Tuesday, January 24, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल माघ ११ गते मंगलबार

राष्ट्रिय अखण्डता, सामाजिक मर्यादा, भेदभावरहित सत्य तथ्य सूचनाको सम्प्रेषण, शान्ति प्रवद्र्धनमा अग्रसर हुनु हामी सवैको कर्तव्य हो ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

सरकारी भवनहरुनै गैर कानुनी  

जिल्ला नापी कार्यालय डोटीको चार तले नयाँ भवन निर्माण हुँदैछ । दुई वर्षमा भवन निर्माण कार्य पुरा भईसक्ने गरी देबसिं निर्माण सेवासंग गत बैशाख २९ गते भएको सम्झौता अनुसार उक्त भवनको लागत करीब एक करोड ६८ लाख रुपैयाँ रहेको     छ । 
जिल्ला कृषि बिकास कार्यालय डोटीको चार तले भवन पनि निर्माणाधिन अवस्थामा छ । भ्याट र प्रोभिजनल खर्च सहित करीव दुई करोड नौ लाख रुपैयाँ लागतमा उक्त भवन पि एस कन्ष्ट्रक्सनले निर्माण गर्दैछ । गत जेठमा सम्झौता भएको उक्त भवन २०७५ जेठसम्म निर्माण भईसक्ने छ । 
जिल्ला प्रशासन कार्यालय डोटीको नयाँ भवन नयाँ बर्षको अबसरमा गत बैशाख १ गते उद्घाटन भयो । भ्याट र प्रोभिजनल खर्च सहित पाँच करोड, २६ लाख ५३ हजार चार सय रुपैयाँको लागतमा उक्त भवन निर्माणका लागि २०६९ साल असार ११ गते आषिश÷पि एस÷आई एस जेभिसंग सम्झौता भई गत वर्ष भाद्रमा निर्माण कार्य सम्पन्न भएको थियो । भव्य रुपमा गृह प्रवेशको योजना वनाईएको भएपनि चैत्र ३१ गते डोटीको जिजोडामाण्डौंमा भएको जीप दुर्घटनामा नौ जनाले ज्यान गुमाएका कारण भवनको उद्घाटन सामान्य रुपमा भयो । 
माथी उल्लेख गरिएका तीनवटै भवन कानुनी रुपमा अबैध हुन । भवन ऐन, २०५५ को दफा ८ अनुसार यि भवनहरु ‘ख’ र ‘ग’ वर्गका भएका देखिएका छन । सोही ऐनको दफा ११ अनुसार कुनै पनि व्यक्ति, संस्था वा सरकारी कार्यालयले भवन निर्माण गर्न पूर्व नगरपालिकाबाट नक्सा पास गराउनु पर्ने व्यवस्था छ । तर, यि मध्ये कुनै भवनको पनि निर्माणका लागि नक्सा पास भएको छैन । 
यि तीन भवन मात्रै होईनन् थप पाँच भवनहरु समेत नक्सा नक्सा पास नभई निर्माणाधिन अवस्थामा रहेका छन । 
स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ९६ ले भवनको नक्सा स्वीकृत गर्ने जिम्मेवारी नग–रपालिकालाई दिएको भएपनि नगरभित्रै बन्ने सरकारी भवनहरु समेत नियम बिपरित निर्माण भएका  छन । शहरी बिकास तथा भवन निर्माण बिभाग, डिभिजन कार्यालय डोटीले आर्थिक वर्ष २०७१÷०७२ देखि हालसम्म दिपायल सिलगढी नगरपालिका क्षेत्रभित्र आठ सरकारी भवन निर्माण भईरहेको जनाएको छ । ति भवनहरु कसैको पनि नक्सा पास भएको छैन । चार तले सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय र दुई तले निर्देशनालयको कर्मचारी आवास, तीन तले जिल्ला जनस्वास्थ्य कार्यालय र दुई तले राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको भवन नक्सा पास नभई निर्माण भईरहेको सो कार्यालयले नगर–पालिकालाई जानकारी गराएको   छ । क्षेत्रीय सदरमुकाममा निर्माणाधिन डोटी सभाहलको समेत नक्सा पास भएको छैन । 
त्यसो त यस अघि निर्माण भएका पुनराबेदन अदालत र डोटी जिल्ला अदालत लगायतका भवनहरु दर्जनौं भवनहरु समेत नगरपालिकाबाट नक्सा पास नगराई भएका छन । स्रोतका अनुसार सरकारी भवनहरुमा महिला तथा बालबालिका कार्यालय डोटीको मात्रै नगरपालिकाबाट नक्सा पास भएको छ । उक्त भवन २०६६ सालमा निर्माण कार्य सम्पन्न भएको थियो । सरकारी कार्यालयका भवनहरुनै नक्सा पास नगराई वन्ने भएपछि कसको के लाग्यो । 
पुष ५ गते नियमित रुपमा हुने सरकारी कार्यालय प्रमुखको बैठकमा सरकारी कार्यालयहरुले समेत नक्सा पास नगराउने गरेको कुरा उठ्यो । दिपायल सिलगढी नगरपालिकाका सामुदायिक बिकास अधिकृत रमेशचन्द्र जोशीले दिएको जानकारी अनुसार त्यसपछि  नगरपालिकाले पुष १९ गते सहकरी बिकास तथा भवन निर्माण कार्यालयलाई पत्राचार गरि आर्थिक बर्ष २०७०/०७१ देखि हालसम्म नगर क्षेत्रमा निर्माण भएका र भईरहेका भवनहरुको सूची माग ग¥यो । जिल्ला प्रशासन कार्यालय डोटीलाई बोधार्थ भवन कार्यालयले नगरपालिकालाई माघ २ गते उपलव्ध गराएको बिवरण अनुसार यि भवनहरुको नक्सा पास नगरेको वताएको छ । 
निर्माणाधिन भवनको नक्सा पास गराउनका लागि पत्राचार भईसकेको वताउँदै नगर–पालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्य भन्छन् ‘अव सवै कार्यालयहरुले नक्सा पास गराउँछन ।’ उनले अव नक्सा पास नगराई सुखै नभएको दावी गरे । 
निर्माणाधिन र निर्माण भएका भवनहरुलाई नक्सा पास गर्नका लागि पत्राचार गरिएको भएपनि नक्सा पास नहुन्जेलसम्म निर्माणाधिन भवनहरुको निर्माण कार्य भने रोकिएको छैन । यसरी कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका सरकारी संयन्त्र–हरुबाटै कानुन मिचिएको छ ।

सम्पादकीय 

हाट बजारको प्रश्न

तामझाम सहित पुष २३ गते डोटी जिल्ला सदरमुकामको टुँडिखेलमा हाट बजारको सुरुवात गरियो । सरकारी तथा गैरसरकारी कार्यालयहरुले हाट बजारको ठुलै प्रसंसा गरियो । जिल्लामा भएका सबै बिद्युतीय सञ्चारमाध्यमहरु र पहुँचमा भएका छापा सञ्चारमाध्यमहरुमा पनि नियमित रुपमा बिज्ञापन प्रकाशन भए र हुँदैछन । सरकारी कार्यालयहरु, गैरसरकारी संस्थाहरुले फोटो खिचे, भिडियो क्लिप पनि तयार गरे । हाट बजार भने पनि बजार त थिएन खासै तर चहल पहल भने त्यो दिन धेरै नै थियो । लाग्दैथ्यो सायद अब राम्रैसंग चल्छ नियमित रुपमा चल्छ हाटबजार तर भयो फरक । 
साप्ताहिक रुपमा लाग्ने भनिएको हाट बजार दोश्रो साता टुंडीखेलमा एक पसल मात्रै देखियो । सायद माघ १ गते अर्थात स्थानीय चाँडपर्व भएका कारण किसानहरुले आफ्नो उत्पादन ल्याएनन् अव अर्को साता आउँछन होला भन्ने अनुमान गरिएको थियो तर त्यसो भएन । अर्को साता अर्थात गत शनिवार पनि यस्तै दृष्य देखियो हाट बजारको । हाट बजार हेर्न केही सरकारी तथा गैरसरकारी कार्यालयहरुका प्रतिनिधिहरु आएका थिए । उनीहरुले फेरी एउटै पसल देखेर चित्त बुझाए । थप आएको थियो त बेसार बिक्री गर्ने महिलाहरुको एक समूह । 
यो हाट बजारको प्रसंगमा निकै छलफल भयो, स्रोत पनि  परिचालन भयो, जनशक्ति पनि परिचालन भयो । तर अवस्था उस्तै देखियो । यहाँ दोष कसैको पनि होईन, दोष हाम्रो अर्थ व्यवस्थाको हो । कसैले हामी पूर्ण रुपमा पूँजीबादी अर्थव्यवस्थामा छौं भनेर चिच्याएपनि नेपालको बर्तमान अर्थ व्यवस्था अर्धसामन्ति अर्थ व्यवस्थानै रहेको छ । अर्ध सामन्ति अर्थ व्यवस्था निर्वाहमुखी अर्थ व्यवस्था हो । किसानहरु निर्वाहका लागि उत्पादन गर्छन । घर परिवारमा आफुलाई चाहिने जति उपभोग गरेर बचेको जति बिक्री गर्ने चलन छ  अर्थात अधिकांस किसानहरु अहिलेसम्म पनि व्यवसायिक उत्पादन गर्दैनन् । जसको कारण उत्पादन कम हुन्छ । 
जव उत्पादन कम हुन्छ भने बजारमा कसरी उत्पादन आउँछ त ? यसलाई ध्यान दिनु जरुरी छ । उत्पादनमा बृद्धि गर्नका लागि भुमी सुधार नीतिमा परिवर्तन आउनु जरुरी छ पहिलो कुरा । जसरी जमिनको खण्डीकरण हुँदैछ, यस अवस्थाले व्यवसायिक कृषि प्रणालीमा कुनै पनि किसान जान सक्दैन, सधैं निर्वाहमुखी नै हुनेछ । व्यवसायिक हुनका लागि किसानहरुसंग प्रसस्त जमिन हुनु प¥यो, त्यो छैन । 
अर्को महत्वपूर्ण कुरा सिंचाईको हो । सेती नदी बिना काममा सलललल बगेको छ । सात सय ५० मेगावाट बिद्युत उत्पादन गर्ने सपना बाहेक अरु हामीले केही पनि देखेका छैनौं सेती नदीबाट । नदी किनारमा आकाशे पानीको भरमा रहेका उर्वरक जमिन सिंचाई गर्नका लागि यदि हामीले आधुनिक सिंचाई प्रणाली अपनाउन सक्यौं र स्थानीय कृषकहरुलाई आधुनिक एवं व्यवसायिक खेतीका बारेमा जानकारी दिन सक्यौं भने मनज्ञ उत्पादन हुनेछ । त्यो उत्पादनले जव सामान्य रुपमा वजार पाउँदैन अनि हाट बजारमा आउने छ । हाट बजार भन्ने बित्तिकै कृषि उत्पादनसंग जोडिने बिषय हो । बाजा बजाएर वा भाषण गरेर वा फोटो खिचेर मात्रै हाट वजार सफल हुने भए डोटीमा २०६२ सालदेखिनै निरन्तर रुपमा हाट बजार सञ्चालन भएको हुने थियो ।   
त्यसैले सवै सरोकारवालाहरुले के सोच्नु जरुरी छ भने हाट बजार बाजा वजाएर मात्रै सफल हुने हैन । बाहिरी जिल्लाको उत्पादन हाट बजारमा ल्याएर बेच्न सक्ने सम्भावना छैन । हाट बजारका लागि उत्पादनमा बृद्धि हुनु आवश्यक छ । त्यसका लागि हामी सवैले पहल गर्नु जरुरी छ । नत्र केही समयमै यो हाट बजार पनि हराएर जाने निश्चित छ ।

