Tuesday, October 9, 2018

बिम्ब साप्ताहिक, २०७५ साल असाेज २३ गते मंगलवार

लोकतन्त्रको आधार ः सूचनाको अधिकार ।
सूचना हाम्रो अधिकार ः सुशासन र विकासको आधार ।
कुनै पनि सार्वजनिक सरोकार ः थाह पाउने नागरिकको अधिकार । 
सूचना लिने दिने संस्कृतिको विकास गरौं ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

दुर्घटनाले उजाडिएका जीवनहरु

रामहरी ओझा/डोटी
असोज २२
श्रीमान् जागिरे, आफु स्नातकोत्तर पढ्दै गरेको, कोखमा छोरी, डडेल्धुरा जिल्ला सदर–मुकामको बसाई । खुशी र सुखी जीवन यति छिटो उजाडिएला भन्ने सपना पनि देखेकी थिईनन् डडेल्धुरा जिल्ला अमरगढी   नगरपालिका–४ की कल्पना बिष्टले । तर उनको सुखी र खुशी परिवार मात्रै खोसिएन उनी आफै पनि अर्काको साहरा बिना बाँच्न नसक्ने भईन । 
आजकै दिन अर्थात २०७१ साल असोज २० गते डोटी जोरायल गाउँपालिका–२ (त्यतिवेलाको छतिवन गाबिस–५) कट्पत्तेमा भएको बस दुर्घटनामा कल्पनाले आफ्नो श्रीमान् र छोरी गुमाईन् । उनी आफु पनि कहिल्लै निको नहुने गरी घाईते भईन । तीन बर्ष अघि मात्रै संगै जीउने संगै मर्ने बाचा सहित डडेल्धुराका लक्ष्मण ठकुराठीसंग बिवाह गरेकी कल्पनाले न त संगै जीउन सकिन न संगै मर्न सकिन । माईतीघर जोरायलमा आमाबुवाको हातबाट दशैंको टिका थापी स–परिवार आफ्नो घर फर्किरहेका बेला भएको दुर्घटनाले कल्पनाको जीवन उजाड बनायो । मेरुदण्डमा चोट लागि पक्षघात भएर बाँचिरहेकी २९ बर्षीया कल्पनाले आफ्नो श्रीमान् र छोरीको लास समेत हेर्न पाईनन् । उनी अहिले काभ्रेको स्पाईनल ईन्जुरी पुनस्र्थापना केन्द्रमा छिन् । 
दुर्घटनामा घाईते भईसकेपछि कल्पनाले जीउने आश मारिसकेकी थिईन । तर उपचार गर्ने चिकित्सकले निको हुने भनेपछि उनी पहिले जस्तै हिड्डुल गर्न सक्ने आशमा   थिईन । ‘सात महिनासम्म भारत लखनउको सिमरा अस्पतालमा उपचार गराएपछि डाक्टरले अव घरमा गएर थेरापी गर्नु बिस्तारै ठिक भईहाल्छ भनेर पठायो’ कल्पना भन्छिन् ‘तर घरमा बस्दा कुनै सुधार नभएपछि फेरी उपचारको लागि नयाँ दिल्ली गएँ, त्यहाँ पनि एक महिना बसेँ ।’ एक महिनासम्म बिभिन्न अस्पतालहरुमा जाँच गराउँदा मात्रै कल्पनालाई थाह भयो अव उनी कहिल्लै हिड्न सक्दिनन् ।’ मेरुदण्डको पक्षघातको उपचार सम्भव नभएको कुरा उनलाई दिल्लीमा थाह भयो ।
उनी नयाँ दिल्लीबाट फर्केपछि काभ्रे गईन । दिशाँ पिसाव भएको पनि जानकारी नहुने गरी तल्लो शरीर पुरै निस्कृय भएकी कल्पनालाई पुनस्र्थापना केन्द्रमा मेरुदण्ड पक्षघात भएकाहरुले कसरी जीउने भन्ने कला सिकाईयो । अहिले उनी त्यही पुनस्र्थापना केन्द्रमा परामर्शकर्ताको रुपमा काम गरिरहेकी छिन् । उनी भन्छिन् ‘यो अवस्था होला भन्ने सोचेकी थिईन्, हासी खुशी जीवन बित्छ भन्ने लागेको थियो, तर भयो यस्तो ।’ कल्पनाले हिम्मत भने हारेकी छैनन् । उनी थप्छिन् ‘मानव जीवन यस्तै हो भनेर चित्त बुझाउन सक्नु पर्छ, जे भयो त्यही कुरा सम्झेर के गर्नु ?’ 
कल्पना जस्तै उजाडिएको अर्को जीवन हो ३५ बर्षीया कृष्णा शाहीको । कैलालीको तेघरीमा बस्दै आएको कृष्णाको परिवार दशैं मनाउनका लागि जोरायल आएको थियो । दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दशैं मनाउन आएका श्रीमान् श्रीमतिलाई उक्त घटनाले कहिल्लै मिलन नहुने गरी बिछोड् गरायो । कृष्णाका श्रीमान् राजेन्द्र शाहीको घटनास्थलमै मृत्यु भयो । कृष्णा मेरुदण्ड पक्षघात भएर बाँचिरहेकी छिन् । ‘यस्तो घटना होला भन्ने सोचेका पनि थिएनौं’ कृष्णाका भतिजा शेरवहादुर शाही भन्छन् ‘काकाहरुको जीवन खुशी हासीखुशी बितेको थियो तर दैवले उजाडिदियो ।’ मेरुदण्ड पक्षघात भएर दिशाँ पिसाव भएको समेत थाह नपाउने कृष्णालाई उनका नाबालक छोराछोरीहरु र भतिजा बुहारीहरुले जीउने सहारा दिईरहेका  छन् ।
जीवनै अर्काको सहारामा बाँच्नु पर्ने अवस्थामा पुगेका कल्पना र कृष्णाले उपचारमा लागेको खर्च समेत पुरापुर पाएनन् । ‘लखनउ बस्दासम्मको खर्च त दिएको हो’ कल्पना भन्छिन् ‘दिल्लीको खर्च मैले आफैले गरेँ, समितिले गाडी भाडा मात्रै दिएको थियो ।’ उनी पहिले बैङ्कमा संचित गरेर राखेको आफ्नो पैसाले उपचार गरेको बताउँछिन् । उनी थप्छिन् ‘औषधी उपचारको लागि पनि भनिदिने बोलिदिने मान्छे चाहिने रहेछ, आफ्नो त्यस्तो कोही भएन ।’ 
कृष्णाको पनि उस्तै अवस्था छ । सरकारी कार्यालयमा अस्थायी जागिर भएका राजेन्द्रको दुर्घटनामा मृत्यु भएपछि कार्यालयबाट प्राप्त भएको रकम समेत उनले औषधी उपचारमा खर्च गरिन् । कृष्णा पुरानै अवस्थामा फर्किन सक्लिन् भन्ने आशमा उनको परिवारले पनि दिल्ली र काभ्रे पु¥यायो तर उपलव्धी भएन । 
दशैंको भोली पल्ट ना ३ ख ५७०७ नं. को सुदूरपश्चिम यातायतको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाईते भएका थिए । बसमा एक सय २५ भन्दा माथी यात्रुहरु रहेको प्रहरीको भनाई थियो । यात्रुहरु बढी भएर बसको पत्ता टुटेपछि दुर्घटना भएको थियो । घाईतेहरुले लामो समयसम्म उपचार गराए । दुर्घटनामा आफन्त गुमाएकाहरु आजको दिनलाई कालो दिनका रुपमा सम्झन्छन् । उक्त दुर्घटनामा बजै, आमा र छोरी गरी तीन पुस्ताका तीन सदस्य गुमाएका चर्चित गायक सौगात ओझाले शनिवार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘आज असोज २० गते म र मेरो जोरायलबासीका लागि कालो दिन । आजकै दिन मैले मेरी जन्मदिने आमा, सात बर्षकी छोरी र हजुरआमा गुमाएँ र २९ जनाको अकालमा ज्यान गयो ।’ 
दुर्घटनामा सौगात, उनकी श्रीमति र एक छोरी पनि घाईते भएका थिए । उक्त घटनाको   स्मरणमा सौगातले गाएको गीतमा भनिएको छ ‘न त मैले जन्म दिने आमाको लास हेर्न पाएँ न दागबत्ति दिन पाएँ, अस्पतालको शैयाबाट आँशु मात्रै झारेंँ ।’ 
दुर्घटनाको बिषयमा दुई गीत, एक कबिता र एक सम्झनाको संगालो प्रकाशन भएको बताउँछन् स्थानीय   तिर्थराज भट्ट । उनी भन्छन् ‘मृतकहरुको बिमा रकम पाउनका लागि समेत हामीले आन्दोलन गर्नु प¥यो, घाईतेहरुको उपचारमा पनि निकै समस्या  भयो ।’ दुर्घटनाले धेरैको जीवन कष्टकर बनाईदिएको भट्टको भनाई छ । 

सम्पादकीय 

धनगढी नै उपयुक्त हो त सुदूरपश्चिमको राजधानी !

