Tuesday, January 29, 2019

बिम्ब साप्ताहिक, मिति २०७५ साल माघ १५ गते

“आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ः ग्रामिण तथा सहरी महिलाहरुको जीवनस्तर रुपान्तरण”
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

प्रति दश हजार जनसंख्यामा एक कुष्ठ रोगी

सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा प्रति १० हजार जनसंख्यामा १ जना कुष्ठरोगी  रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 
निर्देशनालयले कैलाली, कञ्चनपुर र अछाम जिल्लामा अझै कुष्ठ रोग निवारण नभएको जनाएको छ । नेपालमा कुष्ठ रोग निवारणको घोषणा १० वर्ष पुगे पनि सुदूरपश्चिम प्रदेशमा अझै निवारण नभएको निर्देशनालयको तथ्याँकले देखाएको छ । प्रदेशका सवै जिल्लाहरुमा कुष्ठ रोगीको संख्या बढ्दै गरेको छ । 
आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ प्रति १० हजार जनसंख्यामा क्रमशः ०.७ र ०.६७ थियो भने गत वर्ष बढेर १.०५ जना कुष्ठ रोगी भएका हुन् । गत आर्थिक वर्षमा प्रति १० हजारमा १.७८ जना कुष्ठ रोगी देखिएका छन् । आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा प्रति १० हजारमा क्रमशः ०.९ र १.११ जना कुष्ठ रोगी थिए । 
त्यस्तै, कञ्चनपुरमा गत आर्थिक वर्षमा प्रति १० हजारमा १.४४ जना कुष्ठरोगी भेटिएका छन् । २०७२/७३ देखि २०७३/०७४ प्रति हजारमा क्रमशः ०.८ र ०.९४ कुष्ठ रोगी थिए । गत आर्थिक बर्षमा अछाममा प्रति १० हजार जनसंख्यामा १.१८ जना कुष्ठ रोगी भेटिए । आव ०७२/०७३ र ०७३/०७४ मा क्रमशः १.३ र ०.८ कुष्ठरोगी थिए ।
चालु आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिम प्रदेशमा ४० जना नयाँ कुष्ठरोगी भेटिएका प्रदेश स्वास्थ्य निर्देशक डा.  गुणराज अवस्थीले वताए । 
नेपाल सरकारले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । त्यतिवेला १२ जिल्लामा यो रोग निवारण भएको थिएन । अहिले भने १८ जिल्लामा कुष्ठ रोगीहरु भेटिएका छन् । विगतमा कुष्ठ रोगीलाई अपहेलना गर्ने र उनीहरुलाई गाउँ निकाला गर्ने गरेको कारण पनि मानिसहरु उपचार गराउन नआउने गर्नाले कुष्ठ रोगको प्रकोप बढिरहेको छ । कुष्ठरोग उपचार गरेमा निको हुन्छ भन्ने चेतना नभएका कारण विरामीहरु स्वास्थ्य संस्थामा नआउने गरेकोले स्वास्थ्यकर्मीले आफै पत्ता लगाएर उपचार गर्ने गरेको निर्देशक डा. अवस्थीले बताए । “शरीरमा जुनसुकै रंगको नदुख्ने, नचिलाउने तथा लाटो दाग देखिएमा तुरुन्त अस्पताल गई उपचार गराउनु पर्ने हुन्छ” डा. अवस्थीले भने ‘पुरानो मान्यतालाई छोडेर अगाडी बढ्नु जरुरी छ ।’ उनले शुरुवाती चरणमा उपचार गराएमा शरीरमा हुने क्षति रोकिने बताए । 
ढिलो गरी उपचार गराउँदा रोग निको भएपनि शरीरमा भएको क्षति पूर्ण नहुने उनले बताए । कुष्ठ रोगको उपचार गराउन स्वास्थ्य संस्थामा ढिलो गरी पुगेका करीव ३० हजार नेपालीहरु कुष्ठ रोगका कारण अपाङ्ग भएका छन् ।
देशभर कुष्ठ रोगीको संख्या बढ्दै गएपछि सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष लिएको छ । तर देशको संरचना परिवर्तनसंगै स्वास्थ्य क्षेत्रको संरचना फेरिएकाले    काम गर्न गाह्रो भएको स्वास्थ्य डा अवस्थीको भनाई छ ।
नेपाल सरकारको कुष्ठ रोग निवारण नीति २०१६ ले बच्चामा हुने कुष्ठ रोग र कुष्ठ रोगका कारण हुने अपाङ्गता शुन्यमा झार्ने र कुष्ठ रोगको दर प्रति लाखमा १ मा झार्ने लक्ष लिएको छ ।
‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र वभेदको अन्त्य’ भन्ने मुल नाराका साथ आईतवार मात्रै ६६ औं विश्व कुष्ठ रोग दिवस मनाइएको छ । कार्यक्रममा कुष्ठ रोगीका परिवार र छिमेकीलाई समेत औषधी उपचार गरिन थालिएको निर्देशनालयले जानकारी दिएको छ । कुष्ठरोगको उपचार निःशुल्क गर्नुका साथै नियमित औषधी सेवन गरी निको भएका विरामीलाई एक हजार रुपैयाँ यातायात खर्च दिने गरेको छ । कुष्ठ रोगीको शल्यक्रिया गर्नु   परे निशुल्क गरिने र शल्यक्रिया गरेका बिरामीलाई थप सात हजार रुपैयाँ सहयोग दिने गरेको छ ।

