Tuesday, December 31, 2013

बिम्ब साप्ताहिक, मिति २०७० साल पुष १६ गते मंगलवार

मुख्य समाचार

काम नगर्ने कर्मचारीको सरुवा बढुवा रोक्छु – मुख्य सचिब

सुदुपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रिय सदरमुकाम डोटीमा पहिलो पटक पुगेका नेपाल सरकारका मुख्य सचिब लिलामणि पोखरेलले काम नगर्ने सरकारी कर्मचारीहरुको सरुवा बढुवा रोक्ने बताएका छन् ।
मानब अधिकार राष्ट्रिय कार्ययोजनाको मस्यौदा सम्वन्धी डोटी जिल्लामा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाण्डौको आयोजना सम्पन्न भएको एक दिबशिय क्षेत्रिय स्तरको गोष्टीलाई सम्वोधन गर्दै मुख्य सचिब    पोखरेलले दुर्गमको जिम्मा पाएका तर सुगम क्षेत्रमा बसी तलव भत्ता खाने कर्मचारीहरुको सरुवा बढुवामा आफुले रोक लगाउने बताएका हुन् । सुदुरपश्चिमको क्षेत्रिय सदरमुकाम रहेको डोटी जिल्लामा बस्नु पर्ने जिल्ला तथा क्षेत्रका कार्यालय प्रमुख तथा निर्देशकहरु सुगम खोज्दै कैलाली कञ्चनपुरबाट नै कार्यसम्पादन गर्ने गरेको भन्ने सहभागीहरुबाट उठेको प्रश्नको जवाफ दिदै मुख्य सचिब पोखरेलले यस्तो बताएका हुन् ।
मानब अधिकार हरेक विकास निर्माणका साथ र हरेक क्रियाकलाप गर्दा पनि जोडिएर आउने विषय भएका कारण सबै सरकारी कार्यालयहरुले सेवा प्रदायकलाई सेवा प्रबाह गर्दा मानब अधिकारको विषयलाई ध्यानमा राखि कार्य सम्पादन गर्न समेत निर्देशन दिए । सुदुरपश्चिममा स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय स्थापना भएको सात दिनमा आफ्नो सम्पर्क कार्यालय कञ्चनपुर, कैलालीमा खोली कर्मचारीहरु त्यहि क्षेत्रमा बस्ने गरेको सन्दर्भमा सो कार्यालयका कर्मचारीहरुलाई दिपायल बाटै कार्य सम्पादन गर्न गराउनु आफुले बुझि पहल गर्ने समेत बताएका छन् ।
कार्यक्रममा वोल्दै सुदुर–पश्चिम पुनाबेदन अदालतका मुख्य न्यायाधिश तथा कार्यक्रमका प्रमुख अतिथि किशोर खातिवडाले सुदुरपश्चिमका कार्यालयहरु कहिले डोटी कहिले कञ्चनपुर कहिले कैलाली भई रहेकोले पनि यस क्षेत्रको विकास गर्न जनतालाई सेवा प्रवाह गर्न अफ्ठेरो भई रहेको बताए । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभाध्यक्ष समेत रहेका नेपाल सरकारका मुख्य सचिब पोखरेलले आफुले त्यसको बारेमा बुझ्ने र सम्पुर्ण कार्यालयहरु सम्वन्धीत क्षेत्रमा नै ल्याउन आफुले पहल गर्ने बताए । कार्यक्रमका लागी मुख्य सचिबको नेतृत्वमा पाँच सदस्यीय टोली  आईतवार डोटी पुगेको थियो ।
सुदुरपश्चिमका क्षेत्रिय कार्यालयहरु खाली, निर्देशकहरु कैलाली र कञ्चनपुरमा भनी विभिन्न संचार माध्ययमहरु पटकपटक समाचारहरु संप्रेषण हुदाँ समेत सरकारको आँखा नपुगेको यस क्षेत्रमा अब मुख्य सचिबले आफैले हेरेर गएका छन् । अब कर्मचारी तन्त्रमा केहि सुधार हुने सुदुरपश्चिमवासीको आशा पलाएको छ । नेताहरु पनि यस क्षेत्रमा आई यस्तै कुरा गर्ने र पछि व्यवहारमा नदेखाउने कार्यले जनताहरुले आश नै मार्ने गरेको भए पनि यस पटक मुख्य सचिब पोखरेलले जनता सँग गरेका बाँचा बाँचामात्र नभई कार्यान्वयन पनि  होस् । हाम्रो शुभकामना ।

थप समाचार

विद्यार्थि फेरी काम्न थाले

डोटी जिल्लाको बन्लेक गाविसमा रहेको शिद्धेश्वर उच्च माध्यमिक विद्यालयका विद्यार्थिहरु फेरि कक्षा कोठामा नै काम्न थालेका छन् ।
२०६७ सालमा विद्यालयमा अध्ययन गर्ने छात्रछात्रा पहिलो पटक अचानक काम्दा छात्राहरु महिनाबारी हुने र विद्यालयमा छुवाछुत हुने भएकाले विद्यार्थिहरु कामेको हो भन्ने अनुमान लगाई विद्यालयले छात्राहरुलाई पढाईबाट बञ्चीत गरियो भनि विभिन्न संचार माध्यमहरुमा समाचार  प्रकाशन प्रसारण भए पछि विद्यालयले चर्चा कमाएको थियो । फेरी गत शनिबार देखी विद्यार्थिहरु काम्न थाले पछि विद्यालय, अविभावक, विद्यार्थि फेरी चिन्तीत बनेका छन् । विद्यार्थिहरु किन काम्दै छन् भन्ने बारेमा छलफल गर्दै विभिन्न अनुमान लगाउने कार्य भई रहेको छ ।
विद्यालयले आफ्नै परिषर भित्र संचालन गरेको छात्रवासमा वस्ने छात्रहरु मध्य दुई जना गत शनिबार राती काम्न थालेको विद्यालय श्रोतले जनाएको छ । त्यसको दोस्रो दिन अर्थात आईतबार विद्यालय सुरु भई सकेपछि कक्षा कोठामा एकाएक तिन छात्रा र आठ छात्र गरि जम्मा ११ जना विद्यार्थिहरु कामेको विद्यालयले जनाएको छ ।
विद्यार्थिहरु काम्न थाले पछि अविभावकहरुलाई जानकारी गराउदा अविभावकहरु विद्यालय पुगेका थिए । उनीहरु विद्यालय पुग्दा सम्म विद्यार्थिहरु कामी रहेको र काम्ने विद्यार्थिहरु छुवाछुत भएको भाका बोल्दै गरेको शिक्षक मोहन देव भट्टले बताएका छन् । भट्टले भने काम्ने कार्य करिब तिन घण्टा सम्म भयो । म कक्षा कोठामा पुग्दा कुनै देवी देवताको जातमा धामीझाक्रिहरु कामे जस्तै विद्यार्थिहरु कामी रहेका थिए ।
स्थानियवासीहरुले छाउपडिका कारण यस्तो भई रहेको छ बताई रहेको भए पनि डोटी जिल्लामा छाउपडी प्रर्था सम्वन्धी परियोजना संचालन गर्नेहरुले यस्तो हुन नसक्ने बताएका छन् । विद्यार्थिहरु कामेको हुन सक्छ तर छाउपडिका कारण वा छुवाछुतका कारण कामेको भनी विश्लेषण गर्नु गलत हुने बताउन्छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर सिर्जना गौचन भन्छन्  –यसरी विद्यालयमा विद्यार्थिहरु कामेको कुरा नौलो होईन । छाउपडी वा छुतछातका कारण मानिसहरु काम्ने भन्ने कुरा सत्य होईन । यस्तो प्रकारको लक्ष्यणहरु देखीनुलाई हामीहरु मासहिस्टरीया भन्छौ । समान्यतया कुनै पनि मानिसको मनमा एउटा डरलाग्दो कुरा बसेको छ भने यस्तो खालको समस्या देखा पर्छ । मानिसहरु काम्ने मात्र होईन उनीहरुले आफ्नो होस् गुमाउने, मुर्छा पर्ने जस्ता धेरै लक्षणहरु देखा पर्न सक्छ । यस्तो भएमा उनीहरु मध्ये सुरुमा लक्षण देखा परेको व्यक्तिलाई तालिम प्राप्त स्वास्थ्यकर्मि सम्म पुराई परामर्श गराउनु पर्छ । यस्तो हुँदा सुरुमा एक जनाले लक्षण देखाउन्छ त्यस पछि उ सँगै अरु पनि मनमा रहेका डरका कारण पहिलो व्यक्तिले गरेको जस्तै गर्न थाल्छ । यस्तो समस्यामा परामर्श दिनका लागी हामी सँग सुविधा रहेको छ । तिन जना जनशक्ति अहिले जिल्लामा नै भएकाले उहाँहरुलाई हामी सम्म पु¥याउन हामी अनुरोध समेत गर्छौ ।
डोटी जिल्लामा लामो समय देखी छाउपडि प्रथा उन्मुलन गर्ने अभियानमा रहेको महिला तथा बालबालिका कार्यालय प्रमुख दुर्गा भण्डारी वराल भन्छीन् – छाउपडीका कारण यस्तो हुने कुनै सम्भावना नै छैन । मानिसको चेतनाको स्तरमा सुधार हुनु जरुरी छ । त्यो किन भयो खोज अनुसन्धानको विषय हुन सक्छ तर छुवाछुतले मानिस काम्छ भन्नु झुट्टो हो ।
छाउपडि सम्वन्धी परियोजना संचालन गर्दै आएको सम विकास ईडिसि डोटीका परियोजना संयोजक केशब परियार भन्छन् – परियोजना कुप्रर्था विरुद्धको हो  । अभियानमा यस्तो चुनौतीहरु आउन्छ त्यो पनि स्वभाविक नै हो । हाम्रो समाजमा लामो समय देखी रहेको कुप्रर्थाको जडा मेटाउने कुरा समान्य होईन । डोटीमा त परियोजना छ र यस्तो भयो हामीले मान्यौ । देशका विभिन्न स्थानमा त्यो पनि विद्यालयमा नै यस्तो भई रहेको समाचार माध्यमहरुमा आईनै रहेको छ के त्यहाँ पनि छुवाछुत गरेका कारण नै यस्तो भएको हो त ? उनले प्रश्न सहित भनाई राखे ।
जे भएको भए पनि विद्यालयमा यस्तो किन भई रहेको छ यसका बारेमा छानविन हुनु जरुरी छ । विद्यार्थिहरुलाई       सरोकारवालाहरुले समयमा नै उपचार गराउनु पर्ने देखीन्छ । पटक पटक यस्तो भई रहँदा अन्य विद्यार्थिहरुको पनि पढाईमा समस्या हुने भएकोले जिल्ला शिक्षा , जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालय र स्थानियवासीहरुको पनि ध्यान जानु जरुरी छ ।

कपल्लेखि पनि छाउपडि मुक्त

केहि सात अघि मात्र जातिय छुवाछुत मुक्त गाविस बनेको डोटीको कपल्लेखि गाविसले गत शनिवार एक कार्यक्रमको आयोजना गरि आफुलाई छाउपडि मुक्त गाविस घोषणा गरेको छ ।
गाविस सचिब गणेश भट्टको सभापतित्वमा आयोजना भएको छाउपडि मुक्त गाविस घोषणा कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरु प्रस्तुत   गरिएको थियो ।
गाविस सचिब भट्टले भने– आज देखी हाम्रो गाविस छाउपडि मुक्त भएको छ कहि कसैले पनि महिनावारी भएको महिलाहरु माथि छुवाछुतको भावना राखेमा उनीहरुलाई कानूनी रुपमा कार्वाहि गरिने छ । आगामी गाविसको १८ औ गाँउ परिषदबाट हामी छाउपडि मुक्त सम्वन्धी निति नियमहरु बनाउने छौ जो गाँउस्तरमा नै निर्माण हुनेछ र गाँउस्तरमा नै लागु हुनेछ । अब देखी कहि कसैले पनि छुवाछुत गर्नु हुने छैन भन्ने गाविसको पनि विश्वास रहेको छ । सो गाविसमा रहेको महिला अधिकार मञ्चले स्थानिय भाषामा छाउपडि सम्बन्धी सचेतना जोगाउने सड्क नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी हुन आएका एक युवाले भने कपल्लेखि गाविसमा अहिले पनि छाउपडि मान्य चलन छ तर हाम्रो समुदायका महिलाहरु छाउ भए पछि छाउ भएको चार दिन पछि मात्र नुहाउने चलन थियो अहिले सम विकास केन्द्र ईडिसि डोटीले संचालन गरेको छाउपडि प्रर्था विरुद्धको अभियान परियोजना पछि हामीले त्यस्तो विभेद गरेका छैनौ । यो एकै चोटीमा न्युनिकरण हुने कुरा पनि होईन विस्तारै कम हुन्छ र अहिले पनि कम भई रहेको छ ।
उक्त परियोजनाको कार्यक्रम संयोजक केशब परियार भन्छन् हामीले डोटीका ५ ओटा गाविसहरुमा ६ महिनाका लागी मात्र परियोजना संचालन गरेका हौ । यो ६ महिनाको अबधिमा गोठमा सुस्ने महिलाले कम्तिमा घर भित्र सुत्न पाउनु, दुध दहि खान पाउनु दैनिक सरसफाई गर्नु पनि उपलब्धी नै मान्नु पर्छ हामीले यो ६ महिने परियोजनाको । कार्यक्रममा डोटी स्थानिय बुद्धिजिवि, महिला अधिकारकर्मि, स्थानियवासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।  

मुक्त हलियाको अबस्था सार्वजनिक 

नेपाल सरकारले हलियाहरुलाई मुक्त गरे पनि अबस्थामा सुधार नभएको मुक्त हलियाहरुको अबस्था अध्ययन प्रतिबेदन देखाएको छ ।
मुक्त हलियाहरुको अबस्था बुझ्नका लागी गठन भएको अध्ययन समितिले डोटी जिल्लाको डौड र तोलेनी गाविसहरुमा उनीहरुको अबस्था अध्ययन गरि तयार पारेको प्रतिबेदनमा अहिले पनि अबस्थामा सुधार नभएको उल्लेख गरिएको छ । प्रतिबेदन सार्वजनिक गर्न जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरिएको कार्यक्रममा अध्ययन प्रतिबेदन पुरा नभएको सहभगीहरुले जिकिर गरेका छन् ।
प्रतिबेदन अध्ययनकर्ता मध्ये कि एक सदस्य मिना आउजीले भनीन्– हामीले अध्ययन गर्दा मुक्त हलियाहरुले हामीलाई भने सरकारले शिपमुलक तालिम दिनु पर्छ । तर त्यो भन्दा पहिले हामीलाई गाँस र बाँसको व्यवस्था हुनु पर्छ । मुक्त घोषणा मात्र गर्नु ठुलो काम होईन । हामीले फेरी गाँस र वासका लागी साहुहरु कै काम  गर्नु पर्ने र उनीहरुकै मुख ताक्नु पर्ने हो भने मुक्त गरिनु को अर्थ के ?
मुक्त हलियाका बालबालिकाहरुले अध्ययन गर्न नपाई रहेको अबस्था प्रतिबेदनमा उल्लेख छ । उनीहरुलाई विद्यालय सम्म पु¥याउनका लागी पत्रकार तथा मानव अधिकारकर्मि रामहरी ओझाले भने– हलिया बालबालिका विद्यालय जानु पर्छ । उनीहरुलाई विद्यालय सम्म पु¥याउनका लागी नेपाल सरकारले मात्र होईन हलियाको क्षेत्रमा काम गर्दै आई रहेको हलिया मुक्ती समाज, ईन्सेक डोटी र अन्य गरै सरकारी संस्थाहरुले पनि यसका बारेमा सोच्नु पर्छ ।
प्रतिबेदनमा मुक्त हलियाहरुले हाल सम्म परियच पत्र मात्र प्राप्त गरेको उनीहरुलाई व्यावहारिक तथा सिपमुलुक तालिम  प्रदान नगरिएको, उनीहरुका लागी त्यस्तो कार्यक्रम ल्याउनु पर्ने सुझाब समेत रहेको छ ।

पर्यटन र चलचित्र समाचार

पर्यटन सूचना केन्द्र स्थापना जरुरी

सुदुरपश्चिमको मुटु हो खप्तड क्षेत्र । खप्तडको विकास हुनु पर्छ भन्ने वाक्य डोटीका समाजसेवी बुद्धिजिवि राजनैतिक दल मात्र नभई स्थानिय जनताहरुले पनि पटक पटक भन्ने गर्छन् तर अहिले सम्म पनि खप्तड क्षेत्रको विकास गर्ने वा डोटी जिल्लाको पर्यटकिय स्थलहरुको पहिचान र प्रचार प्रसार गर्न महत्वपुर्ण मानिने पर्यटन सूचना केन्द्र स्थापना भएको छैन ।
खप्तड क्षेत्रमा जानका लागी डोटी जिल्लाबाट भित्रने पर्यटकहरुले कुन दिन कहाँ बस्ने बाटोमा के के पाईन्छ । खाना र बाँसका लागी कस्तो व्यवस्था रहेको छ भन्ने बारेमा सूचना चाहेमा कहि कसैबाट सूचना पाउदैनन् अनि कसरी हुन्छ खप्तड क्षेत्र र समग्र डोटीको पर्यटकिय स्थलहरुको बिकास यो प्रश्न खडा छ सबैका सामु । खप्तड क्षेत्रको विकास गर्नका लागी खप्तड क्षेत्र पर्यटन विकास समिति गठन भएको छ । जिल्ला सदरमुकाम सिलगढीमा कार्यालय कर्मचारीहरु पनि रहेका छन् तर खप्तडमा कति पर्यटक भित्रिय त त्यो सूचना छैन । खप्तडबाट फर्किने पर्यटकहरुले त्यस क्षेत्रको बारेमा के भन्छन् सुझाब संकलन भएको छैन, अनि कसरी हुन्छ खप्तडको विकास ? डोटी जिल्लामा धेरै पर्यटकिय, ऐतिहासिक, धार्मिकस्थलहरु रहेका छन् त्यसका बारेमा डोटी कै जनताहरुलाई थाहा छैन भने स्वदेशी तथा विदेशी पर्यटकहरु कसरी भित्रन्छन् त डोटी जिल्लामा ? खप्तड क्षेत्रको विकास गर्नका लागी विश्व भरीका पर्यटकहरुले खप्तडको महत्वको बारेमा जानकारी पाओस् भन्ने उद्धेश्यले २०६७ साल तिर सुरु भएको वेव साईट आज सम्म पनि परिमार्जित भएको छैन अनि पर्यटनहरुले कसरी सहि सूचना पाउने र खप्तड घुम्न आउने ? यि र यस्ता धेरै प्रश्नहरु रहेका छन् पर्यटन विकासका लागी यहाँ ।
नेता होस् वा सामाजिक कार्यकर्ता खप्तड क्षेत्रको नाम बेच्ने र जनतालाई भ्रममा राख्न सधै अघि नै हुन्छन् तर यसक्षेत्रको प्रचार प्रसार र सहि सूचना दिने खालको कार्यक्रम कहिले पनि ल्याउदैनन् । यस क्षेत्रको विकास गर्नका लागी सबै भन्दा पहिले पर्यटन सूचना केन्द्र स्थापना हुनु पर्छ भन्ने हो । अर्को कुरा यस क्षेत्रमा आउने पर्यटकहरुलाई सुविधा दिन वा उनीहरुलाई सुरक्षित गर्नका लागी बाटोमा रहेको साना होटेल संचालनकहरुलाई तालिम दिईनु पर्छ । खप्तड क्षेत्रको पेरीफेरीमा रहेका जनताहरुलाई मार्गदर्शकको रुपमा तालिम दिईनु पर्छ । होईन भने खप्तड अनि डोटी जिल्लाका ऐतिहासिक पर्यटकिय स्थलहरुको नाम बेच्नु मात्र हुनेछ ।  जिल्ला विकास समिति, खप्तड राष्ट्रिय निकुञ्ज, खप्तड क्षेत्र पर्यटन विकास समिति लगायतका सरोकारवालाहरुको यसमा ध्यान जान जरुरी छ ।  

२०१३ का वलिउडका रोमान्टीक गितहरु

व्यावसायका दृष्टिकोणले बलिउडको वर्ष २०१३ औसातभन्दा राम्रो भयो । यो वर्ष बलिउडका केहि चलचित्र २ करोडको क्बलमा पहिलो पटक सहभागी हुन सफल भए । कतिपय चलचित्रले राम्रो व्यवसाय गर्न नसके पनि ती चलचित्र गीत संगीत उत्कृष्ट रहे । वर्ष २०१३ मा प्रर्दशन भएका चलचित्रका गीत संगितको मुल्यांकन गर्ने हो भने रोमान्टिक तथा पार्टी गीतले बढी लोकप्रियता कमाएको देखिन्छ ।
अक्षय कुमारको चलचित्र स्पेसल २६ को गित रोमान्टिक र मायालु छ जसलाई अंगराराग महंताले अक्षय कुमारका लागि गाएका हुन् । सुस्त गतिको यो गित मिठासपुर्ण छ जसलाई सुन्ने जो कोही आफुलाई कतै हराएको अनुभव गर्छ । गीतका शब्द पनि उत्तिकै आकर्षक छन् । यस्तै चलचित्र लुटेरा को गितले श्रोतालाई ७० तथा ८० को दशकमा पु¥याउँछ । जहाँ एक एक शब्दको आफ्नै भिन्नभिन्न अर्थ हुन्छ । रणविर सिंह तथा सोनीया सिन्हाले यो गीतमा लगाएको पहिरनले पनि ७० र ८० कै दशकको स्मरण गराउँछ । गायिका मोनालीलो पातलो तथा मिठासपुर्ण आवाजले यो गितलाई सुन्दर बनाएको छ । यो गितको वोल छ सावर लुटारा ।
बलिउड कै अर्को गित तुम ही हो आशिकी आशिकी ले पनि यस वर्षमा चर्चा कमाएको छ प्रेम गर्ने जोडीहरुको मुखमा झुण्डीन सफल एक मात्र यहि नै हो भन्दा सायद फरक नपर्ला । यो गितका शब्द तथा संगीतले कसैलाई पनि मोपहत तुल्याउन सक्छ । गीतको भाव स्पष्ट बुझ्न सकिने खालको छ । गीत सुन्ने श्रोताहरु आफुलाई गीतमै हराउँछन् ।

छोटो समाचार

रजिष्टार डोटीमा

त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा. चन्द्रमणि पौडेल डोटी पुगेका छन् ।
डोटी जिल्लाको सबै भन्दा पुरानो त्रिभुवन विश्व विद्यालयको आङ्गिक डोटी बुहुमुखि क्याम्पसले छात्रहरुका लागी निर्माण हुने छात्रावास भवन शिलन्यास गर्नका लागी पौडेल डोटी पुगेका हुन् ।
डोटी पुगेका डा. पौडेललाई स्वागत गर्नका लागी डोटी बहुमुखि क्याम्पसले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै भने– डोटी जिल्लाको शैक्षिक विकास गर्न योगदान पु¥याएको यस जिल्लाको सबै भन्दा पुरानो क्याम्पसले सर्वाङ्गिण विकासका लागी म त्रिभुवन विश्व विद्यालयमा कुरा गर्ने छु । स्वागत कार्यक्रममा डोटी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर कठायतले क्याम्पसको अबस्थाको बारेमा डा. पौडेललाई जानकारी गराएका थिए ।

ईन्सेकको गोष्ठी

डोटी जिल्लामा लामो समयदेखी मानव अधिकारको क्षेत्रका कार्य गर्दै आई रहेको ईन्सेक डोटीले अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको जिल्लाका सरोकारवाला संस्थाहरु सँगको अन्तक्रिया कार्यक्रममा मानब अधिकारकर्मि तथा पत्रकार रामहरी ओझाले डोटीमा मानब अधिकारको अबस्था बारे कार्यपत्र प्रस्तुत गरेको ईन्सेक डोटीले जनाएको छ ।
कार्यक्रमका सहभागीहरुले मानबअधिकारको रक्षा गर्न आफुहरु लागी पर्ने बताएका छन् ।

लेख

किन नहुने राष्ट्रपतिको चुनाव ? 

–रामहरी ओझा

हिजोआज वजारमा नयाँ राजनीतिक चर्चा छ, संबिधानसभाको निर्वाचनपछि यो चर्चाले निकै वजार पाएको छ । त्यो वसह सामान्य वहस होईन । नेपालको राष्ट्रप्रमुखको वहस हो । मंसिर ४ गते अर्को संबिधानसभाको निर्वाचन सम्पन्न भएपछि अव राजनीतिक शक्तिहरु दुई ध्रुवमा बिभाजन भएका छन । नयाँ जनादेश आईसकेकाले राष्ट्रपति नयाँ चुनिनु पर्छ भन्ने एकथरीको भनाई छ भने अर्कोथरी यो चुनाव राष्ट्रपति छान्नका लागि नभएको र संबिधान निर्माण गर्नका लागि भएकोले राष्ट्रपति पुरानै कायम रहनुपर्छ भन्ने तर्क छ ।
तार्किक हिसावले दुवै पक्षले जति पनि तर्क गर्न सक्लान तर नेपालको अन्तरीम संबिधान २०६३ को मर्म र भावना अनि न्युनतम प्रजातान्त्रिक मान्यताहरुलाई ध्यान दिनु जरुरी हुन्छ । नेपालको अन्तरीम संबिधान २०६३ मा २०६५ साल जेठ १६ गते चौथो संसोधन गरिएको र भाग ४ क थपियो । जसमा राष्ट्रपति हुने र राष्ट्रपतिको चुनाव हुने भन्ने व्यवस्था    राखियो । धारा ३६ ख मा राष्ट्रपतिको निर्वाचन संबिधानसभाले गर्ने भन्ने व्यवस्था उल्लेख गरिएको छ । संबिधानसभाले राष्ट्रपति र उपराष्ट्रपति छान्ने भन्ने व्यवस्था लेखिएको छ । संबिधानसभाको निर्वाचन भएको छ, अव नयाँ जानदेश प्राप्त संबिधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्नु पर्ने हो । जहाँसम्म राष्ट्रपतिको पदावधीको कुराको बिषयमा अहिले चर्चा भईरहेको छ, धारा ३६ग मा  “राष्ट्रपतिको पदावधि संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुनेछ ।” भन्ने प्रष्ट व्यवस्था छ तर त्यो व्यवस्था पहिलो संबिधानसभावाट संबिधान जारी भएको हकमा थियो । पहिलो संबिधानसभाले संबिधान जारी नगरी मृत्युवरण गरेको अवस्था राष्ट्रपतिको पद त स्वतः समाप्त हुन्छ । यसमा संबैधानिक रुपमा, प्रजातान्त्रिक मुल्य मान्यताका आधारमा र सहमतिको राजनीतिका आधारमा पनि राष्ट्रपति पुरानै कायम हुनु पर्ने त कुनै अवस्थानै रहँदैन ।
यदि वजारमा आएको जस्तो संबिधानसभाले नयाँ संबिधान जारी नगरेसम्म राष्ट्रपति एउटै व्यक्ति रहने भन्ने तर्क हो भने प्रश्न उठ्छ, “अर्को संबिधानसभाको निर्वाचन किन गरियो ?” अन्तरीम संबिधानको धारा ८२ मा “संविधान सभाले पारित गरेको संविधान प्रारम्भ भएको दिनदेखि संविधानसभाको काम समाप्त हुनेछ ।” भन्ने व्यवस्था उल्लेख गरिएको छ । यस धारा अनुसार संबिधानसभाको बिघटन तव मात्र हुन्छ जव नयाँ संबिधान जारी हुन्छ । अनि २०६९ साल जेठ १४ गते मध्यरातमा किन संबिधानसभा बिघटन गरियो र किन अर्को निर्वाचन गराईयो ? अहिले पनि नयाँ संबिधान निर्माणका बिवादित मुद्धाहरु जस्ताका त्यस्तै छन । जनताले दिएको म्याण्डेट अनुसार अहिले पनि कसैले दुई तिहाई वहुमत ल्याउन सकेका छैनन् । उग्रपन्थी शक्ति, प्रगतिशिल शक्ति, यथास्थितिवादी शक्ति र प्रतिगमनकारी शक्ति गरी चारवटा शक्तिहरु अहिले पनि संबिधानसभामा सशक्त प्रतिनिधित्व गरिरहेका छन । यसका साथसाथै संबिधानसभा वाहिर रहेका राजनीतिक शक्तिहरुले पनि खवरदारी गरिरहेका छन । यो “सिनारियो” ले अहिलेको संबिधानसभाले पनि नयाँ संबिधान जारी गर्ला भन्नेमा संका व्यक्त गर्नु अपराध     होईन होला । यदि यो संबिधानसभा पनि बिघटन गरियो र तेश्रो संबिधानसभाको निर्वाचन भयो भने के यिनै हुन्छन त          राष्ट्रपति ?
बिषय कुन व्यक्ति राष्ट्रपति हुने वा नहुने भन्ने होईन । प्रत्येक नेपाली नागरिकले राष्ट्रपति पदको दावी गर्न पाउने हाम्रो संबिधानले अधिकार दिएको छ । त्यसकारण यहाँ डाक्टर, बैद्य, धामी(झाक्री जो पनि राष्ट्रपतिको उम्मेदवार हुन पाउने छन । तुलनात्मक रुपमा अरु भन्दा वर्तमान राष्ट्रपति कम बिवादमा परेका छन, त्यसकारण उनलाई फेरी पनि राष्ट्रपति वनाउँदा कुनै अपराध हुँदैन पनि । उनले प्रतिनिधित्व गर्ने भुगोल, समुदाय र उनको बौद्धिकताले पनि उनी राष्ट्रपति हुन योग्य छन । यसमा कसैको पनि बिमति छैन । बिमति के कुरामा मात्रै हो भने हामी जुन अन्तरीम संबिधानको मातहतमा देश चलाउने कुरा गर्दैछौं त्यसको अपव्याख्या गरेर देशै अन्योलतातिर लैजान खोज्दैछौं ।
नेपाली जनताले लामो समयसम्म गणतन्त्र नेपालको स्थापना गर्नका लागि दिएको वलीदानी शाहवंशीय राजतन्त्रको अन्त्य गरेर फेरी कुनै अनिर्वाचित व्यक्तिलाई वा एक पटक निर्वाचित भएको व्यक्तिलाई वर्षौंसम्म राष्ट्रप्रमुख वनाईराख्नका लागि गरेका थिएनन् । जनताको माग आवधिक निर्वाचन मार्फत जनतालाई राष्ट्रप्रमुख, सरकार प्रमुख र आफ्ना जनप्रतिनिधिहरु चुन्न पाउनु पर्ने हो । त्यो जनताको नैसर्गिक अधिकार पनि हो । प्रतिनिधिमुलक प्रजातान्त्रिक व्यवस्थामा हामीले संबिधानभा संबिधानसभाका सदस्यहरुले राष्ट्रप्रमुखको चयन गर्ने कुरा उल्लेख गरेपनि त्यो जनताले नै छानेको मानिने हुन्छ । जनताले २०६४ सालको निर्वाचनमा एक प्रकारको जनादेश दिएका थिए र अहिले २०७० सालमा फरक जनादेश दिएका छन । त्यसैले फरक जनादेश अनुसार राष्ट्रप्रमुख, उपप्रमुख आदिलाई ताजा जनादेशप्राप्त जनप्रतिनिधिहरुवाट अनुमोदन गराउनु    पर्छ ।
२०६५ सालमा जम्मा दुई वर्षका लागि मात्र डा. रामवरण यादव राष्ट्रपति चुनिएका हुन । अन्तरीम संबिधानको धारा ६४ अनुसार संबिधानसभाको कार्याकाल दुई वर्षको मात्र हो । संबिधान निर्माण हुन सकेन दुई वर्षको कार्यकाल चार वर्ष हुँदा           राष्ट्रपतिको म्याद स्वतः बढ्दै गयो । जुन संबिधानसभाले दुई वर्षमा संबिधान वनाउने भनेको थियो उक्त संबिधानसभानै रहेन । उक्त संबिधानसभा उर्फ व्यवस्थापिका – संसदले चयन गरेका प्रधानमन्त्री पनि रहेनन्, संबिधानसभा अध्यक्ष पनि रहेनन् तर राष्ट्रप्रमुख रहिरहे । त्यो पनि ठिक छ । तर अव नयाँ खालको जनादेश आईसकेपछि त राष्टूपति आफैले पनि नैतिकता देखाउनु पर्ने हो । हाम्रो देशमा नैतिकताको त अनिकालै परेका हुनाले होला रामवरणले पनि नैतिकता भन्ने शव्द पाएनन ।
भारतको दिल्ली प्रदेशमा भएको प्रान्तीय निर्वाचनमा भारतीय जनता पार्टी सवै भन्दा ठुलो पार्टी भएर पनि स्पष्ट वहुमत नहुदा आफुलाई सरकार वनाउन योग्य ठानेन् । यसो हेर्दा राजनीतिक नैतिकता त भारतमा छ भन्ने देखिन्छ नि । यद्यपी कतिपय सवालहरु छन जसका कारण हामी भारतीय राजनीतिज्ञहरुको आलोचना गर्छौं तर नैतिकतालाई मात्रै हेर्ने हो भने त उनीहरुको प्रसंसा वा उनीहरुवाट हामीले पनि पाठ सिक्नु पर्ने हुन्छ कि ! आलोचना गर्न योग्य कुराहरुको आलोचना गर्ने        हो सिक्ने कुराहरुको त समर्थन पनि गर्नु पर्ला कि !
अर्को एउटा अचम्मको वहस हुँदैछ अहिले राजनीतिक बृत्तमा यो चुनाव संबिधान वनाउनका लागि हो रे, राष्ट्रपति छान्नका लागि होईन रे, त्यसैले राष्ट्रपतिको बिषयमा वखेडा झिकेर संबिधान वनाउने कार्यमा ढिलाई नगरौं रे । रमाईलो कुरा संबिधानसभाको निर्वाचन भएको झण्डै डेढ महिना पुग्दा र निर्वाचन आयोगले पटक पटक आग्रह गर्दा समेत सभासदहरुको सूची समेत नवुझाउँदा संबिधान निर्माणमा ढिलाई के राष्ट्रपति निर्वाचनका कारण भएको हो ? आफ्नै पार्टीभित्रको बिवादका कारण संबिधानसभालाई पूर्णता दिने कामनै थप्प पार्दा संबिधान निर्माणमा ढिलाई नहुने । प्रक्रियामा गएर दुई÷तीन दिनमै नयाँ       राष्ट्रप्रमुख चयन गर्दा ढिलाई हुने यो गाउँखाने कथा जस्ता तर्कहरु गरेर बिवादलाई झन वल्झाउने काममा लाग्नु मुर्खता वाहेक अरु केही पनि हुनेछैन ।
संबिधान निर्माणको बिषयमा राजनीतिक सहमति कायम हुनु पर्ने कुरा उल्लेख गरिएको राजनीतिक सहमतिका लागि “पावर शेयरिङ्ग” पनि अनिवार्य हुन्छ । पावर शेयरिङ्ग नयाँ जनादेश अनुसार हुने कुरा हो । कुन राजनीतिक दलले संबिधानसभामा कुन खालको हैसियत प्राप्त गरेको छ, त्यो आधारमा उसको स्थान निर्धारण गरिनु पर्छ किनभने हाम्रो राजनीतिक संस्कार पदलोलुपतामा चलेको छ । पद लोलुपताकै कारण २०६४ को संबिधानसभामा पनि बखेडा भएको थियो । राजनीति हैसियतका आधारमा शक्तिको वाँड्फाँड हुनुपर्छ भन्नेहरु अहिले आएर सहमतीय राजनीति गरौं तर शक्तिको वाँड्फाँडको कुरा नगरौं भन्न थालेका छन । के यस्तो भयो भने राजनीतिक सहमतिले मुर्त रुप लेला त ?
२०६४ को संबिधानसभामा संख्यात्मक हिसावले पहिलो र दोश्रो दलका बिचमा दोव्वर भन्दा पनि बढीको फरक थियो  अर्थात दोश्रो र तेश्रो दलको संख्या जोड्दा समेत पहिलो दललाई छुन अझै केही संख्या थप गर्नु पर्ने अवस्था थियो । त्यो अवस्थामा पनि शक्तिको वाँडफाँडलाई उच्च प्राथमिकताका साथ वार्गेनिङ्ग गरिएको थियो भने अहिले त पहिलो र दल र दोश्रो दलका बिच २१ सिटको मात्र फरक छ । त्यसैले यस बिषयलाई ध्यान दिनु जरुरी छ । त्यसैले अहिलेको राजनीतिक अवस्थालाई, संबैधानिक अवस्थालाई र प्रजातान्त्रिक मुल्य मान्यतालाई तिलाञ्जली दिएर “राष्ट्रपतिको बखेडा नझिकौं” भन्नुमा कुनै पनि तुक र तर्क छैन ।
व्यक्ति उनै होलान त्यसको कसैको पनि आपत्ति छैन तर जनतावाट अनुमोदन भएका प्रतिनिधिहरुले फेरी अनुमोदन गर्न पाउने कि नपाउने ? बिषय त्यहाँ छ । त्यसैले राष्ट्रपतिको चुनाव गरिनु पर्छ । त्यसका लागि वर्तमान राष्ट्रपतिले आफ्नो पदवाट राजीनामा दिएर संबिधानसभाका लागि मार्ग प्रसस्त गर्नु पर्छ । अन्यथा रामवरण यादव पनि पद लोलुप हुन भन्ने सवैको बुझाई हुनेछ ।

मोफसल पत्रकारीता

मोफस आफै मोफसल बनेको होइन राज्यले बनाएको हो ।

 – मानसिंह विक रोल्पा

तपार्इंको पुरा परिचय पाउँ न ?
 म मानसिंह बिक २०४३ सालमा जन्मेको हुँ । म हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको २ अबधी सचिव, क्रान्तिकारी पत्रकार संघको केन्द्रीय समिति सदस्य, मोफसल मिडिया समाजको केन्द्रीय सदस्य, रोल्पा समाचार साप्ताहिको प्रकाशक तथा कार्यकारी सम्पादकको रुपमा कार्य बहन गर्दैछु ।
 तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
मेरो पत्रकारिता पेशा रोज्नुको कारण निकै फरक छ । मैले पत्रकारिता गर्छु भनि सोचेको पनि थिएन । तर विस्तारै पत्र, पत्रिका, रेडियो नेपाल सुन्दै गर्दा एक दिन रेडियोमा दलितलाई सार्वजनिक पानी धारा छोएको निहुँमा कुटपिट भएको सामाचार सुनेँ, त्यसबाट मैले सञ्चारमाध्यमको पं्रभावकारिताबारेमा बुझँे, वास्तवमा हाम्रो समुदाय सामाजिक, आर्थिक, राजनीतिक, सामाजिक बञ्चितिकरणमा परेकोले यो देशमा तरबारको लडाई भन्दा विचारको लडाई निकै बलियो हुन्छ । त्यसैमा अझै विचार सहितको कलमको लडाई निकै पेचिलो र परिवर्तनका लागि राम्रो हुने भएकोले गर्दा मैले पत्रकारिता पेशा राजेको हुँ । म जतिबेला युद्धमा सहभागिता थिए । म करिव १२ वर्षको उमेरदेखि नै जनयुद्धमा सहभागि भएको थिए । म विद्यार्थीकालमा रचनाहरु निकै गर्दथे । मैले आफ्नो रचना बाचन नगरेको कार्यक्रम अपवादका रुपमै हुन्थ्ये होला । मेरो लेखनकला तथा वाचनकला मन पराएर नेतृत्वहरुले सञ्चारविभागको जिम्मा दिएका थिए । त्यसैबाट मैले पत्रकारिता पेशा रोजाईको विषय बनाए । साथै एक जना सेनाले चलाएको गोलीको प्रभाव सिमित क्षेत्रमा हुन्छ भने पत्रकारले लेखेको सामाचारको प्रभाव असिमित हुने भएकोले गर्दा मैले थप जिम्मेवारी पूरा गर्नका लागि मैले मेरो रोजाईको पेशा बनाए पत्रकारिता पेशालाई ,।
 कति समय भयो यस पेशामा लागेको ?
 यो पेशामा लागेको करिव एक दशक भन्दा बढी भएको छ । २०५८ सालदेखि मैले सामान्य रुपमा सामाचार लेखेर पठाउँथे । तर पेशेवररुपमा लागेको २०५९ सालदेखि नै हो । मैले रोल्पाको हाम्रैँ गाउँ नकिजै जनादेश छापिन्थ्यो त्यो स्थानमै रहेर समाचार लेखेर, २०६० मा रेडियो जनगणतन्त्र रेडियो सञ्चालन भएको थियो । त्यही रेडियोको पश्चिम तथा दक्षिण कमाण्डको समाचारदाताको रुपमा काम गर्दै युद्धपत्रकारिता गर्दै, कहिले जनताको बीचमा, कहिले बम गोलाको बीचबाट रिपोटिङ गर्दै तत्कालीन नेकपा (माओवादी) तथा संसदीय राजनीतिक दलबीचमा जसरी १२ बुंदे सहमति भयो, त्यसै परिस्थितिमा मलाई पनि पार्टी तथा संगठनले सदरमुकामको जिम्मा दियो मैले त्यसै अनुसार काम गरे । त्यसैको निरन्तरतामा काम गरिरहेको छु ।
 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ?
 राजनीतिक हो । किन कि मैले राजनीतिक जीवनबाट नै पत्रकारिता शुरु गरेकोले गर्दा मलाई मन पर्दछ । अर्काे कुरा सबै कुराको मेरुदन्ड राजनीतिक नै हो । राजनीति सुधारको दिशामा गयो भने देश तथा आम नागरिकको जीवन सुधारतिर जान्छ । त्यसैले गर्दा आममानिसलाई सुसुज्ति बनाउने राजनीतिक हो । साथै बिकास पत्रकारतिा मन पर्दछ ।
रोल्पामा पत्रकारीता गर्न कतिको कठीनाई रहेको छ ?
रोल्पामा बसेर पत्रकारिता गर्दा निकै समस्या छ, चुनौती पनि छ । दुर्गम तथा पहाडि जिल्लामा बसेर पत्रिका प्रकाशन गर्दा पनि निकै चुनौती रहेको छ । बजारको अभाव, यातायताको विस्तार भएको छैन । सूचना सञ्चारको दृष्टिकोणले निकै पछाडि परेको जिल्ला, गाउँको समाचार आई पुग्न र पत्रिका पुग्नका लागि करिव १ महिना अझै पनि लाग्छौ । पत्रिका सञ्चालनको लागि कुनै श्रोत छैन । आन्तिरिक कलकारखाना छैन, बजार छैन । पत्रिका प्रकाशन गर्नका लागि र कर्मचारीलाई खुवाउन पनि धौ–धौ हुन्छ । श्रमजिवि ऐन तथा न्यूनतम पारिश्रमिक दिने कुरा निकै कठिन पूर्ण छ । अझै त्यसैमा जिल्लाका सरोकारवालाले आफ्नो भन्ने भावनाको विकास गर्न सकेका छैनन् । राजनीतिक, आर्थिक, सामाजिक रुपमा कठिन भएको महसुस गरेको छु । रोल्पा समाचार साप्ताहिक २०६३ साल कात्तिक १७ गतेबाट प्रकाशित भएको हो । हामीले स्थानीय खवरहरुको संगालोको रुपमा विकास गरि हाल आफ्नै अफसेटबाट प्रकाशित हुन्छ । हरेक आईतबार प्रकाशित हुने नेपाल सरकारबाट वर्गिकृत क वर्गको पत्रिका सञ्चालन गरिरहेका छाँै । रोल्पा जिल्लामा अरु पत्रिका कोही दुई दिनमा पछि, कोही सध्या समयमा निस्कन्छ भने हाम्रो मात्रै पत्रिका हो जो हामीले समयमै प्रकाशन गर्दछौँ । हामी उदाहणीय पात्र बन्न सकिरहेका छाँै हालसम्म आगामी दिनमा त्यो गति कायम गर्न सक्छौँ भन्ने आत र शाह पैदा भएको छ ।
 रोल्पा जिल्लाको पत्रकारितालाई कसरी मुल्याँकन गर्नु भएको छ ?
 रोल्पा जिल्लाको पत्रकारिताको  करिव एक दशक भन्दा लामो समयलाई मूल्याङ्कन गर्दा विगतमा पत्रकारिता पेशा सहज जस्तो लागेको थियो । तर, वर्तमानको पत्रकारिता पेशा निकै जटिल र चुनौती पूर्ण रहेको छ । मेरो अनुभवमा पत्रकारिता पेशा समाजमा सम्मानित पेशा भए पनि राज्यले सम्मान गर्न सकेको छैन । रोल्पा जिल्लामा सञ्चारमाध्यम कुनै व्यवसायिक योजना, बजारको अध्ययन विना नै सञ्चालन गर्ने होडबाजी लागिरहेको छ । रोल्पा जिल्लामा हामीले सञ्चालन गरिरहेको रोल्पा समाचार साप्ताहिक पहिलो समाचार मूलुक साप्ताहिक पत्रिका हो । सञ्चार माध्यमहरु निकै बढिरहेका छन् तर सञ्चारकर्मीको पेशा ओरालो लागिरहेको छ । यसको प्रभाव रोल्पा जिल्लामा पनि छ । सञ्चारमाध्यमहरु विचार आस्था, कुनै कुरालाई क्षणिक समय लक्षित गरेर सञ्चालन गरेपनि त्ययसको भविश्यकालसम्म दीगो हुन सक्दैन । त्यसैले पत्रकारिता पेशा पनि दीगो हुन सकिरहेको छैन । रोल्पा जिल्लामा पत्रकारहको संख्यात्मक रुपमा बृद्धी भए पनि गुणात्मक विकास हुन सकिरहेको छ । पत्रकाररिता पेशा हाम्रो बढ्दो सामाजिक सञ्जाल तथा आधुनिक सञ्चारका प्रविधीहरुले हाम्रो पत्रकारिता पेशालाई चुनौती दिई रहेको छ । रोल्पा जिल्ला पनि त्यसबाट अछुटो रहन सकेको छैन ।
 लामो समयदेखि मोफसलमा वसेर पत्रकारिता गर्दै हुनुहुन्छ, चुनौतीहरु के के हुन जस्तो लाग्छ माफसल पत्रकारिताका ?
 मोफस आफै मोफसल बनेको होइन, राज्य, सरकारले गरेको विभेदपूर्ण कार्यबाट नै मोफसल बनाइएको हो । मोफसलमा बसेर पत्रकारिता गर्दाको मुख्य चुनौती राज्य मोफसलका मिडियामैत्री बन्न सकिरहेको छैन । केन्द्रीकृत राज्यप्रणालीको अबशेषहरु मिडिया क्षेत्रमा पनि छ । राज्यको नीति त छदैछ, त्यसको अलावा राजधानीमा रहेका सञ्चारकर्मी, सञ्चार माध्यमहरु पनि मोफसलका मिडियाप्रति सकरात्मक दृष्टिकोण छैन । त्यस्तै राजधानीको सम्पूर्ण मिडियामा ८० प्रतिशत सामाग्री मोफसलको राख्छन् र बजारमा एउटा मार्केट बनाउन सक्छन् तर पनि अरु मोफसलका सञ्चारकर्मीहरुप्रति कुनै र कहिल्यै पनि सकरात्मक बन्न सक्दैनन् । त्यसैले यो केन्द्रीकृत राज्य व्यवस्थाको उपज हो मुख्य चुनौती यही होे । यसका साथ साथै राज्यले विगतदेखि गर्दै आई रहेको सौतेनी आमाको व्यवहारबाट जहिले पनि मोफसल पीडित भयो । यो अबस्थाको अन्त्य गर्नुपर्दछ । त्यस्तै रोल्पा जिल्लामा आन्तरिक विद्युत उत्पादन नहुनु, जिल्लाभरी नै सञ्चार सेवाको पहँुच नहुनु, रोल्पा जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाहरुले आफ्नो आवाज वुलन्द गर्ने माध्यमको रुपमा बुझ्न नसक्नु नै हो । जनशक्तिको अभाव, दक्षताको अभाव, क्षेत्रगत रिपोर्टरको अभाव, आर्थिक अभाव, प्रेसको अभाव, सबैको समानुपातिक समावेशी आवाजहरु प्रकाशन गर्न नसक्नु नै हो ।
 मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
राज्यले आगामी दिनका कानून तथा ऐन नियममा लोककल्याणकारी नीति अनुसार जिल्लाका सबै सूचना, बोलपत्र, आशय पत्र, मालपोत कार्यालयको सूचना, राहदानी हराएको सूचना लगायत सबै सूचना जिल्लाबाट प्रकाशन हुने पत्रिकालाई दिने लगायत मोफसलको मिडिया विकासको लागि राज्यको ऐन तथा कानूनमा आमूल परिवर्तन, तथा कार्यन्वयन जरुरी देखिन्छ । साथै मोफसलका मिडियाकर्मीहरुको बिकासका लागि गर्नु पर्दछ । त्यस्तै मोफसलका मिडिया तथा सञ्चारकर्मीहरुको विकासका लागि राज्य, निजी क्षेत्र लगायतले राज्यको मूलधारबाट बाहिर भएको समुदायको आवाज बुलन्द गर्ने, पत्रकार पनि मोफसलका हुन्, मिडिया पनि मोफसलका हुन् भन्ने निष्कर्षमा पुगेर आगामी दिनमा योजना तर्जूमा गर्नु पर्दछ । अब योजना तर्जूमा गर्दा राजधानीबाट होइन कि मोफसलबाट गर्नु पर्दछ । पिरामिडलाई पुरै १८० डिग्रीमा फर्काएर गर्नुपर्दछ ।
  अहिले पत्रकारिता क्षेत्र वद्नामित हुँदैछ, पत्रकारिता क्षेत्रमा लागेकैहरुले दिउँसै जाँड खाएर हल्ला गर्ने, केटी घुमाउन लैजाने, समाचारलाई लिएर मोलमोलाई गर्ने जस्ता प्रबृत्तिहरु पनि देखिएका छन भन्ने आरोप छ, रोल्पातिरको अवस्था कस्तो पाउनु भएको छ ?
तपाईले महत्वपूर्ण विषय उठाउनु भयो । यस्तो विचार बोकेका पत्रकारहरुको संख्या पनि नभएको होइन । द्वन्द्ववादको नियम हो राम्रो संगै नराम्रो पनि हुन्छ । तर हामी नेपालको सन्दर्भ रोल्पाको सन्दर्भमा सकरात्मक पत्रकारिता गर्नेहरुको तुलनामा यस्तो काम गर्ने गैर पत्रकारहरु कमै भेटिन्छन् । पत्रकारिता पेशालाई मर्यादित बनाउनका लागि पछिल्लो समयमा केही समस्या पैदा भएको छ । हाल विभिन्न स्वार्थको बोकी पत्रकारिता पेशा अंगाल्ने पत्रकारहरुको संख्या पनि कम छैन । त्यसैले पत्रकारिता  पेशा बदनाम भएको कुरा पनि सत्य हो । तर हामी जस्तो कर्मठ पत्रकारहरुको समूहबाट तिनीहरुलाई पुरै बहिस्कार गर्नु पर्दछ । पत्रकारिता पेशामै आउन दिनु हुदैन । त्यस्ताले हामी केही सकरात्मक पत्रकरिता गर्नेहरुको लागि पनि निकै चुनौती छ । यस्तो चरित्र बोकेका पत्रकारहरु रोल्पामा छैनन् । हाम्रो जिल्ला नमूना जिल्ला जस्तै बनेको छ ।


कला साहित्य र संस्कृति

सुन मेरी दिदी बैनी सुन हो दाजु भाई
जरै देखी उखेल्नु छ छाउपडी प्रथालाई
हातमा हात मिलाएर अघि अघि सरौँ
छुवाछुत नारी माथि भेदभाव नगरौ
गाँउघरका महिलालाई अघाडी लानु छ
छुवाछुत अन्ध विश्वास छोडेर जानु छ
एक्लै होईन एक जुट भई लाग्ने बेला भयो
नारी अनि पुरुषले जाग्ने बेला भयो
शान्ती बलायर 
कक्षा ४ 
नवदिप विद्या निकेतन वोडिङ्ग 
भुमिराजमाण्डौ , डोटी  

बन्धनहरु टुटाई तिमीले
नमेटिने दाग लगायौ
यादहरु जलाई तिमीले
मनभित्र आग लगायौ ।१।
साटेका ति दुई मुटु
कसम पनि घात भए
मुटुलाई जलाई तिमीले
मन भित्र दाग लगायौ ।२।
भई सकेको छ छिया छिया
मन मुटु मेरो पनि
छिया छिया भएको मुटुमा तिमीले
नमेटिने दाग लगायौ ।३।
तिम्रो समामु आउन खोज्दा
डरलाग्दो झाँकी देखायौ
त्यतिमै सन्तुष्टी गर्दा मैले
मेरो मुटु भित्र आग लगायौ ।४।
बदल्ने गर्छ रक्तचाप मेरा
तिम्रो याद विर्सिए पछि
यस्तो खतरा लक्षण देखिने
मुटु भित्र आग लगायौ ।५।    
गणेश सुचिकार, कक्षा ९ 
ईन्द्र उमावि लेकगडा 
तिखात्तर गाविस डोटी

धनी वाउकी छोरीले
विग्रेकी ति मोरीले
मन चोरी लग्यो मेरो
विग्रेकी मोरीले
पागल वनाई छाडी गयौ
वग्यो आँसुको धारा
एक्लै वस्नु पर्ने रैछ
कोहि छैन मेरो सहारा
निष्ठुरी काली मोरी छोडी
जाने तिनी गोरी
एक्लै वस्छु म अहिले
भेट्न आउ तिमी भोली
धनी वाउकी छोरीले
मन चोरी लग्यो मेरो
तिम्रो वाउलाई सम्झाई राख्नु
म ल्याउला विहेको घोडो
अन्जान 
सिलगढी–२

विज्ञापन सन्देश

 
जातजातीका आधारमा जातीय सर्वोच्चता वा घृणाका आधारमा आधारित बिचारको प्रचार गर्ने, कुनै पनि व्यक्तिलाई श्रममा लगाउन ईन्कार गर्ने, श्रमवाट निष्कासन गर्ने, अपमानजनक शव्द प्रयोग गर्ने वा गराउनवाट उक्साउने कार्य समेत गर्नु  गराउनु हुँदैन । त्यस्ता कार्य भए गरेमा कानुनले तोके बमोजिमको दण्ड सजाय हुनेछ ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग


शिक्षक आवश्यकता सम्वन्धि सूचना

प्रथम पटक मिति ः– २०७०÷०९÷११ गते
यस श्री दुर्गा मा.वि. जोशीगाँउमा राहत (करार) दरवन्दीमा शिक्षक पदपुर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका शिक्षा नियमावलीको नियम ९१ सम्वन्धीत ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त आह्वान गरिन्छ ।
तपसिल
बिज्ञापन नं. ः— १÷०७०÷०७१
पद ः– शिक्षक
दरवन्दी ः– राहत करार
तहः– मा.वि. तृतिय,  विषय ः– गणित
संख्या ः– १ जना,
शैक्षिक योग्यता ः– वि.एड.÷वि.ए.सि. वा सो सरह उत्तीर्ण÷तालिम प्राप्त, अध्यापन अनुमति पत्र प्राप्त
उमेरको हद ः– १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको,
परिक्षा दस्तुरः– रु. १०००÷–,
तलब स्केल ः– नेपाल सरकारको नियमानुसार
परीक्षाको किसिम ः लिखित र अन्तरवार्ता
दरखास्त दिने अन्तीम मिति  ः– २०७०÷०९÷२५
सम्पर्क मिति ः– २०७०÷०९÷२६
सम्पर्क फोन ः– ९८४८६४१४८४÷९८४८६५९३४८
उम्मेदवारले आप्mनो शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी, स्थायी अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी र तालिम प्रमाण पत्रको प्रमाणित प्रतिलिपी, पासपोर्ट साईज फोटो दुई–दुई प्रति सहितको निवेदन बिद्यालयमा पेश गर्नु पर्ने छ । स्थानीय दलित, जनजाती र अपाङ्गलाई प्राथमिकता दिईनेछ । म्याद नाघि आएका वा रित नपुगी  आएका निवेदन  उपर कुनै कारवाही हुने छैन ।
प्रधानाध्यापक 


नेपाल सरकार
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय, डोटी 

लिलाम बडाबडद्वारा सामाग्री विक्री सम्बन्धी सूचना ।

प्रथम पटक प्रकाशित मितिः २०७०÷०९÷१४ गते

उपरोक्त सम्वन्धमा यस कार्यालयको मिति २०७०÷८÷२८ गते वसेको सामानहरुको मूल्य निर्धारण समितिको वैठकवाट यस कार्यालयमा रहेका सामानहरुको मूल्य निर्धारण गरेका तपसिल वमोजिमका विभिन्न प्रकारका मालसामानहरु लिलाम बडाबड प्रकृयाद्वारा विक्री गर्न निम्न शर्तको अधिनमा रही उक्त सामाग्रीहरु जे जस्तो अवस्थामा छ । सोही अवस्थामा लिलाम बडाबडद्वारा विक्री गरिने भएकोले सम्वन्धीत सवैको जानकारीका लागि यो २१ दिनको सूचना प्रकाशित गरिएको छ ।
निम्न
१. जिल्ला विकास समितिको कार्यालय, डोटीको जिन्सी माल सामानहरुको छुट्टा छुट्टै लिलाम गर्ने अवस्था नभएको कारण देहायका सामानहरु एक मुष्ट मूल्यमा लिलाम विक्री गरिने छ ।

सामानको बिवरण हेर्नका लागि मिति २०७० साल पुष १६ गते प्रकासित बिम्ब नेपाली साप्ताहिक हेर्नु होला 

२. जिल्ला विकास समितिको कार्यालय, डोटीको जिन्सी सामानको मूल्यांकन भए अनुसार देहायका माल सामानहरु मध्ये मोटर साईकल तथा अन्य मेसीनरी सामानहरुको प्रति सामानको मूल्य कायम भए अनुसार अलग अलग मूल्यमा लिलाम विक्री गरिने छ ।
सामानको बिवरण हेर्नका लागि मिति २०७० साल पुष १६ गते प्रकासित बिम्ब नेपाली साप्ताहिक हेर्नु होला 
३. लिलाम बडाबडमा भाग लिन चाहने व्यक्ति वा फर्मले यो सूचना प्रकाशित भएको मितिले एक्काइसौं दिन भित्र कार्यालय समयमा आफ्नो नाम दर्ता गरी सक्नु पर्नेछ ।
४. नाम दर्ता भएका व्यक्तिहरुले मात्र लिलाम बडाबडमा भाग लिन पाउने छन् ।
५. यो सूचना प्रकाशित भएको मितिले बाईसौं दिनको दिउँसो १ः०० देखि लिलाम बडाबडको प्रकृया सुरु गरिने छ । उक्त दिन सार्वजनिक विदा परेमा सोको भेली पल्ट सोही समय देखि उक्त प्रकृया सुरु गरिने छ ।
६. लिलाम बडाबड गर्दा लिलाममा भाग लिने व्यक्ति वा फर्मले आफुले कवोल गरेको रकमको १०% रकम सोही समयमा जम्मा गर्नु पर्नेछ । र सो मध्ये सवै भन्दा बढी रकम कवोल गर्ने व्यक्ति वा फर्मको नाममा उक्त सामान लिन पाउने स्वीकृति दिईने छ । यसरी स्वीकृत भएको मालसामान उठाउँदा वाँकी रकम कवोल गरेको दिनको ७ (सात) दिन भित्र कार्यालयमा वुझाई सामान उठाई लिई सक्नु पर्नेछ । अन्यथा सामान उठाई नलगेमा धरौटी रकम जफत गरिने छ ।
७. लिलाम बडाबडमा भाग लिने व्यक्ति वा फर्मले सूचनामा खुलाईएको एक मुष्ट सामानको हकमा एक मुष्ट मूल्यमा लिलाम बडाबड कबोल गर्नु पर्नेछ । र सूचनामा अलग अलग समान उल्लेख गरिएको हकमा अलग अलग सामानको छुट्ट छुट्टै लिलाम बडाबड कबोल गर्नु पर्नेछ ।
८. लिलाम प्रकृयामा जि.वि.स. को कार्यालय, डोटीमा कार्यरत कर्मचारी तथा निजका नातेदाहरुले भाग लिन पाउने छैनन् ।
९. लिलाम बडाबड सम्वन्धी अन्य कुरा वुझ्नु परेमा कार्यालय समय भित्र आई कार्यालयमा आई वुझ्न सकिने छ ।
१०. लिलाम बडाबड प्रकृयामा कुनै विवाद आएमा लिलाम बडाबड समितिको निर्णय अन्तिम हुनेछ ।

(शिवकुमार कार्की)
स्थानीय विकास अधिकारी


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete