Monday, June 19, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ असार ६ गते मंगलबार

सरोकारबाला निकायहरुलाई अपाङ्गता भएका ब्यक्तिहरुको सबालप्रति चासो लिने र जबाफदेही बनाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

६ दलद्वारा उम्मेदवारी दर्ता, दुई स्वतन्त्र


रामहरी ओझा/सिलगढी
४ असार
आसन्न स्थानीय तहको निर्वाचनमा डोटीका स्थानीय तहहरुमा ६ राजनीतिक दलहरुले उम्मेदवारी दिएका छन । दुई स्थानीय तहको प्रमुखमा स्वतन्त्रको उम्मेदवारी परेको छ । 
जिल्ला निर्वाचन कार्यालय, डोटीमा नौ राजनीतिक दलहरु दर्ता भएका भएपनि ६ दलले मात्रै उम्मेदवारी दिएका छन । दुई नगरपालिका र सात गाउँपालिका गरि नौ स्थानीय रहेको जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जिल्लाका सवै स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन । राष्ट्रिय जनमोर्चाले केआईसिंह गाउपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा र ५ स्थानीय तहमा अध्यक्ष पदमा मात्र उम्मेदवारी दिएका छन् । राप्रपा नेपालले पाँच स्थानीय तहमा अध्यक्षमा उम्मेदवारी दिएको छ । नयाँ शक्तिले पूर्वीचौकी गाउपालिकामा मात्र प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन । 
दिपायल सिलगढी नगर–पालिकामा सात जनाले मेयरमा र तीन जनाले उप मेयरमा उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले जानकारी दिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार बाजी सिं खड्का ‘बिजय’ र प्रसिस महराले क्रमशः मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका छन् । एमालेका उम्मेदवार मञ्जु मलासीले मेयर र उपमेयरमा शिवराज खड्काले मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिकामा प्रेम नेपालीले मेयरमा र तुलसी सोपले उप मेयरमा उम्मेदवारी दिएका छन् । दिपायल सिलगढी नगरपालिकामा त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको छ । सुदूरपश्चिमका पुराना नगर–पालिकाहरुमध्यको दिपायल सिलगढी नगरपालिकामा संघीय समाजबादी फोरमका श्री चन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका नरेश आले र राप्रपाका कर्ण द्वारियाले पनि मेयर पदमा उम्मेदवारी दिएका छन् । 
शिखर नगरपालिकामा पाँच दल र एक स्वतन्त्रले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट मेयरमा  सीताराम जोशी, उपमेयरमा धौली रावल, एमालेबाट मेयरमा शेर बहादुर मल्ल, उपमेयरमा राधिका बोहरा, माओवादी केन्द्रबाट मेयरमा रमेश जोशी ‘शैपाल’, उपमेयरमा चन्द्रा साउद बोहरा, राष्ट्रिय जनमोर्चाबाट मेयरमा बेणीमाधव जोशी र राप्रपाबाट मेयरमा लालवहादुर शाहीले मनोनयन दर्ता गराएका छन् । राजप्रसाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 
जोरायल गाउपालिकामा पनि चार दलले मनोनयन दर्ता गराएका छन् । कांग्रेसबाट दिपक बिष्ट र भावना बम ओझाले अध्यक्ष र उपाध्यक्षमा मनोनयन दिएका छन् भने एमालेबाट दुर्गा ओझा र जमुना बोहराले अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता   गराएका छन् । माओवादी केन्द्रबाट छबि ओलीले अध्यक्षमा र अनिता मल्ल देउबाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमोर्चाले रमेश अवस्थीलाई अध्यक्षमा मनोनयन दर्ता गरेका छन् । 
सायल गाउपालिकामा कांग्रेसबाट धर्मराज जोशीले अध्यक्ष र पुर्णमाया थापा बिष्टले उपाध्यक्षमा मनोनयन गरेका छन् भने एमालेबाट तेज बहादुर डुम्रेल र बिष्ना सिहले क्रमशः अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका तर्फबाट बल बहादुर ओलीले अध्यक्ष र उपाध्यक्षमा रेखा मडै साउदले उम्मेदवारी दिएका छन् ।
यस्तै बड्डीकेदार गाउपालिकामा चार पार्टीले उम्मेदवारी दिएका छन । अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट कृष्णबहादुर चन्द, नेकपा एमालेबाट भक्तवहादुर साउँद, नेकपा माओवादी केन्द्रबाट जंग बिक र राप्रपाबाट तुलाराम मटेलीले उम्मेदवारी मनोनयन गरेका छन । उपाध्यक्षका लागि काग्रेसवाट ईन्द्रा बोहरा (भाट), एमालेबाट भुवन मल्ल, माओवादी केन्द्रबाट धनमाया घर्तिमगर र  राप्रपाबाट ईन्द्रा बोहराले उम्मेदवारी दिएका छन ।
आदर्श गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा लक्ष्मणबहादुर सिंह, उपाध्यक्षमा कृष्णा ओझा, एमालेबाट अध्यक्षमा टेकवहादुर रोकाया र उपाध्यक्षमा कमला ओझा, माओवादी केन्द्रबाट अध्यक्षमा भरत वोहरा (योगेन्द्र) र उपाध्यक्षमा सञ्जा रोकाया र राष्ट्रिय जनमोर्चाबाट रमेशम नागरी अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । राप्रपाका कुल प्रसाद ओझाले अध्यक्षमा मनोनयन दिएका छन् । चन्द्रनाथ ओझाले अध्यक्ष पदमा स्वतन्त्र    उम्मेदवारी दिएका छन् । 
कांग्रेसबाट बोगटान गाउँपालिकामा दिल बहादुर बम र बिष्ना बलमे अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने एमालेबाट टेक बहादुर बम र भगवती बमले अध्यक्ष र उपाध्यक्षमा, माओवादी केन्द्रबाट कमल गड्सिला र चन्द्रादेबी भुलले अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन् । बोगटान गाउँपालिकामै राष्ट्रिय जनमोर्चाका धर्म सिंह बमले अध्यक्षमा उम्मेदवारी दिएका   छन् । 
केआईसिंह गाउपालिकामा कांग्रेसबाट लोकेन्द्र शाही र मीना बिष्टले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । एमालेबाट यज्ञराज जोशीले अध्यक्ष र निर्मला जोशीले उपाध्यक्ष्ँमा मनोनयन दिएका छन् । माओवादी केन्द्रबाट भने सिद्धराज भाटले अध्यक्षमा र शारदा बिकले उपाध्यक्षमा, राष्ट्रिय जनमोर्चाका मीन मलासीले अध्यक्ष र हरिना भण्डारीले उपाध्यक्षमा मनोनयन दर्ता दिएका छन् । राप्रपाबाट टेक बहादुर रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । 
पूर्वीचौकी गाउपालिकामा कांग्रेसबाट राम प्रसाद उपाध्यक्षले अध्यक्ष र माया कुँवरले उपाध्यक्षमा मनोनयन दर्ता   गराएका छन् । एमालेबाट दिर्घ बोगटी र निर्मला साउदले अध्यक्ष तथा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट भने यज्ञराज गिरी र सगुनी कोली । नया शक्ति नेपालबाट जगु बिष्टले अध्यक्ष र जमुना थापाले उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।


सम्पादकीय

आचार कि अचार सरकार !

