माघी पर्वकाे शुभकामना
“आर्थिक सशक्तिकरणको सामाजिक जागरण ः ग्रामिण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण”
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
अति आवश्यक सडक मात्रै काट्न मन्त्री बोहराको सुझाव
रामहरी ओझा/डोटी
पुष ३०
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री पठान सिं बोहराले अति आवश्यक भएको ठाऊमा मात्रै नया सडक निर्माण गर्न स्थानीय तहलाई सुझाव दिएका छन ।
डोटी सायल गाउँपालिका वडा नं २ को वडबाटादेखि वडा नं. ३ को वडाकार्यालयसम्मको नवनिर्मित सडकको उद्घाटन गर्ने क्रममा मन्त्री बोहराले सो सुझाव दिएका हुन । “अहिले जथाभावी सडक काटिएको भन्ने ब्यापक गुनासो आइरहेको छ” उनले भने “वातावरणीय प्रभाव, प्राकृतिक प्रकोप र भूकम्पीय दृष्टिकोणले जथाभावी सडक काट्नु जोखिमपूर्ण हुन्छ ।” उनले सडक बनाउने नाममा मेसिनको प्रयोग गरी डाँडा भत्काउनु राम्रो नभएको वताए ।
मन्त्री बोहराले विकासको मुल आधार सडक भएको बताउदै भने ‘तर लाखौ रकम खर्च गरेर काटिएको सडकमा गाडी गुड्न नसक्ने हो भने त्यस्तो बिकासको कुनै अर्थ हुन्न ।’ उनले प्राविधिक ईस्टिमेट र वातावरणीय प्रभाव मूल्याङ्कन गराएर मात्र सडक निर्माण गर्न सुझाब दिए । ‘सडक एकसरो खन्ने मात्र हैन, ति सडकको स्तरोन्नति गर्नु पनि आवश्यक छ र निर्माण भएका सडकहरु बा¥है महिना चल्न सक्ने वनाउनु पर्छ’ मन्त्री बोहराले भने ‘यदि तपाईहरूले निर्माण गरेका सडक दिगो हुन सकेन भने लगानी मात्रै खेर जान्छ ।’
मन्त्री बोहराले दुर्गम गाउ बस्तीहरूको समग्र विकासका लागी प्रदेश सरकार लागिपरेको वताए । उनले स्थानीय तहहरूले रोजगारी सिर्जना गर्ने र उत्पादनमुखी क्रियाकलापमा जोड दिन आग्रह गरे । ‘अव विकास भन्नाले सडक खन्ने, कुलो वनाउने, भवन वनाउने कुरालाई मात्रै बुझ्नु हुन्न’ उनले भने ‘सामाजिक चेतना परिवर्तन र उत्पादनमुखी क्रियाकलापलाई पनि विकास मान्नु जरुरी छ ।’ मन्त्री बोहराले प्रत्येक नागरिक सुखी भएपछि मात्रै नेपाल समृद्ध हुने वताए ।
उनले गाउँमा उत्पादन बढाउनु पर्ने र त्यो उत्पादनलाई ढुवानी गर्न सडकको प्रयोग गर्नेतर्फ स्थानीयबासीहरु समेत सक्रिय हनुनु पर्ने वताए ।
मन्त्री बोहराले दिपायल–मेल्लेख–पातीहाल्ने सडकको स्तरोन्नतिको काम प्रदेश सरकारले प्राथमिकतामा राखेको समेत वताए । उनले भने ‘यो सडकको स्तरोन्नति गर्नु जरुरी छ भन्ने मैले सोचेको छु, हामी गर्छौं ।’
कार्यक्रममा सायल गाऊपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले गाऊपालिकाको समग्र अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले गाउाँपालिकाले आफ्नो लगानीबाट निर्माण गरेका सडकहरुलाई बा¥है महिना चलाउन मिल्ने गरी स्तरोन्नतिको प्रयास गरिरहेको समेत जानकारी दिए । उनले थपे ‘हामी गाउँपालिकाले गर्न सक्ने जति काम गरिरहेका छौं, तर कतिपय योजनाहरु हाम्रो मात्रै स्रोतले भ्याउदैन, त्यसैले प्रदेश सरकारले सहयोग गर्न प¥यो भन्ने माग हो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिष्ना सिंहले यस गाउँपालिकामा महिला हिंसाका घटनाहरु बढ्दै गएको प्रसंग उल्लेख गर्दै प्रदेश सरकारले सुरक्षित अल्पकालीन महिला सेवा केन्द्र स्थापनाका लागि पहल गरिदिन मन्त्रीलाई आग्रह गरिन ।
२०६४ सालदेखि निर्माण कार्य सुरू भएको उक्त सडकको लम्बाई ३.५ किमी रहेको सायल गाउपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष गोरखवहादुर सार्कीले जानकारी दिए ।
उद्घाटन कार्यक्रमका प्रदेश सभा सदस्य अर्चना गहतराज, नेपाल कम्युनिस्ट पार्टीका सुदुरपश्चिम प्रदेश सदस्य नारद मलासी, गणेशदत्त भट्ट, नेकपा डोटीका प्रस्तावित जिल्ला अध्यक्ष चक्र मल्लको उपस्थित रहेको थियो ।
सम्पादकीय
फेरी उस्तै चलन हो ?
‘तिमीहरूको मद्दतको निमित्त खटिएका कर्मचारीहरूको रेखदेखमा नगरपालिकाको काम गर्न सक्ने तिमीहरूको प्रतीतको असल, लायक, अनुभवी, प्रतिनिधि छानी पठाउने काम गर ।’ २००४ साल जेठ ३ गते पहिलो पटक काठमाण्डौं नगरपालिकाको निर्वाचन हुँदा देशमा राणा शासन थियो । राणा प्रधानमन्त्री देवशमसेरले माथीको वाक्यमा जनतालाई मतदान गर्न जान आदेश गरेका रहेछन् । त्यतिवेला झण्डै ६५ प्रतिशत मत खसेको देखिन्छ । यद्यपी नेपालमा स्थानीय निकायको अभ्यास धेरै पहिले देखिनै भएको पाईन्छ तर निर्वाचन भने यो नै पहिलो हो ।
राणा शासन र सो भन्दा अघिका शासन व्यवस्थाहरुमा बिभिन्न नामले स्थानीय निकायको अभ्यास गरियो । काठमाण्डौं “म्युनिसिपालिटी” लाई २००७ सालको राजनीतिक परिवर्तनपछि नगरपालिका भन्न थालियो । २०१७ सालको राजनीतिक परिवर्तन पछि “पञ्चायत” शव्दलाई पवित्र मानियो । राष्ट्रिय पञ्चायत, जिल्ला पञ्चायत, नगर पञ्चायत, गाउँ पञ्चायत अर्थात त्यतिवेलाका स्थानीय निकायहरुलाई पञ्चायत भन्न थाल्यौं ।
२०४६ सालको राजनीति परिवर्तनपछि “पञ्चायत” शव्दलाई बिस्थापित गर्दै “विकास समिति” शव्द राखियो । त्यतिले मात्रै भएन २०७२ को संबिधानले स्थानीय निकायलाई स्थानीय तह भन्दै “पालिका” भन्ने शव्द ल्यायो ।
नाम जे सुकै राखेर पनि, कागजमा जे सुकै लेखेपनि केही नहुने रहेछ भन्ने कुरा अहिलेका राजनीतिकर्मीहरुको व्यवहारले प्रष्ट पारेका छन् । हाम्रा व्यवहार, वानी, शैली परम्परागत हुने अनि हामीले शव्दको खेती मात्रै गरिरहनु पर्ने हो भने यसले हामीलाई कहीँ पु¥याउँदैन ? २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेका गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समितिका परिषद्हरु उद्घाटन गर्नका लागि नेताहरुबीचमा तछाड् मछाड् हुन्थ्यो । अझ २०५९ साल असार मसान्तमा स्थानीय निकायका जनप्रतिनिधिहरुको पदावधी सकिएपछि त कसले बत्ती बाल्ने भन्ने बिषयको बिवादले परिषद्नै तोकिएको समयमा नहुने, कार्यकर्ताहरुबीच कुटाकुट हुने अवस्था समेत सृजना भयो ।
यि सवै “लाज” हरु पचाउँदै राजनीतिकर्मीहरु फेरी पनि आफुलाइ चोख्याउन अरुको सत्तोसराप गर्दै आजको अवस्थासम्म आईपुगे तर आफ्नो वानी र व्यवहार संगै ल्याएर आएका रहेछन् । जवसम्म वानी र व्यवहार सच्चिन्न तवसम्म शव्दको खेल खेलेर मात्रै केही हुँदैन ।
अहिले देशमा तीन तहका सरकार छन भन्ने कुरा संबिधानमा प्रष्टै छ । तीन वटै तहमा व्यवस्थापिका, कार्यपालिका र न्याय निरुपणका संरचनाहरु छन् । स्थानीय तहले आफ्नो क्षेत्रभित्र पर्ने व्यवस्थापकीय, कार्यकारणी र न्यायिक अधिकार प्रयोग गर्न संबिधानले अधिकार दिएको छ । उक्त अधिकार लत्याउँदै हामी फेरी पानसमा बत्ती बाल्ने क्रियाकलापहरुलाई जोड दिईरहेका छौं । गाउँ/नगरसभाको बैठक बस्नु भनेको स्थानीय व्यवस्थापिकाको बैठक बस्नु हो । जसरी संघीय व्यवस्थापिकामा व्यवस्थापकीय अभ्यास हुन्छ, ठिक त्यसैगरी स्थानीय व्यवस्थापिकामा पनि व्यवस्थापकीय अभ्यास हुन्छ । जसरी संघीय व्यवस्थापिकाको बैठक सुरु गर्नका लागि कसैले पानसमा बत्ती बालिदिनु पर्ने आवश्यक छैन, त्यसरीनै स्थानीय व्यवस्थापिकामा पनि आवश्यक छैन, जसरी संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा सम्वन्धित व्यक्तिहरुको मात्रै उपस्थिति रहन्छ त्यसरीनै स्थानीय तहमा पनि हुनु पर्ने होईन र ? संघीय संसदमा गएर गैर सांसदहरुले बोल्न नपाउने तर स्थानीय तहमा ‘मैले बोल्न पाएन’ भनेर आक्रोस पोख्ने ? कहिलेसम्म रहन्छ यो चलन ?
त्यसैले व्यवस्थापकीय अभ्यास गरौं, कसैलाई खुशी पार्नका लागि पानसमा बत्ती बाल्न बोलाउन जरुरी छैन ।
थप समाचार
पानीका लागि मध्ये रातमा लाईन
दिपायल सिलगढी नगर–पालिका–१, तिखाको स्वास्थ्य चौकीमा आयोजना गरिएको “स्वस्थ बच्चा प्रतिस्पर्धा” कार्यक्रम स्थानीय बिष्ना खड्का १० महिनाको छोरो सहित उपस्थित भईन् । आयोजक संस्था समान पहुँच विकास केन्द्र (सिड) नेपालका प्रतिनिधिले ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ को उद्देश्य र नियमहरु बताउँदै गर्दा बिष्ना बिचमै बोलिन् ‘हामी खानका लागि एक गिलास पानी पाउँदैनौं, राती ३ वजे धारामा गएर लाईन लाग्नु पर्छ, अनि कसरी हाम्रा बच्चा स्वस्थ हुन्छन् ?’
उनले थपिन् ‘यदि राती तीन बजे गएर पानीको लाईनमा बसेनौं भने खान त परै जावस कुल्ला गर्नका लागि पनि पानी पाईदैन ।’ पानीका लागि १५ दिन नपुगेको बच्चालाई समेत घण्टौं छोडुनु पर्ने बाध्यता रहेको बिष्नाले वताईन । आफु तीन वजे जाँदा पनि आफुभन्दा पहिल्लै गएर अन्य महिलाहरु लाईन बसिसक्ने गरेको बिष्नाले वताईन ।
बिष्ना लगत्तै अमिता नेगीले पनि आफ्नो पीडा पोखिन् । उनले भनिन् ‘खानका लागि मात्रै पानी ल्याउन मध्ये राती घरबाट निस्कनु पर्छ, बाटोमा आउजाउ गर्न पनि डर लाग्छ ।’ नुहाउन र लुगा धुनका लागि डोकोमा लुगा बोकेर करीव एक घण्टाको दुरीमा रहेको गोधरे खोला जानु पर्ने बाध्यता रहेको उनी वताउँछिन् । उनी भन्छिन् ‘महिनावारी भएका बेला त झन समस्या हुन्छ, ओड्ने ओछ्याउने समेत धुनु पर्छ, बोक्नै गा¥हो ।’
कार्यक्रममा सहभागि भएका अधिकांश महिलाहरुले पानीकै समस्या रहेको वताए । तिखामा रहको करीव दुई सय परिवार बर्षौंदेखि पानीको समस्या झेल्दै आएको छ । पुस्तौंदेखिको यो समस्या २०३३ सालमा गाउँमा खानेपानी योजना बनेपछि थोरै कम भएको थियो । आदर्श गाउँपालिकाको वडा नं. २ को रिठेखोलाबाट ल्याईएको योजनाको मुहानमै पानी सुक्न थालेपछि फेरी पुस्तौनी समस्या झेल्न बाध्य भएका छन् तिखाबासीहरु ।
‘मुहानमा पानी सुकेर थोरै भयो, उक्त पानीले पुग्दैन’ महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी स्थानीय समिता खड्का भन्छिन् ‘धारामा चार÷पाँच दिनमा एक पटक मात्रै पानी आउँछ ।’ उनी गाउँबाट करीव १५ मिनेट तल रहेको धारामा पानी लिनका लागि राती लाईन लाग्नु पर्ने बाध्यता रहेको बताउँछिन् । उनले थपिन् ‘त्यो धारामा पनि पानी थोरै छ, मान्छे धेरै हुन्छन्, गाग्री भर्नै समय लाग्छ, त्यसैले ढिलो हुन्छ ।’ महिला स्वास्थ्य स्वयंसेविका भएर केही ठाउँको अध्ययन भ्रमण पनि गर्न पाएकी समिता रहर गर्छिन ‘अन्त गएर हेर्दा सवैले बारीमा साग तरकारी लाएको देख्छौं, पानी भएको भए त हामी पनि घर वरीवरी साग तरकारी र फलफुल लाउथ्यौं ।’
पानीको अभावकै कारण प्रसुती सेवा प्रदान गर्नमा पनि समस्या हुने गरेको तिखा स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी निर्मला चौधरी बताउँछिन् । उनी भन्छिन् ‘प्रसुति गृहको सरसफाईका लागि स्वीपरले बाकेर ल्याउछन्, तर उता पनि पालो कुर्नु पर्ने भएकाले ढिलो हुन्छ ।’ पानी अभावकै कारण आफुलाई सेवा दिन पनि डर लाग्ने गरेको उनी बताउँछिन् । ‘जोखिम छ धेरै, राम्रोसंग सरसफाई गर्न सकेन भने ईन्फेक्सन हुन सक्छ ।’
जस्तो कार्यक्रम आयोजना गरेपनि खानेपानीकै समस्या उठ्ने गरेको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको संस्था सिड नेपालका सौगात श्रेष्ठ वताउँछन् ।
पानी अभावका कारण सेवा प्रवाहमा समस्या भएको वताउँछन् अर्का स्वास्थ्यकर्मी रामवहादुर भण्डारी । उनी थप्छन् ‘अनेक तरहका बिरामीहरु आउँछन्, उनीहरुको उपचार ग¥यो तर हात धुनलाई पानी छैन ।
“धान पैचौ सवै ठाउँ देखे, पानी पैचो तिखा” उहिल्लैदेखि सुनिदै आएको यो भनाई अहिलेसम्म पनि कायमै छ । पानी अभावका कारण उहिले छिमेकबाट पैचो लिने चलनले उक्त भनाई बसेको बताउँछन् वडाध्यक्ष बहादुर सिंह खड्का । मुहान अभावका कारण पानीको समस्या रहेको खड्काको भनाई छ । उनी भन्छन् ‘२०३३ सालमा बनेको योजनाको मुहान गाउँबाट करीव दुई घण्टाको दुरीमा छ, त्यो मुहानमा पनि पानी धेरै घट्यो ।’ एकातिर जनसंख्या बढ्नु अर्कोतिर मुहानको पानी घट्नाले समस्या देखिएको वडाध्यक्ष खड्काको भनाई छ ।
के छ त उपाय ? वडाध्यक्ष खड्का भन्छन् ‘डिप बोरिङ्गका लागि कुरा भईरहेको छ, अव अर्को कुनै उपाय छैन ।’ डिप बोरिङ्गका लागि आफुले नगर प्रमुखसंग पनि कुरा गरिसकेको उनले वताए । ‘मैले यसबारेमा डिप बोरिङ्ग गर्ने कम्पनीसंग पनि कुरा गरेको छु, कम्पनीले सम्भाव्यता समेत अध्ययन गरेर गएको छ’ खड्काले भने ‘यदि वोरिङ्गबाट पानी आउने सम्भावना भयो भने केही समयमा काम थालनी हुन्छ ।’
बिद्यालय भवन बनेपछिको खुशीयाली
‘हाम्रो बिद्यालय त भूकम्प नगएपछि भूकम्पपीडित जस्तो भएको थियो, अव भूकम्प प्रतिरोधी भएको छ, धेरै खुशी लाग्यो ।’ डोटी सायल गाउँपालिका–२ सिर्मामा रहेको तामेश्वरी आधारभूत बिद्यालयकी अभिभावक निर्मला ओलीले बिद्यालयमा भूकम्प प्रतिरोधी भवन र शौचालय बनेपछि खुशी व्यक्त गरिन । उनले भनिन् ‘छाना भत्किरहेको थियो, झ्याल ढोकाहरु सवै सडेका थिए, छोराछोरीहरु बिद्यालय पठाउनै डर लाग्ने भएको थियो तर अव कुनै डर छैन ।’ कक्षा ८ सम्म पढाई हुने तामेश्वरी आधारभूत बिद्यालयमा रहेका भवनहरु जीर्ण बनेपछि पठन पाठनमा समस्या भइरहेको सम्झदै बिद्यालयका प्रधानाध्यापक गोमा खातीले अव भवनहरु मर्मत भएपछि आफुलाई सहज हुने वताईन । उनले भनिन् ‘बिद्यालय स्थानीय स्रोतबाट चलिरहेको छ, स्थानीय स्रोतबाट शिक्षकहरुको तलव जुटाउन पनि धौ धौ भएको छ, त्यसैले जीर्ण हुँदा पनि भवन मर्मत गर्न सकेका थिएनौं ।’ भवनको छाना भत्किर–हेकाले कोठाभित्रै जान डर लाग्ने गरेको बिद्यालयमा रहेको बालक्लवका अध्यक्ष प्रमोद ओली वताउँछन् । उनी भन्छन् ‘पानी परेको दिन धेरै समस्या हुने गरेको थियो, बाहिर बसौं पानी पर्दैछ, भित्र बसौं भत्किने डर छ ।’ तर भवनको मर्मत भएपछि सवै बिद्यार्थीहरु खुशी रहेको प्रमोदले वताए । बिद्यालय भवन निर्माण भएपछि पठन पाठनमा निर्क सहज भएको वताउँछिन् कक्षा ८ की छात्रा गोमा कुँवर । बिद्यालय भवनहरु निर्माण भएपछि आफुले चन्द्रमामा पुगेको महसुस गरिरहेको बताउँछन् बिद्यालय व्यवस्थापन समिति अध्यक्ष जसुवा ओली । उनी भन्छन् ‘अझै बिद्यार्थी संख्याको आधारमा त कोठा संख्या पुग्दैन तर बिगतको जस्तो बिद्यालय भत्किने समस्या कम भयो ।’ सामुदायिक विकास केन्द्र नामक गैर सरकारी संस्थाले वल्र्ड भिजन अन्तराष्ट्रिय नेपालको साझेदारीमा सञ्चालित समुदाय र बिद्यालय पूर्व तयारी तथा उत्थानशील परियोजना अन्तरगत बिद्यालयका तीन जीर्ण भवनहरु भूकम्प प्रतिरोधी (रेक्टो फिटिङ्ग) सहित पुनर्निर्माण गरेको हो । ‘हामीले भवनहरुको साथसाथै बिद्यालयमा भूकम्प प्रतिरोधी शौचालय समेत निर्माण गरेका छौं’ संस्थाका कार्यक्रम संयोजक प्रयाग कापडीले भने ‘उक्त कार्यमा करीव ६० लाख २७ हजार रकम खर्च भएको छ ।’
आन्दोलनको चेतावनी सहित ज्ञापन पत्र
दिपायल सिलगढी नगरपालिका–७ बस्ने धर्मादेवी कुन्जेडाको मृत्युबारे न्यायिक छानविन तथा दोषीमाथी कार–वाहीको माग गर्दै डोटीका अधिकारकर्मी महिलाहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बझाएका छन् ।
एक महिना अघिमात्र प्रेम विवाह गरेकी धर्मा घरको कोठामा पौष २० गते झुन्डिएको अवस्थामा मृतक फेला परेकी थिईन् । धर्माको परिवारले माईती पक्षलाई पौष २१ गते खबर गरेपछि माईती पक्ष घटना स्थल पुगी घटनाको प्रकृतिका बारेमा हेरजाँच गर्दा आत्महत्या नभएको र संकास्पद अवस्थामा रहेको देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निज मृतक जेठाजु र श्रीमानको नाममा किटाणी जाहेरी दिएका थिए ।
घटनाको शुष्म अध्ययन नगरी मिलाउने प्रयास गरिदै छ भन्ने सुन्नमा आएकोले आफुलाई संका लागेकोले घटनाको उचीत छानविन होस् भन्ने माग सहित ज्ञापन पत्र बुझाईएको अधिकारकर्मी सिता रायमाझिले बताएकी छिन् । प्रमुख जिल्ला अधिकारी यादब सुवेदीलाई ज्ञापन पत्र बुझाईएको अधिकारकर्मी गिता नेपालीले बताइन् ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यादव प्रसाद सुबेदीले आफुले निश्पक्ष छानविनका लागी भुमिका खेल्नका लागी पटक पटक निर्देशन दिदै आएको र घटनामा दोषी भेटिए कानून बमोजिक कारवाही हुने बताउदै ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाईदिने बताएको भएको महिला अधिकारकर्मी देबकी बोहराले जानकारी दिईन ।
अल्पकालिन महिला सेवा केन्द्र, महिला अधिकार मञ्च, अन्तरपार्टी महिला सञ्जाल, महिला अधिकार तथा मानब अधिकार संजाल, एकल महिला समूह, राष्टिय दलित नेटबर्क र दलित महिला संघ डोटी ले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
सहकार्यत्मक नेतृत्व तालिम सम्पन्न
स्थानीय तहका जनप्रतिनिधिहरुका लागि तीन दिने सहकार्यात्मक नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
युन वुमनको आर्थिक र सर्च फर कमन ग्राउण्डको प्राविधिक सहयोगमा फाया नेपाल कैलालीले सञ्चालन गरिरहेको “हाम्रो नेतृत्व” परियोजनाले आयोजना गरेको उक्त तालिममा डोटीका दिपायल सिलगढी र शिखर नगरपालिकाका ६० जना जनप्रतिनिधिहरु सहभागि रहेको आयोजक संस्थाले जनाएको छ । स्थानीय तहका महिला जनप्रतिनिधिहरुको सहकार्यात्मक नेतृत्व अभिबृद्धि गर्नका लागि आयोजना गरिएको उक्त तालिममा नगरपालिकाका उपप्रमुखहरु, वडाध्यक्षहरु र महिला वडा सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा जनप्रतिनिधिहरुका काम, कर्तव्य र अधिकार, नेता र नेतृत्व, सहकार्यात्मक नेतृत्व, लैङ्गिक समानता तथा समावेशीक–रण, स्थानीय तहको योजना तर्जुमा र महिलाहरुका सवालहरु जस्ता विषयबस्तुहरु रहेको फाया नेपालका परियोजना संयोजक सच्चिदानन्द जोशीले जानकारी दिए ।
सहकार्यात्मक नेतृत्व सञ्जाल गठन
परियोजनाले दुवै नगरपालिकामा “सहकार्यात्मक नेतृत्व सञ्जाल गठन गरेको छ ।
नगर उपप्रमुखको नेतृत्वमा गठन भएको उक्त सञ्जालमा वडाध्यक्षहरु, महिला जनप्रतिनिधिहरु, नगरपालिकाभित्र कार्यरत नागरिक समाज संस्थाहरु, महिला संगठनहरु, सञ्चारकर्मीहरु लगायतको प्रतिनिधित्व रहेको संयोजक जोशीले जानकारी दिए । महिलाहरुको सहकार्यात्मक नेतृत्व विकास गर्नका लागि उक्त सञ्जालले योजना वनाई काम गर्ने जोशीले वताए ।
हिउँदे अधिवेदन ४ गतेबाट
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन माघ ४ गतेदेखि शुरु हुने भएको छ ।
प्रदेश मन्त्रीपरिषद् बैठकले माघ ४ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले सो कुराको जानकारी दिएका छन् । लामो समयसम्म संसद अधिवेशन शुुरु नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको आलोचना गर्दै आएको थियो । गत असोजमा वर्षे अधिवेशन अन्त्य भएको थियो । प्रदेश सभामा हाल दुई वटामात्र विधयेक छन् ।
यस्तै सुदूरपश्चिममा मनाइने माघे संक्रान्ति पर्वका अवसरमा माघ १ गते प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री शाहले जानकारी दिए । मन्त्रीपरिषद्ले केही कार्यविधिहरु स्वीकृत गर्नुका साथै केही विधयेकको मस्यौदा निर्माणका लागि सैद्धान्तिक स्वीकृति पनि दिएको उनले बताए ।
मन्त्रीपरिषद्ले व्यवसायिक, सीपमुलक तालिम सञ्चालन कार्यविधि, वन तथा जलाधार व्यवस्थापन तर्फको कार्यक्रम सञ्चालन मार्गदर्शन र अनुदान तथा सहायता रकम निकाशा एवं कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ ।
प्रदेश अस्पताल व्यवस्थापन समिति गठन आदेश, पशुपन्छी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, प्रदेश पर्यटन विकास आयोजना कार्यान्वयन इकाइ सञ्चालन कार्यविधि पनि पारित भएको मन्त्री शाहले जानकारी दिए ।
यस्तै प्रादेशिक कानुनी मस्यौदा तयार गर्न बैठकले सम्वन्धित मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।
थारु समुदायमा माघी मेला सरु
थारु समुदायले धुमधामका साथ मनाउने माघी पर्व (सोमबार) बाट शुरु भएको छ ।
ठाउँ–ठाउँमा माघी महोत्सव पनि आयोजना गरिएका छन् । माघी पर्वको रौनकले थारु बस्ती उल्लासमय बनेका छन् । काम विशेष वा रोजगारीको सिलसिलामा घरभन्दा टाढा देश विदेश गएका व्यक्ति माघी मनाउनका लागि गाउँघर फिरेका छन् । माघी पर्वलाई थारु समुदायले आर्थिक वर्ष र नयाँ वर्षको रुपमा समेत मनाउने चलन रहेको छ । थारु समुदायले माघीलाई विशेष गरेर ‘माघ’ भन्ने गर्दछन् ।
