Tuesday, November 27, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७५ साल मंसिर ११ गते मंगलबार

‘अनलाइन उजूरी विधि अवलम्बन गरौं,
आफ्नो कुरा प्रष्ट पारौं ।’
विभिन्न सञ्चारमाध्यममा आएका समाचार
सामग्रीहरू पत्रकार आचारसंहिता प्रतिकूल
भएमा प्रेस काउन्सिल नेपालको वेवसाइट
धधध।उचभककअयगलअष्लिभउब।ियचन
मा गई अनलाइन उजूरी गर्न सकिनेछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

बस दुर्घटनाले यसरी शोकमा डुव्यो शिखर नगरपालिका

रामहरी ओझा/डोटी
मंसिर १०
रोजगारीका लागि भारतको चेन्नई गएका डोटी शिखर नगरपालिका–११ तल्लीसातका २५ बर्षीया शंकर जोरा तिहारको पर्सिपल्ट मात्र घर पुगेका थिए । गर्भवती श्रीमती गंगाले प्रसुति हुने समय नजिकै आएको भन्दै उनलाई फोन गरि बोलाएपछि उनी घर आएका थिए । श्रीमती गंगा प्रसुतिको समयमा श्रीमान् संगै होउन भन्ने चाहन्थिन् । 
घर आएपछि शंकरले श्रीमतीलाई जचाउन उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगे । डाक्टरले उनलाई एक हप्तापछि आउन सल्लाह दिए । उनीहरु फर्किए तर घर कहिल्लै नपुग्ने गरी । बिहिवार डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–११ रडुवामा भएको से १ क २९३ नं. को स्कुल बस दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको एक चिहान भयो । पोष्टमार्टम गर्दा डाक्टरले उनको पेटबाट मृत बच्चा (छोरा) निकालो । शुक्रवार शंकर र गंगासंगै शिशुलाई पनि सेतीमा सेलाईयो ।
रोजगारीका लागि भारत गएका शंकरका बुवा डम्मर  जोराको गत बर्ष भारतमै निधन भएको थियो । बुवाको निधनपछि बुढी आमा र नावालक दुई भाईको पालन पोषणको सम्पूर्ण  जिम्मेवारी शंकरको काँधमा  थियो । उनले त्यो जिम्मेवारी त बिचमै छोडे नै साथै नातीनतिनाको मुख हेरेर मर्ने आमाको सपना पनि संगै लगेर गए । सोही गाउँका योगेन्द्र  वोहरा पनि गर्भवती श्रीमती हरिनालाई जचाउन उप क्षेत्रीय अस्पताल गएका थिए । फर्किदा अरु गाडी नपाएपछि उनी पनि सोही बसमा चढेछन् । उनको ज्यान गयो । दुर्घटनामा परी घाईते भएकी हरिनाले अस्पतालको शैयामा श्रीमान्लाई कुर्दै छिन् । उनको खुट्टा भाँचिएको छ । भारतमै रोजगारी गर्ने योगेन्द्र तिहार मान्न घर आएका थिए । 
योगेन्द्रका बुवा पदम बोहरा दमका रोगी छन् । भारतमै जागिर गरेर उनले भाईलाई आवाशीय बिद्यालयमा पढाउदै थे । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफु पढ्न नपाएका योगेन्द्र भाई पढेर ठुलो मान्छे होस् भन्ने चाहान्थे । तर आफ्नो सपना पुरा गर्न नपाउँदै उनी अनन्त यात्रामा गए । श्रीमती हरिनाको हेरचाहका लागि उनका माईती अस्पताल पुगेका छन् ।
डडेल्धुरा सरहद्भित्र भएको उक्त दुर्घटनाले डोटीको शिखर नगरपालिकालाई शोकमा डुवाएको छ । शंकर दम्पत्ति र योगेन्द्रसंगै उक्त दुर्घटनामा शिखर नगरपालिकाका अन्य ६ जनाले पनि ज्यान गुमाए । १० जना घाईते छन् । 
शिखर नपा–८ का ४० बर्षीय कैलाश रावल उग्रतारा माईको दर्शन गर्न गएका थिए । उनीसंगै १५ बर्षीया छोरी सोनिया पनि थिईन । भुपू सैनिक कैलाशले दुर्घटनास्थलै दम तोडे । छोरी सोनिया अस्पतालको शैयामा छट्पटाईरहेकी छिन् । उनी बाबा आउने बाटो हेर्दैछिन् । 
सोही गाउँका ४० बर्षीय योगेन्द्र रावलले पनि उक्त घटनामा ज्यान गुमाए । भारतमा काम गर्ने योगेन्द्र तिहार मनाउन घर आएका थिए । उग्रतारा माताको मेलामा गएका उनले पक्कै पनि आफ्नो जीवन रक्षाको माग गरे होलान् तर उग्रतारा माताले सुनिनन् उनको पुकार । नावालक लालाबाला छोडेर उनी पनि कहिल्लै नफर्किने गरि गए । 
सोही वडाकी २० बर्षीया शारदा राउतले पनि उक्त दुर्घटनामा ज्यान गुमाईन । शारदा स्थानीय राधाकृष्ण माबिमा कक्षा १२ की छात्रा हुन । नेपाल प्रहरीका भुपू प्रहरी सहायक निरीक्षक लोगवहादुर राउत छोरी शारदामा धेरै सम्भावनाहरु देख्थे । छोरी पढेर ठुलै मान्छे हुने सपना देख्थे उनले । तर निस्ठुरी बनिन् उनकी छोरी । उग्रतारा माताले जीवन रक्षा गरुन भन्दै मेला भर्न गएकी शारदाको जीवन पनि छिट्टै खोसियो । 
शिखर नपा–१० का १६ बर्षीय रोहित बलायर र १५ बर्षीय सागर बलायरले पनि ज्यान गुमाए । रोहित स्थानीय सुनाखरी इंगलिस बोर्डिङ्ग स्कुलका कक्षा ९ का छात्र हुन भने सागर स्थानीय सिद्धेश्वर माबिका कक्षा ८ का छात्र हुन । 
यस्तै शिखर नपा–११ का २४ बर्षीय पदम बिकको पनि उक्त घटनामा ज्यान गयो । दिपायलमा रहेको केबी ग्रुपमा मजदुरी गर्ने बिक बिदा लिएर मेला हेर्न गएका थिए । एक दिने बिदामा गएका उनी अव कहिल्लै हाजिर हुने छैनन् ।
शुक्रवार अवेरसम्म जलिरह्यो सेती किनार 
डडेल्धुरामा भएको उक्त दुर्घटनाले डोटीका १२ जनाको ज्यान लियो । मृतकहरुको शव जलाउनका लागि शुक्रवार अवेरसम्म सेतीको किनार जलिरह्योे । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पोष्टमार्टम भएपछि शवहरु दाह संस्कारका लागि ल्याईए । डोटीका १० र उक्त घटनामा ज्यान गुमाएका  डडेल्धुरा नबदुर्गा गाउँपालिकाका चार गरी १४ जना सेती किनारमा जले । सेती किनारमा ६ ठाउँमा शव जलाईए । डडेल्धुरा नवदुर्गाका चक्र धामी, टेक धामी र तिलख खातीको एक चिहान बन्यो । यस्तै शंकर र गंगाको पनि एक चिहान बन्यो । अन्य नौ जनाको छुट्टाछुट्टै चिहान बनाई दाहसंस्कार गरियो । 
टोल टोलमा रुवाबासी 
शिखर नपा–१० को गहनानमा सयौंको संख्यामा महिला पुरुषहरुको रुवाबासी चल्यो । एउटै टोलका शंकर, गंगा र योगेन्द्रको शव त्यतैबाट दाहसंस्कारको लागि लगियो । वडा नंं. १० कै बान्डुंग्रीसैनमा सागर र रोहितको घरमा रुवाबासी छ । वडा नं. ११ को गोपघाटमा पनि त्यस्तै रुवाबासी छ, जहाँ पदमको घर हो । 
वडा नं. ८ कै तल्लो तिल्ताली र मल्लो तिललातीमा पनि रुवाबासी चलेको छ । तल्लो तिलतालीका कैशाल र योगेन्द्रले ज्यान गुमाएका छन्, मल्लो तिलतालीकी शारदाले । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा पनि रुवाबासी चलेको छ । ३५ बर्षीया सशी बिक (सरस्वती) ले उक्त घटनामा ज्यान गुमाएकी थिईन । 
नगरपालिकाको शोक वक्तव्य 
शिखर नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै दुर्घटनाले सिङ्गो नगरलाई मर्माहित वनाएको जनाएको छ । नगर प्रमुख सिताराम जोशीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएका छ ‘उक्त अकल्पनीय एवं अत्यन्तै दुःखद् घटनामा परि यस शिखर नगरपालिकाका बिभिन्न वडाका होनहार युवाहरुले ज्यान गुमाउदा यस नगरपालिकालाई अपुरणीय क्षति भएको छ ।’ वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 
यस्तै साविकको नेकपा एमालेबाट नगर प्रमुखको उम्मेदवार भएका शेरवहादुर मल्लले एक बिज्ञप्ती जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाईतेहरुको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्ने माग गरेका छन् ।

सम्पादकीय 

बजेट कहिले खर्च हुन्छ त सरकार ?

सुदूरपश्चिम प्रदेश सभाले पारित गरेको आर्थिक बर्ष २०७५/०७६ को पुँजीगत बजेट आर्थिक बर्षको पहिलो चार महिना बितिसक्दा एक प्रतिसम्म पनि खर्च हुन नसकेको भन्ने समाचारले चर्चा पाएको छ । नेपालको संबिधान अनुसार तीन तहका सरकारले आफ्नो अधिकार क्षेत्रको कानुन, बजेट र योजना आफै बनाउने र त्यसको कार्यान्वयन गर्ने अधिकार दिएको छ । यसै अधिकारको प्रयोग गरी सुदूरपश्चिम प्रदेश सरकारले करीव २५ अर्बको बजेट त बनायो तर त्यसको कार्यान्वयनमा भने चुप्पी साँधेर बसेको छ । 
चार महिना पुरै बितिसके, पाँचौं महिना पनि आधा भयो । यो अवधीमा एक प्रतिशत पनि खर्च नगर्ने सरकारले बाँकी साडे सात महिनामा के ९९ प्रतिशत बजेट खर्च गर्न सक्ला छ ? प्रश्न स्वभाविक छ । बितगका बर्षहरुमा पनि पहिलो चौमासिकमा विकास बजेट ज्यादै थोरै खर्च हुने गरेको थियो । असारे विकासको चटारो हुने गरेको थियो । के देशमा यति ठुलो राजनीतिक परिवर्तन हुँदा पनि नेपाली जनताले असारे विकासकै मारमा पर्नु पर्ने हो त ? के फेरी पनि बजेट भनेको “मिलाउँदै खाँदै” गर्ने मात्रै हो त ? प्रदेश सरकारले यसको यो विषयमा समयमै ध्यान दिनु जरुरी छ । बजेट समयमै र सही तरिकाले खर्च हुन्छ भन्ने कुराको ग्यारेण्टी तत्काल प्रदेश सरकारले गर्नु जरुरी छ । 
कुर्चीमा मन्त्री हुँदैमा वा झण्डावाल गाडी हुँदैमा सरकार भएको मानिदैन । सरकार छ भन्ने कुरा जनताले महसुस गर्नु पर्छ । व्यवस्थाको नाम मात्रै परिवर्तन हुँदैमा त्यसको कुनै अर्थ हुँदैन, व्यवस्था अनुसार हाम्रा आचरण, कार्यशैलीहरु पनि बनाउन जरुरी छ । हाम्रा आचरणहरु कार्यशैलीहरु जस्ताका त्यस्तै हुने अनि हामीले व्यवस्था परिवर्तन ग¥यौं भनेर मात्रै धाक लगाउने हो भने यसले जनता सन्तुष्ट हुँदैन । जनतालाई सन्तुष्ट पार्न देखिने गरी केही काम गर्न सक्नु पर्छ । 
“सुदूरपश्चिम” यसै सुदूरपश्चिम त्यसै सुदूरपश्चिम भन्ने मानसिकताका साथ यदि सत्ता सञ्चालन गर्दैछ सरकारले भने त्यसमा केही भन्नु छैन तर जनताले धेरै आश गरेका छन् प्रदेश सरकारबाट । हिजोका दिन केन्द्र सरकार थियो र स्थानीय स्तरमा स्थानीय निकायहरु पनि थिए तर प्रदेशको शासकीय संरचना थिएन । त्यो शासकीय संरचना बनेपछि केन्द्र सरकार र स्थानीय निकायबाट आश मारेका जनताले प्रदेशसंग ठुलो आश गरेका छन्, त्यो आशलाई भएको बजेट समेत खर्च गर्न नसकेर निराशामा परिणत गर्ने हो भने प्रदेश सरकार हुनु र नहुनुको कुनै अर्थ छैन । त्यसैले सोच्नु जरुरी छ । 
प्रदेश सरकारले न आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सकेको छ, न जनताका दैनिक आधारभूत आवश्यकताहरुको बिषयमा कुनै ठोस कदम चाल्न सकेको छ, न स्थानीय तहमा चुलिएको भ्रष्टाचार रोक्न सकेको छ । यो तितो सत्य हो । हामीले सत्यलाई स्वीकार गर्न सक्नु पर्छ र तत्काल बजेट कार्यान्वयन हुने गरी काम गर्नु जरुरी छ । कानुन छैन, कानुन बनाउनु प¥यो, कानुन नआएसम्म सरकारले कार्यबिधिहरु ल्याएर पनि काम गर्नु प¥यो । कसरी गर्नु पर्ने हो त्यसरी गर्नु प¥यो । होईन भने ठाउँ खाली गर्न पनि पछि पर्नु भएन बर्तमान सरकारका मन्त्रीहरुले । नसक्नेले ठाउँ ओगटिरहनुको कुनै अर्थ छैन, त्यो ठाउँमा सक्ने मान्छे आउँछ । मुख्यमन्त्रीले बजेट कार्यान्वयन नहुनुको मुख्य कारण के हो भन्ने बिषयमा खोजी गर्नु जरुरी छ । को दोषी हो यसमा ? किन भएका काम ? दोषीलाई कारवाही गर्ने हिम्मत मुख्यमन्त्रीले गर्नु गरुरी छ, चाहे दोषीमो सूचीमा मन्त्री नै किन नपरुन ।    

थप समाचार 

महिलाद्वारा नै महिलामाथी हिंसा

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले महिलाहरुले नै महिलामाथी हिंसा गर्ने गरेको बताएकी छिन् । 
‘सासुले बुहारीमाथी, बुहारीले सासुमाथी, सौताले सौतामाथी, नन्दले भाउजुमाथी, भाउजुले नन्दमाथी हिंसा गरिरहेका छन्’ नगर प्रमुख मलासीले भनिन् ‘महिला हिंसाका घटना न्यून गर्नका लागि महिलाहरुलाई सचेत गराउन जरुरी रहेको छ ।’ उनले आफु नगरपालिकाको प्रमुख भएर आएपछि नगरपालिकाको न्यायिक समितिमा लैङ्गिक हिंसा सम्वन्धि ४१ उजुरी गरेको जानकारी गराईन । लैङ्गिक हिंसामा परेका उजुरीहरुमा अधिकांश महिलाले महिलामाथी हिंसा गरेको आरोप रहेको मलासीले जानकारी दिईन । 
‘न्यायिक समितिमा परेका उजुरीहरुमध्ये २० जति किनारा लागेका छन्’ मलासीले भनिन् ‘महिला–महिलाबीच भएका हिंसाका घटनाका उजुरीहरु किनारा लगाउन पनि समस्या भएको छ ।’ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको पहिलो दिनको अवसर पारी अखिल नेपाल महिला संघ डोटीद्वारा आयोजना गरिएको ‘महिला हिंसा र न्यूनिकरणका उपाय’ बिषयक बहस कार्यक्रममा बोल्दै नगर प्रमुख मलासीले महिलाहरुलाई सचेत गराउनका लागि आफुले प्रत्येक वडामा अन्तरक्रिया कार्यक्रम गर्ने सोच वनाएको वताईन । उनले थपिनु ‘वडास्तरमा अन्तरक्रिया भईसकेपछि हिंसा पीडित महिलाहरु र सम्वन्धित सरोकारवालाहरुबीच नगरस्तरीय खुला बहस चलाउनेछौं ।’ 
कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव एवं पूर्व संबिधानसभा सदस्य गौरी ओलीले संबिधान र अन्य कानुनहरुमा महिलामाथी हुने भेद्भाव अन्त्य गर्ने व्यवस्था गरेको वताउँदै बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिईन । ‘कानुन त हामीले बनाएका छौं तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन भने कुनै अर्थ हुँदो रहेनछ’ ओलीले भनिन् ‘त्यसकारण कानुनको प्रभावकारी कार्यान्वयनका लागि दवाव दिनु आजको आवश्यकता हो ।’ 
नेपाल महिला संघकी केन्द्रीय सदस्य प्रशिस महराले महिलामाथी हुने हिंसा रोक्नका लागि महिलाहरुलाई आत्मनिर्भर बनाउनु पर्ने बताईन । ‘जवसम्म महिलाहरु आफ्ना सामान्य आवश्यकताहरुका लागि पनि पुरुषमा भर पर्नु पर्ने अवस्था रहन्छ तवसम्म महिला हिंसाका घटनाहरुमा कमी आउन गा¥हो छ’ महराले भनिन् ‘त्यसैले महिलाहरुलाई उत्पादनमुलक क्षेत्रमा जोड्नु जरुरी छ ।’

मृतकका परिवारलाई ३० हजार दिने निर्णय

बिहिवार डडेल्धुराको अमरगढी नगरपालिका–११, रडुवामा भएको से १ क २९३ नं. को बस दुर्घटनामा परि ज्यान गुमाउने नगरबासीका परिवारलाई जनही ३० हजार रुपैयाँ दिने शिखर नगरपालिकाले निर्णय   गरेको छ । 
नगरकार्यपालिकाको शनिवार बसेको आकास्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले उक्त घटनाम परी घाईते भएका शिखर नगरबासीहरुको उपचारमा सहयोग पु¥याउन जनही १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। यसैगरी मृतकप्रति शोक व्यक्त गर्न आईतवार नगरपालिकाभित्र रहेका सम्पूर्ण सरकारी एवं गैरसरकारी संस्थाका कार्यालयहरु बन्द गरिएको समेत शिखर नगरपालिकाका प्रेस सल्लाहकार योगेन्द्र बलायरले जानकारी दिए । उनले थपे ‘घाईतेहरुको अवस्था हेरे केही सहयोग रकममा थपघट गर्न सकिने गरि छलफल भएको छ ।’ 
उक्त घटनामा परि शिखर नगरपालिका–८ का कैलाश रावल, योगेन्द्र रावल र शारदा राउत, वडा नं. १० का रोहित बलायर र सागर बलायर र वडा नं. ११ का शंकर जोरा, गंगा भाट (जोरा), योगेन्द्र बोहरा र पदम बिकको मृत्यु भएको थियो । उक्त घटनामा नगरपालिकाका १० जना घाईते भएका छन् । 

बोगटानमा घुम्ती शिबिरबाट ७ सयले नागरिकता पाए

कर्ण चन्द/बोगटान
मंसिर ९
डोटीको बोगटान गाउँपालिकामा शुत्रवार देखि सञ्चालन भएको तीन दिने एकिकृत घुम्ती शिविरबाट सात सय ३३ जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् । 
बोगटान गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय डोटीले सञ्चालन गरेको एकिकृत घुम्ती शिबिरबाट सो संख्यामा नागरिकता बितरण भएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । शिबिरमा चार सय जनाले फोटो सहितको मतदाता नामावलीका लागि आफ्नो नाम दर्ता गराएको समेत पौडेलले बताए । 
शिविरमा राखिएको स्वास्थ्य परीक्षण क्याम्पमा एक सय ३१ जनाको स्वास्थ्य चेकजाँच गराए । यस्तै दुई सय २५ पशु स्वास्थ्य सेवा सम्बन्धिका सेवाहरु प्रदान गरिएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले वताए । शुक्रवार र शनिवारका लागि तय गरिएको उक्त शिविरमा सेवाग्राहीको चाप बढेपछि आईतवारका लागि थप गरिएको थियो । जिल्ला प्रशासन कार्यालय डोटीको तथ्याङ्क अनुसार हालसम्म सञ्चालन गरिएका शिविरहरुमध्ये यति ठुलो संख्यामा नागरिकता बितरण भएको यो पहिलो शिविर हो । 
नागरिकता लिनेहरुमा रोजगारीको शिलशिलामा भारत गएका पुरुष र गाउँमै बस्ने महिलाहरु रहेका छन् । मेलापर्बको समयमा घर आएकाले सहज रुपमा नागिरकता प्राप्त गरुन भन्ने उद्देश्यले यो शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गड्सिलाले वताए । 
शुक्रवार डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेलीले बोगटान गाउँपालिका(४ सातफरीका ७० बर्षीय भिम दमाईलाई नागरिकता हस्तान्तरण गर्र्दै शिविरको उद्घाटन गरेका थिए । स्थानीय तहको पुनर्संरचनापछि डोटीमा यो पहिलो घुम्ती शिविर हो । 
बोगटान गाउँपालिकाको केन्द्रबाट जिल्ला सदरमुकाम आउन ५६ किलोमिटर कच्ची बाटोको यात्रा पार गर्नु पर्ने हुन्छ । नागरिकताका लागि मात्रै जिल्ला सदरमुकाम आउँदा आफु र सनाखत बस्नेको खर्च जोड्दा करीव १० हजार पुग्ने गरेको स्थानीयहरु बताउँछन् । जिल्ला सदरमुकाम आएर नागरिकता लिनु पर्दा तीन दिन लाग्ने उनीहरुको भनाई छ । गाउँपालिकामै नागरिकता पाएपछि स्थानीय हर्षित भएका छन् । यस आधारमा स्थानीयको करीव ७० लाख बचत भएको छ । 

सरकारले लोकतन्त्रका मुलुभूत खम्वामाथी हमला ग¥यो

गणेश मौनी/दिपायल
मंसिर १०
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सरकारले लोकतन्त्रका मुलभूत खम्वामाथी हमला गरिरहेको आरोप लगाएकी छन् । 
‘सरकारले अपराधी, बलात्कारीलाई संरक्षण गर्नुका साथै लोकतन्त्रका मुलभूत खम्बामाथी हमला गर्नु हो’ सोमवार नेपाल प्रेस युनियन डोटीले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा संग्रौलाले भनिन् ‘बिधिको शासन नै लोकतन्त्रको मुलभूत खम्वा हो, जुन यो सरकारले भत्काईरहेको छ ।’ उनले थपिन् “सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपाली को  नारा निमर्ला पन्तको घटनाले नै दुःखी नेपालीमा परिणत गरेको छ ।” साउन १० गते कञ्चनपुरमा भएको निमर्ला हत्याको घटना सारा नेपालीहरुको लागि दुःखपूर्ण घटना भएको बताउँदै संग्रौलाले निर्मला हत्याका दोषीलाई कारबाही र पीडीतलाई क्षतिपुर्ति दिलाउन नेपाली काँग्रेस निश्पक्ष तरिकाले आवाज उठाईरहेको बताईन् । 
डा संग्रौलाले नेपाली कांग्रेस पाँच “स” को परिभाषाबाट अघाडी बढ्ने बताईन । ‘कांग्रेस अहिले प्रतिपक्षमा भएका बेला हामीले चा सको परिभाषालाई अबलम्बन गरेर अघाडी बढ्नु आजको आवश्यकता हो’ उनले भनिन् ‘त्यसपछि मात्र हामी आफैमा बलीयो हुन्छौं ।’ उनले पाँच ‘स’ मा सदन,सडक, संगठन, सत्याग्रह र सहमति–सहकार्य भएको बताईन । यदि कांग्रेसले पार्टीभित्र यी पाँच कुराहरुमा एकबद्ध भई अघाडी जान सके प्रतिपक्षसंग सहज तरिकाले प्रतिवाद गर्न सकिने उनको तर्क छ । “हामी पाँच ‘स’ मा एकताबद्ध हुन सके देश विकासका साझा मुद्धामा सहभागिता जनाउन सकिन्छ” उनले भनिन् ‘अब कांग्रेस गुटगत राजनीतिबाट माथी उठेर अगाडी बढ्छ ।’ 

टेक्टर दुर्घटनामा परी एकको मृत्यु 

रोजेन्द्र जोशी/डोटी
मंसिर १०
डोटीको केआई सिंह गाँउपालिका–३ बासुदेवीमा टेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
जिल्ला प्रहरी कार्यालय डोटीका  प्रहरी नायव उपरीक्षक लाल वहादुर धामीले दिएको जानकारी अनुसार केआई सिंह गाँउपालिकाको अनयावागाडबाट देउरडीका लागी ढुङ्गा वोकेर गएको से १ त ६६४९ नम्वरको ट्याक्टर दुर्घटनामा के आई सिंह गाउँपालिका–३ का ३४ बर्षीय पारस भनिने घश्याम मल्ल मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाईते भएका छन् । घाईते हुनेमा ३२ बर्षीय मीन बम र १९ बर्षीय भुपेन्द्र बम रहेका छन् । घाईतहरुलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याईएको गरेको प्रहरी नायव उपरीक्षक धामीले वताए ।
टेक्टरमा ६ जना रहेका थिए । अन्य तीन जना सामान्य रहेका स्थानीयले जानकारी दिएका छन् । घटना स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय उद्दारमा गरिरहेको बताईएको छ । यो समाचार तयार पार्दासम्म दुर्घटनाको कारणबारे खुल्न सकेको छैन ।  

प्रदेश सरकारको बजेट १ प्रतिशत मात्रै खर्च

सुदूरपश्चिम प्रदेश सरकारको विकास बजेटको एक प्रतशित पनि खर्च गर्न सकेको छैन । 
पहिलो चौमासिकमा तलब, भत्ता जस्ता प्रशासनिक कार्यमा खर्च हुने चालू बजेट करीव तीन प्रतिशत खर्च गरेको सुदूरपश्चिम सरकारले पूँजीगत बजेट ०. १८ प्रतिशत मात्रै खर्च गरेको छ । सरकारले साउनदेखि कात्तिकसम्म विकास बजेट जम्मा दुई करोड नौ लाख ६४ हजार तीन सय ६२ रुपैयाँमात्रै खर्च गर्न सकेको छ । जबकी, यही अवधिमा चालू बजेट भने ३९ करोड ५२ लाख १३ हजार चार सय ८० रुपैया प्रदेश सरकारले निकासा लिएको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीले जानकारी दिएको छ ।
लेखा अधिकृत यज्ञराज पाण्डेयका अनुसार चालू र पूँजीगत गरी पहिलो चौमासिकमा कुल ४१ करोड ६१ लाख ४७ हजार आठ सय ४२ रुपैयाँ बजेट खर्च भएको छ । जुन, खर्च प्रगति जम्मा बजेटको १ दशमलव ७० प्रतिशतमात्रै हुन आउँछ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २४ अर्ब ४२ करोड ९८ लाख २२ हजार रुपैया बजेट विनियोजन गरेको छ । प्रथम चौमासिकमा चालू बजेटको तुलनामा पूँजीगत बजेट खर्च प्रगति सबै मन्त्रालयमा सन्तोषजनक देखिदैन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालूतर्फ एक करोड ५७ लाख १७ हजार ६ सय २६, पूँजीगततर्फ ४५ लाख ४९ हजार ५ सय १३ बजेट खर्च गरेको छ ।

हिंसा रोक्न महिलाहरुनै सचेत हुनु पर्ने

महिला हिंसा रोक्नका लागि महिलाहरु स्वयं सक्रिय हुनु पर्ने सरोकारवालाहरुले वताएका छन् । 
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले सोमवार आयोजना गरेको महिलाका बिभिन्न सवालहरुमा “सार्वजनकि परामर्श” कार्यक्रमका सहभागि सरोकारवालाहरुले सो कुरा बताएका हुन । रेडियो नेपाल, प्रदेश प्रसारण केन्द्र दिपायलका प्रमुख बिल चौधरीले भने ‘छाउपडीकै सवालमा भन्दा महिलाहरु आफु हिडेको बाटोमा पनि सुनपानी छर्कन्छन्, त्यो मानसिकताले छाउपडी प्रथाको बिरोध गरेर के पाईदा ?’ 
जिल्ला प्रहरी कार्यायल डोटीका प्रहरी निरीक्षक नृपवहादुर बोहराले पढेलेखेका महिलाहरु नै हिंसामा पर्ने गरेको बताए । प्रहरीमा आफु हिंसामा परेको भन्ने उजुरी आउनेमा राम्रै योग्यता भएकाहरु समेत हुने गरेको उनले जानकारी दिए । 
कार्यक्रममा सञ्चारको दुरुपयोग भएका कारण पनि महिला हिंसाका घटनाहरु बढेको  जिल्ला समन्वय समिति प्रमुख सशी सोवले बताईन । महिलामाथी हुने हिंसाका सवालमा सरोकारवालाहरु सवै एकजुट हुनु पर्ने उनको भनाई छ । 
कार्यक्रममा रुडुककी जिल्ला संयोजक खेमा जोशीले डोटी जिल्लामा देखिएका महिलाहरुका सवालहरुको जानकारी गराएकी थिईन । उनले आफुहरुले कार्य क्षेत्रमा काम गर्दा यस्ता सवालहरु देखा परेको बताईन ।  

बादी समुदायका लागि जग्गा खोज्दै नगरपालिका

नगर क्षेत्रभित्र रहेका बादी समुदायको व्यवस्थित बसोवास गर्ने उद्देश्यका साथ दिपायल सिलगढी नगरपालिकाले जग्गाको खोजी गरिरहेको छ । 
नगरपालिकाभित्र बसोवास गर्दै आएका तर आफ्नो घर जग्गा केही पनि नभएका भूमिहिन बादी समुदायका लागि जग्गा खरीद गरि घर बनाउने योजना   रहेको नगर प्रमुख मञ्जु मलासीले   बताईन । ‘भूमिहिन बादी समुदायको व्यवस्थापन गर्नमा समस्या छ’ मलासीले भनिन् ‘उनीहरुको बसोबासलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भईरहेको छ ।’ उनले नगरपालिकाले जमिन खरीद गरिदिने र नेपाल सरकारको जनता आवास कार्यक्रम  अन्तरगत भवन निर्माण गर्ने गरी प्रयास भईरहेको बताईन । 
जमिन खरीद गर्नका लागि एक÷दुई ठाउँमा जमिन हेरेर कुराकानी भईरहेको मलासीले बताईन । ‘उनीहरु दैनिक ज्यालादारी गरेर खान्छन्, त्यसैले शहर भन्दा टाढा राख्न पनि समस्या छ’ मलासीले भनिन् ‘शहर नजिक जमिन धेरै महङ्गो  छ ।’   
दिपायल सिलगढी नगरपालिका–४ सेती प्राबिधिक शिक्षालय नजिकै प्रति जमिनमा अस्थायी कटेरो वनाएर बस्दै आएका सात बादी परिवारले सुरक्षित स्थानमा जग्गा खरीद गरि उचित आवासको व्यवस्थापन गर्दै बिहिवार दिएको ज्ञापन पत्र बुझ्ने क्रममा नगर प्रमुख मलासीले सो जानकारी दिएकी हुन । याक नेपाल, धनगढी र खाद्य अधिकार सञ्जाल डोटीको पहलमा बुझाईएको ज्ञापन पत्रमा आफुहरुलाई उचित आवासको व्यवस्थापन गर्नु पर्ने, बालबालिकाहरुलाई शिक्षाको व्यवस्था गर्नु पर्ने, जिविकोपार्जनका लागि सीपमुलक तालिमको व्यवस्था गरिनु पर्ने, बादी समुदायका अपाङ्गता भएका व्यक्तिहरुलाई बिशेष व्यवस्था गरिनु पर्ने माग गरिएको छ ।
आफुहरु पुस्तौंदेखि मनोरञ्जनका लागि नाँच्ने गाउने, मादल बनाउने, माटाका भाँडा बनाउने जस्ता कार्यबाट जीवन निर्वाह गर्दै आएको तर समाज आधुनिकीकरणतिर जाँदा आफ्नो पेशा संकटमा परेको ज्ञापन पत्रमा उल्लेख छ । डोटी जिल्लामा एक सय चार परिवार बादी समुदायको रहेको ज्ञापन पत्रमा उल्लेख छ । 

खेल समाचार 

डिपिएल प्रतियोगिता निर्देशकमा बिनोद

माघ १९ देखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुन तेश्रो रुस्लान डिपिएल क्रिकेट प्रतियोगताको निर्देशकमा बिनोद दास नियुक्त भएका छन । 
यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक दास रुस्लान धनगढी प्रिमियर लिग         (डीपीएल) को तेस्रो संस्करणको प्रतियोगिता निर्देशकमा नियुक्त भएका हुन् । प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले दासलाई प्रतियोगिता निर्देशक नियुक्त गरेको जानकारी दिएको छ । देशभरका ६ वटा टोलीको सहभागिता रहने प्रतियोगितामा दासको अनुभव र निर्देशनले थप उचाई लिने विश्वास व्यक्त आयोजक पक्षले गरेको छ ।
तेस्रो रुस्लान डिपिएलमा टिम चौराह धनगढी, सीवाईसी अत्तरिया, रूपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाण्डौं गोल्डेन्स र विराटनगर किंग्स टोलीलाई प्राथमिकता दिइने जनाइएको छ ।
डीपीएलका प्रत्येक टिममा १५ जना खेलाडी हुने र प्रत्येक टिममा दुई जना विदेशी खेलाडी तथा धनगढीमा आयोजना हुने ट्यालेन्ट हन्टबाट छनोट हुने सुदूरपश्चिमका एक खेलाडी अनिवार्य रूपमा समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइने जनाइएको छ ।
टी–२० को आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । लिग चरणमा प्रत्येक टिमले अरू टिमसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्ने छ ।
डिपिएलको संस्करणको मुख्य प्रायोजक रुस्लान रहने छ । आगामी तीन वर्षका लागि रुस्लानले डीसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको छ । सम्झौता अनुसार प्रत्येक वर्ष सम्झौता रकममा बृद्धि हुनेछ । विजय डिस्टिलरी र डीसिएबीच मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताल पत्रमा विजय डिस्टिलरीका मुख्य फाइनान्स अधिकृत सतीस कर्ण र डीसिएका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मुख्य प्रायोजक विजय डिस्टलरीले तेस्रो संस्करणका लागि नगद र जिन्सी गरी एक करोड १० लाख रुपैयाँ प्रदान गर्ने छ ।

पारा तेक्वान्दो टोली भारत प्रस्थान

प्रथम पारा अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार भारतको देहरादुन प्रस्थान गरेको छ ।
मंसिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द्र थापा, सोमबहादुर सुनुवार, दिपेश महत र विक्रम श्रेष्ठले आ–आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । महिलामा पलेशा गोबरधन र रञ्जना धामीले भाग लिने छन् । टोली नेतामा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, व्यवस्थापकमा तेक्वान्दो संघका सचिव दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।
टोलीलाई नेपाल तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष सन्जिव रेग्मी, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले एक कार्यक्रमबीच सोमबारै बिदाइ गरे । यो प्रतियोगिता खेलाडीका लागि अन्य अन्तराष्ट्रिय प्रतियोगिताका लागि अनुभव बटुल्ने अवसर सावित हुने संघले जनाएको छ ।

चलचित्र/मनोरञ्जन 

प्रेममा छन् अनमोल र सारा

 फिल्मी खवर
अभिनेत्री सारा सिर्पालीको सुन्दरता र अभिनयको खुबै प्रशंसा हुने गर्छ । अभिनेता निखिल उप्रेतीको जोडी भएर उनले फिल्म ‘रुद्र’ बाट डेब्यु गरेकी साकाका दुबै फिल्म बक्स अफिसमा असफल भए । 
एक्सन स्टारसँग काम गरेर पनि सफलताबाट बञ्चित भएकी उनी यही मंसिर २८ गते फिल्म ‘सुश्री सम्पत्ति’ मार्फत करीब एक वर्षपछि पर्दामा देखिँदैछिन् । यसपटक निखिल नभई उनका लागि लड्ने दुई हिरो छन् सलोन बस्नेत र विनोद न्यौपाने । सुव्रत आचार्यले फिल्म निर्देशन गरेका हुन् । फिल्मलाई कमेडीप्रधान बताइएको छ । 
तेस्रो फिल्म रिलिजको संघारमा रहँदै गर्दा उनलाई डर र उत्साह दुवै रहेछ । भन्छिन् ‘फिल्म कस्तो होला भन्ने डर एकातिर छ भने एक वर्षपछि दर्शक भेट्न पाउँदै छु भन्ने कुराले उत्साहित पनि छु ।’ उनी ‘सुश्री सम्पत्ति’ आफ्नो सुखद फिल्मी करिअरका लागि चल्नै पर्ने बताउँछिन् । उनले आफ्नो भूमिका बारे भने बताउन चाहिनन् । 
फिल्मका कारण चर्चामा रहेकी साराको केही महिनादेखि ’लभ लाइफ’ को विषय पनि ’एक कान, दुई कान हुँदै मैदान’ हुन थालेको छ ।  उनी अहिले अभिनेता अनमोल केसीसँग प्रेममा रहेको सिनेवृतमा चर्चा छ ।

बिश्व किर्तिमानीका लागि नृत्य

१७ वर्षीय बन्दना नेपालले बिश्व किर्तिमानीका लागि नाच्न सुरु गरेकी   छिन् । 
गिनिज बुक वल्र्ड रेकर्डमा नाम  राख्ने उद्देश्यसहित बन्दना शुक्रवारदेखि नाच्न थालेकी हुन । धनकुटा महालक्ष्मी नगरपालिका–९ मूर्तिढुंगाका बन्दना अहिले  बत्तिसपुतली स्थित विगफुडल्यान्डमा नाचिरहेकी छिन् । हालसम्म गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ । 
यो समाचार तयार गर्दासम्म बन्दनाको नाच्ने क्रम जारी रहेकोले सोही समयसम्म नाचेर नेपाल विश्वसामु चिनाउने विश्वास लिएको नेपाल फाउन्डेसनका सह संयोजक सन्तोष लामाले  बताए । लामाका अनुसार अहिलेसम्म उनको स्वास्थ्यमा केही असर देखिएको छैन् । उनको स्वास्थ्य सुरक्षाको लागि डाक्टरहरू समेत ल्याइएको छ । उनले थप ब्रेक समय भने मागेकी छन् । ४÷४ घण्टाको समयमा ५ मिनेट मात्रै बिसाउन पाउने पहिले नियम रहेपनि अहिले भने उनले १० मिनेट आराम गर्न पाउने    छिन् । 
लगातार एक सय २६ घण्टा नाचेर गिनिज बुक अफ वल्र्ड रेर्कड राख्ने बन्दनाको लक्ष्य छ । भारतीकी हेमालथाले  २०१० मा एक सय २३ घण्टा १५ मिनेट नाचेर गिनिज बुक अफ वल्र्ड रेर्कडमा नाम राखेकी थिइन् । बन्दनाले यो रेकर्ड ब्रेक गर्न १२ गतेको दिउँसो करिब ४ बजेसम्म नाच्नु पर्ने छ । अर्थात् उनले  ६ दिन नाच्ने छिन् । अहिलेसम्म उनले ३ दिन नाचेकी छिन् ।
उर्जा मन्त्री बर्षमान पुन र पर्यटन तथा संस्कृत मन्त्री रविन्द्र अधिकारीको आतिथ्यमा समुद्घाटन गरेपश्चात गत शुक्रबार विहान ९ बजेबाट नाचेकी   थिइन् । नेपाली भेषमा नृत्य गरेकी नेपालले अहिले लोप हुँदैँ गरेका नेपाली मौलिक गीतमा मात्रै नाच्ने आएकी छिन् ।

लेख 

ति केपी ओली र यि केपी ओली

रामहरी ओझा 
प्रतिनिधि सभाका दुई तिहाई सदस्यहरुको समर्थनमा बनेको बर्तमान “बामपन्थी” सरकारले आफ्नो कार्यकालको नौ महिने अवधी कटाएपछि नेपालको राजनीतिक बृत्तमा एक पटक सरकारको बिषयमा चर्चा परिचर्चा चुलिएको छ । २०४७ सालको राजनीतिक  परिवर्तनपछि  २०४८ र २०५६ सालमा संसदमा स्पष्ट बहुमत हुँदाहुँदै पनि आवधिक सरकार नपाएको देशले २०५१, २०७० र २०७४ को निर्वाचनबाट बनेका संसदहरुबाट आवधिक सरकार पाउने सम्भावनै थिएन । भयो पनि त्यस्तै । 
तर, २०७४ सालको निर्वाचनबाट तत्कालीन “बाम” गठवन्धनले प्रष्ट बहुमत पायो । उक्त अवस्थालाई दुईतिहाईमा पु¥याउनका लागि अन्य दलहरुले पनि सहयोग गरे । अंक गणितीय हिसावमा २०४७ सालको  परिवर्तनपछिको पहिलो शक्तिशाली सरकार बन्न पुग्यो बर्तमान सरकार । 
जसरी सरकार दुईतिहाईको समर्थनमा बन्यो, त्यसरीनै देश आमुल परिवर्तनको दिशाँमा अगाडी बढ्दा, विकासले गति लेला, ‘व्यूरोक््रयाट्स’ को कार्यशैलीमा परिवर्तन आउला, सुशासन कायम होला, भ्रष्टाचारको अन्त्य होला, राजनीतिक स्थिरता होला, जनताले आधारभूत आवश्यकताहरुको निर्वाध रुपमा परिपुर्ति गर्न पाउँलान, बिधिको शासन स्थापना होला, सामाजिक न्याय होला भन्ने अनुमान गरिएको थियो, यो नौ महिनाको शासनकाल हेर्दा जनतालाई निराशा बाहेक अरु केही पनि दिन सकेन सरकारले । जुन कुरा बुधवार सरकार स्वयंको समिक्षाले पनि पुष्ठी गर्दछ । अव सरकारको नौ महिनाको शासनकाला सुखद् रहेन भन्ने कुरा पुष्ठी गर्नका लागि थप शव्दहरु खर्च गरिरहनु जरुरी छैन । 
नेपाली राजनीतिकर्मीहरुको चरित्रबाट अभ्यस्त भईसकेका नेपाली जनता नेपालमा राजनीतिक स्थिरता आउने र सुशासन कायम भई समृद्ध नेपाल बन्ने कुरामा हत्तै विश्वास गर्ने अवस्था छैन तर पनि २०७४ साल फागुन ३ गते गठन भएको बर्तमान सरकारसंग जनताले अलि बढी नै बिश्वास गरे । त्यसका पछाडी दुई कारण छन् ।

पहिलो कारण, “बाम” वा “कम्युनिष्ट” भन्नेहरुको पूर्ण बहुमत र दुई तिहाईको समर्थन हो । संसद्मा पूर्ण बहुमत भएको दलले पाँच बर्षे अवधी पुरा गर्ला भन्ने बिश्वास जनतामा थियो र छ पनि । यद्यपी २०४८ र २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको सुविधाजनक बहुमत त्यसै खेर गयो । पार्टीभित्रैको लुछाचुँडीले दुवै पटक मध्यावधी निर्वाचन गराउनु पर्ने अवस्था सृजना भयो । ०५९ मा मध्यावधीको लागि गरिएको सिफारिसले त झन सक्रिय राजतन्त्र पुनस्र्थापित ग¥यो । तर, यो बिचमा नेताहरुले धेरै कुरा सिकेको हुनु पर्छ र अव त्यसो नगर्लान भन्ने आश जनतामा थियो । त्यसैमाथी दुई तिहाईको समर्थन भएपछि त सरकारलाई नीति निर्माण र निर्णय प्रक्रियामा कुनै समस्या आउने छैन र द्रुत गतिमा अगाडी बढ्नेछ भन्ने आम अपेक्षा थियो । 
दोश्रो कारण सरकार प्रमुख अर्थात प्रधानमन्त्री के पी ओलीप्रतिको बिश्वास हो । झापा बिद्रोहदेखि नेपाली राजनीतिक सक्रिय हिस्सा बन्दै आएका के पी ओली भलै पदीय प्रतिस्पर्धामा पार्टीभित्र र संसदीय चुनावमा हारेका पनि छन् तर उनी असफल छैनन् । सामन्ती शासन ढाल्ने र जनताको शासन स्थापना गर्ने जोसका साथ १९÷२० बर्षको कलिलै उमेरमा सशस्त्र बिद्रोहमा लागेका ओलीले मुक्तिको सपना पुगा गर्ने सिलसिलामै आफ्नो जीवनमा उर्वरक १४ बर्ष काल कोठारीमा बिताए । खुला राजनीतिमा आईसकेपछि पनि उनी राजनीतिक रुपमा सधैं चर्चामा रहिरहे । तत्कालीन एमालेको पाँचौं महाधिवेशनबाट “जनताको बहुदलीय जनबादी” कार्यक्रम पारित हुँदा मदन भण्डारीका दाहिने हात भएर उभिएका ओली त्यही जनताको बहुदलीय जनबादी कार्यक्रमलाई एमालेको सिद्धान्त बनाउन सफल भए । यद्यपी पूर्व एमालेभित्र अहिले पनि जनताको बहुदलीय जनतावाद सिद्धान्त होईन, जनबादी कार्यक्रम मात्रै भन्नेहरुको ठुलो जमात छ तर ओली र ओली पक्षको पहलमा महाधिवेशनले नै जनताको बहुदलीय जनबादलाई सिद्धान्त स्वीकार ग¥यो । अहिले बनेको “नेकपा” ले पनि जवजलाई सिद्धान्तकै रुपमा स्वीकार गर्ने संकेत देखा परेको छ । 
उनी पार्टीभित्र बहुपदीय प्रणालीका पक्षमा थिए अर्थात आन्तरिक लोकतन्त्रको पक्षमा थिए । उनले सातौं महाधिवेशनमा बहुपदीय प्रणालीमा जानु पर्ने प्रस्तावै लगे तर त्यतिबेला त्यो अस्वीकृत भयो । त्यही बहुपदीय प्रणालीको प्रस्ताव उनले आठौं महाधिवेशनबाट पारित गराई छाडे । मदन भण्डारीको निधनपछि पार्टी प्रमुखको दावी गर्दै आएका कमरेड ओली आठौं महाधिवेशनमा आएर सफल भए । उनी पार्टी सत्तामा पुगेका बेला पार्टीले तीनै तहको निर्वाचनमा महत्वपूर्ण सफलता प्राप्त ग¥यो र दुई ‘बाम’ हरुबीच एकीकरण पनि भयो । यो उनको अर्को ठुलो सफलता हो । यसकारण जनताले उनीप्रति बिश्वास गरेका हुन ।  
पार्टीभित्रको सफलतासंगै सत्ता सञ्चालनको अभ्यासमा पनि सफल व्यक्ति हुन उनी । २०५१ सालमा पहिलो पटक गठन भएको कम्युनिष्ट सरकारका उनी गृहमन्त्री हुन, जुन सरकारले गरेका कामहरुको व्याज पूर्व एमालेले अहिलेसम्म खायो र खाँदै पनि छ । नौ महिनाको अवधीमा उनी गृहमन्त्री हुँदा कुनै एक जनाले पनि प्रहरीको गोलीबाट ज्यान गुमाउनु परेन । गम्भिर प्रकृतिका अपराधका धटनाहरु धेरै कम भए । उनी आफु कुनै पनि बिवादमा आएनन् । आफु लामो समयसम्म जेल जीवन बिताएकाले होला उनले बिभिन्न जेलहरुका अनुगमन गरे र सुधारका लागि पहल पनि गरे । छोटो अवधीमा धेरै कुरा गर्न सक्ने ठाउँ त थिएन तर पनि त्यो सरकारका साथसाथै उनी पनि सफल भए ।
२०६२/०६३ को जनआन्दोलनपछि उनी उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री भए । यद्यपी त्यो सरकारले त्यति धेरै लोकप्रिय काम गर्न सकेन तर त्यो सरकारका मन्त्रीहरु बिवादित भए, आलोचित भए । ओली भने आफुलाई बचाउन सफल भए । उनलाई कुनै पनि प्रकारको आरोप लागेन । 
२०७२ साल असोज ३ गते नयाँ संबिधान जारी भईसकेपछि उनी असोज २४ गते नेपालका ३८ औं प्रधानमन्त्री भए । पहिलो पटक उनी त्यो कुर्चीमा पुग्दा काँडैकाँडा थिए । आफ्नो चाहाना अनुसारको नयाँ संबिधान जारी नभएको भन्दै भारतले गरेको नाकाबन्दी जारी थियो । आफ्ना मुद्धाहरु संबिधानमा नसमेटिएको भन्दै तराई मधेश लगायत देशका बिभिन्न स्थानहरुमा आन्दोलन, चक्काजाम, हड्ताल जारी थियो । जनताले दैनिक उपभोग्य बस्तुहरुको प्रयोग गर्न पाईरहेका थिएनन्, भोकभोकै बस्नु पर्ने अवस्था थियो । ओलीले सपना देखाए, राष्ट्रबादको सपना । उनको त्यो सपनालाई जनताले साथ दिए । उनी नाकाबन्दीको दलदलमा फसेको देशलाई साधारण अवस्थामा ल्याउन सफल भए । बिभिन्न समूहले चलाएका आन्दोलनहरु केही समयका लागि भएपनि मथ्थर गर्न सफल भए । उनले भारतमै गएर भारतले नाकावन्दी गरेको हो भन्ने साहस राखे, नेपालको अहित हुने कुनै काम गरेनन् । चिनसंगको सम्वन्धलाई मजबुद् वनाए, बिदेशमा मारिएका नेपालीहरुको शव नेपाल ल्याउन चासो देखाए, काठमाण्डौं तराई द्रुत मार्ग आफ्नै लगानीमा बनाउने अडान राखे, अन्य अन्य । उनले सवैभन्दा ठुलो काम जनतामा सपना देखाए । 
०५१ को अल्पमतको सरकार होस्, ०६४ र ०७२ का संयुक्त सरकार, उनी सफल नै भए । उनले जनताबाट गाली खानु परेन, ताली नै पाए । 
तर, अहिलेको दुई तिहाई बहुमतको सरकार चलाउँदा यो नौ महिने अवधीमा उनले आशलाग्दा कुनै पनि काम गर्न सकेनन् । आश लाग्दा काम मात्रै होईन जनतालाई निराशातिर जानबाट रोक्ने गरि पनि उनले कुनै सपना बाँड्न सकेनन् । सरकारले राम्रा काम ग¥यो भन्ने पक्षमा उनका समर्थकहरुले लामै फेरिस्ता तयार गर्न सक्लान तर जनताले महसुश गर्ने गरी के भयो त ? १, २, ३ सम्म बुँदागत रुपमा भन्ने हिम्मत न त स्वयं के पी ओलीसंग छ त उनका सहयोगी र समर्थकहरुसंग छ । 
‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा वडा गज्जवको छ तर यो नारा साकार हुने गरी सरकारका काम कारवाही अगाडी बढाउन ओलीको जोर बल पुगेन । दुई तिहाईको सरकार छ, स्थानीय तहमा कर्मचारी जान मानेका छैनन् । जनता भन्दा ठुला कर्मचारी हुन सक्दैनन्, कर्मचारी सरकारको निर्देशनमा चल्नु पर्छ । निर्देशन नमान्ने कर्मचारीलाई स–सम्मान बिदाई गर्नतिर सरकार अग्रसर हुनु जरुरी छ तर सरकार यो हिम्मत गर्दैन, असफल भयो । सिण्डिकेट अन्त्य गर्ने कुरा ल्यायो, त्यसमा पनि असफल भयो, लापरवाही गर्ने ठेकेदारहरुलाई कारवाही गर्ने भन्यो, त्यसमा पनि असफल भयो । 
भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गएको छ । स्वयं ओली पार्टीका कार्यकर्ताहरु समेत भ्रष्टाचारमा चुर्लुम्मै छन् । सरकारले भ्रष्टाचार बिरुद्ध कुनै ‘एक्सन’ लिन सक्दैन । अपराध बढेको बढेई छ, स्वयं प्रहरी पनि अपराधमा संलग्न भएको खवर आउँछ तर नियन्त्रणको प्रभावकारी काम हुन सकेको छैन । बिहान घरबाट निस्केको व्यक्ति साँझ सुरोपुरो घर पुग्छ भन्ने कुनै ग्यारेण्टी छैन । अपराध हुन्छ, अपराधी पत्ता लाग्दैन । हत्या र आत्महत्याका घटनाहरु बढ्दै गएका छन्, बलात्कार, चोरीका घटना उस्तै छन् । प्रहरी र प्रहरीको अनुसन्धानप्रति अविश्वास बढ्दै गएको छ । न्याय पाउन हड्ताल गर्नु पर्ने, अनसन बस्नु पर्ने, नाङ्गै प्रदर्शन गर्नु पर्ने अवस्था आएको छ । यस बिषयमा पनि ओली असफल देखिए । 
ईतिहास हेर्दा के पी ओली आफैमा खराव होईनन् । उनले व्यक्तिगत स्वार्थ पुरा गर्न अनेक तिग्डम् गरेको पनि देखिदैन । ०२३ सालदेखि राजनीतिक यात्रा सुरु गर्दा देखि २०७४ साल फागुन ३ गते दोश्रो पटक प्रधानमन्त्रीको कुर्चीमा बस्दासम्मका के पी ओली र त्यसपछिको नौ महिने अवधीका के पी एउटै हुन त ? भन्ने जिज्ञासा आउनु स्वभाविकै हो । त्यसकारण ओली आफैले र उनका सहयोगीहरुले समिक्षा मात्रै होईन आत्मसमिक्षा गर्नु जरुरी छ । अन्यथा जनतामा बढ्दै गएको निराशाले उग्र रुप लिनेछ र अन्ततः जनता फेरी संगठित रुपमा सडकमा आउन बाध्य हुनेछन् । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. आप्रबासी श्रमिकहरुको साझा संगठन कोलोम्वो प्रासेसका उच्च अधिकारीहरुको पाँचौं बैठक काठमाण्डौंमा कहिले सम्पन्न भयो ?   — बि.सं. २०७५ कात्तिक २९–३० 
२. वल्र्ड ट्वाईलेट डे अर्थात् बिश्व चर्पी दिवस कहिले मनाईन्छ ?  — नोभेम्वर १९ 
(सन २०१८ को नारा चर्पी(हाम्रो प्राकृतिक आवश्यकता) 
३. जैविक तथा बैयक्तिक विवरणसहितको राष्ट्रिय परिचय पत्र कहिलेदेखि बितरण गर्न थालिएको हो ? 
— बि.संं. २०७५ मंसिर ३ 
(गृहमन्त्री रामवहादुर थापा बादलले मंसिर ३ मा फिदिम नगरपालिका वडा नं. ४ कि १०१ बर्षीया भगवती भण्डारलाई परिचय पत्र प्रदान गरेसंगै बितरण प्रारम्भ भएको हो । आफुले पाएपछि जेष्ठ नागरिक भगवतीले आफ्नो हातले गृहमन्त्री थापालाई परिचयपत्र प्रदान गर्नु भएको हो । पााचथर जिल्लाका एक लाख १० हजार नागरिक र सिंहदरवारमा कार्यरत सात हजार कर्मचारीलाई पहिलो    चरणमा परिचय पत्र वितरण गरिने कार्यक्रम रहेको छ । पहिलो पटक आ.व. २०६६÷०६७ को सरकारको बार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी जैविक तथा बैयक्तिक विवरण सहितको राष्ट्रिय परिचय पत्र उपलव्ध गराउने योजना उल्लेख गरिएको छ । २०६७ साल असार १६ गतेको मन्त्रीपरिषद्को निर्णयबाट यसका लागि राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र स्थापना गरी कार्य सुरु भएको थियो । पहिलो चरणको काम सकिएपछि दोश्रो चरणमा १५ जिल्लाहरु, तेश्रो चरणमा २५ जिल्ला र चौथो चरणमा ३६ जिल्लामा यो परिचय पत्र वितरण गर्ने लक्ष रहेको छ । राष्ट्रिय परिचय पत्र प्रयोगमा आएसंगै, नागरिकता, सवारी चालक अनुमतिपत्र र मतदाता परिचय पत्रको काम एउटै       राष्ट्रिय परिचयपत्रले गर्नेछ । चिप्ससहितको यो परिचय पत्रमा सम्वन्धित व्यक्तिको तस्वीर, हातका १० ओटै औलाको छाप, अनुहार तथा आँखाको माईक्रो स्क्यान, राजदानी, जमिनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोवारको विवरण लगायतका सूचना रहनेछन् । नेपालको प्रशाससनिक ईतिहासमा नै यो सूचना प्रबिधिमा आधारित नयाँ फड्को भएको मानिएको छ । यसले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न समेत सहयोग पुग्ने बिश्वास लिईएको छ । एउटै सोमा भएका सूचनाहरु चुहावट हुने, दुरुपयोग हुने लगायतका चुनौती रहने भएकाले व्यक्तिगत विवरणको सुरक्षा राज्यले आवश्यक सतर्कता अपनाउनु पर्ने विज्ञहरुको धारणा रहेको छ । 
४. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को शिखर बैठक सन २०१८ नोभेम्वरमा कहाँ सम्पन्न   भयो ?   — पोर्ट मोर्सवी, पपुवान्युगिनी 
(नोभेम्वर १७ र १८ मा सम्पन्न सो बैठकमा एपेकमा २१ सदस्य राष्ट्रका सरकार प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागि बिश्वका दुई महाशक्ति राष्ट्रहरु चीन र अमेरिकाबीच उत्पन्न मतभेद्का कारण एपेक स्थापनाको २९ बर्षमा पहिलो पटक नेताहरुले संयुक्त घोषणापत्र सार्वजनिक गर्न नसकेको वताईएको छ ।) 
५. एसिया–ओसिनिया कम्प्युटिङ अर्गनाईजेसनद्वारा प्रदान गरिएको डिजिटल गभर्नमेण्ट अवार्ड–२०१८ बाट पुरस्कृत नेपालको सुरक्षा निकाय कुन हो ?   — नेपाल प्रहरी 
(सूचना प्रबिधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकार िसंस्थालाई जापानस्थित एसियन ओसिनियन कम्प्युटिङ ईन्टस्ट्री अर्गनाईसेनसद्वारा प्रदान गरिने एसओसिआईओ–२०१८ डिजिटल गभर्नमेण्ट अवार्ड नेपाल प्रहरीले प्राप्त गर्न सफल भएको हो । उक्त संस्थाले हरेक बर्ष एसओसिआईओ आउट स्ट्याण्डिङ कम्पनी, आउटस्ट्याण्डिङ युजर अर्गनाईजेसन, डिजिटल गभर्नमेण्ट र आईसिटी एजुकेसन गरी चार बिधामा अवार्ड प्रदान गर्ने गरेको थियो ।) 
६. श्रीलंकाको संसद्ले नवनियुक्त प्रधानमन्त्री महिन्द्रा राजापाक्षे बिरुद्ध अविश्वासको प्रस्ताव कहिले   पारित गरेको हो ?    — सन २०१८ नोभेम्वर १४ 
(राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई सर्वोच्च अदालतले नोभेम्वर १३ मा पुनःस्थापना गर्न अन्तरिम आदेश दिएको भोलिपल्ट संसदले राजापाक्षेबिरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको थियो । राष्ट्रपति सिरिसेनाले सन् २०१८ अक्टोवर २६ मा प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्द्र राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । संसदमा राजापाक्षेले बहुमत जुटाउन नसक्ने देखेपछि राष्ट्रपतिले नोभेम्वर ९ मा संसद् भङ्ग गर्दै आगामी जनवरी ५ मा आम चुनाव घोषणा गरेका थिए । उक्त निर्वाचन रोक्न पनि अदालतले अन्तरीम आदेश दिएको छ ।)
७. नेपालमा पहिलो पटक बुद्धको जन्मभूमि लुम्विनीमा अन्तराष्ट्रिय त्रिपिटक बाचन कार्यक्रम कहिले सम्पन्न भयो ?   — बि.सं. २०७५ कात्तिक २८–३०
८. सामाचकेवा पर्व कहिले मनाईन्छ ?   — कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म 
९. कर्मचारी सञ्चय कोषले आफ्ना बचतकर्तालाई घातक रोगको उपचारका लागि कति रुपैयाँ स्वास्य विमा गरिदिने भएको छ ?   — १० लाख रुपैयाँ 
(आफ्ना बचतकर्तालाई औषधी उपचारमा एक लाख रु घातक रोगको उपचारका लागि १० लाख रुपैयाँसम् बिमा गरिदिने भएको छ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडसंगको सहकार्यमा कोषले यस्तो बिमा सुबिधा उपलव्ध गराउने भएको छ । कोषको नयाँ स्वास्थ्य बिमासम्वन्धी सुबिधा निजामति, सेना, प्रहरी, शिक्षक तथा यसमा नियमित ६ महिनादेखि बचत गर्र्दै आएका नीजि क्षेत्रका बचतकर्तालाई उपलव्ध हुने कोषले जनाएको छ । त्यस्तै अवकाश भएर पनि आफ्नो कोषबाट पैसा फिर्ता नलगेका कर्मचारीले पनि प्रिमियम बुझाई स्वास्थ्य बिमा लाभ लिन सक्ने) 

साहित्य/सृजना

विपना जन्माउने सपना

तार्न नसकेका सपनाहरु सवै
छोडेर खोलापारी
उतार्छु आफूलाई बगरमा
अनि हेर्छु ओसिलो पल्लो किनार 
एक झोला सपनाहरु
पोखिएका रहरहरु
र, झरेका रक्तिम लालीगुराँसहरु
अन्तिम हाँसो हाँस्छन मसँग 
बग्नुछ उनीहरुलाई
केही क्षणपछि आउने भिषण बाढीसँगै
र, गर्नुछ समापन–धमिलो यात्राको ।

म फेरि शुरु गर्छु
शाश्वत यात्राको नयाँ श्रृङ्खला
र, लाग्छु उकालीहरु
अर्कै क्यानभाष पोतेर मनमा ।

भत्केका सिंढीहरु
लहरै बतासे डाँडाहरु
नाँगा सिंगाने बालकहरु, कुप्रा बुढाबुढीहरु
पहाड ओदारिरहने भोका पेटहरु
रातै बाँझा बारीहरु, मक्किएका झुप्राहरु
पुगेर मध्यमा
विसाएर हेर्छु तलतिर
र, फेरि बटुलेर केही सपना !
सम्भार गरेर तलदेखि
गाँउलाई गाँउजस्तै बनाउनु छ
पाखा र डाँडाभरी राताम्मै लालीगुराँस फुलाउनुछ
बोट र बारीभरी लटरम्मै सपनाका फलहरु फलाएर
अनि बल्ल आराम लिनुछ सिरानमा ।

यो अर्को रुप हुनेछ
मेरो सपनाको
जसले कोरलेर पक्कै
जन्माउने छ विपनाहरु
अनि बल्ल यात्राले फेर्नेछ
सन्तोषको एउटा श्वास
पुगेर सिरानमा ।
दिपेन्द्र के सी 
बागलुङ, हाल ओस्टण्डे बेल्जियम

गजल 

टाढाको ढुङ्गा पनि जब नुर हुन्छ
नजिकको तिर्थ स्वतः दुर हुन्छ

सजिवको प्राण हरण गर्छ मनुवा
निर्जिवलाई पुज्न कति आतुर हुन्छ

माटोमा हड्डी  खियाउछन् पैतलाहरु
पत्थरको सिरानीमा गजुर हुन्छ

बैराहरुको राज्यमा अन्धो शासक हुँदा
नसुनेको सङ्गित पनि मधुर हुन्छ

न कसैको दास न कसैको मालिक 
झुपडीमै फकिरलाई भरपुर हुन्छ

पाउ जमिनमै राखिबक्सिओस् हजुर पनि
हजुर माथी अझै अर्को हजुर हुन्छ
पुष्पा जोशी “काली” 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

कर्मचारी आवश्यकता सम्बन्धि सूचना 

                           प्रथम पटक सूचना प्रकासित मिति ः २०७५/०८/११
समान पहुँच विकास केन्द्र (सिड) नेपाल, डोटीले समाजको सम्बृद्धिका लागि विभिन्न साझेदारहरुको सहकार्यमा स्वास्थ्य, शिक्षा, शुसासन र संस्थागत विकासको क्षेत्रमा काम गरिरहेको छ । संस्थाद्वारा डोटी जिल्लाको साविकका १४ वटा गाविस (छपाली, गिरिचौका, महादेवस्थान, कालिकास्थान, दहकालिकास्थान, लामिखाल, बाँझककानी, खातिवाडा, डौड, तोलेनी, बग्लेक, खिरसैन, गैरागाँउ र कलेना तथा दिपायल सिलगढी नपाको साविकका वडा नं ११ र १२ मा वल्र्ड भिजन ईन्टरनेशनल नेपालसंगको साझेदारीमा संचालन भईरहेको मातृ तथा बाल स्वास्थ्य र पोषण तथा हेल्दी भिलेज परियोजनाका लागि निम्नानुसारका  कर्मचारीको आवश्यकता परेको हुंदा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले रितपूर्वक आफ्नो आवेदन पत्र र वास्तविक बायोडाटा यस संस्थाको सम्पर्क कार्यालय सिलगढी डोटीमा कार्यालय समयभित्र आई पुग्ने गरि पेश गर्न हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 
पद ः  लेखा तथा प्रशासन अधिकृत (Admin and Finance Officer-AFO)  संख्या ः १ जना 
प्रमुख जिम्मेवारी ः 
ड्डपरियोजनको वित्तीय कारोवारको श्रेस्ता भुक्तानी तथा प्रतिवेदन तयारी र वित्तीय व्यवस्थापन गर्ने 
ड्डनेपाल सरकारको कर प्रणालीवारे राम्रो जानकारी भएको, कार्यालयको लेखा तथा प्रशासनिक व्यवस्थापन गर्ने 
ड्डतालिम सहजीकरण तथा जिन्सी (Logistic) व्यवस्थापन गर्ने 
ड्डस्थानीयस्तरमा समुदाय तथा सरोकारवाला निकायहरु र वैंकवीच सम्पर्क, समन्वय गर्ने 
ड्डसमयमा नै आर्थिक प्रतिवेदन तथा जिन्सी अभिलेखिकरण गर्ने 
ड्डकम्प्युटरमा माइक्रो सफ्ट अफिस र इमेल इन्टरनेट संचालन गर्ने 
ड्डएक्सलमा राम्रो ज्ञान भई कम्प्युटरमा एकाउन्टिङ्ग सफ्टवयर्स चलाउन सक्ने 
ड्डपरियोजनाको अर्थिक क्रियाकलापमा प्रत्येक्ष रुपमा सहभागी हुने र खरिद, भण्डारण र व्यवस्थापन गर्ने 
ड्डसंस्थाको आर्थिक तथा प्रशासनिक नियमावली अनुसार कार्य गर्ने  
ड्डपरियोजनाले तोकेको खाकामा प्रतिवेदन तयार गर्न सक्ने । 
आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव ः 
व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण (Preferred-Bachelor in management) भई सम्बन्धित क्षेत्रमा कम्तीमा ३ बर्षको कार्य अनुभव । 
आवेदन सम्बन्धि थप जानकारी ः
सेवा सुविधा ः संस्था तथा कार्यक्रमको नियमानुसार हुनेछ । 
आवेदन दिने अन्तिम मिति ः २०७५/०८/१७ गतेसम्म (विज्ञापन प्रकाशित मितिले ७ दिनभित्र) ।
सम्पर्क मिति ः  २०७५/०८/१८ गते देखि  । 
आवेदनको माध्यम ः कार्यालयमा संस्थाको आवेदन फाराम लिई बुझाउनु पर्ने छ ।
परिक्षाको किसिम ः लिखित, अन्तरवार्ता तथा प्रयोगात्मक । (परीक्षा मिति सम्पर्क मितिमा तोकिनेछ) 
नोट ः महिला, दलित तथा जनजातीलाई विशेष प्राथमिकता दिईनेछ । प्रारम्भिक छनौंटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षामा सामेल गरिनेछ । संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतः अयोग्य ठहर गरिनेछ । 

दिपायल सिलगढी नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 
सिलगढी, डोटी 

सुदूरपश्चिम प्रदेश 

दमकल, ट्याक्टर, ट्रली लिलाम विक्रि सम्वन्धी सूचना ।

प्रथम पटक प्रकाशित मिति ः २०७५/०८/०४
उपर्युक्त सम्वन्धमा यस कार्यालयमा रहेका पूरानो दमकल, ट्याक्टर र ट्रली जे जस्तो अवस्थामा छ, सोही वमोजिम निम्न शर्तको अधिनमा रही आर्थिक कार्यविधि २०६४ को नियम ५८ को उप नियम ८ वमोजिम डाक वाढावढद्वारा लिलाम विक्रि हुने भएकोले ईच्छुक व्यक्ति वा फर्मको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको  छ । 
निम्न 
१. दमकलको न्युनतम मूल्य रु.३०००००।– तीन लाख नामसारी नहुने (१२००० के.जि. प्रति के.जि. रु. २५।– का दरले) 
२. ट्याक्टरको न्युनतम मूल्य रु.७००००।– सत्तरी हजार नामसारी हुने २०७२÷०६÷२२  सम्म नविकरण भएको त्यसपछि को नविकरण लिलाम सकार गर्ने व्यक्तिले गर्नु   पर्नेछ । 
३. ट्रलीको न्युनतम मूल्य रु.२००००।– वीस हजार (८०० के.जि. प्रति के.जि. रु.२५ का दरले) 
लिलाम वढाबढ हुने 
मिति ः २०७५/०८/२४ गते
समय ः दिउसो १२ वजे देखि १ः ३० वजे सम्म । 
स्थान ः दि.सि.न.पा. कार्यालय भित्र 
क) लिलाम कवोल गर्ने व्यक्तिले न्युनतम अंकको ५% रकम धरौटी वाफत नगदै राख्नु पर्नेछ । डांक अंक वढ्दै गएमा सोही अनुपातमा धरौटी रकम थप गर्दै जानुपर्नेछ । 
ख) लिलाम सकार गर्ने व्यक्तिले एकमुष्ट रकम वुझाई ७ दिनभित्र सामान उठाई लैजानु पर्नेछ । उक्त अवधिमा समान नलगेमा धरौटी वाफतको रकम जफत हुनेछ ।
ग) अन्य जानकारीको लागि यस कार्यालयको ४२०२९७ मा वा मो. नं. ९८४८४३२१११ मा सम्पर्क राख्न सकिनेछ ।  