थप समाचार 

प्रादेशिक महोत्सब फागुन १२ देखि

सुदूरपश्चिम प्रादेशिक महोत्सव फागुन १२ गतेदेखि २१ गतेसम्म डोटीको दिपायलमा आयोजना हुने भएको छ । 
डोटी उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको उक्त महोत्सबले प्रदेश नं. ७ का सवै जिल्लाहरुको प्रतिनिधित्व गर्ने छ । महोत्सवमा “कृषि, पर्यटन, उद्योग व्यापारको पूर्वाधार, सुदूरपश्चिम बिकासको मुल आधार” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको उक्त महोत्सबले प्रदेशभित्रका पर्यटकीय सम्भावना बोका धार्मिक, प्राकृतिक, ऐतिहासिक, साँस्कृतक स्थलहरुको प्रचार प्रसारमा सहयोग पुग्ने बिश्वास गरिएको छ । 
डोटी उद्योग बाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सबको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा महोत्सवको योजना सार्वजनिक गर्दै संघका अध्यक्ष नरेन्द्र खड्काले महोत्सबमा करीव ७० लाख बरावरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए । 
हस्तकला प्रदर्शनी, लघु तथा घरेलु उद्योग प्रबिधि सम्वन्धि प्रदर्शनी, सुदूरपश्चिमका नोवटै जिल्लाको बिशेषता झल्काउने खालका साँस्कृतिक झाँकीहरु प्रस्तुती, कृषि प्रदर्शनी, सेती नदीमा ¥याप्टिङ्ग महोत्सवका मुख्य आकर्षणहरु रहने आयोजकले जानकारी दिएको छ । 
यस्तै रमाईलो मेला तथा बाल उद्यान, सुदूरपश्चिममा पाईने बिशेष प्रकृति खानाका परिकारहरु र प्रदेश नं. ७ का बिशेषता झल्काउने पोष्टरहरुको प्रदर्शनी गरिने अध्यक्ष खड्काले वताए । मेलामा स्थानीय, राष्ट्रिय तथा स्थानीय उत्पादनहरुको प्रदर्शनी र बिक्री बितरण हुने उनले   वताए । 
‘बिगतका वर्षहरु भन्दा यस बर्ष सुदूरपश्चिमकै कला साँस्कृतिमा बढी जोड दिईने छ’ अध्यक्ष खड्काले भने ‘महोत्सव अवधीमा प्रदेश नं. ७ को बिकासमा सम्भावना र चुनौतीहरुका बिषयमा प्रदेशस्तरकै अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रयास गरिनेछ ।’ बिगतमा भएका कमीकमजोरीहरुलाई सुधार गरेर यस पटक महोत्सवलाई थप व्यवस्थित गरिने खड्काको भनाई छ । उनले महोत्सव आयोजना गर्नका लागि सबै क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरेका छन ।

एमालेको मण्डले राष्ट्रबाद, काग्रेस–माओवादी लेण्डुपबादी

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय बरिष्ठ सदस्य एवं सेती महाकाली ईन्चार्ज कृष्ण गुरुङ्गले नेकपा एमालले उठाएको राष्ट्रबाद सामन्ती मण्डले राष्ट्रबाद भएको वताएका छन । 
माघ ५ गते देखि पार्टीले सञ्चालन गरेको अभियानका क्रममा डोटी पुगेका गुरुङ्गले आईतवार पार्टी जिल्ला कमिटीद्वा–रा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङ्गले नेकपा एमालेले पछाडि परेको बर्गलाई अधिकार दिन नचाहेको र भौगोलिक राष्ट्रबादलाई कडाईका रुपमा उठाएको आरोप लगाए । उनले भने ‘एमालेको मण्डले राष्ट्रबादको चंगुलमा अहिले ठुलो जमात फसेको छ, त्यहि जमातको भरमा के पी ओलीले आफुलाई राजा घोषणा गर्न चाहेका छन । 
उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई लेण्डुपबादी भएको आरोप लगाए । उनले भने ‘बर्तमान     सरकार र यो सरकारमा सहभागि कांग्रेस–माओवादीहरु लेण्डुपबादी शैलीमा गईरहेका छन ।’ नेपालको अर्थव्यवस्था भारतीय एकात्मक पूजीबादी व्यवस्था भएको र वर्तमान सरकारले भारतीय ईसारामा काम गरिरहेको उनले वताए । वर्तमान सरकार र सत्ता गठवन्धनले बिस्तारै यो देश लगेर भारतमा बुझाउने खतरा रहेको उनले आरोप लगाए । 
बर्तमान संबिधान जनपक्षीय नभएको वताउँदै गुरुङ्गले यो संबिधानले युगौं देखि पछाडि   पारेका बर्गहरुको प्रतिनिधित्व गर्न नसकेको दावी गरे । ‘बहुदलीय संसदबादी व्यवस्था एकाधिकारबादी पूजीबादी व्यवस्था हो’ गुरुङ्गले भने ‘यस्तो व्यवस्थामा दलालहरुका बीचमा प्रतिस्पर्धा हुन्छ र जो जिते पनि दलालनै जित्छ ।’ त्यसकारण यो व्यवस्था आफुहरुलाई स्वीकार नभएको गुरुङ्गको भनाई छ । 
सञ्चारकर्मीहरुद्वारा स्थानीय निकायको निर्वाचन सम्वन्धि सोधिएको प्रश्नको जवाफमा गुरुङ्गले भने ‘स्थानीय निकायको मात्रै होईन, कुनै पनि निकायको निर्वाचन हुन सक्दैन ।’ उनले भने ‘निर्वाचनको मिति घोषणा गर्नु वर्तमान सरकारको नियन्त्रणमा छैन ।’ एमालेले सडकमा निर्वाचनको माग गर्दैमा र कांग्रेस–माओवादीहरुले सरकारमा बसेर चुनाव गराउँछु भन्दैमा चुनाव हुन्छ भन्ने भ्रममा नपर्न सञ्चार–कर्मीहरुलाई अनरोध गर्दै उनले भने ‘भारतले नेपालमा चुनाव   गराउन चाहेको छैन, जवसम्म भारतले जवसम्म चुनाव गराउन चाँहदैन तवसम्म नेपालमा चुनाव हुन सक्दैन ।
शनिवार सम्पन्न पार्टी जिल्ला कमिटीले जिल्लाको संगठन सुदृढिकरण र जनपरिचालन गर्ने निर्णय गरेको पार्टी जिल्ला सचिव चन्द्र थापाले जानकारी दिए ।  

नयाँ शक्तिको दोहोरी नयाँ उचाईमा

रामहरी ओझा/सिलगढी
   माघ १०
२०७२ साल जेठ २ गते संबिधानसभाबाट नयाँ संबिधान जारी भएपछि ‘अव राजनीतिक क्रान्ति सम्पन्न भएको र देश समृद्ध गराउनका लागि आर्थिक क्रान्ति गर्नु पर्ने’ भन्ने निश्कर्षका साथ नयाँ शक्ति अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा बाबुराम   भट्टराईको नयाँ शक्ति नेपालको डोटी कमिटीमा देखिएको बिवाद नयाँ उचाईमा पुगेको छ । 
आर्थिक बिकासका लागि पुराना राजनीतिक शक्तिहरुबाट सम्भव नभएको र बिभिन्न क्षेत्रका योग्य व्यक्तिहरु सहितको नयाँ शक्ति चाहिएको भन्दै नयाँ शक्ति नेपाल पार्टी वनाउने भट्टराईको पार्टीमा देखिएको बिवादले यो पार्टी पनि नामको मात्रै नयाँ शक्ति भएको प्रष्ट्याएको छ ।
भट्टराईले नयाँ शक्तिको अभियान थालेसंगै तत्कालीन एकिकृत माओवादीबाट पूर्व सांसद मोहन वम लगायतको टोली अभियानमा जोडियो । त्यतिबेला माओवादीभित्रको अवस्था अहिलेको नयाँ शक्तिभित्रकै अवस्था जस्तो थियो । एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने, दुई कार्यालय स्थापना गर्ने, बिज्ञप्तीबाजी गर्ने, समानान्तर कमिटी वनाउने जस्ता क्रियाकलापहरु हुँदै एक पक्षको नेतृत्व गर्ने बम सहित उनको टिम नयाँ शक्तिमा प्रवेश ग¥यो । 
गत वर्ष मंसिर २२ गते बमकै नेतृत्वमा जिल्ला कमिटी पनि चयन भयो । बिचमा कमिटीमा हेरफेर गर्दै कैलाश साउँदलाई संयोजक वनाईयो । पुष ३ गते साउँदलाई कारवाही गर्दै बम फेरी संयोजक बने । 
यता नेकपा माओवादी केन्द्रबाट एक समूह पुष २ गते नयाँ शक्तिमा प्रवेश ग¥यो ।   नेता कार्यकर्ताहरुको ठुलो संख्या प्रवेश गरेपछि पुष २२ गते धु्रवीकरण भेला आयोजना गरियो तर त्यो धु्रवीकरण भेलालेनै दुई ध्रुवमा पु¥यायो पार्टीलाई । 
बम पक्षले साउँदलाई पार्टीको बिधान अनुसार कारवाही गरिएको र मोहन बमनै आधिका–रिक संयोजक भएको दावी गरेको छ । पुष २२ गते भएको ध्रुवीकरण भेलामा पार्टी प्रदेश नं. ७ का ईन्चार्ज भीम कडायत र संयोजक लिला केसी दुवै उपस्थित हुँदा बमलाइनै संयोजक स्वीकार गरिएको त्यो पक्षको दावी छ । 
अर्को पक्षले माघ ४ गते पार्टीको बिस्तारित बैठक आयोजना गरि शिबसिं ओलीको संयोजकत्वमा नयाँ कमिटी गठन गरेको छ । बम समूहले कारवाही गरेको भनिएका साउँदलाई नै सभाध्यक्ष वनाई आयोजना गरिएको बैठकमा ६९ जनाको   पुरानो कमिटीमध्ये ३८ जना सहभागि भएको ओली समूहको दाबी छ । तर, बम पक्षले उक्त भेलामा जम्मा ६ जना मात्रै उपस्थित भएको र बाँकी सवै माओवादी केन्द्रबाट प्रबेश गरेकाहरु मात्रै सहभागि भएको दाबी गरेको छ । 
बम समूहले आईतबार छुट्टै भेला सम्पन्न गरेको छ । ओली समूह जस्तै बम समूहले पनि उक्त भेलालाई बिस्तारित बैठक भएको बताएको छ । 
बमले पार्टीको नीति बिधि र प्रक्रिया मिचेर मनोमानी गर्न खोजिरहेको ओली पक्षको दावी छ भने प्रदेश संयोजक र ईन्चार्जको आडमा ओली समूहले अनावश्यक बिवाद सृजना गरिरहेको बम पक्षको दावी छ । 
कार्यालय पनि दुई 
दुवै पक्ष माओवादीमा हुँदा भएझै अहिले पनि दुई कमिटीसंगै दुई कार्यालय स्थापना भएका छन । ओली संयोजक रहेको समूहले बिधिबत् रुपमा नयाँ शक्ति नेपालको पार्टी कार्यालय अहिले स्थापना भएको दाबी गरेको छ । उक्त कार्यालयको प्रदेश ईन्चार्ज भीम कडायतले उद्घाटन गरेका  छन । 
उता बम समूहले पार्टीको कार्यालय यस अघिनै स्थापना भईसकेको दाबी गरेको छ । 
दुई कमिटी, दुई कार्यालय र नयाँ उचाईको बिवाद हेर्दा नयाँ शक्ति नेपाल पनि नाम मात्रैको नयाँ शक्ति भएको कुरा अनुमान गर्न गा¥हो पर्दैन ।

नेतृत्व बिकास तालिम सम्पन्न

महिला तथा बालबालिका कार्यालय डोटीको आयोजनामा महिलाहरुका लागि पाँच दिने नेतृत्व तथा क्षमता बिकास तालिम सम्पन्न भएको छ । 
कार्यालयले सञ्चालन गरिरहेको लैङ्गिक हिंसा निबारणका लागि महिला संस्थाहरुको एकिकृत बिकास कार्यक्रम अन्तरगत सञ्चालन भएको उक्त तालिम आईतवार सम्पन्न भएको हो । निमित्त कार्यालय प्रमुख सबिना श्रेष्ठका अनुसार तालिममा घण्टेश्वर महिला बहुउद्देश्यीय सहकारी संस्थाका ३० जना महिलाहरुको सहभागिता रहेको थियो । 
समूह, समिति र सहकारी संस्था मार्फत महिलाहरुको क्षमता बिकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त तालिममा महिला नेतृत्व बिकास, सहकारी संस्थाको भुमिका, महिलाहरुको क्षमता बिकास र सशक्तिकरण सम्वन्धि बिषयहरुमा तालिम दिईएको निमित्त महिला बिकास अधिकृत श्रेष्ठले वताईन । 

बालबिवाह गर्नेको तिन पुस्ते

बैतडीको हाट गाबिसलाई बालबिवाह शुन्य गाबिस बनाउनु गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्त रीय बालविवाह न्यूनीकरण समितिले सक्रियता बढाएका    छन ।
बालबिबाह रोक्नका लागि ति समूहहरुले संयुक्त रुपमा अभियान सञ्चालन गरेका छन । अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्ने लगायतका कार्यक्रम तय गरिएको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुमार कुँवरले जानकारी दिए । कुँवरले भने ‘बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने, शिक्षा ग्रहण गर्न नपाउने लगायतका समस्या देखिएपछि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरिएका हो ।’ 
हाटलाई जिल्लाकै नमुना स्वास्थ्य गाविस घोषणा गर्न पनि बालविवाह अन्त्य गर्नुपर्ने भएकाले बालविवाह न्यूनीकरणको अभियान सुरु गरिएको गाविसस्तरीय बाल सञ्जालका प्रतिनिधि लालबहादुर भण्डारीले जानकारी दिए ।  भण्डारीका अनुसार बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक स्थानमा टाँस गरिनेछ । उनले भने ‘तीन पुस्ते बिवरण सार्वजनिक हुने डरले पनि बालबिवाह गर्दैनन् भन्ने हामीले अनुमान गरेका छौं ।’ 
बालविवाह गर्न कानुनले बन्देज लगाएको भएपनि कतिपय ठाउँमा अझै पनि बालविवाह भइरहेकाले यसको अन्त्यका लागि आफुहरुले बाध्य भएर यस्तो प्रकारको कदम चाल्नु परेको भण्डारीले वताए । उनले बालबिवाह रोक्नका लागि सवै क्षेत्रबाट सहयोग हुने समेत अपेक्षा गरे ।

छहारी अनलाईन सञ्चालनमा

मकवानपुर जिल्लाको हेटौंडामा छहारी नेटवर्क सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । 
कर्मकालिका मिडिया प्राइभेट लिमिटेडले एक सामाजिक कार्य मार्फत छहारी नेटवर्क नामक अनलाइन न्युज पोर्टल सञ्चालनमा ल्याएको हो । सो अवसरमा कर्मकालिका मिडिया प्राईभेट लिमिटेडले  हेटौडा नगरपालिका–४ कर्रामा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई बिहानको खाना बापत नगद रु १० हजार सहयोग गरेको आश्रमका अभियन्ता होमनाथ तिमल्सिनाले जानकारी दिए । 
नेटवर्क सञ्चालक सरला अधिकारीले आफ्ना ससुरा स्वर्गीय लक्ष्मी प्रसाद तिमल्सेनाको नाममा सासु गिर्जादेबी तिमल्सेनाको हातबाट आश्रममा आश्रितहरुका लागि सहयोग रकम प्रदान गराईन । मानवसेवा आश्रममा रहेका बुबा आमाहरुसंग आफ्नो खुशी साट्न पाउदा आनन्द लागेको सञ्चालक अधिकारीले बताईन । 
हेटौडा ४ कमलडाडामा कार्यालय  रहेको छहारी नेटवर्कले समाजमा रहेका नकारात्मक कुराको अन्त्यका साथै बिकास निर्माणको विषयलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने उद्देश्य लिएको छ ।

छोटकरी समाचार 

बक्योता तिर्न सरकारी कार्यालयलाई आग्रह

लामो समयदेखि खानेपानीको बिल बुझाउन बाँकी रहेका सरकारी कार्यालयहरुलाई बिल भुक्तानी गर्न सरोकार–वालाहरुको भेलाले आग्रह गरेको छ । 
जिल्ला सदरमुकाम सिलगढीमा देखिएको खानेपानीको समस्याको बिषयमा सोमवार भएको सरोकारवालाहरुको भेलाले बक्योता तिर्न बाकी सरकारी कार्यालयहरु र आम उपभोक्ताहरुलाई रकम भुक्तानीका लागि पत्राचार गर्ने निर्णय गरेको छ । 
भेलाले खानेपानी समस्या समाधानका लागि आकस्मिक योजना निर्माण गर्ने समेत निर्णय गरेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जानकारी दिएको छ । यस्तै भेलाले नगर सरसफाईका लागि टोल बिकास संस्था र दिपायल सिलगढी नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको समेत जनाईएको छ । भेला स्थानीय बिकास अधिकारीको कृष्ण गौतमको अध्यक्षतामा भएको थियो ।

खेल समाचार 

नयाँ शक्तिको भलिबल फागुनमा

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा अभियानले  फागुनमा भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । 
फागुन १० गते देखि १३ गतेसम्म काठमाण्डौंमा सञ्चालन हुने पुरुष भलिबल प्रतियोगितामा पाँच क्षेत्रीय र तीन बिभागीय गरी ८ टोलीको सहभागिता रहने आयोजकहरुले जानकारी दिएका छन । आईतवार पत्रकार सम्मेलन मार्फत दिईएको जानकारी अनुसार प्रतियोगिता लिग कम नकआउट पद्धतिबाट सञ्चालन हुने छन । भलिबल प्रतियोगिताका संयोजक कुमार गुरूङ्गले प्रतियोगितामा नेपाल भलिबल संघको सहयोग रहने बताए । ‘प्रतियोगिता राजधानीमै हुने भएपनि खेलस्थल टुङ्गो लागिसकेको छैन’ गुरुङ्गले भने ‘राष्ट्रियस्तरको प्रतियोगिता भएकाले त्यसै अनुरुपको स्थान खोजिरहेका छौं । संयोजक गुरूङले यस विषयमा आफुहरु छलफल गरिरहेका र छिट्टै स्थानको टुङ्गो लाग्ने बताए । ‘हामी यस प्रतियोगितालाई निरन्तरता दिनेछौं’  उनले भने ‘आगामी संस्करण पोखरामा हुनेछ र त्यसमा महिला विधा पनि समावेश हुनेछ ।’
प्रतियोगिताको विजेता टोलीले नगद तीन लाख ५० हजार रूपैयाँ पाउनेछ भने उपविजेता टोलीले नगद दुई लाख रुपैयाँ पुरस्कार पाउने छ। सेमिफाइनलमा पराजित हुने दुवै टोलीले सान्त्वना स्वरुप ५०÷५० हजार रुपैयाँ पाउने गुरुङ्गले जानकारी     गराए । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद २५ हजार रुयैयाँ तथा अनुशासित टोलीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन । प्रत्येक विधाका उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् ।

चलचित्र÷मनोरञ्जन 

प्रियंका गीत छायाङ्कनमै बेहोस

चलचित्रको गीत छायाङ्कनका क्रममा चर्चित नायिका प्रियंका कार्की बेहोस भएकी छन । 
चलचित्र ‘राधे’ को एक गीत छायाङ्कन गर्ने क्रममा नायिका कार्की बेहोस भएकी हुन । हिउँ सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा पुगेको चलचित्र ‘राधे’ युनिट कार्की एकाएक बेहोस भएपछि झस्कियो । चलचित्रमा समावेश हुने ‘मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ’ बोलको गीत छायाङ्ककनका क्रममा नायक निखिल उप्रेतीसँग नृत्य गर्दै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाङ्कन  प्रभावित भएको चलचित्र निर्माता सुशिल पोखरेलले बताए । 
गीत छायाङ्ककनको क्रममा प्रियंका जी बेहोस् भएपछि उनलाई तत्काल होटलमा ल्याईएको थियो । करिब १० मिनेटपछि प्रियंकालाई होस आएको निर्माता पोखरेलले जानकारी दिए । उनले भने ‘अहिले अवस्था सामान्य छ, गा¥हो पर्ने देखिएमा अस्पताल पु¥याउने सोचमा छौं ।’ चिसो मौसमका कारण नै प्रियंका एक्कासी ढलेको हुन सक्ने चलचित्र कोरियोग्राफी गरिरहेका रामजी लामिछानेले वताए ।
प्रियंका बेहोस भएपनि चलचित्रको उक्त गीतको छायाङ्कन गर्ने कार्य पुरा भएको र चलचित्रका अन्य ७÷८ दृश्य छायाङ्कन गर्न बाँकी रहेको निर्माता पोखरेलले बताए । प्रियंकाको स्वस्थ्य अवस्था सामान्य बनेमा मंगलबार सबै छायाङ्ककन सकेर निर्माण टिम काठमाण्डौं फर्किनेछ । चलचित्र ‘राधे’ लाई जगदिश्वर थापाले निर्देशक    गरेका छन् । ‘राधे’ नयाँ बर्षको अवसरमा आगामी बैशाख १ गते रिलिज हुने बताईएको छ ।

नेपाल आईडल सुरु हुने

अनलाईन खबर
विश्वका विभिन्न ५० भन्दा बढी देशमा लोकप्रिय बनेको आइडल श्रृङ्खला अब नेपालमा पनि सुरु हुने भएको छ । भारतमा यतिबेला गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो ‘इन्डियन आइडल’   चलिरहेको छ ।
आइडलको मापदण्डलाई पुरा गर्दै चाडै नै नियमित प्रशारण आरम्भ गर्न लागेको ‘ए.पी १’ टेलिभिजनले यसको सम्पूर्ण अधिकार लिएको छ । अहिलेलाई ३ बर्षका लागि यसको अधिकार लिइएको ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । केहि  दिनमै नेपाल आइडलको अडिसन सुरू हुनेछ ।
अन्तरराष्ट्रिय फ्रेन्चाइज प्राप्त यो कार्यक्रममा नेपाल भित्र र नेपाल बाहिरका नेपाली नागरिकता भएका १६ देखि ३० बर्ष भित्रका नेपालीले सहभागीता जनाउन पाउनेछन् ।
यसको अडिसन नेपालगञ्ज, बुटवल, नारायणगढ, विरगंज, विराटनगर, पोखरा र काठमाण्डौमा हुनेछ । अडिसनका लागि तोकिएको स्थानभित्र बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म उपस्थित हुनुपर्ने आयोजकले बताएको छ ।
सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यवसायिक गायक र गायिकाले समेत यसमा भाग लिने  पाउनेछन् । यो शोको विजेताले महिन्द्रा केयुभी वान ओ ओ, २० लाख नगद पुरस्कार र १५ लाख रुपैयाँ बराबरको भिडियो एल्बमको करार पनि प्राप्त   गर्नेछन् ।
बढीमा ३२ भागसम्म यो शो प्रशारण गरिने पत्रकार सम्मेलनमा जानका–री दिइयो । यो प्रतियोगीताको निर्णायकहरुमा संगीतकार न्ह्रयू बज्रचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । उनीहरुले सहि प्रतिभालाई चयन गर्ने बताएका छन् ।

लेख 

अन्यौलतामै पश्चिम सेती आयोजनाको भबिश्य   

रामहरी ओझा
‘हाम्रो गाउँमा गाडी त अहिलेसम्म पनि आएको छैन तर चिलगाडी (हेलिकप्टर) भने उहिले नै आएको    हो । त्यतिबेला मेरो उमेर करीव ३० वर्ष जति हुँदो हो, आकाशमा घुमीघुमी उ त्यो डाँडामा चिलगाडी बसेको थियो । हामी चिलगाडी हेर्नका लागि दौडेर गएका थियौंं । यहाँ पानीबाट बिजुली निकाल्छौं भनेको सुनेपछि बिजुली कसरी निकाल्ने रहेछन भन्ने कौतुहलता थियो । त्यो कौतुहलता अहिले पनि कायमै छ ।’ 
केही दिनअघि गाउँतिर जाँदा हातमा सुल्पी लिएर आँगनमा वसेका पश्चिम सेती जलबिद्युत आयोजनाको प्रभावित क्षेत्र भनिएको एक गाउँका करीब ६५ बर्षीय एक जनाले भनेका हरफ हुन यि । त्यतिबेला उनले आकाशमा बादल गर्जिदाँ चम्किने बिजुली मात्रै देखेका थिए । गाडी पनि देखेका थिएनन्, आकाशमा उड्ने भएकाले सवैले चिलगाडी भन्थे तर त्यो चिलगाडी पनि उनी लगायत गाउँका धेरैले प्रत्येक्ष देख्न पाएका थिए उनीहरुले । अब सधैं गाउँमा चिलगाडी आउने छ, बिजुली बल्ने छ र बिकास हुनेछ भन्ने आशा लगाएका थिए उनीहरुले । ति व्यक्तिलाई कुन सालमा चिलगाडी आएको थियो भन्ने त जानकारी छैन तर उनले आफ्नो उमेरसंग गरेको हिसावका आधारमा २०३८ सालतिरको कुरा हो जस्तो लाग्छ । तर त्यो आश अहिलेसम्म पनि आशमै सिमित छ ।
३५ वर्षपछि पनि पश्चिम सेती परियोजनाको प्रभावित तथा बिस्थापित भनिएको क्षेत्रमा बिद्युतको बिस्तार भएको छैन । बिद्युत मात्रै होईन परियोजना बन्ने हल्लाका कारण अन्य बिकास पनि रोकिएको छ । शिक्षा, खानेपानी, सिंचाई, तटवन्धन, सडक यस्ता पूर्वधारहरुमा राज्यले लगानी गरिरहेको छैन । ‘परियोजना बन्ने हो, हामीले बिस्थापित हुनु पर्ने हो’ भन्दा भन्दै करीव चार दशक गुजारे स्थानीयवासीहरुले ।  
ईतिहासको अध्ययन गर्दा पनि यो परियोजनाको बिषयम बहस हुन थालेको धेरै भएको देखिन्छ । सन १९८१ मा फ्रान्सको “सोग्रेह” नामक कम्पनीले बैतडीको ढुङ्गाड भन्ने स्थानदेखि लगभग ८ किलोमिटर माथी बाँध रहित आयोजना निर्माण गरी ३७ मेगावाट बिद्युत उत्पादन हुन सक्ने सम्भावना देखेपछि पहिलो पटक यो पश्चिम सेती आयोजना चर्चामा आएको पाईन्छ । बझाङ जिल्लाको उत्तरी हिमालमा मुहान भई बझाङ र बैतडी जिल्लाको पूर्बी भाग भएर डडेल्धुरा, डोटीको भू–भागलाई छुँदै अछामको सिमानामा पुगेपछि कर्णाली नदीमा मिसिने यो मझौला खालको सेती नदीलाई पश्चिम सेती भनिन्छ । पश्चिमाञ्चल बिकास क्षेत्रको कास्की पोखरा भएर बग्ने नदीको नाम पनि सेती नै भएकाले यसलाई पश्चिम सेती भन्न थालिएको हो । सन १९८७ देखि सोग्रेहले पुनः सम्भाव्यता अध्ययन गरी सन १९९१ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार जलासय रहित आयोजनाकै रुपमा बैतडीको ढुङ्गाडमा वाँध निर्माण गरी तिन सय ६० मेगावाट बिद्युत उत्पादन गर्न सकिने देखायो । एक सय प्रतिशत लगानीवाट दुई सय दुई प्रतिशत फाईदा हुने अर्थात कम लगानीमा धेरै फाईदा हुने योजनाको प्रस्ताब थियो । तर के कारणले होला उक्त आयोजना निर्माण गर्न तत्कालीन श्री ५ को सरकारले सोग्रेहलाई अनुमति दिएन । 
सन १९९० को राजनीतिक परिवर्तनपछि सन १९९४ वाट अष्ट्रलियन कम्पनी “स्मेक” ले परियोजनाको सम्भाव्यता अध्ययन सुुरु ग¥यो । नेपाल सरकारवाट निर्माणका लागि अनुमति पाई बिभिन्न सम्झौता समेत गरिसकेको स्मेकले बिभिन्न प्रकारका अध्ययनहरु गरेको थियो तर उसको अध्ययनवाट प्राप्त भएको तथ्य कुरा अझै वाहिर आउन सकेको छैन । 
देशमा प्रजातन्त्र आएकाले अब बिधिको शासन हुने र बिकास निर्माणका कार्यहरु तिब्र गतिमा हुने भन्ने         रेडियोबाट सुनेका स्थानीयबासीहरुले गाउँमा फेरी चिलगाडी आएपछि अब त पक्कै पनि बिजुली निस्किन्छ भन्ने आश लगाए । रेडियोमा आएको समाचार जस्तै आफ्नो गाउँमा पनि गाडी आउने आश गरेका थिए । लोकतान्त्रिक गणतन्त्रको स्थापना हुँदासम्म पनि उनीहरुको त्यो आश आशमै रहेको छ ।
डोटी, डडेल्धुरा, बैतडी र बझाङ्ग जिल्लाको सिमानामा जलायसययुक्त बाँध निर्माण गरिने भनिएको आयोजनाको स्मेकले गरेको अध्ययनलाई आधार मान्ने हो भने वाँधस्थल देखि बझाङ्गको चौडामवगरसम्म लगभग २५ किलोमिटर लम्बाई रहने जलासयमा एक अर्ब, ५६ करोड, ६० लाख घनमिटर पानी संकलन हुने उक्त परियोजनाले ६ सय ५९ हेक्टर खेतीयोग्य जग्गा, एक हजार दुई सय २ हेक्टर बन क्षेत्र, २ सय ४६ हेक्टर घाँसे मैदान र २ सय ६ हेक्टर वुट्यान गरी जम्मा २ हजार, ३ सय, १३ हेक्टर जमिन डुवानमा पार्ने सम्भावना रहेको थियो । जमिनको सतहवाट एक सय ९५ मिटर अग्लो कंक्रिट बाँध निर्माण गरी ६.७ किलोमिटर लामो सुरुङ्ग मार्फत बर्तमान नदीको मार्ग परिवर्तन गरी, भुमिगत बिद्युत गृह निर्माण गरेर सात सय ५० मेगावाट बिद्युत उत्पादन गर्ने स्मेकको योजना थियो । सुरुमा एक्लै परियोजना निर्माण गर्ने भनेर नेपाल भित्रिएको स्मेकले सन २०१२ सम्म पनि लगानी जुटाउन नसकेपछि वाहिरिनु प¥यो । 
द्यइइत् अर्थात द्यगष्मि, यउभचबतभ, यधल बलम तचबलकाभच को अबधारणा अनुसार निर्माण कार्य सुरु भएको पाँच बर्षमै तयार गर्ने र ३० बर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजनाका साथ अध्ययन सुरु गरिएको आयोजना स्मेककै कारण करीब २५ वर्ष पछाडी धकलियो । भनिन्छ “बैस ढलेपछिको कौमार्यताले कुनै अर्थ राख्दैन ।” अहिले नेपालमै बिद्युतको बजार प्रचुर छ, छिमेकी राष्टू भारतमा पनि बिद्युत निर्यात गर्न सकिने सम्भावना छ । तर जब नेपालकै अन्य क्षेत्रमा पनि बिभिन्न नदीनाला र खोलाहरुवाट बिद्युत उत्पादन भईसक्छ त्यसपछि महत्व घट्दै जाने छ । आफ्नो कौमार्यता वचाईराख्ने दम्वमा बुढ्यौली लागेको समेत थाह नभएपछि बुढेसकालमा उत्पादन हुने सम्भावनानै रहँदैन । त्यस्तै भएको छ पश्चिम सेतीको अवस्था । प्रकृतिको उत्पत्तिसंगै उत्पत्ति भएको यो नदी निरन्तर रुपमा बगिरहेको छ । अहिलेसम्म यो नदीको पानी नदी किनारामा बस्नेहरुले खानेपानी, व्यक्तिगत सरसफाई र बस्तुभाउका लागि प्रयोग गर्ने वाहेक अन्य कुनै पनि प्रयोजनमा काम लागेको छैन । न त एक ईन्ची जमिन सिंचाई हुन सकेको छ, न कतै बिद्युत उत्पादन भएको छ, थप भएको छ भने हिन्दुहरुको अन्तीम संसार गर्ने मसान घाट । 
लगानी जुटाउन नसकेको आरोपमा सरकारले १८ वर्षपछि अर्थात २०६७ सालमा स्मेकको सम्झौता रद्द ग¥यो । त्यसपछि परियोजनाका बिचमा आयो चिनियाँ कम्पनी थ्री गर्जेज ईन्टरनेसनल कर्पोरेसन (सिटिजिआई) । थ्री गर्जेजसंग उर्जा मन्त्रालयले फेब्रुअरी २९, २०१२ अर्थात २०६८ साल फागुन १६ गते गरेको सम्झौतामा सन २०१४ देखि आयोजनाको निर्माण कार्य सुरु गरि सन २०१९ सालमा सम्पन्न गर्ने उल्लेख छ । तर, २०१७ हुँदा समेत आयोजना निर्माण हुनेमा अन्यौलता रहेको छ । थ्री गर्जेजले लगानी बोर्डलाई दिएको अध्ययन प्रतिवेदनले आयोजनामा थप अन्यौलता सृजना गरेको छ । १८ वर्षसम्म स्मेकले पानी नाप्ने काम मात्रै गरेको थियो । स्मेकको अध्ययन अनुसार नदीमा पानीको औषत बहाव दुई सय घनमिटर प्रति सेकेण्ड रहेको देखिएको थियो तर थ्री गर्जेजको अध्ययन अनुसार एक सय ६७ घनमिटर प्रति सेकेण्ड देखिएको छ । यस आधारमा आयोजनाबाट ६ सय मेगाबाट मात्रै बिद्युत हुन सक्ने कम्पनीको दाबी छ । कम्पनीले त फेरी पाँच सय मेगाबाट मात्रै उत्पादन हुने गरि निर्माण गर्दा राम्रो हुने सुझाव दिएको छ । 
सरकार भने सन २०१२ मा भएको प्रारम्भिक सम्झौतामा सात सय ५० मेगाबाट उत्पादन गर्ने भनेकाले जसरी पनि सात सय ५० मेगाबाटनै उत्पादन गर्नु पर्ने अडान राख्दै छ । माघ ३ गते भएको सम्झौता अनुसार सरकारको उक्त अडानमा कम्पनी फेरी अध्ययन गर्न सहमत भएको छ । यसको अर्थ अब बाँधको उचाई एक सय ९५ मिटरबाट बढाउनु पर्ने हुन्छ । त्यसै त भु(गर्वबिद्हरुले यस क्षेत्रको भू(बनोट हेर्दा यहाँ जलासययुक्त बाँध बनाउन नमिल्ने भन्दै परियोजनाको बिरोध गर्दै आएका छन, त्यसैमा बाँधको उचाई थप्नु प¥यो भने के होला ? बिद्युत प्राधिकरण र थ्री गर्जेजबीच भएको उक्त सम्झौताले उव्जाएको पहिलो प्रश्न हो यो । आयोजनाको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुको ज्यान जोखिममा पारेर सरकारले किन जबरजस्ती गर्दैछ, यस बिषयमा बहस हुनु जरुरी  छ । बिश्वका धेरै उचाई भएका जलाशययुक्त बाँधहरु भत्किँदा भएको क्षति त राज्य सञ्चालकहरुले पनि मुल्याङ्कन गरेको हुनु पर्छ । 
दोश्रो, यो संयुक्त उपक्रम सम्झौतामा आयोजनाको निर्माण कार्य कहिले देखि सुरु हुने र कहिले सम्पन्न हुने भन्ने कुनै कुरा उल्लेख गरिएको छैन । लगानी कसले कसरी गर्ने र कम्पनी खोल्नका लागि पहल गर्ने बिषयलाई सम्झौतामा उल्लेख गरिएको छ । तेश्रो, सम्झौतालाई ‘मस्यौदा सम्झौता’ भनिनु पनि पश्चिम सेती परियोजना थप अन्यौलतामा पर्नु हो । ‘मस्यौदा सम्झौता’ भन्नाले त्यो पूर्ण सम्झौता होईन भन्ने प्रष्ट भएको छ । चौथो, लगानीको हिसाबले ७५ प्रतिशत थ्रीगर्जेज र २५ प्रतिशत प्राधिकरणले गर्ने भन्ने त्यो मस्यौदा सम्झौतामा छ । प्राधिकरणले गर्ने भनिएको लगानी खोजी गर्ने भन्नुले फेरी पनि परियोजनाको हबिगत स्मेकको पाला जस्तै हुने त होईन ? भन्ने आशंका छ । यस्तै स्थानीयलाई दिईने भनिएको शेयर थ्री गर्जेजले व्यवस्था मिलाउने भन्ने कुरा मस्यौदा सम्झौतामा छ । यो अस्पष्ट बिषय हो । प्रारम्भिक सम्झौता अनुसार स्थानीयबासीहरुलाई १० प्रतिशत लगानी दिने भन्ने उल्लेख गरिएको थियो । स्मेकले त्यतिबेला आयोजनाको लागत अनुमान एक अर्व ६० करोड अमेरिकी डलर रहेको वताएको  थियो । थ्री गर्जेजले अहिले पनि यतिनै लागतको अनुमान गरेको छ । तर यदि ६ सय मेगाबाटमा झार्ने हो भने एक अर्ब ६ करोड (आकास्मिक खर्च करीब ४ करोड डलर बाहेक) अनुमान गरेको छ । 
पश्चिम सेती परियोजना निर्माणमा अहिले पनि पुरानो अन्यौलता कायमै छ । स्मेकले परियोजनावाट बिस्थापितहरुलाई कहाँ पुनःस्थापना गर्ने, के क्षेतिपुर्ति दिने, उनीहरुलाई अन्य सहुलियत के दिने भन्ने वारेमा अन्तीमसम्म पनि आफ्नो योजना सार्वजनिक गरेन । परियोजनामा उपलव्ध हुने जनशक्ति कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा पनि कुनै योजना ल्याएन । स्थानीयवासीहरुले पश्चिम सेती परि–योजनावाट उत्पादित बिद्युत बाल्न पाउने कि घरको छतमाथीबाट गएको ४०० केवी क्षमता भएको बिद्युत प्रशारण लाईन हेर्दै जीवन गुजार्ने भन्ने बिषयमा उसको कुनै ठोस योजना आएन । यि अहम् सवालहरु अहिले पनि छन । 
स्मेकले स्थानीयबासीहरुलाई देखाएको सपना अहिले पनि उनीहरुको मस्तिष्कमा ताजै छ । करीब ३४ हजारले निर्माण अबधीभर रोजगारी पाउने र निर्माण सम्पन्न भईसकेपछि पनि ठुलो संख्यामा स्थानीयबासीहरुले नियमित रोजगारी पाउने लोभ स्मेकले देखाएको थियो । थ्री गर्जेज यो लोभ देखाउने तहमा त पुगेको छैन तर स्थानीयबासीहरुले के पाउँछन ? भन्ने बिषयमा सोच्नु पर्ने अनिबार्य हो । पुस्तौं देखि बसोबास गर्दै आएका स्थानीयबासीहरुको आफ्नो प्रकारको सामाजिक, साँस्कृतिक तथा आर्थिक सम्वन्ध रहेको छ । प्राकृतिक श्रोत साधनको संरक्षण, सम्वद्र्धन र उपयोगमा उनीहरु सचेत छन । निश्चित रुपमा बिकास गर्नका लागि बिनाश पहिले हुनु आबश्यक हुन्छ । त्यसैले आयोजना निर्माणका लागि उनीहरुले आफ्नो ठाउँ छोड्नु अनिबार्य छ तर उनीहरुको भबिश्यको बिषयमा ठोस् योजना किन आउन सकेको छैन । भोली रोजगारीको कुरा आउँदा प्राबिधिकहरु आबश्यक पर्ने छन । करीब ८० प्रतिशत घरधुरीबाट भारतमा गएर रोजगारी गर्नेहरु प्राबिधिक होईनन्, उनीहरुले के रोगजारी पाउँछन ? यस बिषयमा अहिलेसम्म कुनै बहसनै भएको छैन ।
अहिले अनुमान गरिएकै आकारको बाँध बन्ने हो भने करीब १० हजार जनता बिस्थापित हुने गरी, बिद्युत उत्पादन भएर पनि यो क्षेत्रलाई अन्धकारमा राख्ने गरी, यो क्षेत्रका युवाहरुले भारतका गल्लीगल्लीमा डण्डा वजाउनु पर्ने तर बिदेशीहरु आएर यहाँ जागिर खाने गरी र भोली यदि बाँध भक्तियो भने यस क्षेत्रको बिनास हुने गरी यदि यो परियोजना वनाउन खोजिन्छ भने त्यो यस क्षेत्रका लागि मात्रै होईन नेपालकै लागि दुर्भाग्य हुनेछ । नेपाल सरकारले यस बिषयमा ठोस कार्यक्रम अगाडी ल्याउनु जरुरी छ ।

