Tuesday, November 6, 2018

बिम्ब साप्ताहिक, २०७५ साल कात्तिक २० गते मंगलबार

सूचनाको हक प्रयोग गरी सम्वन्धित र सार्वजनिक सरोकारका सूचना मागौं । 
सूचनाको हक नागरिकको मौलिक अधिकार हो । 
प्रत्येक नागरिकलाई सार्वजनिक निकायको सूचना माग्ने र पाउने अधिकार छ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

द्वन्द्व पीडितहरु भन्छन् ः हामीले कहिले न्याय पाउने ?

रामहरी ओझा/डोटी
कार्तिक १८
कैलाली सुख्खड्की सर्मिला थारुका श्रीमान् जीतवबहादुर थारुको २०५८ साल फागुन १९ गते सुरक्षाकर्मीले माओवादी भएको आरोपमा हत्या गरे । १६ बर्षको उमेरमै जीवन साथी गुमाउन पुगेकी सर्मिला आफ्नो श्रीमान्का हत्यारालाई सजाय होस् भन्ने चाहान्छिन् । तर अहिलेसम्म न्याय पाएकी छैनन् । 
कञ्चनपुर बागफाटाकी चन्द्रा खडायतको सिन्दुर १९ बर्षको उमेरमै पुछियो । उनका श्रीमान् खगेन्द्र खडायतलाई तत्कालीन नेकपा माओवादीले २०५८ साल माघ १५ गते  मा¥यो । सुराकीको आरोपमा घरबाटै अपहरण गरी अलि पर लगेर उनको गोली हानी हत्या गरियो । उनी पनि राज्यसंग न्यायको भिख माग्दै छिन्, तर पाईएकी छैनन् । 
सर्मिला र चन्द्रा जस्तै कञ्चनपुरकी सिता बोहरा, डोटीकी नारुली केसी, डडेल्धुराकी गिता सार्कीले पनि द्वन्द्वमा आफन्त गुमाइन । उनीहरुले न्याय पाउनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको पनि एक बर्षभन्दा माथी भयो तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन । 
सुदूरपश्चिम प्रदेशका द्वन्द्व पीडित महिलाहरुले आफुहरुलाई छिटो न्याय चाहिएको बताए । “न्यायको पर्खाई, कहिलेसम्म ?” भन्ने प्रश्न सहित नागरिक आवाज नामक एक संस्थाले डोटीको दिपायलमा आयोजना गरेको प्रदेशस्तरीय महिला शान्ति सम्वाद कार्यक्रममा सहभागि द्वन्द्व पीडित महिलाहरुले सो कुरा बताएका हुन् । कञ्चनपुरकी सिता बोहरा भन्छिन् ‘हामीले कलिलै उमेरमा अभिभावक गुमाएर जीउदो शहिद जस्तै बाँचिरहेका छौं, राज्यले हामीलाई सहयोग गर्नुको सट्टा उल्टो खिल्ली उडाउने काम गरेको छ ।’ 
कैलालीकी कृति चौधरी भन्छिन् ‘द्वन्द्वबाट सवैभन्दा बढी महिलाहरु पीडित भएका छन् तर ति महिलाहरुको आवाज सरकारले सुन्दैन् ।’ उनले द्वन्द्वका बेला ज्यान गुमाएका व्यक्तिहरुलाई शहिद घोषणा गर्नु पर्ने माग      राखिन् । उनी भन्छिन् ‘यौन हिंसामा परेका महिलाहरुका आफ्नै समस्या छन् तर ति समस्या भन्नका लागि राज्यको बिश्वासिलो निकायनै छैन ।’ 
मृतकका दुई बालबालिका–लाई मात्रै सरकारले छात्रबृत्ति दिने गरेको प्रति आपत्ति जनाउँदै द्वन्द्व पीडित राष्ट्रिय सञ्जालकी अध्यक्ष सोनिया चौधरी भन्छिन् ‘अरु बच्चाहरु के हामीले खोलामा लगेर बगाईदिनु पर्ने हो ?’       परिवारको अभिभावकको मृत्यु भईसकेपछि १८ बर्षसम्म मात्रै पढाउँछु, दुई बच्चालाई मात्रै पढ्न सहयोग गर्छु भन्नुले आफुहरुमाथी थप अन्याय भएको उनको भनाई छ । उनी थप्छिन् ‘कि त सरकारले पहिले नै दुई सन्तान मात्रै जन्माउन पाउने  गरी कानुन वनाएको भए हुन्थ्यो, कि त दुई बच्चा मात्रै पढाउ अरु नपढाउ भनेर हामीलाई भनिदिएको भए हुन्थ्यो ।’ 
द्वन्द्व पीडित परिवारलाई निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउनु पर्ने, कर छुटको व्यवस्था गर्नु पर्ने, सवै निकायमा मान्य हुने परिचय पत्र प्रदान गर्नु पर्ने, द्वन्द्वका क्रममा मृत्यु भएकाहरुलाई शहिद् घोषणा गर्नु पर्ने, अङ्गभङ्ग भएकाहरुको आजीवन गास, बास कपासको व्यवस्था गर्नु पर्ने, बेपत्ता व्यक्तिहरुको तत्काल खोजी गर्नु पर्ने, राज्यका हरेक तहमा आरक्षणको व्यवस्था गर्नु पर्ने माग द्वन्द्व पीडितहरुको रहेको छ । यस्तै द्वन्द्व पीडितहरुले सरकारले छात्रबृत्तिमा लाएको उमेरको हद् तत्काल हटाउनु पर्ने र मृतकका सवै बालबालिकाहरुलाई पढाउने व्यवस्था गर्नु पर्ने माग राखे । 
उनीहरुले सत्य निरुपण तथा मेल मिलाप आयोगले पनि केही काम नगरेको आरोप लगाएका छन् । “आयोग पनि  राजनीतिक दलका कार्यकर्ता पाल्ने ठाउँ मात्रै बनेको छ’ द्वन्द्व पीडित राष्ट्रिय सञ्जालकी अध्यक्ष सोनीया चौधरी भन्छिन् ‘हामीलाई छिटो छरितो न्याय चाहिएको हो तर त्यो आयोगले न्याय दिन ढिलो गर्दै झन अन्याय गरिरहेको छ ।’ 
आफुहरु राज्यबाट पनि र समाजबाट पनि अपहेलित भईरहरेको द्वन्द्व पीडित महिलाहरुको गुनासो रहेको छ । उनीहरु भन्छन् ‘हाम्रो पीडाको खिल्ली उडाउने काम मात्रै भएको छ, आश्वासन बाहेक अरु केही पनि हामीलाई पाईएको छैन ।’
आयोग भन्छ ः काम भईरहेको छ
द्वन्द्व पीडित महिलाहरुले न्यायको माग गर्दा सत्य निरुपण तथा मेलमिलाप आयोगका प्रतिनिधिहरुले भने आयोगले आफ्नो काम गरिहेको जानकारी दिए । 
‘डोटी जिल्लामा परेका एक हजार उजुरीहरुमध्ये हामीले अहिलेसम्म करीव चार सय छानविन गरिसकेका छौं’ आयोगका बिज्ञ सदस्य मेरिना श्रेष्ठले भनिन् ‘घटनाको प्रकृति अनुसार उजुरीहरुको प्राथमिकता निर्धारण गरि छानविन भईरहेको छ ।’ उनले थपिन् ‘सुरुका दिनहरुमा कर्मचारीहरु नै नभएका कारण समस्या भयो, चिठ्ठी पत्र दर्ता चलानी गर्ने काम समेत हामी बिज्ञहरु आफैले गर्नु प¥यो ।’ अझै कर्मचारीहरु आवश्यक मात्रामा नभएको उनको भनाई छ । 
आयोगका अर्का बिज्ञ सदस्य शंकरदीप मडै भन्छन् ‘वास्तविक द्वन्द्व पीडितहरु राज्यबाट न्याय पाउने कुरामा बिश्वस्त हुन सकेका छैनन् ।’ आयोगमा परेका उजुरीहरुमा चाहिने सूचनाहरु उजुरीकर्ताले उल्लेख गर्न नसकेको बताउँदै मडैले त्यस्ता व्यक्तिहरुलाई फेरी बोलाएर उनीहरुको बयानका आधारमा उजुरीको छानविन गर्नु पर्ने अवस्था रहेको बताए । ‘आयोगले त आफ्नो काम गरिरहेको छ तर राज्यका अन्य निकायहरुले आयोगलाई टेरेको छैन’ मडै भन्छन् ‘आयोगले सिफारिस गरेका उजुरीहरुमा किन राज्यले छिट्टै कारवाही गर्दैन ?’ उनले स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरि द्वन्द्व पीडितलाई स्थानीय तहबाटै न्याय दिलाउनु पर्ने बिचार व्यक्त गरे । अव सधैंभरी केन्द्र सरकारकाको मुख ताकेर मात्रै बस्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने मडैको भनाई छ ।   

सम्पादकीय 

ज्यान लेवा सडक निर्माणका दोषी को हुन ?

