Tuesday, February 13, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७४ साल फागुन १ गते

सार्वजनिक यातायतमा स्वच्छ प्रतिस्पर्धा कायम गरौं । आपसी सम्झौताका आधारमा आलो पालो प्रणाली (सिण्डिकेट) लगाई उपभोक्ताहरुलाई ठगी गर्ने काम बन्द गरौं र गराऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

समाज सेवामा सक्रिय हुँदै नेपाली सेना

रामहरी ओझा/कौशल पन्त
माघ २९
स्थापनाकालदेखिनै नित्तान्त सैनिक अभ्यासमा मात्रै रहेको नेपाली सेना पछिल्लो समयमा समाज सेवामा सक्रिय हुँदै आएको छ । 
सिमित स्रोत र साधनका बाबजुद पनि सामाजिक क्रियाकलापमा सक्रिय हुँदै आएको छ नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय । सामाजिक क्रियाकलाप अन्तरगत पृतना परिवारको आर्थिक सहयोगमा बिभिन्न कामहरु हुँदै आएका छन । डोटी शिखर नगरपालिका–१ कफल्लेकी सेरीगाउँमा सञ्चालित भगवती आधारभूत विद्यालयको दुई कोठे पक्की भवन सेनाको सहयोगमा निर्माण भएको छ । पृतनापति उपरथी दिपक भारतीले सिलान्यास गरेको उक्त भवन हालका पृतनापति उपरथी झङ्कर कडायतले विद्यालयलाई हस्तान्तरण गरेका छन । 
‘२०६२ सालमा यो बिद्यालय स्थापना हुँदैदेखि नेपाली सेनाले सहयो गर्दै आएको छ’ बिद्यालयकी प्रधानाध्यापक      सरस्वती शाही सेनाले निर्माण  गरिदिएको भवन देखाउँदै भन्छिन् ‘यस भवनले बिद्यालयको पठन पाठनमा धेरै सहयोग भएको छ, नत्र बालबालिकाहरुलाई एउटै कोठामा राखेर बढाउनु पर्ने बाध्यता थियो ।’ शाहीले सेनाले बिद्यालयमा फर्निचर समेत सहयोग गरेको बताईन । 
डोटी जिल्ला अस्पतालमा उपचार गराउँदा बिरामीलाई    रगतको आवश्यकता परे सेनालाई नै सहयोग मागिन्छ । रक्तदाताको सूचीमा रहेका नामहरुमध्ये अधिकांस सेनाहरुको भएको बताउँछन नेपाल रेडक्रस सोसाईटी डोटीद्वारा सञ्चालिक रक्त सञ्चार केन्द्रका प्राबिधिक संगित श्रेष्ठ । ‘२०६३ सालमा रक्त सञ्चार केन्द्र स्थापना भईसकेपछि रक्तदाताहरुमा सवैभन्दा बढी सेनानै छन’ श्रेष्ठ भन्छन् ‘जवानदेखि प्रमुख सेनानीसम्मले रक्तदान गरेका  छन ।’ उनले बिरामीलाई रगत चाहिए रात(बिरात पनि सेनालाई नै सम्पर्क गर्नु पर्ने अवस्था रहेको वताए ।
खानेपानी सेवाका लागि पनि सेनाको भुमिका कम छैन । साविकको कलेना गाबिसमा रहेको मुहानवाट सिलगढी ल्याईएको खानेपानी योजनामा समस्या आएपछि समितिले सेनालाई सहयोग माग्ने गरेको सिलगढी खानेपानी तथा सर–सफाई उपभोक्ता समितिको कार्यालयका प्रमुख राम धामी बताउँछन । ‘पाईपलाईन खोलाले वगायो, बाढी पहिरोका कारण लाईन ब्लक भयो भने हामीले सेनालाई सहयोग माग्छौं’ धामीको भनाई छ । 
सेनाले गाउँगाउँमा स्वास्थ्य शिविरहरु पनि सञ्चालन गर्दै आएको छ । गत साता मात्रै पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा नेपाली सेनाको रुद्रध्वज गणले स्वास्थ्य शिविर ग¥यो । गणका गणपति प्रमुख सेनानी बिश्वराज कोईरालाका अनुसार दुई सय ९६ जनाले स्वास्थ्य जाँच गराएका थिए । ‘सेनाले आफ्नै घर आँगनमा आएर स्वास्थ्य सेवा दिँदा आफुलाई अचम्म लागेको बताउँछन स्थानीय ९२ बर्षीय बृद्ध डम्मरसिंह साउँद । ‘राणा कालदेखिनै नै सेना र पुलिस भनेपनि जनतालाई कुट्ने गर्छन भन्ने सानै छँदा सुनेको थिएँ’  डम्मर भन्छन् ‘ तर सेनाले त बचाउने पनि रहेछ ।’
यस्तै प्रसिद्ध धार्मिक स्थल सालमनी स्थान जाने बाटो निर्माण गर्ने सेनाले गरेको छ । दायाँबायाँ रेलिङ सहित बाटो निर्माण भएपछि दर्शनार्थीहरुले मन्दिर आवत गर्न सहज भएको स्थानीय गोरख बोगटी बाताउदछन् । प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिर लगायत बिभिन्न मन्दिरहरुको सरसफाई, नगर सरसफाई लगायतका कार्यहरुमा सेनाले सक्रियता देखाउँदै आएको छ । 
पृतनापति दिपक भारतीले सुरुवात गरेको सेनाको सामाजिक क्रियाकलापमा सक्रियता हालका पृतनापति झंकर कडायतले पनि कायमै राखेको स्थानीयहरुको बुझाई छ ।
व्यारेकभित्रै व्यायामशालादेखि पाउरोटीसम्म 
सैनिक कर्मचारीहरुलाई आधुनिक तरिकाले शारीरिक व्यायाम गर्न सक्ने वनाउन पृतना मुख्यालयभित्रै सुविधायुक्त व्यायामशाला निर्माण गरिएको छ । नियमित सैनिक गतिविधि र दौडमा मात्र सिमित व्यायाम प्रणालीमा आधुनिक व्यायामशाला निर्माण भएपछि सैनिकहरूलाई सहज भएको छ ।
व्यायामसँगै पौष्टिक आहारमा पनि सुधार गरिएको पृतना मुख्यालयले जनाएको छ । पृतनाको हाताभित्रै ताजा पौष्टिक खाद्य पदार्थ सहजतापूर्वक उपलब्ध हुनेगरी पाउरोटीे कारखाना समेत स्थापना गरिएको  छ । व्यारेकमा आधुनिक शैलीका मेसहरु पनि स्थापना गरिएका छन । 
सैनिकहरुको पोशाँक राख्नका लागि दराजको समेत व्यवस्था भएको छ । दराज भएपछि बिगतमा जस्तै टिनको बाक्सामा कोचेर पोशाँक राख्नु पर्ने र पटक पटक स्तीरी लगाउनु पर्ने झण्झट हटेको एक सैनिक जवान बताउँछन । 

सम्पादकीय 

आज फागुन १ गते

२०५२ साल फागुन १ गते अर्थात आजकै दिन नेपालका लागि एक ऐतिहासिक दिन हो । यद्यपी यो दिनले फाईदा भन्दा घाटा बढी गरेको छ तर निश्चित रुपमा पनि नेपाली राजनीतिलाई आजको तहसम्म पु¥याउनका लागि गरेको योगदानको अवमुल्ययन गर्नु अन्याय हुन्छ । 
हो, तत्कालीन नेकपा माओवादीको मोर्चा संगठन संयुक्त जनमोर्चाले तत्कालीन नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई राज्यले सुधार गर्नु पर्ने भन्दै ४० बुँदे माग पत्र पेश गरेको थियो । उक्त मागमाथी सरकारले कुनै वास्ता नगरे बैकल्पिक बाटो अपनाउने भन्ने कुरा उल्लेख गरिएको थियो मागपत्रमै । सरकारले उक्त मागमाथी सामान्य छलफल समेत गर्न नचाहेपछि आजकै दिन अर्थात २०५२ साल फागुन १ गते सशस्त्र बिद्रोह सुरु भएको घोषणा ग¥यो । ‘जनयुद्ध’ नाम दिईएको उक्त बिद्रोह जनयुद्ध हो वा होईन अहिले पनि वहसको बिषय हुन सक्छ । जनयुद्धका आधारहरु के हुन भन्ने विषयमा पनि वहस हुन सक्छ तर निर्वाद रुपमा सवैले पचाउन सक्ने के हो भने त्यो ‘सशस्त्र बिद्रोह’ हो । 
विद्रोही पक्ष हुनका लागि त्यो बिद्रोहमा धेरै कुराहरु अटेका थिए । यद्यपी कार्यान्वयनका क्रममा फेरी अनेकन त्रुटीहरु भएका छन । ति त्रुटीहरु केलाउँदै जाँदा त्यो फेरी बिद्रोह नभएर अपराध हो कि भन्ने पनि अवस्था आउन सक्ला तर त्यो विद्रोह नै हो अपराध होईन । त्यस्ता त्रुटीहरुको हर हिसाव गर्ने हो भने राज्यवाट पनि त्यो अवधीमा र मुलुकमा सञ्चालन भएका बिभिन्न राजनीतिक आन्दोलनका क्रममा थुप्रै आपराधिक क्रियाकलापहरु भएका छन, जुन राज्यपक्षले गरेका गम्भिर मानवअधिकार उलंघनका घटनाहरु हुन । के त्यसो भए राज्यलाई अपराधी भनेर व्याख्या गर्ने त ? 
आज बिद्रोह सुरु भएको त्यो ऐतिहासिक दिन हो, जसमा हजारौं नेपालीले आफ्नो प्राण उत्सर्ग गरेका छन, लाखौंले यातना सहेका छन, हजारौं वेपत्ता भएका छन, हजारौं अंगभंग भएका  छन । यस अवसरमा मुलुकको प्रगति र भावी सन्ततिको उन्नतीको सपना बोकेर लडाईमा आफ्नो प्राण उत्सर्ग गर्नेहरुप्रति श्रद्धासुमन साथै यातना खेपेकाहरुप्रति सहानुभुति छ । सशस्त्र बिद्रोहको क्रममा वेपत्ता भएका व्यक्तिहरुको तत्काल खोजीको थालनी गर्न समेत अनुरोध छ । 
सशस्त्र बिद्रोहमा होमिएका सर्वसाधारणहरुको एक सपना थियो, जनताको खुशहाली, मुलुकको समृद्धि । जनताको खुशहाली र मुलुकको समृद्धिका लागि उनीहरुले वगाएको रगत र पसिनाको अवमुल्ययन त हुँदैछैन कतै ? सोच्नु पर्ने बेला आएको छ । राजनीतिक परिवर्तन एउटा पाटो हो, राजनीतिक परिवर्तनलाई मात्रै उपलव्धी मानेर बस्नुको कुनै अर्थ र औचित्य रहँदैन । राजनीति परिवर्तनपछि के भयो त ? के बिद्रोहका बेला आम जनतालाई देखाईएका सपना पुरा भए त ? के ति यौद्धाहरुको बलिदानी खेर गएको छैन भनेर ग्यारेण्टी गर्ने कुनैे ठाउँ छ त ? 
सशस्त्र बिद्रोहले २०६२/०६३ को आन्दोलनको जग निर्माण गरेको हो भन्ने विषयमा सायद कसैको पनि विमति नहोला । त्यसपछिका बर्षहरुमा तत्कालीन बिद्रोही पक्ष पटक पटक सत्ता पक्ष पनि भयो । तर ति बिद्रोहकालीन सपनाहरु जस्ताको त्यस्तै रहे । कुनै पनि प्रकारको प्रगति हुन सकेन त्यसमा । यसले गर्दा जनतालाई फेरी पनि हरेस बनाएको छ ।
अहिलेको पूँजीबादी युगमा जनताले लोककल्याणकारी राज्यको आश गरेको छ । राज्यले निशुल्क शिक्षा, स्वास्थ्य र सुरक्षाको व्यवस्था गरिदेओस, न्यूनतम आधारभुत आवश्यकताहरुको निर्वाध रुपमा परिपुर्ति हुने अवस्था होस् भन्ने चाहाना राख्छ । १० बर्ष सशस्त्र संघर्ष गरेर अहिले खाडी मुलुकमा पसिना बगाईरहेका ति योद्धाहरुले आजको दिनलाई कसरी स्मरण गर्लान ? के उनीहरुले  वोकेका सपनाहरु तिनै थिए त ?   

