Tuesday, June 6, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ जेठ २३ गते मंगलबार

सार्वजनिक यातायतमा स्वच्छ प्रतिस्पर्धा कायम गरौं । आपसी सम्झौताका आधारमा आलो पालो प्रणाली (सिण्डिकेट) लगाई उपभोक्ताहरुलाई ठगी गर्ने काम बन्द गरौं र गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

बत्तीस बर्षपछि पनि पुरानै माग

चुनावका बेला मात्रै चर्चामा पाउने सडक


टेकेन्द्र देउवा/डोटी
२२ जेठ
प्रजातन्त्रपछिको पहिलो निर्वाचनमा भोट माग्न गाउँ पसेका नेताहरुसंग सहजपुर–बोगटान–दिपायल सडक निर्माणको माग  राखेका डोटी बोगटानबासी अहिले ३२ बर्षपछि स्थानीय निर्वाचनका लागि भोट माग्ने नेताहरुसंग पनि पुरानै माग तेस्र्याईरहेका छन् ।
बुवा देखि छोराको पुस्तासम्म आईपुग्दा न यस क्षेत्रका बासिन्दाको माग पुरा भएको छ न यहाँ चुनाव लड्ने नेताहरुको चुनावी नारा नै फेरिएको छ । पञ्चायत कालमा सुरु भएको सडकले गणतन्त्र आउँदासम्म पूर्णता पाएको छैन ।
२०४८ सालमा संसदीय चुनाव लड्दा तत्कालीन नेपाली कांग्रेसका सांसद सिद्धराज ओझाले सहजपुर–बोगटान–दिपायल सडक निर्माणलाई नै मुख्य नारा बनाएका थिए । सांसद ओझाले यही सडकको नाराले देशमै सबै भन्दा बढी मतान्तरले चुनाव जितेका पनि थिए । बोगटानीलाई दिएको आश्वासन प्राथमिकतामा नपरेको भन्दै २०४९ सालमा ओझाले सांसद पदबाट राजीनामा नै लेख्नु परेको थियो । यो सडक प्राथमिकतामा पारेपछि उनको    राजीनामा फिर्ता भयो र निर्माणको काम अगाडी बढ्यो । त्यसपछि २०५१ सालमा पनि सहजपुर–बोगटान–दिपायल सडक निर्माण कार्य थालेको भन्दै सिद्धराज ओझाले भोट मागे र निर्वाचन जिते पनि । २०५६ सालको संसदिय निर्वाचानसम्म यो सडकको १८ किलोमिटर ट्रयाक खुलिसकेको थियो । छुट्टै परियोजना कार्यालय डोटीको बिपीनगरमा खोलेर काम थालेको जस लिदै पुनः ओझाले यसै ठाउँबाट तेश्रो पटक पनि निर्वाचन जिते । यसै सडकको आशामा जनताले जिताएका ओझा ३ पटक मन्त्री पनि भए । ओझाको जीवन कालमा १८ किलोमिटर सडक मात्रै बन्यो । अहिले नेता ओझाको निधन भैसकेको छ ।
२०४२ सालमा नै यो सडकको निर्माण कार्य सुरु भैसकेको थियो । ‘सहजपुर–बोगटान–दिपायल सडकले सधै चुनावको समयमा मात्रै चर्चा पाउने गर्दछ’ बोगटान गाउँपालीका–१ का केशव जोशीले भने ‘यस क्षेत्रमा सडक बाटो नबन्दा स्थानीयले दुःख पाएका छन, बाटो बनाउने आश्वासन जस्ले दियो उसैलाई भोट हाल्दछन् ।’
संविधानसभाको पहिलो निर्वाचनमा चुनाव जित्ने तत्कालीन माओवादीका सभाषद खेम बमले अवरुद्ध सहजपुर–बोगटान–दिपायल सडक निर्माणलाई मुख्य नारा बनाएर भोट मागेको बडीकेदार गाउँपालीका–१ का दिर्घ बमले बताए । उनले भने ‘माओवादी द्वन्दको बेला देखि निर्माणको कार्य अबरुद्ध भएको थियो, माओवादीकै उम्मेद्बारलाई स्थानीयले आशा गरि भोट हाले तर उपलब्धी  भएन ।’
त्यसपछि सहजपुर–बोगटान–दिपायल सडक निर्माण आफुले बनाउने भन्दै भोट मागेका नेकपा एमालेका उम्मेद्बार प्रेम बहादुर आलेमगरलाई बोगटानीले भोट हालेर जिताएको पनि बमले बताए । उनले भने ‘संसद आलेबाट पनि गफ बढी उपलब्धी कम भयो ।’ पछिल्लो पटक भौतिक योजना तथा यातायात मन्त्री भएका रमेश लेखकको पालामा बहुबर्षीय योजना सहित परियोजना कार्यालय नै खोलेर काम थालेपछि अहिले नेपाली कांग्रेसका लागि डोटीको बोगटान क्षेत्रमा भोट माग्न सजिलो भएको बिपिनगरका प्रेम देउवाले बताउँछन । 
सहजपुर–बोगटान–दिपायल सडक क्षेत्रमा मात्रै ४० हजारको हाराहारीमा मतदाता रहेका छन् । यो सडक कैलालीको सहजपुर हुदै डोटीको बिपीनगर– बोगटान–दिपायलसम्म जोड्ने योजना छ । सडकको लम्बाई एक सय पाँच किलो मिटर रहेको छ । निर्माण कार्य थालेको ३२ बर्ष पुग्दा समेत ३२ किलोमिटर निर्माण पुरा भएको छैन । बाँकी सडक कहिले निर्माण हुने हो भन्न सक्ने अवस्था छैन ।

सम्पादकीय 

आसंका हटाऊ सरकार

बैशाख ३१ गते हुने पर्ने थियो, सोही दिन भएको भए अहिलेसम्म निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यभार सम्हालिसक्थ्ये । जनताले आफ्ना जनप्रतिनिधिमार्फत सेवा लिईरहेका हुने थिए । त्यो सरेर जेठ ३१ गते भयो । जेठ ३१ मा हुने भएको भए अहिलेसम्म उम्मेद्वारी मनोमयन भएर उम्मेद्वारहरुको अन्तिम नामावली पनि प्रकासन भईक्थ्यो । चुनावको चटारो हुन्थ्यो, राजनीतिक दलहरु र स्वतन्त्र उम्मेद्वारहरु जनमत आफ्नो पक्षमा पार्नका लागि लागिप–रेका हुन्थ्ये । त्यो पनि सरेर असार ९ गते भयो । असार ९ गते भएको भएपनि सायद आजभोलीको दिन उम्मेद्वारी मनोनयनका लागि तयारीमा जटेका हुन्थे दलहरु, त्यो पनि सरेर अव असार १४ मा हुने भयो । यो पनि उधारो जस्तै छ । 
बैशाख ३१ गतेनै चुनाव हुने भनेर तयारीमा लागेका उम्मेद्वा–रहरु टाँट पल्टिने बेला भईसक्यो, लामो समयसम्म चुनाव प्रसार– प्रसारमा लाग्दा उनीहरुलाई पनि पट्यार लागिसक्यो । जुत्ता फाटिसके, खुट्टा थाकिसके । तर यो चुनाव भन्ने चिज त सरेको सरेई भएको   छ । आज होला, भोली होला भन्दाभन्दै हैरान छ । 
अव असार १४ गते हुनेमा पनि न त उम्मेद्वारहरु ढुक्क छन न मतदाताहरु न ही चुनाव गराउने जिम्मेवारी पाएकाहरु । सिंहदरवार आफै पनि ढुलमुलको अवस्थामा रहेको छ । पहिलो चरणमै शान्तिपूर्ण रुपमा निर्वाचन हुन सक्ने सम्भावना हुँदाहुँदै पनि सिंहदरवार, पेरिशडाँडा, धुम्वराही, सानेपा सवैलाई चुनाव सार्ने रहर लाग्यो । त्यसपछि यो सर्ने काम रोक्न निकै गा¥हो भयो । दोश्रो चरणको चुनाव गराउनमा देखिएका समस्याहरुकै कारण छँदाखाँदाको जागिरबाट बिदा लिनु पर्ने अवस्था आयो कसैलाई । आज फेरी सिंहदरवारको कुर्चीको अनुहार फेरिने दिन हो । नयाँ अनुहारले साँझसम्म चुनावको बिषयमा पनि केही न केही त बोल्नै पर्ने अवस्था छ । 
एकातिर असारको महिना, बर्षायाम सुरु भईसकेको छ । खोलानाला छन, मतदाताहरु दुर दराजमा बस्छन । हाम्रा शासकहरुको जस्तो शौच गर्न जानका लागि पनि गाडी प्रयोग गर्न सक्ने अवस्थामा छैनन् मतदाताहरु । उनीहरुले तीन÷चार घण्टा पैदल हिड्नु पर्नेछ, अनि लाईनमा लाग्नु पर्नेछ, मतदान गर्नु पर्नेछ र फर्केर घर पनि पुग्नु पर्नेछ । बाटोमा कति खोला तर्नु पर्नेछ भन्ने कुरा शासकहरुलाई थाह नभएको त पक्कै होईन तर बिर्सेका छन । 
फेरी चुनाव गराउन खटिएकाहरुको अवस्था पनि उस्तै हुनेछ । मतपत्रको सुरक्षा गर्नु छ, निर्वाचन सामग्रीको सुरक्षा गर्नु पर्नेछ, मतपेटिकाको सुरक्षा गर्नु पर्नेछ । यस्तो अवस्थामा कसरी असारमा चुनाव हुन सक्छ भन्ने आसंका गर्नु अस्वभाबिक होईन । 
असारमा खेत रोपेर मात्रै कार्तिकमा भात खान पाईन्छ भन्ने कुरा बुझ्नु पर्ने हो शासकहरुले । एकातिर कृषि प्रधान देश भन्ने अर्कोतिर कृषकहरुलाई “रोपाई छोडेर भोट हाल्न आउ” भन्ने पाराले कसरी सम्वभ हुन्छ । यो एक प्रकारको नाटक मात्रै भएन र ? जेठ ३१ सम्म जसो तसो जनताले स्वीकार गरेका थिए त्यो भएन, ल असार ९ गते रे । त्यो पनि ल ठिकैछ भन्ने हुन्थ्यो अव फेरी असार १४ गते । असार १५ गते सरकारले धान दिवस मनाउँछ । तामझाम निकै हुन्छ त्यो दिन पनि । त्यसका लागि दुई÷तीन दिन अगाडीबाटै जुट्नु पर्ने, भोज भतेर गर्नु पर्ने, कहिल्लै हिलो नदेखेकाहरुले पनि रमाईलो गर्नकै लागि हिलोमा लडिबुडी हुनु पर्ने दिन हो त्यो । असार १४ मा चुनाव भयो भने अव के हुन्छ त ? कसरी धान दिवसको तयारी गर्न पाईन्छ ? 
यि र यस्ता थुप्रै बिषयहरु छन, जसले गर्दा अहिले पनि असार १४ मो चुनावप्रति मतदाताहरु, उम्मेद्वारहरु, दलहरु र सम्वन्धित पक्षहरु सवै शसंकित छन । यस बिषयलाई चिर्नका लागि तत्काल केही गर्नु प¥यो सरकार । चुनावका बिषयमा देखिएका आसंकाहरु तत्काल मेटाउनु प¥यो ।   

थप समाचार 

‘बरु मलाई मार, मेरो श्रीमान्लाई नकुट’ भनेकी थिईन लालीले


रामहरी ओझा÷डोटी
२२ जेठ
‘आण्टी–आण्टी भन्दै ढोका ढक्ढकायो, मैले को हो भनेर सोध्दा ‘म प्रसादे हुँ देशबाट आएँ, ढोका खोल भन्यो, उहाँ सुतेकै हुनुहुन्थ्यो मैले ढोका खोलिदिएँ । ढोका खोल्नासाथ एकाएक चार÷पाँच जना भित्र पसेर उहाँलाई कुट्दै लगे ।’ 
गएको बुधबार मध्येराती आफ्नो घरमा भएको घटना सम्झँदै डोटी दिपायल सिलगढी–८ लडागडाकी लाली आउजी भन्छिन् ‘अव मेरो श्रीमान्लाई मा¥यो यिनीहरुले भन्ने लागेको थियो धन्न बच्नु भयो ।’ लाली भन्छिन् ‘उहाँ (श्रीमान् लालबहादुर) दिपायल जानु भएको थियो, राती ढिलो गरि आउनु भयो, मैले खाना बनाएर सासु र छोराछोरीहरुलाई खुवाए । अनि उहाँ आउनु भयो हामीले संगै खाना खायौं, करीव १२ वजेतिर हामी सुत्यौं ।’ करीव दुई बजेतिर उक्त घटना भएको उनी बताउँछिन । 
‘श्रीमान्लाई नकुट्नु भन्दा मलाई पनि हातपात गरे, मेरो बुढी सासुलाई पनि लछारपछार गरे’ लाली भन्छिन् ‘हाम्रौ घरभित्रबाट नाम्लो लिएर श्रीमान्का हातखुट्टा बाँधेर लगे ।’ आफुले फल्याकमा राखेको मोबाईल समेत उनीहरुले लगेको लाली  बताउँछिन । ‘रोएँ, कराएँ, अनुरोध गरेँ, बरु मलाई मारिदिनु मेरो श्रीमान्लाई केही नगर्नु भने तर पनि मानेनन्’ लाली भन्छिन् ‘म गाडीको अगाडी गएर बाटो छेक्न लाग्दा गाडी चालकले झण्डै च्याप्ला जसो गरि लग्यो ।’  
बुधबार मध्यराती भारतीय प्रहरी टोलीले लालबहादुर आउजीकोको घरभित्र पसी उनलाई कुटपिट गर्दै नाम्लोले बाँधेर लगे । घटनाबारे स्थानीयले जानकारी पाएपछि तत्काल प्रहरीलाई खवर भयो । नजिकै रहेको ईलाका प्रहरी कार्यालयले समेत अपहरणकारी भारतीय प्रहरी चढेको गाडी नियन्त्रणमा लिन सकेन, जिल्ला प्रहरी कार्यालयमा खबर गरियो । जिल्ला प्रहरी कार्यालयले गाडी र अपह–रणकारीहरुलाई नियन्त्रणमा   लियो । 
लामो समयसम्म दक्षिण भारत कर्नाटक राज्यको मेङ्गलौरमा वजारको चौकीदारी गर्ने लालबहादुर २०७३ साल असार १ गते घर पुगेको बताउँछन । त्यसपछि उनी गाउँमा मजदुरी गर्न लागे । एक बर्ष अघि भारत छोडेका उनलाई चार महिनाअघि भारतमा चोरी गरेर आएको भन्दै कर्नाटक प्रहरीको टोलीले उपद्रो मच्चायो । ‘मेरो आठ बर्षको छोरा देवलाई समेत कुटपिट गरे’ लालबहादुर भन्छन् ‘घरदेखि गाडीसम्म मलाई भुईमा घिसारेरै लगे ।’ भुईमा घिसार्दै गर्दा आफ्नो पाईन्ट समेत च्यातिएको र चोट लागेको लालबहादुर बताउँछन । 
‘न मैले चोरी गरेको छु, न मलाई चोरी भएको थाह छ’ उनले भने ‘म एक बर्ष पहिले घर आएँ, चोरी भएको जम्मा चार महिना मात्रै भयो भन्ने सुनिन्छ, अनि म कसरी चोर भएँ ।’ हातखुट्टा बाँधेर गाडीमा राख्दै गर्दा श्रीमतीले प्रतिकार गरेपछि उनलाई पनि मारिदिनु भनेको सुन्दा आफु निकै डराएको लालबहादुर बताउँछन । त्यो घटना सम्झदा आङ सिरिङ्ग गर्दै उनी भन्छन् ‘मलाई त मार्छन नै मेरो श्रीमतीलाई पनि मा¥यो भने मेरा छोराछोरीको के हाल होला भन्ने सम्झेँ !’ 
चालकप्रति निकै आक्रोसित देखिन्छन लालबहादुर । कैलालीको धनगढीबाट आएका चालक राजेश बागचनलाई नेपाल प्रहरीले गाडी रोक्न आग्रह गर्दा समेत नमानेकोप्रति आक्रोस पोख्दै लालबहादुर भन्छन् ‘यस्तालाई कारवाही हुनु पर्ने हो ।’ नेपाल प्रहरीलाई समेत घुस दिन खोजेको तर प्रहरीले हतियार देखाएपछि मात्रै गाडी राकेको लालबहादुर बताउँछन । ‘मलाई प्रहरीले बचायो’ उनी भन्छन् ‘नेपालको प्रहरीले मसंग राम्रो व्यवहार   ग¥यो । 
लालबहादुरलाई त्यतिबेलासम्म पनि जानकारी थिएन उनको कसुर के हो भन्ने बिषयमा । न त भारतीय      प्रहरीको सुराकी बनेर आएका उनकै भतिजा नाता पर्नेले बताउन भ्याएको थिए उनलाई । ‘एकोहोरो कुटपिट भयो, हातखुट्टा बाँधे’ उनले भने ‘गाडी राख्नुभन्दा पहिले मुखमा टेप लगाईदिने, अनि मैले न बोल्न पाएँ न चिच्याउन ।’ जब जिल्ला प्रहरी कार्यालयमा पुगे तवमात्र उनले थाह पाए उनका अपहरणकारीहरु भारतीय प्रहरी हुन भन्ने कुरा । आफुले गर्दै   नगरेको गल्तीको पनि सजाय भोग्नु परेकोमा उनलाई आक्रोस छ । 
उनले अपहरणकारीहरुलाई कारवाही हुने आश लगाएका थिए तर उनी जिल्ला प्रहरी कार्यालयबाट बाहिर निस्कनु भन्दा पहिलेनै भारतीय प्रहरी भारत पुगिसकेका थिए । लालबहादुरको श्रीमतिलाई किच्ला गरि गाडी हुईक्याउने चालक राजेश बागचनलाई पनि कुनै कारबाही नभएकोमा उनी झन खिन्न छन । तर, सुराकी भएर आफ्नो घर देखाउन आएका स्थानीय प्रसाद पार्कीसंग भने उनको कुनै गुनासो छैन । उनी भन्छन् ‘उसलाई धम्काएर ल्याएका रहेछन, यदि उसको घरमा पु¥याईनस् भने तलाई मारिदिन्छु भनेका रहेछन, अनि उसले त आउनै पर्ने भयो ।’ उनी थप्छन ‘उससंग मेरो कुनै गुनासो छैन ।’

सेलायो डोटीमा दोश्रो पटकको ‘हाट बजार’

भूमिराज जोशी÷डोटी
२२ जेठ
पौष महिनाको अन्तिम तिर जिल्ला सदरमुकाम सिलगढीको स्थानीय टुँडीखेलमा र क्षेत्रीय सदरमुकाम राजपुरको खेल मैदानमा नियमित हाटबजार सञ्चालन हुनेगरी बृहत हाटबजार प्रदर्शन कार्यक्रम गरियो । 
जिल्ला स्थित सरकारी, गैरसरकारी कार्यालयका प्रमुख/प्रतिनिधि तथा नेता गणहरुले पनि अबदेखि निरन्तर हाटबजार गर्ने भन्दै भाषणमा प्रतिबद्धता जनाए । क्षेत्रीय प्रशासन कार्यालय दिपायलको पहल र जिल्ला कृषि बिकास कार्यालय डोटीको अगुवाई र बिभिन्न सरकारी, गैर सरकारी र नीजि क्षेत्रको समेत सक्रिय सहभागितामा हाट बजारको सुरुवात गरियो । स्थानीयहरु पनि खुसीले हर्सित भए । तर त्यो खुसी  हप्ता दिन पनि चलेन । 
हप्ताको शनिबार सिलगढीको टँुडिखेलमा र बुधबार दिपायलको राजपुरमा हाटबजार लाग्ने भनेको थियो । सिलगढीमा शनिबार बृहत कार्यक्रम आयोजना गरेको दिन पनि खासै कृषकहरु त थिएन । दोश्रो हप्ता भने, हाटबजारमा २÷३ जना मात्र आए तरकारी बेच्न (स्थानीय टुँडिखेलमा)  तर दुइ/तीन जनाले ल्याएको तरकारी किन्ने पनि ग्राहक आएनन् त्यसपछि डोको बोकेर फेरी बजारमा गइ बेच्नु प¥यो सामानहरु । त्यो पनि धेरै  सस्तोमा । तेश्रो हप्तादेखि बन्द नै भयो हाटबजार । त्यसपछि त्यो बिषयमा कसैले पनि आजाव निकाल्नै छोडे ।
जिल्लामा उत्पादित कृषि सामाग्रीहरु कृषकका लागि बेचबिखन गर्न टेवा पु¥याउने उद्देश्यले जिल्ला कृषि हाटबजार सुरु गरिएको थियो । कुनै कुनै ठाउँमा कृषि उत्पादन बढी भएर सडेको छ, त कहीँ उत्पादन नै छैन । सरोकारवालाहरु भने मौन छन । त्यो बिषयमा कुनै आवाज नै उठाउँदैनन् । नजिकै स्थानीय निकायको निर्वाचन आउदै छ । बढी जस्तो पार्टीका घोषणा पत्रमा भने तरकारी संकलन केन्द्र तथा हाटबजारलाई बढी प्राथमिकता दिएका  छन । निर्वाचन पछि पनि पुरानै स्थिति देखिने निश्चित भएको स्थानीयहरु बताउँछन ।
जिल्ला सदरमुकाम सिलगढीमा सुरु गरिएको हाटबजार उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले भनेका थिए हाटबजार सुरु गर्दा कृषकहरुले आफ्ना उत्पादन गरेका बस्तुहरु सहजै बिक्री गर्न पाउँने छन । ‘अब कृषकहरुले टोलटोलमा गएर आफ्ना उत्पादन बस्तु बेच्नु पर्दैन ।’ ‘निश्चित ठाउँमा उत्पादन बस्तु राखेर बेचबिखन गर्न पाउनु कृषि पेशा र कृषकहरुको मनोभावमा थप टेवा पुग्छ ।’ तर त्यो भाषण गरेको एक हप्ता मै हाटबजार कता हो भन्ने पत्तै लागेन ।
सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका उप–क्षेत्रीय प्रशासक धर्मानन्द जोशीले भनेका थिए, ‘हाम्रो चाँसो र सबै सरोकारवाला निकायको सहयोगले हाटबजार सञ्चालन गरेका छौं ।’ उनले मन्तब्य राख्दै भने, ‘यो त एउटा सुरुवाती मात्र हो । यसलाई हामी सबै निरन्तरता दिन्छौं । कृषकहरुलाई चाहे जस्तै सुबिधा मिलाउने छौं । कृषक दाजुभाइहरुले ढुक्कले उत्पादन गरेको सामान हाटबजारमा ल्याए हुन्छ ।’ आजसम्म पनि कता हरायो तपाँईको हाटबजार ? आम समुदायले पश्न गर्दै आएका छन । क्षेत्रीय प्रशासन कार्यालयको अगुवाइमा सञ्चालन हुने भनिएको डोटी हाटबजारको पहिलो दिन प्रचारप्रसार गर्दा कृषकहरु हाटबजार भन्दै आकर्षित भएक थिए । कृषकका ग्राहकहरु पनि कार्यक्रममा सहभागि भएकाले त्यो दिन ल्याएको सबै सामानहरु बिक्री भयो । कृषकहरु आफूले उत्पादन गरेको कृषि बस्तु दोश्रोपटक पनि बिहानै तोकिएको ठाउँ हाटबजारमा जाँदा दिनभर कोइ आएनन्, कृषकहरुले फर्केर जानु प¥यो ।
त्यस्तै हाटबजारलाई निरन्तर दिनु हामी सबैको दायित्व हो । बरिष्ठ कृषि बिकास अधिकृत डा. तपेन्द्र शाहले भने, ‘सिलगढीमा हाटबजार सञ्चालन भएको थियो, खै कसरी बन्द भयो ? भन्ने हुने  छैन ।’ यसलाई निरन्तरता दिनका लागि ‘कृषक, आम उपभोक्ता र   सरोकारहरुले चाँसो दिनेछौं ।’ सबैले प्रतिबद्धता जनाएको छैटौं महिना सुरु हुँदा पनि हाटबजार  बारे कसैले पनि चाँसो देखाएका छैनन ।

चुनावमा ठूला दलबाटै किनारा लगाईएको समुदाय

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार चयन गर्दा दुई ठुला दलहरुले दलितलाई उम्मेद्वार बनाएका छैनन् । जिल्लामा देशकै ठुलो दल नेपाली कांग्रेस र दोश्रो ठुलो दल नेकपा एमालेले उम्म्दवार चयन गर्दा एक जना पनि दलितको नाम समाबेश गरेका छैनन् । 
दुई नगरपालिका र सात गाउँपालिका गरि डोटीका नौ स्थानीय तहका प्रमुखमा कांग्रेस–एमालेबाट एक जना पनि दलित उम्मेद्वार छैनन् । प्रमुखमा मात्रै होईन उपप्रमुखमा समेत यि दलहरुले दलितको नाम समावेश गरेका छैनन् । दलितहरुको उत्थान र बिकासका लागि दलभित्र दलितहरुको छुट्टै संगठन निर्माण गरेको लामो समय बितिसक्दा पनि ति दलहरुले दलितलाई उम्मेद्वार बनाउन सकेनन् । 
किन यस्तो भयो त ? नेपाली कांग्रेस निकट नेपाल दलित संघका डोटी जिल्ला अध्यक्ष कुमार सिंह टेलर भन्छन् ‘नेताहरुको दलित समुदायप्रतिको दृष्टिकोण बदलिएको छैन ।’ दलित समुदायका व्यक्तिहरु चुनाव जित्न सक्दैन उनीहरुसंग चुनाव लड्नका लागि पैसा हुँदैन भन्ने सोच रहेका कारण यस्तो भएको टेलरको भनाई छ । ‘हामीसंग जनमत छ कि छैन, हामी सक्षम छौं कि छैनौं भन्ने कुरा त टिकट दिएपछि पो थाह हुन्छ’ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका टेलर भन्छन् ‘नेताहरुको मन लाग्यो भने औंठाछाप पनि सांसद बन्न सक्ने तर दलित समुदाय वडाध्यक्ष बन्न पनि सक्षम नहुने भन्ने हुन्छ र ?’ आफुहरुले पनि लामो सयमदेखि राजनीतिमा त्याग गरेको बताउँदै टेलरले भने ‘दलहरुले अहिले पनि दलित समुदायलाई भोट बैङ्कको रुपमा मात्रै प्रयोग गरेका छन ।’ 
नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ती समाजका केन्द्रीय सदस्य गोरखबहादुर सार्की भन्छन् ‘डोटीमा रहेको ५४ हजार दलितको जनसंख्यालाई दलहरुले अन्याय गरेका छन ।’ देशका दुई ठुला दलहरुले नौ स्थानीय तहमा एक उप्रमुखसम्म पनि दलित समुदायबाट ल्याउन नसक्नु दुर्भाग्य भएको उनी बताउँछन । ‘दलितहरु आर्थिक रुपमा कमजोर हुन्छन, यिनीहरुसंग जनमत हुँदैन भन्ने संकुचित मानसिकताबाट ग्रसित छन दलहरु’ नेकपा एमाले डोटी जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका सार्कीले अनलाईन खवरसंग कुरा गर्दै भने ‘अहिलेको अवस्थामा जनताका बिचमा दलित समुदायको परीक्षण पनि हुन्थ्यो ।’ 
‘छरिएको बसोबास भएका कारण दलहरुले दलित समुदायलाई सहजै हेप्न सकेका हुन’ सार्की भन्छन् ‘पार्टी नेतृत्वमा सामन्ती सोँच भएकाहरुको बोलबाला रहुन्जेलसम्म यस्तै अवस्था हुन्छ ।’ 
जिल्लामा हालसम्म उम्मेद्वारी तय गरिसकेका अन्य दुई दलहरु नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले भने दलित समुदायलाई प्रमुख पदमा समेत उम्मेद्वार बनाएका छन । माओवादी केन्द्रले एक नगरपालिकाको प्रमुखमा, एक गाउँपालिकाको प्रमुखमा र दुई गाउँपालिकाको उपप्रमुखमा दलित समुदायबाट उम्मेद्वार बनाएको छ । यस्तै राष्ट्रिय जनमोर्चाले आदर्श गाउँपालिकाको प्रमुखमा दलित समुदायबाट उम्मेद्वार उठाएको छ । अन्य दलहरुले उम्मेद्वारी तय गर्न बाँकी छ । 

छोटकरी समाचार 

राजमोद्वारा बिरोध

भारतीय प्रहरी बिना अनुमति डोटीको लडागडा पुगेको घटनाको राष्ट्रिय जनमोर्चा डोटीले बिरोध गरेको छ । 
गएको बुधबार मध्येराती लडागडाका लाबहादुर आउजीलाई अपहरण गरेको समाचार बाहिर आएपछि राजमोले उक्त घटनाले   राष्ट्रियतामाथी धावा बोलेको भन्दै बिरोध गरेको हो । शनिवार डोटीको पिपल्लामा आयोजना   गरेको पत्रकार सम्मेलनमा राजमोले बर्षेनी यस्ता घटना भईरहँदा समेत सरकार मौन रहेकोप्रति आक्रोस व्यक्त गरेको छ । घटनाको छानबिन हुनु पर्ने राजमोको माग छ । 
यस्तै उक्त घटनाको बिरुद्धमा सो पार्टीले जिल्लाका बिभिन्न स्थानहरुमा बिरोधसभाहरु समेत सम्पन्न गरेको पार्टीका जिल्ला सचिव केशवनाथ योगीले जानकारी दिएका छन ।

स्वयंसेबकलाई तालिम

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले गत मंगलबारदेखि शुक्रबारसम्म २४ जना स्वयं सेबकलाई तालिम दिएको छ । 
अमेरिकन रेडक्रस एबं युएसएडको आर्थिक सहयोगमा सञ्चालित बिपद प्रतिकार्यका लागि सामुदायिक पहल कार्यक्रम अन्र्तगत संकटासन्न समुदायका स्वयंसेबकलाई तालिम दिइएको जिल्ला रेडक्रस सोसाइटीका सभापति लक्षीराम कुँवरले जानकारी दिए ।
शिखर नगरपालिका ४ र ३ का १२ जना र आदर्श गाउँपालिका ३ का १२ जना गरी २४ जनालाई  १ जना कोर्ष संयोजक र ५ जना प्रशिक्षकले प्रशिक्षण गरेको उनले बताए ।

खेल समाचार 

नेपाल पुलिस क्लव फाईनलमा


नेपाल पुलिस क्लवले प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटको एपिएफलाई हराउँदै फाइनलमा प्रबेश गरेको छ ।
कीर्तिपुर मैदानमा सञ्चालित खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लवले एपिएफलाई हराएको हो । वर्षाले प्रभावित भएपछि डकवर्थ लेविस नियमका आधारमा खेलाईएको खेलमा क्लवले निर्धाति ओभरमा ९ विकेट गुमाएर २५२ रन जोडेको थियो । 
सुनिल धमला र अमित श्रेष्ठको ओपनिङ्ग जोडीले ६७ रनको साझेदारी गर्दै पुलिसलाई राम्रो सुरुवात दिएका थिए । ९७ रन बनाउँदा तीन विकेट गुमाएको पुलिसका लागि कुशल भुर्तेलले ५२ तथा सिद्धान्त लोहनीले ४० रन बनाएको थिए । यस्तै दिपेन्द्रसिंह ऐरीले ३७ रन बनाउदा मञ्जित श्रेष्ठले २२ रन थपे । पुलिसले २२ अतिरीक्त रन पाएको थियो ।
जवाफमा एपिएफले २८.३ ओभरमा ६ विकेट गुमाएर १३८ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।
३४ रन हुँदा पहिलो विकेट गुमाएको एपिएफले ६४ रन हुँदा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि थप १२ रन जोड्दा उसले अर्को विकेट गुमायो ।
एपिएफका लागि सन्दीप सुनारले ३६ तथा कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । यस्तै पृथु बास्कोटाले १९ र सुवास खकुरेलले १७ रन जोडे ।
बर्षा नरोकिने देखिएपछि अम्पायरले डकवर्थ लेविस नियमका आधारमा खेल २८ ओभरमा झारे र एपिएफलाई १७३ रनको नयाँ लक्ष्य दिए ।
तर एपिएफले त्यति ओभरमा एक सय ३८ रनमात्र बनाएकाले पुलिस ३४ रनले विजयी भयो । पानीले एपिएफलाई ठूलो घाटा बनायो । उपाधिका लागि पुलिसले आर्मी र पश्चिमाञ्चलबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज मंगलबार हुनेछ ।

आज नेपाल–भारत मैत्रीपूर्ण खेल

एजेन्सी
आज मंगलबार भारतको मुम्बईमा नेपाल–भारत मैत्रीपूर्ण खेल हुँदैछ । 
नेपालको राष्ट्रिय फुटबल टोलीले अँधेरी स्पोटर्स कम्प्लेक्समा भारतीय टोलीसंग मैत्रीपूर्ण खेल हुनेछ ।
एसिया कप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा जेठ ३० गते खेल्दै छ । भारतले पनि सोही दिन घरेलु मैदानमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । छनोट खेलमा नेपाल पहिलो खेलमा फिलिपिन्ससँग पराजित भइसकेको छ । तर भारतले पहिलो खेलमा जित हासिल गरेको छ ।
१२ औं दक्षिण एसियाली खेलकुद बंगबन्धु गोल्ड कप, एएफसी सोलिडारिटी कप उपाधि जित्नु नेपाली फुटबलको पछिल्ला सफलता हुन् । तर पछिल्लो तीन वर्षदेखि फुटबलको घरेलु लिग हुन सकेको छैन। फुटबल व्यवस्थापनले निश्चित लयमा काम गर्न नसकिरहेको बेला नेपाल सुखद नतिजा निकाल्ने लक्ष्यसहित भारत गएको हो । बन्द प्रशिक्षणमा बोलाइएका चार दर्जन खेलाडीबाट प्रशिक्षक ग्याटुको कोजीले राष्ट्रिय टोली छनोट गरेका हुन् । 
पछिल्लो २ वर्षमा राष्ट्रिय टोलीमा सुधार आएकाले जित हासिल गर्ने प्रशिक्षक कोजीले बताए । पछिल्लो समय रक्षक रोहित चन्द थपिएकाले टोली थप बलियो भएको कोजीले बताए ।
राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले पनि भारतसँग खेलबाट थुप्रै नयाँ कुरा सिक्ने अवसर प्राप्त हुने बताए ।   ‘राम्रो खेलको प्रतीक्षामा छौं’ केजीले भने ।

चलचित्र/मनोरञ्जन 

परदेशीपछि गुमनाम प्रशान्त

भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण भएको ‘ईण्डियन आइडल २००७’ को विजेता प्रशान्त तामाङ अहिले गुमनाम भएका छन । 
ईन्डियन आईडल भएपनि प्रशान्तलाई नेपालले मात्र होइन विश्वले चिन्यो । भारतको दार्जीलिङमा जन्मेका प्रशान्त ’ईण्डियन आइडल’ को विजेता बन्नुभन्दा अगाडि देखिनै भारतीय प्रहरीका जवान थिए । तर, कलकत्ता पुलिसले तामाङ ‘इन्डियन आइडल’ भएपछि लामो समयसम्म बिदा बसेको कारण देखाउँदै वर्ष २०७१ मा उनलाई बर्खास्त ग¥यो । त्यसपछि उनले गायनलाई नै प्राथमिकता दिँदै आइरहेका छन् । गायनसँगै अभिनयमा पनि आफ्नो अब्लल अभिनय प्रस्तुत गरेका प्रशान्तलाई अन्तिम पटक फिल्म ’परदेशी’ मा देखिएको थियो तर यसपछि उनले कुनै पनि नेपाली फिल्म साइन गरेका छैनन् ।

पाँच अर्बमा नमुना नेपाल


अनलाईन खवरबाट
३ वटा नमूना बस्ती निर्माण गरि–सकेको ‘धुर्मुस–सुन्तली फाउन्डेशन’ले एउटा महत्वकांक्षी प्रोजेक्टको अवधारणा अगाडि सारेको छ ।
आज काठमाण्डौमा आयोजित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले पाँच अर्ब बजेटमा तयार हुने ‘नमूना नेपाल’को अवधारणा अगाडि सारेका हुन् ।
हिमाल, पहाड र तराइलाई एउटै स्थानमा चित्रित गर्दै बन्ने यो ‘नमुना नेपाल’ निर्माणमा सहयोग गर्न सितारामले सबैसँग आग्रह गरे । उनले भने ‘हामीलाई जग्गा उपलब्ध भएकै दिन हामी शिलान्यास   गर्नेछौ ।
शिलान्यास गरेकै दिन कुन मितिमा निर्माण सम्पन्न हुनेछ भनेर पनि घोषणा गर्नेछौ ।’ ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमूना नेपाल’ भन्ने मूल नारा लिएर यो प्रोजेक्ट निर्माणको अवधारणा अगाडि सारिएको हो ।
उनले सरकारको साथको अपेक्षा गर्दै भने ‘हामीलाई पूर्ण आशा छ, सरकारबाट पनि यो प्रोजेक्ट निर्माणमा साथ मिल्नेछ । यदि, मिलेन भने पनि हामी यो प्रोजेक्ट बनाएरै छाड्छौ ।’
सितारामले यो प्रोजेक्टले नेपालमा रहेको विभिन्न खालको विभेदको अन्त्य गर्ने समेत दाबी गरे । उनले भने ‘हरेक नेपालीले दुई सयका दरले सहयोग गर्नु भयो भने पनि ६ अर्ब उठ्नेछ । विदेशमा रहने नेपालीले दुई हजारका दरले सहयोग गर्नुभयो भने पनि आठ अर्ब बढी रकम उठ्नेछ । हामीलाई विश्वास छ, सबैको सहयोग हामीले पाउँनेछौ ।’
‘नमुना नेपाल’मा हिमाल, पहाड र तराइका आर्थिक अवस्था कमजोर भएका जनताको पहिचान गरि उनीहरुलाई राखिने उनको भनाई थियो । साथमा, उनले नेपाल आएर सबै स्थान घुम्न नसकेका पर्यटकले पनि ‘नमुना नेपाल’ भ्रमण गरेपछि सिंगो नेपाल घुमेको अनुभव गर्ने सुनाए ।
‘नमुना नेपाल’ भित्र वुद्धको जन्मस्थान लुम्बिनीदेखि हिमाल, मोनो रेले, गुब्बा, स्तुपा, खेल मैदान, विद्यालय, संग्राहलय सबै     हुनेछ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै ‘धुर्मुस–सुन्तली’ फाउन्डेशनकी सदस्य कुञ्जना घिमिरेले भनिन् ‘यो मैले केही बर्ष अगाडि देखेको सपना हो । अहिले, यो सपना साकार हुँदै गएको महशुश गरेकी छु ।’ उनले आफ्नी सानी छोरीले पनि नेपाल आमाको सेवा गरुन् भन्ने चाहना व्यक्त  गरेकी थिइन् ।

लेख 
भारतीय प्रहरीको तमासा ः सरकारी पक्षको लाचारीपन  


भारतको पञ्जावमा हत्या गरिएका एक चिकित्सकका अपराधी खोज्दै आएको पञ्जाब प्रहरीको एक टोली गत बर्ष बैशाख १२ गते डोटी र अछामको सिमाक्षेत्र चौखुट्टेमा समातियो । हात हतियार सहितको उक्त टोली भारतीय नं. प्लेटको गाडीमा आाएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले समात्यो । पश्चिमी नाका गयाचौकी भएर सादा पोसाकमा नेपाल पसेका पाँच जना भारतीय प्रहरीलाई अपराधीको व्यवहार होईन सम्मानका साथ राखियो । भारतीय प्रहरी निरीक्षकको कमाण्डमा नेपाल प्रवेश गरि पक्राउ परेको भारतीय प्रहरी टोलीलाई डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले स्कटिङ्ग गरेर सिमा कटाए । 
एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान भेटिएको थियो रे उनीहरुसंग त्यतिबेला । भारत तथा अन्य कुनै पनि देशका सुरक्षाकर्मीहरुले हतियारसहित नेपाल आउजाउ गर्न नपाउने कानुनी व्यवस्था रहेको भएपनि नेपाल प्रहरी र नेपाली सेनाका चेकपोष्टहरु हुँदै करीव तीन सय किलोमिटरसम्म उनीहरुले निर्वाध रुपमा यात्रा गरेका थिए । त्यतिबेला सञ्चारकर्मीहरुलाई कुनै आधिकारिक जानकारी दिईएन । प्रहरी उपरीक्षक देखि तत्कालीन प्रहरी नायव महानिरीक्षकसम्म कसैले पनि मुख खोलेनन् घटनाको बारेमा ।  
हात हतियार तथा खरखजाना ऐन, २०१९ अनुसार कुनै पनि नागरिकले अबैध हातहतियार बोकेर हिड्न पाउँदैन । त्यसरी हात हतियार लिएर हिडेको पाईएमा कम्तीमा सहायक प्रहरी निरीक्षक नेतृत्वको टोलीले गिरफ्तार गरि मुद्धा चलाउने व्यवस्था छ । ऐन अनुसार निज व्यक्तिबाट फेला परेको हतियार नियन्त्रणमा लिनु पर्छ । यसरी हातहतियार सहित हिडिरहेका बेला पक्राउ परेका व्यक्तिलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र मुद्धा हुर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने व्यवस्था छ । यो ऐनले मुद्धा हेर्न अधिकारी प्रमुख जिल्ला अधिकारीलाई मान्दछ । 
तर दुर्भाग्य, डोटीका तत्कालीन प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले उक्त घटनाको बारेमा जानकारीनै पाएनन् । घटनाको बिषयमा कुरा गर्दा उनले भनेका थिए ‘खै मलाई त यसबारेमा केही जानकारी भएन, जानकारी गराउनु पर्ने त हो तर तपाईले फोन गरेपछि मात्रै थाह भयो, के रहेछ म बुझ्छु ।’ उनले यो कुरा भन्दासम्म अभियुक्तहरुलाई उनकै मातहतको हाकिमले सिमा कटाईसकेको थियो । एकातिर सम्वन्धित मुद्धामा मुद्धा हेर्ने अधिकारी अर्कोतिर जिल्ला सुरक्षा समितिको संयोजक पनि, उनको त्यो निरीहपना साँच्चै टिठलाग्दो थियो । उनको भनाईमा बनावटी कुरा थिएन, ग्लानी थियो । हो पनि, जिल्लाको समग्र सुरक्षा व्यवस्था मिलाउने जिम्मा पाएका व्यक्तिलाई आफ्नो सरहदभित्र भएको अपराधको बिषयमा पनि कुनै जानकारी हुँदैन । कस्ता होलान मातहतका हाकिमहरु । 
खैर, त्यो घटनामा यदि मुद्धा चलाईन्थ्यो भने तीन बर्षदेखि ५ बर्षसम्म सजाय र ६० हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । घटनाको बिषयमा व्यापक आलोचना भयो, राजनीतिक दलका जिल्लास्तरका कमिटीहरुले पनि बिज्ञप्तीबाजी गरे, जुलुस प्रदर्शन गरे । तर कुनै फरक परेन । बिभिन्न सञ्चारमाध्यमहरुमा व्यापक रुपमा आलोचनात्मक समाचारहरु, आलेखहरु प्रकाशन तथा प्रसारण भएका थिए त्यतिबेला पनि ।
एक बर्षपछि फेरी त्यहि खोलो फर्कियो । एक भारतीय टोली नेपाली नं. प्लेटको गाडी सहित कैलालीको धनगढीबाट डोटी पुग्यो । भारतीय प्रहरी नायव उपरीक्षकको नेतृत्वको टोली राती २ बजे एक सर्बसाधारण नेपालीको घरमा पुग्छ, जो नेपाली नागरिक नेपालको कानुन अनुसार न त अभियुक्त हो न अपराधी । झुक्याएर ढोका खोल्नु लगाईन्छ, ढोका खोल्ने बित्तिकै गुण्डा शैलीमा भित्र पसेर एक जना निशस्त्र व्यक्तिमाथी निर्घात कुटपिट गरिन्छ । नाम्लोले हात बाँधिन्छ, मुखमा टेप चिप्काईन्छ अनि गाडीमा हालेर लगिन्छ । 
स्थानीय ईलाका प्रहरी कार्यालयले रोक्ने प्रयास गर्दा समेत उल्टै प्रहरीलाई नै किच्ला जस्तो गरि गाडी   हुईक्याईयो । जिल्ला प्रहरी कार्यालयले पनि निकै प्रयास गर्नु प¥यो रे गाडी नियन्त्रमा लिनका लागि । 
यो अपराध हो कि होईन ? यस्ता अपराधीलाई मुलुकी ऐन, २०२० को ‘अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. अनुसार कारवाही हुनु पर्ने हो कि होईन ? तर, त्यसो भएन, गाडी नियन्त्रणमा लिईसकेपछि प्रारम्भिक छानबिनकै क्रममा उनीहरु भारतीय प्रहरी भएको जानकारी प्राप्त भयो, त्यसपछि उनीहरुलाई ‘सैल्युट’    दिईयो । सम्मानपूर्वक व्यवहार गरियो । हातखुट्टा बाँधेर अपहरण गरि ल्याईएका व्यक्तिलाई भने प्रहरीले हिरासतमा राख्यो । भोलीपल्ट समेत अपहरित व्यक्तिका आफन्तहरुलाई भेट गर्न दिईएन । 
मुलुकी ऐन अनुसार अपहरणकारीलाई सात बर्षदेखि १५ बर्षसम्म सजाय र पचास हजार देखि दुई लाखसम्म जरिमाना हुने व्यवस्था छ । अझै यो घटना त दुई वा दुई भन्दा बढी व्यत्तिहरुको संगठित रुपमा गरेको अपहरण  हो । यस्ता अपराधीहरुलाई थप दुई बर्ष सजाय हुने व्यवस्था छ ।
अपहरणकारीहरुलाई प्रहरीले आफ्नै मेशमा लगेर स–सम्मान भोजन गरायो । अपहरित व्यक्तिलाई अप–    राधीको व्यवहार गरियो । त्यहाँ पनि देखायो प्रहरीले आफ्नो चाकरीपन । प्रफुल्लित बनायो मालिकलाई तलैबाट । घटनाबारे जानकारी आउँदा एक÷दुई गर्दै सञ्चारकर्मीहरु जम्मा हुँदै गए । तर प्रहरी अधिकारीहरु भारतीय प्रहरीकै खातिरदारीमा रहे । घटनाबारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराउन आबश्यक ठानिएन । ‘यस बारेमा अनुसन्धान भईरहेको छ, थप कुरा भन्न मिल्दैन’ प्रहरीले यति कुरा भन्दै टाल्दै गयो । समातिएकाहरु भारतीय मुलका हुन कि नेपाली मुलका भन्ने बिषयमा पनि जानका–री दिन मानेन प्रहरीले । अपहरणमा प्रयोग भएको गाडीलाई पुरै त्रिपालले बेरेर राखियो, त्यसको फोटा समेत खिच्न दिईएन सञ्चारकर्मीहरुलाई । सञ्चारकर्मीहरुलाई त्यो गाडीको नम्वर कति हो भनेर पनि जानकारी दिईएन । 
फेरी १३ महिना अगाडिकै नियति डोहोरियो । संयोगले त्यतिबेलाकै प्रहरी प्रमुख यसपाली पनि छन । फेरी स्कटिङ्ग गरेर सिमा कटाउने जिम्मा उनैले पाए । रातोरात लगे उनले यताबाट, ईमानदारिताका साथ । गत बर्ष पञ्जाव प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वको टोली थियो रे, यसपाली कर्नाटक प्रहरीका प्रहरी नायव उपरीक्षक रहेछन । एक बर्षमा हाम्रा प्रहरी प्रमुखले पनि एक तह माथीकाको स्कटिङ्ग गर्न पाए । यसपाली एउटा अर्को पनि फरक कुरा थियो, घटनाको बिषयमा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले पनि समयले जानकारी पाएका रहेछन ।  
१३ महिनाको अबधीका यि दुई घटनाले हाम्रो देशको सुरक्षा व्यवस्था र नेपाल प्रहरीको लाचारीपन छर्लङ्गै छ । यि दुई घटना त रेकर्डमा आए, रेकर्डमा नआएका यस्ता थुप्रै घटनाहरु नहोलान भनेर कसले ग्यारेण्टी गर्न सक्छ ? दुई देशको सिमादेखि तीन सय किलोमिटर टाढा एक गाउँमा गएर राती सुनसान समयमा नेपाली नागरिकलाई अपहरण गर्न सक्ने भारतीय प्रहरीले सिमा क्षेत्र जोडिएका जिल्लाहरुमा कस्तो आतंक मच्चाएको होला भन्ने कुरा सिंहदरवारले अनुमान ग¥यो होला ? सिमा क्षेत्रमा बस्नेहरुको पिडाले पोल्ला त चिल्ला गाडी चढेर तारे होटेलमा मस्ती गर्नेहरुलाई, जनताको मुक्तीका कुरा गरेर नथाक्नेहरुलाई !
‘अपराध अनुसन्धानको क्रममा हामीहरु पनि सिमा पार (भारत) जाने गर्छौं तर फरक यति हो कि हामी अनुमति लिएर जान्छौं उनीहरु अनुमति नलिएरै आए ।’ प्रहरी नायव महानिरीक्षक दज्र्यानी चिन्ह भिरेका व्यक्तिले अनुमति नलिएर नेपाल सरहदभित्र भारतीय प्रहरी घुम्नुलाई सानो कमजोरी सम्झेछन । अझ एक नेपाली नागरिकको अपहरण गर्नुलाई त उनले गन्तीनै मानेका छैनन् । एउटै घटनामा दुई अपराध भएको कुरा ति फुलिवाललाई कस्ले सम्झाईदिने ? कुनै देशको सुरक्षाकर्मीले बिना अनुमति कुनै अर्को देशको सरहदभित्र जानु मात्रै एक अपराध हो । त्यसपछि अपहरण गर्नु अर्को अपराध हो । तर हाम्रा   प्रहरी उच्च पदस्थ अधिकारीहरु यसलाई सामान्य त्रुटी मात्रै देख्दैछन । 
कञ्चनपुरको गड्डाचौकी देखि घटना भएको ठाउँसम्म १४ बटा प्रहरी ईकाईहरु बाटोमा पर्छन । प्रत्येक्ष चेकजँच गरे जस्तो देखिने नेपाली सेनाको टुकुडीहरु पनि सडकमै हुन्छन । सार्वजनिक सवारी साधनहरुमा आउजाउ गर्ने सर्वसाधारणका झोला छामछुम गर्नेहरुले ति भारतीय प्रहरीका झोला छामछुम गरेका रहेनछन ? वा फेरी यो मिलेमोतोमा भएको अपराध हो ? 
सुराकीको रुपमा नेपालीलाईनै प्रयोग गरिनु, नेपालकै गाडी प्रयोग गर्नु, नेपालकै चालक प्रयोग गर्नु र अन्ततः कुनै कारवाही नगरेर सवैलाई ससम्मान बिदाई गर्नु तर अपहरित व्यक्तिलाई अपराधीझैं दुई रात थुनामा राख्नुले यतैतिर संकेत गर्छ । गाडी चालकले आफै डोटीबासी भएर पनि यो घटनाको प्रतिबाद नगर्नु जस्ता कुराहरुले यो घटना छानबिनमा ल्याउनु पर्छ भन्ने देखाउदैन र ? एक सचेत नागरिक कुनै संगठित अपराध भईरहेको देख्छ तर चुपचाप सहयोग गर्छ भने त्यो के हो त ? 
त्यसैले यो घटनाको छानबिन हुनु जरुरी छ । प्रत्येक बर्ष यस्ता घटना हुनुको दोषी को हो भन्ने बिषयमा पनि खोजी हुनु जरुरी छ । घटनाहरु हुँदै जाने, नेपाली जनता त्रसित हुँदै जाने तर सरकार अपराधीहरुलाई सैल्युट ठोक्दै जाने हो भने जनताले कसरी सुरक्षित महसुस गर्ने ? 
मानवअधिकारको बिश्वव्यापी घोषणा पत्र र त्योसंग सम्वन्धित नेपाल पक्ष राष्ट भएका बिभिन्न सन्धि महासन्धि अनुसार प्रत्येक नागरिकको सुरक्षा गर्ने जिम्मा राज्यको हो । सोही अनुसार अनुसार राज्यले आफ्नो संयन्त्र स्थापना गरेको छ । अपराध रोकथाम, अनुसन्धान र तहकिकातको लागि प्रहरीले पछिल्लो समयमा राम्रै भुमिका पनि खेलिरहेको छ । तर, भारतीय प्रहरी आएर नेपालमा अपराध गर्दै जाने अनि उनीहरुलाई सम्मानपूर्बक फिर्ता पठाउने बिषयले नेपालमा लुकेर बसेका अपराधीहरुको मनोबल बढ्छ कि बढ्दैन ? 
त्यसैले डोटीमा भएका यि दुई घटनाहरु र यस्तै प्रकारमा अन्य घटनाहरुको बिषयमा छानबिन गर्नका लागि उच्च स्तरीय छानबिन टोली गठन हुनु जरुरी छ । घटनामा संलग्न नेपाली व्यक्तिहरुको समेत छानबिन हुनु जरुरी      छ । कसरी आउँछन हतियार सहित बिदेशीहरु नेपालमा भन्ने बिषयमा पनि खोजी हुनु जरुरी छ । डोटीको लडागडा पुग्ने प्रहरी टोली सुरक्षाको सम्वेदनशीलता भएका क्षेत्रमा पुग्न सक्दैन भनेर ग्यारेण्टी गर्न सक्ने आधार के हो ? 
त्यसैले तत्काल गृहमन्त्रालयबाट यो घटनाको बिषयमा नागरिकहरुलाई सत्य तथ्य कुराको जानकारी गराउनु आवश्यक छ । हुन त ति अभियुक्तहरुलाई स(सम्मान भारत बुझाउनु पर्ने आदेश गृहमन्त्रीकै हो भन्ने पनि प्रहरी श्रोतबाटै खवर आएको  छ । यदि यस्तो हो भने त्यो भन्दा लज्जास्पद् अरु केही हुँदैन नेपाली जनताका लागि, गृहमन्त्री स्वयंका लागि, कामचलाउ सरकारका लागि र गृहमन्त्री संलग्न रहेको राजनीतिक दलका लागि पनि । चेतना भयो । 

भरतपुरमा च्यातिएको माओवादी निष्ठा


भरतपुरमा मतपत्र कसले च्यात्यो भन्ने प्रश्न अब बाँकी रहेन । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिअन्तर्गत रहेको नेपाल प्रहरीले नै मतपत्र च्यात्ने माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेको सार्वजनिक गरिसकेको छ । प्रश्न माओवादी केन्द्रले कुन उद्देश्यले मतपत्र च्यात्यो र अब के हुन्छ भन्ने मात्र बाँकी   छ ।
पहिलो प्रश्नबाट सुरु गरौं ।
कहिलेकाहीँ मतगणना स्थलमा बसेका कार्यकर्ताले आवेशमा आएर रिसको झोकमा मतपत्र च्यात्न सक्छन् । त्यस्तो कार्य अक्षम्य त हो, तर त्यो अपराधको प्रकृति कम गम्भीर हुन्छ, किनभने त्यसमा मानवीय कमजोरीको अंश धेरै हुन्छ ।
यसपालि भरतपुरमा मतगणनाको अन्तिमतिर आएर जसरी मतपत्र च्यातिए, त्यो काम कुनै एक व्यक्तिले क्षणिक रिसमा आएर गरेको थिएन भन्ने क्रमशः खुल्दै आएको छ । त्यो कार्य माओवादी केन्द्रको संलग्नतामा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतदान फेरि गराउने उद्देश्यका साथ योजनाबद्ध ढंगले गरिएको थियो भन्ने प्रस्ट हुँदै गएको छ ।
मतपत्र च्यातिएको समय हेरौं । भरतपुर महानगरपालिकाको १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातिएको देखिएको छ । त्यो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो । यी दुई वडाको मत गन्न थाल्नु अघि नेकपा एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहालबीच जम्मा ७८४ मतको अन्तर थियो । १९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो ।
आइतबार राति १२ बजेसम्ममा उक्त वडाको थप ४०० मत गनिइसकेको थियो, परिणाम भने सार्वजनिक भएको थिएन । सायद माओवादी केन्द्रले देख्यो, १९ नम्बरको मत गनिसक्दा पनि देवी र रेणुबीचको अन्तर करिब ७०० रहने भयो र यो अन्तर २० नम्बरको मत गन्दा पनि पूरा गर्न सकिन्न । त्यही कारण माओवादीका दुई जना स्थानीय नेता÷कार्यकर्ताले मतपत्र च्याते ।
घटनाक्रम हेर्दा लाग्छ, माओवादीका ठूलै नेताहरु भरतपुरको मतपरिणामलाई नजिकबाट विश्लेषण गरिरहेका थिए । अत्यन्त कडा प्रतिस्पर्धा रहेको भरतपुरमा जब अन्तिम मतपरिणाम आफ्नो पक्षमा नआउने उनीहरुले देखे, षड्यन्त्रको तानाबाना सुरु भयो ।
भनिन्छ, कानुनका नौ सिङ र सय छिद्र हुन्छन् । तीमध्ये एउटा छिद्र उनीहरुले समाते । मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुञ्जेल मतपत्रमा हानि पुगे वा कसैले कब्जा गरे उक्त मतदान केन्द्रमा पुनः मतदान हुने कानुनी व्यवस्था । यही कानुनमा टेकेर वडा नम्बर १९ मा पुनः मतदान गराउने बद्नीयतका साथ माओवादी केन्द्रका नेता, कार्यकर्ताले मतपत्रमाथि हमला गरे ।
१९ नम्बर वडाका सबै मतदान केन्द्रका मतपत्र एकैठाउँ मिसाएर मतगणना भइरहेकाले मतदान बदर हुँदा पूरै वडामा पुनः चुनाव गर्न पाइने माओवादी केन्द्रको दाउ देखिन्छ । भरतपुरमा मतपत्रमाथि माओवादी केन्द्रको हमलाको चोट पक्कै लोकतन्त्रलाई लागेको छ । यसको छिटा भने नराम्रोसँग उनीहरुकै अनुहारमा परेको छ । माओवादी केन्द्रको लोकतन्त्रप्रतिको निष्ठा निरन्तर शंकाको घेरामा थियो र  छ । पछिल्लो दश महिना सरकारमा बस्दा प्रधानमन्त्री पुष्पकमल दाहालले त्यो शंका केही मत्थर पार्न केही राम्रा काम गरेका थिए । विशेषतः मधेशी पार्टीलाई पनि संलग्न गराएर २० वर्षदेखि नभएको स्थानीय चुनाव सम्पन्न गर्न उनले धैर्यपूर्वक जुन भूमिका खेले, त्यसले दाहाल स्वयं र उनको पार्टीको पनि विश्वसनीयता बढायो । त्यसको अर्थ माओवादीमाथिको शंका सकियो भन्ने हैन । यस्ता धेरै ‘दश महिना’ जोडेर मात्र लोकतन्त्रप्रतिको माओवादीको विश्वसनीयता स्थापित हुन्छ ।
तर हामीले यति भन्नैपर्छ, प्रधानमन्त्री दाहालको पछिल्लो दश महिने कार्यकाल विश्वसनीयतातर्फको बलियो पाइला थियो । भरतपुरमा माओवादी आफैंले फेरि एकपटक मतपत्रसँगै पार्टी र दाहालको विश्वसनीयता च्यातेका छन् । पछिल्लो संविधानसभा चुनावमा लज्जाजनक हार बेहोर्ने पक्का भएपछि मतपरिणाम स्थगित गर्न माग गर्दै माओवादी पार्टीले मध्यरातमा जारी गरेको वक्तव्य नागरिकको मस्तिष्कमा फेरि ताजा भएको छ ।
लोकतन्त्र मान्छु भन्नुको पहिलो सर्त नै जनमत मान्छु भन्नु हो । माओवादी पार्टी लोकतन्त्रको पहिलो सर्तमै फेरि एकपटक अनुत्तीर्ण भएको छ । जहाँसम्म अब के गर्ने भन्ने प्रश्न छ, त्यसमा हामी प्रस्ट छौं—कानुनका छिद्रमा टेकेर लोकतन्त्रमाथि प्रहार गर्ने कार्यले प्रश्रय पाउनु हुन्न । सबैभन्दा राम्रो, यसलाई माओवादी पार्टी आफैंले सच्याउनु पर्छ । अहिलेसम्म प्रधानमन्त्री दाहालको लाज ढाक्ने ठाउँ छ । मतगणना अघि बढाउन निर्वाचन आयोगलाई अनुरोध गरेर दाहालले भरतपुरमा आफ्ना नेता÷कार्यकर्ताले गरेको उपद्रोहको आफूलाई अग्रिम जानकारी थिएन भन्ने सन्देश दिन सक्छन् ।
यति धेरै तथ्य बाहिर आइसकेपछि प्रधानमन्त्री दाहालले पनि उनको पार्टीको भरतपुर जिल्ला इकाइले झैं वडा नम्बर १९ मा पुनः मतदान मागे भने यो काण्डमा उनको पनि संलग्नता वा सहमति थियो भन्ने अनुमानको पुष्टि हुनेछ । आफ्नी छोरीलाई जिताउन लोकतन्त्रमाथि यत्रो घात गरेको पुष्टि हुँदा उनको विश्वसनीयता धेरै लामो समय संकटमा पर्नेछ ।
भरतपुरको चुनावमा एमाले र माओवादी केन्द्र मात्र दुई पक्ष हैनन् । मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस पनि भरतपुर महामगरमा माओवादी पार्टीसँग चुनावी गठबन्धनमा छ । चितवन जिल्ला कांग्रेसले पनि पत्रकार सम्मेलन गरी त्यो वडामा पुनः निर्वाचन हुनुपर्ने माग गरेको छ । हामीलाई आशा छ, कांग्रेसले भरतपुरमा मेयरको सिट मात्र माओवादीलाई छाडेको हो, आफ्नो इमान र लोकतन्त्रप्रतिको निष्ठा पनि उसैको पोल्टोमा छाडेको हैन ।
कांग्रेसले आफ्नो सत्ता र चुनावको सहयात्री दललाई सम्झाओस, भरतपुर काण्ड बेलैमा सल्टाएनन् भने त्यो उनीहरुका लागि महँगो पर्नेछ । जुन दलले जनमतको कदर गर्दैनन्, तिनलाई दोस्रो चरणमा मतदाताले मत दिनुपर्ने कुनै कारण रहने छैन ।
यो काण्डमा निर्णय लिने अन्तिम अधिकारी निर्वाचन आयोग हो । उसले छानबिन समिति पनि बनाइसकेको छ । कानुनका छिद्रमा टेकेर जनमतमाथि प्रहार गर्ने दुष्प्रयासलाई निर्वाचन आयोगले बेलैमा निरुत्साहित गर्न सकेन भने यसले गलत नजिर बसाल्नेछ, यस्ता उपद्रोह दोहोरिरहने छन् । त्यसैले आयोगले माओवादी केन्द्रलाई गलत हर्कतका लागि नसिहत दिँदै मतगणना चाँडै अघि बढाओस् ।
(सेतोपाटी अनलाईनमा २०७४ साल जेठ २१ गते आईतवार प्रकाशित सम्पादकीय टिप्पणी ।)

शिक्षकसेवा आयोगको तयारीका लागि उपयोगी 

.......क्रमशः
२००९ मा रुद्रराज पाण्डेको अध्यक्षतामा गठित राष्ट्रिय शिक्षा बोर्डको सिफारिश अनुसार २०१० चैत्र ९ मा ४६ सदस्यीय राष्ट्रिय शिक्षा योजना आयोगको गठन, उक्त आयोगले नेपालमा शिक्षा नामक प्रतिवेदन २०११ फागुन १६ मा पेश गरेको ।
नेपालमा शिक्षा नामक प्रतिवेदनका प्रमुख सिफारिशहरु ः
— ५+५+४÷७ को शिक्षाको संरचना, सन् १९८५ सम्ममा निशुल्क अनिवार्य प्राथमिक शिक्षा उपलब्ध    गराउने बहुउद्देश्यीय माध्यमिक शिक्षाको व्यवस्था राष्ट्रिय विश्वविद्यालयको स्थापना प्रौढहरुका लागि प्रौढ शिक्षाको व्यवस्था, नेपाली भाषाको माध्यमबाट पठन पाठन
माध्यमिक विद्यालय शिक्षक, प्र.अ., शिक्षा निरीक्षक र शिक्षा प्रशासक तयार गर्न कलेज अफ एजुकेशन २०१३ साल भाद्र २४ मा स्थापित, १ वर्षे, ३ वर्षे तथा ४ वर्षे बी. एड. कार्यक्रम सञ्चालन    गरेको । २०२९ देखि राष्ट्रिय शिक्षा पद्धतिको योजना प्राविधिक उच्च शिक्षातर्फ लागू भएपछि यो त्रि वि वि शिक्षाशास्त्र अध्ययन संस्थान अन्तर्गतको क्याम्पस बन्न गयो ।
२०१६ आषाढ ११ मा त्रिभुवन विश्वविद्यालयको स्थापना, प्रथम कुलपति कान्ति राज्यलक्ष्मी देवी  शाह । २ वर्षसम्म पटना विश्वविद्यालयकै पाठ्यक्रम बमोजिम सञ्चालन भएपछि २०१८ देखि आफ्नै पाठ्यक्रम तर्जुमा गरी पठनपाठन शुरु ।
नेपालको शैक्षिक इतिहास (आम निर्वाचन र पञ्चायतको पूर्वाद्धमा)
२०१७ सालको राजनैतिक परिवर्तनपछि अनुकूल शिक्षाको व्यवस्था गर्न तत्कालिन शिक्षामन्त्री विश्वबन्धु थापाको अध्यक्षतामा १२ सदस्यीय सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको गठन, २०१८ बैशाख २५ मा, समितिले २०१८ असार १५ मा आफ्नो प्रतिवेदन पेश गरेको । यसका प्रमुख सिफारिशहरु निम्नानुसार रहेका—
— सम्पूर्ण देशमा एकै प्रकारको शिक्षा पद्धति (५+६+३ को शिक्षाको संरचना) लागू गर्नुपर्ने र शिक्षाको माध्यम एकै हुनुपर्ने, शिक्षालाई देश, समाज र व्यक्तिको निमित्त सबै दृष्टिबाट उपयोगी बनाउनु पर्ने, प्राथमिक शिक्षालाई सम्पूर्ण देशभर निःशूल्क एवं अनिवार्य गर्नुपर्ने, व्यवसायिक तथा प्राविधिक शिक्षातर्फ विशेष ध्यान दिनुपर्ने, संस्कृत शिक्षालाई प्रोत्साहन गर्न साधारण शिक्षामानै समाविष्ट गराउने, संस्कृत लिने
छात्रहरुसँग शूल्क नलिने र सकेसम्म छात्रवृत्ति उपलब्ध गराउने, समाजका प्रत्येक अंगलाई साक्षर बनाउन समाज शिक्षाको व्यवस्था गर्ने, देशका सारा शिक्षण संस्था उपर सरकारको नियन्त्रण हुनुपर्ने, शिक्षण संस्था र त्यसबाट प्राप्त हुने उपाधि एवं नामाकरण आफ्नो संस्कृति एवं परम्पराको अनुरुप गर्ने 
— प्राथमिक विद्यालय पास — प्रथमा,
— माध्यमिक विद्यालय पास — मध्यमा, 
— स्नातक पास — स्नातकशास्त्री, 
— स्नातकोत्तर — आचार्य आदि)
— उच्च शिक्षाको क्रममा पनि परिवर्तन ल्याउने र त्यसलाई सुगठित बनाउने (उच्च शिक्षा तर्फ एकै प्राध्यापकले दुइ तीनतिर काम गर्न पाउने व्यवस्थाको अन्त हुनुपर्ने )
( ग्ल्भ्क्ऋइ को सहयोगमा ओरेगन विश्वविद्यालयका प्राध्यापक डा. ह्युग बी. उड र नालको दलले शिक्षा विकासको निमित्त व्यावहारिक सुझावहरु पेश गर्न टोली गठन २०१८ पौषमा, यसले चलिरहेका विविध प्रकारका शिक्षाको विस्तार वन्द गर्ने, प्राथमिक तहमा १ः२५ देखि १ः३० र माध्यमिक तहमा १ः२० देखि १ः२५ शिक्षक विद्यार्थी अनुपात कायम राख्ने, आर्थिक स्रोत पुग्दो नहुञ्जेल ६ वर्षको लागि माध्यमिक
शिक्षा स्थगित राख्ने, शिक्षण विधि र शिक्षण सामग्रीको
२०२६ कार्तिक १४ मा बासुदेव ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय रााष्ट्रिय शिक्षा सल्लाहकार     परिषद्को पुनः गठन, शिक्षा प्रशासनको व्यवस्था उपयुक्त नभएको, शिक्षाको कार्यक्रम योजनाबद्ध नभएको, हाल विनियोजित रकमबाट सिफारिसहरु लागु गर्न नसकिने मुख्य रायहरु प्रस्तुत गरेको, प्रतिवेदनको   कारवाही हुन नपाउँदै २०२८ बैशाख ५ मा राष्ट्रिय शिक्षा समितिको गठन भएपछि औचित्यहीन भएको ।
२०१७ मा जिल्ला शिक्षा निरीक्षकको व्यवस्था, २०१८ मा अञ्चल शिक्षा अधिकारीको व्यवस्था 
२०२७ सालमा अञ्चल शिक्षा अधिकारी कार्यालय खारेज भएका), 
२०२१ मा पूर्वमा धरान तथा पश्चिममा पोखरामा प्रमुख शिक्षा अधिकारीको व्यवस्था भई २०२५ मा खारेज गरिएको ।
२०२३ मा बागमती, नारायणी र गण्डकी ३ अञ्चलका २० जिल्लामा प्राथमिक विद्यालयमा पढाउन चाहने वा शिक्षक बन्न चाहनेले शिक्षण अधिकारपत्र लिनुपर्ने व्यवस्था लागु भयो
सिमित व्यक्ति वा संस्थालाई अति गोप्य तरिकाले योजनाको मस्यौदा तयार गरी राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८—२०३२) तयार गरिएको, योजना लागू गर्नका लागि शिक्षा ऐन २०२८ को तर्जुमा भई चरणबद्ध रुपमा लागू गरिएको
२०३५ सालमा रेडियो शिक्षा शिक्षक तालिम आयोजनाको स्थापना, २०३७ सालदेखि रेडियो तालिम कार्यक्रम शुरु, २०५० श्रावण १ मा दूर शिक्षा केन्द्रको स्थापना 
२०३९ भाद्र १ मा रणधीर सुब्बाको अध्यक्षतामा ५ सदस्यीय शाही उच्च शिक्षा आयोगको गठन, उच्च शिक्षामा सीमित रही गठन गरिएको यो पहिलो आयोग, आयोगका मुख्य सुझावहरु ः
— उच्च शिक्षासम्बन्धी नीति निर्माण र अन्य काम गर्न उच्चस्तरीय राष्ट्रिय निकायको व्यवस्था गर्नुपर्ने, 
— त्रिविविको केन्द्रीय प्रशासनिक संरचनामा परिवर्तन गर्नुपर्ने 
— क्याम्पस प्रमुखको पद सावधिक नराखी स्थायीरुपमा नियुक्त गर्ने आदि

साहित्य/सृजना 

मेरो देश

आफ्नै मुटुमा चिरा पर्दा ढलेको छ मेरो देश
वजारिएर संरचना छरिदै गर्दा गलेको छ मेरो देश 
संसार हाक्ने बिर गोर्खाली वहादुरका आँखावाट 
आँशु झरेका वेला एकाएक थला परेको छ मेरो देश 
न बिज्ञानले रोक्न सक्छ न त धर्मशास्त्रले नै 
हो यही दैविक बिपत्तिमा रहेको मेरो देश 
जुट्नुर्छ ईन्जिनियरहरुले बढाउनुछ राष्ट्र
गर्नुछ सहकार्य जियोलोजिष्टसंग कमजोर भएको छ मेरो देश 
साहित्यकारले लेख्नेछन कथा, क्यानभासमा उतार्नेछन कलाकारले 
उठाउनेछन इन्जिनियरले अव डुवेको छ मेरो दश 
मनका भारी बिसाउँ कहाँ देखिएन केही कतै 
चल्दैछ कलम रंगिदैछ डायरी पिडामै जलेको छ मेरो देश 
हिजो देशी बिदेशीका म्यामरामा वाहै गरि पसेको 
ओहो भनि नयाँ क्यामेरामा आज बसको छ मेरो देश 
पाठ्यक्रम हेरफेर संरचना निर्माण होस वा अरु कुनै 
परिवर्तन हुनुपर्छ जुन तितो इतिहासमा चलेको छ मेरो देश 
पलाएन किन हुने ? ए नेपाली जनशक्तहिरु 
अघि बढाउनुछ अव पछि सरेको मेरो देश
दिपेन्द्र वोहरा 
बेलापुर–डडेल्धुरा  

गजल

बिद्युत कहिले पुग्ला सडक कहिले पुग्ला ?
कृषि क्षेत्रमा कृषकको हक कहिले पुग्ला ??
आखिर सुन्न सक्ने त रेडियोले बनाएको छ
अब सुदूरको चेहरामा चमक कहिले पुग्ला ??
खप्तड, अपि सैपालहरु बाटो हेरि बस्छन
हामीलाइ हेर्न यहाँ पर्यटक कहिले पुग्ला ??
दुब्ला राख्छन एकातिर मोटा एकातिर
तराजुमा समानताको ढक कहिले पुग्ला ??
बिद्युत्मा रैका 
अछाम

पाईन्छ

आजकाल मायालु बजारमा पाईन्छ
सुर्ता नगर छानी छानी हजारमा पाईन्छ
अचम्मित हुनेछौ विश्वास नै गर्दैनौ
रुपवती छ्याप–छ्याप्ती करारमा पाईन्छ
थरिथरि स्वादको अपेक्षा गर्छौ भने
पार्टीभित्रको त्यो चमत्कारमा पाईन्छ
हिमाल चढ वा मान्छको बुइ चढ
बहुमूल्य तक्मा सरकारमा पाईन्छ
कसैको पूर्ण–विवरण जान्नु छ भने
विस्तृत जानकारी समाचारमा पाईन्छ ।
प्रतिक्षा सानु 
सुख्खड कैलाली

सूचना/सन्देश/बिज्ञापन


No comments:

Post a Comment