डोटीका कच्ची सडकहरु जनताका ज्यान लिईरहेका छन । कच्ची बाटो, चर्को भाडा दर, क्षमता भन्दा बढी यात्रुहरु, त्यसमाथी सामान गर्दा गर्दै जनताले दिनहुँ जसो जोखिमपूर्ण यात्रा त गरिरहेका छन नै, पटक पटक हुने दुर्घटनामा अनाहकमा ज्यान गुमाईरहेका छन र अंगभंग भईरहेका छन । पिडामाथी पिडा थपिदै गईरहेको छ । यस्ता दुर्घटनाका जिम्मेवार को हुन भनेर प्रश्न गर्दा कसैले पनि उत्तर दिँदैन । 
जनताले तिरेको कर तिनै जनताको ज्यान लिने गरि सडक निर्माणका लगाईएको छ । को हो दोषी ? पहिलो दोषी बिना कुनै योजना सडकमा बजेट बिनियोजन गर्ने सरकारी संयन्त्र हो । राजनीतिक नेताहरुको दवावमा यसरी कानुन बिपरित बजेट बिनियोजन गर्नु मुख्य अपराध हो । सडक निर्माणका लागि निश्चित प्रक्रिया छ, बिधि छ र मापदण्ड छ । सस्तो लोकप्रियता कमाउनका लागि वा आफ्नो भोट सुरक्षित गर्नका लागि बिगतमा सर्वदलीय संयन्त्रका नाममा बजेटको ठुलो हिस्सा सडकमा हाल्न लगाईयो । आफ्ना कार्यकर्ताहरुलाई उपभोक्ता समितिको अध्यक्ष बनाईयो, कमिसनको खेल चलाईयो । सडक काट्नका लागि नियम बिपरित मेसिनको प्रयोग गरियो । मेसिन चालकले जता जता सजिलो देख्यो उतै उतै सडक काट्दै गयो र सडकको अवस्था यस्तो   भयो । 
सडकका लागि सम्भाव्यता अध्ययन गरिएन, बातावरणीय प्रभाव मुल्याङ्कन गरिएन । न त्यो सडकको भबिश्यका बारेमा सोचियो । सोचियो त केवल त्यो सडकबाट कति कमिसन आउँदा, कार्यकर्ताहरुलाई कति फाईदा हुन्छ । 
दोश्रो दोषी प्राबिधिक संयन्त्र हो । त्यो सडक कत्तिको दिगो हुन सक्छ, प्राबिधिक रुपमा त्यो सडक गाडी गुडाउन उपयुक्त हुन्छ कि हुँदैन, त्यो सडकमा बनाईएका मोडहरु उपयुक्त छन कि छैनन् भन्ने बिषयमा प्राबिधिकले हेर्नु पर्छ कि पर्दैन ? प्रत्येक योजनामा कमिसन खाने अनि गुणस्तरको वास्ता नगरि योजना पास गर्ने प्राबिधिकहरु अपराधी हुन कि होइनन्, यिनीहरुमाथी ज्यान सम्वन्धि मुद्धा चलाउन पाईन्छ कि पाईदैन ? आलिसान महलको सपनामा जनताको ज्यान जाने गरि यस्ता योजना पास गर्ने दवाव पनि यिनै नेताहरुले दिन्छन् । ति नेताहरुलाई कारवाही हुने कि नहुने ? यिनिहरुमाथी मुद्धा चलाउन पाईने कि नपाईने ? 
तेश्रो दोषी स्थानीय प्रशासन हो । मापदण्ड नपुगेको सडकमा, अनुमति नदिइएका सडकमा अनुमति भन्दा बढी यात्रुहरु बोकेर जाने ईजाजत कसले दिएको हो ? स्थानीय प्रशासनले नियन्त्रण गर्नु पर्छ कि पर्दैन ? पाँच सिट स्वीकृत छ भन्ने थाह हुँदाहुँदै १४ जना बोक्ने बैधानिकता कसले दिएको हो ? तिनलाई दोषी मान्ने कि नमान्ने ? तिनीहरु उपर छानबिन गरेर कारवाहीको दायरामा ल्याउने कि नल्याउने ? 
सवै कुरा चालकलाई मात्रै दोष दिएर उम्कने हो भने के चालक आफैले हो त सडक काटेको ? या गाडी धनी आफैले हो सडक काटेको ? यदि हिम्मत भए यस बिषयमा खोजी हुनु जरुरी छ । भरखरै बासुदेवीमा चार जनाको ज्यान जाने गरि भएको सडक दुर्घटनाको छानबिन गर्नु जरुरी छ । छानबिनका क्रममा सडकका लागि बजेट छुट्याउने देखि गाडी चलाउने अनुमति दिने सवैको खोजी गरिनु पर्छ । ति दोषीहरुबाट दुर्घटनामा परि ज्यान गुमाउनेहरु र घाईतेहरुलाई क्षतिपूर्ति भर्न लगाउनु पर्छ । 
यस्ता सडकहरुको स्तरोन्नति नभएसम्म ग्रामिण कच्ची सडकमा गाडी चलाउन तत्काल बन्द गरियोस । सवै दोषीहरुमाथी कारवाही गरियोस् । अन्यथा यस्ता घटनाहरु फेरी पनि नहोला भन्न सकिने अवस्था छैन । सवैलाई चेतना भया ।  

पश्चिम सेती परियोजनाले दिएको पीडा ः
जमिनको भाडा पनि पाएनन् स्थानीयले

डोटी आदर्श गाउँपालिका–५ का कर्णवहादुर सिंहले बहुचर्चित पश्चिम सेती परियोजनाका लागि एक रोपनी जमिन लिजमा दिए । परियोजना निर्माण भई पो हाल्छ कि भन्ने आशमा उनले बार्षिक १८ हजार रुपैयाँ मात्रै भाडा लिने गरि आफ्नो उत्पादनमूलक जमिन लिजमा दिएका थिए । उनले लिजमा दिएको जमिनमा परियोजनाका कर्मचारीहरु बस्ने संरचना पनि बने । तर, ति संरचनाहरु उपयोगमा छन्, न कर्णबहादुरले सम्झौता अनुसार आफ्नो जमिनको भाडा नै पाउन सके । 
कर्णवहादुर मात्रै हैनन्, उनी जस्तै अन्य पाँच जनाले पनि आफुले लिजमा दिएको जमिनको भाडा पाएका छैनन् । २०७२ साल असोज २८ गते जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारीको रोहवरमा चिनियाँ कम्पनी थ्री गर्जेज र स्थानीय बीच जग्गा लिजमा लिने सम्वन्धी तीन बर्षे सम्झौता भयो । सम्झौता अनुसार स्थानीयले दुई बर्षको भाडा पनि पाए । तर, सम्झौता अनुसारको एक बर्षको रकम उनीहरुले पाउन बाँकी छ । सम्झौताको म्याद गत जेठमै सम्पन्न भईसक्यो । अहिलेसम्म न त म्याद थप भएको छ न उनीहरुको जमिन खाली गरियो । 
लिजमा लिईएको जमिनमा कम्पनीले कर्मचारीको आवास गृह, कार्यालय र स्टोर लगायतको प्रयोजनका लागि २२ वटा भवन निर्माण गरेको छ । निर्माण गरिएका संरचनाहरु पनि हाल संरक्षण अभावमा जीर्ण बन्दै गएको स्थानीयहरु बताउँछन् । आफुले निर्माण गरेका संरचनाहरुको सुरक्षाका लागि समेत कम्पनीले मान्छे राखेको छैन । 
भाडाको एक लाख ४४ हजार रुपैयाँ असुल गरिदिन भन्दै जग्गाधनीहरुले जिल्ला प्रशासन कार्यालय डोटीमा संयुक्त निवेदन दिएका छन् । आफ्नो जमिन भत्कन लागेको, नासिएको र उवड खावड भएकोले अमिन ल्याएर नाप जाँच गरि आफ्नो जमिन फेरी खेतीयोग्य बनाईदिनु पर्ने माग जग्गाधनीहरुको छ । निवेदनमा भनिएको छ ‘उक्त कम्पनीले बाँकी भाडा नतिरी सम्झौता बमोजिम काम कुरा पुरा नगरिदिएमा जमिन एरिया भित्र रहेका कुनै पनि सरसामान र भौतिक संरचना उठाउन दिईने छैन ।’
भाडा असुल गराइदिन भनेर दिएको निवेदनमाथी अध्ययन गरी लगानी बोर्ड र उर्जा मन्त्रालयलाई पत्राचार गरिएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल बताउँछन् । उनी भन्छन् ‘उहाँहरुले निवेदन दिनु भएको छ, हामी त्यो फायल अध्ययन ग¥यौं तर फायलमा सम्वन्धित निकाय कुन हो भन्ने केही  खुल्दैन ।’ 
२०७१ सालदेखि निर्माण कार्य सुरु गर्ने गरी ०६८ सालमा उर्जा मन्त्रालयसंग प्रारम्भिक सम्झौता गरेको थ्री गर्जेजले सात बर्षपछि परियोजना निर्माण गर्न नसकिने प्रतिक्रिया दिएको छ । 
ठेकेदारले पनि पाएन भुक्तानी 
थ्री गर्जेजले लिजमा लिएको जमिनमा संरचना निर्माण गर्ने जिम्मा पाएको पिएस कन्स्टूक्सनले पनि सम्झौता अनुसारको भुक्तानी पाएको छैन । 
“मैले करीव ४० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ” पिएस कन्स्ट्रक्सन का सञ्चालक प्रेमशंकर भट्ट भन्छन् “अहिले त्यो कम्पनीको कुनै पनि व्यक्ति सम्पर्कमा छैन ।” उनले कम्पनीका भवन र बाँध निर्माण हुने भनिएका ठाउँसम्म जाने सडक पनि आफुले निर्माण गरेको बताए । उनी थप्छन् ‘अव आफ्नो रकम पाउन प्रशासन कार्यालयमा उजुरी दिन्छु ।’

विकास र सुशासनका लागि प्रतिवद्धता

जिल्लाको विकास र सुशासनका लागि सवै दलहरु एक भएर अगाडी बढ्ने डोटीका राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । 
दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेस डोटीले शुत्रवार आयोजना गरेको चियापान कार्यक्रममा दलका का प्रतिनिधिहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन । ‘दलगत बिचार आफ्ना ठाउँमा छ, राजनीतिकर्मीहरुका लागि त्यो आवश्यक पनि छ’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष चक्र मल्लले भने ‘तर जिल्लाको समग्र विकास र सुशासन कायम गर्नका लागि हामी सबै दलहरु एक ठाउँमा आउनु पर्छ ।’ डोटी जिल्लाको हकमा आफु त्यसका लागि प्रतिवद्ध रहेको उनले बताए । मल्लले स्थानीय तहका जनप्रतिनिधिहरुलाई दलगत संकीर्णता भन्दा माथी उठेर जनताको हितका लागि काम गर्न आग्रह समेत गरे । 
यस्तै नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवाले जिल्लाको रचनात्मक विकासका लागि सत्तापक्ष(प्रतिपक्ष नभनी सहकार्य गर्न कांग्रेस तयार रहेको बताए । ‘बिगतका दिनहरुमा पनि डोटीमा दलहरुबीच खासै मत भिन्नता थिएन’ सभापति देउवाले भने ‘यदि हामी दलहरु प्रतिवद्ध हुने हो भने आगामी दिनहरुमा भ्रष्टाचार नियन्त्रण र सामाजिक बिकृतिहरुको अन्त्य गर्न   सक्छौं ।’ उनले यसका लागि कांग्रेस प्रतिवद्ध रहेको समेत बताए । 
राष्ट्रिय जनमोर्चा डोटीका सचिव केशवनाथ योगीले जिल्लामा भ्रष्टाचार मौलाएकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोक्नु पर्ने बताए । ‘दलहरुले एकतावद्ध भएर भ्रष्टाचार न्यून गर्नका लागि अभियान चलाउनु पर्छ’ योगीले भने ‘यदि दलहरु तेरो मेरो भन्दै बस्ने हो भने जिल्लाको विकास पनि हुन सक्दैन र भ्रष्टाचार नियन्त्रण पनि हुन सक्दैन् ।’ उनले प्रदेश संरचना आवश्यक नभएकोले यसलाई तत्काल खारेज गर्न सवैले दवाव दिनु पर्ने वताए ।
यस्तै राष्टिूय प्रजातन्त्र पार्टी (राष्टूबादी) का जिल्ला अध्यक्ष बहादुरसिं खड्काले पनि जिल्लाको समग्र विकासका लागि डोटीका दलहरु एक हुनु पर्ने बताए । ‘डोटीमा राजनीतिक दल छैनन् कि भन्ने अनुभूति भएको छ’ खड्काले भने ‘त्यसकारण जिल्लाको हितका लागि हामी एक हुनु जरुरी छ ।’ 
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले सामाजिक बिकृतिमा संलग्न नहुन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिन सवै दलहरुलाई आग्रह गरिन् । उनले थपिन् ‘जुवातास, मदिरा जस्ता बिकृतिहरुमा दलकै कार्यकर्ताहरुको संलग्नता रहेको देखिन्छ, यसलाई अन्त्य गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिनु प¥यो ।’ 
उपभोक्ता समिति गठनमै जनप्रतिनिधिको हस्तक्षेप भयो 
कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख रामवहादुर ऐरले स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्दै भने ‘तपाईहरु विकासमा राजनीतिक नगर्नुहोस् ।’ उनले स्थानीय तहका जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन गर्दा समेत आफ्नो पार्टीको मान्छे उपभोक्ता बनाउन हस्तक्षेप गर्ने गरेको आरोप लगाए । 
‘आफ्नो मान्छेलाई उपभोक्ता समितिको अध्यक्ष बनाउनु पर्ने कहाँ छ, त्यही ठाउँमा योजना हाल्ने अनि जवरजस्ती उपभोक्ता समिति गठन गर्ने काम हुँदैछ’ ऐरले भने ‘जनप्रतिनिधि भईसकेपछि साझा हुन सक्नु पर्छ, कमिसनको खेलमा योजना बाँड्दै हिड्ने होईन ।’ उनले जनताका वास्तविक समस्याहरु समाधान गर्ने गरी योजना निर्माण गर्न समेत आग्रह गरे । 
उनले थपे ‘दुई चार जना खुशी पार्नका लागि जनताले तिरेको करमा  मनपरी नगर्नुहोस् ।’ उपभोक्ता समिति गठनमै हस्तक्षेप भएको भन्दै जिल्ला समन्वय समितिमा समेत गुनासो आउने गरेको ऐर बताउँछन् । उनले जनप्रतिनिधिहरुलाई निश्पक्ष भएर विकास निर्माणमा लाग्न निर्देशन दिन समेत दलहरुलाई आग्रह गरे ।

संस्कृति जोगाउन रावलको आग्रह

नेकपाका नेता तथा पुर्व उपप्रधान मन्त्री भिम रावलले कला संस्कृतिको संरक्षण गर्न आग्रह गरेका छन् । 
उनले आफ्नो संस्कृतिको जगेर्ना गर्न हामी नेपालीको पहिलो धर्म भएको  बताए । नेकपा डोटीले दशैं, तिहार तथा छड्को अबसरमा आज जिल्ला सदरमुकाम सिलगढीमा चियापान कार्यक्रममा नेता रावलले त्यस्तो बताएका हुन । नेता रावलले चियापान कार्यक्रमलाई सम्वोधन गर्दै सुदूरबासीको मौलिक पहिचान देउडा भएका कारण आफु सधैं देउडामा नै रम्ने गरेको बताए । 
सुदूरको संस्कृति जगेर्नाका लागी सबै लाग्नु पर्ने नेता रावलको धारणा थियो । अर्को प्रसंगमा नेता रावलले फाष्टट्र्याक चाडो नै निर्माण हुने, डोटीमा रहेका सरकारी कार्यालयहरु खाली नभई सरकारी कामकाजमा नै प्रयोग गरिने बताए । कार्यक्रम नेता रावलको प्रमुख आतिथ्यता, डोटीका नेता चक्र मल्लको सभाध्यक्षतामा दिपायल सिलगढी नगरपालिकाको हलमा अहिले पनि चलि रहेको पाटीले जानकारी गराएको छ । 
कार्यक्रममा प्रदेश सभा सदस्य अर्चना गहतराज, जिल्ला समन्वय समिति डोटीका प्रमुख रामवहादुर ऐर, स्थानीय तहका जनप्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

जनप्रतिनिधी लोकतन्त्रका सम्वाहक

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले जनप्रतिनिधी– हरु नै लोकतन्त्रका सम्वाहक भएको बताएका छन् ।
सोमबार धनगढी उपमहानगरपालीकाका जनप्रतिनिधी, बिषयगत शाखाका कर्मचारी, वडा सचिवहरुसंगको सूचनाको हक, सुशासन र भष्ट्राचार नियन्त्रण सम्वन्धी अभिमूखिकरण कार्यक्रममा बोल्दै प्रमुख सूचना आयुक्त बास्कोटाले यस्तो धारणा राखेका हुन । उनले जनप्रतिनिधीहरुले चाहेमा लोकतन्त्र बलियो हुने बताए ।
उनले संघ सरकार अहिले पनि स्थानीय सरकारको अधिकार खुम्च्याउन लागिपरेको बताए । स्थानीय सरकारको अधिकार खोस्नु हुदैन भन्ने पक्षमा आफु निरन्तर उभिरहेको बताए ।
धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले धनगढी उपमहानगरपालीका आफुलाई सूचनाको हक मैत्री बनाउदै लगिरहेको बताए । ‘उपमहानगरपालीकाले गरेका निर्णय २४ घण्टाभित्रै नागरिकले थाहा पाउने ब्यबस्था गरिएको छ’ नगरप्रमुख वडले भने ‘त्यसका लागि उपमहानगरपालीकामा भएको सूचना केन्द्रलाई समुदायसंग जोड्ने काम भएको छ ।’ यसका साथै कार्यालयमा सूचना अधिकारी मार्फत सूचना दिने काम समेत गरिएको नगरप्रमुख वडले बताए ।
धनगढी उपमहानगरपालीकाका उपप्रमुख सुशिला मिश्र भट्टले नागरिकले सूचनाको हकको कार्यान्वयन नगरेसम्म सुशासन प्रवद्र्धन नहुने बताईन । उनले भनिन् ‘पहिलो कुरो भनेको नै सार्वजनिक निकायबाट सम्पादन हुने कामका बारेमा जनताले जान्न पाउनु पर्छ, त्यसले भ्रष्टाचार न्यूनिकरण हुन्छ ।

