Monday, January 30, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल माघ १८ गते मंगलबार

सारा नेपाली मिलेर अन्याय, अत्याचारको बिरुद्धमा लड्नु पर्छ र यस्तो अन्याय, अत्याचारवाट मुक्त हुनु पर्छ भन्ने आजको मागलाई हामी सवैले बुभ्mनु पर्दछ ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

सरकार चुनावमा जान ईच्छुक छैन–रावल 

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले वर्तमान सरकार चुनावमा जान ईच्छुक नरहेको आरोप लगाएका छन । 
गृह जिल्ला अछाम जाने क्रममा डोटीको सिलगढीमा पत्रकारहरुसंग कुरा गर्दै नेता रावलले सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसंग चुनावको मिति घोषणा गर्न गरेको सम्झौता कार्यान्वयन नगरेको वताए । ‘चुनाव नगराउने बहाना गर्दैछ सरकारले’ नेता रावलले भने ‘सबै दलहरुको सहमति भएपछि मात्र चुनाव हुन्छ भन्नु चुनाव नगराउने खेल हो ।’ २०७० सालको संबिधानसभाको निर्वाचनमा मोहन बैद्यले नेतृत्व गरेको नेकपा माओवादी लगायत ३३ दलहरुले चुनाव बहिस्कार गर्दापनि चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको उदाहरण दिँदै रावलले भने ‘सवै दलहरुका बिचमा सहमति भएपछि मात्र चुनाव गराउँछु भन्नु चुनावबाट डराएर पछि हट्नु हो । सवै दलको सहमति खोजेर मात्रै चुनाव गर्ने हो भने देशमा कहिल्लै पनि चुनाव नहुने रावलको भनाई छ ।
सञ्चारकर्मीहरुको एक जिज्ञासामा रावलले भने ‘देश टुक्राएर छुट्टै देश बनाउँछु भनेर खुल्याम भेला गर्दै हिड्ने सि के   राउतलाई सरकारले छुट दिनुले यो सरकार कति राष्ट्रबादी छ भन्ने कुरा प्रष्ट भएको ।’ उनले नेकपा एमाले राष्ट्र, राष्ट्रियता र जनताको सर्वोच्चता बिपरित हुने गरि कुनै प्रकारको सम्झौता नगर्ने दावी समेत गरे । 
मधेशमा एमाले कमजोर भएको भन्ने पत्रकारहरुको प्रश्नमा रावलले एमाले मधेशमा झन बलियो भएको दावी गरे । उनले भने ‘दुई चार जना नेताहरुले  बिरोध गर्दैमा एमाले कमजोर भयो भनेर प्रचार गरिनु एमालेमाथीको षड्यन्त्र हो, एमालेले मधेशमा आयोजना गरेका कार्यक्रमहरुमा जनताको उत्साहजनक उपस्थितिले यो कुरा पुष्टी गरेको छ ।’ एमालले मधेशलाई केन्द्रित गर्दै मेची महाकाली बिशेष अभियान सञ्चालन गर्ने योजना वनाएको नेता रावलले वताए । 
बिमानस्थलमा भारतीय सेनालाई राखेकोप्रति सरकारको कडा आलोचना गर्दै रावलले भने ‘यस बिषयमा प्रधानमन्त्री सरासर झुटा बोल्दै हुनुहुन्छ, प्रधानमन्त्रीनै झुटा बोल्न थाल्नु भयो भने यो देशको अवस्था कस्तो होला ?’ उनले एमालेले नेतृत्व गरेको सरकारको पालामा भारतीय सेनालाई बिमानस्थलमा राख्ने गरि कानुनको मस्यौदा वनेको भनी प्रसार गरिनु दुर्भाग्यपूर्ण भएको भन्दै आक्रोस पोखे । उनले प्रश्न गरे ‘आधार र प्रमाण बिनै प्रधानमन्त्री जस्तो जिम्मेबार व्यक्तिले यस्तो कुरा भन्न मिल्छ ?’ 
‘मैले देशमा बिखण्डन ल्याउने गरि पटनामा बैठक भएको भन्दा प्रधानमन्त्री प्रचण्ड स्वयंले यस्तो नभएको दावी गरेका थिए’ प्रेस चौतारी नेपाल, डोटी शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले भने ‘पछि तिनै प्रधानमन्त्रीले पटनामा बैठक त भएको रहेछ तर के बिषयमा छलफल भएको हो त्यो थाह भएन भनेर अभिव्यक्ति दिए ।’ 
संबिधान संसोधनको बिषयमा पत्रकारहरुले राखेको जिज्ञासामा नेता रावलले भने ‘संबिधान संसोधन अहिलेको आवश्यकता होईन, संबिधान कार्यान्वयन अहिलेको आवश्यकता हो ।’

सम्पादकीय 

निश्पक्ष छानबिन होस ।

करीव दुई वर्ष जति भएको थियो, यस्तो समाचार बाहिर नआएको । लाग्दैथ्यो अव डोटीमा बन तस्करहरु सकिए । अव बन जोगियो तर त्यसो रहेनछ । बन फडानी फेरी पनि भईरहेको रहेछ, हामी सञ्चारकर्मीहरु लगायत सम्वन्धित सरोकारवाला निकायहरुको आँखा नपुगेको मात्रै रहेछ । अहिले फेरी बाहिर आएको छ बन फडानीको कुरा । यो घटना के हो, कुन दोषी हो, कुन मतियार हो सबैको बिषयमा मसिनो ढंगबाट छानबिन गरिनु पर्छ र दोषीमाथी कडा भन्दा कडा कारवाही गर्नु पर्छ । 
डोटीको बन फडानीको ईतिहास नौलो होईन र तरिका पनि नौलो होईन । बन तस्करहरु, टाठाबाठा उपभोक्ताहरु, उपभोक्ता समितिका पदाधिकारीहरु र बनका कर्मचारीहरु सबै मिलेर बन फडानी गर्ने अनि भागबण्डामा कुराकानी नमिलेपछि एक पक्षले आएर सञ्चारकर्मीहरुलाई जानकारी गराउने परिपाटी छ । बन बचाउनका लागि गम्भिर भएर कसैले खवर गरेको होईन । यदि बन जोगाउनकै लागि खवर गर्थे भने समयमै गर्थे । तस्करहरुको आपसी लडाईका कारण कतिपय घटनामा सञ्चारकर्मीहरु पनि मुछिएको खवर समेत आउने गर्दछ ।
यस पटक पनि बन जंगल सखाप भयो भन्ने चिन्ताले यो खवर सञ्चारकर्मीहरुसम्म पुगेको होईन । तस्करहरुको एकआपसमा भएको शत्रुताले गर्दा पुगेको हो । तस्कर गर्न सकिने ईलाकामा को जाने भन्ने लडाईको परिणाम हो यो । जिल्ला बन कार्यालय र सम्वन्धित सरोकारवाला निकायहरु होसियार हुनु जरुरी छ । द्वन्द्वकालमा टाउकोमा कात्रो बाँनेर सञ्चारकर्मीहरुले बन फडानी भएको क्षेत्रमै गई समाचार सम्प्रेषण गरेका थिए तर हातलागी शुन्य भयो । तस्करहरु र सम्वन्धित सरोकारवाला निकायहरु आपसमा मिले, कसैलाई कतै कुनै पनि प्रकारको कारवाही भएको देखिएन । यस्तो अवस्था नहोस । त्यतिबेला सञ्चारकर्मीलाई पनि खिन्नता लागेको थियो । 
पुरै बन फडानी भएपछि मात्रै सूचना वाहिर आउनुले यस पटक पनि आपसको भागवण्डा नमिलेको हो भन्ने प्रष्ट छ । डोटीको दक्षिणी क्षेत्रमा को कर्मचारी जाने भन्ने बिषयमा जिल्लामा मात्रै होईन क्षेत्र हुँदै बिभाग र मन्त्रालयसम्म पनि चर्चा हुन्छ रे । यसरी जानका लागि एकले अर्काको खुट्टा नकाटेसम्म सफल भईदैन । त्यसैले मात्र सूचना बाहिर आउँछ । 
जिल्ला बन कार्यालयले स्थलगत अध्ययनका लागि टोली सम्वन्धित क्षेत्रमा पठाएको छ । त्यो टोली कति निश्पक्ष होला भन्ने प्रश्न एउटा छ । त्यसका साथसाथै अनुसन्धान गर्ने निकायहरु कति निश्पक्ष हुन्छन भन्ने बिषय अर्को छ । बन फडानी हुँदैछ भन्ने सूचना लिक गर्ने व्यक्तिहरुनै जिल्ला बन कार्यालयको अनुसन्धान टोलीमा  परेका त छैनन् ? यदि त्यसो हो भने यो अनुसन्धान कत्तिको प्रभावकारी हुन सक्छ । 
कतिपय सन्दर्भमा समाचारले कमिसनखोरीहरुलाई पनि कमिसन खाने बाटो देखाईदिन्छ भन्ने गरिन्छ । समाचार प्रकाशन भएपछि थाह नपाएका कमिसनखोरहरु पनि सूचना पाउँछन र भागवण्डाको लागि ‘बार्गेनिङ्ग’ सुरु गर्छन । अनि समाचार लेख्नेहरु गलत हुन्छन, तस्कारहरु, भ्रष्टाचारीहरु, कमिसनखोरहरु सबै दुधले धोएका  हुन्छन । यस पटक त्यस्तो नहोस् हाम्रो आग्रहयुक्त चेतावनी हो । 
सामुदायिक बनहरुले आफ्नो कार्ययोजनामा भए अनुसारको बन पैदावार प्रक्रियागत रुपमा निकासी पैठारी गर्न पाउने कानुनी व्यवस्था छ । सामुदायिक वन उपभोक्ता भन्ने बित्तिकै सामुदायिक बनको संरक्षण, सम्वद्र्धन र सदुपायको गर्ने व्यक्तिहरु भन्ने बुझिन्छ तर प्रक्रियामा नगई वा प्रक्रियामा गएको भन्दा बढी वा कार्ययोजना भन्दा बढी बन पैदाबार तस्कर गर्नेहरुलाई कारवाही हुन पर्छ कि पर्दैन ? बिधान र कार्ययोजना बिपरित चल्ने सामुदायिक बनहरु फिर्ता लिन सक्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि यत्रो बन बिनाश हुँदा पनि कदम नचाल्नुका पछाडीको राज के हो ? खोजी होस् ।

थप समाचार 

बहुक्षेत्रीय पोषण योजना लागु हुँदै

डोटीका आठ गाबिसमा बहुक्षेत्रीय पोषण योजना लागु हुने भएको छ । सोमबार जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठीमा उक्त योजना लागु हुने बताइएको छ ।
नेपाल सरकारका तीनवटा निकायहरु राष्टिूय योजना आयोगको सचिवालय, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा यो कार्यक्रम लागु भएको डोटीका स्थानीय बिकास अधिकारी कृष्ण प्रसाद गौतमले बताए । 
गोष्ठीमा दिसिनपा १ की बबिता श्रेष्ठ र दिसिनपा २ की राधिका भट्टलाई फलफूल बितरण गरी औपचारिक कार्यक्रम उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले सन् २०१२मा बहुक्षेत्रीय पोषण योजना लागु भएपछि कुपोषित हुने बालबालिकाको संख्याको दर घट्दै गएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले भने, ‘यो कार्यक्रम शुरु हुँदा देशभरी मै ६ वटा जिल्लामा मात्र लागु भएको थियो जसमा सुदूरपश्चिमका बाजुरा र अछाममा पनि लागु भएको थियो ।’ देशभरीकै आँकडा हेर्दा सबैभन्दा बढी कुपोषित बालबालिका हुने जिल्लाहरुलाई बढी प्राथमिकता दिने हुनाले छनौटमा पर्ने गरेको बिष्टले बताए । 
सन् २०१४ देखि ०१७ सम्मको अवधीमा बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन, कुपोषणबाट खासै सुधार नआएको राष्ट्रिय योजना आयोगका मिनराज ज्ञवालीले बताए । उनले भने, ‘बहुक्षेत्रीय पोषण योजनालाई पछिल्लो समयमा ८ वटा मन्त्रालयले सहयोग गर्दै आएका छन । दीर्घरोग घटाउने तर्फ समग्र मुलुकलाई उन्मुख गराउने, मानब पुँजी समग्र सामाजिक आर्थिक बिकासमा कुपोषण बाधकको रुपमा रहि रहने छैन भन्ने सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।’
नेपालमा सन् २०२२ सम्म कुपोषणको अन्त्य गर्ने लक्ष्य राखेको ज्ञवालीले बताए । देशभरीमा सबैभन्दा गरिबीले कुपोषण हुने गरेको सुदूर तथा मध्य पश्चिमाञ्चल रहेकोले दोश्रो चरणका कार्यक्रमहरु देशभरी मै बहुक्षेत्रीय पोषण योजना कार्यक्रम २८ वटा जिल्लाहरुमा लागु भएको छ । जसमा सबै भन्दा बढी सुदू–र तथा मध्यपश्चिमका १६ वटा जिल्लाहरुमा लागु भएको छ ।  सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र दार्चुला बाहेक ६ वटा जिल्लामा कार्यक्रम लागु भएको शर्माले बताए । 
डोटी जिल्लामा यो कार्यक्रम लागु भएसंगै स्थानीयहरुमा पनि चेतना फैलिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत शरद बिष्टले बताए । उनले भने, ‘पछिल्लो समयमा स्वास्थ्य संस्थामै प्रसुती गराउने महिलाको संख्या ६० प्रतिशत भन्दा बढी रहेको छ । जसले गर्दा सहि ठाउँमा प्रसुती गराइ आमा र बच्चाको स्वास्थ्यमा सुधार आउँछ ।’

प्रहरीकै भवनमा ठगिए स्थानीय

लामो सयमदेखि मजदुरहरुलाई रासन उधारो दिँदै आएका चवाराचौतारा–८ का पूर्णवहादुर बम गत जेठ ३ गते  धेरै खुशी भए । ठेकेदार शंकर शर्माले उनको पसलको ६६ हजार साँवा र सो को सयकडा तीन प्रतिशतका दरले हुन आउने रकम सहित साँवा व्याज गरेर कुल एक लाख तीन हजार रुपैयाँको चेक दिएपछि उनले आफ्नो सवै पैसा असुल भएको अनुभुति गरे । एसएसिसी बैङ्कको मिति नकोरिएको चेक बोकेर पूर्ण करीव एक हजार खर्च गरेर दिपायल पुगे । दिपायल पुग्दै उनको अनुहार फेरी मलिन भयो । उनले पाएको चेकको खातामा पैसा     थिएन । 
यो घटना अन्त कतैको होईन, डोटी जिल्ला चवाराचौतारामा हालै निर्माण कार्य सम्पन्न भएको चनुकाँडा प्रहरी चौकीको हो । प्रहरी चौकीको नयाँ भवन निर्माणका लागि गरिएको टेण्डर आव्हान अनुसार कैलालीको केएस रुद्राबती जेवीको टेण्डर स्वीकृत भयो । दुई तले उक्त भवन निर्माणका लागि २०६९ साल माघ १९ गते जिल्ला प्रहरी कार्यालय डोटी र निर्माता कम्पनीका आधिकारिक व्यक्ति शंकर शर्मासंग सम्झौता भयो । मुल्य अभिबृद्धि कर (भ्याट) सहित ७३ लाख ६२ हजार पाँच १८ रुपैयाँको लागत सम्झौता भएको उक्त भवन दुई वर्षभित्र निर्माण भईसक्नु पर्ने थियो तर म्याद थप्दै जाँदा उक्त भवन गत असोज २८ गते मात्रै जिल्ला प्रहरी कार्यालय डोटीको जिम्मामा आयो । 
भवन जिम्मामा आएसंगै स्थानीयबासीहरुले निर्माता कम्पनीका आधिकारिक व्यक्ति शर्माको नाममा आफुहरुले गरेको कामको मजदुरी समेत नदिएको भन्दै  प्रहरी कार्यालयमै उजुरी आयो । ‘स्थानीय ३९ जनाले संयुक्त रुपमा निबेदन दिएका छन’ डोटीका  प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिल्लीराज बिष्ट भन्छन् ‘उक्त निवेदनबाट तीन लाख नौ हजार दुई सय रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ ।’ 
स्थानीयबासीहरुको लिखित उजुरी आईसकेपछि प्रहरीले पनि तत्काल एक्सन लियो । आफ्नो कार्यालयबाट निर्माता कम्पनीले पाउनु पर्ने सवै रकम भुक्तानी भएको भएपनि राष्ट्रिय बाणिज्य बैङ्क डोटी शाखालाई उक्त कम्पनीको नाममा रहेको खाता रोक्का गरिदिन आग्रह ग¥यो । बैङ्कले खाता रोक्का पनि ग¥यो । 
प्रहरीले ठेकेदार शर्मालाई बोलाई कुराकानी गर्दा उनले आफुलै कुनै कसैको रकम दिनु बाँकी नरहेको दावी गरे । ‘मैले कसैको पनि रकम दिनु छैन भन्छन’ प्रउ बिष्टले भने ‘मैले गाउँमै गएर सवै कुरा मिलाएर आउनु अनि खाता फुकुवा हुन्छ भन्दा मान्दैनन् ।’ पछिल्लो केही समयदेखि शर्मा सम्पर्कमा नभएको बिष्टले जानकारी दिए । ठेकेदार शर्माको खाता फुकुवा गर्नका लागि निर्माण व्यवसायी संघबाट समेत दवाव आईरहेको बिष्टले वताए । 
उता स्थानीयबासीहरुले ठेकेदारले आफुहरुको रकम भुक्तानी नगरेसम्म नयाँ निर्मित भवनमा प्रहरी चौकी सर्न नदिने वताएका छन । स्थानीयबासीहरुको भनाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मीन बमले भने ‘स्थानीयबासीहरु आफ्नो ज्याला मरेकोमा आक्रोसित छन ।’ बैङ्कले पनि खाता फुकुवा गर्ने योजना वनाईरहेको भन्ने सुनिएको बमको भनाई छ । ३९ जनाले मात्र निवेदन दिएको भएपनि गाउँमा अरु पनि पैसा नपाउने व्यक्तिहरु रहेको बमको भनाई छ । 
जनताको रक्षाका लागि वनाईएको प्रहरी चौकीको भवनबाटै जनताले ठगिनु परेपछि न्याय कहाँ पाईएला । प्रहरीसंगै सम्झौता गरेर प्रहरीकै भवन वनाउँदा यस्तो गर्न सक्ने निर्माताले अन्यत्र के गर्लान भन्ने प्रश्न उठेको छ । यस बिषयमा निर्माता कम्पनीका आधिकारिक व्यक्ति शर्मासंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 

