Tuesday, October 17, 2017

बिम्ब नेपाली साप्ताहिक, २०७४ असाेज ३१ गते मंगलबार

अाउँदै गरेकाे शुभ तिहार २०७४ सालकाे हार्दिक मंगलमय शुभकामना ।

मुख्य समाचार

निजामति बिद्यालयले जग्गा पायो


संरचना निर्माणका लागि डिपिआर तत्काल सुरु गरिने
जग्गा नभएका कारण पूर्णता पाउन नसकेको निजामति कर्मचारी आवाशीय बिद्यालयले लामो समयपछि एक सय २५   रोपनी जग्गा पाएको छ । 
२०६६ साल पुष ९ गतेको मन्त्रीपरिषद्ले साविकको पूर्वाञ्चल बिकास क्षेत्रको धनकुटा र सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रको दिपायलमा गरि दुई निजामति बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्ने क्रममा निजामति कर्मचारी आवाशीय बिद्यालय दिपायल डोटी नाम राखि क्षेत्रीय शिक्षा निर्देशनालयमा २०६७ बैशाख १४ सार्वजनिक शैक्षिक गुठीका रुपमा दर्ता भएपनि जग्गा नभएका कारण सञ्चालनमा आउन सकेको थिएन । 
सरकारका बिभिन्न निकायको नाममा रहेको जग्गा, सार्वजनिक जग्गा वा बन क्षेत्रको जग्गा खोज्ने प्रयास जारी रहे तर प्राप्त हुन सकेको थिएन । जग्गा प्राप्तीका लागि स्थानीय कुमालीकोट सामुदायिक बनसंग २०६७ सालदेखि नै गरिएको पहल पश्चात सामुदायिक बन उपभोक्ता समूहले जग्गा दिने सहमति गरेको भएपनि बन बिभागले बन क्षेत्रभित्रको जग्गा हस्तान्तरण गर्न नमिल्ने भन्दै रोक्दे आएको थियो । गत असार ८ गतेको मन्त्रीपरिषद्को बैठकले दिपायल सिलगढी नगरपालिका–४ अन्तरगत पर्ने कुमालीकोट सामुदायिक बन क्षेत्रभित्रको एक सय २५ रोपनी जग्गा निजामति बिद्यालयलाई उपलव्ध गराउने निर्णय गरेपछि बिद्यालयले जग्गा पाएको हो । 
उक्त जग्गा बिद्यालयले चलनभोग गर्ने गरि शुक्रबार बन बिभागका प्रतिनिधि र क्षेत्रीय प्रशासन कार्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको निमित्त क्षेत्रीय प्रशासक शंकर बिष्टले जानकारी दिए । ‘३० बर्षका लागि जग्गा चलनभोग गर्ने सहमति भएको छ’ बिष्टले भने ‘अव लगत्तै डिपिआर तयार गर्ने कार्य अगाडि बढ्छ ।’ सहमति पत्रमा बिद्यालयको तर्फबाट निमित्त क्षेत्रीय प्रशासक बिष्ट र बन बिभागको तर्फबाट जिल्ला बन कार्यालय, डोटीका प्रमुख बद्रीकुमार कार्कीले हस्ताक्षर गरेका छन ।  
लामो समयसम्म जग्गा प्राप्त हुन नसकेपछि अर्को बिकल्प नभएसम्मका लागि क्षेत्रीय प्रशासन कार्यालयको स्वामित्वमा रहेको भवनमा गत बैशाख १४ गतेबाट उक्त बिद्यालय सञ्चालनमा आएको थियो । यस बर्ष कक्षा ६ र ७ को पढाई भईरहेको बिद्यालयमा कक्षा ६ मा १९ र कक्षा ७ मा ४२ जना बिद्यार्थीहरु अध्ययनरत रहेका निमित्त क्षेत्रीय प्रशासक बिष्टले जानकारी दिए । अनलाईन खवरसंग कुरा गर्दै उनले भने ‘२० जना बिद्यार्थीलाई आवाशीय सुबिधा दिईएको छ ।’ उनले निजामतिका साथसाथै सर्वसाधारणका बालबालिकाहरु पनि उक्त बिद्यालयमा अध्ययन गरिरहेको बताए । बिष्ट भन्छन् ‘सरकारले निजामति कर्मचारीका बालबालिकाहरुलाई लक्षित गरि बिद्यालय सञ्चालनमा ल्याएको भएपनि सर्वसाधारणहरुले पनि आफ्ना नानीहरुलाई उक्त बिद्यालयमा पढाउन सक्नेछन् ।’
उक्त बिद्यालयको बोर्ड अफ ट्रष्टीज’ को अध्यक्ष क्षेत्रीय प्रशासक हुन व्यवस्था रहेको छ ।  

सम्पादकीय 

मर्यादित राजनीतिको अभाव

अहिले नेपालको राजनीति तरङ्गित भएको छ । खासगरी असोज १७ गतेको राष्ट्रिय सभागृह काण्डले नेपाली राजनीतिलाई थोरै उत्साहित, थोरै हतोत्साहित र थोरै आसंकित बनाएको छ । खासगरी दुई बाम घटकको चुनावी तालमेल सहितको एकता प्रक्रियाले नेपाली राजनीतिमा नयाँ चर्चा सृजना गरेको छ । यद्यपी त्यो तालमेल र एकताको प्रक्रियाले मूर्त रुप लिन्छ कि लिदैन भन्ने बिषयमा अहिले पनि समस्या रहेको छ तर पनि यो घोषणा चिया पसल देखि पार्टी कार्यालयसम्मको गफको बिषय चाँही बनेको छ । 
बाम एकताको प्रसंगले दक्षिणपन्थी शक्तिहरुलाई पनि एक ठाउँमा ल्याउने बाटो मात्रै खोलेन प्रक्रिया समेत सुरु भएको छ । यसैको पहिलो ईनिङ्ग होला सायद मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले हिजो आफुलाई कांग्रेसमा बिलय भएको घोषणा ग¥यो । धार जे होला त्यो अर्कै पाटो भयो तर बिस्तारै ध्रबीकरण आवश्यक छ र यो ढिलो गरिनु हुन्न भन्ने संकेत नेपाली राजनीतिमा देखिन थालेको छ । नेपाली जनता नेपालको राजनीतिबाट अति बितृस्तित त भएका छन तर उनीहरुले अहिले पनि ठाउँ छोडेका छैनन् अर्थात अहिले पनि कुनै दलको सदस्यता लिन र चुनावको दिन मतदान गर्न छोडेका छैनन् । जुन दिन राजनीतिप्रति जनता पूर्ण रुपमा बितृस्तित भईसक्ने छ त्यो दिन बिस्तारै थुप्रै राजनीतिक दलहरु लोप हुँदै जानेछन् । त्यतिबेला ति दलमा आवद्ध भएकाहरुसंग कुनै अर्को ठुलो दलका कार्यकर्ताहरुको लाईनको पछाडिको स्थानमा उभिनु बाहेक अर्को बिकल्प रहने छैन । त्यसैले अहिले देखिनै पार्टी एकता वा बिलय जे भएपनि प्रक्रियामा जाँदा उपयुक्त हुन्छ । 
यद्यपी बिजय कुमार गच्चछेदारले सोमवार नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक बिच एकता भएको भनेका छन तर प्रकृति हेर्दा यो पार्टी एकता होईन, केवल फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा बिलय भएको हो । अझ भन्ने हो भने फोरम लोकतान्त्रिकको पनि एउटा समूह मात्रै हो किनकी त्यो बिलयसंग असहमति जनाउनेहरुले गच्छेदारलाई कारवाही गरेको घोषणा गरिसकेका छन । 
खैर, यो एउटा प्रसंग होला, को बिलय हुने वा को एकिकरण हुने भन्ने आफ्नो तजबिजको कुरा हो तर नेपाली राजनीतिमा मर्यादाको स्थान कहाँ छ भन्ने बिषय गम्भिर छ । गच्छेदारकै भाषमा कांग्रेससंग पार्टी एकिकरण गर्दा उनले साम्यवादीहरुलाई दुई तिहाई मत ल्याउनबाट रोक्नका लागि आफुले एकिकरण गरेको दावी गरे । त्यसो हो भने के यो देशको प्रगतिका बाधक साम्यवादीहरु हुन वा फेरी नेपाली कांग्रेसको सिद्धान्त भनेको साम्यवादहरुलाई सफाया गर्ने हो वा गच्छेदारले नेपाली कांग्रेसलाई आफ्नो प्रजातान्त्रिक समाजबाद भन्ने आदर्श छोडेर आफ्नो    बिचारमा सहमत गराएको हो ? 
नेपाली राजनीतिमा टुटफुट, जुट, मिलाप, एकता यस्ता धेरै अभ्यासहरु उहिले देखिनै भएको छन । गच्छेदार कांग्रेस छोडेर गएका न पहिलो नेता हुन न फर्केर आएका पहिलो नेता हुन । उनले कांग्रेसका जुन व्यक्तिसंग हात मिलाएर एकताको घोषणा  गरे ति व्यक्ति पनि कुनै दिन कांग्रेसबाट चोईटिएर गएका थिए र फर्केर आएका थिए । त्यसैले कसैलाई सिध्याउनका लागि राजनीति गर्ने वा पार्टी एकता गर्ने कुरा राजनीतिक मर्यादाभित्रको कुरा हो ? गच्छेदार नेपाली कांग्रेसमा गएर जनता र देशको हितका लागि काम गर्छन वा कसैलाई समाप्त गर्छन् । उनले कांग्रेसभित्र प्रवेश गर्दा झारेका आशु र बोलेका शव्दले उनी नित्तान्त रुपमा कुनै व्यक्ति वा समूहसंग पूर्वाग्रही छन र त्यो पूर्वाग्रह साध्नका लागि उनी कांग्रेस प्रवेश गरेका हुन भन्ने देखिन्छ ।  

