Tuesday, January 29, 2019

बिम्ब साप्ताहिक, मिति २०७५ साल माघ १५ गते

“आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ः ग्रामिण तथा सहरी महिलाहरुको जीवनस्तर रुपान्तरण”
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

प्रति दश हजार जनसंख्यामा एक कुष्ठ रोगी

सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा प्रति १० हजार जनसंख्यामा १ जना कुष्ठरोगी  रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 
निर्देशनालयले कैलाली, कञ्चनपुर र अछाम जिल्लामा अझै कुष्ठ रोग निवारण नभएको जनाएको छ । नेपालमा कुष्ठ रोग निवारणको घोषणा १० वर्ष पुगे पनि सुदूरपश्चिम प्रदेशमा अझै निवारण नभएको निर्देशनालयको तथ्याँकले देखाएको छ । प्रदेशका सवै जिल्लाहरुमा कुष्ठ रोगीको संख्या बढ्दै गरेको छ । 
आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ प्रति १० हजार जनसंख्यामा क्रमशः ०.७ र ०.६७ थियो भने गत वर्ष बढेर १.०५ जना कुष्ठ रोगी भएका हुन् । गत आर्थिक वर्षमा प्रति १० हजारमा १.७८ जना कुष्ठ रोगी देखिएका छन् । आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा प्रति १० हजारमा क्रमशः ०.९ र १.११ जना कुष्ठ रोगी थिए । 
त्यस्तै, कञ्चनपुरमा गत आर्थिक वर्षमा प्रति १० हजारमा १.४४ जना कुष्ठरोगी भेटिएका छन् । २०७२/७३ देखि २०७३/०७४ प्रति हजारमा क्रमशः ०.८ र ०.९४ कुष्ठ रोगी थिए । गत आर्थिक बर्षमा अछाममा प्रति १० हजार जनसंख्यामा १.१८ जना कुष्ठ रोगी भेटिए । आव ०७२/०७३ र ०७३/०७४ मा क्रमशः १.३ र ०.८ कुष्ठरोगी थिए ।
चालु आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिम प्रदेशमा ४० जना नयाँ कुष्ठरोगी भेटिएका प्रदेश स्वास्थ्य निर्देशक डा.  गुणराज अवस्थीले वताए । 
नेपाल सरकारले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । त्यतिवेला १२ जिल्लामा यो रोग निवारण भएको थिएन । अहिले भने १८ जिल्लामा कुष्ठ रोगीहरु भेटिएका छन् । विगतमा कुष्ठ रोगीलाई अपहेलना गर्ने र उनीहरुलाई गाउँ निकाला गर्ने गरेको कारण पनि मानिसहरु उपचार गराउन नआउने गर्नाले कुष्ठ रोगको प्रकोप बढिरहेको छ । कुष्ठरोग उपचार गरेमा निको हुन्छ भन्ने चेतना नभएका कारण विरामीहरु स्वास्थ्य संस्थामा नआउने गरेकोले स्वास्थ्यकर्मीले आफै पत्ता लगाएर उपचार गर्ने गरेको निर्देशक डा. अवस्थीले बताए । “शरीरमा जुनसुकै रंगको नदुख्ने, नचिलाउने तथा लाटो दाग देखिएमा तुरुन्त अस्पताल गई उपचार गराउनु पर्ने हुन्छ” डा. अवस्थीले भने ‘पुरानो मान्यतालाई छोडेर अगाडी बढ्नु जरुरी छ ।’ उनले शुरुवाती चरणमा उपचार गराएमा शरीरमा हुने क्षति रोकिने बताए । 
ढिलो गरी उपचार गराउँदा रोग निको भएपनि शरीरमा भएको क्षति पूर्ण नहुने उनले बताए । कुष्ठ रोगको उपचार गराउन स्वास्थ्य संस्थामा ढिलो गरी पुगेका करीव ३० हजार नेपालीहरु कुष्ठ रोगका कारण अपाङ्ग भएका छन् ।
देशभर कुष्ठ रोगीको संख्या बढ्दै गएपछि सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष लिएको छ । तर देशको संरचना परिवर्तनसंगै स्वास्थ्य क्षेत्रको संरचना फेरिएकाले    काम गर्न गाह्रो भएको स्वास्थ्य डा अवस्थीको भनाई छ ।
नेपाल सरकारको कुष्ठ रोग निवारण नीति २०१६ ले बच्चामा हुने कुष्ठ रोग र कुष्ठ रोगका कारण हुने अपाङ्गता शुन्यमा झार्ने र कुष्ठ रोगको दर प्रति लाखमा १ मा झार्ने लक्ष लिएको छ ।
‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र वभेदको अन्त्य’ भन्ने मुल नाराका साथ आईतवार मात्रै ६६ औं विश्व कुष्ठ रोग दिवस मनाइएको छ । कार्यक्रममा कुष्ठ रोगीका परिवार र छिमेकीलाई समेत औषधी उपचार गरिन थालिएको निर्देशनालयले जानकारी दिएको छ । कुष्ठरोगको उपचार निःशुल्क गर्नुका साथै नियमित औषधी सेवन गरी निको भएका विरामीलाई एक हजार रुपैयाँ यातायात खर्च दिने गरेको छ । कुष्ठ रोगीको शल्यक्रिया गर्नु   परे निशुल्क गरिने र शल्यक्रिया गरेका बिरामीलाई थप सात हजार रुपैयाँ सहयोग दिने गरेको छ ।

सम्पादकीय 

नगरबसको व्यवस्थापन

गत बर्ष डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर बस सञ्चालनमा ल्यायो । स्थानीय तहले आफ्नै लगानीमा नगर बस सञ्चालन गरेको नेपालकै ईतिहासमा पहिलो काम दिपायल सिलगढी नगरपालिकाले गरेको हो । बस सञ्चालन भएसंगै स्थानीयबासीहरुमा एक प्रकारको खुशी पनि छाएको छ । सार्वजनिक यातायातका जीपहरुमा झुण्डिएर असुरक्षित यात्रा गर्नु पर्ने, चर्को भाडा तिर्नु पर्ने, घण्टौं कुर्नु पर्ने लगायतका समस्यावाट पीडित स्थानीयबासीहरुले सस्तो दरमा सुरक्षित यात्रा गर्न पाउँदा एक प्रकारको खुशी हुनु स्वभाविकै हो । तर त्यो खुशी क्षणिक हो वा दीर्घकालीन हुन्छ भन्ने कुराको भने कुनै ग्यारेण्टी छैन । 
दिपायल सिलगढी नगरपालिकाको सिको गर्दै डोटीका अन्य दुई स्थानीय तहहरुले पनि बस सञ्चालनमा ल्याएका छन् । शिखर नगरपालिकाले करीव एक महिना अगाडी बस सञ्चालनमा ल्याएको छ । यात्रुहरुलाई सुबिधा दिने भन्दै शिखरले पनि दिपायल सिलगढी जस्तै दुई बस सञ्चालनमा ल्याएको छ । शिखर नगरपालिकाले बस सञ्चालन गरेको एक महिना पनि नपुग्दै पूर्वीचौकी गाउँपालिकाले पनि बस सञ्चालन गरेको छ । पूर्वीचौकीले पनि आफ्नै लगानीमा दुई बस सडकमा कुदाउन थालेको छ । 
यात्रुहरुलाई सुविधा दिनका लागि बस सेवा सञ्चालन गर्नु आफैमा राम्रो कुरा हो । जनतालाई हरेक कुरामा सेवा सुबिधा दिनु स्थानीय सरकारको जिम्मेवारी पनि हो । तर सञ्चालनमा ल्याईएका बसहरु दिगो हुन्छन कि हुँदैनन् ? यि बसहरुले नगरबासी र अन्य यात्रुहरुलाई समेत दिइरहेको सेवा सुबिधा सर्वसुलभ हुन्छ या झण्झटिलो हुन्छ ? भन्ने कुरामा ध्यान दिनु जरुरी छ । पूर्वीचौकीको सानागाउँबाट शिखर नगरपालिकाको तल्कोटसम्म यात्रा गर्ने व्यक्तिले तीन बसको यात्रा गर्नु पर्ने भएको छ । अर्थात सानागाउँबाट सिलगढीसम्म पूर्वीचौकी गाउँपालिकाको बस, सिलगढीबाट दिपायलसम्म दिपायल सिलगढी नगरपालिकाको बस र दिपायल देखि तल्कोटसम्म शिखर नगरपालिकाको बस । यदि त्यो यात्रुले डडेल्धुरा जानु प¥यो भने फेरी कोरालबाट अर्को गाडी खोज्नु   पर्छ । यसरी त यात्रुहरुलाई के को सुविधा भयो र ? झोला झिम्टा बोक्दै बस परिवर्तन गर्दै गर्नु राम्रो हुँदैन । 
त्यसैले स्थानीय सरकारहरुले सञ्चालन गरेको बस सेवालाई प्रभावकारी वनाईनु जरुरी छ । यसको व्यवस्थापनमा अहिले देखिनै ध्यान दिनु जरुरी छ । पहिलो कुरा बस सञ्चालन गर्ने डोटीका तीन स्थानीय तहहरु दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाका बिचमा साझा बुझाइ हुनु जरुरी छ । तीनवटै स्थानीय तहहरुले बसको रुट तय गर्नु जरुरी छ । त्यसपछि डडेल्धुराका अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकासंग पनि समन्वय गरेर डोटीका बसहरु डडेल्धुरासम्म सञ्चालन हुने बातावरण बनाउनु पर्छ । यसो गरे यात्रुहरुलाई बस फर्दै हिड्नु पर्ने झण्झट हुँदैन । 
दोश्रो कुरा, अहिले बसहरु नयाँ छन्, दुई बर्ष त्यति समस्या नआउला तर जव बसहरु पुराना हुँदै जानेछन् त्यसपछि मर्मतको कुरा आउला । सरकारी गाडी मर्मत गर्ने नाममा व्यक्तिहरु मर्मत हुने चलन रहेको हाम्रो देशमा स्थानीय तहहरुले बस मर्मतको  भारी धान्न सक्छन् त ? नयाँ नयाँ बस सञ्चालनकै क्रममा मुनाफा नदेखिएको अवस्थामा बसहरु पुराना भएपछि के आफ्नो खर्च धान्न सक्छन् त ? मर्मत पक्षको व्यवस्थापनमा पनि ध्यान दिनु जरुरी छ । अर्को कुरा बसहरुको अनुगमन गर्ने संयन्त्र के हो ? दैनिक कति यात्रु बसले ओसार्दैछ, त्यसबाट कति पैसा दैनिक आउँदैछ, तेल कति खर्च हुँदैछ, यात्रुहरुप्रति बस स्टाफहरुको व्यवहार कस्तो छ भन्ने कुराको अनुगमन गर्ने संयन्त्रको पनि व्यवस्थापन हुनु जरुरी छ । 
यस्ता बिषयहरुमा ध्यान जानु जरुरी छ । अन्यथा यो प्रतिस्पर्धा मात्रै हुनेछ, दीगो हुने छैन ।

थप समाचार 

घाइते जंगली वँदेल भेटियाे 

डोटी जिल्ला सदरमुकाम सिलगढी नजिकै घाइते अवस्थामा जंगली बँदेल फेला परेको छ । 
दिपायल सिलगढी नगरपालिका–५ अन्तरगत दिपायल(सिलगढी सडकको नालीमा भेटिएको बँदेल डिभिजन बन कार्यालय डोटीले नियन्त्रणमा लिएको छ । स्थानीयले सडकको नालीमा घाइते अवस्थामा रहेको जानकारी दिएपछि डिभिजन बन कार्यालयको टोलीले उद्दार गरि ल्याएको रेञ्जर सुरेन्द्र रोकायाले जानकारी दिए । 
‘माथीबाट खसेर नालीमा परेको रहेछ, स्थानीयले खवर गर्नु भयो’ रोकायाले भने ‘त्यसपछि कार्यालयको टोली गएर उद्दार गरेका छौं ।’ रोकायाले पशु स्वास्थ्यकर्मीहरुसंग उपचारको बिषयमा छलफल भईरहेको जानकारी दिए । उनले थपे ‘पछाडीको दुवै खुट्टा टेक्न सक्ने अवस्थामा छैन, सायद ढाडमा चोट लागेको हुन सक्छ ।’ उपचार पश्चात निको भएपछि जंगलमा छोडिने रोकायाले वताए ।

महोत्सव अवधीभर चक्काजाम नगर्ने

रमेश जोशी/डोटी 
माघ १४
उद्योग बाणिज्य संघ डोटीले आउदो माघ २५ देखि फागुन ५ गतेसम्म डोटीको दिपायलमा आयोजना गर्ने सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७५ अबधिभरमा चक्काजाम नगर्ने सहमति भएको छ ।
सोमवार जिल्ला प्रशासन कार्यालय डोटीमा आयोजना   गरिएको समन्वय बैठकबाट उक्त सहमति भएको हो । जिल्लामा सक्रिय राजनैतिक दलहरु, व्यापार व्यवसायी, स्थानीयबासी कुनै पनि पक्षबाट बन्द। हड्ताल, चक्काजाम लगायतका कार्यहरुमा पूर्ण रुपमा रोक लगाउने सर्वपक्षीय सहमति भएको हो । 
जिल्ला प्रशासन कार्यालय डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालको अध्यक्षतामा बसेको बैठकमा उपस्थित सरोकारबाला सम्पुर्ण राजनैतिक दल , स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति , सुरक्षा निकायका प्रमुख, लगायतको बैठकले यस्तो निर्णय गरेको उद्योग वाणिज्य संघका महासचिब दिपक खड्काले जानकारी दिए ।
सरोकारवालाहरुको बैठकले महोत्सव अवधिभर  चक्काजाम जस्ता कृयाकलाप नगर्ने र महोत्सवलाई सभ्य   तवरले सफल पार्न सबै पक्षले सहयोग गर्ने बताएका हुन् ।

सेवा सुविधा बढाउन गाउँसभा सदस्यहरुको माग

कैलालीको कैलारी गाउँसभा सदस्यहरुले आफ्नो सेवा सुविधा बढाउनु पर्ने माग गरेका छन् । 
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको सभाको बैठकमा शून्य र विशेष समय लिएर शून्य समयमा बोल्ने गाउँसभा सदस्यहरुले आफूहरुले पाउने सेवा सुविधामा बृद्धि हुनु पर्ने माग गरेका हुन । उनीहरुले गाउँसभा सदस्यले मासिक रुपमा प्राप्त गर्दै आएको पाँच हजार रुपैया तलब अत्यन्त न्यून रहेको भन्दै बढाउन माग गरेका हुन । विशेष समयमा फिरुराम चौधरी, अनारकली चौधरी, माघुराम चौधरी, सीताराम चौधरी, महावीर चौधरी र हरिप्रसाद चौधरीले बोलेका थिए । 
बैठकमा गाउँपालिकाका अध्यक्ष चौधरीले कानूनमा व्यवस्था भए बमोजिम सदस्यहरुको सेवा सुविधा रहने उल्लेख गरे । उनले सदस्यहरुले उठाएको जिज्ञासामाथि अर्को बैठकमा छलफल गर्ने बताए । 
बैठकमा गाउँसभा सदस्यहरुले वडातहमा विकास निर्माणका योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने, सुशासन कायम गर्नु पर्ने, गाउँपालिकाले जनताको समस्यालाई ध्यान दिएर योजना वनाउनु पर्ने माग गरेका छन् ।

