा २० जनासम्म खेलाडी राख्न पाउनेछन् । ड्राफ्टमा एक टोलीले अधिकतम १२ लाख अमेरिकी डलर खर्च गर्न पाउने प्राबधान रहेको छ ।

चलचित्र/मनोरञ्जन 

‘तक्लु ब्युटी कन्टेस्ट’ आयोजना हुने

नेपाली चलचित्र ‘प्रेमलिला’ निर्माण पक्षले ‘तक्लु व्यूटी कन्टेष्ट’ आयोजना गर्ने भएको छ । 
माघ २५ प्रदर्शन मिति तय चलचित्र ‘प्रेमलीला’ को प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार फिल्म निर्माण युनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजना गर्न लागेको हो । नायिका तथा निर्माता दीपशिखा खड्काले बाहिरीभन्दा पनि भित्री सौन्दर्यलाई प्रोत्साहित गर्ने उद्देश्यले ब्युटी कन्टेस्टको आयोजना     गरेको बताइन् । ‘सुन्दरता आँखाको भ्रम हो, मानिसलाई उसको बाहिरी रुप हेरेर होइन मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ’ खड्काले भनिन् ‘महिलाका लागि कपाल हुँदा र नहुँदा उसको बाहिरी    सुन्दरतामा धेरै असर पर्छ, मैले पनि कपाल काट्दा मानिसले हेर्ने फरक नजरको महसुस गरेकी छु ।’ 
चलचित्रमा तक्लु बनेकी खड्काले थपिन् ‘मैले कपाल काट्दा महसुस गरेको अनुभव सबैसंग साट्नका लागि ‘तक्लु ब्युटी कन्टेस्ट’ आयोजना गर्न लागेको हौं ।’ प्रतियोगितामा महिलाहरू मात्र सहभागी हुन सक्ने खड्काले बताईन् । 
सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेजमा कपालबिनाको फोटो पोस्ट गर्न सकिन्छ ।  प्राप्त फोटोलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५० हजार  दोस्रो हुनेलाई रु २५, हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने  खड्काले जानकारी दिईन ।

मह जोडी सम्मानित

वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित भएका छन् । 
उपराष्ट्रपति नन्द बहादुर पुनले सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसरमा कलाकारद्वयलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको हो । “मह जोडी” को नामले चर्चित हाँस्य कलाकारद्वय श्रेष्ठ र आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका दिएका थिए ।
उपराष्ट्रपति पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उनीहरूले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएका योगदानको खुलेर प्रशंसा गरे । उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रूपमा चित्रण पनि गरे ।
२०४६ सालको संयुक्त जनआन्दोलनको नेतृत्व गणेशमान सिंहले गरेका थिए । २००७ सालको राजनीतिक परिवर्तनदेखि २०४६ सालको आन्दोलनसम्मको राजनीतिक लडाईमा निरन्तर लागेका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पु¥याएका योगदानको स्मरण गर्दै हरेक वर्ष उनको स्मृति दिवस मनाईन्छ ।

लेख 

ज्यान लेवा सडक ः दोषी को ?

रामहरी ओझा

हिन्दुहरुको दोश्रो ठुलो महान चाँडको रौनक सुरु भईसकेपछि कात्तिक १९ गते डोल्पा जिल्लाको सदरमुकाम दुनैबाट त्रिपुराकोट जादै गरेको भे १ च १६१० नं. को जीप दुर्घटना हुँदा १० जनाले अकालमै ज्यान गुमाउनु प¥यो । ६२ बर्षीय नरसिं कठायत देखि १२ बर्षीय याम रोकायाको एक चिहान भयो । ज्यान गुमाउनेहरुमा ६ जना २५ बर्षभन्दा मुनीका छन् । कलकलाउदो उमेरले धेरै सपना देखेको हुँदो हो तर ति सपनाहरु सवै कच्ची सडकमा आफ्नै चित्कारसंगै बिलिन भए । भरखरै ट्रयाक खोलेको उक्त बाटोमा भएको दुर्घटनाले जिल्लालाई सोकमग्न वनायो । मृत्यु हुनेमा तिहारका लागि सरसामान खरीद गर्ने र तिहारमा आफ्नो घर जानेहरु परे । 
त्यसै पनि दुर्घटना कति पीडादायी हुन्छ, त्यसको व्याख्या गर्न सकिदैन । त्यसैमा देश दिपावली मनाउने तयारी गरिरहेका बेला भएको दुर्घटनाले परिवार र आफन्तलाई कति पीडा दियो होला ! कामको सिलसिलामा बाहिर रहेका परिवारको सदस्य ‘दिपावली मनाउन घर आउँदैछ’ भनेर कुरी बसेका आफन्तहरुले अस्पतालमा गएर लास बुझ्नु प¥यो भने, दिपावलीमा घर झिलिमिली गर्न शहरबाट ‘लाईट’ ल्याएर आउन गएको छोरोको ‘संसारै अध्याँरो भयो’ भन्ने खवर सुनेपछि त्यो परिवारको अवस्था के होला ! अनुमान गर्न गा¥हो छ ।
यो घटनाले चार बर्ष पहिले डोटीको जोरायल गाउँपालिका–२ कठ्पत्तेमा भएको दुर्घटनामा परी मेरुदण्ड पक्षघात भएकी कल्पना बिष्ट र कृष्णा शाहीको याद आयो । केही दिन अघि मात्रै कल्पनासंग फोनमा कुराकानी भएको थियो । दशैंको भोलीपल्ट कच्ची सडकमा क्षमता भन्दा बढी यात्रु बोकेको बस दुर्घटना हुँदा २९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए । घाईते कल्पनाले आफ्नो श्रीमान् र तीन बर्षीया छोरी गुमाईन त्यो घटनामा । अनि, आफु कहिल्लै आफ्नो खुट्टामा उभिन नसक्ने गरी घाईते भईन । त्यतिबेला २५ बर्षको उमेर मात्रै थियो कल्पनाको जति बेला उनले चालकको सानो गल्ती र बस मालिकको लोभले आफ्नो सिन्दुर, मातृत्वको र सपाङ्गता गुमाईन । माईतीमा दशैंको टिका लगाएर आफ्नो घरमा टिका थाप्ने साईतमा थिईन  उनी । त्यही बेला यस्तो दुर्घटना भयो । 
यस्तै पीडामा छिन् उक्त दुर्घटनामा घाईते भएकी अर्की महिला कृष्णा शाही । छोराछोरीलाई तराईमै छोडेर दशैं मनाउन श्रीमान्संगै जोरायल आएकी कृष्णाले श्रीमान् त कहिल्लै नफर्किने गरी बाटोमै छोड्नु प¥यो, साथसाथै उनी पनि कल्पना जस्तै मेरुदण्ड पक्षघातले आफ्नो स्याहार आफै गर्न नसक्ने भईन । उनलाई बाँकी जीवन जीउनका लागि सहारा चाहिने भयो । 
कल्पना र कृष्णा त उदाहरण मात्रै हुन, सवारी दुर्घटनामा परी अंगभंग भएका व्यक्तिहरुको लेखा जोखा सायद राज्यसंग पनि छैन् होला । ज्यान गुमाउनेहरुका परिवारले अभिभावक गुमाउँछ, श्रीमती बिधवा हुन्छिन्, श्रीमान् बिदुर हुन्छन्, छोराछोरीहरु टुहुरा हुन्छन्, आमाको काख रित्तिन्छ । बिस्तार बिर्सिने प्रयास गर्छन आफन्त गुमाउनेहरु, नबिर्सेर सुख पनि छैन । तर, अंगभंग भएर अर्काको सहारामा बाँच्नु पर्नेहरुले न त आफन्तलाई बिर्सिन सक्छन् न आफ्नो पीडालाई । जीवनभरी त्यो पीडामा छट्पटिरहनु बाहेक अर्को कुनै विकल्प हुँदैन उनीहरुका लागि । हो, यस्तै पीडा दिईरहेको छ सवारी दुर्घटनाले जनतालाई ।  
पुरै देश सडकमय हुँदै गर्दा दुर्घटनाहरु पनि त्यति नै बढ्दै गएका छन् । सडक दुर्घटना नभएको कुनै दिन छैन । पक्की सडकमा भन्दा कच्ची सडकमा बढी दुर्घटना भईरहेका छन् । कच्ची बाटो, चर्को भाडा दर, क्षमता भन्दा बढी यात्रुहरु, त्यसमाथी सामान गर्दा गर्दै जनताले दिनहुँ जसो जोखिमपूर्ण यात्रा त गरिरहेका छन नै, पटक पटक हुने यस्ता दुर्घटनामा अनाहकमा ज्यान गुमाईर–हेका छन र अंगभंग भईरहेका छन । पिडामाथी पिडा थपिदै गईरहेको छ । यस्ता दुर्घटनाका जिम्मेवार को हुन भनेर प्रश्न गर्दा कसैले पनि उत्तर दिँदैन । 
सडक निर्माण गर्नु आफैमा राम्रो पक्ष हो । अन्य पूर्वाधार निर्माणको मुख्य आधार र ‘ह्युमन मोविलिटी’ को प्रमुख माध्यम सडक यातायत हो । त्यसकारण सडक निर्माण हुनु पर्छ, त्यसमा कुनै विबाद नहोला । तर, जनताले तिरेको कर तिनै जनताको ज्यान लिने गरि सडक निर्माणका लगाईएको छ । जसको मन जहाँ लाग्छ, उसले उतै डाँडो भत्काउँछ सडक बनाउने नाममा । कसैलाई परवाह छैन भू–क्षय होस् कि, वातावरणीय सन्तुलन बिग्रियोस् कि, सडक दुर्घटना भएर मानवीय क्षति होस् कि, जे पो होस्, निर्वाध रुपमा निरन्तर सडक बनाउने नाममा डाँडा भत्काउने क्रम जारी छ, मेसिनको प्रयोग गरि कमिसन कुम्ल्याउने क्रम जारी छ । 
यसको दोषी को हो ? पहिलो दोषी बिना कुनै योजना सडकमा बजेट बिनियोजन गर्ने सरकारी संयन्त्र हो । ‘जनताको माग’ भन्दै आफु र आफ्ना कार्यकर्ताहरु मोटाउने गरी कानुन बिपरित बजेट बिनियोजन गर्नु मुख्य अपराध हो । सडक निर्माणका लागि निश्चित प्रक्रिया छ, बिधि छ र मापदण्ड छ । सस्तो लोकप्रियता कमाउनका लागि वा आफ्नो भोट सुरक्षित गर्नका लागि बिगतमा सर्वदलीय संयन्त्रका नाममा बजेटको ठुलो हिस्सा सडकमा हाल्न लगाईयो । आफ्ना कार्यकर्ताहरुलाई उपभोक्ता समितिको अध्यक्ष बनाईयो, कमिसनको खेल चलाईयो । सडक काट्नका लागि नियम बिपरित मेसिनको प्रयोग गरियो । मेसिन चालकले जता जता सजिलो देख्यो उतै उतै सडक काट्दै गयो र सडकको अवस्था यस्तो भयो । त्यही सिको अहिलेका जनप्रतिनिधिहरुले पनि गर्दैछन् । सडक काट्ने नाममा हिजो ‘माण’ चाखेकाहरुमध्येका अधिकांश राजनीतिज्ञ आज जनप्रतिनिधि भएका छन् । उनीहरुलाई कसरी कमिसन आउँछ भन्ने जानकारी छ, जानकारी नभएकाहरुलाई सिकाउने उनीहरुका “माऊ” नेताहरु छन् ।
सडकका लागि सम्भाव्यता अध्ययन गरिएन, बातावरणीय प्रभाव मुल्याङ्कन गरिएन । न त्यो सडकको भबिश्यका बारेमा सोचियो । सोचियो त केवल त्यो सडकबाट कति कमिसन आउँदा, कार्यकर्ताहरुलाई कति फाईदा हुन्छ ? 
दोश्रो दोषी प्राबिधिक संयन्त्र हो । त्यो सडक कत्तिको दिगो हुन सक्छ, प्राबिधिक रुपमा त्यो सडक गाडी गुडाउन उपयुक्त हुन्छ कि हुँदैन, त्यो सडकमा बनाईएका मोडहरु उपयुक्त छन कि छैनन् भन्ने बिषयमा प्राबिधिकले हेर्नु पर्छ कि पर्दैन ? प्रत्येक योजनामा कमिसन खाने अनि गुणस्तरको वास्ता नगरि योजना पास गर्ने प्राबिधिकहरु अपराधी हुन कि होइनन्, यिनीहरुमाथी ज्यान सम्वन्धि मुद्धा चलाउन पाईन्छ कि पाईदैन ? कमिसनबाट आएको रकमले आलिसान महलको सपना देखेर जनताको ज्यान जाने गरि यस्ता योजना पास गर्ने प्राविधिकलाई अपराधी भन्ने कि नभन्ने ? यस्ता सडकहरु पास गर्न दवाव दिने नेताहरुले पनि छन् । ति नेताहरुलाई कारवाही हुने कि नहुने ? यिनिहरुमाथी मुद्धा चलाउन पाईने कि नपाईने ? 
तेश्रो दोषी स्थानीय प्रशासन हो । मापदण्ड नपुगेको सडकमा, अनुमति नदिइएका सडकमा क्षमता भन्दा बढी यात्रुहरु बोकेर जाने ईजाजत कसले दिएको हो ? स्थानीय प्रशासनले नियन्त्रण गर्नु पर्छ कि पर्दैन ? एउटा जीपको पाँच सिट स्वीकृत छ भन्ने थाह हुँदाहुँदै १४ जना बोक्ने बैधानिकता कसले दिएको हो ? तिनलाई दोषी मान्ने कि नमान्ने ? तिनीहरु उपर छानबिन गरेर कारवाहीको दायरामा ल्याउने कि नल्याउने ? 
दुर्घटना भईसकेपछि त्यसको सम्पूर्ण दोषी चालकलाई मानिन्छ । निश्चित रुपमा चालक दोषी हो तर चालकलाई मात्रै दोष दिएर उम्कने हो भने के चालक आफैले हो त सडक काटेको ? या गाडी धनी आफैले हो सडक काटेको ? यस बिषयमा खोजी हुनु जरुरी छ । यस्ता सडक दुर्घटनाको छानबिन गर्नु जरुरी छ, जीप खसेको ठाउँ फित्ताले नापेर मात्रै छानविन हुँदैन, अनुसन्धान हुँदैन । सडकमा बजेट छुट्याउदा त्यसको वातावरणीय प्रभाव मुल्याङ्कन भएको छ कि छैन, ‘डेटियल ईस्टिमेट’ बनेको छ कि छैन भन्ने कुरादेखि छानविन सुरु हुनु पर्छ । सडक बनाईसकेपछि प्राबिधिक रुपमा त्यो सडक उपयुक्त छ कि छैन भन्ने कुराको पनि छानविन हुनु जरुरी छ । यदि प्राविधिक रुपमा त्यो सडक मिलेको छैन भने कुन प्राविधिकले हो त्यो सडक पास गरेको ? त्यसमाथी कारवाही हुनु पर्छ । छानबिनका क्रममा सडकका लागि बजेट छुट्याउने देखि गाडी चलाउने अनुमति दिने सवैको खोजी गरिनु पर्छ । ति दोषीहरुबाट दुर्घटनामा परि ज्यान गुमाउनेहरु र घाईतेहरुलाई क्षतिपूर्ति भर्न लगाउनु     पर्छ । 
गुणस्तरहिन विकास र भ्रष्टाचारमा बढी हात प्राविधिक क्षेत्रको छ । त्यसकारण प्राविधिक फाँटलाई नीजि क्षेत्रको जिम्मा लगाईनु पर्छ । कुनै पनि सरकारी कार्यालयमा प्राविधिक बस्न नपाईने व्यवस्था गरिनु पर्छ ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. छोरीलाई दाईजोको रुपमा चिउरीको बोट दिने चलन कुन जातीमा रहेको छ ? —चेपाङ 
(चिउरीको बियाँ पेलेर घिउ निकाल्न सकिने र चिउरीको बियाँ माछा मार्नमा पनि काम लाग्ने भएको हुँदा छोरीले जीवनभरी माछामासु र घिउ खान पाउछे भन्ने बिश्वासका साथ छोरीलाई चिउरीको बोट दाईजो दिने चलन छ ।)
२.‘कुनै गतिशील बस्तुमा उत्पन्न हुने प्रवेग त्यस वस्तुमा लगाईएको बलसंग समानुपातिक हुन्छ भने पिण्डसंग व्युत्क्रमानुपातिक हुन्छ ।’ यसले न्युटनको गति सम्वन्धी कुन नियमलाई बुझाउँछ ? 
— दोश्रो नियम 
३. ‘घडीलाई नहेर, यसले जे गर्छ त्यही गर । निरन्तर अघि बढ ।’ भन्ने भनाई कसको हो ? 
— साम लेभेन्सन, हास्य अभिनेता 
४. बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्वारा वि.सं. २०७५ कात्तिकमा प्रदान गरिएको सुप्रबिध स्मृति नवीकर–णीय उर्जा पुरस्कारबाट सम्मानित हुने संस्था कुन कुन हुन ? 
— ललितपुरको नेपाल यन्त्रशाला ईनर्जी, स्याङ्जाको खिलुङ कालिका एग्रो फर्म र नवलप–रासीको एमके पेपर मिल्स प्रा.लि. 
५. सन २०१८ मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता हुन सफल नेपाली कलाकारद्वारा गाईएको गीत कुन बिषयसंग सम्वन्धित छ ? — वातावरण संरक्षण÷प्रवद्र्धन 
(उक्त गीत राष्ट्रकवि माधव धिमिरे र अन्य प्रतिस्ठित कलाकारको स्वरमा रेकर्ड भएको हो) 
६. नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानदेखि हवलदारसम्मले पाखुरामा लगाउदै आएको दज्र्यानी चिन्ह सम्वन्धमा के व्यवस्था गरिएको छ ?  — काँधमा लगाउने 
(पाखुरामा लगाउँदै आएको दज्र्यानी चिन्ह भिडभाडमा खस्न सक्ने र चिन्ह अड्काउन प्रयोग गरिने पिनले घाउ चोट हुन सक्ने भएकाले अन्य प्रहरी अधिकृत सरह हवलदार र जवालनले पनि काँधमा चिन्ह लगाउने व्यवस्था गरिएको छ) 
७. सरकारले २०७५ साल कात्तिकमा कति ओटा नयाँ पर्यटकीय गन्तव्य छनौट गरी सार्वजनिक गरेको छ ?   — एक सय 
८. मानवअधिकारबादी एवं स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन कहिले भयो ? 
— २०७५ साल कात्तिक १८ गते 
९. वातावरणीय स्वच्छता सूचकाङ्क–२०१८ मा पहिलो पाँच स्थानमा रहन सफल राष्ट्र कुन कुन हुन ? 
– क्रमशः स्वीट्जरल्याण्ड, फ्रान्स, डेनमार्क, माल्टा र स्वीडेन 
(१८० राष्ट्रको अध्ययन गरी तयार पारिएको सो प्रतिवेदन अनुसार नेपाल १७६ औं, भारत १७७ औं कङ्गो १७८ औं, बंगलादेश १७९ औं र बुरुण्डी १८० औं स्थानमा रहेका छन्) 
१०. अमेरिकी अन्यरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्ययनका लागि पठाईएको अन्तरिक्ष यान कुन हो ?  — क्यासिनी
११. नेपालमा सर्वप्रथम टेलिप्रम्टर प्रबिधिको प्रयोग कहिले गरियो ?  — बि.सं. २०७५ जेठ १६ गते 
१२. नेपालमा नयाँ बर्षको पहिलो सातालाई ‘बन्यजन्तु सप्ताह’ को रुपमा कहिलेदेखि मनाउँदै आईएको छ ?   — वि.सं. २०५३ 
१३. सार्क क्षेत्रको सवैभन्दा ठुलो ताल कुन हो ?   —चिल्का ताल, भारत 
(१४. कुनै बस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनको कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ? 
स्थिति शक्ति (तन्किएको रवरमा जम्मा भएको शिक्त, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दवाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात पोटेन्सियल पावरका उदाहरण हुन् ।)
१५. नेटुवा जातिको बसोबास कहाँ रहेको छ ?    — कपिलबस्तुको शुद्धोधन 
(२०६८ को जनगणना अनुसार कपिलबस्तुमा ३०० को हाराहारीमा नेटुवा जातिको बसोबास रहेको    छ, यो जातिका मानिसले आफुलाई अल्पसंख्यक जातिको सूचीमा राख्न सरकारसंग माग गर्दै आएका छन् ।)
१६. पहिलो पुरुष अन्तरिक्ष पर्यटक डेनिस टिटो हुन भने पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन ? 
— अनुसेह अन्सारी 
१७. उत्तर कोरियाले जापानको आकाशमाथी व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ? 
— सन २०१७ सेप्टेम्वर १५ 
१८. पहिलो बिश्व संस्कृत सम्मेलन कहिले र कहाँ भएको हो ?  
— सन १९७२ मार्च २६–३१, नयाँ दिल्ली 
१९. बिश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?  — रुस 
२०. सार्कको अठारौं शिखर सम्मेलनमा सवै आठ सदस्य राष्ट्रले औपचारिक सम्झौता गरी सहमति   गरेको बिषय कुन हो ?   — जलबिद्युत उर्जा  
२१. नेपालको ईतिहासमै पहिलो पटक प्याराग्लाईडिङ एक्युरेसी बल्र्डकफ प्रतियोगिता २०१८ कहाँ सम्पन्न भयो ?    — स्याङ्जा, २०७५ कात्तिक १५–१८
(बि.सं. २०७५ कात्तिक १५–१८ सम्म चलेको प्रतियोगितामा दक्षिण कोरिया पहिलो स्थानमा रहन सफल भएको छ । दक्षिण कोरियाले एकल पुरुष, महिला तथा समूहगत प्रतियोगितामा बाजी मारेको छ । प्रतियोगितामा नेपाल, स्लोभानिया, चीन, क्यानडा, नेदरल्याण्डस्, भारत, ईन्डोनेसिया, साउदी अरेविया, सिंगापुरका ५३ पुरुष र १७ महिला गरी ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।)

साहित्य/सिर्जना 

मान्छेदेखि सावधान 

विश्व मानचित्रमा
एउटा यस्तो देश छ ।
जहाँ कुकुरहरु टोक्दैनन्
अकारण

बरु मान्छेहरुले मान्छेलाई
टोलटोलमा चोकचोकमा
ल्याएर टोक्छन् पालैपालो
अनि तमासा फैलाउछन्
सारा जग लोकलोकमा

यो देखेर कुकुरहरु बेखुशी छन्
भुक्दै छन् मान्छेहरुको खिलाफमा
आज उनीहरुले
एउटा साइनबोर्ड लेखेर
झुण्डाएका छन्
जसमा लेखिएको छ
“मान्छे देखि सावधान”
– जनक कार्की

एउटा गाईने 

उ हिड्छ शब्दहरुमा
फुकाउँछ परदेशीएकाहरु माझ ।
भक्कानिएर आउँछ आफ्नै देश,
चाहरी हिड्छ पाखापखेरा ।
डुली हिड्छ गाउँबेसी सुन्दै–सुनाउँदै
सुख–दुःखका गीतहरु ।
एउटा गाइने........

देश दुख्दा छट्पटिन्छ उ,
मल्हम लगाउँदै हिड्छ घाउहरुमा ।
मान्छेहरु अन्धकारमा रुमल्लिँदा,
उजेली छर्दै हिड्छ गाउँहरुमा ।
एउटा समर यात्री
यो देशको, यो देशको
अखण्डताको लागी
एउटा सच्चा सपूत,
यो देश को
एउटा गाइने..........

एउटा गाइने हिड्छ देशको गीत,
संगाली हिड्छ सारा देश आफ्नो छातीमा ।
उसका छिमेक परदेशमा रमाउँदै गर्दा
उ छिमेककै गाउँमा पुछ्दै हिड्छ आँशुहरु,
बुढ्यौलीका योद्धाहरुका
उ हिड्छ शब्दहरुमा ।।
– बिष्णु कुमार बस्नेत

गजल 

लु खेलु यता आउ चरी कति राम्री
चिटिक्क अहो सुन्दरी कति राम्री
ति रङ्गिन मोहक सबैतिर झलझल
सजाइ पखेटा भरी कति राम्री
कुरा अति प्यारो सुनाइन चिरबिर
छ गुञ्जन नानाथरी कति राम्री
फुरुक्क हुदै फुर्र फुर्र उडेको
बतास चलाइ सरसरी कति राम्री
बसेछ नि हातमा मुलायम कस्तो
खुशी कि तिमी हौ परी कति राम्री
ई. राकेश कार्की 

No comments:

Post a Comment