नेपाल सरकार 
रक्षा मन्त्रालय 
नेपाली सेना 
श्री रुद्रध्वज गण, सिलगढी ब्यारेक डोटीको 

सिलबन्दी दरभाउपत्र आब्हानको सूचना 

प्रथम पटक प्रकाशित मिति ः २०७५/०८/०३ गते 
यस गणको हाता भित्र ५ सिटे महिला शौचालयको सिलबन्दी दरभाउपत्रको माध्यमबाट निर्माण गर्नूपर्ने भएकोले इजाजत प्राप्त ईच्छुक आपूर्तिकर्ताबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस गणबाट रु.१०००।– (एक हजार मात्र) (पछि फिर्ता नहुने गरी) तिरी दरभाउपत्र फाराम खरिद गर्नू भई १६ औं (सोह्रौ) दिनको १२ः०० बजेभित्र यस गणमा सिलबन्दी दरभाउपत्र दाखिला गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी अन्य जानकारीको लागि यस गणको फोन नं. ०९४–४११०९७, मोवाईल नं. ९८४३०९९४२६ (लेखा सहायक सेनानी सृजन बिष्ट) मा सम्पर्क गरी जानकारी लिन हुन र बिस्तृत विवरणको सूचना जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, को.ले.नि.का र यस गणको सूचना पाटीमा टांस गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । 

Monday, November 19, 2018

बिम्ब साप्ताहिक, २०७५ साल मंसिर ४ गते मंगलवार

लोकतन्त्रको आधार ः सूचनाको अधिकार ।
सूचना हाम्रो अधिकार ः सुशासन र विकासको आधार ।
कुनै पनि सार्वजनिक सरोकार ः थाह पाउने नागरिकको अधिकार । 
सूचना लिने दिने संस्कृतिको विकास गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

परिचय पत्र पाएनन् अपाङ्गता भएका व्यक्तिले

रामहरी ओझा/डोटी
मंसिर ३
डोटी सायल गाउँपालिका–३ का पदम भुल दिनभरीको पैदल यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी पुगे । उनी आफ्नो आठ बर्षीय अपाङ्ग  छोराको अपाङ्गता परिचय पत्र बनाउनका लागि पैदलै सिलगढी पुगेका थिए । तर उनले छोराको अपाङ्गता परिचय पत्र बनाउन पाएनन् । जव उनी अपाङ्गता परिचय पत्रको सिफारिसका लागि अपाङ्ग सेवा संघ डोटीको कार्यालयमा पुगे तव मात्र उनले अपाङ्गता परिचय पत्र अहिले नवन्ने कुराको जानकारी पाए । उनका छोरा बिपिन बहिरा छन् । 
आदर्श गाउँपालिका–१ की कस्तुरी विक पनि आफ्नो शारीरिक अपाङ्ग छोरा सहित  परिचय पत्रका लागि जिल्ला सदरमुकाम पुगिन । दायाँ हात नचल्ने छोरा पदमको परिचय पत्र बनेपछि भत्ता पाउँछ कि भन्ने आश थियो कस्तुरीलाई । छोरा र आफ्नो गरि आउँदाको मात्रै पाँच सय २० रुपैयाँ भाडा तिरेर उनी २२ किलोमिटरको कच्ची बाटोमा यात्रा गर्दै उनी सदर–मुकाम पुगेकी हुन । उनले पनि छोराको परिचय पत्र नवनाई घर फर्किनु प¥यो । 
पदम र कस्तुरी जस्तै अचेल अपाङ्गता परिचय पत्र लिन जिल्ला सदरमुकाम आएका कयौं व्यक्तिहरु सेवा प्राप्त नगरेरै फर्केर जाने गरेका छन् । अपाङ्ग सेवा संघ डोटीका कार्यक्रम संयोजक नवराज जोशीका अनुसार अपाङ्गता परिचय पत्र बनाउने भन्दै सिफारिस माग्न अक्सर सेवाग्राहीहरु आईरहने गरेको वताए । ‘कति त फोनबाट सोध्छन् र उनीहरुलाई हामी अहिले बन्द छ भनिदिन्छौं’ जोशीले भने ‘तर कोही फोनै नगरी जिल्ला सदरमुकाम पुग्छन् र दुःख पाउँछन् ।’ 
किन परिचय पत्र वितरण गर्ने काम रोकिएको हो भन्ने बिषयमा जानकारी छैन  जोशीलाई । उनी थप्छन् ‘हाललाई रोक्नु भन्ने मौखिक जानकारी आएको हो रे महिला तथा बालबालिका कार्यालयलाई, त्यसकारण रोकिएको हो भन्ने मात्रै जानकारी छ ।’ परिचय पत्र पाउनु अपाङ्गता भएका व्यक्तिहरुको अधिकार भएकोले तत्काल परिचय पत्र वितरण  गरिनु पर्ने जोशीको भनाई छ । 
ऐन संसोधन गर्नु पर्ने भएका कारण मन्त्रालयले मौखिक जानकारी गराएर परिचय पत्र बितरण गर्न रोकिएको साविकको महिला तथा बालबालिका कार्यालय डोटीकी निमित्त प्रमुख सानुमाया लिम्वुले बताईन । उनले भनिन् ‘ऐन संसोधन गरेर स्थानीय तहलाई नै अपाङ्गता परिचय पत्र वितरणको जिम्मेवारी दिने भन्ने छ ।’ परिचय पत्रको बिषयमा सेवाग्राहीहरुले पटक पटक फोन गरेर सोधिरहने गरेको लिम्वुले वताईन । ‘हाम्रो कार्यालयमै पुगेर फर्केका त छैनन् तर फोन भने धेरैले गरेका छन्’ उनले भनिन् ‘कहिले बन्छ त भनेर सोध्ने गर्छन ।’ साविकको महिला तथा बालबालिका कार्यालयको भवनमा हाल बाल सुधार गृह स्थापना भएको छ । 
संसदले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी ऐन, २०७४ लाई गत असोज २ गते संसोधन गरिसकेको छ तर ऐन संसोधन भएको दुई महिना बितिसक्दा समेत परिचय बितरणको कार्य सुरु भएको छैन । ऐनको दफा ४ अनुसार सम्वन्धित वडाकार्यालयको सिफारिसमा स्थानीय तहले परिचय पत्र दिने व्यवस्था छ । 
किन रोकियो त अपाङ्गता परिचय पत्र बितरण गर्ने काम ? महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको अपाङ्ग अधिकार प्रवद्र्धन शाखाका नासु भरत थापा भन्छन् ‘ऐन संसोधन नहुँदा समस्या भएको थियो, अव  ऐन संसोधन भई कार्यबिधि समेत बनिसकेको छ ।’ आईतवार मात्रै परिचय पत्र बितरण सम्वन्धी कार्यबिधि स्वीकृत भएको थापा बताउँछन् । उनले भने ‘हामी यो कार्यबिधि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउँदैछौं, उहाँहरुले कार्यबिधिको कार्यान्वयन गराउनु हुन्छ ।’ 
परिचय पत्र बितरणको अधिकार स्थानीय तहलाई दिने ऐनको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि कार्यबिधि ल्याईएको थापाले वताए । ‘अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी नियमावली तयार हुने क्रममै रहेको छ’ थापाले भने ‘तर कार्यबिधि तयार भईसकेको हुँदा अव नियमावली कुरिरहनु पर्दैन, स्थानीय तहले परिचय पत्र बितरण गर्न सक्छ ।’  

सम्पादकीय 

नौ महिनामा के के प्रगति भयो सरकार !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको संघीय सरकारले नौ महिनाको अवधी पुरा गरेको छ । प्रतिनिधि सभाका दुई तिहाई बढी सदस्यहरुको समर्थनमा २०७४ साल फागुन ३ गते गठन भएको ‘बामपन्थी’ सरकारले यो नौ महिने अवधीमा जनताका लागि देखिने गरी के काम ग¥यो भन्ने बिषयमा खोजी गर्दा सायद हात लागी शुन्य हुन सक्छ । यद्यपी नौ महिनाको यो अवधी धेरै ठुलो अवधी होईन तर नेपालमा यस अघि बनेका नौ महिने बामपन्थी सरकारले नौ महिनामै धेरै  राम्रो काम गरेका थिए, राम्रो अभ्यास गरेका थिए । 
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वमा बनेको नौ महिने सरकारले गरेका लोकप्रिय कार्यक्रमले तत्कालीन नेकपा एमालेलाई २० बर्षसम्म व्याज खाने बाटो भयो । त्यति बेला सरकारको लोकप्रियता खेप्न नसकेर प्रतिपक्षले अनेक तिग्डम   गरी सरकार ढाल्यो । जसका कारण देशमा राजनीतिक अस्थिरता सुरु भयो र  १० बर्षे सशस्त्र बिद्रोहका लागि आधार तयार   ग¥यो ।
२०६५ सालमा पहिलो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले गरेको अभ्यासले नेपालको अर्थतन्त्रमा थोरै सुधार भयो । यद्यपी प्रतिपक्षीहरुको छट्पटाहट र सत्तापक्ष आफ्नै हठका कारण उक्त कार्यक्रम कार्यान्वयन हुन सकेन र दलगत रुपमा तत्कालीन नेकपा माओवादीले त्यसको व्याज खाने अवसर पाएन तर पनि त्यो नौ महिना पनि सफल नै हो । 
२०७२ सालमा संबिधान निर्माण भईसकेपछि यिनै केपी ओली नेतृत्वमा गठन भएको सरकारले पनि आफ्नो लोकप्रियता कायम गर्न सक्यो । झण्डै आधा जनसंख्या रहेको तराई क्षेत्रमा आन्दोलन चलिरहेका बेला, भारतले नाकावन्दी गरेका बेला गठन भएको सरकारले ‘राष्ट्रबादी’ भएको देखायो । जसले गर्दा स्थानीय तहको निर्वाचनमा तत्कालीन एमाले एक्लै भिड्दा समेत राम्रो जनसर्मथन पायो । माओवादीको घट्दो जनमत र एमालेको बढ्दो जनमतले दुई पार्टी एक हुने तहसम्मको अवस्था ल्यायो । यि तीन नौ महिने सरकारले गरेको प्रयास र पाएको सफलतासंग अहिलेको सरकारको नौ महिनाको अवधीलाई कसरी तुलना गर्न सकिएला सरकार ! 
जनताले बलियो सरकार भएको अनुभूति गर्न पाएका छैनन् । भ्रष्टाचार, अपराध, महंगी, कालोबजारी पाएका छन् जनताले । दिउसो घरबाट बिद्यालय हिडेकी छोरी साँझ फर्केर घर नपुग्दासम्म आमाबुवाले राम्रोसंग स्वास पनि फेर्न सक्ने अवस्था छैन । दिन दहाडै हत्या भईरहेका छन्, लुट भईरहेको छ । जनप्रतिनिधिहरुनै भ्रष्टाचारमा चुर्लुम्म डुवेका छन् । के यही हो त दुईतिहाईको ‘बामपन्थी’ सरकारले जनतालाई दिएको उपहार ! 
सिण्डिकेट हटाउने भनियो, तुहियो । काममा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्ने भनियो, त्यो पनि तुहियो । स्वास्थ्य क्षेत्रको सरकारको योजना तुहियो । कर्मचारीहरुलाई स्थानीय तहमा पठाउन सकेन सरकारले । के कुरामा सरकार सफल भयो त ? हेर्दा त केही कुरामा सफल भएको देखिदैन । अनावश्यक खर्च कटाउने भन्दै मन्त्रीपरिषद्को आकार जतिसक्यो सानो वनाउने भनिएको होईन र ? अहिले के भयो त ? संबिधानले व्यवस्था गरेकै आकारको मन्त्रीपरिषद् वनेको छ त । 
जनताले राजनीतिक स्थिरता र अग्रगामी परिवर्तनका लागि जनतालाई मतदान गरेका हुन । जनता चाहाना अनुसार काम हुँदैन भने त्यस्तो राजनीतिक स्थिरताको कुनै अर्थ छैन ।

थप समाचार 

महिलामाथी हुने हिंसाका घटनाहरुमा कमी

डोटीमा महिलामाथी हुने हिंसाका घटनाहरुमा कमी आएको देखिएको छ । 
जिल्ला प्रहरी कार्यालय डोटीको अभिलेख अनुसार बिगत तीन बर्षको तथ्याङ्कमा महिलामाथी हुने हिंसाका घटनाहरुमा कमी आएको पाईएको हो । आर्थिक बर्ष २०७२/०७३ मा जिल्लामा लैङ्गिक हिंसा सम्वन्धी ४४ घटना भएका थिए । आर्थिक बर्ष २०७३/०७४ मा लैङ्गिक हिंसाका घटना २५ भएका थिए । गत आर्थिक बर्षमा लैङ्गिक हिंसा सम्वन्धी १३ घटना मात्रै भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले जानकारी दिए । धामीका अनुसार चालु आर्थिक बर्षको पहिलो चार महिनामा लैङ्गिक हिंसा सम्वन्धी दुई घटना दर्ता भएका छन् । 
यस्तै महिलामाथी हुने घरेलु हिंसामा पनि कमी आएको देखिएको छ । ०७२/०७३ मा ७७ घरेलु हिंसाका घटना भएका थिए भने ०७३/०७४ मा ४५ घटना भएका थिए । आर्थिक बर्ष ०७४/०७५ मा ३७ वटा घरेलु हिंसाका घटनाहरु भएका छन् । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा घरेलु हिंसा सम्वन्धी चार घटना दर्ता भएका छन् । 
‘महिलामाथी हुने हिंसाका घटनाहरु बढी जसो मदिराका कारण हुने गर्छन’ प्रहरी नायव उपरीक्षक धामीले भने ‘बिभिन्न निकायहरु र प्रहरी आफैले पनि टोलटोलमा मदिरा बिरुद्धका सचेतनामूलक अभियानहरु सञ्चालन गरेका कारण यस्ता घटनामा कमी आएको हुन सक्छ ।’ उनले डोटीमा हुने अधिकांश घटनाहरुको जरिय मदिरानै भएको देखिएकाले मदिरा नियन्त्रण गर्नका लागि सवैको पहल हुनु पर्ने बताए । 
अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक) ले मानवअधिकार बर्ष पुस्तक २०१९ को पूर्व समीक्षाका लागि आयोजना गरेको एक कार्यक्रममा प्रहरी नायव उपरीक्षकले २०७२ साल साउन देखि २०७५ कात्तिकसम्म ३१ जनाले आत्महत्या गरेको बताए । उनले भने ‘चालु आर्थिक बर्षको पहिलो चौमासिकमा मात्रै चार जनाले आत्महत्या गरेका छन्, प्रारम्भिक आँकडा हेर्दा आत्महत्याको संख्या गत बर्षको तुलनामा बढी हुने देखिन्छ ।’ गत आर्थिक बर्षमा झुण्डिएर आठ र बिष सेवन गरेर दुई गरी १० जनाले आत्महत्या गरेका थिए । यस बर्ष आत्महत्या गर्नेहरुमा दुई जनाले झुण्डिएर र दुई जनाले बिष सेवन गरेर आत्महत्या गरेका छन् । 
यस्तै चालु आर्थिक बर्षको पहिलो चौमासिकमा जवरजस्ती करणीका चार मुद्धा दर्ता भएका छन् । जवरजस्ती करणी उद्योगमा दुई घटना दर्ता भएका छन् । यस अवधीमा कर्तव्य ज्यानमा एक मुद्धा दर्ता भएको छ । यस अवधीमा १४ जना हराएकामा आठ जना अझै फेला नपरेको प्रहरी नायव उपरीक्षक धामीले जानकारी दिए । 
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले मानवअधिकारको संरक्षणका लागि सवै क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने बिचार व्यक्त गरे । उनले भने ‘कानुनको सवैले पालना गर्ने हो भने मानवअधिकारका घटनाहरुमा आफै कमी आउँछ ।’
कार्यक्रमका सहभागिहरुले मानवअधिकार बर्ष पुस्तकमा जिल्लाको स्वास्थ्य, शिक्षा, खाद्य अधिकारको बिषयमा पनि उल्लेख गर्नु पर्ने सुझाव दिएका थिए । सो अवसरमा सन २०१८ मा जिल्लामा भएका १२ मानवअधिकार हनन्का घटनाहरुमाथी छलफल भएको थियो ।  

दिपायल–मेल्लेक बस सञ्चालन हुने

डोटीको दिपायलदेखि सायल गाउँपालिका–६ को मेल्लेकसम्म कञ्ची सडकमा बस सञ्चालन हुने भएको छ । 
करीव १० बर्षसम्म बोलेरो जीपले यात्रुहरु ओसार पसार गरिरहेको यस सडकमा शैलेश्वरी सार्वजनिक यातायात समितिले बस सञ्चालन गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष गणेश मलासीले उक्त सडकमा मंसिर ५ गतेदेखि नियमित रुपमा बस सञ्चालन गर्ने तयारी भईरहेको बताए । ‘परीक्षणको रुपमा हामीले उक्त रुटमा बस पु¥याईसकेका छौं, बाटोको अवस्था ठिकै छ’ अध्यक्ष मलासीले भने ‘अव ५ गतेदेखि नियमित रुपमा बस सेवा सञ्चालन गर्ने तयारीमा छौं ।’ 
अध्यक्ष मलासीले उक्त रुटमा परमिटका लागि आफुहरुले यातायात व्यवस्था कार्यालयमा निवेदन दिईसकेको बताए । उनले भने ‘हामीले जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी दिईसकेका छौं र पर–मिटका लागि सम्वन्धित कार्यालयमा समेत निवेदन दिएका छौं, हाललाई अस्थायी परमिट लिएर सुरुवात गछौं ।’ स्थानीयबासीहरु र यातायात व्यवसायीहरुबाट दवाव आएपछि समितिले उक्त रुटमा बस सञ्चालन गर्ने निर्णय गरेको अध्यक्षले बताए । उनी बस सञ्चालनका लागि परमिट दिएर सरकारले सहयोग गर्नु पर्ने बताउँछन । 
दिपायल देखि करीव ३० किलोमिटरको दुरीमा रहेको मेल्लेकसम्म बस सञ्चालन भए आफुहरुलाई फाईदा हुने स्थानीयहरु बताउँछन् । ‘बस सञ्चालन भएपछि आउजाउ गर्न सहज हुन्छ’ स्थानीय खेम पाठक भन्छन् ‘हालसम्म यस रुटमा दिनहुँ १२/१३ बोलेरो जीप चल्ने गरेका छन् ।’ 
समितिले यस रुटमा ना ५ ख ३३६४ नं. को बस परीक्षणको रुपमा सञ्चालन गरिसकेको छ । बस यस क्षेत्रमा पुगेपछि आदर्श गाउँपालिकाका अध्यक्ष टेकवहादुर रोकायाले चालक र सहचालकलाई माला लगाई स्वागत गरेका थिए ।

टोलमै योजना सम्झाता

टेकेन्द्र देउवा/कैलाली
मंसिर ३
धनगढी उपमहानगरपालीकाले सहज रुपले सेवा पु¥याउने उद्देश्यले सोमबारदेखि बस्तीमा नै पुगेर योजनाहरुको सम्झौता गर्न थालेको छ ।
उपमहानगरपालीकामा आउदा झन्झटिलो र खर्चिलो समेत हुने भएकाले टोल र वडामा पुगेर योजनाहरुको सम्झौता गर्न थालिएको नगर प्रमुख नृपबहादुर वडले बताए । उनले भने ‘यसरी बस्तीमा पुगेर योजनाहरुको सम्झौता गर्दा उपभोक्ता समितिका पदाधिकारी र स्थानीयलाई संगै राखेर योजनाका बिषयमा छलफल समेत गरिएको छ ।’
बस्तीमै पुगेर योजनाको सम्झौता गर्दा योजनाकाबारेमा सर्वसाधारणहरुले बुझ्ने र त्यसले हुन योजनामा निगरानी बढ्ने नगर प्रमुख वडले बताए । उनले सबै वडाका बस्ती तथा पायक पर्ने ठाउँमा पुगेर योजनाको सम्झौता गरिने बताए ।
सोमबार प्रमुख प्रशासकीय अधिकृत, ईन्जीनियर, ओभरसियर र अन्य योजनाकाकर्मचारीहरु समेतलाई लिएर उपमहानगरपालीकाका वडा नं १६, १७ र ७ मा योजनाहरुको सम्झौता गरेका थिए । धनगढी उपमहानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी पाण्डेले यो अभियान नेपालमै पहिलो प्रयास भएको बताए । यो अभियानले उपभोक्ताहरुलाई ठूलो राहत मिल्ने छ प्रमुख प्रशासकीय अधिकृत पाण्डले भने ‘यसले सुशासनलाई समेत सहयोग पुग्ने   छ ।’
पहिलो दिनमै डेढ दर्जन जती योजनाहरुको सम्झौता गरिएको धनगढी उपमहानगरपालीकाका ईन्जीनियर    डिजराज भट्टले बताए । उनले भने ‘यो अभियान सबै योजनाको सम्झौता नभए सम्मका लागि चलिरहन्छ ।’ धनगढी उपमहानगरपालीका १६ रामपुरका बिरेन्द्र चन्दले टोलमै पुगेर योजनाको सम्झौता गर्दा आफुहरुलाई निकै सजिलो भएको बताए । ‘उपमहानगरपालीका कार्यालयमा जादा निकै समस्या हुन्थ्यो’ चन्दले भने यसलाई उपमहानगरपालीकाले निरन्तरता दिनुपर्छ ।’

बिरोध गर्ने प्रबृत्तिले समस्या भयो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एकले अर्कोको बिरोध मात्रै गर्ने प्रबृत्तिका कारण योजना कार्यान्वयनमा समस्या आएको बताएका छन् ।  
राष्ट्रिय योजना आयोगले धनगढीमा आयोजना गरेको दीगो विकास लक्ष्य मैत्री योजना, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन । मुख्यमन्त्री भट्टले योजना कार्यान्वयन हुन नसक्नुमा धेरै समस्याहरु रहेका र ती समस्याहरु खोतल्नु पर्ने वताए । ‘हामीले योजना तर्जुमा गर्छौं तर कार्यान्वयन हुँदैन’ भट्टले भने ‘योजना कार्यान्वयन नहुनु हामी सबैको साझा समस्या हो ।’ योजना तर्जुमा गर्दा समीक्षा गर्न पनि जरुरी रहेको उनले वताए । 
‘आवश्यकताको आधारमा, मागको आधारमा कि युग सुहाउँदो विकासको आधारमा, या कसैले खल्तीबाट दिएको योजना छनोट गर्छौं त ?’ भट्टले भने ‘यो कुरामा समीक्षा गर्न जरुरी छ ।’ सङ्घीय बजेट प्राप्त भएपनि तीन तहका सरकारले गर्ने कामहरु÷योजनाहरुको बारेमा अझै पनि अन्यौल रहेको भट्टको भनाई छ । ‘स्थानीय सरकारले कस्तो योजना अगाडि बढाउने, प्रदेश सरकारले कुन तहको योजना बनाउने र केन्द्र सरकारले कुन योजना अगाडि बढाउने ? यसमा केहि अन्यौलता सृजना भएका छन’ मुख्यमन्त्री भट्टले भने ‘यद्यपि संघीयता कार्यान्वयनको चरणमा रहेकाले यो स्वाभाविक हो । अन्यथा लिनु हुदैन तर, आगामि दिनमा सचेत हुन जरुरी छ ।’
अबको बाटो समृद्धि र विकासको रहेको वताउँदै भट्टले थपे ‘राष्ट्रलाई विकासको तीव्र गतिमा लैजाने सबैको मुख्य लक्ष्य हो, यसलाई पूरा गर्नका लागि केहि मापदण्ड, केही दायित्व र केहि आवश्यकताहरु पूरा गर्नु पर्दछ ।’ पदीय जिम्मेवारी बोकेका जनप्रतिनिधिहरु र प्रशासनिक जिम्मेवारी बोकेका कर्मचारी–हरुले आ–आफ्नो जिम्मेवारी पूरा गरी अनुशासन कायम गर्न आवश्यक रहेको भट्ट बताउँछन् । उनले सर्वसाधारण जनताले पनि गम्भीरताका साथ लाग्न जरुरी रहेको औंल्याए । 
‘हामीकहाँ योजना निर्माण, अनुशासन र सोंच लगायतमा समस्या रहेका छन्’ मुख्यमन्त्री भट्टले भने ‘यी सबैबाट माथि उठेर विकास निर्माणमा लाग्न लाग्नु पर्छ, हैन भने अब जनताले हामीलाई छोड्नेवाला छैनन् ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले विगत वर्षको राम्रा, नराम्रा पक्षलाई आत्मसात गरी अब बढी लक्ष्य कसरी हासिल गर्न सकिन्छ भन्ने मान्यताका साथ प्रदेश सरकारले योजना बनाएको बताए । उनले नेपाली माटो र भूगोल सुहाउँदो योजना बनाउन पनि आयोगलाई आग्रह गरे । मन्त्री बोहराले अनुसन्धान र अनुदानबाट आएको सुझावहरुलाई योजना बैङ्कको रुपमा राखेर त्यहाँबाट प्राथमिकीकरण गरी योजना बनाउने काम प्रदेश सरकारले गरेको उल्लेख गरे । ‘चालू आर्थिक वर्षमा बजेटमा समृद्धिको आधार बनाएर प्रदेश सरकार अगाडि बढेको छ’ मन्त्री बोहराले भने । 
यहाँको वित्तीय स्रोतभन्दा बाह्य, कुनै पनि कार्यक्रम समावेश गर्दा त्यो कागजमामात्रै राम्रो देखिने भएकाले वित्तीय स्रोत जुटाउनु पर्ने मन्त्री बोहराको भनाइ थियो । उनले भने ‘वित्तीय स्रोतको जोहोबीना कार्यक्रमहरु कार्यान्वयन गर्न सकिदैंन ।’
सभामुख अर्जुनबहादुर थापाले प्रदेशमा पञ्च वर्षीय योजनालाई नयाँ ढङ्गले अगाडि बढाउनका लागि पर्याप्त छलफल बहस हुन आवश्यक रहेको बताए । योजना कार्यान्वयन सवालमा अगाडि बढ्नु पर्ने उनको जोड थियो । सभामुख थापाले यो प्रदेशमा केन्द्रका ठूला योजनाहरु सञ्चालन हुन नसकेको उल्लेख गर्दै राष्ट्रिय गौरवका आयोजनाहरु पनि वामे सर्ने क्रममा रहेको उल्लेख गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले आयोगको कार्यक्षेत्रभित्र तहगत समन्वय भन्ने शब्द उल्लेख रहे पनि तहगत समन्वयभित्र के–के काम हुने त्यो प्रष्ट नरहेको बताए ।

तरकारी खेती तर्फ रुपान्तरण हुदै किसानहरु

गौतम रोकाया
“सानोमा बुढापाकाहरुबाट सुन्न पाईने कथा, कहानी, उखानटुक्काहरुबाट बेग्लै अनुभुति मिल्थ्यो । त्यो दुर्लभ आनन्द आजभोली सायदै मिल्छ । ति कथा तथा कहानी र उखानहरुमा समाजको यथार्थता अन्तरनिहीत हुन्थ्यो । उहाँहरु भन्नु हुन्थ्यो ‘परिवर्तन विस्तारै हुन्छ र हुन दिनु पर्छ तर आफ्नो पन हराउनु हुदैन।’ त्यतीवेला केवल कहानी लाग्ने ति उक्तिहरु आजभोली साच्चै अमरवाणीहरु जस्तै लाग्दै छन ।”
डन चर्च एडको सहयोगमा डोटीको गैर सरकारी संस्था सम विकास केन्द्रले सञ्चालन गरेको दिगो जीविकोपार्जन प्रवद्र्धन परियोजना आफ्नो लक्ष तर्फ विस्तारै अगाडी वढीरहेकोे अनुगमनका समयमा पाईयो । 
के आई सिं गाउँपालिकाको स्थानीय बजार वगरबाट करीव आधा घण्टाको दुरीमा पर्ने बास्कोटमा पुग्दा किसानहरु विस्तारै ब्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भईरहेको अनुभूति भयो । तौसी कृषक समुहका किसान ईन्द्र बहादुर विष्ट र प्रेम विष्ट लगायत सोही समुहका अन्य केही किसानहरुको तरकारी खेतीप्रतिको लगाव देख्दा किसानहरु ब्यवसायिक तरकारी खेती तर्फ आकर्षित भएको अनुभुति हुन्छ । ब्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका अगुवा किसान पे्रम विष्टले ब्यवसायिक तरकारी खेतीको आम्दानीबाट छोराछोरीहरु वोर्डिङ्ग र कलेजमा पढाईरहेको कुरा बताए । उक्त समुहकै अर्का किसान ईन्द्र बहादुर विष्टले पनि एक सिजनमा ४० हजार अम्दानी गर्दा रहेछन । 
अगुवा कृषक प्रेम विष्ट भन्छन संस्थाले प्रदान गर्ने तरकारीको विउ, पोलीहाउस, थोपासिचाई जस्ता कार्यक्रमहरुले हामीलाई तरकारी खेती गर्न सहयोग मिलेको छ । नन्देश्वर कृषक समुहका अगुवा किसान गिरी धामी पनि तरकारी खेतीबाट रामै्र आम्दानी गरेको बताउछन । उनि भन्छन हामी पहिले देखी नै तरकारी खेती गर्दे आएका थियो यसैमाथी संस्थालेतरकारीको विउ, पोलीहाउस, थोपासिचाई जस्ता कार्यक्रमहरुले तरकारी खेती तर्फ उत्प्रेरित गरेको  छ । 
सिको गर्दै अघी बढदै
एकै ठाउ र स्थानका कृषक समुहहरुको अनुगमनमात्रै हाम्रा लागि प्रयाप्त नहुने कुरालाई मनन गर्दे दोश्रो दिन अन्य समुहहरुको अनुगमन गर्ने मनसायले कार्तिक २० गते स्थानीय बजार बगरमा वास बस्यौं । हाम्रो उद्देश्य दिगो जीविकोपार्जन प्रवर्धन परियोजनाले स्थानीय किसानहरुको जीविकोपार्जनका कसरी कस्तो प्रभाव पर्दैछ ? समस्या के हुन ? तरकारी खेती प्रति किसानहरुको धारणा कस्तो छ ? किसानहरुको चाहना र रुचि कस्तो छ ? संस्थाले वितरण गर्ने प्राविधिक सहयोग कसरी वितरण भईरहेको छ ? लगायतका यावत विषयहरुमा अनुगमन गर्नु पनि थियो ।
उपरोक्त विषयहरुलाई आत्मसाथ गर्दै हामी दोश्रो दिन विहानै नन्देश्वर कृषक समुहका अगुवा किसान भक्त बहादुर धामीको वारी अनुगमन गर्न जादै गर्दा के आई सिं गाउँपालिका–४ का वडाध्यक्ष जयबहादुर धामीसंग पनि भेट भयो । परियोजनाका वारेमा जिज्ञासा राख्दा सहयोगीको भूमिका निर्वाह गरिरहेको र कार्यक्रमले निरन्तरता पाएकाले किसानहरुले सिको गर्दै तरकारी खेती तर्र्फ आकर्षित भईरहेको बताए । तरकारी खेती तर्फ आकर्षित गर्न सम विकास केन्द्र र वडाको सहकार्यका भुमिहिन किसानहरुका लागि जग्गा भाडामा लिएर तरकारी खेती गर्ने जमर्काे गरेको समेत बताए ।
पशु विमा कार्यक्रम पनि शुरु गरेको र त्यो ज्यादै प्रमाभवकारी वन्ने बताउदै वडाध्यक्ष धामीले किसानहरुको दिगो जीविकोपार्जनमा यसले सहयोग गर्ने बताए । केही अगुवा किसानहरु त पहिले देखिनै तरकारी खेती गरिरहेका थिए तर संस्थाले दिगो जीविकोपार्जन कार्यक्रम लागु गरेपछि त्यसले निरन्तरता पाएको छ वडाध्यक्ष धामी बताउछन । ‘निरन्तरता भएकै कारण अन्य किसानहरु पनि सिको गर्दै तरकारी खेती तर्फ आकर्षित       भईरहेका छन’ उनी भन्छन ‘संस्थाले कार्यक्रमलाई निरन्तरता दिनु पर्छ ।’ 
जंगली जनावरले तरकारी नोक्सान गर्ने साझा समस्या
‘आफु ताजा तरकारी उपभोग गरेर एक सिजनमा सामान्यतः ४० हजारसम्म आम्दानी गरेका छौं’ नन्देश्वर कृषक समुहका अगुवा किसान ‘भक्त बहादुर धामी भन्छन् ‘तर के गर्नु सर जंगली जनावर (दुम्सी र बदेल) ले तरकारी नोक्सान गरेर हैरान पारेको छ ।’ कलारे कृषक समुहका अर्का अगुवा किसान पशुपति जोशी आफुहरुको ठाउँमा सिचाईको भन्दा पनि जंगली जनावरको डर रहेको बताउछन । ‘यो त हामी सवैको साझा समस्या नै हो’ नन्देश्वर कृषक समुहका अगुवा किसान गिरी धामी थप्छन् ।   कलारे कृषक समुहकै अर्का अगुवा किसान विजया भट्ट पनि जंगली जनावरले ज्यादै सताउने गरेको बताउछन ।
आम्दानी त रामै्र हुन्छ तर जंगली जनावरले तरकारी वाली नोक्सान गर्छ र बजार र बजार भाउको पनि समस्या  रहेको छ । गत बर्ष आफुले २० हजारको टमाटर र आलु फलाएको बताउदै   कलारे कृषक समुहकी अगुवा किसान विजया भट्ट पनि आफ्नो तरकारी बाली जंगली जनावरले नोक्सान गर्ने भएकाले धाटा हुने गरेको बताउछन । त्यसका साथै रातो कमिला तथा खुमे्र किराले सताउछ उनको भनाई छ । 
फुलवारी कृषक समुहका अगुवा किसान जोगीसिं भुल तरकारी गर्ने किसानहरुले रामै्र आम्दानी गरिरहेको बताउदै आफ्नो समुदायमा वाख्रा बितरण गरेको र यसले पनि आफुहरुलाई फाईदा नै हुने बताउछन । आफ्नो ठाउमा सिचाईको अभाव भएकाले वाख्रा दिएको उनको भनाई थियो । आफुले संस्थाबाट एक वोका र चार बाख्रा पाएको   बताउछन । ‘यो बर्षदेखि तरकारी खेती पनि गर्ने ईच्छ भयो र तरकारीका लागि पोलीहाउस तयार गरेको छु’ उनी भन्छिन् ‘संस्थाले आप्mनो कार्यक्रमलाई निरन्तरता दिनु पर्छ ।’ 

अमरगढीलाई प्रबिधिमैत्री बनाईने

अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले नगरपालिकालाई प्रविधिमैत्री बनाउने बताएका छन् । 
नगरप्रमुख ओझाले समय सापेक्षा प्रविधिको विकास मार्फत समुदायको विकास, सुशासन र पारदर्शिता कायम गर्ने वताए । ‘नगरपालिकाले प्रवाह गर्ने सेवालाई जनभावना अनुसार सबैको पहुँच पुगोस् भन्ने नगरपालिकाको उद्देश्य हो’ ओझाले भने ‘प्रबिधिमैत्री नगरपालिका भयो भने सेवा प्रवाहमा सहज हुनेछ ।’ 
नगरको वडा नम्बर १० राईमा निर्माण हुने सूचना प्रविधि केन्द्रको सुनवाई कार्यक्रममा नगर प्रमुख ओझाले भवनको उद्देश्यवारे जानकारी गराएका थिए ।
सुशासन परियोजनाको स्थानीय साझेदार संस्था ग्रामिण वतावरण विकास केन्द्र (आरइडिसी) आर्थिक सहयोगमा अमरगढी नगरपालिकामा निर्माण हुने सूचना प्रविधि केन्द्रको स्थानीय सुनवाई भेलामा वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, सरोकारवाला निकायहरु र सर्वसधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

छोटकरी समाचार 

धनगढीमा प्रदर्शन

युवक हत्या प्रकरणका दोषीलाई कारवाही माग गर्दै सोमवार कैलालीको धनगढीमा प्रदर्शन गरिएको छ । 
शुक्रवार साँझ हत्या गरिएका बिजय थापाको हत्यारालाई कारवाही गर्न माग गर्दै धनगढीको ट्राफिक चौराहदेखि जिल्ला प्रशासन कार्यालय सम्म प्रदर्शन गरिएको हो । 
धनगढी उपमहानगरपालिका–४ स्थित नाष्ट कलेज अगाडी शुक्रबार साँझ  स्थानीय विजय थापाको हत्या भएको  थियो । हत्याको आरोपमा सोही वडाका आशिष सेठीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

धान खरीद गर्दै संस्थान

नेपाल खाद्य संस्थानले ढिलो गरी कैलाली जिल्लामा नयाँ धान खरीदको व्यवस्था गर्न लागेको छ । 
किसानले धान बाली भित्र्याएको एक महिनाभन्दा बढी समयपछि संस्थानले धनगढीको मोहनपुर र टीकापुर स्थित डिपोमा काँटा सञ्चालन गरेर धान खरीदको व्यवस्था गर्न लागेको हो । खाद्य संस्थान सेती अञ्चल कार्यालयका प्रमुख प्रेमनारायण भण्डारीले नेपाल सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्यमा नै आगामी तीन/चार दिनभित्रमा कैलालीमा धान खरीद शुरु गर्न लागिएको जानकारी दिए । 
सरकारले प्रतिक्विन्टल मोटो धान दुई हजार तीन सय ३१ र मध्यम धानको रु दुई हजार चार सय ६० रुपैयाँ न्युनतम समर्थन मूल्य तोकेको छ ।

खेल समाचार 

डिपिएल माघ तेश्रो सातादेखि

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण प्रतियोगिता माघदेखि सुरु हुने भएको छ ।
धनगढी क्रिकेट एकेडेमीले उक्त प्रतियोगिता यही माघ १९ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ । फागुन ४ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा यस पटक पनि ६ टिमबीच सिटी फ्रेन्चाइज बेसमा लिग हुनेछ । डीपीएल तेश्रो संस्करणमा  भाग लिने टिमहरुमा टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाण्डौं गोल्डेन्स र विराटनगर किंग्स रहेका छन् ।
टि–ट्वान्टी फम्र्याटमा आयोजना हुने प्रतियोगिताका प्रत्येक टिमले एक–अर्कासँग १–१ खेल खेल्न पाउने छ । शीर्ष ४ टिम प्ले अफमा पुग्ने छन् । लिग चरणको तालिकामा पहिलो र दोस्रो हुने टिमले फाइनल प्रवेशका लागि खेल्ने छ । यसमा पराजित हुने टिमले लिगको तेस्रो र चौथो हुने टिमसँग फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छ ।
डीपीएलको मुख्य प्रायोजकमा यसवर्ष पनि रुस्लान रहेको छ । डीपीएल–३ का निर्देशक सुवास शाही र विजय डिस्टिलरीका सीईओ सतिस कर्णले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार विजय डिस्टिलरीले एक करोड १० लाख रुपैयाँ प्रदान गर्ने छ ।

के आई सिंहको शिल्ड पूर्वीचौकी

के आई सिँह गाउँपालिकामा आयोजनामा भएको जिल्लास्तरीय भलिबल प्रतियोगिताको शिल्ड पूर्वीचौकी पुगेको छ । 
के आई सिंह गाउँपालिकाको सहयोगमा स्थानीय के आई सिंह युवा क्लवले आयोजना गरेको प्रतियोगितामा डोटीका आठ स्थानीय तहका नौ टिमको सहभागीता रहेको उक्त प्रतियोगिताको फाईनल प्रतिस्पर्धा आयोजक र पुर्विचौकी टिम विच भएको थियो । ५ सेटमा खेलाईएको फाईनल खेलमा पहिलो दुई सेटमा पूर्वीचौकी गाँउपालिकाले जित हात पारेको थियो भने तेस्रो सेटको खेल आयोजक घरेलु टिम विजयी भएको   थियो । चौथो सेट जित्दा प्रतियोगीताको प्रथम उपाधी पूर्वीचौकी पुगेको हो । 
आयोजक घरेलु टिम दोस्रो र आदर्श गाँउपालिको टिमले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । प्रथम हुने टिमलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ, द्वितीयलाई ६० हजार र तृतीयलाई ३० हजार रुपैँया सहित मेडल, प्रमाण पत्र र ट्रफि प्रदान गरिएको छ ।
उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई पनि जनही पाँच हजार रुपैयाँ प्रदान गरिएको छ ।

चलचित्र/मनोरञ्जन 

“गरुड पुराण” माघमा, “साईली” चैत्रमा

नेपाली चलचित्र ‘गरुड पुराण’ माघ महिनामा सार्वजनिक हुने भएको छ । यस्तै अर्को चलचित्र ‘साइँली’ चैत्रमा सार्वजनिक हुने भएको छ । 
निर्माणको अन्तिम चरणमा रहेका दुई चलचित्रको फस्टलुक सहित रिलिज मिति सार्वजनिक भएको हो । निर्देशक सुवास कोइराला निर्देशित फिल्म ‘गरुड पुराण’ माघ ४ गते सार्वजनिक हुनेछ । सार्वजनिक हुने मिति सहितको फस्टलुक पोष्टरमा अभिनेता नाजिर हुसेन, कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर      चौरासिया र नायिका प्रियंका सिंह ठकुरी लाई देखाईएको छन् ।
त्यस्तै गायक हेमन्त रानाले गाएको गीत ‘सुन साइँली’ बाट नाम लिइएको फिल्म ‘साइँली’ आगामी चैत्र १५ गते रिलिज हुने भएको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्मको सार्वजनिक तीन फस्टलुकमध्ये दुई फस्टलुकमा फिल्मकी शीर्ष नायिका मेनुका प्रधान र बाँकी एउटा पोस्टरमा गौरव पहारी र दयाहाङ राई फिचरिङ छन् ।
गायक हेमन्त र नायक गौरवको कम्पनी जिएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह लगायतका कलाकारको मुख्य भूमिका छ । विशाल गुरुङ र मोहन राना मगर निर्माता रहेको फिल्ममा कालिप्रसाद बास्कोटा र सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

“साईनो” मा भूवनको लगानी

नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्दले चलचित्र “साईनो”  मा लगानी गर्ने भएकी छिन् । 
भूवनको लगानीमा निर्माण हुने चलचित्र ‘साइनो’ को काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको छ । निर्मात्री चन्दले पारिवारिक प्रेम कथामा यो चलचित्र निर्माण हुने जानकारी दिइन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रलाई रमेश थापाले निर्देशन गर्दैछन् ।
चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, भूवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेको साथमा नव कलाकार  राज कुमारको मुख्य भूमिका रहनेछ । करिब ४० दिनमा चलचित्रको छायांकन सक्ने योजना यसको निर्माणपक्षको छ । चलचित्रलाई रमेश थापाले निर्देशन गर्दैछन् ।
एक दशक अघि निर्माण भएको चलचित्र ‘साइनो’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । नेपालकी पहिलो नायिका भूवन चन्दले बनाउन लागेको नयाँ ‘साइनो’ले पनि दर्शकको मन जित्ने अपेक्षा गर्न सकिन्छ ।