राष्ट्रिय जनमोर्चाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 

राष्ट्रिय जनमोर्चा डोटीले डोटीको जोरायल क्षेत्रमा भएको बन फडानीको बिषयमा निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ । 
सोमबार जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो पार्टीले स्थानीयस्त–रमा सरकारी कर्मचारी र प्रहरी को समेत मिलेमोतोमा बन फडानी भएको आसंका गर्दै उच्चस्तरीय समिति गठनको माग गरेको हो । ज्ञापन पत्रमा भनिएको छ ‘जिल्लास्थित बन कार्यालयले गरेको छानबिनमाथी बिश्वास गर्न सक्ने अवस्था छैन । त्यसैले उक्त गैरकानुनी तथा अवैध काठ कटानी कार्यको छानबिन गर्न माथिल्लोस्तरबाटनै उच्चस्तरीय छानबिन टोली गठन गरेर घटनाको आवश्यक छानबिन गरि त्यस कार्यमा संलग्न दोषी कर्मचारी र ठेकेदारहरुलाई आवश्यक कानुनी कारवाहीको माग गर्दछौं ।’ 
यस्तै घटनाको निश्पक्ष छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रको समेत ध्यानाकर्षण गराएको राष्ट्रिय जनमोर्चा डोटीले जानकारी दिएको छ । 
ज्ञापन पत्र बुझ्दै डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले बन फडानीसंग सम्वन्धित कागजातहरु नियन्त्रणमा लिइएको वताए । उनले भने ‘सो घटनामा संलग्न भएको आरोप लागेका दुई कर्मचारीहरुलाई जिल्लामा झिकाइ छानबिन भईरहेको छ ।’ बिष्टले बन फडानीबारे स्थलगत रुपमा जिल्लाबाट खटिएको अनुगमन टोलीले कागजात र काठ नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताए । ‘काटिएका काठ नापतौल गरेर सम्बन्धित सामुदायिक बनमै नियन्त्रण गरि राखिएको छ’ बिष्टले भने ‘त्यसको सत्यतथ्य अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।’
निमित्त प्रमुख जिल्ला अधिकारी बिष्ट भन्छन् ‘प्रहरीको समेत संलग्नता छ भन्ने त मलाई लाग्दैन, तर के भएको हो भन्ने कुरा छानबिनबाटै थाह हुन्छ ।’ उनले आफुले पाएको जानकारी अनुसार गएको जेठ १५ गतेभित्र काम सम्पन्न गरिसक्ने गरि सामुदायिक बनको कार्ययोजना अनुसार त्यस क्षेत्रका चार सामुदायिक बनहरुलाई ईजाजत दिईएको थियो । ‘त्यतिबेला बर्षात सुरु भएर वा अरु केही कारणले ईजाजत अनुसारको काठ निकासी हुन नसकेको भन्ने खवर आएको छ’ बिष्टले भने ‘प्रक्रिया मिलेको छैन ।’
लक्ष्मीनगर गाबिस–१ मा रहेको परिवर्तन सामुदायिक बनबाट दुई हजार ७५ क्यूफिट, वडा नं. ८ का सिद्धबाबा सामुदायिक बनबाट एक हजार दुई सय सात क्यूफिट, मालिका सामुदायिक बनबाट चार हजार एक सय ६७ क्यूफिट र मसानी सामुदायिक बनबाट ६ हजार चार सय क्यूफिट काठ कटानी गर्न त्यतिबेला ईजाजत पाएको आफुलाई जानकारी आएको बिष्टले जानकारी दिए । उनले भने ‘यदि तोकिएको समयमा काम सम्पन्न हुन नसकेको भए कारण सहित नयाँ आर्थिक वर्षमा प्रक्रियामा जानु पर्ने हो, त्यसो भएको पाईदैन ।’
लक्ष्मीनगर गाबिस–८ का मालिका, सिद्धबाबा, मसानी सामुदायिक बनमा कर्मचारी, ठेकेदार र उपभोक्ताहरुको मिलेमोतोमा करीव ११ हजार क्यूफिट बरावर सल्लाका रुखहरु अबैध काटिएका छन । 

भारत जानेको तथ्याँक राख्न बडा नागरिक मञ्च परिचालन गरिने 

रोजगारीका लागि भारत जाने कामदारहरुको तथ्याँक संकलन गर्नका लागि बडा नागरिक मञ्च परिचालन गरिने भएको छ । 
सुरक्षित आप्रबासनको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको निड्स नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा महिला तथा बालबालिका कार्यालय, डोटीले आयोजना गरिएको ‘सुरक्षित आप्रबासनका सवालमा सार्वजनिक सम्वाद कार्यक्रम’ मा बडा नागरिक मञ्चहरुलाई रोजगारीका लागि भारत आउजाउ गर्नेहरुको तथ्याँक संकलन र अद्याबधिक गर्ने जिम्मा दिने निर्णय गरेको हो । स्थानीय बिकास अधिकारी कृष्णप्रसाद गौतमले भने ‘प्रत्येक वडामा वडास्तरीय रजिष्टर राखिने र मुल रजिष्टर गाउँ बिकास समितिमा राखिनेछ ।’ गाउँबाट कुन व्यक्ति भारत जाँदैछ भन्ने कुरा वडा नागरिक मञ्चलाई थाह हुने भएका कारण यो संरचना प्रभावकारी हुने गौतमको भनाई छ । 
निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले भारतमा हराएको व्यक्तिहरुको खोजी कार्यका लागि भारतसंग सिमा जोडिएका जिल्लाहरुका प्रमुखहरुसंग समेत आग्रह गरिने वताए । उनले भने ‘यो गम्भिर बिषय छ, यस बिषयमा छलफल गर्नका लागि बृहत बैठक आयोजना गर्नु पर्ने देखिन्छ ।’ 
गैसस महासंघ डोटीका अध्यक्ष  रघु कठायतले आफु गाउँतिर जाँदा भारतमा हराएका कामदारहरुको परिवारको बिचल्ली देखेको वताउँदै स्थानीय निकायहरुबाट उनीहरुको आय आर्जनका लागि रकम बिनियोजन गर्नु पर्ने धारणा व्यक्त गरे । यस्तै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मीन बमले भारतमा जानेहरुको तथ्याँक संकलन गर्नु पर्ने बिचार व्यक्त गरे । 
कार्यक्रममा डोटी जिल्लाका १२ गाउँ बिकास समितिबाट कामको सिलसिलामा भारत भएका एक सय सात जना हराएको निड्स नेपालले जानकारी दिएको थियो । 

छोटकरी समाचार 

युवा समितिद्वारा कार्यक्रम माग  

१६ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरुका लागि लक्षित गरि राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको व्यवसायिक उद्यम कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आव्हान गरिएको छ । 
जिल्ला युवा समिति डोटीका अध्यक्ष बमवहादुर बमले परिषद्ले उक्त कार्यक्रमका लागि माघ ३ गते प्रस्ताव आव्हान    गरेको हुँदा प्रस्ताव पेश गर्न युवाहरुलाई आव्हान गरेका छन । कम्तीमा ५० प्रतिशत महिला सहित एकै वडाका १० जना युवाहरु मिलेर प्रस्ताव पेश गर्नु पर्ने प्राव्धान रहेको बमले वताए ।
सरकारले नमुनाको रुपमा दुई सय ४० बटै निर्वाचन क्षेत्रमा प्रति क्षेत्र एक कार्यक्रम पर्ने गरी यो परियोजना सञ्चालन गर्न लागेको वताउँदै कार्यालय प्रमुख किसानराज चिलवालले भने ‘यो कार्यक्रममा प्रस्ताव पेश गर्ने मिति फागुन मसान्तसम्म रहेको छ । युवा समितिले युवा लक्षित कार्यक्रम गर्ने उनले वताए ।  

चलचित्र/मनोरञ्जन 

राजेशको ओप्पा किराँत स्टाईल 

कान्तिपुर दैनिक 
तिमी ज्यान माग, ज्यान माग गाउँदै चर्चित भर्सटायल गायक राजेश पायल राई जब स्टेजमा झुम्न थाले अघिल्तिर दर्शकको भीड थामि नस्कनु भयो । यो दृश्य थियो, शनिबार दक्षिण कोरियाको राजधानी सोलस्थित एक हलको । रंगीचंगी बत्तिको चमकमा गायक पायललाई आफ्नै अघिल्तिर पाउँदा कोरियाबासी नेपालीहरुले आफ्नो खुशीलाई यसैगरी पोखेका थिए ।
कोरियन नयाँ वर्ष सलनालको विदाको उपलक्ष्यमा किराँत राई यायोक्खा कोरियाले यो अवसर जुटाइदिएको थियो । स्टेजको अघिल्तिर उफ्रिदै कोरियाको चिसो मौसमलाई तताउने सय हाराहारीका दर्शक मात्र हैन सिटमै झुम्ने दर्शकको पनि कमि थिएन । विश्व चर्चित बनेको कोरियन गीत ओप्पा खानाम स्टाइल जस्तै नयाँ गित ओप्पा किराँत स्टायल.. ले पनि दर्शकलाई त्यतिकै तताएको थियो । दिक्तेल बजार... हुरर..ल..है.. गर्दै लोक शैलीदेखि मोहनी लाग्ला है जस्ता पुराना गरी राजेशले १० गीत  पस्केका थिए ।
गाला रातै यो कान्छीको गाला रातै.. गाउदै स्टेजमा देखा परेकी चर्चित गायिका मिलन अमात्यले पनि दर्शकलाई त्यतिकै नचाएकी थिइन् । लट्ठै बनायो .. उहिले बाउ बाजेले ...फुर फुर नघुम...बोलका लोकप्रिय गीतदेखि नयाँ गीत गुलेली हान्यो कि नजरले तान्यो.. सम्मका गीतमा दर्शक त्यतिकै रमाएका थिए ।  बान्स मोरको आग्रमा घण्टी बज्यो ..गाउदै उनी स्टेजबाट विदा भइन् । लगातार सात गीत पस्केका अमात्यलाई एक पछि अर्को गीतमा दर्शकले हुटिङ र नृत्यले भरपुर साथ दिएका थिए ।
संचारकर्मी तथा लोक गायिका कोमल ओलीले कोटी कोटी होम शिव, पोइ चाहियो भनेर गीत गाउने मेरो लास्ट चोटी हो भन्दै उद्घोषको शुरुवातमै तातिएका स्टेज एक पछि अर्को हट कलाकारको प्रस्तुतीले चार घण्टा पछि मात्रै सेलाएका थिए । बालै भएन, आइलभ यु कल्ले भन्यो चालै भएन ...र पोइला जान पाम ..जस्ता ओलीको विच विचको प्रस्तुतीले पनि दर्शकलाई सेलाउनै दिएन ।
त्यसैगरी रञ्जीता लिम्बुको हट नृत्यदेखि बेली डान्सरको उपमा पाएकी लोक गायिका प्रिति आले मगरको लोक भाकासंगै कम्मर मर्काइबाट पनि  दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । साँझ ढल्दै छ ओलकिो जवानी चढ्दै छ भन्दै अविवाहित कलाकार कोमल ओलीकै व्यंग कस्दै स्टेजमा उक्लेका हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले सामाजिकदेखि राजनीतिकसम्मलाई व्यंग हान्दा दर्शकको हाँसो गुञ्जिएको थियो । जहिले ढलाउने, कहिले होला पाँच वर्ष सरकार चलाउने, हरेक वर्ष ५० मन्त्री फलाउने जस्ता प्यारोडीले दर्शकलाई नहाँसी बस्नै दिएन ।

लेख 

भुईचालो थेग्ने घर कसरी बनाउने ? 

डा. गणेशराम न्हेमाफुकी 
गत वर्षको भूकम्पबाट काठमाण्डौं उपत्यकामा भक्तपुर, बुङ्मती, साँखु, गोंगबु, सितापाइलाका साथै उपत्यकाबाहिर केही ठाउँमा धेरै प्रभाव परेको छ । प्रभावित दुई किसिमका घरको यहाँ चर्चा गर्नु उपयोगी देखिन्छ, परम्परागत रूपमा बनाइने माटोको जोडाइमा इँटाले बनाएका घर र आधुनिक तथा तुलनात्मक रूपमा बलियो मानिने कंक्रिटका घर ।
भूकम्पमा माटोको जोडाइमा इँटाले बनाएका घर, अझ विशेष गरी पुराना गुच्चमुच्च परेका बस्तीमा धेरै घर भत्किए, तर सबै भत्किएका छैनन् । पुराना माटोले जोडेका घर मात्र होइन, आधुनिक कंक्रिटले बनाएका घर पनि पात्ताल भएका छन् । यस्ता घर किन पात्ताल हुने   गरी भत्किए र त्यस्तै खालका अरू घरमा किन कत्ति पनि समस्या देखिएन भन्ने विषयमा चर्चा गर्नु सान्दर्भिक  देखिन्छ ।
माटोको जोडाइमा बनेका घर
गारोवाला घरका कमजोरी हेर्दा आफ्नै परिधि हुने गरी चारवटा गारो नहुनु मुख्य समस्याका रूपमा देखिएको छ । इन्जिनियरिङ दृष्टिकोणबाट मात्र होइन सामान्य रुपमा हेर्दा पनि एउटा घरको परिधिमा कम्तिमा चारवटा गारो हुनुपर्छ । घना बस्ती भएका ठाउँमा लहरै बनेका घरमा त्यसको अभाव रहेको पाइयो । कुनै घरमा तीनतिर गारो भएको एकातिर नभएको, कुनै घरमा दुईतिर गारो भएको अर्को दुईतिर नभएको, साथै एकतिर वा एकभन्दा बढी साझा गारो प्रयोग गर्नाले त्यस्ता घर कमजोर भएको देखिन्छ ।
अर्को मुख्य समस्या भनेको गारोवाला घर बनाउँदा काँचो इँटा प्रयोग गर्नु हो । यस्तो इँटा अत्यन्तै कमजोर हुन्छ । पानीले पनि छिट्टै कमजोर बनाउन सक्छ । झन् त्यस्तो गारोमाथि अर्को तल्ला थप्नु र त्यस्तो गारोलाई गह्रौं छाना वा कंक्रिटका स्लाब राख्नु भनेको धराप थाप्नु जस्तै हो ।
घर बनाउँदा जहिले पनि सकेसम्म माथिल्लो तल्ला हल्का बनाउनुपर्छ, गह्रौं बनाउनु हुँदैन । कतिपय घरमा बाहिरी आवरण पोलेको इँटा तर भित्रपट्टि काँचो इँटाले बनाएको पाएको छ, त्यस्तो पनि कदापि गर्नु हुँदैन ।
हाम्रा गारोवाला घरमा अर्को मुख्य समस्या भनेको दलिनहरुमा चुकुल नराख्नु हो । दलिनमा राख्ने चुकुलले सबै गारोलाई एक ढिक्का बनाइराख्छ । चुकुल भएका घरमा पनि सबैतिर नराखेको, राखेका चुकुल पनि धेरै पुराना भएर मक्की सकेकै कारण धेरै घर ध्वस्त भएका छन् । प्रायः घरमा नस नराखेको पनि पाइएको छ । यस्तो नसले घरलाई एक ढिक्का बनाउन सहयोग गर्छ ।
घर बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने क्रस वाल (बीचको गारो) भत्काएर भुइँतल्ला (छिँढी) पूरै खाली गर्नु पनि भत्कनुको कारण हो । हामीले हाम्रा पुर्खा र अग्रजबाट सुन्दै आएका छौं, क्रसवालले घर बलियो बनाउँछ, तर पछिल्ला पुस्ताले ठाउँको अभावमा ती क्रसवाल भत्काएर भुइँतला खुला गरे, जसले घर कमजोर भयो ।
त्यस्तै ठूल्ठूला गारो लगाएपनि त्यसको बाहिरी र भित्रपट्टिका इँटा आपसमा नजोडिएको पाइयो । घर अगाडि र पछाडिका गारोसँग दायाँबायाँका गारो छुट्टयाएर बनाएको पनि पाइयो । केही मात्रामा दाँटी छाडेर गारो बनाएपनि त्यसले खासै राम्रो काम गर्न नसकेको देखियो । यति मात्र होइन, कतिपय घर त ढल्केर ढल्नै लागेका र टेको दिएर राखिएका पनि छन् । त्यस्ता घर भत्किन फेरि यस्तो भूकम्प नै आउनुपर्छ भन्ने होइन, जुनसुकै बेला ढल्न  सक्छ ।
मुस्किलले १०–१२ फिट लम्बाइ भएका ४–५ तल्लासम्म अग्ला घर पनि भत्केका छन् । लम्बाइ र उचाइको अनुपात मिल्दैन भने यस्ता माटोको जोडाइमा बनेका घर धेरै तल्ला बनाउनु हुँदैन । घरको उचाइ मात्र होइन, आफ्नो घरका चारकिल्लामा पर्ने सबै घर उस्तै आकार प्रकारका हुनु जरुरी छ । साथै, तल्लाको उचाइ पनि उस्तै हुनु जरुरी छ । नत्र एकले अर्कोलाई धक्का दिने सम्भावना हुन्छ र घरहरुमा क्षति पुग्छ ।
विसं १९९० सालको भूकम्पमा पनि यस्तै घर धेरै भत्किएका थिए । भूकम्पपछि घर बनाउने डकर्मीको अभाव भएर नयाँ नयाँ डकर्मी बने र कतिपयले आफैं घर निर्माण गरे । फलस्वरुप ती घर कमजोर भए । २०४५ सालको भूकम्पले त्यस्ता घरमा बढी क्षति पु¥याएको अनुमान गर्न सकिन्छ । त्यस भूकम्पबाट बचेका घर नै वैशाख १२ को भूकम्पबाट भत्केको पो हो कि ?
पिलर सिस्टम (कंक्रिट) का घर
हामीकहाँ घर बनाउँदा स्ट्रक्चरल डिजाइन गर्नुपर्छ भन्ने चेतना आएको देखिन्न । स्ट्रक्चरल डिजाइनलाई नगरपालिकाको बाध्यकारी नियमका रूपमा मात्र लिइन्छ । यो नै हाम्रो ठूलो चुनौती हो । भूकम्पको चुनौती भनेको त्यसपछि मात्रै हो ।
आर्किटेक्चरल डिजाइन भन्नाले घरको आकार   प्रकार, बनौट, घरको भान्छा, भ¥याङ, चर्पी, पढ्ने कोठा, पूजा कोठा इत्यादी कहाँ–कहाँ र कसरी राख्ने भन्ने नै हो । त्यस्तै, ठूलो भुइँचालो आउँदा कमसेकम मान्छेको जीउ–ज्यान सुरक्षित हुने गरी डिजाइन तयार पार्नु स्ट्रक्चरल इन्जिनियरको काम हो । यसको लागि जग कस्तो हाल्ने, कति गहिराइमा हाल्ने, कहाँ–कहाँ पिलर राख्ने, डण्डी कति मोटाइको राख्ने, रिङ कति ठूलो, कहाँ–कहाँ राख्ने, ढलान कति भागको बनाउने, गारो कसरी लगाउने, कहाँ–कहाँ लगाउने, दुई घरबीचको जोर्नी कति हाल्ने भन्ने स्ट्रक्चरल डिजाइनअन्तर्गत पर्छन् ।
कंक्रिटको घर भनेको नयाँ प्रविधियुक्त घर हो । तर, कंक्रिटको घर भन्दैमा मनलाग्दी गरे हुन्छ भन्ने मानसिकताबाट हामी मुक्त हुनैपर्छ । यही मानसिकताले आवश्यक संख्यामा पिलर नराख्ने, बिम नै नराख्ने, भएको बिम काट्ने, पिलर खोप्ने मात्र होइन, अनेकौं घातक काम भइरहेको पाइएको छ ।
व्यक्तिगत आवासीय घरमा ९”ह ९” को पिलर राख्ने अनि ५–६ तल्लासम्म बनाउने गर्नाले नै धेरै घरमा समस्या देखिएको छ । तर उस्तै ९”ह ९” को पिलर तीन तल्लासम्मको घर, जसमा इन्फिल पर्खाल (बिम र पिलरबीचमा बनाइने गारो) हरू सबै मिलाएर बनाइएको छ, त्यस्ता घरमा कुनै समस्या देखिएको छैन ।
गएको भूकम्पमा कंक्रिट घरमा क्षति पुग्नुको अर्को महत्वपूर्ण कारण भनेको भुइँतल्ला खुल्ला गरेर माथिल्लो तल्लामा मात्रै इन्फिल पर्खाल राख्नु हो । भुइँतला मात्र होइन, कुनै पनि तल्ला पूरै खुल्ला गरेर बाँकी अरू तल्लामा मात्रै इन्फिल पर्खाल राख्नु हुँदैन । भुइँतल्लामा पसल, सो–रुम, गोदाम, रेस्टुरेन्ट, गाडी पार्किङ वा गाडी छिर्ने गरी घरभित्र बनाएको बाटो आदि कारणले पनि घर भत्किएको पाइएको छ ।
अर्को महत्वपूर्ण कमजोरी भनेको बिमका डण्डी पिलरको डण्डीभन्दा बाहिर पठाएर घर निर्माण गर्नु हो । पिलर सिस्टमको घर कसरी निर्माण गर्ने भन्ने जानकारी नभएका डकर्मीलाई घर निर्माण गराउँदा वा स्ट्रक्चल इन्जिनियरहरुको प्रत्यक्ष निगरानी नगराउँदा यस्तो समस्या आएको हो ।
त्यस्तै, डण्डी जोड्दा जोडाइको लम्बाइ नपुग्ने गरी जोड्नु, डण्डी जोड्दा बिम र पिलरको जोर्नीमा जोड्नु पनि मुख्य समस्याका रुपमा देखिएको छ । सिन्धुपाल्चोकका केही ठाउँमा डण्डीहरु सबै बिम र पिलरको जोर्नीमा जोड्ने गरिएको पाइयो । यही कारणले पनि त्यहाँका धेरै घर ध्वस्त भएका हुन् । यति मात्र होइन, डण्डी नै एकदम थोरै मात्रै राखिएको पाइयो । भुइँतलामा त अझ बढी डण्डी राख्नु पर्छ ।
पिलर सिस्टम घरमा अर्को महत्वपूर्ण पक्ष भनेको रिङ हो । अधिकांश घरमा रिङ ७”–८” को फरकमा      राखिएको पाइयो । यस्तो घर पनि भेटियो जसको पिलरमा रिङ नै राखिएको छैन । रिङ राखिएको घरको पिलरमा पनि लम्बाई नपुग्ने गरी राखिएको, रिङ १३५ डिग्रीमा नघुमाएको पाइयो । साथै रिङको मोटाइ पनि साह्रै मसिनो राखिएको पाइयो । अझ सबै भन्दा बलियो बनाउनु पर्ने विम–पिलर जोर्नीमा नै रिङ नराखिएको भेटियो । यी घातक कमजोरी हुन् ।
अर्को महत्वपूर्ण कमजोरी ढलान मै भेटियो । हातैले धुल्मुलाउन (चुर्न गर्न) सकिने ढलान पनि भेटियो ।     स्ट्रक्चरल डिजाइनमा जस्तो ढलान प्रयोग गर्ने भनिएको हो त्यस्तै ढलान प्रयोग गर्नुपर्छ । सिमेन्ट पानीको सम्पर्कमा आएको आधा घन्टाभित्र ढलान फर्मामा राखिसक्नु पर्छ । बालुवा, गिट्टी र सिमेन्ट राम्रो हुनु अति जरुरी छ ।
त्यस्तै लोकल फर्मा प्रयोग गर्दा धेरै समस्या उब्जिएको पाइयो, जस्तै कभर नपुग्ने, राम्ररी फर्मा  नराख्ने, बिम–पिलर जोर्नीमा राम्रो ढलान नपुग्ने इत्यादी । साथै पिलर बनाइसकेपछि विभिन्न बहानामा पिलर खोप्ने, पिलरको डण्डीमा सटर जोड्ने जस्ता गल्ती पनि हुने   गरेका छन् ।
भूकम्प प्रतिरोधी घर हुन घरको बनोट, आकारप्रकारले पनि महत्वपूर्ण भूमिका खेल्छ । सकेसम्म वर्गाकार, नभए सकेसम्म आयातकार हुनुपर्छ । घरको उचाइ चौडाइको तीन गुणाभन्दा कम मात्र राख्नु उपयुक्त हुन्छ । साथै, पिलरहरू ग्रिडमा नभएको, कुनै घरमा एकातिरको बिम नै नराखिएको, विम ठूलो तर पिलर सानो        गरिएको पाइएको छ । यस्तो गर्नु हुँदैन ।
दुई वटा घर आपसमा ठोक्किएर केही ढल्किएका उदाहरण पनि छन् । केहीमा चिरा पनि देखिएका छन् । त्यसकारण आफ्नो घर मात्र सुरक्षित भएर हुँदैन, लहरै बनेका घरसँग जोर्नी पनि राख्नुपर्छ । लहरै बनेको घरमा जोर्नी राख्न नसकिने अवस्थामा कमसेकम सँगै रहेका घरका आकारप्रकार बनौट, घरको उचाइ, प्रत्येक तल्लाको उचाइ र सकेसम्म चौडाइ पनि उही भए   राम्रो हुन्छ। ताकि, सबै घरको हल्लाई एकै किसिमको होस् ।
कतिपय घरमा पिलर र बिम आवश्यकता अनुसार नराखेको पनि पाइयो । सबै पिलर ग्रिडमा हुनुपर्छ र सबै पिलरलाई बिमले बाँधेको हुनुपर्छ। जुन तरिकाले नेपालमा इन्फिल गारो (बिम र पिलरबीचमा बनाइने   गारो) बनाउने गर्छ, त्यसले भूकम्प प्रतिरोध गर्ने क्षमता राख्छ । त्यसकारण यस्तो गारो निर्माण गर्दा विशेष ध्यान दिनुपर्छ । यस्तो गारो एक पिलरदेखि अर्को पिलरसम्म बनाउनुपर्छ । पिलर भन्दा पर बनायो भने त्यसमा भूकम्प प्रतिरोध गर्ने क्षमता हुँदैन ।
गएको बैशख १२ गतेको भूकम्पमा धेरैको पारापेट (कौसीको पर्खाल) वाल पनि भत्किएको  पाइयो । पारापेटको उचाइसम्म प्रत्येक पिलर माथि उठाउने र एक लिन्टेल गरिदिँदा पारापेट बलियो हुन्छ ।
जमिन भित्र रहेको बालुवा र पानी मिलेर तरलीकरण हुनुले पनि घर भत्किएको पाइएको छ । जमिन तरलीकरण हुने ठाउँमा घर बनाउनु हुँदैन । गएको भूकम्पमा विभिन्न ठाउँमा जमिन तरलीक–रण भएका छन् । त्यस्तो तरलीक–रण हुने ठाउँमा एक दुई तल्ला मात्र भएको घर भए पनि धेरै क्षति भएको पाइएको छ ।
सेतोपाटी अनलाईनबाट

मोफसल पत्रकारिता 

विचार भन्दा दक्षतालाई प्राथमिकता दिनु पर्छ 

सुधिर अर्याल (सम्पादक) 
आरुघाट टाईम्स दैनिक, गोरखा 
तपार्इंको परिचय पाउँ न ? 
— म सुधिर अर्याल । मेरो घर गोरखा । म आरुघाट टाइम्स दैनिकको सम्पादक ।
कति समय भयो यस पेशामा लागेको ?
— म विगत ६ वर्ष देखि पत्रकारितामा संलग्न छु । आरुघाट आवाज साप्ताहिकबाट मैले पत्रकारिता सुरु गरेको हुँ ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— मोफसलको पत्रकारिता सवै विट्मा ध्यान दिनुपर्ने हुनाले सवैलाई मैले सम्बोधन   गर्दछु । तर म सामाजिक, राजनीतिक र खोजमुलक पत्रकारितामा बढि रुचि राख्दछु । 
मोफसलमा काम गर्ने पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— मोफसलको पत्रकारिता भनेको विना सुरक्षाकवच नदिमा पौडनु जस्तै जटिल छ । सिमित स्रोत र साधन विच जनताका माझ जानु पर्दछ । समाजमा प्रत्यक्ष जानु पर्नाले डर, धाक, धम्की जस्ता कठिनाईलाई समेत झेल्नु पर्छ । त्यसमा पनि न्यूनतम पारिश्रमिकमा । धेरै पिडा छ मोफसलको पत्रकारिता ।
समस्यानै समस्या भएको पेशा किन रोज्नु भयो त ? 
— समस्या नभएको त कुन पेशा नै हुन्छ र ? तर पनि यो प्रत्यक्ष रुपमा समाज रुपान्तरण गर्न मद्दत गर्ने पेशा हो । समाजका सकारात्मक र नकारात्मक सबै पक्षलाई छर्लङ्ग पार्दै समाज विकासमा यो पेशाले भुमिका खेल्छ ।
मोफसलै भएपनि गोरखा जिल्ला तर देशकै ऐतिहासिक जिल्ला हो, यस जिल्लाबाट पत्रकारिता गर्दै हुुनु हुन हुन्छ, कसरी बुझ्नु भएको छ यस जिल्लाको पत्रकारितालाइ ?  
— ठिक हो तपाईले भन्नु भएको गोरखा ऐतिहासिक हुनुले यहाँको पत्रकारिता क्षेत्र पनि त्यतिकै संवेदनशिल छ । साथै यो पर्यटकीय जिल्ला पनि भएकोले इतिहास र पर्यटन   गोरखाली पत्रकारिताका मेरुदण्ड हुन् । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— पहिले श्रमजिवी पत्रकार ऐन लागु गर्नु प¥यो । नियमित अनुगमनलाई प्राथमिकता दिनु प¥यो । लोक कल्याणकारी विज्ञापनको न्यायोचित वितरण हुनु प¥यो । 
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— वास्तवमा नेपाल पत्रकार महासंघले गोरखाको सवालमा जिम्मेवार अभिभावक जस्तो भुमिका खेलेको छ । पत्रकार मिडिया हाउसलाई सवल बनाउन साथै आइपरेका समस्या समाधानमा प्रभावकारी भुमिका निर्वाह गरेको छ ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनु हुन्छ ?
— वैचारिक संगठनहरूले पनि आफ्ना निकट साथीहरूलाई आन्तरिक रुपमा सहयोग गरिरहनु भएकै छ । तर स्वतन्त्र भुमिका निर्वाह गर्न सक्नु पर्छ । 
तपाइको विचारमा पत्रकारिता के हो ?
— पत्रकारिता समाजको ऐना हो । समाज रुपान्तरणका लागि यसले आफ्नो जिम्मेवारी वोध गर्न सक्नु पर्छ । 
कत्तिको कमाइ गर्नु भयो पत्रकारितामा लागेर ? 
— पत्रकारिताबाट कमाई त छैन । कमाई गर्न पत्रकारिता लाग्नु भन्दा नलाग्नु ठिक   हुन्छ । यो समाज प्रतिको उत्तरदायित्व हो ।
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, तपाइलाइ के लाग्छ ? 
— सवै पत्रकार एकै हुन् भन्न सकिन्न । कोहि पत्रकारको गैरजिम्मेवारीका कारणले यो क्षेत्रमा अलि प्रश्न उठाउन थालेका हुन् । यस्ता गतिविधिलाई छानविन गरि गलत गर्नेलाई कारवाही गर्नु पर्छ । हामी सकारात्मक सोचका साथ अगाडी बढ्नु पर्छ । यो क्षेत्रलाई स्वस्थ वनाउनु हामी सवैको कर्तव्य हो । 
नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुको निर्वाचन हुने मिति तय भएको छ, नेतृत्वका लागि अनेक प्रयासहरु हुन थालेका छन । के सुझाव दिनु हुन्छ महासंघका सदस्य साथीहरुलाई ? 
— विचार भन्दा दक्षता र कामलाई प्राथमिकता दिएर अगाडी बढ्नु पर्छ । चुनावमा पार्टीको छायाँ देखिनु हुन्न ।
एउटा छुट्टै  प्रसंगमा कुरा गरौं, गोरखा जिल्लाका भूकम्प पिडितहरुको अवस्था कस्तो पाउनु भएको छ ?
— म भुकम्पको केन्द्रविन्दुको जिल्ला भएकोले राज्य संवेदनशिल भएको पाइन । एनजिओ, आइएनजिओले पिडितको नाममा मनोमानी गरे । पिडित पिडित नै रहे । राज्य रमिते भयो । 
भूकम्प पिडितहरुको समस्या समाधानका लागि सरकारी क्षेत्रबाट भईरहेको पहल कत्तिको प्रभाकारी देख्नु हुन्छ ?
— भनिहाले, राज्यले पिडितको पिडा माथि रमिते भयो । नेताहरूले पिडितलाई भोट बैङ्गका रुपमा हेरे समस्या चर्को छ, समाधान छैन । पिडित पालमा छन् । राज्य पिडा कम गर्न उदासिन छ भन्दा फरक पर्दैन । 
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— सवैलाई आफ्नो मर्यादा ख्याल राखी पत्रकारिता गर्न अनुरोध गर्दछु । राज्यप्रति हाम्रो ठूलो दायित्व छ । 
समय र बिचारका लागि धन्यबाद । 
— म जस्तो मोफसलको पत्रकारिता गर्ने व्यक्तिलाई विचार ब्यक्त गर्ने मौका दिनु भएकोमा बिम्ब साप्ताहिक र सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद । 

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१.  क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन कहिले भएको थियो ?   — सन् २०१६ नोभेम्बर २५
२.  बिमेस्टेकका प्रथम महासचिव को हुन् ?                                   — सुमथ नाकनतला
३.  ‘करोडौं कस्तुरी’ कुन साहित्यकारको कृति हो ?                                — अमर न्यौपाने
४.  काठमाण्डौंमा हाइटेक मेट्रो बस सेवा कहिले देखि सुरुवात भएको हो ?       — २०७२ फागुन ३०  
५.  मिस वल्र्ड, २०१६ को उपाधि जित्न सफल सुन्दरी को हुन् ?                 — स्टेफनी डेल भले
६.  वातावरण सम्बन्धी सम्मेलन कोप २२ कहाँ सम्पन्न भयो ?                — मोरक्कोको माराकेस
७.  फोब्र्स पत्रिकाले सन् २०१६ मा प्रकाशित गरेको धनाढ्यहरुको सूचीमा  नेपालका विनोद चौधरी कति औं स्थानमा परेका छन् ?                                                 — १५७७ औं स्थानमा 
८. २१ औं विश्वकप फुटवल, २०१८ कुन देशमा आयोजना हुने भएको छ ?                — रसिया
९ं. Transparency International को मूख्यालय कहाँ रहेको छ ?             — बर्लिन जर्मनी
१०. नेपालमा सशस्त्र प्रहरीको स्थापना कहिले भएको हो ?                      — २०५८ कार्तिक ८
११. 'The God of Nepal'   कुन विदेशी लेखकद्धारा लिखित पुस्तक हो ?                 —रुवेल
१२. हनिमुनको सहर भन्ने उपनामले चिनिने देश कुन हो ?                            — हेलिकिन्सी
१३. वायुमण्डलमा अक्सिजनको मात्रा कति प्रतिशत रहेको हुन्छ ?                  — २०.९५ प्रतिशत 
१४. सूर्यको विकिरण नाप्ने यन्त्र कुन हो ?                   — पारहेलियोमिटर Pyrheliometer
१५.God of commerce and travel  भन्नाले कुन ग्रहलाई चिनिन्छ ?                 — बुध
१६. असफल तारा भनेर चिनिने ग्रह कुन हो  ?                                          — अरुण
१७. चन्द्रमाको कक्षिय धरातलले पृथ्वीको कक्षिय धरालतसँग कति डिग्रीको कोण बनाई ढक्लेको हुन्छ ?  
— ५.१५ 
१८. पृथ्वीको सतहबाट १६ कि.मि. देखी ५० कि.मि. सम्मको तहलाई के भनिन्छ ?  — समताप मण्डल
१९. निलआर्मस्ट्रङ्ग र एड्विन एल्ड्रिन साथ ‘एपोलो ११’ नामक अमेरिकी अन्तरिक्ष यानबाट चन्द्रमा पुगेर चन्द्रधरातलमा नओर्लेका व्यक्ति को थिए ?                                    — माइकल कोलिनस
२०. अन्तरिक्षमा हिड्ने पहिलो व्यक्ति को हुन ?                                — अलेक्सी लियोनोभ 
२१. अन्तराष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?                                       — जुन २१
२२. निर्माणाधिन मध्यपहाडी लोकमार्गले जम्मा कति जिल्लालाई छुन्छ ?                — २४ जिल्ला
२३. नेपालमा कहिले देखी अंग्रेजी भाषामा समेत नागरिकता दिन सुरु गरेको थियो ? — २०६६ मंसिर १
२४. साइटिस(CITES) कहिले देखि लागु भएको हो ?                           — १ जुलाइ, १९७५
२५. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १४४ औं राष्ट्र कुन हो  ?               — एल साल्भाडोर
२६. ल्हाफेवा चाड कुन जातिमा प्रचलित छ ?                                          — थकाली 
२७. विश्वमा महिलालाई मताधिकार दिने पहिलो राष्ट्र कुन हो ?                       — न्यूजील्याण्ड
२८. कुन जातिलाई कारभोटे पनि भनिन्छ ?                                              — ल्होमी 
२९. शिवाङ्क नामक मुद्रा कुन लिच्छवी राजाले प्रचलनमा ल्याएका हुन  ?             — शिवदेव तृतीय
३०. भारतिय स्वतन्त्रता आन्दोलनको प्रथम कदम के लाई मानिन्छ ?    — सिपाही आन्दोलन (१८५७)
३१. नेपालमा सवैभन्दा बढी हिमताल भएको जिल्ला कुन हो  ?                          — ताप्लेजुङ्ग
३२. सातौं राष्ट्रिय खेलकुदको मस्कट के हो  ?                                            — अर्ना
३३. अन्तरिक्ष यात्रामा जाने पहिलो जुम्ल्याहा को को  हुन ?                — मार्क केली र स्कट केली 
३४. ISO गुणस्तर चिन्ह प्राप्त गर्ने नेपालको पहिलो हाइड्रोपावर कम्पनी कुन हो ?
— चिलिमे हाइड्रोपावर
३५. नेपालमा वि.स. २०७१—८० सम्म कुन दशकको रुपमा मनाइदैछ ?                   — वन दशक 
३६. कुन महादेशलाई चराहरुको महादेश भनेर चिनिन्छ ?                        — दक्षिण अमेरिका
३७. पाञ्चाली प्रथाको सुरुवात गर्ने राजा को हुन ?                                     — अंशुबर्मा
बौद्धिक परीक्षण खण्ड
३८. एक विहान सूर्योदय पछि सरिता विद्यालय जाने क्रममा जेब्राक्रसमा उमेशलाई भेटिन । उमेशको छाया सरिताको ठिक दायाँ तर्फ थियो र उनीहरु दुवै एक अर्काको अगाडी (Face to face)  थिए भने सरिता कुन दिशामा गइरहेकी थिइन् ?
A) उत्तर                     B) दक्षिण                   C) पूर्व             D) पश्चिम 
३९. प्रश्न चिन्ह (?) राखिएको ठाउँमा मिल्ने विकल्प कुन हो ?
     F2,  ..?., D8, C16, B32
A)        A16                          B) G4                        C)E4                   D) E3
४०. तलका मध्ये कुन मिल्दैन ।
A)        Inch                    B) Ounce                        C)  Centimeter           D) Yard
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ । 
संकलक/प्रस्तुतकर्ता : प्रयाग राज उपाध्याय
सुझावका  लागि सम्पर्क : 9848626741
मिति  २०७३ साल माघ ११ गते मंगलबारको बिम्ब साप्ताहिकमा प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरु :
३८) D                           ३९) B                               ४०) C  