स्थानीय तहको निर्वाचन अन्तरगत दोश्रो चरणको निर्वाचन यही असार १४ गते हुन गईरहेको छ । फ्याटफुट घटना बाहेक पहिलो चरणको निर्वाचन सफलतापूर्वकनै सम्पन्न भएको हो । अहिले दोश्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा देशका तीन प्रदेशहरु रहेका छन । अव मतदान हुनका लागि जम्माजम्मी ८ दिन मात्रै बाँकी     रहेका छन, त्यसैले निर्वाचन प्रचार प्रसार तिव्र रुपमा हुनु जरुरी पनि छ र भईपनि रहेको छ । 
लोकतान्त्रिक अधिकार प्राप्त गरेर राजनीतिक दलहरुले जनतासंग आफ्नो पक्षमा मत माग्नु स्वाभाविकै हो । मर्यादाभित्र रहेर बिरोध गर्न पाउने अधिकार पनि सबैलाई छ तर अहिले भईरहेको समर्थन वा बिरोध अपाच्यनै हो कि ! दलहरुले पनि यस बिषयमा सोच्नु जरुरी छ । 
नेपालमा चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगले निर्वाचन आचार संहिता पनि जारी गरेको छ । तर, गतिबिधिहरु हेर्दा त्यो संहितामा रहेका प्राव्धानहरु सम्वन्धित पक्षले अचारको रुपमा बुझेछन । आचार संहिता भनेको पालना गर्नका लागि हुन्छ तर ‘अचार’ खानासंगै खानका लागि हुन्छ । आचार संहितामा सम्वन्धित सवै पक्षहरुले यो आचार संहितालाई अचारकै रुपमा प्रयोग गरेको देखिएको छ । 
उच्च ओहोदामा रहेको सरकारी कर्मचारीहरु खुल्याम रुपमा कुनै दलको वा कुनै उम्मेदवारको खुल्याम रुपमा प्रचार गर्दै हिडेका छन, खुल्याम रुपमा बिरोध गर्दै हिडेका छन । आफुलाई स्वतन्त्र र निश्पक्ष पत्रकार घोषणा गर्नेहरु पनि कुनै दलको वा कुनै उम्मेदवारको पिछलग्गु भएर सामाजिक सञ्जालबाटै अभिव्यक्तिहरु, निर्वाचन प्रचार सामग्रीहरु पोष्ट गरिरहेका छन, कर्मचारीहरु, शिक्षकहरु, पत्रकारहरु जुलुसमा सहभागि भएका छन, भाषण गरेका छन तर आचार संहिताको अनुगमन गर्ने पक्ष कुम्भकर्ण निन्द्रामा छ । 
तिनै व्यक्तिहरु अहिले पार्टीका झोले भएका छन, तिनै व्यक्तिहरु असार १४ गते निर्वाचन आयोगका निश्पक्ष कर्मचारी भएर मतदान सम्पन्न गराउनेछन र मत गणना गराउनेछन । त्यतिवेला तिनिहरुले गर्ने भुमिकालाई कसरी जनताले बिश्वास गर्लान ? के यही हो त निश्पक्ष निर्वाचन ? के यही हो त आचार संहिताको परिपालन ? के यही हो त अनुगमन ? कि त साना दलहरुले वा स्वतन्त्र उम्मेदवार–हरुका लागि मात्रै आचार संहिता हो भन्न सक्नु पर्छ, होईन भने सवैलाई कस्न सक्नु पर्छ । 
तोकिएको प्रक्रिया बिपरित सवारी साधनहरु प्रयोग गर्न पाईदैन, टि–सर्ट, टोपी लगायतका सामग्रीहरुको प्रयोग र बितरण गर्न पाईदैन, कसैलाई प्रलोभनमा पार्नका लागि आश्वासन दिनु हुँदैन, बार्षिक योजना बिपरित कुनै नयाँ कार्यक्रमहरु सञ्चालन गर्न मिल्दैन तर के गर्नु त्यो त कागजमा मात्रै लेखेको पो रहेछ । भोजभतेर हुनुहुन्न भन्ने थियो, त्यो पनि हुँदैछ । मदिराको मातमा लठ्ठिएकाहरुमा सरकारी कर्मचारीहरु पनि छन कि ? 
निर्वाचन भव्य र सभ्य ढंगले सम्पन्न हुनु पर्छ । नेपाली जनताले आफ्नो प्रतिनिधि शान्तिपूर्ण रुपमा छान्न पाउनु पर्छ । जनताले कुनै पनि प्रकारको भय, धाकधम्की, प्रलोभन आदिको सामना गर्नु पर्ने वातावरण हुनुहुँदैन । बिगतका निर्वाचनमा जस्तो धाँधली गरेर चुनाव जित्ने अवस्था यदि आयो भने त्यो जनता र राष्ट्रका लागि राम्रो हुँदैन । भाषणमा २१ औं सताव्दीको युगको नारा लगाउने तर व्यवहारमा १८ औं सताव्दी भन्दा पहिलेकै जंगली बर्बरतायुक्त   राजको अवस्था हुने हो भने नेपाली जनताका लागि यो दुर्भाग्य मात्र हुन्छ । 
त्यसैले यो आचार संहिताको अनुगमन गर्ने संयन्त्रले आफुलाई अलि दरिलो वनाउनु जरुरी छ । आलोचना भयो भने ‘मेरा आलोचना भयो’ भनेर नाक खुम्च्याउनु भन्दा आलोचना गर्नु पर्ने अवस्थानै सृजना हुन नदिने बातावरण बना सरकार । 

थप समाचार 

यस्ता छन स्वतन्त्र उम्मेदवारका योजना


‘रोजगारीको सिलसिलामा भारत तथा तेश्रो मुलुकमा भौता–रिने युवाहरुलाई आफ्नै गाउँठाउँमा रोजगारी दिलाउनु  मेरो पहिलो काम हुनेछ । कृषि, उद्योग, पर्यटनमा रोजगारी सृजना गर्न म लागि पर्नेछु ।’ 
आदर्श गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका चन्द्रनाथ ओझाले बिम्ब साप्ताहिकसंग टेलिफोनमा कुरा गर्दै आफ्नो पहिलो उद्देश्य युवाहरुका लागि स्वदेशमै रोजगारी सृजना गर्ने बताए । २०४२ सालदेखि बामपन्थी राजनीतिमा होमिएका ओझा शिक्षक पेशामा थिए । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले उनलाई जागिर छोडेर गाबिस अध्यक्षको उम्मेदवार बन्न निर्देश ग¥यो । उनी जिते पनि । एमालेमा लामो समय जिल्ला कमिटी सदस्य रहिसकेका ओझा पार्टीले उचित जिम्मेवारी र सम्मान दिन नसकेको भन्दै २०७० सालमा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनले नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षका लागि दावी गरेका थिए तर टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन । 
‘थुप्रै सम्भावनाहरु रहेका छन हाम्रो नगरपालिकाभित्र’ ओझा भन्छन् ‘कृषिमा आधुनिकीकरण ल्याउन सकेन धेरै रोजगारी सृजना हुन्छन् ।’ अव्यवस्थित रुपमा भईरहेको मदिराको कारोवारलाई नियन्त्रण गर्ने, बिद्यालय तहमा प्राबिधिक शिक्षा लागु गर्ने र जनसेवा गर्ने आफ्नो लक्ष रहेको बताए । ‘नेपाली कांग्रेसका नेताहरुले प्रजातन्त्र र समाजबादको खिल्ली उडाएका कारण मैले बाध्य भएर उम्मेदवारी दिएँ’ ओझा भन्छन् ‘मेरो लक्ष जसरी पनि समाज सेवा गर्नु हो ।’ 
गाउँपालिकाको पर्यटकीय बिकासका लागि आफुले सक्दो प्रयास गर्ने समेत ओझाले बताएका छन । 
शिखर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजप्रसाद जोशी भन्छन् ‘मेरो लक्ष नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि दवाव दिनु हो ।’ ३८ बर्ष शिक्षण पेशामा बिताएको जोशीले शिक्षा क्षेत्रमा गुणस्तरीयता ल्याउने, बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिहरुका लागि  संरक्षण क्षेत्र स्थापना गर्ने जस्ता योजनाहरु बनाएका छन ।
‘भक्तजनहरुले मन्दिरमा चढाएका गाईहरुको संरक्षणका लागि नगर क्षेत्रभित्र गौशाला निर्माण गर्ने मेरो योजना छ’ जोशीले भने ‘नगर क्षेत्रभित्र रहेका धार्मिक क्षेत्रहरुको संरक्षण र बिकास गर्ने मेरो प्रमुख जिम्मेवारी रहनेछ ।’ सवै बस्तीमा सडक पु¥याउने, हाल सञ्चालनमा रहेका सडकहरु पिच गर्ने समेतका योजना जोशीका छन । जोशीले नगरको पर्यटकीय बिकासका लागि र नगरमा रहेका पुरातात्विक महत्वका क्षेत्रहरुको संरक्षण गर्ने उल्लेख गरेका छन । 
लामो समयदेखि नेपाली कांग्रेस निकट पेशागत संगठन सक्रिय जोशी कांग्रेसवाटै मेयरमा आकाँक्षी थिए । प्रजातन्त्रकै लागि पटक पटक गरि १३ महिना जेल जीवन बिताएको बताउने उनी पार्टीले तोकेको मापदण्ड अनुसार उम्मेदवार चयन नभएले    आफुले उम्मेदवारी दिएको बताउँछन । 

धुप बनाउने तालिम सम्पन्न


महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ दिपायल सिलगढी नगरपालिकाले धुप बनाउने तालिम सञ्चालन गरेको छ । 
नगरपालिकाको आर्थिक सहयोग र नगरपालिकाको साबिकको वडा नं. २ को वडा नागरिक मञ्चको आयोजनामा सञ्चालन भएको उक्त सात दिने तालिममा महिलाहरुले धुम बनाउन सिकेको धुम निर्माण उपभोक्ता समितिका अध्यक्ष मञ्जु श्रेष्ठले जानकारी दिईन । उनका अनुसार सहभागि सवै महिलाहरुले अव धुप बनाउन सक्नेछन । उनले तालिमका लागि बातावरण बनाई दिएकोमा वडा नागरिक मञ्च र दिपायल सिलगढी नगरपालिकालाई धन्यवाद दिएकी छिन । 
गत जेठ २७ गते सुरु गरिएको उक्त शुक्रवार सम्पन्न भएको छ । तालिम समापन समारोहमा बोल्दै नगरपालिकाका कार्यकारी अधिकृत तुलक्षीप्रसाद आचार्यले महिलाहरुले आफुले सिकेको सीप व्यवहारमा उतार्नु पर्ने कुरामा जोड दिए । धुप बनाउने तालिम सिकिसकेपछि अव व्यवसायिक रुपमा धुप बनाउनतिर लाग्नु पर्नेमा आचार्यको जोड थियो । तालिम प्राप्त महिलाहरुलाई सुझाव दिँदै उनले भने ‘यदि धुप व्यवसायिक रुपमा धुप निर्माण गर्ने हो भने त्यसको बजार प्रसस्त छ, त्यसैले सीप सिकेर थन्काउने भन्दा पनि उत्पादनतिर लाग्नु होस ।’
नगरपालिकाले छुट्याउदै आएको महिला लक्षित कार्यक्रमबाट उक्त तालिम सञ्चालन गरिएको सामाजिक परिचालक निशा श्रेष्ठले जानकारी दिईन ।

आचार संहिताको व्यापक उलंघन


टेकेन्द्र देउवा/धनगढी
असार ५
राजनीतिक दलहरुले निर्वाचन अचार संहिताको ब्यापक उल्लंघन गर्दा पनि यहाँ कतैबाट रोकतोक लगाउन सकिएको छैन । अनुगमनको जिम्मा पाएकाहरुले पनि यसलाई औपचारिकतामा मात्रै सिमित   पारेका छन् । 
प्रदेश नं ७ का सबै जिल्लामा स्थानीय तह निर्वाचन आचार संहिता–२०७३ बिपरित प्रचार प्रसारमा बालबालिकाको प्रयोग, प्रचार समाग्री तथा सवारी साधानको प्रयोग, सार्वजनिक स्थलको प्रयोगका साथै भोज भतेर समेत भइरहेका छन् । त्यसै गरि कतिपय स्थानमा बाटोघाटो निर्माणका लागि डोजर समेत प्रयोग गरिएका छन् । पर्वेक्षकको जिम्मा पाएका संघ संस्थाहरुले राजनीतिकदलका नेताहरुलाई समेत प्रतिनिधि बनाएका पाईएको छ । 
राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन सम्बन्धी प्रचलित कानून र आचार संहिता विपरित पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, टिसर्ट, क्याप डिजिटल डिस्प्ले प्रयोग गर्न पाईदैन तर यहाँका सबै दलले प्रयोग गरेका छन् । पार्टीका चुनाव चिन्ह अंकित टिसर्ट र टोपी लगाएर मास उर्ताने प्रतिस्पर्दा नै चलेको छ । 
कैलालीका निर्वाचन आचार संहिता अनुगमन अधिकृत सुरेन्द्र सिंह कार्कीले  कर्मचारी खटन पटनमा बढी समय दिनुपर्दा अनुगमन गर्न नसकिएको बताउँछन । ‘राजनीतिकदल र सर्बसाधारणबाट आएका उजुरी र गुनासाका आधारमा हामी कारवाही अगाडि बढाउछौं’ अधिकृत कार्कीले भने । 
कैलालीका मुख्य मतदान अधिकृत धनसिंह महराले लिखित उजुरी नपरेको तर मौखिक र टेलिफोनबाट आचारसंहिता उल्लंघन भएको भन्ने गुनासो आएको  बताए । महराले भने ‘राप्रपाका उम्मेदबारले सरकारी गाडीको प्रयोग गरेको भन्ने गुनासो आएपछि त्यसलाई बुझ्ने काम    भयो ।’  
कैलालीमा राजनीतिक दलहरुले प्रचार प्रसारमा आचार संहिताले तोकेभन्दा बढी सवारी साधनको प्रयोग गरिरहेका छन् । प्रचार प्रसार अभियान अन्तरगत सयौं ट्रयाक्टरको प्रयोग गरि ¥याली निकाल्ने र एउटै ठाउँमा भेला भएर भोजभतेर     गरिरहेका भेटिन्छन् । 
‘आचार संहिताले उम्मेदबारले गर्ने खर्चको सिमा पनि तोकेको छ’ मुख्य निर्वाचन अधिकृत महराले भने ‘आचारसंहिता कसैले पालना गर्न लगाउने भन्दापनि जस्का लागि बनेको हो त्यो स्वयंले पालना गर्नुपर्ने हो ।’   दलहरुले आचारसंहिताको पालना गरेको बताएपनि उल्लंघन गरेका घटनाहरु भने छ्याप छ्याप्ती भेटिन्छन् । त्यसैगरी शिक्षकहरु पनि पढाउन छोडेर पार्टीका चुनावी प्रचार प्रसारमा लागेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका पार्टी सम्वद्ध शिक्षकहरु प्रचारमा हिड्ने देखि आमसभामा भाषण गर्दै हिडिरहेका भेटिन्छन् । 
सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशक लालजंग चौहानले कसैले उजुरी नगरेसम्म पढाउन छोडेर चुनावी सभामा भाषण गर्ने शिक्षकलाई आफुले कारवाही गर्न नसक्ने बताए । आचारसंहिता बिपरित शिक्षकहरु चुनावी अभियानमा लागेको उनले स्वीकार गरे । त्यसैगरी डोटी जिल्लाका बिभिन्न स्थानमा आचार संहिता बिपरित डोजरको प्रयोग गरेर बाटो निर्माण गर्ने कार्य भैरहेको स्थानीयले गुनासो गरेका छन् । चुनावको मुखमा मतदातालाई प्रभावित बनाउन यहाँ डोजर प्रयोग गरिएको उनीहरुको आरोप छ । 
नियमित योजनाको रकम खर्च गर्न पाउने भनेपनि यहाँ उम्मेदबारहरु नै संलग्न भएर डोजर लगाउने र रकम मैले हालेको भनेर मतदातालाई प्रभावीत पार्ने काम भइरहेको पनि स्थानीयको भनाई छ । 
डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद शर्माले आचारसंहिता    बिपरित काम भइरहेको छ भन्ने गुनासो आएको बताए । उनले भने ‘मतदातालाई प्रभावमा पार्नका लागि गरिने कुनैपनि निर्माण कार्य रोक्न लगाउन स्थानीय विकास अधिकारीलाई निर्देशन दिईसकेको छु ।’
उता सामाजिक सञ्जालहरुमा राजनीतिक दलको समर्थन र बिरोध गर्ने क्रममा पनि आचार संहिता मिचिएको छ । सरकारी कर्मचारीहरु, सञ्चारकर्मीहरु, संस्थानका कर्मचारीहरु, शिक्षकहरु सामाजिक सञ्जालमा खुल्याम प्रचार गरिरहेका छन । आषाढ १४ गते मतदान अधिकृत भएर खटिने कर्मचारीहरु, अधिकृतस्तरका कार्यालय प्रमुखहरु, निर्वाचनमा पर्यवेक्षकको जिम्मेवारी पाएकाहरु समेत आचार संहिताको उलंघन गर्दै खुल्याम प्रचारमा लागेका छन ।

प्रदेशमा जनस्तरमै बढी बोलिने भाषालाई प्राथमिकता दिनुपर्ने

भुमिराज ओझा/डोटी
२९ जेठ
प्रदेशस्तरमा सरकारी कामकाजको लागि बाहेक अरु कुरामा स्थानीय भाषालाई प्राथमिता दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
आइतबार नागरिक संबाद केन्द्रको आयोजनामा सञ्चालन भएको भाषा सम्बन्धि नागरिक संबाद कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । नेपालमा एक सय २३ वटा बोलिने भाषाहरु हुँदा हुँदै अरु देशको राष्ट्रिय भाषालाई प्राथमिकता दिनु नपर्ने नेकपा एमालेका नेता लक्ष्मण मलासीले बताए । उनले भने ‘सरकारी कामकाजको लागि राष्ट्रभाषा नेपाली छँदै छ । त्यो संगै हाम्रै देशमा पनि सवा सय भाषाहरु छन, बरु ती भाषाहरुलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।’
‘अहिले मधेशमा आन्दोलन भएको पनि यहि बिषयमा भैरहेको छ’ नेता मलासीले भने ‘मधेशीका दाजुभाइहरु आफ्ना देशमा बोलिने यति भाषा हुँदाहुँदा भारतको भाषालाई नेपालमा काम चलाउको लागि प्राथमिकता दिनुपर्ने भनी लागि रहेका छन । त्यसैले हिन्दी भाषालाई नेपालमा प्राथमिकता दिनु हुँदैन ।’
यसै डोटी जिल्लामा बोलिने भाषाहरु पनि ३२ वटा छन । पद्यम पब्लिक मुक्तिनारायण माबिका नेपाली बिषयका शिक्षक केशब ओझाले भने ‘हामीले डोटी जिल्लामा भाषा सम्बन्धि अध्ययन गर्दा ३२ वटा भाषिकाहरु भेटिए । एउटै गाउँमा पनि तीन वटासम्म भएका पनि भेटिए । एक ठाउँमा एक शब्द हुन्छ । त्यो शब्द अर्को गाउँ पुग्नसम्म मोडिएर अर्कै शब्द भएको हुन्छ । यसरी सुदूरपश्चिममै तीन सय भन्दा बढी भाषिकाहरु छन ।’ सबै भन्दा बढी स्थानीय स्तरमा जुन भाषा बोलिन्छ, जुन भाषा सबैभन्दा बढी प्रयोगमा आउँछ, सबै भन्दा बढीले बोल्ने गर्छन त्यो भाषालाई प्राथमिकता दिनुपर्ने शिक्षक ओझाले बताए ।
अधिबक्ता मिलन श्रेष्ठले भाषा आयोगका सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक प्रतिबेदन प्रस्तुत गर्दै भने ‘नेपाल बहुजाती तथा बहुभाषिक देश हो । जसमा धेरै भाषा र भाषिकाहरु छन । त्यसैले नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।’
स्थानीय स्तरमा कस्तो भाषालाई बढी प्राथमिकता दिने भन्ने बिषयमा नागरिक संबाद केन्द्रले देशका १४ वटा जिल्लामा बहस गर्दै आइरहेको छ । उनले भने ‘नेपालको संबिधान २०७२ को धारा २९६ को उपधारा १ बमोजिम भाषालाई देवनाग–री लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने उल्लेख गरिएको छ ।
उत्कृष्ठ नतिजा आएपछि अभिभावकलाई सम्मान
२०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) जिल्लाकै उत्कृष्ठ नतिजा ल्याउन सफल भएपछि पबित्र आवासीय माध्यामिक बिद्यालयले अभिभावकहरुलाई सम्मान गरेको छ । 
बिद्यालयमा अध्ययनरत छात्र पबित्र माबिका सुशील ओझा र सिजन शाहले ३.८ स्तरीकृत अंक (जिपिए) ल्याई जिल्लामै प्रथम स्थान हासिल गरेपछि बिद्यालयले खुशीयाली स्वरुप अभिभावकहरुलाई सम्मान गरेको हो । आईतवार बिहान अभिभावकहरुलाई बिद्यालय प्राङ्गणमा बोलाएर पुलमाला र अविरले स्वागत    गरिएको थियो । 
उक्त परीक्षामा नियमित तर्फ दुई हजार सात सय नब्बे र आंसिक तर्फ ९८ जना गरी दुई हजार आठ सय ८८ जना सहभागि भएकामा छात्रातर्फ सुजङ्ग इङ्लिस बोडिङ्ग स्कुलकी सबिता बमले ३.७५ जिपिए ल्याई प्रथम स्थान हासिल गरेकी छिन ।
सामुदायिक बिद्यालयतर्फ भगवती माबि तलाराका छात्र दिनेश ओडले ३.६५ स्तरीकृत अंक (जिपिए) लाई उत्कृष्ठ स्थान ल्याएका छन । सामुदायिक बिद्यालयहरुको नतिजा अनुसार छात्रातर्फ सीताराम माबि उच्चाकोटकी नम्रता कार्कीले ३.५५ स्तरीकृत अंक (जिपिए) लाई प्रथम स्थान हासिल गरेकी छिन । 
जिल्लामा ३.६५ देखि ४.०० जिपिए ल्याउने बिद्यार्थीहरुको संख्या १५ रहेको छ । ३.३५ देखि ३.६० जिपिए ल्याउने ९५, २.८५ देखि ३.२० ल्याउने एक सय ९४, २.४५ देखि २.८० ल्याउने नियमित तर्फका तीन सय ६५ र १ आंसिक गरी तीन सय ६६ जना रहेको जिल्ला शिक्षा कार्यालय डोटीले जानकारी दिएको छ ।

पश्चिम सेती बिद्युत सव स्टेशनका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु


बहुचर्चित पश्चिम सेती जलबिद्यतु परियोजनाको सब स्टेशनका लागि जग्गा अधिकरण गर्ने प्रक्रिया सुरु भएको छ । 
नेपाल बिद्युत प्राधिकरण रुपालगड पश्चिम सेती पहलमानपुर ४ सय केभी प्रसारण लाईन आयोजना कार्यालय, काठमाण्डौंले पश्चिम सेती परियोजनाको पावर हाउस बन्ने ठाउँ शिखर नगरपालिका–६ को तल्कोटमा जग्गा अधिकरणका लागि पहल सुरु गरेको हो । जिल्ला मालपोत कार्यालय डोटीको मुद्धा शाखाका नासु सिद्धराज श्रेष्ठले दिएको जानकारी अनुसार स्थानीयबासीहरुको नाममा रहेको एक सय ६० रोपनी जग्गा अधिकरणका लागि प्रक्रिया अगाडि बढेको छ । ‘आयोजना कार्यालयले जग्गाको रेकर्ड माग गरि लागि जेठ १९ गते हामीलाई पत्राचार गरेको थियो’ श्रेष्ठले अनलाईन खवरसंग कुरा गर्दै भने ‘हामीले एक सय ९७ कित्ताको करीव एक सय ६० रोपनी जग्गाको बिवरण जेठ २३ गतेनै पठाईसकेका    थियौं ।’ एक सय ८१ पुरै कित्ता र १६ कित्ताबाट केही जग्गा लिनु पर्ने देखिएको श्रेष्ठले वताए । 
आयोजना कार्यालयले जग्गा अधिकरणको प्रक्रिया अगाडि बढाईसकेको बताउँछन आयोजना कार्यालयका प्रमुख नवराज ओझा । ‘पश्चिम सेती परियोजना निर्माण गर्ने चिनियाँ कम्पनी थ्रि गर्जेजले नेपाल सरकारलाई बिद्युत प्रसारण लाईनका लागि आधार नबनेकाले बिद्युत बिक्री गर्न गारो हुने भनेको रहेछ’ ओझाले भने ‘त्यसैले यसै आर्थिक बर्षभित्र जग्गा अधिकरण गर्ने गरि सर–कारले बजेटको व्यवस्था गरेको छ ।’ अधिकरण हुने जग्गाका जग्गाधनीहरुलाई आफ्नो प्रमाण सहित दावी गर्न आउनका लागि जेठ २८ गते सूचना प्रकाशन गरिसकिएको ओझाले बताए । उनले भने ‘१५ दिने सार्वजनिक सूचना जारी भईसकेको छ, जग्गा प्राप्ती ऐन अनुसार प्रक्रिया अगाडि बढेको छ ।’ जग्गाो नापजाँच गर्दा करीव एक सय ५० रोपनीले पुग्ने तर सडकबाटै स्टेशनसम्मका लागि बाटो पनि खरीद गर्नु पर्ने भएका कारण करीव एक सय ६० रोपनी जति जग्गा अधिकरण गर्नु पर्ने ओझाको भनाई छ । 
सन १९८१ देखि चर्चामा रहेको पश्चिम सेती जलबिद्युत परियोजना निर्माणका लागि पछिल्लो चरणमा चिनियाँ कम्पनी ‘थ्रि(गर्जेज’ संग सरकारले २०६८ सालमा प्रारम्भिक सम्झौता गरेको थियो । परियोजना निर्माणका लागि बिद्युत प्राधिकरण र निर्माता कम्पनीबीच गत बर्ष संयुक्त उपक्रम सम्झौता समेत भईसकेको छ । बिद्युत प्रसारण लाईनको सव स्टेशनका लागि जग्गा अधिकरणको प्रक्रिया अगाडि बढेपछि स्थानीयबासीहरुले परियोजना निर्माण हुने आश गरेका छन ।  

छोटकरी 

तालिम सम्पन्न

जिल्ला समन्वय समिति, डोटी बहुक्षेत्रीय पोषण योजनाको सहयोगमा त्रिबेणी एफएमले सञ्चालन गरेको तीन दिने पोषणका सवालमा आधारभुत पत्रकारिता तालिम सोमवार सम्पन्न भएको छ । 
पत्रकारिता क्षेत्रमा आउन ईच्छुक युवाहरुलाई पत्रकारिताको आधारभुत ज्ञान दिने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको त्रिबेणी एफएमका स्टेसन मेनेजर कर्ण चन्दले जानकारी  दिए । तालिममा पत्रकार रामहरी ओझा र रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलका कार्यक्रम संयोजक जीबन बानियाँले सहजीकरण गरेका थिए ।

मदिरा बन्द गर्न आग्रह

आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले मदिरा बिक्री बितरणमा रोक लगाउने भएको छ । 
निर्वाचनको समयमा कुनै अप्रिय घटना हुन नदिन असार ९ गते देखि १८ गतेसम्म मदिराको कारोवारमा पूर्ण प्रतिवन्ध लगाईने भएको छ । मदिरा कारोवार वन्द गरि चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न स्थानीय प्रशासनले जिल्लाबासीहरुमा आग्रह गरेको  छ । 
सोमवार नेपाल प्रहरीले जिल्लाका मुख्य स्थानहरुमा माईकिङ्ग गरि मदिराको कारोवार रोक्न आग्रह गरेको हो । जिल्लामा सामान्य अवस्थामा पनि मदिराको सेवनबाट ठुल्ठुला घटनाहरु हुने गरेकोले निर्वाचनको बेलामा थप सतर्कता अपनाईएको छ ।

खेल समाचार 

यु–१९ क्रिकेट टोली छनौट

आइसीसी यू–१९ विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोटका लागि दोस्रो चरणमा नेपाली खेलाडीहरुको टोली छनौट भएको छ । 
गत सोमबारदेखि शनिबारसम्म कीर्तिपुर मैदानमा भएको सुपर लिगको आधारमा १८ सदस्यीय नेपाली युवा टोली छानिएको हो । यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ शेखलगायत खेलाडी खेलाडीहरु फेरी पनि छनोटमा परेका छन् । 
यसअघि ४० खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो । त्यसैबाट आइसीसीका एसियन चिफ डेपलपमेन्ट अफिसर भेनकटापती राजु, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र र यू–१९ टिमका मुख्य प्रशिक्षक विनोद दास सम्मिलित छनोट समितिले १८ खेलाडी छानेका हुन् ।
अब केही दिनको क्याम्पपछि १४ सदस्यीय अन्तिम टोली र ४ वैकल्पिक खेलाडीको टुङ्गो लगाइने भएको छ ।
लामिछाने, ऐरी र शेखसंगै छनौटमा परेका खेलाडीहरुमा अनिल कुमार शाह, किशोर महतो, सुशान्त सिंह थापा, विक्रम कुमार भुसाल र प्रकाश केसी रहेका छन । त्यस्तै पवन सराफ, सन्दीप जोरा, रिजन ढकाल, प्रनित थापा मगर, शहाब आलम रसिद खान, सन्दीप सुनार, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल र आदिल खान रहेको राष्ट्रिय क्रिकेट परिषदले जनाएको छ । 

पाकिस्तानी फखर जमान को हुन ?

एजेन्सी
पाकिस्तानी ब्याट्सम्यान फखर जमानले च्याम्पियन्स लिगको फाइनलमा महत्वपूर्ण भूमिका खेले र भारतविरुद्ध शानदार शतक बनाए । यो प्रतियोगिता अघि क्रिकेटको दुनियाँमा फखर जमानको नाम शायदै कसैले सुनेका थिए । यसै प्रतियोगिताबाट उनले अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरे ।
आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ३१ रन बनाएका उनले श्रीलंकाविरुद्ध ५० रन बनाए । सेमिफाइनलमा अजहर अलीसँग शतकीय साझेदारी गरेका उनले व्यक्तिगत ५७ रन बनाए । फाइनलमा उनले १०६ बलमा ११४ रन बनाए ।
जमानले आफ्नो पारीमा १२ चौका र ३ छक्का हाने । उनको ब्याटिङ हेरेपछि स्टार स्पोटर््समा लाइभ कमेन्ट्री गरिरहेका सुनिल गावस्करले भने कि जमानले फ्रन्ट फुट र ब्याकफुटमा जगबको सट खेले र मैदानको दुबैतर्फ राम्रो खेले । रोचक त के भने क्रिकेटको मैदानमा कमाल गरेका फखर जमानको परिवार चाहँदैनथे कि उनले क्रिकेट खेलुन् ।
पाकिस्तानको पख्वातुनमा जन्मिएका फखरका पिता सरकारी वन्यजीव संरक्षण एजेन्सीमा काम गर्थे र आफ्नो छोरा सरकारी जागिरे होस् भन्ने उनको चाहना थियो । उच्च शिक्षा पूरा गरेपछि उनी पाकिस्तानी नौसेनामा आवद्ध भए ।
२००७ मा उनी नौसेनाको सेलर   बने । त्यसबेला पाकिस्तानी नौसेनाको क्रिकेट टिम पनि थियो र फखरले त्यहीँ खेल्न थाले । कोच आजम खानले उनको प्रतिभालाई चिने । 
फखर पनि क्रिकेटमै रमाउन थाले र २०१३ मा नौसना छाडे । यद्यपि, परिवारलाई उनको जागिरबाट प्राप्त हुने रकम जरुरी थियो । तर, फखरले निर्णय लिइसकेका थिए कि अबको लक्ष्य क्रिकेट नै हो ।
त्यही क्रममा पाकिस्तानी ब्याट्सम्यान युनुस खानसँग उनको भेट भयो र उनले आफ्नो इलाकाको घरेलु टिमबाट खेल्न सुझाए । मरदान, खैबर पख्वातुन, एबटाबाद, बलुचिस्तानको टिमबाट खेल्दै उनले तीव्र गतिमा आफ्नो स्थान बनाए । २०१६ मा उनले पाकिस्तान सुपर लिग खेल्ने मौका पाए र सर्वा्धिक रन बनाउने व्याट्सम्यान बने । उनको आक्रामक ब्याटिङकै कारण पाकिस्तानी टिममा परे ।
उनले आफ्नो डेब्यू प्रतियोगिता नै स्मरणीय बनाएका छन् । खास कुरा यो छ कि उनी बायाँ हातले त्यही आक्रमक रुपमा ब्याटिङ गर्छन्, जुन शैलीका ओपनर कुनै समय पाकिस्तान क्रिकेटको पहिचान थियो । अपेक्षा छ कि फखर जमानले सईद अनवर र आमिस सुहैल वाला परम्परालाई अघि बढाउने छन् ।
खेलको मैदानमा स्टार त्यही हुन्छ, जसले महत्त्वपूर्ण समयमा आफ्नो भूमिका दमदार रुपमा निभाउँछ ।

चलचित्र/मनोरञ्जन 

नेपाली भाषा बिर्सिईन मनिषाले


फिल्मी खवर
हिन्दी सिने क्षेत्रमा चर्चित नेपाली मूलकी अभिनेत्री मनीषा कोइराला नेपाली भाषा बिर्सेकी छिन् ।
मनिषाद्वारा अभिनित हिन्दी चलचित्र ‘डियर माया’ करीव तीन हप्ता अगाडि रिलिज भएको थियो । तर, यो फिल्म नेपालमा चलेन । ‘बम्बे’, ‘१९४२ ः अ लव स्टोरी’ र ‘दिल से...’ जस्ता चलचित्रमा आफ्नो अभिनय र सुन्दरताको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनीषाले आफ्नो २६ बर्ष लामो फिल्मी करिअरमा धेरै चर्चित बलीउड अभिनेताहरुसँग काम गरिसकेकी छिन् ।  
नेपाली फिल्म ‘धर्मा’मा समेत काम गरेकी मनीषा नेपालभन्दा धेरै भारतमा बस्ने गर्छिन् । बलीउड फिल्ममा २६ वर्ष विताएकी मनीषालाई कुन भाषा राम्रोसँग बोल्न आउँछ होला ? तपाईको झट्टै उत्तर आउन सक्छ भारतीय । हो, मनीषा नेपालीभन्दा भारतीय भाषा शुद्धसँग बोल्छिन् । शनिवार राजधानीमा भएको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’मा मनीषा प्रमुख अतिथी बनेर उपस्थित भएकी थिइन् ।  
गोपीकृष्णमार्फत मनीषाले क्यान्सर नेपाल केयरलाई सहयोग हस्तान्तरण गरिन् । त्यसबेला कार्यक्रम सञ्चालिका सुगारिका केसीले मनीषालाई आफ्नो विचार राख्न आग्रह गरिन् । मनीषाले आफ्नो विचार राख्ने क्रममा शुद्धतरिकाले नेपाली बोल्न सकिनन् । उनीले नेपाली बोल्दा धेरै भारतीय भाषा नै मिसियो । भारतीय र नेपाली भाषा मिसिएपछि उनले अंग्रेजीमा नै आफ्नो विचार राखिन् । 
हुनत, २६ वर्ष बलीउड फिल्ममा विताएका कारण मनीषाले नेपाली भाषा धेरै विर्सिसकेकी छिन् । नेपाली बोल्न त प्रयास गर्छिन तर प्रत्येक पंक्तिमा नै भारतको मातृभाषा मिसिन थालेपछि उनी अहिले सकभर अंग्रेजीमा नै आफ्नो विचार राख्ने गर्छिन् । मनीषालाई गएको बिहीवार नेपाल सरकारले बागमती सफाइ महाअभियानको सद्भावना दूतमा मनोनीत गरेको छ । शनिवार बागमती सरसफाई अभियानका लागि उनी भारतबाट नेपाल आएकी थिइन् । 

छिरिङको नयाँ गीत सार्वजनिक

गायक छिरिङ भुटियाको  ‘यो चोखो माया...’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । 
लामो समयको अन्तरालपछि छिरिङले भिडियोसहित उक्त गीत बजारमा ल्याएका हुन् । विनय लामाको   रचना र संगीतमा तयार भएको उक्त गीतमा छिरिङको स्वर रहेको छ । गीतको एरेन्ज विशाल ताम्राकारले गरेका छन् । 
पुरानो ब्यान्ड ‘प्रिजम ब्यान्ड’  फिचरिङ रहेको गीतमा भिडियो छायांकन रनिर्देशन अमृत सुनुवारले गरेका हुन् । प्राविधिक सल्लाहकारका रूपमा सांस्कृतिक संस्थानमा कार्यरत छिरिङ अब भने प्रोजेक्ट ५ मार्फत सांगीतिक यात्रालाई निरन्तरता दिने सोचमा छन् । उनले गायकको आफ्नो परिचय नै हराउन लागेजस्तो अनुभव गरेको सुनाउँदै अब भने गायनलाई निरन्तरता दिने बताए ।
दार्जिलिङको सुकिया पोखरीमा २०३० मा जन्मेका छिरिङले औपचारिक रूपमा सांगीतिक यात्राको सुरुवात भने २०५३ मा ‘हेरिदेऊ हाँसिदेऊ...’ गीतबाट गरेका थिए । उनले उक्त गीतको रेकर्डसँगै गोपाल योञ्जनको ‘निशानी’ कलेक्सन एल्बममा स्वर दिने मौका पाए ।

लेख 

हाम्रा दुर्गम गाउँबस्तीहरुमा पुस्तौली कार्यबोझले निहुरिएका “दुर्गादेवी” को अनुहारमा कहिले आउछ सुःखको सुशेली


वहुक्षेत्रीय पोषण योजनाको लागि डोटी जिल्लामा कार्यक्षेत्र भएपछि ं स्थानीयस्तरको कार्यशाला गोष्ठी सञ्चालन गर्ने क्रममा जिल्लाकै विकट र पछाडि पारिएको गाउँ छपालीबाट पोषण यात्रा सुरु गर्ने तय  भयो । छपाली पुग्न आफ्नै जिल्लाबाट हुँदै जादा दुई दिन लाग्छ तर डडेल्धुरा, बैतडी हुदै बझाबाट जादा एक दिनमै पुगिन्छ भन्ने थाहा पाएपछि छोटो बाटो जाने तय भयो । विहान ६.३० वजे सिलगढीबाट रिजर्व जीपमा चढेर जिल्ला समन्वय समितिका साथीहरुसंगै डडेल्धुराको स्याउले, बागबजार, बैतडीको खोड्पे, बित्थड र बझाङ्गको सुनकुडाबाट ओरालो लागेर पहाडका थुम्का बीचबाट स्टीलवारले छेकेको साँघुरो पिच सडकबाट आफुलाई सुरक्षित गर्दै काल्ङा नदी पार गरेर गुडेको जीप देउरा वजार पुगेर रोकिदा २.३० बजिसकेको थियो । 
गुरासे हिमालबाट बगेको काल्ङा नदी र शैपाल हिमालबाट बगेको सेती नदीको संगममा अवस्थित देउरा वजारमा गर्मी चर्को थियो त्यसैले त्यहाँ बिश्राम नलिई हिड्ने निधो गरियो । सेती नदीको झोलुङ्गे पुल तरेपछि नदी किनाराको चिसो हावा खाँदै चिया पसलमा बस्यौं । सेतीकै माछा मारेर बेच्ने र चिया पसल गर्र्ने साना पसलेहरु सबैले सेतीकै पानी खाँदा रहेछन । चिया खाई करीव एक घण्टा उकालो हिडेपछि डोटीको सिमामा पुगियो । चैतको घाम बायाँतर्फ गगनचुम्वी चट्टाने पहाड र दाहिनेतर्फ रिङ्टा लाग्ने गरी सेतीको छाल देखिने भीरको साँघुरो  बाटो हिड्दा कन्चट तातेर फुट्ला जस्तो भएपछि पहाडे चट्टनको कन्दरामा छेलिएर शितल खाने निधो गरे । बाटोको अघिल्तीर हेर्दा साथीहरु मलाई छोडेर डाँडा काटी सकेका थिए । वाटोको माथी रहेको चट्टाने पहाडमा न त कुने घास थियो न त पानी नै, तैपनि एउटा रुख हल्लिएर बटुवाहरुलाई चर्को घाममा शितलता दिई रहेको थियो । धन्य रहेछ त्यो रुख, त्यस्तो परिस्थितिमा पनि हावा दिन तत्परता देखााइरहेको थियो । मैले आउदै गरेको बटुवालाई त्यो रुखको नाम सोधे त्यो गतड रहेछ । यात्रा गर्दा साथ नछोड्नु बिपद पर्दा आँट नछोड्नु सुनेको थिएँ त्यसैले साथीहरु भेटाउन फेरी बटिए । साथीहरु धेरै अधि वत्तिसकेका थिएँ त्यसैले साथ छोडेपनि साहस नछोड्ने आँट गरे । गतडले साहस दिएको थियो । घामको तेज कम हुँदै जादा तीरतीरे पानीको नजिक पुगे, हरियो पातले डो¥याएर तिर्खा मेटाउन वटुवाले वनाएको तीरतीर पानीवाट तिर्खा मेटाए ।
गोधुलीसंगै छपाली गाउको उकालो लाग्दा एक महिला हातमा हसिया र पिठ्युमा नाम्लो बाधेर हिडिरहेका देखे । मैले तपाईको फोटो खिच्छु है भनेर सटर बटन थिच्दा “यस्तो भुत जस्तोकोे के फोटो के खिच्नु भनेर” उनी दौडिइन । दौडिदै गरेको फोटो भूतको होइन तपाइको हो भूत भए फालिदिन्छु हेर्न आउनुस् भनि देखाइदिए । उनलाई राम्रो लागे छ क्यार हेरे पछि मुसुक्क हासिन । मैले उनको नाम सोधे र उनको अवस्थाको फोटो खिच्न अनुमति मागे । उनले आफनो नाम दुर्गादेवी रोकाया वताइन र फोटोको पोज पनि दिइन । पुनः खिचेको फोटोहरु देखाइदिए र अरुलाई पनि देखााई दिए हुन्छ भन्ने अनुमति लिए । मेरो थाकेको पाइलाले उनलाई पछ्याउन गाहो परिरहेको थियो तै पनि मैले उनीवाटै छपाली महिलाको स्थिति थाहा पाउन भलाकुसारी गर्दै १५ मिनट उकालो लागे । १३ वर्षको उमेरमा विवाह वन्धनमा वाँधिएकी उनलाई ५१ वर्षको उमेरसम्म पनि चुलोचौका ,डिगा, वाख्रा, पानी पधेरो र घास दाउराले छोडन सकेको छैन । छपाली गाउ, बन जंगल र वस्तुभाउनै उन्को संसार भएको छ । नौला मान्छेहरु देख्दा बोल्न पनि डर लाग्छ उनलाई । उनले दुई छोरा र एक छोरी जन्माएपनि सवै सन्तान वाहिरिएका छन । १७ वर्षमै छोरीको बिवाह गरिदिएपछि घरमा उनलाई काममा सघाउने कोही नभएपछि जेठो छोराको बिवाह १८ वर्षमै गरि दिइ १७ वर्षकी बुहारी भित्राइन । २० वर्ष पुग्दा नपुग्दै बुहारीले २ नातीहरु जन्माएपछि अपे्रशन गर्नु प¥यो । अहिले उनकी बुहारी शारीरिक कमजोरीका कारण काम गर्न सक्ने अवस्थामा छैनन्, छोराहरु पनि भारतको मद्रास (चेन्नई) मा छन । आफ्नो सासुले काममा सघाउन सानैमा आफ्नो बिहे गराएजस्तै दुर्गाले पनि त्यस्तै तौेरतरिका पछाइन तर उनको काममा सघाउने आशा बोकेकी बुहारीको अप्रेशनले उनको जीवनमा आहत थपेको छ । 
“के गर्ने घरमा मानो खाने श्रीमान भएपनि घास दाउरा काट्न महिला नै हिडनु पर्छ” उनले आफ्नो कामको जिम्मेवारी भारी भएको र पुरुषले महिलाको काम भनेर सहयोग नगर्ने गरेको आभास ब्यक्त गरिन । उनले काट्ने डाले घासको बारी  आई पुगेछ, उनी त्यतैतिर लागिन् । मैले उनलाई हेर्दै उकालो लागे । उनी रुखको हागां काटेर घास सिमल्दै गरेको दृश्य छेलिएपछि माथीतिर फर्के मालिका डाडाले घेरेको समथर भागमा लहरै ढुङ्गे घरहरुको गुचुमुच्च सुन्दर बस्ती छपाली देखियो । यहि सुन्दर बस्तीमा रात बिताउने र भोली देखि कार्यक्रम सञ्चालन गर्न यात्राबाट बिश्राम लिन होटलको बास गरे ।
दिनभरको थकानलाई मेट्न खानापछि बिस्तारमा पल्टिए । थकाइ बढी भएछ की निन्द्रा परेन, केहिछिनमै कोलहाल, चिच्चाहट र खलवल सुनियो । बाहिर निस्किए, सौर्य वत्तिको उज्यालो घरघरमा देखिएपनि मान्छेले किन हल्ला गरेको पत्तो भएन । बिहान होटेलको मालिकलाई हिजोको के हल्ला रहेछ भनेर सोधे । उनले हलचल बजारको हल्ला सधै त्यस्तै हो भनेर हासेर जवाफ दिए । उनको हासोले मलाइ कौतुहलता जगायो । मैले उनी लगायत गाउका अरुसंग पनि भलाकुसारी गरे । कोलाहलभित्र धेरै रहस्य रहेछन । १७४ घरपरिवारमा १२१ दलित घरपरिवार रहेको हलचल गाउ रहेछ । घर आगनको लागि पनि पर्याप्त जमिन नभएका, भुइतलामा एक दुइवटा बस्तुहरु छिराउन मिल्ने र माथिल्लो तलामा भान्सा कोठा र परिवार सुत्न मिलाइएका एकदैला भएका घरहरुमा छोरा जन्माउने आश गर्दा गर्दै जन्मेका सन्तान सहित ४ जना देखि ७ जनासम्म परिवारले जीवन गुजारा चलाएका रहेछन । बालबालिकाहरुको संख्या बाक्लै देखिने गाउमा पानी पर्याप्त भएपनि कसैको करेशाबारी देखिएन । गाउमा छोरा भन्दा छोरीको संंख्या पनि बढि नै रहेछ । छोरी    पराईकै हुन बिवाह गरिदिए पराईले नै पाल्छ भनेर सानैमा जन्मघरवाट बावुआमाको जिम्मेवारी पन्छाउने चलन जीवीतै रहेछ । त्यस गाउको नजिककमा ४ वटा इजाजत प्राप्त मदिरा पसल रहेछन । पुरुषहरु मदिरा खाएपछि लड्ने र कराउने र श्रीमतीसंग छोरा नजन्माउने अपुति भन्दैै दोष लगाएर झगडा गर्दा रहेछन । त्यसैले गाउलेहरुले यस्लाई हलचल बजारको डान्स वार भन्दा रहेछन । दुर्गादेवीको जस्तो सानैमा बिहेवारी गराएर कामको बोझ घटाउन चाहने बाध्यकारी महिलाहरु र त्यो सोचलाई टेवा दिइरहने पुरुषहरु पनि यस गाउमा अभिन्न रहेछन । खै ! कहिले आउछ दुर्गादेवीहरुको अनुहारमा सुःखको सुशेली ? कहिले आउछ पुरुषत्वमा महिलाको आर्तनाद सुन्ने र आहत दिलाउने साहस ? परिवर्तनको पर्खाइमा छ छपाली गाउँ ।
चाणक्य अधिकारी, सिलगढी डोटी
९८५७०५८३८७

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

नेपालमा कर्मचारी प्रशासनमावृत्ति विकासको स्थापना कहिलेदेखि भयो?
– वि.सं.२०२७
नेपालको निजीस्तरबाट सञ्चालित विमान सेवामध्ये पहिलो कुन हो ?
–नेपालएयरवेज
प्रथम पञ्च वर्षीय योजनामा कूल कति रकम खर्च भएको थियो ?
–२१ करोड ४४लाख
गाउँ विकास समितिको अध्यक्षले को समक्ष राजीनामा दिनुपर्दछ ?
–उपाध्यक्ष मार्फत गा.वि.स.मा
आकस्मिक कोष कसको नियन्त्रणमा रहन्छ ?
–नेपाल सरकार
नेपालमा पहिलो पटक प्रस्तुत भएकोबजेटमा कुल खर्चको अनुमान कति थियो ? 
–रु. ५.२५ करोड
म.ले.प.फा.नं. १० केसँग सम्बन्धित छ ?
–गोश्वाराभौचर
नेपालले सार्क संगठनको लागि आर्थिक सहयोगकको कति प्रतिशत रकम व्यहोरेको छ ?
– ११.३५५
७ औं एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ?
–सन् २०१४ सेप्टेम्बेर १९ – अक्टोवर ४,दक्षिण कोरिया (इन्च्योन)
धौलागिरी अञ्चललाई नेपालकै पहिलो खुला दिसामुक्त अञ्चल घोषणा कहिले भयो ?
–२०७० माघ १६
नेपालमा ‘एउटा किताब साक्षरता अभियान २०१५’ को शुरुवात भयो ?
–२०६९ चैत्र २२
जनकवी केशरी धर्मराज थापाको निधन कहिले भयो ?
–२०७१ असोज २८
(फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डोमाथि आतंककारी आक्रमण गर्ने समूह र मिति कहिले भयो ? 
–अलकायदा, द्दण्ज्ञछ व्बलगबचथ ठ
भारतको तेलंगना राज्यलाई २९औं राज्यको घोषणा कहिले भयो ?
–द्दण्ज्ञद्ध व्गलभ द्द
नोबेल शान्ति पुरस्कार प्राप्त गरेपश्चात् बालअधिकारकर्मी कैलाश सत्यार्थी नेपाल आगमन कहिले भयो ?
–द्दण्ज्ञद्ध म्भअझदभच ज्ञढ (२०७१ पौष ४)
आङसाङ सुकी नेपाल आगमन कहिले भयो ? 
–द्दण्ज्ञद्ध व्गलभ ज्ञघ (२०७१ जेठ ३०)
– हलो क्रान्तिका अभियन्ता एवं समाजसेवी बिष्णुप्रसाद अधिकारीको ८९ बर्षको उमेरमा कहिले निधन भयो ?
–वि.सं २०७१ पुस ३० गते
– राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरिएको भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास कहिले गरियो ? 
–वि.सं २०७१ माघ १ गते
उत्कृष्ट स्वास्थ्य पुरस्कार(२०७२) ....डा. रोशन न्यौपाने
उत्कृष्ट अर्थमन्त्री(२०१६)....डा. राम शरण महत
न्य(न्य ब्धबचम(द्दण्ज्ञछ....डा. भगवान कोइराला
सदाचार सम्मान(२०१५).....डा. गोबिन्द के सी
ऋल्ल् ज्भचय(द्दण्ज्ञछ....म्यागी डोयन
मदन पुरस्कार(२०७१)....बिजय कुमार पाण्डे
जगदम्बा श्री पुरस्कार (२०७१).....अंगुर बाबा जोशि
ःष्कक ल्भउब(िद्दण्ज्ञट.....अस्मि श्रेष्ठ
ःच। ल्भउब(िद्दण्ज्ञट......गणेश अग्रवाल
द्यबलप या तजभ थभबच(द्दण्ज्ञछ....क्तबलमबचम ऋजबचतभचभम द्यबलप
क्ष्लतभनचष्तथ क्ष्मय ि(द्दण्ज्ञछ......प्रदिपराज कँडेल
न्चयधल ध्यचमि क्अयगत ब्धबचम (द्दण्ज्ञट....ल्भउब िक्अयगत
फेवाताल लगायत वरीपरीका ताल रामसार सूचीमा समावेस गरिएको....२०१६÷०२÷०२
पहिलो पहिचान पुरस्कार (२०१६)....राजन मुकारुङ
२१ औं जलवायु सम्मेलन सम्पन्न (फ्रान्सको पेरिसमा सन् २०१५ नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म
नेपाल ग्ल्क्ष्ऋभ्ँ को कार्यकारी बोर्डमा निर्वाचित......२०१६÷०१÷०९
१२ औं सागमा नेपालले पाएका जम्मा पदक.....६० वटा
ग्ल्इ का पुर्व महासचिव बुत्रोस बुत्रोस घालीको निधन......२०१६÷०२÷१६
साफ सुजुकी च्याम्पियनसिप फुटबल (२०१५) विजेता ......भारत
२०१५ को नोबेल शान्ती पुरस्कार पाउने...... नेशनल डायलग क्वाट्र्रेट (ट्युनुसिया)
विश्वको शक्तिशाली व्यक्तिहरुको सुचीमा प्रथम स्थान.....भ्यादिमिर पूटिन


साहित्य/सृजना
 

नखोज्नु है मलाई

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हराई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधीमा बडारिन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगीसकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
सागर बोहरा
महेंन्द्रनगर, नेपाल २ कंचनपुर

सूचना/सन्देश/मनोरञ्जन 

सूर्तीजन्य पदार्थको बट्टा र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिगंमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१ कार्यान्वयन बारेको सूचना

नेपाल सरकारको मिति २०७१ कार्तिक १३ गतेको निर्णय अनुसार २०७२ जेठ १ गतेदेखि लागु हुने गरी सूर्तीजन्य पदार्थको बट्टा र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिगंमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१ जारी गरेको छ । सो निर्देशिका बमोजिम उत्पादक लगायतले सूर्तीजन्य पदार्थको बट्टा र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिगंको बाहिरी कुल भाग मध्ये ९० प्रतिशत भागमा चेतावनी मुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने ब्यवस्था गरिएको छ । अतः सोही बमोजिम चेतावनीमुलक सन्देश चित्र छाप्ने र अंकित गर्न हुन तथा सूतीजन्य पदार्थको बितरण गर्न हुन सम्बन्धित सबैको जानकारी का लागि अनुरोध गरिएको छ ।
साथै उल्लेखित निर्देशिका बमोजिम चेतावनी मुलक सन्देश तथा घातक रंगीन चित्रहरु नछापिएका तथा अंकित नभएका सूर्तीजन्य पदार्थको बिक्री बितरण गर्न नपाइने कानुनी ब्यवस्था भएकाले सो बिपरित उत्पादन आयात बिक्री बितरण प्रशारण, प्रकाशन तथा प्रदर्शन गरेको पाइएमा त्यस्ता सम्पूर्ण सामाग्री कब्जा गरी प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय हुुने ब्यहोरा जानकारी गराउँदै आफ्नो उत्पादन कानुनमैत्री बनाइ नेपाल सरकारलाई कानुन कार्यान्वयन गर्ने कार्यमा सहयोग गर्न हुन हार्दिक अपील गरिएको छ ।

अस्पतालमा आधारित एकद्धार संकट ब्यवस्थापन केन्द्र डोटीले प्रदान गर्ने सेवा सम्बन्धि जानकारी

समाजमा रही आएको लिगंको आधारमा गरिने बिभेद नै लैगिंक हिंसा हो । बिशेष गरी यसबाट महिला तथा बालबालिकाहरु पत्यक्ष रुपले प्रभाबित भएको पाइएको छ ।
एकद्धार संकट ब्यवस्थापन केन्द्रले प्रदान गर्ने सेवाहरु ः
१. निशुल्क स्वास्थ्य उपचार २४ सै घण्टा उपलब्ध छ ।
२.स्वस्थ्य सेवा र हिंसाबाट बच्ने उपायका बारे परामर्श प्रदान गरिन्छ ।
३. अल्पकालिन आश्रयको ब्यवस्था छ ।
४.सरकारी वकिलद्धारा कानुनी परामर्शको ब्यवस्था पनि गरिएको छ ।
५.अल्पकालिन आश्रय स्थलमा बसेका पीडित र उनका परिवारका लागि पुर्नस्थनपना गर्ने बातावरण मिलाउन सहयोग गरिन्छ ।
सम्पर्क ब्यक्तिः कुशुम शाही, 
फोनं. ०९४ ४२०२९२
लैगिंक हिंसा गर्नु मानव अधिकारको हनन् हो ।
 लैगिंक बिभेदलाई अन्त्य गरौं र गराऔं ।

जिल्ला स्वास्थ्य कार्यालय, डोटी

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः २०७४÷३÷२          
        जिल्ला डोटी दि.सि.न.पा.वडा नं.१ स्थित कि.नं.१४७७ र १४७८ को जग्गा दि.सि.न.पा.वडा नं.६ बस्ने ईन्द्रमान श्रेष्ठको नाती लक्ष्मि नारायण श्रेष्ठको छाबेरा  ध्रुवराज श्रेष्ठ र ऐ. बस्ने ऐ.को नाती ऐ.को छोरा बिजयराज श्रेष्ठको नाउँमा नापनक्सा भई संयुक्त श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि बिजयराज श्रेष्ठ २०३९ साल देखि वेपत्ता भई हालसम्म सम्पर्कमा नआएको र निजको पत्नि सावित्रि श्रेष्ठ २०४७ सालमा अर्को संग विवाह गरि पोईल गएकीले बिजयराज श्रेष्ठको शेषपछिको हकदार एकमात्र छोरा संजयराज श्रेष्ठ मात्र भएको हुदा उक्त संयुक्त श्रेस्ता पुर्जा मध्ये बिजयराज श्रेष्ठको पुरै हकहिस्सा मेरा नाउँमा नामसारी गरि पाउँ भनी डोटी दि.सि.न.पा. ६ नं. वडा कार्यालय, डोटीको च.नं.९१ मिति २०७४/२/२४ को किटानी सिफारीस पत्र, ध्रुबराज श्रेष्ठ र बिजयराज श्रेष्ठको नाउँकोे संयुक्त जग्गाधनि प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को एकिकृत सम्पत्ति कर बुझाएको रसिद, नाता प्रमाणित आदी प्रमाणहरु साथै राखी जि.डोटी दि.सि.न.पा.वडा नं.६ (साविक वडा नं.१) बस्ने संजयराज श्रेष्ठले यस मालपोत कार्यालय, डोटीमा मिति २०७४/२/३० मा निवेदन दिनुभएको हुँदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, बिजयराज श्रेष्ठ वेपत्ता नभएको भए वा सम्पर्कमा भए, सावित्रि श्रेष्ठ पोईल नगएकी भए वा निज निवेदकको मागदावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आपूmसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीको सर्बसाधारणमा अनुरोध

हाल देश भरी गर्मी मौषम तथा बर्षाका कारण खानेपानी दुषित भइ बिभिन्न पानी जन्य खाना जन्य, तथा स्वासप्रश्वासको माध्यमबाट सर्ने रोगहरु जस्तै भाइरल ज्वरो झाडापखाला, कमलपित्त, टाइफाइट, रगतमासी लगायलका अन्य ब्यक्तिगत सरसफाईको कमी तथा फोहोरमैलाको उचित ब्यवस्था नहुँदा लाग्न सक्ने रोगहरुबाट पीडित हुनेहरुको संख्या बढी रहेको तथा ती रोगहरुको प्रकोप र महामारी हुन सक्ने भएकले समयमा नै निम्नलिखित उपायहरु हपनाउन धनजनको क्षति हुनबाट जोगाऔं र जोगिऔं ।
उपायहरु
१. सधै सुद्धिकरण गरिएको सुरक्षित पानीमात्र प्रयोग गरौं । 
२. पानीको मुहान वरिपरी सफा राख्ने ।        
३. पानीको सुरक्षित भण्डारण गर्ने ४. सफा ताजा खानेकुरा मात्र खाने 
५. भिडभाडमा नजाने र खोक्दा वा हाच्छिउ गर्दा नाक मुक छोपौं । 
६. खाना बनाउनु अघि, खाना खानु अघि र बच्चालाई खुवाउनु अघि, दिसापिसाब    गरेपछि, बच्चाको  दिसा सफा गरेपछि र फोहोर कुराहरुलाई छोएपछि हात धुने ।
७. ब्यक्तिगत सरसफाइमा ध्यान दिने । 
८. प्रशस्त मात्रामा झोलिलो पदार्थ र पोसिलो खानेकुरा खाने, खुवाउने । 
९. माथि उल्लेखित गरिएको लक्षण तथा चिन्हहरु देखिएमा स्वास्थ्य संस्थामा जाँच   गराई सञ्चो नभएसम्म घरमा आराम गरौं र बिशेष गरी बालबालिकाहरुलाई बिद्यालय नपाठाआंै । 
१०. सधैं चर्पीमा मात्र दिसापिसाब गर्ने । 
११. आफ्नो घर आगन सधैं सफा राख्ने र पानी जन्य खाल्डाखुल्डी पुर्ने ।

जिल्ला निर्वाचन कार्यालय डोटीको सूचना 

२०७४ साल अषाढ १४ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको लागि यस जिल्लाका प्रत्येक मतदान केन्द्रमा मिति २०७४÷०३÷११, १२ र १३ गतेका दिन मतदाता परिचय पत्र बितरण गर्ने तथा परिचय पत्र लिन आउने प्रत्येक मतदातालाई सही तरिकाले मत संकेत गने सिकाउने उद्देश्यका साथ मतदान केन्द्रहरुमा प्रयोग हुने सक्कली मतपत्रको नमूना पोष्टर भित्तामा टाँसी सम्वन्धित नि.शि.का÷मतदाता शिक्षा स्वयंसेवकबाट मतदातालाई अबलोन गर्न लगाउने कार्यक्रम रहेकोले सबै मतदाताहरुले आफुले मतदान गर्नु पर्ने केन्द्रमा गई मतदाता परिचय पत्र लिन हुन र मिति २०७४÷०३÷१४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा आफ्नो अमुल्य मताधिकारको प्रयोग गरिदिन हुन सम्पूर्ण मतदाताहरुमा हार्दिक अनुरोध गरन्छ ।

No comments:

Post a Comment