यो सरकार पाँचबर्ष टिक्दैन ः बलायर

टेकेन्द्र देउवा/कैलाली
कार्तिक १९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिरबहादुर बलायरले कम्युनिष्टहरुको सरकार पाँच बर्ष नटिक्ने बताएका छन् ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ ले दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व मन्त्री समेत रहेका बलायरले यस्तो ठोकुवा गरेका हुन । उनले दुई तिहाईको सरकारका गतिविधीका कारण जनता सडकमा आएर सरकार ढल्ने बताए । कांग्रेस केन्द्रीय सदस्य बलायरले नेकपाका जनप्रतिनिधीहरु भ्रष्टाचारबाट मुक्त हुन नसकेको बताए । उनले भने ‘नेकपाले चलाएका स्थानीय तहमा अहिले संस्थागत भ्रष्टाचार भैरहेको छ ।’
निर्मला पन्तका हत्यारा केपी ओलीको कार्यकर्ता भएकाले आरोप पनि कांग्रेस केन्द्रीय सदस्य बलायरले लगाए । उनले भने ‘हत्यारा पत्ता लगाउन १२ बर्ष पनि लाग्न सक्छ भन्नुको आसय भनेकै यही हो ।’ सुदूरपश्चिम प्रदेश सरकार निर्मला पन्तको हत्यारा पत्ता लगाउने बिषयमा गम्भीर नभएको बताए । उनले थपे ‘एउटा छोरीको बलात्कारपछि हत्या हुन्छ सरकार अपराधी पक्राउ गर्नुको साटो संरक्षण गर्न जुट्छ ।’ कम्युनिष्टहरुको सरकार आएपछि देश महंगीमा डुबेको नेता बलायरले बताए । यस पटक बस ब्यवसायीले होईन सरकारले दशैंको मुखमा भाडा बढायो । 
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहले अहिलेको अबस्थामा नेपाली कांग्रेस एकजुट भएर अगाडी बढ्नु पर्ने बताए । ‘सरकार अधिनायकवादको बाटोमा अगाडी बढेको छ’ सभापति शाहले भने ‘लोकतन्त्रको रक्षाका लागि खवरदारी आवश्यक छ ।’
नेपाली कांग्रेसका महासमिति सदस्य नारायण भट्टले नेपाली कांग्रेस विधी पद्धति र सिद्धान्तबाट चल्ने पार्टी भएको बताए । उनले भने ‘बिदेशी दर्शनलाई अंगालेका पार्टी र नेपाली कांग्रेस बिचको भिन्नता यही हो ।’ नेता कार्यकर्ताले भला कुसारी गर्ने नेपाली कांग्रेसको परम्परा भएको नेता भट्टले बताए । कार्यक्रम नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ का सभापति हरिष खड्काको सभापतित्वमा भएको थियो ।

मेहनत गरे माटोमै मोहर फल्छ

पूर्विचौकी गाउँपालिका–४ बाहुनगाउँमा रहेको भगवति कृषक समूहमा आवद्ध अगुवा किसान  मथुरा शर्मा जोशी तरकारी खेतीका लागि आफ्नो वारीमा सिचाई गरिरहेकी छिन्  । उनी यसपाली करीव तीन रोपनीमा तरकारी खेती गर्ने तयारीमा छिन् । गत वर्ष तरकारी खेतीबाट आम्दानी हुने देखेपछि यस पाली उनी थप उत्साहित भएकी छिन । 
गत बर्ष उनले आलु, प्याज, बन्दा, काउली लगायतका तरकारी आफुले उपभोग गरेर २० हजार जतिको बिक्री गरेको बताईन । ‘मैले यस बर्ष थप डेढ  रोपनी जमिनमा आलु खेती गर्ने विचारगरेकी छु’ उनले भनिन् ‘तरकारी खेतीबाट  राम्रै आम्दानी हुँदो रहेछ ।’ 
जोशीका अनुसार अन्य खेतीको भन्दा तरकारी खेतीमा अली बढी मेहनत लाग्ने भएपनि फाईदा बढी हुन्छ । डान चर्च एडको साझेदारीमा सम विकास केन्द्रले सञ्चालन गरिरहेको दिगो जिविकोपार्जन प्रवद्र्धन परियोजनाबाट आलुको विउ, काउली, टमाटर तगायतका तरकारीको विउ सहयोग पाएपछि तरकारी खेती गर्न आफु हौसिएको उनको भनाई छ ।
अर्का अगुवा किसान कमला जोशी आफुले करिव ५ रोपनी जमिनमा तरकारी खेती गरिरहेको बताउछिन । उनले भनिन् ‘रोग लागेको बेलामा स्थानीय स्तरमा पाईने जैविक जडीवुटीको औषधी बनाएर प्रयोग गर्ने गरेकी छु ।’ आफुले पहिले देखिनै तरकारी खेती गर्दै       आईरहेको बताउने कमला थप्छिन् ‘आज–भोली संस्थाहरुले पनि सहयोग गर्ने गरेका छन, यसले थप उर्जा मिलेको छ ।
यस्तै संगिता खडका पिपल चौतारी कृषक समूहका अगुवा कृषक हुन  । तरकारी खेतीबाट आफुले राम्रै आम्दानी गरेको उनी बताउँछिन् । ईडिसिले आफुलाई आलु, काउली, बन्दा, प्याज लगायतका तरकारीका विउहरु सहयोग गर्दै आएको बताईन उनले बताईन ।
बसमा छैन बजार भाउ
मेहनत गरेर प्राप्त भएको परिणाम खेर गएपछि कस्को मन नदुख्ला र, त्यस्तै समस्या कमला जोशी र मथुरा शर्मा जोशीलाई परेको रहेछ । 
गत बर्ष आफुले फलाएको टमाटर त्यसै खेर गएकोमा खिन्न हुदै मथुरा भन्छिन ‘बजारभाउ पनि नपाउने र फलेको फसल पनि कुहाउनु पर्ने समस्याबाट छुटकारा पाउने उपाय अपनाई दिए हामी सवै कृषकहरुलाई राहत हुने थियो ।’ संस्थाहरुले बाहिरवाट विउ खरिद गरेर हामीलाई वितरण गर्नु भन्दा हामीबाटै विउका लागि फसल खरिद गरिदिए राम्रो हुने सुझाव दिईन । 
बिनीगडाका किसान धनादेवी खडका तरकारीबाट केही आम्दानी गर्न सक्नेमा ढुक्क थिईन । तर उनलाई पनि बजारभाउ नपाउने होकी भन्ने चिन्ता छ । समूहमा आवद्ध अधिकांश कृषकहरुले तरकारी खेती गरेको खड्का बताउँछिन् । 
किसानले आफुलाई चिन्न सक्नुपर्छ
‘किसानहरुले आफुलाई चिन्न सक्नु पर्छ, मेहनत गरे हामी आफैले आफ्नै ठाउमा केही गर्न सक्छौं’ हराभरा कृषक समूहका अगुवा किसान हरीसिं खडका किसानहरुले हेपिएको महसुस गर्न नहुने वताउँछन् । एक पोली हाउसवाट ८ क्विन्टल टमाटर फलाएको अनुभव सुनाउदै हरी थप्छन् ‘मेहनत ग¥यो भने अर्काको देशमा गएर नौकर बन्नु पर्ने अवस्था आउँदैन ।’
हरियोवाली समुहका अगुवा किसान भिम खडका आफुले खाएर केही   तरकारी विक्रि गरी आम्दानी भएको  बताउँछन् । अर्का किसान रामचन्द्र खडका आफुले तरकारी खेती शुरु गरेपछि आफुले खाएर केही आम्दानी हने गरको बताए । गत बर्ष आफुले १२ हजारको टमाटर फलाएको उनी बताउछन । पोलिहाउसमा टमाटर राम्रो फल्ने र टमाटर पछि काक्रा पनि फलाउन सकिने भएकाले यसबाट वढी आम्दानी उनको भनाई छ । 
सिचाई प्रमुख समस्या
सिचाईको प्रमुख समस्या हुँदाहुदै पनि आफुले ५० केजी आलुवाट २०० केजी आलु फलाउन सफल भएको कृषक उपकार समुहका टेक बहादुर विक बताउछन । ‘थोपा सिचाई भईदिएको भए तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सक्थेँ’ उनी भन्छन् ‘तरकारी खेतीबाट आफुले उपभोग गरेर २५ हजार आम्दानी गरेँ, अव पुरै ३ रोपनी तरकारी खेती गर्छु ।’ 
फुलपाती कृषक समुहकी अगुवा कृषक कमला खडकापनि थोपा सिचाईका लागि सामान दिएको भए केही राहत हुने बताउछन । पिपल चौतारी कृषक समुहका अगुवा कृषक संगिता खडकाको पोलीहाउस जिर्ण भएकाले आफुलाई फलामको पोलिहाउस निर्माण गरिदिए दिगो रुपमा तरकारी खेती गर्नसक्ने बताउदै आफुले तरकारी खेती गरेपछि अरुले त्यसको सिको गरेको उनले बताईन । यहा प्रमुख समस्या सिचाईको हो थोपा सिचाई भईदिए हुन्थ्यो उनी बताउछिन । 
दुम्सीले वितण्डा मच्चाउछ
कृषक उपकार समुहका टेक बहादुर विक जंगली जनावर (दुम्सी) ले तरकारी नोक्सान गरेर हैरान गरेको छ । 
यस्तै हरीयो वाली कृषक समुहका अर्का किसान रामचन्द्र खडका आफुले तरकारी खेती शुरु गरेपछि आफुले खाएर केही आम्दानी हने गरको बताउछन । गत बर्ष आफुले १२ हजारको टमाटर फलाएको बताउछन । जंगली जनावरले नोक्सान गर्ने भएकाले धाटा हुने गरेको बताउछन ।
२०७४ सालमा आफुले ई.डि.सी. मार्फत ३३ केजी आलु पाएको र त्यतीनै आफुले थपेर लगाउदा सवै दुम्सीले नोक्सान ग¥यो अगुवा किसान रामचन्द्र खडका बताउछन । अनुगमनको क्रममा प्राय सवै किसानहरुले दुम्सी वादर तथा बदेलले आफ्नो वाली नष्ट गर्ने गरेको बताएका थिए ।

संघीयता राजनीति क्षेत्रमा मात्रै आएको छ ः मन्त्री शाह

सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले राजनितिक क्षेत्रमा मात्रै संघीयता आएको बताएका छन् । 
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आईतवार डोटीमा आयोजना गरेको द्वन्द्व ब्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री शाहले सो कुरा बताएका हुन् । ‘देशका बिभिन्न कालखण्डमा भएका राजनीतिक द्वन्द्वहरुले देशमा ठुलो राजनीतिक परिवर्तन भई संघीय शासन व्यवस्था आएको छ’ मन्त्री शाहले भने ‘तर प्रशासनमा, बित्तीय क्षेत्रमा, कानुनी क्षेत्रमा संघीयता आउन बाँकी नै छ ।’ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागी नयाँ व्यवस्था भएको हुँदा नयाँ व्यवस्थामा हिड्दा केही समस्याहरु हुने गरेको बताए । 
संघीयता व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले भने “प्रदेश सरकारले आवश्यक सबै कानुन छिट्टै निर्माण गर्न प्रयास गरिरहेको छ ।’ स्थानीय तह, प्रदेश र केन्द्रबाट प्रदान गर्ने सेवा सुविधाले जनतालाई सरकारको अनुभुति गराएको छ । देशमा शान्ति, अमन चैन र विकासको अनुभुति श्रृजना गर्न संघीयता कार्यान्वयनमा हामीले खलनायक नभई नायकको भूमिका निर्बाह गर्नु पर्ने मन्त्री शाहको भनाई छ । 
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले संघ, प्रदेश र स्थानीय तहबीच द्वन्द्व बढ्ने खतरा रहेको उल्लेख गर्दै प्रदेश सरकारले कानुन निर्माण गर्दा बिचार पु¥याउनु पर्ने वताएका थिए । ‘प्रदेशले कानुनहरु नवनाएकाले हामीले अहिलेसम्म कानुन वनाउन सकेका छैनौं’ दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले भनिन् ‘प्रदेशको कानुन नआई हामीले कानुन बनायौं भने फेरी बाँझ्न सक्द र बिवाद हुन्छ भन्ने सोचेर हामीले कानुन वनाएका छैनौं ।’ प्रदेश   सरकारले छिटो कानुन ल्याउनु पर्ने जनप्रतिनिधिहरुको माग छ । 
परिवर्तित र रुपान्तरित समाजको लागि द्वन्द्व आवश्यक रहेको डोटीका निमिक्त प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए । उनले भने “दुई पक्ष, दुई समुह, दुई विचारविच द्वन्द्व हुन आवश्यक छ तर त्यो द्वन्द्वको परिणाम सकारात्मक हुनु पर्छ ।’ 
कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा प्रदेश सभा सदस्य अर्चना गहतराज र पूर्व संबिधान सभा सदस्य गौरी ओली लगायतले द्वन्द्व व्यवस्थापनका लागि सवैले समयमै पहल गर्नु पर्ने बिचार व्यक्त     गरेका छन् । 
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव निलम कुमार न्यौपानेले सेवाग्राही र सेवा प्रदायकबीचमा हुने द्वन्द्व व्यवस्थापन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यालय थपियो 
डोटीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको स्थापना भएको छ । 
संघीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागको मातहतमा रहने गरी स्थापना भएको सो कार्यालयको आईतवार आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले साईनबोर्ड अनावरण गर्दै स्थापना भएको जानकारी गराएका हुन । सो अवसरमा मन्त्री शाहले जुन उद्देश्यका साथ कार्यालय स्थापना भएको हो सो अनुसार प्रभावकारी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । 
उक्त कार्यालयले डोटी, अछाम र बाजुरा गरी तीन जिल्ला हेर्ने कार्यालयका निमित्त प्रमुख नारायण सिंह रावतले जानकारी दिए । कार्यालय साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा स्थापना भएको छ ।

सुपथ मुल्य पसल सञ्चालनमा

तिहारको अवसरमा गाउँपालिकाबासीलाई सस्तो मुल्यमा चिनी र नुन उपलव्ध गराउने उद्देश्यका साथ के आई सिंह गाउँपालिकाले सुपथ मुल्य पसल सञ्चालन गरेको छ । 
गाउँपालिकाका पाँच स्थानमा सञ्चालन भएका सुपथ मुख्य पसलहरुबाट प्रति परिवार पाँच किलो चिनी र तीन किलो नुन सुपथ मुख्यमा उपलव्ध गराईने भएको छ । चिनी प्रति किलो ६० रुपैयाँ र नुन प्रति किलो आठ रुपैयाँमा गाउँपालिकाबासीहरुलाई उपलव्ध गराउने गरी पसलहरु स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘चाँड पर्वको समयमा सर्वसाधारणले सस्तो मुख्यमा उपभोग्य बस्तु पाउन भन्नका लागि हामीले सुपथ मुख्य पसल सञ्चालन गरेका हौं’ सोमवार वडा नं. ४ मा स्थापना भएको सुपथ मुख्य पसलको उद्घाटन गर्दै शाहीले भने ‘यि पसलहरु कात्तिक २७ गतेसम्म सञ्चालन हुनेछन् ।’ 
गाउँपालिकाले सुपथ मुख्य पसलका लागि सात लाख रुपैयाँ बिनियोजन गरेको शाहीले जानकारी दिए । गाउँपालिकाभित्र रहेका करीव चार हजार तीन सय परिवारलाई लक्षित गरि पसलहरु सञ्चालनमा ल्याईएका छन् । पसलहरु सञ्चालन गर्नका लागि स्थानीय सहकारी संस्थाहरुलाई जिम्मा दिएको शाही बताउँछन् । वडा नं. १ र २ का लागि तिखात्तर, वडा नं. ३ का लागि बासुदेवी, वडा नं. ४ का लागि वायल, वडा नं. ५ का लागि रानागाउँ र वडा नं. ६ र ७ का लागि भूमिराजमाण्डौंमा पसल स्थापना गरिएको शाहीले जानकारी दिए । शाहीका अनुसार तिखात्तरमा सन्तोषी बचत तथा ऋण सहकारी संस्था, बासुदेवीमा गोदावरी बचत तथा ऋण सहकारी संस्था, दुर्गामाण्डौं महिला ऋण तथा बचत  सहकारी संस्था, रानागाउँमा ईनोभेटिभ बचत तथा सहकारी संस्था र भूमिराजमाण्डौंमा नव बिहानी बचत तथा ऋण सहकारी संस्थाले पसल सञ्चालनको जिम्मेवारी पाएका छन् । 
गाउँपालिकाले दुई सय १५ टन चिनी र एक सय २९ टन नुन खरीद   गरी सहकारी संस्थाहरुलाई उपलव्ध      गराएको छ ।

खेल समाचार 

जिल्लास्तरीय भलिवल प्रतियोगिता हुने

डोटीमा कार्तिक जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको      छ  । 
के आई सिँह युवा सञ्जाल डोटीको आयोजनामा कात्तिक २७ सुरु हुने उक्त प्रतियोगिता ३० गतेसम्म चल्ने छ । 
आयोजक संस्था के आई सिंह युवा सञ्जालले आईतवार डोटीको दिपायलमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगिता के आई सिंह गाउपालिका–४ वायलमा सञ्चालन हुने भएको छ ।
स्थानीयस्तरका खेलाडीहरुलाई राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले भलिवलको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले एक लाख एक हजार एक सय एघार रुपैया तथा उपविजेताले ६० हजार पुरस्कार पाउने छ ।
तेस्रो हुने टोलीले ३० हजार र सान्त्वनाले १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने के आई सिँह युवा सञ्जाल डोटीका अध्यक्ष जितेन्द्र बहादुर रावलले    जानकारी दिए ।
प्रतियोगितामा डोटी जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीलाई मात्र सहभागी गराईने आयोजकले जनाएको    छ । टिम दर्ताका लागि पाँच हजार लाग्ने र खाना वस्नको व्यवस्था आफै गर्नु पर्ने अध्यक्ष रावले बताए ।