साहित्य/संस्कृति 

तपाई 

घरीघरी मिस्कल मात्रै गर्नुहुन्छ तपाँई 
भन्नुहोस न मेरो को पर्नु हुन्छ तपाँई
म मात्रै त एक्लै घरमा कहाँ हुन्छु र हजुर
कुन दिन बाउको फेला पर्नु हुनछ तपाँई
यहि नं.बाट मिस्कल आको आयै छ हेर्नुस
मेरो दाईलाई भन्यो भने, मर्नुहुन्छ तपाँई
मिस्कल गर्न सक्नेले फोन गर्न नसक्ने
मोबायलमा कति पैसा हाल्नु हुन्छ तपाँई
सायद मोबायलमा सुक्को पैसा नहोला 
मिस्कल दिन त खुब अघि सर्नु हुन्छ तपाँई
गलफ्रेन्डलाई जस्तो गरी जिस्काउनु हुन्छ 
साखै बैनी प¥यो भने के गर्नुहुन्छ तपाँई
लिला पोखरेल
गजलकार

मुक्तक

यि यादहरु घरी घरी आइदिन्छन
घुम्दै फिर्दै वरिपरी आइदिन्छन
न भोक निन्द्रा, न त प्यासमै अल्झिन्छन
नौ डाँडा अनि सात समुन्द्र तरी आइदिन्छन ।
दिपेन्द्र बोगटी
लामातोला–२ बझाङ्ग

सूचना÷सन्देश÷बिज्ञापन  

कर्मचारी आवश्यकता सम्बन्धी सूचना 

प्रथम पटक सूचना प्रकाशित मिति : २०७३÷१०÷१८ गते
उपरोक्त सम्बन्धमा यस अपाङ्ग सेवा संघ, डोटी र यू.एम.एन. डोटी क्लष्टरको साझेदारीमा सञ्चालित “समुदायमा आधारित पुनस्र्थापना (CBR) परियोजना अन्तर्गत एक जना सामाजिक परिचालकको आवश्यकता परेको हुँदा तपसिलको योग्यता पुगेका ईच्छुक ब्यक्तिहरुबाट प्रथम पटक सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र आफ्नो ब्यक्तिगत बिवरण, शैक्षिक योग्यताको प्रमाण पत्र, नेपाली   नागरिकताको प्रमाण पत्रको प्रतिलिपि सहित दरखास्तका लागि आह्वान गरिएको छ ।
तपसिल :
१. पद : सामाजिक परिचालक
२. आवश्यक संख्या : १ (एक) जना
३. कार्यक्षेत्र : सरस्वतीनगर र लक्ष्मीनगर गाबिस (आवश्यकता अनुसार कार्यालयमा)
४. योग्यता तथा अनुभव : 
  • मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता तह उत्तीर्ण ।
  • सामाजिक परिचालनको क्षेत्रमा कम्तिमा २ (दुई) वर्ष कार्य अनुभव भएको ।
  • आधारभूत कम्प्यूटर, ईमेल, ईन्टरनेट सम्बन्धी ज्ञान (अनिवार्य)
  • मासिक, त्रैमासिक रुपमा प्रतिबेदन तयार गर्न सक्ने र समुदाय तथा अन्य सरोकारवालासंग समन्वय      गर्न सक्ने क्षमता भएको ।
  • न्युनतम उमेर १८ वर्ष पूरा भएको ।

५. तलब सुविधा : संस्थाको नियम अनुसार
६. परीक्षाको किसिम : लिखित, अन्तर्वार्ता 
७. पदको अवधि : असार मसान्तसम्म (पछि पदावधि थप गर्न सकिने)
पुनश्च :
१. छोटो सूचिमा परेका तथा कार्य क्षेत्र रहेका गाविसहरुका उम्मेदवारहरुलाई मात्र परीक्षामा समावेश    गराईनेछ ।
२. अपाङ्गता क्षेत्रमा काम गरेको र स्थानीय व्यक्ति, दलित, महिला तथा अपाङ्गता भएका परिवारका सदस्यहरुलाई विषेश प्राथमिकता दिईनेछ ।                        
३. छनोट सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
पदपूर्ति समिति
अपाङ्ग सेवा संघ डोटी
दिपायल सिलगढी नगरपालिका, वडा नं. ४, सिलगढी डोटी, नेपाल
फोन : ०९४–४१११९७

सानागाउँ गाबिसको मिति २०७३ साल माघ २४ गते सम्पन्न २१ औं गाउँ परिषदद्वारा पारित आय व्यय बिवरण

क) अनुमानित आम्दानी तर्फ
१. गत बर्षको जिम्मेवारी सरी आएको अ.ल्या रु. ३०,२४८।४८
२. नेपाल सरकारबाट प्राप्त अनुदान रकम रु. ३६,०७,०००।
३. मालपोत असुली रकम रु. २५,०००।
४. घरकर बाफत आम्दानी रु. ३०,०००।
५. ब्याबसायिक कर बाफत रु. २०,०००।
६. सिफारिस दस्तुर बाफत रु. १०,०००।
७. पञ्जिकरण दस्तुर बाफत रु. ६,०००।
८. मदिरा बिक्री बितरण इजाजत पत्र नबिकरण रु. ३५,०००।
९. अन्य बिबिध आम्दानी बाफत रु. ३०,०००।
१०. जग्गा रजिस्टेशन र चार किल्ला प्रमाणित दस्तुर रु. १०,०००।
जम्मा अनुमानित आम्दानी रकम रु. ३८,०३,२४८।४८
ख अनुमानित ब्यय तर्फ (सञ्चालन अनुदान)
१. तलब भत्ता कसमकोष र कल्याण कोष सहित गाबिस कर्मचारी, सह लेखापाल, २ कार्यालय सहयोगीको जम्मा रु. ६,६२,४२०।
२. अन्य उपभोग खर्च (पोशाँक) रु. १५,०००।
३. सेवा खर्च पत्र पत्रिका बिज्ञापन बाफत रु. १०,०००।
४. कार्यालय सञ्चालन खर्च बाफत रु. २१,०००।
५. बिबिध चियापान परिषद खर्च रु. २३,०००।
६. कार्यक्रम भ्रमण खर्च बाफत रु. ६०,०००।
जम्मा खर्च संचालन तर्फ अनुमानित रु. ७,९१,४२०।
ग पुँजीगत अनुदान रकमबाट अनुमानित ब्यय तर्फ
१. सरस्वती आधारभूत बिद्यालयकोजग निर्माण रु. १७५०००।
२. गाबिसको पर्खाल वाल निर्माण बाफत रु. २७५०००।
३. गाबिसको फर्निचर खरिद बाफत रु. १०००००
४.रिनकोट धौलाबस्ती सडक मर्मत बाफत रु. १६००००।
५.आप्रबासी तथा हराएका ब्यक्तिहरुको परिवारको महिलाको आय आर्जन रु. १००००।
६.शाजेन्द्रेश्वर माबि खिरसैन फुलौट शैक्षिक एबं धार्मिक महोत्सब रु. ५०,०००।
७.आयुर्बेदिक औषधालयको फर्निचर खरिद रु. २००००।
८. गाबिस कार्यालयको मोटरसाइकल खरिद रु. १३५०००।
९. नुवाकोट सडक मर्मत बाफत रु. १,००,०००।
१०. प्रहरी चौकी सानागाउको फर्निचर खरिद रु. २५०००।
११. भैरब मन्दिर निर्माण सानागाउ–४ रु. ३००००।
१२. घोरेटो बाटो निर्माण सानागाउ–४ रु.१५०००।
१३. रेडक्रस सोसाइटी खप्तड उपशाखाको सामान खरिद रु. २५०००।
१४. स्वास्थ्य चौकी सानागाउँको ल्याप ब्यवस्थापन रु. १,००,०००।
१५. पत्रकार महासंघ डोटीको भवन निर्माण रु. १००००।
१६.बिपद् ब्यवस्थापन बाफत रु. ४०००।
१७. खेल मैदान निर्माण रु. ५०००।
१८. शिबजी त्रिबेणीधाम मन्दिर मर्मत रु. १०,०००।
कृषि तर्फ
१. पशुसेवा केन्द्र सानागाउँको औषधी खरिद बाफत रु. ७०,०००।
२. कृषि सेवा केन्द्र सानागाउँको बिउबिजन खरिद रु. २५०००।
३. जनप्रिय सहकारी संस्था रिनकोटको कार्यालय ब्यवस्थापन बाफत रु. ४५०००।
४. जनकल्याण सहकारी संस्थालाई एग्रोभेट संचालन बाफत रु. ४५०००।
५. बेडखेत सिंचाई कुलो मर्मत सानागाउँ रु. ६०,०००।
लक्षित बर्गहरु तर्फ  
महिला तर्फ
१. महिलाहरुको प्रसुती गृह ब्यवस्थापन कार्यक्रम रु. १७५०००।
२. महिलाहरुको भवनको जग निर्माण रु. १२००००।
३. महिला स्वयं सेबिकालाई क्षमता बिकास रु. १५०००।
बिपन्न बर्गहरु तर्फ
१.दलित टोलको बाल सुधार प्राबिको खेल मैदान निर्माण रु. १४०,०००।
२. यस गाबिसका बिपन्न बर्गहरुको तथ्याङ्क संकलन संरचनागत बिकास कार्यक्रम रु १५०,०००।
३. अशक्त, अपाङ्गहरुको आयआर्जन कार्यक्रम (कुखुरा पालन) रु. ४००००।
४.एचआइभी संक्रमितको लागि बिउ खरिद रु. २३०००।
५. जेष्ठ नागरिक सम्मान बाफत रु. १५०००।
६. पिछडिएको टोलको नबदुर्गा बाल बिकास भवन सानागाउँ–६ को छाना निर्माण रु ६००००।
७. पिछडिएको टोल सानागाउँ–८ चानखल्नेको घोरेटो निर्माण बाफत रु. २५०००।
बालबालिकाहरु तर्फ 
१. सरस्वती माबिका बालबालिकाहरुको खेल मैदान निर्माण  रु. २५००००।
२. बालबालिकाहरुलाई बाल मैत्री कार्यक्रम, सडक नाटक, खेलकुद सामाग्री, बालबिबाह, बहुबिबाह, सरसफाई अभियान रु. १०००००।
३. बालबालिकाहरुको लागि अंग्रेजी माध्यम सिकाइ बाफत रु. ८०,०००।
४. युवा बालबालिकाहरुका लागि कम्प्युटर मर्मत र खेलकुद कार्यक्रम बाफत रु. ९६००० ।

मालपोत कार्यालय डोटीको हकदावी सम्बन्धि ३५ दिने सार्वजनिक सूचना 

प्रथम पटक सूचना प्रकासित मिति मितिः २०७३÷१०÷१२
  जिल्ला  डोटी खातीवाडा गा.वि.स.वडा नं.७ स्थित कि.नं.९५, १००, १६५, २४९, ४४७, ५५३, ऐ. वडा नं.८ स्थित कि.नं.२१४, २२५ को पुरै घरजग्गाहरु ठगुवाको नाती पतुवाको छोरा वर्ष ५४ को चाने साउँदको नाउँमा नापनक्सा भई जग्गाधनि प्रमाण पुर्जा कायम भएकोमा जग्गाधनि चाने साउँदको नेपाली नागरीकताको प्रमाण पत्रमा नाम ः नरुवा साउँद, उमेर ६२ वर्ष हुन गई जग्गाधनिको नाम र उमेर   फरक पर्न गएको भएतापनि ति दुबै नाम भएका व्यक्ति फरक फरक व्यक्ति नभई खातीवाडा गा.वि.स. वडा नं.७ बस्ने ठगुवाको नाती पतुवाको छोरा वर्ष ६२ को चाने साउँद भन्ने नरुवा साउँद (एउटै व्यक्ति) भएकोले ने.ना.प्र.प. बमोजिम नाम र उमेर संसोधन गरी पाँउ भनी खातीवाडा गा.वि.स.स्थित जग्गाधनि प्रमाण पुर्जा, मालपोत बुझाएको रसिद, खातीवाडा गा.वि.स. कार्यालय डोटीको च.नं.१५९ मिति ः २०७३÷१०÷११ को किटानी सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, आदी प्रमाणहरु साथै राखी मिति २०७३÷१०÷११२ मा यस कार्यालयमा निवेदन दावी गर्नु भएकोले हकदावि  सम्वन्धि यो सूचना प्रकासित गरिएको छ । उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए वा निवेदकको मागदावि वमोजिम नाम र उमेर संसोधन गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले वाटोको म्याद वाहेक ३५ दिनभित्र आफुसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैको उजुरी दावी नपरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा   जानकारी गरिन्छ ।

मालपोत कार्यालय डोटीको हकदावी सम्बन्धि ३५ दिने सार्वजनिक सूचना 

प्रथम पटक सूचना प्रकाशित मितिः २०७३÷१०÷११          
        जिल्ला डोटी लक्ष्मीनगर गा.वि.स.वडा नं.४ स्थित कि.नं.१०१, १०४, ३६०, ३६१ र ३६३ को जग्गा सोही गा.वि.स.वडा नं.४ बस्ने नर वहादुरको नाती दिलिसिंको छोरा हर्क वहादुर थापामगरको नाउँमा नापनक्सा भई श्रेस्तापुर्जा कायम भएकोमा जग्गाधनि हर्क वहादुर थापामगरको मिति ः २०४८÷९÷१५ मा मृत्यु भैसकेको र निजको शेषपछिको हकदार दुईवटी पत्नी नन्दकली थापा र चन्द्रकला थापा भएकोमा नन्दकली थापाको मिति ः २०६९÷६÷३० मा र चन्द्रकला थापाको २०३३ सालमा मृत्यु भैसकेकोले शेषपछिको हकदार तिन जना छोरा ईन्द्र वहादुर थापा, नर वहादुर थापा र अमर वहादुर थापा मात्र भएकोमा अमर वहादुर थापा विगत २०६० साल देखि वेपत्ता भएकोले मृतक हर्क वहादुर थापामगरको नाउँको डोटी लक्ष्मिनगर गा.वि.स. स्थित   पुरै घरजग्गा हाम्रो नाउँमा संयुक्त नामसारी गरी पाउँ भनी डोटी लक्ष्मिनगर गा.वि.स.कार्यालय डोटीको च.नं. १६४ मिति ः २०७३÷९÷२५ को किटानी सिफारिस पत्र, मृतकको नाउँकोे जग्गाधनि प्र्रमाण पुर्जा, चालु आ.व.को मालपोत बुझाएको रसिद, मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित, नेपाली ना.प्र.प, आदी प्रमाणहरु साथै राखी जि.डोटी लक्ष्मिनगर गा.वि.स.वडा नं.४ बस्ने ईन्द्र वहादुर थापा, नर वहादुर थापाले यस मालपोत कार्यालय, डोटीमा मिति २०७३÷१०÷११ मा निवेदन दिनु भएको हुँदा उक्त जग्गा सम्वन्धमा कुनै कसैको हकदावी पुग्ने भए, यस वाहेकका अन्य हकदार भए, अमर वहादुर थापा वेपत्ता नभएको भए वा सम्पर्कमा भए वा निज निवेदकको  माग दावि वमोजिम नामसारी गर्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ (पैतिस) दिनभित्र आफूसँग भएका सक्कल प्रमाण साथ कार्यालयमा उजुर दावी गर्न आउनु होला अन्यथा म्यादभित्र कुनै कसैले उजुरी दावी  नगरे नियमानुसार भै जाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ । 

डोटी उद्योग वाणिज्य संघ
डोटीको सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा स्टल बुक गर्ने सम्बन्धी सूचना

डोटी उद्योग वाणिज्य संघ दिपायल डोटीको आयोजनामा यहि मिति२०७३ फागुन १२ गते देखि २२ गते सम्म आयोजना हुन गइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७३ मा तपशिल अनुसार स्टलको दररेट कायम गरिएको व्यहोरा जानकारी गराइन्छ । साथै मिति २०७३ माघ १५ गते देखि स्टल बुकिङ खुल्ला गरिएको छ ।
स्टल दररेट
१ अटोमोवायल ः रु १५०००।
२.डिलर÷सवडिलर ः रु १००००।
३.गैरसरकारी संघ संस्था ः रु १००००।
४.होटल÷रेष्टुरा÷फाष्टफूड ः रु ७०००।
५.कृषीजन्य वस्तु ः रु ५०००।
६.एकल महिला,विद्यार्थी,एच.आइ.भी संक्रमीत तथा साना उद्यमी ः रु ३०००।
निवेदन साथ अनिवार्य संलग्न गर्नुपर्ने कागजात ः
१. व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलीपी १ थान
२. प्रदर्शक परिचय पत्रको प्रयोजनार्थ प्रति स्टल २ जना प्रतिनिधिको फोटो र नाम
३. स्टल भाडाको रकम नगद वा बैङ्क भौउचरबाट बुझाउन सकिने छ ।