शनिवार नेपालका पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ‘नालायक’ भन्दै सरकारको कडा आलोचना गरे । उनले बलात्कारीलाई पक्राउ गर्न नसक्ने सरकार भन्दै तिखो प्रहार पनि गरे र सरकार असफल भएको दावी गरे । 
निश्चित रुपमा बर्तमान सरकार असफल भएको भान आम जनतालाई पनि भएको छ भने पटकपटक सरकारको नेतृत्व गरेका व्यक्तिलाई त्यो भान नहुने कुरै भएन । प्रतिपक्षको धर्म पनि सरकारलाई खवरदारी गर्नु हो । एकातिर आम जनताले थाह पाउने गरी सरकारका गतिबिधिहरु कमजोर भईरहेका र अर्कोतिर प्रतिपक्षको धर्म पुरा गर्नु पर्ने भएका कारण पूर्व प्रधानमन्त्रीले सरकारको आलोचना गर्नु अन्यथा होईन । उनी आफु सरकारमा हुँदा पनि थुप्रै अपराधका घटनाहरु भएका छन्, त्यतिवेला पनि अपराधी पत्ता नलागेका घटनाहरु छन् र त्यतिवेलाका प्रतिपक्षहरुले उनलाई पनि असफल, असक्षम, नालायक भनेकै हुन । त्यसकारण उनले सरकारको आलोचना गर्नु स्वभाविकै हो । 
सरकारको आलोचना गर्ने क्रममै उनले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेकोमा पनि बिरोध गरे । सुदूरपश्चिमकै बासिन्दा भएका कारण उनले त्यो बिरोध गर्नु पनि स्वभाविकै हो । उनले जंगल फडानी गरेर राजधानी बनाउन खोजिएकोप्रति आपत्ति जनाए । उनले गरेको त्यो आपत्तिमा पनि थुप्रै सुदूरपश्चिमबासीहरुको समर्थन छ । तमाम बिकल्प हुँदाहुँदै पनि जंगलमा लगेर राजधानी बनाउन थालिएको छ । प्रदेश राजधानीका संरचना बनाउनकै लागि अर्वौंको लगानी लगाउनु पर्छ । जनताले तिरेको कर जनताको सेवा र विकासमा भन्दा पनि अनावश्यक संरचना निर्माणमा खर्च हुन्छ भन्ने उनको तकर्m र उनको आपत्ति जायज छ । 
तर, के राजधानीका लागि धनगढी मात्रै उपयुक्त हो त ? उनले सवै प्रकारले राजधानीका लागि धनगढी उपयुक्त भएको वताएका छन् । ‘सवै प्रकारले’ भनेको के के हो ? के आधारमा उनी धनगढीलाई राजधानी बनाउन खोज्दैछन् । यदि उनी साँच्चै राजनेता हुन र उनले बर्तमान नेकपाका नेताहरुले गलत गरेका हुन भन्ने हिम्मत राख्दछन् भने किन प्रदेश राजधानी दिपायल उपयुक्त हो भन्न सकेनन् । ईतिहास, भौगोलिक दुरी, सरकारी भौतिक संरचना, सामरिक महत्व, समावेशी विकासको अवधारणा जस्ता सवै कुराहरुले दिपायल राजधानी हुनु उपयुक्त होईन र ? 
धनगढी राजधानी हुनै सक्दैन भन्ने कुरा होईन । जनसंख्याको दृष्टिले, व्यापारिक केन्द्रका दृष्टिले, केही सरकारी भौतिक संरचनाहरु पनि भएका कारणले र अस्थायी मुकाम धनगढी भएका कारणले एक प्रकारको सेटिङ्ग भएको छ, त्यसैले धनगढी हुनै हुँदैन भन्ने कुरा छैन् । गोदावरी भन्दा धनगढी उपयुक्त छ । तर, के पूर्व प्रधानमन्त्रीले भनेको जस्तो धनगढी मात्रै उपयुक्त हो त ? उनी स्वयं पहाडमा जन्मिएका हुन, २०४८ सालदेखि हालसम्म पहाडकै जनताको प्रतिनिधित्व गर्दैछन् । पटकपटक प्रधानमन्त्री भए, पहाडकै जनताले दिएको अभिमतबाट । लामो समयदेखिको ईतिहास नामेट हुने गरी उनले आफैले प्रदेशको अस्थायी मुकाम धनगढी राखे । त्यतिबेला उनका कार्यकर्ताहरुले सरकार एक्लैले धनगढी नराखेको भन्दै सुदूरपश्चिमका अन्य नेताहरुलाई दोष लगाउँथे तर देउवा स्वयंले ‘सवै हिसावले धनगढी उपयुक्त’ भनेपछि अव अरु दललाई दोष दिन मिल्यो त ? 
धनगढी मात्रै उपयुक्त हुनुको एउटा कारण हुन सक्छ देउवा ज्यूका लागि, उनकी धर्मपत्नी कांग्रेस नेतृ आर्जु राणाले आफ्नो राजनीतिक ग्राउण्ड धनगढीका लागि छानेकी छिन् । त्यसकारण मात्रै धनगढी उपयुक्त भएको हुन सक्छ । नत्र अरु ठाउँ पनि छन् ।

थप समाचार 

प्रेस युनियनको प्रश्न ः तेजु खोई ?

भाद्र ९ गतेदेखि हराईरहेको पत्रकार तेजवहादुर खड्का (तेजु) को खोजी गर्न सरकारलाई दवाव दिँदै नेपाल प्रेस युनियन डोटी शाखाले दवावमुलक ¥याली निकालेको छ । 
बाजुराको प्रसिद्ध धार्मिक स्थल बुढीनन्दामा लाग्ने मेलाबाट फर्किने क्रममा हराएका पत्रकार तेजुको थप खोजी कार्यका लागि दवाव दिन उक्त ¥याली आयोजना गरिएको युनियनका केन्द्रीय सदस्य दयाराम पण्डितले बताए । “तेजु खोई ?” लेखिएको व्यानर बोकेर युनियन आवद्ध सञ्चारकर्मीहरुले सोमवार डोटीको दिपायलमा ¥याली प्रदर्शन गरेका हुन । 
नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक सभापति समेत रहेका तेजुको खोजी कार्यका लागि सरकारले थप पहल गर्नु पर्ने युनियनको माग छ । ‘उनी हराउँदा नेपाली प्रहरी र नेपाली सेनाले खोजी कार्य गरेको थियो तर त्यतिवेला मौसमको प्रतिकुलताका कारण सफल हुन सकिएन’ युनियनका केन्द्रीय सदस्य पण्डितले भने ‘अव मौसममा केही सुधार आएको छ, त्यसैले राज्यले उनको खोजीका लागि पहल गर्नु पर्छ ।’ उनले तेजुको स्वास वा लास जे भएपनि भेटिनु पर्ने वताए । घटना भएको बेलामा प्रहरी र सेनाले गरेको कार्यप्रति आफु सन्तुष्ट रहेको पनि पण्डितको भनाई छ ।
तेजुको खोजीका लागि भन्दै नेपाल पत्रकार महासंघले गठन गरेको समिति कैलालीबाटै फिर्ता गएकोप्रति युनियनका पूर्व केन्द्रीय सदस्य मुकुन्द भण्डारीले आपत्ति जनाए । ‘महासंघको सदस्य हराएको छ, समिति गठन हुन्छ तर समिति बिच बाटोबाटै फर्किन्छ’ भण्डारीले भने ‘पत्रकारको हक हितको लागि स्थापना भएको संस्थाले यसरी लापरवाही गर्न हुन्छ ?’ उनले पत्रकारहरुले पत्रकारको पीडामा सम्वेदनशील नभएको आरोप लगाए ।    भण्डारीले भने ‘युनियनले पनि तेजुको खोजीमा खासै चाँसो देखाएन, चार दिनपछि मात्रै बिज्ञप्ती जारी ग¥यो । 
युनियनका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम ईन्चार्ज लाल ऐरले तेजुको थप खोजीका लागि नेपाल प्रहरी र नेपाली सेनासंग कुराकानी भईरहेको जानकारी  दिए ।  
२०५४ सालमा रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट पत्रकारिता पेशा आरम्भ गरेका खड्का पछिल्लो समयमा बाजुराको कोल्टीबाट प्रसारण भईरहेको बुढीनन्दा एफएममा कार्यरत थिए । उनी मेला भर्न र मेलाको रिपोटिङ्ग गर्नका लागि त्यसतर्फ गएका थिए । खडुकाको खोजीमा सेना र प्रहरीको टोली एक हप्तासम्म परिचालन भएको भएपनि उनको कुनै पत्ता लाग्न सकेको छैन ।

डडेल्धुरामा कैदीहरुको अनशन

सात बुँदे माग सहित जिल्ला कारागार डडेल्धुराका कैदीबन्दीहरुले  आमरण अनसन सुरु गरेका छन् ।
डाका चोरी मुद्दाको सजाय भुक्तान गरिरहेका कैदीबन्दी चन्द्रसिं साउँद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देविसिंह ऐरले सोमबारदेखि आमरण अनसन सुरु गरेका हुन् । असल चालचलन भएका सुधारोन्मुख अवस्थामा रहेका कैदीबन्दीहरुलाई ६० प्रतिशत माफी मिनाहाको पुरानै व्यवस्थालाई यथावत कायम राखी तुरुन्त लागू गरिनु पर्ने माग उनीहरुको छ ।
यस्तै, न्याया दिने अदालत र अपराध अनुसन्धान गर्ने प्रहरी संगठनमा मौलाउँदै गएको चरम लापरबाही भ्रष्टाचार, फितलो अनुसन्धान, फैसलामा हुने ढिलासुस्ती, निर्दोषहरु फसाउने क्रियाकलापको अन्त्य गर्न ठोस् कदम चाल्नुपर्ने माग राखिएको कैदीबन्दी चन्द्रसिंह साउँदले बताए ।
भरणपोषण भत्ता ६० बाट वृद्धि गरी प्रतिदिन १०० को व्यवस्था गरिनुपर्ने, अनुत्पादक अवस्थामा समय खेर फाल्दै आएका कैदीबन्दीहरुका लागि कारागार भित्रै श्रम गर्न पाउने गरी रोजगारमुलक उत्पादनमुलक कारखाना स्थापना गर्नुका साथै खुला कारागार नीतिलाई तुरुन्त कार्यान्वयन गरिनुपर्ने लगायतका मागहरु राखी दशैंको संघारमा कैदीवन्दीहरु   आमरण अनशनमा बसेका हुन ।

प्रदेश समन्वय परिषद् बैठक सम्पन्न

सुदूरपश्चिम प्रदेश समन्वय परिषद्को प्रथम बैठक आज धनगढीमा सम्पन्न भएको छ । स्थानीय तह र प्रदेश सरकारवीच विविध विषयका सहअस्तित्वको विकासमा जोड दिइएको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा भएको बैठकमा पाँचवटा विषयवस्तुहरु छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले सुदूरपश्चिम प्रदेशको समन्वय परिषद्को कार्यविधि, स्रोत व्यवस्थापन, कर्मचारी व्यवस्थापन तथा समायोजन, कानुन निर्माण तथा कार्यान्वयन, प्रदेश र स्थानीय सरकारवीच सहकार्य, सहअस्तित्व र समन्वय कायम गर्ने सम्बन्धी र अन्य समसामयिक विषय निर्णयका लागि बैठकमा पेश गरेका थिए ।
स्रोत व्यवस्थापनकालागि संविधानको भाग २६ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग धारा २५० र २५१ सम्बन्धी व्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन एने २०७४ र प्रादेशिक स्थानीय तहको बजेट अनुदानबारे नौवटै जिल्लाका स्थानीयतहलाई समुहमा विभाजन गरेर छलफल गरिएको थियो ।
यसअघि बैठकको शुरुमा नेपाल सरकारका सचिव बैकुण्ठ अर्यालले राजस्व बाँडफाँट, राष्ट्रिय प्राकृतिक स्रोत साधन बाँडफाँटसम्बन्धी कानुनी व्यवस्था र व्यवहारिक पक्षसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकमा स्वागत मन्तव्य प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मालिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बैठकले प्रदेश सरकार र स्थानीय सरकारबीच र स्थानीय सरकारहरुको आपसी समन्वय, सहकार्य र सहअस्तित्वको विकासमा मद्दत पुग्ने बताए । उनले बैठकबाट सही ठाउँमा बजेटको प्रयोग गर्न सहयोग पुग्नेसमेत बताए । उनले नगरपालिकाले बनाएका कानुन पनि प्रदेश र संघीय सरकारले पनि मान्नुपर्ने र प्रदेश सरकार तथा संघीय सरकारले बनाएका कानुन पनि सबै तहका सरकारले मान्नुपर्ने व्यवस्थाले सहअस्तित्व झल्काउने गरेको बताए ।
अन्तिममा मुख्यमन्त्रीले सम्बोधनसहित बैठकको समापन गरेका छन । बैठकमा प्रदेशका मन्त्रीहरु, सबै मन्त्रालयका सचिव, नौवटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख कार्यकारी अधिकारी, ८८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो ।

डोटीमा कृषि ज्ञान केन्द्र स्थापना हुने

रोजेन्द्र जोशी/डोटी
असोज २१
सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले डोटीमा कृषि ज्ञान केन्द्रको  स्थापना हुने बताएकी छिन् । 
मन्त्री चौधरीले साविकको जिल्ला कृषि कार्यालय डोटीलाई ज्ञान केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकारले निर्णय गरिसकेको बताईन । आईतवार डोटीको सिलगढीमा नेकपा नेता तथा कार्यकर्ताहरु संग भेटघाटको क्रममा मन्त्री चौधरीले जिल्लामा रहेका संरचनाहरुको प्रयोग कसरी गर्ने र सबै जिल्लाका जनतालाई कसरी सुुविधा दिने भन्ने बिषयमा सरकार चिन्तित छ । 
प्रदेश सरकारले युवाहरुका लागी सामूहिक कृषि खेती कार्यक्रम सञ्चालन गर्ने र युवा वर्गलाई विषेश सहयोग गर्ने बताईन । शदियौंदेखि पीडामा रहेका भूमिहिन मुक्त हलिया, सुकुम्बासी, मुक्त कमैयाहरुको व्यवस्थापन गर्न प्रदेश सरकारले पाँच अर्ब रुपैयाँ विनियोजित गरेको उनले बताईन् । प्रदेशभित्र रहेका गुठीहरु व्यवस्थापन गर्नु अहिलेको सरकारलाई मुख्य चुनौती रहेपनि प्रदेशभित्र रहेका सरकार जग्गा र सार्वजनिक गुठी अबस्थाको बारेमा अध्ययन थालेको उनले बताईन । ‘प्रदेशमा रहेका गुठी, सरकारी र सार्वजनिक जग्गाहरुको लगत लिएर त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा प्रदेश सरकारले छलफल गरिरहेको छ’  मन्त्री चौधरीले भनिन् ‘लालपुर्जा लिने तर जग्गा कहाँ छ भन्ने समेत जानकारी नहुने अवस्थाको अन्त्य गरिनु पर्छ भन्ने हाम्रो प्रयास हो ।’ 
कार्यक्रमका सहभागीहरुले मुक्त हलिया, कमैया तथा भूमिहिनका नाममा सरकारले पटक पटक बजेट विनियोजित गर्दै आईरहेको भएपनि बजेटको सहि ठाउमा प्रयोग हुनुको साटो जिम्मेवार कर्मचारी, सरोकारबालाहरुको मिलोमतोमा रकम पिडितसम्म नपुग्ने गरेकोले प्रदेश सरकारले त्यसतर्फ ध्यान दिन सुझाब दिएका थिए । मन्त्री  चौधरीले आफु सधैं सल्लाह सुझाबका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै त्यसका लागि प्रदेश सरकारले ठोस् योजना वनाउने बताईन । अछामबाट फर्किने क्रममा मन्त्री चौधरीले डोटीमा कार्यकर्ताहरुसंग भेटघाट गरेकी थिईन ।

नागरिकता पाएपछिको खुशी

डोटी शिखर नगरपालिका–६ की लाली दमाईले आफ्नो जीवनको उत्तरार्धमा नेपाली नागरिकताको प्रमाण पत्र     पाईन । नागरिकता पाएकै    कारण उनी धेरै खुशी छिन् । 
१९७८ साल जेठ २२ गते जन्मिएकी लालीले जिल्ला प्रशासन कार्यालय डोटीबाट ९८ बर्षको उमेरमा नागरिकता लिएकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत लोकराज बोहराले नेपाली नागरिकताको प्रमाण पत्र हस्तान्तरण गरेका  हुन ।  
यो उमेरमा जिल्ला प्रशासन कार्यालयमै गएर नागरिकता प्राप्त गर्ने सम्भवत उनी पहिलो नागरिक भएको प्रशासकीय अधिकृत बोहराले बताए ।   नागरिकता प्राप्तीसंगै लालीले राज्यबाट प्राप्त गर्ने जेष्ठ नागरिक भत्ता र अन्य सुबिधाहरु दावी गर्न बाटो खुलेको छ ।
दुई छोरा र तीन छोरी गरि पाँच सन्तानलाई जन्म दिएकी लालीको जेठो सन्तानलाई ७० बर्ष पुगेको छ भने जन्माएका दुई छोरीहरुको मृत्यु भई सकेको छ । नेपाली नागरिकता पाएर खुशी भएकी लालीले फोटो सहितको मतदाता नामाबलीमा समेत आफ्नो नाम दर्ता गराएकी छिन् । 
नागरिकता प्राप्त गर्नका लागि आवश्यक कागजातहरु सहित लाली छोरा पदम दमाई संग जिल्ला सदरमुकाम पुगेकी थिईन । उनी नागरिकता पाईसकेपछि मुस्कुराउँदै भन्छिन् ‘मैले पनि सरकारी कागज पाएँ ।

कांग्रेस नेता बलायरको दावी ः ओलीको बयलगाडा टुट्दैछ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व भौतिक पूर्वाधार तथा यातायत मन्त्री बिरवहादुर बलायरले प्रधानमन्त्री केपी ओलीको सरकार ढल्ने अवस्थामा पुगेको दावी गरेका छन् । 
नेपाल प्रेस युनियन डोटीको चौथो अधिवेशनको उद्घाटनका क्रममा बोल्दै नेता बलायरले ओली सरकारलाई बयलगाडाको संज्ञा दिँदै भने ‘यो बयलगाडा अब धेरै दिन टिक्दैन ।’ अहिलेको सरकार सियोमा हिड्न नजान्ने हल गोरु जस्तै भएको भन्दै उनले थपे ‘यो सरकार ढाल्नका लागि नेपाली कांग्रेसले केही गर्नु पर्दैन, आफै ढल्छ ।’ उनले माधव कुमार नेपालले देश डुव्न लाग्यो भनेर संसदमै बोल्नु र नेकपा अध्यक्ष प्रचण्डल समेत सरकारको यो गतिले अर्को चुनावमा कम्युनिष्टलाई कसैले भाट नदिने भन्नु सरकार परिवर्तनको संकेत भएको वताए । 
नेता बलायरले सरकार निरंकुश भईरहेको बताए । ‘दुई तिहाईको दम्वले सरकारले मनपरी निर्णय गर्दैछ’     बलायरले भने ‘सरकारको चरित्र लोकतान्त्रिक हुन सकेको छैन ।’ उनले पूर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रमा मात्रै सम्भव भएको बताउँदै लोकतन्त्रको पक्षमा आफ्नो कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले भने ‘सञ्चारकर्मीहरुलाई अंकुश लगाउने गरी आएको फौजदारी संहित ऐन, देवानी संहिता ऐनको तत्काल संसोधन हुनु पर्ने पक्षमा नेपाली कांग्रेस छ ।’ त्यसका लागि कांग्रेसले सरकारलाई दवाव दिईरहेको समेत  बलायरले बताए । 
स्थानीय तहमा भ्रष्टाचार मौलाएको भन्दै बलायरले सञ्चारकर्मीहरुले भ्रष्टाचार बिरुद्ध आक्रामक भएर समाचार सप्रेषण गर्न समेत आग्रह गरे । ‘यदि नेपाली कांग्रेसकै व्यक्तिहरुले भ्रष्टाचार गरेका छन् भने पनि समाचार लेख्नुहोस्, जनताले सत्य कुरा थाह पाउनु पर्छ’ बलायरले भने ‘जनताको नाममा आएको रकममा भ्रष्टाचार गर्न पाईदैन ।’ उनले राजनीतिभित्र बिलासिता पसेका कारण भ्रष्टाचार बढेको बताए । 
कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुदेवीले सञ्चारकर्मीहरुले निश्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पर्ने कुरामा डोटी दिए । ‘आशन ग्रहण, राशन ग्रहण र भाषण गर्ने कुरामा सञ्चारकर्मीहरुले बिचार पु¥याउनु पर्छ’ प्रजिअ सुदेवीले भने ‘राजनीतिक रुपमा कुनै दलसंग आस्था राख्ने भएपनि दलकै प्रतिनिधि भएर सार्वजनिक कार्यक्रममा पत्रकारले आशन ग्रहण गर्नु हुँदैन ।’ उनले व्यक्तिगत फाईदाका लागि अनुचित काम गर्दै दुई पैसा लाभ लिने गरी ‘राशन ग्रहण’ पनि पत्रकारले गर्नु नहुने वताए । प्रजिअ सुदेवी थप्छन् ‘कुनै कार्यक्रममा फलानो पार्टी राम्रो भन्ने वा आफ्नो समाचारमा फलानो पार्टी राम्रो भन्ने अरु पार्टीलाई गाली गर्ने काम गर्नु पनि स्वतन्त्र पत्रकारिता हुन सक्दैन ।
कार्यक्रममा पूर्व सांसद कल्पना सोव लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । 

खेल समाचार 

भलिबल प्रतियोगिता हुने

विजया दशमी २०७५ को अवसरपारी कैलाली धनगढी उपमहानगरपालिका–१३ मा भलिवल प्रतियोगिता आयोजना हुने भएको छ ।
असोज २५ गतेदेखि २७ गतेसम्म हुने सो प्रतियोगितामा ३० वर्षभन्दा माथिका उमेर समूहका पुरुष खेलाडीहरूले भाग लिन पाउने वडाध्यक्ष विजयराज जोशीले बिहीबार जानकारी दिए । वडाध्यक्ष जोशीले प्रतियोगितामा २१ टिमले भाग लिने गरि तयारी भईरहेको जानकारी दिए । उपमहानगरपालिकाका सबै १९ वडाका १९ टिम र एक आयोजक वडा टिम तथा धनगढी उपमहानगरपालिकाको एक टिम रहने उनले बताए ।
प्रतियोगितामा प्रहरी प्रशासन क्षेत्रमा आबद्ध खेलाडी, अन्तराष्ट्रिय र विदेशी खेलाडीले खेल्न नपाउने व्यवस्था गरिएको छ । राजपुरस्थित जनता राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा करिब तीन लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, द्वितीयलाई १५ हजार पुरस्कार घोषणा गरिएको छ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई पाँच हजार र उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट रेजरलाई जनही दुई हजारका दरले पुरस्कार घोषणा गरिएको वडा अध्यक्ष जोशीले वताए ।

डोटीमा पहिलो पटक फुटसल प्रतियोगिता

‘विकास र समृद्धिका लागि खेलकुद’ भन्ने मुल नाराका साथ डोटीमा पहिलो पटक फुटसल प्रतियोगिता आयोजना गरिएको छ । 
नयाँ युवा नयाँ सोच सेवा समाज नामक संस्थाको आयोजना रहेको उक्त प्रतियोगिता डोटी जिल्ला सदरमुकाम स्थित टुडिखेलमा सुरु भएको हो । प्रतियोगितामा डोटीका ८ टिमको सहभागिता रहेको छ भने खेल लिग     चरणमा संचालन गरिएको संस्थाका अध्यक्ष मुकुन्द दिप मडैले बताए । 
विजया दशमी र शुभ दिपावलीको अबसर पारी आयोजना गरिएको प्रतियोगितामा ६/६ जना खेलाडीहरु फिल्डमा भिड्ने छन् भने प्रथम हुने टिमलाई बोका र दोस्रो टिमलाई लोकल कुखुरा  पुरस्कारको रुपमा दिईने आयोजकले बताएको छ ।

चलचित्र/मनोरञ्जन 

मोनिका बनिन् मिस सुदूरपश्चिम

पहिलो “मिस सुदूरपश्चिम” उपाधी डोटीकी मोनिका गुरुङ्गले हासिल गरेकी छिन् । 
शनिबार राति सम्पन्न पहिलो मिस सुदूरपश्चिम–२०१८’ को उपाधी मोनिका ले जितेकी हुन । धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै डोटी दिपायल सिलगढी नगरपालिका–६ की २३ बर्षीया मोनिकाले उपाधी हात पारिन् । 
सव इन्जिनियर पदमा सिचाई डिभिजन कार्यालयमा कार्यरत मोनिकाले मिस सुदूरपश्चिमको उपाधिसंगै स्कुटर प्राप्त गरेकी छिन् । उनलाई पूर्व मिस नेपाल सुगारीका केसीले ताज पहिराएकी थिईन । प्रतियोगितमा अंकिता ज्ञवाली फस्ट रनरअफ र दिव्या गैरे सेकेन्ड रनरअफ भईन । फष्ट रनरअफ ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेन्ड  रनरअफ गैरेले नगद २५ हजार हात   पारिन । 
रोयल कोलाबरेशन प्रालि नेपालले पहिलो पटक आयोजना गरेको प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल केसी, गायक तथा गितकार कालीप्रसाद बास्कोटा, नायिका अन्नपूर्ण शर्मा, फिल्म निर्देशक हेमराज विसी, ओलम्पियन दीपक विष्ट र मोडेल निलम चन्द रहेका थिए ।