सुदूरपश्चिम—११ को सचिवालय उद्घाटन

सुदूरपश्चिम–११ स्पोटर्स क्लवको सचिवालय स्थापना भएको छ ।  
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले सचिवालयको उद्घाटन गरेका छन् । सचिवालय उद्घाटनका त्रममा मन्त्री सोडारीले क्लवले आयोजना गर्ने खप्तड गोल्ड कपका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
“सुदूरपश्चिम गोल्डकप आयोजना हुनु खुसीको कुरा हो” मन्त्री सोडारीले भने ‘यो प्रतियोगिता निरन्तरताका लागि सबैको पहल आवश्यक छ ।’
तिहार र छठ पर्वका सवैलाई शुभकामना दिँदै मन्त्री सोराडीले खेलको क्षेत्रबाट सुदूरपश्चिम प्रदेशलाई चिनाउन सुदूरपश्चिम–११ ले ठुलो भूमिका खेलेको बताए । 
सो अवसरमा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले नगरपालिकाले हरेक खेलकूद प्रतियोगितामा सहयोग गर्दै आएको बताउँदै गोल्डकपका लागि पनि सहयोग गर्ने बताए ।
क्लवले विगत तीन वर्षदेखि खप्तड गोल्डकप आयोजना गर्दै आएको छ ।

चलचित्र/मनोरञ्जन 

साहिलले ल्याए “रक्सीको तौलमा”

तिहारको समयमा सवैलाई नाँच्न र झुम्न मिल्ने भन्दै गायक साहिल खड्काले नयाँ गीत “रक्सीको तौलमा” सार्वजनिक गरेका छन् । 
गायक खड्काले आफ्नै शब्द÷ संगीतमा ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । उदयराज पौडेलको म्यूजिक एरेन्ज रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन् ।
गीतको भिडियोमा स्ट्रकपप डान्स क्रुको गज्जब नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि सोही डान्स समुहले गरेको हो । यो डान्स समुह के–पप वल्र्ड फेस्टिभलको विजेता समेत हो ।
‘प्रियसी’ एल्बमबाट आफ्नो औपचारिक संगीत यात्रा थालेका साहिलको ‘त्यो मनमा’, ‘के यो माया हो’ लगायत गीत सार्वजनिक भइसकेको छ । पपगायनमा रुची राख्ने साहिल पछिल्लो गीतबाट पनि निकै आशावादी छन् । ‘तिहारमा नाच्न र झुम्न मिल्ने गीत ल्याएको छु, आशा छ दर्शकले मन पराउनुहुन्छ’ उनले भने ।

कामना फिल्म अवार्ड मंसिर १५ मा

२०७१ सालदेखि सुरु भएको कामना फिल्म अवार्डको चौथो संस्करण आगामी मंसिर  १५  गते हुने भएको छ । 
कामना सिने मासिक ३४ वर्ष पार गरी ३५ वर्ष पुगेको अवसरमा प्रकाशन सुरु भएकै दिन पारेर मंसिरमा अवार्ड वितरण गर्न लागिएको हो । प्रतिस्पर्धी र अप्रतिस्पर्धीसहित कुल ३२ विधामा प्रदान गरिने चौथो संस्करणको फिल्म अवार्डमा ‘लक्स स्टार अफ द इयर’ विधामा पनि अवार्ड प्रदान गरिनेछ । यो विधामा प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा      राउत, स्वस्तीमा खड्का र आना शर्मा  मनोनयनमा छन् । यो विधामा एसएमएस भोटिङका आधारमा विजेता चयन गरिने आयोजक पब्लिकेसन्सले जनाएको छ ।
मनोयनमा सूचिमा ‘छक्का पञ्जा २’ सर्वाधिक धेरै १४ विधाको मनोनयनमा परेको छ । ‘छक्का पञ्जा २’ लाई पछयाउँदै ‘कृ’ १३ र ‘ए मेरो हजुर २’ ११ विधाको मनोयनमा परेका छन् । त्यसैगरी लिलीबिली १० विधाको मनोनयमा परेको छ । शत्रु गते र मंगलम ९/९ विधाको लागि मनोनयनमा परेका छन् ।
यस वर्षको अवार्ड अन्र्तगत सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री विधामा तीव्र प्रतिस्पर्धाका कारण उत्कृष्ट ६ को नाम अगाडि आएको छ भने सारा सिर्पाली ‘रुद्र’बाट नव अभिनेत्री र ‘पिंजडा ब्याक अगेन’बाट अभिनेत्रीको प्रतिस्पर्धामा    छिन् ।
त्यसैगरी कोरियोग्राफर कविराज गहतराज ४ फिल्मबाट उत्कृष्ट ५ को मनोनयमा परेका छन । 
अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा एक लाख रुपयाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान अर्पण गरिनेछ । संगीत, फेसन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।

लेख 

ओली नेतृत्व फेर्नु पर्ने कारण

मेघराज परिवार

दसैँले बिदा लिइसकेको भए तापनि त्यसबारे चर्चा÷परिचर्चा भने सेलाइसकेको छैन । दसैँ मनाउने, बहिष्कार गर्ने, दसैँ यो समुदायको पर्व हो, त्यो समुदायको होइन, इत्यादि बहस घनीभूतरूपमा नै भए यसपालि  । फेसबुकमा नै  भए पनि बहस चल्नु स्वाभाविकै हो । तथापि लोकतन्त्रमा पनि बहसलाई निषेध गर्न, अंकुश लगाउन, अतिवादतर्फ मोड्न खोज्नु दुःखद हो । दसैँको विरोध गर्नेबित्तिकै ‘तिमी इसाई हौ’ भन्ने आरोप लगाउँदा ठीक भएन । अचम्मचाहिँ के भने दसैँ र हिन्दु परम्परा मान्न हुन्न भन्ने समुदायबाट झन् बढी शुभकामना आदान–प्रदान र टीकाको तडक–भडक यसपटक पनि देखियो ।
२०६० सालतिर तत्कालीन प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवाकहाँ दलित अधिकारवादीहरू जाँदा उनले झर्किएर भनेका थिए ‘दलित सबै माओवादी हुन्...। मैले दलित आयोग, दलित विकास समिति बनाएँ, दलित हितमा काम गरेँ तर खै मलाई साथ दिएको ?’ आखिर सबै दलित माओवादी त थिएनन् । हो, जुन दलित समुदाय, आदिवासी जनजाति, उत्पीडित वर्ग–समुदाय शासक वर्ग र पार्टी सरकार प्रमुखसँग अधिकार माग गर्न आउँछन्, तिनलाई माओवादीको आरोप तत्कालीन समयमा लगाइन्थ्यो । हाल, हिन्दुका गलत संस्कार, विभेद, अमानवीयताको विरोध र बहस उठाउँदा इसाई भएको आरोप लाग्ने गर्छ । यो राष्ट्रका निम्ति घातक छ ।
यहाँ यी प्रसंग किन ल्याइएको हो भने एकातर्फ समाजमा जातीय, धार्मिक, साम्प्रदायिक, क्षेत्रीय, भाषिक, सांस्कृतिक द्वन्द्व चर्किदै र जटिल बन्दैछ । विप्लवका कार्यकर्ता ‘दलाल संसदीय पुँजीवाद’ को अन्त्य भन्दैछ भने मधेसमा सिके राउतका नाममा राष्ट्रिय विखण्डनवादको आगो बाल्दैछ । यता देशकै ठूलो नेकपा सरकारको नेतृत्व गरिरहेका केपी ओली अनि पुष्पकमल दाहाल भने विकल्पहीन र किंकर्तव्यविमुढ देखिन्छन् ।   राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, संघीयता, विधिको शासन, संविधानको पूर्ण कार्यान्वयन र समयसापेक्ष संशोधन, समानता र समावेशीकरण, विकास,समृद्धि कसरी प्राप्त गर्ने या सफल हुने भन्नेबारे संकट देखा परेको छ । राष्ट्रहित, समृद्धि र शान्ति चाहने हो भने ओली–दाहालले निकास दिनैपर्छ । के हुन सक्छन् त ती विकल्प ? यहाँ चर्चा गरिनेछ ।
सरकारको नेतृत्व परिवर्तन
ओली सरकार गठन भएको आठ महिना भएको छ । यो समय सरकारको मूल्याङ्कन गर्ने, सफल वा असफल घोषणा गर्ने त निश्चय पनि होइन । दुईतिहाई बहुमत प्राप्त सरकारको पूरा ५ वर्षे कार्यकाल हुनुपर्छ । तथापि सरकार आफैँले घोषणा गरेको मूल नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ पूरा गर्न कस्तो रणनीति र कार्ययोजना  तयार पारेको छ ? राष्ट्रमा देखिएका विद्रोही, विपक्षी, संविधान विपरीतका शक्तिका क्रियाकलाप र गतिविधिको नियन्त्रण गर्ने, सत्ताधारी पार्टीकै कतिपय नेता, समूहका असन्तुष्टि समाधान गर्ने, राष्ट्रिय विकास, दायित्व, स्थायी शान्ति, समृद्धि, विकास, जनजीविकाका महत्वपूर्ण सवालमा अघि बढ्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी, असमानताको अन्त्य गर्न योजना बनाउने कार्यमा सरकार बेखबर देखिन्छ । त्यतिमात्र होइन, मुलुकमा दैनिक भइरहेका हत्या, बलात्कार, अन्याय, अत्याचार र गैरन्यायिक क्रियाकलाप नियन्त्रणमा समेत असफल भएको छ । नागरिकले शान्ति र सुखीसाथ जीउन पाउने हकसमेत सरकारले प्रदान गर्न सकेको छैन । संविधानले व्यवस्था गरेका महत्वपूर्ण हकमा त प्रवेश गर्ने कहिले हो थाहा छैन ।
संघीय सरकार र प्रदेशबीच समस्या देखिन थालेका छन् । संघीय सरकार र संसद्ले कानुन निर्माण गरी प्रदेशलाई काम गर्न सहज बनाउनुपर्ने, कर्मचारी पठाउनु पर्ने जस्ता जिम्मेवारीबाट सरकार च्युत हुँदैछ । रहर, बाध्यता या आवश्यकता जेसुकै कारणले भए पनि मुलुक संघीयतामा गइसकेको छ । त्यसलाई कार्यान्वयन गरी सबै क्षेत्र, समुदायको हितमा प्रयोग गर्नु नै उत्तम हो । सञ्चारमन्त्रीले मिडियालाई तथानाम गाली गर्दै हिँड्दा समेत ओलीले कुनै प्रश्न उठाएनन् । मन्त्रीहरूका   भ्रष्टाचार, अनियमितता र अन्य विवादका सवाल आम रूपमा उठ्दा पनि चूपचाप बस्नु निकम्मापन मात्रै होइन, गैरजिम्मेवार बन्नु पनि हो ।
कतिपय विश्लेषक या व्यक्ति जनमत केपी ओलीको नाममा प्राप्त भएको र सरकार बदल्न नहुने तर्क राख्छन् । यो कुतर्कमात्रै हो । तत्कालीन समयमा राष्ट्रियता, स्थायित्व, स्थिरता, विकास र समृद्धिका चमत्कारिक भाषण र घोषणामार्फत स्थापित भएका ओली नेतृत्व दुई कारणले फेर्नु पर्ने देखिन्छ । एक, उनले जनमत प्राप्त गरी बलियो सरकार निर्माण गरिदिएका छन् । अब अघि बढाउने दायित्व अरुको हो । किनकि कुनै व्यक्ति जनमत सिर्जना गर्न सफल हुन्छ भन्दैमा  सरकार सञ्चालनमा पनि सफल हुन्छ भन्ने छैन । दोस्रो, उनको ठूला–ठूला आयोजना, सपना, उखानटुक्का, तीतो बोलीदेखि मानिसमा वितृष्णा पैदा भएको छ । उदाहरणका निम्ति ओलीले गर्ने भाषणमा जनताले भविष्य देख्न छाडेका छन् । बरु उनलाई जोकरका रूपमा बुझ्न थालेका छन् जनता ।
एउटा महत्वपूर्ण प्रश्न– ओलीको विकल्प को ? दाहाल, नेपाल, गौतम...? हुँदै होइन । सबैभन्दा उत्तम विकल्प हो– सुवाश नेम्वाङ ।  एक, नेम्वाङलाई सरकारको नेतृत्व या प्रधानमन्त्री बनाउँदा ‘सधैँ पहाडे बाहुनमात्रै’ भन्ने जटिल सवाल समाप्त हुन्छ । खस–आर्यले मात्रै प्रधानमन्त्री बन्नुपर्छ भन्ने पनि छैन । दोस्रो, उनको स्वभाव नै समन्वयकारी र सालीन भएको हुँदा सफल हुने सम्भावना रहन्छ । द्वन्द्व व्यवस्थापन, विपक्षीसँग सहयोग, सहकार्यमा नेम्वाङ उपयुक्त पात्र हुन् । तथापि वर्तमान बाहुन नेतृत्व यति त्याग गर्न सक्दैन भने ओलीकै  विश्वासपात्र विष्णु पौडेललाई प्रधानमन्त्री बनाउँदा पनि हुन्छ । सक्षम, योग्य, स्वस्थ व्यक्तिलाई सरकारको नेतृत्व सुम्पिँदै ओली र दाहालचाहिँ पार्टी, भविष्यका कार्ययोजना, नेतृत्व विकास र हस्तान्तणमा लाग्नुका साथै विस्तारै विश्रामको बाटो रोज्न सके मुलुकै तरक्की हुने उत्तम बाटो बन्न सक्छ । सरकारको नेतृत्व परिवर्तन गर्ने उपयुक्त समय यही हो ।
भद्रगोल नेकपाको भविष्य
दुनियाँलाई राम्रोसँग थाहा छ, नेकपा कम्युनिस्ट पार्टी होइन, रहेन । ओली, दाहाल, माधव नेपाल कोही पनि कम्युनिस्ट होइनन् । त्यस्तो भए किन पार्टीको नाम कम्युनिस्ट भनिँदैछ? जातिवादी, धार्मिक, संस्कारवादी, जनैवादी, हिन्दु, गैरहिन्दु, सबै मान्ने कम्युनिस्ट हुन्नन् । तर भनिन्छ, किन ? हाम्रो समाजमा एउटा यस्तो बौद्धिक वर्ग रहेछ जसलाई कामसँग कुनै सरोकार छैन । पार्टीको नाम नेकपा भएपछि पुग्यो । त्यस्तो वर्गमा प्रा.डा., शिक्षक, कानुन व्यवसायी, शुभचिन्तक सबै छन् । नाम कम्युनिस्ट पार्टी भए पुग्ने वर्गका लागिमात्रै पार्टीहरू कम्युनिस्ट नाम राख्न बाध्य छन् । नत्र भोट पाइन्न ।
उतिबेलै तत्कालीन महासचिव मदन भण्डारीले यही कुरा बुझेर नै ‘जनताको बहुदलीय जनवाद (जवज)’ घोषणा गरेका रहेछन् ।बहुदलीय पनि कम्युनिस्ट हुन्छ? नेकपाको एकता टुंगिएको छैन । विगतमा थुप्रै विडम्बना देखिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसी काण्डमा राजीनामा दिए । तर उनले के बिर्से भने पार्टी एकता घोषणा गर्दा लेखिएको सम्झौतामा ‘पार्टी जनवादी केन्द्रीयता’ मा सञ्चालित हुनेछ । जनवादी केन्द्रीयतामा प्रमुख दुई नेता (ओली–दाहाल) मात्रै हुन् । उनीहरूको आदेशबिना लोकतन्त्र भन्न पाइन्न भन्ने चेतना त पक्के हुनुपर्ने हो नारायणकाजीलाई । जे होस्, पछि उनी त्यही पदमा अडिए ।
सबैभन्दा महत्वपूर्ण प्रसंग हो– बामदेव गौतमको उपचुनाव लडेर भएपनि सांसद बन्ने महत्वाकांक्षा । त्यो ‘किन?’ को जवाफ हो– प्रधानमन्त्री बन्न । यसका लागि सांसद् रामवीर मानन्धरको राजनीतिक भविष्य नै सकाउने गरी प्रोपोगन्डा गरिनु दुःखद हो । ‘एक अर्ब भए चुनाव जितिन्न ?’ भन्ने सोचका कारण उनी पक्कै हार्थे । खसीको टाउको देखाएर, कुकुरको मासु बेच्ने ठाउँ भनिने संसद् पुगेर कुकुरको मासु बेच्न कति हतार भएको हो      उनलाई ?
संसद् र नेकपाभित्र माधव नेपालमात्रै होइन, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त जस्ता गैरओली खेमाका नेताको भूमिकाबिहीनता र सरकारप्रतिका आक्रोशले के संकेत गर्छ ? भौतिक रूपमा दुवै पार्टीबीच एकता भए तापनि मन र मत मिल्न कठिन देखिन्छ । त्यसो त एकता तलैसम्म मिलिसकेको पनि छैन । नेकपाका दुई अध्यक्ष ओली र दाहाल आफ्नो पार्टीको एकता, स्थिरता र मुलुकको भविष्यकै निम्ति गम्भीर बन्नुपर्छ । मुलुकको इतिहासमा नै प्रथम पटक कथित कम्युनिस्ट पार्टीको बहुमतको सरकार छ । ओलीले प्रधानमन्त्री पद त्याग्नु नै उत्तम विकल्प हो । बहुजाति, बहुभाषी, बहुक्षेत्रीय, बहुविचार भएको मुलुकमा एउटै जाति, धर्म, लिङ्ग र क्षेत्रका व्यक्तिले नेतृत्व गरिरहनु दीर्घकालीन द्वन्द्वको प्रमुख कारण बन्छ । किनकि यो राष्ट्र कसैको पुर्खाको बिर्ता होइन ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. हाल बिश्वको कुल जनसंख्याको कति प्रतिशत हिस्सा सहरी क्षेत्रमा बसोबास गरेको पाईन्छ ? 
— ४३ प्रतिशत 
२. दिगोम विकासका लागि नेपालमा सर्वप्रथम लागु भएको रणनीति कुन हो ? 
— राष्ट्रिय संरक्षण रणनीति 
३. जैविक विविधताको हिसावले बिश्वको सवैभन्दा धनी मुलुक कुन हो ?    — इण्डोनेसिया 
४. नेपालको लालीगुराँसको राजधानी भनेर कुन ठाउँलाई चिनिन्छ ? 
— तिनकुने–मिल्के–जलजले, तेह«थुम
५. नेपालमा कति प्रकारका पारिस्थितिक प्रणालीहरु पाईन्छन् ? — ११८ प्रकारका 
६. नेपाल जीन बैङ्कको स्थापना कहिले भएको हो ?  — वि.सं. २०६७ असोज २१ 
७. नेपालको सेनारहित एक मात्र संरक्षण क्षेत्र कुन हो ? — मकालु बरुण संरक्षण क्षेत्र 
८. शुक्लफाँटा घासे मैदान कति क्षेत्रफलमा फैलिएको छ ?  — ५४ वर्ग किमि 
९. नेपालमा सवैभन्दा बढी हाब्रो अर्थात् रेडपाण्डा एको जिल्ला कुन को ? — ताप्लेजुङ्ग 
१०. ओजोन तह कसले पत्ता लगाएका हुन ?   — जे.सि. फारम्यान 
११. जलप्रकोपका कारण हुने क्षतिमा नेपाल बिश्वको कतिऔं स्थानमा रहेको छ ?  — ३० औं 
१२ं रुखको पात हल्लिँदा कति डेसिबल ध्वनी निस्कन्छ ?  — १० डेसिबल  
१३. क्याटो घोषणा पत्रमा कति धारा रहेका छन् ?  — २७ धारा 
१४. बिश्व बाघ दिवस कहिले मनाईन्छ ?   — जुलाई २९ 
१५. एज् को पुरा रुप के हो ?  — एयतभलतष्ब िया ज्थमचयनभल
१६. काठमाण्डौं महानगरपालिकालाई कहिले प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरिएको हो ? 
— २०७२ असार १ 
१७. नेपालमा कुन दिनलाई बनस्पति दिवसको रुपमा मनाईन्छ ?  — चैत्र २९ 
१८. नेपालमा पहिलो पटक कुन बिरुवाको म्ल्ब् परीक्षण गरिएको हो ? — चिराईतो 
१९. नेपालमा वातावरण संरक्षण नियमावली कुन बर्षदेखि लागु भयो ?  — बि.सं. २०५४ 
२०. ‘नर्मदा बचाउ’ अभियान कुन व्यक्तिसंग सम्वन्धित छ ?   — मेघा पाटेकर 
२१. हुयगो कार्ययोजना केसंग सम्वन्धित छ ?  — प्राकृतिक प्रकोप व्यवस्थापन 
२२. वातावरण परिवारको अध्यक्ष को हुन्छ ? — प्रधानमन्त्री 
२३. बहुचर्चित “चिपको आन्दोलन” का अगुवा को हुन् ?  — सुन्दरलाल बहुगुणा 
२४. क्याटो सम्मेदन कहिले भएको हो ?   — सन १९९७
२५. सौर्य किरणबाट उपचार गर्ने विधिलाई के भनिन्छ ?  — हेलियोथेरापी 
२६. हरियो ग्रहको नामले कुन ग्रहलाई चिनिन्छ ?   — अरुण 
२७. नेपालको दोश्रो तथा बिश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंगा हिमालको उचाई कति छ ? 
— ८५८६ मिटर 
२८. म्याग्नाकार्टाको परिणाम स्वरुप प्रचलनमा आएको रिट कुन हो ?  — बन्दी प्रत्येक्षीकरण 
२९. द्रव्य शाहले गोर्खा जित्नु अगाडि त्यहाँ कुन जातका राजा थिए ?  — खड्का 
३०. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?   — सुवानन्द दास 
३१. विकासका दृष्टिकोषले नेपाललाई कस्तो मुलुकका रुपमा चिनिन्छ ?  — अल्प विकसित 
३२. बिद्युतका पिता भनेर कसलाई भनिन्छ ?   — माईकल फराडे 
३३. धरानलाई कुन सिटीको नामले समेत विकसित गरिएको छ ?  — साईकल 
३४. बि.सं. २००७ को राजनीतिक परिवर्तन हुनु अगाडि नेपालको कति वटा राष्ट्रसंग दौत्य सम्वन्ध कायम रहेको थियो ?   — ४ (बेलायत, अमेरिका, भारत र चिन) 
३५. अंशको पर्यायबाजी शव्द भाग हुन्छ भने विपरीतार्थी शव्द के हुन्छ ? — पूर्णता 
३६. १, ४, ९, १६, २५ र ३६ पछि के राख्दा उपयुक्त हुन्छ ? — ४९ 
३७. विषमताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?   — एसिया 
३८. गुरुत्वाकर्षण पत्ता लगाउने बैज्ञानिक को हुन ?  — सर आई ज्याक न्यूटन 
३९. बिश्वको पहिलो बोल्ने रोवोट अन्तरिक्ष यात्री कुन हो ?   — किरोवा 
४०. नेपाल आउने चिनियाँ नागरिकका लागि प्रवेसाज्ञा (भिसा) शुल्क नलाग्ने व्यवस्था सम्वन्धि निर्णय नेपाल सरकारले कहिले ग¥यो ?    — बि.सं. २०७२ पुष १० गते 
४१. भारतवाट प्रदान गरिने प्रतिष्ठित पुरस्कार डा. अम्वेडकर कलाश्री राष्ट्रिय पुरस्कार २०१५ बाट सम्मानित हुने नेपाली कलाकार को हुन ?    — अरुण हिङमाङ 
४२. खानेपानी तथा सरसफाई मन्त्रालयको स्थापना कहिले भएको हो ? 
— बि.सं. २०७२ साल पुष ९ गते
४३. बायु प्रदुषण उच्च भएर बेईजिङ्गमा कहिले बिद्यालयहरु बन्द भए ?  — ७ डिसिम्वर २०१५ 
४४. नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट भयो ? 
— २०७२ मंसिर १६ गते 
४५. नेपाल विकास सहायता नीति कहिले जारी भयो ?  — २०७२ साल जेठ ३ गते 
४६. युवा तथा खेलकुद् मन्त्रालयका अनुसार हाल नेपालमा स्नातक युवा बेरोजगारी कति रहेको छ ? 
— २६.१५ प्रतिशत 
४७. रुसी विमान ईजिप्टमा कहिले क्ष्क्क्ष्क् ले खसाल्ता २२४ यात्रीको ज्यान गयो ? 
— ३१ अक्टोवर, २०१५

