Wednesday, May 15, 2019

बिम्ब साप्ताहिक, २०७६ साल बैशाख ३१ गते मंगलवार

सार्वजनिक सम्पत्तिमा प्रत्येक नागरिकको हक हो, त्यसको दुरुपयोग दण्डनीय अपराध हो ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

बादल लाग्दा आत्तिन्छन् डोटी कारागारका कैदीहरु

रामहरी ओझा/डोटी
बैशाख २८
“नगर प्रमुख ज्यू, बर्षेनी करोडौंको बजेट चलाउनु हुन्छ । कारागारको जीर्ण अवस्थाका लागि पनि केही सोच्नु भएको  छ ? आकाशमा बादल देखियो भने हामी आत्तिन्छौं ।” 
शुक्रवार डोटी कारागारभित्र स्थापना गरिएको पुस्तकालयको उद्घाटन गर्न पुगेकी दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई आफ्नो पीडा पोख्दै कैदी बन्दी दिपेन्द्र जेठाराले भने ‘भवन चुहिन्छ, हामीले सिलिङ्गमा प्लाष्टिक ठोकेका छौं, पानी प¥यो भने राती उठेर प्लाष्टिकमा भरिएको पानी बाल्टीमा खन्याउदै रात बिताउँछौं ।’ 
बर्षात्को बेला त सधैं जाग्राम बस्नु पर्ने अवस्था रहेको दिपेन्द्रले वताए । “जम्मा २५ जना क्षमताको कारागारमा हामी ५१ जना बसेका छौं” उनले थपे ‘न खेल्ने मैदान छ, न कुनै अरु सुविधा ।’ कारागारलाई पछिल्लो समयमा सुधार गृह भन्ने गरिएको छ तर यस्तो ठाउँमा कैदीहरु कसरी सुध्रिन्छन् भन्ने प्रश्न जेठाराले गरे । कारागारका नाईके समेत रहेका उनले भने ‘छानो चुहिएर भिजेका लुगाहरु बर्खामा त कयौं दिनसम्म सुक्दैनन् ।’ 
छाना मर्मत मात्रै गरिदिए पनि आफुहरु राती सुख साथ निदाउन सक्ने वताउँछन् अर्का कैदी महेश्वर ओझा । उनी थप्छन् ‘कैदीलाई श्रममा लगाउने भन्ने पनि सुनेको थिए तर हामीलाई त बस्ने ठाउँ पनि राम्रो छैन ।’ उनी दैनिक ६० रुपैयाँ सिदामा चुहिने छानामूनी बस्नको पीडा आफुले व्यक्त पनि गर्न नसकिर–हेको वताउँछन् ।
जवाफमा नगर प्रमुख मञ्जु मलासीले कारागारको नयाँ भवन बनाउनका लागि जग्गा खोजी भईरहेको वताईन् । “यो भवन जीर्ण भइसक्यो, नयाँ भवन वनाउनका लागि यो जमिनले पुग्दैन” उनले भनिन् ‘नयाँ मापदण्ड अनुसारको कारागारको भवन बनाउने कुरामा हामी प्रयासरत छौं ।’ उनले कारागार वनाउने बिषयमा प्रदेश     आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहसंग छलफल भईरहेको वताईन । नयाँ भवन निर्माण गर्न समय लाग्ने भएका कारण तत्काल मर्मतका लागि आफुले नगरपालिकाको तर्फबाट पहल गर्ने मलासीले जानकारी दिईन । उनले कारागार दिपायल सिलगढी नगरपालिकाको क्षेत्रभित्र भएपनि यो जिल्लाभरीकै संरचना भएका कारण अन्य स्थानीय तहहरुले पनि सहयोग गर्नु पर्ने धारणा राखिन् ।
पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले कारागारको स्तर उन्नतीका लागि गाउँपालिकाबाट गर्न सकिने सहयोगका लागि आफु तयार रहेको वताए । उनल कुनै परिवन्धमा परि कैद भुक्तान गरिरहको व्यक्तिहरुको पनि मानवअधिकारको संरक्षण हुनु पर्छ भन्ने कुरामा कसैको बिमति नरहेको वताउँदै भने ‘हिजोको अवस्थालाई बिर्सेर कैदीहरुले पनि आफुलाई सामाजिक जीवनमा रुपान्तरण गर्नु पर्छ ।’ 
भवनको अवस्थाले आफु कारागारभित्र आउँदा जहिले पनि भावुक हुने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले वताए । ‘भवनको अवस्था यस्तो छ, कैदीहरुका लागि खेल्ने ठाउँ छैन, समय  कसरी बिताउने ?’ पौडेलले भने ‘तपाईहरुले भोगिरहेको पीडा अनुभूत गर्न खोज्दा भावुक हुन्छु म ।’ उनले नयाँ भवन निर्माणका लागि प्रयास भईरहेको बताउँदै भने ‘कैदी बन्दीहरुले एकआपसमा झगडा नगरी  मिलेर बस्न हुन आग्रह गर्दछुं, जे जसरी तपाईहरु यो भित्र आउनु भएको छ, अव एक परिवार भएर बस्नुहोस् ।’ 
डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिद्यानन्द माझीको पहलमा स्थापना गरिएको उक्त पुस्तकालयका लागि दिपायल सिलगढी नगरपालिकाले कार्पेट र टेवल, पूर्वीचौकी गाउँपालिकाले ¥याक र जिल्ला प्रशासन कार्यालयबाट दराज उपलव्ध गराईएको सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सिद्धराज जोशीले   वताए । उनले प्रहरी कार्यालय, जिनियस निरौला र सञ्चारकर्मीहरुबाट पुस्तकहरु प्राप्त भएको वताए । 

सम्पादकीय 

प्रेसमाथीको कानुनी दमन 

अहिले नेपालको पत्रकारिता क्षेत्रका नयाँ हंगामा मच्चिएको छ । नेपाल सरकारले सञ्चार सम्वन्धी तयार गरेका बिद्येयकहरुले पूर्ण प्रेस स्वतन्त्रताको घाटी रेट्ने निश्कर्षमा सञ्चारकर्मीहरु र संचारकर्मी संगठनहरु पुगेका छन् । 
सरोकारवालाहरूले प्रेस सामग्री अनुगमन गर्ने, प्रतिवेदन तयार गर्ने, सुधारका लागि सुझाव दिने, बहस र छलफल गर्ने निकायका रूपमा प्रेस काउन्सिल गठन गर्ने अभ्यास गर्ने गरेको इतिहास बिभिन्न मुलुकहरुमा पाइन्छ । प्रजातान्त्रिक प्रणालीमा मुख्यतया प्रेसमाथिका गुनासा सुन्ने र पत्रकार तथा सम्पादकलाई तिनको पेसागत मर्यादा र सीमा सम्झाउने काममा यस्ता संस्थालाई सीमित राखिएको पाइन्छ । चल्तीको भाषामा अर्धन्यायिक निकाय भनिने हुनाले पनि आफैंमा ठूल्ठूला दण्ड सजाय गर्ने निकाय होइन यो ।
आफैंले नियुक्ति गरेका काउन्सिलका अध्यक्षदेखि सदस्यसम्मको काम ‘सन्तोषजनक नभए’ हटाउन सक्ने प्रावधानले यो स्वतन्त्र र स्वायत्त मिडिया काउन्सिल नै हुने भएन । मन्त्रालयकै विस्तारित शाखा हुने भयो । त्यसमाथि आफ्नै विवेकले शासित भएर चल्नुपर्ने स्वतन्त्र प्रकृतिको संस्थामा मन्त्रालयकै सहसचिव राख्ने प्रस्ताव सरकारले गर्नै हुन्थेन । सरकारले मिडिया काउन्सिल प्रेसमाथिका गुनासा सुन्ने पत्रकार जगतकै न्यायाधीशहरूको संस्था हो भन्ने बुझेन । यसको काम प्रेसले यदाकदा गर्ने गल्ती र कमजोरी सुधार गर्न लगाउने हो । स्वनियमका माध्यमबाट प्रेसलाई जिम्मेवार र उत्तरदायी बनाउन प्रेरित गर्ने हो । चर्को दण्ड सजाय गर्ने होइन ।
सरकारले समाचार सामग्रीको गुणस्तर मापन दण्ड–सजायको बाटोबाट गर्न खोज्यो, जुन सही होइन । मिडिया काउन्सिल भनेको सरकार, प्रेस र जनताबीच सेतु निकाय हुनुपर्ने हो । सरकारले प्रेसमाथि अनावश्यक दख्खल दिए सरकारलाई संविधानको सीमा सम्झाउने, प्रेसले मर्यादाबाहिर गएर समाचार, कार्यक्रम वा सम्पादकीय टिप्पणी प्रकाशित गरी जनताको मर्यादामाथि थिचोमिचो गरे उसलाई पेसागत निष्ठा सम्झाउने काम काउन्सिलको हो ।  तर, यहाँ सरकार आफैं मिडिया काउन्सिलभित्र छिरेर संहिता पालनाको डन्डा चलाउन खोजिरहेको छ । 
सिद्धान्ततः काउन्सिल भनेको प्रेसलाई आचरण पालना गर्न प्रेरित गर्ने, छलफल गर्ने र आचारसंहिता उल्लंघन भएको ठहर हुँदा सम्बन्धित सञ्चार संस्था, सम्पादक वा संवाददाता आफ्नो व्यावसायिक पंक्तिभित्र लज्जित महशुस हुनुपर्ने अवस्था बनाउने निकाय हो । पत्रकारले गल्ती गर्न सक्छन् र गर्छन् । तर, तत्काल गल्ती सच्याउँछन् पनि । गल्ती गर्नु नै कसैको चरित्रहत्या हुनु होइन । चरित्रहत्या हुन नियतवश गल्ती गरेको हुनुपर्छ । त्यसलाई सच्याउन वा संशोधन गर्न अस्वीकार गरेको वा रुचि नदेखाएको हुनुपर्छ । न्यायालयले न्यायिक मन प्रयोग गरेर मात्र यो पहिचान गर्न सक्छ ।
सत्ता वा शक्तिमा बसेकाहरूमाथि आलोचनात्मक प्रश्न गर्ने पत्रकारमाथि नियोजित रूपमा काउन्सिलको यो क्षेत्राधिकार प्रयोग हुँदैन भनेर कसरी आश्वस्त हुने ? अहिलेको मुख्य प्रश्न यही हो । विधेयकमा दण्डको दायरा यति फराकिलो छ, भनिसाध्य छैन ।
‘यतिदेखि यतिसम्म’ भन्ने सजायको अंक निर्धारणमा उस्तै र उही प्रकृतिको मुद्दामा फरक–फरक सजाय गरेको भनेर न्यायालयका काबिल न्यायाधीश त बेलाबेला विवादमा पर्छन् । यस्तोमा मिडिया काउन्सिलका पदाधिकारीले फराकिलो अकंबीच उपयुक्त सजायको अंक कसरी निर्धारण गर्लान् ? कि, मनपरि गर्लान् ? काउन्सिलका अधिकारीलाई दण्ड–सजायको अधिकार बढाएर जिम्मेवार पत्रकारिता प्रवद्र्धन हुँदैन ।
सरकार ठूलो आर्थिक दण्डकारी हतियारका साथ प्रस्तुत भयो । त्यसैले, यो गाली–बेइज्जतीसम्बन्धी संसदले नै यसअघि बनाएको कानुनमाथि दोहोरोपन हो ।

थप समाचार 

यही हो मुक्त हलियाको नमुना बस्ती

चारैतिर जंगल, बिचमा सुख्खा डाँडोमा लहरै बनेका होचा, साना, टिनले छाएका कटेराहरु । गन्दा १८ पुग्छन् । झ्याल, ढोका केही छैन, भित्र पानी भरिएको छ । कुनै टहराभित्र गाईबस्तुहरु को गोवर छ । तर ति कटेराहरु रहेको ठाउँ सामान्य भने होईनन् । मुक्त हलियाको नमुना बस्ती हो । 
डोटी, पूर्वीचौकी गाउँपालिका–२, बगलेगमा मुक्त हलियाका १८ परिवारका लागि बनाईएको नमुना बस्तीको हालत यस्तो छ । सरकारले यसै बर्ष पुनस्र्थापनाको काम सक्ने बताएपनि प्रभाकारी कार्यान्वयन नहुँदा वास्तविक पुनस्र्थापना हुनेमा संका उव्जाएको छ । पर्वीचौकी गाउँपालिका–२ बगलेक (बाटे ओखड) को जमिन मा ०७४ असारमा नमुना मुक्त हलिया बस्ती निर्माणका लागी अन्तिम तयारी गरेको अबस्थामा आर्थिक चलखेल भएको समाचार सार्बजनिक भएपछि जग्गा खरिदका लागी काटिएको ७८ लाखको चेक कोष तथा लेखा नियन्त्रणको खातामा जम्मा गरिएको थियो । 
हनुमान हर्टिकल्चर प्रालिको नाममा रहेको उक्त जमिन ०७५ असारमा फेरी १८ जनाले ब्यक्तिगत खरिद गरेर पास भएको छ । हलिया बस्ती स्थापनाका लागी बिद्यालय, खानेपानी, बिद्युत जस्ता न्यूनतम पुर्बाधार नजिकै भएको हुन पर्ने कार्यबिधिमा उल्लेख भएपनि बगलेकको जंगलमा बस्ती बसाउँदा प्रयोगमा नआएको हो । एक हलियाले भने ‘हामी त्यो जंगलमा कसरी बस्नु टाठाँबाठा मिलेर के–के गरे थाहा भएन,अरु त कुरा छोडौँ पानीको एक थोपा पनि छैन ।’
हाल मुक्त हलिया बस्दै आएको ठाउँबाट एक घण्टाको दुरीमा रहेको उक्त जमिन सुबिधा नरहेको जानकारी हुँदा हुँदैपनि जमिन खरिद गर्दा बिवाद उत्पन भएको जग्गा कार्यालयले फेरी स्वीकृत दिनुले यसमा थप आर्थिक चलखेलको भएको अनुमान गरिएको छ । मालपोत कार्यालयका प्रमुख सुनिल सागर जोशीले भने ‘जग्गा लिने र दिनेका बिचमा सहमति भयो भने हामीले केही भन्न मिल्दैन ।’ उनी थप्छन् ‘कार्यबिधिमा बिकासका न्यूनतम पुर्बाधार हुनपर्छ भन्ने मान्यता हो, बाध्यकारी छैन त्यसैले समस्या छ ।’
सामुहिक बस्तीमा घर रहेकी एक मुक्त हलिया चन्नरी कोलीले भनिन् ‘सरकारले घर त निर्माण ग¥यो तर पानी, बिजुली, बिद्यालय छैन, हाम्रो त्यहाँ बस्न सक्ने अबस्था छैन । पानी नै नभएको ठाउँमा हामी कसरी बस्न सक्छौँ ।’ पानी छैन भन्ने पहिला जानकारी थिएन र ? कोलीले भनिन् ‘हामीलाई यहीँ जग्गा किन्नु पर्छ भनियो, गाडीमा लगे, ल्याए जहाँ औँठाछाप लाउ भन्यो हामीले त्यही लायौं ।’
हलियाहरुलाई जंगली जनावर जस्तै बनाउन जंगलमा बस्ती राख्न प्रपन्च   गरिएको हलिया अभियान्ता तथा सायल गाउँपालिका वडा नं. ३ वडाध्यक्ष गोरख सार्की वताउँछन् । उनी भन्छन् ‘हलियाहरुको सामाजिक स्तर माथी नउठोस् भन्ने मानसिकता भएका व्यक्तिहरुले यस्तो गरेका हुन ।’ हलिया सामुदायका ब्यक्ति हिजो कै अबस्थामा राख्नका लागी षड्यन्त्र भएको भन्दै उनले थपे ‘यो काममा संलग्न सबैलाई कारबाही हुन पर्छ ।’
कर्मचारी अभाब भएका कारण जिल्लाभरी निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिने मालपोत कार्यालयका प्रमुख जोशीले बताए । उनले भने ‘हामी थोरै कर्मचारी छौँ, त्यसैले प्रत्येक घरको अनुगमन गर्न सकिने अबस्था छैन ।’ स्थानीय तहको सिफारिस तथा प्राबिधिकले मूल्याङ्न गरेर पठाएकोमा बिश्वास भुक्तानी दिने गरेको उनी वताउँछन् ।’ उनी सरकारी कार्यबिधि कडा नभएका कारण पनि प्रभाबकारी कार्यान्वयन हुन नसकेको वताउँछन् मापदण्ड बिपरित वनेका घरकै भुक्तानी दिईयो 
बगलेकको नमुना बस्तीमा निर्माण भएका घरहरु मापदण्ड अनुसार नबनेको जानकारी आफुलाई पनि प्राप्त भएको मालपोत कार्यालयका प्रमुख जोशीले स्वीकार गरे । उनले भने ‘म आफैले हेर्न पाएको त छैन, तर घर खासै राम्रो नबनेको भन्ने सुनेको छु ।’
मुक्त हलिया पुर्नस्थापना बस्तीमा एक घर पनि मापदण्ड अनुसार बनेका छैनन् । बस्तीमा जस्तापाताले छाएको उक्त घर भूँईँताले मात्र छन भने उचाई ७ फिट भन्दा तल रहेको छ । निमार्णपछि नबस्दा झन समस्या भएको छ । दुई कोठे भबन निर्माणको नक्सा भएपनि सानो आकारको टहरा जस्तो घर निर्माण गरेर मुक्त हलियाले अनुदान लिने गरेका छन । जग्गा खरिदका लागी दुई लाख र घर निर्माणका लागी तीन लाख २५ हजार दिएको भएपनि घर निर्माण गर्दा एक लाख वरावर मात्र एक हलियाले बताए । उनले भने ‘हामीले एक लाख  घरमा लगानी ग¥यौं, केही रकम उतै सकियो, केही हामीसंग बाँकी छ ।’
घरका झ्याल ढोका समेत नभएको राष्ट्रिय मुक्त हलिया समाज महासंघका पुर्ब अध्यक्ष डम्मर बिकले बताए । बिकले भने ‘मैले प्रमुख जिल्ला अधिकारीलाई पनि यस बिषय गम्भीरतापूर्बक छानविन गर्नु पर्छ भनेर आग्रह गरेको छु ।’ हलिया पुनस्र्थापना कार्यदलका संयोजक प्रमुख जिल्ला अधिकारी रहने ब्यबस्था रहेको छ । 
खरानी भयो डेढ करोड लगानी
पुर्वीचौकी गाउँपालिका–२ बगलेक १८ र दिपायल सिलगढी नगरपालिका–७ मा १२ गरी मुक्त हलियाका ३० परिवारको पुनस्र्थापनाका लागी जग्गा खरीद तथा घर निर्माण गरिएको छ । प्रति परिवार पाँच लाख २५ हजारको लगानी भएको भएपनि ३० वटै घरहरु कोही बस्दैनन् । 
हाल उनीहरु साविककै  ठाउँमा बसोबास गर्दै आएका छन् । हलिया अगुवा बिकले भने ‘सिलगढीको बस्तीमा केही परिवार बसेका छन् तर बगलेक भने   रित्तो छ ।’ ३० परिवार पुनस्र्थापनाको लागि सरकारले एक करोड ५७ लाख ५० हजार लगानी गरेको छ तर त्यो लगानी खरानी भएको छ । ति घरहरुमा बस्न सक्ने न त घरको मापदण्ड छ न अन्य पूर्वाधारहरुको व्यवस्था छ । 
मुक्त हलियाको लागि निर्माण गरेका घर जीर्ण बनेको अगुवा बिकले बताए । उनले भने ‘अब जो घरमा बस्दैन उनीहरुको घर आबश्यक होईन भने अर्कोलाई दिनु पर्छ सरकारको लगानी खेर फाल्नु हुन्न ।’