व्यवसायिक टिमुर खेतीको सम्भावना

रासस
डोटी जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती सुरू गरेको छ ।
टिमुरको उपयोगिता, बजार, यस सम्बन्धी आवश्यक ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय शुरु गरेको किसान लीलाधर विष्टले बताए । टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त रुपमा पाइने टिमुर खेर जान थालेपछि आफूहरुले सामूहिक रुपमा टिमुरखेती गर्न थालेको उनको भनाइ छ । ‘टिमुर फलाउन सके यो आम्दानीको राम्रो स्रोत हुन सक्छ,’ किसान विष्टले भने , ‘टिमुर बहुउपयोगी वनस्पति भएकाले यो स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ ।’
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जङ्गलमा प्रशस्त रुपमा पाइने टिमुरको बारेमा सरकारी पक्षबाट किसानलाई खासै जानकारी दिन नसकिँदा यो उपयोग बिहीन हुन थालेको बोगटान गाउँपालिकाका स्थानीय बमबहादुर बलमेले बताए ।
उनले भने ‘टिमुरले गर्ने फाइदाको बारेमा यहाँका किसानलाई ज्ञान दिनसके यसले किसानलाई राम्रै आम्दानी दिने देखिन्छ तर त्यसो गर्न सकिएको छैन् ।’ सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, अछाम, बाजुरा, बझाङ तथा डोटी जिल्लामा टिमुर खेतीको सम्भावना बढी भएको कृषि इकाइ कार्यालय डोटीका कृषि प्राविधिक मनोज खड्काले बताए ।
उनले भने, ‘टिमुरले रोपिएको पाँच वर्षबाट उत्पादन दिन शुरु गर्छ, रोपेको ३०/४० वर्षसम्म फल दिने भएकाले यसको खेती गर्दा किसानलाई फाइदा नै फाइदा हुन्छ ।’ सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा टिमुरखेती गरेर किसानको आर्थिक अवस्था बलियो बनाउन सकिने प्रवल सम्भावना रहेको गैराका स्थानीय छपेशबहादुर मल्लले बताए ।
डोटीमा सुकाएको टिमुर गाउँमा प्रतिकेजी रु दुई सय र बजारमा रु दुई सय ५० मा बिक्री हुने गरेको छ ।

नागरिक समाज र प्रहरी एक सिक्काका दुई पाटा

गणेशवहादुर मौनी/डोटी
माघ १४
नागरिक र प्रहरी एक सिक्काका दुई पाटा हुन एक बिना अर्को अपुरो हुने डोटीका निमिक्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले वताएका छन् ।
आईतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वाधान र जिल्ला प्रहरी कार्यालय डोटीले सिलगढीमा आयोजना गरेको नागरिक मैत्री सेवा र मावब अधिकार विशेष पाँच दिने धुम्ति अनुशिक्षण तालिमको उद्घाटन गर्दै पौड्यलले उक्त कुरा बताएका हुन ।
पौड्यलले कार्यक्रममा बोल्दै   नागरिक भए मात्र प्रहरी आवश्यकता हुने र प्रहरी भएपछि मात्र जनताले शान्ति सुरक्षाको अनुभुति गर्ने पाउने जिकिर गरे । निमित्त प्रमुख जिल्ला अधिकारी पौड्यलले भने ‘प्रहरीको भुमिकालाई प्रभावकारी बनाई शान्ति र अपराधमुक्त समाज निमार्णमा नागरिकको अहम भुमिका हुन्छ ।’ उनले थपे ‘दुई पक्ष विचको सम्बन्धलाई थप कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा नेपाल सरकारले समय समयमा विभिन्न खालका कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।’
नागरिक र प्रहरी विचको सम्बन्धलाई प्रभावकारी बनाई नागरिक मैत्री सेवा प्रबाह, मानबअधिकारको  संरक्षण, दिगो शान्ति सुरक्षा कसरी गर्न सकिन्छ भन्ने लगायतका विषय बस्तुहरुमा छलफल गरिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक एवं निमित्त प्रहरी प्रमुख लाल बहादुर धामीले जानकारी दिए । धामीले भने ‘नेपाल प्रहरी आफुले जाने बुझे र गर्न सकिने सम्म सेवा प्रवाहमा अहोरात्र खटेको छ । त्यसमा थप प्रभावकारीता ल्याउन नागरिकमैत्री सेवा, महिला हिंसामा कमी, मानब अधिकारको संरक्षणका विषय बस्तुमा नयाँ तरिका र ज्ञान आर्जन गर्न आवश्यक छ ।’
डोटी जिल्लाका नागरिक र प्रहरी विचको सम्बन्ध प्रगाढ बनाई शान्ति सुरक्षाको अनुभुति गराउन सभ्य समाज स्थापना गर्न विभिन्न प्रकारका जनचेतनामुलक, कार्यक्रम अभियान र तालिम बेलाबखत आयोजना गरिएको समेत धामीले वताए ।
पाँच दिन सम्म चल्ने उक्त अनुशिक्षण तालिममा जिल्ला प्रहरी कार्यालय मातहतका ३५ जना प्रहरी जवान, हवल्दारहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

बस चलाउने प्रतिस्पर्धामा स्थानीय सरकार

माघ १० गतेदेखि डोटीको पूर्वीचौकी गाउँपालिकाले आफ्नै लगानीमा यात्रु ओसार्ने बस सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ८१ लाख ७४ हजार रुपैयाँ लागतमा ३५ सिट क्षमताका दुई बस खरीद गरि सञ्चालनमा ल्याएको हो । जिल्ला सदरमुकाम सिलगढीदेखि गाउँपालिकाको वडा नं. ५ चौखुट्टेसम्म पहलवानसिं स्वार राजमार्गमा चल्ने गाउँपालिकाका बसहरुले यात्रुहरुलाई राहत पुग्ने गाउँपालिकाको दावी छ । 
पूर्वीचौकीले बस सञ्चालन गरेसंगै डोटीका तीन स्थानीय सरकार बसधनी भएका छन् । गत बर्ष दिपायल सिलगढी नगरपालिकाले दुई बस सञ्चालनमा ल्याएको थियो । दिपायल सिलगढी आउजाउ गर्न निकै समस्या भएको भन्दै नगर प्रमुख मञ्जु मलासीले स्थानीय निर्वाचनकै बेला आफुले जिते नगर बस सञ्चालन गर्ने प्रतिवद्धता गरेकी थिईन । सोही प्रतिबद्धता अनुसार उनले पदभार सम्हालेको करीव ६ महिनामा दुई बस सञ्चालनमा ल्याएकी थिईन ।  
५३ लाख रुपैयाँमा दुई बस सञ्चालन गरेको नगरपालिकाले सुरुमा पूर्वीचौकीको शान्तिनगर देखि शिखर नगरपालिकाको केन्द्र तलकोटसम्म बस चलाएको थियो । गत महिना शिखर नगरपालिकाले पनि बस सेवा सञ्चालन गरेपछि दिपायल सिलगढी नगरपालिकाको बस चल्ने क्षेत्र खुम्चिएको छ । दिपायल सिलगढीले एक बस थप गर्ने तयारी गरेको छ । 
शिखर नगरपालिकाले ५६ लाख ६० हजार लागतमा दुई बस सञ्चालनमा ल्याएको छ । शिखरले दिपायल सिलगढी नगरपालिकाको दिपायल बजारदेखि डोटी डडेल्धुराको सिमाना कोराल खोलासम्म बसको रुट तय गरेको छ । 
दिपायल सिलगढी नगरपालिकाले नेपालमै पहिलोपटक स्थानीयलाई राहत दिने उद्देश्यले नगर बस ल्याएपछि अहिले बस सञ्चालनको दौडमा स्थानीय सरकार लागेका छन् । तीन स्थानीय सरकारहरुले ६ बसमा एक करोड ९१ लाख ३४ हजार रुपैया बसमा लगानी गरेका छन् । 
स्थानीय सरकारले सञ्चालन गरेका बसहरुको भाडा दर सार्वजनिक यातायातका साधनहरु भन्दा झण्डै ३० प्रतिशतले कम छ । स्थानीय सरकारको बस ल्याउने प्रतिस्पर्धाले जनतालाई राहत भएको छ । तर बस रुटकै कारण स्थानीय सरकारहरुबीच मनमुटाब बढ्ने संकेत पनि देखिएको छ । अर्को स्थानीय तहमा बस चलाउने सम्बन्धमा अहिले पनि स्थानीय तहहरु बिच मनमुटाव कायम छ । शिखर नगरपालिकाले दिपायल सिलगढी नगरपालिकाको सिलगढीसम्म सेवा दिन सुरु गरेपछि दिपायल सिलगढी नगरपालिकाले असहमति जनाएको थियो । बस सञ्चालन गर्नु पूर्व दुई नगरपालिकाले आपसमा सहमति गरेर रुट तय गर्नु पर्ने दिपायल सिलगढी नगर प्रमुख मञ्जु मलासीको भनाई थियो । 
सो बिषयलाई लिएर दुबै स्थानीय तहका जनता र पार्टी कार्यकर्ताहरु आरोप प्रत्यारोपमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा दुबै नगरपालिकाबिच रुट सहमति भएको थियो । डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार शिखर नगरपालिकाले दिपायल सिलगढी नगरपालिको पिपल्लासम्म यात्रु ओसार्न पाउने गरि सहमति भएको छ । ‘स्थानीय तहहरुले ठुलो लगानी गरेर बस भित्राइरहनु भएको छ, उहाँहरुमा सामुहिक रुपमा काम गर्ने भावनाको बिकास गर्न जरुरी छ’ निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले भने ‘स्थानीय सरकारहरु सहमतिबाटै अघि जानु पर्छ ।’ उनले सबै स्थानीय तहहरुले जनतालाई राहत दिने नाममा ठुलो लगानीमा बस हाल्दा त्यसको उपयोगीता हुन्छ हुदैन भन्ने कुरा समयमै सोच्नु पर्ने सुझाव दिए । 
बस रुटको बिषयमा दिपायल सिलगढी नगरपालिकासंग समन्वय भइरहेको पूर्वीचौकी गाउपालिकाका अध्यक्ष दिर्घ बोगटीले वताए । सिलगढीसम्म पूर्वीचौकीको बस लैजान पाउने सहमति भएको जानकारी उनले दिए । उनले बस सेवाको दिर्घकालीन ब्यवस्थापन चुनौतीपूर्ण रहेपनि क्षमताभन्दा बढी सवारी बोक्ने, झुण्डिएर यात्रा गर्नु पर्ने, छोटो दुरीका यात्रुले गाडीका लागि घण्टौं कुर्नु पर्ने जस्ता जनताका पीरमर्कालाई मध्यनजर गरेर गाउपालिकाले बस सञ्चालन गर्ने निर्णय गरेको बताए । 
लाखौं रकम खर्च गरेर बस सञ्चालन गरेको भएपनि यात्रुहरुको सेवा वाहेक स्थानीय तहहरुलाई कुनै फाइदा नहुने देखिएको छ । एक बर्षअघि देखि नगर बस सञ्चालन गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले एक बर्षको अवधीमा नगर बसले मुनाफा नदिएको बताए । ‘इन्धन, सवारी चालक र सहचालकको तलब र मर्मतको खर्च मात्र उठाइरहेको छ’ शर्माले भने ‘प्रचलित टिकटदर भन्दा सस्तोमा यात्रु बोकिरहेकाले पनि फाइदा नभएको होला ।’ नगरपालिकाले सार्वजनिक यातायातका साधन भन्दा ३३ प्रतिशत कम भाडा लिने गरेको छ ।। 
भरखरै सञ्चालनमा आएका बसहरुले मुनाफा दिन नसक्नुले भबिश्यमा घाटामा जाने निश्चित प्राय छ । बसहरु जति पुराना हुँदै जानेछन्, त्यतिनै मर्मत गर्दै जानु पर्ने हुन्छ । बस सेवालाई कसरी दिगो वनाउने भन्ने योजना बिनै प्रतिस्पर्धाका आधारमा दौडाइएका बसहरु भविश्यमा स्थानीय सरकारका लागि टाउको दुखाइको बिषय हुने देखिएको छ । 

छोटो समाचार 

सामुहिक राजीनामा दिने चेतावनी

सुदूरपश्चिम प्रदेशका जिसस सदस्यहरुले फाल्गुन मसान्तसम्ममा सामुहिक राजिनामा दिने चेतावनी दिएका छन् ।
आईतबार प्रदेश राजधानी धनगढीमा भएको एक भेलाले आफुहरु निर्वाचित भएको दुई बर्ष पुग्न लाग्दा समेत पनि कुनै जिम्मेवारी नपाएको भन्दै सरकारको अलोचना गर्दै यस्तो चेतावनी दिएका हुन् । मयर्ञादाक्रमको सूचिमा पनि सदस्यहरुका बारेमा कहि कतै उल्लेख नभएकोले मर्यादाक्रममा समाबेश गरिनु पर्ने उल्लेख छ ।
भेलाले पाँच बुंदे माग सहित सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन । ज्ञापन पत्रमा फाल्गुन मसान्तसम्म माग सम्बोधन नभए चैत्र १ गते सामुहिक राजिनामा दिने उल्लेख छ ।

अखिलद्वारा ज्ञापन 

अनेरास्ववियु डोटीले दिपायल सिलगढी नगरपालिका नगरप्रमुख मन्जु मलासीलाई ज्ञापन पत्र बुझाएको छ ।
नगरपालिकाले सञ्चालन गरेका बसहरुमा यात्रा गर्दा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट दिने व्यवस्था गर्नुृ पर्ने माग सहित ज्ञापन पत्र बुझाइएको हो । 
सरकारसंग भएको सम्झौता अनुसार सार्बजनिक यातायातका साधनहरुमा बिद्यार्थीहरुलाई परिचय पत्रका आधारमा ४५ प्रतिशत छुट दिने व्यवस्था यथासिघ्र लागु गर्न   आग्रह सहित ज्ञापन पत्र बुझाएको अध्यक्ष डबल     बोहराले बताए ।

खेल समाचार 

यसरी भयो नेपालको जित

ऐजेन्सी
गत चैतमा मात्रै एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको छ । 
सोमवार नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल चार विकेटले जितेको हो । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज १–१ को बराबरी टुंगिएको थियो । पारस खड्काको कप्तानी इनिङसंगै नेपालको जित सम्भव भएको थियो । आईसीसी क्रिकेट एकेडेमीमा यूएईले दिएको दुई सय ५५ रनको लक्ष नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा    पुरा ग¥यो ।
खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले एक सय नौ बलमा १५ चौका र एक छक्का सहित एक सय १५ रन बनाए । 
१९ रन हुँदा नेपाली टिमका ओपनर विनोद भण्डारी नौ रनमा आउट भए । तर, पारसले उपकप्तान मल्लसँग दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । ज्ञानेन्द्र ३१ रनमा आउट भए । त्यसपछि आएका व्याट्म्यानहरु दीपेन्द्र सिंह ऐरी र सन्दीप जोराले ठूलो पारी खेल्न सकेनन् । तर, एउटा एण्डमा पारस टिकिरहे ।
पाँचौं विकेटका लागि पारस र रोहित कुमार पौडेलले ५४ रनको  साझेदारी गरे । रोहित १६ रनमा आउट भए । आशिफ शेखसँग ३२ रनको साझेदारी गरेका पारस ३८.५ ओभरमा एक सय १५ रनमा आउट भए तर, जितको आधार बनाइसकेका थिए ।
आरिफ र सोमपालले त्यसलाई पूर्णता दिए । सोमपाल २६ र आरिफ २१ रनमा नटआउट रहे । 
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धाति ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ५४ रन बनाएको थियो ।
यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे । यूएईको स्कोर एक सय ४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५  रनमा आउट भए । उनलाई करण केसीले आउट गरे ।
तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी गरे । अनवर ८७ रनमा आउट भए । 
आक्रमब ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट      रहे । नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।
यूएईविरुद्धको खेलमा युवा ब्याट्सम्यान सन्दीप जोराले डेब्यू गरे । कञ्चनपुरको भीमदत्त नगरका जोरा घरेलु क्रिकेटबाट चम्किएका ब्याट्सम्यान हुन् । सुरुवाती दुई खेलमा पवन शरार्फलाई खेलाइएको थियो । तर, अन्तिम म्याचमा उनको स्थानमा जोरालाई खेलाइएको हो ।