पिछडिएको क्षेत्रको ब्यापक बिरोध

सरकारले हचुवाको भरमा स्थानीय तहहरुलाई पिछडिएका क्षेत्र निर्धारण गरेको भन्दै डोटीमा व्यापक आलोचना भएको छ । 
पिछडिएका क्षेत्र भन्दै सरकारले ५७ स्थानीय तहको सूचीमा डोटीका दुई स्थानीय तहहरु पूर्वीचौकी गाउँपालिका र आदर्श गाउँपालिकालाई राखेपछि डोटीमा बिरोध भएको छ । सरकारले पिछडिएको क्षेत्र तोकेको आदर्श गाउँपालिकाका ७ वडाहरुमध्ये ६ वडाको केन्द्रमा यातायात बिद्युत पुगेको छ । यस्तै स्नातक तहसम्मको क्याम्पस लगायतका अन्य भौतिक पूर्वाधार पनि निर्माण भएका छन । 
पिछडिएको क्षेत्रमा परेको अर्को पूर्वीचौकी गाउँपालिकाको केन्द्र सिलगढी साँफे राजमार्गमा पर्दछ । उक्त सडकले गाउँपालिकाका चार वडाहरुलाई छोएको छ । गाउँपालिकाका ७ वडामध्ये ६ वडाको केन्द्रमा सडक सुबिधा पुगेको छ । दुवै गाउँपालिका जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकासंग जोडिएका छन ।  
होटल व्यवसायी संघ डोटीका अध्यक्ष दिपक खड्का भन्छन् ‘सदरमुकामबाट पाँच किलोमिटरको दुरीमा रहेको स्थान पिछडिएको क्षेत्र भएछ अनि ५० किलोमिटरको दुरीमा रहेको बोगटान क्षेत्र सुगम भएछ ।’ उनी यो बर्गीकरण अबैज्ञानिक भएको बताउँछन । 
पूर्वीचौकीका स्थानीयबासिन्दा समेत रहेको गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायत यो बर्गीकरणले आफुहरुको अपमान भएको महसुस गरेको बताउँछन । उनी भन्छन् ‘हामी जिल्ला सदरमुकामसंगै जोडिएका छौं, पूर्वाधारका दृष्टिले, उत्पादनका दृष्टिले, भौगोलिक सामिप्यताका दृष्टिले हामी जिल्लाका अन्य क्षेत्रको तुलनामा अगाडि छौं तर हामीलाई पिछडिएको क्षेत्रमा राखिएको छ ।’ 
सायल गाउँपालिका–२ का दिर्ख ओझा सरकारलाई सुगम केलाई भन्ने र पिछडिएको क्षेत्र केलाई भन्ने बिषयमा पनि जानकारी नभएको बताउँछन । उनी राजनीतिक दलका नेताहरुप्रति आक्रोस पोख्दै भन्छन् ‘यस्ता हर्कत गर्ने नेताहरुलाई चुनावमा बहिस्कार गरिन्छ ।’ सायल क्षेत्रलाई दुर्गम मानिन्छ । 
बढीकेदार, बोगटान र सायल गाउँपालिका पिछडिएको क्षेत्रमा पर्नु पर्नेमा सवै कुराले अगाडी रहेका स्थानीय तहलाई पिछडिएको क्षेत्रमा राखिनु दुःखद् भएको पत्रकार टेकेन्द्र देउवा बताउँछन । उनी व्यंग्य गर्दै थप्छन् ‘देशलाई स्वीजरलेण्ड बनाउने भन्थे डोटीबाटै सुरु गरेछन् कि क्या हो, रातारात दुर्गमलाई सुगममा राखेछन् ।’ 
सरकारको उक्त निर्णयको सामाजिक सञ्चालमा समेत व्यापक रुपमा आलोचना भईरहेको छ । 
जिल्ला समन्वय समितिलाई जानकारी छैन 
सरकारले कुन मापदण्डका आधारमा डोटीका दुई स्थानीय तहलाई पिछडिएको क्षेत्रमा राख्यो भन्ने आफुलाई जानकारी नभएको जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐर बताउँछन । 
‘मैले हामी आउनु भन्दा अगाडि भएका कार्यालयका निर्णयहरु हेरे, कुनै बैठकमा पनि त्यस्तो निर्णय भएको छैन’ टेलिफोनमा कुरा गर्दै प्रमुख ऐरले भने ‘जिल्ला समन्वय समितिको कार्यालयबाट त्यस्तो निर्णय भएको छैन ।’ भौगोलिक दुरीका आधारमा भन्दा पनि मानव सूचकांकको आधारमा गरेको भन्ने सुनेको ऐरले बताए । उनले भने ‘मानव सूचकांककै आधारमा भएको हो भने पनि यो त्यति बिश्वासिलो बर्गीकरण भएन, किनकी हाम्रो जिल्लामा यि दुई स्थानीय तहमा बसोबास गर्ने जनता भन्दा पनि पिछडिएका समुदाय छन ।’ 
जिल्ला समन्वय समितिको बैठक बसेर यस बिषयमा छलफल गरि मन्त्रालयमा पठाउने ऐरले जानकारी    दिए । उनले भने ‘यो गम्भिर बिषय हो, जिल्लाको समग्र अवस्था अध्ययन नगरि हचुवाको भरमा यस्तो निर्णय गर्नु उपयुक्त हुँदैन । 

राष्ट्रपतिद्वारा शैलेश्वरी दर्शन


राष्ट्रपति बिद्यादेवी  भण्डारीले डोटी सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध शक्तिपिठ शैलेश्वरी मन्दिरको दर्शन गरेकी छन । 
देशका बिभिन्न स्थानहरुको भ्रमण गर्ने क्रममा जुम्ला हुँदै बुधवार सुदूरपश्चिम पृतना मुख्यालय दिपायल पुगेकी राष्ट्रपति भण्डारीले बिहिवार शैलेश्वरी दर्शन गरेकी हुन । भण्डारीले शैलेश्वरी मन्दिरमा पुजा अर्चना गरेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष एवं मन्दिरका पुजारी प्रेमशंकर भट्टले जानकारी दिए । 
सो अवसरमा राष्ट्रपति भण्डारीले शैलेश्वरी क्षेत्रमा हालै निर्माण भएको खानेपानीको धाराको पनि उद्घाटन गरेकी छन । समितिले आफ्नै लगानीबाट मुहान खरीद गरि ल्याईएको धारामा सधैंभरी पानी आईरहने समितिका अध्यक्ष भट्टले बताए । 
शैलेश्वरी मन्दिर पुग्नु अघि राष्ट्रपति भण्डारी प्रसिद्ध पर्यटकीय एवं धार्मिक स्थल खप्तड पुगेकी थिईन । खप्तड क्षेत्रका त्रिवेणी धाम, खप्तड बाबाको आश्रम, सशस्त्रलिङ्ग लगायतका क्षेत्रको भण्डारीले दर्शन गरेकी थिईन । 
राजधानीका लागि ज्ञापन पत्र 
राष्ट्रपति भण्डारीको डोटी भ्रमणको अवसर पारी प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने माग गर्दै डोटीको दिपायल सिलगढी नगरपालिकाले ज्ञापन पत्र बुझाएको छ । 
शैलेश्वरी मन्दिर क्षेत्रमा आयोजना गरिएको सन्क्षिप्त कार्यक्रममा नगरपालिकाका प्रमुख मञ्जु मलासीले राष्टूपति भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा राणाकालीन देशका चार गौंणामध्ये पश्चिम गौणाको प्रशासनिक केन्द्र डोटीमा रहेको र साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि डोटीमै भएका कारण ऐतिहासिक रुपमा डोटी नै राजधानी हुनु पर्ने माग गरिएको छ । ‘भौगोलिक रुपमा प्रदेश नं. ७ का नौ जिल्लाको केन्द्र बिन्दु डोटी नै हो’ ज्ञापन पत्रमा भनिएको छ ‘खप्तड क्षेत्रको प्रमुख प्रवेशद्वार, पश्चिम सेती परियोजनाको केन्द्र पनि डोटी नै भएकाले राजधानीका लागि डोटी नै उपयुक्त हो ।’ 
ज्ञापन पत्रमा सरकारी जमीन र सरकारी भौतिक संरचनाहरु डोटीमै बनेका र उच्च अदालत, सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रदेशस्तरीय कार्यालय र प्रहरीको प्रदेशस्तरीय कार्यालय डोटीमै स्थापना भईसकेकाले डोटी राजधानीका लागि भुमिका निर्वाह गरिदिन हुन राष्ट्रपतिलाई आग्रह गरिएको छ । 
राष्ट्रपति हेर्न महिलाको भुईचो 
गणतन्त्रको स्थापनापछि पहिलो पटक राष्ट्र प्रमुख आफ्नै जिल्लामा आउने भएपछि स्थानीयबासीहरु राष्ट्रपति हेर्न ओईरिएका थिए । कडा सुरक्षा घेरामा स्थानीय टुँडिलेखबाट मन्दिर परिसरसम्म आउजाउँ गर्दा स्थानीयहरुले टाढैबाट भण्डारीको स्वागतका लागि हात हल्लाउँदै ताली बजाएका थिए । जवाफमा राष्ट्रपति भण्डारीले पनि हात हल्लाएकी थिईन ।

निकुञ्जद्वारा धान चुट्न रोक

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले निकुञ्ज पिडितहरुलाई धान चुट्नमा रोक लगाएको छ । लालझाँडी गाँउपालिका–१ ढक्का शिबिरमा बस्दै आएका पीडितले थ्रेसरबाट धान चुट्न थालेपछि निकुञ्जको सुरक्षामा खटिएका सेना र गेमस्काउटले रोकेपछि निकुञ्ज र पिडितबीच द्वन्द्व उत्पन्न भएको हो । 
तिहारका बेला निकुञ्ज कार्यालयले सेना लगाएर खाने गाँसमा अवरोध सिर्जना गरेर पीडितलाई दुख दिन खोजेको पीडितको भनाई छ । पीडित मनबिर ओडले आफुहरुमाथी सरकारले दमन गरेको बताए । ‘पीडितलाई विस्थापित गरेर स्थापितको साटो उल्टै खाद्य अधिकारबाट हनन् गरेको छ, ‘उनले भने ‘पीडितलाई पुनस्र्थापना गर्नुपर्छ ।’ आरक्ष पीडितका लागि अत्यन्तै दुःखत दिन आएको बताउदै ओडले धान चुट्न दिनुपर्नेमा माग राखे । 
निकुञ्जले खेत जोत्दा र बाली भित्र्याउने बेला सधैं मानसिक पिडा दिँदै आएको आरक्ष पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरा सिं भण्डारीले  बताए । ‘धान चुट्ने बेला सेनाले रोकेपछि हामी आन्दोलनमा उत्रेका छौँ, ‘उनले भने ‘तिहारका बेला पीडितलाई सुखपूर्वक खान दिने भएनन् ।’ पीडितमाथी बेला बेलामा कर्मचारीतन्त्रबाट दमन, शोषण भएका कारण समस्या समाधान नभएको उनको दुखेसो छ । ‘हामी जंगलमा रहरले होईन् बाध्यताले बसेका हौँ, ‘उनले भने ‘हामी नेपाली नागरिक हौँ, कि भारतीय यो सरकारले आजै भन्नुप¥यो ।’ सरकारी  लाचारीपनका कारण आज मानव भएर दानवको जस्तो जीवन विताउन बाध्य भएको बताउदै उनले तिहारका बेला पेटमा लात हानेर भोको मार्न खोजेको दुखेसो गरे । 
शुक्लाफाँटा निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख बेद कुमार ढकालले विभागको निर्देशन अनुसार निकुञ्ज र नेपाली सेनालाई आरक्षपीडितको शिबिरमा मेसिनरी समाग्रीबाट खनजोत र अन्नबाली चुट्न नदिने निर्देशन अनुसार रोकेको बताए । ‘यो हाम्रो विभागको निर्देशन हो, उनले भने ‘मैलै रोक्न खोजे पनि सेनाले मेरो निर्देशन मान्दैन् ।’ 
जिल्ला खाद्य अधिकार संजाल कञ्चनपुरका अध्यक्ष कोमल निरन्जन भाटले पीडितको खाद्य अधिकार सुनिश्चितमा जोड दिए । ‘खाद्य अधिकारको कोणबाट यो निकुञ्जको कदम उचित छैन्, ‘उनले भने, ‘नागरिकलाई मानव अधिकारबाट बञ्चित गराउनु हुन्न् ।’ 
निकुञ्ज पीडितले प्रधानमन्त्री शेर बहादुर देउवाका पालामा १६ बर्ष अघि विस्थापित भएको र अहिले पनि उनकै नेतृत्वमा भएको सरकारले पुनस्र्थापना गर्नुको साटो उल्टै पीडितलाई तिहारका बेला यातना दिईरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाले विगतमा आफ्ना पालामा हटाईएका पीडितको स–सम्मान पुनस्र्थापना गर्नुको साटो बनमन्त्रालयले थप पिडा दिएको पीडितको गुनासो छ ।

चर्चामा सम्भावित उम्मेदवारहरु

रामहरी ओझा/सिलगढी
असोज ३०
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावाको मिति लम्बिदै जाँदा डोटीमा उम्मेदवार को होलान भन्ने चर्चा तिब्र भएको छ । तिन ठुला दलहरुले जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेपछि अहिले को उम्मेदवार हुने बिषयमा कार्यकर्ताबीच चर्चा परिचर्चा हुन थालेको हो । 
समानुपातिकतर्फको बन्दसूची उधारो बुझाएका दलहरुले प्रत्येक्षतर्फका उम्मेदवारहरुको अझै टुङ्गो लगाउन सकेका छैनन् । समानुपातिकमा आफु परे कि परेन भन्ने बारेमा आकाँक्षीहरुलाई जानकारी छैन तर प्रत्येक्षतर्फको उम्मेदवार बिषयमा बहस तिब्र हुन थालेको छ । 
प्रतिनिधि सभामा पुरानै अनुहारको बढी चर्चा
राजनीतिमा युवाहरुको सहभागिता हुनु पर्ने दवाव आईरहेको भएपनि प्रतिनिधि सभाका लागि चर्चामा         रहेकाहरुमा अधिकांस पुरानै अनुहार छन् । पुराना   अनुहारको चर्चाले उम्मेद्वारका आकाँक्षी बनेका नयाँ अनुहारहरु ओझेलमा परेका देखिन्छन् । 
नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि बहालवाला भौतिक योजना निर्माण तथा यातायात मन्त्री बिरबहादुर बलायरको नाम चर्चामा छ । साविकको डोटी क्षेत्र नं. १ बाट २०७० सालमा प्रत्येक्ष जितेका बलायरलाई कांग्रेसबृत्तमा बलियो उम्मेदवारका रुपमा हेरिएको छ । बिद्यार्थी राजनीति कालमा सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा राम्रो पकड बनाएका बलायर हाल कांग्रेस केन्द्रीय सदस्य समेत छन । 
बलायरसंगै कांग्रेस नेता तथा बहालवाला सांसद भरतबहादुर खड्काको नाम पनि चर्चामा रहेको छ । खड्का समानुपातिक सांसद हुन । पञ्चायत कालमा जिल्ला पञ्चायत सभापति बनेका खड्का २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट जिबिस उपसभापति भएका थिए । २०५४ सालको स्थानीय निर्वाचनबाट जिविस सभापति समेत भएका खड्कालाई पनि बलियो उम्मेदवारका रुपमा लिईन्छ । 
यस्तै लामो समयसम्म पार्टीको जिल्ला सभापति भएका पूर्व बिधायक यज्ञराज पाठकको नाम पनि कांग्रेसबृत्तमा चर्चामा रहेको देखिन्छ । उनलाई सन्त नेताको रुपमा चिन्ने गरिन्छ । खड्का र बलायर जस्तै पाठक पनि डोटीबाट राष्ट्रिय राजनीतिका लागि पुरानै अनुहार हुन ।  
यस्तै नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि बहालवाला सांसद तथा एमाले केन्द्रीय बैकल्पिक सदस्य प्रेमबहादुर आलेमगरको नाम चर्चामा छ । २०७० को निर्वाचनमा साबिकको क्षेत्र २ बाट प्रत्येक्ष जितेका आलेमगरलाई बलियो उम्मेदवार भएको एमालेभित्र चर्चा छ । उनलाई विकासबादी नेता समेत भन्ने गरिन्छ । 
आलेसंगै अर्का नेता हर्कबहादुर सिंहको नाम पनि चर्चामा छ । लामो समयसम्म प्राध्यापन पेशामा सक्रिय सिंह डोटी क्याम्पस प्रमुख पदबाट राजीनामा गरि २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका थिए तर त्यतिबेला उनी पराजित भए । २०६४ सालको संबिधान सभा निर्वाचनमा डोटी क्षेत्र १ बाट बिजयी सिंहलाई बौद्धिक नेताका रुपमा लिने गरिन्छ । 
सिंह र आले दुवै पुरानै अनुहार हुन । यद्यपी एमाले डोटीले प्रतिनिधि सभा सदस्यका लागि कानुन व्यवसायी शंकरदीप मडैको नाम पनि सिफारिस गरेको थियो तर मडैको नाम चर्चामा भने छैन । 
उता नेकपा माओवादी केन्द्रका तर्फबाट त्रिलोचन भट्टको नाम चर्चामा रहेको छ । पार्टी पोलिट व्यूरो सदस्य भट्ट यस अघि २०६४ सालमा डोटी क्षेत्र १ र २०७० सालमा क्षेत्र २ बाट संबिधान सभा सदस्यका लागि उम्मेदवार बनेका थिए । उनलाई सोझा एवं ईमानदार राजनीतिज्ञका रुपमा चिनिन्छि ।
माओवादीले भट्टसंगै सिद्धराज भाट र प्रेमबहादुर नेपालीको नाम पनि सिफारिस गरेको छ तर ति दुईको खासै चर्चा छैन । एमाले–माओवादीबीच ६० र ४० को चुनावी भागबण्डा सहित चुनावी तालमेल भईसकेपछि डोटीमा प्रतिनिधि सभाको सिट एमालेले पाउने चर्चा पनि चलेको छ । 
यस्तै राष्ट्रिय जनमोर्चाले पार्टी केन्द्रीय सदस्य एवं डोटी जिल्ला अध्यक्ष बेणीमाधव जोशीलाई प्रतिनिधि सभाका लागि उम्मेद्वार बनाउने पक्कापक्की देखिएको छ । 
आधिकारिक निर्णय कुनै दलबाट नभएको भएपनि प्रतिनिधि सभामा पुरानै अनुहारबाट उम्मेदवार हुने सम्भावना देखिएको छ । 
प्रदेश सभामा केही नयाँ केही पुरानाको चर्चामा
प्रदेश सभाका लागि पुराना संगसंगै नयाँ अनुहार–हरु पनि चर्चामा छन् । क्षेत्र १ मा कांग्रेसबाट लक्ष्मण खड्का, नरेन्द्रबहादुर सिंह, नरबहादुर ढाँट लगायतका नेताहरुको चर्चा छ । दलगत राजनीतिमा यि नेताहरु पुरानै देखिएपनि संसदीय राजनीतिमा भने नयाँ हुन । 
त्यसो त सांसद भरतबहादुर खड्काको नाम पनि प्रदेश सभाका लागि चर्चामा छ । खड्काले प्रतिनिधि सभाका लागि दावी गरेका भएपनि पार्टीले मिलाउने क्रममा खड्कालाई प्रदेशमा ल्याउन सक्ने सम्भावना रहेको कांग्रेस कार्यकर्ताहरु बताउँछन । खड्कालाई प्रदेश सभाका लागि बलियो उम्मेदवारका रुपमा हेरिन्छ । 
क्षेत्र २ का लागि पुरानै अनुहार योगेन्द्र शाहीको करीव करीव तय भईसकेको कांग्रेस स्रोत बताउँछ । यद्यपी क्षेत्र २ का लागि १२ जनाको नाम सिफारिस भएको छ तर शाहीलाई बलियो उम्मेद्वारको रुपमा  हेरिन्छ । शाही २०७० सालको संबिधानसभाको निर्वाचनमा सोही क्षेत्रबाट पराजित उम्मेद्वार हुन् । 
एमालेबाट क्षेत्र १ मा पार्टी अध्यक्ष चक्र मल्ल, कानुन व्यवसायी एवं युवा नेता लक्ष्मण मलासी र नयन खड्काको नाम चर्चामा छ । संसदीय राजनीतिका लागि यि तिनै अनुहार नयाँ हुन । मल्ल यस अघि २०७० को निर्वाचनमा समेत दावेदार थिए । मलासी र खड्का असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दावेदार थिए । 
यस्तै क्षेत्र २ बाट बहालवाला सांसद गौरी ओली, युवा नेताद्वय भोजनाथ योगी र पदमराज भट्टको नाम चर्चामा छ । संसदीय राजनीतिमा योगी र भट्ट नयाँ अनुहार हुन । तिन जनाको नाम पार्टीले पठाएको भएपनि ओली नै प्रमुख दावेदार भएको एमाले स्रोत बताउँछ ।
यद्यपी एमाले–माओवादी चुनावी तालमेलपछि क्षेत्र २ माओवादीको भाग पर्न सक्ने सम्भावना छ । माओवादीले डोटी क्षेत्र १ लाई जित्नका लागि सुरक्षित देखेका कारण क्षेत्र १ नै दावी गरिरहेको स्रोत बताउँछ । तर, एमालेजनहरु भने क्षेत्र १ माओवादीलाई छोड्न असम्भव रहेको बताउँछन् । माओवादीले क्षेत्र १ पाए जनार्दन जोशी उम्मेदवार हुने सम्भावना रहेको छ । क्षेत्र २ माओवादीले पाएमा त्रिलोचन भट्टलाई प्रदेशमा ल्याउने सम्भावना रहेको माओवादी कार्यकर्ताहरु बताउँछन । 
उता राष्ट्रिय जनमोर्चाले पनि डोटी क्षेत्र २ का लागि पार्टी जिल्ला सचिव एवं युवा नेता केशवनाथ योगीलाई सिफारिस गरेको छ । योगी पनि चुनावी राजनीतिका लागि नयाँ अनुहार हुन । क्षेत्र १ का लागि भने सो पार्टीले पनि उम्मेद्वार तय गरिसकेको छैन । 
जिल्लामा क्रियासिल राप्रपा, संघीय समाजबादी फोरम, नेकपा (क्रान्तिकारी–माओवादी), नयाँ शक्ति नेपाल लगायतका साना दलहरुले पनि उम्मेद्वार तय गरिसकेका छैनन् । 
नेताहरु राजधानी केन्द्रित 
उम्मेदवारको नाम सिफारिस भएसंगै ठुला दलका नेताहरु काठमाण्डौं केन्द्रित भएका छन । 
नेताहरुले आफ्नो पक्षमा वकालत गर्नका लागि जिल्लाबाटै आफ्ना पक्षका कार्यकर्ताहरु समेत बोकेर   राजधानीतिर लागेपछि जिल्लामा राजनीतिक गतिबिधि शुन्य प्राय भएको छ । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका जिल्ला तहका कार्यकर्ताहरु अधिकांस काठमाण्डौंमै रहेको कार्यकर्ताहरु बताउँछन । 
जिल्ला बाहिर बस्ने, चुनावको बेला नेताहरुको वरिपरि घुमी टिकट लिने र फेरी अर्को चुनावसम्म जिल्ला बाहिरै बस्ने डोटेली राजनीतिको पुरानै रोग भएके युवा राजनीतिज्ञहरु बताउँछन ।

नगरपालिकाद्वारा अबैध मदिरा नष्ट


नगरपालिकाले बजार अनुगमनका क्रममा बरामद् गरेको अबैध मदिरा नष्ट गरेको छ । 
नगरपालिकाको अनुगमन टोलीले शुक्रवार नगरपालिका–८ दाङबाट प्राप्त गरेको निम्नस्तरको मदिरा (जेनियल) १९ क्वाटर र दुई बोतल बियर नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि, प्रहरी प्रतिनिधि र सञ्चार–कर्मीहरुको रोहबरमा उक्त मदिरा नष्ट गरिएको दिपायल सिलगढी नगर–पालिकाका निमित्त कार्यकारी अधिकृत बिष्णुराज जोशीले जानकारी दिए । 
जोशीका अनुसार मदिरा कारोवार ईजाजत पत्र नलिएको पसलबाट उक्त मदिरा बरामद् गरिएको हो । अन्य पसलहरुमा पनि यस्तो मदिरा हुन सक्ने जोशीको आसंका छन । ‘धेरै पसलहरु हामी जाँदा बन्द थिए’ बिम्ब साप्ताहिकसंग कुरा गर्दै जोशीले भने ‘नगरका अन्य स्थानहरुमा पनि ईजाजत बिना मदिराको कारोवार भईरहेको भन्ने खवर आएको छ, हामी नियमित रुपमा अनुगमन      गर्छौं ।’ 
अनुगमनका क्रममा म्याद गुज्रिएको ६ पकेट चकलेट पनि नष्ट गरिएको नगरपालिकाका राजश्व फाँट प्रमुख लोकेन्द्र जोशीले जानकारी दिए ।

छोटकरी समाचार 

सर्पले टोकेर बालकको मृत्यु

सर्पको टोकाईबाट डोटी दिपायल सिलगढी नगरपालिका–६ सिलगढीका एक बालकको मृत्यु भएको छ । 
शुक्रबार सिलगढी नाचन्थली निवासी आठ वर्षीय हिमाल बोहराको सर्पले टोकेर मृत्यु भएको हो । प्रकाश     बोहराका छोरा हिमाललाई घरमै खेलिरहेका बेला शुक्रबार साँझ सर्पले टोकेको थियो । सर्पले हिमालको गालामा टोकेको परिवारले जनाएको छ । 
घटनापछि उपचारका लागि जिल्ला अस्पताल पु¥याईएका बोहराका जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

दिपाबलीमा कडा सुरक्षा व्यवस्था

दीपावली तथा छट पर्वको अवसरमा सुरक्षा ब्यवस्था कडा गरिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिब बहादुर सिंहले जानकारी दिएका छन् ।
जिल्लामा सधैंका बर्षहरुमा बडा दशै तथा शुभ दीपावलीको बेला अप्रिय घटनाहरु हुने गरेको भन्ने सुनिन्थ्यो’ सिंहले भने ‘यसपाली जनताले शान्त र सभ्य बाताबरणमा तिहार मनाउन सक्नेछन । हामीले सुरक्षा ब्यवस्था कडाइ गरिसकेका छौं ।’
सिंहले मदिरा नियन्त्रण गर्नका लागि बिभिन्न स्थानीय निकायहरुमा प्रहरी टोली  परिचालन गरिसकेको बताए ।

खेल समाचार 

फुटसलको पहिलो अन्तराष्ट्रिय खेलमै नेपाल पराजित


इरानमा भएको फुटसलको पहिलो अन्तराष्ट्रिय खेलमा नेपाल पराजित भएको छ ।
आइतबार भएको खेलमा नेपाललाई उज्वेकिस्तानले १४–१ ले पराजित गरेको हो ।
अखिल नेपाल फुटबल संघले दुई साताअघि मात्र राष्ट्रिय फुटसल टिम बनाउने तयारी थालेको थियो । एन्फाले एएफसी फुटसल च्याम्पियनसिप छनोटको लागि नेपाली टोली छनोट गरेर इरान पठाएको थियो ।
यसै छनोट अन्तर्गतको पहिलो अन्तराष्ट्रिय खेलमा नेपालले हार बेहोरेको छ । नेपाली फुटसल टिमको यो पहिलो आधिकारिक खेल पनि हो ।
नेपालका लागि कप्तान सुरज राउतले २२ मिनेटमा १ गोल गरेका     थिए ।

नेपाल र हङकङबीचको खेल रद्द


समुद्री आँधीका कारण भएको भारी वर्षाका कारण आज हुने भनिएको नेपाल र हङकङवीचको खेल रद्द गरिएको छ ।
खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँड्ने भएका छन् ।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सीप अन्तरगत नेपाल र हङकङबीचको खेल आइतबार हुने तय गरिएको थियो । तर, समुद्री आँधीका कारण आइतबार हुने भनिएको खेल सोमबारका लागि सारिएको थियो । यद्यपि, सोमबार पनि वर्षा भएपछि खेल रद्द गर्ने निर्णय गरिएको हो ।
पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।
१२ खेलपछि नेपाल ९ अंकसहित छैटौँ स्थानमा सीमित भएको छ । हङकङ भने १४ अंकसहित चौँथो स्थानमा रहेको छ ।

चलचित्र÷मनोरञ्जन 

माया त धेरैसँग गाँसेकी छु – गायिका लक्ष्मी

गायिका लक्ष्मी आचार्य यतिबेला चर्चामा छिन् । उनले पछिल्लो समय सार्वजनिक गरेको दुई गीत ‘मस्त जवानी’ र ‘भिटामिन’ अहिले दर्शकश्रोताको जनजिब्रोमा झुन्डिन सफल भएको छ । गीतको सफलताले पनि उनलाई अहिले देश बिदेशको स्टेज कार्यक्रममा ब्यस्त बनाएको छ । गायनको अलवा मोडलिङमा समेत क्रियाशील उनले आफ्ना प्रायः गीतको भिडियोमा आफै मोडलिङ गर्ने गरेकी छन् । 
मोतीनगर टिकापुर कैलालीकी आचार्यले बिगत ७ बर्षदेखि गायन र मोडलिङ एकसाथ अगाडी बढाउँदै आएकी छन् । दोहोरीबाट कलाक्षेत्रमा हामफालेकी आचार्यले तीन चर्चित लोकदोहोरी एल्बम समेत श्रोतालाई दिएकी छन् । 
‘नजिक नजिक सछर्न्’, ‘तीन साल अमेरीका’, ‘यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो’ उनका दोहोरी गीतका भाका हुन् । 
सानैदेखि गीत गाउने आचार्य अहिले भने आधुनिक गीत गायनबाट चिनिएकी छन् । आधुनिकमा पनि केही डान्सिङ नम्बर समेत बजारमा ल्याएकी आचार्य स्टेज कार्यक्रममका लागि डान्सिङ बिटको गीत अनिवार्य रहेको बताउँछिन् । यी नै गायिका आचार्यलाई रातोपाटीको दश  प्रश्न
मेकअपमा कतिको रुचि छ ?
राम्री हुन कस्लाई मन पर्दैन होला र ? मेरो पनि मेकअपतिर धेरै रुचि छ । म मेकअप पनि ड्रेसअप अनुसारको गर्न रुचाउँछु । म बाहिर कार्यक्रमको लागि निस्कनु पर्दा आधा घन्टा जति मेकअपमा नै लाग्ने गरेको छ । 
भनेपछि फेसन प्रति लगाव त पक्कै  होला ?
अहिलेको जेनेरेसनले फेसनमा चाँसो पनि दिनुपर्छ । मलाई आफूलाई हट एबं सेक्सी देखिने खालको छोटो पहिरन मनपर्छ । यस्ता पहिरन नै बढी प्रयोग गर्ने गरेकी छु ।
कस्तो खालकी केटी तपाई ?
मेरो स्वभाव चन्चले छ । यस्तो स्वभावले गर्दा धेरैले बच्चा जस्तै छस् त समेत भन्ने गरेका छन् ।
कस्तो केटा मन पर्दैन ?
झुटो बोल्ने, अरुलाई डोमिनेट गर्ने, ठूलो पल्टिने खालको केटा पटक्कै मन पर्दैन ।
प्रेम त पक्कै परेको होला ?
छैन नि । जीवनसाथीको रुपमा गरिने प्रेम कसैसँग गरेकी छैन । मन मिल्ने भेटेकी पनि छैन । अहिले करियर निर्माणको दौडमा छु । त्यसैले प्रेममा अल्झिन पनि चाँहन्न । म कलाकार हुँ । कलाकारले दर्शकसँग गर्ने माया धेरैसँग गाँसेकी छु ।
पहिलो प्रेमपत्र कसले दिएको  थियो ?
एक डाक्टरले दिएका थिए । उहाँ अहिले अमेरिकामा हुनुहन्छ । उहाँको प्रेमतिर मैले ध्यान दिइन । अहिले पनि धेरै थरिका प्रेमपत्र आउने गरेका छन् । त्यसरी पत्रमा आएका प्रेम, प्रेम नभएर म प्रतिको आकर्षण मात्र हो भन्ने मेरो बुझाइ छ ।
जीवनका भुल्न नसक्ने घटना पनि होलान् नि ?
केही पहिले एक स्टेज कार्यक्रममा गीत गाउँदै थिए । दर्शकले मेरो गीत सुनेर नाच्दै टिसर्ट, घडी खोलेर म तिर फाक्नु भयो । मोवाइल समेत म तिर फाक्दै मैले गायको गीतमै मख्ख परेर नाच्न थाल्नुभयो । यो घटना म कहिलै बिर्सन सक्दिन । यो घटना अहिले पनि सम्झना आइरहन्छ । 
डेटिङको अफर कतिको आउँछ ?
थुप्रै आउँछन् । जसले अफर गर्यो । त्यहिसँग डेटिङ जाने गरेकी छैन । मनले खाने भेटे भने जान्छु । 
कसैलाई चड्कन हान्नु भएको छ ?
एक पटक बाटोमा एक्लै हिँडिरहेकी थिए । केही केटाहरुले जे पायो त्यही बोल्दै जिस्काए । केही समय त चुप लागेर हिँडे । तर जिस्काउँदै फलो गरेपछि एक केटाको गालामा दुई चड्कन हाने ।
कुन हिरो मनपर्छ र किन ?
आयर्न सिग्देल मनपर्छ, किनभने उहाँको अभिनय, हाउभाउ सबै राम्रो लाग्छ ।

लेख 

एमाले सिध्याउने खेल ।

रामहरी ओझा
झिस्मिसे अध्याँरो बाँकीनै थियो, चन्द्रमाको प्रकाशले रुख र अन्य संरचनाको छायाँ पर्ने ठाउँमा बाहेक अन्यत्र उज्यालो दिने प्रयास गरिरहेको थियो । समय बिहानको करीव ५ वजेको हुँदो हो । एक जना पुराना मित्रले फोन गर्नु भयो । लामो समयपछिको फोनमा लामै भलाकुसारी पछि उनले एमाले–माओवादी एकिकरणको प्रसङ्ग     निकाले । ‘तपाई त पत्रकार, धेरै कुरा बुझ्नु भएको होला नि ! के हो यो एकिकरणको चर्चा ?’ 
असोज १७ गतेको राष्ट्रिय सभागृहको नाटकीय एपिस्युडपछि अहिले चारैतिर चर्चा भएको छ । आफुलाई कम्युनिष्ट पार्टीको दावी गर्दै आएका दुई ठुला दलहरुले चुनावी तालमेल र पार्टी एकताको बिषय संगै बाहिर ल्याउँदा राजनीतिक क्षेत्र तरङ्गित बनेको छ । बाम एकताको कुरासंगै प्रजातान्त्रिक शक्तिका नाममा बुर्जुवा शैलीका दलहरुले पनि एउटै मोर्चा बनाउन गरेको अभ्यासले यो चर्चालाई थप मलजल दिएको छ ।
पछिल्लो समयमा खासगरी मधेशमा चलिरहेको आन्दोलन तुहाउन र भारतले गरेको अघोषित नाकाबन्दीको मुकाबिला गर्न केपी ओली नेतृत्वको सरकारले जुन भुमिका निर्वाह ग¥यो यसले जनतामा एमालेप्रति बिश्वास, सम्मान र सद्भाव जगायो । भलै उक्त अभियानमा तत्कालीन सत्ता साझेदारहरुको पनि भूमिका रहेको थियो तर नेतृत्वकर्ता एमाले भएका कारण जस पनि एमालेको भागमा बढी आयो । संबिधान संसोधनको सवालमा एमालेले लिएको अडानमा कारण तराईमा बिशेषगरी प्रदेश नं. २ मा एमालेले अपेक्षित नतिजा ल्याउन नसकेपनि देशभरी स्थानीय तहको निर्वाचनमा एमालेले राम्रो नतिजा ल्यायो । 
अघिका दुई चरणमा एमाले जति उत्साहित देखियो तेश्रो चरणमो निर्वाचनमा हतोत्साही भयो । अर्थात चुनावी परिणामले एमालेलाई भित्रभित्रै गलाएको हुनु पर्छ । त्यसैले होला चुनावको पूर्ण परिणाम आएको १० दिन नबित्दै एमालेले चुनावी तालमेल र पार्टी एकताको कुरामा सहमति जनायो । यद्यपी दुई नं. प्रदेशको चुनावी परिणामले एमाले आत्तिनु पर्ने कुनै कारण थिएन ।  
खैर, एमाले उत्साहित हुनु पथ्र्यो वा हतोत्साही त्यो सम्वन्धित पक्षले नै बिश्लेषण गरोस् तर अहिलेको बजारको चर्चा एमाले(माओवादी चुनावी तालमेल र पार्टी एकता हुने प्रसंग हो । पार्टी एकताको यो ‘साहीमुन्द्रो’ स्वभाबिक हो वा अस्वभाविक हो ? एमालेबृत्त र आम क्षेत्रमा पनि यो चाँसोको बिषय भएको छ । स्वभाविक रुपमा चुनावी तालमेल हुने कुरा नेपाली राजनीतिका लागि नौलो कुरा होईन । बहुदलीय प्रजातन्त्र भएका बिश्वका अन्य मुलुकहरुमा पनि दलहरुका बिचमा चुनावी तालमेल हुँदै आएका छन । आफुलाई सवैभन्दा ठुलो प्रजातान्त्रिक देश दावी गर्ने भारतमा चुनवाको बेलामा एक सदस्यीय, दुई सदस्यीय दलहरुसंग पनि ठुला दलहरुको तालमेल हुने गरेको छ । त्यो नौलो बिषय होईन । तर जुन शैलीबाट चुनावी तालमेलको बिषय उठेको छ, यो निश्चय नै संकास्पद् बिषय छ । 
अघिल्लो रातसम्म एमालेसंग पानी बाराबारको अवस्थामा रहेका हृदयष त्रिपाठीहरु एकाएक एमालेसंग आएर चुनावी तालमेल गर्छन् । एमालेको सुर्य चिन्ह फहराउँदै चुनावमा जाने सहमति जनाउँछन । ‘मधेश बिरोधी एमाले मात्रै हो, संबिधानमा मधेशी जनतालाई अधिकार नदिने एमाले मात्रै हो, एमाले कुनै पार्टी नै होईन्, अपराधीहरुको झुण्ड हो’ भन्ने त्रिपाठीले रातारात के देखेछन् एमालेमा मधेशपक्षीय गुण ? के को बासना आएछ सुर्य चिन्हमा ? तिनै हृदयष त्रिपाठीलाई भारतीय दलाल भन्ने एमाले र एमालेलाई राष्ट्रघाती मधेश बिरोधी भन्ने त्रिपाठी समूहका बिचमा भएको सम्झौताले संकाको बिजारोपण गरेको छ । 
नयाँ राजनीतिक शक्ति बनाउने भनेर छँदाखाँदाको सांसद पद समेत त्यागेर लागेका बाबुराम भट्टराई पनि चुनावमा आएको नतिजापछि एमालेसंगै टाँसिन पुगे । उनले पनि सुरुमा सुर्य चिन्हकै आडमा चुनाव लड्ने घोषणा गरे तर हिजो आज उनलाई अलि ज्वरो आएछ । 
२०७० साउनदेखि एमाले धोकेबाज थियो माओवादीका लागि । गत असोज २ गते प्रदेश नं. २ मा भएको निर्वाचनको प्रचार प्रसारका क्रममा पनि एमाले प्रधान शत्रु थियो माओवादीका लागि । ‘कांग्रेससंगको चुनावी तालमेल एमाले सिध्याउनका लागि गरेका हौं’ भन्ने अभिव्यक्ति दिन्थे माओवादी नेता–कार्यकर्ताहरु । सामाजिक सञ्जालमा एमाले–माओवादीका कार्यकर्ताहरुको दोहोरी निकै रोचक र पेचिलो हुँदै गएको थियो । तर, एकाएक ब्रेकथ्रु भएको छ । अन्य दलहरुसंग भएको चुनावी तालमेलको सिट संख्या घटाई बाँकी हुन आउने सिट संख्याको ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादीले पाउने सहमति जो छ । 
घटनाक्रमहरु हेर्दै जाँदा यो चुनावी तालमेल साँच्चिकै इमानदारीपूर्वक हुने हो वा फेरी एमाले सिध्याउने खेल हो ? यो अलि गतिलै छलफलको बिषय बन्न   सक्छ । रातारात मधेशी नेताहरुले पनि सुर्य चिन्ह रोज्नु, भारतको नजिक रहेका भनिएका र  बाम राजनीतिबाट पलायन भईसकेका बाबुरा भट्टराई एकाएक मुट्ठी कसेर ध्रुबीकरणको हिस्सा बन्नु, माओवादीले पार्टी एकताकै तहको सहमति गर्नु यि सवै अप्रत्यासित जस्तै छन् । प्रेम गर्नु, बिवाह गर्नु र शारीरिक सम्वन्ध राख्नु नित्तान्त   फरक कुरा हो । प्रेम भावनासंग सम्वन्धित हुन्छ, बिवाह बिचारसंग सम्वन्धित हुन्छ अर्थात भोलीको भविश्यका विषयमा केटा र केटीबीच सहमति भयो भने जीवन सुखमय बित्छ र शारीरिक सम्वन्ध वा यौन सम्वन्ध क्षणिक हुन्छ । शारीरिक सम्वन्धले तत्कालका लागि आनन्दानुभूति त गर्छ तर यसमा सावधानी भएन भने झन घातक हुन्छ ।  
अहिलेको यो एकताको तहसम्म पुग्ने चुनावी तालमेल बिवाहको चरणमा पुग्ला, प्रेमसम्म सिमित रहला, शारीरिक सम्वन्ध मात्रै होला वा शारीरिक सम्वन्ध बल्झिएर अर्को कुनै समस्याले जन्म लेला ? जसरी घटना क्रम बिकास भएका छन, यो अवस्था हेर्दा यो सम्वन्ध या त शारीरिक सम्वन्धमै सिमित रहने अर्थात चुनावी तालमेलसम्म मात्रै सिमित रहने अवस्था देखिन्छ या फेरी बल्झिएर अर्को समस्या आउँछ अर्थात एमालेलाई समाप्त पार्ने वा एमाले–माओवादीबीच, एमाले–एमालेबीच र माओवादी–माओवादीबीच सदासदाका लागि द्वन्द्वको बिजारोपण गर्ने काम गर्न सक्छ । त्यसैले यसमा बहस यहाँ केन्द्रित हुनु जरुरी छ । 
अहिलेको सम्वन्धलाई तीन तरिकाले हेर्न सकिन्छ । एक, एमालेको पपुलारिटीले अन्य समूहहरुलाई सुर्य चिन्हप्रति आकर्षित ग¥यो । सात दल मिलेर बनेको राजपा, सत्ता साझेदार दुई ठुला दलहरु कांग्रेस–माओवादीको घोषित र अघोषित चुनावी तालमेल र उपेन्द्र यादवको फोरम लगायतले धारे हात लाउँदा समेत एमालेले दुई नं. प्रधेशमा पनि आफ्नो अस्तित्व जोगायो । एक सय ३६ मा ९० सिट कन्फर्म भनेर हिसाव गरेको कांग्रेस ‘अण्डर फोर्टी’मा रहनु, मधेशमा अवस्था धेरै सुधार भएको देख्ने माओवादी एमालेकै साईजमा मात्रै रहनुले एमाले अव ठुलो शक्ति हो भन्ने परेर यो चुनावी तालमेलको आधार तय भएको हुन सक्छ । सात दल मिलेर बनेको राजपाको अवस्थाले त्रिपाठीहरुलाई मधेशी दलका नाममा च्याखे थापेर हुँदैन भन्ने अनुभुति भयो होला । 
दुई, यो चुनावी तालमेलको कुरा यति सजिलै आएको बिषय नहुन सक्छ । स्थानीय चुनावले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गरेपछि कांग्रेससंग गरेको चुनावी तालमेलको केही अर्थ नरहेको निश्कर्ष माओवादीले निकालेको हुनु पर्छ । यस्तै तालमेलका लागि झुम्मिएका अन्य दलहरुले पनि सुर्य चिन्ह वा आफ्नै चिन्हबाट चुनाव लड्ने र संसदमा आफ्नो उपस्थिति बलियो देखाउने योजना हुन सक्छ । तालमेलमा चुनाव लड्ने भनेपछि एमालेले ति क्षेत्रमा आफ्नो उम्मेद्वार उठाउने कुरा भएन । आफ्ना मत र एमालेका मत मिलाएर उनीहरु चुनाव जित्छन् र भोली संसदमा ‘बार्गेनिङ्ग’ गर्न सजिलो हुन्छ । 
तेस्रो, एमालेले अबको प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याईहाल्छ कि भन्ने संका अहिले तालमेतका लागि झुम्मिएकाहरु, सत्ता घटकहरु र दक्षिणलाई पनि परेको छ । यदि त्यसो भयो भने नेपालको राजनीतिमा आफ्नो दव्दवा चैट हुने डर दक्षिणलाई, देशको राजनीति एमालेमय हुने डर कांग्रेस–माओवादी लगायत अन्य शक्तिलाई र एमालेमा पनि एउटा गुटमात्रै हावी हुने डर एमालेभित्रैको अर्को गुटलाई छ । यसका लागि एमालेको बहुमत आउने अवस्था ब्रेक गर्नु जरुरी छ, त्यसैले एमालेको एक हिस्सा, माओवादी, कांग्रेस, मधेशबादी, दक्षिण सवैको यो ग्राईनडिजाईन पनि हुन सक्छ । मधेशी, नयाँ शक्ति, चुरेभावर, मनाङ्गेलाई सिट बाँड्दाबाँड्दै एमाले–माओवादीको भाग लाग्दासम्म एमालेले चुनाव लड्न पाउने सिट संख्यानै अल्पमतमा पर्ने अवस्था      छ । अल्पमत सिटमा चुनाव लड्ने अनि बहुमत ल्याउने दावी गर्नु उसका लागि पनि हास्यास्पद् हुन्छ । 
बाबुराम भट्टराईले सुर्य चिन्हबाट चुनाव लड्ने आफ्नो निर्णय फेर्नुले पनि यहि संकेत गर्छ । बुँई एमालेको चढेर भएपनि आफ्नै चिन्हमा चुनाव जिते भोली खुल्ला हुन्छु भन्ने उनको पछिल्लो निश्कर्ष होला । त्यस्तै निश्कर्ष माओवादी मित्रहरुले पनि निकालेका होलान् । 
जहासम्म पार्टी एकता गर्ने बिषय छ, यो चुनावपछि एकादेशको कहानी बन्नेछ । एमालेलाई शक्तिको रुपमा स्वीकार गरेर होस् वा एमालेलाई बहुमत प्राप्त गर्नबाट रोक्नका लागि होस् यो चुनावी तालमेल एमालेको पक्षमा छैन र यो चुनावको परिणामनै एकता हुन नदिने हतियार बन्नेछ । संगठनात्मक रुपमा, जनलहरका हिसावले, व्यक्तित्वका हिसावले माओवादी भन्दा एमालेको अहिलेको मौषम राम्रो छ । निश्चित रुपमा चुनाव जितेको अनुपातमा वा भागवण्डा गरिएको सिटको अनुपातमा एमाले भन्दा माओवादी तल पर्नेछ । त्यतिबेला माओवादीले “एमालेले चुनावमा ‘गद्दारी’ ग¥यो, अव एकता हुन्न” भन्ने छ । त्यतिबेला एमालेसंग केही कुरा पनि बाँकी रहने छैनन् शिवाय एमाले–एमालेबीचको द्वन्द्व । 
होईन भने चुनावमा तालमेल गरेर जाने र चुनावपछि पार्टी एकिकरण गर्ने भन्ने भईसकेपछि नेकपा संयुक्त नामको समूहलाई माओवादीमा बिलय गराउनुको अर्थ के हो ? कि त एमालेमै बिलय गराउनु पर्ने, होईन भने एकता प्रक्रियामा उसलाई पनि सहभागि गराउनु पर्ने होईन र ? 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

सौर्यमण्डल सम्वन्धि जानकारी 
१. सौर्यमण्डल अन्तरगत के–के पर्दछन् ।
– सूर्य, ग्रह, उपग्रहहरु तथा अनेर्को पिण्ड, उल्का, शिशु ग्रह, लामपुच्छ्रे तारा, उल्का पिण्डहरु
२. ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?    –(ऋयकmयिनथ)
३. सूर्य र अन्य ताराहरुको समूहलाई के भनिन्छ ?            – आकाशगंगा
४. ब्रहमाण्डको अपार गुरुत्वाकर्षण शक्ति भएको आश्चर्यजनक अन्धकारमय प्वाललाई के भनिन्छ ?
– कालो प्वाल
५. प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई के भनिन्छ ?   – प्रकाशवर्ष
६. प्रकाशले १ सेकेन्डमा कति दूरी पार गर्छ ?       – ३ लाख किलोमिटर 
७. कुनै ग्रहले सूर्यको वरिपरि एकपल्ट घुम्न लागको अवधिले त्यस ग्रहको केलाई जनाउँछ ?
– त्यस ग्रहको १ वर्षको अवधि
८. कुनै ग्रहले आफ्नो अक्ष ९ब्हष्क० मा एक फन्को घुम्न लागेको अवधिले त्यस ग्रहको केलार्य     जनाउँछ ?    – त्यस ग्रहको एक दिनको अवधि
९. सूर्य आकाशगंगाको तारपुञ्जीय केन्द्र ९न्बबिकतष्अ ऋभलतचभ० बाट कति टाढा रहेको छ ?
– ३० हजार प्रकाश वर्ष
१०. लाखौं करौडौं ताराहरु मिली आकाशमा उनीहरुको समूहजस्तो देखिने ताराहरुको गुच्छालाई के भनिन्छ ?    – तारापुञ्ज ९न्बबिहथ०
११. आकाशमा रहेका ताराहरुको समूहलाई तामण्डल ९ऋयलकतििभबतष्यलक० भनिन्छ । आकाशमा यस्ता तारामण्डलहरु कतिवटा रहेको पाइएको छ ।         – ८८ वटा
१२. सूर्यलाई केन्द्र बनाई पृथ्वीलगायत अन्य ग्रह, उपग्रहरुले सूर्यको परिक्रमा गर्छन् भन्ने तथ्य सार्वजनिक गर्ने व्यक्ति को हुन् ?        – निकोलस कोपर्निकस, पोल्यान्ड (सन् १५४३ मा)
१३. सूर्यलाई केन्द्र बनाई पृथ्वीलगायत अन्य ग्रह, उपग्रहरुले सूर्यको परिक्रमा गर्छन् भन्ने तथ्य सार्वजनिक गर्ने व्यक्ति को हुन् ?        – निकोलस कोपर्निकस, पोल्यान्ड (सन् १५४३ मा)
१४. सूर्यलाई आकाशगंगाको तारापुञ्जीय केन्द्र ९ब्बिकतष्अ ऋभलतचभ० को परिक्रमा गर्न कति समय  लाग्छ ?                                 – २५ करोड वर्ष
१५. धुम्रकेतु कति समयको अन्तरालमा सूर्यको नजिक भएर जान्छ ?     – हरेक ३÷३ वर्षमा
बिभिन्न स्थानमा रहेका केन्द्रहरु
१. मृग अध्ययन केन्द्र ः गोदावरी, ललितपुर
२. गोहि प्रजनन केन्द्र ः चितवन र बर्दिया रा. निकुञ्ज
३. जैबिक विविधता सूचना केन्द्र ः टिकौली, चितवन
४. जटायु रेष्टुरेन्ट ः कावासोती र पिठौली, नवलपरासी
५. चमेरा सरक्षण क्षेत्र ः देवानगढिया, कपिलवस्तु
६. सर्प सग्राहलय ः दमक, झापा
७. अन्तरास्ट्रिय पर्वतीय उद्यान ः ककनी, नुवाकोट
८. गिद्ध प्रजनन केन्द्र ः कसरा, चितवन
९. हात्ती प्रजनन केन्द्र ः मेघौली, चितवन
१०. जिन बैंक ः खुमलटार, ललितपुर
अन्य समसामयिक जानकारी 
१. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?  – अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?   – मलेसिया
३. ग्ल्इ को विशिष्टिकृत संस्था क्ष्ीइ ले कहिले नोबेल पुरस्कार पाएका थियो ? – सन् १९६९
४. तेह्रौं योजनामा कृषि क्षेत्रको बृद्धिदर कति हुने लक्ष्य रहेको छ ?  – ४.५५
५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?    – ताप्लेजुङ र दार्चुला
६. राडारको आबिष्कार कसले गरेका हुन् ?     – रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको छन् ?   – १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ?  – शैलजा आचार्य
९. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?    – बेलायत
१०. थारु संग्रहालय कहाँ पर्दछ ?  
–बछ्यौली चितवन, बर्दियाको थारु सास्कृतिक संग्रहालय हो ।
११. सन २०१५ सालको कन्फुसियस एभबअभ एचष्शभ कसले प्राप्त गरेका थिए ?
– जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१२. युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ? 
– १६ देखि ४० वर्ष
१३. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?     – अष्ट्रेलिया
१४. क्म्च् द्यबकपभत मा थपिएको छ ?    – रेन्मिल्वि
१५. क्ष्लतभचलबतष्यलब िीबदयगच इचनबलष्कबतष्यल ले कहिले नोबेल शान्ति पुरस्कार पायो ?
– सन १९६९
१६. अरब ःयखझभलत कुन देशबाट सुरुवात भएको हो ?    – ट्युनिसिया
१७. तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान गरिएको छ ?    – ४.५ ५

साहित्य÷सृजना 

रेडियोबाट गाना गुञ्जिरहेको थियो
रेडियोबाट गाना गुञ्जिरहेको थियो
म मरे पनि मेरो देश बाँचिरहोस
यो गाना सुनेर 
उस्का आँखा निकै रसाए
एकछिन घोर्लियो
गम्भीर भएर सोच्न थाल्यो
अब यो गानाको औचित्य कहाँ रह्यो र ?
बरु ठिक उल्टो भैरहेको छ 
आजभोलि 
मेरो देश मरेपनि
म बाँचिरहँु
मेरो कुर्सी रहिरहोस
कस्ले गर्ने देशको चिन्ता ?
सबैलाइ आफ्नै दुनो सोज्याउन ठिक्क छ
सबै चाकडीबाजमा मस्त छन
देश बरु लुटियोस्
देशको नाम माटोमै मिलोस्
तर
म भने बाँच्नु पर्छ
रेडियोमा बजेको उक्त गानाले
सुरिलो आवाजमा भित्रभित्रै 
गिज्याइरहेको झै महसुस हुन्छ
एक्लै एक्लै
मुर्मुरिन्छ
छट्पटिन्छ
रेडियो बन्द गर्छ
फेरि त्यही गित कानमा गुञ्जिन्छ
म मरे पनि मेरो देश बाँचिरहोस्
उस्लाइ उक्त गानाले काँडाले नै घोचे जस्तो लाग्छ
त्यसपछि
आफ्ना कान थुन्न खोज्छ
फेरि पनि त्यही गित 
उस्को अन्तर आत्मामा गएर गुञ्जिन्छ
म मरेपनि मेरो देश बाँचिरहोस्
त्यसपछि सोच्छ
सधंै अरुलाई मात्र कति दोष दिनु
सधैं अरुबाट मात्र कति अपेक्षा राख्नु
आफ्नो ठाउँबाट म पनि त
देशको लागि केही गर्न सक्छु
मेरो पनि त जिम्मेवारी हो
मैले पनि त देशलाई केही दिनु छ
म निरास भएर 
देश हास्ने पनि त होइन
मैले यदि देश हासेको हेर्नू छ भने
सर्बप्रथम आफै हास्न सक्नु पर्छ 
आफै जाग्नु पर्छ
निदाएकालाई बिउझाउनु पर्छ
म जागेको देख्दा 
अरुपनि जाग्ने छन
यस्तै यस्तै 
सोच्दै 
आफू नि अघि बढ्ने र पछिकालाई पनि 
साथमा लिइ हिड्ने दृढ निश्चय लिन्छ
किनभने
उसभित्र 
देशप्रतिको प्रेम अथाह थियो
आखिर नेपाल आमाको सन्तान न थियो ।
पुस्पा जोशी ’ काली’ 
धनगढी ,कैलाली

सूचना/सन्देश/बिज्ञापन 

बिजया दशमी, शुभ दीपावली तथा छट पर्व, २०७४ को सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
मेरिना श्रेष्ठ (अध्यक्ष) 
तथा दिपायल उच्च अदालत बार ईकाई डोटी परिवार 
नेपाल बार एसोसियसन

हार्दिक समबेदना


सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति डोटीका अध्यक्ष श्री गणेशबहादुर जाशीकी ममतामयी हजुरआमा बिष्णु जोशीको मिति २०७४ भाद्र २५ गते १०६ बर्षको उमेरमा निधन भएको खवरले मर्माहित बनाएको छ । यस दुःखद् घडिमा मृत आत्माको चीर शान्तिको कामना गर्दै सोकाकुल परिवारजनप्रति हार्दिक समबेदना प्रकट गर्दछौं । 
सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति 
सिलगढी, डोटी

युनाईटेड मिसन टु नेपाल, डोटी र समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा जनहितमा जारी सन्देश ।
सुशासन र आर्थिक पारदर्शिता
नेपालमा सुशासनको अवधारणा ‘नेपालको संविधान– २०४७’ ले नै पहिलो पटक स्वीकार गरेको देखिन्छ । सार्वजनिक प्रशासनमा सुधार ल्याउने प्रयासमा २०४८ सालमा गठित उच्चस्तरीय ‘प्रशासन सुधार आयोग’ सुशासनका लागि नेपालले गरेको प्रयास थियो ।
अहिले सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक प्रशासन सुधारका लागि विभिन्न कार्ययोजना ल्याएको देखिन्छ, तर सार्वजनिक प्रशासनमाथि आम नागरिकको विश्वास कम रहेको हामी पाउँछौं ।
प्रत्येक सरकारी कार्यालयमा नागरिक वडापत्र राखिएको छ, यो सुशासनको राम्रो कदम हो । सामाजिक उत्तरदायित्व, न्यायपूर्ण शासन प्रणाली, पारदर्शिता र जनसहभागिता सुशासनका आधारभूत सूचक हुन् ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक तथा सामाजिक लेखापरीक्षणको प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक गर्ने गरेको छ । यो पनि सुशासनकै नतिजा हो ।   तर, आर्थिक भ्रष्टाचार खासै नियन्त्रण हुन सकिरहेको छैन ।
देशको लामो राजनीतिक अस्थिरताले नेपालमा सुशासनको राम्रो प्रयोग हुन सकिरहेको छैन । मुलुकमा सुशासन र पारदर्शिताका लागि चाहिने राजनीतिक, सामाजिक र नैतिक मूल्य–मान्यताको कमी देखिएको छ । 
हामी अहिले सुशासनका कुरा गरिरहेका छौं भने नेपालको सार्वजनिक प्रशासनमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ । अहिलेसम्म बहस त हुने गरेको छ, तर सुधार गर्न  धेरै बाँकी छ । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम–कारबाहीमा आम नागरिक सन्तुष्ट हुन सकिरहेको देखिँदैन । हामी सुशासनको प्रारम्भिक अवस्थामा छौं ।
निरंकुश शासन व्यवस्थामा सुशासनको कल्पना गर्न सकिँदैन । नेपालमा लोकतन्त्र स्थापनापछि सार्वजनिक प्रशासन सुधारमा केही मात्रामा काम भएको छ । तर, विभिन्न तथ्यांक हेर्ने हो भने हामी निकै पछाडि छांै । सुशासनका लागि राजनीतिक स्थायित्व सहितको लोकतन्त्र आवश्यक पर्छ ।
नियमित आवधिक निर्वाचन, चुस्त र भरपर्दो सरकारी सेवा, आर्थिक पारदर्शिता नै सुशासनका लागि चाहिने न्यूनतम आधार हुन् । तर, हामीले स्थानीय निर्वाचन नगराएको नै वर्षौं भइसक्यो । राजनीतिक अस्थिरता र कुनै पनि सरकारले लामो समय काम गर्न नपाउनुले भ्रष्टाचार नियन्त्रण र दण्डहीनतामा शून्य सहनशीलताको काममा खासै प्रगति हुन सकेको देखिँदैन ।
सार्वजनिक प्रशासन देशमा विद्यमान कानुन र सार्वजनिक नीतिबाट निर्देशित हुने हो । राज्यका कानुन र नीति–नियम बनाउने र जनताको भलाइका लागि समयसापेक्ष रूपमा उक्त कानुनहरू परिमार्जन गर्ने जनप्रतिनिधिहरूले नै हो ।
अतः राज्यको शासन प्रणालीमा जनताको प्रत्यक्ष सहभागिताका लागि जनप्रतिनिधिहरू आफ्ना मतदाताप्रति उत्तरदायी हुनुपर्छ । नेपालमा सुशासनको अनुभूति दिलाउन, नियमित आवधिक निर्वाचन, जनप्रतिनिधिहरूबीच सहकार्य र सहमति, आर्थिक पारदर्शिता तथा आर्थिक विकासमा स्थानीय सहभागितालाई सम्पूर्ण जिम्मेवार वर्गले आत्मसात् गर्नुपर्ने देखिन्छ ।

No comments:

Post a Comment