Sunday, October 14, 2018

बिम्ब साप्ताहिक, २०७५ साल असोज २८ गते आइतबार

२०७५ सालको दशैं शुभकामना बिशेष 

सबै नेपालीको चाहना ः लागूऔषध उत्पादन, अवैध ओसारपसार र सेवन रहित समाजको कामना ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार

नगर प्रमुख प्रहरीसंगै गस्तीमा जाने

रामहरी ओझा/डोटी
असोज २६
दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले दशैं तिहारको समयमा प्रहरीकै संलग्नतामा जुवा तास खेलाईने गरेको बिगतमा थुप्रै गुनासाहरु आएकोले प्रहरीलाई सजग हुन आग्रह गरिन । 
‘प्रहरी आफै संलग्न भएर जुवातास खेलाउछन भन्ने सन्देश जनतामा गएको छ’ उनले भनिन् ‘प्रहरीले यो आरोपलाई चिर्न सक्नु पर्छ ।’ नगरबासीको सुरक्षाका लागि प्रहरीको गस्तीमा आफु पनि संगसंगै जाने उनले बताईन । 
‘म आफै पनि तपाईहरुसंग सुरक्षा गस्तीमा जान्छु, तपाईहरुलाई के के सहयोग गर्नुपर्छ म त्यसका लागि तयार छु’ मलासीले भनिन् ‘नगरबासीहरुले शान्तिपूर्ण रुपमा दशैं मनाउने बातावरण बन्नु पर्छ भन्ने मेरो आग्रह हो ।’ 
मलासीले चाँडपर्वको समयमा मदिराको बिक्रिबितरण र सेवन अत्याधिक हुने गरेकोले यसलाई नियन्त्रण गर्न प्रहरीलाई आग्रह गरेकी छन् । ६३ औं   प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख मलासीले मदिरा सेवन  गरेर होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिनु पर्ने बताईन । ‘जड्याहालाई नियन्त्रणमा लिनु प¥यो र त्यस्ता जड्याहलाई छोड्न दवाव दिनेलाई पनि नियन्त्रणमा लिनु प¥यो’ मलासीले भनिन् ‘एक जड्याहका कारण टोलबासीकै चाँडपर्व बिग्रिन्छ ।’ 
उनले चाँडपर्वको बेला सवारी दुर्घटना बढी हुने, मदिरा सेवन गरी झैंझगडा बढी हुने, चोरीका घटनाहरु हुने गरेकोले प्रहरी सतर्क रहन आग्रह गरिन् । 
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिद्यानन्द माझीले ढुक्क भएर चाँडपर्व मनाउन जिल्लाबासीलाई आग्रह गरे । ‘शान्ति सुरक्षाको जिम्मा हाम्रो हो’ माझीले भने ‘हामीलाई सहयोग पुग्ने गरी जिल्लाबासी–हरुले काम गरिदिनु प¥यो ।’ उनले दशैंको टिका लगाउने दिन कुनै व्यक्तिलाई ल्याएर खोरमा थुन्नु आफुहरुलाई पनि रहर नभएको बताए । चाँडपर्व मनाउदा शान्ति सुरक्षा खल्वलाउने गरी कुनै पनि गतिबिधि नगर्न माझीले आग्रह गरे । 
चाँडपर्वको समयमा मुख्यतया मदिरा, जुवातास,   चोरी, बिस्फोटक पदार्थ र    सवारी दुर्घटना हुने गरेको बताउँदै माझीले भने ‘यसका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बिषेश सुरक्षा योजना पनि तयार गरेका छौं ।’

सम्पादकीय 

बिजया दशमीको शुभकामना

प्रत्येक नेपालीहरुका घर आँगनमा आउदै गरेको हिन्दुहरुको महान चाँड बिजया दशमी २०७५ सालको पुनित अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 
बिगत लामो राजनीतिक संक्रमणकालको अन्त्य गर्दै देश संघीय लोतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै अगाडी बढिरहेको अवस्था छ । संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारहरु जननिर्वाचित प्रतिनिधिहरुद्वारा सञ्चालनमा रहेका छन् । दशैकै संघारमा तीन बर्ष अघि नयाँ संबिधान जारी भएको थियो । उक्त संबिधान अनुसारका नयाँ संरचनाका स्थानीय तहहरुमा जनप्रतिनिधिहरु आएको पनि एक बर्ष बितिसकेको अवस्था छ । स्थानीय तहका निर्वाचनमा जनताले जसरी उत्साहपूर्ण सहभागिता देखाएका थिए, त्यो उत्साह बिस्तारै निराशामा बदलिदै गएको आभाष भईरहेको छ । जनताको चाहाना अनुरुप स्थानीय सरकारले काम गर्न नसकेको भन्ने थुप्रै गुनासाहरु आईरहेका छन् । यस अवस्थामा जनताको चित्त बुझ्ने गरी स्थानीय सरकारहरुले काम गर्न सुकन भन्ने शुभकामना छ । 
संघ र प्रदेश सरकारप्रति पनि जनता खुशी हुन सकेका छैनन् । जनतालाई सरकार भएको आभास नै भएको लाग्दैन । संघ र प्रदेश सरकारले पनि आफ्नो उपस्थिति देखाउनु जरुरी छ । अन्यथा सरकार हुनु र नहुनुको कुनै अर्थ रहँदैन । त्यसैले संघ र केन्द्र सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिन  सकोस ।
दशैं सवै नेपालीहरुको चाँड हो, त्यसैले सवैले यस चाँडलाई आफ्नो पर्वको रुपमा मनाउने वातावरण होस्, कसैका लागि दशैं हुने कसैका लागि दशाँ हुने नहोस भन्ने अनुरोध छ । चाँड मनाउने नाममा हुने खानेहरुले अनावश्यक खर्च गरेर हुँदा खानेहरुका लागि दशाँ नवनाईदिए कसैको घरमा रुवावासी हुने छैन । शान्ति           सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनले समुदायमा आफ्नो उपस्थिति देखाई दिए र शान्ति सुरक्षा कायम गर्नका लागि समुदायले समेत प्रहरीलाई सहयोग गरिदिए कुनै अप्रिय घटना हुने थिएन । यसका लागि प्रहरी प्रशासनले आफ्नो जिम्मेवारी पुरा गर्नेछ भन्ने अपेक्षा छ । 
बिम्ब साप्ताहिकका आदरणीय पाठकवर्ग, लेखक, रचनाकार, बिज्ञापनदाता, सहयोगी शुभचिन्तक लगायत आम नेपाली आमावुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा बडा दशैं २०७५ ले दिन दुगुना रात चौगुना प्रगति हुने अवसर प्रदान गरोस भन्ने शुभकामना प्रकट गर्दछौं । आफु वसेको समाजमा दशैंलाई नमुनाका रुपमा विकास गरौं भन्ने अनुरोध पनि बिम्ब साप्ताहिकको छ ।

लाखौंको अखाद्य बस्तु नष्ट गरियो

रोजेन्द्र जोशी/डोटी
असोज २७
दिपायल सिलगढी नगरपालिकाले गरेको बजार अनुगमनमा फेला परेका लाखौं मुल्य बरावरको अखाद्य बस्तु  नष्ट गरेको छ । 
नगरपालिकाको न्यायिक समितिको नेतृत्वमा विभिन्न   सरोकारवालाहरुको संलग्नतामा गरिएको बजार अनुगमनबाट बरामद गरिएको अखाद्य बस्तु नष्ट गरिएको हो । दशैंको अवसर पारी दिपालय क्षेत्रको बजार अनुगमन गर्दा फेला पारेका सामाग्रीहरु  खानेतेल, चकलेट, चालम, विस्कुट रहेका छन् । यस्तै गुणस्तरहिन एवं म्याद सकिएका  श्रृंगारका सामाग्रीहरु पनि नष्ट गरिएको छ । 
बजारमा अखाद्य सामग्रीहरु बिक्री भईरहेको, व्यवसाय दर्ता नगरी पसल सञ्चान गरेको भन्दै स्थानीय तिर्थ वहादुर सिंहले नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गराएपछि नगरपालिकाले अनुगमन गरेको थियो । अनुगमनका क्रममा गुणस्तरहिन र म्याद नाघेका बस्तुहरु बरामद् गरिएको न्यायिक समितिका संयोगक एवं नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिए । उनले थुप्रै पसलहरु दर्ता नगरी सञ्चालनमा रहेको समेत बताए ।

छोटकरी 

प्रकृितक प्रकोप दिवस मनाईयो

अन्तराष्ट्रिय पा्रकृितक प्रकोप तथा विपत जोखिम दिवस डोटीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । 
प्राकृतिक रुपमा हुन सक्ने प्रकोप तथा जोखिमहरुलाई न्युनिकरण गर्नका लागि विभिन्न निकायहरुले विविध कार्यक्रमको आयोजना गरि दिबस मनाईएको हो । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा जिल्ला सदरमुकाममा प्रभात फेरीको आयोजना गरिएको थियो । प्रभात फेरी नगरपरिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय डोटीमा पुगि कोण सभामा परिणत भएको   थियो । 
कोण सभालाई सम्वोधन गर्दै दिपायल सिलगढी नगर–पालिकाका प्रमुख मञ्जु मलासीले प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिमलाई मध्ये नजर गर्दै आफुहरु राहत सहित पूर्व    तयारी अबस्थामा बसेको जानकारी दिईन । 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझिले प्रहरीको सञ्जाल जिल्लामा ठुलो रहेको र जिल्ला प्रहरी कार्यालय र मतहतका निकायहरु उद्दारका लागी तयारी अबस्थामा बसेको जानकारी गराउनु भयो । 
त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी लोक राज   वोहराले जिल्लामा हुन सक्ने दैविक प्रकोपलाई समयमा नै सम्वोधन गर्न आफुहरुले विभिन्न योजना बनाई लागि रहेको   बताए ।  बोहराले हुन सक्ने   खतराले सूचना नदिएरै आउने भएकोले सबै समुदायका व्यक्तिहरु चनाखो अबस्थामा बस्नु पर्नेमा जोड दिए ।

चलचित्र/मनोरञ्जन 

बलीप्रथाको बिरोधमा कबिता बाचन

नागरिक दैनिक  
सात्विक वृत्ति ह्रास हुँदा चञ्चल भयो कलि,
तामस वृत्ति खास हुँदा मञ्चन भयो बली
नीति भन्छ नैतिकता कम्पन अलिअलि,
साधुलाई सुली पछि चोरकै ढलीमली 
७२ औँ शान्ति काव्य प्रवाहमा कृष्ण पहाडीद्वारा प्रस्तुत कविता हो यो । मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौंमा आयोजित ७२ औँ शान्ति काव्य प्रवाह कार्यक्रममा विहिवार अहिंसात्मक संस्कृतिलाई बढावा दिन आह्वान सहित बलिप्रथा अन्त्य गर्न आग्रह गर्दै कविहरुले कविता वाचन गरेका छन् । बलिप्रथा अन्त्य गर्न आग्रह गर्दै ३१ जना कविहरुले शान्ति, न्याय र अधिकारका पक्षमा कविता, मुक्तक र गजल वाचन गरेका थिए ।
बढ्दो महंगीले र न्यायका लागि छटपटाइरहनु परेको वर्तमान अवस्था पिडादायी भएको भावनाहरु समेत कविताहरुमा प्रतिविम्वित भएका थिए ।
“तिम्रा मन्दिरमा अजात सुनको घण्टा बजेको थियो,
मैले शिल्प भरेर प्राण नदिए के बल्छ तिम्रो दियो ।” 
सामाजिक न्यायका पक्षमा कवि कल्पना काफ्लेले प्रस्तुत गरेको कविताको अंश हो यो । काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, रत्ननिधि रेग्मी, मेनका पोख्रेल आचार्य, ऋचा, डा. बम बहादुर जिताली लगायतका कविहरुले आफ्नो रचना बाचन गरेका थिए ।

लेख 

चाँडपर्वमा मादक पदार्थ, क्रासमा महिला

उमा पौडेल

यस वर्ष दशैँको रौनक सुरु  भइसक्यो । म भने दशैँले थपेको थप हिंसाको स्मरणमा अल्झिरहेको छु । पोहोर सालको दशैँ । सप्तमीको दिन सिन्धुलीको मरिण गाउँपालिकामा थिएँ ।
एउटा गैरसरकारी संस्थाको लागि त्यस गाउँपालिकाका महिलाहरूको स्वास्थ्य समस्याका बारेमा रिपोर्ट तयार पारिदिनु पर्ने थियो । अफिस बाहेकका काम यसरी नै बिदाको समय मिलाएर गर्नुपर्छ ।
मैले कम्तिमा ४० जना स्थानीय महिलालाई भेटेर छलफल गर्नुपर्ने थियो । चाडपर्वको रौनक बिर्सिएर प्रत्येक समूहमा १० जना महिलासँग बल्लतल्ल स्वास्थ्य समस्याबारे छलफल चल्दै थियो ।
छलफलमा सहभागी मीना तामाङको अनुहार निकै निरस थियो । उनको हातमा प्लाष्टर थियो । सोधें, ‘तपाईंलाई के भयो ? उनको शिर निहुरियो ।
छिमेकी बोलिन्, ‘अस्ति बुढोले रक्सी खाएर कुट्दा हातै भाँचिदिएछ । दशैँको मुखमा दशा लाग्योे बिचरीलाई ।’ कामको सिलसिलामा पोखरा बस्ने उनका श्रीमान् दशैँ मनाउन घर आउदा मादक पदार्थ सेवन गरी रमाईलो गर्ने बहानामा श्रीमतीलाई कुटपिट गर्दा हात भाँच्चिएको रहेछ ।
मसँगै जिल्लाकै एउटा हेल्थ पोष्टमा काम गर्ने अनमी साथी थिईन् । मीनाको घटनासँग जोड्दै उनले आफ्नो भोगाई सुनाईन्, ‘दशैँको बेला ८–१० हजार त एक्स्ट्रा पैसा लिएर बस्नै पर्छ । कसको घरमा श्रीमान्ले रक्सी खाएर कतिबेला कुट्छन् र आपत प¥यो भन्दै सापटी माग्न आईपुग्छन् ।’
उनीसँग दशैको बेला मादक पदार्थ सेवन गरी घरमा हुने झैँ झगडाले दुर्घटना भएको धेरै अनुभव छ । गाउँमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले दुर्घटना भएलगत्तै उनीकहाँ पुग्छन् । त्यसैले उनलाई यस्ता घटना नौलो नलाग्ने रहेछ ।
चाडपर्वमा घर जाँदा लत्ता कपडा भन्दा पनि प्राथमिक उपचारका सामानले ब्याग भर्नुपर्ने उनको बाध्यता जस्तै रहेछ । अझ विशेष गरेर त्यस्ता दुर्घटना मादक पदार्थ सेवनपछि हुने गरेको पनि सुनाईन् ।
अझ चाडपर्व लागेपछि गाउँका अधिकांश पुरुषको काम दिनभर रक्सी खाने बेलुका भएपछि घरमा रडाको मच्चाउने हुँदो रहेछ । अधिकांश महिलालाई त चाडपर्व त्रासको रुपमा मात्रै आउने  अधिकारकर्मी शान्ता पाख्रिन मादक पदार्थ सेवनपछि मात्रै रमाईलो हुन्छ भन्ने गलत मानसिकताका कारण चाँडवाडका बेला महिलाहरू हिंसा भोग्न बाध्य हुने बताउँछिन् । 
उनले थपिन्, ‘जनजाती समुदायमा सगुनका रुपमा मादक पदार्थ सेवन गर्ने हुनाले पनि महिला अझ बढि हिंसामा पर्ने जोखिम हुन्छ ।’
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल अव्यवस्थित रुपमा सञ्चालन भएका मदिराजन्य पदार्थको बिक्री बितरणका कारण विकृति फैलिएको बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी ढकाल भन्छन्, ‘घर–घरमा व्यवसायकै रुप लिएर उत्पादन भएको मदिरा नियन्त्रण गर्न सके धेरै हदसम्म महिला हिंसाका घटनामा न्यूनीकरण हुन्छ ।’
चाँडपर्वको बेला हुने मदिरापान महिलाको लागि त्रास मात्रै होइन, प्रशासनका लागि पनि टाउको दुखाई हो । चाँडबाडका समयमा मादक पदार्थ सेवन, जुवा तास जस्ता विकृतिका कारण महिला हिंसा बढ्न सक्ने भन्दै यसमा सचेत रहन पनि उनले सुझाए । चाडपर्वमा हुने हिंसा न्यूनिरकणको लागि मादक पदार्थको नियन्त्रणका साथै परिवारमा आफन्त भेटघाट हुँदा पारिवारिक, सामाजिक समस्या र समाधानका उपायबारे छलफल तथा काम गनुपर्छ ।
प्रहरीको तथ्याङ्कले मदिरा र महिला हिंसा बीच सम्बन्ध रहेको देखाउँछ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार ८० प्रतिशतभन्दा बढी घरेलु हिंसा मादक पदार्थका कारण भएका छन् । रमाईलोका लागि भन्दै सेवन गरिने मादक पदार्थका कारण धेरै महिलाहरूले सामान्य गाली गलौजदेखि कुटपिटसम्म भोग्न बाध्य    छन् ।
प्रहरीको रेकर्ड अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा घरेलु हिंसाका ५९  उजुरी र अघिल्लो आर्थिक वर्षमा दर्ता भएका ७४ उजुरीको प्रमुख कारण मादक पदार्थ सेवन हो । यसको नियन्त्रण गर्न सके महिलामाथि हुने धेरै प्रकारका हिंसा अन्त्य गर्न सकिने प्रहरी तथा महिलाका क्षेत्रमा काम गर्नेहरूले अनुभव गरिसकेका छन् । 
सिन्धुली ट्रष्ट नेपालका अध्यक्ष तथा समाजसेवी उज्वल थापाको भनाइ झैं चाडपर्वमा गरिने यस्ता फजुल खर्चको व्यवस्थापन गर्न सकिने थुप्रै विकल्प छन् ।
चाँडपर्वको बहानामा गरिने अनावश्यक फजुल खर्चले घाटा बढाउने भन्दै गरिब, असहायहरूका लागि खर्च गरे पर्वको सार्थकता झल्किने थापाको भनाइ छ ।
चाँडपर्वमा हुने हिंसा न्यूनिरकणको लागि मादक पदार्थको नियन्त्रणका साथै परिवारमा आफन्त भेटघाट हुँदा पारिवा–रिक, सामाजिक समस्या र समाधानका उपायबारे छलफल तथा काम गनुपर्छ ।
थापा भन्छन्, ‘चाडपर्वको समयमा अझ बढी गम्भीरताका साथ अनुगमन गरी मादक पदार्थ बिक्री वितरणलाई नियन्त्रण गर्ने तथा यस्ता पदार्थको सेवन गरी विकृति फैलाउनेलाई कारबाही भए मात्रै यस्ता क्रियाकलाप न्यूनिकरण     हुन्छ ।’ 
दशैँ पुरुष वा समाजका हुनेखाने वर्गको मात्रै होइन । परिवारभित्र पनि मूली वा स्रोतको परिचालन गर्ने व्यक्तिले मात्रै मनाउने होइन । यो पर्व वर्गीय हिसाबले तल रहेका, स्रोतमा पहुँच कम भएका व्यक्तिको पनि हो ।
हाम्रो समाजमा महिलालाई सँधै दोस्रो दर्जामा राखियो । उनीहरूको मनोरञ्जन परिवारकै सदस्यको पनि प्राथमिकतामा परेन । सँधै दासी झैं व्यवहार गरिने । अब यो परम्परा फेरिनुपर्छ । सँस्कृति मनाउनुपर्छ । चाडपर्वमा मनोरञ्जन लिनुपर्छ । त्यसैले दसैँ तिहार जस्ता चाडपर्वमा सबैले समान रुपमा मनोरञ्जन गर्न पाउनुपर्छ ।
चाँडपर्वमा श्रीमानले श्रीमतीलाई कामकाजमा समान सहयोग, परिवारको जिम्मेवारीमा बाँडफाँड, बालबच्चाको    हेरचाहमा समान भूमिका निभाउनु पर्छ । तबमात्रै चाँडपर्व खुशीका साथ सबैले मनाउन सकिन्छ ।
चाँडपर्वमा मादक पदार्थ तथा लागुपदार्थ सेवन अनिवार्य जस्तै मानिने विकृत परिपाटीलाई अन्त्य गर्नु प्रत्येक सचेत नागरिकको भूमिका पनि हो ।
— महिला खवरबाट

साहित्य/सृजना 

पशुमा पनि ईश्वरको बास छ

पशु भएर जन्मनु
उसको दुर्भाग्य हो
मानव भएर जन्मनु
तिम्रो सौभाग्य हो
खै तैपनि किन मान्छे
निर्दोष पशुको हत्या गर्छ
दशैं आयो त
के दोष ?
ती निर्दोष पशुहरुको
दशैं मनाउने तिमी मान्छे
अनि, तिम्रो दशैंको मूल्य चुकाउने पशु ?
वा रे मानव
तिमी धन्य छौ
अझ त्यतिमात्र कहाँ हो र
दशैंमा पशुबली नचढाए
तिमीले नाम दिएका
तिम्रा ईश्वर रुष्ट हुने अरे !
पशु त पशु
ईश्वरको नाम बेच्न पनि पछि पर्दैनौ तिमी
यदि, पशुकै बलि चढाएर ईश्वर प्रशन्न हुने भए
गीतामा भगवान श्री कृष्णले
हरेक कण कणमा मै छु किन भन्थे होलान्
ईश्वरकै बलि चढाएर
स्वयं ईश्वर कसरी खुशी होलान् ?
मान्छे भएर पनि किन,
मान्छेले झंै सोच्दैनौ तिमी
पशुमा पनि प्राण छ
पशुमा पनि बाँच्ने रहर छ
पशुमा पनि ईश्वरको बास छ
पुष्पा जोशी (काली) 
धनगढी

Tuesday, October 9, 2018

बिम्ब साप्ताहिक, २०७५ साल असाेज २३ गते मंगलवार

लोकतन्त्रको आधार ः सूचनाको अधिकार ।
सूचना हाम्रो अधिकार ः सुशासन र विकासको आधार ।
कुनै पनि सार्वजनिक सरोकार ः थाह पाउने नागरिकको अधिकार । 
सूचना लिने दिने संस्कृतिको विकास गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

दुर्घटनाले उजाडिएका जीवनहरु

रामहरी ओझा/डोटी
असोज २२
श्रीमान् जागिरे, आफु स्नातकोत्तर पढ्दै गरेको, कोखमा छोरी, डडेल्धुरा जिल्ला सदर–मुकामको बसाई । खुशी र सुखी जीवन यति छिटो उजाडिएला भन्ने सपना पनि देखेकी थिईनन् डडेल्धुरा जिल्ला अमरगढी   नगरपालिका–४ की कल्पना बिष्टले । तर उनको सुखी र खुशी परिवार मात्रै खोसिएन उनी आफै पनि अर्काको साहरा बिना बाँच्न नसक्ने भईन । 
आजकै दिन अर्थात २०७१ साल असोज २० गते डोटी जोरायल गाउँपालिका–२ (त्यतिवेलाको छतिवन गाबिस–५) कट्पत्तेमा भएको बस दुर्घटनामा कल्पनाले आफ्नो श्रीमान् र छोरी गुमाईन् । उनी आफु पनि कहिल्लै निको नहुने गरी घाईते भईन । तीन बर्ष अघि मात्रै संगै जीउने संगै मर्ने बाचा सहित डडेल्धुराका लक्ष्मण ठकुराठीसंग बिवाह गरेकी कल्पनाले न त संगै जीउन सकिन न संगै मर्न सकिन । माईतीघर जोरायलमा आमाबुवाको हातबाट दशैंको टिका थापी स–परिवार आफ्नो घर फर्किरहेका बेला भएको दुर्घटनाले कल्पनाको जीवन उजाड बनायो । मेरुदण्डमा चोट लागि पक्षघात भएर बाँचिरहेकी २९ बर्षीया कल्पनाले आफ्नो श्रीमान् र छोरीको लास समेत हेर्न पाईनन् । उनी अहिले काभ्रेको स्पाईनल ईन्जुरी पुनस्र्थापना केन्द्रमा छिन् । 
दुर्घटनामा घाईते भईसकेपछि कल्पनाले जीउने आश मारिसकेकी थिईन । तर उपचार गर्ने चिकित्सकले निको हुने भनेपछि उनी पहिले जस्तै हिड्डुल गर्न सक्ने आशमा   थिईन । ‘सात महिनासम्म भारत लखनउको सिमरा अस्पतालमा उपचार गराएपछि डाक्टरले अव घरमा गएर थेरापी गर्नु बिस्तारै ठिक भईहाल्छ भनेर पठायो’ कल्पना भन्छिन् ‘तर घरमा बस्दा कुनै सुधार नभएपछि फेरी उपचारको लागि नयाँ दिल्ली गएँ, त्यहाँ पनि एक महिना बसेँ ।’ एक महिनासम्म बिभिन्न अस्पतालहरुमा जाँच गराउँदा मात्रै कल्पनालाई थाह भयो अव उनी कहिल्लै हिड्न सक्दिनन् ।’ मेरुदण्डको पक्षघातको उपचार सम्भव नभएको कुरा उनलाई दिल्लीमा थाह भयो ।
उनी नयाँ दिल्लीबाट फर्केपछि काभ्रे गईन । दिशाँ पिसाव भएको पनि जानकारी नहुने गरी तल्लो शरीर पुरै निस्कृय भएकी कल्पनालाई पुनस्र्थापना केन्द्रमा मेरुदण्ड पक्षघात भएकाहरुले कसरी जीउने भन्ने कला सिकाईयो । अहिले उनी त्यही पुनस्र्थापना केन्द्रमा परामर्शकर्ताको रुपमा काम गरिरहेकी छिन् । उनी भन्छिन् ‘यो अवस्था होला भन्ने सोचेकी थिईन्, हासी खुशी जीवन बित्छ भन्ने लागेको थियो, तर भयो यस्तो ।’ कल्पनाले हिम्मत भने हारेकी छैनन् । उनी थप्छिन् ‘मानव जीवन यस्तै हो भनेर चित्त बुझाउन सक्नु पर्छ, जे भयो त्यही कुरा सम्झेर के गर्नु ?’ 
कल्पना जस्तै उजाडिएको अर्को जीवन हो ३५ बर्षीया कृष्णा शाहीको । कैलालीको तेघरीमा बस्दै आएको कृष्णाको परिवार दशैं मनाउनका लागि जोरायल आएको थियो । दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दशैं मनाउन आएका श्रीमान् श्रीमतिलाई उक्त घटनाले कहिल्लै मिलन नहुने गरी बिछोड् गरायो । कृष्णाका श्रीमान् राजेन्द्र शाहीको घटनास्थलमै मृत्यु भयो । कृष्णा मेरुदण्ड पक्षघात भएर बाँचिरहेकी छिन् । ‘यस्तो घटना होला भन्ने सोचेका पनि थिएनौं’ कृष्णाका भतिजा शेरवहादुर शाही भन्छन् ‘काकाहरुको जीवन खुशी हासीखुशी बितेको थियो तर दैवले उजाडिदियो ।’ मेरुदण्ड पक्षघात भएर दिशाँ पिसाव भएको समेत थाह नपाउने कृष्णालाई उनका नाबालक छोराछोरीहरु र भतिजा बुहारीहरुले जीउने सहारा दिईरहेका  छन् ।
जीवनै अर्काको सहारामा बाँच्नु पर्ने अवस्थामा पुगेका कल्पना र कृष्णाले उपचारमा लागेको खर्च समेत पुरापुर पाएनन् । ‘लखनउ बस्दासम्मको खर्च त दिएको हो’ कल्पना भन्छिन् ‘दिल्लीको खर्च मैले आफैले गरेँ, समितिले गाडी भाडा मात्रै दिएको थियो ।’ उनी पहिले बैङ्कमा संचित गरेर राखेको आफ्नो पैसाले उपचार गरेको बताउँछिन् । उनी थप्छिन् ‘औषधी उपचारको लागि पनि भनिदिने बोलिदिने मान्छे चाहिने रहेछ, आफ्नो त्यस्तो कोही भएन ।’ 
कृष्णाको पनि उस्तै अवस्था छ । सरकारी कार्यालयमा अस्थायी जागिर भएका राजेन्द्रको दुर्घटनामा मृत्यु भएपछि कार्यालयबाट प्राप्त भएको रकम समेत उनले औषधी उपचारमा खर्च गरिन् । कृष्णा पुरानै अवस्थामा फर्किन सक्लिन् भन्ने आशमा उनको परिवारले पनि दिल्ली र काभ्रे पु¥यायो तर उपलव्धी भएन । 
दशैंको भोली पल्ट ना ३ ख ५७०७ नं. को सुदूरपश्चिम यातायतको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाईते भएका थिए । बसमा एक सय २५ भन्दा माथी यात्रुहरु रहेको प्रहरीको भनाई थियो । यात्रुहरु बढी भएर बसको पत्ता टुटेपछि दुर्घटना भएको थियो । घाईतेहरुले लामो समयसम्म उपचार गराए । दुर्घटनामा आफन्त गुमाएकाहरु आजको दिनलाई कालो दिनका रुपमा सम्झन्छन् । उक्त दुर्घटनामा बजै, आमा र छोरी गरी तीन पुस्ताका तीन सदस्य गुमाएका चर्चित गायक सौगात ओझाले शनिवार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘आज असोज २० गते म र मेरो जोरायलबासीका लागि कालो दिन । आजकै दिन मैले मेरी जन्मदिने आमा, सात बर्षकी छोरी र हजुरआमा गुमाएँ र २९ जनाको अकालमा ज्यान गयो ।’ 
दुर्घटनामा सौगात, उनकी श्रीमति र एक छोरी पनि घाईते भएका थिए । उक्त घटनाको   स्मरणमा सौगातले गाएको गीतमा भनिएको छ ‘न त मैले जन्म दिने आमाको लास हेर्न पाएँ न दागबत्ति दिन पाएँ, अस्पतालको शैयाबाट आँशु मात्रै झारेंँ ।’ 
दुर्घटनाको बिषयमा दुई गीत, एक कबिता र एक सम्झनाको संगालो प्रकाशन भएको बताउँछन् स्थानीय   तिर्थराज भट्ट । उनी भन्छन् ‘मृतकहरुको बिमा रकम पाउनका लागि समेत हामीले आन्दोलन गर्नु प¥यो, घाईतेहरुको उपचारमा पनि निकै समस्या  भयो ।’ दुर्घटनाले धेरैको जीवन कष्टकर बनाईदिएको भट्टको भनाई छ । 

सम्पादकीय 

धनगढी नै उपयुक्त हो त सुदूरपश्चिमको राजधानी !

शनिवार नेपालका पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ‘नालायक’ भन्दै सरकारको कडा आलोचना गरे । उनले बलात्कारीलाई पक्राउ गर्न नसक्ने सरकार भन्दै तिखो प्रहार पनि गरे र सरकार असफल भएको दावी गरे । 
निश्चित रुपमा बर्तमान सरकार असफल भएको भान आम जनतालाई पनि भएको छ भने पटकपटक सरकारको नेतृत्व गरेका व्यक्तिलाई त्यो भान नहुने कुरै भएन । प्रतिपक्षको धर्म पनि सरकारलाई खवरदारी गर्नु हो । एकातिर आम जनताले थाह पाउने गरी सरकारका गतिबिधिहरु कमजोर भईरहेका र अर्कोतिर प्रतिपक्षको धर्म पुरा गर्नु पर्ने भएका कारण पूर्व प्रधानमन्त्रीले सरकारको आलोचना गर्नु अन्यथा होईन । उनी आफु सरकारमा हुँदा पनि थुप्रै अपराधका घटनाहरु भएका छन्, त्यतिवेला पनि अपराधी पत्ता नलागेका घटनाहरु छन् र त्यतिवेलाका प्रतिपक्षहरुले उनलाई पनि असफल, असक्षम, नालायक भनेकै हुन । त्यसकारण उनले सरकारको आलोचना गर्नु स्वभाविकै हो । 
सरकारको आलोचना गर्ने क्रममै उनले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेकोमा पनि बिरोध गरे । सुदूरपश्चिमकै बासिन्दा भएका कारण उनले त्यो बिरोध गर्नु पनि स्वभाविकै हो । उनले जंगल फडानी गरेर राजधानी बनाउन खोजिएकोप्रति आपत्ति जनाए । उनले गरेको त्यो आपत्तिमा पनि थुप्रै सुदूरपश्चिमबासीहरुको समर्थन छ । तमाम बिकल्प हुँदाहुँदै पनि जंगलमा लगेर राजधानी बनाउन थालिएको छ । प्रदेश राजधानीका संरचना बनाउनकै लागि अर्वौंको लगानी लगाउनु पर्छ । जनताले तिरेको कर जनताको सेवा र विकासमा भन्दा पनि अनावश्यक संरचना निर्माणमा खर्च हुन्छ भन्ने उनको तकर्m र उनको आपत्ति जायज छ । 
तर, के राजधानीका लागि धनगढी मात्रै उपयुक्त हो त ? उनले सवै प्रकारले राजधानीका लागि धनगढी उपयुक्त भएको वताएका छन् । ‘सवै प्रकारले’ भनेको के के हो ? के आधारमा उनी धनगढीलाई राजधानी बनाउन खोज्दैछन् । यदि उनी साँच्चै राजनेता हुन र उनले बर्तमान नेकपाका नेताहरुले गलत गरेका हुन भन्ने हिम्मत राख्दछन् भने किन प्रदेश राजधानी दिपायल उपयुक्त हो भन्न सकेनन् । ईतिहास, भौगोलिक दुरी, सरकारी भौतिक संरचना, सामरिक महत्व, समावेशी विकासको अवधारणा जस्ता सवै कुराहरुले दिपायल राजधानी हुनु उपयुक्त होईन र ? 
धनगढी राजधानी हुनै सक्दैन भन्ने कुरा होईन । जनसंख्याको दृष्टिले, व्यापारिक केन्द्रका दृष्टिले, केही सरकारी भौतिक संरचनाहरु पनि भएका कारणले र अस्थायी मुकाम धनगढी भएका कारणले एक प्रकारको सेटिङ्ग भएको छ, त्यसैले धनगढी हुनै हुँदैन भन्ने कुरा छैन् । गोदावरी भन्दा धनगढी उपयुक्त छ । तर, के पूर्व प्रधानमन्त्रीले भनेको जस्तो धनगढी मात्रै उपयुक्त हो त ? उनी स्वयं पहाडमा जन्मिएका हुन, २०४८ सालदेखि हालसम्म पहाडकै जनताको प्रतिनिधित्व गर्दैछन् । पटकपटक प्रधानमन्त्री भए, पहाडकै जनताले दिएको अभिमतबाट । लामो समयदेखिको ईतिहास नामेट हुने गरी उनले आफैले प्रदेशको अस्थायी मुकाम धनगढी राखे । त्यतिबेला उनका कार्यकर्ताहरुले सरकार एक्लैले धनगढी नराखेको भन्दै सुदूरपश्चिमका अन्य नेताहरुलाई दोष लगाउँथे तर देउवा स्वयंले ‘सवै हिसावले धनगढी उपयुक्त’ भनेपछि अव अरु दललाई दोष दिन मिल्यो त ? 
धनगढी मात्रै उपयुक्त हुनुको एउटा कारण हुन सक्छ देउवा ज्यूका लागि, उनकी धर्मपत्नी कांग्रेस नेतृ आर्जु राणाले आफ्नो राजनीतिक ग्राउण्ड धनगढीका लागि छानेकी छिन् । त्यसकारण मात्रै धनगढी उपयुक्त भएको हुन सक्छ । नत्र अरु ठाउँ पनि छन् ।

थप समाचार 

प्रेस युनियनको प्रश्न ः तेजु खोई ?

भाद्र ९ गतेदेखि हराईरहेको पत्रकार तेजवहादुर खड्का (तेजु) को खोजी गर्न सरकारलाई दवाव दिँदै नेपाल प्रेस युनियन डोटी शाखाले दवावमुलक ¥याली निकालेको छ । 
बाजुराको प्रसिद्ध धार्मिक स्थल बुढीनन्दामा लाग्ने मेलाबाट फर्किने क्रममा हराएका पत्रकार तेजुको थप खोजी कार्यका लागि दवाव दिन उक्त ¥याली आयोजना गरिएको युनियनका केन्द्रीय सदस्य दयाराम पण्डितले बताए । “तेजु खोई ?” लेखिएको व्यानर बोकेर युनियन आवद्ध सञ्चारकर्मीहरुले सोमवार डोटीको दिपायलमा ¥याली प्रदर्शन गरेका हुन । 
नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक सभापति समेत रहेका तेजुको खोजी कार्यका लागि सरकारले थप पहल गर्नु पर्ने युनियनको माग छ । ‘उनी हराउँदा नेपाली प्रहरी र नेपाली सेनाले खोजी कार्य गरेको थियो तर त्यतिवेला मौसमको प्रतिकुलताका कारण सफल हुन सकिएन’ युनियनका केन्द्रीय सदस्य पण्डितले भने ‘अव मौसममा केही सुधार आएको छ, त्यसैले राज्यले उनको खोजीका लागि पहल गर्नु पर्छ ।’ उनले तेजुको स्वास वा लास जे भएपनि भेटिनु पर्ने वताए । घटना भएको बेलामा प्रहरी र सेनाले गरेको कार्यप्रति आफु सन्तुष्ट रहेको पनि पण्डितको भनाई छ ।
तेजुको खोजीका लागि भन्दै नेपाल पत्रकार महासंघले गठन गरेको समिति कैलालीबाटै फिर्ता गएकोप्रति युनियनका पूर्व केन्द्रीय सदस्य मुकुन्द भण्डारीले आपत्ति जनाए । ‘महासंघको सदस्य हराएको छ, समिति गठन हुन्छ तर समिति बिच बाटोबाटै फर्किन्छ’ भण्डारीले भने ‘पत्रकारको हक हितको लागि स्थापना भएको संस्थाले यसरी लापरवाही गर्न हुन्छ ?’ उनले पत्रकारहरुले पत्रकारको पीडामा सम्वेदनशील नभएको आरोप लगाए ।    भण्डारीले भने ‘युनियनले पनि तेजुको खोजीमा खासै चाँसो देखाएन, चार दिनपछि मात्रै बिज्ञप्ती जारी ग¥यो । 
युनियनका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम ईन्चार्ज लाल ऐरले तेजुको थप खोजीका लागि नेपाल प्रहरी र नेपाली सेनासंग कुराकानी भईरहेको जानकारी  दिए ।  
२०५४ सालमा रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट पत्रकारिता पेशा आरम्भ गरेका खड्का पछिल्लो समयमा बाजुराको कोल्टीबाट प्रसारण भईरहेको बुढीनन्दा एफएममा कार्यरत थिए । उनी मेला भर्न र मेलाको रिपोटिङ्ग गर्नका लागि त्यसतर्फ गएका थिए । खडुकाको खोजीमा सेना र प्रहरीको टोली एक हप्तासम्म परिचालन भएको भएपनि उनको कुनै पत्ता लाग्न सकेको छैन ।

डडेल्धुरामा कैदीहरुको अनशन

सात बुँदे माग सहित जिल्ला कारागार डडेल्धुराका कैदीबन्दीहरुले  आमरण अनसन सुरु गरेका छन् ।
डाका चोरी मुद्दाको सजाय भुक्तान गरिरहेका कैदीबन्दी चन्द्रसिं साउँद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देविसिंह ऐरले सोमबारदेखि आमरण अनसन सुरु गरेका हुन् । असल चालचलन भएका सुधारोन्मुख अवस्थामा रहेका कैदीबन्दीहरुलाई ६० प्रतिशत माफी मिनाहाको पुरानै व्यवस्थालाई यथावत कायम राखी तुरुन्त लागू गरिनु पर्ने माग उनीहरुको छ ।
यस्तै, न्याया दिने अदालत र अपराध अनुसन्धान गर्ने प्रहरी संगठनमा मौलाउँदै गएको चरम लापरबाही भ्रष्टाचार, फितलो अनुसन्धान, फैसलामा हुने ढिलासुस्ती, निर्दोषहरु फसाउने क्रियाकलापको अन्त्य गर्न ठोस् कदम चाल्नुपर्ने माग राखिएको कैदीबन्दी चन्द्रसिंह साउँदले बताए ।
भरणपोषण भत्ता ६० बाट वृद्धि गरी प्रतिदिन १०० को व्यवस्था गरिनुपर्ने, अनुत्पादक अवस्थामा समय खेर फाल्दै आएका कैदीबन्दीहरुका लागि कारागार भित्रै श्रम गर्न पाउने गरी रोजगारमुलक उत्पादनमुलक कारखाना स्थापना गर्नुका साथै खुला कारागार नीतिलाई तुरुन्त कार्यान्वयन गरिनुपर्ने लगायतका मागहरु राखी दशैंको संघारमा कैदीवन्दीहरु   आमरण अनशनमा बसेका हुन ।

प्रदेश समन्वय परिषद् बैठक सम्पन्न

सुदूरपश्चिम प्रदेश समन्वय परिषद्को प्रथम बैठक आज धनगढीमा सम्पन्न भएको छ । स्थानीय तह र प्रदेश सरकारवीच विविध विषयका सहअस्तित्वको विकासमा जोड दिइएको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा भएको बैठकमा पाँचवटा विषयवस्तुहरु छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले सुदूरपश्चिम प्रदेशको समन्वय परिषद्को कार्यविधि, स्रोत व्यवस्थापन, कर्मचारी व्यवस्थापन तथा समायोजन, कानुन निर्माण तथा कार्यान्वयन, प्रदेश र स्थानीय सरकारवीच सहकार्य, सहअस्तित्व र समन्वय कायम गर्ने सम्बन्धी र अन्य समसामयिक विषय निर्णयका लागि बैठकमा पेश गरेका थिए ।
स्रोत व्यवस्थापनकालागि संविधानको भाग २६ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग धारा २५० र २५१ सम्बन्धी व्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन एने २०७४ र प्रादेशिक स्थानीय तहको बजेट अनुदानबारे नौवटै जिल्लाका स्थानीयतहलाई समुहमा विभाजन गरेर छलफल गरिएको थियो ।
यसअघि बैठकको शुरुमा नेपाल सरकारका सचिव बैकुण्ठ अर्यालले राजस्व बाँडफाँट, राष्ट्रिय प्राकृतिक स्रोत साधन बाँडफाँटसम्बन्धी कानुनी व्यवस्था र व्यवहारिक पक्षसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकमा स्वागत मन्तव्य प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मालिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बैठकले प्रदेश सरकार र स्थानीय सरकारबीच र स्थानीय सरकारहरुको आपसी समन्वय, सहकार्य र सहअस्तित्वको विकासमा मद्दत पुग्ने बताए । उनले बैठकबाट सही ठाउँमा बजेटको प्रयोग गर्न सहयोग पुग्नेसमेत बताए । उनले नगरपालिकाले बनाएका कानुन पनि प्रदेश र संघीय सरकारले पनि मान्नुपर्ने र प्रदेश सरकार तथा संघीय सरकारले बनाएका कानुन पनि सबै तहका सरकारले मान्नुपर्ने व्यवस्थाले सहअस्तित्व झल्काउने गरेको बताए ।
अन्तिममा मुख्यमन्त्रीले सम्बोधनसहित बैठकको समापन गरेका छन । बैठकमा प्रदेशका मन्त्रीहरु, सबै मन्त्रालयका सचिव, नौवटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख कार्यकारी अधिकारी, ८८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो ।

डोटीमा कृषि ज्ञान केन्द्र स्थापना हुने

रोजेन्द्र जोशी/डोटी
असोज २१
सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले डोटीमा कृषि ज्ञान केन्द्रको  स्थापना हुने बताएकी छिन् । 
मन्त्री चौधरीले साविकको जिल्ला कृषि कार्यालय डोटीलाई ज्ञान केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकारले निर्णय गरिसकेको बताईन । आईतवार डोटीको सिलगढीमा नेकपा नेता तथा कार्यकर्ताहरु संग भेटघाटको क्रममा मन्त्री चौधरीले जिल्लामा रहेका संरचनाहरुको प्रयोग कसरी गर्ने र सबै जिल्लाका जनतालाई कसरी सुुविधा दिने भन्ने बिषयमा सरकार चिन्तित छ । 
प्रदेश सरकारले युवाहरुका लागी सामूहिक कृषि खेती कार्यक्रम सञ्चालन गर्ने र युवा वर्गलाई विषेश सहयोग गर्ने बताईन । शदियौंदेखि पीडामा रहेका भूमिहिन मुक्त हलिया, सुकुम्बासी, मुक्त कमैयाहरुको व्यवस्थापन गर्न प्रदेश सरकारले पाँच अर्ब रुपैयाँ विनियोजित गरेको उनले बताईन् । प्रदेशभित्र रहेका गुठीहरु व्यवस्थापन गर्नु अहिलेको सरकारलाई मुख्य चुनौती रहेपनि प्रदेशभित्र रहेका सरकार जग्गा र सार्वजनिक गुठी अबस्थाको बारेमा अध्ययन थालेको उनले बताईन । ‘प्रदेशमा रहेका गुठी, सरकारी र सार्वजनिक जग्गाहरुको लगत लिएर त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा प्रदेश सरकारले छलफल गरिरहेको छ’  मन्त्री चौधरीले भनिन् ‘लालपुर्जा लिने तर जग्गा कहाँ छ भन्ने समेत जानकारी नहुने अवस्थाको अन्त्य गरिनु पर्छ भन्ने हाम्रो प्रयास हो ।’ 
कार्यक्रमका सहभागीहरुले मुक्त हलिया, कमैया तथा भूमिहिनका नाममा सरकारले पटक पटक बजेट विनियोजित गर्दै आईरहेको भएपनि बजेटको सहि ठाउमा प्रयोग हुनुको साटो जिम्मेवार कर्मचारी, सरोकारबालाहरुको मिलोमतोमा रकम पिडितसम्म नपुग्ने गरेकोले प्रदेश सरकारले त्यसतर्फ ध्यान दिन सुझाब दिएका थिए । मन्त्री  चौधरीले आफु सधैं सल्लाह सुझाबका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै त्यसका लागि प्रदेश सरकारले ठोस् योजना वनाउने बताईन । अछामबाट फर्किने क्रममा मन्त्री चौधरीले डोटीमा कार्यकर्ताहरुसंग भेटघाट गरेकी थिईन ।

नागरिकता पाएपछिको खुशी

डोटी शिखर नगरपालिका–६ की लाली दमाईले आफ्नो जीवनको उत्तरार्धमा नेपाली नागरिकताको प्रमाण पत्र     पाईन । नागरिकता पाएकै    कारण उनी धेरै खुशी छिन् । 
१९७८ साल जेठ २२ गते जन्मिएकी लालीले जिल्ला प्रशासन कार्यालय डोटीबाट ९८ बर्षको उमेरमा नागरिकता लिएकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत लोकराज बोहराले नेपाली नागरिकताको प्रमाण पत्र हस्तान्तरण गरेका  हुन ।  
यो उमेरमा जिल्ला प्रशासन कार्यालयमै गएर नागरिकता प्राप्त गर्ने सम्भवत उनी पहिलो नागरिक भएको प्रशासकीय अधिकृत बोहराले बताए ।   नागरिकता प्राप्तीसंगै लालीले राज्यबाट प्राप्त गर्ने जेष्ठ नागरिक भत्ता र अन्य सुबिधाहरु दावी गर्न बाटो खुलेको छ ।
दुई छोरा र तीन छोरी गरि पाँच सन्तानलाई जन्म दिएकी लालीको जेठो सन्तानलाई ७० बर्ष पुगेको छ भने जन्माएका दुई छोरीहरुको मृत्यु भई सकेको छ । नेपाली नागरिकता पाएर खुशी भएकी लालीले फोटो सहितको मतदाता नामाबलीमा समेत आफ्नो नाम दर्ता गराएकी छिन् । 
नागरिकता प्राप्त गर्नका लागि आवश्यक कागजातहरु सहित लाली छोरा पदम दमाई संग जिल्ला सदरमुकाम पुगेकी थिईन । उनी नागरिकता पाईसकेपछि मुस्कुराउँदै भन्छिन् ‘मैले पनि सरकारी कागज पाएँ ।

कांग्रेस नेता बलायरको दावी ः ओलीको बयलगाडा टुट्दैछ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व भौतिक पूर्वाधार तथा यातायत मन्त्री बिरवहादुर बलायरले प्रधानमन्त्री केपी ओलीको सरकार ढल्ने अवस्थामा पुगेको दावी गरेका छन् । 
नेपाल प्रेस युनियन डोटीको चौथो अधिवेशनको उद्घाटनका क्रममा बोल्दै नेता बलायरले ओली सरकारलाई बयलगाडाको संज्ञा दिँदै भने ‘यो बयलगाडा अब धेरै दिन टिक्दैन ।’ अहिलेको सरकार सियोमा हिड्न नजान्ने हल गोरु जस्तै भएको भन्दै उनले थपे ‘यो सरकार ढाल्नका लागि नेपाली कांग्रेसले केही गर्नु पर्दैन, आफै ढल्छ ।’ उनले माधव कुमार नेपालले देश डुव्न लाग्यो भनेर संसदमै बोल्नु र नेकपा अध्यक्ष प्रचण्डल समेत सरकारको यो गतिले अर्को चुनावमा कम्युनिष्टलाई कसैले भाट नदिने भन्नु सरकार परिवर्तनको संकेत भएको वताए । 
नेता बलायरले सरकार निरंकुश भईरहेको बताए । ‘दुई तिहाईको दम्वले सरकारले मनपरी निर्णय गर्दैछ’     बलायरले भने ‘सरकारको चरित्र लोकतान्त्रिक हुन सकेको छैन ।’ उनले पूर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रमा मात्रै सम्भव भएको बताउँदै लोकतन्त्रको पक्षमा आफ्नो कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले भने ‘सञ्चारकर्मीहरुलाई अंकुश लगाउने गरी आएको फौजदारी संहित ऐन, देवानी संहिता ऐनको तत्काल संसोधन हुनु पर्ने पक्षमा नेपाली कांग्रेस छ ।’ त्यसका लागि कांग्रेसले सरकारलाई दवाव दिईरहेको समेत  बलायरले बताए । 
स्थानीय तहमा भ्रष्टाचार मौलाएको भन्दै बलायरले सञ्चारकर्मीहरुले भ्रष्टाचार बिरुद्ध आक्रामक भएर समाचार सप्रेषण गर्न समेत आग्रह गरे । ‘यदि नेपाली कांग्रेसकै व्यक्तिहरुले भ्रष्टाचार गरेका छन् भने पनि समाचार लेख्नुहोस्, जनताले सत्य कुरा थाह पाउनु पर्छ’ बलायरले भने ‘जनताको नाममा आएको रकममा भ्रष्टाचार गर्न पाईदैन ।’ उनले राजनीतिभित्र बिलासिता पसेका कारण भ्रष्टाचार बढेको बताए । 
कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुदेवीले सञ्चारकर्मीहरुले निश्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पर्ने कुरामा डोटी दिए । ‘आशन ग्रहण, राशन ग्रहण र भाषण गर्ने कुरामा सञ्चारकर्मीहरुले बिचार पु¥याउनु पर्छ’ प्रजिअ सुदेवीले भने ‘राजनीतिक रुपमा कुनै दलसंग आस्था राख्ने भएपनि दलकै प्रतिनिधि भएर सार्वजनिक कार्यक्रममा पत्रकारले आशन ग्रहण गर्नु हुँदैन ।’ उनले व्यक्तिगत फाईदाका लागि अनुचित काम गर्दै दुई पैसा लाभ लिने गरी ‘राशन ग्रहण’ पनि पत्रकारले गर्नु नहुने वताए । प्रजिअ सुदेवी थप्छन् ‘कुनै कार्यक्रममा फलानो पार्टी राम्रो भन्ने वा आफ्नो समाचारमा फलानो पार्टी राम्रो भन्ने अरु पार्टीलाई गाली गर्ने काम गर्नु पनि स्वतन्त्र पत्रकारिता हुन सक्दैन ।
कार्यक्रममा पूर्व सांसद कल्पना सोव लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । 

खेल समाचार 

भलिबल प्रतियोगिता हुने

विजया दशमी २०७५ को अवसरपारी कैलाली धनगढी उपमहानगरपालिका–१३ मा भलिवल प्रतियोगिता आयोजना हुने भएको छ ।
असोज २५ गतेदेखि २७ गतेसम्म हुने सो प्रतियोगितामा ३० वर्षभन्दा माथिका उमेर समूहका पुरुष खेलाडीहरूले भाग लिन पाउने वडाध्यक्ष विजयराज जोशीले बिहीबार जानकारी दिए । वडाध्यक्ष जोशीले प्रतियोगितामा २१ टिमले भाग लिने गरि तयारी भईरहेको जानकारी दिए । उपमहानगरपालिकाका सबै १९ वडाका १९ टिम र एक आयोजक वडा टिम तथा धनगढी उपमहानगरपालिकाको एक टिम रहने उनले बताए ।
प्रतियोगितामा प्रहरी प्रशासन क्षेत्रमा आबद्ध खेलाडी, अन्तराष्ट्रिय र विदेशी खेलाडीले खेल्न नपाउने व्यवस्था गरिएको छ । राजपुरस्थित जनता राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा करिब तीन लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, द्वितीयलाई १५ हजार पुरस्कार घोषणा गरिएको छ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई पाँच हजार र उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट रेजरलाई जनही दुई हजारका दरले पुरस्कार घोषणा गरिएको वडा अध्यक्ष जोशीले वताए ।

डोटीमा पहिलो पटक फुटसल प्रतियोगिता

‘विकास र समृद्धिका लागि खेलकुद’ भन्ने मुल नाराका साथ डोटीमा पहिलो पटक फुटसल प्रतियोगिता आयोजना गरिएको छ । 
नयाँ युवा नयाँ सोच सेवा समाज नामक संस्थाको आयोजना रहेको उक्त प्रतियोगिता डोटी जिल्ला सदरमुकाम स्थित टुडिखेलमा सुरु भएको हो । प्रतियोगितामा डोटीका ८ टिमको सहभागिता रहेको छ भने खेल लिग     चरणमा संचालन गरिएको संस्थाका अध्यक्ष मुकुन्द दिप मडैले बताए । 
विजया दशमी र शुभ दिपावलीको अबसर पारी आयोजना गरिएको प्रतियोगितामा ६/६ जना खेलाडीहरु फिल्डमा भिड्ने छन् भने प्रथम हुने टिमलाई बोका र दोस्रो टिमलाई लोकल कुखुरा  पुरस्कारको रुपमा दिईने आयोजकले बताएको छ ।

चलचित्र/मनोरञ्जन 

मोनिका बनिन् मिस सुदूरपश्चिम

पहिलो “मिस सुदूरपश्चिम” उपाधी डोटीकी मोनिका गुरुङ्गले हासिल गरेकी छिन् । 
शनिबार राति सम्पन्न पहिलो मिस सुदूरपश्चिम–२०१८’ को उपाधी मोनिका ले जितेकी हुन । धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै डोटी दिपायल सिलगढी नगरपालिका–६ की २३ बर्षीया मोनिकाले उपाधी हात पारिन् । 
सव इन्जिनियर पदमा सिचाई डिभिजन कार्यालयमा कार्यरत मोनिकाले मिस सुदूरपश्चिमको उपाधिसंगै स्कुटर प्राप्त गरेकी छिन् । उनलाई पूर्व मिस नेपाल सुगारीका केसीले ताज पहिराएकी थिईन । प्रतियोगितमा अंकिता ज्ञवाली फस्ट रनरअफ र दिव्या गैरे सेकेन्ड रनरअफ भईन । फष्ट रनरअफ ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेन्ड  रनरअफ गैरेले नगद २५ हजार हात   पारिन । 
रोयल कोलाबरेशन प्रालि नेपालले पहिलो पटक आयोजना गरेको प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल केसी, गायक तथा गितकार कालीप्रसाद बास्कोटा, नायिका अन्नपूर्ण शर्मा, फिल्म निर्देशक हेमराज विसी, ओलम्पियन दीपक विष्ट र मोडेल निलम चन्द रहेका थिए ।

अनमोलको “केप्टेन” रिलिज कन्फर्म

फिल्मी खवर 
  
सुपरस्टार अनमोल केसी अभिनित छैटौं प्रोजेक्ट ‘क्याप्टेन’ को रिलिज डेट घोषणा गरिएको छ ।  पटक–पटक विभिन्न मितिमा प्रदर्शन हुने चर्चा भएपनि अब उक्त फिल्म महाशिवरात्रीको छेकोमा  रिलिज हुने पक्का भएको छ । 
वितरक मनोज राठीले ‘क्याप्टेन’ फागुन १७ गते प्रदर्शनमा आउने औपचारिक जानकारी दिएका छन् । फिल्मीखबरसँग कुरा गर्दै उनले भने ‘यो मितिभन्दा बाहेक हामीसँग अरु कुनै अप्सन नै छैन । फिल्म फागुन १७ लाई नै लक हो ।’
उक्त मितिमा फिल्म रिलिज हुन लाग्नुको पछाडि फागुन २० गते सोमवार परेको महाशिवरात्रीको सार्वजनिक विदा हो । यो फिल्ममा अभिनेता अनमोलले पहिलो पटक फुटबल खेलाडीको भूमिका निभाएका छन् । दीवाकर भट्टराई फिल्मका निर्देशक हुन् । 
भिएफएक्सको अधिक प्रयोग हुने फिल्ममा अनमोलको अपोटिजमा दुई नव अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । भुवन केसी निर्मित  ‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

लेख 

कांग्रेसको बिधानमाथी गम्भिर ठट्टा

सुदर्शन आचार्य
नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिको हैसियतमा शेरबहादुर देउवाको आगमन जति शालीन र वैधानिक रुपमा भयो, उनको प्रस्थान भने कांग्रेसको इतिहासमै दुर्लभसँगै अलोकप्रिय हुने स्पष्ट संकेत देखा पर्दैछन् ।
देउवाको सभापतिको हैसियतबाट हुने प्रस्थानका बारेमा किन पनि अनुमान लगाइँदैछ भन्दा ‘मास बेस्ड’ पार्टीलाई जीवन्त राख्नका निम्ति अधिक लोकतान्त्रिक बनाइनु पर्नेमा देउवा स्वयं प्रस्तावित विधानमा सभापतिलाई बलियो बनाउने बहानामा “गुट निर्माण” मा व्यस्त छन् ।
यसरी नेतृत्व आफैंले गुट निर्माण गरेर पुनः सभापति नै बलियो बनाइनुपर्ने प्रस्तावित विधान जोखिमयुक्त तवरले बहसमा लगिएबाट देउवामा पुनः सभापति बन्ने “लालसा” पैदा भएको बुझ्न कठिन छैन ।
आजका मितिको नेतृत्वमा अग्रगामी बन्ने चिन्तन त देखिएन नै, नेपालको संविधानको धारा २६९ को  उपधारा ४ को ख मा ‘संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन गर्नुपर्ने छ’ भन्ने व्यवस्थाको खिलाफमा पदाधिकारी समेत मनोनित गर्ने प्रावधान सहितको विधान मस्यौदा उपर बहस प्रारम्भ गराइएबाट प्रष्टिन्छ कांग्रेस नेतृत्वको नियत ।
उसो त देउवा नेतृत्वको आजका मितिसम्मको कालखण्ड मुलुक र पार्टी लागि प्रियकर कहिल्यै हुन सकेन । उनको कालखण्डमा उनैलाई प्रयोग गरेर प्रजातन्त्रमाथि नै प्रहार गर्ने कामसमेत भयो । आज पार्टी सञ्चालनको मूल दस्तावेज विधान निर्माणमा पनि उनै देउवा सभापतिलाई बलियो बनाउने नाममा केन्द्रीकृत विधानको परिकल्पना गर्दैछन् ।
सभापतिलाई बलियो बनाउने नाममा “पश्चगामी” विधान ल्याइयो र सोही विधानलाई महासमिति सदस्यले पनि लोभ, मोह र त्रासमा ‘ल्याप्चे’ लगाइदिए भने कांग्रेस त समाप्तिको बाटोमा जान्छ नै, कांग्रेस समाप्त हुँदा त्यसको प्रत्यक्ष असर नेपालको संघीयतासहितको गणतन्त्रमासमेत पर्ने अवश्यंभावी छ ।
आजका मितिको कांग्रेसमा मुलुक सञ्चालनका निम्ति एउटा राजनेतामा हुनुपर्ने कुनै ‘गुण’ वा ‘भिजन’ त देखा परेन नै, आफ्ना सदस्य एवं समर्थकलाई आकृष्ट गर्ने प्रभावशाली व्यक्तित्व एवं विचार र नेतृत्वमा हुनुपर्ने वाकपटुतासँगै उत्प्रेरक आदर्शजस्ता केही पनि विषय प्राप्त हुन सकेनन् । यसबाट एउटा निष्कर्ष निकाल्न सकिन्छ, निसन्देह नेपाली कांग्रेसको गैरवशाली इतिहास त थियो । तर, पार्टीमै भविश्य देख्ने नेता एवं युवा नेताले हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा वर्तमान र भविश्य अन्यौलपूर्ण देखिन पुगेको छ ।
आज सुसुप्त तर निकै डरलाग्दोरुपमा पृथकतावादी समूह सकृय भएका छन् । संघीयता कांग्रेसको नारा यदि हो भने त्यही संघीयतामाथिको बहसका कारण ‘मजबुद राष्ट्रियता’ माथि नै कमजोर बनाउने खेल प्रारम्भ भएका छन्। वास्तवमा राष्ट्रियता भन्ने चिज मुलुकको आन्तरिक विषय मात्रै नभएर त्यसका कतिपय आयामहरु बाहिरी जगतसँग जोडिएका हुन्छन् । संविधानको कार्यान्वयनसँगै आफ्नै पार्टी नेपाली कांग्रेससमेतलाई समयानुकुल सञ्चालन गर्न नसक्दा प्राप्त हुने परिणामले न राष्ट्रियता, न त लोकतन्त्र, दुबैको रक्षा गर्ने क्षमता   राख्दैन ।
गतिशील क्षमता नभएका भनिएका दिवंगत नेता सुशील कोइरालाले त चिरकाल स्मरण गर्ने संविधान नामक दस्तावेज नेपाली जनतालाई दिएर गए, तर कोइरालापछि पार्टीको नेतृत्वमा पुगेका देउवाको कार्यसञ्चालन हेर्दा यथास्थितिभन्दा फरक ढंगले पार्टी सञ्चालनको अपेक्षा राख्नु नै गलत थियो भन्ने पुष्टि स्वयंले गरिदिए । अब आम कांग्रेसजनसँगै मूलतः महासमिति सदस्यहरुले सोच्नैपर्ने बेला आएको छ, यथास्थितिमै रहेर समाप्त हुने कि, परिवर्तनशील बनेर टिक्ने ?
जनताका लागि राजनीति गर्ने व्यक्ति र समूह कांग्रेसमा पातलिँदै गयो । विरासत, ऐसआराम, उठन–पुठन जस्ता कामका निम्ति मात्रै आश्रयस्थल बन्न पुग्यो कांग्रेस । मुलुकका सामु देखिएका गम्भीर मुद्दाहरुले कांग्रेसलाई छुनै छाड्यो । उमेर ढल्किएको नेतृत्वले त पदमै रहेर मृत्युवरण गर्ने इच्छा राख्नुलाई एकछिन थाती राखौं, पार्टीलाई समयानुकुल राख्दा मात्रै भोेलिको नेपालको नेतृत्व गर्न सकिन्छ भन्ने युवासमेत उमेरले नेटो काटेका नेताकै घरमा बाक्लै ओहोर–दोहोर, त्यो पनि पद, पैसा र प्रतिष्ठाको आशक्तिमा घुमिरहनुलाई सामान्य मान्न  सकिँदैन ।
युवामा देखिएको यो परनिर्भरतावादी सोच एवं निष्ठामा आएको विचलनले न कांग्रेस, न त लोकतन्त्र नै सुरक्षित हुने छ । तसर्थ अब कांग्रेसमा एकपटक उथल–पुथल ल्याउन जरुरी छ ।
विश्व राजनीतिमा कम उमेरमै मुलुकका निम्ति अतुलनीय योगदान दिनेहरुको लामै सूचि बनाउन   सकिन्छ । ५७ वर्षको उमेरमा अमेरिकाको प्रथम राष्ट्रपति वनेर अमेरिकालाई संयुक्त बनाए जर्ज वासिङटनले । ५२ वर्षमा त्यो पनि एक कार्यकाल मात्र सोह्रौं राष्ट्रपति बनेर मुलुक निमार्णमा अतुलनीय योगदान दिए अब्राहम लिंकनले ।
४३ वर्षमै राष्ट्रपति बनेर अमेरिका निर्माणमा योगदान दिँदादिँदै ३५ औं राष्ट्रपति जोन अफ केनेडीको हत्या भयो । रिचार्ड निक्सन, ग्रोभर क्लिभल्याण्ड, थियोडोर रुजवेल्ट जस्ता ४२/४५ कै उमेरमा राष्ट्रपति बनेर   रिटायर्ड बने । जसको नाम अमेरिकाको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
अमेरिका मात्र नभई बेलायती प्रधानमन्त्रीहरु मार्गरेट थेचर, जोन मेजर, टोनी ब्लेयर र डेबिट क्यामरुन जस्ता नेताले आजीवन पदमै मात्र रहेर देश विकास गर्न सकिन्छ भन्ने सोच राखेनन् । उनीहरुले निश्चित कालखण्डपछि नयाँ पुस्तालाई मैदान खाली गरिदिए । नेपालका सन्दर्भमा भने सरकार वा पार्टी सञ्चालनमा रहेको राजनीतिक नेतृत्व पदसहित ब्रह्मनालमा नपुग्दासम्म मुक्ति पाइँदैन भनेझैं गर्दैछ ।
पुनः कांग्रेसको विधानकै बारेमा चर्चा गरौं । पार्टीमा नेतृत्वले आकर्षण बढाउन सकेन । सत्ता र शक्ति आफ्नै हातमा हुँदा पनि आफ्नै श्रीमतीसमेत जिताउन नसक्ने नेतृत्वका बारे धेरै कटाक्ष नगरौं । विधान पार्टी सञ्चालनको महत्वपूर्ण दस्तावेज हो । औपचारिकता नै सही, मुलुकका सातै प्रदेशमा विधानमाथि राय लिने काम पनि सम्पन्न भएको छ । तर, राय लिइँदा जिल्ला तहका केही पदाधीकारीबाहेक बुद्धिजीवी, युवा, विद्यार्थी, तरुण लगायतको उपस्थिति न्यून देखियो ।
यसको संकेत हो – एक त विधानमाथिको सुझाव संकलन एउटा नौटंकी मात्र हो भनेर बुझियो । दोश्रो, युवा, विद्यार्थी, तरुण र वुद्धिजीवीको पार्टीप्रति आकर्षणभन्दा पनि विकर्षण बढ्दै गएको देखियो । यसबाट विद्यमान पार्टी नेतृत्वले कति सिक्ला, त्यसलाई थाती राखौं, भोलिको काग्रेससँगै मुलुकको समेत नेतृत्व गर्छु भन्ने नेतृत्वलाई यो घटनाले अवश्य झस्काएको हुनुपर्छ ।
परिवर्तनलाई आत्मसाथ नगर्ने हो भने जनताका वीचबाट नेपाली कांग्रेस विस्थापित हुने छ । कांग्रेस विस्थापनका लागि अरु केही गर्नै पर्दैन, सभापति बलियो बनाउने भन्दै ल्याउन खोजिएको विधान जस्ताको त्यस्तै पाससँगै आगामी चौधौं महाधिवेशनबाट देउवालाई नेतृत्व सुम्पिदिए हुन्छ । हिजो, देउवा सभापति हुनुपूर्व पार्टी नेतृत्वको आकांक्षा राख्ने देउवा र रामचन्द्र पौडेल दुवैमा परिवर्तित सन्दर्भमा कांग्रेसको नेतृत्व गर्ने भिजन छैन, अझै देउवाको हातमा पार्टी पुग्यो भने त पार्टीले दक्षिणपन्थी बाटो समाउने छ, सो बाटोवाट अघि बढ्दा हुने कमजोरीका कारण राष्ट्रियताप्रतिको प्रतिवद्धतामा समेत गिरावट आउँछ भन्ने थियो । आज लगभग हिजोको त्यो विश्लेषण सत्यताको नजिक पुगेको छ ।
आज राजनीति पेशा बन्न पुग्यो । नेतामा हुनुपर्ने त्याग र समर्पणमा स्खलन आयो । पार्टीमा परिवर्तनका पक्षधरलाई ‘बैरी’ ठान्न थालियो । पार्टी नेतृत्व आर्थिकसँगै चरित्रका हिसावले पनि चुक्न पुग्यो, राजनीतिमा लागेका महिला नेतारकार्यकर्ताप्रति उनीहरुकै परिवार सन्तुष्टत हुन सकेनन् नै, कतिपयको घरवारसमेत भाँडियो ।
अर्का्तिर संगठन निर्माणमा महत्वपूर्ण मानिएका विभागहरु आजका मितिसम्म बन्न सकेनन् । सँगै, पार्टी्भित्रका आफ्ना आलोचकलाई तह लगाउनकै लागि अनुशासन समिति निर्माणमा भने हतारो गरिँदैछ । दिनको एकपटक आफ्नै निवासमा हाजिरी नजनाउने नेतारकार्यकर्तालाई शंका गरिँदैछ । कार्यकतालाई जनतासँग होइन, केवल आफैसँग मात्र जोडेर राख्ने प्रवृत्ति नेतृत्वमा हावी भएको छ । यसैबाट अनुमान लगाउन सकिन्छ, पार्टीको भविष्यका बारे ।
तसर्थ, यतिबेला पार्टी सञ्चालनको विधानउपर मात्र नभई, कांग्रेसलाई जीवन्त राख्न सक्ने नेतृत्वका  बारेमा समेत बहस प्रारम्भ गर्न ढीला भइसकेको छ । लोकतन्त्रवादी भएकै कारण प्राप्त गरेको विरासत र गाउँ–गाउँका कार्यकर्ताको रगत र पसिनाकै कारण मात्र कांग्रेस टिकेको छ । कांग्रेस मेरा कारण टिकेको छ भन्ने भ्रम कोही नेतामा छ भने त्यो केवल भ्रममात्रै सावित हुँदैछ ।
महाथिर मोहम्मद, तेङ वा लि क्वान बनेर मुलुकको मुहारमा परिवर्तन ल्याउन नसके पनि पार्र्टीिभत्र सत्य बोल्न आँट गर्ने ‘क्राइस्ट’ त कोहि न कोही निस्कन सक्नुपर्दथ्यो । त्यसको पनि आजका मितिमा कांग्रेसभित्र अभाव खड्कियो । मानाौं सत्य कुरा बोल्दा भोलि नै प्राप्त गरिहाल्न लागेको राष्ट्रपति वा प्रधानमन्त्री पद नै गुम्लाझैं गरिँदैछ । तर, युवाले समेत बोल्ने आँट नगरेपछि अब कांग्रेसको भविश्यबारे संशय पैदा भएको छ ।
‘समृद्ध नेपालका निम्ति नयाँ कांग्रेस’ को अवधारणासहितको नीति र नेतृत्व आजको आवश्यकता हो । विधानउपर देशैभर बहस भए र हुने क्रम जारी छ । नेपाली कांग्रेसले पार्टी सञ्चालनरुपी विधान नामको दस्तावेज निर्माण गर्दा अन्य परिवर्तन त छँदैछ, विधानमा मूल परिवर्तन भने कृयाशील सदस्यहरुबाट सीधै मतदान गरेर सभापति चयन गरिने व्यवस्था हुँदामात्रै कांग्रेसको ओज बढ्न पुग्छ ।
आजका मितिमा कांग्रेसमा ४ लाख ७० हजार कृयाशील सदस्य छन् । मौजुदा सदस्यहरुवाट चुनाव जित्नका लागि पनि २ लाख ३५ हजारभन्दा माथि मत ल्याउनुपर्ने हुन्छ । यो व्यवस्था हुँदा एक त यति ठूलो संख्याका क्रियाशील सदस्यलाई खरिद बिक्री गर्न सम्भव हुँदैन भने दोश्रो, पार्टी नेतृत्वमा पुग्ने आकांक्षा राख्ने नेतृत्व ग्रामीण तहका कार्यकर्तासँग समेत जोडिनुपर्ने हुन्छ ।
विधानमा आमूल परिवर्तन नगरी यथास्थितिमा रमाउँदै आजकै नीतिबाट पार्टी चलाउन खोजियो भने कांग्रेसभन्दा अग्रगामी दलका रुपमा ‘विवेकशील साझा पार्टी’ वा अन्य दलको उदय टाढा छैन । सभापति देउवाको मझेरीमा बसेर सिंगै कांग्रेसको नेतृत्वको सपना देख्ने विमलेन्द्र निधिदेखि पूर्णबहादुर खड्का हुँदै रमेश लेखकदेखि विश्वप्रकाश शर्मा सम्मले एकपटक सोच्नेबेला आएको छ । सत्य बोलेर परिवर्तनको कित्तामा आफुलाई उभ्याउने कि, असत्यको साक्षी भएर काग्रेसलाई नै कोमिन्ताङ बनाउने ? रोजाई उहाँहरुकै हो ।
जनताका आवाज मुखरित गर्ने थलो हो(संसद । संसदमा आवाज उठाउने ब्यक्ति र ब्यक्तित्वका बारे जनतामा चर्चा हुने गर्छ । कांग्रेसको हकमा दलको नेता, उपनेता, सचेतक जस्ता ब्यक्तिको इमेजका बारे धेरै चर्चा गरिरहनु नपर्ला । यसले पनि देखाउँछ कांग्रेसमा देखाउन लायक ब्यक्तित्वको खडेरी । सँगै, टिकट वितरण, समानुपातिकको सूची निर्माण, निर्वाचनको प्रचार, विधानको मस्यौदा, पार्टीमा जिम्मेवारी बाँडफाँट र मुलुकमा घटेका दर्जनौं घटनाका सम्बन्धमा संसदमा खेलिने भूमिका आदिका विषयमा कांग्रेस नेतृत्वको भूमिका हेर्दा लाग्छ – आज कांग्रेस लोकतन्त्रका नाममा गम्भीर ठट्टा गर्दैछ ।
यही सोच, शैली र संस्कार कांग्रेसमा कायम नै रहिरहने हो भने एक दिन जनताले पनि नेपालमा कांग्रेस नाम गरेको पार्टी थियो भनेर ठट्टा गर्ने दिन टाढा छैन । समयानुकुल नीति र नेतृत्व चयन गर्न सक्दा लोकतन्त्रको विरासत प्राप्त पार्टी नेपाली कांग्रेसको भविष्य सुन्दर छ । तर, त्यसका निम्ति भोलिको परिवर्तित नेतृत्वले आजका मितिमा देखिएको बेथितिबाट पाठ सिक्न जरुरी छ ।
— अनलाईन खवरबाट

मोफसल पत्रकारिता 

समस्यासंग डराउनु समाधान होईन

गणेश कञ्चन भारती (अध्यक्ष) 
नेपाल पत्रकार महासंघ, सुर्खेत शाखा
तपाईको परिचय पाउँ न । 
— म गणेश कञ्चन भारती । नेपाल पत्रकार महासंघ सुर्खेतको अध्यक्ष भएर काम गर्दैछु । प्रदेश एफ एम नेटवर्कमा स्टेशन मेनेजरको रुपमा काम गर्छु । बाह्र बर्षदेखि सुर्खेतबाट प्रकाशित हाम्रो नयाँ नेपाल दैनिकमा म प्रकाशक सम्पादकको रुपमा काम गरिरहेको छु ।
पत्रकारिता पेशा त निकै गा¥हो छ भन्छन नि ! कस्तो पाउनु भयो ? 
— भन्छन् । तर मलाई लाग्दैन, म मेरो पेशाप्रति गौरब गर्छु । कम्तीमा मैले देशका आवाजविहिनहरुको आवाजका रुपमा काम गर्न पाएको छु । सक्नेका लागी यो मुस्किल पेशा होइन सजिलै छ । तर, गर्न नसक्नेका लागि हरेक पेशामा निर्कै गा¥हो हुन्छ, पत्रकारिता पेशामा मात्रै होईन ।  
पत्रिकारिता जस्तो समस्यै समस्याको पेशा पत्रकारिता गर्न के ले प्रेरणा दियो तपाईलाई ? 
— समस्या सबैमा हुन्छन्, यहा पनि छन । तर समस्यासंग डराउनु समाधान होइन । पत्रकारिताका समस्यासंग विगत एक दशकभन्दा लामो समय भिडिरहेको छु । पछि नि त्यसरी नै लाग्छु । 
कति समय बिताउनु भयो पत्रकारितामा पत्रकारिता क्षेत्रमा ?
— मैले करीब ४ बर्ष युद्ध पत्रकारिता गरे । शान्ति कालका करीब १३ बर्ष विरेन्द्रनगर सुर्खेत र नेपालगञ्जमा रहेर पत्रकारिता गरे । यसरी हेर्दा मैले पत्रकारिता क्षेत्रमा १७ बर्ष बिताएँ ।  
सुर्खेत जस्तो बिकसित जिल्लाबाट पत्रकारिता गर्दै हुनुहुन्छ, कसरी मुल्याँकन गर्नु भएको छ यस जिल्लाको पत्रकारिताको अवस्थालाई ?  
— यहाँको पत्रकारिताका लागि हाम्रा अग्रजहरुले ठुलो योगदान दिनु भएको छ । उहाँहरुको धरातलमा उभिएर म पत्रकारिता गरिरहेको छु । समग्रतामा यहाँको  पत्रकारिता अझै विकासकै चरणमा छ । म पनि लामो समय पत्रकारिताको विकासमा लागे म सन्तुष्ट छु, पत्रकारिताको विकासमा गर्नुपर्ने अरु धेरै काम भने बाँकी नै छ । अव हामी सवैको ध्यान त्यसतर्फ जानु पर्छ । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— नेपाल सरकारले काठमाण्डौं र मोफसललाई हेर्ने आँखा एउटै हुनु हुदैन । अझ कर्णालीका समस्या धेरै छन् । मिडीया टिकाउने देखि भैरहेका पत्रकारहरुको पेशागत क्षमता विकासका लागि प्रशिक्षण जस्ता समस्या छन । पत्रकारहरुले काम गरेर पनि तलब नपाउने समस्याहरु पनि उस्तै छन् । राज्यले समानुपातिक विज्ञापन नीति लागु गर्ने देखि तालीम लगायतको व्यवस्था गर्नुपर्छ । 
तपाई आफै पनि नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाको अध्यक्ष हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— सहकार्यमा सबै काम भैरहेका छन् । पर्याप्त छैनन् अरु धेरै गर्न जरुरी छ । यसका लागि हामी सवैको पहल हुनु जरुरी छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— यि सबै संगठनहरुको पनि सकारात्मक खालकै भुमिका देख्छु म । यि सबैले पत्रकारिताको विकास र उन्नयनमा भुमिका खेलिरहेका छन् । अझै लामै समय सहकार्य गरेर जानुपर्छ । 
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता समाजको एैना हो, आवाजविहीनहरुको आवाज हो । गाउँगाउँका आवाजहरु सिंहदरबारसम्म पु¥याउने माध्यम बनेर हिडिदिने पुल पनि हो । राज्य र जनताकोबीचमा पुलको काम गर्ने माध्यम पनि हो । 
पत्रकारिता पेशामा लागेर कत्तिको कमाउनु भयो ?
— पैसा भने जत्ति कमाईएन होला । नाम चाही टन्नै कमाएको छु । अझै लोभी छु, कति सकिन्छ हेरौं । 
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ ?
— यो राम्रो होइन । यस्ता गलत प्रबृतिका बिरुद्ध हामी सवै सधैं लड्नुपर्छ । पत्रकारिताको दुरुपयोग गर्ने बद्नाम पत्रकार हुन । यिनले पत्रकारिताको खास मर्म बुझ्न सक्दैनन् । यस्ता खराब प्रवृत्तिभित्र हामी आफै लड्नुपर्छ ।
तपाई त लाग्नु भा छैन नि यस्ता कुरामा ?
— म सधैं लागिरहेको छु । पत्रकारीताको विकास र खराब पत्रकारीताको विरुद्धमा म सधैं लागिरहेको छु ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— केही छैन, तपाई पनि ग्रामीण क्षेत्रको पत्रकारिताको विकासमा लाग्नुस्, शुभकामना ।
समय र बिचारका लागि धन्यबाद । 
— धन्यवाद । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. सगरमाथाको चुचुरोमा पुग्ने प्रथम व्यक्ति को हुन् ?  —तेन्जिंग नोर्के र एडमण्ड हिलारी
२. सगरमाथालाई पन्ध्रौं चुली नामाकरण गर्ने व्यक्ति को थिए ? —राधानाथ सिकन्दर
३. नेपालमा सर्वप्रथम पर्वतारोहण सुरु भएको हिमाल कुन हो ? — अन्नपुर्ण
४. आप्पा शेर्पाद्वारा ग्रेट हिमालयन को पदयात्रा कति दिनमा पुरा गरे ?  — ९९ दिन
५. २०६५ जेष्ठ १२ मा विश्वको अग्लो सगरमाथा सिखर पुग्ने नेपाली सर्वाधिक बृद्धको नाम के हो ?
— मिन बहादुर शेरचन
६. हिउँको बाघ भेनर तेन्जिंग नोर्के शेर्पालाई चिनिन्छ भने हिउँचितवा भनेर कसलाई चिनिन्छ ?
— आंगरिता शेर्पा
७. फुटबल विश्वकपको शुरुवात कहिले भएको हो ?  — सन् १९३०
८. नेपालको कतिवटा प्रधानमन्त्रीको पदमा रहदैँ हत्या भएको थियो ? — ३ जना
९. एसियाली राजमार्ग कहाँबाट सुरु हुन्छ ?  — इरान
१०. धरान—खाँदबारी सडकको नाम के हो ?  — कोशीलोक मार्ग
११. भारत बाहेक तेश्रो मुलुकमा उडान गर्ने नेपालको पहिलो नीजि बिमान कुन हो ? — कस्मिक एयर
१२. नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल कहाँ निर्माण हुने भएको छ ?  — बारा
१३. काठमाण्डौं तराई जोड्ने फास्ट ट्रयाक कति लम्बाई छ ?  — ७६ किलोमिटर
१४. विश्वका ८००० मिटर भन्दा अग्ला १४ वटै हिमालको आरोहन गर्ने प्रथम महिला को हुन् ?
— ओ युन सुन
१५. नेपालको सबैभन्दा पुरानो राजमार्ग त्रिभुबन राजमार्गको लम्बाई कति रहेको छ ?
— १९० किलोमिटर
१६. नेपालको पुरानो र एकमात्र जनकपुर–जयनगर रेलमार्गको लम्बाई कति रहेको छ ?
— ५१ किलोमिटर
१७. कर्णाली राजमार्गको लम्बाई कति रहेको छ ?  — २६३ किलोमिटर
१८. त्रिभुवन राजमार्ग कसको सहयोगमा निर्माण भएको हो ?  — भारत
१९. विश्वमा सर्बप्रथम बैंक नोट प्रचलनमा ल्याउने देश कुन हो ?  — चाइना
२०. महेन्द्र राजमार्गको सबैभन्दा बढी भाग कुन अञ्चलमा पर्दछ ?  — लुम्बिनी
२१. काठमाण्डौं उपत्यकाका ३ जिल्लाका साविकका ३ नगरपालिका र ४० गा.बि.स. जोड्ने प्रस्तावित बाहिरि चक्रपथको लम्बाई कति रहेको छ ?  — ७२ किलोमिटर
२२. पूर्वमा इलामदेखि सुदूरपश्चिममा बैतडीसम्म जोड्ने लोकमार्गलाई के भनिन्छ ? 
— मध्यपहाडी लोकमार्ग
२३. नेपालको हवाई जहाजको जहाज कोड नम्बर के हो ?  — ९ एन
२४. गंगालाल मार्ग भन्नाले कुन सडक बुझिन्छ ?  — चावहिल—साँखु
२५. चीनमा सम्पन्न माउण्ट गोआलिगोङ अल्ट्रा म्याराथनको उपाधि नेपालकी सुनमाया बुढाले जितेकी छन् । छछ किमी दुरीको उक्त दौड सुनमाया बुढाले ५ घण्टा ४४मिनेट १९ सेकेण्डमा पुरा गरेकी   थिईन् । उक्त दौडमा विभिन्न देशका जम्मा २३९ जना सहभागी रहेका थिए । 
२६. २०१८ अप्रिलमा सम्पन्न काठमाण्डौं ओपन जिएम अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधि भारतका हर्ष भारथाकोटीले जितेका छन् ।
२७. सिण्डिकेट अन्त्य गर्नको लागि सरकारले सम्पूर्ण यातायात समिति भंग गरेको ः २०७५ वैशाख ५ गते 
२८. नेपालमा राष्ट्रिय झण्डा दिवस वैशाख १ गते मनाईन्छ भने नेपाली टोपी दिवस जनवरी १ मा मनाईन्छ ।
२९. न्यिदब िउबककउयचत चबलपष्लन द्दण्ज्ञड
१. कुनै पनि देशका नागरिकले बिना भिसा वा अन अराईभल भिसामा कति देश भ्रमण गर्न पाउँछन भन्ने कुराको आधारमा यो तय गरिन्छ ।
२. शक्तिशाली पासपोर्ट भएका देशहरुमा सिँगापुर पहिलो, दक्षिण कोरिया दोश्रो तथा जर्मनी तेश्रो स्थानमा रहेका छन् भने अफगानिस्तान अन्तिममा रहेको छ ।
३. नेपाल सूचिको ९० औ स्थानमा रहेको छ भने नेपाली नागरिकले बिना भिसा वा अन अराईभल भिसामा ४० देशमा भ्रमण गर्न सक्छन ।
३०. कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको सुधारका लागी ५८ बुँदे मार्गचित्र २०७५ वैशाख २३ गते सार्वजनिक गरेको हो ।
३१. नेपालमा पहिलोपटक आर्थिक गणना २०७५ वैशाख १ गतेबाट सुरुवात गरिएको हो ।
३२. सगरमाथाको आधिकारिक उचाई मापन गर्ने जिम्मेवारी नापी विभागलाई दिईएको छ ।
३३. २०१८ मे ९ मा भएको निर्वाचनबाट ९२ बर्षीय महाथिर मोहम्मद मलेसियाको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । उनले २०१८ मे १० मा प्रधानमन्त्रीको शपथ लिएका थिए । निर्वाचनमा ७७.९२% मतदान भएको थियो । बिपक्षीको बिजयसङ्गै बेलायती उपनिबेशबाट सन १९५७ मा स्वतन्त्र भएपछि सत्तामा रहेका वारिसन नेसनल (बिएन) पार्टीको निरंतरता तोडिएको छ ।
३४. नेपाल सरकारले हालै प्रकाशित गरेको तथ्याँक अनुसार नेपालमा प्रति किलोमिटर सडक बरावर औषत कति सवारी साधन रहेका छन् ? — ३०

साहित्य/सृजना 

भोट 

तिमी बोल्न सक्ने थिएनौ
मैले बोली दिएँ – नारा दिएँ
नाङ्गै थियौ झण्डा दिएँ
एक्लै थियौ जुलुस दिएँ
भीडसँग साक्षात्कार गराएँ
भाषाको कुरा ग¥यौ समर्थन गरेँ
जातको कुरा ग¥यो हुन्छ भनेँ
जग्गा माग्यौ झण्डा गाडेर तिम्रो भयो भनिदिएँ
घरको कुरा ग¥यौ एउटा सरकारी घरमा पलङ राखेर सुत भनेँ
रोजगारीको कुरा ग¥यौ
उधारो बेतन सही राजनैतिक क्याम्पमा भर्ना गरेँ
पैसा ?
व्यापारीलाई चिठी काटेर त्यो पनि चाहिएजति उठाइदिएँ
तिमीलाई देशका कुरा मैले ने भनेको हुँ
सत्ताका कुरा मैले ने गरेको हुँ
सुनाएकै हुँ सरकारका कुरा
सत्ता कब्जासम्मको योजना बनाएकै छु
स्थानीय सरकार बनाइदिएकै छु
आमसभा गर्दै देश बाँड्दै गरेकै हुँ – अस्ति भर्खर
देश तिम्रो
सत्ता तिम्रो
सरकार तिम्रो 
पार्टी तिम्रो
म तिम्रो
तिमीले मसँग माग्न बाँकी केही छैन
तिमीलाई सब चीज दिएँ, दिनु दिएँ
कसले दियो तिमीलाई आजसम्म यसरी मैले जति
अब माग्ने मेरो पालो
केवल एक कुरा माग्छु तिमीसँग – यो आदेश हो नाइँ भन्न पाउन्नौ
मैले दिनु दिएँ – खूब दिएँ
अब हरेक चुनावमा तिमीले मलाई भोट दिनुपर्छ ।
डा.नवराज लम्साल

गजल 

नारी  होस त विष  पचाउनै  पर्छ  पचा
महान छेस हासेर आफुलाई सुलिमा चढा

जति काट्यो त्यति पलाउछ्न तेरा अङ्गहरु
काट्न तयार छन् बन्चराहरु छिटो भोक मेटा

प्यासीहरु प्यास मेटाउन भौतारी रहेछन् 
जति बगाउन सक्छेस बगा आँसुका धारा

कसलाइ आफ्नो सुरक्षा कवच ठान्छेस हँ
भक्षण गर्न तयार छन् तेरै काका बाबा

शिरमा अप्सराको ताज बोकेकी छ्स
खोसिन सक्छ ताज देबगणहरुलाई फका

तैले धन कमाउन मेहनत गर्नै पर्दैन
यौनी र स्तन नै त हुन तेरा जायजेथा 
पुस्पा जोशी ’ काली’ 
धनगढी ,कैलाली





Tuesday, October 2, 2018

बिम्ब नेपाली साप्ताहिक, २०७५ साल असाेज १६ गते मंगलबार

समृद्ध नेपाल सुखी नेपाली, सामाजिक सेवा
सबैको जिम्मेवारी
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

बम दिदिबहिनीहरुको घरमै छ हत्यारा

रामहरी ओझा/डोटी
असोज १५
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बिरवहादुर बलायरले निर्मला पन्तको हत्यारा बम दिदिबहिनीहरुकै घरमा रहेको दावी गरेका छन् । 
नेपाल प्रेस युनियन डोटीद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बलायरले बम दिदिबहिनीहरुकै घरमा निर्मलाको बलात्कारपछि हत्या भएको ठोकुवा गरे । ‘यदि प्रहरीले निर्मला हराएकै राती बम दिदिबहिनीहरुको घरमा छापा मारेको भए निर्मला भरसक जीउदै नभए लास त्यही घरवाट प्राप्त हुने थियो’ बलायरले भने ‘तर प्रहरीले राती जान नमिल्ने भन्दै वास्ता गरेन ।’ उनले जुन घरमा निर्मला गईन त्यही घरमा उनको बलात्कारपछि हत्या भएको वताए । 
नेपाली कांग्रेसको तर्फबाट निर्मला हत्याकाण्डको छानबिन गर्न गठित समितिका सदस्य समेत रहेका बलायरले भने ‘अहिले बम दिदिबहिनीहरु दार्चुला गएका छन्, उनीहरुलाई यति छिटो किन दार्चुला पठाईयो ?’ नेता बलायरले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बलात्कारी र हत्यारालाई बचाउन खोजेको आरोप लगाए । आफुले निर्मला हत्या काण्डको बिषयमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई समेत भेटेर कुरा गरेको बताउँदै उनले भने ‘त्यतिवेला त उहाँहरु निकै आक्रामक हुनुहुन्थ्यो तर अहिले के भयो त ?’ 
प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्नु दुर्भाग्य
कांगे्रस नेता बलायरले ७ नं. प्रदेशको नाम सुदूरपश्चिम राख्नु दुर्भाग्य रहेको वताए । ‘पञ्चहरुले भोकमरी रहेको, अभाव रहेको, गरीवी रहेको, पछौटेपन रहेको र अशिक्षित     रहेको भन्दै हामीलाई हेपेर त्यतिबेला सुदूरपश्चिम राखेका हुन्’ बलायरले भने ‘प्रदेश सभाले हाम्रो ईतिहास मेट्ने गरी प्रदेशको नाम सुदूरपश्चिम राखेको छ, यसमा कांग्रेसको आपत्ति छ ।’ उनले प्रतिपक्षको बहिस्कारका बावजुद् प्रदेश सभाको दुई तिहाई बहुमतले गरेको उक्त निर्णयका बिरुद्ध नेपाली कांग्रेसले प्रदेशव्यापी अभियान सञ्चालन गर्ने वताए । ‘हामी जनताका बिचमा जान्छौं, जनतालाई सचेत गराउछौं, हाम्रो ईतिहास मेटिएको बारेमा भन्छौं’ उनले भने ‘म पहिले पनि “सुदूर” भन्ने शव्दको बिरुद्धमा लडेको मान्छे हुँ र अव पनि लड्छु ।’ उनले खस आर्य प्रदेश, गोदावरी प्रदेश, खप्तड प्रदेश, सेतीकाली प्रदेश जस्ता नामहरु राख्न सक्ने ठाउँ हुँदाहुँदै पनि किन सुदूरपश्चिम राखियो भनी प्रश्न गरे । नेपाली कांग्रेस अहिले उक्त निर्णयलाई रोक्न सक्ने अवस्थामा नभएको बताउँदै उनले भने ‘हामी यो नाम परिवर्तन   गरेरै छोड्छौं ।’ 
राजधानीप्रति पनि आपत्ति 
प्रदेशको स्थायी मुकाम धनगढी तोकिदा मन्त्री समेत रहेका बलायरले प्रदेश राजधानी कैलालीको गोदावरी भएकोमा आपत्ति जनाए । 
‘सवै हिसावले दिपायलको बिकल्प थिएन तर पनि गोदावरी लगेर राखियो’ नेता बलायरले भने ‘यसमा पनि कांग्रेसको समर्थन छैन ।’ उनले अस्थायी राजधानी धनगढी हुँदा आफु मन्त्री रहेको भएपनि आफ्नो मात्रै सामाथ्र्यले दिपायल अस्थायी केन्द्र तोक्न सम्भव नभएको बताउँदै भने ‘तर राजधानी दिपायल बनाउछौं भनेर जनताबाट मत मागेकाहरुले गोदावरीको पक्षमा मतदान गरेको देख्दा दुःख लाग्यो ।’ नेकपाको दवावमा आएर डोटीका तीन सांसदहरुले गोदावरीको पक्षमा मतदान गरेको बताउँदै उनले भने ‘यदि डोटीका तीन जना सांसदहरुले मात्रै मतदान नगरेको भए दुई तिहाई पुग्ने थिएन । 
अस्थायी राजधानी तोक्दा कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेको भएपनि त्यो निर्णय सवै दलहरुको दवावमा भएको उनी बताउँछन । ‘म चुनाव हारेको थिएँ, जनताबाट अस्वीकृत भईसकेपछि मैले धेरै अडान लिने नैतिकता पनि थिएन’ उनले भने ‘बिना हतियार युद्ध गर्न सकिन तर पनि मैले अस्थायी केन्द्रकै बिषयलाई लिएर पाँच पटकसम्म मन्त्रीपरिषद्को बैठक स्थगित गरेको हुँ ।’ अहिले बिधिवत् रुपमा राजधानी गोदावरी सारिदा डोटेली जनताका प्रतिनिधिहरुले खुरुखुरु सहमति जनाएर पक्षमा मतदान गरेको आफ्नो आपत्ति रहेको उनले बताए ।  
पत्रकारहरुद्वारा सोधिएको एक प्रश्नको जवाफमा बलायरले भने ‘यदि यो संसदको कार्यकालमा गोदावरीका प्रदेश सरकारका संरचनाहरु बनेनन् भने हामी राजधानी सार्नका लागि अर्को पटक प्रयास गर्छौं ।’ उनले अहिले धनगढीका बासिन्दा पनि धनगढी राजधानी नभए डोटी हुनु पर्ने आवाज उठाईरहेका वताए । 
भ्रष्टाचार बिरुद्ध लड्ने
स्थानीय तहमा व्यापक रुपमा भ्रष्टाचार भईरहेको गुनासो आएको बताउँदै बलायरले नेपाली कांग्रेस अव भ्रष्टाचारको बिरुद्धमा अभियान सञ्चालन गर्ने वताए । ‘जनप्रतिनिधिहरु आफै लुटमा लागेको भन्ने गुनासा आईरहेका छन्’ उनले भने ‘जनताको नाममा आएको बजेटमा जनप्रतिनिधि–हरुले नै लुट मच्चाउन थाल्यो भने यसको हत्कडी लगाउनु पर्छ ।’ उनले अहिले जनप्रतिनिधितन्त्र भन्दा पनि कर्मचारीतन्त्र हावी भएको बताए । ‘नगरभित्र मनोमानी ढंगले कर्मचारी सरुवा गर्ने काम भएको छ, यो कदावी स्वीकार्य हुँदैन’ उनले भने ‘यदि यस्तै भईराख्छ भने कसलाई कालो मोसो दल्नु पर्छ, कसलाई थुन्नु पर्छ त्यसका लागि पनि हामी तयार हुने छौं ।’ उनले बर्तमान सरकारको काम गराईले संघीयतानै असफल हुने चिन्ता लागेको वताए ।

सम्पादकीय 

अदुरदर्शी निर्णय

भाद्र १२ गते तत्कालीन ७ नं. प्रदेश सभाले एउटा ऐतिहासिक निर्णय ग¥यो । यद्यपी प्रत्येक निर्णयहरु ऐतिहासिकै हुन्छन् तर पनि हाम्रो बोलीचालीको भाषामा कुनै महत्वपूर्ण निर्णय भएमा ‘ऐतिहासिक निर्णय’ भन्ने चलन छ । त्यस्तै ऐतिहासिक निर्णय ग¥यो प्रदेश सभाले । यो ऐतिहासिक निर्णय हुँदा यस क्षेत्रको भौगोलिक, ऐतिहासिक, धार्मिक, संरचनागत सवै बिषयहरुलाई मसिनो ढंगले अध्ययन गर्नेछ प्रदेश सभाले, हामीले पठाएका जनप्रतिनिधिहरुले हचुवाको भरमा निर्णय गर्ने छैनन् भन्ने धेरैलाई आश थियो तर त्यो पनि भएन । मनलाग्दी प्रस्ताव आयोग, त्यस्तै निर्णय भयो । 
यो निर्णयले न त आम जनता खुशी हुन सके, न सत्तापक्षनै खुशी हुने समभावना छ न त प्रतिपक्षनै । प्रदेश राजधानी तोक्ने सवालमा पहिलो प्राथमिकतामा पर्ने ठाउँ डोटी नै हुनु पर्ने हो । ईतिहास, संस्कृति, सामरिक महत्व, भौगोलिक समदुरी आदि केही पनि मान्दैन भने पनि सरकारी भौतिक संरचनाहरु बनेका छन् । नयाँ ठाउँमा नयाँ संरचना निर्माण गर्नका लागि ठुलो लगानी लाउनु पर्ने छैन भन्ने प्रमुख मान्यता त थियो डोटीका लागि । नेताहरुले त्यो सम्भावना पनि देखेनन् । न त्यो आँखाले २०७४ साल माघ ३ गते हेरियो न २०७५ साल भाद्र १२ गते । 
यद्यपी आफुले डोटेलीमाथी गरेको अन्याय ढाकछोप गर्नका लागि त्यतिवेलाको सत्तापक्ष अहिलेको सत्तापक्षको सत्तो सराप गर्दैछ । ‘पोलिटिकल स्टण्ट’ का हिसावले त्यो जायज पनि होला तर यदि त्यतिवेला ‘७ नं. प्रदेशका अस्थायी मुकाम उच्च अदालत भएको ठाउँ र बिगतको विकास क्षेत्रको सदरमुकाम भएको ठाउँ दिपायलमा रहनेछ’ भनेर मात्रै निर्णय भएको भए आज स्थायी धनगढी बनाउने कसैको तागत हुने थिएन । 
त्यो एउटा गल्ती हो, स्वीकार गर्नु पर्छ । दोश्रो गल्ती अहिले भयो । यदि डोटीका तीन जना मात्रै सांसदहरुले गोदावरी राधजानी र सुदूरपश्चिम नाममा औंठाछाप नलगाएको भए संबिधानको धारा २८८ अनुसार दुई तिहाई पुग्ने थिएन र त्यो प्रस्ताव फेल हुने थियो । यद्यपी मुख्यमन्त्री स्वयंका लागि उक्त कार्य कति चुनौतीपूर्ण छ भन्ने कुरा पनि अर्को बिषय हो । संसदमा पेश हुने प्रस्तावहरुलाई सरकारी प्रस्ताव मान्ने गरिन्छ । आफै सरकार प्रमुख भएका बेला आएको प्रस्तावको बिपक्षमा मतदान गर्नु कत्तिको जायज होला ! भन्नलाई त सहजै सकिन्छ तर मान्छेले चार दिन पछि छोड्नै पर्ने मन्त्री पद त छोड्न सकेनन् भने चार बर्ष चल्ने आश भएको मुख्यमन्त्री पद उनले पनि कसरी छोड्नु ।’ 
जे होस् प्रदेश राजधानी र नाम राख्ने निर्णय अदुरदर्शी निर्णय हो । यो जुनसुकै पार्टी, समूह वा व्यक्तिले गरेको भएपनि उपयुक्त होईन । आफ्नै आँगनमा सुदूरबासी हुनु पर्ने, सवै संरचना भएको दिपायल पन्छाएर, बचेखुचेका संरचनाहरु भएको धनगढी पन्छाएर जंगलमा राजधानी राख्नु पर्ने कुनै कारण हुँदैन । यसमा कुनै प्रकारको दुरदर्शीता छैन । 
नेपालको संबिधानको उपज पनि हो यो निर्णय । संबिधानमा सम्वन्धित प्रदेशको दुई तिहाई बहुमतले निर्णय गरे बमोजिम प्रदेशको राजधानी र नाम हुने भन्ने उल्लेख गरेपछि अव यसलाई के भनेर व्याख्या गर्ने हामीहरुले ? त्यसैले कसैलाई राजनीतिक स्वार्थ लिनका लागि यो निर्णयको पक्षमा वकालत गर्नु बाध्यता होला कसैलाई राजनीतिक दुनो सोझ्याउनका लागि यो निर्णयको बिरुद्धमा चिच्याउनु पर्ने बाध्यता होला । जसलाई जे बाध्यता भएपनि यो निर्णय समग्रमा यस प्रदेशको हित बिपरितको निर्णय हो भन्ने कुरामा भने दुई मत छैन । 
त्यसैले सकिन्छ भने प्रदेश सभाको दुई तिहाई मतले नाम मात्रै भएपनि संसोधन गर्नु पर्छ भन्ने कुरालाई बिशेष रुपबाट उठान गर्नु जरुरी छ ।

थप समाचार 

साउन यता पाँच बलात्कारका घटना

डोटी बडीकेदार गाउँपालिका–३ मा ७४ बर्षीया एक बृद्ध महिला बलात्कृत भएकी छन् । आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा उनी बलात्कृत भएकी हुन । 
बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका करीव ३३ बर्षीय गणेश भनिने योगेन्द्र धामीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यद्यपी यस बिषयमा प्रहरीले आधिकारिक जानकारी दिएको छैन तर स्थानीयले धामीलाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन ।  
डोटी जिल्लामा साउन यता बलात्कारका पाँच घटनाहरु भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । साउन १७ गते डोटी आदर्श गाउँपालिकामा २२ बर्षीया एक महिलालाई घरमै गई बलात्कार गर्न खोजेको आरोपमा आदर्श गाउँपालिका–२ मा ३० बर्षीय धौले लुहार बिरुद्ध बलात्कारको प्रयासमा मुद्धा दर्ता भएको छ । 
यस्तै शिखर नगरपालिकाकी १६ बर्षीया बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा सायल गाउँपालिका–६, डोटी घर भई हाल शिखर नगरपालिका–६ मा बस्दै आएका शिवराज लुहारलाई प्रहरीले पत्राउ गरेको छ । 
पूर्वीचौकी गाउँपालिकाकी २१ बर्षीया अपाङ्ग महिलालाई जवरजस्ती करणी गरेको आरोपमा सोही गाउँपालिका वडा नं. ५ का ३५ बर्षीय शिव लुहार बिरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता भएको  छ । 
शिखर नगरपालिकाकी १७ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा शिखर नगरपालिकाकै एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । 
यि घटनामध्ये एक घटना जेठमा भएको भएपनि प्रहरीमा उजुरी असोजमा मात्रै आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव बिष्टले जानकारी दिए । ‘एक बर्षसम्म हदम्याद राखिएको छ, त्यसकरण ढिलो गरी पनि मुद्धा लिएर आउँछन्’ निरीक्षक बिष्टले भने ‘बिगतका बर्षहरुको तुलनामा यस बर्ष बलात्कारका घटनाहरु बढी नै आईरहेका छन् ।’ देशैभरी बलात्कारका घटनाहरु बढ्दै गएका बेला डोटीमा छोटो अवधीमा यति धेरै घटनाहरुले जिल्लाबासीलाई चिन्तित बनाएको छ । प्रहरीले सवै घटनाका आरोपीहरुलाई भने नियन्त्रणमा लिईसकेको छ ।  

सायल गाउँपालिकाको बिशेष निर्णय 

टुहुरा बालबालिकालाई पढाउने, एकल पुरुषलाई भत्ता दिने

कर्ण चन्द/डोटी
असोज १५
गाउँपालिकाभित्र रहेका टुहुरा बालबालिकाहरुलाई सायल गाउँपालिकाले पढाउने भएको छ । गाउँपालिकाभित्रका एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिने भएको छ ।
टुहुरा बालबालिकालाई पढाई खर्च स्वरुप प्रत्येक महिना एक हजार पाँच सय रुपँैया गाउँपालिकाले प्रदान गर्ने निर्णय गाउँसभाबाट पारित गरेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले जानकारी दिए । 
गाउँपालिकाले बिशेष गाउँसभाबाट गरेको उक्त निर्णयबाट तिन दर्जन बालबालिका लाभाम्वित हुने गाउँपालिकाका उपाध्यक्ष बिष्ना सिंहले बताईन । गाउँसभाको यस निर्णयले आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाई निरन्तर दिनका लागी सहयोग पुग्ने गाउँपालिकाले बिश्वास लिएको उपाध्यक्ष सिंहको भनाई छ । 
बिशेष गाउँसभा बोलाएको उक्त गाउँपालिकाले  एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय पनि गरेको छ ।  ६० बर्ष पुगेका गैर दलित तथा ५० बर्ष पुरा भएका एकल दलित पुरुषलाई समाजिक सुरक्षा भत्ता स्वरुपमा प्रत्येक महिना पाँच सय रुपैँया दिने सायल गाउँपालिकाले निर्णय गरेको हो । एकल महिला मात्र नभएर एकल पुरुषलाई पनि समस्या हुने भन्दै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनु भएको हो । 
सायल गाउँपालिका भित्रका पानीका मुहान संरक्षण गर्नका लागी रिर्चाजपण्ड निर्माण गर्ने पनि निर्णय गरेको छ । जलबायु परिर्बतनका कारण  पानीका मुुहान  सुक्न थालेपनी संरक्षणका लागी रिचार्ज पोखरी निमार्ण गर्ने निर्णय गरेको हो ।

ट्राफिक प्रहरीको यात्रु सहायता कक्ष

नजिकिदै गरेको चाडपर्वको समयलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले यात्रुहरुका लागि सुदूरपश्चिम प्रदेशमा १२ वटा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।
हिन्दुहरुको महान चाँड् दशैं, तिहार र छठ पर्वको अवसरमा राजधानी तथा देशका बिभिन्न ठाउबाट चाडपर्व मनाउन आउने/जाने सर्वसाधारणहरुलाई लक्षित गरी सो कक्ष स्थापना गरेको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक टेकबहादुर जोराले यात्रु सहायता कक्षले सहज र सुरक्षित आवागमनको ब्यवस्था र सवारी दुर्घटना न्युनिकरण गर्नका लागि काम गर्ने बताए ।
कैलालीको अत्तरिया, धनगढी र लम्की, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुराको बागबजार र स्याउले, डोटीको पिपल्ला, बैतडीको गोठलापानी, अछामको मंगलसेन, बझाङको सिमखेत, दार्चुलाको खलङ्गा र बाजुराको मार्तडी बसपार्कमा यस्ता यात्रु सहयता कक्ष स्थापना गरिएका छन् । ति सहायता कक्षहरू नजिकका ट्राफिक प्रहरी कार्यालयहरूले सञ्चालन गरिरहेको ट्राफिक प्रहरी निरीक्षक जोराले बताए । चाँड पर्वको समयमा सवारी दुर्घटना बढी हुने बिगतका बर्षहरुमा देखिएकोले दुर्घटनाक कम गर्न र यात्रुहरुलाई सहज बनाउन सहायता कक्ष स्थापना भएका हुन् ।


जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिक जिल्ला संघ डोटीले २८ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा एक जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 
डोटीका प्रमुख जिल्ला अधिकारी यादव भुषालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिका–५ का ७९ बर्षीय जेष्ठ नागरिक जगते लुहारलाई सम्मान गरिएको हो । संघका सचिव सुरेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । यस्तै कार्यक्रममा जेष्ठ नागरिकहरुको बिषयमा समेत अन्तरक्रिया भएको उनले वताए । 
यसैगरी पूर्वीचौकी गाउँपालिकाले पनि गेष्ठ नागरिकलाई सम्मान गरेको   छ । 
प्रत्येक वडाबाट तीन जनाका दरले गाउँपालिकाका ७ वडाका २१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए । गाउँपालिकाको कार्यालयमा कार्यक्रमको आयोजना गरेर प्रत्येक वडाबाट पुरुष जेष्ठ नागरिक एक, महिला जेष्ठ नागरिक एक र दलित जेष्ठ नागरिक एक जनालाई सम्मान गरिएको हो । सम्मान हुने प्रत्येक ब्यक्तीलाई पाँच हजार नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो  ।
गाउँपालिकाले जीवनको उत्तरार्धमा सम्मान गरेको भन्दै जेष्ठ नागरिकले खुशी ब्यक्त गरेका थिए । गाउँठाउँको विकासका लागी जेष्ठनागरिकको महत्वपुर्ण भूमिकाको उच्च प्रशंसा गर्दै सम्मान गरिएको अध्यक्ष बोगटीले बताए ।

केरा आयातमा रोक लगाउन माग

कैलाली र कञ्चनपुरका व्यावसायिक केरा खेती गर्ने कृषकहरुले भारतबाट आयात हुने केरामा रोक लगाउन माग गरेका छन् । 
भारतबाट केरा आयात हुँदा स्थानीय उत्पादनले बजार नपाएको भन्दै उनीहरुले केरा आयातमा रोक लगाउन माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । 
६ बुँदे माग सहितको ज्ञापन पत्रमा भारतबाट आयातित केराको विषादी, रोग तथा किराको परीक्षण नगरी सेनेटरी तथा फाइटोसेनेटरी प्रमाण पत्र अन्तर्गत अपनाउनु पर्ने मापदण्ड पूरा नगरिएकाले यथाशिघ्र आयातमा रोक लगाउनु पर्ने माग गरिएको छ ।
कम लागतमा भारतबाट केरा भित्र्याउने परिपाटीको अन्त्यका लागि विश्व व्यापार सङ्गठनको नियम अनुसार हाल केरामा कायम रहेको पाँच प्रतिशत भन्सार दरलाई २५ प्रतिशतमा बृद्धि गरी ‘डम्पिङ्ग’ गर्ने परिपाटीको अन्त्य गरिनु पर्ने माग गरेका छन् । आयातित वस्तुको भन्सारमै कडाईका साथ चेकजाँच गरिनु पर्ने, कैलाली कञ्चनपुरमा फष्टाईरहेको विलियम हाइब्रेड, जी नाइन, माल भोग र हरिसाल जातको केरालाई सूचिकृतका लागि पहल गरिनु पर्ने माग केरा कृषकहरुको छ ।
यस्तै दुवै जिल्लामा केराको जोन बनाउनका लागि आवश्यक मापदण्ड पूरा भएकाले यथाशिघ्र केराको जोन घोषणा गरी कार्यक्रम लागू गर्नका लागि पहल गर्न प्रदेश सरकारसंग आग्रह गरेका छन् । भारतबाट सस्तोमा आयात भइरहेको केराले यहाँका कृषक धरासयी हुने अवस्थामा पुगेको कृषक लक्षिराम आचार्यले बताए । माग पूरा नभए सङ्घर्षमा उत्रिने केरा किसानले चेतावनी दिएका छन् ।
केरा कृषक सङ्घर्ष समिति कैलाली, कञ्चनपुर, केरा विकास सञ्जाल कैलाली, केरा उत्पादन तथा प्रर्बद्धन कृषि     सहकारी संस्था, राष्ट्रिय कृषक समूह महासंघ नेपाल कञ्चनपुरको अगुवाइमा ज्ञापनपत्र बुझाइएको हो । कैलाली, कञ्चनपुरमा गरेर साढे दुई हजार कृषक व्यवसायिक केरा खेतीमा सक्रिय रहेको केरा कृषक सङ्घर्ष समितिका संयोजक सुरेन्द्रकुमार चौधरीले बताए ।
दुवै जिल्लामा गरी एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको उनले जानकारी दिए ।

कहाँ होलान पत्रकार तेजु !
३८ दिन सम्म पनि कुनै जानकारी आएर

बाजुराको बुढीनन्दा धार्मिक क्षेत्रबाट फर्किने क्रममा सम्पर्कबिहिन भएका पत्रकार तेजवहादुर खड्का ‘तेजु’ को ३८ दिनसम्म पनि पत्ता लागेको छैन । 
समुद्री सतहदेखि करीव १६ हजार फिट उचाईमा रहेको बुढीनन्दामा भाद्र शुक्ल चतुर्दशी भाद्र ९ गते बिहान लाग्ने मेलाको रिपोटिङ्गका साथै धार्मिक कार्यका  लागि पत्रकार खड्का भाद्र ६ गते त्यसतर्फ गएका थिए । भाद्र ९ गते चतुर्दशीको मेला सकेर फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट सम्पर्कबिहिन भएका खड्का कहाँ छन् भन्ने बिषयमा कुनै पत्तो लागेको     छैन । 
खड्काको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीहरुले अथक प्रयास गरेपनि खड्काको कुनै पत्तो नलागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । ‘उहाँ ९ गते सम्पर्कबिहिन हुनु भएको रहेछ, हामीलाई ११ गते मात्रै जानकारी आयो’ बिम्ब साप्ताहिकसंग टेलिफोनमा कुरा गर्दै बोहराले भने ‘११ गते नै हामीले प्रहरी टोली परिचालन ग¥यौं तर उपलव्धी भएन ।’ 
प्रहरी नायव उपरीक्षक बोहराले खड्काको खोजी कार्यका लागि भाद्र १३ गतेदेखि नेपाली सेनाको टोली समेत परिचालन भएको जानकारी दिए । उनले भने ‘प्रहरी र सेनाको टोली एकहप्तासम्म उहाँको खोजीका लाग्यो, बुढीनन्दाको मन्दिरसम्मै टोली पुग्यो तर कुनै सूचना पाईएन ।’ सम्भावित सवै स्थानहरुमा सुरक्षाकर्मी र स्थानीयबासीहरुको टोलीले खोजी गरेको उनी बताउँछन् । 
अव के खड्का भेटिने सम्भावना समाप्त भएको हो त ? जिल्ला प्रहरी प्रमुख बोहरा भन्छन् ‘हामी त्यसो भन्न त सक्दैनौं, तपाई हाम्रो गाउँबाट हराएका मान्छेहरु पनि लामो समयपछि सम्पर्कमा आएका छन्, त्यसैले यस्तै होला भनेर ठोकुवा गर्न सकिदैन ।’ बोहराले हालसम्म उहाँ हराउनु भएको तर फेला पर्नु भएको छैन मात्रै भन्न सकिने बताए । 
यति लामो समय भईसक्दा पनि खड्का सम्पर्कमा नआएकाले अव सम्भावना ज्यादै न्यून रहेको बताउँछन् नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाशवहादुर सिंह । ‘खोजीका लागि प्रयासहरु धेरै भए तर पनि उहाँको कुनै पत्तो लागेन’ अध्यक्ष सिंह भन्छन् ‘उहाँ आफै सम्पर्कमा आउन नचाहेर कतै जानु भएको हो भने अझै झिनो आश छ तर त्यो पनि कमै सम्भावना छ ।’ 
२०५४ सालमा कार्यक्रम प्रस्तोताको रुपमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट आफ्नो केरियर सुरु गरेका खड्काले रेडियो नेपालमा हुँदा समाचार बाचक, कार्यक्रम उत्पादक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका थिए । उनले प्रस्तुत गर्ने कार्यक्रमहरुमा “देउडा गीतको सेरोफेरो” र “बसिबियालो” ज्यादै लोकप्रिय थिए, जसको चर्चा अहिले पनि हुने गरेको छ । 
डोटी दिपायल सिलगढी नगरपालिका–१ उनी बाजुराको कोल्टीमा  रहेको बुढी नन्दा एफएममा कार्यरत थिए ।  

छोटकरी समाचार 

रेडक्रसमा पन्त

नेपाल रेडक्रस सोसाईटी सुदूरपश्चिम प्रदेश तदर्थ समितिको संयोजकमा केशव दत्त पन्त चयन भएका छन् । 
सोसाईटीको बिधान अनुसार केन्द्रिय समितिले गठन गरेको प्रदेश तदर्थ समिति १५ सदस्यीय रहेको छ । समितिको सचिवमा कैलालीका बलवहादुर रावल रहेका छन् ।
समितिका सदस्यहरुमा प्रदेशका नौ वटै जिल्लाबाट प्रतिनिधित्व गराईएको छ । मुलुक संघीय संरचनामा गएपछि सोसाईटीले आफ्नो बिधानलाई पनि बर्तमान संघीय संरचना अनुसार संसोधन गरी सोही अनुसार समिति गठन गर्दैछ ।

१० बर्षीय बालकले बनाए स्काईभेटर

डोटीका एक बालकले एक्जाभेटर बनाएका छन ।
दिपायल स्थित अमर– ज्योति आवाशीय बिद्यालयमा कक्षा ४ मा पढ्ने १० बर्षीय आयुष डुम्रेलले स्काईभेटर र हाईड्रोलिक ट्रक बनाएका हुन  । कागज, सिन्का, प्लाष्टिक र अस्पतालका सुई तथा पाईप संकलन गरि  उनी स्काईभेटर र हाईड्रोलिक ट्रक बनाउन सफल भएका छन् ।
उनले बनाएको हाईड्रोलिकमा तेलको सट्टा पानी प्रयोग गरिएको छ । एक दिन लगाएर बनाएको स्काई भेटर शुक्रवार देखि स्कुलमा प्रदर्शनका लागि राखिने स्कुलका प्रिन्सिपल शन्त कुमार तामाङले जानकारी दिएका छन् । सायल गाउँ पालिका–५ घर भई हाल दिपायल बस्दै आएका आयुष तेजबहादुर डुम्रेलका   छोरा हुन । 

खेल समाचार 

नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

रासस  
सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो      चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ। यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भुटान, चीन, म्यानमा र थाइल्याण्ड सहभागी हुनेछन् । राउण्ड रोविनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् । 
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएइ, कतार र कुवेतसँगै पूर्वक्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । छनोट प्रतियोगिता अन्तर्गत नेपालले असोज १७ गते म्यान्मा, २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भुटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ । 

औपचारिक रुपमै बाहिरियो नेपाल

नयाँ जोसका साथ बंगलादेश पुगेको नेपाली क्रिकेट टोली सोचे अनुसारको सफलता नहुँदा निरास बनेको छ । 
एसीसी यू–१९ एसिया कप क्रिकेटबाट नेपाल औपचारिक रुपमा बाहिरिएको छ । बंगलादेशमा भइरहेको प्रतियोगितामा अफगानिस्तानले सोमबार नेपाललाई ३ विकेटले पराजित ग¥यो । ढाकाको बिकेएसपी ३ मैदानमा टस जितेको नेपाली यू–१९ ले एक सय ३१ रन मात्र बनाउन सकेको थियो ।
नेपाली इनिङ्स ३८.३ ओभरमा खुम्चिएको थियो । अफगानिस्तान यू–१९ ले ३७.३ ओभरमा एक सय ३६ रन बनाउदै लक्ष्य पुरा ग¥यो ।
नेपालको यो लगातार दोस्रो हार  हो । शनिबार भएको पहिलो खेलमा नेपाललाई दावेदार भारत यू–१९ ले एक सय ७१ रनले पराजित गरेको थियो । भारत र अफगानिस्तान पहिलो दुवै खेल जिती सेमिफाइनल पुगेका छन् । समूह ‘ए’ मा रहेका नेपाल र युएई प्रतियोगिताबाटै बाहिरिएका हुन् ।
नेपालबाट रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले ८८ बल खेल्दै ७ चौका प्रहार गरे । रशिद खान ३०, कप्तान आशिफ शेखले २० रन बनाए । नेपालका पाँच खेलाडी शुन्यमा आउट भएका थिए । अफगानिस्तानका अजमातुल्लाह ओमारजाईले ४ विकेट  लिए ।
आरिफ खानले २३ रनको अविजित इनिङ्स खेल्दै अफगानिस्तानलाई     जिताए । कप्तान रहमनुल्लाह गुर्बाजले २६ र ओमाजाईले २३ रन बनाएका     थिए । नेपालका सूर्य तामाङले ४ विकेट लिए । उनले ८.३ ओभरमा ३६ रन खर्चेका थिए । पवन सर्राफ, सागर ढकाल र रशिदले १÷१ विकेट लिए ।
नेपालले मंगलबार युएईसँग समूहचरणको अन्तिम खेल खेल्ने छ ।

चलचित्र/मनोरञ्जन 

‘गुनगुन’ कार्तिक १० मा आउने

नेपाली चलचित्र “गुनगुन” कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ । 
प्रदर्शनको मिति पक्का गर्दै चलचित्र ‘गुनगुन’को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको भावनालाई झल्काउने गरी सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्रहरुलाई देखाईएको छ । प्रदर्शन हुने मिति सहिचको पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रचारप्रसारलाई तिव्र रुपमा अगाडि बढाइएको गुनगुनका निर्देशक पुकार भट्टाराईले बताएका छन् ।
पुकारले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । उनी पुराना कलाकार हुन । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइटेल , रविन प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ, गणेश जिसी , देशभक्त खनाल र अनु भण्डारीले अभिनय गरेका छन् । यस्तै सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको पनि चलचित्रमा भूमिका रहेको छ । चलचित्रमा हिमाल केसीको एक्सन, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन छ ।

अस्ताए गगन बिरही

नागरिक दैनिक  
निधन अघिसम्म मान्छेका अनेक इच्छा हुन्छन् । साहित्कार तथा फिल्म निर्देशक गगन विरहीको पनि पुस्तक सार्वजनिक गर्ने अन्तिम इच्छा थियो । त्यो इच्छा पूरा भएसँगै विरहीले भौतिक दुनियाँ छाडेका छन् ।
लामो समयदेखि अस्वस्थ रहँदै आएका ६१ वर्षे फिल्म निर्माता, निर्देशक, लेखक तथा गीतकार गगन विरहीको आइतबार आफ्नो कृति ‘हस्ताक्षर’को विमोचनपछि निधन भएको छ । रुघाखोकी र ज्वरोका कारण राजधानीको नर्भिक अस्पतालको सघन कक्षमा उपचाररत  विरहीको अन्तिम कृति ‘हस्ताक्षर’लाई अस्पतालको शैयाबाट नै उनकै इच्छा बमोजिम विमोचन गरेपछि विरहीले अन्तिम सास फेरेका हुन् । ‘हस्ताक्षर’मा विरहीका कविता संग्रहित छन् ।
२ वर्षअघि कलेजोको उपचार गरेर सामान्य अवस्थामा आएका विरहीलाई रुखा खोकीसँगै ज्वरो आएपछि गत शनिबारमात्र अस्पताल भर्ना गरिएको थियो । परिवारका अनुसार अस्पतालको स्वास्थ्य परीक्षणमा उनलाई निमोनियासँगै मृगौलामा समेत असर देखिएको थियो ।
फिल्म ‘संकल्प’बाट गीतकार र प्रस्तुतकर्ताका रुपमा फिल्म क्षेत्रमा ‘डेब्यु’ गरेका उनले फिल्म ‘भाउजु’ र ‘ट्रक ड्राइभर’का गीत लेखेका थिए । उनी फिल्म ‘बादल’का गीतकार तथा प्रस्तुतकर्तासमेत हुन । विरहीले फिल्म ‘झझल्को’, ‘मितेरी गाऊँ’ ‘शिखर’ र ‘घरआँगन’को निर्देशन पनि गरेका थिए । ‘झझल्को’ को ‘शनिबारको दिन बिहानी पख’ विरही लिखित चर्चित गीत हो ।
नेपाल टेलिभिजनका समाचारवाचकसमेत रहेका विरही कविता र गीत लेखनमा पनि सक्रिय थिए ।

लेख 

प्रहरी असफल कि सरकार असफल !

रामहरी ओझा 
आईतवार (असोज १४ गते) कैलाली घोडाघोडी नगरपालिका–१ मा १४ बर्षीया बालिका बलात्कृत भईन । उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवनबस्ती नगरपालिका ७ का १८ वर्षिया किरण बिकलाई प्रहरीले पक्राउ ग¥यो । सोमबार (असोज १५ गते) बिहान डोटी बडीकेदार गाउँपालिका–३ मा एक ७४ बर्षीया बृद्धा बलात्कृत भईन । उनलाई बलात्कार गरेको आरोपमा नाती सरहका व्यक्ति डोटी बोगटान गाउँपालिका–१ सिमचोरका ३३ बर्षीय गणेश भनिने योगेन्द्र धामीलाई प्रहरीले पक्राउ ग¥यो ।  
फरक ठाउँ, फरक परिवेश, फरक उमेरका यि दुई घटना सुन्दा आङ जिरिङ्ग भयो । त्यसो त पछिल्लो  ६ महिनाको अवधीका बलात्कारका घटना आम खवर भईसकेको छ नेपालका सञ्चारमाध्यमका लागि । सञ्चारमाध्यममा प्रकाशन एवं प्रसारण हुने सामग्रीहरुमा अधिकांस सामग्रीहरु यस्तै मात्रै छन् । रेडियो÷टिभीमा समाचार आउने समय हुँदा फेरी कुन दिदिको, कुन आमाको, कुन बहिनीको, कुन हजुरआमाको कुन, छोरीको अस्मिता लुटिएको समाचार सुन्नु पर्छ र दिनभरी फेरी दुखि  भईरहनु पर्छ भन्ने चिन्ताले सताईरहेको हुन्छ । माथीका दुई घटनापछि अव प्रहरी असफल भएकै हो त ? भन्ने प्रश्न गर्न मन लाग्यो । 
साउन १० गते कञ्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना भए भन्दा अगाडी पछाडी गरी देशव्यापी रुपमा थुप्रै घटनाहरु भएका छन् । यद्यपी निर्मलाको घटना बाहेकका करीव करीव सवै घटनाहरु कानुनको दायरामा आएका छन् तर अपराध भईसकेपछि अभियुक्त समातिनु वा मुद्धा दायर हुनु वा अपराधीले सजाय पाउनु ठुलो कुरा होईन । अपराध हुन नदिनु ठुलो कुरा हो । 
प्रहरीको प्रमुख काम शान्ति सुरक्षा कायम गर्नु  हो । शान्ति सुरक्षा कायम गर्नका लागि अपराध नियन्त्रण हुनु पर्छ । अपराध नियन्त्रण हुनका लागि प्रहरीले समाजमा आफ्नो उपस्थिति देखाउन सक्नु पर्छ । हरेक व्यक्तिको मन मस्तिष्कमा प्रहरी छ भन्ने देखाउनु पर्छ । प्रहरीले आफ्नो उपस्थिति देखाउनका लागि आफैमा सक्षम पनि हुनु पर्छ । जव प्रहरीले जनताका बिचमा आफ्नो उपस्थिति देखाउन सक्दैन अर्थात कुनै अपराध गरे प्रहरी समात्छ, मुद्धा चल्छ र सजाय हुन्छ भन्ने कुराको “भय” समाजमा प्रहरीले देखाउन सक्दैन तवसम्म अपराध नियन्त्रण हुन सक्दैन । त्यतिबेला प्रहरी असफल भएको मानिन्छ । प्रहरी असफल हुनु भनेको गृह प्रशासन असफल हुनु हो । गृह प्रशासन असफल हुनु भनेको सरकार असफल हुनु हो । त्यसका लागि प्रहरी चनाखो हुनु जरुरी छ । 
कुनै पनि देशमा व्यक्तिपिच्छे प्रहरी हुँदैन । भिआईपी र भिभिआईपीहरुका अतिरिक्त आफ्नो ज्यान जोखिममा छ भन्ने पूर्व सूचना पाएका व्यक्तिको सुरक्षाका लागि प्रहरी व्यक्तिपिच्छे जान सक्ला नत्र भने आम जनताको सुरक्षा सार्वजनिक सुरक्षा हो । त्यसैले प्रहरीले आफ्नो उपस्थिति देखाउन सक्षम हुनु पर्छ । प्रहरी सक्षम हुनलाई पहिलो कुरा प्रहरी संख्यात्मक रुपमा बढी चाहिन्छ । सेनाको संख्या ह्वात्तै वढाउने र श्रमयोग्य जनशक्तिलाई व्यारेकमा थुनेर राख्ने हाम्रो मुलुकमा प्रहरीको संख्या सेनाको भन्दा कम छ । भौगोलिक बिकटता छ, प्रहरी संख्या थोरै छ । थोरै प्रहरीले धेरै जनसंख्या र भुगोललाई हेर्नु पर्ने वाध्यता छ । त्यसकारण पनि प्रहरीले आफ्नो उपस्थिति देखाउन सकेको छैन । 
अर्को समस्या भएको संख्याका प्रहरीसंग पनि  उपकरण छैन । अपराध भएको ठाउँमा जानका लागि प्रहरीले सार्वजनिक यातायतको सहारा लिनु पर्ने वाध्यता छ । सार्वजनिक यातायतमा ठाउँ भएन भने उभिएर वा झुण्डिएर पनि यात्रा गर्न वाध्य हुन्छ प्रहरी । यदि समयमै घटनास्थल पुग्दैन भने प्रमाण नष्ट हुने खतरा छ, अपराधी भाग्ने डर छ, समयमै पुग्नका लागि साधन छैन, अनि झुण्डिनु प¥यो, झुण्डिदाँ ‘प्रहरी आफैं झुण्डियो’ भनेर समाचार बन्छ, सामाजिक सञ्जालमा आलोचना हुन्छ । यदि प्रत्येक प्रहरी ईकाईमा यातायतको साधन हुने हो भने प्रहरीले आफ्नो गतिबिधि बढाउन सक्छ । 
प्रहरीसंग अपराध अनुसन्धानका लागि आवश्यक पर्ने अन्य उपकरणहरुको पनि कमी रहेको छ । यो बैज्ञानिक युगमा पनि प्रहरीले संकास्पद् व्यक्तिलाई खोरमा ल्याएर डण्डा देखाउनु पर्ने वाध्यता छ । बल प्रयोग ग¥यो अदालतमा गएर बयान बदल्छ, नगरे मरे बोल्दैन यस्तो अवस्थाले पनि प्रहरीलाई समस्या छ । अपराध अनुसन्धानका आधुनिक उपकरणहरु भए सहजै अपराधी पत्ता लाग्छ र प्रहरी जनतामा आफ्नो उपस्थिति देखाउन सक्छ । 
यस्तै प्रहरीमा अपराध अनुसन्धानको सीप पनि कम छ, जिल्लास्तरमा थोरैको संख्यामा मात्रै अपराध अनुसन्धानको ज्ञान भएका प्रहरी कर्मचारीहरु छन् । ति प्रहरीहरुलाई पनि कहिलेकही भिआईपीको  सुरक्षा, दङ्गा नियन्त्रण, प्राकृतिक प्रकोमा उद्दार, नियमित गस्तीमा जनु पर्ने वाध्यता छ । त्यसकारण उसले पुरै दिमाग   अपराध अनुसन्धानमा मात्रै खर्च गर्न सकेको अवस्था छैन । अहिले चर्चामा रहेको निर्मला हत्याकाण्डको बिषयमै कुरा गर्दा ति प्रहरी जवान महिलालाई कसैले निर्मलाको सुरुवाल धुन लाएको थियो वा उनले मानवीय समवेदनामा उक्त सुरुवाल पानीमा चोपिन् ! यदि उनलाई  अपराध अनुसन्धानको बारेमा जानकारी हुन्थ्यो भने उनले मानवीय समवेदना भन्दा पनि पेशागत धर्म निभाउथिन् । एउटा महिला भएको नाताले उनलाई निर्मलाको क्षत् बिक्षत् शरीर पुरुषहरुको अगाडी देख्दा लज्जाबोध त हुने र भावनामा आउने अवस्था त हुन्थ्यो नै तर त्यो भन्दा बढी उनलाई प्रमाणको सुरक्षा गर्ने चिन्ता हुने थियो होला । त्यसैले अपराध अनुसन्धानको सीप भएका प्रहरीको संख्यामा बृद्धि गर्नु छ । 
यसो भनिरहँदा ‘नेपाल प्रहरीले गम्भिर प्रकृतिका अपराधहरुको अनुसन्धानमा सफलता पाएको छ, अन्तराष्ट्रियस्तरमा ख्याति पाएको छ’ भन्ने आउला । निश्चित रुपमा ईतिहास सवैलाई थाह छ, प्रहरीले जटिल प्रकृतिका अपराधहरुमा पनि कुशलतापूर्वक अनुसन्धान गरेको छ र अन्तराष्ट्रियस्तरमा पनि ख्याति पाएको छ । तर एक निर्मलाको घटनाले अन्तराष्ट्रियस्तरमै लज्जाबोध हुने अवस्था पनि त आएको छ नि ! जति हल्ला भएका छन्, त्यो अनुसार प्रहरीको संलग्ना नहोला निर्मला हत्या काण्डमा तर प्रहरी खोजमा, अनुसन्धानमा, प्रमाण जोगाउनमा त चुकेकै हो नि ! हैन र ? यो घटनाले पनि बिज्ञ अपराध अनुसन्धाता प्रहरीहरुको संख्या सवै जिल्लाहरुमा कम छ भन्ने देखायो । त्यसकारण प्रहरीलाई अपराध अनुसन्धानमा पोख्त बनाउनु पर्छ । 
सवैभन्दा ठुलो कुरा नेपाल प्रहरी आफैमा स्वतन्त्र छैन । यदि नेपाल प्रहरी आफैमा स्वतन्त्र हुने हो भने यसले अपराध नियन्त्रणमा निकै ठुलो प्रगति गर्ने थियो । हाल उपलव्ध स्रोत साधन र मानवीय शक्तिको मात्रै स्वतन्त्रपूर्वक प्रहरीले प्रयोग गर्न पाउने हो भने पनि अपराधका धेरै घटना नियन्त्रण हुन्छन् । घटनाको बिषयमा प्रहरीलाई जानकारी ढिलो हुन्छ तर प्रहरीलाई प्रभावित पार्न सक्ने मान्छेहरुलाई खवर पहिले नै भईसक्छ ।      प्रहरीले अभियुक्त समात्न पाएको हुँदैन, मन्त्रीहरु, नेताहरु, उच्च पदस्थ कर्मचारीहरु, समाजका प्रतिष्ठित व्यक्तिहरु र स्वयं प्रहरीको माथिल्लो दर्जाका कर्मचारीहरु समात्नु पर्ने मान्छे छोड्नका लागि दवाव दिन्छन् । अपराधमा राजनीति हुन्छ । अपराधमा राजनीतिक ध्रुवीकरण हुन्छ, सञ्चारकर्मीहरु र सञ्चारमाध्यमहरुले पनि सत्य–तथ्य बुझ्दा बुझ्दै पनि आफु निकट पक्षको समर्थनमा झ्याली पिट्ने गर्छन् । 
निर्मला हत्याको घटनामा जोले, जे जति भने पनि घटनाक्रमले राजनीति भएको प्रष्टै देखाउँछ, भएको छ । घटनाको राजनीतिकरण र सञ्चारीकरणले पनि अनुसन्धानमा थप जटिलता सृजना गरेकै हो । अनि कसरी हुन्छ त अपराध नियन्त्रण ? ‘अपराध गरेपनि एक फोनको भरमा छुट्छ’ भन्ने सन्देश समाजमा गएको छ । यसले काम गर्न खोज्ने प्रहरीको मनोबल पनि गिर्छ । काम गर्न खोजे पनि गर्न दिएनन् भन्ने  लाग्छ । त्यसका–रण प्रहरी अपराध नियन्त्रणमा असफल देखिएको हो । 
प्रहरीको सफलता र असफलताको बिषय सरकारसंग प्रत्येक्ष जोडिएको छ । सरकारले प्रहरीलाई कसरी परिचालन ग¥यो, प्रहरी प्रमुखले आफ्ना मातहतका ईकाईहरुलाई निर्देशन ग¥यो भन्ने बुझ्नु जरुरी छ । यस ले प्रहरीको कामलाई निर्देशित गर्दछ । राज्य आफै यदि अपराधीको संरक्षण गर्छ वा राज्य यन्त्रमा रहेका व्यक्तिहरुनै अपराधमा संलग्न हुन्छन् भने त्यसलाई अपराधिक राज्य भन्न मिल्छ । त्यसले कानुनी शासन स्थापना गर्न सक्दैन र अपराध अनुसन्धान वा नियन्त्रणको बिषयमा पनि खुलेर काम गर्न सक्दैन् । 
यि र यस्ता कतिपय कुराहरु पछिल्लो चरणमा भईरहेका छन् । राज्यको प्रभावशाली पदमा बसेका व्यक्तिहरुका आफ्नाहरु अपराधमा संलग्न हुने र ति व्यक्तिलाई बचाउनका लागि राज्य संयन्त्र स्वयं पनि लाग्ने हो भने यसले अपराध नियन्त्रण हुँदैन, अपराध बढ्छ । यद्यपी नेपालमा अपराधीलाई संरक्षण दिने यो पहिलो सरकार होईन, यस अघिका थुप्रै सरकारहरुले अपराधीलाई संरक्षण दिएका छन । जनताको तर्फबाट पनि अपराधीको पक्षमा चक्काजाम गर्ने र अपराधीलाई माला लगाएर स्वागत गर्ने काम नभएका होईनन् तर बिगतमा जे भयो त्यसैको निरन्तरता दिने हो भने यो सरकार पनि कानुनी शासन स्थापना गर्नमा सफल हुँदैन, असफल हुन्छ । 
अहिलेको अवस्थामा प्रहरी मात्रै असफल भएको होईन शान्ति सुरक्षा कायम गर्नमा सरकार नै असफल भएको हो । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री, गृह प्रशासनको नेतृत्व गर्ने गृहमन्त्री र जनपथ प्रहरीको नेतृत्व गर्ने प्रहरी महानिरीक्षक तीनै जना असफल भएका हुन । प्रधानमन्त्री स्वयंले निर्मला हत्या घटनामा सार्वजनिक कार्यक्रममै झुटा बोले । देशको प्रधानमन्त्री जस्तो व्यक्तिले आफै झुटा बोले वा उनलाई बोल्न लगाईयो, त्यो उनैलाई थाह होला तर कसले बोल्न लगायो भन्ने कुराले महत्व राख्दैन, को बोल्यो भन्ने कुरा प्रधान हो । 
त्यसैले अहिले उनीहरुको नेतृत्व शैलीको कुशलताको बिषयमा प्रश्न उठाउने यथेष्ट आधारहरु तय गरेको छ बर्तमान घटनाक्रमले । त्यसैले सरकार नै असफल भएको छ, प्रहरी मात्रै असफल भएको भनेर आरोप लगाउन मिल्दैन ।

चाड्वाडको नारीमन्त्र

शुभेन्छा बिन्दु तुलाधर
हिन्दू महिलाहरूको महान् चाड तीज सदाझैँ यस पटक पनि अनेक प्रश्नहरू छोडी समाप्त भयो । नेपालमा मनाइने सयौँ पर्वहरूमध्ये तीज नै एउटा त्यस्तो पर्व हुनुपर्छ जसको हरेक वर्ष बहस सुरु हुन्छ, फेरि सेलाउँछ र फेरि अर्को साल पुनः बहस आरम्भ हुन्छ । यस पटक पनि त्यस्ता धेरै बहसहरू सतहमा आएको देखियो जसको उत्तर यदि खोज्ने हो भने समाजको रूपान्तरणलाई धेरै हदसम्म सहयोग पु¥याउने निश्चित छ । यो बहस किन पनि आरम्भ हुन्छ भने वर्षमा एक दिन मात्र मनाइने पर्व भनिए पनि महिना दिन अघिदेखि नै यसको रमझम सुरु भइसक्छ र सामाजिक सञ्जालका भित्ताहरू रंगिन थालिसक्छ । यति मात्र होइन, सरकारी एवं गैर सरकारी कार्यालयहरू पनि यही बेला काम गर्ने थलो भन्दा पनि नाचगान गर्ने डबली बन्न पुग्छन् ।
सरकारी एवं गैरसरकारी कार्यालयहरूमा समेत महिनौँ अघिदेखि मच्चिने तीजको रहरमाथि पनि अहिले प्रश्न उठ्ने गरेको छ । सबैभन्दा पहिले त सरकारी एवं गैरसरकारी संस्था यसरी तीज जस्तो धार्मिक सांस्कृतिक गतिविधि गर्न मिल्ने ठाउँ हो कि होइन ? तीज एउटा धार्मिक सांस्कृतिक पर्व भएको कारणले यो कहाँ र कसरी मनाउने भन्ने स्थान र समय पनि निर्धारण  गरिएको छ । यो धार्मिक सांस्कृतिक स्थानहरूमै मनाउने पर्व हो । पशुपतिमा नाच्नु पर्ने नाच कुनै सरकारी कार्यालयमा नाचिन्छ भने त्यो पक्कै पनि अशोभनीय नै देखिन्छ । तीजमा पनि त्यस्तै भएको छ । कार्यालयहरूमा तीज मनाउनु कुनै पनि हिसाबले राम्रो लाग्दैन । कार्यालय त कार्य गर्ने थलो हो । त्यहाँ कसरी नाचगान गर्न मिल्छ ? तीज मनाउने कार्यले कार्यालय बिदा त हुँदैन तर बिदा नभए पनि काम भने हुँदैन । कार्यालय खुल्नु तर काम नगर्नु, के कुनै पनि कार्यसम्बन्धी आचारसंहिताले यसो गर्न अनुमति दिन्छ ? कति सेवाग्राहीको त्यही बेला काम गराउनुपर्ने हुन्छ । भोलि भन्न नमिल्ने अवस्था परेको हुन सक्छ । अहिले जमाना कति द्रुत भइसक्यो भने एकदिनको ढिलाइले जीवनकै गाडी छुट्नसमेत बेर लाग्दैन । तीजको लहरले सेवाग्राहीको त्यो गाडी पनि छुटाइदिन सक्छ ।
अर्को कुरा, तीज मनाउन महिलाहरूले त्यसरी कार्यालय नै कब्जा गर्दा पुरुष सहकर्मीको मनमा कस्तो भावना उत्पन्न होला ? त्यसबारे पनि कहिल्यै सोचेको देखिएन । तीजका बेला कहिले पर्व मनाउने त कहिले दर खाने भन्दै नाचगान गर्नुलाई महिलाहरूले आफ्नो अधिकार ठान्छन् । महिलालाई अधिकार नपुगेको त हो । तर उनीहरूलाई चाहिएको अधिकार भने तीजमा नाच्नु होइन । अधिकार नपुगेको कार्यालयमा नाच्नलाई होइन । यसले गर्दा महिलाले अनावश्यक ठाउँमा पनि सुविधा र सहुलियत लिइरहेको देखिन गएको छ, खास गरी  पुरुषलाई ।
तीज मनाउने नाममा महिनौँदेखि महिलाहरू यसरी व्यस्त हुँदा एकातिर  सहकर्मीहरूले प्रश्न उठाउने त छँदै छ अर्काेतिर आफ्नो व्यावसायिक जीवनमा पनि असर परिरहेको हुन्छ । यतिकै त हरेक क्षेत्रमा महिलाका कार्यक्षमतामाथि प्रश्नचिन्ह खडा गरिरहेको हुन्छ भने यसरी महिलाले एकदिनको चाडपर्वलाई महिनौँदेखि उत्सवका रूपमा मनाइरहँदा कार्यक्षमताको विकास गर्नेमा ह्रास आउने निश्चित छ । कार्यक्षमतामाथि प्रश्न खडा गर्नेहरूलाई पनि मलजल नै पु–याउँछ । तीज आउने एक डेढ महिना अघिदेखि नै कतिपय कार्यालयहरू, चाहे सरकारी कार्यालय होस् चाहे निजी तीजमय नै भएको देखिन्छ । यतिसम्म कि समाजमा रूपान्तरण चाहने मिडिया हाउसहरूले समेत यसलाई प्रश्रय दिइरहेको छ । आफूहरू नै प्रत्यक्ष रूपमा यस्ता क्रियाकलापमा सहभागी भएर प्रोत्साहन दिइरहेका छन् । पराम्परागत चाडपर्वलाई उत्सवका रूपमा महिनौँदेखि मनाउन थालेपछि प्रत्येक वर्ष विवाद चुलिए सँगसँगै चाडपर्वप्रति नै नकारात्मक धारणाको विकास पनि बढिरहेको छ ।
महिनौँदेखि व्यस्त रहेर विभिन्न कोणबाट मनाइरहेको तीज पर्वमा पञ्चमीको दिन पाप पखाल्नेसम्मको क्रिया गरिन्छ । तर कुनै पनि रूपान्तरण चाहनेहरूले महिलाको रजस्वलालाई पापको रूपमा व्याख्या गरिरहँदा पञ्चमीलाई पनि बहिष्कार गरौँ या यसलाई बन्द गर्नुपर्छ भन्ने आवाज कहीँकतै सुनिँदैन । यसपटक पहिलोचोटि नेपाल सरकारले पञ्चमीको दिन बिदा कटाएर अग्रगामी निर्णय ग¥यो । तर कसैले यो पर्व अब हामी मनाउँदैनौँ भनेर भन्न सकेनन् । उही बिरालोको घाँटीमा घन्टी बाँध्ने कामले निरन्तरता नै पायो ।
वास्तवमा तीज पर्व भनेको उनीहरूको घरमा गएर महिलाको अवस्था बुझ्नका लागि र माइती ल्याएर समस्या अझ नजिकबाट महसुस गर्नका लागि मनाइएको पर्वका रूपमा बुझ्न सकिन्छ । न कि श्रीमानको आयु वा अरु कसैको आयुका लागि बस्ने व्रत हो । गम्भीर रूपमा हेर्ने हो भने देशको रूपान्तरण चाहने र महिलाको हरेक क्षेत्रमा महिलाको दु्रत गतिमा विकास चाहने महिलाहरू स्वयं चाहे सांसद होस्, महिला अधिकारकर्मी होस्, सञ्चारकर्मी होस् सबै सबै उही परम्परागत भूमिकामा यो पर्वलाई मनाउन उत्साहित भइरहेको छ । उनीहरूले तीजका नाममा विभिन्न नेताहरूलाई बोलाएर कार्यक्रमहरू गरी नाचगान गर्ने र फेसबुकका भित्ताहरूमा राखिएका तस्बिरहरूले यही पुष्टि गर्छ ।
तीजको सांस्कृतिक पक्षलाई हेर्ने हो भने आफ्ना वेदना पोख्न विभिन्न लोकभाकामा आफ्ना वेदना पोख्ने पर्वका रूपमा पनि व्याख्या गरिएको छ भने अहिले आएर तीजलाई महिला स्वतन्त्रताको दिवसका रूपमा पनि लिन थालिएको छ । यदि यो मान्यतालाई मान्ने हो भने महिनौँदेखि विभिन्न होटल तथा पार्टी प्यालेसमा जम्मा भएर आधुनिक र हिन्दी गीतमा नाचगान गर्ने र दर खाने प्रचलन व्यापक रूपमा बढ्दै गइरहेको अवस्थामा कसरी वेदना पोख्ने वा स्वतन्त्रता दिवस भनेर मान्न सकिन्छ ? दर खाने र खुवाउने नाममा गरिने ठूला भोजहरूमा हुने खर्चले के सन्देश दिइरहेको छ ? साँच्चै यसले महिलाको नेतृत्व विकास गरेकै छ त ? वा महिलाको व्यक्तित्व र व्यावसायिक विकास ?
यसरी तीज मनाइरहँदा न यसले सांस्कृतिक रूपान्तरण गर्न सक्छ न महिलाको नेतृत्व विकास नै । संस्कृति भन्ने कुरा पुस्तान्तरण हो । तर जुन रूपमा अहिले तीज पर्व मनाइरहेको छ, के साँच्चै यसले नयाँ पुस्तामा नयाँ सन्देश र रूपान्तरण भइरहेको छ त ? आमाले रातो साडी लगाउँदा, ओठमा लाली, हातमा रातै चुरा र टाउकोमा रातो धागो लगाउँदा आठ नौ वर्षको छोरीले पनि त्यही सिको गरेर त्यसरी नै पहिरनमा उभिने बाहेक अरु के कुरा सिक्न सक्लान् ? के यसैलाई हामीले रूपान्तरण भएको भनेर मान्ने हो वा पुस्ता पुस्तान्तरण भनेर मान्ने ? यदि तीजलाई पुरातन शैलीमा मनाइन्छ भने यसले नयाँ पुस्तालाई पनि त्यही पुरातन कुरा मात्रै सिकाउँछ । अर्को पुस्तालाई समेत अग्रगामी बनाउन नसकिने संस्कार बोकेर नारा मुक्तिको गाथा गाउनुको के अर्थ ? नारी मुक्ति अघि बढ्नलाई हो । पुरानो कुसंस्कार बोक्नलाई होइन । कुसंस्कार बोक्न कोही पनि मुक्त हुनु पर्दैन । त्यसका लागि बन्धन नै पर्याप्त छ ।
संस्कृतिले आजको युगलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम गर्छ । निर्णय हामी आफैं गरौँ, तीजलाई अग्रगामी युग हस्तान्तरण गर्ने अवसर बनाऔँ वा कुपोषणयुक्त युग पुस्तालाई बोकाएर  आफू पलायन हुने बाटो बनाऔँ !
— नागरिक दैनिकबाट

साहित्य/सृजना 

मेरो पनि बाँच्ने अधिकार छ 

चमेराहरू झुन्डिइराखुन् रूखका हाँगाहरूमा
आकाशलाई पाताल र पाताललाई आकाश बनाइरहुन्
ढोईलाई लगाएर अघि–अघि
अभयारण्यमा लम्किरहोस् मत्त हात्ती
बघिनीहरू घुमफिर गरून् आफ्नो प्रिय जङ्गलमा
र स्नेह गरून् आ–आफ्ना डमरुलाई
हिउँदको चिसोमा
माटाको न्यानो गर्भमा
गुप्त बास बसुन्
या घाम ताप्न निस्कुन् सर्पहरू
स्यालहरू कुदून् बेतोडले
म्याराथुन धावकझैँे
पण्डितहरू मन्दिर जाऊन् या पादरीहरू चर्चतिर
प्रार्थना गरून् वा वर मागुन् आ–आफ्नो ईश्वरसँग
मलाई आपत्ति छैन शासकहरू हो !
यो संसार सबैको हो ।
तर राति झ्यालबाट पसेर चोरझैँ
मेरा जुँगा चाट्न हुन्न चमेराहरूले
मन्त्रीको आदेशमा डाँकाले झैँ
सुकुम्बासी गाउँ नउजाडुन् हात्तीहरूले
खोरका घारहरू फुकालेर
सुत्केरी बाख्राको कल्चौँडो खान हुन्न बघिनीहरूले
सानो दुधे शिशुलाई आँगनमा सुताएर
काममा गएकी छ उसकी आमा
फर्केपछि देख्नु नपरोस्
आफ्नो प्रिय शिशुको छातीमा
सर्पदंशका डोबहरू
कुनै किसानले पालेको कुखुरा
सुटुक्क चोरेर
खोल्सामा लगेर आफ्नो भोक तृप्त गर्न पाइँदैन स्यालहरूले
पण्डितहरू पनि बुझून् मानिसको बलि दिनु हुन्न
पादरी वा मौलवीहरू पनि बुझून्
अर्काको आयु ताछेर
आफ्नो आयुमा थप्न पाइन्न
यो संसार सबैको हो ।
संसार सबैको हो भने
मेरो पनि हो संसार
तर मेरो भाग खोसेर कसैले खायो भने
म तयार छु अन्तिम युद्घ गर्न
अन्तिम युद्घ अर्थात निर्णायक युद्घ
जसले फैसला गर्नेछ हारजितको
ए जङ्गल शासक र शिकारी शासकहरू हो !
मेरो सबैभन्दा तीखो हतियार नैतिकता हो ।

गजल 

मृग नयनी नयन जुधाउनेले मारिन
मनमा माया भएनी लुकाउनेले मारिन
परि हुन कि अप्सरा बयान कसरी गरु
रुपको जादुले जगै भुलाउनेले मारिन

गुलाबको फुल ठानी मनमन्दिरमा सजाए
टिपी संगै राख्न खोज्दा बिझाउनेले मारिन
एकै दिन नदेखेनी सोधीखोजी गर्छिन रे
भेटौ भनी सधै ढाटी कुराउनेले मारिन

न त आफुले भन्छिन न मेरो सामु पर्छिन
सधै तड्पाएर मुटु दुखाउनेले मारिन

सूचना/सन्देश/बिज्ञापन 

सायल गाउँपालिका 
गाउँकार्यपालिकाकाे कार्यालय 
दुदिलेगडा, डाेटी 

करार सेवामा पदपुर्ति सम्वन्धी सूचना 

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०६/११ 

यस सायल गाउँपालिका, गाउँकार्यपालिकाको मिति २०७५/०६/१० गतेको निर्णय अनुसार तपशिलको पदमा करार सेवामा पदपुर्ति गर्नु पर्ने भएकोले निम्न योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशति भएको मितिले १५ (पन्ध्र) दिनभित्र रितपूर्वक आवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । 
बिज्ञापन नं. ३/०७५/०६ 
पद ः ना.प.स्वा.प्र. 
न्यूनतम् शैक्षिक योग्यता ः नेपाल सरकारद्वारा मान्यता प्राप्त शैक्षिक संस्थाबाट ख्व्त्ब् तथा सो सरह उत्तीर्ण गरेको 
तलव सुबिधा ः नेपाल सरकारको उक्त पदको नियमानुसारको स्केल बमोजिम
माग संख्या ः १ (एक) 
सेवा ः करार 
परीक्षाको किसिम ः लिखित तथा अन्तरवार्ता 
आवेदन दिने अन्तिम मिति ः २०७५/०६/२५ 
आवेदन बुझाउने स्थान ः सायल गाउँकार्यपालिकाको कार्यालय, डोटी 
दस्तुर ः रु. ५००/- मात्र 
दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु ः 
नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी 
शैक्षिक योग्यताका प्रमाण पत्रहरुको प्रतिलिपी 
सम्पर्क मिति ः २०७५ साल असोज २६ गते 
परीक्षा मिति ः सम्पर्क मितिका दिन तोकिनेछ । 
थप जानकारीका लागि ९८४८५५६६८२ मा सम्पर्क गर्नु होला ।

पदपूर्ति समिति