हरेक चाडपर्व एवम् सांस्कृतिक परम्पराहरु देशका राष्ट्रिय
पहिचान हुन् । यस्ता कुराहरुको
अन्त्य हुनु भनेको राष्ट्रिय पहिचान गुम्नु हो । राष्ट्रिय पहिचानको जगेर्नाका
लागि पनि चाडपर्व एवम् सांस्कृतिक परम्पराको प्रवद्र्धन र सम्वद्र्धन गर्नु हाम्रो
नैतिक दायित्व हो ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
प्रदेश नं. ७ का चार जिल्लामा मनोनयन उत्साहपूर्ण
तीन स्वतन्त्र सहित ५८ उम्मेद्वारी दर्ता
मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको
निर्वाचन अन्त–रगत
प्रदेश नं. ७ का चार जिल्लामा उत्साहका साथ मनोनयन दर्ता भएको छ । निर्वाचनमा तीन
स्वतन्त्र सहित ५८ उम्मेद्वारहरुले प्रत्येक्षतर्फ चुनावी प्रतिस्पर्धा गर्ने
भएका छन् ।
बैतडी, दार्चुला, बझाङ र बाजुरा गरि प्रदेश नं. ७ का चार जिल्लामा पहिलो चरण
अन्तरगत निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा चुनावी प्रतिस्र्धाका लागि बैतडीमा
नेपाली कांग्रेस र राप्रपाले गठवन्धन गरेका छन
भने अन्य जिल्लामा कांग्रेस एक्लै चुनाव लड्दैछ । एमाले–माओवादी गठबन्धन भने चारै जिल्लामा रहेको छ । कांग्रेस– राप्रपा
गठवन्धन अनुसार बैतडीमा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका नरबहादुर चन्द
उम्मेद्वार बनेका छन । प्रदेश सभा क्षेत्र १ का लागि कांग्रेसकै हरिमोहन भण्डारी र
क्षेत्र २ का लागि राप्रपाका गणेश बहादुर चन्दले गठबन्धनबाट उम्मेदवा–री दर्ता गराएका हुन ।
यस्तै एमाले–माओवादी
गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि एमाले नेता दामोदर भण्डारीले उम्मेदवारी
दर्ता गराएका छन । प्रदेश सभा क्षेत्र १ मा माओवादी केन्द्रका प्रेमप्रकास भट्ट र
क्षेत्र २ मा एमालेका लिलाधर भट्टले उम्मेद्वारी दर्ता गराएका छन ।
बैतडीमा बिवेकशील साझा पार्टीका नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाका बिरेन्द्रसिंह भण्डारी, जन
समाजबादी पार्टी नेपालका धनबहादुर बोहरा र एकिकृत राप्रपा राष्ट्रबादीका त्रिलोक चन्दले
प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको
कार्यालय बैतडीले जानकारी दिएको छ । यस्तै प्रदेश सभा क्षेत्र १ का लागि राष्ट्रिय
जनमोर्चाका अर्जुनसिं मडै र जन समाजबादी पार्टीका भगिरथ कुँवरले उम्मेदवारी
दिएका छन् । प्रदेश सभा क्षेत्र २ मा
भने एमाले–माओवादी
र कांग्रेस–राप्रपा गठबन्धनबीचमा मात्रै
प्रतिस्पर्धा हुने भएको छ ।
दार्चुलामा प्रतिनिधि सभा सदस्यका लागि बाम गठबन्धनको तर्फबाट
एमाले नेता गणेश ठगुन्नाले उम्मेद्वारी दिएका छन । कांग्रेसले बिक्रम धामीलाई उम्मेदवार बनाएको छ । यस्तै नयाँ शक्ति
नेपाल पार्टीका जितेन्द्रसिं महरा, राष्ट्रिय
जनमोर्चाका मानबिर दमाई र जन समाजबादी पार्टीका धनबहादुर कुँवरले उम्मेद्वारी
दिएका छन ।
प्रदेश सभा क्षेत्र १ मा एमालेका गेल्बुसिं बोहरा, कांग्रेसका मदन गिरी, नयाँ
शक्तिका नन्दसिं महरा, जन
समाजबादीका मनोजराज दमाई र राजमोका मदन दमाईले उम्मेदवारी दर्ता गराएका छन । यस्तै
क्षेत्र २ का लागि माओवादी केन्द्रका मानबहादुर धामी, कांग्रेसका जगदिशबहादुर पाल, नयाँ शक्तिका बहादुरसिं ठुकुन्ना, जन समाजबादीका हरीभानसिं ठकुन्ना र स्वतन्त्र उम्मेद्वार रघुबिरसिंह ठकुन्नाले उम्मेदवा–री दर्ता गराएका छन । स्वतन्त्र उम्मेदवार अखण्ड नेपाल
पार्टीका केन्द्रीय सदस्य हुन ।
बझाङ्गमा बाम गठबन्धनको तर्फबाट एमालेमा भैरवबहादुर सिंह र
कांग्रेसका पृथ्वीबहादुर सिंहले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन
। यस्तै बिवेकशील साझा पार्टीको तर्फबाट पत्रकार मिनबहादुर सिंह उम्मेदवार भएका
छन् । नयाँ शक्तिका जोगी कुँवर, संघीय
समाजबादी फोरमका भीमबहादुर थापा, देशभक्त गणतान्त्रिक मोर्चाका धरणीधर नाथ र राप्रपा प्रजातान्त्रिकका
बिश्वप्रकास जेठाराले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । टिकट
बितरणमा असन्तुष्ट बनेका एमाले नेता गोपाल खड्काले पनि प्रतिनिधि सभाका लागि
स्वतन्त्र उम्मेदवा–री दिएका
छन् ।
यस्तै प्रदेश सभा क्षेत्र १ का लागि एमालेका अर्जुन थापा, कांग्रेसका चन्द्रा जोशी, बिवेकशीलका
मोहनबहादुर सिंह, नयाँ
शक्तिका डम्मर रावल र राप्रपा
प्रजातान्त्रिकका जगतबहादुर सिंहले उम्मेद्वारी दर्ता गराएका छन् । एमाले
असन्तुष्ट नेता शेरबहादुर बोहराले पनि
प्रदेश सभा क्षेत्र १ मा उम्मेद्वारी दर्ता गराएका छन् । क्षेत्र २ का लागि माओवादी केन्द्रका
देवकी मल्ल, कांग्रेसका
नरेशबहादुर सिंह बिवेकशीलका रबिन्द्र बम, नयाँ
शक्तिका कलकबहादुर रोकाया र राप्रपा प्रजातान्त्रिकका तारादत्त पण्डितले
उम्मेदवारी दिएका छन् ।
बाजुराबाट प्रतिनिधि सभाका लागि बाम गठबन्धनको तर्फबाट
एमालेका लालबहादुर थापा, कांग्रेसका
कबिराज पण्डित र नयाँ शक्ति नेपालको तर्फबाट दिलिप शाहीले उम्मेद्वारी दर्ता गरेका
छन ।
यस्तै प्रदेश सभा क्षेत्र १ का लागि कांग्रेसका जनकराज गिरी, एमालेका बल्देव भट्ट, राप्रपा
प्रजातान्त्रिकका कान्तबहादुर शाही र नयाँ शक्तिका नरेन्द्र बिकले उम्मेद्वा–री दिएका छन् । क्षेत्र २ का लागि कांग्रेसका पदमबहादुर शाही, एमालेका प्रकाश शाह, राप्रपा प्रजातान्त्रिकका बिरबहादुर
हमाल, नयाँ
शक्तिमा सुर्जे कामी र एकिकृत प्रजातन्त्र पार्टी राष्ट्रबादीका प्रकाश बिकले उम्मेद्वारी
दिएका छन ।
सम्पादकीय
को लाई भोट दिने
चुनाव आउँदैछ, फेरी
नेताहरुको गाउँ आउने पालो आएको छ । यस बर्ष नेताहरु अलि बढीनै दुःख पाउँदैछन ।
आवधिकै चुनाव पनि नियमित रुपमा भएको भए पाँच बर्षमा एक पटक मात्रै गाउँ जानु
पथ्र्यो । फुटेर रगत चुहिरहेका बिवस जनताको अनुहार हेर्न, लाज छोप्न लगाएको चोली १० ठाउँ उध्रेको देख्न पटक पटक गाउँ
गईरहनु पर्ने थिएन । धुलाम्मे सडक, हिलाम्य
बाटो, अभाव, भोक जस्ता कुराबाटै कम्तीमा पाँच बर्षका लागि छुटकारा
पाईन्थ्यो तर यस वर्ष त्यसो भएन ।
स्थानीय तहको चुनावमा गाउँ घुमेको थकान मेटाउन नपाउँदै अर्को
चुनाव आउने भईहाल्यो । फेरी तिनै बिवस, मजबुर र
अभावमा बाँचेका जनतासंग हात जोड्दै भोट माग्नु पर्ने भयो । सायद यो भन्दा बढी पिडा
के होला र ? पाँच
बर्षमा एक पटक आउने, जनताका
बिचमा स्वर्णिम सपना बाँड्ने, भोट
बटोर्ने अनि चिल्ला कार र तारे होटलहरुमा रमाउनेहरु एक पटक फेरी गाउँ आउँदैछन ।
उनीहरु फेरी भोट माग्नेछन् । तर जनताले भोट दिँदा बिचार पु¥याउनु होला ।
आफूले मत दिएको उम्मेदवारले निर्वाचन हारे पनि न्याय र
सन्तोषको अनुभव हुनुलाई सार्थक लोकतान्त्रिक वातावरण मानिन्छ । निर्वाचनले जनतालाई मत दिने
अधिकार दिएको हुन्छ भने त्यही मतबाट चुनिएका शासकबाट शासित हुने कर्तव्य पनि
बोकाएको हुन्छ । अधिकार र कर्तव्यको सन्तुलन नै लोकतन्त्रको उच्चतम गुण हो ।
अव जनताले ‘को लाई
मत दिने ?’ भन्ने बिषयमा सोच्नु जरुरी छ । हामी नेपालीहरु अहिलेसम्म मेरो
पार्टी, मेरो
मान्छे, ठुलो
पार्टी यस्तायस्तै कुरामा बढी अल्झिएका छौं । निर्वाचनमा मेरो पार्टी वा मेरो
मान्छे वा ठुलो पार्टी भन्दै गयौं भने हामी कहिल्लै पनि ‘हाम्रा प्रतिनिधि, राम्रा
प्रतिनिधि’ छान्न
सक्ने छैनौं । राम्रा प्रतिनिधि छान्नलाई
हाम्रो मान्छे वा हाम्रो पार्टी वा ठुलो पार्टी रोजेर मात्रै हुँदैन । त्यो मान्छे, त्यो पार्टीले निर्वाचनका लागि खडा गरेको मान्छे राम्रो हो कि
होईन भन्ने बिषयमा ध्यान दिनु जरुरी छ ।
जनताको बिचमा आउँदै नआउने, राजनीतिको
नाममा एक झुण्ड तयार गर्ने अनि पहुँचका आधारमा योजना ल्याउने र कमिसन खानेहरु
हाम्रा मान्छे वा हाम्रा पार्टीका मान्छे त होलान् तर राम्रा मान्छे हुन सक्दैनन्
। अनि यदि राम्रा मान्छे भएनन् भने ति हाम्रा मान्छे पनि हुन सक्दैनन् ।
नातागोताका आधारमा, भौगोलिक दुरीका आधार, व्यक्तिगत सम्वन्धका आधारमा कुनै व्यक्ति नजिक हुँदैमा त्यो
हाम्रो मान्छे हुन सक्दैन । हाम्रो मान्छे त्यो हुनेछ जसले आम जनताको भावना बुझ्न
सकोस, जनताको
दुःख साथ दिन सकोस्, जनताको
खुशीमा रमाउन सकोस् ।
चुनावको बेला जनताको घरदैलोमा आएर भोट माग्न हात जोड्दैमा
कुनै व्यक्ति नेता हुन सक्दैन । नेता नेतृत्वकर्ता हो । नेतृत्वकर्ताले यदि कुशल
नेतृत्व गर्न सकेन भने दुर्घटना हुन्छ । जसरी चालकले सही तरिकाले साधन हाक्न सकेन
भने दुर्घटना हुन्छ, त्यसरीनै
नेतृत्वकर्ताले पनि ठुलो दुर्घटनातिर लैजान्छ ।
अहिलेको अवस्था त्यस्तै छ, जनताले
बिगत लामो समयदेखि यो दल वा उ दल, यो
व्यक्ति वा उ व्यक्तिमा मात्रै आफ्नो ध्यान केन्द्रित गरेका छन । जनभावना बोकेका
विवेकशील नेताले मात्रै जनताको अपेक्षा पुरा गर्न सक्छ । ठुला पार्टी वा ठुला
नेताहरुले हाम्रो समस्या बुझ्न सक्छन भन्ने कुरा भ्रम सावित भईसकेको अवस्था हो ।
त्यसैले अव बेला आएको छ, जनताको
गरीवीलाई घिन मान्ने नेताहरुलाई जनताले आफ्नो सार्वभौम अधिकार देखाउनु पर्छ ।
बिगतमा भएका क्रियाकलापहरुलाई मध्यनजर गर्दै आगामी दिनका लागि नेपाली जनताको भावना
बुझ्ने राम्रो मान्छे चुन्नु पर्छ । जनतालाई चेतना होस् ।
थप समाचार
जीर्ण बन्दै ऐतिहासिक देवलहरु
खगेन्द्र सिंह÷डोटी
कार्तिक ६
१४२० मा डोटीका बिभिन्न स्थानमा बनाइएका ऐतिकासिक देवलहरु
संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेका छन् । नेपालमा बाईसे–चौबिसे राज्य छँदा
बनेका ति देवलहरु अहिले जीर्ण अवस्थामा
पाइन्छन । यदि तिनीहरुको संरक्षण र प्रवद्र्धन गर्नसके ति क्षेत्रहरु ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल बन्न सक्ने देखिन्छ ।
तत्कालीन डोटी राज्यका ‘राजा
निरय पाल’ ले १४२०
साल माघ शुक्लपञ्चमीमा निर्माण गरेका
शिखर नगरपालिका–७, उजलीगाउँमा (साबिकको लाटामाण्डौं गाविस) रहेका देवलहरु अहिले
जीर्ण अवस्थामा रहेका छन । राजा निरय पालले आफ्नी रानी हराएको बेला रानीको बियोगमा
रानी प्राप्त होस् भन्दै सो ठाउँका देवलहरु निर्माण गरेको भन्ने किम्बदन्ती रहेको पाइन्छ ।
सो समयमा देवालय अर्थात मन्दिरको रुपमा निर्माण गरेको र पुजा
आजा समेत गर्ने गरेको पाईन्छ । स्थानीयहरुका अनुसार धेरै पछिसम्म पनि ति देवलहरुमा
स्थानीयहरुले पुजा आजा गर्ने गरेका थिए । देवलहरुमा शिबलिङ्ग समेत रहेको र १९७५
सम्म ति देवलहरुमा पुजा समेत गर्ने गरेको बुझिएको छ । देवलहरुमा बिभिन्न किसिमका
तस्वीरहरु कुदिएका तथा बिभिन्न आकृतिहरु समेत बनाइएका छन् । डोटीको चौखुट्टेमा
रहेको सिद्धबाबा देवल ऐतिहासिक रहेको भएपनि कुनै किसिमको संरक्षण नहुँदा पूर्ण
रुपमा जीर्ण भइसकेको स्थानीय कृष्ण खड्का बताउँछन् । ऐतिहासिक देवल संरक्षणको लागि
स्थानीय तहबाट समेत पहल गरिनु पर्ने खड्का बताउँछन् ।
राजा निरय पालले लाटामाण्डौं लगायत डोटीको देहिमाण्डौं, साबिकको सुदूरपश्चिम क्षेत्रीय सदरमुकाम दिपायल स्थित भैरवकोट, डोटीको चौखुट्टे तथा डडेल्धुरा जिल्लाको कोटेली, अजयमेरुकोट लगायतका स्थानहरुमा देवलहरु निर्माण गरेका थिए ।
ति सबै देवलहरुको अवस्था संरक्षण विना जीर्ण बनेका छन् । लाटामाण्डौं, उजलीगाउँका देवलहरु डोटी जोरायल गाउँपालिका निरौलीका राम
भण्डारीले निर्माण गरिदिएको पाईन्छ ।
हाम्रो इतिहास के हो भन्ने कुरा मेटिदै गइरहेकाले यसको
संरक्षणका लागि सबैले आ–आफ्नो
क्षेत्रबाट लाग्नु पर्ने संस्कुतिबिद् एवं पुराना पत्रकार धनबहादुर मल्ल बताउँछन्
। उन भन्छन्, ‘सरकारले
समेत यस्ता किसिमका ऐतिहासिक स्थलहरुको संरक्षणको लागि पहल चाल्नु पर्दछ ।’
धार्मिक पर्यटकीय स्थलको रुपमा देवल क्षेत्रलाई विकास गर्न
सके देवलहरुको संरक्षण हुने स्थानीय शिक्षक मुरलीधर भट्ट बताउँछन् । ‘लाटामाण्डौंका देवलहरु उत्खनन् र संरक्षणको लागि नेपाल सरकार पुरातत्व विभागबाट समेत केही बर्ष
यता बजेट आउने गरेको गरेको छ’, भट्टले भने, ‘पर्याप्त
मात्रामा रकम अभावले गर्दा र माथीबाटै ठेक्का भएर आउने गरेकाले देवल संरक्षणको कुनै खास काम हुन
सकिरहेको छैन ।’
राज्यले देशको ऐतिहासिकता बचाउँदै धार्मिक तथा पर्यटन विकासको
लागि ध्यान दिनु पर्ने देखिन्छ । ‘यदि सरकारले देवल संरक्षण तथा प्रचार प्रसारको
लागि ध्यान नदिने हो भने जीर्ण बन्दै जाने र इतिहासमा मात्र सिमित रहने छन्’, खेम
भण्डारीले बताए । सयौं बर्ष पहिले बनेका यि देवलहरुको संरक्षण तथा प्रचार–प्रसार
नहुने हो भने नेपालमा रहेका यस्ता
ऐतिहासिक क्षेत्रहरु हराउँदै जाने निश्चित छ । त्यसैले राज्यबाट समेत यस्ता
ऐतिहासिक, धार्मिक
तथा पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासका लागि समयमै सोच्नु पर्ने देखिन्छ ।
प्रभावशाली नेताहरु “रिङ्ग आउट”
रामहरी ओझा÷दिपायल
कार्तिक ६
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो
चरणको निर्वाचन अन्तरगत प्रदेश नं. ७ का प्रभावशाली नेताहरुले उम्मेदवार बन्न
पाएनन् ।
प्रदेशका दार्चुला, बैतडी, बझाङ्ग र बाजुरा गरि चार जिल्लामा आईतवार भएको उम्मेद्वारी
मनोनयनले ति जिल्लाका प्रभावशाली नेताहरु प्रत्येक्ष चुनावी दौडबाट ब्याक भएका छन
।
दार्चुलाबाट प्रतिनिधि सभाका लागि सशक्त उम्मेद्वार मानिएका
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पार्टीका प्रवक्ता समेत रहिसकेका दिलेन्द्र
प्रसाद बडु प्रत्येक्ष उम्मेद्वार बनेनन् । दार्चुलामा प्रतिनिधि सभाका लागि
कांग्रेसले बिक्रम धामीलाई उम्मेदवार बनाएको
छ । बडुलाई समानुपातिकको सूचीमा राखिएको कांग्रेस स्रोतले जनाएको छ ।
प्रतिनिधि सभाका लागि प्रत्येक्षतर्फ दावी गर्दै आएका बडुले बाम गठबन्धनको चर्चा
चलेपछि आफ्नो नाम समानुपातिकमा सारेको चर्चा
छ ।
बैतडीबाट प्रतिनिधि सभाका लागि चर्चामा रहेका बहालवाला
मन्त्री तथा राप्रपा नेता जयन्त चन्द पनि ब्याक भएका छन । राप्रपा जिल्ला समितिले
प्रतिनिधि सभाका लागि उनी र पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नाम
सिफारिस गरेको थियो । जिल्लामा कांग्रेस–राप्रपा
गठबन्धन भएपछि कांग्रेस नेता तथा बहालबाला मन्त्री नरबहादुर चन्द उम्मेद्वार भएका
छन ।
बझाङ्गबाट एमालेका प्रभावशाली नेता भानुभाक्त जोशी पनि
प्रत्येक्ष निर्वाचनको दौडबाट आउट भएका छन् । २०६४ सालको संबिधानसभाको निर्वाचनको
बेलामा समेत तत्कालीन बझाङ्ग क्षेत्र १ बाट बिजयी पूर्व मन्त्री जोशीलाई सशक्त
उम्मेद्वारका रुपमा लिईएको थियो । उनलाई जिल्लाबाट सिफारिस गरिएको भएपनि एमालेले
पार्टी केन्द्रीय बैकल्पिक सदस्य भैरवबहादुर सिंहलाई उम्मेद्वार बनाएपछि जोशी
व्याक भएका छन । जोशीले टिकट नपाएको भन्दै असन्तुष्ट पक्षले स्वतन्त्र उम्मेद्वारी
समेत दर्ता गराएको छ । त्यसो त जोशीको नाम प्रदेश मुख्यमन्त्रीको चर्चामा पनि
नआएको होईन तर उनका लागि त्यो सम्भावना पनि कमै देखिन्छ ।
बाजुरामा एमाले प्रभावशाली नेता तथा पूर्व मन्त्री कर्ण थापा
र कांग्रेस युवा नेता बद्री पाण्डे पनि प्रत्येक्षको दौडबाट आउट भएका छन । २०७० को
निर्वाचनमा संबिधानसभा सदस्य जितेका थापा यस पटक दौडमा देखिएनन् । एमालेभित्र
प्रदेश नं. ७ को मुख्यमन्त्रीका सम्भावित नामहरुमा थापाको नाम पनि समावेश छ तर उनी
प्रदेश सभाका लागि पनि प्रत्येक्ष उम्मेद्वार बनेनन् । स्रोतका अनुसार एमालेले
असोज २९ गते निर्वाचन आयोगलाई बुझाएको उधारो समानुपातिक सूचीमा थापाको नाम प्रदेश
सभाको सूचीमा छ । बाजुराबाट एमालेले संयुक्त बाम गठबन्धनको तर्फबाट लालबहादुर
थापालाई प्रतिनिधि सभाको उम्मेद्वार बनाएको छ ।
जोसिला युवा नेता एवं कांग्रेस केन्द्रीय सदस्य पाण्डे पनि
प्रत्येक्ष चुनावबाट ब्याक भएका छन । निवर्तमान सांसद समेत रहेका पाण्डेलाई पनि
कांग्रेसले समानुपातिकको सूचीमा अटाउने लक्षण देखिएको छ । कांग्रेसले बाजुराबाट
प्रतिनिधि सभाका लागि कविराज पण्डितलाई उम्मेदवार बनाएको छ ।
महिला उम्मेदवार ४१
कार्तिक, ६ (रासस)÷पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा
प्रदेश सभा सदस्य निर्वाचनका लागि ४१ जना महिलाले उम्मेदवारी दिएका छन् । यसमध्ये
प्रतिनिधि सभामा १८ र प्रदेश सभाका लागि २३ महिला छन् ।
निर्वाचन आयोगका अनुसार कूल तीन सय २३ ले प्रतिनिधि सभा र चार
सय ८४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । आयोगको केन्द्रीय कार्यालयमा
रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण
अनुसार नेपाली काँग्रेसले एक सय ३, नेकपा
(एमाले) ले ६२, नेकपा
(माओवादी केन्द्र) ले ४९ जना उम्मेदवार उठाएका छन् ।
यसैगरी, नयाँ
शक्ति पार्टी नेपालले ८१, संघीय
समाजवादी फोरम नेपालले ५५, राष्ट्रिय
प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ४३, जन
समाजवादी पार्टी नेपाल २४, एकीकृत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र मंगोलियन नेशनल अर्गनाइजेशनले ३८
जना उम्मेदवारलाई प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएका छन् ।
प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४
वटा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा आठवटा राजनीतिक दलले एक÷एक स्थानमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै, मनोनयन
दर्ता गराउने स्वतन्त्र उम्मेदवारको संख्या एक सय १२ रहेको छ । पहिलो चरणको निर्वाचनमा ३२ लाख
२८ हजार आठ सय ७९ जना मतदातालाई मताधिकार रहेको छ । कात्तिक ५ गते उम्मेद्वारी
मनोनयन दर्ता गराएका उम्मेदवारमाथी उजुरी कात्तिक ७ गते
छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने
कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
चोरीका गाडी प्रकरणमा प्रहरीलाई उन्मुक्ति
टेकेन्द्र देउवा÷धनगढी
कार्तिक ५
चोरीका सवारी साधनको किर्ते कागजात बनाएर यातायात व्यवस्था
कार्यालयमा दर्ता गरिएको घटनामा प्रहरी अधिकारीहरुलाई उन्मुक्ति दिइएको छ ।
यातायातमा दर्ता गरिएका ती सवारी साधन प्रहरी अधिकारीहरुले नै चढ्ने गरेको खुले पनि प्रहरीलाई उन्मुक्ति दिएर
यातायातका कर्मचारीलाई मात्र मुद्दा चलाइएको छ ।
चोरीका सवारी साधन प्रहरीले प्रयोग गर्ने गरेको पाइएपछि
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले आन्तरिक छानविनका लागि समिति नै गठन
गरेको थियो । तर समितिको प्रतिवेदन नै सार्वजनिक गरिएको छैन । प्रहरीको आन्तरिक छानविन
समितिले प्रतिवेदन पेश गरे पनि प्रतिवेदन सार्वजनिक नगर्नुले प्रहरीले आफ्ना
कर्मचारीको संलग्नतालाई चोख्याउन खोजेको देखिएको छ ।
नक्कली काजगात बनाई यातायात व्यवस्था कार्यालय महाकालीमा
दर्ता गरिएका ९ वटा कार र २५ वटा मोटर–साईकल प्रहरीले गत असार २९ गते बरामद गरेको थियो । बरामद सवारी साधनमध्ये २
वटा कार र ११ वटा मोटरसाईकल सुरक्षाकर्मीले प्रयोग गर्ने गरेको पाइएको थियो ।
चोरीका सवारी साधन नेपाल प्रहरीका अधिकृतले नै प्रयोग गर्ने गरेको तथ्य खुलेपछि छानविन गर्न
सशस्त्र प्रहरी गण मुख्यालय धनगढीका
प्रहरी उपरीक्षक किशोर दाहालको नेतृत्वमा गत साउन १९ गते छानविन समिति गठन गरिएको
थियो ।
समितिले प्रतिवेदन तयार गरी सुदूरपश्चिम क्षेत्रीय प्रहरी
प्रमुखलाई बुझाईसकेको छ र अहिले छानविन समितिका संयोजक दाहाल र समिति गठन गरेका
तत्कालिन क्षेत्रीय प्रहरी प्रमुख रोमेन्द्र देउजा सरुवा भएर गईसकेका छन् । प्रतिवेदनमा पनि प्रहरीलाई बचाउन खोजिएको बताइएको छ ।
सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का ५ जना, ट्राफिक प्रहरीका २ जना र अन्य २ जना गरी ९ जना प्रहरी
अधिकारीले चोरीका सवारी साधन प्रयोग गर्ने गरेको पाइएको थियो । औद्योगिक सुरक्ष बल
अत्तरियाका सशस्त्र प्रहरी नायब उपरीक्षक हर्कराज पन्त र ईलाका प्रहरी कार्यालय
टीकापुरका प्रहरी नायब उपरीक्षक सुदिपराज पाठकले चोरीका कार चढ्ने गरेको पाइएको थियो ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी
निरीक्षक दिपक पातली, सुदूरपश्चिम
क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षक केशव राज जोशी, हवल्दारहरु
धर्मसिंह भाट, पुस्कर
भट्ट, पदम धामी, हरक कुँवर, सिपाही
सुरज तिरुवा र मनोरथ भट्ट, ट्राफिक प्रहरीका जनकराज ढुंगाना, कमलप्रसाद जोशी, केशवसिंह
ऐरीले चोरीका मोटरसाईकल चढ्ने गरेको
खुलेको थियो ।
चोरीमा सवारी साधन दर्ता गराउनमा संलग्न गिरोहका कैलालीको भजनी घर
भएका गोकुलप्रसाद श्रेष्ठ र उनका सहयोगी दिनेश बमसहित सरकारी छाप र दस्तखत दुरुपयोग गरी
चोरीका सवारी साधनलाई वैधता दिएको अभियोगमा यातायातका ७ जना कर्मचारी विरुद्ध मुद्दा चलिरहेको छ ।
‘कारबाहीका
नाममा यातायातका कर्मचारीलाई मात्र फसाउन खोजिएको छ । तिनै चोरीका सवारी साधन चढ्ने प्रहरीलाई
कुनै कारबाही भएको देखिदैन ।’ यातायात
कार्यालयका एक जना कर्मचारीले भने ‘प्रहरीमाथी
पनि अनुसन्धान गरिनु पर्छ ।’
भारतबाट सवारी साधन चोरेर ल्याउने र किर्ते कागजात बनाएर
यातायातमा दर्ता गर्ने गिरोहका श्रेष्ठले प्रहरी अधिकारीहरुले चोरीका सवारी साधन
भित्र्याएर आफूलाई दर्ता गराउन दिएको सरकारी वकिलको कार्यालयमा बयान दिएका थिए ।
कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश चन्दले
किर्ते कागजातका आधारमा चोरीका सवारी साधन दर्ता गरेको घटनाको अनुसन्धानपछि संलग्न
विरुद्ध अदालतमा मुद्दा दर्ता भईसकेको बताए । ती सवारी साधनको प्रयोग प्रहरी
अधिकारीहरुले गरिरहेकोबारे क्षेत्रबाटै
अनुसन्धान भएकाले यसबारे आफूलाई जानकारी नभएको उनले बताए ।
प्रहरी अधिकारीहरुले चढ्ने चोरीका सबै सवारी साधन नियन्त्रणमा
लिएर कञ्चनपुर भन्सार कार्यालयमा बुझाई सकिएको छ । जिल्ला अदालतको आदेशमा ती सवारी
साधन लिलामीको प्रकृयामा रहेका भन्सार
कार्यालय कञ्चनपुरले जनाएको छ ।
खुकुरी हानाहान हुँदा चार घाईते
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा दुई समूहबीच
खुकुरी हानाहान हुँदा चार जना घाईते भएका छन ।
बेलौरी बजारबाट करीव चार किलोमिटर पूर्व दक्षिणमा पर्ने
गोकुलपुरमा शनिबार बेलुकी दुई समूहबीच खुकरी हानाहान भएको थियो । स्थानीय पुल हाउसमा भएको घटनामा बेलौरीका सुरेश
खड्का, पुष्प
कुँवर, सुरेन्द्र
शाही र सुदिप खड्का घाईते भएका छन । घाईतेमध्ये सुरेशको अवस्था गम्भिर रहेको जनाईएको छ । सुरेशलाई उपचारका लागि
काठमाण्डौं लगिएको छ । यस्तै पुष्प र सुरेन्द्रलाई थप उपचारका लागि कोहलपुर लगिएको
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सामान्य घाईते सुदिपलाई सेती अञ्चल अस्पतालमा
उपचारपछि घर फर्काईएको छ । कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले
युवाहरुका दुई छुट्टाछुट्टै समूहबीच पुल
हाउसमा कुटाकुट भएको पुष्टि गरेपनि खुकुरी हानाहान नभएको प्रतिक्रिया दिएका छन । उनले
भने ‘कुटपिटबाट
चार जना घाईते भएका छन, चोट त
गहिरो छ तर खुकुरी प्रहारनै भएको हो भने भन्न सकिन्न ।’
कुटाकुटमा संलग्न अर्को समूह फरार रहेकाले घटनाको कारण खुल्न नसकेको
प्रहरीको भनाई छ ।
छोटकरी समाचार
एकको रहस्यमय मृत्यु
डोटी के आई सिंह गाँउपालिका–२ मा एक जनाको
रहस्यमय तरिकाले मृत्यु भएको छ ।
बिगत लामो सयमदेखि बेल्जीयम बस्दै आएका ४५ वर्षीय धिर्कराज
शर्माको बिहीवार साँझ स्थानीय छिमेकीहरुबाटै हत्या भएको आफन्तजनले आरोप लगाएका छन् । दीपावलीको अवसरमा पूजा
गर्न टुरिष्ट भिसामा नेपाल आएका शर्माको भाईटीकाको अघिल्लो साँझ स्थानीय
छिमेकीहरुले कुटपिट गरी हत्या गरेको आफन्तजनको आरोप छ ।
बेल्जियमकै नागरिक भईसक्नुभएका शर्माकी पत्नी र सन्तान
बेल्जियममै छन ।
एमाले बझाङ्गमा तिब्र मतभेद्
आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका
लागि उम्मेदवारी छनौटका क्रममा मनोमानी
गरेको भन्दै एमाले बझाङ्गमा तिब्र मतभेद् बढेको छ ।
पार्टी जिल्ला कमिटीमा उम्मेदवार सिफारिसका लागि भएको
मतदानबाट आएको परिणाम भन्दा फरक निर्णय
भएको भन्दै असन्तुटी बढेको हो ।
उम्मेद्वार छनौटमा असन्तुष्ट भएका एमाले नेता गोपाल खड्काले
प्रतिनिधि सभा र शेरवहादुर बोहराले प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी समेत दर्ता गराएका छन ।
खेल समाचार
एन्फा चुनाव दुई साता स¥यो
काठमाण्डौं, ६
कार्तिक (अनलाईनखवर)÷
एन्फा कार्यसमिति बैठकले आन्तरिक तयारी नपुगेका कारण आसन्न चुनाव दुई साता पछि सारेको छ । यसअघि पुस
२३ गतेका लागि तय भएको एन्फा कार्यसमितिको निर्वाचन अब माघ ११ गते हुनेछ ।
निर्वाचन समिति र उम्मेदवारहरुका लागि दावी बिरोधको समय
आवश्यक भएकाले एशियाली फुटबल महासंघको स्वीकृतिमा चुनाव दुई साता सारिएको एन्फाका
प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।
यस्तै एन्फा बैठकले ४५ जिल्ला संघहरुको अधिवेशन र निर्वाचन
कात्तिक २५ देखि मंसिर २५ गतेसम्मको गरिसक्न सम्बन्धित जिल्ला संघहरुलाई निर्देशन
दिएको छ ।
सोमबार बसेको एन्फा कार्यसमितिको बैठकले अधिवक्ता सुमन केसीको
संयोजकत्वमा चार सदस्यीय निर्वाचन समिति बनाएको छ भने अधिवक्ता मोतीराम गौतमको
संयोजकत्वमा चार सदस्यीय निर्वाचन अपील कमिटी बनाएको छ ।
ए डिभिजन लिग मंसिर २९ देखि गर्ने तयारी
एन्फाले आगामी मंसिर १४ गतेदेखि सुरु गर्ने निर्णय गरेको सहिद
स्मारक ए डिभिजन लिग फुटबल पनि दुई साता सार्ने तयारी गरेको छ ।
एन्फा सिइओ तुलाधरका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा
निर्वाचनका कारण लिग निर्धा्रित समयभन्दा केहि पर सार्न लागिएको हो । यद्यपी
यसबारे निर्णय भइसकेको छैन । सोमबारको बैठकमा सामान्य छलफल भएपनि अर्को बैठकले
लिगबारे निर्णय गर्ने सिइओ तुलाधरले जानकारी दिए ।
तीन वर्षपछि पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन लिगमा
काठमाडौंका १२ ए डिभिजन क्लवसहित झापा–११, मोरङ–११, रुपन्देही–११
र सुदूरपश्चिम–११ गरि १६ टोलीको सहभागिता रहनेछ ।
प्याराग्लाइडिङ प्रतियोगिता हुने
यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका–५ स्वरेक मैदानमा अन्तराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता
हुने भएको छ ।
बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित
२५ विदेशी मुलुकका झण्डै तीन सय खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका
अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए ।
स्याङ्जा जिल्लाको स्वरेक मैदान प्याराग्लाइडिङका लागि एक
उत्कृष्ट स्थान रहेको र यहाँबाट दैनिक प्याराग्लाइडिङ भइरहने गरेको छ ।
यस ठाउँमा प्याराग्लाइडिङसम्बन्धी प्रशिक्षण दिने स्कुलसमेत
रहेकाले यस क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक तथा खेलाडी
भित्र्याउन सकियोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको केसीले बताए ।
प्रतियोगितामा स्याङ्जा जिल्लाका चापाकोट, गहौँसुर, सिर्सेकोट, मिर्मी, हुनिकोट, सतौँ, खिलुङ र सिरुवारीलाई समेट्ने लक्ष्य लिएर आयोजना गरिएको हो।
प्याराग्लाइडिङ प्रतियागितामा अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विट्जरल्याड, बंगलादेश
लगायतका देशका खेलाडीको सहभागिता रहनेछ ।
छ दिनसम्म चल्ने प्रतियोगितामा ८५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको
छ । प्रतियोगिताबाट सन् २०१८ मा इन्डोनेसियामा हुने एशियाली हवाई खेलकुदका लागि
चार महिला र आठ पुरुष छनोट गरिनेछ ।
चलचित्र÷मनोरञ्जन
“कान्छी” को छायाङ्कन सकियो
नेपाली चलचित्र ‘कान्छी’ को
छायांकन सकिएको छ । नायिका तथा निर्माता श्वेता खड्काले निर्माण र आकाश अधिकारी
निर्देशन गरेको कान्छीले ५० दिनको समय तालिकामा छायांकन सकेको हो ।
चलचित्रमा दयाहाङ राई र श्वेताको प्रमुख भूमिका रहेको छ ।
मुस्ताङ, माथिल्लो
मुस्ताङ, जोमसोम र
राजधानी वरपर छायांकन गरिएको चलचित्रमा तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठका
साथसाथै अनु शाह, प्रज्जवल
सुजल गिरीको पनि अभिनय रहेको छ ।
लक्ष्मीपूजाको दिन चलचित्र निर्माता एवं अभिनेतृ श्वेताले
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरे अनुसार उक्त चलचित्र माघ २६ गते बजार
आउनेछ । पति श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली स्वरुप उक्त चलचित्र आउन लागेको
बताउँदै श्वेताले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छन् ‘दादाको सम्बोधनमार्फत् आदर गर्ने मेरा स्वर्गीय पति श्रीकृष्ण
श्रेष्ठ ज्युप्रति हार्दिक श्रद्धाञ्जली स्वरुप आगामी माघ २६ गते ‘कान्छी’ लाई दर्शकसामु ल्याउँदैछु । एउटा कलाकारको पत्नीको नाताले
मैले उहाँलाई एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेकी छु । मैले आफ्नो गच्छे
र दक्षताले भ्याएसम्मको मेहनत गरेकी छु । मेरो यो मेहनतमा मेरा सहकर्मी
मित्रहरूलगायत ‘कान्छी’ निर्माणका
सम्पूर्ण युनिटको पसिना मिसिएको छ । ‘कान्छी’ लाई
तपाईंहरुको सल्लाह सुझाव र उत्प्रेरणाको खाँचो छ । मेरा त्रुटीहरूलाई औल्याएर
आगामी दिनमा झन परिस्कृत हुने मौकाबाट मलाई बञ्चित नगराउनु होला ।’
सत्रुगते’ को छायाङ्कन सुरु
चर्चित हास्य कलाकार महा जोडीको संस्था मह सञ्चारको प्रस्तुती
चलचित्र ‘सत्रु
गते’ छायांकन
प्रारम्भ भएको छ । सोमबार शुभ मुहुर्त गरि छायाँकन सुरु गरिएको हो ।
कलाकार हरिबंश आचार्यले चलचित्रको छायाँकन सुरु भएको सामाजिक
सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन । उनले ‘हामी
फेरी आउँदै छौं दर्शकको माझ’ भन्ने क्याप्सन सहित फिल्मका कलाकारको जानकारी दिएका छन् ।
“सत्रु गते” मा
मदनकृष्ण श्रेष्ठ, हरिवंश
आचार्य, दीपकराज
गिरी, दीपाश्री
निरौला, शिवहरि
पौड्याल, पल शाह, प्रियंका कार्की, आचल
शर्मा, बसुन्धरा
भुषाल, किरण
केसी, राजाराम
पौड्याल, अञ्जु
महर्जन, राजु
भुजु, रवि
शर्मा, मोहितवंश
आचार्य र नरेन्द्र कंसाकारको अभिनय रहेको छ ।
प्रदीप भट्टराईले निर्देशन गर्ने चलचित्रमा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र
कंसाकार, दीपकराज
गिरी, दीपाश्री
निरौला, शिवहरि
पौडेलले संयुक्त रुपमा निर्माण गर्नेछन् ।
फिल्मको कथा हरिवंश आचार्यले लेखेका छन् भने पटकथा आचार्य र
प्रदीप भट्टराईले संयुत्त रुपमा लेखेका छन् ।
लेख
प्रश्नको घेरामा लोकतान्त्रिक गठबन्धन
जैनेन्द्र जीवन
‘गठबन्धन
गरेर आगामी प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव लड्ने र चुनावपछि पार्टी एकता नै
गरेर एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने’ नेकपा–एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको अप्रत्याशित असोज १७ घोषणाको
प्रतिक्रियास्वरूप नेपाली कांग्रेसले पनि तुरुन्तै लोकतान्त्रिक गठबन्धन गरेर
चुनावमा जाने उद्घोष ग¥यो । जुन
गठबन्धन सफल भए नै पनि कांग्रेसका लागि कति उपयुक्त, फाइदाजनक र दिगो होला भन्ने प्रश्न त छँदैछ, साना दलहरूको ठूलो भाग खोज्ने प्रवृत्तिका कारण उसले
कतैकतैमात्र गठबन्धन गर्नसक्ने स्थिति देखिएको छ । वास्तवमा, वाम गठबन्धनबाट कांग्रेस आत्तिनुपर्ने थिएन । कांग्रेसीहरू त ‘कांग्रेस हार्ने भनेको कांग्रेसकै कारणले मात्र हो, अरुको कारणले कांग्रेस हार्दैन’ भन्थे सधैँ । जुन धेरै हदसम्म सत्य पनि हो ।
२०१५ सालदेखि अहिलेसम्म भएका आठवटा संसद्÷संविधान सभा (संस) देखि स्थानीय तहसम्मका चुनावमध्ये
पाँचवटामा कांग्रेसले बहुमत ल्याएको छ भने तीनवटामा ऊ दोस्रो भएको छ । २०५१ सालको
संसदीय चुनावमा थोरै सिटको अन्तरले मात्र दोस्रो बनेको, पार्टी फुटेसरीको अवस्थामा चुनावमा जान परेकाले हो । २०६४
सालको संस चुनावमा त्रास र आसको माओवादी लहरका बीच अरु जस्तै पछि परे तापनि ऊ
दोस्रै भएको हो । २०७४ सालको स्थानीय
निकाय चुनावमा दोस्रो बन्नु परेका कारण पनि उसका आफ्नै कमजोरी थिए– जस्तो कि गुटबन्दी, सरकारमा
रहँदाको खराब कार्यसम्पादन, प्रधानन्यायाधीशविरुद्ध
महाभियोग लगाउने लगायतका पार्टी नेतृत्वको थुप्रै मूर्खतापूर्ण कदमहरू ।
टाउको दुखेको औषधी नाइटामा
अस्तब्यस्त संगठन, पार्टीभित्र
संस्थागतै बनिसकेको गुटबन्दी, राम्रो
मान्छेलाई भन्दा हाम्रो मान्छेलाई च्याप्ने गुटका नेताको प्रवृत्ति, अक्षम नेतृत्व, स्कुलिङ÷प्रशिक्षणले शून्य ‘विन्दास
टाइपका’ कार्यकर्ता, पार्टीको स्वार्थलाई भन्दा व्यक्तिको स्वार्थलाई प्रधानता
दिने व्यक्तिवादी सोच र चरित्रको पार्टी पंक्ति, टिम संस्कृतिको अभाव– कांग्रेस
चुनाव हार्ने ‘आफ्नै
कारण’ को सूची
लामो छ । हो, यतिका
संस्थागत र प्रवृत्तिगत कुरामा रातारात सुधार गरेर आगामी चुनावमै चामत्कारिक
उपलब्धि हासिल गर्न सकिँदैन । तर शेरबहादुरले रामचन्द्र, कोइरालाहरू, सिटौलालगायत
नेता बोलाएर ‘अब
अस्तित्वकै संकट आइलागिसक्यो, पार्टी
रहेमात्र हामी रहन्छौँ, त्यसैले
आ–आफ्ना
स्वार्थ र पूर्वाग्रहबाट सदाका लागि माथि उठेर, राम्रो र
जित्ने उम्मेदवार छानौँ र तेरो÷मेरो
नभनिकन उसलाई जिताउन सब दिलोज्यानले लागौँ, मैले
अहिलेसम्म धेरै गल्ती गरेँ, तपाईँहरूले
पनि गर्नुभो, अब कसैले
पनि गल्ती नगर्ने प्रण गरौँं र पार्टीलाई २०१५ सालको उचाइमा पु¥याउन एक भएर लागौं’ भनेर छातीमा हात राखेर संकल्प गर्न÷गराउन त सक्थे नि तर न उनले त्यसो गर्न आवश्यक सम्झे, न अरु गुटीय नेताले ।
यसरी गर्नपर्ने कुराचाहिँ नगर्ने उनीहरू अविश्वसनीय दलहरूसँग
सिद्धान्तहीन गठबन्धन गर्नचाहिँ हुर्दुरिएका देखिँदा गठबन्धन गर्नपूर्व विचार पु¥याउनुपर्ने कुरा थुप्रै छन् । उदाहरणका लागि, ६०ः४० अनुपातको सिट बाँडफाँटबाट माकेलाई बढी फाइदा हुने जस्तो
देखिए तापनि दोस्रो र तेस्रो ठूला दल हुँदा बाम गठबन्धनबाट एमाले, माके दुवैलाई उत्तिकै फाइदा छ तर लोकतान्त्रिक गठबन्धनतर्फ यो
स्थिति छैन । यता कांग्रेस र अरु (ससाना) दलबीचको ‘ग्याप’ धेरै
ठूलो छ । तर पनि उनीहहरूलाई गठबन्धनमा ल्याउन कांग्रेसले आफ्नो भाग कटाएर
प्रत्यक्षतर्फको सिट धेरै छाड्नुपर्ने हुन्छ । र, यसबाट भोलि त्यही अनुपातमा कांग्रेसले पाउने समानुपातिकतर्फको
सिट पनि गुम्नेछ । अर्थात एमाले–माकेलाई
भएको जस्तो परस्पर फाइदा नहुनेमात्र होइन, गठबन्धनबाट
कांग्रेसलाई घाटा हुन सक्नेछ । त्यसै पनि आफ्नो हैसियतभन्दा धेरै बढी र बेमनासिब
संख्या एवं स्थानको भाग नपाई गठबन्धनमा नआउने दलमध्ये धेरैलाई कांग्रेसलाई जस्तो लोकतन्त्रसँग
खासै मोह पनि छैन । कांग्रेसले आफ्नोसमेत मतबाट उनीहरूलाई चुनाव जिताए नै पनि
उसलाई धोका दिएर भोलि उनीहरु एमाले–माके
गठबन्धनको सरकारमा जाने छैनन् भन्ने ग्यारेण्टी छैन । जाँदा कमल थापा ‘राष्ट्रवाद’को दुहाई
दिएर जालान् भने कम्युनिस्ट पृष्ठभूमिका उपेन्द्र यादव, विजय गच्छदार कांग्रेसमा फर्केजस्तै घरफिर्ती भन्दै जालान् ।
जाने निहुँ र नारा फरक होलान् तर जानचाहिँ जान सक्नेछन् । पूर्वकांग्रेसी नेताहरू
धेरै भएको राजपा नेपाल नै पनि भोलि प्रचण्डले ‘मधेसी
पहिचान’ को ललिपप
देखाए भने लोकतान्त्रिक गठबन्धनबाट नबाहिरिएला भन्न सकिँदैन । बाह्य शक्तिको
संकेतमा चल्ने क्षेत्रीयतावादी दल ऊ त्यसै पनि भरपर्दो साझेदार होइन कांग्रेस
जस्तो राष्ट्रिय पार्टीका लागि । यी दुवैमध्ये कुनै एक गठबन्धन मात्रै पनि
सिद्धान्तमा आधारित गठबन्धन भएको भए यस्तो डर हुने थिएन । त्यसो नभई सत्ताका
निमित्त गरिएको गठबन्धन हुँदा र यी सबै
दलका विगत हेर्दा त्यस्तो दलबदलु भइरहने पक्कै छ । त्यसै पनि, आफ्नो सबभन्दा ठूलो सत्ता साझेदारले हप्तौं, महिनौंदेखि प्रमुख प्रतिपक्षसँग मिलेर पकाएको खिचडीको गन्ध, सुइँकोसम्म नपाउने हुस्सु कांग्रेसले थुप्रै ससाना दलको चियो
गरेर उनीहरूलाई अर्कोतिर जानबाट कतिन्जेल रोक्ला ?
गठबन्धनका गुण–दोष
त्यसो त गठबन्धन संस्कृति एकप्रकारले स्वागतयोग्य कुरा पनि हो
। प्रणालीकै त्रुटिका कारण होस् कि दलका, एउटै
दलको बहुमत सरकार नबन्ने अवस्थामा गठबन्धन आवश्यकताकै विषय बन्छ जुन स्थिति अहिले
हामीकहाँ छ । कम्युनिस्ट पार्टीहरूले समेत आफूले ‘शत्रु’ घोषित गरेका र ‘बुर्जुवा’ दलहरूसँग
गठबन्धन गर्नु केही समयअगाडिसम्म निषेधको पात्र बनाएका कमल थापासँग अरु दलले
सहकार्य गर्नु दलहरू सहिष्णु एवं राजनीतिक बहुलवादको अभ्यस्त हुँदै गएको र
लोकतन्त्र परिपक्व हुंँदै गएको संकेत पनि हो । वास्तवमा, यो देशमा २ वा अधिकतम ३ दलमात्र रहने प्रणाली अत्यावश्यक
भइसकेको छ । तर त्यस्तो प्रणालीका नाममा सत्ताकै लागि बारम्बार साझेदारहरु परिवर्तन भइरहने
गठबन्धनले उल्टै राजनीतिक अस्थिरता, अवसरवाद, भ्रष्टाचार र दलबदलू संस्कृति बढाउँछन् मात्र ।
न्यूनतम साझा नीति तथा कार्यक्रमसमेत ल्याउन नसक्ने एमाले–माकेबीच कम्युनिस्ट एकताका नाममा गरिएको यो गठबन्धन पनि
त्यस्तै गठबन्धन हो । बृहत् कम्युनिस्ट स्कुलिङ एउटै भएपनि पुष्पलाल–मनमोहन–मदन र
मोहनविक्रम–निर्मल
लामा–प्रचण्डपथका
उनीहरूका स्कुलिङ फरक छन्, ‘लिगेसी’ फरक छन्
। उनीहरूबीच हत्पति नपुरिने सैद्धान्तिक, वैचारिक
खाडल छ । कथित जनयुद्धको मूल्यांकन, पहिचान
राजनीति, पहिचानमा
आधारित संघीयतादेखि संविधान संशोधनसम्मका राष्ट्रका जल्दाबल्दा मुद्दामा १८०
डिग्रीको मतान्तर छ । एमालेलाई अन्धराष्ट्रवादी, महेन्द्रवादी भनेर गाली गर्ने माके र उसलाई भारतका सामु
लम्पसार पर्ने उग्रवामपन्थी भन्ने आरोप लगाउने एमालेबीच यी सब कुरामा चामत्कारिक
सहमति भएछ भने पनि त्यसपछि पदाधिकारी र कार्यकर्ताको पद मिलानमा आउने अथाह
समस्याले एकतालाई सफल र दिगो हुन दिने छैन ।
वास्तवमा एकताको कुरा निकालिएकै चुनावी तालमेललाई सफल पार्नका
लागिमात्र हो भने तालमेल सत्ताकै लागिमात्र हो । अतः उनीहरूको एकताको हौवा र
प्रचारले कांग्रेस डराउनु पर्दैन । हो, तालमेलको
कुरा बेग्लै हो । तालमेलबाट तत्कालका लागि कांग्रेसलाई ठूलै चुनौती आइलागेको पनि
सत्य हो । त्यसैले उसले केही उपचारात्मक कदम भने चाल्नैपर्छ । तालमेल गर्नै नहुने
होइन । आफू जित्दै नजित्ने ठाउँमा आफूलाई प्राप्त हुने भोट एमाले–माकेबाहेकको, जित्ने
सम्भावना भएको अथवा राजनीतिक रूपले आफ्नो सर्वाधिक नजिकको उम्मदेवारलाई जाने
रणनीतिक तालमेल कांग्रेसले गर्नुपर्छ । ससर्त वा विनासर्त जसरी गरिएपनि त्यस्तो
तालमेलबाट कांग्रेसलाई फाइदै हुनेछ । तर पहिले त, त्यस्तो स्थान र स्थिति अरु कति छन् त्यसको राम्रो गृहकार्य
गर्नुप¥यो ।
कांग्रेस यस्तै हो, गृहकार्य
र मेहनत भन्ने लवज उसको शब्दकोशमा छैन भन्दै टक्टकिएर अब चल्ने छैन । आफ्नो प्रमुख
प्रतिस्पर्धी सशक्त र ठूलो भएर आएको छ, चुस्त त
ऊ पहिल्यै थियो कांग्रेसभन्दा । यस्तोमा अब कांग्रेसले कि आफूलाई सुधार्नुपर्छ कि
सकिनु, बीचको
बाटो छैन । मेहनत नगरे पनि इतिहास रचेको ब्याज खाँदै, बिपीको नाम भजाउँदै र विपक्षीको विभाजित भोट ब्यांकको फाइदा
लिँदै सत्तामा गएर मोज गरिरहन अब पाइने छैन ।
सकारात्मक सोचको आवश्यकता
कांग्रेसले धेरै गल्ती गरेको छ, सम्भवतः कुनै पनि अरु दलले गरेको भन्दा धेरै र आत्मघाती गल्ती
। त्यसका बाबजुद अहिले पनि देशको सबैभन्दा ठूलो, पुरानो, लोकप्रिय र व्यापक जनाधार भएको दल उही हो । लोकप्रिय (पपुलर) मत अहिले पनि उसैको बढी
छ, पछिल्लो
स्थानीय चुनावमा एमालेभन्दा केही कम सिट जिते पनि । यो लोकप्रिय मतलाई चुनावका
लागि निर्णायक मत बनाउन सकेमा मात्र पनि अबको चुनावमा ऊ पुनः १ नम्बर हुन सक्नेछ ।
माके–एमालेको
मत जोडिँदा वाम गठबन्धनको मत बढ्ने कुरा तर्कसम्मत भए तापनि उनीहरू दुवैको सबै मत
स्वतः एक ठाउमा जोडिंँदैन, एकथरीले
सोचेको जस्तो । उम्मेदवारको व्यक्तिगत लोकप्रियता, तालमेलमा कार्यकर्तादेखि मतदातासम्मको स्वीकार्यतालगायतका
थुप्रै ‘भ्यारिएबल्स’ ले
चुनाव परिणामलाई प्रभावित गर्छन् ।
कांग्रेसले सकारात्मक भएर सोच्ने हो भने आगामी चुनावमा ऊ १ नम्बर दल बनेनछ भने पनि
आकास खसिहाल्दैन । एक दुई निर्वाचन अवधि प्रतिपक्षमा बस्दैमा कांग्रेस सिद्धिँदैन
। हो, सत्ताबिना
बाँच्नै नसक्ने कांग्रेसभित्रको एउटा वर्गचाहिँ सिद्धिन सक्छ ।
त्यसै पनि वाम गठबन्धन आफ्नै अदूरदर्शी एवं पपुलिस्ट नाराहरू
र बाँडेका सपना पूरा गर्न नसकेर अलोकप्रिय हुने र अर्को चुनाव हार्ने सम्भावना
उत्तिकै छ । आफ्नै सैद्धान्तिक, स्कुलिङगत, गुटगत र व्यक्तिगत बेमेल तथा अन्तर्विरोधहरूले गरेर उनीहरू
पुनः फुट्ने सम्भावना पनि बलियो छ ।
बाबुराम भट्टराईसमेत दुई साता पनि टिक्न नसक्ने गठबन्धनमा सधैँ बाझाबाझ
गर्ने प्रचण्ड र ओली कति दिन मिलेर
बस्लान् ? लाख
दुर्गुण सही, कांग्रेसको
त सहिष्णुता र लचकता त छ जसले गर्दा सबै प्रकारका शक्ति÷दल ऊसँग सहकार्य गर्न सहज मान्छन् । लोकतन्त्रमा खासै गल्ती
नगरे पनि दुई÷तीन
चुनावपछि मतदातामा उत्पन्न हुने ‘फटिग’ (थकान) का
कारण अथवा ‘एन्टी
इन्कम्बेन्सी फ्याक्टर’ का कारण पनि दलहरू चुनाव हार्ने गर्छन् । एमाले–माके मात्र यो नियमका अपवाद हुने छैनन् । मौका आइरहन्छ ।
कांग्रेस डराउनुपर्दैन–साम्यवादी
अधिनायकवाद आउन सक्दैन, एमाले–माके गठबन्धनले चाहे पनि नचाहे पनि । त्यो चुनावबाट आउने कुरा
पनि होइन । त्यसका लागि न विश्व परिस्थिति अनुकूल छ, न भूराजनीतिक स्थिति, न
देशभित्रको शक्ति सन्तुलन र जनमत । त्यसैले बरु कांग्रेसले अहिलेको चुनौतीलाई
आफूलाई सुधार्ने सकारात्मक दबाबका रूपमा लिनुपर्छ । र, आत्तिन एवं प्रतिक्रियाको राजनीति गर्न छाडेर राष्ट्र
निर्माणको ठोस अजेन्डासहित, स्पष्ट
राजनीतिक, आर्थिक, सामाजिक नीति तथा कार्यकक्रमका साथ जनतामा जानुपर्छ । उपहारमा जनतालाई सुशासन र विकास
दिनुपर्छ र कार्यकर्तालाई जीवन्त एवं क्रियाशील संगठन । अनि गर्नैपरे
देशव्यापीरूपमा गरिने भागबण्डाका आधारमा
होइन कि स्थानविशेषलाई छानेर रणनीतिक आधारमा चुनावी तालमेल गर्नुपर्छ अहिले
गोर्खामा बाबुराम भट्टराईसँग
गरेजस्तो । कांग्रेसै जस्तो अर्को पार्टी भइदिएको भए देशव्यापी तालमेलमात्र होइन
कि साझा नीति तथा कार्यक्रमका आधारमा एकतै गरे पनि हुन्थ्यो जुन स्थिति यहाँ छैन ।— नागरिक
दैनिकबाट
बहुआयामिक देवकोटा, युग र स्वच्छन्दताबाद ।
रमेश भट्टराई ‘सहृदयी’
एउटा पाटो अभावमा रम्ने जिन्दगीको, अर्कोतिर शैक्षिक समुन्नतिभित्र दूरदृष्टि सजाइएका कुरा
त्यसमा पनि साहित्यभित्र प्रकृतिका कुना कन्दरा चियाइएको खुला बहुआयामको फाँटमा
अङ्कित लक्ष्मीप्रसाद देवकोटाको नाम आजका सुकोमल बालहृदयदेखि बयोवृद्धका
मनमस्तिष्कमा लिपिबद्ध प्रायः नभएको लाग्दैन । कलम कल्पनाको सागरभित्र वायुको
गतिमा दौडिएका विलक्षण भाव लहरी जीवन्त छ, महाकविको
आशुकवित्व प्रभावभित्र । धनधान्यकी देवी महालक्ष्मीको भव्य पूजाअर्चना गर्दै
नेपालीहरू आँगनीमा देउसी खेल्दै थिए, वि.सं.
१९६६ कात्तिक २७ गते देवकोटाकी माता अमरराज्य लक्ष्मीदेवी । उनलाई धर्तीमा स्वागत
गर्न प्रसव वेदनामा छट्पटाइ रहँदा सायद पिता पं. तिलमाधव देवकोटालाई देउसे दक्षिणा
दिएर लाज छोप्न चिटचिट पसिना आएको हुँदो हो त्यतिखेर त्यहाँ । महाकवि लक्ष्मीप्रसाद
देवकोटाको नामलाई नेपाली साहित्य जगतले अविस्मरणीय सूचीको अग्र पङ्क्तिमा राख्छ ।
लक्ष्मीपूजाकै दिन जन्मे पनि लक्ष्मी कृपाले स्पर्श गर्न पटक्कै रुचाएनछ तर
सरस्वतीको ज्ञान भण्डारमा घुन लागेनछ । त्यसैले त देवकोटाको व्यक्तित्व आज पनि अमर
लाग्छ । दालभातडुकुको चरम उत्कर्ष अभावसँग कुस्ति खेल्दै सङ्घर्षको मैदानमा जीवन
रहस्यको चुरो खोज्ने देवकोटा बहुआयामिक व्यक्तित्व रहेछन् ।
‘लेखक
कृतिसँग जन्मन्छ, मर्न त
सबै मर्छन् तर पाठकसँग बाँच्छ । भौतिक रूपमा लेखक मर्छ तर पाठक जन्मिरहन्छ ।’ आधुनिक
नेपाली कविता कित्ताको सिङ्गै एउटा धारा अङ्ग्रेजी स्वच्छन्दतावादलाई जन्माउने, हुर्काउने र विकसिक तुल्याउने देवकोटाको योगदान अतुलनीय लाग्छ
। नेपाली साहित्यको आधुनिक जगत्मा परिष्कार–वादको
कठोर बन्धनलाई अलिकति पन्छाएको स्वच्छन्दतावादले वि.सं. १९९१ देखि देवकोटाकै
नेतृत्वमा प्रवेश पाएर झ्याङ्गिदै वि.सं. २०१६ जुन उनको अवसानसम्म प्रमुख रूपमा
स्थान पाएको बुझिन्छ । स्वच्छन्दवाद पाश्चात्य साहित्य सिद्धान्त हो । यसलाई जर्मन
दार्शनिक तथा समालोचक फ्रेडरिक स्लेगल
(१७७२–१८२९) ले
साहित्यको एउटा नवीन अवधारणाका रूपमा ल्याए । यसलाई प्रवर्तन र विकास गर्नमा
फ्रान्सेली क्रान्तिले मलजल ग¥यो अनि
रुसोको ‘मानव
स्वतन्त्र जन्मन्छ, तर ऊ
सर्वत्र बन्धनमा जकडिएको हुन्छ’ भन्ने भनाइसँगै प्रकृतितर्पm फर्केको सिद्धान्तले गति बढायो । व्यक्तिवादी दृष्टि र
आत्मपक्षको महत्ता हाबी बन्ने, काल्पनिक
लोकको विचरणभित्र सौन्दर्य बोध, विकृत
पक्षको विरोध, अलिकति
भावुकता, प्राकृतिक
जीवनमा ईश्वरीय सत्ता, कृत्रिमताबाट
मुक्ति, साङ्गीतिक
प्रवाहमा मानवतावादी दृष्टिकोण यिनै स्वच्छन्दवादका हुलिया हुन, चिनारी हुन् । विविध साहित्य विधाका परिवृत्तमा उनको कलम
रातोदिन अथक बन्यो । त्यसो त प्रयोगवादी धारामा सुस्ताएभैmँ लागेको
यसले आजको समसामयिक धारमा गुञ्जिने काव्य लालित्यसँग ओइलाउनै परेको भने लाग्दैन ।
नाट्यसम्राट बालकृष्ण समले भनेभैmँ
देवकोटा उनकै प्रिय अनि सर्वाधिक लोकप्रिय भई धेरै बिक्री भएको कृति मुनामदनभित्र
मात्र होइन, शाकुन्तल
अनि पागलभित्र गरी तीन पटक जन्मेकैले होला आज पनि अमर छन् । त्यसैले होला, विलक्षण प्रतिभालाई देखेर स्वदेशले आज जति सम्मान देवकोटालाई
मुक्तकण्ठले दिइरहेको छ, सीमापारिका
साहित्यानुरागी त्यसबेला त्यति नै प्रभावित बनेका रोचक घटना सुन्न र पढ्न पाइन्छ ।
कतिपयले त देवकोटा नेपालमा जन्मनुलाई नै भौगोलिक गल्तिको खिन्नता पोख्न बाँकी
राखेनन् ।
खहरेको भेलभैmँ कवित्व
प्रभाव फुर्ने देवकोटामा आत्मिक ज्ञानको भण्डार थियो भन्ने कुरा ‘यात्री’ कविताले पुष्टि गर्छ । उनी प्रत्येक मानिसमा ईश्वरको जिउँदो
रूप देख्थे । दार्शनिक युगस्रष्टा देवकोटाले राष्ट्रप्रेमी भाव पोख्ने मात्र होइन, क्रान्तिकारी भावमा समाजका विकृत पक्षको व्यङ्ग्य र भण्डाफोर
गर्दै जागरणको शङ्खघोष गरे । पूर्वीय र
पाश्चात्य दर्शनलाई सर्लक्कै निलेर लघुदेखि वृहत् काव्यमा आशुकवित्व सिद्धहस्तता
प्रस्तुतिको उदाहरण बने । निम्न वर्गीय
यथार्थ जीवनको प्रतिविम्बसँग प्राकृतिक लालित्य अनि आध्यात्मिक सोचमा प्रकृति, मानव र ईश्वरको त्रिकोणात्मक तादात्म्यको लगन गाँठो कस्नु
देवकोटाको आफ्नै खुबी हो । बी.ए., बी.एल. र
अङ्ग्रेजीमा एम.ए.सम्म अध्ययन गरेका देवकोटाले साढे ६ सयभन्दा बढी कविता रचे, खण्डकाव्य दुई दर्जन जति लेखे, आधा दर्जन महाकाव्यमा पोखिए अनि दर्जनौँ निबन्ध र नाटक लेखे ।
त्यति मात्र होइन उपन्यास लेखे, लेखक बने, गीत लेखे, समालोचक, अनुवादकसमेत बने । उनी गीत गुनगुनाउँथे, सङ्गीतमा बडो अनुराग रहेछ–इतिहासमा
पढ्न पाइन्छ । एक रातमा ‘कुञ्जिनी’ खण्डकाव्य
जन्माउनु, ‘सुलोचना’जस्तो महाकाव्यलाई दश दिनमै दाबा गरेर फुराउनु अनि नेपाली
साहित्यको आइसल्यान्ड मानिने कृति ‘शाकुन्तल’ महाकाव्य
लेख्ने देवकोटाको लेखनशिल्प र कलात्मक भाव उडान चानचुने कुरा होइन । फलतः कविता
तथा खण्डकाव्य–महाकाव्यमा
स्वच्छन्दतावाद प्रवर्तन, विकास र
विस्तार तथा पोथी गद्यको भावले प्रथम आत्मपरक निबन्धकारको रूपसँगै देवकोटाको युग
सिङ्गो नेपाली साहित्यको स्वर्णयुग बन्यो । देवकोटाको खुबीलाई बुझ्ने आजका कैयाँै
नेपाली भावनाले जाग्ने प्रेरणा बोक्छन् ।
कति सुकोमल बाल हृदय पग्लिन चाहन्छन्, घोरिन्छन्–साथमा नेपाल र नेपाली भाषाको स्वाभिमानले शिर उच्च राख्छ ।
आधुनिक निबन्ध विकासको प्रथम चरण (१९९१–२००३) लाई स्वच्छन्दवादकै घेराभित्र राखेर देवकोटाले ‘आषाढको पन्ध्र’ (१९९३) बाट ढोका खोलेको पाइन्छ । अङ्ग्रेजी लवजको ढोङ, बोक्रे भलाद्मीको खैरो उतार्ने देवकोटाको रमरम बौद्धिकताले
नेपाली निबन्धको मूल्य त्यतिखेर मात्र होइन, आज पनि
अनुकरणीय छ । ‘विशालताको
मापन आकार र परिमाणले होइन, त्यसको
भित्री गुणले गर्छ’ भन्ने राष्ट्रप्रेमको प्रस्तुतिमा प्राकृतिक चाञ्चलयभित्र ‘के नेपाल सानो छ ?’ निबन्ध
नेपाली स्वाभिमानमा छाती फुलाउन कन्जुस्याइँ गर्दैन । पूmलको सौन्दर्य कुँदेको प्रकृतिलीला, चरीले पोखेको विलाप र वेदना, वात्सल्यभावको कोमलता, ममतामयी
माताको करुणा अनि वीरताको प्रशंसाले देवकोटाका निबन्ध क्षेत्र सजिएका छन् ।
विसङ्गतिको पुन्तुरो उघारेर विकृतिले झापड खान्छन् । मनुष्यत्व जाग्छ, कल्पनाले उडान भर्दा स्वच्छ निद्राको परिकल्पना हुन्छ ।
भावुकताको गहिराइमा रचिएका
निबन्धले जीवनलाई चियाइरहेको हुन्छ । ‘कृषिवाला’ र ‘सावित्री सत्यवान’ नाटकमा देवकोटा सच्चा नारी आदर्शको नेपालीपनालाई चिनाउन
खप्पिस छन् । ‘चम्पा’ उपन्यासले
राणाकालीन सामाजिक परिवेशका विकृत
वास्तविकता बोल्छ अनि उनका कथामा नेपाली माटोको स्पर्शले आनन्दको चर्चा पाएको छ ।
संस्कृतका वैदिक, पौराणिक
शास्त्रज्ञानमा दखल भएकादेवकोटा पाश्चात्य साहित्यको प्रभावसँगै अङ्ग्रेजीमा कविता
र शाकुन्तल जस्तो महाकाव्य लेख्ने बहुप्रतिभावान् व्यक्तित्व हुन् ।
देवकोटाका कवितामा बाह्य सौन्दर्यको भ्रामक प्रवृत्ति, विकृति र विसङ्गतिको भण्डाफोर हुन्छ । मानव प्रेम, प्रकृतिको काखले दिने आनन्दलहरी अनि ममताका अभावले मन
कुँडिन्छ । ग्रामीण परिवेशको प्राकृतिक आल्हादमा रम्ने जीवनदर्शन कला र सौन्दर्यमा
शान्तिकामी बनेर छताछुल्ल पोखिन्छ । गरिबी कर्मशीलताको भावभित्र आफ्नै मजा छ ।
पसिनाको उपहारभित्र आनन्द लुटुपुटिएको छ । भिखारीको आर्तनादभित्र बन्धुत्व अनि
ईश्वरीय स्वरूप छ । आज पनि कति विदेशिएका मदनका मुनाले यादमै गृह पीडाको अभावसँग
सिँगौरी खेल्नु परेको छ । कुञ्जिनी
त्यो कोल्पू नदीमा गोरेको प्रतीक्षा गर्दै तड्पिएकी होलिन् । लूनीले सङ्गीतको स्वर
गुञ्जाइ–रहन्छिन्
। सुलोचनाको हृदयविदारक पीडा अनि प्रताडनाभित्र तड्पेको जैमाने रूपी अनङ्गको
आँशुको भेल आज पनि पुरानो काल्पनिकता लाग्दैन । प्रकृतिको काखमा शकुन्तलाले
दुष्यन्तसँग प्राकृतिक स्वच्छ प्रणय खोजिरहेकै हुन्छिन् । महाराणाप्रतापले जीवनको
युद्ध मैदानलाई रमरम बनाएकै छन् । आज पनि लाखौँ प्रमिथस जिउसको कुख्यात
प्रवृत्तिलाई न्यायको मार्गमा राखेर समय रेखा बदल्न चाहन्छन् । वनकुसुमले नरेन्द्रको
न्यानो मायामा रम्न चाहेका छन् । आज पनि राजकुमारीको आशामा प्रभाकरको जीवन
तड्पिरहेको होला । आध्यात्मिक–भौतिक
रूपका विराट चिन्तन छन, उनका
लघुदेखि वृहत् काव्यभित्र । आर्थिक सङ्कटको जाँतोमा पिसिएको मौका छोपेर उनका
कवितालाई सस्तोमा किन्दै कति कृत्रिम कवि बनेर जन्मिए होलान– त्यसको त लेखाजोखा पनि नहुन सक्छ । वास्तवमा देवकोटाका कवित्व
आख्यानलाई नियाल्दा नारीको सम्मान र आदर्श वैचारिक प्रस्तुति अनि ईश्वरीय मेलसँग
साँचो प्रेमले बाँचेको प्रतित हुन्छ । अतः देवकोटाको लेखनीले रूसोको ‘प्रकृतिर फर्क’को
सिद्धान्तलाई आत्मसात गर्दै प्राकृतिक विम्ब र प्रतिकहरूमा स्वच्छन्दवादी–प्रगतिवादी जीवनदृष्टिलाई प्रक्षेपण गरेको भान हुन्छ । उनी त
पहिलो कवितामा यसरी जन्मेछन्का रहेछन् –
घनघोर दुःखसागर संसार जान भाइ
नगरे घमण्ड कहिल्यै मर्नू छ हामीलाई ।
(म त
अभागिनी पो भएँ– १९७६)
आफ्नो जीवनको अन्तिम क्षणको मृत्यु शैयामा समेत उनले ‘म शून्यमा शून्यसरी बिलाएँ’ कवितामा यसो भनेका रहेछन्–
‘रहेछ
संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो ज्ञान नभो विवेक ।’
यसर्थ देवकोटा गद्य र पद्य दुवै कविताभित्र जनश्रद्धाले
गुनगुनाइएका महाकवि हुन् । प्रकृति र मानवताको सङ्गीत लहरीमा भुल्ने उनी साहित्यको
बहुआयाममा अनि राजनीतिक व्यक्तित्वमा शिक्षासेवी पनि थिए । बढाइचढाइ नगरीभन्दा
२०१४ मा शिक्षामन्त्री बनेका देवकोटा सरस्वतीका सच्चा भक्त रहेछन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना गर्नमा भूमिका निर्वाह गर्ने मात्र नभएर
२०१६ आषाढ ११ गते त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने योजना बनाएका शैक्षिक
उन्नयनका सोच र कार्यले देवकोटाको दूरदर्शी विचारलाई सम्प्रेषण गर्छ । नेपाली भाषा–प्रकाशिनी समितिमा जागिरे अनित्रिचन्द्र, पद्मकन्या र कमर्स कलेजमा प्राध्यापकका साथै नेपाली साहित्य
परिषद्का सभापति मात्र नभएर ‘युगवाणी’ र ‘इन्द्रेणी’ पत्रिकाका सम्पादक समेत बनेका देवकोटाको बहुमुखी प्रतिभा आज
हाम्रा लागि अनुकरणीय छँदै छन् ।....
रातोपाटीबाट
लोकसेवा तयारीका लागि उपयोगी
१. प्रमाणिक समय भनेको के हो ? नेपालको प्रमाणिक समय कसरी लिइएको छ ? उल्लेख गर्नुहोस् ।
— विश्वमा
सवैलाई मान्य हुने गरि निर्धारण गरिएको अन्तराष्ट्रिय समयलाई प्रामाणिक समय भनिन्छ
। ग्रीणवीचको समय नै प्रामाणिक समय हो । यो ० डिग्री भुमध्यरेखामा पर्दछ । नेपालको
प्रामाणिक समय ८६ डिग्री १५ मिनेट उत्तरी अक्षांशलाई काटेर गएको दोलखा जिल्लामा
पर्ने गौरीशंकर हिमाललाई आधार बनाएर निर्धारण गरिएको छ । यो ग्रीनविच समय भन्दा ५
घण्टा ४५ मिनेट चलाख छ । यसको निर्धारण नेपाल सरकारले २०४२ वैशाख १ गते गरेको हो ।
२. नेपालको वन सम्पदाको संरक्षण गर्न के कस्ता उपायहरू
अवलम्बन गर्नुपर्दछ ?
— नेपालमा
पाइने रुख, जडीवुटीहरु, घाँसपात, वोट
विरुवा तथा सोसँग सम्वन्धित जङ्गलहरुमा पाइने अन्य जीवजनावरहरुको समग्रतालाई
वनसम्पदा भनिन्छ । नेपालको कुल वन क्षेत्र मध्य वन २९% (४२ लाख ७० हजार हे.) र
बुट्यान १०.६५ १५ लाख ६० हजार हे.) गरि कुल ३९.६५ बन सम्पदा रहेको छ । विभिन्न कारणहरुले गर्दा बन जंगल विनाशका
अवस्थाहरु वढिरहेका छन् । ती वनसम्पदाको संरक्षण गर्न निम्न उपायहरु अवलम्वन गरिनुपर्छ ः
— बैकल्पिक
उर्जा प्रणालीलाई प्रोत्साहन गर्ने ।
— वन
क्षेत्रहरुको संरक्षणमा स्थानीय जनसहभागिता वढाउने ।
— वनसम्पदाको
महत्व तथा संरक्षण सम्वन्धमा जनचेतना जगाउने ।
— वनको काठ
तस्करी रोक्नलाई गस्ती पेट्रोल्ङ्गि बढाउने ।
— विकास
निर्माणका क्रियाकलापहरु संचालन गर्दा भ्क्ष्ब् परीक्षण अनिवार्य गर्ने व्यवस्था
गर्ने ।
— वनफडानी
गरी खेती गर्ने प्रणालीलाई निरुत्साहित गर्नु पर्छ ।
— वनसंरक्षण
सम्वन्धी दीर्धकालीन रणनीति ल्याउने ।
— अव्यवस्थित
बसाईसराई र शहरीकरणलाई रोक्ने ।
— वृक्षारोपण
कार्यलाई प्रभावकारी वनाउने ।
३.नेपालमा प्रचलित ल्होछार पर्वहरूको बारेमा छोटकरीमा वर्णन
गर्नुहोस् ?
— नेपालका
हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा, गुरुड., थकाली, आदी
समुदायका मानिसहरुले आफ्नो नयाँ वर्षको उपलक्ष्यमा मनाउने चाँड । नयाँ वर्षको
पहिलो दिन चोखो कपडा लगाई विशेष प्रकारले वनाइएको प्रसाद छेमार र विशेष प्रकारको
खाना कुथुक खाने गरिन्छ । यस अवसरमा एक आपसमा उपहार साटासाट गर्ने वाड्ने, नाचगान गर्ने, मिठो
खानेकुरा खाने, उपहार
साटासाट गर्ने, र
मान्यजन कहाँ गइ भेटघाट गर्ने गरिन्छ । प्रत्येक वर्ष कुनै न कुनै जनावरको नाममा
मनाइने यो चाँड मनाउदा १२ वर्षमा १२ वटा जनावरहरु मुसो, गाइ, वाघ, विरालो,मेघ, नाग, घोडा, भेडा, वानर, गरुड, कुकुर, र वनेलका नाममा मनाइन्छ । प्रत्येक १२ वर्षमा यो चक्र
घुमिरहन्छ । ५ चक्र अर्थात ६० वर्षको अवधीलाई एक राप्चुङ भनिन्छ । ल्होसारको
सामाजिक महत्वलाई प्रोत्साहन गर्न नेपाल सरकारले राष्ट्रिय विदा दिने गरेको छ ।
विभिन्न जातीहरुले मनाउने यो चाँड पुस १५ देखि माघ १५ सम्म करिव १ महिना धुमधाम
मनाईन्छ ।
४. “अव्यवस्थित
सहरीकरणबाट विकासमा नकारात्मक असर पर्दछ” भन्ने भनाइको पुष्टि गर्नुहोस् ।
— शहरीकरण
शव्द ल्याटिन भाषाको ग्चदबलगक वाट उत्पत्ति भएको हो । यसको अर्थ परिष्कृत तथा
शिष्ट समाज हो । ध्ष्तजभचष्अप ःष्अजभब ि ले शहरीकरणका मुख्यतः ४ वटा परिवर्तनलाई
औल्याएका छन् ।
क) अर्थमा परिवर्तन (क्जषत ष्ल भअयलयmथ)
ख) जनसंख्याको वितरणमा परिवर्तन (ऋजबलनभ ष्ल मष्कतचष्दगतष्यल
या उयउगबितष्यल)
ग) जीवनशैलीमा परिवर्तन (ऋजबलनभ ष्ल ीषभकतथभि)
घ) वसोवासस्थलको आकार र विशेषतामा परिवर्तन (ऋजबलनभ या
क्भततझिभलत)
शहरहरु व्यवस्थित नहुनु नै अव्यवस्थित शहरीकरण हो । व्यवस्थित
शहरीकरणको मुख्य उद्देश्य रहेता पनि धेरै कारणहरुले गर्दा अव्यस्थित हुन पुग्दछ ।
समग्रतामा अव्यवस्थित शहरीकरणवाट हुने समस्याहरुलाई निम्नानुसार उल्लेख गर्न
सकिन्छ ।
— फोहरमैला
बृद्धि, ढल
निकासको समस्या, वायु
प्रदुषण, ध्वनी
प्रदुषण, चोरी, हत्या, अपराधजन्य
क्रियाकलापमा बृद्धि, अव्यवस्थित
वसोवास, सांस्कृतिक
सम्पदाको हस ।
तसर्थ अव्यवस्थित शहरीकरण वास्तबमा उक्त समाजको लागी राम्रो
विषय होईन । अव्यवस्थित शहरीकरणमा सडक, खानेपानी एवं भौतिक विकास सम्वन्धी पुर्वाधारको निर्माणको
लागी कुनै योजना नै हुदैन ।
५. नेपालमा आदिवासी तथा जनजातिहरूको प्राथमिकीकरण तथा
वर्गीकरण कसरी गरिएको छ ? वर्णन गर्नुहोस् ।
— नेपालमा
विभिन्न किसिमका जातजाती तथा सम्प्रदायहरु वस्तछन् । विशेषतः चारवर्ण छत्तिस
जातीको पहिचानको रुपमा चिनिने नेपालको सामाजिक संरचना विविधतायुक्त रहेको छ ।
नेपाल वहुभाषिक वहुजातीय वहुधार्मिक वहु सांस्कृतिक विशेषता भएको मुलुक हो ।
वि.सं. २०५४ सालमा राष्ट्रिय जनजाती
विकास समिति (गठन) आदेश, २०५४
जारी गरी सरकारकले ६१ जनजातीलाई आदीवासी जनजाती घोषणा गरेको थियो । वि.सं.२०५८ माघ
२५ गते छुट्टै आदीवासी जनजाती उत्थान प्रतिष्ठान ऐन, २०५८ जारी गरी ५९ जातजाती तिनको वसोवास स्थल र विशेषताहरुलाई
वर्गिकरण गरेको छ । कार्यदलले अवसरवाट
वन्चित लोपोन्मुख सीमान्तकृत र अवसरमा पहँुच नभएको भनी आदीवासीको सूचीलाई चार
समुहमा प्राथमिकिकरण तथा वर्गिकरण गरेको छ ।
साहित्य÷सृजना
चस्मा
उसले आफ्नो आँखा अगाडि
सधै अन्धकार मात्र देख्छ
सामुन्ने हजारौ दीपकहरु
झल्मलाईरहेका किन नहुन
जताततै
एउटा कालो पर्दा मात्र देख्छ
त्यही,
कालो पर्दाको छायाँले
पछ्याइरहेको जस्तो लाग्न थाल्छ उसलाई
रङ्गिन तस्बिरहरु पनि
पुराना जमानाका सिनेमामा हेरेको
ब्याक एन्ड ह्वाइट जस्ता
देखिन थाल्छन्
अनि,
आफ्नै आँखालाइ दोष दिन थाल्छ
आँखाकै खरबी होला बन्ठान्छ
चारैतिरको अँधेरीले
भित्रभित्रै आफुलाई खाइसकेको अनुभव गर्छ
एक्लै एक्लै
निसासिन्छ
छट्पटिन्छ
भौतारिन्छ
अचानक उसका भुजाहरु,
आफुले लगाएको चस्मामाथी ठोकिन पुग्छन
बल्ल होस आउँछ
आँखामा चस्मा हाबी भएको रहिछ
जस्ले,
उसलाई सत्य देख्न र थाहा पाउनबाट
बञ्चित गरेको रहिछ
र पो
सबै धमिलो नजर आउदो रहिछ
त्यसपछि,
बिस्तारै, आखामाथी
बिराजमान भएको
चस्मालाई हटाउने कोशिस के गर्छ
पहिलेका धमिला आकृतिहरु
प्रष्ट देखिन थाल्छन
खाराबी आँखामा नभै
आँखामाथी चढेको चस्मामा रहिछ भन्ने बुझ्छ
चस्माको दुनियाँबाट बाहिर निस्कन्छ ।
पुष्पा जोशी
धनगढी, कैलाली
लेख्न जान्दिन म
केहि भावनाहरु जन्मन्छन् शब्द बनि
बोल्न जान्दिन म
केहि शब्दहरु हुर्कन्छन् उदगार बनि
माया गर्न जान्दिन म
परिभाषा मात्र खोतल्छु शब्दहरु खनी
तिम्रो हुन सक्दिन म
माया मात्र गर्छु केवल तिम्रो बनि
जिन्दगीको मूल्य जान्दिन म
विद्वानहरुसंग बोल्छु सार भेटिएलानी भनी
रातभर तारा गन्छु म
भेटिन्छकी कोहि आफ्नो विरहको कथा बनि !!!
निता केसी (भट्टराई)
काठमाण्डौं
सूचना÷सन्देश÷बिज्ञापन
युनाईटेड मिसन टु नेपाल, डोटी र
समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको साझेदारीमा सञ्चालित “जवाफदेहीता अभिबृद्धिमार्फत समावेशी बिकास कार्यक्रम” द्वारा
जनहितमा जारी सन्देश ।
नेपालमा सुशासन कायम हुन नसक्नाका मुख्य कारणहरु
सुशासन एउटा यस्तो व्यवस्था हो, जहाँ ः
» कानुनको
पुर्ण परिपालना हुन्छ,
» दण्डहीनताको
अन्त्य हुन्छ,
» जनमुखी
एवं पारदर्शी सरकार हुन्छ,
» भ्रष्टाचार
रहित समाजको निर्माण हुन्छ,
» विकासले
गति लिएको हुन्छ,
» अनुशासनको
पुर्ण पालना हुन्छ ।
यी र यस्तै कार्य हुँदै जाँदा राजनीतिक र प्रशासनिक विकृति
विनाको शासन कायम भई शासन व्यवस्था सुव्यवस्थित हुन्छ ।
नेपालमा सुशासन कायम हुन नसक्नुको मुल कारण अस्थिर राजनीतिका
साथसाथै थप कारणहरू यसप्रकार छन् ः
रुसुशासन सम्बन्धि स्पष्ट ऐन कानुन नहुनु तथा भएको ऐन नियमको
पुर्ण पालना नहुनु
» सुशासन
कायम गर्ने संस्थाहरू सवल सक्षम तथा जनमुखी हुन नसक्नु तथा ती संस्थाहरू बीच
कार्यगत समन्वय नहुनु ।
» विकेन्द्रीकरण
कार्य प्रभावकारी हुन नसक्नु
» भ्रष्टाचार
एवं अनियमित कार्यमा कमी नआउनु तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा संलग्न
निकायहरू थप प्रभावकारी हुन नसक्नु
» नागरिक
समाजका कार्य प्रभावकारी बन्न नसक्नु
» साधन
स्रोतको अभाव तथा उपलब्ध साधन स्रोतको उचित प्रयोग र परिचालन हुन नसक्नु
» निजी
क्षेत्र सबल सक्षम एवं उत्तरदायी हुन नसक्नु
» सेवाग्राही
नागरिकमा चेतनाको अभाव हुनु
» अनुगमन
कार्य प्रभावकारी हुन नसक्नु, आदी ।
माथि उल्लेखित विद्यामन कारणहरूले गर्दा नेपालमा सुशासन कायम
हुन सकेको छैन । तसर्थ नेपालमा सुशासन कायम गर्नका लागि निम्न उपयाहरू अपानउन
सकिन्छः
» सुशासन
सम्बन्धि स्पष्ट ऐन नियम बनाई त्यसको पुर्ण लागु तथा परिपालना गर्ने गराउने » सुशासन कायम गर्ने संस्थाहरूबीच कार्यगत समन्वय गरि सबल सक्षम
र जनमुखी बनाउने
» विकेन्द्रीकरणलाई
प्रभावकारी बनाउने
» भ्रष्टाचार
नियन्त्रण गर्ने निकायहरू सशक्त रुपमा प्रस्तुत भई भ्रष्टाचारलाई निराकरण गरि सदाचार कायम गर्ने
» नागरिक
समाजको कार्यलाई प्रभावकारी बनाउने
» उपलब्ध
साधन स्रोतको उचित परिचालन र प्रयोग गर्ने
» नीजि
क्षेत्र सबल सक्षम एवं उत्तरदायी बन्ने
» नागरिक
संलग्नता र नागरिक निगरानीलाई प्रभावकारी बनाउने
» भ्रष्टाचार
र अनियमितता बिरुद्ध शुन्य सहनशीलताको बिकास गर्ने
» नीतिगत
भ्रष्टाचारलाई निरुत्साहित गर्ने लैजाने
» पारदर्शीता
र जवाफदेहीतालाई सशक्त बनाउने
» सेवाग्राही
नागरिकलाई चेतना जगाउने, आदी ।
No comments:
Post a Comment