समृद्ध नेपाल सुखी नेपाली, सामाजिक सेवा
सबैको जिम्मेवारी
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग
मुख्य समाचार
बम दिदिबहिनीहरुको घरमै छ हत्यारा
रामहरी ओझा/डोटी
असोज १५
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बिरवहादुर बलायरले निर्मला पन्तको हत्यारा बम दिदिबहिनीहरुकै घरमा रहेको दावी गरेका छन् ।
नेपाल प्रेस युनियन डोटीद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बलायरले बम दिदिबहिनीहरुकै घरमा निर्मलाको बलात्कारपछि हत्या भएको ठोकुवा गरे । ‘यदि प्रहरीले निर्मला हराएकै राती बम दिदिबहिनीहरुको घरमा छापा मारेको भए निर्मला भरसक जीउदै नभए लास त्यही घरवाट प्राप्त हुने थियो’ बलायरले भने ‘तर प्रहरीले राती जान नमिल्ने भन्दै वास्ता गरेन ।’ उनले जुन घरमा निर्मला गईन त्यही घरमा उनको बलात्कारपछि हत्या भएको वताए ।
नेपाली कांग्रेसको तर्फबाट निर्मला हत्याकाण्डको छानबिन गर्न गठित समितिका सदस्य समेत रहेका बलायरले भने ‘अहिले बम दिदिबहिनीहरु दार्चुला गएका छन्, उनीहरुलाई यति छिटो किन दार्चुला पठाईयो ?’ नेता बलायरले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बलात्कारी र हत्यारालाई बचाउन खोजेको आरोप लगाए । आफुले निर्मला हत्या काण्डको बिषयमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई समेत भेटेर कुरा गरेको बताउँदै उनले भने ‘त्यतिवेला त उहाँहरु निकै आक्रामक हुनुहुन्थ्यो तर अहिले के भयो त ?’
प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्नु दुर्भाग्य
कांगे्रस नेता बलायरले ७ नं. प्रदेशको नाम सुदूरपश्चिम राख्नु दुर्भाग्य रहेको वताए । ‘पञ्चहरुले भोकमरी रहेको, अभाव रहेको, गरीवी रहेको, पछौटेपन रहेको र अशिक्षित रहेको भन्दै हामीलाई हेपेर त्यतिबेला सुदूरपश्चिम राखेका हुन्’ बलायरले भने ‘प्रदेश सभाले हाम्रो ईतिहास मेट्ने गरी प्रदेशको नाम सुदूरपश्चिम राखेको छ, यसमा कांग्रेसको आपत्ति छ ।’ उनले प्रतिपक्षको बहिस्कारका बावजुद् प्रदेश सभाको दुई तिहाई बहुमतले गरेको उक्त निर्णयका बिरुद्ध नेपाली कांग्रेसले प्रदेशव्यापी अभियान सञ्चालन गर्ने वताए । ‘हामी जनताका बिचमा जान्छौं, जनतालाई सचेत गराउछौं, हाम्रो ईतिहास मेटिएको बारेमा भन्छौं’ उनले भने ‘म पहिले पनि “सुदूर” भन्ने शव्दको बिरुद्धमा लडेको मान्छे हुँ र अव पनि लड्छु ।’ उनले खस आर्य प्रदेश, गोदावरी प्रदेश, खप्तड प्रदेश, सेतीकाली प्रदेश जस्ता नामहरु राख्न सक्ने ठाउँ हुँदाहुँदै पनि किन सुदूरपश्चिम राखियो भनी प्रश्न गरे । नेपाली कांग्रेस अहिले उक्त निर्णयलाई रोक्न सक्ने अवस्थामा नभएको बताउँदै उनले भने ‘हामी यो नाम परिवर्तन गरेरै छोड्छौं ।’
राजधानीप्रति पनि आपत्ति
प्रदेशको स्थायी मुकाम धनगढी तोकिदा मन्त्री समेत रहेका बलायरले प्रदेश राजधानी कैलालीको गोदावरी भएकोमा आपत्ति जनाए ।
‘सवै हिसावले दिपायलको बिकल्प थिएन तर पनि गोदावरी लगेर राखियो’ नेता बलायरले भने ‘यसमा पनि कांग्रेसको समर्थन छैन ।’ उनले अस्थायी राजधानी धनगढी हुँदा आफु मन्त्री रहेको भएपनि आफ्नो मात्रै सामाथ्र्यले दिपायल अस्थायी केन्द्र तोक्न सम्भव नभएको बताउँदै भने ‘तर राजधानी दिपायल बनाउछौं भनेर जनताबाट मत मागेकाहरुले गोदावरीको पक्षमा मतदान गरेको देख्दा दुःख लाग्यो ।’ नेकपाको दवावमा आएर डोटीका तीन सांसदहरुले गोदावरीको पक्षमा मतदान गरेको बताउँदै उनले भने ‘यदि डोटीका तीन जना सांसदहरुले मात्रै मतदान नगरेको भए दुई तिहाई पुग्ने थिएन ।
अस्थायी राजधानी तोक्दा कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेको भएपनि त्यो निर्णय सवै दलहरुको दवावमा भएको उनी बताउँछन । ‘म चुनाव हारेको थिएँ, जनताबाट अस्वीकृत भईसकेपछि मैले धेरै अडान लिने नैतिकता पनि थिएन’ उनले भने ‘बिना हतियार युद्ध गर्न सकिन तर पनि मैले अस्थायी केन्द्रकै बिषयलाई लिएर पाँच पटकसम्म मन्त्रीपरिषद्को बैठक स्थगित गरेको हुँ ।’ अहिले बिधिवत् रुपमा राजधानी गोदावरी सारिदा डोटेली जनताका प्रतिनिधिहरुले खुरुखुरु सहमति जनाएर पक्षमा मतदान गरेको आफ्नो आपत्ति रहेको उनले बताए ।
पत्रकारहरुद्वारा सोधिएको एक प्रश्नको जवाफमा बलायरले भने ‘यदि यो संसदको कार्यकालमा गोदावरीका प्रदेश सरकारका संरचनाहरु बनेनन् भने हामी राजधानी सार्नका लागि अर्को पटक प्रयास गर्छौं ।’ उनले अहिले धनगढीका बासिन्दा पनि धनगढी राजधानी नभए डोटी हुनु पर्ने आवाज उठाईरहेका वताए ।
भ्रष्टाचार बिरुद्ध लड्ने
स्थानीय तहमा व्यापक रुपमा भ्रष्टाचार भईरहेको गुनासो आएको बताउँदै बलायरले नेपाली कांग्रेस अव भ्रष्टाचारको बिरुद्धमा अभियान सञ्चालन गर्ने वताए । ‘जनप्रतिनिधिहरु आफै लुटमा लागेको भन्ने गुनासा आईरहेका छन्’ उनले भने ‘जनताको नाममा आएको बजेटमा जनप्रतिनिधि–हरुले नै लुट मच्चाउन थाल्यो भने यसको हत्कडी लगाउनु पर्छ ।’ उनले अहिले जनप्रतिनिधितन्त्र भन्दा पनि कर्मचारीतन्त्र हावी भएको बताए । ‘नगरभित्र मनोमानी ढंगले कर्मचारी सरुवा गर्ने काम भएको छ, यो कदावी स्वीकार्य हुँदैन’ उनले भने ‘यदि यस्तै भईराख्छ भने कसलाई कालो मोसो दल्नु पर्छ, कसलाई थुन्नु पर्छ त्यसका लागि पनि हामी तयार हुने छौं ।’ उनले बर्तमान सरकारको काम गराईले संघीयतानै असफल हुने चिन्ता लागेको वताए ।
सम्पादकीय
अदुरदर्शी निर्णय
भाद्र १२ गते तत्कालीन ७ नं. प्रदेश सभाले एउटा ऐतिहासिक निर्णय ग¥यो । यद्यपी प्रत्येक निर्णयहरु ऐतिहासिकै हुन्छन् तर पनि हाम्रो बोलीचालीको भाषामा कुनै महत्वपूर्ण निर्णय भएमा ‘ऐतिहासिक निर्णय’ भन्ने चलन छ । त्यस्तै ऐतिहासिक निर्णय ग¥यो प्रदेश सभाले । यो ऐतिहासिक निर्णय हुँदा यस क्षेत्रको भौगोलिक, ऐतिहासिक, धार्मिक, संरचनागत सवै बिषयहरुलाई मसिनो ढंगले अध्ययन गर्नेछ प्रदेश सभाले, हामीले पठाएका जनप्रतिनिधिहरुले हचुवाको भरमा निर्णय गर्ने छैनन् भन्ने धेरैलाई आश थियो तर त्यो पनि भएन । मनलाग्दी प्रस्ताव आयोग, त्यस्तै निर्णय भयो ।