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।
जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी

Tuesday, January 24, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल माघ ११ गते मंगलबार

https://drive.google.com/drive/my-drive

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल माघ ११ गते मंगलबार

राष्ट्रिय अखण्डता, सामाजिक मर्यादा, भेदभावरहित सत्य तथ्य सूचनाको सम्प्रेषण, शान्ति प्रवद्र्धनमा अग्रसर हुनु हामी सवैको कर्तव्य हो ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

सरकारी भवनहरुनै गैर कानुनी  

जिल्ला नापी कार्यालय डोटीको चार तले नयाँ भवन निर्माण हुँदैछ । दुई वर्षमा भवन निर्माण कार्य पुरा भईसक्ने गरी देबसिं निर्माण सेवासंग गत बैशाख २९ गते भएको सम्झौता अनुसार उक्त भवनको लागत करीब एक करोड ६८ लाख रुपैयाँ रहेको     छ । 
जिल्ला कृषि बिकास कार्यालय डोटीको चार तले भवन पनि निर्माणाधिन अवस्थामा छ । भ्याट र प्रोभिजनल खर्च सहित करीव दुई करोड नौ लाख रुपैयाँ लागतमा उक्त भवन पि एस कन्ष्ट्रक्सनले निर्माण गर्दैछ । गत जेठमा सम्झौता भएको उक्त भवन २०७५ जेठसम्म निर्माण भईसक्ने छ । 
जिल्ला प्रशासन कार्यालय डोटीको नयाँ भवन नयाँ बर्षको अबसरमा गत बैशाख १ गते उद्घाटन भयो । भ्याट र प्रोभिजनल खर्च सहित पाँच करोड, २६ लाख ५३ हजार चार सय रुपैयाँको लागतमा उक्त भवन निर्माणका लागि २०६९ साल असार ११ गते आषिश÷पि एस÷आई एस जेभिसंग सम्झौता भई गत वर्ष भाद्रमा निर्माण कार्य सम्पन्न भएको थियो । भव्य रुपमा गृह प्रवेशको योजना वनाईएको भएपनि चैत्र ३१ गते डोटीको जिजोडामाण्डौंमा भएको जीप दुर्घटनामा नौ जनाले ज्यान गुमाएका कारण भवनको उद्घाटन सामान्य रुपमा भयो । 
माथी उल्लेख गरिएका तीनवटै भवन कानुनी रुपमा अबैध हुन । भवन ऐन, २०५५ को दफा ८ अनुसार यि भवनहरु ‘ख’ र ‘ग’ वर्गका भएका देखिएका छन । सोही ऐनको दफा ११ अनुसार कुनै पनि व्यक्ति, संस्था वा सरकारी कार्यालयले भवन निर्माण गर्न पूर्व नगरपालिकाबाट नक्सा पास गराउनु पर्ने व्यवस्था छ । तर, यि मध्ये कुनै भवनको पनि निर्माणका लागि नक्सा पास भएको छैन । 
यि तीन भवन मात्रै होईनन् थप पाँच भवनहरु समेत नक्सा नक्सा पास नभई निर्माणाधिन अवस्थामा रहेका छन । 
स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ९६ ले भवनको नक्सा स्वीकृत गर्ने जिम्मेवारी नग–रपालिकालाई दिएको भएपनि नगरभित्रै बन्ने सरकारी भवनहरु समेत नियम बिपरित निर्माण भएका  छन । शहरी बिकास तथा भवन निर्माण बिभाग, डिभिजन कार्यालय डोटीले आर्थिक वर्ष २०७१÷०७२ देखि हालसम्म दिपायल सिलगढी नगरपालिका क्षेत्रभित्र आठ सरकारी भवन निर्माण भईरहेको जनाएको छ । ति भवनहरु कसैको पनि नक्सा पास भएको छैन । चार तले सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय र दुई तले निर्देशनालयको कर्मचारी आवास, तीन तले जिल्ला जनस्वास्थ्य कार्यालय र दुई तले राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको भवन नक्सा पास नभई निर्माण भईरहेको सो कार्यालयले नगर–पालिकालाई जानकारी गराएको   छ । क्षेत्रीय सदरमुकाममा निर्माणाधिन डोटी सभाहलको समेत नक्सा पास भएको छैन । 
त्यसो त यस अघि निर्माण भएका पुनराबेदन अदालत र डोटी जिल्ला अदालत लगायतका भवनहरु दर्जनौं भवनहरु समेत नगरपालिकाबाट नक्सा पास नगराई भएका छन । स्रोतका अनुसार सरकारी भवनहरुमा महिला तथा बालबालिका कार्यालय डोटीको मात्रै नगरपालिकाबाट नक्सा पास भएको छ । उक्त भवन २०६६ सालमा निर्माण कार्य सम्पन्न भएको थियो । सरकारी कार्यालयका भवनहरुनै नक्सा पास नगराई वन्ने भएपछि कसको के लाग्यो । 
पुष ५ गते नियमित रुपमा हुने सरकारी कार्यालय प्रमुखको बैठकमा सरकारी कार्यालयहरुले समेत नक्सा पास नगराउने गरेको कुरा उठ्यो । दिपायल सिलगढी नगरपालिकाका सामुदायिक बिकास अधिकृत रमेशचन्द्र जोशीले दिएको जानकारी अनुसार त्यसपछि  नगरपालिकाले पुष १९ गते सहकरी बिकास तथा भवन निर्माण कार्यालयलाई पत्राचार गरि आर्थिक बर्ष २०७०/०७१ देखि हालसम्म नगर क्षेत्रमा निर्माण भएका र भईरहेका भवनहरुको सूची माग ग¥यो । जिल्ला प्रशासन कार्यालय डोटीलाई बोधार्थ भवन कार्यालयले नगरपालिकालाई माघ २ गते उपलव्ध गराएको बिवरण अनुसार यि भवनहरुको नक्सा पास नगरेको वताएको छ । 
निर्माणाधिन भवनको नक्सा पास गराउनका लागि पत्राचार भईसकेको वताउँदै नगर–पालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्य भन्छन् ‘अव सवै कार्यालयहरुले नक्सा पास गराउँछन ।’ उनले अव नक्सा पास नगराई सुखै नभएको दावी गरे । 
निर्माणाधिन र निर्माण भएका भवनहरुलाई नक्सा पास गर्नका लागि पत्राचार गरिएको भएपनि नक्सा पास नहुन्जेलसम्म निर्माणाधिन भवनहरुको निर्माण कार्य भने रोकिएको छैन । यसरी कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका सरकारी संयन्त्र–हरुबाटै कानुन मिचिएको छ ।

सम्पादकीय 

हाट बजारको प्रश्न

तामझाम सहित पुष २३ गते डोटी जिल्ला सदरमुकामको टुँडिखेलमा हाट बजारको सुरुवात गरियो । सरकारी तथा गैरसरकारी कार्यालयहरुले हाट बजारको ठुलै प्रसंसा गरियो । जिल्लामा भएका सबै बिद्युतीय सञ्चारमाध्यमहरु र पहुँचमा भएका छापा सञ्चारमाध्यमहरुमा पनि नियमित रुपमा बिज्ञापन प्रकाशन भए र हुँदैछन । सरकारी कार्यालयहरु, गैरसरकारी संस्थाहरुले फोटो खिचे, भिडियो क्लिप पनि तयार गरे । हाट बजार भने पनि बजार त थिएन खासै तर चहल पहल भने त्यो दिन धेरै नै थियो । लाग्दैथ्यो सायद अब राम्रैसंग चल्छ नियमित रुपमा चल्छ हाटबजार तर भयो फरक । 
साप्ताहिक रुपमा लाग्ने भनिएको हाट बजार दोश्रो साता टुंडीखेलमा एक पसल मात्रै देखियो । सायद माघ १ गते अर्थात स्थानीय चाँडपर्व भएका कारण किसानहरुले आफ्नो उत्पादन ल्याएनन् अव अर्को साता आउँछन होला भन्ने अनुमान गरिएको थियो तर त्यसो भएन । अर्को साता अर्थात गत शनिवार पनि यस्तै दृष्य देखियो हाट बजारको । हाट बजार हेर्न केही सरकारी तथा गैरसरकारी कार्यालयहरुका प्रतिनिधिहरु आएका थिए । उनीहरुले फेरी एउटै पसल देखेर चित्त बुझाए । थप आएको थियो त बेसार बिक्री गर्ने महिलाहरुको एक समूह । 
यो हाट बजारको प्रसंगमा निकै छलफल भयो, स्रोत पनि  परिचालन भयो, जनशक्ति पनि परिचालन भयो । तर अवस्था उस्तै देखियो । यहाँ दोष कसैको पनि होईन, दोष हाम्रो अर्थ व्यवस्थाको हो । कसैले हामी पूर्ण रुपमा पूँजीबादी अर्थव्यवस्थामा छौं भनेर चिच्याएपनि नेपालको बर्तमान अर्थ व्यवस्था अर्धसामन्ति अर्थ व्यवस्थानै रहेको छ । अर्ध सामन्ति अर्थ व्यवस्था निर्वाहमुखी अर्थ व्यवस्था हो । किसानहरु निर्वाहका लागि उत्पादन गर्छन । घर परिवारमा आफुलाई चाहिने जति उपभोग गरेर बचेको जति बिक्री गर्ने चलन छ  अर्थात अधिकांस किसानहरु अहिलेसम्म पनि व्यवसायिक उत्पादन गर्दैनन् । जसको कारण उत्पादन कम हुन्छ । 
जव उत्पादन कम हुन्छ भने बजारमा कसरी उत्पादन आउँछ त ? यसलाई ध्यान दिनु जरुरी छ । उत्पादनमा बृद्धि गर्नका लागि भुमी सुधार नीतिमा परिवर्तन आउनु जरुरी छ पहिलो कुरा । जसरी जमिनको खण्डीकरण हुँदैछ, यस अवस्थाले व्यवसायिक कृषि प्रणालीमा कुनै पनि किसान जान सक्दैन, सधैं निर्वाहमुखी नै हुनेछ । व्यवसायिक हुनका लागि किसानहरुसंग प्रसस्त जमिन हुनु प¥यो, त्यो छैन । 
अर्को महत्वपूर्ण कुरा सिंचाईको हो । सेती नदी बिना काममा सलललल बगेको छ । सात सय ५० मेगावाट बिद्युत उत्पादन गर्ने सपना बाहेक अरु हामीले केही पनि देखेका छैनौं सेती नदीबाट । नदी किनारमा आकाशे पानीको भरमा रहेका उर्वरक जमिन सिंचाई गर्नका लागि यदि हामीले आधुनिक सिंचाई प्रणाली अपनाउन सक्यौं र स्थानीय कृषकहरुलाई आधुनिक एवं व्यवसायिक खेतीका बारेमा जानकारी दिन सक्यौं भने मनज्ञ उत्पादन हुनेछ । त्यो उत्पादनले जव सामान्य रुपमा वजार पाउँदैन अनि हाट बजारमा आउने छ । हाट बजार भन्ने बित्तिकै कृषि उत्पादनसंग जोडिने बिषय हो । बाजा बजाएर वा भाषण गरेर वा फोटो खिचेर मात्रै हाट वजार सफल हुने भए डोटीमा २०६२ सालदेखिनै निरन्तर रुपमा हाट बजार सञ्चालन भएको हुने थियो ।   
त्यसैले सवै सरोकारवालाहरुले के सोच्नु जरुरी छ भने हाट बजार बाजा वजाएर मात्रै सफल हुने हैन । बाहिरी जिल्लाको उत्पादन हाट बजारमा ल्याएर बेच्न सक्ने सम्भावना छैन । हाट बजारका लागि उत्पादनमा बृद्धि हुनु आवश्यक छ । त्यसका लागि हामी सवैले पहल गर्नु जरुरी छ । नत्र केही समयमै यो हाट बजार पनि हराएर जाने निश्चित छ ।

थप समाचार 

प्रादेशिक महोत्सब फागुन १२ देखि

सुदूरपश्चिम प्रादेशिक महोत्सव फागुन १२ गतेदेखि २१ गतेसम्म डोटीको दिपायलमा आयोजना हुने भएको छ । 
डोटी उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको उक्त महोत्सबले प्रदेश नं. ७ का सवै जिल्लाहरुको प्रतिनिधित्व गर्ने छ । महोत्सवमा “कृषि, पर्यटन, उद्योग व्यापारको पूर्वाधार, सुदूरपश्चिम बिकासको मुल आधार” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको उक्त महोत्सबले प्रदेशभित्रका पर्यटकीय सम्भावना बोका धार्मिक, प्राकृतिक, ऐतिहासिक, साँस्कृतक स्थलहरुको प्रचार प्रसारमा सहयोग पुग्ने बिश्वास गरिएको छ । 
डोटी उद्योग बाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सबको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा महोत्सवको योजना सार्वजनिक गर्दै संघका अध्यक्ष नरेन्द्र खड्काले महोत्सबमा करीव ७० लाख बरावरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए । 
हस्तकला प्रदर्शनी, लघु तथा घरेलु उद्योग प्रबिधि सम्वन्धि प्रदर्शनी, सुदूरपश्चिमका नोवटै जिल्लाको बिशेषता झल्काउने खालका साँस्कृतिक झाँकीहरु प्रस्तुती, कृषि प्रदर्शनी, सेती नदीमा ¥याप्टिङ्ग महोत्सवका मुख्य आकर्षणहरु रहने आयोजकले जानकारी दिएको छ । 
यस्तै रमाईलो मेला तथा बाल उद्यान, सुदूरपश्चिममा पाईने बिशेष प्रकृति खानाका परिकारहरु र प्रदेश नं. ७ का बिशेषता झल्काउने पोष्टरहरुको प्रदर्शनी गरिने अध्यक्ष खड्काले वताए । मेलामा स्थानीय, राष्ट्रिय तथा स्थानीय उत्पादनहरुको प्रदर्शनी र बिक्री बितरण हुने उनले   वताए । 
‘बिगतका वर्षहरु भन्दा यस बर्ष सुदूरपश्चिमकै कला साँस्कृतिमा बढी जोड दिईने छ’ अध्यक्ष खड्काले भने ‘महोत्सव अवधीमा प्रदेश नं. ७ को बिकासमा सम्भावना र चुनौतीहरुका बिषयमा प्रदेशस्तरकै अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रयास गरिनेछ ।’ बिगतमा भएका कमीकमजोरीहरुलाई सुधार गरेर यस पटक महोत्सवलाई थप व्यवस्थित गरिने खड्काको भनाई छ । उनले महोत्सव आयोजना गर्नका लागि सबै क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरेका छन ।

एमालेको मण्डले राष्ट्रबाद, काग्रेस–माओवादी लेण्डुपबादी

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय बरिष्ठ सदस्य एवं सेती महाकाली ईन्चार्ज कृष्ण गुरुङ्गले नेकपा एमालले उठाएको राष्ट्रबाद सामन्ती मण्डले राष्ट्रबाद भएको वताएका छन । 
माघ ५ गते देखि पार्टीले सञ्चालन गरेको अभियानका क्रममा डोटी पुगेका गुरुङ्गले आईतवार पार्टी जिल्ला कमिटीद्वा–रा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङ्गले नेकपा एमालेले पछाडि परेको बर्गलाई अधिकार दिन नचाहेको र भौगोलिक राष्ट्रबादलाई कडाईका रुपमा उठाएको आरोप लगाए । उनले भने ‘एमालेको मण्डले राष्ट्रबादको चंगुलमा अहिले ठुलो जमात फसेको छ, त्यहि जमातको भरमा के पी ओलीले आफुलाई राजा घोषणा गर्न चाहेका छन । 
उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई लेण्डुपबादी भएको आरोप लगाए । उनले भने ‘बर्तमान     सरकार र यो सरकारमा सहभागि कांग्रेस–माओवादीहरु लेण्डुपबादी शैलीमा गईरहेका छन ।’ नेपालको अर्थव्यवस्था भारतीय एकात्मक पूजीबादी व्यवस्था भएको र वर्तमान सरकारले भारतीय ईसारामा काम गरिरहेको उनले वताए । वर्तमान सरकार र सत्ता गठवन्धनले बिस्तारै यो देश लगेर भारतमा बुझाउने खतरा रहेको उनले आरोप लगाए । 
बर्तमान संबिधान जनपक्षीय नभएको वताउँदै गुरुङ्गले यो संबिधानले युगौं देखि पछाडि   पारेका बर्गहरुको प्रतिनिधित्व गर्न नसकेको दावी गरे । ‘बहुदलीय संसदबादी व्यवस्था एकाधिकारबादी पूजीबादी व्यवस्था हो’ गुरुङ्गले भने ‘यस्तो व्यवस्थामा दलालहरुका बीचमा प्रतिस्पर्धा हुन्छ र जो जिते पनि दलालनै जित्छ ।’ त्यसकारण यो व्यवस्था आफुहरुलाई स्वीकार नभएको गुरुङ्गको भनाई छ । 
सञ्चारकर्मीहरुद्वारा स्थानीय निकायको निर्वाचन सम्वन्धि सोधिएको प्रश्नको जवाफमा गुरुङ्गले भने ‘स्थानीय निकायको मात्रै होईन, कुनै पनि निकायको निर्वाचन हुन सक्दैन ।’ उनले भने ‘निर्वाचनको मिति घोषणा गर्नु वर्तमान सरकारको नियन्त्रणमा छैन ।’ एमालेले सडकमा निर्वाचनको माग गर्दैमा र कांग्रेस–माओवादीहरुले सरकारमा बसेर चुनाव गराउँछु भन्दैमा चुनाव हुन्छ भन्ने भ्रममा नपर्न सञ्चार–कर्मीहरुलाई अनरोध गर्दै उनले भने ‘भारतले नेपालमा चुनाव   गराउन चाहेको छैन, जवसम्म भारतले जवसम्म चुनाव गराउन चाँहदैन तवसम्म नेपालमा चुनाव हुन सक्दैन ।
शनिवार सम्पन्न पार्टी जिल्ला कमिटीले जिल्लाको संगठन सुदृढिकरण र जनपरिचालन गर्ने निर्णय गरेको पार्टी जिल्ला सचिव चन्द्र थापाले जानकारी दिए ।  

नयाँ शक्तिको दोहोरी नयाँ उचाईमा

रामहरी ओझा/सिलगढी
   माघ १०
२०७२ साल जेठ २ गते संबिधानसभाबाट नयाँ संबिधान जारी भएपछि ‘अव राजनीतिक क्रान्ति सम्पन्न भएको र देश समृद्ध गराउनका लागि आर्थिक क्रान्ति गर्नु पर्ने’ भन्ने निश्कर्षका साथ नयाँ शक्ति अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा बाबुराम   भट्टराईको नयाँ शक्ति नेपालको डोटी कमिटीमा देखिएको बिवाद नयाँ उचाईमा पुगेको छ । 
आर्थिक बिकासका लागि पुराना राजनीतिक शक्तिहरुबाट सम्भव नभएको र बिभिन्न क्षेत्रका योग्य व्यक्तिहरु सहितको नयाँ शक्ति चाहिएको भन्दै नयाँ शक्ति नेपाल पार्टी वनाउने भट्टराईको पार्टीमा देखिएको बिवादले यो पार्टी पनि नामको मात्रै नयाँ शक्ति भएको प्रष्ट्याएको छ ।
भट्टराईले नयाँ शक्तिको अभियान थालेसंगै तत्कालीन एकिकृत माओवादीबाट पूर्व सांसद मोहन वम लगायतको टोली अभियानमा जोडियो । त्यतिबेला माओवादीभित्रको अवस्था अहिलेको नयाँ शक्तिभित्रकै अवस्था जस्तो थियो । एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने, दुई कार्यालय स्थापना गर्ने, बिज्ञप्तीबाजी गर्ने, समानान्तर कमिटी वनाउने जस्ता क्रियाकलापहरु हुँदै एक पक्षको नेतृत्व गर्ने बम सहित उनको टिम नयाँ शक्तिमा प्रवेश ग¥यो । 
गत वर्ष मंसिर २२ गते बमकै नेतृत्वमा जिल्ला कमिटी पनि चयन भयो । बिचमा कमिटीमा हेरफेर गर्दै कैलाश साउँदलाई संयोजक वनाईयो । पुष ३ गते साउँदलाई कारवाही गर्दै बम फेरी संयोजक बने । 
यता नेकपा माओवादी केन्द्रबाट एक समूह पुष २ गते नयाँ शक्तिमा प्रवेश ग¥यो ।   नेता कार्यकर्ताहरुको ठुलो संख्या प्रवेश गरेपछि पुष २२ गते धु्रवीकरण भेला आयोजना गरियो तर त्यो धु्रवीकरण भेलालेनै दुई ध्रुवमा पु¥यायो पार्टीलाई । 
बम पक्षले साउँदलाई पार्टीको बिधान अनुसार कारवाही गरिएको र मोहन बमनै आधिका–रिक संयोजक भएको दावी गरेको छ । पुष २२ गते भएको ध्रुवीकरण भेलामा पार्टी प्रदेश नं. ७ का ईन्चार्ज भीम कडायत र संयोजक लिला केसी दुवै उपस्थित हुँदा बमलाइनै संयोजक स्वीकार गरिएको त्यो पक्षको दावी छ । 
अर्को पक्षले माघ ४ गते पार्टीको बिस्तारित बैठक आयोजना गरि शिबसिं ओलीको संयोजकत्वमा नयाँ कमिटी गठन गरेको छ । बम समूहले कारवाही गरेको भनिएका साउँदलाई नै सभाध्यक्ष वनाई आयोजना गरिएको बैठकमा ६९ जनाको   पुरानो कमिटीमध्ये ३८ जना सहभागि भएको ओली समूहको दाबी छ । तर, बम पक्षले उक्त भेलामा जम्मा ६ जना मात्रै उपस्थित भएको र बाँकी सवै माओवादी केन्द्रबाट प्रबेश गरेकाहरु मात्रै सहभागि भएको दाबी गरेको छ । 
बम समूहले आईतबार छुट्टै भेला सम्पन्न गरेको छ । ओली समूह जस्तै बम समूहले पनि उक्त भेलालाई बिस्तारित बैठक भएको बताएको छ । 
बमले पार्टीको नीति बिधि र प्रक्रिया मिचेर मनोमानी गर्न खोजिरहेको ओली पक्षको दावी छ भने प्रदेश संयोजक र ईन्चार्जको आडमा ओली समूहले अनावश्यक बिवाद सृजना गरिरहेको बम पक्षको दावी छ । 
कार्यालय पनि दुई 
दुवै पक्ष माओवादीमा हुँदा भएझै अहिले पनि दुई कमिटीसंगै दुई कार्यालय स्थापना भएका छन । ओली संयोजक रहेको समूहले बिधिबत् रुपमा नयाँ शक्ति नेपालको पार्टी कार्यालय अहिले स्थापना भएको दाबी गरेको छ । उक्त कार्यालयको प्रदेश ईन्चार्ज भीम कडायतले उद्घाटन गरेका  छन । 
उता बम समूहले पार्टीको कार्यालय यस अघिनै स्थापना भईसकेको दाबी गरेको छ । 
दुई कमिटी, दुई कार्यालय र नयाँ उचाईको बिवाद हेर्दा नयाँ शक्ति नेपाल पनि नाम मात्रैको नयाँ शक्ति भएको कुरा अनुमान गर्न गा¥हो पर्दैन ।

नेतृत्व बिकास तालिम सम्पन्न

महिला तथा बालबालिका कार्यालय डोटीको आयोजनामा महिलाहरुका लागि पाँच दिने नेतृत्व तथा क्षमता बिकास तालिम सम्पन्न भएको छ । 
कार्यालयले सञ्चालन गरिरहेको लैङ्गिक हिंसा निबारणका लागि महिला संस्थाहरुको एकिकृत बिकास कार्यक्रम अन्तरगत सञ्चालन भएको उक्त तालिम आईतवार सम्पन्न भएको हो । निमित्त कार्यालय प्रमुख सबिना श्रेष्ठका अनुसार तालिममा घण्टेश्वर महिला बहुउद्देश्यीय सहकारी संस्थाका ३० जना महिलाहरुको सहभागिता रहेको थियो । 
समूह, समिति र सहकारी संस्था मार्फत महिलाहरुको क्षमता बिकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त तालिममा महिला नेतृत्व बिकास, सहकारी संस्थाको भुमिका, महिलाहरुको क्षमता बिकास र सशक्तिकरण सम्वन्धि बिषयहरुमा तालिम दिईएको निमित्त महिला बिकास अधिकृत श्रेष्ठले वताईन । 

बालबिवाह गर्नेको तिन पुस्ते

बैतडीको हाट गाबिसलाई बालबिवाह शुन्य गाबिस बनाउनु गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्त रीय बालविवाह न्यूनीकरण समितिले सक्रियता बढाएका    छन ।
बालबिबाह रोक्नका लागि ति समूहहरुले संयुक्त रुपमा अभियान सञ्चालन गरेका छन । अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्ने लगायतका कार्यक्रम तय गरिएको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुमार कुँवरले जानकारी दिए । कुँवरले भने ‘बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने, शिक्षा ग्रहण गर्न नपाउने लगायतका समस्या देखिएपछि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरिएका हो ।’ 
हाटलाई जिल्लाकै नमुना स्वास्थ्य गाविस घोषणा गर्न पनि बालविवाह अन्त्य गर्नुपर्ने भएकाले बालविवाह न्यूनीकरणको अभियान सुरु गरिएको गाविसस्तरीय बाल सञ्जालका प्रतिनिधि लालबहादुर भण्डारीले जानकारी दिए ।  भण्डारीका अनुसार बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक स्थानमा टाँस गरिनेछ । उनले भने ‘तीन पुस्ते बिवरण सार्वजनिक हुने डरले पनि बालबिवाह गर्दैनन् भन्ने हामीले अनुमान गरेका छौं ।’ 
बालविवाह गर्न कानुनले बन्देज लगाएको भएपनि कतिपय ठाउँमा अझै पनि बालविवाह भइरहेकाले यसको अन्त्यका लागि आफुहरुले बाध्य भएर यस्तो प्रकारको कदम चाल्नु परेको भण्डारीले वताए । उनले बालबिवाह रोक्नका लागि सवै क्षेत्रबाट सहयोग हुने समेत अपेक्षा गरे ।

छहारी अनलाईन सञ्चालनमा

मकवानपुर जिल्लाको हेटौंडामा छहारी नेटवर्क सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । 
कर्मकालिका मिडिया प्राइभेट लिमिटेडले एक सामाजिक कार्य मार्फत छहारी नेटवर्क नामक अनलाइन न्युज पोर्टल सञ्चालनमा ल्याएको हो । सो अवसरमा कर्मकालिका मिडिया प्राईभेट लिमिटेडले  हेटौडा नगरपालिका–४ कर्रामा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई बिहानको खाना बापत नगद रु १० हजार सहयोग गरेको आश्रमका अभियन्ता होमनाथ तिमल्सिनाले जानकारी दिए । 
नेटवर्क सञ्चालक सरला अधिकारीले आफ्ना ससुरा स्वर्गीय लक्ष्मी प्रसाद तिमल्सेनाको नाममा सासु गिर्जादेबी तिमल्सेनाको हातबाट आश्रममा आश्रितहरुका लागि सहयोग रकम प्रदान गराईन । मानवसेवा आश्रममा रहेका बुबा आमाहरुसंग आफ्नो खुशी साट्न पाउदा आनन्द लागेको सञ्चालक अधिकारीले बताईन । 
हेटौडा ४ कमलडाडामा कार्यालय  रहेको छहारी नेटवर्कले समाजमा रहेका नकारात्मक कुराको अन्त्यका साथै बिकास निर्माणको विषयलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने उद्देश्य लिएको छ ।

छोटकरी समाचार 

बक्योता तिर्न सरकारी कार्यालयलाई आग्रह

लामो समयदेखि खानेपानीको बिल बुझाउन बाँकी रहेका सरकारी कार्यालयहरुलाई बिल भुक्तानी गर्न सरोकार–वालाहरुको भेलाले आग्रह गरेको छ । 
जिल्ला सदरमुकाम सिलगढीमा देखिएको खानेपानीको समस्याको बिषयमा सोमवार भएको सरोकारवालाहरुको भेलाले बक्योता तिर्न बाकी सरकारी कार्यालयहरु र आम उपभोक्ताहरुलाई रकम भुक्तानीका लागि पत्राचार गर्ने निर्णय गरेको छ । 
भेलाले खानेपानी समस्या समाधानका लागि आकस्मिक योजना निर्माण गर्ने समेत निर्णय गरेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जानकारी दिएको छ । यस्तै भेलाले नगर सरसफाईका लागि टोल बिकास संस्था र दिपायल सिलगढी नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको समेत जनाईएको छ । भेला स्थानीय बिकास अधिकारीको कृष्ण गौतमको अध्यक्षतामा भएको थियो ।

खेल समाचार 

नयाँ शक्तिको भलिबल फागुनमा

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा अभियानले  फागुनमा भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । 
फागुन १० गते देखि १३ गतेसम्म काठमाण्डौंमा सञ्चालन हुने पुरुष भलिबल प्रतियोगितामा पाँच क्षेत्रीय र तीन बिभागीय गरी ८ टोलीको सहभागिता रहने आयोजकहरुले जानकारी दिएका छन । आईतवार पत्रकार सम्मेलन मार्फत दिईएको जानकारी अनुसार प्रतियोगिता लिग कम नकआउट पद्धतिबाट सञ्चालन हुने छन । भलिबल प्रतियोगिताका संयोजक कुमार गुरूङ्गले प्रतियोगितामा नेपाल भलिबल संघको सहयोग रहने बताए । ‘प्रतियोगिता राजधानीमै हुने भएपनि खेलस्थल टुङ्गो लागिसकेको छैन’ गुरुङ्गले भने ‘राष्ट्रियस्तरको प्रतियोगिता भएकाले त्यसै अनुरुपको स्थान खोजिरहेका छौं । संयोजक गुरूङले यस विषयमा आफुहरु छलफल गरिरहेका र छिट्टै स्थानको टुङ्गो लाग्ने बताए । ‘हामी यस प्रतियोगितालाई निरन्तरता दिनेछौं’  उनले भने ‘आगामी संस्करण पोखरामा हुनेछ र त्यसमा महिला विधा पनि समावेश हुनेछ ।’
प्रतियोगिताको विजेता टोलीले नगद तीन लाख ५० हजार रूपैयाँ पाउनेछ भने उपविजेता टोलीले नगद दुई लाख रुपैयाँ पुरस्कार पाउने छ। सेमिफाइनलमा पराजित हुने दुवै टोलीले सान्त्वना स्वरुप ५०÷५० हजार रुपैयाँ पाउने गुरुङ्गले जानकारी     गराए । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद २५ हजार रुयैयाँ तथा अनुशासित टोलीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन । प्रत्येक विधाका उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् ।

चलचित्र÷मनोरञ्जन 

प्रियंका गीत छायाङ्कनमै बेहोस

चलचित्रको गीत छायाङ्कनका क्रममा चर्चित नायिका प्रियंका कार्की बेहोस भएकी छन । 
चलचित्र ‘राधे’ को एक गीत छायाङ्कन गर्ने क्रममा नायिका कार्की बेहोस भएकी हुन । हिउँ सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा पुगेको चलचित्र ‘राधे’ युनिट कार्की एकाएक बेहोस भएपछि झस्कियो । चलचित्रमा समावेश हुने ‘मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ’ बोलको गीत छायाङ्ककनका क्रममा नायक निखिल उप्रेतीसँग नृत्य गर्दै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाङ्कन  प्रभावित भएको चलचित्र निर्माता सुशिल पोखरेलले बताए । 
गीत छायाङ्ककनको क्रममा प्रियंका जी बेहोस् भएपछि उनलाई तत्काल होटलमा ल्याईएको थियो । करिब १० मिनेटपछि प्रियंकालाई होस आएको निर्माता पोखरेलले जानकारी दिए । उनले भने ‘अहिले अवस्था सामान्य छ, गा¥हो पर्ने देखिएमा अस्पताल पु¥याउने सोचमा छौं ।’ चिसो मौसमका कारण नै प्रियंका एक्कासी ढलेको हुन सक्ने चलचित्र कोरियोग्राफी गरिरहेका रामजी लामिछानेले वताए ।
प्रियंका बेहोस भएपनि चलचित्रको उक्त गीतको छायाङ्कन गर्ने कार्य पुरा भएको र चलचित्रका अन्य ७÷८ दृश्य छायाङ्कन गर्न बाँकी रहेको निर्माता पोखरेलले बताए । प्रियंकाको स्वस्थ्य अवस्था सामान्य बनेमा मंगलबार सबै छायाङ्ककन सकेर निर्माण टिम काठमाण्डौं फर्किनेछ । चलचित्र ‘राधे’ लाई जगदिश्वर थापाले निर्देशक    गरेका छन् । ‘राधे’ नयाँ बर्षको अवसरमा आगामी बैशाख १ गते रिलिज हुने बताईएको छ ।

नेपाल आईडल सुरु हुने

अनलाईन खबर
विश्वका विभिन्न ५० भन्दा बढी देशमा लोकप्रिय बनेको आइडल श्रृङ्खला अब नेपालमा पनि सुरु हुने भएको छ । भारतमा यतिबेला गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो ‘इन्डियन आइडल’   चलिरहेको छ ।
आइडलको मापदण्डलाई पुरा गर्दै चाडै नै नियमित प्रशारण आरम्भ गर्न लागेको ‘ए.पी १’ टेलिभिजनले यसको सम्पूर्ण अधिकार लिएको छ । अहिलेलाई ३ बर्षका लागि यसको अधिकार लिइएको ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । केहि  दिनमै नेपाल आइडलको अडिसन सुरू हुनेछ ।
अन्तरराष्ट्रिय फ्रेन्चाइज प्राप्त यो कार्यक्रममा नेपाल भित्र र नेपाल बाहिरका नेपाली नागरिकता भएका १६ देखि ३० बर्ष भित्रका नेपालीले सहभागीता जनाउन पाउनेछन् ।
यसको अडिसन नेपालगञ्ज, बुटवल, नारायणगढ, विरगंज, विराटनगर, पोखरा र काठमाण्डौमा हुनेछ । अडिसनका लागि तोकिएको स्थानभित्र बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म उपस्थित हुनुपर्ने आयोजकले बताएको छ ।
सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यवसायिक गायक र गायिकाले समेत यसमा भाग लिने  पाउनेछन् । यो शोको विजेताले महिन्द्रा केयुभी वान ओ ओ, २० लाख नगद पुरस्कार र १५ लाख रुपैयाँ बराबरको भिडियो एल्बमको करार पनि प्राप्त   गर्नेछन् ।
बढीमा ३२ भागसम्म यो शो प्रशारण गरिने पत्रकार सम्मेलनमा जानका–री दिइयो । यो प्रतियोगीताको निर्णायकहरुमा संगीतकार न्ह्रयू बज्रचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । उनीहरुले सहि प्रतिभालाई चयन गर्ने बताएका छन् ।

लेख 

अन्यौलतामै पश्चिम सेती आयोजनाको भबिश्य   

रामहरी ओझा
‘हाम्रो गाउँमा गाडी त अहिलेसम्म पनि आएको छैन तर चिलगाडी (हेलिकप्टर) भने उहिले नै आएको    हो । त्यतिबेला मेरो उमेर करीव ३० वर्ष जति हुँदो हो, आकाशमा घुमीघुमी उ त्यो डाँडामा चिलगाडी बसेको थियो । हामी चिलगाडी हेर्नका लागि दौडेर गएका थियौंं । यहाँ पानीबाट बिजुली निकाल्छौं भनेको सुनेपछि बिजुली कसरी निकाल्ने रहेछन भन्ने कौतुहलता थियो । त्यो कौतुहलता अहिले पनि कायमै छ ।’ 
केही दिनअघि गाउँतिर जाँदा हातमा सुल्पी लिएर आँगनमा वसेका पश्चिम सेती जलबिद्युत आयोजनाको प्रभावित क्षेत्र भनिएको एक गाउँका करीब ६५ बर्षीय एक जनाले भनेका हरफ हुन यि । त्यतिबेला उनले आकाशमा बादल गर्जिदाँ चम्किने बिजुली मात्रै देखेका थिए । गाडी पनि देखेका थिएनन्, आकाशमा उड्ने भएकाले सवैले चिलगाडी भन्थे तर त्यो चिलगाडी पनि उनी लगायत गाउँका धेरैले प्रत्येक्ष देख्न पाएका थिए उनीहरुले । अब सधैं गाउँमा चिलगाडी आउने छ, बिजुली बल्ने छ र बिकास हुनेछ भन्ने आशा लगाएका थिए उनीहरुले । ति व्यक्तिलाई कुन सालमा चिलगाडी आएको थियो भन्ने त जानकारी छैन तर उनले आफ्नो उमेरसंग गरेको हिसावका आधारमा २०३८ सालतिरको कुरा हो जस्तो लाग्छ । तर त्यो आश अहिलेसम्म पनि आशमै सिमित छ ।
३५ वर्षपछि पनि पश्चिम सेती परियोजनाको प्रभावित तथा बिस्थापित भनिएको क्षेत्रमा बिद्युतको बिस्तार भएको छैन । बिद्युत मात्रै होईन परियोजना बन्ने हल्लाका कारण अन्य बिकास पनि रोकिएको छ । शिक्षा, खानेपानी, सिंचाई, तटवन्धन, सडक यस्ता पूर्वधारहरुमा राज्यले लगानी गरिरहेको छैन । ‘परियोजना बन्ने हो, हामीले बिस्थापित हुनु पर्ने हो’ भन्दा भन्दै करीव चार दशक गुजारे स्थानीयवासीहरुले ।  
ईतिहासको अध्ययन गर्दा पनि यो परियोजनाको बिषयम बहस हुन थालेको धेरै भएको देखिन्छ । सन १९८१ मा फ्रान्सको “सोग्रेह” नामक कम्पनीले बैतडीको ढुङ्गाड भन्ने स्थानदेखि लगभग ८ किलोमिटर माथी बाँध रहित आयोजना निर्माण गरी ३७ मेगावाट बिद्युत उत्पादन हुन सक्ने सम्भावना देखेपछि पहिलो पटक यो पश्चिम सेती आयोजना चर्चामा आएको पाईन्छ । बझाङ जिल्लाको उत्तरी हिमालमा मुहान भई बझाङ र बैतडी जिल्लाको पूर्बी भाग भएर डडेल्धुरा, डोटीको भू–भागलाई छुँदै अछामको सिमानामा पुगेपछि कर्णाली नदीमा मिसिने यो मझौला खालको सेती नदीलाई पश्चिम सेती भनिन्छ । पश्चिमाञ्चल बिकास क्षेत्रको कास्की पोखरा भएर बग्ने नदीको नाम पनि सेती नै भएकाले यसलाई पश्चिम सेती भन्न थालिएको हो । सन १९८७ देखि सोग्रेहले पुनः सम्भाव्यता अध्ययन गरी सन १९९१ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार जलासय रहित आयोजनाकै रुपमा बैतडीको ढुङ्गाडमा वाँध निर्माण गरी तिन सय ६० मेगावाट बिद्युत उत्पादन गर्न सकिने देखायो । एक सय प्रतिशत लगानीवाट दुई सय दुई प्रतिशत फाईदा हुने अर्थात कम लगानीमा धेरै फाईदा हुने योजनाको प्रस्ताब थियो । तर के कारणले होला उक्त आयोजना निर्माण गर्न तत्कालीन श्री ५ को सरकारले सोग्रेहलाई अनुमति दिएन । 
सन १९९० को राजनीतिक परिवर्तनपछि सन १९९४ वाट अष्ट्रलियन कम्पनी “स्मेक” ले परियोजनाको सम्भाव्यता अध्ययन सुुरु ग¥यो । नेपाल सरकारवाट निर्माणका लागि अनुमति पाई बिभिन्न सम्झौता समेत गरिसकेको स्मेकले बिभिन्न प्रकारका अध्ययनहरु गरेको थियो तर उसको अध्ययनवाट प्राप्त भएको तथ्य कुरा अझै वाहिर आउन सकेको छैन । 
देशमा प्रजातन्त्र आएकाले अब बिधिको शासन हुने र बिकास निर्माणका कार्यहरु तिब्र गतिमा हुने भन्ने         रेडियोबाट सुनेका स्थानीयबासीहरुले गाउँमा फेरी चिलगाडी आएपछि अब त पक्कै पनि बिजुली निस्किन्छ भन्ने आश लगाए । रेडियोमा आएको समाचार जस्तै आफ्नो गाउँमा पनि गाडी आउने आश गरेका थिए । लोकतान्त्रिक गणतन्त्रको स्थापना हुँदासम्म पनि उनीहरुको त्यो आश आशमै रहेको छ ।
डोटी, डडेल्धुरा, बैतडी र बझाङ्ग जिल्लाको सिमानामा जलायसययुक्त बाँध निर्माण गरिने भनिएको आयोजनाको स्मेकले गरेको अध्ययनलाई आधार मान्ने हो भने वाँधस्थल देखि बझाङ्गको चौडामवगरसम्म लगभग २५ किलोमिटर लम्बाई रहने जलासयमा एक अर्ब, ५६ करोड, ६० लाख घनमिटर पानी संकलन हुने उक्त परियोजनाले ६ सय ५९ हेक्टर खेतीयोग्य जग्गा, एक हजार दुई सय २ हेक्टर बन क्षेत्र, २ सय ४६ हेक्टर घाँसे मैदान र २ सय ६ हेक्टर वुट्यान गरी जम्मा २ हजार, ३ सय, १३ हेक्टर जमिन डुवानमा पार्ने सम्भावना रहेको थियो । जमिनको सतहवाट एक सय ९५ मिटर अग्लो कंक्रिट बाँध निर्माण गरी ६.७ किलोमिटर लामो सुरुङ्ग मार्फत बर्तमान नदीको मार्ग परिवर्तन गरी, भुमिगत बिद्युत गृह निर्माण गरेर सात सय ५० मेगावाट बिद्युत उत्पादन गर्ने स्मेकको योजना थियो । सुरुमा एक्लै परियोजना निर्माण गर्ने भनेर नेपाल भित्रिएको स्मेकले सन २०१२ सम्म पनि लगानी जुटाउन नसकेपछि वाहिरिनु प¥यो । 
द्यइइत् अर्थात द्यगष्मि, यउभचबतभ, यधल बलम तचबलकाभच को अबधारणा अनुसार निर्माण कार्य सुरु भएको पाँच बर्षमै तयार गर्ने र ३० बर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजनाका साथ अध्ययन सुरु गरिएको आयोजना स्मेककै कारण करीब २५ वर्ष पछाडी धकलियो । भनिन्छ “बैस ढलेपछिको कौमार्यताले कुनै अर्थ राख्दैन ।” अहिले नेपालमै बिद्युतको बजार प्रचुर छ, छिमेकी राष्टू भारतमा पनि बिद्युत निर्यात गर्न सकिने सम्भावना छ । तर जब नेपालकै अन्य क्षेत्रमा पनि बिभिन्न नदीनाला र खोलाहरुवाट बिद्युत उत्पादन भईसक्छ त्यसपछि महत्व घट्दै जाने छ । आफ्नो कौमार्यता वचाईराख्ने दम्वमा बुढ्यौली लागेको समेत थाह नभएपछि बुढेसकालमा उत्पादन हुने सम्भावनानै रहँदैन । त्यस्तै भएको छ पश्चिम सेतीको अवस्था । प्रकृतिको उत्पत्तिसंगै उत्पत्ति भएको यो नदी निरन्तर रुपमा बगिरहेको छ । अहिलेसम्म यो नदीको पानी नदी किनारामा बस्नेहरुले खानेपानी, व्यक्तिगत सरसफाई र बस्तुभाउका लागि प्रयोग गर्ने वाहेक अन्य कुनै पनि प्रयोजनमा काम लागेको छैन । न त एक ईन्ची जमिन सिंचाई हुन सकेको छ, न कतै बिद्युत उत्पादन भएको छ, थप भएको छ भने हिन्दुहरुको अन्तीम संसार गर्ने मसान घाट । 
लगानी जुटाउन नसकेको आरोपमा सरकारले १८ वर्षपछि अर्थात २०६७ सालमा स्मेकको सम्झौता रद्द ग¥यो । त्यसपछि परियोजनाका बिचमा आयो चिनियाँ कम्पनी थ्री गर्जेज ईन्टरनेसनल कर्पोरेसन (सिटिजिआई) । थ्री गर्जेजसंग उर्जा मन्त्रालयले फेब्रुअरी २९, २०१२ अर्थात २०६८ साल फागुन १६ गते गरेको सम्झौतामा सन २०१४ देखि आयोजनाको निर्माण कार्य सुरु गरि सन २०१९ सालमा सम्पन्न गर्ने उल्लेख छ । तर, २०१७ हुँदा समेत आयोजना निर्माण हुनेमा अन्यौलता रहेको छ । थ्री गर्जेजले लगानी बोर्डलाई दिएको अध्ययन प्रतिवेदनले आयोजनामा थप अन्यौलता सृजना गरेको छ । १८ वर्षसम्म स्मेकले पानी नाप्ने काम मात्रै गरेको थियो । स्मेकको अध्ययन अनुसार नदीमा पानीको औषत बहाव दुई सय घनमिटर प्रति सेकेण्ड रहेको देखिएको थियो तर थ्री गर्जेजको अध्ययन अनुसार एक सय ६७ घनमिटर प्रति सेकेण्ड देखिएको छ । यस आधारमा आयोजनाबाट ६ सय मेगाबाट मात्रै बिद्युत हुन सक्ने कम्पनीको दाबी छ । कम्पनीले त फेरी पाँच सय मेगाबाट मात्रै उत्पादन हुने गरि निर्माण गर्दा राम्रो हुने सुझाव दिएको छ । 
सरकार भने सन २०१२ मा भएको प्रारम्भिक सम्झौतामा सात सय ५० मेगाबाट उत्पादन गर्ने भनेकाले जसरी पनि सात सय ५० मेगाबाटनै उत्पादन गर्नु पर्ने अडान राख्दै छ । माघ ३ गते भएको सम्झौता अनुसार सरकारको उक्त अडानमा कम्पनी फेरी अध्ययन गर्न सहमत भएको छ । यसको अर्थ अब बाँधको उचाई एक सय ९५ मिटरबाट बढाउनु पर्ने हुन्छ । त्यसै त भु(गर्वबिद्हरुले यस क्षेत्रको भू(बनोट हेर्दा यहाँ जलासययुक्त बाँध बनाउन नमिल्ने भन्दै परियोजनाको बिरोध गर्दै आएका छन, त्यसैमा बाँधको उचाई थप्नु प¥यो भने के होला ? बिद्युत प्राधिकरण र थ्री गर्जेजबीच भएको उक्त सम्झौताले उव्जाएको पहिलो प्रश्न हो यो । आयोजनाको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुको ज्यान जोखिममा पारेर सरकारले किन जबरजस्ती गर्दैछ, यस बिषयमा बहस हुनु जरुरी  छ । बिश्वका धेरै उचाई भएका जलाशययुक्त बाँधहरु भत्किँदा भएको क्षति त राज्य सञ्चालकहरुले पनि मुल्याङ्कन गरेको हुनु पर्छ । 
दोश्रो, यो संयुक्त उपक्रम सम्झौतामा आयोजनाको निर्माण कार्य कहिले देखि सुरु हुने र कहिले सम्पन्न हुने भन्ने कुनै कुरा उल्लेख गरिएको छैन । लगानी कसले कसरी गर्ने र कम्पनी खोल्नका लागि पहल गर्ने बिषयलाई सम्झौतामा उल्लेख गरिएको छ । तेश्रो, सम्झौतालाई ‘मस्यौदा सम्झौता’ भनिनु पनि पश्चिम सेती परियोजना थप अन्यौलतामा पर्नु हो । ‘मस्यौदा सम्झौता’ भन्नाले त्यो पूर्ण सम्झौता होईन भन्ने प्रष्ट भएको छ । चौथो, लगानीको हिसाबले ७५ प्रतिशत थ्रीगर्जेज र २५ प्रतिशत प्राधिकरणले गर्ने भन्ने त्यो मस्यौदा सम्झौतामा छ । प्राधिकरणले गर्ने भनिएको लगानी खोजी गर्ने भन्नुले फेरी पनि परियोजनाको हबिगत स्मेकको पाला जस्तै हुने त होईन ? भन्ने आशंका छ । यस्तै स्थानीयलाई दिईने भनिएको शेयर थ्री गर्जेजले व्यवस्था मिलाउने भन्ने कुरा मस्यौदा सम्झौतामा छ । यो अस्पष्ट बिषय हो । प्रारम्भिक सम्झौता अनुसार स्थानीयबासीहरुलाई १० प्रतिशत लगानी दिने भन्ने उल्लेख गरिएको थियो । स्मेकले त्यतिबेला आयोजनाको लागत अनुमान एक अर्व ६० करोड अमेरिकी डलर रहेको वताएको  थियो । थ्री गर्जेजले अहिले पनि यतिनै लागतको अनुमान गरेको छ । तर यदि ६ सय मेगाबाटमा झार्ने हो भने एक अर्ब ६ करोड (आकास्मिक खर्च करीब ४ करोड डलर बाहेक) अनुमान गरेको छ । 
पश्चिम सेती परियोजना निर्माणमा अहिले पनि पुरानो अन्यौलता कायमै छ । स्मेकले परियोजनावाट बिस्थापितहरुलाई कहाँ पुनःस्थापना गर्ने, के क्षेतिपुर्ति दिने, उनीहरुलाई अन्य सहुलियत के दिने भन्ने वारेमा अन्तीमसम्म पनि आफ्नो योजना सार्वजनिक गरेन । परियोजनामा उपलव्ध हुने जनशक्ति कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा पनि कुनै योजना ल्याएन । स्थानीयवासीहरुले पश्चिम सेती परि–योजनावाट उत्पादित बिद्युत बाल्न पाउने कि घरको छतमाथीबाट गएको ४०० केवी क्षमता भएको बिद्युत प्रशारण लाईन हेर्दै जीवन गुजार्ने भन्ने बिषयमा उसको कुनै ठोस योजना आएन । यि अहम् सवालहरु अहिले पनि छन । 
स्मेकले स्थानीयबासीहरुलाई देखाएको सपना अहिले पनि उनीहरुको मस्तिष्कमा ताजै छ । करीब ३४ हजारले निर्माण अबधीभर रोजगारी पाउने र निर्माण सम्पन्न भईसकेपछि पनि ठुलो संख्यामा स्थानीयबासीहरुले नियमित रोजगारी पाउने लोभ स्मेकले देखाएको थियो । थ्री गर्जेज यो लोभ देखाउने तहमा त पुगेको छैन तर स्थानीयबासीहरुले के पाउँछन ? भन्ने बिषयमा सोच्नु पर्ने अनिबार्य हो । पुस्तौं देखि बसोबास गर्दै आएका स्थानीयबासीहरुको आफ्नो प्रकारको सामाजिक, साँस्कृतिक तथा आर्थिक सम्वन्ध रहेको छ । प्राकृतिक श्रोत साधनको संरक्षण, सम्वद्र्धन र उपयोगमा उनीहरु सचेत छन । निश्चित रुपमा बिकास गर्नका लागि बिनाश पहिले हुनु आबश्यक हुन्छ । त्यसैले आयोजना निर्माणका लागि उनीहरुले आफ्नो ठाउँ छोड्नु अनिबार्य छ तर उनीहरुको भबिश्यको बिषयमा ठोस् योजना किन आउन सकेको छैन । भोली रोजगारीको कुरा आउँदा प्राबिधिकहरु आबश्यक पर्ने छन । करीब ८० प्रतिशत घरधुरीबाट भारतमा गएर रोजगारी गर्नेहरु प्राबिधिक होईनन्, उनीहरुले के रोगजारी पाउँछन ? यस बिषयमा अहिलेसम्म कुनै बहसनै भएको छैन ।
अहिले अनुमान गरिएकै आकारको बाँध बन्ने हो भने करीब १० हजार जनता बिस्थापित हुने गरी, बिद्युत उत्पादन भएर पनि यो क्षेत्रलाई अन्धकारमा राख्ने गरी, यो क्षेत्रका युवाहरुले भारतका गल्लीगल्लीमा डण्डा वजाउनु पर्ने तर बिदेशीहरु आएर यहाँ जागिर खाने गरी र भोली यदि बाँध भक्तियो भने यस क्षेत्रको बिनास हुने गरी यदि यो परियोजना वनाउन खोजिन्छ भने त्यो यस क्षेत्रका लागि मात्रै होईन नेपालकै लागि दुर्भाग्य हुनेछ । नेपाल सरकारले यस बिषयमा ठोस कार्यक्रम अगाडी ल्याउनु जरुरी छ ।

