Sunday, October 14, 2018

बिम्ब साप्ताहिक, २०७५ साल असोज २८ गते आइतबार

२०७५ सालको दशैं शुभकामना बिशेष 

सबै नेपालीको चाहना ः लागूऔषध उत्पादन, अवैध ओसारपसार र सेवन रहित समाजको कामना ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार

नगर प्रमुख प्रहरीसंगै गस्तीमा जाने

रामहरी ओझा/डोटी
असोज २६
दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले दशैं तिहारको समयमा प्रहरीकै संलग्नतामा जुवा तास खेलाईने गरेको बिगतमा थुप्रै गुनासाहरु आएकोले प्रहरीलाई सजग हुन आग्रह गरिन । 
‘प्रहरी आफै संलग्न भएर जुवातास खेलाउछन भन्ने सन्देश जनतामा गएको छ’ उनले भनिन् ‘प्रहरीले यो आरोपलाई चिर्न सक्नु पर्छ ।’ नगरबासीको सुरक्षाका लागि प्रहरीको गस्तीमा आफु पनि संगसंगै जाने उनले बताईन । 
‘म आफै पनि तपाईहरुसंग सुरक्षा गस्तीमा जान्छु, तपाईहरुलाई के के सहयोग गर्नुपर्छ म त्यसका लागि तयार छु’ मलासीले भनिन् ‘नगरबासीहरुले शान्तिपूर्ण रुपमा दशैं मनाउने बातावरण बन्नु पर्छ भन्ने मेरो आग्रह हो ।’ 
मलासीले चाँडपर्वको समयमा मदिराको बिक्रिबितरण र सेवन अत्याधिक हुने गरेकोले यसलाई नियन्त्रण गर्न प्रहरीलाई आग्रह गरेकी छन् । ६३ औं   प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख मलासीले मदिरा सेवन  गरेर होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिनु पर्ने बताईन । ‘जड्याहालाई नियन्त्रणमा लिनु प¥यो र त्यस्ता जड्याहलाई छोड्न दवाव दिनेलाई पनि नियन्त्रणमा लिनु प¥यो’ मलासीले भनिन् ‘एक जड्याहका कारण टोलबासीकै चाँडपर्व बिग्रिन्छ ।’ 
उनले चाँडपर्वको बेला सवारी दुर्घटना बढी हुने, मदिरा सेवन गरी झैंझगडा बढी हुने, चोरीका घटनाहरु हुने गरेकोले प्रहरी सतर्क रहन आग्रह गरिन् । 
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिद्यानन्द माझीले ढुक्क भएर चाँडपर्व मनाउन जिल्लाबासीलाई आग्रह गरे । ‘शान्ति सुरक्षाको जिम्मा हाम्रो हो’ माझीले भने ‘हामीलाई सहयोग पुग्ने गरी जिल्लाबासी–हरुले काम गरिदिनु प¥यो ।’ उनले दशैंको टिका लगाउने दिन कुनै व्यक्तिलाई ल्याएर खोरमा थुन्नु आफुहरुलाई पनि रहर नभएको बताए । चाँडपर्व मनाउदा शान्ति सुरक्षा खल्वलाउने गरी कुनै पनि गतिबिधि नगर्न माझीले आग्रह गरे । 
चाँडपर्वको समयमा मुख्यतया मदिरा, जुवातास,   चोरी, बिस्फोटक पदार्थ र    सवारी दुर्घटना हुने गरेको बताउँदै माझीले भने ‘यसका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बिषेश सुरक्षा योजना पनि तयार गरेका छौं ।’

सम्पादकीय 

बिजया दशमीको शुभकामना

प्रत्येक नेपालीहरुका घर आँगनमा आउदै गरेको हिन्दुहरुको महान चाँड बिजया दशमी २०७५ सालको पुनित अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 
बिगत लामो राजनीतिक संक्रमणकालको अन्त्य गर्दै देश संघीय लोतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै अगाडी बढिरहेको अवस्था छ । संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारहरु जननिर्वाचित प्रतिनिधिहरुद्वारा सञ्चालनमा रहेका छन् । दशैकै संघारमा तीन बर्ष अघि नयाँ संबिधान जारी भएको थियो । उक्त संबिधान अनुसारका नयाँ संरचनाका स्थानीय तहहरुमा जनप्रतिनिधिहरु आएको पनि एक बर्ष बितिसकेको अवस्था छ । स्थानीय तहका निर्वाचनमा जनताले जसरी उत्साहपूर्ण सहभागिता देखाएका थिए, त्यो उत्साह बिस्तारै निराशामा बदलिदै गएको आभाष भईरहेको छ । जनताको चाहाना अनुरुप स्थानीय सरकारले काम गर्न नसकेको भन्ने थुप्रै गुनासाहरु आईरहेका छन् । यस अवस्थामा जनताको चित्त बुझ्ने गरी स्थानीय सरकारहरुले काम गर्न सुकन भन्ने शुभकामना छ । 
संघ र प्रदेश सरकारप्रति पनि जनता खुशी हुन सकेका छैनन् । जनतालाई सरकार भएको आभास नै भएको लाग्दैन । संघ र प्रदेश सरकारले पनि आफ्नो उपस्थिति देखाउनु जरुरी छ । अन्यथा सरकार हुनु र नहुनुको कुनै अर्थ रहँदैन । त्यसैले संघ र केन्द्र सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिन  सकोस ।
दशैं सवै नेपालीहरुको चाँड हो, त्यसैले सवैले यस चाँडलाई आफ्नो पर्वको रुपमा मनाउने वातावरण होस्, कसैका लागि दशैं हुने कसैका लागि दशाँ हुने नहोस भन्ने अनुरोध छ । चाँड मनाउने नाममा हुने खानेहरुले अनावश्यक खर्च गरेर हुँदा खानेहरुका लागि दशाँ नवनाईदिए कसैको घरमा रुवावासी हुने छैन । शान्ति           सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनले समुदायमा आफ्नो उपस्थिति देखाई दिए र शान्ति सुरक्षा कायम गर्नका लागि समुदायले समेत प्रहरीलाई सहयोग गरिदिए कुनै अप्रिय घटना हुने थिएन । यसका लागि प्रहरी प्रशासनले आफ्नो जिम्मेवारी पुरा गर्नेछ भन्ने अपेक्षा छ । 
बिम्ब साप्ताहिकका आदरणीय पाठकवर्ग, लेखक, रचनाकार, बिज्ञापनदाता, सहयोगी शुभचिन्तक लगायत आम नेपाली आमावुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा बडा दशैं २०७५ ले दिन दुगुना रात चौगुना प्रगति हुने अवसर प्रदान गरोस भन्ने शुभकामना प्रकट गर्दछौं । आफु वसेको समाजमा दशैंलाई नमुनाका रुपमा विकास गरौं भन्ने अनुरोध पनि बिम्ब साप्ताहिकको छ ।

लाखौंको अखाद्य बस्तु नष्ट गरियो

रोजेन्द्र जोशी/डोटी
असोज २७
दिपायल सिलगढी नगरपालिकाले गरेको बजार अनुगमनमा फेला परेका लाखौं मुल्य बरावरको अखाद्य बस्तु  नष्ट गरेको छ । 
नगरपालिकाको न्यायिक समितिको नेतृत्वमा विभिन्न   सरोकारवालाहरुको संलग्नतामा गरिएको बजार अनुगमनबाट बरामद गरिएको अखाद्य बस्तु नष्ट गरिएको हो । दशैंको अवसर पारी दिपालय क्षेत्रको बजार अनुगमन गर्दा फेला पारेका सामाग्रीहरु  खानेतेल, चकलेट, चालम, विस्कुट रहेका छन् । यस्तै गुणस्तरहिन एवं म्याद सकिएका  श्रृंगारका सामाग्रीहरु पनि नष्ट गरिएको छ । 
बजारमा अखाद्य सामग्रीहरु बिक्री भईरहेको, व्यवसाय दर्ता नगरी पसल सञ्चान गरेको भन्दै स्थानीय तिर्थ वहादुर सिंहले नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गराएपछि नगरपालिकाले अनुगमन गरेको थियो । अनुगमनका क्रममा गुणस्तरहिन र म्याद नाघेका बस्तुहरु बरामद् गरिएको न्यायिक समितिका संयोगक एवं नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिए । उनले थुप्रै पसलहरु दर्ता नगरी सञ्चालनमा रहेको समेत बताए ।

छोटकरी 

प्रकृितक प्रकोप दिवस मनाईयो

अन्तराष्ट्रिय पा्रकृितक प्रकोप तथा विपत जोखिम दिवस डोटीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । 
प्राकृतिक रुपमा हुन सक्ने प्रकोप तथा जोखिमहरुलाई न्युनिकरण गर्नका लागि विभिन्न निकायहरुले विविध कार्यक्रमको आयोजना गरि दिबस मनाईएको हो । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा जिल्ला सदरमुकाममा प्रभात फेरीको आयोजना गरिएको थियो । प्रभात फेरी नगरपरिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय डोटीमा पुगि कोण सभामा परिणत भएको   थियो । 
कोण सभालाई सम्वोधन गर्दै दिपायल सिलगढी नगर–पालिकाका प्रमुख मञ्जु मलासीले प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिमलाई मध्ये नजर गर्दै आफुहरु राहत सहित पूर्व    तयारी अबस्थामा बसेको जानकारी दिईन । 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझिले प्रहरीको सञ्जाल जिल्लामा ठुलो रहेको र जिल्ला प्रहरी कार्यालय र मतहतका निकायहरु उद्दारका लागी तयारी अबस्थामा बसेको जानकारी गराउनु भयो । 
त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी लोक राज   वोहराले जिल्लामा हुन सक्ने दैविक प्रकोपलाई समयमा नै सम्वोधन गर्न आफुहरुले विभिन्न योजना बनाई लागि रहेको   बताए ।  बोहराले हुन सक्ने   खतराले सूचना नदिएरै आउने भएकोले सबै समुदायका व्यक्तिहरु चनाखो अबस्थामा बस्नु पर्नेमा जोड दिए ।

चलचित्र/मनोरञ्जन 

बलीप्रथाको बिरोधमा कबिता बाचन

नागरिक दैनिक  
सात्विक वृत्ति ह्रास हुँदा चञ्चल भयो कलि,
तामस वृत्ति खास हुँदा मञ्चन भयो बली
नीति भन्छ नैतिकता कम्पन अलिअलि,
साधुलाई सुली पछि चोरकै ढलीमली 
७२ औँ शान्ति काव्य प्रवाहमा कृष्ण पहाडीद्वारा प्रस्तुत कविता हो यो । मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौंमा आयोजित ७२ औँ शान्ति काव्य प्रवाह कार्यक्रममा विहिवार अहिंसात्मक संस्कृतिलाई बढावा दिन आह्वान सहित बलिप्रथा अन्त्य गर्न आग्रह गर्दै कविहरुले कविता वाचन गरेका छन् । बलिप्रथा अन्त्य गर्न आग्रह गर्दै ३१ जना कविहरुले शान्ति, न्याय र अधिकारका पक्षमा कविता, मुक्तक र गजल वाचन गरेका थिए ।
बढ्दो महंगीले र न्यायका लागि छटपटाइरहनु परेको वर्तमान अवस्था पिडादायी भएको भावनाहरु समेत कविताहरुमा प्रतिविम्वित भएका थिए ।
“तिम्रा मन्दिरमा अजात सुनको घण्टा बजेको थियो,
मैले शिल्प भरेर प्राण नदिए के बल्छ तिम्रो दियो ।” 
सामाजिक न्यायका पक्षमा कवि कल्पना काफ्लेले प्रस्तुत गरेको कविताको अंश हो यो । काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, रत्ननिधि रेग्मी, मेनका पोख्रेल आचार्य, ऋचा, डा. बम बहादुर जिताली लगायतका कविहरुले आफ्नो रचना बाचन गरेका थिए ।

लेख 

चाँडपर्वमा मादक पदार्थ, क्रासमा महिला

उमा पौडेल

यस वर्ष दशैँको रौनक सुरु  भइसक्यो । म भने दशैँले थपेको थप हिंसाको स्मरणमा अल्झिरहेको छु । पोहोर सालको दशैँ । सप्तमीको दिन सिन्धुलीको मरिण गाउँपालिकामा थिएँ ।
एउटा गैरसरकारी संस्थाको लागि त्यस गाउँपालिकाका महिलाहरूको स्वास्थ्य समस्याका बारेमा रिपोर्ट तयार पारिदिनु पर्ने थियो । अफिस बाहेकका काम यसरी नै बिदाको समय मिलाएर गर्नुपर्छ ।
मैले कम्तिमा ४० जना स्थानीय महिलालाई भेटेर छलफल गर्नुपर्ने थियो । चाडपर्वको रौनक बिर्सिएर प्रत्येक समूहमा १० जना महिलासँग बल्लतल्ल स्वास्थ्य समस्याबारे छलफल चल्दै थियो ।
छलफलमा सहभागी मीना तामाङको अनुहार निकै निरस थियो । उनको हातमा प्लाष्टर थियो । सोधें, ‘तपाईंलाई के भयो ? उनको शिर निहुरियो ।
छिमेकी बोलिन्, ‘अस्ति बुढोले रक्सी खाएर कुट्दा हातै भाँचिदिएछ । दशैँको मुखमा दशा लाग्योे बिचरीलाई ।’ कामको सिलसिलामा पोखरा बस्ने उनका श्रीमान् दशैँ मनाउन घर आउदा मादक पदार्थ सेवन गरी रमाईलो गर्ने बहानामा श्रीमतीलाई कुटपिट गर्दा हात भाँच्चिएको रहेछ ।
मसँगै जिल्लाकै एउटा हेल्थ पोष्टमा काम गर्ने अनमी साथी थिईन् । मीनाको घटनासँग जोड्दै उनले आफ्नो भोगाई सुनाईन्, ‘दशैँको बेला ८–१० हजार त एक्स्ट्रा पैसा लिएर बस्नै पर्छ । कसको घरमा श्रीमान्ले रक्सी खाएर कतिबेला कुट्छन् र आपत प¥यो भन्दै सापटी माग्न आईपुग्छन् ।’
उनीसँग दशैको बेला मादक पदार्थ सेवन गरी घरमा हुने झैँ झगडाले दुर्घटना भएको धेरै अनुभव छ । गाउँमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले दुर्घटना भएलगत्तै उनीकहाँ पुग्छन् । त्यसैले उनलाई यस्ता घटना नौलो नलाग्ने रहेछ ।
चाडपर्वमा घर जाँदा लत्ता कपडा भन्दा पनि प्राथमिक उपचारका सामानले ब्याग भर्नुपर्ने उनको बाध्यता जस्तै रहेछ । अझ विशेष गरेर त्यस्ता दुर्घटना मादक पदार्थ सेवनपछि हुने गरेको पनि सुनाईन् ।
अझ चाडपर्व लागेपछि गाउँका अधिकांश पुरुषको काम दिनभर रक्सी खाने बेलुका भएपछि घरमा रडाको मच्चाउने हुँदो रहेछ । अधिकांश महिलालाई त चाडपर्व त्रासको रुपमा मात्रै आउने  अधिकारकर्मी शान्ता पाख्रिन मादक पदार्थ सेवनपछि मात्रै रमाईलो हुन्छ भन्ने गलत मानसिकताका कारण चाँडवाडका बेला महिलाहरू हिंसा भोग्न बाध्य हुने बताउँछिन् । 
उनले थपिन्, ‘जनजाती समुदायमा सगुनका रुपमा मादक पदार्थ सेवन गर्ने हुनाले पनि महिला अझ बढि हिंसामा पर्ने जोखिम हुन्छ ।’
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल अव्यवस्थित रुपमा सञ्चालन भएका मदिराजन्य पदार्थको बिक्री बितरणका कारण विकृति फैलिएको बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी ढकाल भन्छन्, ‘घर–घरमा व्यवसायकै रुप लिएर उत्पादन भएको मदिरा नियन्त्रण गर्न सके धेरै हदसम्म महिला हिंसाका घटनामा न्यूनीकरण हुन्छ ।’
चाँडपर्वको बेला हुने मदिरापान महिलाको लागि त्रास मात्रै होइन, प्रशासनका लागि पनि टाउको दुखाई हो । चाँडबाडका समयमा मादक पदार्थ सेवन, जुवा तास जस्ता विकृतिका कारण महिला हिंसा बढ्न सक्ने भन्दै यसमा सचेत रहन पनि उनले सुझाए । चाडपर्वमा हुने हिंसा न्यूनिरकणको लागि मादक पदार्थको नियन्त्रणका साथै परिवारमा आफन्त भेटघाट हुँदा पारिवारिक, सामाजिक समस्या र समाधानका उपायबारे छलफल तथा काम गनुपर्छ ।
प्रहरीको तथ्याङ्कले मदिरा र महिला हिंसा बीच सम्बन्ध रहेको देखाउँछ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार ८० प्रतिशतभन्दा बढी घरेलु हिंसा मादक पदार्थका कारण भएका छन् । रमाईलोका लागि भन्दै सेवन गरिने मादक पदार्थका कारण धेरै महिलाहरूले सामान्य गाली गलौजदेखि कुटपिटसम्म भोग्न बाध्य    छन् ।
प्रहरीको रेकर्ड अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा घरेलु हिंसाका ५९  उजुरी र अघिल्लो आर्थिक वर्षमा दर्ता भएका ७४ उजुरीको प्रमुख कारण मादक पदार्थ सेवन हो । यसको नियन्त्रण गर्न सके महिलामाथि हुने धेरै प्रकारका हिंसा अन्त्य गर्न सकिने प्रहरी तथा महिलाका क्षेत्रमा काम गर्नेहरूले अनुभव गरिसकेका छन् । 
सिन्धुली ट्रष्ट नेपालका अध्यक्ष तथा समाजसेवी उज्वल थापाको भनाइ झैं चाडपर्वमा गरिने यस्ता फजुल खर्चको व्यवस्थापन गर्न सकिने थुप्रै विकल्प छन् ।
चाँडपर्वको बहानामा गरिने अनावश्यक फजुल खर्चले घाटा बढाउने भन्दै गरिब, असहायहरूका लागि खर्च गरे पर्वको सार्थकता झल्किने थापाको भनाइ छ ।
चाँडपर्वमा हुने हिंसा न्यूनिरकणको लागि मादक पदार्थको नियन्त्रणका साथै परिवारमा आफन्त भेटघाट हुँदा पारिवा–रिक, सामाजिक समस्या र समाधानका उपायबारे छलफल तथा काम गनुपर्छ ।
थापा भन्छन्, ‘चाडपर्वको समयमा अझ बढी गम्भीरताका साथ अनुगमन गरी मादक पदार्थ बिक्री वितरणलाई नियन्त्रण गर्ने तथा यस्ता पदार्थको सेवन गरी विकृति फैलाउनेलाई कारबाही भए मात्रै यस्ता क्रियाकलाप न्यूनिकरण     हुन्छ ।’ 
दशैँ पुरुष वा समाजका हुनेखाने वर्गको मात्रै होइन । परिवारभित्र पनि मूली वा स्रोतको परिचालन गर्ने व्यक्तिले मात्रै मनाउने होइन । यो पर्व वर्गीय हिसाबले तल रहेका, स्रोतमा पहुँच कम भएका व्यक्तिको पनि हो ।
हाम्रो समाजमा महिलालाई सँधै दोस्रो दर्जामा राखियो । उनीहरूको मनोरञ्जन परिवारकै सदस्यको पनि प्राथमिकतामा परेन । सँधै दासी झैं व्यवहार गरिने । अब यो परम्परा फेरिनुपर्छ । सँस्कृति मनाउनुपर्छ । चाडपर्वमा मनोरञ्जन लिनुपर्छ । त्यसैले दसैँ तिहार जस्ता चाडपर्वमा सबैले समान रुपमा मनोरञ्जन गर्न पाउनुपर्छ ।
चाँडपर्वमा श्रीमानले श्रीमतीलाई कामकाजमा समान सहयोग, परिवारको जिम्मेवारीमा बाँडफाँड, बालबच्चाको    हेरचाहमा समान भूमिका निभाउनु पर्छ । तबमात्रै चाँडपर्व खुशीका साथ सबैले मनाउन सकिन्छ ।
चाँडपर्वमा मादक पदार्थ तथा लागुपदार्थ सेवन अनिवार्य जस्तै मानिने विकृत परिपाटीलाई अन्त्य गर्नु प्रत्येक सचेत नागरिकको भूमिका पनि हो ।
— महिला खवरबाट

साहित्य/सृजना 

पशुमा पनि ईश्वरको बास छ

पशु भएर जन्मनु
उसको दुर्भाग्य हो
मानव भएर जन्मनु
तिम्रो सौभाग्य हो
खै तैपनि किन मान्छे
निर्दोष पशुको हत्या गर्छ
दशैं आयो त
के दोष ?
ती निर्दोष पशुहरुको
दशैं मनाउने तिमी मान्छे
अनि, तिम्रो दशैंको मूल्य चुकाउने पशु ?
वा रे मानव
तिमी धन्य छौ
अझ त्यतिमात्र कहाँ हो र
दशैंमा पशुबली नचढाए
तिमीले नाम दिएका
तिम्रा ईश्वर रुष्ट हुने अरे !
पशु त पशु
ईश्वरको नाम बेच्न पनि पछि पर्दैनौ तिमी
यदि, पशुकै बलि चढाएर ईश्वर प्रशन्न हुने भए
गीतामा भगवान श्री कृष्णले
हरेक कण कणमा मै छु किन भन्थे होलान्
ईश्वरकै बलि चढाएर
स्वयं ईश्वर कसरी खुशी होलान् ?
मान्छे भएर पनि किन,
मान्छेले झंै सोच्दैनौ तिमी
पशुमा पनि प्राण छ
पशुमा पनि बाँच्ने रहर छ
पशुमा पनि ईश्वरको बास छ
पुष्पा जोशी (काली) 
धनगढी

No comments:

Post a Comment