यो निर्णयले न त आम जनता खुशी हुन सके, न सत्तापक्षनै खुशी हुने समभावना छ न त प्रतिपक्षनै । प्रदेश राजधानी तोक्ने सवालमा पहिलो प्राथमिकतामा पर्ने ठाउँ डोटी नै हुनु पर्ने हो । ईतिहास, संस्कृति, सामरिक महत्व, भौगोलिक समदुरी आदि केही पनि मान्दैन भने पनि सरकारी भौतिक संरचनाहरु बनेका छन् । नयाँ ठाउँमा नयाँ संरचना निर्माण गर्नका लागि ठुलो लगानी लाउनु पर्ने छैन भन्ने प्रमुख मान्यता त थियो डोटीका लागि । नेताहरुले त्यो सम्भावना पनि देखेनन् । न त्यो आँखाले २०७४ साल माघ ३ गते हेरियो न २०७५ साल भाद्र १२ गते ।
यद्यपी आफुले डोटेलीमाथी गरेको अन्याय ढाकछोप गर्नका लागि त्यतिवेलाको सत्तापक्ष अहिलेको सत्तापक्षको सत्तो सराप गर्दैछ । ‘पोलिटिकल स्टण्ट’ का हिसावले त्यो जायज पनि होला तर यदि त्यतिवेला ‘७ नं. प्रदेशका अस्थायी मुकाम उच्च अदालत भएको ठाउँ र बिगतको विकास क्षेत्रको सदरमुकाम भएको ठाउँ दिपायलमा रहनेछ’ भनेर मात्रै निर्णय भएको भए आज स्थायी धनगढी बनाउने कसैको तागत हुने थिएन ।
त्यो एउटा गल्ती हो, स्वीकार गर्नु पर्छ । दोश्रो गल्ती अहिले भयो । यदि डोटीका तीन जना मात्रै सांसदहरुले गोदावरी राधजानी र सुदूरपश्चिम नाममा औंठाछाप नलगाएको भए संबिधानको धारा २८८ अनुसार दुई तिहाई पुग्ने थिएन र त्यो प्रस्ताव फेल हुने थियो । यद्यपी मुख्यमन्त्री स्वयंका लागि उक्त कार्य कति चुनौतीपूर्ण छ भन्ने कुरा पनि अर्को बिषय हो । संसदमा पेश हुने प्रस्तावहरुलाई सरकारी प्रस्ताव मान्ने गरिन्छ । आफै सरकार प्रमुख भएका बेला आएको प्रस्तावको बिपक्षमा मतदान गर्नु कत्तिको जायज होला ! भन्नलाई त सहजै सकिन्छ तर मान्छेले चार दिन पछि छोड्नै पर्ने मन्त्री पद त छोड्न सकेनन् भने चार बर्ष चल्ने आश भएको मुख्यमन्त्री पद उनले पनि कसरी छोड्नु ।’
जे होस् प्रदेश राजधानी र नाम राख्ने निर्णय अदुरदर्शी निर्णय हो । यो जुनसुकै पार्टी, समूह वा व्यक्तिले गरेको भएपनि उपयुक्त होईन । आफ्नै आँगनमा सुदूरबासी हुनु पर्ने, सवै संरचना भएको दिपायल पन्छाएर, बचेखुचेका संरचनाहरु भएको धनगढी पन्छाएर जंगलमा राजधानी राख्नु पर्ने कुनै कारण हुँदैन । यसमा कुनै प्रकारको दुरदर्शीता छैन ।
नेपालको संबिधानको उपज पनि हो यो निर्णय । संबिधानमा सम्वन्धित प्रदेशको दुई तिहाई बहुमतले निर्णय गरे बमोजिम प्रदेशको राजधानी र नाम हुने भन्ने उल्लेख गरेपछि अव यसलाई के भनेर व्याख्या गर्ने हामीहरुले ? त्यसैले कसैलाई राजनीतिक स्वार्थ लिनका लागि यो निर्णयको पक्षमा वकालत गर्नु बाध्यता होला कसैलाई राजनीतिक दुनो सोझ्याउनका लागि यो निर्णयको बिरुद्धमा चिच्याउनु पर्ने बाध्यता होला । जसलाई जे बाध्यता भएपनि यो निर्णय समग्रमा यस प्रदेशको हित बिपरितको निर्णय हो भन्ने कुरामा भने दुई मत छैन ।
त्यसैले सकिन्छ भने प्रदेश सभाको दुई तिहाई मतले नाम मात्रै भएपनि संसोधन गर्नु पर्छ भन्ने कुरालाई बिशेष रुपबाट उठान गर्नु जरुरी छ ।
थप समाचार
साउन यता पाँच बलात्कारका घटना
डोटी बडीकेदार गाउँपालिका–३ मा ७४ बर्षीया एक बृद्ध महिला बलात्कृत भएकी छन् । आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा उनी बलात्कृत भएकी हुन ।
बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका करीव ३३ बर्षीय गणेश भनिने योगेन्द्र धामीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यद्यपी यस बिषयमा प्रहरीले आधिकारिक जानकारी दिएको छैन तर स्थानीयले धामीलाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन ।
डोटी जिल्लामा साउन यता बलात्कारका पाँच घटनाहरु भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । साउन १७ गते डोटी आदर्श गाउँपालिकामा २२ बर्षीया एक महिलालाई घरमै गई बलात्कार गर्न खोजेको आरोपमा आदर्श गाउँपालिका–२ मा ३० बर्षीय धौले लुहार बिरुद्ध बलात्कारको प्रयासमा मुद्धा दर्ता भएको छ ।
यस्तै शिखर नगरपालिकाकी १६ बर्षीया बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा सायल गाउँपालिका–६, डोटी घर भई हाल शिखर नगरपालिका–६ मा बस्दै आएका शिवराज लुहारलाई प्रहरीले पत्राउ गरेको छ ।
पूर्वीचौकी गाउँपालिकाकी २१ बर्षीया अपाङ्ग महिलालाई जवरजस्ती करणी गरेको आरोपमा सोही गाउँपालिका वडा नं. ५ का ३५ बर्षीय शिव लुहार बिरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता भएको छ ।
शिखर नगरपालिकाकी १७ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा शिखर नगरपालिकाकै एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
यि घटनामध्ये एक घटना जेठमा भएको भएपनि प्रहरीमा उजुरी असोजमा मात्रै आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव बिष्टले जानकारी दिए । ‘एक बर्षसम्म हदम्याद राखिएको छ, त्यसकरण ढिलो गरी पनि मुद्धा लिएर आउँछन्’ निरीक्षक बिष्टले भने ‘बिगतका बर्षहरुको तुलनामा यस बर्ष बलात्कारका घटनाहरु बढी नै आईरहेका छन् ।’ देशैभरी बलात्कारका घटनाहरु बढ्दै गएका बेला डोटीमा छोटो अवधीमा यति धेरै घटनाहरुले जिल्लाबासीलाई चिन्तित बनाएको छ । प्रहरीले सवै घटनाका आरोपीहरुलाई भने नियन्त्रणमा लिईसकेको छ ।
सायल गाउँपालिकाको बिशेष निर्णय
टुहुरा बालबालिकालाई पढाउने, एकल पुरुषलाई भत्ता दिने
कर्ण चन्द/डोटी
असोज १५
गाउँपालिकाभित्र रहेका टुहुरा बालबालिकाहरुलाई सायल गाउँपालिकाले पढाउने भएको छ । गाउँपालिकाभित्रका एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिने भएको छ ।
टुहुरा बालबालिकालाई पढाई खर्च स्वरुप प्रत्येक महिना एक हजार पाँच सय रुपँैया गाउँपालिकाले प्रदान गर्ने निर्णय गाउँसभाबाट पारित गरेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले जानकारी दिए ।
गाउँपालिकाले बिशेष गाउँसभाबाट गरेको उक्त निर्णयबाट तिन दर्जन बालबालिका लाभाम्वित हुने गाउँपालिकाका उपाध्यक्ष बिष्ना सिंहले बताईन । गाउँसभाको यस निर्णयले आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाई निरन्तर दिनका लागी सहयोग पुग्ने गाउँपालिकाले बिश्वास लिएको उपाध्यक्ष सिंहको भनाई छ ।
बिशेष गाउँसभा बोलाएको उक्त गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय पनि गरेको छ । ६० बर्ष पुगेका गैर दलित तथा ५० बर्ष पुरा भएका एकल दलित पुरुषलाई समाजिक सुरक्षा भत्ता स्वरुपमा प्रत्येक महिना पाँच सय रुपैँया दिने सायल गाउँपालिकाले निर्णय गरेको हो । एकल महिला मात्र नभएर एकल पुरुषलाई पनि समस्या हुने भन्दै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनु भएको हो ।
सायल गाउँपालिका भित्रका पानीका मुहान संरक्षण गर्नका लागी रिर्चाजपण्ड निर्माण गर्ने पनि निर्णय गरेको छ । जलबायु परिर्बतनका कारण पानीका मुुहान सुक्न थालेपनी संरक्षणका लागी रिचार्ज पोखरी निमार्ण गर्ने निर्णय गरेको हो ।
ट्राफिक प्रहरीको यात्रु सहायता कक्ष
नजिकिदै गरेको चाडपर्वको समयलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले यात्रुहरुका लागि सुदूरपश्चिम प्रदेशमा १२ वटा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।
हिन्दुहरुको महान चाँड् दशैं, तिहार र छठ पर्वको अवसरमा राजधानी तथा देशका बिभिन्न ठाउबाट चाडपर्व मनाउन आउने/जाने सर्वसाधारणहरुलाई लक्षित गरी सो कक्ष स्थापना गरेको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक टेकबहादुर जोराले यात्रु सहायता कक्षले सहज र सुरक्षित आवागमनको ब्यवस्था र सवारी दुर्घटना न्युनिकरण गर्नका लागि काम गर्ने बताए ।
कैलालीको अत्तरिया, धनगढी र लम्की, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुराको बागबजार र स्याउले, डोटीको पिपल्ला, बैतडीको गोठलापानी, अछामको मंगलसेन, बझाङको सिमखेत, दार्चुलाको खलङ्गा र बाजुराको मार्तडी बसपार्कमा यस्ता यात्रु सहयता कक्ष स्थापना गरिएका छन् । ति सहायता कक्षहरू नजिकका ट्राफिक प्रहरी कार्यालयहरूले सञ्चालन गरिरहेको ट्राफिक प्रहरी निरीक्षक जोराले बताए । चाँड पर्वको समयमा सवारी दुर्घटना बढी हुने बिगतका बर्षहरुमा देखिएकोले दुर्घटनाक कम गर्न र यात्रुहरुलाई सहज बनाउन सहायता कक्ष स्थापना भएका हुन् ।
जेष्ठ नागरिकलाई सम्मान
जेष्ठ नागरिक जिल्ला संघ डोटीले २८ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा एक जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी यादव भुषालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिका–५ का ७९ बर्षीय जेष्ठ नागरिक जगते लुहारलाई सम्मान गरिएको हो । संघका सचिव सुरेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । यस्तै कार्यक्रममा जेष्ठ नागरिकहरुको बिषयमा समेत अन्तरक्रिया भएको उनले वताए ।
यसैगरी पूर्वीचौकी गाउँपालिकाले पनि गेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
प्रत्येक वडाबाट तीन जनाका दरले गाउँपालिकाका ७ वडाका २१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए । गाउँपालिकाको कार्यालयमा कार्यक्रमको आयोजना गरेर प्रत्येक वडाबाट पुरुष जेष्ठ नागरिक एक, महिला जेष्ठ नागरिक एक र दलित जेष्ठ नागरिक एक जनालाई सम्मान गरिएको हो । सम्मान हुने प्रत्येक ब्यक्तीलाई पाँच हजार नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
गाउँपालिकाले जीवनको उत्तरार्धमा सम्मान गरेको भन्दै जेष्ठ नागरिकले खुशी ब्यक्त गरेका थिए । गाउँठाउँको विकासका लागी जेष्ठनागरिकको महत्वपुर्ण भूमिकाको उच्च प्रशंसा गर्दै सम्मान गरिएको अध्यक्ष बोगटीले बताए ।
केरा आयातमा रोक लगाउन माग
कैलाली र कञ्चनपुरका व्यावसायिक केरा खेती गर्ने कृषकहरुले भारतबाट आयात हुने केरामा रोक लगाउन माग गरेका छन् ।
भारतबाट केरा आयात हुँदा स्थानीय उत्पादनले बजार नपाएको भन्दै उनीहरुले केरा आयातमा रोक लगाउन माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।
६ बुँदे माग सहितको ज्ञापन पत्रमा भारतबाट आयातित केराको विषादी, रोग तथा किराको परीक्षण नगरी सेनेटरी तथा फाइटोसेनेटरी प्रमाण पत्र अन्तर्गत अपनाउनु पर्ने मापदण्ड पूरा नगरिएकाले यथाशिघ्र आयातमा रोक लगाउनु पर्ने माग गरिएको छ ।
कम लागतमा भारतबाट केरा भित्र्याउने परिपाटीको अन्त्यका लागि विश्व व्यापार सङ्गठनको नियम अनुसार हाल केरामा कायम रहेको पाँच प्रतिशत भन्सार दरलाई २५ प्रतिशतमा बृद्धि गरी ‘डम्पिङ्ग’ गर्ने परिपाटीको अन्त्य गरिनु पर्ने माग गरेका छन् । आयातित वस्तुको भन्सारमै कडाईका साथ चेकजाँच गरिनु पर्ने, कैलाली कञ्चनपुरमा फष्टाईरहेको विलियम हाइब्रेड, जी नाइन, माल भोग र हरिसाल जातको केरालाई सूचिकृतका लागि पहल गरिनु पर्ने माग केरा कृषकहरुको छ ।
यस्तै दुवै जिल्लामा केराको जोन बनाउनका लागि आवश्यक मापदण्ड पूरा भएकाले यथाशिघ्र केराको जोन घोषणा गरी कार्यक्रम लागू गर्नका लागि पहल गर्न प्रदेश सरकारसंग आग्रह गरेका छन् । भारतबाट सस्तोमा आयात भइरहेको केराले यहाँका कृषक धरासयी हुने अवस्थामा पुगेको कृषक लक्षिराम आचार्यले बताए । माग पूरा नभए सङ्घर्षमा उत्रिने केरा किसानले चेतावनी दिएका छन् ।
केरा कृषक सङ्घर्ष समिति कैलाली, कञ्चनपुर, केरा विकास सञ्जाल कैलाली, केरा उत्पादन तथा प्रर्बद्धन कृषि सहकारी संस्था, राष्ट्रिय कृषक समूह महासंघ नेपाल कञ्चनपुरको अगुवाइमा ज्ञापनपत्र बुझाइएको हो । कैलाली, कञ्चनपुरमा गरेर साढे दुई हजार कृषक व्यवसायिक केरा खेतीमा सक्रिय रहेको केरा कृषक सङ्घर्ष समितिका संयोजक सुरेन्द्रकुमार चौधरीले बताए ।
दुवै जिल्लामा गरी एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको उनले जानकारी दिए ।
कहाँ होलान पत्रकार तेजु !
३८ दिन सम्म पनि कुनै जानकारी आएर
बाजुराको बुढीनन्दा धार्मिक क्षेत्रबाट फर्किने क्रममा सम्पर्कबिहिन भएका पत्रकार तेजवहादुर खड्का ‘तेजु’ को ३८ दिनसम्म पनि पत्ता लागेको छैन ।
समुद्री सतहदेखि करीव १६ हजार फिट उचाईमा रहेको बुढीनन्दामा भाद्र शुक्ल चतुर्दशी भाद्र ९ गते बिहान लाग्ने मेलाको रिपोटिङ्गका साथै धार्मिक कार्यका लागि पत्रकार खड्का भाद्र ६ गते त्यसतर्फ गएका थिए । भाद्र ९ गते चतुर्दशीको मेला सकेर फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट सम्पर्कबिहिन भएका खड्का कहाँ छन् भन्ने बिषयमा कुनै पत्तो लागेको छैन ।
खड्काको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीहरुले अथक प्रयास गरेपनि खड्काको कुनै पत्तो नलागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । ‘उहाँ ९ गते सम्पर्कबिहिन हुनु भएको रहेछ, हामीलाई ११ गते मात्रै जानकारी आयो’ बिम्ब साप्ताहिकसंग टेलिफोनमा कुरा गर्दै बोहराले भने ‘११ गते नै हामीले प्रहरी टोली परिचालन ग¥यौं तर उपलव्धी भएन ।’
प्रहरी नायव उपरीक्षक बोहराले खड्काको खोजी कार्यका लागि भाद्र १३ गतेदेखि नेपाली सेनाको टोली समेत परिचालन भएको जानकारी दिए । उनले भने ‘प्रहरी र सेनाको टोली एकहप्तासम्म उहाँको खोजीका लाग्यो, बुढीनन्दाको मन्दिरसम्मै टोली पुग्यो तर कुनै सूचना पाईएन ।’ सम्भावित सवै स्थानहरुमा सुरक्षाकर्मी र स्थानीयबासीहरुको टोलीले खोजी गरेको उनी बताउँछन् ।
अव के खड्का भेटिने सम्भावना समाप्त भएको हो त ? जिल्ला प्रहरी प्रमुख बोहरा भन्छन् ‘हामी त्यसो भन्न त सक्दैनौं, तपाई हाम्रो गाउँबाट हराएका मान्छेहरु पनि लामो समयपछि सम्पर्कमा आएका छन्, त्यसैले यस्तै होला भनेर ठोकुवा गर्न सकिदैन ।’ बोहराले हालसम्म उहाँ हराउनु भएको तर फेला पर्नु भएको छैन मात्रै भन्न सकिने बताए ।
यति लामो समय भईसक्दा पनि खड्का सम्पर्कमा नआएकाले अव सम्भावना ज्यादै न्यून रहेको बताउँछन् नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाशवहादुर सिंह । ‘खोजीका लागि प्रयासहरु धेरै भए तर पनि उहाँको कुनै पत्तो लागेन’ अध्यक्ष सिंह भन्छन् ‘उहाँ आफै सम्पर्कमा आउन नचाहेर कतै जानु भएको हो भने अझै झिनो आश छ तर त्यो पनि कमै सम्भावना छ ।’
२०५४ सालमा कार्यक्रम प्रस्तोताको रुपमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट आफ्नो केरियर सुरु गरेका खड्काले रेडियो नेपालमा हुँदा समाचार बाचक, कार्यक्रम उत्पादक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका थिए । उनले प्रस्तुत गर्ने कार्यक्रमहरुमा “देउडा गीतको सेरोफेरो” र “बसिबियालो” ज्यादै लोकप्रिय थिए, जसको चर्चा अहिले पनि हुने गरेको छ ।
डोटी दिपायल सिलगढी नगरपालिका–१ उनी बाजुराको कोल्टीमा रहेको बुढी नन्दा एफएममा कार्यरत थिए ।
छोटकरी समाचार
रेडक्रसमा पन्त
नेपाल रेडक्रस सोसाईटी सुदूरपश्चिम प्रदेश तदर्थ समितिको संयोजकमा केशव दत्त पन्त चयन भएका छन् ।
सोसाईटीको बिधान अनुसार केन्द्रिय समितिले गठन गरेको प्रदेश तदर्थ समिति १५ सदस्यीय रहेको छ । समितिको सचिवमा कैलालीका बलवहादुर रावल रहेका छन् ।
समितिका सदस्यहरुमा प्रदेशका नौ वटै जिल्लाबाट प्रतिनिधित्व गराईएको छ । मुलुक संघीय संरचनामा गएपछि सोसाईटीले आफ्नो बिधानलाई पनि बर्तमान संघीय संरचना अनुसार संसोधन गरी सोही अनुसार समिति गठन गर्दैछ ।
१० बर्षीय बालकले बनाए स्काईभेटर
डोटीका एक बालकले एक्जाभेटर बनाएका छन ।
दिपायल स्थित अमर– ज्योति आवाशीय बिद्यालयमा कक्षा ४ मा पढ्ने १० बर्षीय आयुष डुम्रेलले स्काईभेटर र हाईड्रोलिक ट्रक बनाएका हुन । कागज, सिन्का, प्लाष्टिक र अस्पतालका सुई तथा पाईप संकलन गरि उनी स्काईभेटर र हाईड्रोलिक ट्रक बनाउन सफल भएका छन् ।
उनले बनाएको हाईड्रोलिकमा तेलको सट्टा पानी प्रयोग गरिएको छ । एक दिन लगाएर बनाएको स्काई भेटर शुक्रवार देखि स्कुलमा प्रदर्शनका लागि राखिने स्कुलका प्रिन्सिपल शन्त कुमार तामाङले जानकारी दिएका छन् । सायल गाउँ पालिका–५ घर भई हाल दिपायल बस्दै आएका आयुष तेजबहादुर डुम्रेलका छोरा हुन ।
खेल समाचार
नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान
रासस
सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ। यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भुटान, चीन, म्यानमा र थाइल्याण्ड सहभागी हुनेछन् । राउण्ड रोविनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएइ, कतार र कुवेतसँगै पूर्वक्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । छनोट प्रतियोगिता अन्तर्गत नेपालले असोज १७ गते म्यान्मा, २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भुटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ ।
औपचारिक रुपमै बाहिरियो नेपाल
नयाँ जोसका साथ बंगलादेश पुगेको नेपाली क्रिकेट टोली सोचे अनुसारको सफलता नहुँदा निरास बनेको छ ।
एसीसी यू–१९ एसिया कप क्रिकेटबाट नेपाल औपचारिक रुपमा बाहिरिएको छ । बंगलादेशमा भइरहेको प्रतियोगितामा अफगानिस्तानले सोमबार नेपाललाई ३ विकेटले पराजित ग¥यो । ढाकाको बिकेएसपी ३ मैदानमा टस जितेको नेपाली यू–१९ ले एक सय ३१ रन मात्र बनाउन सकेको थियो ।
नेपाली इनिङ्स ३८.३ ओभरमा खुम्चिएको थियो । अफगानिस्तान यू–१९ ले ३७.३ ओभरमा एक सय ३६ रन बनाउदै लक्ष्य पुरा ग¥यो ।
नेपालको यो लगातार दोस्रो हार हो । शनिबार भएको पहिलो खेलमा नेपाललाई दावेदार भारत यू–१९ ले एक सय ७१ रनले पराजित गरेको थियो । भारत र अफगानिस्तान पहिलो दुवै खेल जिती सेमिफाइनल पुगेका छन् । समूह ‘ए’ मा रहेका नेपाल र युएई प्रतियोगिताबाटै बाहिरिएका हुन् ।
नेपालबाट रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले ८८ बल खेल्दै ७ चौका प्रहार गरे । रशिद खान ३०, कप्तान आशिफ शेखले २० रन बनाए । नेपालका पाँच खेलाडी शुन्यमा आउट भएका थिए । अफगानिस्तानका अजमातुल्लाह ओमारजाईले ४ विकेट लिए ।
आरिफ खानले २३ रनको अविजित इनिङ्स खेल्दै अफगानिस्तानलाई जिताए । कप्तान रहमनुल्लाह गुर्बाजले २६ र ओमाजाईले २३ रन बनाएका थिए । नेपालका सूर्य तामाङले ४ विकेट लिए । उनले ८.३ ओभरमा ३६ रन खर्चेका थिए । पवन सर्राफ, सागर ढकाल र रशिदले १÷१ विकेट लिए ।
नेपालले मंगलबार युएईसँग समूहचरणको अन्तिम खेल खेल्ने छ ।
चलचित्र/मनोरञ्जन
‘गुनगुन’ कार्तिक १० मा आउने
नेपाली चलचित्र “गुनगुन” कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ ।
प्रदर्शनको मिति पक्का गर्दै चलचित्र ‘गुनगुन’को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको भावनालाई झल्काउने गरी सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्रहरुलाई देखाईएको छ । प्रदर्शन हुने मिति सहिचको पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रचारप्रसारलाई तिव्र रुपमा अगाडि बढाइएको गुनगुनका निर्देशक पुकार भट्टाराईले बताएका छन् ।
पुकारले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । उनी पुराना कलाकार हुन । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइटेल , रविन प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ, गणेश जिसी , देशभक्त खनाल र अनु भण्डारीले अभिनय गरेका छन् । यस्तै सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको पनि चलचित्रमा भूमिका रहेको छ । चलचित्रमा हिमाल केसीको एक्सन, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन छ ।
अस्ताए गगन बिरही
नागरिक दैनिक
निधन अघिसम्म मान्छेका अनेक इच्छा हुन्छन् । साहित्कार तथा फिल्म निर्देशक गगन विरहीको पनि पुस्तक सार्वजनिक गर्ने अन्तिम इच्छा थियो । त्यो इच्छा पूरा भएसँगै विरहीले भौतिक दुनियाँ छाडेका छन् ।
लामो समयदेखि अस्वस्थ रहँदै आएका ६१ वर्षे फिल्म निर्माता, निर्देशक, लेखक तथा गीतकार गगन विरहीको आइतबार आफ्नो कृति ‘हस्ताक्षर’को विमोचनपछि निधन भएको छ । रुघाखोकी र ज्वरोका कारण राजधानीको नर्भिक अस्पतालको सघन कक्षमा उपचाररत विरहीको अन्तिम कृति ‘हस्ताक्षर’लाई अस्पतालको शैयाबाट नै उनकै इच्छा बमोजिम विमोचन गरेपछि विरहीले अन्तिम सास फेरेका हुन् । ‘हस्ताक्षर’मा विरहीका कविता संग्रहित छन् ।
२ वर्षअघि कलेजोको उपचार गरेर सामान्य अवस्थामा आएका विरहीलाई रुखा खोकीसँगै ज्वरो आएपछि गत शनिबारमात्र अस्पताल भर्ना गरिएको थियो । परिवारका अनुसार अस्पतालको स्वास्थ्य परीक्षणमा उनलाई निमोनियासँगै मृगौलामा समेत असर देखिएको थियो ।
फिल्म ‘संकल्प’बाट गीतकार र प्रस्तुतकर्ताका रुपमा फिल्म क्षेत्रमा ‘डेब्यु’ गरेका उनले फिल्म ‘भाउजु’ र ‘ट्रक ड्राइभर’का गीत लेखेका थिए । उनी फिल्म ‘बादल’का गीतकार तथा प्रस्तुतकर्तासमेत हुन । विरहीले फिल्म ‘झझल्को’, ‘मितेरी गाऊँ’ ‘शिखर’ र ‘घरआँगन’को निर्देशन पनि गरेका थिए । ‘झझल्को’ को ‘शनिबारको दिन बिहानी पख’ विरही लिखित चर्चित गीत हो ।
नेपाल टेलिभिजनका समाचारवाचकसमेत रहेका विरही कविता र गीत लेखनमा पनि सक्रिय थिए ।
लेख
प्रहरी असफल कि सरकार असफल !
रामहरी ओझा
आईतवार (असोज १४ गते) कैलाली घोडाघोडी नगरपालिका–१ मा १४ बर्षीया बालिका बलात्कृत भईन । उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवनबस्ती नगरपालिका ७ का १८ वर्षिया किरण बिकलाई प्रहरीले पक्राउ ग¥यो । सोमबार (असोज १५ गते) बिहान डोटी बडीकेदार गाउँपालिका–३ मा एक ७४ बर्षीया बृद्धा बलात्कृत भईन । उनलाई बलात्कार गरेको आरोपमा नाती सरहका व्यक्ति डोटी बोगटान गाउँपालिका–१ सिमचोरका ३३ बर्षीय गणेश भनिने योगेन्द्र धामीलाई प्रहरीले पक्राउ ग¥यो ।
फरक ठाउँ, फरक परिवेश, फरक उमेरका यि दुई घटना सुन्दा आङ जिरिङ्ग भयो । त्यसो त पछिल्लो ६ महिनाको अवधीका बलात्कारका घटना आम खवर भईसकेको छ नेपालका सञ्चारमाध्यमका लागि । सञ्चारमाध्यममा प्रकाशन एवं प्रसारण हुने सामग्रीहरुमा अधिकांस सामग्रीहरु यस्तै मात्रै छन् । रेडियो÷टिभीमा समाचार आउने समय हुँदा फेरी कुन दिदिको, कुन आमाको, कुन बहिनीको, कुन हजुरआमाको कुन, छोरीको अस्मिता लुटिएको समाचार सुन्नु पर्छ र दिनभरी फेरी दुखि भईरहनु पर्छ भन्ने चिन्ताले सताईरहेको हुन्छ । माथीका दुई घटनापछि अव प्रहरी असफल भएकै हो त ? भन्ने प्रश्न गर्न मन लाग्यो ।
साउन १० गते कञ्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना भए भन्दा अगाडी पछाडी गरी देशव्यापी रुपमा थुप्रै घटनाहरु भएका छन् । यद्यपी निर्मलाको घटना बाहेकका करीव करीव सवै घटनाहरु कानुनको दायरामा आएका छन् तर अपराध भईसकेपछि अभियुक्त समातिनु वा मुद्धा दायर हुनु वा अपराधीले सजाय पाउनु ठुलो कुरा होईन । अपराध हुन नदिनु ठुलो कुरा हो ।
प्रहरीको प्रमुख काम शान्ति सुरक्षा कायम गर्नु हो । शान्ति सुरक्षा कायम गर्नका लागि अपराध नियन्त्रण हुनु पर्छ । अपराध नियन्त्रण हुनका लागि प्रहरीले समाजमा आफ्नो उपस्थिति देखाउन सक्नु पर्छ । हरेक व्यक्तिको मन मस्तिष्कमा प्रहरी छ भन्ने देखाउनु पर्छ । प्रहरीले आफ्नो उपस्थिति देखाउनका लागि आफैमा सक्षम पनि हुनु पर्छ । जव प्रहरीले जनताका बिचमा आफ्नो उपस्थिति देखाउन सक्दैन अर्थात कुनै अपराध गरे प्रहरी समात्छ, मुद्धा चल्छ र सजाय हुन्छ भन्ने कुराको “भय” समाजमा प्रहरीले देखाउन सक्दैन तवसम्म अपराध नियन्त्रण हुन सक्दैन । त्यतिबेला प्रहरी असफल भएको मानिन्छ । प्रहरी असफल हुनु भनेको गृह प्रशासन असफल हुनु हो । गृह प्रशासन असफल हुनु भनेको सरकार असफल हुनु हो । त्यसका लागि प्रहरी चनाखो हुनु जरुरी छ ।
कुनै पनि देशमा व्यक्तिपिच्छे प्रहरी हुँदैन । भिआईपी र भिभिआईपीहरुका अतिरिक्त आफ्नो ज्यान जोखिममा छ भन्ने पूर्व सूचना पाएका व्यक्तिको सुरक्षाका लागि प्रहरी व्यक्तिपिच्छे जान सक्ला नत्र भने आम जनताको सुरक्षा सार्वजनिक सुरक्षा हो । त्यसैले प्रहरीले आफ्नो उपस्थिति देखाउन सक्षम हुनु पर्छ । प्रहरी सक्षम हुनलाई पहिलो कुरा प्रहरी संख्यात्मक रुपमा बढी चाहिन्छ । सेनाको संख्या ह्वात्तै वढाउने र श्रमयोग्य जनशक्तिलाई व्यारेकमा थुनेर राख्ने हाम्रो मुलुकमा प्रहरीको संख्या सेनाको भन्दा कम छ । भौगोलिक बिकटता छ, प्रहरी संख्या थोरै छ । थोरै प्रहरीले धेरै जनसंख्या र भुगोललाई हेर्नु पर्ने वाध्यता छ । त्यसकारण पनि प्रहरीले आफ्नो उपस्थिति देखाउन सकेको छैन ।
अर्को समस्या भएको संख्याका प्रहरीसंग पनि उपकरण छैन । अपराध भएको ठाउँमा जानका लागि प्रहरीले सार्वजनिक यातायतको सहारा लिनु पर्ने वाध्यता छ । सार्वजनिक यातायतमा ठाउँ भएन भने उभिएर वा झुण्डिएर पनि यात्रा गर्न वाध्य हुन्छ प्रहरी । यदि समयमै घटनास्थल पुग्दैन भने प्रमाण नष्ट हुने खतरा छ, अपराधी भाग्ने डर छ, समयमै पुग्नका लागि साधन छैन, अनि झुण्डिनु प¥यो, झुण्डिदाँ ‘प्रहरी आफैं झुण्डियो’ भनेर समाचार बन्छ, सामाजिक सञ्जालमा आलोचना हुन्छ । यदि प्रत्येक प्रहरी ईकाईमा यातायतको साधन हुने हो भने प्रहरीले आफ्नो गतिबिधि बढाउन सक्छ ।
प्रहरीसंग अपराध अनुसन्धानका लागि आवश्यक पर्ने अन्य उपकरणहरुको पनि कमी रहेको छ । यो बैज्ञानिक युगमा पनि प्रहरीले संकास्पद् व्यक्तिलाई खोरमा ल्याएर डण्डा देखाउनु पर्ने वाध्यता छ । बल प्रयोग ग¥यो अदालतमा गएर बयान बदल्छ, नगरे मरे बोल्दैन यस्तो अवस्थाले पनि प्रहरीलाई समस्या छ । अपराध अनुसन्धानका आधुनिक उपकरणहरु भए सहजै अपराधी पत्ता लाग्छ र प्रहरी जनतामा आफ्नो उपस्थिति देखाउन सक्छ ।
यस्तै प्रहरीमा अपराध अनुसन्धानको सीप पनि कम छ, जिल्लास्तरमा थोरैको संख्यामा मात्रै अपराध अनुसन्धानको ज्ञान भएका प्रहरी कर्मचारीहरु छन् । ति प्रहरीहरुलाई पनि कहिलेकही भिआईपीको सुरक्षा, दङ्गा नियन्त्रण, प्राकृतिक प्रकोमा उद्दार, नियमित गस्तीमा जनु पर्ने वाध्यता छ । त्यसकारण उसले पुरै दिमाग अपराध अनुसन्धानमा मात्रै खर्च गर्न सकेको अवस्था छैन । अहिले चर्चामा रहेको निर्मला हत्याकाण्डको बिषयमै कुरा गर्दा ति प्रहरी जवान महिलालाई कसैले निर्मलाको सुरुवाल धुन लाएको थियो वा उनले मानवीय समवेदनामा उक्त सुरुवाल पानीमा चोपिन् ! यदि उनलाई अपराध अनुसन्धानको बारेमा जानकारी हुन्थ्यो भने उनले मानवीय समवेदना भन्दा पनि पेशागत धर्म निभाउथिन् । एउटा महिला भएको नाताले उनलाई निर्मलाको क्षत् बिक्षत् शरीर पुरुषहरुको अगाडी देख्दा लज्जाबोध त हुने र भावनामा आउने अवस्था त हुन्थ्यो नै तर त्यो भन्दा बढी उनलाई प्रमाणको सुरक्षा गर्ने चिन्ता हुने थियो होला । त्यसैले अपराध अनुसन्धानको सीप भएका प्रहरीको संख्यामा बृद्धि गर्नु छ ।
यसो भनिरहँदा ‘नेपाल प्रहरीले गम्भिर प्रकृतिका अपराधहरुको अनुसन्धानमा सफलता पाएको छ, अन्तराष्ट्रियस्तरमा ख्याति पाएको छ’ भन्ने आउला । निश्चित रुपमा ईतिहास सवैलाई थाह छ, प्रहरीले जटिल प्रकृतिका अपराधहरुमा पनि कुशलतापूर्वक अनुसन्धान गरेको छ र अन्तराष्ट्रियस्तरमा पनि ख्याति पाएको छ । तर एक निर्मलाको घटनाले अन्तराष्ट्रियस्तरमै लज्जाबोध हुने अवस्था पनि त आएको छ नि ! जति हल्ला भएका छन्, त्यो अनुसार प्रहरीको संलग्ना नहोला निर्मला हत्या काण्डमा तर प्रहरी खोजमा, अनुसन्धानमा, प्रमाण जोगाउनमा त चुकेकै हो नि ! हैन र ? यो घटनाले पनि बिज्ञ अपराध अनुसन्धाता प्रहरीहरुको संख्या सवै जिल्लाहरुमा कम छ भन्ने देखायो । त्यसकारण प्रहरीलाई अपराध अनुसन्धानमा पोख्त बनाउनु पर्छ ।
सवैभन्दा ठुलो कुरा नेपाल प्रहरी आफैमा स्वतन्त्र छैन । यदि नेपाल प्रहरी आफैमा स्वतन्त्र हुने हो भने यसले अपराध नियन्त्रणमा निकै ठुलो प्रगति गर्ने थियो । हाल उपलव्ध स्रोत साधन र मानवीय शक्तिको मात्रै स्वतन्त्रपूर्वक प्रहरीले प्रयोग गर्न पाउने हो भने पनि अपराधका धेरै घटना नियन्त्रण हुन्छन् । घटनाको बिषयमा प्रहरीलाई जानकारी ढिलो हुन्छ तर प्रहरीलाई प्रभावित पार्न सक्ने मान्छेहरुलाई खवर पहिले नै भईसक्छ । प्रहरीले अभियुक्त समात्न पाएको हुँदैन, मन्त्रीहरु, नेताहरु, उच्च पदस्थ कर्मचारीहरु, समाजका प्रतिष्ठित व्यक्तिहरु र स्वयं प्रहरीको माथिल्लो दर्जाका कर्मचारीहरु समात्नु पर्ने मान्छे छोड्नका लागि दवाव दिन्छन् । अपराधमा राजनीति हुन्छ । अपराधमा राजनीतिक ध्रुवीकरण हुन्छ, सञ्चारकर्मीहरु र सञ्चारमाध्यमहरुले पनि सत्य–तथ्य बुझ्दा बुझ्दै पनि आफु निकट पक्षको समर्थनमा झ्याली पिट्ने गर्छन् ।
निर्मला हत्याको घटनामा जोले, जे जति भने पनि घटनाक्रमले राजनीति भएको प्रष्टै देखाउँछ, भएको छ । घटनाको राजनीतिकरण र सञ्चारीकरणले पनि अनुसन्धानमा थप जटिलता सृजना गरेकै हो । अनि कसरी हुन्छ त अपराध नियन्त्रण ? ‘अपराध गरेपनि एक फोनको भरमा छुट्छ’ भन्ने सन्देश समाजमा गएको छ । यसले काम गर्न खोज्ने प्रहरीको मनोबल पनि गिर्छ । काम गर्न खोजे पनि गर्न दिएनन् भन्ने लाग्छ । त्यसका–रण प्रहरी अपराध नियन्त्रणमा असफल देखिएको हो ।
प्रहरीको सफलता र असफलताको बिषय सरकारसंग प्रत्येक्ष जोडिएको छ । सरकारले प्रहरीलाई कसरी परिचालन ग¥यो, प्रहरी प्रमुखले आफ्ना मातहतका ईकाईहरुलाई निर्देशन ग¥यो भन्ने बुझ्नु जरुरी छ । यस ले प्रहरीको कामलाई निर्देशित गर्दछ । राज्य आफै यदि अपराधीको संरक्षण गर्छ वा राज्य यन्त्रमा रहेका व्यक्तिहरुनै अपराधमा संलग्न हुन्छन् भने त्यसलाई अपराधिक राज्य भन्न मिल्छ । त्यसले कानुनी शासन स्थापना गर्न सक्दैन र अपराध अनुसन्धान वा नियन्त्रणको बिषयमा पनि खुलेर काम गर्न सक्दैन् ।
यि र यस्ता कतिपय कुराहरु पछिल्लो चरणमा भईरहेका छन् । राज्यको प्रभावशाली पदमा बसेका व्यक्तिहरुका आफ्नाहरु अपराधमा संलग्न हुने र ति व्यक्तिलाई बचाउनका लागि राज्य संयन्त्र स्वयं पनि लाग्ने हो भने यसले अपराध नियन्त्रण हुँदैन, अपराध बढ्छ । यद्यपी नेपालमा अपराधीलाई संरक्षण दिने यो पहिलो सरकार होईन, यस अघिका थुप्रै सरकारहरुले अपराधीलाई संरक्षण दिएका छन । जनताको तर्फबाट पनि अपराधीको पक्षमा चक्काजाम गर्ने र अपराधीलाई माला लगाएर स्वागत गर्ने काम नभएका होईनन् तर बिगतमा जे भयो त्यसैको निरन्तरता दिने हो भने यो सरकार पनि कानुनी शासन स्थापना गर्नमा सफल हुँदैन, असफल हुन्छ ।
अहिलेको अवस्थामा प्रहरी मात्रै असफल भएको होईन शान्ति सुरक्षा कायम गर्नमा सरकार नै असफल भएको हो । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री, गृह प्रशासनको नेतृत्व गर्ने गृहमन्त्री र जनपथ प्रहरीको नेतृत्व गर्ने प्रहरी महानिरीक्षक तीनै जना असफल भएका हुन । प्रधानमन्त्री स्वयंले निर्मला हत्या घटनामा सार्वजनिक कार्यक्रममै झुटा बोले । देशको प्रधानमन्त्री जस्तो व्यक्तिले आफै झुटा बोले वा उनलाई बोल्न लगाईयो, त्यो उनैलाई थाह होला तर कसले बोल्न लगायो भन्ने कुराले महत्व राख्दैन, को बोल्यो भन्ने कुरा प्रधान हो ।
त्यसैले अहिले उनीहरुको नेतृत्व शैलीको कुशलताको बिषयमा प्रश्न उठाउने यथेष्ट आधारहरु तय गरेको छ बर्तमान घटनाक्रमले । त्यसैले सरकार नै असफल भएको छ, प्रहरी मात्रै असफल भएको भनेर आरोप लगाउन मिल्दैन ।
चाड्वाडको नारीमन्त्र
शुभेन्छा बिन्दु तुलाधर
हिन्दू महिलाहरूको महान् चाड तीज सदाझैँ यस पटक पनि अनेक प्रश्नहरू छोडी समाप्त भयो । नेपालमा मनाइने सयौँ पर्वहरूमध्ये तीज नै एउटा त्यस्तो पर्व हुनुपर्छ जसको हरेक वर्ष बहस सुरु हुन्छ, फेरि सेलाउँछ र फेरि अर्को साल पुनः बहस आरम्भ हुन्छ । यस पटक पनि त्यस्ता धेरै बहसहरू सतहमा आएको देखियो जसको उत्तर यदि खोज्ने हो भने समाजको रूपान्तरणलाई धेरै हदसम्म सहयोग पु¥याउने निश्चित छ । यो बहस किन पनि आरम्भ हुन्छ भने वर्षमा एक दिन मात्र मनाइने पर्व भनिए पनि महिना दिन अघिदेखि नै यसको रमझम सुरु भइसक्छ र सामाजिक सञ्जालका भित्ताहरू रंगिन थालिसक्छ । यति मात्र होइन, सरकारी एवं गैर सरकारी कार्यालयहरू पनि यही बेला काम गर्ने थलो भन्दा पनि नाचगान गर्ने डबली बन्न पुग्छन् ।
सरकारी एवं गैरसरकारी कार्यालयहरूमा समेत महिनौँ अघिदेखि मच्चिने तीजको रहरमाथि पनि अहिले प्रश्न उठ्ने गरेको छ । सबैभन्दा पहिले त सरकारी एवं गैरसरकारी संस्था यसरी तीज जस्तो धार्मिक सांस्कृतिक गतिविधि गर्न मिल्ने ठाउँ हो कि होइन ? तीज एउटा धार्मिक सांस्कृतिक पर्व भएको कारणले यो कहाँ र कसरी मनाउने भन्ने स्थान र समय पनि निर्धारण गरिएको छ । यो धार्मिक सांस्कृतिक स्थानहरूमै मनाउने पर्व हो । पशुपतिमा नाच्नु पर्ने नाच कुनै सरकारी कार्यालयमा नाचिन्छ भने त्यो पक्कै पनि अशोभनीय नै देखिन्छ । तीजमा पनि त्यस्तै भएको छ । कार्यालयहरूमा तीज मनाउनु कुनै पनि हिसाबले राम्रो लाग्दैन । कार्यालय त कार्य गर्ने थलो हो । त्यहाँ कसरी नाचगान गर्न मिल्छ ? तीज मनाउने कार्यले कार्यालय बिदा त हुँदैन तर बिदा नभए पनि काम भने हुँदैन । कार्यालय खुल्नु तर काम नगर्नु, के कुनै पनि कार्यसम्बन्धी आचारसंहिताले यसो गर्न अनुमति दिन्छ ? कति सेवाग्राहीको त्यही बेला काम गराउनुपर्ने हुन्छ । भोलि भन्न नमिल्ने अवस्था परेको हुन सक्छ । अहिले जमाना कति द्रुत भइसक्यो भने एकदिनको ढिलाइले जीवनकै गाडी छुट्नसमेत बेर लाग्दैन । तीजको लहरले सेवाग्राहीको त्यो गाडी पनि छुटाइदिन सक्छ ।
अर्को कुरा, तीज मनाउन महिलाहरूले त्यसरी कार्यालय नै कब्जा गर्दा पुरुष सहकर्मीको मनमा कस्तो भावना उत्पन्न होला ? त्यसबारे पनि कहिल्यै सोचेको देखिएन । तीजका बेला कहिले पर्व मनाउने त कहिले दर खाने भन्दै नाचगान गर्नुलाई महिलाहरूले आफ्नो अधिकार ठान्छन् । महिलालाई अधिकार नपुगेको त हो । तर उनीहरूलाई चाहिएको अधिकार भने तीजमा नाच्नु होइन । अधिकार नपुगेको कार्यालयमा नाच्नलाई होइन । यसले गर्दा महिलाले अनावश्यक ठाउँमा पनि सुविधा र सहुलियत लिइरहेको देखिन गएको छ, खास गरी पुरुषलाई ।
तीज मनाउने नाममा महिनौँदेखि महिलाहरू यसरी व्यस्त हुँदा एकातिर सहकर्मीहरूले प्रश्न उठाउने त छँदै छ अर्काेतिर आफ्नो व्यावसायिक जीवनमा पनि असर परिरहेको हुन्छ । यतिकै त हरेक क्षेत्रमा महिलाका कार्यक्षमतामाथि प्रश्नचिन्ह खडा गरिरहेको हुन्छ भने यसरी महिलाले एकदिनको चाडपर्वलाई महिनौँदेखि उत्सवका रूपमा मनाइरहँदा कार्यक्षमताको विकास गर्नेमा ह्रास आउने निश्चित छ । कार्यक्षमतामाथि प्रश्न खडा गर्नेहरूलाई पनि मलजल नै पु–याउँछ । तीज आउने एक डेढ महिना अघिदेखि नै कतिपय कार्यालयहरू, चाहे सरकारी कार्यालय होस् चाहे निजी तीजमय नै भएको देखिन्छ । यतिसम्म कि समाजमा रूपान्तरण चाहने मिडिया हाउसहरूले समेत यसलाई प्रश्रय दिइरहेको छ । आफूहरू नै प्रत्यक्ष रूपमा यस्ता क्रियाकलापमा सहभागी भएर प्रोत्साहन दिइरहेका छन् । पराम्परागत चाडपर्वलाई उत्सवका रूपमा महिनौँदेखि मनाउन थालेपछि प्रत्येक वर्ष विवाद चुलिए सँगसँगै चाडपर्वप्रति नै नकारात्मक धारणाको विकास पनि बढिरहेको छ ।
महिनौँदेखि व्यस्त रहेर विभिन्न कोणबाट मनाइरहेको तीज पर्वमा पञ्चमीको दिन पाप पखाल्नेसम्मको क्रिया गरिन्छ । तर कुनै पनि रूपान्तरण चाहनेहरूले महिलाको रजस्वलालाई पापको रूपमा व्याख्या गरिरहँदा पञ्चमीलाई पनि बहिष्कार गरौँ या यसलाई बन्द गर्नुपर्छ भन्ने आवाज कहीँकतै सुनिँदैन । यसपटक पहिलोचोटि नेपाल सरकारले पञ्चमीको दिन बिदा कटाएर अग्रगामी निर्णय ग¥यो । तर कसैले यो पर्व अब हामी मनाउँदैनौँ भनेर भन्न सकेनन् । उही बिरालोको घाँटीमा घन्टी बाँध्ने कामले निरन्तरता नै पायो ।
वास्तवमा तीज पर्व भनेको उनीहरूको घरमा गएर महिलाको अवस्था बुझ्नका लागि र माइती ल्याएर समस्या अझ नजिकबाट महसुस गर्नका लागि मनाइएको पर्वका रूपमा बुझ्न सकिन्छ । न कि श्रीमानको आयु वा अरु कसैको आयुका लागि बस्ने व्रत हो । गम्भीर रूपमा हेर्ने हो भने देशको रूपान्तरण चाहने र महिलाको हरेक क्षेत्रमा महिलाको दु्रत गतिमा विकास चाहने महिलाहरू स्वयं चाहे सांसद होस्, महिला अधिकारकर्मी होस्, सञ्चारकर्मी होस् सबै सबै उही परम्परागत भूमिकामा यो पर्वलाई मनाउन उत्साहित भइरहेको छ । उनीहरूले तीजका नाममा विभिन्न नेताहरूलाई बोलाएर कार्यक्रमहरू गरी नाचगान गर्ने र फेसबुकका भित्ताहरूमा राखिएका तस्बिरहरूले यही पुष्टि गर्छ ।
तीजको सांस्कृतिक पक्षलाई हेर्ने हो भने आफ्ना वेदना पोख्न विभिन्न लोकभाकामा आफ्ना वेदना पोख्ने पर्वका रूपमा पनि व्याख्या गरिएको छ भने अहिले आएर तीजलाई महिला स्वतन्त्रताको दिवसका रूपमा पनि लिन थालिएको छ । यदि यो मान्यतालाई मान्ने हो भने महिनौँदेखि विभिन्न होटल तथा पार्टी प्यालेसमा जम्मा भएर आधुनिक र हिन्दी गीतमा नाचगान गर्ने र दर खाने प्रचलन व्यापक रूपमा बढ्दै गइरहेको अवस्थामा कसरी वेदना पोख्ने वा स्वतन्त्रता दिवस भनेर मान्न सकिन्छ ? दर खाने र खुवाउने नाममा गरिने ठूला भोजहरूमा हुने खर्चले के सन्देश दिइरहेको छ ? साँच्चै यसले महिलाको नेतृत्व विकास गरेकै छ त ? वा महिलाको व्यक्तित्व र व्यावसायिक विकास ?
यसरी तीज मनाइरहँदा न यसले सांस्कृतिक रूपान्तरण गर्न सक्छ न महिलाको नेतृत्व विकास नै । संस्कृति भन्ने कुरा पुस्तान्तरण हो । तर जुन रूपमा अहिले तीज पर्व मनाइरहेको छ, के साँच्चै यसले नयाँ पुस्तामा नयाँ सन्देश र रूपान्तरण भइरहेको छ त ? आमाले रातो साडी लगाउँदा, ओठमा लाली, हातमा रातै चुरा र टाउकोमा रातो धागो लगाउँदा आठ नौ वर्षको छोरीले पनि त्यही सिको गरेर त्यसरी नै पहिरनमा उभिने बाहेक अरु के कुरा सिक्न सक्लान् ? के यसैलाई हामीले रूपान्तरण भएको भनेर मान्ने हो वा पुस्ता पुस्तान्तरण भनेर मान्ने ? यदि तीजलाई पुरातन शैलीमा मनाइन्छ भने यसले नयाँ पुस्तालाई पनि त्यही पुरातन कुरा मात्रै सिकाउँछ । अर्को पुस्तालाई समेत अग्रगामी बनाउन नसकिने संस्कार बोकेर नारा मुक्तिको गाथा गाउनुको के अर्थ ? नारी मुक्ति अघि बढ्नलाई हो । पुरानो कुसंस्कार बोक्नलाई होइन । कुसंस्कार बोक्न कोही पनि मुक्त हुनु पर्दैन । त्यसका लागि बन्धन नै पर्याप्त छ ।
संस्कृतिले आजको युगलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम गर्छ । निर्णय हामी आफैं गरौँ, तीजलाई अग्रगामी युग हस्तान्तरण गर्ने अवसर बनाऔँ वा कुपोषणयुक्त युग पुस्तालाई बोकाएर आफू पलायन हुने बाटो बनाऔँ !
— नागरिक दैनिकबाट
साहित्य/सृजना
मेरो पनि बाँच्ने अधिकार छ
चमेराहरू झुन्डिइराखुन् रूखका हाँगाहरूमा
आकाशलाई पाताल र पाताललाई आकाश बनाइरहुन्
ढोईलाई लगाएर अघि–अघि
अभयारण्यमा लम्किरहोस् मत्त हात्ती
बघिनीहरू घुमफिर गरून् आफ्नो प्रिय जङ्गलमा
र स्नेह गरून् आ–आफ्ना डमरुलाई
हिउँदको चिसोमा
माटाको न्यानो गर्भमा
गुप्त बास बसुन्
या घाम ताप्न निस्कुन् सर्पहरू
स्यालहरू कुदून् बेतोडले
म्याराथुन धावकझैँे
पण्डितहरू मन्दिर जाऊन् या पादरीहरू चर्चतिर
प्रार्थना गरून् वा वर मागुन् आ–आफ्नो ईश्वरसँग
मलाई आपत्ति छैन शासकहरू हो !
यो संसार सबैको हो ।
तर राति झ्यालबाट पसेर चोरझैँ
मेरा जुँगा चाट्न हुन्न चमेराहरूले
मन्त्रीको आदेशमा डाँकाले झैँ
सुकुम्बासी गाउँ नउजाडुन् हात्तीहरूले
खोरका घारहरू फुकालेर
सुत्केरी बाख्राको कल्चौँडो खान हुन्न बघिनीहरूले
सानो दुधे शिशुलाई आँगनमा सुताएर
काममा गएकी छ उसकी आमा
फर्केपछि देख्नु नपरोस्
आफ्नो प्रिय शिशुको छातीमा
सर्पदंशका डोबहरू
कुनै किसानले पालेको कुखुरा
सुटुक्क चोरेर
खोल्सामा लगेर आफ्नो भोक तृप्त गर्न पाइँदैन स्यालहरूले
पण्डितहरू पनि बुझून् मानिसको बलि दिनु हुन्न
पादरी वा मौलवीहरू पनि बुझून्
अर्काको आयु ताछेर
आफ्नो आयुमा थप्न पाइन्न
यो संसार सबैको हो ।
संसार सबैको हो भने
मेरो पनि हो संसार
तर मेरो भाग खोसेर कसैले खायो भने
म तयार छु अन्तिम युद्घ गर्न
अन्तिम युद्घ अर्थात निर्णायक युद्घ
जसले फैसला गर्नेछ हारजितको
ए जङ्गल शासक र शिकारी शासकहरू हो !
मेरो सबैभन्दा तीखो हतियार नैतिकता हो ।
गजल
मृग नयनी नयन जुधाउनेले मारिन
मनमा माया भएनी लुकाउनेले मारिन
परि हुन कि अप्सरा बयान कसरी गरु
रुपको जादुले जगै भुलाउनेले मारिन
गुलाबको फुल ठानी मनमन्दिरमा सजाए
टिपी संगै राख्न खोज्दा बिझाउनेले मारिन
एकै दिन नदेखेनी सोधीखोजी गर्छिन रे
भेटौ भनी सधै ढाटी कुराउनेले मारिन
न त आफुले भन्छिन न मेरो सामु पर्छिन
सधै तड्पाएर मुटु दुखाउनेले मारिन
सूचना/सन्देश/बिज्ञापन
गाउँकार्यपालिकाकाे कार्यालय
दुदिलेगडा, डाेटी
करार सेवामा पदपुर्ति सम्वन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति ः २०७५/०६/११
यस सायल गाउँपालिका, गाउँकार्यपालिकाको मिति २०७५/०६/१० गतेको निर्णय अनुसार तपशिलको पदमा करार सेवामा पदपुर्ति गर्नु पर्ने भएकोले निम्न योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशति भएको मितिले १५ (पन्ध्र) दिनभित्र रितपूर्वक आवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
बिज्ञापन नं. ३/०७५/०६
पद ः ना.प.स्वा.प्र.
न्यूनतम् शैक्षिक योग्यता ः नेपाल सरकारद्वारा मान्यता प्राप्त शैक्षिक संस्थाबाट ख्व्त्ब् तथा सो सरह उत्तीर्ण गरेको
तलव सुबिधा ः नेपाल सरकारको उक्त पदको नियमानुसारको स्केल बमोजिम
माग संख्या ः १ (एक)
सेवा ः करार
परीक्षाको किसिम ः लिखित तथा अन्तरवार्ता
आवेदन दिने अन्तिम मिति ः २०७५/०६/२५
आवेदन बुझाउने स्थान ः सायल गाउँकार्यपालिकाको कार्यालय, डोटी
दस्तुर ः रु. ५००/- मात्र
दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु ः
नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी
शैक्षिक योग्यताका प्रमाण पत्रहरुको प्रतिलिपी
सम्पर्क मिति ः २०७५ साल असोज २६ गते
परीक्षा मिति ः सम्पर्क मितिका दिन तोकिनेछ ।
थप जानकारीका लागि ९८४८५५६६८२ मा सम्पर्क गर्नु होला ।
पदपूर्ति समिति
No comments:
Post a Comment