चलचित्र/मनोरञ्जन 

अभिनेतृ पुजा १५ लाख भन्दा कममा काम नगर्ने  

फिल्मी खवर
फिल्म ‘प्रेमगीत’ मा अभिनेता प्रदीप खड्कासँग जोडी बाँधिएपछि अभिनेत्री पूजा शर्माले नसोचेको सफलता हात पारिन् । त्यसअघि केही फिल्ममा काम गरेपनि उनी दर्शकमाझ ‘नोटिस’ हुन सकेकी थिइनन् । उक्त फिल्मले उनलाई चिनाएन मात्र नेपाली फिल्म क्षेत्रमा स्थापित ग¥यो । 
‘प्रेमगीत’ पछि उनले गरेका कुनै फिल्म बक्सअफिसमा असफल छैनन् । ‘म यस्तो गीत गाउँछु’ र यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘रामकहानी’ पनि बक्सअफिसमा खरै उत्रियो । ‘ब्याक टू ब्याक’ हिट फिल्मकी धनी पूजाको अब नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ गर्दैछिन् । यसमा आकाश श्रेष्ठ र सोनम तोप्देन उनका हिरो छन् । 
निर्देशक सुदर्शन थापाको क्याम्पभन्दा बाहिर रहेर फिल्म गर्ने जोखिम उठाउन नसकेकी पूजाले ‘प्रेमगीत’ पछि पहिलो पहिलो बाहिरी ब्यानरको फिल्म ‘सम्हालिन्छ कहिले मन’ गर्न लागेकी हुन् । यसअघि सुदर्शन र पूजाले मिलेर फिल्म बनाउँदै आएका थिए । तर, उक्त फिल्मको निर्मातामा उनीहरु छैनन् । 
यो फिल्म निर्देशन गर्न सुदर्शनले ३५ लाख बढी पारिश्रमिक बुझेको चर्चा छ । आकाशले १० लाख र सोनमले साढे ८ लाख पारिश्रमिक बुझेका छन् । अभिनेत्री पूजाले भने दुई अभिनेताभन्दा बढी पारिश्रमिक हात पारेकी छन् । उनले १५ लाखमा फिल्म साइन गरेको एग्रिमेन्ट पेपर नै सार्वजनिक गरेकी थिइन् । 
आइतबार उक्त फिल्मको घोषणा सभामा पत्रकारले उनीमाथि पारिश्रमिकको विषयमा प्रश्न गरे ‘अब १५ लाखभन्दा कम पारिश्रमिकमा काम नगर्ने हो वा राम्रो कथा भेटे कममा पनि गर्नुहुन्छ ?’ उनले जवाफमा भनिन्, ‘सीमित बजेट छ तर कथा राम्रो छ भने १५ लाखभन्दा कममा पनि गर्छु । नभए गर्दिनँ ।’ 
तर, उनको भनाइले हरेकको मनमा एउटा प्रश्न भने जन्मन सक्छ । राम्रो कथा भेटे १५ लाखभन्दा कममा पनि काम गर्न तयार रहेको बताउँदै गर्दा कतै पूजाले ‘१५ लाख पाएको खण्डमा कथा मन नपरे पनि फिल्म गर्छु’ भन्न खोजेकी त होइनन् ? उनको जवाफ दोधारपूर्ण छ ।

लेख 

नेताको योग्यता र समाजसेवीको दुरदर्शिता

डा. सुभाष पोखरेल
सम्राट अकवरको दरवारमा संगीतकार तानसेन निकै शक्तिशाली थिए । राजालाई संगीत सुनाउने उनको दायित्व थियो । म्युजिकमा रुचि भएको राजप्रसादमा तानसेनको हैसियत उँचो हुने नै भयो । ९ शक्तिशाली भारदार समूहमा रहेकाले उनलाई मुगलको नवरत्न पनि भनिन्थ्यो । पटाड्गिनीमा तानसेनले एक साँझ राजालाई बाँसुरी सुनाइरहेका बखत टाढा जंगलमा मधुर सगीत गुञ्जियो । अकवरले तानसेनलाई बीचैमा रोकेर तिमीभन्दा पनि राम्रो बाँसुरी बजाउने व्यक्ति को रहेछ त्यो अनकन्टार जंगलमा भनी सोधे । तानसेनले उक्त व्यक्ति आफ्ना गुरु हरिदाश भएको जनाए । त्यस्तो अनुपम संगीतको साधना गर्ने व्यक्ति किन घना वनमा बाँसुरी बजाएर बसेको होला भन्ने राजाको प्रश्न तेर्सियो । स्वामी हरिदाश भगवानका लागि संगीत सुनाउँछन् भने उनले । व्यक्तिगत शुभलाभका लागि शासकलाई संगीत सुनाउने तानसेन र आफ्ना सन्तुष्टिका लागि साधना गर्ने हरिदाशको संगीतको स्तर एकै हुन सम्भव थिएन । नाफाका लागि काम गर्ने र आत्मसन्तुष्टिको साधना गर्ने मानिसको हैसियत समान हुने कुरा हँुदैन नै ।  
इन्साइक्लोपिडियाले संसारको सबैकुरा जान्दछ भनिन्छ/भनिन्थ्यो । ८० को दशकसम्म कुनै पनि नवीन कुराबारे जानकारी लिनुपरे दर्जनाँै पुस्तकको संगालोका रूपमा प्रकाशित इन्साइक्लोपिडिया पढ्ने अभ्यास थियो । इन्टरनेटको जमानामा अठारौँ शताब्दीको मध्यदेखि प्रकाशन सुरु गरेको इन्साइक्लोपिडिया ब्रिटानिकाको हैसियत फेरिनु अस्वाभाविक भएन । बदलिँदो परिस्थितिमा इन्साइक्लोपिडियालाई पुस्तकका रूपमा छाप्न आवश्यक नरहेकाले त्यसलाई डिभिडीका रूपमा प्रकाशन गर्ने अधिकार लियो माइक्रोसफ्टले । इन्साइक्लोपिडियाको सिडी बेचेर मनग्य आम्दानी गर्न सकिने सोचका आधारमा उद्यमी बिल गेट्सले उक्त काम लिए । माइक्रोसफ्टका अबल दर्जाका कर्मचारीलाई उक्त दायित्व सुम्पियो ।  राम्रो पारिश्रमिक दिएर संसारका एक से एक विधानलाई विविध विषयमा रचना गर्न लगाइयो । राम्रो भेटी दिएर विधानलाई लेख्न लगाएपछि इन्साइक्लोपिडियाको व्यापार बढ्ने सोच्नु अन्यथा भएन । तर, यथार्थमा त्यसो भएन । त्यसैबेला एक लगनशील समूहले विकिमेडिया फाउन्डेसन खोले, इन्टरनेटका लागि वेभपेज बनाए । 
इन्साइक्लोपिडियाको विकल्प जन्म भयो विकिपिडियाका नाममा । सम्पादकका रूपमा न्यूनतम योग्यता भएका संसारका कुनै पनि व्यक्तिले विकिपिडियाको पेजमा विषयवस्तुबारे लेख्न सक्ने भए । लिखतमा कुनै खराबी भए अर्को व्यक्तिले परिमार्जन गर्न पाउने हैसियत दिइयो । नवीन विषयको परीक्षण भयो । इन्साइक्लोपिडियाका कारिन्दाले उच्च धनराशि पाउने तर विकिपिडियामा काम गर्नेले स्वयंसेबकका रूपमा मुफ्तमा काम गर्नुपर्ने भएपछि केही दिनमा विकिपिडिया बन्द हुन्छ भन्ने आकलन गरिनु अस्वाभाविक रहेन । तर यथार्थमा परिणाम विपरित भयो । इन्साइक्लोपिडियाले विकिपिडियासँग प्रतिस्पर्धा गर्न सकेन । सन् २००९ मा संसारको धनाढ्य कम्पनी माइक्रोसफ्टले इन्साइक्लोपिडियाको प्रकाशन बन्द भएको घोषणा ग¥यो । अर्कोतिर स्वयंसेवीले चलाएका विकिपिडिया भने संसारकै लोकप्रिय ज्ञानको सागर बन्यो ।
कम्प्युटरको विकाससँगै उक्त संवेदनशील मिसिन चलाउन सफ्टवेयर अपरेटिङ सिस्टम निर्माण गर्नुपर्ने भयो । माइक्रोसफ्टलगायतका कम्पनीहरू अपरेटिङ सिस्टम बनाएर पैसा कमाउने धन्दामा लागे । बजारमुखी उद्यमीहरूको बोलवाला रहेकै अवस्थामा फिनल्यान्डको सफ्टवेयर इन्जिनियर लाइनस टोरभाल्डसले नवीन सफ्टवेयर अपरेटिङ सिस्टम ‘लाइनेक्स’ मात्र बनाएनन् बरु उक्त प्रविधि जसले पनि सित्तैमा प्रयोग गर्न पाउने गरी सार्वजनिक गरे । मुख्यतः गरिब देशमा अमेरिकी डलर खर्चिएर अपरेटिङ सिस्टम किन्नुपर्ने बाध्यात्मक परिस्थितिबाट उन्मुक्ति दिए इन्जिनियर लाइनसले । हुँदाहँुदा पछि लाइनेक्स यति लाभदायी देखियो कि संसारको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टले समेत त्यसलाई प्रयोग गरेको पाइयो ।
अब अर्को उदाहरण हेरौँ । कम्प्युटरलाई सार्वजनिक पहुँचको वस्तु बनायो माइक्रोसफ्टले । एकलौटी राज भएपछि इन्टरनेट ब्राउज गर्न सबैले माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोररमै भर पर्नु अन्यथा भएन । एक्सप्लोररमा इन्टरनेट भाइरसले सताउन थालेपछि सहजताका लागि अर्को विकल्प आउनुपर्ने भयो । त्यसैबीच सित्तैमा संसारलाई इन्टरनेट ब्राउजर सुविधा दिने उद्देश्यले मोजिला फाइन्डेसन खुल्यो र उसले आफ्नो उत्पादन मोजिला फाएरफक्स सार्वजनिक ग¥यो । ब्राउजरको दुनियाँमा मजिलाको स्थान आज के छ भनिरहनै परेन ।           उपरोलिखित परिदृश्यले पैसाका लागि काम गर्ने भन्दा नागरिकलाई केन्द्रमा राखेर पेशालाई साधना बनाउने व्यक्तिले समाजलाई बढी योगदान गरेको भन्छ ।
प्रथम संविधान सभाको उत्तरार्धमा मधेसकेन्द्रित दलको समर्थनमा माओवादीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री बने । आफ्नै पूर्वप्रतिबद्धता विपरित बाबुरामले सुरुमै जम्बो मन्त्रिमण्डल बनाए । तर पनि सबै सांसद मन्त्री बन्न संभव भएन । मधेसवादी दलबाट मन्त्री बन्न नपाएका समूहले माउ पार्टी फुटाउँदै नयाँ दल बनाउने अनि नवीन दलको नेताको हैसियतले मन्त्री बन्ने क्रम चलिरह्यो। पार्टी फुट्ने अनि मन्त्रिमण्डलको आकार बढ्ने क्रम रोकिएन । त्यसै सन्दर्भमा राष्ट्रपति रामवरण यादवले मधेसकेन्द्रित दल फुट्ने र मन्त्रिपरिषद्को आयतन बढ्ने प्रक्रियालाई राजनीतिक खेतीको नाम दिए । आम्दानीका लागि किसानले खेती गरेभैmँ नेताले राजनीतिक दल विभाजन गर्ने अनि मन्त्री बनेर पैसा कमाउने तत्कालीन परिदृश्यलाई राष्ट्रपतिले राजनीतिक खेतीको नाम दिनु अस्वाभाविक भएन ।
सन् २०१३ मा आम आदमी पार्टीले दिल्लीमा सफलता हासिल गरेपछि नेपालमा पनि वैकल्पिक दलको आवश्यकता देख्ने बढे । आफूलाई राजनीतिक भविष्यवेत्ता ठान्ने बाबुराम भट्टराईले नयाँ शक्ति नामको पार्टी गठन गरे । भारतमा आम आदमी पार्टीको सफलताबाट हौसिएकाहरू रात रहे अग्रास पलाउला शैलीमा नयाँ शक्तिको सदस्य बन्न पुगे । प्रशासनिक दायित्व विसर्जन गर्ने बित्तिकै नेपाली कांग्रेसको सदस्यता लिएर रामेश्वर खनाल रातारात नयाँ शक्तिको राजनीतिमा समाहित हुन पुगे । सुविधाको लोभमा विभिन्न दलबाट आएका झुण्डसँग न पसिना बगाएर दल बनाउने धैर्य थियो न त बाबुरामसँग उनीहरूलाई व्यवस्थापन गर्ने क्षमता नै थियो । परिणामस्वरूप नयाँ शक्ति पञ्चायतकालका कम्युनिस्ट घटक बर्मा र तुलसीलाल समूहभैmँ सिंगल म्यान पार्टी बन्यो ।
महाभूकम्पका समय समाजपयोगी कार्यमार्पmत आफूलाई सामाजिक शक्तिका रूपमा स्थापित गरेका युवाहरूले विवेकशील समूह बनाए । आआफ्ना पेशा गरेर बसेका सुशिक्षित युवाहरूलाई समाजिक सेवामार्पmत मात्र धेरै योगदान गर्न संभव नभएको भान भयो । विवेकशील समूह पछि राजनीतिक दल बन्यो । विवेकशील पार्टी गठन भएताक नै रवीन्द्र मिश्रले बिबिसी नेपाली सेवाको जागिर तिलाञ्जली दिई साझा पार्टी गठन गरी राजनीतिमा आए । यसरी गठन भएका नवीन दलहरू सन् २०१७ को स्थानीय चुनावमा होमियो । भुइँचालोका बखत विवेकशील समूहले गरेको अनुकरणीय कार्यलाई नगरबासीले पत्याए । काठमाडौँमा विवेकशीलको मेयरको उमेदवारको हैसियतले रञ्जु दर्शनाले राम्रो प्रस्तुति गरिन् । त्यस्तै साझा पार्टीका तर्पmबाट राजधानीको मेयरका उमेदवार भोला थापाको मत संख्या पनि खराब रहेन । नवस्थापित विवेकशील तथा साझा पार्टीका नेताले प्रारम्भिक सिँचन गरेर दललाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्न लामो समय लाग्ने देखे। पार्टी  एकीकरण गरे सहजै शक्तिशाली बनिने अनि राजनीतिक खेतीको फल तत्कालै पाइने ठहर भयो । साझा र विवेकशील पार्टी एकीकृत भए । त्यसबीचमा उनीहरूले के ठोस काम गरे ? तर, जनतामा विवेकशील साझा पार्टी वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुन लागेको भने पनि हुन नपाउँदै केही हप्ताअघि स्वार्थका लागि जुटेका पार्टीहरू विधिवत विभाजन भए ।
प्रधानमन्त्री जस्तो व्यक्तिले गहकिलो प्रस्तुति दिनुको बदला उखानटुक्का सुनाएर जग हँसाएको देख्दा विदेश प्रशिक्षित व्यक्तिले राजनीति गर्दा मुलुकको अवस्था सुध्रन्थ्यो कि भन्ने लाग्नु अन्यथा भएन। तर विद्यावारिधि बाबुराम भट्टराईको बिजोग र विदेश प्रशिक्षित विवेकशील साझा दलको फुटपछि विदेश प्रशिक्षित म्यानेजरले चलाएको पार्टी त झन् धान्न नसकिने रहेछ भन्न जनता बाध्य  भए । केपी ओली र सुशील कोइरालाको पारिवारिक पृष्ठभूमि तथा सहपाठीले हासिल गरेको शैक्षिक उन्नयनलाई हेर्दा उनी स्नातकोत्तर नै गर्न नसक्ने व्यक्ति हुन् भन्न सकिन्न । उनीहरूले ब्याचुलर पनि गर्न नसक्नुको कारण कलिलो उमेरमै प्रतिबन्धित राजनीतिमा होमिनु अनि अनवरतरूपले पार्टीको काममा खटिनु हो भन्दा अन्यथा नहोला । आजन्म राजनीतिमा होमिएका नेता भन्दा प्रतिकूल अवस्थामा मुलुकबाट पलायन हुने, विदेश पढेर पनि जागिर नपाउँदा तथा पेन्सन पाकेपछि मुलुकको राजनीतिमा होमिने व्यक्तिले मुलुकको धेरै माया गर्छ भन्ने अवस्था रहेन । विकिपिडिया, लिनेक्स तथा फाएरफक्सको कथा र विवेकशील साझा पार्टीको गाथाले सामाजिक तथा राजनीतिक बागडोर संहाल्न शैक्षिक योग्यता होइन बरु आफ्ना स्वार्थलाई पाखा लगाइ आत्मसन्तुष्टिको साधना गर्ने व्यक्तिको आवश्यकता छ भन्नुपर्ने भयो ।
कांग्रेस तथा कम्युनिस्ट पार्टीको अवस्था हेर्दा नेपालको राजनीति सुमार्गमा छ भन्ने अवस्था देखिन्न । डा. गोविन्द केसीले उठाएको मागलाई अक्षरशः सदर गर्नुपर्ने कम्युनिस्टहरू स्वास्थ्यलाई सेवाबाट व्यवसायमा रूपान्तरण गर्ने विधेयक बनाउन तल्लीन देखिए । आफ्नो शासनकालका बेला माखो नमार्ने अनि डा. केसीलाई देखाएर राजनीति गर्न खोज्ने कांग्रेसको चरित्र राजनीतिक भएन । भर्खरै पास भएको चिकित्सा विधेयक हेर्दा दुवै पक्षका सांसदले ऐनको लिखत र मर्म दुवै नबुझेको देखियो भने नेताहरू मेडिकल माफियाको चंगुलमा फसेको देखियो । सांसद तथा जनतालाई सुसूचित गराउने दायित्व नागरिक समाजको हो । तर, सिभिक सोसाइटी राजनीतिकरूपले विभक्त देखियो । यस्तो अवस्थामा निष्पक्ष नागरिक समाजको आवश्यकता देखियो । मानिसको अन्तरनिहित क्षमताका सम्बन्धमा विश्वप्रसिद्ध पुस्तक ‘स्टे«न्थ फाइन्डर’ का लेखक टम ¥याथको विचारमा विगतमा फरक विद्यामा उच्च देखिएको व्यक्ति राजनीतिमा मध्यम होला तथा सफलतम हुन सक्दैन । राजनीतिमा सफल हुन उत्कृष्ठ समाजसेवी नै हुनुपर्छ भन्छन् अनुसन्धानकर्ता ¥याथ । अनुसन्धान तथा पत्रकारितामा अबल भएकाले राजनीतिमा पनि सफल हुन्छु भन्ने तर्कमा सहमत हुन सकिएन । त्यसैले, नयाँ शक्ति, विवेकशील तथा साझा पार्टीको वर्तमान हैसियत हेर्दा ती दलका नेताले आफूलाई राजनीतिज्ञको भन्दा नागरिक अगुवाका रूपमा प्रस्तुत गरे मुलुकले बढी लाभ पाउँथ्यो कि ?
– नागरिक दैनिकबाट