माघी पर्वको पहिलो दिन सुङ्गुरको मासु लगायतका मिठो मसिनो खाँदै रमाइलो गर्ने चलन छ । पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ भनिन्छ । यो दिन हरेक परिवारमा सुङ्गुरको मासुसहित मिठो पाकवान पाकेको हुन्छ ।
पर्वको पहिलो दिन खानपिन र राहरंगीत गर्ने दिन रहेको थारु नागरिक समाज कैलालीका अध्यक्ष दिलबहादुर चौधरी बताउँछन् । ‘यो दिन जिता मारेर हरेक घरमा मासु परिकार खाने खानपानको दिन हो’, उनले भने ।
पहिलो दिनको साँझ घरपरिवार, इष्टमित्र, आफन्त, गाउँवासी मिलेर मिठो–मिठो खाने मघौटा नाच नाच्ने चलन छ । यसैगरी, अगेनामा आगो ताप्दै ‘डफ’ बजाएर रातभरि धमार गीत गाउने पनि गरिन्छ । धमार गीत थारु समुदायको मौलिकता झल्काउने लोकगीत हो ।
माघ १ गते अर्थात माघीको दिन उज्यालो नहुँदै विहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघीमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ र, अनिवार्य पनि । नुहाउनुभन्दा अगाडि पानीमा वा नदी किनारमा पैसा राख्ने परम्परा रहेको छ । माघीमा नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताका साथ पैसा छोड्ने चलन कायम रहि आएको संयोजक चौधरीको बुझाइ छ । उनी भन्छन् ‘अरु बेला सित्तैमा नुहाउने गर्दछौं । तर, माघीमा पानी किनेरमात्रै नुहाउनुपर्छ भन्ने मान्यता छ ।’
माघी नुहाइसकेपछि समुदायका व्यक्तिले नदी किनारबाटै एक आफसमा शुभकामना आदानप्रदानका साथै, ‘सेवाढोग’ लाग्ने गर्दछन् । नुहाउनेले घरमा एउटा ढकियामा छुट्टै राखिएको चामल, नून, बेसार जस्ता सामग्री छुने परम्परा छ । त्यसपछि घरको सबैभन्दा पूर्खालाई सबैभन्दा पहिले ढोग गर्दै आशिष थाप्ने गर्दछन् । पूर्खा, मान्यजन सबैलाई उमेरको वरियता अनुसार सेवाढोग गर्दै माघीको खुशीयाली तथा शुभकामना साटासाट गर्ने गरिन्छ । यसलाई ‘सेवा लग्ना’ भनिन्छ । सेवाढोगको कार्य परि–वार हुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघरसम्म हुन्छ । यो संगै ढिक्री, उसिनेको तरुल जस्ता परिकार खाने र रमाउने चलन रहि आएको छ । माघ १ गते आपसी वैमनस्यतालाई त्यागेर खुशीयाली साटासाट गर्ने गरेकाले यसलाई थारु समुदायमा मेलमिलापको दिनको रुपमा पनि हेरिएको छ । परिवार र छरछिमेकमा जस्तोसुकै वैमस्यता रहे पनि त्यसलाई बिर्सेर यो दिन सेवाढोग गर्ने, आशिष लिने र दिने चलन रहेको छ । यो दिन देवी देवतालाई साक्षी राखेर गुनासो, मनमुटावलाई त्याग्ने गरेकाले पारिवारिक सम्बन्धमा सुधार आउने गरेको बताउँछन्, अधिवक्ता जोहारीलाल चौधरी ।
‘ढोगभेट, सेवा सलाम लाग्दा सम्बन्धमा सुधार हुन्छ’, उनले भने ‘कसै कसैबीच मनमुटाव छ भने हृदयदेखी नै त्यसलाई महसुस गरेर हटाउने गरिन्छ ।’ माघ १ गतेको दिन नराम्रो कुरा, कार्य, वादविवाद गर्न नहुने परम्परागत मान्यता रहि आएको छ ।
माघ २ गते माघी पर्वको विदाई दिन हो । यो दिनलाई पश्चिममा ‘खिच्रहुवा’ पनि भन्ने गरिन्छ । यो दिनबाट घरपरिवार, टोल, गाउँको आर्थिक हरहिसावको कुरादेखि लिएर वार्षिक समीक्षा र योजना बनाउने कार्य हुने गर्दछ । यसलाई ‘खोज्नी बोज्नी’ भनिन्छ । यहि दिनबाट एक वर्षको लागि परिवारको घरमूली छान्ने, आर्थिक समृद्धिको लागि वार्षिक योजना बनाउने, भोजविवाह, अङ्शबण्डा लगायतका कार्यको थालनी गर्ने गरिन्छ । यसकासाथै, गाउँ टोलका लागि नेतृत्व गर्ने भलमन्सा (बडघर), अघरिया, चिराकी, गाउँ गुरुवा चयन गरिन्छ । यिनीहरुको कार्यअवधि एक वर्षको रहने गर्दछ । यसैदिन विवाहित छोरी चेलीलाई उपहार दिने चलन पनि छ, जसलाई थारु भाषामा ‘निसराउ’ भनिन्छ ।
माघी पर्वले थारु समुदायको पारिवारिक, सामाजिक, आर्थिक व्यवस्थापकीय महत्व राख्ने गरेको अधिवक्ता चौधरीले बताए । उनले अगाडि थपे ‘यो पर्वमा आर्थिक समृद्धिको वार्षिक योजना बनाइन्छ ।’ अचेल थारु समुदायको माघी पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आएपनि यसको धार्मिक, सामाजिक र साँस्कृतिक महत्व भने उत्तिकै रहेको बताइएको छ । माघी आपसी सम्बन्ध प्रगाढ बनाउने पर्व भएको थारु बुद्धिजिवी कृष्ण डेमनडौराको ठम्याइ छ ।
पूर्व माओवादी किर्ति भन्छिन् ः “मैले देखेको सपना अधुरै रह्यो”
१५ बर्षको उमेरमा बिद्यालय छोडेर भूमिगत राजनीतिक हाम फाल्दा किर्ति चौधरीले निरंकुश एकात्मक व्यवस्थाको अन्त्य भई वर्ग रहित समाजको सपना देखेकी थिईन् । उनी समाजमा भएका सम्पूर्ण बिभेद्हरुको अन्त्य भएको देख्ने तिव्र ईच्छा राख्दै टाउकोमा कात्रो बाँधेर युद्धमा होमिइन् । परिवर्तनको लडाईकै क्रममा उनले बुवा र श्रीमान् दुवै गुमाईन । तर पनि उनको सपना पुरा भएन ।
“६ कक्षामा पढ्दै थिएँ, बिपन्न परिवारमा जन्मिएको भएर होला आमा बुवाले ढिलो गरी बिद्यालय पठाउनु भयो” कैलाली गौरीगंगा नगरपालिका–९ की किर्ति चौधरी भन्छिन् ‘तत्कालीन शाही सेनाले बिद्यालय छोडेर माओवादी हुन बाध्य वनायो ।’ माओवादीको आरोपमा दिनदिनै सेनाले केरकार गर्ने, अश्लिल शव्द प्रयोग गर्ने गरेपछि किर्तिलाई तत्कालीन शासन व्यवस्थाप्रति घृणा हुन थाल्यो । कहिले बिद्यालयमा, कहिले घरमा आएर सेनाले तर्साउन थालेपछि उनले वाध्य भएर जंगलको बाटो रोजिन ।
लडाई जितेर राजनीतिक व्यवस्था परिवर्तन गर्ने सपना बोक्दै कलिलै उमेरमा २०५९ साल भाद्र १५ गते उनी तत्कालीन नेकपा माओवादीको जनयुद्धमा सहभागि भईन । तर किर्ति अहिले आफ्नो सपना अधुरै रहेको वताउँछिन् । माओवादी हुनु अघि उनी पर्मिला चौधरी थिईन, माओवादी भएपछि उनी किर्ति भईन । माओवादी हुनु अघि उनी बिद्यालयकी छात्रा थिईन, माओवादी भएपछि उनी तत्कालीन राज्यको परिभाषामा ‘आतंककारी’ भईन । उनले लडाईमै आफ्नो जीवन साथी खोजिन, लडाईमै आमा बनिन्, लडाईकै दौरानमा बुवाको साथ गुमाईन र लडाईकै दौरानमा पाएको जीवन साथी लडाईमै गुमाईन । तर पनि उनले देखेको जनमुक्तीको सपना भने पुरा भएन ।
भूमिगत अवस्थामै २०६१ साल फागुन ११ गते माओवादी जनमुक्ती सेनाको कम्पनी कमाण्डर आशाराम चौधरी “आक्रोस”संग जनवादी बिहे गरिन् किर्तिले । भूमिगत अवस्थामै २०६२ माघ उनले छोरो जन्माईन । उनका श्रीमान् आक्रोसले छोरा जन्मेको खवर त पाए तर भेट्न आउने अवसर पाएनन् । छोरो जन्मेको खुशी राम्रोसंग मनाउन नपाउँदै आक्रोसले युद्ध लड्दालड्दै ज्यान गुमाए । ‘तीन महिना पनि पुगेको थिएन छोरालाई, म सुरक्षित स्थानमा थिएँ, उहाँ सेनामै हुनुहुन्थ्यो’ किर्ति भन्छिन् ‘छोरा जन्म्यो भन्ने खवर त पाउनु भएको हो रे, तर भेट्न आउने अवस्था थिएन ।’ चरम द्वन्द्वको अवस्थामा सुरक्षाको दृष्टिले उनले आउन नसकेको किर्तिको बुझाई छ । किर्ति थप्छिन् ‘न छोराले बुवाको मुख हेर्न पायो, न बुवाले छोराको ।’ २०६२ साल चैत्र २५ गते कपिलबस्तुको तौलीहावामा भएको दोहोरो भिडन्तमा आक्रोसले ज्यान गुमाए ।
श्रीमान् गुमाएको पीडामा छट्पटाईरहेको महिना दिन नपुग्दै किर्तिका लागि अर्को दुःखद् खवर आयो । माओवादी नहुँदा नहुँदै पनि तत्कालीन शाही सेनाबाट माओवादीको आरोपमा पटक पटक शारीरिक यातना खेपेका किर्तिका बुवा २०६३ देशराम चौधरीको बैशाख २४ उपचार हुँदाहुँदै मृत्यु भयो । “मैले बुवा पनि गुमाएँ, जीवन साथी पनि गुमाएँ” भावुक हुँदै किर्ति भन्छिन् ‘यति हुँदा पनि मैले आफ्नो लक्षमा पुग्नका लागि यि सवै पीडाहरु पचाएकी थिएँ, तर जनताको हालत उस्तै देख्दा आज झन बढी पीडा भईरहेको छ ।’
तत्कालीन माओवादी कैलाली जिल्ला सदस्यसम्म भएर युद्ध सञ्चारको क्षेत्रमा काम गरेकी किर्तिको समतामुलक समाज निर्माण गर्ने सपना पुरा भएन । ‘राजतन्त्र हट्यो, गणतन्त्र पनि आयो, संघीय शासन व्यवस्था पनि आयो’ हरेस हुँदै किर्ति भन्छिन् ‘तर फेरिएको नयाँ व्यवस्था निमुखा जनताहरुका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात्’ जस्तै भएको छ ।’ उनी थप्छन् ‘काम गर्ने कालु, मकै खाने भालु भने जस्तै भएको छ । रगत हामीले वगायौं, आफन्त हामीले गुमाएयौं, टुहुरा बालबालिका हाम्रा भए तर हामीले वगाएको रगतमा अहिले नेताहरु मोजमस्ती गर्दैछन् ।’
कक्षा ६ मा पढ्दै गरेको १३ बर्षीय अर्जुन चौधरी र आफ्नो जीवन निर्वाह गर्न समेत धौ धौ भईरहेको किर्ति बताउँछिन् । उनी भन्छिन् ‘हामीले दुःख ग¥यौं तर त्यसको कुनै अर्थ भएन, न पार्टीले न सरकारले, न देशले, कसैले हाम्रो कुर्वानीको कुनै मुल्याँकन गरेन ।’
खेल समाचार
शिखर मेयर कप सम्पन्न
डोटी शिखर नगरपालिका डोटीद्वारा आयोजित नगर कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
शिखर नगरपालिका वडा नं १० को संयोजनमा भएको नगरस्तरीय प्रतियोगिता पुष २७ गते देखि सञ्चालन भएको हो । प्रतियोगिता शिखर नगरपालिका वडा नं १० प्रथम भएको छ । भने वडा नं ८ द्वितीय र वडा नं ११ तृतीय भएको छ । विजयी प्रथम टिमलाई नगद पचास हजार, ट्रफी र प्रमाण पत्र त्यसैगरी द्वितीयलाई नगद तीस हजार, ट्रफी र प्रमाण पत्र अनि तृतीयलाई नगद बीस हजार, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको वडा नं १० का वडा अध्यक्ष मीन वहादुर वलायरले वताए ।
त्यसैगरी उत्कृष्ट खेलाडी वडा नं १० का खेलाडी विरेन्द्र सुतारा भएका थिए । नगरपालिकाका ११ वटै वडावाट एक एक टिम सहभागी रहेका छन । खेल नकाउट आधारमा खेलाइएको प्रतियोगिताका मुख्य रेफ्री करण कठायतले वताए । समापन कार्यक्रममा शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले भलिवल प्रतियोगितावाट नगरपालिकामा सम्मावना भएका खेलाडीले आफ्नो खेल देखाउने मौका पाएको वताए । खेल सभ्य र भव्य रुपमा संचालन गर्नमा संयोजनको भूमिका खेलेकोमा वडा नं १० लाई धन्यवाद दिएका थिए ।
शैलेश्वरी कप डोटी भलिवललाई
रोजेन्द्र जोशी/सिलगढी
पुष ३०
नेपाली सेनाको रुद्रध्वज गणले सिलगढीमा आयोजनामा भएको पहिलो शैलेश्वरी मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी डोटी जिल्ला भलिबल टीमले हात पारेको छ ।
पद्म पव्लिक माबिको खेल मैदानमा बेस्ट अफ फाइभमा खेलाईएको प्रतियोगीतामा पहिलो सेटमा २५–२३, दोश्रो सेटमा २५–२० र तेश्रो सेटमा २६–२४ को अन्तरमा लगातार राष्ट्रसेबक कर्मचारी टिमलाई हराउदै डोटी जिल्ला भलिबल टिमले हात पारेको हो । प्रथम टिमले २५ हजार नगद सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो हुने टिमले १५ हजार नगद सहित मेडल प्रमाण पत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।
दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग, जिल्ला भलिबल संघ र जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोगमा प्रगियोगिताको आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिको कार्यालयका कार्यालय प्रमुख किरण प्रसाद श्रेष्ठले बताए ।
राष्ट्रिय रेफरी राज वहादुर खड्का, दिपेन्द्र नारायण श्रेष्ठले संयुक्त रुपमा खेलाएको उक्त खेलमा डोटी जिल्ला भलिबल टिमका डम्बर भट्टराई र राष्टसेवक कर्मचारी टिमका ओमराज बुढा उत्कृष्ट खेलाडी घोषित भएका थिए । दुबै खेलाडीलाई पाँच पाँच हजार नगर र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
चलचित्र/मनोरञ्जन
जव भयो चार सुपरस्टारको जम्काभेट
फिल्मी खवर
आफ्नो जमनाका चार सुपरस्टार राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती र रमित ढुंगाना पहिलो पटक एकसाथ क्यामेराको फ्रेममा अटेका छन् । पछिल्लो समय अभिनय यात्राबाट केही टाढा देखिएका चारै सुपरस्टारको भेट केही दिन अगाडि नेपालगञ्ज विमानस्थलमा भएको हो । उनीहरुको भेट हुनु संयोग मात्र थियो वा अन्य कारण त्यो भने खुल्न सकेको छैन । काम विशेषले नेपालगञ्ज पुग्ने क्रममा चार अभिनेताको एयरपोर्टमा जम्काभेट भएको बुझिएको छ । भेटपछि उनीहरुले विमानस्थलको विशिष्ट कक्षमा सामुहिक तश्बिर खिचाएका छन् । तस्बिरमा उनीहरुलाई खुशी मुद्रामा देख्न सकिन्छ । रोचक कुरा के छ भने एक समयका कडा प्रतिस्पर्धी अभिनेताद्वय निखिल र विराज झण्डै एक दशकपछि एकसाथ एउटै फ्रेममा अटेका हुन् ।
मोवाइलको क्यामेरामा कैद भएको तस्बिर अभिनेता विराजले आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेका छन् । तस्बिरसँगै क्याप्सनमा उनले अभिनेता हमाललाई आफ्नो ‘गुरु’ भनेका छन् भने निखिल र रमितलाई साथी भनेर सम्बोधन गरेका छन् । वर्षौंदेखि ‘कोल्ड वार’ चलिरहेको चर्चाका बीच निखिल र विराजको जम्काभेटले उनीहरुको सम्बन्ध सुध्रिएको प्रष्टिन्छ ।
जम्काभेट भएका चार अभिनेतामध्ये राजेश, विराज र रमितले ‘हामी ट्याक्सी डाइभर’, ‘डर’ नामक फिल्ममा एकसाथ काम गरेका थिए । राजेश र विराजले ‘दादागिरी’, ‘कवच’ लगायतका फिल्ममा सँगै काम गरेका थिए । विराज र रमितले भने साथमा ‘दुर्गा’, ‘सहारा’, ‘हिम्मत’, ‘देवर बाबु’ गरेका छन् । रमित र राजेशलाई फिल्म ‘जीवनदाता’ मा साथ देखिएको थियो ।
यस्तै, अभिनेताद्वय राजेश र निखिलले ‘निखिल दाई’, ‘दशगजा’, ‘चोर सिपाही’, ‘कानुन’, ‘निशाना’, ‘दोबाटो’ लगायतका फिल्ममा साथ काम गरेका थिए । ‘जीवन मृत्यु’, ‘बरमाला’ लगायतका फिल्ममा निखिल र रमितको जोडी थियो । प्रतिस्पर्धी दुई हिरो विराज र निखिल भने ‘दोस्ती’, ‘खलनायक’, ‘अग्नी ज्वाला’ फिल्ममा आमने–सामने भएका थिए ।
एकअर्कासँग काम गरिसकेका कारण चार अभिनेतालाई फेरि पर्दामा एकसाथ हेर्ने व्यग्रता र आतुरता दर्शकको मनमा छ । चार सुपरस्टारको जम्काभेट हुनुले उनीहरुबीच सहकार्य नै नहोला भन्न चाहिँ सकिन्न । तर, के अनमोलरप्रदीपको युगमा पुराना अभिनेतालाई लिएर कुनै निर्मातारनिर्देशक जोखिम उठाउन तयार होलान् ? यसको भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।
पछिल्ला रिलिज दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’ बक्सअफिसमा असफल भएपछि अभिनेता हमालले केही समयका लागि फिल्मबाट ब्रेक लिएका छन् । बरु उनी चाँडै टिभीमा देखिँदैछन् । विराज भने आफ्नै निर्देशनमा चाँडै नयाँ फिल्म ‘सांग्लो’ बनाउँदैछन् । उता, निखिल ‘भैरव २’ को तयारीमा छन् । रमित भने के गर्दैछन्, कसैलाई अत्तोपत्तो छैन ।
लेख
यौन हिंसामा पुरुषको भूमिका
डा. कोषराज न्यौपाने
नेपालमा महिलामाथि हुने यौन हिंसा धेरै बाहिर आइरहनुले यस्ता घटनाहरू विगतमा भन्दा अहिले धेरै बढिरहेको अनुमान गर्न सकिन्छ । अमेरिकादेखि भारत हुँदै नेपालमा पनि भित्रिएको ‘मिटु’ अभियानको प्रभावले केही शक्तिशाली भनिने व्यक्तिको इतिहासलाई पनि उजागर गरिदिएको छ । यौन दुव्र्यवहार समाज, समय, व्यक्ति, उमेर र ठाउँअनुसार फरक फरक तरिकाले भएको देखिन्छ । जस्तैः कुनै युवती बाटोमा हिँड्दा आवारा केटाहरूले सुस्केरा हालेर जिस्क्याउने, सार्वजनिक बसहरूमा हिँड्दा युवतीहरूलाई अनावश्यक तरिकाले धकेल्ने, महिला तथा युवतीलाई नै असहज हुने गरी एकोहोरो हेरिरहने, महिलाहरूका अगाडि अपशब्दहरू बोल्ने इत्यादि दिनहुँजसो हुने दुव्र्यवहार हुन् । समाजमा भइरहने यस्ता दुव्र्यवहारबाट पुरुषहरू महिलाहरूबाट भन्दा महिलाहरू पुरुषहरूबाट बढी पीडित देखिन्छन् । आखिर महिलाहरू किन पुरुषहरूबाट यति धेरै दुव्र्यवहारमा पर्छन् र यसको रोकथाम कसरी गर्ने भन्ने अबको टड्कारो आवश्यकता देखिन्छ ।
यौन सम्बन्ध जनावरदेखि मानिससम्म हुने प्राकृतिक सम्बन्ध हो । तर मानव समाजमा यस्तो सम्बन्ध पारस्परिक सहमति, कानुन र सामाजिक परिवेशले स्वीकार्ने हुनुपर्छ । कुनै पनि पुरुषले महिलासँग नजिक हुन खोज्नु, प्रेम प्रस्ताव राख्नु वा डेटिङ जाने प्रस्ताव राख्नु अस्वाभाविक होइन् । तर पुरुषको त्यो प्रस्तावमा महिलाको असहमति हुन्छ र पनि पुरुषले जबर्जस्ती गर्न खोज्छ भने यो यौन दुव्र्यवहारहरूमा पर्छ ।
बलात्कार यौन हिंसाको सबैभन्दा ठूलो अपराध हो । समाजमा भएका केही दुव्र्यवहारहरू बलात्कार र बलात्कारपछि हत्यामा पनि परिणत भएका छन् । बलात्कार यौन चाहनाले मात्रै हुने नभई पुरुषले महिलालाई हेर्ने हेपाहा प्रवृत्ति र पुरुष शक्ति (पावर) दृष्टिकोणको उपज हो र यस्तो दृष्टिकोण पुरुषप्रधान समाजमा विशेष गरी अविकसित देशहरूमा प्रबल देखिन्छ । केही महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा नेपाल प्रहरीले पत्ता लगाउन नसकेपछि नेपाल सरकारका गृहमन्त्रीले बलात्कारका घटनाहरू बढ्दै जानुमा पुँजीवादलाई दोष दिए, कसैले सबको हातमा इन्टरनेटको सुविधाले पोर्न साइटको प्रभावलाई दोष दिए, कसैले धर्म र पापको ज्ञानमा ह्रास आएकामा दोष दिए, तर यी सबै उत्प्रेरक भए पनि मुख्य कारण भने समाजमा जरा गाडेर बसेको पुरुषत्व नै हो जसको कारण समाजमा महिला पुरुष दुवै बराबर हुन् भनेर स्वीकार गर्न नसक्नु र महिलालाई कसरी सम्मानजनक व्यवहार गर्ने भन्ने अज्ञानताले सृजित परिणाम हो ।
२०१८ को नोबेल शान्ति पुरस्कार इराककी २५ वर्षीय नादिया मुरादले यौन हिंसाविरुद्धका अभियानमा उल्लेखनीय योगदान गरेबापत प्राप्त गरिन् । नादिया २१ वर्षको हुँदा इस्लामिक स्टेटका आतङ्ककारीबाट अपहरित भई यौन हिंसाबाट पीडित युवती हुन्। त्यस्तै २०१४ को नोबेल शान्ति पुरस्कार भारतका कैलाश सत्यार्थीले ‘बचपन बचायो आन्दोलन’को अभियन्ताका रूपमा दिएको योगदान गरेबापत पाएका थिए । एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार यौन हिंसाबाट पीडित शक्ति समूहका चरिमाया तामाङ र सुनिता दनुवारले संयुक्त रूपमा प्राप्त गरे। चरीमाया तामाङ १६ वर्ष र सुनिता दनुवार १४ वर्षको उमेरमा भारतमा यौनकर्मीका रूपमा बेचिएका थिए । दुवैको सफल उद्धारपछि नेपाल फर्किएर शक्ति समूह गठन गरी महिला बेचबिखनविरुद्धको अभियानमा सक्रिय रहँदै आइरहेका छन् । महिला तथा बालबालिकाहरूको बेचबिखनको विरुद्धमा र बेचिएर उद्धार गरिएका बालबालिकाहरूलाई आश्रय दिँदै आइरहेकी ‘माइती नेपाल’की अध्यक्ष अनुराधा कोइरालाले पनि सिएनएन हिरो २०१० बाट विभूषित भइन् । यहाँ उल्लिखित सबै धेरैजसो उदाहरणमा पीडक पुरुष र पीडित महिला देखिए । यद्यपि महिलाहरू पनि मानव बेचबिखनमा संलग्नता नभएका भने होइनन्, तर त्यस्ता धेरै कार्यहरूको नेतृत्व भने पुरुषहरूले गरेको पाइन्छ ।
पीडित महिलाहरूले आफूले पाएको पीडा अरूले नपाऊन् भन्ने उद्देश्यले समाजमा दिएको योगदानबाट माथि उल्लिखित व्यक्तिहरूले सम्मानित पुरस्कार पाए। हाम्रो समाजमा राम्रो काम गर्नेलाई अबिर र फूलमालाले सम्मान गरिन्छ भने नराम्रो काम गर्नेलाई कालो मोसो र जुत्ताको माला लगाइदिने प्रचलन पनि थियो । यद्यपि कालोमोसो र जुत्ताको माला लगाएर सार्वजनिक बेइज्जती गर्नु कानुन सम्मत हुँदैन। अबिर र फूलमाला जितको सङ्केत हो भने कालो मोसो र जुत्ताको माला साङ्केतिक रूपमा नराम्रो काम गर्नेलाई दिने सजाय थियो। पीडित पक्षले ठूला ठूला राशिका पुरस्कार पाइरहँदा पीडक जगत्ले त्यसरी र त्यति नै लज्जा हुनुपर्ने होइन र ? पीडित महिलाहरूको साहसलाई पुरस्कृत गरियो भने यो पुरस्कार पीडक पुरुष जगत्का लागि त्यति नै सजाय पनि हो । आधुनिक समयमा राम्रो काम गर्नेलाई समाजले उत्कृष्ट पुरस्कारले सम्मानित गर्छ भने अपराध गर्नेलाई जेलदेखि मृत्युदण्डसम्म पनि दिने गर्छ ।
नेपालमा दिनहुँजसो बलात्कार र हत्याका घटना बढ्न थालेपछि महिला हिंसाविरुद्ध केही महिना अगाडि धनगढी रङ्गशालामा १७ सय युवती तथा महिलाहरूले आत्मरक्षा तालिम (फाइट ब्याक) को भाग लिएका थिए । यस्तै, तालिम चरिकोट, जिरी, सिंगटी (दोलखा) को २० स्कुलहरूमा सुरु भइरहेको समाचार आएको थियो। अब पुरुषहरूलाई विशेषगरी किशोर उमेरदेखि नै महिलाहरूसँग कसरी व्यवहार गर्ने, बोल्दा कसरी सम्मान गरेर बोल्ने भनेर सिकाउनुपर्छ। हाम्रो समाजमा सदिऔँदेखि पुरुषहरूले महिलाहरूले भन्दा सेवासुविधा पाइरहेका थिए अझ पनि पाइरहेका छन् यद्यपि शिक्षित परिवारमा यो भेदभाव कम हुँदै गइरहेको देखिन्छ। यसरी पुरुषहरूलाई कसरी यौन हिंसा नगर्ने भनी नसिकाई युवतीहरूलाई मात्र यौन हिंसाबाट कसरी बच्ने भन्ने मात्रै सिकाउँदा उनीहरूमा हामी कमजोर रहेछाँै भन्ने मनावैज्ञानिक असर पर्न सक्छ भने अर्काेतिर पुरुषहरूमा हामी महिलाहरूभन्दा शक्तिशाली छौँ भन्ने सोचले डेरा जमाउँछ। त्यसैले यस्ता तालिमहरू एकतर्फी नभएर किशोर किशोरी र महिला पुरुष दुवैलाई संयुक्त रूपमा दिनुपर्छ । यसो गर्न सके दुवैले एकअर्काको सीमा बुझ्नेछन् ।
सन् १९८९ मा क्यानडाको मोन्ट्रियलमा मार्क लेपाइन भन्ने व्यक्तिले नारीवादीहरूले आफ्नो लाइफ चौपट पारिदिएको भन्दै १४ जना विश्वविद्यालयका युवतीहरूलाई बन्दुकले हानी हत्या गरेपछि १९९१ मा ‘ह्याइट रिबन अभियान’को सुरु भयो र यस अभियानमा धेरै युवक र पुरुषहरू सम्मिलित भई महिला हिंसाको विरुद्धमा आवाज उठाउँदै आएको छ । यो संस्थाले विश्वका ५७ देशहरूमा महिला हिंसाविरुद्ध काम गरिरहेको छ । त्यसैगरी २००२ मा अमेरिकामा स्थापना भएको ‘अ कल ट्रुम्यान’ संस्थाले ‘लाइभ रेस्पेक्ट’ भन्ने पाठ्यक्रममार्फत मिडिल स्कुल र हाइ स्कुलका केटाहरूलाई फोकस गर्दै पुरुषत्वको स्वस्थ र सम्माननीय परिभाषा र उनीहरूको समाजमा हुने कर्तव्य सिकाउँदै आइरहेको छ र यसको मूलभूत उद्देश्य महिलाको अवमूल्यन, उनीहरूलाई वस्तुसरह व्यवहार गर्ने प्रवृत्ति, महिलाहरू पुरुषका सम्पत्ति हुन् भन्ने जस्ता समाजले स्थापित गरेका मान्यताबाट प्रेरित हुने हिंसाको विरुद्धमा अभियान चलाउने देखिन्छ । यस्ता अभियानहरूबाट यौन हिंसामा बिस्तारै न्यूनीकरण भएको अभियन्ताहरूले बताउँदै आइरहेका छन् र विभिन्न अध्ययनहरूले पनि पुष्टि गरेका छन् ।
नेपालमा पनि यस्तै किशोर र पुरुष सम्मिलित एउटा अभियान चलाउनुपर्ने देखिन्छ । उक्त अभियान महिला तथा बालबालिका विकास मन्त्रालय, स्कुल, विश्वविद्यालय, सामाजिक संस्थाहरू, प्रहरी, सेना, सरकारका विभिन्न अङ्गहरूसँग सहकार्य गर्दै यौन हिंसाको विरुद्धमा लड्नुपर्ने देखिन्छ । बलात्कार अब महिलाहरूको मात्रै समस्या हो भनेर बसिरह्यौँ भने एक दिन दिदी बहिनीले दाजुभाइ, छोरीहरूले बाबुसँग हिँड्न पनि डर मान्नुपर्ने दिन नआउला भन्न सकिँदैन। यस्ता दुव्र्यवहार समयमै रोक्न नसक्दा दुव्र्यवहार हिंसामा परिणत हुन पुगेका छन् । पीडित महिलाहरू एउटै समाजमा सम्मानजनक रूपले बाँच्न पाइरहेका छैनन् । २१ औँ शताब्दीमा हाम्रा छोरी, दिदी, बहिनीहरू जन्मेहुर्केको समाजमा निर्धक्क हिँडडुल गर्न, काम गर्न नपाइन्ज्यान जोगाउनु नै युद्ध जितेसरह हुनुले आज हामीले कस्तो समाज बनाइरहेका छौँ, सोच्ने बेला भएन र ? त्यसैले पुरुष र पुरुषत्वले सृजना गरेको समस्या भएकाले अब पुरुषहरू नै अग्रसर भई यो समस्याको समाधान गरी हाम्रा छोरी, दिदी बहिनी र आमाहरूलाई सुरक्षित बाँच्ने समाज निर्माण गर्न अब ढिला गर्नु हुँदैन ।
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१. विश्व पानी दिवस २०१८ को नारा के थियो ? —‘पानीको लागि प्रकृति ९ल्बतगचभ ायच ध्बतभच०
(मार्च २२ का दिन मनाईएको उक्त दिवसमा दिगो विकास लक्ष्य (क्गकतबष्लबदभि म्भखभयिऊभलत न्यमब)ि अन्तर्गतका लक्ष्य प्राप्त गर्नका लागि विश्व पानी दिवसको यस वर्षको नाराले पानीको लागि प्रकृतिको संरक्षणतर्फ जोड दिएको छ ।)
२. मालदिभ्समा लागु भएको संकटकालन कहिले हटाईएको थियो ? — सन २०१८ मार्च २२
(फेब्रुअरी ५ देखि १५ दिनका लागि जारी गरिएको संकटकाल थप ३० दिन बढाई मार्च २२ सम्म पु¥याईउको थियो ।)
३. कर्णाली प्रदेश सरकारले वि.सं. २०७५ साललाई कुन बर्षका रुपमा मनाउने घोषणा गरेको छ ?
— रारा कर्णाली पर्यटन बर्ष
(आन्तरिक तथा वाह्य गरी बार्षिक पाँच लाख पर्यटक भित्राउने लक्ष्यसहित पर्यटन बर्ष मनाउन लागिएको रारा कर्णाली पर्यटन बर्ष, २०७५ को उद्घाटन २०७५ साल बैशाख १ गते हुने भएको छ । जातीय विविधताभित्र भाषा, कला र संस्कृतिका दृष्टिकोणबाट यो प्रदेश समृद्ध मानिने, नेपालकै सवैभन्दा ठुलो रारा ताल, कैलाश मानसरोवर जाने प्रवेशद्वारा, रारा राष्ट्रिय निकुञ्ज, डोल्पाको शे–गुम्बा, फोक्सुण्डो ताल, बाला त्रिपुरासुन्दरी, जुम्लाको नेपाली भाषा तथा सम्भाव्यताको उद्गम थलो सिन्जा उपत्यका, सुर्खेतको काँक्रेबिहार, बुलबुले ताल, देउती बज्यै मन्दिर, कालिकोटको रास्कोट, पञ्चदेवल, हुम्लाको लिमी उपत्यका आदि कर्णाली प्रदेशका आकर्षण हुन ।
४. जैविक बिविधता सम्वन्धि महासन्धि अन्तर्गत जारी भएको नागोया प्रोटोकल नेपालको व्यवस्थापिका– संसद्बाट कहिले अनुमोदन भएको हो ? — वि.सं. २०७४ भादौ १९
५. जर्मनीको संसद्ले एन्जेला मार्केललाई चौथो पटक कहिले चान्सलर चयन ग¥यो ?
— सन् २०१८ मार्च १४ मा
६. चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन ? — प्रताप मल्ल
७. “मलाई सहयोग गर्ने सवालमा ज–जसले नाई भने उनीहरुप्रति म आभारी छु किनकी उनीहरुकै कारण आज म आफ्ना लागि आफैं काम गरिरहेको छु ।” भन्ने बिचारक को हनु ?
— अल्वर्ट आईन्सटाईन
८. मुलुकी अपराध (संहिता) ऐन, २०७४ राजपत्रमा कहिले प्रकाशित भएको हो ?
— बि.सं. २०७४ असोज ३० गते
९. साउदी अरवको नागरिकता प्राप्त स्त्री रुपधारी सोफिया रोवोटलाई काठमाण्डौंमा कहिले प्रस्तुत गरियो ? — बि.सं. २०७४ चैत्र ७ (सन २०१८)
(विश्वमै पहिलो पल्ट नागरिकता पाउने सेलिव्रिटी रोवोट सोफिया राष्ट्रसंघीय दिगो विकास सम्वन्धी एक कार्यक्रममा सहभागि हुन सन् २०१८ मार्च २० मा काठमाण्डौं आएकी थिईन । मार्च २१ मा राजधानीमा आयोजित एक कार्यक्रममा सोफियाले ‘नेपालमा प्रविधिकै सहयोगमा गरिवी हटाउन सकिने’ बताएकी थिईन । अमेरिकी उद्यमी डेभिड ह्यान्सनको डेभिड ह्यान्सन रोवोटिकक्सले निर्माण गरेको महिला यन्त्रमानव सोफियाको बोल्ने प्रविधि गुगल, आल्फावेट ईङ्कबाट लिईएको बताईएको छ ।
१०. मिसोफोनियका भन्नाले के बुझिन्छ ?
— बिभिन्न प्रकारका ध्वनी सुनेर हुने असहजपन (आवाजका कारण हुन बिशेष कठिनाई)
११. शिक्षा बिभाग कहिले स्थापना भएको थियो ? — बि.सं. २०५६ जेठ ९ गते
(माध्यामिक शिक्षा स्थानीय निकायमा हस्तान्तरण हुने भएपछि सो विभाग खारेज हुने शिक्षा मन्त्रालयले जानकारी गराएको छ । विभागको प्रत्येष निगरानीमा रहेको क्षेत्रीय शिक्षा निर्देशनालय पनि लगभग खारेजीको अवस्थामा पुगेको छ । जिल्ला शिक्षा कार्यालय चैत्र २८ देखि खारेज हुने कानुनी व्यवस्था छ तर अहिलेसम्म ठोस् निर्णय भईसकेको देखिदैन । शिक्षा विभागले गर्ने महत्वपूर्ण कामहरु केन्द्रिय निकायबाटै सञ्चालन हुनेछ ।)
१२. छिन्ताङ काण्ड धनकुटामा भएको थियो भने झोडा काण्ड कहाँ भएको थियो ? — मोरङ्ग
१३. २०७४ साल जेठ ८ गतेदेखि सुरु भएको एसईई परीक्षामा कुल कति विद्यार्थी सहभागी भएका छन् ? — जम्मा चार लाख ८५ हजार पाँच सय ६८
(नियमिततर्फ चार लाख ६१ हजार पाँच सय १५ र एक्ज्याम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी रहेका छन् । पहिले एसएलसी परीक्षा भनिन्थ्यो २०७३ सालदेखि एसईई परीक्षाका नामबाट सञ्चालन भईरहेको छ । हालसम्म केन्द्रबाट सञ्चालन भईरहेको यो परीक्षा आगामी बर्षदेखि प्रदेशस्तरबाट सञ्चालन गर्ने योजना छ ।)
१४. नेपाल र जोर्डनबीच द्विपक्षीय श्रम सम्झौता कहिले भएको हो ? — सन २०१७ अक्टोवर १८ मा
(नेपालको यो दोश्रो द्विपक्षीय श्रम सम्झौता हो । पहिलो द्विपक्षीय श्रम सम्झौता कतारसंग (सन् २००५ मा गरेको हो । हाल नेपालले श्रम सम्झौता गरेका राष्ट्रको संख्या सात पुगेको छ ।
१५. नेपालले जिरो हंगर च्यालेन्ज अभियान औपचारिक रुपमा कहिलेदेखि सुरु गरेको हो ?
— बि.सं. २०७१ साल पुष ४ गतेबाट
१६. सवैभन्दा धेरै गाउँपालिका भएको जिल्ला कुन हो ? — धादिङ्ग (११ गाउँपालिका)
(सवैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट हो (१६ नगरपालिका)
१७. म्यानमारका राष्ट्रपति टिन क्यावले पदबाट राजीनामा कहिले दिएका हुन ?
— मार्च २१, सन २०१८ मा
साहित्य/सृजना
कालीलाई महाकाली प्रिय छ
जब म महाकालीको सेरोफेरोमा पुग्छु
महाकालीका ढुङ्गाहरु र बालुवाका कणहरुले
मलाइ एकोहोरो हेरेझै लाग्छ
यिनै ढुङ्गा र बालुवासंग म बाल्यकालमा
महाकाली नदि किनारमा लडिबुडी खेल्थे
यहाँका हरेक ढुङ्गाहरु र बालुवाका कणहरु
मसंग परिचित छन जस्तो अनुभुति हुन्छ
यि ढुङ्गा अनि बालुवा मसंग अहिले पनि त्यसैगरी खेल्न चाहान्छन
जसरी बाल्यकालमा खेल्थ्यौं,
अनि यहाँको
हावाको सुसेलीले पनि मेरा कानमा आएर सुटुक्क बात गरेझैं लाग्छ
जसरी बाल्यकालमा कुराकानी गथ्र्यौं
माटोले पनि आफ्नो सुगन्ध छरेझैं लाग्छ
जसरी बाल्यकालमा माटोलाई फुङ्ग उडाउदा
माटोले सुवाश छथ्र्यो,
महाकालीकै भुमिमा
यो कालिले सर्बप्रथम पाइला टेकेकी थिई
लाग्छ म मेरी आमाको न्यानो काखमा
निर्धक्कका साथ
शान्तिको स्वास फेरिरहेकी छु
मानौ,
अझै पनि
यतै कतै
महाकालीको हावापानी र माटोभित्र
मेरी आमाको प्रसब पीडा लुकेको
आभास हुन्छ मलाई
त्यसैले त
कालीलाई महाकाली प्रिय छ
पुस्पा जोशी “काली”
धनगढी, कैलाली
गजल
वैंश छ र पो ठुली हुन्छ्यौ तिमी
छुस्स छोए बिटुली हुन्छौ तिमी
सबैलाई धान्ने यौवनको लौरी
पिट्ट भाँचिए लुली हुन्छौ तिमी
सबैले गरे आफ्नो आफ्नो सुर
अरु छैनन् र पो मूली हुन्छौ तिमी
हेरिन्छ र पो उदाउंछौ तिमी
हेर्न छाडे गोधुली हुन्छौ तिमी
किन प¥यो र वैंश रुवाउन
लगे पो त बेहुली हुन्छौ तिमी
पुष्पराज खातिवाडा “जिज्ञासु”
गजव भयो
सोच्दै थिएँ अचानकै आउनु तिम्रो गजब भयो ।
न पठाउँदै समाचार पाउनु तिम्रो गजब भयो ।
पग्लिन्न भन्थें अब म जत्ति जे गरेपनि तिमीले
मुस्काउँदै उफ् आँखा सन्काउनु तिम्रो गजब भयो ।
बिर्सियौ कि त्यो मुखडा सधैं गाइरहने तिमीले
नसम्झाउँदै गीत गुन्गुनाउनु तिम्रो गजब भयो ।
मेरो मनको थाह अझै नपाको हो र तिमीले
विनसित्तै मलाई तड्पाउनु तिम्रो गजब भयो ।
प्रेम मात्र भावनाको आवेग हो भन्ने तिमीले
अर्पिंदै जीवन नै चढाउनु तिम्रो गजब भयो ।
सुष्मा मानन्धर
No comments:
Post a Comment