लेख

ओडारमा सरेको छाउ गोठ

झुमा लिम्बु
सुदूरपश्चिमका गाउँघरतिर चलेको ‘छाउगोठ भत्काऊ अभियान’ ले सानाठूला उमेरका धेरै महिलामाथी थप संकट उब्जाएको छ । गोठ भत्काइयो तर घर पस्न पनि दिइएन । यो घडी छाउगोठ भत्काएर अभियन्ताहरू घर फर्किरहेका छन् भने महिनावारी भएका महिलाहरू ओडारतिर पसिरहेका छन् । गोठबाट ओडारतिर हुने यो भयातुर बसाइ–सराइ नै के आमूल परिवर्तन हो त ?
आजकलको मान्छेको औसत आयु करिब ६५ वर्ष होला । कोही कम बाँच्छन् त कोही अलि बढी । सुविधा सम्पन्न ठाउँका मान्छे धेरै र अभावमा हुर्केकाहरू कम बाँच्ने तथ्य पनि छँदैछ । जति वर्ष बाँचे पनि, आफ्नो जीवनकालमा मान्छे एक्लै बाँच्दैन । बाँच्दाबाँच्दै उसले समाज पनि बनाउँछ । मान्छेले नै बनाएको समाजले नियम र चलनको अनेक घेरा बनाउन थाल्छ, त्यही   घेरामा उनिएर रनभुल्ल पर्ने पनि उही मान्छे हुन्छ । समाजले बनाएको चालचलन सबै खराब हुँदैनन्, सबै  राम्रा पनि हुँदैनन् । मान्छे र समाज बाँच्ने प्रक्रियाको क्रम उपक्रममा समय वा पुस्ताअनुसार चालचलन र नियम परिस्कृत पनि हुँदै जान्छन् । समय बित्दै जाँदा अनेक कारणले पुराना नयाँ मान्यताहरू बन्दै, भत्किँदै जान्छन् ।
मासिकश्राव भएको महिलालाई छाउघर वा छाउगोठ राखिने छाउपडी प्रथा पनि यस्तै एउटा मान्यता हो । नेपाली मिडियामा ‘छाउपडी’ बारम्बार दोहोरिरहने शब्द हो । विदेशी मिडियाका लागि समेत नेपालको छाउपडी ग्लामरस विषय हो । अनेक कथा र उपन्यासहरू समेत लेखिसकिएको विषय हो यो । नेपाल सरकार र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि प्राथमिकता दिएर लाखौंलाख रकम खर्चिएको क्षेत्र पनि हो छाउपडी ।
सुदूरपश्चिमको बझाङ, मध्यपश्चिमको हुम्ला र आसपासका केही जिल्ला घुम्ने क्रममा मैले पनि यो विषयमा प्रत्यक्ष देख्ने÷सुन्ने मौका पाएँ । आफ्नो कर्म क्षेत्र गीत सङ्गीतबारे सोधखोज गर्ने भए पनि, त्यो गीत सङ्गीत उठ्ने लोकमा के–कस्ता चलन छन्— त्यो मेरा लागि रुचिको विषय हुने नै भयो । यसरी डुल्ने क्रममा, वर्षौंदेखिको बहुपक्षीय चासो र सरोकार हुँदा पनि छाउपडी समस्या सुल्झिनुको साटो झन्झन् बल्झेको पो हो कि भन्ने लाग्यो मलाई ।
आजको आधुनिक मानिएको समयमा छाउघर वा छाउगोठमा बस्नु कसैका लागि पनि सुखद कुरा हुँदै होइन । घरभित्रको कोठाबाट निकालिएर बाहिर गोठमा बस्नुपर्ने जो कोहीलाई अपमानित महसुस हुँदो हो । समाजकै लागि पनि यो लज्जाको विषय हो । प्राकृतिक  रक्तश्रावलाई धर्मसँग जोडेर गलत व्याख्या गरिएकाले धेरै महिलाले अनाहकमा यस्तो अपमान र कष्ट भोग्नु परिरहेको छ ।
यस्तो चलनलाई विकृति वा पछौटेपना मानेर नेपाल सरकार र राष्ट्रियर अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूले यसका विरुद्ध विभिन्न गतिविधि चलाएको पनि धेरै भइसक्यो । पछिल्लो समय यो समस्या समाधान गर्ने भनेर ‘छाउगोठ भत्काऊ’ अभियानसमेत चलाइयो । यो अभियान निरन्तर चलिरहेकै छ ।
हो, यो अभियानको उद्देश्य आफैंमा गलत छैन । तर माथि भनिसकियो— हाम्रा संस्कार वा चालचलन एकै दिनमा बनेका होइनन् । समाजमा व्याप्त विकृत चलन फेर्नु अघि त्यसका प्रभावहरूबारे गम्भीर रूपमा सोच्नु जरुरी छ । तर, पश्चिमका विकट जिल्ला वा गाउँबस्तीमा घुमिरहँदा धेरैजसो सरोकारवालाहरूले छाउगोठ भत्काउने अभियान हचुवा र लहडको तालमा चलाएको महसुस गरेको छु मैले ।
छाउघर भत्काउ अभियानमा स्थानीय समाजसेवी र राजनीतिक अभियन्ताको भूमिका पनि उदेकलाग्दो   छ । समाज र समुदाय विशेषका व्यावहारिक जटिलता–बारे यिनले अलि बढी सोच्नुपर्ने हो । तर, चर्चा र भोट पाउने मोहले हो कि यिनीहरू पनि लहैलहैमा लागेर छाउपडी प्रथाको उन्मूलनको अल्पकालीन समाधानको सूत्र जपिरहेका छन् । छाउघर भत्काइएपछि महिनावारी भएका महिलाले भोग्नुपरेको थप पीडाबारे यिनीहरू थप जिम्मेवार हुनुपर्ने हो । तर, व्यवहारमा यसको ठीक उल्टो भइरहेको छ ।
छाउघर वा छाउगोठ भत्किँदैमा समाजले महिना–वारी बार्न बाध्य पार्ने चलन फेर्न सहज छैन । किनकि कतिपय समुदायले यसलाई अझै अनिवार्य सामाजिक नियमका रूपमा लिएको अवस्था छ । यस्तो नियममाथि धर्म र संस्कारजन्य विश्वासले बल पु¥याइरहेको छ ।
हाम्रो जस्तो परम्परागत समाज जहाँ कानुन हैन धर्मको हैकम चल्छ, त्यसलाई चुनौती दिन परिपक्व निर्णयको खाँचो पर्छ । हामीकहाँ लिखित कानुन त छ तर यसको कार्यान्वयन कमजोर छ । दूर नेपाल र सुदूर नेपालका जनतामाथि राज्यको कानुनभन्दा त्यहीँको परम्परागत रीतिथितिको शासनको प्रभाव बढी छ ।  परम्परा र रुढीको नियन्त्रण बलियो छ । त्यहाँ ज्ञान र विज्ञानभन्दा पाप र धर्मको व्याख्याले बढी अर्थ राख्छ । प्राकृतिक र कृत्रिम कुराको भेदलाई त्यहाँ देवता वा राक्षस लागेको रूपमा बुझिन्छ ।
यस्तो बुझाइ र मान्यताले राज गरिरहेको समाजमा बाहिरी ज्ञानलाई हुबहु उतार्ने अभ्यासले सफलता पाउन सजिलो छैन । त्यहाँ त छाउपडी पाप र धर्मको विषय नभई शरीर विज्ञानको विषय हो भन्ने कुरा बुझाउने प्रयास भए पो त्यसले अर्थ राख्छरु। छाउपडीजस्ता महिलालाई दुःख दिने कुरा किन अन्त गर्नुपर्छ भन्ने नयाँ र पुराना दुवै पुस्ताबीच विमर्श चलाए पो त्यसले रूपान्तरणमा सकारात्मक प्रभाव पार्छ । पुस्तौंपुस्ताले सहस्र स्वीकारेको यो प्रथालाई हटाउन पुस्तैनी प्रयासको खाँचो पर्ने देखिन्छ । नत्र त्यो समाजको जीवनशैली थप अप्ठ्यारोमा पर्ने खतरा रहन्छ ।
यी भेगका केही गाउँहरू (लिमी उपत्यका) मा अझै पनि साँझ परेपछि नयाँ मान्छे गाउँ आउँदा भूत–प्रेत आएर गाउँमा दुःख दिन्छ भनेर बास नदिने चलन  रहेछ । पश्चिम र सुदूरपश्चिममा छुवाछूत र भेदभाव धेरै भएका ठाउँमा छाउपडी समस्या बढी छ । समाजमा विद्यमान जातीय र आर्थिक विभेदको अन्त्य गर्ने अन्य पूर्वाधार तयार नभईकन छाउपडी हटाउने अभियान प्रभावकारी हुन सक्दैन । किनकि हाम्रा सामाजिक सांस्कृतिक समस्याहरू एकआपसमा जेलिएका जो छन् ।
महिला स्वास्थ्यको सबैभन्दा महत्वपूर्ण÷संवेदनशील समय हो— महिनावारी । सहरमा बस्ने म आफू दिनमा दुई–तीन पटकसम्म प्याड फेर्छु, प्याड फेर्दै पिच्छे धुनु पर्छ । महिनावारीको बेला गाउँघरमा प्याडको सट्टा पुरानो कपडालाई साना–साना टाला बनाएर पटयाएर लगाउने चलन छ । कतिपय त त्यही टालो समेत बनाएर लगाउन नसक्ने अवस्थामा छन् । तिनको प्राथमिक आवश्यकता के हो ? यसबारे अभियन्ता र सरोकारवालाहरूले खासै ध्यान दिएको भेटिएन ।
पश्चिमी भेगका पहाडी र हिमाली जिल्लामा पानीको अभाव साझा समस्या हो । कतिपय गाउँमा महिनावा–  रीका बेला प्रयोग गरिने टालो धुने पानीसमेत हुँदैन । त्यो टालो फाल्यो भने अर्को महिना लगाउने टालो हुँदैन । छाउघर वा छाउगोठमा सरसफाइ र सुरक्षाको अभाव  छ । चिसो लाग्ने र सर्पले डस्ने खतरा छ । अझ यस्तै दुःखमा बलात्कार र बलात्कारी मनोवृत्तिको भय झनै खतरनाक समस्या हो ।
त्यसै पनि रक्तस्रावले शरीर कमजोर भएको बेला छाउघरभित्र भुइँमा डस्नाबिना गुन्द्रीमा ५–७ दिन घाम नदेखी बस्दा कस्तो हुन्छ ? एउटा गोठ जहाँ बत्ती छैन, पानी छैन, न्यानो छैन, मान्छे भएर बाँच्नुपर्दाको आधारभूत चीजबीज छैन । कल्पना गर्नुस् त । यस्तो अभाव र समस्यामा बाँचिरहेका दिदी, बहिनी, आमा र भाउजूहरूका तत्कालीन आवश्यता सम्बोधन कसले गर्नेरु? कसरी गर्नेरु? छाउघरबिनै महिनाबारी बार्न कहाँ जाने ?
यसको क्रान्तिकारी उत्तर छाउप्रथा नै नमाने भइगयो भन्ने हुन सक्छ । यस्तो हुन सके त कति वेश हुन्थ्यो । तर पनि मेरो प्रश्न छ—छाउ नै नमान्ने समाज निर्माण कसरी गर्ने ? कसले गर्ने ? छाउगोठ भत्काउँदैमा छाउ बार्ने चलन  रोकिएको छ त ? पक्कै छैन ।
बरु, ‘छाउगोठ भत्काऊ अभियान’ ले साना ठूला उमेरका धेरै महिलामाथि थप संकट उब्जाएको छ । गोठ भत्काइएकै रिसमा उनीहरू ओडारको बास बस्न बाध्य भएका छन् । झनै ठूलो तिरस्कार र त्रासको सिकार बनेका छन् । छाउगोठ भत्काएर अभियन्ताहरू घर फर्किन्छन् भने महिनावारी भएका महिलाहरू ओडारमा पुग्छन् । गोठबाट ओडारमा हुने यो भयातुर बसाइ–सराइ नै परिवर्तन हो त ?
परिवर्तन दुईखाले हुन्छ होला । एउटा सुधारात्मक, अर्को क्रान्तिकारी । सांस्कृतिक कुरामा सुधार ल्याउन क्रान्तिकारीजस्ता लाग्ने तर व्यावहारिक समाधानबिनाका क्षणिक गतिविधिले समस्याको सतही समाधान मात्र खोज्छ । बरु सुधारात्मक लाग्ने दीर्घकालीन सोच सहितको व्यावहारिक पहलले छाउपडी प्रथाजस्तो जरो गाढेको समस्यासँग जुध्न सघाउने हो कि !
‘अग्रगामी’ र ‘क्रान्तिकारी’ जस्तो लाग्ने छाउगोठ भत्काऊ अभियानको सतही काम देख्दा, सुन्दा म भने यही निष्कर्षमा पुगेकी छु । यो कटुसत्य बाहिर ल्याउँदा अवश्यै निन्दा र भत्र्सना सुन्नुपर्ला तर सत्य तीतो छ । म यो सहरमा ‘छाउबोध’ गर्ने युवती हुँ, दुरदराज गाउँमा ओडारमा छाउ बसिरहेका दिदीबहिनीको पीडाबोध गरेरै कथित विकासे अभियानको विरोधमा उभिएकी हुँ ।
— कानितपुर कोसेलीबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. अमेरिकामा माथिल्लो सदन सिनेछ र तल्लो सदन हाउस अफ रिप्रिजेन्टिेटिभका लागि पछिल्लो पटक मध्यावधि निर्वाचन कहिले सम्पन्न भयो ?  — सन २०१८ नोभेम्वर ६ 
(तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सम्पूर्ण ४३५ सिट, एक सय सदस्य रहेको माथिल्लो सदन सिनेटको ३५ सिट र ५० राज्यमध्ये ३६ राज्यका गभर्नरका लागि निर्वाचन भएको । अमेरिकामा          राष्ट्रपतिको चार बर्षे कार्यकालको ठीक आधा अवधी समाप्त भएपछि मध्यावधि निर्वाचन हुने व्यवस्था  रहेको छ । मध्यावधि निर्वाचनमा रिपव्लिकनले बहुमत गुमाएमा ट्रम्पका विवादित नीति र घोषणा कार्यान्वयनमा अंकुश लाग्न सक्ने ।)
२. बित्तीय क्षेत्रमा आउन सक्ने जोखिमको पूर्वानुमान गरी मुलुकलाई सम्भावित बित्तीय संकटबाट जोगाउने उद्देश्यले राष्ट्रिय योजना आयोगद्वारा सुरुवात गर्न थालिएको पद्धतिलाई के भनी चिनिन्छ ? 
— ईकोनोमिक अर्लिकार्निङ सिस्टम 
(राष्ट्रिय योजना आयोग मातहत रहने यो प्रणालीले समष्टिगत अर्थतन्त्रका सूचकमा भईरहने उतार चढाव र त्यसले नेपालमा पार्न सक्ने अल्पकालीन तथा दीर्घकालीन प्रभाव र जोगिन अपनाउनु पर्ने उपायहरु सरकारलाई सिmारिस गर्ने । यो प्रणाली मार्फत गर्न सकिने, यसले समेट्ने क्षेत्रहरु र अन्तराष्ट्रिय अभ्यासबारे बिभिन्न देशका अर्थशास्त्री एवं योजनाविद्संग छलफल गरी आठ महिनामा मस्यौदा तयार गरिने र सो पश्चात उक्त प्रणालीलाई हाम्रो सिस्टममा नै समावेश गरिने बताईएको छ । आर्थिक पूर्व सूचना प्रणालीवारेमा एसियाली विकास बैङ्कका बिज्ञहरुको सहभागितामा २०७५ कात्तिकमा प्रारम्भिक छलफल भएको आयोगले जनाएको ।) 
३. नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई बिदेशी मुद्रामा ऋण ल्याउदा प्राथमिक पूँजी कति प्रतिशतसम्म ल्याउन पाउने व्यवस्था गरेको छ ?   — ५० प्रतिशतसम्म (२०७५ कात्तिक २१) 
(राष्ट्र बैङ्कले यस अघि (२०७४ चैत्र २०) वाणिज्य बैङ्कलाई प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा वाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो । बिदेशी मुद्रामा ऋण लिने सन्दर्भमा नेपाली बैङ्कको सञ्चालक समितिले निर्णय गरेको हुनु पर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसरी ऋण ल्याउने क्रमको जमानत वा धितो भने राख्न नपाईने व्यवस्था गरिएको केन्द्रीय बैङ्कले जनाएको छ । 
४. सन २०१९ को महिला बिश्वकप फुटबल प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?  — फ्रान्स 
५. आईसिसी महिला टी–ट्वान्टी बिश्वकप क्रिकेट २०१८ को आयोजना कहाँ गरिएको हो ? 
— वेष्ट ईन्डिस (सन २०१८ नोभेम्वर)
६. प्रथम विश्वयुद्ध कहिले अन्त्य भएको थियो ?  — सन १९१८ नोभेम्वर ११ 
(मानव सभ्यतामाथी चुनौती दिदै विश्वभर विध्वंश मच्चाएको पहिलो विश्वयुद्ध सन १९१४ जुलाई २८ सुरु भएको थियो । प्रथम बिश्वयुद्ध अन्त्यको सय बर्ष पुरा भएको सन्दर्भमा सन २०१८ नोभेम्वर ११ मा फ्रान्सको पेरिसमा एक समारोहको आयोजना गरिएको जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी    राष्ट्रपति भ्लादिमिर पुतिन, जर्मन चान्सलर एन्जेला मर्केलसहित विश्वका करीव ७० देशका नेता उपस्थित भएका थिए । विश्वमा राष्ट्रबाद र कुटनीतिक तनावको पृष्ठभूमिमा यो समारोहको आयोजना गरिएको थियो । पहिलो विश्वयुद्धमा करीव ९७ लाख सैनिक र एक करोड गैरसैनिक नागरिक मारिएको ईतिहासमा उल्लेख छ ।) 
७. स्वीट क्रिम, कोटेड रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फुलका प्रकार हुन ? — सयपत्री 
८. “आधुनिक शिक्षकको जिम्मेवारी जंगल काट्नु होईन, मरभूमिमा सिंचाई गर्नु हो ।” भन्ने विद्वान को हुन ?  — सिएस लेविस, व्रिटिस उपन्यासकार 
९. ‘मैले जीवनमा कठोर परिश्रम गरेर परिश्रमको मुल्यबारे सिँके ।’ भन्ने भनाई कसको हो ? 
— मार्गरिट मेड, अमेरिकी समाजशास्त्री 
१०. बि.सं. २०७५ कात्तिकमा सम्पन्न प्रथम संस्करणको पोखरा प्रिमियर लिग (पीपिएल) को उपाधि कसले जित्यो ?   — घरेलु टोली पोखरा 
(पारस खड्का कप्तान रहेको चितवन राईनोजलाई ३ विकेटले पराजित गर्दै शरद भेषवाकर कप्तान    रहेको घरेलु टोली पोखराले पहिलो संस्करणको पीपिएलको उपाधी जितेको हो ।)
११. अमलेखगञ्जको पुरानो नाम भिच्छाखोरी हो भने वाल्मीकिनगरको पुरानो नाम के हो ? 
— भैसालोछन 
१२. नेपाल र चीनबीच नियमन सूचना आदानप्रदान (क्गउभचखष्कष्यलबचथ ष्लायचmबतष्यल भ्हअजबलनभ) सम्वन्धी सम्झौता कहिले भएको हो ?   — सन २०१६ मार्च २१ 
१३. मोवाईलमा चौथो पुस्ताको ईन्टरनेटको रुपमा परिचित फोरजी सेवा नेपालमा कहिलेदेखि सुरु    गरिएको हो ?      — बि.सं. २०७३ पुष १७ 
(फोरजी सेवा सुरु गरेको श्रय पाएको सरकारी लगानीको नेपाल टेलिकमका ग्रहाक ६ लाख ३५ हजार पुगेका छन । २०७४ जेठ १८ देखि फोरजी सेवा सुरु गरेको एनसेलका ग्रहाक १२ लाख ४४ हजार      (२०७५ भदौं मसान्तसम्म) पुगेका छन । नेपाल टेलिकमका थ्रीजी ईन्टरनेट प्रयोगकर्ताको संख्या भने एनसेलको तुलनामा केही बढी रहेका छन् । नेपाल दुर सञ्चार प्राधिकरणका अनुसार टेलिकमका थ्रीजी प्रयोगकर्ता ५१ लाख १३ हजार तथा एनसेलका ४८ लाख ५५ हजार रहेका छन् । हाल नेपालमा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलले मोवाईलमा फोरजी सेवा उपलव्ध गराउँदै आएका छन् । २०७४ कात्तिक १४ देखि  फोरजी प्रयोगकर्ता ४८ हजार ३६९ पुगेका छन् । प्राधिकरणका अनुसार मोवाईलसहित अन्य विभिन्न प्रबिधिका ईन्टरनेट प्रयोग गर्नेको संख्या एक करोड ५५ लाख (५३.१२%) नाघेका छन् ।) 
१४. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?   — चितवन राष्ट्रिय निकुञ्ज 

साहित्य/सिर्जना 

नेपाली र भविश्य 

तोड बेतोडको जमाना
जोड घटाउको अर्थ
घात प्रतिघातका शब्दहरु
विश्वास अविश्वासका छापहरु
जन्म मृत्युको दोसाँध
एउटा मूर्त एउटा अमूर्त
उस्तै चेतन र अवचेतन
आफै अर्को द्वन्द्व
कल्पित संसारमा
गगनचुम्बी दरबारहरु
आँधी बेहरीसँगै उजाडिएका छन्
प्रकृतिका मनोरम छटाहरु
परेलीबाट रित्ति सकेका छन्
यो कटुता हो
कसरी स्वीकारौं ?

हराएको छु म
आफै वेहोसी
चिच्याएको छु म
आफै बौलाही
दौडिएको छु किन वेचाल
किन दुख्छ
किन हुन्छु पल्थर
जब ढल्छ कोही
झनै दुख्छ घाउँ
बगेको छ रगत
उफ हाम्रो लागि
कि ढल्छ ऊ ?

पानी विनाको झर्ना
हिउँ विनाको हिमाल
हरियाली विनाको पहाड
मरुभूमि झैं तराई
कस्तो बैराज्ञमा सोचिएला !
तर विडम्बना
अब के नै बाँकी छ र ?
मान्छेमा मानवता हराएपछि
कस्तो शक्ति सञ्चित होला
सबै टुक्रिएपछि ।

परिश्रमका ठाउँमा लाचार
विम्वका ठाउँमा प्रतिविम्ब
यथार्थका विरुद्ध वेहोसी
झनै विरक्तिन्छ आत्मा
हेर्छु अन्धो नयनले माटो
यो कस्तो दुर्दशा लागेको दिन
छट्पटाउँछ धुँवाहरु
बारुदहरु
मेरो गौरव र अतीतहरु
मेरो जन्म भूमि र वर्तमानहरु
हामी नेपाली र भविष्यहरु ।
देवी वहादुर श्रेष्ठ
तुङ्गेछा १, भोजपुर

सूचना/सन्देश/बिज्ञापन 

शिक्षक आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०८/०२ 
उपरोक्त सम्बन्धमा पूर्वीचौकी गाउँपालिका–२, वगलेक डोटीमा रहेको यस श्री भारतोली माध्यामिक बिद्यालयमा रिक्त रहन गएको तपशिल बमोजिको शिक्षक पदमा करार पदपूर्ति गर्नु पर्ने भएको हुँदा निम्न बमोजिमको योग्यता पुगेको उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन हुन आव्हान गरिन्छ ।
तपशिल 
बिज्ञापन नं. १/०७५/०७६ 
पद ः शिक्षक,    संख्या ः १ जना
तह ः प्रा.बि. तृतीय,    किसिम ः राहात (महिला)  
तलब स्केल ः प्रचलित नेपाल सरकारको नियमानुसार अनुसार  
शैक्षिक योग्यता ः प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्र्तीण (अध्यापन अनुमति पत्र प्राप्त) 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
आबेदन दस्तुर ः २०००÷–
परीक्षाको किसिम ः लिखित र अन्तर्वार्ता 
दरखास्त दिने अन्तिम मिति ः २०७५÷०८÷१६ गते कार्यालय सयमभित्र
सम्पर्क मिति ः २०७५÷०८÷१७ गते
परीक्षा मिति ः सम्पर्क मितिमा तोकिनेछ । 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्डहस्त लिखित निवेदन 
नोट ः स्थानीय, दलित, अपागं, जनजाति र माथिल्लो योग्यता भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि मोवाईल नं. ९८४८४१५९०७ मा सम्पर्क गर्नु होला ।

दिपायल सिलगढी नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 

सिलगढी, डोटी 
सुदूरपश्चिम प्रदेश 

हकदावी सम्वन्धी सूचना । 

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०८/०४ 
उपर्युक्त सम्वन्धमा यस दिपायल सिलगढी नगरपालिकाको वडा नं. ६ थाप्लास्थित सडक छेउमा रोड रोलर १ थान र वडा नं. ४ स्थित सेती नदीको छेउमा रोड डोजर चैन वाला १ थान लामो समय देखि (करीव १२÷१५ बर्षदेखि) वेवारिसे अवस्थामा रही सामान काम नलाग्ने अवस्थामा भएकाले सो सामान कुन कार्यालय वा व्यक्ति, फर्मको हो ? सो को हकदावी गर्न यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस कार्यालयमा लिखित रुपमा जानकारी गर्नु होला । सो समयभित्र पनि कुनै कसैको हकदावी नभएमा उक्त सामान यस नगरपालिकाको मातहत वा स्वामित्वमा ल्याई यस नगरपालिकाले लिलाम विक्री गर्ने व्यहोरा समेत सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नेपाल सरकार 
रक्षा मन्त्रालय 
नेपाली सेना 
श्री रुद्रध्वज गण, सिलगढी ब्यारेक डोटीको 

सिलबन्दी दरभाउपत्र आब्हानको सूचना 

प्रथम पटक प्रकाशित मिति ः २०७५/०८/०३ गते 
यस गणको हाता भित्र ५ सिटे महिला शौचालयको सिलबन्दी दरभाउपत्रको माध्यमबाट निर्माण गर्नूपर्ने भएकोले इजाजत प्राप्त ईच्छुक आपूर्तिकर्ताबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस गणबाट रु.१०००।– (एक हजार मात्र)  (पछि फिर्ता नहुने गरी) तिरी दरभाउपत्र फाराम खरिद गर्नू भई १६ औं (सोह्रौ) दिनको १२ः०० बजेभित्र यस गणमा सिलबन्दी दरभाउपत्र दाखिला गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी अन्य जानकारीको लागि यस गणको फोन नं. ०९४–४११०९७, मोवाईल नं. ९८४३०९९४२६ (लेखा सहायक सेनानी सृजन बिष्ट) मा सम्पर्क गरी जानकारी लिन हुन र बिस्तृत विवरणको सूचना जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, को.ले.नि.का र यस गणको सूचना पाटीमा टांस गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । 
ठेक्का सम्वन्धी विवरण