थप समाचार 

खप्तड केवलकार सररररर

खुत्रुके अभियान सुरु
भू–स्वर्गको रुपमा परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडको पर्यटकीय विकास गर्न केवलकार सञ्चालनका लागि खुत्रुके अभियान थालिएको छ । 
आईतवार प्रदेश नंं ७ को प्रादेशिक महोत्सव उद्घाटनको अवसर पारी खप्तड केवलकारका लागि प्रति व्यक्ति दश रुपैयाँको खुत्रुके अभियान थालिएको हो । डोटी दिपायल सिलगढी नगरपालिकाको ४ नं. वडाका वडाध्यक्ष बिरेन्द्र शाहले उक्त अभियानको थालनी गरेका हुन । “खप्तड क्षेत्रमा केवलकार निर्माण गर्ने भनी सरकारी तथा नीजि क्षेत्रबाट पटक पटक छलफल भयो तर कसैले पनि निर्माण कार्यको थालनी गरेन” वडाध्यक्ष शाहले भने ‘अव हामी आफै खप्तड क्षेत्रमा केवलकार निर्माण गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो अभियान थालेका हौं ।’ शाहले केवलकार निर्माण भएमा खप्तडको पर्यटकीय पवद्र्धन हुने बिश्वास व्यक्त गरे । 
डोटी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शाहले यो अभियान प्रदेश नं. ७ का सवै जिल्लाहरुमा सञ्चालन गरिने वताए । उनले भने ‘अन्य जिल्लामा पनि समन्वय गर्ने काम भईरहेको छ, हामी तुरुन्तै यो अभियानलाई व्यापक रुपमा लैजाने छौं ।’ महोत्सवको उद्घाटन मञ्च अगाडी राखिएको खुत्रुकेमा दश रुपैयाँ खसाउँदै शाहले सवैलाई केवलकार निर्माण महाअभियान सहयोग गर्न आग्रह गरे । 
अभियानलाई समर्थन गर्दै पूर्व सांसद् कल्पना सोवले पनि खुत्रुकेमा दश रुपैयाँ खसाईन । त्यसपछि खुत्रुकेमा दश रुपैयाँ  राख्नेको लहर नै चल्यो । 
पर्यटकहरुलाई आकर्षण गर्न सक्ने प्राकृतिक मनोरम दृष्यहरुले सजिएको खप्तड क्षेत्र आवश्यक पूर्वाधार निर्माणको अभावले ओझेलमा परेको छ । झिग्राना देखि बिचपानीसम्म केवलकार सञ्चालन गर्न सके खप्तड क्षेत्रमा पर्यटकहरुको आकर्षण बढ्ने देखिन्छ । 
महोत्सव उद्घाटन 
‘कृषि, पर्यटन, उद्योग, व्यापारको पूर्वाधार, ७ नं. प्रदेशको बिकासको मुल आधार’ भन्ने मुल नाराका साथ प्रदेश नं. ७ को प्रादेशिक महोत्सव आईतवार देखि सुरु भएको छ । 
मुख्य व्यापारिक केन्द्र दिपायल पिपल्लामा सुरु भएको उक्त प्रादेशिक महोत्सवको दिपायल सिलगढी नगर–पालिकाका प्रमुख मञ्जु मलासी र शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले संयुक्त रुपमा उद्घाटन गरेका छन । फागुन ९ गतेसम्म चल्ने उक्त महोत्सवमा दुई करोड रुपैयाँ बरावरको आर्थिक कारोवार हुने आयोजक संस्था डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले जानकारी दिए ।
सेवा र व्यापारिक गरि एक सय ३० स्टल राखिएको उक्त महोत्सवको लागत करीव ७० लाख हुने आयोजक संस्थाले अनुमान गरेको छ । 
अध्यक्ष खड्काले प्रदेश नं. ७ का नौ वटै जिल्लाहरुको बिशेषता सहितका स्टलहरु महोत्सवमा रहेको बताए । महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहने खड्काको भनाई छ । 
यस क्षेत्रको विकासका लागि डोटी उद्योग बाणिज्य संघले २०६८ सालदेखि नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको छ ।

बिद्यालयका ‘हेड’ अव प्रदेश सभाका ‘हेड’

२६ बर्ष बिद्यालयको ‘हेड’ भएर शिक्षक–बिद्यार्थी चलाएका अर्जुनबहादुर थापा अव प्रदेश सभाका ‘हेड’ भएर सांसद चलाउने भएका छन । 
सोमवार बसेको प्रदेश सभाको बैठकले थापालाई औपचारिक रुपमा प्रदेश सभा सभामुख चुनेपछि अव उनी प्रदेश व्यवस्थापिकाका ‘हेड’ भएका छन । बैठकको अध्यक्षता गरिरहेकी प्रदेश सभाकी जेष्ठ सदस्य दिव्यश्वरी शाहले सभामुख चयनका लागि एक जनाको मात्रै प्रस्ताव आएको हुँदा प्रदेशसभा सञ्चालन कार्यविधी २०७४ को दफा ६ को उपदफा ३ बमोजिम थापा समामुख निर्वाचित भएको घोषणा गरेसंगै थापा प्रदेश व्यवस्थापिकाका हेड भए । 
शिक्षण पेशामा रहेका बेला २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध हुँदा उनले कुनै दिन म उच्च        राजनीतिक पदमा पुगुला भन्ने कल्पना समेत गरेका थिएनन् । शिक्षकहरुको हकहितका लागि काम गर्दै कम्युनिष्ट पार्टीलाई बलियो बनाउने मात्रै उनको लक्ष थियो । तिनै व्यक्ति आज प्रदेशको व्यवस्थापकीय प्रमुख भएका छन । 
बझाङ्गको छान्ना गाउँपालिका–२ मा २०१२ सालमा जन्मिएका २०२८ सालमा प्रबेशिका परीक्षा (एसएलसी) प्रथम श्रेणीमा उत्तीर्ण भएपछि शिक्षण पेशामा लागेका थिए । २०३६ सालदेखि शिक्षक संगठनबाट राजनीति सुरु गरेका थापाले शिक्षण पेशा, अध्ययन र राजनीतिलाई संगसंगै लगे । पेशागत रुपमा बिद्यालयको प्रधानाध्यापक बनेका थापाले २०४२ सालमा त्रिभुवन बिश्वबिद्यालयबाट अर्थशास्त्र र भुगोलमा स्नातक गरे ।  सांगठनिक जिम्मेवारीमा पनि उनी संगठनको केन्द्रीय सदस्यसम्म पुगे । 
२०४७ सालमा बझाङ्गमा पहिलो पटक तत्काली नेकपा मालेको जिल्ला कमिटी गठन हुँदा थापा लगायत नौ जना शिक्षक र दुई जना पूर्णकालीन कार्यकर्ता थिए । त्यतिबेला पार्टीभित्र थापाले ‘अनिल’ नाम पाए । ‘त्यतिबेला पेशा व्यवसायमा लागेकाहरुलाई भूमिगत नाम दिईन्थ्यो’ थापा भन्छन् ‘हामी सवै शिक्षकहरुलाई पार्टीभित्रको छुट्टै दिईएको थियो । 
२०५५ साल माघमा शिक्षण पेशा छोडेर सक्रिय राजनीतिमा आएका हुन । ‘म लामातोला माबिको प्रधानाध्यापक थिएँ, पार्टीले २०५६ सालको संसदीय निर्वाचनमा उठ्न निर्देशन ग¥यो’ थापा भन्छन् ‘पार्टीको निर्देशन अनुसारनै जागिर राजिनामा गरेँ ।’ तर यो चुनावी परिणाम उनको पक्षमा आएन, उनी प्रतिस्पर्धीसंग दुई सय ८१ मतले पछाडि परे । २०५४ सालमा एमाले बिभाजन भएपछि तत्कालीन मालेले छुट्टै उम्मेदवार खडा गर्नु, नेपाली कांग्रेसले चार ठाउँमा बुँथ कव्जा गर्नु र आफुलाई पनि चुनावी राजनीतिको ज्ञान नहुनु नै उनी हारको कारण मान्छन् । 
शिक्षण छोडेर चुनाव हार्दा पनि उनलाई कुनै पछुतो भएन बरु अवको जीवन पार्टी संगठन र समाजलाई दिने निर्णय गरे उनले । उनले यो बिचमा आफुलाई ईमानदार, कतव्र्यनिष्ट र विकासबादी नेताको रुपमा स्थापित गर्न सफल भए । २०६२ सालमा पार्टी जिल्ला कमिटी सचिव भएका थापा २०६६ सालमा जिल्ला अध्यक्ष भए । 
बोलेको कुरा पुरा गर्नु पर्छ भन्ने मान्यता बोकेका थापाले छान्ना गाउँपालिका–१ जराडी खोला देखि थामलेकसम्मको करीव १३ किलोमिटर सडक जनताबाट पैसा उठाएर काट्न सफल भए । ‘एक व्यक्ति एक लिटर तेल’ को अभियान चलाएर सडक निर्माणको नेतृत्व गरेका उनले सेती नदीमा काठको पुल हालेर आफ्नो क्षेत्रमा गाडी गुडाए । यसपालीको चुनाव जित्नका लागि उक्त सडकले ठुलो योगदान दियो थापालाई । 
थापा यस पटक मुख्यमन्त्रीको दावेदार थिए तर उनलाई सभामुख भाग प¥यो । ‘बाम गठबन्धनको सहमतिमा यदि प्रदेश नं. ७ को मुख्यमन्त्री एमालेले पाउँथ्यो भने मेरो दावी रहन्थ्यो’ थापा भन्छन् ‘अव सभामुखको जिम्मेवारी पाएको छु, कुशलतापूर्वक निर्वाह गर्छु भन्ने बिश्वास छ । 
थापा बाम गठबन्धनको तर्फबाट बझाङ्ग प्रदेश सभा ‘क’ बाट निर्वाचित सदस्य हुन । 

३० रुपैंयाँ बिद्युत महशुल तिर्न तीन सय खर्च

भूमिराज जोशी/सिलगढी
माघ २९
पूर्वीचौकी गाउँपालिका काँडामाडौंका पूर्ण बहादुर खड्का पुष महिनाको बिद्युत महशुल तिर्न जिल्ला सदरमुकाम सिलगढी आए । बिद्युत कार्यालयमा हेर्दा बिद्युत महसुल ३० रुपैयाँ थियो, उनले शुल्क बुझाए 
३० रुपैंया तिर्नका लागि खड्काले गाडी भाडा मात्रै तीन सय खर्च गरे । घरबाट सडकसम्मको हिडाई, समय र  जिल्ला सदरमुकाम आउँदाको खर्च त व्यग्लै छ उनको ।  
‘घरमा धेरै मान्छे हुनेको त ठिकै हुन्छ तर, एक दुई जना मान्छे हुने परिवारमा भने निकै समस्या हुने गरेको छ ।’ बिम्ब साप्ताहिकसंग कुरा गर्दा खड्काले भने ‘बिद्युत प्राधिकरण डोटी शाखाले पूर्वीचौकी गाउँपालिकामा पनि बिद्युत महसुल उठाउने केन्द्र स्थापना गरिदिए हामी टाढाका जनतालाई सजिलो हुने थियो ।’
प्राधिकरणले स्थानीयलाई सजिलो बनाउन प्रयास भने नगरेको होईन । केही समय अगाडी पूर्वीचौकी गाउँपालिकामा बिद्युत महसुल उठाउन एक जना बिद्युत कर्मचारीलाई जिम्मा दिएको थियो । उनलाई बिद्युत महसुल उठाउन जाँदा स्थानीयले मनोमानी शुल्क उठाएको भन्ने आरोप लगाएका थिए । त्यसपछि उनले बिद्युत महसुल उठाउन छोडे । 
थोरै बिद्युत महसुल बुझाउँदा धेरै खर्च गर्नुपर्ने समस्या खड्का जस्तो त्यस क्षेत्रका सवै बासिन्दालाई छ । गाउँमा कतिपयले एकदुई जनालाई बिद्युत महसुल बुझाउन आफ्ना बिद्युत महसुल कार्ड दिएर पठाउँछन । उनीहरुको बिद्युत महसुल शुल्क युनिट भन्दा बढी आएको भन्दै फिर्ता हुन्छ । ‘गत बर्ष आफ्नो बिद्युत महसुल तिर्दा अर्काको हातमा पठाएको त युनिट भन्दा धेरै बढी रकम आएको भन्दै फिर्ता आए’ खड्काले भने, कर्मचारीको लापरबाहीले सेवाग्राही झनै समस्या भएको छ ।’
एउटै बत्ती बालेको १७ सय
गत पुषको पहिलो साता तीन महिनाको बिद्युत महसुल एक हजार आठ सय रुपैंयाँ तिरेकी पूर्बीचौकी–१ फुलौटकी   रत्नादेबी खड्काको पुष महिनाको मात्र एक हजार सात सय पुगेको देखाइएको छ । 
आफ्नो घरमा एउटै मात्रै बत्ती बल्ने गरेको भन्दै रत्ना अचम्भित भएकी छन । ‘श्रीमान बिदेशमा छन’ उनले भनिन्, ‘घरमा न त टिभी नै छ नत बढी बत्ती बालेका नै छन । एककोठे घर छ, बत्ती पनि एउटै बाल्ने गरेकी छु । तर एक महिनामा कसरी यति शुल्क आयो थाह छैन ।’
बिद्युत कर्मचारी सरिता सिंहले भनिन् ‘कहिलेकाँही मिटर बिग्रेको भएपनि त्यसमा युनिट फरक पर्ने गरेको छ ।’ 

दुई महिनामा ४४ किलो चरस समातियो

मंसिर ८ गते यता प्रहरीले प्रदेश नं. ७ का बिभिन्न स्थानबाट ४४ किलोग्राम चरस बरामद गरेको छ । 
प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक माधवप्रसाद नेपालले दिएको जानकारी अनुसार चरस ओसार पसार गर्ने ३६ जनालाई पक्राउ गरि मुद्धा चलाईएको छ । ‘म प्रदेश प्रमुख भएर आए यता हेरोईन ६० ग्राम, फेनारगन २१ एम्पल र नाईट्रोभेटन एक सय १८ ट्याव्लेट लागु पदार्थ समातिएको छ’ प्रहरी अतिरिक्त महानिरीक्षक नेपालले भने ‘अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय रुपमा लागेको छ ।’ 
जिल्ला प्रहरी कार्यालय डोटीद्वारा जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले प्रहरी जनशक्ति कम भएका कारण शान्ति सुरक्षामा कायम गर्नमा समस्या भएको बताए । ‘प्रदेश नं. ७ मा करीव सात हजार मात्रै प्रहरीको संख्या छ, यसले हामीलाई जनशक्ति व्यवस्थापन गर्न गारो भएको छ’ उनले भने ‘थप चार हजार प्रहरी आफुहरुलाई आवश्यक भएको भनेर मैले लेखि पठाएको छु ।’ 
उनले असारसम्म प्रत्येक स्थानीय तहमा प्रहरी ईकाई स्थापना हुने जानका–री दिए । ‘अव प्रत्येक स्थानीय तहमा प्रहरी नायव उपरीक्षक वा प्रहरी निरी–क्षकको नेतृत्वमा प्रहरी ईकाई बस्ने गरि प्रहरी ऐन संसोधन हुँदैछ’ प्रदेश प्रहरी प्रमुख नेपालले भने ‘सम्भवतः असारसम्म सवै तहमा प्रहरी ईकाईहरु स्थापना भईसक्छन् ।’ उनले प्रहरी ऐन संसोधनको खाका तयार भईसकेको र त्यसमाथी छलफल भईरहेको जानकारी दिए । 
सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा नेपालले मदिराका कारण शान्ति सुरक्षा कायम गर्नमा समस्या भएको कुरा प्रहरीले पनि महसुस गरेको बताउँदै भने ‘तर मदिरा नियन्त्रण गर्ने प्रहरी एक्लैको मात्रै काम होईन, मदिरा कारोवार गर्ने ईजाजत लिएका व्यक्तिहरुलाई प्रहरीले मात्रै रोक्न सक्दैन ।’ उनले यदि जिल्ला प्रशासन कार्यालय, राजनीतिक दलहरु, स्थानीय तहका जनप्रतिनिधिहरुले जिल्लाभरी वा कुनै निश्चित ठाउँमा मदिरा बन्द गर्ने आधिकारिक निर्णय गर्छन् भने उक्त निर्णय कार्यान्वयन गर्न प्रहरी तयार रहेको  बताए ।