शिक्षक सेवा आयोगको तयारीका लागि उपयोगी 

शिक्षक सेवा आयोगद्वारा लिईने निम्न माध्यामिक तह, नेपाली बिषयको खुला प्रतियोगिता, लिखित परीक्षाको नयाँ पाठ्यक्रम  
१. भाषा र नेपाली भाषाको अध्ययन  
१.१ भाषाको परिचय र भाषाका विशेषता 
१.२ भाषिक परिवारको सङ्क्षिप्त चिनारी 
१.३ नेपाली भाषाको उत्पत्ति सम्बन्धी मतमतान्तरहरू 
१.४ नेपाली भाषाका भाषिकाहरूको चिनारी १.५ नेपालमा बोलिने प्रमुख भाषाहरू 
१.६ नेपालका संविधानहरूमा नेपाली भाषा 
१.७ नेपाली भाषाको स्तरीकरणका लागि भएका प्रयासहरू 
२. पहिलो तथा दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षणको चिनारी  
२.१ नेपाली भाषा शिक्षणको आवश्यकता 
२.२ पहिलो र दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षण 
२.३ द्विभाषिक तथा बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण 
२.४ भाषा शिक्षणका सिद्धान्तहरूको परिचय ः निगमन, आगमन, व्याकरण अनुवाद, प्रत्यक्ष, श्रुतिभाषिक, संज्ञान, सम्प्रेषण, सहभागितामूलक  
२.५  दोस्रो भाषाका रूपमा नेपाली शिक्षणका समस्या र समाधानका उपाय 
३.साहित्य विधा सिद्धान्त     
३.१ कविताको परिचय, तत्व र आधुनिक नेपाली कविताका समसामयिक प्रवृत्तिहरू        
३.२ कथाको परिचय, तत्व र आधुनिक नेपाली कथाका समसामयिक प्रवृत्तिहरू 
३.३ नाटकको परिचय, तत्व र आधुनिक नेपाली नाटकको समसामयिक प्रवृत्तिहरू 
३.४ निबन्धको परिचय, तत्त्व र आधुनिक नेपाली निबन्धका समसामयिक प्रवृत्तिहरू 
३.५ नेपाली बाल साहित्यको परिचय र बाल साहित्यका मुख्य प्रवृत्तिहरू 
४.साहित्य शास्त्र र नेपाली समालोचना  
४.१ शब्द शक्ति ः अभिधा, लक्षणा र व्यञ्जनाको परिचय 
४.२ छन्दको परिचय र प्रकार  
४.३ रसको परिचय र प्रकार  
४.४ अलङ्कारको परिचय र प्रकार  
४.५ समालोचनाको सैद्धान्तिक परिचय 
४.६ नेपाली समालोचनामा रामकृष्ण शर्मा, बाबुराम आचार्य, यदुनाथ खनाल, इन्द्रबहादृुर राईको      परिचय र मुख्य प्रवृत्ति  
५.नेपाली व्याकरण      
५.१ भाषा तत्व÷व्याकरणको परिचय  
५.२ व्याकरण शिक्षणको परिचय र आवश्यकता 
५.३ कार्यमूलक व्याकरण र व्याकरण शिक्षणका नवीनतम अवधारणा 
५.४ व्याकरण शिक्षणका कार्यकलापहरू 
५.५ पाठ्यव्रmले तोकेका व्याकरण÷भाषा तत्वका विषय क्षेत्रहरू   
५.६ शब्दवर्ग ः नाम, सर्वनाम, विशेषण, व्रिmयापद, नामयोगी, व्रिmयायोगी, संयोजक, विश्मयादिबोधक र निपात 
५.७ पदसङ्गति ः लिङ्ग, वचन, पुरुष र आदर 
५.८ काल, पक्ष र भाव (अर्थ) 
५.९ वाच्य  
५.१० वाक्य ः परिचय, संरचना, प्रकार, वाक्यान्तरण, वाक्य संश्लेषण र विश्लेषण  
५.११ कारक र विभक्ति 
५.१२ शब्द भण्डारको परिचय र प्रकार 
५.१३ उखान र टुक्का 
५.१४ शब्द निर्माण प्रव्रिmया ः व्युत्पादन र रूपायन प्रव्रिmया 
५.१५ धातु  
५.१६ लेख्य चिन्ह 
५.१७ वर्ण विन्यास  
६ व्यावहारिक रचना÷सिर्जनात्मक रचना  
६.१ पत्र रचना (निवेदन÷चिठी) 
६.२ निमन्त्रणा पत्र र शुभकामना पत्र लेखन 
६.३ संवाद र वादविवाद लेखन 
६.४ दैनिकी लेखन 
६.५ सारांश लेखन 
६.६ अनुच्छेद रचना 
६.७ प्रतिवेदन लेखन 
६.८ कथा लेखन 
६.९ निबन्ध लेखन 
६.१० जीवनी लेखन

साहित्य/सिर्जना 

सम्झना

पृय तिम्रो सम्झनाका लहराहरु 
मेरो मस्तिष्कको छानोमा
यसरी फिजिएका छन्
आनन्दका किरण आउने प्वालहरु पनि
छपक्कै टालिएका छन् ।
मेरा परेलीका डिलहरुमा
तिम्रो सम्झना 
खतराको संकेत भएर बसेको छ
तल्लो र मल्लो परेली भेट हुन पाउँदैनन्
तिम्रो सम्झनाले मनाही गरेको छ
मेरा परेली निदाउन ।
बिर्सने बानीलाई हटाएर 
सम्झने बानीको बिकास गर्न खुब पाठ सिकाएको छ
तिम्रा यादहरुको पाठशालाले
हरपल ती बिगतहरु 
अतितका पानाहरु 
नचाहेरै पल्टिरहन्छन्
र तस्बिर देखाउँछन
ती तस्बिरले मेरा परेलीलाई 
आँशु झार्न स्पष्ट संकेत दिन्छन्
आदेश दिन्छन्
जुन आदेश 
मेरा परेलीले निरन्तर रुपमा 
इमान्दरपुर्बक पालना गरिरहेका छन्
कलापती उपाध्याय 
धनगढी, कैलाली

फुल 

पबित्र फूलको मालालाई समेत
आफ्नो साधनाको बाधक तत्व
जन्जिर ठानेर
फूललाई उनेर राख्ने 
धागोलाई नै काटकुट पारेर
साधु जङ्गल पस्छ
जङ्गलमा उसले झनै अनौठो दृश्य देख्छ
फूलहरु कुममा कुम मिलाई मुस्कुराइरहेछन् 
साधुलाई आफ्नो सुगन्धले आफुतिर आकर्षित गरिरहेछन्
मानौं संभोगको लागि निमन्त्रणा दिइरहेछन् 
जता पाइला चाल्यो 
त्यतै वासना
कहाँ कहाँ छैन वासना
जब साझ पर्छ
फूलहरु ओइलाउन थाल्छन् 
झर्छन
बल्ल पो साधु होसमा आउँछ
ओहो! भाग्नु र जाग्नु कति फरक रहेछ ।
पुष्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

नेपाल सरकार
कृषि भूमि व्यवस्था तथा सहकारी कार्यालय
मालपोत कार्यालय, डोटी
(मुक्त हलिया पुनःस्थापना जिलला समिति, डोटी)

अन्तिम पटक प्रकाशित मिति ः २०७५/१०/०५ गते 

सूचना ! सूचना !! सूचना !!! 

मुक्त हलिया पुनःस्थापना समस्या समाधान समिति गठन (तेश्रो संसोधन) आदेश २०७५ को मुल आदेशको दफा (१०) को (च) र (२) को उप खण्ड (१) बमोजिम सम्पर्कमा नआउने पुनःस्थापनाको लगतमा नाम रहेका मुक्त हलियाहरुको विवरण छानविन गरी लगतबाट हटाउने उल्लेख भए बमोजिम केन्द्रिय लगतमा रहेका हलियाहरुलाई परिचय पत्र लिन मिति २०७५/८/१२ मा प्रथम पटक २५ दिने सूचना जारी गरिएकोमा केही गा.पा. वडा कार्यालयबाट पुनः सूचनाको लागि माग भएकोले अन्तिम पटकका लागि २१ (एक्काईस) दिनभित्र आफुसंग भएका तपशिल बमोजमका प्रमाण साथ निवेदन गर्न आउनु होला । म्यादभित्र निवेदन पेश नगर्ने हलियाहरुको केन्द्रिय लगतबाट प्राप्त विवरण छानविन गरी हलिया विवरणबाट नाम हटाइने व्यहोरा समेत यसै सूचाद्वारा जानकारी गराईन्छ । साथै परिचय पत्र लिन बाँकी रहेका मुक्त हलियाहरुको नामावली सम्वन्धित नगरपालिका÷गाउँपालिकामा पठाएको व्यहोरा अनुरोध गरिन्छ । विस्तृत जानकारीको लागि कार्यालयको फोन नं. ०९४–४२०१०१, मोवाईल ः ९८४८४७४९७२ मा सम्पर्क राख्नु होला । 
परिचय पत्र प्राप्त गर्न आवश्यक प्रमाणहरु 
१. निवेदन 
२. नागरिकताको प्रमाण पत्रको प्रतिलिपी १ थान 
३. पासपोर्ट साईजको फोटो ३ प्रति 
४. वालवालिकाको जन्म दर्ता प्रमाणहरु 
५. वडा मुचुल्का 
६. न.पा.÷गा.पा. वडा कार्यालयको सिफारिस 
७. अन्य आवश्यक प्रमाणहरु


Tuesday, January 22, 2019

बिम्ब साप्ताहिक, २०७५ साल माघ ८ गते

पुनर्निर्माणमा कमजोर वर्गलाई मद्दत गरौं ।
पुनर्निर्माण तथा जनजीविकाको क्षेत्रमा क्रियाशील संघ÷संस्था तथा व्यक्तिहरुले सहायता गर्दा सीमान्तकृत समुदाय, एकल महिला, बृद्धबृद्धा, बिपन्न, दलित, अपाङ्गता भएका व्यक्ति र परिवारलाई प्राथमिकता दिऔं । उनीहरुलाई जीविकोपार्जन कार्यक्रममा सहभागि गराई आत्मसम्मानपूर्ण जीवन बाँच्ने अवसर दिलाऔं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

छाउपडी प्रथा ः कानुनको होईन चेतनाको अभाव  

रामहरी ओझा/डोटी
माघ ७
डोटी,बडीकेदार गाउँपालिका–१ की मुना मटेलीले गाउँपालिकाभित्र छाउपडी प्रथा कायमै रहेको वताईन । उनले अहिले पनि गाउँ गाउँमा छाउपडी गोठहरु रहेको र महिलाहरुले महिनावारी भएका बेला छाउ गोठमै सुत्नु पर्ने अवस्था रहेको वताईन । जनप्रतिनिधि महिलाहरु समेत गाउँ गोठमै बस्ने गरेको उनको दावी छ । देउता रिसाउने डरले उनीहरु छाउगोठमा बस्न वाध्य भएको मुनाले सुनाईन । 
डोटी सायल गाउँपालिका–२, सिर्मामा रहेको तामेश्वरी आधारभूत बिद्यालयका प्रधानाध्यापक गोमा खातीले महिनावारी भएका बेला छात्राहरु बिद्यालय नआउने गरेको सुनाईन । बिद्यालय समयमै पनि यदि कुनै छात्रा “छाउ” (महिनाबारी) भईन भने भागेर जाने र चार दिन भएपछि मात्रै बिद्यालय आउने गरेको उनले जानकारी दिईन । लाजले छात्राहरु बिद्यालय नआउने गरेको उनको भनाई छ । 
बाजुरा, बुढीनन्दा नगर–पालिकाको एक सामुदायिक बिद्यालयमा अध्यापनरत शिक्षिका निर्मला (नाम परिवर्तन) ले महिनावारी भएको बेला आफु बिद्यालय जान डराउने गरेको वताईन । ‘बिद्यालयमा सवै पुरुष शिक्षकहरु हुनुहुन्छ, म छाउ भएकी छु भन्ने जानकारी पाएपछि उहाँहरुले अप्ठेरो मान्नु हुन्छ’ निर्मलाले भनिन् ‘त्यसैले म बिद्यालय जान डराउँछु ।’ उनी थप्छन् ‘बिद्यालय जान त जान्छु तर अरु समय जस्तो सरहरुसंग खुलेर बोल्न डर लाग्छ ।’ 
छाउ भएका बेला पाँच दिनसम्म छाउगोठमै बस्ने गरेको वताउँछिन् अछाम, ढकारी गाउँपालिका–४ की लक्ष्मी    थापा । ‘घरभित्र बस्यो भने यहाँका देउता रिसाउँछन्, त्यसैले गोठमै बस्नु पर्ने वाध्यता छ’ लक्ष्मी थप्छिन् ‘देउताको डरले हामी गोठमै बस्छौं ।’ 
२०६२ साल बैशाख १९ गते सर्वोच्च अदालतले मासिकश्राव भएको महिलालाई छाउपडी गोठमा पठाउने प्रथा कुरिती भएको घोषणा सरकारका नाममा आदेश जारी गरेको थियो । दलित गैरसरकारी संस्था महासंघको तर्फबाट डिलवहादुर बिकले सरकारलाई बिपक्षी वनाई दायर गरेको रिटउपर गरिएको सर्वोच्च अदालतद्वारा जारी गरिएको परमादेशमा तीन महिनाभित्र छाउपडी प्रथा बिरुद्धको निर्देशिका वनाई लागु गर्नु पर्ने समेत भनिएको थियो । परमादेशमा छाउपडी प्रथा बिरुद्ध सार्वजनिक चेतना जगाउनु पर्ने समेत आदेशमा  गरिएको थियो । 
सो आदेश अनुसार सरकारले निर्देशिका वनाई लागु पनि   ग¥यो । तर यसले कुनै असर गरेन । २०६२ साल यता सुदूर–पश्चिममा करीव दुई दर्जनले  छाउपडी प्रथाकै कारण ज्यान गईसकेका छन् । 
गत पुष २४ गते बाजुराको बुढीनन्दा नगरपालिका–९ अंगपानीमा छाउगोठमा आगलागी हुँदा महिनावारी भएकी ३५ बर्षीया अम्वा वोहरा र उनीसंगै सुतेका छोराहरु नौ बर्षीय सुरेश र सात बर्षीय रमितको मृत्यु भयो । छाउपडी मान्नु पर्ने वाध्यताकै कारण महिलाहरुले पीडा खेप्नु परेको छ । 
“महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन ।” गत भाद्र १ गतेदेखि लागु भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १६८ को उपदफा (३) मा भएको व्यवस्था हो यो । उक्त दफाको उपदफा (४) मा कसैले यस्तो कसूर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । अझ उपदफा (५) मा राष्ट्रसेवकले यस्तो कसूर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुने व्यवस्था गरेको छ । तर ऐन लागु भएको पाँच महिना बित्दा पनि यो व्यवस्था अनुसार कसैलाई कारवाही भएको छैन । 
छाउपडी मान्नेलाई किन कारवाही हुन सकेन त ? जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक ईन्द्रवहादुर बोगटी भन्छन् ‘हालसम्म उजुरी नै परेको छैन ।’ कुनै व्यक्तिले पनि आफु पीडित भएको वा फलानो पीडित भएको भन्ने जानकारी प्रहरीलाई नदिएको वोगटीको भनाई छ । उनी भन्छन् ‘कानुन भएर मात्रै नहुने रहेछ भन्ने देखियो, रितिरिवाज, प्रथा, चलन मान्ने भएकाले अहिले पनि छाउ मान्दैनौं भन्न सक्ने अवस्थामा अधिकारकर्मी महिलाहरु पनि छैनन् जस्तो लाग्यो ।’ उनले बैतडीमा भएका छाउ गोठहरुको तथ्याँक संकलनका लागि जिल्ला प्रहरी कार्यालयले योजना    वनाईरहेको वताए ।
धार्मिक कर्मकाण्डहरुले महिलाहरुलाई छाउ बार्न वाध्य वनाईरहेको बुझाई राख्छन् डोटी पद्म पव्लिक मुक्तीनारायण माविका प्राचार्य गीता जोशी । ‘धर्मग्रंथहरुमा छाउ मान्नु पर्ने, छाउ नमाने पाप लाग्ने, बाझिन हुने जस्ता परिभाषा छन्’ उनी भन्छिन् ‘यि परिभाषाहरुले महिलाहरुलाई छाउपडी सोचबाट मुक्त हुन समस्या भईरहेको छ ।’ उनले कानुन आउनु आफैमा राम्रो भएको तर जवसम्म चेतना अभिबृद्धि हुँदैन तवसम्म कानुन आएर मात्रै केही नहुने बिचार व्यक्त गरिन् । उनी थप्छिन् ‘अगुवा महिलाहरुले आफुबाटै छाउ बार्ने प्रथा हटाउने हिम्मत गर्नु पर्छ ।’ उनले छाउपडी प्रथा बिरुद्ध बिद्यालय सचेतना कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने वताईन । उनी भन्छिन् ‘कम्तीमा ८ देखि १२ कक्षाका बिद्यार्थीहरुलाई छाउपडी प्रथाको बारेमा राम्रो ज्ञान दिने हो भने यो समस्या हट्न सक्छ ।’ सोचमा परिवर्तन नआएर अहिल्लै कानुनी व्यवस्था लागु होला जस्तो आफुलाई नलागेको उनको भनाई छ । 
छाउपडी गर्नेमा परिवारकै सदस्यहरु भएका कारण पीडित महिलाहरुले आफ्नो परिवारकै बिरुद्ध कानुनी लडाई गर्न नचाहेकाले उजुरी नपरेको हुन सक्ने न्यायिक समिति संयोजक समेत रहेका बाजुरा बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मी । उनी भन्छिन् ‘छाउ बार्नु गलत हो भन्ने कुरा धेरैले थाह पाईसकेका छन्, तर भित्रै वा सुरक्षित स्थानमा बस्न आँट गरिरहेका छैनन् ।’ 
छाउ बार्न लगाउने परिवारलाई नगरपालिकाबाट दिईने सेवा सुबिधामा रोक लगाउने गरी कार्यपालिकाले निर्णय गरेको रेग्मीले जानकारी दिईन । ‘हामीले चेतनामुकल कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं’ उपप्रमुख रेग्मीले भनिन् ‘धामी झाँक्री र पुजारीहरुलाई समेत हामी छाउपडी प्रथा बिरुद्धमा सचेत गराउँदैछौं ।’ 
नगरपालिकाले महिलाका लागि सञ्चालन गरेको “कपालदेखि कम्प्युटरसम्म” कार्यक्रममा छाउपडी प्रथालाई समेत समावेश गरिएको वताउँछिन् अछाम साँफेवगर नगरपालिकाकी उपप्रमुख बिमला बुड्थापा । महिलाहरुको समग्र विकासका लागि नगरपालिकाले सञ्चालनमा ल्याएको उक्त कार्यक्रममा महिलाहरुको व्यक्तिगत सरसफाईदेखि आय आर्जन र सीप विकास सम्वन्धी क्रियाकलापहरु रहेको वताउँदै उपप्रमुख बुड्थापा भन्छिन् ‘यसभित्र छाउपडी प्रथा बिरुद्धको चेतना जगाउने क्रियाकलापहरु पनि छन् ।’ उनले नगरपालिकाले छाउपडी प्रथा बिरुद्ध गाउँ गाउँमा भिडियो डकुमेण्ट्री समेत प्रदर्शन गरिरहेको वताईन । 
‘छाउ बार्ने परिवारले नगरपालिकाबाट पाउने सेवा सुबिधा रोक्ने निर्णय गरेका छौं’ बुड्थापा भन्छिन् ‘गाउँगाउँमा छाउपडी बिरुद्ध निगरानी समूह समेत गठन गरेका छौं ।’ उनले छाउपडी प्रथा बिरुद्ध बिद्यालय कार्यक्रम सञ्चालन गर्ने र किशोरीहरुलाई सेनीटरी प्याड बितरण गर्ने समेत कार्यक्रम रहेको वताईन ।  

सम्पादकीय 

चिप्को आन्दोलनको औचित्य

उहिले, सन् १९७३ मा भारतको तत्कालीन उत्तर प्रदेश (हालको उत्तराखण्ड) राज्यको चमौलीमा चिप्को आन्दोलन चलेको थियो । जव धेरै रुखहरु काटिन थाले, आन्दोलनकारीहरुले रुखमा टाँसिएर बरु मलाई काट रुख नकाट भन्ने नारा लगाए । आन्दोलन रुख काट्ने बिरुद्धको थियो अर्थात पर्यावरण संरक्षण र बन्यजन्तुको अधिकारको रक्षाका लागि थियो । 
अस्ती मात्रै उक्त चिप्को आन्दोलनको झल्को दिने गरि केही तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट्याइए । असोज १८ गते सुदूरपश्चिम प्रदेश सभाको दुईतिहाई बहुमतले प्रदेश राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरेको करीव चार महिनापछि केही जनप्रतिनिधिहरुको होस खुलेछ । उनीहरु गोदावरीका रुख अंगालोले नाप्न थालेछन् । प्रदेश सभामा निर्णय हुँदा माथीको आदेशले बहिस्कारको नाटक गर्ने अनि चार महिनापछि “रुख काट्न दिन्न” भनेर अंगालो हाल्ने र हनुमानहरुलाई चिप्को आन्दोलन भएको प्रचार गर्न लगाउनुको कुनै औचित्य छैन । 
प्रदेशसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव आउदा फरक मत दर्ज गर्न सकिन्थ्यो होला, त्यतिवेला “सवै हिसावले उपयुक्त प्रदेश राजधानी दिपायल हो” भनेर प्रस्ताव लगेको भए सायद आज अंगालो मार्नेहरुको गुनगान गाउने अरु कोही नभएपनि डोटेलीहरु हुन्थे होला । कम्तीमा फलानोले गरेको हो त भन्थे होलान, हालाँकी दुईतिहाई भएको झुण्डले जहाँ चाह्यो राजधानी त्यतै हुने थियो र भयो पनि । 
ल दिपायलका लागि फरक प्रस्ताव लग्न सकेनन्, धनगढीकै लागी त लान सकिन्थ्यो होला । त्यो पनि गरेनन् । राजनीतिक दाउपेचका लागि बैठक बहिस्कार त भयो तर त्यो दाउपेचले उल्टो आफैलाई घाटा भयो । खै, कहाँ छ राजधानीको बिषयमा फरक प्रस्ताव ? खै, कहाँ छ प्रदेश नामाकरणको बिषयमा फरक मत ? संसदमा वा संसद सचिवालयमा कतै पनि देखिदैन त ।  फरक राजनीतिक प्रस्ताव लैजानु पर्छ भन्ने जानकारी नभएको पनि होईन होला । अहिले रुखमा अंगालो हाल्नेहरुलाई त्यतिबेला गोदावरीमा रुख छैनन् भन्ने जानकारी नभएको पनि होईन होला । अंगालो हालेको रुख चार महिनामै हुर्केको पनि होईन होला । 
दुईतिहाई मत भएको झुण्डले चाहेको मात्रै हुन्छ भन्ने   कुरा संसदीय अभ्यास भएका सवै झुण्डहरुलाई थाह छ, किनकी संबिधानमै उक्त व्यवस्था छ तर दुईतिहाई मतले पास हुन्छ भन्दैमा आफ्नो मत नै नराख्ने त हुन्न होला नि ! अरु कुरामा संसद अवरुद्ध गर्नु हुने, यो कुरामा आफ्नो प्रस्ताव समेत लैजान नहुने भन्ने त कतै हुँदैन । बाहिर जति चुरीफुरी गरेपनि राज–धानीको बिषयमा औपचारिक रुपमा कुनै एक जना व्यक्तिले वा समूहले न फरक मत दर्ज गरेको छ, न कसैले बिपक्षमा मत हालेको छ । 
ल फरक मत दर्ज गर्न सकेन रे । दुईतिहाईको भुतले फरक मत दर्ज गराउने तहमा सोच्नै दिएन रे । तर, चिप्को आन्दोलन त त्यतिबेलै सुरु गरेको भएपनि हुने थियो त । त्यसका लागि न हिजो, न आज दुईतिहाई चाहिँदो रहेनछ । गोदावरी धामको दर्शन गर्न आएका बेला बाटोमा देखिएको रुखलाई अंगालो हालेर ‘चिप्को आन्दोलन’ भन्नु र हनुमानहरुले त्यसको प्रसंसा गर्नुमा कुनै अर्थ   राख्दैन । चिप्को आन्दोलनले गोदावरीमा राजधानी हुन्न भन्छ यदि साँच्चै हो भने त्यसको बिकल्प कहाँ हो ? त्यसो भए ‘गोदावरी राजधानी हुन्न, राजधानी दिपायल हुनु पर्छ’ भन्ने प्रस्ताव आवस, डोटेली जनताले साथ दिनेछन् । फेरी राजनीतिक दाउपेचका लागि गरिएको यो प्रचारबाजीले कुनै अर्थ राख्दैन । यसले फाईदा भन्दा पनि घाटा हुन्छ । राजधानीको बारेमा अहिलेसम्म पनि आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न नसक्नेहरुले के का आन्दोलनको फुर्ति लाउनु ! फेरी चिप्को आन्दोलन भनेको सामान्य कुरा होईन, यसमा ज्यान समेत जान सक्ने खतरा हुन्छ ।

थप समाचार 

आफ्नो सेवा सुबिधा बृद्धाश्रमलाई

दिपायल सिलगढी नगरकार्यपालिका सदस्य कृष्ण सुनारले सदस्यको हैसियतले आफुले प्राप्त गर्ने सेवा सुविधा वृद्धाश्रामलाई हस्तान्तरण गर्ने भएका छन् ।
डोटीको सिलगढीमा रहेको पुज्य धर्मानन्द बृद्धाश्रममा पत्रकार सम्मेलन गर्दै कार्य अबधीभरमा आफुले पाउने सम्पूर्ण रकम आश्रममा रहेका बृद्धबृद्धाहरुको सहायतामा खर्च गर्ने गरि हस्तान्तरण गर्ने सुनारले बताएका हुन् । नियमानुसार कार्यपालिका सदस्यले मासिक नौ हजार रुपैया प्राप्त गर्ने प्रावधान रहेको छ । सुनार नेपाल प्रहरी सेवाबाट निबृत्तभरण प्राप्त व्यक्ति रहेका कारण उनले पाउने सेवा सुविधामा आधा कटौती गरिएको छ । जसले गर्दा सुनारले मासिक चार हजार पाँच सय रुपैया तलब पाउने गरेका छन् । सुनारले तलब बापत ५४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । आफुले प्राप्त गरेको सबै रकम बृद्धाश्रमलाई दिने घोषणा गरेका हुन् ।
त्यस्तै सुनारले आफुले  सदस्य नरहने अबस्थामा आफुले खाईपाई आउने निबृत्तिभरणको केही अंश बृद्धाश्रमलाई दिने बताएका छन् । डोटी जिल्लामा रहेका जनप्रतिनिधिहरुमध्येमा आफुले पाउने सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् । 
सुनार नगरपालिकाको बडा नं. २ बाट निर्वाचित सदस्य हुन् । उनले गरेको सहयोगले बृद्धाश्रम संचालनमा ठुलो सहयोग पुग्ने संचालक संस्थाका अध्यक्ष दिनेश रोकायाले बताए ।

सुदूरपश्चिममा बढ्दो कुपोषण

सुदूरपश्चिम प्रदेशमा कुपोषण बढ्दै गएको एक तथ्यांकले देखाएको छ ।
कुपोषणका कारण सुदूर–पश्चिमको कुल जनसंख्याको ३५.९ प्रतिशतमा पुड्कोपन र ४९.८ प्रतिशत पाँच वर्षमुनीका बालबालिकामा रक्त अल्पताको समस्या रहेको पोषणका लागि नागरिक समाज सञ्जाल, नेपाल (सिसान) तथ्याँकले देखाउँछ । संस्थाले आइतबार धनगढीमा सञ्चार माध्यमहरुसंग गरेको बहुक्षेत्रीय पोषण योजना सम्बन्धी अभिमुखीकरण छलफलमा उक्त तथ्याँक प्रस्तुत गरेको हो । 
सुदूरपश्चिमका ३९.३ प्रतिशत महिलामा रक्त अल्पता  रहेको तथ्याँकमा उल्लेख छ । २८.१ प्रतिशत सुदूरपश्चिमेली कम तौलका भएका र ७.७ प्रतिशत बढि तौलको समस्या छ । यस्तै ९.३ प्रतिशत बालबालिकामा ख्याउटेपन र १.२ प्रतिशतमा मोटोपन रहेको समेत छलफलमा जानकारी दिइयो ।  
नेपाल जनसांखिक सर्वेक्षण २०१६ ले ३६ प्रतिशत नेपालीमा दीर्घ कुपोषण तथा पुड्कोपन रहेको देखाएको छ । १० प्रतिशत ख्याउटेपन र २७ प्रतिशत कम तौलको कारण नेपालीहरु पीडित छन् । नेपाल स्वास्थ्य सर्वेक्षण २०११ र २०१६ ले नेपाली मिहलाहरुमा रक्त अल्पताको दर बढिरहेको देखाएको छ । सिसानका अनुसार हाल ४६ प्रतिशत नेपाली महिलामा रक्त अल्पताको समस्या छ । यो दर २०१६ मा ४१ र २०११ मा ३५ प्रतिशत थियो ।
नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार २५ प्रतिशत नेपालीहरु गरीविको रेखामुनी रहेको उनीहरु कुपोषणको सिकार भइरहेको सिसानले जनाएको छ । सिसानका कार्यक्रम व्यवस्थापन अधिकृत हरिगेन्द्र सिंहले गरीवि, खानपानको तरिका, जंकफुड लगायतका कारणले कुपोषण बढिरहेको बताए ।

योजनामा सूचना बोर्ड अनिवार्य

कर्ण चन्द/सिलगढी
माघ ७
डोटीको दिपायल सिलगढी नगरपालिकाले निर्माण गरेका योजना स्थलमा अनिवार्य सूचना बोर्ड राख्ने गरेको छ । 
नगरपालिकाले निर्माण गरेका साना ठुला सबै योजनाको बारेको संक्षिप्त जानकारी रहेको सूचना बोर्ड राख्ने गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताईन् । मलासीले भनिन् ‘नागरिक उत्तरदायित्व तथा जवाफदेहीता अन्तरगत सबै योजनामा अनिवार्य बोर्ड टाँस्नु पर्ने बाध्यकारी गरेका छौँ ।
आर्थिक बर्ष ०७५/०७६ देखि निमार्ण कार्य सुरु भएका सबै योजनामा यस्तो ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी     दिए । शर्माले भने ‘पाँच लाख भन्दा माथीको योजनामा बाध्यकारी रुपमै सूचना बोर्ड राख्नु भन्ने सम्झौता मै उल्लेख छ ।’ उनले थपे ‘यसले गर्दा योजनाको प्रभाबकारीता तथा पारदर्शीता बढ्छ जस्ले पनि प्रस्टसंग सबै सूचना प्राप्त हुने भएपछि काम प्रभाबकारी हुन्छ भन्ने हामीलाई बिश्वास छ ।’
योजनास्थलमा सूचना बोर्डमा टाँस गरेर नागरिकलाई योजनाका बारेमा जानकारी दिनु राम्रो सुरुवात भएको सूचनाका अभियान्ता शंकर थापाले बताए । उनले भने ‘अहिले सूचना दिने भन्दा पनि कसरी लुकाउन सकिन्छ भन्ने होड भएको देखिन्छ दिपायल सिलगढी नगरपालिकाले सूचनाका प्रदान गर्ने बारेमा गरेको योग्दान प्रशंसनीय छ ।’
‘योजना स्थलमा टाँसिएको सूचना बोर्डमा योजनाको बारेमा सुरुवात देखि सम्पन्न मिति समेत उल्लेख गरिएको  हुन्छ’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले भने ‘योजनाको रकम, निर्माण उपभोक्ता समिति तथा निर्माण कम्पनी, सामुदायको योग्दान सम्पन्न हुने मिति जस्ता कुरा सबै उल्लेख हुन्छन ।’ 
सूचना बोर्ड राख्दा दोहरो फाईदा हुने उप–प्रमुख शिबराज खड्काले बताए । उनले भने ‘बिशेषगरी उपभोक्ता समितिमा बसेका ब्यक्तिलाई आर्थिक रुपमा स्थानीयले शंका पनि गरेको देखिन्छ, त्यो पनि अन्त हुन्छ अर्कोतर्फ नागरिकले कामको अनुगमन पनि गर्छन सोही अनुसार काम भए नभएको रेखदेख गर्छन ।’

सुदूरका पहाडी जिल्लामा हिमपात

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा गएरातिदेखि हिमपात सुरु भएको छ । 
सोमवार रातीदेखि सुरु भएको बर्षासंग उच्च पहाडी क्षेत्रमा परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा भएको हिमपातसंगै चिसो बढेको छ ।
डडेल्धुरा सदरमुकाममा बिहान ५ बजेदेखि हिमपात सुरु भएको छ भने उच्च लेकाली भागमा राति नै हिमपात भएको हो । भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाइ आएको छ । हिमपात नरोकिए बाटोमा रहेका यात्रुहरु अल्पत्र पर्ने खतरा छ । 
हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् । एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग प्रभावित भएका छन् ।
लामो समयसम्म वर्षा नहुँदा चिन्तित यहाँका किसान चिसोको कहरले भन्दा बालीनाली सप्रने आशाले खुसी भएका छन् ।

अत्तरीया घटना ः चार अभियुक्त पक्राउ

गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको हत्यामा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ परेका छन् । 
जिल्ला प्रहरी कार्यालय कैलालीले धारिलो हतियार प्रहार गरी युवाको हत्या गर्ने गोदावरी नगरपालिका–२ शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐरलाई पक्राउ गरेको हो । पक्राउ परेका ऐर विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न र लागू औषध दुव्र्यशनी रहेको प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले बताए । 
मुख्य अभियुक्त ऐरलाई सहयोग गरेको भन्दै तीन जना मतियारहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उमहानगरपालिका–३ का २२ वर्षीय डेविटसिंह ऐर, भजनी–२ का २१ वर्षीया मञ्जु चौधरी खड्का र धनगढी–१३ का २१ वर्षीय लोकेश खत्री छन् ।

काँडाबासीको पीडा ः न जग्गाधनी न भूमिहिन

नेपाल एकिकरणको अभियानका क्रममा पश्चिम गौणाको ईन्चार्ज भएर आएका सरदार अमरसिं थापाले पूर्वीचौकीको काँडामाण्डौंमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्ड द्वीप बाल्ने प्रचलन चलाए । मन्दिर निर्माणसंगै उक्त क्षेत्रको जमिन आफ्नो बिर्ता रहेको घोषणा गरे । उक्त जमिन सो क्षेत्रका उपरकाँडा, नवाघर, बोगटी गाउँ र बटाला गाउँका तत्कालीन ५३ परिवारलाई जोतभोग गर्ने हक दिए । 
उहिलेको ५३ परिवार अहिले करीव चार सय परिवार भएको छ । ति चार सय परिवार अहिलेसम्म लालपूर्जाबिहिन छन् । अमरसिं थापाले ‘जोताह’ भन्दै जोतभोगको हक पाएका स्थानीयबासीहरु न सुकुम्वासी छन् न जग्गाधनी । आफ्नो बिर्ताको जमिन जोतभोग गरेवाफल मन्दिरमा अखण्ड द्वीप बाल्न, अन्य पुजापाठ गर्न र मन्दिरको संरक्षण गर्न अमरसिं थापाले आदेश गरेका थिए । गुठीको अवधारणा अनुसार कुत उठाउन फौजदार अख्तियारी पनि दिएका थिए । 
अमरसिंह थापाको आदेश अनुसार स्थानीयहरु अहिले पनि कुत तिर्छन् । मन्दिरको व्यवस्थापनमा अहिले पनि सक्रिय छन् । द्वन्द्वको समयमा निभेको अखण्ड द्वीप फेरी उनीहरुल नियमित गरेका  छन् । 
२०४४ सालमा मालपोत कार्यालयबाट उनीहरुले ‘जोताह पूर्जा’ पाएका छन् तर उनीहरु जमिनका मालिक हुन सकेका छैनन् । ‘हाम्रो चलनभोग गरेको जग्गा नापजाँच समेत भएको छ’ जिल्ला सदरमुकाम सिलगढीमा पत्रकार सम्मलेन गरी आफ्नो पीडा सार्वजनिक गर्दै स्थानीय गोरखवहादुर बोगटी भन्छन् ‘तर पनि हामीले लालपूर्जा पाउन सकेका छैनौं ।’ बिक्रम् सम्वत् १८४६ मा गरिएको उक्त व्यवस्था अहिलेसम्म पनि आफुहरुले मान्नु परेको स्थानीय बताउँछन् । ‘यो दुई सय २९ बर्षमा देशमा अनेकौं परिवर्तन भए, अनेकौं व्यवस्था आए तर हाम्रा लागि उस्तै अवस्था छ’ बोगटी भन्छन् ‘फेरी पनि हामीले सलामी चढाउनु पर्ने, कुत तिर्नु पर्ने र भूमिहिन भएर बस्नु पर्ने भएको छ ।’ 
मन्दिरको व्यवस्थापनका लागि स्थानीयले २०७३ सालमा मालिका भगवती मन्दिर व्यवस्थापन समिति गठन गरिसकेका छन् । तर पनि उनीहरु सकुम्वासीकै रुपमा रहेका छन् । ‘लालपुर्जा भएका कारण हामीले आफ्नो जमिनको सही प्रयोग गर्न सकिरहेका छैनौं’ एक स्थानीयले भने ‘खेती गरेर खाने बाहेक न हामीले उक्त जग्गा बिक्री बितरण गर्न सक्छौं न कतै धितो राख्न सक्छौं ।’ लालपूर्जा नभएका कारण राज्यबाट पाउने मलखाद, बिउ, सिचाई सुविधाहरु पनि आफुहरुले नपाएको उनको भनाई छ । सम्पत्ति आर्जन गर्ने पाउने, भोग चलन गर्न पाउने र बिक्री बितरण गर्न पाउने अधिकारबाट आफुहरु बञ्चित रहेको उनीहरुको भनाई छ । 
जग्गा जोतभोग गरेवाफत आफुहरुले बर्षेनी नौ माना तेल, ६ माना घिउ, १९ किलो चामल र एक बोका दिइरहेको गोरख वोगटीको भनाई छ । उनी भन्छन् ‘मेरो करीव २० रोपनी जमिन होला, मैले कुत वाफत करीव २० हजार खर्च गर्नु पर्ने वाध्यता छ । गाउँलेले कुत उठाएर बर्षभरीमा ४८ बोका र दुई राँगा अनिवार्य बलि दिनु पर्ने वाध्यता छ । दशैंको नवरात्रामा नौ दिनसम्म प्रत्येक दिन बोको बली दिनु पर्ने बोगटी  बताउँछन् । उनी भन्छन् ‘अखण्ड द्वीपको सवै खर्च पनि हामीहरु गाउँबाटै    उठाउँछौं ।’ उक्त मन्दिरमा दशैं, चैते दशैं र मालिका पूर्णिमाको दिन मेला लाग्ने गर्छ । 
स्थानीयले आफुहरुले चर्चेको जमिनको आफुहरुले लालपूर्जा पाउनु पर्ने माग राखेका छन् । गुठीमा रहेको जमिन रैकरमा परिणत गरी आफ्नो नाममा गरिदिन हुन उनीहरु आग्रह गर्छन । 
गुठी संस्थान ऐन अनुसार उक्त जमिन रैकरमा परिणत हुन सक्ने देखिएको मालिका गुठीको वारेमा अध्ययन गरिरहेको खाद्य अधिकारको क्षेत्रमा कार्यरत गैर सरकारी संस्था याक नेपालका कार्यकारी निर्देशक डवल वमले वताए । ‘ऐनको दफा १३ अनुसार उक्त जमिन   रैकरमा परिणत हुन सक्छ’ उनले भने ‘सायद उहाँहरुको पहुँच नभएर होला, अव पहल गर्नु भयो भने त्यो सम्भावना   देखिन्छ ।’ उनले २०१६ सालमै बिर्ता उन्मुलन भईसकेको हुँदा बिर्ताको रुपमा सुरुवात भएको यो जमिन अव रैकर वनाउन सकिने वताए ।’ निर्देशक वमले यस बिषयमा मातपोत कार्यालय डोटी पनि सकारात्मक रहेको आफुले पाएको जानकारी दिए ।
अध्ययनका क्रममा उक्त क्षेत्रमा रहेका करीव ६० दलित परिवारको नाममा जोताह पूर्जा समेत नरहेको पाईएको बमले जानकारी दिए । उनले भने ‘सायद त्यतिवेला उनीहरुलाई कसैले जानकारी नगराई दिएको भएर पनि होला’ उनले भने ‘या त जोताह कायम गर्दा उनीहरु नाम उल्लेख नभएका कारण पनि जोताह पूर्जा नपाएको हुन सक्छ ।’ गुठीकै जमिन पनि केहीले २०४३ सालको नापीकै बेला रैकर बनाईसकेको पाईएको समेत वमले जानकारी दिए ।  

नागरिक समाजले बिद्यालय अनुगमन गर्ने

रमेश जोशी/वायल
पुष ३०
डोटीको केआई सिंह गाउँपालिकाका–५ मा रहेका विद्यालयहरुको नागरिक समाजले अनुगमन गर्ने भएका छन् । 
वडा कार्यालयमा आयोजना गरिएको स्थानीय सभाको बैठकले गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि विद्यालय अनुगमन गर्न पाँच सदस्यीय अनुगमन समिति गठन गरेको छ । समितिको संयोजकमा दुर्गासिंह रावल र सदस्यहरुमा वडा सदस्य ममता सार्की, चेतबहादुर रावल, स्वास्थ्य शाखाका विश्वेश्वर यादव र गणेश शाही रहेका  छ । स्थानीय सभाको बैठकमा सामुदायिक विद्यालयहरुमा अंगे्रजी माध्यमबाट अध्यापन गराउने, निशुल्क शिक्षा दिनु पर्ने र शिक्षकहरुलाई जवाफदेही बनाउनुपर्ने सवालहरु उठेका थिए ।
वडाध्यक्ष रामचन्द्र राणाले संघीय सरकारले शिक्षा नीति नबनाई स्थानीय तहमा शिक्षा नीति नबनाउन परिपत्र     गरेकाले गाउँपालिकाले शिक्षा नीति बनाउन नसकेको वताए । शिक्षाको गुणस्तरप्रति उठेको चासोलाई सम्बोधन गर्न वडाध्यक्ष राणाले अुनगमन समिति गठन गर्न प्रस्ताव गरेका थिए । समितिको प्रतिवेदनका आधारमा वडामा रहेका विद्यालयहरुको गुणस्तर प्रवद्र्धन गर्न योजना निर्माण गर्ने राणले जानकारी दिए ।
युएसएआईडीको सहयोगमा डोटीमा एफएमडिसिले सञ्चालन गरेको पारस्परिक जवाफदेहिता कार्यक्रम अन्र्तगत स्थानीय सभा गठन गरिएको थियो । स्थानीय सभाले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, कृषि, विपद् सम्बन्धी विषयहरुमा स्थानीय स्तरमा पैरवी गर्ने एफएमडिसिका जिल्ला संयोजक मोहन शाहीले जानकारी दिए ।
स्थानीय सभाको बैठकमा एफएचआई३६० का भोला भट्टराई, इक्वेल एक्सेसका बिशाल रानामगर, लक्ष्मी श्रेष्ठ, एनएनएसडब्लुएका देबराज बडुलगायतले सहभागीता रहेको थियो ।

प्रदेश विकास कार्यक्रमको ३४ प्रतिशत रकम पूर्वीचौकीमा

सुदूरपश्चिम प्रदेश सभामा डोटी निर्वाचन क्षेत्र १ बाट निर्वा्चित भरत वहादुर खड्काले प्रदेश पूर्वाधार विकास कार्यक्रमको बजेट बाडफाँड गरेका छन् । कुल दुई करोड रुपयाँको ३४.५ प्रतिशत अर्थात् ६९ लाख रुपयाँ खड्काले आफ्नो गृह गाउँपालिका पूर्वीचौकीका बिभिन्न योजनमा बिनियोजन गरेका छन् । 
उक्त रकमबाट पूर्वीचौकी गाउँपालिका–१ मा रहेको साजेन्द्रेश्वर माविको छात्रावास र घेरवार निर्माणका लागि ३५ लाख विनियोजन भएको छ । कार्यक्रमका २४ योजनामध्ये यो सवैभन्दा बढी रकमको योजना हो । 
खड्काले बिनियोजन गरेका योजनाहरुमा ६ सडक आयोजना निर्माणका लागि ५० लाख रुपैयाँ बिनियोजन गरेका छन । यस्तै पाँच मन्दिर निर्माणका लागि ३१ लाख रुपैयाँ बिनियोजन गरिएको छ । 
साजेन्द्रेश्वरको ३५ लाख सहित शिक्षा क्षेत्रमा ७७ लाख रुपैयाँ बिनियोजन भएको छ । यस्तै बिद्युततर्फ १६ लाख, खानेपानी र सिंचाईतर्फ १६ लाख र बाटो निर्माणतर्फ आठ लाख रुपयाँ बिनियोजन भएको छ । 
प्रदेश विकास कोषबाट सवैभन्दा कम रकम शिखर नगरपालिकामा परेको छ । नगरपालिकाका ७ देखि ११ सम्मका पाँच वडाहरु प्रदेश सभा निर्वाचन क्षेत्र १ मा रहेका छन् । खड्काले छनौट गरेका योजनामा शिखर–७ सेटीगाउँमा खानेपानी निर्माणमा आठ लाख र वडा नं. १० थाप्सामा मन्दिर निर्माणमा आठ लाख गरि १६ लाख रुपयाँ मात्र बिनियोजन भएको छ । 
यस्तै आदर्श गाउँपालिकामा ४७ लाख र सायल गाउँपालिकामा २१ लाख रकम बिनियोजन भएको छ । 
प्रदेश विकास कार्यक्रम (संसद कोष) बाडफाँड गर्दा १० लाख भन्दा कम लागतका योजना निर्माण गर्न नहुने भनिएको भएपनि खड्काको कार्यक्रममा सबै भन्दा कम आदर्श गाँउपालिकाको छत्रेश्वर बाल विकासलाई तीन लाख रुपैयाँ छुट्याईएको छ । छनौट भएका २४ योजनाहरुमध्ये २२ योजनाहरुमा १० लाख भन्दा कम रकम बिनियोजन भएको छ । पूर्वीचौकीको साजेन्द्रेश्वर माविको योजना र पूर्वीचौकीकै पोखरी सडकको योजनामा मात्रै तोकिएको मापदण्ड अनुसार रकम बिनियोजन भएको देखिएको छ । 
यसअघि संघीय प्रतिनिधि सभा सदस्य प्रेमवहादुर आलेले बितरण गरेको चार करोड रकममध्ये झण्डै ३७ प्रतिशत रकम उनको गृह गाउँपालिका जोरायलमा बिनियोजन भएको थियो । प्रदेश सभाका अर्का सदस्य 
मुख्यमन्त्री त्रिलोचन भट्टले रकम बितरण गर्न बाँकी छ ।

चलचित्र/मनोरञ्जन 

बर्षा भन्छिन् ः पारिश्रमिक पाउनै गा¥हो

फिल्मी खवर
बरिष्ठ अभिनेता राजाराम पौडेलले अहिलेका सर्वाधिक महँगा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट पारिश्रमिक नपाएको र अरुबाट आफ्नो डबिङ गराए मुद्धा हाल्ने बताएपछि अहिले         पारिश्रमिक नपाएका धेरै पीडित कलाकार तथा प्राविधिकहरुले पनि निर्धक्क आफ्नो कुरा राख्न थालेका छन् । केही दिन अगाडि ‘रोज’ का कलाकारले पारिश्रमिक नपाएको गुनासो पोखेका थिए । 
चलेका कलाकारलाई नै निर्माताबाट पारिश्रमिक उठाउन सकस भइरहेको अवस्थामा नव–आगन्तुक कलाकार त झन् कति पीडित होलान् ? अनुमान गर्नपनि गाह्रो पर्छ । फिल्म निर्माण अगाडि ठूला सपना देख्ने फिल्म मेकर्स फिल्म रिलिजको संघारमा हुँदा र रिलिज भइसकेपछि रगत–पसिना चुहाएका कलाकार तथा प्राविधिकको पारिश्रमिक दिन सक्दैनन् । कति निर्माता त सम्पर्कविहीन नै हुन्छन् । 
गएको हप्ता ‘रोज’ का अभिनेता प्रदीप खड्काले १० लाख पारिश्रमिक अझै पाउन बाँकी रहेको र निर्माताले नदिए मुद्धा हाल्ने बताएपछि अहिले धेरै कलाकारहरु निर्माताले पारिश्रमिक नदिएको गुनासो बोकेर मिडियाकहाँ पुग्न थालेका छन् । अभिनेत्री वर्षा सिवाकोटीले पनि प्रदर्शनको पखाईमा रहेको फिल्म ‘पुरानो बुलेट’ बाट आधा पारिश्रमिक अझै नपाएको बताएकी छन् । 
‘सुटिङ सकियो, डबिङ सकियो अब प्रचारको बेला सुरु हुन लागेको छ तर सम्झौता भएको आधा रकम अझै पाएको छैन’ उनले भनिन्, ‘शनिबार टिमबाट फोटोसुटका लागि बोलाउनुभएको थियो । मैले पारिश्रमिक नपाएसम्म अब केही नगर्ने भनेको छु ।’ बाँकी पारिश्रमिक नपाएसम्म न प्रचार न त फिल्मको कुनै काम गर्ने उनले बताइन् । 
हाल ‘वीरविक्रम २’ को छायांकनमा व्यस्त उनी नयाँ फिल्म मेकर्समा यस्तो समस्या देखिने गरेको बताउँछन् । यसअघि फिल्म ‘जय शम्भु’ मा पनि आफ्नो पारिश्रमिक पाउन टिमलाई डबिङ नगर्ने र प्रचारमा नहिँड्ने भनेपछि बल्लतल्ल पारिश्रमिक पाएको उनी सम्झन्छिन् । नयाँ टिमसँग काम गर्दा आफूले धेरैपटक यस्तो समस्या ‘फेस’ गर्नु परेको उनले सुनाइन् । 
‘पुराना मेकर्ससँग काम गर्दा पारिश्रमिक पाउन खासै गाह्रो हुँदैन । उहाँहरुले कलाकारको मर्म बुझ्नुहुन्छ । तर, नयाँ मेकर्सबाट चाहिँ पारिश्रमिक उठाउन साह्रै गाह्रो हुन्छ । आफ्नो पारिश्रमिक उठाउन रोइकराइ गर्नुपर्छु’ उनी भन्छिन् । नयाँ निर्माताहरु फिल्मको घोषणा धुमधामले गर्ने तर रिलिजको बेला भएपछि पैसा नहुने र सबैभन्दा अप्ठ्यारो कलाकारलाई पर्ने उनको बुझाइ छ । 
‘पुरानो बुलेट’ निर्देशक भिषण राई भने केही दिनमा वर्षालाई पारिश्रमिक उपलब्ध गराउने बताए । उनले भने   ‘पारिश्रमिक नदिने भन्ने त हुँदै हुँदैन । उहाँ अहिले ‘वीरविक्रम २’ को सुटिङका लागि मुस्ताङमा हुनुहुँदो रहेछ । उहाँ काठमाडौं पाएपछि पारिश्रमिक दिनेछौं ।’ वर्षाले आधा पारिश्रमिक भने बुझिसकेकी छन् । 
यहाँ राजाराम, प्रदीप, वर्षाजस्ता धेरै कलाकार र प्राविधिकहरु छन्, जसलाई आफ्नो मेहनतको पैसा उठाउन निर्मातासँग ठूलै रस्साकस्सी गर्नुपर्छ । निर्माणको बेला निर्माताहरु कलाकारले मागे जति पारिश्रमिक दिन राजी हुन्छन् तर जब छायांकन सकिन्छ र खल्ती रित्तिन्छ तब निर्माताबाट आफ्नो पारिश्रमिक उठाउन कलाकारलाई ठूलै संघर्ष गर्नुपर्ने हुन्छ ।

लेख 

बालहठमा बिवेकशीलहरु

डा. मनोज कार्की    
म हिजो जनयुद्वकालको कुनै समय सोलुको सल्लेरीमा पढाउँथे । हप्तामा एक पटक घर जाँदा ‘पार्टीका मान्छे’को फेला पारिन्थ्यो आक्कल झुक्कल । उनीहरूले बोलेको कुरालाई हो, हजुर, हस् हजुर भन्दै हिंड्नु पथ्र्यो । ‘त्यस्तो होइन, यस्तो हो कि’ भन्यो भने हामी जस्तो गौरवशाली इतिहास बोकेका क्रान्तिकारीहरूलाई सिकाउने तँ सामन्ती होस्, प्रतिगामी होस्, प्रतिक्रियावादी होस् भन्दै भाटे कारबाही गरिएका उदाहरण यत्रतत्र थिए ।
उनीहरुसँग हुल थियो, हतियार पनि । उनीहरूमा आक्रोशको ज्वाला र जंगली राजको उन्माद थियो । दोष तिनको थिएन, तिनीहरूमा त्यस्तो स्वभाव भरिदिनेहरूको थियो । उनीहरूलाई जे गर्न भनिन्थ्यो त्यै गर्थे, जे रटाइयो त्यै भाषा बोल्थे । बडो गर्वका साथ फ्रान्सदेखि चीनसम्मका क्रान्तिका कुरा गर्थे ।
उनीहरुमा एक प्रकारको आत्मविश्वाश पनि     थियो । हामीले नै हो देश बनाउने भन्थे । अहिले आँखै अगाडि सब सपना चकनाचुर भैसकेको छ । बरु अहिले पासपोर्ट बनाएर खाडी तिर काम गर्दैछन्, ती मध्ये   धेरै । कति प्रायश्चितको जिन्दगी बाँच्दैछन् । त्यो विषयमा धेरै वहश र विश्लेषण भैसकेको छ । समय धेरै घर्किसकेको छ, तितो विगत भुलेर अघि बढ्न नेपाली समाजले निगाह गरेको छ । झण्डै त्यहीँ प्रवृति सम्झाउने उग्रता, अभिव्यक्ति र भूइँफुट्टा नेतागिरी देखियो राजनीतिको नयाँ तर सुसंस्कृत भनिने समूहमा पनि । कसरी अट्यो होला त्यो उग्रता र भूइँफुट्टा नेतागिरी आफूलाई विवेकशील, इमान्दार, उत्कृष्ठ, शालीन जस्ता शब्दले शृंगार गर्ने त्यो कथित वैकल्पिक राजनीतिक समूहमा ?
देशका कैयौँ समस्या समाधानका लागि राजनीति नै सुधार्न जरुरी छ भन्ने कुरा गर्दा उहाँहरुलाई पार्टी गलत दिशा तिर गएको जस्तो लाग्यो । विडम्वना, यहाँ त त्यै अभियानका नाममा सिटी फुक्ने र ढ्यांग्रो बजाउने पो वैकल्पिक राजनीतिका पर्दामा छाउन थाले ।
माइतीघरको अष्ठमण्डमा कागजको टोपी लगाएर राजधानी केन्द्रित राजनीति गरेर, बेला बेलामा पर्यटक बनेर नेपाल घुमेर अनि केही थान मुद्दामा चिच्याएर नेपाल बन्दैन, संगठन विस्तार गर्ने बेलामा हिलो छ्यापाछ्याप गरेर हाम्रो संकल्प पूरा हुँदैन ।
माफ गर्नुहोला, हामी जस्ता परदेशिएका नेपालीको सदिक्षाले यहाँसम्म पुगेको हो विवेकशील साझा पार्टी । तपाईंहरूको निर्दोष केटाकेटी अवस्थालाई हुने विरूवाको चिल्लो पात सम्झेर राजनीतिक दलको आकार लिंदै जाँदा सुसंस्कृत परिपक्वताको अपेक्षा राखिएको हो ।  तर, तपाईंहरू त त्यसैमा हौसिन थाल्नु भो । यहाँहरू त युवा हैन छिप्पट केटाकेटी पो बन्नु भो । रूखको आकार बढाएर छहारी देला भनेर पानी हालेको पोथ्रो बनेर घोच्न पो थाल्नु भो ।
तपाईंहरू भाइरल सेलिब्रेटी बन्नु भो र त्यसैलाई वैकल्पिक राजनीति भन्ठान्नु भो । अब त यहाँहरूले एउटा कलेजको इकाई समितिले देखाउने सामान्य राजनीतिक संस्कार पनि नदेखाई तल्लोस्तरको शैली पो देखाउनु भो । आफ्नै पार्टीका गर्व गर्नुपर्ने जीउँदा नेताको नामा ‘रिप’ भन्ने तपाईहरुको ‘चीप’ काइदा त आलोचनायोग्य पनि रहेन ।
कुवाको भ्यागुतो नजिकैको समुन्द्रमा पनि त्यहीँ पानी त छ नि भनेर रमाउँछ रे । भ्यागुता कुवालाई नै संसार ठान्छ, त्यसैमा रमाउँछ । त्यहाँको ठेकदार पनि उही जानिफकार पनि ऊ मात्रै । तपाईँहरुले पनि भ्यागुतो जस्तै गर्नु भो । एउटै गर्जनबाट सयौं संभावनाहरू शंखघोष गर्न सक्ने, नैतिकताका उच्चतम अभ्यास गरिरहेका र सत्य बोल्न सक्ने व्यक्तित्वहरूलाई भाइबहिनीहरूले मूल्य–मान्यता सम्झाउनु पुरै बेठिक त हैन, तर कसैको          ‘रेडिमेड’ शब्द टिपेर सुगा रटान गर्नु कुन बैकल्पिक राजनीति हो ?
फुट भन्दा अगाडिका गतिविधिहरु नियाल्दा लाग्थ्यो, संस्कारपुर्ण राजनीति र विवेकशील भन्ने शब्दमाथि नै अन्याय हुँदै थियो । यी शब्द नै बिउँझिएर मेरो अर्थ यो हो भन्छन् कि भन्ने डर लाग्थ्यो ।
छुट्टएिर गएकाहरुका कुरा सुन्दा साह्रै निर्दोष लाग्छ साथै नादान पनि । भन्नुहुन्छ– पार्टी बढाएर काम छैन, नागरिक अभियानमार्फत नै हो विवेकशीलको उद्देश्य हासिल गर्ने । तर, नेपाल त्यति सहज पनि छैन जो तपाईंका अभियानमा सर्लक्कै समेटियोस् ।
पर्यटक शैलीमा दुई–चार दिन घुमेर नेपाल  बुझिंदैन । नेपालमा जति अनकन्टार गाउँबस्तीहरू छन्, तिनलाई झट्ट नियाल्न त नाङ्गा आँखा काफी छ, तर त्यहाँका भीमकाय दुख्खकष्ट बुझेर समाधान औंल्याउन त्यहीं केन्द्रित विभिन्न संगठनहरूलाई पनि सहज छैन भने तपाईंहरूको नमूना सर्वेक्षणले के मार्ग चित्र दियो होला र ? त्यसैका लागि त चाहिने हो ज्ञानमा गहिराई, विषय विज्ञता र समस्या समाधानमा रचनात्मकता ।
हेर्नुस्, यति सजिलो भएको भए नेपाल उहिलै बनिसक्थ्यो । मान्छेका व्यक्तिगत स्वार्थका दायरा आज भन्दा २० वर्ष पहिले धेरै साँघुरा थिए । हाम्रा अग्रजहरू धेरै इमान्दार थिए । मूल्य–मान्यताका के कुरा गर्नुहुन्छ, कसैको झुक्किएर पनि केही खान नपरोस् नत्र अर्को जुनीमा सजाय भोग्नु पर्छ भन्ने थियो । पाप लाग्छ भनेर मान्छेहरू अपराध गर्न डराउँथे । अझै पनि कैयौं छन् यस्ता महात्माहरू । मूल्य–मान्यता त सबैमा केही न केही होलान् नै, तर राजनीतिको मन्चमा सही विचार र दिशानिर्देश पनि चाहिन्छ ।४५/५० कटेका मान्छे देख्यो कि तपाईंहरू ‘नार’ थाप्न लागिहाल्नु हुन्छ । युवाका नाममा गोलमटोल कुरा गरेर अग्रजहरूलाई समय काट्न आएका सुड्डाहरु भन्नुहुन्छ । समय कटाउनैका लागि त तपाईंहरूका यथानाम युवा नेतासँग कामरेड गर्न के मज्जा होला र ? बरू तपाईंहरूका २०÷२२ वर्षका नवयुवा नेताहरूले पो कलेज पढ्छन् कि, रोजगारी गरून् कि तपाईंका मूल्य–मान्यता अनुसार केन्द्रमा बसेर विवेकशील राजनीति गरून् ?
हुन त मूल्य–मान्यता भन्न पनि मजा सुन्न पनि मजा आउने तर विदेशी संघसंस्था त के भूपू नेपाली नागरिकबाट समेत चन्दा नलिने भनेर रवीन्द्र मिश्रले आव्हान गर्दैगर्दा मूल्य–मान्यताका कुरा गर्नेहरूले भने विदेश भ्रमणलाई नै प्राथमिकता दिनुभो । किन ? त्यो उहाँ नै जान्नु होला ?
पार्टीको एउटा पंक्ति संगठन विस्तारमा अहोरात्र खट्दै गर्दा अर्को तप्काका नेता उज्वल थापा अमेरिका घुमी भ्याएर हस्यांग फस्यांग गर्दै १८ पेज लामो समीक्षा तयार पार्नु यो अनि केन्द्रीय समितिको बैठक हापेर छापाहरूमा हु¥याउनु भो, अकस्मात । यो कस्तो मूल्य– मान्यता हो ? के आपसी सद्भाव र सहकार्य मूल्य–मान्यताका दुश्मन हुन् ? जे निर्णय गर्दा पनि रमिते बनेर बस्ने अनि प्रतिक्रिया आउन थाले पछि त्यसैमा टेकेर अर्को पक्षलाई प्रहार गर्न मिल्छ ?
राधेश्याम अधिकारीमा लागेका एकाध आरोपलाई अति उछाल्नु भो, तर उनैका कैयौं राम्रा पक्ष सुन्नै चाहनु भएन, यो कस्तो मानसिकता हो ? प्रतिपक्षी रहित राष्ट्रिय सभा नहोस् भनेर आफूसँग भएको झिनो मतभार कांग्रेस उम्मेदवारका पक्षमा जाहेर गर्नुलाई सात जुनीमा पनि नकट्टने पाप सम्झनु भो । विषयको गहिराइमा पुग्न आफ्नो झुण्ड बाहिर निस्कन आवश्यक ठानिएन । उही धारका केही पाका नेताहरु पनि समस्यामै रूमल्लिए । अस्तव्यस्त बजार जस्तो भो वार्ता, बैठकका मञ्च ।
अर्को पक्ष पनि जंगियो– हामी राजीनामा दिन्छौं तर यो निर्णय फिर्ता गर्दैनौं । त्यसैले मानिदिनुस् ।
विवेकशीलका केही युवा नै लागे तिललाई पहाड बनाउन जो आफ्नै कमजोरीबाट सिर्जना भएको थियो । कागले कानले लग्यो भन्दै आफ्नो कान नछामी काग खेद्न थालियो, केन्द्रीयस्तरबाटै । अब मुनिकाले विश्वास गर्नै प¥यो अनि हिट भयो, बनाइयो राधेश्याम प्रकरण ।
घाटा पार्टीलाई नै भयो, घाटा पु¥याइयो पार्टी भित्रै बसेर । अझै पनि त्यो समूहमा रुझेका–रमेकाहरुको पहिलो तर्क नै भएको छ– राधेश्यामको समर्थन किन ? राधेश्याम जस्ता भ्रष्टाचारबिरुद्वको अभियन्तलाई कांग्रेस भएकै कारण भ्रष्टाचारी भन्नसमेत चुक्नु भएन ।
बानेश्वरमा जे भयो, त्यसमा दुवै पक्षकाले बताए अनुसार पूर्व विवेकशीलका पूर्व कार्यकर्ताहरु, त्यो पनि पहिले निष्कासनमा परेकाहरुको त्यो स्तरको प्रस्तुति बडो अचम्मको थियो । तर, साथीहरुले त्यो गतिबिधिलाई पनि वैध बनाउन खोज्नु भो । तिनको प्रस्तुति अराजकता थियो, तिनले तथानाम गरे आम शुभेच्छुकको मनै चिसो बनाउने    गरी । ‘युवा अघि सर्दा देश अघि बढ्छ’ भन्ने नारा लाग्यो । ‘पेन्सन खाँदै समय काट्न आएका बूढाहरू’ निशाना भए । दोषहरू त्यतै पन्छाइयो । आवाजहरु चर्किए, वातावरण उत्तेजित  भयो । तर संयम अपनाउने भन्दा रमिते बन्ने र खुचिङ्ग गर्ने प्रवृति देखियो ।
फेरि भयो– हामीले रोक्न खोजेको, अर्को पक्ष मान्नु भएन । न स्थिति सम्हाल्न सहायता भो न त जिम्मेवारी लिइयो । दुःख व्यक्त गर्नसम्म भ्याइएन, बरु तिनकै काँधमा टेकेर ‘मिश्र एण्ड कम्पनी’ भन्दै प्रहार पो गर्न थालियो । अफसोस त तब भयो जव तिनले त्यहाँ त्यही भाषा बोलेका थिए जो पछिल्लो समय आफूलाई विवेकशीलका केन्द्रमा उभ्याउनेहरू नै आधिकारिक फेसबुक ग्रुपमा विना संकोच पोखिरहेका थिए । केन्द्रीय समितिमा समेत रहेका महानुभावबाट त्यति तल्लो स्तरको गाली गलौज पोखिएको थियो । त्यो हेर्दा म जस्ता धेरै शुभ चिन्तकको तपाईंहरू प्रतिको अपेक्षा क्षण भरमै धुलिसात भयो तर गाली गलौज भने झन् बढेर गयो । त्यही हो सुसंस्कृत र विवेकशीलहरूले प्रयोग गर्ने भाषाको स्तर ?
सभ्य आग्रह–प्रत्याग्रह गर्दा उल्टै हनुमानको पदवी भिडाइयो अनि सामान्य बाँदर भन्दा हनुमान बन्नु उत्तम भन्ने प्रत्युत्तर पुर्रुयाइयो । प्रष्ट थियो, तपाईंहरु फुट नै खोज्दै हुनुहुन्थ्यो । तर, सहानुभूति बटुल्न आरोप(प्रत्यारोपको खेल खेल्नु राजनीतिक बैमानी हो कि मूल्यमान्यता ? पाँडे गालीलाई वाक स्वतन्त्रताको कन्दनी लगाएर कतिन्जेल लाज बच्ला र ?
कमीकमजोरी एउटा पक्षको मात्र भन्न खोजेको हैन, तर मेरो नजरमा विवेकशील साझा टुक्रनुको प्रमुख कारण विवेकशीलहरुको बाल हठ र अपरिपक्वता नै हो । यो कारणले बैकल्पिक आन्दोलनमा केही असहजता देखिए पनि खासै असर नपु¥याउने अड्कल गर्न सकिन्छ । रवीन्द्र मिश्रले अहोरात्र काम गर्दा भएका मानवीय कमजोरीहरुलाई देश बिदेशका शुभ–चिन्तकहरुले क्षमादान गरे पनि पार्टी फोडेर सम्वृद्धिको स्वैरकल्पनामा हराउनेहरुलाई पक्कै जवाफ दिनेछन् भन्ने यो पङ्गिकारको ठहर हो ।
— अनलाईन खवरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योग्दान कति छ ? —४.३५%
२. विश्वको पहिलो मानवीय शिखर सम्मेलन–२०१६ कुन देशमा आयोजना भयो ?  — टर्की 
३. संसारका बढी प्रतिव्यक्ति आय भएको मुलुक कुन हो ?   — कतार
४. आर्थिक तथा सामाजिक परिषदका ५४ सदस्यहरुमध्ये एशियाबाट कति वटा सदस्यहरु रहन्छन् ?
— ११
५. नेपालकै अग्लो झोलुङ्गे पुल पर्वतको कुन खोलामा रहेको छ ?     — मोदी खोला
६. सूर्यको तेजदेखि लाग्ने डरलाई के भनिन्छ ?     — हेलियोफोविया
७. जैविक विविधता कुन सम्मेलनसँग सम्बन्धित छ ?   — रियो सम्मेलन 
८. अभिनयको उत्पत्ति कुन वेदबाट भएको हो ?   — यजुर्वेद
९. मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार कहिले प्रदान गरिन्छ ?   — घटस्थापनामा
१० “उराउ’ . किसान भए “अहिर’ . ? — यादव
११. वि.सं. २०७२ को भूकम्पपछि पुनः निर्माणको लागि अनुदान सम्झौता भएको पहिलो जिल्ला कुन  हो ?  — दोलखा
१२. सारनाथ वन विकास परियोजना कुन जिल्लामा पर्छ ?   — सर्लाही 
१३. अन्तराष्ट्रिय विधुवा दिवस कहिले पर्छ ?   — जुन २३
१४. महादेव पार्वती गुफा . मोरङ भए शिवजी गुफा . ?   — दाङ
१५. अन्नको आयतन कुन इकाईमा नापिन्छ ?    — बुसेल
१६. बरुण ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?   — १६४ वर्ष 
१७. क्रनोमिटरले कहाँको समय देखाउँछ ?   — ग्रिनबीचको
१८. सर्वप्रथम कपडा उत्पादन केन्द्र कहाँ बन्यो ?    — लङकासायर,बेलायत 
१९.“एउटा जार, एउटा चर्च र एउटा रुस” भन्ने नाराको कुन जातिले विरोध गरे ?   — श्रपोल
२०. लिच्छविकालमा मन्दिरमा पूजा गर्ने नारीलाई के भनिन्थ्यो ?    — देवदासी
२१. खस भन्नु भन्दा पहिला उनीहरुलाई के भनिन्थ्यो ?   — शक
२२. नेपाल र चीनबीच शान्ति मैत्री सम्झौतामा कहिले हस्ताक्षर भयो ? — वि.सं. २०१३ असोज ५
२३. एउटै काठबाट बनेको सुन्दर पुरानो मूर्ति कुन हो ?    — नृत्यदेवी
२४. नेपाल भाषाका पहिला कवि कसलाई मानिन्छ ?  — महेन्द्र मल्ल 
२५. मेसिन रिडियवल पासपोर्ट अन्तराष्ट्रिय प्रयोग कहिलेदेखि भएको हो ?   — सन १९८१
२६. २०६८ को जनगणना अनुसार लैंगिक अनुपात कति छ ?     — ९४.१६
२७. कुन मुलुक दोस्रो विश्वयुद्धको अन्तसँगैे विभाजन भयो र शीत युद्धको अन्त्यसँगै पुनः एकीकरण  भयो ? — जर्मनी 
२८. अल्वर्ट ताल कहाँ पर्छ ?   —अफ्रिका 
२९. मलाया भन्नाले कुन देशलाई चिनिन्छ ?   — मलेसिया 
३०. विमेस्टेकमा नेपालले औपचारिक रुपमा प्रवेश पायो ?   —फेब्रअरी, २००४
३१.विष्णुपादी भन्नाले कुन दक्षिण एशियाली नदीलाई चिनिन्छ ?   — गंगा 
३२. केटाकेटीको मन मिले विवाह नै नगरी सँगै बस्न मान्यता दिने जाति कुन हो ? — दरै
३३. दनुवारी भाषासँग मेल खाने भाषा कुन हो ?   — माझी 
३५. अन्तराष्ट्रिय स्माइल टर्न हिरो अवार्ड पाउने चिकित्सक को हुन ?  — डा.शंकरमान राई
३६. प्ष्मलभथक या तजभ धयचमि भन्नाले कुन क्षेत्रलाई बुझिन्छ ?  — सिमसार क्षेत्र 
३७. मरणोपरान्त ग्रामी अवार्डबाट सम्मानित विश्व विख्यात कलाकार को हुन ?  — माइकल ज्याक्सन
३८. श्रीमतीको माध्यमबाट राजा हुने व्यक्ति को हुन ?   — जयस्थित मल्ल 
३९. केराका लागि प्रसिद्ध जिल्ला कुन हो ?    — कञ्चनपुर 
४०. पर्यटकीय स्थल न्चभभल ख्बििभथ कुन जिल्लामा पर्छ ?  — सोलुखुम्बु
४१. सन १९९१ मा भएको खाडी युद्ध कति दिन चलेको थियो ?  — ४३ दिन
४२. नेपालबाट क्ब्एत्ब् मा हस्ताक्षर गर्ने व्यक्ति को हुन ?     — महेश आचार्य
४३. नेपालबाट क्ब्ँत्ब् मा हस्ताक्षर गर्ने व्यक्ति को हुन ?  — डा.भेषबहादुर थापा 
४४. नेपाल र भारत बिच मैत्री सन्धि कहिले भएको थियो ?   — १९५० जुलाई ३१
४५.नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि कहिले भएको थियो ?   — १९६० अप्रिल २८
४६. उत्तरमा हिमालय देखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो ?  — धादिङ 
४७. उत्तरमा हिमालय देखि दक्षिणीमा चुरे क्षेत्रसम्म फैलिएको जिल्ला कुन हो ?   — सिन्धुपाल्चोक
४८. महाकाली सन्धि पारित कहिले भएको थियो ?     — २०५३ असोज ४
४९. ऋयतयउबहष् केसँग सम्बन्धित छ ?    — ज्वालामुखी
५०. राइटर बा भनेर कसलाई चिनिन्छ ?   — बलबहादुर कार्की 
५१. जलवायु परिवर्तन सम्बन्धि ग्रेजुएट सम्मेलन कहिले भएको थियो ?  
— २०६७ कार्तिक २९–मंसिर ३
२. “मानव तथा जीव समूह” नामक कार्यक्रम चलाउने संस्था कुन हो ?   — यूनिस्को
३. नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धि २० वर्षे महत्वकांक्षी योजना कहिले ल्याएको थियो ?
— २०६७ असार ३०

साहित्य/सिर्जना 

समय 

अहिले म तिम्रो साथ छु, 
त्यसैले तिमी लाई थाहा छैन 
यस पलको सुन्दरता, अपनत्व
यसलाई भोली कैद हुनु पर्ने छ 
सम्झनाको फ्रेममा तस्विर बनेर 
भोली वरिपरि घर आँगनमा 
भिड हुने छैन आफन्तको
न त आउने छन्, मिल्ने जुल्नेहरू 
न कुनै हल्ला खल्ला 
थकित काप्दै शरीरका अंगहरू 
डाँडामा बसेको जुन जस्तो
तब फ्याकिने छन् आजका 
हाम्रा सफलताका प्रतिकहरू 
आफन्तबाटै 
कसिङ्गरमा टुक्रा टुक्रा गरेर
त्यति बेला बिक्षिप्त मन लिएर पनि
सम्झनाको ढुक ढुकिमा चुपचाप 
ताजा र सुरक्षित रहने छ 
यो मुस्कुराहट, चन्चलता
गित, गजल, र बोलीहरूमा 
गजब ओठहरूको सामिप्यता
यि आँखाका चमकहरू 
हृदयमा सजाई रहने छन् 
स्मृति बनेर
सुगन्ध भरेर दिनेछ, 
सम्झनाको ज्वालाले
तातो पनको आभाष
पिढि पटाङ्गिनिको बसाईमा 
मृत्युको पर्खाईमा
दिनेछ मलाई साथ
तिम्रो मिठो आभाष !
तिम्रो मिठो आभाष !!
सूर्य बस्याल
बङ्नासकालि ६पाल्पा रेलेडाडाँ
हालर भारत प्रवास

गजल

टुक्रिएका देश कतै, अब साथ जुट्नु पर्छ,
राजनीतिकको झुटो खेल, रहस्य त्यो टुट्नु पर्छ  ।
चुस्नु चुसेउ रस जति, देश खोक्रो पारी,
देश बेच्ने दलालहरु , नेता चुनि कुट्नु पर्छ ।।
चार जात छतिस वर्ण, ढल्ने छैन अदण्डता,
जातित्वको जाल बुन्ने, जनजात त्यो फुट्नु पर्छ ।।।
भाषण मात्रै नेताहरुको, भ्रष्ट मुख टाल्नै पर्छ,
अब उठछ आवाज यहाँ, खोक्रो भाषण घट्नु पर्छ ।।।।
चन्द्र सूर्य झण्डा हाम्रो, उच्च शिखर सगरमाथा,
झुक्ने छैन शिर कहिलै, डर अब छुट्नु पर्छ ।।।।।
रक्षक नै भक्षक भयो, अब हामीले बुझनु पर्छ,
जाग उठ नेपाली हो, भ्रष्टचारी चुट्नु पर्छ ।
देश बेच्ने देश किन्ने,  भो यो खेल बन्द गर,
षड्यन्त्रको जाल बुन्ने, देशदुही भुट्नु पर्छ ।
गाउँ गाउँ वस्तीबाट ,जाग उठ नेपाली हो,
शान्ति ल्याउन क्रान्तिको, चार किल्ला खट्नु पर्छ ।
नाङ्गिएको देशको पाटो, सत्य लेख्ने ःत्    म त,
आउन साथि संगै मिलि, शान्ति ल्याउन जुट्नु पर्छ ।
महादेव थापा “एम् एम् एस्”