सुरक्षा ब्यवस्था मजबुत बनाउन अनुरोध

गणेश मौनी/डोटी
बैशाख २७
बडीकेदार गाउँपालिकाको वडा नम्बर ४ को वडा कार्यालयमा अज्ञात समूहले मंगलबार राती गरेको आगजनीको घटनाको सन्दर्भमा गाउँपालिकाले प्रेश बक्तब्य जारि गर्दै आगजनी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनका साथै कर्मचारी र जनप्रतिनिधिहरुको सुरक्षा ब्यवस्था मजबुत बनाउन प्रहरी प्रशासनसंग अनुरोध गरेको छ । 
बडीकेदार गाउँपालिकाका उपाध्यक्ष ईन्दा बोहरा भाटको हस्ताक्षर बक्तब्य जारी गर्दै गाउँपालिका अन्र्तगत वडा नम्बर ४ को कार्यालयमा अज्ञात ब्यक्ति समुहले कार्यालयको ताला फोडीभित्र प्रवेश गरि कार्यालयमा रहेका सम्पूर्ण महत्वपूर्ण सरकारी कागजात, सरकारी अभिलेख लगाएत कार्यालयमा रहेका सम्पूर्ण नगदी जिसी मालसमानमा आगो लगाई नस्ट गरिएको घटनाले गाउँपालिका अत्यन्त दुखित भएको छ । आम नागरिककौ घर दैलोबाट सेवा प्रवाह गर्ने स्थानीय सरकारको ईकाईका रुपमा रहेको वडा कार्यालय माथि भएको आगजनी संस्थागत हुदै गएको संघीयता र स्थानीय सरकारको बढ्दो लोकपृयताबाट अत्तालिएका समूहहरुको कुकृत्य बाहेक अन्य केही होईन भन्ने गाउँपालिकाको ठहर रहेको उल्लेख गरिएको छ । 
बिज्ञप्तीमै भनिएको छ ‘आगजनीबाट सेवा प्रवाहमा केही कठीनाई उत्पन्न भएको घटनाप्रति सेवाग्राहीहरु संग क्षमायाचना गर्दै अबिलम्ब सेवा सुचारु गर्न गाउँपालिका क्रियाशिल रहेको ब्यहोरा अनुरोध छ । आगजनिको घटनामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुका साथै दुर दराजमा रहेका स्थानीय तह र ति मातहतका कार्यालयमा कार्यरत कर्मचारी, जनप्रतिनिधीहरुको सुरक्षा ब्यवस्था मजबुत बनाउन प्रहरी प्रशासन संग अनुरोध गरिएको छ । 
अब  वडा नम्बर ४ को वडा कार्यालयको नामको सम्पती भनेको एक थान होर्डीङ बोर्ड र एक थान साईन बोर्ड मात्र रहेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक पाण्डेयले बताए । उनले भने ‘गाउँपालिकाका लागि दुखद घटना भयो वडा कार्यालययले सम्पूर्ण काम शुन्यबाट सुरुवात गर्नुपर्ने अवस्था आयो सेवाग्राहीलाई सेवा उपभोग गर्न केही दिन तलमाथी होला पूर्ण रुपमा सेवा प्रबाह गर्ने बताए ।’ घटना कसले घटायो किन घटायो भन्ने बिषयमा केही पत्ता लागेको छैन् प्रहरीले अनुसन्धान गरिरहेको छ प्रहरीको प्रारम्बीक अनुसन्धान अनुसार ५ लाख २३ हजार जिन्सी सामाग्री र ३८ प्रकारका विभिन्न रेकर्डहरु कायम गरिएका सरकारी अभिलेख हरुलगाएत सम्पूर्ण कुराहरु नस्ट गरिएको वडा कार्यालयको नाममा केहीपनि बाँकी नरहेको वडा नम्बर ४ का वडा अध्यक्ष बिरेन्द्र बहादुर कोटकेनीले बताए । 

खेल समाचार 

मिडिया कप फुटसल प्रतियोगिता हुने

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । 
जेठ ४ गतेदेखि ६ गतेसम्म नेपाल आईस मिडिया कप फुटसल प्रतियोगितामा कैलालीको धनगढीमा हुन लागेको आयोजक पक्षले जनाएको छ । धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिईएको हो । नेपाल आईस प्रथम मिडिया कप फुटसल प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद सात हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद एक हजार प्राप्त गर्नेछन् । यस प्रतियोगितालाई चौधरी गुप्रको सिजी   ब्रुअरीको उत्पादन नेपाल आईसनले मुख्य प्रायोजन गरेको छ । नेपाल आईसले खेलकुद पत्रकार मञ्चका पदाधिकारी र सदस्यहरुलाई जर्सी समेत उपलब्ध गराउने भएको छ । यसैगरी यो प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला खेलकुद विकास समिति रहेका छन् । विभिन्न संघसंस्था तथा व्यवसायिक फर्म प्रतिष्ठानहरुले पनि प्रायोजन गरी सहयोग गरेका छन् । 
प्रतियोगितामा कैलालीका विभिन्न सञ्चार माध्यमका टीमहरुले सहभागीता जनाउनेछन् । प्रतियोगितालाई सम्पन्न गर्नका लागि धनगढीको नगरपािलका  रोडमा रहेको फ्ल्याटल्याड फुटसलसँग समन्वय गरिएको छ ।

चलचित्र/मनोरञ्जन 

नयाँ भएको अफर छैन ः धिरज

फिल्मी खवर
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट सानदार डेब्यू गरेका अभिनेता धिरज मगर नेपाली फिल्म क्षेत्रले निकै आश गरेका अनुहार हुन् । डेब्यू फिल्ममा उनको अभिनयको सर्वत्र तारिफ भएको थियो । केही वर्षयता नेपाली फिल्ममा आफ्नो वर्चश्व जमाइरहेका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्काका लागि उनी ’थ्रेट’ हुनसक्ने विश्लेषण कतिपयको छ । 
डेब्यू फिल्म रिलिजपछि उनलाई दुई दर्जन बढी फिल्मबाट अफर भइसकेको छ । तर, उनी पुनः ‘इन्टु मिन्टु लण्डनमा’ टिमको नयाँ फिल्ममा काम गर्दैछन् । रेनाशा वान्तवा राईले निर्देशन गर्ने नयाँ फिल्म ’आई एम ट्वान्टिवान’ मा उनी अनुबन्ध भइसकेका छन् । यो फिल्म साउनबाट फ्लोरमा जाने बताइएको छ । अहिले स्क्रिप्टमा काम भइरहेको छ । फिल्ममा अभिनेत्री जसिता गुरुङ हुने प्रवल सम्भावना छ । 
डेब्यू फिल्म रिलिजपछि लण्डनमा नै रहँदै आएका अभिनेता धिरज केही दिन अगाडि आफूलाई फिल्म क्षेत्रमा प्रवेश गराउने माता–पिता अर्थात् निर्देशक रेनाशा र निर्माता प्रज्वल सम्शेर जबराको रिसेप्सन पार्टीमा सहभागी हुनका लागि काठमाडौं आइपुगेका थिए । लण्डनबाट रिसेप्सन पार्टीकै लागि नेपाल आइपुग्नुले पनि धिरजको रेनाशा र प्रज्वलप्रति माया र सम्मान कति छ भन्ने बुझ्न गाह्रो पर्दैन । रिसेप्सन पार्टीमा सहभागी हुँदै गर्दा उनले आफ्नो पाइपलाइनमा रहेकोे फिल्मबारे पनि सञ्चारकमीलाई जानकारी दिए । उनले आफू ’आई एम ट्वान्टिवान’ लाई लिएर उत्साहित रहेको र केही महिनायता फिल्मको स्क्रिप्टमा काम भइरहेको बताए । हालसालै उनलाई दुई चर्चित फिल्मको सिक्वेल ‘प्रेमगीत ३’ र ‘मेरो एउटा साथी छ २’ बाट अफर भएको चर्चा फिल्मवृतमा छ । तर, उनले यसको खण्डन गरेका छन् । 
पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने ‘मलाई यी फिल्मबाट अफर भएको छैन । बजारमा चलेका हल्ला निराधार हुन् ।’ उनले अहिले आफ्नो सम्पूर्ण ध्यान ’आई एम ट्वान्टिवान’ मा मात्र रहेको बताए ।

लेख 

नेपाल ः मोदीतिर कि अन्तै ?

रमेशनाथ पाण्डे

साम्राज्य र उपनिवेश बिस्तारको क्रम दोस्रो विश्वयुद्धपछि रोकियो तर बलिया देशमा शक्तिको उन्माद नियन्त्रित भएन । अनि नवसाम्राज्यवाद र नवउपनिवेशवादको महामारी सुरु भयो । शक्तिशाली देशले सामरिक महत्व राख्ने साना देशलाई आफ्नो सुरक्षा छाताको बन्धनमा बाँधेर नवउपनिवेशवाद फैलाउन थाले । बिस्तारै शीतयुद्धसँगै दुई ध्रुवीय विश्व व्यवस्था अन्त भयो । बहुध्रुवीय विश्व व्यवस्था निर्माणको क्रम सुरु भयो । अहिले एक्काइसौँ शताब्दीको दोस्रो दशक अन्त हुन थाल्दा पनि यो क्रमले आकार लिइसकेको छैन । सामान्यतया विश्व समुदायकै लागि विशेष महत्वको यो संक्रमणकाल नेपाल जस्तो विश्वका दुई ठूला बजार र उदाउँदा महाशक्तिहरूको एक्लो छिमेकीका लागि आर्थिक उन्नति र क्षेत्रीय हैसियत हासिल गर्ने अपूर्व अवसर बन्न सक्छ । तर अवसर चिन्ने क्षमता र उपयोग गर्ने सीप भएन र कूटनीति सञ्चालनमा चुक भयो भने इतिहासकै लागि अनिष्टकारी हुने जोखिम पनि छ ।
नेपालमा अझै पनि सामरिक संस्कृति विकास भइसकेको छैन । क्षेत्रीय र अन्तराष्ट्रिय घटनाक्रमलाई  राष्ट्रिय हितको दृष्टिबाट हेर्ने, बुझ्ने, विश्लेषण र मूल्याङ्कन गरेर परिस्थितिको झुकावलाई नेपालका लागि अनुकूल बनाउने सिपले अभैm संंस्थागत प्राथमिकता पाउन सकेको छैन । परिणामस्वरूप घटनाक्रमको रुझान बुझ्न नसकेको मात्र हैन, आफ्नो अहित हुने घटनालाई प्रतिकार गर्ने क्षमता पनि नेपालले गुमाउँदै गएको छ । महाभूकम्पले क्षतविक्षत भएको अवस्थामा भारतद्वारा आर्थिक नाकाबन्दी लगाउने पूर्वसूचना सरकारले पाउन सकेन, सङ्केत बुझ्न पनि सकेन । अर्को पीडादायी उदाहरण लिपुलेक हो । लिपुलेकमा नेपालको भौगोलिक अखण्डता खण्डित हँुदा पनि बोल्न नसक्ने कमजोरीका लागि तत्कालीन सरकार प्रमुख नेपाली कांग्रेस र त्यसपछिका सरकारहरूको नेतृत्व गर्ने नेकपा एमाले, नेकपा माओवादी र नेकपाको नेतृत्वलाई इतिहासले सधैँ आफ्नो कठघरामा उभ्याइराख्नेछ । अहिले फेरि क्षेत्रीय र अन्तराष्ट्रिय राजनीति संक्रमण र संघर्षको चरणबाट गुज्रिरहेका छन् । नेपाललाई तत्काल प्रभाव पार्न सक्ने संकेतहरू यो विकासक्रममा देखिएका छन् । अवसर र जोखिमलाई समयमा नै चिन्ने चुनौती फेरि उभिएको छ ।
 द्वन्द्वात्मक स्वार्थहरू भएका भारत, चीन र अमेरिकाको सामरिक राडारमा परिसकेको नेपालका लागि छिमेकीहरूसँगको सम्बन्धमा विश्वासको सङ्कट विपत्तिलाई निम्ता हुनेछ । आर्थिक राष्ट्रवादमा आशक्त शक्तिशाली देशहरूको राष्ट्रिय चिन्तन, राज्यविहीन आतङ्कवादको बढ्दो गतिविधि तथा सहयोग र दुश्मनीलाई सँगै लग्ने दुईपक्षीय सम्बन्धको विविधीकरण अहिले कूटनीति र विश्व राजनीतिको मूल चरित्र बनेको छ । हिजो सोच्न नसकिएका सम्भावना अहिले यथार्थता बन्न थालेका छन् । शीतयुद्धकालमा सोभियत खेमा नजिक बसेको, चीनसँग युद्ध गरेको भारत वर्तमान नाजुक सामरिक राजनीतिक औचित्यबोधको सन्दर्भमा विश्व शक्ति सन्तुलनको तराजुमा सबैभन्दा गह्रँुगो ढक बनेको छ । नरेन्द्र मोदीको नेतृत्वमा ५ वर्षभित्र भारतले हासिल      गरेको दूरगामी महत्वको सबैभन्दा महत्वपूर्ण उपलब्धि यही हो । यसको गहिरो प्रभाव निर्माणाधीन नयाँ विश्व व्यवस्थासँगै दक्षिण एसियाको शान्ति र स्थायित्वमा पर्नेछ । यसको स्वाभाविक प्रभाव नेपालको हाल       चलिरहेको छैटौं राजनीतिक अभ्यासको भविष्यमा समेत पर्न सक्छ । कस्तो परिणाम आउने भन्ने कुरा हाम्रो आफ्नो सुझबुझ र सिपमा भर पर्नेछ । यस सन्दर्भमा हेक्का राख्नुपर्ने सत्य के हो भने साविकबमोजिम आत्मकेन्द्रित एवम् अलमस्ती शैलीले साबिकमा नभएको परिस्थितिको व्यवस्थापन हुन सक्दैन, जोखिम पन्छाउन सक्दैन । हाम्रा छिमेकीहरूको रुचि र स्वार्थ साबिकभन्दा पृथक छ, अझै पृथक हुनेछ ।
द्वन्द्वात्मक रणनीतिबाट निर्देशित भारत, चीन र अमेरिकाको सामरिक राडारभित्र परिसकेको नेपालका लागि दुईवटा प्रमुख बुँदा विचारणीय छन्— १) ‘ठूला शक्ति राष्ट्रबीचको सम्बन्धमा नयाँ मोडेल’ बनाउन अग्रसर अमेरिका र चीनबीचको अन्तरविरोध, सामरिक संघर्ष तथा विश्व नेतृत्वका लागि प्रतिस्पर्धासँगै गहिरिँदो अन्योन्याश्रित सम्बन्ध र यसबाट नेपालको राजनीति र दुई छिमेकीसँगको सम्बन्धमा पर्ने असर । चीन र      अमेरिकाले आपसी सम्बन्धमा बढिरहेको दबाब, जटिलता र भारलाई परिपक्व र विवेकयुक्त ढंगमा व्यवस्थापन गर्न सकेनन् भने दोस्रो शीतयुद्ध सुरु हुनेछ । यो खतराले नेपालमाथि दबाब बढाउनेछ, धराप थप्नेछ । २) शीतयुद्धको अन्त र सोभियत संघको विघटनपछि विजयोत्सव मनाएको पश्चिमी प्रजातन्त्र पहिलोपटक अहिले दबाब महसुस गर्न थालेको छ । परिपक्व प्रजातन्त्रहरू सङ्कटमा परेर अमेरिकालगायत विश्वका प्रजातान्त्रिक शक्तिहरू अहिले परेशानीमा परेका छन् । यसले नेपालको संस्थागत हुन नसकेको प्रजातन्त्रमा दबाब थप्न सक्छ ।
विगत ३० वर्षदेखि अमेरिकी डेमोक्रेटिक राष्ट्रपति– हरूलाई राजनीतिक सल्लाह दिँदै आएका विख्यात     विचारक डग्लस इ स्कोइनले पछिल्लो महिना प्रकासित आफ्नो बहुचर्चित पुस्तक ‘कोल्याप्स’ मा लेखेका छन्– ‘प्रजातन्त्रमा अहिले हामीले अनुभूत गरिरहेको सङ्कट विश्वव्यापीमात्र हैन, प्रजातन्त्रको मानक मानिएको संयुक्त राज्य अमेरिका स्वयम्मा समेत अनुभव गरिँदैछ ।’ सिएनएनमा गत फागुन ५ गते दुईजना विश्लेषक अन्थोनी माक्र्स र जेमी उडसनले ‘अमेरिकी प्रजातन्त्रमा विश्वासको सङ्कट परेको’ बताउँदै ‘सुधारको ठोस प्रयास शीघ्रतासँग भएन भने गहिरो अनपत्यारको अनुभूति अझै फैलिँदै जाने’ चेतावनी दिएका थिए । यसैगरी इकोनोमिक इन्टलिजेन्स युनिटले पनि ३ वर्षदेखि युरोपमा प्रजातन्त्र ह्रासोन्मुख रहेको ठहर सार्वजनिक गरेको छ । पश्चिमी युरोपका अन्य देशको तुलनामा बढी सम्पन्न र शान्तिमय नेदरल्यान्डका लोकप्रिय नेता थेइरी बौडेटसमेत तानाशाह मुसोलोनीको प्रत्यक्ष प्रजातन्त्रको आवश्यकतामा जोड दिन थालेका छन् ।
वास्तवमा अहिले विश्वभर नै निर्वाचन प्रक्रियालगायत सबै राजनीतिक संंस्थामा आमजनताको पत्यार घट्दै गएको छ। यसको प्रतीकात्मक नकारा–त्मक अभिव्यक्ति हो–युक्रेनमा ७३ प्रतिशतभन्दा बढी मतले बहालवाला राष्ट्रपतिलाई हराएर हालै हाँस्य कलाकार राष्ट्रपति बन्नु । रुसी प्रभुत्वविरुद्ध पेसेवार राजनीतिज्ञहरू उभिन नसकेपछि मतदाताले २०१३–१४ को ‘प्रतिष्ठाको क्रान्ति’ लाई खेर जान नदिन हाँस्य कलाकारलाई शासक छानेका हुन् । भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चालेर निराश जनतालाई आश्वस्त पार्दै शक्ति    पृथकीकरणको संस्थागत व्यवस्थाद्वारा प्रजातन्त्रको अभ्यास सार्थक बनाउन के युक्रेन सफल हुन्छ भन्ने अहिले प्रश्न खडा भएको छ । सत्तामा जरो गाडेर बसेको, राज्यका स्थापित शक्तिहरूद्वारा बलवान बनाइएको शासनलाई आफ्नो हात आफैँले बाँधेर, मुखमा पट्टी टाँसेर सडकमा उभिएको असंगठित निशस्त्र भिडले धराशायी बनाउन सक्छ भन्ने उदाहरण सन् २०११ मा ट्युनिसिया र इजिप्टमा देखिएको थियो । सुडान र अल्जेरियामा पछिल्लो महिना भएको उथलपुथलले अरब जागरणको कलर रिभोलुसनको बिउ मासिएको छैन भन्ने जनाउ विश्व समुदायलाई दिएको छ ।
यसैबीच देखिएका लक्षणले भारतमा हाल भइरहेको आमचुनाव सत्रौं संसद्को गठनमा मात्रै सीमित नरहेर ९० करोड मतदाताले सामूहिक विवेकबाट भारतीय प्रजातन्त्रको चरित्र र चिन्तनसमेत फेर्न सक्ने बताइरहेका छन् । भारतीय जनता पार्टीको यसपटकको चुनाव घोषणापत्रमा ‘नयाँ सरकारको प्रेरणाको आधार नै राष्ट्रवाद हुने’ प्रतिबद्धता लेखिएको छ । यसैले ‘भारतीय संस्कृति र हिन्दु संस्कृति साझा हुन्’ भन्ने प्रधानमन्त्री मोदीको नेतृत्वमा जेठ ९ गतेतिर दोस्रोपटक बन्ने नयाँ सरकारका लागि प्रेरणाको मूल मन्त्र हिन्दु राष्ट्रवाद हुने कुरा प्रस्ट छ । यसो त एक्काइसौं शताब्दीको दोस्रो दशकको सुरुदेखि नै युरोप र अमेरिकी सामरिक राजनीतिक चिन्तन ‘पहिले आफ्नो देश र आफ्नो स्वार्थ’ द्वारा परिभाषित  राष्ट्रवादबाट निर्दिष्ट हुन थालेको हो । यस्तै चिन्तन र बेहोरा भारत र चीनको नेतृत्वले पहिले जै अपनाउन थालेका थिए । तर अहिले हिन्दु राष्ट्रवादको विशेषताले भारतको पहिचान पृथक हुन थालेको छ । अमेरिका र चीन सम्बन्धमा सन्तुलन शक्तिको हैसियत लिन थालेको छ । पश्चिमी पर्यवेक्षकहरूको विश्लेषणअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा ‘नेहरु इन्दिराकालीन समावेशी राजनीतिक संस्कृतिको अन्त हुनेछ ।’ मोदीले भारतीय परराष्ट्र नीतिलाई आफ्नो रणनीतिक स्वामित्वमा उभ्याउने क्रममा नेहरु–इन्दिरा छायाँबाट झिकेर सामरिक स्वामित्वलाई हिन्दु सभ्यताको आदर्श, मूल्य र मान्यतामा खडा गरिसकेका छन् । अब यसपटकको चुनावमा भाजपाको विजयले बहुलवादमा ग्रहण लाग्ने तथा भारत भूमण्डलीय शक्ति सन्तुलनको मुख्य पक्ष बन्न सक्ने विश्लेषण जरनल अफ डेमोक्रेसीको जनवरीको अङ्कमा गरिएको छ ।
आउने दिनहरूमा अमेरिका र चीनसँगको सम्बन्धमा भारतको अवस्था बलियो हुँदै जानेछ । यसको स्वाभाविक असर भारतको छिमेक नीतिमा पर्नेछ । भाजपाको चुनाव घोषणापत्रमा ५ वर्षपहिलेको ‘पहिले छिमेकी’ भन्ने मूल नारा हटाइएको छ, सार्क उल्लेख नै छैन । यसले भारतीय परराष्ट्र नीतिको प्राथमिकता र चिन्तनमा परिवर्तन आउने सूचना दिएको छ । परिणाममा ताजा जनादेश लिएर आउने मोदी नेतृत्वको नयाँ सरकारले अमेरिका र चीनसँगको सम्बन्धको आडमा साना छिमेकीसम्बन्धी नीतिमा विशेषै किसिमको सजिलो महसुस गर्न सक्ने लक्षण देखिन्छ । यस सन्दर्भमा राजनीति र कूटनीतिका विद्यार्थीका लागि विशेष रुचिको कुरा के छ भने आमचुनावको क्रम निर्णयात्मक चरणमा आइपुग्दा चीनले मोदीको पक्षमा ‘मतदान’ गरेको छ । सन् १९९९ मा काठमाडौँबाट उडेको भारतीय विमान अपहरण र २००८ को मुम्बई आक्रमणको नाइके पाकिस्तानी नागरिक मसुर अजहरलाई आतङ्ककारी घोषित गरोस् भन्ने प्रयासमा विगत २० वर्षदेखि भारतीय कूटनीति प्रयत्नशील थियो । पछिल्लो १० वर्षभित्र चारपटक राष्ट्र संघ सुरक्षा परिषद्द्वारा अजहरलाई अन्तराष्ट्रिय आतङ्ककारी घोषित गराउने भरमग्दुर प्रयास भारतले गरेकै हो । तर भिटो शक्ति भएका अन्य चारवटा देशले साथ दिए पनि चीन एक्लैले छेकेपछि यी सबै प्रयास असफल भएका थिए । तर यसै महिना चीनको सहमतिमा अजहरलाई सुरक्षा    परिषद्ले अन्तराष्ट्रिय आतङ्ककारी घोषित गरेपछि प्रधानमन्त्री मोदीलाई आफ्ना मतदातालाई देखाउने ठूलो कूटनीतिक सफलता हासिल भएको छ ।
निश्चय नै चिनिया राष्ट्रपति सि चिनफिड र प्रधानमन्त्री नरेन्द्र मोदीबीच बढ्दो निकटता र विश्वासको परिणाम हो यो । सुरक्षा परिषद्मा चीनको समर्थनलाई भारतको यसपटकको चुनावमा बेइजिडको मत मोदीको पक्षमा खसेको भनेर बुझ्नु सही हुन्छ । ५ वर्षको अवधिमा प्रधानमन्त्री मोदीले अमेरिका र चीनसँग भारतको सम्बन्ध सञ्चालनमा देखाएको कूटनीतिक प्रवीणता तथा सामरिक सिपले वासिङ्टन र बेइजिङबीच धारिलो हुँदै गएको द्वन्द्वमा नयाँ दिल्लीलाई उल्लेखनीय हैसियत दिएर लाभान्वित तुल्याएको छ । राष्ट्रिय हितमा समर्पित सिपयुक्त कूटनीतिले आन्तरिक राजनीतिमा पनि लाभांश दिन्छ भन्ने    कुरा नेपालका लागि समयले दोहो¥याएर पढाएको यो अर्को मूल्यवान पाठ हो । मोदीको दोस्रो कार्यकालमा भारतको नेपाल नीति पुनभाषित हुनेछ । नेपाल–भारत सम्बन्धको इतिहासमा आगामी ५ वर्षले निर्णयात्मक महत्व राख्नेछ ।
भारतीय राजनीतिको मानसिक दिशा परिवर्तनलाई बुभ्mन नेपाल पटक–पटक चुकेको छ । पछिल्लो आम चुनावले सरकार परिवर्तनमात्र हैन, शासन पद्दतिको ढाँचा नै परिवर्तन गरेको, राष्ट्रिय नेताको चयन गरेको तथ्य चीन, अमेरिका र रुसले छिट्टै बुझे अनि आफ्नो भारत नीतिलाई समायोजित गर्न थाले । तर नेपालले बुझेन, बुझ्ने कोसिस नै गरेन् । प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन सार्कका अन्य सरकार प्रमुखहरूसँगै निम्त्याइएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियत समेत गुमाएको कांग्रेसकी अध्यक्षलाई भेट्ने प्रमुख अजेन्डा बनाएर प्रत्युत्पादक स्वभाव देखाए । यो अकूटनीतिक बेहोरा थियो किनभने उनी कांग्रेसलाई हराएर आएका नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा उपस्थित हुनमात्र गएका थिए । राजकीय वा निजी भ्रमणमा गएका थिएनन् ।
यतिमात्र हैन, भारतीय राजनीतिमा दूरगामी महत्वको गुणात्मक फेरबदल आएकाले तदनुकूल नेपालको बरताव हुनुपर्छ भन्ने गगन थापालगायत नेपाली कांग्रेसका युवा नेताहरूको सल्लाह पनि खेर फालिएको थियो । यसैगरी नेपालको संविधानबारे तत्कालीन ३ पार्टीका प्रमुख नेताहरू (कांग्रेसका शेरबहादुर देउवा, एमालेकी विद्या भण्डारी, माओवादीका पुष्पकमल दाहाल र बाबुराम भट्टराई) ले आफ्नै पहलमा नयाँ दिल्ली गएर भारतीय परराष्ट्र मन्त्रीलाई भेटेर दिएको वचनसमेत पालन नगरेको सरकारी दाबी ७ डिसेम्बर २०१५ को भारतीय संसद्को आधिकारिक दस्तावेजमा अभिलिखित भएको छ । वास्तवमा पालन नगरिने वचन दिनु नेपालका नेताहरूको चरित्र नै बनेको छ। व्यक्तिगत सम्बन्धमा त वर्तमान नेतृत्वको अनपत्यारलो चरित्र चर्चित नै छ । तर वैदेशिक सम्बन्धमा, विशेषगरी छिमेकीहरूसँग प्रतिबद्धता व्यक्त गर्दा होस गर्नुपर्छ । एकपटक सहमत भएपछि, एकपटक वचन दिएपछि पालन हुनैपर्छ । अन्यथा दुईपक्षीय सम्बन्धमा विश्वासको सङ्कट आउँछ । द्वन्द्वात्मक स्वार्थहरू भएका भारत, चीन र अमेरिकाको सामरिक राडारमा परिसकेको नेपालका लागि छिमेकीहरूसँगको सम्बन्धमा विश्वासको सङ्कट विपत्तिलाई निम्ता हुनेछ । 
— नागरिक दैनिकबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. वातावरण व्यवस्थापनको महत्व लेख्नुपहोस् । 
ड्डपारिस्थितिक पद्धतिको संरक्षण गर्न 
ड्डजैविक विविधताको संरक्षण गर्न 
ड्डभू–क्षय, वन विनाश, बाढी पहिरो जस्ता, प्राकृतिक प्रकोप कम गर्न 
ड्डप्रकृतिको संरक्षण गर्न एवं स्रोतहरूको खपत कम गर्न 
ड्डजनसंख्या नियन्त्रण गर्न, अव्यवस्थित सहरीकरणमा कमी ल्याउन 
ड्डप्रकृति एवं मानव जीवनलाई खतरा हुने उपकरण निर्माणमा र प्रयोगमा रोक ल्याउन 
ड्डपर्यटकीय विकासमा सघाउ पु¥याउन 
२. संविधान भनेको के हो ? 
ड्डसंविधान देशको मूल कानुन हो । यसलाई सबै कानुनको जननी भनिन्छ । योसँग बाझिएका कानुनहरू बाझिएको हदसम्म अमान्य हुन्छन् । 
ड्डसंविधान राजनैतिक एवं कानुनी दस्तावेज हो । 
ड्डराजनीतिक दस्तावेज हुनुको कारण देशको राजनीतिक परिस्थितिका आधारमा संविधान बन्दछ र भविष्यका शासन व्यवस्थाको समग्र पद्धति स्थापित गर्दछ । 
ड्डकानुनी दस्तावेज हुनुको कारण संविधानले मानक र मापदण्डहरूको निर्धारण गर्दछ । यो नियमहरूको सँगालो हो । 
ड्डसंविधानलाई न्याय, समानता र स्वतन्त्रताको आधारशिला मानिन्छ । 
ड्डराज्यका अङ्गहरूको सिर्जना गरी शक्तिको बाँड फाँड गर्ने काम यसले गर्दछ । शासन व्यवस्था सञ्चालनको खाका यसले नै कोर्दछ । 
ड्डसंविधानका प्रमुख ४ कामहरू 
ड्डसंविधानले राज्यका प्रमुख अङ्गहरूको संगठन, संरचना निर्माण गर्दछ । (इचनबलष्शष्लन) 
ड्डती संरचनाले गर्न काम, कर्तव्य र अधिकारको बाँड फाँड गर्दछ । (म्ष्कतचष्दगतष्लन) 
ड्डती निकायहरू बीच एक आपसमा नियन्त्रणको प्रबन्ध गर्दछ । (च्भनगबितष्लन) 
ड्डती निकायहरूको अधिकारमा सीमाङ्कन गर्दछ । (ीष्mष्तष्लन) 
ड्डप्रथम लिखित संविधान संयुक्त राज्य अमेरिकामा सन् १७८९ बाट सुरु भएको हो । 
३. संविधान किन आवश्यक छ ? 
ड्डस्वेच्छाचारी शासनमा सिमा लगाउन 
ड्डनिरंकुशतालाई अस्वीकार गर्न 
ड्डकानुन प्रति उत्तरदायी बनाउन 
ड्डसरकारलाई नियन्त्रण गर्न 
ड्डकानुन÷विधिको शासनको स्थापना गर्न 
ड्डआमजनतालाई लाभान्वित तुल्याउन 
ड्डमानवअधिकारको सम्मान गर्न । 
४. संविधानका विशेषताहरू लेख्नुहोस् । 
ड्डसंविधानको सर्वोच्चता हुन्छ । 
ड्डसंविधानले शासकीय शक्तिमा सीमा लगाउँदछ । 
ड्डनागरिक अधिकार प्रति सम्मान प्रकट गर्दछ । 
ड्डशक्तिको दुरुपयोगलाई अस्वीकार गर्दछ । 
ड्डसरकारलाई जनता प्रति उत्तरदायी बनाउँदछ । 
ड्डयसले सुशासनको प्रत्याभूति गर्दछ । 
५. राजनैतिक विभाजनका आधारहरू लेख्नुहोस् । 
ड्डभौगोलिक र जनसंख्याको स्थिति 
ड्डप्रादेशिक एकता र जातीय एकता 
ड्डधर्म, रीतिरिवाज तथा संस्कृति 
ड्डविकासका पूर्वाधारहरू 
ड्डप्राकृतिक स्रोत, साधनहरूको उपलब्धता 
ड्डसामाजिक बनोट
६. नेपालको प्रामाणिक समयको निर्धारण 
ड्डनेपालको प्रामाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६.१५ को पूर्वी देशान्तर रेखालाई आधार मानिएको छ । 
ड्डग्रीनविच मिन टाइम (न्ःत्)भन्दा ५ घन्टा ४५ मिनेट छिटो छ । 
ड्डयो प्रामाणिक समयको निर्धारण वि. सं. २०४२ वैशाख १ देखि गरिएको हो । 
७. हिमाली क्षेत्रका विशेषताहरू 
ड्डदेशको कुल भुभागको करिब १५% भुभाग यस क्षेत्रमा रहेको 
ड्डविभिन्न हिमनदी र नदीहरूको उद्गकमस्थल 
ड्डबौद्ध धर्मावलम्बीहरूको बसोबास भएको 
ड्डयातायात, सञ्चार, शिक्षा र स्वास्थ्यको अपर्याप्त सुविधा 
ड्डपशुपालन, फलफूल, जडीबुटी मुख्य व्यवसाय । 

साहिज्य/सिर्जना 

लेन्डुपहरु 

देशमा विभिषणहरु ज्यूदैं छन् ।
देशमा जालन्धरहरु पनि छन् ।
जे जति अर्जुनहरु छन्
ती अव कुनै हालतमा,
कृष्णको वहकाउमा,
युद्ध लड्न चाहादैनन् ।
र पश्चतापको भाषामा
उल्टै सम्झाइरहेछन् कृष्णलाई,
फेरि अर्को युद्धको तयारी–
अव कसैगरी गर्नु हुन्न भनेर ।
अझै जिकिर छ कृपाचार्यको 
उनले चाहेका भए,
विगतमा पनि 
युद्ध टल्न सकिन्थ्यो भनेर ।
निरीह धृतराष्टहरुले 
पहिला पनि कहाँ सिमाना देखेका थिए र !
यसर्थ,
सञ्जयहरु पनि हड्तालमा जुटेका छन् 
उनीहरु अव,
कुनै अन्धाको पाउभक्तिमा,
आफ्नो समय उत्सर्ग गर्र्न चाहादैनन् ।
र चाहादैनन् पुत्र मोहको नाउँमा,
एउटा सिंगै सभ्यता नासियोस् ।
दाउको राजनीति छोडेर,
सकुनी पनि सुध्रिएका छन् ।
सभ्यता टिकिरहनु पर्छ भनेर
दुर्योधन सत्संगमा भिजेका छन् ।
इच्छा छैन कसैलाई
अव कुनै युद्ध चम्कियोस
र खरानी बनोस कुरुक्षेत्र ।
म चौतारीमा वसेर,
तल हेरिरहेछु 
मेरो देशमा,
हस्तिनापुरमा नभएका
केही लेन्डुपहरु छन्
केही लेन्डुप हुन खोज्दैछन्
र भरखर जन्मेका केही लेन्डुपरुलाई,
साना नानीहरु 
पुतला बनाएर जलाउदैछन् । 
कृष्ण प्रसाई

गजल 

पख, पख पुतली,
पख म नि आऊँ,
आज हामी दुइजना
सँगै डुल्न जाऊँ ।

टेकी तिमी हावामा
फुरुफुरू आऊ
मचैं चाल्छु भुइँमा
टुकुटुकु पाउ ।

सँगसँगै जाऊँ हामी
सँगसँगै जाउँ,
हेरुँहेरुँ लाग्यो मलाई
साह्रै तिम्रो गाउँ ।
दुर्गालाल श्रेष्ठ

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०१÷३० 
उपरोक्त सम्बन्धमा शिखर नगरपालिका–६ सुर्खाल डोटीमा रहेको यस श्री सरस्वती आधार बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईच्छुक उम्मेदवारले आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल 
बिज्ञापन नं. १÷०७५÷०७६ 
पद ः शिक्षक,    संख्या ः १ जना
तह ः प्रा. बि. तृतीय,    
किसिम ः अस्थायी करार   
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः १५००÷–,  
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७६÷०२÷१३ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७६÷०२÷१४ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्ड अध्यापन अनुमति पत्रको प्रतिलिपी २ प्रति 
नोट ः स्थानीय, महिला, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८४८५२२१३६ मा सम्पर्क गर्नु होला ।

डोटी जिल्ला क्रिकेट संघको सूचना 

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७६÷०१÷२७ गते 
यस संघको साधारणसभा मिति २०७६ साल जेठ १४ र १५ गते हुने भएकोले जेठ १४ गते बिहान ११ बजे जिल्ला खेलकुद बिकास समितिको हलमा हुने भएको हुँदा तपशिल अनुसारका योग्यता पुगेका ब्यक्ति तथा क्लबहरुले यही जेठ मसान्तभित्र नयाँ सदस्यता लिन हुन सबैलाई यसै सार्वजनिक सूचना मार्फत जानकारी गराईन्छ । 
योग्यता ः
१. क्रिकेट संघको केन्द्र तथा जिल्ला समितिमा कम्तिमा २ कार्यकाल सदस्य भइ काम गरेका ब्यक्तिहरु  ।
२. पूर्व अन्तराष्ट्रिय सिनियर खेलाडीहरु । 
३. क्रिकेट संघ वा राखेपले आयोजना गरेको तीन पटक फरक फरक वर्षमा राष्ट्रियस्तरको सिनियर क्रिकेट प्रतियोगिता खेलेका पूर्व खेलाडीहरु । 
४. ब्ऋऋ, क्ष्ऋऋ र क्रिकेट संघ तथा अन्य संस्थाद्वारा कम्तिमा एउटा श्रेणीको तालिम लिएका  अम्पायर, स्कोरर र कोचहरु । 
५. रा.खे.प. वा क्रिकेट संघले बिगत ८ वर्ष यता आयोजना गरेको क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कम्तिमा २ पटक सहभागि क्रिकेट संघमा आबद्ध क्लबहरु । 
सदस्यता शुल्क 
१. प्रवेश शुल्क (क्लब) ः ५०००
बर्षिक नबिकरण शुल्क ः १०००
२. प्रवेश शुल्क (ब्यक्ती) ः ५००
बार्षिक नबिकरण शुल्क ः२५०
नबिकरण शुल्क एकमुष्ट ४ वर्षको बुझाउनु पर्ने छ  । 
माथि उल्लेखित योग्यता पुगेका ब्यक्ति तथा क्लबहरुले सदस्यता लिन आउदाँ योग्यता पुगेको प्रमाण साथमा लिइ आउनु होला । प्रमाण नपुगेमा जिल्ला संघ सदस्यता दिन बाध्य हुने छैन ।   सम्पर्क ः ९८५८४२६५५९

Tuesday, May 7, 2019

बिम्ब साप्ताहिक, २०७६ साल बैशाख २४ गते मंगलवार

लोक सेवा आयोगको अग्रगामी सोच, परीक्षण प्रबिधिको प्रयोगबाट योग्य व्यक्तिको छनौट ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

द्वन्द्वले उजाडिएको “छेडा” गाउँ

रामहरी ओझा/डोटी
बैशाख २३
“बैशाख १९ गते मेरो गाउँको लागि कालो दिन । २०५९ साल बैशाख १९ गते सयौं मान्छेको रगतले रातै भएको थियो मेरो गाउँ ।” डोटी बडीकेदार गाउँपालिका–२, छेडा गाउँकी मुना मटेलीले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गरिन् । आफु सानै उमेरको भएकाले पहिले गोली चन्दा त मन्दिर भत्काउन लागेका हुन भन्ने सोचिछिन् तर जव अन्धाधुन्द गोली चल्न थाल्यो, गाउँलेको भागाभाग भयो, त्यसपछि उनले मान्छे मर्दै रेहछन् भन्ने थाह पाईन । 
उक्त घटनाको १७ बर्ष   पुरा भएको सम्झदै तत्कालीन क्रान्तिका नाईकेहरु सिंहदरवार पुगेर ति दिनहरु बिर्सेको आरोप लगाएकी छिन् । राज्यको चौथो अंग मानिने सञ्चार क्षेत्र पनि त्यो गाउँको पीडा बुझ्न नगएको उनले सामाजिक सञ्जालमा दुखेसो गरेकी छिन् । 
‘द्वन्दकै कारण पढ्ने उमेरमा डरले बिवाह गरेर रहर थन्काएका मेरा दिदिहरुलाई सोध, कलिलै उमेरमा भारत भासिएका दाजुहलाई सोध, दिउसभरी काम गरेर साँझ माओवादीलाई पेट भरी खुवाउँदै आफु भोकै बस्नेलाई सोध, बिद्यायल छोडी जंगल पसेकालाई सोध पीडा के हो भन्ने’ मुनाको स्टाटसमा उल्लेख छ । 
२०५८ साल फागुन ४ गते अछाम जिल्ला सदरमुकाम आक्रमणपछि तत्कालीन माओवादी नेता कार्यकर्ताहरु छेडा गाउँमा जम्मा हुने क्रममै थिए । उक्त सुईको सेनाको कानमा परेछ । २०५९ साल बैशाख १९ गते एकाएक गोली चल्न सुरु भयो । घटनामा माओवादीतर्फ कति हताहत भए थाह भएन तर स्थानीयहरुका अनुसार उक्त घटनामा करीव एक सयको हा–राहारीमा माओवादी मारिए । “माओवादीले त यसरी सेना आएर आक्रमण गर्ला भन्ने सोचेकै थिएनन्, उनीहरु त सुरक्षित बसेको महसुस गर्दै थिए” एक स्थानीयले भने ‘सेनाले आएर एकोहोरा गोली हाने, माओवादीले तयारी समेत गर्न पाएनन् ।’ उनी पछि रेडियोमा दोहोरो भिडन्त भन्दा आफुलाई धेरै दुःख लागेको वताउँछन, भन्छन् “सेना पनि झुटा बोल्ने रहेछ भन्ने त्यो दिनै थाह पाएँ ।’ 
सेना गईसकेपछि माओवादी कार्यकर्ताहरु फेरी आएर आफ्ना घाईते कार्यकर्ताहरुलाई बोकेर लगेको र मृतहरुलाई हतार हतारमा गाडेको मुना वताउँछिन् । ‘राम्रोसंग गाडिएका थिएनन् लास, पछि स्याल र कुकुरले तानेर निकाले’ मुना भन्छिन् ‘लामो समयसम्म गन्हाईरह्यो गाउँ ।’ अहिले पनि मान्छेका हड्डीहरु छरपट्ट देखिने गरेको उनी वताउँछिन् । 
घटनाअघि १२ परिवार बस्थे छेडा गाउँमा । घटनापछि त्रसित भएका स्थानीयहरु बसाई सरेर गए । अहिले जम्मा तीन परिवार मात्रै छन् । ‘एक परिवार अर्को गाउँबाट बसाई सरी आएकाले चार परिवार भएका छौं’ स्थानीय चक्र मटेली भन्छन् ‘त्यतिवेला गाउँ छोडेर गएकाहरु फर्केका छैनन् ।’ कतै जान नसक्ने अवस्था रहेकाहरु मात्रै गाउँमा बसेका चक्रको भनाई छ । 
स्थानीयलाई लाईन लाएर गोली हानियो 
घटनामा पाँच स्थानीयलाई सेनाको गोलीले छिन्यो । बिहान करीव ११ वजे लहरैका खेतमा गोरु जातेर धान छर्दै गरेका व्यक्तिहरुलाई माओवादीको    आरोपमा सेनाले समात्यो । उनीहरुलाई माओवादी भएको कवुल गराउन खोज्यो तर स्थानीयले आफुहरु माओवादी नभएको भनेपछि कुट्यो । ‘जोतिएका गोरुका हलो र जुवा समेत काट्यो’ चक्र भन्छन् ‘त्यसपछि लाईन लाएर गोली हान्यो ।’ 
उक्त घटनामा माओवादीको आरोमा मारिनेहरुमा ७० बर्षीय रणवहादुर चन्द र ६५ बर्षीय दलवहादुर चन्द पनि थिए । गोरु किन्न भनेर आएका पुड्केपानी गाउँका डवलवहादुर सार्कीले पनि सोही घटनामा   मारिनु प¥यो । 
‘उनी गोरु किन्न आएका थिए, गोरुको मोलमोलाई भईरहेको थियो’ त्यो दिन सम्झदै चक्रले भने ‘त्यहीबेला सेनाले आएर हामीलाई समात्यो ।’ 
सेनाको गोलीबाट मृत्यु हुनेमा २५ बर्षीय लालवहादुर चन्द र १८ बर्षीय टेकवहादुर चन्द परे । 
कसरी बाँचे चक्र ? 
हलो जोत्दै गफ गर्दै गरेका ६ जना स्थानीयहरुमा छेडा गाउँकै चक्र मटेली पनि थिए । अन्य पाँच जना जस्तै उनलाई पनि सेनाले लाईन लायो । “ल तिमिहरु भाग, ज्यान बचाउ भनेका हुन शाही सेनाले’ चक्र भन्छन् ‘तर हामीले हामी माओवादी होईनौं यही गाउँमा मान्छे हौं, भागेर कहाँ जाउँ भन्दा आमा छोएर गाली गर्दै गोली हाने ।’ हात, मुख र घाटीमा गोली लागेका चक्र भन्छन् ‘त्यसपछि के भयो थाह भएन ।’ राती करीव ८ वजे होस खुलेपछि आफु नजिकैको दुम्सीको ओडारमा गएर बसेको उनी वताउँछन् । 
“बोल्न खोज्दा मुखमै हानेर दात झरे, हात जोडेर बिन्ति गर्दा हातमै गोली हान्यो” चक्र भन्छन् ।  
उपचारका क्रममा करीव दुई लाख रुपैयाँ खर्च भएको चक्रको भनाई छ । ‘मैले कतैबाट कुनै राहत पाईन’ उनी भन्छन् ‘पटक पटक गाविस र जिल्ला धाए तर कसैले मेरो पीडा सुनेन ।’ 
भत्किन थाले बाँझिएका घर
छेडा घटनाको कारण त्रासले भागेका स्थानीयका घरहरु भत्किन थालेका छन् । गाउँमा सन्नाटा छ । जताततै खेतहरु बाँझै छन् । 
“त्यतिवेलाको खेतीयोग्य जमिनमा अहिले जंगल भएको छ, घरहरु पनि भत्किईसके’ मुना भन्छिन् ‘जंगल बढेपछि जंगली जनावरहरु पनि बढेका छन्, गाउँमा बस्नै डर लाग्न थाल्यो ।’ जंगली जनावरले खेती पनि नष्ट गर्ने गरेको उनी वताउँछिन् । 
निर्मला पनि सेनाकै शिकार  
छेडा घटनामा मारिएका लालवहादुर चन्दकी पत्नी निर्मला चन्द घटनापछि गाउँ छोडेर खडेउलीमा बस्दै आएकी    थिईन । बुढी सासु आमा, एक बर्षको छोरा र आफु संगै बस्दै आएका थिए ।  
गस्तीमा गएका सेनाले माओवादी लुकेको आरोपमा निर्मलाको घर घेरा हालियो । निर्मलालाई ढोका खोलेर वाहिर आउन भनियो तर सेनाकै गोलीबाट श्रीमान् गुमाएकी निर्मलाले वाहिर आउने हिम्मत गरिनन् । ‘घरभित्रै थिईन उनी, सानो बावु पनि संगै थियो’ चक्र भन्छन् ‘उनले ढोका नखोलेपछि सेनाले झ्यालबाट गोली हान्यो र उनको मृत्यु भयो ।’ 
२०६१ साल असोजमा भएको उक्त घटनामा निर्मलाका छोरा प्रकाश पनि घाईते भए । उनलाई सेनाले उपचारका लागि काठमाण्डौं लग्यो । हाल उनी शहीद स्मृति बिद्यालयमा सुर्खेतमा अध्ययन गरिरहेको चक्र वताउँछन् । 

सम्पादकीय 

बालुवाटार जग्गा प्रकरण निश्पक्ष छानविन होस् 

व्यापक रुपमा चर्चामा रहेको प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा प्रकरणमा नयाँ नयाँ तथ्यहरु आउन थालेका छन् । बिभिन्न सरकारका पालामा बिभिन्न खालका निर्णयहरु भएका छन् । प्रधानमन्त्री स्वयं बस्ने ठाउँ त अतिक्रमणमा पर्छ भने अरु के वाँकी रहला भन्ने प्रश्न पनि स्वभाविकै हो । यसको साथसाथै अन्य क्षेत्रमा पनि जग्गा अतिक्रमण गरेको बिषय व्यापक रुपमा बाहिर आउन थालेको छ । 
पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गठित छानबिन समितिले सरकारको नाममा रहेका त्यहाँको अधिकांश जग्गा व्यक्तिको नाममा पुगेको प्रतिवेदन दिएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा कतिपय मन्त्रिपरिषदकै निर्णयका कारण व्यक्तिका नाममा पुगेको त्रिताल समितिको प्रतिवेदनमा उल्लेख  छ । त्यसमध्ये सरकारका केही निर्णय खारेज गर्न र जग्गा फिर्ता ल्याउन समितिले सिफारिस गरेको छ । तर, कुन व्यक्तिले कुन समयमा अपचलन गरेर त्यहाँको जग्गा आफ्नो नाममा ल्याए भन्ने उल्लेख गरेको छैन । त्यो छानबिन समितिको कार्यादेशभित्र पनि पर्दैनथ्यो ।
अहिले मिडियामार्फत् थप सूचना बाहिर आएका छन् । २०४८ सालदेखि नै उक्त जग्गा हडप्न चलखेल भएको र विभिन्न समयमा विभिन्न मन्त्री, राजनीतिज्ञ तथा कार्मचारीले भूमिका खेलेका कुरा बाहिर आएका छन् । यो अपचलनको पूर्ण तस्बिर भने अझै प्रष्ट छैन ।
सरकारी जग्गा, त्यसमाथि प्रधानमन्त्री निवास परिसरकै जग्गासमेत अपचलन गरेर आफ्ना नाममा पार्नेसम्म जुन तहको बदमासी देखिएको छ, त्यसबारे सम्पूर्ण सत्यतथ्य जान्ने हक नेपाली जनतालाई छ ।
त्यसैले, यी सबै छानबिन गर्न, विभिन्न समयमा बदनियतपूर्वक काम गर्ने दोषीहरू पत्ता लगाउन, जग्गा अपचलनमा कसले के भूमिका खेले भन्ने सार्वजनिक जानकारीमा ल्याउन र तिनीहरूलाई कठघरामा उभ्याउन सरकारले एउटा शक्तिशाली न्यायिक आयोग गठन गरोस् ।
यो प्रकरणमा वहालवाला प्रधानमन्त्री वा पूर्व प्रधानमन्त्री वा शक्तिशाली पार्टीको नेता वा अरु केही भनेर दोषीलाई उम्माउन पाईदैन । प्रधानमन्त्री हुँदा आफु बसेको जमिन समेत बेच्ने व्यक्तिले पैसाका लागि भोली आफ्नो आमा छोरी पनि बेच्न बेर लाउने छैनन् । त्यसैले कुनै पनि हालतमा यो बिषयलाई ओझेलमा पारिनु हुँदैन, निश्पक्ष छानविन हुनु जररी छ । अहिले डिल्लीबजार मालपोत कार्यालयबाटै सबै बदमासी भएकाको भन्ने चर्चा पनि छ ।सरकारी जग्गा गैरकानुनी रूपले व्यक्तिका नाममा पु¥याउने जस्तो गम्भीर अपराधबाट कसैले मुक्ति पाउनुहुन्न । त्यस्ता सरकारी कर्मचारीहरुलाई र जग्गा दलालहरुलाई पनि कानुनी दायरामा ल्याउनु पर्छ । 
त्रिताल आयोगले ‘भू–माफिया’ भनेर किटान गरेका ढकाल र सुवेदीले २०५८–६० सालमा धेरै जग्गा आफ्ना नाममा पारेको त्रिताल आयोगका सदस्य बताउँछन् । त्यही जग्गामध्ये ८ आना उनीहरूले २०६१, जेठ २९ गते नेकपा महासचिव पौडेलका छोरा नविन पौडेलका नाममा चार लाख रुपैयाँमा पास गरिदिएको डिल्लीबजार मालपोतको रेकर्डले देखाउँछ । त्रिताल समितिले बिभिन्न समयमा मन्त्रिपरिषदका कतिपय निर्णय गैरकानुनी भन्दै खारेज गर्न सिफारिस गरेको छ ।
समितिले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउन भूमिका खेल्ने डिल्लीबजार मालपोत कार्यालयमा काम गरेका २२ कर्मचारीको सूची प्रधानमन्त्रीलाई बुझाएको थियो । ति व्यक्तिहरुलाई पनि कारवाही हुनु पर्छ ।

थप समाचार 

समाजबाद आउन विकास चाहिन्छ ः रावल

पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भिम रावलले समाजबादमा पुग्नका लागि देशको तिव्र विकास हुनु आवश्यक रहेको वताएका छन् । 
“देशको समग्र विकासका लागि पिछडिएको क्षेत्र, जाती, वर्गको उत्थान हुने गरी काम गर्नु पर्छ” विहिबार डोटीको दिपायल सिलगढी नगरपालिका–१ को सुवाखान–शिरखोलीशैन सडकको उद्घाटनका क्रममा नेता रावलले भने ‘समाजमा रहेका बिकृति, वेथिति, गरीवी, अभावहरुको अन्त्य गरी राष्ट्रको शीर उचो पार्नु नै हाम्रो पार्टीले चाहेको वास्तविक समाजवाद   हो ।’ नेता रावलले जनताको भावना अनुसार काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरु–लाई सुझाव दिए ।
दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले गरेका कामहरुको प्रसंसा गर्दै रावलले भने ‘महिलालाई नगर प्रमुख वनाउँदा काम हुँदैन भन्ने गलत सावित भएको छ ।’ स्थानीय तहको निर्वाचनमा उम्मेदवारी चयन गर्ने क्रममा भएका छलफललाई सम्झदै रावलले थपे ‘हाम्रै पार्टीका कतिपय साथीहरुले पनि महिला उम्मेदवार वनाए चुनाव हारिन्छ कि वा पछि काम गर्न सक्दैनन् कि भन्ने आशंका गरेका थिए तर मञ्जु जीले चुनाव पनि जित्नु भयो र राम्रो काम पनि गर्दै हुनुहुन्छ ।’ 
गाउँको विकासका लागि स्थानीयवासीहरु स्वयं पनि सक्रिय हुनु पर्ने रावलले वताए । उनले भने ‘आफ्नो गाउँको विकास लागि तपाईहरु पनि एकजुट हुनुहोस्, चट्टान काटेर गाउँमा सडक पु¥याउन तपाईहरु सवै एकजुट हुनु भएको छ, त्यसरीनै अन्य विकासको काममा पनि एकजुट हुनुहोस् ।’
काम गरेर देखाउँछु–मलासी 
महिलाले काम गर्न सक्दैन भन्नेलाई काम गरेर देखाउने दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी    वताउँछिन् । ‘चुनावको बेला पनि महिलासंग हिम्मत हुँदैन भन्ने  नारा प्रतिस्पर्धीहरुले पनि लगाएका थिए’ मलासीले भनिन् ‘मैले जिम्मेवारी सम्हालेको करीव दुई बर्ष भएको छ, यो अवधीमा मैले जनताको पक्षमा काम गरेको प्रष्टै छ ।’ 
आफुले निर्वाचनका बेला बोलेका बाचा पुरा गरिरहेको वताउँदै उनले थपिन् ‘मेरो कार्यकालभित्र मैले बोलेका सवै बाचाहरु पुरा हुने गरी काम गरिरहेकी छु ।’ उनले अनावश्यक बिरोध गर्नु भन्दा रचनात्मक सुझाव दिएर समृद्ध नगर वनाउनका सहयोग गर्न प्रतिपक्षलाई पनि आग्रह गरिन । उनी थप्छिन् ‘तथ्यमा आधारित आलोचना र बिरोधको म सधैं स्वागत गर्छु तर अनावश्यक बिरोधले काम गर्ने मनोवल कमजोर हुन्छ, त्यसैले यो नगर हामी सवैको नगर हो भन्ने सम्झेर सहयोग गर्नु प¥यो ।’
नगरपालिकाको २४ लाख र नगरपालिकाको वडा नं. १ को १८ लाख गरी कूल ४२ लाखको लगानीमा तीन किलो मिटर सात सय ५० मिटर सुवाखान– शिरखोलीशैन सडक निर्माण गरिएको  नगर प्रमुख मलासीले जानकारी दिईन् । गाउँमा खानेपानीको अभाव भएको स्थानीयबासीको गुनासोलाई सम्वोधन गर्दै उनले भनिन् ‘डिप बोरिङ्गबाट पानी निकाल्ने गरी सम्भाव्यता अध्ययन भईसकेको छ र टंकी निर्माणको काम पनि सुरु भइसकेको छ, अव छिट्टै डिप बोरिङ्गबाट पानी निकालिने छ ।’ 

हुलाक कर्मचारीहरुको प्रश्न ः ६ हजार रुपैयाँमा के के गर्ने ?

“कर्मचारी भनौं भने सेवा सुबिधा छैन, चिठ्ठी पत्र हराएमा सरकार छोड्या हैन । 
पहिलो सञ्चार हुलाक नै हो अहिले छैन वास्ता, सरकारले दिएको तलव, आउँदा जाँदा सक्दा ।
आश बोक्दाबोक्दै कर्मचारी कोही गए चिहान, ६ हजारले खाना पुग्दैन साँझ र विहान ।” 
अछाम, चौरपाटी गाउँपालिकाको मार्कुमा रहेको अतिरिक्त हुलाक कार्यालयमा कार्यरत सुशिला बोगटीले डेउडाको भाकामा माथीको हरफ गाईन ।  महिना भरी काम ग¥यो, ६ हजार रुपैयाँ हात लाग्ने र त्यो ६ हजारले साँझ विहान खान नपुग्ने उनको गुनासो थियो । अतिरिक्त हुलाक कर्मचारी एसोसियसनकी जिल्ला अध्यक्ष समेत रहेकी बोगटीले तलव बढ्ला, अन्य सेवा सुविधा पनि पाईएला भन्ने आशैआशमा काम गर्दै अतिरिक्त हुलाकका कयौं कर्मचारीहरुको मृत्यु भईसकेको कुरा गितमार्फत उठाईन् । २०५७ सालमा मासिक नौ सय रुपैयाँबाट आफुले जागिर सुरु गरेको वताउने बोगटी २० बर्षसम्म पनि आफु कुन श्रेणीको कर्मचारी हुँ भन्ने जानकारी नभएको वताउँछिन् ।
कैलालीमा पत्र बितरक पदमा कार्यरत लोकराज भट्टले आफ्नो पीडा कविता मार्फत पोखे । एकातिर नौकरी गरेको देखिने अर्कोतिर सामान्य खर्चका लागि पनि अरुसंग हात पसार्नु पर्ने अवस्था रहेको उनको कविताको भाव थियो । ‘हामीले ६ हजार रुपैयाँले के के गर्ने हो ?’ भट्ट भन्छन् ‘देशमा यत्रो राजनीतिक परिवर्तन हुँदा पनि हामी २०३४ सालको नियमावलीमा बाँधिएका छौं ।’ 
यस्तै पीडा पोख्छन् डोटी के आई सिंह गाउँपालिका–२ का महेन्द्र उपाध्याय । एसोसियसनको डोटी अध्यक्ष समेत रहेका उनी भन्छन् ‘सञ्चारका आधुनिक साधनहरुले हामी हुलाकका कर्मचारीहरुको आवश्यकता छैन भन्ने सोचेको छ सरकारले ।’ आवश्यकता नभए हामीलाई काम गरेको अवधीको सम्पूर्ण सेवा सुविधा दिएर विदा गर्नु पर्ने उपाध्याय वताउँछन् ।
अतिरिक्त हुलाक कर्मचारी एसोसियनको सुदूरपश्चिम प्रादेशिक भेलामा सहभागि भएका अतिरिक्त हुलाकका कर्मचारीहरुले सरकारले आफुहरुको श्रम शोषण गरेको वताए । डोटी दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले उद्घाटन गरेको उक्त भेलामा संगठनका केन्द्रीय सदस्य रामवहादुर बिष्टले बजेट भाषणबाट अरु कर्मचारीहरुको तलव बढ्ने तर हामीले आफ्नो तलव बढाउनका लागि आन्दोलन गर्नु पर्ने अवस्था रहेको वताए । उनले भने ‘सरकारले हामीलाई कर्मचारी नै ठानेको छैन ।’ 
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष टंक प्रसाद हुमागाईले अतिरिक्त हुलाकका कर्मचारीहरुले आफ्नो पहिचान र सेवा सुविधाका लागि संगसंगै लड्नु पर्ने अवस्था रहेको वताए । “मन्त्री–सांसदहरुले पनि हुलाक भन्ने बित्तिकै ईलाका हुलाक मात्रै सम्झने रहेछन’ हुमागाईले भने ‘पहिले त हामीले हाम्रो पहिचान दिनु जरुरी छ, त्यसपछि हामीले पाईरहेको सेवा सुविधाको बारेमा पनि जानकारी गराउनु पर्ने छ ।’ 
उनले आफुहरुलाई सरकारले राम्रो व्यवहार पनि नगर्ने गरेको वताए । “मर्यादाका हिसावले, सेवा सुविधाका हिसावले हामीलाई कार्यालय सहयोगीको भन्दा पनि तल्लो व्यवहार गर्ने गरिएको छ” हुमागाई प्रश्न गरे ‘के सरकारले हाम्रो श्रम शोषण मात्रै गर्ने हो ?’ उनले हाल देशभरीमा अतिरिक्त हुलाक अन्तरगत ३०७४ कार्यालय र १० हजार आठ सय ५३ कर्मचारी रहेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशभित्र करीव दुई सय अतिरिक्त हुलाक कार्यालय र एक हजार कर्मचारी कार्यरत रहेको हुमागाईको भनाई छ । 
भेलाका प्रमुख अतिथि नगर प्रमुख मलासीले कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधाका लागि आवाज उठाउनु जायज भएको वताईन । ‘तपाईहरुका जायज मागहरु सरकारले पुरा गर्नु पर्छ भन्ने मेरो पनि मान्यता रहेको छ’ मलासीले भनिन् ‘काम गराउने तर सेवा सुविधा नदिने भन्ने हुँदैन ।’

अज्ञात समूहद्वारा वडा कार्यालय जलाईयो

गणेश मौनी/डोटी
बैशाख २३
सोमवार राती डोटी, बडीकेदार गाउँपालिका–४ मान्नाकापडीको वडा कार्यालय अज्ञात समूहबाट हिजो राति जलाईएको छ ।
डोटी जिल्लाको दक्षिण क्षेत्रमा रहेको गाउँपालिकाको वडा कार्यालयको ढोका तोडफोड    गरी कार्यालभित्र रहेका सामाग्रीहरु जलाईएको वडा नं. ४ का अध्यक्ष बिरेन्द्र बहादुर कोटकेनीले बताएका छन् । वडा कार्यालय गाउँभन्दा अलि टाढा डिकेवन भन्ने ठाउँमा भएकाले रातीको समयमा कसले जलायो भन्ने थाह नभएको अध्यक्ष कोटकेनीले वताए । उनले सवै कागजातहरु र फर्निचरहरु जलाईएको जानकारी दिए । 
घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिद्यानन्द माझीले बताए । 
वडा कार्यालय जलाईयो भन्ने खबर सुन्दा दुखद खबर भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । उनले भने ‘वडा कार्यालय भनेको जनताको कार्यालय हो जनताका केही बिमतिहरु भए वडामा आफ्ना जनप्रतिनिधिसंग राख्ने हो जलाउनु गलत हो ।’ यस बिषयमा गाउँपालिकाले टोली गठन गरि छानबिन गर्ने चन्दले बताए ।’

खेल समाचार 

संघका पदाधिकारीद्वारा शपथ ग्रहण

राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीको घोषणा तथा पदभार ग्रहण समारोह शनिबार धनगढीमा गरेको छ । 
पूर्व कराते खेलाडी अरुण कुवँरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी चयन गरिएको छ । संघको प्रथम उपाध्यक्षमा महेन्द्र सिहं ठकुरी, महासचिवमा हरि जोशी, सचिवमा विपिन कटुवाल, सदस्यहरुमा किशोर शाह, विराज रोस्यारा, हेमन्त रेग्मी, तिलक साउँद, गोविन्द बानिया, कविता शाही, अर्जुन जैगडी, छत्र रावल, पवन शाहु, नविन सिहं, कुबेर खड्का, सुरेन्द्र बोहरा रहेका छन् । 
शनिबार एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले नवगठीत प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका केन्द्रीय महासचिव प्रकाश कुमार चन्दले देशभर गोजुरियो करातेका गतीविधि बढाउन तथा समग्र खेल क्षेत्रमा संघको उपस्थिति बलियो बनाउने उद्देश्यले प्रदेश स्तरीय कमीटी गठन गरिएको बताए ।

प्रधानमन्त्री कप प्रतियोगिता हुने

तेस्रो प्रधानमन्त्री कप एकदिवशीय पुरुष क्रिकेट प्रतियोगिता जेठ १ देखि सुरु हुने भएको छ । 
नेपालय इन्टरनेसनलको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषद्को आयोजना गर्ने उक्त प्रतियोगिता  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । आयोजक संस्थाले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । हरेक दिन एक खेल हुने प्रतियोगितामा तीन विभागीय र सात प्रादेशिक गरी १० टोलीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईयो । १० टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइनेछ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको कुल बजेट एक करोड ७५ लाख रुपैयाँ रहेको छ । उक्त वजेटमध्ये परिषद्को ८० लाख र बाँकी रकम नेपालय इन्टरनेसनलले जुटाउनेछ ।
प्रतियोगिताको पुरस्कारमा करीब ५० लाख रुपैयाँ खर्च हुनेछ । विजेताले २० लाख पाउनेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट खेलाडीले एक मोटरसाइकल, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिता हेर्न पुग्ने दर्शकलाई ‘सिंगल ह्यान्डेड’ क्याच लिएमा ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा नेपालय इन्टरनेसनल र राखेपबीच पत्रकार सम्मेलनमै सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । सम्झौतापत्रमा राखेपका सदस्यसचिव केशवकुमार विष्ट र नेपालय इन्टरनेसनलका प्रतिनिधि सुवाशचन्द्र प्रधानले हस्ताक्षर गरेका छन् ।

चलचित्र/मनोरञ्जन 

रिक्स कन्टेन्टमा बनेको छ ‘पसिना’

फिल्मी खवर
झण्डै तीन वर्ष अगाडि निर्माण भएको फिल्म हो ‘पसिना’ । प्रदर्शनका लागि निर्माण टिमले पटक–पटक रिलिज डेट घोषणा गरेको भएता पनि विभिन्न कारणले प्रदर्शनमा आउन सकेको थिएन । मजदुरहरुको कथाव्यथामा  आधारित भएर बनेको यो फिल्म अब यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनका लागि तयार छ । फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री अनु शाह लिड रोलमा छन् । 
‘नैना रेशम’, ‘शिशा’ लगायतका फिल्म निर्देशन गरिसकेका आर बि खत्री ‘शरद’ निर्दे्शित यस फिल्मको गीत संगीत र ट्रेलरलाई युट्युबमा दर्शकहरुले राम्रो रुचाएका छन् । फिल्मको प्रचारमा पनि निर्माण टिम राम्रै दौडिरहेको छ । निर्देशक खत्री यस फिल्मले इनिसियल मारामार गर्ने अपेक्षा आफूहरुको नभएको    बताउँछन् । ‘पसिना’ आर्टिस्टिक कलरको फिल्म रहेको उनको भनाई छ । 
यस फिल्मले उठाएको कथामा जो कोहीले फिल्म बनाउन हिम्मत नगर्ने उनको जिकिर छ । उनी भन्छन्, ‘अहिलेको अवस्थामा ‘पसिना’ को कन्टेन्ट एकदमै रिक्स कन्टेन्ट हो । जो कोहीले यस्ता कन्टेन्टमा फिल्म नै बनाउन सक्दैनन् । यो फिल्म हामीले कमाउने उद्येश्यले भन्दा पनि समाजमा सन्देश दिनका लागि बनाएका हौं ।’ फिल्मले कुनै काम सानो ठूलो हुँदैन भन्ने सन्देश प्रवाह गर्ने उनले बताए ।
 फिल्ममा सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी लगायतका कलाकारको पनि अभिनय  रहेको छ । फिल्ममा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् ।

प्रचण्डको नातिनीको गित सार्वजनिक 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।
स्मिताको स्वर रहेको ‘मलाई आमाले दिएको चौबन्दी चोली...’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको छ । शब्द दिनेश थपलियाले लेखेका हुन् । उनी प्रमुख निर्वाचन आयुक्तसमेत हुन् । बसन्त सापकोटाको संगीत रहेको गीतको संगीत संयोजन संजीब बराइलीले गरेका छन् ।
कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन सुदिप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका थिए ।  
फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाण्डौं गेस्ट हाउस लगायतका स्थानमा म्यूजिक भिडियो छायांकन गरिएको हो । उक्त गीतको निर्माण सरोज ओलीले गरेका हुन् ।

लेख 

के नेपाली कांग्रेस कोमिन्ताङ हो ?

सुदर्शन आचार्य
नेवारीमा एउटा भनाइ छ ‘धायन मजुल, खंलायन मजुल’ अर्थात भन्न पनि नहुने, नभनी पनि नहुने । नेपाली कांग्रेसको आजको अवस्था ठ्याक्कै त्यस्तै छ । पछिल्लो निर्वाचनको हारबाट विचलित कांग्रेस नेतृत्वले कार्यकर्ताको गिरेको मनोवल उठाउने कार्यक्रम सार्वजनिक गर्नै सकेन ।
निर्वाचनमा हार र जित स्वभाविक प्रकृया हुन् । तर, बारम्बार सिहंदरबारको मात्र सपना देखेर त्यसैको मात्र खेतीमा कांग्रेस नेतृत्व लाग्दा जनताले कांग्रेसका लागि सिहंदरबार धेरै टाढा पु¥याइदिए । निर्वाचनको महासंग्राममा होमिँदै कांग्रेसले संगठित रुपमा जनताको एजेण्डा उठाउन त सकेन नै, न त उसले विधिसम्मत टिकट वितरण नै गर्न सक्यो ।
हिजो जनताको पक्षमा गरेका कामको फेहरिस्थ समेत प्रस्तुत गर्न सकेन । विभाजित मनस्थितिमा जनताका वीचमा गएको कांग्रेसको हकमा परिणाम आजकै जस्तो अवश्यंभावी थियो । एउटा राजनीतिक दल निर्वाचनमा जाँदा कम्तिमा २० वर्षको मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गर्नुको सट्टा कथित ज्योतिषीको भविष्यवाणीको सहारा लिन पुग्दा निर्वाचनमा आउने परिणाम यही नै थियो । पार्टीको महासमिति तथा केन्द्रीय समितिले समीक्षासम्म गर्न नचाहेको निर्वाचन समीक्षाको कुरो छाडौं, विरासतबाट प्राप्त इमानमै दाग लाग्ने गरी केन्द्रीय समितिले महासमितिको म्यान्डेट उल्ट्याएबाट कांग्रेसको ओरालो यात्रामा सितिमिति ब्रेक लागि हाल्ने स्थिति अझै देखिँदैन । यहाँनेर माथिको नेवारी भनाइको सान्दर्भिकता देखिन्छ ।
बैशाख ६ गते नेपाल विद्यार्थी संघको ऐतिहासिक स्वर्ण महोत्सव थियो । नेपाली कांग्रेसको इतिहासमै केन्द्रिय समितिविहीन नेविसंघको स्थापना दिवस विभिन्न स्थानमा विभिन्न मोर्चाले एक आपसमा आरोप प्रत्यारोप गर्दै मनाए । लाजै नमानी निर्वाचित समिति भंग गर्न पुगेको पार्टी नेतृत्वले समेत एउटा कार्यक्रममा पुगेर तदर्थ समिति छिटै बन्ने घोषणा गरे !
पार्टी पुरै तदर्थवादमा चल्न थालेको यो एउटा सानो दृष्टान्त हो । प्रेस युनियन, किसान संघ, दलित संघ जस्ता दर्जनौं संगठनहरु लथालिंग बनाइएकै समयमा उनीहरुकै कार्यक्रममा पुगेर सरकारका विरुद्ध आन्दोलनमा होमिन निर्देश गरिनुलाई मजाक बाहेक अरु ठान्न सकिन्न ।
प्रतिवन्धित समयमा पनि चलायमान बन्न सक्षम कांग्रेसको संगठन अहिले निस्प्रभावी छ । प्रश्न उठेको छ– किन आज कांग्रेस निरीह छ ? कांग्रेसले मुलुक र पार्टीका लागि तय गर्नुपर्ने एजेण्डा सकिएकै हुन् त ? यी र यस्ता प्रश्नको गम्भीर समीक्षा जरुरी छ ।
कांग्रेसको नेतृत्वदायी पुस्ता त थाक्यो होला नै, तर, कांग्रेस पार्टीकै माध्यमबाट मुलुकमा परिवर्तन ल्याउने अठोटका साथ राजनीतिमा होमिएका मझौला र युवा पुस्ताका कृष्णप्रसाद सिटौलादेखि कल्याण गुरुङसम्म, गगन थापादेखि गुरु घिमिरे हुँदै प्रदीप पौडेलसम्म, विश्वप्रकाश शर्मादेखि बद्री पाण्डेसम्म, उमाकान्त चौधरीदेखि मञ्जित ताम्राकारसम्म अनि डिला संग्रौलादेखि धना खतिवडा हुँदै सुजाता परियारसम्म कांग्रेसमै आफ्नो भाग्य र भविश्य देख्ने नेतामा छाएको सन्नाटाचाँहि बुझी नसक्नुको देखिन्छ । आज मुलुकभित्र देखिएका दर्जनांै बेथितिका वीचमा पनि आश लाग्दा नेताहरु वैचारिक हस्तक्षेपमा उत्रन नसक्नुलाई सामान्य मान्न सकिन्न ।
युवा÷विद्यार्थी र तरुणहरु पार्टी नेतृत्वको गोटी बन्ने र पार्टी नेतृत्व चाँहि सत्ताकै इसारामा चल्ने स्थितिबाट नअलग्याइने हो भने नेपाली कांग्रेसलाई इतिहासको अध्ययनको विषय बनाउन ‘प्रजापरिषद’सँगै इतिहासकै दराजमा थान्को लगाइदिए हुन्छ ।
कांग्रेस सभापतिमा शेबहादुर देउवाको चयनसँगै आम मानिसमा पार्टीलाई सत्ताकै भाषमा पु¥याइन्छ भन्ने जुन प्रकारको शंका थियो, त्यो शंकाले लगभग मूर्त रुप लिइसकेको छ । पार्टी प्रतीपक्षमा खुम्चँदा पनि सत्ताकै वरिपरि घुम्ने र घुमाइने प्रवृत्तिले जति नै जागरण नामको ‘कलेवर’ लगाइए पनि पार्टीमा पुर्नजागरण सम्भव देखिन्न । निर्वाचनका माध्यमबाट बहुमतका आधारमा सत्तारुढ बन्न÷बनाउन नसक्ने तर, बालुवाटारको डिनर र शीतल निवासको दिवाभोजमा दिन रात रमाउने प्रवृत्तिले कांग्रेस बन्ने भनेकै कोमिन्ताङ हो भन्ने सन्देश दिएको छ ।
सिर्जनशील युवाको विदेश पलाएन रोकिएको छैन । न्यायालयसम्म पार्टीको निर्वाचनमा समेत कार्यकर्ताले अस्वीकार गरेका ब्यक्तिलाई पु¥याइँदैछ । प्रधानमन्त्रीमा जनताको नेता बन्ने सोचभन्दा पनि राज्यका महत्वपूर्ण अंग÷निकाय आफैं मातहत ल्याएर ‘राजा’ बन्ने सपना पलाएको छ । यस्तो बेलामा संसददेखि सडकसम्म         राज्यद्वारा सिर्जित भयावहका विरुद्ध वैचारिक रुपमा आँधीबेहरी ल्याउन सक्षम हुनुपर्ने प्रतीपक्षी कांग्रेस उल्टै आफैंद्वारा सिर्जित गोलचक्करको भँुवरीमा फस्न पुगेको छ । दैनिकजसो थुनिन थालेका पत्रकारका विषयदेखि पार्टीमा लेवी बुझाउने ‘क्याडर’ को धमाधम संबैधानिक निकायमा हुँदै गरेका नियुक्तिसम्म देखिएको कांग्रेसको मौनताका पछाडि सत्तासँगको सौदावाजीको अनुमान लगाउनेहरुलाई बल पुगेको छ । कांग्रेसले यसको जवाफ भोलिको पुस्तालाई दिनै पर्छ । इतिहासले माग्नेछ कांग्रेस नेतृत्वसँग यी र यस्ता प्रश्नहरुको जवाफ ।
महासमिति बैठकबाट पनि ब्युँझन सकेन कांग्रेस, तीन कोइरालाले एकै भयौं भन्दा पनि हाँस्ने बाहेक तरंग देखिएन कांग्रेसमा । पुनः पार्टी सभापति मै हुन्छु भनेर देउवाले भन्दा पनि सञ्चार माध्यमका लागि ‘स्कुप’ बन्न सकेन । धर्मको सहारा लिँदा पनि रक्तसञ्चार पैदा भएन कांग्रेसमा । यी र यस्ता विषयले आजको युगको प्रतिनिधित्व गर्न सक्दैन । करिव ५५ जिल्लाका सभापतिहरुले सच्याउन खोज्दा पनि कांग्रेस सच्चिन तयार भएन भनेपछि अब कांग्रेस सञ्चालनको मार्गचित्र युग सुहाउँदो बनाउन पार्टीमै भविश्य देख्ने पुस्ताका लागि दबाव परेको छ ।
हो, गर्विलो इतिहास छ कांग्रेसको । तर, आगामी २५/५० वा १०० वर्षमा नेपाललाई कहाँ पु¥याउने ? कस्तो बनाउने ? जनताले कांग्रेससँग यो मार्गचित्र चाहेका छन्, न कि इतिहास । राजनीतिक परिवर्तनका नाममा दर्जनौं पटक परिवर्तनको झण्डा उचाल्न र सफलतामा पु¥याउन सफल कांग्रेसले अब आर्थिक माध्यमबाट मुलुकको मुहार फेर्ने मार्गचित्र प्रस्तुत गर्न सक्दा मात्रै कांग्रेसको इतिहास जीवन्त रहन सक्ला । अन्यथा, मोर्चा मोर्चामा विभाजित कांग्रेसको रुपान्तरण पनि मोर्चामै सीमित हुनेछ ।
००७ सालमा समयभन्दा धेरै अगाडि र क्रान्तिकारी थियो कांग्रेस । ०४६ देखि ०६२/०६३ सम्म कांग्रेस र समय सँगसँगै रह्यो । तर, ०७६ मा आइपुग्दा समयभन्दा उदेकलाग्दो तरिकाले कांग्रेस पछाडि परेको छ । यसैबाट थाहा हुन्छ, कांग्रेसको गति । आजका मितिमा मुलुकलाई सही बाटोमा डो¥याउन सक्षम हुनुपर्ने कांग्रेस नै हो । कांग्रेस सक्षम हुदाँमात्र मुलुकले सही बाटो लिने छ । तर, आज समय अनुसार कांग्रेसले आफ्नो दृष्टिकोण निर्माण गर्न नसक्दा अरु त अरु, तत्कालीन राजा ज्ञानेन्द्र समेतले गणतन्त्रमाथि छड्के आँखा लगाउन थालेका छन् । दोष ती नेताहरुकै हो, जो विचार र उमेर ढल्कदै जाँदा पनि शक्तिमै रहने महत्वकांक्षामा रमाउन पुगेका छन् ।
रंगभेदी आन्दोलनका नेता नेल्शन मण्डेलादेखि नेमकिपाका नेता नारायणमान बिजुक्छेसम्मले समयको गति बुझेर नेतृत्वमै बसिरहने चाहना परित्याग गरि दिए । तर, कांग्रेस नेतृत्व कार्यक्रमविहीन पार्टी बनाएर आगामी कार्यकालमा समेत नेतृत्वमै बसिरहन रुचाउँदैछ ।
नेपाली राजनीतिका सर्वाधिक अग्ला व्यक्तित्व वीपी कोइरालाले निर्माण गरेको कांग्रेसलाई आज कोटरीमा रुपान्तरण गरिएको छ । आदर्श र नैतिकता भन्ने विषय जब कुनै पनि राजनीतिक दलमा गौण मानिन्छ, तब प्रष्ट भए हुन्छ, त्यो दलको ढीलोचाँडो विघटन अवश्यंभावी छ । हिजोको माओवादीको एमालेमा पलायनसँगै हिजोको प्रजातान्त्रिक कांग्रेसको नेपाली कांग्रेसमा विलय त्यसैको दृष्टान्त हो ।
कांग्रेस पार्टीले किसुनजीको कालखण्डपछि प्राविधिक रुपमा नेतृत्वत पायो । तर, नेता पाएन । पार्टी स्वयंम परिवारका सदस्यहरुको व्यवस्थापन गर्ने कम्पनीमा रुपान्तरण हुँदै गयो । पार्टीभित्र बेथितिका चाङ भएकै कारण आन्तरिक सकस बढ्दै जाँदा पार्टीमा युवा आकर्षणसमेत घट्न पुग्यो ।
वीपीले परिकल्पना गर्नु भएको प्रजातान्त्रिक समाजवादका नाममा काठमाण्डौंमा आलिसान महल जोड्न थालियो । बालुवाटारै बिक्री हुदाँ समेत कांग्रेस बोल्न नसक्ने भयो । प्रस्तावित निर्वाचन आयुक्तलाई सोधिएको प्रश्नको जवाफ नेकपाका सांसदले दिँदा समेत निष्पक्षताको त्यो विषयले कांग्रेसलाई छोएन । एउटा हवाई सपनाको काल्पनिक योजनामा करोडौं खर्चेर उदघाटन नामको तामझाम राज्यद्वारा गरिँदा राज्यलाई खबरदारी गर्नुपर्ने कांग्रेस १०/८ जना चलायमान युवायुवतीलाई पार्टी प्रवेश गराउन दुई–दुई थान हेलीकप्टर चार्टड गरेर गिनीजबुकमा नाम लेखाइँदैछ । सत्ता र प्रतिपक्षको चाल ढाल हेर्दा लाग्छ उनीहरु दुबै सत्ता सञ्चालन र प्रतीपक्षका नाममा ‘पुतलीको बिहे’ को खेल खेल्दैछन् । राज्य र प्रतीपक्षको यही पुतलीको खेलकै कारण संबिधान विरोधी शक्तिले बल आर्जन गर्दै गरेका हुन् । 
संबैधानिक परिषदमा विपक्षी दलका नेताको उपस्थितिलाई लोकतन्त्रमा अनिवार्य शर्त मानिन्छ । तर, नेकपा निर्मित कम्युनिष्ट सरकार लोकतन्त्रको न्युनतम मान्यता रुपी त्यो अभ्यासको खिलापमा देखा प¥यो । उता विपक्षी दल पनी स्वस्थानी व्रतकथाको प्रसादझंै आफ्नै नातागोताको खुद्रे जागिरका निम्ति सत्तासँग सौदावजी गर्न पुग्दा राज्यद्वारा सिर्जित बेथितिका विरुद्ध संसद, सडक र न्यायालय कहीँ पनि जाने जाँगर देखाएन ।
पार्टी नेतृत्व सामु पार्टीका मझौला र युवा नेताहरुले भन्न नसकेको सत्य कुरा के हो भन्दा बरु ‘तपाईकी सासूलाई राजदुतबाट फिर्ता गर्न लगाउनुस् तर, राज्यद्वारा गरिएका बेथितिको विषय तपाइकी सासूको राजदुत पदसँग साट्न सकिन्न’ भन्लान् देउवासामु भन्ने नै हो । तर, न त नेताहरुले देउवा सामु यो कुरा भन्न सके, न त पारिवारिक घेराबाट उम्केर यो विषय देउवाले बोल्न नै सके ।
सम्पति जोगाउनै धौधौ भएका कारण हुन सक्छ, सत्तासामु प्रष्टरुपमा दृष्टिकोण राख्नै नसक्ने विभाजित मनस्थितिको आजको कांग्रेसमा आमूल परिवर्तन बेगर कांग्रेसलाई एक नम्बरको जनताको पार्टी बनाउन सम्भव छैन । गुन्यु चोलीदेखि गुटका गन्थनसम्म फाइभ स्टारमै गर्न रुचाउने यथास्थितिको कांग्रेसबाट जनताका एजेण्डाको सम्बोधन सम्भवै छैन । नाम वीपीको जप्ने तर, सपना बीबी (श्रीमती) को पूरा गर्न उद्दत कांग्रेसबाट यथास्थितिमा आशा राख्नु पनि बेकार हो ।
नयाँ दृष्टिकोण, उर्जा र भावी कार्ययोजना सहितको सवल कांग्रेसले मात्रै मुलुकलाई नेतृत्व दिन सम्भव छ । कांग्रेसले सरकारका बारे चिन्ता लिन जरुरी छैन । किनकि बालुवाटारमा ‘बा’ भन्दै निहुरिएर जाने वाहेकलाई प्रवेश निषेध गरिएकाले सत्ता आफैंले सत्ताको आयु छोट्याउदैछ ।
समस्या त बूढानीलकण्ठ दरबारभित्रै छ, जहाँ दाहिने हात अञ्जुली बनाएर निधारतिर लग्दै ‘दर्शन हजुर’ भन्ने बाहेकलाई विरलै प्रवेश दिने गरिएको छ । समाजवादी भनिएको पार्टीमा यो ‘दर्शन हजुर’ भन्ने प्रवृत्तिले कि त कांग्रेसको विकल्प खोजेको छ, अन्यथा पार्टीभित्र ठुलै आँधीबेहेरी निश्चित छ ।
अनलाईन खवर डट कमबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. सरकारले के कस्ता प्रकारका सार्वजनिक सेवा प्रवाह गर्दछ ? 
आधारभूत आवश्यकता परिपूर्ति सम्बन्धी सेवाहरू 
क्षमता अभिवृद्धि सम्बन्धी सेवाहरू 
कल्याणकारी सेवाहरू 
मनोरञ्जन सम्बन्धी सेवाहरू 
पूर्वाधार विकास सम्बन्धी सेवाहरू
२. कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीको आवश्यकता र महत्वबारे लेख्नुन्होस् । 
लामो तथा झन्झटिलो कागजी कार्य प्रणालीलाई सरल तथा मितव्ययी बनाउन 
कम समयमा बढी कार्य गर्न 
कार्यमा विश्वकसनीयता कायम राख्ना 
अनावश्यक जनशक्ति घटाउन 
जटिल कार्यप्रणालीलाई सरल बनाउन 
आधुनिक सञ्चारको प्रणालीको रूपमा प्रयोग गर्न 
ढिला–सुस्ती, अनियमितता तथा छलकपटलाई कम गर्न (सुशासनको प्रत्याभूति दिलाउन) 
फाइलिङ प्रणालीलाई सरल बनाउन 
कार्यालयमा अनावश्यक कागजी भण्डारलाई कम गर्न 
कार्यालयको कार्य प्रणालीलाई प्रयोगमा ल्याउन 
 भ्(न्यखभचलmभलत को अवधारणालाई प्रयोगमा ल्याउन 
३. भ्रष्टाचार बिरुद्धका ८ स्तम्भहरू 
भ्रष्टाचारविरूद्धका रणनीतिहरू 
निगरानी राख्ने निकायहरू 
जनचेतना  ड्डजनधारणा   ड्डन्यायपालिका 
प्रेस 
निजी क्षेत्र 
अन्तराष्ट्रिय सहयोग र सहकार्य 
४. सामाजिक समस्याहरू 
बाल मजदूर 
लागू औषध दुव्र्यसन तथा ओसारपसार 
चेलीबेटी बेच–बिखन तथा ओसारपसार 
शरणार्थी सम्बन्धी समस्या 
अव्यवस्थित बसाइसराइ 
जनसंख्या वृद्धि 
बढ्दो भ्रष्टाचार 
रूढिवादी प्रथा परम्परा, अन्धविश्वास  
बाल–विवाह, बहुविवाह, अनमेल विवाह 
५. दिगो विकास भनेको के हो ? 
भविष्यका पीडीका आवश्यकताहरूसँग सम्झौता नगरीकन वर्तमान पीडिीका आवश्यकताहरू          परिपूर्ति गर्नु नै दिगो विकास हो । 
दिगो विकासका मुख्यतया दुई सिद्धान्तहरू छन् 
  — आधारभूत आवश्यकताको परिपूर्ति 
  — विद्यमान स्रोतको उचित प्रयोग । 
दिगो विकास शब्दको प्रयोग सन् १९८३ मा ग्ल्इद्वारा गठित वातावरण र विकाससम्बन्धी विश्व आयोग द्यचगलमतबिलम ऋयmmष्ककष्यल (रुन्टल्याण्ड आयोग) जसको अध्यक्ष ल्यचधबथ की प्रधानमन्त्री म्च।न्चय ज्बचझि द्यचगलमतबिलम द्वारा सन् १९८७ मा हाम्रो साझा भविष्य (इगच ऋयmmयल ँगतगचभ) मा ल्याइएको थियो । 
प्राकृतिक स्रोत, साधन, वातावरण, जनसंख्या र विकास गतिविधिहरू बीचको उचित एवं सन्तुलित तालमेललाई नै दिगो विकास भनिन्छ । 
वर्तमान पीडिलाई वातावरण नबिग्रने गरी आफ्नो जीवनस्तर उकास्न सहयोग पुया¥उन यसले सहयोग गर्छ । 
६. वातावरण व्यवस्थापन बारे चर्चा गर्नुहोस् । 
जनसंख्या, वातावरण र विकास समानुपातिक ढंगले अगाडि बढाउनु नै वातावरण व्यवस्थापन हो । 
वातावरण संरक्षण, वातावरण संरक्षण र आर्थिक विकास, वातावरण र गरिबी निवारण बीचको अन्तरसम्बन्ध, वातावरण र समग्र विकास बीचको सम्बन्ध, वातावरण र राष्ट्रिय नीति तथा क्षेत्रगत नीतिहरू बीच सम्बन्ध आदि विषयहरू वातावरण व्यवस्थापनसँग सम्बन्धित छन् । 
वास्तवमा वातावरण व्यवस्थापन एउटा यस्तो पद्धति हो, जसबाट प्रतिकूल वातावरणीय प्रभावलाई प्रक्रियागत तरिकाबाट न्यून गरी निरन्तर रूपमा वातावरणीय गुणस्तर कायम गरिन्छ । 
वातावरण व्यवस्थापनले हरित विकासको अवधारणालाई प्रोत्साहन दिई मानवीय क्रियाकलाप र विकास निर्माणलाई वातावरण मैत्री (भ्अय(ाचष्भलमथि) बनाउँदै जलवायु परिवर्तनबाट हुने प्रतिकूल असरलाई न्यूनीकरण गर्ने एवं अनुकूलित बनाउने लक्ष्य लिएको हुन्छ । 

साहित्य/सिर्जना 

काठमाण्डौंहरू

गोधुली साझमा, तेजिलो मुस्कान
छर्छन् हिमालहरू
स्वथ्य हावा सुसेल्दै
हरियाली ओढ्छन
पहाडहरू
हिमाल र पहाडको फेदीमा
राजनीति गर्छन
काठमाण्डौंहरू
प्राकृतिक छटा धुमिल पारेर
अघोषित यो राजनीति ?
गजब छ बा !
मागी खाने भाडो भा छ
केन्द्रिय मेव
मेवले गर्ने दाइ
कसै कसैको पेवा जस्तो
बेथितिहरू पालेर
आसेपासे भिराभुरीहरू जमाएर
च्याखे थाप्छ
र सुरु गर्छ
फोहोरहरूको राजनीति
सडकहरूको राजनीति
ग्यासहरूको राजनीति
पानीहरूको राजनीति
बिजुलीहरुको राजनीति
बिमानहरूको राजनीति
यातायातहरूको राजनीति
रोजगारीहरूको राजनीति
शिक्षाहरूको राजनीति आदि इत्यादि
काठमाण्डौंहरू
सधै स्वागत योग्य
चारैतिर द्वार छ
द्वारभित्र मिसावट चिजबिजहरू चनाखो छ
सोझा मान्छेहरू
सुन्दर सपना बुनेर
ओइरोका ओइरो, ताती लाग्छन्
एकमुठी श्वास राखेर
हामी मान्छेहरूलाई
मेहमान बनाउदै छ
काठमाण्डौंहरू
चखाउछ दिनरात
महङ्गीहरू
दुर्गन्धित बिचारहरू
देखाउछ, नरकका काखहरू
कारुनिक चित्कारहरु
यदाकदा मुखरित आवाजहरू
सुन्दैनन्
काठमाण्डौंहरू
मानौं उनीहरू
माना रोपेर मुरी फलाउने दाउमा
सधैं सधैं जागा जागा छन्
र एकनास
चुसिरहन्छ हामीहरुलाई
काठमाण्डौंहरू
बाबुराम श्रेष्ठ “यात्री”
सिन्धुली

Tuesday, April 30, 2019

बिम्ब साप्ताहिक, २०७६ साल बैशाख १७ गते मंगलवार

गर्मी मौसममा हुन सक्ने आगलागीका घटनाहरु र सोबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न निम्नानुसार गर्ने गरौं । 
 सलाई, लाईटर जस्ता आगो बाल्ने सामग्रीहरु बालबालिका तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्तिहरुले नभेट्ने ठाउँमा राखौं । 
 खाना पकाईसकेपछि आगो राम्रोसंग निभाऔं, खाना पकाउने ग्याँस प्रयोगकर्ताले चुलो, रेगुलेटर तथा लाईटर आदि समय समयमा निरीक्षण गरौं । 
चुरोट बिडी जसता वस्तुहरु प्रयोग पश्चात जथाभावी नफालौं र आगो राम्रोसंग निभाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

किर्तिको यात्रा ः युद्ध पत्रकारदेखि ब्यूटी मास्टरसम्म 

रामहरी ओझा/डोटी
बैशाख १६
कैलाली, गौरीगंगा नगरपालिका–७, मसुरियाको साझा बजार गल्लीमा रहेको न्यू लुक्स ब्यूटी पार्लर एण्ड कस्मेटिक सेण्टरमा महिलाहरुको बाक्लै उपस्थिति देखिन्छ । उपस्थित महिलाहरुमा उमेर छिपिएका देखि किशोरीहरुसम्म छन् । कोही आफ्नो अनुहार ब्यूटी वनाउन आएका त, कोही आफु ब्यूटीसियन हुन । 
स्वभाविक रुपमा ब्यूटी पार्लरको पसलमा महिलाहरुको उपस्थिति हुन्छ, अझ ब्यूटीसियनको तालिम समेत दिने पसलमा त झन बढी हुने नै   भयो । त्यो पसलमा पनि भिड  छ । पसल सञ्चालक किर्ति चौधरी व्यस्त छिन् महिलाहरुलाई ‘ब्यूटी’ र ‘ब्यूटीसियन’ वनाउनमा । 
तिनै किर्ति कुनै राज्यको आतङ्ककारीको सूचीमा थिईन् । अर्थात् निरंकुश एकात्मक व्यवस्थाको अन्त्य गरी वर्गरहित समाजको सपना बोक्दै १५ बर्षको उमेरमा बिद्यालय छोडेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा होमिएकी एक लडाकु महिला हुन्  किर्ति । समाजमा भएका सम्पूर्ण बिभेद्हरुको अन्त्य भएको देख्ने तिव्र ईच्छा थियो किर्तिको । टाउकोमा कात्रो बाँधेर युद्ध मोर्चामा रहँदा बुवा र श्रीमान् दुवै गुमाएकी छन् उनले ।
भूमिगत राजनीतिमा लागेर उनको सपना त पुरा भएन तर उनले जीवन जीउन सिकिन् । “६ कक्षामा पढ्दै थिएँ, बिपन्न परिवारमा जन्मिएको भएर होला आमा बुवाले ढिलो गरी बिद्यालय पठाउनु भयो” किर्ति भन्छिन् ‘तत्कालीन शाही सेनाले बिद्यालय छोडेर माओवादी हुन बाध्य वनायो ।’ पढाई छोडेर युद्धमा होमिने उनको सोच थिएन तर माओवादीको आरोपमा कहिले बिद्यालयमा, कहिले घरमा आएर सेनाले तर्साउन थालेपछि उनले वाध्यताले जंगलको बाटो रोजिन् । 
२०५९ साल भाद्र १५ गते उनी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको युद्धमा सहभागि भईन । माओवादी हुनु अघि उनी पर्मिला चौधरी थिईन, माओवादी भएपछि उनी किर्ति भईन । माओवादी हुनु अघि उनी बिद्यालयकी छात्रा थिईन, युद्धकालमा माओवादी हुँदा उनी तत्कालीन राज्यसत्ताको परिभाषामा ‘आतंककारी’ भईन । भूमिगत अवस्थामा माओवादी कैलाली जिल्ला कमिटी सदस्य हुँदै युद्ध पत्रकारको भूमिका निभाएकी उनले लडाईमै आफ्नो जीवन साथी खोजिन, लडाईमै आमा बनिन्, लडाईकै दौरानमा बुवाको साथ गुमाईन र लडाईकै दौरानमा पाएको जीवन साथी लडाईमै गुमाईन । 
शान्ति प्रक्रियासंगै ति किर्तिको पहिचान पनि फेरिएको छ । उनी अव न त पर्मिला हुन, न त आतङ्ककारी । उनी अव ब्यूटी मास्टर भएकी छिन् । 
शान्ति प्रक्रिया सुरु भएसंगै उनी पेट पाल्नका लागि मजदुरी गर्न थालिन् । ‘बुवा र जीवन साथी दुवै युद्धमै गुमाएपछि अव कस्को भर पर्नु ?’ किर्ति भन्छिन् ‘छोरा र आफ्नो पेट पाल्न आफै मजदुरी गर्न थाले ।’ मजदुरी गर्दै गर्दा उनलाई केही सीप सिक्ने सोच पलायो । जीवनभरी भारी बोकेरै पेट पाल्न गा¥हो हुन्छ भन्ने लागेरै केही सीप सिक्ने सोचेको उनी वताउँछिन् । प्राकृतिक रुपमा सुन्दर किर्तिले मजदुरी गर्दै गर्दा एक व्यूटी पार्लरको पसल देखिन् । उनले सोचिन् ‘म ब्यूटीसियन हुन्छु ।’ 
बिहान ब्यूटीसियनको तालिम लिदै दिउसो मजदुरी गर्दै गरिन उनले । सामान्य सिर्केपछि उनले नौ बर्ष पहिले आफ्नै पसल खोलिन् । त्यसपछि बनिन् उनी ब्यूटीसियन । पसल चलाउँदै उनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को पाठ्यक्रम अनुसार उनले “ए” लेवलको तालिम लिईन् । उनी अहिले पसले मात्रै होईनन् प्रशिक्षक समेत छन् अर्थात “ब्यूटी मास्टर” । उनले “बि” लेवलको तालिम पनि गरिसकेकि छिन् र प्रमाण पत्रका लागि परीक्षा दिएकी छिन् । 
“अहिले गौरीगंगा नगरपालिकाको सहयोगमा एक समूह र सेवक नेपालको सहयोगमा अर्को समूहलाई प्रशिक्षण दिईरहेकी छु’ उनले भनिन् ‘नियमित प्रशिक्षार्थीहरु पनि ५/७ जना छन् ।’ 
कक्षा ७ मा पढ्दै गरेका १३ बर्षीय छोरा अर्जुनको पढाईको चिन्ता छ किर्तिलाई । उनी भन्छिन् ‘मैले जति दुःख सहनु परेपनि मेरो छोराले कुनै दुःख खेप्नु नपरोस भन्ने सोच्छु, त्यसैले रातदिन पसिना वगाईरहेकी छु ।’ उनी छोरालाई एक इमानदार नागरिक वनाउने प्रयासमा छिन् । 
उनी महिलाहरु आत्मनिर्भर बन्नु पर्ने बताउँछिन् । ‘जवसम्म हामी अर्काको भर पर्छौं तवसम्म हामी स्वतन्त्र हुन सक्दैनौं’ किर्ति भन्छिन् ‘म सवै दिदिबहिनीहरुलाई अनुरोध गर्छु, हामीले साहस गर्नु पर्छ, आँट गर्नु पर्छ, पक्कै पनि हामी सफल हुन्छौं ।’ उनी महिलाहरु पनि व्यवसायिक वन्नु पर्ने जिकिर गर्छिन् । उनी थप्छिन् “जस्तो सुकै बिपत्ति आई लागेपनि जीउनका लागि केही न केही गर्नु नै पर्ने रहेछ, यदि आँट गर्ने हो भने जीउन सहज पनि हुने रहेछ ।” समाजले महिलालाई आत्मनिर्भर भएको देख्न नचाहेपनि बिस्तारै सवै ठिक हुने उनी वताउँछिन् । 

सम्पादकीय 

जग्गा अतिक्रमण प्रकरण

केही दिन अगाडि देशका प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिका नाममा नामसारी भएको घटना सञ्चारमाध्यममा आयो । सामाजिक सञ्जालहरुमा त्यसको व्यापक चर्चा भयो, बर्तमान सरकारको, बिगतका सरकारहरुको, प्रधानमन्त्रीको, भूपू प्रधानमन्त्रीहरुको, वहालवाला कर्मचारीहरुको, बिगतका कर्मचारीहरुको र राजनीतिक दलका नेता कार्यकर्ताहरुको व्यापक आलोचना भयो । दुर्भाग्य, यस मुद्धामा पनि नेपाली युवाहरु सामाजिक सञ्जालमा बाँझिए । 
उक्त घटना सेलाउन नपाउँदै राजधानीकोे खुलामञ्च कब्जा कव्जा गरिएको कुरा सञ्चारमाध्यममा आयो । कव्जा गरिएको खुला मञ्चमा व्यापारिक टहरा वनाएर भाडामा दिईएको खवर आयो । फेरी आलोचना सुरु भयो सरकारको । त्यसमाथी कम्युनिष्ट सरकारलाई जोड्दै आलोचना भयो । सरकारले उक्त टहरा हटाउनका लागि तत्काल पहल चाल्यो । काठमाण्डौं महानगरपालिकाले ताकेता गर्दै आएपनि अटेर गरेपछि मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा नगर प्रहरीले डोजर लगाई टहरा भत्कायो । 
खुलामञ्चको कव्जा हट्यो, वनाईएका टहरा भत्काईए । तर खुलामञ्चमा टहरा वनाएर भाडामा दिने व्यक्तिलाई कारवाही हुने कि नहुने ? खुलामञ्च कब्जा गरेर व्यापारिक सटर निर्माण गरी व्यापारीलाई भाडामा जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले  कस्तो कारवाही भोग्नु पर्ने होला ! अब सटर भत्काएर मात्र पुग्दैन, यसरी अवैध रूपमा सटर निर्माण गर्न अनुमति दिने महानगरका अधिकारीहरूलाई कारबाही गर्नु पनि उत्तिकै आवश्यक छ । त्यसो त महानगरपालिकाका प्रमुख र उपप्रमुखले खुलामञ्च कब्जा गर्ने ठेकेदार कम्पनी र सम्झौतामा किर्ते गर्ने कर्मचारीमाथि अध्ययन–अनुसन्धान गरी कारबाही गर्ने बताइसकेका छन् । यो अवस्थामा महानगरपालिकाले अध्ययन–अनुसन्धान गरी कारबाही गर्न ढिलाई गर्नु हुँदैन ।
जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले राजनीतिक दलकै आडमा खुलामञ्चमा व्यापारिक सटर निर्माण गरेको देखिन्छ । त्यसो त नगर प्रहरीको मौनता पनि रहस्यमय छ । महानगर–पालिकाभित्र नक्सा पासविपरीत निर्माण भएको संरचना हटाउने काम नगर प्रहरीको हो । तर खुलामञ्चमा निर्माण गरिएका अवैध सटरमा भने नगर प्रहरीको ध्यान नपुग्नु अचम्मलाग्दो पक्ष हो । महानगरपालिकाका नगर प्रहरी दिनहुँ खटिएका हुन्छन् तर व्यापा–रिक सटर निर्माण देखेको नदेख्यै गर्दै आएका हुन् । त्यसो त महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले आदेश नआएकाले मापदण्ड विपरीतका सटर हटाउन नसकिएको बताएका छन् । यस हिसाबले पनि खुलामञ्चमा सटर निर्माणमा राजनीतिक नेतृत्वको आड रहेको पुष्टि हुन्छ । त्यसैले पनि महानगरपालिकाले खुलामञ्च कब्जाको विषयमा विस्तृत अध्ययन गरी क–कसको संलग्नता रहेको हो भन्ने विषय सार्वजनिक गर्नुपर्छ । र, यस्ता गलत कार्यमा संलग्न व्यक्तिहरूमाथि छिटोभन्दा छिटो कारबाहीको प्रक्रिया अघि बढाउनु जरुरी छ ।
त्यस्तै बालुवाटार प्रकरणमा एकपछि अर्को व्यक्तिको नाम आईरहेको छ । बालुवाटार मिचेर यदि कसैले व्यक्तिको नाममा गरेको छ भने कानुनको दायरामा ल्याउन जरुरी छ । कुनै पनि अवस्थामा कोही पनि व्यक्तिलाई उनमुक्ति दिईनु हुँदैन । कुनै पनि अवस्थामा वा कुनै पनि वहानामा कुनै पनि व्यक्तिलाई बचाउने कुचेष्टा कतै नहोस् । 
बालुवाटार जग्गा प्रकरण र खुलामञ्च कव्जा प्रकरणको बिषयलाई छानविन गर्न एक निश्पक्ष आयोगको गठन हुनु जरुरी छ । दुवै घटनाहरुको सिलसिलेवार तरिकाले अध्ययन गर्नु जरुरी छ । बिगतका सरकारका पालामा के भयो भन्ने कुराको बहस भन्दा पनि बर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले आँट गर सरकार ।

थप समाचार 

टोलीबाट  नागरिकता लिनेमा महिलाहरु बढी  

जिल्ला प्रशासन कार्यालय डोटीले जोरायल गाउँपालिकाको समन्वयमा मंगलबारदेखि बिहिवारसम्म सञ्चालन गरेको एकिकृत घुम्ती शिविरबाट आठ सय २७ जनाले नागरिकता प्राप्त गरे । नागरिकता प्राप्त गर्नेहरुमा चार सय ७५ महिला रहेका    छन् । 
जिल्लामा सञ्चालन भएका शिविरहरुबाट नागरिकता लिनेमा महिलाहरुको सङ्ख्या बढी रहेको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल वताउँछन् । “हालसम्म चार स्थानीय तहमा एकिकृत घुम्ती शिविर सञ्चालन भई दुई हजार आठ सय १२ नागरिकता    वितरण भएका छन्” पौडेलले भने ‘त्यसमध्ये एक हजार सात सय एक महिला रहेका छन् ।’ 
गत मंसिर ७, ८ र ९ मा डोटीको बोगटान गाउँपालिकामा सञ्चान भएको शिविरबाट नागिरता लिने सात सय ३३ मध्ये महिला चार सय रहेका थिए । यस्तै फागुन २१, २२ र २३ गते सायल गाउँपालिकामा सञ्चालन भएको शिविरबाट नागरिकताले लिने ६ सय ४९ मा चार सय महिला रहेका छन् । 
नागरिकताको महत्वबारे जानकारी नभएका कारण महिलाहरुले नागरिकता नलिएको हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । ‘जरुरी चाहियो भने मात्रै कार्यालयमा आउने चलन छ’ उनले थपे ‘कतिपयले नागरि–कताको महत्व बुझेर नागरिकता वनाउन आउँछन, नत्र भने समय र पैसा खर्च गरेर किन नागरि–कता बनाउनु भन्ने सोच भएर नागरिकता वनाउन आउँदैनन् ।’ 
महिलाहरु नागरिकताको बिषयमा खासै जानकारी नभएको र महिलाहरु घर वाहिर ननिस्कने भएका कारण शिविरबाट बढी नागरिकता लिएको वताउँछन् सायल गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेल वताउँछन् । ‘अझै पनि महिलाहरु घर बाहिर जान सकेका छैनन्’ डुम्रेलले भने ‘महिलाहरुलाई नागरिकता लिनका लागि सहज होस् भन्ने उद्देश्यलेनै गाउँपालिकाले शिविर सञ्चालन गरिएको हो ।’ उनले स्थानीयस्तरमा घुम्ती शिविर सञ्चालन गर्दा एकातिर महिलाहरुले सहजै नागरिकता लिन पाएको र अर्कोतिर जिल्ला सदरमुकाम जाँदा लाग्ने खर्च र समय दुवै बचत भएको वताए । 
जिल्ला सदरमुकाम गएर नागरिकता लिनु झण्झटिलो र खर्चिलो भएका कारण महिलाहरु नागरिकता वनाउन नजाने गरेको वताउँछन् बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला “एनान” । उनी भन्छन् ‘जिल्ला सदरमुकाम गए बास बस्नु पर्ने हुन्छ, सर्वसाधारण महिलाहरु घर बाहिर बास बस्न असुरक्षित पनि ठान्छन्, त्यसैले प्रायः जाँदैनन् नागरिकता लिन ।’ उनले नागरिकता लिन जिल्ला सदरमुकाम जानु पर्दा एक जनाको आठ/१० हजार खर्च हुने भएका कारण पनि अधिकांश महिलाहरु नागरिकताबिहिन हुनु परेको वताए । आउने शिविरहरुबाटै अधिकांश महिलाहरुले नागरिकता लिने गरेको उनको भनाई छ । 
हरेक काम पुरुषले आफै गर्ने भएका कारण पनि महिलाहरुले नागरिकताको आवश्यकता महसुस नगरेको हुन सक्ने वताउँछन् आदर्श गाउँपालिकाका अध्यक्ष टेकवहादुर रोकाया । उनी भन्छन् ‘जिल्ला सदरमुकाम जाँदा ‘आफु जानु पर्ने र साथमा एक जना सनाखत् बस्ने व्यक्ति लैजानु पर्ने भएकाले खर्च बढी आउँछ, आफ्नो कमाई नहुने भएका कारण महिलाहरु खर्च गर्न पनि अप्ठेरो मान्छन्’ रोकाया भन्छन् ‘कुनै काम गर्न अनिवार्य नागरिकता चाहिने भएपछि मात्रै नागरिकता वनाउने चलन छ ।’ 

दिपायल सिलगढी नगरपालिका साक्षर घोषणा

“हाम्रो गौरव ः हाम्रो पहिचान, साक्षर नगर ः सवैको अभियान” भन्ने मुल नाराका साथ डोटीको दिपायल सिलगढी नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ । 
आईतवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति डोटीका प्रमुख रामवहादुर ऐरले दिपायल सिलगढी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेका हुन । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिसस प्रमूख ऐरले दिपायल सिलगढी नगरपालिका साक्षर घोषणा भएकोमा बधाई दिए । साक्षर नगर घोषणाले साक्षर नेपाल घोषणा गर्न मद्दत पुग्ने भन्दै ऐरले बाँकी निरक्षर व्यक्तिहरुलाई पनि साक्षर वनाउन नगरपालिकाले ठोस कार्यक्रम ल्याउन सुझाव दिए । 
त्यस्तै डोटीका प्रमूख जिल्ला अधिकारी यादव सुवेदीले शिक्षा क्षेत्रमा ठूलो मात्रामा लगानी भएको र सोचे अनुसार प्रतिफल नआईरहेको भन्दै शैक्षिक अवस्था सुधारका लागि सबै सरोकारवाला निकायले भूमिका खेल्नु पर्ने बताए ।
दिपालय सिलगढी नगर प्रमुख मञ्जु मलासीले शनिवार मात्रै नगरपालिकाका नौ वटै वडाहरु पूर्ण साक्षर वडा घोषणा गरिएको जानकारी दिईन् । उनले नगरपालिकालाई साक्षर नगर घोषणा गर्नमा सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै निरक्षरलाई साक्षर वनाउनमा सवैले सहयोग गर्न आग्रह समेत गरिन । 
नगरपालिकाभित्र बसोबास गर्ने १५ वर्षदेखि ६० वर्ष उमेर समूहका कुल जनसंख्याको ९६.७८ प्रतिशत साक्षर भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमूख मञ्जु थापाले साक्षर घोषणा कार्यक्रममा जानकारी दिईन् । 

सरकार काम गर्न प्रतिवद्ध छ ः रावल

कर्ण चन्द/सिलगढी
बैशाख १६
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व उपप्रधानमन्त्री भिव रावलले जनताका बिचमा गरिएको प्रतिबद्धता पुरा गर्न सरकार सधैँ प्रतिबद्ध रहेको वताएका छन् । 
डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोल्ताडामा निर्माण हुने झोलुङ्गे पुलको शिलान्यास गर्दै नेता रावलले उक्त कुरा वताएका हुन् । उनले सरकारले बिस्तारै विकासको गति लिई–रहेको वताउँदै जनताका बीचमा गरिएका सवै प्रतिवद्धता पुरा गरेरै छाड्ने वताए । 
स्थानीय तहको निर्वाचनका क्रममा गरिएको प्रतिबद्धता स्वरुप घोल्ताडामा भूमिगत खानेपानी र झोलुङ्गे पुल निर्माणको काम सुरु भएको रावलले दावी गरे । उक्त गाउँमा भूमिगत खानेपानी योजनाको यसअघि नै  रावलले नै उद्घाटन गरेका थिए । 
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पुर्बाधार मन्त्रालयको ५७ लाख ३१ हजार ४ सय ११ रुपैँया लागतमा बन्न लागेको उक्त पुल वडा नं. ४ को पिपल्ला बजार र वडा नं. ५ को घोल्ताडा जोड्ने छ । 
लालपूर्जा बितरण 
दिपायल सिलगढी नगरपालिकाभित्र रहेका भूमिहिन बादी समुदायलाई नगरपालिकाले जग्गा खरीद गरि बितरण गरेको छ । उक्त जमिनको जग्गाधनी प्रमाण पूर्जा सोमवार नेता रावलले रावलले बादी समुदायलाई हस्तान्तरण गरेका छन् । 
दिसिनपा–४ को पिपल्ला बजार नजिकै सडक किनारमा बस्दै आएका बादी सामुदायका तीन परिवारलाई नगरपालिकाले जग्गा खरिद गरेको थियो । बादी सामुदायका परिवारलाई आज एक कार्यक्रममा बिचमा नेता रावलले जग्गा धनी प्रमाण पूर्जा हस्तान्तरण गरेका हुन् । 
प्रमाणपत्र हस्तान्तरण गर्दै रावलले भने ‘कम्युनिष्ट पार्टीको सरकार गरीब तथा बिपन्नहरुका लागी हो, दिपायल सिलगढी नगरपालिकाले जे गरेको छ त्यो राम्रो काम गरेको छ ।’ कार्यक्रममा नगर प्रमुख मञ्जु मलासीको प्रशंसा गर्दै रावलले थपे ‘निर्वाचनको समयमा महिलाले नगर चनाउन सक्दैन भन्ने धेरै थिए तर अहिले उहाँ कुनै पुरुषको भन्दा पछि हुनुहुन्न ।’
सरकारले सुरु गरेका कामको छिटो प्रभाबकारी रुपमा काम गर्न उपभोक्ता समितिलाई रावलले निर्देशन दिएका छन । रावलले भने ‘जनताको माग र आबश्यकता भएको ठाउँमा हामी योजना ल्याउन तयार छौँ तर काम समयमै प्रभाकारी हुन   प¥यो ।’
नगर बसको उद्घाटन 
दिपायल सिलगढी नगरपालिकाको नगर बसको पनि नेकपाका नेता रावलले उद्घाटन गरेका छन । 
नयाँ बस थपिएसंगै नगरपालिकाले सञ्चालन गरेको नगर बसको संख्या तीन भएको छ । २०७४ साल माघ मा नगरपालिकाले दुई बस सञ्चालनमा ल्याएको थियो । 
दुई बसले यात्रुको चाप थेग्न नसकेको कारण एक बष थपिएको नगर प्रमुख मलासीले बताईन् ।

मोवाईलबाटै लभ परेपछि..........

डोटीको बडीकेदार गाउँपालिका–१, बिपीनगरमा रहेको ईलाका प्रहरी कार्यालयमा एक अपरिचितको फोन   आयो । फोन गर्ने व्यक्तिले बाटोमा एक केटा र दुई केटीको आपसमा झगडा भईरहेको र त््् िमध्ये एक केटीले आफु आत्महत्या गर्ने कुरा गरिरहेको घटना बारे प्रहरीलाई जानकारी दिए । ईलाका प्रहरी कार्यालयका ईन्चार्ज भरत चौधरीले तुरुन्तै टोली पठाए, प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई घटनाबारे बुझ्यो । 
“त्यो केटाको फेसबुकमा एउटा केटीसंग लभ परेको रहेछ, दुवैको कुरा बिहे गर्ने तहसम्म पुगेको रहेछ” घटना बारे सुनाउँदै ईचार्ज चौधरीले भने ‘तर केटीका आमाबुवाले त्यो केटा पहिले नै विवाहित भएको र श्रीमतीले अर्कै बिहे गरेको भन्ने थाह पाएपछि बिहे गर्न मानेनछन् ।’ चौधरीले थपे ‘त्यसपछि केटाले साथीमार्फत अर्को केटीसंग फोन सम्पर्क गरेछ, फोनमा गफ गर्दागर्दै लभ बस्यो छ ।’ 
केटाले अन्ततः अर्को केटीलाई पनि बिहे गर्ने तहसम्म पु¥यायो । दुवै बिहे गर्न राजी भए । छोरीलाई खुशी साथ राख्ने र पढाई दिने भन्ने प्रतिवद्धतापछि आमा बुवाले पनि स्वीकृति दिए । आमाबुवाको सामान्य टिकाटालोपछि बिदाई भएर घर जान हिडे दुवै । यो खवर खवर पहिलेको केटीले थाह पाईन । उनी दौड्दै बाटोमा आईन र आफुलाई धोका दिएको भन्दै झगडा सुरु गर्न थालिन् । उनले आफुसंग पनि बिहे गर्नु पर्ने भन्दै नभए आफु झुण्डिएर मर्ने धम्की दिएकी रहिछन् । 
‘दुवै केटीको उमेर १७/१८ बर्ष मात्रै छ, त्यसैले बिहे हुने त कुरै भएन’ ईन्चार्ज चौधरी भन्छन् ‘दुवै केटीका अभिभावकहरुलाई बोलाएर हामीले जिम्मा लगाई दियौं ।’ 
केही दिन अघि जिल्ला प्रहरी कार्यालयमा १८ बर्षीय केटा र १९ बर्षीया केटीको जोडी आयो । भरखर बिद्यालय शिक्षा परीक्षा (एसइई) दिएका उनीहरु मोवाईलबाटै नजिक भए । दुवै अभिभावकको आँखा छलेर भागे । केही दिनपछि दुवै केटाको घर आए । जाती नमिलेको भन्दै केटी पक्षले केटा केटी दुवैलाई र केटाका अभिभावकलाई धम्की दिन थाल्यो । केटाकेटी डराएर स्थानीय प्रहरी चौकी हुँदै जिल्ला प्रहरी कार्यालय पुगे । 
‘२० बर्ष नपुगी बिहे हुँदैन भन्ने पनि जानकारी रहेनछ उनीहरुलाई’ जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले भने ‘एकोहोरा रुपमा हामीले बिहे गरिसक्यौं, अव कसरी बदर हुन्छ ? भनेर जिद्दि गर्न थाले ।’ धेरै प्रयासपछि सम्झाएर उनीहरुलाई अभिभावकको जिम्मा लगाईएको धामी वताउँछन् । 
यस्तै एक अर्को घटना छ । मोवाईलबाटै सम्वन्ध भएको एक जोडी केटा र केटीको अनुहारै नहेरी बिहे गर्ने तहमा पुगे । पुरुषले घरमा अर्को बिहे भएको कुनै जानकारी दिएनन् केटीलाई । जव दुवै एकअर्कालाई पति(पत्नि स्वीकार गरेर घर पुगे तव केटीलाई थाह भयो, घरमा श्रीमती मात्रै होईन दुई छोरा पनि छन् भन्ने । उनले चुपचाप सौतामै बस्ने निर्णय लिईन तर पहिलेको श्रीमतीले मान्दै मानिनन् । केटीको उमेर १८ बर्ष पनि पुगेको छैन । घटना अझै मिलेको छैन तर कानुनी दायरामा पनि आएको छैन । 
मोवाईल फोन र सामाजिक सञ्जालमा कुरा हुँदै बिहेको तहसम्म पुग्ने र सानै उमेरमा घरबाट भागेर जाने गरेका घटना बढ्दै गईरहेको सूचना अधिकारी धामी वताउँछन् । उनी  भन्छन् ‘यसले बालविवाह पनि बढ्न थालेको छ ।’ यसरी मोवाईल वा सामाजिक सञ्जालबाट सम्वन्ध कायम भई बिहे गरेर आउनेहरुमा १३/१४ बर्षका पनि  रहेको धामी वताउँछन् । ‘अधिकांश त १७/१८ बर्ष उमेर समूहकै छन्’ उनले भने ‘किशोरावस्थामा परेको मानसिक प्रभावले यस्तो भएको हुन सक्छ ।’ अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई सम्झाउन नसक्नु यसको प्रमुख कारण भएको धामीका भनाई छ । उनी भन्छन् ‘किशोरावस्थामा उनीहरु एकोहोरो भएका हुन्छन्, त्यतिवेला राम्रो अभिभावकत्वको खाँचो हुन्छ, त्यसैले अभिभावक जिम्मेवार हुनुपर्छ ।’ 
सञ्चारका माध्यमहरुको दुरुपयोग भईरहेको वताउँछन् उच्च अदालत बार एसोसियसन दिपायलका अध्यक्ष मेरिना श्रेष्ठ । उनी थप्छिन् ‘चेतना अभावका कारण पनि यस्तो समस्या आएको छ ।’ मोवाईल र फेसबुकबाटै प्रेम गरी भागेर बिहे गर्ने गरेका कारण बालविवाह र बहुबिवाहका घटनाहरु पनि बढ्ने गरेको उनी वताउँछिन् । उनले भनिन् ‘सामाजिक सञ्जालमा वा मोवाईलमा फोन गरेकै कारण समाजले पनि उनीहरुलाई भागेर जान बाध्य वनाई दिन्छ ।’ 
अभिभावकले आफ्ना  छोराछोरीहरुलाई मोवाईल चलाउन दिने कि नदिने, दिएपनि कस्तो प्रकारको मोवाईल चलाउन दिने भन्ने बिषयमा ध्यान दिनु पर्ने वताउँछन् पत्रकार टेकेन्द्र देउवा । उनी भन्छन् ‘पहिले आफ्ना छोराछोरीहरुलाई मोवाईलको फाईदा, बेफाईदाको बिषयमा पूर्ण रुपमा जानकारी गराएर मात्रै मोवाईल दिनुपर्छ ।’ 

खेल समचार 

नेपाली त्रिकेट बटोली स्वदेश फिर्ता

थाइल्याण्डमा सम्पन्न एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधी विजेता नेपाली टोली स्वदेश फर्किएको छ ।
उपाधी विजेता नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिसद (राखेप) का सदस्य सचिव केशब कुमार बिष्ट, उपाध्याक्ष पिताम्बर तिमल्सिना, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटा लगायतले स्वागत गरेका थिए ।
थाइल्याण्डको चियाङमाईमा आइतबार मलेसियालाई हराउँदै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको     थियो ।
प्रतियोगितामा नेपालले शत प्रतिशत जित निकाल्न सफल भएको थियो । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई हराउँदै उपाधि जितेको    थियो ।
विमानस्थलमा पत्रकारहरूसँग बोल्दै प्रशिक्षक बसन्त शाहीले युवा खेलाडीमा राम्रो क्षमता रहेको  भन्दै उपाधि रक्षा गर्नु चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए । ओभरअल टुर फलदायी बनेकोमा निकै खुसी रहेको बताए ।
क्यान निलम्बनमा रहेको स्थितिमा आफूहरूले अभिभावक विहिन भएर खेल्नु परेको भन्दै उनले यसतर्फ सम्बन्धित निकायले ध्यान दिन ढिला भइसकेको  बताए । छोटो समयको तयारीमा पनि खेलाडीहरूको अथक प्रयास मेहनत र सबैको सहयोगले यो जित हात परेको उनले बताए ।
क्रिकेटलाई निरन्तर रूपमा विकास गर्दै लाने हो भने क्रिकेटको जग बलियो बनाउनु पर्छ । किनकी हामी एक दिवसीय राष्ट्र हौं । सिनियर खेलाडीहरू अब धेरैमा ४/५ वर्षसम्म खेल्लान् ।

चलचित्र/मनोरञ्जन 

शुक्रवार “दाल, भात, तरकारी”

२०७६ सालको पहिलो चलचित्रका रुपमा शुक्रबारदेखि ‘दाल भात तरकारी’ रिलिज हुँदैछ । 
किरण केसीको निर्माणमा मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई सुदन केसीले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा नायक पुष्प खड्का र नायिका आँचल शर्मा छन् । चलचित्र भित्र यी दुइलाई ‘राहु र पिंकी’को भूमिकामा दर्शकले देख्न पाउनेछन् ।
चलचित्रभित्र आँचल बिग्रिएकी  छोरीको भूमिकामा छिन् । ‘म आफ्नो प्रेमीसँग मध्यरातमा उसको कोठामा पुग्छु’ आँचल भन्छिन् ‘चलचित्र हेरेर निस्किएपछि दर्शकले मलाई नोटिस गर्ने छन् ।’ चलचित्रमा आँचलको साथमा नायिका निरुता सिंह, बर्षा राउत र प्रियंका कार्की पनि छन् । धेरै नायिका हुँदा पनि दर्शकले आफ्नो कामलाई नोटिस गर्ने र हलबाट बाहिर निस्किएपछि आफूलाई संझने आँचलको तर्क थियो ।
चलचित्रमा आफू धनी बाउको विग्रिएको छोराको भूमिकामा देखिएको नायक पुष्प खड्का वताउँछन् । पुष्पले आफ्नो भूमिकाले केही यूवाहरुको प्रतिनिधित्व गर्ने पनि सुनाए । ‘यो चलचित्रमा काम गर्नुको कारण यसको टिम भएको छ’ पुष्पले भने ‘मैले भोलीका मेरा सन्ततीलाई मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य जस्ता कलाकारसँग एकसाथ काम गरेको थिएँ भनेर भन्न सक्छु ।’
यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

लेख 

जनमुखी भूमिसुधार

धर्मराज जोशी
ग्रामीण नेपालको आर्थिक संरचनाले सीमान्त किसानलाई शिक्षा, स्वास्थ्य, आवास र खाद्यान्नमा सहज पहुँच दिँदैन। कारण हो–भूमि स्रोतमा उनीहरूको कमजोर नियन्त्रण तथा पहुँच । भूमिसुधार होला र दिन फेरिएलान् भनी च्युँडोमा लगाएका सीमान्त किसानका हात सरेर पुर्पुरोतिर पुगेको छ । भूमिसुधार कसरी गर्ने भनी बोल्ने र लेख्ने विद्वानहरू रिंगटा लाग्नेगरी १८० को डिग्रिमा ढल्किए । भूमिसुधारको कोर्स परिवर्तनको ल्याकत राख्ने कर्मचारीहरू सर्लक्कै चिप्लिएर भूमाफियाहरूको कित्तामा उभिए। जनहितमा काम गर्न सपथ खाएका जनप्रतिनिधि पनि पारिवारिक तथा व्यक्तिगत स्वार्थको बन्दी बनेपछि जनमुखी भूमिसुधारका सपना पानी चुहिने कुनातिर मिल्काइएका स्रेस्ता र मोठजस्तै मक्किन थालेका छन् ।
केही सरकारी अधिकारी तथा कतिपय विद्वान बितेका १५ वर्षमा सुकुवासी  आयोगका नाममा वितरण गरिएका करिब ४७ हजार बिघा जमिनको दृष्टान्त दिँदै जग्गा बाँडेर भूमिसम्बन्धी समस्या समाधान नहुने तर्क  राख्छन् । त्यसैले जमिन वितरणको साटो एकीकरण गर्नुपर्छ भन्छन् । तर उक्त जग्गा वितरण प्रक्रिया कति पारदर्शी र सहभागितामूलक थियो ? जमिन पाएकाको जीवनमा कस्तो परिवर्तन आयो ? वितरण गरिएको जमिनको हालत के छ ? सुकुमवासी समस्या समाधान आयोगमा पछिल्लो समय भूमिहीन हुँ भनी निवेदन दिनेको संख्या किन बढ्यो ? यी विषयमा भने उनीहरू बोल्दैनन्। त्यसैले यो कानुनी हदबन्दी भन्दा बढीको जग्गा लुकाउन र भूमिसुधार अभियान तुहाउन कर्मचारीतन्त्रको मिलेमतोमा गरिएको राजनीतिक बेइमानी तथा अपारदर्शी प्रपञ्च मात्रै थियो ।
तथ्यांक पत्याउने हो भने ठूला भनिएका ४ प्रतिशत जमिनवालाको कब्जामा खेतीयोग्य जमिनको २२ प्रतिशत हिस्सा छ । यो जमिनको सदुपयोग नभएको कुरा केही दशकदेखि उकालो लागेको कृषि उत्पादनको आयातले प्रस्ट पार्छ । समग्र कृषिकर्म अपनाउँदै आएका एक चौथाइ किसान परिवार भूमिहीनसरह छन् जसलाई बिहान–बेलुकाको छाक टार्नै मुस्किल छ । ५३ प्रतिशत परिवारसँग ०.५ हेक्टर भन्दा कम जमिन छ र उपभोगका लागि पर्याप्त उत्पादन छैन । यस परिवेशमा विकसित भइनसकेको बजारको नेतृत्वमा जमिन एकीकरणको स्याल हुइयाँले दिन खाजेको सन्देश के हो ? रोजगारीका पर्याप्त विकल्प नहँुदै जमिन एकीकरणले कसरी सीमान्त किसानको हकहित प्रवद्र्धन गर्छ ? बाँझो जमिनको प्रभावकारी उपयोग यसले कसरी निश्चित गर्छ ? जग्गाको चकलाबन्दी गर्ने प्रक्रिया के हो ? सरकारले व्यवस्थापन गर्ने हो वा कुनै व्यापारीलाई ठेक्कामा दिने हो ? यो, सम्पूर्ण सीमान्त किसानलाई जमिनको स्वामित्वबाट हटाएर कृषि श्रमिकमा परिणत गर्ने योजना हो ? कि यस प्रक्रियामार्फत सम्पूर्ण जमिनको स्वमित्व राज्यले लिने रणनीति हो ? यस विषयमा सम्पत्ति र भूमिसम्बन्धी संवैधानिक व्यस्थाको वकालत गरी नथाक्नेहरूको विचार के हो ?
समग्र नेपाली कृषियोग्य भूमिको कुरा गरौँ । आँकडाले भन्छ– नेपालमा कुल भूमिको २८ प्रतिशत जमिन खेती तथा बसोबासका लागि योग्य छ । जसमध्ये ७५ प्रतिशत नापजाँच भइसकेको छ । २०७४÷७५ सालको आँकडाअनुसार नापजाँच भएको जमिन १ करोड १० लाख ७६ हजार ४ सय २२ जनालाई झन्डै ३ करोड ५० लाख कित्तामा बाँडिएको छ । सोझो हिसाबले हेर्दा ५४ लाख २७ हजार ३०२ घरधुरीका कम्तीमा २ जनाका नाममा ३–३ कित्ता जमिन हुनुपर्ने हो। तर यथार्थ त्यस्तो छैन । नेपालीको औसत भूस्वामित्व २०५२ देखि २०६७ सालसम्म आइपुग्दा १.१ हेक्टरबाट ०.७ हेक्टर  (२० कट्ठा ६ धुर) भयो । त्यसयताका दिनमा यो तीव्र रूपमा घटेको छ । करिब २५ प्रतिशत घरपरिवार ऐलानी वा सरकारी जमीनमा बसिरहेको अनुमान छ ।
जग्गा प्रप्तिका लागि मरिहत्ते नगर्ने सायदै हालान् तर तिनका नाडी छाम्ने हो भने अधिकतरको रोजाइमा कृषिकर्म पर्दैन । यसको अर्थ के हो भने जमिन अन्न उत्पादनभन्दा अन्य प्रयोजनका लागि चाहिने रहेछ । तथ्यहरूले सत्य नबोल्ने राष्ट्रिय परिवेशमा, जनमुखी भूमिसुधारको विकल्प एक मजाक बन्न पुगेको कुरा कसैबाट लुकेको छैन । भूमिसुधारको गम्भीर बहस हुनुपर्ने समयमा जग्गाको किचलोले सबैको ध्यान अनावश्यक तान्नु नै यसको प्रमाण हो । विगत केही दिनमा बाहिर आएका अपत्यारिला तथ्यहरूले राज्यले भूमिसुधारको स्पष्ट बाटो खुट्याउन नसक्दा परिणाम  कति घातक हुनसक्छ भन्ने प्रस्ट पा¥यो । खाली जमिन देख्यो कि किल्ला गाडिहाल्ने, गाउँका गाँउ जालसाजी तथा चोरी दर्ता गर्नेजस्ता प्रवृति किन हावी भइरहेका छन् ? चल्तीका सहरी क्षेत्रमा जमिन किन्न जो कोही किन लालायित हुन्छन् ? कुरा स्पष्ट छ–जग्गाका कारण पाइने मान मनितो तथा अनुभूत हुने आर्थिक सुरक्षा ।
यसरी हेर्दा नेपालमा भूमिसुधार अर्थराजनीतिक विषय कम र गुण्डार्दी, भ्रष्टाचार तथा धोकाधडीको विषय बढी देखिन थालेको छ । साँचो अर्थमा जनमुखी भूमिसुधार भएको भए न्यूनतम जमिन सबैसँग हुन्थ्यो वा कृषि उद्यम गर्नेसँग जमिनको आकार तुलनात्मक रूपले ठूलो हुन्थ्यो र सामाजिक शक्ति सन्तुलनमा उथलपुथल आउँथ्यो । कृषिमा निर्भर समुदायको जीवन कायापलट हुन्थ्यो र देशले समाजवादी विकासको लय पक्रिन्थ्यो । तर त्यसो भएन ।
कमजोर वर्ग, समुदायका मानिसले चासो राखिरहेको र अलि हुनेखाने वर्गले उपेक्षा गरिरहेको जस्तो लाग्ने भूमिसुधार मुद्दा, व्यक्तिगत रिसिइबी साँध्न ‘पालाको पैँचो’ तिर्ने हिसाबले उठेको होइन । भूमिसम्बन्धी स्पष्ट धारणा नहुँदा जमिन फरक–फरक व्यक्तिका लागि भिन्न किसिमका स्रोत रहँदै आयो । एक टुक्रा जमिनको महत्ता बहुआयामिक भयो । सत्ता र शक्तिमा हुनेले यसको अनौठो व्याख्या गरे । भूमिस्रोतको उपयोग र दुरुपयोग पनि त्यहीअनुरूप भयो । अहिले आएर जमिन त्यस्तो चामत्का–रिक वस्तु बन्न पुग्यो कि त्यसले मालिकहरूलाई रातारात धनी र शक्तिशाली बनाउन थाल्यो। यस्तो परिस्थितिमा शक्तिमा हुनेहरूले थप जमिनमा कब्जा जमाउन के मात्रै गरेनन् ?
अर्थराजनीतिक हिसाबले कमजोर समुदायलाई तर्साउन देवीदेउता खडा गरे र हजारौँ बिघा जमिन ओगटे । जोगिलाई सिँगारेझैँ जमिनमा साँध सिमाना कोरे । बढीभन्दा बढी भूभागबाट निर्धा र निमुखाहरूलाई उठीबास लगाए, कज्याए र नजरले भ्याएसम्म जमिन कब्जा गरे । सहज उपलब्ध जमिनको कृत्रिम अभाव खडा गरे र विलासिताको साधनस्वरूप महँगो मूल्यमा बजारमा बिक्री हुने चलन चलाए । आफ्नो अनुकूलता र फाइदाका लागि मात्रै उपयोग गरे ।
जोसुकै सत्तामा आए पनि जस्तोसुकै शासन व्यवस्था ल्याइए पनि भू–सम्बन्धमा आमूल परिवर्तन गरी बहुआयामिक लाग्ने जमिनको समतामूलक वितरणको कसरत कसैले नगर्दा अहिले ‘तिनीहरूले हाम्रो प्रतिनिधित्व गर्दैनन्’ भनी जनप्रतिनिधि र चुनिएको सरकारमाथि शंका गर्नेहरूको जमात बढ्दो छ । यो शंका निवारण गर्न भूमिको पुनव्र्याख्या जरुरी छ जसले भूमिको सामाजिक, आर्थिक तथा राजनीतिक रङ खुइल्याएर यसको आफ्नै उत्पादनको गुणमाथि थप जलप लगाएर आम जनतामा यसको विशिष्टता सञ्चार गरोस् ।
यस किसिमको विकासका लागि हरेकको मनमा कानुन र व्यवस्थाको डर, जिम्मेवारी अनि उच्चतम जवाफदेहिता हुनुपर्छ। कसैका कामका कारण कुनै अनजान परिवारलाई खुसी मिल्नु र चोट पुग्नु संयोमात्रै त होइन । बाहिर एउटा भन्नु र भित्र अर्कै तानाबाना बुन्नु सायद  राजनीति र राजनेताहरूको बाध्यता होला तर त्यसले आम जनजीवन कुन हदसम्म बिथोल्छ त्यो सोच्ने नेताहरूमा फुर्सद भएन । समस्या समाधानका लागि उचित पद्धति र प्रणाली विकास गरी संस्थागत गर्नुपर्ने देखिन्छ ।
विश्वव्यापी बनेको नवउदारवादी छालका कारण बजारमा कहिले भूउपयोग त कहिले कृषि क्रान्तिका नाममा चर्चामा रहने बजारी धारणा वा धनीवर्गको मात्रै हित संरक्षण गर्ने आशयका विचार तथा प्रस्तावहरूमा हो मा हो मिलाएर वास्तविक जनमुखी भूमिसुधार हुन सक्दैन। नेपालमा चलिरहेको भूमिसुधार बहस सुन्दा र अहिले राज्यले भूमिसुधारका सम्बन्धमा लिन खोजेको बाटो हेर्दा लाग्छ–राज्यले समृद्धिको ढ्वाङ त ठोक्ला तर सीमान्त किसानका आकांक्षा पूरा हुने छैनन् ।
भूमिसुधार र कृषि विकासका तमाम तामझाम हेर्दा एकअर्कालाई तार्किक निष्कर्षमा पुग्न नदिन आपसमा लडाइएका विषयजस्ता लाग्छन् । कृषि विकास पहिला कि भूमिसुधार ? यस विषयमा नयाँ वैचारिक अन्योल, दुविधा र विवाद त्यसैको परिणाम हो ।
प्रतिव्यक्ति जग्गाको आकार नबढाइ, जमिनमा श्रम गर्नेलाई त्यसको मालिक नबनाइ, जमिनको उत्पादकत्व कसरी वृद्धि गर्न सकिएला ? यस्तो परिस्थितिमा बहुसंख्यक जनताको हितलाई ध्यानमा राखेर भूमिसम्बन्धी सवालको पत्रपत्र केलाएर राज्यले एकपटक फेरि जनमुखी भूमिसुधारका सम्बन्धमा निर्णय लिन जरुरी छ ।  
—नागरिक दैनिकबाट

लोकसेवा तयारीका लागि उपयोगी 

१. जैविक विविधता भन्नाले के बुझिन्छ ? 
— संसारको जल, स्थल, समुन्द्र तथा सिमसार सबै क्षेत्रमा रहेका जीवित प्राणी तथा वनस्पतिहरू बीच पाइने भिन्नतालाई नै जैविक विविधता भनिन्छ । 
— वातावरण संरक्षण ऐन, २०५३ अनुसार जैविक विविधता अन्तर्गत ३ प्रकारका चरण बद्ध श्रेणीहरू पर्छन् ः 
पारिस्थितिकीय प्रणाली 
प्रजाति विविधता 
आनुवंशिक विविधता÷वंशाणुगत विविधता 
— जैविक विविधताको सम्पन्नताको दुष्टिकोणले नेपाल विश्वमा २५ औँ र महादि¥पीय मानचित्रमा ११ औँ स्थानमा पर्छ । 
— जैविक विविधता शब्दको प्रयोग सन् १९८० को दशकमा भएको पाइन्छ । 
२. संसदीय शासन प्रणालीको बारेमा लेख्नुहोस् । 
— व्यवस्थापिका संसद् प्रधान रहने प्रणाली संसदीय शासन प्रणाली हो । 
— कार्यपालिका प्रत्यक्ष वा परोक्ष रूपामा व्यवस्थापिकाको समर्थनमाथि निर्भर रहन्छ । 
— यस प्रकारको शासन पद्धतिमा राष्ट्र प्रमुख र सरकार प्रमुख बेग्लाबेग्लै व्यक्ति हुन्छन् । 
— राष्ट्रको सम्पूर्ण कार्यकारी अधिकार खासगरी सरकार प्रमुख अर्थात् प्रधानमन्त्रीमा निहित रहेको हुन्छ भने राष्ट्र प्रमुख नामको मात्र हुन्छ (ँष्नगचभ जभबम)। 
— मन्त्रिमण्डलका सम्पूर्ण सदस्यहरू आफ्नो नीति, कार्यक्रम तथा काम कारबाहीका सम्बन्धमा प्रत्यक्ष रूपमा व्यवस्थापिकाप्रति तथा व्यक्तिगत रूपमा प्रधानमन्त्रीप्रति समेत उत्तरदायी रहन्छन् र सामूहिक जिम्मेवारीको सिद्धान्त अंगिकार गरिएको हुन्छ । 
३. संसदीय शासन प्रणालीका विशेषताहरू के–के हुन् ? 
प्रतिकात्मक आदर्श राष्ट्राध्यक्ष 
प्रधानमन्त्रीको नेतृत्व 
बहुमत प्राप्त राजनीतिक दलको सदस्यको नेतृत्वमा सरकारको गठन हुने 
प्रभावकारी एवं सशक्त प्रतिपक्षी उपस्थित हुने 
कार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी हुने 
व्यवस्थापिका र कार्यपालिका बीच घनिष्ठ सम्बन्ध हुने 
सामूहिक उत्तरदायित्व 
कानुनको शासन अर्थात् कानुनी राज्य 
प्रतिनिधि मूलक शासन प्रणाली 
बहुदलीय शासन पद्धति र जन निर्वाचित सरकार 
संसद् र सरकार बीच शक्ति सन्तुलन र नियन्त्रण 
संसदीय सर्वोच्चता 
जनतालाई राजनैतिक दलहरूको सदस्य हुने र मतदान गर्ने स्वतन्त्रताको निश्चितता 
४. राष्ट्रिय सुरक्षा परिषद्को गठन कसरी हुन्छ ? लेख्नुहोस् । 
— नेपाली सेनाको परिचालन, सञ्चालन र प्रयोग गर्नका लागि मन्त्रिपरिषदलाई सिफारिस गर्न नेपालमा एक राष्ट्रिय सुरक्षा परिषद् रहनेछ । 
— जसमा देहाय बमोजिम अध्यक्ष र सदस्यहरू रहने छन् ।
क) प्रधानमन्त्री — अध्यक्ष 
ख) रक्षा मन्त्री — सदस्य 
ग) गृहमन्त्री — सदस्य 
घ) प्रधानमन्त्रीले मन्त्रिपरिषदमा रहेका राजनैतिक दलहरूमध्ये फरक–फरक दलको प्रतिनिधित्व हुने  गरी तोकेको ३ जना मन्त्री–सदस्य 
— प्रधानमन्त्री र रक्षा मन्त्री एकै व्यक्ति रहेको अवस्थामा मन्त्रिपरिषदको वरिष्ठतम सदस्य यसको सदस्य रहनेछ । 
५. सार्वजनिक सेवा प्रवाह भनेको के हो ? 
— सरकार वा यसका आधिकारिक संगठनले जनसाधरणको हित र कल्याणका लागि उपलब्ध गराउने सेवालाई सार्वजनिक सेवा भनिन्छ । 
— सरकारले नागरिकहरूलाई विभिन्न सेवाहरू उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको हुन्छ । सरकारले त्यही प्रतिबद्धता पूरा गर्न राज्यका तर्फबाट प्रदान गरिने सेवाहरूलाई सार्वजनिक सेवा भनिन्छ । 
— औद्यगिक क्रान्तिले ल्याएको परिवर्तनको लहरसँगै १९ औँ शताब्दीतिर सार्वजनिक सेवाको           अवधारणाको विकास भएको हो । 
— सरकारले शिक्षा स्वास्थ्य खानेपानी विद्युत् सञ्चार हुलाक यातायात सुरक्षाजस्ता जनतालाई उपलब्ध गराउने सेवा सार्वजनिक सेवा हो । सरल एवं छिटो जनतासमक्ष पु¥याउनु सार्वजनिक सेवा प्रवाह हो । 
६. के गरेमा सार्वजनिक सेवाको प्रभावकारिता विस्तार हुन्छ ? सार्वजनिक सेवाका सिद्धान्त (९ सिद्धान्त) 
— सरकार र यसका निकायबाट प्रदान गरिने सेवामा यी गुणहरू रहनु पर्दछ जुन कुरा प्रत्येक सेवाग्राहीले अपेक्षा गरेको हुन्छ, जसलाई हामी सार्वजनिक सेवाका नौ सिद्धान्त भन्छौं । 

साहित्य÷सिर्जना 

मरेर गएसी 

जब म रहदिन्न यो देह पनि रहन्न
तिमिलाइ न्यालिरहने आँखा पनि रहन्न ।।
जब मेरो देह सँगै,
तिमिसँगको पिरती बोकेको हृदय
तिम्रो वास भएको मेरो मन,
तिमिसँगको याद बोकेको मेरो मन,
पनि ति आगोमा मलामी भै जलेसी
मभित्र को “म” पनि रहन्न,
सधै सधैको लागि मरेर गएसी म ।।
घुइँचोमा एक्लै हुदा तिमी,
ति तिम्रा दुःखको आँसु पिउन सक्दिन्न
जब शीर्षस्थ हुन्छौ तिमी,
तिम्रो हरफहरूको गित भइ बग्न सक्दिनँ
फर्की आइ फेरि तिम्रो साथ दिन सक्दिनँ
मरेसि एकपल्ट फेरि तिम्रो हुन सक्दिनँ ।।
म बर्षिदिउला पानी भइ
म चमकी दिउला जुन भइ
म मुस्काइ दिउला बादल भइ
म हराइ जाउला प्रकृति भइ
म नष्ट भै जाउला तिम्रो माया भइ ।।
न रुनु तिमी मरेर गएसी म 
न फुटनु तिमी ,खरानी भएसी म
बस ! सजाइराखनु मलाई आफ्नो मुटुमा
साँची राख्नु मलाइ आफ्नु जिन्दगीको धुनमा 
किनभने 
फेरि बगि आउदिन्न तिम्रो दुनियाँमा 
मृत्यु को नदि मा बगेर गएसि म ।।
बिपिन सिंघल

यो सहर

यो सहर कहिल्यै मेरो गाउँ पुग्यो भने सुन्नेछ
उसले यौवनभरि एकान्तमा गाएका प्रिय गीतहरु
जसलाई मैले लगेर गाएको थिएँ गाउँमा
यो सहर कहिल्यै मेरो गाउँ पुग्यो भने देख्नेछ
उसले जीवनभरी कल्पेको प्रेमको आकाश
जसलाई मैले लगेर टाँगेको थिएँ गाउँमा 
पुग्छ पुग्दैन थाह छैन
तर यो सहर कहिल्यै मेरो गाउँ पुग्यो भने
र टेक्यो भने मेरो पुरानो घरको दैलो
थाह पाउनेछ
कसरी गजबार लगाएको दैलोलाई मैले
उसको एकै स्पर्शमा उघ्रिन सिकाएको छु !
कसरी एकाएक खुल्नेछ उसको आँखाले
कुनै चाबीले खोल्न नसकेको एउटा गोप्य बाकस
जसभित्र देखिनेछ
उसले जीवनभरी खोजिरहेको
उसैको थुनिएको आत्मा
र एउटा
मौनता शीर्षको कविता
जसको पहिलो पङ्त्तिमा लेखिएको हुनेछ
‘म मौन बन्न चाहन्छु
केवल तिमीलाई सत्य बताउनका लागि !’
पुग्छ र पुग्दैन थाह छैन
तर कुनै दिन यो सहर मेरो गाउँ पुग्यो भनेँ भेट्नेछ
हजार पटक बोलेर पनि सत्य बनाउन असफल
मौनताको पूजा गरिरहेको उसको प्रेमीलाई !
भूपिन ब्याकुल