छोटकरी समाचार 

शैलेश्वरी महायज्ञ हुने

डोटी क्याम्पसको शैक्षिक उन्नयनका लागि प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरमा श्रीमद्भागवत महापुराण महायज्ञ हुने भएको छ । 
चैत्र ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञका लागि तयारी सुरु भएको डोटी क्याम्पस प्रमुख कृष्णबहादुर कठायतले जानका–री दिए । कठायतका अनुसार महायज्ञ सम्पन्न गर्नका लागि दिपायल सिलगढी नगर–पालिकाका पूर्व प्रमुख पूर्णराज जोशीको संयोकत्वमा मुल समिति र बिभिन्न बिभिन्न उपसमितिहरु गठन भएका छन ।  
क्याम्पसमा प्राबिधिक शिक्षाको अध्ययन/अध्यापन गर्ने उद्देश्यका साथ यो महायज्ञ आयोजना गर्न लागिएको कठायतको भनाई छ ।

एलाईन्स पुनर्गठन

अधिकारको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुको छाता संगठन मानवअधिकार एलाईन्सको डोटी शाखा पुनर्गठन भएको छ । 
आईतवार भएको गैसस प्रतिनिधिहरुको भेलाले सिड नेपालका अध्यक्ष शेरबहादुर मल्ललाई एलाईन्सको जिल्ला अध्यक्ष चयन गरेको छ । यस्तै यशोदा शाह उपाध्यक्ष, मिना आउजी सचिव, नविन श्रेष्ठ सहसचिव र दिपा श्रेष्ठलाई कोषाध्यक्षमा चयन गरेको छ । 
भेलाले मेरिना श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।

खेल समाचार 

सुदूरपश्चिम–११ को हार

नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा सुदूरपश्चिम ११ पराजित भएको छ । थ्रीस्टार क्लबले सुदूरपश्चिम ११ लाई टाइब्रेकरमा ४–२ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । 
पेनाल्टी सुटआउटमा थ्रीस्टारका   रजिन धिमाल, बुद्ध चेम्जोङ, निराजन खड्का र सुनील वलले गोल गरे ।     सुदूरपश्चिमका नरेन्द्र चौधरी र राकेश हमालले गोल गरे भने जीवन चौधरीको प्रहार थ्रीस्टारका गोल रक्षक एलन न्यौपानेले बचाए ।  सुदूर पश्चिमका टिम क्याप्टेन चेतन थारुको प्रहार क्रसबारमा लागेर फर्कियो ।
पहिलो हाफमा निराजन खड्काको उत्कृष्ट पासलाई सदुपयोग गर्दै थ्रीस्टारका विश्वास श्रेष्ठले टिमलाई अग्रता दिलाएका थिए ।
१–० ले पछि परेको सुदूरपश्चिमले ८७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । मणिराम   चौधरीले पेनाल्टी एरियामा पाएको चेतन थारुको पास सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए । पहिलो  हाफमा खेल पुरै आफ्नो नियन्त्रणमा राखेको थ्रीस्टारले गोल गर्ने केही सुन्दर मौका गुमाएको थियो ।
पहिलो हाफमा दबाबमा देखिएको सुदूरपश्चिम दोस्रो हाफमा खेलमा फर्कियो । दोस्रो हाफको शुरु देखिनै आक्रामक खेल खेलेको सुदूरपश्चिमका धेरै प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले गोल हुनबाट जोगाए ।


चलचित्र/मनाेरञ्जन 

‘पारस’ मा निता र प्रज्वल

चलचित्र ‘पारस’ मोडेल प्रज्वल सुजल गिरी र नायिका निता ढुङ्गानाको जोडी देखिने भएको छ । मोडल प्रज्वल सुजल गिरी चलचित्र क्षेत्रमा पहिलो पटक ‘पारस’ मा मुख्य भुमिकामा देखिने छन । 
मोडलको क्षेत्रमा लामो समय बिताएका प्रज्वलले चलचित्रमा हालसम्म गतिलो अवसर पाएका छैनन् । उनी चलचित्रमा निरन्तर काम गर्दै अईरहेका छन तर चर्चा खासै पाउन सकेका छैनन् । प्राय चलचित्रमा खलनायकको भूमिकामा देखिदै आएका प्रज्वल ‘पारस’ मा भने मुख्य नायकको भुमिकामा देखिने छन । 
यो चलचित्रमा उनको जोडीको रुपमा नायिका नीता ढुंगाना देखिदैछिन् । यो पूर्ण रुपमा लभ स्टोरी चलचित्र भएको नायिका नीता ढुंगानाको भनाई छ । चलचित्रलाई जयन श्रेष्ठले निर्देशन  गर्दैछन् ।
चलचित्रको छायांकन चैत्रबाट सुरु हुने बताइएको छ । पहिलो पटक पर्दा शेयर गर्न लागेका नीता र प्रज्वलको जोडी कस्तो देखिने हो, यसका लागि समय कुर्नै पर्छ ।

चलचित्र ‘कृ’ बारे टिप्पणी

युवा स्टार अनमोल केसी अभिनित चलचित्र ‘कृ’ शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको छ । देशभरी एक सय १५ पर्दा पाएको चलचित्रले शुक्रवार सुखद ओपनिङ गर्दा शनिवार बम्पर कलेक्सन ग¥यो । आइतवारबाट सिंगल र मल्टिप्लेक्समा दर्शकको उपस्थिति सुखद छ । 
मंगलबार महाशिवरात्रीको सार्वजनिक विदा भएका कारण ‘कृ’ को कलेक्सन केही माथि हुने निर्माण यूनिटको आशा छ । अनमोलको क्रेजले फिल्मको इनिसियल व्यापारमा ठूलो फाइदा पुगेको छ । नव नायिका अदिती बुढाथोकी, नायक अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रका निर्देशक सुरेन्द्र पौडेल हुन् । 
 रिलिजको पहिलो दिनदेखि चलचित्रले राम्रा र नराम्रा दुवै कमेन्ट पाइरहेको छ । कतिले चलचित्रलाई ‘भयंकर’ राम्रो बोलेका छन् भने कतिले ‘झुर’ सम्म भनेका छन् । यो प्याकेजमा हामी चलचित्र ‘कृ’ को राम्रो र नराम्रो दुवै पक्ष केलाउने प्रयास गर्दैछौं ।
चलचित्रको सबैभन्दा बलियो पक्ष छायांकन हो । पुरुषोत्तम प्रधानको छायांकन  उत्कृष्ट छ । छायांकनका कारण पनि चलचित्रले धेरै हदसम्म राम्रो रेस्पोन्स पाएको छ । 
यस्तै द्वन्द्व निर्देशक चन्द्र पन्तको काम तारिफयोग्य छ । ‘लभरब्वाई’ को भूमिकामा खुब रुचाइएका अनमोललाई उनले एंग्री अवतारमा गज्जबले प्रस्तुत गर्न सफल भएका छन् । उनको द्वन्द्व निर्देशन हलिउड स्तरको लाग्छ । 
साउन्ड डिजाइनर उत्तम न्यौपानेको काम प्रशंसनीय छ । नायक अनमोल केसीले आफूलाई मिहिनेत गर्न सक्ने कलाकारको रुपमा उभ्याएका छन् । कसिलो शरीर बनाउन उनले सक्दो मिहिनेत गरेका छन् । उनको रोमान्टिक र एक्सन दुवै भूमिका राम्रो छ । 
निर्माता द्वय सुवास गिरी र भुवन केसीले कुनै पनि दृश्यमा पैसा खन्याउन हिचकिचाएका छैनन् । लोकेशन, सेट, कलाकारको ड्रेसलगायतमा निर्माताले मनग्य पैसा खर्च गरेका छन् । 
धेरै कुरा राम्रो हुँदा हुँदै पनि चलचित्रमा धेरै कुरा नराम्रा पनि छन । चलचित्रको सबैभन्दा कमजोर पक्ष भनेको कथा र निर्देशन हो । निर्माताले पैसा खन्याए झैँ निर्देशकले त्यसमा मिहिनेत गर्न सकेका छैनन् । निर्देशक सुरेन्द्र पौडेलले अनमोलको लुक्स परिवर्तन गर्न मात्र बढी समय खर्चेको देखिन्छ । यस्तै, पटकथाकार द्वय प्रदीप भारद्वाज र आशिष रेग्मीले पनि आफ्नो काम देखाउन चुकेका छन् ।  ‘कृ’ को अर्थ बदला (रिभेन्ज) हुन्छ । फिल्मले बदलाको कथा त बोल्छ तर त्यसमा नयाँ शैली प्रयोग गरिएको छैन । फिल्मको कथा पुरानै ढर्राबाट ग्रसित छ ।