मोफसल पत्रकारिता 

पहिलो हुने होडमा गलत हेडलाईन नराखौं

सरला अधिकारी (सञ्चालक) 
छहारी अनलाईन, मकवानपुर
तपार्इंको परिचय पाउँ न ? 
— म सरला अधिकारी । मेरो घर मकवानपुर जिल्ला हो । हाल म हेटौडाबाट आफैले एक नयाँ अनलाईन सञ्चालन गर्दैछु । जसको आजमात्रै उद्घाटन भएको छ । 
नयाँ अनलाईन उद्घाटन गर्नु भएछ, तपाईलाई उत्तरोत्तर प्रगतिको कामना सहित बधाई पनि छ । 
— धन्यवाद, सबैको सहयोगको पनि अपेक्षा गरेकी छु । 
कति समय भयो यस पेशामा लागेको ?
— म बिगत १० बर्ष देखि पत्रकारितामा सक्रिय छु  । मेरो पत्रकारिता मकवानपुरको नेशनल एफएमबाट सुरु भएको हो । त्यसपछि काठमाण्डौंमा रहेको नेपाल एफएम नेटवर्कमा करिब चार बर्ष काम गरे, फेरी मकवानपूर जिल्लामै फर्किएर चार बर्ष हेटौडा एफएममा काम गरे । हाल चाँही म आफ्नै अनलाईन पत्रिका छहारी नेटर्वकमा ब्यस्त छु । 
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— पत्रकारितामा बिट हुने भएपनि मोफसल पत्रकारितामा त्यसमा पनि हामी रेडियोकर्मी हरुले सबैखाले बिषयमा कलम चलाउनु पर्ने रहेछ । सबै बिटमा कलम चलाएको बानी परेर होला अचेल सबै बिटमा पत्रकारिता गर्न रुचाउँछु ।    
मोफसलमा काम गर्ने पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— मैले मोफसल र केन्द्रमा काम गरेको आधारमा केन्द्रमा भन्दा मोफसलमा धेरै समस्याहरु देखेको छु । मोफसलमा सिमित स्रोत साधन र कम तलबमा काम गर्नु पर्ने बाध्यता रहेको छ । समाचार लेखेकै आधारमा बिभिन्न पक्षबाट  दबाव झेल्नु पर्ने, धम्की सहनु पर्ने बाध्यता रहेको छ । काम धेरै गर्नु पर्ने, त्यस अनुसारको पारिश्रमिक नहुने अवस्था रहेको छ । 
तपाई त महिला पत्रकार, पुरुष पत्रकारहरुले खेप्नु परेको समस्या भन्दा थप समस्याहरु छन कि महिला पत्रकारहरुले ? 
— त्यो त अबश्य पनि छ  । नाम चलेका मिडिया हाउसका समाचार डेस्कमा पनि लैङ्गिक समानता छैन । डेस्क प्रमुखहरु पुरुषहरुनै हुने भएका कारण महलिाका आधारभुत समस्यामा पनि चासो नदिँदा काम गर्न असहजता छ । 
समस्यानै समस्या भएको पेशमा के कुराले आकर्षण ग¥यो ? 
— पत्रकारिता मेरो सानै देखिको रुचिको क्षेत्र हो । मेरो घरमा मेरो दाजुहरु पनि यहि पेशामा लाग्नु भएको र उहाँहरुको पेशाप्रतिको प्रतिबद्धता र यो पेशा मार्फत देश समाज रुपान्तरण गर्न सकिन्छ भन्ने अठोट देखेर नै म पनि यो पेसामा आकर्षित भए र मेरो पढाईको बिषय पनि यहि भएकाले मैले यहि क्षेत्र रोजेको हुँ । 
मोफसलै भएपनि मकवानपुर जस्तो व्यस्त एवं बिकसित जिल्लाबाट पत्रकारिता गर्दै हुुनु हुन्छ, कसरी बुझ्नु भएको छ यस जिल्लाको पत्रकारितालाइ ? 
— मोफसलमा पत्रकारिता गर्न समस्या त छ , तर अन्य जिल्लाको तुलनामा मकवानपुरमा पत्रकारिता गर्न  सहज छ । पत्रकारहरु बिचको एकता, अग्रजहरुले गर्ने सहयोग, पत्रकार महासंघ मकवानपुरको सक्रियताको कारण पनि यो सम्भब भएको हो । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— सबै भन्दा पहिला त श्रमजीबि पत्रकार ऐन कार्यान्वयन हुनु प¥यो । धेरै मिडियाहरुले नियुक्तीपत्र नदिएर नै काम लगाईरहेको अबस्था छ, यसमा राज्यले अनुगमन गर्नु पर्छ । यसपछि मोफसलका सरकारी बिज्ञापनहरु मोफसलमै प्रकाशन एवं प्रसारण हुने गरी राज्यले नीति तय गर्नु प¥यो ।  
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले चाँही पत्रकारको हकहितमा राम्रै काम  गरिरहेको छ । यस जिल्लाका पत्रकारहरुको जीवन बिमा, उपचारमा छुट र पत्रकारलाई परेको समस्यामा आवाज उठाउने काम गरेको छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— बैचारिक संगठनका कुरा मसंग नगर्नुस् । यी संगठन भनेका महासंघको चुनाबका बेलामा मात्र पत्रकार चिन्ने संगठन हुन्, यस्ताको के भुमिकाको कुरा गर्नु हुन्छ । 
तपाइको विचारमा पत्रकारिता के हो ?
— मेरो बिचारमा पत्रकारिता समाज र देशप्रतिको जिम्मेवारी हो । 
कत्तिको कमाइ गर्नु भयो पत्रकारितामा लागेर ? 
— कमाई त त्यस्तै हो समय बेतित् गरियो । धेरै कुरा सिक्ने अबसर मिलिरहेको छ । समाजले दिने ईज्जत र प्रतिष्ठा नै ठुलो कुरा हो जस्तो लाग्छ । 
नेपालको पत्रकारिता क्षेत्र दिन प्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयता प्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, मकवानपुर जिल्लाको अवस्था कस्तो पाउनु भयो ?
— केही ब्यक्तिको आचरणसंग जोडेर पेशाालाईनै बदनाम गर्न मिल्दैन । समाचारको बिश्वसनीयता ठुलो कुरा हो । पित पत्रकारिता गर्नेहरुलाई समयले नै पाखा लगाउने छ ।  मकवनपुरको अबस्था मैले त्यस्तो पाएको छैन ।  
तपाई त त्यसै पनि महिला पत्रकार, यस्ता कुरामा लाग्नु भा छैन होला नि ! 
— लाग्ने त परको कुरा मैले सोचेको पनि छैन । 
नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुको निर्वाचन हुने मिति तय भएको छ, नेतृत्वका लागि अनेक प्रयासहरु हुन थालेका छन । के सुझाव दिनु हुन्छ महासंघका सदस्य साथीहरुलाई ? 
— पत्रकारहरुको हकहितलाई ध्यानमा राखेर काम गर्न सक्ने नेतृत्व चयन गरौं । त्यसमा सांगाठनिक हिसाबले नभई कार्य दक्षताको आधारमा समाबेशी किसिमको कार्यसमिति चुनौं भन्न चाहन्छु । 
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— अन्तिममा म यो पेशामा लाग्ने सम्पुर्ण पत्रकार साथीहरुलाई पेशाको मर्यादाको ख्याल राख्न आग्रह गर्दछु । पहिलो हुने होडमा समाचार र हेडलाईनहरु भ्रामक खालका नराख्न पनि अनुरोध गर्दछु । 
समय र बिचारका लागि धन्यबाद । 
—मेरा बिचारहरु राख्ने अवसर दिनु भएकोमा तपाइलाई पनि धन्यबाद ।

लोकसेवा आयोगको तयारीका लागी उपयोगी 

१. स्थानीय तह पुनर्संरचना आयोगले ७१९ स्थानीय तह सहितको प्रतिवेदन कहिले सरकारलाई बुझायो ?                                                                 
— २०७३ पुष २२
२. नेपालको संविधानको धारा २८७ उपधारा (१) अनुसारको भाषा आयोग कसको अध्यक्षतामा गठन    गरियो ?                                                                 — डा.लबदेव अवस्थी
३. काठमाण्डौं महानगरपालिकामा विद्युतीय नक्सापास प्रणाली (Electronic building permit system) को सुरुवात कहिले भएको हो ?                                   — २०७२ मंसिर २० 
४. विश्वकै पहिलो Quantum communication satellite  प्रक्षेपण गर्ने देश कुन हो ?  — चिन 
५. नेपाल राष्ट्र बैंकले कहिले देखि ब्याजदर करिडोर लागु गरेको हो ?             — २०७३ श्रावण २
६. नेपाल सरकारले कहिले कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेको थियो ?                                                               — २०७३ भाद्र २९
७. फोब्र्स पत्रिकाको अनुसार सन् २०१६ को सबैभन्दा बढी कमाउने सूचीमा परेका क्रिकेटर को हुन ? 
— महेन्द्र सिंह धोनी
८. एकाइसौं राष्ट्रमण्डल खेल कहाँ र कहिले हुने भएको छ ?  
— गोल्ड क्वेष्ट,अष्ट्रेलिया, ०१८ अप्रिल ४–१५
९. श्रेया धिताल कुन खेलसँग संम्बन्धित छन् ?                                            —पौडी 
१०. ‘माया मारेको मान्छे’ कसको कृति हो ?                                 —खगराज अधिकारी 
११. न्यूयोर्क कुन नदीको किनारमा अवस्थित छ ?                                        — हड्सन
१३. संसारको सबैभन्दा नुनिलो पानीको ताल कुन हो ?                                — मृत सागर 
१४. कुनै घटी चापको केन्द्रतिर घुमीघुमी जोडसँग बहने वायुलाई के भनिन्छ ?             — चक्रपात
१५. बजारको सहर भनी कायरोलाई चिनिन्छ भने पानी मुनिकोे देश भनी कुन देशलाई चिनिन्छ ?
 — नेदरल्याण्ड
१६. विश्वको सबैभन्दा ठुलो फुटबल मैदान कुन हो ?                           — माराकाना (ब्राजिल)
१७. विश्वको सबैंभन्दा पुरानो खेल कुन हो ?                                               — पोलो 
१८. सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ?                   — हेलिस्कोप Heliscope
१९. पृथ्वीको ……Sister PlanetÆ ……Twin PlanetÆ  भनेर कुन ग्रहलाई चिनिन्छ ?           — शुक्र
२०. सबैभन्दा ठूलो शिशुग्रह कुन हो ?                                          — सिरस-ceres_
२१. पृथ्वी गोलो छ भनी घोषण गर्ने पहिलो व्यक्ति को थिए ?                         — पाइथागोरस
२२. बौद्ध धार्मिक स्थल ‘गोटीहवा’ कुन जिल्लामा पर्दछ?                               — कपिलवस्तु
२३. नेपालमा विश्वको कुल जलस्रोतको कति भाग रहेको छ ?                            — २.२७५
२४. चक्राकार नदी भन्नाले कुन नदीलाई चिनिन्छ ?                                — कालिगण्डकी
२५. सिन्धुलीगढीबाट उत्पति हुने नदि कुन हो ?                                            — कमला 
२६. अछाम जिल्लाको सदरमुकाम मंगलसेन हुनु पूर्व कुन ठाउँमा रहेको थियो ?             — रिडीकोट
२७. रातामाटे झरना कुन जिल्लामा पर्दछ ?                                         — ओखलढुङ्गा 
२८. म्याग्नाकार्टाको परिणाम स्वरुप प्रचलनमा आएको रिट कुन हो ?            — बन्दीप्रत्यक्षीकरण
२९. Man is born freedom everywhere he is in chain"  कसको भनाई हो ?        — रुसो
३०. पक्की  सडक बनाउने तरिका कसले पत्ता लगाएका  हुन ?                          — मेकडम
३१. राज्यक्रान्ति अघि फ्रान्सको संसदलाई के भनिन्थ्यो ?                            — स्टेट जनरल
३२. अमेरिकी स्वतन्त्रता संग्राम कति बर्षसम्म चलेको थियो ?                             — ८ बर्ष
३३. अमेरिका स्वतन्त्र घोषणको प्रारुप कसले तयार पारेका थिए ?                 — थोमस जेफरसन
३४. रुसी अक्टोेबर क्रान्तिबाट उत्पत्ति भएको नयाँ विचारधारा कुन हो ?        — समाजवाद/साम्यवाद
३५. हिटलरको चर्चित आत्मकथाको नाम के हो ?                                    — मेरो संघर्ष
३६. ११ औं विश्वकप क्रिकेट, २०१५ मा उत्कृष्ट खेलाडी को घोषित भएका थिए ?      — मिचेल स्टार्क
३७. केटी देख्ने बित्तिकै बेहोस हुने महान वैज्ञानिक को हुन ?                       — हेनरी केभिण्डस
बौद्धिक परीक्षण खण्ड
३८) केहि रुपैयाँ  A,B,C,D  को बीचमा 4:3:2:1  को अनुपातमा विभाजन गर्दा D ले भन्दा C ले1000   रुपैयाँ बढी पाउछ भने Aको भागमा कति रकम पर्ला ?
A)      1500                       B) 2000                   C) 2500                D)4000
३९)  प्रश्न चिन्ह (?) राखिएको ठाउँमा मिल्ने विकल्प कुन हो ?
HIJ : MNO :: RST :  ?
A)    UVM               B) WXY                   C)XYZ               D) none of the above
४०) अर्थपूर्ण ढङ्गले क्रम मिलाई राख्नुहोस् ।
1)         Milkyway           2) Sun             3) Moon            4) Earth              5) Stars
A)        1,4,3,2,5                 B) 2,3,4,5,1                C)  3,4,2,5,1                D) 4,3,2,5,1
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ । 
संकलककर्ता ः प्रयाग राज उपाध्याय
सुझावका  लागि ः 9848626741
मिति  २०७३ साल माघ ४ गते मंगलबारको बिम्ब साप्ताहिकमा प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरु ः
३८) द्B                                             ३९) A                    ४०) B

साहित्य/सृजना 

निभ्दै गरेको सुर्य

तिम्रो हत्केलामा 
कति समय अडिरहन सकुँला यसरी ।
म आफ्नै लय विर्सेर हिँडेको फकिर, 
विर्सेर आफ्नै निजी बाटो वर्षौ देखि उहि गल्लीमा भौतारिरहेको 
एउटा बेवारिसे पागल जस्तो
र बोटको निलो आकाशमा फूलीरहने एउटै रंगको फूल जस्तो ।
आफ्नै अनुहारबाट चुहिन बाकि केहि उज्यालो छ 
केहि छ यात्रा अझै बाकि 
एक अंगालो लाल किरणहरुको गुच्छाहरु छन 
तिम्रो जीवन रंग्याउन अपुग भए जस्तो ।
म वर्षौ अघि हिडीरहे एक्लै 
तिमी वर्षौ बाँचेको पृथ्वी पनि यहि हो ।
तिमीले देखेर पनि नदेखे जस्तो गरेको यहि ठाउँ हो ।
तर उत्तराद्र्धको एक निमेष
तिम्रो हत्केला माथी अडिनु पनि एउटा सौभाग्य हो ।

शासक लाई प्रश्न 

हाम्रो हकको भन, हिसाब कहिले हुन्छ !
सवाल जिन्दगीको हो, जवाफ के पाईन्छ
बुनेका थियौं जो सपना, क्रान्ति मैदानमा 
पुरा हुन आँखाकै अघाडि, अझै के चाहिन्छ

धेरै भयो खेल स्वार्थमा,जात–जाति र मधेश–पहाडेको
बिध्वम्सक बिचारका पर्खाल भत्काऊन, अब के चाहिन्छ
न नेपाली मुटुको एकता, न चोर र साधुमा भिन्नता
अब भन ? इमान्दार कानुनी राज्य, कहिले पाईन्छ

झुठो नारा घन्काउदैछौ, ऊज्यालोको तिमि
निष्पट अन्ध्यारो तोड्न, किरण कहाँबाट ल्याऊला
फैलाउदा सुगन्ध, मित्रताको देशमा
सुकवास बाट्दै नेपाली मन, गुलाब कहिले होला !!
सुर्य बस्याल 
हाल नयाँ दिल्ली भारत

मुक्तक

बनाउछु म उ सधै भत्काउन खोज्छ
बारबार मलाई मात्रैै सताउन खोज्छ ।।
मेरो जीवन हो म जे सुकै गरु भन्छु
उल्टै मै माथी हात उठाउन खोज्छ ।।
नबिन जेठारा ‘महासागर’

मुक्तक

जस्तो भेट्यौ त्यÞस्तै बन्ने मान्नै पर्छ तिमीलाई
फूल फूलाई जरा खन्ने मान्नै पर्छ तिमीलाई
वा यती छिट्टै भूल्न सक्यौ त्यति मिठो अतित
मलाई त चिन्यौ धन्य मान्नै पर्छ तिमीलाई
मिलन बिबस बम
तिखात्तर, डोटी

निरोगीलाई प्रेमको रोगी बनायो तिमीले 

दिल मागीमागी हिड्ने जोगी बनायो तिमीले ।।
म त गरिब प्रदेशी थिए, कर्म हारा मान्छे 
मायाको बोझ उठाइ हिड्ने बोकी बनायो तिमीले ।।
कृष्ण भट्ट ‘प्याशी’ 
तिखात्तर–८ डोटी

सूचना/सन्देश/बिज्ञापन 

कर्मचारी आवश्यकता सम्बन्धी सूचना       


प्रथम पटक सूचना प्रकासित मिति ः २०७३÷१०÷०९    
समान पहँुुच विकास केन्द्र (सिड) नेपाल पचनाली डोटीद्वारा युनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित मातृशिशु स्वास्थ्य कार्यक्रम लागी तपशिल अनुसारका कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकासित भएको मितिले ७ दिनभित्र संस्थाको सिलगढीस्थित सम्पर्क कार्यालयमा पुग्ने गरी दरखास्त आह्वान गरिन्छ । 
तपशिल   
कार्यक्रम   ः मातृशिशु स्वास्थ्य कार्यक्रम,    
पद ः कार्यक्रम सहायक (अनमि÷अहेव),    
संख्या ः १ (एक) 
योग्यता    ः मान्यता प्राप्त शिक्षण संस्थाबाट अनमि÷अहेव उत्तीर्ण गरेको ।
अनुभव     ः कम्तीमा १ वर्ष सम्बन्धित विषयगत कार्यअनुभव भएको ।         
कार्य क्षेत्र   ः तिजाली र घण्टेश्र गाविसहरु
पेश गर्नु पर्ने कागजातहरु ः 
  • अनमि÷अहेव पास गरेको प्रमाण पत्र तथा काउन्सिल दर्ता प्रमाण पत्र, 
  • नेपाली नागरिकता प्रमाण पत्र 
  •  हस्त लिखित निवेदन 
  •  कार्यालयमै उपस्थित भई कार्यालयको फाराम सहित कार्यालय समयभित्र पेश गर्नु पर्ने छ ।

सेवा÷सुविधा    ः कार्यक्रमको नियमानुसार  
परीक्षाको किसिम  ः लिखित तथा अन्तरवार्ता ।
दरखास्त        ः  सिड नेपालको निवेदनको ढाँचा (फाराम) संस्थाको सिलगढीस्थित कार्यालयबाट लिई र शैक्षिक योग्यताको प्रतिलिपि सहित वुझाउनु पर्नेछ ।
ग्राह्यता         ः कार्यक्षेत्रको उम्मेदवारलाई विशेष ग्राह्यता दिईनेछ ।
दरखास्त दिने अन्तिम मिति ः २०७३ साल माघ १५ गते शनिबार (शनिवार पनि दरखास्त लिईनेछ र सार्बजनिक बिदा भएपनि सोही दिन दरखास्त दिने अन्तिम दिन हुनेछ ।)
सम्पर्क मिति  ः २०७३ साल माघ १५ गते शनिबार
दरखास्त दस्तुर  ः रु २५०
नोट ः रित नपुगी वा म्याद नाघी आएका दरखास्त उपर कुनै कार्यवाही हुने छैन । यस सम्बन्धमा थप जानकारी चाहिएमा संस्थाको सिलगढी डोटीस्थित सम्पर्क कार्यालयको फोन नं. ०९४–४११०११  मा सम्पर्क गर्न सकिनेछ ।                    
पदपुर्ति समिति

शिक्षक आवश्यकता सम्वन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷१०÷११ 
उपरोक्त सम्बन्धमा छपाली गाबिस–५, डोटीमा रहेको यस श्री छपाली माध्यामिक बिद्यालयमा प्रा.बि. तह तृतीय श्रेणीमा शिक्षकको पद    रिक्त रहन गएकोले जिल्ला शिक्षा कार्यालय डोटीको पत्र संख्या ०७३÷०७४ र चलानी नंं.११३५ को पत्रानुसार शिक्षकको बिज्ञापनका लागि अनुमति पत्र प्राप्त भएकोले शिक्षा नियमाबली २०५९ को नियम ९७(२) अनुसार शिक्षक करारमा नियुक्त गर्नु पर्ने हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आव्हान गरिन्छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७३
पद संख्या ः १ (खुला) 
तह ः प्रा.बि. तृतीय 
स्केल ः नेपाल सरकारले तोके अनुसार 
शैक्षिक योग्यता ः आई.एड. वा सो सरह 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्डस्थानीय अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति 
ड्डनिरोगिताको प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डतालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति 
दरखास्त दिने अन्तिम मिति ः २०७३÷१०÷१४ गते कार्यालय सयमभित्र
परीक्षा दस्तुर ः २०००/-
परीक्षाको किसिम ः लिखित र अन्तरबार्ता 
परीक्षा मिति ः जि.शि.का. डोटीले तोके बमोजिम हुनेछ ।
दरखास्त बुझाउने स्थान ः श्री छपाली मा.बि. डोटी 
सम्पर्क फोन ः (प्र.अ.) ९७४९०५८७८९, (लेखापाल) ९७४९०५११३६
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुनेछैन ।

हार्दिक बधाई

दिपायल सिलगढी नगरपालिका–२ सिलगढी निवासी आत्मीय मित्र श्री टंक प्रसाद गुरुङ्ग उच्च अदालतको माननीय न्यायाधिश पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाइका साथै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

अधिराज बि.सी.
दिसिनपा–४, सिलगढी डोटी

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।


जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी

No comments:

Post a Comment