सम्पादकीय 

नगरबसको व्यवस्थापन

गत बर्ष डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर बस सञ्चालनमा ल्यायो । स्थानीय तहले आफ्नै लगानीमा नगर बस सञ्चालन गरेको नेपालकै ईतिहासमा पहिलो काम दिपायल सिलगढी नगरपालिकाले गरेको हो । बस सञ्चालन भएसंगै स्थानीयबासीहरुमा एक प्रकारको खुशी पनि छाएको छ । सार्वजनिक यातायातका जीपहरुमा झुण्डिएर असुरक्षित यात्रा गर्नु पर्ने, चर्को भाडा तिर्नु पर्ने, घण्टौं कुर्नु पर्ने लगायतका समस्यावाट पीडित स्थानीयबासीहरुले सस्तो दरमा सुरक्षित यात्रा गर्न पाउँदा एक प्रकारको खुशी हुनु स्वभाविकै हो । तर त्यो खुशी क्षणिक हो वा दीर्घकालीन हुन्छ भन्ने कुराको भने कुनै ग्यारेण्टी छैन । 
दिपायल सिलगढी नगरपालिकाको सिको गर्दै डोटीका अन्य दुई स्थानीय तहहरुले पनि बस सञ्चालनमा ल्याएका छन् । शिखर नगरपालिकाले करीव एक महिना अगाडी बस सञ्चालनमा ल्याएको छ । यात्रुहरुलाई सुबिधा दिने भन्दै शिखरले पनि दिपायल सिलगढी जस्तै दुई बस सञ्चालनमा ल्याएको छ । शिखर नगरपालिकाले बस सञ्चालन गरेको एक महिना पनि नपुग्दै पूर्वीचौकी गाउँपालिकाले पनि बस सञ्चालन गरेको छ । पूर्वीचौकीले पनि आफ्नै लगानीमा दुई बस सडकमा कुदाउन थालेको छ । 
यात्रुहरुलाई सुविधा दिनका लागि बस सेवा सञ्चालन गर्नु आफैमा राम्रो कुरा हो । जनतालाई हरेक कुरामा सेवा सुबिधा दिनु स्थानीय सरकारको जिम्मेवारी पनि हो । तर सञ्चालनमा ल्याईएका बसहरु दिगो हुन्छन कि हुँदैनन् ? यि बसहरुले नगरबासी र अन्य यात्रुहरुलाई समेत दिइरहेको सेवा सुबिधा सर्वसुलभ हुन्छ या झण्झटिलो हुन्छ ? भन्ने कुरामा ध्यान दिनु जरुरी छ । पूर्वीचौकीको सानागाउँबाट शिखर नगरपालिकाको तल्कोटसम्म यात्रा गर्ने व्यक्तिले तीन बसको यात्रा गर्नु पर्ने भएको छ । अर्थात सानागाउँबाट सिलगढीसम्म पूर्वीचौकी गाउँपालिकाको बस, सिलगढीबाट दिपायलसम्म दिपायल सिलगढी नगरपालिकाको बस र दिपायल देखि तल्कोटसम्म शिखर नगरपालिकाको बस । यदि त्यो यात्रुले डडेल्धुरा जानु प¥यो भने फेरी कोरालबाट अर्को गाडी खोज्नु   पर्छ । यसरी त यात्रुहरुलाई के को सुविधा भयो र ? झोला झिम्टा बोक्दै बस परिवर्तन गर्दै गर्नु राम्रो हुँदैन । 
त्यसैले स्थानीय सरकारहरुले सञ्चालन गरेको बस सेवालाई प्रभावकारी वनाईनु जरुरी छ । यसको व्यवस्थापनमा अहिले देखिनै ध्यान दिनु जरुरी छ । पहिलो कुरा बस सञ्चालन गर्ने डोटीका तीन स्थानीय तहहरु दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाका बिचमा साझा बुझाइ हुनु जरुरी छ । तीनवटै स्थानीय तहहरुले बसको रुट तय गर्नु जरुरी छ । त्यसपछि डडेल्धुराका अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकासंग पनि समन्वय गरेर डोटीका बसहरु डडेल्धुरासम्म सञ्चालन हुने बातावरण बनाउनु पर्छ । यसो गरे यात्रुहरुलाई बस फर्दै हिड्नु पर्ने झण्झट हुँदैन । 
दोश्रो कुरा, अहिले बसहरु नयाँ छन्, दुई बर्ष त्यति समस्या नआउला तर जव बसहरु पुराना हुँदै जानेछन् त्यसपछि मर्मतको कुरा आउला । सरकारी गाडी मर्मत गर्ने नाममा व्यक्तिहरु मर्मत हुने चलन रहेको हाम्रो देशमा स्थानीय तहहरुले बस मर्मतको  भारी धान्न सक्छन् त ? नयाँ नयाँ बस सञ्चालनकै क्रममा मुनाफा नदेखिएको अवस्थामा बसहरु पुराना भएपछि के आफ्नो खर्च धान्न सक्छन् त ? मर्मत पक्षको व्यवस्थापनमा पनि ध्यान दिनु जरुरी छ । अर्को कुरा बसहरुको अनुगमन गर्ने संयन्त्र के हो ? दैनिक कति यात्रु बसले ओसार्दैछ, त्यसबाट कति पैसा दैनिक आउँदैछ, तेल कति खर्च हुँदैछ, यात्रुहरुप्रति बस स्टाफहरुको व्यवहार कस्तो छ भन्ने कुराको अनुगमन गर्ने संयन्त्रको पनि व्यवस्थापन हुनु जरुरी छ । 
यस्ता बिषयहरुमा ध्यान जानु जरुरी छ । अन्यथा यो प्रतिस्पर्धा मात्रै हुनेछ, दीगो हुने छैन ।

थप समाचार 

घाइते जंगली वँदेल भेटियाे 

डोटी जिल्ला सदरमुकाम सिलगढी नजिकै घाइते अवस्थामा जंगली बँदेल फेला परेको छ । 
दिपायल सिलगढी नगरपालिका–५ अन्तरगत दिपायल(सिलगढी सडकको नालीमा भेटिएको बँदेल डिभिजन बन कार्यालय डोटीले नियन्त्रणमा लिएको छ । स्थानीयले सडकको नालीमा घाइते अवस्थामा रहेको जानकारी दिएपछि डिभिजन बन कार्यालयको टोलीले उद्दार गरि ल्याएको रेञ्जर सुरेन्द्र रोकायाले जानकारी दिए । 
‘माथीबाट खसेर नालीमा परेको रहेछ, स्थानीयले खवर गर्नु भयो’ रोकायाले भने ‘त्यसपछि कार्यालयको टोली गएर उद्दार गरेका छौं ।’ रोकायाले पशु स्वास्थ्यकर्मीहरुसंग उपचारको बिषयमा छलफल भईरहेको जानकारी दिए । उनले थपे ‘पछाडीको दुवै खुट्टा टेक्न सक्ने अवस्थामा छैन, सायद ढाडमा चोट लागेको हुन सक्छ ।’ उपचार पश्चात निको भएपछि जंगलमा छोडिने रोकायाले वताए ।

महोत्सव अवधीभर चक्काजाम नगर्ने

रमेश जोशी/डोटी 
माघ १४
उद्योग बाणिज्य संघ डोटीले आउदो माघ २५ देखि फागुन ५ गतेसम्म डोटीको दिपायलमा आयोजना गर्ने सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७५ अबधिभरमा चक्काजाम नगर्ने सहमति भएको छ ।
सोमवार जिल्ला प्रशासन कार्यालय डोटीमा आयोजना   गरिएको समन्वय बैठकबाट उक्त सहमति भएको हो । जिल्लामा सक्रिय राजनैतिक दलहरु, व्यापार व्यवसायी, स्थानीयबासी कुनै पनि पक्षबाट बन्द। हड्ताल, चक्काजाम लगायतका कार्यहरुमा पूर्ण रुपमा रोक लगाउने सर्वपक्षीय सहमति भएको हो । 
जिल्ला प्रशासन कार्यालय डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालको अध्यक्षतामा बसेको बैठकमा उपस्थित सरोकारबाला सम्पुर्ण राजनैतिक दल , स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति , सुरक्षा निकायका प्रमुख, लगायतको बैठकले यस्तो निर्णय गरेको उद्योग वाणिज्य संघका महासचिब दिपक खड्काले जानकारी दिए ।
सरोकारवालाहरुको बैठकले महोत्सव अवधिभर  चक्काजाम जस्ता कृयाकलाप नगर्ने र महोत्सवलाई सभ्य   तवरले सफल पार्न सबै पक्षले सहयोग गर्ने बताएका हुन् ।

सेवा सुविधा बढाउन गाउँसभा सदस्यहरुको माग

कैलालीको कैलारी गाउँसभा सदस्यहरुले आफ्नो सेवा सुविधा बढाउनु पर्ने माग गरेका छन् । 
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको सभाको बैठकमा शून्य र विशेष समय लिएर शून्य समयमा बोल्ने गाउँसभा सदस्यहरुले आफूहरुले पाउने सेवा सुविधामा बृद्धि हुनु पर्ने माग गरेका हुन । उनीहरुले गाउँसभा सदस्यले मासिक रुपमा प्राप्त गर्दै आएको पाँच हजार रुपैया तलब अत्यन्त न्यून रहेको भन्दै बढाउन माग गरेका हुन । विशेष समयमा फिरुराम चौधरी, अनारकली चौधरी, माघुराम चौधरी, सीताराम चौधरी, महावीर चौधरी र हरिप्रसाद चौधरीले बोलेका थिए । 
बैठकमा गाउँपालिकाका अध्यक्ष चौधरीले कानूनमा व्यवस्था भए बमोजिम सदस्यहरुको सेवा सुविधा रहने उल्लेख गरे । उनले सदस्यहरुले उठाएको जिज्ञासामाथि अर्को बैठकमा छलफल गर्ने बताए । 
बैठकमा गाउँसभा सदस्यहरुले वडातहमा विकास निर्माणका योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने, सुशासन कायम गर्नु पर्ने, गाउँपालिकाले जनताको समस्यालाई ध्यान दिएर योजना वनाउनु पर्ने माग गरेका छन् ।

व्यवसायिक टिमुर खेतीको सम्भावना

रासस
डोटी जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती सुरू गरेको छ ।
टिमुरको उपयोगिता, बजार, यस सम्बन्धी आवश्यक ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय शुरु गरेको किसान लीलाधर विष्टले बताए । टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त रुपमा पाइने टिमुर खेर जान थालेपछि आफूहरुले सामूहिक रुपमा टिमुरखेती गर्न थालेको उनको भनाइ छ । ‘टिमुर फलाउन सके यो आम्दानीको राम्रो स्रोत हुन सक्छ,’ किसान विष्टले भने , ‘टिमुर बहुउपयोगी वनस्पति भएकाले यो स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ ।’
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जङ्गलमा प्रशस्त रुपमा पाइने टिमुरको बारेमा सरकारी पक्षबाट किसानलाई खासै जानकारी दिन नसकिँदा यो उपयोग बिहीन हुन थालेको बोगटान गाउँपालिकाका स्थानीय बमबहादुर बलमेले बताए ।
उनले भने ‘टिमुरले गर्ने फाइदाको बारेमा यहाँका किसानलाई ज्ञान दिनसके यसले किसानलाई राम्रै आम्दानी दिने देखिन्छ तर त्यसो गर्न सकिएको छैन् ।’ सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, अछाम, बाजुरा, बझाङ तथा डोटी जिल्लामा टिमुर खेतीको सम्भावना बढी भएको कृषि इकाइ कार्यालय डोटीका कृषि प्राविधिक मनोज खड्काले बताए ।
उनले भने, ‘टिमुरले रोपिएको पाँच वर्षबाट उत्पादन दिन शुरु गर्छ, रोपेको ३०/४० वर्षसम्म फल दिने भएकाले यसको खेती गर्दा किसानलाई फाइदा नै फाइदा हुन्छ ।’ सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा टिमुरखेती गरेर किसानको आर्थिक अवस्था बलियो बनाउन सकिने प्रवल सम्भावना रहेको गैराका स्थानीय छपेशबहादुर मल्लले बताए ।
डोटीमा सुकाएको टिमुर गाउँमा प्रतिकेजी रु दुई सय र बजारमा रु दुई सय ५० मा बिक्री हुने गरेको छ ।

नागरिक समाज र प्रहरी एक सिक्काका दुई पाटा

गणेशवहादुर मौनी/डोटी
माघ १४
नागरिक र प्रहरी एक सिक्काका दुई पाटा हुन एक बिना अर्को अपुरो हुने डोटीका निमिक्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले वताएका छन् ।
आईतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वाधान र जिल्ला प्रहरी कार्यालय डोटीले सिलगढीमा आयोजना गरेको नागरिक मैत्री सेवा र मावब अधिकार विशेष पाँच दिने धुम्ति अनुशिक्षण तालिमको उद्घाटन गर्दै पौड्यलले उक्त कुरा बताएका हुन ।
पौड्यलले कार्यक्रममा बोल्दै   नागरिक भए मात्र प्रहरी आवश्यकता हुने र प्रहरी भएपछि मात्र जनताले शान्ति सुरक्षाको अनुभुति गर्ने पाउने जिकिर गरे । निमित्त प्रमुख जिल्ला अधिकारी पौड्यलले भने ‘प्रहरीको भुमिकालाई प्रभावकारी बनाई शान्ति र अपराधमुक्त समाज निमार्णमा नागरिकको अहम भुमिका हुन्छ ।’ उनले थपे ‘दुई पक्ष विचको सम्बन्धलाई थप कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा नेपाल सरकारले समय समयमा विभिन्न खालका कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।’
नागरिक र प्रहरी विचको सम्बन्धलाई प्रभावकारी बनाई नागरिक मैत्री सेवा प्रबाह, मानबअधिकारको  संरक्षण, दिगो शान्ति सुरक्षा कसरी गर्न सकिन्छ भन्ने लगायतका विषय बस्तुहरुमा छलफल गरिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक एवं निमित्त प्रहरी प्रमुख लाल बहादुर धामीले जानकारी दिए । धामीले भने ‘नेपाल प्रहरी आफुले जाने बुझे र गर्न सकिने सम्म सेवा प्रवाहमा अहोरात्र खटेको छ । त्यसमा थप प्रभावकारीता ल्याउन नागरिकमैत्री सेवा, महिला हिंसामा कमी, मानब अधिकारको संरक्षणका विषय बस्तुमा नयाँ तरिका र ज्ञान आर्जन गर्न आवश्यक छ ।’
डोटी जिल्लाका नागरिक र प्रहरी विचको सम्बन्ध प्रगाढ बनाई शान्ति सुरक्षाको अनुभुति गराउन सभ्य समाज स्थापना गर्न विभिन्न प्रकारका जनचेतनामुलक, कार्यक्रम अभियान र तालिम बेलाबखत आयोजना गरिएको समेत धामीले वताए ।
पाँच दिन सम्म चल्ने उक्त अनुशिक्षण तालिममा जिल्ला प्रहरी कार्यालय मातहतका ३५ जना प्रहरी जवान, हवल्दारहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

बस चलाउने प्रतिस्पर्धामा स्थानीय सरकार

माघ १० गतेदेखि डोटीको पूर्वीचौकी गाउँपालिकाले आफ्नै लगानीमा यात्रु ओसार्ने बस सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ८१ लाख ७४ हजार रुपैयाँ लागतमा ३५ सिट क्षमताका दुई बस खरीद गरि सञ्चालनमा ल्याएको हो । जिल्ला सदरमुकाम सिलगढीदेखि गाउँपालिकाको वडा नं. ५ चौखुट्टेसम्म पहलवानसिं स्वार राजमार्गमा चल्ने गाउँपालिकाका बसहरुले यात्रुहरुलाई राहत पुग्ने गाउँपालिकाको दावी छ । 
पूर्वीचौकीले बस सञ्चालन गरेसंगै डोटीका तीन स्थानीय सरकार बसधनी भएका छन् । गत बर्ष दिपायल सिलगढी नगरपालिकाले दुई बस सञ्चालनमा ल्याएको थियो । दिपायल सिलगढी आउजाउ गर्न निकै समस्या भएको भन्दै नगर प्रमुख मञ्जु मलासीले स्थानीय निर्वाचनकै बेला आफुले जिते नगर बस सञ्चालन गर्ने प्रतिवद्धता गरेकी थिईन । सोही प्रतिबद्धता अनुसार उनले पदभार सम्हालेको करीव ६ महिनामा दुई बस सञ्चालनमा ल्याएकी थिईन ।  
५३ लाख रुपैयाँमा दुई बस सञ्चालन गरेको नगरपालिकाले सुरुमा पूर्वीचौकीको शान्तिनगर देखि शिखर नगरपालिकाको केन्द्र तलकोटसम्म बस चलाएको थियो । गत महिना शिखर नगरपालिकाले पनि बस सेवा सञ्चालन गरेपछि दिपायल सिलगढी नगरपालिकाको बस चल्ने क्षेत्र खुम्चिएको छ । दिपायल सिलगढीले एक बस थप गर्ने तयारी गरेको छ । 
शिखर नगरपालिकाले ५६ लाख ६० हजार लागतमा दुई बस सञ्चालनमा ल्याएको छ । शिखरले दिपायल सिलगढी नगरपालिकाको दिपायल बजारदेखि डोटी डडेल्धुराको सिमाना कोराल खोलासम्म बसको रुट तय गरेको छ । 
दिपायल सिलगढी नगरपालिकाले नेपालमै पहिलोपटक स्थानीयलाई राहत दिने उद्देश्यले नगर बस ल्याएपछि अहिले बस सञ्चालनको दौडमा स्थानीय सरकार लागेका छन् । तीन स्थानीय सरकारहरुले ६ बसमा एक करोड ९१ लाख ३४ हजार रुपैया बसमा लगानी गरेका छन् । 
स्थानीय सरकारले सञ्चालन गरेका बसहरुको भाडा दर सार्वजनिक यातायातका साधनहरु भन्दा झण्डै ३० प्रतिशतले कम छ । स्थानीय सरकारको बस ल्याउने प्रतिस्पर्धाले जनतालाई राहत भएको छ । तर बस रुटकै कारण स्थानीय सरकारहरुबीच मनमुटाब बढ्ने संकेत पनि देखिएको छ । अर्को स्थानीय तहमा बस चलाउने सम्बन्धमा अहिले पनि स्थानीय तहहरु बिच मनमुटाव कायम छ । शिखर नगरपालिकाले दिपायल सिलगढी नगरपालिकाको सिलगढीसम्म सेवा दिन सुरु गरेपछि दिपायल सिलगढी नगरपालिकाले असहमति जनाएको थियो । बस सञ्चालन गर्नु पूर्व दुई नगरपालिकाले आपसमा सहमति गरेर रुट तय गर्नु पर्ने दिपायल सिलगढी नगर प्रमुख मञ्जु मलासीको भनाई थियो । 
सो बिषयलाई लिएर दुबै स्थानीय तहका जनता र पार्टी कार्यकर्ताहरु आरोप प्रत्यारोपमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा दुबै नगरपालिकाबिच रुट सहमति भएको थियो । डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार शिखर नगरपालिकाले दिपायल सिलगढी नगरपालिको पिपल्लासम्म यात्रु ओसार्न पाउने गरि सहमति भएको छ । ‘स्थानीय तहहरुले ठुलो लगानी गरेर बस भित्राइरहनु भएको छ, उहाँहरुमा सामुहिक रुपमा काम गर्ने भावनाको बिकास गर्न जरुरी छ’ निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले भने ‘स्थानीय सरकारहरु सहमतिबाटै अघि जानु पर्छ ।’ उनले सबै स्थानीय तहहरुले जनतालाई राहत दिने नाममा ठुलो लगानीमा बस हाल्दा त्यसको उपयोगीता हुन्छ हुदैन भन्ने कुरा समयमै सोच्नु पर्ने सुझाव दिए । 
बस रुटको बिषयमा दिपायल सिलगढी नगरपालिकासंग समन्वय भइरहेको पूर्वीचौकी गाउपालिकाका अध्यक्ष दिर्घ बोगटीले वताए । सिलगढीसम्म पूर्वीचौकीको बस लैजान पाउने सहमति भएको जानकारी उनले दिए । उनले बस सेवाको दिर्घकालीन ब्यवस्थापन चुनौतीपूर्ण रहेपनि क्षमताभन्दा बढी सवारी बोक्ने, झुण्डिएर यात्रा गर्नु पर्ने, छोटो दुरीका यात्रुले गाडीका लागि घण्टौं कुर्नु पर्ने जस्ता जनताका पीरमर्कालाई मध्यनजर गरेर गाउपालिकाले बस सञ्चालन गर्ने निर्णय गरेको बताए । 
लाखौं रकम खर्च गरेर बस सञ्चालन गरेको भएपनि यात्रुहरुको सेवा वाहेक स्थानीय तहहरुलाई कुनै फाइदा नहुने देखिएको छ । एक बर्षअघि देखि नगर बस सञ्चालन गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले एक बर्षको अवधीमा नगर बसले मुनाफा नदिएको बताए । ‘इन्धन, सवारी चालक र सहचालकको तलब र मर्मतको खर्च मात्र उठाइरहेको छ’ शर्माले भने ‘प्रचलित टिकटदर भन्दा सस्तोमा यात्रु बोकिरहेकाले पनि फाइदा नभएको होला ।’ नगरपालिकाले सार्वजनिक यातायातका साधन भन्दा ३३ प्रतिशत कम भाडा लिने गरेको छ ।। 
भरखरै सञ्चालनमा आएका बसहरुले मुनाफा दिन नसक्नुले भबिश्यमा घाटामा जाने निश्चित प्राय छ । बसहरु जति पुराना हुँदै जानेछन्, त्यतिनै मर्मत गर्दै जानु पर्ने हुन्छ । बस सेवालाई कसरी दिगो वनाउने भन्ने योजना बिनै प्रतिस्पर्धाका आधारमा दौडाइएका बसहरु भविश्यमा स्थानीय सरकारका लागि टाउको दुखाइको बिषय हुने देखिएको छ । 

छोटो समाचार 

सामुहिक राजीनामा दिने चेतावनी

सुदूरपश्चिम प्रदेशका जिसस सदस्यहरुले फाल्गुन मसान्तसम्ममा सामुहिक राजिनामा दिने चेतावनी दिएका छन् ।
आईतबार प्रदेश राजधानी धनगढीमा भएको एक भेलाले आफुहरु निर्वाचित भएको दुई बर्ष पुग्न लाग्दा समेत पनि कुनै जिम्मेवारी नपाएको भन्दै सरकारको अलोचना गर्दै यस्तो चेतावनी दिएका हुन् । मयर्ञादाक्रमको सूचिमा पनि सदस्यहरुका बारेमा कहि कतै उल्लेख नभएकोले मर्यादाक्रममा समाबेश गरिनु पर्ने उल्लेख छ ।
भेलाले पाँच बुंदे माग सहित सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन । ज्ञापन पत्रमा फाल्गुन मसान्तसम्म माग सम्बोधन नभए चैत्र १ गते सामुहिक राजिनामा दिने उल्लेख छ ।

अखिलद्वारा ज्ञापन 

अनेरास्ववियु डोटीले दिपायल सिलगढी नगरपालिका नगरप्रमुख मन्जु मलासीलाई ज्ञापन पत्र बुझाएको छ ।
नगरपालिकाले सञ्चालन गरेका बसहरुमा यात्रा गर्दा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट दिने व्यवस्था गर्नुृ पर्ने माग सहित ज्ञापन पत्र बुझाइएको हो । 
सरकारसंग भएको सम्झौता अनुसार सार्बजनिक यातायातका साधनहरुमा बिद्यार्थीहरुलाई परिचय पत्रका आधारमा ४५ प्रतिशत छुट दिने व्यवस्था यथासिघ्र लागु गर्न   आग्रह सहित ज्ञापन पत्र बुझाएको अध्यक्ष डबल     बोहराले बताए ।

खेल समाचार 

यसरी भयो नेपालको जित

ऐजेन्सी
गत चैतमा मात्रै एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको छ । 
सोमवार नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल चार विकेटले जितेको हो । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज १–१ को बराबरी टुंगिएको थियो । पारस खड्काको कप्तानी इनिङसंगै नेपालको जित सम्भव भएको थियो । आईसीसी क्रिकेट एकेडेमीमा यूएईले दिएको दुई सय ५५ रनको लक्ष नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा    पुरा ग¥यो ।
खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले एक सय नौ बलमा १५ चौका र एक छक्का सहित एक सय १५ रन बनाए । 
१९ रन हुँदा नेपाली टिमका ओपनर विनोद भण्डारी नौ रनमा आउट भए । तर, पारसले उपकप्तान मल्लसँग दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । ज्ञानेन्द्र ३१ रनमा आउट भए । त्यसपछि आएका व्याट्म्यानहरु दीपेन्द्र सिंह ऐरी र सन्दीप जोराले ठूलो पारी खेल्न सकेनन् । तर, एउटा एण्डमा पारस टिकिरहे ।
पाँचौं विकेटका लागि पारस र रोहित कुमार पौडेलले ५४ रनको  साझेदारी गरे । रोहित १६ रनमा आउट भए । आशिफ शेखसँग ३२ रनको साझेदारी गरेका पारस ३८.५ ओभरमा एक सय १५ रनमा आउट भए तर, जितको आधार बनाइसकेका थिए ।
आरिफ र सोमपालले त्यसलाई पूर्णता दिए । सोमपाल २६ र आरिफ २१ रनमा नटआउट रहे । 
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धाति ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ५४ रन बनाएको थियो ।
यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे । यूएईको स्कोर एक सय ४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५  रनमा आउट भए । उनलाई करण केसीले आउट गरे ।
तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी गरे । अनवर ८७ रनमा आउट भए । 
आक्रमब ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट      रहे । नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।
यूएईविरुद्धको खेलमा युवा ब्याट्सम्यान सन्दीप जोराले डेब्यू गरे । कञ्चनपुरको भीमदत्त नगरका जोरा घरेलु क्रिकेटबाट चम्किएका ब्याट्सम्यान हुन् । सुरुवाती दुई खेलमा पवन शरार्फलाई खेलाइएको थियो । तर, अन्तिम म्याचमा उनको स्थानमा जोरालाई खेलाइएको हो ।

चलचित्र/मनोरञ्जन 

अभिनेतृ पुजा १५ लाख भन्दा कममा काम नगर्ने  

फिल्मी खवर
फिल्म ‘प्रेमगीत’ मा अभिनेता प्रदीप खड्कासँग जोडी बाँधिएपछि अभिनेत्री पूजा शर्माले नसोचेको सफलता हात पारिन् । त्यसअघि केही फिल्ममा काम गरेपनि उनी दर्शकमाझ ‘नोटिस’ हुन सकेकी थिइनन् । उक्त फिल्मले उनलाई चिनाएन मात्र नेपाली फिल्म क्षेत्रमा स्थापित ग¥यो । 
‘प्रेमगीत’ पछि उनले गरेका कुनै फिल्म बक्सअफिसमा असफल छैनन् । ‘म यस्तो गीत गाउँछु’ र यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘रामकहानी’ पनि बक्सअफिसमा खरै उत्रियो । ‘ब्याक टू ब्याक’ हिट फिल्मकी धनी पूजाको अब नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ गर्दैछिन् । यसमा आकाश श्रेष्ठ र सोनम तोप्देन उनका हिरो छन् । 
निर्देशक सुदर्शन थापाको क्याम्पभन्दा बाहिर रहेर फिल्म गर्ने जोखिम उठाउन नसकेकी पूजाले ‘प्रेमगीत’ पछि पहिलो पहिलो बाहिरी ब्यानरको फिल्म ‘सम्हालिन्छ कहिले मन’ गर्न लागेकी हुन् । यसअघि सुदर्शन र पूजाले मिलेर फिल्म बनाउँदै आएका थिए । तर, उक्त फिल्मको निर्मातामा उनीहरु छैनन् । 
यो फिल्म निर्देशन गर्न सुदर्शनले ३५ लाख बढी पारिश्रमिक बुझेको चर्चा छ । आकाशले १० लाख र सोनमले साढे ८ लाख पारिश्रमिक बुझेका छन् । अभिनेत्री पूजाले भने दुई अभिनेताभन्दा बढी पारिश्रमिक हात पारेकी छन् । उनले १५ लाखमा फिल्म साइन गरेको एग्रिमेन्ट पेपर नै सार्वजनिक गरेकी थिइन् । 
आइतबार उक्त फिल्मको घोषणा सभामा पत्रकारले उनीमाथि पारिश्रमिकको विषयमा प्रश्न गरे ‘अब १५ लाखभन्दा कम पारिश्रमिकमा काम नगर्ने हो वा राम्रो कथा भेटे कममा पनि गर्नुहुन्छ ?’ उनले जवाफमा भनिन्, ‘सीमित बजेट छ तर कथा राम्रो छ भने १५ लाखभन्दा कममा पनि गर्छु । नभए गर्दिनँ ।’ 
तर, उनको भनाइले हरेकको मनमा एउटा प्रश्न भने जन्मन सक्छ । राम्रो कथा भेटे १५ लाखभन्दा कममा पनि काम गर्न तयार रहेको बताउँदै गर्दा कतै पूजाले ‘१५ लाख पाएको खण्डमा कथा मन नपरे पनि फिल्म गर्छु’ भन्न खोजेकी त होइनन् ? उनको जवाफ दोधारपूर्ण छ ।

लेख 

नेताको योग्यता र समाजसेवीको दुरदर्शिता

डा. सुभाष पोखरेल
सम्राट अकवरको दरवारमा संगीतकार तानसेन निकै शक्तिशाली थिए । राजालाई संगीत सुनाउने उनको दायित्व थियो । म्युजिकमा रुचि भएको राजप्रसादमा तानसेनको हैसियत उँचो हुने नै भयो । ९ शक्तिशाली भारदार समूहमा रहेकाले उनलाई मुगलको नवरत्न पनि भनिन्थ्यो । पटाड्गिनीमा तानसेनले एक साँझ राजालाई बाँसुरी सुनाइरहेका बखत टाढा जंगलमा मधुर सगीत गुञ्जियो । अकवरले तानसेनलाई बीचैमा रोकेर तिमीभन्दा पनि राम्रो बाँसुरी बजाउने व्यक्ति को रहेछ त्यो अनकन्टार जंगलमा भनी सोधे । तानसेनले उक्त व्यक्ति आफ्ना गुरु हरिदाश भएको जनाए । त्यस्तो अनुपम संगीतको साधना गर्ने व्यक्ति किन घना वनमा बाँसुरी बजाएर बसेको होला भन्ने राजाको प्रश्न तेर्सियो । स्वामी हरिदाश भगवानका लागि संगीत सुनाउँछन् भने उनले । व्यक्तिगत शुभलाभका लागि शासकलाई संगीत सुनाउने तानसेन र आफ्ना सन्तुष्टिका लागि साधना गर्ने हरिदाशको संगीतको स्तर एकै हुन सम्भव थिएन । नाफाका लागि काम गर्ने र आत्मसन्तुष्टिको साधना गर्ने मानिसको हैसियत समान हुने कुरा हँुदैन नै ।  
इन्साइक्लोपिडियाले संसारको सबैकुरा जान्दछ भनिन्छ/भनिन्थ्यो । ८० को दशकसम्म कुनै पनि नवीन कुराबारे जानकारी लिनुपरे दर्जनाँै पुस्तकको संगालोका रूपमा प्रकाशित इन्साइक्लोपिडिया पढ्ने अभ्यास थियो । इन्टरनेटको जमानामा अठारौँ शताब्दीको मध्यदेखि प्रकाशन सुरु गरेको इन्साइक्लोपिडिया ब्रिटानिकाको हैसियत फेरिनु अस्वाभाविक भएन । बदलिँदो परिस्थितिमा इन्साइक्लोपिडियालाई पुस्तकका रूपमा छाप्न आवश्यक नरहेकाले त्यसलाई डिभिडीका रूपमा प्रकाशन गर्ने अधिकार लियो माइक्रोसफ्टले । इन्साइक्लोपिडियाको सिडी बेचेर मनग्य आम्दानी गर्न सकिने सोचका आधारमा उद्यमी बिल गेट्सले उक्त काम लिए । माइक्रोसफ्टका अबल दर्जाका कर्मचारीलाई उक्त दायित्व सुम्पियो ।  राम्रो पारिश्रमिक दिएर संसारका एक से एक विधानलाई विविध विषयमा रचना गर्न लगाइयो । राम्रो भेटी दिएर विधानलाई लेख्न लगाएपछि इन्साइक्लोपिडियाको व्यापार बढ्ने सोच्नु अन्यथा भएन । तर, यथार्थमा त्यसो भएन । त्यसैबेला एक लगनशील समूहले विकिमेडिया फाउन्डेसन खोले, इन्टरनेटका लागि वेभपेज बनाए । 
इन्साइक्लोपिडियाको विकल्प जन्म भयो विकिपिडियाका नाममा । सम्पादकका रूपमा न्यूनतम योग्यता भएका संसारका कुनै पनि व्यक्तिले विकिपिडियाको पेजमा विषयवस्तुबारे लेख्न सक्ने भए । लिखतमा कुनै खराबी भए अर्को व्यक्तिले परिमार्जन गर्न पाउने हैसियत दिइयो । नवीन विषयको परीक्षण भयो । इन्साइक्लोपिडियाका कारिन्दाले उच्च धनराशि पाउने तर विकिपिडियामा काम गर्नेले स्वयंसेबकका रूपमा मुफ्तमा काम गर्नुपर्ने भएपछि केही दिनमा विकिपिडिया बन्द हुन्छ भन्ने आकलन गरिनु अस्वाभाविक रहेन । तर यथार्थमा परिणाम विपरित भयो । इन्साइक्लोपिडियाले विकिपिडियासँग प्रतिस्पर्धा गर्न सकेन । सन् २००९ मा संसारको धनाढ्य कम्पनी माइक्रोसफ्टले इन्साइक्लोपिडियाको प्रकाशन बन्द भएको घोषणा ग¥यो । अर्कोतिर स्वयंसेवीले चलाएका विकिपिडिया भने संसारकै लोकप्रिय ज्ञानको सागर बन्यो ।
कम्प्युटरको विकाससँगै उक्त संवेदनशील मिसिन चलाउन सफ्टवेयर अपरेटिङ सिस्टम निर्माण गर्नुपर्ने भयो । माइक्रोसफ्टलगायतका कम्पनीहरू अपरेटिङ सिस्टम बनाएर पैसा कमाउने धन्दामा लागे । बजारमुखी उद्यमीहरूको बोलवाला रहेकै अवस्थामा फिनल्यान्डको सफ्टवेयर इन्जिनियर लाइनस टोरभाल्डसले नवीन सफ्टवेयर अपरेटिङ सिस्टम ‘लाइनेक्स’ मात्र बनाएनन् बरु उक्त प्रविधि जसले पनि सित्तैमा प्रयोग गर्न पाउने गरी सार्वजनिक गरे । मुख्यतः गरिब देशमा अमेरिकी डलर खर्चिएर अपरेटिङ सिस्टम किन्नुपर्ने बाध्यात्मक परिस्थितिबाट उन्मुक्ति दिए इन्जिनियर लाइनसले । हुँदाहँुदा पछि लाइनेक्स यति लाभदायी देखियो कि संसारको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टले समेत त्यसलाई प्रयोग गरेको पाइयो ।
अब अर्को उदाहरण हेरौँ । कम्प्युटरलाई सार्वजनिक पहुँचको वस्तु बनायो माइक्रोसफ्टले । एकलौटी राज भएपछि इन्टरनेट ब्राउज गर्न सबैले माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोररमै भर पर्नु अन्यथा भएन । एक्सप्लोररमा इन्टरनेट भाइरसले सताउन थालेपछि सहजताका लागि अर्को विकल्प आउनुपर्ने भयो । त्यसैबीच सित्तैमा संसारलाई इन्टरनेट ब्राउजर सुविधा दिने उद्देश्यले मोजिला फाइन्डेसन खुल्यो र उसले आफ्नो उत्पादन मोजिला फाएरफक्स सार्वजनिक ग¥यो । ब्राउजरको दुनियाँमा मजिलाको स्थान आज के छ भनिरहनै परेन ।           उपरोलिखित परिदृश्यले पैसाका लागि काम गर्ने भन्दा नागरिकलाई केन्द्रमा राखेर पेशालाई साधना बनाउने व्यक्तिले समाजलाई बढी योगदान गरेको भन्छ ।
प्रथम संविधान सभाको उत्तरार्धमा मधेसकेन्द्रित दलको समर्थनमा माओवादीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री बने । आफ्नै पूर्वप्रतिबद्धता विपरित बाबुरामले सुरुमै जम्बो मन्त्रिमण्डल बनाए । तर पनि सबै सांसद मन्त्री बन्न संभव भएन । मधेसवादी दलबाट मन्त्री बन्न नपाएका समूहले माउ पार्टी फुटाउँदै नयाँ दल बनाउने अनि नवीन दलको नेताको हैसियतले मन्त्री बन्ने क्रम चलिरह्यो। पार्टी फुट्ने अनि मन्त्रिमण्डलको आकार बढ्ने क्रम रोकिएन । त्यसै सन्दर्भमा राष्ट्रपति रामवरण यादवले मधेसकेन्द्रित दल फुट्ने र मन्त्रिपरिषद्को आयतन बढ्ने प्रक्रियालाई राजनीतिक खेतीको नाम दिए । आम्दानीका लागि किसानले खेती गरेभैmँ नेताले राजनीतिक दल विभाजन गर्ने अनि मन्त्री बनेर पैसा कमाउने तत्कालीन परिदृश्यलाई राष्ट्रपतिले राजनीतिक खेतीको नाम दिनु अस्वाभाविक भएन ।
सन् २०१३ मा आम आदमी पार्टीले दिल्लीमा सफलता हासिल गरेपछि नेपालमा पनि वैकल्पिक दलको आवश्यकता देख्ने बढे । आफूलाई राजनीतिक भविष्यवेत्ता ठान्ने बाबुराम भट्टराईले नयाँ शक्ति नामको पार्टी गठन गरे । भारतमा आम आदमी पार्टीको सफलताबाट हौसिएकाहरू रात रहे अग्रास पलाउला शैलीमा नयाँ शक्तिको सदस्य बन्न पुगे । प्रशासनिक दायित्व विसर्जन गर्ने बित्तिकै नेपाली कांग्रेसको सदस्यता लिएर रामेश्वर खनाल रातारात नयाँ शक्तिको राजनीतिमा समाहित हुन पुगे । सुविधाको लोभमा विभिन्न दलबाट आएका झुण्डसँग न पसिना बगाएर दल बनाउने धैर्य थियो न त बाबुरामसँग उनीहरूलाई व्यवस्थापन गर्ने क्षमता नै थियो । परिणामस्वरूप नयाँ शक्ति पञ्चायतकालका कम्युनिस्ट घटक बर्मा र तुलसीलाल समूहभैmँ सिंगल म्यान पार्टी बन्यो ।
महाभूकम्पका समय समाजपयोगी कार्यमार्पmत आफूलाई सामाजिक शक्तिका रूपमा स्थापित गरेका युवाहरूले विवेकशील समूह बनाए । आआफ्ना पेशा गरेर बसेका सुशिक्षित युवाहरूलाई समाजिक सेवामार्पmत मात्र धेरै योगदान गर्न संभव नभएको भान भयो । विवेकशील समूह पछि राजनीतिक दल बन्यो । विवेकशील पार्टी गठन भएताक नै रवीन्द्र मिश्रले बिबिसी नेपाली सेवाको जागिर तिलाञ्जली दिई साझा पार्टी गठन गरी राजनीतिमा आए । यसरी गठन भएका नवीन दलहरू सन् २०१७ को स्थानीय चुनावमा होमियो । भुइँचालोका बखत विवेकशील समूहले गरेको अनुकरणीय कार्यलाई नगरबासीले पत्याए । काठमाडौँमा विवेकशीलको मेयरको उमेदवारको हैसियतले रञ्जु दर्शनाले राम्रो प्रस्तुति गरिन् । त्यस्तै साझा पार्टीका तर्पmबाट राजधानीको मेयरका उमेदवार भोला थापाको मत संख्या पनि खराब रहेन । नवस्थापित विवेकशील तथा साझा पार्टीका नेताले प्रारम्भिक सिँचन गरेर दललाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्न लामो समय लाग्ने देखे। पार्टी  एकीकरण गरे सहजै शक्तिशाली बनिने अनि राजनीतिक खेतीको फल तत्कालै पाइने ठहर भयो । साझा र विवेकशील पार्टी एकीकृत भए । त्यसबीचमा उनीहरूले के ठोस काम गरे ? तर, जनतामा विवेकशील साझा पार्टी वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुन लागेको भने पनि हुन नपाउँदै केही हप्ताअघि स्वार्थका लागि जुटेका पार्टीहरू विधिवत विभाजन भए ।
प्रधानमन्त्री जस्तो व्यक्तिले गहकिलो प्रस्तुति दिनुको बदला उखानटुक्का सुनाएर जग हँसाएको देख्दा विदेश प्रशिक्षित व्यक्तिले राजनीति गर्दा मुलुकको अवस्था सुध्रन्थ्यो कि भन्ने लाग्नु अन्यथा भएन। तर विद्यावारिधि बाबुराम भट्टराईको बिजोग र विदेश प्रशिक्षित विवेकशील साझा दलको फुटपछि विदेश प्रशिक्षित म्यानेजरले चलाएको पार्टी त झन् धान्न नसकिने रहेछ भन्न जनता बाध्य  भए । केपी ओली र सुशील कोइरालाको पारिवारिक पृष्ठभूमि तथा सहपाठीले हासिल गरेको शैक्षिक उन्नयनलाई हेर्दा उनी स्नातकोत्तर नै गर्न नसक्ने व्यक्ति हुन् भन्न सकिन्न । उनीहरूले ब्याचुलर पनि गर्न नसक्नुको कारण कलिलो उमेरमै प्रतिबन्धित राजनीतिमा होमिनु अनि अनवरतरूपले पार्टीको काममा खटिनु हो भन्दा अन्यथा नहोला । आजन्म राजनीतिमा होमिएका नेता भन्दा प्रतिकूल अवस्थामा मुलुकबाट पलायन हुने, विदेश पढेर पनि जागिर नपाउँदा तथा पेन्सन पाकेपछि मुलुकको राजनीतिमा होमिने व्यक्तिले मुलुकको धेरै माया गर्छ भन्ने अवस्था रहेन । विकिपिडिया, लिनेक्स तथा फाएरफक्सको कथा र विवेकशील साझा पार्टीको गाथाले सामाजिक तथा राजनीतिक बागडोर संहाल्न शैक्षिक योग्यता होइन बरु आफ्ना स्वार्थलाई पाखा लगाइ आत्मसन्तुष्टिको साधना गर्ने व्यक्तिको आवश्यकता छ भन्नुपर्ने भयो ।
कांग्रेस तथा कम्युनिस्ट पार्टीको अवस्था हेर्दा नेपालको राजनीति सुमार्गमा छ भन्ने अवस्था देखिन्न । डा. गोविन्द केसीले उठाएको मागलाई अक्षरशः सदर गर्नुपर्ने कम्युनिस्टहरू स्वास्थ्यलाई सेवाबाट व्यवसायमा रूपान्तरण गर्ने विधेयक बनाउन तल्लीन देखिए । आफ्नो शासनकालका बेला माखो नमार्ने अनि डा. केसीलाई देखाएर राजनीति गर्न खोज्ने कांग्रेसको चरित्र राजनीतिक भएन । भर्खरै पास भएको चिकित्सा विधेयक हेर्दा दुवै पक्षका सांसदले ऐनको लिखत र मर्म दुवै नबुझेको देखियो भने नेताहरू मेडिकल माफियाको चंगुलमा फसेको देखियो । सांसद तथा जनतालाई सुसूचित गराउने दायित्व नागरिक समाजको हो । तर, सिभिक सोसाइटी राजनीतिकरूपले विभक्त देखियो । यस्तो अवस्थामा निष्पक्ष नागरिक समाजको आवश्यकता देखियो । मानिसको अन्तरनिहित क्षमताका सम्बन्धमा विश्वप्रसिद्ध पुस्तक ‘स्टे«न्थ फाइन्डर’ का लेखक टम ¥याथको विचारमा विगतमा फरक विद्यामा उच्च देखिएको व्यक्ति राजनीतिमा मध्यम होला तथा सफलतम हुन सक्दैन । राजनीतिमा सफल हुन उत्कृष्ठ समाजसेवी नै हुनुपर्छ भन्छन् अनुसन्धानकर्ता ¥याथ । अनुसन्धान तथा पत्रकारितामा अबल भएकाले राजनीतिमा पनि सफल हुन्छु भन्ने तर्कमा सहमत हुन सकिएन । त्यसैले, नयाँ शक्ति, विवेकशील तथा साझा पार्टीको वर्तमान हैसियत हेर्दा ती दलका नेताले आफूलाई राजनीतिज्ञको भन्दा नागरिक अगुवाका रूपमा प्रस्तुत गरे मुलुकले बढी लाभ पाउँथ्यो कि ?
– नागरिक दैनिकबाट

शिक्षक सेवा आयोगको तयारीका लागि उपयोगी 

शिक्षक सेवा आयोगद्वारा लिईने निम्न माध्यामिक तह, नेपाली बिषयको खुला प्रतियोगिता, लिखित परीक्षाको नयाँ पाठ्यक्रम  
१. भाषा र नेपाली भाषाको अध्ययन  
१.१ भाषाको परिचय र भाषाका विशेषता 
१.२ भाषिक परिवारको सङ्क्षिप्त चिनारी 
१.३ नेपाली भाषाको उत्पत्ति सम्बन्धी मतमतान्तरहरू 
१.४ नेपाली भाषाका भाषिकाहरूको चिनारी १.५ नेपालमा बोलिने प्रमुख भाषाहरू 
१.६ नेपालका संविधानहरूमा नेपाली भाषा 
१.७ नेपाली भाषाको स्तरीकरणका लागि भएका प्रयासहरू 
२. पहिलो तथा दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षणको चिनारी  
२.१ नेपाली भाषा शिक्षणको आवश्यकता 
२.२ पहिलो र दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षण 
२.३ द्विभाषिक तथा बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण 
२.४ भाषा शिक्षणका सिद्धान्तहरूको परिचय ः निगमन, आगमन, व्याकरण अनुवाद, प्रत्यक्ष, श्रुतिभाषिक, संज्ञान, सम्प्रेषण, सहभागितामूलक  
२.५  दोस्रो भाषाका रूपमा नेपाली शिक्षणका समस्या र समाधानका उपाय 
३.साहित्य विधा सिद्धान्त     
३.१ कविताको परिचय, तत्व र आधुनिक नेपाली कविताका समसामयिक प्रवृत्तिहरू        
३.२ कथाको परिचय, तत्व र आधुनिक नेपाली कथाका समसामयिक प्रवृत्तिहरू 
३.३ नाटकको परिचय, तत्व र आधुनिक नेपाली नाटकको समसामयिक प्रवृत्तिहरू 
३.४ निबन्धको परिचय, तत्त्व र आधुनिक नेपाली निबन्धका समसामयिक प्रवृत्तिहरू 
३.५ नेपाली बाल साहित्यको परिचय र बाल साहित्यका मुख्य प्रवृत्तिहरू 
४.साहित्य शास्त्र र नेपाली समालोचना  
४.१ शब्द शक्ति ः अभिधा, लक्षणा र व्यञ्जनाको परिचय 
४.२ छन्दको परिचय र प्रकार  
४.३ रसको परिचय र प्रकार  
४.४ अलङ्कारको परिचय र प्रकार  
४.५ समालोचनाको सैद्धान्तिक परिचय 
४.६ नेपाली समालोचनामा रामकृष्ण शर्मा, बाबुराम आचार्य, यदुनाथ खनाल, इन्द्रबहादृुर राईको      परिचय र मुख्य प्रवृत्ति  
५.नेपाली व्याकरण      
५.१ भाषा तत्व÷व्याकरणको परिचय  
५.२ व्याकरण शिक्षणको परिचय र आवश्यकता 
५.३ कार्यमूलक व्याकरण र व्याकरण शिक्षणका नवीनतम अवधारणा 
५.४ व्याकरण शिक्षणका कार्यकलापहरू 
५.५ पाठ्यव्रmले तोकेका व्याकरण÷भाषा तत्वका विषय क्षेत्रहरू   
५.६ शब्दवर्ग ः नाम, सर्वनाम, विशेषण, व्रिmयापद, नामयोगी, व्रिmयायोगी, संयोजक, विश्मयादिबोधक र निपात 
५.७ पदसङ्गति ः लिङ्ग, वचन, पुरुष र आदर 
५.८ काल, पक्ष र भाव (अर्थ) 
५.९ वाच्य  
५.१० वाक्य ः परिचय, संरचना, प्रकार, वाक्यान्तरण, वाक्य संश्लेषण र विश्लेषण  
५.११ कारक र विभक्ति 
५.१२ शब्द भण्डारको परिचय र प्रकार 
५.१३ उखान र टुक्का 
५.१४ शब्द निर्माण प्रव्रिmया ः व्युत्पादन र रूपायन प्रव्रिmया 
५.१५ धातु  
५.१६ लेख्य चिन्ह 
५.१७ वर्ण विन्यास  
६ व्यावहारिक रचना÷सिर्जनात्मक रचना  
६.१ पत्र रचना (निवेदन÷चिठी) 
६.२ निमन्त्रणा पत्र र शुभकामना पत्र लेखन 
६.३ संवाद र वादविवाद लेखन 
६.४ दैनिकी लेखन 
६.५ सारांश लेखन 
६.६ अनुच्छेद रचना 
६.७ प्रतिवेदन लेखन 
६.८ कथा लेखन 
६.९ निबन्ध लेखन 
६.१० जीवनी लेखन

साहित्य/सिर्जना 

सम्झना

पृय तिम्रो सम्झनाका लहराहरु 
मेरो मस्तिष्कको छानोमा
यसरी फिजिएका छन्
आनन्दका किरण आउने प्वालहरु पनि
छपक्कै टालिएका छन् ।
मेरा परेलीका डिलहरुमा
तिम्रो सम्झना 
खतराको संकेत भएर बसेको छ
तल्लो र मल्लो परेली भेट हुन पाउँदैनन्
तिम्रो सम्झनाले मनाही गरेको छ
मेरा परेली निदाउन ।
बिर्सने बानीलाई हटाएर 
सम्झने बानीको बिकास गर्न खुब पाठ सिकाएको छ
तिम्रा यादहरुको पाठशालाले
हरपल ती बिगतहरु 
अतितका पानाहरु 
नचाहेरै पल्टिरहन्छन्
र तस्बिर देखाउँछन
ती तस्बिरले मेरा परेलीलाई 
आँशु झार्न स्पष्ट संकेत दिन्छन्
आदेश दिन्छन्
जुन आदेश 
मेरा परेलीले निरन्तर रुपमा 
इमान्दरपुर्बक पालना गरिरहेका छन्
कलापती उपाध्याय 
धनगढी, कैलाली

फुल 

पबित्र फूलको मालालाई समेत
आफ्नो साधनाको बाधक तत्व
जन्जिर ठानेर
फूललाई उनेर राख्ने 
धागोलाई नै काटकुट पारेर
साधु जङ्गल पस्छ
जङ्गलमा उसले झनै अनौठो दृश्य देख्छ
फूलहरु कुममा कुम मिलाई मुस्कुराइरहेछन् 
साधुलाई आफ्नो सुगन्धले आफुतिर आकर्षित गरिरहेछन्
मानौं संभोगको लागि निमन्त्रणा दिइरहेछन् 
जता पाइला चाल्यो 
त्यतै वासना
कहाँ कहाँ छैन वासना
जब साझ पर्छ
फूलहरु ओइलाउन थाल्छन् 
झर्छन
बल्ल पो साधु होसमा आउँछ
ओहो! भाग्नु र जाग्नु कति फरक रहेछ ।
पुष्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन 

नेपाल सरकार
कृषि भूमि व्यवस्था तथा सहकारी कार्यालय
मालपोत कार्यालय, डोटी
(मुक्त हलिया पुनःस्थापना जिलला समिति, डोटी)

अन्तिम पटक प्रकाशित मिति ः २०७५/१०/०५ गते 

सूचना ! सूचना !! सूचना !!! 

मुक्त हलिया पुनःस्थापना समस्या समाधान समिति गठन (तेश्रो संसोधन) आदेश २०७५ को मुल आदेशको दफा (१०) को (च) र (२) को उप खण्ड (१) बमोजिम सम्पर्कमा नआउने पुनःस्थापनाको लगतमा नाम रहेका मुक्त हलियाहरुको विवरण छानविन गरी लगतबाट हटाउने उल्लेख भए बमोजिम केन्द्रिय लगतमा रहेका हलियाहरुलाई परिचय पत्र लिन मिति २०७५/८/१२ मा प्रथम पटक २५ दिने सूचना जारी गरिएकोमा केही गा.पा. वडा कार्यालयबाट पुनः सूचनाको लागि माग भएकोले अन्तिम पटकका लागि २१ (एक्काईस) दिनभित्र आफुसंग भएका तपशिल बमोजमका प्रमाण साथ निवेदन गर्न आउनु होला । म्यादभित्र निवेदन पेश नगर्ने हलियाहरुको केन्द्रिय लगतबाट प्राप्त विवरण छानविन गरी हलिया विवरणबाट नाम हटाइने व्यहोरा समेत यसै सूचाद्वारा जानकारी गराईन्छ । साथै परिचय पत्र लिन बाँकी रहेका मुक्त हलियाहरुको नामावली सम्वन्धित नगरपालिका÷गाउँपालिकामा पठाएको व्यहोरा अनुरोध गरिन्छ । विस्तृत जानकारीको लागि कार्यालयको फोन नं. ०९४–४२०१०१, मोवाईल ः ९८४८४७४९७२ मा सम्पर्क राख्नु होला । 
परिचय पत्र प्राप्त गर्न आवश्यक प्रमाणहरु 
१. निवेदन 
२. नागरिकताको प्रमाण पत्रको प्रतिलिपी १ थान 
३. पासपोर्ट साईजको फोटो ३ प्रति 
४. वालवालिकाको जन्म दर्ता प्रमाणहरु 
५. वडा मुचुल्का 
६. न.पा.÷गा.पा. वडा कार्यालयको सिफारिस 
७. अन्य आवश्यक प्रमाणहरु


No comments:

Post a Comment