शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग, उत्पादनलाई बजार तथा बजारलाई रोजगारीको अवसर र आर्थिक विकाससँग जोड्ने अभिप्रायले नेपाल सरकारद्वारा गठित कार्यदलले मानव संसाधनको आँकलन तथा प्रक्षेपण कार्य गरिरहेको सन्दर्भमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाइट मार्फत वा धधध।जचउ।नयख।लउ मा रहेको यलष्लिभ विवरण तथा सुझाव संकलन फाराम यथाशिघ्र भरिदिई सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ ।
Email:-
hrp@moest.gov.np
Toll Free No.: 16600100382
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
गति लियो वोगटान सडक निर्माण कार्यले
“प्रधानमन्त्री आएर सिलान्यास गरेर गएको सडक धुलाम्य भयो भन्नु होला, धुलाम्य हुन्छ, किनकी यसको स्तरोन्नती गर्नका लागि मेसिन चल्छन्, डवल कटिङ्ग हुन्छ, त्यसपछि मात्रै हो पिस हुने ।’
गएको फागुन ७ गते, डोटी बढीकेदार गाउँपालिका–१ बिपीनगरमा रहेको केदार ज्योतिपुञ्ज क्याम्पसको प्राङ्गण खचाखच भरिएको थियो । तुल, व्यानर, राष्ट्रिय झण्डा, फुलमालाले सजाईएको मञ्चबाट प्रधानमन्त्री के पी ओलीले माथीको लाईन भने । सहजपुर–बोगटान सडक कालोपत्रे योजनाको उद्घाटनका लागि बिपीनगर पुगेका प्रधानमन्त्री ओलीले कापडीखोला पुल नजिकै कालोपत्रेको सिलान्यास पनि गरे ।
सहजपुरदेखि बागछेडा–सम्मको ५० किलोमिटर सडक ३० महिनामा कालोपत्रे भईसक्ने प्रधानमन्त्रीले आफ्नो भाषणमा भनेका थिए । “३० महिना लाग्छ, ३० महिनामा कालोपत्रे सडकमा हुईकिन पाउनु हुन्छ” उनले भनेका थिए ‘काम आजैदेखि सुरु भयो, भोलीदेखि तिव्रता पाउँछ ।’
प्रधानमन्त्रीले भने जस्तै उक्त सडक निर्माणले तिब्रता पाएको छ । सडक कालोपत्रे गर्ने प्रक्रियाका लागी डवल कटिङको सुरुवात गरिएसंगै स्थानीय बासीहरुमा आश पलाएको छ । उत्पादनका हिसावले कैलालीको चुरे गाउँपालिका र डोटीको बडिकेदार गाउपालिका फलफुल र नगदे बालीहरु धेरै उत्पादन हुन्छ । सडक कालोपत्रे भएसंगै उक्त क्षेत्रमा उत्पादित बस्तुहरुले समेत बजार पाउने स्थानीयको आश छ । बडिकेदार गाउँपालिका रामबहादुर बमले बर्षौै देखि कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेको सम्झँदै कालोपत्रे भए सहज हुने वताए । उनले भने ‘सडक कालोपत्रे हुने कामले तिब्रता पाओस ।’
सहजपुर बोगटान सडक सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लारुमा पुरानो सडक हो । उक्त सडक लामो समय देखि कच्ची सडकका रुपमा रहेको थियो । उक्त सडक स्तरोन्नतीको काम तिव्र रुपमा भईरहेकोमा स्थानीयहरु आशाबादी त देखिन्छन् तर पूर्ण रुपमा बिश्वस्त भने भईसकेका छैनन् । ‘हामीलाई त पटक पटक यस्ता धेरै आश्वासन दिईयो, जति नेता आएपनि सडककै बाचा गर्थे’ एक स्थानीयले भने ‘त्यसैले प्रधानमन्त्रीको भाषणमा पनि पुरा बिश्वास त छैन तर काम राम्रै भईरहेकाले आशा पलाएको छ ।’ आफुहरुलाई सडकमा राजनीति होईन, विकास चाहिएको तर नेताहरुले आफ्नो भावना र आवश्यकतामाथी खेलेकोले नेताहरुमाथी बिश्वास गर्न समस्या भएको उनको भनाई छ ।
उक्त सडक आयोजनामा कार्यरत ईन्जिनियर राजकुमार पोखरेलका अनुसार कालोपत्रे गर्ने कार्यका लागी नौ मिटर चौडा सडक आबश्यक पर्ने हुँदा हाल डवल कटिङ भईरहेको छ । ईन्जिनियर पोख्रेलले भने ‘कैलालीको चुरे गाउपालिका स्थित सहजपुरवाट सडकको डवल कटिङ सुरुवात गरिएको छ, काम तिब्र गतिमा भईरहेको छ ।’ कैलालीको चुरे गाउँपालिका भित्र १८ किलोमिटर र बाँकी डोटीको बडीकेदार गाउँपालिका भित्र सडक कालोपत्रे गरिने बताईएको छ ।
भारतको एक्जिम बैंकको ऋण प्रक्रियावाट उक्त सडक कालोपत्रे हुन थालेको हो । सडक सुधार आयोजना अन्तरगत सडक कालोपत्रे पुरा गर्नका लागी दुई अर्व पाँच करोड रुपैयाँ बजेट बिनियोजन गरिएकोे छ । सडक कालोपत्रे पश्चात डोटीको साकिकका १५ र कैलाली जिल्लाका २ गाबिसका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् ।
सडक डवलकटिङ गर्ने त्रममा स्थानीयको घर जग्गामा नोक्सान भए हुन थालेपछि मुआब्जाको समेत माग उठ्न थालिएको छ ।
सकियला सडक राजनीति ?
सडक कालोपत्रे योजनाको सिलान्यास गर्न बिपीनगर पुगेका ओलीको पटक पटक सिलान्यास भईसकेको सडकको फेरी सिलान्यास गर्न आएका भन्दै आलोचना पनि भएको छ ।
बोगटान सडकको नाममा ३५ बर्षसम्म लगातार राजनीति मात्रै भएको छ । पञ्चायतकालमै बोगटान सडक चुनावी मुद्धा हुँदै आयो ।
२०४२ सालमा पहिलो पटक सडक निर्माण कार्यको शिलान्यास गरिएकोमा ३३ बर्ष पछि सडक कालोपत्र गर्ने कार्यको सिलान्यास भएको छ । तत्कालीन डोटी पञ्चायत सभापति भरत वहादुर खडुकाले आफुले २०४४ सालमा सहजपुर–बोगटान सडकको सिलान्यास गरेको दावी गरेका छन् । आफैले वजेट बिनियोन गरि आफैले सिलान्यास गरेको उनको दावी छ ।
पूर्व मन्त्री स्वर्गीय सिद्धराज ओझाले बोगटान सडककै मुद्धा उठाउँदा २०४८, २०५१ र २०५६ को निर्वाचन आफ्नो पक्षमा पारे । २०६४ सालको संबिधान सभाको निर्वाचनमा भने उनको यो मुद्धा काम लागेन । उनलाई बोल्ने मात्रै काम नगर्ने भन्दै जनताले तेश्रो स्थानमा पु¥याई दिए ।
ओझाले उछालेको मुद्धा २०६४ को चुनावमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार खेम बमले उछाले । उनले सडकको नाममा ओझाले पटक पटक जनतालाई धोका दिएको तर अव आफु गर्ने भन्दै बाजी मारे । उनको पालामा पनि ओझाकै नियति दोहोरियो ।
२०७० सालको निर्वाचनमा बोगटान सडक अगाडी सारेरै प्रेमवहादुर आलेमगरले बाजी मारे । सांसद आलेको २०७४ सालको संसदीय निर्वाचनको सफलतामा पनि बोगटान सडकको ठुलै योगदान छ ।
पछिल्लो चरणमा सिलान्यासका लागि बजेट छुट्याएको जस लिने होडबाजी नेताहरुमा चलेको छ । सांसद आलेमगरले आफुले २०७० सालमा संबिधानसभा सदस्य भईसकेपछि बिशेष पहल गरेर बोगटान सडक निर्माणमा तिव्रता दिएको वताएका छन् । उनले तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको बिशेष पहलमा बजेट बिनियोजन भएको दावी गरेका छन् ।
यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व भौतिक पूर्वाधार योजना तथा यातायत मन्त्री बिरवहादुर बलायर आलेको उक्त दावी झुटा भएको वताउछन् । उनले २०७१ सालमा नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार एक्जिम बैङ्कबाट आएको सहयोगमध्ये दुई अर्व बोगटान सडकमा हालेको दावी गरेका छन् । उनले तत्कालीन अर्थमन्त्री रामशरण महतले आर्थिक बर्ष २०७२÷०७३ को बजेट बक्तव्य मार्फत बोगटान सडकमा बजेट बिनियोजन गरेको वताए । आफु मन्त्री हुँदा नै कालोपत्रेका लागि टेण्डर भएको र सोही अनुसार काम भईरहेको बलायरको भनाई छ ।
सम्पादकीय
अव “विप्लव” होईन “शान्ति”
गत साता नेपाल सरकारले एक महत्वपूर्ण तर अविवेकी निर्णय ग¥यो । नेत्रबिक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अपराधिक समूह भन्दै प्रतिवन्ध लगायो । भारत्वको हिसावले यो निर्णय महत्वपूर्ण मान्न सकियला तर यो निर्णय अविवेकी भने पक्कै हो । मुलुक राजनीतिक हिंसाबाट बाहिर निस्केको धेरै समय भएको छैन, अझै भन्नु पर्दा यो वा त्यो तरिकाबाट अहिले पनि राजनीतिक हिंसा भईरहेको छ ।
२०५२ सालदेखि २०६३ सालसम्म चलेको सशस्त्र द्वन्द्वका घाउहरु अझै भलाएका छैनन् । शान्ति प्रक्रियाका थुप्रै कामहरु अहिले पनि बाँकी छन् ।
यस अर्थमा सरकारले गरेको यो महत्वपूर्ण निर्णय अविवेकी हो । जसरी सरकारले झोँकमा आएर अपराधिक समूह भन्दै प्रतिवन्ध लाउने निर्णय ग¥यो, त्यही झोँक देखाएर ‘विप्लव’ ले ‘विप्लव’ शव्दको वास्तविक परिभाषा आउने गरी उपद्रो मच्चाउन थाले भने यसको जिम्मेवारी लिन तयार छ त सरकार ? हिजोका दिनमा टाउकोको मुल्य तोकिएकाहरुले उपद्रो के हुन्छ भन्ने कुरा राम्रोसंग बुझेको हुनु पर्छ । सरकारको नेतृत्व गर्ने र सरकारलाई सहयोग गर्नेहरु सवै हिजोका दिनमा राजनीतिक ‘विप्लव’ गरिसकेका व्यक्ति हुन । त्यतिवेलाको सरकारले उनीहरुमाथी प्रतिवन्ध लगाएका कारण अहिलेको सरकारले पनि प्रतिवन्ध लगाउनै पर्छ भन्ने मान्यता हो भने त ठिकै होला नत्र यो ठिक मान्न सकिदैन ।
सरकारले जे गरोस तर विप्लव अव साँच्चै ‘विप्लव’ हुनु हुँदैन । विप्लव अव ‘शान्ति’ हुनु पर्छ । बिगतमा जनताले वगाएको रगत, गरेको त्याग, गुमाएका आफन्त, भत्काएको शरीर, यि सवै कुराको पुनःस्मरण गर्नु पर्छ विप्लवले । राज्यले जवरजस्ती उपद्रो मच्चाउनतिर धकल्यो भन्ने वहाना वनाउने होईन राज्यले गरेको परिभाषाको ठिक उल्टो हुनु पर्छ । शान्ति प्रक्रियाका माध्यमबाटै आफुलाई स्थापित गर्न सक्नु पर्छ । जनताले अव अर्को उपद्रो सहन सक्ने अवस्थामा छैनन् ।
त्यसै पनि अव विगतको जस्तो सशस्त्र विद्रोह गर्नु त्यति सहज छैन । विप्लवका लागि विगतका सहकर्मीहरु अहिलेका दुस्मन हुनेछन् । उनीहरुलाई युद्धका सवै तकनिकीहरु थाह छन् । सवै सेल्टरहरु थाह छन । सञ्चार उपकरणहरु, अन्य भौतिक पूर्वाधारहरु सवै सशस्त्र बिद्रोहको पक्षमा छैन । समग्रमा भन्दा बर्तमान राष्ट्रिय राजनीतिक परिवेश पनि बिद्रोहको पक्षमा छैन । अन्तराष्ट्रिय परिवेशको त झन के कुरा गर्नु ! त्यसैले पनि जनताले तत्कालै बिश्वास गर्ने अवस्था पनि हुँदैन ।
बिगतमा भएका क्रान्तीका नेतृत्वकर्ताहरु सत्तामा पुग्दै आफ्नो दुनो सोझ्याउँदै गरेको जनताले विर्सेका छैनन् । ‘जति जोगी आएपनि कानै चिरेका’ भन्ने उखान चरितार्थ भएको छ । विप्लव कमरेड स्वयंका सहयात्रीहरु पनि धमाधम रातारात करोडपति हुँदैछन् । हिजोका दिनहरुमा रक्सी खायो भन्दै घाटी रेट्नेहरु अचेल २४ सै घण्टा नसामा झुमेका हुन्छन् । हिजोका दिनमा तास खेलेको आरोपमा हात काट्नेहरु आज क्यासिनो चलाउने भईसकेका छन् । त्यसैले जनताले अवको बिद्रोहलाई बिश्वास गर्ने अवस्था तत्काल देखिदैन ।
अव हिंसा होईन, शान्ति, ध्वंस होईन विकास, वोली होईन काम गरेर देखाउनु पर्ने वेला आएको छ । अव शैनिक अभ्यास होईन, सडक निर्माणमा अभ्यास गरौं, अव गोला बारुद वनाउने अभ्यास होईन, आलु उत्पादन गर्ने अभ्यासमा लागौं । राजनीतिक अस्थिरताकै कारण नेपाल झनझन गरीव मुलुक बन्दै गईरहेको यथार्थ विप्लवले पनि बुझेका छन् । त्यसैले यो यथार्थलाई ध्यान दिएर अव फेरी अर्को राजनीतिक अस्थिरतातिर जाने काम गर्नु कदापी राम्रो हुँदैन । बरु शान्तिपूर्ण राजनीतिक वाटोमा आएर सरकारको उक्त अविवेकी निर्णयको ओठे जवाफ दिन तयार हुनु प¥यो विप्लव कमरेड ।
थप समाचार
श्रीमान्लाई बन्ध्याकरण गर्न दिदैनन् महिलाहरु
रामहरी ओझा
चैत्र ५, डोटी
डोटी बडीकेदारकी अनिता (नाम परिवर्तन) सोमवार बिहान आफ्ना श्रीमान्संगै बडीकेदार गाउँपालिका–२ खड्यौली पुगिन् । उनी स्थायी बन्ध्याकरणका लागि त्यहा पुगेकी थिईन । उनका श्रीमान्ले आफु स्थायी वन्ध्याकरण गर्ने जिद्धि गर्दै थिए तर अनिताका अगाडी उनको जिद्धिले काम गरेन् । अनितालाई स्वास्थ्यकर्मीहरुले पनि सम्झाउन खोजे तर उनी एक सुनिनन् । अन्ततः आफ्नै मिनिल्याप गराईन् ।
अनिता डोटीका अधिकांश महिलाहरुले आफ्ना श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न नदिने गरेको पाईएको छ । आदर्श गाउँपालिकामा पनि महिलाहरुले श्रीमान्लाई स्थायी वन्ध्याकरण गर्न नदिई आफै गरेको डोटी जिल्ला अस्पतालका चिकित्सक डा गिरिश अवस्थी वताउँछन् । “दुई जना पुरुषहरु आएर लाईनमै बसिसक्नु भएको थियो” डा अवस्थीले भने ‘उहाँहरुका श्रीमती आउनु भयो र आफु स्थायी वन्ध्याकरण गर्ने भन्दै नाम टिपाउनु भयो ।’
नेपाल सरकारको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय स्वास्थ्य संस्थाहरुको समन्वयमा नेपाल परिवार नियोजन संघ डोटी शाखाले जिल्लाका १६ स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउने दुई सय १६ मध्ये एक सय ६७ महिला रहेका छन् । यो संख्या सेवा लिने कुन संख्याको ७७ प्रतिश हुन आउँछ । प्रत्येक स्थानीय तहमा दुई दिन गरी १८ दिनसम्म सञ्चालन भएको शिविरमा सवैभन्दा बढी आदर्श गाउँपालिकामा ५१ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । यस गाउँपालिकामा जम्मा ६० ले उक्त सेवा लिएका थिए ।
यस्तै सायल गाउँपालिकामा २२ मध्ये १९ महिला, दिपायल सिलगढी नगरपालिकामा ३० मध्ये २२ महिला, के आई सिंह गाउँपालिकामा ११ मध्ये नौ महिला र शिखर नगरपालिकामा १० मध्ये ६ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । स्थायी बन्ध्याकरण सुविधा लिनेहरुमा पूर्वीचौकी गाउँपालिकामा २६ मध्ये २५ महिला, जोरायलमा १७ मध्ये १२ महिला र बडीकेदारमा २५ मध्ये १७ महिला रहेका छन् । बोगटान गाउँपालिकामा भने पुरुषको संख्या बढी देखिएको छ । यस गाउँपालिकामा बन्ध्याकरण सेवा लिने १५ मध्ये नौ पुरुष रहेका छन् ।
“हामीलाई थाह छ, पुरषहरुले बन्ध्याकरण गरे धेरै कमजोर हुन्छन्’ छिमेकीको उदाहरण दिँदै नाम नखुलाउने शर्तमा एक महिलाले भनिन् ‘उहाँ पहिले धेरै बलियो हुनुहुन्थ्यो तर अचेल केही काम गर्न थाले कम्मर दुख्यो भन्नु हुन्छ ।’ उनले श्रीमान्ले भन्दा आफैले वन्ध्याकरण गर्नु उपयुक्त लागेको वताईन ।’
पुरुषहरुले बन्ध्याकरण गरे शारीरिक रुपमा कमजोर हुने भन्दै महिलाहरुले आफ्ना श्रीमान्लाई बन्ध्याकरण गर्न नदिने गरेको वताउँछन् नेपाल परिवार नियोजन संघ डोटी शाखा प्रवन्धक चेतराज फुलारा । उनी भन्छन् ‘महिलाहरु कामका लागि वाहिर जानु पर्ने भएकाले कमजोरी हुन्छन् भन्ने मान्यता राखेको पाईयो, जति सम्झाएपनि मान्दैनन् ।’ पुरुषहरुले बन्ध्याकरण गरे यौन क्षमतामा पनि ह«ास आउने भ्रम महिलाहरुमा परेको र यसले गर्दा उनीहरुले श्रीमान्लाई बन्ध्याकरण गर्नबाट रोक्ने गरेको फुलाराले वताए । श्रीमतीले मात्रै नभएर अन्य आफन्त महिलाहरुले पनि पुरुषलाई बन्ध्याकरण गर्नबाट रोक लगाउने गरेको पाईएको फुलाराको बुझाई छ ।
बन्ध्याकरण गर्दा शारीरिक रुपमा कमजोरी नहुने वताउँछन् डा अवस्थी । उनी भन्छन् ‘महिलाहरुभन्दा पुरुषहरुलाई स्थायी वन्ध्याकरण गर्न सजिलो हुन्छ, पुरुषहरुमा जोखिम पनि कम हुन्छ ।’ उनले सामान्य ढाड दुख्ने समस्या हुन सक्ने तर अन्य कुनै समस्या नहुने वताए । महिलाहरु श्रीमान्माथी निर्भर भएका कारण उनीहरुले श्रीमान्लाई केही भई पो हाल्छ कि भनेर डर मान्ने गरेको अवस्थीको बुझाई छ ।
सेवा लिने १९ बर्षीयदेखि ५० बर्षीयसम्म
शिविरमा १९ बर्षीय एक युवकले पनि बन्ध्याकरण सेवा लिएका छन् । एक छोरा र एक छोरीका बुवा उनले पारिवारिक सल्लाह अनुसारै आफुले स्थायी बन्ध्याकरण गर्न लागेको वताए । शारीरिक रुपमा अशक्त उनले भने ‘मेरो आर्थिक अवस्था पनि कमजोर छ ।’ उनले दुई सन्तान भईसके अव अर्को सन्तान जन्मे थप आर्थिक समस्या हुने भन्दै स्थायी बन्ध्याकरण रोजे ।
यस्तै ५० बर्षीया पुरुषले पनि स्थायी बन्ध्याकरण गराएका छन् । चार छोरा चार छोरी गरी आठ सन्तानका बुवा उनी भन्छन् ‘थप सन्तान हुने डरले बन्ध्याकरण गराउँदैछु ।’ बन्ध्याकरण सेवा लिनेहरुमा २२ बर्षीया महिलादेखि एउटा मात्र सन्तानका बुवासम्म रहेको फुलाराले जानकारी दिए ।
शिविरमा एक सय २३ को शल्यक्रिया
शुक्रवारदेखि डोटीको दिपायलमा सञ्चालन भएको निशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय २३ जनाको शल्यक्रिया भएको छ ।
डोटी चेम्वर अफ कमर्शको आयोजनामा सञ्चालन भएको शिविर आईतवारसम्म चलेको थियो । शिविरमा एक सय २३ को शल्यक्रिया गरिएको आयोजक संस्थाका अध्यक्ष खगेन्द्रवहादुर साउँदले जानकारी दिए । शिविरमा एक सय ६५ जनाको शल्यक्रिया हुने अनुमान गरिएको थियो ।
डोटी चेम्बर अफ कमर्सले गत फाल्गुन १७ देखि २७ गतेसम्म आयोजना गरेको प्रादेशिक महोत्सवको अवसरमा निःशुल्क आँखा जाँच शिविरमा एक हजार ६ सय ८५ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये एक सय दुई जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । उक्त शिविरबाट चार सय ३२ जनाले निशुल्क चस्मा पाएका थिए ।
महोत्सवमा सञ्चालित शिविरबाट शल्यक्रियाका लागि छनौट गरिएका मानिसहरु र बाँकी २१ जना पछि आएर थप भएको जनाइएको छ । धनगढी नेत्रालय, च्यारिटी हेल्थ फाउण्डेशन, जिल्ला अस्पताल डोटी, शैलेश्वरी अस्पताल, चोपडा अस्पताल र सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सञ्चालित उक्त शिविरबाट अरु थप सेवाग्राहीहरुले समेत आँखा सम्बन्धी उपचार सेवा लिएका छन् ।
शिविर सञ्चालनबाट जिल्ला भित्रका र बाहिरका मानिसहरुले समेत सेवा लिएको आयोजक संस्थाका सचिव तेजवहादुर डुम्रेलले जानकारी दिए । आँखाको उपचारकै लागि जिल्ला बाहिरका अस्पतालहरुमा धाउनु पर्ने र आर्थिक अवस्था कमजोर भएका मानिसहरुका लागि निःशुल्क सेवा प्रदान गरेकोमा सेवाग्राहीहरुले आयोजक डोटी चेम्बर अफ कमर्सलाई धन्यवाद दिए ।
सवारी दुर्घटनामा एकको मृत्यु
डडेल्धुराको गन्याधुरा गाउँपालिका–३ गुयलखेतमा भएको हाइस दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका–६ का २६ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । स्रोतका अनुसार साउँद प्रहरी जवान हुन ।
उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् । घाईतेमध्ये डोटी खातिवडाका ५७ बर्षीय कैल्या ढोलीको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।
सामान्य घाइते हुनेमा दिपायल सिलगढी नगरपालिकाका ५० वर्षीया कला दमाई, ३७ वर्षीया लक्ष्मी नेपाली दमाई, शिखर नगरपालिका–११ का ६२ वर्षीय जय दमाई उनकी श्रीमती ४५ वर्षीया विस्ना दमाई र उनका छोरा ३ वर्षीय उद्यव दमाई, शिखर नगरपालिका–११ डोटीका ४० वर्षीय राजु नेपाली रहेका छन् ।
यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का ६२ वर्षीय ईश्वर सिं टमटा र कैलालीको जानकी गाउँपालिका–२ का वीरबहादुर रोक्का मगर रहेको जिल्ला प्रहरी कार्यलय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।
घाइते सबैको डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । हाइस चालक विनय बोहरा र गाडीधनी देव सिंहभाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । थप यात्रु भर्नका लागि गाडी रोकेर चालक बाहिर निस्केको थिए । स्टार्ट अवस्थामै रहेको हाइस अचानक ‘व्याक’ गएर झाडीमा खसेको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । डडेल्धुराको के आइ सिंह राजमार्ग अन्तर्गत भएको उक्त दुर्घटनामा हाइस सडकभन्दा ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
छाउपडी मुक्त नगर घोषणा गर्न जनप्रतिनिधीको प्रतिवद्धता
गणेश मौनी/शिखर
चैत्र ४
डोटीको शिखर नगरपालिकालाई छाउपडी मुक्त नगर घोषणा गर्न जनप्रतिनिधीहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् ।
सोमबार फाया नेपालले शिखर नगरपालिकाको समन्वमा आयोजना गरेको महिला सवालमा केन्द्रीत छलफल कार्यक्रममा नगरभित्रका सम्पूर्ण जनप्रतिनिधीहरुले यस आर्थिक वर्षभित्र छाउपडी मुक्त नगर घोषणा गर्न समुदाय, विद्यालय स्तरमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरि कार्ययोजना सहित अघाडी बढ्ने प्रतिज्ञा गरे ।
छाउपडपी प्रथा एक सामाजिक कुरुती भएको हुदाँ यसको अन्यका लागि नगरपालिकाले विभिन्न जनचेतनामुलक अभियानहरु संचालन गर्दै आईरहेको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । उनले भने ‘महिनावारी महिलाको नियमित प्रक्रिया हो तर यसलाई परम्परागत चलन अनुसार यसलाई ठुलो रुपमा लिईयो आज समस्याको रुपमा देखा परेको छ । पहिलेको भन्दा अहिले धेरै सुधार भईसक्यो, नगरभित्र छाउपडी गोठ छैनन् सरसफाई गर्नमा केही समस्या होला त्यो अलग कुराहो त्यसैले यस नगरपालिकालाई यसै आर्थिक वर्षभित्र छाउपडी मुक्त छाउपडी मुक्त नगर घोषणा गर्छौं ।’ यस अभियानलाई सहयोग गर्ने संघ संस्था समुहहरुलाईपनि पुर्ण रुपमा सहयोग गर्ने समेत जोशीले बताए ।
छाउडपी प्रथा महिलाहरुको निममित रुपमा हुुने एक प्रकाको प्रक्रिया तर यसलाई सामाजिक कुरुतिसंग जोडेर विभेद गरेका कारण महिलाहरुले यसका शिकार हुनु परेको शिखर नगरपालिकाकी नगर उपप्रमुख धौली देबी रावलले बताईन् । उनले भनिन छाउपडी प्रथा जस्ता कुप्रथा विकृति बिसंगतीका विरुद्धमा हामीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु निरन्तररुपमा संचालन गरीरहेका छौं तर चाहेजस्तो सहज छैन् समय लाग्छ । नगरपालिकाभित्रका कुनै पनि दिदीबहीनी, छोरीहरु, आमाहरुलाई कुनै पनि हालतमा महिला हिंसा, भेदभाव, घरेलु हिंसामा परेमा आफुलाई जानकारी गराउन सहेर नबस्न समेत आग्रह गरिन् ।
सुदुरपश्चिममा सामाजिक करुुतीको रुपमा ब्याप्त रहेको छाउपडी प्रथाका कारण डोटीमा पनि थुप्रै महिलाहरुले अकालमै ज्यान गुमाएका छन् । केही केही महिलाहरु विभिन्न रोगका सिकार भएका छन् । नेपाल सरकारले छाउपडी प्रथालाई एक कुप्रथाको रुपमा लिएको भएपनि अहिले सम्म यसको पूर्ण रुपमा अन्य हुन सकिरहेको छैन् । यसको अन्येका लागि सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न अभियानमुलक कार्यक्रमहरुको आयोजना गर्दै आईरहेका छन् ।
पछिल्लो समयमा डोटीको शिखर नगरपालिका, बडीकेदार गाँउपालिका र दिपायल सिलगढी नगरपालिकामा फाया नेपालले पनि हाम्रो नेतृत्व परियोजना अन्र्तगत महिलाहरुको सवाल छाउपडी प्रथा, महिला अधिकार, महिला सहभागिताका क्षेत्रमा विभिन्न तालिम, गोष्ठी र वकालतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
बिभिन्न समयमा बिभिन्न तहबाट छाउपडी प्रथा बिरुद्धमा आवाजहरु उठ्दै आएका भएपनि यसलाई समाधान गर्नका लागि ठोस कार्ययोजना निर्माण हुन नसक्दा यो समस्या जस्ताको त्यस्तै छ ।
छोटकरी समाचार
दुई पटक भूकम्प
सुदूरपश्चिममा दुई पटक भुकम्पको धक्का महशुस भएको छ । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको हो ।
सोमवार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको थियो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलब ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नविन विश्वकर्माले जानकारी दिए ।
महोत्सवमा ३५ लाख फाईदा
कैलाली उद्योग बाणिज्य संघले धनगढीमा आयोजना गरको सुदूरपश्चिम महोत्सवबाट ३५ लाख ६९ हजार आठ सय ७१ रुपैयाँ फाईदा भएको जनाएको हो ।
संघका अध्यक्ष पुष्पराज कुँवरले एक करोड २३ लाख ६८ हजार नौ सय पाँच रुपैयाँ आम्दानी भएकोमा ८७ लाख ९९ हजार ३४ रुपैयाँ खर्च भएको आयव्यय सार्वजनिक गरे । फाराम विक्रीबाट १६ हजार, स्टल भाडाबाट २९ लाख ६४ हजार, टिकट विक्रीबाट ४५ लाख १२ हजार ६ सय ५५, पार्किङबाट २० हजार दुई सय ५०, प्रायोजक हरुबाट २४ लाख ८४ हजार, हेलिकप्टरद्वारा सिटी टुरबाट एक लाख ७२ हजार र रमाइलो मेलाबाट २२ लाख रुपैयाँ आम्दानी भएको संघले जनाएको छ ।
खेल समाचार
गौरीगंगामा व्याडमेण्टन प्रतियोगिता हुने
कैलालीको गौरीगंगा नगरपालिकामा प्रथम गौरीगंगा कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
बुधवारदेखि प्रारम्भ हुने डिभिजन ए र डिभिजन बी प्रतियोगिताको गौरीगंगा ब्याडमिन्टन क्लबलले आयोजना गर्न लागेको हो । दुव्र्यशनी विरुद्ध समाजको निर्माण गर्ने उद्देश्यले ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको आयोजक क्लबका अध्यक्ष चक्रबहादुर कलेलले जानकारी दिए ।
क्लबमा आबद्ध भएका खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि पनि प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ । उक्त प्रतियोगितामा १० जोडी खेलाडी डिभिजन ए र सिकारु खेलाडी डिभिजन बीमा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
२०७१ सालमा दर्ता भएको ब्याडमिन्टन क्लव कैलालीमै पहिलो रहेको क्लबका अध्यक्ष कलेलको दावी छ । प्रतियोगितामा ए र बी डिभिजनका विजेतालाई समान १०/१० हजार रुपैया र उपविजेतालाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने जनाइएको छ ।
सुदूरपश्चिम बन्यो च्याम्पियन
मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश च्याम्पीयन भएको छ ।
७ स्वर्ण ७ रजत र १० कास्य पदकमा तीन स्वर्ण जित्दै सुदुरपश्चिमले पहिलो स्थान हासिल गरेको हो । आयोजक सुपले तीन स्वर्ण एक रजत र ३ कास्य सहित ७ पदक पाएको हो ।
यसैगरी प्रदेश नम्बर १ दोस्रो भएको छ । एक स्वर्ण तीन कास्य र दुई रजत सहित प्रदेश १ ले ६ पदक पायो । प्रदेश नम्बर ५ पनि एक स्वर्ण दुई रजत जित्दै तेस्रो भयो । प्रथम भएको सुदुरपश्चिमले नगद १५ लाख दोस्रो भएको प्रदेश १ ले नगद ८ लाख र तेस्रो भएको प्रदेश ५ ले नगद ५ लाख सहित ट्रफी प्राप्त गरेका छन् ।
प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ एक स्वर्ण एक रजत पदक सहित संयुक्त रुपमा चौथो भए । गण्डकी प्रदेश ३ रजत सहित पाँचौ हुँदा कर्णाली एक रजत सहित छैटौं भयो । पुरुष फुटबलमा प्रदेश नम्बर १ लाई ३–१ ले हराउँदै सुदुरपश्चिमले स्वर्ण जित्यो । प्रदेश १ ले रजत पाउँदा प्रदेश २ ले कर्णाली प्रदेशलाई ४–० ले हराउँदै कास्य पदक पायो । महिला क्रिकेटमा पनि प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले स्वर्ण जित्यो । प्रदेश १ ले कास्य पाउँदा प्रदेश ३ लाई हराउँदै प्रदेश ५ ले रजत जित्यो । पुरुष क्रिकेटमा प्रदेश २ ले गण्डकी प्रदेशलाई हराउँदै स्वर्ण जित्यो । गण्डकीले रजत पाउँदा प्रदेश १ ले सुदुरपश्चिमलाई हराउँदै कास्य पदक प्राप्त गर्यो ।
चलचित्र/मनोरञ्जन
“द भ्वाईस” रियालिटी शो १० सम्म
अनलाईन खवर
विश्वकै चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस’ नेपाल भित्रिसकेको छ । यो शोको पहिलो श्रृङ्खलाले दर्शकको अत्याधिक माया पनि पाएको छ । अब यो शोको दोश्रो श्रृङ्खला सुरु हुने भएको छ । हिमालय टीभी एचडीमा यो शोको प्रसारण असारबाट हुने बताइएको छ ।
आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको बिषयमा जानकारी गराइएको हो । सिजन २ को डिजिटल अडिसनको समय अब एक सातामा सकिने भएको छ । कार्यक्रमको निर्माण टिमले दिएको जानकारी अनुसार चैत्र १० गतेबाट डिजिटल अडिसन सकिनेछ ।
माघको १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा करिब १० हजार प्रतिभाहरुले आफ्नो आवाजबाट पहिचान बनाउने उद्देश्यले अडिसन दिएको बताइएको छ । विश्वभर छरिएर रहेका प्रतिभाले ‘द भ्वाइस अफ नेपाल’को मोबाइल एप डाउनलोड गरेर अडिसन दिन सकिनेछ । साथै, फेसबुक वा भाइबरजस्ता म्यासेजिङ एपमार्फत पनि आफ्नो स्वर रेकर्ड गर्न सकिने बताइएको छ । अडिसनलाई सहज र सुलभ बनाउनका लागि यसपटकदेखि सामाजिक संजालमार्फत पनि अपाm्नो स्वर पठाउन सकिने व्यवस्था गरिएको यो शोका निर्देशक एवं निर्माता लक्ष्मण पौडेलले जानकारी दिएका छन् ।
यस्तै, यसपटकदेखि फोन गरेर पनि आवाज रेकर्ड गर्न सकिनेछ । आयोजकले दिएको जानकारी अनुसार ९८२३६१४१८५ मा फोन गरेर अडिसन दिन सकिनेछ । एएनसी इभेन्ट म्यानेजमेन्टले यो चर्चित रियालिटी शोलाई नेपाल भित्राएको हो ।
नेपाली चित्रकला सिक्दै चिनियाँ कलाकार
नेपाली चित्रकला र कलाकारको चित्रकारितामा लोभिएका चीनको सान्दोङ निवासी सी यिछी त्यहाँको चित्रकलाका शिक्षक हुन । नेपाली कला र संस्कृति साह्रै राम्रो लागेको ललितपुरको पाटनस्थित दरबार स्क्वायरमा चित्रकला सिक्दै गरेका ‘सी’ले संक्षिप्त प्रतिक्रिया दिए ।
उनलाई अङ्ग्रेजी र नेपाली दुवै भाषा आउँदैन । कसैसँग कुरा गर्नुपर्दा मोबाइलमा भएको सफ्वेयरमा चिनियाँ भाषा टाइप गर्छन । त्यसलाई अङ्ग्रेजीमा रुपान्तरण गरेर कुराकानी गर्छन् । एक हप्ता अघिदेखिको उनको दिनचर्या यसै गरी बितिरहेको छ । नेपाली कला संस्कृति र भौतिक संरचनासँगै आकर्षक रहेको र यहाँका सर्वसाधारण सबै इमान्दार र सहयोगी लागेको भन्दै उनले यस्तो भएपछि नेपालमा पर्यटक आउन चाहने प्रतिक्रियासमेत दिए ।
चीनमा कलाकार धेरै भएपनि चित्रकारिताको शैली एकै खालको रहेको उल्लेख गर्दै ‘सी’ले नेपाली कलाकारको शैली फरक लागेर सिक्न आएको बताए । नेपालका मौलिक, पुरातात्विक र ऐतिहासिक महत्वका क्षेत्रमा पुगेर ‘सी’ले स्थलगत रुपमा चित्र बनाएरै नेपाली चित्रकला सिकिरहेका छन् । सोही सिलसिलामा उनी पोखरा समेत पुगेका छन् ।
यसअघि भारतका १५ कलाकार आएर नेपाली कला र संस्कृतिका चित्र क्यानभासमा उतारेका थिए । अअन्य देशवाट पनि आउने गरेका कलाकारहरु बताउँछन् ।
लेख
‘उ धिमे बजाउने केटी आई’
ऋग्देव शर्मा
‘उ धिमे बजाउने केटी आई’
मानिसहरुले खिस्याएर भनेका हुन् कि अचम्म मानेर भन्ने वास्तै नगरी इन्दिरा लाछिमस्यु मुसुक्क हाँस्दै हात हल्लाइ दिन्थिन् ।
उनलाई कमैले नामले बोलाए । धेरैले त ‘ओ धिमे ! ओ धिमे !’ भन्थे । त्यसमा इन्दिरालाई लाज होइन, गर्व लाग्यो । केटीले धिमे बाजा बजाउनु त परको कुरा, छुन पनि हुँदैन भन्ने समयमा इन्दिराले लिएको सकारात्मक सोचले नै उनलाई ‘धिमे गर्ल’ को परिचय दिएको छ ।
२४ वर्ष पहिले उनले धिमे बाजा बजाउन थाल्दा छरछिमेकमा कसैले केटीले बाजा बजाउन सक्छन् भन्ने सोचेकै थिएनन् । उनले सोचिनन् मात्र, बजाएर देखाइन् । ‘बाजा बजाउने कस्ती केटी रहिछे’ भन्नेहरु नै अहिले उनको प्रशंसा गर्छन् । संस्कृति जोगाउन भूमिका खेलेकोमा सम्मान गर्छन् ।
‘त्यो बेलाको समाज नै त्यस्तो थियो । अहिले त सबैजनाले रहर गर्छन्, केटा र केटीमा केही फरक छैन । सिकाउने बेलामा होस् कि बजाउने बेलामा, को केटा को केटी भन्ने नै हुँदैन,’ हँसिलो अनुहारमा इन्दिराले सुनाइन् ।
‘बाजा बजाउन एकदमै रमाइलो लाग्छ । आफूले रमाइलो मानेन भने सुन्नेलाई पनि रमाइलो लाग्दैन नि त । भक्तपुरमा बजाइने नौ बाजा, दाखा भजनमा प्रयोग हुने बाजादेखि धिमेसम्म बजाउँछु ।’
नयाँ पुस्तालाई उही ज्ञान
ता – ता, खः – खः, घेँ – घेँ, झेँ – झेँ ‘धिमेको बोल उच्चारण गरिरहेकी इन्दिराको वरपर केही साना विद्यार्थी काँधमा धिमे बाजा भिरेर उनकै बोल पछ्याइरहेका छन् । केही बोल उच्चारण गराएपछि उनले कसरी बजाउने पनि सिकाइन्, विद्यार्थीहरुले त्यसैलाई दोहो¥याए ।
इन्दिराले भक्तपुरस्थित एभरेस्ट इंग्लिस स्कूलका बालबालिकालाई जस्तै नयाँ पुस्तालाई धिमे सिकाउन थालेको पनि २१ वर्ष पुग्यो । अहिले उनले एभरेस्ट स्कूलसँगै भक्तपुरकै ब्रहृमायणी आधारभूत विद्यालय र घरैमा खोलेको ख्वप संगीत संस्थानमा धिमे सिक्न चाहनेलाई सहयोग गरिरहेकी छन् ।
तपाईँका विद्यार्थी कति भए होलान् त ? प्रश्न सुनेपछि इन्दिरा एकैछिन अडिइन् । ‘ओहो ! कति भयो कति, १२÷१५ सय पुगे कि ? आफ्ना विद्यार्थीबारे लेखेर राख्नुपर्ने रहेछ, त्यसमा विचार नै गरिएन,’ उनले भनिन् । बहृमायणी आधा–रभूत विद्यालयमा स्थानीय विषयको शिक्षिकासमेत रहेकी उनी बाँकी समय बाजामा नै व्यस्त हुन्छिन् । साना केटाकेटीलाई आफूले सिकेको ज्ञान बाँड्न पाउँदा इन्दिरा खुब रमाउँछिन् । त्यसले धिमे बाजाको संरक्षण गर्न सजिलो भइरहेको छ जस्तो उनलाई लाग्छ ।
नयाँ पुस्ताले चाख मानेको देखेर उनलाई आफ्नो समय याद आउँछ । धिमे बाजासँगै नौ बाजामा पनि रमाउने उनी पुराना दिनहरु सम्झिँदा आफू यहाँसम्म पुगुँला जस्तो नलागेको बताउँछिन् ।
इन्दिराका बुवा पञ्चलाल लाछिमस्युलाई उनले ‘बा म पनि धिमे बजाउने’ भनेको बेला ‘केटीले पनि कहीँ बाजा बजाउँछन्’ भनिदिएको भए उनको रहर मरेर जान्थ्यो होला । तर उनका बुवा पञ्चलालले समाजको कुरा सुनेनन्, छोरीको रहरमा साथ दिए । बाजे रत्नलाल लाछिमस्युले पनि इन्दिराले भनेजस्तै धिमे बाजा मात्रै होइन, नौ बाजा सिकाइदिए । समाजको मान्यताविरुद्ध गएर पनि बाजेले आफूलाई कसरी सिकाएका थिए भन्ने इन्दिरा भुल्दिनन् ।
लुकेर सिकेका ती दिन
इन्दिरालाई ०५१ सालमा ११ वर्षको उमेरमा धिमे बाजाको रहर जागेको थियो । त्यो समय समाजले उनको कामलाई रुचाउँदैन भन्ने नबुझि उनी एकोहोरो लागिरहिन् । ‘मेरो परिवार नै बाजामा हुनुहुन्छ । बा, दाइदेखि सबैजना बाजा बजाउनुहुन्छ । बाजे पनि सबै नेवारी बाजा बजाउनुहुन्थ्यो,’ पुरानो दिन सम्झिँदै उनले भनिन् ।
त्यो समय जर्मनीबाट आएर नेवारी बाजामा अध्ययन गरिरहेका डा. गेट वागनर र भक्तपुरका गुरु गणेशबहादुर सिजंखु उनको घरमा १२ जना केटाहरुलाई धिमे बाजा सिकाउँथे । ‘बाजा सिकाउने कक्षानजिकै म बस्ने कोठा थियो, उनीहरु सिकिरहेको बेलामा म बोल सुन्दै बस्थेँ । गुरुले दिएको बोलहरु मलाई सबै याद हुन्थ्यो र अभ्यास गरेर बस्थेँ’ इन्दिराले सम्झिइन् ।
सुरुमा यसरी लुकेर बोल सुन्दै बित्यो । विस्तारै आफूले सिकेको बोल धिमेमा नै बजाउन मन लाग्यो । बालाई भनिन्, ‘बा मलाई कस्तो धिमे बजाउन मन लागेको छ । उनीहरुले सिकेको कुरा पनि मलाई आउँछ ।’
त्यतिबेला बाले भनेका थिए ‘ल ठीकै छ नि त । केटीहरुले बजाउनै नहुने कहाँ लेखेको छ र ! बजाऊ, बजाऊ ।’ बाले त्यति भनेपछि सिकाउने कोठामा गएर कोही नभएको बेलामा इन्दिराले धिमे बाजा बजाउन थालिन् ।
‘एकदिन मैले बजाइरहेको बेलामा वागनर गुरु तल आएर बसिरहनु भएको रहेछ । उहाँले पनि सुन्नुभएछ । यति राम्ररी कसले बजाइरहेको छ भनेर उहाँलाई उत्सुकता भयो र माथि हेर्न आउनुभयो । गुरुले सोध्नुभयो ‘कसले बजाएको हो ?’ गुरुको उत्सुकताले उनलाई पनि ठूलै काम गरेको भान परेको थियो ।
‘मैले नै बजाएको हो गुरु भनेँ । तपाईँले कक्षामा दिनु भएको बोलहरु मैले पनि टिपिरहेकी थिएँ अनि त्यही अनुसार बजाएँ भनेँ । गुरु पनि खुशी हुनुभयो । अब नियमित बजाऊ भन्नुभयो ।’ ‘बा र गुरुको अनुमति पाएपछि मलाई पनि अरु के चाहियो र ?’ उनी भन्छिन् ।
गणेशबहादुर सिजंखु गुरुले सुरुमा हुँदैन कि जस्तो गरे पनि साथ नै दिएको इन्दिरा सम्झिन्छिन् । सबैभन्दा ठूलो गुरु भने आफ्नो बाजे रहेको उनलाई लाग्छ । ‘बाजे जता–जता जानुहुन्थ्यो, ढोलक बोकेर सिकाइदिनु न भन्दै पछि–पछि जान्थेँ । ए बाजे यसपछि के भनिदिनु न भन्थेँ । बाजेलाई अलिअलि रक्सी खानुपर्ने बानी, मलाई थोरै रक्सी लेराइदेऊ अनि भन्छु भन्नुहुन्थ्यो । म जहाँबाट भए पनि खोजेर बाजेको लागि रक्सी ल्याइदिन्थेँ र सिक्थेँ’ उनले त्यसरी नै धिमे बाजासहित नौ बाजा नै सिकिन् ।
‘बाजेले मलाई धेरै माया गर्नु हुन्थ्यो । बाजे बित्नु भएको पनि १५ वर्ष भइसक्यो । अहिले पनि बाजा बजाइरहँदा बाजेले सिकाउनु भएका ती दिनहरु याद आउँछ । बाजेले बोलहरु भनेको, सिकाउने शैली सबै याद आउँछ’ उनले भनिन् ।
बाजा बोकेर निस्किँदा
घरमा ६ महिना लगाएर धिमे बाजा र झण्डै तीन वर्षमा नौ बाजा सिकेपछि बाहिर निस्किएर बजाइहाल्न इन्दिरालाई समयको साथ थिएन ।
घरमै बजाएको थाहा पाउनेहरुले पनि उनलाई मात्र होइन परिवारलाई नै धारे हात लाइरहेका थिए । ‘केटीले बजाउनै नहुने कुरा बजायो भनेर समाजमा धेरै नै हल्ला भयो । परिवारको पनि कुरा काट्न सुरु भयो । त्यस्तो कुरालाई वास्ता नै नगरी अगाडि बढेँ’ इन्दिरा भन्छिन् ।
बाहिर निस्किएर बजाउन थालेपछि सबैजना हेरेको हे¥यै भएको उनलाई याद छ । भक्तपुरमा हरेक वर्ष हुने नेवारी कला, साहित्य, भाषासम्बन्धी कार्यक्रममा पहिलोपटक धिमे बजाउन पाउँदा उनले मिश्रित प्रतिक्रिया पाइन् । ‘त्यो बेला मेरो कपाल पनि केटाहरुको जस्तै छोटो थियो । सारी लगाएर मञ्चमा गएकी थिएँ । उदघोषकले नाम ‘इन्दिरा’ भनेर बोलाएपनि मानिसहरुले मलाई केटा नै केटी बनेर आएको होला भनिरहेका थिए’ उनी सम्झिन्छिन् ‘केटा हो कि केटी भनेर कति जना त भेट्न नै आए ।’
पहिलोपटक बाहिर निस्किएर बजाएपछि त उनको खोजी हुन थालिहाल्यो । सकारात्मक कुरा मात्रै लिएर अगाडि बढेपछि कुरा काट्नेहरु पनि थाक्दै गए । उनले बाजा बजाएको हेर्न आउनेको घुइँचो पनि उत्तिकै हुन थाल्यो । ‘केटीले धिमे बजाउने रे’ भनेपछि मानिसहरु जमघट भइहाल्थे । त्यसले उनलाई हौसला थपिँदै गयो । ‘प्रतियोगितामा जाने बेलामा पनि प्रतिस्पर्धीहरु सबै केटा नै हुन्थे, तर म सधैँ प्रथम पुरस्कार जित्थेँ । ती क्षणहरु असाध्यै अविस्मरणीय छ,’ उनी भन्छिन् ।
केटाहरुको बीचमा एक्ली केटी
तिमीले सुरु ग¥यौ, अब हामीले नै टोलमा सिकाउन थाल्नुपर्छ भनेर बाले भनेपछि ०५४ सालमा टोलका १२ जना केटीहरुलाई उनले नै सिकाउन थालिन् । ‘त्यसमध्ये नियमित गरिरहने त धेरै हुनुहुन्न, बेलाबेला कार्यक्रममा आएर बजाउनुहुन्छ’ उनले भनिन् ।
इन्दिरालाई केटाहरुको समूहमा एक्लो केटी हुँदा कहिल्यै असहज महसुस गर्नु परेन । सबैको साथ र सहयोग नै पाइन् । अझ एक्लो केटी भएकाले सबैको ध्यान आफ्नो प्रस्तुतिमा रहने हुँदा उनलाई खुशी नै लाग्यो । नेपालमा मात्रै होइन, विदेशमा गएर पनि धिमे बाजा बजाइन् उनले । ‘म पहिलोपटक इटालीमा धिमे बाजा बजाउन जाँदा १० जनाको समूहमा एक्ली केटी थिएँ । त्यहाँ पनि अरु केटीहरु किन छैनन् भन्ने कुरा भएको थियो । गुरुले नै नेपालमा अरु केटीहरुले बजाउँदैनन् अब विस्तारै आउँदै जान्छन् भनिदिनुभयो’ उनले भनिन् ।
बनेपा, लुभू, पोखरा, हेटौँडा, वीरगञ्ज, बिराटनगरसहित विदेशमा दुईपटक इटाली, जर्मन, अस्ट्रिया, थाइल्याण्ड र भारतका विभिन्न भागमा गएर इन्दिराले आफ्नो कला देखाइसकेकी छिन् ।
‘धिमे बाजा, नौ बाजा हाम्रो चाडवाडमा पनि निकै महत्व राख्ने बाजा हुन् । भक्तपुर नगरपालिकाले हरेक वर्ष यस्ता बाजाहरुको प्रतियोगिता नै गर्छ । त्यसले गर्दा पनि बाजा जोगाउन र केटीहरुलाई पनि यसमा लाग्न सहयोग पुगेको छ’ उनले भनिन् ।
बिहे गरेपछि उनलाई श्रीमानले पनि बाजे र बाले जस्तै सहयोग गरिरहेका छन् । श्रीमानले नै कार्यक्रमहरुमा जाने बेला सरसहयोग गर्छन् । सात वर्षको छोरा पनि धिमेतिर आकर्षित भइसकेका छन् । यी सबै कुराले इन्दिराको मुहार उज्यालो पारिराख्छ ।
तर उनलाई लाग्छ, आफ्नो परिवारमा जस्तै त्यो समय अरु घरमा पनि केटीहरुले त्यसरी साथ पाएको भए धिमे बजाउने कुरामा मात्रै होइन अरु धेरै कुरामा केटीहरु अगाडि आउँथे कि ।
‘पछिल्लो समय नै बिहेपछि केटीहरुले समय दिन पाइरहेका छैनन् । कतिपयलाई म कार्यक्रमहरु हुँदा बोलाउँछु तर उनीहरु घरबाट अनुमित पाउँदैनन्, कतिपय बेला बच्चाको कारण पनि व्यस्त हुन्छन् । बिहेपछि हरेक समस्याहरु आउने रहेछन्’ उनले भनिन् ।
अन्त्यमा,
इन्दिराको एउटा प्रश्न छ, बाजा जोगाउने बजाएर कि थुनेर ? पछिल्लो समय मानिसहरुले बाजा संरक्षण गर्ने कुरालाई गहन रुपमा नलिएको जस्तो उनलाई लाग्छ । बाजा संग्रहालयमा राखेर नभई बजाएर मात्रै संरक्षण गर्न सकिने इन्दिरा बताउँछिन् ।
धिमे बजाउँदा जस्तो रमाइलो इन्दिरालाई अरु केहीमा लाग्दैन । त्यही रमाइलो पाटोले नै धिमेमा नयाँ पुस्ताको आकर्षण बढिरहेको उनलाई लाग्छ । तर पछिल्लो पुस्ता नौ बाजा बजाउन उत्सुक नभएकोमा भने उनलाई चिन्ता छ ।
— अनलाईन खवर डट कमबाट
लोकसेवा आयोगको तयारीका लागि उपयोगी
१. खुकुरीको लागि प्रसिद्ध स्थान कुन हो ? — भोजपुर
२. संसारका कलाहरुमध्येको पा्रचिन कला कुन मानिन्छ ? — चित्रकला
३. पाङ्दुरे नाँच कुन जातीको समुदायमा प्रचलित नाँच हो ? — मगर
४. सप्तकोशीको सहायक नदीहरुमध्ये सवैभन्दा सानो नदी कुन हो ? — लिखु
५. देशकै पहिलो काठमाण्डौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गको निर्माण थालनी कहिले भएको हो ?
— २०७० साल कार्तिक २५ गते
६. थम्सन रोयटर्स फाउण्डेसनले अरव मुलुकमा गरेको अध्ययन अनुसार महिलाका लागि सवैभन्दा खराव मुलुक कुन हो ? — ईजिप्ट
७. राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको सवैभन्दा कम लैङ्गिक अनुपात भएका जिल्ला कुन हो ?
— गुल्मी
८. बिश्वमा सर्वप्रथम सन १९५१ मा परिवार नियोजनको कार्यक्रम सञ्चालन गर्ने देश कुन हो ?
— भारत
९. दुई शक्तिशाली देशका बीचको सानो देशलाई के भनिन्छ ?
— बफर स्टेट (दुई ढुङ्गाबीचको तरुल)
१०. नेपाल नीजि वनजंगल राष्ट्रियकरण ऐन कहिले ल्याईएको हो ? — वि.सं. २०१३
११. आसियानको प्रधान कार्यालय कहाँ रहेको छ ? — ईन्डोनेसियाको जाकर्तामा
१२. शिख धर्मका प्रवर्तक को हुन ? — गुरु नानक
१३. रगतमा हेमोग्लोविन कम भएको अवस्थालाई के भन्न्छि ?
— रक्त अल्पत्ता (जलवियोजन, हेमाटोसिस)
१४. प्राणबायु अक्सिजन शरीरमा सञ्चार गर्ने रक्तकोष कुन हो ? रातो — रक्त कोष
१५. अप्टिकल फाईवर के संग सम्वन्धित छ ? — दुर सञ्चार र भू–उपग्रह
१६. वंशाणुगत गुणको वारेमा सर्वप्रथम अध्ययन गर्ने बैज्ञानिक को हुन ? — ग्रेगर मेण्डल
१७. नेपालमा एसएलसी वोर्ड गठन हुँदा कतिवटा हाई स्कुल सञ्चालनमा थिए ?
— दुई वटा (दरवार हाईस्कुल र पाटन हाईस्कुल)
१८. गोरखापत्र कहिलेदेखि दैनिक रुपमा प्रकाशन सुरु भयो ? — बि.सं. २०१७ फागुन ७
१९. रेडियो नेपालको स्थापनाकालको नाम के राखिएको थियो ? — नेपाल प्रजातन्त्र रेडियो
२०. नेपालको सवैभन्दा पुरानो राजमार्ग कुन हो ? — त्रिभुवन राजपथ
२१. नेपालमा सवैभन्दा धेरै पर्यटक कुन महिनामा आउने गर्दछन् ? — अक्टोवर
२२. नेपालमा बिज्ञान दिवस कहिले मनाईन्छ ? — हरेक बर्षको असोज १ मा
२३. शनिवार बिदा दिने चलन चलाउने व्यक्ति को हुन ? — भिम शमसेर
२४. “तमु” शव्दले कुन जातीलाई बुझाउँछ ? — गुरुङ
२५. युनेस्कोले कुन दिनलाई मातृभाषा दिवसका रुपमा मनाउँदछ ? — फेव्रअरी २२
२६. भित्री मधेशमा कतिवटा जिल्ला पर्दछन् ? — ७ वटा
२७. रेसुङ्ग कुन जिल्लाको धार्मिक एवं साँस्कृतिक स्थान हो ? — गुल्मी
२८. नेपाली भाषाको पहिलो प्रकाशित उपन्यास कुन हो ? — वीर सिक्का
२९. लक्ष्मिप्रसाद देवकोटाको मृत्यु कहिले भएको हो ? — वि.सं. २०१६
३०. मदन पुरस्कार जित्ने पहिलो उपन्यास कुन हो ? — मन
३१. नेपाल सरकारले प्रदान गर्ने पदकहरु कति प्रकारका छन् ? — १४
३२. ‘सारङ्गी बोकेको समुन्द्र’ नामक पुस्तकका लेखक को हुन ? — मोहन कोईराला
३३. साझा पुरस्कार पाउने एक मात्र महिला साहित्यकार को हुन ? — डा. बानिरा गिरी
३४. मदन पुरस्कार कहिलेबाट प्रदान गर्न थालिएको हो ? — वि.संं २०१३ बाट
३५. आधुनिक आशुकवि भनेर कसलाई चिनिन्छ ? — रमेश खकुरेल
३६. मगर भाषाका आदिकवि को हुन ? — रेखवहादुर थापा मगर
३७. रातो मछिन्द्रनाथको रथयात्राको प्रचलन कसले चलाएको हुन ? — नरेन्द्र देवले
३८. राणा शासनकालमा तराईका जिल्लाहरुलाई के भनिन्थ्यो ? — तहसिल
३९. नेपालबाट सवैभन्दा नजिकको समुद्री किनार कहाँ रहेको छ ? — वंगालको खाडी
४०. बाईवलमा सवैभन्दा बढी बर्णन गरिएको नदी कुन हो ? — जोर्डन
४१. नदीका आधारमा नेपाललाई कति प्रदेशमा बिभाजन गरिएको छ ?
— तीन (कोशी, गण्डाकी र कर्णली)
४२. विावहपछि दुलाह दुलहीको घरमा गएर घर ज्वाँई बस्ने चलन भएको जाती हुन हो ? — कोचे
४३. सुँगुर पाल्ने र कसाईको काम गर्ने जाती कुन हो ? — दुसाध
४४. मर्नेको नामवाट चौतारा वनाउनु पर्ने चलन कुन जातीमा छ ? — थामी
४५ं मतवाली क्षेत्रको प्रमुख देवता कुन हो ? — महतो
४६. कञ्चनजंगालाई आफ्नो ईष्ट देवता मान्ने जाती कुन हो ? — लेप्चा
४७. “बाहा” पर्वलाई फुलको उत्सवको रुपमा मनाउने जाती कुन हो ? — सतार
४४८ सतार जातीले बोल्ने भाषा कुन हो ? — आग्नेय
४९. शपथ लिँदा दुवो र ढुङ्गा लिएर शपथ खाने जाती कुन हो ? — लिम्बु
५०. तामाङ्गहरुले घेवा गर्दा बाल्ने बत्तीको संख्या कति हुन्छ ? — १०८ ग्याम्जा
साहित्य सिर्जना
ठगहरू !
विचार गर, सोच
म समृद्ध भएँ भने कैयन् पटक ठग्न सक्छौ मलाई
ठग्नु अघि सोच्दा वेशै हुन्छ होला
एक माघले जाडो जाने हैन आखिर
पुष त फेरि पनि आउँछ तुषारो डाक्दै
चिमोट्ने माघ लिएर
आफन्त गोमनहरू
खुब सोच, गम खाउ डस्नु अघि
म तिम्रो विषले मरिनँ भने
पटकपटक डस्न पाउँछौ मलाई
एउटा औँशी छलेर फगत
अँधेरी सबै रात छल्न सकिन्न क्या रे
रात त आइरहन्छ भयलाई बोकेर
र, तिम्रा तृष्णाहरूलाई छिन्नभिन्न पार्छ
मायाका माझीहरू !
कृपया जोड गर, घटाउ गर, गुणन वा भाग गर
विवाहपछि धेरै प्रेम समाप्त भएका छन
होशबाट बिउँझँदा
कैयन् सपना अनि प्रतिज्ञाहरू खण्डहर भएका छन्
र, मरेका छन् करोडौं धरतीपुत्र, पुत्रीहरू, घाम देखेर वा नदेखेर
यस्तै रहन देउ मलाई
माछापुच्छ्रे हिमाल जस्तो
वा आस्थाको कैलाश जस्तो
म गंगा हुँ बगिरहन्छु अविरल
रोकिन्न पहाड वा कुनै चट्टानहरूले छेकेर
ए किनारा, म गति हुँ, म तिम्री हुन सक्दिन तर
नबिर्स मेरो अटुट आलिँगनलाई ।
निता के.सी. भट्टाराई
लैनचोर काठमाडौँ
“म नेपाल फर्किन्छु बुवा”
थाहा छ बुवा मलाई ।
मैले नि बुझेको छु तपाईंलाई ।
तपाईले बोकेको ऋणको भारलाई ।
तर खै म कसरी भनुँ !
म नेपाल फर्किन्छु बुवा ।
दिनभरको काम
अनि बासी माम ।
म कसरी खान सक्छु बुवा ।
कति रात त भोकै बसेको छु ।
आफ्नो सिरानी आँशुले धोएको छु ।
तपाईंले गरेको गाली ।
भाइले जिस्काउदै मारेको ताली ।
दिदिले ममा देख्ने क्षमता ।
अनि आमाको मिठो ममता ।
सधैं याद आउँछ बुवा ।
एउटा कुण्ठा बस्छ मनमा ।
ऋण भन्दा नि भारी भएको यो तनमा ।
बिरामी नि भन्न पाइन्न ।
औषधी नि चाहिन्न ।
आँशुको मलमले कति निको पार्नु घाउ ।
दुःख सुख आफ्नै ठाउँमा बाँचौला ।
मिठो मसिनो भए नि खाउँला ।
बिरानो देशको मित्रता भन्दा ।
आफ्नै देश को शत्रुता प्यारो ।
त्यसैले म नेपाल फर्किन्छु बुवा ।।
कृष्ण तिमिल्सिना
No comments:
Post a Comment