Monday, February 11, 2019

बिम्ब साप्ताहिक, २०७५ माघ २९ गते

"Time is now : Rura and urban acitvists transforming women's lives"
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

रोग च्यापेर बस्दै ग्रामिण क्षेत्रका महिलाहरु

कर्ण चन्द/डोटी
माघ २८
पूर्बीचौकी गाउँपालिका–४ सानागाउँकी लक्ष्मी नाथलाई हातखुट्टा दुख्ने समस्या भएको ४ बर्ष भयो तर उनी उपचार गर्न कतै पनि गईनन् । 
उनिमात्र होईन पूर्बीचौकी गाउँपालिका–४ काँडामाण्डौंकी नरमादेबी बटला पनि तीन बर्षदेखि कान नसुन्ने समस्याबाट ग्रसित छिन तर उपचार गर्ने बारे खासै सोचेकी छैनन् । नेपाली सेनाद्वारा सञ्चालन गरिएको स्वास्थ शिबिरमा स्वास्थ्य चेक जाँच गर्न पुगेका उनिहरुले चिकित्सकसंग उक्त कुरा बताईन । महिला बिरामीलाई चेक गर्दै गरेकी चिकित्सक डा ज्योति खड्कासंग ४८ बर्षीया लक्ष्मी नाथले भनिन् ‘मेरो हातखुट्टा दुख्न थालेको चार बर्ष भयो घरमा खिरो (घरेलुु औषधी) हालेँ तर ठिक भएन । उकालो ओरालो गर्दा पनि दुख्छ दुखाई बढ्दै भएको छ ।’ डा खड्काले उपचार गर्न जानु भएन भनेर सोध्दा नाथले भनिन् ‘हामी गाउँतिर बस्ने मान्छे यत्तिको बिरामी    भैराख्छौँ कहाँ उपचार गर्न जानू ।’
शिबिरमा आउने अधिकांस महिलाले समान्य रोग भन्दै उपचारमा ध्यान नदिने गरेको कुरा सुनाए । स्वास्थ्य उपचारको पहुँच नहुनु र आर्थिक स्थिति कमजोर भएका कारण महिलाले आउन नसकेको अधिकांसले साझा समस्याको रुपमा राखे । उपचारमा संलग्न चिकित्सक सुमन थापाले भने ‘महिलाहरु रोग च्यापेर बसेको देखियो, रोग च्याप्दै गर्दा त्यही रोगले फेरी मान्छेलाई च्याप्छ ।
शिशिरमा पाठेघर खस्ने बिरामी धेरै आएको डाक्टर गिता खड्काले बताईन । खड्काले भनिन् ‘शिबिरमा धेरै थरीका महिला बिरामी आएका थिए त्यस मध्यमा पाठेघरको समस्या, आँखा, हाडजोर्नी र छाला सम्बन्धीका बिरामी बढी देखियो ।’ डाक्टर थापाले थपिन् ‘सामान्य अबस्थामा खासै उपचार तर्फ ध्यान नदिने समस्या बढेपछि मात्र उपचारका लागी सोच्ने गरेको देखियो ।’
महिला स्वयम पनि आफ्नो स्वास्थ्य प्रति संबेदनशिल नहुँदा पनि रोग पालेर बस्ने गरेको पूर्बीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउँदले  बताईन । उपाध्यक्ष साउँदले भनिन् ‘हामी महिला जहिले पनि घरको काम प्राथमिकता राख्छौँ, बिरामी अन्तिम चरणमा पुगेपछि मात्र घर परिवारलाई भन्ने गर्छन, त्यही भएर पनि महिला धेरै समस्यामा छन ।’
ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा कम पहुँच भएका कारण नेपाली सेनाले सद्भाव कार्यक्रम अन्तरगत स्वास्थ्य शिबिर संचालन गरेको रुद्रध्वज गण सिलगढीका प्रमुख कर्नेल रत्नकेशर खड्काले बताए । खड्काले भने ‘ग्रामिण क्षेत्रका प्राय सबैको त्यसमा पनि महिलाको स्वास्थ्य निकै कमजोर पाईन्छ ।’
पूर्बीचौकीका नागरिकको स्वास्थ्यप्रति ख्याल गर्दै बेला बेलामा स्वास्थ्य शिबिर सञ्चालन गर्ने गरिएको पूर्बीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बताए । अध्यक्ष बोगटीले भने ‘हामीले गत बर्ष अस्पतालसंग मिलेर र यस बर्ष नेपाली सेनासंग मिलेर शिबिर संचालन गर्ने गरेका छौँ ।’ रुद्रध्वज गण सिलगढी डोटी र पूर्बीचौकी गाउँपालिकाको सहकार्यमा शिबिर संचालन गरिएको थियो ।
शिबिरमा साढे चार सयको उपचार 
नेपाली सेनाद्वारा डोटीको पूर्बीचौकी गाउँपालिकामा संचालन गरिएको स्वास्थ्य शिबिरमा चार सय ५९ जनाले स्वास्थ्य उपचार गरेका छन । तीन सय ३७ महिला र एक सय २२ पुरुष गरी चार सय ५९ जनाको स्वास्थ्य चेकजाँच गरेको रुद्रध्वज गण सिलगढी डोटीले जानकारी दिएको छ ।
शिबिरमा उपचार गर्न आउने पुरुषको तुलनामा महिलाको संख्या तेब्बर रहेको थियो । पूर्बीचौकी गाउँपालिका–४ सानागाउँकी सुन्तली खड्काले भनिन् ‘उहाँहरु जस्तो डाक्टर आउन हामीले कहाँ–कहाँ धाउनु पर्छ घर नजिकै आएको बेला चेकजाँच गरियो ।’ शिबिरमा आएकी ८९ बर्षीया पाना खड्काले भनिन् ‘मेरो घरमा छोरा बुहारी छैनन् एक्लै छु संयोगले यही शिबिर आएको रहेछ उपचार गराउन यहाँ आएकी हुँ ।’
नेपाली सेनाकोे सद्भाब कार्यक्रम नागरिकका बिचमा लोकप्रिय बन्दै गएको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए । प्रजिअ सुबेदीले भने ‘नागरिकको प्रत्येक्ष स्वास्थ्य सम्बन्ध राख्ने कार्यक्रमको रुपमा स्वास्थ्य शिबिर ल्याएकाले कार्यक्रम प्रभाबकारी छ ।’ नेपाली सेनाले संचालन गरेको शिबिरमा ठुलो संख्यामा स्थानीयले उपचार लिएको पूर्बीचौकी गाउँपालिकाले जानकारी दिएको छ ।

सम्पादकीय 

डोजर वन्दको बिरोध !

भोली अर्थात् फागुन १ गतेदेखि सडक काट्नका लागि डोजर लगाउनमा केही कडाई गरिएको छ । एक करोड भन्दा कम रकमको योजनामा डोजर लगाउन नपाईने गरी नेपाल सरकार मन्त्रीपरिषद्ले निर्णय गरेको छ । उक्त निर्णय प्रदेश र स्थानीय तहहरुका लागि पनि बाध्यकारी भएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सम्वन्धी निर्देशिका, २०७५ पारित गरेसंगै यो व्यवस्था लागु भएको छ । अव डोजर चलाउनका लागि प्राविधिकहरुको सिफारिस चाहिने छ अर्थात मान्छेबाट काट्न सम्भव नहुने भनी प्राविधिकले सिफारिस गरेमा मात्रै सडकमा डोजर वा अन्य मेसिनरी औजारहरु प्रयोग गर्न मिल्ने छ । अन्यथा मिल्ने छैन । 
सरकारको उक्त निर्णयको स्थानीय तहका जनप्रतिनिधिहरुले बिरोध गरेको खवर आयो । यदि साँच्चै स्थानीय तहहरुले डोजरको प्रयोगको बिरोध गरेका हुन भने यो भन्दा हास्यास्पद् अरु के हुन सक्छ ? यो बिरोधले स्थानीय तहका जनप्रतिनिधिहरुका कि त आफ्नै डोजर छन्, कि उनका नातेदारका डोजर छन र कि त उनीहरु डोजर व्यवसायीसंग मिलेर कमिसन खाँदैछन भन्ने कुराको संकेत गर्दछ । यद्यपी यो संकेत मात्रै होईन, लुकेको सत्य कुरा हो । त्यसकारण यस बिषयमा खोजी हुनु जरुरी छ । 
सडक निर्माण गर्दा मेसिनरी सामानको प्रयोगले एकातिर बातावरणीय प्रभावमा ठुलो असर पर्छ । बिगत लामो समयदेखि बातावरणीय प्रभाव मुल्याँकन नगराई सडक काट्ने परिपाटीले समस्या निम्त्याएको छ । अर्कोतिर भू–क्षयको बढी खतरा रहन्छ भने स्थानीय तहमा रोजगारीको सम्भावना पनि शुन्य हुन्छ । यसले गर्दा फाईदा भन्दा बढी घाटा हुन्छ । त्यसकारण मेसिन लगाउने कामको तत्काल अन्त्य हुनु जरुरी छ । सरकारले गरेको यो निर्णय कार्यान्वयनमा आउनु जरुरी छ । यदि सरकारले यो निर्णयमा पनि बिगतका अन्य निर्णय जस्तै खुट्टा कमाउन थाल्यो भने यो भन्दा दुभाग्र्य केही हुने छैन । 
स्थानीय तहका जनप्रतिनिधिलाई दवाव दिएर सडकमा बजेट छुट्याउन लाउने अनि डोजर भाडामा ल्याएर कोपरकापर गरेर बजेट सक्ने परिपाटीको अन्त्य हुनु जरुरी छ । स्थानीय तहका जनप्रतिनिधिहरु स्वयं पनि डोजरको मामिलामा चोखा छैनन् । जसरी डोजरले प्रतिघण्टाको दरले भाडा लिन्छ त्यसरी नै केही जनप्रतिनिधिहरुले पनि प्रतिघण्टाको दरले कमिसन लिन्छन् भन्ने कुरा यस अघिनै केही डोजर व्यवसायीहरुले भनिसकेको बिषय हो । त्यसमाथी उनीहरुका नेताहरु पनि छन रे । चुनावमा लागेको खर्च असुल्नका लागि स्थानीय तहमा डोजर चलाउने र कमिसन खाने धन्दामा लागेकाहरुले त यो बिषयको बिरोध गर्नु स्वभाविकै होला तर आम जनताको लागि यो निर्णय स्वागतयोग्य छ । 
यदि यो निर्णय हुबहु कार्यान्वयन भयो भने आगामी दिनहरुमा पक्कै पनि सडक निर्माणका योजनाहरुमा ह्वात्तै कमी आउनेछ । बहानाबाजी गरेर सडक खन्ने योजना न त वस्तीस्तरको योजना तर्जुमा गोष्ठीबाट आउनेछ, न वडा समितिले थपेर पठाउने छ र न गाउँपालिकाको बजेट तथा कार्यक्रम तुर्जमा समितिले पठाउने छ यस्तो योजना । यदि यसो भयो भने सडक वनाउने नाममा डाँडा भत्काउने काम पनि कम हुनेछ । डाँडा भत्काएका कारण आएको पहिरोले भत्किएका घरहरु, च्यापिएका खेतहरु, सुकेका पानीका मुहानहरु पनि कम देख्न पाईनेछ । उपभोक्ता समितिका अध्यक्षलाई डोजरले सडक काटी डोरहाजिरी भरेर भुक्तानी लिनु पर्ने बाध्यताको  पनि अन्त्य हुनेछ । जो व्यक्तिले सडकमा काम गर्छ उसैले डोर हाजिरमा सहीछाप वा औंठा छाप लाउनेछन् । खुट्टाको समेत औंठाछाप लाएर डोर हाजिरी फाराम पेश गर्नु पर्ने र प्राविधिक तथा अन्य कर्मचारीहरुलाई चुप रहनका लागि घुस खुवाउनु पर्ने अवस्थामा पनि कमी आउनेछ । तर अव कुनै पनि बहाना नखोजियोस  भन्ने कुरामा भने सचेत हुनु पर्छ ।   

थप समाचार 

सुदूरपश्चिम प्रादेशिक महोत्सव उद्घाटन

डोटी उद्योग वाणिज्य संघको आयोजनामा डोटीको दिपायलमा सुदुरपश्चिम प्रादेशिक महोत्सब २०७५ को उद्घाटन भएको छ ।
माघ २५ देखि फागुन ५ गतेसम्म सुदुरपश्चिमस्तरको कृषि पर्यटन क्षेत्रको विकास तथा प्रचार प्रसार गर्ने उद्देश्यका साथ सदाको बर्षझै यस वर्ष पनि महोत्सबको आयोजना गरिएको संघले जनाएको छ ।
संघका डोटी अध्यक्ष मोहन कलेलको सभापतित्व, उद्योग वाणिज्य संघको पूर्व केन्द्रय  अध्यक्ष चन्डीराज ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको हो । शुक्रबार विहान नै महोत्सबको उद्धघाटन गर्ने कार्यक्रम रहेको भए पनि मौषमका कारण ढिला गरि महोत्सब उद्घाटन सत्र सुरु भएको थियो ।
उद्घोषिक तथा गायिका शोभा त्रिपाठी र संघका सचिब दिपक खड्काले कार्यक्रम संचालन गरेका थिए । जिल्लाका बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि को उपस्थिति रहेको थियो । अधिकांश वक्ताले देशको बिकास मा ट्याब पुर्याउनका लागि निजि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताउनु भएको थियो ।

सायलमा बिद्युत बिस्तार सुरु

डोटीको सायल गाउपालिका–४ लाई राष्ट्रिय बिद्युत लाईनमा जोडिएको छ । वडा नंं ४ को कार्यालयमा भएको बिशेष समारोहमा सायल गाउपालिका अध्यक्ष तेजबहादुर डुम्रेलद्वारा राष्ट्रिय बिद्युत लाईनको उद्घाटन गरेका हुन । सायल गाउपालिका–४ का अध्यक्ष टिका सिंहले दिएको जानकारी अनुसार सोही अवसरमा ८० वटा बिद्युुत मिटर समेत बितरण गरिएका छन् । वडा नं. ४ का एक सय भन्दा बढी घरले बिजुली बाल्न शुरु गरेपछि बिधिवत रुपमा उद्घाटन गरिएको हो ।
वडा अध्यक्ष टिका सिंहको अध्यक्षतमा भएको बिशेष कार्यक्रममा प्रमुख अतिथि सायल गाउपालिका अध्यक्ष डुम्रेलले यसै बर्षभित्र सायल गाउपालिकाका सबै वडामा बिद्युत लाईन बिस्तारका लागी प्रयास गरिने बताए । उनले भने ‘हाम्रो प्राथमिकतामा बिद्युत लाईन बिस्तार पनि हो । वडा नं. ४ मा बिद्युत बलेसंगै अन्य वडाहरुमा बिस्तारका लागी पनि सहज भएको छ ।

अर्को महोत्सवमा पञ्जावी भाङ्णा

डोटी चेम्वर अफ कमर्सले डोटीको दिपायलको पिपल्लामा फागुन २७ गतेदेखि आयोजना गर्न लागेको प्रदेशिक महोत्सबमा पञ्जावी भाङ्णा नाँच प्रदर्शन हुने भएको छ ।
छिमेकी मुलुक भारतका पञ्जाब, लखनउ, हरियाणा र दिल्ली शहरमा चर्चित मानिएको उक्त नाँच देखाउने तयारी भएको डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउँदले जानकारी दिएका छन । सोमवार दिपायलमा चेम्वर अफ कमर्सका अध्यक्ष साउद र पञ्जावी भाङ्णा टोलीका बिचमा सम्झौता भएको संस्थाका सचिब तेजबहादुर डुम्रेलले जानकारी दिएका छन ।
महोत्सब तथा खप्तड भम्रण गर्नका लागि भारतका पञ्जाब, लखनउ, हरियाणा र दिल्ली शहरबाट कम्तिमा पनि दुई सय भारतीय पर्यटकहरु अवलोकनका लागि आउने भएको सम्झौताका लागि द ग्लोवल इनिष्टच्यूट अफ ईन्फरमेसन टेक्नोलोजी भारतबाट दिपायल आएका बिबि  भण्डारीले बताए ।
फागुन १७ गते देखि २७ गतेसम्म सञ्चालन हुने उक्त प्रदेशिक महोत्सब तथा खप्तड भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि डोटी चेम्वर अफ कमर्सले दिपायलदेखि खप्तडसम्म हेलीकप्टरको व्यवस्था मिलाएका कारण भारतबाट पनि खप्तड घुम्न पर्यटक आउने भएका हुन् । 
त्यस्तै महोत्सब समाप्त पश्चात उक्त  भारतीय कम्पनीले दिपायलमा चेम्वर अफ कमर्ससँग मिलेर सिभिल ईन्जिनियर फायर एण्ड सेफ्टी, मोवाईल रिपेरिङ तथा होटेल व्यवस्थापन सम्वन्धि तालिम दिने लक्ष राखेको जनाईएको छ ।

मन्त्री भन्छन् ः बिचित्रको संघीयता

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले नेपालमा विचित्र खालको संघीयताको अभ्यास भइरहेको वताएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा बोल्दै मन्त्री शाहले सो कुरा वताएका हुन । ‘यस्तो खालको संघीयता   संसारमा कहीँ पनि छैन’ उनले भने ‘यस्तो संघीयताको अभ्यासबाट फेरि द्वन्द्व बढाउनेछ ।’ आइतबारको प्रदेश सभा बैठकमा सुशासन सम्बन्धी विधेयकमाथि भएको छलफलमा सांसद्हरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा आन्तरिक मामिला तथा कानून मन्त्री शाहले प्रश्न गरे ‘समस्या प्रदेशमा हुने, समाधान केन्द्रले खोजी दिनु पर्ने ? प्रहरी प्रदेशको हुने, कमाण्ड केन्द्रले गर्नुपर्ने ?’ यस्तो अभ्यास तथा व्यवहारले संघीयताको मर्म, सिद्धान्त तथा संविधानले गरेका व्यवस्थाको नै खिल्ली उड्ने मन्त्री शाहको भनाई छ ।
संघीय सरकारको व्यवहार तथा सोंचले संघीयताको उपहास गरेको मन्त्री शाहको आरोप छ । ‘सरकार भन्ने वित्तिकै त्यसको आफ्नै प्रशासन हुन्छ, योजना आयोग, लोकसेवा आयोग, प्रहरी हुन्छ’ उनले भने ‘तर अहिलेसम्मको अभ्यास र व्यवहारमा त्यस्तो देखिएको छैन ।’  कर्मचारीहरूको खटनपटन माथि (संघ) बाटै हुने, प्रहरीको खटनपटन पनि माथिबाटै हुने, ५०/६० हजार रुपैयाका आयोजनाहरु पनि माथिबाटै तोकिने हो भने यसले संघीयताको उपहास हुने शाहको तर्क छ । 
मन्त्री शाहले परराष्ट्र मामिला, सीमा समस्या, राहदानी र नागरिकतासम्बन्धी काम हेर्नका लागि प्रमुख जिल्ला    अधिकारी केन्द्रको प्रतिनिधिको रुपमा रहन सक्ने बताए । तर, प्रमुख जिल्ला अधिकारीले नै प्रहरीको कमाण्ड गर्ने हो भने प्रहरीका सिनियर अधिकारीहरुले कसलाई कमाण्ड गर्ने भन्ने प्रश्न रहेको शाहले वताए ।

वडाद्वारा जेष्ठ नागरिकलाई सम्मान

डोटी सायल गाउपालिकाले वडा न. ४ ले समाजमा बिशिष्ट योगदान पु¥याएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । 
सम्मानित हुनेहरुमा साबिकको डौड गाबिसका अध्यक्ष तेजबहादुर सिंह, वडा कार्यालय भवनका लागी जग्गा दान गर्ने नवराज उपाध्याय र समाजसेवी तथा तत्कालिन डौड गाबिसमा लामो समय सम्म सचिवको रुपमा काम गरेका भिमबहादुर बोगटी रहेका छन् । यसैगरी जेष्ठ नागरिक चार जनालाई पनि दोसल्लाले सम्मान गरिएको वडा अध्यक्ष टिका सिंहले जानकारी दिए । 
साथै वडा नं. ४ लाई मदिरा मुक्त बनाउन भुमिका खेलेको भन्दै मदिरा नियन्त्रण समितिका अध्यक्ष जनक बहादुर सिंह लगायत १९ जनालाई पनि सम्मान गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा यस आर्थिक बर्षमा सम्पन्न भएका र शुरुवात गरिने योजनाहरुको   बारेमा समेत जानकारी गराइएको थियो । 
जसमा डौड देखि बावनसैन, भल्मा हुदै झिक्राना र केलाभाडी घङ्गारे झिग्राना सडक यसै बर्ष शूरुवात गरिने वताईएको छ । यस्तै मदिरा नियन्त्रण अभियान जारी राख्ने, वडाभित्रका राष्ट्रिय बनलाई सामुदायिक वन बनाईने, सामुदायिक बनको संरक्षण, बिद्युत जडानलाई बिस्तार गरिने, डौड स्वास्थ्य चौकीलाई स्तरउन्नती गरि १५ शैयाको अस्पताल बनाउन पहल गरिने योजनाहरु रहेका छन् । स्वास्थ्य चौकीमा प्रयोगशाला निर्माण गरि सकिएको, डौड स्वास्थ्य चौकीमा एम्बुलेन्स रहने गरी प्रक्रिया अगाढी बढाईएको, वडा नं. ४ भित्रका कार्यालयहरु र बिद्यालयमा ई–लाईब्रेरीको ब्यबस्था गरिने, वडा नं. ४ मा रहेको टेलिकम टावरलाई यथाशिघ्र सुचारु गर्न पहल गरिने योजनाहरु सार्वजनिक गरिएको थियो ।
यस्तै दिपायल सिलगढी नगरपालिका वडा न.ंं ३ ले आफ्नो वडाभित्रका ७० वर्ष माथिका एक सय ३२ जना जेष्ठ नागरिकलाई  सम्मान गरेको छ ।
वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रममा ७० बर्षीया तारादेबी साउँद देखि ९७ वर्षीया भागा देबी साउँदसम्मका जेष्ठ नागरिक सम्मानित भएका वडा कार्यालयले जनाएको छ ।
वडाले जेष्ठ नागरिकहरुका लागि भनेर एक लाख पचास हजार बजेट विनियोजित गरेको थियो । सोही बजेटबाट जेष्ठ नागरिकहरुलाई चिसोमा प्रयोग गर्ने बाक्लो सल र नगद दुई सय रुपयाँ सहित सम्मान गरेको वडाध्यक्ष चक्र माझीले   जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख शिबराज खड्का रहेका थिए ।

लोप हुँदै परम्परागत पानीघट्ट

पुरानो प्रविधि र सीप देखिने पानीघट्ट यतिबला हराउन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् ।
गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी मिलकै कारण पानीघट्टको माग कम हुँदै गएको एक दशकदेखि पानीघट्ट सञ्चालन गर्दै आएका करवीर नाथले बताए । मिलमा पिसानी गर्दा कम समय लाग्ने भएपछि महत्व घट्दै गएको पानीघट्ट सञ्चालक नाथ बताउँछन् । नदी तथा खोला किनारमा हुने र गाउँबाट टाढा हुने, एक्लै गएर पिसानी गर्न पनि असुरक्षा हुने गरेका कारण मिलप्रति स्थानीयवासीको आकर्षण बढेको बडिमालिका नगरपालिका–२ का विक्रम गुयाले बताए । मेशिनमा पिस्दा स्वाद हराउने हुँदा रोटी मीठो नहुने बुढापाका बताउँछन् । पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् । 

बाजेको सम्झनामा अक्षय कोष

सायल गाउँपालिका–५ डौड सुण्डमा रहेको ओम   आधारभुत बिद्यालयमा एक लाखको अक्षयकोष स्थापना   गरिएको छ । 
डौडका स्थानीय तथा समाजसेबी सिद्धराज जोशीले आफ्ना बाजे स्वर्गीय परमानन्द जोशीको सम्झनामा अक्षयकोषको स्थापना गरेको ओम आधारभुत बिद्यालयले जनाएको छ ।
बिद्यालयमा स्थापना गरिएको अक्षयकोषले प्रत्येक बर्ष बिद्यालयमा उत्कृष्ठ एक जना छात्र र एक जना छात्रलाई पुरुस्कार दिने बिद्यालय ब्यबस्थापन समितिमा अध्यक्ष केशबराज उपाध्यायले बताए । ओम गेष्ट हाउस सिलगढी, डोटीका सञ्चालक समेत रहेका जोशीले बिद्यालयको बार्षिकोत्सबको अबसरमा आयोजना गरिएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशब उपाध्यायलाई चेक हस्तान्तरण गरेका हुन ।
बिद्यालयको बार्षिक उत्सबको अबसरमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण पछि बोल्दै जोशीले हरेक बर्षको जन्मदिनको खर्चको रकम बिद्यालयलाई शैक्षिक सामग्री दिने घोषणा गरेका छन । 
यस्तै आदर्श गाउँपालिका–१ मा रहेको भैरव माध्यामिक बिद्यालयमा एक लाख १० हजार रुपैयाँको अक्षयकोष स्थापना भएको छ । स्थानीय अमर बहादुर खड्का श्रीमती हरिमया खड्काले छोरा अनमोल खडकाको सम्झनामा उक्त अक्षयकोषको स्थापना गरेका हुन । ग्ली एकेडेमी धनगढीमा अध्ययनरत अनमोलको निधन पछि सम्झनामा अक्षयकोषको स्थापना गरिएको अमर खड्काले जानकारी दिए ।

छोटकरी समाचार 

पत्रकारलाई निशुल्क यात्रा

डोटी, शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा पत्रकारहरुले निशुल्क यात्रा गर्न पाउने भएका छन् । 
सोमवार बसेको नगरकार्यपालिकाको बैठकले नगरबसमा यात्रा गर्ने पत्रकारहरुलाई टिकट तिर्नु नपर्ने निर्णय गरेको हो । निर्णय अनुसार ६५ बर्षमाथीका जेष्ठ नागरिक, अपाङ्ग, असाहाय र टुहुरा बालबालिकाहरुले पनि निशुल्क यात्रा गर्न पाउने छन् । 
‘६५वर्षभन्दा माथिका बृद्ध, अपाङ्ग, असाहाय, टुहुरा र पत्रकारहरुलाई हाम्रो नगरबसमा यात्रा गर्न अब कुनै पैसा लाग्नेछैन’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले भने, ‘परिचयपत्रका आधारमा ती वर्गका नागरिकहरुले यस्तो सहुलियत लिन सक्नेछन् ।’ 
नगरबासीको पीडालाई मध्येनजर गर्दै यस्तो निर्णय गरिएको नगर प्रमुख सीताराम जोशीले बताए । ‘सहुलियत पाउने बर्गका नागरिकको समस्यालाई ध्यानदिएर यस्तो निर्णय लिएका हौं’ जोशीले भने ‘सार्वजनिक यातायातका साधनमा सास्ती भोगेका नागरिकहरुलाई सहुलियत दिनका लागि नै नगरपालिकाले नगरबस सेवा सञ्चालनमा ल्याएको हो ।’ नगरपालिकाले   करीव दुई महिना अघि दुई नगरबस सञ्चालनमा ल्याएको हो ।