लेख 

प्रदेश सभाको पहिलो बैठकले दिएको सन्देश  

रामहरी ओझा
शनिवार बिहान टहल्ने क्रममा एक जना पाका व्यक्तिसंग भेट भयो । सञ्चारकर्मी भएरै होला उनले भलाकुसारी केही नसोधी सिधै प्रश्न गरे ‘के अव प्रदेश सभाको बैठकले प्रदेश नं. ७ को राजधानी दिपायल तोक्ला ?’ उनको उत्सुकतापूर्ण जिज्ञासाको कुनै ठोस् उत्तर थिएन, मात्रै ‘खै, केही भन्न सकिन्न’ मा वाक्य टुंग्याएँ । उनले फेरी प्रश्न राखे ‘२९ गतेको बैठकले के के निर्णय गर्ला त ?’ यसको पनि ठोस उत्तर थिएन ‘सभामुखको चयन गर्छ होला, सायद प्रदेश राजधानीको बिषय पनि प्रवेश गर्ला वा प्रदेशको नामाकरणले पनि प्रवेश पाउन सक्छ । थुप्रै कानुनहरु बनाउनु पर्नेछ, ति कानुनको बिषयमा छलफल हुन सक्छ ।’ उनले के कुरा जान्न खोज्दैथे थाह भएन, तर उनी यो पंक्तिकारले दिएको उत्तरवाट सन्तुष्ट भएनन् भन्ने कुरा उनको अनुहारले भन्दै थियो । उनको अर्को प्रश्न थियो ‘विकासको दृष्टिले पछाडी परेका साविकको सुदूरपश्चिमका बिभिन्न क्षेत्रको समावेशी विकासको ठोस् योजना वनाउँला त बैठकले ? यो प्रश्नले निरुत्तरित बनायो । 
प्रसंग माघ २९ गते बस्ने प्रदेश नं. ७ को अर्को बैठकको थियो । ७ नं. प्रदेशको अस्थायी मुकाम कैलालीको व्यस्त शहर धनगढीमा प्रदेश सभाको पहिलो बैठक बसेकै दिन के के न भईहाल्छ भन्ने उनलाई लागेको रहेछ तर त्यो दिन नेताहरुको भाषण सुन्ने बाहेक अरु केही सुन्न नपाएपछि अव २९ गते बस्ने बैठकको अवस्था के हुन्छ भन्ने जिज्ञासा उनलाई लाग्नु स्वभाविकै थियो ।  उनी हेर्दा सामान्य लाग्ने व्यक्ति हुन । यस अघि उनीसंग कुनै खास छलफल पनि हुन पाएको थिएन । उनको यो जिज्ञासाले प्रदेश सरकारको संरचना भईसकेपछि जनताको आकांक्षाको तह ह्वात्तै बढेको छ भन्ने कुरालाई पुष्टी ग¥यो । 
निश्चित रुपमा करीव २३७ बर्ष लामो एकात्मक राज्यसत्ताको ईतिहास रहेको हाम्रो जस्तो मुलुकमा जहानीय राणा शासन, निरंकुश पञ्चायती व्यवस्था, संबैधानिक राजतन्त्र सहितको प्रजातान्त्रिक व्यवस्था र राजा बिनाको गणतन्त्रात्मक व्यवस्थाको अनुभव गरिसकेका जनताले संघीय शासन प्रणालीमा नजिकको सरकारबाट अपेक्षा राख्नु स्वभाविकै हो । तर जनताका चाहना र अपेक्षा अनुसार काम गर्न सक्छ त प्रदेश सरकारले ? प्रश्न आफैमा जटिल छ । 
हामी सहकारीताको मोडलमा संघीयताको अभ्यास गरिरहेका छौं । यो मोडलको संघीयतामा संघ, प्रान्त र स्थानीय तहमा सरकारले साझा राष्ट्रिय कार्यक्रमहरु वा राष्ट्रिय समस्याहरुको सम्बन्धमा साझा नीति, साझा कार्यक्रम र साझा साधन स्रोतको व्यवस्था गरी कार्य गर्ने गर्छन । यस्तो संघीय प्रणालीमा सवै तहका सरकारले   राज्यको सबै बजेट, प्रशासनिक नीति लगायत कार्यक्रम समन्वयात्मक ढंगले तर्जुमा गर्छन् । कुनै नीति तथा कार्यक्रमले सफलता पाउन नसके एकअर्काप्रति आरोप–प्रत्यारोपमा उत्रन्छन्, सफल भए जस लिने होडबाजी हुन्छ । 
हाम्रो देशको संबिधानमै पनि केन्द्र, प्रदेश र स्थानीय तहको संयुक्त अधिकार क्षेत्र सूची र छुट्टछुट्टै अधिकार सूची राखिएको छ । यसले तीनवटै तहका सरकारका बिचमा सहकार्यता आवश्यक छ भन्ने प्रष्ट पार्छ । विभिन्न तहका सरकारले आपसमा सहयोग, समन्वय र अन्तरनिर्भरता कायम गरी कार्य गर्नुपर्ने उल्लेख छ । भारत लगायत अन्य केही देशमा यस किसिमको संघीयताको अभ्यास गरेको पाइन्छ । 
संबैधानिक व्यवस्था हेर्ने हो भने भरपुर रुपमा अधिकार बिकेन्द्रिकरण भएको छ । केन्द्र, प्रदेश र स्थानीय तहले व्यवस्थापकीय, कार्यकारणी र न्यायिक अधिकार प्रयोग गर्न पाउँछन । अधिकार क्षेत्र, काम कर्तव्य र जिम्मेवारी पनि संबैधानिक रुपमै छुट्याएको छ । यो आफैमा राम्रो पक्ष हो तर के त्यो अधिकार प्रयोग हुन सक्छ त वा के जनताले अपेक्षा गरे अनुसार प्रदेश सरकारले काम गर्न सक्छन् त ? 
माघ २१ गते प्रदेश सभा बैठक चलिरहेका बेला सांसदहरुले जसरी आदर्श छाँटेर लामो लामो भाषण दिए त्यसले सिंहदरवार र बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रको झल्को त दिएको छ तर साँच्चै जनताको पक्षमा हामी अव ईमानदार भएर लाग्छौं भन्ने सन्देश भने दिन सकेको छैन । फेरी पनि सत्तापक्ष र प्रतिपक्षको नाममा लडाई हुनेछ, फेरी पनि सरकार बनाउने र गिराउने खेल जारी रहनेछ भन्ने कुराको प्रष्ट सन्देश दिएको छ प्रदेश सभाको पहिलो बैठकले । 
अरुलाई लोकतन्त्रको पाठ पढाउने सांसद ज्यूहरुले आफु कति लोकतान्त्रिक छौं भन्ने कुराको कहिल्लै पनि आत्मसमीक्षा गरेका छैनन् भन्ने प्रष्ट संकेत दिएको छ । लोकतन्त्रलाई शासन पद्धति मात्रै बुझेकाहरुले कहिल्लै लोकतन्त्र जीवन शैली पनि हो भन्ने कुरा बुझ्न सकेनन् । लोकतान्त्रिक शासन पद्धतिमा अरुको बिचारमा सहमत हुने वा बिरोध जनाउने कुरा सामान्य हो तर आफु लोकतान्त्रिक हुने कुरा त्यति सजिलो छैन । 
जनताको चाहना विकास हो, समृद्धि हो, आधारभुत आवश्यकताहरुको निर्वाध रुपमा परिपुर्ति गर्न पाउनु पर्छ भन्ने हो । सिटामोल नपाएर मर्ने दिनको अन्त्य होस्, बिहान खाएर साँझ के खाने भन्ने चिन्ताको अन्त्य होस् भन्ने जनताको अपेक्षा हो । घरमा आमा बुवा, जहान केटाकेटी अलपत्रै पारेर भारत र खाडी मुलुक बर्षौं पसिना बगाउने श्रमयोग्य जनशक्तिलाई आफ्नै देश निर्माणमा परिचालन गर्ने गरि कानुन बन्नेछ भन्ने आशा राखेका छन जनताले । 
के यि सपनाहरु पुरा होलान् र ? कानुन निर्माण हुँदैमा र संरचना निर्माण हुँदैमा केही हुँदैन भन्ने कुरा बिगतमै प्रमाणित भईसकेको छ । केन्द्रिकृत एकात्मक सत्तालाई बिकेन्द्रित एकात्मक शासन बनाउने उद्देश्यका साथ स्थानीय तहलाई स्वायत्त बनाउन ल्याईएको स्थानीय स्वायत्त शासन ऐन, २०५५ कार्यान्वयन नगरि मृत्यु वरण ग¥यो । पञ्चायतकालीन गाउँ/नगर/जिल्ला पञ्चायतहरुलाई २०४६ सालको राजनीतिक परिवर्तनपछि गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समिति नामाकरण गरियो । स्थानीय निकायहरुको संबैधानिक पहिचान नभएको भन्दै ऐनमार्फत स्थानीय निकायहरुलाई स्वायत्त बनाउने प्रयास गरियो । तर दुर्भाग्य, त्यो ऐन राम्रोसंग कार्यान्वयन नै हुन दिएनन् शासक र प्रशासकहरुले । स्वायत्त भनिएका स्थानीय तहले कार्यालय सहयोगी भर्ना गर्दा पनि सरकारलाई सोध्नु पर्ने परिस्थिति आयो । 
२०६२÷०६३ को राजनीतिक परिवर्तनपछि २०७२ सालमा जारी भएको संबिधानमार्फत स्थानीय निकायलाई स्थानीय तह बनाईयो । गाउँ विकास समितिलाई गाउँपालिका बनाईयो, जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति बनाईयो । स्थानीय तहहरुलाई संबैधानिक पहिचान पनि दिईयो । अधिकार सूची पनि तय गरियो संबिधानमै । नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधिहरु आएको सात महिना बितिसक्दा पनि स्थानीय तहले गति लिन सकेको छैन । हुन सक्छ स्थानीय तहका कतिपय कार्यसूचीहरु प्रदेश सभाको कार्यसूचीसंग साझा भएका कारण गति लिन नसकेको हो भन्ने कुरा पनि आउन सक्छ तर के स्थानीय तहले आफुले पाएका अधिकारहरु उपभोग गर्ने क्षमता राख्छन् ्त ? यसलाई गम्भिर रुपमा हेरिनु पर्छ र सोचिनु पनि पर्छ । 
स्थानीय तह त हिजोका स्थानीय निकायहरु स्तरोन्नती भएर बनेका हुन, एक खालको संरचना स्थानीय तहमा हिजो पनि थियो र आज पनि छ तर प्रदेश सरकारको संरचना नित्तान्त नौलो कुरा हो । जनताले संघीयता भन्ने बित्तिकै प्रदेश सरकारलाई मात्रै बुझेका छन । केन्द्र सरकार हिजो पनि थियो आज पनि छ, स्थानीय सरकार हिजो पनि थियो आज पनि छ तर प्रदेश सरकार हिजो थिएन, आज छ । भलै हिजोको स्थानीय सरकार कमजोर थियो, भलै हिजोको केन्द्र सरकार शक्तिशाही थियो तर ति दुवै संरचना हिजो पनि थिए । नयाँ संरचना प्रदेश सरकारको भएका कारण जनताले प्रदेश सरकारसंग नै बढी आश गरेका छन । त्यो अपेक्षा अनुसार प्रदेश व्यवस्थापिका र कार्यपालिकाले काम गर्न सक्छ कि सक्दैन भन्ने विषय अहम् हुन जान्छ । 
माघ २१ गते बसेको संसदको पहिलो बैठकले प्रदेश सभाले जनअपेक्षा अनुसार काम गर्ने स्पष्ट सन्देश दिन नसकेकै हो । बिगतमा जे भयो, अव त्यसो गर्नु हुन्न त भने माननीय ज्यूहरुले तर नहुने ग्यारेण्टी केही भएन अर्थात शाव्दिकै रुपमा भएपनि अव हामी यो यो अभ्यास गर्छौं र बिगतका यो यो अभ्यास त्याग्छौं भन्ने कुरा सहितको सामुहिक प्रतिवद्धता पहिलो बैठकबाटै आउनु पथ्र्यो, त्यो हुन सकेन । जरुरी सार्वजनिक महत्वका एक÷दुई प्रस्ताव पारित हुनु पर्ने थियो जनतालाई सन्देश दिनलाई, त्यो पनि हुन सकेन । 
हामी विगतको जस्तो अव गर्दैनौं भन्दा भन्दै पनि माननीय ज्यूहरुले बिगतकै किस्सा काहानी दोहो¥याए, घुमाउरो पारामा ‘म मात्रै लोकतान्त्रिक हुँ, म मात्रै ईमानदार हुँ, म मात्रै राजनीतिज्ञ हुँ’ भन्ने भाषा आफ्नो मन्तव्यमा घुसाए । अधिकांश चेहराहरु चलनचल्तिका छन प्रदेश संसदमा, चाहे त्यो संसदीय राजनीतिक अभ्यासमा होस् वा दलीय राजनीतिक अभ्यासमा होस्, ति चेहराहरुको विगत के हो भन्ने बिषयमा पनि अधिकांशलाई जानकारी छ । विगत जस्ते भविश्य नहोस् भन्ने चाहाना जनताको हो । त्यसकारण ‘विगतमा मैले गरेका थुप्रै कमीकमजोरीवाट पाठ सिक्दै आगामी दिनमा मेरा क्रियाकलापमा नयाँपन ल्याउनेछु’ भन्न पनि नसक्नेहरुले “नानैेदेखि लागेको वानी” हत्तै छोड्छन जस्तो लाग्दैन । संसदको पहिलो बैठकले यही सन्देश दिएको छ । तर पनि आश गरौं, पहिलो बैठकको भाषणमा भनिए जस्तो प्राकृतिक स्रोत साधनको उच्चतम प्रयोग गरि प्रदेशलाई समृद्ध बनाउने     कुरामा व्यवस्थापक, शासक र प्रशासकको ध्यान जावस, शुभकामना ।

मोफसल पत्रकारिता 

बैचारिक संगठनले गैर पत्रकार मौलाएका छन ।

नन्दराम जैशी (अध्यक्ष)
क्रियाशील पत्रकार मञ्च, जुम्ला
तपार्इंको पुरा परिचय पाउँ न ? 
— म नन्दराम जैशी, मेरो स्थायी घर साबिकको हाँकु गाविस वडा नं १ जुम्लामा पर्छ, म अहिले अन्नपुर्ण पोष्ट दैनिक जुम्ला रिपोर्टरका रुपमा काम गर्छ र क्रियाशिल पत्रकार मञ्च नेपाल जिल्ला शाखा जुम्लाको अध्यक्ष पनि छु । 
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— जो समाजमा अहिले पनि विद्यमान रहेका बिकृतिहरु छन् तिनै भष्टाचार, छुवाछुत, हत्या हिंसा, भेदभाव लगायतका समस्याहरु पत्रकारिता पेशा मार्फत लेखेर उजागर  गरी त्यसको न्युनिकरण मात्र नभई कालान्तारमा यस्ता विकृति अन्त्यका लागि मैले पत्रकारिता पेशा रोजेको हुँ । 
कति समय भयो यस पेशामा लागेको ?
— आधिकारिक रुपमा म यस पेशामा लागेको त ५ बर्ष जति मात्र भएको छ । तर म पहिलेदेखि पत्रकारिता पेशामा रुचि राख्दै आएकाले यस भन्दा पहिले पनि मैले समाजमा बाल पत्रकारिता शुरु गरेको थिए । त्यो समयलाई जोड्दा ८/१० बर्ष जति भन्न मिल्छ । 
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
— मेरो विचारमा यस पेशामा त सबै खालको पत्रकारिता गर्नुपर्छ तर विशेष गरी म आर्थिक विकास र सामाजिक क्षेत्रमा पत्रकारिता गर्न रुचाउँछु र त्यसै अनुसार मैले आफ्ना समाचार, लेख रचना प्रकाशित गर्ने गरेको छुँ । 
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ? 
— जुनसुकै पेशामा त समस्या भईहाल्छन् तर अन्य पेशा भन्दा म अझै पत्रकारिता पेशामा बढी समस्या देख्छु । किनकी पत्रकारिता पेशामा दिनरात, बेला अबेला, खाएँ, भोकै छुँ, भन्न मिल्दैन कहाँ के हुन्छ त्यति खेरै तयार भएर रिपोर्टिगंमा हिड्नु पर्छ । यस्ता अनेक खालमा समस्या भोगेको छु मैले पनि । त्यो समस्या प्राय सबै ठाउँमा यस्तै होला ।
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
— साँच्चै हो, मोफसलमा काम गर्ने पत्रकारका पीडा अझ धेरै देख्छु, जस्तो कि काम अनुसार दाम हुदैन या काम गर्ने मिडियाबाट पाएदैनन् । पाएपनि अझ ढिलै पाइन्छन् । जसले गर्दा उसलाई भएको ब्यक्तिगत समस्या टर्दैन, यस्तो खालको एकातिर आर्थिक समस्या हुन्छ भने अर्कोतिर आवश्यक ज्ञान, सीप वा क्षमता बृद्धिको  अवसर पनि मोफसलका पत्रकारले पाँउदैनन् । यि लगायत पत्रकारलाई धम्की दिने होच्याउने जस्ता क्रियाकलाप पनि त्यहि समाजले पत्रकारमाथि गर्दै आएको छ ।  
जुम्ला जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको छ ? यस जिल्लामा अरु जिल्लाको भन्दा बढी समस्याहरु के कस्ता छन ?  
— जुम्ला जिल्लाको पत्रकारिता विकासको सन्दर्भमा कर्णालीका अन्य जिल्ला भन्दा धेरै भएको छ । तर हुनुपर्ने विकास अझै भएको म देख्दिन । अन्य जिल्लाको तुलनामा जुम्लामा पत्रकारहरुलाई खासै समस्या पनि छैन किनकी भौगोलिक रुपमा पनि सदरमुकामबाट एकै दिनमा जिल्लाका सबै ठाउँ जान र आउन सकिन्छ । सञ्चार सेवा र यातायात सेवाको पनि विस्तार भएको छ । यसले पनि जुम्लाको पत्रकारिता बिकास बढ्दै गएको पाइन्छ । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— नेपाल सरकारको अहिलेको स्थिति र यो भन्दा अघि भईरहेको क्रियाकलाप हेर्दा केही गर्ला जस्तो त लाग्दैन तर सरकारले चाहेमा र गरेमा मोफसल पत्रकारिताको समस्या समाधानका लागि न्यूनतम पारिश्रमिक ऐन पूर्ण कार्यान्वयमा ल्याउनु पर्छ । पत्रकारलाई सुरक्षाको पनि अनुभूति दिलाउनु पर्छ । भने क्षमता विकासका तालिमहरु दिनुपर्छ । ब्यवसायिक पत्रकारिता शुरु गर्न चाहानेलाई सबै सामग्रीहरु उपलब्ध गराउनु पर्छ । 
तपाई आफै पनि पत्रकारिता पेशामा धेरै समयदेखि काम गर्दै हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— मेरो ब्यक्तिगत विचारमा त, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले खासै भूमिका खेले जस्तो लाग्दैन । जसको कारण महासंघमा निर्वाचित हुने पदाधिकारीहरु गैर पत्रकार हुनु, तिनीहरुले बास्तविक पत्रकारिता नभोगेकाले अरुका पीडाहरु नदेख्नु, समयको माग अनुसार पत्रकारहरुका हितका लागि काम गर्न नसक्नु, आफैं महासंघको नियमित बैठक बस्न नसक्नु, यिनै विविद् समस्यामा महासंघ आफैं झेलिएकोले उसले अन्य क्रियाशिल पत्रकारका समस्या समाधानका लागि काम गरे जस्तो लाग्दैन । जो म आफैले अनुभूति गर्ने ठाँउ पनि छैन ।   
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— जो मोफसल पत्रकारका समस्या समाधानका लागि काम गर्ने भनेर स्थापना भएका पत्रकार महासंघ, पे्रस काउन्सिल लगायतका सरकारी गैरसरकारी संस्थाहरुले मोफसल पत्रकारका समस्या समाधान गर्न नसकेको बेला यस्ता बैचारिक संगठनहरुले समस्या समाधान गर्लान् जस्तो लाग्दैन र गरेका पनि छैनन् । यि संगठनहरुले राजनैतिक खोल ओडेर अझँ सत्य, तथ्य तथा सच्चा पत्रकारितामा आँच पु¥याईरहेका छन् जस्तो  लाग्छ । बैचारिक संगठनहरुबाट अपेक्षा गर्नु उपयुक्त नहोला । 
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता एउटा यस्तो पेशा हो, जो समाजको मेरुदण्ड नै हो । किनकी जसरी मेरुदण्ड बिना मानिसका अस्थिपञ्जर चल्दैनन् त्यसरी समाजमा पत्रकारिता बिनाको देश, समाज विकासको विकल्प छैन । त्यसैले मेरो विचारमा पत्रकारिता एउटा सच्चा कर्मनिष्ट समाजसेवीहरुको थलो पनि हो । 
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ? 
— मैले आर्थिक त खासै कमाएको छैन । आफैंलाई खान बस्न ठिक्क हुन्छ । घरपरिवारलाई पनि हेर्न सक्ने स्थिति छैन । तर आर्थिक नभएपनि नाम, ईज्जत र मानिसहरु यति धेरै कमाएको छु । त्यसैमा मलाई गर्भ छ ।   
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ ?
— एक प्रकारले यो साँचो कुरा पनि हो । किनकि पत्रकारहरु राजनैतिक संगठनसँग आस्था राख्ने र सोही अनुसार समाचार सम्प्रेषण गर्ने गरेका पनि छन् । त्यसले गर्दा नकरात्मक प्रभाव पर्न गएको हुन सक्छ । तर सबै पत्रकार त्यस्ता छैनन् र हाम्रो क्षेत्रमा पनि कतै कतै यस्ता कुराहरु उठिरहेका छन । पत्रकारिताको मर्म नबुझेको गैर पत्रकारहरुले यस्तो गरेको हुनुपर्छ सच्चा पत्रकारबाट चाँहि यस्तो क्रियाकलाप भए जस्तो लाग्दैन ।   
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा ! 
— हाहा, मैले भन्ने त म सच्चा छु नै भन्ने हो । तर कतै मैले पनि जानि नजानि गल्ती  गरेको छु भने समयमै कसैले औला ठड्याए हुन्छ ।   
यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ? 
— अब त्यस्तो गर्ने पत्रकारलाई पहिले पत्रकारहरुले नै सचेत बनाउनुपर्छ त्यसपछि राज्यले नि ध्यानाकर्षण जनाउनुपर्छ किनकि राम्रो गर्नेलाई राम्रो भन्न र प्रोत्साहन गर्न पनि सक्नुपर्छ, भने नराम्रो कसैले गरेको छ भने सचेत बनाउदाँ उ सुर्धिन पनि त सक्छ ।       
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ? 
— सर्बप्रथम त सरकारले मोफसल पत्रकारिता क्षेत्रमा भएका समस्या छनोट गर्नुपर्छ र सोही आधारमा कार्ययोजना तयार गरी काम थाल्नुपर्छ । तब मात्र मोफसल पत्रकारिता क्षेत्रमा सुधार आउँछ ।    
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— पत्रकारिता पेशामा लागेका ब्यक्तिहरुले सत्य, तथ्य समाचार सम्प्रेषण गर्नुपर्छ र खोजमुलक विकासे पत्रकारितामा लाग्न जरुरी छ । पत्रकारिता पेशाप्रतिको सामाजिक र सरकारी दृष्टिकोण परिवर्तन हुनु पर्छ । साथै पत्रकार पनि सुध्रिनु पर्छ 
समय र बिचारका लागि धन्यबाद । 
- मेरो विचार राख्ने अवसर दिएकोमा बिम्ब साप्ताहिक डोटीप्रति आभारी छु । धन्यबाद ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. एसिसी यु–१६ ईन्टर्न रिजन प्रतियोगिताको उपाधी कसले जित्यो ?  — नेपाल 
(सन २०१७ डिसिम्वरमा थाईल्याण्डमा सम्पन्न सो प्रतियोतिामा सिंगापुरलाई ६१ रनले पराजति गर्दै नेपालले उपाधी चुमेको हो ।) 
२. नेपालमा पहिलो पटक आयोजित अन्तराष्ट्रिय टि–ट्वान्टी त्रिदेशीय ह्वीलचेयर प्रतियोगिताको उपाधी कसले जित्यो ?    — नेपाल बि.स. २०७४ मंसिर २८—पुष १) 
— किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयका क्रिकेट मैदानमा २०७४ पुष १ गते मा भएका फाईनल खेलमा बंगलादेशलाई ५४ रनले पराजति गर्दै नेपालले उपाधी जितेको । 
— नेपाल, भारत र बंगलादेश सम्मिलित सो प्रतियोगितामा नेपालका नवीन राई बेष्ट व्याट्सम्यान, बिपिन पौडेल बेस्ट बलर, राजु गुरुङ्ग बेष्ट विकेटकिपर र डिगमसिंह चेम्गोङ्ग प्लेयर अफ द सिरिज चुनिएका ।
३. १ सय १० किलोवाट बिद्युत उत्पादन क्षमताको बायु–सौर्य उर्जा प्रणाली कहाँ स्थापना गरिएको छ ? 
— सिन्धुलीको हरिहरपुर गढी 
(बहुपक्षीय कर्जादाता निकाय एसियाली विकास बैङ्क (एडिवी) को सहयोगमा निर्मित सो परियोजनाबाट एक सय १० किलोवाट बिजुली उत्पादन हुने मुलुककै ठुलो यस बायु सौर्य उर्जा प्रणालीबाट उत्पादित बिजली ८३ घरमा आपुर्ति हुने बताईएको ।) 
४. भिजन फाईभ मिलियन योजना केसंग सम्वन्धित छ ?   — पर्यटन 
— प्यासिफिक एसिया ट्राभल एसोकियसन (पाटा) नेपाल च्याष्टरले सन २०३० सम्म बार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित तर्जुमा गरेको अभियान नै भिजन फाईभ मिलियन योजना हो । 
— २०७४ मंसिर २७ मा राजधानीमा आयोजित पाटाको ४१ औं बार्षिक साधारण सभामा यो योजना सार्वजनिक गरिएको । 
पाटाले संयुक्त राष्ट्रसंघको पर्यटन सम्वन्धि सहस्राव्दी विकास लक्ष्य अनुरुप सन २०३० सम्म नेपालमा ५० लाख पर्यटन भित्र्याउने गुरुयोजना वनाएको ।
— साधारण सभाका अवसरमा नेपालको पर्यटन क्षेत्रमा बिशिष्ट योगदान पु¥याउने पर्यटन क्षेत्रमा बिशिष्ट योगान पु¥याउन पर्यटन व्यवसायी कर्ण शाक्यलाई पाटा पर्सनालिटी अवार्ड–२०१७ वाट सम्मान गरिएको ।
५. प्रभु लाईफ ईन्सुरेन्सले औपचारिक रुपमा कारोवार कहिलेदेखि सुरु गरेको हो ? 
— बि.सप. २०७४ मंसिर २८ 
६. सिएमओ एसियाद्वारा आयोजित कार्यक्रममा बैङ्क, बिमा तथा बित्तीय सेवा प्रदायक कम्पनीतर्फ नेपालको उत्कृष्ठ ब्रान्ड अवार्डको उपाधी जित्ने कम्पनी कुन हो ? 
 — एनआईएिल क्यापिटल मार्केट्स 
७. बि.स. २०७४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रत्येक्षतर्फ बिजयी हुने महिला सांसद कति रहेका छन ?    — ६ 
(पवित्रा निरौला खरेल (झापा–२, नेकपा एमाले), पदमा अर्याल (स्याङ्जा–२, नेकपा एमाले), पम्फा भुसाल (ललितपुर–३, माओवादी केन्द्र), कमला रोका (पूर्वी रुकुम, माओवादी केन्द्र), बिना मगर         (कञ्चनपुर–१, माओवादी केन्द्र) र दुर्गा पौडेल (प्युठान, राजमो) ।
८. ‘गलत ज्ञानबाट सधैंभरि होसियार वन । यो निरक्षरता भन्दा पनि खतरानाक हुन्छ’ भन्ने बिचारक को हुन ?       — जर्ज वर्नाड शा, बेलायती साहित्यकार
९. एसिया को–अपरेसन डाईलगको स्थापना कहिले गरिएको हो ?   — सन् २००२ जुन १८ 
(नेपाल सन २०१६ मार्च १० मा एसिडीको सदस्य बनेको । हाल एसिडीमा नेपाल सहित ३४ राष्ट्र रहेको 
१०. लोकसेवा आयोगको प्रतीक चिन्हमा उल्लेखित नारा के हो ? 
— योग्यता, निश्पक्षता, स्वच्छता 
— प्रतिक चिन्हको अनावरण २०७३ असार १ मा गरिएको 
— माधव रेग्मीद्वारा डिजाईन गरिएको यो प्रतीक चिन्हलाई किरण मानन्धरले अन्तिम रुप दिएका 
११. सवैभन्दा धेरै पटक नोवेल पुरस्कार प्राप्त गर्ने संस्था कुन हो ?   
 —अन्तराष्ट्रिय रेडक्रस (आईसिआरसी) 
(यो संस्थाले सन् १९१७, १९४४ र १९६३ मा गरि तीन पटक नोवेल शान्ति पुरस्कार पाएको छ ।) 
१२. ब्रिक्स बैङ्कको स्थापना स्थापना कहिले भएको हो ?   —सन २०१४ जुलाई १५ 
— ब्रिक्स बैङ्कको प्रधान कार्यालय चीनको साङ्घाईमा रहेको ।
— ब्रिक्स समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षि अफ्रिका रहेको)
— ब्रिक्स बैङ्कमा सवैभन्दा बढी चिनियाँ लगानी रहेको । 
— ब्रिक्स बैङ्कको प्रथम अध्यक्ष भारत वनेको । 
१३. राष्ट्रिय परीक्षा बोर्ड गठन कहिले भएको हो ?   — बि.स. २०७३ साल असार १६ 
(वोर्डको गठनसंगै उच्च माध्यामिक शिक्षा परिषद् खारेज ।) 
१४. नेपालको पहिलो खुला दिशाँमुक्त जिल्ला कास्की हो भने पहिलो खोपयुक्त जिल्ला घोषणा भएको कुन हो ?  – पाल्पा 
१५. नेपालको संबिधान (२०७२) को कुन धारामा महिला र पुरुषबिच समान कामका लागि पारिश्रमिकमा उल्लेख नगरिने व्यवस्था उल्लेख छ ?  — धारा १८(४)
१६. मौसमको सूचना तत्कालै अद्याबधिक गर्न तथा मौसम सम्वन्धि भविश्यबाणीलाई थप प्रभावकारी बनाउन नेपालमा पहिलो पटक अत्याधुनिक मौसमी रडार कहाँ स्थापना गरिने भएको छ ? — सुर्खेत 

साहित्य/सृजना 

गजल

धेरै पछि आज आकाशमा, तारा मधुरो छ
त्यसैले त चन्द्र अनि सूर्यको, साहारा अधुरो छ ।
खै कसरी सम्भव हुन्छ र, यो जीवन उनि बिना ?
जसरी सधै पानी बिना, त्यो छहरा अधुरो छ 
प्याँसी हुँदा भरी अम्खोराको, कति माया लाग्छ ?
तर थाहा छ नि पानी बिना, अम्खोरा अधुरो छ 
भूगोल भरी खोज्ने मन छ, तिमीलाई चरा बनी,
पखेटा बनी बिलायौ पखेटा बिना, चरा अधुरो छ
थाहा छ तिमीलाइ समुन्द्रको, माछा पनि प्यासी हुन्छ रे
जहिलेदेखि टाढाभयौ तिमी, मेरो आहारा अधुरो छ
रमेश राजन भट्ट
के आइ सिंह गाउँ पालिका ७ डोटी हाल ः महेन्द्रनगर

दुई मुक्तक

देशको निम्ति न आकाश न पताल माग्छु ।
माग्नु परेमा तराई पहाड र हिमाल माग्छु ।
मधेस टुक्र्याउने प्रयास नगर्नुस् महोदय,
म त नेपाली हँु सिङ्गो नेपाल माग्छु ।

गरिबको छोरो प्रदेशमा पस्यो आमा ।
पैसा टिप्न जाँदा भिरबाट खस्यो आमा ।
भेटाउदिन अब जतिसुकै खोजे पनि,
नभेट्ने गरी अन्तै गएर बस्यो आमा ।
संजिव कुमार पटेल (सर्लाही)
हालः मलेसिया

गजल

आँधिखोलाको पानी बेलचौरको टारसम्म पुगोस
सिरौसाको सुन्तला बिश्व बजारसम्म पुगोस् ।
शिक्षा, स्वास्थ, सुरक्षाको समस्या समाधान भइ
नगरपालिकाको नजर पौष्टिक आहारसम्म पुगोस् ।
हजारौं युवा गाउँ छोड्न बाध्य छ्न गरिबीले
उद्योग धन्दाको बिकास गर्दै रोजगारसम्म पुगोस् ।
गाउँमा न्याय नपाएर तराई झरेका कान्छा बा
गाउँ नै फर्किए भन्ने खबर कतारसम्म पुगोस् ।
गल्याङ नगरपालिका नमूना नगर पालिका भयो
नेत्र अधिकारी

खेलौना भेटियो अरे

उता आलिसान महल ठडियो अरे
यता चाल्दै गरेको, पहल रोकियो अरे
हरेक ठाउँ नाताबाद अनि कृर्पाबाद
बादैबादको भुमरीमा, फसल पेलियो अरे
अरुमाथी कुदृष्टि लगाउथे दोषी नजरहरु
अचानक त्यही नियतिको, दलदल भाँसियो अरे
पढाउँदा खेरी ध्यान अन्तै डुलाउने शिष्यलाई
गुरुद्वारा नपढाइएको, सवाल सोधियो अरे
भाषण मात्रै जनतालाई पस्किन जानेका नेताहरुले
भन्छन देश र जनताका लागि, कमाल गरियो अरे
झुटमाथी प्रेमको जलप लगाइ म्वाँइ खानेहरु हो
मन बहलाउन फेरि एउटा, खेलौना भेटियो अरे
पुस्पा जोशी “काली’’
धनगढी ,कैलाली

सूचना सन्देश बिज्ञापन 

मालपोत कार्यालय डोटीबाट जारी गरिएको हकदावी सम्वन्धि ३५ दिने सार्वजनिक सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः २०७४÷१०÷१८          
        जिल्ला डोटी सायल गाउँपालीका वडा नं.४ साविक डौड गा.वि.स.वडा नं.१ स्थित कि.नं.६५५ ऐ.वडा नं.२ स्थित कि.नं.२ को जग्गा सोही गा.वि.स.वडा नं.२ बस्ने जैरमेको नाती मोहनेको छोरा जस्वा ढोलीको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनी जस्वा ढोलीको मिति ः २०५६÷१२÷१४ मा र निजको हकदार पत्नि इमिता ढोलीको मिति ः २०७२÷११÷६ मा मृत्यु भएको । निज मृतकको शेषपछिको हकदार एकमात्र छोरा प्रिमे ढोली मात्र भएकोमा मृतक जग्गाधनीको नाउँको डौड गा.वि.स.स्थित जग्गाधनी प्रमाण पुर्जामा जग्गाधनीको नाम जस्वा ढोली भएको र निज मृतकको हकदार छोराको नेपाली नागरिकताको प्रमाण पत्रको बुबाको नाम सेते ढोली हुन गई निवेदकको बुबाको नाम फरक परेको भएता पनि दुबै फरक नाम गरेको व्यक्ति फरक फरक व्यक्ति नभई एउटै व्यक्ति मेरा बुबा जस्वा ढोली भन्ने सेते ढोली भएकोले नेपाली नागरिकताको प्रमाण पत्र वमोजिम हुने गरि बुबाको नाम संसोधन गरि उल्लेखित मृतक बुबाको नाउँको पुरै जग्गा मेरा नाउँमा एकलौटी नामसारी गरिपाउँ भनी सायल गाउँपालिका ४ नं.वडा कार्यालय डोटीको च.नं.८५ मिति ः २०७४÷१०÷१७ को किटानी सिफारीस पत्र, मृतकको नाउँकोे जग्गाधनी प्र्रमाण पुर्जा, नेपाली ना.प्र.प, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित आदी प्रमाणहरु साथै राखी सायल गाउँपालीका वडा नं.४ साविक डौड गा.वि.स.वडा नं.२ बस्ने प्रिमे ढोलीले यस मालपोत कार्यालय, डोटीमा मिति २०७४÷१०÷१८ मा  निवेदन दिनु भएकोले उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, जस्वा ढोली र सेते ढोलीे फरक फरक व्यक्ति भए, वा अन्य हकदार भए वा निज निवेदकको मागदावी वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिन भित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्याद भित्र कुनै कसैले उजुरी दावी नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७४÷१०÷२६ 
उपरोक्त सम्बन्धमा के आई सिंह गाउँपालिका–१ गणेशकाँडा डोटीमा रहेको यस श्री रामेश्वर आधारभत बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा अस्थायी पदपूर्ती गर्नुपर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेका ईन्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आव्हान गरिन्छ । 
तपशिल 
पद संख्या ः १ जना,  तह ः प्राबि तृतीय 
किसिमः करार (अस्थायी)
तलब स्केल ः नेपाल सरकारले तोके अनुसार 
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्र्तीण 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः ३०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७४÷११÷११ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७४÷११÷१२ गते
परीक्षा मिति र स्थान  ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
नेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
स्थायी अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति 
सम्पर्क फोन ः  ९८६८७४४२८०
नोट ः करार योग्यता सूचीमा नाम समावेश भएका, महिला, दलित, अपाङ्ग, जनजाति र माथिल्लो योग्यता भएको उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।

Information on Business Opportunities

1st publication date: 13th Feb 2018
Reference no: 01/GEN/2018-2019
Subject: Supply of goods for Sustainable Livelihood Promotion Project
Contracting Authority: EDC Nepal, Doti
Deadline for submission of letter of interest: 22nd Feb 2018
Equality Development Centre (EDC) Nepal, Doti is non profitable organization has been working in this district since last 22 year. The organization has implementing newly three year Project named Sustainable Livelihood Promotion in KI Singh Village Council ward no. 4, 6, 7 & Purbichauki Village Council ward no. 3, 4 respectively Durgamandu, Bhumirajmandu, Gairagaun & Sanagaun in Doti District Funding by DCA invites qualified suppliers of one or several of the following goods and services to respond to this advertisement Suppliers who have responded to this advertisement and provides the required information may be invited to participate in the procurement procedure for the relevant lot. 
Goods and services needed:
¨ Sup-11 Construction Materials (Cement, HDP Pipe, materials of multiple of water use system & Irrigation, Steel Sheet etc)
¨ Sup-12 Seed Support (Potato, Vegetable Composite Packet, Fruit , Mushroom etc)
¨ Sup-13 Publication
¨ Sup-14 Agriculture Tools & Technology (Silpolin, Net, Drip for poly house etc)
¨ Sup-15 Fertilizer (Urea, Dap, Potas)
¨ Sup-16 Trace Poly house (Iron black Pipe & materials of Poly house construction)
The interested supplier shall provide the following information to the Contracting Authority using the contact details below:
¨ Indicate which supplies or service you are interested in supplying.
¨ Provide the following information:
¨ The company’s name and contact details;
¨ Contact person; 
¨ Brief description of the company’s background and main line of work; and
¨ Experience with this kind of supply/service.
This is purely information on business opportunities and does not constitute a commitment to purchase or any other form of contractual commitment with the Contracting Authority.
Equality Development Centre (EDC) Nepal
Silgadhi, Doti, Contact No: 094-411050/411185/9848418101
Email: edcnepal2053@gmail.com, krisundarstha@yahoo.com
Contact person: Krishna Sundar Shrestha

No comments:

Post a Comment