साहित्य सिर्जना 

जुवाडेहरुले 
जुवाडेहरु दाउमा लगाउछन् 
उसको स्वाभिमानलाई
सके जित्छ्न
नसके हार्छ्न
जित्यो भने
आफ्नो अहम्को उत्सव मनाउछ्न
हा¥यो भने पनि 
हरूवा हुनु पर्दैन
फेरि अर्को
नयाँ सामान हाजिर जो छ 
दाउमा राख्न
न्यायका तराजुले बजार भाउमा तौलिन्छ्न 
उसका अङ्ग अङ्गहरुलाई
वजन भारी भए 
प्रसस्तै नाफा आर्जन गर्छन् 
वजन कम भएपनि
नोक्सानी बेहोर्नु पर्दैन
जुकाले झैं चुसेर
आफै असुली गर्छन्
धर्मका ठेकेदारहरुले होमिदिन्छन् हवनकुण्डमा
उसभित्रका इच्छा, आकांक्षाहरुलाई
जलेर खाग भए
भस्म बनाई 
निधारमा घस्छ्न
नजले मिल्काई दिन्छन् 
यज्ञमा मन्तहरु निकै शक्तिशाली भएर होला
कतै पनि सुनिदैनन उसका चित्कारहरु
अग्निमै स्वाहा हुन्छन्
धार्मिक ग्रन्थहरुमा कुदिएका स्वर्णिम अक्षरहरुले समेत
उपहास मातै गर्छन् 
अब
कोरा कागजमा
स्वयं उसैले लेख्नु पर्छ
आफ्नो नाम
नारी हँु म
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

जिन्दगीको अनौठो खेल 

सपना सुन्दर जिन्दगीका घुमिरहन्छन् वरिपरि
कर्तव्य र जिम्मेवारीहरू झक्झक्याउँछन् सधैँभरि
इच्छा र आशाहरू उब्जन्छन् मनमा सदासदा
सपना र कर्तव्यबीचको जिन्दगीको अनौठो खेल ।
इच्छासँग अघि बढ्दा कर्तव्य नै छाडिन्छ कि,
सपनामै डुबिरहँदा यथार्थ नै भुलिन्छ कि,
सपना र कर्तव्यलाई एकैसाथ लान खोज्दा
परिवार र आफ्नाबाटै टाढिन्छ कि,
एकको पक्ष लिँदा यहाँ अर्को रिसाइदिन्छ
अर्कोको पक्ष लिँदा तेस्रो शत्रु भइदिन्छ
सबैलाई रिझाएर राख्न गाह्रो जिन्दगीमा
कसैको भावना नतोडी हिँड्न गाह्रो यहाँ ।
स्वार्थी भए सबै यहाँ विरोधी भइदिन्छन्
उदारवादी भए यहाँ आफैँलाई कुल्चिदिन्छन्
जिन्दगीको साह्रै अनौठो यो चाल
हुन्छ जीवन त्यसै नै बेहाल ।
सुमित्रा काफ्ले 
भक्तपुर



No comments:

Post a Comment