खेल समाचार 

अन्तराष्ट्रिय रंगशाला बनाईने


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला वनाउने वताएका छन् । 
मोफसलको सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सो कुरा वताएका हुन । वर्षाका कारण प्रभावित भएको डीपीएलको फ्लोरा होटल पसिरमा औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको थियो । 
उद्घाटनको क्रममा मुख्यमन्त्री भट्टले फाप्ला क्रिकेट मैदानलाई नमूना अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने प्रदेश सरकारको लक्ष रहेको बताए । उनले यसका लागि करिब तीन अर्ब रुपैयाँ आवश्यक पर्ने समेत जानकारी दिए । ‘सबैको सहयोगमा यसलाई निर्माण गर्न सकिन्छ’ भट्टले भने ‘प्रदेश सरकार नमूना अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन प्रतिबद्ध छ ।’ 
सरकार, निजी क्षेत्र र खेलाडीको सहयोगमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण कार्यलाई विधिवत रुपमा अगाडि बढाउन सकिने मुख्यमन्त्रीको भनाइ थियो । उनले खेल र खेलाडीको प्रोत्साहन गर्ने र दूरदराजमा मैदान निर्माण कार्यमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए । ‘यो प्रदेशको विकासको एउटा महत्वपूर्ण पाटोको रुपमा हामीले खेललाई लिएका छौं’ भट्टले भने ‘त्यसैले खेलमैत्री कानून, नीति र विधि बनाउने कुरामा हामी प्रतिबद्ध छौं ।’ 
मुख्यमन्त्री भट्टले म्याच रेफ्री मोहम्मद सफिकलाई बल र ब्याट हस्तान्तरण गरेर डीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उदघाटन गरेका हुन ।  
उद्घाटन समारोहमा प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले डीपीएल क्रिकेट प्रतियोगिता यो प्रदेशको कोसेढुङ्गा सावित भएको बताए । उनले खेल र खेलाडी    राष्ट्रकै गहना रहेको चर्चा गरे । ‘खेलले अनुशासित बनाउँछ, विकासको गति अगाडि बढाउँछ’ मन्त्री शाहले भने ‘यसको साथै, विश्वमै मुलुकलाई चिनाउँछ ।’ उनले खेल पूर्वाधार निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए । 

अन्तरबिद्यालय तेक्वान्दो प्रतियोगिता सुरु

कैलाली जिल्लामा प्रथम अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । 
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले प्रतियोगिताको उदघाटन गरेका छन् । उद्घाटनको क्रममा प्रमुख वडले धनगढी खेलकुदको ‘हब’ भएको बताए । “हामीले सबै किसिमका खेलकुदहरुलाई समान प्राथमिकतामा राखेर काम गरिरहेका छौं” नगरप्रमुख वडले भने ‘एक वडा एक खेल मैदान निर्माण गर्ने अभियान उपमहानगरपालिकाले लिएको छ ।’ 
अक्सर सबै वडामा खेल मैदान निर्माण गर्ने काम भैरहेको उनले जानकारी दिए । ‘यस आर्थिक वर्षमा समेट्न नसकेका वडामा अर्को वर्ष समेटिने छ’ वडले भने ‘खेलाडी भएको समाज र बस्ती अनुशासित हुने गरेको छ ।’ उनले स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यतिकै महत्वपूर्ण रहेको वताए । 
उक्त प्रतियोगिता कैलाली जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा भइरहेको छ ।

चलचित्र मनोरञ्जन 

मेगास्टार अनमोल केसी

राम्रो क्रेज भएको, ब्याक टू ब्याक सुपरहिट फिल्म दिएको, मिडिया र दर्शकले सर्वाधिक खोज्ने अभिनेता भएका कारण अनमोल केसीलाई  सञ्चारकर्मी नरेश भट्टराईले गत वर्ष फिल्म ‘कृ’ को एक कार्यक्रममा ‘मेगास्टार’ को उपाधि दिए । तर, केही फिल्म हिट दिएको भरमा अहिले नै अनमोललाई ‘मेगास्टार’ भनिनु गलत हुने तर्क चलचित्रकर्मी र मिडियाकर्मीहरुको छ ।
अभिनेत्री रेखा थापाले त एक  स्मारिकामा अनमोलप्रति लक्षित गर्दै मिडियामाथि दुखेसो नै पोखेकी थिइन, ‘आज मलाई ‘मेगास्टार’ र ‘महानायिका’ भन्न डराउने तीनै पत्रकार १÷२ हिट फिल्म दिएको भरमा नयाँलाई मेगास्टार भन्न हिच्किच्याउँदैनन् । यो एकदमै गलत कुरा हो ।’ १/२ वटा हिट फिल्म दिँदैमा नयाँलाई ‘मेगास्टार’ भनिनु गलत रहेको उनको तर्क थियो । 
तेलेगु फिल्मका सुपरस्टार चिरञ्जिबीलाई ‘मेगास्टार’ भनिने गरिन्छ । बलिउडमा केही वर्षयता अभिनेता सलमान खानलाई उक्त उपाधिले सम्बोधन गरिन थालिएको छ । चिरञ्जिबी तीन दशक र सलमान झण्डै साढे दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय छन् भने एकसेएक दर्जनौं बल्कबस्टर फिल्म दिएका छन् । यस हिसाबले अनमोललाई अहिले नै ‘मेगास्टार’ भनिनु गलत हुने तर्क कतिपयको छ । 
सञ्चारकर्मी भट्टराईले अनमोललाई ‘मेगास्टार’ भन्न थालेपछि अहिले दर्शकले पनि उनलाई सोही उपाधिले सम्बोधन गर्न थालेका छन् । आइतबार बसन्त पञ्चमीको अवसर पारेर फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भयो । टिजरमा पनि उनलाई बकाइदा ‘मेगास्टार’ को रुपमा सम्बोधन गरिएको छ । टिजरको एक दृश्यमा लेखिएको छ ‘विथ ‘मेगास्टार’ अनमोल केसी ।’ 
फिल्मको टिजरको कमेन्टमा अनमोललाई अधिकांशले ‘मेगास्टार’ भनेरै सम्बोधन गरेका छन् । युट्युब प्रयोगकर्ता दीपेन्द्र बुढा कमेन्टमा लेख्छन ‘मेगास्टार’ अनमोल केसी, बबाल छ  टिजर । शतप्रतिशत बल्कबस्टर हुन्छ ।’ टिजरमा अनमोललाई ‘मेगास्टार’ को रुपमा सम्बोधन गर्ने र टिजरको मुक्तकण्ठले प्रशंसा गर्ने धेरै छन् ।
तर, सम्पूर्ण जीवन नै नेपाली फिल्मका लागि तिलाञ्जली गरेकी अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो फिल्मको हिरोलाई खुसी पार्न ‘मेगास्टार’ भनेर सम्बोधन गर्दैगर्दा अनमोलले आफूलाई ‘मेगास्टार’ भनिने स्थानमा उभ्याइसकेका छन् वा छैनन् भनेर मुल्यांकन गर्न पनि आवश्यक थियो कि ? अहिले नै ‘मेगास्टार’ भनिहाल्न हतार भएन र झरनाज्यू ? 

‘तिमी नै मेरो सास हौ’ सार्वजनिक

गायक शिव परियारको आवाजमा ‘तिमी नै मेरो सास हौ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 
प्रेम दिवसलाई लक्षित गरी यो गीत सार्वजनिक गरिएको हो । आशिष अविरलको संगीत रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ ।
गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्कालाई देख्न सकिन्छ । यही जोडीले अभिनय गरेको ‘आशुको अर्थ’ बोलको गीतले युटुबमा १ करोड बढी भ्यूज पाइसकेको छ । 

लेख

ओली प्रचण्ड अन्तरबिरोध, लोग्ने स्वास्नीको झगडा

अरुण बराल
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डवीच अन्तरविरोध चर्किएकै हो त ? दुई नेतावीच अन्तरविरोध बढेको हो भने कहाँ पुगेर, कसरी यसको बैठान होला ? यो साताको सघन राजनीतिक प्रश्न यही नै हो ।
पछिल्लो राजनीतिक परिघटनाले ओली र प्रचण्डवीच खटपट वा मतभिन्नता देखा परेको अनुमान नेकपाभित्र र बाहिर जबरजस्त गर्न थालिएको छ । दुई नेतावीच खटपट सुरु भएको खबरले कतिपयलाई खुशी तुल्याएको छ भने कतिपयमा चिन्ता बढेको छ ।
‘ओली–प्रचण्ड रिलेसन’ का अन्य पाटा पक्षलाई विश्लेषण नगरी केवल ‘भेनेजुएला प्रकरण’ का रुपमा मात्रै यो अन्तरविरोधलाई व्याख्या गर्नुचाहिँ ‘कस्मेटिक’ बुझाइ हो ।
खटपटका बाहिरी संकेतहरु
ओली र प्रचण्डवीच खटपट सुरु भएकै हो त ? सबैभन्दा पहिले यो प्रश्नमाथि विमर्श गरौं । अझ, यो प्रश्नमाथि विमर्श गर्नुभन्दा पहिले ती परिघटनाको चर्चा  गरौं, जसलाई ओली–प्रचण्ड अन्तरविरोधको ‘प्रतिविम्ब’ मानिँदैछ ।
१. प्रचण्डको वक्तव्य– प्रधानमन्त्री ओली डावोस बैठकमै रहेका बेला प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाको आलोचना गर्दै वक्तव्य निकाले । के यो वक्तव्य ओलीको शेखी झार्नकै लागि थियो ? पार्टीभित्र छलफलै नगरी वक्तव्य निकालिएको थियो ? अनि यो वक्तव्यले ओलीलाई असहज परिस्थितिमा पु¥याएकै हो त ? प्रचण्डको वक्तव्यबारे केपी ओली असहमत नै बनेका हुन् त ? प्रचण्डको जनवरी २५ को वक्तव्यले यस्ता विविध प्रश्नहरु उब्जाएका छन् ।
प्रधानमन्त्री स्वीटजरल्याण्डबाट नेपाल फर्किँदा उनलाई विमानस्थलमै पत्रकारले भेनेजुएला प्रकरणमा प्रचण्डबाट जारी वक्तव्यबारे प्रश्न सोधेका थिए । तर, ‘भट्टराई लडेर घाइते’ भन्ने टुक्का जोड्दै प्रधानमन्त्री यो प्रश्नबाट      पन्छिए । उनले प्रचण्डलाई कुनै दोषारोपण गरेनन्, बरु ‘म भर्खर त आउँदैछु, यसबारेमा बुझ्छु’ मात्रै भने ।
अन्ततः प्रधानमन्त्री ओली नेपाल आएपछि परराष्ट्र मन्त्रालयका तर्फबाट अर्को सफ्ट विज्ञप्ति जारी गरियो र प्रचण्डको वक्तव्यलाई नै सरकारले सदर गरिदियो । सरकारको यो कदमबाट प्रचण्डले थप उत्साही बने । अर्कोतर्फ, अमेरिकी राजदूत रिसाएर सरकारले बोलाएको ब्रिफिङमै आएनन् ।
२. ‘चिप्लिएको’ कुरा – यसैवीच प्रधानमन्त्री ओली र अमेरिकी राजदूत ¥याण्डी बेरीबीच बालुवाटारमा भेट भयो । सो भेटमा प्रधानमन्त्री ओलीले ‘भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्य चिप्लिएको’ व्याख्या गरेको समाचार बाहिर आयो । प्रधानमन्त्रीको यस्तो भनाइ बाहिर आइसकेपछि सरकारले दोस्रो वक्तव्य निकालेर मथ्थर पारिसकेको भेनेजुएला प्रकर–णमा फेरि ओलीप्रचण्डवीच बातयुद्ध सुरु भएजस्तो देखियो ।
प्रधानमन्त्रीले भेनेजुएलाबारे प्रचण्ड चिप्लिएको प्रतिक्रिया दिनासाथ अध्यक्ष प्रचण्डले सार्वजनिक रुपबाटै जवाफ फर्काए । भेनेजुएला प्रकरणमा पार्टीको सचिवालयले वक्तव्य निकालिसक्यो, व्यक्तिको विचारको कुनै अर्थ छैन भन्दै प्रचण्डले प्रधानमन्त्रीमाथि सार्वजनिक रुपमै कटाक्ष गरे ।
३. प्रचण्डको अर्को प्रहार– अध्यक्ष प्रचण्डले आफूलाई यतिमा मात्रै सीमित राखेनन् । उनले अर्को एक सार्वजनिक कार्यक्रममा यो पनि भने कि पुरानै तरिकाले चल्न खोज्ने हो भने अर्को माओवादी जन्मिन्छ । ठूलो लडाइँ हुन्छ ।
यसरी एकपछि अर्को गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीमाथि प्रहार गर्न थालेपछि र सार्वजनिक रुपमै भनाभन बाहिर आउन थालिसकेपछि नै नेकपाका दुई अध्यक्षवीच अन्तरविरोध बढेको अनुमान लगाउन थालिएको हो ।
हुन त यसवीचमा प्रचण्ड र ओलीवीच ‘गोप्य’ छलफलसमेत भैसकेको छ । तथापि, पछिल्लो राजनीतिक परिघटना र भनाभनले दुई अध्यक्षवीच खटपट बढेकै छैन भनेर ढुक्क हुन सकिने अवस्था पनि छैन ।
‘भेनेजुएला प्रकरण’ बाहाना मात्रै
नेकपाभित्र र बाहिरका कतिपय मानिसको बुझाइ के देखिन्छ भने ओली र प्रचण्डवीच भेनेजुएलाकै कारण अन्तरविरोध बढेको हो । र, भेनेजुएलालाई हेर्ने दृष्टिकोणमा रहेको भिन्नताकै कारण ओली–प्रचण्डवीच खटपट पर्न थालेको हो । तर, यो पूर्ण सत्य होइन । ‘भेनेजुएला’ त एउटा निमित्त कारक मात्र हो । ओली प्रचण्डको अन्तरविरोधको अन्तर्यमा अर्कै रहस्यले बढी काम गरिरहेको देख्न सकिन्छ । तर, यो अन्तरविरोध तत्काल धेरै तन्किने चाहिँ देखिँदैन ।
कम्युनिष्टहरुको एउटा खराब आदत हुन्छ, जसलाई गैरकम्युनिष्टले सजिलै देख्न वा पर्गेल्न सक्दैनन् । कम्युनिष्टले जे विषयमा विवाद गरिरहेका हुन्छन, त्यो उनीहरुको रुप पक्षमात्रै हुन्छ, सार पक्षमा अर्कै विषय हुन्छ । भन्नैलाई कम्युनिष्टहरु ‘रुप र सार’ को द्वन्द्वको कुरो गर्छन् ।
कम्युनिष्टहरुको यही भाष्यका आधारमा के भन्न सकिन्छ भने ‘भेनेजुएला प्रकरण’ रुप पक्षमात्रै हो । प्रचण्ड र ओलीवीच अन्तरविरोध बढेकै हो भने त्यसको सार पक्ष  घरेलु विषयसँगै सम्बन्धित छ । भेनेजुएला त बाहना मात्रै हो । विगतमा माओकी कान्छी श्रीमती च्याङ चिङलाई हेर्ने विषयमा नेपालका कम्युनिष्टवीच विवाद भयो । श्रीलंकाको तामिललाई कसरी हेर्ने भन्ने विषयलाई बाहाना बनाएर प्रचण्ड र मोहनविक्रम सिंहले ०४२ सालमा पार्टी फुटाए । ०५१/०५२ सालमा ‘माओवाद’ मान्ने कि नमान्ने भन्ने बाहनामा प्रचण्ड र नारायणकाजीको पार्टी फुटेको इतिहास छ । अहिले पनि विदेशकै विषयमा, अर्थात् ‘भेनेजुएलाको विषयमा विवाद भयो’ भनिँदैछ । तर, अन्तर्यमा चाहिँ विगतको जस्तै नेताहरुको जुँगाकै लडाइँले काम गरेको छ । प्रचण्ड र ओलीवीचको यदि अन्तरविरोध बढेकै हो भने पनि यो एक प्रकारको जुँगाकै लडाइँ हो ।
ओली र प्रचण्ड दुबै अप्ठ्यारोमा
प्रचण्ड र ओलीवीचको अन्तरविरोधको अन्तर्यबारे चर्चा गरिरहँदा दुबै नेताले भोगिरहेको अप्ठ्यारो र संकटको पनि चर्चा गर्न आवश्यक छ । अहिले प्रधानमन्त्रीको कुर्सीमा बसेका ओली र पार्टीको कुर्सीमा रहेका प्रचण्ड दुबै संकटमा फसेका छन् ।
१. ओलीको अप्ठ्यारो ः सरकार गठनको एक वर्ष पुग्दै गर्दा प्रधानमन्त्री ओली विकास र समृद्धिका लागि विदेशी लगानी भित्र्याउने हुटहुटीमा छन् । ठूला विकासका आयोजना अगाडि बढाउनका लागि विदेशी लगानीकर्तालाई आकषिर्त गर्नुपर्ने र दाता राष्ट्रहरुलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको बाध्यता छ ।
यही बाध्यतामा परेर प्रधानमन्त्रीले एकनाथ ढकाल र माधव नेपालका कुरा सुनेर एशिया प्यासिफिक सम्मेलनलाई सहयोग गरे । तर, त्यसले लगानीकर्तालाई आकर्षित गर्नुभन्दा पनि अन्तरराष्ट्रिय सम्बन्धलाई गिजोल्ने उल्टो काम गरिदियो । राम्रो परिणाम दिएन । लगानीकर्ताहरुलाई आकषिर्त गर्न सकिन्छ कि भन्ने ठानेर प्रधानमन्त्री ओलीले डाबोस फोरममा सहभागिता जनाए । तर, त्यो फोरमको सहभागिताले न त पश्चिमालाई आकर्षित गर्न सक्यो, न त लगानी नै भित्र्याउने गरी तत्काल फल प्राप्त भयो । यसको विपरीत, सो बैठकको सहभागिताले चीनलाई चिढ्याएको बुझाइ नेकपाकै नेताले गर्न थाले ।
प्रधानमन्त्री ओलीले यसवीचमा भारत र चीनका साथै नेपालको महत्वपूर्ण दाता राष्ट्र रहेको अमेरिकासँग पनि सम्बन्ध सुधार्ने प्रयास नगरेका होइनन् । परराष्ट्र मन्त्रीको अमेरिका भ्रमणले ओलीको प्रयासलाई एक कदम अगाडि बढाउन खोजेको थियो । तर, अमेरिकाको इण्डोप्यासिफिक  रणनीतिमा नेपाल पर्न लागेको प्रचार भयो र यसले उत्तरी छिमेकीलाई असर पा¥यो भन्ने विश्लेषण नेकपाभित्रै हुने थाल्यो । अन्ततः भेनेजुएला प्रकरणसम्म आइपुग्दा एउटा ठूलो दाता राष्ट्र (अमेरिका) सँगको सम्बन्ध पनि बिग्रिएको अवस्थामा पुगेको छ । यसमा नेकपामै नेताहरुको योगदान छ भन्ने कुरा त बलराम बास्कोटाको भेनेजुएला भ्रमण र प्रचण्डले निकालेको वक्तव्यसम्म आइपुग्दा प्रष्टै छ । यसमा छिमेकी राष्ट्रले पनि पम्म दिएको अनुमान एकथरिले लगाउँदै आएका छन् ।
आगामी मार्चमा सरकारले काठमाडौंमा लगानी सम्मेलन गर्दैछ । आउँदो जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि महत्वाकांक्षी बजेट बनाउनुपर्ने ओली सरकारको बाध्यता छ । चालु आर्थिक वर्षको पछिल्लो चौमासिक अवधिमा बजेटको कार्यान्वयन बाँकी नै छ । यो अवस्थामा सरकारले आगामी वर्षको खर्च कसरी जुटाउने र समृद्धिको योजना कसरी अघि बढाउने भन्ने हुटहुटी प्रधानमन्त्री ओलीमा देखिनु स्वाभाविकै हो । किनभने, रित्तो ढुकुटीको साँचो बोकेर आगामी तीन÷चार वर्षमा धेरै काम गर्न सकिन्न भन्ने प्रधानमन्त्री ओलीलाई पक्कै थाहा छ ।
तर, नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई भने मुलुकको ढुकुटीको दयनीय स्थितिप्रति ओलीलाई जति चासो र चिन्ता नदेखिएको ओली पक्षका नेकपा नेताहरुको आरोप छ । देशमा विदेशी लगानीको वातावरण बनाउनका लागि सरकारले प्रयास गरिरहेकै बेला विभिन्न तरिकाले भाँड्ने र आगामी मार्चको लगानी सम्मेलन असफल बनाएर ओलीलाई असफल सावित गराउने प्रयास पार्टीभित्रैबाट सुरु भएको बुझाइ ओली पक्षका नेताहरुको छ ।
अन्ततः विदेशी लगानी जुटाउने र देश विकासमा अन्तरराष्ट्रिय समुदायलाई आकषिर्त गर्ने ओली सरकारको योजना आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण अवरुद्ध हुने अवस्थामा पुगेको छ । यो अप्ठ्यारोबाट पार तर्ने हो भने अब प्रधानमन्त्री ओलीले प्रचण्डसँग मिलेर, उनलाई कन्भिन्स गरेरै अगाडि बढनुको विकल्प देखिँदैन ।
तर, प्रधानमन्त्री ओलीको कुर्सीमाथि अर्को खतराको घण्टी पनि सधैं पार्टीभित्रैबाट झुण्डिइरहेको छ । त्यो हो– वामदेव गौतम, झलनाथ खनाल र माधव नेपालहरु प्रचण्डसँग मिल्ने हुन् कि भन्ने डर । नेकपाभित्र बलियो मानिएको माधव नेपाल समूह र प्रचण्डसमूह आपसमा मिले भने पार्टीले ओलीलाई फिर्ता बोलाउने वा संसदीय दलबाट हटाएर नैतिक संकटमा पार्ने डर प्रधानमन्त्री ओलीको छैठौं इन्द्रीयले महसुस गर्न थालेको पछिल्ला परिघटनाबाट अनुमान लगाउन सकिन्छ ।
ओलीसँग टक्कर लिनेबारे प्रचण्डले तत्कालै कुनै निर्णय नगर्नेमा ढुक्क हुन सकिएला, तर पूर्वएमालेभित्रको अन्तरविरोधमा प्रचण्ड पनि प्रयोग हुने पो हुन् कि भन्ने डर ओलीको कित्तामा बढ्दै जान थालेको छ । एकातिर देशमा लगानी भित्र्याउने वातावरण बिगारेर सरकारलाई कमजोर बनाउने, अनि अर्को्ितर पार्टीभित्रै गुटबन्दी गरेर प्रधानमन्त्रीलाई सफल हुन नदिने चलखेल कतै न कतैबाट भइरहेको ओली पक्षमा त्रास देखिन थालेको छ । भारत, चीन, अमेरिका लगायतका देशसँगको सम्बन्ध बिगारेर सरकारलाई असफल पार्ने भित्री खेलहरु हुन थालेको सत्ता पक्षका नेताहरुले बताउन थालिसकेका छन् ।
हुनत प्रचण्ड निकै नै अप्ठ्यारा र परिवर्तनशील नेता हुन् भन्ने कुरा केपी ओलीलाई निर्वाचनअघि वाम गठबन्धन बनाउने बेलामै राम्रोसित थाहा थियो । तर, चुनावमा कांग्रेसलाई साइजमा राख्न र आफ्नो दलको बहुमत सुनिश्चित गर्न ओलीले प्रचण्ड नामको ‘अप्ठ्यारो घोडा’ चढेर हिँड्ने नीति लिन बाध्य भए । यही कारणले आज उनी बहुमतका साथ प्रधानमन्त्री बन्न सफल भएका हुन् । तर, यतिबेला ‘पूर्वमाओवादी’ नामको घोडा एकाएक हिनहिनाउन थालेपछि यो घोडा बुरुक्क उफ्रिने पो हो कि भन्ने डर प्रधानमन्त्री ओलीभित्र पलाउन थालेको छ ।
एमाले र माओवादीवीच पार्टी एकता हुँदै गर्दा एमालेभित्रको माधव–वामदेव–झलनाथ समूहले प्रचण्डको साथ पाउने अपेक्षा गरेको थियो । तर, ओलीले उनीहरुलाई काउन्टर गरेर प्रचण्डलाई आफ्नो साथमा लिएर चल्न सकिने जोखिम मोले । अहिले त्यही जोखिमको ‘साइड इफेक्ट’ ओली समूहले महसुस गर्न थालेको छ ।
ओलीलाई असफल पार्न विपक्षीहरु त लागेका छन् नै, स्वयं नेकपाभित्रैको गैरसंस्थापन पक्षले पनि सरकारलाई सजिलो वातावरण बनाइरहेको छैन । यसमा ओलीको कार्यशैली नै जिम्मेवार रहेको बझाइ प्रचण्ड– माधव–झलनाथ–वामदेव समूहको छ ।
२. प्रचण्ड पनि संकटमा ः ओली सरकार असफल हुँदा प्रचण्डलाई मालामाल फाइदा हुन्छ भन्ने स्थिति देखिँदैन । प्रधानमन्त्री ओली अप्ठ्यारोमा छन् । तर, प्रचण्ड झनै अक्करमा छन् । अमेरिका र पश्चिमी देशहरुसँगको सम्बन्ध ओलीको भन्दा प्रचण्डको बढ्ता खराब छ । भारतले आफूलाई ओलीलाई भन्दा बढी विश्वास गर्छ भन्ने प्रचण्डले ठानेका छन् । तर, उनी आफूलाई चीनको पनि प्यारो बनाइराख्न चाहन्छन् । प्रचण्डको यो नीतिलाई सन्तुलित सम्बन्ध भन्दा पनि अस्थिरताका रुपमा भारत र चीन दुबैले बुझ्ने गरेका छन् ।
यो स्थितिमा ओलीसँगको खटपटलाई चर्काउँदै लगेर वामदेव गौतमहरु समेतको सहयोगमा प्रचण्ड आफैं प्रधानमन्त्री बने भने देशको समस्या समाधान होला त ? त्यो अवस्थामा नेकपाले अरु बढी काम गर्न सक्ला ? दुई नेताको अन्तरविरोध तन्किँदै गयो भने यस्ता प्रश्नहरुको पनि सामना गर्नुपर्ने हुन सक्छ ।
तर, ओलीको ठाउँमा प्रचण्ड आए भने पश्चिमा देशका दाताहरुले झनै पीठ फर्काउन सक्छन् । भेनेजुएला प्रकरणमा जस्तै प्रचण्डले क्रान्तिकारिता देखाए भने त झनै नेपालको अन्तरराष्ट्रिय छवि रुस र चीनको धुरीमा पुग्न सक्छ । त्यो अवस्थामा भारतसँगको सम्बन्ध राम्रो बन्ने वा नेपालमा विदेशी सहयोग बढ्ने अपेक्षा गर्न सकिँदैन । ओली सरकारले अहिले जसरी विदेशी सहायता जुटाउन सकिरहेको छैन, प्रचण्ड आउँदा यो समस्या झन चुलिन सक्छ ।
यो भन्दा अर्को खतरनाक कुरा के छ भने शान्ति प्रक्रियाको विषयलाई लिएर   करिब चार सय माओवादी नेताहरुको मुद्दा विदेशमा पुगेका छन् । ती मुद्दाका साथै अन्तरराष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियालाई लिएर थप प्रश्न उठाउने र माओवादी नेताहरु विदेश जाँदा थुनिनु पर्ने स्थिति पनि आउन सक्छ । यो परिस्थितिमा ओलीको विकल्प प्रचण्ड बन्न सक्दैनन् ।
यसर्थ, अन्तराष्ट्रिय सम्बन्ध, विदेशी लगानी जुटाउने सवाल अनि द्वन्द्वकालीन मुद्दाको निरुपण लगायतका समस्याका कारण प्रचण्ड पनि संकटमै छन् । यो स्थितिमा उनले केपी ओलीलाई असफल बनाएर आफू सफल हुने सोच्छन् या ओलीलाई सफल बनाउँदा आफ्नो पनि राजनीतिक भविश्य सुरक्षित हुने ठान्छन् ? प्रचण्ड अगाडि तेर्सिएको यक्ष प्रश्न हो यो ।
कमसेकम केपी ओलीलाई प्रचण्डको यो अप्ठ्यारो थाहा छ । त्यसैले उनी प्रचण्डको यही कमजोरीमा खेलेर भएपनि प्रचण्डलाई आफ्नै ‘ग्रीप’ मा राखिराख्न चाहन्छन् । ओलीको साथमा रहँदा प्रचण्डले सन्तुष्टि नै नभएता पनि एक हदसम्म सुरक्षित महसुस गरिरहेका छन् । प्रचण्डले आफ्नो पार्टीलाई एमालेमा मिसाउनुको कारण पनि यही आत्मसुरक्षाको मनोविज्ञानले गर्दा नै हो । चुनावमा एमालेसँग नमिलेको भए तत्कालीन माओवादी ४÷५ सीटमा खुम्चने खतरा  थियो । पार्टी कमजोर भएपछि द्वन्द्वकालीन मुद्दाहरु ब्युँतने र जेल जानुपर्ने स्थिति पनि आउन सक्थ्यो भन्ने प्रचण्डलगायतका नेताहरुलाई राम्रैसित थाहा थियो । माओवादी नेताहरुलाई जनयुद्धले सुम्पेको भवितव्य नै यही हो भन्दा फरक नपर्ला ।
लोग्ने स्वास्नीको झगडा !
प्रधानमन्त्री ओलीसँग प्रचण्ड रिसाउनुको मूल कारण भेनेजुएला प्रकरण होइन, आन्तरिक राजनीतिमा ओलीले आफूसँग सरसल्लाह गरेनन् भन्ने प्रचण्डको असन्तुष्टि हुन सक्छ । नेकपाको कार्यकदलमा, पार्टीभित्रको पदीय बाँडफाँटमा अनि सरकारले गर्ने कतिपय नियुक्तिहरुमा प्रचण्डले आफ्नो स्पेस खोजेर असन्तुष्टि जनाएका हुन सक्छन् । यसमा भेनेजुएला प्रकरण र कतिपय कानूनहरु पुरानैखालका बनाइए भन्ने प्रचण्डको गुनासोभित्र सोही स्पेसको खोजी हुन सक्छ ।
अन्यथा, साम्राज्यवादीसँग लड्न सकिँदैन भनेर जनयुद्ध बिसाएका प्रचण्डले भेनेजुएलाकै बाहना बनाएर राष्ट्रिय मुक्ति युद्ध लड्ने पक्षमा अडान राख्छन् भनेर अनुमान गर्न सकिँदैन । साम्राज्यवादीसँग सम्झौता गर्ने नीतिमै प्रचण्डसमेत उभिएका छन् भन्ने कुरा विगतदेखि नै स्पष्ट छ । यसमा ओली र प्रचण्डको ‘लाइन’ फरक छैन । राजनीतिक लाइन, र अन्य धेरै स्वार्थहरुमा ओली र प्रचण्डवीच राम्रो मिलिभगत छ । उनीहरुको मिल्ती नभएको भए पार्टी एकता नै हुने थिएन ।
त्यसैले, कतिपय भाषणहरुमा छेडखानी चले पनि नेकपाका यी दुई अध्यक्षवीचको गठबन्धन कमसेकम तल्कालै तोडिने संकेत देखिन्न । तत्काल सम्बन्ध टुटाइयो भने दुबै पक्षलाई के कस्तो घाटा पर्छ भन्ने कुरा पक्कै पनि ओली र प्रचण्ड दुबैले आँकलन गरेकै हुनुपर्छ ।
आम जनसमुदाय र नागरिक समाजले पनि अहिले राजनीतिक अस्थिरता चाहेका छैनन् । बहुमत दिएको सरकारले जनतालाई सुशासन र विकास देओस् भन्ने जनचाहना स्वाभाविक देखिन्छ । अहिले जनताले प्रधानमन्त्री फेर्ने भन्दा पनि देशको मुहार फेरियोस् भन्ने चाहेका छन् । वर्षैपिच्छे प्रधानमन्त्री फेर्ने परिपाटीले देशलाई स्थितरता र विकास दिन सक्दैन । शायद प्रचण्डले पनि यो कुरा राम्रोसँग बुझेका छन् । प्रचण्ड र ओलीका वीचमा आएको खटपट ‘एकता–संघर्ष–एकता’ कै बाटोमा अघि बढ्ने देखिन्छ, ‘संघर्ष–एकता–संघर्ष’ को बाटोमा होइन ।
के देखिन्छ भने ओली र प्रचण्डको अन्तरविरोध श्रीमान–श्रीमतीको घरायसी झगडा जस्तै हो, यो मिल्छ । भोलि फेरि झगडा चल्छ, फेरि मिलाप हुन्छ । त्यतिबेलासम्म यस्तै असैद्धान्तिक झगडा भइरहन्छ, जतिबेलासम्म परिबन्दमा परेर बिहे गरेका दुई श्रीमान–श्रीमतीवीच पारपाचुके हुँदैन । श्रीमान–श्रीमतीको झगडामा अक्सर ‘डिभोर्स’ दिने चर्चा हुने गर्छ । अर्काेसित जाने, अर्की ल्याउने वा छुट्टिएर अलग्गै बस्ने चर्चा भइ नै रहन्छ ।
अर्को माओवादी जन्मने कुरा नि ?
प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘अर्को माओवादी जन्मन सक्छ र झन ठूलो लडाइँ हुन सक्छ’ भनेकोमा धेरै मानिसहरु झस्किएका छन् । के प्रचण्डले नेकपाबाट फुटेर फेरि आफ्नै नेतृत्वमा अर्को माओवादी जन्मन्छ भन्न खोजेका हुन् ? अब नेकपा फुट्छ व फुटाइन्छ भन्न खोजेका हुन् ?
प्रचण्डले अर्को माओवादी जन्मन्छ र ठूलो लडाइँ हुन्छ भने पनि उनी आफैंले अब त्यस्तो माओवादी जन्माउने परिस्थिति छैन । त्यो स्थिति हुने भए उनले आफ्नो पार्टीलाई एमालेमा मिसाउने नै थिएनन् । 
यहाँनेर अर्को महत्वपूर्ण पक्ष के पनि छ भने प्रचण्ड र ओलीवीच कुनै सैद्धान्तिक–वैचारिक मतभेद भएको भए त पार्टी एकता नै हुने थिएन । 
प्रचण्डले कदाचित् अर्को पार्टी बनाइहाले भने उनको स्थिति मोहन वैद्यको भन्दा पनि खराब हुन सक्छ । शक्तिहीन भएर पनि वैचारिक अडान राखेर वैद्यले जसरी बस्न सक्ने धैर्यता प्रचण्डसँग छैन ।
प्रचण्डले अब यो उमेरमा आएर विप्लवले जसरी अर्को लडाइँको तयारी गर्ने सम्भावना पनि छैन । त्यस्तो लडाइँले देश र जनतालाई पार तार्न पनि सक्दैन । त्यसर्थ, प्रचण्डले अर्को माओवादी जन्मिन्छ भनिहाले पनि त्यो ‘अर्को माओवादी’ को नेता सम्भवतः अर्कै नै हुने छ, उनी आफैं होइनन् ।
बरु, देशको स्थिति राम्रो भएन र  सरकारले राम्रो काम गर्न सकेन अनि पुरानै ढंगबाट चल्न खोज्यो भने देशमा अर्को अस्थिरता हिंसा र बितण्डा आउन सक्छ भनेर प्रचण्डले खबरदारीसम्म गरेको हुनुपर्छ, जुन स्वाभाविकै खबरदारी हो । तर, प्रचण्डले नै अब अर्को माओवादी जन्माउन लागे कि भनेर आत्तिने वा उत्तेजित हुने दुबै अवस्था देखिँदैन । जति नै भनाभन गरे पनि आपसमा नमिलेसम्म ओली र प्रचण्ड दुबैलाई सुख छैन । जनताले बहुमत दिएर पठाएको पार्टी वीचैमा फुट्नु राम्रो पनि होइन । उनीहरुले एकतावद्ध भएर जनताको पक्षमा काम गर्नु नै सबैको हितमा छ । ओली र प्रचण्ड दुबैका लागि एकापसमा भागेर टाढासम्म जान सक्ने वस्तुगत र आत्मगत दुबै परिस्थिति छैन ।
अन्त्यमा, ‘अर्को माओवादी’ जन्मिने प्रचण्डको भनाइबारे गोपाल किरातीको रोचक एसएमएसबाट बीट मारौं ः ‘अर्को माओवादी जन्मन सक्ने समाचार पढियो । संसदीय दलमा बिलाएका कारण प्रचण्डबाट यो सम्भव छैन ।’
अनलाईन खवरबाट

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१.सानो आकाशीय पिण्ड पृथ्वीको आकर्षण क्षेत्रभित्र घुम्दै जाँदा वेगले पृथ्वीतिर आकर्षित हुनाले के हुने गर्दछ । – उल्कापात
२.पृथ्वीको कुन भागमा बढी मात्रामा उल्कापात हुने गर्छ ?   – धु्रवनजिक
३.अमेरिकाको एरिजोनमा १२७५ मिटर चौडा र १७५ मिटर गहिरो खाल्डो बनाउने गरी कति वर्ष पहिले उल्का खसेको अनुमान छ ?   – करिब ५० हजार
४.धुम्रकेतु केलाई भनिन्छ ?
– आकाशीय पिण्ड टुक्रिई बनेका टुक्राहरु वायुमण्डलमा प्रवेश गर्दा घर्षण भई भम्किने वस्तु वा पिण्ड
५.धुम्रकेतुको खोजी गर्ने वैज्ञानिक को हुन् ?  – एडमण्ड हेली
६.टेम्पल टटल नामक धुम्रकेतुलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ?
– करिब ३३ वर्ष
७.पुच्छ«ेतारा के लाई भनिन्छ ?
– रातको बेला कहिलेकाहीँ आकाशमा देखिने पछिल्तिर लामो धुवाँको मुस्लो वा ज्वाला जस्तो हुने तारा
८.पुच्छ«ेताराको पुच्छर कतिसम्म लामो हुने मानिएको छ ?  – ८० करोड किलोमिटर
९.कहिलेकाहीँ आकाशमा लामो पुच्छर छोड्दै विलाउने चम्किला पिण्डलाई के भनिन्छ ? – पुच्छ«ेतारा
१०.पुच्छ«ेताराहरुको बनावट कस्तो रुपमा रहेका हुन्छ ?  – ग्यासीय बरफको डल्ला
११.हेली पुच्छ«ेतारा पहिलोपटक कहिले देखिएको थियो ?  –इसापूर्व २४० वर्ष पहिले
१२.हेली पुच्छ«ेतारालाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? – ७६ वर्ष
१३.सन् १९९४ मा वृहस्पति ग्रहमा ठोकिएर चकनाचुर भएका पुच्छ«ेतारा कुन हो ? – सुमेकर लेभी
१४.पृथ्वीको उत्तरी गोलाद्र्धमा मध्य अक्षांशबाट देखि तारामण्डललाई के भनिन्छ ?
– सप्तर्षि ९द्यष्न द्यभबच०
१५.निहारिका ९ल्भदगबिभ० केलाई भनिन्छ ?
– ताराहरुबीचको क्षेत्रमा रहेको व्यासको बादलमा ताराहरुबाट आएको प्रकाशको           विकिरणले चम्किलो देखिने वस्तु
१६.पृथ्वीबाट देखिने सबै भन्दा चम्किलो तारा कुन हो ?  – साइरस
१७.काल पुरुष ९त्जभ यचष्यल० तारामण्डल कस्तो आकारमा रहेको छ ?   – शिकारी
१८. कश्यप ९ऋबककष्यउष्ब० तारामण्डलमा कति तारा रहेका छन् ?   –पाँच (५)
१९.उत्तरी धुव्रको माथि निश्चल र अटल रुपमा देखिने तारा कुन हो ?  – धुव्रतारा ९एयबिचष्क०
२०.दि ओराइन तारामण्डलको दाहिने तर्फको कुन तारा पृथ्वीबाट देखिने सबै भन्दा ठूलो तारा हो ?
– पुनर्वसु
२१. बाघको बैज्ञानिक नाम प्यान्थेरा टाइग्रिस, सिंहको प्यान्थेरा लियो हो भने चितुवाको बैज्ञानिक नाम के हो ? — पान्थेरा पारडस 
२२. मानिसको शरीरको सवैभन्दा लामो कोषिका (ऋभिि) कुने हो ? — स्नायु कोष (ल्भचखभ अभिि)
२३. मानव शरीरमा सवैभन्दा ठुलो ग्रन्थी हुन हो ?  — कलेजो (ष्खिभच) 
२४. पातलो निन्द्रालाई अंग्रेजीमा च्भ्ः क्भिभउ र गहिरो निन्द्रालाइ ल्च्भ्ः क्भिभउ भनिन्छ भने ल्च्भ्ः को बिस्तारिक अर्थ के हो ? 
(च्भ्ः ः च्बउष्म भ्थभ ःयखझभलत, ल्च्भ्ः ः ल्यल च्बउष्म भ्थभ ःयखझभलत
२५. शुन्य डिग्री सेन्टिग्रेड हुँदा कति डिग्री फरेनहाइट हुन्छ ?  — ३२ डिग्री फरेनहाइट 
२६. “बिपत्ति भन्दा ठुलो गुरु कोही हुँदैन” भन्ने भनाई कस्को हो ?  — डिजरायली 
२७. अति सुक्ष्म मात्राको करेण्ट नाप्ने उपकरणलाई के भनिन्छ ? — गल्वनोमिटर 
२८. नेपालमा सवैभन्दा बढी साईकलको प्रयोग हुने जिल्ला कुन हो ? 
— चितवन (बिश्वमा सवैभन्दा धेरै साईकल प्रयोग हुने देश चीन)
२९. बुद्धलाई बिष्णुको कति औं अवतार मानिन्छ ?  — नवौं 
३०. बिश्वको कुन शहर निशेधित शहरको उपनामले पनि चिनिन्छ ?  — ल्हासा 
३१. नेपालको स्वीट्जरल्याण्ड भनेर कुन ठाउँलाई चिनिन्छ ?  — दोलखाको जिरी 
३२. प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन ? — भाष्कर मल्ल 
३३. मरियाना ट्रेन्चको गहिराइ कति छ ?  — ११७७६ मिटर 
३४. कुन ग्रहमा सुर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ ?  — अरुण 
३५. एसियामा कति वटा भूपरिवेस्ठित देश रहेका छन् ?  — १२ वटा 
३६. बातावरण सन्तुलनमा राख्न नेपालमा न्यूनतम कति प्रतिशत वन जंगल हुनु आवश्यक छ ? 
—४३%
३७. पानी मुनीको देश भनेर कुन देशलाई चिनिन्छ ?  — नेदरल्याण्ड 
३८. आईस कन्टिनेन्ट दक्षिणी गंग्रोटी भन्नाले के बुझिन्छ ?  — अन्टार्कटिका 
३९. कोईलाबाट बिद्युत निकाल्ने प्रबिधिलाई के भनिन्छ ?   — हाईड्रो जेनेरेशन 
४०. नेपालको निशाना छापमा कति वटा लालिगुरास छन ?  — १४  

साहित्य/सिर्जना 

आँखाले सपना देख्छ

आँखाले सपना देख्छ 
सारा संसार भिडका पछाडी भागिरहेको हुन्छ
भिड कुनै रङ्गमञ्च भन्दा कम छैन
भिडमा सहभागी हुनेहरुको त कुरै छोडौं
उनीहरुले
कुनै हिरो हिरोइनको भुमिका निर्वाह गर्न पाइरहेका छन् 
मानौं,
भिडमा बढी भाग्नेले
स्वर्ण पदक नै पाउनेवाला छ
भिड यति बिशाल छ कि !
कसैलाई पनि चिन्न मुस्किल 
को फिल्म निर्माता
को निर्देशक
को अभिनेता 
को अभिनेत्री .......
त्यही भिडमा सहभागी हुनेहरु 
एक अर्कालाई चिन्दैनन् 
र पनि !
एउटा मान्छे भिडमा जम्मा हुँदा 
अर्को पनि साथ निभाउन
भिडमा प्रवेश गर्छ
भिडमा के के न होला भनेर हुइकिन्छ
खाली हात लाग्यो शून्य मात्र हुन्छ
अनि पो !
बल्ल थाहा पाउछ 
एक्लो त उ होइन
भिड रहेछ 
बिना प्रतियोगिताको प्रतिस्पर्धा 
तै पनि 
जित्ने होडबाजीमा तछाडमछाड चलिरहेको हुन्छ
जब,
आँखा त्यो भिडको सपनाबाट बाहिर आउँछ
तब झन
आफ्नो अगाडि अर्को बिशाल भिड र आफू पनि त्यही भिडको हिस्सा भएको देख्दा
एकछिन त भ्रममा पर्छ 
बिस्तारै 
आँखा राम्ररी खोल्ने प्रयास गर्छ
अनि बुझ्छ
आँखाले देखेको सपना मात्र नभै
यथार्थ पनि हो
आँखाले देखेको न हो यथार्थ 
यस्तै सोच्दै जिब्रो
अन्तिम घडीमा पनि 
आँखाले देखेको सपनाको उपमा दिएर 
पन्छिन खोज्छ ।
पुस्पा जोशी ‘काली’ 
धनगढी, कैलाली

सूचना/सन्देश/बिज्ञापन






No comments:

Post a Comment