मोफसल पत्रकारिता 

पहिलो हुने होडमा गलत हेडलाईन नराखौं

सरला अधिकारी (सञ्चालक) 
छहारी अनलाईन, मकवानपुर
तपार्इंको परिचय पाउँ न ? 
— म सरला अधिकारी । मेरो घर मकवानपुर जिल्ला हो । हाल म हेटौडाबाट आफैले एक नयाँ अनलाईन सञ्चालन गर्दैछु । जसको आजमात्रै उद्घाटन भएको छ । 
नयाँ अनलाईन उद्घाटन गर्नु भएछ, तपाईलाई उत्तरोत्तर प्रगतिको कामना सहित बधाई पनि छ । 
— धन्यवाद, सबैको सहयोगको पनि अपेक्षा गरेकी छु । 
कति समय भयो यस पेशामा लागेको ?
— म बिगत १० बर्ष देखि पत्रकारितामा सक्रिय छु  । मेरो पत्रकारिता मकवानपुरको नेशनल एफएमबाट सुरु भएको हो । त्यसपछि काठमाण्डौंमा रहेको नेपाल एफएम नेटवर्कमा करिब चार बर्ष काम गरे, फेरी मकवानपूर जिल्लामै फर्किएर चार बर्ष हेटौडा एफएममा काम गरे । हाल चाँही म आफ्नै अनलाईन पत्रिका छहारी नेटर्वकमा ब्यस्त छु । 
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— पत्रकारितामा बिट हुने भएपनि मोफसल पत्रकारितामा त्यसमा पनि हामी रेडियोकर्मी हरुले सबैखाले बिषयमा कलम चलाउनु पर्ने रहेछ । सबै बिटमा कलम चलाएको बानी परेर होला अचेल सबै बिटमा पत्रकारिता गर्न रुचाउँछु ।    
मोफसलमा काम गर्ने पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— मैले मोफसल र केन्द्रमा काम गरेको आधारमा केन्द्रमा भन्दा मोफसलमा धेरै समस्याहरु देखेको छु । मोफसलमा सिमित स्रोत साधन र कम तलबमा काम गर्नु पर्ने बाध्यता रहेको छ । समाचार लेखेकै आधारमा बिभिन्न पक्षबाट  दबाव झेल्नु पर्ने, धम्की सहनु पर्ने बाध्यता रहेको छ । काम धेरै गर्नु पर्ने, त्यस अनुसारको पारिश्रमिक नहुने अवस्था रहेको छ । 
तपाई त महिला पत्रकार, पुरुष पत्रकारहरुले खेप्नु परेको समस्या भन्दा थप समस्याहरु छन कि महिला पत्रकारहरुले ? 
— त्यो त अबश्य पनि छ  । नाम चलेका मिडिया हाउसका समाचार डेस्कमा पनि लैङ्गिक समानता छैन । डेस्क प्रमुखहरु पुरुषहरुनै हुने भएका कारण महलिाका आधारभुत समस्यामा पनि चासो नदिँदा काम गर्न असहजता छ । 
समस्यानै समस्या भएको पेशमा के कुराले आकर्षण ग¥यो ? 
— पत्रकारिता मेरो सानै देखिको रुचिको क्षेत्र हो । मेरो घरमा मेरो दाजुहरु पनि यहि पेशामा लाग्नु भएको र उहाँहरुको पेशाप्रतिको प्रतिबद्धता र यो पेशा मार्फत देश समाज रुपान्तरण गर्न सकिन्छ भन्ने अठोट देखेर नै म पनि यो पेसामा आकर्षित भए र मेरो पढाईको बिषय पनि यहि भएकाले मैले यहि क्षेत्र रोजेको हुँ । 
मोफसलै भएपनि मकवानपुर जस्तो व्यस्त एवं बिकसित जिल्लाबाट पत्रकारिता गर्दै हुुनु हुन्छ, कसरी बुझ्नु भएको छ यस जिल्लाको पत्रकारितालाइ ? 
— मोफसलमा पत्रकारिता गर्न समस्या त छ , तर अन्य जिल्लाको तुलनामा मकवानपुरमा पत्रकारिता गर्न  सहज छ । पत्रकारहरु बिचको एकता, अग्रजहरुले गर्ने सहयोग, पत्रकार महासंघ मकवानपुरको सक्रियताको कारण पनि यो सम्भब भएको हो । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— सबै भन्दा पहिला त श्रमजीबि पत्रकार ऐन कार्यान्वयन हुनु प¥यो । धेरै मिडियाहरुले नियुक्तीपत्र नदिएर नै काम लगाईरहेको अबस्था छ, यसमा राज्यले अनुगमन गर्नु पर्छ । यसपछि मोफसलका सरकारी बिज्ञापनहरु मोफसलमै प्रकाशन एवं प्रसारण हुने गरी राज्यले नीति तय गर्नु प¥यो ।  
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले चाँही पत्रकारको हकहितमा राम्रै काम  गरिरहेको छ । यस जिल्लाका पत्रकारहरुको जीवन बिमा, उपचारमा छुट र पत्रकारलाई परेको समस्यामा आवाज उठाउने काम गरेको छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— बैचारिक संगठनका कुरा मसंग नगर्नुस् । यी संगठन भनेका महासंघको चुनाबका बेलामा मात्र पत्रकार चिन्ने संगठन हुन्, यस्ताको के भुमिकाको कुरा गर्नु हुन्छ । 
तपाइको विचारमा पत्रकारिता के हो ?
— मेरो बिचारमा पत्रकारिता समाज र देशप्रतिको जिम्मेवारी हो । 
कत्तिको कमाइ गर्नु भयो पत्रकारितामा लागेर ? 
— कमाई त त्यस्तै हो समय बेतित् गरियो । धेरै कुरा सिक्ने अबसर मिलिरहेको छ । समाजले दिने ईज्जत र प्रतिष्ठा नै ठुलो कुरा हो जस्तो लाग्छ । 
नेपालको पत्रकारिता क्षेत्र दिन प्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयता प्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, मकवानपुर जिल्लाको अवस्था कस्तो पाउनु भयो ?
— केही ब्यक्तिको आचरणसंग जोडेर पेशाालाईनै बदनाम गर्न मिल्दैन । समाचारको बिश्वसनीयता ठुलो कुरा हो । पित पत्रकारिता गर्नेहरुलाई समयले नै पाखा लगाउने छ ।  मकवनपुरको अबस्था मैले त्यस्तो पाएको छैन ।  
तपाई त त्यसै पनि महिला पत्रकार, यस्ता कुरामा लाग्नु भा छैन होला नि ! 
— लाग्ने त परको कुरा मैले सोचेको पनि छैन । 
नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुको निर्वाचन हुने मिति तय भएको छ, नेतृत्वका लागि अनेक प्रयासहरु हुन थालेका छन । के सुझाव दिनु हुन्छ महासंघका सदस्य साथीहरुलाई ? 
— पत्रकारहरुको हकहितलाई ध्यानमा राखेर काम गर्न सक्ने नेतृत्व चयन गरौं । त्यसमा सांगाठनिक हिसाबले नभई कार्य दक्षताको आधारमा समाबेशी किसिमको कार्यसमिति चुनौं भन्न चाहन्छु । 
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— अन्तिममा म यो पेशामा लाग्ने सम्पुर्ण पत्रकार साथीहरुलाई पेशाको मर्यादाको ख्याल राख्न आग्रह गर्दछु । पहिलो हुने होडमा समाचार र हेडलाईनहरु भ्रामक खालका नराख्न पनि अनुरोध गर्दछु । 
समय र बिचारका लागि धन्यबाद । 
—मेरा बिचारहरु राख्ने अवसर दिनु भएकोमा तपाइलाई पनि धन्यबाद ।

लोकसेवा आयोगको तयारीका लागी उपयोगी 

१. स्थानीय तह पुनर्संरचना आयोगले ७१९ स्थानीय तह सहितको प्रतिवेदन कहिले सरकारलाई बुझायो ?                                                                 
— २०७३ पुष २२
२. नेपालको संविधानको धारा २८७ उपधारा (१) अनुसारको भाषा आयोग कसको अध्यक्षतामा गठन    गरियो ?                                                                 — डा.लबदेव अवस्थी
३. काठमाण्डौं महानगरपालिकामा विद्युतीय नक्सापास प्रणाली (Electronic building permit system) को सुरुवात कहिले भएको हो ?                                   — २०७२ मंसिर २० 
४. विश्वकै पहिलो Quantum communication satellite  प्रक्षेपण गर्ने देश कुन हो ?  — चिन 
५. नेपाल राष्ट्र बैंकले कहिले देखि ब्याजदर करिडोर लागु गरेको हो ?             — २०७३ श्रावण २
६. नेपाल सरकारले कहिले कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेको थियो ?                                                               — २०७३ भाद्र २९
७. फोब्र्स पत्रिकाको अनुसार सन् २०१६ को सबैभन्दा बढी कमाउने सूचीमा परेका क्रिकेटर को हुन ? 
— महेन्द्र सिंह धोनी
८. एकाइसौं राष्ट्रमण्डल खेल कहाँ र कहिले हुने भएको छ ?  
— गोल्ड क्वेष्ट,अष्ट्रेलिया, ०१८ अप्रिल ४–१५
९. श्रेया धिताल कुन खेलसँग संम्बन्धित छन् ?                                            —पौडी 
१०. ‘माया मारेको मान्छे’ कसको कृति हो ?                                 —खगराज अधिकारी 
११. न्यूयोर्क कुन नदीको किनारमा अवस्थित छ ?                                        — हड्सन
१३. संसारको सबैभन्दा नुनिलो पानीको ताल कुन हो ?                                — मृत सागर 
१४. कुनै घटी चापको केन्द्रतिर घुमीघुमी जोडसँग बहने वायुलाई के भनिन्छ ?             — चक्रपात
१५. बजारको सहर भनी कायरोलाई चिनिन्छ भने पानी मुनिकोे देश भनी कुन देशलाई चिनिन्छ ?
 — नेदरल्याण्ड
१६. विश्वको सबैभन्दा ठुलो फुटबल मैदान कुन हो ?                           — माराकाना (ब्राजिल)
१७. विश्वको सबैंभन्दा पुरानो खेल कुन हो ?                                               — पोलो 
१८. सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ?                   — हेलिस्कोप Heliscope
१९. पृथ्वीको ……Sister PlanetÆ ……Twin PlanetÆ  भनेर कुन ग्रहलाई चिनिन्छ ?           — शुक्र
२०. सबैभन्दा ठूलो शिशुग्रह कुन हो ?                                          — सिरस-ceres_
२१. पृथ्वी गोलो छ भनी घोषण गर्ने पहिलो व्यक्ति को थिए ?                         — पाइथागोरस
२२. बौद्ध धार्मिक स्थल ‘गोटीहवा’ कुन जिल्लामा पर्दछ?                               — कपिलवस्तु
२३. नेपालमा विश्वको कुल जलस्रोतको कति भाग रहेको छ ?                            — २.२७५
२४. चक्राकार नदी भन्नाले कुन नदीलाई चिनिन्छ ?                                — कालिगण्डकी
२५. सिन्धुलीगढीबाट उत्पति हुने नदि कुन हो ?                                            — कमला 
२६. अछाम जिल्लाको सदरमुकाम मंगलसेन हुनु पूर्व कुन ठाउँमा रहेको थियो ?             — रिडीकोट
२७. रातामाटे झरना कुन जिल्लामा पर्दछ ?                                         — ओखलढुङ्गा 
२८. म्याग्नाकार्टाको परिणाम स्वरुप प्रचलनमा आएको रिट कुन हो ?            — बन्दीप्रत्यक्षीकरण
२९. Man is born freedom everywhere he is in chain"  कसको भनाई हो ?        — रुसो
३०. पक्की  सडक बनाउने तरिका कसले पत्ता लगाएका  हुन ?                          — मेकडम
३१. राज्यक्रान्ति अघि फ्रान्सको संसदलाई के भनिन्थ्यो ?                            — स्टेट जनरल
३२. अमेरिकी स्वतन्त्रता संग्राम कति बर्षसम्म चलेको थियो ?                             — ८ बर्ष
३३. अमेरिका स्वतन्त्र घोषणको प्रारुप कसले तयार पारेका थिए ?                 — थोमस जेफरसन
३४. रुसी अक्टोेबर क्रान्तिबाट उत्पत्ति भएको नयाँ विचारधारा कुन हो ?        — समाजवाद/साम्यवाद
३५. हिटलरको चर्चित आत्मकथाको नाम के हो ?                                    — मेरो संघर्ष
३६. ११ औं विश्वकप क्रिकेट, २०१५ मा उत्कृष्ट खेलाडी को घोषित भएका थिए ?      — मिचेल स्टार्क
३७. केटी देख्ने बित्तिकै बेहोस हुने महान वैज्ञानिक को हुन ?                       — हेनरी केभिण्डस
बौद्धिक परीक्षण खण्ड
३८) केहि रुपैयाँ  A,B,C,D  को बीचमा 4:3:2:1  को अनुपातमा विभाजन गर्दा D ले भन्दा C ले1000   रुपैयाँ बढी पाउछ भने Aको भागमा कति रकम पर्ला ?
A)      1500                       B) 2000                   C) 2500                D)4000
३९)  प्रश्न चिन्ह (?) राखिएको ठाउँमा मिल्ने विकल्प कुन हो ?
HIJ : MNO :: RST :  ?
A)    UVM               B) WXY                   C)XYZ               D) none of the above
४०) अर्थपूर्ण ढङ्गले क्रम मिलाई राख्नुहोस् ।
1)         Milkyway           2) Sun             3) Moon            4) Earth              5) Stars
A)        1,4,3,2,5                 B) 2,3,4,5,1                C)  3,4,2,5,1                D) 4,3,2,5,1
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ । 
संकलककर्ता ः प्रयाग राज उपाध्याय
सुझावका  लागि ः 9848626741
मिति  २०७३ साल माघ ४ गते मंगलबारको बिम्ब साप्ताहिकमा प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरु ः
३८) द्B                                             ३९) A                    ४०) B

साहित्य/सृजना 

निभ्दै गरेको सुर्य

तिम्रो हत्केलामा 
कति समय अडिरहन सकुँला यसरी ।
म आफ्नै लय विर्सेर हिँडेको फकिर, 
विर्सेर आफ्नै निजी बाटो वर्षौ देखि उहि गल्लीमा भौतारिरहेको 
एउटा बेवारिसे पागल जस्तो
र बोटको निलो आकाशमा फूलीरहने एउटै रंगको फूल जस्तो ।
आफ्नै अनुहारबाट चुहिन बाकि केहि उज्यालो छ 
केहि छ यात्रा अझै बाकि 
एक अंगालो लाल किरणहरुको गुच्छाहरु छन 
तिम्रो जीवन रंग्याउन अपुग भए जस्तो ।
म वर्षौ अघि हिडीरहे एक्लै 
तिमी वर्षौ बाँचेको पृथ्वी पनि यहि हो ।
तिमीले देखेर पनि नदेखे जस्तो गरेको यहि ठाउँ हो ।
तर उत्तराद्र्धको एक निमेष
तिम्रो हत्केला माथी अडिनु पनि एउटा सौभाग्य हो ।

शासक लाई प्रश्न 

हाम्रो हकको भन, हिसाब कहिले हुन्छ !
सवाल जिन्दगीको हो, जवाफ के पाईन्छ
बुनेका थियौं जो सपना, क्रान्ति मैदानमा 
पुरा हुन आँखाकै अघाडि, अझै के चाहिन्छ

धेरै भयो खेल स्वार्थमा,जात–जाति र मधेश–पहाडेको
बिध्वम्सक बिचारका पर्खाल भत्काऊन, अब के चाहिन्छ
न नेपाली मुटुको एकता, न चोर र साधुमा भिन्नता
अब भन ? इमान्दार कानुनी राज्य, कहिले पाईन्छ

झुठो नारा घन्काउदैछौ, ऊज्यालोको तिमि
निष्पट अन्ध्यारो तोड्न, किरण कहाँबाट ल्याऊला
फैलाउदा सुगन्ध, मित्रताको देशमा
सुकवास बाट्दै नेपाली मन, गुलाब कहिले होला !!
सुर्य बस्याल 
हाल नयाँ दिल्ली भारत

मुक्तक

बनाउछु म उ सधै भत्काउन खोज्छ
बारबार मलाई मात्रैै सताउन खोज्छ ।।
मेरो जीवन हो म जे सुकै गरु भन्छु
उल्टै मै माथी हात उठाउन खोज्छ ।।
नबिन जेठारा ‘महासागर’

मुक्तक

जस्तो भेट्यौ त्यÞस्तै बन्ने मान्नै पर्छ तिमीलाई
फूल फूलाई जरा खन्ने मान्नै पर्छ तिमीलाई
वा यती छिट्टै भूल्न सक्यौ त्यति मिठो अतित
मलाई त चिन्यौ धन्य मान्नै पर्छ तिमीलाई
मिलन बिबस बम
तिखात्तर, डोटी

निरोगीलाई प्रेमको रोगी बनायो तिमीले 

दिल मागीमागी हिड्ने जोगी बनायो तिमीले ।।
म त गरिब प्रदेशी थिए, कर्म हारा मान्छे 
मायाको बोझ उठाइ हिड्ने बोकी बनायो तिमीले ।।
कृष्ण भट्ट ‘प्याशी’ 
तिखात्तर–८ डोटी

सूचना/सन्देश/बिज्ञापन 

कर्मचारी आवश्यकता सम्बन्धी सूचना       


प्रथम पटक सूचना प्रकासित मिति ः २०७३÷१०÷०९    
समान पहँुुच विकास केन्द्र (सिड) नेपाल पचनाली डोटीद्वारा युनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित मातृशिशु स्वास्थ्य कार्यक्रम लागी तपशिल अनुसारका कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकासित भएको मितिले ७ दिनभित्र संस्थाको सिलगढीस्थित सम्पर्क कार्यालयमा पुग्ने गरी दरखास्त आह्वान गरिन्छ । 
तपशिल   
कार्यक्रम   ः मातृशिशु स्वास्थ्य कार्यक्रम,    
पद ः कार्यक्रम सहायक (अनमि÷अहेव),    
संख्या ः १ (एक) 
योग्यता    ः मान्यता प्राप्त शिक्षण संस्थाबाट अनमि÷अहेव उत्तीर्ण गरेको ।
अनुभव     ः कम्तीमा १ वर्ष सम्बन्धित विषयगत कार्यअनुभव भएको ।         
कार्य क्षेत्र   ः तिजाली र घण्टेश्र गाविसहरु
पेश गर्नु पर्ने कागजातहरु ः 
  • अनमि÷अहेव पास गरेको प्रमाण पत्र तथा काउन्सिल दर्ता प्रमाण पत्र, 
  • नेपाली नागरिकता प्रमाण पत्र 
  •  हस्त लिखित निवेदन 
  •  कार्यालयमै उपस्थित भई कार्यालयको फाराम सहित कार्यालय समयभित्र पेश गर्नु पर्ने छ ।

सेवा÷सुविधा    ः कार्यक्रमको नियमानुसार  
परीक्षाको किसिम  ः लिखित तथा अन्तरवार्ता ।
दरखास्त        ः  सिड नेपालको निवेदनको ढाँचा (फाराम) संस्थाको सिलगढीस्थित कार्यालयबाट लिई र शैक्षिक योग्यताको प्रतिलिपि सहित वुझाउनु पर्नेछ ।
ग्राह्यता         ः कार्यक्षेत्रको उम्मेदवारलाई विशेष ग्राह्यता दिईनेछ ।
दरखास्त दिने अन्तिम मिति ः २०७३ साल माघ १५ गते शनिबार (शनिवार पनि दरखास्त लिईनेछ र सार्बजनिक बिदा भएपनि सोही दिन दरखास्त दिने अन्तिम दिन हुनेछ ।)
सम्पर्क मिति  ः २०७३ साल माघ १५ गते शनिबार
दरखास्त दस्तुर  ः रु २५०
नोट ः रित नपुगी वा म्याद नाघी आएका दरखास्त उपर कुनै कार्यवाही हुने छैन । यस सम्बन्धमा थप जानकारी चाहिएमा संस्थाको सिलगढी डोटीस्थित सम्पर्क कार्यालयको फोन नं. ०९४–४११०११  मा सम्पर्क गर्न सकिनेछ ।                    
पदपुर्ति समिति

शिक्षक आवश्यकता सम्वन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷१०÷११ 
उपरोक्त सम्बन्धमा छपाली गाबिस–५, डोटीमा रहेको यस श्री छपाली माध्यामिक बिद्यालयमा प्रा.बि. तह तृतीय श्रेणीमा शिक्षकको पद    रिक्त रहन गएकोले जिल्ला शिक्षा कार्यालय डोटीको पत्र संख्या ०७३÷०७४ र चलानी नंं.११३५ को पत्रानुसार शिक्षकको बिज्ञापनका लागि अनुमति पत्र प्राप्त भएकोले शिक्षा नियमाबली २०५९ को नियम ९७(२) अनुसार शिक्षक करारमा नियुक्त गर्नु पर्ने हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आव्हान गरिन्छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७३
पद संख्या ः १ (खुला) 
तह ः प्रा.बि. तृतीय 
स्केल ः नेपाल सरकारले तोके अनुसार 
शैक्षिक योग्यता ः आई.एड. वा सो सरह 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्डस्थानीय अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति 
ड्डनिरोगिताको प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डतालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति 
दरखास्त दिने अन्तिम मिति ः २०७३÷१०÷१४ गते कार्यालय सयमभित्र
परीक्षा दस्तुर ः २०००/-
परीक्षाको किसिम ः लिखित र अन्तरबार्ता 
परीक्षा मिति ः जि.शि.का. डोटीले तोके बमोजिम हुनेछ ।
दरखास्त बुझाउने स्थान ः श्री छपाली मा.बि. डोटी 
सम्पर्क फोन ः (प्र.अ.) ९७४९०५८७८९, (लेखापाल) ९७४९०५११३६
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुनेछैन ।

हार्दिक बधाई

दिपायल सिलगढी नगरपालिका–२ सिलगढी निवासी आत्मीय मित्र श्री टंक प्रसाद गुरुङ्ग उच्च अदालतको माननीय न्यायाधिश पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाइका साथै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

अधिराज बि.सी.
दिसिनपा–४, सिलगढी डोटी

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।


जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी