Tuesday, April 30, 2019

बिम्ब साप्ताहिक, २०७६ साल बैशाख १७ गते मंगलवार

गर्मी मौसममा हुन सक्ने आगलागीका घटनाहरु र सोबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न निम्नानुसार गर्ने गरौं । 
 सलाई, लाईटर जस्ता आगो बाल्ने सामग्रीहरु बालबालिका तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्तिहरुले नभेट्ने ठाउँमा राखौं । 
 खाना पकाईसकेपछि आगो राम्रोसंग निभाऔं, खाना पकाउने ग्याँस प्रयोगकर्ताले चुलो, रेगुलेटर तथा लाईटर आदि समय समयमा निरीक्षण गरौं । 
चुरोट बिडी जसता वस्तुहरु प्रयोग पश्चात जथाभावी नफालौं र आगो राम्रोसंग निभाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

किर्तिको यात्रा ः युद्ध पत्रकारदेखि ब्यूटी मास्टरसम्म 

रामहरी ओझा/डोटी
बैशाख १६
कैलाली, गौरीगंगा नगरपालिका–७, मसुरियाको साझा बजार गल्लीमा रहेको न्यू लुक्स ब्यूटी पार्लर एण्ड कस्मेटिक सेण्टरमा महिलाहरुको बाक्लै उपस्थिति देखिन्छ । उपस्थित महिलाहरुमा उमेर छिपिएका देखि किशोरीहरुसम्म छन् । कोही आफ्नो अनुहार ब्यूटी वनाउन आएका त, कोही आफु ब्यूटीसियन हुन । 
स्वभाविक रुपमा ब्यूटी पार्लरको पसलमा महिलाहरुको उपस्थिति हुन्छ, अझ ब्यूटीसियनको तालिम समेत दिने पसलमा त झन बढी हुने नै   भयो । त्यो पसलमा पनि भिड  छ । पसल सञ्चालक किर्ति चौधरी व्यस्त छिन् महिलाहरुलाई ‘ब्यूटी’ र ‘ब्यूटीसियन’ वनाउनमा । 
तिनै किर्ति कुनै राज्यको आतङ्ककारीको सूचीमा थिईन् । अर्थात् निरंकुश एकात्मक व्यवस्थाको अन्त्य गरी वर्गरहित समाजको सपना बोक्दै १५ बर्षको उमेरमा बिद्यालय छोडेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा होमिएकी एक लडाकु महिला हुन्  किर्ति । समाजमा भएका सम्पूर्ण बिभेद्हरुको अन्त्य भएको देख्ने तिव्र ईच्छा थियो किर्तिको । टाउकोमा कात्रो बाँधेर युद्ध मोर्चामा रहँदा बुवा र श्रीमान् दुवै गुमाएकी छन् उनले ।
भूमिगत राजनीतिमा लागेर उनको सपना त पुरा भएन तर उनले जीवन जीउन सिकिन् । “६ कक्षामा पढ्दै थिएँ, बिपन्न परिवारमा जन्मिएको भएर होला आमा बुवाले ढिलो गरी बिद्यालय पठाउनु भयो” किर्ति भन्छिन् ‘तत्कालीन शाही सेनाले बिद्यालय छोडेर माओवादी हुन बाध्य वनायो ।’ पढाई छोडेर युद्धमा होमिने उनको सोच थिएन तर माओवादीको आरोपमा कहिले बिद्यालयमा, कहिले घरमा आएर सेनाले तर्साउन थालेपछि उनले वाध्यताले जंगलको बाटो रोजिन् । 
२०५९ साल भाद्र १५ गते उनी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको युद्धमा सहभागि भईन । माओवादी हुनु अघि उनी पर्मिला चौधरी थिईन, माओवादी भएपछि उनी किर्ति भईन । माओवादी हुनु अघि उनी बिद्यालयकी छात्रा थिईन, युद्धकालमा माओवादी हुँदा उनी तत्कालीन राज्यसत्ताको परिभाषामा ‘आतंककारी’ भईन । भूमिगत अवस्थामा माओवादी कैलाली जिल्ला कमिटी सदस्य हुँदै युद्ध पत्रकारको भूमिका निभाएकी उनले लडाईमै आफ्नो जीवन साथी खोजिन, लडाईमै आमा बनिन्, लडाईकै दौरानमा बुवाको साथ गुमाईन र लडाईकै दौरानमा पाएको जीवन साथी लडाईमै गुमाईन । 
शान्ति प्रक्रियासंगै ति किर्तिको पहिचान पनि फेरिएको छ । उनी अव न त पर्मिला हुन, न त आतङ्ककारी । उनी अव ब्यूटी मास्टर भएकी छिन् । 
शान्ति प्रक्रिया सुरु भएसंगै उनी पेट पाल्नका लागि मजदुरी गर्न थालिन् । ‘बुवा र जीवन साथी दुवै युद्धमै गुमाएपछि अव कस्को भर पर्नु ?’ किर्ति भन्छिन् ‘छोरा र आफ्नो पेट पाल्न आफै मजदुरी गर्न थाले ।’ मजदुरी गर्दै गर्दा उनलाई केही सीप सिक्ने सोच पलायो । जीवनभरी भारी बोकेरै पेट पाल्न गा¥हो हुन्छ भन्ने लागेरै केही सीप सिक्ने सोचेको उनी वताउँछिन् । प्राकृतिक रुपमा सुन्दर किर्तिले मजदुरी गर्दै गर्दा एक व्यूटी पार्लरको पसल देखिन् । उनले सोचिन् ‘म ब्यूटीसियन हुन्छु ।’ 
बिहान ब्यूटीसियनको तालिम लिदै दिउसो मजदुरी गर्दै गरिन उनले । सामान्य सिर्केपछि उनले नौ बर्ष पहिले आफ्नै पसल खोलिन् । त्यसपछि बनिन् उनी ब्यूटीसियन । पसल चलाउँदै उनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को पाठ्यक्रम अनुसार उनले “ए” लेवलको तालिम लिईन् । उनी अहिले पसले मात्रै होईनन् प्रशिक्षक समेत छन् अर्थात “ब्यूटी मास्टर” । उनले “बि” लेवलको तालिम पनि गरिसकेकि छिन् र प्रमाण पत्रका लागि परीक्षा दिएकी छिन् । 
“अहिले गौरीगंगा नगरपालिकाको सहयोगमा एक समूह र सेवक नेपालको सहयोगमा अर्को समूहलाई प्रशिक्षण दिईरहेकी छु’ उनले भनिन् ‘नियमित प्रशिक्षार्थीहरु पनि ५/७ जना छन् ।’ 
कक्षा ७ मा पढ्दै गरेका १३ बर्षीय छोरा अर्जुनको पढाईको चिन्ता छ किर्तिलाई । उनी भन्छिन् ‘मैले जति दुःख सहनु परेपनि मेरो छोराले कुनै दुःख खेप्नु नपरोस भन्ने सोच्छु, त्यसैले रातदिन पसिना वगाईरहेकी छु ।’ उनी छोरालाई एक इमानदार नागरिक वनाउने प्रयासमा छिन् । 
उनी महिलाहरु आत्मनिर्भर बन्नु पर्ने बताउँछिन् । ‘जवसम्म हामी अर्काको भर पर्छौं तवसम्म हामी स्वतन्त्र हुन सक्दैनौं’ किर्ति भन्छिन् ‘म सवै दिदिबहिनीहरुलाई अनुरोध गर्छु, हामीले साहस गर्नु पर्छ, आँट गर्नु पर्छ, पक्कै पनि हामी सफल हुन्छौं ।’ उनी महिलाहरु पनि व्यवसायिक वन्नु पर्ने जिकिर गर्छिन् । उनी थप्छिन् “जस्तो सुकै बिपत्ति आई लागेपनि जीउनका लागि केही न केही गर्नु नै पर्ने रहेछ, यदि आँट गर्ने हो भने जीउन सहज पनि हुने रहेछ ।” समाजले महिलालाई आत्मनिर्भर भएको देख्न नचाहेपनि बिस्तारै सवै ठिक हुने उनी वताउँछिन् । 

सम्पादकीय 

जग्गा अतिक्रमण प्रकरण

केही दिन अगाडि देशका प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिका नाममा नामसारी भएको घटना सञ्चारमाध्यममा आयो । सामाजिक सञ्जालहरुमा त्यसको व्यापक चर्चा भयो, बर्तमान सरकारको, बिगतका सरकारहरुको, प्रधानमन्त्रीको, भूपू प्रधानमन्त्रीहरुको, वहालवाला कर्मचारीहरुको, बिगतका कर्मचारीहरुको र राजनीतिक दलका नेता कार्यकर्ताहरुको व्यापक आलोचना भयो । दुर्भाग्य, यस मुद्धामा पनि नेपाली युवाहरु सामाजिक सञ्जालमा बाँझिए । 
उक्त घटना सेलाउन नपाउँदै राजधानीकोे खुलामञ्च कब्जा कव्जा गरिएको कुरा सञ्चारमाध्यममा आयो । कव्जा गरिएको खुला मञ्चमा व्यापारिक टहरा वनाएर भाडामा दिईएको खवर आयो । फेरी आलोचना सुरु भयो सरकारको । त्यसमाथी कम्युनिष्ट सरकारलाई जोड्दै आलोचना भयो । सरकारले उक्त टहरा हटाउनका लागि तत्काल पहल चाल्यो । काठमाण्डौं महानगरपालिकाले ताकेता गर्दै आएपनि अटेर गरेपछि मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा नगर प्रहरीले डोजर लगाई टहरा भत्कायो । 
खुलामञ्चको कव्जा हट्यो, वनाईएका टहरा भत्काईए । तर खुलामञ्चमा टहरा वनाएर भाडामा दिने व्यक्तिलाई कारवाही हुने कि नहुने ? खुलामञ्च कब्जा गरेर व्यापारिक सटर निर्माण गरी व्यापारीलाई भाडामा जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले  कस्तो कारवाही भोग्नु पर्ने होला ! अब सटर भत्काएर मात्र पुग्दैन, यसरी अवैध रूपमा सटर निर्माण गर्न अनुमति दिने महानगरका अधिकारीहरूलाई कारबाही गर्नु पनि उत्तिकै आवश्यक छ । त्यसो त महानगरपालिकाका प्रमुख र उपप्रमुखले खुलामञ्च कब्जा गर्ने ठेकेदार कम्पनी र सम्झौतामा किर्ते गर्ने कर्मचारीमाथि अध्ययन–अनुसन्धान गरी कारबाही गर्ने बताइसकेका छन् । यो अवस्थामा महानगरपालिकाले अध्ययन–अनुसन्धान गरी कारबाही गर्न ढिलाई गर्नु हुँदैन ।
जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले राजनीतिक दलकै आडमा खुलामञ्चमा व्यापारिक सटर निर्माण गरेको देखिन्छ । त्यसो त नगर प्रहरीको मौनता पनि रहस्यमय छ । महानगर–पालिकाभित्र नक्सा पासविपरीत निर्माण भएको संरचना हटाउने काम नगर प्रहरीको हो । तर खुलामञ्चमा निर्माण गरिएका अवैध सटरमा भने नगर प्रहरीको ध्यान नपुग्नु अचम्मलाग्दो पक्ष हो । महानगरपालिकाका नगर प्रहरी दिनहुँ खटिएका हुन्छन् तर व्यापा–रिक सटर निर्माण देखेको नदेख्यै गर्दै आएका हुन् । त्यसो त महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले आदेश नआएकाले मापदण्ड विपरीतका सटर हटाउन नसकिएको बताएका छन् । यस हिसाबले पनि खुलामञ्चमा सटर निर्माणमा राजनीतिक नेतृत्वको आड रहेको पुष्टि हुन्छ । त्यसैले पनि महानगरपालिकाले खुलामञ्च कब्जाको विषयमा विस्तृत अध्ययन गरी क–कसको संलग्नता रहेको हो भन्ने विषय सार्वजनिक गर्नुपर्छ । र, यस्ता गलत कार्यमा संलग्न व्यक्तिहरूमाथि छिटोभन्दा छिटो कारबाहीको प्रक्रिया अघि बढाउनु जरुरी छ ।
त्यस्तै बालुवाटार प्रकरणमा एकपछि अर्को व्यक्तिको नाम आईरहेको छ । बालुवाटार मिचेर यदि कसैले व्यक्तिको नाममा गरेको छ भने कानुनको दायरामा ल्याउन जरुरी छ । कुनै पनि अवस्थामा कोही पनि व्यक्तिलाई उनमुक्ति दिईनु हुँदैन । कुनै पनि अवस्थामा वा कुनै पनि वहानामा कुनै पनि व्यक्तिलाई बचाउने कुचेष्टा कतै नहोस् । 
बालुवाटार जग्गा प्रकरण र खुलामञ्च कव्जा प्रकरणको बिषयलाई छानविन गर्न एक निश्पक्ष आयोगको गठन हुनु जरुरी छ । दुवै घटनाहरुको सिलसिलेवार तरिकाले अध्ययन गर्नु जरुरी छ । बिगतका सरकारका पालामा के भयो भन्ने कुराको बहस भन्दा पनि बर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले आँट गर सरकार ।

थप समाचार 

टोलीबाट  नागरिकता लिनेमा महिलाहरु बढी  

जिल्ला प्रशासन कार्यालय डोटीले जोरायल गाउँपालिकाको समन्वयमा मंगलबारदेखि बिहिवारसम्म सञ्चालन गरेको एकिकृत घुम्ती शिविरबाट आठ सय २७ जनाले नागरिकता प्राप्त गरे । नागरिकता प्राप्त गर्नेहरुमा चार सय ७५ महिला रहेका    छन् । 
जिल्लामा सञ्चालन भएका शिविरहरुबाट नागरिकता लिनेमा महिलाहरुको सङ्ख्या बढी रहेको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल वताउँछन् । “हालसम्म चार स्थानीय तहमा एकिकृत घुम्ती शिविर सञ्चालन भई दुई हजार आठ सय १२ नागरिकता    वितरण भएका छन्” पौडेलले भने ‘त्यसमध्ये एक हजार सात सय एक महिला रहेका छन् ।’ 
गत मंसिर ७, ८ र ९ मा डोटीको बोगटान गाउँपालिकामा सञ्चान भएको शिविरबाट नागिरता लिने सात सय ३३ मध्ये महिला चार सय रहेका थिए । यस्तै फागुन २१, २२ र २३ गते सायल गाउँपालिकामा सञ्चालन भएको शिविरबाट नागरिकताले लिने ६ सय ४९ मा चार सय महिला रहेका छन् । 
नागरिकताको महत्वबारे जानकारी नभएका कारण महिलाहरुले नागरिकता नलिएको हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । ‘जरुरी चाहियो भने मात्रै कार्यालयमा आउने चलन छ’ उनले थपे ‘कतिपयले नागरि–कताको महत्व बुझेर नागरिकता वनाउन आउँछन, नत्र भने समय र पैसा खर्च गरेर किन नागरि–कता बनाउनु भन्ने सोच भएर नागरिकता वनाउन आउँदैनन् ।’ 
महिलाहरु नागरिकताको बिषयमा खासै जानकारी नभएको र महिलाहरु घर वाहिर ननिस्कने भएका कारण शिविरबाट बढी नागरिकता लिएको वताउँछन् सायल गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेल वताउँछन् । ‘अझै पनि महिलाहरु घर बाहिर जान सकेका छैनन्’ डुम्रेलले भने ‘महिलाहरुलाई नागरिकता लिनका लागि सहज होस् भन्ने उद्देश्यलेनै गाउँपालिकाले शिविर सञ्चालन गरिएको हो ।’ उनले स्थानीयस्तरमा घुम्ती शिविर सञ्चालन गर्दा एकातिर महिलाहरुले सहजै नागरिकता लिन पाएको र अर्कोतिर जिल्ला सदरमुकाम जाँदा लाग्ने खर्च र समय दुवै बचत भएको वताए । 
जिल्ला सदरमुकाम गएर नागरिकता लिनु झण्झटिलो र खर्चिलो भएका कारण महिलाहरु नागरिकता वनाउन नजाने गरेको वताउँछन् बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला “एनान” । उनी भन्छन् ‘जिल्ला सदरमुकाम गए बास बस्नु पर्ने हुन्छ, सर्वसाधारण महिलाहरु घर बाहिर बास बस्न असुरक्षित पनि ठान्छन्, त्यसैले प्रायः जाँदैनन् नागरिकता लिन ।’ उनले नागरिकता लिन जिल्ला सदरमुकाम जानु पर्दा एक जनाको आठ/१० हजार खर्च हुने भएका कारण पनि अधिकांश महिलाहरु नागरिकताबिहिन हुनु परेको वताए । आउने शिविरहरुबाटै अधिकांश महिलाहरुले नागरिकता लिने गरेको उनको भनाई छ । 
हरेक काम पुरुषले आफै गर्ने भएका कारण पनि महिलाहरुले नागरिकताको आवश्यकता महसुस नगरेको हुन सक्ने वताउँछन् आदर्श गाउँपालिकाका अध्यक्ष टेकवहादुर रोकाया । उनी भन्छन् ‘जिल्ला सदरमुकाम जाँदा ‘आफु जानु पर्ने र साथमा एक जना सनाखत् बस्ने व्यक्ति लैजानु पर्ने भएकाले खर्च बढी आउँछ, आफ्नो कमाई नहुने भएका कारण महिलाहरु खर्च गर्न पनि अप्ठेरो मान्छन्’ रोकाया भन्छन् ‘कुनै काम गर्न अनिवार्य नागरिकता चाहिने भएपछि मात्रै नागरिकता वनाउने चलन छ ।’ 

दिपायल सिलगढी नगरपालिका साक्षर घोषणा

“हाम्रो गौरव ः हाम्रो पहिचान, साक्षर नगर ः सवैको अभियान” भन्ने मुल नाराका साथ डोटीको दिपायल सिलगढी नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ । 
आईतवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति डोटीका प्रमुख रामवहादुर ऐरले दिपायल सिलगढी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेका हुन । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिसस प्रमूख ऐरले दिपायल सिलगढी नगरपालिका साक्षर घोषणा भएकोमा बधाई दिए । साक्षर नगर घोषणाले साक्षर नेपाल घोषणा गर्न मद्दत पुग्ने भन्दै ऐरले बाँकी निरक्षर व्यक्तिहरुलाई पनि साक्षर वनाउन नगरपालिकाले ठोस कार्यक्रम ल्याउन सुझाव दिए । 
त्यस्तै डोटीका प्रमूख जिल्ला अधिकारी यादव सुवेदीले शिक्षा क्षेत्रमा ठूलो मात्रामा लगानी भएको र सोचे अनुसार प्रतिफल नआईरहेको भन्दै शैक्षिक अवस्था सुधारका लागि सबै सरोकारवाला निकायले भूमिका खेल्नु पर्ने बताए ।
दिपालय सिलगढी नगर प्रमुख मञ्जु मलासीले शनिवार मात्रै नगरपालिकाका नौ वटै वडाहरु पूर्ण साक्षर वडा घोषणा गरिएको जानकारी दिईन् । उनले नगरपालिकालाई साक्षर नगर घोषणा गर्नमा सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै निरक्षरलाई साक्षर वनाउनमा सवैले सहयोग गर्न आग्रह समेत गरिन । 
नगरपालिकाभित्र बसोबास गर्ने १५ वर्षदेखि ६० वर्ष उमेर समूहका कुल जनसंख्याको ९६.७८ प्रतिशत साक्षर भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमूख मञ्जु थापाले साक्षर घोषणा कार्यक्रममा जानकारी दिईन् । 

सरकार काम गर्न प्रतिवद्ध छ ः रावल

कर्ण चन्द/सिलगढी
बैशाख १६
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व उपप्रधानमन्त्री भिव रावलले जनताका बिचमा गरिएको प्रतिबद्धता पुरा गर्न सरकार सधैँ प्रतिबद्ध रहेको वताएका छन् । 
डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोल्ताडामा निर्माण हुने झोलुङ्गे पुलको शिलान्यास गर्दै नेता रावलले उक्त कुरा वताएका हुन् । उनले सरकारले बिस्तारै विकासको गति लिई–रहेको वताउँदै जनताका बीचमा गरिएका सवै प्रतिवद्धता पुरा गरेरै छाड्ने वताए । 
स्थानीय तहको निर्वाचनका क्रममा गरिएको प्रतिबद्धता स्वरुप घोल्ताडामा भूमिगत खानेपानी र झोलुङ्गे पुल निर्माणको काम सुरु भएको रावलले दावी गरे । उक्त गाउँमा भूमिगत खानेपानी योजनाको यसअघि नै  रावलले नै उद्घाटन गरेका थिए । 
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पुर्बाधार मन्त्रालयको ५७ लाख ३१ हजार ४ सय ११ रुपैँया लागतमा बन्न लागेको उक्त पुल वडा नं. ४ को पिपल्ला बजार र वडा नं. ५ को घोल्ताडा जोड्ने छ । 
लालपूर्जा बितरण 
दिपायल सिलगढी नगरपालिकाभित्र रहेका भूमिहिन बादी समुदायलाई नगरपालिकाले जग्गा खरीद गरि बितरण गरेको छ । उक्त जमिनको जग्गाधनी प्रमाण पूर्जा सोमवार नेता रावलले रावलले बादी समुदायलाई हस्तान्तरण गरेका छन् । 
दिसिनपा–४ को पिपल्ला बजार नजिकै सडक किनारमा बस्दै आएका बादी सामुदायका तीन परिवारलाई नगरपालिकाले जग्गा खरिद गरेको थियो । बादी सामुदायका परिवारलाई आज एक कार्यक्रममा बिचमा नेता रावलले जग्गा धनी प्रमाण पूर्जा हस्तान्तरण गरेका हुन् । 
प्रमाणपत्र हस्तान्तरण गर्दै रावलले भने ‘कम्युनिष्ट पार्टीको सरकार गरीब तथा बिपन्नहरुका लागी हो, दिपायल सिलगढी नगरपालिकाले जे गरेको छ त्यो राम्रो काम गरेको छ ।’ कार्यक्रममा नगर प्रमुख मञ्जु मलासीको प्रशंसा गर्दै रावलले थपे ‘निर्वाचनको समयमा महिलाले नगर चनाउन सक्दैन भन्ने धेरै थिए तर अहिले उहाँ कुनै पुरुषको भन्दा पछि हुनुहुन्न ।’
सरकारले सुरु गरेका कामको छिटो प्रभाबकारी रुपमा काम गर्न उपभोक्ता समितिलाई रावलले निर्देशन दिएका छन । रावलले भने ‘जनताको माग र आबश्यकता भएको ठाउँमा हामी योजना ल्याउन तयार छौँ तर काम समयमै प्रभाकारी हुन   प¥यो ।’
नगर बसको उद्घाटन 
दिपायल सिलगढी नगरपालिकाको नगर बसको पनि नेकपाका नेता रावलले उद्घाटन गरेका छन । 
नयाँ बस थपिएसंगै नगरपालिकाले सञ्चालन गरेको नगर बसको संख्या तीन भएको छ । २०७४ साल माघ मा नगरपालिकाले दुई बस सञ्चालनमा ल्याएको थियो । 
दुई बसले यात्रुको चाप थेग्न नसकेको कारण एक बष थपिएको नगर प्रमुख मलासीले बताईन् ।

मोवाईलबाटै लभ परेपछि..........

डोटीको बडीकेदार गाउँपालिका–१, बिपीनगरमा रहेको ईलाका प्रहरी कार्यालयमा एक अपरिचितको फोन   आयो । फोन गर्ने व्यक्तिले बाटोमा एक केटा र दुई केटीको आपसमा झगडा भईरहेको र त््् िमध्ये एक केटीले आफु आत्महत्या गर्ने कुरा गरिरहेको घटना बारे प्रहरीलाई जानकारी दिए । ईलाका प्रहरी कार्यालयका ईन्चार्ज भरत चौधरीले तुरुन्तै टोली पठाए, प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई घटनाबारे बुझ्यो । 
“त्यो केटाको फेसबुकमा एउटा केटीसंग लभ परेको रहेछ, दुवैको कुरा बिहे गर्ने तहसम्म पुगेको रहेछ” घटना बारे सुनाउँदै ईचार्ज चौधरीले भने ‘तर केटीका आमाबुवाले त्यो केटा पहिले नै विवाहित भएको र श्रीमतीले अर्कै बिहे गरेको भन्ने थाह पाएपछि बिहे गर्न मानेनछन् ।’ चौधरीले थपे ‘त्यसपछि केटाले साथीमार्फत अर्को केटीसंग फोन सम्पर्क गरेछ, फोनमा गफ गर्दागर्दै लभ बस्यो छ ।’ 
केटाले अन्ततः अर्को केटीलाई पनि बिहे गर्ने तहसम्म पु¥यायो । दुवै बिहे गर्न राजी भए । छोरीलाई खुशी साथ राख्ने र पढाई दिने भन्ने प्रतिवद्धतापछि आमा बुवाले पनि स्वीकृति दिए । आमाबुवाको सामान्य टिकाटालोपछि बिदाई भएर घर जान हिडे दुवै । यो खवर खवर पहिलेको केटीले थाह पाईन । उनी दौड्दै बाटोमा आईन र आफुलाई धोका दिएको भन्दै झगडा सुरु गर्न थालिन् । उनले आफुसंग पनि बिहे गर्नु पर्ने भन्दै नभए आफु झुण्डिएर मर्ने धम्की दिएकी रहिछन् । 
‘दुवै केटीको उमेर १७/१८ बर्ष मात्रै छ, त्यसैले बिहे हुने त कुरै भएन’ ईन्चार्ज चौधरी भन्छन् ‘दुवै केटीका अभिभावकहरुलाई बोलाएर हामीले जिम्मा लगाई दियौं ।’ 
केही दिन अघि जिल्ला प्रहरी कार्यालयमा १८ बर्षीय केटा र १९ बर्षीया केटीको जोडी आयो । भरखर बिद्यालय शिक्षा परीक्षा (एसइई) दिएका उनीहरु मोवाईलबाटै नजिक भए । दुवै अभिभावकको आँखा छलेर भागे । केही दिनपछि दुवै केटाको घर आए । जाती नमिलेको भन्दै केटी पक्षले केटा केटी दुवैलाई र केटाका अभिभावकलाई धम्की दिन थाल्यो । केटाकेटी डराएर स्थानीय प्रहरी चौकी हुँदै जिल्ला प्रहरी कार्यालय पुगे । 
‘२० बर्ष नपुगी बिहे हुँदैन भन्ने पनि जानकारी रहेनछ उनीहरुलाई’ जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले भने ‘एकोहोरा रुपमा हामीले बिहे गरिसक्यौं, अव कसरी बदर हुन्छ ? भनेर जिद्दि गर्न थाले ।’ धेरै प्रयासपछि सम्झाएर उनीहरुलाई अभिभावकको जिम्मा लगाईएको धामी वताउँछन् । 
यस्तै एक अर्को घटना छ । मोवाईलबाटै सम्वन्ध भएको एक जोडी केटा र केटीको अनुहारै नहेरी बिहे गर्ने तहमा पुगे । पुरुषले घरमा अर्को बिहे भएको कुनै जानकारी दिएनन् केटीलाई । जव दुवै एकअर्कालाई पति(पत्नि स्वीकार गरेर घर पुगे तव केटीलाई थाह भयो, घरमा श्रीमती मात्रै होईन दुई छोरा पनि छन् भन्ने । उनले चुपचाप सौतामै बस्ने निर्णय लिईन तर पहिलेको श्रीमतीले मान्दै मानिनन् । केटीको उमेर १८ बर्ष पनि पुगेको छैन । घटना अझै मिलेको छैन तर कानुनी दायरामा पनि आएको छैन । 
मोवाईल फोन र सामाजिक सञ्जालमा कुरा हुँदै बिहेको तहसम्म पुग्ने र सानै उमेरमा घरबाट भागेर जाने गरेका घटना बढ्दै गईरहेको सूचना अधिकारी धामी वताउँछन् । उनी  भन्छन् ‘यसले बालविवाह पनि बढ्न थालेको छ ।’ यसरी मोवाईल वा सामाजिक सञ्जालबाट सम्वन्ध कायम भई बिहे गरेर आउनेहरुमा १३/१४ बर्षका पनि  रहेको धामी वताउँछन् । ‘अधिकांश त १७/१८ बर्ष उमेर समूहकै छन्’ उनले भने ‘किशोरावस्थामा परेको मानसिक प्रभावले यस्तो भएको हुन सक्छ ।’ अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई सम्झाउन नसक्नु यसको प्रमुख कारण भएको धामीका भनाई छ । उनी भन्छन् ‘किशोरावस्थामा उनीहरु एकोहोरो भएका हुन्छन्, त्यतिवेला राम्रो अभिभावकत्वको खाँचो हुन्छ, त्यसैले अभिभावक जिम्मेवार हुनुपर्छ ।’ 
सञ्चारका माध्यमहरुको दुरुपयोग भईरहेको वताउँछन् उच्च अदालत बार एसोसियसन दिपायलका अध्यक्ष मेरिना श्रेष्ठ । उनी थप्छिन् ‘चेतना अभावका कारण पनि यस्तो समस्या आएको छ ।’ मोवाईल र फेसबुकबाटै प्रेम गरी भागेर बिहे गर्ने गरेका कारण बालविवाह र बहुबिवाहका घटनाहरु पनि बढ्ने गरेको उनी वताउँछिन् । उनले भनिन् ‘सामाजिक सञ्जालमा वा मोवाईलमा फोन गरेकै कारण समाजले पनि उनीहरुलाई भागेर जान बाध्य वनाई दिन्छ ।’ 
अभिभावकले आफ्ना  छोराछोरीहरुलाई मोवाईल चलाउन दिने कि नदिने, दिएपनि कस्तो प्रकारको मोवाईल चलाउन दिने भन्ने बिषयमा ध्यान दिनु पर्ने वताउँछन् पत्रकार टेकेन्द्र देउवा । उनी भन्छन् ‘पहिले आफ्ना छोराछोरीहरुलाई मोवाईलको फाईदा, बेफाईदाको बिषयमा पूर्ण रुपमा जानकारी गराएर मात्रै मोवाईल दिनुपर्छ ।’ 

खेल समचार 

नेपाली त्रिकेट बटोली स्वदेश फिर्ता

थाइल्याण्डमा सम्पन्न एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधी विजेता नेपाली टोली स्वदेश फर्किएको छ ।
उपाधी विजेता नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिसद (राखेप) का सदस्य सचिव केशब कुमार बिष्ट, उपाध्याक्ष पिताम्बर तिमल्सिना, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटा लगायतले स्वागत गरेका थिए ।
थाइल्याण्डको चियाङमाईमा आइतबार मलेसियालाई हराउँदै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको     थियो ।
प्रतियोगितामा नेपालले शत प्रतिशत जित निकाल्न सफल भएको थियो । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई हराउँदै उपाधि जितेको    थियो ।
विमानस्थलमा पत्रकारहरूसँग बोल्दै प्रशिक्षक बसन्त शाहीले युवा खेलाडीमा राम्रो क्षमता रहेको  भन्दै उपाधि रक्षा गर्नु चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए । ओभरअल टुर फलदायी बनेकोमा निकै खुसी रहेको बताए ।
क्यान निलम्बनमा रहेको स्थितिमा आफूहरूले अभिभावक विहिन भएर खेल्नु परेको भन्दै उनले यसतर्फ सम्बन्धित निकायले ध्यान दिन ढिला भइसकेको  बताए । छोटो समयको तयारीमा पनि खेलाडीहरूको अथक प्रयास मेहनत र सबैको सहयोगले यो जित हात परेको उनले बताए ।
क्रिकेटलाई निरन्तर रूपमा विकास गर्दै लाने हो भने क्रिकेटको जग बलियो बनाउनु पर्छ । किनकी हामी एक दिवसीय राष्ट्र हौं । सिनियर खेलाडीहरू अब धेरैमा ४/५ वर्षसम्म खेल्लान् ।

चलचित्र/मनोरञ्जन 

शुक्रवार “दाल, भात, तरकारी”

२०७६ सालको पहिलो चलचित्रका रुपमा शुक्रबारदेखि ‘दाल भात तरकारी’ रिलिज हुँदैछ । 
किरण केसीको निर्माणमा मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई सुदन केसीले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा नायक पुष्प खड्का र नायिका आँचल शर्मा छन् । चलचित्र भित्र यी दुइलाई ‘राहु र पिंकी’को भूमिकामा दर्शकले देख्न पाउनेछन् ।
चलचित्रभित्र आँचल बिग्रिएकी  छोरीको भूमिकामा छिन् । ‘म आफ्नो प्रेमीसँग मध्यरातमा उसको कोठामा पुग्छु’ आँचल भन्छिन् ‘चलचित्र हेरेर निस्किएपछि दर्शकले मलाई नोटिस गर्ने छन् ।’ चलचित्रमा आँचलको साथमा नायिका निरुता सिंह, बर्षा राउत र प्रियंका कार्की पनि छन् । धेरै नायिका हुँदा पनि दर्शकले आफ्नो कामलाई नोटिस गर्ने र हलबाट बाहिर निस्किएपछि आफूलाई संझने आँचलको तर्क थियो ।
चलचित्रमा आफू धनी बाउको विग्रिएको छोराको भूमिकामा देखिएको नायक पुष्प खड्का वताउँछन् । पुष्पले आफ्नो भूमिकाले केही यूवाहरुको प्रतिनिधित्व गर्ने पनि सुनाए । ‘यो चलचित्रमा काम गर्नुको कारण यसको टिम भएको छ’ पुष्पले भने ‘मैले भोलीका मेरा सन्ततीलाई मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य जस्ता कलाकारसँग एकसाथ काम गरेको थिएँ भनेर भन्न सक्छु ।’
यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

लेख 

जनमुखी भूमिसुधार

धर्मराज जोशी
ग्रामीण नेपालको आर्थिक संरचनाले सीमान्त किसानलाई शिक्षा, स्वास्थ्य, आवास र खाद्यान्नमा सहज पहुँच दिँदैन। कारण हो–भूमि स्रोतमा उनीहरूको कमजोर नियन्त्रण तथा पहुँच । भूमिसुधार होला र दिन फेरिएलान् भनी च्युँडोमा लगाएका सीमान्त किसानका हात सरेर पुर्पुरोतिर पुगेको छ । भूमिसुधार कसरी गर्ने भनी बोल्ने र लेख्ने विद्वानहरू रिंगटा लाग्नेगरी १८० को डिग्रिमा ढल्किए । भूमिसुधारको कोर्स परिवर्तनको ल्याकत राख्ने कर्मचारीहरू सर्लक्कै चिप्लिएर भूमाफियाहरूको कित्तामा उभिए। जनहितमा काम गर्न सपथ खाएका जनप्रतिनिधि पनि पारिवारिक तथा व्यक्तिगत स्वार्थको बन्दी बनेपछि जनमुखी भूमिसुधारका सपना पानी चुहिने कुनातिर मिल्काइएका स्रेस्ता र मोठजस्तै मक्किन थालेका छन् ।
केही सरकारी अधिकारी तथा कतिपय विद्वान बितेका १५ वर्षमा सुकुवासी  आयोगका नाममा वितरण गरिएका करिब ४७ हजार बिघा जमिनको दृष्टान्त दिँदै जग्गा बाँडेर भूमिसम्बन्धी समस्या समाधान नहुने तर्क  राख्छन् । त्यसैले जमिन वितरणको साटो एकीकरण गर्नुपर्छ भन्छन् । तर उक्त जग्गा वितरण प्रक्रिया कति पारदर्शी र सहभागितामूलक थियो ? जमिन पाएकाको जीवनमा कस्तो परिवर्तन आयो ? वितरण गरिएको जमिनको हालत के छ ? सुकुमवासी समस्या समाधान आयोगमा पछिल्लो समय भूमिहीन हुँ भनी निवेदन दिनेको संख्या किन बढ्यो ? यी विषयमा भने उनीहरू बोल्दैनन्। त्यसैले यो कानुनी हदबन्दी भन्दा बढीको जग्गा लुकाउन र भूमिसुधार अभियान तुहाउन कर्मचारीतन्त्रको मिलेमतोमा गरिएको राजनीतिक बेइमानी तथा अपारदर्शी प्रपञ्च मात्रै थियो ।
तथ्यांक पत्याउने हो भने ठूला भनिएका ४ प्रतिशत जमिनवालाको कब्जामा खेतीयोग्य जमिनको २२ प्रतिशत हिस्सा छ । यो जमिनको सदुपयोग नभएको कुरा केही दशकदेखि उकालो लागेको कृषि उत्पादनको आयातले प्रस्ट पार्छ । समग्र कृषिकर्म अपनाउँदै आएका एक चौथाइ किसान परिवार भूमिहीनसरह छन् जसलाई बिहान–बेलुकाको छाक टार्नै मुस्किल छ । ५३ प्रतिशत परिवारसँग ०.५ हेक्टर भन्दा कम जमिन छ र उपभोगका लागि पर्याप्त उत्पादन छैन । यस परिवेशमा विकसित भइनसकेको बजारको नेतृत्वमा जमिन एकीकरणको स्याल हुइयाँले दिन खाजेको सन्देश के हो ? रोजगारीका पर्याप्त विकल्प नहँुदै जमिन एकीकरणले कसरी सीमान्त किसानको हकहित प्रवद्र्धन गर्छ ? बाँझो जमिनको प्रभावकारी उपयोग यसले कसरी निश्चित गर्छ ? जग्गाको चकलाबन्दी गर्ने प्रक्रिया के हो ? सरकारले व्यवस्थापन गर्ने हो वा कुनै व्यापारीलाई ठेक्कामा दिने हो ? यो, सम्पूर्ण सीमान्त किसानलाई जमिनको स्वामित्वबाट हटाएर कृषि श्रमिकमा परिणत गर्ने योजना हो ? कि यस प्रक्रियामार्फत सम्पूर्ण जमिनको स्वमित्व राज्यले लिने रणनीति हो ? यस विषयमा सम्पत्ति र भूमिसम्बन्धी संवैधानिक व्यस्थाको वकालत गरी नथाक्नेहरूको विचार के हो ?
समग्र नेपाली कृषियोग्य भूमिको कुरा गरौँ । आँकडाले भन्छ– नेपालमा कुल भूमिको २८ प्रतिशत जमिन खेती तथा बसोबासका लागि योग्य छ । जसमध्ये ७५ प्रतिशत नापजाँच भइसकेको छ । २०७४÷७५ सालको आँकडाअनुसार नापजाँच भएको जमिन १ करोड १० लाख ७६ हजार ४ सय २२ जनालाई झन्डै ३ करोड ५० लाख कित्तामा बाँडिएको छ । सोझो हिसाबले हेर्दा ५४ लाख २७ हजार ३०२ घरधुरीका कम्तीमा २ जनाका नाममा ३–३ कित्ता जमिन हुनुपर्ने हो। तर यथार्थ त्यस्तो छैन । नेपालीको औसत भूस्वामित्व २०५२ देखि २०६७ सालसम्म आइपुग्दा १.१ हेक्टरबाट ०.७ हेक्टर  (२० कट्ठा ६ धुर) भयो । त्यसयताका दिनमा यो तीव्र रूपमा घटेको छ । करिब २५ प्रतिशत घरपरिवार ऐलानी वा सरकारी जमीनमा बसिरहेको अनुमान छ ।
जग्गा प्रप्तिका लागि मरिहत्ते नगर्ने सायदै हालान् तर तिनका नाडी छाम्ने हो भने अधिकतरको रोजाइमा कृषिकर्म पर्दैन । यसको अर्थ के हो भने जमिन अन्न उत्पादनभन्दा अन्य प्रयोजनका लागि चाहिने रहेछ । तथ्यहरूले सत्य नबोल्ने राष्ट्रिय परिवेशमा, जनमुखी भूमिसुधारको विकल्प एक मजाक बन्न पुगेको कुरा कसैबाट लुकेको छैन । भूमिसुधारको गम्भीर बहस हुनुपर्ने समयमा जग्गाको किचलोले सबैको ध्यान अनावश्यक तान्नु नै यसको प्रमाण हो । विगत केही दिनमा बाहिर आएका अपत्यारिला तथ्यहरूले राज्यले भूमिसुधारको स्पष्ट बाटो खुट्याउन नसक्दा परिणाम  कति घातक हुनसक्छ भन्ने प्रस्ट पा¥यो । खाली जमिन देख्यो कि किल्ला गाडिहाल्ने, गाउँका गाँउ जालसाजी तथा चोरी दर्ता गर्नेजस्ता प्रवृति किन हावी भइरहेका छन् ? चल्तीका सहरी क्षेत्रमा जमिन किन्न जो कोही किन लालायित हुन्छन् ? कुरा स्पष्ट छ–जग्गाका कारण पाइने मान मनितो तथा अनुभूत हुने आर्थिक सुरक्षा ।
यसरी हेर्दा नेपालमा भूमिसुधार अर्थराजनीतिक विषय कम र गुण्डार्दी, भ्रष्टाचार तथा धोकाधडीको विषय बढी देखिन थालेको छ । साँचो अर्थमा जनमुखी भूमिसुधार भएको भए न्यूनतम जमिन सबैसँग हुन्थ्यो वा कृषि उद्यम गर्नेसँग जमिनको आकार तुलनात्मक रूपले ठूलो हुन्थ्यो र सामाजिक शक्ति सन्तुलनमा उथलपुथल आउँथ्यो । कृषिमा निर्भर समुदायको जीवन कायापलट हुन्थ्यो र देशले समाजवादी विकासको लय पक्रिन्थ्यो । तर त्यसो भएन ।
कमजोर वर्ग, समुदायका मानिसले चासो राखिरहेको र अलि हुनेखाने वर्गले उपेक्षा गरिरहेको जस्तो लाग्ने भूमिसुधार मुद्दा, व्यक्तिगत रिसिइबी साँध्न ‘पालाको पैँचो’ तिर्ने हिसाबले उठेको होइन । भूमिसम्बन्धी स्पष्ट धारणा नहुँदा जमिन फरक–फरक व्यक्तिका लागि भिन्न किसिमका स्रोत रहँदै आयो । एक टुक्रा जमिनको महत्ता बहुआयामिक भयो । सत्ता र शक्तिमा हुनेले यसको अनौठो व्याख्या गरे । भूमिस्रोतको उपयोग र दुरुपयोग पनि त्यहीअनुरूप भयो । अहिले आएर जमिन त्यस्तो चामत्का–रिक वस्तु बन्न पुग्यो कि त्यसले मालिकहरूलाई रातारात धनी र शक्तिशाली बनाउन थाल्यो। यस्तो परिस्थितिमा शक्तिमा हुनेहरूले थप जमिनमा कब्जा जमाउन के मात्रै गरेनन् ?
अर्थराजनीतिक हिसाबले कमजोर समुदायलाई तर्साउन देवीदेउता खडा गरे र हजारौँ बिघा जमिन ओगटे । जोगिलाई सिँगारेझैँ जमिनमा साँध सिमाना कोरे । बढीभन्दा बढी भूभागबाट निर्धा र निमुखाहरूलाई उठीबास लगाए, कज्याए र नजरले भ्याएसम्म जमिन कब्जा गरे । सहज उपलब्ध जमिनको कृत्रिम अभाव खडा गरे र विलासिताको साधनस्वरूप महँगो मूल्यमा बजारमा बिक्री हुने चलन चलाए । आफ्नो अनुकूलता र फाइदाका लागि मात्रै उपयोग गरे ।
जोसुकै सत्तामा आए पनि जस्तोसुकै शासन व्यवस्था ल्याइए पनि भू–सम्बन्धमा आमूल परिवर्तन गरी बहुआयामिक लाग्ने जमिनको समतामूलक वितरणको कसरत कसैले नगर्दा अहिले ‘तिनीहरूले हाम्रो प्रतिनिधित्व गर्दैनन्’ भनी जनप्रतिनिधि र चुनिएको सरकारमाथि शंका गर्नेहरूको जमात बढ्दो छ । यो शंका निवारण गर्न भूमिको पुनव्र्याख्या जरुरी छ जसले भूमिको सामाजिक, आर्थिक तथा राजनीतिक रङ खुइल्याएर यसको आफ्नै उत्पादनको गुणमाथि थप जलप लगाएर आम जनतामा यसको विशिष्टता सञ्चार गरोस् ।
यस किसिमको विकासका लागि हरेकको मनमा कानुन र व्यवस्थाको डर, जिम्मेवारी अनि उच्चतम जवाफदेहिता हुनुपर्छ। कसैका कामका कारण कुनै अनजान परिवारलाई खुसी मिल्नु र चोट पुग्नु संयोमात्रै त होइन । बाहिर एउटा भन्नु र भित्र अर्कै तानाबाना बुन्नु सायद  राजनीति र राजनेताहरूको बाध्यता होला तर त्यसले आम जनजीवन कुन हदसम्म बिथोल्छ त्यो सोच्ने नेताहरूमा फुर्सद भएन । समस्या समाधानका लागि उचित पद्धति र प्रणाली विकास गरी संस्थागत गर्नुपर्ने देखिन्छ ।
विश्वव्यापी बनेको नवउदारवादी छालका कारण बजारमा कहिले भूउपयोग त कहिले कृषि क्रान्तिका नाममा चर्चामा रहने बजारी धारणा वा धनीवर्गको मात्रै हित संरक्षण गर्ने आशयका विचार तथा प्रस्तावहरूमा हो मा हो मिलाएर वास्तविक जनमुखी भूमिसुधार हुन सक्दैन। नेपालमा चलिरहेको भूमिसुधार बहस सुन्दा र अहिले राज्यले भूमिसुधारका सम्बन्धमा लिन खोजेको बाटो हेर्दा लाग्छ–राज्यले समृद्धिको ढ्वाङ त ठोक्ला तर सीमान्त किसानका आकांक्षा पूरा हुने छैनन् ।
भूमिसुधार र कृषि विकासका तमाम तामझाम हेर्दा एकअर्कालाई तार्किक निष्कर्षमा पुग्न नदिन आपसमा लडाइएका विषयजस्ता लाग्छन् । कृषि विकास पहिला कि भूमिसुधार ? यस विषयमा नयाँ वैचारिक अन्योल, दुविधा र विवाद त्यसैको परिणाम हो ।
प्रतिव्यक्ति जग्गाको आकार नबढाइ, जमिनमा श्रम गर्नेलाई त्यसको मालिक नबनाइ, जमिनको उत्पादकत्व कसरी वृद्धि गर्न सकिएला ? यस्तो परिस्थितिमा बहुसंख्यक जनताको हितलाई ध्यानमा राखेर भूमिसम्बन्धी सवालको पत्रपत्र केलाएर राज्यले एकपटक फेरि जनमुखी भूमिसुधारका सम्बन्धमा निर्णय लिन जरुरी छ ।  
—नागरिक दैनिकबाट

लोकसेवा तयारीका लागि उपयोगी 

१. जैविक विविधता भन्नाले के बुझिन्छ ? 
— संसारको जल, स्थल, समुन्द्र तथा सिमसार सबै क्षेत्रमा रहेका जीवित प्राणी तथा वनस्पतिहरू बीच पाइने भिन्नतालाई नै जैविक विविधता भनिन्छ । 
— वातावरण संरक्षण ऐन, २०५३ अनुसार जैविक विविधता अन्तर्गत ३ प्रकारका चरण बद्ध श्रेणीहरू पर्छन् ः 
पारिस्थितिकीय प्रणाली 
प्रजाति विविधता 
आनुवंशिक विविधता÷वंशाणुगत विविधता 
— जैविक विविधताको सम्पन्नताको दुष्टिकोणले नेपाल विश्वमा २५ औँ र महादि¥पीय मानचित्रमा ११ औँ स्थानमा पर्छ । 
— जैविक विविधता शब्दको प्रयोग सन् १९८० को दशकमा भएको पाइन्छ । 
२. संसदीय शासन प्रणालीको बारेमा लेख्नुहोस् । 
— व्यवस्थापिका संसद् प्रधान रहने प्रणाली संसदीय शासन प्रणाली हो । 
— कार्यपालिका प्रत्यक्ष वा परोक्ष रूपामा व्यवस्थापिकाको समर्थनमाथि निर्भर रहन्छ । 
— यस प्रकारको शासन पद्धतिमा राष्ट्र प्रमुख र सरकार प्रमुख बेग्लाबेग्लै व्यक्ति हुन्छन् । 
— राष्ट्रको सम्पूर्ण कार्यकारी अधिकार खासगरी सरकार प्रमुख अर्थात् प्रधानमन्त्रीमा निहित रहेको हुन्छ भने राष्ट्र प्रमुख नामको मात्र हुन्छ (ँष्नगचभ जभबम)। 
— मन्त्रिमण्डलका सम्पूर्ण सदस्यहरू आफ्नो नीति, कार्यक्रम तथा काम कारबाहीका सम्बन्धमा प्रत्यक्ष रूपमा व्यवस्थापिकाप्रति तथा व्यक्तिगत रूपमा प्रधानमन्त्रीप्रति समेत उत्तरदायी रहन्छन् र सामूहिक जिम्मेवारीको सिद्धान्त अंगिकार गरिएको हुन्छ । 
३. संसदीय शासन प्रणालीका विशेषताहरू के–के हुन् ? 
प्रतिकात्मक आदर्श राष्ट्राध्यक्ष 
प्रधानमन्त्रीको नेतृत्व 
बहुमत प्राप्त राजनीतिक दलको सदस्यको नेतृत्वमा सरकारको गठन हुने 
प्रभावकारी एवं सशक्त प्रतिपक्षी उपस्थित हुने 
कार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी हुने 
व्यवस्थापिका र कार्यपालिका बीच घनिष्ठ सम्बन्ध हुने 
सामूहिक उत्तरदायित्व 
कानुनको शासन अर्थात् कानुनी राज्य 
प्रतिनिधि मूलक शासन प्रणाली 
बहुदलीय शासन पद्धति र जन निर्वाचित सरकार 
संसद् र सरकार बीच शक्ति सन्तुलन र नियन्त्रण 
संसदीय सर्वोच्चता 
जनतालाई राजनैतिक दलहरूको सदस्य हुने र मतदान गर्ने स्वतन्त्रताको निश्चितता 
४. राष्ट्रिय सुरक्षा परिषद्को गठन कसरी हुन्छ ? लेख्नुहोस् । 
— नेपाली सेनाको परिचालन, सञ्चालन र प्रयोग गर्नका लागि मन्त्रिपरिषदलाई सिफारिस गर्न नेपालमा एक राष्ट्रिय सुरक्षा परिषद् रहनेछ । 
— जसमा देहाय बमोजिम अध्यक्ष र सदस्यहरू रहने छन् ।
क) प्रधानमन्त्री — अध्यक्ष 
ख) रक्षा मन्त्री — सदस्य 
ग) गृहमन्त्री — सदस्य 
घ) प्रधानमन्त्रीले मन्त्रिपरिषदमा रहेका राजनैतिक दलहरूमध्ये फरक–फरक दलको प्रतिनिधित्व हुने  गरी तोकेको ३ जना मन्त्री–सदस्य 
— प्रधानमन्त्री र रक्षा मन्त्री एकै व्यक्ति रहेको अवस्थामा मन्त्रिपरिषदको वरिष्ठतम सदस्य यसको सदस्य रहनेछ । 
५. सार्वजनिक सेवा प्रवाह भनेको के हो ? 
— सरकार वा यसका आधिकारिक संगठनले जनसाधरणको हित र कल्याणका लागि उपलब्ध गराउने सेवालाई सार्वजनिक सेवा भनिन्छ । 
— सरकारले नागरिकहरूलाई विभिन्न सेवाहरू उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको हुन्छ । सरकारले त्यही प्रतिबद्धता पूरा गर्न राज्यका तर्फबाट प्रदान गरिने सेवाहरूलाई सार्वजनिक सेवा भनिन्छ । 
— औद्यगिक क्रान्तिले ल्याएको परिवर्तनको लहरसँगै १९ औँ शताब्दीतिर सार्वजनिक सेवाको           अवधारणाको विकास भएको हो । 
— सरकारले शिक्षा स्वास्थ्य खानेपानी विद्युत् सञ्चार हुलाक यातायात सुरक्षाजस्ता जनतालाई उपलब्ध गराउने सेवा सार्वजनिक सेवा हो । सरल एवं छिटो जनतासमक्ष पु¥याउनु सार्वजनिक सेवा प्रवाह हो । 
६. के गरेमा सार्वजनिक सेवाको प्रभावकारिता विस्तार हुन्छ ? सार्वजनिक सेवाका सिद्धान्त (९ सिद्धान्त) 
— सरकार र यसका निकायबाट प्रदान गरिने सेवामा यी गुणहरू रहनु पर्दछ जुन कुरा प्रत्येक सेवाग्राहीले अपेक्षा गरेको हुन्छ, जसलाई हामी सार्वजनिक सेवाका नौ सिद्धान्त भन्छौं । 

साहित्य÷सिर्जना 

मरेर गएसी 

जब म रहदिन्न यो देह पनि रहन्न
तिमिलाइ न्यालिरहने आँखा पनि रहन्न ।।
जब मेरो देह सँगै,
तिमिसँगको पिरती बोकेको हृदय
तिम्रो वास भएको मेरो मन,
तिमिसँगको याद बोकेको मेरो मन,
पनि ति आगोमा मलामी भै जलेसी
मभित्र को “म” पनि रहन्न,
सधै सधैको लागि मरेर गएसी म ।।
घुइँचोमा एक्लै हुदा तिमी,
ति तिम्रा दुःखको आँसु पिउन सक्दिन्न
जब शीर्षस्थ हुन्छौ तिमी,
तिम्रो हरफहरूको गित भइ बग्न सक्दिनँ
फर्की आइ फेरि तिम्रो साथ दिन सक्दिनँ
मरेसि एकपल्ट फेरि तिम्रो हुन सक्दिनँ ।।
म बर्षिदिउला पानी भइ
म चमकी दिउला जुन भइ
म मुस्काइ दिउला बादल भइ
म हराइ जाउला प्रकृति भइ
म नष्ट भै जाउला तिम्रो माया भइ ।।
न रुनु तिमी मरेर गएसी म 
न फुटनु तिमी ,खरानी भएसी म
बस ! सजाइराखनु मलाई आफ्नो मुटुमा
साँची राख्नु मलाइ आफ्नु जिन्दगीको धुनमा 
किनभने 
फेरि बगि आउदिन्न तिम्रो दुनियाँमा 
मृत्यु को नदि मा बगेर गएसि म ।।
बिपिन सिंघल

यो सहर

यो सहर कहिल्यै मेरो गाउँ पुग्यो भने सुन्नेछ
उसले यौवनभरि एकान्तमा गाएका प्रिय गीतहरु
जसलाई मैले लगेर गाएको थिएँ गाउँमा
यो सहर कहिल्यै मेरो गाउँ पुग्यो भने देख्नेछ
उसले जीवनभरी कल्पेको प्रेमको आकाश
जसलाई मैले लगेर टाँगेको थिएँ गाउँमा 
पुग्छ पुग्दैन थाह छैन
तर यो सहर कहिल्यै मेरो गाउँ पुग्यो भने
र टेक्यो भने मेरो पुरानो घरको दैलो
थाह पाउनेछ
कसरी गजबार लगाएको दैलोलाई मैले
उसको एकै स्पर्शमा उघ्रिन सिकाएको छु !
कसरी एकाएक खुल्नेछ उसको आँखाले
कुनै चाबीले खोल्न नसकेको एउटा गोप्य बाकस
जसभित्र देखिनेछ
उसले जीवनभरी खोजिरहेको
उसैको थुनिएको आत्मा
र एउटा
मौनता शीर्षको कविता
जसको पहिलो पङ्त्तिमा लेखिएको हुनेछ
‘म मौन बन्न चाहन्छु
केवल तिमीलाई सत्य बताउनका लागि !’
पुग्छ र पुग्दैन थाह छैन
तर कुनै दिन यो सहर मेरो गाउँ पुग्यो भनेँ भेट्नेछ
हजार पटक बोलेर पनि सत्य बनाउन असफल
मौनताको पूजा गरिरहेको उसको प्रेमीलाई !
भूपिन ब्याकुल

No comments:

Post a Comment