अनमोलको “केप्टेन” रिलिज कन्फर्म

फिल्मी खवर 
  
सुपरस्टार अनमोल केसी अभिनित छैटौं प्रोजेक्ट ‘क्याप्टेन’ को रिलिज डेट घोषणा गरिएको छ ।  पटक–पटक विभिन्न मितिमा प्रदर्शन हुने चर्चा भएपनि अब उक्त फिल्म महाशिवरात्रीको छेकोमा  रिलिज हुने पक्का भएको छ । 
वितरक मनोज राठीले ‘क्याप्टेन’ फागुन १७ गते प्रदर्शनमा आउने औपचारिक जानकारी दिएका छन् । फिल्मीखबरसँग कुरा गर्दै उनले भने ‘यो मितिभन्दा बाहेक हामीसँग अरु कुनै अप्सन नै छैन । फिल्म फागुन १७ लाई नै लक हो ।’
उक्त मितिमा फिल्म रिलिज हुन लाग्नुको पछाडि फागुन २० गते सोमवार परेको महाशिवरात्रीको सार्वजनिक विदा हो । यो फिल्ममा अभिनेता अनमोलले पहिलो पटक फुटबल खेलाडीको भूमिका निभाएका छन् । दीवाकर भट्टराई फिल्मका निर्देशक हुन् । 
भिएफएक्सको अधिक प्रयोग हुने फिल्ममा अनमोलको अपोटिजमा दुई नव अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । भुवन केसी निर्मित  ‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

लेख 

कांग्रेसको बिधानमाथी गम्भिर ठट्टा

सुदर्शन आचार्य
नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिको हैसियतमा शेरबहादुर देउवाको आगमन जति शालीन र वैधानिक रुपमा भयो, उनको प्रस्थान भने कांग्रेसको इतिहासमै दुर्लभसँगै अलोकप्रिय हुने स्पष्ट संकेत देखा पर्दैछन् ।
देउवाको सभापतिको हैसियतबाट हुने प्रस्थानका बारेमा किन पनि अनुमान लगाइँदैछ भन्दा ‘मास बेस्ड’ पार्टीलाई जीवन्त राख्नका निम्ति अधिक लोकतान्त्रिक बनाइनु पर्नेमा देउवा स्वयं प्रस्तावित विधानमा सभापतिलाई बलियो बनाउने बहानामा “गुट निर्माण” मा व्यस्त छन् ।
यसरी नेतृत्व आफैंले गुट निर्माण गरेर पुनः सभापति नै बलियो बनाइनुपर्ने प्रस्तावित विधान जोखिमयुक्त तवरले बहसमा लगिएबाट देउवामा पुनः सभापति बन्ने “लालसा” पैदा भएको बुझ्न कठिन छैन ।
आजका मितिको नेतृत्वमा अग्रगामी बन्ने चिन्तन त देखिएन नै, नेपालको संविधानको धारा २६९ को  उपधारा ४ को ख मा ‘संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन गर्नुपर्ने छ’ भन्ने व्यवस्थाको खिलाफमा पदाधिकारी समेत मनोनित गर्ने प्रावधान सहितको विधान मस्यौदा उपर बहस प्रारम्भ गराइएबाट प्रष्टिन्छ कांग्रेस नेतृत्वको नियत ।
उसो त देउवा नेतृत्वको आजका मितिसम्मको कालखण्ड मुलुक र पार्टी लागि प्रियकर कहिल्यै हुन सकेन । उनको कालखण्डमा उनैलाई प्रयोग गरेर प्रजातन्त्रमाथि नै प्रहार गर्ने कामसमेत भयो । आज पार्टी सञ्चालनको मूल दस्तावेज विधान निर्माणमा पनि उनै देउवा सभापतिलाई बलियो बनाउने नाममा केन्द्रीकृत विधानको परिकल्पना गर्दैछन् ।
सभापतिलाई बलियो बनाउने नाममा “पश्चगामी” विधान ल्याइयो र सोही विधानलाई महासमिति सदस्यले पनि लोभ, मोह र त्रासमा ‘ल्याप्चे’ लगाइदिए भने कांग्रेस त समाप्तिको बाटोमा जान्छ नै, कांग्रेस समाप्त हुँदा त्यसको प्रत्यक्ष असर नेपालको संघीयतासहितको गणतन्त्रमासमेत पर्ने अवश्यंभावी छ ।
आजका मितिको कांग्रेसमा मुलुक सञ्चालनका निम्ति एउटा राजनेतामा हुनुपर्ने कुनै ‘गुण’ वा ‘भिजन’ त देखा परेन नै, आफ्ना सदस्य एवं समर्थकलाई आकृष्ट गर्ने प्रभावशाली व्यक्तित्व एवं विचार र नेतृत्वमा हुनुपर्ने वाकपटुतासँगै उत्प्रेरक आदर्शजस्ता केही पनि विषय प्राप्त हुन सकेनन् । यसबाट एउटा निष्कर्ष निकाल्न सकिन्छ, निसन्देह नेपाली कांग्रेसको गैरवशाली इतिहास त थियो । तर, पार्टीमै भविश्य देख्ने नेता एवं युवा नेताले हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा वर्तमान र भविश्य अन्यौलपूर्ण देखिन पुगेको छ ।
आज सुसुप्त तर निकै डरलाग्दोरुपमा पृथकतावादी समूह सकृय भएका छन् । संघीयता कांग्रेसको नारा यदि हो भने त्यही संघीयतामाथिको बहसका कारण ‘मजबुद राष्ट्रियता’ माथि नै कमजोर बनाउने खेल प्रारम्भ भएका छन्। वास्तवमा राष्ट्रियता भन्ने चिज मुलुकको आन्तरिक विषय मात्रै नभएर त्यसका कतिपय आयामहरु बाहिरी जगतसँग जोडिएका हुन्छन् । संविधानको कार्यान्वयनसँगै आफ्नै पार्टी नेपाली कांग्रेससमेतलाई समयानुकुल सञ्चालन गर्न नसक्दा प्राप्त हुने परिणामले न राष्ट्रियता, न त लोकतन्त्र, दुबैको रक्षा गर्ने क्षमता   राख्दैन ।
गतिशील क्षमता नभएका भनिएका दिवंगत नेता सुशील कोइरालाले त चिरकाल स्मरण गर्ने संविधान नामक दस्तावेज नेपाली जनतालाई दिएर गए, तर कोइरालापछि पार्टीको नेतृत्वमा पुगेका देउवाको कार्यसञ्चालन हेर्दा यथास्थितिभन्दा फरक ढंगले पार्टी सञ्चालनको अपेक्षा राख्नु नै गलत थियो भन्ने पुष्टि स्वयंले गरिदिए । अब आम कांग्रेसजनसँगै मूलतः महासमिति सदस्यहरुले सोच्नैपर्ने बेला आएको छ, यथास्थितिमै रहेर समाप्त हुने कि, परिवर्तनशील बनेर टिक्ने ?
जनताका लागि राजनीति गर्ने व्यक्ति र समूह कांग्रेसमा पातलिँदै गयो । विरासत, ऐसआराम, उठन–पुठन जस्ता कामका निम्ति मात्रै आश्रयस्थल बन्न पुग्यो कांग्रेस । मुलुकका सामु देखिएका गम्भीर मुद्दाहरुले कांग्रेसलाई छुनै छाड्यो । उमेर ढल्किएको नेतृत्वले त पदमै रहेर मृत्युवरण गर्ने इच्छा राख्नुलाई एकछिन थाती राखौं, पार्टीलाई समयानुकुल राख्दा मात्रै भोेलिको नेपालको नेतृत्व गर्न सकिन्छ भन्ने युवासमेत उमेरले नेटो काटेका नेताकै घरमा बाक्लै ओहोर–दोहोर, त्यो पनि पद, पैसा र प्रतिष्ठाको आशक्तिमा घुमिरहनुलाई सामान्य मान्न  सकिँदैन ।
युवामा देखिएको यो परनिर्भरतावादी सोच एवं निष्ठामा आएको विचलनले न कांग्रेस, न त लोकतन्त्र नै सुरक्षित हुने छ । तसर्थ अब कांग्रेसमा एकपटक उथल–पुथल ल्याउन जरुरी छ ।
विश्व राजनीतिमा कम उमेरमै मुलुकका निम्ति अतुलनीय योगदान दिनेहरुको लामै सूचि बनाउन   सकिन्छ । ५७ वर्षको उमेरमा अमेरिकाको प्रथम राष्ट्रपति वनेर अमेरिकालाई संयुक्त बनाए जर्ज वासिङटनले । ५२ वर्षमा त्यो पनि एक कार्यकाल मात्र सोह्रौं राष्ट्रपति बनेर मुलुक निमार्णमा अतुलनीय योगदान दिए अब्राहम लिंकनले ।
४३ वर्षमै राष्ट्रपति बनेर अमेरिका निर्माणमा योगदान दिँदादिँदै ३५ औं राष्ट्रपति जोन अफ केनेडीको हत्या भयो । रिचार्ड निक्सन, ग्रोभर क्लिभल्याण्ड, थियोडोर रुजवेल्ट जस्ता ४२/४५ कै उमेरमा राष्ट्रपति बनेर   रिटायर्ड बने । जसको नाम अमेरिकाको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
अमेरिका मात्र नभई बेलायती प्रधानमन्त्रीहरु मार्गरेट थेचर, जोन मेजर, टोनी ब्लेयर र डेबिट क्यामरुन जस्ता नेताले आजीवन पदमै मात्र रहेर देश विकास गर्न सकिन्छ भन्ने सोच राखेनन् । उनीहरुले निश्चित कालखण्डपछि नयाँ पुस्तालाई मैदान खाली गरिदिए । नेपालका सन्दर्भमा भने सरकार वा पार्टी सञ्चालनमा रहेको राजनीतिक नेतृत्व पदसहित ब्रह्मनालमा नपुग्दासम्म मुक्ति पाइँदैन भनेझैं गर्दैछ ।
पुनः कांग्रेसको विधानकै बारेमा चर्चा गरौं । पार्टीमा नेतृत्वले आकर्षण बढाउन सकेन । सत्ता र शक्ति आफ्नै हातमा हुँदा पनि आफ्नै श्रीमतीसमेत जिताउन नसक्ने नेतृत्वका बारे धेरै कटाक्ष नगरौं । विधान पार्टी सञ्चालनको महत्वपूर्ण दस्तावेज हो । औपचारिकता नै सही, मुलुकका सातै प्रदेशमा विधानमाथि राय लिने काम पनि सम्पन्न भएको छ । तर, राय लिइँदा जिल्ला तहका केही पदाधीकारीबाहेक बुद्धिजीवी, युवा, विद्यार्थी, तरुण लगायतको उपस्थिति न्यून देखियो ।
यसको संकेत हो – एक त विधानमाथिको सुझाव संकलन एउटा नौटंकी मात्र हो भनेर बुझियो । दोश्रो, युवा, विद्यार्थी, तरुण र वुद्धिजीवीको पार्टीप्रति आकर्षणभन्दा पनि विकर्षण बढ्दै गएको देखियो । यसबाट विद्यमान पार्टी नेतृत्वले कति सिक्ला, त्यसलाई थाती राखौं, भोलिको काग्रेससँगै मुलुकको समेत नेतृत्व गर्छु भन्ने नेतृत्वलाई यो घटनाले अवश्य झस्काएको हुनुपर्छ ।
परिवर्तनलाई आत्मसाथ नगर्ने हो भने जनताका वीचबाट नेपाली कांग्रेस विस्थापित हुने छ । कांग्रेस विस्थापनका लागि अरु केही गर्नै पर्दैन, सभापति बलियो बनाउने भन्दै ल्याउन खोजिएको विधान जस्ताको त्यस्तै पाससँगै आगामी चौधौं महाधिवेशनबाट देउवालाई नेतृत्व सुम्पिदिए हुन्छ । हिजो, देउवा सभापति हुनुपूर्व पार्टी नेतृत्वको आकांक्षा राख्ने देउवा र रामचन्द्र पौडेल दुवैमा परिवर्तित सन्दर्भमा कांग्रेसको नेतृत्व गर्ने भिजन छैन, अझै देउवाको हातमा पार्टी पुग्यो भने त पार्टीले दक्षिणपन्थी बाटो समाउने छ, सो बाटोवाट अघि बढ्दा हुने कमजोरीका कारण राष्ट्रियताप्रतिको प्रतिवद्धतामा समेत गिरावट आउँछ भन्ने थियो । आज लगभग हिजोको त्यो विश्लेषण सत्यताको नजिक पुगेको छ ।
आज राजनीति पेशा बन्न पुग्यो । नेतामा हुनुपर्ने त्याग र समर्पणमा स्खलन आयो । पार्टीमा परिवर्तनका पक्षधरलाई ‘बैरी’ ठान्न थालियो । पार्टी नेतृत्व आर्थिकसँगै चरित्रका हिसावले पनि चुक्न पुग्यो, राजनीतिमा लागेका महिला नेतारकार्यकर्ताप्रति उनीहरुकै परिवार सन्तुष्टत हुन सकेनन् नै, कतिपयको घरवारसमेत भाँडियो ।
अर्का्तिर संगठन निर्माणमा महत्वपूर्ण मानिएका विभागहरु आजका मितिसम्म बन्न सकेनन् । सँगै, पार्टी्भित्रका आफ्ना आलोचकलाई तह लगाउनकै लागि अनुशासन समिति निर्माणमा भने हतारो गरिँदैछ । दिनको एकपटक आफ्नै निवासमा हाजिरी नजनाउने नेतारकार्यकर्तालाई शंका गरिँदैछ । कार्यकतालाई जनतासँग होइन, केवल आफैसँग मात्र जोडेर राख्ने प्रवृत्ति नेतृत्वमा हावी भएको छ । यसैबाट अनुमान लगाउन सकिन्छ, पार्टीको भविष्यका बारे ।
तसर्थ, यतिबेला पार्टी सञ्चालनको विधानउपर मात्र नभई, कांग्रेसलाई जीवन्त राख्न सक्ने नेतृत्वका  बारेमा समेत बहस प्रारम्भ गर्न ढीला भइसकेको छ । लोकतन्त्रवादी भएकै कारण प्राप्त गरेको विरासत र गाउँ–गाउँका कार्यकर्ताको रगत र पसिनाकै कारण मात्र कांग्रेस टिकेको छ । कांग्रेस मेरा कारण टिकेको छ भन्ने भ्रम कोही नेतामा छ भने त्यो केवल भ्रममात्रै सावित हुँदैछ ।
महाथिर मोहम्मद, तेङ वा लि क्वान बनेर मुलुकको मुहारमा परिवर्तन ल्याउन नसके पनि पार्र्टीिभत्र सत्य बोल्न आँट गर्ने ‘क्राइस्ट’ त कोहि न कोही निस्कन सक्नुपर्दथ्यो । त्यसको पनि आजका मितिमा कांग्रेसभित्र अभाव खड्कियो । मानाौं सत्य कुरा बोल्दा भोलि नै प्राप्त गरिहाल्न लागेको राष्ट्रपति वा प्रधानमन्त्री पद नै गुम्लाझैं गरिँदैछ । तर, युवाले समेत बोल्ने आँट नगरेपछि अब कांग्रेसको भविश्यबारे संशय पैदा भएको छ ।
‘समृद्ध नेपालका निम्ति नयाँ कांग्रेस’ को अवधारणासहितको नीति र नेतृत्व आजको आवश्यकता हो । विधानउपर देशैभर बहस भए र हुने क्रम जारी छ । नेपाली कांग्रेसले पार्टी सञ्चालनरुपी विधान नामको दस्तावेज निर्माण गर्दा अन्य परिवर्तन त छँदैछ, विधानमा मूल परिवर्तन भने कृयाशील सदस्यहरुबाट सीधै मतदान गरेर सभापति चयन गरिने व्यवस्था हुँदामात्रै कांग्रेसको ओज बढ्न पुग्छ ।
आजका मितिमा कांग्रेसमा ४ लाख ७० हजार कृयाशील सदस्य छन् । मौजुदा सदस्यहरुवाट चुनाव जित्नका लागि पनि २ लाख ३५ हजारभन्दा माथि मत ल्याउनुपर्ने हुन्छ । यो व्यवस्था हुँदा एक त यति ठूलो संख्याका क्रियाशील सदस्यलाई खरिद बिक्री गर्न सम्भव हुँदैन भने दोश्रो, पार्टी नेतृत्वमा पुग्ने आकांक्षा राख्ने नेतृत्व ग्रामीण तहका कार्यकर्तासँग समेत जोडिनुपर्ने हुन्छ ।
विधानमा आमूल परिवर्तन नगरी यथास्थितिमा रमाउँदै आजकै नीतिबाट पार्टी चलाउन खोजियो भने कांग्रेसभन्दा अग्रगामी दलका रुपमा ‘विवेकशील साझा पार्टी’ वा अन्य दलको उदय टाढा छैन । सभापति देउवाको मझेरीमा बसेर सिंगै कांग्रेसको नेतृत्वको सपना देख्ने विमलेन्द्र निधिदेखि पूर्णबहादुर खड्का हुँदै रमेश लेखकदेखि विश्वप्रकाश शर्मा सम्मले एकपटक सोच्नेबेला आएको छ । सत्य बोलेर परिवर्तनको कित्तामा आफुलाई उभ्याउने कि, असत्यको साक्षी भएर काग्रेसलाई नै कोमिन्ताङ बनाउने ? रोजाई उहाँहरुकै हो ।
जनताका आवाज मुखरित गर्ने थलो हो(संसद । संसदमा आवाज उठाउने ब्यक्ति र ब्यक्तित्वका बारे जनतामा चर्चा हुने गर्छ । कांग्रेसको हकमा दलको नेता, उपनेता, सचेतक जस्ता ब्यक्तिको इमेजका बारे धेरै चर्चा गरिरहनु नपर्ला । यसले पनि देखाउँछ कांग्रेसमा देखाउन लायक ब्यक्तित्वको खडेरी । सँगै, टिकट वितरण, समानुपातिकको सूची निर्माण, निर्वाचनको प्रचार, विधानको मस्यौदा, पार्टीमा जिम्मेवारी बाँडफाँट र मुलुकमा घटेका दर्जनौं घटनाका सम्बन्धमा संसदमा खेलिने भूमिका आदिका विषयमा कांग्रेस नेतृत्वको भूमिका हेर्दा लाग्छ – आज कांग्रेस लोकतन्त्रका नाममा गम्भीर ठट्टा गर्दैछ ।
यही सोच, शैली र संस्कार कांग्रेसमा कायम नै रहिरहने हो भने एक दिन जनताले पनि नेपालमा कांग्रेस नाम गरेको पार्टी थियो भनेर ठट्टा गर्ने दिन टाढा छैन । समयानुकुल नीति र नेतृत्व चयन गर्न सक्दा लोकतन्त्रको विरासत प्राप्त पार्टी नेपाली कांग्रेसको भविष्य सुन्दर छ । तर, त्यसका निम्ति भोलिको परिवर्तित नेतृत्वले आजका मितिमा देखिएको बेथितिबाट पाठ सिक्न जरुरी छ ।
— अनलाईन खवरबाट

मोफसल पत्रकारिता 

समस्यासंग डराउनु समाधान होईन

गणेश कञ्चन भारती (अध्यक्ष) 
नेपाल पत्रकार महासंघ, सुर्खेत शाखा
तपाईको परिचय पाउँ न । 
— म गणेश कञ्चन भारती । नेपाल पत्रकार महासंघ सुर्खेतको अध्यक्ष भएर काम गर्दैछु । प्रदेश एफ एम नेटवर्कमा स्टेशन मेनेजरको रुपमा काम गर्छु । बाह्र बर्षदेखि सुर्खेतबाट प्रकाशित हाम्रो नयाँ नेपाल दैनिकमा म प्रकाशक सम्पादकको रुपमा काम गरिरहेको छु ।
पत्रकारिता पेशा त निकै गा¥हो छ भन्छन नि ! कस्तो पाउनु भयो ? 
— भन्छन् । तर मलाई लाग्दैन, म मेरो पेशाप्रति गौरब गर्छु । कम्तीमा मैले देशका आवाजविहिनहरुको आवाजका रुपमा काम गर्न पाएको छु । सक्नेका लागी यो मुस्किल पेशा होइन सजिलै छ । तर, गर्न नसक्नेका लागि हरेक पेशामा निर्कै गा¥हो हुन्छ, पत्रकारिता पेशामा मात्रै होईन ।  
पत्रिकारिता जस्तो समस्यै समस्याको पेशा पत्रकारिता गर्न के ले प्रेरणा दियो तपाईलाई ? 
— समस्या सबैमा हुन्छन्, यहा पनि छन । तर समस्यासंग डराउनु समाधान होइन । पत्रकारिताका समस्यासंग विगत एक दशकभन्दा लामो समय भिडिरहेको छु । पछि नि त्यसरी नै लाग्छु । 
कति समय बिताउनु भयो पत्रकारितामा पत्रकारिता क्षेत्रमा ?
— मैले करीब ४ बर्ष युद्ध पत्रकारिता गरे । शान्ति कालका करीब १३ बर्ष विरेन्द्रनगर सुर्खेत र नेपालगञ्जमा रहेर पत्रकारिता गरे । यसरी हेर्दा मैले पत्रकारिता क्षेत्रमा १७ बर्ष बिताएँ ।  
सुर्खेत जस्तो बिकसित जिल्लाबाट पत्रकारिता गर्दै हुनुहुन्छ, कसरी मुल्याँकन गर्नु भएको छ यस जिल्लाको पत्रकारिताको अवस्थालाई ?  
— यहाँको पत्रकारिताका लागि हाम्रा अग्रजहरुले ठुलो योगदान दिनु भएको छ । उहाँहरुको धरातलमा उभिएर म पत्रकारिता गरिरहेको छु । समग्रतामा यहाँको  पत्रकारिता अझै विकासकै चरणमा छ । म पनि लामो समय पत्रकारिताको विकासमा लागे म सन्तुष्ट छु, पत्रकारिताको विकासमा गर्नुपर्ने अरु धेरै काम भने बाँकी नै छ । अव हामी सवैको ध्यान त्यसतर्फ जानु पर्छ । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— नेपाल सरकारले काठमाण्डौं र मोफसललाई हेर्ने आँखा एउटै हुनु हुदैन । अझ कर्णालीका समस्या धेरै छन् । मिडीया टिकाउने देखि भैरहेका पत्रकारहरुको पेशागत क्षमता विकासका लागि प्रशिक्षण जस्ता समस्या छन । पत्रकारहरुले काम गरेर पनि तलब नपाउने समस्याहरु पनि उस्तै छन् । राज्यले समानुपातिक विज्ञापन नीति लागु गर्ने देखि तालीम लगायतको व्यवस्था गर्नुपर्छ । 
तपाई आफै पनि नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाको अध्यक्ष हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— सहकार्यमा सबै काम भैरहेका छन् । पर्याप्त छैनन् अरु धेरै गर्न जरुरी छ । यसका लागि हामी सवैको पहल हुनु जरुरी छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— यि सबै संगठनहरुको पनि सकारात्मक खालकै भुमिका देख्छु म । यि सबैले पत्रकारिताको विकास र उन्नयनमा भुमिका खेलिरहेका छन् । अझै लामै समय सहकार्य गरेर जानुपर्छ । 
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता समाजको एैना हो, आवाजविहीनहरुको आवाज हो । गाउँगाउँका आवाजहरु सिंहदरबारसम्म पु¥याउने माध्यम बनेर हिडिदिने पुल पनि हो । राज्य र जनताकोबीचमा पुलको काम गर्ने माध्यम पनि हो । 
पत्रकारिता पेशामा लागेर कत्तिको कमाउनु भयो ?
— पैसा भने जत्ति कमाईएन होला । नाम चाही टन्नै कमाएको छु । अझै लोभी छु, कति सकिन्छ हेरौं । 
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ ?
— यो राम्रो होइन । यस्ता गलत प्रबृतिका बिरुद्ध हामी सवै सधैं लड्नुपर्छ । पत्रकारिताको दुरुपयोग गर्ने बद्नाम पत्रकार हुन । यिनले पत्रकारिताको खास मर्म बुझ्न सक्दैनन् । यस्ता खराब प्रवृत्तिभित्र हामी आफै लड्नुपर्छ ।
तपाई त लाग्नु भा छैन नि यस्ता कुरामा ?
— म सधैं लागिरहेको छु । पत्रकारीताको विकास र खराब पत्रकारीताको विरुद्धमा म सधैं लागिरहेको छु ।
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— केही छैन, तपाई पनि ग्रामीण क्षेत्रको पत्रकारिताको विकासमा लाग्नुस्, शुभकामना ।
समय र बिचारका लागि धन्यबाद । 
— धन्यवाद । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१. सगरमाथाको चुचुरोमा पुग्ने प्रथम व्यक्ति को हुन् ?  —तेन्जिंग नोर्के र एडमण्ड हिलारी
२. सगरमाथालाई पन्ध्रौं चुली नामाकरण गर्ने व्यक्ति को थिए ? —राधानाथ सिकन्दर
३. नेपालमा सर्वप्रथम पर्वतारोहण सुरु भएको हिमाल कुन हो ? — अन्नपुर्ण
४. आप्पा शेर्पाद्वारा ग्रेट हिमालयन को पदयात्रा कति दिनमा पुरा गरे ?  — ९९ दिन
५. २०६५ जेष्ठ १२ मा विश्वको अग्लो सगरमाथा सिखर पुग्ने नेपाली सर्वाधिक बृद्धको नाम के हो ?
— मिन बहादुर शेरचन
६. हिउँको बाघ भेनर तेन्जिंग नोर्के शेर्पालाई चिनिन्छ भने हिउँचितवा भनेर कसलाई चिनिन्छ ?
— आंगरिता शेर्पा
७. फुटबल विश्वकपको शुरुवात कहिले भएको हो ?  — सन् १९३०
८. नेपालको कतिवटा प्रधानमन्त्रीको पदमा रहदैँ हत्या भएको थियो ? — ३ जना
९. एसियाली राजमार्ग कहाँबाट सुरु हुन्छ ?  — इरान
१०. धरान—खाँदबारी सडकको नाम के हो ?  — कोशीलोक मार्ग
११. भारत बाहेक तेश्रो मुलुकमा उडान गर्ने नेपालको पहिलो नीजि बिमान कुन हो ? — कस्मिक एयर
१२. नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल कहाँ निर्माण हुने भएको छ ?  — बारा
१३. काठमाण्डौं तराई जोड्ने फास्ट ट्रयाक कति लम्बाई छ ?  — ७६ किलोमिटर
१४. विश्वका ८००० मिटर भन्दा अग्ला १४ वटै हिमालको आरोहन गर्ने प्रथम महिला को हुन् ?
— ओ युन सुन
१५. नेपालको सबैभन्दा पुरानो राजमार्ग त्रिभुबन राजमार्गको लम्बाई कति रहेको छ ?
— १९० किलोमिटर
१६. नेपालको पुरानो र एकमात्र जनकपुर–जयनगर रेलमार्गको लम्बाई कति रहेको छ ?
— ५१ किलोमिटर
१७. कर्णाली राजमार्गको लम्बाई कति रहेको छ ?  — २६३ किलोमिटर
१८. त्रिभुवन राजमार्ग कसको सहयोगमा निर्माण भएको हो ?  — भारत
१९. विश्वमा सर्बप्रथम बैंक नोट प्रचलनमा ल्याउने देश कुन हो ?  — चाइना
२०. महेन्द्र राजमार्गको सबैभन्दा बढी भाग कुन अञ्चलमा पर्दछ ?  — लुम्बिनी
२१. काठमाण्डौं उपत्यकाका ३ जिल्लाका साविकका ३ नगरपालिका र ४० गा.बि.स. जोड्ने प्रस्तावित बाहिरि चक्रपथको लम्बाई कति रहेको छ ?  — ७२ किलोमिटर
२२. पूर्वमा इलामदेखि सुदूरपश्चिममा बैतडीसम्म जोड्ने लोकमार्गलाई के भनिन्छ ? 
— मध्यपहाडी लोकमार्ग
२३. नेपालको हवाई जहाजको जहाज कोड नम्बर के हो ?  — ९ एन
२४. गंगालाल मार्ग भन्नाले कुन सडक बुझिन्छ ?  — चावहिल—साँखु
२५. चीनमा सम्पन्न माउण्ट गोआलिगोङ अल्ट्रा म्याराथनको उपाधि नेपालकी सुनमाया बुढाले जितेकी छन् । छछ किमी दुरीको उक्त दौड सुनमाया बुढाले ५ घण्टा ४४मिनेट १९ सेकेण्डमा पुरा गरेकी   थिईन् । उक्त दौडमा विभिन्न देशका जम्मा २३९ जना सहभागी रहेका थिए । 
२६. २०१८ अप्रिलमा सम्पन्न काठमाण्डौं ओपन जिएम अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधि भारतका हर्ष भारथाकोटीले जितेका छन् ।
२७. सिण्डिकेट अन्त्य गर्नको लागि सरकारले सम्पूर्ण यातायात समिति भंग गरेको ः २०७५ वैशाख ५ गते 
२८. नेपालमा राष्ट्रिय झण्डा दिवस वैशाख १ गते मनाईन्छ भने नेपाली टोपी दिवस जनवरी १ मा मनाईन्छ ।
२९. न्यिदब िउबककउयचत चबलपष्लन द्दण्ज्ञड
१. कुनै पनि देशका नागरिकले बिना भिसा वा अन अराईभल भिसामा कति देश भ्रमण गर्न पाउँछन भन्ने कुराको आधारमा यो तय गरिन्छ ।
२. शक्तिशाली पासपोर्ट भएका देशहरुमा सिँगापुर पहिलो, दक्षिण कोरिया दोश्रो तथा जर्मनी तेश्रो स्थानमा रहेका छन् भने अफगानिस्तान अन्तिममा रहेको छ ।
३. नेपाल सूचिको ९० औ स्थानमा रहेको छ भने नेपाली नागरिकले बिना भिसा वा अन अराईभल भिसामा ४० देशमा भ्रमण गर्न सक्छन ।
३०. कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको सुधारका लागी ५८ बुँदे मार्गचित्र २०७५ वैशाख २३ गते सार्वजनिक गरेको हो ।
३१. नेपालमा पहिलोपटक आर्थिक गणना २०७५ वैशाख १ गतेबाट सुरुवात गरिएको हो ।
३२. सगरमाथाको आधिकारिक उचाई मापन गर्ने जिम्मेवारी नापी विभागलाई दिईएको छ ।
३३. २०१८ मे ९ मा भएको निर्वाचनबाट ९२ बर्षीय महाथिर मोहम्मद मलेसियाको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । उनले २०१८ मे १० मा प्रधानमन्त्रीको शपथ लिएका थिए । निर्वाचनमा ७७.९२% मतदान भएको थियो । बिपक्षीको बिजयसङ्गै बेलायती उपनिबेशबाट सन १९५७ मा स्वतन्त्र भएपछि सत्तामा रहेका वारिसन नेसनल (बिएन) पार्टीको निरंतरता तोडिएको छ ।
३४. नेपाल सरकारले हालै प्रकाशित गरेको तथ्याँक अनुसार नेपालमा प्रति किलोमिटर सडक बरावर औषत कति सवारी साधन रहेका छन् ? — ३०

साहित्य/सृजना 

भोट 

तिमी बोल्न सक्ने थिएनौ
मैले बोली दिएँ – नारा दिएँ
नाङ्गै थियौ झण्डा दिएँ
एक्लै थियौ जुलुस दिएँ
भीडसँग साक्षात्कार गराएँ
भाषाको कुरा ग¥यौ समर्थन गरेँ
जातको कुरा ग¥यो हुन्छ भनेँ
जग्गा माग्यौ झण्डा गाडेर तिम्रो भयो भनिदिएँ
घरको कुरा ग¥यौ एउटा सरकारी घरमा पलङ राखेर सुत भनेँ
रोजगारीको कुरा ग¥यौ
उधारो बेतन सही राजनैतिक क्याम्पमा भर्ना गरेँ
पैसा ?
व्यापारीलाई चिठी काटेर त्यो पनि चाहिएजति उठाइदिएँ
तिमीलाई देशका कुरा मैले ने भनेको हुँ
सत्ताका कुरा मैले ने गरेको हुँ
सुनाएकै हुँ सरकारका कुरा
सत्ता कब्जासम्मको योजना बनाएकै छु
स्थानीय सरकार बनाइदिएकै छु
आमसभा गर्दै देश बाँड्दै गरेकै हुँ – अस्ति भर्खर
देश तिम्रो
सत्ता तिम्रो
सरकार तिम्रो 
पार्टी तिम्रो
म तिम्रो
तिमीले मसँग माग्न बाँकी केही छैन
तिमीलाई सब चीज दिएँ, दिनु दिएँ
कसले दियो तिमीलाई आजसम्म यसरी मैले जति
अब माग्ने मेरो पालो
केवल एक कुरा माग्छु तिमीसँग – यो आदेश हो नाइँ भन्न पाउन्नौ
मैले दिनु दिएँ – खूब दिएँ
अब हरेक चुनावमा तिमीले मलाई भोट दिनुपर्छ ।
डा.नवराज लम्साल

गजल 

नारी  होस त विष  पचाउनै  पर्छ  पचा
महान छेस हासेर आफुलाई सुलिमा चढा

जति काट्यो त्यति पलाउछ्न तेरा अङ्गहरु
काट्न तयार छन् बन्चराहरु छिटो भोक मेटा

प्यासीहरु प्यास मेटाउन भौतारी रहेछन् 
जति बगाउन सक्छेस बगा आँसुका धारा

कसलाइ आफ्नो सुरक्षा कवच ठान्छेस हँ
भक्षण गर्न तयार छन् तेरै काका बाबा

शिरमा अप्सराको ताज बोकेकी छ्स
खोसिन सक्छ ताज देबगणहरुलाई फका

तैले धन कमाउन मेहनत गर्नै पर्दैन
यौनी र स्तन नै त हुन तेरा जायजेथा 
पुस्पा जोशी ’ काली’ 
धनगढी ,कैलाली





No comments:

Post a Comment