Tuesday, June 13, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ जेठ ३० गते मंगलबार

पत्रकार आचार संहिता २०६० मा उल्लेखित आचरणहरुको उलंघन गरेको छ भन्ने पिडित पक्षलाई लागेमा त्यस्ता पत्रकार तथा सञ्चार माध्यम बिरुद्ध प्रकासन तथा प्रसारण भएको मितिले १५ दिनभित्र प्रेश काउन्सिलमा उजुरी दिई आप्mनो अधिकारको संरक्षण गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

प्रमुख समाचार 

कम उमेरका बालबालिका श्रममा

सोमबार दिपायल सिलगढी नगरपालिकाको आयोजनामा एउटा कार्यक्रम गरियो । कार्यक्रममा दुई जना कानुनले तोकेका भन्दा कम उमेरका बालकहरु पनि थिए । 
कार्यक्रममा सबैभन्दा बढी तिनीहरुकै कुरा आउँथ्यो । सबै सहभागीहरु बढी जसो समयमा ती बालकहरुलाई नै नियालेर हेर्थे । कसैले फोटा खिच्थे त कसैले उनीहरुका पीडाको बारेमा बुझ्न इच्छुक हुन्थे । तर ती बालकहरु भने, आफूलाई दुख भित्रका खुसी पोख्दै राम्रै भएको बताइरहेका  थिए । समर्थकहरु पनि उसलाई त आफ्नो जन्मघर मननै पर्दैन आफ्नो जन्मघर गएपनि उता बस्नै नमानी लगत्तै फर्किहाल्छन, गाउँमा त सहनै सक्दैनन । 
बालबालिकालाई श्रममा लाउने तथा ती बालबालिकालाई श्रममा लाउनेका आफन्तहरु पनि कार्यक्रममा उपस्थित भएका थिए । उनीहरुको इसारा थाहा पाउने बित्तिकै बालकहरु पनि मालिकले माया गरेकै जसरी पोख्त देखिन्थे ।
उनीहरुलाई कहिल्यै काममा  नलगाएको जस्तो उपस्थितहरुले बुझेका थिए । ती बालकलाई सबैले उनीहरुबारे बुझ्न चाँसो राखेका थिए । कतिले परिवारको बारेमा सोध्थे त कतिले उनीहरुकै ब्यक्तिगत चाहानाको बारेमा बुझन खोज्थे ।
ती कम उमेरका बालकहरु थिए १० बर्षका हरि साउँद र  ११ बर्षका अमर साउँद ।
उनीहरु जिल्ला सदरमुकाम सिलगढीका व्यापारीहरुको घरमा काम गरिरहेका छन । कार्यक्रममा उनीहरु आफ्ना कुरा भन्न सक्दैनथे । एकान्तमा आएर    जिल्ला सदरमुकाममा कसरी अर्काको घरमा श्रमिक बन्न पुगेको भन्दा उनीहरुका आँखा रसाउँछन ।
कार्यक्रममा इसाराले राम्रै छ भन्ने बालकका एकान्तमा किन आँखा रसाउँछन ? बिहान ५ बजे उठेर बेलुका १० बजेसम्म घरायसी काम गर्नुपर्ने पीडा सुनेपछि कतिपय कार्यक्रमका सहभागीहरुले पनि दुःख ब्यक्त गरेका थिए । 
घरमा जान मनै लाग्दैन भन्न लगाउनेहरु पटक पटक भागेर घर किन जान्छन ? भागेर गएको बेला किन पटक पटक खबर पठाइन्छ फिर्ता गराउनका लागि ? किन घरमै पुग्नु पर्छ बालक पठाइदिनुस भनेर गुहार्न ? किन बालबालिकाका कुराहरु सुनिदैन कि अर्काको घरमा काम गर्दाका अनुभब आफ्ना घरमा आमाबुवालाई साँट्दा पनि ?  बजारको मालिक नुन, चिनी लगेर फकाउँदा जाँदा बालकका कुरा के सुन्ने, उसले त जे पनि भन्न सक्छ भनेर गाउँका अशिक्षित, गरीब, पीडितहरुलाई फकाइन्छ  र पुन त्यसै घरमा श्रममा लगाइन्छ । यो सबैको जिज्ञासाको बिषय बनेको छ ।
हरी जिल्ला सदरमुकाम स्थित बालमन्दिर आधारभूत बिद्यालयमा ३ कक्षामा अध्ययन गर्छन भने अमर पद्यम पब्लिक मुक्ति नारायण माबिमा कक्षा ६ मा अध्ययनरत छन । उनीहरुलाई देख्दा सबैको मनमा (टिठ) दया लागेर आउँछ । 
यता काममा लगाउने तथा उनका आफन्तहरु भन्छन, हामीले पीडितलाई उद्धार गरेका हौं, दुखी गरिबलाई सहयोग गरेका हौं । तर श्रमिक बालबालिकाका आफन्तहरु भने हामीलाई बिभिन्न प्रलोभन देखाएर हामीले पठाएका हौं । काम गर्नु नपर्ने, पढ्नु मात्र पर्ने, कहिलेकाँही चियासम्म पकाउनु पर्ला, नत्र अरु कुनै काम गर्नु पर्दैन । हामीलाई त आफ्ना बालबालिकाहरु बाहिर हुनाले बालबालिकाको माया लाग्छ त्यसैले हामीकहाँ तपाँईको छोरा पठाइ दिनुस भनेर आग्रह गर्नाले हामीले पठाएको एकजना श्रमिक बालकका आफन्तले बिम्ब साप्ताहिकसंग टेलिफोनमा   बताए । 
१४ बर्षदेखि १६ बर्षसम्मको बालबालिकालाई कसैको घरमा काम गर्नको लागि श्रम कार्यालयले अनुमती दिएको हुनुपर्ने कानुनी प्राब्धान छ । (त्यसमा पनि दिनको तीन घण्टा भन्दा बढी काममा नलगाउने गरी) ।
१४ बर्ष भन्दा कम उमेरको बालबालिकालाई कुनै पनि कानुनी प्राब्धान छैन श्रममा लगाउनलाई । 
हरी र अमर मात्र होइनन,  जिल्ला सदरमुकामकै कुरा गर्नेहो भने पनि अधिकाशं घरमा काम गर्नका लागि राखिएका बालबालिकाहरु १४ बर्ष भन्दा मुनिका छ्याप्छ्याप्ती देख्न  सकिन्छ । बजारमा आफू बिहान  ५ बजे मोर्निगं वाकमा हिड्दा साना बालबालिका सधै सडक सफा गर्न लागेको, घरका पेटी पोत्न लागेको देखिने शिखर नगरपालिका ५ का दीपक ओझाले बताए ।
 दिपायल सिलगढी नगरपालिकाका सामुदायिक बिकास अधिकृत रमेशचन्द्र जोशीले भने, हामीले उमेर नपुगेका बालबालिकाहरुलाई घरमा, होटलमा, कलकारखानामा नलगाउनुस भन्दा कसैले वास्ता नै गरेनन् अब नगर भित्रबाट नै सबैको सल्लाह अनुसार कानुनी कार्बाही गर्ने वा श्रम कार्यालयको स्वीकृत पाएकाले मात्र बालबालिकाहरुलाई काममा लगाउनु पर्ने बताए ।
उनले भने, हामीले बिभिन्न सरोकारवाला निकायहरुलाई बिभिन्न कामको जिम्मा दिइसकेका छौं । अबको केही दिनदेखि नै भने अनुमती नल्याएकाहरुलाई बालबालिकाको परिवारलाई सहित बुझेर तुरुन्तै कार्बाही गर्ने बताए । कानुनले तोकेभन्दा बाहिर कसैले पनि जान पाउँदैन । डोटी प्रहरी प्रमुख डिल्लीराज बिष्टले भने, हामीलाई कानुन उल्लघंन गरेको कुरा जानकारी हुने बित्तिकै त्यसको पछाडी लाग्छौं । बालबालिकाको सन्दर्भमा काम गराउनेलाई पनि दया नलागेर एउटा शत्रु झैं ब्यबहार गर्नु निकै शोषण भएको उनले बताए । 

सम्पादकीय 

‘हाम्रो’ होईन ‘राम्रो’ छानौं !

२० बर्षपछि स्थानीय तहको निर्वाचन भएको छ र हुन गईरहेको छ । “भएको छ” यस अर्थमा कि प्रदेश नं. ३, ४ र ६ मा बैशाख ३१ गते निर्वाचन सम्पन्न भईसकेको छ । “हुन गईरहेको छ” यस अर्थमा कि प्रदेश नं. १, २, ५ र ७ मा चुनाव हुने तयारीमा छ । यदि कुनै अर्को चमत्कार भएन भने असार १४ गते चुनाव सम्पन्न हुने छ । अहिलेको अवस्था हेर्दा ऐजेरुहरु धेरै पलाएका छन चुनावको बिरुद्धमा तर पनि सरकारले ति सव ऐजेरुहरुलाई बेलैमा हटाउन सक्नु पर्छ र असार २ गते निर्वाचन आयोगले तोके अनुसार सवै स्थानीय तहमा सवै पदहरुमा उम्मेद्वार बन्न चाहाने सबै व्यक्तिले भयरहित बातावरणमा मनोनयन गर्ता गर्न पाउने अवस्था सृजना हुनु पर्छ । 
नेपालको कानुन अनुसार निर्वाचनको मिति तोक्ने काम सरकारको हो । सरकारले तोकेको मितिमा निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको जिम्मेवारीभित्र पर्छ । निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गराउनका लागि आवश्यक बातावरण बनाउने काम फेरी पनि सरकारकै हुन्छ । आयोगलाई चाहिने जनशक्ती, निर्वाचन सामग्री, वजेट र आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम सरकारको हो र त्यसका लागि सरकार तयार हुनु पर्छ । निर्वाचन निश्पक्ष हुनु पर्छ, धाधलीरहित हुनुपर्छ । 
असार १४ गते निर्वाचन सम्पन्न गर्नका लागि सरकार र निर्वाचनको आयोगको जिम्मेवारी जति छ, त्यो दिन मतदाताहरुको पनि राम्रो प्रतिनिधि छान्ने जिम्मेवारी छ । गाउँतिर आफ्नो गाउँको, आफ्नो नाता–गोताको, पल्लो गाउँको, हाम्रो पार्टीको भन्न्ने हिसावले मतदान गर्ने तयारी भईरहेको छ । यदि यस्तो हो भने दुर्भाग्यपूर्ण हुन्छ । उम्मेद्वार ‘हाम्रो’ होईन ‘राम्रो’ छान्ने प्रयास सवैले गर्नु जरुरी छ । कुन उम्मेद्वारको बिगतको भुमिका कस्तो थियो, जनताको बिचमा उसको छवी कस्तो थियो भन्ने कुरालाई ध्यान दिन जरुरी   छ । 
मेरो पार्टीको वा मेरो गाउँको वा मेरो नाता–गोता वा नजिकको भनेकै कारण नेपालमा भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गएको छ । मतदाताहरुले आफ्नो मान्छे भन्दैमा आँखा चिम्लनु भन्दा पहिले आफुले बगाएको पसिनाबाट तिरेको करको सही सदुपयोग हुन्छ कि हुँदैन भन्ने बिषयमा ध्यान दिनु जरुरी छ । सधैंभरी हाम्रो मान्छे मात्रै भन्ने हो भने राम्रा मान्छेहरुले कहिल्लै पनि जिम्मेवारी पाउने छैनन् र हाम्रो अवस्थामा पनि कहिल्लै सुधार आउने छैन । 
कुन व्यक्तिले बिगतमा दिनहरुमा समाजको हित हुने काम गरेको छ, कुन व्यक्तिले समाजको हितका नाममा आफ्नो व्यक्तिगत फाईदा उठाएको छ, समाजलाई लडाएको छ भन्ने कुरालाई पनि मनन् गर्नु पर्ने जरुरी छ । कुनै व्यक्तिका गरिएका राम्रा कामहरुको पनि उच्च मल्याँकन गरौं र आफ्नो मत मार्फत त्यस्ता व्यक्तिहरुलाई पुरस्कृत गरौं । कुनै व्यक्तिले बिगतमा गरेका नराम्रा कामहरुको पनि समीक्षा गरौं, त्यस्ता व्यक्तिहरुलाई दण्डित पनि गरौं । लोकतन्त्रको सुन्दर पक्ष पनि यही हो । जनताले आफुलाई मन परेको उम्मेद्वार छान्न पाउनु पर्छ र छान्नु पनि पर्छ । यसको अर्थ नाता लागेको भएका कारण, आफ्नै गाउँको भएका कारण, आफ्नो दलको भएका कारण मतदान गर्नु पर्ने जरुरी छैन । 
यो स्थानीय तहको निर्वाचन हो । यो निर्वाचनमा राजनीतिक दलको भनेर मतदान गर्नु भन्दा पनि राम्रो व्यक्तिलाई मतदान गर्नु जरुरी छ । संबिधानत स्थानीय निकायहरु शक्तिशाही छन । संबिधानले दिएको अधिकार अनुसार जनताको सेवा गर्नका लागि ‘राम्रो मान्छे’ चाहिन्छ, ‘हाम्रो मान्छे’ होईन । त्यसकारण परिवारको, घरको, नाता गोताको, पार्टीको, यस्ता यस्तै कुरा सोचेर आफ्नो अमुल्य मत खेर नफालौं । संबिधानको सही कार्यान्वयन तवमात्र सम्भव छ जव सही व्यक्तिहरु जनताबाट चुनिएर आउनेछ । त्यसकारण सवैले यसमा ध्यान दिनु जरुरी छ ।

थप समाचार 

दिसिनपामा ५९ लाखको नयाँ दमकल

डोटीका अधिकांश क्षेत्रहरुमा आगो लागेपछि समयमा दमकल नपुग्दा ठूलो नोक्सानी बेहोर्नुपरेको छ । यसको मुख्य   कारण सम्बन्धित निकायसंग अग्नी नियन्त्रकको भरपर्दाे साधन मानिने दमकल नभएर वा बिग्रिएर हो तर अब भने त्यो समस्या टर्ने भएको छ ।
सोमबार दिपायल सिलगढी नगरपालिकाले ५९ लाखको लगानीमा नयाँ दमकल जिल्लामा भित्र्याएको छ । बिगत लामो समयदेखि  नगरपालिकामा दमकल नहुँदा र भएको दमकल पनि बिग्रेकोले आगो नियन्त्रण गर्न निकै समस्या हुने गरेको थियो । अब भने कुनै प्राबिधिक कठिनाई बाहेक नगरपालिका र नगरपालिकासंग जोडीएर रहेको क्षेत्रमा छिटो भन्दा छिटो दमकल घटना स्थलसम्म पुग्न सक्ने दिपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत तुलसी प्रसाद आचार्यले बताए ।
गत चैत्र २० गते डोटीको व्यस्त बजार दिपायल पिपल्लामा आगलागी भएको बेला आगो नियन्त्रण लिनका लागि क्षेत्रीय प्रहरी कार्यालयको पानी बोक्ने टेङ्करको प्रयोग गर्नु प¥यो, कारण दिपायल सिलगढी नगरपालिकासंग बारुणनियन्त्रण (दमकल) को व्यवस्था थिएन । 
डडेल्धुरा अमरगढी नगरपालिकाको दमकल ल्याउनु पर्याे । उक्त घटना भएको चार दिन बित्न नपाउँदै चैत्र २४ गते जिल्ला सदरमुकाम स्थित रिमझिम होटलमा पनि आगलागी भयो । हलमा राखिएका लुगाहरुबाट सल्केको आगो प्रहरी र स्थानीयहरुले नियन्त्रणमा लिए ।          
नगरपालिकाको गेटसंगै जोडिएको उक्त होटेलमा लागेको आगो नियन्त्रमा लिनका लागि पनि दमकल थिएन । दमकल नभएको भन्दै नगरपालिकाको तिब्र आलोचना समेत   भयो । 
बिग्रेको एक बर्षसम्म पनि कुनै पहल किन नगरेको भन्ने बिम्ब नेपाली साप्ताहिकको प्रश्नमा उनले कार्यकारी अधिकृत आचार्यले भनेका थिए ‘हामीले पहल त यो दमकल नबन्ने भयो भन्ने थाह हुने बित्तिकै सुुरु गरेका हौं तर ढिलाई  भयो । अबको केही २ महिना भित्रै नयाँ दमकल ल्याउने भएका छौं ।’ 
आचार्यले भनेको कुरा साँचो साबित भएको छ । अब आगलागी जस्ता दुर्घटनाहरु चाँडै नियन्त्रण ल्यान सकिने उद्योग बाणिज्य संघका सदस्य गणेश साउँदले बताए । साउँदले भने बिगतको केही आगलागी घटनाहरुले पिरोलिएका थियौं, दिपायलमा घटना हुँदा डडेल्धुरा वा अछामबाट दमकल माग्नु पथ्र्यो । अब त डोटीमा नयाँ आएपछि सहज हुने भएको छ । अर्थ मन्त्रालयमा दमकलको लागि बजेट निकाशा गरेको केही महिना मै जिल्लामा नयाँ दमकल ल्याउन सफल भएको कार्यकारी अधिकृत आचार्यले   बताए ।
स्वतन्त्र उम्मेदवारका प्रतिवद्धताः हिन्दु राष्ट्रदेखि बृद्ध आश्रमसम्म
डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद जोशीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । जोशीको प्रतिवद्धतामा नेपाललाई हिन्दु राष्टू बनाउन पहल गर्नेदेखि बृद्धबृद्धाहरुलाई स्याहार गृह स्थापना गर्नेसम्म समाबेश भएका छन । 
२०३४ सालदेखि २०७२ सालसम्म लगातार ३८ बर्ष शिक्षण पेशामा बिताएका जोशी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका संस्थापक जिल्ला अध्यक्ष समेत रहेका थिए । पञ्चायतकालमा प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा उनी पटक पटक गरी १३ महिना जेल समेत बसेका थिए ।
पार्टी संगठनप्रतिको त्याग, आफूले गरेका सामाजिक क्रियाकलापहरु, आफूप्रतिको जनसमर्थनको अबमूल्ययन गर्दै पार्टीले आफूलाई टिकट नदिएकोले आफू स्वतन्त्र उम्मेद्वार हुने निर्णय गरेको जोशी बताउँछन । 
जोशीले सार्वजनिक गरेको अपीलमा आफू नेपाली कांग्रेसकै कार्यकर्ता भएको र निर्वाचन जितेपछि पनि आफू कांग्रेसमै फर्किने प्रतिबद्धता गरिएको छ । उनको प्रतिवद्धता पत्रमा नगरपालिकाभित्र रहेका मन्दिर, देवालय, धार्मिक स्थलहरुको  संरक्षणले प्राथमिकता पाएको छ । प्रतिबद्धता पत्रमा लेखिएको छ ‘नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि दवाव दिईनेछ ।’ नगर क्षेत्रका बिभिन्न देवालयहरुमा भक्तजनहरुले चढाएका गाईहरुको संरक्षणका लागि गौशाला निर्माण गर्ने उनको प्रतिबद्धतामा उल्लेख छ । धार्मिक स्थलहरुको पर्यटकीय बिकास गर्ने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन । 
यस्तै नगरपालिकाका बृद्ध र असहायहरुका लागि गंगास्नान देउगडा भन्ने ठाउँमा स्याहार स्थलको प्रवन्ध गरिने उल्लेख छ । 
नगर क्षेत्रमा रहेका बिद्यालयहरुमा गुणस्तरीय अध्ययन÷अध्यापन गराउने, शिक्षकहरुको पेशागत सुरक्षाको ग्यारेण्टी गर्ने र प्राबिधिक शिक्षामा बिशेष जोड दिने जोशीको प्रतिबद्धतामा समावेश छ । यस्तै नगरबासीहरुको घरदैलोमा सडक पु¥याउने र हाल निर्माण भएका धुले सडकहरुलाई कालोपत्रे गर्ने उनले प्रतिबद्धता गरेका छन । नगरपालिका भित्रका सवै घरमा बिद्युत पु¥याउने र नगरभित्रै बिद्युत उत्पादनको सम्भाबना खोज्ने जोशीले बताएका छन । उनले भारत तथा तेश्रो मुलुकमा पलायन भईरहेका युवाहरुलाई नगरभित्रै रोजगारीका अवसरहरु सृजना गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन । 
कांग्रेस निकट नेपाल बिद्यार्थी संघबाट राजनीतिक सुरु गरेको बताउने जोशी शिक्षक संघ, नेपाल टे«ड युनियन संघ लगायतमा संगठनहरुमा महत्वपूर्ण भुमिका निर्वाह गरेको दावी गर्छन । पार्टीको बिधि मिचेर मनोमानी ढंगबाट उम्मेद्वार सिफारिस गरेकोले आफुले स्वतन्त्र  उम्मेद्वारी दिनु परेको जोशीले बताए । 
बिम्ब नेपाली साप्ताहिकसंग टेलिफोन सम्वाद गर्दै जोशीले भने ‘म यस अघि पनि बिभिन्न बिकास निर्माणका कार्यहरु र सामाजिक सेवामा समर्पित रहेको आम मतदाताहरुलाई थाह छ, त्यसैले नगरबासीहरुले मलाई नै मतदान गर्नु हुनेछ ।’ निमाबि तहबाट शिक्षण सेवामा प्रवेश गरेका जोशी २०७२ साल माबि द्वितीय श्रेणीबाट उमेरको हदका कारण अनिबार्य अवकाशमा परेका थिए ।
सुरक्षित गर्भपतन सेवा लिनेमा बृद्धि
गोबिन्द विश्वकर्मा÷डोटी
२९ जेठ
चालु आर्थिक बर्षमा डोटी जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको संख्यामा बृद्धि भएको छ ।
सरकारबाटै सुरक्षित गर्भपतनको सेवा निशुल्क भएपछि यो सेवा लिन आउनेको संख्यामा बृद्धि भएको हो । जिल्लामा ११ महिनाको अवधिमा तीन सय ६२ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका पब्लिक हेल्थ नर्स गौरी शाहीले जानकारी दिइन ।
शाहीले भनिन्, आर्थिक बर्ष २०७३ र ०७४ को साउनदेखि बैशाख महिनासम्म जिल्लाका ३ सय ६२ महिलाले सेवा लिएका छन्  । जस मध्ये पनि २० बर्ष भन्दा कम उमेर समुहका ४७ जना र त्यो भन्दा माथिका जम्मा तीन सय १५ जना रहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक बर्षमा भन्दा यो आर्थिक बर्षमा यो संख्यामा तुलनात्मक रुपले बृद्धि भएको छ । बिगतका दिनहरुमा सुरक्षित गर्भपतन सेवा आधिकारी तथा निशुल्क नभएकोले स्वास्थ्य कार्यालयमा जम्मा संख्या रेकर्ड नभएको नर्श शाहीले बताइन । अहिले महिलामा चेतनामा वृद्धि भएपछि र सरकारले निशुल्क रुपले सेवा दिन थालेपछि सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा बृद्धि भएको उनको भनाइ रहेको छ ।
 विगतका वर्षहरुमा जनचेतना अभावमा असुरक्षित गर्भपतनको संख्यामा बृद्धि हुने गरेको थियो । शाहीले भनिन्, डोटी जिल्लामा हाल जिल्ला अस्पताल डोटी, बिभिन्न निजी पोलीक्लिनिकहरु सहित १७ वटा स्वास्थ्य संस्थाहरुबाट गर्भपतन सेवा उपलब्ध गराइदै आइएकोले सेवा ग्राही महिलाहरुलाई सहज भएको बताइएको छ ।

डोटीमा बढी जसो युवाहरु मतदाता बिहिन

राजनीतिक दलले युवाको मन जित्न नसक्दा डोटी लगायत प्रदेश नम्वर ७ का सबै जिल्लामा ठूलो संख्यामा युवा जमात मतदाता बन्ने अवसरबाट चुक्ने भएको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ ।
राजनीतीमा बढेको खिचातानीका कारण फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन चाँसो नदिएका युवाहरु अव स्थानीय तहको चुनावमा मताधिकारबाट बञ्चीत हुने भएका हुन । जिल्लामा यकिन तथ्याङक नभएपनि मताधिकारबाट बञ्चित हुने सबैभन्दा ठूलो जमात भने युवाहरुको रहेको छ ।
अध्ययन र कामको शिलशिलामा विभिन्न ठाउँमा रहेका युवाहरु त त्यसैपनि मतदानबाट बञ्चित भएका छन भने धेरै युवाहरु भने मतदाता नामावलीमा नाम दर्ताको समयमा नाम दर्ताको लागि चाँसो नदिएका कारण बञ्चित भएको बताइएको छ ।
स्थानीय चुनाव भएकाले युवा पिँढीमा जोस बढेको छ भने आफू निकटका उम्मेदवार जिताउन धेरै युवा लागेका     छन । तर स्थानीय चुनावको रौनक सुरु भएर धेरै युवाहरुमा चुनावको उत्साह छाएका बेला आफ्नै कारणले मतदाता नामावली भर्नका लागि लापरवाही गरेका युवाहरु अहिले खिन्न देखिएका छन पनि बताइएको छ ।

प्रत्येक स्थानीय तहमा दुई पर्यवेक्षक

राष्टिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले डोटी जिल्लाका नौ वटै स्थानीय तहहरुमा निर्वाचन पर्यवेक्षक खटाउने तयारी गरेको छ । 
निर्वाचन पर्यबेक्षकहरुका लागि शनिवार आयोजना गरेको निर्वाचन पर्यवेक्षण सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा प्रत्येक स्थानीय तहमा दुई जनाका दरले जिल्लाका नौ बटै स्थानीय तहमा पर्यवेक्षक खटाईने जानकारी दिईएको हो । ‘निर्वाचन स्वच्छ, निश्पक्ष र मर्यादित होस् भन्नका लागि हामीले पर्यवेक्षक खटाउन लागेका हौं’ नियोक जिल्ला समिति अध्यक्ष रामहरी ओझाले भने ‘मतदान केन्द्रमा खटिने पर्यबेक्षकका अतिरिक्त मोबाईल पर्यवेक्षकहरु पनि परिचालन गरिनेछ ।’ जिल्लामा १४ जना मोबाईल पर्यवेक्षक रहने ओझाले बताए । 
अभिमुखीकरणमा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले पर्यवेक्षकहरुले निर्वाचन आचार संहिताको ख्याल गर्नु पर्ने बताए । ‘निर्वाचन आचार संहिता उलंघन भएको तपाईहरुले पाउनु भयो भने सम्वन्धित निकायमा खवर गरी दिनु होला’ शर्माले भने ‘तपाईहरु आफै पनि निर्वाचन आचार संहिताको ख्याल गर्नु होला ।’ पर्यवेक्षकहरुले कुनै पनि दलको या उम्मेद्वारको समर्थन वा बिरोध गर्न नपाईने कुरालाई बिशेष ध्यान दिन शर्माले आग्रह गरे । 
अभिमुखीकरण कार्यक्रममा पर्यवेक्षकहरुलाई आबश्यक निर्देशन दिँदै नियोक प्रदेश नं. ७ का संयोजक देवी खनालले पर्यबेक्षक भन्ने बित्तिकै निश्पक्ष हुनुपर्ने बताए । ‘तपाईहरु रेकर्डर हो तर टेप रेकर्डर होईन’ खनालले भने ‘तपाईहरु सुन्ने काम धेरै गर्नु होला तर बोल्न पाउनु हुन्न ।’ उनले पर्यवेक्षकका आँखा र कान तिखा हुनुपर्ने तर मुख बन्द हुनेपर्ने बताए । ‘यदि कतै अबान्छित क्रियाकलापहरु भईरहेका छन भने तत्काल नियोकलाई खवर गर्नुहोस्’ खनालले भने ‘त्यहाँ कुनै पनि  प्रकारको प्रतिक्रिया नदिनु होला ।’
प्रदेश नंं. ७ मा एक सय ७६ मतदान केन्द्रमा र त्यतिनै संख्यामा मोबाईल पर्यवेक्षक खटाउने तयारी भईरहेको खनालले बताए । 

डडेल्धुरामा काँग्रेस आन्दोलित

प्रकाश पार्की÷डडेल्धुरा
२९ जेठ
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस नेता तथा कार्यकर्ता आन्दोलित भएका छन् ।
सभापति देउवाले स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणमा एकलौटी गरेको भन्दै गृह जिल्ला     डडेल्धुरामा नेता तथा कार्यकर्ताले विरोध प्रर्दशन गरेका हुन् ।
कार्यकर्ताको मुल्याङ्कन नगरी आर्थिक चलखेलमा टिकट वितरण भएको उनीहरुको आरोप छ । गाउँ समिति तथा नगर समितिले सर्वसम्मत रुपमा दिएका टिकट समेत खोसिएपछि आफूहरु आन्दोलित भएको असन्तुष्ट कार्यकर्ताहरुको गुनासो छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट गर्दा जिल्लाका नेता तथा कार्यकर्ताको सुझाव विना एकलौटी रुपमा उम्मेदवार घोषणा गरेको आरोप आन्दोलन रत कांग्रेस कार्यकर्ताले लगाएका छन् ।
सोमबार अपरान्ह बागबजारदेखि तुफानडाँडासम्म हातमा कालोपट्टी बाँधेर विरोध र्यालीमा निस्किएका कार्यकर्ताहरुले विरोधका कार्यक्रम निरन्तर जारी रहने बताए । र्यालीमा जिल्ला उपसभापति करुणाकर भट्ट, नगर सभापति र महाधिवेशन प्रतिनिधिहरु सहित अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
प्रधानमन्त्रीकै गृह जिल्लामा कांग्रेस दुई गुटमा विभाजित छ । नेपाली कांग्रेसका पार्टी सभापति देउवाले जिल्ला सभापति तथा जिल्लाका स्थानीय कमिटीलाई समेत बेवास्ता गर्दै उमेदवार चयन गरेको कांग्रेस असन्तुष्ट नेताहरुको आरोप छ ।
असन्तुष्ट नेताहरुले पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिने बताएका छन् ।
७ नं प्रदेशको राजधानी दिपायलमा हुने सम्भावना बढ्यो
स्थानीय तहको पुर्नसंरचना भएदेखि ७ नं प्रदेशको राजधानी कुन ठाउँ हुने भन्नबारे सरकार, प्रदेश तथा स्थानीयहरुका  बहस को बिषय बन्दै आएको छ ।
त्यसै बीच दिपायलमा प्रदेश स्तरीय कार्यालयहरु उच्च अदालत, सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतका कार्यालयहरु स्थापना भएपछि ७ नम्बर प्रदेशको राजधानी दिपायल हुने सम्भावना बढ्दै गएको छ । 
गत आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोगको उद्घाटन गर्दै आयोगका सदस्य लिला उदासी खनालले भने, अब ७ नं प्रदेशको राजधानी नै दिपायलमा हुनुपर्छ । ९ वटै जिल्लाको बीच भागमा पर्ने हुँदा सबैलाई सजिलो र छोटो समयमा सेवा लिन सक्ने हुनाले दिपायलमै हुनु जरुरी भएको उनले बताए । यसै क्रममा बोल्दै उनले भने, १० बर्षीय जनयुद्धका क्रमका द्धन्द पीडीतलाई न्याय दिलाउनका लागि आयोग प्रतिबद्ध  रहेको छ । 
खनालले भने, अब देशभरी मै भएका सत्य निरुपण आयोगका कार्यालयहरुले मध्ये प्रस्ताबित ७ नं प्रदेशको राजधानी दिपायलले  पीडकलाई सजाय दिने र पीडितलाई न्याय दिलाउने एक नमुना आयोग कार्यालय नै बन्ने उनको बिश्वास छ । 
खनालले भने, द्धन्दका क्रममा  भएका घटनामा मलम लगाउनका लागि सरकारद्धारा आयोग गठन गरेकाले आयोगले सत्य तथ्य छानबिन गरी दोषीलाई कारवाहीका लागि र पीडितलाई परिपुरणका लागि तुरुन्तै  सिफारिस गर्छौ ।
७ नम्बर प्रदेशमा १० हजार २ सय ३३ उजुरी रहेको आयोगको कार्यालय राजपुरले जानकारी दिएको छ । उच्च अदालत राजपुरको सरकारी वकिल कार्यालयलाई  आयोगको प्रदेश मुकामको कार्यालयको रुपमा तोकिएको छ । द्धन्द पीडितले घरछेउमै सेवा तथा न्याय पाउने ब्यबस्था मिलाउनका लागि डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी शर्माले भने,  प्रदेश भरीका पीडितलाई एकै ठाउँमा सेवा दिनका लागि सम्भब नभएका कारण जिल्लामा पनि संयन्त्र निर्माण गर्नुपर्छ । त्यसपछि मात्र मुद्धा चाँडो फैसला हुन्छ । 
धेरै मुद्धा भएका जिल्लामा आयोगले शाखा कार्यालय स्थापना गर्ने सोच रहेको आयोगका सदस्य खनालले बताए ।  प्रदेश कार्यालयबाट भ्याउन नसकेका मुद्धाहरु जिल्लामै शाखा कार्यालय खोलेमा छिटो छरितो मुद्धा फैसला हुन्छ त्यसैले यो सोच पनि बनाएका छौं । शाखा कार्यालयको नेतृत्व पनि प्रदेश आयोग कार्यालयले गर्छ उनले भने ।
७ नं प्रदेशमा हालसम्म सबै भन्दा बढी अछाम जिल्लामा र सबै भन्दा कम मुद्धाहरु दार्चुलामा परेको बताइएको छ । सबैभन्दा बढी अछाममा चार हजार ९१ र सबैभन्दा कम दार्चुलामा तीन सय १८ मुद्धा परेको बताइएको छ ।
यस्तै आयोगको कार्यालयमा डोटीबाट चार सय ७०, कैलालीमा नौ सय ८१, बझाङ्मा तीन सय ७४, बाजुरामा आठ सय ४४, कञ्चनपुर १८ सय, बैतडी आठ सय ४० र डडेल्धुरामा पाँच सय १५    उजुरी परेको आयोगको कार्यालय   राजपुरको तथ्याकंले देखाएको छ ।
यसरी नै सबै कार्यालयहरु दिपायलमा भयो भने मात्र सबै जिल्लाका जनतालाई सजिलो हुन्छ । डोटी उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र बहादुर खड्काले भने, हामी डोटेली जनतालाई मात्र सहज होला भनेर ७ नं प्रदेशको राजधानी दिपायलका लागि लागेका हैनौं । बाजुराको जनताले दार्चुलाको जनताले पनि सहज रुपमा सजिलो तरिकाले सुबिधा लिन सकोस भन्नको लागि दिपायल माग गरिरहेका छौं । 
अध्यक्ष खड्काले भने ७ नं प्रदेशको राजधानी दिपायलका लागि हामी सबै निकायहरुलाई पहल गर्छौ यदि कसैले सुनेन भने आन्दोलन नै गरेर पनि दिपायल राजधानी बनाउन माग गर्छौ ।

सुदूर पहाडमा राजमार्ग निर्माण कार्य अलपत्र

सीता महता/दिपायल
२९ जेठ
सडक वोर्डको लापरवाहीका कारण डोटी सहित प्रदेश नम्वर ७ का अधिकांश सडकहरुको मर्मत कार्य अलपत्र परेको छ ।
सडक मर्मतका लागि सडक वोर्डले वर्षौसम्म पनि रकम उपलव्ध नगराउँदा भीमदत्त राजमार्ग लगायतका अन्य पहाडी राजमार्गको निर्माण कार्य अलपत्र परेको हो । सडक वोर्डलाई रकम निकासीका लागि पटक पटक आग्रह गर्दा पनि विभिन्न वहाना देखाएर रकम निकासा नगरेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ । 
महाकाली राजमार्गका लागि गत वर्ष भएको ठेक्का प्रक्रिया पनि रकम उप्लव्ध नहुँदा रोकिएको काम यो वर्ष सुचारु भईरहेको कार्यालयले जनाएको छ । यो मात्रै नभई सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका सडक मर्मतका काम समयमै हुन सकेका छैनन । काम नहुने मात्रै नभई काम सम्पन्न गरेको वर्ष दिन विति सक्दासम्म पनि रकम नपाउँदा मर्कामा परेको निर्माण व्यवसायीले गुनासो गरेका छन । रकमका लागि निर्माण व्यवसायी कार्यालयमा आउने गरेको भएपनि सडक वोर्डबाट रकम नआउने  गरेकाले वर्षौ दिन सम्म रित्तै हात फर्काउनु परेको डिभिजन सडक कार्यालय कुलपाते डोटी स्रोतले जनाएको छ । 
गत वर्ष काम सम्पन्न गरी सकेको भएपनि हालसम्म रकम नपाएको निर्माण व्यवसायी रुपलाल पाण्डेयले बताए । निर्माण ब्यवसायी पाण्डेयले भने, ऋण लिएर सडक मर्मत गर्ने काम गरेतर एक वर्षसम्म पनि मैले रकम पाएको छैन । पाण्डेय मात्रै नभई सडक वोर्डको लापरवाहीका कारण कयौँ निर्माण व्यवसायीले काम गरे वाफतको रकम नपाएको गुनासो गरेका छन । सडक वोर्डलाई रकम निकासाका लागि सम्पर्क गरिरहेको र छिट्टै रकम आउने डिभिजन सडक कार्यालय कुलपाते डोटीका ईन्जियर महानन्द जोशीले बताए ।
बैतडीको एक वडाध्यक्षमा बुबा–छोराकै भिडन्त
पुर्चौडी नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षका लागि बुबा र छोरा बीच प्रतिस्पर्धा हुने भएको छ । एमालेबाट बुबा नागी साउँद र मोओवादी केन्द्रबाट छोरा उज्ज्वल साउँद अध्यक्षका उम्मेदवार बनेका छन् । 
पहिला माओवादीले छोरा उज्ज्वलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यसपछि एमालेले बुबा नागीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 
‘नाताले बुबा भए पनि राजनीतिक आस्था फरक भएको हुनाले दुवैजना उम्मेदवार भयौँ, उज्ज्वलले भने, ‘परिवार र आफन्तको भोट कसलाई जान्छ थाहा छैन बाबुछोरा बीच सुमधुर सम्बन्ध नभएको भने होइन तर राजनीतिक सम्बन्धका कारण बुबा–छोराबीच राजनीतिक दूरी रहेको उज्ज्वलले बताए ।
‘हामीले पार्टीबाट युवा नेतालाई टिकट दिएका हौँ, पछि एमालेले उहाँकै बुबालाई टिकट दियो,’ माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टले भने, ‘युवा उम्मेदवारले नै बाजी  मार्छन् ।’
परिवारका सदस्य भने कसलाई भोट दिने अन्योलमा छन् । माओवादी केन्द्र र एमालेबीच मत बाँडिने सम्भावना भएको परिवारकै सदस्य बताउँछन् ।
मत बाँडिए कांग्रेसलाई फाइदा पुग्न सक्छ । कांग्रेसबाट वडा नम्बर ७ मा राम ऐरीको उम्मेदवारी छ ।

छोटकरी समाचार 

पुगेन मतदाता शिक्षा

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा डोटीका केही स्थानीय तहहरुमा मतदाता शिक्षा नपुगेको गुनासो आइरहेको छ ।
दिपायल सिलगढी नगरपालीका–५, बसपार्क बस्ने नेपाल दलित संघका जिल्ला उप–सभापति रविन्द्र बागचन्दले भने, एकातिर मतदाता शिक्षाका लागि स्वयंसेवक खटाएर रकम खर्च हुने तर मतदाता समक्ष शिक्षा पुग्न नसक्नु राम्रो कुरा होइन ।
किन मतदाता समक्ष मतदाता शिक्षा पुग्न सकेन त भन्ने प्रश्नको जवाफमा जिल्ला निर्वाचन कार्यालयका मतदाता शिक्षा तालिम समन्वयकर्ता लक्ष्मीराज ओझाले भने–‘हामीले स्वयंसेवकलाई जेठ ३१ गतेसम्मको कार्ययोजनाका साथ कार्य क्षेत्रमा खटाएका छौं, मतदाता शिक्षा पुग्न नसकेको गुनासो आईरहेको क्षेत्रमा तत्काल जिम्मेवारी पूरा गर्न स्वयंसेवकलाई निर्देशन दिईएको छ ।’
मतदाता शिक्षा मतदाता समक्ष पुगिरहेको छ कि छैन भन्ने विषयमा आफूले पनि अनुगमन गरिहेको बताउँदै क्षेत्रीय सदरमुकाम समेत रहेको दिपायलको पिपल्ला, पुल बजार, शिखर नगरपालिकाको तिलताली क्षेत्रका केही भागमा मतदाता शिक्षा नपुगेको स्थानीयहरुले बताएका छन ।
सबै सरोकारवाला केन्द्रित रहने सदरमुकाम क्षेत्रमै मतदाता शिक्षा पुग्न ढिलाई नगर्न र मतदाता शिक्षाको लागि जेठ ३१ गतेसम्म आम मतदाता समक्ष अनिवार्य पुग्न स्वयंसेवकलाई कडाईका साथ खटाईने पनि ओझाले प्रतिवद्धता जनाए ।

खेल समाचार 

नेपाल र यमनबीचको फुटबल ७०० दर्शकले मात्र हेर्न पाउने

सन् २०१९ मा हुने एसियन कपका लागि छनौट चरण अन्तर्गत नेपाल र यमन बीचको खेल हुँदैछ । खेलका लागि यमनको टोली आइतबार काठमाडौं आइपुगेको छ ।
सशस्त्र प्रहरीको मैदान हलचोकमा हुने खेलका लागि जम्मा ७ सय टिकट बिक्री गरिने अखिल नेपाल फुटबल संघले जनाएको छ । 
स्थान अभाव तथा सानो प्याराफिट भएका कारण थोरै टिकट बिक्री गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।
खेल मंगलबार दिउँसो तीन बजेबाट सुरू हुनेछ ।
खेलका लागि टिकटको मूल्य एक हजार तोकिएको छ र सबै टिकट इ सेवाले मात्र उपलब्ध गराउने एन्फाले जानकारी दिएको छ । टिकटका लागि इसेवाका नजिकैको सर्विस सेन्टरमा सम्पर्क गर्न सकिने एन्फाले जनाएको छ ।
एएफसी एसियन कप छनौटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसैको मैदानमा पराजय ब्यहोरेको बताइएको छ ।

आईसीसीले अनुमति नदिए नेपाली क्रिकेटरले एसियन प्रिमियर लिग नखेल्ने

राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अनुमति नदिएसम्म नेपाली क्रिकेटरहरुले एसियन प्रिमियर लिग         (एपीएल) क्रिकेट नखेल्ने भएका छन् ।
एक निजी कम्पनीले आगामी असार ५ देखि काठमाडौंमा एपीएल गर्ने घोषणा गरेको छ । तर, विवादित बन्दै गएको छ । प्रतियोगितामा सहभागी टिम ‘नेपाल स्ट्रोम’ राखिएको छ तर, कप्तान यूएईका स्वप्निल पाटिल तोकिएको छ । नेपाली खेलाडीहरु को को खेल्ने भन्ने समेत आयोजक अल्टिमेट स्पोट्स म्यानेजमेन्टले बताएको छैन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले आईसीसीको अनुमति नदिए नेपाली क्रिकेटरहरुले नखेल्ने बताए । ‘आईसीसीले खेलाडी रिलिज अनुमति दिएन भने हाम्रो सिनियर प्लेयरहरु खेल्दैनन् ।’ साथै नेपालीको यू १९ टोलीका सदस्यहरुले यो लिग खेल्ने सम्भावना न्यून छ । उनीहरु अहिले यू १९ विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा छन् ।
एसियन प्रिमियर लिगको कन्सेप्ट राम्रो भएपनि कानुनी प्रक्रिया पुरा भए नभएको महत्वपूर्ण हुने उनले बताए । यदि कानुनी प्रक्रिया पुरा नगरी हुने एसियन प्रिमियर लिगमा खेलाडीहरु माथि प्रतिवन्धसम्म लाग्न सक्ने खतरा हुनेछ । भारतमा यस्तै भएको थियो । २००७ देखि ०९ सम्म जीटीभीले इण्डियन क्रिकेट लिग गरेको थियो ।
तर, भारतीय क्रिकेट बोर्ड र अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको सहमति थिएन । त्यही कारण आईसीएल खेल्ने खेलाडीहरुमाथि प्रतिवन्ध नै लागेको  थियो ।

चलचित्र/मनोरञ्जन 

‘मिस एसइइ चितवन’को उपाधि अनुष्कालाई

चितवनमा आयोजना भएको ‘मिस एसइइ चितवन’को उपाधि अनुष्का रानाभाटले पाएकी छिन ।
प्रतियोगितामा सहभागी २८ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले यो उपाधि जितेकी हुन् । अनुष्कालाई मिस चितवन सुमन गुरुङले ताज लगाइदिएकी थिइन् । ‘लिभ एण्ड लिड इन्टरनेशन’ल प्रालिले यो कार्यक्रमको आयोजना गरेको हो । उनले नगद २० हजारसहित उपाधि जितेकी हुन् । यस्तै, फस्ट रनर अप भूमिका आचार्य, सेकेन्ड रनरअप सुजता ढकाल, थर्ड रनरअप करिना श्रेष्ठ र फोर्थ रनरअप स्वेता अर्याल हुन सफल भए ।
उपाधि विजेता अनुष्कालाई अक्सफोर्ड कलेजले प्लस टुसम्मको अध्ययनका लागि छात्रावृत्तिको व्यवस्था समेत गरेको छ । यो कार्यक्रम अब हरेक बर्ष आयोजना हुने आयोजकले बताएको छ ।

हलमा कस्तो बल्यो ‘लाल्टिन’ ?

शुक्रबारदेखि देशभरका हलमा रिलिज भएको चलचित्र ‘लाल्टिन’ले शनिबार राम्रो व्यापार गरेको यसका निर्माता भानु प्रतापले जानकारी दिएका छन् ।
शुक्रबार राम्रै सुरुवात गरेको चलचित्रले शनिबार पनि हलमा दर्शक तानेको निर्माणपक्षले बताएको छ । शुक्रबार र शनिबार दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि आइतबारबाट वर्ड अफ माउथका कारण दर्शक बढ्ने विश्वास गरिएको छ ।
 काठमाण्डौका मल्टिप्लेक्स र सिंगल हलमा शनिबार दर्शकको चाप उल्लेख्य रहेको दाबी निर्माता भानु प्रतापले गरेका छन् ।
चलचित्रका मुख्य नायक दयाहाङ राईले शुक्रबार पत्रकारसँग बसेर चलचित्र हेरेका थिए । नायिका प्रियंका कार्की भने चलचित्रको प्रचारमा देखिइनन् । अनिम श्रेष्ठ, राज केसी र भानु प्रतापले मिलेर यो चलचित्र निर्माण गरेका हुन् । देवकुमार श्रेष्ठ चलचित्रका निर्देशक हुन् । 

लेख 

कोठाको व्यथा ः कसलाई के था ?

सञ्जिता मोक्तान तामाङ
स्थान टियु सेन्ट्रल डिपार्टमेन्ट अफ सोसियोलजीको प्राङगण । हामी ४ र ५ जना साथीहरु कक्षा सकेर घामको न्यानो ताप्दै गफिदै थियौ । त्यसैक्रममा एक जना साथीले सोधिन, ‘तिम्रो तिर कोठा खाली छ ?’ मैले भने, ‘कसलाई चाहियो र ?’ साथीले जवाफ फर्काइन,‘मलाई ।’
अर्की साथीले थपिन, ‘तँलाई कति कोठा चाहिएको, अस्ति भरखर कोठा सर्या होइन, कति चराले गुड सार्या जसरी कोठा सार्या ?’ प्रतिउत्तरमा कोठा आवश्यक परेकी साथीले भनिन, ‘मेरो कोठाको व्यथा तिमीहरुलाई के था ।’
कुरा हो घरबेटी र बहालमा बस्नेको बीचको   सम्बन्ध । घरबेटीले सबै कुराको निगरानी गर्न थालेपछि कसरी स्वतन्त्रताको अनुभूति गर्ने । खाने, बस्ने, सुत्ने, हिड्ने, ट्वाइलेट, वाथरुम आदि सम्पूर्ण कृयाकलापमा घरबेटीको हस्तक्षेप भएपछि त्यो कोठा हुने हो की जेल ?
हो, यस्तै समस्यामा परेकी छिन् उनी । घरको नियम यस प्रकार थियो, भित्ताले सुन्लाकी जसरी विस्तारै हिड्नु पर्ने, भूईमा एक थोपा पानी पनि खसाल्न नहुने, झ्याल ढोका बन्द वा खुल्ला गर्दा आवाज आउन नहुने, कोठामा सँधैभरी कानेखुसी गरेर कुरा गर्नु पर्ने, ठूलो स्वरमा बोल्न नमिल्ने । कोठामा सामान धेरै राख्न नपाइने, आफन्त ल्याउन नहुने, घरभाडा मसान्तको दिन बुझाउनै पर्ने, अझ अग्रिम भूक्तानी गर्नुपर्ने, कोठामा साँझ नपर्दै छिरी सक्नु पर्ने आदि आदि ।
उनले सुरुमा त सर्त मञ्जुर गरिन, किनकी उनलाई कोठा अत्यावश्यक थियो । दिनहरु बित्दै गए तर उनलाई उकुसमुकुस महशुस हुन थाल्यो । जेलभित्रको बन्दी जस्तो आफूलाई महसुस गर्न थालिन् । घरबेटीको रातदिनको कचकच बिग्रिएको रेडियोको भन्दा बढी सुनिन लाग्यो । कहिले यो भयो, कहिले ऊ भयो यस्तै यस्तै आदि इत्यादी । बहालमा बस्दा पनि केही भन्लान की, केही गर्लान की भनि डराएर बस्नु पर्ने बाध्यता थियो । कोठामा बस्नै नसक्ने अवस्था आएपछि अन्तिममा उनी कोठा अन्तै सार्ने निधोमा पुगिन् । उनकै शब्दमा भन्ने हो भने घरबेटीले हिटलरकै रुप धारण गरेपछि उनी अन्यत्र सर्ने निष्कर्षमा पुगेकी थिइन् ।
उनी एक प्रतिनिधि पात्र हुन् । वास्तवमा भन्ने हो भने सहरमा बहालमा बस्नेहरु सबैको कोठाको व्यथा यस्तै यस्तै हुने गर्दछ । थोरैको मुखबाट मात्रै राम्रो छ भन्ने सुन्न पाइन्छ । त्यसमा प्राय घरबेटी र घरको नीति नियम पर्दछ । अधिकाँशले यस्तै समस्या सहेर बस्नु पर्ने बाध्यता छ । यसले के देखाउँछ भने अधिकाँश बहालमा बस्नेहरु धेरै मानसिक पीडाबाट गुज्रिरहेका हुन्छन् ।
बस्नको लागि बास त आवश्यक पर्छ नै । यो बाध्यता पनि हो । आफ्नो घरजस्तो अरुको घर कहाँ हुन्छ र । त्यो स्वभाविक हो । तर कम्तिमा पनि न्युनतम रुपमा मानवीय व्यवहार त गरिएको हुनु पर्यो नी । मानिसले    हरेक कुरामा सम्झौता गर्नुपर्छ । तर त्यो सम्झौता कुन तहसम्म, हदसम्म गर्ने भन्ने कुरा आउँछ ।
प्राय घरबेटीहरुले गर्ने व्यवहार देख्दा लाग्छ, हामी ताल्चा हौँ चावी घरबेटी । उनीहरुले जतिबेला चाह्यो त्यतिबेला हामी खुल्नु पर्छ । हामीलाई खुल्ला छोड्ने वा बन्द गर्ने कुरा उनीहरुको अधिकारको विषय हो । मानौँ कोठा लिएर बस्नेहरु उनीहरुको अनुग्रहमा बसेका छन् ।
टैङ्किमा पानी सकियो वहालवालाई दोष, सेफ्टी ट्याङ्की भरियो वहालवालाई दोष, कतै फोहोर भयो वहालवालाई दोष । मानौ वहालवालाहरु सबै राक्षस हुन, उनीहरुले त्यो स्वर्गतुल्य घरलाई नरक बनाई रहेका छन् ।
अहिले त सहरमा कतिपय घरहरु वहालमा नै लगाउने उद्देश्यले बनाइएको हुन्छ । सकेसम्म साना कोठा, उज्यालो छिरोस् नछिरोस, केही मतलव हुँदैन, छिडिँमा अलिकति ठाउँ निस्किए पनि एउटा कोठा बारी हाल्ने, सुरक्षाको कुरामा कुनै वास्ता छैन । एकजना मान्छे हिँड्दा पनि ठोकिएला की जस्तो प्यासेज, जतिसक्दो धेरै कोठा । त्यस पछि कोठामा मान्छे धेरै भो, सामान धेरै भयो । एकजना बसे यति, दुई जनालाई उति घरलाई पुरै व्यवसाय नै बनाएको अवस्था छ ।
कस्तो मान्छेलाई कोठा वहालमा दिने भन्ने पनि आआफ्नै प्रचलन रहेछ । महिलालाई हत्तपत्त बहालमा राख्न नमान्ने, किनकी महिलाहरु अशुद्ध हुन्छन् रे । पानी बढी प्रयोग गर्छन, फोहोरी हुन्छन, कपाल जताततै झार्छन, लुगा बढी धुन्छन रे । अझ बच्चा भएका महिलाले कोठै नपाउने । बच्चाले हल्ला गर्छ, फोहोर गर्छ, के के हो के  के ? त्यस्तै कोठा खोज्न जाँदा कतिपय ठाउँमा कुन जातको भनि सोधिने रहेछ । कथित ठूलो र सानो जात बीच विभेद कायमै छ । त्यसको मतलव कथित दलित समुदायलाई पनि नराख्ने । किनकी उनीहरुलाई छुन नहुने जातको रुपमा चित्रण गरिन्छ ।
यो लिङ्ग र जातको आधारमा गरिएको विभेद हो कि हैन ? यस्तो विभेद गर्ने माथि दण्ड सजाय गर्ने व्यवस्था  खै । हुन त घर व्यक्तिको सम्पत्ति हो, तर त्यो भाडामा लगाउने भन्ने वित्तिकै सार्वजनिक सम्पत्ति पनि हो । यसमा विभेद गर्नेलाई अहिलेसम्म दण्ड भएको छ त ? हुन त सबै घरबेटीहरु एकै नासका हुँदैनन् । कोही दयालु स्वभावका हुन्छन, सहयोगी पनि हुन्छन् । तर आममा हेर्दा सहयोग गर्ने, समस्या बुझ्ने खालका मानिसहरु कम देखिन्छन् । कतिपयको व्यवहार त निन्दनीय र निकृष्ट खालकै हुन्छ ।
विशेषत नेपालीहरु सामन्तवादबाट पुँजीवाद तर्फ उन्मुख हुँदै गएका छन् । पैसा मुखी मानसिकताले ग्रसित हुँदै गएका छन् । हरेक कुरालाई पैसाँसँग साटिरहेका छन् । त्यसैको परिणाम मानवीय सम्बन्ध सोझै अर्थसँग गाँसिन लागेको छ । हामी आधुनिकतालाई पछ्याउँदैछौँ, तर सामन्तवादी सोचलाई पनि छाड्न सकेका छैनौँ । घरधनी र डेरावालको सम्बन्ध यही नेर जोडिएको छ ।
राज्यले धेरै कुराको मापदण्ड बनाएको छ । तर कोठा भाडामा लगाउने घरको मापदण्ड खै ? कोठामा बस्ने मानिसहरु सुरक्षित हुनु पर्दछ । उनीहरुले आफूले पैसा तिरेर बस्ने कोठामा पाउनु पर्ने आधारभूत सुविधा कम्तिमा के के हुनु पर्ने त्यस बारेमा राज्य बोल्नु पर्दैन ? कोठामा बस्ने मानिसले तिर्नु पर्ने भाडाको निर्धारण र भाडावृद्धि घरबेटीको मुखमा हुन्छ वा त्यसको पनि कुनै वैज्ञानिक आधार हुनुपर्छ । यस बारेमा राज्य बोल्नु पर्दैन ? भाडामा लगाउने घरको कति कोठा बराबर कतिवटा शौचालय हुनुपर्ने त्यो निर्धारण गर्नुपर्दैन ? घरवाहाल कर बाहाल लिए अनुरुपको जम्मा गरेको छ कि छैन, अनुगमन गर्नुपर्दैन ? घरधनीहरु सँधै साँढे भई रहने अनि वहालवालाहरु सँधै वाच्छा नै हुनु पर्ने ?

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

देशहरूसँग सम्बन्धित केही जानकारी......
१.लाल सलामको सुरुवाद गर्ने देश कुन हो ?                               –अमेरिका
२.टाईको प्रचलन कुन देशबाट आएको हो ?                             –फ्रान्स
३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो ?                     –चीन
४.कुन देशमा लामखुट्टे पाइदैन् ?                                         –फ्रान्स
५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो ?                 –स्वीडेन
६.कुन देशमा अखबार कपडामा छापिन्छ ?                                   —स्पेन
७.कुन देशको राष्ट्रिय गान छैन् ?                                –स्वीट्जरल्याण्ड
८.कुन देशमा सर्प पाईदैन् ?                                      –आईस्ल्याण्ड
९.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो ?                            –इजिप्ट
१०.कुन देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा दिइन्छ ?          –स्वीडेन
११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो ?                            –चीन
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो ?                   –चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो ?                  –मेक्सिको
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो ?                         –भारत
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो ?                    –अफगानिस्थान
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो ?                            –भारत
१७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो ?                –नेदरल्याण्ड
१८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो ?                –भारत
१९.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद कहाँबाट भएको हो ?           –फ्रान्स
२०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो ?                       –भारत
२१.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो ?                   –बङ्गलादेश
२२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन हो ?                   –भारत
२३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो ?                       –जर्मनी
२४.०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो ?                               —भारत
२५.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ ?                          –ताइवान
२६.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो ?                 –भारत
२७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो ?                   –जापान
२८.विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो ?                 –भारत
२९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो ?                –ब्राजिल
३०.विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो ?                    –भारत
कुन जिल्लाको के विशेषता...............
झोलुंगे पुलको जिल्ला                        – बाग्लुङ
कफी खेतीका लागि प्रसिद्ध जिल्ला          – गुल्मी
चिया खेतीका लागि प्रसिद्ध जिल्ला           – इलाम
नयाँ नेपाल भनी चिनिने जिल्ला            – बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
ज्वालमुखीको चिन्ह भएको जिल्ला                      – दैलेख
उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला       – धादिङ
माथिल्लो सगरमाथा                             – सोलुखुम्बु, ओखलढुंगा र खोटाङ
महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला                     – पर्सा
महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला                  – मकवानपुर र अर्घाखाँची
नेपालको कान्छो जिल्ला                           – कालिकोट
सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला                  – हुम्ला
५२ पोखरी ५३ टाकुरीको जिल्ला                       – रुकुम
जुनार खेतीका लागि प्रसिद्ध जिल्ला                  – सिन्धुली र रामेछाप
नेपालको मरुभूमि                                 – मुस्ताङ
नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला         – बाग्लुङ
सबैभन्दा बढी विमानस्थल भएको जिल्ला                   – सोलुखुम्बु
तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला               – ओखलढुंगा
सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला                – सिन्धुली
नेपालमा सबैभन्दा बढी
१. सबैभन्दा बढी पटक रक्तदान गर्ने                – प्रेमसागर कर्माचार्य
२. व्यक्तिगत  तर्फ सबैभन्दा बढी कर तिर्ने     – शिद्धार्थ शमशेर राणा
३. सबैभन्दा बढी पानी पर्ने स्थान               – पोखरा लुम्ले
४. सबैभन्दा बढी बिकेको पुस्तक            – मुनामदन
५. बढी जिल्ला भएको अञ्चल                     – बागमती
६. गजुर भएको मन्दिर                            – कृष्ण मन्दिर
७. चरा पाइने क्षेत्र                           – अरुण उपत्यका
८. बढी धर्मावलम्बी                            – हिन्दु

साहित्य/सृजना 

गजल

यो जिन्दगी र कारागार अचेल उस्तै लाग्छ
मलाइ ढुङ्गा र फूलको प्रहार अचेल उस्तै लाग्छ
यहाँ बाँच्ने रहर चराको नि हुन्छ
बनाएर घरबार अचेल उस्तै लाग्छ 
सायद कोही फर्केन्न फेरी बगर सम्झेर 
हँु आखिर खोलीको किनार अचेल उस्तै लाग्छ 
यहाँ चल्दै छ रित अझै बर्षौ अघिको
उस्को जित मेरो हार अचेल उस्तै लाग्छ 
ति बस्यो बस्यो उ मुटुमा,उल्टै जलाइ मेरो
ब्यर्थै भो प्यार अचेल उस्तै लाग्छ ।।।
सलिम अन्सारी
प्युठान

गजल

वैशाखमा हुन लाको चुनाव असारमा हुदैछ
प्रदेशी र स्वदेशीको जम्का भेटमा हुदैछ ।
सत्तामा जानेहरु जुटिरहन्छन होला देशमा,
टुक्रयाउन खोज्नेहरु जैले ब्लेट्मा हुदैछ ।
हार्ने हारको स्वीकार जित्ने धमाका गरी,
अलपत्र जनता आफू होटेलको प्लेटमा हुदैछ
नेता जान्छन दरबार भित्र जनता कुरी कुरी
भोट दिने कोहो कोहो फाइदा हेलमेटमा हुदैछ ।
पाटीको जमात र प्रशंसालाई कोले हेर्छ यहाँ, 
जो भए गएर खानेहरु ऐले आम्लेटमा हुदैछ ।।
निर्पप्रमोद जोशी
खप्तड छान्ना गा.पा. ५
 बझागं

यतै रमाउँला

मौका मिलाई कहिले बानपाखा जाउला
को हो को हो कोईली भाका रमेर सुनौंला
चिरबिर चिरबिर गर्ने चरा हेरौला
काफल टिपी खाउला यतै रमाउला ।
फुर फुर गर्दै पतझरमै हराउला
हास्दै खेल्दै चरा चुरूङगी दंग पारौला
सानो झुपडी हाम्रो खुबै सजाउला
चुथ्रो टिपी खाला यतै रमाउला ।
पाखा पखेराहरू खनिखोर्सी गरौंला
माना पाथी दुबै आफ्नै भरौला
सपना हैन विपना कै खेती गरौंला
ऐसेलु टिपी खाउला यतै रमाउला ।
लोक्तो अल्लो, भाङग्राको बस्त्र बनाउला
चिटिक्कै परी यसैमा हामी सधै सजिउला
गर गहना पनि जोहो यतै गरांैला
गुराँस टिपी शिरमा लाउला यतै रमाउला ।
छिट्को फरिया खदर चोली लगाउला
प्याउली टिपी चिटिक्क शिरको टोपी बनाउला
पटुकी बनाई नागबेली खेलाउला
सुनखरि चाप लाउला यतै रमाउला ।
पतझर सिमसार लेकैमा डुलौंला
चारैदिशा हासी खेली यतै घुमौंला
गिठा भ्याकुर, जमानेमान्द्रो खाउला
मूलको पानी पिउला भो यतै रमाउला ।
घनाघोर जंगल,भेटिन्छ सबथोक खोजांैला
उकालीमा नटुट्ने गरी हात समाउला
भिरकै आडमा फलेनी जुरेकाफल खाउला
कन्थमुलले पेट भरौला भो यतै रमाउला ।
हरेक बोटमा अनेक फुल्छन झुल्छन
नदेखेरै यता उता भौतारिदै डुल्छन
बनपाखामै सुखसयलमा हराउला
आङ ढाक्ने भोक  मेट्ने हो भो यतै रमौंला ।
मन खालेर बात आफ्नै ठाउमा गरौंला ।।
तारा सुनुवार

No comments:

Post a Comment